Blog

  • किसानको ब्याज सरकारले तिरिदिने

    किसानको ब्याज सरकारले तिरिदिने

    सुर्खेत । साना किसानले सहकारी संस्थामार्फत् लिएको ऋणको ब्याज कर्णाली प्रदेश सरकारले तिरिदिने भएको छ । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानको व्यवसायिक वृद्धिका लागि यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

    मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी साना किसानका लागि ल्याएको नयाँ योजना सर्वाजनिक गरेको हो । सम्मेलनमा प्रदेश सरकारकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘प्रदेश सरकार मातहतका ३१४ वटा सहकारीले साना किसानलाई ऋण दिने र ऋणको एघार प्रतिशत ब्याज हामीले सहकारीलाई तिरिदिन्छौं ।’

    परम्परागत खेतीबाट किसानलाई व्यवसायिकतातर्फ उन्मुख गर्न यस्तो कार्यक्रम ल्याएको मन्त्री केसीले बताइन् । ‘कसैलाई एक वटा भैसी वा दुई–चार वटा बाख्रा खरिद गर्न वा टनेलमार्फत् तरकारी खेती गर्न पचास हजारदेखि एक लाख रुपैयाँसम्म ऋणको आवश्यकता पर्न सक्ला ।

    त्यसका लागि कृषकले सहकारीको नियमअनुसार बिनाधितो वा जमानतमा ऋण लिने र सानो व्यवसाय सुरुवात गर्ने अपेक्षा हामीले गरेका छौं’, उनी भन्छिन्, ‘यसबाट अधिकांश कृषक लाभान्वित हुने र कृषि क्षेत्रमा यो अभियानले ठूलो सफलता पाउने अपेक्षा हामीले गरेका छौं ।

    मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रका अनुसार ब्याज अनुदान पाउने किसानले उत्पादन, प्रशोधन र बजारीकरण शीर्षकमा काम गरेको हुनुपर्ने कार्यविधि निर्माण गरिएको छ ।

    सचिव डा. मिश्रका अनुसार न्यूनतम पचास हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको ऋणमा कृषि विकास कार्यालयले ब्याज र सेवाशुल्क तिरिदिने गरी व्यवस्था मिलाइएको छ ।

    संस्था तथा सदस्यको छनोट

    ब्याज अनुदान कार्यान्वयन गर्न कर्णाली प्रदेशको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थासँग मन्त्रालय मातहतको कृषि कार्यालयले सम्झौता गर्ने मिश्रले बताए ।

    मन्त्रालयले यसअघि मझौला कृषकका लागि ब्याज अनुदान दिन भन्दै कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग समझदारी गरिसकेको छ । चालु आर्थिक वर्षमा ब्याज अनुदान कार्यक्रमका लागि सात करोड रुपैयाँ छुट्याइएको छ ।

  • कोटेश्वरमा भेटियो गोली सहितको कटुवा पेस्तोल

    कोटेश्वरमा भेटियो गोली सहितको कटुवा पेस्तोल

    काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्‍वरबाट गोली लोड गरिएको १ थान कटुवा पेस्तोल आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
    कोटेश्वर चोक नजिक बाटोमा अपरिचित व्यक्तिले भक्तपुर बस्ने सिन्धुली घर भएका २५ वर्षीय पुरुषलाई कटुवा पेस्तोल देखाई मोबाइल लुटने क्रममा प्रतिवाद गर्दा कटुवा पेस्तोल भुँईमा झरेपछि उनी जडिबुटीतर्फ फरार भएको प्रहरीलाई जानकारी दिएको छ ।

    फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

     

  • सशस्त्र प्रहरीको नक्कली परीक्षार्थी बनेर परीक्षा दिने १४ जना पक्राउ

    सशस्त्र प्रहरीको नक्कली परीक्षार्थी बनेर परीक्षा दिने १४ जना पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोपमा १४ जना पक्राउ परेका छन् ।

    प्रहरीले सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

    नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल आंशकामा स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको छ ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

    राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

    काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आइतबार गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालीगलौज गर्नेहरु विरुद्ध कानूनी कारबाही गर्न माग गरेको हो ।

  • नक्कली पीसीआर रिपोर्ट लिएर दुबई उड्न लागेका ७ पक्राउ

    नक्कली पीसीआर रिपोर्ट लिएर दुबई उड्न लागेका ७ पक्राउ

    काठमाडौं । नक्कली पीसीआर रिपोर्ट सहित विदेश जान लागेका ७ जना  परेका छन्।

    फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • अध्यक्षको कामप्रति असन्तुष्टि जनाउँदै  उपाध्यक्षले दिएको राजीनामा स्वीकृत

    अध्यक्षको कामप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्षले दिएको राजीनामा स्वीकृत

    मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले उपाध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

    गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

    अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिइएको बताइएको छ ।

    गाउँपालिकाका अध्यक्ष उप्रेतीले संविधानमा उल्लेख भएको अधिकार अनुसार नै राजीनामा स्वीकृत गराएको बताएका छन् । संविधानमा अध्यक्षले उपाध्यक्ष समक्ष र उपाध्यक्षले अध्यक्ष समक्ष लिखित राजीनामा दिए राजीनामा स्वीकृत भई पद रिक्त हुने व्यवस्था छ ।

    स्थानीय तह निर्वाचनपछि उपाध्यक्षको राजीनामा स्वीकृत भएको यो पहिलो घटना हो । गाउँपालिका अध्यक्ष र तत्कालिन उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन् । रासस

  • डोरमणिविरुद्ध अविश्वास प्रस्तावः तीन सांसदको हस्ताक्षर फिर्ता

    डोरमणिविरुद्ध अविश्वास प्रस्तावः तीन सांसदको हस्ताक्षर फिर्ता

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमा आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका छन् ।

    अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं १० की रमा आलेमगर र चितवनका कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।

    नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन अविश्वास प्रस्ताव दर्ता गराइएको छ । प्रचण्ड–माधव पक्षले दलको नेतासमेत अष्टलक्ष्मीलाई चयन गरिसकेको छ ।

    हस्ताक्षर फिर्ता लिनेमध्येकी एक सांसद रमा आलेमगरले आफूले सोच विचार गर्दा प्रधानमन्त्री केपी ओलीले चालेको कदम नै सही लागेकाले अविश्वास प्रस्तावको पक्षमा नरहेको बताइन् । उनी र प्रकाश श्रेष्ठ ओली पक्षीय नेकपाको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

    ११० सदस्यीय वागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन् । ४५ मध्ये तीन जनाले हस्ताक्षर फिर्ता लिएपछि प्रचण्ड–माधव पक्षमा ४२ सांसद रहेका छन् भने ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना देखिएका छन् ।

    केही सांसद अझै ढुलमुलमा छन् । डोरमणि पक्षले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अरु केही सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ । तर अष्टलक्ष्मी पक्षले अविश्वास प्रस्ताव पास हुने र ओली पक्षका सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ ।

    अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ । प्रचण्ड–माधव पक्ष एक्लैले अविश्वास प्रस्ताव पारित गर्न संख्या पुग्दैन । यदि कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेन वा तटस्थ बस्यो भने डोरमणि पौडेलको पद जोगिन सक्छ ।

    तर उनले दल विभाजन भएर अल्पमतमा परेकाले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसको साथ चाहिन्छ ।

    कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मुख खोलेको छैन । दुवै पक्ष कांग्रेसको प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसँग संवादमा छन् । बानियाँले भने पार्टी केन्द्रको निर्देशन विना कुनै कदम नचाल्ने बताएका छन् ।

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ६ महिनामा निर्माण सकिने, एक वर्षपछि सञ्चालनमा (तस्वीरसहित)

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ६ महिनामा निर्माण सकिने, एक वर्षपछि सञ्चालनमा (तस्वीरसहित)

    काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामध्येको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६४ प्रतिशत काम सकिएको छ । द्रुत गतिमा निर्माण भइरहेको विमानस्थल अबको एक वर्षभित्रमा सञ्चालनमा आउने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।

    ‘अहिले ६४ प्रतिशत काम पूरा भएको छ । निर्धारित समयभित्र निर्माण सम्पन्न गर्नेगरी हामीले काम गरिरहेका छौं’, उनले भने । अहिले विमानस्थल निर्माणमा १६० चिनियाँ र ६० जना नेपाली मजदूरले काम गरिरहेका छन् । मुनाकर्मीका अनुसार समयमा काम सम्पन्न गर्नलाई अहिले भइरहेका कामदारले नपुग्ने भएकाले एक महिना भित्र नै चिनियाँ र नेपाली मजदूरको संख्या बढाउने तयारी भभइरहेको छ ।

    नयाँ २६० जना कामदार थपेर समयमा नै कामसक्ने आयोजना प्रमुख मुनाकमीर्लले प्रतिवद्धता व्यक्त गरे ।

    गत वर्ष कोरोना आतंक शुरु हुनुअघि नै चिनियाँ कामदार नयाँ वर्ष मनाउन घर फर्किएका थिए । कोरोनाका कारण चिनियाँ कामदार अझै पनि काममा फर्किसकेका छैनन् । उनीहरु समयमा फर्कन नसक्दा काम प्रभावित भएको मुनाकर्मीले बताए ।

    विमानस्थलको फिनिसिङ तथा इनल पेरिफेरीको काम सकिएको छ । त्यस्तै, उपकरण जडान गर्ने काम १८ प्रतिशत मात्र बाँकी छ । यसैगरी सिभिल वर्कको काम पनि १४ प्रतिशत मात्र बाँकी रहेकाले समयमै काम सम्पन्न गर्ने आधारहरु भएको आयोजनाले बताएको हो ।

    आयोजना प्रमुख मुनाकर्मीका अनुसार विमानस्थल निर्माण कार्य सम्पन गर्न चाहिने सबै उपकरण तथा निर्माण समग्रीको खरीद गरिसकिएको छ ।

    ६ महिना भित्र निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाको तयारी छ । त्यसपछि, अन्य व्यावस्थापनको काम ६ महिनाभित्र सकेर विमानस्थल सञ्चालनमा आउने मुनाकर्मीको भनाइ छ ।

    विमानस्थल निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि पोखराका व्यावसायीलाई धेरै फाइदा पुग्ने त्यहाँका व्यवसायीको बुझाइ छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आउने विदेशी पर्यटकलाई ध्यान दिंदै व्यवसायीहरुले धमाधम होटल रेष्टुरेण्ट तथा अन्य पर्यटकीय व्यवसायमा लगानी गर्न शुरु गरिसकेका छन् ।

    चिनियाँ निर्माण कम्पनी सीएमसीईले जुलाई १०, २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ  । सीएमसीईले अगस्ट २०१७ मा विमानस्थल निर्माण शुरुवात गरेको हो ।

    विमानस्थल निर्माणका लागि २२ अर्ब रुपैयाँ (भ्याटबाहेक) छुट्याइएको थियो । त्यसमा अहिले १२ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको आयोजक प्रमुख मुनाकर्मीले बताए ।

  • राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आइतबार गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालीगलौज गर्नेहरु विरुद्ध कानूनी कारबाही गर्न माग गरेको हो ।

    लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ ।

    ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनीय र अमर्यादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् । उनले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएको पनि बताए ।

    नाराबाजी गर्ने विरुद्ध कानूनी कारबाही गरिनुपर्ने अन्यथा आफूहरु नै कानूनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीले बताइन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी हुने गरेको छ ।

  • प्रचण्ड–माधव पक्षीय नेकपाको स्थायी कमिटी बैठक बस्दै

    प्रचण्ड–माधव पक्षीय नेकपाको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी सदस्य भीम रावलका अनुसार बैठक दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको हो ।

    अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणमा गर्न लागिएको आन्दोलनबारे छलफल गरिने जानकारी नेपाल प्रेसलाई दिए ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले शनिबार दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो।

    समितिले पुस २० देखि माघ २३ गतेसम्म विभिन्न किसिमका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

  • सभामुखको जवाफ तयार– प्रधानमन्त्रीले असंवैधानिक काम गरे

    सभामुखको जवाफ तयार– प्रधानमन्त्रीले असंवैधानिक काम गरे

    काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सभामुखलाई पनि विपक्षी बनाइएकाले आज संसद सचिवालयले पनि सभामुखको तर्फबाट लिखित जवाफ पेश गर्दैछ ।

    संवैधानिक इजलासमा सुनुवाइका क्रममा रहेको सो मुद्दामा विपक्षीलाई पुस १९ भित्रमा लिखित जवाफ पेश गर्न आदेश दिइएको थियो ।

    सभामुखले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको व्यहोराकाे लिखित जवाफ पेश गर्न लागेको सचिवालय स्रोतले जनाएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार आफूलाई भेट्न पुगेका महिला संगठनका पदाधिकारीसँग आफूले सोही व्यहोराकाे जवाफ पठाउने बताएका थिए ।

    सभामुख निकट स्रोतले भन्यो- ‘सचिवालयले लिखित जवाफ तयार पारेको छ । संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको भन्ने उहाँको अडान नै लिखित जवाफमा पेश हुन्छ । उहाँ प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले त्यसलाई अदालतले बदर गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।’

  • सरकारले आज संवैधानिक आधार र औचित्य सर्वोच्चमा दर्ता गर्दै

    सरकारले आज संवैधानिक आधार र औचित्य सर्वोच्चमा दर्ता गर्दै

    काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटनको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले जवाफ तयार पारेका छन् ।

    आजै दिउँसोसम्म सर्वोच्च अदालतमा लिखित जवाफ दर्ता हुने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको कारण लिखित रूपमा पेश गर्न सरकारलाई आजसम्मको समय दिएको थियो । रिटमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै मागिएको जवाफ आज पेश हुन लागेको हो । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुस २२ गतेदेखि निरन्तर सुनुवाइ हुनेछ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

  • ‘मंगलबारदेखि मौसम खुल्न सक्छ, हिमाली भू-भागमा हिमपात हुन्छ’

    ‘मंगलबारदेखि मौसम खुल्न सक्छ, हिमाली भू-भागमा हिमपात हुन्छ’

    काठमाडौं । अहिले हामी जाडो सिजनमा छौं । डिसेम्बर, जनवरी, फेब्रुअरी तीन महिना जाडो माैसम नै रहन्छ ।

    अहिले हामी जनवरीको सुरुआतमै छौं। त्यसो हुँदा अझै एक महिना जाडो हुन्छ र, आगामी एक महिनामा अझै तापक्रम घटबढ हुनसक्ने सम्भावना देखिन्छ ।

    तर, पश्चिमी भूभागमा देखिएको वायु प्रभावका कारण केही हदसम्म वर्षा पनि हुनसक्ने सम्भावना बढेको छ । त्यस्तै उच्च हिमाली भू-भागहरूमा हिमपात पनि हुनसक्छ ।  यसै वायुको प्रभावका कारण तराईका क्षेत्रमा बिहानपख बाक्लो हुस्सु-कुहिरो पनि लाग्न सक्ने देखिन्छ ।

    आजको कुरा गर्दा नेपालमा विशेष गरी शुक्रबारबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायुको प्रभाव रहेको छ । आकाशमा अलिकति बादल देखिरहेको अवस्था छ । राम्रोसँग घाम पनि लाग्न सकिरहेको छैन। अब यो क्रम अझै दुई/चार दिन रहने देखिएको छ । त्यो भएर आजभन्दा भोलि अझै बादल बाक्लिन सक्ने देखिन्छ ।

    विशेष गरी पश्चिमका प्रदेशहरू- सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकीका उच्च पहाडी र हिमाली भू-भागहरूमा चाहिं हल्का हिमपातको सम्भावना छ । त्यस्तै पहाडी भूभागमा एक/दुई स्थानमा हल्का वर्षा पनि हुनसक्छ ।

    यसरी आएको वायुले हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना बढी हुन्छ भने पहाडी भूभागहरूमा जाडो बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

    त्यस्तै तराईका क्षेत्रमा बिहानपख एक दुई ठाउँमा हुस्सु-कुहिरो पनि लाग्न सक्ने र त्यसका कारणले चिसो अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।

    चिसो बढे पनि तत्कालै शीतलहरको सम्भावना देखिंदैन । बाहिरबाट बादल आउँदा शीतलहर हटेर जाने गर्दछ । र, हुस्सु-कुहिरो नलागे पनि जाडो चाहिं हुने गर्छ ।

    पानी परेपछि अझै तापक्रम घट्न सक्ने सम्भावना रहन्छ । बिहानको चिसिने-कठ्याङ्ग्रिने जाडो पनि यदि हिमपात भयो, पानी पर्‍यो भने अझै बढी हुनसक्ने सम्भावना छ ।

    किनभने, अझै एक/डेढ महिना जाडो याम नै बाँकी छ । त्यसैले अहिले पानी पर्ने भनेको जाडो गराउनका लागि नै हो । अझ बढी तापक्रम घट्न सक्ने अवस्था देखिन्छ । उच्च पहाडी भूभागमा भने हिमापातको सम्भावना कम छ । तर, कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा रहेका जिल्लाहरू हुम्ला, डोल्पा, कालिकोट, मुगु र यतापट्टि माथिल्लाे मुस्ताङतिर हिमपातको सम्भावना छ।

    सुदूरपश्चिम/कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुनसक्छ । दिनभरि नै ठूलो वर्षा हुँदैन । यद्यपि, बादल चाहिं लागिराख्ने  देखिन्छ । त्यसैले गर्दा दिउँसोको अधिकतम तापक्रम घट्ने गर्छ। यस्तो बेलामा हामीलाई हिजो अस्तिको तुलनामा अझै बढी जाडो महशुस हुने गर्छ ।

    पश्चिमी बायुको प्रभाव बुधबारसम्म जाने देखिन्छ । बुधबारदेखि मौसममा फेरि सुधार भएर जानेछ । विशेषगरी सुदूरपश्चिममा खुल्नका लागि बुधबारसम्म कुर्नुपर्ने हुन्छ भने काठमाडौ उपत्यका र पूर्वको हकमा मंगलबार बेलुकादेखि नै मौसममा सुधार भएर जानेछ ।

    जसले गर्दा आगामी दुई/तीन दिन बदली हुने सम्भावना रहन्छ । त्यसो फलस्वरूप देशभर नै आंशिकदेखि सामान्य बदली र केही स्थानहरूमा पूर्ण बदली हुनसक्छ ।

    विशेषगरी पश्चिमी क्षेत्रहरूमा घाम नै नलाग्न सक्ने सम्भावना पनि देखिएको छ । जाडो याममा बर्खाको जस्तो धेरै वर्षा हुँदैन । देशभरिको वर्षाको जुन आकलन छ त्यसलाई हेर्दा ३.५ प्रतिशत मात्रै यो समयमा वर्षा हुनेगर्छ ।

    त्यसो भएको हुनाले बर्खाको झरी जस्तो लगातार वर्षा हुँदैन । यस्तो बेलामा पानी पर्ने भनेको उच्च हिमाली भूभागहरूमा मात्रै हो जहाँ हिमपात पनि हुनसक्छ । किनभने यस्तो बेलामा जलबास बादलमा हुँदैन । सुख्खा खालको बादल हुन्छ ।

    बादल बढी चिसो र सुख्खा हुने भएकाले ठूलो वर्षा हुँदैन । यद्यपि, सुदूरपश्चिमका क्षेत्रमा भने अहिले वर्षाको सम्भावना देखिएको छ ।

    काठमाडौं उपत्यकाको हकमा भने जाडो अझै एक महिनासम्म जुनसुकै बेला घटबढ हुनसक्छ । यो वर्षको कुरा गर्दा ३१ डिसेम्बरको रातिको समयमा ०.८ डिग्री सेन्टिग्रेट न्यूनतम तापक्रम मापन भएको छ ।

    अहिले काठमाडौंमा १/२ डिग्रीको हाराहारीमा बिहानको तापक्रम रहन्छ । दिउँसोको तापक्रम अधिकतम १६/१७ डिग्री सम्म रहने देखिन्छ । त्यसो हुनाले दिउँसो घाम नलागिसकेपछि तुलनात्मक रुपमा हिजो अस्तिको भन्दा जाडोको महसूस हुनेगर्छ ।

    २/४ दिन जाडोबाट बच्ने उपायहरू अपनाएर सावधानीपूर्वक बस्नुपर्ने हुन्छ । वर्षा नभए पनि चिसोबाट बच्ने उपायहरू अपनाउनुपर्छ ।

    गत वर्षको र यो वर्षको जाडो यामलाई तुलना गर्दा खासै फरक देखिंदैन । गत वर्षको मौसम पनि यो समयमा यही ‘रेन्ज’मा थियो । अझै केही हदसम्म वर्षा पनि भएको थियो । अहिले वर्षा भएको छैन ।

    हिउँदे वर्षा गराउनका लागि टाढाबाट वायु आउनुपर्ने हुन्छ । यो वर्ष अहिलेसम्मको कुरा गर्दा अहिले देखिइरहेको बादल चौथो प्रणालीको छ । जुन अहिले विगतको तुलनामा केही फरक देखिएको छ, यसअघि सुदूरपश्चिमतिर आउने अलिअलि बादल लाग्ने अनि हटेर जाने गरेको थियो ।

    तर, यो वर्ष देशैभर फैलिएको अवस्था छ । तुलनात्मक रूपमा यस्तो बादलले हल्का वर्षा पनि गराउन सक्ने देखिन्छ, विशेषगरी उच्च हिमाली भूभागमा ।

    काठमाडौंको न्यूनतम तापक्रम जाडोयाम भर ० देखि २ डिग्रीको हाराहारीमा रहने देखिन्छ ।

    काठमाडौं उपत्यका वरिपरिका क्षेत्रमा हिमपातको सम्भावना देखिन्छ । अहिले पानी पर्ने भनेको धेरै टाढाबाट वायु आउँछ । भूमध्यसागर, इजिप्ट वा ‘मिडलइस्ट’का क्षेत्रहरूबाट जलवाष्प आउनुपर्ने हुन्छ । त्यो यहाँसम्म आइपुग्दा उतै पानी परेर सकिन्छ ।

    हामीकहाँ आइपुग्ने बेला सुख्खा बादल मात्रै आउँछ । त्यसले गर्दा बर्खाको झरी जस्तो पानी पर्ने हुँदैन । यद्यपि, तीन/चार दिनसम्म यस्तै धुम्म भइराख्यो, बादल थुप्रिंदै गयो भने, नगरकोट, फुलचोकी, दामन जस्ता ठाउँमा हल्का हिमपातको सम्भावना हुन्छ ।

    तर, यो सिस्टमले हिमपात गराउला जस्तो देखिंदैन ।

  • अष्टलक्ष्मी शाक्य भित्ते मुख्यमन्त्री बन्ने मन्त्री रामेश्वर फुँयालको दाबी

    अष्टलक्ष्मी शाक्य भित्ते मुख्यमन्त्री बन्ने मन्त्री रामेश्वर फुँयालको दाबी

    रासस । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन् ।

    आज रासससँग कुरा गर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे ।

    उनले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा हस्ताक्षर गरिएका सदस्यले आफ्नै दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा आफ्नो नाम र हस्ताक्षर किर्ते भएको बताएको उल्लेख गरे ।

    उनले कसैलाई मुख्यमन्त्री बनाउन वा बनिन विकास र समृद्धिको अभियानलाई नै गम्भीर असर पर्ने गरी थालिएको अस्थिरताको बीजारोपण रोकिने र अमूक व्यक्तिको मुख्यमन्त्री हुने रहरलाई ‘भित्ते मुख्यमन्त्री’ को रूपमा सीमित पारिने दाबी गरे ।

    सरकार गठन भएको तीन वर्ष पनि नपुग्दै भण्डै एक हजार ५०० किलोमिटर सडक बनाएको, १०० भन्दा बढी पुल बनाएको, सुरुङमार्ग निर्माण प्रारम्भ गरेको, विद्युतीय सवारी सञ्चालनको आधार तयार पारेको, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शुरुआत गरेको, प्रदेशका विभिन्न अस्पतालमा आइसीयू तथा भेन्टिलेटरसहितको सेवा सञ्चालन गरेको, दुई हजारभन्दा बढी विद्यार्थी पढ्न सक्ने प्राविधिक विद्यालय निर्माण प्रारम्भ गरेको, जिल्ला जिल्लामा चक्लाबन्दी खेती शुरु गरी प्रदेशलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको, किसानको उत्पादन सुरक्षित राख्न प्रदेशका सबै जिल्लामा शीतभण्डार निर्माण गरेको, अन्तर्राष्ट्रियस्तरको कृषि बजार स्थापनाको काम प्रारम्भ गरेको, दुग्ध तथा मासुजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको, युवालाई उद्यमशील बनाउन उद्यमशीलता कार्यक्रम शुरु गरिएको, हजारौँ घरबारविहीन नागरिकलाई पक्का घरको व्यवस्था गरेको, ज्येष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था गरेकोजस्ता मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनासायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत किर्ते गरी अविश्वासको प्रस्ताव दर्ता गरिएको उनको आरोप थियो ।

  • बिक्रीका लागि तयार सुन्तला कुहिएर झर्न थाल्यो

    बिक्रीका लागि तयार सुन्तला कुहिएर झर्न थाल्यो

    पाँचथर/रासस । पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक चिन्तामा परेका छन् । टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइने गरेको छ ।

    सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलामा किरा परेको पाइएको छ । रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करिब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा पर्ने समस्या देखिएको हो ।

    हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्न थालेको छ । ‘पोहोर साल झण्डै चार हजार किलो बेचेको थिएँ’, थेबेले भने, ‘यस वर्ष टिप्नै नपाई धमाधम सुन्तला झरिरहेको छ । झरेको सुन्तला कुहिएको छ ।’ मुख्य आम्दानीको स्रोतको रूपमा रहेको सुन्तला कुहिएर जाँदा वर्षभरिको आम्दानी समाप्त भएको अर्का कृषक जयबहादुर नेम्वाङले दुखेसो पोखे ।

    कृषकको गुनासोपछि फिदिम नगरपालिकाले प्राविधिक पठाई सुन्तला कुहिएर झर्ने समस्याको अनुगमन गराएको छ । फिदिम नगरपालिकाको कृषि शाखाका प्रमुख यामबहादुर सङ्ग्रौलाका अनुसार सुन्तलामा ‘फ्रुटफ्लाइ’ नामको किराको सङ्क्रमण देखिएको छ । झिङ्गाजस्तो यो किराले पाकेको फल कुहाउने गर्छ ।

    ‘पोथी किराले फल छेडेर भित्र पसी फुल पार्ने काम गर्छ । फुल लार्भा भएपछि सुन्तलालगायत फल कुहाएर क्षति गर्छ’, सङ्ग्रौलाले भने । फल नलाग्दै फेरेमेन ट्राप र मालाथिन नामक विषादी मिलाएर छर्केको अवस्थामा यो किराको समस्या नहुने उनको भनाइ छ । फलमा लागेको किरा भने नियन्त्रण गर्न नसकिने सङ्ग्रौलाले बताए ।

    यस वर्ष अत्यधिक वर्षाका कारण सुन्तलाको फल नै कम लागेको थियो । पाकेको सुन्तला पनि विगतका वर्षको जस्तो स्वादिष्ट छैन । अधिक वर्षाकै कारण विगतका वर्षको जस्तो स्वाद नभएको जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ का कृषक रुपा लावतीको भनाइ छ ।

    यस वर्ष चाँडै चिसो शुरु हुँदा सुन्तलामा स्वाद नभएको कृषक बताउँछन् । जिल्लाका आठवटै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाका कुरुम्बा, आङ्सराङ, रानीगाउँ, फाक्तेप, फिदिम, रानीटारलगायत स्थानमा बढी सुन्तला उत्पादन हुने गर्दछ ।

  • कर्णाली सरकारको ‘साइकल अभियान’मा कर्मचारीकै असहयोग

    कर्णाली सरकारको ‘साइकल अभियान’मा कर्मचारीकै असहयोग

    सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले २०७६ साउनमा ३ लाख रुपैयाँ खर्चेर १० वटा साइकल खरिद गर्‍यो । वातावरणमैत्री शहरको पहिचान दिन र इन्धन खपत कम गर्न भन्दै कार्यालयका कर्मचारीका लागि ती साइकल खरिद गरिएको थियो ।

    ‘इन्धन खपत घट्ने, वातावरण प्रदुषण पनि कम हुने भएकाले हामीले साइकल चढ्ने निर्णय गरेका हौं,’ तत्कालीन प्रमुख सचिव केवलप्रसाद भण्डारीले त्यतिबेला भनेका थिए, ‘कार्यालयबाट मोटरसाइकल किन्ने कुरा भएको थियो, मैले मोटरसाइकलभन्दा पनि साइकल किनौं भनेर आग्रह गरें ।’

    भण्डारीको तर्कमा सहमत हुँदै कार्यालयले साइकल खरिद गरेर निकै तामाझामका साथ अभियानको सन्देश दिने प्रयास पनि गरेको थियो । सुरुको एक दुई साता त्यसको उपयोग राम्रै भयो । तर, डेढ वर्षको बीचमा न साइकल भेटिन्छ न कसैले चलाउने गरेका छन् । बरु ती साइकलहरु कर्मचारीको घरमा थन्किएका छन्, कति बिग्रिएका छन् ।

    मुख्यमन्त्री कार्यालय श्रोत भन्छ, ‘अहिले महंगा साइकल कर्मचारीका छोराछोरीलाई भएको छ ।’ सरकारी सम्पत्तिमाथि व्यक्तिले रजाईं गर्न खोजेका कारण ती साइकलहरु उनीहरुका आफन्त वा छोराछोरीले चलाउने र कार्यालयमा नल्याउने प्रवृत्ति बढेको स्थानीयवासी दिनेश विश्वकर्माले बताए । ‘कर्णालीमा सरकारी साधनलाई निजीजस्तो बनाइएको छ । कर्मचारीहरुमा सकेसम्म कार्यालय लैजान नपरोस भन्ने चाहना छ,’ उनी भन्छन्, ‘कर्णालीमा सांसदहरु, मन्त्रीहरु, कर्मचारीहरु सबैको एकै ध्यान सरकारी सम्पत्ति कसरी हत्याउने भन्ने नै छ कि जस्तो लाग्छ ।’

    यता, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले सडक धुलाम्य भएका कारण साइकल नचलाइएको दाबी गरे । ‘सबै साइकल सुरक्षित छन् । प्राविधिक कारणले कार्यालयमा ल्याउन नसकिएको हो,’ उपाध्यायले भने, ‘हामीले साइकल खरिद गरेपछि अहिले वीरेन्द्रनगरमा साइकल चलाउनेहरुको संख्या बढेको छ ।’

  • हुम्ला सदरमुकाममा दैनिक ११ घण्टा लोडसेडिङ

    हुम्ला सदरमुकाममा दैनिक ११ घण्टा लोडसेडिङ

    रासस/हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ ।
    चर्को लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।

    कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् ।

    जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै हिउँदे ट्युसनको भरमा एसईईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो ।

    हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए ।

    यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा तीन पटक चर्को लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ ।

    एक भारी दाउराको सिमकोटमा १ हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ ।

  • मतदान केन्द्र थपघट हुँदै, पुस ५ गतेसम्म १८ वर्ष पुगेका नयाँ मतदाता सूचीमा

    मतदान केन्द्र थपघट हुँदै, पुस ५ गतेसम्म १८ वर्ष पुगेका नयाँ मतदाता सूचीमा

    काठमाडौं । निर्वाचन आयोगले वैशाख १७ र २७ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर देशभरका मतदान केन्द्रहरु थपघट गर्ने भएको छ । मतदान केन्द्रहरुहरुको पुनरावलोकनका लागि आइतबार आयोगको बैठक बस्दैछ ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले संसदको राज्य व्यवस्था समितिले पनि यसअघि नै मतदान केन्द्र पुनरावलोकन गर्न निर्देशन दिएकाले सबै अवस्था विचार गरेर कतिपय फेरबदल हुने बताए । त्यसका लागि आयोगले कार्यविधि स्वीकृत गर्दैछ ।

    ‘हामी मतदान केन्द्र पुनरावलोकन गर्दैछौं । कतिपय केन्द्र नजिक छन् भने गाभिन्छन्, अपायक छ भने थपिन्छन्’ नेपाल प्रेससँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘राज्यव्यवस्था समितिले पनि हामीलाई भनेको छ । मतदान केन्द्रको टुंगो लगाएपछि नयाँ मतदाताको नाम पठाउनुपर्ने हुन्छ ।’

    २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय मतदान केन्द्र अपायक भएको भन्दै संसदीय समितिले पुनरावलोकन गर्न निर्देशन दिएको थियो । उक्त चुनावमा देशभर १० हजार ६७१ स्थानमा १९ हजार ८०९ मतदान केन्द्र राखिएका थिए ।

    यसपटक मतदान केन्द्रको संख्या बढ्न सक्ने आयोग स्रोतले जनाएको छ । आयोगले सामान्यतः एउटा मतदान केन्द्रमा करीब १ हजार मतदाता हुनुपर्ने मापदण्ड बनाएको छ । तर भौगोलिक विकटता, जनसंख्यालाई समेत हेरेर केन्द्रहरु निर्धारण गरिने आयोगले जनाएको छ ।

    आयोगले मतदान केन्द्र टुंगो लगाएसँगै थपिएका नयाँ मतदाताहरुको नाम पनि अद्यावधिक गर्ने थपलियाले बताए । प्रतिनिधिसभा विघटन भएको दिन अर्थात् २०७७ पुस ५ गते रातिसम्म १८ वर्ष उमेर पुगेका र आयोगमा जिल्ला प्रशासनहरुबाट आएका नाम स्वतः मतदाता सूचीमा पर्नेछन् ।

    थपलियाले थपे- ‘हामीकहाँ मतदाता नामावली सधैं अद्यावधिक भइरहेको हुन्छ । १६ वर्ष पुगेको मान्छे जिल्ला प्रशासनबाट नागरिकता लिएपछि उसको नाम आयोगमा आउँछ । पुस ५ गते रातिसम्म १८ वर्ष पुगेकाहरु नयाँ मतदाता भएर आउँछन् । तर अब निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता नामावली संकलन र मतदाता नामावली सार्न पाइँदैन ।’

  • कांग्रेस बैठक आजः आन्दोलनमा जाने कि अदालतको फैसला कुर्ने ?

    कांग्रेस बैठक आजः आन्दोलनमा जाने कि अदालतको फैसला कुर्ने ?

    काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको लागि आन्दोलन गर्ने कि सर्वोच्च अदालतको फैसला कुर्ने भन्ने विवाद चलिरहेको बेला नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

    करीब एक साताको विश्रामपछि कांग्रेस बैठक फेरि शुरु हुन लागेको हो । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

    कांग्रेसको जारी बैठकमा प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक हो भन्नेमा एकमत रहे पनि त्यसको विरुद्ध आन्दोलनमा जाने कुरामा सभापति शेरबहादुर देउवा पक्ष सहमत छैन ।

    रामचन्द्र पौडेल पक्ष प्रतिनिधिसभा पुनर्स्थापनाको लागि आन्दोलन जारी राख्नुपर्ने पक्षमा छ । पौडेल पक्षले गत साता भेला नै राखेर अलग प्रस्ताव लैजाने निर्णय गरेको थियोे ।

    सभापति देउवा सर्वोच्च अदालतको फैसला जे आउँछ सोही अनुसार अघि बढ्नुपर्ने पक्षमा छन् । देउवाले सडक आन्दोलनमा रुचि देखाएका छैनन् ।

  • नाइजरमा इस्लामी चरमपन्थीद्वारा ५६ नागरिकको हत्या

    नाइजरमा इस्लामी चरमपन्थीद्वारा ५६ नागरिकको हत्या

    एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा इस्लामी चरमपन्थीले मालीको सिमानानजिक एउटा गाउँमा आक्रमण गरी कम्तीमा ५६ जनाको हत्या गरेको छ । समाचारहरुमा जनाइएअनुसार अन्य २० जना गम्भीर घाइते छन् ।

    टिल्लाबेरी इलाकाको चोमोबंगोउ नामको गाउँमा हमला भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ । यो ठाउँमा सन् २०१७ देखि नै संकटकाल लागू गरिएको छ ।

    पछिल्ला दिनहरुमा छिमेकी देश मालीबाट प्रवेश गर्ने इस्लामिक जिहादीहरुले यस गाउँलाई निशाना बनाउने गरेका छन् ।

    समाचार संस्था एएफपीले स्थानीय अधिकारीलाई नै उद्धृत गरी आक्रमणमा कम्तीमा ७० जना गाउँलेको हत्या गरिएको जनाएको छ । उसका अनुसार जोरोमदारेय नामको अर्को गाउँमा पनि आक्रमण भएको छ जहाँ एक दर्जनभन्दा बढी मारिएका छन् ।

    यस हमलाबारे नाइजर सरकारले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

  • रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

    रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

    एजेन्सी । सेल्टा भिगोमाथिको आरामदायी जितका साथ रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

    सेल्टा भिगो लालिगामा नोभेम्बर २१ देखि अविजित थियो । यस्तोमा सान्टियागो बर्नबाउ भ्रमण गरेको उसले छैटौं मिनेटमै मार्को एसेन्सियोको क्रसमा लुकास भाज्क्वेजको हेड गोलमार्फत १–० ले पछि पर्‍यो ।

    दोस्रो हाफमा एसेन्सियो आफैंले पनि गोल गर्न सफल भए । उनले ५३ औं मिनेटमा कासिमेरोको पासको सदुपयोग गरेका थिए ।

    दोस्रो हाफमा आफ्नो शीर्ष गोलकर्ता लागो अस्पासलाई गुमाएको सेल्टाले खेल अवधिभर कमै मात्र गोलका अवसर सृजना गर्न सक्यो । स्यान्टी मिनाले एउटा उच्च अवसर पाएका थिए तर त्यो पोष्टबार नजिकैबाट बाहिरियो ।

    यो जितले रियल मड्रिडलाई शीर्ष स्थानमा एट्लेटिको मड्रिडभन्दा १ अंकले अगाडि पुर्‍याएको छ । रियलको १७ खेलबाट ३६ अंक भएको हो ।

    डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले १४ खेलमा ३५ अंक छ । उसले आइतबार डेपोर्टिभो अलाभेससँग खेल्नेछ । १७ खेलबाट २३ अंकसहित सेल्टा भने आठौं स्थानमा छ ।

  • वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो

    वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो

    काठमाडौं । नेपालको कानूनले निषेध गरेको सट्टेबाजी (बेटिङ) कम्पनी ‘वान् एक्स बेट’ले नेपालबाट हुन्डी कारोबार गरेर दैनिक लाखौं रूपैयाँ लगिरहेको पाइएको छ । वान् एक्स बेट निकट स्रोतका अनुसार वान् एक्स बेटले नेपालमा रहेका आफ्ना एजेन्टहरूमार्फत हुन्डीको कारोबार भइरहेको पाइएको छ ।

    नेपाल प्रेसलाई स्रोतले उपलब्ध गराएको वान् एक्स बेट कम्पनी र यसका एजेन्टबीचको सम्झौता पत्रमा भएका शर्तमा भनिएको छ, “पहिलो पार्टी (एजेन्ट)ले ‘प्रिपेमेन्ट’ पठाउँदा हुन्डी, बिट्क्वाइन, नेटेलर, स्क्रिल वा पर्फेक्ट मनीको माध्यमबाट पैसा पठाउनुपर्नेछ” भन्ने उल्लेख भएको देखिएको छ ।

    यो हेर्नुहोस्…

    कम्पनीको कुनै पनि लेटर प्याड वा आधिकारिक पत्रमा नभएको सो सम्झौता पत्रले कति खुलेआम हुन्डी कारोबार भइरहेको छ भन्ने छर्लङ्ग पार्छ ।

    अहिले नेपाली युवालाई लक्षित गरेर बेटिङ नेटवर्कको विस्तार गरिरहेको छ । नेपालमा बेटिङ र ‘अनलाइन ट्रान्जेक्सन’ पनि सहज नभएकाले यसका लागि वान् एक्स बेटले नेपालीलाई नै एजेन्ट रूपमा प्रयोग गरिरहेको पाइएको छ ।

    वान् एक्स बेट निकट स्रोतले दिएको जानकारीअनुसार नेपालमा अहिले ५० देखि १०० जनाको हाराहारीमा वान् एक्स बेटका लागि काम गर्ने एजेन्टहरू छन् । “नेपालमा ५० देखि १०० जनाको बीचमा एजेन्टहरू छन्, जसले वान् एक्स बेटको वेबसाइट तथा मोबाइल ‘एप्लिकेसन’मा गएर अनलाइन गेम खेल्न र बेटिङका लागि आवश्यक पर्ने पैसा ‘डिपोजिट’ र ‘विथ्ड्र’ गर्ने माध्यम बन्ने गरेका छन्”, स्रोतले नेपाल प्रेससँग भन्यो ।

    स्रोत भन्छ–वान् एक्स बेटमा अकाउन्ट सहजै बन्ने भए पनि पैसा डिपोजिट गर्न र निकाल्न गाह्रो छ। यस्तो अवस्थामा खल्ती, आईएमई पे जस्ता प्लेटफर्मको प्रयोग गरेर पैसा ट्रान्जेक्सन हुन्छ । तर, सोझै तपाईँले आफ्नो डिजिटल वालेटबाट गेमिङ अकाउन्टमा पैसा डिपोजिट गर्न प्रोसेस गरेपछि त्यहाँ नेपाली एजेन्टको नाम र अकाउन्ट नम्बर आउँछ । त्यसरी नाम आउने सबै एजेन्ट हुन् ।

    यसरी बेटिङको अवैध जालो बुनिरहेको वान् एक्स बेटका ती एजेन्टले शुरुमा केही पैसा लगानीसमेत गर्ने स्रोतले जानकारी दिएको छ । “कुनै एक नेपालीले नेपालमा एजेन्ट भएर काम गर्न तयार भयो भने ऊसँग कम्पनीले सम्झौता गर्छ,” स्रोतले भन्यो।

    यो हेर्नुहोस् सम्झौता पत्र

    यसरी सम्झौता गरेर आफूले पैसा लगानी गरेर एजेन्ट बनेका नेपालीको पेमेन्ट प्लेटफर्मबाट वान् एक्स बेटले डिपोजिट र विथ्ड्र गरिरहेको पाइएको छ ।

    यसमा संलग्न व्यक्तिहरु भन्छन्–उदाहरणका लागि, म एजेन्ट भएँ भने, मेरो खल्तीको आइडी र नाम कम्पनीले प्रयोग गर्छ । जब बेटिङ गर्न चाहनेले पैसा डिपोजिटका लागि प्रोसेस गर्छन् त्यहाँ मेरो नाम र आइडी जान्छ । जुन ‘वान् टाइम पासवर्ड’ (ओटिपी) जस्तै हुन्छ । त्यसरी देखिएको अकाउन्टमा पाँच मिनेट भित्र पैसा राखिसक्नुपर्छ । र, यसरी एजेण्टको अकाउन्टमा पैसा राख्यो कसैले भने त्यसको केही मिनेटमै सट्टेबाजको गेमिङ अकाउन्टमा पैसा जान्छ ।

    यसरी आफ्नो पेमेन्ट प्लेटफर्म वान् एक्स बेटले प्रयोग गरेबापत नेपाली एजेन्टले निश्चित प्रतिशत कमिसन पाउने गरेका छन् । त्यस्तै प्रोमोटर र एफिलेटरले पनि आफूले ‘क्लाइन्ट’ बनाए बापत निश्चित पैसा पाउँछन् ।

    “जलानले गरेको प्रोमोसनमा आफ्नो प्रोमोकोड राखेर रजिस्टर गर्न भन्छन्, हो त्यसरी प्रोमोकोड राखेर कसैले रजिस्टर गर्‍यो भने जीवनभर जलानले त्यो क्लाइन्टले हारेको पैसाको २७ प्रतिशत पाइरहन्छन्” स्रोतले भन्यो, “यो इन्स्योरेन्सको एजेन्टले जस्तै कमिसन पाउने तर गैरकानूनी काम हो ।”

    कसरी चुनिन्छ एजेन्ट ?

    साइप्रसमा मुख्य कार्यालय रहेको वान् एक्स बेट कम्पनीमा नेपालका लागि भनेर नेपाली विभाग नै खोलेर नेपाली कामदार राखिएको स्रोतले जानकारी दिएको छ ।

    “त्यो नेपाली डिपार्टमेन्टको कस्टोमर केयरबाट एजेन्टको खोजी सुरु हुन्छ” स्रोतले नेपाल प्रेससँग भन्यो, “नेपालबाट बेटिङका लागि रजिस्टर गरेका प्रयोगकर्ताहरूको कन्ट्याक्ट डिटेल्स हेरेर अलि सहजै ‘कन्भिन्स’ गर्न सकिने खालका मानिसको छनोट हुन्छ, र कस्टमर केयरले उनीहरूलाई इमेलमार्फत अफर पठाउँछ ।”

    त्यसरी आएको इमेलमा ‘वान् एक्स बेट कम्पनीको एजेन्ट बनेर पैसा कमाउन चाहनुहन्छ ?’ भनेर सोधिने गरेको त्यस सञ्जालमा हुनेहरु बताउँछन् । यदि त्यसरी आएको इमेलमा ‘एजेन्ट बन्न चाहन्छु’ भनेर कसैले प्रतिक्रिया पठायो भने उसलाई ह्वाट्सएप अथवा भाइबरमा म्यासेज आउँछ ।

    र, त्यहीँबाट बाँकी प्रक्रिया पूरा गरेर सम्झौतामा हस्ताक्षर गरिसकेर केही समयको ट्रेनिङ पश्चात कम्पनीलाई प्रिपेमेन्ट गरिसकेपछि अर्थात् ‘टेरिफ’ किनिसकेपछि वान् एक्स बेटको एजेन्ट बन्छन् ।

    एजेन्टका लागि छुट्टै म्यासेन्जर एप

    वान् एक्सले आफ्न एजेन्टहरूसँग इन्स्ट्यान्ट म्यासेजिङका लागि ‘रेड्डी’ नामक एप प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल प्रेसलाई उपलब्ध भएको सम्झौता पत्रमा एजेन्टले कम्पनीको तर्फबाट रेड्डी एप पाउने र त्यसमा आकस्मिक सम्वाद, प्राविधिक समस्या र समाधान आवश्यक हुने विषयमा कुरा गर्न सकिने उल्लेख छ । त्यसबाहेकका अन्य सम्पूर्ण व्यावसायिक कुरा स्काइप, ह्वाट्सएप र भाइबरमार्फत गर्नुपर्ने पनि उल्लेख छ ।

    यो हेर्नुहोस्…

    टेरिफ के हो ? कति पैसामा किनबेच हुन्छ ?

    टेरिफ किन्नु भन्नाले एजेन्टले वान् एक्स बेटमा शुरुमा केही पैसा डिपोजिट गर्नुपर्ने हुन्छ । “नेपालको हकमा न्यूनतम ३ लाख नेपाली रूपैयाँदेखि टेरिफ प्याकेज सुरु हुन्छ । यसरी टेरिफ किनिसकेपछि त्यो एजेन्टले त्यति पैसा बराबरको ट्रान्जेक्सन गर्न सक्छ । यो सोझो तरिकाले बुझ्दा हुन्डी जस्तो हुन्छ ।

    एजेन्टले वान् एक्स बेटलाई दिन्छन् अनि एजेन्टले सट्टेबाजसँग पैसा लिन्छ । वान् एक्स बेट निकट स्रोतका अनुसार एजेन्ट एक जना मात्रै व्यक्ति बन्न मिल्दैन । किनभने, जुनसुकै बेला पनि पैसा डिपोजिट र विथ्ड्रको रिक्वेस्ट आउन सक्ने भएकाले सातै दिन चौबीसै घण्टा उपलब्ध हुनुपर्छ ।

    त्यसैले एजेन्टको समूहमा कम्तीमा तीन जना सदस्य हुनुपर्छ त्यसो गर्दा ८/८ घण्टा तीन जनाले बाँडेर काम गर्न सक्छन् ।

    ईसेवा, खल्ती, आईएमई पे जस्ता डिजिटल वालेट नै वान् एक्स बेटका प्रमुख कारोबारी माध्यम बनेका छन् । तर, यसबारे ‘उनीहरूलाई थाहै नदिई ‘थर्ड पार्टी सर्भिस’ को रूपमा प्रयोग भइरहेको स्रोतले जानकारी दिएको छ ।

    “उनीहरूको सर्भिस प्रयोग भइरहेको भए पनि वान् एक्स बेटले थाहा दिएको छैन, यदि कुनै पनि एजेन्टको अकाउन्टमाथि शंका गर्‍यो भने अकाउन्ट ब्लक गरिदिन्छ” स्रोतले भन्यो, “त्यसो भएकाले एजेन्टहरूले समय समयमा अकाउन्ट नै परिवर्तन गरेर कारोबार गर्ने गरेका छन्, जसबाट बैङ्कले ट्रयाक गर्ने सम्भावना पनि कम हुने भएकाले बडो चलाखीपूर्ण तरिकाले यो कार्य निर्वाध रूपमा भइरहेको छ ।”

    अझै यसरी ट्रान्जेक्सन गर्दा केही समस्या भयो भने बैङ्क तथा डिजिटल वालेटमा फोन नगर्न पनि कम्पनीले बारम्बार सूचना पठाउने गरेको छ । यस्तो अवैध सट्टेबाजीमा नेपालबाट दैनिक कम्तीमा १० देखि १५ लाख रूपैयाँ हुण्डीका रूपमा विदेशिने गरेको यसमा संलग्न जानकारहरु बताउँछन् ।

    सट्टेबाजी सिरिज–१: युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन

    सट्टेबाजी सिरिज–२: नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’

  • प्रधानमन्त्री ढुक्क- प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, सूर्य चिह्न अन्त जाँदैन

    प्रधानमन्त्री ढुक्क- प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, सूर्य चिह्न अन्त जाँदैन

    काठमाडौं । पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता एकाएक ह्वात्तै बढेको छ । बालुवाटारबाट सिंहदरबारसमेत नजाने प्रधानमन्त्री अचेल दिनहुँ पार्टी कार्यकर्तालाई उत्साह भर्न मैदानमा उत्रिन थालेका छन् ।

    प्रधानमन्त्रीले कार्यक्रमहरुबाट स्पष्ट रुपमा दुई सन्देश दिन खोजेका छन्- पहिलो कुरा प्रतिनिधिसभा पुन:स्थापना हुँदैन । दोस्रो चाहिं नेकपाको आधिकारिकता र सूर्य चिन्ह आफ्नै नेतृत्वको पार्टीले पाउँछ ।

    शनिबार ओली काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा अझ प्रष्ट रुपमा प्रस्तुत भए । उनले प्रतिनिधिसभा विघटन संविधान अनुसार नै गरेको भन्दै पुन:स्थापना हुन्छ कि भन्ने भ्रम कत्ति पनि नपाल्न कार्यकर्तालाई निर्देशन दिए ।

    ओलीले भने–कतिपय साथीहरुमा प्रतिनिधिसभा पुन:स्थापना हुन्छ कि भन्ने अन्याेल पनि रहेछ । दुई चारजनालाई झुक्याउन अरुले भन्दैछन् । तर देश चुनावमा गइसक्यो । ६४ प्रतिशत बहुमत प्राप्त दलको नेताले म सरकार चलाउँदिन, ताजा जनादेशमा जान्छु भनेपछि पुन:स्थापना गरेर कहाँ पठाउने ? ३६ प्रतिशतले सरकार बनाउन सक्छ ? त्यसैले यो भ्रममा कोही नबसौं ।

    ओलीले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन भएको भन्दै बहुमतको सरकारले विघटनको सिफारिश गरिसकेपछि अर्को सरकार बन्ने अवस्था थियो भन्ने कुरालाई संविधानले नचिन्ने दाबी गरे । उनले प्रचण्ड–माधव नेपाल पक्षले सरकार र पार्टी विघटन गरेर प्रतिगमन गर्न लागेपछि राष्ट्रको बाँकी अवधि खेर जान नदिन चुनाव गर्नुपरेको बताए ।

    ओलीले भने– घरवाला भन्दैछ छानो चुहियो अर्को बनाउँछु, पुरानै छानो चाहियो भनेर छिमेकी कराउँछ भने त्यसको कुनै अर्थ छैन । छिमेकीले पुरानै छानो चाहियो भन्नु खरका टुक्रा खोजे जस्तै हो प्रतिनिधिसभा पुन:स्थापना ।

    ओली र रामबहादुर थापा बादलले प्रचण्ड–माधव नेपालको नेतृत्वमा हुन लागेको प्रतिगमन तथा प्रतिक्रान्तिलाई रोक्न प्रतिनिधिसभा विघटनको विकल्प थिएन भन्ने तर्क गरेका छन् । आफ्नो सरकार ढालेर पार्टी फुटाएर बाह्य तत्वसँग साँठगाँठ गरेपछि उनीहरुको योजना असफल पारिएको दुवै नेताले बताए ।

    प्रतिनिधिसभा पुन:स्थापनाको माग राखेर प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको सडक आन्दोलनका कार्यक्रम घोषणा गरिरहँदा ओलीले प्रश्न गरे– कसले भन्यो पुन:स्थापना हुन्छ भनेर ? दुई चारजनालाई झुक्याउन त पाइयो । मुद्दा मामिला गर्न पनि पाइयो ।

  • कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक

    कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक

    काठमाडौं । शिल्पी थिएटरका कलाकारले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिको विरोध गर्दै आज (शनिबार) माइतीघरमण्डलमा सडक नाटक प्रस्तुत गरेका छन्।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको सँघारमा रहेको र यो अवस्थामा आउनुको कारण पद तथा कुर्सीको लोभ हो भन्ने चर्चा चलिरहेको छ । सोही विषयप्रति व्यङ्ग्य गर्दै बत्तीसपुतलीस्थित शिल्पी थिएटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका हुन् ।

  • कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक (फोटो फिचर)

    कुर्सीको लडाईंप्रति व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक (फोटो फिचर)

    काठमाडौं । शिल्पी थिएटरका कलाकारले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिको विरोध गर्दै आज (शनिबार) माइतीघरमण्डलमा सडक नाटक प्रस्तुत गरेका छन्।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको सँघारमा रहेको र यो अवस्थामा आउनुको कारण पद तथा कुर्सीको लोभ हो भन्ने चर्चा चलिरहेको छ । सोही विषयप्रति व्यङ्ग्य गर्दै बत्तीसपुतलीस्थित शिल्पी थिएटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका हुन् ।

               
  • पहिलो खेलमै सन्दीपले लिए दुई विकेट, होबार्ट हरिकेन्स विजयी

    पहिलो खेलमै सन्दीपले लिए दुई विकेट, होबार्ट हरिकेन्स विजयी

    अष्ट्रेलिया । बिग बास लिगअन्तर्गत सन्दीप लामिछानेले शनिबार आफ्नो टीम होबार्ट हरिकेन्सको तर्फबाट पहिलो खेल खेलेका छन् । नयाँ टीमको लागि सन्दीपले दुई विकेट पनि लिए । उनको टीमले मेलबर्न स्टार्सलाई २१ रनले हरायो ।

    पहिले ब्याटिङ रोजेको होबार्टले पाँच विकेटमा १६४ रन बटुलेको थियो । डाविड मलानाले सर्वाधिक ७६ रन बनाए । मेलबर्नले ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । नेपाली लेग स्पिनर सन्दीपले ४ ओभरमा ३८ रन खर्चे । उनले हिल्टन कार्टराइट र बेन डन्कको विकेट लिए ।

    मेलबर्न स्टार्सको तर्फबाट ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रन बनाए ।

  • ‘सूर्य चिन्ह हामीसँग हुन्छ, अदालत र आयोगले चार्ली च्याप्लिन चिन्छ’

    ‘सूर्य चिन्ह हामीसँग हुन्छ, अदालत र आयोगले चार्ली च्याप्लिन चिन्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल पक्षले पार्टीको आधिकारिकता दाबी गर्नु चार्ली च्याप्लिनको खेल जस्तै हो भन्ने टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेलामा ओलीले सूर्य चिन्ह र नेकपा आफ्नै नेतृत्वमा रहने बताए ।

    ओलीले भने–हाम्रो अदालतले चार्ली च्याप्लिन चिन्न गल्ती गर्दैन । निर्वाचन आयोगले गल्ती गर्दैन । जुँगा हेरेर चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ, कुम हल्लाएको देखेर चिन्छ चार्ली च्याप्लिन को हो भनेर । सूर्य चिन्ह हामीसँग हुन्छ, पार्टी हाम्रो हो ।

    ओलीले प्रचण्ड माधव पक्षले बहुमत हामीसँग छ भन्नु गफमात्र भएको बताए । ओलीको प्रश्न थियो–कहाँको बहुमत ? कुन महाधिवेशनको बहुमत ? कुन कार्यकर्ताको बहुमत ? कहाँबट आयो बहुमत ? तपाईहरुले उनीहरुलाई भोट हाल्नुभएको छ ?

    प्रधानमन्त्री ओलीले भीम रावलतर्फ संकेत गर्दै कार्यकर्ताले जम्मा गरेको ३० लाख रुपैयाँ धनगढीको बैंकबाट अस्तिनै चैट् पारेछन् भने । उनले प्रचण्ड माधव नेपाल पक्षको ध्यान बैंक खातामा राखेको पैसा र पार्टीका कार्यालय तथा जमीनमा रहेको आरोप लगाए ।

  • संक्रिय संक्रमितको संख्या घटेर ५ हजार तल, ४१९ संक्रमित थपिए

    संक्रिय संक्रमितको संख्या घटेर ५ हजार तल, ४१९ संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा देशमा ४१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ६१ हजार ४३८ जना कोरोनाभाइरस संक्रमित भएका छन् ।

    यही अवधिमा ७५० जना भाइरस संक्रमणबाट मुक्त भएका छन् । निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । हालसम्म पीसीआर विधिबाट १९ लाख ४२ हजार ७०२ परिक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

    संक्रमणबाट २४ घन्टामा थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ७११ मा झरेको छ । ५ हजार ७११ आइसोलेसनमा छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभर संक्रमित संख्या ८ करोड ३१ लाख नाघेको छ ।

  • प्रचण्ड–माधवलाई ओलीको प्रश्न– नेकपा बरमझियाको पेडा पसल हो ?

    प्रचण्ड–माधवलाई ओलीको प्रश्न– नेकपा बरमझियाको पेडा पसल हो ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता आफूसँगै रहेको भन्दै प्रचण्ड–माधव नेपाल पक्ष असली हामी हौं भन्दै निर्वाचन आयोग गएकोमा व्यंग्य गरेका छन् ।

    शनिबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले पेरिसडाँडा गएर असली नेकपा हामी हौं भन्दैमा असली नहुने बताए ।

    ओलीले भने–हिजो निर्वाचन आयोगबाट पत्र प्राप्त गरेँ । उहाँहरुले निवेदन हाल्नुभएको रहेछ हामी सक्कली हो भनेर । बरमझियाको पेडा पसल हो र ? सक्कली र असली भन्नलाई ?

    ओलीले जसको घर हो,जसको जमिन हो उसले आफ्नो हो भनेर कतै निवेदन हाल्दै नहिंड्ने बताए । ओलीले नेकपा दाबी गर्दै आफूहरु निवेदन हाल्न जानु नपर्ने बताए । ओलीे प्रचण्ड र माधव नेपाललाई नट बाेल्टकाे संज्ञा दिंदै नेकपारुपी गाडीबाट दुइटा नट बाेल्ट बाहिरिएपछि पार्टीले गति लिएको बताए ।

  • न्यूरोडको सडकबाट छाता हटाउन थालियो

    न्यूरोडको सडकबाट छाता हटाउन थालियो

    सामाजिक संजालमा भाइरल बनेको न्यूरोड–संकटा सडकमा राखिएका छाताहरु हटाउन शुरु गरिएको छ । ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको र भीडभाडले कोरोना जोखिम बढेको भन्दै छाता हटाउने निर्णय स्थानीय व्यापारीले गरेका हुन् ।

    नसोचेको रुपमा सडक भाइरल बनेपछि फोटो खिच्न र टिकटक बनाउनैका लागि पनि मान्छेहरु त्यहाँ पुगिरहेका थिए । भीड मात्र हुने तर व्यापार नहुने समस्या भएकाले हटाउने निर्णय गरिएको संकटा युवा क्लबले जनाएको छ । छाता हटाउने भन्दा पनि बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

    छाता राखेको सातामै संकटाको सडक इन्टरनेटमा भाइरल बनेको थियो । मुलुकका अन्य शहरमा समेत यो स्टाइललाई फलो गरिएको जनाइएको छ । छातालाई हटाउने कि बन्द गर्ने निर्णय गर्न क्लबको बैठक बसेको थियो ।

  • डीभी भिसामा लगाइएको रोक तीन महिना थपियो, डीभी जितेका ४०० नेपाली रोकिए

    डीभी भिसामा लगाइएको रोक तीन महिना थपियो, डीभी जितेका ४०० नेपाली रोकिए

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रोकलाई थप तीन महिना लम्ब्याएका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत गत डिसेम्बर ३१ सम्म कामदार र आप्रवासी भिसामा रोक लगाएका थिए । अब यो रोकावट मार्च ३१ सम्म रहने भएको छ ।

    तर, जनवरी २० देखि राष्ट्रपतीय अफिस सम्हाल्ने तयारीमा रहेका जो बाइडेनले चाहिं ट्रम्पको यो कदमको निन्दा गरेका छन् । उनले आफू ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले लगाएका सबै खराब अध्यागमन नीतिलाई सच्याउने बताएका छन् । बाइडेनले यसो भनेपछि जनवरी २० सम्म यो रोकावट चाहिं कायमै रहने भएको छ ।

    ट्रम्पले प्रतिबन्ध लगाएपछि नेपालबाट डीभी पर्नेहरु अमेरिका जान पाएका छैनन् । २०२१ को लागि डीभी परेकाहरुले भिसा पाएका छैनन् भने २०२० मा डीभी परेका र गएको सेप्टेम्बरमा भिसा पाएका पनि अमेरिका जान पाएका छैनन् । सेप्टेम्बरमा भिसा पाएकाहरु मार्चभित्र अमेरिका पुगिसक्नुपर्नेछ । नभए उनीहरुको भिसाको अवधि समाप्त हुनेछ । यस्तो बेला उनीहरुको भिसा के हुन्छ भन्नेबारे खुलाइएको छैन ।

    ट्रम्पले यस्तो निर्णय गर्दा डीभी परेका ४०० नेपाली नेपालमै रोकिएका छन् । मार्चभित्र अमेरिका नगए भिसा स्थगित हुने जनाइएको छ । अदालतको आदेशपछि डीभी परेका नेपालीको संख्या ४०४ रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

  • प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाको दोस्रो चरणको आन्दोलन घोषणा

    प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाको दोस्रो चरणको आन्दोलन घोषणा

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले एक महिनाका लागि दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको हो ।

    बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन् । जसमा देशभर विरोध प्रदर्शन, भेला, मसाल जुलुस, सभा र विभिन्न राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्नेलगायतका कार्यक्रम छन् ।

    आन्दोलनका क्रममा संविधान वाचन तथा व्याख्या गर्ने कार्यक्रम समेत राखिएका छन् । माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम राखिएको छ । नेकपाको एउटा गुट पार्टीबाट अलग भएको छ ।

    प्रतिनिधिसभा पुनःस्थापनाको मागमा विपक्षी दलहरुको संयुक्त आन्दोलन गर्ने प्रयास असफल भएपछि प्रचण्ड–माधव पक्षले एक्लै आन्दोलन गर्न लागेको हो ।

     

  • सौरभ गांगुलीलाई हृदयघात, आजै छातीको शल्यक्रिया हुने

    सौरभ गांगुलीलाई हृदयघात, आजै छातीको शल्यक्रिया हुने

    भारतीय क्रिकेट टीमका पूर्वकप्तान एवं भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीलाई हृदयघातपछि दिल्लीस्थित उडल्यान्ड अस्पताल भर्ना गरिएको छ । बीसीसीआइ अध्यक्ष गांगुली साइद मुस्ताङ अली क्रिकेट टुर्नामेन्टको तयारीबारे छलफल गर्न बंगाल क्रिकेट बोर्डका अध्यक्ष अभिषेक डालमियासँग इडेन गार्डेन रंगशालातर्फ गएका थिए ।

    चिकित्सकले शनिबार बेलुका उनको छातीमा रक्तप्रवाह गराउनको लागि शल्यक्रिया गर्ने जनाइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले ट्वीट गर्दै गांगुलीको स्वास्थ्य लाभको कामना गरेकी छन् । अहिले गांगुलीलाई आइसीयूमा राखिएको जनाइएको छ ।

  • मदन भण्डारी सम्झिदै बादलले भने–हामीसँग सही नीति र नेतृत्व छ

    मदन भण्डारी सम्झिदै बादलले भने–हामीसँग सही नीति र नेतृत्व छ

    काठमाडौं । नेकपा विभाजनपछि मदन भण्डारीलाई सम्झिने र उनको विरासतको वास्तविक हकदार को भन्ने प्रतिस्पर्धा तत्कालिन एमालेहरुबीच चलिरहेका बेला तत्कालिन माओवादीका नेताहरु पनि मदन भण्डारीको योगदान सम्झिने प्रतिस्पर्धामा छन् ।

    यसअघि प्रचण्डले पटक पटक मदन भण्डारीको प्रसंग भाषणमा ल्याउने गर्थे । तर शनिवार तत्कालिन माओवादी जनयुद्धका एक कमाण्डर रामवहादुर थापा बादलले पनि मदन भण्डारीलाई सम्झिए ।

    ओली पक्षीय नेकपाले काठमाडौंको कमलादीमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले पार्टीलाई र देशलाई नेतृत्व दिन सही बिचार,सही नीति र सही कार्यक्रम चाहिन्छ भन्दै मदन भण्डारीलाई सम्झिएका हुन् ।

    अधिकांश पूर्व एमालेको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै बादलले भने–कमरेड मदन भण्डारीले सही विचार,सही नीति र नेतृत्वको छनौटले सफलता निश्चित गर्छ भन्नुभएको थियो । यो कुनै कितावमा छैन,माक्र्सवादका ठेलीमा छैन ।

    बादलले सम्बृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न अहिले सही नीति र नेतृत्वमा सरकार अघि बढेका बेला नेकपाको एउटा गुट पार्टीबाट अलग भएको बताए ।

  • मंगलबारदेखि मुक्तिनाथ मन्दिर खुला हुने, पीसीआर रिपोर्ट अनिवार्य

    मंगलबारदेखि मुक्तिनाथ मन्दिर खुला हुने, पीसीआर रिपोर्ट अनिवार्य

    लकडाउनपछि बन्द रहेको हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर आउँदो मंगलबारदेखि सर्वसाधारणको लागि खुल्ने भएको छ । मुक्तिनाथ विकास समितिको बैठकले पुस २१ गतेदेखि कोभिड स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिर खोल्ने निर्णय गरेको हो ।

    समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले स्वास्थ्य मापदण्ड पालनासहित १० महिनापछि पूजाआजा खोल्न लागिएको बताइन् । अंग्रेजी नयाँवर्षको छेकोमा मन्दिर खोल्नुले पर्यटनमा राम्रो सन्देश जाने बताइन् । पूजा गर्न जाने दर्शनार्थी र विदेशी पर्यटकले भने अनिवार्य पीसीआर परिक्षण गरेको हुनुपर्ने जनाइएको छ ।

    पुजारी, सुरक्षाकर्मी र मन्दिरका कर्मचारीलाई कोभिड–१९ को संक्रमण हुन नदिन आवश्यक स्वास्थ्य सामाग्री समेत प्रदान गरिने भएको छ । मन्दिरमा पुजा गर्न जाने दर्शनार्थीले बढीमा एक घन्टाको समय पाउने भएका छन् । गत सातादेखि मुस्ताङका होटलहरु समेत खुलेका छन् । गाउँ पर्यटन प्रवद्र्धन मंच (भिटोफ) अध्यक्ष नीरज थकालीले होमस्टेमा आउने पर्यटकलाई स्वागत गरिने बताए ।