Blog

  • प्रचण्ड–माधव पक्षले मण्डललाई हटायो, महतो दलको नेता बने

    प्रचण्ड–माधव पक्षले मण्डललाई हटायो, महतो दलको नेता बने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रदेश नम्बर २ संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

    मंगलबार जनकपुरमा बसेको प्रचण्ड–माधव पक्षीय बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गर्दै शत्रुधन महतोलाई आफ्नो पक्षको दलको नेता चयन गरेको हो।

    ‘बहुमत सदस्यले अविश्वास प्रस्ताव पारित गरे’ दलको नेता चयन भएका महतोले नेपाल प्रेस सँग भने, ‘बैठकले निर्वाचन समिति बनायो । निर्वाचन समितिले आफ्नो तालिका निकाल्यो। त्यो निकालिसकेपछि एकमात्र उम्मेदवारी पर्यो अनि सर्वसम्मत निर्णय भयो।’

    महत्तोले नेकपाका ३२ मध्ये १९ प्रदेश सांसद आफूहरुसित भएको र त्यो बहुमत भएकाले नयाँ नेताको जिम्मेवारी आफूलाई दिएको बताए।

    मण्डलविरुद्ध विरुद्ध उपनेता रामकुमार यादव समक्ष गत बुधबार नै प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । बैठकमा सहभागी नभएपछि बहुमतले अविश्वास प्रस्ताव पारित गरिएको संसदीय दलकी सचेतक बेची लुंगेलीले जानकारी दिइन् ।

    उनले मंगलबार सभामुख सरोजकुमार यादवलाई नयाँ संसदीय दलको नेता चयन भएकोबारे जानकारी गराइसकेको बताइन् । नेकपा विभाजनसँगै संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको छ ।

  • राजनीतिक विवादका कारण पाँच वर्षपछि साझा प्रकाशनको  निर्वाचन

    राजनीतिक विवादका कारण पाँच वर्षपछि साझा प्रकाशनको निर्वाचन

    काठमाडौं । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले पाँच वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ ।
    ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजेदेखि अध्यक्षका लागि मतदान सुरु भएको हो ।

    साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुनसकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को असार मसान्तभित्र अध्यक्षसहितको सञ्चालक समितिको निर्वाचन भइसक्नुपर्ने थियो ।

    व्यवस्थापकीय समस्या राजनीति मिसिएपछि साझा प्रकाशनको साधारणसभा प्रभावित बन्दै आएको थियो । साझा प्रकाशनको विनियममा हरेक तीन वर्षमा पदाधिकारी निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

    पछिल्लो सहकारी नियमावली २०७५ अनुसार २०७५ असार मसान्तभित्र साधारणसभा गरिसक्नुपर्ने थियो । पटक पटक सरकार परिवर्तन, राजनीतिक नियुक्तिले अस्तव्यस्त र राजनीति गर्ने अखडा बनेको साझा प्रकाशनले पछिल्लो पटक २०७७ वैशाख २७ गतेका लागि साधारणसभा तोकेको भए पनि कोरोनाका कारण पुनः स्थगित गरिएको थियो । साझा प्रकाशनको अध्यक्षका लागि साहित्यकार डाक्टर विजय सुब्बा र पूर्व सञ्चालक जीवनचन्द्र कोइराला प्रतिस्पर्धामा उत्रिएका छन् ।

    साहित्यकार डाक्टर सुब्बा यसअघि पनि साझाको सञ्चालक समिति सदस्यमा रहेर काम गरिसकेका छन् । आफूलाई “सिंगो साझा बचाउ अभियानले” उम्मेदवारी बनाएको र साझा भित्र मौलाएको भ्रष्टाचारको अन्त्य गरी राजनीतिबाट जोगाएर साहित्यकारहरुको साझा संस्था बनाउनका लागि सदस्यहरुले आफूलाई विजयी बनाउने विश्वास डाक्टर सुब्बाले व्यक्त गरे ।

    अर्का अध्यक्षका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले पनि साझाभित्रको व्यवस्थापकीय कमिकमजोरी र भौतिक पूर्वाधारको पुनर्संरचनाका लागि आफूले उम्मेदवारी दिएको बताए ।

    कोभिड १९ को जोखिमलाई मध्यनजर गरि साझा प्रकाशनले मंगलबारदेखि शुक्रबार ३ बजेसम्मका लागि कार्यालय परिसरभित्र मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ । निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले स्वास्थ्य सतर्कताका मापदण्ड अपनाएर मतदानको व्यवस्था मिलाइएको जानकारी दिए ।

    सदस्यसचिव भट्टराईका अनुसार अन्य तीन जना सञ्चालकहरु निर्विरोध चयन भएका छन् । महिलातर्फ सीता कुमारी ओझा, खुल्लातर्फ डोरप्रसाद अर्याल र हरिप्रसाद भण्डारी निर्विरोध चयन भएका हुन् । दुई सदस्यीय लेखा सुपरीवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

    अध्यक्षको निर्वाचनको मत परिणाम आगामी २५ गते शनिबार भर्चुअल रुपमा हुने साधारणसभामा जानकारी गराइने पनि निर्वाचन समितिका सदस्य सचिव भट्टराईले जानकारी दिए ।

    सहकारी ऐन २०७४ अनुसार अब निर्वाचित पदाधिकारीको समयावधि चार वर्षको हुनेछ । साझा प्रकाशनको २०७०/७१ देखि लेखा परीक्षण हुनसकेको छैन ।

  • संविधान अनुसार प्रतिनिधिसभा सुचारु हुनेमा ढुक्क छु:  नारायणकाजी श्रेष्ठ

    संविधान अनुसार प्रतिनिधिसभा सुचारु हुनेमा ढुक्क छु: नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधिसभा सुचारु हुनेमा ढुक्क रहेको बताएका छन् ।

    मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधिसभा सुचारु हुनेमा आफूहरु ढुक्क रहेको बताएका हुन् ।

    संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमति बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

    सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उनले बताए । संविधानको धारा ७६ को कुनै पनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत तथा निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर प्रतिनिधिसभा विघटन गरेको भन्ने आम रुपमा आशंका उब्जिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वास समेत व्यक्त गरे ।

    त्यसरी गरिने प्रचार संवैधानिक आयोगमाथि गरेको अपमान तथा अवमूल्यन भएको उनकाे भनाइ छ । सरकारले दबाब र प्रभावमा पारी आफू अनुकूल निर्णय गर्न बाध्य पारे निष्पक्ष निर्णय गर्न जनताले वातावरण बनाइदिने उनले बताए । आफूहरुको आन्दोलन संवैधानिक अंगप्रति नभई असंवैधानिक कदम चाल्ने सरकारविरुद्ध केन्द्रित रहेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।

    पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूहरुसँग रहनेमा कुनै दुविधा नरहेको प्रवक्ता श्रेष्ठले बताए । उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाललगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको जानकारी दिए । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम पूर्ण रुपमा परास्त नगरुञ्जेल सङ्घर्ष जारी राख्ने पनि बताए ।

  • ‘कृषिमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत’

    ‘कृषिमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत’

    काठमाडौं । कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् ।

    डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्री दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी कृषिमा वैदेशिक लगानी ल्याउने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताएका हुन् । कृषि क्षेत्रमा देशकै निजी क्षेत्रबाट अर्बौ लगानी भइराखेको अवस्थामा सरकारले अपारदर्शी निर्णय गरेको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कृषिमा वैदेशिक लगानी भित्र्याउँदा देशको अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने बताए । निजी क्षेत्रको अर्बौ लगानी रहेको क्षेत्रमा सरकोकारवालाहरुसँग कुनै सरसल्लाह नगरी किसानको हित विपरित चालिएको कदम तत्काल फिर्ता लिनुपर्ने उनको भनाई छ ।

    नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले अहिले सम्म लगानी गरेर आधार तयार गरेको क्षेत्रमा प्रतिफल पाउने बेलामा वैदेशिक लगानी ल्याउनु गलत हुने बताए । सरकारले कसैलाई पनि थाहै नदिई राजपत्रमा प्रकाशित गरिसकेकोले तत्काल फिर्ता लिनुपर्ने बताए ।

    किसान अभियान्ता उद्वव अधिकारीले राजनीतिक अस्थिरता र जनप्रतिनिधिहरुको प्रतिनिधिमुलक संस्था नभएको अवस्थामा सरकारले संकास्पद तरिकाले कृषिमा वैदेशिक लगानी ल्याउने निर्णय गरेको बताए ।

    कृषिमा देशभित्रकै लगानी प्रयाप्त भएको अवस्थामा राम्रो योजना दिनुपर्ने ठाउँमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय गरेर गलत गरेको बताए । कृषिको प्रारम्भिक उत्पादनका लागि विदेशी लगानी ल्याउनै नहुने अधिकारीले बताए ।

    सरकारले मन्त्रिपरिषद्को निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित डेरी उद्योग, पशुपंक्षिपालन, माहुरीपालन, माछापालन, फलफूल, तरकारी लगायत कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरी पुस २० गते राजपत्रमा प्रकाशित गरिसकेको छ ।

    राजपत्रमा प्रकाशित भइसकेपछि मात्रै थाहा पाएका कृषि क्षेत्रका सरोकारवालाहरुले सरकारको यस्तो निर्णय तत्काल खारेज हुनुपर्ने माग गरेका छन् । उनीहरुले यस्तो निर्णयलाई खारेज गराउन विभिन्न संघर्षका कार्यक्रम गर्ने समेत बताएका छन् ।

  • एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड, चार विधाको मनोनयन सार्वजनिक

    एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड, चार विधाको मनोनयन सार्वजनिक

    काठमाडौं । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
    मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

    मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।
    वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।

    वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

    मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो ।
    २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक रेग्मीले बताए ।

    आयोजक मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन जारी रहेको छ ।

    इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछ ।

    पल्सर स्पोर्ट्स अवार्डमा अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने बताईएको छ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिने आयोजकले जनाएको छ ।

    वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । अवार्ड कार्यक्रम पुस २८ गते ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमीभर्चुअल रूपमा गरिने आयोजक मञ्चले जनाएको छ ।

    पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) मा हुने अवार्डको अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

  • उपेन्द्र यादवको प्रस्ताव– संसद जिउँदैछ, बैठक बोलाऊ

    उपेन्द्र यादवको प्रस्ताव– संसद जिउँदैछ, बैठक बोलाऊ

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले पनि प्रतिनिधिसभा विघटन नभएको भन्दै बैठक बोलाउनुपर्ने प्रस्ताव गरेका छन् ।

    मंगलबार जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यादवले भने, ‘असंवैधानिक तरिकाले संसद विघटन हुँदैन, प्रतिनिधिसभा जिउँदैछ। सभामुखले बैठक बोलाएर कामकारबाही गर्न सक्नुहुन्छ।’

    उनले अल्पमतमा रहेका प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार समेत नभएको जिकिर गरे। ‘अल्पमतमा परिसकेको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुँदैन’ यादवले भने, ‘प्रधानमन्त्रीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर नै गरेका थिए। उहाँ अल्पमतमा परिसक्नुभएको अवस्थामा प्रतिनिधिसभा भंग गर्नुभयो। यसो गर्न मिल्दैन।’

    जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधव नेपाल पनि सहभागी थिए।

  • लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही

    लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही

    काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।

    गत डिसेम्बर ३० तारिखका दिन मलेशियाबाट काठमाडौँ आएको निगमको उडान नं ४०१६ जहाज बिहान ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलको स्वास्थ्य कक्षमा यात्रुको पिसिआर रिपोर्ट जाँच गर्दा एक यात्रुले पोजेटिभ रिपोर्ट लिएर आएको फेला परेपछि विमानस्थलमा हल्लाखल्ला मच्छिएको थियो ।

    निगमको न्यारोबडी ए ३२० जहाजमा १४५ यात्रु आएका थिए । ती पोजेटिभ यात्रुसहित ५४ जनालाई अहिले होटल क्वारेन्टिनमा राखिएको छ भने बाँकी ९१ जनालाई घर पठाइएको थियो ।

    सो घटनामा निगमको मलेशिया स्टेशनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेशन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर इन्द्र थापालाई निगमले स्पष्टीकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नआएपछि उनीहरुलाई फिर्ता बोलाउनुका साथै होटल क्वारेन्टिनमा बस्ने यात्रुको सम्पूर्ण खर्च दामासायीले असुल उपर गर्ने गरी कारवाही गरेको हो ।

    निगमको आन्तरिक तथा बाह्य स्टेशनका लागि खट्ने जनशक्तिको व्यवस्था गर्न गठित पोष्टिङ कमिटीले स्पष्टीकरण सोेधेको थियो । यो कमिटी महाप्रबन्धकको संयोजकत्वमा मानव संशाधन विभागका उपनिर्देशक, अर्थ विभागका निर्देशकसहित छ सदस्यीय स्थायी प्रकृतिको हुन्छ ।

    कमिटीको पुस १७ को बैठकले कोभिड पोजेटिभ भएका यात्रु आउनुमा निगमका स्टेशनमा खटिएका कर्मचारीको गम्भीर लापरवाही देखिएको भन्दै यसले निगमको साख मात्र नभई देशकै प्रतिष्ठासँग जोडिएकाले कारवाही गर्नुपरेको निगमले उल्लेख गरेको छ ।

    यात्रुको खर्च तीन जनाले बेहोर्नुपरे पनि आर्थिक म्यानेजर थापालाई भने फिर्ता बोलाइएको छैन । बाँकी दुई जनालाई नेपाल बोलाइएको छ । मलेशियाको क्लालम्पुर एयरपोर्टमा निगमको ग्राउण्ड ह्याण्डलिङ एजेन्ट जिएचए लाई पनि स्पष्टीकरण सोधिएको निगमले जनाएको छ ।

    शुरुमा जिएचएलाई क्षतिपूर्ति तिराउने र त्यो नभए कर्मचारीबाटै अशुलउपर गर्ने निर्णय भएको निगम व्यवस्थापनले जनाएको छ । ती यात्रुलाई काठमाडौँका दुई होटलमा राखिएको छ । पिसिआर परीक्षण र होटलमा बसेर खाएको खर्च बेहोर्नु पर्नेछ ।

    सो घटना निगमको उडान इतिहासमा पहिलो भएको र सुशासन प्रवद्र्धनका निम्ति पहिलोपटक स्टेशनका कर्मचारीलाई कारवाही गर्नुपरेको पनि निगमले जनाएको छ ।

    यसअघि निगमभित्र विभिन्न विषयमा कर्मचारीले गल्ती गरेपनि समिति बनाएर छुट दिने गरिएकामा यसपटक भने कारवाही गरेर आगामी दिनमा अन्य कर्मचारीबाट पनि गल्ती नहोस् भन्ने उदाहरणीय कार्य व्यवस्थापनले गरेको निगमको दाबी छ ।

    तीन महिनाअघि निगमको महाप्रबन्धकको रुपमा जिम्मेवारी सम्हालेका डिमप्रकाश पौडेलले संस्थाभित्र सुशासन प्रवद्र्धन र आर्थिक मितव्ययिता अपनाउन आफू कडा रुपमा प्रस्तुत हुने बताएका थिए । रासस

     

  • विरोध गर्नेलाई केपी ओलीले एक-एक गरी सिध्याउँछन्: माधव नेपाल

    विरोध गर्नेलाई केपी ओलीले एक-एक गरी सिध्याउँछन्: माधव नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफ्नो विचार नमान्ने सबैलाई एक/एक गरी सिध्याउने टिप्पणी गरेका छन् ।

    जनता समाजवादी पार्टीले मंगलबार नयाँबानेश्वरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘केपी ओलीले सिध्याउन अहिले पार्टीभित्रबाट सुरु गरेका छन्’ उनको भनाइ छ, ‘विरोध गर्ने अरुलाई पनि एक-एक गर्दै सिध्याउँदै जान्छन्।’

    संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गरेकाले ओलीलाई कारबाही गरिएको उनको भनाइ थियो। सम्बोधनका क्रममा उनले आफूहरु नै आधिकारिक नेकपा भएको र ओली गुटको नेता मात्रै भएको दाबी गरे।

    ‘उनलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ’ उनको भनाइ छ, उनलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कति दिन नेकपा रहने हो।’

  • प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन

    प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।
    सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धि अरबौंं बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन् ।

    सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् ।

    ‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यक लिन ढिलाई गर्नु हुन्न,’ मन्त्री गुरुङले भने, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं ।’

    मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पौष मसान्त भित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गरे । बोर्ड बैठकले विज्ञापनसम्बन्धि राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए ।

    सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो ।

     

  • नेपाली उद्योगलाई संरक्षण गर्न सरकारले ल्यायो ‘एन्टी डम्पिङ र काउण्टरभ्यालिङ’ नियमावली

    नेपाली उद्योगलाई संरक्षण गर्न सरकारले ल्यायो ‘एन्टी डम्पिङ र काउण्टरभ्यालिङ’ नियमावली

    काठमाडौं । सरकारले विदेशी वस्तुको आयातमा हुने अनाधिकृत व्यापार तथा अत्यधिक आयातलाई नियन्त्रण गर्न ‘एन्टी डम्पिङ र काउण्टरभ्यालिङ’ नियमावली  ल्याएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सो नियमावली पास गरेको हो ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नियम अनुसार आयात व्यवस्थापनका लागि सो नियमावली ल्याइएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार नियमावली आएसँगै नेपालजस्ता गरीब देशमा धनी मुलुकहरुले दिने अनुदानका सामान गुणस्तरहीन भएमा सो वस्तुको आयतलाई नियन्त्रण गर्ने छ ।

    साथै कुनै पनि वस्तु विदेशबाट अत्यधिक आयात भइरहेको र सो वस्तुका कारण नेपालका उद्योगहरु अफ्ट्यारोमा पर्ने देखिएमा सरकारले ‘काउण्टरभ्यालिङ’ नियम लगाएर आयात कम गरी स्वदेशी उद्योगलाई संरक्षण गर्ने छ ।

    त्यस्तै अनाधिकृत रुपमा आएका सामान औपचारिक बाटोबाट आउन समेत यसले मद्दत गर्नेछ । सरकारले ल्याएको नियमावलीलाई निजी क्षेत्रले पनि स्वागत गरेको छ ।

    आज उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आज ट्वीट गर्दै त्यसको स्वागत गरेका छन् । साथै उनले टु्वीटमा राजश्व बढी उठाउनका लागि यसको दुरुपयोग नहोस भनेर सरकारको ध्यानआकर्षण पनि गरेका छन् ।

  • जनकपुरमा ओली समूहको शक्ति प्रदर्शन (फोटो फिचर)

    जनकपुरमा ओली समूहको शक्ति प्रदर्शन (फोटो फिचर)

    जनकपुर । केपी शर्मा ओली पक्षीय नेकपाले आज जनकपुरमा शक्ति प्रदर्शन गरेको छ । मधेशविरोधी आरोप खेपिरहेका प्रधानमन्त्री ओली पक्षले जनकपुरमा शक्ति प्रदर्शन गरेको हो ।

    अहिले ओली सरकारमा प्रदेश २ का तीन मन्त्री छन् । पूर्व माओवादी नेता प्रभु साहसमेत लागेपछि ओली पक्षीय नेकपाप्रति जनकपुरवासीको आकर्षण बढेको छ ।


    जनकपुरको रेल्वे स्टेशन परिसरबाट शुरु गरेको प्रदर्शनमा ओली समूहका प्रदेश सांसदहरु, मेयर र उपमेयरहरु सहभागी छन् । प्रदर्शन नेकपा प्रदेश कार्यालय मिथिला भवनमा पुगेर सभामा परिणत हुनेछ । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु जुली महतो, लीलानाथ श्रेष्ठ र प्रभु साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रचण्ड–नेपाल समूहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई आजै हटाउने बताएको छ । नेकपाका प्रदेश इन्चार्जसमेत मण्डल ओली समूहका हुन् ।

     

  • महामारीमै निष्फिक्री सभा, सम्मेलन र आन्दोलन

    महामारीमै निष्फिक्री सभा, सम्मेलन र आन्दोलन

    विराटनगर । प्रतिनिधिसभा विघटनपछि राजधानी काठमाडौंसहित देशका मुख्य शहरमा विरोध प्रदर्शन, सभा–सम्मेलन जस्ता कार्यक्रमले निरन्तरता पाइरहेको छ । नोवेल कोरोनाभाइरस (कोभिड–१९) महामारीका बेला विराटनगरका सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि सडक तताएका छन् । त्यसको असर स्वास्थ्य क्षेत्रमा परिरहेको छ ।

    पार्टीका प्रदर्शन र सभा–सम्मेलनमा सामान्य स्वास्थ्य मापदण्डलाई पालना गरेको पनि पाइँदैन । सभा–सम्मेलनमा सहभागी अधिकांशले मास्कको प्रयोग पनि गरेको देखिंदैन ।

    यसले धेरैजसोलाई के अब कोरोनाको संक्रमण अन्त्य भएको हो ? भन्ने प्रश्न पनि उब्जाइदिएको छ । तर जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरू भने यस कदमलाई आत्मघाती मान्छन् ।

    जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा राजनीतिक दलको यो कदमलाई कोरोनाभाइरसभन्दा खतरनाक मान्छन् । भन्छन्, ‘जे भइरहेको छ, गलत भइरहेको छ । यसले भयानक असर पार्न सक्छ ।’

    उनी पछिल्लो समय कोरोनाभाइरस सुषुप्त अवस्थामा देखिए पनि यसको संक्रमण भने अन्त्य भइनसकेको बताउँछन् ।

    मानिसहरू विरोध प्रदर्शन र सभा–सम्मेलनमा खुला रूपमा सडकमा सहभागी भइरहेका छन् । डा. सुब्बा भने यो किसिमको व्यवहार र मनोविज्ञानमा राजनीतिक प्रभाव देख्छन् ।

    नेताहरूले नै लत्तो छाडेपछि महामारी सकिएको सन्देश गएर जनता पनि गम्भीर हुन छाडे जस्तो देखिएको बताउँदै उनी भन्छन्, ‘अहिले भइरहेका राजनीतिक निर्णय र गतिविधिहरूले घरघरमा संक्रमण फैलाउने वातावरण तयार पारेको छ ।’

    कोशी अस्पतालको कोरोना उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देल कोरोनाको अन्त्य भइसकेको जस्तो गरी निष्फिक्री हिंड्ने बेला भइनसकेको बताउँछन् ।

    ‘संक्रमणको खतरा टरेको छैन’ डा. सिग्देल भन्छन्, ‘राजनीतिक एजेण्डाले जनस्वास्थ्यको संवेदनशीलतालाई छायाँमा पारेको देखियो । जनस्वास्थ्यको मापदण्ड पालना गर्नै छाड्नु वास्तवमै खतरनाक छ ।’

    संक्रमणको अवस्थालाई हेर्ने हो भने माघको अन्तिम साता या फागुनको पहिलो हप्ताभित्र कोरोनाको दोस्रो चरण देखिन सक्ने भएकाले त्यतिखेरसम्म चाहिं यो भीडभाड कम गर्नु आवश्यक रहेको उनले बताए ।

    डा. सिग्देलले दोस्रो चरणको संक्रमण नेपालमा भित्रिएको अवस्थामा त्यसका लागि आवश्यक तयारी समेत नभएकाले निकै खतरा निम्तिन सक्ने बताए ।

    कोभिड–१९ विरुद्ध खोप लगाउन थालेका विकसित मुलुकहरूको यो स्तरको संवेदनशीलताले महामारी मध्यान्तरमा रहेको बुझ्नुपर्ने डा. सिग्देल बताउँछन् ।

    ‘सामान्य स्वास्थ्य मापदण्ड कतैबाट पनि पालना गरेको देखिएन’ डा. सिग्देलले भने, ‘यदि युरोपेली मुलुकमा जस्तै नेपालमा पनि कोरोनाको दोस्रो कहर देखिएमा हाम्रो नियन्त्रण भन्दा बाहिर जान सक्छ । अहिले नै यस्तो निष्फिक्री हुने अवस्था आइसकेको छैन ।’

    कोभिड–१९ विरुद्ध खोप लगाउन थालेका विकसित मुलुकहरूको यो स्तरको संवेदनशीलताले महामारी मध्यान्तरमा रहेको बुझ्नुपर्ने डा. सिग्देल बताउँछन् ।

    डा. सिग्देल अझै पनि लक्षण भएका शंकास्पद संक्रमितहरूको परीक्षण नभइरहेको बताउँछन् । यो अवस्थामा संक्रमण दर घटेको भन्न नसकिने उनको कथन छ । पछिल्लो समय बढेको राजनीतिक नाराजुलुस र सभाहरूको असर दुई हप्तापछि देखिने पनि उनी बताउँछन् ।

    ‘अहिले एकबाट अर्को समुदाय र परिवारमा भाइरस फैलिइरहेको छ’ डा. सिग्देल भन्छन्, ‘हामीले योभन्दा कठिन अवस्थाको सामना गर्नुपर्ने दिन आउन सक्छ ।’

    उनी भन्छन्, ‘महामारी नियन्त्रणमा युद्धस्तरमा लाग्नुपर्ने सरकारी निकायहरू भाइरसलाई यसरी हलुका रूपमा सोचिरहेका छन् । सरकार, दल र समाजको व्यवहार उग्र छ । सार्वजनिक यातायात भरिभराउ छन्, चोकचोकमा दिनहुँ नाराजुलुस भइरहेका छन् । हात धुने, मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना हुन छाडेको छ ।’

    महानगरले रोक्यो परीक्षण

    विराटनगर महानगरपालिकाले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ । उसले स्वाब संकलनमा मोबाइल पीसीआर भेन र जैन भवनमा भीटीएमबाट गरिने दुवै परीक्षण बन्द गरेको हो ।

    मेयर भीम पराजुली संक्रमितहरूको संख्या न्यून भएपछि कोरोना परीक्षणको काम स्थगित गरिएको बताउँछन् ।

    ‘पछिल्लो समय कोरोना परीक्षणका लागि आउने मानिसको संख्या ह्वातै घट्यो’ मेयर पराजुलीले भने, ‘लक्षित वर्ग नै परीक्षणको लागि आउने क्रममा कमी आएपछि अत्यधिक खर्चिलो पीसीआर परीक्षणको सेवा महानगरले हाललाई बन्द गरेको छ ।’

    महानगरले संक्रमित भएर स्वाब दिने ठाउँसम्म पुग्न नसकेका अशक्त, वृद्ध र बालबालिकाका लागि मोबाइल पीसीआर भेन सञ्चालनमा ल्याएको थियो ।

    त्यसैगरी विराटनगरमा कोरोनाभाइरसको संक्रमण बढेपछि जैन भवनमा गत वैशाख ५ गतेदेखि कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको स्वाब संकलनको व्यवस्था मिलाइएको थियो ।

    गएको पुस २ गतेबाट जैन भवनबाट गर्दै आएको स्वाब संकलन कार्य पनि महानगरले रोकेको छ । विराटनगरमा हालसम्म ८ हजार ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

    प्रदेश–१ मा ७८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण ४४१ जनाको मृत्यु भएको छ ।

    कोभिड–१९ विरुद्ध लडाइँको अग्रपंक्तिमा रहेका चिकित्सक, भाइरोलोजिष्ट, जनस्वास्थ्यविद् सबै कोरोना महामारी होइन, त्यसको डर सकिएको बताउँछन् । उनीहरूका अनुसार नेपालमा भाइरसको डर र सावधानी उत्कर्षमा पुग्न सक्ने बताइरहेका समयमा परीक्षण अत्यन्तै कम हुने गरेको छ ।

    अहिले प्रदेश–१ मा नै दैनिक दुईदेखि तीन जना संक्रमितको मृत्यु भइरहेको छ । भेन्टिलेटरमा पुग्नेको संख्यामा पनि कमी आएको छैन ।

    प्रदेश–१ को सामाजिक विकास मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार अहिले तीन जना संक्रमित भेन्टिलेटर र ११ जना आईसीयूमा छन् ।

    प्रदेश–१ मा ७८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण ४४१ जनाको मृत्यु भएको छ ।

  • भार प्रेषण केन्द्रमा आकस्मिक अनुगमन, लोडेसेडिङको सम्भावना छैन

    भार प्रेषण केन्द्रमा आकस्मिक अनुगमन, लोडेसेडिङको सम्भावना छैन

    काठमाडौं । गत शनिवार प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया सहितको टोली विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको आकस्मिक अनुगमनमा निस्कियो ।

    प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको अनुगमनका क्रममा काठमाडौंमा झ्याप्प झ्याप्प बत्ती गइरहनुको कारण खोजियो । अनुगमनका क्रममा लोडसेडिङ नभएको र माग अनुसारनै विद्युत आपूर्ति भइरहेको देखियो ।

    नेपालमा बिजुली बत्तीको प्रयोग साँझमा धेरै हुने गरेको छ । त्यसैले साँझ अनुगमन गरिएको थपलियाले बताए । नियमित रुपमा मुलुकभर १४ सय १० मेगावटको माग हुने र, विद्युत प्राधिकरणले सो मागलाई सहजै आपूर्ति गरेको पाइएको उनले जानकारी दिए ।

    अनुगमनका क्रममा पिक आवरमा पनि कुनै समस्या नरहेको तर दुई तीन दिन लोड धान्न नसक्दा केही ठाउँमा समस्या भएको पाइएको उनको भनाइ छ । थपलियाले भने,‘ प्रधानमन्त्रीज्यूको पनि बत्तीको समस्या को हो भन्ने चासो थियो ।हामीले हेर्दा पिक आवरमा कुनै पनि समस्या छैन । दुई तीन दिन वत्ती गयो,फेरि लोडसेडिङ हुन लाग्यो भनेर हल्ला गर्न खोजियो । त्यसका राजनीतिक कारण छन् ।’

    भर्खरै फेरिएका मन्त्री र प्राधिकरणलाई हतोत्साही मात्र गर्न खोजिएको उनीहरुको भनाइ छ ।

    काठमाण्डौं उपत्यकामा दैनिक ३८२ मेगावटको माग छ । प्राधिकरणले माग अनुसार सप्लाई गरिरहेको निमित्त महानिर्देशक शाक्यले बताए ।

    उनले भने– अहिले उपत्यकालगायत कहीँ पनि बत्ती जाने समस्या छैन । हामी आफै भार सम्प्रेषण केन्द्रमा गएर सबै कुराको जाँचबुझ गरेका छौं । त्यहाँ ट्रिपिङका कारण आएको अलिअलि समस्या बाहेक त्यस्तो कुनै समस्या छैन । ट्रिपिङकारण समय–समयमा झ्याप्प–झ्याप्प बत्ती गएको हो । त्योभन्दा अरु कुनै समस्या छैन । यो प्राविधिक समस्या हो ।

  • अफ्रिकामा भेटियो कोरोनाभाइरसको नयाँ प्रजाति, बेलायतको भन्दा बढी संक्रमित

    अफ्रिकामा भेटियो कोरोनाभाइरसको नयाँ प्रजाति, बेलायतको भन्दा बढी संक्रमित

    बेलायतपछि दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ प्रजाति भेटिएको छ । बेलायतका स्वास्थ्य सचिव ह्यानकका अनुसार अफ्रिकामा भेटिएको कोरोनाभाइरस कोभिडको नयाँ रुपान्तरित प्रजाति हो । बेलायतमा भेटिएभन्दा खतरनाक र चाँडो संक्रमण हुने भएकाले यसले कोभिड–१९ रोकथामका लागि भैरहेका प्रयासलाइ चुनौति दिने ठानिएको छ ।

    अफ्रिकामा नयाँ भाइरस भेटिनुको अर्थ कोरोनाभाइरसले चाँडो चाँडो रुप परिवर्तन गरिरहेको छ भन्ने हो । बीबीसीलाई अन्तर्वार्ता दिँदै स्वास्थ्य सचिव ह्यानककले अफ्रिकादेखि बेलायत आउने अन्तराष्ट्रिय उडानमा रोक लगाउने तयारी भैरहेको बताए । अफ्रिकामा भेटिएको नयाँ भाइरसलाई हाल विकास गरिएको खोपले काम नगर्ने बताइएको छ ।

    बेलायतमा अफ्रिकी स्वरुपको भाइरस द्रुत गतिमा संक्रमित भैरहेको जनाइएको छ । जसले गर्दा बेलायतले मंगलबारदेखि कडा नियमसहितको लकडाउन घोषणा गरेको छ । ‘बेलायतभन्दा अफ्रिकाको भाइरस निकै कडा र खतरनाक छ’ ह्यानककले बीबीसीलाई भने । बैज्ञानिकले अफ्रिकामा म्युटेसन भएको प्रजाति अरुभन्दा भिन्न रहेको बताएका छन् जुन स्पाइक प्रोटिनमा म्युटेसन भएर मानव कोषमा सजिलै प्रवेश गर्न सक्छ ।

    अफ्रिकाको उक्त प्रजाति बेलायतसहित अन्य मुलुकमा पनि फैलिएको आशंका गरिएको छ । दक्षिण अफ्रिकाको नयाँ भाइरसलाई ५०१.भीटु नाम दिइएको छ । अहिले यो प्रजातिको भाइरस केपटाउनको पूर्वी र पश्चिमी भेगमा फैलिएको छ । बेलायत, अष्ट्रिया, नर्वे र जापानमा भाइरस पुगिसकेको छ । भाइरसको यो म्युटेसनले पहिले संक्रमित भएका व्यक्तिको एन्टीबडीले काम नगर्ने र खोपलाई छिटो छिटो परिवर्तन गर्नुपर्ने चुनौति बैज्ञानिक सामु छ ।

  • काठमाडौं प्रदूषित शहरको ९६औं स्थानमा

    काठमाडौं प्रदूषित शहरको ९६औं स्थानमा

    काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा मौसम चिसिएसँगै काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ । हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीमा अटाएको छ ।

    सोमबार बेलुकीपख उपत्यकाको हावा एकदमै आँखा पोल्ने खालको थियो । साँझपख घरबाहिर निस्कँदा अधिकांशले आँखा पिरो महसूस गरेका थिए ।

    यो समाचार तयार पर्दासम्म काठमाडौं संसारकै प्रदूषित शहरको सूचीमा ९६औं स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले ५ छ ।

    हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले सोमबार बेलुका काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको थियो । पहिलो स्थानमा रहेको काठमाडौंको एक्यूआइ ४८७ थियो ।

    मंगलबार‌ सूचीको पहिलो स्थानमा कीर्गिस्तानको विश्केक शहर रहेको छ । हाल विश्केकको एक्यूआइ ४६९  छ  । यस्तै दोस्रो स्थानमा चीनको वुहान शहर छ । छैठौं स्थानमा भारतको मुम्बई र पाँचौं नम्बरमा बंगलादेशको ढाका छन् ।

     

  • पत्रकारविरुद्ध ‘पाखुरा सुर्केर’ कांग्रेस किन प्रतिवादमा उत्रियो ?

    पत्रकारविरुद्ध ‘पाखुरा सुर्केर’ कांग्रेस किन प्रतिवादमा उत्रियो ?

    ‘नाँच्न नजान्ने आँगन टेढो’ नेपाली जनजिब्रोमा झुण्डिएको यो उखान झट्ट सम्झना भयो । जतिबेला मेलमा आएको नेपाली कांग्रेस केन्द्रीय समितिको विज्ञप्ति पढ्दै थिएँ ।

    १२ वर्षयता राजनीतिक रिपोर्टिङका दौरान कांग्रेसका सयाै‌  विज्ञप्ति पढियो होला । यसपटक कांग्रेसको विज्ञप्ति अलिक चासोपूर्वक पढ्नुपर्यो । जहाँ देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीले आफ्नो पार्टीभित्रको आन्तरिक किचलो ढाकछोप गर्न ‘आफूअनुकूल समाचार नलेख्नेविरुद्ध खेद प्रकट’ गरेको छ ।

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति कांग्रेस केन्द्रीय समितिको जारी बैठकको आधिकारिक धारणा हो । जसमा पार्टीभित्र ‘दुई खाले धारणा नरहेको’ दाबी गर्न ध्यानाकर्षण, खेद र आग्रह गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ– संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ । फेरि पनि यो सुस्पष्ट गर्दै गलत समाचारहरूप्रति खेद प्रकट गर्दै भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयको आधारमा समाचार सम्प्रेषणका लागि सबै संचारमाध्यमलाई नेपाली कांग्रेसको यो बैठक हार्दिक आग्रह गर्दछ ।

    अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती हुनु भनेकै आलोचनालाई ग्रहण गर्ने क्षमता हुनु हो । के कांग्रेसले यस्तो क्षमता गुमाइसकेको हो ? कांग्रेस केन्द्रीय समितिको निर्णयले यो प्रश्न उब्जाइदिएको छ ।

    नेपाली कांग्रेस निःसन्देह आफूलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर ठान्दछ । अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती हुनु भनेकै आलोचनालाई ग्रहण गर्ने क्षमता हुनु हो । के कांग्रेसले यस्तो क्षमता गुमाइसकेको हो ? कांग्रेस केन्द्रीय समितिको निर्णयले यो प्रश्न उब्जाइदिएको छ ।

    खुला राजनीतिक व्यवस्थामा राजनीतिक दलभित्रका छलफलका विषयहरू गोप्य रहन सक्दैनन् । लोकतन्त्रको सौन्दर्य भनेकै पारदर्शिता हो । नेपाली राजनीतिको सावाँ अक्षर चिन्ने जो–कोहीलाई थाहा छ, कांग्रेसभित्र गुटगत लडाईं छ । कांग्रेसको राजनीतिमा वामे सार्ने हरेक कार्यकर्ताले टेक्ने भूगोल र अडिने भित्तो गुटद्वारा निर्मित छन् ।

    पार्टीका आन्तरिक मात्रै होइन राष्ट्रिय राजनीतिका धेरै सवालमा कांग्रेसभित्र भिन्न मतहरू छन् । यो घामजस्तै छर्लङ्ग छ ।  मतान्तर हुनु र भिन्न मतहरू प्रकट हुनु लोकतान्त्रिक पार्टीको कमजोरी नभएर सौन्दर्य हो । के कांग्रेस लोकतन्त्रको यो सौन्दर्यबाट भाग्न खोजेको हो ?

    लोकतान्त्रिक पार्टीभित्र ‘दुई खाले विचार नरहेको’ स्पष्टोक्तिले कांग्रेसको सैद्धान्तिक धरातल मक्किएको स्पष्ट हुन्छ । आफ्नो कमजोरी लुकाउन सञ्चारमाध्यमलाई दोष दिने प्रयत्न लोकतान्त्रिक पार्टीको आधारभूत चरित्रसम्मत छैन ।

    पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता कांग्रेसले देखिने गरी गरेका सबै निर्णयहरू नेपालका सञ्चारमाध्यमको ‘कभरेज’ मा परेकै छन् ।

    पार्टीभित्र ‘अदालतको आदेश कुर्ने’ वा ‘आन्दोलनको मैदानमा होमिने’ भन्नेबारे बहस भएकै थियो । पुस १३ को प्रदर्शनमा सडकमै दुई धारका विचार प्रवाहित भएका थिए ।

    सभापति शेरबहादुर देउवाले भक्तपुरमा संसद पुनस्र्थापना पार्टीको माग नभएको र अदालतको विषय भएको बताइरहँदा काठमाडौंमा संसद पुनस्र्थापनाको मागसहितको ब्यानर कांग्रेस कार्यकर्ताले बोकेकै थिए ।

    सभापति शेरबहादुर देउवाले भक्तपुरमा संसद पुनस्र्थापना पार्टीको माग नभएको र अदालतको विषय भएको बताइरहँदा काठमाडौंमा संसद पुनस्र्थापनाको मागसहितको ब्यानर कांग्रेस कार्यकर्ताले बोकेकै थिए ।

    तनहुँमा रामचन्द्र पौडेलले सडकबाटै संविधानको रक्षा गर्ने बताएको तथ्य लुकाएर लुक्छ र ? सभापति र वरिष्ठ नेताका सार्वजनिक विचारहरू नै कांग्रेसमा ‘दुई खाले धारणा’ छन् भन्ने विषयको पर्याप्त प्रमाण होइन र ? अनि यसैका आधारमा लेखिएका समाचारप्रति लोकतान्त्रिक भनिने पार्टीको ‘खेद’ लज्जाकै विषय होइन र ?

    नेपालको राजनीतिक आन्दोलनमा कांग्रेसले निर्वाह गरेको भूमिकालाई नेपालका सञ्चारमाध्यमले कहिल्यै ‘मिनिमाइज’ गरेका छैनन् ।

    सिद्धान्ततः आफूलाई लोकतान्त्रिक दाबी गरेका कारण ऐन–बखतमा कांगे्रेसप्रति मिडिया र नागरिक समाजले अपेक्षा पनि गर्ने गरेका छन् । यसपटक प्रतिनिधिसभा भंग भएपछि त्यस्तै भूमिका अपेक्षित थियो ।

    सबैजसो मूलधारका सञ्चारमाध्यमले कांग्रेसको धरातल खोजेका थिए । कांग्रेस उभिने धरातल लोकतन्त्र र संविधानवादको पक्षमा हुनुपर्छ भन्ने कसैको अपेक्षा हुनु के गलत हो ?

    कांग्रेसभित्रका गुट, गुटभित्रका स्वार्थ र किचलो सञ्चारमाध्यमका लागि सधैं ‘मसला’ हुन् । तर त्यो ‘मसला’ को उत्पादन सानेपा, बूढानीलकण्ठ र बोहोराटारमै हुने गर्छ । कांग्रेसभित्रका किचलो ‘कविले कविता लेखेजस्तो काल्पनिक’ विषय होइनन् ।

    कांग्रेस केन्द्रीय समितिको पछिल्लो निर्णय त यस्तो लाग्छ मानौं कि कांग्रेसमा बहुलता नै छैन । आफूलाई बहुलवादी भन्ने कांग्रेसले पार्टीभित्र भिन्न विचार छैन भन्नु लाचारी बाहेक केही होइन ।

    कांग्रेस विज्ञप्तिको प्रसंग सामान्य विषय होइन । यसले ‘उठाउन’ खोजेको महत्वाकांक्षा र दवाउन खोजेको ‘अभिव्यक्ति स्वतन्त्रता’ बारे गम्भीर छलफल आवश्यक छ । विगतमा पनि कांग्रेस नेतृत्वबारे आलोचनात्मक समाचार र विचारहरू संप्रेषण हुने गरेकै थिए । तर नेतृत्वले त्यसलाई सामान्य प्रक्रियाका रूपमा लिन्थ्यो ।

    पाखुरा सुर्केर प्रतिवाद गर्ने कांग्रेसको प्रचार नीति कहिले बन्यो ? कांग्रेस नेतृत्वले जवाफ दिनुपर्छ । प्रसंग कांग्रेसको निर्णय र विज्ञप्ति मात्रै होइन आलोचकलाई ‘खुइल्याउने’ प्रचार नीति कांग्रेसको ‘वाररुम’ बाटै भइरहेको छ । जुन आपत्तिजनक छ ।

    आलोचकलाई ‘खुइल्याउने’ प्रचार नीति कांग्रेसको ‘वाररुम’ बाटै भइरहेको छ । जुन आपत्तिजनक छ ।

    २०१६ सालमा दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका वीपी कोइरालाले पत्रकार मदनमणि दीक्षितलाई ‘समीक्षा’ दैनिक प्रकाशन गर्न आर्थिक सहयोग गरेका थिए । पार्टीनिकट र आफ्नो प्रशंसा गर्ने अन्य पत्रिकाहरू छँदै थिए । तर वीपीले सरकारका कामहरूको स्वस्थ आलोचना गर्न ‘समीक्षा’लाई सहयोग गरे ।

    मिडियाबाट हुने खबरदारीले सही बाटोमा हिंड्न आफूलाई प्रेरणा हुने वीपीको बुझाइ थियो । आज तिनै वीपीको पार्टीले सञ्चारमाध्यमलाई खबरदारी गर्न थालेको छ । आलोचनाबाट आत्तिएर कांग्रेसले ‘समाचारविरुद्ध पारित गरेको खेद प्रस्ताव’ कांग्रेसको लोकतान्त्रिक आचरण पतनको उदाहरणका रूपमा रहिरहनेछ ।

  • ओली पक्षले गर्यो ओेखलढुंगा जिल्ला कमिटी पुनर्गठन

    ओली पक्षले गर्यो ओेखलढुंगा जिल्ला कमिटी पुनर्गठन

    काठमाडौं । पार्टी विभाजनमा अध्यक्ष मोहन खड्का प्रचण्ड–माधव नेपाल पक्षमा लागेपछि केपी ओली पक्षले नेकपा ओखलढुंगा जिल्ला कमिटी पुनर्गठन गरेको छ ।

    आइतबार र सोमबार भएको जिल्ला भेलाले केदारबाबु बस्नेतलाई अध्यक्ष र तीर्थ सुवेदीलाई सचिव चयन गरेको छ ।

    तत्कालीन जिल्ला सचिव तथा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ केन्द्रीय सदस्यमा मनोनीत भएकाले श्रेष्ठको ठाउँमा सुवेदीलाई सचिव बनाइएको नेकपाले जनाएको छ ।

    श्रेष्ठ साबिक एमालेको जिल्ला अध्यक्ष थिए । पार्टी एकीकरणपछि जिल्ला अध्यक्ष माओवादीले पाएपछि उनी सचिव भएका थिए । नयाँ अध्यक्ष बस्नेत तत्कालीन एमाले ओखलढुंगाका संस्थापक नेता हुन् ।

    नयाँ अध्यक्ष बस्नेत सिद्धिचरण नगरपालिका वडा नम्बर १ तलुवाका वडाध्यक्ष हुन् भने सुवेदी चम्पादेवी गाउँपालिकाका इन्चार्ज थिए । त्यस्तै जिल्ला कमिटी २५१ सदस्यीय बनाउने निर्णय भएको सुवेदीले बताए ।

    प्रचण्ड–माधव नेपाल पक्षका सदस्यहरुलाई भने कायमै राखेर अध्यक्ष मात्र हटाइएको हो । यसअघि उदयपुरमा पनि नेकपा अ‍ोली पक्षले अध्यक्ष परमेश्वर घिमिरे र सचिव कुशलबाबु बस्नेत चयन गरी जिल्ला कमिटी पुनर्गठन गरेको थियो ।

  • गंगामायाको जीवन रक्षा गर्न मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

    गंगामायाको जीवन रक्षा गर्न मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौं । द्वन्द्वपीडितको न्यायप्राप्तिको हक सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

    छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै पछिल्लो पटक पुस ६ गतेदेखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको वागमती प्रदेश कार्यालयले अनुगमन गरेलगत्तै एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

    अनुगमनको क्रममा निजको स्वास्थ्य अवस्था कमजोर र गम्भीर बन्दै गएको पाइएको आयोगका सह–सचिव यज्ञप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    आयोगले उक्त घटनाको अनुसन्धान गरी दोषीउपर फौजदारी अभियोगमा कारबाही चलाउन तथा पीडित परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन २०६४ चैत २३ गते नेपाल सरकारलाई सिफारिश गरेको पनि स्मरण गराएको छ ।

    लामो समयदेखि किनारा नलागेको कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण जस्ता सशस्त्र द्वन्द्वकालीन मानवअधिकार हनन्का घटनाको सम्बन्धमा जतिसक्दो चाँडो छिनोफानो गरे मात्र पीडितको न्यायप्राप्तिको अधिकार समयमै सुनिश्चित हुनसक्ने आयोगको ठहर छ ।

    यस सम्बन्धमा आयोगको वागमती प्रदेश कार्यालयले उहाँको जीवनरक्षाको लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ ।
    गंगामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षाको लागि तत्काल प्रभावकारी कदम चाल्न र यसअघि सरकारले गरेका प्रतिबद्धता समेत पालना गर्न आयोगले विज्ञप्तिमार्फत ध्यानाकर्षण गरेको हो ।

     

  • मंगलबार सुन तोलामा ११ सयले बढ्यो, तोलाको ९६ हजार  नाघ्यो

    मंगलबार सुन तोलामा ११ सयले बढ्यो, तोलाको ९६ हजार नाघ्यो

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगैै नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ११०० रुपैयाँले बढेको हो ।

    सोमबार छापावाला सुन प्रति तोला ९५,३०० रहेकोमा मंगलबार ९६,४०० पुगेको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला ९५,९०० रहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आज १,३३५ रुपैयाँ प्रति तोला रहेको छ ।

  • चुनावमा प्रचण्ड–नेपाल पक्षसँग सहकार्य हुनसक्छः मन्त्री थापा

    चुनावमा प्रचण्ड–नेपाल पक्षसँग सहकार्य हुनसक्छः मन्त्री थापा

    सुर्खेत । खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका केपी ओली नेतृत्वको नेकपाका नेता मणिचन्द्र थापाले आउँने चुनावमा प्रचण्ड–माधव नेपाल पक्षसँग सहकार्य हुनसक्ने बताएका छन् ।

    कर्णाली प्रदेश ईन्चार्जको जिम्मेवारी पाएपछि जाजरकोटको कार्यकर्ता भेलामा सहभागी हुन पहिलोपटक सुर्खेत आएका थापाले देशी तथा विदेशी तत्वका कारण नेकपा एकता विभाजन भएको बताए ।

    वीरेन्द्रनगरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचनमा अहिले विभाजनको डिलमा पुगेको नेकपा प्रचण्ड नेपालपक्षसँग सहमति र सहकार्य हुने बताए ।

    उनले देशलाई अस्थिरताबाट बचाउँन र जनतासँग म्याण्डेट लिनको लागि अध्यावधि निर्वाचन घोषणा गरिएको दाबी गरे ।

    थापाले भने– अहिले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भए । त्यसैलाई सुधार्न प्रधानमन्त्रीले नयाँ निर्वाचनको घोषणा गर्नु भएको हो । नयाँ सरकार आएपछि मात्रै र जनताले स्पष्ट म्याण्डेट दिएपछि मात्रै स्थायीत्व र समृद्धिको सपना पूरा हुनेछ ।
    उनले तत्काल प्रदेश सरकार विघटनको बारेमा सरकारले नसोचेको बताए ।

    थापाले भने– अहिले पार्टी विभाजन भइसकेको छैन । पार्टी एकता भंग भएको घोषणा भएपछि त्यसबारेमा कुरा गरौंला । अहिले नै प्रदेशसभा भंग गर्ने सरकारको योजना छैन ।

    कर्णालीमा प्रदेश प्रमुख, पार्टी प्रदेश संयोजक र मन्त्री हुने क्षमता भएका ओली समूहमा कोही नेता छैनन् कि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने– म कर्णालीका बारेमा जानकार छु । आगामी दिनमा कर्णालीका सबै नेताहरुले अवसर पाउनेछन् ।

  • सांसद बिडारीद्वारा अध्यादेश अस्वीकार प्रस्ताव दर्ता

    सांसद बिडारीद्वारा अध्यादेश अस्वीकार प्रस्ताव दर्ता

    काठमाडौं । सरकारले राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ। राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले त्यस्तो प्रस्ताव दर्ता गरेका हुन् ।

    आइतबार संघीय सचिवालयमा उनले दर्ता गरेको प्रस्तावमा सरकारले संसद नबोलाइ अध्यादेशबाट शासन गर्न खोजेको र संवैधानिक नियुक्तिमा एकलौटी गर्न खोजेको आरोप लगाइएको छ।

    बिडारीको प्रस्तावमा भनिएको छ– उक्त अध्यादेश नेपालको संविधानको धारा ११४ बमोजिम पहिला पनि जारी भई फिर्ता भएको र संसद्को अधिवेशन ६ महिनाभित्रै बोलाउनुपर्नेमा सो नगरी अध्यादेश जारी गरी संसद् छल्ने काम भएको, धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति–पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएकाले राष्ट्रियसभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गर्दछु ।’

    १७ पुसमा शुरु भएको राष्ट्रियसभाको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गरेको थियो। राष्ट्रिय सभा नियमावलीको नियम ८९ मा अध्यादेश पेस भएको दुई दिनभित्र अस्वीकार प्रस्ताव पेस गर्न सकिने उल्लेख छ।

    सरकारले गत ३० मंसिरमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो ।

  • काठमाडौं प्रदूषित सहरको ९६ औं स्थानमा, बिहानै घरबाट ननिस्कन सुझाव

    काठमाडौं प्रदूषित सहरको ९६ औं स्थानमा, बिहानै घरबाट ननिस्कन सुझाव

    काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा मौसम चिसिएसँगै काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित सहरको सूचीमा अटाएको छ ।

    सोमबार बेलुकीपख उपत्यकाको हावा एकदमै आँखा पोल्ने खालको थियो । साझँपख घरबाहिर निस्कँदा अधिकाशंले आँखा पिरो महसुस गरेका थिए ।

    यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा ९६औं स्थानमा रहेको छ ।काठमाडौंको एक्यूआइ अहिले ५ छ ।

    हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले सोमबार बेलुका काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचिको पहिलो स्थानमा राखेको थियो । पहिलो स्थानमा रहेको काठमाडौंको एक्यूआइ ४८७ थियो ।

    मंगलबार‌ सूचीको पहिलो स्थानमा किर्गिस्तानको विश्केक सहर रहेको छ ।हाल विश्केकको एक्यूआइ ४६९  छ  । यस्तै दोस्रो स्थानमा चीनको वुहान सहर छ । छैठौं स्थानमा भारतको मुम्बई र पाँचौ नम्बरमा बंगलादेशको ढाका छन् ।

    बिहानै घरबाट ननिस्कन जनस्वास्थ्यविद् सुझाव

    पश्चिमी वायुको प्रभावको कारण काठमाडौं उपत्यका चिसिएको छ र घाम लागेको छैन । तराइमा तुवाँलो र उच्च हिमाली भेगमा हिमपात भैरहेका छन् । बुधबार अपरान्हदेखि मात्र मौसम खुल्ने आशा मौसमविद्ले गरेका छन् ।

    जनस्वास्थ्यविद्ले दुई दिनसम्म मौसममा यही स्थिती रहने बताए । जनस्वास्थ्यविद् डा समीरमणी दीक्षितले यो मौसमले श्वासप्रश्वास प्रणालीमा गम्भिर असर पार्ने भएकाले दुई दिन मर्निङ वाक नगर्न र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरे । वायुमण्डलमा रहेका चिसोका कणहरु सतहमा आइरहेको, चिसो हावा सतहमै थिग्रिएको बताउँदै उनले चिसोबाट बच्न आग्रह गरे ।

  • तत्काल फिल्म हल नखोल्न विज्ञको सुझाव, दोस्रो तरंगको चेतावनी

    तत्काल फिल्म हल नखोल्न विज्ञको सुझाव, दोस्रो तरंगको चेतावनी

    तत्काल फिल्म हल र विद्यालय नखोल्न विज्ञले सुझाव दिएका छन् । नयाँ प्रजातिको कोरोनाभाइरस छिमेकी देशमा देखिएको र संक्रमणको जोखिम नघटेकाले तत्काल हल खोल्दा दोस्रो तरंग आउन सक्ने चेतावनी उनीहरुको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले फिल्म हल खोल्न मन्त्रिपरिषद्मा सिफारिस गरेपछि विज्ञले तत्काल हल खोल्न जोखिमपूर्ण हुने चेतावनी दिएका हुन् । राजनीतिक दलको जुलुस, क्लब र बजारमा भएको भीडलाई पनि नियन्त्रण गर्न उनीहरुको सुझाव छ ।

    तर, सीसीएमसी प्रवक्ता महेन्द्रप्रसाद गुरागाइँले चाहिँ फिल्म हल र स्कुल हल खोल्ने निर्णय नभैसकेको बताए । ‘हामीले कुनै क्षेत्र खोल्ने निर्णय गरेका छैनौं तर, खोल्ने वा बन्दै गर्ने भन्नेबारे मन्त्रिपरिषद्मा छलफल गराउने कुरा भएको छ’ उनले भने, ‘संक्रमण संख्या घटेकाले हामीले खोल्नुपर्छ भनेर मन्त्रिपरिषद्मा छलफलका लागि लैजान लागेका हौं ।’

    जनस्वास्थ्यविद्ले चाहिँ सबै क्षेत्र खुलाउने सरकारी तयारीमा प्रश्न गर्दै त्यसो नगर्न सुझाएका छन् । जनस्वास्थ्यविद् डा. केशव देउवाले ठूलो भीडभाड नगर्न भन्ने मान्छेले नै सामाजिक दूरी पालना नगरेको बताए । टेकु अस्पताल प्रमुख डा. सागर राजभण्डारीले पनि संक्रमण घटेजस्तो देखिएपनि जोखिम चाहिँ नघटेको बताए ।

    नयाँ प्रजातिको भाइरस पुरानो भन्दा खतरनाक र संक्रमित रहेको भन्दै उनले सरकारी अधिकारीले सचेततापूर्वक नियम लागु गर्नुपर्ने बताए । डा. देउवाले चाहिँ देश कोरोनाभाइरस मुक्त नभैसकेकाले यसलाई हल्कारुपमा नलिन आग्रह गरे । सरकारले आधिकारिकरुपमा निर्णय नभैसकेपनि व्यवसायीले एकपक्षीय रुपमा हल संचालनमा ल्याएका छन् ।

  • प्रचण्ड-माधव पक्षधर अखिलले मन्त्रीहरुलाई कालो झण्डा देखाउने

    प्रचण्ड-माधव पक्षधर अखिलले मन्त्रीहरुलाई कालो झण्डा देखाउने

    काठमाडौं । प्रचण्ड-माधव नेपाल पक्षधर नेकपा समर्थित अनेरास्ववियूले सरकार विरुद्ध आन्दोलन घोषणा गरेको छ । संगठनले मंगलबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको हो ।

    आन्दोलनका क्रममा केपी ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउनेदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्म कार्यक्रम राखिएको अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले बताए ।

    आन्दोलनका क्रममा प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै वयलगाडा प्रदर्शन र ज्ञापनपत्र तथा धर्ना कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइयो । सो संगठनले लिम्पियाधुरा सहितको नक्सा भएको पाठ्यपुस्कत वितरण गर्न माग गर्दै अनलाइन कक्षाको नाममा लिइएको शुल्क खारेज गर्न दबाब दिने भएको छ ।

    प्रचण्ड–माधव पक्षधर अनेरास्ववियूको संयोजक पनि ऐन महर नै

    पार्टी विभाजनपछि अनेरास्ववियू दुई समूहमा बाँडिए पनि प्रचण्ड-माधव पक्षले संयोजक ऐन महरलाई कायमै राखेको छ ।

    महरमाथि कारवाही गर्न सिफारिस गरिए पनि निर्णय भइ नसकेकोले महरालाई संयोजक मानेरै पत्रकार सम्मेलनमा विज्ञप्ति जारी भएको छ । महर ओली पक्षका नेता हुन् । महर पक्षले पनि सहसंयोजक रन्जितलाई कारवाही गरेको छैन ।

    पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर अन्य प्रदेश इन्चार्ज तथा मुख्यमन्त्रीहरुलाई हटाउने क्रम चले पनि अखिलमा महर हटाउने निर्णय नभएको एक नेताले बताए ।

  • पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको पदयात्रा

    पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको पदयात्रा

    गोरखा । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाडाैंसम्मको पदयात्रा शुरु गरेको छ । गोरखा दरबारको हनुमान भन्ज्याङबाट मंगलवार बिहान पदयात्राका सहभागी हिँडेका छन् ।

    पदयात्राका सहभागी सेना लाई पृतनापती उपरथी विनयविक्रम राणा र गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले संयुक्त रुपमा टर्च, नेपालको झण्डा र नेपाल सेनाका प्रथम छ कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज) झण्डा हस्तान्तरण गरेर शुभारम्भ गरेका छन् ।

    पदयात्रामा गोरखा स्थित रणसिंह दल गण, शार्दूलजंग गुल्मका सेनाहरु सहभागी छन । गुरुज्यूको पल्टन, ब्याण्ड सहितको टोली पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्ग गोरखाको दरबार जोर चौतारी, ताप्ले, अश्राङ, बोर्लाङ, बोर्लाङघाट बाट धादिङ , नुवाकोट हुँदै पुस २६ गते काठमाण्डौं पुग्ने नेपाली सेनाले जनाएको छ ।

    गत वर्षदेखि सेनाले यो पदयात्रा गर्दै आएको हो । नेपाली सेनाको स्थापना पृथ्वीनारायण शाहको नेपाल एकीकरणकै पालामा भएको हो ।

  • वर्ष २०२१ का सम्भावित ठूला घटना, जसले संसार हल्लाउन सक्छन्

    वर्ष २०२१ का सम्भावित ठूला घटना, जसले संसार हल्लाउन सक्छन्

    काठमाडौं । कोरोनाभाइरस महामारीले सन् २०२० को आकार बदल्यो । भाइरस महामारीको कारण अहिले पनि आधा विश्व लकडाउनमै छ । यो प्यान्डेमिकको असर र प्रभाव सन् २०२१ मा पर्ने निश्चित छ । यसवर्ष अन्तराष्ट्रिय एजेन्डाले लकडाउनको प्रभाव र स्थिति क्रमशः सामान्य अवस्थामा फर्कने आशा गर्न सकिन्छ ।

    गतवर्ष एकान्तवास र लकडाउनको कारण ठूला कार्यक्रम रद्द भए । फेसबुक र गुगलले त सन् २०२२ सम्म ठूला कार्यक्रम आयोजना नगर्ने घोषणा गरिसकेका छन् । बाध्य भएर ठूला कार्यक्रम या त रद्द भए या सन् २०२१ मा धकेलिए । जसरी हुनेछन् ठूला कार्यक्रम यसवर्ष, ती सबै डिजिटल प्लेटफर्मममा हुनेछन् ।

    फरिद जकारिया आफ्नो पछिल्लो पुस्तक ‘महामारी पछिको विश्व’ पुस्तकमा लेख्छन्, ‘महामारीले विश्वव्यापीकरणको अन्त्य गरेको छैन बरु यसले ग्लोब्लाइजेसनलाई पुनर्व्याख्या गरिदिएको छ ।’ अरस्तु भन्छन् –मान्छे सामााजिक प्राणी हो ’। अरस्तुको यो भनाइले मान्छेको आशावादितालाई दर्शाउँछ । लेनिन भन्छन् –कहिलेकाहिँ ४० वर्षमा हुन नसकेको परिवर्तन समयले एक सातामै गरिदिन्छ ।’ लेनिनको यो राजनीतिक टिप्पणीले महामारीले बदलेको न्यारेटिभलाई दर्शाउँछ ।

    अवश्य पनि, महामारीले हामीलाई ठूला हैन, साना कुरालाई बुझ्न र सम्मान गर्न सिकाएको छ । सन् २०२० बाट धकेलिएका कार्यक्रम, खेल तथा कला कार्यक्रम लगभग एउटै समयमा हुनेछन् र भौतिक रुपमा हुने कार्यक्रम अब इन्टरनेट प्लेटफर्ममा हुनेछन् । यसवर्ष विश्वमा प्रभाव पार्न सक्ने केही इभेन्टलाई यहाँ प्रस्तुत गरिनेछ ।

    जनवरी

    डिजिटल डेभोस कस्तो हुनेछ ? हरेक वर्ष स्वीटजरल्यान्डको डेभोसमा हुने विश्व आर्थिक सम्मेलन यसपटक ‘डेभोस संवाद’मा मात्र सीमित हुनेछ । भौतिकरुपमा उपस्थित हुने ढंगले आयोजकले सुरक्षित समय निर्धारण गर्नेछन् । जनवरीको २५ को साता कोभिडपछिको विश्वलाई कसरी आकार दिने भन्ने बारेमा डेभोस छलफल हुनेछ ।

    विश्वका ठूला अर्थतन्त्रका राष्ट्र एवं सरकार प्रमुखले भाग लिनेछन् । जनवरी २८ मा हुने सनडान्स फिल्म फेस्टिभल डिजिटल हुनेछ । जनवरी १० मा जो बाइडेनले ४६ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्दैछन् । जनवरी २४ मा पोर्चुगलमा राष्ट्रपति चुनाव हुनेछ । जनवरी ३१ मा ६३ औं ग्रामी अवार्ड हुनेछ ।

    फेब्रुअरी

    यो महिनाको ११ देखि २१ सम्म बर्लिन फिल्म फेस्टिभल हुनेछ । लैंगिक समानतातर्फ यस फेस्टिभलले स्टेप लिने अपेक्षा छ । फेस्टिभलमा अभिनय पुरस्कारलाई सर्वोत्कृष्ट भनेर मात्र दिइनेछ । भन्नुको अर्थ, उत्कृष्ट प्रमुख भूमिका र उत्कृष्ट सहायक भूमिकाको मात्र पुरस्कार दिइनेछ । मेल र फिमेल विभाजन हुनेछैनन् । फेब्रुअरी २८ मा गोल्डेन ग्लोब अवार्ड हुनेछ ।

    मार्च

    भारतमा मार्च २९ मा शिख धर्मावलम्वीको पर्व होला मेहल्ला हुनेछ । तीन दिने यस पर्वमा सहभागिले सैन्य अभ्यास तथा युद्ध कौशल प्रदर्शन गर्नेछन् । यो पर्व शिख गुरु गोविन्द सिंहकै पाला सन् १७१० देखि सुरु भएको मानिन्छ । यस क्रममा सहभागिले धार्मिक गीत तथा भजन गाउँछन् । मार्च ९ म अमेरिकामा एउटा बहुचर्चित मुद्दा चल्दैछ । एलिजाबेथ होम्स र उनका प्रेमी रमेश बल्वानीविरुद्ध मुद्दा सुरु हुनेछ । सात वर्षअघि उनीहरुले थेरानोस नामक कम्पनी खोलेर चिकित्सकीय ल्याब परिक्षणमा क्रान्ति ल्याउने प्रतिबद्धता गरेका थिए । यो मुद्दामा मिडिया मालिक रुपर्ट मर्डक, पूर्व अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले पनि धारणा राख्दैछन् । मार्च ८ मै जर्ज फ्ल्योडको हत्या आरोप लगाएका प्रहरी अधिकारीविरुद्ध सुनुवाइ सुरु हुनेछ । मार्च १७ मा नेदरल्यान्डमा आमचुनाव हुनेछ । मार्च २३ मा इजरायलमा चुनाव हुन्छ ।

    अप्रिल

    अप्रिल २५ तारिखमा विश्व फिल्मको सर्वोच्च अवार्ड अस्कर वितरण हुनेछ । भाइरस महामारीले गर्दा अवार्ड फेब्रुअरी २८ बाट पछि धकेलिएको थियो । भाइरसले गर्दा फिल्मको प्रदर्शन रद्द भएको र थप फिल्म प्रदर्शन हुने एवं अवार्डका लागि मनोनयन खुलाउन ढिलाइ भएकाले बल्ल अवार्ड हुनेछ । जनवरी पहिलो साता हुने गोल्डेन ग्लोब्स पनि फेब्रुअरी २८ मा हुनेछ । बाफ्टा फेब्रुअरी १३ बाट सरेर अप्रिल ११ मा हुने भएको छ । अप्रिल १९ मा राहुल क्यास्ट्रोले क्युवाली कम्युनिस्ट पार्टीको प्रथम सचिवबाट राजिनामा दिनेछन् ।

    मे

    भारतमा लकडाउनपछिको उपचार खोज्नको लागि विश्वको सबैभन्दा लामो दूरीको आरामदायी बसयात्रा सुरु हुँदैछ । दिल्लीबाट छुट्ने ‘बस टु लन्डन’ एसिया, मध्यएसिया र युरोपका १८ देश पुग्नेछ । ७० दिनमा लन्डन पुग्दा यसले १२,४२७ माइल यात्रा तय गर्नेछ । इटालीमा मे २२ मा भेनिस आर्किटेक्चर बाइनियलको उद्घाटन हुनेछ । विश्वको ठूलो कला कार्यक्रम मानिने भेनिस बाइनियल र जर्मन कला प्रदर्शन एउटै समयमा हुनेछन् । युनिभर्सल स्टुडियोले बेइजिङमा पाँचौ थिम पार्क खोल्नेछ । नेदरल्यान्डमा युरोभिजन गीत प्रतियोगिता रोटरड्याममा हुनेछ । मे ६ मा बेलायतका स्थानीय तहको चुनाव आयोजना हुनेछन् । मे २६ मा सबैभन्दा छोटो खण्डग्रास सूर्यग्रहण लाग्नेछ ।

    जुन

    विश्वकै सबैभन्दा पुरानो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता कोपा जुन ११ देखि जुलाइ ११ मा कोलम्बिया र अर्जेन्टिनामा हुनेछ । साथै युरोकप फुटबल पनि यही मितिमा आयोजना हुनेछ । सन् २०२० देखि सरेको यो गेम फुटबल फ्यानका लागि खुशिको खबर हो । महिला युरोपेली च्याम्पियनसिप भने २०२२ मा हुनेछ । टुर डे फ्रान्सको पहिलो चरण पनि सन् २०२२ मा डेनमार्कमा हुनेछ । जुन १० तारिखमा चन्द्र ग्रहण लाग्नेछ ।

    जुलाई

    टोक्योले जुलाइ २३ देखि अगस्ट ८ तारिखसम्म निर्धारित समयभन्दा पछि सरेको ओलम्पिक खेल आयोजना गर्नेछ । टोक्योमा खेल भएको ६ महिनाभित्र सन् २०२२ फेब्रुअरीमा बेइजिङमा शीतकालिन ओलम्पिक हुनेछ । बेलायतमा राजकुमारी डायनाको ६० औं जन्म वर्षगाँठमा उनका दुई छोराहरु राजकुमार विलियम र राजकुमार ह्यारीले आमाको सम्मानमा बनाइएको सालिक अनावरण गर्नेछन् । जुलाई १ मा यो समारोह हुनेछ । अष्ट्रेलियाको दक्षिणी क्वीन्सल्यान्डमा जुलाई ३० देखि १ अगस्टसम्म दुईवर्षमा एकपटक हुने तारा फेस्टिभल अफ कल्चर एन्ड क्यामेल रेस हुनेछ । २२०० मानिस बसोबास गर्ने तारा नामक सानो कृषि सहरमा हुने महोत्सवमा १२ हजार आगन्तुक पुग्छन् ।

    अगस्ट

    अगस्ट १७ तारिखमा माइक्रोसफ्टले २५ वर्षदेखि प्रयोगमा ल्याएको इन्टरनेट एक्स्प्लोरर ब्राउजर बन्द गर्नेछ । यसको विकल्पमा उसले गुगलले विकास गरेको ओपन सोर्स सफ्टवेयर क्रोमियम सफ्टवेयर प्रयोगमा ल्याउनेछ । गुगलको क्रोम तथा अन्य धेरै ब्राउजरमा पनि क्रोमियम नै प्रयोग हुन्छ ।

    सेप्टेम्बर

    फ्रान्समा सेप्टेम्बर ११ मा २६.२ माइलको म्याराथन हुनेछ । उक्त अवसरमा विभिन्न स्थानमा रोकिएर खान पिउन मिल्ने र संगीतको पनि व्यवस्था भएकाले केही यसलाई विश्वकै सबैभन्दा लामो म्याराथन पनि भन्छन् । रुवान्डामा गुरिल्ला संरक्षणको लागि क्विता इजिना पर्व हुन्छ । रुवान्डाको ज्वालामुखी रहेका राष्ट्रिय निकुञ्जमा वार्षिक रुपमा आयोजना हुने क्विता इजिना पर्वमा त्यहाँ पहाडी गुरिल्लाको संरक्षणका लागि पहलकद्मी हुने गर्छ । सेप्टेम्बर ५ मा हङकङ विधान सभाको चुनाव हुनेछ । सेप्टेम्बर २६ मा जर्मनीले संघिय सभाको चुनाव गर्नेछ ।

    अक्टोबर

    अक्टोबर १ देखि २०२२ मार्च ३१ सम्म ब्युरो दे एक्पोजिसनको १७० वर्षको इतिहासमा मध्यपूर्वमा पहिलोपटक वर्ल्ड एक्स्पो हुँदैछ । प्रदर्शनीमा विश्वका १९० देशले भाग लिनेछन् । अक्टोबर १ मा रुसले लुना २५ नामक मुन ल्यान्डरलाई चन्द्रमातर्फ पठाउनेछ । यसले चन्द्रमाको दक्षिणी धु्रवमा टेक्नेछ । यो रुसको सन् २०३० सम्म चन्द्रमामा मानवसहित यान पठाउने योजनाको पहिलो कदम हो । रसियाले अक्टोबर १ मा देशव्यापी जनगणना थाल्नेछ भने जापानले प्रतिनिधि सभाको चुनाव गर्नेछ । अक्टोबर ३१ मा नासाले नयाँ हब्बल टेलिस्कोप लन्च गर्नेछ ।

    नोभेम्बर

    स्कटल्यान्डमा नोभेम्बर १ देखि १२ सम्म राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ । जलवायु परिवर्तनमाथिको संरचनात्मक सभा बेलायतले आोजना गर्ने अन्तराष्ट्रिय सम्मेलन हुनेछ । सम्मेलन सरेपछिको बीचमा अमेरिकामा जो बाइडेन राष्ट्रपतिमा चुनिएका छन् । उनी आएसँगै अमेरिकाले लिने जलवायु परिवर्तनमा बदलाव आउनेछ भन्नुको अर्थ ट्रम्पको निर्णयलाई उनले उल्ट्याउनेछन् । बेलायतको उपनिवेश बारबाडोसले यसै महिनामा विगतका अवशेष हटाउने प्रयासस्वरुप रानी एलिजाबेथलाई देशको राज्य प्रमुखबाट हटाउने भएको छ । अझै पनि १६ देशले बेलायती रानीलाई सेरेमोनियल शासक राखेका छन् । यही महिनामा नासाले चन्द्रमामा यान प्रक्षेपण गर्दैछ ।

    डिसेम्बर

    अमेरिकामा आर्ट बसेल मियामी बीच एकवर्षपछि पुनः हुनेछ । अघिल्लो वर्ष यसलाई मियामी बीच कन्भेन्सन सेन्टरमा अनलाइनमा राखिएको थियो । पछिल्लो समय सेन्टरलाई कोरोना भाइरसको रिजर्भ अस्पताल बनाइएको थियो । डिसेम्बर ४ मा पूर्ण सूर्यग्रहण लाग्नेछ ।

    वर्ष २०२१ मै चिनियाँ कम्युनिस्ट पार्टीले उसको १०० औं स्थापना दिवस सेलिव्रेट गर्नेछ । उत्तर कोरियाली वर्कस पार्टीले आठौं महाधिवेशन गर्नेछ । २०२१ को अन्त्यमा भारतले चन्द्रयान २ प्रक्षेपण गर्नेछ । चीनले यसैवर्ष ठूलो आकार स्पेस स्टेसन निर्माण गर्ने तयारी थालेको छ भने अमेरिका, चीन र युएईले मंगल ग्रहमा रोबोट पठाउनेछन् ।

    २०२१ को सुरुआतदेखि बेलायतमा कोरोनाभाइरसको नयाँ प्रजाति देखिएकाले केही मुलुकले पुनः लकडाउन र सामाजिक दूरीलाई कडाइको साथ पालना गर्दैछन् । केही युरोपेली मुलक र खाडी राष्ट्रले लकडाउन तयारी थालेका छन् । जापान, अष्ट्रेलिया, भारत, नेपाल लगायतले केही मुलुकमा अन्तराष्ट्रिय उडानलाई लगाइएको रोक कायमै राखेका छन् । यसले गर्दा यसवर्ष पनि डिजिटल प्लेटफर्मको प्रयोग बढी हुने आशा गर्न सकिन्छ ।

    सीएनएनका अनुसार मानसिक स्वास्थ्यको मुद्दा सन् २०२१ मा प्रमुख हुनेछ । ‘हामीसँग रोगको भ्याक्सिन त होला तर मानसिक स्वास्थ्यको भ्याक्सिन हुनेछैन’ अमेरिकी जनस्वास्थ्य विभागकी निवर्तमान अध्यक्ष लिजा काल्र्सन भन्छिन्, ‘हामीसँग आयात सीमित हुनेछ । यसले आर्थिक संकट अझै बढाउनेछ । रोगको डर उसै छ । यसले हाम्रो दैनिक तालिकालाई अवरोध गर्नेछ । वास्तवमै संकट चाहिँ २०२१ म गहिरो हुनेछ ।’ आइसोलेसन र प्रविधिको बढ्दो प्रयोगले बालबालिका र वृद्धवृद्धाले झनै कठिनाइको सामाना गर्न जनाइएको छ ।

    तर, संकटमा पनि समाजसेवा र सहयोगी भावनाको उदय हुने विश्वास गरिएको छ । कोभिड महामारीको बेला सहयोगी मन हुनुलाई कालो बादलमा हुने चाँदीको घेरा मानिएको छ ।

  • ‘पर्यटन व्यवसायलाई राहत प्याकेज कागजमै सीमित भयो, म दिक्क भएँ’

    ‘पर्यटन व्यवसायलाई राहत प्याकेज कागजमै सीमित भयो, म दिक्क भएँ’

    डा.धनन्जय रेग्मीको लागि नेपाल पर्यटन वोर्डको कार्यकारी निर्देशक (सिइओ) बन्ने समय भूतले खाजा खाने बेलाजस्तै पर्‍यो । भ्रमण वर्ष २०२० सफल पार्ने महत्वाकांक्षी योजना सहित दश जना प्रतिस्पर्धीलाई पछि पारेर सिइओ बनेका रेग्मी जिम्मेवारीमा आए लगत्तै विश्व कोभिड महामारीको चपेटामा परिहाल्यो ।

    कोभिडले संसारको अर्थतन्त्र धाराशायी बनयो त्यसमा पनि पर्यटन त चौपटनै बन्यो । वर्षेनी १२ लाख पर्यटक नेपाल आउथे,अहिले त्यो संख्या सून्यमा छ र यो क्रम अझै केही समय कायम रहने निश्चित छ । रेग्मी धराशायी भएको पर्यटन उद्योगलाई उठाउने र आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने योजनामा छन् तर सरकारको सहयोबिना सम्भव छैन ।

    उनलाई नियुक्ति गर्ने पर्यटनमन्त्री योगेश भट्टराई सरकार छाडेर सडकमा पुगे पनि नयाँ पर्यटनमन्त्री भानुभक्त ढकालसँग रेग्मीका अपेक्षा धेरै छन् । योगेश र भानुभक्त एउटै पुस्ताका र एउटै राजनीतिक विरासत बोकेका नेता भएकाले पनि नयाँ पर्यटनमन्त्रीको साथ लिएर पर्यटन उद्योगलाई एकपटक फेरि माथि उठाउने उनको प्रयास देखिन्छ । प्रस्तुत छ,पर्यटन वोर्डका सिइओ रेग्मीसँग नेपाल प्रेसकी पवित्रा ढकालले गरेको कुराकानी नेपाल टकमा ।

    कोभिड–१९ को महामारीका कारण पर्यटन क्षेत्रमा सबैभन्दा धेरै क्षति पुगेको अवस्था छ । यसको पुनरुत्थानका लागि पर्यटन बोर्डले अहिले के काम गरिरहेको छ ?

    कोभिड–१९ का कारण पर्यटन व्यवसाय शून्यमा झरेको छ । शून्यमा झरेको पर्यटन व्यवसायलार्ई कसरी जोगाउने भन्ने कुरामा बोर्डको ध्यान केन्द्रित छ । अहिलेको अवस्थामा पर्यटन व्यवसायलार्ई जोगाउन हामीसँग कुनै पनि आधार छैन । यसलाई जोगाउने एक मात्र आधार भनेको नै सरकारी सहयोगको अपेक्षा गर्नु हो ।

    कोभिडका कारण विदेशी पर्यटकको आगमन केही वर्ष नहुने निश्चित छ । त्यसैले अहिले नेपालको पर्यटन व्यवसायलाई जोगाउने हो भने आन्तरिक पर्यटन प्रवर्धन नै हो ।

    पर्यटन व्यवसाय पुनरुत्थान गर्नका लागि ठूलो कोषको आवश्यकता छ । साथै सरकारले व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्छ । पर्यटन व्यवसायीलार्ई सहुलियत कर्जादेखि लिएर कोषको स्थापना गर्ने कुरा सरकारले बारम्बार गर्दै आएको छ तर अहिलेसम्म कार्यान्वयन भएको छैन । कागजमा मात्र भएको आश्वासनले के गर्ने ? त्यसैले अहिले सरकारको आशा गर्ने अवस्था छैन । यसका लागि पर्यटन व्यवसायी नै एकजुट भएर अगाडि बढ्नुपर्नेछ । अहिले पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर कसरी पर्यटन व्यवसायलाई उठाउन सकिन्छ भनेर विभिन्न कार्य गर्दै आएका छौं ।

    सरकारले अहिले पनि धेरै पर्यटन व्यवसायलाई संचालन गर्न दिएको छैन । विदेशी पर्यटक आउनलाई पनि ती व्यवसाय संचालनमा आउनुपर्छ । व्यवसाय खोलेका म्यासेज गएपछि पो पर्यटक आउँछन् । व्यवसाय खोल्दै नखोलेपछि कसरी पर्यटक आउँछन् ?

    यसैले अहिले हामीले पर्यटन व्यवसाय कसरी अगाडि बढाउन सकिन्छ भनेर कार्यविधि बनाएर मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाएका छौं । यसमा र्‍याफ्टिङ कसरी गर्ने, हाई माउन्टेन लज कसरी चलाउने, रात्रिकालीन व्यवसाय कसरी संचालन गर्ने, स्पा कसरी चलाउनेलगायतका धरै कुरा यसमा छन् । त्यस्तै कोभिड–१९ को समयमा कसरी सुरक्षाका मापदण्ड अपनाएर ती व्यवसाय संचालन गर्न सकिन्छ भनेर सरकारलाई सुझाव पनि दिएका छौं ।

    कोभिडका कारण विदेशी पर्यटकको आगमन केही वर्ष नहुने निश्चित छ । त्यसैले अहिले नेपालको पर्यटन व्यवसायलाई जोगाउने हो भने आन्तरिक पर्यटन प्रवर्धन नै हो । यसले पनि आन्तरिक पर्यटन प्रवर्धन गर्नुको विकल्प हामीसँग छैन । पर्यटन बोर्डले अहिले सबै ध्यान आन्तरिक पर्यटन प्रवर्धनमा नै लगाइरहेको छ ।

    यसका लागि पर्यटन बोर्डले स्ट्रिट फेस्टिभल, विभिन्न ट्रिप, एकठाउँको पर्यटकलार्ई अर्को ठाउँमा भ्रमण गराउने तथा प्रचारप्रसारका काम गरिरहेको छ । अहिलेको हाम्रो जोड नै आन्तरिक पर्यटन बढाउने हो । यसका लागि नै पर्यटन बोर्ड व्यस्त छ ।

    आन्तरिक पर्यटनलार्ई प्रवर्धन गर्ने कुरा गरिरहँदा कोरोना महामारी समाप्त भएको छैन । विज्ञहरू कोरोनाको नयाँ रूप आएको छ भन्छन् । आधा विश्व अहिले पनि लकडाउनमा छ । के यस्तो परिस्थितिका बीचमा आन्तरिक पर्यटक घुम्न बाहिर निस्केलान् ?

    नेपालमा कोरोना महामारी सकिएको छैन यो सर्वविदित कुरा हो । तर, हामीले अहिले कोभिड–१९ का लागि अपनाउनुपर्ने सबै सुरक्षाका मापदण्ड अपनाएर बाहिर ढुक्कले निस्कन सक्छौं । शहर–गाउँ अहिले पनि कहाँ बन्द छ र ? आन्तरिक पर्यटन प्रवर्धनका लागि अहिले पनि पर्यटन बोर्डका पदाधिकारी विभिन्न ठाउँमा घुमिरहेका छौं । सुरक्षाको खतरा कहीं पनि छैन । तर, सुरक्षामा अपनाउनुपर्ने सबै प्रोटोकल अपनाउनुपर्‍यो । सबै ठाउँमा सुरक्षाका मापदण्ड अपनाएर होटल तथा रेस्टुरेन्ट खुलेका छन् ।

    वास्तवमा देश घुम्न चाहनेका लागि यो सबैभन्दा उत्तम समय हो । किनभने अहिले पर्यटक स्थलहरू पहिलाको जस्तो भीडभाडयुक्त छैनन् । आनन्दले घुम्न सक्नुहुन्छ । त्यस्तै; होटल, रेस्टुराहरूले दिने सुविधा आधा सस्तो भएको छ । जहाज तथा सवारी साधनको टिकट पनि सस्तोे छ । यो वेलामा नघुमे कहिले घुम्ने ? आनन्दले बाहिर निस्कनुहोस् र देश घुम्नुहोस् । परिवारसँग घुम्ने यो उपयुक्त समय हो ।

    नेपालमा आन्तरिक पर्यटकको संख्या कम छैन । किनभने विगतका दिनमा नेपाल बाहिर गएर घुम्नेको संख्या १२ लाखको हाराहारीमा रहेको देखिन्छ । त्यस्तै १२ लाखकै हाराहारीमा विदेशी पर्यटक आएका थिए । यो बाहिर गएर घुम्ने पर्यटकलार्ई आन्तरिक रूपमा घुमाउन सकियो भने पनि अहिलेको परिस्थितिमा पर्यटन व्यवसायलाई माथि उठाउन सकिन्छ ।

    धरासायी बनेको पर्यटन व्यवसायलार्ई पुनरुत्थान गर्न सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?

    वास्तवमा भन्नुहुन्छ भने सरकारले अहिले केही सहयोग गरेको छैन । किनभने सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्नेमा पर्यटन व्यवसाय दोस्रो स्थानमा रहेको छ । तर आज पर्यटन व्यवसाय नै उठ्नै नसक्ने गरी पछारिएको छ । यसलार्ई जसरी भए पनि उठाउनु छ । अत्यन्त दयनीय अवस्थामा गुज्रिएको पर्यटन उद्योगलार्ई सरकारले छुट्टै राहतको प्याकेज ल्याउनुपर्ने हो । खोइ राहत प्याकेज ?

    राष्ट्र बैंकले ५ प्रतिशतमा पर्यटन व्यवसायीलार्ई दिने भनेको ऋण अझै दिएको छैन । व्यवसाय ठप्प भएको नौ महिना भइसक्यो अहिले पनि व्यवसायी महँगो व्याज तिर्न बाध्य छन् ।

    विदेशी पर्यटक नआउँदासम्म व्यवसायीले कसरी पर्यटन व्यवसाय धान्छन् भन्ने सरकारलार्ई कुनै चिन्ता छैन । कैयौंको रोजगारी गुमेको छ । त्यसले लाखौंलार्ई असर परेको छ । पर्यटन क्षेत्रका दक्ष व्यवसायी तथा कामदार पलायन भएका छन् । अहिले पर्यटन व्यवसायीलाई वास्तवमा सरकार छ कि छैन भन्ने नै द्विविधा छ ।

    सरकारको बुझाइ निजी क्षेत्रबाट कर उठाउने भन्ने मात्र छ । निजी क्षेत्रका समस्यासँग सरकार परिचित छैन । पर्यटन क्षेत्रले मात्र वर्षमा ७७ अर्ब विदेशी मुद्रा आर्जन गर्छ । यसको पुनरुत्थानका लागि सरकारले अहिले ५० अर्ब खर्च गर्न सक्दैन ?

    निजी क्षेत्रले दुःख गरेर पर्यटन व्यवसायलार्ई यहाँसम्म ल्याए । सरकारले पर्यटन क्षेत्रबाट लिइरहेको छ तर, दिने चाहिं काम गर्दैन । सरकारले यसरी नै पर्यटन क्षेत्रलार्ई बेवास्ता गर्ने हो भने चाँडै नै पर्यटन व्यवसायीले आन्दोलन गर्नुको विकल्प छैन ।

    वर्षमा अर्बौं विदेशी रुपैयाँ भित्र्याउने पर्यटन क्षेत्रकै विकासका लागि चाहिं सरकारले कसरी खर्च गरेको छ ?

    सरकारले पैसा त खर्च गर्छ तर त्यो पैसा खर्च कहाँ भइरहेको छ भन्ने हो । पर्यटन क्षेत्रमा हेर्नुहुन्छ भने अहिले जथाभावी रूपमा पैसा खर्च गरिएको छ । उपलब्धि हुने ठाउँमा सरकारले एक पैसा पनि खर्च गरेको छैन ।

    हेर्नुस् ग्रेटर हिमालयनको नाममा अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको छ । यहाँ भएको खर्चको लेखाजोखा छैन । ग्रेटर हिमालयनमा गरेको त्यत्रो खर्चले के उपलब्धि दियो ? एक अर्ब भएको भए त नयाँ गन्तव्य सृजना हुन्थ्यो ।

    तर, हामीसँग अन्तर्राष्ट्रिय जगतमा बेच्ने कुरा ६०/७० वर्ष अघिकै त्यही एउटा हिमाल र लुम्बिनी, चितवन, पोखरालगायतका क्षेत्र छन् । यी एउटै ठाउँको विश्वसामु कतिपटक प्रचार गर्ने ? अब नयाँ गन्तव्य खोज्नु पर्दैन ? हामीसँग त पर्यटकीय सम्भावना बोकेका कैयौं नयाँ ठाउँ छन्, खै ती गन्तव्य खोजेको ? नेपालमा साँच्चै बेच्नुपर्ने र आजसम्म नबेचेको कुरा नेपालको सांस्कृतिक, प्राकृतिक विविधता हो ।

    सरकारको अहिलेको काम भनेको एउटा गाउँमा सानो मन्दिर बनाउने । पाटी, पौवामा खर्च गर्ने, साना पुलपुलेसा बनाउने काममा खर्च गर्ने । यस्तो परिपाटीले पर्यटनको विकास हुन्छ ? वास्तवमा यहाँ टुरिजम प्रोडक्ट भनेको के हो भन्ने नै धेरै मानिसले बुझेकै छैनन् ।

    यो वर्षबाट हामीले स्पष्ट भिजन बोकेर अगाडि बढेका छौं । कुन ठाउँमा के विकास गर्ने भन्ने कुरामा हामी प्रष्ट छौं । अहिले हामीले हिल स्टेशनलाई ‘ल्यान्डिङ पुलिङ’ गर्ने काम गरेका छौं । पर्यटकीय गन्तव्यहरूका सडक, बाटाघाटा, पुलपुलेसा, पानी बिजुली आदि सरकारले बनाउने र यसमा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउँदैछौैं । हामीले अहिलेसम्म पर्यटन विकासका लागि भिजनमा काम गरेका छैनाैं । जुनचाहिं अहिलेको सबैभन्दा कमजोरी पक्ष हो । हामी भिजन लिएर अगाडि बढेका छौं ।

    अर्को कुरा पनि सुन्नुहोस् । सरकारले भिजन बनाएर खर्च गरेकै छैन । जहाँ मन लाग्यो त्यहाँ खर्च गरिन्छ । भिजनमा काम नै हुँदैन । यहाँ अर्को पनि समस्या छ । पर्यटन बोर्डले भिजन बनाउला तर, मन्त्रालयमा महिना–महिना दिनमा पदाधिकारी परिवर्तन हुन्छन् । महिना–महिनामा फेरिने कर्मचारीबाट के काम हुन सक्छ ?

    म बोर्डमा आएपछि नै दुई जना सचिव फेरिइसके । अहिले मन्त्रालयमा तीन महिना पुरानो सह–सचिव छन् । यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ । म त दिक्क पनि भइसकें । एउटालाई बुझायो, फेरि अर्कोलाई बुझायो । बुझाउँदा बुझाउँदै समय गइसक्छ । अनि हामीले बनाएको भिजनमा कहिले काम हुन्छ ?

    केही समय अगाडि पर्यटन व्यवसायमा आवद्ध मजदूरहरूले विभिन्न माग राखेर पर्यटन बोर्डमा पत्र बुझाएका थिए । वास्तवमा के थिए मजदूरका माग र बोर्डले कसरी सम्बोधन गर्‍यो त्यसलाई ?

    वास्तवमा पर्यटन बोर्ड मजदूरहरूको समस्या समाधान गर्ने संस्था होइन । तर, हिमाली क्षेत्रका पदयात्राहरूमा जाने मजदूरहरू बारम्बार दुर्घटनामा पर्ने, बिरामी हुने तथा उद्धार गर्नलाई समस्या हुने भएकाले त्यस्ता खालका जोखिमहरूलाई न्यूनीकरण गर्नका लागि ‘टीम’ कोषको स्थापना गरेका थियौं । त्यो कोषमा विदेशी पर्यटकबाट उठाएको एक हजार रुपैयाँबाट १० प्रतिशत रकम कोषमा जम्मा गर्ने गरिएको थियो । हाल त्यो कोषमा पाँच करोड रुपैयाँ जम्मा भएको छ । मजदूरले त्यो पैसा हिनामिना भयो भन्ने सोचे । र, त्यो पैसा अहिले नै मजदूरका लागि खर्च गर्नुपर्छ भने । त्यति पैसाले उनीहरूको समस्या समाधान हँुदैन । तर, उनीहरूको मागलाई बोर्डले कार्यविधि बनाएर सम्बन्धित निकायमा लगिसकेका छौं । चाँडै नै उनीहरूका समस्या समाधान हुन्छन् ।

    कोभिड–१९ को समयमा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवर्धन कसरी भइरहेको छ ?

    अन्तर्राष्ट्रिय जगतमा अहिले सशरीर उपस्थित भएर प्रचार–प्रसार गर्ने अवस्था छैन । तर, पर्यटन बोर्डले डिजिटल प्रविधिबाट विश्वका विभिन्न क्षेत्रमा जनाउनुपर्ने उपस्थिति र प्रचार–प्रसारको कामलार्ई रोकेको छैन । जूम तथा सोसल मिडियाका सबै माध्यम प्रयोग गरेका छौं । भर्खरै पनि हामीले वी च्याट, टिकटक, फेसबुक, यूट्यूबलगायतका माध्यमबाट विश्वमा प्रचार–प्रसार गरेका छाैं ।

    ४० वर्ष भइसक्यो लुम्बिनी विकास गर्छौं भनेर मास्टर प्लान बनाएर अघि बढेको । अझैसम्म लुम्बिनी विकास गरिसकेका छैनाैं । आज यता खनेको छ, भोलि उता खनेको छ । के बेच्ने हामीले धूलो र माटो ?

    तर, हामीसँग अन्तर्राष्ट्रिय जगतमा बेच्ने कुरा ६०/७० वर्ष अघिकै त्यही एउटा हिमाल र लुम्बिनी, चितवन, पोखरालगायतका क्षेत्र छन् । यी एउटै ठाउँको विश्वसामु कतिपटक प्रचार गर्ने ? अब नयाँ गन्तव्य खोज्नु पर्दैन ? हामीसँग त पर्यटकीय सम्भावना बोकेका कैयौं नयाँ ठाउँ छन्, खै ती गन्तव्य खोजेको ? नेपालमा साँच्चै बेच्नुपर्ने र आजसम्म नबेचेको कुरा नेपालको सांस्कृतिक, प्राकृतिक विविधता हो ।

    अब नेपालले बेच्ने भनेको मध्यपहाडी क्षेत्र हो । यहाँका ठाउँहरूको पहिचान गरी प्रचार–प्रसार गरेर पर्यटक भित्र्याउनुपर्छ । अहिले पर्यटन बोर्डको ध्यान पनि मध्यपहाडी क्षेत्रको भू–भागमा रहेका नयाँ गन्तव्यहरूमा नै छ ।

    तर, ती सम्भावना बोकेका ठाउँहरूमा पूर्वाधार निर्माण भएकै छैन । गन्तव्य खोज्ने र पूर्वधार निर्माण गर्ने कार्य पर्यटन बोर्डको होइन । यो त सरकारको दायित्व हो । यदि सरकारले काम गर्न सक्दैन भने हामीलाई देओस् न बोर्डले गर्छ यी काम । हामी बनाउन तयार छौं ।

    अर्कोतिर ४० वर्ष भइसक्यो लुम्बिनी विकास गर्छौं भनेर मास्टर प्लान बनाएर अघि बढेको । अझैसम्म लुम्बिनी विकास गरिसकेका छैनाैं । आज यता खनेको छ, भोलि उता खनेको छ । के बेच्ने हामीले धूलो र माटो ?

    भारतमा गयो नेपालको बारेमा खूब प्रचार-प्रसार गर्‍यो । नेपाल एकदम सुरक्षित छ घुम्न आऊ भन्यो । भारतीय पर्यटक बोकेर आएको गाडी नेपाल छिर्नासाथ पचास ठाउँमा रोकेर सोधेर हैरान बनाउँछन् । अनि कसरी आउँछन् उनीहरू । यस्तो पाराले पर्यटन व्यवसाय फस्टाउँछ ? अहिले मानिसले के हेर्न खोजेका छन्, ती चिजहरूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा थाहा पाउनुपर्छ ।

    पर्यटन विकासका लागि एउटा लक्ष्य लिएर अगाडि बढ्नुपर्छ । तर, नेपालमा जे मन लाग्यो त्यही गर्ने परिपाटी छ । यस्तो भद्रगोल स्थितिले अन्तर्राष्ट्रिय जगतमा के बेच्नु हामीले ? यस्तो पाराले पर्यटन विकास हुँदैन भनेर अहिले हामीले नेपालको पर्यटनलाई सही दिशा दिने कोशिश गरेका छौं ।

    कोरोनाका कारण भौतिक रूपमा हामी विदेश जानु परेको छैन । यही बेलामा पर्यटन क्षेत्रको विकासमा लागेका छौं । त्यही अनुरूप काम गरिरहेका छौं । मैले अघि पनि भनिसकें अबको नेपालको मूल पहिचान नै मध्यपहाडी भूभागका गन्तव्य हुन् । यी चिजको पहिचान गरेर सरकारले पूर्वाधार निर्माण गरोस्, अन्तर्राष्ट्रिय जगतमा हामी त्यही बेच्छौं । बेच्ने र प्रचार–प्रसार गर्ने काम पर्यटन बोर्डको हो ।

    अहिले पर्यटन बोर्डको मुख्य चुनौती के हो ?

    अहिले पर्यटन बोर्डको मात्र होइन पर्यटन व्यवसायकै सबैभन्दा ठूलो चुनौती नै नाजुक भएको व्यवसायलाई कसरी पुनरुत्थान गर्ने भन्ने हो ।
    हिजोसम्म नेपालमा १२ लाख विदेशी पर्यटक आएकोमा अहिले त्यो संख्या शून्यमा झरेको छ । यसलाई पहिलाको अवस्थामा पुर्‍याउने भन्ने नै हो । चलिरहेको व्यवसायलाई माथि लैजान कठिन छैन तर, धरासायी बनेको व्यवसायलाई माथि पुर्‍याउन निकै कठिन हुन्छ । अर्को चुनौती भनेको संसारभर अहिले सबैले पर्यटक खोजिरहेका छन् ।

    त्यो बजारमा प्रतिस्पर्धा गरेर अरूको भन्दा हाम्रो गन्तव्य हाम्रो छ भनेर पर्यटक बोलाउनु छ । हिजो पर्यटन क्षेत्र मजबूत थियो आज एक रुपैयाँ पनि छैन । पर्यटनमा भएका दक्ष जनशक्ति पलायन भएका छन् । हिजो हामीसँगै काम गरेका गाइडसाथीहरू आज पेन्टरको काम गरिरहेका छन् । हामीले दक्ष जनशक्ति गुमाइरहेका छौं । यस्तो अवस्थामा बोर्डमाथि ठूलो चुनौती थपिएको छ । यो चुनौतीलाई चिर्न हाम्रो मात्र कार्यले हुँदैन यसमा पर्यटन मन्त्रालय, सरकारको नीति, मन्त्रालयका सचिव, बोर्डका सीईओ तथा निजी व्यवसायीले मिलेर अगाडि बढ्नुपर्छ ।

    एउटा पर्यटन मन्त्री भएको बेलामा आएर अर्को पर्यटन मन्त्रीसँग काम गर्नुपर्दा तपाईंलाई आगामी दिन कत्तिको सजिलो होला ?

    अहिले नयाँ मन्त्री आउनुभएको छ । उहाँसँग काम गर्न समस्या होला जस्तो मलाई लाग्दैन । बोर्डले के काम गरिरहेको छ त्यसका बारेमा मन्त्रीज्यूलाई जानकारी दिइसकेको छु । उहाँले पनि राम्रो ढंगले ती कुरालाई मनन् गर्नुभएको छ । पर्यटन क्षेत्रलाई अगाडि बढाउन आफूले सकेको काम गर्ने बताउनुभएको छ । यसले असहज स्थिति पैदा नहोला ।

    नेपाल पर्यटन बोर्डका पदाधिकारीलाई बारम्बार पैसाको अनियमितता गरेको आरोप लागिरहन्छ । यसमा तपाईंको धारणा के छ ?

    पर्यटन बोर्डमा भएको भ्रष्टाचारको बारेमा मैले पनि सुनेको छु । म आउने वित्तिकै पनि अनियमितताको बारेमा मलाई जानकारी गराइएको थियो । म पारदर्शितामा विश्वास गर्छु । यो संस्था पनि पारदर्शी हुनुपर्छ भनेर तीन वर्षदेखि रोकिएको आन्तरिक लेखा परीक्षण गराएँ । तीन वर्षदेखि बोर्डको आन्तरिक लेखा परीक्षण भएको रहेनछ । बोर्डको आन्तरिक लेखा परीक्षण गरेर महालेखा परीक्षक (मलेप) लाई बोर्डमा बोलाएको सात महिना भइसक्यो अझैसम्म आएको छैन ।

    आन्तरिक परीक्षक नभएकाले बोर्डमा भ्रष्टाचार भयो भन्ने कुरा होला । तर, यो प्रमाणित हुनुपर्‍यो नि ! मलेप आएर त्यसको निरीक्षण गर्नुपर्‍यो । कोही त्यसमा दोषी ठहरिए ती व्यक्तिलाई कारबाही हुनुपर्‍यो । त्यसै संस्थालाई बद्नाम गर्नु भएन नि !

  • तोकिएकै मितिमा निर्वाचन गराउन सर्वाेच्चमा रिट, आजै पेशी तोकियो

    तोकिएकै मितिमा निर्वाचन गराउन सर्वाेच्चमा रिट, आजै पेशी तोकियो

    काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ भइरहेका बेला तोकिएकै मितिमा निर्वाचन गराउन माग गर्दै अर्को रिट दायर भएको छ ।

    अधिवक्ता दीपकविक्रम मिश्रले आइतबार दर्ता गराएको रिटको प्रारम्भिक सुनुवाइका लागि आजै पेशी तोकिएको छ । रिटमा तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नगर्नु/नगराउनु भनी अन्तरिम आदेश माग गरिएको छ ।

    सरकारले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते दुई चरणमा नयाँ निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने कुनै गतिविधि रोक्न माग गरिएको हो ।

  • नेपाली महिला समाज पोर्चुगलको निःशुल्क सौन्दर्य तालिम

    नेपाली महिला समाज पोर्चुगलको निःशुल्क सौन्दर्य तालिम

    नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम शुरु गरेको छ ।

    कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै सीप सिकाउने र आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले तालिम आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।

    पोर्चुगलको राजधानी लिस्बन क्षेत्रमा बसोबास गर्दै आएका १० नेपाली महिलाहरुको तालिममा सहभागिता छ । तालिम एक महिना सञ्चालन हुनेछ । तालिमको प्रशिक्षकका रूपमा पोर्चुगलमा लामो समय सौन्दर्य व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यावसायी मीरा कार्की रहेको नेपाली महिला समाज पोर्चुगलका अध्यक्षले निर्मला खराल ढकालले जानकारी दिइन् ।

    स्थापनाकालदेखि नै रचनात्मक एवं सिर्जनात्मक काममा सक्रिय नेपाली महिला समाजले समस्यामा परेका नेपालीलाई सहयोग, नेपाली संस्कृतिको प्रचारप्रसार, नेपालमा बालबालिका तथा महिलालाई आर्थिक सहयोग गर्दै आएको छ ।

  • चुरे जंगलमा करेन्ट लागेर भालुको मृत्यु

    चुरे जंगलमा करेन्ट लागेर भालुको मृत्यु

    उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जंगलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण एक भालुको मृत्यु भएको छ ।

    डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जंगलमा एक भालुको मृत्यु भएको हो ।

    डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत्को तार चुरे जङगलका केही भाग र जमिनमा समेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको भालु मृतावस्थामा भेटिएको जानकारी दिए ।

    नांगो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जंगल क्षेत्रमा विद्युत्को उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक–पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताए। समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीले बताउँछन् ।

    घाइते चितुवाको उद्धार

    दमौली– घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा सोमबार फेला परेको चितुवाको बच्चाको सबडिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो ।

    चितुवाको बच्चालाई चोट लागेकाले उपचारका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको सब डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिए ।

  • देशभर ३० हजार सहकारी, ८८ हजारलाई प्रत्यक्ष रोजगारी

    देशभर ३० हजार सहकारी, ८८ हजारलाई प्रत्यक्ष रोजगारी

    काठमाडौं । पछिल्लो समय देशैभर सहकारी संस्थाहरु खुल्ने क्रम बढ्दो छ । हाल नेपालमा झण्डै ३० हजार सहकारी संस्था सञ्चालनमा रहेका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा गरेको अध्ययन अनुसार हाल मुलुकमा २९ हजार ८८७ वटा सहकारी छन् ।

    २९ हजार ८८६ सहकारीमध्ये संघीय सरकार अन्तर्गत १२५,  प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय तहमा २३ हजार ७५९ सहकारी संस्था रहेका छन् ।

    यसैगरी सहकारी संघसंस्थामा ७३ लाख ७ हजार ४६२ जना सदस्य आवद्ध भएका छन् । उक्त तथ्याङ्क अनुसार सहकारी संस्थामा आवद्ध भएका सदस्यमध्ये महिला सदस्य ५६ प्रतिशत र ४४ प्रतिशत पुरुष सदस्य रहेका छन् । पुरुष सदस्य संख्याको तुलनामा महिला सदस्य १२ प्रतिशत बढी छन् ।

    सञ्चालनमा रहेको झण्डै ३० हजार सहकारी संस्थामा ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८०३ कुल शेयर पूँजी रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ बचत संकलन भएको छ । त्यस्तै ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३८१ कुल ऋण लगानी रहेको सहकारी विभागले जनाएको छ ।

    सहकारी विभागले पहिलो पटक तीन वटै तहको सरकारको विभाजन भएपश्चात सहकारीको एकीकृत विवरण तयार पारिएको सहकारी विभागले जनाएको छ ।

     

    वागमती प्रदेशमा सबैभन्दा बढी सहकारी संस्था

    यसैगरी ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा सहकारी संस्थाहरु छन् । हाल वागमती प्रदेशमा १० हजार ४१८ सहकारी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा छन् ।

    हाल कर्णाली प्रदेशमा १ हजार ९६७ वटा सहकारी सञ्चालनमा रहेका छन् । यस्तै प्रदेश-१ मा ४ हजार ७३७, प्रदेश-२ मा ४ हजार १५३, गण्डकी प्रदेशमा २ हजार ६६१, लुम्बिनी प्रदेशमा ३ हजार ७५५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५० सहकारी संस्था सञ्चालनमा रहेको विभागका उप-रजिस्ट्रार सुरेन्द्रराज पौडेलले बताए ।

    सबैभन्दा बढी वागमतीमा रोजगारी

    २९ हजार भन्दा बढी सहकारीमा ८८ हजार ३०९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारी संस्थामा प्रदेश १ मा सहकारी मार्फत २० हजार ५८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने, प्रदेश २ मा १० हजार ८४३ जनाले रोजगारी पाएका छन् ।

    यस्तै सबैभन्दा बढी वागमती प्रदेशमा रहेका सहकारी संस्थामा ३३ हजार ८९२ जना रोजगार छन् । गण्डकी प्रदेशका ७ हजार ६३८ जनाले सहकारी मार्फत रोजगारी जोडिएका छन् । यस्तै लुम्बिनी प्रदेशमा ६ हजार ९८९ जना, कर्णाली प्रदेशका ४ हजार ५३४ र सुदूरप्रश्चिम प्रदेशका २ हजार ८१५ जनाले सहकारीमार्फत रोजगारी पाएका छन् ।

    सहकारीको सदस्य पुरुष भन्दा महिलाकाे स‌ंख्या धेरै 

    ७ वटा प्रदेश मध्ये प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पुरुष भन्दा महिलाहरु बढी सहकारीमा आवद्ध भएका छन् ।

    सहकारी विभागका अनुसार प्रदेश-१ मा ९ लाख ३५ हजार ७०० सदस्य मध्ये ५ लाख २४९ जना महिला र ४ लाख ३५ हजार ४५२ जना पुरुष सदस्य छन् ।

    यस्तै प्रदेश-२ मा ५ लाख ५५ हजार १९७ जना कुल सदस्य मध्ये २ लाख ५२ हजार ११२ महिला सदस्य र ३ लाख ३ हजार ८५ पुरुष रहेको छ । यस प्रदेशमा महिलाभन्दा बढी पुरुष सदस्य सहकारीमा आवद्ध रहेका छन् ।

    वागमती प्रदेशमा २७ लाख १७ हजार ४६९ जना सदस्य मध्ये १४ लाख ५७ हजार २०२ महिला र १२ लाख ५० हजार २६७ जना पुरुष सहकारीको सदस्य छन् ।

    गण्डकी प्रदेशमा ११ लाख १६ हजार ६३२ सदस्य मध्ये ५ लाख ४२ हजार १३० महिला र ४ लाख ७४ हजार ५०२ जना पुरुष सहकारीको सदस्य छन् ।

    यस्तै लुम्बिनी प्रदेशमा ८ लाख ९८ हजार ६११ जना कुल सदस्य छन् । जसमध्ये ५ लाख ७६ हजार ३१२ महिला र ३२ लाख २२ हजार २९९ जना पुरुष सहकारीमा सदस्य छन् । यस प्रदेशमा सबैभन्दा बढी पुरुष सहकारीमा सदस्य रहेका छन् ।

    यस्तै कर्णाली प्रदेशमा ४ लाख ४ हजार ९५६ जना सदस्य मध्ये २ लाख ७२ हजार ३३ जना महिला सदस्य सहभागी छन् भने १ लाख ३२ हजार ९२३ जना पुरुष रहेका छन् ।

    यसैगरी ५ लाख ४२ हजार ९८९ जना कुल सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा ३ लाख १९ हजार १०० महिला र २ लाख २३ हजार ८८९ जना पुरुष सहकारीमा आवद्ध भएको तथ्याङ्कमा उल्लेख छ ।

    विभागका अनुसार देशैभरको सहकारीमा कुल सदस्य, कुल सदस्य संख्या, कुल शेयर पूँजी, कुल बचत संकलन, कुल ऋण लगानी तथा रोजगारी सृजनालगायतका सूचकमा भने वृद्धि भएको देखिन्छ ।

  • कन्चनपुर घटनाबारे भारतसँग विरोध प्रकट गर्न सरकारलाई कमल थापाको आग्रह

    कन्चनपुर घटनाबारे भारतसँग विरोध प्रकट गर्न सरकारलाई कमल थापाको आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कन्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एएसबी)ले सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति भर्त्सना गरेका छन् ।

    मंगलबार बिहान ट्वीट गर्दै उनले घटनाको छानबिन गर्न र भारत सरकारसँग विरोध प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    हिजो सोमबार साँझ कन्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीले चलाएको गोली लागेर स्थानीय नरेन्द्र सुनार घाइते भएका थिए ।

    घुँडामा गोली लागेका सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भारतीय बजारबाट फर्कने क्रममा जंगल क्षेत्रमा उनलाई गोली प्रहार गरिएको थियो ।

  • संसद भवनभित्र पेस्तोल बोकेर जाने अमेरिकी सांसदको उद्घोष

    संसद भवनभित्र पेस्तोल बोकेर जाने अमेरिकी सांसदको उद्घोष

    एजेन्सी । अमेरिकामा हालै सम्पन्न निर्वाचनमा विजयी एकजना महिला सांसदले वाशिंटन डिसीमा बुधबारदेखि शुरु हुने संसद अधिवेशनका क्रममा पेस्तोल बोकेर जागे घोषणा गरेकी छन् ।

    आइतबार सार्वजनिक गरिएको एउटा भिडियोमा रिपब्लिकन पार्टीकी सांसद लाउरेन बोबर्ट गोलीले भरिएको पेस्तोल बोकेर शहरमा घुमेको देखाइएको थियो । ‘म मेरो बन्दूक बोकेर डीसी र कंग्रेसमा जानेछु’ भिडियोमा उनले भनेकी छन् । यो भिडियो अहिलेसम्म २ मिलियनभन्दा बढीले हेरेका छन् ।

    तर डीसी शहरका प्रहरी प्रमुखले भनेका छन् कि शहरको कानूनअनुसार बन्दूक बोकेर हिंड्न नपाइने बाध्यताबारे बोबर्टसँग कुराकानी गर्ने योजना बनाएका छन् ।

    बोबर्टले कोलोराडोको राइफल टाउनमा शुटर्स ग्रिल नामको रेस्टुरेन्ट चलाउँछिन् । जहाँ कर्मचारीलाई खुलेआम हतियार बोकेर हिंड्न प्रोत्साहित गरिन्छ । राज्यको कानूनले नै हतियार राख्न पाइन्छ ।

    बन्दूक राख्न पाउने अधिकारको मुद्दा गएको नोभेम्बरको निर्वाचनमा बोबर्टको अभियानको एक महत्वपूर्ण हिस्सा थियाे । ट्वीटरमा पोस्ट गरिएको भिडियोमा बोबर्टले अगाडि भनेकी छन्, ‘भलै म अब अमेरिकाको सबैभन्दा उदार शहरमध्ये एकमा काम गर्दैछु । तर म आफ्नो अधिकार छोड्न सक्दिनँ ।’

    ‘त्यसैले पाँच फिट अग्लो, १०० पाउन्डको महिलाको रुपमा म कानूनी रुपमा आफ्नो रक्षा आफैं गर्न चाहन्छु, किनभने म आफ्ना लागि सबैभन्दा उत्कृष्ट सुरक्षाकवच हुँ’, उनले थपिन् ।

    तर यसबारे प्रहरीले तत्काल प्रतिक्रिया दिएको छ । डीसी प्रहरी प्रमुख रोवर्ट कोन्टी तृतीयले पत्रकारहरुसँग भने, ‘ती सांसदलाई पनि त्यही नियमको अधीनमा ल्याइनेछ जसरी डीसीको सडकमा बन्दूक बोकेर हिंड्नेहरुलाई पक्राउ गरिन्छ ।’

    अमेरिकाको संविधानले नागरिकलाई हतियार राख्ने अनुमति दिएको छ तर यसको कार्यान्वयन राज्यपिच्छे फरक फरक हुनेछ ।

  • प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले साउथह्याम्प्टनसँग हार्‍यो

    प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले साउथह्याम्प्टनसँग हार्‍यो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राती शीर्ष स्थानको लिभरपुलले साउथह्याम्प्टनसँग १–० गोलको पराजय ब्यहोरेको छ । यो हारले उसको उपाधि रक्षाको यात्रामा झड्का लागेको छ ।

    साउथह्याम्प्टनका ड्यानी इङ्सले खेल सुरु भएको दोस्रो मिनेटमै आफ्नो पूर्व क्लबबिरुद्ध गरेको शानदार गोल नै उसको जितका लागि निर्णायक बन्यो । इङ्सले जेम्स वार्ड प्रोसको फ्रिकिकलाई सदुपयोग गरेका थिए ।

    जर्गेन क्लब प्रशिक्षित लिभरपुलका लागि लिगमा यो दोस्रो हार हो । गोलअन्तरका आधारमा उनीहरु अहिले पनि शीर्ष स्थानमै छन् । तर पछिल्ला तीन खेलमा उसले २ अंकमात्र हासिल गर्न सकेका छन् ।

    लिभरपुलको १७ खेलबाट ३३ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको पनि समान अंक छ । आसन्न खेलमा जित हासिल गरेमा युनाइटेडले लिभरपुललाई उछिन्ने अवसर पनि छ ।

    पछिल्ला पाँच लिग खेलमा पहिलो जित निकालेर साउथह्याम्प्टन भने तालिकाको छैटौं स्थानमा पुगेको छ । उसको पनि १७ खेलबाट २९ अंक भएको छ ।