Blog

  • भारतबाट देशविरुद्ध तानाबाना बुन्ने काम गरेर प्रचण्ड नफर्किउन्: बास्कोटा

    भारतबाट देशविरुद्ध तानाबाना बुन्ने काम गरेर प्रचण्ड नफर्किउन्: बास्कोटा

    काठमाडौं। नेकपा नेता तथा पूर्व सं‌‌चारमन्त्री गोकुल बास्कोटाले विभाजित पक्षका अध्यक्ष प्रचण्डलाई देशविरुद्ध विदेशीसँग मिलेर तानाबाना नबुन्न चेतावनी दिएका छन् । पत्नी सीता दाहालको उपचारमा केन्द्रित हुन सुझाव दिंदै उनले सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    प्रचण्ड हाल पत्नीको उपचारका लागि भारतमा छन्। बास्कोटाले ‘भारत रहेका प्रचण्डबाट देशविरुद्ध तानाबाना बुन्ने काम नहोस्’ भन्ने कामना गरेका छन्।

    ‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको उपचार सफल होस, शुभकामना’ बास्कोटाले बिहीबार सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दहाल फर्के भने राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने निश्चित छ।’

  • वैदेशिक लगानीका सडक निर्माणले गति लिन सकेन

    वैदेशिक लगानीका सडक निर्माणले गति लिन सकेन

    काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ । कोभिड कम भए पनि पूर्णरूपमा नहटेकाले प्रगति कम देखिएको हो ।

    खास गरेर चीन सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएका सडकको निर्माण नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएदेखि नै अघि बढिरहेको छैन । त्यतिबेला स्वदेश फर्किएर गएका चिनियाँ फर्किएर नआएकाले निर्माण अघि बढ्न नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

    गत आर्थिक वर्षको पछिल्लो चौमासिकमा कोभिड शुरु हुँदा वैदेशिक लगानीका सडकमा भौतिक प्रगति कम थियो । अहिले दोस्रो चौमासिकसम्म पनि निर्माण अघि नबढेकाले प्रगति अझै कम हुनसक्ने उनको भनाइ छ । उनले भने ‘हामीले चिनियाँलाई सम्पर्क गरिरहँदा पनि उनीहरुले सङ्क्रमण नहटेसम्म आउन नचाहेको भनिरहेका छन् ।’

    चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक आठ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डको विस्तारमा चासो देखाएको थियो । सरकारले कलङ्की–चाबहिल (गोपीकृष्ण) सम्म सडक विस्तारका लागि निर्माणस्थल खाली गराइरहँदा चिनियाँ टोली भने फर्किएका छैनन् । उनीहरु नफर्किएसम्म सडक निर्माण अघि नबढ्ने प्रमुख थापाले बताए ।

    चीन सरकारको सहयोगमा नै निर्माण गरिने रसुवागढी–स्याफ्रुबेँसी सडक निर्माण ठप्प छ । चीन सरकारको नै आर्थिक सहयोगमा निर्माण भएको अरनिको राजमार्ग मर्मतको कामसमेत गर्ने गरी छलफल भए पनि त्यो अहिले अघि नबढेको विभागले जनाएको छ ।

    कोभिड–१९ का कारण लामो समयसम्म पूर्वाधार निर्माण सुस्त रहे पनि सरकारका लगानीका अधिकांश योजना अहिले अघि बढिरहेका छन् । सरकारले कोभिड–१९ कै कारण निर्माणमा बाधा पुगेका योजनालाई छ महिना अवधि थप गरेर निर्माण अघि बढाइरहेको छ । अन्तर्राष्ट्रिय निर्माण कम्पनी संलग्न योजनामा भने काम गर्न अझै सहज नभएको विभागले जनाएको छ ।

    निर्माणका लागि कतिपय सामग्री विदेशबाट ल्याउनुपर्ने अवस्थामा त्यो ल्याउने वातावरण सजिलो छैन । भारत सरकार र जापान सरकारको सहयोगमा निर्माणाधीन कतिपय योजना भने कोभिडपछि सञ्चालनमा छन् ।

  • थपिए ४१२ संक्रमित, ४ को मृत्यु

    थपिए ४१२ संक्रमित, ४ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा ४०९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ५ हजार ५८ जना छन् । यस्तै आज ४८३ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

    साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५६ हजार ६४४ पुगेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।

  • ध्रुव दत्त स्टारर फिल्म ‘सहारा’ लन्डनबाट वर्ल्ड प्रिमियर

    ध्रुव दत्त स्टारर फिल्म ‘सहारा’ लन्डनबाट वर्ल्ड प्रिमियर

    काठमाडौँ । कोरोनाले थलिएको मनोरंजन क्षेत्र लयमा फर्किदै छ । फिल्म निर्माण त भएका छन् नै प्रदर्शन पनि भइरहेका छन् । फिल्म हल वा डिजिटल प्लेटफर्ममा दर्शकले फिल्म हेर्न पाइरहेका छन् । नेपाली फिल्म र म्युजिक भिडियोको प्रवर्धनमा पछिल्लो समय बेलायतमा रहेका कलाकर्मी पनि उत्तिकै सक्रिय छन् ।

    बेलायतबाट निर्माण भएको छोटो फिल्म ‘सहारा’ इन्टरनेट रिलिज भएको छ । कोरोनाभाइरसका कारण देखिएका समस्यासँगै बेरोजगारी र आपसी सम्बन्धमा परेको असरलाई समेटिएको छ । ध्रुब दत्त, सृजना निङ्गलेव र पुरु राईको अभिनय रहेको सहारामा लेखन र निर्देशन पुरु राईको छ । अभिनेता दत्त विश्वेश्वरप्रसाद कोइराला लिखित एडप्टेसन ड्रामा तीन घुम्ती फिल्मका मुख्य अभिनेता पनि हुन् ।

    पुरु निर्देशित यो दोस्रो छोटो फिल्म हो । फिल्मको छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका छन् । पछिल्लो समय बेलायतमा म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम बनेका कुशल सञ्चारकर्मी पनि हुन् । यसमा संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ ।

    https://www.youtube.com/watch?v=AFnlCo5GBTI&fbclid=IwAR0fEjhDsRbiqDM1il9rx6Oz3wIRIvaLDSYdOCpf2fRPVn8iqKfyPVmaZIQ

  • अमेरिकी संसदमा भएको घटनाबाट स्तब्ध : देउवा

    अमेरिकी संसदमा भएको घटनाबाट स्तब्ध : देउवा

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी संसदमा भएको आक्रमणको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । बुधबार ट्वीट गर्दै उनले शान्तिपूर्वक सत्ता हस्तान्तरण नै एकमात्र बाटो भएको उल्लेख गरेका छन् ।

    उनी लेख्छन् –अमेरिकी कंग्रेसमा भएको निर्लज्ज दृश्य देखेर म स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं ।’ बुधबार राती ट्रम्प समर्थकले अमेरिकी संसद भवनमा तोडफोड गर्दा भएको घटनामा ४ जनाले ज्यान गुमाएका छन् र दर्जनौं पक्राउ परेका थिए ।

  • सरकारको एकवर्षे उपलब्धि– ९८० किलोमिटर सडक पिच, १४९ मेगावाट बिजुली थप

    सरकारको एकवर्षे उपलब्धि– ९८० किलोमिटर सडक पिच, १४९ मेगावाट बिजुली थप

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् ।

    नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन् ।

    नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त उपलब्धिसम्बन्धी धारा ५३ बमोजिमको वार्षिक प्रतिवेदन एवं नेपाल सरकारले गरेका प्रमुख कार्यको विवरण प्रतिवेदन समावेश गरिएको छ ।

    देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय सम्मान, सुशासन र समृद्धिलाई सर्वोपरि प्राथमिकतामा राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा यस वर्ष विभिन्न महत्वपूर्ण काम भएको प्रतिवेदनमा जनाइएको छ ।

    ‘लोकतन्त्रका सबै आधारभूत विशेषतासहितको समाजवादउन्मुख परिपूर्ण लोकतन्त्रको अभ्यास र विकास हुँदै गएको छ । जनता नै राज्य शक्तिका स्रोत हुन् भन्ने मान्यता सही अर्थमा स्थापित भएको छ । नागरिकका मौलिक हक एवं सामाजिक न्याय सुनिश्चित गर्न जारी भएका कानूनहरू कार्यान्वयनमा ल्याइएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘सुगौली सन्धि एवं ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्शा प्रकाशन गरिएको छ । सङ्घीय संसद्को सर्वसम्मतिबाट नेपालको संविधानको दोस्रो संशोधन गरी नेपालको अद्यावधिक नक्शा र निशाना छापसमेत तदनुरूप परिवर्तन गरी प्रयोगमा ल्याइएको छ ।’

    सोही आर्थिक वर्षमा नेपालको आफ्नै जनशक्तिद्वारा पहिलो पटक सगरमाथाको उँचाइ मापन गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गरी काम अघि बढाइएको छ । विभिन्न व्यक्ति र संस्थाद्वारा अतिक्रमित सयौं बिघा जग्गा नेपाल सरकारका नाममा फिर्ता ल्याइएको छ ।

    सो अवधिमा थप ९७९ किमी सडक कालोपत्रे र ७५७ किमी सडक खण्डास्मितमा स्तरोन्नति गरिएको २१८ सडक पुल निर्माण सम्पन्न गरिएको र सिंचाइ सुविधा थप पाँच हजार ५६७ हेक्टर जमीनमा पुगेको छ । आधारभूत स्तरको खानेपानी सुविधा र उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित जनसङ्ख्या सो आवमा दुईदुई प्रतिशतले वृद्धि भई क्रमशः ९१ प्रतिशत र २३ प्रतिशत पुगेको छ ।

    आधारभूत सरसफाइ सेवाबाट लाभान्वित जनसङ्ख्या एक प्रतिशतले वृद्धि भई शतप्रतिशत पुगेको छ । सो आवमा १४९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप भएको छ । थप चार लाख ३४ हजार घरधुरीमा विद्युतकाे पहुँच विस्तार भएको छ ।

    विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त निजी घरमध्ये सो आवमा पाँच लाख आठ हजार १४१ घरको पुनःनिर्माण गरिएको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९१ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत समष्टिगत प्रगति भएको छ ।

    चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर र धनगढी विमानस्थलको विकास र स्तरोन्नति भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७०१ स्थानीय तहका ८७ हजार ७५७ व्यक्तिले रोजगारी पाएका छन् ।

    मानवअधिकारको संरक्षण, सम्बर्धन तथा प्रबर्धनका लागि सरकारको प्रतिबद्धतानुरुप मानवाधिकारका अन्तर्राष्ट्रिय अनुबन्धमा स्वीकार गरिएका दायित्व सरकारले जिम्मेवारीपूर्वक निर्वाह गरेको छ ।

    शान्ति सुरक्षाको स्थिति थप सुदृढ भएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको छ । राजस्व चुहावट, विदेशी विनिमय अपचलन र अवैध हुण्डी कारोबारको कसूरसमेत गरी अदालतमा २४४ मुद्दा दायर गरिएको छ ।

    सरकारी बजेट प्रणाली, लेखा प्रणाली र राजश्व व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण सुधार गरिएको छ । सो आवमा रु ७ खर्ब ९३ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको छ । व्यापार घाटामा १६.८ प्रतिशतले ह्रास आएको छ । सो आवमा २० ऐन र तीन नियमावली जारी गरिएका छन् । एकीकृत कानूनी सहायता नीति, २०७६ स्वीकृत भएको छ ।

    सोही आर्थिक राष्ट्रपतिबाट म्यान्मा र जापानको राजकीय भ्रमण सम्पन्न भएको छ । प्रधानमन्त्रीबाट असंलग्न राष्ट्रको बाकुमा भएको १८औंँ शिखर सम्मेलनमा सहभागिता भएको छ ।

    यसका अतिरिक्त आठ मुलुकमा उच्चस्तरीय वैदेशिक भ्रमण भएको छ । मित्रराष्ट्र चीनका राष्ट्रपतिबाट २३ वर्षपछि नेपालको राजकीय भ्रमण सम्पन्न भएको छ । बङ्गलादेशका राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको छ । ती भ्रमणबाट नेपाल र छिमेकीलगायत अन्य मित्रराष्ट्रबीचको सम्बन्ध थप सुदृढ र प्रगाढ बनेको छ ।

    कोभिड–१९ को महामारीका कारण मुलुकको आर्थिक, सामाजिकलगायत सबै क्षेत्रमा नकारात्मक असर पुगेको छ । स्पष्ट रणनीति र समन्वयात्मक कार्यशैली अवलम्बन गरी महामारीका बीचमा पनि जनजीवनलाई सामान्य बनाइराख्न र महामारीलाई नियन्त्रण बाहिर जान नदिन सरकार सफल भएको प्रतिवेदनमा जनाइएको छ ।

    महामारीबाट अर्थतन्त्रमा पर्ने प्रभावसमेतको प्रारम्भिक आकलन गरी स्वास्थ्य क्षेत्रमा पूर्वाधार तथा क्षमता विकास, रोजगारी सिर्जना एवं विस्तार र विकास निर्माणमा केन्द्रित हुने गरी आव २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिएको छ ।

    संविधानमा निर्दिष्ट निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका क्रममा सो अवधिमा आइपरेका कठिनाइलाई पृष्ठपोषण र चुनौतीलाई अवसरका रूपमा लिई उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सरकार अघि बढिरहेको जनाइएको छ ।

    यसैगरी संविधानको धारा २६९ अनुसार राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षका हैसियतले परिषद्को वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्रीले प्रस्तुत  गरेका थिए । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पनि सहभागिता थियो ।

    रासस

  • संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

    संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

    काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भए पनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताए ।

    रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा महतोले भने– संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ । स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।

    देशमा संसद पुनःस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने महतोले बताए । अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क थियो ।

  • भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

    भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

    काठमाडौं । नेपालगञ्जबाट जाजरकाेट जाँदै गरेको यात्रु बस भेरी नदीमा खसेको छ ।

    दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने  एक जना घाइतेलाई उद्धार गरिएको छ । गाडी नदीमा डुबेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

    उनले नेपाल प्रेससँग भने- घाइतेहरू बोल्न सक्ने अवस्थामा हुनुहुन्न । बसमा सवार अन्यको अवस्था अज्ञात छ ।

    अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ ।  बसभित्र ६–७ जना यात्रु रहेको अनुमान गरिएको रेग्मीले बताए ।

  • अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित घोषणापछि ट्रम्पको प्रतिक्रियाः विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु

    अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित घोषणापछि ट्रम्पको प्रतिक्रियाः विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु

    काठमाडौं । अमेरिकी कंग्रेसले जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको औपचारिक पुष्टि गरेको छ । आज बिहान सकिएको इलेक्टोरल मतगणनामा बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा विजयी भएको घोषणा गरिएको हो । संसदले बाइडेनलाई राष्ट्रपतिमा घोषणा गर्नुको अर्थ वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नतिजालाई उल्ट्याउन गरेका प्रयास असफल भए भन्ने हो ।

    संयुक्त बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले जितको घोषणा गरेका थिए । बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेका थिए । उनीहरुको पदावधि जनवरी २० देखि सुरु हुने समेत पेन्सले बताए । यो घोषणासँगै अब अमेरिकी राष्ट्रपति निर्वाचित गर्ने प्रक्रिया पूरा भएको छ । पेन्सिलभेनिया र जर्जियामा बाइडेनको जितलाई लिएर रिपब्लिकन सांसदले गरेको अवरोधलाई सिनेटले खारेज गरिदिएको छ ।

    संयुक्त सदनले औपचारिक रुपमा घोषणा गरेपछि मात्र नयाँ राष्ट्रपति मानिनेछ । बुधबार राति यही प्रक्रिया पूरा गर्न लाग्दा ट्रम्प समर्थकहरु हतियारसहित संसद भवनभित्र पसेपछि सदनको काम रोकिएको थियो । चार जनाको मृत्यु भएको उक्त घटनापछि १५ दिनसम्म वासिङ्टनमा संकटकालको घोषणा गरिएको छ ।

    विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु : ट्रम्प

    हिंसा भड्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । गत नोभेम्बरमा भएको चुनावको नतिजाप्रति आफू असन्तुष्ट भए पनि विधिपूर्वक सत्ता हस्तान्तरण गर्ने उनले जनाए ।

    उनले भनेका छन्– हामी वैध भोट मात्रै गणना होस् भनेर लडिरहनेछौं । यसले महान कार्यकालको प्रतिनिधित्व पनि गर्छ । हाम्रो अभिनय मेक अमेरिका ग्रेट अगेनको सुरुवात मात्रै हो ।’

    यो पनि पढ्नूस :
    मृतक संख्या ४ पुग्यो, ५२ जना पक्राउ, वासिङटनमा १५ दिन आपतकाल

  • सरोकारवालालाई सरकारको आग्रहः वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाऔं

    सरोकारवालालाई सरकारको आग्रहः वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाऔं

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई मर्यादित एवम् व्यवस्थित बनाउनका लागि सरोकारवाला सवैलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीका नाममा ठगी बढिरहेका बेला वैदेशिक रोजगार विभागले सरोकारवाला सम्पूर्ण व्यक्ति तथा संस्थालाई सार्वजनिक सूचनामार्फत् यस्तो आग्रह गरेको हो ।

    विभागले वैदेशिक रोजगारीमा जान लागेका नागरिकले अन्तरवार्तामा छनौट भएपछि मात्र सम्बन्धित इजाजतपत्रवाला संस्था अर्थात मेनपावर कम्पनीलाई सक्कल राहदानी अर्थात् पासपोर्टलगायत अन्य आवश्यक कागजातका सक्कलप्रति बुझाउन अनुरोध गरेको छ ।

    विभागले इजाजतपत्रवाला संस्थालाई पनि आवेदकबाट प्रतिलिपी वा स्क्यान कपी मात्र माग गरी छनौट भएका कामदार बाहेक अरुका सक्कल राहदानी जम्मा गर्ने गराउने काम नगर्न निर्देशन दिएको छ ।

    विभागले जारी गरेको सूचनामा छनौट भएका कामदारले आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम इजाजतपत्रवाला संस्थाको आधिकारिक बैंक खातामा लागत रकम जम्मा गरिदिन र त्यसको भौचरप्रति सुरक्षित राख्न तथा इजाजतपत्रवाला संस्थाले समेत छनौट भएका कामदारबाट लिने प्रवद्र्धन खर्च तथा लागत संस्थाको बैंक खातामार्फत लिने कार्य गर्न पनि भनेको छ ।

    विना इजाजत वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी बढिरहेको भन्दै विभागले इजाजत विना कसैलाई पनि वैदेशिक रोजगार सम्बन्धी कार्य नगर्न तथा कोहि कसैको प्रलोभनमा नपर्न र कोहि कसैले कुनै इजाजतपत्रवाला संस्थामा आवद्ध छु भनेमा त्यस कुराको एकिन गर्न वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत जाँच गर्न तथा सम्बन्धित इजाजतपत्रवाला संस्थामा सिधै सम्पर्क गर्न विभागले सूचनामा भनेको छ ।

    अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैंले आवेदन गरी श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भएकाले पहिले फाराम भर्दाको बाटै आवेदन गर्न सकिने विभागले जनाएको छ ।

    विभागका अनुसार यदि सेवाग्राहीको इमेल ठेगाना वा मोवाइल नम्बर गलत प्रविष्ट भएकोले रिसेट हुन नसकेकाका हकमा रिसेट गर्नुपरेमा वैदेशिक रोजगार कार्यालय, काठमाडौं एवम प्रदेशस्थित श्रम तथा रोजगार कार्यालय र गन्तव्य मुलुक स्थित नेपाली कुटनैतिक नियोगबाट निवेदनको ढाँचा प्राप्त गरी रिसेट को सेवा लिन सकिने छ । रिसेटका लागि आवश्यक निवेदनको ढाँचा विभागको वेबसाइटबाट समेत प्राप्त गरी पेश गर्न सकिनेछ ।

    वैदेशिक रोजगारी सम्बन्धी सम्पुर्ण विवरण वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मार्फत हेर्न सकिने भएकाले यसको अधिकतम प्रयोग गर्न पनि विभागले सबैलाई आग्रह गरेको छ ।

  • रुपन्देहीकाे ओली पक्षीय अखिलमा नयाँ नेतृत्व

    रुपन्देहीकाे ओली पक्षीय अखिलमा नयाँ नेतृत्व

    रुपन्देही । नेकपा विवादको असर जिल्ला स्तरका भातृ संगठनमा समेत देखिन थालेको छ । रुपन्देहीमा नेकपा (ओली समूह) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको नयाँ नेतृत्व चयन गरेको छ ।

    बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न अखिल कार्यकर्ताहरुको भेलाले साजन भण्डारीको संयोजकत्वमा नयाँ जिल्लासमिति चयन गरेको हो । उक्त भेलाले शेषकान्त पोखरेललाई सहसंयोजकमा चयन गरेको छ ।

    कार्यक्रममा निर्वाचित नयां जिल्ला समितिलाई नेकपा रुपन्देहीका जिल्ला अध्यक्ष शिवराज सुवेदी, अनेरास्ववियू स्थायी कमिटी सदस्य यम पाण्डे लगायत पार्टी र अनेरास्ववियूका नेताहरुले बधाई तथा शुभकामना दिएका थिए ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले राजनितिक घटनाक्रमलाई सही मार्गमा हिंडाउन युवा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताए । युवा विद्यार्थीहरुको हकहित र अधिकारको लागि लड्ने संगठन भनेको अनेरास्ववियू नै रहेकोले अनेरास्ववियूको झण्डामूनि गोलबन्द हुन आग्रह गरे ।

    नवनिर्वाचित संयोजक भण्डारीले जिल्लामा रहेका विद्यार्थीहरुको हकहित र अधिकारको लागि संगठनलाई क्रियाशील बनाउने बताए ।

  • ताजा जनादेश नै अबको निकास: दीपक बोहोरा

    ताजा जनादेश नै अबको निकास: दीपक बोहोरा

    रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले अदालतको निर्णय आफूहरुले स्वीकार गरेर जाने बताएका छन् ।

    संसद विघटन गर्नु असंवैधानिक भए पनि अदालतले गरेको निर्णय पार्टीले अंगीकार गरेर अगाडि बढ्ने उनले बताए ।

    लुम्बिनी प्रेस क्लबले बिहीबार रुपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता बोहराले संसद पुनर्स्थापना भए पनि फेरि राजनीतिक फोहोरी खेल हुने भन्दै मुलुक जसरी पनि अस्थिरतातर्फ धकेलिएको बताए ।

    संसद पुनर्स्थापना नभए आफूहरु चुनावमा जाने र निर्वाचन आयोग पनि चुनाव गर्न तयार रहेको जनाउँदै नेता बोहराले प्रधानमन्त्री चुनाव गर्न सकारात्मक रहेको जनाए ।

    अहिलेको अवस्थामा संसद पुनर्स्थापना समस्याको समाधान नभएको जनाउँदै उनले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए । उनले गोलमेच सम्मेलन गरी विप्लवदेखि सबैलाई एकै ठाउँमा ल्याएर अहिले देखिएको संकटको व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन् ।

    वरिष्ठ नेता बोहराले जनमत संग्रह गर्ने हो भने हिन्दू राज्य र राजाको पक्षमा प्रष्ट बहुमत आउने पनि दाबी गरे । मुलुकमा अब लोकतान्त्रिक राजाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

    हिजो गणतन्त्रविरुद्धमा नारा नलागेको र अहिले त्यसविरुद्ध जनमत बढिरहेको बताउँदै बोहराले सबैको माग लोकतान्त्रिक राजा र सनातन हिन्दू धर्म नै भएको जिकिर गरेका छन् ।

  • सलमानको फिल्म ‘कागज’ नेपाली ओटीटीमा रिलिज हुने

    सलमानको फिल्म ‘कागज’ नेपाली ओटीटीमा रिलिज हुने

    बलिउड अभिनेता एवं निर्माता सलमान खानले होम प्रोडक्सन फिल्म ‘कागज’लाई नेपालमा ओभर दी टप (ओटीटी) प्लेटफर्ममा रिलिज गर्ने भएका छन् । नेपालको वितरण कम्पनी गोपिकृष्ण मूभिजले यो फिल्मलाई डीसहोम, नेटटिभी लगायतका ओटीटीमा प्रदर्शन गर्ने भएको हो । गतसाता ज्याकी च्याङको ‘भ्यानगड’ पनि नेपाली प्लेटफर्ममा रिलिज भैसकेको छ ।

    सतिश कौसिकले निर्देशन गरेको यो फिल्मले कागजले मान्छेको जीवनमा कसरी शासन गर्न सक्छ भन्ने कथावस्तु बुनेको छ । यो फिल्ममा सलमानको केमियो र भ्वाइस समावेश हुने जनाइएको छ । ‘फिल्मको सुरु र अन्त्यमा सलमानको आवाजलाई समावेश गर्नेछौं’ निर्देशक कौशिकले भने । पछिल्लो समय बलिउडका भाइजानले कन्टेन्ट लक्षित फिल्महरुमा लगानी गर्न थालेका छन् ।

    नेपालले पुस १० गतेदेखि वितरण र प्रदर्शनमा हाइव्रिड प्रणाली आत्मसात गरेको छ । भन्नुको अर्थ –एकैसाथ फिल्म हल र ओटीटी प्लेटफर्ममा फिल्म रिलिज हुनेछन् । अग्रणी वितरण कम्पनी गोपिकृष्णले फिल्म बजार सामान्य नभएसम्म फिल्मलाई हलमा रिलिज नगर्ने निधो गरेको छ । तर, एप्पल इन्टरटेनमेन्टले चाहिँ थिएट्रिकल प्रदर्शनलाई प्राथमिकता दिँदै विहिबार हलिउड फिल्म ‘मन्स्टर हन्टर’ रिलिज गरेको छ ।

    गतसाता भारतीय फिल्म हल संचालकले सलमानलाई पत्र लेख्दै उनको बहुप्रतीक्षित फिल्म ‘राधे’लाई आगामी इदमा हलमै रिलिज गर्न सुझाएका छन् । उद्योगको उत्थानका लागि पनि सलमानले यस्तो कदम चाल्नुपर्ने प्रदर्शकको माग छ ।

  • तिलोत्तमामा लगत संकलन इकाई स्थापना

    तिलोत्तमामा लगत संकलन इकाई स्थापना

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना गरिएको छ ।

    आयोगसंग हालै भएको कार्यसम्झौता अनुसार तिलोत्तमाले लगत संकलन इकाई स्थापना गरेको हो । इकाई कार्यालयको नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे ।

    तिलोत्तमा नगरस्तरीय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लगत संकलन एवं सहजीकरण समितिको पहिलो बैठकपछि इकाई स्थापना गरिएको हो ।

    नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं राजनीतिक दलका प्रमुख र सदस्यलगायत सहभागी समितिको बैठकले इकाईमा रहने प्राविधिक तथा अन्य १६ जना कर्मचारीहरुको व्यबस्थापन गर्नेलगायतका निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

    उनका अनुसार बैठकले अनुसूची २ बमोजिमको विवरण आयोगमा पठाउने, प्रशासनिक काम तत्काल मिलाउने र त्यसपश्चात् आयोगलाई सुचना प्रकाशित गर्न अनुरोध गर्ने लगायतका निर्णयसमेत गरेको छ ।

    सो अवसरमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकामा जनप्रतिनिधि आएसंगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको स्पष्ट पारे ।

    अब आयोगसंग भएको कार्यसम्झौता अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने काम अघि बढ्ने उनको भनाइ छ । इकाई कार्यालयमार्फत् आयोगले बनाएको फारमको ढांचाअनुसार लगत संकलन गरिने उनले बताए ।

  • सेनाको वीरताको स्मरणमा विजय दौड हुने

    सेनाको वीरताको स्मरणमा विजय दौड हुने

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले प्रतियोगिता गर्ने जानकारी गराएको हो । नेपाली सेनाका महासेनानी मच्छिन्द्र थापाले अंग्र्रेजहरु परास्त भएको गढी वीरतापूर्ण सैनिक इतिहास र स्वाभिमानी नेपालीको प्रतीक भएको बताउँदै राष्ट्रिय एकता दिवसका अवरमा सेनाले यही पुस २५ गते २१ किलोमिटर हाफ म्याराथुन र पाँच किलोमिटर वाकाथुनको आयोजना गर्ने जानकारी दिए ।

    हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुंदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई नगद पुरस्कार क्रमशः १५ हजार, १० हजार र पांच हजारसहित पदक र प्रमाणपत्र दिइने छ ।

    क्याम्पस अगाडिबाट शुरु हुने वाकाथुन ट्राफिक चोक, चौराहा, योगीकुटीबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो वसपार्क हुँदै जीतगढीमा समाप्त हुनेछ । नेपाल र अंग्र्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो ।

  • वामदेवले भने– नेकपाको एउटा पक्ष एमाले र अर्को माओवादी केन्द्र बन्न सक्छ (भिडियो)

    वामदेवले भने– नेकपाको एउटा पक्ष एमाले र अर्को माओवादी केन्द्र बन्न सक्छ (भिडियो)

    काठमाडौं । विभाजित नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाँदा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको बताएका छन् ।

    राष्ट्रियसभा सदस्यको रुपमा पहिलो बैठक बिहीबारको बैठकमा सम्बोधन गर्दै गौतमले यसअघि आफूले अविश्वास प्रस्ताव ल्याउन खोज्दा असफल बनाएको बताए । गौतमले आफू भएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ भने ।

    गौतमले भने– मैले पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ तर सुधार भएन । म एक हिसाबले धेरैपटक नेताको विरोधी जस्तो भएँ । म प्रधानमन्त्रीको कटु आलोचक हो, उहाँको कारणले नै हामी अहिले यहाँ आइपुगेका हौं ।

    गौतमले पार्टी विभाजनको औचित्य नरहेको भन्दै आफू अहिले कुनै समूहमा नरहेको बताए । गौतमले ऋषि कट्टेलको नेकपाको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट कट्टेलको पक्षमा निर्णय भएमा नेकपाको एउटा पक्ष एमाले र अर्को पक्ष माओवादी केन्द्र बन्न सक्ने बताए । आफू फेरि पनि एकता कायम गर्न लागिरहेको र त्यसका लागि संगठनको संरचना बनाएरै जाने बताए ।

    याे पनि पढ्नुहाेस्

    ‘म प्रधानमन्त्रीको ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनु भन्दा पहिले नै राजीनामा दिन्थेँ’

  • रामनारायण बिडारीको मागः संविधान बनाउने बेलाको ‘टेप रेकर्ड’ सदनमा बजाइयोस्

    रामनारायण बिडारीको मागः संविधान बनाउने बेलाको ‘टेप रेकर्ड’ सदनमा बजाइयोस्

    काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधान बनाउँदा भएको बहसको ‘टेप रेकर्ड’सदनमा बजाउन माग गरेका छन् ।

    बिहीबार राष्ट्रियसभामा बोल्दै बिडारीले त्यसबाट को गलत को सही भन्ने थाहा हुने दावी गरे। ‘संविधान मस्यौदा गर्दा गर्दा १५ जनाको मस्यौदा कार्यदल बनाएको थियो, त्यसको एकजना सदस्य म पनि थिएँ,’ उनले भने, ‘विज्ञ टिम बनाएको थियो तत्कालीन मान्य कृष्ण सिटौलाको अध्यक्षतामा । त्यो पाँच जनाको टिममा म पनि थिएँ । केपी शर्मा ओली अहिलेको प्रधानमन्त्री बारम्बार त्यहाँ आउनुहुन्थ्यो । सुवास नेम्वाङ त्यो बेला संविधानसभा अध्यक्ष हुनुहुन्थ्यो । त्यहाँ भएका कुराको टेप रेकर्डलाई यो सदनमा बजाइयोस् अनि हामीले कति नालायक काम गरेछौं भन्ने कुरा स्पष्ट हुन्छ ।’

    बिडारीले प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक भएको समेत दावी गरे। विभाजित नेकपाबाट राष्ट्रियसभा सदस्य भएका बिडारी प्रचण्ड–माधव पक्षका मानिन्छन्।

  • जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको तीन किशोरीको उद्वार

    जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको तीन किशोरीको उद्वार

    इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्वार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

    सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिए ।

    सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौं लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

    शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको ढकालको भनाइ छ ।

    उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएकोे छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव वेचविखन हुने क्रम बढ्दै गएको छ ।

    सीमा क्षेत्रमा रहेका दर्जनौं चोर बाटोको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

    गत मङ्सिरमा मात्र चोर बाटोको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दशजना किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोलीले उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका रहेका थिए ।रासस

     

  • प्रधानमन्त्रीको कदमलाई सिके राउतको ‘मौन समर्थन’, भित्रभित्रै चुनावी तयारी

    प्रधानमन्त्रीको कदमलाई सिके राउतको ‘मौन समर्थन’, भित्रभित्रै चुनावी तयारी

    जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई मौन समर्थन गर्दै भित्रभित्रै चुनावी तयारी थालेको छ । औपचारिकताका लागि उक्त पार्टीका केन्द्रीय सदस्य अब्दुलले संसद विघटन दुखद भएको विज्ञप्ति निकाले पनि विरोध गरेका छैनन् ।

    विज्ञप्तिमा संसद विघटन गर्नु प्रधानमन्त्रीको वाध्यता भएको उल्लेख गरिएको छ । त्यस विज्ञप्तिपछि मौन रहेको उक्त पार्टीले भित्रभित्रै चुनावको तयारी गरिरहेको बुझिएको छ ।

    पछिल्लो समय राउतल फेसबुक पेजबाट मतदाता नामावलीमा अनिवार्य रुपमा नाम दर्ता गराउन सबैमा अनुरोध गरेका छन् । भनेका छन्, ‘मतदाता नामावलीमा नाम नभएमा कुनै पनि तहमा उम्मेदवार र मतदाता मात्रै हैन, मतदान प्रतिनिधि (बूथ एजेन्ट), प्रस्तावक वा समर्थक समेत हुन पाइँदैन । त्यसैले आफ्नो नाम छैन भने पुस ५ गतेसम्ममा १८ वर्ष पूरा गरेका सबैले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुहोला ।’
    राउतले यसो भन्नुलाई चुनावी तयारीका रुपमा बुझिएको छ ।

    जनमत पार्टीका केन्द्रीय नेता दिपक शाहले संसद विघटनमा आफूहरुको न समर्थन न विरोध रहेको बताउँछन् । उनले निर्वाचनका लागि तयार रहेको बताए । अध्यक्ष सीके राउतले पनि चुनावका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले बताए । उनले भने, ‘संसद विघटन गर्नु असंवैधानिक हो वा होइन भन्ने व्याख्या अदालतले गर्ने हो । हामी त्यहीं अनुसार अगाडीको रणनीति बनाउँछौं ।’

    उनले अगामी निर्वाचनमा कति ठाउँबाट उम्मेदवारी दिने निर्णय अहिले नभएको बताए ।

  • कुनै पनि तानाशाह चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैनः खिमलाल भट्टराई

    कुनै पनि तानाशाह चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैनः खिमलाल भट्टराई

    काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले कुनै पनि तानाशाह चुनावको तिथिमिति तोकेर जनताको माझमा नजाने बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भन्नु आग्रहपूर्ण दृष्टिकोण भएको बताए।

    ‘कतिपय पार्टी, व्यक्ति र समूहले प्रधानमन्त्रीको यस कदमलाई निरंकुश, अधिनायकवाद र तानाशाहीतर्फको यात्राको रुपमा अर्थ्याउने र जनतालाई भ्रमित गर्ने कोसिस गरेको देखेको छु,’ ओली पक्षीय नेता समेत रहेका उनले भने, ‘यो आग्रहपूर्ण दृष्टिकोण हो । कुनै पनि तानाशाह र निरंकुश शासक चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैन ।’
    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको विशेष अधिकार रहेको समेत उनले जिकिर गरे ।

    भट्टराईको सम्बोधनको सम्पादित अंशः
    प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन र चुनावको घोषणलाई लिएर समाजमा विभिन्न किसिमले बहस र विश्लेषण गर्ने गरिएको छ । बहस हुनु स्वभाविक हो । विश्लेषण हुनु स्वभाविक हो ।

    कतिपय पार्टी, व्यक्ति र समूहले प्रधानमन्त्रीको यस कदमलाई निरंकुश, अधिनायकवाद र तानाशाहीतर्फको यात्राको रुपमा अर्थ्याउने र जनतालाई भ्रमित गर्ने कोसिस गरेको देखेको छु । यो आग्रहपूर्ण दृष्टिकोण हो । कुनै पनि तानाशाह र निरंकुश शासक चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैन ।

    एउटा शक्तिशाली सरकारका विरुद्ध बन्चरो चलाउन काम आफ्नै पार्टीभित्रबाट भयो । आज केपी ओलीले व्यर्होनुपरकोे पीडा इतिहासमा विपी कोइरालाले पनि व्यर्होनु परेको थियो । इतिहासमा लोकतन्त्रको घाँटी जसरी रेटिएको थियो त्यो अवस्था अहिले होइन । सत्यनाश भएको भनिएको छ, त्यस्तो अवस्था अहिले होइन ।

    प्रतिनिधिसभा विघटन रहर र लहडले गरिएको होइन । प्रधानमन्त्रीले भन्नुभएको छ–आफूले भारी मन लिएर गरेको काम हो यो । खुसीले गरेको काम होइन । परिस्थितिको बाध्यात्मक काम हो ।

    नेतृत्व पंक्तिबाटै आफ्नै सरकारको सदन र सडकमा विरोध गरेर आनान्द लिने प्रवृत्ति देखियो । दिनरात किचकिच र अवरोध बाहेक केही गरिएन । जसको परिणाम सरकारले कामै गर्न नसक्ने परिस्थिति निर्माण हुँदै गयो । प्रतिनिधिसभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न, दाउपेचको अखडा बनाउन थालियो ।

    संसदको विघटन र चुनावको घोषणा सम्बन्धमा संविधानमा व्यवस्था नै छैन भन्नेकुरा गलत हो । संविधानको धारा ७६ र ८५ मा यस सम्बन्धमा व्यस्था छ । त्यो भन्दा बढी संसदमा बहुमत प्राप्त प्रधानमन्त्रीले जब आफ्नो सरकारले काम गर्न नसक्ने ठान्दछ ।

    र, संसदमा अर्को बैकल्पिक शक्ति पनि देख्दैन त्यस अवस्थामा संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जाने विशेष अधिकार कुनै पनि लोकतान्त्रिक व्यवस्थाभित्र प्रधानमन्त्रीमा सुरक्षित रहन्छ ।

  • संसद तोडफोडलाई लिएर हलिउड सेलेव्रिटी विभाजित, सेलेना गोमेज फेसबुक र ट्वीटरविरुद्ध खनिइन्

    संसद तोडफोडलाई लिएर हलिउड सेलेव्रिटी विभाजित, सेलेना गोमेज फेसबुक र ट्वीटरविरुद्ध खनिइन्

    सेलेना गोमेज, क्रिस इभान्स, कार्डी बी, खोले कार्दासियन, सोफी टर्नरसहित हलिउडका ठूला नामहरु अमेरिकी कंग्रेसमा भएको आक्रमण र हिंसाको विरोधमा उत्रिएका छन् । आ–आफ्ना सामाजिक संजालमार्फत उनीहरुले संसदमा हमला गर्ने ट्रम्प समर्थकको कार्यको निन्दा गरे । अभिनेत्री एवं गायिका गोमेजले बुधबार रातीको घटनालाई फेसबुक, ट्वीटर, इन्स्टाग्राम, गुगलजस्ता प्लेटफर्म आफ्नो भूमिका पुरा गर्न असमर्थ भएको कदमको रुपमा टिप्पणी गरेकी छन् ।

    चारजनाको ज्यान जाने गरि भएको उक्त हिंसात्मक घटना सामाजिक संजालले सिर्जना गरेको हिट स्पिचको एउटा नतिजा भएको गोमेजको तर्क छ । फेसबुक, ट्वीटर र इन्स्टाग्रामले त राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई २४ घन्टाको लागि निलम्बन गरिदिएका छन् । गोमेजले फेसबुक संस्थापक मार्क जुकरबर्ग, ट्वीटरका ज्याक डोर्सी, युट्युव सीइओ सुसन वजसिकीलाई मेन्सन गर्दै सामाजिक संजालले घृणा फैलाउनेभन्दा देश बनाउनेतर्फ लाग्नुपर्ने बताएकी छन् ।

    ‘एभेन्जर्स’ अभिनेता क्रिस इभान्सले आफू उक्त घटनालाई लिएर प्रतिक्रियाविहिन भएको ट्वीट गरेका छन् । अभिनेता मार्क रफेलोले ट्रम्पलाई महाभियोग लगाएर हटाउनुपर्ने अभियान चलाएका छन् । गायिका कार्डी बीले अमेरिकी नागरिकले न्याय र शान्ति खोजेको लेखेकी छन् । खोले कार्दासियनले श्वेत सर्वोच्चताको विरोध गर्दै लोकतन्त्र सबैको लागि समान हुने धारणा राखेकी छन् ।

    एस्टन कुचर, सराह जेसिका पार्कर, पिंक लगायतले पनि घटनाको विरोध गरेका छन् । बुधबार नेपाली राष्ट्रिय सभामा बोल्दै गायिका समेत रहेकी सांसद कोमल ओलीले अमेरिकी संसदमा भएको आक्रमणलाई लोकतन्त्रमाथिको आक्रमणको रुपमा टिप्पणी गरेकी छन् । अमेरिकामा रहेका फिल्म निर्देशक सुरेशदर्पण पोखरेलले पनि आक्रमणलाई निन्दनिय भनेका छन् । तर, हलिउडका अन्य कलाकार चाहिँ घटनाबारे मौन जस्तै देखिन्छन् ।

  • लोडसेडिङ हाम्रो इतिहास बनिसक्यो : प्राधिकरण

    लोडसेडिङ हाम्रो इतिहास बनिसक्यो : प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोषितरूपमा विद्युत कटौती नभएको पुनः दोहोर्‍याएको छ ।

    प्राधिकरणले प्राविधिक समस्याका कारण एकाध मिनेट वा केही घण्टा कहीँकतै बिजुली काटिएको भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्नन पुनः आग्रह गरेको हो ।

    प्राधिकरणले विगतमा जस्तै उपभोक्ताबाट सक्रियरूपमा साथ र सहयोग प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेको छ । केही समयदेखि अघोषितरूपमा बिजुली काटिन थालेपछि प्राधिकरणले पटक–पटक उपभोक्तालाई सही र तथ्यपूर्ण जानकारी दिने प्रयाससमेत गरेको जनाएको छ ।

    उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेशन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत् छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको समेत प्राधिकरणले दाबी गरेको छ ।
    जाडोको समयमा बढी विद्युत् माग हुँदा त्यसबाट पर्ने प्रभावलाई कम गर्नसमेत वितरण प्रणालीमा सुधार तथा अन्य सबै प्रकारका उपायको अवलम्बन गरेको दाबी गर्दै प्राधिकरणले कुनै पनि स्थानमा समस्या देखिएको खण्डमा त्यसलाई निराकरणका लागि आम उपभोक्ताको सक्रिय साथ तथा सहयोगको अपेक्षा गरेको छ ।

    प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौँ उपत्यकामा यस वर्षको मङ्सिरमा ३४७ पल्ट ट्रिपिङ भएको जनाएको छ । काठमाडौँ उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेशनमा ट्रिपिङ हुँदा कूल २२ घण्टा विद्युत् अवरोध भएको जानकारीसमेत दिएको छ । गत वर्षको मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको प्राधिरकणको विवरणमा उल्लेख छ ।

    प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषितरूपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

    उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नुपर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्ने बताए ।

    “केही स्थानमा सडक निर्माण एवं मर्मतका कारण पनि बिजुली प्रवाहमा अवरोध आएको छ भने केही स्थानमा वितरण प्रणालीको सुधार तथा अन्य कारणले पनि जटिला पैदा भएको छ । त्यसको निरुपणका लागि हामी प्रयत्नशील रहँदै आएका छौँ”, उनले भने ।

    “अहिलेसम्मको तथ्याङ्क हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ”, उनले प्राविधिक समस्याका बारेमा जानकारी दिँदै भने, “हामी उपभोक्तालाई गुनासोरहित सेवाप्रवाहमा अहोरात्र खटिरहेका छौँ ।” प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्‍यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नभएको उनको भनाइ छ ।
    “प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ”, कामु कार्यकारी निर्देशक शाक्यले भने । उनले ट्रिपिङ बढी हुने सबस्टेशनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको जानकारी दिए ।

    स्थानीयरूपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताउनुभयो । सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालकिो मर्मतसम्भारलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । गत वर्षको मङ्सिरमा यी काम गर्न ४९१ पटक विद्युत आपूर्ति बन्द (सटडाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।

    विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिटो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।

    उनले सामाजिक सञ्जाल तथा गलत मनसाय राखेर गरिने प्रचारको पछाडि नलाग्नसमेत उपभोक्तालाई आग्रह गरे । प्राधिकरणले विगतदेखि नै उपभोक्ताको हितलाई केन्द्रमा राखेर काम गरेका कारण काम गर्दै जाँदा देखिने सानातिना समस्यालाई क्रमशः समाधान गर्दै जाने विश्वाससमेत व्यक्त गरे ।

  • अदालतले प्रतिनिधिसभा फर्काउँछः डा रिजाल

    अदालतले प्रतिनिधिसभा फर्काउँछः डा रिजाल

    चितवन। नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् ।

    आज पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे ।

    उनले भने, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्बाचनको बाटोमा जाँदैन ।” संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

    फरक प्रसङ्गमा पार्टी केन्द्रीय सदस्य डा रिजालले आगामी फागुनमा कांग्रेसको महाधिवेशन सम्भव नरहेको बताए । संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने उको जिकिर थियो ।

  • ‘म प्रधानमन्त्रीको ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनु भन्दा पहिले नै राजीनामा दिन्थेँ’

    ‘म प्रधानमन्त्रीको ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनु भन्दा पहिले नै राजीनामा दिन्थेँ’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदा कुनै पक्षतिर नखुलेका नेता वामदेव गौतमले पार्टी विभाजनको कुनै औचित्य नभएको बताएका छन् ।

    ‘नेपाली जनताले मलाई पटक–पटक माया प्रदर्शन गरेका छन्,’ राष्ट्रियसभा सदस्य भएपछि पहिलो पटक सभालाई बिहीबार सम्बोधन गर्दै गौतमले भने, ‘अहिले नेपाल कम्युनिष्ट पार्टी विभाजित छ । मैले यो विभाजनको कुनै औचित्य देख्दिनँ ।’

    नेकपाका दुवै पक्षका नेताहरुको कमजोरी भएको भन्दै उनले पार्टी फेरि मिलाउन सकिन्छ कि भनेर आफू लागिरहेको बताए । ‘दुवै पक्षका मैले कमजोरी देखेको छु । अहिले दुवैलाई फेरि मिलाउन सकिन्छ कि भनेर लागेको छु । पार्टीबीचमा एकता अपरिहार्य छ ।’
    आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए अविश्वास प्रस्ताव आउनुअघि नै राजीनमा दिने उनले बताए । भने, ‘म त्यो ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनु भन्दा पहिले नै राजीनामा दिन्थेँ ।’

    गौतमले गरेको सम्बोधनको बाँकी अंशः

    पहिले पनि पार्टी एकताका लागि लागेकाले नेपाली जनताले मलाई पटक–पटक माया प्रदर्शन गरेका छन्। अहिले नेपाल कम्युनिष्ट पार्टी विभाजित छ । मैले यो विभाजनको कुनै औचित्य देख्दिनँ । मैले पटक–पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ । तर सुधार भएन । म एक हिसाबले धेरै पटक नेताको विरोधी जस्तो भएँ ।

    मैले निरन्तर आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकताका लागि अविश्वास प्रस्तावलाई असफल गराएको थिएँ । यस पटक अविश्वासको प्रस्ताव लैजादा मलाई सोधिएन । यसपटक मलाई थाहा थिएन ।

    प्रधानमन्त्रीको म कटु आलोचक हो । उहाँको कारणले नै हामी अहिले यहाँ आइपुगेका हौं । मैले धेरै पटक सुझाव दिएको छु–शैली सुधार्नुहोस् । पार्टी जोगाउनका लागि अन्तिम समयसम्म उहाँलाई अबसर थियो । म त्यो ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनु भन्दा पहिले राजीनामा दिन्थे ।

    मैले यो असंवैधानिक कदम हो भनेर भने । तर, सर्वोच्चमा रिट परेपछि म चुप लागेको छु । अब यो विषय संवैधानिक विषय हो । अहिले यो असंवैधानिक छ भन्यौ भने सर्वोच्च अदालतको अपमान हुन्छ ।

    हामीले संविधानको सर्वोच्चतालाई सिद्धान्तको मुल विषय बनाएका छौं । हामीले भने अनुसारको भएन भन्दैमा हामीले त्यसलाई बदनाम गर्नें काम गर्नु हुँदैन ।

    आज हाम्रो पार्टी दुई समूहमा विभाजित छ । म कुनै पनि समूहमा छैन। पार्टी भित्र अन्तरविरोध हुँदैन भनेर कसैले भन्छ भने त्यो जतिको मुर्खता केही हुँदैन । पार्टीको जीवन अन्तरविरोधमा हुन्छ । नेता जो हुन्छ जसले ती समस्याको समाधन दिन सक्छ । समाधन दिँदा पार्टीलाई नयाँ जीवन मिल्छ ।

    अहिले राजनीतिक रुपमा पार्टी विभाजित छ । कानुनी रुपमा के हुन्छ भन्न सक्दिनँ । निर्वाचन आयोगले के गर्छ केही भन्न सक्दिनँ । अहिले नेकपाको नामबारे ऋषि कट्टेलले मुद्दा हाल्नु भएको छ । त्यो जित्नु भयो भने नेकपाको भविष्य के हुन्छ ?

    दुवै पक्षका मैले कमजोरी देखेको छु । अहिले दुवैलाई फेरि मिलाउन सकिन्छ कि भनेर लागेको छु । पार्टीबीचमा एकता अपरिहार्य छ । दुईटा समूहका नेता यसरी उत्रनु भएको छ, समाजवादी सभ्यता निर्माण गछौं भन्नेहरुलाई लाज लाग्ने अवस्था छ ।

  • कोमल वलीको चिन्ता– अमेरिकी संसदमा आक्रमण हुनु लोकतन्त्रमाथि कै खतरा

    कोमल वलीको चिन्ता– अमेरिकी संसदमा आक्रमण हुनु लोकतन्त्रमाथि कै खतरा

    काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले अमेरिकी संसदमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेकी छिन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै वलीले उक्त घटनाले लोकतन्त्रमाथि नै खतरा भएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

    उनले भनिन्– अमेरिकी संसदमा जुन हिंसात्मक घटना भयो, यसले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको छ । चार जनाको ज्यान जानेगरी वासिङटन डिसीमा भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी ठान्ने सबै देशलाई थप चुनौती र चिन्ताको वातावरण बनाइदिएको छ ।

    सत्ताको शान्तिपूर्ण हस्तान्तरणलाई यस्ता गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउँने भन्दै उनले हमला गर्नेको विरोध गरिन् ।

  • सामाजिक काममा प्रधानमन्त्रीपत्नी शाक्य, पेन्सनको पैसा अस्मितालाई सहयोग

    सामाजिक काममा प्रधानमन्त्रीपत्नी शाक्य, पेन्सनको पैसा अस्मितालाई सहयोग

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य सामाजिक काममा सक्रिय भएकी छिन् । उनले बुधबार समता स्कूलबाट संसारकै महंगो आईग्लोन् कलेज स्विट्जरल्याण्डमा छात्रवृत्तिमा पढ्न जान लागेकी अस्मिता अधिकारीलाई भेटेर आर्थिक सहयोग गरेकी छिन् ।

    अस्मिताको निवासमा गएर उनलाई भेटेकी शाक्यले ल्यापटप किन्न ६० हजार रुपैयाँ प्रदान गरेकी हुन् । ‘तिमीले मिहेनत गरेर पढ्नुपर्छ,’ आर्थिक सहयोग हस्तान्तरण गदै शाक्यले भनेकी थिइन, ‘तिमीसँग सिंगो हामी सबैको देश नेपालको नाम जोडिएको छ।’

    शाक्यले दिएको ६० हजार उनको पेन्सनको पैसा भएको बताइएको छ। उनले अस्मितालाई केही न्यानो कपडा, आईग्लोन् कलेजका सर एमसी डोनाल्डलाई नेपाली पस्मिना उपहारसमेत प्रदान गरेकी थिइन्।

    उनी प्रधानमन्त्रीले नियमित रुपमा आयोजना गर्ने बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा  सहभागी हुन्छिन् ।

  • सरकारविरुद्ध नेविसंघले ‘उल्टो यात्रा’ गर्ने

    सरकारविरुद्ध नेविसंघले ‘उल्टो यात्रा’ गर्ने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सरकारी कदमविरुद्ध ‘उल्टो हिँडेर’ प्रदर्शन गर्ने भएको छ ।

    नेविसंघ केन्द्रीय समितिले शुक्रबार सरकारविरुद्ध काठमाडौंमा ‘उल्टो हिँडेर’ प्रदर्शन गर्न लागेको हो । सरकारको कदम संविधानविपरीत भएकोले सांकेतिक रुपमा विरोध कार्यक्रम राखिएको नेविसंघले जनाएको छ ।

    संविधान र लोकतन्त्रको बाटोभन्दा सरकार उल्टो हिँडेकोले सांकेतिक रुपमा विद्यार्थीहरुले ‘उल्टो हिडेर’ विरोध गर्न लागेका हौं– नेविसंघ महामन्त्री उर्मिला थपलियाले नेपाल प्रेससंग भनिन् । सो प्रदर्शनलाई पार्टीले २५ गते देशभरका प्रदेशसभा क्षेत्रमा गर्ने विरोध सभाको प्रचारात्मक आन्दोलनका रुपमा लिइएको छ ।

    थपलियाका अनुसार बिहीबार एक बजे माइतीघरबाट सुरु हुने ‘उल्टो यात्रा’ बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ ।

  • यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुख  दिने बिचौलिया पक्राउ

    यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुख  दिने बिचौलिया पक्राउ

    काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुख  दिने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

    चन्द्रागिरी नगरपालिका – १० गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुख हैरानी दिने एक जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१० घर भएका २४ वर्षीय बाल कृष्ण खत्री रहेका छन् । उनले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुख हैरानी दिने र बाटो बाटै तानेर आफ्नो सटरतिर लैजाने गरेर सेवाग्राही दुख दिने गरेका थिए ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • मोरङमा ओली पक्षीय अखिलले बनायो ९९ सदस्यीय अधिवेशन आयोजक कमिटी

    मोरङमा ओली पक्षीय अखिलले बनायो ९९ सदस्यीय अधिवेशन आयोजक कमिटी

    विराटनगर । ओली पक्षीय नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) मोरङले ९९ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ । बुधवार विराटनगरमा आयोजित बृहत कार्यकर्ता भेलाले आयोजक कमिटी गठन गरेको हो ।

    तत्कालीन एमाले र माओवादीबीच पार्टी एकतापछि संयोजक र सह–संयोजक तोकिए पनि कमिटीले पूर्णता पाएको थिएन । अखिलको विधानमा ६१ सदस्यीय जिल्ला कमिटी बनाउनुपर्ने प्रावधान भए पनि केही सीमित नेताहरूका कारण अखिललाई निस्प्रभावी बनाउने काम भएको भन्दै गति दिन आयोजक कमिटी गठन गरिएको अखिल मोरङ संयोजक सन्तोष घिमिरेले बताए ।

    घिमिरेका अनुसार एकतापूर्वको ३३ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गरी ९९ सदस्यीय आयोजक कमिटी निर्माण गरिएको हो । आयोजक कमिटीका सम्पूर्ण सदस्यलाई नेकपाका केन्द्रीय सदस्य तथा विद्यार्थी बिभाग प्रमुख विनोद ढकालले शपथ खुवाएका थिए ।

  • ‘यसकारण घातक छ कृषिमा विदेशी लगानी’

    ‘यसकारण घातक छ कृषिमा विदेशी लगानी’

    कृषिमा विदेशी लगानी खुला गर्ने वर्तमान सरकारको निर्णय अत्यन्तै दुःखद हो । जहाँ अहिले पनि ६५ प्रतिशत जनता कृषिमा आश्रित छन् । त्यहाँ विदेशी लगानी आउँदा पर्ने असरको हामी अहिले कल्पनै गर्न सक्दैनौं ।

    यही कृषि पेशाबाट जीवन चलाइरहेका अधिकांशको रोजीरोटी खोसिन जान्छ । यो पेशामा खर्बाैं लगानी गर्न खुला गरेपछि यहाँ साना–साना निर्वाहमुखी व्यवसाय गरेर बसेका लाखौं जनताको हालत के होला ? थोरै थोरै पूँजी लगानी गरेर स्वरोजगार सृजना भएको अवस्थामा यसरी ठूला पूँजीको लगानी आएपछि निर्वाहमुखी साना लगानीकर्ता सबैले आफ्ना व्यवसाय बन्द गरी तिनै विदेशी लगानीमा आएका उद्योगमा श्रम गर्न जानुको अर्को विकल्प केही पनि हुँदैन ।

    विदेशी लगानी त जुन क्षेत्रमा स्वदेशी लगानीले पुग्दैन वा लगानी आउँदैन त्यस्तोमा ल्याउने कुरा हो । यहाँ सरकारले राम्रो वातावरण बनाउने हो भने कृषि क्षेत्रमा लगानीको कुनै कमी हुँदैन । अनि किन र केका लागि ल्याउन लागेको विदेशी लगानी ? बुझ्न गाह्राे भयो ।

    अझ कृषिमा पनि विशेषगरी आत्मनिर्भर उन्मुख क्षेत्रमा त झन् विदेशी लगानीको कुरा उठ्न पनि नहुने हो । तर विडम्बना भन्नुपर्छ हाम्रो देशमा त झन् तिनै सक्षम क्षेत्रमा चाहिं सरकारले विदेशी लगानी ल्याउने कुरा अगाडि सारिरहेको हुन्छ ।

    विशेषगरी दुग्ध क्षेत्रमा विदेशी लगानीको कुरा धेरै आउने गर्छ । तत्काल दुग्ध व्यवसायमा विदेशी लगानी खुला गरे करिब ३० अर्ब रूपैयाँ लगानी जोखिममा पर्नेछ । करिब ८० प्रतिशत दूध स्वदेशमा उत्पादन भइरहेको अवस्थामा अहिले डेरी क्षेत्रमा विदेशी लगानी कुनै कारणले पनि आवश्यक देखिंदैन ।

    दुग्ध क्षेत्रको व्यवसायमा विदेशी लगानी आए स्वदेशी लगानी धरापमा पर्ने निश्चित छ । अझ त्यसमा पनि लगभग आत्मनिर्भर हुन लागेको दुग्ध क्षेत्रमा विदेशी लगानी आएमा हजारौंको रोजगारीसमेत गुम्न जानेछ ।

    स्वदेशी लगानी धरापमा परे डेरी उद्योगमा आश्रित करिब ६ लाख किसान पनि मर्कामा पर्नेछन् । अहिले दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । दूध बिक्री गरेर ५/६ करोड रूपैयाँ दैनिक शहरबाट गाउँमा जाने गरेको छ, त्यसमा धक्का पुग्न सक्छ ।

    दुग्ध क्षेत्रमा नेपाल आत्मनिर्भरताको बाटोमा लागेकाले विदेशी लगानी आवश्यक नभएको र नेपाली व्यवसायी सक्षम भएकोले यहाँ विदेशी लगानीभन्दा पनि यहींका उद्योगी व्यवसायीलाई सक्षम बनाई अगाडि बढ्दा सबैको हित हुनेछ ।

    प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध आवश्यक पर्नेमा अहिले करिब ७५ लिटर पुुगिसकेको र केही वर्षमा नपुग दूध पनि उत्पादन बढ्न गई हामी पूर्ण रूपमा सक्षम हुने देखिन्छ । सरकारले स्वदेशी डेरी उद्योगको लगानी जोखिममा परेपछि अहिले विदेशबाट धुलो दूध आयात गर्न प्रतिबन्ध लगाएको छ ।

    यसरी नै सरकारले हरेक समस्यालाई हल गर्दै जाने हो भने नेपालमा हरेक उद्योग सक्षम हुनेछन् । अब सरकारले दूध उत्पादन वृद्धिसँगै बजारलाई पनि व्यवस्थित बनाउने कुरामा ध्यान दिनुपर्छ । यसको ठीक दुई वर्ष अगाडि सरकारले तयार गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा पशुपालन तथा दुग्ध प्रशोधन व्यवसायमा विदेशी लगानी खुला गर्ने प्रस्ताव गरेपछि निजी क्षेत्र सशंकित भै हारगुहार गरी त्यतिबेलै सो विधेयक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदबाट समेत पास गराई सदनमा आउँदा त्यसको विरोध भई ५० जना माननीयहरूबाट संशाेधन परेपछि आजका दिनसम्म शान्त भएको थियो ।
    अचानक पुनः यो एकाएक राजपत्रमा प्रकाशित भै कार्यविधि समेत बन्न लाग्नुलाई सामान्य मान्न सकिन्न । यो ठूलै चलखेलमार्फत आएको हुनुपर्छ भन्ने आम सरोकारवाला हामी सबैको बुझाइ छ ।

    देशमा रहेका सबै कृषिसँग सरोकार राख्नेहरूको छलफलमा कृषि, पशुपालन तथा दुग्ध प्रशोधन व्यवसायमा विदेशी लगानी खोल्ने नहुने तर्क छ । यसरी सबैको विरोध हुँदाहुँदै पनि हाल आएर विदेशी लगानी आउन पाउने सरकारको निर्णयमा आम हामी सबै सरोकारवालाहरू तर्सिएका छौं । हामीलाई विश्वास छ जनताको अहित हुने, विरोध रहेको कुरामा सरकारले साथ दिने छैन । यसरी पुस्ट्याईसहित विरोध गर्दागर्दै पनि सरकारले नसुन्ने हो भने यसको परिणाम भयावह हुन सक्छ । त्यसैले सरकारलाई बेलैमा यो कदमबाट पछाडि हट्न हामी आम सरोकारवालाहरू अनुरोध गर्दछौं ।

    नेपालीले नै लगानी गर्न सक्ने दुग्ध क्षेत्रमा विदेशी लगानी आवश्यक छैन । अहिले सरकारले ल्याउन लागेको विदेशी लगानी सम्बन्धि विधेयकमा पशुपालन तथा दुग्ध व्यवसायमा विदेशी लगानी खुला गर्ने प्रस्तावको चौतर्फी विरोध गरी तत्काल रोक्न आवश्यक छ । अन्यथा ६५ प्रतिशत नेपाली किसान रोजगारविहीन भई पुनः विदेश पलायन हुन बाध्य हुनेछन् ।

    लघु उद्यम, घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरू एवं पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन व्यवसायमा विदेशी लगानी खुल्ला नगर्ने निर्णय हुँदाहुँदै कसैलाई पत्तै नदिई सुटुक्क आउँदा सबैजना चकित छौं । चौतर्फी विरोध भए पनि त्यसको वास्ता नगरी अहिले सरकार अगाडि जाने कुराले हाम्रो देशको कृषि क्षेत्रमा ठूलो धक्का लाग्ने संकेत देखिन्छ ।

    बहुराष्ट्रिय कम्पनीले नाफामा मात्र ध्यान दिने भएकाले यहाँ हाम्रो देशमा रहेका अधिकांश निर्वाहमुखी साना तथा घरेलु उद्योग समस्यामा पर्नेछन् । विदेशी कम्पनीसँग साना तथा घरेलु उद्योगले प्रतिस्पर्धा गर्न सक्दैनन् ।

    हाम्रो देशमा हाल वर्तमान यो अवस्थामा हरेक किसिमले हेर्दा कृषिमा विदेशी लगानी आवश्यक नभएको विभिन्न दल सम्बद्ध किसानका पेशागत संघ, संस्था, सरकारमा रहेका, विपक्षी दलका माननीय, अन्य सरोकारवाला सबैले विरोध गर्दै गर्दा पनि किन र कसको हितका लागि सरकार कृषिमा विदेशी लगानी ल्याउन लागेको हो भन्ने कुरामा सबैजना अचम्ममा परेका छन् ।

    कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउने सरकारको कदम आफैंले २० वर्षे दीर्घकालीन कृषि विकास रणनीति विपरीत छ । कृषिको औद्योगिकीकरण, व्यवसायीकरणको नाममा हचुवाको भरमा सरकारले यस्तो प्रस्ताव अगाडि सारेकोले यसको चौतर्फी विरोध शुरू भएको छ ।

    नेपालमा कृषि क्षेत्रमा लगानीको अभावमा व्यवसायीकरण र आधुनिकीकरण हुन नसकेको भन्ने सरकारको तर्कमा कुनै दम छैन । किनभने अहिलेसम्म सरकारको कुनै सहयोग विना अर्बौं लगानी भइसकेको छ भने यसमा अब धोरै मात्र सहयोग गर्ने हो भने पुग्ने जति लगानी आउन सक्छ ।

    सरकारले विदेशी लगानीकर्ताको लागि गर्ने सहयोग यहाँका उद्योग व्यवसायीलाई गर्ने हो भने लगानीको कुनै कमी हुनेछैन । बाहिरबाट आएर लगानी गर्दा पूर्वाधार तयार गरी जमीन समेत उपलब्ध गराउने अनि यहाँ हामी स्वदेशी उद्योगलाई चाहिं केही पनि सहयोग नगर्दा कसरी सरकारले समान व्यवहार गरेको मान्ने ?

    आफूले गर्नुपर्ने काम नगर्ने अनि केही व्यक्तिको सीमित स्वार्थको लागि पूरै देशलाई नै असर पर्ने काम गर्न मिल्छ ? यसरी सरकारले आम जनताको भावना विपरित कार्य गर्ने कुरामा हामीलाई विश्वास छैन । यो नीति भूलवश आएको हो र सरकारले सबैलाई न्याय हुने कार्य गर्ने हुँदा यो निर्णय फिर्ता हुनेछ ।

    यदि सरकारले सही तरिकाको नीतिनियम बनाई लगानी गर्ने वातावरण बनाउने हो भने स्वदेशी लगानीमा कुनै कमि हुने छैन । अब सरकारले साँच्चै किसान र उद्योगीको हित चाहेको हो भने स्वदेशी लगानीलाई प्राथमिकता दिई सही वातावरण बनाई आम किसान र उद्योगीको हितमा काम गरी देशलाई समृद्धितर्फ लैजान अगाडि बढ्ने कुरामा हामी आम सरोकारवाला ढुक्क छौं ।

    लेखक डेरी व्यवसायी महासंघका महासचिव हुन् ।

  • काष्ठमण्डप पुनर्निर्माण ८५ प्रतिशत सकियो, वैशाखसम्म हस्तान्तरण हुने

    काष्ठमण्डप पुनर्निर्माण ८५ प्रतिशत सकियो, वैशाखसम्म हस्तान्तरण हुने

    काठमाडौं । काष्ठमण्डप पुनर्निर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ ।

    निर्माणअन्तर्गत अहिले अन्य काम सकेर छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताए । आगामी वैशाखसम्ममा निर्माण सक्ने लक्ष्यअनुरूप काम भइरहेको उनले बताए ।

    निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट ल्याइने तयारी भएको हो । अपुग भएको काठ आगामी एक महिनाभित्रै ल्याउने तयारी भएको छ । छानाका लागि आठ हजार घनफिट काठ आवश्यक पर्ने भए पनि अहिले थप दुई हजार घनफिट मात्रै ल्याउन लागिएको हो ।

    बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको विश्वास गरिन्छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

    विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका लागि तीन वर्षको समय निर्धारण गरिएको छ । उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई १० करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ ।

    पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ । यस ऐतिहासिक सम्पदा पुनर्निर्माणका क्रममा आवश्यक पर्ने काठ केही यसअघिकै प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसनसँग लिखित सम्झौता गरी ल्याइएको छ । यसअघि पनि आवश्यक पर्ने थप आठ हजार घनफिट काठ धनगढीबाट ल्याइएको थियो ।

     

  • खयरमारास्थित वहुप्राविधिक क्याम्पसको नाम रामवृक्ष– प्रधानमन्त्री ओली

    खयरमारास्थित वहुप्राविधिक क्याम्पसको नाम रामवृक्ष– प्रधानमन्त्री ओली

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको खयरमारामा निर्माणाधीन बहुप्राविधिक क्याम्पस सहिद रामवृक्ष यादवकै नाममा बन्ने स्पष्ट पारेका छन् ।

    बुधबार बेलुका नेकपा प्रदेश २ का अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साह नेतृत्वको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नियम प्रक्रिया बिना हचुवाको भरमा उक्त शिक्षालयको नामाकरण भएकोले अब सच्चयाएर क़ानून सम्बत ढंगले रामबृक्ष यादवको नाम राख्ने बताए ।

    प्रधानमन्त्री ओलीले रामवृक्षको नाममा चाँडै क्याम्पस संचालन गराउने प्रतिवद्धता जनाएको बैठकमा सहभागी नेता रामप्रित रामले बताए ।

    खयरमारा सहिद रामवृक्ष यादवको मान-सम्मान र पहिचानसँग जोडिएको ऐतिहासिक भूमि रहेकोले त्यहाँ उनकै नाममा पूर्वाधार निर्माण हुनेमा ढुक्क हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।

    निर्मल लामा एक सम्मानित व्यक्ति भएको तर रामवृक्षको ठाउँमा लामाको नाम जोडेर गलत नियतले विवाद गराउने प्रयास भएको नेताहरूले आग्रह गरेपछि प्रधानमन्त्री ओलीले सो प्रतिक्रिया जनाएका हुन् ।

    भेटमा मन्त्री प्रभु साहका साथै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, प्रदेश सभा सदस्य दिलिप साह, नेता रामप्रित रामलगायत उपस्थित थिए ।

  • मृतक संख्या ४ पुग्यो, ५२ जना पक्राउ- वासिङटनमा १५ दिन आपतकाल

    मृतक संख्या ४ पुग्यो, ५२ जना पक्राउ- वासिङटनमा १५ दिन आपतकाल

    अमेरिकी संसदमा भएको आक्रमण र तोड्फोड घटनामा मृत्यु हुनेको संख्या चार पुगको छ । वासिङ्टन डीसी प्रहरीका अनुसार थप ५२ जना पक्राउ परेका छन् र रिपलिब्कन र डेमाक्रेटिक पार्टी कार्यालयबाट दुईवटा पाइप बम बरामद भएको छ ।

    मृत्यु हुनेमा एक नाभी अफिसर घटनास्थलमै र तीनजना उपचारको लागि अस्पताल लैजाँदै गर्दा भएको हो । १४ जना प्रहरी अफिसर घाइते भएका छन् । डीसीका मेयरले १५ दिनको लागि सार्वजनिक आपतकाल लगाउने निर्णय गरेका छन् । विहान ६ बजेसम्म कर्फ्यु आदेश गरिएपनि त्यसलाई उल्लंघन गर्दै लगातार हिंसात्मक प्रदर्शन भैरहेका छन् । एरिजोनामा बाइडेनको विजयलाई उल्ट्याउने रिपब्लिकन सांसदहरुको प्रयास असफल भएको छ ।

    अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो । सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । झ्याल र ढोका तोडफोड गरेरै हतियारसहित ट्रम्प समर्थक भित्र पसे । सभामुखको कार्यकक्षमै पसेर, कुर्सीमा बसेरै ट्रम्पको पक्षमा नाराबाजी भयो ।

    संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भयो । उक्त झडपमा प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको सीएनएनले पुष्टि गरेको छ । ती महिलालाई छातीमा गोली लागेको थियो । प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन् ।

    वासिङ्टनमा मेयरले घोषणा गरेको कफ्र्यु सुरु भएको छ । बेलुका ६ बजेदेखि सुरु भएको कर्फ्यु आदेश बेलुका ६ बजेसम्म जारी रहनेछ । कर्फ्युको बाबजुद पनि संसद भवन क्षेत्र वरपर प्रदर्शन भैरहेको छ । राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकले संसदमा गरेको आक्रमणलाई प्रतिरक्षा गरेको खबर आइरहेको छ ।

    संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले यो अन्यौलता र हिंसाको अन्त्य गर्न ट्रम्पलाई आग्रह गरेका छन् । अमेरिकी लोकतन्त्रमा ट्रम्पले कू गर्ने प्रयास गरेको भन्दै उनले लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरेका छन् । कमला ह्यारिस लगायत जर्ज बुसले समेत अमेरिकी संसदमाथिको आक्रमण लोकतन्त्रमा शोभनिय नभएको बताएका छन् ।

    ट्रम्पले अमेरिकी लोकतन्त्रको अपहरण गर्ने प्रयास गरेको उनीहरुको आरोप छ । तर, ट्रम्पले चाहिँ प्रदर्शनकारी समर्थकलाई घर फर्किन निर्देशन दिइसकेका छन् । अमेरिकी जनताको भोट चोरिएको आरोप संसद भवनभित्रै नाराको रुपमा लगाइएको थियो ।

    संसद भवनभित्रै स्थिती तनावग्रस्त बनेपछि सभामुख न्यान्सी पेलोसी, उपराष्ट्रपति माइक पेन्स र अन्य सांसदलाई सुरक्षित स्थानतर्फ लगिएको थियो । लगत्तै नेसनल गार्डले संसद परिसरमा लकडाउन घोषणा गरेका थिए । प्रदर्शनकारी संसद भवनभित्र तोडफोड गर्दा पनि प्रहरी मूकदर्शक बनेको देखिन्थ्यो । केही प्रदर्शनकारीले तोडफोड गर्दै प्रहरीसँग सेल्फी लिइएको दृश्यहरु थिए ।

    ट्रम्पले आफ्नो हारलाई रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेको बीबीसीले उल्लेख गरेको छ । निर्वाचित राष्ट्रपति बाइडेनले डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतान्त्रिक कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

    १२ इलेक्टोरल मत प्रमाणिकरण गरेर स्थगित भएको संसदको संयुक्त बैठक कतिबेलादेखि सुचारु हुने निश्चित छैन । संसद भवनबाट सबै प्रदर्शनकारीलाई बाहिर निकालिएको छ । अहिलेसम्म जम्मा २ वटा राज्यको मात्र इलेक्टोरल मत प्रमाणिकरण गरिएको छ । अलाबाम र अलास्काको मत प्रमाणिकरण गरे लगत्तै एरिजोनाको मत प्रमाणीकरण गर्ने रिपब्लिकनहरुले असहमति जनाएका थिए ।

    जर्जिया विजयपछि हाउसमा डेमोक्र्याट्सको नियन्त्रण
    जर्जिया राज्यबाट सिनेटका दुबै सिटमा डेमोक्र्याट्सका उम्मेदवारले जितेका छन् । ३३ वर्षका डेमोक्र्याट उम्मेदवार जोन आसेफले रिपब्लिकन उम्मेदवार डेभिड पर्ड्युलाई पराजित गरे । अब संसदका दुबै सदनमा डेमोक्र्याटको नियन्त्रण हुने भएको छ ।

    यसअगाडि जर्जियाबाट डेमोक्र्याटिक उम्मेदवार राफल वार्नकको जित भैसकेको छ । उनले रिपब्लिकन उम्मेदवार केली लोफ्लरलाई पराजित गरेका थिए । अब सिनेटका सय सिटमा ५० सिट डेमोक्र्याटले र ५० सिट रिपब्लिकनले जितेका छन् । उपराष्ट्रपतिले गर्ने ट्राइबेक मतका आधारमा डेमोक्र्याट्सको नियन्त्रण हुनेछ ।

    दुबै सदनमा नियन्त्रण कायम गरेको अवस्थामा बिल पारित गर्न कुनै समस्या हुनेछैन । ११ मिलियन कागजपत्र विहिनलाई ग्रीनकार्ड हुँदै अमेरिकी नागरिकता प्रदान गर्ने बाइडेनको उक्त योजनाले बाल्यकालमा पुगेका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई पनि समेट्नेछ । अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले अमेरिकामा रहेका झन्डै ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने योजना बनाएका छन् ।

    उक्त डाका कार्यक्रमले झन्डै साढे ६ लाख बाल्यकालमा अमेरिका पुगेका कागजपत्र विहिनलाई संरक्षण प्रदान गरेको छ । जसमा नेपालीहरु झन्डै ५ दर्जन छन् । टीपीएसबाहेक नेपालीहरु झन्डै ९ हजारको हारहारीमा छन् ।

    यो समाचार लेख्दासम्म सभामुख नेन्सी पेलोसीले संयुक्त सदनको काम सुचारु गर्ने बताउँदै जो बाइडेनलाई राष्ट्रपतिको रुपमा आधिकारिकरुपमा घोषणा गर्ने जनाएकी छन् । राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने केही सांसदको तयारीको खबर पनि आएको छ भने चुनावलाई चुनौत दिन केही रिपब्लिकन सांसद पछि हटेको खबर छ । हिंसा भड्काउन नियतले लेखिएका ट्रम्पका केही ट्वीटलाई ट्वीटरले हटाइदिएको छ ।

  • सुनसरीको बर्जु तालमा ८ वर्षपछि वैकाल्टिल हाँस देखियो

    सुनसरीको बर्जु तालमा ८ वर्षपछि वैकाल्टिल हाँस देखियो

    विराटनगर । नेपालमा पानी चराको गणना सुरु भएको छ । मध्य हिउँदमा पानी र सिमसार क्षेत्रमा पाइने नयाँ प्रजातिको चराको खोज र वर्तमान अवस्था बारे बुझ्न सगै संरक्षणमा सहयोग पुर्‍याउन गणना शुरु गरिएको हो ।

    वेटल्याण्ड ईन्टरनेशनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा गणनाको काम भईरहेको छ । चरा संरक्षणमा काम गर्ने पंक्षी संरक्षण संघ लगायत देशका विभिन्न ठाउमा क्रियाशील संघसंस्था संलग्न छन् ।

    नेपाल सहित विश्वभर एकै पटक जलपंक्षी गणना भइरहेको हो । नेपालमा पछिल्लो समय जलपन्क्षीहरुको संख्या ओरालो लाग्दै गएको छ ।

    दुलर्भ मानिएका जनपन्क्षीहरु पनि क्रमशः लोप हुँदै गएका छन् । पछिल्लो ५ वर्षको पन्क्षी गणनाको तथ्यांक पनि निराशाजनक छ ।

    यसपटक पनि जलपंक्षी गणकहरुले नयाँ प्रजातिको चराको खोज र वर्तमान अवस्था बारे बुझ्न गणना कार्यले सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

    यसैक्रममा प्रदेश नं. १ र २ का सिमसार क्षेत्रहरुमा जलपंक्षीको गणना सुरु भएको छ । ६ जना विज्ञ गणकसहित २५ जनाको समुहले पुस १८ देखि जलपंक्षीहरुको गणना सुरु गरेका हुन । १८ गते पहिलो दिन समूहले बराहक्षेत्रका  पंक्षीको गणना गरेका थिए ।

    १९ गते कोशी टप्पु वन्यजन्तु आरक्षको पुर्वी भाग र २० तथा २१ गते आरक्षको पश्चिम कमलपुरका सिमसार क्षेत्रका पन्क्षीहरुको गणना गरिएको कोशी पंक्षी समाजले जनाएको छ । बुधबार सो समूहले सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जु तालमा क्षेत्रमा रहेका जलपंक्षीको गणना गरेको छ । हरेक वर्ष पुस महिनामा हुने पञ्च दिवसीय पंक्षी गणनाको यो ३३ औं पटक हो ।

    पंक्षी गणना कार्यका संयोजक कोशी पन्क्षी समाजका अध्यक्ष सञ्जीव आचार्यले अव्यवस्थित शहरीकरणको प्रभाव स्वरुप पछिल्लो समय दुलर्भ चराहरुको संख्या घटेको बताए ।

    वनजंगल फडानी र मानवीय चहलपहलमा वृद्धि, बासस्थानको विनाश र बिषादीको अत्याधिक प्रयोग लगायतका कारणले पछिल्लो २ बर्षमा जल पंक्षीहरुको संख्या असामान्य अबस्थाले कमी आएको छ ।

    वरिष्ठ चराविद् डा. हेमसागर बरालले पछिल्लो अर्धदशक यता नेपालमा दुलर्भ जलपन्क्षीहरु लोपुन्मुख अवस्थामा छन् ।

    चराविद् बरालले कोशीटप्पु वन्यजन्तु आरक्षमा २०७५ को तुलनामा २०७६ मा चराहरुको संख्यामा ६५ प्रतिशतले कमी आएको छ ।

    यसबर्ष पनि सो क्रम जारी रहने उनीहरुको आङ्कलन छ । यद्यपि २०७६ सालमा पंक्षी गणकहरुको समूहले यस क्षेत्रमा ३१ बर्षपछि ठूलो ‘शिलशिले हाँस’ रेकर्ड गरेका थिए । यस्तै गत वर्ष पनि सोही समूहले पूर्वकै लागी नयाँ ‘मण्डारिन हाँस’ समेत रेकर्ड गरेको जनाएका थिए ।

    यसपटक भने बर्जुताल क्षेत्रमा ८ बर्षपछि ‘वैकाल्टिल हाँस’ देखिएको कोशी पन्क्षी समाजका अध्यक्ष प्रेम आचार्यले बताए । यो हाँस नेपालमै दुलर्भ प्रजातिमा पर्दछ ।

    पन्क्षी गणकहरुको सो समूहले प्रत्येक बर्ष प्रदेश नं. १ स्थित कोशी टप्पु, बर्जु ताल, तरहरा, बेतना, उर्लाबारी र भागलपुर ताल तथा प्रदेश नं. २ स्थित सप्तरीको भारदह र कमलदह लगायतका सिमसार क्षेत्रहरुमा पन्क्षी गणना गर्ने गरेका छन् ।

    नेपालमा प्रत्येक बर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी युरोप र पुर्वी एशियाका क्षेत्रहरुबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी आउने गर्दछन् । करिब ७ महिनाको बसाईपछि जेठ महिना सुरुवातसँगै तिनीहरु आफ्नो घर फर्किन्छन् ।

    सर्वाधिक पुस, माघ र फाल्गुण महिनामा विभिन्न प्रजातीका चराहरु देख्न पाईने चराविद्हरुको अध्ययन छ ।

    नेपालमा भने हालसम्म गणना भएका ८ सय ८८ प्रजातीका चराहरुमध्ये ५ सय २८ प्रजातिका चराहरु कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइन्छन् ।

    सन् २०२० मा नेपालमा १ सय १३ प्रजातीका ६९ हजार पानी चरा गणना गरिएको थियो । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाती जलपंक्षी नै छन् ।