Blog

  • देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

    देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा आकस्मिक अवतरण गरिएको छ । गाेरखाको पालुङटार नगरपालिका -२   स्थित  रीप गाउँमा  हेलिकप्टरलाई फोर्स ल्यान्ड गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नेपाल प्रेसलाई बताए ।

    कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए । देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सहभागि थिए ।

    गोरखा प्रहरीले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ । तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।

  • खाने तेलको मूल्यमा दोब्बरसम्म बृद्धि, सरकार भन्छ–फागुनबाट घट्छ

    खाने तेलको मूल्यमा दोब्बरसम्म बृद्धि, सरकार भन्छ–फागुनबाट घट्छ

    काठमाडौं । पछिल्लो समय भटमास र सनफ्लावर तेल लगायत अन्य उपभोग्य बस्तुको मूल्य वृद्धि भएको छ । कोरोनाको कारण करिब ७ महिना बन्द भएको बजार विस्तारै माथि उठ्दै गएको समयमा व्यापारी र उद्योगीले खाने तेलको मूल्य वूद्धि गरेका हुन् । उपभोक्ताको आयस्रोत कम हुँदै गएका बेला उपभोग्य बस्तुको मूल्य भने वृद्धि हुँदै गएको छ ।

    खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बजारमा खाने तेलको मूल्य २ गुणासम्मले वृद्धि भएको बताए । केही समय अघि भटमासमको तेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ थियो ।

    हाल आएर २ सय १० रुपैयाँ भएको र सनफ्लावर तेलको मूल्य १ महिना अघि प्रति लिटर १ सय ८५ रुपैयाँबाट वृद्धि भई अहिले २ सय २० रुपैयाँ भएको छ । तोरीको तेलमा भने २ सय ५० रुपैयाँबाट बढेर २ सय ६० रुपैयाँ पुगेको उनले बताए ।

    उनले भने –हाल विदेशबाट आउने कच्चा पदार्थको मूल्य वृद्धि भएकाले नेपालमा खाने तेलको मूल्य वृद्धि भएको भनिएको छ । तर २ महिना अगाडी उत्पादन भएको तेलमा पनि मूल्य वृद्धि भएर बजारमा विक्री भइरहेको छ ।
    तेल उत्पादक र ठुला व्यपारीहरुले आफ्नो मनोमानी तरिकाले खाने तेलको मूल्य वृद्धि गरेको उनले बताए ।

    हाल जिरामसिनो र लंगे्रन चामलको पनि मूल्य वृद्धि भएको उनले जानकारी दिए । जिरा मसिनो चामलमा प्रति बोरा ५० देखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । भने लंग्रेन चामलमा पनि प्रति बोरा ५० देखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । हरियो केराउमा भने प्रति केजी १५ रुपैयाँ मूल्य घटेको छ । अन्य खाद्यान्नमा भने मूल्य नबढेको श्रेष्ठले बताए ।

    बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यापारीले भनेको जसरी एकै पटक तेलको मूल्य वूद्धि नभएको दावी गरे । पटक पटक गरेर भने तेलको मूल्य वृद्धि भएको उनले बताए ।
    उनले भने– बजारमा हल्ला भए जसरी बजारमा तेल लगायत उपभोग्य बस्तुको मूल्य वृद्धि भएको होइन । विश्व बजारमा नै तेल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य वृद्धि भएको कारणले नेपालमा पनि त्यसको प्रभाव परेको हुनसक्छ ।

    तेल उत्पादकहरुलाई तेलको मूल्य वृद्धि हुनाको कारण सोधेर बजार अनुगमनलाई तीब्रता दिइएको उनले बताए । विश्व बजारमा नै तेल उत्पादन हुँदा प्रयोग हुने कच्चा पदार्थको मूल्य घट्ने क्रममा रहेकोले नेपालमा खाने तेलको मूल्य फागुनबाट घट्ने सुवेदीले बताए ।

    उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष विष्णु प्रसाद तिमल्सिनाले भने नियमक निकाय बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा भएको मूल्य वृद्धिलाई थाहा नपाए जसरी बसेको कारणले नै व्यापारी र उद्योगीले बजारमा लुट मच्चाइरहेको आरोप लगाए ।

    उनले भने–विश्व बजारमा उपभोग्य बस्तुको मूल्य घट्दा न सरकारले व्यापारीलाई मूल्य घटाउन भन्छ, न व्यापारी र उद्योगीले नै मूल्य घटाएर बस्तु विक्री वितरण गर्छन् । तर विश्व बजारमा मूल्य वृद्धि भएकै दिन नेपालमा पनि त्यसको असर पर्ने गरेको छ ।

  • बनेपामा अत्याधुनिक फिल्म सुटिङ स्टुडियो निर्माण सुरु, फिल्म म्युजियम पनि बन्ने

    बनेपामा अत्याधुनिक फिल्म सुटिङ स्टुडियो निर्माण सुरु, फिल्म म्युजियम पनि बन्ने

    बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ ।

    बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । “भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्”, उनले भने। उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हनेछ ।

    इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथो प्रोटेबल सेटहरू निर्माण गरिने अध्यक्ष दाहालले जनाए। आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण निर्माण हुने योजना बनाइएको छ ।

    ‘मिनी फिल्मी सिटी’ को अवधारणा लिइएको यस योजनाको जमिनका लागि वन मन्त्रालयमा कागजात पुगेको र वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नुपर्ने काम अघि बढाइएको हो । स्टुडियो निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएको तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । “बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो”, उनले भने ।

    चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाई काम शुरु गरिने जनाइएको छ । “नेपालमा हाल अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौँ”, अध्यक्ष दाहालले भने ।

  • आज माघे सक्रान्ति : थारु फेसन स्टेटमेन्टमा सेलेना गोमेजदेखि रेखा थापासम्म

    आज माघे सक्रान्ति : थारु फेसन स्टेटमेन्टमा सेलेना गोमेजदेखि रेखा थापासम्म

    माघे सक्रान्ति पर्व विहिबार देशभर सेलिव्रेट गरिँदैछ । थारु समुदायले यस पर्वलाई माघीपर्वको रुपमा मनाउँछन् । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । पाँचदिनसम्म तराई क्षेत्रमा धुमधामका साथ यो पर्व मनाइने गरिन्छ ।

    अभिनेत्री रेखा थापा

    नागरिकजस्तै सेलिव्रेटी पनि माघे सक्रान्तिको मुडमा छन् । सामाजिक संजालको टाइमलाइनमा उनीहरुले आफ्ना प्रशंसकलाई माघी पर्वको रुपमा शुभकामना दिएका छन् । उनीहरुले थारु समुदायको गेटअप र पोशाकमा तस्विर पनि सेयर गरेका छन् । अभिनेत्री रेखा थापाले माघे सक्रान्तिको शुभकामना दिँदै थारु वार्डरोवमा सजिएको फोटो सेयर गरेकी छन् ।

    सेलेना गोमेज बर्दियामा

    माघीपर्वको अवसरमा अभिनेता पल शाहले म्युजिक भिडियो लन्च गर्दैछन् । केही वर्षअघि नेपाल आएकी हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेज बर्दिया पुगेर माघी मनाएकी थिइन् । सेलेनाको थारु पहिरनमा सजिएको तस्विर त्यतिबेला भाइरल भएको थियो । नेपाली अभिनेत्री एवं पूर्वमिस नेपाल मलिना जोशीले पनि थारु पहिरनमा फोटो पोस्ट गर्दै शुभकामना दिएकी छन् ।

    अभिनेता पल शाह र गरिमा शर्मा

    अपिल विष्टको निर्देशन रहेको फिल्म झुम्कीमा मलिना एक थारु युवतीको भूमिकामा प्रस्तुत थिइन् । थारु समुदायको नयाँवर्ष पनि भनिने माघीपर्व स्नान, दान एवं खानपिन र रमाइलो गरेर मनाइन्छ । आजको दिन तरुल खाने पनि गरिन्छ । सरकारले २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरि त्यसैवर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसको रुपमा समेत मनाइन्छ ।

    अभिनेत्री एवं पूर्वमिस नेपाल मलिना जोशी फिल्म ‘झुम्की’ छायांकन सेटमा ।
  • परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

    परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

    काठमाडौं । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली प्रस्थान गरेका छन्। ज्ञवाली परराष्ट्र सविच भरतराज पौडेलसहित विभिन्न बरिष्ठ सरकारी अधिकारीका साथमा केहीबेरअघि दिल्ली प्रस्थान गरेका छन्।

    दुई दिनसम्म चल्ने परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको जमिन भएकाले त्यसलाई फिर्ता ल्याउने बताएका थिए ।

    मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पनि कुरा हुने बताएका छन् । यसबारेमा सम्झौता हुने भनिए पनि त्यसको टुंगो लागि नसकेको स्रोतले बताएको छ।

    तर भारतमा निर्मित खोपको प्रभावकारिता पुष्टि भएमा नेपालले भारतकै खोपलाई प्राथमिकता दिने भएको छ।

  • राजदूत राजभण्डारीले बुझाए बेल्जियमका राजालाई ओहदाको प्रमाणपत्र

    राजदूत राजभण्डारीले बुझाए बेल्जियमका राजालाई ओहदाको प्रमाणपत्र

    काठमाडौं। बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले राजदूतको ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

    बुधबार बस्रेल्सस्थित राजदरबारमा आयोजित विशेष समारोहमा त्यहाँका राजा फिलिपे अमिदस्त समक्ष भण्डारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

    राजा अमिदस्तले राजदूत नियुक्त भएकामा बधाई दिंदै कार्यकालको सफलताको सुभकामना पनि दिए।

    त्यसक्रममा राजदूत राजभण्डारीले नेपालकी राष्ट्रपति विद्याभण्डारीले पठाएको शुभकामना पनि राजालाई सुनाएका थिए।

  • नेपाली नाटक घर आजदेखि खुल्दै, आठवटा नाटकको लाइनअप घोषणा

    नेपाली नाटक घर आजदेखि खुल्दै, आठवटा नाटकको लाइनअप घोषणा

    काठमाडौं । दस महिनादेखि बन्द भएका नेपाली नाटक घर आजदेखि खुलेका छन् । नेपाली थिएटरको छाता संस्था थिएटर हबले ९ गतेसम्म ८ वटा नाटक र कार्यक्रम लाइनअप घोषणा गरेको छ । कोरोनाले थलिएको नेपाली रंगमंचलाई लयमा ल्याउन यो लाइनअप सहायक हुने हबले जनाएको छ ।

    विहिबार आज बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ‘६ पात्रको एकालाप’ मंचन हुँदैछ । शुक्रबार कौसी थिएटरमा नाटक ‘हराउँदै भेटाउँदै’ नाटक मंचन हुनेछन् । बिराटनगरको झोराहाट थिएटरमा आइतबार नाटक ‘कोरोना टाइम्स’ मंचन हुनेछ ।

    बिराटनगरकै आरोहण गुरुकुलमा सोमबार नयाँ नाटकको नमुना मंचन तथा छलफल हुनेछ । मंगलबार पोखरा थिएटरमा नाटक महोत्सवको घोषणा हुनेछ । बुधबार काठमाडौंको मण्डला थिएटरमा ‘कोरोना अघि र पछिको रंगमंच एवं अबको बाटो’ संचालन हुनेछ । शैली थिएटरमा विहिबार शैली संवाद संचालन हुनेछन् । अर्को शुक्रबार कीर्तिपुरस्थित थिएटर रंगमंचमा पोएट्री पटरी र रंगकर्मीको कविता संचालन हुनेछन् ।

  • प्रधानमन्त्रीका पक्षमा बहस गर्ने वकिलप्रति लक्षित गर्दै योगेश भट्टराईले भने– देशमा के हुँदैछ ?

    प्रधानमन्त्रीका पक्षमा बहस गर्ने वकिलप्रति लक्षित गर्दै योगेश भट्टराईले भने– देशमा के हुँदैछ ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का नेता योगेश भट्टराईले प्रतिनिधिसभा विघटनबारको बसहमा देशका वकिलहरु ध्रुविकृत भएको टिप्पणी गरेका छन्।

    उनले हिजो लोकतन्त्रका विपक्षमा रहेका वकिल अहिले प्रधानमन्त्रीको पक्षमा वकलात गर्न तयार भएको भन्दै प्रश्न गरेका छन– देशमा के हुँदैछ ?

    ‘हिजो लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रबादीहरुलाई जेल पठाउन बहस गर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमाबहस गर्दैछन्,’ उनले ट्वीटरमा लेखेका छन्, ‘अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहसगर्ने वकिलजती सबैआज प्रधानमन्त्रीको कदमका बिपक्षमा ।’

    संवैधानिक इजलसामा सुनवाईका क्रममा रहेको मुद्दामा सरकारको पक्षबाट बरिष्ठ अधिवक्ताहरु सुशील पन्त,माधव बास्कोटा,बालकृष्ण न्यौपाने,सुरेन्द्र भण्डारी, विष्णु भट्टराई लगायतले वहस गर्दैछन् । उनीहरु नेकपा सम्बद्ध वकिल होइनन् ।

     

  • मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ : मन्त्री नेम्वाङ

    मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ : मन्त्री नेम्वाङ

    पाचँथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् ।

    पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उनको भनाइ छ ।

    फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार सबैतिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको जानकारी दिए ।

    ‘पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नुहुन्छ ?”, उनले प्रश्न गर्नुभयो, “पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानुपरेको हो ।’

    अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने जनाउँदै मन्त्री नेम्वाङले निर्वाचनमा जाने कामले कसरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समस्यामा पार्‍यो ? प्रश्न गर्नुभयो । ‘मुलुक डुब्ने, प्रतिगमन हुने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्रमले निर्वाचन रोकिदैन’

    नगरसभामा नगर उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले नगरपालिकाको गत आर्थिक वर्षको समीक्षासहित चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गरेका थिए थियो ।

  • ‘प्रतिनिधिसभा विघटन राजनीतिक विद्रोह र नयाँ युगतर्फको पाइला’

    ‘प्रतिनिधिसभा विघटन राजनीतिक विद्रोह र नयाँ युगतर्फको पाइला’

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोखरेलले प्रतिनिधिसभा विघटनलाई राजनीतिक जडताविरुद्ध केपी ओलीको राजनीतिक विद्रोह भनेका छन् । पोखरेलले यसलाई नयाँ युगतर्फको पाइला भन्दै प्रतिनिधिसभा विघटन हुनुभन्दा केही घण्टा अगाडि पनि आफूले प्रचण्डलाई विभाजन रोक्ने विकल्प सुझाउदा कुनै हालतमा नमानेको दावी गरेका छन् ।

    आज विहान सामाजिक सञ्जालमार्फत केही तथ्यहरू खुलासा गर्दै पोखरेलले कम्युनिस्ट पार्टी अब नयाँ शीराबाट पुनर्गठन हुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटन अहिलेको संकटको कारण नभएर परिणाम मात्र हो भनेका छन् ।

    पोखरेलको विचार जस्ताको त्यस्तै:

    एकताको रक्षाका लागि गरिएका प्रयासहरू किन असफल भए भनेर कमरेडहरू प्रश्न गर्नुहुन्छ । म कति कुरा बताउँ भनेर अन्योलमा पर्छु । प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ, जनार्दन शर्माको साथमा । त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्त्वकासाथ सुझाएको थिए ।

    तर कमरेड प्रचण्ड त्यस प्रति एकरती पनि सकारात्मक देखिनु भएन । मेरो तर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन । उहाँ आफ्नो भित्रि योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ । उहाँ सहमतिमा होइन, षडयन्त्रको बाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम बेहोर्दै छौँ ।

    पार्टी एकता समयको माग र आवश्यकता थियो । दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफूलाई प्रस्तुत गर्नु भो । हामीले वैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि बढ्नु उचित हुने सुझाव दिएका थियौ । तर उहाँहरूले भावनात्मक कुरा गर्नु भो । हामीले त्यसलाई स्विकार गर्‍यौं ।

    तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन । भएको शक्तिसमिकरणका माध्यमबाट अघि बढ्नेकुरामा नै हमेसा रुचि देखियो । तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो । तर पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरूलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ । एकातिर कमरेड केपीको साथमा रामबहादुर थापा ‘बादल’ हुनुहुन्छ अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल । यसले पनि नयाँ शिराबाट आन्दोलनलाई पूनर्गठन गर्ने अवसर प्रदान गरेको छ ।

    नेपाली राजनीतिमा पुरानो पुस्ताले अधिकार प्राप्तिको लडाईमा ऐतिहासिक भूमिका निर्वाह गरेकै हो । नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले एउटै पुस्ताले तीन वटा क्रान्तिको नेतृत्व गरेको कुरा सगौरव चर्चा गर्नुहुन्थ्यो । वास्तवमा क्रान्तिको इतिहासमा यो अनुपम कुरा नै थियो । तर दुनियामा एउटा क्रान्तिबाट युगको परिवर्तन हुन्छ । तर हामी कहाँ तीनवटा क्रान्तिपछि पनि युग परिवर्तनको आभाष दिन सकिएको छैन ।

    यस्तो किन ? पुरानो पुस्ताका नेताले खोज्ने कोशिस कहिले गर्नु भएन । कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नु भएको थियो । उहाँलाई चारैतिरबाट घेराबन्दी गरियो र अपमानजनक हिसावले पार्टी र आन्दोलनबाट बाहिर पठाउने कोशिस गरियो । कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिपेक्षमा हेर्नु पर्दछ । यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो । नयाँ युगतर्फको पाइला हो ।

    नेकपा भित्र कमरेड केपी शर्मा ओलीलाई एकता निर्माणमा असफल भएको आरोप लगाइएको छ । मेरो विचारमा नेपालका पार्टी निर्माणमा देखिएको जडताको परिणाम हो यो । नौ सदस्यीय सचिवालयमा सात जना पार्टी प्रमुख हुनु र चार जना पूर्व प्रधानमन्त्री हुनु आफैमा एकता निर्माणको चुनौती थियो । पश्चिमा मुलुकहरूले राजनीतिमा आउनसक्ने यस प्रकारको अवस्थाको समाधान पहिले नै खोजेका थिए ।

    समाजवादी चीनले पनि त्यसको समाधान खोजिसकेको छ । तर हामीले पद्धतिगत सुधारको साटो व्यवस्थापनमा जोड दियौं र आजको संकटलाई आमन्त्रण गर्‍यौं।

    मेरो विचारमा पार्टी पद्धतिमा सुधारको प्रयास नगर्ने हो भने पुनर्गठित पार्टीहरू भित्र पनि भविष्यमा यही प्रकृतीको समस्या नआउला भन्न सकिन्न । अहिले प्रचण्ड र माधव कमरेडहरूका बीचमा चलिरेहको छलफलले पनि त्यही संकटलाई संकेत गरिरहेको छ ।

    कतिपय कमरेडहरू नयाँ शिराबाट एकताको पहल गर्न अनुरोध गरिरहनु भएको छ। त्यो पहलकदमीका लागि यस्ता कुरामा मतैक्यताको आवश्यकता पर्दछ ।

    आजको संकटको कारण प्रतिनिधिसभाको विघटन हो या दुई तिहाईको जनादेशलाई र पार्टी एकताको भावनालाई आत्मसात गर्न नसक्ने कुरा हो भन्नेमा हाम्रा बीचमा विमती रहेछन् ।

    प्रतिनिधिसभा विघटन परिणाम हो । कारण होइन । कारण त हाम्रो पार्टी प्रणालीमा छ र त्यसमा सुधार नै नयाँ एकताको आधार हो । आउनुहोस् नयाँ जनादेशको बाटोबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकतावद्ध गरौँ । पार्टी पद्धतीको सुधारका माध्यमबाट नयाँ युगको सारथीको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरौँ ।

  • प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

    प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को स्थायी कमिटी बैठक बस्ने भएको छ।

    बिहीबार दिउँसो तीन बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको बैठकमा आन्दोलनका समीक्षा र पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे छलफल हुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले नेपाल प्रेसलाई जानकारी दिइन।

    २० पुसमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा स्थायी कमिटी सदस्यहरू पम्फा भुसाल र गणेश शाहलाई थप गर्ने निर्णय गरेको हो।

    त्यस्तै पार्टी एकताको बाँकी काम सम्पन्न गर्न अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गृहकार्य टोली बनाएको थियो । कार्यदलले अझैं पनि प्रतिवेदन बुझाउन सकेको छैन।

  • प्रचण्ड-माधवको आरोप: सामाजिक राजनीतिक अधिकारमाथि सरकारले प्रहार गर्दैछ

    प्रचण्ड-माधवको आरोप: सामाजिक राजनीतिक अधिकारमाथि सरकारले प्रहार गर्दैछ

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गणतन्त्र र संविधानको रक्षाका लाागि एकजुट भएर अघि बढ्न आदिवासी जनजातिलाई अपील गरेको छ ।

    थारु, मगर, छन्त्याल गलायतका आदिवासी समुदायको साझा पर्व माघीको अवसरमा अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपालले जारी गरेको शुभकामना सन्देशमा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको आरोप लगाइएको छ ।

    वक्तव्यमा भनिएको छ- ‘नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर नेपाली जनताका बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतकि अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ ।’

  • याे वर्ष देवघाटमा स्नान गर्न आउने घटे

    याे वर्ष देवघाटमा स्नान गर्न आउने घटे

    पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेहरुको यसवर्ष कमी आएको छ । गत वर्षका तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या थोरै नै रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए ।

    अघिल्ला वर्षहरूमा देवघाटमा स्नान गर्न आउने भक्तजन पाँच लाखभन्दा बढी हुने गरेका थिए । यस वर्ष भक्तजन तीन लाख हाराहारी हुने अनुमान गरिएको उनले जानकारी दिए । देशभर र भारतबाट समेत भक्तजन स्नानका लागि यहाँ आउने गर्दछन् । बुधबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । कोरोना कहरका कारण यस वर्ष तीर्थालु भक्तजनको सङ्ख्यामा कमी भएको हो ।

    निर्देशक घिमिरेका अनुसार यस वर्ष बजार लाग्ने मेला नगरी स्नानका लागि मात्र मेला गरिएको हो । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको जानकारी उनले दिए । देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कँदा तिनले आँपटारीको बाटो प्रयोग गरेका छन् ।

    आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारमा तयार छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमांकन गरिएको छ ।

    ज्योतिषशास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । यस दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

    ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

  • परराष्ट्रमन्त्री दिल्ली जाँदै, सीमा विवाद र काेराेना खाेप नेपालको प्राथमिकतामा

    परराष्ट्रमन्त्री दिल्ली जाँदै, सीमा विवाद र काेराेना खाेप नेपालको प्राथमिकतामा

    काठमाडौं । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज दिल्ली जादैछन् । परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको जमिन भएकाले त्यसलाई फिर्ता ल्याउने बताएका थिए ।

    उनले परराष्ट्रमन्त्रीको भारत भ्रमणमा यी विषयमा कुरा हुने बताएका छन् । मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पनि कुरा हुने बताएका छन् । यसबारेमा सम्झौता हुने भनिए पनि त्यसको टुंगो लागि नसकेको स्रोतले बताएको छ । तर भारतमा निर्मित खोपको प्रभावकारिता पुष्टि भएमा नेपालले भारतकै खोपलाई प्राथमिकता दिने भएको छ ।

    शुक्रवार हुने संयुक्त आयोगको बैठकको अध्यक्ष परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्नेछन् । बैठकमा नेपालले यसपटक सीमा विवादलाईनै प्रमुख रुपमा उठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सीमा विवादलाई समाधान गर्न सचिवस्तरीय संयन्त्र छ । त्यसलाईनै मन्त्रीस्तरीय बैठक समयसीमा तोकेर जिम्मेवारी दिनसक्ने सम्भावना रहेको छ ।

    कालापानी र सुस्ता क्षेत्र बाहेक अन्यत्र सीमा समस्या जटिल नरहेकोले यही विषयमा बढी छलफल गर्ने नेपालको चाहना छ । प्रधानमन्त्रीले कालापानी,लिपुलेक र लिम्यिाधुरा नेपालको भूभाग भएकाले त्यसलाई फिर्ता ल्याइने र सन् २०२१ नेपाल र भारतबीचको समस्या समाधान भएको वर्षका रुपमा रहन सक्ने कुरा हालै भारतीय टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा बताएका छन् ।

  • यस वर्षको मकर संक्रान्तिमा दुर्लभ पञ्च ग्रहयोगम्– दान र स्नानको विशेष महत्व रहने

    यस वर्षको मकर संक्रान्तिमा दुर्लभ पञ्च ग्रहयोगम्– दान र स्नानको विशेष महत्व रहने

    काठमाडाैं । वैदिक सांस्कृतिक परम्परामा मकर संक्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने गरिएको गरिएको छ । कार्तिक स्नान र मक्कर स्नानका बारेमा शास्त्रमा विशेष रुपमा व्याख्या गरिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति भनेर भनिएको हो ।

    नेपालमा रहेका हरेक जात जातिका समुदाय हरुले फरकफरक रुपमा यस पर्वलाई मनाउने परम्परा रहिआएको छ । विशेषगरी थारु समुदायमा यसलाई प्रमुख उत्सवकारुवमा मनाउने परम्परा सदीयौंदेखि रहिआएको छ । पुराणमा वर्णन गरिए अनुसार सूर्य देव आफ्नाछोरा शनिसँग भेटहुने विशेष दिनका रुपमा पनि व्याख्या गरिएको छ । तेसैले पनि यस पर्वलाई पिता र पुत्रको मिलनका रुपमा पनि लिने गरिएको छ ।

    दक्षिणायन र उत्तरायण गरी वर्षलाई दुई भागमा बिभाजन गरिएको छ । श्रावणसंक्रान्ति देखि सूर्य नारायण दक्षिणायन हुन्छन भने मकर संक्रान्तिका दिनदेखि सूर्य उत्तरायण हुने गर्दछन । सूर्य उत्तरायण र दक्षिणायन हुँदा यसको प्रभाव प्रकृतिदेखि समस्त प्राणी हरुमा प्रतक्षरुपमा पर्ने गर्दछ । सूर्य मक्कर राशिमा प्रबेश भएदेखि दिन लामो र रात छोटो हुँदै जाने गर्दछ ।

    शास्त्रमा उल्लेख भएअनुसार मकर संक्रान्तिका दिन गंगा धर्तीमा अवतरण भएको दिनका रुपमा पनि व्याख्या गरिएको छ । त्यसकारण मकर संक्रान्तिका दिन गंगा हरुमा मात्रै नभएर अन्य ससाना नदि तथा तलाउ हरुमा स्नानका लागि भक्तजनहरुको उल्लेख्य रुपमा उपस्थिति हुने गर्दछ । यसदिन गरिएको स्नान दान तथा तर्पणको विशेष महत्त्व रहने शास्त्रमा उल्लेख गरिएको छ ।

    हाम्रो देश नेपाल संस्कृति, परम्परा र उत्सवको धर्ती हो र उत्सव तथा परम्परागत रुपमा मनाइने जति पनि हाम्रा चाडपर्व हरु छन्, तिनीहरूको धार्मिक महत्व मात्रै नभएर वैज्ञानिक आधारहरू पनि उत्तिकै छन् । पृथ्वी उत्तर दिशामा २३ दशमलव ४३९२८११ डिग्री मा झुकेको छ । पृथ्वीलाई तीन काल्पनिक रेखामा बिभाजन गरी नामांकित गरिएको छ, जुन कर्क रेखा, भूमध्य रेखा र मकर रेखा हो ।

    पृथ्वी ३ सय ६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेन्डमा २९ दशमलव ७८ किलोमिटर प्रति सेकेन्डको गतिमा सूर्यको परिक्रमा गरिरहेको छ । उत्तर दिशामा पृथ्वी झुकेको कारणले गर्दा वर्षमा चार विशेष परिस्थिति सृजना हुने गर्दछ । पहिलो दिन र रात बराबर हुने गर्दछ, दास्रो दिन सबैभन्दा लामो र रात छोटो हुने गर्दछ, तेस्रोमा दिन र रात बराबर हुने गर्दछ र चौथोमा रात सबैभन्दा लामो हुन्छ भने दिन सबैभन्दा छोटो हुने गर्दछ जुन नियमित गतिमा घुमिरहेको छ ।

    सूर्य मकर राशिमा नआउँदासम्म सूर्य दक्षिणायनमा रहने छन् जब सूर्य मकर राशिमा प्रवेश गर्दछन् सूर्य उर्धरेखा तर्फ सर्दछन् । सूर्य ऋतु हरुको कारण हो जुन पृथ्वीको झुकाबका कारणले गर्दा ऋतु हरुम परिवर्तन हुने गर्दछन जसको मुख्य कारण सूर्य नै हो ।

    बिहीवार मकर संक्रन्तिका दिन ग्रह राशि तथा नक्षत्र हरुको गतिलाई हेर्ने हो भने पनि दुर्लभ खगोलीय अवस्था पनि बनिरहेको छ । एउटै राशिमा ५ ग्रहको अवस्था रहेको छ । ५ ग्रह मकर राशिमा रहने भएकाले पनि विशेष महत्व रहने ज्योतिषी हरुले जानकारी गराएका छन् । यस्तो अवस्थामा गरिएका दान स्नान तथा तर्पण गरेमा अनन्त पुण्य फल प्राप्ति हुने शास्त्रमा उल्लेख गरिएको छ ।

    कार्तिक स्नान तथा माघ स्नानको विशेष महत्व रहेको शास्त्रमा उल्लेख गरिएको छ । कात्तिकमा शिशिर ऋतु प्रारम्भ तथा माघ महिनामा शिशिर ऋतुको अन्त्य हुने दिन हो । मानिस हरुको स्वस्थ विशेषगरी ऋतु परिवर्तन हुने अवस्थामा बिग्रने भएकाले कार्तिक स्नानाबाट चिसो प्रारम्भ हुन्छ भने माघ स्नानदेखि गर्मि प्रारम्भ हुने भएकाले पनि मक्कर संक्रान्तिको स्नानलाई विशेष महत्वका साथ वर्णन गरिएको धार्मिक विद्वान हरुले जानकारी गराएका छन आजका दिन शरीरमा गर्मी पैदागर्ने तिल, सख्खर, चाकु लगायतका बस्तुहरुको सेबनले शरीर निरोगी बन्ने आयुर्वेदिक ग्रन्थमा उल्लेख गरिएको । यसरी हाम्रा परम्पराले आध्यात्मिक तथा वैज्ञानिक दुवैको प्रतिनिधित्व गरिरहेको छ । धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो ।

    लेखक रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव हुन्

  • अन्धविश्वासको पराकाष्ठाः झाँक्रीले तातो पन्यूले डामेर बिरामीको मृत्यु

    रुपन्देही । नागरिकको स्वास्थ्य चेतलाई प्रतिनिधित्व गर्ने गरी गुल्मीमा एउटा पाशविक घटना सार्वजनिक भएको छ । बिरामी भएपछि अस्पतालको सट्टा झारफूकका लागि झाँक्रीको शरणमा जाँदा गुल्मीको इस्मा गाउँपालिकाका एक बृद्धको मृत्यु भएको खुलासा भएको छ ।

    इस्मा–३ दर्लामचौरका ६३ वर्षीय रामबहादुर मुखिया ढाड दुख्ने समस्याबाट लामो समयदेखि पीडित थिए । अस्पताल जानुपर्ने उनी दुई छोरालाई साथमा लिएर रेसुंगा नगरपालिका–१ मा रहेका कथित धामी ३८ वर्षीय रामप्रसाद श्रेष्ठको शरणमा पुगे ।

    मृतकका छोरा हुमबहादुरका अनुसार उपचार प्रक्रिया भन्दै रामबहादुरलाई चार दिनसम्म खाना निइएन । बरु पन्यू, फलामको रड, स्टिलको झाँझर तथा प्लास्टिकको पाइप तताएर रामबहादुरको शरीरमा जताततै प्रहार गरे । भोक र पीडा सहन नसकेर अचेत बनेका रामबहादुरको केहिबेरमै निधन भयो, यो हिजो बुधबारको घटना हो ।

    बुबाको मृत्यु भएपछि उनका छोराहरुले कथित धामीको नियतमाथि प्रश्न गर्न थाले । धामीले उल्टै ३४ वर्षीय हुमबहादुरलाई पनि पन्यूले प्रहार गरे र आफ्नो घरमा होहल्ला गरेको भन्दै आफैंले प्रहरीलाई खवर गरे ।

    प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरी टोलीले धामीको प्रहारबाट रामबहादुर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो । मृतक रामबहादुरको शरीरभरि डामहरु छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठले धामीको विश्वासमा लागेर बृद्धको ज्यान गएको जानकारी दिए ।

    कथित धामी श्रेष्ठले रेसुङ्गा नगरपालिका–५ भुवनपानीकी ४० बर्षिय टोपला दमाई र मृतक रामबहादुरका छोरा हुम बहादुरलाई पनि यसैगरी तातो पन्यूले हानेर घाइते बनाएको पत्ता लागेको छ । अहिले घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने शवको पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको छ ।

    घटनामा संलग्न ३८ वर्षीय रामप्रसाद र उनकी श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • कांग्रेसका युवा भन्छन्- आन्दोलन पनि ठीक, चुनाव पनि ठीक

    कांग्रेसका युवा भन्छन्- आन्दोलन पनि ठीक, चुनाव पनि ठीक

    काठमाडौं । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेलगत्तै कांग्रेसले प्रतिवाद गर्‍यो । कांग्रेस पदाधिकारी बैठकले सो निर्णय ‘अलोकतान्त्रिक र असंवैधानिक’ भएको ठहर गरेको थियो ।

    त्यसयता कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । बैठक थाती राखेर कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश, स्थानीय तह र वडा केन्द्रीत प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा उभिएपनि कांग्रेसभित्र संसद पुनःस्थापनाका लागि आन्दोलन र निर्वाचनमध्ये कुनलाई प्राथमिकता दिने भन्नेमा विवाद छ ।

    कांग्रेसको शीर्ष तहमा देखिएको यस्तो विवाद गुटगत रुपमा पार्टीको तल्लो तहसम्मै प्रवाहित हुँदैछ । यसैबीच हामीले नेपाली कांग्रेसका नौजना युवा नेतालाई पार्टीको अबको नीति कस्तो हुनुपर्छ ? भनी सोधेका छौं ।

    नेतृत्वको एउटै धारणा होस
    दिनेश कोइराला– चितवन

    प्रतिनिधिसभा विघटन गरेर नेपालका कम्युनिष्टहरुले जनमतप्रति घात गरेका छन् । राजनीतिक स्थिरताका नाममा नेपाली जनताबाट प्राप्त गरेको विश्वास कम्युनिष्टले गुमाएका छन् ।

    सत्ता सञ्चालनका दौरानमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको नेकपा कारण मुलुक डुब्ने स्थिति बनेको छ । तर कम्युनिष्टलाई सुुधार्न नसक्नु कांग्रेसको पनि कमजोरी हो । संसदमा आकार सानो भएपनि कांग्रस देशकै अभिभावक पार्टी हो ।

    प्रतिपक्षका रुपमा कांग्रेसको भूमिका प्रभावकारी भएको भए प्रधानमन्त्रीले यस्तो दुस्साहस गर्ने हिम्मत गर्दैनथे । संसद पुनःस्थापना हुँदा वा नहुँदा दुवै अवस्थामा मुलुक समस्यामा पर्ने निश्चित भएको छ ।

    आन्दोलनका नाममा सडकमा अनियन्त्रित भीड जम्मा गरेर पनि समाधानमा पुग्न सकिदैन । मेरो विचारमा कांग्रेसले जनजागरण अभियान चलाउनुपर्छ । जनतालाई बुझाउनुपर्छ की कम्युनिष्टका कारण मुलक समस्यामा पर्‍यो । यदि आन्दोलन नै हो भने आन्दोलन त कांग्रेसले होइन जनताले गर्नुपर्छ । कम्युनिष्ट होस वा कांग्रेस सबैबाट दिक्क त जनता छन् ।

    सबै पार्टीका गलत प्रवृत्ति र नेतृत्पविरुद्ध जनताले नै आन्दोलन गर्नुपर्‍यो । राजनीतिक पार्टीका रुपमा त कांग्रेसले नेकपाका गल्ती र सरकारको असंवैधानिक कदमबारे जनतालाई कन्भिन्स गर्ने हो । अदालतले पुनःस्थापना गरेको अवस्था र नगरेको दुवै अवस्थाका बारे पार्टी नेतृत्वको धारणा तत्काल बन्नुपर्छ ।

    कांग्रेसले दुई तिहाई ल्याउन सक्छ
    विष्णु धिताल– लमजुङ

    प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक छ । नेपालमा कम्युनिष्ट सरकार जनताको पक्षमा हुँदैन भन्ने प्रमाणित भएको छ । आम जनताले कम्युनिष्टबाट धोका पाइसकेका छन् ।

    अब फेरी कांग्रेसले नै नेतृत्व नगरेसम्म राजनीतिक स्थायित्व र विकास हुँदो रहेनछ भन्ने जनतालाई परेको छ । कम्युनिष्टको झूठा नारा र आश्वासन बेकार रहेछ भन्ने जनताको निष्कर्ष छ । यस्तो बेलामा कांग्रेसले आफ्नो सान्दर्भिकता देखाउनुपर्छ ।

    कांग्रेसले आफ्नो पार्टीको महाधिवेशन पनि गर्नुपर्छ । आन्तरिक रुपमा पनि कांग्रेस एकताबद्ध हुनुपर्छ र जनतामै गएर पछिल्लो राजनीतिक कदमको हिसाब किताब गर्नुपर्छ । अहिले निर्वाचन भएमा कांग्रेसले दुई तिहाई ल्याउन सक्छ । त्यसैले सरकारलाई तोकिएकै मितिमा निर्वाचन गराउन दवाव दिनुपर्छ ।

    जनमतबाट एजेण्डा स्थापित गर्नुपर्छ
    नैनसिंह महर–डडेल्धुरा

    प्रतिनिधिसभा जसरी विघटन गरियो गम्भीर त्रुटी हो । असंवैधानिक, अलोकतान्त्रि र अराजनीतिक कदम हो भन्ने नै कांग्रेसको धारणा हो । प्रतिनिधिसभा विहीनताको अवस्था अन्त्य गरेर मात्रै अहिलेको असंवैधानिक र अलोतान्त्रिक कदमबाट हुने दुर्घटना टार्न सकिन्छ ।

    संसद फिर्ता ल्याउनुपर्छ । त्यसका लागि हामीसंग दुई वटा उपाय छ । पहिलो उपाय सर्वोच्च अदालतको निर्णयले तय गर्छ । अदालतबाट पुनःस्थापना भयो भने संसद फर्कन्छ । दोस्रो उपाय भनेको निर्वाचन हो ।

    अदालतमा मुद्धा पुगेका कारणले हामीले निर्णय कुर्नुपर्छ । पहिलो कुरा संसद पुनःस्थापना हो र त्यसको बाटो अदालत नै हो । अदालतले पनि यो विषयमा विलम्व नगरिकन निर्णय दिनुपर्छ ।

    अदालतबाट भएन भने निर्वाचनबाट पनि संसद ल्याउन सकिन्छ । त्यसका लागि पनि नेपाली कांग्रेस तयार रहनुपर्छ । अदालतमा विचाराधीन भएको मुद्धालाई प्रभावित पार्ने काम कसैबाट हुनुहुँदैन ।

    संसद विघटन गलत कदम भएकोले जनतलाई यसका बारेमा भन्नुपर्छ । कांग्रेस एक जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले अदालतको आदेशलाई शिरोपर गर्नुपर्छ । निर्वाचन हुने अवस्था बन्यो भने जनमतबाटै हाम्रो एजेण्डालाई स्थापित गर्नुपर्छ ।

    अदालतबाट नभए आन्दोलनबाट संसद पुनःस्थापना
    मनोजमणि आचार्य– रोल्पा

    आफ्नो दलभित्रको आन्तरिक व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन राजनीतिक र संवैधानिक दुवै दृष्टिले गलत छ । हरेक नेपाली जनताले कम्युनिष्ट पार्टीका कारण मुलुकलाई संकटमा लैजाने काम भएको तथ्य बुझेका छन् ।

    यस्तो बेला संविधानविरुद्ध गरिएको षड्यन्त्र सच्याउनुको विकल्प छैन । यो अवस्थामा लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले लोकतन्त्र बचाउनका लागि, जनताले लेखेको संविधान बचाउनका लागि सशक्त आन्दोलनको कार्यक्रम लिएर जनतामा जानुपर्छ ।

    अदालतमा मुद्धा हुनु सामान्य कुरा हो । अदालतबाटै संसद पुनःस्थापित हुन्छ भन्ने मेरो विश्वास छ । तर जनताको तागत महत्वपूर्ण हो । अदालतबाट भएन भनेपनि आन्दोलनबाट संसद पुनःस्थापना गराउन सकिन्छ ।

    कांग्रेसले आह्वान गर्ने हो भने आजपनि लाखौं जनता सडकमा आउन तयार छन् । लोकतन्त्र र संविधानको चीरहरण कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन । सशक्त आन्दोलनको पक्षमा उभिन पार्टी नेतृत्वसंग आग्रह गर्दछु ।

    आन्दोलनका विकल्प छैन
    नगेन्द्र कुमाल– इलाम

    अहिलेको संविधान नेपाली जनताले निरन्तरको संघर्षबाट प्राप्त गरेको उपलब्धी हो । प्रतिनिधिसभा विघटनको कारणले जनताले गरेको संघर्ष र संविधान संकटमा परेको छ । आज कांग्रेसका मात्र नभएर देशभरका युवाहरु केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारको कामबाट निराश भएका छन् ।

    यस्तो बेलामा असंवैधानिक कदम सच्याएर मुलुकलाई संविधानको दायराभित्र ल्याउनुपर्छ । त्यसका लागि आन्दोलनको विकल्प छैन । म नेपाली कांग्रेसको नेतृत्वलाई कुनै अलमल बिना कम्युनिष्ट सरकारविरुद्ध संघर्षको थप कार्यक्रम ल्याउन आग्रह गर्दछु ।

    संगठित आन्दोलन आवश्यक
    गजेन्द्र कार्की–रामेछाप

    प्रधाननमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय संवैधानिक सर्वोच्चताको विरुद्धमा छ । यो संसदीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध प्रधानमन्त्रीले गरेको ठाडो हस्तक्षेप हो । यसका विरुद्ध उभिने कुरामा कांग्रेसमा दुईमत छैन । तर पार्टीले संगठित आन्दोलनको कार्यक्रम पनि दिनुपर्छ ।

    यससम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतको निर्णय मान्ने पार्टी भएकोले कांग्रेसले सर्वोेच्चको फैसला मान्छ । अदालतको आदेशबाट निर्वाचन मात्रै विकल्प हुने देखियो भने लोकतान्त्रिक पार्टी हुनुको नाताले कांग्रेसले निर्वाचनमा भाग लिनुपर्छ ।

    सर्वोच्चमा मुद्धा विचाराधीन रहँदासम्म सरकारको गलत कदमको भण्डाफोर कांग्रेसले गरिरहनुपर्छ । कम्युनिष्ट सरकारले गरेका कमजोरी र गलत प्रवृत्तिविरुद्ध जनतामा जान कांग्रेसका शीर्ष नेताहरु एकताबद्ध हुनसमेत जरुरी छ ।

    संसदीय व्यवस्था जोगाऔं
    प्रतिमा गौतम– काठमाडौं

    संसद विघटन गर्ने निर्णय असंवैधानिक र अलोकतान्त्रिक नै हो । यो प्रतिनिधिसभा मात्र नभई संसदीय व्यवस्था सिध्याउने खेल हो । नेपाली कांग्रेस संसदीय लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएका कारण संसदीय व्यवस्था जोगाउनु हाम्रो मूल धर्म हो ।

    संविधान र लोकतन्त्र भएन भने कांग्रेसको औचित्य हुँदैन । नेपालका कम्युनिष्टहरुले यो वा त्यो नाममा लोकतन्त्रविरुद्ध निरन्तर प्रयोग गर्दै आएका छन् । अहिलेपनि संविधान र व्यवस्थाविरुद्ध कम्युनिष्टले नयाँ प्रयोग गरेका हुन् । यसलाई जनताकै बलमा असफल पार्नुपर्छ ।

    त्यसका लागि नेपाली कांग्रेसले सशक्त आन्दोलनको घोषणा गर्नुपर्छ । पार्टीले आन्दोलनको घोषणा पनि गरिसकेको छ । यस्तो आन्दोलनलाई जनतासंग जोड्न जरुरी छ । नेपाली कांग्रेसले संसद विघटनको अराजनीतिक कदम सच्याउन पर्याप्त दवाव दिन सक्नुपर्छ ।

    सर्वसत्तावादविरुद्ध संघर्ष
    कुन्दनराज काफ्ले– दोलखा

    हामी नेपाली कांग्रेसका जिम्मेवार कार्यकर्ता हौं । तर हाम्रो स्वार्थ कांग्रेसमात्रै होइन देशको उन्नति हो । कांग्रेसको मात्रै फाइदा हेरेर हामी अगाडि बढ्नुहुँदैन । हिजो हामी राजनीतिक परिवर्तनका लागि लडेर आएका हौं ।

    हिजो हामीले लडेर ल्याएको व्यवस्था र संविधान आज कसैको लहडका भरमा संकटमा पर्न दिनुहुन्न । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका कारण कांग्रेसले बनाएको संविधान नै संकटमा पर्ने देखिएको छ । यसर्थ कांग्रेस आन्तरिक रुपमा अल्मलिन आवश्यक छैन ।

    कांग्रेसको नेतृत्वमा मात्रै यो देशमा संविधान र लोकतन्त्र सुरक्षित हुन्छ । त्यसैले कांग्रेसले असंवैधानिक कदमविरुद्ध आन्दोलनको उभार ल्याउनुपर्छ । आन्दोलनबाट मात्रै संविधान, लोकतन्त्र र कांग्रेसको भविष्य सुनिश्चित हुन्छ ।

    पहिला संविधानविरुद्ध भएको षड्यन्त्र असफल पार्नुपर्छ । संविधानलाई ट्रयाकमा ल्याएपछि मात्रै अरु विषय महत्वपूर्ण हुन्छ । त्यसैले कांग्रेसले एकपटक फेरी सडकबाट ओलीको सर्वसत्तावादविरुद्ध संघर्ष गर्नुपर्छ ।

    संवैधानिक र राजनैतिक लडाईं
    क्षितिज भण्डारी– कैलाली

    नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य मान्यताप्रति सधै जिम्मेवार हुनुपर्छ । आज नेपालका कम्युनिष्टहरुको असफलताका कारण मुलुकलाई समस्यामा पारिदैछ । राजनीतिक स्थिरताको नारा दिएर चुनाव जितेका कम्युनिष्टहरुले जनताको भावना अनुसार काम गर्न सकेनन् ।

    यस्तो बेलामा नेपाली कांग्रेसले आफूलाई बलियो विकल्प बनाउनुपर्छ । कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलन घोषणा गरेको छ । हामी आन्दोलनमै छौं तर अझ सशक्त आन्दोलनको कार्यक्रम आवश्यक छ ।

    ओलीको कदम एक प्रकारको प्रतिगमन भएकाले प्रतिगमनविरुद्ध कांग्रेस नेतृत्वले उपयुक्त रणनीति बनाउनुपर्छ । संवैधानिक र राजनीतिक दुवै लडाई लडेर लोकतन्त्र बचाउनुपर्छ ।

  • ओली हुन नसकेका ‘ओलीहरु’

    ओली हुन नसकेका ‘ओलीहरु’

    जतिबेला प्रधानमन्त्री केपी ओलीले भारतीय नाकाबन्दीका विरुद्धमा कडा मुकाविला गरेर चर्चाको शिखर चुम्दै थिए, त्यतिबेला ठूलो पार्टीका भए पनि प्रचण्ड, माधवकुमार नेपालहरुको हैसियत ओली मन्त्रिमण्डलका उपप्रधानमन्त्रीहरु चित्रबहादुर केसी, सीपी मैनाली र कमल थापा जतिको पनि थिएन । ओलीको त्यही उचाइलाई ढाल्न प्रचण्डले कांग्रेससँग मिलेर ओलीको सरकारलाई गिराइदिए र आफै प्रधानमन्त्री बने ।

    चित्रबहादुर केसीले उपप्रधानमन्त्रीकै हैसियतमा एउटा आन्दोलनकारीले जस्तै गरी भारतीय नाकाबन्दीका विरुद्धमा कडा अभिव्यक्ति दिएपछि भारतीय दूतावास लैनचौरले वक्तव्यबाजीसमेत गर्नुपरेको थियो । ओलीको २०७२–७३ को मन्त्रिमण्डलले भारतीय नाकाबन्दीको प्रतिरोध सामान्य कुरा थिएन ।

    ओलीको त्यो उचाइ प्रचण्ड–माधव नेपालहरुलाई मन परेको थिएन । तिनीहरु भित्रभित्रै जलिरहेका थिए । जे भए तापनि नाकाबन्दीको सम्पूर्ण परिस्थितिलाई ओलीले आफ्नो काबुमा राख्न सफल भएका थिए । जनताको सम्पूर्ण साथ ओली सरकारलाई थियो ।

    समय सधै एकनास रहँदैन । ओलीले त्यो उचाइ कायम गर्न सकेनन् । ओलीकै अगुवाइमा झण्डै दुई तिहाई मत ल्याएको नेकपा स्वार्थहरुको झुण्डमा बदिलिएपछि आफै एकजुट हुन सकेन । पार्टीमा स्वार्थको किचलोका कारण २०७२ मा चर्चाको शिखरमा पुगेका ओली ५ वर्षपछि संसद विघटन गरेर विरोध र आलोचनाको तारो बनेका छन् । संसद विघटनपछि देश अस्थिरतामा धकेलिएको छ ।

    जतिबेला ओली ठीक थिए

    माओवादी ज्यादतीको कडा प्रतिरोध र भण्डाफोर कसैले गर्‍यो भने नेकपा (मसाल) र चित्रबहादुर केसीपछि केपी शर्मा ओलीले नै गरेका थिए । झलनाथ खनाल अध्यक्ष भएको समयमा अर्धमाओवादी बनेको एमालेलाई ओलीले नै एमाले बनाएका हुन् ।

    झलनाथ खनाल, वामदेव गौतम, माधवकुमार नेपालहरु माओवादीले गरेका सम्पूर्ण अपराधहरुलाई सात खत माफी दिइरहेका थिए भने ओलीले ती अपराधहरुका विरुद्ध कडा संघर्ष गरेका थिए ।

    वामदेवसहित ६० जना केन्द्रीय सदस्य त माओवादी एजेण्डा बोकेर हिंडिरहेका थिए । तिनीहरु अर्धमात्रै नभएर पौने माओवादीजस्ता थिए । एमालेका आधा नेताहरुको माओवादीप्रति बेग्लै लगाव थियो ।

    यहाँ पहिलेका कुरा किन गरिएको हो भने अहिलेको परिस्थिति आउनुमा त्यतिबेलाका घटनाक्रमले पनि काम गरेका छन् । झलनाथ खनाल, वामदेव गौतम, माधवकुमार नेपालहरु माओवादीले गरेका सम्पूर्ण अपराधहरुलाई सात खत माफी दिइरहेका थिए भने ओलीले ती अपराधहरुका विरुद्ध कडा संघर्ष गरेका थिए ।
    संसदमा चित्रबहादुर केसीले चुनाव नलडीकनै ८३ सिट पड्काएको देखि कालाीगण्डकीमा चिसो पानीले नुहाउन नसकेको त्यसै भनेका होइनन् ।

    जतिबेला देश माओवादीको आतंक, अराजकता र फासीवादी शैलीको सिकार भएको थियो, त्यतिबेला तिनीहरुसँग लड्नु सामान्य कुरा थिएन । त्यसको अगुवाइ ओलीले गरिरहेका थिए । माधव नेपाल प्रधानमन्त्री थिए र सरकार निरीह थियो । माओवादीको काठमाडौंको ६ दिने घेराउको भौतिक प्रतिरोध ओलीको आदेशमा एमालेको युवा संघले गरेको थियो ।

    माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत आधा भन्दा धेरै एमालेहरु माओवादीका एजेण्डामा हिंडिरहेका बेलामा ओली एक्लैले एमालेलाई एमालेको ठाउँमा उभ्याएका थिए । माओवादीले गरेका अपराधहरुको जिम्मेवारी ओलीले कहिल्यै लिएनन् । तर झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमहरुको माओवादीका गलत राजनीतिक एजेण्डालाई स्थापित गराउनुमा ठूलो योगदान छ । त्यतिबेला ओली नेतृत्वमा थिएनन् ।

    माधव प्रचण्ड जब ओली बन्न सकेनन्

    देशमा दुई थरी ओलीको प्रकट भएको छ । संसद विघटन भन्दा पहिलेका ओली र संसद् विघटनपछिका ओली । निश्चित रुपमा संसद विघटन भन्दा पहिलेका ओली धेरै हदसम्म सही थिए । संसद विघटनपछिका ओली गलत बाटोमा हिंडिरहेका छन् ।

    माधव नेपाल संसद विघटनभन्दा पहिलेका ओली बन्न चाहन्थे भने प्रचण्ड संसद विघटन भन्दा पछिका ओली बन्न चाहन्थे । तिनीहरु दुवैको चाहना ओली बन्ने नै थियो । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा जसरी प्रभाव जमाइरहेका थिए, माधव नेपाल र प्रचण्डलाई त्यो कुरा मन परेको थिएन ।

    उनीहरु कुनै विधि वा पद्धतिबाट होइन, रुक्माङ्गद कटवाललाई जसरी बर्खास्त गरेका थिए, त्यसै गरी ओलीलाई बर्खास्त गर्ने योजनामा थिए, नेकपाको झगडामा केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाललाई तुलोमा जोख्दा २० कि १९ मात्रै हुन् ।

    ओलीलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट बर्खास्त गर्ने योजना रहेको कुरा प्रचण्डले पुस २८ गते मात्रै खुलाएका छन् । ओलीलाई बर्खास्त गर्नुको अर्थ हुन्थ्यो, नेपाल कम्युनिष्ट पार्टी फुट्नु ।

    किनभने ओली प्रचण्डको हातबाट बर्खास्त हुन चाहँदैन थिए । महाधिवेशन हुनुभन्दा अगाडि जुनसुकै नेतालाई कारवाही गरिएको भए पनि नेकपा फुट्थ्यो ।

    नेपाल कम्युनिष्ट पार्टीको एकता कुनै लेनिनवादी संगठनात्मक पद्धतिअनुसार भएको थिएन । पार्टीमा दुई वटा समान हैसियतका अध्यक्ष र सहमतिमा मात्रै निर्णय हुन सक्ने प्रावधान राखेर गरिएको एकताले पार्टीको लेनिनवादी संगठनात्मक पद्धतिमा बाधा हालेको थियो ।

    ओलीलाई बर्खास्त गर्ने योजना भएको सार्वजनिक गरिसकेपछि अहिलेको घटनाका सम्पूर्ण दोषी केपी ओली मात्रै हुन् भन्ने माधव प्रचण्डको आरोप कति धेरै नक्कली रहेछ भन्ने कुरा छर्लङ्ग छ । सकेका भए त तिनीहरुको बाटो पनि ओलीकै जस्तो रहेछ ।

    प्रधानमन्त्रीबाट बर्खास्त गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने खेल थियो भन्ने कुरा प्रचण्डकै खुलासाबाट थाहा हुन्छ । उनीहरु कुनै विधि वा पद्धतिबाट होइन, रुक्माङ्गद कटवाललाई जसरी बर्खास्त गरेका थिए, त्यसै गरी ओलीलाई बर्खास्त गर्ने योजनामा थिए ।

    ओली मात्रै होइन, पार्टीका सम्पूर्ण नेताहरु नै पार्टीलाई विधि र पद्धतिबाट अगाडि लैजाने कुरामा चुकेका देखिन्छन् । तिनीहरु विधि र पद्धति मिचेरै भए पनि आफ्नो स्वार्थ पूर्ति गर्ने खेलमा मात्रै केन्द्रित थिए भन्ने कुरा प्रष्ट छ । नेकपाको झगडामा केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाललाई तुलोमा जोख्दा २० कि १९ मात्रै हुन् ।

    प्रचण्डको त्यतिबेलाको चाहना र योजनाहरु सफल भएका भए यो देश अहिलेको अवस्था होइन, माओवादीको फासीवादी शासन व्यहोरिरहेको हुन्थ्यो । प्रचण्डका सबै योजनाहरुलाई परास्त गर्न सकेका कारण देश माओवादीको फासीवादी शासनबाट जोगिएको छ

    राजनीति दुई दिनको खेल होइन । हामीले विगतदेखिका घटनाक्रम नै हेर्नुपर्दछ । राजनीतिमा जसले इतिहासका पाना पल्टाउन सक्दैन, त्यसले राजनीतिक विश्लेषण सही ढंगले गर्न सक्दैन । इतिहाससँग नजोडिएको राजनीति वर्तमान हुन सक्दैन । वर्तमानमा कुनै ठूला घटनाहरु घट्नको लागि वर्तमानलाई सघाउ पुराउने गरी विगतमा घटनाहरु घटिरहेको हुनुपर्दछ ।

    रुक्माङ्गद कटुवाललाई कारवाही गरेर सिङ्गो नेपाली सेनालाई कब्जा गरेको भए अहिलेको राजनीतिक परिस्थिति कता मोडिने थियो ? यो कसैले पनि अनुमान गर्न सक्दैन । माओवादी समूहले नेपाली सेनामाथि दुनियाँथरी लाञ्छना लगाइरहेको समयमा प्रचण्डका कदमका विरुद्धमा दृढतापूर्वक उभिएर केपी ओली नेपाली सेनाको संरक्षक जस्तो बन्न पुगेका थिए ।

    विद्या भण्डारी रक्षामन्त्री भएको समयमा पनि नेपाली सेनामाथि माओवादी पक्षबाट त्यत्तिकै आक्रमण भयो, विद्या भण्डारीले सेनाको पक्षमा दृढता प्रदर्शन गरिन् । नेपाली सेनालाई लथालिङ्ग बनाउनको लागि माओवादी लडाकूको सामूहिक प्रवेश, माओवादीले दिएका दज्र्यानीहरु दिइनुपर्नेलगायतका धेरै मागहरु उठाइएका थिए ।

    प्रचण्डको त्यतिबेलाको चाहना र योजनाहरु सफल भएका भए यो देश अहिलेको अवस्था होइन, माओवादीको फासीवादी शासन व्यहोरिरहेको हुन्थ्यो । प्रचण्डका सबै योजनाहरुलाई परास्त गर्न सकेका कारण देश माओवादीको फासीवादी शासनबाट जोगिएको छ ।

    लेनदेनको खेल सकिएपछिको तमासा

    नेकपाको सरकार गठन गरिएपछि नेपाली जनताको चाहना विकास, समृद्धि, शिक्षा र स्वास्थ्यमा राज्यको दायित्वजस्ता आधारभूत कुराहरुको परिपूर्ति थियो । विगत तीन वर्षमा नेकपाको सचिवालयमा ती विषयमा कहिल्यै छलफल समेत भएन । मेडिकल शिक्षामा भएको माफियाकरण रोक्ने विषयमा सामान्य छलफल पनि गरिएन ।

    कैयौं भ्रष्ट व्यक्तिहरु न्यायाधीश नियुक्ति गरिए । ती सबै नियुक्तिमा प्रचण्ड, माधव नेपाल र केपी ओलीको मिलेमतो रहेको कुरा घामजत्तिकै छर्लङ्ग छ । राजदूत र कार्यालयका हाकिमहरु पनि योग्यता र क्षमताको आधारमा होइन, तीन जनाको भागशान्ति पु¥याएर मात्रै नियुक्ति गरियो । आफ्ना मान्छे भागशान्ति नमिलेको कारण नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति हुन नसकेको हो ।

    भागबण्डामा नियुक्ति गरिएका भ्रष्ट व्यक्तिहरुबाट कार्यसम्पादन हुन सक्दैनथियो र भएन पनि । त्यसैले सरकारले राम्रोसँग काम गर्न सकेन । एक जना सही व्यक्तिको छनौटले राम्रो काम हुन सक्ने रहेछ भन्ने कुरा कुलमान घिसिङको कार्यसम्पादनमा देखिएको छ ।

    प्रचण्ड–माधव समूहले आफूले गरेका सम्पूर्ण लेनदेन, भ्रष्टाचारको दोष ओलीमाथि थोपरेर आफू चोखो देखिने प्रयास गरेका छन्, आफूले गरेका अपराध र भ्रष्टाचारहरु ओलीमाथि खन्याएर चोखो देखिने प्रयत्न गर्नु ओली भन्दा खतरनाक प्रवृत्ति हो

    विगतका तीन वर्ष लेनदेनमै विताएका प्रचण्ड र माधवकुमार नेपालहरु केपी ओलीसँग लेनदेन मिल्न छोडेपछि टाढिंदै गएका हुन् । विकसित राजनीतिक घटनाक्रममा ओलीका विरुद्धमा संघर्ष गर्दा प्रचण्ड र माधव नेपालका असक्षमता, ढोंगी, भ्रष्ट र स्वार्थी लेनदेनलाई ढाकछोप गर्न थालियो भने त्यो नेपाली जनताप्रति गरिएको अर्काे अपराध हुनेछ ।

    अहिलेको परिस्थिति ओली एक्लैले ल्याएका होइनन् । यो परिस्थिति विकसित हुनुमा माधव नेपाल र प्रचण्डहरु पनि धेरै हदसम्म जिम्मेवार छन् । ओलीले गरेको संसदको विघटन प्रचण्ड र माधव नेपालले गरेका अपराधहरु चोख्याउने अस्त्र बन्नु हुँदैन । संसद विघटनलाई देखाएर माधव नेपाल र प्रचण्डलाई चोख्याउन सकिंदैन ।

    गिरिजाप्रसाद कोइरालाले २०६३ को आन्दोलनको समयमा विगतमा गरिएका गल्तीहरुप्रति माफी मागेर आगामी दिनमा संसदीय जोडघटाउको खेलमा नलाग्ने प्रतिबद्धता जनाएका थिए । प्रचण्ड माधव नेपाल समूहले आफ्नै पार्टीभित्र संसदीय जोडघटाउको खेलमा लागेकोमा माफी माग्नु त कता हो कता चोखिने दुष्प्रयास गरेका छन् ।

    खतरनाक प्रवृत्तिलाई साधु बनाउने प्रयत्न

    प्रचण्ड–माधव समूहले आफूले गरेका सम्पूर्ण लेनदेन, भ्रष्टाचारको दोष ओलीमाथि थोपरेर आफू चोखो देखिने प्रयास गरेका छन् । आफूले गरेका अपराध र भ्रष्टाचारहरु ओलीमाथि खन्याएर चोखो देखिने प्रयत्न गर्नु ओली भन्दा खतरनाक प्रवृत्ति हो । सम्पूर्ण दोषको भारी ओलीलाई बोकाएर माधव नेपाल र प्रचण्ड जसरी साधु पल्टिएका छन्, त्यो निकै खतरनाक छ ।

    प्रधानमन्त्रीकै शब्दमा बालुवाटारमा १ सय ७५ वटा बैठकमा प्रचण्ड जाने प्रधानमन्त्री माग्ने, माधवकुमार नेपाल जाने पार्टी अध्यक्ष माग्ने, झलनाथ खनाल जाने राष्ट्रपति माग्ने, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ जाने सांसद माग्ने जुन गन्धा खेल खेलिएको थियो, अहिले त्यसले विष्फोटक रुप लिएको छ

    ठेकेदारसँगका लेनदेन र ठेक्का प्रक्रियामा प्रचण्ड र माधव नेपाल जोडिएका छन् । यति, ओम्नी, रासायनिक मल, औषधि खरिदलगायत जति पनि भ्रष्टाचारहरु भएका छन्, ती सबै मिलेमतोमा भएका छन् । माधव नेपाल र प्रचण्डको साथ नभइकन ओली एक्लैले ठूलठूला भ्रष्टाचारका काण्डहरु थेग्न सक्दैनन् । भए जतिका भ्रष्टाचारकाण्डमा मुछिने, हरेक दिन बालुवाटार पुगेर पदको लेनदेनका मात्रै कुरा गर्ने कार्य निकै घातक प्रवृत्ति हो ।

    प्रधानमन्त्रीकै शब्दमा बालुवाटारमा १ सय ७५ वटा बैठकमा प्रचण्ड जाने प्रधानमन्त्री माग्ने, माधवकुमार नेपाल जाने पार्टी अध्यक्ष माग्ने, झलनाथ खनाल जाने राष्ट्रपति माग्ने, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ जाने सांसद माग्ने जुन गन्धा खेल खेलिएको थियो, अहिले त्यसले विष्फोटक रुप लिएको छ ।

    सचिवालय र स्थायी समितिको बैठकबाट केपी ओलीलाई ५ वर्ष प्रधानमन्त्री बनाउने निर्णय गरेको केही समयमै तिनलाई फाल्नुपर्ने के बाध्यता आइ लाग्यो ? त्यसको जवाफ माधव र प्रचण्डले दिएका छैनन् । फाल्नुपर्ने कारणहरु भविष्यमा खुल्दै जानेछन् ।

    सचिवालयले पार्टीलाई विधि र पद्धतिमा लैजाँदा ओली अल्पमतमा परेको खण्डमा संसद् विघटन भन्दा राजीनामा दिनु नै उपयुक्त हुन्थ्यो । उनले नेपाली जनतालाई आफूले राजीनामा दिनुपर्ने कारण बताउन सक्थे । त्यो नै उनको बुद्धिमत्ता हुन्थ्यो ।

    यदि प्रधानमन्त्री पदबाट राजीनामा दिएको भए उनलाई पार्टी अध्यक्षबाट हटाउन सक्ने तागत नेकपामा हुने थिएन । त्यो अवस्थामा देशलाई ठूलो क्षति हुने थिएन । ओलीले जनताबाट निर्वाचित संसदलाई विघटन गरेका कारण नराम्रोसँग चुकेका छन् ।

    विधि र पद्धति नै पार्टी र सरकार सञ्चालनमा निर्णायक हुन्छन् भन्ने कुरा राजनीतिक दलका नेताहरुले कहिल्यै बुझ्न र मनन गर्न सकेको देखिएन । त्यसले देशलाई निरन्तर क्षति भइरहेको छ । आगामी दिनमा राजनीतिक र संवैधानिक क्षति हुन नदिन देशलाई विधि र पद्धतिमा लगेर सञ्चालन गर्नुपर्दछ ।

    (पोखरेल नेकपा (मसाल) निकट अनेरास्ववियु (छैटौं)का अध्यक्ष हुन्)

  • राष्ट्रिय योग दिवस आज– ‘गरौं योग डटेर, कोरोना जान्छ हटेर’

    राष्ट्रिय योग दिवस आज– ‘गरौं योग डटेर, कोरोना जान्छ हटेर’

    काठमाडौं । आज पाँचाैं राष्ट्रिय योग दिवस । सरकारले योगमा नागरिकलाई प्रोत्साहित र अभ्यस्त गर्न यस वर्षका लागि ‘गरौं योग डटेर कोरोना जान्छ हटेर’ भन्ने नारासहित सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

    राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हिमालय क्षेत्रमा प्राचीन योगी ऋषि महर्षीले दीर्घ तपः साधनाको माध्यमबाट प्राप्त योग बिद्या अहिले पनि उत्तिकै नवीन, सान्दर्भिक र जीवन जगतका लागि उर्जाप्रदायक रहेको बताएका छन् ।

    ‘योग ध्यान र प्रणायामलाई हाम्रो जीवनकला, जीवनशैली र जीवन पद्धति बनाउन सक्यौं भने कोभिड–१९ लगायत धेरै प्रकारका महामारी सामना गर्न सहज बनाउँछ,’ प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यमा भनेका छन्, ‘जनताको जीवनको सुख ल्याउन हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेका छौं । शारीरिक र मानसिक रुपले स्वास्थ्य र निरोगी नागरिक यसको आधारभूमि हो । त्यसका लागि योग र औषधिजन्य वनस्पतिको प्रयोगलाई हरेक नागरिकको दैनिकीमा जोड्नुपर्दछ ।’

    प्रधानमन्त्री ओलीले योग अभ्यासमा सही ढंगले लाग्न र यस सम्बन्धी खोज, अनुशन्धान गरी तथ्यपरक कुराहरु अगाडि ल्याउन सबैलाई अपीलसमेत गरेका छन् ।
    सरकारले २०७२ सालदेखि राष्ट्रिय योग दिवस मनाउन थालेको हो । अन्तर्राष्ट्रिय रुपमा भने जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघ महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेका थिए । त्यस प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

  • स्पेनिस सुपर कपको फाइनलमा पुग्यो बार्सिलोना

    स्पेनिस सुपर कपको फाइनलमा पुग्यो बार्सिलोना

    एजेन्सी । रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गरी बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।

    बार्सिलोनाका लागि रिक्वी पेगले निर्णायक गोल गरेका थिए । त्यसअघि पेनाल्टीमा स्टार खेलाडीद्वय एन्टोइन ग्रिजमन र फ्रेन्की डी जोङ गोल गर्न असफल थिए । बार्सिलोनाका गोलरक्षक मार्क टर स्टेगेनले सोसिडाडको दुई पेनाल्टी बचाएका थिए ।

    साविक विजेता रियल मड्रिडले फाइनल प्रवेशका लागि आज एथ्लेटिको विल्वाओसँग खेल्नेछ ।

    खेलको ३९ औं मिनेटमा डी जोङले मार्टिन ब्रेथवेइट र एन्टोइन ग्रिजमनसँगको उत्कष्ट तालमेलमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर डी जोङले नै दोस्रो हाफको सुरुमै बक्सभित्र फल गरेपछि सोसिडाडले पेनाल्टी पायो र मिकेल ओयारजावालले बराबरी गोल गरे ।

  • आज माघे संक्रान्ति, थारु समुदायले नयाँ वर्ष अर्थात माघी मनाउँदै

    आज माघे संक्रान्ति, थारु समुदायले नयाँ वर्ष अर्थात माघी मनाउँदै

    आज माघे संक्रान्ति । सूर्य मकर राशीमा प्रवेश गर्ने र आजैदेखि उत्तरायणतर्फ लाग्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । आज थारु समुदायले उनीहरुको प्रमुख पर्व माघी र नयाँ वर्षलाई स्नान, दान, खानपिन र रमाइलो गरेर मनाउँदैछन् ।

    यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ थारुहरुले माघी मनाउँछन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

    बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।

    कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्ने बैज्ञानिक कारण पनि छ ।

    आजकै दिन गाउँका सबै मिलेर मुखिया छनोट गर्ने चलन छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ ।

    विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।

    सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । पूर्वीय मान्यताअनुसार आजदेखि दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।

    आज नुवाकोट र धादिङका केहि स्थानहरुमा मनोरन्जनका लागि गोरु जुधाउने परम्परा पनि रहिआएको छ । नुवाकोटको तारुका, धादिङको खाल्टे लगायतका क्षेत्रमा गोरु जुधाएर मनोरन्जन लिने गरिएको छ ।

    सरकारले माघी र माघेसंक्रान्तिको अवसरमा आज सार्वजनिक विदा दिएको छ । प्रदेशअनुसार माघी पर्व मनाउने क्षेत्रमा एकभन्दा बढी दिन बिदा दिइएको छ ।

  • जी न्यूजले भन्यो –सगरमाथा नेपालकै हो र कसैले नेपालबाट छिन्न सक्दैन

    जी न्यूजले भन्यो –सगरमाथा नेपालकै हो र कसैले नेपालबाट छिन्न सक्दैन

    काठमाडौं । सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर नेपालमा चर्को विरोध भएपछि भारतको टेलिभिजन च्यानल जी न्यूजले अन्ततः माफी मागेको छ ।

    बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नपुर्‍याउने बताए ।

    ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छिन्न सक्दैन’ उनले भने, ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’ उनले यसो भनिरहँदा बुधबारको संस्करणमा आफ्नो बारे छापिएको नयाँपत्रिका दैनिक हातमा लिएका थिए ।

    ‘हामी नेपाली दर्शक र नेपाली भाइबहिनीलाई भन्न चाहन्छौं –भारत र नेपालबीच राम र लक्ष्मणको जस्तो सम्बन्ध छ र सँधै रहनेछ । माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न खोजिएको होइन । माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    उनी अगाडि भन्छन् –माउन्ट एभरेस्टको लोकेसनलाई कसैले बदल्न सक्दैन । माउन्ट एभरेस्ट नेपालमै छ र यसलाई कसैले इन्कार गर्न सक्दैन । हामीलाई नेपालका आफ्ना दर्शकलाई निराश तुल्याउनु छैन । तपाइँहरुलाई निराश तुल्याउने उद्देश्य पनि छैन ।’

    सुधीर भन्छन –सरकार कसैको आएपनि हामी र तपाइँ मिलेर अगाडि बढ्नुपर्छ । राजनीति त हुँदै गर्छ । नेपाल र भारतका नागरिकबीच कहिल्यै कुनै समस्या आएन । अगाडि पनि सम्बन्धमा कुनै अवरोध आउन दिँदैनौं । भारत र बाँकी संसारका दर्शकजस्तै नेपाली दर्शक पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण छन् । हामीले केवल सगरमाथाको उचाइ मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई उनको श्रेय मात्र खोजेका हौं । यो बाटोमा नेपाल कहिँपनि बाटोमा अवरोध छैन । हामी नेपाल र नेपालीसँग कुनै चीज छिन्न चाहन्नौं । हामीले खोजेको मात्र के हो भने भारतकै आफ्नो नामले एभरेस्ट चिनिनुपर्छ भन्ने हो जसरी नेपालले सगरमाथा भनेर चिन्छ ।’

    ‘भारतले पनि यसलाई माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले जान्नुपर्छ । यदि नेपालीले यो कुरालाई स्वीकार गर्छन् भने यसमा उनको महानता झल्कनेछ । माउन्ट एभरेस्टबाट माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन । यो नेपाल र तिब्बतको सिमानामा सँधै मौजुद रहन्छ । यसबाट केवल त्यो गल्ती सुधार्न सकिन्छ जतिबेला बेलायतले आफ्नो शासनमा जाने बुझेर अंग्रेजी नाम राखेका थिए । यसलाई सुधार्न कोसिस गरिएको हो ।’

    आइतबार सगरमाथा आधार शिविरमै हेलिकोप्टरमार्फत पुगेर सुधीरले त्यहाँको रिपोर्टिङ गरेका थिए । त्यसअघि उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको लामो अन्तर्वार्ता लिए । तर, सगरमाथा आधार शिविरमा उनको रिपोर्टिङ निकै विवादित बन्यो । नेपाली मिडिया र सामाजिक संजाल बुधबार दिउँसोभर जी न्यूजविरुद्ध खनिएका थिए ।

  • मिटरव्याजी धन्दा : १५ लाख ऋण दिएर १ करोड असुल

    मिटरव्याजी धन्दा : १५ लाख ऋण दिएर १ करोड असुल

    विराटनगर । गुण्डागर्दीबाट मिटरब्याजमा लगानि गरि अपराधिक लाभ लिएको आरोपमा पक्राउ परेका विराटनगर–९ घोघापुल चौकका ३२ वर्षीय एजाज अहमद विरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

    मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि एजाजविरुद्ध ‘अपराधिक लाभ लिएको’ बुधबार मुद्दा मोरङ अदालतमा दर्ता गराएको हो ।

    प्रहरीले एजजासहित चारजना विरूद्ध मुद्दा दायर गरेको छ । पक्राउ परेका एजाज र अन्य तीन जनालाई फरार प्रतिवादी बनाइएको छ ।

    मोरङ प्रहरी प्रमूख प्रहरी उपरिक्षक सन्तोष खड्काले १ करोड १० लाख विगो मागदाबी सहित उनीहरुविरुद्ध अपराधिक लाभ लिएका भनी अदालतमा मुद्दा दर्ता गरिएको बताए ।

    प्रहरीका अनुसार एजाजसँग मिलेर मिटरब्याजमा लगानी गरेको पैसा उठाउनेहरू मध्ये विराटनगरका ९ का ३५ वर्षिय तनवीर खान, सोही ठाउँका ३५ वर्षिय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षिय सावन दास भने फरार छन् ।

    उनीहरूले एजाजमार्फत मिटरब्याजमा पैसा लगाउने र लगाएको पैसाँ असुल्न यातनासम्म दिने गरेको आरोप छ । त्यही भएर उनीहरूलाई प्रहरीले प्रतिवादी बनाएको हो ।

    फरार भएका उनीहरूलाई प्रहरीले खोजी कार्य तिव्र बनाएको छ । एजाज पक्राउ परेपछि उनीहरू भारततर्फ फरार भएको सुरक्षा स्रोतको भनाई छ । फरार भएका खान, शेख र दास अदालतमा अभियोग दर्ता भएपछि उपस्थित हुने तयारी गरेको बुझिएको छ ।

    पुस ६ मा पक्राउ परेका मिटरब्याजी एजाजको प्रहरीले अनुसन्धान पूरा गरेकोले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

    यसरी खुल्यो पोल

    विराटनगर १५ का रामकिशोर ठाकुर विराट मेडिकल कलेजमा सम्पर्कमा आएका विद्यार्थीहरू पुर्‍याउने काम गर्दछन् । एक वर्ष अगाडी उनलाई १५ लाख रुपैयाँ आवश्यक परेको थियो । उनले एजाजको समूहसँग १५ लाख रुपैयाँ ऋण लिए ।

    दुई लाख रुपैयाँ थपेर ब्याज सँवा ब्याज गरी १७ लाख रुपैयाँ फिर्ता गर्ने मौखिक सहमति एजाज र ठाकुरबीच भयो । तर, लिखित सहमतिमा एजाजले ठाकुरलाई परिबन्धनमा पारे । एजाजले हामी ‘साथीभाइ हो, १७ लाख तिरे हुन्छ’ भनी ४५ लाखको तमसुक गराए । वर्ष दिनमा ठाकुरले एजाजलाई पैसाँ र सुन गरेर १७ लाख रुपैयाँ ऋण बुझाइसकेको थिए । तर, समयमा ऋण नतिरेको भन्दै एजाजले लकडाउन यता दबाब लिन दिन थाले । ‘१५ लाख लिएको ऋण १७ लाख तिरसकेको थिए । थप ६० लाख चाहिन्छ भनेर मलाई दबाब दिन थाले,’ ठाकुरले भने, ‘त्यत्रो पैसाँ मैले कहाँबाट ल्याउन सक्थेँ ।’

    यही विषयमा छलफल गर्न भन्दै एजाजले मंसिर २५ गते ठाकुरलाई रोडशेष चोकमा बोलाए । ‘रोडशेष चोकमा आइपुग्दा एजाजसहित तनवीर खान, फाकिरा शेख र सावन दासले अपहरण शैलीमा बां १८ च ८९९५ नम्बरको कारमा राखियो ।

    कारमा राखेर दिनभरी विराटनगर घुमाए । ६० लाख रुपैयाँ बुझाउन दबाद दिइरहे । यत्रो पैसाँ आफूसँग नभएको जानकारी गराएपछि साथमा भएको २ लाख रुपैयाँ गाडी भित्रबाट खोसे,’ ठाकुरले दिएको जाहेरीमा उल्लेखछ । त्यसपछि ठाकुरको खाता रहेको कामना विकास बैंकको चेकमा १ करोड दस लाख रुपैयाँको दुई वटा चेक बनाएर हस्ताक्षर गराए । ठाकुरका अनुसार पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर सही गर्न लगाएर एजाजको समूहले साझ ६ बजे देवकोटा चोकमा छोडिदिए ।

    ‘उल्लेखित मितिमा बैंकमा पैसा नहाले ठिक नहुने, मार्छु, काट्छु, छप्काउँछु भनेपछि म न बाँच्नु न मर्नुजस्तो भएँ,’ ठाकुरले भने, ‘त्यसपछि ज्यानको बाजी थापेरै भए पनि प्रहरीमा उजुरी गर्न बाध्य भएँ ।’ उजुरी परेको पाँच दिनपछि एजाजलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । एजाजको समूहले ठाकुरबाट लिएको उक्त चेक प्रहरीले फेला पारेको छैन । सो चेक फाकिरा शेखले बोकेर फरार भएको स्रोतले जानकारी दिएको छ ।

    यसअघि प्रहरीले मिटरब्याजी विराटनगर–९ घोघापुल चोकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई पक्राउ गरेको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् ।

    मन्टुले मिटरब्याजबाट ५० करोडभन्दा बढी असुली गरेको खुलिसकेको छ । मन्टुबाट पीडित भएका विराटनगर, मोरङको धनपालथान, जहदा गाउँपालिका, रङ्गेली र रतुवामाई नगरपालिकाका १६ जनाले प्रहरीमा जाहेरी दिएका छन् । मन्टु पक्राउ परेपछि एजाज पक्राउ परेका थिए ।

    पक्राउ परेका एजाज विराटनगरमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न छन् । उनी विभिन्न ठेकेदारहरूका लागि गुण्डागर्दी गर्ने र गराउन लागी पर्दछन् । एजाज मिटर ब्याजमा पैसाँ लगानी पनि गर्ने र अन्यले लगाएको पैसाँ असुल्न पनि उनी लागी पर्दछन् ।

    मिटरब्याजमा लगाएको पैसाँ असुली गरेवापत एजाजले कमिसन लिने गरेको छन् । गुण्डागर्दीबाट अकुत सम्पत्ति जोडेपछि उनी आफैँ घरजग्गा र मिटर ब्याज कारोबारमा सक्रिय थिए । घरजग्गा खाली गराउन र मिटर ब्याजको रकम असुल्न उनले कमिसन र सेयर माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

  • अदालतमा किन हुँदैछ ‘इजलासको राजनीति’ ?

    अदालतमा किन हुँदैछ ‘इजलासको राजनीति’ ?

    काठमाडौं । प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भनेर बहस चल्नुपर्नेमा मुद्दा कुन इजलासमा सुनुवाई गर्ने भन्नेतिर बहस मोडिएपछि प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतको निष्कर्ष आउन ढिला हुने देखिएको छ ।

    प्रतिनिधिसभा विघटनसंगै सरकारले वैशाख १७ र २७ गतेका लागि २ चरणमा अर्को प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक रहेको दावी सहित सर्वोच्च अदालतमा १ दर्जन रीट परेका थिए । ती सबै रीटहरु संवैधानिक इजलासमा पेश भइसकेका छन् ।

    रीट निवेदकहरुले सो मुद्धा संवैधानिक इजलासमा नभई बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गर्दै आएका छन् । बुधबारको बहसमा निवेदकहरुले बृहत पूर्ण इजलास गठनको माग गरेका थिए । बहस कुन इजलासले मुद्धा हेर्ने भन्ने विषयमा मात्रै केन्द्रीत रह्यो ।

    प्रतिनिधि सभा विघटन वैधानिक हो वा होइन ? भन्ने मूल मुद्धामा बहस अझै प्रवेश गरेको छैन । रीट निवेदकहरुका तर्फबाट बुधबार ५ जना वकिलले बृहत पूर्ण इजलास गठनको पक्षमा बहस गरे ।

    सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहत पूर्ण इजलास गठन आवश्यक नरहेको दलिल पेश गरेका छन् । कुन इजलासले मुद्धा हेर्ने भन्ने बहस नै नसकिएपछि सो मुद्धा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि पेशी तोकिएको छ ।

    शुक्रबार पनि सरकारका तर्फबाट ४ जना कानुनविद्ले बहस गर्नेछन् । त्यसपश्चात मात्रै बृहत पूर्ण इजलास गठन गर्ने वा नगर्नेबारे संवैधानिक इजलासले निष्कर्ष सुनाउनेछ ।

    किन इजलास रोज्दैछन् निवेदक ?

    प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दावी गर्दै रीट दिएका निवेदकहरु सो मुद्धा कस्तो इजलासले हेर्ने भनी छानिरहेका छन् । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्धा हेर्न नमिल्ने जिकिर अघिल्लो हप्ताको बहसमा निवेदकहरुले गरेका थिए । कार्की आफैंले इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्यायाधीश सपना मल्ल प्रधानलाई संवैधानिक इजलासमा समावेश गरेका छन् ।

    अघिल्लो सुनुवाईमा कार्कीबारे प्रश्न उठाएका निवेदकहरुले बुधबार इजलास कस्तो बनाउने भन्नेमा बहस गरे । सुनुवाईको सुरुमै वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले संवैधानिक इजलासबाट नभई बृहत पूर्ण इजलासबाट मुद्धाको छिनोफानो हुनुपर्ने तर्क गरे ।

    निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, दिनेश त्रिपाठी, हरि उप्रेती र डा.चन्द्रकान्त ज्ञवालीले बृहत पूर्ण इजलासको माग गर्दै बहस गरेका थिए ।

    ‘संसद विघटनको विषयमा विगतमा ११ जना न्यायाधीशको बृहत पूर्ण इजलासले फैसला गरेको नजीर छ । ११ जनाले रुलिङ गरिसकेको विषयलाई ५ जनाको संवैधानिक इजलासले ओभर रुल गर्न मिल्दैन । त्यसैले कम्तीमा ११ जना रहेको बृहत पूर्ण इजलासले यो मुद्धा हेर्नुपर्छ’ वरिष्ठ अधिवक्ता थापाको भनाई छ ।

    कानूनका जानकारहरु इजलासको विषय संवैधानिक मात्रै नभएर राजनीतिक विषय भएको बताउँछन् । अदालतद्वारा गठित इजलासबाट आफू अनुकुल आदेश नआउला भन्ने पूर्वानुमान गरेर इजलासबारे बहस हुने गरेको छ ।

    ‘कुन इजलासले हेर्ने भन्नेबारे कानूनका धारा तोकेर बहस भएको देखिएपनि यो रणनीतिक विषय पनि हो । अहिलेको इजलासबाट अनुकुलको आदेश आउँदैन भन्ने लागेर नयाँ इजलास गठनको विषय झिकिएको हुनसक्छ’, एक वरिष्ठ अधिवक्ताले भने ।

    रीट निवेदकहरु मध्येकै एक वरिष्ठ अधिवक्ता इजलास गठनले फैसलामा प्रभाव पार्ने बताउँछन् । ‘सबैकुरा भन्न मिल्दैन यत्ति बुझ्नुस संवैधानिक इजलासप्रति हाम्रो ट्रस्ट छैन । त्यसैले बृहत पूर्ण इजलास चाहिन्छ भनेका हौ’, ती अधिवक्ताले भने ।

    अब के होला ?

    संवैधानिक इजलासमा अब प्रतिनिधिसभा विघटनबारेका सबै निवेदनउपर शुक्रबार बहस हुनेछ । संवैधानिक इजलास बुधबार वा शुक्रबार बस्ने प्रचलन रहेको छ । शुक्रबार सरकारका तर्फबाट बोल्न बाँकी ४ जना अधिवक्ताहरुले बहस गर्नेछन् । त्यसपछि संवैधानिक इजलासले आवश्यक आदेश गर्नेछ ।

    इजलासबारे उठेको प्रश्न निरुपण भएपछि मात्रै मूल मुद्धामा बहस प्रवेश गर्नेछ । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार बृहत पूर्ण इजलास गठन नगरी संवैधानिक इजलासले नै निरन्तरता पाउने त्यसैबाट मुद्धाको अन्तिम किनारा लगाइनेछ ।

    स्रोतले भन्यो–गम्भीर संवैधानिक व्याख्या माग गरेर रीट दर्ता भएको छ । प्रधानन्यायाधीशको एकल इजलासले सबै रीटलाई संवैधानिक इजलासमा पठाएको छ । बुधवारको बहसपछि के बुझ्नुपर्छ भने अब संवैधानिक इजलासमै निरन्तर सुनुवाई हुन्छ र त्यहिँबाट अन्तिम फैसला हुन्छ ।

    कुन इजलासमा सुनुवाई गर्ने भन्ने संविधान तथा सर्बोच्च अदालतको नियमावलीमा प्रष्ट व्यवस्था हुँदा हुँदै मुद्दाका पक्ष र विपक्षले संवैधानिक इजलास कि वृहत पूर्ण इजलास भन्ने विषयलाई राजनीतिकरण गरेर भाषणबाजी थालेकोमा न्यायाधीशहरु चिन्तित बनेका छन् । संवैधानिक इजलासको फैसलामाथि पुनरावलोकन हुँदैन ।

  • निर्वाचन आयोगलाई ओलीको पत्र–नेकपा विभाजन भएको छैन, प्रचण्डको दावी हास्यास्पद (पत्रसहित)

    निर्वाचन आयोगलाई ओलीको पत्र–नेकपा विभाजन भएको छैन, प्रचण्डको दावी हास्यास्पद (पत्रसहित)

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको जिकिर सहित निर्वाचन आयोगलाई जवाफ पठाएका छन् ।

    ओलीले पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायमै रहेको भन्दै अर्को पक्षले अनुशासनको कारवाही गरेको औचित्य तथा वैधानिकता नरहेको आयोगलाई बताएका छन् ।

    ओलीले पत्रमा लेखेका छन्–नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्धितीय अध्यक्ष पुष्पकमल दाहाल रहनु भएको छ । दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरि दायर गरेको निवेदन औचित्यहीन छन् ।

    ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा तय भइसकेको र प्रथम अध्यक्ष र महासचिवले बोलाएको बैठकले गरेका निर्णयनै वैधानिक हुने जिकिर गर्दै अर्को पक्ष बैठकमा नआएको बताएका छन् ।

    ओलीले निर्वाचन आयोगलाई पठाएको पत्रमा भनिएको छ–विधिसम्मत रुपमा गरिएको मनोनयन र विधानको धारण १८ ९ट० १ वमोजिम अध्यक्षको परामर्शमा महासचिव श्री विष्णु प्रसाद पौडेलले विधि सम्म रुपमा बोलाउनु भए बमोजिम बसेको केन्द्रीय कमिटी बैठकलाई कसैले चुनौति दिन सक्दैन ।

    ओलीले केन्द्रीय कमिटीमा गरेको मनोनयन वदर गर्न माग गरि अर्का अध्यक्ष दाहालले पुस २१ गते आयोगमा पेश गरेको पत्रमा आफ्नो कुनै दावी नभएको र अध्यक्ष परिवर्तन वाहेक कुनै दावी नभएको भनी आफैंले पहिला गरेको दावी फिर्ता लिएको भन्दै आयोगमा आफूले पठाएको जानकारी अभिलेख गर्नु बाहेक अर्को विकल्प नरहेको जिकिर गरेका छन् ।

    ओलीले भनेका छन्–पार्टीमा जहिले पनि प्रथम अध्यक्ष नै कार्यकारी हुने तथ्य निर्विवाद छ । दुवै जनाले अध्यक्षता गर्ने गरि कार्यकारी अध्यक्ष भन्ने पदावली सिर्जना गरियो ।

    यस पदावली सम्बन्धी विधानमा कुनै व्यवस्था छैन । केन्द्रीय कमिटी वैठकले कार्यकारी अध्यक्ष भन्ने पदावलीलाई हटाई अध्यक्ष भन्ने विधान सम्मत पद यथावत राखिएको स्पष्ट गर्न चाहान्छु ।

    ओलीले आयोगलाई बुझाएको पत्रमा एकता महाधिवेशन नभई एउटा अध्यक्षे अर्को अध्यक्षलाई निश्कासन गर्न नसक्ने जिकिर गरिएको छ । पार्टीको एकता महाधिवेशन नभएसम्म एकीकरण प्रक्रिया पूरा भएको मान्न नमिल्ने ओलीको पत्रमा उल्लेख छ ।

    पत्रमा भनिएको छ–यसरी एकीकरण प्रक्रिया नसकिदै अर्थात एकता महाधिवेशनबाट नयाँ नेतृत्वको छनौट नभई कुनै पनि अध्यक्षलाई निश्कासन गर्ने प्रश्न आउदैन । यस्तो हास्यास्पद कुरा आयोगमा अभिलेखिकरण हुन सक्दैन ।

    ओलीले महाधिवेशनबाट पराजित व्यक्तिलाई कथित केन्द्रीय कमिटीले अध्यक्ष बनाउन नसक्ने भन्दै माधव नेपाल अध्यक्ष भएको भनिएको निर्णयनै औचित्यहीन रहेको जिकिर गरेका छन् ।

    ओलीको पत्र लिएर नेकपा नेता सुवास नेम्वाङ,अधिवक्ता रमेश बडाल,बाबुराम दाहाल लगायत बुधवार आयोग पुगेका थिए । पार्टीको आधिकारिकताको विवादनै नरहेको भन्दै बडालले निर्वाचन आयोगलाई बिगतका र अहिलेका सबै निर्णय तथा कागजपत्र बुझाइएको बडालले बताए ।

     

     

     

     

     

  • माधव नेपाललाई अध्यक्षको मान्यता दिन निर्वाचन आयोगलाई प्रचण्ड–नेपालको पत्र

    माधव नेपाललाई अध्यक्षको मान्यता दिन निर्वाचन आयोगलाई प्रचण्ड–नेपालको पत्र

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले निर्वाचन आयोगलाई जवाफ पठाउँदै केपी ओली नेतृत्वको कमिटीले गरेका सबै निर्णय अवैध रहेको दावी गरेको छ । सो समूहले केपी ओलीलाई पार्टीको बहुमतले अध्यक्षबाट निश्कासन गरिसकेकाले माधव नेपाललाई अध्यक्ष स्वीकार गरि आयोगको अभिलेखमा राख्न माग गरेको छ ।

    आयोगले दिएको समयसिमाभित्र बुधवार बुझाइएको पत्रमा भनिएको छ–तत्कालिन अध्यक्ष केपी शर्मा ओलीले यस पार्टीको विधान उल्लंघन गरेको कसुरमा निजलाई अनुशासनको कारवाही गर्ने सर्बोच्च अंग केन्द्रीय कमिटीको निर्णय बमोजिम पदाधिकाारी हेरफेर भएको विषय दल दर्ता किताबमा अभिलेख गर्न पार्टीको माइन्युट, कागजात र पत्रहरुको आधारमा निमल्ने भन्ने त्यस आयोगको निर्णय कानुन सम्मत छैन ।

    प्रचण्ड-माधव पक्षले दलको बहुमत केन्द्रीय सदस्यले अनुशासनको कारवाही गरेको पदाधिकारीको साटो अर्को नेतालाई अध्यक्ष पदमा चयन गरेको विषय दल दर्ता किताबमा हेरफेर गरि अध्याबकिधक गर्नुपर्ने कानुनी दायित्वबाट आयोग र प्रमूख आयुक्त लगायतका आयुक्तहरु पन्छिन खोजेको आरोप लगाएको छ ।

    प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा हस्ताक्षर गरेर आयोगमा बुझाइएको पत्रमा चेतावनीको शैलीमा भनिएको छ–राज्यका संवैधानिक अंगहरुको सामान्य त्रुटीले मुलुक अन्योलताको स्थितितर्फ नधकेलियोस् भन्ने तर्फ हामी सबै सचेत हुन र यसलाई आत्मसात गर्न जरुरी छ ।

  • सुवास नेम्वाङको टोली निर्वाचन आयोगमा, चुनावी तयारी तीव्र बनाउन आग्रह

    सुवास नेम्वाङको टोली निर्वाचन आयोगमा, चुनावी तयारी तीव्र बनाउन आग्रह

    काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगलाई चुनावको तयारी नरोक्न र तदारुकताका साथ लाग्न आग्रह गरेको छ ।

    नेकपा नेता सुवास नेम्वाङ सहितको टोलीले बुधवार आयोगका पदाधिकराीलाई भेटेर चुनाव तोकिएकै समयमा सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

    निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सन्दर्भमा पठाएको पत्रको लिखित जवाफ बोकेर आयोग पुगेका नेताहरुले पार्टी अध्यक्ष ओली र महासचिव बिष्णु पौडेल रहेको पार्टीनै आधिकारिक भएकाले अन्यौलमा नरहन आग्रह गरेका छन् ।

    आयोगबाट फर्केपछि नेपालप्रेससँग कुरा गर्दै नेम्वाङले भने–हामीले आफ्नो जवाफ दिएका छौं र पार्टीको आधिकारिकता केपी ओली रहेको ठाउँमै हुन्छ यसमा कुनै समस्या छैन । बरु हामीले निर्वाचनको तयारी तीब्रताका साथ अघि बढाउन आयोगलाई आग्रह गरेका छौं ।

    प्रचण्ड र माधव नेपाल आफैं गएर आयोगलाई चुनाव सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह गरेपछि ओली पक्षले चुनावी तयारी तदारुकतासाथ लैजान आग्रह गरेको हो ।

    सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको र चुनावको तयारी रोक्न नभनेकाले आयोग कानुन बमोजिम चल्ने नेम्वाङले बताए । आयोगले कानुन बमोजिम नै आयोगले निर्वाचनका कामहरु अघि बढाइरहेको जानकारी दिएका थिए ।

    प्रचण्ड माधव पक्षले सर्वोच्चअदालतमा मुद्दा लम्ब्याउने र निर्वाचन आयोगलाई चुनावको कार्यक्रम रोक्न दबाब दिने तिकडम अपनाएर देशलाई संवैधानिक संकटतर्फ लैजान खोजेको आरोप अ‍ोली पक्षले लगाएको छ ।

  • नेपाल प्रहरीका ११ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका ११ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले ११ एसपीको बढुवा सूची बुधवार प्रकाशित गरेको छ ।

    बढुवा सिफारिसमा पहिलो नबरमा कृष्णवहादुर महत परेका छन् । त्यस्तै गोविन्दकुमार साह दोस्रो नम्बरमा छन् ।
    को को बढुवामा सिफारिस भए,हेर्नुहोस् सूची

     

  • नेपालीको भान्सा केही सस्तियो, उपभोक्ता मूल्यवृद्धिदर २ दशमलव ९ प्रतिशत

    नेपालीको भान्सा केही सस्तियो, उपभोक्ता मूल्यवृद्धिदर २ दशमलव ९ प्रतिशत

    काठमाडौं । यो वर्षको पहिलो पाँच महिनामा महंगी वृद्धिदर ३ दशमलव ६२ प्रतिशतले घटेको छ ।

    राष्ट्र बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा उपभोक्ता मूल्यवृद्धि दर २ दशमलव ९ प्रतिशत रहेको छ । गत वर्षको सोही समयमा नेपालको उपभोक्ता मुद्रास्फिीति ६ दशमलव ५५ प्रतिशत रहेको थियो ।

    त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव २३ प्रतिशतले र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति १ दशमलव १६ प्रतिशत रहेको छ ।

    त्यस्तै फलफूल, ध्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडीको मूल्य वृद्धि क्रमश १४ दशमलव ७५ प्रतिशत , १३ प्रतिशत, ११ दशमलव ४४ प्रतिशत र १० दशमलव ७४ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३ दशमलव ७१ प्रतिशत, तराईमा २ दशमलव ३५ प्रतिशत, पहाडमा ३ दशमलव ९५ प्रतिशत र हिमालमा ४ दशमलव २२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

  • ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

    ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पुनलाई आज अपराह्न ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

    २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनी विरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए।

  • संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरी नियन्त्रणमा

    संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरी नियन्त्रणमा

    प्रतिनिधिसभा विघटनविरुद्ध ‘केश मुण्डन’ सहित प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्य बानेश्वरस्थित एपेक्स कले अगाडि नेविसंघ नेता नवराज त्रिपाठीको नेतृत्वमा प्रदर्शन गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए । केश मुण्डन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघ कार्यकर्ता सन्तोष चौधरी घाइते भएका छन् । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध नाराबाजी गरेका थिए ।

  • माओवादी केन्द्रको विवाद निर्वाचन आयोगमा, गोपाल किराँती निस्कासित

    काठमाडौं । सत्तारुढ नेकपा विभाजन भए/नभएको निर्क्यौल गर्न निर्वाचन आयोगलाई कठिन भइरहेको बेला गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) विभाजनको मुद्दा आयोगमा पुगेको छ ।

    तत्कालीन माओवादी केन्द्र नेकपा एमालेसँग एकीकृत भइसकेपछि प्रचण्डसँग असहम हुँदै गोपाल किराँतीले साबिक नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरेका थिए । किराँतीले विप्लब नेतृत्वको नेकपासँग सहकार्यको नीति लिएकै बेला उपाध्यक्ष कर्णजीत बुढाथोकीले अध्यक्ष किराँतीलाई निश्काशन गरिएको सूचना आयोगमा दर्ता गराएका छन् ।

    आयोगले बुढाथोकीको दावीउपर किराँतीसँग जवाफ मागेको छ । अहिले किराँती आयोगको सम्पर्कमा छन् । तर, जवाफ पठाएका छैनन् । उनले मौखिक रुपमा माओवादी केन्द्रको वैधानिकता आफैंमा रहेको बताए पनि दावी पुग्ने प्रमाण पेश नगरेको आयोग स्रोतले जनाएको छ ।

    पुस ८, ९ र १० गते सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले किराँतीलाई कारवाही गरेको कुरा उक्त पत्रमा खुलाइएको निर्वाचन आयोगस्रोतले जनाएको छ ।

    उपाध्यक्ष कर्णजीत बुढाथोकीको अध्यक्षतामा बसेको बैठकका बहुमत सदस्यले किराँतीलाई कारवाही गर्ने निर्णयमा हस्ताक्षर गरेकोप्रति पनि आयोगमा पेश भएको छ ।

    २१ सदस्यीय केन्द्रीय कमिटीका १३ जनाले किराँतीलाई पार्टीबाट निष्कासित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    तर, आयोगले अहिलेसम्म उक्त दलको विवरण अध्यावधिक गरेको छैन ।

     

  • ११ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब १६ अर्ब  नेपाल भित्रियो

    ११ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब १६ अर्ब नेपाल भित्रियो

    काठमाडौं । विभिन्न देशबाट आउने रेमिट्यान्स गत पाँच महिनामा १० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको वर्तमान आर्थिक स्थिति अनुसार नेपालमा गत साउनदेखि मंसिरसम्मको तथ्याङक अनुसार ४ खर्ब १६ अर्व ८१ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ ।

    राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव २ प्रतिशतले घटेको थियो ।

    यो पाँच महिनामा रेमिट्यान्स बढेपनि कोभिड –१९ का कारण वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्याक्तिगत – नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने घटेको छ ।

    विदेश जाने नेपालीको संख्या ७७ दशमलव ९ प्रतिशतले घटेको हो । गत वर्ष सोही अवधिमा यस्तो संख्या ११ दशमलव ८ प्रतिशतले बढेको थियो ।

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्फर ८ दशमलव ५ प्रतिशतले वृद्धि भइ  ४ खर्ब ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो यस्तो ट्रान्सफर १ दशमलव १ प्रतिशतले घटेको छ ।

  • आरोपपत्र फिर्ता लिएर निर्वाचन स्वीकारे पार्टी एकता हुन्छ: उपप्रधानमन्त्री पोखरेल

    आरोपपत्र फिर्ता लिएर निर्वाचन स्वीकारे पार्टी एकता हुन्छ: उपप्रधानमन्त्री पोखरेल

    झापा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कानुनतः विभाजित नभए पनि सारमा पार्टी विभाजित भएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिए एकताको सम्भावना रहेकोे बताएका हुन् ।

    उनलेले आरोपपत्र फिर्तासँगै दाहाल–नेपाल समूहले सरकारले वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुई मत नरहेको उल्लेख गरे । उनले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरे ।

    उपप्रधानमन्त्री पोखरेलले कार्यकर्तालाई पार्टी आधिकारिकता र सूर्य चिन्हका बारेमा धेरै चिन्ता लिन आवश्यक नरहेको बताउँदै भने, ‘प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक पार्टी हो, सूर्य चिन्ह पनि आधिकारिक पार्टीको हुन्छ, तपाइँहरुले धेरै चिन्ता लिनुपर्दैन ।’

    उनले दाहाल–नेपाल समूहले हास्यास्पद मुद्दा झिकेर पार्टीमा लफडा गरेकै कारण संसद् विघटन गर्नुपर्ने परिस्थितिको सिर्जना भएको आरोप लगाए । निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा दाहाल–नेपाल समूहले जनतासँग डराएर चुनाव रोक्न दबाब दिएको उनको भनाइ छ ।

  • चीन जोड्ने सडक छिटो बनाउन सरकारी ताकेता: दुई वर्षमा बनिसक्ने

    चीन जोड्ने सडक छिटो बनाउन सरकारी ताकेता: दुई वर्षमा बनिसक्ने

    काठमाडौं । दुई वर्षमा पूरा गरिसक्ने लक्ष्य लिएको राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुवेसी–रसुवागढी सडक आयोजनाको काम समयसीमा नाघिसक्दा ३५ प्रतिशत सकिएको छ ।

    निर्माणमा ढिलाइ भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया तथा आयोजनाबाट प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङ जिल्लाका समन्वय समितिका प्रमुखको समन्वयमा पुष १९ गते देखि २२ गतेसम्म ४ दिन स्थलगत भ्रमण भएको थियो ।

    भ्रमणका क्रममा ३५ प्रतिशत मात्र काम पूरा भएको सडक आयोजनाले जनाएको हो ।

    भ्रमण टोलीले प्रभावित व्यक्ति तथा स्थानीय जनप्रतिनिधिसँग सडक आयोजनाका विषयमा अन्तरक्रिया तथा छलफल गरेको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ थपलियाले नेपाल प्रेसलाई जानकारी दिए ।

    २ वर्षको सडक आयोजना पूरा गर्ने सरकारले लक्ष्य लिए पनि अपेक्षा पूरा हुन नसक्ने देखिएको उनले बताए । सुरुमा २ वर्षमा काम सम्पन्न गर्ने योजना भए पनि अझै थप २ वर्ष लाग्ने देखिएको उनले बताए ।

    टोलीले स्थलगत भ्रमण गरेलगत्तै सडक निर्माणका क्रममा प्रभावित हुने परिवारलाई मुआब्जा वितरण दिनुपर्ने, मुआब्जालाई बढाउनका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने र निर्माणस्थलमा देखिएको समस्या समाधान गर्नका लागि आयोजना प्रमुख तथा सडक विभागसँग पनि छलफल गरेर रोकिएको काम अगाडि बढाउने तयारी सुरु भएको छ ।

    गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुवेसी–रसुवागढी सडक आयोजनाको प्रथम खण्ड गल्छी–मैलुङ्ग ४६ किलोमिटर लम्काई निर्माणको जिम्मेवारी लिएको एमएस कोभ्स रसुवा जेभीले २२ किलोमिटर पहिलो चरणको कालोपत्रे पूरा गरेको छ भने १४ किलोमिटर दोस्रो चरणको कालोपत्रे पनि गरेको छ । प्रथम खण्डको भौतिक प्रगति ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।

    २०७७ साउन १ गते सम्झौता गरेको एमएस भरत कन्र्सट्रक्सन सिद्वी साइ जेभीले दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेशी खण्ड १९ किलोमिटरमा सडक चौडा गर्ने, टेवा पर्खाल, नालीको काम गरिरहेको छ । जसको अहिलेसम्मको भौतिक प्रगति १० प्रतिशत मात्र छ ।

    तेस्रो खण्ड स्याफ्रुवेशी–रसुवागढी १७ किलोमिटर सडक चीन सरकारले निर्माण गर्ने जिम्मेवारी पाए पनि कोभिड–१९ का कारण काम सुचारु हुन सकेको छैन । पहिरो रोकथामतर्फ गल्छी पहिरो जिलिङ पहिरो र तिरतिरे पहिलो नियन्त्रण कार्य ठेक्का मूल्यांकनको अन्तिम चरणमा रहेको र पुष २ गते मात्र आशय प्रकाशित भएको छ ।

    पुल निर्माणतर्फ जम्मा ३२ वटा पुल निर्माण गर्नुपर्नेमा ११ वटा पुलको डिजाइनको काम भइरहेको छ । ११ मध्येमा पनि ३ वटा कोल्प खोला, ठूलो खोला, गेर्खु खोला पुलको पहुँच सडक बाहेक अन्य कार्य सम्पन्न भइसकेको छ ।

    समग्रमा भौतिक प्रगति ५० प्रतिशत रहेको छ । थप ५ वटा पुलको कात्तिक महिनामा सम्झौता भएको र मंसिरबाट निर्माण कार्य सुरु भएको छ । बाँकी १६ पुल डिपिआरको चरणमा रहेको र चालु आर्थिक वर्षमा सम्झौता हुने आयोजनाले जनाएको छ ।

    विनियोजन भएको बजेटबाट कति खर्च भयो ?

    साढे १५ अर्ब नेपाल सरकारले र ५ अर्ब चीनले लगानी गर्ने गरी गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुवेसी–रसुवागढी सडक बनाइँदै छ । जसमध्ये काम ३५ प्रतिशत काम पूरा हुदाँ ५ अर्ब बजेट पनि खर्च भएको छ ।

    जसमा चालु आव २०७७/०७८ मा १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ विनियोजना भएको थियो । जसमा पहिलो चौमासिकमा २३ करोड ८९ लाख ६० हजार विनियोजन भएकोमा ३५ करोड ३९ लाख खर्च भएको छ ।

    पहिलो चौमासिकको भौतिक तथा वित्तीय प्रगति शतप्रतिशत रहेको छ । प्रथम चौमासिक अवधिमा ३ किलोमिटर पूरा गर्ने लक्ष्य लिए पनि लक्ष्य भन्दा ५ किलोमिटर बढी अर्थात् दोस्रो तहको कालोपत्रे करिब ८ किलोमिटर सम्पन्न भएको छ ।

    चालु आवमा गल्छी–मैलुङ्ग सडक खण्डको ४१ किलोमिटरमा दुबै तहको कालोपत्रे गरिसक्ने, मैलुङ्ग–स्याफ्रुवेसी सडक खण्डको समग्र भौतिक प्रगति ४० प्रतिशत पूरा गर्ने, पहिरो रोकथामको कार्य ४० प्रतिशत समग्र भौतिक प्रगति गर्ने, ४ वटा ओभरहेड ब्रिजको निर्माण सुरु गरिसक्ने, १० वटा पुलको निर्माण सम्पन्न गर्ने, २२ पूलको निर्माण सुरु गर्ने र त्रिशुली थ्री ए र थ्री बी को क्षेत्रमा फलाई ओभरको काम सुरु गर्ने रहेको छ ।

    यस्तै आगामी आव २०७८/०७९ मा गल्छी–मैलुङ्ग सडक खण्डको सम्पूर्ण कार्य सम्पन्न गर्ने, स्याफ्रुवेशी–रसुवागढी सडक खण्डको सम्पुर्ण कार्य सम्पन्न गर्ने, त्रिशुली थ्री ए र थ्री बी को क्षेत्रमा फलाई ओभरको निर्माण सम्पन्न गर्ने योजना सरकारको छ ।

    २ वर्षमा काम सम्पन्न गरिसक्ने योजना भए पनि त्यो पूरा हुन सक्ने कि नसक्ने भन्ने बारेमा प्रश्न उठिरहेका बेला सडक आयोजनाले भने केही समस्या देखिएको जनाएको छ ।

    नेपाललाई के फाइदा पुग्छ ?

    अहिले चीनबाट सामान आउन भारतको बाटो भएर २ महिना लाग्छ । यहाँबाट सामान आउँदा १० दिनमा आइपुग्नेछ । समय र आर्थिक हिसाबले पनि फाइदाजनक मानिएको छ ।

    यतिमात्र नभई भारतले नाकाबन्दी गर्दा पनि नेपाललाई प्रभाव नपर्ने, व्यापारिक हिसाबले पनि फाइदाजनक भएकाले सरकारले यसलाई रणनीतिक सडकका रुपमा हेरेको छ ।

    के समस्याले काम अगाडि बढ्न सकेन ?

    राष्ट्रिय गौरव आयोजनाको हकमा जग्गा प्राप्तिको कार्य सहज बनाउन, वन क्षेत्रको जग्गा सरल र छिटो तरिकाले उपलब्ध गराउन, रूख कटान सम्बन्धी प्रावधान सरल र छिटो बनाउन विशेष व्यवस्था हुनुपर्ने आयोजनाको माग छ ।

    सडकको रेखांकन र सडक सीमा एकिन भइसकेपछि जग्गाको लगत कट्टा सरल र छिटो तरिकाले हुने व्यवस्था हुनुपर्ने, विद्युत पोल, खोपानीका पाइप, पुरातात्विक-सांस्कृतिक-धार्मिक महत्वका मठमन्दिर, पाटीपौवालगायतका संरचना स्थानान्तरणका लागि सम्बन्धित निकायबाट सहजीकरण गरी समयमा नै स्थानान्तरण हुने ठाउँ पहिचान गर्ने कार्य सम्पन्न गर्न आयोजनाको माग छ ।

    जग्गाको मुआब्जा तथा घर/टहरा क्षतिपूर्तिको बजेट समेत उपलब्ध गराउनुपर्ने आयोजनाको भनाइ छ ।

    के, कहिले र कस्तो निर्णय भएको थियो ?

    नेपाल भुपरिवेष्ठित राष्ट्र भएको र २०७२ सालमा भारतले नाकाबन्दी गरेका कारण देशमा खाद्यान्न इन्धन लगायतका अत्यावश्यक सामग्रीको अभाव भएपछि यो आयोजना निर्माण गर्ने योजना अघि सारेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको दाबी छ ।

    तत्कालीन समयमा भारतले गरेको नाकाबन्दीको समस्या समाधान गर्न २०७२ साल मंसिर १७ गतेका दिन सरकारले गल्छी–त्रिशुली–मैलुङ्ग –स्याफ्रुबेशी रसुवागढी सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता प्रदान गर्दै दुई देशबीचको छोटो दुरीको व्यापारिक मार्गको रुपमा स्थापित गर्नका लागि सरकारले पहिलो पटक मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ थपलीयाले जानकारी दिए ।

    बैठकले सडक सीमा भित्र पर्ने वन क्षेत्रको जग्गा आयोजनालाई प्रयोग गर्न दिने र उक्त वन क्षेत्रमा रहेका रूख काट्ने सम्बन्धमा वन मन्त्रालयलले तत्काल आवश्यक व्यवस्था मिलाउने, गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक आयोजना २ वर्षभित्र निर्माण सम्पन्न गर्न नेपाल सरकारको आवश्यकता अनुसार परिचालित हुने र सम्बन्धित सबै निकायले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाली सेना, सडक विभागलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

    आयोजनाको हकमा वातावरण संरक्षक नियमावली २०५४ मा भएको आइइ र इआइएको व्यवस्थालाई कार्य शीघ्रताको आवश्यकता अनुसार शीघ्र कार्य सम्पादन गर्नका लागि वातावरण नियमावली २०५४ मा आवश्यक हेरफेर लगायतको कानुनी व्यवस्था १५ दिन भित्र मिलाउन विज्ञान तथा प्रविधि तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

    सडक निर्माण तथा सुधारका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले आवश्यक बजेटको व्यवस्था मिलाउने निर्णय पनि त्यसै दिन गरेको थियो ।

    गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुवेसी–रसुवागढी सडकको कुल लम्बाई ८२ किलोमिटर रहेको छ । नेपाल सरकारबाट निर्माणधीन ६५ किलोमिटर दुई खण्डमा विभाजन गरी गल्छी–मैलुङ्ग खण्ड १६ किलोमिटर, मैलुङ्ग–स्याफ्रुबेशी खण्ड १९ किलोमिटर र चीन सरकारबाट

    निर्माणधीन १७ किलोमिटर रहेको छ । यसका लागि कुल लागत १५ सय ५० करोड रहेको छ भने जसमा ५ सय करोड खर्च भइसकेको छ । अहिलेसम्मको प्रगति ३५ प्रतिशत मात्र रहेको छ ।

    गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुवेसी–रसुवागढी सडकलाई नेपाल–भारत र चीन जोड्ने सबैभन्दा छोटो व्यापारिक राजमार्गका रुपमा लिइएको छ ।