काठमाडौं । शनिबार अपरान्हसम्म नेपालमा कोरोनाभाइरस संक्रमित संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा २४० नयाँ संक्रमित थपिएका छन् ।
३ हजार ८१९ पीसीआर परिक्षण गरिएको थियो । शनिबारसम्म नेपालमा ४ हजार ५८ सक्रिय संक्रमित छन् ।
अहिलेसम्म २ लाख ६१ हजार ४४ जना निको भएका छन् । ४७७ जना निको भए । २४ घन्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेको संख्या १९५४ पुगेको छ । देशभर २०० जना क्वारेन्टाइनमा छन् ।
जनकपुर । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले शनिबार सिरहा सदरमुकाममा आयोजना गरेको प्रदर्शन तथा भेला नेता राजकिशोर यादव बहिष्कार गरेका छन् ।
वरीयताक्रम मिचेर कार्यक्रम गर्न लागेको भन्दै नेता यादवले बहिष्कार गरेका हुन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार नेतृ रेणु यादवको नेतृत्वमा त्यहाँ संसद विघटनविरुद्ध प्रदर्शन गरिएको छ ।
नेतृ यादवको प्रमुख आतिथ्यमा शुरु भएको सभामा जसपा नेता प्रकाश अधिकारी र प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव समेत वक्ता तोकिएका छन्।
प्रदर्शन तथा सभाका लागि पार्टीले गरेको परिपत्रमा सबभन्दा अन्तिममा राजकिशोर यादवको नाम राखेको थियो । तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका राजकिशोर पार्टी एकीकरण पश्चात बनेको जसपाको मर्यादाक्रममा नेतृ रेणुभन्दा अगाडि छिन्।
तर मर्यादाक्रम मिचेर नेतृ यादवलाई प्रमुख अतिथि बनाएको भन्दै नेता राजकिशोर असन्तुष्ट छन् । यही कारण उनले कार्यक्रम बहिष्कार गरेको बुझिएको छ । राजकिशोर पक्षका कार्यकर्ता राजाराम यादवले मर्यादाक्रम विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नै फोनमा थर्काएका थिए ।
प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी भएको थियो ।
प्रदेश २ को मलंगवा, कलैया र रौतहटमा समेत आजै जसपाले संसद विघटनविरुद्ध प्रदर्शन र सभा गरेको छ । मलंगवामा जसपा वरिष्ठ नेता राजेन्द्र महतो, कलैयामा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल र रौतहटमा नेता अनिल झाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएका छन् ।
प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिर सम्बोधन गर्दै अोलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिए । प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो ।
ओलीले भने– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।
ओलीले यस्ता कुरामा आफू अल्झिन नचाहेको भन्दै नयाँ युवालाई समेटेर अघि बढ्ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने बताए ।
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएकाे अधिकार प्रयाेग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेकाे भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरूद्द शनिबार वसन्तपुरमा आयाेजित सभामा बाेल्दै उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? भन्दै प्रश्न पनि गरे । उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानकाे पालना गर्नुपर्ने बताए ।
‘मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ नेता सिंहले भने, ‘कांग्रेसकाे नेतृत्वमा संविधान जारी भएकाे हाे । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’
उनले संविधानकाे बर्खिलापमा प्रधानमन्त्रीले गरेकाे सिफारिस राष्ट्रपतिले अनुमाेदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । संविधानकाे पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिकाे दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेकाे उनकाे भनाइ थियाे ।
त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपल,झलनाथ खनाल, बाबुराम भट्टराईहरू कतै नबाेलेकाे भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बाेल्न थालेकाे बताए ।
काठमाडौं । अविनाश बोहराको पाँच विकेट प्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा शनिबार प्रदेश नम्बर १ लाई १३५ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा सशक्त बलिङ गरेका अविनाशले १० ओभरमा ६ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिएका हुन् । एपिएफविरुद्ध २ सय ४४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर १ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्रै बनाउन सक्यो ।
घातक बलिङ अट्याक गरेको एपिएफका लागि किशोर महतोले ६ ओभरमा २२ खर्चेर १ विकेट लिए । त्यस्तै, बसन्त रेग्मीले १० ओभरमा तीन मेडनसहित १३ रन मात्रै खर्चिएर दुई विकेट लिएका थिए ।
ठूलो लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश १ का लागि ओपनरद्वय दीपक पासवानले १३ तथा मिनाश थापाले १८ रन बनाएका थिए । त्यस्तै फिर्दोस अनसारीले १७, दिपेश कँडेलले १६, रबिन मगरले ३ तथा कप्तान सिद्धान्त लोहनीले ९ रन मात्रै बनाउन सके ।
शुभन्कर उराओ ४ तथा श्रावण यादव १ रनमा सीमित हुँदा सोनु मण्डलले खाता खोल्न सकेनन् । जोसक खड्का १२ रनमा अविजित रहँदा हेमन्त राई २ रन बनाएर पेभेलियन फर्के ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफका लागि आशिफ शेखले ३२ बलमा ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए भने बसन्तले ५२ बलमा ४० रन जोडेका थिए ।
त्यस्तै सन्दीप जोराले ३०, कप्तान शरद भेसावकरले २० तथा सुवाष खकुरेलले १९ रन जोडेका थिए ।
प्रदेश नम्बर १ का लागि फिर्दोस अनसारी, दिपेश कँडेल, हेमन्त राई र श्रावण यादले २/२ विकेट लिए । त्यस्तै सोनु मण्डल र जोसक खड्काले १/१ विकेट लिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशलाई आफूले नभेटेको प्रष्टीकरण दिएका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यसपटक नभएर न्यायाधीशलाई कहिल्यै नभेटेको प्रतिक्रिया दिए ।
‘सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन । सायद चिनेको पनि छैन’ उनले भने । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने क्रममा शुक्रबार न्यायाधीशलाई भेटेको भन्दै संबैधानिक इजलासमै प्रश्न उठेको थियो । दाहाल–नेपाल समूहकी नेतृ शशी श्रेष्ठले इजलासमा प्रश्न उठाएकी थिइन् ।
तर, प्रधानन्यायाधीश चोलेन्द्र जबराले यस्तो कुरा यहाँ नगर्नूस भन्दै रोकेका थिए ।
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
उनका अनुसार सरकारले कोभिड विरुद्धको खोप आयातका लागि निश्चित आकारको बजेटको प्रवन्ध गरी खोप कोष स्थापना गरिसकेको छ । त्यस कोषमा अन्र्तराष्ट्रिय दातृ निकायले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था भएपनि देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोगको अपिल नगरिएको उनले स्पष्ट पारे ।
विश्व स्वास्थ्य संगठन लगायतका अन्र्तराष्ट्रिय स्वास्थ्य संस्थाले निर्धारण गरेको मापदण्डका आधारमा सम्पूर्ण नेपालीलाई कोभिड विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराइने उनले बताए ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनता देशको निर्णायक भएकाले उहाँहरुको निर्णयका लागि नै निर्वाचनमा जान लागेको बताए । साथै यो विषय सर्वोच्च अदालतमा भएकाले सर्वोच्चको फैसलालाई स्वीकार गरी अघि बढ्नु पर्ने उनको तर्क थियो ।
मन्त्री पौडेलका अनुसार आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधिसभाको निर्माण हुनेछ । निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिने उनको भनाइ थियो ।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)का नेता सुवास नेम्वाङले अदालतलाई कुनै पनि दवाव दिन नहुने बताएका छन्। शनिबार ओली पक्षीय नेकपा प्रदेश १ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे भने– उहाँ (प्रचण्ड–माधव)हरुले सर्वोच्च अदालत नजिकै गएर ‘म यहाँ छु’ भनेर किन देखाएको ? मैले यो बुझेको छैन। यो अनुपयुक्त भएन र ?
सर्वोच्च अदालत फैसला गर्न सक्षम भएको भन्दै नेम्वाङले भने– सर्वोच्च अदालत फैसला गर्न सक्षम छ । अदालतलाई कुनै पनि दवाव दिनु हुँदैन।
प्रतिनिधिसभा विघटन सही वा गलत भएको बारे कुनै टिप्पणी नगरेका नेम्वाङले संसदीय प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार हुने दावी गरे। उनले भने–संसदीय प्रणालीमा प्रधानमन्त्रीको एक प्रकारको विशेषाधिकार रहन्छ । लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् भनेर उहाँले जनतामा जाने निर्णय गर्नुभयो ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले आफू नबोलेको भन्दै उनले आफू मौन भने नरहेको बताए।
नेम्वाङले सर्वोच्चमा विचाराधीन विषयमा संसदमा समेत छलफल गर्न नपाइने व्यवस्था संविधानमा रहेको दावी गरे। दावी पेस गर्दैै उनले भने– सर्वोच्चामा विचाराधीन यस्ता विषयमा संसदमा समेत छलफल गर्न पाइँदैन ।
काठमाडौं / अष्ट्रेलियाको लागि फिल्म ‘डिसेम्बर फल्स’को डिजिटल र प्रदर्शन अधिकार बिक्री भएको छ । नेप आर्ट युट्युव डिजिटल र एजुकेसन एण्ड माइग्रेसन कर्नरले राइट खरिद गरेको हो । लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरले यसअघि पनि अष्ट्रेलियामा फिल्म प्रदर्शन र सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।
फिल्म ‘डिसेम्बर फल्स’का टीजर, गीत, ट्रेलर अब दर्शकले नेप आर्ट युट्युव च्यानलमा हेर्न पाउनेछन् । साथै, फिल्म नेपाल र अष्ट्रेलियाका बिभिन्न शहरमा एकसाथ रिलिज हुने भएको छ।
फिल्ममा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, सलोन बस्नेत, शिबहरि पौडेल, दयाराम दाहाल र नरेश भट्टराई लगायतले अभिनय गर्नेछन् । अभिनेत्री ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्रान्ड एम्बेसडर पनि हुन ।
‘कलाकारको वजनदार उपस्थिति र दर्शकप्रिय कलाकारको जमघटको आधारमा फिल्मको राइट खरिद गरेका हौं’, कर्नरका प्रमुख सुनील उप्रेतीले भने । उनले अभिनेत्री ठकुरी आफ्नो सस्थाको ब्रान्ड ऐम्बस्डर भएको नाताले पनि फिल्म खरिद गर्न आफू इच्छुक भएको उनले बताए ।
प्रेम कथामा आधारित यो फिल्मलाई प्रबिन झाले निर्देशन गर्ने छन भने छायांकार महेश आर गुप्ता हुन । यी दुबै भारतीय फिल्ममा काम गरि सकेका प्राविधिक हुन । लक्ष्मण रिजाल कार्यकारी निर्माता हुन भने रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता हुन । यसैबीच काठमाडौंको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कर्नरले नयाँ बानेश्वरमा अर्कों शाखा खोलेको छ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई खुसी बनाउँदा पनि केहीलाई पीर परेको टिप्पणी गरेका छन्।
शनिबार आफू पक्षीय नेकपाको प्रदेश १ का आगुवा कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले भने– हसाउँदै हिँड्छ भन्छन्। म देशै हँसाउन चाहन्छु। मैले हँसाए भनेर पीर परेको छ। नेपाली जनता हाँसेकोमा किन पीर परेको होला ?
ओलीले जनता रुवाउन खोजे पनि त्यसो हुन आफूले नदिने बताए। भने– रुवाउन खोजेका थियौं, सकेनौं, सक्दैनौं। रुन दिइन्नँ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको भूमिका ‘मोही माग्ने ढुंग्रो लुकाउने’ खालको भएको भन्दै आलोचना गरेका छन् ।
देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शनका क्रममा चितवनको भरपुरमा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेललले केपी ओलीले अदालतलाई धम्क्याउँदा कांग्रेस सभापतिले भने अदालतमा विचाराधीन मुद्दामा बोल्न हुँदैन भनेर डराइरहेको आरोप लगाए ।
पौडेलले भने– ओलीले अदालतलाई धम्क्याउँने, अनि हामी चाहिँ बोल्नु हुँदैन भनेर डराएर बस्ने ? यो के तरिका हो ? के को चुनाव चुनाव ? असंवैधानिक कदम पनि भन्ने अनि चुनाव पनि भन्ने ? यसरी के हुन्छ ? प्रतिनिसभा पुनःस्थापनाको कुनै विकल्प छैन । मोही माग्ने ढुंग्रो लुकाउने तरिका ठीक भएन ।
पौडेलले सर्वोच्च अदालतको भूमिकामाथि समेत प्रश्न उठेको भन्दै उनले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई संविधान पढ्न आग्रह गरे । अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे संविधान, लोकतन्त्र र राष्ट्र नै खतरा पर्ने पौडेलको भनाइ छ ।
काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम थालनी गरेकोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई बधाई दिएका छन् । शनिबार बिहान दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भारतमा भ्याक्सिनको सुरुआत हुँदा नेपाललाई भाइरसविरुद्ध लड्ने कार्यमा आशा पलाएको समेत बताए ।
नेपालले भारतले उत्पादन गरेको भ्याक्सिन नै प्रयोगमा ल्याउने समेत ज्ञवालीको भनाई छ ।
‘भारत खोप उत्पादनमा अग्रणी मुलुक हो । यसले हामीलाई आशा जगाएको छ’ ज्ञवालीले भने, ‘यो अवसरका लागि म भारतलाई बधाइ दिन चाहन्छु र खोप उत्पादनकर्ता कम्पनीलाई पनि शुभकामना व्यक्त गर्न चाहन्छु । भारतको छिमेकी हुनुको नाताले पनि यो खोप हामीले पनि पाउनेछौं भन्ने आशा छ ।’
पूर्वाधार, औद्योगीकरण र दशक लामो लोकतन्त्रको अभ्यासमा भारतले गरेको सफलताप्रति ज्ञवालीले पं्रशसा जनाए । ज्ञवाली तीनदिने औपचारिक भ्रमण पुरा गरेर शनिबार अपरान्ह स्वदेश फर्कँदै छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)का नेता सुवास नेम्वाङले महासचिव विष्णु पौडेल जहाँ छन्, त्यही पार्टी नै आधिकारिक हुने धारणा राखेका छन् ।
अध्यक्ष, महासचिव र माइन्यूट भएको पार्टी नै आधिकारिक भएको तर्क गर्दै नेता नेम्वाङले प्रश्न गरे– महासचिवले बैठक बोलाउने हो, महासचिवले नबोलाएको बैठकका निर्णय कसरी वैध हुन्छन् ?
अोली पक्षीय नेकपाको प्रदेश १ को भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले आफूहरु पार्टी एकताकै पक्षमा रहेकाले कसैलाई कारबाही नगरेको पनि प्रष्ट पारे ।
‘हाम्रो पार्टीको अध्यक्ष केपी ओली हुनुहुन्छ,’ उनले भने, ‘महासचिव विष्णु पौडेल हुनुहुन्छ । दोस्रो अध्यक्ष पुष्पकमल दाहाल अहिले पनि हुनुहुन्छ । वरिष्ठ नेताहरु पनि यथावत् हुनुहुन्छ। हामीले कसैलाई कारबाही गरेर निकालेका छैनौं । किनभने, हामी पार्टी एकताको पक्षमा छौं ।’
उनले प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा गरिरहेका बेला पार्टीमा फुट आएको भन्दै त्यसको जवाफ जनताले खोजिरहेको बताए।
नेम्वाङले भने– नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको तयारी गरिरहेका बेलामा पार्टीमा यस्तो अवस्था किन आयो ? यसको जवाफ हामी विस्तारै पाउने छौं।
नेम्वाङले ओलीलाई अस्वीकार गरेर के गर्न खोजिएको भन्दै त्यसको जवाफ जनताले खोजिरहेको बताए । भने– केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो ? देशले यसको जवाफ खोजिरहेको छ।
उनले निर्वाचन आयोगले आचार संहिता जारी नगरेसम्म वर्तमान सरकारले पूर्णरुपमा काम गर्ने पनि बताएका छन् । कतिपयले सरकारलाई काम चलाउ भइसकेको भन्ने टिप्पणी गरेको भन्दै उनले भने– यो सरकारले सबै काम गर्न पाउँछ, यसबारे संविधानको धारा ७७ मा प्रष्ट उल्लेख छ ।
काठमाडौ । पार्टी विभाजनपछि नेकपाको केपी ओली पक्षधर अखिल नेपाल महिला संघको दोस्रो केन्द्रिय कमिटिको बैठक बानेश्वरमा सुरु भएको छ । नेकपामा देखिएको विभाजनपछि पार्टीका नीति र निर्देशनलाई तल्लो तहसम्म लैजान अखिल नेपाल महिला संघ सक्रिय भएको हो । सरकारले निर्वाचनको घोषणा गरिसकेको अवस्थामा निर्वाचनको माहौल बनाउन र महिला सहभागीता सुनिश्चित गराउने उद्धेश्यले बैठक आयोजना गरिएको अनेमसंघले जनाएको छ ।
अनेमसंघले आगामी राजनीतिक कार्यक्रमका लागि केन्द्रिय समिति विस्तार समेत गरेको छ । बैठकमा मन्तब्य राख्दै अनेमसंघका सिता पौडेलले प्रधानमन्त्री माथि आफ्नै पार्टीका सचिवालय सदस्यहरुले अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता सम्मको योजना गरिएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर संसद विघटन गर्नु परेको बताइन् । उनले दुई वर्ष सम्म पार्टी एकताकै लागि प्रधानमन्त्रीले पार्टी भित्रकै नेताहरुवाट भएको असहयोगको सामना गर्दै आएको बताइन् ।
उनले विस्तारित समितिको भेला बैठक गर्न, राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर राजनीतिक गतिविधिलाई तिब्र पार्न र निर्वाचनको माहौल बनाउने काममा लाग्न अनेमसंघका नेता कार्यकर्तालाई निर्देशन लिइन् । बैठकमा ओली पक्षधर महिला नेताहरु सहभागी छन् ।
अध्यक्ष सीता पौडेल सहित बहुमत सदस्यहरु ओली पक्षमा लागेका छन् भने महासचिव अमृता थापा सहितको संख्या प्रचण्ड माधव पक्षमा लागेका छन् । बरिष्ठ साहित्यकार तथा लेखक कुन्ता शर्मा पनि ओली पक्षको बैठकमा सहभागी भएकी छन् । पछिल्लो समय उनले अष्टलक्ष्मी शाक्यलाई लेखेको खुलापत्र निकै चर्चित छ ।
काठमाडौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले प्रतिनिधिसभा विघटन नभइ प्रचण्ड र माधव नेपालको सत्तामा पुग्ने सपना विघटन भएको टिप्पणी गरेकी छन् ।
प्रचण्ड–माधवको प्रधानमन्त्रीविरुद्ध षडयन्त्र गरेर सत्तामा पुग्ने लोभमा लागेका कारण अहिलेको स्थिति आएको उनको भनाइ छ । शनिबारदेखि शुरु भएको अखिल नेपाल महिला संघको केन्द्रीय कमिटिको दोस्रो बैठकमा सम्बोधन गर्दै मन्त्री अर्यालले प्रणाली नै सिध्याउने षडयन्त्रलाई प्रधानमन्त्रीले असफल बनाएको बताइन् ।
अर्यालले भनिन्– पार्टीको अनुशासन नमानेर आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर संकलन गर्दै हिँड्ने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउँन भन्दै हिँड्ने सांसदको के काम ? विघटन नभएको भए प्रधानमन्त्री र राष्ट्रपतिलाई अहिलेसम्म फ्याँकिसक्थे । सत्ता कांग्रेसलाई सुम्पिने थिए ।
उनले लेनीनवादी संगठनात्मक सिद्धान्तलाई कमजोर बनाएर पार्टी एकता भएका कारण अहिले यस्तो अवस्था आएको बताएकी छन् । प्रचण्डको प्रस्ताव मान्दा संगठन संचालन नै गलत तरिकाले भएको उनको भनाइ छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्राध्यापक डा.गोविन्द्र केसीको अगुवाइमा प्रदर्शन भएको छ। डा.केसी लगायतको अगुवाईमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो। नागरिक समाजका विभिन्न अभियान्ताहरु समेत सहभागि प्रदर्शनमा संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, निरंकुश सरकार चाहिँदैन लगायत लेखिएका प्लेकार्ड बोकेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार माइतीघर मण्डलामा विभिन्न नागरिक समूहले प्रदर्शन गरिरहेका छन्।
दाङ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभा विघटनविरुद्ध जनताको ठूलो शक्ति सडकमा आउने दावी गरेका छन्।
प्रचण्ड–माधव पक्षीय दाङका अगुवा कार्यकर्ता भेलालाई शनिबार तुलसीपुरमा सम्बोधन गर्दै महराले ‘प्रतिगनम’ बढ्दै गए जनताको ठूलो शक्ति सडकमा आउने दावी गरे। महराले भने– केपी ओलीको प्रतिगमन थप बढ्दै गयो भने ठूलो शक्तिमा जनता सडकमा उत्रिन्छन्।
पूर्वसभामुख समेत रहेका उनले सबै पार्टी र नागरिक समाज प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा उत्रिइसकेको बताए । उनले कार्यकर्तालाई छिटो भन्दा छिटो तल्लो तहमा गएर वास्तविकता बुझाउँन आग्रह समेत गरे।
‘नेकपा बहुमत जहाँ छ, जनताको बलियो साथ जता छ, त्यही उभिनुहोस्,’ महराको आग्रह छ, ‘जति छिटो जनताको माझामा वास्तविकता लैजान सकिन्छ, त्यति छिटो हाम्रो शक्ति बढ्छ। कु हट्दै जान्छ।’
काठमाडौं । शहरी विकासमन्त्री समेत रहेका ओली पक्षीय नेकपाका प्रभावशाली नेता प्रभु साहले ललिता निवास बालुवाटारको जग्गा व्यक्तिलाई दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हात रहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीय शासन प्रणालीमा मन्त्रिपरिषद्बाट भएका निर्णयको मुख्य दोषी प्रधानमन्त्री नै हुने भएकाले अरुलाई मात्र दोषी बनाएर अख्तियारले तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको साहले बताए ।
ओली पक्षधर नेकपा प्रदेश १ सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साह प्रचण्ड र माधव नेपालमाथि खनिएका हुन् । उनले यही विषय आफूले फेसबुक स्टाटसमा लेख्दा पार्टीमा स्पष्टीकरण दिनुपरेको समेत सुनाए ।
साहले भने– भ्रष्टाचारमा चुर्लुम्म डुबेका (प्रचण्ड–माधव नेपालहरु)ले देश बनाउछौं भन्नु गोरुले दूध दिन्छ भने जस्तै हो । तराई मधेशमा केपी अोलीको पक्षमा ठूलो लहर आएको छ । प्रचण्डले मधेशका एजेण्डा व्यापार गरे, जनताले उनलाई लखेट्छन् ।
साहले तराई–मधेश क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरुचाइएको भनिए पनि त्यो गलत भएको दावी गरे । साहले ओलीको तराई–मधेशमा जयजयकार भएको दावी गरे।
उनले भने– केपी ओलीले तीस वर्षअघि जे बोल्नु भएको थियो, अहिले पनि त्यही बोल्नु भएको छ । तराई मधेशमा केपीजीको जयजयकार छ । अहिले कति सडकहरु बनिरहेका छन्, तराइमा विकास भएको छ ।
उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहितको संघीयताको कुरा गरे पनि धोका माात्रै दिएको बताए । ‘जनयुद्धका बेलादेखि अहिलेसम्म प्रचण्डले फरक बोले’ उनले भने, ‘मधेशी जनता सत्य र अग्रगनको पक्षमा लागेका छन् । उनीहरुलाई थाहा छ– झुट बोल्ने को हुन्।’
तराईका ३२ निर्वाचन क्षेत्र मध्ये २० क्षेत्रमा आफूहरुले जित्ने समेत दावी उनले गरे। साहले भने– तराईका ३२ वटा सीटमध्ये २० वटा आएन भने मलाई सोध्नुहोला ।’
काठमाडौँ। प्रतिनिधिसभा विघटनको विरोधमा प्राध्यापक डा.गोविन्द्र केसीको अगुवाइमा प्रदर्शन भएको छ। डा.केसी लगायतको अगुवाईमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो। नागरिक समाजका विभिन्न अभियान्ताहरु समेत सहभागि प्रदर्शनमा संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, निरंकुश सरकार चाहिँदैन लगायत लेखिएका प्लेकार्ड बोकेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार माइतीघर मण्डलामा विभिन्न नागरिक समूहले प्रदर्शन गरिरहेका छन्।
विराटनगर । नेपाली कांग्रेस का नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रका कारण कांग्रेसले ‘प्रतिगमनको विरोध’ मा सशक्त भूमिका खेल्न नसकेको आरोप लगाएका छन् । उनले केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेस एक ढिक्का भएर सशक्तरुपमा आन्दोलनमा जानुपर्ने बताएका छन् ।
शनिबार विराटनगरमा आयोजित मानव अधिकार तथा शान्ति समाज मोरङको साधारण सभामा बोल्दै नेता कोइरालाले भने– सभापति शेरबहादुरकै कारण कांग्रेसले प्रतिगमन हुन नदिन र भैसकेपछि विरोधमा सशक्त भूमिका खेल्न सकेको छैन।
मुख्य प्रतिपक्षी दल भएर कांग्रेसले पनि खेल्नुपर्ने जति भूमिका सशक्त्त ढंगले निभाउन नसक्दा संघीयता र गणतन्त्र खतरामा पर्ने सम्भावना बढेको कोइरालाले बताए ।
प्रचण्ड र माधवसँग बदला लिन र वैशाखमा चुनाव गराउन यो प्रतिगमन नभएको भन्दै नेता कोइरालाले संसद विघटन गर्नुको पछाडि गहिरो षड्यन्त्र रहेको दावी गरे ।
डा कोइरालाले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खी प्रष्ट भएर आन्दोलनमा जानुपर्ने बताए । कांग्रेस सभापति देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नोबोल्न पार्टीमा रुलिङ गरेको समेत बताए ।
उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गराउने कार्यमा नेकपाका प्रचण्ड–माधव समूहसँगै नेपाली कांग्रेसको नेतृत्व पनि दोषी रहेको टिप्पणी गरे ।
उनले सभापति शेरबहादुरलाई लक्षित गर्दै भने– शेरबहादुरजी पनि ओलीजी जस्तै व्यक्तिगत स्वार्थमा लोभिनुभयो, यसैले सुरुदेखि नै खेल्नुपर्ने जति भूमिका कांग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन ।
काठमाडौं । मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बेहुली बन्ने भएकी छन् । राई र शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा नेकपाका सिमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच विहे हुँदैछ ।
मिस मंगाेल भएदेखि नै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौंमा बस्छिन् ।
प्रदेश १ का मुख्यमन्त्री राईसँग पारिवारिक साथीभाइमार्फत् नजिक भएकी उनले आफ्नो सामाजिक सञ्जालमा केपी ओलीका भिडियो सन्देशहरु शेयर गरेकी छन् ।
मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा भने लगभग आधा अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा कमै नेताको यस्तो विहे हुने गरेको छ ।
२७ वर्षको उमेरमै २०५६ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २० वर्षको बीचमा तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।
सिड्नी –अन्तराष्ट्रिय अनलाइन गायन प्रतियोगिता हल अफ फेम सिजन २ सुरु भएको छ । विदेशबाट नेपालीले पहिलोपटक डिजिटल प्लेटफर्ममा गायन कम्पिटिसन आयोजना गरेका हुन् । शुक्रबारदेखि सुरु भएको कार्यक्रममा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट ५० जना प्रतियोगीलाई प्रतिस्पर्धामा सहभागि गराइने भएको छ ।
अष्ट्रेलियाको एमएनटीभी र नेपालको हिमालय टिभीबाट एकसाथ प्रसारण गरिने जनाइएको छ । कोभिड–१९ महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अनलाइन प्रतिस्पर्धामा सयभन्दा बढी प्रतिस्पर्धीले आवेदन दिएका थिए । तर, तीमध्येबाट उत्कृष्ट पचास छानिएको हो ।
प्रतिस्पर्धामा निर्णायकको रुपमा गायक दीप श्रेष्ठ, कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमाल छन् । कार्यक्रम संचालकमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेसनिया २०२० जेमिना श्रेष्ठ छन् । प्रतिस्पर्धामा निर्णायकको मतलाई अन्तिम मानिने भएको छ । निर्णायकको मतलाई ७० प्रतिशत र दर्शकीय प्रतिक्रियालाई ३० प्रतिशत मानिने भएको छ ।
बरिष्ठ गायक एवं निर्णायक दीप श्रेष्ठले विदेशमा रहेका सांगीतिक प्रतिभालाई पनि खुबी देखाउने अवसरको रुपमा हल अफ फेम स्थापित हुने विश्वास व्यक्त गरे । उमेरको कुनै बन्देज नलगाइएको प्रतियोगितामा १२ देशबाट नेपाली प्रतियोगी सहभागि छन् । टाइटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कारसहित गीत रेकर्ड, म्युजिक भिडियो निर्माणको अवसर पाउने भएका छन् ।
चितवन । नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सक्रिय धुर्मुस-सुन्तली अचेल चुपचाप छन् । यो मौनताका पछाडि आश्वासन,धोखा र आशावादीताका अनेक आयाम होलान् । तर निस्वार्थ एउटा महाअभियानमा लागेको धुर्मुसले मुख नखोले पनि भावभंगीबाट बुझ्न सकिन्छ–सोचे झैं रैनछ ..।
आजसम्म धुर्मुसले मुख खोलेका छैनन् र खोल्न पनि चाहादैनन् तर यो महाअभियानमा फाउण्डेसनलाई ‘गम्भीर धोका’ चाहिँ भएकै छ । रंगशाला निर्माण महाअभियानमा सहयोगको कबोल गरेकाहरुले लामो समयसम्म रकम उपलब्ध नगराउँदा रंगशाला निर्माणको काममा प्रत्यक्ष असर परेको छ ।
गत वर्षको माघमा रंगशाला निर्माणका लागि आयोजना गरिएको धनधान्याचल महायज्ञमा सरकारी र गैरसरकारी क्षेत्रका दाताहरुले ७० करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका थिए । नेपालकै शानका रुपमा रहने सो रंगशाला निर्माणको कामले तीव्रता पाइरहँदा सहयोग घोषणा गर्ने अधिकांश सम्पर्कविहीन छन् । ७० करोडमध्ये हालसम्म ९ करोड रुपैयाँ मात्रै फाउण्डेसनको हातमा परेको छ ।
महायज्ञका बेला सहयोग घोषणा गरेर सम्मान थापेका दाताहरुले बेलैमा सहयोग उपलब्ध नगराएका कारण रंगशाला निर्माण अभियानलाई ‘गम्भीर धोका’ भईरहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले यद्यपी अहिलेसम्म यो कुरा बोलेका छैनन् ।
बजारबाट उधारोमा सामान ल्याएर निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने अवस्था छ । हाल फाउण्डेशनले १० करोड जतिको निर्माण सामाग्री उधारोमा ल्याएर रंगशालाको प्याराफिट निर्माण गरिरहेको छ । रंगशाला परिसरमा बनेको नमूना क्रिकेट मैदानमा राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेको छ । तर अन्तर्राष्ट्रिय रंगशाला निर्माण ‘आर्थिक अभाव’ व्यहोर्नुपर्ने अवस्थामा छ ।
फाउण्डेसनका अनुसार हालसम्म अन्तर्राष्ट्रिय मैदानको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २२ लाख लिटर पानी अट्ने ड्रेन बनाइएको छ । ३० हजार दर्शक क्षमताको रंगशालाका स्ट्याण्ड ए र बीका पिल्लहरु तयार भइसकेका छन् । अभावले असर गरेन भने डेढ महिनामा प्यारापिट तयार हुनेछ । त्यस्तै नियमित गतिमा काम जारी रहेको अवस्थामा अबको १५ महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पूर्णरुपमा तयार हुनेछ । यद्यपि त्यसका लागि स्रोतको अभाव हुनुहुँदैन । रंगशाला निर्माणका लागि सरकारी क्षेत्रबाट ५१ करोडभन्दा बढी सहयोग रकम घोषणा भएको थियो । त्यसमध्ये २० प्रतिशत रकम पनि फाउण्डेसनले पाएको छैन ।
रंगशालामा हाल दैनिक ३ सय कामदार काम गरिरहेका छन् । खर्च निरन्तर भएपनि सहयोग घोषणा भएको रकम नउठ्दा रंगशाला निर्माणमा असहजता बढेको छ । फाउण्डेसनका अध्यक्ष कट्टेल दाताहरुले छिट्टै सहयोग रकम उपलब्ध गराउने आशामा छन् ।
‘मलाई विश्वास छ महायज्ञमा गरिएको प्रतिबद्धता सबैले पूरा गर्नुहुनेछ । जेजति कारणले नभ्याउनुभएको भएपनि अब रंगशाला निर्माण अन्तिम चरणमा छ । सबैले बचन पूरा गर्यौ भने रंगशाला बेलैमा तयार हुनेछ’, कट्टेलले नेपाल प्रेससंग भने ।
रंगशाला निर्माणलाई अभावका बीच पनि निरन्तरता दिइएको भन्दै उनले झापामा आफ्नो नाममा रहेको जग्गा बेचेर पनि रंगशाला निर्माण सम्पन्न गर्ने बताए । ‘यो सरकारलाई नागरिकस्तरबाट गरिएको सहयोग छ । रंगशाला निर्माण घोषणा भएदेखि आजसम्म इमानदार प्रयास गरेका छौं । अब त झापामा भएको पैतृक सम्पत्ति बेचेर पनि रंगशाला ठड्याउँछु भन्ने लागेको छ’, कट्टेलले भने ।
रंगशाला निर्माणको कामबारे छलफल गरिरहँदा भावुक हुँदै कट्टेलले झापाको जग्गा बेच्ने कुरा गरेका थिए । तर कबोल भएअनुसारको रकम तत्काल उठ्ने हो भने त्यस्तो कष्ट गर्नुपर्ने छैन ।
रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख र गैडाकोट नगरपालिकाले १ करोड नगद सहयोग गर्ने घोषणा गरेका थिए ।
२८ हजार जना दाताले सहयोग गरेको महायज्ञमा निजी क्षेत्र, संघ संस्था र व्यक्तिगत तर्फबाट १७ करोड ४६ लाख रुपैयाँ सहयोगको घोषणा गरिएको थियो । महायज्ञका दौराना दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
‘सहयोग घोषणा भएपछि सम्मान र प्रचार गरियो । अहिले कबोल भएको रकम प्राप्त भएको छैन’, महायज्ञ आयोजक समितिका एक पदाधिकारीले भने । सहयोग रकम उपलब्ध नगराउने संस्था र व्यक्तिको नाम उपलब्ध गराउन भने उनले अस्वीकार गरे । ‘कबोल गरिएको रकम आउन ढिलो भएको हो तर अहिले हामी नाम भन्दैनौ । ६९ करोड कबोल भएकोमा ९ करोड मात्रै उठेको छ । अधिकांशले दिनै बाँकी छ’, उनले भने ।
जनस्तरको सहयोगबाट रंगशाला निर्माणको घोषणा भएपछि देशविदेशमा रहेका नेपालीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेका थिए । रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेका कारण आर्थिक अभाव नहोस् भन्ने फाउण्डेसनको चाहना हो ।
रंगशालालाई प्रदेश र स्थानीय सरकारले सहयोग गरेपनि संघीय सरकारबाट उल्लेख्य सहयोग भएको छैन । संघीय सरकारमा नेकपा नेता विष्णु पौडेल अर्थमन्त्री भएसंगै रुपन्देहीकै सैनामैनामा गौतम बुद्धकै नामबाट अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई सहयोगको आश्वासन दिइएको छ ।
चितवनमा रंगशाला निर्माणको काममा अहोरात्र खटिइरहेका धुर्मुस सरकारले नगरेपनि जनस्तरबाट रंगशाला बनिछाड्ने बताउँछन् । त्यसका लागि ७७ वटै जिल्लाका नागरिकसंग उनले अनुरोध गरेका छौं ।
‘अन्तर्राष्ट्रिय रंगशालामा ७७ वटै जिल्लाको कक्ष हुनेछ जसले सबै जिल्लाको मान र पहिचान पनि कायम गर्नेछ । त्यसैले सबै जिल्लाबाट सहयोग अभियान चल्यो भने अबको केही समयमै रंगशाला पूर्णरुपमा तयार हुन्छ’, उनले भने ।
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश नम्बर १ लाई २ सय ४४ रनको विजय लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रनको योगफल तयार गर्यो ।
एपिएफका लागि ओपनरद्वय आशिफ शेख र सुवाष खकुरेलले ७१ रनको साझेदारी गर्दै सुखद् सुरुआत दिलाएका थिए । सोही क्रममा आशिफले ५९ रनको अर्धशतकीय इनिङ खेल्दा आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।
त्यस्तै सुवाष ४१ बलमा १९ रन जोडेर पेभेलियन फर्किँदा कप्तान शरद भेसावकरले ३९ बलमा २० रन जोडे । प्रदीप ऐरीले ७ रन बनाउन १४ खेल्दा एक चौका प्रहार गरेका थिए । सुमित महर्जन २० बलमा १ चौकासहित १४ रन बनाएर आउट हुँदा सन्दीप जोराले ३९ बलमा चार चौकासहित ३० रन बनाए ।
त्यस्तै बसन्त रेग्मीले ५२ बलमा चार चौका र दुई छक्कासहित ४० तथा भुवन कार्की ७ रन बनाएर आउट हुँदा कमल ऐरी ५ रन बनाएर आउट भए । त्यस्तै किशोर महतो २३ बलमा २ चौकासहित १९ रन बनाएर आएट हुँदा अविनाश बोहरा ६ रनमा अविजित रहे ।
प्रदेश नम्बर १ का लागि दिपेश कँडेलले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै हेमन्त राईले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै श्रावण यादवले ६ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए ।
फिर्दोस अन्सारीले १० ओभरमा ४० रन खर्चिएर २ विकेट लिँदा जोशक खड्काको नाममा एक विकेट रह्यो ।
म्याग्दी- कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो ।
ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षण गर्न उहाँले स्वाब दिनुभएको थियो । “पुस ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेशन बसेको थिए”, उहाँले भन्नुभयो, “कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन् ।”
रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गर्नुभयो । “टोल, छिमेकमा कोरोना सङ्क्रमित भनेर दुव्र्यवहार सहनुप¥यो”, उहाँले भन्नुभयो, “आइसोलेशन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ ।”
बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ । रोजगारीको खोजीमा उहाँले चार वर्ष मलेसियामा काम गर्नुभएको थियो । बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन् । कम्पनीले मासिक रु १८ हजार तलब दिने गरेको थियो । जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ ।
प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षागार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताउनुभयो । काठमाडौमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गर्नुभयो ।
काठमाडौं । कारोबारको पहिलो दिन सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ३०० रहेको छ । यसैगरी आज चाँदीको भाउ प्रतितोला १,२३० रुपैयाँ कायम भएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उत्तारचढाबका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा घटबढ भइरहेको छ ।
दिल्ली –भारतमा आजदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । तीन चरणमा लगाइने खोप कार्यक्रम अन्तर्गत शनिबारदेखि ३ करोड जनसंख्यालाई खोप दिइनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले संसारको सबैभन्दा ठूलो खोप कार्यक्रमको शुभारम्भ गरे ।
भारतकै को–भ्याक्सिन र भारतकै सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाउन थालिएको हो । भारतीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनको उपस्थितीमा एम्स अस्पतालका डाक्टर रणदीप गुलेरियाले पहिलो खोप लगाए । पहिलो चरणमा फ्रन्टलाइन वकर्स र दोस्रो चरणमा ५० वर्ष माथिल्लो उमेरका नागरिकलाई खोप दिइने भएको छ ।
खोप कार्यक्रमलाई शुभारम्भ गर्दै प्रधानमन्त्री मोदीले खोपको विकासलाई कोरोनाविरुद्ध भारतको विजयको रुपमा व्याख्या गरे । राष्ट्रको नाममा गरिएको उक्त सम्बोधनमा मोदी कोरोनाले ज्यान गुमाएका नागरिकलाई सम्झँदै भावुक समेत भएका थिए । विशुद्ध भारतीय उत्पादनको कोभिसिल्ड खोप मूल्य र भण्डारणको हिसाबले निकै सजिलो रहेको उनले जनाए ।
जोन हप्कीन्स विश्वविद्यालयका अनुसार शुक्रबारसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ९१८ छ भने संक्रमित संख्या १ करोड ५२ लाखभन्दा बढी छ । अमेरिका र ब्राजिलपछि सबैभन्दा प्रभावित मुलुकको तेस्रो स्थानमा भारत छ । आफ्नो देशपछि छिमेकी मुलुकमा खोपलाई निर्यात गर्ने तयारीमा छ भारत ।
दाङ । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले बोली र व्यवहारमा प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही नभएको अनुभव सुनाएका छन् ।
दाङमा शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालले भने–विध्वंशको अर्को नाम केपी ओली हो । प्रचण्ड जस्तो व्यवहारमा इमान्दार नेता अरु छैनन् । केपी ओलीमा त नैतिकतानै छैन ।
अर्को प्रसंगमा नेपालले कांग्रेस सभापति शेरवहादुर देउवासँगको प्रचण्ड र आफ्नो भेटपछि संयुक्त आन्दोलनको वातावरण बनेको बताए । उनले चाँडैनै कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने र प्रतिनिधिसभा पुनःस्थापना भएपछि कांग्रेससँगै मिलेर सरकार बनाउने बताए ।
नेपालले केपी ओलीसँग केही व्यक्ति नेकपाबाट चोइटिएर गए पनि त्यसले पार्टीलाई असर नपर्ने दावी गरे । नेपालले पार्टी मिलाउने बामदेव गौतमको अभियान बालुवा पेलेर तेल निकाल्नु जस्तै रहेको टिप्पणी गरे ।
उनले ओली कहिल्यै नसुध्रिने जन्तु भएकाले अब पार्टी एकता सम्भव नरहेको समेत बताए । नेपाल सहित नारायणकाजी श्रेष्ठ,कृष्णवहादुर महरा,वर्षमान पुन लगायतका नेता दाङमा आयोजना हुने कार्यकर्ता भेलामा सहभागी हुँदैछन् ।
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । तीनदिने औपचारिक भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेटेका हुन् ।
नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल र नेपाली राजदूत निलाम्बर आचार्य पनि सहभागि थिए । भेटपछि ट्वीट गर्दै सिंहले ज्ञवालीसिंह फलदायी छलफल भएको उल्लेख गरेका छन् ।
भारत र नेपालको सम्बन्ध सरकारबाट नभएर नागरिक–नागरिकबीच निर्देशित रहेको उल्लेख गर्दै उनले दुई देशबीच अनन्त सम्भावना रहेको समेत उल्लेख गरेका छन् । गत बैशाख २६ गते सिंहले नेपालको भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बत जाने सडकमार्ग उद्घाटन गरेका थिए ।
दिल्लीस्थित नेपाली दुतावासका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न प्रयास भैरहेको छ । मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ । शनिबार विहानै ज्ञवालीले नेपाली दुतावासमा भारतीय पत्रकारसँग छलफल गरेका थिए । जहाँ उनले ऐतिहासिक तथ्य र सुगौली सन्धीका आधारमा नेपालले नयाँ नक्सा प्रकाशित गरेको बताएका थिए ।
शुक्रबार परराष्ट्रमन्त्रीस्तरिय नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको थियो । बैठकमा नेपाली परराष्ट्रमन्त्री ज्ञवाली र भारतको तर्फबाट विदेश मन्त्री एस जयशंकर सहभागि थिए ।
काठमाडौं । विवेकशील साझा पार्टी लैंगिक अल्पसंख्यकलाई समेटेर विभाग गठन गर्ने पहिलो नेपाली दल बनेको छ । रविन्द्र मिश्र नेतृत्वको यो दलले पार्टीका १८ विभागमध्ये एउटालाई इन्द्रेणी विभाग नाम दिएको छ ।
लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यू) अर्थात तेस्रो लिंगी समुदायको हितमा काम गर्ने उद्देश्यले यो विभाग गठन गरेको अध्यक्ष मिश्रले जनाएका छन् ।
पार्टीको केन्द्रिय सदस्य समेत रहेकी समाइरा श्रेष्ठले यो विभागको नेतृत्व गर्ने भएकी छिन् । समाइरा मोडल समेत उनी । उनले थुप्रै ¥याम्प सोमा सो–स्टपरको रुपमा प्रस्तुति दिएकी छिन् । उनी बेला बेलामा सामाजिक काममा पनि क्रियाशिल छिन् । लकडाउनले मजदुर भोकै भएपछि उनको पहलमा खुलामंचमा खाना पनि वितरण गरिएको थियो ।
ठूला दलले लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्न नसकिरहेको आरोप लागिरहेको बेला विवेकशील साझा पार्टीले भने विभाग नै गठन गरेको हो ।
काठमाडौं । कोरोनाभाइरसको संक्रमण झनै फैलँदो छ । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार विश्वभर भाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबार रातीसम्म २० लाख नाघेको छ । ९ करोडभन्दा बढीलाई संक्रमण पुष्टि भएको जनाएको छ । भाइरसको संक्रमण विस्तार १९० देशमा भएको जनाइएको छ ।
अमेरिकामा मात्र ३ लाख ८७ हजारले ज्यान गुमाएका छन् । ब्राजिलमा २ लाख ७ हजार, भारतमा १ लाख ५१ हजारले ज्यान गुमाएका छन् । त्यसपछि प्रभावित मुलुकमा मेक्सिको, बेलायत र इटाली छन् । तथ्यांकअनुसार भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या १९४८ छ र मृत्युदर ६.९ प्रतिशत रहेको छ । २ लाख ६६ हजार ८१६ जना भाइरसबाट संक्रमित भएका छन् ।
नयाँ कोरोनाभाइरस आफ्नो मुलुकमा देखिन थालेपछि बेलायतले सबै मुलुकसँगको हवाइ तथा यातायात सम्पर्क विच्छेद गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले गएरातिबाट लागु हुने गरि बेलायतमा हुने सम्पर्कमा रोक लगाएका हुन् । ब्राजिलमा देखिएको नयाँ प्रकारको कोरोना प्रजाति बेलायतमा भेटिएको जनाइएको छ । बेलायत यतिबेला कडा लकडाउनमा छ ।
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफका आशिफ शेखले प्रदेश १ विरुद्ध अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफका लागि ओपनिङमा आएका आशिफले ३२ बल खेलेर ६ चौका ५ छक्कासहित ६९ रन बनाए ।
आशिफ नवौं ओभरमा सोनु मण्डलले फालेको पाँचौं बलमा फिर्दोस अनसारीको हातबाट क्याच आउट भए । एपिएफ अहिले १०.१ ओभरमा १ विकेट गुमाएर ७७ रन बनाएर खेलिरहेको छ । एपिएफका लागि सुवाष खकुरेल १० तथा कप्तान सरद भेसावकर ४ रन बनाएर खेलिरहेका छन् ।
काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
आजै अपराह्न स्वदेश फर्किन लागेका ज्ञवालीले आजै केहीबेरमा भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गर्दैछन् । प्रधानमन्त्री नरेन्द्र मोदीपछिको बरियताका नेता राजनाथ सिंह नेपाल मामिलाका विज्ञ पनि हुन् ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न भारतीय पक्षले मन्त्री ज्ञवालीसँग उच्चस्तरीय भेट तय गरेको हो । दुवै देशको नक्सा विवादपछि चिसिएको सम्बन्ध सुधार गर्नलाई भेटवार्ता सहयोगी हुने अपेक्षा गरिएको छ ।
मन्त्री ज्ञवालीको प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर यसको आधिकारिक पुष्टि भएको छैन । यसैबीच, आजै विहान परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय संचारकर्मीसँग दिल्लीस्थित नेपाली दुतावासमा पत्रकार सम्मेलन गरे ।