Blog

  • बुधबार सुन प्रतितोला पाँच सयले बढ्यो

    बुधबार सुन प्रतितोला पाँच सयले बढ्यो

    काठमाडौं । बुधबार सुनको मूल्यमा ५०० ले वृद्धि भएको छ । विश्व बजारमा सुनको भाउमा आएको उत्तरचढाबसँगै नेपालमा पनि सुनचाँदीको भाउमा दैनिक तलमाथि भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० रहेको छ ।

    चाँदी प्रतितोला १२६० मा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।

  • विपन्न विद्यार्थीलाई हेम-सरिता फाउन्डेसनले घोषणा गर्‍यो १० हजार डलरको छात्रवृत्ति

    विपन्न विद्यार्थीलाई हेम-सरिता फाउन्डेसनले घोषणा गर्‍यो १० हजार डलरको छात्रवृत्ति

    काठमाडौं । आर्थिक समस्याले उच्च शिक्षा अध्ययन गर्न नसकिरहेका दक्षिण एसियाली विपन्न विद्यार्थीका लागि हेम–सरिता पाठक फाउन्डेसनले छात्रवृत्ति दिलाउने भएको छ ।

    नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तानका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने भएका छन् । फाउन्डेसनले विज्ञप्ती जारी गर्दै उच्च शिक्षा अध्ययन गर्न नसकेका र निम्न आय भएका विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशीको छात्रवृत्ति घोषणा गरेको हो ।

    वैश्विक चुनौतिसँग जुध्ने सक्ने, समुदायमा समर्पित र अरुको जीवनमा योगदान दिन सक्ने खुबी भएको विद्यार्थीलाई छात्रवृत्तिको लागि प्राथमिकतमा राखिने भएको छ । साथै, अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न चाहने र छात्रवृत्तिबाट बञ्चित विद्यार्थीलाई लक्ष्य राखिएको छ ।

    अमेरिकाबाट आइ–ट्वान्टी प्राप्त, ३.५ जीपीए, संघसंस्था र विभिन्न समुदायको हितमा सक्रियलाई छात्रवृत्तिको मापदण्डमा राखिएको छ । फेब्रुअरी १ देखि खुला हुने आवेदनको अन्तिम मिति अप्रिल १५ रहेको छ । मे १५ मा उत्कृष्ट पाँच घोषणा गरिने र जुलाइ १५ मा छात्तवृत्ति घोषणा गरिने जनाइएको छ ।

    मायाज देसी बुटिकसँग मिलेर हेम–सरिता पाठक फाउन्डेसनले छात्रवृत्ति लन्च गरेको हो ।

  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने आज अन्तिम दिन

    इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं । अहिलेसम्मकै सबैभन्दा धेरै आइपीओ रहेको इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ मंगलबार बन्द हुने भएको छ । ढिलोमा माग १६ गते बन्द हुने भनिएपनि मागभन्दा बढी आवेदन परेकाले आज बन्द हुन लागेको हो ।

    कम्पनीमा सोमबारसम्म १ दशमलव ८७ बढी आवेदन परिसकेको छ । सोमबारसम्म कम्पनीमा ११ लाख ७७ हजार ९२० आवेदकबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता सेयरको लागि आवेदन परेको कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पाएको एनआईबिएल एस क्यापिटले जानकारी दिएको छ ।
    कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्ता आइपीओ विक्री खुलाएको थियो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रहेको छ । आईपीओ पछि बंैकको चुक्ता पूँजी २० अर्ब रुपैया पुग्ने छ ।

    कम्पनीको अधिकतम पूँजी ४० अर्ब रहेको छ । बैंकले हाल सम्मकै ठूला कित्ता आईपीओ विक्री गरेको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल रहेको छ ।

    उक्त कम्पनीको आईपीओ प्रत्याभूतिको जिम्वेवारी नागरिक लगानीकोषले गर्ने छ ।

  • मधेस आन्दोलनका घाइतेले एक वर्षसम्म चेक साट्न पाएनन्

    मधेस आन्दोलनका घाइतेले एक वर्षसम्म चेक साट्न पाएनन्

    जनकपुरधाम । मधेस आन्दोलनका क्रममा घाइते भएकाहरूलाई थप उपचार गर्न प्रदेश सरकारले गत वर्ष नै चेक दिए पनि रकम भने अझै पाएका छैनन् । उनीहरूको अवस्था अनुसार रकम सहयोग गरिएको छ । चेक पाएकाहरूको बैंक खाता र नागरिकता नहुँदा रकम भुक्तानी हुन नसकेको हो ।

    प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव चेक नसाटिएका १०/१२ जना रहेकोले उनीहरूलाई नयाँ चेक उपलब्ध गराउन लागिएको छ ।

    आन्दोलनका सहिद परिवारलाई भने बलिदानी दिवसको अवसर पारेर प्रदेश २ सरकारले आर्थिक सहयोग र सम्मान गरेको छ ।

    सोमबार जनकपुरमा एक कार्यक्रम गरेर ६० सहिद परिवारलाई २५ हजारका दरले राहतस्वरूप रकम दिइयो। प्रमुख अतिथि जसपा बरिष्ठ नेता राजेन्द्र महतोले उनीहरूलाई सम्मानसँगै सहयोग रकम हस्तान्तरण गरे ।

    आन्दोलनताका गरिएको प्रतिबद्धता अनुरूप प्रदेश सरकारले सहिद परिवारहरूका लागि सहयोगलाई निरन्तरता दिनुपर्ने महतोले बताए ।

    कार्यक्रममा जसपा नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह सहभागी थिए । उनीहरुले सहिदको सपना पूरा नभएसम्म संघर्ष जारी राख्ने  प्रतिबद्धता जनाएका छन् ।

     

  • बजार अनुगमन प्रभावकारी बनाउन सरकारको विशेष योजना

    बजार अनुगमन प्रभावकारी बनाउन सरकारको विशेष योजना

    काठमाडौं । सरकारले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । मुख्य सचिव शंकरदार बैरागाीको संयोजकत्वमा रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सर्वसाधारण नागरिकले प्रयोग गर्ने वस्तु तोकिएको मापदण्ड तथा गुणस्तरबमोजिम उचित मूल्यमा बजारमा बिक्री वितरण भए नभएको बिषयमा गरिने अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।

    अनुगमन सम्बन्धित बिषयगत मन्त्रालयको समन्वय, सबै सरोकारवालाको सहयोग र स्थानीय तह समेतको संलग्नता गराइ संयुक्त रुपमा गर्नका लागि आवश्यक खाका बाणिज्य तथा आपूर्ति सचिवको संयोजनमा अबको एक साता भित्र तयार गरी समितिमा पेश गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका प्रवक्ता शंकर नेपालले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार समितिले सवारीचालक अनुमतिपत्र वितरणमा रहेका समस्या पहिचान गरी सर्वसाधारण नागरिकले बिना झन्झट समयमै त्यस्तो अनुमतिपत्र प्राप्त गरिनुपर्ने सुधारको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक साता भित्र तयार गरी समितिमा पेश गर्न पनि निर्देशन दिएको छ ।

    जनशक्तिको कमीका कारणले सेवा प्रवाह गर्ने सरकारी निकायले प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकिरहेको भन्ने बिषय उठेकाले सबै सम्बन्धित मन्त्रालयले आन्तरिक गृहकार्य गरी विद्यमान जनशक्तिबाटै यसको व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।

    जनशक्ति संरचनाको तुनलामा सेवाको माग अत्यधिक बृद्वि भएको वा कार्यबोझ निकै बढेको भए त्यसको तथ्यगत जानकारी गराउनका लागि समितिले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

    पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयका सचिव विकास निर्माणका कार्य सञ्चालनमा रहेका कानूनी, प्रक्रियागत, बजेट र जनशक्ति व्यवस्था लगायतका विषयमा रहेका समस्या र ती समस्या समाधान गर्न गरिनुपर्ने सुधारसम्बन्धी सुझाव समितिको अर्को बैठकमा पेश गर्न पनि निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालका प्रवक्ता नेपालको भनाइ छ ।

    खाद्य सामग्री तथा कृषि मल लगायतका अत्यावश्यक बस्तुको आपूर्ति दुर्गम तथा हिमाली जिल्ला लगायतका स्थानमा समयमा नै गर्न गराउन पनि समितिले सम्बन्धित विषयगत मन्त्रालयलाई निर्देशन दिएको जनाइएको छ ।

  • दलभित्र अल्पमतमा पुगेका राई बहुमततिर, सरकार जोगाउन कांग्रेसको साथ खोज्दै

    दलभित्र अल्पमतमा पुगेका राई बहुमततिर, सरकार जोगाउन कांग्रेसको साथ खोज्दै

    विराटनगर । प्रचण्ड–माधव नेपाल समूहमा लागेर अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरु नै केपी ओली कित्तामा उभिन थालेपछि दलभित्र अल्पमतमा परेका भनिएका प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईको पल्ला भारी हुँदै गएको छ ।

    प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारबाट शुरु हुँदैछ । प्रदेशसभामा अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारलाई कुनै पनि हालतमा विघटन हुन नदिने दावी गदै आएका छन् ।

    नेकपामा केपी शर्मा ओली समूहका राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच जना सांसदले आफ्नो समर्थन मुख्यमन्त्रीलाई रहेको जनाएका छन् ।

    झापाका सांसद् जसमाया गजमेर, गोपलचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले सोमवार प्रदेशसभा सचिवालयमा गएर आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् भने सांसद कला घले र वसन्तीदेवी यादवले यसअघि नै हस्ताक्षर फिर्ता लिएका थिए ।

    यसले मुख्यमन्त्री राईलाई केही राहत मिलेको छ ।

    झापाका सांसद २२ दिनपछि ओली समूहमा

    गत पुस १२ गते प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । त्यसमाा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर पनि थिइन् ।

    तर गजमेर प्रचण्ड-माधव समुहमा २२ दिनमात्र बसिन् । उनले त्यसबेला राज्यमन्त्री पद र ओली पक्षको केन्द्रीय सदस्य पद समेत अश्वीकार गरेकी थिइन् ।

    उनीसगै अविश्वासका प्रस्तावका हस्ताक्षरकर्ता झापाका गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले पनि ओली पक्षको केन्द्रीय सदस्य पद अश्वीकार गरेका थिए ।

    पुस १० गते मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव पक्षका बहुसंख्यक ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।

    कुल ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन्। तर अहिलेपनि कांग्रेसको साथ नभई नेकपाको दुबै पक्ष अविश्वासको प्रस्ताव पास या फेला गराउन नसक्ने अवस्थामा छन् ।

    कांग्रेसले अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो भने प्रस्ताव फेल हुनेछ । तर त्यसपछि एक महिनाभित्र राईले विश्वासको मत लिनु पर्नेछ ।

    नेकपाको कुल ६७ सांसद विभाजनसगै दुबै पक्षसँग बहुमतका लागि आवश्यक पर्ने पर्ने ४७ सांसद छैनन् ।

    प्रचण्ड-माधव समूहले तत्कालीन समयमा आफना पक्षमा ४२ सांसद रहेको दाबी गदै आएको थियो । तर ५ सांसदको कित्ता परिवर्तन र तटस्थ रहेका भनिएका केही सांसद पनि राईकै पक्षमा उभिने भएपछि भीम आचार्यको पक्षमा अब ३२ सांसदमात्र छन् ।

    हाल सम्म दुवै पक्षमा खुलेर नदेखिएका उत्तम बस्नेत र राजकुमार ओझापनि अहिले ओली पक्षमा उभिएका छन् । यी सबै एक ठाउँ उभिदा राईको पक्षमा ३४ सांसद हुन्छन् ।

    अब राईले आफ्नो सरकार टिकाउन थप १३ सांसद चाहिन्छ भने आचार्यले मुख्यमन्त्री बन्न १५ सांसद खोज्नुपर्छ । यसका लागि २१ सांसद रहेको कांग्रेस नै निर्णायक हो ।

    साना दल जनता समाजवादी ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मञ्चको १ सिट मात्र छ ।कुल पाँच सिट रहेका तिन साना दलले नेकपाको कुनै समुहलाई साथ दिँदा पनि आवश्यक मत पुग्दैन ।

    नेकपाका दुई समुहमध्ये कुन समुहलाई सहयोग गर्ने भन्ने निर्णय कांग्रेसले गरेको छैन र तत्काल निर्णय हुने देखिन्न । प्रदेश संरचना नभएकाले पनि कांग्रेसको केन्द्रको निर्णयका आधारमा प्रदेशमा कसलाई साथ दिने भन्ने तय हुने नेताहरु बताउँछन् ।

    यसबीचमा मुख्यमन्त्री राईले कांग्रेस नेताहरुसँग सघन छलफल गरेका छन् र प्रदेशसभामा नेतृत्व गर्ने कांग्रेस नेताहरु राईको सरकारमा सहभागी हुने गरी वार्तासमेत भएको थियो । तर केन्द्रको निर्देशनबिना त्यो सम्भव नरहेको उनीहरु बताउँछन् ।

    प्रदेश सरकार जोगाउन पार्टीका शीर्ष नेताहरुबीच पनि छलफल भइरहेको स्रोतले जनाएको छ । तर कांग्रेसले नेकपा विभाजनको आधिकारिकता खोजिरहेको छ ।

  • सिमकोटका विद्यालय माघ १५ देखि खुल्ने

    सिमकोटका विद्यालय माघ १५ देखि खुल्ने

    सिमकोट । कोरोना महामारीको जोखिमका कारण बन्द रहेका हुम्ला सिमकोट गाउँपालिकाभित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

    आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

    गाउँपालिकाले निजी तथा सामुदायिक ती विद्यालयका लागि स्यानिटाइजर उपलब्ध गराउने भएको छ भने विद्यार्थीले आफ्नै खर्चमा मास्क लगाएर विद्यालय उपस्थित हुनुपर्ने छ । राससबाट

  • सांसद झोवा कामीको संघर्ष र साहसको कथा

    सांसद झोवा कामीको संघर्ष र साहसको कथा

    सुर्खेत । कर्णाली प्रदेशसभाकी सांसद झुवा कामीको जीवन संघर्ष र सहसको कथा रोचक मात्रै छैन, उत्प्रेरक पनि छ । ४० सदस्य रहेको प्रदेशसभामा एक मात्र भोटे भाषा बोल्ने सांसद् छिन्, झोवा कामी । उनी समानुपातिकतर्फबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै कर्णाली प्रदेश सभामा पुगेकी हुन् ।

    अहिले कर्णाली प्रदेशसभामा उनले गरेका भाषण सबैको चासो र चर्चाको विषय बन्‍न थालेको छ । उनले सदनमा उठाएका कुरालाई सञ्चारमाध्यमले पनि उत्तिकै प्राथमिकता दिन्छन् । उनका यसअघिका कतिपय अभिव्यक्ति सामाजिक सञ्‍जालमा भाइरल बनेका छन् ।

    समानुपातिक सांसद भन्‍नासाथ हेयभावले हेर्ने हाम्रो समाजलाई सदनमा झोवाको दरिलो र गर्विलो उपस्थितिले जवाफ दिएको छ ।

    झोवाले सदनमा गरेको सम्बोधनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले शेयर गरिसकेका छन् ।

    काँक्रा चोरेर खाइयो

    साविकको मुगु जिल्ला माँग्री गाविसमा भएको थियो झोवाको जन्म । हालको मुगुकार्मारौंङ्ग गाउँपालिका वडा नम्बर ७ मा पर्छ उनको जन्मघर । जुन ठाउँ मुगु सदरमुकामदेखि सात घण्टाको पैदल यात्राबाट मात्र पुगिन्छ ।

    ‘बाल्यकालमा गोठालो जाने गर्थेँ । गाई, बाच्छी, १५ वटा थिए । झोवा जातको चौँरीगाई हेराउन जान्थ्यौँ । बुवा- आमा दिदी र म मात्रै थियौँ । दिदी विवाह गरेर गईन ।

    उनी चाहिँ श्रीमानसँगै माइतमा बसिन्, नेपाल प्रेससँग बाल्यकाल अनुभव सुनाउँदै उनले भनिन्, ‘नौ वर्षको उमेरमा जंगलमा घाँस काट्न जाँदा भीरबाट लडेर चोट लागेको थियो । टाउकोमा दाग छ । सानोमा दुई-चार जना साथी मिलेर काँक्रा चोर्ने र खाने गर्थ्यौँ । राति चोर्न जान्थ्यौँ । कसैले पनि हामीले काँक्रा चोरेर खाएको थाहा पाएनन् ।’

    जबर्जस्ती गराइयो विवाह

    १९ वर्षको हुँदा विवाह बन्धनमा बाँधिएकी गरेकी झोवा आफ्‍नो इच्छाविपरीत विवाह गराइएको बताउँछिन् । दिदीले विवाह गरेपछि उनका बुवा-आमाले घरज्वाइँ खोजेर विवाह गराइदिए ।

    ‘त्यो विवाह मैले चाहेर गरेकी होइन । मेरो बाबु-आमाले अर्काकोमा भागेर (विवाह) जान्छ कि भनेर घर ज्वाइँ ल्याउनुभयो । त्यसअगाडि दिदी गइसक्नु भएको थियो । भाइ नभएका कारण मेरो जबर्जस्ती विवाह भयो । म रुदैं थिएँ तर पनि बाध्य भएँ । मलाई समाजले एक दिन विवाह गर्नेपर्छ भनेर फकाए’, उनले भनिन् । उनले २० वर्षकै उमेरमा पहिलो सन्तान जन्माइन् ।

    खस आर्य देखे भाग्ने चलन

    ‘हाम्रो चलन के थियो भने खस आर्यहरू घरगाउँमा देख्नासाथ हामी लुक्थ्यौँ । गाउँमा हामी भोटे भाषा नै प्रयोग गर्‍थ्यौँ । हामीमध्ये कोहीले लामा भाषामा पढ्थे । हामीलाई कसैले पढ्न भनेन । पढ्ने कि काम गर्ने भन्ने हुन्थ्यो ।

    त्यो समयमा छोरीलाई पढाउन हुँदैन भन्ने मान्यता सबैमा थियो’, उनले सुनाइन्, ‘२०५८ सालमा गमगढीमा आयौं । ५९ सालमा माओवादीको चहल-पहल गाउँमा धेरै थियो । मेरो पुर्खा नै नेपाली कांग्रेसमा थियो । मलाई त्यहाँका स्थानीय दाजुभाईले वडा सभापति बनाएछन् । म वडासभापति भएको खबर माओवादीले सुनिसकेका थिए । सभापति बनाएपछि मलाई घरमै कसैले जानै दिएनन् । मेरो घर माओवादीले लुटयो । यार्सागुम्वा लिए । मलाई गमगढीमै मार्न भनेर आए ।’

    उतिवेला तत्कालीन गाविसको ८ नम्बर वडाको सभापति भएकै कारण मलाई माओवादीले लखेटेका थिए । देशमा संकटकाल थियो । यो नै मेरा लागि राजनीतिको आरम्भ थियो भन्ने अहिले लाग्छ । उतिवेला गमगढी जान पनि नसकिने, गाउँ पनि जान नसकिने अवस्था थियो । जंगलै जंगलको यात्रा गरेर म गमगढी आएँ ।

    गमगढीमै कोठा भाडामा लिएर बस्यौँ । शुरूमा धेरै दुःख पायौँ । दुनियाँको भारी बोक्ने होटल खोलेर भाँडा माझ्‍ने काम गर्‍यौँ । जिल्लामा आइसकेपछि राजनीति धेरै भएन । म गमगढीमा जिल्ला कार्य समितिमा दुईजनाको प्रतिस्पर्धा भयो । सोरु गाउँपालिकाका तुल्सी नेपालीले ७६ मैले ७७ मत ल्याएँ । म एक मतले विजयी भएँ । धेरै खुशी भएँ । एक मतले विजय पाउँदा आफूले गर्व गरेँ । सबै खुशी पनि भए ।

    राजीनामा दिने सोच आयो

    उनी समानुपातिक संसद भइसकेपछि पहिलो पटक सुर्खेत आइन् । ‘सुर्खेत आइसकेपछि दुःख पाइयो । पढाइ थिएन । भाषा आउँदैन थियो । पाँच वर्ष कहिले जाला भनेर लाग्थ्यो । पहिलो अधिवेशनमा मैले एक शब्द पनि बोल्न सकिन । पत्रकारले समाचार नै लेखे । आफैँलाई हिनताबोध पनि भयो । मेरो बेइज्जती भएको ठानेर सदनमा बोल्न दबाब पर्‍यो’, झोवा भन्छिन्, ‘ सभामुख राजबहादुर शाही र मेरो दलका नेता जीवन बहादुर शाहीले बारम्बार सदनमा बोल्न भन्थे । राति बोल्छु भनेर जान्थेँ तर हलमा जाँदा पसिना छुट्थ्यो । एक मनले राजीनामा दिने सोच आयो तर कोर्चुग लामाले हिम्मत दिनुभयो । दोश्रो अधिवेशनमा मैले बोलेँ ।’

    तर, त्यही बोलीले आफूलाई चर्चामा ल्याएकोमा दंग पर्दै उनी स्मरण गर्छिन् । ‘जब मैले बोलेँ, सबैतिर फैलियो खुशी लाग्यो । आफ्ना गाउँका जनताले भोगेको कुरा टक्कर लिएरै डर नमानी राख्‍ने गर्छु । मेरो बारेमा समाचार नआएको भए सायद म राजीनामा नै दिन्थेँ होला । त्यो समाचारले मलाई थप कुरा गर्न, बोल्न, दबाब त दियो नै, सबैले बोल्छन् मैले किन नबोल्नु, विग्रे विग्रोस भनेर मैले सदनमा सुरुमा दुइ मिनेट मात्रै सुरुमा बोलें । गाउँमा सिँचाइ नभएको, बाटोघाटो नबनेको कुरा उठाएँ । त्यसपछि मलाई सयौंको फोन आएको थियो । त्यो फोनले साहस थपियो ।

    विकास गर्न सकिएन

    ‘हामी जनजाती, दलित, विपन्न व्यक्तिलाई राज्यले अवसर दियो । दलले हामीलाई छान्यो । गाउँबाट तालीगाली दुवै पाउँछु’ उनी भन्छिन्, ‘जनताको चित्त बुझाउन पाएको भए, विकास गर्न पाएको भए मन खुशी हुन्थ्यो । साधन र स्रोत थोरै छ । जनताको इच्छा पूरा हुँदैन ।’

  • किसानको वर्गीकरण गरी परिचयपत्र दिइने, कृषि अनुदानमा परिमार्जन

    किसानको वर्गीकरण गरी परिचयपत्र दिइने, कृषि अनुदानमा परिमार्जन

    काठमाडौं, ५ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन् ।

    अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजित कार्यक्रममा मन्त्री अर्यालले यस्तो जानकारी दिएकी हुन् ।
    पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो ।

    मन्त्री अर्यालले भनिन्, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाउछौ । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडी बढ्छ ।’

    किसानहरुको हकहितका निम्ती स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने पनि मन्त्री अर्यालले बताइन् ।

    त्यस्तै कृषि मन्त्रालयमार्फत वितरण गरिदै आएको अनुदानका कार्यक्रमहरु परिमार्जन गरिने बताउदै मन्त्री अर्यालले कतिपय अनुदानलाई बन्द नै गर्नुपर्ने अवस्था रहेको बताएकी छन् ।

    किसानहरुलाई मलको अभाव हुन नदिन मन्त्रालयले काम अगाडी बढाइसकेको भन्दै मन्त्री अर्यालले अब किसानहरुलाई मलको अभाव हुन नदिने बताइन् ।

    उनका अनुसार देशभरका स्थानीय तहलाई आफ्नो स्थानीय तहमा वर्षभरी चाहिने मलको माग पठाउन माघ अन्तिमसम्मको समय दिइएको छ ।

  • दुर्घटना घटाउन टिप्परलाई टाइमकार्ड

    दुर्घटना घटाउन टिप्परलाई टाइमकार्ड

    रुपन्देही । सडकमा द्रूत गतिमा गुड्ने टिप्परका कारण बढेकाे दुर्घटनाको जोखिम न्यूनीकरणका लागि लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले टिप्परको टाइमकार्ड लागू गरेको छ ।

    अधिक दुर्घटना हुने गरेका कारण आमनागरिकमा टिप्पर ‘यमराज’को नामले कुख्यात छ । रुपन्देहीको बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर गुड्ने टिप्परका कारण दुर्घटनाको जोखिम बढेको छ ।

    त्यसैले टिप्परहरुलाई टाइमकार्ड लागू गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बिकले बताए । सवारी चाप हुने समय, बिद्यालय क्षेत्र, कार्यालय समय र बजार क्षेत्रमा टिप्परको गतिलाई नियन्त्रणमा लिने प्रहरीको मुख्य उद्देश्य हो ।

    टाइम कार्ड लागू भएपछि टिप्पर चालकहरु तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्न पाउने छैनन् । पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागो कारखानासम्म र धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाइम कार्ड लागू गरिएको छ ।

    यसरी तोकिएको समयअनुसार अब दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै टिप्पर चलाउन पाइने छ ।

    ट्राफिक प्रहरीले ११ किलोमिटरको यो दुरीमा ३३ मिनेट समय तोकेको छ । त्यस्तै धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ४६ मिनेट समय तोकिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए ।

    सबैभन्दा व्यस्त रहने दोभान भैरहवासम्मको २६ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ५६ मिनेट समय तोकिएको छ । यसअघि टिप्परलाई तोकिएको टाइमकार्डबाट दुर्घटना न्यूनीकरणमा प्रभावकारी भएकोले अब पनि टाइमकार्ड लागू गर्न लागिएको विकले जानकारी दिए ।

    सडक दुर्घटना बढ्दै गर्दा ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरणका लागि राडार गनले सवारी साधनको गति मापन गर्ने र लेन अनुशासन पालना गर्ने समेतका कार्य गर्दै आएको छ ।

    सडक छेऊमै चालकलाई अनुशिक्षण

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा चल्ने सवारी साधनका चालकहरुलाई सडकमै लेन अनुशासनबारे शिक्षा दिने अभियान पनि सन्चालन गरेको छ ।

    लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले लेनको प्रयोग गरेर सवारी साधन संचालन गर्न आग्रह गरेको हो । आइतबार बेलहिया बुटवल ६ लेन सडकखण्ड अन्तर्गत बुटवल कालिकानगरमा मोटरसाइकल चालकहरुलाई गति अनुसारको लेन अनुशासनमा रहने विधि सिकाउन सुरु गरेको हो ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बर बिकले साना सवारी मात्र होइन यात्रुवाहक र मालवाहक सवारी कसैले पनि लेन अनुशासन पालना नगर्दा दुर्घटनाको जोखिम बढेको बताए । उनले सडक बिस्तारसँगै गति अनुसारको लेन छुट्याएको भए पनि पालना नहुँदा दुर्घटनाको जोखिम बढेको बताए । ६ लेन सडक विस्तारसँगै सवारीको चाप बढ्दै गएकोले बुटवल भैरहवा सडकखण्डमा लेनको प्रयोग अनिवार्य भएको उनको भनाइ छ ।

    बिकले भने, ‘पहिलो चरणमा एक हप्तासम्म बुटवलदेखि भैरहवासम्मका विभिन्न स्थानमा चालकहरुलाई लेनको प्रयोगबारे जानकारी दिने र कार्यान्वयनमा लैजाने योजना छ, सडकमा लेन छुट्याएर रेखांकन गरिसकेको भएपनि त्यसको प्रयोग नभएकोेले हामीले यसलाई अभियानको रुपमा अगाडि लैजाने योजना बनाएका हौं ।’
    लकडाउनमा पनि घटेनन् दुर्घटना

    ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान संचालन गरेपनि सवारी दुर्घटनाको संख्यामा भने कमी आउन सकेको छैन । कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनकै अवधिमा समेत लुम्बिनी प्रदेशमा दुर्घटनाको संख्या बढी देखिएको छ ।

    प्रदेश ट्राफिक प्रहरीले दिएको तथ्यांकलाई हेर्दा साउनदेखि पुससम्म ९ सय १ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जबकि अघिल्लो वर्ष साउनदेखि पुससम्मको अवधिमा ७ सय ७३ सवारी साधन दुर्घटनामा परेका थिए । यसवर्ष कोरोना महामारीका कारण सवारीसाधनको संचालन कम भएपनि दुर्घटनाको संख्या भने बढेको पाइएको छ ।

    अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा ५ सय ६६ दुर्घटना भएकोमा यसवर्ष भने ६ सय ३७ दुर्घटना भएका छन् । दुर्घटनाको संख्या र साधनको संख्या बढे पनि दुर्घटनामा मृत्यु हुने नागरिकको संख्या भने यस वर्ष ७.२४ प्रतिशतले कमी भएको छ ।

    अघिल्लो वर्षको ६ महिनामा प्रदेशमा २ सय ७६ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए । यस वर्ष २ सय ५६ जनाको ज्यान गएको छ । यी दुर्घटनामा यस वर्ष ९ सय २४ जना घाईते भएको प्रहरीले जनाएको छ । गतवर्ष यहि अवधिमा भएका दुर्घटनाका घाईतेको संख्या ८ सय ८१ थियो । प्रदेशमा सवारी दुर्घटनाबाट ज्यान जाने घटनामा अधिकांश घटनाहरु टिप्परसँगै जोडिएको प्रहरीले जनाएको छ ।

     

     

  • प्रधानमन्त्री कपः कीर्तिपुरमा लुम्बिनी र मूलपानीमा गण्डकीले टस जितेर ब्याटिङ गर्दै

    प्रधानमन्त्री कपः कीर्तिपुरमा लुम्बिनी र मूलपानीमा गण्डकीले टस जितेर ब्याटिङ गर्दै

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ खेलहरु हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा लुम्बिनीले प्रदेश–२ बिरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

    मूलपानी मैदानमा सुरु हुन लागेको अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशबिरुद्ध टस जितेर पहिले ब्याटिङको निर्णय लिएको छ ।

    समूह ए मा रहेको गण्डकीको यो तेस्रो खेल हो । यसअघि उसले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ९८ रनको हार ब्यहोरेको थियो भने सोमबार प्रदेश १ माथि २ विकेटको जित हासिल गरेको थियो ।

    समूह बी अन्तर्गत लुम्बिनी र प्रदेश २ ले प्रतियोगितामा पहिलो खेल खेल्दैछन् । लुम्बिनीको कप्तानी कृष्ण कार्की र प्रदेश २ को कप्तानी सुरज कुर्मीले गरिरहेका छन् ।

  • सक्‍नेजति विदेश गए, अशक्तलाई खानलाउनै धाैधाै

    सक्‍नेजति विदेश गए, अशक्तलाई खानलाउनै धाैधाै

    मोरङ (पथरी) । पूर्वी नेपालका विभिन्न शिविरमा रहेका १ लाखभन्दा बढी भुटार्नी शरणार्थी पुन:स्थापना कार्यक्रममार्फत तेश्रो मुलुक पुगेका छन् ।

    पुन:स्थापना कार्यक्रममार्फत अमेरिका, क्यानडा, बेलायत, नेदरल्यान्ड्स, डेनमार्कलगायतका मुलुकमा उनीहरू परिवारसँगै बस्दै आएका छन् । तर, परिवारका सदस्य तेस्रो मुलुक गएपछि सहाराविहीन बनेका एकल महिला, वृद्धवृद्धा र बालबालिकाको दैनिक जीवन शिविरभित्र कष्टकर बनेको छ । झापा र मोरङका विभिन्न शिविरका भुटानी शरणार्थीलाई खान र लाउनै समस्या हुन थालेको छ ।

    दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लत्ताकपडालगायतका सामग्री दिन छाडेको र आफन्तले पनि कुनै भरथेक नगरेपछि साहाराविहीन बनेका एकल महिला, वृद्धवद्धा र बालबालिका थप पीडित बनेका हुन् । राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत पुन:स्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रममा गइसकेपछि स्वदेश फिर्तीकै माग राखेर शिविरमा बसिरहेका धेरै भुटानी शरणार्थीमा खानलाउन नै समस्या हुन थालेको छ ।

    झापा र मोरङस्थित ७ वटा शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रम सकिएसँगै शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको समस्याको एकमाथि अर्को चाङ थपिएको छ ।

    मोरङको पथरी-शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले शिविरमा रहनेमा अधिकांश वृद्धवृद्धा, अशक्त र अपांग रहेकाले आवश्यक खाद्यान्‍न, लत्ताकपडालगायतका सामग्री नहुँदा उनीहरुको जीवन कष्टकर बनेको बताए । राईका अनुसार कतैबाट सहयोग नपाएपछि जोखिममा परेका ती समुदायलाई जीवन चलाउन नै सकस परेको छ ।

    शिविरभित्र अहिले वृद्धवृद्धा, अपांगता भएका र एकल महिला गरी १ सय २० जना रहेको उनले बताए । सहाराविहीन बालबालिका २४ जना छन् ।

    ‘शिविरमा धेरै वृद्धवृद्धा, अशक्त र अपांग छन्’, उनले भने,‘सहाराविहीन उनीहरुलाई दैनिकी चलाउन नै समस्या छ । बस्नलाई छाप्रो त छ तर चुल्होमा पकाउने ग्याँस, दाउरादेखि खाद्यान्‍न र शरीर ढाक्ने कपडाको अभाव छ । छिमेकीको सहारामा बाँच्नुपरिरहेको छ ।

    शरणार्थी तेस्रो मुलुक गएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेका छ । यूएनएचसीआरले वृद्धवृद्धा, अशक्त र एकल महिलाका लागि भने तीन/तीन महीनामा सामान्य घर खर्चका लागि बैंक खातामा केही रकम पठाइदिन्छ ।

    सुनसान शिविर

    भुटानी शरणार्थीहरुको चापले कुनै बेला बाक्लो चहलपहल देखिने झापा र मोरङका शिविर हिजोआज सुनसान छ । अधिकांश तेस्रो मुलुक गएका छन् । विभिन्न कारण तेस्रो देश जान नपाएकाहरू मात्र अहिले शिविरमा बसिरहेका छन् ।

    थोरै संख्यामा झापा र मोरङका यी शिविरहरु रहेका उनीहरुको कारण अहिले प्राय सुनसान छन् । शिविर क्षेत्रमा रुख रोपेर यसलाई जंगलमा रुपान्तरण गरिएका छन । झापाको गरामनीस्थित भुटानी शरणार्थी शिविरमा वृक्षारोपण गर्न उमारिएका बिरुवा र बीउ उमारिएको छ ।

    झापाको बेलडाँगी, गोलधाप र खुदुनाबारीका शिविरहरूमा करिब १ लाख भुटानी शरणार्थीहरुको बसोबास थियो । मोरङको पथरीमा १५ हजारभन्दा बढी शरणार्थीहरू थिए ।

    सन् १९९१ मा भारतको भूमि हुँदै नेपाल पसेका शरणार्थीहरुलाई भुटान फर्काउन नेपाल सरकारले पटक-पकट भुटानसँग वार्ता ग-यो । तर, उनीहरुलाई स्वदेश फर्काउन भुटान सरकार तयार भएन । त्यसपछि करिब ८० प्रतिशतभन्दा बढी शरणार्थीहरू अमेरिकालगायतका तेस्रो मुलुकमा सारिएका छन् ।

    झापाका विर्तामोड, दमक र मोरङ पथरी बजार शरणार्थीका कारण आर्थिक हिसाबले पनि फस्टाएका थिए । छेऊछाऊका बस्तीमा श्रम बजार निकै फस्टाएको थियो । तर, अहिले झापा र मोरङमा यो चहलपहल लगभग सकिएको छ । खाली रहेका शिविरहरूमा रुख रोपिएको छ । शिविरहरू प्रायः जंगलसँग जोडिएकाले यसलाई सामुदायिक वनमा परिणत गरिएका छन् ।

    एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक गए

    नेपालका विभिन्न ७ वटा शिविरमा रहेको भुटानी शरणर्थीमध्ये एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुगेका छन् । तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रमअन्तर्गत १ लाख ६ हजार ३ सय ६८ मध्ये अमेरिकामा ९० हजार ३ सय ५८, क्यानडामा ६ हजार ७ सय ५९, बेलायतमा ३ सय ५८, नेदरल्यान्ड्समा ३ सय २९, डेनमार्कमा ८ सय ७५, नर्वेमा ५ सय ७०, अस्ट्रेलियामा ६ हजार ६१ र न्युजिल्यान्डमा १ हजार ५८ भुटानी शरणार्थी पुनस्र्थापित भएका छन् ।

    शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूएनएचसीआरको अनुमानमा तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रम सकिएपछि करिब २ हजार भुटानी शरणार्थी भुटान फर्कन चाहन्छन् र बाँकी नेपालमै बस्न रुचाउने अनुमान यूएनएचसीआरको छ ।

    यूएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी १२ हजार ६ सय १४ भुटानी शरणार्थी रहेका छन् ।

    नेपालमै बस्न पाउने विकल्पको माग

    बेलगाँडी र पथरी शनिश्चरेमा रहेका भुटानी शरणर्थीले नेपालमै बस्न पाउने विकल्पको माग अघि सार्न थालेका छन् । पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले पुनर्बास कार्याक्रमअन्तर्गत तेस्रो मुलुक नगएका र पुनर्वास कार्यक्रम रोकिसकेकाले भुटान फर्कने आशासमेत नरहेको हुँदा उनीहरु नेपालमै बस्न चाहेका बताए ।

    ‘लामो समयदेखि बस्दै आएका शरणार्थीहरूले भुटान फर्कन चाहेको भए पनि पूरा हुन सकेको छैन’, उनले भने, ‘स्वदेश फर्कने आशा जीवित रहेन, हामीले धेरै शरणार्थीसँग कुरा गर्दा नेपालमै बस्न पाउने विकल्पको माग अघि आएको हो’।

  • नेपालमै गाडी उत्पादन गर्न स्वीकृति लिएको कोरियाली कम्पनीले २ वर्षमा जग्गा पनि पाएन

    नेपालमै गाडी उत्पादन गर्न स्वीकृति लिएको कोरियाली कम्पनीले २ वर्षमा जग्गा पनि पाएन

    काठमाडौं । दक्षिण कोरियाको सवारी उत्पादक कम्पनी मोट्रेक्सले नेपालमै गाडी उत्पादनका लागि लगानी बोर्डसँग स्वीकृति लिएको २ वर्ष हुन लाग्यो । ‘भेइकल मेनुफ्याक्चरिङ एण्ड एसेम्बल्ड प्लान्ट’ परियोजनाका लागि सरकारी स्वीकृति पाएको २२ महिना बितिसक्दा पनि कम्पनी कहाँ स्थापना गर्ने भन्ने टुंगो लागेको छैन ।

    नेपालमा बैदेशिक लगानी भित्र्याउन सरकारले पहल गरिरहेको दावी गरिन्छ । त्यसका लागि सहज नीति निर्माण नहुनुको फलस्वरुप कोरियाली कम्पनीको बहुराष्ट्रिय परियोजना अलमलमा परेको छ ।

    कम्पनीले प्लान्टका लागि सरकारसँग कम्तिमा १ सय रोपनी जग्गा माग गरेको स्वीकृति लिएदेखि नै हो । तर यति लामो समय उसले जग्गा प्राप्तीका लागि सरकारी नियकामा धाएरै व्यतीत गरेको छ । जबकि सम्भझाैताकाे समयमा सन् २०२१ देखि कार उत्पादन सुरु गरिने भनिएकाे थियाे ।

    १० अर्ब ५४ करोड अनुमानित लगानीसहितको प्लान्ट निर्माणका लागि कम्पनीले जग्गा पाउन बोर्डसँग बारम्बार छलफलसमेत गरेको छ । गएको पुस महिनामा पनि कम्पनीका अधिकारीले सरकारी अधिकारीसँग भर्चुअल छलफल गरेका थिए । छलफलमा आर्थिक ऐन २०७६ अनुसार कम्पनी स्थापना हुने भनिएकोमा अब आर्थिक ऐन २०७७ अनुसार काम अगाडी बढ्ने जानकारी दिएको छ ।

    बोर्डका पदाधिकारीले रुपन्देहीको मोतिपुरको औद्योगिक क्षेत्रमा जग्गा व्यवस्थापन गर्ने कार्य अगाडि बढाएको नेपालप्रेसलाई बताए पनि औद्योगिक क्षेत्रलाई भने कुनै जानकारी छैन । मोट्रेक्स कम्पनीलाई सोही औद्योगिक क्षेत्रमा जग्गा उपलब्ध गराउने लगानी बोर्डका प्रवक्ता धमेन्द्र कुमार मिश्रले दावी गरे ।

    औद्योगिक क्षेत्रमा कोरियाको मोट्रेक्स कम्पनीका लागि जग्गा चाहियो भनेर कुनै प्रस्ताव नआएको औद्योगिक क्षेत्र व्यवस्थापनका अध्यक्ष नन्दकिशोर बस्नेतले नेपालप्रेसलाई बताए । अध्यक्ष बस्नेतले भने, ‘कोरियाको मोट्रेक्स कम्पनीका लागि जग्गा चाहियो भनेर आजसम्म कोही पनि आउनु भएको छैन । यस विषयमा हामीलाई केही जानकारी नै छैन ।’

    सरकारले विदेशी लगानी भित्र्याउन समय–समयमा लगानी सम्मेलन गर्ने गरेको छ । विदेशी लगानी भित्र्याउनका लागि उद्योग विभाग र लगानी बोर्डमा समेत एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा छ । विदेशी लगानी कर्ताले नेपालमा लगानी गर्छु भने पनि जग्गा, सडक, विजुली र पानीलगायत पूर्वाधार निर्माणमा समस्या झेल्नु परेको छ ।

    यस्तै समस्याका कारण केहि समयअघि ठूलो लगानी बोकेर आएको ड्यागोटे सिमेन्ट कम्पनी फर्कनुपरेको थियो ।

    सरकारले बैदेशिक लगानी कर्तालाई आकर्षण गर्न अहिले भइरहेको ऐन संशोधन गर्ने बताएको छ । तर, ऐन संशोधनका लागि कुनै पनि गृहकार्य नभएको लगानी बोर्डकै पदाधिकारी स्वीकार गर्छन् ।

    यस अघि पनि लगानी बोर्डले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको क्षेत्राधिकारभन्दा बाहिर रहेको बुटवल धागो कम्पनी (हाल बन्द अवस्थामा रहेको) जग्गा उक्त गाडी कम्पनीलाई मिलाइदिन पत्र काटेको थियो । तर, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अधिकार भित्र त्यो जग्गा नपरेका कारण कम्पनीले जग्गा पाउन सकेन ।

    उद्योग विभागको तथ्याङ्क अनुसार अर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा नेपालका उद्योग तथा कारखानाहरुमा २१ अर्ब ११ करोड ४९ लाख रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

  • सिरी ए- एसी मिलानलाई शीर्ष स्थानमा स्पष्ट अग्रता

    सिरी ए- एसी मिलानलाई शीर्ष स्थानमा स्पष्ट अग्रता

    एजेन्सी । क्याग्लिअरीलाई २–० गोलले पराजित गरी एसी मिलानले इटालियन सिरी ए को शीर्ष स्थानमा ३ अंकको अग्रता यथावत राखेको छ । मिलानका लागि दुवै गोल भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोवीचले गरे ।

    इन्टर मिलानले आइतबार युभेन्टसमाथि जित निकाल्दै एसी मिलानसँग अक बराबरी गरेको थियो । तर गएराति रेलिगेसन क्षेत्रमा संघर्षरत क्यग्लिअरीमाथिको जितपछि समान १८ खेलबाट एसी मिलानले ३ अंकको दूरी कायम गरेको छ ।

    इब्राहिमोवीचले १३ लिग खेलमा १३ गोल गरेका छन् । उनले खेलको सातौं मिनेटमा पहिलो गोल गरेका थिए । ५२ औं मिनेटमा पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका थिए ।

    दोस्रो गोल गरेपछि एसी मिलानलाई खेल सहज बन्यो तर ७४ औं मिनेटमा एलेक्सिस सेलमेकर्स दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि टोली अन्तिम १६ मिनेट १० खेलाडीमा समेटिएको थियो ।

    यो एसी मिलानको सिरी ए मा १९औं अवे जित हो । सिरी ए इतिहासमै उत्कृष्ट अवे प्रदर्शनको आफ्नै कीर्तिमान बराबरी भएको हो । यसअघि एसी मिलानले सन् १९९१–९२ र १९९२–९३ काे सिजनमा लगातार १९ खेल जितेर कीर्तिमान बनाएकाे थियो ।

  • राष्ट्रपतिको सपथअघि अमेरिकी राजधानीको सुरक्षा अत्यन्तै कडा

    राष्ट्रपतिको सपथअघि अमेरिकी राजधानीको सुरक्षा अत्यन्तै कडा

    एजेन्सी । नवनिर्वाचित राष्ट्रपति जोय बाइडेन र उपराष्ट्रपति कमला हयारिसको सपथ ग्रहणको तयारी हुँदै गर्दा अमेरिकी राजधानी वासिंटन डिसीको मध्यभागमा अवस्थित संसद भवन (क्यापिटल हिल)को सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । सपथ ग्रहण समारोह बुधबार हुँदैछ ।

    प्रहरीका अनुसार केहि प्रत्यक्षदर्शीको सूचनाका आधारमा प्रदर्शन गर्ने प्रयासमा रहेका केहिलाई तितरवितर पारेको जनाएको छ तर उनीहरु क्यापिटल हिलबाट निकै पर थिए । राष्ट्रपतिको सपथका लागि सोमबार गरिएको ‘रिहर्सल’का क्रममा यो प्रदर्शनको प्रयास भएको थियो ।

    अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित हुन असफल भएपछि धाँधलीको आरोप लगाउँदै सत्ताबाट बाहिरिन आनाकानी गरिरहेका डोनाल्ड ट्रम्प समर्थित जत्थाले जनवरी ६ मा क्यापिटल हिलमा ६ जनाको ज्यान जाने गरी आक्रमण गरेका थिए ।

    राष्ट्रिय सुरक्षा जगेडा सैनिकहरु क्यापिटल हिल र मध्य डिसी क्षेत्रमा हजारौंको संख्यामा परिचालन गरिएको छ । सोमबारदेखि लागू गरिएको कडा लकडाउनपछि अधिकारीहरुले भनेका छन् कि नागरिक पूर्ण सुरक्षित छन् । कंग्रेस अधिवेशन अहिले चलेको छैन ।

    गत नोभेम्बरमा भएको निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पराजित गरी डेमोक्र्याटिक पार्टीका जोय बाइडेन राष्ट्रपति निर्वाचित भएका थिए ।

  • उवामेयाङको २ गोलमा आर्सनलले न्युकाशललाई हरायो

    उवामेयाङको २ गोलमा आर्सनलले न्युकाशललाई हरायो

    एजेन्सी । पिएर्रे एमरिक उवामेयाङले २ गोल गरेपछि न्युकाशल युनाइटेडलाई ३–० ले हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको अंकतालिकामा शीर्ष दशभित्र प्रवेश गरेको थियो ।

    पहिलो हाफमा क्लोज रेन्जबाट पोष्टमा प्रहार गरेका उवामेयाङले ५० औं मिनेटमा पहिलो गोल गरेका थिए । ६० औं मिनेटमा बुकायो साकाले दोस्रो गोल गरेका हुन् । उनले इमिली स्मिथ रोवेको ब्याकपासलाई उपयोग गरेका थिए ।

    ३१ वर्षीय उवामेयाङले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल खेलको ७७ औं मिनेटमा गरे ।

    गावोनका अन्तर्राष्ट्रिय खेलाडी उवामेयाङले गत सिजन सबै प्रतियोगितामा गरी २९ गोल गरेका थिए । तीमध्ये प्रिमियर लिगमा मात्र २२ गोल गरेका थिए । तर सिजन २०२०–२१ मा उनी गोलका लागि संघर्षरत थिए ।

    यो २ गोलसमेतले लिगमा जारी सिजन उनका गोलसंख्या पाँच पुगेको छ । आफ्ना मुख्य स्ट्राइकर लयमा फर्किएको देखेर आर्सनलका प्रशिक्षक मकेल आर्टेटा खुसी देखिए ।

    ‘आफ्नो आत्मविश्वाससहित टिमलाई सफलता दिलाउन उनलाई यो जरुरी थियो,’ आर्टेटाले भने, ‘हामी उनको गोललाई मिस गरिरहेका थियौं । हामी सबैलाई थाहा छ कि उनको पुनरागमन टिमका लागि कति महत्वपूर्ण छ ।’

    यो जितले आर्सनललाई एस्टोन भिल्लाभन्दा एक स्थान माथि अर्थात दशौं स्थानमा पुर्याएको छ । आर्सनल चौथो स्थानको लिभरपुलभन्दा ७ अंक पछाडि छ । अर्थात च्याम्पियन्स लिग छनोटको सम्भावनालाई साकार पार्न उसले धेरै खेलहरु जित्नुपर्नेछ ।

    न्युकाशल १५ औं स्थानमा छ र रेलिगेसन जोनमा रहेको फुलह्यामभन्दा ७ अंकले अगाडि छ । यो हारले न्युकाशलका प्रशिक्षक स्टिभ ब्रसमाथि दवाव थपिएको छ । गत साता प्रिमियर लिगको अन्तिममा रहेको शेफिल्ड युनाइटेडसँग हारेपछि उनलाई राजीनामाको दवाव थियो ।

  • पौडेल निवास पुगे देउवा, वान टु वान वार्तामा के भयो ?

    पौडेल निवास पुगे देउवा, वान टु वान वार्तामा के भयो ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसंग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘फकाउन’ प्रयास थालेका छन् । सोमबार वरिष्ठ नेता पौडेलको बोहोराटारस्थित निवासमै पुगेर सभापति देउवाले सहमतिको प्रस्ताव गरेका छन् ।

    अपरान्ह साढे ४ बजे एक्लै बोहोराटार पुगेका देउवा र पौडेलबीच सवा एक घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । भेटमा सभापति देउवाले पार्टीको महाधिवेशन विलम्व गर्ने आफ्नो चाहना नरहेको भन्दै विवाद समाधानका लागि ‘लचिलो’ बन्न पौडेलसंग आग्रह गरेका छन् । ‘क्रियाशील हेर्ने समिति टुंग्याउनुपर्‍यो । समायोजनको विवाद पनि कसरी मिलाउने हो भन्नुपर्‍यो’, भेटमा देउवाले भनेका छन् ।

    सभापति देउवाले क्रियाशील सदस्यताको छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गर्ने प्रस्ताव गरेका थिए । वरिष्ठ नेता पौडेलले भने देउवाको प्रस्ताव अस्वीकार गरेका छन् । पौडेलले १३ औं महाधिवेशनमा क्रियाशील सदस्यताको छानबिन समितिको नेतृत्व गरेका नेता नरहरी आचार्यकै संयोजकत्वमा समिति बनाउनुपर्ने बताएका छन् ।

    ‘रमेश लेखकको संयोजकत्वमा समिति बन्दा निष्पक्ष हुनेमा शंका रहेकोले नरहरी आचार्यकै समितिलाई निरन्तरता दिनुपर्ने सुझाव सभापतिलाई वरिष्ठ नेताले दिनुभएको छ’, बोहोराटार स्रोतले भन्यो ।

    भेटका क्रममा सभापति देउवाले सिन्धुपाल्चोक, बारा र सप्तरीमा पार्टी समायोजनका क्रममा देखिएको विवाद समाधान गर्न पनि आफू तत्पर रहेको बताएका थिए । बैठकमा पार्टीका आन्तरिक विषयमा दुवै नेताबीच खुलस्त छलफल भएपनि कुनैपनि विषयमा सहमति भने बनेन ।

    भेटमा सभापति देउवाले प्रदेश सभामा पेश भएका अविश्वास प्रस्तावबारे के गर्दा उपयुक्त होला ? भनेर पौडेलको सुझाव लिएका थिए । वरिष्ठ नेता पौडेलले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएपछिको अवस्था हेरेर उपयुक्त निर्णय लिनुपर्ने बताएका थिए । भेटका क्रममा पौडेलले सभापति देउवालाई सत्ताको मात्रै लोभ नगरी लोकतन्त्रका लागि आन्दोलनको नेतृत्व गर्न सुझाएका थिए । सभापति देउवाले पनि आफू आन्दोलनसंग डराएको नभई अदालतको निर्णय मान्ने धारणा मात्रै राखेको बताएका थिए ।

    दुई नेताबीचको ‘वान टु वान’ वार्तामा महाधिवेशन कार्यतालिका संशोधन र समसामयिक राजनीतिबारे बढी छलफल भएको थियो । कांग्रेसमा सभापति देउवाले अदालतको आदेश मानेर जानुपर्ने बताउँदै आएका छन् भने पौडेलले अदालतको आदेश जे भएपनि पार्टीले संविधान जोगाउन आन्दोलन गर्नुपर्ने बताउँदै आएका छन् । सोमबार नै ठोस सहमति नबनेपनि सभापति र वरिष्ठ नेताबीचको भेटलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो)

    संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो)

    काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

  • ‘अकारण’ किन सारिदैछ कांग्रेस बैठक ?

    ‘अकारण’ किन सारिदैछ कांग्रेस बैठक ?

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको मंगलबार एक महिना पूरा हुँदैछ । प्रतिनिधिसभा विघटनलाई ‘अलोकतान्त्रिक र असंवैधानिक’ ठहर गर्दै दोस्रो चरणको आन्दोलनमा होमिएपनि कांग्रेस केन्द्रीय समितिको समष्टीगत धारणा अझै बनिसकेको छैन ।

    केन्द्रीय समितिको बैठक पटक–पटक सरेको छ भने बैठक बसेको दिनमा पनि थोरै नेताहरुले मात्रै धारणा राख्ने गरेका छन् । एक महिनाको अवधीमा कांग्रेसका ४ वटा बैठक बसेका छन् । बैठकमा सभापतिसहित २१ जना नेताहरुले आफ्नो धारणा राखेका छन् ।

    आमन्त्रित केन्द्रीय सदस्यहरु २५ जना सहित कांग्रेस केन्द्रीय समिति १ सय २९ सदस्यीय छ । अझै १ सय ८ जनाले बोल्नै बाँकी छ । राष्ट्रिय चासोको विषय भएकाले सबैजसो केन्द्रीय सदस्यहरुले बोल्नका लागि नाम टिपाएका छन् ।

    यही गतिमा बैठक सर्दै जाने हो भने कांग्रेसको निर्णय क्षमतामाथि नै प्रश्न उठ्नसक्ने खतरा छ । गत पुस १९ गते बसेपछि कांग्रेस केन्द्रीय समितिको बैठक पुस २७ गतेका लागि सारियो । पुस २७ को बैठक मुख्य सचिव कृष्णप्रसाद पौडेलको विज्ञप्तीपश्चात माघ ६ गतेलाई सर्यो । माघ ६ गतेको बैठकपनि माघ १३ गतेलाई सारिएपछि कांग्रेसमा नेताहरु नै अलमलमा परेका छन् ।

    ‘केन्द्रीय समितिको बैठक सरेको खबर आयो तर किन सारियो भन्ने थाहा पाएको छैन’, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपाल प्रेससंग भने । राष्ट्रिय राजनीतिका गम्भीर विषय र पार्टीकै महाधिवेशनबारे निर्णय लिनुपर्ने भएकोले केन्द्रीय समितिको बैठक विलम्व गर्न नहुने जोशीको भनाई छ ।

    कांग्रेस केन्द्रीय समितिको बैठक सार्नुपरेको कारणबारे कांग्रेसले केही बताएको छैन । मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तीमा बैठक सरेको जानकारी मात्रै उल्लेख छ ।

    प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक रहेको र आन्दोलनमा उत्रनेसम्मको निर्णय पार्टीले गरिसकेको भएपनि सबैको धारणा सुनेर थप रणनीति बनाउन निरन्तर बैठक बस्न उपयुक्त हुने जोशीको सुझाव छ । ‘निरन्तर बैठक बसेर हाम्रो ठोस धारणा र रणनीति तय गर्नुपर्छ । जे कारणले भएपनि अब बैठक सार्नेभन्दा सक्नेतर्फ लाग्नुपर्छ’, जोशीले भने ।

    सभापति शेरबहादुर देउवाले भने पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र साझा धारणा बनाउन बैठक सार्नुपरेको बताएका छन् । आफूनिकट नेताहरुसंग सभापति देउवाले प्रदेशसभामा पेश भएका अविश्वास प्रस्तावबारे पार्टीले के गर्दा उपयुक्त हुन्छ ? भन्नेमा अनौपचारीक रुपमा छलफल टुंग्याएर मात्रै बैठक गर्नुपर्ने जनाएका छन् ।

    प्रदेश नम्बर १ र बागमती प्रदेशमा नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ । माघ ७ गतेदेखि प्रदेश १ को सभा बस्दैछ ।

    त्यसअगावै कांग्रेसको बैठक बस्न उपयुक्त नहुने भएकाले पछिल्लोपटक एक साताका लागि बैठक सारिएको हो । सभापति देउवा इत्तर पक्षले भने आन्दोलनका पक्षमा देशव्यापी माहोल बनेपनि अदालतको निर्णय पर्खनेगरी बैठक सारिदै आएको आकलन गरेको छ ।

  • कपिलबस्तु जिल्ला ईन्चार्ज न्यौपाने ओली पक्षमा प्रवेश

    कपिलबस्तु जिल्ला ईन्चार्ज न्यौपाने ओली पक्षमा प्रवेश

    रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपानेले प्रचण्ड–नेपाल पक्ष छाडेर ओली पक्षमा प्रवेश गरेपछि कपिलवस्तुमा नयाँ राजनीतिक तरंग आएको छ ।

    साविक माओवादी केन्द्रको तर्फबाट नेकपाको केन्द्रीय नेतृत्वमा रहेका न्यौपाने पछिल्ला दिनहरुमा पार्टी २ समूहमा विभाजन भएसंगै प्रचण्ड–नेपाल समूहमा रहेर संगठन निर्माणमा लागेका थिए ।

    तर न्यौपानेले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीसंग बालुवाटारमा भेट गरेर आफू नेकपाको मूल नेतृत्वमा रहेको ओली समूहमा रहेको जानकारी दिएका छन् ।

    नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल बलदेवका दाहिने हातका रुपमा परिचित न्यौपानेको कित्ता परिवर्तनले प्रचण्ड–नेपाल पक्षलाई कपिलवस्तुमा नराम्रो धक्का लागेको दावी ओली समूहको छ ।

    यता नेकपाका केन्द्रीय सदस्य एवम् कपिलवस्तु अध्यक्ष झविलाल पोखरेलले गिरिधारीलाल न्यौपाने पार्टीको मूल घरमा फर्केपछि कपिलवस्तुका नेकपा कार्यकर्तालाई ऊर्जा प्रदान भएको बताए ।

  • बालुवाटारको २ वर्षे डायरी– प्रचण्डको चित्त बुझाउन ३०६ बैठक

    बालुवाटारको २ वर्षे डायरी– प्रचण्डको चित्त बुझाउन ३०६ बैठक

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले पार्टी फुटका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवार ठहर्याउँदै भन्ने गरेको छ– ओलीले संवाद नै रुचाएनन्, बैठकमा आउनै चाहेनन् ।

    तर, ओलीले त्यसलाई ठाडै अस्वीकार गर्छन् । साधैंझैं ठट्यौली शैलीबाट उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक भेटेर उनको मैलो फाल्न ३ वर्षमा प्रचण्डलाई धुँदा–धुँदा ट्याङ्कीका ट्याङ्की पानी खतम भएको र डोभ साबुनका डल्ला खर्च भएको बताएका थिए ।

    त्यति मात्रै होइन, ओलीले प्रचण्डसँग आफूले गरेको भेट र आफूविरुद्ध प्रचण्डले गरेका बैठकको रेकर्ड नै देखाइदिने बताउँदै आएका छन् । १९ पुसमा आफूनिकट विद्यार्थीको भेलामा ओलीले पार्टी फुटाउन खुमलटारमा मात्रै २८० वटा बैठक भएको बताएका थिए ।

    भेटघाटको विवरण पस्किँदै ओलीले भनेका थिए– वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा मात्रै २८० पटक पार्टी फुटाउने बैठक बसेका रहेछन् । गनेर मैले रेकर्ड हेरेँ । ३५ बैठक बाहिर बसेका रहेछन्, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेजमा, कहिले अँगेनाको डीलमा । अनि अर्याल होटेलमा । कहिले कसको घर त कहिले कसको घरमा ।’

    पार्टीभित्र ओलीले संवाद गरेनन् भन्नेहरुलाई जवाफ दिन प्रधानमनन्त्री ओलीको सचिवालयले नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खानाल, वामदेव गौतम, भीम रावल, सुरेन्द्र पाण्डेलगायतसँग भएका भेटको रेकर्ड नै तयार पारेको छ ।

    ३ फागुन २०७४ मा ओली प्रधानमन्त्री भए । केपी ओलीले त्यसको एक वर्ष निकै सहज अवस्थामा सरकार चलाए । त्यो अवधिमा पार्टीभित्रबाट सरकार संचालनलाई लिएर ओलीको आलोचना गर्नु कल्पना मात्रै विषय थियो । अर्को एक वर्ष पनि ओलीले थोरै आलोचनाबीच पनि सहजै रुपमा सरकार संचालन गरेका थिए ।

    त्यसपछि भने सरकारको ‘पर्फमेन्स’माथि पार्टी भित्रबाट सार्वजनिक रुपमा असन्तुष्टि हुन थाले । र, पछिल्लो समय ओलीलाई सरकारबाटै हटाउने प्रयास समेत पार्टी भित्रैबाट हुने अवस्था भयो ।

    प्रचण्डसँग ३०६ भेट

    प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्ला दुई वर्षमा ३०६ पटक भेट भएको रहेछ । ओली सचिवालय यसलाई ‘प्रचण्डलाई रिझाउन प्रधानमन्त्रीले गरेको भेट’का रुपमा व्याख्या गर्छ ।

    ओली र प्रचण्डबीच २०७५ पुस २ देखि २०७७ पुस ५ गतेसम्म भएका ३०६ मध्ये अधिकांश भेट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएका छन् ।

    २०७५ मा मात्रै ओली र प्रचण्डबीच ५१ भेट भएका छन् । २०७६ मा भने १६८ भेट भएका छन् । त्यस्तै २०७७ को सुरुदेखि पार्टी विभाजन नहुँदासम्म ८७ भेट भएका छन् ।

    यो बीचमा प्रचण्डलाई भेट्न खुमलटार दुई पटक गएका थिए । पछिल्लो पटक भने प्रतिनिधिसभा विघटनको पूर्वसन्ध्यामा अर्थात् ४ पुसमा भएको थियो । अन्तिम भेट विघटनको निर्णय हुनु केही समयअघि बालुवाटारमा भएको थियो ।

    माधव–खनालसहित २६ भेट

    ओलीले प्रचण्डसँग मात्रै होइनन्, माधवकुमार नेपाल र झलनाथ खनालसहित पनि २६ भेट गरेका छन् । र, माधव नेपालसँग मात्रै ८ वटा भेट गरेका छन् । त्यस्तै झलनाथ खनालसँग मात्रै दुई पटक भेट भएको छ ।

    वामदेव, भीम रावललगायतसँग पनि भेट

    ओलीले मुख्य नेताहरूसँग मात्रै होइन, अरु नेताहरुसँग पनि एक्लाएक्लै भेटघाट गरेका छन् । त्यसमध्येमा वामदेव गौतम र ओलीका कटु आलोचक रहेका भीम रावल पनि पर्छन् । ओलीले तीनपटक वामदेवसँग एक्लाएक्लै भेट गरेका छन् ।

    त्यसमध्ये दुई पटक त उनको निवासमै गएर भेटेका छन् । ओलीले भीम रावललाई पनि तीनपटक एक्लै भेटका छन् । त्यस्तै सुरेन्द्र पाण्डे, जनार्दन शर्मा लगायतसँग पनि ओलीले बालुवाटारमा एक्लाएक्लै भेटेका छन् ।

    यस्ताे छ भेटघाटको तिथिमिति

     

  • चित्रबहादुरको चिन्ताः संसद विघटनपछि विदेशी चलखेल बढ्यो

    चित्रबहादुरको चिन्ताः संसद विघटनपछि विदेशी चलखेल बढ्यो

    रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन भएसंगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको बताएका छन् ।

    भारत, अमेरिका र युरोपियन युनियनको चलखेल बढेको उनले दावी गरे । अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हितविपरीत रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दावी केसीको छ ।

    राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष केसीले सत्तासीन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताएका छन् ।

    नेता केसीले भने– ओली र प्रचण्डको स्वार्थ पूरा नहुँदा देश दुर्घटनातर्फ उन्मूख भएको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरीत हुँदैछ, उनीहरु जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बाँडफाँड नमिलेका कारण यस्तो अवस्था आएको हो ।

    सिद्धान्त, नीति र विचारका आधारमा एकता नभएकाले छोटो समयमा नै नेकपामा विवाद आएको उनको तर्क छ ।

    पूर्वउपप्रधानमन्त्री नेता केसीले सर्वोच्च अदालतसमेत निष्पक्ष हुन नसक्नु दुःखद पक्ष भएको भन्दै संवैधानिक इजलास गठन गर्नुनै नीतिगत कमजोरी भएको बताए ।

    केसीले संविधान बनाउँदा नीतिगत बदमासी भएकाले अहिले देशले सुमस्या भोग्नुपरेको बताउँदै भने– हालसम्मका उपलव्धीहरुको रक्षा गर्नु प्रमुख दायित्व हो, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थालाई संस्थागत गर्नु हाम्रो उद्देश्य हो ।

    संघीयता असफलसिद्ध भैसकेको बताउँंदै हिजो संघीयता ल्याउन मरिहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिंड्न थालेको भन्दै केसीले बताए ।

    भेलामा वामपन्थी नेता सुरेश थापा, बुद्धिजिवी दुर्गानाथ खरेल, बद्रे आलम, नेत्र आचार्यलगायतले सरकारको असंवैधानिक कदम, संघीयताविरुद्व र राष्ट्रियता, धर्मनिरपेक्षताको पक्षमा राष्ट्रिय जनमोर्चाको अभियानलाई निरन्तरता दिन माग गरे ।

  • संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर)

    संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर)

    काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

           
  • ओलीमाथि कारबाहीअघि प्रचण्ड–माधवको यस्तो स्पष्टीकरण (पत्रसहित)

    ओलीमाथि कारबाहीअघि प्रचण्ड–माधवको यस्तो स्पष्टीकरण (पत्रसहित)

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पार्टीबाट निष्कासन किन नगर्ने’ भन्दै मागेको स्पष्टीकरणको पत्र बालुवाटारको गेटमा बुझाएको छ।

    पेरिसडाँडा केन्द्रीय कार्यालयका सचिव तथा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य श्रीराम ढकालका अनुसार नेताहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र उनी गएर प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा पत्र छाडेका हुन्।

    पत्रमा ‘पार्टी विरोधी गतिविधि गरिरहनु भएका तपाईंलाई पार्टीको सदस्यताबाट किन निष्काशन नगर्ने ?’ लेखिएको छ।

    २ माघमा सकिएको प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले ओली र महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि स्ष्टीकरण सोध्ने निर्णय गरेको थियो।

    पत्रमा स्पष्टीकरण पत्र प्राप्त गरेको वा निवासमा टाँसेको मितिले तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ। ओलीमाथि कारबाही गर्न स्पष्टीकरण सोधेर प्रक्रिया मात्रै पुर्याउन खोजिएको एक नेताले जानकारी दिए ।

  • राहत प्याकेजका लागि गभर्नरसँग उद्योगीको भेटवार्ता

    राहत प्याकेजका लागि गभर्नरसँग उद्योगीको भेटवार्ता

    काठमाडौं । कोभिड –१९ ले प्रभावित उद्योग व्यवसायका समस्या लिएर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालगायत अन्य पदाधिकारीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष भेटवार्ता गरेका छन् ।

    कोभिड –१९ ले प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि सरकारले ल्याएको राहत प्याकेज कार्यन्वयनमा समस्या रहेको भन्दै सोमबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले गभर्नर अधिकारीलाई भेटेका हुन् ।

    भेटमा सरकारले ल्याएको राहात प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन महासंघले गभर्नर समक्ष आग्रह गरेका छन् । त्यस्तै महासंघले पुस मसान्तसम्म दिइएको कर्जाको सावा ब्याज बुझाउने अवधि थप गरी चैत्र मसान्तसम्म पु¥याउन समेत गभर्नरलाई आग्रह गरे ।

    साथै मौद्रिक नीति मार्फत ५० अर्बको कोषलाई विना कुनै झण्झट उपभोग गर्न व्यवस्थाका लागि केन्द्रीय बैंकले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । साना मझौला उद्यमलाई दिइएको पुर्नकर्जा लिनका लागि सहज बनाइदिनु समेत गभर्नर अधिकारीलाई आग्रह गरे ।

    बैंकहरुले कालो सूचिमा उद्यमी व्यवासयीलाई एक तर्फबाट राखेको भन्दै त्यसो नगर्नका लागि राष्ट्र बैंकले पहल गर्दिन अनुरोध गरेका छन् । साथै बैंकिङ क्षेत्रमा रहेको अधिक तरलतालाई उत्पादन मूलक क्षेत्रमा प्रवाह गर्नका लागि राष्ट्र बैंकको अनुगमन गर्नु पर्ने पनि महासंघका पदाधिकारीले बताए ।

    भेटवार्तामा गभर्नर अधिकारीले कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि महासंघसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । अहिले सबैको ध्यान उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनेमा रहेकाले राष्ट्र बैंकपनि यसतर्फ केन्द्रीत रहेको राष्ट्र बैंकको भनाइ थियो ।

    महासंघले उठाएका विषयलाई सक्दो संवोधन गर्ने गभर्नर अधिकारीले बताए ।

    महासंघबात उपाध्यक्ष दिनेश श्रेष्ठ, बैंक बीमा तथा वित्तीय समितिका सभापति साहील अग्रवाल, चलचित्र तथा मनोरञ्जन फोरमकासभापति आकाश अधिकारी र उपमहानिर्देशक गोकर्ण अवस्थीलगायतले भेट गरेका थिए ।

     

  • कोरोनबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३१९ पुग्यो

    कोरोनबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३१९ पुग्यो

    काठमाडौं । कोरोनाभाइरसबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३१९ पुगेको छ । २० देशमा नेपालीले ज्यान गुमाएको गैरआवसिय नेपालीको स्वास्थ्य विभागले पुष्टि गरेको छ ।

    यो साता बेलायत र दक्षिण अफ्रिकामा थप एक–एक जना नेपालीले ज्यान गुमाएका छन् ।

    संघका स्वास्थ्य विभाग प्रमुख चीरन शर्माका अनुसार भाइरसबाट जर्मनीमा नेपालीको पहिलो मृत्यु भएको थियो । जापान, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, पोर्चुगल र भारतमा सबैभन्दा बढी नेपाली संक्रमित भएका छन् ।

    अहिलेसम्म ५०४९ देशमा ५४ हजार ५१९ नेपाली संक्रमित भएका छन् । ५२ हजार ९४५ नेपाली रिकभर भएका छन् । विदेशमा नेपाली निको हुने दर चाहिँ ९५ प्रतिशत छ ।

  • प्रदेशसभा बैठक: उचाल्नै नमिल्ने गरी कुर्सी कसियो, मर्यादापालक बढाइयो

    प्रदेशसभा बैठक: उचाल्नै नमिल्ने गरी कुर्सी कसियो, मर्यादापालक बढाइयो

    विराटनगर । प्रदेश नम्बर १ को बुधबार बस्ने प्रदेशसभा बैठकका लागि विशेष तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाले अविश्वास प्रस्ताव दर्ता गराएसँगै हुनसक्ने जोखिम कम गर्न सुरक्षालगायतको विशेष तयारी गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

    सम्भावित दुर्घटना रोक्न प्रदेशसभाका सांसदको कुर्सी कसिलो बनाइएको बनाइएको छ भने मर्यादापालकको सङ्ख्या पनि बढाइएको छ ।

    संसद बैठकमै हुनसक्ने झडप तथा दुर्घटनालाई मध्यनजर गर्दै उचाल्नै नमिल्ने गरी कुर्सी कसिएको सचिवालयले जनाएको छ ।

    त्यस्तै १० जना मर्यादापालक पनि थपिएको छ । ४८ मर्यादापालकबाट बढाएर ५८ पुर्याइएको छ । उनीहरूलाई सचिवालयको सुरक्षा शाखाले आवश्यक निर्देशन र संसद बैठक चल्दा हुनसक्ने क्रियाकलापबारे जानकारी गराइरहेको जनाएको छ ।

    औपचारिक रुपमा नेकपा फुटिनसकेकाले नेकपाका सबै सांसदलाई पक्ष पक्षकै लहरमा राख्ने व्यवस्था गरिएको सचिवालयले जनाएको छ ।

    मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई प्रदेशसभा बैठकमा प्रवेश नदिने बताएपछि संसदमै झडपको सम्भाबना बढेको हो । प्रचण्ड–नेपाल पक्ष जसरी पनि अविश्वास प्रस्ताव पास गर्ने गरी अघि बढेका छन् भने मुख्यमन्त्री राईले अविश्वास प्रस्तावको सामना गर्ने बताइरहेका छन् ।

    बुधबारकै बैठकमा अविश्वास प्रस्तावले प्रदेशसभा बैठक प्रवेश पाउने छ ।

  • कांग्रेस संसदीय दलका प्रवक्ता भन्छन्– अदालतको निर्णय मान्छौ

    कांग्रेस संसदीय दलका प्रवक्ता भन्छन्– अदालतको निर्णय मान्छौ

    पोखरा । गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता सांसद प्रकाशचन्द्र दवाडीले आफूहरुले प्रतिनिधिसभा विघटनबारे अदालतको निर्णय नै मान्ने बताएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दवाडीले अदालतमा विचाराधीन विषयमा बोल्नु उचित नरहेको धारणा राखेका हुन् ।

    ‘प्रधानमन्त्रीले चालेको कदमप्रति नेपाली कांग्रेसको आपत्ति छ । त्यसको विरोध पनि गर्दै  आएका छौं । तर, अदालतमा विचाराधीन विषयमा धेरै बोल्नु हुँदैन,’ प्रवक्ता दवाडीले भने, ‘अदालतले जे निर्णय गरेपनि हामीलाई मान्य हुनेछ ।’

    सांसद दवाडीले आफूहरु पाँचै वर्ष प्रतिपक्षको भूमिका निभाउन आएकाले प्रतिनिधिसभा विघटनमा खुुसी भने नलागेको बताए । ‘नेकपा विभाजन हुँदा प्रतिपक्ष भएका नाताले मलाई खुसी लाग्नु पर्ने हो । यही समयमा जनमतमा जान पाउनु पनि खुसीकै कुरा हो,’ उनले भने, ‘तर, संघीयता नै अप्ठेरो हुने गरी जनमतकै अपमान गर्दा दुख लागेको छ ।’

    नेकपाको लडाइँ कुर्सीकै लागि भएको आरोप लगाउँदै सांसद दवाडीले नेकपाले आफूलाई सिध्याउने बाटोमा लागेको बताए । ‘नेकपाले आफूलाईमात्रै सिध्याएको छैन, एउटा व्यवस्था सिध्याएको छ, जनताको राजनीतिप्रतिको विश्वास नै सिध्याएको छ,’ उनले भने ।

    सबै सरकारी सेवा सुविधा जनताकै नाममा !

    सांसद दवाडीले चुनावअघि आफूले पाउने सम्पूर्ण सरकारी सेवा सुविधा ‘जनताकै नाममा’ लगानी गर्ने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम आफूले निर्वाचन क्षेत्रमा खर्च गरिरहेको पनि उनले दाबी गरेका छन् ।

    सांसद दवाडीले गत पुसदेखि यस वर्षको पुस मसान्तसम्म करिब ९ लाख रुपैयाँ जनतालाई नै वितरण गरिसकेको जनाएका छन् । ‘आफूले पाएको सेवासुविधामा थप गरेर जनतालाई नै दिन्छु भनेको थिएँ । त्यही घोषणा बमोजिम नै वाचा पूरा गरेको हुँ,’ उनले भने ।

    सांसद दवाडीले निर्वाचित भएको पहिलो वर्ष करिब १२ लाख रुपैयाँ, गत आर्थिक वर्षमा १० लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको जानकारी दिएका छन् । उनी गोरखा क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

     

  • रुसी विपक्षी नेता नाभाल्नी रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग

    रुसी विपक्षी नेता नाभाल्नी रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग

    रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नु पर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले आग्रह गरेका छन् । जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो ।

    अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्विटरमार्फत टिप्पणी गरेका छन् । नाभाल्नीको रिहाको युरोपियन युनियन (इयु)द्धारा पनि माग भएको छ ।

    क्रेमलिनका आलोचक ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए । उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो ।

    गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ ।

    उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाहअनुसार त्यहीँ आराम गरिरहेका थिए ।

    रूसी प्रशासनले स्वदेश फर्किएपछि पक्राउ गर्नसक्ने चेतावनीबीच उनी मस्को पुगेका हुन् । क्रेमलिनको कट्टर आलोचक विपक्षी नेता नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको बताउँदै यसक्रममा आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएकोे बताएका थिए ।

    रूसी प्रशासनले उहाँलाई जेलबाट छुट्दा गरेको प्रतिवद्धता उल्लङ्घनको आरोपमा पुनः पक्राउ गरी छानविन हुनसक्ने बताएको छ ।

  • प्रचण्ड-माधवका कार्यालय सचिव भन्छन्- बालुवाटारको गेटमा पत्र बुझाएर फर्कियौं

    प्रचण्ड-माधवका कार्यालय सचिव भन्छन्- बालुवाटारको गेटमा पत्र बुझाएर फर्कियौं

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन किन नगर्ने भन्दै मागेको स्पष्टीकरणको पत्र बालुवाटारको गेटमा बुझाएको छ ।

    पेरिसडाँडा केन्द्रीय कार्यालयका सचिव तथा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य श्रीराम ढकालका अनुसार नेताहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र उनी गएर प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा पत्र छाडेका हुन् ।

    ढकालले नेपालप्रेससँग भने- स्पष्टीकरण माग्ने पत्र लिएर हामी तीनजना गएका हौं । भित्र प्रवेश गर्न नपाएपछि गेटमा सुरक्षाकर्मीलाई बुझाएर फर्कियौं । भित्र सुरक्षाकर्मीले सोधेरै पत्र बुझेका हुन् ।

    पत्रमा ओलीलाई ‘साधारण सदस्यबाट समेत किन कारवाही नगर्ने ?’ भनेर सोधिएको उनले बताए । माधव नेपालले सोमवारै ओलीलाई पार्टीबाट निष्‍कासन गर्ने अन्तिम पत्र काटिएको बताएका थिए ।

    यसैबीच प्रधानमन्त्रीको सचिवालयले भने ‘कथित पत्र’ लिएर कोही नआएको र बालुवाटारमा स्पष्टीकरणको पत्र बुझाइएको भन्ने दाबी हास्यास्पद रहेको जनाएको छ । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले त्यस्ता कुनै पत्र प्राप्त नभएको बताए ।

     

  • दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत मागियो

    दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत मागियो

    काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा लगेको अभियोगमा अख्तियारले मुद्दा चलाई थुनामा रहेका पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन मागेको छ ।

    न्यायाधीश हरि फुयालको एकल इजलासले सोमवार दीप बस्न्यातको निवेदनमाथि सुनुवाई गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने सम्बन्धी विशेष अदालतबाट भएको आदेशको कैफियत प्रतिवेदन मागेको हो ।

    बालुवाटारको सरकारी,सार्वजनिक जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषका नाममा कायम गरि भ्रष्टाचार गरेको आरोपमा तत्कालिन भौतिक योजना मन्त्रालयका सचिवका हैसियतमा गरेको काम गैरकानुनी ठहर गर्दै अख्तियारले बस्न्यातविरुद्ध मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतलाई बस्न्यातलाई थुनामै राखेर पुर्पक्ष गर्न दिएको आदेश विरुद्ध उनी माघ ३ गते ७३ नम्बरको थुनुवा निवेदन लिई सर्बोच्च गएका थिए । सोही निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले विशेषको सो निर्णयको आधार मागेको हो ।

    विशेष अदालतको आदेशको आधार,कारण सहितको कैफियत प्रतिवेन हेरेपछि मात्रै सर्वोच्चले बस्न्यातलाई थुनामै राख्नुपर्ने वा साधारण तारेखमा राखेर मुद्दा लड्न पाउने भन्ने आदेश जारी गर्नेछ ।

  • सीके राउतले भने– सर्पभन्दा विषालु मधेसी नेता फ्याँक्नुपर्छ, चुनावको तयारीमा लाग्नुस्

    सीके राउतले भने– सर्पभन्दा विषालु मधेसी नेता फ्याँक्नुपर्छ, चुनावको तयारीमा लाग्नुस्

    जनकपुर । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सर्पभन्दा विषालु बनेका मधेसी नेतालाई फ्याँक्नुपर्ने बताएका छन् । ‘मधेसी जनताले विषालु सर्प पाले,’ राउतले भने, ‘त्यस्तो सर्पले आफैंलाई डस्ने नै हो, डसिरहेका छन्, अब विषालु सर्परुपी मधेसी नेतालाई नष्ट गर्नुपर्छ ।’

    मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा सिरहाको लहानमा आयोजित बलिदानी सभालाई सम्वोधन गर्दै डा. राउत मधेसी नेताहरुमाथि खनिएका हुन् । उनले जनताले जिताएर पठाए पनि मधेसी नेताले जनतालाई धोकाबाहेक केही दिन नसकेको आरोप लगाए ।

    उनले भने– सहिदको सपनासँग मधेसी नेताले खेलवाड गरेका छन् । सहिदलाई ५० लाख दिने भनेको कुरा पनि उनीहरुले पूरा गरेनन् ।

    डा. राउत अब हुने निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने– हामी अदालतको निर्णय पर्खेर बसेका छौं । निर्वाचन ३ महिनामा होस् वा ६ महिनामा । हुन्छ नै । त्यसैले अब निर्वाचनको तयारीमा सबै लागौं ।

    पहिलो मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते लहानमा भएको आन्दोलनमा तत्कालीन माओवादी कार्यकर्ताले चलाएको गोली लागेर विद्यार्थी रमेश महतो सहिद भएका थिए ।

  • कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।

    पुस २७ गतेबाट सारेर माघ ६ गते (भोलि) का लागि तय गरिएको बैठक फेरि एक साता सरेको हो । अब कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्नेछ ।

    पुस ७ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रतिनिधिसभा विघटनपछि पार्टीले लिनुपर्ने रणनीतिका बारेमा छलफल जारी छ ।
    केन्द्रीय समितिमा छलफल जारी रहँदै कांग्रेसले संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक कदमको संज्ञा दिदैं दोस्रो चरणको आन्दोलल गरिरहेको छ ।
    आन्दोलतअन्तर्गत माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन हुँदैछ ।
  • पूर्व मुख्यसचिव रेग्मी राजदूतमा नियुक्त

    पूर्व मुख्यसचिव रेग्मी राजदूतमा नियुक्त

    काठमाडौं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भएका छन् ।

    संविधानको धारा २८२ बमोजिम रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरिएको राष्‍ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका रेग्मीलाई सोही दिनको मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्तिको लागि राष्‍ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

  • फेसन : कमला ह्यारिसले सारी लगाएर सपथ ग्रहण गर्ने

    फेसन : कमला ह्यारिसले सारी लगाएर सपथ ग्रहण गर्ने

    काठमाडौं । बुधबार हुने सपथग्रहण समारोहमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सारी लगाएर उपस्थित हुने हलिउडका फेसन मिडियाले जनाएका छन् । दक्षिण एसियाको संस्कृतिलाई झल्काउन ह्यारिसले उक्त पहिरन लगाउने सोच बनाएको सीएनएनले उल्लेख गरेको छ ।

    जनवरी २० मा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसले सपथ ग्रहण गर्दैछन् । गतसाता चर्चित फेसन म्यागजिन भगले ह्यारिसको फोटोसुटलाई कभर स्टोरी नै बनाएर छापेको थियो । यो फोटोसुट चर्चित र विवादित दुबै बन्यो । निर्वाचित भएलगत्तै ह्यारिसलाई फेसन र फिल्म क्षेत्रबाट स्वागत भैरहेको छ ।

    युवा अवस्थामा सारीमा सजिएकी कमला ह्यारिस (बायाँ) ।

    ह्यारिस भारतीय मूलकी हुन् । उनकी आमा भारतीय हुन् । सन् २०१९ को राष्ट्रपतिय चुनावी अभियानअन्तर्गत एसियन अमेरिकन समूहको एक कार्यक्रममा ह्यारिसले आफू विजयी भए सारी लगाउने बताएकी थिइन् । ‘मेरी आमाले मलाई निकै बलियो सांस्कृतिक पृष्ठभूमिमा हुर्काउनुभएको हो’ ह्यारिसले भनिन्, ‘यदि मैले सारी लगाएँ भने यो एउटा सौन्दर्य हुनेछ ।’

    विश्व पल्टिकल फेसन जगतमा चर्चित नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङले पनि ह्यारिसलाई सारी लगाउन सुझाएका छन् । यसअघि पनि ह्यारिसले गुरुङका डिजाइन लगाएकी थिइन् । ह्यारिसको विजयीले कोही फेसन डिजाइनर बढी खुशि छ भने त्यो हो प्रबल गुरुङ । अमेरिकाको उच्च पदमा ह्यारिसको आरोहणले अल्पसंख्यक आप्रवासीलाई सपना देख्न प्रेरित गरेको गुरुङले बताए ।