Blog

  • काठमाडौं विश्वविद्यालयकाे उपकुलपतिमा भोला थापा

    काठमाडौं विश्वविद्यालयकाे उपकुलपतिमा भोला थापा

    काठमाडौँ ।काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई नियुक्त गरेका हुन् ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजन समितिले उपकुलपतिको लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा डा थापासँगै प्राडा रामकण्ठ माकजु र प्राडा. बालचन्द्र लुइँटेल परेका थिए ।

    उपकुलपतिको रुपमा दुई वर्षे कार्यकाल पूरा गरिसकेका माकजुलाई सिफारिस गरिएको भनेर प्राध्यापकहरूले आपत्ति जनाएका थिए ।

    छनौट समितिमा समितिमा सुरेशराज शर्मा र दमननाथ ढुङ्गानालाई सदस्य थिए । थापा केयुका पूर्व रजिष्ट्रार हुन् ।

  • वागमती प्रदेशसभामा डोरमणि र अष्टलक्ष्मी दुवैले बोल्ने

    वागमती प्रदेशसभामा डोरमणि र अष्टलक्ष्मी दुवैले बोल्ने

    काठमाडौं । प्रदेश १ मा नेकपा विभाजनको असरले प्रदेशसभा बैठकमै मुठभेडको सम्भावना बढिरहेका बेला सोही प्रकृति झेलिरहेको वागमतीको प्रदेशसभा बैठक भने सहज रुपमा अघि बढाउन दलहरु सहमत भएका छन् ।

    आज बस्न लागेको प्रदेशसभा बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची राखिएको छैन । नेकपा संसदीय दलका प्रमुख सचेतक केशव पाण्डेका अनुसार दल विभाजन नभएकै रुपमा आजको बैठकमा प्रस्तुत हुने तयारी छ ।

    उनका अनुसार आजको बैठकमा नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्नेछन् । त्यस्तै विगतदेखिनै नेकपाको तर्फबाट बोल्ने परम्परा कायम राख्दै अष्टलक्ष्मी शाक्यले शुभकामना दिने कार्यक्रम छ ।

    सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने र अविश्वास प्रस्ताव पेश गर्ने पक्षले चाहेमा विहीवारको बैठकमा सो प्रस्ताव टेबुल हुने बताइएको छ । अविश्वास प्रस्तावको व्यहोरामै त्रुटी रहेको भन्दै पाण्डेले सो प्रस्ताव पेश नहुने सम्भावना पनि उत्तिकै रहेको बताए ।

    नेकपा विभाजन लगत्तै वागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ । सो पक्षले पौडेललाई दलको नेताबाट हटाएको घोषणा गर्दै अष्टलक्ष्मी शाक्यलाई नेता चयन गरेको छ ।

  • निर्माण सामग्रीको भाउ वृद्धिप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

    निर्माण सामग्रीको भाउ वृद्धिप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । निर्माण व्यवसायी महासंघ वागमती प्रदेश समितिले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिप्रति मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गराएको छ ।

    महासंघका अध्यक्ष सुबित श्रेष्ठको टोलीले मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोना महामारीको विषम परिस्थितिमा फलामजन्य निर्माण सामग्रीमा अन्तर्राष्ट्रिय बजारमा बढेको अनुपातभन्दा बढी देखाई एकतर्फी रूपमा कार्टेलिङ गरी महंगो बनाइएको श्रेष्ठले बताए ।

    उनका अनुसार देशभर नदीजन्य र खानीजन्य निर्माण सामग्रीको उत्खनन र बिक्री वितरणमा गृहमन्त्रालयले गरेको नियन्त्रणले व्यवसायीहरूलाई मर्का परेको छ ।

    ‘सीमित व्यवसायीको मिलेमतोबाट निर्माण सामग्रीहरुमा अत्यधिकरूपले मूल्यवृद्धि गरेकोतर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

    केही महिनाको बीचमा फलामजन्य निर्माण सामग्रीहरूमा प्रति केजी २० रूपैयाँभन्दा बढी मूल्य बढेको छ । त्यस्तै अन्य सामग्रीहरू ४९ प्रतिशतभन्दा महंगिएको छ । नदी र खानीजन्य समग्रीहरूको स्रोत दरको मूल्य दोब्बर बढेको महासंघले जनाएको छ ।

    लकडाउनका कारण रोकिएका निर्माणको कामलाई पुन: म्याद थपका लागि सहज वातावरण बनाउन पनि निर्माण व्यवसायीले माग गरेका छन् ।

  • मनिषापछि करिश्मा पनि राजावादी कित्तामा, भन्छिन् -धेरै दल खारेज गरौं

    मनिषापछि करिश्मा पनि राजावादी कित्तामा, भन्छिन् -धेरै दल खारेज गरौं

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समयको राजनीतिक कोर्सलाई लिएर चिन्तित छिन् । नेपाली फिल्मकी यी डीभाले बुधबार सामाजिक संजालमार्फत राजनीतिक प्रणालीप्रति टिप्पणी गरेकी हुन् ।

    उनी लेख्छिन् –धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन । दुई विचार काम छ । राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।

    मुलुकमा धेरै राजनीतिक दल हुँदा अस्थिरता र निराशा चुलिएको करिश्माको चिन्ता छ । उनी मुलुकमा राजासहितको डेमोक्र्याट र समाजवादी कम्युनिष्ट हुनुपर्ने तर्क गर्छिन् ।

    ‘राजासहितको लोकतन्त्रवादी र समाजवादसहितको कम्युनिष्ट पार्टीबाहेक अरु काम छैन । खारेज गर्नुपर्छ’ बाबुराम भट्टराईको पूर्व पार्टी नयाँ शक्तिकी नेतृ समेत रहिसकेकी करिश्माले भनिन्, ‘जहिले सम्म धेरै पार्टी हुन्छन्, तबसम्म यो भाँडभैलो रहन्छ ।’

    राजाको पक्षमा आएको करिश्मा अभिव्यक्ति चाहिँ पहिलोपटक हो । अर्की अभिनेत्री मनिषा कोइराला पनि राजाको पक्षमा पहिल्यदैखि खुलेर लागेकी हुन् । गतसाता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने कार्यक्रमको नेतृत्व पनि मनिषाले गरेकी थिइन् ।

  • खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ ।

    केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

    विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

    विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताउँछन् ।

    उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन÷तीन लाख जरिवाना गरिएको हो ।

    पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु ४०, सनफ्लावर तेल प्रतिलिटर ४० र भटमासको तेल लिटरमा २० भन्दा बढीले मूल्य बढाइएको छ ।

    अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारवाही हुने जनाइएको छ ।

    मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन् ।

  • सैनिक सेवा १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

    सैनिक सेवा १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

    काठमाडौं । नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (विवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ ।

    पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो ।

    रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको छ । नियमावलीमा अधिकृतभन्दा तल्लो तहका लागि दर्जागत आधारमा स्वेच्छिक अवकासमा जान सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    विसं २०६० वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

    पिउठ, अमलदार र हुद्दा १७, जमदार १८ तथा सुवेदार र प्रमुख सुवेदारले १९ वर्षमा स्वेच्छिक अवकासमा जान सक्ने नियमावलीले व्यवस्था गरेको छ । सहायक सेनानी तहभन्दा माथिको तहको हकमा भने पेन्सन पाक्ने अवधि २० वर्ष नै कायम हुनेछ ।

    बीस वर्ष सेवा नपुग्दै स्वेच्छिक अवकास लिने त्यस्ता सैनिकले निवृत्तिभरणको रकम भने सेवा प्रवेश अर्थात भर्ना भएको मितिले २० वर्ष अवधि पूरा भएको मितिबाट मात्रै पाउने छन् । सेवाअवधि भने दर्जाअनुरुप अवकास लिएको वर्षकै नै गणना हुनेछ । नियमावली संशोधन भई कार्यान्वयनमा आएपछि अधिकृतभन्दा तल्लो तहमा जागिरमा रहनेले केही हदसम्म राहत महसुस गर्ने छन् ।

    समान पदका सैनिकको निवृत्तिभरण९पेन्सन० सम्बन्धी रही आएको दुई थरी व्यवस्था हटाई उत्प्रेरणा गर्न तथा सैनिक सेवाको कार्य प्रकृति र विशिष्ट विशेषतालाई सम्बोधन होस् भन्ने हेतुले उक्त नियमावली अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

    विसं २०६० वैशाख २७ गतेसम्म सिपाहीदेखि हवल्दारसम्म १६ वर्षे सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो । लामो समयसम्म पेन्सनसम्बन्धी मुद्दा सम्बोधन नभएपछि अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ सैनिकले बीचमै सेवा छाडेका थिए ।

    माग सम्बोधन नहुँदा अवकासपछि जीवन धान्न र परिवार पाल्न कठिन हुने जनाउँदै ती सैनिकले वैदेशिक रोजगारीमा जाने सिलसिलामा बीचमै जागिर छाडेका हुन् ।

    सेवा परित्याग गरी वैदेशिक रोजगारीमा जाने तल्लो तह सिपाहीदेखि हवल्दारसम्मको सङ्ख्या अधिक छ । सोह्र वर्षसम्म सेवा गरेको जनशक्ति पनि पेन्सन नभई जागिर छाडेको आँकडाले देखाएको छ ।

    पेन्सनको अवधि २० वर्ष पुर्याएपछि उपदानमा जाने र भगौडाको सङ्ख्या उल्लेखनीय रूपमा बढेपछि सकल दर्जालाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न जङ्गी अड्डालाई मुस्किल परेको थियो । प्रस्तावित नियमावलीमा एकै पटक ठूलो सङ्ख्यामा सेवाबाट बाहिर जान नदिनका लागि विभागीय प्रमुखको स्वीकृतिमा मात्रै स्वेच्छिक अवकास लिन सक्ने व्यवस्था गरिएको छ ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले राज्यले प्रदान गरेको सेवा सुविधालाई वैदेशिक रोजगारीसँग जोडिएका दुःखकष्ट र आम्दानीलाई तुलना गरेर मात्र उपदान र राजीनामासम्बन्धी निर्णय नगर्न सुझाव दिँदै आउनुभएको छ ।

    विदेशी कम्पनीले ३५ वर्ष उमेर पार नगरेका भूपू सैनिकलाई प्राथमिकता दिने भएकाले त्यस्ता कम्पनीले उपलब्ध गराउने आकर्षक सुविधाले पनि सैनिकको मन लोभ्याएको हो । वर्तमान प्रधानसेनापतिले शुरु गर्नुभएको नेतृत्व सवांद कार्यक्रममा खासगरी जवान तहबाट बलिदानीका आधारमा तलब कम भएको गुनासो नै बढी आउने गरेको छ ।

    उमेरभित्रै दोस्रो वृत्ति विकास शुरु गर्न सहज हुने भएकाले सङ्गठनले प्राथमिकताका साथ अघि सारेको पेन्सनसम्बन्धी नीतिलाई सरकारले अनुमोदन गर्नु उपयुक्त हुने पूर्वउपरथी होम लावतीको सुझाव छ ।

    निकै शारीरिक परिश्रम गर्नु पर्ने तल्लो दर्जाका सैनिक परिवारलाई स्वास्थ्य, शिक्षा, तालिम, आवास, बीमा र रोजगारका क्षेत्रमा सरकारले थप प्रोत्साहनका सेवा सुविधा उपलब्ध गराउन आवश्यक छ ।

    पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘तालिम प्राप्त, अनुभवी, क्षमतावाहन र अनुशासित जनशक्ति बाहिर जाँदा विप्रेषणको माध्यमबाट मुलुकलाई समेत ठूलो योगदान पुग्ने हुँदा उठिरहेको पेन्सनको कुरा राज्यले सुनिदिँदा राम्रो सन्देश प्रवाह हुन्छ ।’

    सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सङ्गठनभित्र प्राथमिकताका साथ निरन्तर उठ्दै आएको आवाजलाई सम्बोधन भई हौसल्ला मिलोस् भन्नका लागि र सरकारलाई पनि एकै पटक ठूलो आर्थिकभार नपरोस् भन्ने हेतुले पेन्सनसम्बन्धी नियमावली पुनरावलोकनका लागि मन्त्रालय समक्ष अनुरोध गरेको बताए ।  रासस

  • लगनखेल मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

    लगनखेल मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

    काठमाडौं । मालपोत कार्यालय लगनखेल, ललितपुरका एक नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् ।

    जग्गा हालसाविकको क्रममा ट्रालय चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी जग्गा मिलाउन नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्‍यवसायी रमेशलाल श्रेष्ठले ४० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।

    अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार लगनखेल बसपार्क नजिकबाट नियन्त्रणमा लिइएका दुवैजनामाथि अनुसन्धान थालिएको छ ।

  • संवैधानिक इजलासको नियम- आधा घण्टाभित्र बहस सक्नैपर्ने

    संवैधानिक इजलासको नियम- आधा घण्टाभित्र बहस सक्नैपर्ने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ चलिरहँदा संवैधानिक इजलासमा एउटै कानुन व्यवसायीले घण्टौं समय लिएर बहस गर्न थालेपछि आजदेखि समय निर्धारण भएको छ ।

    संवैधानिक इजलासमा सुनुवाइ शुरु भएलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बहस गर्दा ३० मिनेट समयभित्र टुंग्याउन निर्देशन दिएका छन् । यही निर्देशन अब आदेशका रुपमा रहनेछ ।

    मंगलबारदेखि नै बहस गरिरहेका चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टाभित्र बहस सक्न भनिएको थियो । अब संवैधानिक इजलासमा बहस गर्ने पक्ष विपक्षका वकिलले आधा घण्टामा सक्नुपर्ने भएको छ ।

    बहसमा भाग लिन सयौं वकिलले नाम लेखाएका छन् । यदि समय निर्धारण नगर्ने हो भने महिनौसम्म सुनुवाइ लम्बिने देखिएकाले समय निर्धारण गरिएको हो । मुद्दालाई चाँडो टुंगो लगाउन सातामा दुई दिनमात्र बस्ने संवैधानिक इजलास दिनहुँ बसिरहेको छ ।

    प्रधान न्यायाधीश अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ,अनिल सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

  • बाइडेनको शपथ ग्रहण आज, ट्रम्प नजाने

    बाइडेनको शपथ ग्रहण आज, ट्रम्प नजाने

    काठमाडौं । नेपाली समय अनुसार आज राती १०ः४५ बजे जो बाइडेनले ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् ।

    कोरोनाभाइरस महामारीको कारण शपथ कार्यक्रमलाई असी प्रतिशत भर्चुअलरुपमा गरिने भएको छ । डोनाल्ड ट्रम्प समर्थकले जनवरी ६ मा संसद भवनमा आक्रमण गरेपछि सपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको हो ।

    राजधानी वासिङ्टन लगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ । वासिङ्टनमा १५ हजार विशेष सुरक्षा सैनिक परिचालन गरिएको छ ।

    तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने शपथ ग्रहण समारोहमा भाग नलिने जनाएका छन् । उनले राष्ट्रपति चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

    वर्तमान उपराष्ट्रपति माइक पेन्स चाहिँ शपथ ग्रहण कार्यक्रममा सहभागि हुने भएका छन् । इन्योगुरेसनमा भाग लिन बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमलादेवी ह्यारिस वासिङ्टनतर्फ प्रस्थान गरेका छन् ।

    बाइडेनको सपथ ग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरु जर्ज डब्लु बुस, बराक अबामा र पत्नी मिसेल ओबामा, बिल क्लिन्टन् र पत्नी हिलारी क्लिन्टन पनि सहभागि हुने भएका छन् ।

    चर्चित अमेरिकी पप गायिकाद्धय लेडी गागा र जेनिफर लोपेथले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

    अहिले वासिङट्नमा संकटकाल लागु छ र सत्तारोहणसम्म संकटकाल कायमै हुनेछ । बाइडेन र ह्यारिसले सन् १९८१ मा रेगनको पालादेखि सुरु भएको परम्परालाई निरन्तरता दिँदै अमेरिकी संसद भवन अगाडि पट्टी उभिएर सपथ ग्रहण लिनेछन् ।

    द वासिङ्टन पोस्टका अनुसार सामाजिक दूरी कायम गरेर २०० जना मानिसहरु समारोहमा उपस्थित हुनेछन् । सबैले मास्क लगाउनेछन् र केही दिनअघि नै सबैको कोभिड परिक्षण पनि गरिएको छ ।

  • प्रदेश १ ४०.१ ओभरमा अलआउट, आर्मीलाई १३२ रनको लक्ष्य

    प्रदेश १ ४०.१ ओभरमा अलआउट, आर्मीलाई १३२ रनको लक्ष्य

    काठमाडौं । बिबेक मेहेताको अर्धशतकप्रेरित प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘ए’मा त्रिभुवन आर्मी क्लबलाई १३२ रनको विजय लक्ष्य दिएको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३१ रनको योगफल तयार गर्‍यो । प्रदेश १ का लागि अर्धशतकीय इनिङ खेलेका बिबेकले ८३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन जोडे ।

    त्यस्तै, फिर्दोस अनसारी ९० बलमा १ चौका र १ छक्कासहित ३२ रन बनाएर आउट भए । ओपनर दीपक पासवानले १९ तथा दिपेश कँडेलले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रदेश १ का चार ब्याट्सम्यान शून्यमा सीमित भएका थिए ।

    आर्मीका लागि किफायती बलिङ गरेका साहब आलमले ९. १ ओमार २३ रन खर्चेर ३ मेडनसहित सर्वाधिक ४ विकेट लिए । त्यस्तै, आकाश चन्दले ३ तथा सुशन भारी, भीम सार्की र राजेश पुलामी मगरले १/१ विकेट लिए । आर्मी आजको खेलमा जित हासिल गर्दै सेमिफाइनल नजिक पुग्न चाहन्छ भने प्रदेश १ पहिलो जितको खोजीमा छ ।

  • काठमाडौं महानगरको प्रगति, ६ महिनामा ६९ पूर्वाधार

    काठमाडौं महानगरको प्रगति, ६ महिनामा ६९ पूर्वाधार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्षको पहिलो छ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ ।

    यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ ।

    त्यसैगरी तीन किलोमिटर सडक ढलान गरिएको छ । नौ सय ७२ मिटर ढल राख्ने र ८६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

    कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

    दुई सय एक चालु अवस्थामा र १६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी ३६६ मध्ये २२५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरु हुन बाँकी रहेको कामपाले जानकारी दिएको छ । यता सामाजिक विकासतर्फ एक अर्ब ६२ करोडको योजना छन् ।

    सामाजिक सुरक्षासम्बन्धी कामपाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त सःशर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट आठ गरी १०९ कार्यक्रम तय गरेको छ । तीमध्ये ६६ कार्यक्रम शुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन् ।

    त्यसैगरी आयतर्फ अहिलेसम्म तीन अर्ब १० करोड राजश्व सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा चार अर्ब २२ करोड सङ्कलन भएको थियो । लक्ष्यका आधारमा गएको वर्षको पहिलो छ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ ।

    सङ्कलित रकममध्ये एक अर्ब ७५ करोड अनलाइन प्रणालीबाट प्राप्त भएको हो । कामपाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन् ।

    कामपाले चालु आवमा १४ अर्ब २६ करोड ६५ लाख बजेट विनियोजन गरेको थियो । कामपा भौतिक पूर्वाधार विभागका लागि चालु आवको विनियोजित बजेट  तीन अर्ब एक करोड ६१ लाख छ हजार छ । रासस

  • संयुक्त संसदीय अनुगमन समिति बनाउँदै सकियो गण्डकीको विशेष अधिवेशन

    संयुक्त संसदीय अनुगमन समिति बनाउँदै सकियो गण्डकीको विशेष अधिवेशन

    पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन संयुक्त संसदीय अनुगमन समिति गठन गर्दै मंगलबार सकिएको छ । सर्वदलीय सहमतिमा सभामा प्रस्तुत साझा संकल्प प्रस्ताव कोभिड-१९, महंगी नियन्त्रण आदि नियन्त्रण गर्न ९ सदस्यीय समिति गठन गरेको हो ।

    समितिमा विभाजित नेकपा ओली समूहका मायानाथ अधिकारी, मित्रकुमारी गुरुङ सुवेदी र रोशन गाहामगर, प्रचण्ड–माधव समूहका आशा कोइराला, चन्द्रबहादुर बुढा, राजमोका खिमविक्रम शाही, जसपाकी धनमाया लामा पोखरेल, कांग्रेसका मणिभद्र शर्मा र सरिता गुरुङसहितको संसदीय समिति गठन भएको हो ।

    प्रदेश सभा नियमावलीको नियम १५२ अनुसार संसदीय अनुगमन समिति गठन गर्न सक्ने उल्लेख छ । समितको कार्यकाल ३ महिनाको हुनेछ भने समितिले नै निर्धारण गर्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिएका छन् ।

    प्रतिनिधि सभा विघटनपछि विभाजित बनेको सत्तारुढ दल नेकपा विवादका कारण अन्य प्रदेशमा सभा बस्न सकेको छैन । तर, गण्डकी प्रदेशमा भने विपक्षी दलहरूकै आग्रह र मागमा विशेष अधिवेशन डाकिएको थियो । जसमा कोभिड नियन्त्रणबारे १३ बुँदे साझा संकल्प प्रस्ताव पेश भएको थियो ।

    सर्वदलीय सहमतिमा विशेष अधिवेशनको पाँचौं बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेले प्रस्ताव पेश गरेका थिए । प्रस्तावको समर्थकमा जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य, नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा सांसद गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा थिए ।

    संसद गफ गर्ने थलो होइन : मुख्यमन्त्री

    सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदलाई गफ गर्ने थलो नबनाउन आग्रह गरेका छन् । अधिवेशनमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले भने, ‘जनताका समस्या समाधान गर्ने थलो हो । यहाँ क्रियटिभ छलफल हुन जरुरी छ । सरकार र सबै सांसद मिलेर प्रदेशलाई भिन्न बनाऔं ।’

    कोरोना महामारी नियन्त्रणमा प्रदेशले उल्लेख्य काम गर्दागर्दै विपक्षी पार्टीभन्दा पनि आफ्नै पार्टीबाट विरोध आएको मुख्यमन्त्री गुरुङको गुनासो थियो । ‘पार्टीभित्रै बाट बढी विरो आयो । जहिले यो भएन, त्यो भएन भनियो । तर, यत्रो महामारी हुँदा पनि त्योबारे छलफल कहिल्यै भएन,’ उनले भने ।

    अन्य प्रदेशमा आर्थिक वृद्धिदर ऋणात्मक हुँदा भने गण्डकीको धेरै आर्थिक वृद्धिदर रहेको दाबी मुख्यमन्त्री गुरुङ थियो । उनले भने ‘प्रदेशमा केही महंगी बढेको भएपनि आर्थिक वृद्धिदरमा हामी नै अघि छौं ।’ उनले आर्थिक वृद्धिदर बढाउने र गरिबीको रेखा घटाउने गरी काम गरिरहेको सुनाए ।

    हालै नेपालमा पनि देखा परेको नयाँ प्रजातिको कोरोना भाइरस फैलिन नदिन प्रदेशले संघीय सरकारसँग समन्वय गरी अघि बढ्ने बताएका छन् । उनले प्रदेशका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको सघन कक्ष बनाउन लागेको भएपनि जनशक्ति अभावका कारण काम अघि बढ्न नसकेको दु:खेसो पोखे । उनले भने, ‘प्रदेशका सबै जिल्लामा भेन्टिलेटरसहितको सघन उपचार केन्द्र बनाउन लागेका छौं । तर, जनशक्ति अभावले कामै शुरू गर्न सकेका छैनौं ।’

  • सुदूरपश्चिम प्रदेश १११ रनमा अलआउट

    सुदूरपश्चिम प्रदेश १११ रनमा अलआउट

    काठमाडौं । सागर ढकाल र दिपेन्द्रसिंह ऐरीको विकेट प्रेरित नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार ११० बनाएको सुदूरपश्चिम प्रदेशलाई ३३.१ ओभरमा अल आउट गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेको साविक विजेता पुलिसले जितका लागि १११ रनको लक्ष्य पाएको हो । पुलिसका लागि कसिलो बलिङ गरेका सागरले १० ओभरमा १८ रन खर्चेर ३ मेडनसहित चार विकेट लिए ।

    किफायती बलिङ गरेका पुलिसका दिपेन्द्रसिंह ऐरीले ६.१ ओभरमा १० रन खर्चेर २ मेडनसहित ४ विकेट लिए । पुलिसको आक्रमक बलिङसामु संघर्षरत सुदूरपश्चिमका लागि ओपनर खडक बोहराले ५३ बलमा ८ चौकासहित ४० रन जोडेका थिए । कप्तान सन्तोष भट्ट शून्यमा रन आउट हुँदा दुर्भाग्यशाली सावित भए ।

    विकेटकिपर ब्याट्सम्यान सन्जु दमाईले ३५, अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा सुदूरपश्चिमका ६ ब्याट्सम्यान शून्यमा सीमित रहे ।

    पहिलो खेलमा बाग्मतीसँग लज्जास्पद पराजय बेहोरेको साविक विजेता नेपाल पुलिस क्लब आजको खेल जित्दै लयमा फर्किन चाहन्छ । त्यस्तै, बाग्मतीसँगै पराजित भएको सुदूरपश्चिम पनि लयमा फर्किन चाहन्छ । तर, कम योगफलमा सीमित भएको सुदूरपश्चिमलाई ११० रनको योगफल जोगाउन कठिन देखिन्छ ।

  • फेसबुकमा जोडिएको मित्रताले दुई सन्तानकी आमा बेचिन पुगिन्

    फेसबुकमा जोडिएको मित्रताले दुई सन्तानकी आमा बेचिन पुगिन्

    कैलाली । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन्। करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे ।

    युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली लागिन् । कैलाली आएपछि युवक कैलालीमा घर नभएको, भारतमा गएर विवाह गरौँ भनेर भारततर्फ लागे ।

    युवकले ढाँटेको थाहा पाएपछि महिला चिन्तित त भइन् तर युवकसँग नजानुको विकल्प थिएन । घर छाडेर हिँडिसकेकी महिलालाई अब डर लाग्न थाल्यो ।

    कैलालीको सीमा नाका खक्रौलामा बेचबिखन न्यूनीकरणका लागि निगरानीमा बसेको साना हातहरु नेपालले उनीहरुमाथि शङ्का गर्यो । युवकले भारतमा रोजगारीका लागि जान थालेको, आफूहरु दम्पती भएको बताए । साना हातहरु नेपालका प्रतिनिधिले निकै सोधपुछ गरेपछि युवकलाई नियन्त्रणमा लिइयो ।

    ‘मैले साना हातहरुका दिदीहरु देखेपछि अब बाँचिन्छ कि जस्तो लाग्यो, अनि सबै कुरा खोलेँ, दिदीहरुले प्रहरी बोलाउनुभयो’, उद्धार गरिएकी महिलाले भनिन्, ‘हाल म साना हातको संरक्षणमा बसेकी छु । मलाई झुक्याउने युवक बेचबिखन मुद्दापछि सजाय भोगिरहेका छन् । म सिलाइकटाइको काम सिकिरहेकी छु । मैले नयाँ जीवन पाएँ, अब जीवन सुन्दर बनाउँछु ।’

    रोजगारीका सिलसिलामा नेपाल–भारत सीमा हुँदै भारत जाने महिला तथा बालबालिका बेखबिखनको जोखिममा पर्न सक्छन् । यी महिलाको समयमै उद्धार नभएको भए जोखिम थप बढ्ने साना हातहरु नेपालका स्टेशन संयोजक तुलसी विक बताउँछिन् ।

    ‘हामीले सीमामा बसेर धेरै शङ्का गर्नुपर्ने हुन्छ । हामीले गत वर्ष ३०१ महिला तथा बालबालिकालाई उद्धार गरेका छौँ’ उनी भन्छिन्, ‘दुई वर्षको अवधिमा चारवटा बेचबिखनसम्बन्धी मुद्दा चलाएका छौँ । रोजगारीका लागि भारत जानेहरु बेचिने जोखिम बढी छ ।’

    स्टेशन संयोजक विक नेपाली महिलाहरु घाँस, दाउराका लागि भारतीय जङ्गल जाने, किनमेलका लागि पनि भारत जाने भएकाले थप जोखिममा रहेको बताउँछिन् ।

    ‘हामीसँग घाँस काट्न जान थालेको भन्नुहुन्छ, कसरी रोक्नु ? त्यसरी गएकाहरु नफर्कने डर हुन्छ’, उनले भनिन्, ‘गत वर्ष यसैगरी घाँस काट्न गएकी किशोरी नफर्केपछि बेचिएकी थिइन् । हामीले भारतीय प्रहरीको सहयोगमा एक महिनापछि किशोरीको उद्धार गरेर नेपाल ल्यायौँ ।’

    साना हातहरु नेपालले सीमाबाट भारत जानेहरुमा शङ्का लागेकालाई सोधपुछ गर्ने, उद्धार गर्ने र बेचबिखनमा पर्न थालेको भए मुद्दा चलाउनेसम्मको काम गर्छ ।

    ‘साना हातहरु नेपालले सीमामा बसेर प्रहरीलाई सघाएको छ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बम भन्छिन्, ‘हामी एकापसमा सहकार्य गरेर सीमामा निगरानी गरिरहेका छौँ । सोधपुछका क्रममा शङ्का लागेकालाई उद्धारमा उहाँहरु सहयोगी बनिरहनुभएको छ ।’ रासस

  • गण्डकी सरकारको १ अर्बको ‘व्यवसाय जीवन रक्षा कर्जा’, यस्तो छ ऋणको व्यवस्था

    गण्डकी सरकारको १ अर्बको ‘व्यवसाय जीवन रक्षा कर्जा’, यस्तो छ ऋणको व्यवस्था

    पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना महामारीबाट धराशायी बनेका व्यवसायलाई पुनर्जीवन दिन ‘व्यवसाय जीवन रक्षा कर्जा’ को राहत प्याकेज ल्याएको छ । कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै गत चैत ११ देखि देशव्यापी लागू गरिएको लकडाउनको बीचमा संकटग्रस्त साना तथा मझौला व्यवसायलाई यसले मल्हम लगाउने विश्वास गरिएको छ ।

    बस, कृषि, पर्यटन व्यवसायी, मजदुरलगायतका प्रदेश सरकारसमक्ष आर्थिक सहायता माग गरेका थिए । साना उद्यमी तथा साना व्यवसायीलाई आर्थिक सहायता गर्ने गरी गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा एक अर्बको वार्षिक कोष खडा गर्ने घोषणा गरेको थियो ।

    कोरोना प्रभावित साना उद्यमी र व्यवसायीलाई सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने साथै व्यवसायीलाई पलायन हुन नदिने उद्देश्यले स्थापना गरिएको सो कोषले मंगलबार मात्र मूर्त रूप पाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार पोखरामा एक कार्यक्रम आयोजना गरी उक्त कोष कार्यान्वयन सम्झौता गरेको हो ।

    कोष खडा गरी व्यवसायीलाई शून्य ब्याजदरमा ऋण दिन प्रदेश सरकारले नेपाल राष्ट्र बैंकसँग सहकार्य सम्झौता गरेको छ । सम्झौता कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना महामारीले सबैभन्दा बढी साना व्यवसायी र मजदुर वर्ग चपेटामा परेकाले उनीहरुलाई सहयोग गर्न कोष खडा गरिएको सुनाए ।

    ‘योबीचमा पर्यटन, कृषि, सेवा तथा साना उद्यम क्षेत्रमा एकदमै गाह्रो भयो । लामो समय लकडाउनले गर्दा व्यवसायबाटै पलायन हुनुपर्ने बाध्यता भयो,’ मुख्यमन्त्री गुरुङले भने, ‘ती व्यवसायी र उद्यमीको जीवन रक्षाका लागि नै यो कोष आएको हो । प्रदेशले आफ्नो जनताको भलो चिताएरै काम गरेको हो ।’

    सम्झौता पत्रमा बैंकका पोखरा निर्देशक ईश्वरीप्रसाद भट्टराई र गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव इन्दु घिमिरेले सम्झौता गरेका छन् । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा प्रदेश सरकारले उक्त कोषको सहयोगमा व्यवसायीलाई कर्जा सुविधा ल्याएको हो ।

    कोभिड प्रभावित व्यवसायीलाई उकास्न बैंकबाट लिएको कर्जाको ब्याव व्यवसायीले तिर्नुपर्ने छैन, प्रदेश सरकारले नै कोषबाट तिरिदिने छ । ‘ऋणीहरूबाट बैंकहरुले सेवा शुल्क, कर्जा सुरक्षण शुल्कलगायत कुनै पनि शुल्क लिन पाइने छैन’, ’सम्झौता गर्दै घिमिरेले भनिन्, ‘यसले कोभिड १९ ले कृषि, पर्यटन, उत्पादन तथा सेवा क्षेत्रका व्यवसायीलाई पारेको प्रभाव न्यूनिकरण गर्न एकदमै सहयोग गर्नेछ ।’

    कोभिड प्रभावित साना तथा मझौला व्यवसायीलाई लक्षित गरी ल्याइएको कर्जा सुविधामा ५० हजारदेखि १५ लाख रुपैयाँसम्म शून्य ब्याजदरमा ऋण लिन पाइने छ । कर्जाका लागि ३० दिने सूचना निकालिने र आवेदन प्राप्त भएको १५ दिनमा कोभिड प्रभावबारे अध्ययन गरिने घिमिरे बताइन् । ’त्यसपछि मात्रै बैंकले ऋण दिने वा नदिने निर्क्योल गर्न सक्छ,’ उनले भनिन् ।

    व्यवसाय जीवन रक्षा कर्जा ३ वर्षका लागि हुनेछ । कर्जा लिएको शुरूको महिनाबाटै सावाँ तिर्नुपर्दा व्यवसायीलाई झनै समस्यामा पार्ने भएकाले कर्जा लिएको ६ महिनापछिमात्रै तिर्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार प्रदेशसँग ३ वर्षका लागि सम्झौता गरिएको छ ।

    भट्टराईले कोभिड प्रभावित साना व्यवसायीको जीवनस्तर उकास्न गण्डकी प्रदेशले मौलिक काम गरेको बताए । ‘प्रदेशस्तरीय योजना भए पनि एकदमै नौलो र मौलिक कामको शुरूआत हो । अन्य प्रदेशमा यस्तो कार्यक्रम छैन,’ उनले भने ।

    प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले कोरोना कारण अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले करिब २७ अर्ब रुपैयाँ घाटा व्यहोरेको जानकारी दिए । ‘त्यो घाटालाई रिकभर गर्न पनि कोष ल्याउन जरुरी थियो । यसले लक्षित वर्गको स्तर उकास्न र घाटा न्यूनीकरण गर्न काम गर्नेछ,’ उनले भने ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण नेपालीले यो कोष र योजनाले प्रदेश सरकारलाई चिनाउने बताए । ऋण लिँदा झन्झट नभएर अझै सहज बनाउनुपर्ने उनको सुझाव छ ।

    कर्जा प्रक्रिया सरल बनाउन सामूहिक वा व्यक्तिगत जमानी, व्यवसायमा रहेको मौज्दात उपकरण, सवारीसाधन वा जग्गाजमीन धितो राख्न सकिनेछ । गण्डकी प्रदेशमा भएका १८ वटा वाणिज्य बैंकका ४८० वटा शाखामध्ये जुनसुकै शाखाबाट पनि निवेदन दिन सकिने प्रदेशले जनाएको छ ।

  • तत्काल ओलीसँग एकता असम्भव : प्रचण्ड

    तत्काल ओलीसँग एकता असम्भव : प्रचण्ड

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीसँगको एकता सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

    पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजनाको अवस्थामा पुगेको छ र दुवै पक्ष एकअर्कालाई खुइल्याउनमा व्यस्त छन् ।

    आज बिहान सम्पादकहरुसँगको अन्तक्र्रियाका क्रममा नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका प्रचण्डले भने, ‘ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मआलोचना वा गल्ती स्वीकार गर्ने अवस्था देखिन्न । ५/७ वर्षपछि के हुन्छ भन्न सकिन्न तर तत्कालका लागि पुनः एकता सम्भव छैन ।’

    प्रचण्डले केपी ओलीलाई बेलैमा सहमति पालना गराउन र विधि पद्धतिमा हिँडाउन नसक्नु आफूहरुको कमजोरी भएको भन्दै त्यसप्रति आत्मआलोचना गरेका छन् ।

    ‘हुँदा हुँदा उहाँ त कुर्सी भाँच्नेतर्फ नै जानुभयो,’ अन्तरक्रियामा प्रचण्डले भनेका छन् ।

  • ओलीले मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजना बनाएका थिए

    ओलीले मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजना बनाएका थिए

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताएका छन् ।

    सम्पादहरुसँगको अन्तरक्रियामा नेपालले भने- ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुन: विधि मिच्न थालेको उनको दु:खेसो थियो ।

    ‘ केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो। अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ’, नेपालले भने ।

    नेपालले भने- ‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थिए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।’

  • ‘सरकार ! हामीलाई घर न घाटको नबनाऊ’

    ‘सरकार ! हामीलाई घर न घाटको नबनाऊ’

    काठमाडौं । ‘ईन्द्र गौतम राजीनामा दे, इपिएस कोटा खारेज गर’ लतिलपुर ग्वार्कोस्थित इपिएस कोरिया शाखा कार्यालयको मुल ढोकाअघि यस्तै नारा लागिरहेको छ । ढोकाबाहिर सातदोबाटो र मंलगबजार क्षेत्र हेर्ने २ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वका सुरक्षाकर्मी प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि तयारी अवस्थामा छन् ।

    करिब १ सय युवाको टोली प्रदर्शन गरिरहेको छ, तर केही व्यक्ति भने प्रतिनिधिका रुपमा मुल ढोका भित्र पसेर इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमसँग बाझाबाझ गरिरहेका छन् । निर्देशक गौतम आफूले सक्ने काम आफ्नो तहबाट गरिरहेको र बाँकी काम दुई देशका सरकारले मात्र गर्न सक्ने जवाफ दिइरहेका छन् ।

    यसैबीच एक जनाको आवाज चर्को सुनिन्छ– इन्द्र सर हामी पागल भइसकेका छौ । कतिपय साथीहरुले मानसिक समस्या भोगिरहेका छन् । हाम्रो अवस्था पनि त्यस्तो हुन बेर छैन । त्यसैले तपाईं हामीलाई कोरिया पठाउने वातावरण निर्माण गरिदिनुहोस्, होइन भने तपाईं पनि राजीनमा दिनुहोस् । तपाईंले हामीलाई कोरिया पठाउने वातावरण निर्माण गर्नुभयो भने तपाईंको फोटो घरको भित्तामा मात्र होइन, काम गर्ने कम्पनीको भित्तामा समेत टाँसेर राख्नेछौं ।

    यसरी अर्को आवाजमा आक्रोशश्रित आग्रह गर्ने व्यक्ति हुन्, रुपन्देहीको सैनामैना नगरपालिका ६ का २१ वर्षीय महेश पाण्डे । विज्ञान संकायबाट १२ कक्षा उतीर्ण पाण्डेले इपिएस कोरियना भाषा परीक्षा गत वर्ष नै पास गरेका हुन् । उनले सीप परीक्षा पनि उतीर्ण गरे । भाषा परीक्षा पढ्नेदेखि लिएर कोरिया जानकै लागि भनेर १ लाखसम्म उनले खर्चिसकेका छन् ।

    उत्पादनमूलक कम्पनीमा काम गर्नका लागि छनोट भएका पाण्डेले थप ५६ हजार रुपैयाँ दक्षिण कोरिया उड्ने तयारी भएका बेला खर्चिए । ‘तर सरकारले कोभिड–१९ को बहाना बनाएर म जस्ता हजारौ युवालाई भाषा तथा सीप परीक्षा उतीर्ण गराएर पनि पठाएन । उनले आक्रोशित मुद्रामा सुनाए ।

    बुटवल बस्दै आएका पाण्डे कहिले सरकारले दक्षिण कोरिया पठाउने प्रक्रिया अघि बढाउँछ भनेर ५ पटकसम्म काठमाडौं धाइसकेका छन् । तर जहिले आए पनि रित्तो हात फर्किनुपरेको सुनाउँदै उनले भने– यसपालि त म यत्तिकै जादैँ जान्नँ । कि कोरिया जान्छु, कि अब अहिल्यै कोरिया नजाने गरी फर्किन्छु ।

    ०००

    भोटखोला गाउँपालिका– ४ संखुवासभाका २४ वर्षका मिना गुरुङ भने नारा जुलुस लगाइरहेको भीड भन्दा अलिकति टाढा उभिएकी छन् । उनले पनि शिक्षा संकायमा १२ कक्षा उतीर्ण गरेकी हुन् ।

    २ वर्षअघि पहिलोपटक काठमाडौं आएकी मिनाले २०७५ सालको चैतमा कोरिया भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन दिइन् । आवेदन दिएको २ महिनापछि २०७६ जेठ महिनामा भाषा परीक्षा भयो ।

    असारमा आएको नतिजामा उतीर्ण भएपछि उनले साउनमा भएको सीप परीक्षा पनि उतीर्ण गरिन् । मिना कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरिया जानका योग्य भइन् ।

    ‘त्यतिबेला म यति धेरै खुसी भए कि सायदै जिवनमा त्यति धेरै खुसी थोरै दिन मात्र भएको छु ।’ सीप परीक्षा पनि उतीर्ण गरेपछि मिनाले माघमा कोरियनमैत्री अस्पताल भक्तपुर पुगेर स्वास्थ्य परीक्षण गराइन् ।

    त्यहाँ पनि सफल भएपछि माघ १९ गते कामका लागि निवेदन पनि दिइन् । त्यसको १० दिनमा निवेदन स्वीकार पनि भयो । तर त्यसपछि निवेदन जारी हुन बाँकी थियो, २ महिना पुरा नहुँदै कोरोना महामारीले लकडाउन भएपछि अहिलेसम्म उनको निवेदन जारी भएको छैन ।

    उनी भन्छिन्– अहिलेसम्म सबै गरेर २ लाख भन्दा बढी खर्च भइसक्यो । तर समय पनि यति धेरै बितिसक्यो । कतिपय साथीहरुको निवेदन नै रद्द भइसकेको छ । डर लागेको छ । खै के हुने हो ।

    ०००

    रामेछामको गोकुलगंगा गाउँपालिका– ४ का भिम घिमिरेले व्यवस्थापन संकायमा १२ कक्षा उतीर्ण गरेका छन्, व्यवस्थापन संकायमा १२ कक्षा उतीर्ण गरे पनि कोरिया जाने बाटो भने अझै व्यवस्थापन हुन सकेको छैन ।

    सन् २०१८ मा इपिएस भाषा परीक्षा उतीर्ण गरेका घिमिरेले २०२० भित्र कोरिया गइसक्नुपर्ने थियो । भिसा जारी भएर उनको गत वैशाखमा नै अनुमानित उडान मिति तोकिसकेको थियो । तर त्यो मिति कटेको पनि १० महिना पुग्यो । अब उनले सन् २०२१ मार्च १३ तारिखसम्म उडिसक्नुपर्नेछ तर अझै कहिले उड्ने अत्तोपत्तो छैन ।

    उनलाई आफू कोरिया जान नपाएकोमा त्यति धेरै चिन्ता छैन, तर सरकारले २०२१ मा परीक्षा लिन्छ कि भन्ने चिन्ताले बढी पिरोलिरहेको छ । उनी भन्छन्– नयाँ भाषा परीक्षा लिएपछि नयाँ मान्छे उतीर्ण हुन्छन् । उनीहरु उतीर्ण भएपछि सरकारले नयाँलाई पठाउनमा जोड गर्ला । अनि हामी यतै थन्किन्छौ । अनि त हामी न त घरका न त घाटका हुन्छौ ।

    महेश पाण्डे, मिना गुरुङ र भिम घिमिरे मात्र इपिएस शाखा अगाडि धर्ना दिइरहेका छैनन्, उनिहरुसँगै धर्ना दिन आउनेको संख्या सयौं छ । घरमै बसेर चिन्ता र पीडामा बस्नेको संख्या हजारौ छ ।

    नेपालमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिने डरले सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरेपछि बैदेशिक रोजगारी ठप्प भएपछि कोरिया जाने रोजगारी पनि ठप्प नै छ ।

    कतिपय देशमा रोजगारीमा जान र आउन खुला भए पनि कोरिया जानका लागि भने खुला गरिएको छैन । हरेक वर्ष लिइने इपिएस भाषा परीक्षा सन् २०२० अर्थात् गत वर्ष २०७६ मा सञ्चालन हुन सकेन । सन् २०१९ मा उतीर्ण भएका व्यक्ति पनि जान पाएनन् ।

    वैदेशिक रोजगार विभागअन्तरगको इपिएस कोरिया शाखाका अनुसार सन् २०२० मा नेपालबाट ९ सय ५८ पुरुष र ६९ महिला गरेर १ हजार २७ जना नेपाली कोरिया गइसकेका छन् । तर उनीहरु कोरोना भाइरसको संङक्रमण फैलिनु अघि नै गएका हुन् ।

    सरकारले इपिएस भाषा र सीप परीक्षा उतीर्ण भएका व्यक्तिलाई पठाउनका लागि पहल गरिरहेको भए पनि यो विषय दुइ देशका सरकारबीचको विषय भएकाले नेपालले मात्र पहल गरेर नहुने इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले नेपाल प्रेससँग बताए । उनका अनुसार नेपाल सरकारले उच्च स्तरबाट पहल गरिरहेको छ ।

    नेपाल सरकार र कोरिया सरकारबीच सन् २००७ अर्थात् २०६४ सालमा वर्सेनि नेपाल कामदार कोरिया पठाउने समझदारी भएको थियो । पहिलो वर्ष सन् २००८ मा ३१ हजार ५ सय २५ जनाले कोरियन भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन दिएका सबै परीक्षामा सहभागी भए ।

    जसमा ६ हजार ४ सय ४ पुरुष र ३ सय ८० महिला गरेर ६ हजार ७ सय ८६ उतीर्ण भएका थिए । सन् २००८ मा २ हजार ७ सय ३३ पुरुष र ८१ महिला गरेर २ हजार ८ सय १४ कोरिया उडेका थिए ।

    दोस्रो वर्ष सन् २००९ मा भाषा परीक्षा हुन सकेन । परीक्षा नभए पनि अघिल्लो वर्ष उतीर्ण भएका १ हजार ८ सय ४७ जना पुरुष र ६४ महिला गरेर ६४ १ हजार ९ सय ११ जना कोरिया पुगेका थिए ।

    त्यसपछि सन् २०१० र २०११ मा भाषा परीक्षा भए पनि २०१२ मा भाषा परीक्षा हुन सकेन । त्यसपछिका ७ वर्ष भने नियमित भाषा परीक्षा चल्यो र नियमित रुपमा नेपाली युवा पनि कोरिया उडे ।

    इपिएस कोरिया शाखाका अनुसार १३ वर्षको अवधिमा ५ लाख ८९ हजार ६ सय १८ जनाले भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन दिए पनि ४ लाख ४८ हजार ७ सय ७१ जना मात्र भाषा परीक्षामा सहभागी भएका छन् । जसमध्ये ६९ हजार ७ सय ६० पुरुष र ७ हजार ६ सय १७ जना पुरुष गरेर जम्मा १३ प्रतिशत अर्थात् ७७ हजार ३ सय ७७ जना उतीर्ण भएका छन् ।

    उतीर्ण हुनेमध्ये ९८ प्रतिशत अर्थात् ७५ हजार ९ सय ८२ ले कामका लागि आवेदन फाराम भरेका छन् । त्यसबाट पनि ६२ हजार ८ सय ५२ पुरुष र ४ हजार २० महिला गरेर ८८ प्रतिशत अर्थात् ६६ हजार ८ सय ७२ नेपाली युवा २०७६ फागुन २१ सम्ममा कोरिया पुगेका छन् ।

  • बाँझो जमिन धितो राखेर पैसा दिने भूमि बैंकको काम कहाँ पुग्यो ?

    बाँझो जमिन धितो राखेर पैसा दिने भूमि बैंकको काम कहाँ पुग्यो ?

    काठमाडौं । सरकारले कृषिमा नयाँपन दिन भूमि बैंकको काम अगाडि बढाएको करिब एक वर्ष भएको छ । सरकारले ३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने प्रक्रिया सुरु गरेको भए पनि अहिलेसम्म टुंगो लागेको छैन ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले ६ महिनाअघि नियमावली बनाएर पठाएको बताए । नियमावली पास भएर नआएकाले कहिलेदेखि बैंक स्थापना हुन्छ भनेर यकिन गर्न नसकिएको जोशीको दाबी छ ।

    उनले भने, ‘सरकारले ३ सयवटा स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भनेपछि मन्त्रालयले इच्छुक पालिकालाई आवेदन पेस गर्न भनेको थियो । तर, २५ वटा मात्रै आवेदन आएको छ । थोरै आएकाले आवेदन कहिले बन्द हुन्छ भन्ने एकिन भएन । हामीले नियमावली बनाएर स्वीकृत गर्न पठाएको ६ महिना भइसकेको छ । तर नियमावली कहिले आउँछ भन्न सक्ने अवस्था छैन ।’

    यस आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं १०५ मा भूमि बैंक स्थापनाको कुरा उठाइएको छ । कोरोनाको कारणले विदेशबाट नेपाल फर्केका र सहरबाट गाँउ फर्केका युवाहरूलाई कृषिमा जोड्न भूमि बैंकको स्थापना र सञ्चालन गर्ने व्यवस्था मिलाइएको थियो । तर भूमि बैंकमा २५ वटा मात्रै आवेदन परेको कृषक र स्थानीय तहको चासो कम देखिएको छ ।

    भूमि बैंक भनेको बाँझो रहेको जग्गा बैंकलाई दिएर पैसा लिने र कृषिमा लाग्नेहरूले सोही बैंकबाट सरकारले तोकेको मूल्य तिरेर जग्गा प्रयोग गर्ने व्यवस्था हो । यसो गर्नाले जमिन्दार र किसानका बीचमा रहेको सम्बन्ध जग्गाको उत्पादकत्व तथा उपयोगितासँग जोड्ने र निजी उत्पादकलाई संस्थागत दायरामा ल्याउने अपेक्षा छ ।

    भूमि बैंक सञ्चालनका लागि जग्गा धनीबाट भाडामा लिएको र सरकारी स्वामित्वमा नरहेको जमिन प्रयोग हुन्छ । यसका लागि कृषि कार्य गर्न चाहने व्यक्तिले सम्बन्धित स्थानीय तहको समन्वयमा भाडामा लिनुपर्ने हुन्छ ।

    भूमि बैंक स्थापना भएपछि परम्परागत रूपमा भन्दा व्यावसायिक रूपमा उपयोग गर्दा जग्गाको उत्पादकत्व बढी हुने र बाँझो रहेको जग्गा पनि प्रयोगमा आउँछ । भूमि बैंकमार्फत् जग्गा प्रयोग हुँदा हिमाल, तराई, पहाडमा भिन्नाभिन्नै हुनेछ ।

    नेपाल कृषिप्रधान देश भनिए पनि खाद्यान्न विदेशबाट आयात हुने गरेको छ । भूमि बैंक स्थापनापछि उत्पादनमा वृद्धि हुने कृषि विज्ञहरू बताउँछन् ।

    सरकारले चालू आवदेखि नै संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा ३ सय पालिकामा भूमि बैंकको स्थापना गर्ने तयारी अनुरुप नै मन्त्रालयले काम अघि बढाएको छ ।

    भूमि बैंक सञ्चालनका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । बैंकमा केन्द्रीय सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ ।

  • प्रचण्ड–माधव पक्षलाई संसदीय गतिविधि गर्न नदिने ओली पक्षीय संसदीय दलको निर्णय

    प्रचण्ड–माधव पक्षलाई संसदीय गतिविधि गर्न नदिने ओली पक्षीय संसदीय दलको निर्णय

    सुनसरी । प्रदेश १ को ओली पक्षीय नेकपाको संसदीय दलको बैठकले प्रचण्ड–माधव पक्षका सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिने निर्णय गरेको छ । ओली पक्षले प्रचण्ड–माधव पक्षका १६ सांसदलाई संसदीय गतिविधि गर्न नदिने निर्णय गरेको हो ।

    आफ्नो पक्षले कारबाही गरेका सांसदलाई प्रदेशसभा बैठकमा प्रवेश नदिन ओली पक्षका सांसद सभामुखसमक्ष डेलिगेशन लिएर जाँदैछन् ।

    उक्त पक्षका प्रमुख सचेतक बुद्धीकुमार भण्डारीले भने– कारबाही गरिएका सांसदले कुनै पनि हालतमा प्रदेशसभा बैठकमा प्रवेश पाउनु हुन्न । यो हाम्रो सभामुखलाई आग्रह छ ।

    प्रचण्ड–माधव पक्षले भने आजदेखि सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईलाई दलको नेताका हैसियतमा बोल्न नदिने निर्णय गरेको छ ।

    यसले आज हुने प्रदेशसभा बैठक तनावपूर्ण हुने संकेत दिएको छ ।

  • राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा आर्मी र पुलिस भिड्दै

    राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा आर्मी र पुलिस भिड्दै

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय महिला लिग आजदेखि सुरु हुँदैछ । दशरथ रंगशालामा उद्घाटन खेल र बाँकी खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा तीन विभागीयसहित सात टिमको सहभागिता रहनेछ ।

    माघ २१ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो खेलमा आज दिउँसो २ बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने एन्फाले जानकारी दिएको छ ।

    गत वर्ष नै धरानमा हुने तय भएको यो लिग कोरोना भाइरसको महामारीका कारण हुन सकेको थिएन । चौदण्डिगढी नगरपालिका, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने यो लिगको विजेताले १५ लाख रूपैयाँ प्राप्त गर्नेछ ।

    त्यस्तै, दोस्रो र तेस्रो र चौथो हुने टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख रूपैयाँ प्राप्त गर्नेछन् । लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

    त्यस्तै, फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गर्नेछन् ।

    लिगमा सहभागी हुने टोलीका सम्पूर्ण खेलाडी तथा अफिसियल्सको खाने बस्ने तथा कसैलाई कोरोना भाइरसको शंका लाग्यो भने त्यसको व्यवस्था एन्फाले गर्नेछ ।

  • ‘शुल्क त लिनै पर्छ, लिन्छौं, जिम्मेवारी पनि बहन गर्छौं’

    ‘शुल्क त लिनै पर्छ, लिन्छौं, जिम्मेवारी पनि बहन गर्छौं’

    कोरोना महामारीका कारण बन्द भएका अधिकांश विद्यालय करिब ९ महिनापछि सञ्चालनमा आए । कोरोना कहरका कारण विद्यालय बन्द भएका बेला कतिपय निजी विद्यालयले अनलाइनमार्फत् पढाइ सुरु गरे । तर, पढाइ प्रभावकारी नभएको र चर्को शुल्क लिएको भन्ने अभिभावकको गुनासो आयो । निजी विद्यालय सञ्चालक भने उक्त गुनासो स्वीकार्दैनन् ।

    प्रस्तुत छ- विद्यालयले लिएको शुल्क, शैक्षिक सत्र र नयाँ पाठ्यक्रम विवादबारे नेपाल प्रेसका समर्पण श्रीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का महासचिव लोकबहादुर भण्डारीसँग गरेको कुराकानीः

    १० महिनापछि विद्यालय खुलेका छन् । तर, महामारीको जोखिम घटेको छैन । यो स्थितिमा विद्यालय खोल्नु उपयुक्त होला ?

    हो, कोरोनाको जोखिम अन्त्य भएको छैन । यो हामीसँगै अभिभावकको पनि चिन्ता हो । तर, विद्यालयले पनि जोखिमलाई बुझेर स्वस्थ्य सुरक्षा मापदण्ड पूरा गरेरै विद्यालय खोलेका छन् ।

    सुरक्षाको पाटोमा निजी विद्यालयले सबै प्रक्रिया अपनाएको छ । विद्यार्थीले अनिवार्य मास्क लगाएर विद्यालय हाताभित्र प्रवेश गर्नेछन् । शरीरको तापक्रमको आधारमा विद्यालयमा प्रवेश गराइनेछ ।

    बस्दा, हिँड्दा होस् वा कक्षाकोठा सबै ठाउँ सेनिटाइज गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीले सुरक्षित ढंगले पढाउने कुरामा निजी विद्यालयहरू सचेत छन् ।

    विद्यालय त भर्खर खुल्यो । शुल्क चाहिँ कहिलेदेखिको लिन्छन् अब ?

    शैक्षिक सत्र बाह्रै महिनाको गणना हुन्छ । हामीले सुरुदेखि नै अनलाइनबाट पढाउँदै आएका छौं । शुल्क तिर्नुपर्ने अभिभावकको दायित्वभित्र पर्छ । केही अभिभावकको समस्या पनि हामीले बुझिदिएका छौं ।

    तर, उहाँहरूले नियमित तिर्नुपर्ने शुल्क तिराउनचाहिँ हामी लागेका छौं । यो कोरोना महामारीको बीचमा पनि विद्यालय कसरी चल्यो ? त्यो कुरा पनि ख्याल गर्नुपर्छ । स्कुलले शुल्क त लिनै पर्छ, लिन्छ ।

    पढाइ नै नभएको बेलाको पनि चर्को शुल्क असुलेको अभिभावकको गुनासोमिश्रित आरोप छ नि !

    यो आरोप अभिभावकको होइन, विभिन्न संगठनमा रहेकाको हो । जसले आफ्नो छोराछोरीलाई रेगुलर स्कुल पठाइरहेका छन् र कक्षामा समावेश गराइरहेका छन् । उनीहरूले निजी विद्यालयले कसरी पढाइरहेको छ भन्ने कुरा बुझेका छन् । लागेको शुल्क पनि तिरेका छन् ।

    समस्या भएका अभिभावकलाई हामीले बुझिदिएका पनि छौं । तर, सबैको एउटै समस्या होइन । अनलाइन कक्षा नगरिकन निजी विद्यालयले शुल्क उठाएको भन्ने त थाहा छैन । नियमित एटेन्डेन्स गरिएको छ र शैक्षिक सत्र खेर जान दिनु हुँदैन भनेर कोर्स अगाडि बढाएको बुझेर अभिभावकले शुल्क तिरेका छन् ।

    महामारीमा कारण धेरै अभिभावकको पेसा व्यवसाय गुमेको छ । विद्यालयले अभिभावकको मर्म बुझेर छुट दिनुपर्ने होइन र ?

    शुल्कमा धेरै केन्द्रित हुनुपर्ने कारण नै छैन । हामी शुल्कलाई बढी हाइलाइट गरिरहेका छौं । स्कुलले बहन गर्नुपर्ने कर्तव्य र दिएको सेवामाथि ख्यालै गर्दैनौं । खासमा स्कुल नै बन्द गर भन्ने हिसाबले भनेको हो भने अर्को ढंगले बुझ्नुपर्ने हुन्छ ।

    रेगुलर हुनुपर्ने हो भने त विद्यार्थीहरूको लागि स्कुल पनि एउटा घर हो नि । त्यहाँ पनि बच्चाको हेरचाह गर्नुपर्छ नि !

    उनीहरूलाई केयर गर्ने मान्छे तयारी भएर बस्नुपर्छ । केयर गर्नका लागि गाडी, संरचनादेखि शिक्षक पनि तयार बस्नुपर्छ । घरले गर्नुपर्ने काम सबै स्कुलले गरेको छ ।

    यो बेलामा पनि शिक्षकले अनलाइनबाट उतिकै समय दिएर मेहेनतका साथ पढाइरहनुभएको छ । कुनै पनि ढंगबाट कमी महसुस हुन दिएको छैनौं । त्यसकारण सबै कुरालाई हेर्ने हो भने शुल्कलाई जोड गर्नुपर्ने कारण छैन ।

    शुल्क पनि अभिभावकको अवस्था र उनीहरूको आवाजलाई सुनेर हामीले लिनुपर्छ । शुल्क लिनुहुन्न भन्ने खालका आवाज आउनु नपर्ने जस्तो लाग्छ ।

    यसबारे सरकारले केही भनेको छैन ?

    केही भनेको छैन । अनलाइनलाई पनि हामीले कक्षाकै रुपमा गणना गरेका छौं । शुल्क नलिनु वा कम लिनु भनेर सरकारले कतै भनेको छैन ।

    अनलाइन कक्षा कतिको प्रभावकारी हुँदो रहेछ त ?

    खासमा महामारीलाई बालबालिकाले अवसरको रुपमा लिएका छन् । हाम्रा बच्चाहरू सबै आइटीमा प्रवेश गरिसके । यो अनलाइन कक्षाको अनुभवबाट पनि थाहा हुन्छ, विद्यार्थीले कोर्सबुकसँगै आइटीका नयाँ कुरा पनि सिकेका छन् ।

    यो उनीहरूको नयाँ सिकाइ हो । भौतिक रुपमा उपस्थित हुँदा पनि विद्यार्थीको पढ्ने कला र प्रक्रिया नै फरक हुन्छ । अब स्कुल पनि त्यो ढंगले अगाडि बढ्छ । कोर्सका कुरा सक्ने भन्दा पनि सिकाइ प्रक्रियामा फरक ढंगले स्कुल जानेछन् ।

    अनलाइनमा सिकेका कुरालाई अवसरको रुपमा लिएर शिक्षकले प्रयोग गर्नेछन् ।

    धेरै ठाउँका निजी विद्यालय र विद्यार्थी अनलाइनको पहुँचमा थिएनन् । कसरी सबैले सिक्ने मौका पाए र ?

    सबैमा पहुँच पुगेको छ र सक्षम छन् त म भन्दिनँ । खासमा राज्यले यसमा लगानी गर्नुपथ्र्यो, गर्नुपर्छ । राज्यले सबै ठाउँमा इन्टरनेट पुर्याइदिनु पर्ने हो । निजी विद्यालयले त त्यतिधेरै लगानी गर्न सक्दैन । यदि आइटीमा राज्यले लगानी गर्ने हो भने कुनै पनि बच्चा पढ्ने अवसरबाट वञ्चित हुँदैनन् ।

    कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमबारे पनि विवाद छ । किन यस्तो विवाद र अन्योल भएको होला ?

    हामीले ५ वटा विषय पढाइरहेका थियौं । अहिले विद्यार्थीहरू ७ वटा विषय पढ्न बाध्य छन् ।

    अहिले अनिवार्य विषय ४ वटा पढ्नुपर्ने र आफूलाई चाहिने विषयमा फोकस कम हुने अवस्था छ । गणित भोलि कुनै पनि विषय पढ्नका लागि आवश्यक छ । मेडिकल पढ्नका लागि पनि यो अनिवार्य विषय हो । जबर्जस्ती लैजान खोजेर हुँदैन ।

    नेपाली विषयहरू भाषाका विषय हुन् । अनिवार्य विषय चार ओटा पढेर आफूलाई चाहिने विषय ३ वटा समावेश गर्दा ७ वटा विषय पढ्नुपर्छ ।
    हाम्रो मान्यताचाहिँ उसलाई चाहिने विषय उसले पढ्नुपर्छ । धेरै विषय बढाएर बोझ बनाउनुभन्दा पनि घटाउने कुरामा जानुपर्छ भन्ने कुरामा हाम्रो जोड हो । अन्य देशमा चाहिने विषय मात्र पढाइ हुन्छ र उनीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्छन् ।

    तर, हाम्रा विद्यार्थीलाई धेरै विषय लादेर चाहिने पढाइ प्राथमिकतमा पर्दैनन् । गरिबका छोराछोरी ७ वटा विषय पढेर गाउँमै बस्नुपर्ने, वैदेशिक रोजगारीका लागि खाडी मुलुकक जानुपर्ने अवस्था छ । यस्तो शिक्षा हैन ,अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कोर्स हाम्रोमा हुनुपर्छ भन्ने कुरा हामीले उठाएका हौं ।

    पाठ्यक्रममा अपडेट त हुनुपर्छ तर अनिवार्य विषय धेरै बनाउनु हुन्न भन्ने हाम्रो भनाइ हो ।

    नयाँ पाठ्यक्रम विद्यार्थीमैत्री छैन, यो लागू हुनुहुँदैन भन्न खोज्नुभएको हो ?

    पाठ्यक्रम विद्यार्थीमैत्री छ । तर, विषयवस्तु धेरै भयो । परिवर्तन हुनु हुन्न भन्ने कुरा होइन, आधारभूत तहमा पोख्त बनाउनुपर्ने कुरालाई अनिवार्य किन बनाउने भन्ने कुरा हो । बरु, ऐच्छिक विषय राख्दा हुन्छ भन्ने हो ।

    अदालतको आदेश र सरकारको निर्णय त मान्नैपर्यो । सरकारले निर्णय गर्दा चाहिँ सोचेर गरोस् भन्ने हो । अहिले शिक्षा मन्त्रालयले मात्र गरेको निर्णय हो । क्याबिनेटले गरेको छैन । अब क्याबिनेटले निर्णय गनुप¥यो । एउटा समान्य कर्मचारीले यस्तो संवेदनशील विषयमा निर्णय गर्दैमा हुँदैन । मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्छ ।

    शैक्षिक सत्र र परीक्षाको सवालमा के हुन्छ त ?

    ११ र १२ को परीक्षा पनि भयो । एसइईको परीक्षा र मूल्यांकन पनि यो पालिको हामीलाई अनुभव नै छ । अब परीक्षा फेस टु फेस नै गर्ने कुरा छ ।

    आन्तरिक मूल्यांकन त स्कुलको अभ्यासमा फेल खाएको छ । परीक्षाको सवालमा विद्यार्थीलाई आफ्नो सही मूल्यांकन भएको छ भन्ने बनाउनु पर्यो । हामी अहिले छलफलकै क्रममा छौं ।

    यो वर्षको शैक्षिक सत्र कहिले सकिएला ?

    यो त बहसकै विषय छ । शिक्षा मन्त्रालयले छलफल गर्ला ।

    अबका योजना के छन् ?

    हामीले हरेक वर्ष गर्दै आइरहेका शैक्षिक मेला पनि ठप्प भए यसपालि । शैक्षिक मेलाबाट विद्यार्थीहरूले धेरै जानकारी प्राप्त गर्थे । अब के गर्ने भनेर योजना बनाइरहेका छौं । छलफलमा छौं ।

    विभिन्न गतिविधि र कार्यक्रमलाई निरन्तरता दिन्छौं । संगठनलाई मूर्तरुप दिएर गतिविधि चुस्त बनाउँछौं । बाँकी त योजनामा काम भइरहेका छन् ।

  • खेल पत्रकारमाथि भएको अभद्र व्यवहारको मञ्चद्वारा भर्त्सना

    खेल पत्रकारमाथि भएको अभद्र व्यवहारको मञ्चद्वारा भर्त्सना

     

    काठमाडौं । नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समाचार संकलनका क्रममा आयोजक टोलीका एक जिम्मेवार सदस्यबाट समाचार संकलन गर्न पुगेका खेलकुद पत्रकारमाथि अभद्र व्यवहार भएकोमा नेपाल खेलकुद पत्रकार मञ्चले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

    प्रतियोगिता अन्तर्गत मंगलबार मूलपानी क्रिकेट मैदानमा कर्णाली र गण्डकी प्रदेश विचको खेल सम्पन्न भए पश्चात नियमित पोष्ट म्याच प्रेस कन्फ्रेन्स भएको थियो । जसमा खेल पत्रकारले कर्णालीका प्रशिक्षकसंग अन्तर्वार्ता लिइरहेका बेला बाग्मति प्रदेश क्रिकेट संघका सदस्य अजय बीर पाण्डेले ‘कति चाहिने नचाहिने प्रश्न गरिरहेको रुु भन्दै आक्रामक रूपमा प्रस्तुत भएर पत्रकार सम्मेलनमा हस्तक्षेप गरेका थिए ।’ मिडिया जोनु मा अन्तर्वार्ता चलिरहेको बेला उनले गरेको सो अभद्र व्यवहारको खेलपत्रकारहरूले विरोध गरेका थिए । तर, पाण्डे त्यतिमा रोकिएनन् ।

    पत्रकार सम्मेलन अवरुद्ध भएपछि त्यहाँबाट हिँडेका पत्रकारहरुलाई उनले फेरी अभद्र व्यवहार गरेका थिए । पत्रकारहरुले प्रतिकार गर्न खोज्दा धम्कीको भाषा प्रयोग गरेका थिए । खेलकुद पत्रकार मञ्चले पाण्डेले गरेको सो कार्यको घोर भत्सर्ना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

    ‘उनीमाथि कडा भन्दा कडा कारवाहीको माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘पाण्डे पीएम कपको एन्टी करप्सन युनिट (एसीयु) कमिटीका सदस्य पनि हुन्। यस सन्दर्भमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुर्यालसँग छलफल हुँदा उनीहरुले पाण्डेको हरकतबारे ध्यानाकर्षण भएको जनाएका छन् र छानविन गरी दोषी भेटिए कारवाही गर्ने वचनवद्धता प्रकट गरेका छन् ।

    मञ्चले दोषी माथि कारवाही गरी खेल पत्रकारहरूलाई सुरक्षित रूपमा सूचना संकलन गर्ने वातावरण बनाउन क्यानसँग माग गरेको छ ।

  • प्रधानमन्त्री कपः सुदूरपश्चिमबिरुद्ध टस जितेर फिल्डिङ गर्दै पुलिस

    प्रधानमन्त्री कपः सुदूरपश्चिमबिरुद्ध टस जितेर फिल्डिङ गर्दै पुलिस

    काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘ए’ को आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

    त्यस्तै मूलपानी क्रिकेट मैदानमा हुने समूह ‘बी’को खेलमा भने त्रिभुवन आर्मी क्लबविरुद्ध प्रदेश नम्बर १ ले टस जितेर ब्याटिङ रोजेको छ ।

    पहिलो खेलमा बाग्मतीसँग लज्जास्पद पराजय बेहोरेको साविक विजेता नेपाल पुलिस क्लब आजको खेल जित्दै लयमा फर्किन चाहन्छ । त्यस्तै, बाग्मतीसँगै पराजित भएको सुदूरपश्चिम पनि लयमा फर्किन चाहन्छ ।

    अन्तिम चारमा स्थान बनाउनका लागि दुवै टोली आजको खेल जित्न चाहन्छन् ।

    त्यस्तै, समूह ‘ए’मा सुरुआती दुई खेल जितेको आर्मी शीर्ष स्थानमा कायम रहन चाहन्छ । अर्कोतिर सुरुआती दुई खेलमा जितविहीन प्रदेश १ आर्मीविरुद्ध पहिलो जितको खोजीमा हुनेछ ।

  • आजदेखि सुरु हुने प्रदेशसभा बैठकमा नेकपा सांसदबीच मुठभेडको खतरा !

    आजदेखि सुरु हुने प्रदेशसभा बैठकमा नेकपा सांसदबीच मुठभेडको खतरा !

    विराटनगर । प्रदेश १ को नेकपा संसदीय दल भित्रको विवाद उत्कर्षमा छ । यही बेला आज प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुँदैछ । अरान्ह २ बजे आह्वान गरिएको प्रदेशसभा बैठक मुठभेडतर्फ जाने सम्भावना बढेको छ ।

    नेकपाका एकले अर्को समूहलाई कारबाही गरेको बताउँदै आएको समयमा बस्न लागेको प्रदेश सभा बैठकमा ओली पक्षद्वारा सांसदलाई प्रदेशसभामा रोक्ने तयारी रहेको छ । प्रचण्ड–माधव समूहको प्रदेशसभामा प्रवेशमा अबरोध भए प्रतिवाद गर्ने रणनीति बनाएका छन् । यतिसम्म कि दुबै पक्ष एक–अर्काप्रति आक्रामक देखिएपछि प्रदेश सभा बैठक मुडभेठतर्फ जाने संकेत देखिएको छ ।

    मुख्यमन्त्री राईको अध्यक्षतामा मंगलबार पन पार्कमा बसेको अनौपचारिक बैठकले नै प्रचण्ड–माधव समूहका सांसद प्रदेशसभामा प्रवेशमा अबरोध गर्ने निर्णय नै गरिसकेको छ । ओली पक्षका दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले निलम्बन गरिएका १६ सांसदलाई संसद् बैठकमा प्रवेश गर्न रोक्ने बताइसकेका छन् ।

    मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा उनीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ सांसदलाई निलम्बन गरेका थिए । तर उनको समूहमा अहिले ३० सांसद छन् । तीनजना थप सांसद त्यो समूहमा आउने र बहुमत पुग्ने दाबी प्रमुख सचेतक राजभण्डारीले गरेका छन् ।

    प्रचण्ड–माधव समूहका दलको नेता भीम आर्चायको अध्यक्षतामा मंगलबार नै बसेको बैठकले शेरधन राई दलको नेताबाट हटाइसकेको अबस्थामा उनले गरेको कारबाही बैधानिक नहुने बताइसकेको छ । संसदीय दलको नेताबाट हटाएर राईको ठाउँमा भीम आचार्यलाई नेता चयन गरेको घोषणा गरिएको छ । तसर्थ प्रदेश सभामा प्रवेशमा ओली समूहले जोर–जबरजस्ती गरे प्रतिवाद गरिने निर्णय गरिसकेको छ ।

    नेकपाको प्रचण्ड–माधव समूहका सांसद राजेन्द्र राईले ओली पक्षबाट आफुहरुलाई प्रदेश सभा बैठकमा रोक्न खोजे प्रतिवाद गर्ने बताएका छन् ।

    प्रदेश १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको प्रचण्ड–माधव समूहले प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गेको छ ।

    यसअघि दलका नेता एवं मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा र संसदीय दलमा अविश्वास प्रस्ताव पेश गरेको समूहले दलको नेतामा भीम आचार्यलाई चुनेको थियो ।
    मुख्यमन्त्री राईले आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड–माधव पक्षका १६ सांसदलाई पनि निलम्बन गरेको घोषणा गरेका थिए । तर दुबै पक्षले एकले अर्कालाई गरेको कारबाही अबैधानिक भएको दाबी गर्दै आएको छ । मुख्यमन्त्री शेरधन राईले त आफूविरुद्धको अविश्वासका प्रस्ताव दर्तामा रित नपुगेको भन्दै खारेज हुनुपर्ने बताइसकेका छन् ।

    मर्यादापालकको संख्या थप्नेदेखि कुर्सी ‘वेल्डिङ’सम्म

    नेकपाको दुबै समूह एक अर्को प्रति आक्रमक ‘मूड’मा देखिएपछि प्रदेश सभा बैठकमा हुनसक्ने सम्भावित मुडभेठलाई ध्यानमा राखेर मर्यादापालकको संख्या थप्नेदेखि कुर्सी ‘वेल्डिङ’सम्मको काम सम्पन्न गरेको छ ।

    दुई समूहमा बाँडिएको नेकपाभित्र प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रस्ताव माथिको छलफल अगाडि बढाउने क्रममा सभाहलका कुर्सीहरुलाई समेत कसिलो बनाउन ‘वेल्डिङ’ गर्ने काम भएको हो । सत्ता पक्षका सांसद बस्ने लाइनका सवै ६५ कुर्सीलाई ‘वेल्डिङ’ गरेर कसिएको छ ।

    कुर्सीलाई एक अर्कामा जोडिसकेपछि त्यसलाई उचाल्नै नमिल्ने गरी भुईंमै फलमको पात्ताले जोड्एिको छ । जसका कारण बैठकमा मुठभेड तर्फ गए पनि कुर्सी उठाउन नमिल्ने गरी कुर्सीको व्यवस्थापन गरिएको हो ।

    त्यसैगरी सचिवालयमा रहेका मर्यादापालकको संख्या पनि थपिएको छ । बैठकको सवेदनशिलतालाई मध्येनजर गदै मर्यादापालकको संख्या ४७ बाट बढाएर ५७ पु¥याइएको छ । उनीहरूलाई सचिवालयको सुरक्षा शाखाले आवश्यक निर्देशन र संसद बैठक चल्दा हुन सक्ने क्रियाकलापबारे जानकारी समेत गरी तयारी अबस्थामा राखिएकोे छ । नेकपाका सत्ता पक्षका सांसद आजको प्रदेशसभाको बैठकमा पुरानै अबस्थाको सत्तापक्षको लाइनमा बस्ने व्यवस्था मिलाइएको छ ।

    मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव पेश गर्ने प्रचण्ड–माधव समूहका सांसद कानुनी रूपमा अहिले पनि सत्ता पक्षमै गनिने भएकाले उनीहरुलाई एउटै लाइनमा बस्न व्यवस्थापन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    दल बिभाजन नभएका कारण सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूलाई साविक बमोजिम नै बस्ने व्यवस्था मिलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

    अप्ठारोमा सभामुख

    नेकपाको संसदीय दल भित्रका सांसदहरु दुई खेमामा विभाजनसगै प्रदेशसभामा निषेध गर्ने प्रयास गरेका कारण सभामुख प्रदीपकुमार भण्डारी अप्ठ्यारोमा परेका छन् ।

    दुबै समुह एक अर्काप्रति आक्रमक देखिएपछि प्रदेशसभाको कामकारबाही समेत प्रभावित हुने देखिन्छ कसरी अगाडी बढने भन्ने बारेमा सभामुख भण्डारी अप्ठ्यारोमा परेका हुन् । यही अप्ठारेमालाई चिर्न सभामुख भण्डरीले कानूनी परामर्श समेत गरेका छन् ।

    सभामुख भण्डारीले प्रदेशसभाले दलको विधान नचिन्ने र प्रदेशसभा सञ्चालनका लागि प्रदेशसभा नियमावली अनुसार चल्ने बताउँदै आएका छन् । प्रदेशसभा बैठक अघि सभामुखले परामर्श समितिको बैठक राख्ने परम्परा छ । त्यो बैठकले कार्यसूची निर्धारण गर्छ । तर मंगलबारसम्म सभामुखले परामर्श समितिको बैठक बोलाएका छैनन् ।

    सभामुखको सहयोगका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सम्भावना कम भएकाले अब सभामुखले कार्यसूचीमा समावेश गराई अविश्वास प्रस्तावबारे सदनमा छलफल गराउनुपर्ने अबस्था छ । यस्तो अबस्थामा प्रदेश सभाको कामकारबाहीलाई सुचारु रुपमा अगाडी बढाउनुपर्ने जिम्मेबारी सभामुखको अगाडी आइपरेको छ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी पनि नेकपाबाटै प्रदेशसभा सदस्य बनेका थिए ।

    प्रदेशसभाको काम कारबाही रोकिन हुन्नः कांग्रेस

    प्रदेश–१ को मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले विभाजन उन्मुख देखिएको नेकपा अन्तरद्वन्द्वको असर प्रदेशसभाको काम कारबाहीमा पर्न नहुने बताएको छ । उसले कुनै पनि हालतमा प्रदेशसभा बैठक स्थगित हुन नहुने बताउँदै आएको छ ।

    प्रदेश–१ कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मंगलबार संसदीय दलको बैठकपछि संचारकर्मीसंगको कुराकानीमा संसद नियामावालीअनुसार ६ महिना भन्दा बढी संसदलाई बन्द गर्न नमिल्ने भएकाले कांग्रेसले संसद चल्नुपर्ने माग राख्ने बताए ।

    उनले सरकारले गरेको काम कारबाहीका बिषयमा अहिले प्रश्न उठाउने बिषयमा बैठकको कार्यसुचीमा राखेर आबश्य छलफलमा जान सकिने बताए । ‘प्रदेश सभाको बैठक काम अगाडी बढाउन थुप्रै एजेण्डा छन्’ कोइरालाले भने, ‘यतिधेरै एजेण्डा हुँदाहुँदै संसदलाई छलेर कसरी अगाडि बढ्न सकिन्छ ? यो मुलुकमा संघीयता छ भने जस्तोसुकै परिस्थितिमा पनि संसद चल्नुपर्छ भन्ने कांग्रेसको मान्यता हो ।’

  • प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, मुख्यमन्त्रीबिरुद्धको अविश्वास प्रस्ताव पेश हुन सक्ने

    प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, मुख्यमन्त्रीबिरुद्धको अविश्वास प्रस्ताव पेश हुन सक्ने

    विराटनगर । गत महिना केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भएको नेकपा विभाजनको असर प्रदेशस्तरमा पनि पुगेको छ । यसबीचमा प्रदेश १ को प्रदेशसभाको हिउँदे अभिवेशन आजदेखि सुरु हुँदैछ ।

    प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईबिरुद्ध परेको अविश्वासको प्रस्ताव सभामा निर्णायर्थ प्रस्तुत हुनेछ । नेकपा ओलीपक्षका मुख्यमन्त्रीबिरुद्ध नेकपाकै प्रचण्ड–माधव पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड(माधव पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । तत्कालीन समयमा आफ्ना पक्षमा ४२ सांसद रहेको दाबी गदै आएको थियो । तर, ५ सांसदको कित्ता परिवर्तन र तटस्थ रहेका भनिएका केही सांसद पनि राईकै पक्षमा उभिने भएपछि भीम आचार्यको पक्षमा अब ३२ सांसदमात्र छन् ।

    मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रचण्ड(माधव नेपाल पक्षले दर्ता गरेको अविश्वासको प्रस्ताव रित नपुगेको भन्दै खारेज हुनुपर्ने बताएका छन् ।
    हिजाे मुख्यमन्त्री राईले नेपालप्रेससँग कुरा गर्दै भनेका थिए, ‘मेरो बिरुद्ध दर्ता भएको अवश्विासको प्रस्तावको दर्ता प्रकृया नै विधिसम्मत ढंगबाट आएको छैन। त्यसैले प्रस्तावमाथि छलफल गर्नु आवश्यक देखिदैन । त्यो खारेज हुनुपर्छ ।’

    कुल ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन्। तर अहिलेपनि कांग्रेसको साथ नभई नेकपाको दुवै पक्ष अविश्वासको प्रस्ताव पास या फेला गराउन नसक्ने अवस्थामा छन् ।

    प्रदेश सभामा २१ सिट रहेको कांग्रेसले कसलाई समर्थन गर्ने भन्ने कांग्रेसले अहिलेसम्म आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । कांग्रेसले अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो भने प्रस्ताव फेल हुनेछ । तर, त्यसपछि एक महिनाभित्र राईले विश्वासको मत लिनुपर्नेछ ।

    प्रस्ताव बहुमतले पास या फेल गर्न ४७ मत आवश्यक पर्छ । प्रस्ताव पास या फेल गर्ने बारे नेकपाका दुवै समूह अल्पमतमा छन् । नेकपा दल विभाजन नभए पनि सांसद दुवै समूहमा विभाजित भएकाले दुवै बहुमत पुग्ने अवस्थामा छैनन् ।

  • ट्रम्पको बिदाई वक्तव्य– हामी जे गर्न आएका थियौं, त्यो गर्‍यौं

    ट्रम्पको बिदाई वक्तव्य– हामी जे गर्न आएका थियौं, त्यो गर्‍यौं

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नुअघि बिदाई सम्बोधन गरेका छन् । नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले आज औपचारिक रुपमा पदभार ग्रहण गर्नुअघि ट्रम्पले यूट्यूवमार्फत बिदाई बक्तव्य सार्वजनिक गरेका हुन् ।

    सम्बोधनमा उनले भनेका छन्, ‘हामीले त्यही गर्‍यौं, जे गर्नका लागि आएका थियौं । अझ त्यो भन्दा पनि बढी गर्‍यौं ।’

    ‘यो कठिन लडाई थियो र कठिन भिडन्त रह्यो । तर मैले सामना गरें किनभने तपाईंहरुले मलाई यही गर्नका लागि निर्वाचित गर्नुभएको हो,’ भिडियोमा ट्रम्प अगाडि भन्छन ।

    ट्रम्प अझै पनि नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा आफ्नो हार स्वीकार गर्न सकिरहेका छैनन् । जहाँ उनी डेमोक्र्यटिक पार्टीका बाइडेनसँग पराजित भएका थिए । बाइडेन नेपाली समयअनुसार आज मध्यरातमा सपथ लिँदैछन् ।

    ट्रम्पको कार्यकालका अन्तिम २ साता संसद भवन (क्यापिटल हिल)मा भएको हिंसात्मक दंगाले प्रभावित बन्यो । उनका समर्थकले अमेरिकी कंग्रेसमाथि ६ जनाको ज्यान जाने गरी आक्रमण गरे, उनीहरु चुनावी परिणाम उल्टाउन चाहन्थे ।

  • भारतले आजदेखि नेपालमा खोप आपूर्ति गर्ने

    भारतले आजदेखि नेपालमा खोप आपूर्ति गर्ने

    काठमाडौं । भारतीय विदेश मन्त्रालयले आजदेखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको छ ।

    विज्ञप्ती जारी गर्दै मन्त्रालयले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्समा खोप आपूर्ति शुरु हुने उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटमार्फत बुधबारदेखि नै खोप वितरण सुरु हुने लेखेका छन् ।

    मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने बताए पनि परिमाण भने खुलाएको छैन । तर, कतिपय भारतीय मिडियाले चाहिँ छिमेकी मुलुकलाई १ करोड डोज उपलब्ध गराउन लागेकाे उल्लेख गरेका छन् ।

    नेपाल सरकारले भने कति परिमाणमा खोप आइपुग्छ भनेर केही बताएको छैन । अघिल्लो साता नेपालको औषधी व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

    नेपालले भने ६० लाख जनसंख्याको लागि कोभिसिल्ड भ्याक्सिनको माग गरेको छ । भारतीय विदेश मन्त्रालयले भने आन्तरिक माग पूरा हुने निश्चित भएको कारणले मात्र छिमेकी मुलुकलाई खोप उपलब्ध गराउने उल्लेख गरेको छ।

     

  • चेल्सीलाई हराउँदै लिसेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियाे

    चेल्सीलाई हराउँदै लिसेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियाे

    एजेन्सी । घरेलु मैदान किङ पावर रंगशालामा चेल्सीमाथि २–० को शानदार जितका साग लिसेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । यो हारले संघर्षरत चेल्सीका प्रशिक्षक फ्र्यांक लाम्पार्डमाथिको दवाव बढेको छ ।

    लिसेस्टरले बुझको थियो कि जितले उनीहरुलाई म्यानचेस्टर युनाइटेडभन्दा माथि पु¥याउने थियो । खेल सुरु भएको छैटौं मिनेटमै विल्फ्रिेड एनडीडीले २० यार्डबाट आकर्षक गोल गरी घरेलु टोलीलाई अग्रता दिलाए ।

    खेलमा चेल्सीको आक्रमण विरलै देखियो । यद्यपि पहिलो हाफमा पेनाल्टीको अवसरमा भिडियो असिस्टेन्ट रेफ्री (भार) बाधक बनेको थियो । लिसेस्टरका जोन्नी इभान्ससँगको टुयाकलमा क्रिष्टियन पुलिसिच बक्सभित्र लडेका थिए । तर भारले उनको ट्याकल बक्स बाहिर भएको निर्णय गरिदियो ।

    चेल्सी प्रशिक्षक लाम्पार्डको तनाव बढाउँदै पहिलो हाफको चार मिनेटअघि लिसेस्टरले अर्को गोल थप्यो । मार्क अल्बिराइटनको पासमा जेम्स म्याडिसनको हाफ भली प्रहार चेल्सीका गोलरक्षक एडोवार्ड मेन्डीले रोक्न सकेनन् ।

    दोस्रो हाफमा पनि चेल्सी खेलमा फर्कन सकेन । सुरुमै २ गोलको अग्रता बनाएको लिसेस्टर अग्रता कायम राख्ने ध्यानमै केन्द्रित रह्यो । दोस्रो हाफमा दुवैले गोल गर्न सकेनन् ।

    यो जितले लिसेस्टरलाई शीर्ष स्थानमा १ अंकको अग्रता दिलाएको छ । उसले १९ खेलबाट ३८ अंक भएको छ । एक अंक कम रहेको युनाइटेडले एक खेल कम खेलेको छ । चेल्सी आठौं स्थानमा छ । च्याम्पियन्स लिगको स्थानभन्दा ५ अंकको दूरीमा छ ।

  • ‘ब्याटल ग्राउण्ड’मा प्रचण्ड–म युद्ध लडेको कमाण्डर हुँ, अब केपी सिद्धिए (भिडियो रिपोर्ट)

    ‘ब्याटल ग्राउण्ड’मा प्रचण्ड–म युद्ध लडेको कमाण्डर हुँ, अब केपी सिद्धिए (भिडियो रिपोर्ट)

    काठमाडौं । पार्टी विभाजनपछि केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चलेको दोहोरी ब्याटल रोकिएको छैन । तर पछिल्ला दुई दिनयता ओलीको बोली सार्वजनिक रुपमा नआउँदा प्रचण्ड एकल रुपमा हावी भइरहेका छन् ।

    मंगलवार प्रचण्ड माधव पक्षधर पत्रकारहरुको राष्ट्रिय भेलामा पनि उनी ओलीविरुद्ध गर्जिए र मूल रुपमा उनले चारवटा आरोप र चेतावनी ओलीमाथि बर्साए । जसलाई नेपालप्रेसले भिडियो सहित ब्याटल राउण्डमा पुर्याउन कोशिस गरेको छ ।

    आरोप १

    केपी ओलीले हिजो जुन विदेशी शक्ति (भारत) विरुद्ध देखाएर राष्ट्रवादी बनेका थिए आज उनीहरुसँगै लम्पसार परेर पार्टी विभाजन र संसद विघटन गरे । ओलीको खोक्रो राष्ट्रवाद र सामन्ती राष्ट्रवाद देखिइसक्यो ।

    आरोप २

    अघिल्लो वर्ष मेरो अध्यक्षतामा केन्द्रीय कमिटी बैठक सफल रुपमा सम्पन्न भएपछि नै केपी ओलीले अब प्रचण्डलाई अध्यक्षबाट हटाउनुपर्छ भनेर गुटका भेला थाले । मलाई ध्वस्त पार्न कुर्सी हटाइदिए । कुर्सी बोकेर फेरि त्यहिँ जान लाज लाग्यो, माधव नेपालले त त्यो कुर्सी बोकेर केपी ओलीलाई छाड भन्दै सँगै बस्थेँ भन्नु हुन्थ्यो । त्यहि दिनबाट ओलीविरुद्ध बहुमतको नेतृत्व मैले गेरेँ ।

    आरोप ३

    म अलि भावुक मान्छे हुँ फकाए पनि फकिइहाल्ने । तर म युद्धको नेतृत्व गरेको कमाण्डर पनि हुँ । भित्तामा पुर्याउनु पर्यो भने केपीलाई भित्तामै पुर्याइदिन्छु, केपी सिद्धिसके अब ।

    आरोप ४

    केपी ओलीको हातमा अब केही पनि छैन । उनले गर्न सक्ने अब केही छैन, चीज अब अरुकै हातमा गइसक्यो ।

     

    यो पनि पढ्नुहोस्

    ओली भर्सेस प्रचण्ड-माधवको दोहोरी ब्याटल, दर्शक दीर्घामा देउवा-पौडेल जुहारी (भिडियो रिपोर्ट)

  • नागरिक एपमा नागरिकताको समस्या समाधान गर्न अनलाइन प्रणालीको विकास हुदैँ

    नागरिक एपमा नागरिकताको समस्या समाधान गर्न अनलाइन प्रणालीको विकास हुदैँ

    काठमाडौं । सरकारले भर्खरै सार्वजनिक गरेको नागरिक एप प्रयोगमा नागरिकताको विषयमा देखिएको समस्या समाधान गर्नका लागि सरकारले अनलाइन प्रणालीको विकास गर्ने भएको छ । परिक्षणको चरणमा रहेको नागरिक एपमा नागरिकता सम्बन्धी विवरण नमिलेको भनेर एपले विवरण पठाइरहेका बेला गृह मन्त्रालयले आफ्नो ध्यानाकर्ष भएको जनाउदै यसका लागि छुट्टै अनलाइन प्रणाली विकास गर्ने काम अघि बढाएको हो ।

    कतिपय नागरिकता नम्बर राख्दा विवरण मेल नखाएकाले एप प्रयोग गर्न कठिनाई भएको गुनसो आएको भन्दै नागरिकतामा भएको सानोतिनो त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरु भइसकेको मन्त्रालयका सूचना अधिकारी समेत रहेका उप–सचिव प्रेमलाल लामिछानेले जानकारी नेपाल प्रेसलाई जानकारी दिए । गृह मन्त्रालयले आफु मातहत रहेका कार्यालयसँग समन्व्य गरेर नागरिकताको विवरण देखिएका समस्या समाधान गर्ने गरी अनलाइन प्रणाली विकास गर्न लागिएको उनले बताए ।

    सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ मा आज साँझ साढे ६ बजेसम्म २ लाख ९० हजार १२ प्रयोगकर्ताले डाउनलोड गरेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ७८ हजार ८ सय ७५ प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका छन् । धेरै संख्या नागरिक एप डाउनलोड भए पनि विभिन्न कारणले गर्दा २ लाख ११ हजार १ सय ३७ को विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी समेत रहेका सहायक निर्देशक रमेश पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्म ५७ हजार ९ सय २ ले नागरिकता, ३६ हजार ३ सय ८७ ले प्यान नम्बर, २९ हजार २७ ले राहदानी, २५ हजार ४ सय ८७ जनाले मतदाता परिचय पत्र, ३ हजार ४ सय ९८ ले कर्मचारी संचय कोष, १७ हजार ४ सय ७० ले एसएलसी र ७ हजार ७ सय ३० ले प्लस टु को मार्कसिट प्रमाणित गरिसकेका छन् ।

    सहायक निर्देशक पोखरेलका अनुसार परीक्षणका क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आकर्षण देखिए पनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएको छ । सरकारले प्रदान गर्ने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो । उक्त एपबाट नागरिकले प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइलमार्फत नै जानकारी लिन सक्नेछन् ।

    एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् ।

    सुरुमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी एपमा नगरिकको डिजिटल परिचय राखिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।

  • नेविसंघ केश मुण्डन गरेर प्रर्दशनमा, प्रहरी हस्तक्षेप (भिडियो)

    नेविसंघ केश मुण्डन गरेर प्रर्दशनमा, प्रहरी हस्तक्षेप (भिडियो)

    काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधिसभा विघटनविरुद्ध केश मुण्डनसहित राजधानीका केही कलेज तथा कम्याम्पसमा प्रदर्शन गरेका छन्।मंगलबार काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस र चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा उनीहरुले प्रदर्शन गरेका हुन् ।प्रर्दशनमा उत्रेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघका अनुसार १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

  • चक्रपथ विस्तारमा अनुचित माग र अर्घेल्याई स्वीकार्य हुन्न– उपप्रधानमन्त्री पोखरेल

    चक्रपथ विस्तारमा अनुचित माग र अर्घेल्याई स्वीकार्य हुन्न– उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चक्रपथ सडक विस्तारका क्रममा राखिने अनुचित माग र अर्घेल्याई स्वीकार्य नहुने प्रष्ट पारेका छन् । पोखरेल आफैंले प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधान बैठकमा यस्तो बताएका हुन् ।

    पोखरेलले चक्रपथ विस्तारको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहविचको समन्वयात्मक बैठक आयोजना गरेका थिए । बैठकमा काठमाडौं चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौतिबारे छलफल भएको छ ।

    कलंकीदेखि धोबीखोला सम्मको कुल साढे ११ किलोमिटर सडक निर्माणका क्रममा महाराजगन्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगर, सडक क्षेत्रमा पर्ने स्थानीय तहका जननिर्वाचित अधिकारीलगायतका पदाधिकारीहरुलाई दोस्रो पटक बोलाएर छलफल गरेका हुन् ।

    सबैपक्षको कुरा सुनेपछि उपप्रधानमन्त्री पोखरेलले सडक विस्तारका क्रममा अनुचित माग र अर्घेल्याई स्वीकार्य नहुने बताए । सम्वद्ध पक्षलाई अनुचित कुराको पछि नलाग्न निर्देशन दिदैं उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सवै निकायबीच समन्वय गरेर अघि बढ्न निर्देशन दिए ।

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउदैं लैजानुपर्ने बताएका थिए । त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राज्यको नीतिमा सवैको अपनत्व आवश्यक भएको बताए ।

    छलफलमा काठमाडौं महानगरपालिकाका वडा नं ३ का अध्यक्ष दिपक केसी, वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल, पुरातत्व विभागका प्रतिनिधि, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, नापी विभागका अधिकारीले आ-आफ्नो क्षेत्रमा देखा परेका समस्या र समाधानका निम्ती भैरहेको पहलका वारेमा जानकारी गराएका थिए ।

  • नेविसंघ केश मुण्डन गरेर प्रर्दशनमा, प्रहरी हस्तक्षेप (फोटो फिचर)

    नेविसंघ केश मुण्डन गरेर प्रर्दशनमा, प्रहरी हस्तक्षेप (फोटो फिचर)

    काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधिसभा विघटनविरुद्ध केश मुण्डनसहित राजधानीका केही कलेज तथा कम्याम्पसमा प्रदर्शन गरेका छन्।मंगलबार काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस र चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा उनीहरुले प्रदर्शन गरेका हुन् । प्रर्दशनमा उत्रेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघका अनुसार १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

            
  • कांग्रेसको रणनीति- प्रदेश सरकारको चाबी मतदानकै बेलामात्र खोल्ने

    कांग्रेसको रणनीति- प्रदेश सरकारको चाबी मतदानकै बेलामात्र खोल्ने

    काठमाडौं । प्रदेश सरकार जोगाउने कि ढाल्ने भन्ने तानातानमा परेको नेपाली कांग्रेसले तत्काल नेकपाका दुवै पक्षलाई पर्खाएरै राख्ने रणनीति बनाएको छ । बागमती प्रदेश र एक नम्बर प्रदेशको प्रदेशसभाको अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । दुवै प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको छ । अविश्वास प्रस्तावमा अष्टलक्ष्मी शाक्यलाई वैकल्पिक मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिएको छ ।

    त्यस्तै एक नम्बर प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध भीम आचार्यलाई वैकल्पिक मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    दुवै प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका निर्णायक हुनेछ । यद्यपी कांग्रेसले अविश्वास प्रस्तावउपर तत्काल आफ्नो ‘स्ट्याटस’ नखुलाउने भएको छ । कांग्रेस नेताहरुबीच अविश्वास प्रस्तावबारे ‘मतदान’ कै बेला निर्णय लिने सहमति बनेको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सोमबारको ‘वान टु वान’ वार्तामा पनि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावउपर पार्टीको रणनीतिबारे छलफल भएको थियो । दुवै नेताबीच प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएर, छलफल सकिएर निर्णय दिनै पर्ने अवस्था आएमा ‘स्टेप’ लिने सहमति भएको छ ।

    कांग्रेसले अहिले नै अविश्वास प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गर्दा परिस्थिति आफू अनुकुल नहुने आँकलन गरेको छ । सभापति देउवाले एकसाताअघि पुष्पकमल दाहाल र माधवकुमार नेपालसंगको भेटमा कांग्रेसभित्र छलफल गरेर मात्रै अविश्वास प्रस्तावबारे निधो दिने बताएका थिए । कांग्रेसभित्र औपचारिक छलफल नभएपनि सभापति देउवा केही समय ‘पर्ख र हेर’ कै रणनीतिमा रहेका छन् ।

    कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्दैछ । सोही बैठकमा मुख्य मन्त्री विरुद्धका अविश्वास प्रस्तावबारे पनि छलफल हुनेछ । ‘प्रदेश सभामा प्रस्ताव पेश नभई हामीले धारणा दिइहाल्न जरुरी छैन । जतिबेला हामी बोल्नैपर्ने हुन्छ त्यतिबेला बोल्छौ’, सभापति देउवा निकट एक नेताले भने ।

    अविश्वास प्रस्तावको पक्षमा अहिले नै खुल्दा प्रदेशसभा नै भंग हुनसक्ने खतरा कांग्रेस नेतृत्वले देखेको छ । त्यस्तै प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना जोगाउन पनि तत्कालै पक्ष वा विपक्षमा उभिन नहुने राय कांग्रेसमा बलियो छ ।

    पार्टी नेतृत्वको स्पष्ट निर्देशन नआइसकेका कारण दुवै प्रदेशका कांग्रेस संसदीय दल अनिर्णित छन् ।

    ‘हाम्रो बीचमा छलफल चलिरहेको छ तर निर्णय अन्तिममा मात्रै सार्वजनिक गर्छौ । निर्णायक घडीमा हामी अनिर्णित रहदैनौ’, बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले भने । अविश्वासको प्रस्ताव पेश भएर मतदानको स्थिति नबन्दासम्म कांग्रेसले निष्कर्ष दिनु उपयुक्त नहुने बानियाँको भनाई छ ।

    ‘पहिला प्रस्ताव आओस् । छलफल चलोस् । सभामुखले त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ । नेताहरुबीच के कस्तो सल्लाह हुन्छ ? त्यसै अनुसार अन्तिममा निर्णय गरिहाल्छौ नि’, बानियाँले भने ।