Blog

  • बाइडेनको सन्देश लिएर अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री

    बाइडेनको सन्देश लिएर अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री

    काठमाडौं । राष्ट्रपति जो बाइडेनको सन्देश लिएर अमेरिकी राजदूत र्‍यान्डी बेरीले विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

    विश्वव्यापी स्वास्थ्य र वातावरणीय परिवर्तनको समस्यासँग जुध्ने विषयमा अमेरिका र नेपालले कसरी आपसी सहकार्य गर्न सक्छन् भन्ने विषयमा छलफल भएको राजदूत बेरीले ट्वीटरमा उल्लेख गरेका छन् ।

    बाइडेन प्रशासनले ती मुद्दामा अमेरिका नेपालसँग सहकार्य गर्न इच्छुक रहेको राष्ट्रपतिय सन्देश पनि बेरीले सुनाएका थिए । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा बाइडेनले सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले बधाइ दिँदै साझा चासोका विषयमा दुई मुलुक मिलेर काम गर्नुपर्ने बताएका थिए ।

  • फिल्म साउथ एसिया डिसेम्बरमा काठमाडौंमा, विश्वभरबाट आवेदन आह्वान

    फिल्म साउथ एसिया डिसेम्बरमा काठमाडौंमा, विश्वभरबाट आवेदन आह्वान

    काठमाडौं । फिल्म साउथ एसिया–२०२१ को आयोजना मिति घोषणा भएको छ । ललितपुरमा हुने फेस्टिभल डिसेम्बर २ देखि चार दिनसम्म संचालन हुने जारी वक्तव्यमा उल्लेख छ ।

    कोरोना महामारीले २०२० को संस्करण रोकिएको थियो । तर, भौतिक उपस्थिती वा भर्चुअल माध्यममा फेस्टिभल गर्ने भन्ने निधो उक्त समयको संक्रमणको अवस्था हेरेर गरिने भएको छ ।

    फेस्टिभलले फिल्म आवेदन आह्वान समेत गरेको छ । आफूहरुले भौतिक उपस्थितीमै फेस्टिभल गर्ने योजना बनाएपनि संक्रमणको स्थिती बढेमा भने भर्चुअलरुपमा फेस्टिभल गरिने भएको छ । आयोजकले विश्वभरबाटै फिल्म दर्ताको लागि आग्रह गरेको छ ।

    भाइरस महामारीले गतवर्ष धर्मशाला, मुम्बई, इन्दुस भ्याली, किम्फ, फोटो काठमाण्डू लगायतका फेस्टिभल भर्चुअल रुपमा भएको समेत उल्लेख छ । फिल्म साउथ एसिया दक्षिण एसियाकै ठूलो मध्येको डकुमेन्ट्री फिल्म फेस्टिभल हो ।

    फेस्टिभलमा उत्कृष्ट फिल्मलाई रामबहादुर ट्रफी, रनर अप अवार्ड, तारेख मसुद डेब्यु फिल्म अवार्ड, युनिसेफ नेपाल अवार्ड, स्टुडेन्ट फिल्म अवार्डको व्यवस्था गरिएको छ । जनवरी १, २०१९ पछि बनेका फिल्मलाई मात्र समावेश गरिने जनाइएको छ । ३१ जुलाई, २०२१ सम्म फिल्म आवेदन गर्न सकिने भएको छ ।

  • ओली-प्रचण्ड दोहोरी ब्याटल अब क्यारिकेचरतिर (भिडियोमा हेर्नुहोस्)

    ओली-प्रचण्ड दोहोरी ब्याटल अब क्यारिकेचरतिर (भिडियोमा हेर्नुहोस्)

    काठमाडौं । पार्टी विभाजनपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आ-आफ्ना मञ्चबाट दोहोरी ब्याटल त चलिरहेकै छ । दुई नेताको दोहोरी अब विस्तारै क्यारिकेचरमा पनि फेरिन थालेको छ ।

    केही दिनअघि प्रज्ञा भवनको कार्यक्रममा प्रचण्डले ओलीको क्यारिकेचर गर्ने क्रममा ‘कमरेड, तपाईंनै हो भनेर मलाई फकाए’ भन्दै जी न्यूजलाई ओलीले दिएको अन्तर्वार्तालाई नाटक भनेका थिए ।

    पुस १४ गते विद्यार्थी भेलामा प्रचण्डले भनेका थिए, ‘विदेशी शक्ति केन्द्र आएर उहाँलाइ के-के मन्त्र सुनाए । उहाँले त्यो मन्त्र सुन्नु भयो । अस्ति भर्खरै हेर्नुभयो नि ‘जी न्यूज’ लाई बोलाएर दिएको अन्तर्वार्ता । त्यो पनि नाटकै हो । … नाटकै हो, नाटकै हो भन्ने कुराको पटाक्षप आज भैसक्यो । अब एभरेष्टको नाम फेर्ने रे त्यो पनि ‘जी न्यूज’ ले ।’

    प्रधानमन्त्री केपी ओलीले विहीवार काठमाडौंमा प्रेस संगठन नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्डको क्यारिकेचर गर्दै उनलाई जवाफ फर्काए ।

    प्रचण्डको क्यारिकेचर गर्दै ओलीले भने, ‘मैले एउटा विदेशी च्यानललाई अन्तर्वार्ता दिएँ । आलोचना गर्ने ठाउँ कहीँ नभेटिएपछि त्यो पत्रकारले भारतमा गएर सगरमाथाको बारेमा के बोलेछ त्यसपछि यहाँ राष्ट्रवादको नाममा बबन्डर मच्चियो । उसले सगरमाथा खान्छु भनेको छ र ?’

    ‘खोट लाउने केही नभेटिएपछि एउटा नेता (प्रचण्ड) ले भनेछन्- यो अन्तर्वार्ता भनेको नौटंकी हो । … नौटंकी नै हो, नौटंकी नै हो । कसरी नौटंकी हो बताइदिनुहोस् । उहाँहरुले पनि कहिले-कहिले विदेशीलाई अन्तर्वार्ता दिनुभएको छ । देशको इज्जत राख्ने केही बोल्नु भएको छ ? नक्कली गर्नु देशभक्ति होइन’, ओलीले भने ।

    ओली र प्रचण्डको यो दोहोरी ब्याटल भिडियोमा हेर्नुहोस्

    यो पनि पढ्नुहोस्

    ओली भर्सेस प्रचण्ड-माधवको दोहोरी ब्याटल, दर्शक दीर्घामा देउवा-पौडेल जुहारी (भिडियो रिपोर्ट)

    ‘ब्याटल ग्राउण्ड’मा प्रचण्ड–म युद्ध लडेको कमाण्डर हुँ, अब केपी सिद्धिए (भिडियो रिपोर्ट)

  • नासाको यान फागुन ६ गते मंगल ग्रहमा उत्रने

    नासाको यान फागुन ६ गते मंगल ग्रहमा उत्रने

    काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाले उसको प्रिजर्भेन्स नामक रोबरले आगामी १८ फेब्रुअरी (फागुन ६ गते)मा मंगल ग्रहको सतहमा अवतरण गर्ने घोषणा गरेको छ ।

    सन् २०२० को जुलाइ ३० मा प्रक्षेपण भएको यो यानले मंगल ग्रहमा मान्छेको अस्तित्व थियो वा थिएन भनेर खोजी गर्नेछ । चट्टान र माटोको नमुना लिएर पृथ्वीमा फर्कने नासाले जनाएको छ ।

    मंगल ग्रहको जेजिरो क्रेटर्समा रोबरले ल्यान्ड गर्नेछ । यसैवर्ष चीन र युएईले पनि मंगल ग्रहमा यान पठाउने तयारी गर्दैछन् ।

  • २५ वर्षको अनुभव नेपालमा खन्याउन तयार छन् वाटमोर

    २५ वर्षको अनुभव नेपालमा खन्याउन तयार छन् वाटमोर

    काठमाडौं । नेपाली क्रिकेटमा ठूलो आशाको सञ्चार गर्दै भित्रिएका नयाँ प्रशिक्षक डेभ वाटमोर बिहीबार पहिलोपटक नेपाली खेल पत्रकारमाझ पेश भए । वाटमोरका लागि नेपाली पत्रकार नौला, पत्रकारका लागि भने उनी चिरपरिचित झैं ।

    उता त्रिवि क्रिकेट मैदानमा पवन सर्राफले छक्काको वर्षा गरिरहँदा यता होटल एल्लो प्यागोडामा पत्रकारहरु वाटमोरलाई प्रश्नको वर्षा गरिरहेका थिए । पत्रकारलाई वाटमोरले सन्तुलित जवाफ दिए, धेरै महत्वाकांक्षी सुनिएनन् ।

    ‘नेपालमा आफ्नो अनुभवको प्रयोग गर्ने मैले अवसर पाएको छु । म नेपालको क्रिकेट सुधार्ने भरपुर प्रयास गर्नेछु । यहाँ हुन पाउँदा एकदमै खुशी छु । मेरा लागि यो नयाँ चुनौती हो र यसलाई स्वीकार्न म तयार छु,’ वाटमोरले सुरुमा यसरी औपचारिक भनाइ राखे ।

    अनि थपे, ‘नेपालले यसअघि नै हासिल गरेको एकदिवसीय मान्यता कायम राख्ने र त्यसलाई अझै सुधार्ने प्रयास गर्नेछु । नेपाली खेलाडीहरूसँग काम गर्नका लागि म उत्सुक छु । केही नेपाली खेलाडीलाई म पहिलेदेखि नै चिन्छु, केहीलाई चिन्दिनँ । तर त्यसका लागि धेरै समय लाग्ने छैन ।

    एकपटक उनीहरूसँग काम गरिसकेपछि एक अर्कालाई बुझ्न र प्रदर्शनका लागि स्वस्थ वातावरण निश्चय नै बन्ने छ ।’

    क्रिकेटको बारेमा आफूले अहिलेसम्म हासिल गरेका सबै ज्ञान खेलाडीहरुसित बाँड्ने उनले बताए ।

    ‘आजदेखि मेरो कार्य सुरु भएको छ । अगाडि धेरै काम गर्नुछ । त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्नेछ,’ भन्दै उनले आफ्नो भनाइ टुंग्याएर पत्रकारलाई प्रश्न गर्ने अवसर दिए ।

    पहिलो प्रश्न आयो, ‘नेपाली टोली रोज्नुको प्रमुख कारण ?’

    जवाफः मैले अहिलेसम्म गरेका सबै काम चुनौतीपूर्ण थिए । र, नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्नु पनि कुनै चुनौतीभन्दा कम छैन । यो सहज कार्य होइन । नेपालको क्रिकेटको स्तर वृद्धि गर्नु देशका लागि एकदमै महत्वपूर्ण विषय छ । त्यो स्तरको चुनौतीले मलाई सधैँ उत्साहित गर्छ । त्यसैले मैले नेपाल चुनेको हुँ ।’

    अर्को अपेक्षित प्रश्नः १९९६ मा श्रीलंकाले विश्वकप जिताउने प्रशिक्षक (त्यतिखेर क्रिकेट जगतमा श्रीलंका एक नयाँ टोली थियो) वाटमोरका सामु नेपाललाई विश्वकपसम्म पु¥याउने चुनौती छ, र बोर्डबाट हामी के आशा गर्न सक्छौं ?

    बोर्डले सक्दो सहयोग गर्ने नै छ । विश्वकपसम्म पुग्ने कुरा एकदमै कठिन छ । अन्य धेरै देशले पनि हामीले झैँ त्यहाँसम्म पुग्नका लागि कोशिश गरिरहेका छन् । तर, जबसम्म हामी उच्चस्तरमा जाने सपना देख्दैनौ, जान खोज्दैनौं तबसम्म हामी पुग्दैनौं ।

    प्रत्येक दिन हामीले सुधार गर्दै गयौं र एक टोलीको रूपमा एक अर्काका लागि निरन्तर कार्य गर्दैै जान सक्यौं भने विश्वकपसम्म पुग्न पनि सम्भव छ । म सबै खेल जित्ने वचन दिन सक्दिनँ । तर, प्रयास गर्ने हो भने सकारात्मक नतिजा आउने सम्भावना रहन्छ ।

    वाटमोर र पत्रकारबीच भएका थप प्रश्नोत्तरः

    २०१७ मा पनि केही दिनका लागि नेपाल आउनुभएको थियो, अहिले नेपाली टोलीको प्रशिक्षक बनेर आउनुमा त्यो (त्यतिबेलाको प्रभाव) पनि एक कारण हो ?

    त्यो नै प्रमुख कारण हो । एकदमै नयाँ ठाउँमा गएर नयाँ खेलाडीहरूसँग काम गर्नुभन्दा पहिल्यै पुगिसकेको र चिनेका खेलाडीसँग काम गर्नु राम्रो पक्ष हुन्छ ।

    मुख्य प्रशिक्षक बन्ने इच्छा हुनुभन्दा अगाडि नै नेपाली टोली हेर्नु भएको थियो ?

    समय–समयमा हेरिरहेको थिएँ । यसअघि म सिंगापुरमा हुँदा नेपाल पनि सोही समूहमा रहेको थियो । त्यहाँ एक–अर्काविरुद्ध नखेले पनि खेलाडीसँग भेटघाट भएको थियो । पुनः तीनै खेलाडीसँग रि–युनाइट हुन पाउँदा खुशी लागेको छ । मैले इन्टरनेट र पत्रिकामा लगभग प्रत्येक दिन मैले नियालिरहेको थिएँ ।

    नेपाली टोली अहिले संक्रमणकालमा छ, केही अनुभवी खेलाडी र केही नयाँ खेलाडी छन् । यो अवस्थामा टीम सन्तुलित राख्नु कत्तिको चुनौतीपूर्ण छ ?

    यो खेलाडी छनोट समितिका लागि पनि चुनौतीपूर्ण हुनेछ । टोलीमा अनुभवी र नयाँ दुवै प्रकारका खेलाडी हुनु राम्रो पक्ष हो ।

    तपाईँको पोर्टफोलियोबाट नेपालले कसरी फाइदा लिन सक्छ ?

    मैले २५ वर्षमा धेरै अनुभव बटुलेको छु र यो अनुभव बाँड्न पाउँदा म एकदमै धेरै खुशी छु । यसले खेलाडी र प्रदर्शनलाई सुधार्न सहयोग गर्नेछ । मैले केही सिद्धान्तमा काम गरेको छु, म त्यो खेलाडीमा लागू गर्नेछु ।

    नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २५/२६ जना खेलाडी सामेल हुने गरेका छन्, यसमा तपाईको रणनीति के हुन्छ ?

    यो खेलाडी छनोट समितिसँगको छलफलपछि सहकार्यमा हुनेछ । मलाई विश्वास छ त्यसरी हामी उत्कृष्ट सम्भावित खेलाडीलाई टोलीमा समेट्ने छौं ।

    नेपाली दर्शकबाट के अपेक्षा गर्नु हुन्छ ? र, घरेलु मैदानमा दर्शकको भूमिका के हुन्छ ?

    नेपालमा क्रिकेटप्रति एकदमै धेरै रुचि छ । घरेलु मैदानमा हुने खेलमा जस्तै अवेमा हुँदा पनि टेलिभिजनमा हेरेर समर्थन गर्छन् । त्यो नेपाली क्रिकेटप्रतिको रुचिको प्रमाण हो ।

    एक वर्षको मात्रै सम्झौता छ, तत्काल तपाईका चुनौती र योजना के हुन् ?

    तत्कालको चुनौति भनेको छनोट समितिसँगको सहकार्यमा खेल जित्न सक्ने उत्कृष्ट खेलाडीको समूह तयार गर्नु हो, जसले बरीयतामा पनि सुधार ल्याउनेमा म विश्वस्त छु ।

  • प्रेस संगठन विभाजित, ओली पक्षले तोक्यो गणेश बस्नेतलाई संयोजक

    प्रेस संगठन विभाजित, ओली पक्षले तोक्यो गणेश बस्नेतलाई संयोजक

    काठमाडौं । नेकपा विभाजनको असर पत्रकारमा पनि परेको छ । नेकपासम्बद्ध पत्रकारहरुको संस्था प्रेस संगठन नेपाल विहीवारबाट औपचारिक रुपमा विभाजित भएको छ ।

    यसबीचमा माघ ६ गते प्रचण्ड-माधव पक्षधर प्रेस संगठनको राष्ट्रिय भेला भएको थियो भने विहीवार केपी ओली पक्षको भेलाले महेश्वर दाहाललाई संयोजनबाट हटाएर गणेश बस्नेतलाई चयन गरेको छ ।

    नेकपा एकीकरणसँगै तत्कालेन एमालेनिकट प्रेस चौतारी र माओवादीनिकट प्रेस सेन्टर मिलेर प्रेस संगठन नेपाल बनेको थियो । एकीकरणपछि महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक बनेका थिए ।

    विहीवरको ओली पक्षको भेलाले दाहाल संगठनको काममा निष्क्रिय रहेको भन्दै बस्नेतलाई संयोजक तोकेको हो । भेलाले विभधान संशोधन गरी केन्द्रीय समितिको संख्या ३५१ पुर्‍याएको छ भने कमिटी बिस्तार र जिम्मेवारी हेरफेरको जिम्मा बस्नेतलाई दिएको छ ।

    भेलाले प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई समर्थन गर्दै विभिन्न १५ बुँदे प्रस्ताव समेत पारि गरेको छ । भेलालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामवहादुर थापा बादल,अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेल, उर्जामन्त्री टोपवहादुर रायमाझी,सञ्चारमन्त्री पार्वत गुरुङलगायतले सम्बोधन गरेका थिए ।

  • लुम्बिनीविरुद्ध साविक विजेता पुलिस ७४ रनले विजयी

    लुम्बिनीविरुद्ध साविक विजेता पुलिस ७४ रनले विजयी

    काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

    त्रिवि क्रिकेट मैदानमा आज भएको आफ्नो तेस्रो खेलमा विभागीय महारथी पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको हो ।

    टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले ३११ रनको विजय लक्ष्य पाएको थियो । जारी सिजनकै सबैभन्दा ठूलो लक्ष्य पाएको लुम्बिनीले निर्धारित ५० ‌ओभरमा ७ विकेट गुमाएर २३६ रन मात्रै बनाउन सक्यो ।

    लुम्बिनीका लागि शानदार ब्याटिङ गरेका सौरभ खनालले ६० बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै इनिङको सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै कप्तान कृष्ण कार्की ४० रनमा अविजित रहँदा देव खनालले ४९, सन्दीप रजालीले ४० तथा राजविर सिंहले २४ रन जोडे ।

    अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा लुम्बिनीले प्रतियोगितामा पहिलो हार बेहोर्नु पर्‍यो ।

    पुलिसका लागि रासिद खान र पवन सर्राफले २/२ तथा ललित राजवंशी, सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३१० रनको विशाल योगफल तयार गरेको थियो ।

    पुलिसका लागि १४५ बलको सामना गरेका धमलाले ७ चौका र १ छक्कासहित १०४ रन बनाए । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ६१ बलमा १ चौका र ६ छक्कासहित ८५ रन बनाएका थिए । आक्रामक ब्याटिङ गरेका पवन सर्राफले १३ बलामा १ चौका र ६ छक्कासहित अविजित ५० रन बनाए । आरिफ शेखले १४ बलमा अविजित २९ रन जोड्दा अमित श्रेष्ठले २८ रन बनाएका थिए ।

    पुलिसको सम्हालिएको ब्याटिङसामु संघर्षरत लुम्बिनीका लागि कप्तान कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले १/१ विकेट लिएका थिए ।

    पहिलो खेलमा बाग्मतीसँग ७ विकेटले पराजित भएको पुलिसले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो । त्यस्तै, पहिलो खेलमा प्रदेश २ लाई ७७ रनले हराएको लुम्बिनीको यो दोस्रो खेल हो ।

    तीन खेलबाट ४ अंक जोडेको पुलिस समूह ‘बी’ को दोस्रो स्थानमा छ । शीर्ष स्थानको बाग्मतीको पनि दुई खेलबाट समान ४ अंक छ । दुई खेलबाट २ अंक जोडेको लुम्बिनी तेस्रो स्थानमा छ ।

  • खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले दिए मोदीलाई धन्यवाद

    खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले दिए मोदीलाई धन्यवाद

    काठमाडौं । कोभिड–१९ खोप उपलब्ध गराएकोमा नेपालले भारतलाई धन्यवाद व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका हुन् ।

    ओली लेख्छन्– आफ्नै नागरिकलाई भ्याक्सिन लगाउन सुरु गरेको भारतले यस्तो संकटपूर्ण घडीमा नेपाललाई गरेको सहयोगप्रति हामी धन्यवाद दिन चाहन्छौं । छिमेकी मित्र हुनुको दायित्व गरेकोमा पनि ओलीले मोदीको प्रशंसा गरेका छन् ।

    भारतले १० लाख डोज कोभिडविरुद्धको खोप नेपाललाई अनुदान स्वरुप उपलब्ध गराएको छ । काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिकरुपमा हस्तान्तरण गरे । उक्त अवसरमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी पनि सहभागि थिए ।

     

  • संसद विघटनविरुद्ध सबै शक्ति एकजुट हुन चित्रबहादुरको आग्रह

    संसद विघटनविरुद्ध सबै शक्ति एकजुट हुन चित्रबहादुरको आग्रह

    रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसद विघटनविरुद्धको आन्दोलनमा सबै शक्ति एक ठाउँमा उभिन आग्रह गरेका छन् ।

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीको कदम अधिनायकवाद र प्रतिगमनकारी भएको बताउँदै उनले संविधान र गणतन्त्रको रक्षाका लागि सबै राजनैतिक शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

    राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको ‘प्रतिनिधिसभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा बोल्दै केसीले प्रधानमन्त्रीले संसद विघटन गरी चालेको असंवैधानिक कदमका विरुद्ध एक भएर उभिए मात्रै संसद पुनःस्थापना गर्न सकिने जिकिर गरे ।

    सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचन हुन्छ नै भन्ने कुनै ग्यारेन्टी नभएको उल्लेख गर्दै उनले निर्वाचन भइ हाले पनि स्थिर सरकार बन्ने अवस्था नभएको उल्लेख गरे ।

    नेपालमा अस्थिरता पैदा गरेर विदेशी शक्तिकेन्द्रहरुले त्यसमा खेल्न खोजिरहेको आरोप लगाउँदै उनले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान, गणतन्त्र र प्राप्त उपलब्धी नै गुम्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

    विगतमा राजा र पञ्चायतविरुद्धका अन्दोलनहरुमा नेपाली कांग्रेस, कम्यूनिष्ट पार्टीहरु र मधेशवादी दलहरु एक भएर संघर्षमा गएजस्तै संसद विघटनविरुद्ध पनि एक हुनुपर्ने उनको तर्क थियो ।

  • वालिङ र विराटनगर १-१ को बराबरीमा रोकिए

    वालिङ र विराटनगर १-१ को बराबरीमा रोकिए

    काठमाडौं । सम्झना शर्माले दोस्रो मिनेटमै गरेको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा वालिङ नगरपालिका राष्ट्रिय महिला लिगको पहिलो खेलमा विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

    एन्फा कम्प्लेक्समा भएको खेलको दोस्रो मिनेटमा सम्झनाले हेडरमार्फत गरेको गोलसँगै वालिङले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

    तर, बराबरी गोलका लागि निरन्तर प्रयासरत विराटनगरका लागि ६३औं मिनेटमा आशा कुमारीले फ्रि-किकमार्फत् गोल फर्काएकी थिइन् । उनले करिब ४० यार्ड टाढाबाट गरेको सशक्त प्रहारमा वालिङकी गोलकिपर सावित्री किशनको फितलो प्रयास असफल भएको थियो ।

    त्यसपछि दुवै टोलीले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । बराबरीसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । बुधबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका थिए ।

    आज नै भएको पहिलो खेलमा एपिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

  • राधिका बनिन् जंगल युद्धकला सिक्ने पहिलो नेपाली महिला सैनिक

    राधिका बनिन् जंगल युद्धकला सिक्ने पहिलो नेपाली महिला सैनिक

    काठमाडौं । सिपाही राधिका थापा नेपाली सेनाको प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक बनेकी छिन् । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले यस्तो जानकारी दिएका हुन् ।

    उनले यस्तो चुनौतिपूर्ण तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा थापालाई बधाइ एवं शुभकामना दिएका छन् । बाराको अमलेखगञ्जस्थित सैनिक तालिम केन्द्रमा थापाले तीन महिना लामो कठिन ट्रेनिङ लिएकी थिइन् ।

    नेपाल पे्रससँग कुरा गर्दै सैनिक प्रवक्ता पौडेलले यस्तो तालिम लिनेमा सिपाही थापा पहिलो महिला सैनिक भएको बताए । यो तालिम अन्तर्गत जंगल युद्धभ्यास र सैनिक कला सिकाइन्छ ।

  • बाइडेनको मन्त्रिपरिषद् : २६ मन्त्रीमध्ये १२ महिला

    बाइडेनको मन्त्रिपरिषद् : २६ मन्त्रीमध्ये १२ महिला

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मन्त्रिपरिषद् गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा उपराष्ट्रपति कमलादेवी ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख छन् ।

    रोचक पक्ष के छ भने २६ मन्त्रिस्तरको पदमा १२ जना महिला छन् । बाइडेन मन्त्रिपरिषद्मा ह्यारिससहित ६ जना अश्वेत, एक आदिवासी अमेरिकन, ४ ल्याटिनो, २ एसियन र १२ जना श्वेत अमेरिकी छन् ।

    विदेशमन्त्रीमा एन्टोनी ब्लिंकेन, अर्थमन्त्रीमा डा. जानेट एलेन, रक्षामन्त्री लोएड अस्टिन, न्यायमन्त्री बेरिक गाल्र्यान्ड, सेक्रेटरी अफ इन्टेरियर डेब हाल्यान्ड, कृषिमन्त्री टम भिल्स्याक र सेक्रेटरी अफ कमर्स जीना राइमान्डो छन् ।

    श्रममन्त्रीमा मार्टी वाल्स, स्वास्थ्यमन्त्री जेभियर बेसेरा, सहरी विकासमन्त्री मार्सिया फज, यातायात मन्त्री पिट बुटिगेग, ऊर्जामन्त्री जेनिफर ग्रान्लम, शिक्षामन्त्रीमा मिगुएल कार्टोना, भेट्रान अफेयर्स मन्त्रीमा डेनिस म्याकडनग र होमल्यान्ड सेक्युरिटीमा अलेजान्द्रो मेरोकास छन् । सबै मन्त्रीलाई सिनेटको अनुमोदन जरुरी हुन्छ ।

    राष्ट्रसंघको लागि अमेरिकी राजदूतमा लिन्डा थोमस ग्रिनफिल्ड छन् । यसअघि बाराक ओबामाको मन्त्रिमण्डलमा ४२ प्रतिशत अश्वेत मन्त्री थिए । ट्रम्प प्रशासनमा यो अनुपात जम्मा १२ प्रतिशत थियो ।

    ओबामाको समावेशी सूचकलाई पनि बाइडेन प्रशासनले उछिनेको छ । कतिपय अमेरिकी मिडियाले बाइडेन प्रशासनलाई इन्द्रेणी क्याबिनेटको संज्ञा दिएका छन् ।

    मुलुकको बदलिँदो चाहना र आवश्यकता अनुसार बाइडेनले मन्त्रिपरिषद् गठन गरेको भन्दै नागरिक आन्दोलनका अगुवाले प्रशंसा गरेका छन् । एसियाबाट नीरा टन्डन र क्याथरिन टाइ मन्त्रीमा नियुक्त भएका छन् । अमेरिकाको कूल जनसंख्यामा एसियन अमेरिकन संख्या ६ प्रतिशत छ ।

  • करीब १६ अंकले बढ्यो शेयर

    करीब १६ अंकले बढ्यो शेयर

    काठमाडौं । बजार खुलेदेखि नै लगातार उत्तारचढाब बेहोरेको नेप्से परिसूचक १५ दशमलव ८७ अंकले वृद्धि भएको छ । शून्य दशमलव ६८ प्रतिशतले बढेको नेप्से २ हजार ३ सय ४२ दशमलव ७७ विन्दुमा रोकिएको छ ।

    आज भएको एक करोड ५९ लाख ८१ हजार ९५२ कित्ताको किनबेचमा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    नेपाल लाइफ इन्स्योरेन्सको आज सबैभन्दा बढी शेयर कारोबार भएको छ । नेपाल लाइफको मात्रै ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    त्यसैगरी प्रभु बैंकको २९ करोड ५२ लाख, त्यतै पुनर्रबीमा कम्पनीको २७ करोड, शिखर इन्स्योरेन्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज दश ओटाभन्दा बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

  • प्रधानमन्त्री कप क्रिकेटः पवन सर्राफको तुफानी अर्धशतक, बन्यो कीर्तिमान

    प्रधानमन्त्री कप क्रिकेटः पवन सर्राफको तुफानी अर्धशतक, बन्यो कीर्तिमान

    काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा ब्याट्सम्यानहरु आशातित चल्न सकेका छैनन् । तर, बिहीबारको लुम्बिनीविरुद्धको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका तीन ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गरे ।

    ओपनर सुनिल धमलाले सुस्त गतिमा खेल्दै शतक प्रहार गरे भने कप्तान दिपेन्द्र सिंह ऐरीले आक्रामक रवैया देखाउँदै ६१ बलमा ८५ रन हिर्काए । तर, उनीहरु दुवैलाई बिर्साउने ब्याटिङ गरे, छैटौं नम्बरमा आएका पवन सर्राफले । लुम्बिनीका बलरहरुमाथि निर्दयी आक्रमण गर्दै उनले विष्फोटक अर्धशतक बनाएका छन् । उनले १३ बलमा बनाएको अर्धशतक नेपालको राष्ट्रिय प्रतियोगितामा सर्वाधिक छिटो हो ।

    ४७.२ ओभरको खेल सकिंदा मात्र सर्राफ ब्याटिङमा आएका थिए । त्यसबेला पुलिसले ४ विकेटको क्षतिमा २५४ रन जोडेको थियो । १६ बलको खेल मात्र बाँकी रहेको अवस्थामा टिमले ३०० को आँकडा पार गर्ने पवनले अर्धशतक हान्ने कसैको कल्पनामै थिएन । तर, क्रिकेटमा कहिलेकाहीँ कल्पना बाहिरको नतिजा निस्किन्छ ।

    पवनले ४७ ओभरको अन्तिम ओभरमा चौका प्रहार गर्दै आफ्नो गति समातेका थिए । ४८ औं ओभरमा पाँच बलको सामना गरेका उनले दुई छक्का हाने । अन्तिम ओभरमा उनी अनियन्त्रित नै बने । लुम्बिनीका बलर सौरभ खनालका लागि ‘नाइटमेयर’ बनेका उनले पहिलो तीन बलमा लगातार छक्का हाने । त्यसपछिका दुई बलमा २–२ रन हाने भने अन्तिम बलमा उनको ब्याटबाट छैटौं छक्का निस्कियो । यसप्रकार १३ बलमा पवनको अर्धशतक पूरा भयो, जसमा १० रन मात्रै उनले दौडेर लिएका थिए ।

    आज पुलिसका ओपनर धमलाले बनाएको शतक जारी प्रतियोगितामा दोस्रो हो । उनले १४५ बलको सामना गर्दै १०४ रन जोडेका थिए ।

  • ३१ अंकले बढ्यो नेप्से, कारोबार रकममा नेपाल लाइफको निरन्तर वर्चश्व

    ३१ अंकले बढ्यो नेप्से, कारोबार रकममा नेपाल लाइफको निरन्तर वर्चश्व

    काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसुचक ३१ दशमलव ८७ अंकले वृद्धि भएको छ । आज भएको कारोबारमा नेप्से २,३७४ दशमलव ६४ विन्दुमा रोकिएको छ ।

    आज   एक करोड ८१ लाख ५ हजार ६७१ कित्ताको किनबेचमा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल लाइफ इन्स्योरेन्सको सार्वधिक कारोबार भएको छ ।

    आज नेपाल लाइफ इन्स्योरेन्सको ५३ करोड ३३ लाख १२ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

  • सगरमाथाको फोहोरमा कला भर्दै नेक्स्ट सेन्टर

    सगरमाथाको फोहोरमा कला भर्दै नेक्स्ट सेन्टर

    काठमाडौं । सगरमाथा  क्षेत्रमा थुप्रिएको फोहोरलाई संकलन गरी कलाको रुप दिइने भएको छ ।

    सगरमाथा राष्ट्रिय निकुञ्जले आधार शिविरमा थुप्रिएका फोहोरलाई कलात्मक बनाइ ग्यालरीमा प्रदर्शन गर्न र अग्लो हिमालयलाई डम्पिङ साइटमा परिणत गर्नबाट जोगाउन फोहोरलाई कलामा रुपान्तरण गर्न लागेको हो ।

    सगरमाथा आरोहण गर्ने आरोहीले प्रयोग गरेको अक्सिजन बोतलहरू, च्यातिएको पाल, डोरी, टुक्रिएको भर्याङ, क्यान र प्लास्टिकका र्यापर्सहरूलाई कलात्मक रुपमा सजाउन लागिएको हो ।

    यसले पर्यटकलाई आकर्षित गर्ने र सगरमाथा क्षेत्रमा सरसफाई पनि हुनेछ । सगरमाथा र वरपरका क्षेत्रमा आरोही र ट्रेकरहरुले डम्पिङ सामानहरु हटाउन थालिसकेका छन् ।

    प्रोजेक्ट निर्देशक र सागरमाथा नेक्स्ट सेन्टरका सह संस्थापक टोमी गुस्टासनले विदेशी र स्थानीय कलाकारहरूले फोहोर पदार्थबाट कलाकृति सिर्जना गर्न र स्थानीयलाई ट्रेष्टरको भण्डारमा तालिम दिन व्यस्त हुने बताएका छन् ।

    ‘हामी कसरी यो देखाउन चाहान्छौं कि तपाईं कसरी फोहोर फोहोरलाई कलाको बहुमूल्य टुक्रामा परिवर्तन गर्न सक्नुहुन्छ र रोजगारी र आय उत्पन्न गर्न सक्नुहुन्छ । हामी फोहोरको बारेमा मान्छेको धारणा बदल्न र व्यवस्थापन गर्न आशा गर्दछौं।’ गुस्ताफसनले रोयर्टससँग भनेका छन् ।

    कोरोना भाइरसले गर्दा बसन्त ऋतुमा पर्यटक कमै आउने भएकाले यो काम गर्न उत्तम हुने र उत्पादन र कलाकृति वातावरणीय सचेतना जगाउनका लागि प्रदर्शन गरिने तथा स्मारिकाको रूपमा बेचेको यस क्षेत्रको संरक्षणमा जाने उनले बताए ।

    यस योजनामा संलग्न इको हिमाल समूहका फिन्जो शेर्पाले भनेका छन,‘मलाई फोहोर फिर्ता लेऊ अभियानबाट शुरु गरि प्रत्येक फर्केका पर्यटक र गाईडलाई लुक्ला विमानस्थलमा १ किलोग्राम (२.२ पाउण्ड) भएको फोहोरको झोला फिर्ता लिन अनुरोध गरिनेछ ।

    २०१९ मा ६०,००० भन्दा बढी ट्रेकरहरू, पर्वतारोहीहरू र गाईडहरूले यस क्षेत्रको भ्रमण गरेका थिए ।
    ‘हामीले पर्यटकहरूलाई समावेश गरेमा हामी फोहोरको धेरै मात्रामा प्रबन्ध गर्न सक्दछौं’ शेर्पाले भनेका छन ।

  • नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (भिडियो)

    नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (भिडियो)

    काठमाडौं । भारतले अनुदानबापत उपलब्ध गराएको १० लाख डोज खोप नेपाल आइपुगेको छ । काठमाडौंमा विहिबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमानले खोप ल्याएको हो ।

    त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।खोप बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले चाँडै वितरणको काम सरकारले थाल्ने मिडियालाई बताए । मन्त्री त्रिपाठीले खोप आपूर्तिको लागि भारतीय सरकारलाई धन्यवाद समेत दिए ।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो । विमानस्थलबाट प्राप्त खोपलाई सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ ।एयरपोर्टबाट तापक्रम कायम गर्न मिल्ने उपकरण जडित दुईवटा ट्रकमा टेकु लगिएको थियो । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लग्दैछ । जिल्लागत विवरण सरकारले विहिबार साँझसम्म तयार पार्दैछ ।

    पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्‍याउने तयारीमा सरकार जुटेको छ । खोप लगाउने दिन भने अझै तय भएको छैन । स्वास्थ्य मन्त्रालयले यसका लागि कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पुरा गरेर खोप लगाउने योजना बनाएको छ ।

    सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ । अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र जोखिममा रहेका अभियन्तालाई लगाइनेछ । अनुदानको खोप पर्याप्त नहुने भएपछि सरकारले भारत सरकारबाटै थप खोप किन्ने जनाएको छ ।

    नेपाल सरकारले गतसाता आपतकालिन प्रयोगका लागि कोभिसिल्ड खोपलाई प्रयोगमा अनुमति दिएको हो । यो खोपले अन्तराष्ट्रिय स्तरमा उपयोगका लागि विश्व स्वास्थ्य संगठनबाट छिटै अनुमति पाउने सम्भावना पनि देखिएको छ । खोप आएपनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सरकारको सुझाव छ ।

  • चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँदैछन् आइपीओ ?

    चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँदैछन् आइपीओ ?

    काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार (भोलि) बाँडफाँड हुने भएको छ । शुक्रबार बिहान साढे १० बजे कम्पनीको आईपीओ बाँडफाँड हुने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

    चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा १७.५३ बढीको आवेदन परेको थियो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पुस २८ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको कम्पनीको आईपीओको बाँडफाँड शुक्रबार हुने भएको छ ।
    कम्पनीको शेयरमा उच्च आवेदन परेकोले यस कम्पनीको शेयरमा आवेदन दिएका योग्य आवेदनक मध्ये नै ११ लाख १२ हजार ३३६ जनाको हात खाली हुने भएको छ ।

    कम्पनीको आईपीओमा १२ लाख ५१ हजार ९ सय ३८ जनाको आवेदन परेको छ । कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो ।

    ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

    कम्तीमा १० कित्ता प्रतिव्यक्तिलाई वितरण गर्दा उक्त कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

  • सवारी लाइसेन्समा कोटा प्रणाली हटाइयो, अब सजिलै भर्न पाउलान त सेवाग्राहीले ?

    सवारी लाइसेन्समा कोटा प्रणाली हटाइयो, अब सजिलै भर्न पाउलान त सेवाग्राहीले ?

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम माघ ९ गते शुक्रबारदेखि अनलिमिटेड हुने भएको छ ।

    यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरि सो जानकारी दिएको हो । विभागले हालसम्म अनलाइन फारम भर्दा लिमिटेड कोटा सिष्टम लागू गरेको थियो ।

    कोटा सिष्टम लागू गर्दा सम्पूर्ण सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्न कोटा अनलिमिटेड गरिएको विभागको भनाइ छ ।

    कोरोनाका कारण रोकिएको सवारी लाइसेन्स गत पुस १४ गते विभागले पुनः शुरु गरेको थियो ।अनलाइन फारम भर्दा सेवाग्राहीले प्राप्त गर्ने एसएमएस सेवा प्राविधिक कारणले केही समय बन्द गरेको पनि विभागले बताएको छ ।

    यो समयमा सेवाग्राहीले आफ्नो ‘दर्ता नम्बर’ सुरक्षित गरि सम्बन्धित कार्यालयमा तोकिएको मितिमा सम्पर्क गर्न व्यवस्था विभागले आग्रह गरेको छ ।

     

  • सुर्खेतबाट माधव नेपालको घोषणा– ओलीलाई आजै साधारण सदस्यबाट हटाउँछौं

    सुर्खेतबाट माधव नेपालको घोषणा– ओलीलाई आजै साधारण सदस्यबाट हटाउँछौं

    सुर्खेत । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा साबिक नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई आजकै मितिबाट साधारण सदस्यताबाट निष्कासनको घोषणा गरेका छन् ।

    सुर्खेतको वीरेन्द्रनगरमा बिहीबारआयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई आजै कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने तयारी भइरहेको बताए ।

    नेपालले भने– आज पार्टीबाट हटाउने अन्तिम चरणमा छौं । आजकै मितिबाट साधारण सदस्यबाट निष्कासन गर्न गइरहेका छौं । हामीले तीन दिनको स्पष्टीकरण मागेका थियौं तर चार दिनसम्म स्पष्टीकरण दिएनन् । उनले स्पष्टीकरण दिने हिम्मत पनि राख्दैनन् ।

    बालुवाटारमा लगेर सुरेन्द्र पाण्डे र श्रीराम ढकालले स्पष्टीकरणको पत्र बुझाएको तर ओलीले जवाफ दिने आँट नभएको दावी नेपालले गरे । उनले आजै चिठी लेखेर ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्ने बताए ।

  • अनुपविक्रम शाही सेलेव्रिटी एपका ब्रान्ड एम्बेसडर

    अनुपविक्रम शाही सेलेव्रिटी एपका ब्रान्ड एम्बेसडर

    सेलिब्रेटीलाई फ्यानसँग साक्षात्कार गराउने लक्ष्यसहित एप लञ्च भएको छ । वेभसाइट र एप्लिकेसन दुबैमा एकसाथ आएको ‘सेलेब्स ग्रिट्स’ले सेलिब्रेटी र फ्यानबीचको दूरी नजिक बनाउने जनाइएको छ ।

    राजधानीमा विहिबार आयोजित कार्यक्रममा एप लन्च गरियो । उक्त एपको दूतमा अभिनेता अनुपबिक्रम शाही अनुबन्धित भएका छन् । एप निर्माता टीम र अभिनेता शाहीबीच कार्यक्रममा सम्झौतापत्र आदान प्रदान गरियो भने अनुपले नै एपको औपचारिक थालनी गरे ।

    हाल यो एपमा ३० भन्दा बढि सेलिब्रेटी जोडिएको र भोलीको दिनमा अन्य सेलिब्रेटीलाई पनि जोड्दै लैजाने सिइओ इन्जिनियर समुल खड्काले बताए । उक्त एपमा आवद्ध सेलिब्रेटीबाट न्युनतम शुल्कमा फ्यान तथा शुभचिन्तकले चाहेको सन्देश प्राप्तिको लागी अनुरोध गर्न सक्नेछन् । त्यहाँ जम्मा हुने शुल्क सेलिब्रेटीले सामाजिक कार्यको लागी खर्चिनेछन् ।

    एप तथा वेबसाइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्वन्धित टिमले सेलिब्रेटीलाई नोटिस् पठाउनेछ, त्यसपछि आवेदकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्ने जनाइएको छ ।

    फ्यानहरुले आइडल सेलिब्रेटीसँग आफु र आफ्नो परिवार तथा नजिकका व्याक्तिहरुको जीवनको विशेष उत्सवमा शुभकामना माग्न सक्नेछन् । विदेशमा यो अभ्यास पहिलेदेखि रहेतापनि नेपालमा भने यो प्रकारको एपलाई पहिलो भनिएको छ ।

    हालसम्म यो फिचर्डमा नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडल जोडिएका छन् । मनोरञ्जनमात्र नभइ देशको अग्रपंक्तिमा आउने हरेक विधासँग सम्वन्धित सेलिब्रेटीलाई आफूहरुसँग कनेक्ट गराउँदै अघि बढ्ने इन्जिनियर खड्काले बताए ।

  • सावित्राको ह्याट्रिकमा एपिएफको शानदार जित

    सावित्राको ह्याट्रिकमा एपिएफको शानदार जित

    काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकालाई ६–० ले पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफका लागि सावित्राले १४औं, ६२औं र ७२औं मिनेटमा गोल गरिन् ।

    सावित्राको गोलबाट अग्रता लिएको एपिएफका लागि २२ औं मिनेटमा अन्जली योन्जनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । चन्द्रपुरमाथि हाबी बनेको एपिएफले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

    दोस्रो हाफमा पनि दबदबा कायम राखेको एपिएफका लागि सावित्राले ६२औं मिनेटमा व्यक्तिगत दोस्रोा गोल गरिन् । त्यसको दुई मिनेट बित्न नपाउँदै एपिएफकी कप्तान अनिता बस्नेतले टोलीका लागि चौथो गोल गरेकी थिइन् ।

    सावित्राले ७३औं मिनेटमा ह्याट्रिक पूरा गरेसँगै ५–० को अग्रता बनाएको एपिएफका लागि सब्स्टिच्युड खेलाडी प्रिती राईले ८९औं मिनेटमा अन्तिम गोल गरिन् ।

    जितसँगै उपाधि दावेदार एपिएफले तीन अंक जोडेको छ । बुधबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका थिए ।

  • एपीएफको लगातार दोस्रो जित, गण्डकी उपाधि होडबाहिर

    एपीएफको लगातार दोस्रो जित, गण्डकी उपाधि होडबाहिर

    काठमाडौं । आशिफ शेखको अर्धशतक प्रेरित एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरको छ ।

    मूलपानी क्रिकेट मैदानमा १०७ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १७.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो । एपिएफका लागि आक्रमक ब्याटिङ गरेका आशिफले ५६ बलमा ५ चौका र ६ छक्कासहित ७८ रनको महत्त्पूर्ण योगदान गरे ।

    त्यस्तै, सुमित महर्जन १८ रन बनाएर पेभेलियन फर्किँदा कप्तान शरद भेसावकर ५ र भुवन कार्की १ रनमा अविजित रहे । त्यसअघि ओपनर सुवाष खकुरेल र रित गौतम शून्यमा आउट भएका थिए ।

    गण्डकीका लागि चन्द्र पौडेल र विशाल पौडेलले २/२ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ४६ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो । गण्डकीका लागि ओपनर समीर कँडेलले ११४ बल खेलेर दुई चौकासहित सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्य खेलाडीले २० को आँकडा पार गर्न सकेनन् । अर्का ओपनर अर्जुन कुमाल शून्यमा आउट हुँदा विष्णु पाण्डे र दीपेश खत्रीले १५/१५ रनको योगदान गरे ।

    एपीएफको कसिलो बलिङसामु टिक्न नसकेका गण्डकीका अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    एपीएफका लागि १० ओभरमा मात्र ११ रन खर्चेका कमल ऐरीले ३ मेडनसहित सर्वाधिक चार विकेट लिएका थिए । अविनाश बोहरा र कप्तान शरदले २र२ विकेट लिँदा किशोर महतोको खातामा एक विकेट रह्यो ।

    जितसँगै एपिएफले दुई खेलबाट चार अंक जोडेको छ भने चार खेलमा एक मात्र जित निकालेको गण्डकी उपाधि होडबाट बाहिरिएको छ ।

  • छोरीको लागि मतपत्र च्यात्ने, ज्वाइँलाई घरघडेरी किन्दिने अनि योद्धाका छोराछोरी खेलौना हुन् ? (भिडियो)

    छोरीको लागि मतपत्र च्यात्ने, ज्वाइँलाई घरघडेरी किन्दिने अनि योद्धाका छोराछोरी खेलौना हुन् ? (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निसन्तान हुनुमा हीनताबोध नभएको तर प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् ।

    प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले परिवारवाद र नातागोताको कुरा गर्दा आफूलाई केपी ओलीका छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरेका हुन् ।

    ओलीले भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो । छोरीलाई मेयर बनाउनै पर्‍यो, मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’

    ओलीले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै ओलीले आफू निसन्तान हुनुमा हर्ष वा विस्मात नरहेको बताए । तर प्रचण्डलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी कहाँ छन् ? भनेर प्रश्न गर्दै ओलीले ज्यान दिने बेला आफ्ना छोराछोरी विदेशमा राखेको टिप्पणी गरे ।

    प्रधानमन्त्रीले भने– उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उनीहरुका ज्वाइँ छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो,लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हुन् ? उनीहरुको अवस्था के छ ?

  • प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शनको तयारी पूरा

    प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शनको तयारी पूरा

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले शुक्रवार सरकारविरुद्ध काठमाडौंमा हुने वृहत शक्ति प्रदर्शनको तयारी पूरा भएको जनाएको छ ।

    नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर प्रदर्शनको तयारीबारे जानकारी दिएको छ । समितिले प्रत्येक प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई संख्या तोकेरै सहभागी जुटाउन निर्देशन दिएको छ ।

    शनिबार बसेको केन्द्रीय संघर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध उपत्यकाको विभिन्‍न स्थानमा जुलुशसहित दिउँसो १२ बजे रत्‍नपार्कमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    काठमाडौंमा विभिन्न ९ ठाउँबाट जुलुस निस्कने र प्रत्येक जुलुसको नेतृत्व स्थायी कमिटीका नेताले गर्ने भएका छन् ।

     

  • अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

    अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

    काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

    कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र स्थानीय तहमा समायोजन भएका र पछि विज्ञापन भइ स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा स्वीकृतको प्रक्रिया सहज र सरल बनाउन यस्तो निर्णय गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

    माघ ४ गते बसेको मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले जनाएको छ । निर्णय भएसँगै मन्त्रालयले ७ वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरिसकिएको शाखा प्रमुख तुलसी श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

    मन्त्रालयले गाउँपालिकामा कार्यरत ५ र ६ औं तहसम्मका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि राजीनामा स्वीकृत गर्ने तथा अवकाशपत्र दिने अधिकार राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ ।

    ७ र ८ औं तहसम्मका कर्मचारीको सम्बन्धित गाउँपालिकाको तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले पेश गरी सम्बन्धित जिल्लाको द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीलाई दिइएको छ ।

    मन्त्रालयले नगरपालिकामा कार्यरत ५, ६, ७ र ८ औं तहसम्मका कर्मचारीको भने द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले र त्यो नभए सम्बन्धित जिल्लाको द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले राजीनामा स्वीकृत गर्ने र अवकाशपत्र दिने व्यवस्था गरेको हो ।

    उप–महानगरपालिका र महानगरपालिकामा कार्यरत ९ र १० औं तहसम्मका कर्मचारीको भने प्रथम श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने व्यवस्था गरिएको छ ।

    स्थानीय तहमा तोकिएको दरबन्दी बमोजिमको कर्मचारी कार्यरत नरहेको अवस्थामा भने सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले स्वीकृत गर्ने वा सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजीनामा स्वीकृत गर्नेछ ।

  • प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तोः ओली

    प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तोः ओली

    काठमाडौं । आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी गरेका छन् ।

    बिहीबार काठमाडौंको राष्ट्रियसभामा आयोजित पत्रकारको भेलामा बोल्दै उनले भने– कोही कोहीले तमासा गरिरहेका छन् । हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन् । सिनेमा हिरो हिरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन । उहाँहरु त्यस्तै नाटक गरिरहनु भएको छ ।

    आफूले सुशासन र समृद्धिको अभियान चलाउँदा प्रचण्ड–माधव नेपाललाई नपचेको पनि उनले बताए ।

  • दलहरुलाई करिश्माको कटाक्ष- जनतालाई मर्का पर्दा नबोल्ने, आफैंलाई परेपछि सडकमा ?

    दलहरुलाई करिश्माको कटाक्ष- जनतालाई मर्का पर्दा नबोल्ने, आफैंलाई परेपछि सडकमा ?

    अभिनेत्री करिश्मा मानन्धरले सरकारविरुद्ध सडकमा उत्रेका राजनीतिक दलहरुप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । जनतालाई मर्का पर्दा मौन बसेका दलहरु आफैंलाई मर्का पर्दा कोरोना बिर्सेर सडकमा भिडभाड गर्न निस्केको उनको टिप्पणी छ ।

    फेसबुकमा लामो स्टाटस लेख्दै करिश्माले आफ्नो भनाइ सार्वजनिक गरेकी हुन् । हिजो मात्रै उनले पार्टी सिस्टम काम नभएको भन्दै राजा राख्नुपर्ने पक्षमा वकालत गरेकी थिइन् । यही सिलसिलामा उनले आज अर्को स्टाटस लेखेकी हुन् । ‘के मैले स्वतन्त्र नागरिकको हैसियतमा मेरो कुरा राख्नै नपाउने हो त ?’ भन्दै करिश्माले प्रश्न गरेकी छन् ।

    ‘जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैंलाई मर्का परेपछि सडकमा आउने, भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राो काम गरिरहेका छौ भनेर भनौं ? राजनीतिक दलहरुको कार्यशैली, व्यवहार र चिन्तन जनपक्षीय छ भनेर कसरी झूट बोलुँ ?’

    उनी आफू नेपाल राज्यको स्वतन्त्र नागरिक भएको बताउँदै राजनीतिक दल र नेताको भन्दा देश र राष्ट्रियताको माया लाग्ने उल्लेख गरेकी छन् ।

  • अर्थमन्त्री पौडेलको प्रतिबद्धता- सबै नागरिकलाई गुणस्तरीय खोप निःशुल्क दिन्छौं

    अर्थमन्त्री पौडेलको प्रतिबद्धता- सबै नागरिकलाई गुणस्तरीय खोप निःशुल्क दिन्छौं

    काठमाडौं । अर्थमन्त्री तथा विभाजित नेकपाका महासचिव विष्णु पौडेलले कोभिड विरुद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई विहीवार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीप्य खोप निःशुल्क उपलब्ध गराइने बताए ।

    पौडेलले भने, ‘हिजो हामीले निःशुल्क खोप उपलब्ध गराउँछौ भन्दा केही मान्छे पत्याउदैन थिए । आज हामी राष्ट्रिय अभिभारा र निर्वाचन गराउने दायित्व निर्वाह गरिरहँदा गुणस्तरीय खोप निःशुल्क उपलब्ध गराउने तयारी सरकारले गरेको छ र हामी त्यसबाट पछि हट्दैनौं ।’

    अर्को प्रसंगमा महासचिव पौडेलले वैशाख १७ र २७ गते हुने निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा बहुमत सहित देशको ठूलो दल बन्ने दाबी गरे । उनले जनतासँग विवेक र विश्लेषण गर्ने क्षमता रहेको भन्दै आउने चुनावमा जनताले ओलीमाथि न्याय गर्ने बताए ।

    प्रचण्ड-माधव पक्ष चुनावी परिणामबाट डराएर निर्वाचनका गतिबिधि नगर्न दबाब दिदै निर्वाचन आयोगमा पुगेको पौडेलले बताए ।

  • बाइडेनद्वारा १७ कार्यकारी आदेशमा हस्ताक्षर : ११ मिलियन कागजपत्रविहिनलाई ग्रीनकार्ड पाउने बाटो खुला

    बाइडेनद्वारा १७ कार्यकारी आदेशमा हस्ताक्षर : ११ मिलियन कागजपत्रविहिनलाई ग्रीनकार्ड पाउने बाटो खुला

    काठमाडौं । कार्यभार सुरु गरेको पहिलो दिनमै अमेरिकी राष्ट्रपति जो बाइडेनले १७ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमा मास्कलाई अनिवार्य गर्नेदेखि पेरिस जलवायु सम्झौतामा पुनरागमन गर्नेसम्मका बुँदा आदेश छन् ।

    बाइडेनले अघिल्लो ट्रम्प प्रशासनले निर्णय गरेका आदेशलाई उल्टाएका हुन् । उनले सपथ ग्रहण समारोहमै विश्व समुदायलाई लक्षित गर्दै अमेरिका भरपर्दो मित्रराष्ट्र बन्न चाहेको र आफ्ना साझेदारी मुलुकसँग सम्बन्धलाई नवीकरण गर्न चाहेको बताएका थिए ।

    बाइडेनले कोरोनाभाइरस महामारीलाई नियन्त्र गर्न मास्कलाई अनिवार्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे । उनको सपथ ग्रहणकै दिनमा भाइरसबाट एकैदिनमा मृत्यु हुनेको संख्या ४ हजार ४०० थियो । मास्कको अनिवार्य प्रयोग गर्न सकिए थप ५० हजार जनाको मृत्युलाई रोक्न सकिने बाइडेनले जनाएका छन् ।

    उनले ‘हन्ड्रेड डेज मास्क च्यालेन्ज’ अभियान पनि घोषणा गरेका छन् । साथै बाइडेनले विश्व स्वास्थ्य संगठनबाट पछि हट्ने र लगानी रोक्ने ट्रम्प प्रशासनको निर्णयलाई उल्ट्याउने तयारी थालेका छन् । यसका लागि उनले कोभिड मामिला हेर्ने प्रमुख एन्थोनी फाउचीको नेतृत्वमा डब्लुएचओमा डेलिगेसन पठाउने तयारी गरेका छन् ।

    बाइडेनले अध्यागमन नीतिमा पनि एउटा कार्यकारी आदेश दिएका छन् जसले ब्यापक विरोध हुँदै आएको एउटा अध्यागमन कार्यक्रम डाकालाई अन्त्य गर्नेछ । यो आदेशपछि अमेरिकामा कागजपत्रविहिन ११ मिलियनलाई बैधानिक बाटो खुल्नेछ साथै बाल्यकालमा अमेरिका आएकालाई नागरिकता प्राप्तीको बाटो खुल्नेछ ।

    गैरअमेरिकीलाई जनगणना नगरिने र कागजपत्र विहिनलाई देश निकाला गर्ने ट्रम्प प्रशासनको निर्णयलाई पनि बाइडेनले कार्यकारी आदेशमार्फत उल्टाएका छन् । अहिले अमेरिकामा ११ मिलियन (१ करोड १०) जना कागजपत्रविहिन भएको बताइन्छ । जसमा नेपालीको संख्या पनि उच्च छ ।

    मुस्लिम देशका नागरिकलाई अमेरिका भ्रमणमा लगाइएको रोकलाई पनि बाइडेनले आदेशमार्फत हटाएका छन् । ट्रम्प प्रशासनको यो निर्णयबाट प्रभावित मुलुकका नागरिकलाई अमेरिका आउन दिन भिसा सुविधा सुरु गर्न पनि बाइडेनले स्टेट डिपार्टमेन्टलाई निर्देशन दिएका छन् ।

    मेक्सिको सीमामा ट्रम्पले लगाउन सुरु गरेको पर्खालको निर्माणलाई पनि रोक्न बाइडेनले आदेश दिएका छन् । यो निर्णयलाई मेक्सिकोले स्वागत पनि गरिसकेको छ । बाइडेनको आदेशपछि अमेरिकी सरकारले सीधै सरकारी ढुकुटीबाट पर्खाल निर्माणमा हुने प्रत्यक्ष लगानीको कानुनी प्रावधानलाई नियाल्ने भएको छ ।

    बाइडेनको कार्यकारी आदेशमा पेरिस जलवायु परिवर्तनबाट अमेरिकालाई हटाउने ट्रम्प प्रशासनको निर्णयलाई उल्ट्याउने बुँदा पनि छ । ३० दिनभित्र अमेरिकाले पुनः पेरिस सम्झौतामा भाग लिने तयारी छ । साथै, ट्रम्पले लागु गरेका वातावरणीय नीतिलाई पनि रोक्ने आदेशमा बाइडेनले हस्ताक्षर गरेका छन् । बाइडेनले घरेलु मामिला हेर्ने कमिसनकी प्रमुख सुसन रइसलाई वर्णविभेदविरुद्धको संयोजकमा नियुक्त गरेका छन् ।

    कोरोनाभाइरसले थलिएको अर्थतन्त्रलाई उकास्ने, राहत प्रदान गर्ने, महामारीलाई नियन्त्रण गर्ने, जलवायु र आर्थिक मुद्दा आफ्नो सरकारको प्राथमिकता हुने बाइडेनले उल्लेख गरेका छन् ।

  • क्रिकेटलाई माया गर्ने देशको प्रशिक्षक बन्न पाउँदा खुशी छुः वाटमोर

    क्रिकेटलाई माया गर्ने देशको प्रशिक्षक बन्न पाउँदा खुशी छुः वाटमोर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपालको क्रिकेट स्तर सुधार्ने प्रतिबद्धता गरेका छन् । नेपाल आएपछि बिहिबार पहिलोपटक पत्रकार सम्मेलनमा प्रस्तुत भएका उनले नेपाली टोलीसँग काम गर्न आफू उत्साहित रहेको बताए ।

    ‘नेपाल जस्तो क्रिकेटलाई माया गर्ने देशको प्रशिक्षक हुन पाउँदा मलाई एकदमै खुशी लागेको छ,’ श्रीलंकाली मूलका अस्ट्रेलियन प्रशिक्षक वाटमोरले भने, ‘मेरा लागि यो नयाँ चुनौती हो ।’

    नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रियको मान्यतालाई कायम राख्दै नेपाली क्रिकेटलाई थप माथि उठाउन कोशिश गर्ने प्रतिवद्धता उनले जनाए ।

    वाटमोर गत डिसेम्बर १७ मा नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका हुन् । अस्ट्रेलियाका लागि ७ वटा टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनी सन् १९९६ मा श्रीलंकाले विश्वकप जित्दा सो टोलीका मुख्य प्रशिक्षक थिए ।

  • सुवास नेम्वाङ र अग्‍नि खरेलका भाषणलाई प्रमाणका रूपमा लिन माग

    सुवास नेम्वाङ र अग्‍नि खरेलका भाषणलाई प्रमाणका रूपमा लिन माग

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ भइरहेको छ ।

    शुरूमा रिट निवेदकको तर्फबाट बहस गरेका अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिले प्रतिनिधिसभा पुनःस्थापना गरेर जनताको नासो जनतालाई फिर्ता गर्नुपर्ने जिकिर गरे ।

    अर्यालले विगतमा राजा ज्ञानेन्द्रले गरेजस्तै रााष्ट्रपतिले प्रतिनिधिसभा पुनःस्थापना गर्न सक्ने तर्क इजलाससमक्ष पेश गरे । अर्का अधिवक्ता टीकाराम भट्टराईले प्रतिनिधिसभा विघटनको अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको भन्दै त्यसको प्रमाणका रूपमा तत्कालीन सभामुख सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलले सार्वजनिकरूपमा बोलेका कुरालाई प्रमाणका रूपमा लिन इजलाससमक्ष आग्रह गरे ।

  • नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (फोटो फिचर)

    नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (फोटो फिचर)

    काठमाडौं । भारतले अनुदानबापत उपलब्ध गराएको १० लाख डोज खोप नेपाल आइपुगेको छ । काठमाडौंमा विहिबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमानले खोप ल्याएको हो ।

    त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।खोप बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले चाँडै वितरणको काम सरकारले थाल्ने मिडियालाई बताए । मन्त्री त्रिपाठीले खोप आपूर्तिको लागि भारतीय सरकारलाई धन्यवाद समेत दिए ।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो । विमानस्थलबाट प्राप्त खोपलाई सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ ।एयरपोर्टबाट तापक्रम कायम गर्न मिल्ने उपकरण जडित दुईवटा ट्रकमा टेकु लगिएको थियो । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लग्दैछ । जिल्लागत विवरण सरकारले विहिबार साँझसम्म तयार पार्दैछ ।

    पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्‍याउने तयारीमा सरकार जुटेको छ । खोप लगाउने दिन भने अझै तय भएको छैन । स्वास्थ्य मन्त्रालयले यसका लागि कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पुरा गरेर खोप लगाउने योजना बनाएको छ ।

    सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ । अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र जोखिममा रहेका अभियन्तालाई लगाइनेछ । अनुदानको खोप पर्याप्त नहुने भएपछि सरकारले भारत सरकारबाटै थप खोप किन्ने जनाएको छ ।

    नेपाल सरकारले गतसाता आपतकालिन प्रयोगका लागि कोभिसिल्ड खोपलाई प्रयोगमा अनुमति दिएको हो । यो खोपले अन्तराष्ट्रिय स्तरमा उपयोगका लागि विश्व स्वास्थ्य संगठनबाट छिटै अनुमति पाउने सम्भावना पनि देखिएको छ । खोप आएपनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सरकारको सुझाव छ ।

             
  • बुटवल मेडिकल कलेज: दुई वर्षअघि नै कार्यालय उद्घाटन, आयोजनाको डीपीआर पनि बनेन

    बुटवल मेडिकल कलेज: दुई वर्षअघि नै कार्यालय उद्घाटन, आयोजनाको डीपीआर पनि बनेन

    रुपन्देही । २०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन भयो । तर, मेडिकल कलेजको भने अझैसम्म विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि बनेको छैन ।

    ‘एक प्रदेश, एक मेडिकल कलेज’को सरकारी नीतिअनुसार सरकारी मेडिकल कलेज खोल्न सरकारले दुई वर्षअघि नै बजेट छुट्ट्याएको थियो । आयोजनाको भौतिक प्रगति नदेखिए पनि भित्रभित्रै झन्झटिला काम सकिएको कलेजका आयोजना निर्देशक मानबहादुर घिमिरेले बताए । कोरोना महामारीका कारण पनि काम प्रभावित भएको उनको भनाइ छ ।

    हालै आयोजनाको डीपीआर गर्न ‘केड कन्सल्टेन्सी’ प्रालि काठमाडौं छनोट भएको र १० महिनामा उक्त कन्सल्टेन्सीले डीपीआर पूरा गर्ने उनले बताए । तिलोत्तमा नगरपालिका–१ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको झण्डै दुई सय बिगाह जमिनमा मेडिकल कलेज बन्ने भनिएको छ । योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजका रूपमा स्थापना हुने घिमिरेको भनाइ छ ।

    त्यसका लागि करीब १२ अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । यद्यपि आयोजनाका पूर्णलागत डीपीआर पूरा भएपछि मात्र आधिकारिक विवरण आउनेछ ।

    अस्पताल १ हजार बेड क्षमताको हुनेछ । सोही क्षेत्रभित्र दुई वटा ठूला भवनहरू बन्नेछन्, जहाँ १ हजार विद्यार्थी पढ्न र ५ सय डाक्टर नर्स बस्ने सुविधा रहनेछ । सो क्षेत्रमा एउटा स्कूल, खेल मैदान, स्वीमिङ पुलसहित मेडिकल कलेजको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बन्नेछ ।

    आयोजनाका इञ्जिनियर उमेश सिंहले यसै आर्थिक वर्षभित्र डीपीआर सम्पन्न गरेर टेन्डरको प्रक्रियामा जाने गरी काम भइरहेको बताए ।

    आयोजनास्थलमा एउटा खेलमैदान पनि परेको छ । त्यसलाई अन्यत्र स्थानान्तरण गर्न नगरपालिकासँग समन्वय गरिरहेको इञ्जिनियर सिंहले बताए । अर्थमन्त्री विष्णु पौडेल यसअगाडि अर्थमन्त्री हुँदा उनैको पहलमा देशका सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने योजना ल्याइएको थियो ।

    सुरूकै वर्ष आयोजनाका लागि १ करोड रूपैयाँ बजेट छुट्ट्याइएको थियो । वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) अनुसार आयोजनास्थलमा १३ हजार रूख काट्नुपर्ने अवस्था छ । त्यसका लागि वन मन्त्रालयबाट स्वीकृतको प्रक्रिया सकिएको घिमिरेले बताए ।

    तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मेडिकल कलेजको प्रोजेक्ट नेपालकै ठूलो प्रोजेक्ट रहेकाले छिटो बनाउन सबैको सहकार्य आवश्यक भएको बताए । उनले तिलोत्तमामा आयोजनाप्रति कुनै क्षेत्रबाट अवरोध नहुने बताए ।