Blog

  • वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते ‘कास्टिङ’ देखाउँछौं : ओली (भिडियो)

    वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते ‘कास्टिङ’ देखाउँछौं : ओली (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनेर आफूहरूले माघ २३ मा देखाउने बताएका छन्।

    विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले काठमाडौंमा शुक्रबार आयोजना गरेको सभाप्रति लक्षित गर्दै ओलीले त्यो सामान्य सभा मात्रै भएको बताए।

    सभामा आठ-दश हजार मान्छे जम्मा भएपछि प्रचण्ड, माधव नेपाल लगायतका नेताहरू अनाश्वयक उत्तेजित भएको भन्दै उनले जनपरिचालनको बास्तविक ‘कास्टिङ’ आफूहरूले देखाउने बताए।

    आजको सभा के हो र ? वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं,’ पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी अन्य काममा लागेर तयारी गर्न नभ्याइएको मात्रै हो । वास्तविक जनपरिचालन कस्तो हुन्छ भन्ने कुराको कास्टिङ त्यो बेला देखाउँछौं ।’

  • पूर्व लडाकुको नाममा ओली-प्रचण्ड जुहारी, त्यो कालिबहादुरको गाह्रो साह्रोमा मैले हेरेकै थिएँ (भिडियोसहित)

    पूर्व लडाकुको नाममा ओली-प्रचण्ड जुहारी, त्यो कालिबहादुरको गाह्रो साह्रोमा मैले हेरेकै थिएँ (भिडियोसहित)

    काठमाडौं । माओवादी लडाकुप्रति खासै अनुराग नदेखाउने प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय उनीहरूलाई पटक–पटक सम्झिरहेका छन् ।

    १५ पुसमा पार्टीको सुदुरपश्चिम प्रदेश कमिटीको भेलालाई सम्बोधन गर्दा माओवादीका पूर्व लडाकु कालीबहादुर खामलाई सम्झिएका थिए ।

    ४ माघमा पनि ओलीले पूर्व लडाकु सम्झिए । आफ्नो सम्बोधनका क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलपत्र पारेको र आफूले व्यवस्थापन गर्ने बताएका थिए । ओलीले भनेका थिए– ‘देशमा परिवर्तन ल्याउन भन्दै लडाइयो तर अहिले कहाँ ल्याए त्यो कुरा सम्झाउन खोजेको हुँ, वहिर्गमनमा परेका लडाकुहरुलाई यथोचित ब्यवस्था गर्छु ।’

    त्यस्तै बिहीबार पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा पनि ओलीले पूर्व जनमुक्ति सेनाको प्रसङ्ग उप्काए । उनले आफ्ना लागि ज्यान दिने योद्धाका छोराछोरीलाई अलपत्र पारेर प्रचण्डले आफ्ना छोरी र ज्वाइँको लागिमात्र बार्गेनिङ गरेको बताएका थिए ।

    ओलीको उक्त भनाइको खासै जवाफ नदिएका प्रचण्डले शुक्रबार भने मुखै फोडेर जवाफ दिए । ओलीले पूर्व जनमुक्ति सेनालाई बढ्ता प्रेम दर्शाएको प्रति व्यङ्ग्यात्मक रुपमा भने– आमाको दूध चुसेर भएन, बाबुको घुँडो !

    प्रचण्डको आजको टिप्पणी

    एउटा विचित्र उहाँले जनयुद्ध भनेपछि सुन्न पनि नचाहने एक नम्बर मान्छे उहाँ (ओली) हुनुहुन्थ्यो पहिला। तर, शान्ति सम्झौता भइसकेपछि त अलिकति मान्नु होला कि भन्ने ठानेको त एकतापछि पनि जनयुद्धका शहीदलाई सम्मान गर्ने कार्यक्रममा एक चोटी पनि जानु भएन। माधवजी जानु भयो, झलनाथजी जानु भयो । एमालेका सबै नेताहरू जानुभयो । केपी कहिल्यै पनि जानु भएन । मैले त्यसलाई खुब ‘नोट’ गर्‍या थिएँ ।

    सरकारलाई मैले पटक–पटक यी घाइतेको उपचार गरौं भन्दा यो सरकारले भत्ता पो काटेछ । गृह प्रशासन पनि ओलीले जे भने त्यही मान्ने छ । मैले धेरै पटक भन्दा कहि कतै टेरपुच्छर लाइएन । घाइते अपाङगको उपचार गर्ने कुरालाई पुरै व्यवास्ता गरियो । अहिले पार्टी विभाजन गरेपछि र आफू पुरै अल्पमतमा परेपछि, मैले अहिले सुन्छु– ती घाइते अपाङ्गलाई हेर्नु पर्दैन ? भन्ने के यही केपी । फट्याई गर्न पनि कति सकेको के । जालझेल गर्न पनि कस्तो दिमाग हो ।

    कालीबहादुर खाम खोइ अरे । कालीबहादुर खाम खोइ रे। त्यो कालीबहादुर खाम बिचरा आफैले केही गर्‍या त होइन । उसको मुद्दा ठीक ढंगले हल होस् भन्नका लागि १०/११ वर्षदेखि लागेकै थिएँ । उनलाई परेको गाह्रो, साह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालीबहादुर प्रचण्डले त तपाईंलाई हेर्दैन, जनमुक्ति सेनाका कमाण्डरलाई । यो भन्दा लाजमर्दो अरु हुन्छ । प्रचण्डले जनमुक्ति सेना नहर्ने रे, केपीले हेर्ने रे ।

    जसलाई मैले १० वर्षसम्म स्कुलिङ गरेर हुर्काएर, माया गरेर एउटा ठाउँमा पुर्‍याएको । ती मान्छेको चाहिँ अब केपीले संरक्षण गर्ने रे ! आमाको दूध चुसेर भएन, बाबुको घुँडो ! योभन्दा लाजमर्दो अरु हुन्छ ? प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले !

    जनमुक्ति सेनाका सबै योद्धा, घाइते साथीहरू भ्रमित नहुनु होला । तपाईंहरूको रगत, पसिना र बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन ऐतिहासिक भूमिका खेलेको छ । इतिहासको स्वर्णीमा अक्षरमा तपाईंहरूको नाम लेखिइसकेको छ । त्यसलाई कालो पोत्ने काम हामी कोही नगरौं । म यो अपील पनि गर्न चाहान्छु ।

    पूर्व सहकर्मीप्रति पनि कटाक्ष

    सम्बोधनका क्रममा प्रचण्डले ओली पक्षतिर लागेका आफ्ना पूर्वसहकर्मीमाथि पनि कटाक्ष गरे । प्रचण्डले उनीहरूलाई भगौडा भनेर समेत टिप्पणी गरे ।

    प्रचण्डको भनाइ थियो- तपाईंहरुले थाहा पाउनुभएको छ, हिजो पूर्वमाओवादीका केही–केही फुट्ने, आउने–जाने गरेका केही चाहिँ अहिले खरानी घसेर चिन्नै नसकिने भएका छन् । केपीका ओरिजिनल साइबर स्यालभन्दा यी भगौडाहरुले यति धेरै खरानी घसेको देखेर मलाई लाजै लाग्या छ ।

  • नयाँ फिल्मलाई रेखाको तयारी : घटाइन् २० किलो तौल, नयाँ हिरो लन्च गर्ने

    नयाँ फिल्मलाई रेखाको तयारी : घटाइन् २० किलो तौल, नयाँ हिरो लन्च गर्ने

    काठमाडौं । रेखा थापा र रेनशा बान्तवा राईबीचको सहकार्य तत्काल नहुने भएको छ । अभिनेत्री एवं निर्मात्री थापाले आउँदो बैशाखदेखि होमप्रोडक्सन फिल्मलाई छायांकनमा लैजाने घोषणा गरेकी छिन् ।

    रेनशासँगको फिल्मलाई थाँती राखेर थापाले आफ्नै निर्देशनमा एक्सन फिल्म बनाउन लागेकी हुन् । अहिले रेखा यही फिल्मको गृहकार्यमा छिन् । फिल्मका लागि रेखाले २० किलो वजन घटाएकी छिन् । स्क्रिप्ट पनि उनी स्वयमले लेखेकी हुन् ।

    यो फिल्ममार्फत रेखा नयाँ हिरो लन्च गर्न चाहन्छिन् । हुनेवाला हिरोलाई गोप्य राखेकी छिन् । ‘मेरो यो फिल्मबाट नयाँ हिरोको डेब्यु हुनेछ’ उनले भनिन् । यही फिल्मको लागि भनेर रेखाले तौल ५० किलो बनाएकी छिन् । लकडाउनको समय तौल घटाउने व्यायाममा व्यतित गरिन् ।

    व्यक्तिगतरुपमा प्रशिक्षक राखेरै उनले एक्सन कला सिकिरहेकी थिइन् ।

    ‘बदलिएको दर्शकको चाहनाअनुसारको फिल्म बन्नेछ’ रेखा भन्छिन्, ‘आउने फिल्ममा दर्शकले मलाई बिल्कुल फरक अवतारमा देख्न पाउनुहुनेछ ।’ पछिल्लो फिल्म मालिकामा उनी एक मोटिभेटर पात्रको भूमिकामा देखिएकी थिइन् ।

    लकडाउनअघि रेखाको फिल्मको निर्देशकमा रेनशा राई अनुबन्धित थिइन् । यो फिल्मको निर्माणमा ढिलाइ हुने भएको छ । रेखा र सविन श्रेष्ठले एक अर्को नयाँ फिल्ममा पनि सहकार्य गर्ने चर्चा थियो ।

  • को हुन् ओलीले प्रचण्ड-माधवसँग तुलना गरेका मुंगेरीलाल ?

    को हुन् ओलीले प्रचण्ड-माधवसँग तुलना गरेका मुंगेरीलाल ?

    काठमाडौंमा शुक्रबार आयोजित पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई हिन्दी टेलिभिजन सिरिजको एउटा पात्रसँग तुलना गरेका छन् ।

    उनले कार्यकर्तालाई युट्युवमा खोजेर ‘मुंगेरीलालके हँसिन सपने’ नामको सिरिज हेर्न समेत सुझाए । सन् १९९० मा रिलिज भएको प्रकाश झा निर्देशित यो सिरिजले काम नगर्ने तर दिवास्वप्न मात्र देख्ने मुख्य पात्रको मानसिक स्थितीलाई चित्रण गर्छ ।

    अफिसमा जागिर गर्ने मुंगेरीलाल घरमा पत्नी र अफिसमा हाकिमबाट आजित छ । एकदिन मुंगेरीलालको ससुराले आफू प्रहरीको इन्सपेक्टर भएको झूठो सूचना ज्वाइँलाई दिन्छन् । आफ्नै ससुरा पुलिस भएको भन्दै मुंगेरीलालले एकदिन बोसलाई नै बदला लिन्छ । आफ्नै राम्री साथीलाई डेटिङ गर्छ तर सपनामा ।

    जब उसकी पत्नीले निद्राबाट ब्युँझाइदिन्छिन्, तब ऊ झल्याँस्स हुन्छ र सबै अवास्तविक थिए भन्ने कुरा बुझ्छ । यो सिरिज हलिउडको चर्चित फिल्म ‘सेक्रेट लाइफ अफ वाल्टर’बाट प्रभावित छ । मुंगेरीलालको भूमिकामा रघुवीर यादवले अभिनय गरेका छन् ।

    यसको अर्थ, प्रधानमन्त्री केपी ओलीले पनि प्रचण्ड–माधवलाई मुंगेरीलाल पात्रसँग तुलना गर्दै उनीहरुले दिवास्वप्न मात्र देखेको भन्न चाहेका हुन् । उनको यो अभिव्यक्ति संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले गरेको सडक आन्दोलनतर्फ लक्षित थियो भन्ने बुझ्न कठिन छैन ।

  • महिला लिगमा पुलिसको शानदार जित

    महिला लिगमा पुलिसको शानदार जित

    काठमाडौं । रेखा पौडेल र सिर्जना खड्काको दुई गोल प्रेरित नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा चौदण्डिगढी नगरपालिकालाई ६-० को नतिजामा पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्समा भएको खेलको २८औं मिनेटमा गोल गर्दै रेखाले विभागीय टोली पुलिसलाई अग्रता दिलाएकी थिइन् । चौदण्डिगढी नगरपालिकाको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसका लागि ४१औं मिनेटमा अम्रिता जैसीले दोस्रो गोल गरेकी थिइन् । त्यसको ४ मिनेट नबित्दै सिर्जना खड्काले पुलिसका लागि तेस्रो गोल गरिन् त्यसको दुई मिनेट नबित्दै निर्मला बिकले पहिलो हाफको इन्जुरी समयमा पुलिसका लागि चौथो गोल गरेकी थिइन् ।

    पहिलो हाफमा ४-० को अग्रता बनाएको पुलिसले निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा पाचौँ गोल थप्यो । खेलको पहिलो गोल गरेकी रेखाले ८९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरिन् । पुलिसको आक्रमक शैलीविरुद्ध सम्हालिन नसकेको चौदण्डिगढीका लागि सिर्जनाले खेलको इन्जुरी समयमा छैठौं तथा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् ।

    जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको पुलिसको प्रतियोगितामा यो नै पहिलो जित हो । प्रतियोगितामा पहिलो खेल खेलेको चौदण्डिगढीले सुरुआतमा आधा दर्जन गोल खाएको हो ।

  • जाममा परेर हिँडिन् मन्त्री

    जाममा परेर हिँडिन् मन्त्री

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले शुक्रबार गरेको शक्ति प्रदर्शनले राजधानीको जनजीवन नै प्रभावित भयो।

    राजधानीका बिभिन्न ९ ठाउँबाट निस्केको जुलुसका कारण ‘कोर एरिया’ को सार्वजनिक यातायत नै प्रभावित भयो। धेरै सर्वसाधारण सवारीसाधन नचलेका कारण हिँड्न पनि बाध्य भए।

    त्यस्तै बाध्यतामा परिन् कृषि तथा पुशपन्छी विकासमन्त्री पद्मा अर्याल। भृकुटीमण्डअघि आयोजना हुने सभाका लागि करिब ११ बजेतिर नै जुलुस शुरु भएको थियो । मन्त्री निवास पुल्चोकबाट सिंहदरबार आउँदै गरेकी मन्त्री अर्याल पनि जुलसका कारण सिर्जना भएको अवरोधमा परिन्।

    मन्त्री अर्यालकी प्रेस संयोजक देवीका घर्तीमगरका अनुसार ललितपुरतिरबाट आइरहेको जुलुसका कारण मन्त्री थापाथली चोकबाट थापाथली इन्जिनियरिङ क्याम्पससम्म हिँडेरै आइन। मन्त्री बिहान साढे एघार बजेतिर थापाथली चोक आइपुगेकी थिइन, जुनबेला प्रायः सबैतिरबाट जुलुस शुरु भइसकेका थिए।

    ‘थापाथली आउँदा ललितपुरबाट आउने जुलुसले नै जाम भयो,’ घर्तीले नेपाल प्रेससित भनिन्, ‘अनि यता माइतीघरमा पनि जाम भएपछि गाडी ‘ब्लक’ भयो । मन्त्रीज्यू त्यसपछि थापाथली चोकबाट इन्जिनियरिङ कम्याम्पससम्म हिँडेर आउनु भएको हो । जाम पर्‍यो भने मन्त्रीज्यू बेला-बेला हिँड्नु हुन्छ।’

  • प्रचण्ड-माधवलाई ओलीको जवाफ- मुंगेरीलालहरु रंगीन सपना देख्दैछन्

    प्रचण्ड-माधवलाई ओलीको जवाफ- मुंगेरीलालहरु रंगीन सपना देख्दैछन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई हिन्दी फिल्मको पात्र मुंगेरीलालसँग तुलना गर्दै दुई नेताले आफ्नो र परिवारको बाहेक अरुको बारेमा कहिल्यै नसोचेको आरोप लगाएका छन् ।

    काठमाडौंमा शुक्रवार आयोजित पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कार्यकर्तालाई ‘मुंगेरीलालके हँसिन सपने’ नामको पूरानो हिन्दी फिल्म युट्युवमा खोजेर हेर्न र प्रचण्ड माधवसँग तुलना गर्न सुझाव दिए ।

    ओलीले भने- ‘मुंगेरीलालके हँसिन सपने’ भन्ने फिल्ममा एउटा पात्र थियो । यहाँ त एउटा होइन दुईटा मुंगेरीलाल छन् । मुंगेरीलालले आफ्नो लागिमात्र अनौठा अनौठा सपना देख्छ । हाम्रा मुंगेरीलालहरु पनि जनताको लागि कहिल्यै सपना देख्दैनन् । खाली म र मेरो परिवार, मेरा छोरी ज्वाइँ भन्नेमात्र सपना देख्छन् ।

    ओलीले प्रतिनिसभा पुनःस्थापनाको प्रावधान संविधानमा नरहेको भन्दै प्रचण्ड माधवले चाहदैनमा नहुने बताए । उनले वकिलहरुले अदालतमा गफ फिट्ने काम गरे पनि त्यसको अर्थ नरहेको बताए ।

    प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्ष बाहिरिएपछि नेकपा अझ अनुकुल परिस्थितिमा पुगेको र मुंगेरीलालहरूको सपना पूरा नहुने बताए ।

  • बाग्मती सेमिफाइनल नजिक, प्रदेश २ बाहिरियो

    बाग्मती सेमिफाइनल नजिक, प्रदेश २ बाहिरियो

    काठमाडौं । पृथु बाँस्कोटाको अविजित अर्धशतक प्रेरित बाग्मती प्रदेशले प्रधानमन्त्री कपमा शुक्रबार प्रदेश नम्बर २ लाई ६ विकेटले पराजीत गरेको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश २ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १७९ रनको योगफल तयार पारेको थियो । १८० रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बाग्मतीले ४८ दशमलव २ ओभरमा ४ विकेट मात्रै गुमाएर पूरा गर्‍यो ।

    बाग्मतीका लागि पृथु बास्कोटाले ७५ बलमा ४ चौका र १ छक्कासहित अविजित ५३ रन बनाए । त्यस्तै, ९३ को सामना गरेका बिभत्सु थापाले ३ चौकासहित ४७ रन तथा आकाश थापाले ३२ रन बनाए ।

    प्रदेश २ का लागि हरिशँकर साहले २ तथा कुमार थापा र विशाल शुस्लिङले १\१ विकेट लिए । यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको प्रदेश २ का लागि विवेकले सर्वाधिक ७४ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए ।

    कुमार थापाले २२, राहुल प्रताप सिंहले १८, कप्तान सुरज कुर्मीले १३ र सुधिर चौधरीले १५ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बाग्मतीका लागि गौतम केसीले १० ओभरमा २९ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र बिपिन आचार्यले १\१ विकेट लिए ।

    जितसँगै बाग्मतीले ३ खेलबाट ६ अंक जोडेको छ । जारी प्रतियोगितामा सतप्रतिशत नतिजा राख्न सफल बाग्मती सेमिफाइनल प्रवेश लगभग निश्चित भएको छ । त्यस्तै लगातार दुई खेलमा पराजय बेहोरेको प्रदेश २ को सेमिफाइनल यात्रा टुङ्गिएको छ ।

  • घुस लिएका दुई नापी निरीक्षक अख्तियारको नियन्त्रणमा

    घुस लिएका दुई नापी निरीक्षक अख्तियारको नियन्त्रणमा

    रुपन्देही । सेवाग्राहीबाट घुस लिएका रूपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) सुमित चौलागाईं र मनोज थापा अख्तियारको फन्दामा परेका छन् ।

    अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भनी उनीहरूले सेवाग्राहीसँग घुस लिएका थिए ।

    सेवाग्राहीबाट पाँच हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा रूपन्देही कोटहीमाई गाउँपालिका १ बोगडियाबाट उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    अतिरिक्त रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

  • पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

    पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न परिषद्को नेतृत्वलाई निर्देशन दिइन् ।

    नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीले शुभकामना  दिदै उनले भनिन्, ‘पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान कसरी सञ्चालन गर्न सकिएला ? त्यससम्बन्धी कार्यक्रम बनाउनुस ।’

    पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसंग जोड्दै उनले तर अब पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको औल्याइन् ।
    ‘मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामीकहाँ हिजोदेखी नै रहिआएको छ’, मन्त्री अर्यालले भनिन्, ‘अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ । तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।’

    आफ्नो कार्यकाललाई नमूना बनाउनेतर्फ लाग्न आग्रह गर्दै उनले पशु चिकिस्ता क्षेत्रलाई अझ राम्रो र उत्कृष्ट बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह गरिन् । व्यवसायिक रुपमा पशु चिकित्सा क्षेत्रमा लागेकाहरुको उन्नती, पूगतीका निम्ती काम गर्न आग्रह गर्दै उनले व्यवसायिक क्षेत्रका चुनौती हटाउन नीतिगत सुधार गर्नका निम्ती के–के गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गरिन् ।
    यसै आज (शुक्रबार) परिषद्को नेतृत्वको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री अर्यालले बधाई ज्ञापन गरेकी हुन् ।

     

  • भाउ बढाउने तेल उद्योगमाथि सरकारको कारबाही, घट्ला त महंगी ?

    भाउ बढाउने तेल उद्योगमाथि सरकारको कारबाही, घट्ला त महंगी ?

    काठमाडौं । दुई महीनादेखि खाने तेलको मूल्य अत्यधिक बढेपछि सरकारले कारवाही शुरु गरेको छ । बिनाकारण तेल उद्योगहरुले एकलौटी मूल्य वृद्धि गरेपछि सरकारले तेल उत्पादन गर्ने दुईओटा उद्योगलाई मंगलबार कारवाही गरेको हो ।

    करीब दुई महिनादेखि खानेतेलको मूल्य प्रतिलिटर १० देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ । बजारमा खाने तेलको मूल्य अत्यधिक बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केही समय अघि तेलको मूल्य बढाउनुको कारण पेस गर्न उद्योगलाई पत्र काटेको थियो ।
    तर, उद्योगले खाने तेलको मूल्य बढाउनुको कारण अझैसम्म विभागलाई पेश गर्न सकेका छैनन् । नेपालमा अहिले १७ ओटा उद्योगले खाने तेल उत्पादन गर्दै आएका छन् । ती सबै उद्योगबाट उत्पादित खानेतेलको मूल्यमा वृद्धि भएको छ ।

    मूल्य वृद्धिका कारण उपभोक्ताको गुनासो बढेसँगै विभागले उद्योगहरुमा अनुगमन थालेको छ । अनुगमनका क्रममा विभागले मंगलबार बारा जिल्लामा सञ्चालित दुई उद्योगले खानेतेलको मूल्यमा वृद्धि गरेको पाएको थियो ।

    विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि तेल उत्पादक उद्योगलाई कारवाही गरिएको छ ।

    विभागले बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई पनि केही दिन अघि कारवाही गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती उद्योगलाई तीन\तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

    त्यस्तै विभागले काठमाडौंको नार्गाजुन नगरपालिकाको श्री भण्डारी स्टोरले बढी मूल्य लिएर तेल विक्री गरेको पाइएपछि उक्त स्टोरलाई दुई लाख ५० हजार जरिवना गरिएको सुवेदीले बताए ।

    उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विभागले अहिले गरिरहेको अनुगमन न्यून भएको बताएका छन् । उनका अनुसार अहिले विभागले कारवाही गरेको जस्तो मात्रै गरेको छ । ‘दुई ओटा तेल उद्योगलाई कारवाही गरेर तेलको मूल्य घट्छ,’ उनले भने ।

    बानियाँका अनुसार अहिले सरकारले प्रत्येक जिल्ला प्रशासनलाई अनुगमन गर्ने अधिकार दिएको छ । सबै जिल्लामा अनुगमन गर्ने हो भने मात्रै उद्योगले मनलाग्दी तरिकाले तेलमा गरेको मूल्य वृद्धि घट्ला नभए घट्दैन ।

    खुद्रा व्यापारसंघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार दुई महिना अघि बजारमा भटमासमको तेलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो । हाल सो तेलको मूल्य वृद्धि भई दुई सय १० रुपैयाँ पुगेको छ ।

    त्यस्तै सनफ्लावर तेलको मूल्य एक महिना अघि प्रति लिटर एक सय ८५ रुपैयाँबाट वृद्धि भई हाल दुई सय २० रुपैयाँ पुगेको छ । तोरीको तेलमा भने दुई सय ५० रुपैयाँबाट बढेर हाल दुई सय ६० रुपैयाँ पुगेको छ ।

    श्रष्ठका अनुसार विभागले उद्योगलाई कारवाही गरे पनि उनीहरुले तेलको मूल्य भने घटाएका छैनन् ।

     

  • रत्नपार्कको सभालगत्तै प्रचण्ड उपराष्ट्रपति भवनमा, बाबुराम पनि पुगे

    रत्नपार्कको सभालगत्तै प्रचण्ड उपराष्ट्रपति भवनमा, बाबुराम पनि पुगे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजधानीमा बृहत् शक्ति प्रदर्शन र सभालाई सम्बोधन गरेलगत्तै विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपराष्ट्रपति भवन लैनचौर पुगेका छन् ।

    प्रचण्डसँगै जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न गएको स्रोतले जनाएको छ ।

    उपराष्ट्रपतिसँग प्रचण्ड र बाबुरामको संयुक्त भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    उनीहरु तीनैजना माओवादी जनयुद्धकालका मुख्य नेता हुन् । यसअघि पनि उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच छलफल भएको सुरक्षा स्रोतले जनाएको छ ।

    उपराष्ट्रपतिसँग करिव आधा घण्टा छलफल गरेर प्रचण्ड र बाबुराम लैनचौरबाट बाहिरिएको सुरक्षा स्रोतले जनाएको छ । ‘उहाँहरु २५ मिनेट जति बसेर बाहिरिनुभयो’ स्रोतले भन्यो । पछिल्लो समय बाबुराम भट्टराईले प्रचण्डसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

    शान्ति प्रक्रिया डिरेल हुन सक्ने भनेर प्रचण्डले भाषण गरे लगत्तै दुवै नेता उपराष्ट्रपतिसँग भेट्न जानुले उनीहरु सहकार्यको दिशामा अघि बढेको अनुमान गर्न थालिएको छ ।

  • सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

    सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

    काठमाडौं । सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

    फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको माघ ७ गते निधन भएको थियो ।

    दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गरेका  थियो ।

    पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील शेर्पा २ पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

    यसैबीच, सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

  • प्रचण्ड-माधव पक्षले बहिष्कार गर्‍यो निर्वाचन आयोगको कार्यक्रम

    प्रचण्ड-माधव पक्षले बहिष्कार गर्‍यो निर्वाचन आयोगको कार्यक्रम

    विराटनगर । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले आसन्‍न निर्वाचन कार्यक्रमसम्बन्धी निर्वाचन आयोगले गरेको कार्यक्रम बहिष्कार गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय मोरङमा मतदाता नामावली अद्यावधिक गर्नेबारेको कार्यक्रम चलिरहँदा सो पक्षले नाराबाजी गरेका छन् । नेता पारुल क्षेत्रीले विरोधस्वरुप प्रधानमन्त्रीविरुद्ध नारा लगाउन थालेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले क्षेत्रीलाई रोके । लगत्ते नेता क्षेत्रीले बहिष्कार गरेर कार्यक्रम स्थलबाट बाहिरिए ।

    प्रचण्ड-माधव पक्षका कार्यकर्ताले अदालतमा मुद्दा चलिरहेको र संसद पुन:स्थापनाको पक्षमा आवाज उठिरहँदा निर्वाचनको तयारी थाल्नु अनुचित रहेको बताए ।

    कार्यक्रममा सुरक्षा निकाय प्रमुख, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, राप्रपा मोरङका सचिव प्रदिप सुवेदी, जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी नेपाल, नेकपा (ओलीसमूह) का प्रतिनिधिहरु उपस्थित थिए ।

    कार्यक्रममा निर्वाचन आयोगले सहभागी दलहरूलाई १७ बुँदे मतदाता नामावली दाबी तथा विरोध कार्यक्रम, २०७७ सार्वजनिक गर्दै निर्वाचनको तयारी तीव्र बनाएको जनाएको छ । निर्वाचनलाई लक्षित गर्दै कार्यालयले मोरङका १७ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी पनि तोकिसकेको छ । गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयसँगै आगामी वैशाख १७ र २७ मद्यावधि निर्वाचन तोकिएपछि आयोगले चुनावको तयारी थालेको छ ।

  • सरकारको निरन्तर निशानामा सुकुम्बासी

    सरकारको निरन्तर निशानामा सुकुम्बासी

    काठमाडौं । पुस ८ गते अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, गुह्येश्वरीले वागमती र सहायक नदीकिनारमा मापदण्डविपरीत बनेका घरटहरा तथा विभिन्न संरचना हटाउन ३५ दिने सूचना जारी गर्यो ।

    २०६५ मंसीर १ गते मन्त्रिपरिषद् बैठकले वागमती तथा सहायक नदीहरूको मापदण्ड तोकेको थियो । सोही मापदण्डलाई आधार बनाएर समितिले नदीकिनारको मापदण्डभित्र परेको संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको हो ।

    नदीकिनारको निषेधित स्थानमा घरटहरा मात्र नभई विभिन्न संरचना निर्माण, तरकारी तथा फलफूल बिक्री–वितरण, निर्माण तथा व्यापारिक सामग्री थुपार्ने, फोहोरमैला विसर्जन गर्ने, पार्किङ गर्ने जस्ता काम भइरहेको छ ।

    अव्यवस्थित संरचना हटाउन समितिले पटकपटक सूचना निकालेर आग्रह गरेको थियो । ती संरचना खाली गर्न/गराउन भने पनि त्यस्तो कार्य नरोकिएकोले यसपटक भने चेतावनीसहित सूचना जारी गरिएको छ ।

    पटक–पटक अनुरोध गर्दा पनि सरकारलाई नै अवज्ञा गर्न थालेपछि समितिले बाध्य भएर ३५ दिनभित्र खोलाकिनार तथा सार्वजनिक जग्गामा मापदण्डविपरीत बनाइएका संरचना नभत्काए समिति आफैंले हटाउने तयारी गरेको छ ।

    समितिका अनुसार काठमाडौंका ३० स्थानमा सुकुम्बासीले नदीकिनारको जग्गामा अव्यवस्थित संरचना बनाएका छन् । अहिलेकोे मुख्य चुनौती भनेको नै नदीकिनारमा बसेका सुकुम्बासीले ओगटेको संरचना खाली गराउनु हो ।

    सरकारले यसअघि जारी गरेका सूचनाहरू मुख्यतः वागमतीको छेउमा बनाइएका संरचना हटाउन पटक–पटक आग्रह गर्दै आएको थियो । तर सुकुम्बासीले सूचनालाई बेवास्ता गरिरहे ।

    वर्षौंदेखि वागमती तथा सहायक नदीकिनारमा अवैध टहरा हाली कब्जा जमाएर बसिरहेका सुकुम्बासीहरू यसपटकको सूचनाले भने झस्किए । झस्किनुको कारण थियो, ३५ दिनभित्र अवैध टहरा हटाइसक्नुपर्ने ।

    तोकिएको समयावधिभित्र खोलाकिनारमा अतिक्रमण गरेर बनाइएका टहरा नहटाए समितिले त्यस्ता संरचनाहरू भत्काई खाली गराउने तथा त्यसरी भत्काउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने जनाएको छ ।

    वागमती किनारकोे सिनामङ्गल, थापाथली, बल्खुलगायत क्षेत्रका नदीकिनारमा मापदण्ड मिचेर सुकुम्बासीले संरचना बनाई बस्ती नै बसाएका छन् । थापाथली, बल्खुलगायतका क्षेत्रको सुकुम्बासी बस्तीमा मापदण्डविपरीत बनेका घरहरू भत्काउनुपर्ने भएपछि उनीहरू यतिबेला अलमलमा परेका हुन् ।

    हुनत यसअघि पनि सुकुम्बासीलाई खाली गर्न बस्तीमा डोजर चलेको थियो । सरकारले सुकुम्बासीको व्यवस्थापन गर्न नसकेपछि उनीहरू पुनः पहिलेकै ठाउँमा आएर बस्न थाले ।

    तर हालसम्म ती क्षेत्रमा मापदण्डविपरीत कति घरटहरा बनेका छन् भन्ने यकिन तथ्यांक अधिकारसम्पन्न वागमती समितिसँग पनि छैन ।

    किन हटाइँदैछ नदीकिनारबाट सुकुम्बासीलाई ?

    नदीकिनारको विस्तारका लागि २०६५ मंसीर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले वागमती, विष्णुमती, मनोहरा आदि नदीकिनारको सिमानाबाट २० मिटर छोड्नुपर्ने मापदण्ड बनाएकोे थियो । त्यो मापदण्डको आधारमा बाँकी खोला खोल्सीहरूको पनि क्रमशः स्थानीय तहसँग बसेर मापदण्ड बनाउने तयारी भएको छ ।

    नदीलाई आराम फ्रि फ्लो हिसाबले बग्न दिनका लागि मापदण्ड अत्यावश्यक भएको र नदीमा करिडोर निर्माण गर्ने उद्देश्यले यो मापदण्ड तयार गरिएको समितिको भनाइ छ ।

    ‘सधैं नदीकिनारामा बसेर गुजारा चल्दैन, विकल्प खोज्नैपर्छ’

    अधिकारसम्पन्न वागमती एकीकृत विकास समितिको अध्ययन अनुसार हाल सिनामंगल, थापाथली, शंखमूल, बल्खु, धोबीखोलालगायतका विभिन्न ३० स्थान भन्दा बढी ठाउँमा नदीकिनारमा बस्तीहरू रहेको देखिन्छ ।

    यी बस्तीहरू अधिकांश नदीको करिडोरभित्र रहेको र केही समयपछि उक्त ठाउँमा सडक, ढल निर्माण गर्दा ती बस्तीहरूलाई व्यवस्थापन गरेर गर्नुपर्ने भएकाले प्रारम्भिक रूपमा सूचना जारी गरिएको समितिले जनाएको छ ।

    नदीकिनारमा मापदण्डविपरीत बनेका घरटहरा ३५ दिनभित्र खाली नगरे कानूनी प्रक्रिया अनुसार अगाडि बढ्ने समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले बताए ।

    उनले भने, ‘शुरूमा हामी स्थानीय तहसँग सहकार्य गर्छौं । पहिलो हाम्रो प्राथमिकता निर्माण कार्य भएको ठाउँमा रहन्छ । दोस्रो प्राथमिकता भनेको जहाँ निर्माण ब्युटिफिकेशन गर्नुपर्नेछ, त्यो खाली गर्नुपर्ने दायित्व हाम्रो मात्र नभएर सबैको हो । सबै स्थानीय तह, नागरिक समाजले पनि यो बुझ्नुपर्ने हुन्छ ।’

    एरिएल भ्यूबाट हेर्ने हो भने काठमाडौं उपत्यकाभित्र सानातिना पोखरी, टुँडिखेल तथा धार्मिक स्थल र नदीकिनारामा मात्रै अलिकति खुला ठाउँ देखिन्छ ।

    उनी थप्छन्, ‘त्यसलाई पनि हामीले रोक्न सकेनौं भने अबको पुस्ताले काठमाडौं उपत्यकाभित्र खुला ठाउँ हेर्न र देख्न पाउँदैनन् । त्यसकारण हाम्रो दायित्व हो, यसलाई रोक्नुपर्छ/खुला राख्नुपर्छ । र, यसलाई संरक्षण गरी पार्क क्षेत्र, खोलालाई ढल र फोहोर मुक्त बनाउनुपर्छ ।’

    समितिले हालै प्रकाशित गरेको सूचना सुकुम्बासी व्यवस्थापन गर्नका लागि भए तापनि तत्कालै सुकुम्बासी बस्तीमा डोजर नचलाउने आयोजना प्रमुख प्याकुरेलले बताए ।

    ‘केही समस्याको कारण एउटा आवासको अधिकारसहित उनीहरू बसिरहेका छन् । बाध्यताले बसेका होलान् तर सधैं यसरी नदीकिनारमा यो रूपमा बसेर पनि उनीहरूको गुजारा नचल्न सक्छ, चल्दैन । त्यस कारण यसलाई क्रमशः व्यवस्थापन गर्दै जाने उद्देश्यका साथ यो सूचना जारी गरिएको हो ।’

    ‘अहिले हामी सुकुम्बासी बस्तीमा डोजर चलाउँदैनौं । तर खाली नगरेको अवस्थामा कानूनी प्रक्रियामा जान्छौं । यसले के उद्देश्य राखेको छ भने कमसेकम जुन अव्यवस्थित हिसाबले बसोबास भएको छ त्यसलाई कुनै न कुनै समयमा हामी नै अग्रसर भएर व्यवस्थापन गर्न जरूरी छ । त्यसका लागि अहिल्यैदेखि पहल थाल्नुपर्ने देखियो’, उनले भने ।

    अझै पनि सुकुम्बासी बस्तीमा मानिसहरू अस्तव्यस्त रूपमा बसेका छन् । बर्खाको बेला सधैं डुवान हुने, केटाकेटी खोलाको किनारमा पर्लान् भन्ने डर छ ।

    आयोजनाका प्रमुख प्याकुरेल भन्छन्, ‘केही समस्याको कारण एउटा आवासको अधिकारसहित उनीहरू बसिरहेका छन् । बाध्यताले बसेका होलान् तर सधैं यसरी नदीकिनारमा यो रूपमा बसेर पनि उनीहरूको गुजारा नचल्न सक्छ, चल्दैन । त्यस कारण यसलाई क्रमशः व्यवस्थापन गर्दै जाने उद्देश्यका साथ यो सूचना जारी गरिएको हो ।’

    करिडोर अतिक्रमण गर्नेमाथि आक्रामक !

    हालै जारी गरिएको सूचनाले अव्यवस्थित बस्ती मात्र नभई करिडोरभित्र विभिन्न निर्माण सामग्री, फोहोर मैला थुपार्ने, सर्भिसिङ सेन्टरहरू राखेर आवतजावतमा अवरोध गर्ने काम पनि भइराखेकाले त्यस्ता गतिविधि हटाउन समिति आक्रामक बनेको छ ।

    इन्जिनियर समेत रहेका आयोजना प्रमुख प्याकुरेलका अनुसार करिडोरमा निर्माण सामग्री राखेर मानिसको आउने–जाने क्रममा असहजता भएको हुनाले पनि यो सूचना जारी गर्न आवश्यक परेको हो । यसलाई जागरणको रूपमा लैजानको लागि यो सूचना जारी गरेको उनले स्पष्ट पारे ।

    उनी थप्छन्, ‘अब उनीहरूलाई व्यवस्थित बसोबासको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफल भइराखेको छ । उनीहरूले पनि कुनै अर्को अल्टरनेट व्यवस्था खोजी गर्नुपर्छ । हामीले पनि खोजी गर्छौं । भूमि व्यवस्था सम्बन्धी पुनः एउटा उच्चस्तरीय समिति बनेको छ । त्यो समितिसँग पनि हामी सहकार्य गर्छौं । अव्यवस्थित बसोबासमा बस्ने सुकुम्बासीकोे प्रतिनिधिसँग पनि बसेर अबको उपाय के त ? भनेर छलफल गर्ने तयारी भइराखेको छ ।’

    नदी करिडोरलाई खुला र बसोबासको स्थितिलाई पनि सरकारले सम्बोधन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

    सुकुम्बासीलाई सम्बोधन गर्न समिति गठन

    अधिकारसम्पन्न वागमती एकीकृत सभ्यता समितिले नदीकिनारमा बनाएको मापदण्ड पालना नगरी सरंचना बनाउने सुकुम्बासीलाई सम्बोधन गर्न समिति गठन गर्ने तयारी गरेको छ ।

    समितिले सुकुम्बासीलाई दीर्घकालीन व्यवस्थापन गर्न कार्यकारी समितिको सदस्यको अध्यक्षतामा समिति बनाउने तयारी गरेको हो । उक्त समितिले सबै अव्यवस्थित बसोबास भएका क्षेत्रहरूका नदी करिडोरमा स्थलगत अनुगमन गरेर त्यहाँको वस्तुस्थिति बारे बुझ्नेछन् ।

    उनीहरू साँच्चिकै सुकुम्बासी हुन् कि होइन भन्ने विषयमा पनि समितिले अध्ययन गर्नेछ । त्यस्तै हाल बसिरहेका सुकुम्बासीहरू कहाँबाट आएका, उनीहरूको आर्थिक स्थिति बारेमा पनि थप अध्ययन गर्ने समितिले जनाएको छ ।

    त्यहाँका सबैसँग अन्तरक्रिया गरेर कसरी जाने र वैकल्पिक व्यवस्थाका लागि उपायहरू निकाल्ने योजना रहेको आयोजना प्रमुख प्याकुरेलले जानकारी दिए ।

    आवास निर्माण योजना बन्दै

    सुकुम्बासीका लागि आवास निर्माण गर्नुपर्ने आवश्यकता महसूस गरेर सहकारी आवासको अवधारणा पनि ल्याउन सकिने प्याकुरेलको भनाइ छ । त्यसका लागि काठमाडौं उपत्यकाभित्र आवासको योजनाहरू बन्दैछन् ।

    ‘हालको बसोबासको जुन अवस्था छ, त्यसलाई पनि सम्बोधन हुने भएकाले यो प्रयासमा वागमती सभ्यता एकीकृत विकास समिति पूर्ण रूपमा लाग्नुपर्छ हाम्रो यो दायित्व पनि हो । र, हामीलाई प्राप्त अधिकार पनि हो’, उनले भने ।

    अव्यवस्थित बसोबास गरिरहेका सुकुम्बासीको संगठनसँग अब कसरी जाने त ? भन्ने विषयमा थप वार्ता गर्ने समितिको तयारी छ ।

    उनी भन्छन्, ‘समस्या पालेर सधैंलाई समस्या हुन्छ, यसलाई सधैंको लागि समाधानतिर सोच्ने चाहिं पहिलो प्रयास हो । यसअघि पनि पटक–पटक प्रयास भएको थियो । तर, सहमति भने हुनसकेको थिएन ।’

    स्थानीय तहको प्रतिबद्धता

    यसअघि कतिपय स्थानीय तहका जनप्रतिनिधि नै नदीकिनारमा बसेका सुकुम्बासीको अव्यवस्थित संरचना हटाउन नदिने पक्षमा थिए । त्यसकारण पनि पटक–पटक यो अवरोध हटाउन समस्या परेको थियो । यसपटक भने वागमती र यसका सहायक नदीलाई छुने स्थानीय तहका वडाध्यक्षको बैठक राखी निर्णय गरेर सूचना जारी गरिएको समितिले जनाएको छ ।

    उपत्यकाका ११ स्थानीय तहका ३५ वडाध्यक्षले पनि मापदण्डविपरीत बनेका सबै संरचना हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    समितिले नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका विकास प्राधिकरण र ११ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई समेत राखेर बैठक गरी मापदण्डविपरीतका संरचना हटाउने विषयमा छलफलसहित निर्णय गरेको थियो ।

    यो पनि पढनुहोस्

    टहरोमा फेरि डोजर चल्ने त्रास (भिडियोसहित)

    फोटो / भिडियो निशान्त गुरुङ

  • भिडियो र तस्वीरमा हेर्नुहोस् प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन

    भिडियो र तस्वीरमा हेर्नुहोस् प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले शक्ति प्रदर्शन गरेको छ ।

    शक्ति प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न नौ ठाउँबाट निस्केको जुलस रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । सभालाई उक्त पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुषाललगायतले सम्बोधन गरेका थिए ।

    शक्ति प्रदर्शनमा सहभागी हुन देशभरबाट कार्यकर्ता काठमाडौं उतारिएको थियो ।

     
    
             

     

  • अदालतलाई प्रचण्डको चेतावनीः ओलीको कदमलाई सही ठहर्‍याइयो भने शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ

    अदालतलाई प्रचण्डको चेतावनीः ओलीको कदमलाई सही ठहर्‍याइयो भने शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ

    काठमाडौं ।विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यदि केपी ओलीको कदमलाई सही ठहर्याउने काम भयो भने शान्ति प्रक्रिया डिरेल हुने चेतावनी दिएका छन् । राजधानीमा आयोजित जनसभामा बोल्दै उनले सर्वोच्च अदालतलाई लक्षित गर्दै उक्त चेतावनी दिएका हुन् ।

    प्रचण्डले भने- यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिन । तर केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने… फेरि युद्धमा जाने, हिंसाको कुरा पनि छैन । शान्तिपूर्णरुपमा यसैगरि लाखौं लाख जनता उरालेर निरंकुशता सच्याउनेमा मेरो निरन्नर प्रयास भइराख्छ । तर केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने शान्तिप्रक्रिया डिरेल हुन्छ ।

  • प्रचण्डले भने: राजाको श्रीपेचलाई लात्तले हान्यौं, तर केपीलाई तह लगाउन सकेनौं

    प्रचण्डले भने: राजाको श्रीपेचलाई लात्तले हान्यौं, तर केपीलाई तह लगाउन सकेनौं

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षसम्म केपी ओलीलाई तह लगाउन नसकेकोमा आत्मालोचना गरेका छन् ।

    पार्टीद्वारा राजधानीमा आयोजित प्रदर्शनपछिको सभामा बोल्दै उनले राजा महाराजालाई फाले पनि ओलीविरुद्ध उदाररुपमा प्रस्तुत हुनु आफूहरुको कमजोरी भएको बताए ।

    प्रचण्डले भने, ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौं । राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौं । तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुुरा गर्न सकेनौं ।’

    ‘मैले सोचेको थिएँ पार्टी एकतापछि र दुई तिहाई ल्याएपछि घोषणापत्रमा भनेजस्तै सबै क्षेत्रमा न्यायको नयाँ युग सुरु हुनेछ । सुशासन र पारदर्शीताको नयाँ युग सुरु हुनेछ । सबै उत्पीडितले राहत पाउनेछन् । हामीले घोषणापत्र जस्तै गर्न नखोजेको पनि होइन । तर सुरुदेखि अभाष भएको थियो, केपीजीले सहमति गर्ने तर कार्यान्वयन एउटा पनि नगर्ने हुन् कि भन्ने’ उनले भने, ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो । हामीले त्यसका विरुद्ध बहस गरेका थियाै । आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं । केपीलाई सम्झाई–बुझाई गरेर उदारतापूर्व उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौं । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई ठिक गर्न सकिने रहेनछ ।’

    उनले थपे, ‘सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपथ्र्यो, सकिएन । म आज आत्मालोचित हुन चाहन्छु । आज पार्टीभित्रका सहमति मात्रै होइन, देशको संविधान र लोकतान्त्रिक गणतन्त्रै नमान्ने काम भयो । अब केपी ओलीलाई मात्रै दोष दिएर चोखै हुँदैनौं हामी । अब म जनतालाई साक्षी राखेर प्रतिज्ञा गर्छु कि अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने तर, प्रवृत्तिलाई अगाडि बढ्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुँदो रहेनछ । त्यतिबेलै संघर्ष गरेको भए बेलैमा नांगिन्थे कि भन्ने फर्केर हेर्दा लाग्छ । तर हाम्रो कमजोरीलाई, उदारतालाई कमजोरी ठान्ने जुन दुस्साहस उनले गरे, त्यसले हामी तपाईहरुको अगाडि आउन वाध्य भयौं ।’

    ओलीले अब शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेको दावीसमेत प्रचण्डले गरे ।  ‘खबरदार केपी ओली, जनताले अब त्यसका लागि छुट दिने छैनन् ।’ उनले भने ।

    आजको जनसागर निर्वाचन आयोग र अदालतले राम्रै देखेको उनले टिप्पणी गरे ।

  • प्रधानमन्त्री कपमा प्रदेश १ को पहिलो जित

    प्रधानमन्त्री कपमा प्रदेश १ को पहिलो जित

    काठमाडौं । मिनाश थापाको ५ विकेटप्रेरित प्रदेश १ ले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा २१६ रनको लक्ष्य पछ्याएको कर्णालीलले ३५ ओभरमा अल आउट हुँदै १५६ रन मात्रै बनाउन सक्यो । सशक्त बलिङ गरेको प्रदेश १ ले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

    घातक बलिङ गरेका मिनाशले १० ओभरमा २६ रन खर्चेर २ मेडनसहित ५ विकेट लिए । त्यस्तै ९ ओभरमा २३ रन दिएका दिपेश कँडेलले ३ मेडनसहित ३ विकेट लिएका थिए । ८ ओभरमा ३९ रन खर्चेका मनोज तामाङले २ विकेट लिए ।

    प्रदेश १ को बलिङसामु टिक्न नसकेको कर्णालीका लागि बिपिन रावलले ३४ बलमा ८ चौका र २ छक्कासहित ४७ सर्वाधिक ४७ रन बनाए । निश्चल रावलले ३१, कप्तान रबिन्द्र साहीले १८ तथा दिवन पुनले १४ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    यसअघि कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश नम्बर १ कर्णाली प्रदेशसामु २१६ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रनको योगफल तयार गर्‍यो । प्रदेश १ का लागि कप्तान सिद्धान्तले ९७ बलमा ९ चौकासहित ६६ रन बनाए ।

    शुभन्कर उराओले २८ बलमा ३ चौका र २ छक्कासहित ३६, मिनाश थापाले २५ तथा श्रावण यादव र फिर्दोस अन्सारीले १७/१ रनको योगदान गरे ।

    कर्णालीका लागि रबिन्द्र शाहीले ८ ओभरमा ३६ रन खर्चेर १ मेडनसहित २ विकेट लिए । अनुज चुनारा र दिनेश अधिकारीले २/२ विकेट लिएका थिए ।

    यसअघि गण्डकी प्रदेश, एपिएफ र त्रिभुवन आर्मी क्लबसँग पराजित भएको प्रदेश १ प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ ।

    यसअघिका दुई खेलमा एक जित र एक हार बेहोरेको कर्णालीको सेमिफाइन प्रवेशको सम्भावना जिवित छ ।

  • भोजपुरमा प्रचण्ड-माधव पक्ष हाबी, को नेता कता लागे ?

    भोजपुरमा प्रचण्ड-माधव पक्ष हाबी, को नेता कता लागे ?

    काठमाडौं । नेकपा विभाजनसँगै भोजपुरका नेता तथा जनप्रतिनिधिले आ-आफ्नो धार स्पष्ट पारेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा केन्द्रमा नेतृत्वबीच ध्रुवीकरणको शुरूदेखिनै फुटको बाछिटा पुगेको थियो । स्थानीय तह, विघटित प्रतिनिधिसभाका जनप्रतिनिधि र जिल्लाका केन्द्रीय अधिकांश नेता प्रचण्ड-माधव पक्षको नेकपामा उभिएका छन् ।

    नेकपा विभाजनपछि दुई कित्तामा बाँडिएका नेता कार्यकर्ताहरू आफ्नो पक्षमा कार्यकर्ता तान्‍न दिनहुँ दौडधुपमा व्यस्त देखिन्छन् । गाउँ-गाउँसम्म प्रचण्ड-माधव पक्षले भेला बैठकलाई भने तीब्र पारेको छ । ओली पक्षका नेताहरू पनि आफूलाई बलियो पार्न फोनकल र व्यक्तिगत भेटघाटमा लागेका छन् । केही कार्यकर्ता र मतदाता भने पार्टीको आधिकारिकता र चुनाव चिन्हको निर्वाचन आयोगले दिने निर्णयलाई कुरेर बसेका छन् । तल्लो तहसम्मका पूर्व माओवादी एक ढिक्का देखिएका छन् ।

    जनप्रतिनिधि को कता ?

    एक निर्वाचन क्षेत्रमा रहेको भोजपुरमा विघटित प्रतिनिधि सभा सदस्य सुदन किराँती प्रचण्ड-माधव पक्षमा छन् । उनी पूर्वमाओवादीका हुन् । भोजपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका राजेन्द्रकुमार राई प्रचण्ड-माधव पक्षमा उभिएका छन् । प्रदेश ख बाट विजयी शेरधन राई ओली पक्षमा छन् । शेरधन प्रदेश १ का मुख्यमन्त्री छन् ।

    स्थानीय तहका प्रतिनिधि को कता ?

    भोजपुरमा २ नगरपालिकासहित ९ स्थानीय तह छन् । तीमध्ये अरुण गाउँपालिका प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसले जितेको थियो । भोजपुर र षडानन्द नगरपालिका साथै साल्पासिलिछो गाउँपालिका प्रमुखमा पनि कांग्रेसनै विजयी भएको थियो भने उपप्रमुख पूर्वएमालेले जितेको थियो ।

    टेम्केमैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिकाका दुवै पदमा पूर्वएमाले विजयी भएको थियो । रामप्रसादराई र पौवादुङ्‍मा गाउँपालिकामा प्रमुख पूर्वएमाले र उपप्रमुख पूर्वमाओवादीले जितेको थियो । आमचोक गाउँपालिका प्रमुख र उपप्रमुख दुवै पूर्वमाओवादी विजयी भएका थिए ।

    हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राईले ओली पक्षमा कित्ता क्लियर गरेका छन् । प्रचण्ड-माधव पक्षमा उभिएका स्थानीय तह प्रमुखहरूमा आमचोक गाउँपालिकाका अशोक राई र टेम्केमैयुङ गाउँपालिकाका ध्रुवराज राई छन् ।

    नेकपाले जितेका स्थानीयतहका उपप्रमुखहरू सबै प्रचण्ड-नेपाल पक्षमा छन् । भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, षडानन्द नगरपालिकाकी मेरिका राई, आमचोक गाउँपालिका उपप्रमुख सीता राई, रामप्रसादराई गाउँपालिका उपप्रमुख सम्झना राई, टेम्केमैयुङकी ईन्द्रावती राई र साल्पासिलिछो गाउँपालिका उपप्रमुख धनमाया राई प्रचण्ड-नेपाल पक्षमा लागेका छन् ।

    केन्द्रीय नेता यसरी भए विभाजित

    विभाजनअघि नेकपामा भोजपुरका धेरै नेता केन्द्रीय सदस्य थिए । अजम्बर राई काङमाङ, जयन्तीदेवी राई, पदमबहादुर राई, राजेन्द्रकुमार राई, सुदन किराँती, शेरधन राई, हरिबहादुर राई केन्द्रीय सदस्य थिए । शेरधनबाहेक सबैले ओलीलाई छाडेका छन् ।

    पूर्वएमालेका नेता रहेका अजम्बर संघीय समाजवादी हुँदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर एकतापछि नेकपा केन्द्रीय सदस्य बनेका थिए । पूर्वराज्यमन्त्रीसमेत भएका पदमबहादुर विप्लव पक्षबाट पछिल्लो समय नेकपामा प्रवेश गरी केन्द्रीय सदस्य भएका हुन् ।

    भोजपुर घर भई राजनीतिमा सक्रिय घनेन्द्र बस्नेत, सावित्री काफ्लेलगायत पनि दाहाल-नेपाल पक्षमा आएका छन् ।

    ओली पक्षले भने भोजपुरका कृपासुर शेर्पा, प्रेमकुमार राई, भरत तामाङ, सिर्जना राई, सुरेन्द्र उदास, धनहर्क राई, देविराम चौलागाईं, विष्णुकुकार राई र सविना राईलाई अधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

    जिल्ला कमिटीको अवस्था

    नेकपा भोजपुरको तत्कालीन जिल्ला कमिटीमा प्रचण्ड-माधव पक्षको वर्चश्‍व छ । १४१ सदस्य जिल्ला कमिटीमा आफ्नो पक्षमा १११ सदस्य रहेको उनीहरूको दाबी छ । ओली पक्षका एक नेता जिल्ला कमिटीमा आफ्नो कमजोर उपस्थिति स्वीकारे पनि उनीहरूले दाबी गरेजस्तो नभई ५० जनाभन्दा बढी आफूहरूको कित्तामा रहेको बताउँछन् ।

    कार्यालमा रहेका पूर्वपदाधिकारीहरूमध्ये शरणकुमार राई, शैलेन्द्र भुजेल, वीरजंग राई, विमल खड्का प्रचण्ड-माधव पक्षमा छन् । जिल्ला अध्यक्ष प्रेमकुमार राई केन्द्रीय सदस्य मनोनीत भएपछि जिल्ला नेतृत्वमा मकर खड्काको चर्चा छ । त्यस्तै प्रचण्ड-माधव पक्षको अध्यक्षमा शरणकुमार राईको सम्भावना बलियो बनेको छ

    जनवर्गीय संगठन

    जनवर्गीय संगठनमा पनि ओली पक्ष कमजोर देखिएको छ । राष्ट्रिय युवा संघ नेपाल भोजपुरका संयोजक सन्दीप राई र सह-संयोजक करण मुक्मेन राई प्रचण्ड–नेपाल पक्षमा छन् । अनेरास्ववियू संयोजकमा धुव्रराज राई र सह-संयोजक नविन राई पनि सोही पक्षमा छन् । तत्कालीन जनवर्गीय संगठनमा माधव नेपालनिकटको वर्चश्‍व थियो ।

    शेरधन राईको प्रभाव कमजोर !

    एमाले-माले फुटदेखि नै नचलमलाएका शेरधन राईले सत्तामा प्रभुत्व जमाएपनि जिल्लाका नेता/कार्यकर्ताहरूलाई एक ढिक्का राख्न नसकेको टिप्पणी बढ्न थालेको छ । उनी २०५६ को संसदीय चुनावमा देशभरबाट निर्वाचितमध्ये सबैभन्दा कम उमेरका सांसद हुन् । सञ्‍चारमन्त्री भएका राई अहिले मुख्यमन्त्री छन् ।

    उनको जन्मथलो आमचोक गाउँपालिका पनि स्थानीय तह निर्वाचनमा प्रमुख उपप्रमुख दुवै पूर्वमाओवादीले जिते । अहिले दुवैजनाले दाहाल-नेपाल पक्षलाई साथ दिएका छन् ।

    एक समय उनलाई साथ दिएका जिल्लाका नेताहरू शेरधन साँघुरो घेरामा काम गर्न रुचाउने भएकोले यो अवस्था आएको अनुभव सुनाउँछन् । ‘उहाँले आफूलाई आवश्यक पर्दासम्म प्रयोग गर्नुहु्न्छ । अवसर आउँने बेलामा छाड्नुहुन्छ । अनि ठाउँमा पुगेपछि कार्यकर्तासँगै कन्भर्सेसन नै हुन पाउँदैन’, एक नेताको गुनासो छ ।

    तर, माथिल्ला नेताहरू अर्कोपट्टी लागे भन्दैमा यो अनुमान गर्न हतार हुने ओलीपक्षीय जिल्ला नेता मकर खड्का बताउँछन् । ‘सतही हेर्दा भ्रम देखिन्छ । तर कार्यकर्ता र जनतामाझ शेरधन नै लोकप्रिय हुनुहुन्छ । कुनै विचलन छैन’, खड्काले नेपालप्रेससँग भने ।

  • अन्तर्राष्ट्रिय खेलाडी कार्कीको मृत्यु

    अन्तर्राष्ट्रिय खेलाडी कार्कीको मृत्यु

    रुपन्देही । दुई पटकसम्म अन्तर्राष्ट्रिय विश्व पावर लिफ्टिङ खेलमा स्वर्ण पदक जितेका रुप कार्कीको मृत्यु भएको छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका ५२ वर्षीय कार्कीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको हो ।

    डिभी परेर अमेरिका पुगेका रुप कार्कीले व्यवसायिक शक्तितोलन खेलका खेलाडीका रुपमा अमेरिकामा निकै ख्याति आर्जन गरेका थिए । कार्कीले दुई पटकसम्म अन्तर्राष्ट्रिय विश्व पावर लिफ्टिङ खेल स्वर्ण पदक जित्न सफल भएका थिए ।

    सन् २०१७ मा विश्व पावर लिफ्टिङको मास्टर समूह अन्तर्गत उनले एटलाण्टाको जर्जियामा गोल्ड मेडल जित्न सफल भएका थिए । सन् २०१९ मा आयरल्याण्डमा भएको विश्व पावर लिफ्टिङ च्याम्पेनसिपमा माष्टर दुई अन्तर्गत कार्कीले स्वर्णपदक जित्न सफल भएका थिए ।

    भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । कार्की कृतिमरुपमा शारीरिक बल वृद्धि गर्न औषधि प्रयोग नगर्ने ड्रग टेस्टेड समेत खेलाडी थिए ।

    कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा लागेका थिए । अमेरिकामा झण्डै दुई दर्जनभन्दा बढी स्वर् पदक प्राप्त गरेका कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलकका रुपमा समेत परिचित रहेका थिए ।

    आफूले सिकेको जानेको सीप नेपालमै लगाउने उद्देश्य राखेर नेपाल फर्किएका उनी संसारबाट नै विदा भएका छन् । यससँगै उनका योजना पनि अपूरा भएका छन् ।

  • काठमाडौंका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब बन्ने

    काठमाडौंका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब बन्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार (स्टीम क्लब) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा महानगरपाललिकाले हस्ताक्षर गरको छ ।

    कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले छनोटमा परेका प्रति विद्यालयलाई एक लाख रुपैयाँ दिनेछ ।

    अनुदानका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यावहारिक रुपमा लागू गर्न विद्यालयका प्रधानाध्यापकहरूलाई आग्रह गरे ।

    ‘महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ ।

    यसलाई व्यावहारिक रुपमा लागू गर्न तपाईँहरू लाग्नुहोला,’ शाक्यले भने, ‘सामुदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ ।’

    उनले सामूदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेको भन्दै राज्यको नीति अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

    शाक्यले विद्यालय शिक्षा अहिले स्थानीय सरकारको मातहतमा रहेको भन्दै महानगरपालिका आवश्यक लगानी गर्न तयार रहेको पनि स्मरण गराए । ‘हामी पूर्वाधारलगायतका लागि लगानी गर्न तयार छौं,’ शाक्यले भने, ‘तर, गुणस्तरीय शिक्षा दिने जिम्मेवारी तपाईँहरूको हो । सामुदायिकमा पढेको विद्यार्थीले आफूले चाहेको क्षेत्रमा प्रवेश गर्न चाहना राख्दा निजीको भन्दा अब्बल बन्न सकोस् ।’

    काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि महानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफल बनाउन सबै प्रधानध्यापकलाई आग्रह गरे ।

    सहरी योजना आयोगका सचिवलाय प्रमुख डिल्लीराम बाँस्तोलाले २५ वटै विद्यालयलाई सुरुमा ८५ हजार अनुदान दिएको भन्दै प्रतिवेदन प्राप्त भएपछि थप २५ हजार दिने बताए ।

    पहिलो चरणका लागि छनोटमा परेका विद्यालयहरु–

    शिवपुरी माध्यामिक विद्याल, बाँसबारी माध्यामिक विद्यालय, धुम्रबराह माध्यामिक विद्यालय, टंगाल माध्यामिक विद्यालय, जनकल्याण माध्यामिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यामिक विद्यालय, गुह्येश्वरी माध्यामिक विद्यालय, रत्नराज्य माध्यामिक विद्यालय, विश्व निकेतन माध्यामिक विद्यालय, महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन माध्यामिक विद्यालय, जनप्रभावत माध्यामिक विद्यालय, नील बाराही माध्यामिक विद्यालय, जनपथ माध्यामिक विद्यालय, गीतामाता माध्यामिक विद्यालय, सिद्धि गणेश माध्यामिक विद्यालय, शान्ति शिक्षा मन्दिर माध्यामिक विद्यालय, भक्त विद्याश्रम माध्यामिक विद्यालय, परोपकार आदर्श माध्यामिक विद्यालय, नवयुग माध्यामिक विद्यालय, प्रभाव माध्यामिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालय, भिमसेनगोला माध्यामिक विद्यालय, कोटेश्वर सरस्वती माध्यामिक विद्यालय ।

     

  • माधव नेपालको हुंकार : केपी ओलीलाई केही समय जेल राखेर निकालौंला

    माधव नेपालको हुंकार : केपी ओलीलाई केही समय जेल राखेर निकालौंला

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकार गरेमा केही समय जेलमा राखेर माफी दिन सक्ने बताएका छन् ।

    पार्टीले आज आयोजना गरेको सभामा बोल्दै उनले ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ पर्खिरहेको बताए ।

    नेता नेपालले भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्‍यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेका छौं । उहाँले जवाफ दिनुभएको छैन ।’

    उनले अगाडि थपे, ‘म त भर्खरै कर्णालीबाट आउँदैछु । कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो । प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । सुध्रेको कुनै कागज आएको छ कि, गल्ति गरेको स्वीकार गरिहालेका छन् कि कतै माफी नै मागेका छन् कि ? प्रतिनिधिसभाको विघटन गर्नु गलत हो, त्यो पुनस्र्थापनाको निम्ति जुलुसमा समेल हुन्छु भनेका छन् कि ? मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी पनि दिउँला । तर कसैले पनि भ्रम नराखौं, फेरि केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्ने छैन । सँगै जाने स्थिति बन्ला भन्ने कसैले भ्रम नपाले हुन्छ ।’

  • भिजन एक्सलेन्स अवार्डबाट सन्दुक रुइत सहित तीन विशेषज्ञ सम्मानित

    भिजन एक्सलेन्स अवार्डबाट सन्दुक रुइत सहित तीन विशेषज्ञ सम्मानित

    काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ ।

    आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भुमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरुलाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत सहित नेत्र विशेषज्ञहरु प्रा.डा. रामप्रसाद पोख्रेल र डा. गोपाल प्रसाद पोख्रेल छन् ।

    नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गरे ।

    नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उनीहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताए ।

    सम्मानित डा. सन्दुक रुइत तिलगंगा इन्ष्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन भने प्रा.डा. रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापक मध्येका एक हुन् ।

    त्यसैगरी डा. गोपाल प्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य छन् ।

  • झलनाथ खनालको ठोकुवा : सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्छ, गर्छ

    झलनाथ खनालको ठोकुवा : सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्छ, गर्छ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका नेता झलनाथ खनालले सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने ठोकुवा गरेका छन् ।

    पार्टीले राजधानीमा आयोजना गरेको सभामा बोल्दै उनले संविधान बचाउन संसद पुन:स्थापनाको विकल्प नरहेको बताए ।

    खनालले भने, ‘हामीलाई सर्वोच्च अदालतप्रति पूरा विश्वास छ । त्यस अदालतले संसदको पुन:स्थापना गर्छ, गर्छ । त्यो भन्दा अर्को कुनै विकल्प छैन । अदालतले के गर्ला भनेर भ्रम छर्नुपर्ने आवश्यकता छैन । सर्वोच्च अदालतका न्यायमूर्तिहरुले नेपाली जनता के भन्दैछन् सुनिरहनुभएको छ, मनमा गुनिरहनुभएको छ ।’

    निर्वाचन आयोगले पनि कुन पार्टी आधिकारिक भन्ला भनेर जनताले पर्खेर बसेको उनले बताए ।

    ‘तर अहिलेको निर्वाचन आयोग पनि हुकुमी शासनले बनाएको होइन । हामीले बनाएको हो, संविधानसभाले बनाएको हो । दल ऐनको धाराले कुनै पार्टी जुटेर नयाँ पार्टी बनेको छ भने पाँच वर्ष फुटाउन पाउँदैन । ४० प्रतिशत पुर्याउनुपर्छ ।’

    खनालले प्रतिगमन नसच्चिएसम्म कफन बाँधेर सडकमा बस्ने घोषणा गरे । उनले प्रधानमन्त्री ओलीलाई भगौडाको संज्ञासमेत दिए ।

  • डोरमणिविरुद्धको अविश्वास प्रस्तावमाथि माघ १९ देखि छलफल हुने

    डोरमणिविरुद्धको अविश्वास प्रस्तावमाथि माघ १९ देखि छलफल हुने

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

    प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरे ।

    गत पुस १० गते प्रदेश सरकारका तीन मन्त्रीसहित सत्तापक्षका ४५ प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

    अविश्वासका प्रस्तावमा मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई अगाडि सारिएको छ ।

    बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न प्रस्तावको पहिलो हस्ताक्षरकर्ता निवर्तमान मन्त्री नेपाललाई समय दिएको थियो ।

    अविश्वास प्रस्ताव प्रस्तुत गर्दै निवर्तमान मन्त्री नेपालले कोभिड नियन्त्रणमा प्रदेश सरकारले कुनै पनि भूमिका खेल्न नसकेको, अपराध न्यूनीकरण, महँगी नियन्त्रणलगायत काममा ध्यान नपु¥याएको, समाजवादोन्मुख काम गर्न नसकेको, गरीबी नियन्त्रणमा काम गर्न नसकेको आरोप लगाए ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहका नेपालले आफूले प्रदेश सरकारले गर्नुपर्ने कामको बुँदा प्रस्तुत गर्दासमेत कार्यान्वयन नभएको आरोप लगाउँदै सरकारको औचित्यता पुष्टि चुनौती दिए ।

    निवर्तमान मन्त्री नेपालले सङ्घीताका बारेमा जनमत लिनुपर्ने माग पनि गरे ।

    अविश्वासको प्रस्ताव प्रस्तुतिसँगै प्रदेशसभाको बैठक माघ १९ सम्मका लागि स्थगन भएको छ । प्रदेशसभाको आगामी बैठक सो दिन अपराह्न २ बजे बस्ने जनाइएको छ ।

  • घनश्याम भुषाल भन्छन्: दुई तिहाईको ग्यारेन्टी नहुँदासम्म ओलीले चुनाव गराउँदैनन्

    घनश्याम भुषाल भन्छन्: दुई तिहाईको ग्यारेन्टी नहुँदासम्म ओलीले चुनाव गराउँदैनन्

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले आफूले दुई तिहाई ल्याउने ग्यारेन्टी नभएसम्म केपी ओलीले चुनाव नगराउने दावी गरेका छन् । उनले ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलन रोकिने पनि बताए ।

    प्रचण्ड–माधव पक्षले राजधानीमा गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्ने क्रममा नेता भुषालले आफ्नो समय ओलीमाथि आक्रमणमा खर्चेका छन् । ओली पराजित नभए देशमा लोकतन्त्र पराजित हुने उनको भनाइ थियो ।

    उनले भने– चुनावको सपना कसैले देखेका छन् भने गलत हुन्छ । संविधान च्यातेर यो चुनाव हुने वाला छैन । म यो मासलाई अगाडि राखेर भन्छु, दुई तिहाईको ग्यारेन्टी नभएसम्म ओलीले चुनाव गर्दैनन् ।

    प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाएको पत्र सबैले पढ्न भुषालले आग्रह गरे । भने– त्यो पत्रमा संसद विघटनका आठ कारणमध्ये सात कारण आफूलाई दुई तिहाई चाहिएको भन्ने छ । उहाँले सबै सेटिङ मिलाउनुभएको छ । अदालतमा समेत सेटिङ गर्नुभएको छ । तर, कामरेड हामी तपाईंका चलखेल, जालझेल र सेटिङ सफल हुन दिँदैनौं ।

    उनले ओली पक्षले बनाएको साइबर सेनालाई साइबर स्यालको संज्ञा दिए । ओलीसँग ‘साइबर स्याल’ र सेटिङवाला मान्छे मात्र बाँकी रहेको टिप्पणी भुषालले गरे ।

    अब पार्टी पुनर्र्गठन गर्दा अर्को ओली जन्मिन दिनु नहुने पनि भुषालको भनाइ छ । उनले भने– अब अर्को ओली हाम्रो पार्टीमा जन्मिन दिँइदैन । ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलनले विश्राम लिन्छ ।

  • मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ ।

    शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।

    क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाडौं अवतरण गर्नेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्मु भएर त्यहाँ अलपत्र अवस्थामा थिए ।

    मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

    उनले भने, ‘निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ ।’

    निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गर्न लागेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।

    निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो । निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

    निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

  • युवा संघले बनायो पूर्व लडाकुको केन्द्रीय समन्वय समिति

    युवा संघले बनायो पूर्व लडाकुको केन्द्रीय समन्वय समिति

    काठमाडौं । राष्‍ट्रिय युवा संघ नेपालले पूर्व लडाकु रहेको ९९ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ ।

    साविक वाईसीएल नेपालको केन्द्रीय समन्वय समितिको बैठकले ९ जनाको कार्यालय पनि बनाएको छ ।

    त्यस्तै ७ सहित १ विशेष प्रदेश रहने गरी प्रदेश समन्वय समिति पनि बनाइएको छ । त्यसको संयोजन गर्न प्रदेश १ मा विजयी डाँगी, २ मा विमल पौडेल, वागमतीमा मानबहादुर तामाङ, गण्डकीमा नविन गुरुङ, लुम्बिनीमा गोविन्द भुसाल, सुदूरपश्‍चिममा टेकबहादुर बोगटी, कर्णालीमा योगेश साउद र विशेष प्रदेशमा अरुणकुमार क्षेत्रीलाई जिम्मेवारी तोकिएको छ ।

  • जलवायु परिवर्तनको मुद्दामा अमेरिकाले गर्‍यो नेपाललाई ‘सगरमाथा संवाद’को प्रस्ताव

    जलवायु परिवर्तनको मुद्दामा अमेरिकाले गर्‍यो नेपाललाई ‘सगरमाथा संवाद’को प्रस्ताव

    काठमाडौं । जलवायु परिवर्तनको चुनौतिसँग जुध्न अमेरिकाले नेपालसँग मिलेर सगरमाथा संवाद गर्ने प्रस्ताव गरेको छ । राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै जलवायु परिवर्तनको मुद्दामा सगरमाथा संवाद जरुरी रहेको बताएका छन् ।

    अमेरिकी दुतावासले विज्ञप्ती जारी गर्दै राजदूत बेरीले राष्ट्रपति जो बाइडेनको नीति प्राथमिकता र सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेटेको जनाएको छ ।

    ‘जलवायु परिवर्तनको मुद्दामा नेपाल फ्रन्टलाइनमा छ’ विज्ञप्तीमा उल्लेख छ, ‘कार्यकालको पहिलो निर्णय अनुरुप राष्ट्रपति बाइडेनले पेरिस जलवायु सम्झौतामा पुनः अमेरिकी संलग्नता हुने हुने निधो गर्नुभएको छ । नेपाल पनि प्रभावित मुलुकमध्ये हो । दुतावास नेपालसँग मिलेर सगरमाथा संवाद डायलग संचालन गर्न इच्छुक छ ।’

    राष्ट्रपति बाइडेनको नयाँ विश्व नीतिको एक हिस्साअन्तर्गत राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई भेटेको पनि उल्लेख छ । भेटमा राजदूतले महिला, बालबालिका लगायतको मानवअधिकारका मुद्दामा पनि नेपालसँग मिलेर काम गर्न अमेरिका तयार रहेको बताएका थिए ।

    अमेरिकाले नेपाललगायत लोकतान्त्रिक मुलुकसँग पुनः हार्दिक सम्बन्ध स्थापना गर्न चाहेको कुरा पनि राजदूत बेरीले सुनाएका थिए ।

  • प्रदेश २: ४९औं ओभरमा अल आउट, बाग्मतीलाई १८० को लक्ष्य

    प्रदेश २: ४९औं ओभरमा अल आउट, बाग्मतीलाई १८० को लक्ष्य

    काठमाडौं । विवेक यादवको अर्धशतक प्रेरित प्रदेश नम्बर २ ले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशलाई १८० रनको विजय लक्ष्य दिएको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजको प्रदेश २ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर १७९ रनको योगफल तयार गरेको हो । प्रदेश २ का लागि विवेकले सर्वाधिक ७४ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए ।

    कुमार थापाले २२, राहुल प्रताप सिंहले १८, कप्तान सुरज कुर्मीले १३ र सुधिर चौधरीले १५ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बाग्मतीका लागि गौतम केसीले १० ओभरमा २९ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र बिपिन आचार्यले १/१ विकेट लिए ।

    पहिलो खेलमा नेपाल पुलिस र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको बाग्मती आजको खेलमा जित हासिल गरे सेमिफाइनल नजिक पुग्ने छ । पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको प्रदेश २ काे याे दोस्रो खेल हो ।

  • जेम्स बन्ड फिल्म ‘नो टाइम टु डाइ’ रिलिज डेट घोषणा, गडजिला सिक्वेलको पोस्टर लन्च

    जेम्स बन्ड फिल्म ‘नो टाइम टु डाइ’ रिलिज डेट घोषणा, गडजिला सिक्वेलको पोस्टर लन्च

    काठमाडौं । जेम्स बन्ड सिरिजको प्रतीक्षित फिल्म ‘नो टाइम टु डाइ’को रिलिज मिति पुनः पोस्टपोन्ड भएको छ । डेनियल क्रेग स्टारर यो एक्सन–स्पाइ–थ्रिलर फिल्म अब अक्टोबर ८ मा रिलिज हुनेछ ।

    यसअघि २ अप्रिलको रिलिज मिति पूर्वनिर्धारित थियो । कोरोनाभाइरस महामारीको कारण फिल्मको रिलिज मितिलाई पुनः धकेल्नुपरेको जानकारी जेम्स बन्ड निर्माताले दिएका छन् ।

    जेम्स बन्ड श्रृंखलाको २५ औं फिल्म भाइरसले प्रभावित हुने ठूलोमध्येको एक हलिउड फिल्म हो । हलिउडका अन्य ब्लकबस्टरमा मार्भलको ब्ल्याक विडो, युनिभर्सलको फास्ट एन्ड फ्युरियस ९ र प्यारामाउन्टको ‘टम गन म्याभेरिक’ लगायत छन् ।

    वार्नर ब्रोजको वन्डर वुमन १९८४ ले भने हल र ओटीटी प्लेटफर्ममा हाइव्रिड रिलिज गरेको छ । वार्नर ब्रोजले आफ्नो नयाँ फिल्म ‘गडजिला भर्सेस कङ’को अफिसियल पोस्टर लन्च गरेको छ । आउने आइतबार फिल्मको ट्रेलर समेत लन्च हुँदैछ । सन् २०२१ भित्रै फिल्म रिलिज हुने जनाइएको छ ।

  • ब्राउनसुगरको ‘हब’ बन्दै पूर्व , ६ महिनामा ११ सय ६४ ग्राम बरामद

    ब्राउनसुगरको ‘हब’ बन्दै पूर्व , ६ महिनामा ११ सय ६४ ग्राम बरामद

    विराटनगर । झापाको दमकमा बिहीबार ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गर्‍यो ।

    इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक नगरपालिका-८ सेतुमारी रोडबाट मोरङ रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाई र रतुमाईकै २० वर्षीय राजकुमार गनगाईलाई पक्राउ गरेको हो । शरीरको विभिन्‍न भागमा लुकाएर राखेको अवस्थामा ३६ ग्राम ब्राउनसुगरसहित उनीहरू पक्राउ परेको झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

    पूर्वको सीमावर्ती भारतीय बजारबाट पछिल्लो समय लागुऔषध भित्र्याउने गिरोह सक्रिय हुन थालेको छ । सिमावर्ती जिल्लाहरू सुनसरी, मोरङ र झापाको नाकाबाट सबैभन्दा बढी ‘ब्राउन सुगर’ भित्रिने गरेको प्रहरीले जनाएको छ । सुईबाट लिन सकिने र खान मिल्ने लागुऔषधहरु बढी भित्र्याउने गिरोहले अहिले ब्राउनसुगर भित्र्याउन थालेको छ । नेपाल प्रहरीको तथ्याङकले पछिल्लोसमय ओसारपसारकर्ता र सेवनकर्ताहरूले ब्राउन सुगर नै बढी मात्रामा ल्याउने गरेका छन् ।

    यसको कारोबारी र प्रयोगकर्ता दुवै बढेको छ । नाकासँग जोडिएका भारतीय बजार विहार र पश्चिम बंगालका स्थानीय बजारहरूमा नेपालमा प्रतिबन्धित लागुऔषध सजिलै पाइने गरेकाले त्यसको कारोबार नेपालमा समेत बढेको हो । नेपाली कारोबारीहरूले ती ठाउँलाई कारोबारको सुरक्षित र भरपर्दो थलो बनाएका छन् । पूर्वका मात्रै नभई त्यहाँ नेपालभरीका कारोबारीहरू पुग्ने गरेका छन् । भारतको बिहार र पश्चिम बंगालका जोगबनी, अररिया, पानीट्यांकीलगायतका बजारमा लागुपदार्थ किनेर ल्याउने र नेपाली बजारमा त्यहाँको मूल्यभन्दा चौगुणा बढीमा बेच्छन् ।

    प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक विपिन रेग्मी लागुऔषधमा सक्रिय गिरोहले पछिल्ला दिनमा ब्राउन सुगरको कारोबार बढाएको बताउँछन् । ‘सीमापारका बजारमा सहजरूपमा ब्राउनसुगर पाइने गरेको छ,’ रेग्मीले भने, नेपाली प्रयोगकर्तासँगै कारोबारीहरू भारतका बजारसम्म पुगेर प्रतिबन्धित लागुपदार्थहरू भित्र्याउँने क्रम बढ्दो छ ।’

    प्रहरीका अनुसार ओसारपसारमा संलग्नहरू काठमाडौं, पोखरा, धरानलगायत शहरका बढी छन् । धेरै फाइदाको लोभमा उनीहरू जहाज चढेरै कारोबारमा लागेका छन् । कुलतमा फसिसकेकाहरूले जति पनि मूल्य तिर्न तयार हुने भएकाले कारोबारीहरू खर्च र जोखिमको परवाह नगरी भारतीय बजारमा ब्राउन सुगर लिन पुग्ने गरेको अनुसन्धानमा संलग्‍न प्रहरी अधिकारी बताउँछन् ।

    ‘इन्जेक्सन, ट्याब्लेटहरु बोक्दा भारी हुने, छामछुम गर्दा बज्ने, कराउने हुन्छ । त्यसैले ब्राउन सुगर धुलो हुने भएकाले बज्ने, कराउने केही भएकाले ल्याउन सुरक्षित हुने हुदा त्यसैले यसको कारोबार बढेको पाएका छौं’, ती अधिकारीले भने ।

    यस्‍तो छ ब्राउनसुगरको ग्राफ

    प्रहरीको तथ्यांकअनुसार झापामा सबैभन्दा बढी ब्राउनसुगरको कारोबार हुने गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि ६ महिनामा १३ जिल्लामा १५५ ब्राउनसुगरका कारोबारी एवं सेवनकर्ता पक्राउ परेका छन् । ६ महिलासहित १११ जना कारोबारी रहेका छन् ।

    यो अवधिमा प्रहरीले १ हजार १६४ ग्राम ब्राउन सुगर बरामद गरेको छ । झापाबाट मात्र ८२१ ग्राम ब्राउनसुगर भित्र्याउने ९१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो तथ्यांकलाई हेर्दा अघिल्लो ६ महिनाभन्दा ब्राउन सुगर कारोबारीको संख्या र मात्रा निकै बढेको देखिन्छ ।

    गएको आर्थिक वर्ष २०७६ माघदेखि ७७ असारसम्मको ६ महिनामा ३ महिलासहित १२३ जना ब्राउनसुगर कारोबारी र प्रयोगकर्ता पक्राउ परेका थिए । उनीहरूबाट ८७२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रहरीका अनुसार ब्राउन सुगर कोरोबारमा भारतीय नागरिकको पनि संलग्नता छ ।

  • प्रदेश १ ले कर्णालीलाई दियो २१६ रनको लक्ष्य

    प्रदेश १ ले कर्णालीलाई दियो २१६ रनको लक्ष्य

    काठमाडौं । कप्तान सिद्धान्त लोहनीको अर्धशतक मद्दतमा प्रदेश नम्बर एकले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसामु २१६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रनको योगफल तयार गर्‍यो । प्रदेश १ का लागि कप्तान सिद्धान्तले ९७ बलमा ९ चौकासहित ६६ रन बनाए ।

    शुभन्कर उराओले २८ बलमा ३ चौका र २ छक्कासहित ३६, मिनाश थापाले २५ तथा श्रावण यादव र फिर्दोस अन्सारीले १७÷१ रनको योगदान गरे ।

    कर्णालीका लागि रबिन्द्र शाहीले ८ ओभरमा ३६ रन खर्चेर १ मेडनसहित २ विकेट लिए । अनुज चुनारा र दिनेश अधिकारीले २/२ विकेट लिएका थिए ।

    यसअघि गण्डकी प्रदेश, एपिएफ र त्रिभुवन आर्मी क्लबसँग पराजित भएको प्रदेश १ प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ ।

    यसअघिका दुई खेलमा एक जित र एक हार बेहोरेको कर्णालीको सेमिफाइन प्रवेशको सम्भावना जिवित छ ।