Blog

  • महिला लिगमा आर्मीविरुद्ध एपिएफ विजयी

    महिला लिगमा आर्मीविरुद्ध एपिएफ विजयी

    काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला फुटबल लिगमा त्रिभुवन आर्मी क्लबलाई २-० गोलको नतिजामा पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २७औं मिनेटमा अञ्जली योञ्जनले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । सुरुआतदेखि गोलका लागि निरन्तर प्रयासरत एपिएफका लागि अञ्जलीले दायाँतर्फबाट उत्कृष्ट गोल गरेकी थिइन् ।

    आर्मी गोलका लागि अगाडि बढेको फाइदा उठाउँदै एपिएफले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्‍यो । सावित्रा भण्डारीले बायाँतर्फबाट दिएको क्रसमा सरु लिम्बुले शानदार गोल गरिन् ।

    दोस्रो हाफमा दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल एपिएफको पक्षमा टुङ्गियो । जितसँगै उपाधि दाबेदार एपिएफले तीन खेलमा सतप्रतिशत नतिजा निकाल्दै ९ अंक जोडेको छ ।

    समान खेलबाट आर्मीको ४ अंक छ । पहिलो पटक आयोजना भइरहेको महिला डबल लिगमा तीन विभागीय, एक महानगरपालिका र तीन नगरपालिका गरी सात टोली सहभागी छन् ।

  • तीन दिनको आन्दोलन तय गर्दै सकियो कांग्रेस बैठक

    तीन दिनको आन्दोलन तय गर्दै सकियो कांग्रेस बैठक

    काठमाडौं । तीन दिनको आन्दोलन कार्यक्रम तय गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति वैठक सकिएको छ । आन्दोलनमा जान अनिच्छुक सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलपछि वाध्य भएका थिए ।

    दिउँसो तीन बजे बोलाइएको बैठक आन्दोलनकै विषयमा देउवा र पौडेलबीच कुरा नमिल्दा ढिला सुरु भएको थियो । अन्ततः आन्दोलन कार्यक्रमबारे दुई नेताबीच सहमति भएपछि बैठक बस्यो । दुई नेताको सहमतिलाई अनुमोदन गर्दै बैठक सकिएको छ ।

    कांग्रेसले माघ १९ गते, २४ गते र ३० गतेका लागि आन्दोलन कार्यक्रम तय गरेको छ । १९ गते भातृ संस्थाले, २४ गते शुभेच्छुक संगठनले आन्दोलन गर्ने छन् भने ३० गते जिल्ला स्तरीय प्रदर्शन आयोजना गरिने छ ।

    नेविसंघ, महिला संघ, किसान संघ, दलित संघसहित म्याद सकिएका भ्रातृसंस्थाहरूकाे म्याद सकिएकाे मितिले ६ महिना थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

  • भारतबाट चोर बाटोहुँदै आउन थाले सामान,  जन्ती र मलामी जान समस्या

    भारतबाट चोर बाटोहुँदै आउन थाले सामान, जन्ती र मलामी जान समस्या

    काठमाडौं । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाका सीमाना लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् ।

    सर्वसाधारणलाई खोला, चोरबाटो र पुलमुनिबाट आवतजावत गर्दा सुरक्षाकर्मीको त्रास उत्तिकै रहेको छ । दैनिक उपभोग्य वस्तु, कपडालगायत सामान भारतीय बजार सुनवर्षाबाट चोर बाटो हुँदै नेपालतर्फ आउने गरेको छ ।

    साँझ र बिहान साइकल, मोटरसाइकल तथा ठूलाठूला पोका बनाएर टाउकोमा बोकेर व्यापारीको सामान तस्करी गर्नेहरू सर्लाहीका विभिन्न बजारसम्म पुग्ने गरेका छन् ।

    कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सिमानाका बन्द गरिएको थियो ।

    सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी किनमेललगायत आफन्तलाई भेट्न जाँदासमेत पुलमुनि, खोलाको बाटो तथा चोरबाटो प्रयोग गर्न बाध्य भएका छन् ।

    व्यवहारमा भने सीमा खुला नै छ । पुलमुनि र आसपासबाट नदी तरेर आवतजावत भने रोकिएको छैन । पहिलाका सञ्चालित पुल सडकका नामको मात्र सीमानाका बन्द गरिँदा स्थानीयवासी मारमा परेका छन् ।

    जिल्लाको ब्रह्मपुरीमा रहेको झिम नदीमा रहेको पुल बन्द भए पनि सर्वसाधारण पुलमुनिको खोलाबाट आवतजावत गर्ने गर्दछन् ।

    प्रदेश २ का आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । नाका खुलाउन सर्लाहीसहित प्रदेश २ का जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले सीमामै धर्नासमेत दिएका थिए ।

    सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मूल्य बढ्नाका साथै औषधि उपचारमा पनि समस्या भएको नेपाल–भारत खुला सीमा संवाद समूहमा रहनुभएका जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

    सीमा बन्दकै कारण छोरी, चेली माइती र ससुराली आवतजावत गर्दा अपमानित भएको र वारिपारि आफन्तको जन्ती र मलामी जान पनि समस्या भइरहेको उनको भनाइ छ ।

    सीमा बन्दले दैनिक जनजीवनसँगै जिल्लामा व्यापारव्यवसायसमेत प्रभावित भएको उद्योग बाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए ।

    चौसट्ठी किलोमिटर खुला सिमाना रहेको सर्लाहीमा अधिकांश स्थानमा खेतको बाटोमा समेत प्रयोग बढेको छ । सिमानामा दुवै देशका सुरक्षकर्मीहरु तैनाथ रहेका छन् ।

    दैनिक उपभोग्य सामग्री खरीदका लागि तराईका जिल्लाका स्थानीयवासी भारतीय बजारमा जाने गर्दछन् । सीमानाका बन्दका बहानामा नेपाली बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्यमा पनि वृद्धि भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।

    सीमानाका बन्दका बहानामा तराईका जिल्लामा चोरी तस्करी बढेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

     

     

  • निश्चिन्त छन् भोलि पहिलो कोरोना खोप लगाउने चिकित्सक

    निश्चिन्त छन् भोलि पहिलो कोरोना खोप लगाउने चिकित्सक

    काठमाडौं । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा. सागर राजभण्डारीको नाममा भोलि एउटा ‘रेकर्ड’ बन्दै छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउने पहिलो व्यक्ति बन्न लागेका छन् उनी ।

    गत साता नेपाल भित्रिएको कोरोनाविरुद्धको खोप  ‘कोभिशिल्ड’को प्रयोग बुधबारबाट सुरु हुन लागेको हो । र, पहिलो खोप राजभण्डारीले लगाउने तय भइसकेको छ । पहिलो चरणमा यो खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, चिकित्सक र सरसफाईकर्मीलाई निशूल्क लगाउने सरकारको तयारी छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप लगाउने अभियानको उद्घाटन गर्ने छन् । खोप कार्यक्रमको सुरुवात टेकु अस्पताल, टिचिङ र एपीएफ अस्पतालबाट गरिने छ ।

    राजभण्डारी भन्छन्ः सुनौलो अवसर

    कोरोनाविरुद्धको पहिलो खोप लगाउन लागेका टेकु अस्पतालका निर्देशक डा. राजभण्डारीले यो आफ्नो लागि सुनौलो अवसर भएको बताउँछन् । पहिलो प्रयोग आफूले गरेर खोप सुरक्षित छ भन्ने सन्देश दिन खोजेको उनको भनाइ छ ।

    निर्देशक राजभण्डारीले नेपाल प्रेससँग भने, ‘नेपालमा कोरोना भाइरसको पहिलो संक्रमितको उपचार टेकु अस्पतालले गरेको हो । खोप पनि पहिलोपटक यही अस्पतालको स्वास्थ्यकर्मीले लगाउँदा सकारात्मक सन्देश जान्छ भन्ने लाग्छ ।’

    उनी थप्छन्, ‘सामान्यतया कुनै नयाँ भ्याक्सिन बन्न ५/६ वर्ष लाग्छ । तर कोभिडको खोप एकै वर्षमा यति धेरै बनेको छ । वैज्ञानिकले धेरै दुख गरेका छन् । पहिलो खोप लगाउन पाउनु मेरो लागि सुनौलो अवसर हो ।’

    कोरोनाविरुद्धको लडाईमा स्वास्थ्यकर्मी, चिकित्सकहरु फ्रन्टलाइनमा खटिइरहेकाले उनीहरु उच्च जोखिममा छन् । अस्पतालकै स्वास्थ्यकर्मी तथा चिकित्सकमार्फत घर–परिवारमा कोरोना सर्न सक्ने खतरा भएकाले सुरक्षित रहन अहिले भ्याक्सिन लगाउनुपर्नेमा राजभण्डारीको जोड छ ।

    उनले थपे, ‘कोभिड–१९ ले स्वास्थ्यमा मात्र नभएर मानिसको हरेक पक्षमा असर गरेको छ । यसबाट मुक्त हुनको लागि भ्याक्सिन लगाउनुपर्छ ।’

    यो भ्याक्सिन सुरक्षित छ कि छैन भन्नेमा जनमानसमा रहेको संशय हटाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

    उनी भन्छन्, ‘स्वास्थ्यकर्मी नै खोप लगाउन अघि सर्दा अरुलाई पनि ढुक्क हुन्छ भनेर पहिले हामी आफैंले लगाउन आँटेका हौं ।’

    ‘साइड इफेक्ट न्यून’

    ‘कोभिशिल्ड’ हरेक हिसाबले सुरक्षित रहेको उनी बताउँछन् । डा. राजभण्डारीको भनाइअनुसार यो भ्याक्सिनले ०.१ प्रतिशत मात्रै साइट इफेक्ट गर्छ । अर्थात्, हजार जनालाई खोप दिँदा एक जनालाई सामान्य लक्षण देखिन सक्छ ।

    ‘सामान्य लक्षण भन्नाले ज्वरो आउन सक्छ । तर त्यो भनेको भ्याक्सिनले काम गरेको हो । भ्याक्सिन सक्रिय हुँदा ज्वरो आउने, जोर्नी दुख्ने हुन्छ । केही घण्टामा आफै ठिक हुन्छ ।’

    लाखौमध्ये एक–दुई जनालाई गम्भिर प्रकारका लक्षणहरु देखिन सक्ने उनी बताउँछन् ।

    गर्भवती महिला, दम, मुटुको रोग भएका विरामी, एलर्जी हुने व्यक्ति, सुत्केरीलाई खोप दिँदा गम्भिर असर पर्ने देखिएकाले त्यस्ता व्यक्तिलाई खोप नदिने उनले बताए ।

    सुरक्षित रुपमा खोप दिने अस्पतालको तयारी छ । त्यसका लागि सबैभन्दा जोखिममा रहेका स्वास्थ्यकर्मीको सूची बनाइएको छ । बुधबार १० बजेदेखि खोप लगाउन सुुरु गरिने छ ।

    अस्पतालका दुई जना चिकित्सकले खोप लगाएपछि स्वास्थ्यकर्मी र सरसरफाईकर्मीले लगाउनेछन् । कसैलाई गम्भिर लक्षण देखिए त्यसको उपचारका लागि औषधी लगायत सबै बन्दोबस्त गरिने बताइएको छ ।

  • चिरकालसम्म सम्झिरहन शहीदका पाँच सालिक निर्माणः मेयर शाक्य

    चिरकालसम्म सम्झिरहन शहीदका पाँच सालिक निर्माणः मेयर शाक्य

    काठमाडौं । काठमाडौं महानगरपालिकाको सिफलस्थित शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थानमा आज उनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

    यस वर्षको शहीद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले शहीद सप्ताह शुरु गरेको थियो । आज शहीद सप्ताहको तेस्रो दिन अर्थात् माघ १३ गते सिफलमा श्रद्धाञ्जली सभा गरेको हो ।

    श्रद्धाञ्जली सभामा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निरंकुशताबाट नेपाली जनतालाई मुक्त गराउन ज्यानको आहुति दिने शहीदहरुकै कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

    ‘उहाँहरुलाई शासकले चाहेको जति सम्पत्तिको प्रस्ताव गरेका थिए। तर, उहाँहरुले व्यक्तिगत लाभ भन्दा नागरिकको स्वतन्त्रता र मानवअधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं’ शाक्यले भने, ‘त्यसैले सबै मिलेर उहाँहरुले देखाएको बाटो समाउँदै अघि बढ्नुपर्छ ।’

    शहीदहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरुको सम्झना चिरकालसम्म रहन सकोस् भनी महानगरपालिकाले चार शहीदकै पूर्ण कदको सालिक निर्माण गरेको पनि स्मरण गराए ।

    काठमाडौँ महानगरपालिकाले चारै (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) जनालाई मृत्युदण्ड दिएको स्थानमा पूर्ण कदको सालिक निर्माण गरेको छ’ उनले भने ।

    ‘धर्मभक्तकै सम्झनामा उहाँको पुर्ख्याैली ठाउँ काठमाडौँ महानगरपालिका वडा नम्बर–२३ को ओमबहालमा ‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण गरेका छौँ । उहाँकै सम्झनामा ‘शहीद धर्मभक्त माथेमा मानवसेवा आश्रमका लागि पनि महानगरपालिकाले बजेट छुट्याएको छ । छिट्टै निर्माण सम्पन्न हुन्छ । शहीद गंगालालको सम्झनामा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट राख्न महानगरपालिकाले सम्झौता गरिसकेको छ ।’

    शाक्यले शहीदहरुको सम्झनामा काठमाडौं महानगरपालिकाकै पहलमा ८० वर्षपछि भए पनि पूर्णकदको सालिक निर्माण गर्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरे ।

    ‘शहीदहरूलाई बिर्से पनि उहाँहरूले गरेको योगदानलाई कसैले पनि बिर्सन सक्दैनन्’ उनले भने, ‘हामी कसैले पनि चार शहीदलाई भेटेका छैनौँ । तर, उहाँहरूले राष्ट्र र जनताप्रति गरेको योगदान हामी भुल्न सक्दैनौँ । उहाँहरूको सालिक मुन्तिर उभिएर उहाँहरूले देखाएको बाटो हिंड्न प्रेरणा मिलोस् भनेर हामीले पूर्णकदको सालिक निर्माण गरेका हौँ ।’

    कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनसँग शहीदको सपना अन्तरसम्बन्धित भएको उल्लेख गरिन् ।

    विकासबाट मुलुकलाई समृद्ध र नागरिकलाई खुसी बनाउन शहीदको सपना सम्झना गर्दै निर्भीक भएर जिम्मेवारी पूरा गर्ने उनको दृढता थियो । सभामा महानगरको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगाेलले शहीदको सपना पूरा गर्न भौतिक समृद्धिसँगै चेतनामा पनि समृद्धि हुनुपर्ने टिप्पणी गरिन् ।

    माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाकाे रुखमा झुण्ड्याइएर मृत्युदण्ड दिइएको थियो । उनी विसं १९६६ साल आश्विन ९ गते पिता सुब्बा आदिभक्त र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाडौंको ओमबहालमा जन्मिनुभएको थियो ।

    नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुको सपना स्मरण गर्दै शहीद दिवस मनाउने गरिन्छ ।

    राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि सं १९९७ साल माघ १० गतेदेखि १५ गते बीचमा चार जना शहीदलाई प्राणदण्ड दिइएको थियो ।

    हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि सं १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए ।

    निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।

    शहीद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ । माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरीसहित शहीद स्मारक लैनचौर लगिनेछ । लैचचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।

  • हिमाल आरोहणमा जानेलाई सरकारले सहयोग गर्छ:  प्रधानमन्त्री

    हिमाल आरोहणमा जानेलाई सरकारले सहयोग गर्छ: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन् ।
    मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू को कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जा लगायतका १० नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    उनले माउन्ट केटू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताए ।

    प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उनको भनाई छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताए। वर्तमान सँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उनको भनाई छ ।

    माउन्ट के टू का आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताए । माउन्ट के टू आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उनको भनाई छ ।

     

     

     

  • देउवा र पौडेलबीच आन्दोलन गर्ने सहमतिपछि कांग्रेस बैठक शुरू

    देउवा र पौडेलबीच आन्दोलन गर्ने सहमतिपछि कांग्रेस बैठक शुरू

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको बैठक भर्खर शुरू भएको छ । दिउँसो १ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने/नगर्ने भन्नेबारे सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको फरक रायका कारण ढिला शुरू भएको हो ।

    आन्दोलनबारे सहमति भएपछि बैठक शुरू भएको हो । देउवा र पौडेलबीच माघ १९ मा भ्रातृ संस्था, २४ गते शुभेच्छुक संस्थाले आन्दोलन गर्ने सहमति भएको छ । त्यस्तै २७ गते जिल्लास्तरमा विरोध कार्यक्रम गर्ने सहमति भएको छ ।

    बैठक शुरू हुनुअघि देउवा र पौडेल दुवै गुटको आन्तरिक छलफलमा जुटेका थिए । देउवाले सहमति जुटाएर बैठक बसाउने भनेपछि पौडेल पक्ष उनको चेम्बरमा छिरेका थिए ।

  • गंगामायाका छोरालाई अदालतमा तोडफोड र ज्यान मुद्दामा सफाइ

    गंगामायाका छोरालाई अदालतमा तोडफोड र ज्यान मुद्दामा सफाइ

    काठमाडौं । छोराका हत्यारालाई कारवाही माग गर्दै अनसनकै क्रममा ज्यान गुमाएका गोरखाका नन्दप्रसाद अधिकारी र अहिले पनि अनसनमै रहेकी गंगामायाका छोरा नुरप्रसादले २ वर्षपछि अदालतमा तोडफोड र ज्यान मार्ने उद्योगको मुद्दाबाट सफाइ पाएका छन् ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उनलाई उच्च अदालतमा तोडफोड तथा ज्यान मार्ने प्रयास गरेको अभियोगबाट सफाइ दिएको हो ।

    एउटा निजी मुद्दाका वादीको तर्फबाट बिचौलीयाका रुपमा गएका नुरप्रसादले अदालतबाट आफ्नो पक्षमा फैसला नआएपछि २०७५ असोजमा उच्च अदालत पाटनभित्र तोडफोड र हातपात गरेका थिए ।
    उच्च अदालतमा तोडफोड गर्दै अधिकृत रोशन बस्नेतलाई कुर्सी उचालेर आक्रमण गरेपछि उनी पक्राउ परेका थिए । ललितपुरकी विन्दू घतानीको जग्गा सम्बन्धी मुद्दामा अदालतले उनको पक्षमा फैसला नगरेपछि उनी तोडफोडसहित आक्रमणमा उत्रिएका थिए ।

    गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले युद्धकालमा हत्या गरेका थिए । छोराका हत्यारामाथि कारवाहीको माग गर्दै अनसन बसेका नन्दप्रसादको निधन भइसकेको छ । आमा गंगामाया अनसनमै छिन् ।

  • सिनेमा संवादमा पर्यटनको चर्चा

    सिनेमा संवादमा पर्यटनको चर्चा

    घान्द्रुक । करिब १२ वर्षअघि कलाकार, निर्देशक सुदर्शन थापा कास्कीको घान्द्रुक आएका थिए । चलचित्र ‘मेरो एउटा साथी छ’ को सुटिङमा आएकाबेला अहिलेजस्तो सहज थिएन । नयाँ पुलदेखि सुटिङका पोकापुन्तुरा बोकेर उकालो उक्लिएका थिए ।

    तर, अहिले घान्द्रुक त्यस्तो छैन । गाउँकोे आँगनसम्मै मोटरबाटो आइपुगेको छ । धुवाँ उडाउँदै गाडीहरु गुड्छन् । बरु १२ वर्षअघि थापाहरुको सुटिङ सामान परम्परागत ढंगमा खच्चडले बोकेको थियो । ‘त्यतिबेला धेरै कष्ट थियो । अहिलेजस्तो थिएन । दोस्रो पटक आउँदा त धेरै परिवर्तन भइसकेछ,’ थापा त्यो समयमा फर्किन्छन् ।

    चलचित्र पत्रकार संघले कास्कीको घान्द्रुकमा गरेको सिनेमा संवाद कार्यक्रमको ‘सिनेमा टुरिजम’ सेसनमा थापाले आफ्नो अनुभव सुनाएका हुन् । संवादको सहजीकरण बासु मिश्रले गरेका थिए भने वक्ताका रुपमा निर्देशक थापासँगै पर्यटन व्यवसायी गोपी भट्टराई थिए ।

    सेसनमा पर्यटन र सिनेमाको सम्बन्ध, सम्भावना आदिबारे बहस गरिएको थियो । थापाले सिनेमा र पर्यटन क्षेत्रको सम्बन्ध नङ र मासुकोजस्तै सम्बन्ध भएको बताए । ‘फिल्म, डकुमेन्ट्रीहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा ठूलो सहयोग गर्छ,’ उनले भने । राम्रो सिनेमाले गरेको पर्यटन प्रवद्र्धनले ठाउँको विकास हुनेमा पनि उनको जिकिर छ ।

    लामो समयको कोरोना महामारी र लकडाउनले सबैभन्दा बढी प्रभावित क्षेत्र सिनेमा र पर्यटन क्षेत्र हुन् । कोरोना कहर सहज हुँदै विस्तारै बजार खुल्दै गर्दा पनि पर्यटन र सिनेमा बजार पुरानै अवस्थामा फर्किन केही समय लाग्ने अर्का वक्ता तथा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईको अनुभव छ । ‘यी दुई क्षेत्र भनेका तत्काल रिभाइभ हुन सक्दैन । केही समय त पक्कै लाग्छ,’ उनले भने ।

    भट्टराई सिनेमाले गर्दा नै लुकेका विभिन्न पर्यटकीय ठाउँहरुको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको बताउँछन् । ‘कुनै पनि ठाउँको एक्स्पोज गर्न सिनेमाले सहयोग गरिरहेको छ । कुनै कुनै ठाउँको त कायापलट नै भइराखेको छ,’ उनले भने, ‘सिनेमा र पर्यटनबीच जति सहकार्य हुनुपर्ने हो । त्यति नभएको हो कि झैं पनि लाग्छ ।’ उनले नेपाली सिनेमाले आन्तरिक पर्यटक बढाउनमा धेरै सहयोग गरेको उनी बताउँछन् ।

    निर्देशक थापाले भने सबै सिनेमाले पर्यटन विकासमा टेवा नपुर्याउने बताउँछन् । उनी सिनेमा छायांकन गर्दैमा तत्काल पर्यटन प्रर्वद्धन नहुने सुनाए । आन्तरिक तथा बाह्य पर्यटकलाई सिनेमाका आधारमा प्रर्वद्धन गर्ने हो भने नेपाली मौलिकता पनि प्रवद्र्धन गर्नुपर्ने उनको मत छ ।

    उनले भने, ‘सबै चलचित्रले सबै ठाउँ चिनाउँछन् भन्ने हुँदैन । ठाउँको विशेषता, जाने प्रक्रिया र त्यहाँको मौलिकतालाई पनि क्याच गर्न सकियो भने बल्ल त्यसले पर्यटन प्रवद्र्धन हुने हो ।’

    नेपाली सिनेमा निर्माणको क्रममा भने सरकारी तहको सहयोग नरहेको थापाको गुनासो छ । ‘सहकार्यको अभ्यास नभएर हो कि ? फिल्म छायांकनको समयमा सरकारले सहयोग गर्छ भन्ने नै सोच्दैनौं । व्यक्तिगत रुपमा स्थानीयको सहयोग त हुन्छ । कहिलेकाहीं सहकार्य नगर्दा साना गल्तिमा पनि ठूलो सजाय भोग्नु परिरहेको हुन्छ,’ उनले भने ।

    तर, पोखरा पर्यटन परिषदका गोपी भट्टराई भने व्यवसायीले माया गरिरहेको दाबी गर्छन् । उनले संघीयता पछि सबै तहका सरकारको समन्वय हुन नसक्दा पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘अधिकार धेरै भएर पनि होला ! विभिन्न ठाउँका मौलिकता नै हराए । पदमार्ग हराए । कोर्डिनेसन हुन नसक्दा समस्या आएको हो,’ उनले भने ।

    चलचित्र पत्रकार संघ, कास्कीले घान्द्रुक सिनेमा संवाद गरेको हो । कार्यक्रममा सिनेमा टुरिजम र सिनेमा साहित्य गरी २ सत्र सञ्चालन भएका थिए । सिनेमा साहित्य: सम्बन्ध र साझेदारी विषयक सत्रलाई दिनेश डिसीले सहजीकरण गरेका थिए भने वक्ताका रुपमा कलाकार, निर्देशक दिपकराज गिरी, भुषिता वशिष्ठ र लेखक गनेस पौडेल छन् ।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम आठ अर्बभन्दा माथि

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम आठ अर्बभन्दा माथि

    काठमाडौं । बुधबार नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेको छ । आज नेप्से परिसूचक २४४१.८५ विन्दुमा रोकिएको छ । हिजो मंगलबार देहोरो अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले नै बढेको छ ।

    आज भएको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ताको किनबेचमा ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँ बराबरको कारोबार भएको छ । आज पनि साविक झै नेपाल लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा सार्वधिक किनबेच भएको छ ।

    आज नेपाल लाइफको ९३ करोड ३४ लाख २३ हजार ९०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

  • एनएनआइपीए स्पोर्टस अवार्ड दाेस्राे साता

    एनएनआइपीए स्पोर्टस अवार्ड दाेस्राे साता

    काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपीए स्पोर्टस अवार्ड फागुन ८ गते हुने भएको छ ।

    एनएनआईपिएले मंगलबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी नगरपालिकामा अवार्ड कार्यक्रम आयोजना गर्ने जनाएको हो । एनएनआईपिएका अध्यक्ष दिपक श्रेष्ठले अवार्डका लागि मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताए ।

    संघले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको बताएको छ । यस विधालाई स्काई ब्रान्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

    जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताईएको छ । गत वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ ।

    यसअघि संघले भक्तपुर, टोखा, पाटन, बसन्तपुरमा स्थानीय निकायको सहयोगमा अवार्डको आयोजना गरिसकेको छ । सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन भने सर्बेत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित संघले सम्मान गर्दै आएको छ ।

    अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी संघले जनाएको छ ।

    संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजक संस्थाले जनाएको छ ।

    एनएनआईपिएले अवार्ड कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेल पत्रकार वा फोटो पत्रकारलाई एनएनआइपीए खेल पत्रकारिताबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

  • कौसीखेतीले फेरेको सावित्राको दैनिकी

    कौसीखेतीले फेरेको सावित्राको दैनिकी

    रुपन्देही । कोरोना महामारीका कारण भएको लकडाउनले धेरैलाई बेरोजगार बनायो । धेरैलाई दिन काट्नै मुस्किल भयो । तर कतिपयले उक्त समयलाई सीपमूलक काम सिक्ने र गर्ने मौकाका रुपमा प्रयोग गरे ।

    रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम सिद्धार्थपथकी सावित्रा भण्डारीले लकडाउनको समयलाई कौसीखेतीमा प्रयोग गरिन् । जसले उनलाई आत्मनिर्भर बनाएको छ । उनी अहिले प्रशस्त जग्गा नहुनेले पनि घर खर्च चलाउन कौसीखेती गर्ने तरिका सिकाउन थालेकी छिन् ।

    ५ वर्षअघि तिलोत्तमा बसाइसरी आएकी सावित्राका श्रीमान् विदेशमा छन् । २ सन्तानसहित सिद्धार्थपथमा बस्दै आएकी सावित्राको कौसी खेती लोभलाग्दो छ । १० धुरमा बनेको एक तले घरको छतमा लटरम्म टमाटर फलाएकी छन् । साग, गोभी, भन्डा र फलफुलका विरुवाले हरियाली मात्र बनेको छैन् । घरकै सुन्दरता बढाएको छ ।

    लामो समयको लकडाउनमा विद्यालय नखुल्दा छोराछोरी घरमै बसे । उनीहरुकै स्यारसुसारमा व्यस्त सावित्राले एकदिन सामाजिक सञ्जालमा कौसी खेतीका बारेमा देखिन् । त्यसपछि उनले आफै कौसी खेती गर्ने योजना बनाइन् । यो कुरा छिमेकी कल्पना भण्डारीलाई सुनाइन् ।

    तरकारीसंगै फलफूल पनि रोप्ने भन्दै यसबारे जानकार राख्ने रमेश पाण्डेलाई भनिन् । सबैले सहयोग र हौसला दिएपछि उनले लकडाउनकै बीचमा कौसी खेती सुरु गरिन् ।

    सावित्राको बिहान घरको छतमा बित्ने गर्दछ । छतमा कौसीखेती गरेकी उनले तरकारी, फलफूल र फूलका विरुवाहरुमा पानी हाल्छिन् ।

    सुकेका पात टिप्छिन् । केही समय करेसाबारीमा भुलेपछि मात्र घरभित्रको काम गर्छिन् । लकडाउन अघिसम्म सावित्राको दैनिकी यस्तो थिएन लकडाउनले उनको दैनिकी फेरिएको छ ।

    कौसीमा तरकारी लगाउँदा कुहिने फोहोरलाई व्यवस्थापन गर्नसमेत सकिने भएकाले कौसी खेती सुरु गरेको सावित्राले बताइन् । ‘सामाजिक सञ्जालमा रमाउनु भन्दा करेसाबारीमा भुल्दा छुट्टै आनन्द आउने रहेछ । त्यसैले पनि तरकारी र फूलका विरुवाहरु रोपे’ उनले भनिन् ।

    बाहिरको भन्दा स्वस्थकर हुने भएकाले कौसीको तरकारी राम्रो हुने उनको भनाइ छ । अहिले सावित्राले गोभी, धनियाँ, प्याज, साग, सिमी, भिन्डी, खुर्सानी, काँक्रालगायतका तरकारी कौसीमा लगाएका छन् । तरकारीमात्र होइन उनले सयपत्री, गोदावरी, मखमली, धुपी, स्वीकस, बेगमबेली, डग फलावरका विरुवाहरु उनले रोपेकी छिन् ।

    घरको छतमै च्याउ खेती गरेकी छिन् । गड्यौला मल बनाउने योजना समेत अघि बढाएकी सावित्राले कौसी खेती गर्नेहरुका लागि स्थानीय तहले तालिम दिएमा आफैं स्वाबलम्बी बन्न सकिने बताउँछिन् ।

    बजारमा दैनिकजसो तरकारीको मूल्यबृद्धि र विषादीयुक्त तरकारी उपभोग गर्दा हैरान भएकी सावित्रा अहिले खुसी छिन् । उनीबाट सिकेर कौसीखेती गर्नेको सङ्ख्या दिनुहुँ बढिरहेको छ ।

    कौसीखेतीको लहर

    रुपन्देहीको तिलोत्तमा, बुटवल, सिद्धार्थनगर, सैनामैना, देवदहलगायतका क्षेत्रमा अहिले कौसी तरकारी खेती गर्न थालिएको छ । सामान्यतया कौसी खेती भन्नाले घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नुलाई बुझिन्छ ।

    कौसीको खाली ठाउँको सदुपयोगबाट आर्गानिक तरकारी खेती गर्न सकिने र सानो परिवारलाई वर्षभर पुर्याउन सकिने भएकाले पनि कौसी खेतीमा धेरै आर्कषित भएका छन् ।

    उक्त टोलमा कौसी खेती गर्ने सावित्रा एक्ली भने होइनन् । अहिले सोही टोलमा कल्पना भण्डारी, छविकला ढकाल, विष्णु गौतम, सम्भयता पोख्रेल, सुनिता पोख्रेलले कौसी खेती गर्दै आएका छन् । टोलले अघि सारेको ‘एक घर एक बगैचा तथा कौसी खेती’ अभियानअनुसार टोलमै कौसी खेतीको सुरुवात गरिएको स्थानीय कल्पना भण्डारीले बताइन् ।

    ‘घरमा बस्दा मनमा धेरै कुरा खेल्ने भएकाले पनि हामीले यो कौसी खेतीलाई अभियानै चलाएर गर्नुपर्छ भन्ने लाग्यो । मैले मात्र कौसीमा फलाएको सिमीबाट घरमा खाएर पनि १६ केजी बिक्री गर्नसकें ।’ उनले भनिन् । उनले घरमा बस्ने समयको सदुपयोग गरेर यस्ता काम गर्न सकिने बताएकी छन् ।

    नगरपालिकाको प्राथमिकतामा कौसीखेती

    तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले कौसी खेती गर्नेहरुका लागि नगरपालिकाले विउ र प्राविधिक सहयोग गर्ने बताउँछन् । ‘हामीले यसलाई अभियानकै रुपमा लैजाने योजना बनाएका छाै । अहिले टोलहरु हामीले सिजन अनुसारका विउविजन दिन थालेका छौं । छिट्टै अभियानको सुरुवात हुन्छ’ उनले भने ।

    बुटवल उपमहानगरपालिकाले पनि कौसीखेतीलाई प्राथमिकतामा राखेको छ । प्रवक्ता रामप्रसाद रेग्मीले उपमहानगरले बजेट विनियोजन गरेर नै यसका लागि योजना अगाडि सारेको बताए ।

  • उपत्यकाको १७ अस्पतालबाट दिइँदैछ कोरोनाविरुद्धको खोप

    उपत्यकाको १७ अस्पतालबाट दिइँदैछ कोरोनाविरुद्धको खोप

    काठमाडौं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप  काठमाडौं उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् ।

    काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् ।
    काठमाडौं त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् ।

    यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् । उनले आज खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको बताए।

    खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।

    भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताए।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

    सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारीमा रहेको छ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमितसमेत गर्ने छ ।

    कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो ।

    लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । खोपको अनुगमन जिल्ला कोभिड –१९ खोप समन्वय समितले गर्ने छ ।

    ककसले पाउँछन् ?

    पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी छन् ।

    खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

    नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ६९ हजार ७८९ जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार ११ जनाको निधन भइसकेको छ ।

  • ‘प्रचण्ड मेरा ४० वर्षदेखिका साथी, ओलीले २०६३ मा मात्रै देखेका हुन्’

    ‘प्रचण्ड मेरा ४० वर्षदेखिका साथी, ओलीले २०६३ मा मात्रै देखेका हुन्’

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डसँग आफ्नो ४० वर्षदेखिकै सहकार्य रहेको बताएका छन् ।

    मंगलबार पाँचथरमा आयोजित सभामा बोल्दै नेपालले भने, ‘ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको भन्नुभएछ । १५ वर्ष पार्टी हाँकेको मान्छेलाई मामुली कार्यकर्ता भन्ने ?’

    ‘प्रचण्डसँग ४० वर्ष पहिले मेरो भेट भएको थियो । म काठमाडौंको पार्टीको जिम्मेवार थिएँ । प्रचण्ड काठमाडौंको जिम्मेवार हुनुन्थ्यो । दुवैजना फरक-फरक पार्टीको तर्फबाट पञ्‍चायतविरोधी आन्दोलनमा जुटेका थियौं । केपीले प्रचण्डलाई देखेको पनि २०६३ सालमा हो, नेपालले भने, ‘होइन एक/दुई वर्ष पहिले हो भन्नु होला त्योभन्दा अलि अघि दिल्लीमा भेटेको त्यो पनि मैले नै लिएर गएको हो ।’

    सुन्नुभएको होला भारतको सिलगुढी, लखनउ वार्ता यी सबै वार्तामा हाम्रो लामो सम्बन्ध भएको हो । यो सम्पूर्ण परिवर्तनको अगुवाइ गर्ने व्यक्ति आफूहरू भएको दाबी गर्दै नेपालले भने, ‘शान्तिप्रक्रियाको १२ बुँदे सहमतिमा हामीले नै सही गरेका छौं । त्यो कागज हेर्नुस् त अहिले एकातिर प्रचण्ड कामरेडको सही छ अर्कातिर मेरो र गिरिजाप्रसादको सही छ ‘, उनको भनाइ छ ।

    ‘हेक्का होस् ६२/६३ सालको गणतन्त्रको आँधिबेहेरी सिर्जना गर्ने मान्छे यो माधव नेपाल हो । केपी जी त गणतन्त्र विरोधी । बयलगाडा चढेर वासिङटन जानुपर्छ भन्ने मान्छे । त्यसो हुनाले सायद कतिपय मान्छेले उहाँको चुनाव चिन्ह बयलगाडा नै ठीक हो भन्छन्’ नेपालले भने, ‘आँखा नलाउनु होला यो सूर्य चिन्ह हामीतिरै रहन्छ । बाहिर फैलिएका हल्लामा नपर्नु होला । सूर्य जता जान्छ हामी त्यतै जान्छु भन्नेलाई भन्दिनुस् सूर्य यतै छ जता नेपाल कम्युनिष्ट पार्टी छ ।’

  • प्रधानमन्त्रीसहित पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखविरूद्ध अवहेलना मुद्दा

    प्रधानमन्त्रीसहित पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखविरूद्ध अवहेलना मुद्दा

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेका बेला बाहिर दिइएका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध अवहेलना मुद्दा चलाउन माग गर्दै पेश भएका निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

    दुई दिनदेखि सर्वोच्चमा पेश भएका निवेदन मंगलवार दर्ता प्रक्रियामा गएका हुन् । प्रधानमन्त्रीले बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा व्यक्त गरेका धारणाले अदालतको अवहेलना भएको भन्दै कन्चनकृष्ण न्यौपानेले निवेदन पेश गरेका थिए ।

    यस्तै प्रकृतिका चारवटा निवेदन पेश भएकामा चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धका पनि छन् । कुमार शर्माले पेश गरेको अवहेलना सम्बन्धी निवेदन पनि दर्तामा गएको छ ।

    सर्बोच्च अदालतका चार पूर्व न्यायाधीश मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ,अनुपराज शर्मा र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका थिए ।

    त्यस्तै पूर्व सभामुख दमननाथ ढुंगानाले पनि विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा चलाउन माग गरिएको छ ।

  • ओली र प्रचण्डलाई निर्वाचन आयोगले पठायो पत्र (पत्रसहित)

    ओली र प्रचण्डलाई निर्वाचन आयोगले पठायो पत्र (पत्रसहित)

    काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आइतवारको बैठकको निर्णय पठाउँदै विद्यमान ऐन र नेकपाको विधान अनुसार केपी ओली र प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव रहेको पार्टीनै कायम रहेको औपचारिक जानकारी दिएको छ ।

    आयोगले ११ पेज लामो निर्णय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अलग अलग पठाएको छ । आयोगले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड पक्षको निर्णय र विधान संशोधन तथा केन्द्रीय समिति विस्तार गर्ने अ‍ोली पक्षको निर्णयलाई अश्वीकार गरेको छ ।

    आयोगले दुवै पक्षबाट विवरण परिवर्तन, संशोधन वा हेरफेरका लागि लेखी आएका कागजपत्र कानुनसम्मत नभएको भन्दै नेकपाको कुनै विवरण परिवर्तन संशोधन वा हेरफेर हुन नसक्ने जनाएको छ ।

    आयोगले दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको नाम पहिलो नम्बरमा र पुष्पकमल दाहाल प्रचण्डको नाम दोस्रो नम्बरमा लेख्ने गरेको समेत पेश भएका कागजातबाट देखिएको जनाएको छ । २०७६ सालमा भएको तीनै तहको उपचुनावमा पार्टीको प्रमुख पदाधिकारीको हैसियतमा ओलीले उम्मेदवारको औपचारिक मनोनयनपत्रमा हस्ताक्षर गरेको कुरा समेत आयोगले स्मरण गराएको छ ।

    ओलीनै प्रमुख पदाधिकारी भएको विवरण २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन नहुँदासम्म पार्टीमा कुनै फरक मत उत्पन्न भई सोको जानकारी आयोगमा कुनै पक्षले गराएको समेत नदेखिएको निर्णयमा उल्लेख छ ।

    त्यस्तै केपी ओलीलाई अध्यक्षबाट हटाएको भनिएको बैठकको वैधानिकतामाथि पनि निर्वाचन आयोगले प्रश्न उठाएको छ । नेकपाको अन्तरिम विधान २०७५ को धारा १८ मा अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिब्यूरो, स्थायी कमिटी लगायतका बैठक बोलाउने र कार्यसूची तयार गर्ने व्यवस्था भएको र त्यस्तो बैठक बोलाउने अधिकार विधानतः अध्यक्षको परामर्शमा महासचिवलाई भएको आयोगको निर्णयमा उल्लेख छ ।

    सो विधान बमोजिम बैठक बोलाएर बसेको भन्ने कुरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आयोगमा पठाएको माइन्युटको प्रतिलिपिबाट नदेखिएको आयोगको निर्णयमा उल्लेख छ । ओलीलाई अध्यक्ष पदबाट हटाउँदा सो पार्टीका विधानको धारा ६१ (क) अनुसार प्रमाणित भई अनुशासनको कारवाही गरेको भन्ने कुरा नखुलेको आयोगले जनाएको छ ।

    आयोगले पठाएको निर्णय हेर्नुस्

  • १२ निर्वाचन क्षेत्रसहित ६१ स्थानीय तहमा बजेट गएन

    १२ निर्वाचन क्षेत्रसहित ६१ स्थानीय तहमा बजेट गएन

    काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि विवरण नपठाउने विभिन्न जिल्लाका १२ निर्वाचन क्षेत्रसहित ६१ स्थानीय तह रकम पाउनबाट बञ्चित भएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ५३ निर्वाचन क्षेत्रका ६ सय ९२ स्थानीय तहलाई ६ करोड १५ लाख २० हजार रुपैयाँ पठायो । तर, विवरण नपठाउने १२ निर्वाचन क्षेत्रका सबै स्थानीय तह र अन्य निर्वाचन क्षेत्रका गरी ६१ स्थानीय तह भने उक्त बजेटबाट बञ्चित भएका हुन् ।

    जिल्ला समन्वय समितिमार्फत् विवरण आउँन बाँकी तहको बजेट निकासा नभएको मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख महेन्द्र सापकोटाले नेपाल प्रेसलाई जानकारी दिए ।

    सुदूरपश्चिमका ३६ स्थानीय तहमा बजेट गएन

    मन्त्रालयले पठाएको विवरणअनुसार र सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ५ निर्वाचन क्षेत्रमध्ये एउटा पनि निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि रकम गएको छैन ।

    अछाम, बाजुरा, बैतडी र डडेलधुरका कुनै पनि निर्वाचन क्षेत्र र स्थानीय तहमा बजेट गएको छैन । यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमको एउटा निर्वाचन क्षेत्रका ६ स्थानीय तह बजेट पाउनबाट बञ्चित भए ।

    गण्डकी प्रदेशको पनि नवलपरासी वर्दघाट सुस्ता पूर्वको २ निर्वाचन क्षेत्रका ८ वटै स्थानीय तहमा बजेट गएन ।

    सरकारले १ सय ६५ निर्वाचन क्षेत्रका लागि प्रति निर्वाचन क्षेत्र ४ करोडका दरले चालु आर्थिक वर्षमा ६ अर्ब ६० करोड विनियोजन गरेको थियो । तर अहिले विवरण पठाउने निर्वाचन क्षेत्रलाई ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहलाई पठाएको हो ।

    प्रदेश १: २ जिल्लाका ६ स्थानीय तहमा बजेटविहीन

    प्रदेश १ का २ जिल्लाका ६ स्थानीय तहमा बजेट गएन । जसमा सुनसरीका ३ स्थानीय तह र उदयपुरका ३ स्थानीय तहमा बजेट गएन । सुनसरीका दुहवी नगरपालिका, गढी गाउँपालिका र बर्जु गाउँपालिका रकम गएन । उदयपुरका बजेट नजाने ३ स्थानीय तहमा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिका छन् ।

    प्रदेश २: ६ जिल्लाका १५ स्थानीय तह बजेटबाट बञ्चित

    सप्तरीका ६ स्थानीय तहमा बजेट गएको छैन । जसमा डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका र रुपनी गाउँपालिका रहेका छन् ।

    रौतहटका ४ स्थानीय तहमा बजेट गएन । जसमा इश्नाथ नगरपालिका, गजुरा नगरपालिका, देवाही गोनाही नगरपालिका, र फतुवा विजयपुर नगरपालिका छन् ।

    महोत्तरीका लोहारपट्टी नगरपालिका र साम्सी गाउँपालिकामा बजेट गएन । यस्तै थप ३ जिल्लाका एक/एक स्थानीय तहमा बजेट गएन । जसमा पर्साको ठोरी गाउँपालिका, सिरहाको कर्जन्हा नगरपालिका र बाराको विश्रामपुर गाउँपालिका छन् ।

    कर्णाली प्रदेशका २ जिल्लाका ४ स्थानीय तहमा बजेट गएन । जसमा डोल्पाका डोल्मोबुद्ध गाउँपालिका, शेफोक्सुण्डो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा हुन् ।

    जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पनि बजेट गएको छैन । रकम गएका स्थानीय तहले अब कार्यक्रम सञ्चालन गर्दैछन् ।

    यसरी जान्छ बजेट

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत कात्तिक २३ गते ७७ वटै जिल्ला समन्वय समितिलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको विवरण पठाउन परिपत्र गरेको थियो ।

    परिपत्रअनुसार जिल्लामा स्थायी ठेगाना हुने संघीय संसदका सदस्यलाई जानकारी गराइ समयमै योजना छनौट गर्न आग्रह गरिएको थियो । नियमावलीको अनुसूची २ बमोजिमको ढाँचामा विवरण तयार गरेर तोकिएको सयमा मन्त्रालयमा विवरण पठाउन भनेएको थियो ।

    यसअघि मन्त्रिपरिषद्बाट असोज २२ गते स्वीकृत भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि नियमावली २०७७ कार्यान्वयन गर्नका लागि ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र पनि गरको थियो । कार्यविधि गत कात्तिक ३ गते नै रापत्रमा प्रकाशित भएको थियो ।

    मन्त्रालयका अनुसार बजेट बाँडफाँट भएसँगै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली २०७७ अनुसार यो वर्ष संचालनको योजना बनाइएको कार्यक्रम सञ्चालन तथा कार्यान्वयनको बाटो समेत खुलेको छ ।

    देशभरका १ सय ६५ निर्वाचन क्षेत्रका ७ सय ५३ स्थानीय तहमा स्थानीय विकास साझेदारी कार्यक्रम संचालन हुन्छ । विगतमा सांसद विकास कोषबाट संचालन हुने कार्यक्रमको नाम यस वर्षदेखि परिवर्तन गरेर स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम हुने गरेको छ ।

    चालु आर्थिक वर्षका लागि स्थानीय विकास साझेदारी कार्यक्रममा हरेक निर्वाचन क्षेत्रमा खर्च हुने गरी ४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसअनुसार जम्मा बजेट ६ अर्ब ६० करोड छ । अघिल्लो वर्ष प्रति निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ विनियोजन भएको थियो ।

    स्थानीय तहबाट कार्यान्वयन हुने यस्ता कार्यक्रम र आयोजनाको न्यूनतम लागत १० लाख रुपैयाँ स्थानीय विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि नियमावली, २०७७ मा उल्लेख छ ।

    निमावलीअनुसार एक मात्र निर्वाचन क्षेत्र भएको जिल्मामा भने न्यूनतम ५ लाख रुपैयाँसम्मका आयोजना समेत कार्यान्वयन हुने व्यवस्था छ । कार्यविधि अनुसार प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा रहेको निर्देशक समितिले मंसिर मसान्तसम्म आयोजना तयारी गरी १५ मंसिरसम्म स्थानीय तहलाई पठाइसक्नुपर्ने प्रावधान छ ।

    कार्यक्रम कार्यान्वयन र व्यवस्थापनका लागि गठन हुने निर्देशक समितिमा सम्बन्धित निर्वाचन क्षेत्रका समानुपातिक सांसद, राष्ट्रिय सभाका सदस्य, स्थानीय तहका प्रमुख तथा अध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सदस्य रहन्छन् । आयोजनाको विवरण संकलनदेखि कार्यक्रम कार्यान्वयनमा समस्या देखिएमा समाधान गर्ने जिम्मेवारी निर्देशक समितिलाई छ ।

    अघिल्ला वर्षमा विकास निर्माणका विभिन्न योजनामा कार्यक्रम जाने गरिए पनि यस वर्ष भने नियमावलीले निर्वाचन क्षेत्रभित्र कोभिड–१९ को पहिचान, रोकथाम, नियन्त्रण र उपचार गर्न मिल्ने गरी आवश्यक स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ ।

    यसका लागि अस्पताल निर्माण, सञ्चालन र स्वास्थ्यसम्बन्धी उपकरणको व्यवस्था र स्वास्थ्य सुविधालाई प्राथमिकतामा राख्नुपर्ने व्यवस्था कार्यविधि नियमावलीमा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव एवम प्रवक्ता बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रवक्ता अधिकारीका अनुसार आयोजना छनोट गर्दा गत वर्ष काम हुन नसकेका स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका आयोजनालाई पूरा गर्ने गरी यो वर्ष समेत बजेट राख्नुपर्ने छ ।

  • राष्ट्रिय महिला लिग : वालिङसँग बराबरीमा रोकियो पुलिस

    राष्ट्रिय महिला लिग : वालिङसँग बराबरीमा रोकियो पुलिस

    काठमाडौं । उपाधि दाबेदार नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा मंगलबार वालिङ नगरपालिकासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १३औं मिनेटमा वालिङको रक्षापंक्तिले गरेको गल्तीको फाइदा उठाउँदै रेखा पौडेलले पुलिसका लागि गोल गरेकी थिइन् ।

    वालिङको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसले पहिलो हाफमा १-०को अग्रता लिएको थियो ।

    निरन्तर प्रयासरत वालिङका लागि ५२औं मिनेटमा अफ्रिकन खेलाडी मेथो ईल्युडी रुथले बराबरी गोल फर्काइन् । बाँकी समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा रोकिएको हो ।

    पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा चौदण्डिगढी नगरपालिकालाई ६-० ले पराजित गरेको थियो ।

    पहिलो खेलमा विराटनगरसँग १-१ गोलको बराबरीमा रोकिएको वालिङ दोस्रो खेलमा आर्मीसँग ७-० ले पराजित भएको थियो ।

  • रामचन्द्र पौडेलको टिप्पणी – तानाशाह अन्तिम घडीमा नागरिकमाथि दमनमा उत्रन्छ

    रामचन्द्र पौडेलको टिप्पणी – तानाशाह अन्तिम घडीमा नागरिकमाथि दमनमा उत्रन्छ

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार निर्लज्जरूपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

    पौडेलले सामाजिक संजालमा हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झैं नै तम्सिने बताएका छन् । उनले सवै प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम घडीमा सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार गरे झै दमनमा उत्रने गरेको इतिहास रहेको उल्लेख गरेका छन् ।

    वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि ऊर्जा प्रदान गर्ने बताएका छन् । प्रतिगमनविरुद्धका सवै आन्दोलनमा आफ्नो साथ र समर्थन रहने उनको प्रतिवद्धता छ ।

  • भन्सार प्रक्रियामा एकद्वार प्रणाली लागू

    भन्सार प्रक्रियामा एकद्वार प्रणाली लागू

    काठमाडौं । अन्तराष्ट्रिय व्यापारको आयात निर्यातका लागि नेपालमा कागजी युगको अन्त्य भएको छ ।

    ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आज मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्रिय एकद्वार प्रणालीको सुरुवात गरेसँगै कागजी कामको अन्त्य भएको हो ।

    एकद्वार प्रणाालीले आयात तथा निर्यातका लागि आवश्यक कागज बुझाउन तथा सरोकारवाला निकायको निर्णय गर्न भौतिकरूपमा सरकारी कार्यालय जानुपर्ने अवस्था अन्त्य भएको हो ।

    एकद्वार प्रणाली अन्तर्गत व्यापारीले कागजात स्क्यान गरेर अनलाइन अपलोड गर्न सक्नेछन् । साथै सरकारी अनुमति तथा निर्णय सोही माध्यमबाट फिर्ता पाउने छन् ।

    एकद्वार प्रणालीले व्यापार प्रक्रिया छोटो बनाउने छ भने लागत पनि घट्ने छ । प्रत्येक वर्ष २६ जनवरीमा संसारभर भन्सार दिवस मनाइन्छ ।

    यो पनि पढ्नुहोस् ।

    अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न एकद्वार प्रणाली, राजश्व चुहावट नियन्त्रण हुने

    राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न समझारीपत्रमा हस्ताक्षर 

     

  • कांग्रेस केन्द्रीय कार्यालयअघि नेविसंघको प्रदर्शन

    कांग्रेस केन्द्रीय कार्यालयअघि नेविसंघको प्रदर्शन

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाअघि नेविसंघले प्रदर्शन गरेको छ ।

    विधानसम्मत पूर्णता दिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । आज तय गरिएको केन्द्रीय समिति बैठकको लागि नेताहरू सानेपा आउनेक्रम जारी छ ।

    नेविसंघ हाल अपूर्ण छ । ६ महिनामा महाधिवेशन गर्नुपर्ने जिम्मेवारीसहित राजीव ढुंगानाको नेतृत्वमा नेविसंघ गठन गरिएको थियो । तर, एक वर्ष सकिन केन्द्रीय समितिले नै पूर्णता पाएको छैन । अधिवेशन गर्ने तयारी पनि छैन ।

    नेताहरूको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए ।

  • भन्सार चुहावट नियन्त्रणमा निजी क्षेत्रको सहयोग जरुरी : अर्थमन्त्री

    भन्सार चुहावट नियन्त्रणमा निजी क्षेत्रको सहयोग जरुरी : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।

    ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून बिजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् । यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने पनि उनको भनाइ थियो ।

    निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुईमध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने पौडेलले बताए । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनैपनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे । यस्तै तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्नसमेत उनको माग थियो । गोल्छाले भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनसमेत आग्रह गरे ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्त अनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए । त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन उनको माग छ ।

    भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा बस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको भन्दै श्रेष्ठले भ्याटको दर, आयकरको दर लगायतका करदका दरहरु घटाउन समेत माग गरे ।

  • वामपन्थी नेता कुँवरको निधन

    वामपन्थी नेता कुँवरको निधन

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ ।

    मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टे«टलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उनका पारिवारिक सदस्य नारायणसिंह कुँवरले जानकारी दिए।

    भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उनको बिहान ८ः४५ बजे निधन भएको हो । उहाँमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिए। उनको आजै तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ ।

    श्रद्धाञ्जलि कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिपछि आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।

    विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

    उनलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं २०६९ मा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो ।

    २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहनुभएका उनले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गरेको थियो ।

    २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो । त्यसका प्रशिक्षक कुँवर थिए । प्रशिक्षार्थीमध्ये एक थिए ‘प्रचण्ड’ । त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता भएको बताउँछन् ।

    विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका खम्बासिंह जनयुद्धकालमा भूमिगत थिए । हाल उनका पार्टीको केन्द्रीय सल्लाहकार रहेका जिल्ला अध्यक्ष परियारले जानकारी दिए ।

     

  • एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

    एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।

    विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र सङ्घका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरे ।

    महाधिवेशनले एनआरएनएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको सङ्घको आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

    सङ्घमा आर्थिक व्यवस्थापन र पारदर्शीता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनका लागि गोवा कटुवालका संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरिएको छ ।

    महाधिवेशनमा प्रस्तुत विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरियो । विधानमा रहेका संशोधित प्रावधानअनुरुप काम कारवाही अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, एनआरएनएका अध्यक्ष कुमार पन्त, प्रमुख संरक्षक डा शेष घले, पूर्वाध्यक्ष एवं अन्य संरक्षक देवमान हीराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा, सङ्घ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं प्रतिनिधि तथा नेपाली काँग्रेसका नेता गोविन्द भट्टराईलगायतको सहभागिता थियो ।

  • बेलायतले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने

    बेलायतले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने

    काठमाडौं । बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेट गर्दै यस्तो जानकारी दिएकी हुन् ।

    बेलायतले कोभ्याक्स कार्यक्रमलाई ५५० मिलियन पाउन्ड राशीको खोप उपलब्ध गराउँदैछ । विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न मुलुकलाई खोप सुनिश्चित गर्छ ।

    नेपालले पनि उक्त कार्यक्रममार्फत खोप प्राप्त गर्दैछ । तर, कहिले आउँछ भन्ने टुंगो लागिसकेको छैन । भेटमा बेलायती राजदूत पोलिटले बेलायतमा विकसित भएको खोप प्रयोग गरेकोमा नेपाललाई धन्यवाद पनि दिइन् ।

  • साङ्लोमुक्त भएसँगै भीमबहादुरको मुहारमा छाएको खुसी

    साङ्लोमुक्त भएसँगै भीमबहादुरको मुहारमा छाएको खुसी

    विराटनगर । छ वर्षदेखि खोरमा साङ्लोले खुट्टा बाँधेर थुनिएका ४० वर्षीय भीमबहादुर पौडेल सोमबार साङ्लोमुक्त भएका छन् । साङ्लोमुक्त भएसँगै उनको मुहारमा खुसी छाएको छ ।

    हिँडेपछि नफर्कने ‘रोग’ लागेका भिमबहादुरलाई परिवारले ३४ वर्षको हुँदा साङ्लोले बाँधेर खोरमा थुनेका थिए । प्रदेश नम्बर १ का पूर्व सामाजिक विकासमन्त्री नेतृत्वको टोलीले सोमबार उद्दार गरेपछि उनी निकै खुसी भएका छन् ।

    खोरबाट उद्दार गरिएका भीमबहादुरलाई नजिकैको मानव सेवा आश्रममा राखिएको छ । साङ्लोले बाँधिएर खोरभित्र बस्दा उनले निकै दर्दनाक स्थितिको सामना गर्नुपर्यो ।

    जब साङ्लो खोलियो भीमबहादुर मुसुमुसु हाँस्न थाले । सायद, छ वर्ष उनको मुहारमा यति खुसी छाएको हो । मुहारमा मुस्कार भए पनि उनको खुट्टामा साङ्लोको डाम थियो ।

    पथरी शनिश्चरे नगरपालिका– ५ हसन्दहका पौडेल छ वर्षअघि तीन महिना हराएका थिए । भेटिएपछि उनलाई आमा चूडाकुमारीले साङ्लोले बाँधेर खोरमा थुनेकी थिइन् । खोरमा थुने पनि खानपान र स्याहार सुसार भने आमाले नै गर्दै आएकी थिइन् ।

    सोमबार भीमबहादुरलाई खोरबाट निकालेर आश्रम लैजाँदै गर्दा आमाले भिमबहादुरलाई भनिन्, ‘मैले तिमीलाई पाल्न सकिनँ, अब जाऊ है, म भेट्न आउँछु ल, हाँसेको हाँस्यै गर्नु है, कसैलाई नराम्रो नभन्नु मैले तिमीलाई आशीर्वाद दिएँ । मलाई पाप लाग्दैन, मैले तिमीलाई हुर्काएँ बढाएँ है ।’

    पथरी शनिश्चरे नगरपालिका–५ हसन्दहका वडाध्यक्ष जोखबहादुर धिमाल, पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, सो क्षेत्रका प्रदेश सांसद लीलाबल्लभ अधिकारीको पहलमा नारकीय जीवन विताइरहेका भीमबहादुर पौडेलको उद्धार गरिएको हो ।

    वडाध्यक्ष धिमालका अनुसार पौडेललाई उद्धारका लागि विराटनगरको मानव सेवा आश्रमले सहयोग गरेको बताए ।

    मानव सेवा आश्रमका संयोजक नवराज केसीका अनुसार आश्रममा हाल २५४ जना यस्तै किसिमका मानिसहरूलाई उद्धार गरेर राखिएको छ । आश्रमले गाँस, बास, कपास र स्वास्थ्य उपचारको कार्य गरिरहेको केसी बताउँछन् ।

  • अमेरिकी राजदूतले भेटे कांग्रेस सभापति देउवालाई

    अमेरिकी राजदूतले भेटे कांग्रेस सभापति देउवालाई

    काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । राष्ट्रपति जो बाइडेनको विश्व नीतिको प्राथमिकताबारे जानकारी दिन आफूले भेटेको उनले उल्लेख गरेका छन् ।

    बेरीले यसअघि उच्चस्तरिय भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए ।

  • राधाकृष्ण मैनाली भन्छन्ः केपी ओली मन्दिर गएको पहिलोपटक देखेँ

    राधाकृष्ण मैनाली भन्छन्ः केपी ओली मन्दिर गएको पहिलोपटक देखेँ

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिरमा गएर पुजाआजा गरेको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । कम्युनिष्ट नेतामा धार्मिक रुझान देखिएको भनेर कतिले खिसिट्यूरी गरेका छन् भने कतिले चाहिँ नेपाललाई हिन्दू राज्य बनाउन ओली अग्रसर हुने संकेतको रुपमा यसलाई बुझेका छन् ।

    ओलीका भुतपूर्व सहयोद्धा पुराना कम्युनिष्ट नेता (पछि राजावादी) राधाकृष्ण मैनाली उनको धार्मिक रुझान देखेर आफू आश्चर्यमा परेको बताउँछन् । मैनालीको भनाइअनुसार ओली युवाअवस्थामा ओली आस्तिक थिएनन् ।
    नेपाल प्रेससँग उनले भने, ‘हामी जेलमा सँगै बस्दा होस वा जेलबाट बाहिर निस्केपछि, मैले ओलीमा धार्मिक रुझान कहिल्यै देखिनँ । एकपटक पनि मन्दिर गएको थाहा छैन । बरु जेलबाट निस्केपछि म यदाकदा पशुपतिनाथ मन्दिर जान्थेँ ।’
    ओलीले बाल्यकालमा रामायण–महाभारतजस्ता किताबहरु पढेको भए पनि राजनीतिमा लागिसकेपछि कुनै धर्मग्रन्थमा रुची नलिएको मैनाली बताउँछन् ।

    ‘उहाँका बुवा धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । बुवाका केही धार्मिक किताब ओलीले बाल्यकालमा पढ्नु भएको हो । पछि रामनाथ दाहालको घरमा बस्दा उहाँले रामायण महाभारत, स्वस्थानीहरु पढ्नु भयो । उहाँले रामनाथकी आमा र हजुरआमालाई स्वस्थानी वाचन गरेर सुनाउनुहुन्थ्यो । उहाँको धार्मिक ज्ञानको सुरुवाति स्रोत यत्ति नै हो । बाल्यकालमा पढेका कुरा हत्पत्ति बिर्सिँदैन । कम्युनिष्ट राजनीतिमा लागिसकेपछि उहाँले धार्मिक पुस्तक पढ्नुभएको जस्तो लाग्दैन । जेलमा बस्दा राजनीतिक–दार्शनिक पुस्तकहरु धेरै पढ्नुहुन्थ्यो, धार्मिक किताब पढेको देखिनँ ।’ उनले सुनाए ।

    ओलीले हिन्दूत्वप्रति देखाइरहेको प्रेमलाई उनले ‘दक्षिणपन्थि रुझान’ का रुपमा व्याख्या गरे । मैनालीले भने, ‘उहाँमा केही समयदेखि दक्षिणपन्थी रुझान देखिन थालेको छ । दक्षिणपन्थि रुझान यही नै हो भनेर ब्याख्या गर्न त गाह्रै छ । तर, अहिले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रजस्ता विषयहरुमा उहाँ सकारात्मक हुनुहुन्न ।’

    आफूले अंगिकार गर्दै आएको कम्युनिस्ट सिद्धान्तबाट ओली ‘डिरेल’ भइरहेको पनि मैनालीले टिप्पणी गरे । ओली भित्रैबाट धार्मिक बनेका नभइ राजनीतिक लाभका लागि उनले धार्मिक रुझान देखाउन थालेको उनको आशंका छ ।

    ‘फुटपछि उहाँको पार्टी कमजोर भएको छ । यस्तो बेलामा चुनाव गराउँछु पनि भनिरहनुभएको छ । यही अवस्थामा चुनावमा जाने हो भने उहाँको पार्टीले बहुमत ल्याउन सम्भव छैन । फुटेको पार्टीले बहुमत ल्याएर चुनाव जितेको इतिहास पनि छैन । हिजो कांग्रेस र एमाले फुट्दा चुनावी नतिजा कस्तो आएको थियो भन्ने राम्ररी बुझ्नु भएको छ । तसर्थ आगामी चुनावमा आफूलाई बलियो बनाउने हेतु उहाँले हिन्दू राज्य पक्षधर जनमतलाई आफूतिर तान्ने नाटकीय प्रयास गर्नुभएको हुन सक्छ ।’ मैनालीले ब्याख्या गरे ।

  • राष्ट्रसंघीय आवासीय संयोजकले बुझाइन् ओहोदाको प्रमाणपत्र

    राष्ट्रसंघीय आवासीय संयोजकले बुझाइन् ओहोदाको प्रमाणपत्र

    काठमाडौं । नेपालका लागि राष्ट्रसंघकी आवासीय संयोजक सारा बिसोलोले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छिन् ।

    मंगलबार सिंहदरबारमा आयोजित भेटमा बिसोलोले प्रमाणपत्र बुझाएकी हुन् । नेपालस्थित राष्ट्रसंघीय कार्यालयमा नेपाल संयोजकको रुपमा उनले कार्यभार सम्हालेकी छिन् ।

  • माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत

    माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत

    काठमाडौं । दोस्रो सर्वोच्च शिखर केटू आरोहण गरेर फर्किएको नेपाली टोलीलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको अगुवाइमा पर्वतारोही संघसंस्था र शेर्पा समुदायले बाजागाजा र झाँकीसहित स्वागत गरे ।

    गत शनिबार दश सदस्यीय नेपाली पर्वतारोही टोलीले हिउँद याममा पाकिस्तानस्थित २८,२५१ फिट उग्लो माउन्ट केटु चढेर इतिहास रचेको थियो ।नेपाल आइपुग्दा आरोही टोली निकै उत्साहित देखिएको थियो । टोलीको नेतृत्व गरेका निर्मल पूर्जाले माउन्ट केटूमाथिको विजय जलवायु परिवर्तन र महामारीविरुद्ध बलियो सन्देश भएको बताए ।

    ‘हामीले ज्यानको बाजी लगाएर केटु चढ्यौं’ उनले भने, ‘निकै खुशी महसुस भएको छ ।’ शेर्पा समुदायको विश्वले प्रशंसा गरेको भन्दै उनले जलवायु परिवर्तन र कोरोनाले थलिएको पर्यटनलाई आफूहरुको माउन्ट केटू विजयले सन्देश दिने बताए ।पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले अब यो टोलीले आठ हजार मिटर उचाइका नेपाली शिखर महामारीपछि खुला भएको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले थलिएको पर्यटनलाई उकास्ने काममा सरकार सधैं साथमा हुने बताए ।

    ‘देशका लागि यो एउटा जित थियो’ अर्का आरोही मिङ्मा जी शेर्पाले भने । निर्मल र मिङ्मासहित मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जिन शेर्पा र किलु पेम्बा शेर्पाले हिमाल आरहेण गरेका थिए ।

  • प्रविधिमैत्री कामले राजस्व प्रणालीमा सुधार देखिएको छ: महानिर्देशक दाहाल

    प्रविधिमैत्री कामले राजस्व प्रणालीमा सुधार देखिएको छ: महानिर्देशक दाहाल

    काठमाडौं । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीब्र पारिएको भन्दै भन्सार विभागले आयात-निर्यात व्यापारमा सहजीकरणका लागि तयार रहेको बताएको छ ।

    अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मूल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको बताए ।

    महानिर्देशक दाहालले विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको पनि जानकारी गराए ।

    भन्सार एजेण्टको संख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णता दिइने छ । भन्सार पूर्वाधार तथा नाकाहरुमा बन्दै गरेका एकीकृत चेक पोष्टको सुधारमा सहकार्य तथा समन्वय आवश्यक रहेको दाहालले सहकार्यका लागि परिसंघलाई आग्रह समेत गरे ।

    परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पूर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै करिब २५ वर्ष यतादेखि भन्सार एजेण्ट थप नभएकाले इजाजतपत्र तत्काल खुला गरी एजेण्टको संख्या बढाउन आग्रह गरे ।

    यस्तै डिजिटल भन्सार प्रशासनको माग दोहोर्‍याउँदै व्यवहारमा नै कागजातविहीन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीहरुलाई झन्झटबिनाको जाँचपासको व्यवस्था गर्न ध्यानाकर्षण गराए ।

    व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणाले व्यापार प्रवर्द्धनका लागि नेपाल ट्रेड इन्फरमेशन पोर्टल शुरू गर्न लागेको जानकारी गराउँदै सहकार्यका लागि निजी क्षेत्रलाई आग्रह गरे ।

    परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भन्सार पूर्वाधार तथा सेवामा भएका सुधारको स्वागत गर्दै वस्तु उत्पादनको लागत कम गर्ने र निकासीकर्तालाई थप सहुलियत दिन सकेमात्र निर्यातको अंश बढाउन सकिने बताए ।

  • शम्भु थापाको जिकिर – प्रधानमन्त्रीले संविधानबाहिरको अधिकार प्रयोग गर्नुभयो

    शम्भु थापाको जिकिर – प्रधानमन्त्रीले संविधानबाहिरको अधिकार प्रयोग गर्नुभयो

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसदले प्रधानमन्त्री दिन नसकेको अवस्थाबाहेक प्रतिनिधिसभा विघटनको व्यवस्था नभएको बताएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा चलिरहेको सुनुवाइमा बहस गर्दै थापाले भने, ‘उहाँलाई अविश्वासको प्रस्ताव नै छैन । धारा ९३ मा अधिवेशनको आह्वान र अन्त्य मात्रै छ । पहिले यही धारामा आह्वान, अन्त्य र विघटन हुने व्यवस्था थियो ।

    ‘प्रधानमन्त्रीले प्रतिनिधिसभामाथि रिभेन्ज लिनुभयो । प्रधानमन्त्रीले संविधानभन्दा बाहिरको अधिकार प्रयोग गर्नुभयो । कहाँको अधिकार हो त्यो देखाइदिनुपर्‍यो । ‘

    थापाको बहस हिजोदेखि जारी छ ।

  • मंगलबार सुनको भाउ ४ सय बढ्यो

    मंगलबार सुनको भाउ ४ सय बढ्यो

    काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय बढेको छ । मंगलबार छापावाल सुन ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार ९२ हजार ४ सयमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुन पनि ४ सय बढेर ९२ हजार ३ सय निर्धारण गरिएको छ ।

    आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँ घटेको छ । सोमबार १ हजार २६० मा कारोबार भएको चाँदी आज १ हजार २५५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • प्रधानमन्त्रीप्रति नारायण वाग्लेको आक्रोशः मन्दिर धाउँदैछन्, संविधान पढेका छन् कि छैनन् ?

    प्रधानमन्त्रीप्रति नारायण वाग्लेको आक्रोशः मन्दिर धाउँदैछन्, संविधान पढेका छन् कि छैनन् ?

    लेखक पत्रकार नारायण वाग्ले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीका कटुआलोचकका रूपमा प्रस्तुत भइरहेका छन् । प्रधानमन्त्रीले गरेको संसद विघटनविरुद्धकोआन्दोलन निकै सक्रियता देखाइरहेका वाग्लेले हिजोको बालुवाटार घेराउ कार्यक्रममा आक्रामक भाषण गरेका थिए ।

    एउटा पिपलको रुखमुनि उभिएर वाग्लेले गरेको भाषणको एउटा अंश अहिले भाइरल भइरहेको छ सामाजिक सञ्जालमा । निधारमा माटोको कालो टिका लगाएका, पछाडि झोला भिरेका, आधा ज्याकेटलगाएका वाग्ले हेर्दै क्रान्तिकारी देखिएका थिए । भाषणमा उनी प्रधानमन्त्री ओलीमाथि खनिए । कसैले कागजको एउटा चिर्कटो दिएपछि उनले धर्मको विषयमा बोलेको भिडियोमा देखिन्छ ।

    ओलीले संविधानविपरीत मन्दिर बनाउने कुरा गरेको र पूजा-आरती गर्दै हिँडेको उनले आरोप लगाएका छन् । ओलीको नाम नलिइकन वाग्लेले भने, ‘जो बालुवाटारमा बसेका छन् उनी पहिले देशभरि मन्दिर बनाउँछु भन्दै हिँडे, अब पूजा-आरती गर्दै हिँडिरहेका छन् उनले संविधान पढेका छन् कि छैनन् ? जुन संविधानमा लेखिएको छ धर्मनिरपेक्षता ।’

    वाग्लेले संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधत्व खल्बल्याउन खोजेको आरोप लगाए । सहिदहरुलाई सम्झिने माग महिनामा प्रधानमन्त्री मन्दिर-मन्दिर हिँडिरहेको उनको टिप्पणी छ ।

    यसैबीच, वाग्लेले भनेको कुरालाई फरक किसिमले प्रस्तुत गरेर एउटा स्क्रिनसट ट्वीटरमा भाइरल भएको छ । कृष्ण भट्टराई (सुनसरी) ले वाग्लेलाई मेन्सन गर्दै उक्त भिडियो ट्वीटरमा राखेका छन् । आफूले नभनेको कुरा प्रचारित गरिएको भन्दै वाग्लेले चित्त दुखाएका छन् । उनले लेखेका छन्, ‘ मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो ? किन ? नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरू भएको यो चालबाट सावधान रहनु होला है ! (हेर्नुस् भिडियो)

  • राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    काठमाडाैं । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाऔबेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका हुन् ।

    सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन् । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल-भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन् ।

    त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गगरेका छन् । उनले कोभिड–१९ विरुद्धको १० लाख मात्रा खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।