Blog

  • फागुन २१ मा चुनाव गराएर युवा शक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ : प्रधानमन्त्री (भिडिओ)

    फागुन २१ मा चुनाव गराएर युवा शक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु सरकारको दायित्व भएको बताएकी छन्।

    ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित कार्यक्रममा बोल्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताइन्।

    उनले भनिन्, ‘गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट हामीले एउटा पाठ सिक्नुपरेको छ। मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस–वास–कपासको सुनिश्चितताको माग गरेको छ। ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ।’

    चुनाव सफल बनाउने अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा गरिन्।

  • जेन-जी आन्दोलनको निशानामा परेको भाटभटेनी गोदाम तीन महिनामै सञ्चालनमा (तस्बिरहरू)

    जेन-जी आन्दोलनको निशानामा परेको भाटभटेनी गोदाम तीन महिनामै सञ्चालनमा (तस्बिरहरू)

    काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण गम्भीर क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ।

    बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

    नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो।

    आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।

    व्यवस्थापनका अनुसार ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन काम तीव्र गतिमा अघि बढाइएको थियो।

    आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।

  • राजनीतिमा ओली अडान, जसले बदल्यो एमालेको पहिचान 

    राजनीतिमा ओली अडान, जसले बदल्यो एमालेको पहिचान 

    नेकपा एमाले ११ औँ महाधिवेशनमा होमिसकेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल,सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा सहित  मङ्सिर २७–२९ सम्म हुने महाधिवेशनमा करिब २२ सय प्रतिनिधि चयन भइसकेका छन् । महाधिवेशन स्थल, नारा र प्रतीक चिन्ह (लोगो) पनि तय भइसकेका छन् । कुनै पनि पार्टी जीवनमा महाधिवेशन उसको ‘होल बडी चेकअप’  हो ।

    महाधिवेशनले नै पार्टीका ऐँजेरुलाई किनारा लगाउने, नीति र नेतृत्व निर्माण गर्ने,पार्टीलाई जनता र निर्वाचनमा पहिलो बनाउन भूमिका निर्वाह गर्ने कामका लागि उपयुक्त नेतृत्वको छनौट महाधिवेशन मार्फत नै हुन्छ । त्यसैले पार्टीको यो महाधिवेशन एमालेलाई नेपालको राजनीतिक धरातलमा  कहाँ पुर्‍याउने,देशको राजनीतिलाई कता डोर्‍याउने र जनताका सवालहरूलाई कसरी सम्बोधन गर्ने भनेर छलफल सहित निष्कर्ष निकाल्ने सबैभन्दा ठूलो थलो हो ।

    एमालेको आठौँ महाधिवेशन देखि नै चर्चाको शिखरमा रहेका केपी शर्मा ओली ११ औँ महाधिवेशनमा पनि चर्चाको शिखरमै छन् । झन्डै दुई दशकदेखि एमाले राजनीतिको केन्द्रमा रहेका ओलीले ११ वर्ष देखि त पार्टीलाई नेतृत्व दिइरहेका छन् । आजको एमालेको मातृशक्तिको रूपमा रहेको झापा विद्रोहको जगमा उदाएका नेता हुन् केपी ओली । पूर्वी पहाडको शैक्षिक,राजनीतिक तथा ऐतिहासिक केन्द्र आठराईबाट झापा झरेका ओलीमा अनेक जोखिम मोल्ने साहस झापामा भरियो । त्यही साहसको कारणले उनले पहाडबाट झापामा बसाइँ सरेकै अर्को साल तत्कालीन चार पाने गाउँ पञ्चायतका प्रधानपञ्चले गरेको कुकर्मका विरुद्ध हातपात गरेर विद्रोही स्वभावको छनक दिएका  थिए ।

    ओलीले पारवहनमा भारतको शताब्दीयौं देखिको एकल वर्चस्वलाई समाप्तीतिर लगेर चीनसँग पनि पारवहन सन्धि गरिदिए । नेपाल भूपरिवेष्टित भनेर पढिने र पढाइने भाष्यलाई उनले नयाँ परिभाषामा बदले । समुद्रले कतै पनि नछोएको नेपाल ‘ल्यान्ड लक्ड होइन कि ल्यान्ड लिंक्ड’ भनेर नयाँ परिभाषा गरे । जसले नेपाल र नेपालीको ‘ल्यान्ड लक्ड’ भन्ने हीनताबोधलाई नयाँ आत्मविश्वासमा बदलिदियो ।

    २०२२/०२३ तिर झापा किसान विद्रोहको तयारीमा थियो । साहुले किसानले उत्पादन गरेका सबै धान लगिदिने,वर्षभरी खेतमा काम गरे पनि मंसिरमा आफ्नो भकारी रित्तो हुने रितबाट किसानहरू मर्माहत थिए । यसै सेरोफेरोमा आठराईबाटै झापा झरेका रामनाथ दाहाल,नेत्र घिमिरेहरूको नेतृत्वमा चलिरहेको किसानलाई संगठित गर्ने र विद्रोहको बीजारोपण गर्ने काममा ओली पनि सक्रियतापूर्वक खटेका थिए । पूर्व कोशी प्रान्तीय कमिटीसँग आबद्धता तोड्दै त्यस बेलाको जेन-जी उमेरका केपी ओली,आरके मैनाली,सिप मैनाली,नरेश खरेल लगायतले २०२५/०२६ तिर स्वायत्त रूपमा झापा जिल्ला कमिटी गठन गरे ।

    कम्यूनिष्ट पार्टीकै एउटा हाँगोको रूपमा झापा जिल्ला कमिटीको सचिव आरके मैनाली भए । २०२९ सालतिर दोस्रो सचिवको रूपमा केपी ओली निर्वाचित भए । झापा जिल्ला कमिटीले ‘व्यक्ति हत्या’लाई प्रधान विषय बनाएको थियो । तर, ओली सधैँ यसको विरोधमा थिए । उनी मान्छे मारेर स्वतन्त्रता हासिल गर्न सकिँदैन । बरु मान्छेलाई विचारले धारिलो बनाएर पार्टीमा गोलबन्द गर्न सकिन्छ भन्ने विचार राख्थे । व्यक्ति हत्याविरुद्धको ओलीको लाइनमा मैनाली दाजु भाइ सधैँ असहमत भए । ओली सधैँ व्यक्ति हत्याको विरुद्धमा पार्टीभित्र बोलिरहे । प्रहरीको सर्वाधिक खोजीमा रहेका केपी ओली २०३० सालमा रौतहटबाट पक्राउ परे ।

    त्यसपछि राज्य विप्लवको अभियोगमा उनलाई निरन्तर १४ वर्ष काल कोठरी सहितको जेलमा राखियो । उग्र क्रान्तिकारी सिपी मैनालीले  २०३२ सालमा व्यक्ति हत्या गलत हो भनेर नख्खु कारागारमा आत्मालोचना गर्दै केपी ओलीको लाइनमा समर्थन गरेका थिए । उनै मैनाली दाजुभाइ मध्ये सीपी अहिले राजतन्त्रको वकालत गर्दै छन् भने आरके त २०६१ सालमा नै शाही कु को समर्थन गरेर राजाकै मन्त्री हुन गए । यसबाट के देखिन्छ भने राजनीतिक जीवनको सुरुवाती समय देखि नै आफ्नो बचनमा अडिग ओली धैर्य गर्ने स्वभावका हुन् । तत्कालका उपलब्धिमा हौसिने वा क्षतिमा विक्षिप्त हुने उनको स्वभाव छैन । त्यो सत्य हो ओलीले उठाउने गरेको लाइन कठोर,सुन्दा स्विकार्न गाह्रो हुने सत्य त्यहीँ हुन्छ । ओलीका सुन्दा तितो लाग्ने तर सधैँ सत्य हुने दृष्टान्त अनेकौँ छन् ।

    कुनै बेला माओवादीलाई ‘बनमारा’ भन्ने गरेको ओलीको वाणी अहिले पुष्टि भयो । जसरी झट्टै फस्टाएको बनमाराको आयु लामो हुँदैन । त्यसै गरी माओवादीको आयु पनि लामो भएन । त्यो पार्टी विघटन गरेर प्रचण्डले नयाँ पार्टी बनाउँदा माओवादी भन्ने शब्दै उडाइदिए । ओलीले पत्रकारलाई अन्तर्वार्ता दिँदा एउटा वाक्य सधैँ दोहोर्‍याउँछन् ‘म २० वर्ष अघिका बोलेका कुराको अहिले पनि जिम्मा लिन्छु । तपाईँहरू पनि कुनै कुरा लेख्दा कुनै समयमा त्यसको जवाफ दिन सक्ने गरी लेख्नुहोस् । आज लेखेको वा बोलेको कुराले भविष्यमा पश्चाताप नहोस् ।

    २०६४ सालमा पहिलो संविधानसभामा पराजित भएपछि ओलीको प्रतिक्रिया थियो ‘यो संविधानसभाले संविधान बनाउन सक्दैन । किन कि यहाँ संविधान बनाउने मान्छेहरू छैनन् ।’ ओलीको यो वाणी २०६८ सालमा साबित भयो जति बेला तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईले सरकारको नेतृत्व गरेका बेला संविधानसभाको म्याद सकिँदा पनि संविधान बनाउन नसकेका कारण संविधानसभा नै विघटन भयो । आफूलाई संविधानसभाको जननी भन्ने माओवादीको नेतृत्वमा नै संविधानसभा विघटन भएपछि माओवादी रक्षात्मक अवस्थामा पुगेको थियो ।

    २०६४ सालको संविधानसभा निर्वाचनमा झापाको तत्कालीन क्षेत्र नं ७ बाट चुनाव हार्दा ओलीको प्रतिक्रिया थियो ‘झापाका जनताले गल्ती गरे । पछि गल्ती आफैँ सुधार गर्छन् ।’ नभन्दै ओलीलाई हराएर सभासद् बनेका विश्वदिप लिङदेन चुनाव जितेको वर्ष दिन नहुँदै कहिले जग्गा काण्ड,कहिले हतियार काण्ड,कहिले ठगी काण्डमा फसिरहे । लिङदेनका गैह्र राजनीतिक हर्कतको पीडा उनलाई जिताउने मतदाताले भोगिरहनुपर्‍यो । दल बदल गर्दै हिँडेका लिङदेनले चौथो स्टेसनको रूपमा अहिले काँग्रेस पार्टीमा छन् ।

    १० औँ महाधिवेशनमा ओलीको ‘गुड लिस्ट’मा ठूलो संख्यामा माधव नेपालका पक्षधरहरू समेटिएका थिए । त्यसैको उदाहरण हो उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई आदि । स्मरणीय छ पाण्डे त प्रचण्ड-नेपाल समूहको बैठकले ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णयको कपी बोकेर बालुवाटार जाने नेता हुन् । ती सबै नेताहरूलाई उदारतापूर्वक ओलीले उपाध्यक्ष र सचिवको पद दिए ।

    यस्तो पृष्ठभूमिका व्यक्तिलाई चुनाव जिताएकोमा लज्जित भएका झापा ७ का जनताले २०७० सालमा ओलीलाई अत्यधिक बहुमतले विजयी गराए । संविधानसभामा प्रवेश गर्दै गर्दा  ओलीले भनेका थिए ‘यो संविधानसभाले संविधान बनाउँछ । किन कि यहाँ संविधान बनाउने मान्छेहरू आएका छन् ।’ नभन्दै दोस्रो संविधानसभाको निर्वाचन भएको अढाइ वर्ष पुग्दा नपुग्दै २०७२ असोजमा ओलीकै लाइन र नेतृत्वमा संविधान जारी भयो ।

    संविधान जारी भए पछि भारत नाखुस  थियो । खास गरी ओलीसँग । संविधान निर्माणका लागि अन्य दलहरूसँग सहमतिको वातावरण बनाउने क्रममै उनको राष्ट्रवादी अडान भारतले थाहा पाउने गरी प्रकट भइसकेको थियो । देशको प्रमुख कार्यकारी पद प्रधानमन्त्रीमा आरोहण गर्नै लाग्दा ओलीको द्वन्द्व घरेलु शक्तिसँग हैन बाहिरी शक्तिसँग बढ्यो । घरेलु शक्तिहरू ओलीका एजेन्डा र अडानमा साथ दिन तयार भइसकेका थिए । त्यस बेलासम्म ओली नेपालका बलिया नेताको रूपमा स्थापित भइसकेका थिए । तर, छिमेकी भारतले ओलीको यो व्यक्तित्वलाई रुचाएन । जसका कारण २०७२ साल कात्तिक २५ गते भएको प्रधानमन्त्री पदको उम्मेदवारमा ओलीलाई सर्वसम्मत बनाउने पूर्व सहमति विपरीत काँग्रेसबाट सुशील कोइरालालाई खडा गरियो ।

    ओलीले अत्यधिक बहुमतले कोइरालालाई परास्त गरेर पहिलो पटक कार्यकारी भूमिकामा प्रस्तुत भए । नेपालको संविधानप्रति ६ बुँदे विमति जनाउँदै भारतले नेपालमा नाकाबन्दी लगाइसकेको थियो । भारतको नाकाबन्दी कै बीच प्रधानमन्त्रीमा बहाल भएकै दिन ओलीले घोषणा गरे ‘भारतले विना सर्त नाकाबन्दी नखोलेसम्म भारत भ्रमण गर्दिन । ’ ओलीको यो अडानमा भारत गल्यो र करिब ६ महिना पछि माघमा विना सर्त नाकाबन्दी खुला गरिदियो ।

    २०७१ सालमा भएको नवौँ महाधिवेशनबाट पार्टीको कार्यकारी भूमिकामा उदाएका ओलीको राप ताप बढेको बढ्यै थियो । त्यस बेलासम्म नेपाली राजनीतिलाई कहिले काँग्रेस त कहिले माओवादीले नेतृत्व गर्दथे । तर जब ओली नेतृत्वमा आए त्यसपछि एमाले अघि अघि अरु पार्टी पछि पछि लागे । त्यस बेलासम्म नेतृत्वको भिजन र नेतृत्वदायी क्षमता नभएर राजनीतिमा एमाले पहिचान विहीन जस्तो भइसकेको थियो । माधव नेपाल र झलनाथका पालामा  एमालेलाई व्यङ्ग्य गर्दै प्रचण्ड भाषण गर्थे  ‘न पोथी न भाले,नेकपा एमाले ।’ तर समय एकनासको रहेन । जब ओली अध्यक्ष भए हरेक राजनीतिक एजेन्डामा स्पष्ट अडान लिएर प्रचण्डलाई जवाफ दिए ।

    समावेशी र संघीयताको विरोधीको रूपमा एमालेलाई प्रस्तुत गर्ने माओवादीलाई ओलीको नेतृत्वले फटाफटी कामबाट जवाफ दिन थाल्यो । समावेशीताको विश्वव्यापी नमूनाको रूपमा राष्ट्रपतिका लागि विद्या भण्डारीलाई पठाएर सम्पूर्ण नेपाली महिलाको आत्मश्विासलाई उँचो बनाउने काम ओलीबाट भयो । समावेशी र महिलालाई नेतृत्वमा पुर्‍याउने सवालमा ओली त्यत्तिमा रोकिएनन् ।माओवादी नेतृ ओनसरी घर्तीलाई सभामुख बनाउन पनि ओलीको साथ रह्यो ।

    एमालेकै समर्थनमा घर्ती २०७२ सालमा सभामुख भइन् । महिलालाई नेतृत्वमा पुर्‍याउने कुरामा ओली अझै रोकिएनन् उनले राष्ट्रप्रमुख,व्यवस्थापिका प्रमुख मात्र महिला भएर पुग्दैन न्यायपालिकाको प्रमुख पनि महिला हुनुपर्दछ भन्ने मान्यता राख्दथे । त्यसैले उनले तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई लामो प्रयासपछि विश्वासमा लिए सुशीला कार्कीलाई प्रधानन्यायाधीश लागि सिफारिस गरे । यो निर्णयमा सहमत गराउन बिरामी अवस्थामा रहेकी  सभामुख घर्तीलाई हरिसिद्धी अस्पतालमा पुगेर ओलीले प्रधानन्यायाधीश बनाउने ऐतिहासिक अवसर गुमाउने नहुने भन्दै सम्झाएका थिए  ।

    ओलीले पारवहनमा भारतको शताब्दीयौं देखिको एकल वर्चस्वलाई समाप्तीतिर लगेर चीनसँग पनि पारवहन सन्धि गरिदिए । नेपाल भूपरिवेष्टित भनेर पढिने र पढाइने भाष्यलाई उनले नयाँ परिभाषामा बदले । समुद्रले कतै पनि नछोएको नेपाल ‘ल्यान्ड लक्ड होइन कि ल्यान्ड लिंक्ड’ भनेर नयाँ परिभाषा गरे । जसले नेपाल र नेपालीको ‘ल्यान्ड लक्ड’ भन्ने हीनताबोधलाई नयाँ आत्मविश्वासमा बदलिदियो ।

    २०७४ को निर्वाचनमा  ओलीको नेतृत्वमा नै एमाले माओवादी हठात् गठबन्धन गरेर करिब दुई तिहाइ बहुमत आयो । नेपालमा वाम जनमतको बाहुल्यता भए पनि सधैँ काँग्रेसबाट शासित हुनुपर्ने परम्परागत नियति पहिलो पटक तोडियो । वाम गठबन्धनका कारण काँग्रेस निकै सानो आकारको प्रमुख प्रतिपक्षी भएर संसदमा खुम्चियो । मदन भण्डारीको स्मृति दिवसको दिन २०७५ जेठ ३ गते एमाले माओवादी एकता भएर नेपाल कम्यूनिष्ट पार्टी बन्यो । प्रचण्डको अस्थिर राजनीतिक चरित्र नेकपामा प्रकट हुन डेढ वर्ष पनि कुर्न परेन । निर्वाचनको प्रचारका क्रममा छोरा प्रकाशको निधन भएपछि विक्षिप्त भएपछि  प्रचण्ड चुनाव प्रचारमा जानबाट रोकिए । चुनावी आमसभालाई सम्बोधन गर्न ओली जहाँ जहाँ पुग्थे जनताले अस्थिर प्रचण्डसँग किन गठबन्धन गरेको भनेर प्रश्न तेर्स्याउँथे ।  जनताले लगाउने गरेका आरोपको ढाकछोप गर्दै ओली जिल्ला जिल्लामा गएर भन्दिन्थे  ‘प्रचण्डजी अस्थिर होइन एक गतिशील नेता हो ।  अस्थिर भनेर उहाँको गतिशील व्यक्तित्वको क्षय गर्नु हुँदैन । ’

    ओलीले छोपिदिने गरेको प्रचण्डको सक्कली चरित्र लामो समय छोपिएन । पार्टीका हाइकमाण्ड बैठकमा बेला बेला ओलीले सुनाउने गरेको ‘निलो स्याल’को कथा जस्तै प्रचण्ड त्यही अवतारमा प्रकट भए । उनले आफ्नो अधैर्य र अस्थिर चरित्र प्रकट गर्दै सरकार बनेको दुई वर्ष पुगेकै दिन देखि प्रधानमन्त्रीको कुर्सीमा आँखा लगाउन थाले । र,आफ्नै पार्टीको सरकार ढाल्ने भगीरथ प्रयत्न सुरु गरे । यो शृङ्खला अन्ततः नेकपा विभाजनमा पुगेर टुंगियो ।

    नेकपा विभाजनपछि प्रचण्डको गुटका सारथि माधव नेपाल संकटमा थिए । उनी पार्टी फुटाउने प्रयत्न जारी राख्थे । उनलाई केही सारथिहरूले भरथेग गरिरहेकै थिए । तर माधवको पार्टी फुटाउने योजनाको विपक्षमा  अष्टलक्ष्मी शाक्य सहित १० जना नेता एमालेमै बसे । एमालेमा लामो समय उक्त समूह ‘दश बुँदे’ चिनिन्थ्यो । ओलीलाई आफूसँग विमति राख्नेलाई धकेलेर भित्तामा पुर्याउछन् भन्ने आरोप लाग्ने गर्छ । तर वास्तविकता त्यो हो त ? माधव नेपालले पार्टी चोइटाएको तीन महिना नबित्दै भएको १० औँ महाधिवेशनमा ओलीको ‘गुड लिस्ट’मा ठूलो संख्यामा माधव नेपालका पक्षधरहरू समेटिएका थिए । त्यसैको उदाहरण हो उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई आदि । स्मरणीय छ पाण्डे त प्रचण्ड-नेपाल समूहको बैठकले ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णयको कपी बोकेर बालुवाटार जाने नेता हुन् । ती सबै नेताहरूलाई उदारतापूर्वक ओलीले उपाध्यक्ष र सचिवको पद दिए ।

    उपमहासचिवमा चित्त नबुझाएका घनश्याम भुसाल उपाध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भए । अध्यक्षमा प्रतिस्पर्धा गरेर  भीम रावल पराजित भए । ओलीको सुचीमा नअटाएका भुसाल र रावल छोटो समयमा नै एमाले छोडेर धेरै टाढा पुगिसकेका छन् ।  प्रस्ट भन्न सकिन्छ दशौं महाधिवेशनको बेला ओलीले जसलाई चाह्यो उसलाई नेतृत्वमा ल्याउन सक्थे । उनका विरोधी खेमालाई निमिट्यान्न पार्न उनलाई महाधिवेशन प्रतिनिधिले पूरापूर साथ दिन्थे । तर ओलीले व्यक्तिगत रिसिइवी भन्दा पार्टीको हित उक्त  पार्टीको नेतृत्वसँग जोडिएको नेपालको भविष्यलाई विशेष ख्याल गरेर सबै पक्षलाई समेटेका थिए ।

     दोस्रो पटक ओली नेतृत्वमा आउँदा एमाले सङ्कटपूर्ण समयमा गुज्रिएको थियो । पुराना दुई पूर्व प्रधानमन्त्रीहरूले पार्टीको सानो हिस्सा लिएर बाहिरिएका थिए । बाहिरिएको हिस्सा सानो भए पनि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा यसको सन्देश ठूलो आकारमा फैलाइएको थियो । एमाले फुट्यो भन्ने सन्देश सबैतिर छाएको थियो । जसको मनोवैज्ञानिक असर आम कार्यकर्ता र मतदातामा परेको थियो ।
    जसरी ०७४ वाम गठबन्धन हुँदा कार्यकर्ता मतदाता सूर्यमा हालेको मत खेर जाँदैन भन्ने उच्च मनोबलमा थिए त्यसै गरी ०७९ को निर्वाचनमा काँग्रेस माओवादीलगायत छ दलीय गठबन्धन र फुटेको एमाले चुनावमा जाँदा हारिन्छ भन्ने मानसिकताले घर गरेको थियो ।  कार्यकर्ताको मनोबल उकास्न चुनाव प्रचारका क्रममा झन्डै ४० जिल्लाका १०० भन्दा बढी आमसभालाई सम्बोधन गर्न ओली पुगे । उनको यो दौडाहाले एमाले वृत्तमा अनौठो शक्ति आर्जन भयो । कार्यकर्ताको मनोबल पूर्वतर्फ अवस्थामा फर्कियो ।
    चुनावमा एमालेले ४४ स्थानमा प्रत्यक्ष र ३५ वटा समानुपातिक सिट सहित ७९ वटा सिट लिएर संसदको दोस्रो ठुलो दल बन्यो । गजबको कुरा समानुपातिक तर्फ काँग्रेसको भन्दा बढी मत प्राप्त गरेर मतदाताको सबैभन्दा लोकप्रिय पार्टी बन्यो एमाले । यो विरासत ओलीको नेतृत्वमा नै फर्किएको थियो ।
    कुनै बेला माओवादीलाई ‘बनमारा’ भन्ने गरेको ओलीको वाणी अहिले पुष्टि भयो । जसरी झट्टै फस्टाएको बनमाराको आयु लामो हुँदैन । त्यसै गरी माओवादीको आयु पनि लामो भएन । त्यो पार्टी विघटन गरेर प्रचण्डले नयाँ पार्टी बनाउँदा माओवादी भन्ने शब्दै उडाइदिए ।
    राजनीतिक पार्टीको जीवनमा अनेक आरोह अवरोह आउँछन् जान्छन् । एमाले खहरे नभई विशाल नदी भएकोले कहिलेकाहीँ यहाँबाट भँगाला छुटिन्छन् तर सयौँ खहरेहरू यही नदीमा मिसिन आफैँ आउँछन् । नेतृत्व एउटा भँगालो छुट्दा नदी नै सुक्न लाग्यो भनेर नआत्तिने र केही खहरे मिसिँदा पनि नमात्तिने हुनुपर्दछ । त्यो गुण ओलीमा देखिन्छ ।
    २०८२ भदौ २३ र २४ गते एमालेको जीवनमा मात्र होइन नेपालका राजनीतिक दलको जीवनमा नै अकल्पनीय घटना भयो । जेन-जी आन्दोलनका नाममा भएको विध्वंसमा ७६ जनाको ज्यान गयो । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार,सर्वोच्च अदालत मात्र जलाइएन पार्टीको नेताहरूका घर,पार्टी कार्यालय,प्रहरी कार्यालय सबै जलाइए । तोडफोड गरिए । उक्त घटनाका कारण प्रधानमन्त्रीले राजीनामा दिएर सेनाको सुरक्षामा करिब १० दिन सम्पर्क बाहिर बस्नुपर्ने स्थिति बन्यो । ओली सुरक्षा निगरानीमा भएका बेला दुई दिन अघि सकिएको विधान महाधिवेशनमा ओलीलाई तेस्रो पटक अध्यक्ष बनाउने बाटो सर्वसम्मत खोलिएको विधानलाई चुनौती दिँदै पार्टी पुनर्गठनको माग उठाउन थालियो । उही नीलो स्यालको शैलीमा । ओलीले पार्टी अध्यक्ष छोड्नु पर्छ भनेर सामाजिक सञ्जालका भित्ता रङ्गाउन थालियो ।
    ओलीको राजीनामा माग्ने नेताहरूका पनि घर जलेका थिए । केन्द्र,जिल्ला र स्थानीय तहका थुप्रै नेताका व्यक्तिगत सम्पत्तिमा क्षति पुगेका थिए । विडम्बना,आगलागी र तोडफोडले  घरबार विहीन भएका नेता कार्यकर्तालाई  सान्त्वना दिनु भन्दा ओलीको राजीनामा माग्न केही नेताहरू हतारिए । सेनाको निगरानीमा रहेका ओलीलाई  ५ दिन पछि मोबाइलमा पहुँच दिइयो ।
    सेनाबाट मोबाइल पाउने बित्तिकै ओलीले घर आगजनी गरिएका आफ्ना कार्यकर्तालाई धमाधम फोन गर्दै सान्त्वना दिन थाले । आफ्नै घर जलेको उदाहरण दिएर धैर्य गर्न सुझाउन थाले । अध्यक्षले आफ्नो पीडामा मलहम लगाउने प्रयास गरेपछि ओलीप्रति नकारात्मक भाव राख्न खोजेका थुप्रै पीडित एमालेका सदस्य र तिनका आफन्त एकाएक ओलीको अभिभावकत्वको निरन्तरताको पक्षमा उभिन थाले ।
    दशौं महाधिवेशन (२०७८ मंसिर १०–१३) पछि नेकपा एमालेको जीवन अनेक प्रकारका अवसर र अनेक प्रकारका चुनौतीहरू आए । ‘दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौँ,जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ ’ गरौँ भन्ने नाराका साथ सम्पन्न भएको महाधिवेशनबाट छानिएको नेतृत्वले पाँचै वर्ष पार्टीलाई अगाडि लैजान्छ भन्ने सोचिएकोमा त्यसमा केही अवरोधहरू आएका छन् । राष्ट्रपति भइसकेकी विद्या भण्डारीको पार्टी नेतृत्वमा फर्किने उत्कट चाहनाले एमालेको आन्तरिक समीकरणमा थुप्रै उतारचढाव सृजना गरेका छन् ।
    भण्डारीको अति महत्वकांक्षाले एमालेका आन्तरिक जीवनका कतिपय अवयवहरू निस्प्रभावी भए । कतिपय नेताहरू अनावश्यक सक्रिय भए । कतिपय समूहहरू गुटबन्दी गरेर नेतृत्वलाई घेराबन्दी गर्नतर्फ उद्यत भए । जसले गर्दा एमालेको ११ औँ महाधिवेशन ‘अर्ली महाधिवेशन’को रूपमा सम्पन्न गर्नुपर्ने खण्ड आइलाग्यो ।
    एमालेमा युवा नेतृत्वको माग उठेको भदौ २४ पछि मात्र होइन । एमाले नेतृत्व युवालाई सम्मान र युवालाई स्थान दिन उदार छ । २०४७ सालमा आफैँ तत्कालीन प्ररायु संघको अध्यक्ष भएका ओलीलाई युवाको चाहना,जोस र आवश्यकता के हो र कसरी सम्बोधन गर्नुपर्दछ भन्ने कुरा हेक्का छ । २०७२ सालमा प्रधानमन्त्री भएका बेला युवाका मुद्दालाई नीतिगत रूपमा समेट्नका लागि ओलीले नै युवा परिषद्को गठन गरेका हुन् ।
    झापा जिल्ला कमिटीले ‘व्यक्ति हत्या’लाई प्रधान विषय बनाएको थियो । तर, ओली सधैँ यसको विरोधमा थिए । उनी मान्छे मारेर स्वतन्त्रता हासिल गर्न सकिँदैन । बरु मान्छेलाई विचारले धारिलो बनाएर पार्टीमा गोलबन्द गर्न सकिन्छ भन्ने विचार राख्थे ।
    कुल जनसंख्यामा १६-४० का युवा करिब ४२ प्रतिशत छन् । त्यसैले उनीहरूको आवाजलाई सुन्नु पर्दछ । पछिल्लो समय जेन-जीका नाममा चर्चामा आएको नव युवा पुस्ता पनि राजनीतिमा जबरजस्ती आफ्नो स्पेस बनाउन चाहिरहेको छ । यो सकारात्मक पक्ष हो । त्यसैले एमालेले जेन-जी उमेर समूहका थुप्रै कार्यकर्तालाई महाधिवेशन प्रतिनिधिको रूपमा निर्वाचित गरेर नयाँ नेताको रूपमा स्थापित गराउँदैछ ।  पार्टी कमिटीमा युवाको सहभागिता बढाउनका लागि वडा कमिटीमा ३३,पालिका कमिटीमा २० जिल्ला कमिटीमा १५ प्रदेशमा १५ प्रतिशत युवा राख्नै पर्ने विधि बनाएर ओलीले पार्टी कमिटीमा युवालाई अटाउने अभियान सुरु गरिसकेका छन् ।
    महाधिवेशन प्रतिनिधिको रूपमा हरेक निर्वाचन क्षेत्रबाट ४० वर्ष भन्दा मुनिका एकजना प्रतिनिधि निर्वाचित गराएर १६५ जना भन्दा बढी प्रतिनिधि त युवा आइसकेका छन् । ओलीले यी प्रतिनिधिका तर्फबाट कम्तीमा १० देखि २५ प्रतिशत युवालाई केन्द्रीय समितिमा लैजाने तयारी गरेका छन् ।
    यसबाट एमालेमा युवा देखिएनन् भन्नेहरूका लागि पनि जवाफ हुने छ र पार्टीको भावी नेतृत्वको रूपमा पनि युवाहरू राजनीतिक,साङ्गठनिक,वैचारिक रूपमा तयार भएर बस्नेछन् । त्यसैले ओलीको पार्टी र नेतृत्व निर्माणको दूरदर्शीतालाई युवाको अवमूल्यन, पार्टीको पुनर्गठन, नेतृत्वको बिदाई जस्ता सुन्दा कर्णप्रिय लाग्ने तर परिणाम घातक हुने प्रचारबाट मुक्त हुनु जरुरी छ ।
    (लेखक प्रेस चौतारी नेपालका उपाध्यक्ष हुन्)
  • महाकुलुङकी बिपना- जसको आँटले फेरिँदैछ दुर्गम गाउँ

    महाकुलुङकी बिपना- जसको आँटले फेरिँदैछ दुर्गम गाउँ

    काठमाडौं । बिपना कुलुङको जन्म सोलुखुम्बुको महाकुलुङमै भएको हो । कुलुङ समुदायको ऐतिहासिक उपस्थिति, परम्परा र प्रकृतिको सौन्दर्यले भरिएको यही गाउँपालिकाको नेतृत्व सम्हालेकी उपाध्यक्ष छिन्, बिपनाले।

    आफ्नो थरकै नामबाट पहिचान पाएको गाउँपालिकामा कुलुङहरूको बहुलता छ। त्यही ठाउँको भूगोल, संस्कार र दुःखसुख बिच बिपनाले नेतृत्वका पहिलो पाइला राखेकी हुन्।

    गाउँकै अल्लोबाट बुनेको परम्परागत पोसाकमा सजिएर काठमाडौं आएकी बिपना आफ्नो संस्कृति लिएर गर्वले भन्छिन्, ‘हाम्रो कुरा, हाम्रो पहिचान ढाकेर कहिल्यै ओझेल पर्ने होइन।’

    सादा बोली, भित्री साहस, समाज परिवर्तन गर्ने आँट र निरन्तर कर्मप्रति समर्पण भएकै कारणले जिल्ला, प्रदेश हुँदै देशभर चिनिने महिला जनप्रतिनिधि बन्न सफल भएकी छन्।

    उनी भन्छिन्, ‘हामी कुलुङहरूकै बाहुल्य भएको गाउँ हो, म पनि त्यही समुदायकी छोरी। यही माटोले मलाई आजको बिपना बनायो।’ गाउँपालिकाले नै अहिले महिलालाई तालिम दिएर, अल्लो बुन्ने सीपलाई आयमूलक बनाउने अभियान चलाइरहेको छ।

    सानै उमेरदेखि नेतृत्वमा

    बिपना सानैदेखि संघसंस्था, समूह र स्थानीय नेतृत्वमा सक्रिय थिइन्। घर गृहस्थी, बच्चा, खेती बारी सबै जिम्मेवारी सम्हाल्दै पनि उनी महिला समूह, सहकारी तथा सामुदायिक बैठकहरूमा समय छुटाउने गर्थिन्।

    उनले भन्छिन्, ‘सानैमा अग्रजहरूले जिम्मेवारी दिनुभयो, म सिक्दै गएँ। महिलाहरू चुलो चौकामा मात्रै सीमित हुनु हुँदैन भन्ने सोचले म बढ्दै गएँ। समुदायले मलाई काम गर्ने, नडराई जिम्मेवारी उठाउने, निर्णय लिन सक्ने महिलाको रूपमा चिन्दै गयो। यही विश्वासले उपाध्यक्ष बन्न सफल भएँ।’

    जीवनका मोड सबै सहज नहुने उनको बुझाइ छ। बिपना एक पटक कुटपिटको घटनामा निर्दोष हुँदाहुँदै पनि आरोपित भइन्।  पहिलोपल्ट प्रहरी प्रशासनको प्रक्रियामा प्रवेश गर्दा उनी आत्तिएकी पनि थिइन्।

    तर यही अनुभवले बिपनालाई बलियो बनायो। प्रहरी प्रशासन, कानुनी प्रक्रिया, राजनीतिक प्रभाव, नागरिक अधिकारलगायत सबै विषयको वास्तविकता उनले त्यही समयमा समयमा नजिकबाट बुझ्ने मौका पाइन्।

    उनी सम्झिन्छिन्, ‘त्यो घटनाले मलाई राजनीतिमा सक्रिय हुन प्रेरणा दियो। महिलाले आफ्ना हक अधिकार बुझ्नुपर्छ भन्ने महसुस पनि भएको छ।’

    महाकुलुङजस्ता दुर्गम क्षेत्र अझै पुरुष प्रधान मूल्य मान्यताबाट मुक्त छैन। अधिकार, नागरिकता, आर्थिक पहुँचजस्ता विषयमा महिलालाई चुनौतीहरू देखिन्छन्। विशेषतः विवाहपछि श्रीमानले नागरिकता बनाउन नदिने समस्याले धेरै महिलाको जीवन प्रभावित हुँदै आएको उनको अनुभव छ।

    उनले न्यायिक समितिमा बसेर उनले धेरै यस्ता मुद्दाहरू हेरेको सुनाउँछिन्। सामाजिक चलन बदल्ने, अधिकारबारे सचेत गराउने र सरकारी कार्यालयसँग समन्वय गरेर महिलालाई पहिचान उपलब्ध गराउने उनका दैनिक काम बनेका छन्।

    सुधारको प्रयास

    उपाध्यक्ष बनेपछि आफ्नो कार्यकालमा गाउँपालिकाले धेरै काम गरेको सुनाइन्। सडक, पुल निर्माणमा प्राथमिकता दिएकी छन्।

    गाउँ  जोड्ने सडक, नदीमा पुल, महिलालाई सीपमूलक कार्यक्रम, महिलालाई तानमा अल्लो बुनाइ तालिम, उनीहरूले बुनेका कपडाको बजार व्यवस्थापन, र आयमूलक अवसर सिर्जना गर्ने काम गरिरहेकी छन्।

    दुर्गम ठाउँमा स्वास्थ्यको सहज पहुँच पु¥याउन बर्थिङ सेन्टरमा सुरक्षित प्रसूति गर्न प्रोत्साहन, गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा, महिला स्वयंसेविकाको स्वास्थ्य बिमा, दीर्घ रोगी, वृद्ध वृद्धाका लागि निःशुल्क स्वास्थ्य बिमा, पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, मोतीबिन्दु उपचारका उपचार लगायतमा उनको प्राथमिकता छ।

    कृषकलाई आय बढाउन बिउ वितरण, अनुदान, कृषिको व्यावसायिकता र बजार व्यवस्थापनमा  समेत ध्यान दिने गरेकी छन्। त्यसमा पनि महिला कृषकलाई विशेष प्राथमिकता दिन्छिन्।

    वृद्ध वृद्धाका लागि उनले गाउँमा आँखा उपचार अभियान समेत चलाएको बताइन्। बिपना भन्छिन्, ‘उहाँहरूले फेरि संसार देख्दा जसरी खुसी हुनुहुन्थ्यो, त्यो मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो।’

    उनको पालिका उपाध्यक्ष बन्ने यात्रा सहज थिएन। टिकट पाउनेदेखि मत माग्न घर घर धाउने, जनताका अपेक्षा बुझ्ने, चुनौती, आलोचना, आर्थिक कठिनाइ सबै सामना गर्दै उनले चुनाव जित्न सफल भइन्।

    जितलाई ठुलो अवसरको रूपमा लिँदै बिस्तारै सबै सम्हाल्दै उनले व्यवस्थित नेतृत्व देखाइन्। बिपना अबको दिनमा कृषि बजार विस्तार, आलु, लसुन, प्याजजस्ता स्थानीय उत्पादनको व्यावसायिकता र बजार जडानमा काम गर्न चाहन्छिन्। महाकुलुङलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने योजना पनि उनको छ।

    महिलाका लागि प्रेरणा

    बिपना कुलुङको जीवनले महिलालाई महत्त्वपूर्ण शिक्षा दिने गरेको छ।  जिम्मेवारीबाट नभाग्ने, कठिन परिस्थितिको सामना गर्नसक्ने, सीप र चेतना भएको महिलाको रूपमा परिचित छिन्।

    उनलाई देखेर गाउँका धेरै महिलाले नेतृत्व, सहकारी, संघसंस्था, राजनीति र उद्यममा सक्रिय हुन थालेका छन्। उनले निर्वाचित महिलालाई नेटवर्किङ, सशक्तीकरण र आत्ममूल्यांकनको अवसर दिनुहुने ‘शी लिड्स आइकन’ कार्यक्रमप्रति पनि आभार व्यक्त गर्छिन्। उनी आज हजारौँ महिलाको प्रेरणा बनेकी छन्।

    उनी भन्छिन्, ‘समाजमा भएका समस्या समाधान गर्दै रुपान्तरणको प्रयास गर्दै छु। मेरो आवाज, नेतृत्व र प्रतिबद्धता महाकुलुङ मात्रै होइन। देशका महिलाहरूका लागि नयाँ उदाहरण बन्ने मेरो सपना छ।’

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • एनपीएल-२ : प्लेअफ पुग्ने दोस्रो टिम बन्यो काठमाण्डु

    एनपीएल-२ : प्लेअफ पुग्ने दोस्रो टिम बन्यो काठमाण्डु

    काठमाडौं । काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डुले प्लेअफमा स्थान पक्का गरेको हो ।

    ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो । प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ पुगिसकेको छ । थप दुई टोली प्लेअफको दौडमा छन् । चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

    काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान कुशल भुर्तेल २२, एडम रोसिङटन ५, जेशन रोय १६, तिर्थ राज दास ९, धनन्जय लक्षन ३० र किरणकुमार ठगुन्ना ५ रनमा आउट भए ।

    बलिङमा काठमाण्डुका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएका थिए । कप्तान करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए ।

    टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । उनले २३ बलमा ५५ रन बनाएर आउट भए । आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे ।

    बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए ।

  • कर्मचारीको ‘कब्जा’ मा मन्त्रालयका स्टोर , श्रेणीविहीनदेखि उपसचिवसम्मको रजाइँ

    कर्मचारीको ‘कब्जा’ मा मन्त्रालयका स्टोर , श्रेणीविहीनदेखि उपसचिवसम्मको रजाइँ

    कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतका ‘स्टोर’ गैरकानुनी रुपमा कर्मचारीले कब्जा गरेका छन् । कब्जा गरिएका ‘स्टोर’ मा श्रेणीविहीन कर्मचारीदेखि उपसचिवसम्मले आवास सुविधा लिएका छन् ।

    सामाजिक विकास मन्त्रालयसँग स्टोरका लागि सम्झौता गरिएका कैलालीको धनगढी-५ हसनपुरस्थित दुई ठूला भवन कर्मचारीको कब्जामा परेका हुन् । धनगढीमै घर भएका केही कर्मचारीदेखि अध्ययन बिदामा रहेका कर्मचारीसम्मले भवनको गैरकानुनी उपभोग गरिरहेका छन् ।

    स्टोरका लागि निर्माण गरिए पनि त्यहाँ मन्त्रालयको स्टोर छैन । ती दुवै भवनमा मन्त्रालयका कर्मचारीहरू बस्छन् । उनीहरूलाई मन्त्रालयले नै त्यहाँ बस्ने व्यवस्था मिलाएको हो । २०७५ सालदेखि नै मन्त्रालयले प्रत्येक वर्ष गैरकानुनी आवासका लागि १५ लाख रुपैयाँभन्दा बढी खर्च गरिरहेको छ ।

    मन्त्रालय स्रोतका अनुसार ती दुई भवनको भाडावापत मासिक झण्डै ६० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भएको छ । त्यसमा बिजुली, खानेपानी र इन्टरनेटको रकम पनि मन्त्रालयले भुक्तानी गर्छ ।

    ‘प्रत्येक वर्ष १५ लाख रुपैयाँ स्टोरको नाममा सम्झौता गरिएको घरमा खर्च भइरहेको छ । त्यसैमाथि बिजुली, खानेपानी र इन्टरनेटको रकम पनि गइरहेको छ’ मन्त्रालयले स्रोतले भन्यो ‘तर, त्यो स्टोरको रूपमा प्रयोग भइरहेको छैन । त्यहाँ कर्मचारी बस्छन् ।’

    मन्त्रालय स्रोतका अनुसार जनस्वास्थ्य अधिकृत शिवराज सुनार पनि केही समय अघिसम्म त्यहीँ बस्थे । अहिले अध्ययन बिदा लिएर उनी दुई वर्षका लागि थाइल्यान्ड पुगेका छन् । तर, उनी बस्दै आएको स्टोरका दुई कोठा र एउटा हल अझै उनकै जिम्मामा छ ।

    उपसचिव हेमराज खड्का पनि स्टोरको नाममा सम्झौता गरिएको भवनमा बस्छन् । धनगढीमै घर भएका केही कर्मचारीले पनि गैरकानुनी सुविधा लिँदै आएका छन् ।

    स्टोरका नाममा सम्झौता गर्दै २०७५ सालदेखि कहिले दुई वटा त कहिले तीन वटा घर कर्मचारीलाई आवासका लागि दिने गरिएको छ । सामाजिक विकास मन्त्रालयले अहिलेसम्म गैरकानुनी उपयोगका लागि एक करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको छ ।

    कर्मचारीलाई आवास सुविधा दिने व्यवस्था कुनै कानुनमा छैन । तर, स्टोरका नाममा सम्झौता गरिएका भवनमा कानुन छलेर आवास सुविधा दिइएको छ । झन्डै एक दर्जन कर्मचारी यसरी गैरकानुनी रुपमा बसिरहेका छन् । एक कर्मचारीले तीन वटा कोठासम्म प्रयोग गरिरहेका छन् ।

    कामको सहजताको लागि केही कर्मचारीले स्टोरका नाममा सम्झौता गरिएको घर प्रयोग गरेको सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी बताउँछन् ।

    ‘सबै काम मन्त्रालयबाट समयमा हुँदैन केही ढिलो-चाँडो पनि हुने गर्छ त्यसैले धेरै टाढाका केही कर्मचारीहरू त्यहाँ बस्नु भएको हुन सक्छ, ’ सचिव डा. रेग्मीले भने, ‘तर, त्यो घर स्टोरको लागि सम्झौता गरिएको हो । ’

    स्टोरका नाममा सम्झौता गरिएको घर कर्मचारीले कब्जा गरेका छन् । तर, सचिव रेग्मी भने अनभिज्ञता प्रकट गर्छन् । उनी भन्छन्, ‘दुवै घरमा कर्मचारीहरू बसेका छन् भने हामी त्यो बुझ्छौँ । सदुपयोग गर्ने ठाउँमा दुरुपयोग भएको पाइए छानबिन हुन्छ ।’

    सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले पनि यस विषयमा छानबिन हुने बताएकी छन् ।

    ‘स्टोरको लागि सम्झौता भएको हो, त्यसमा स्टोर हुनुपर्छ, ’ उनले भनिन्, ‘त्यसलाई कर्मचारीहरूले प्रयोग गरिरहेको पाइए छानबिन हुन्छ । कानुनी प्रावधानहरू हेरिन्छ । त्यो अनुसार हामी अघि बढ्छौँ । ’

  • एनपीएलः साहब आलमले लिए ह्याट्रिक, काठमाण्डुको जित

    एनपीएलः साहब आलमले लिए ह्याट्रिक, काठमाण्डुको जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजका स्पिनर साहब आलमले ह्याट्रिक विकेट लिएका छन् ।

    दोस्रो इनिङको अन्तिम ओभरमा उनले लगातार बलमा तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई १२ रनले हराएको हो । आलमले कुल ६ विकेट लिए ।

  • ईश्वर पोखरेलसहितका नेताले गुण्डु पुगेर ओलीलाई भेटे

    ईश्वर पोखरेलसहितका नेताले गुण्डु पुगेर ओलीलाई भेटे

    काठमाडौं । ११ औं महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरेका वरिष्ठ नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।

    ओली निवास गुण्डु पुगेर पोखरेलसहित उनको पक्षमा खुलेका पदाधिकारीहरूले ओलीसँग भेट गरेका हुन् । ओलीलाई भेट्न पोखरेलसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पुगेका थिए ।

    महाधिवेशन प्रतिनिधि चयनको विषयमा विवाद भएका जिल्लाहरूको बारेमा छलफल गर्न लागि पोखरेलको टोली गुण्डु गएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

  • भारत भ्रमणमा पुटिन- क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा : मुख्य एजेन्डा

    भारत भ्रमणमा पुटिन- क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा : मुख्य एजेन्डा

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने राजकीय भारत भ्रमणका लागि आज मस्कोबाट प्रस्थान गरेका छन् ।

    रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्नेछ । साथै वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि मुख्य एजेन्डामा समेटिनेछन् ।

    तास समाचार एजेन्सीका अनुसार भ्रमणका क्रममा १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौता तथा दुई देशका व्यापारिक तथा गैर–व्यावसायिक निकायबीचका ज्ञापनपत्रहरू हस्ताक्षरका लागि तयारी अवस्थामा छन् ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भ्रमणका क्रममा अतिरिक्त एस–४०० लामो दूरीको एन्टी–एयरक्राफ्ट मिसाइल सिस्टमको बिक्रीसम्बन्धी प्रस्ताव एजेन्डामा हुनसक्ने बताएका छन् । उनले भने, ‘रुसी हतियारहरू भारतीय सेनाको करिब ३६ प्रतिशत हिस्सा छन् र यो सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ ।’

    रुसले भारतलाई पाँचौँ पुस्ताको अत्याधुनिक स्टिल्थ लडाकू विमान एसयु–५७ प्रदान गर्ने सम्भावनाबारे पनि छलफल गर्ने आशा व्यक्त गरेको छ । पेसकोभले भने, ‘एसयु–५७ विश्वकै उत्कृष्ट विमानमध्ये एक हो र यसको विषयमा छलफल हुनसक्नेछ ।

    पेसकोभले रणनीतिक क्षेत्रको सहकार्यबारे ब्रह्मोस मिसाइल परियोजनालाई उदाहरण दिँदै हतियार उत्पादन मात्र नभई उच्च प्रविधिको आदानप्रदान नै दुई देशबीचको सहकार्यको आधार भएको बताए । उनका अनुसार भारत–रुसबीच आणविक उर्जा क्षेत्रमा पनि नयाँ सम्झौता हुनसक्नेछ ।

    पुटिनको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो । पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गरेका थिए । यसपटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भइरहेको हो ।

    राष्ट्रपति पुटिन आज साँझ २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले उनको सम्मानमा निजी रात्रिभोजको आयोजना गर्ने तयारी गरेका छन् ।

    डिसेम्बर ५ अर्थात शुक्रबार राष्ट्रपति पुटिनले राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा त्रिसेवा गार्ड अफ अनर प्राप्त गर्नेछन् । त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

    दुवै देशका नेता हैदराबाद हाउसमा सीमित स्वरूपमा द्विपक्षीय वार्ता गर्दै त्यसपछि आ–आफ्ना प्रतिनिधिमण्डलसहित व्यापक छलफलमा सहभागी हुनुहुनेछ । अपेक्षा गरिएअनुसार व्यापार, अर्थतन्त्र, कृषि तथा शिक्षा क्षेत्रमा सहकार्यका विषयलाई प्राथमिकता दिइनेछ ।

    भारतको विदेश मन्त्रालयले पुटिनको भ्रमणले द्विपक्षीय सम्बन्धको प्रगतिमा समग्र समीक्षा गर्ने, ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ सुदृढ पार्ने तथा आपसी हितका क्षेत्रीय–वैश्विक विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने जनाएको छ ।

    पुटिनको भ्रमणअघि रुसका प्रथम उपप्रधानमन्त्री तथा भारत–रुस अन्तरसरकारी आयोगका सह–अध्यक्ष डेनिस मान्टुरोभले यस यात्रालाई दुई देशबीचको दीर्घकालीन रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गर्दै उच्चस्तरीय वार्षिक शिखर सम्मेलनको परम्परामा पुनरागमन भएको बताएका थिए ।

    दुवै नेताले अन्तिम पटक यस वर्ष सेप्टेम्बर १ मा चीनको तियानजिनमा आयोजित एससिओ शिखर सम्मेलनको साइडलाइनमा भेट गरेका थिए । यसपटकको भ्रमणले सन् २००० मा स्थापना भएको रणनीतिक साझेदारीको २५औँ वार्षिकोत्सवलाई पनि चिह्नित गर्दछ । सन् २०१० मा पुटिनको भारत भ्रमणकै क्रममा यो साझेदारी ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ का रूपमा उकासिएको थियो ।

    हाल दुवै देशले सन् २०३० सम्म द्विपक्षीय व्यापार एक खर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेका छन् । सन् २०२४–२५ मा भारत–रुस व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको छ ।

    पुटिनसँग रक्षामन्त्री आन्द्रे बेलोसोभसहित उच्चस्तरीय प्रतिनिधिमण्डल छ । प्रतिनिधिमण्डलमा सङ्घीय भन्सार सेवा, रोसफिनमोनिटरिङ, सैन्य–प्राविधिक सहयोग सेवा, रोस्कोसमोस, रोसाटम, भिइबीडटआरएफ लगायतका प्रमुख संस्थानका प्रमुखहरूको उपस्थितिसमेत रहनेछ । व्यापारिक समुदायबाट रोजनेफ्ट, सबबैंक, रुसल, भिटिबी बैंक, ट्रान्सम्यासहोल्डिङ तथा अन्य ठूला कम्पनी प्रतिनिधिहरू सहभागी हुनेछन् ।

  • बालेन र कुलमानबीच एकता भएको सुधनको दाबी, रविसँग भेट्न लागेको भनाइ

    बालेन र कुलमानबीच एकता भएको सुधनको दाबी, रविसँग भेट्न लागेको भनाइ

    काठमाडौं । काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन् । अब थप एकता संवादको लागि रवि लामिछानेलाई भेट्न लागेको उनको भनाइ छ ।

    फेसबुकमा गुरुङले लेखेका छन्, ‘बालेन र कुलमानको एकतापछि हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं । र, उहाँको धारण पनि सुन्नेछौं ।’

  • भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

    भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

    काठमाडौं । रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद रोक्न भारतमाथि जोडदार दबाब दिँदै नयाँदिल्लीबाट आयातित रूसी तेलमा ५० प्रतिशतसम्म कडा कर लगाएका छन् ।

    यस्तै संवेदनशील पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार नयाँदिल्ली पुगेका छन् । सन् २०२१ डिसेम्बरयता उनको यो पहिलो भारत भ्रमण हो । राष्ट्रपति पुटिनले यसअघि सेप्टेम्बरमा चीनमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका थिए ।

    दुवै देशबीचका सहयोग र तनावका पाँच प्रमुख क्षेत्र देखिएका छन् ।

    तेल र ऊर्जा

    युक्रेन युद्धपछि भारत रूसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न पुग्यो । सन् २०२४ मा भारतले कूल कच्चा तेल आयातको करिब ३६ प्रतिशत—दैनिक १८ लाख ब्यारेलभन्दा बढी—रूसबाट ल्यायो । यसले भारतलाई अर्बौं डलर बचत गरायो भने मस्कोको युद्ध कोषलाई पनि बलियो बनायो । यही कारणले भारतको पश्चिमी साझेदारीमा तनाब बढ्यो र ट्रम्पले शुल्क वृद्धि गर्ने निर्णय गरे ।

    ट्रम्पले सम्भावित अमेरिकी व्यापार सम्झौताअन्तर्गत मोदीले रूसी तेल आयात कटौती गर्ने सहमति जनाएको दाबी गरे पनि नयाँदिल्लीले यसबारे कुनै पुष्टि गरेको छैन । तथापि, भर्खरका व्यापार तथ्याङ्कले भारतको रूसी तेल खरिद घट्दै गएको सङ्केत दिन्छ ।

    रक्षा

    रुस ऐतिहासिक रूपमा भारतको प्रमुख हतियार आपूर्तिकर्ता बने पनि पछिल्ला वर्षमा नयाँदिल्लीले अमेरिका, फ्रान्स र इजरायलबाट खरिद बढाउँदै निर्भरता कम गर्न थालेको छ । साथै, भारतले घरेलु उत्पादनमा पनि गति बढाएको छ ।

    स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआइपिआरआई– सिप्री) का अनुसार सन् २००९–१३ मा ७६ प्रतिशत रहेको भारतको रूसी हतियार आयातको हिस्सा सन् २०१९–२३ मा ३६ प्रतिशतमा झरेको छ ।

    यस सन्दर्भमा उन्नत रूसी एस–४०० हवाई रक्षा प्रणालीको सम्भावित थप खरिद तथा रूसको सु–५७ लडाकू विमान भारतसँग सह–उत्पादन गर्ने प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ । भारतसँग तीन एस–४०० युनिट छन्, तर पश्चिमी प्रतिबन्धका कारण बाँकी दुईको डेलिभरी रोकिएको छ ।

    व्यापार

    रुस भारतको चौथो ठूलो व्यापारिक साझेदार बनेको छ । सन् २०२४–२५ मा दुवै देशबीच व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको थियो । तर भारत–रुस व्यापार अत्यन्त असन्तुलित छ—यसको ९० प्रतिशतभन्दा बढी हिस्सा (६३ अर्ब ८० करोड डलर) रूसबाट भारतमा आयात हुने इन्धन तथा तेल हो ।

    भारतले रूसलाई औषधि, मेसिनरी तथा केही आणविक उपकरण निर्यात गर्छ । विश्लेषकका अनुसार १५–२५ प्रतिशतजति व्यापार अवैध वा ‘छाया शिपिङ नेटवर्क’ मार्फत हुने गरेको आकलन छ, जसमा केहीले रणनीतिक इलेक्ट्रोनिक्स तथा दोहोरो प्रयोगका वस्तुहरू पनि पर्ने बताउँछन्, जसले पश्चिमी प्रतिबन्ध छल्न सहयोग गर्न सक्छ ।

    युक्रेन युद्ध

    भारतले युक्रेन युद्धमा रूसको प्रत्यक्ष आलोचना नगर्ने नीति अख्तियार गरेको छ । पश्चिमी राष्ट्रहरूसँग सम्बन्ध मजबुत बनाउँदै रुससँग ऐतिहासिक साझेदारी जोगाउने भारतीय नीति यसमा झल्किन्छ ।

    सन् २०२२ मा उज्बेकिस्तानमा भएको मोदी–पुटिन भेटमा प्रधानमन्त्री मोदीले युद्ध ‘छिटोभन्दा छिटो’ अन्त्य हुनुपर्ने चाहना व्यक्त गरेका थिए । साथै, केही भारतीय नागरिकलाई ठगीसमेत गरेर युद्धमा लगिएको आरोपले भारत–रुस सम्बन्धमा थप संवेदनशीलता थपेको छ ।

    ‘गुटनिरपेक्षता’ नीति

    भारतको परम्परागत ‘गुटनिरपेक्षता’ तथा रणनीतिक स्वतन्त्रताको नीति हालको जटिल भू–राजनीतिक परिदृश्यमा पनि केन्द्रविन्दु बनेको छ । विशेषतः चीनसँगको चुनौती व्यवस्थापन गर्न अमेरिका र युरोपसँग सन्धि सुदृढ गर्दै भारतले रूससँग पुरानो साझेदारी जोगाउने प्रयास गरिरहेको छ ।

    इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक प्रवीण डोन्टीले भने, ‘भारतले रुससँगको पुरानो सम्बन्ध कायम राख्न चाहन्छ, किनकि यो केवल चीनसँगको चुनौतीपूर्ण सम्बन्धलाई सन्तुलनमा राख्ने उपाय मात्र होइन, भारतको दीर्घकालीन रणनीतिक स्वायत्तताको आधार पनि हो—त्यही यसको विदेश नीतिको मूल सिद्धान्त हो ।’

    – रासस/एएफपी

  • चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

    चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । भोलि ४ बजे बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् ।

    यसअघि सबै राजनीतिक दललाई एकै पटक छलफलमा बोलाइएको भन्दै ठूला दलका नेताहरूले असन्तुष्टि जनाएका थियो। भोलिको छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई मात्रै बोलाइएको छ ।

    बैठक माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रहेर छलफल हुनेछ । सरकारले निर्वाचनको मिति घोषणा गरेपनि वातावरण बनाउन नसकेको भन्दै दलहरूले असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्रीले सक्रियता बढाएकी छन् ।

  • लुम्बिनीबाट आएका एमालेका ७ पदाधिकारी, यसपालि कसको के तयारी ?

    लुम्बिनीबाट आएका एमालेका ७ पदाधिकारी, यसपालि कसको के तयारी ?

    रूपन्देही । नेकपा एमालेको ११ औँ महाधिवेशन संघारमा आएसँगै नेतृत्वको समीकरणका विषयमा चासो बढ्दै गएको छ । नेताहरूले आगामी नेतृत्वका लागि आआफ्नो दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् । दशौं महाधिवेशनबाट एमालेको पदाधिकारीमा लुम्बिनी प्रदेशको राम्रै वर्चस्व रहेको थियो । १९ मध्ये ७ पदाधिकारी लुम्बिनीबाट निर्वाचित भएका थिए भने ५२ जना केन्द्रीय कमिटी र १० जना विभिन्न आयोगमा पुगेका थिए । अहिले तीमध्ये अधिकांश आकांक्षी नै छन् भने नयाँ अनुहार पनि चियाइरहेका छन् ।

    पदाधिकारीसहित सबै पद संख्या कटौती हुँदा प्रतिस्पर्धा पेचिलो बनेको छ । दशौं महाधिवेशनमा उपाध्यक्ष बनेका विष्णुप्रसाद पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझी (निलम्बित) मध्ये २ जना नदोहोरिने निश्चितजस्तै छ । रायमाझी भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् भने युवराज ज्ञवालीले अब नदोहोरिने संकेत निकटस्थहरूलाई गरेका छन् । तर, सर्वसम्मत भए ज्ञवाली रहन पनि सक्ने केही नेताहरूको आंकलन छ । यी दुई बाहेक अन्य पाँचै जना पदाधिकारी आकांक्षी हुन् ।

    चुनावमा दुई प्यानलको प्रतिस्पर्धा हुने स्थितिमा को कताबाट उम्मेदवार बन्छन् भन्ने विषयले अझै आकार लिएको छैन । अध्यक्ष केपी ओलीपछिको जिम्मेवारीमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको दाबी छ । संसदीय फाँट र पार्टी जिम्मेवारीमा दशकौँदेखि उपाध्यक्ष पौडेल स्थिर रूपमा हाबी छन् । २०५० को दशकदेखि निरन्तर प्रभाव र २०५६ देखि रूपन्देहीमा गाढेको स्थायी राजनीतिक जरो अहिले पनि खुकुलो भएको छैन । तत्कालीन एमाले र माओवादीको एकताबाट बनेको नेकपाको शक्तिशाली महासचिव बनेका उनी दशौं महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् ।

    लुम्बिनीका अर्को प्रभावशाली अनुहार हुन् महासचिव पोखरेल । दाङलाई राजनीतिक गृह जिल्ला बनाएका पोखरेल पार्टीभित्र र बाहिर वैचारिक आधारमा चिनिन्छन् । संगठन सञ्चालन र राजनीतिक प्रशिक्षणमा उनको पकड बलियो मानिन्छ । यद्यपि संसदीय राजनीति उनका लागि सजिलो पथ बनेको छैन । २०५१ को मध्यावधि र २०७४ को प्रदेशसभा चुनावमा पराजय व्यहोर्नु नपरे पनि अरु निर्वाचनमा उनले सहजै जित निकाल्न सकेनन् ।

    नवौँ महाधिवेशनमा घनश्याम भुसालसँग उपमहासचिवमा पराजित भए पनि त्यसपछि नेतृत्व तहमा उनको ओज घटेन । उनलाई ओलीले स्थायी कमिटीमै राखेर जिम्मेवारी दिइरहे । पोखरेलले ०५१ मा चुनाव जितेर मनमोहन अधिकारीको प्रचार सदस्यका रूपमा काम गरेका थिए । एमाले सरकारले अघि सारेको नौ ‘स’ कार्यक्रमको प्रस्तावक उनी नै रहेको निकटस्थहरू बताउँछन् । जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अगाडि बढाएका नेताको पहिचान पनि उनको छ ।

    पौडेल र पोखरेलबीच आगामी नेतृत्वको विषयलाई लिएर कहिलेकाहीँ देखिने आन्तरिक मतभेदका विषय बाहिर आए पनि अहिले उनीहरू एउटै खेमामा उभिएको सन्देश एमालेमा गएको छ । यही कारण, महासचिवका रूपमा पोखरेल पुनः दोहोरिन सक्छन् भन्ने आँकलन तीव्र बन्दैछ । यदि नेतृत्वले नयाँ समीकरण बनायो भने उनी उपाध्यक्षतर्फ पनि सारिन सक्छन् ।

    ‘उहाँको तयारी र चाहना नै महासचिवमा दोहोरिने हो, तर सहजताका लागि उपाध्यक्ष बन्ने मूल नेतृत्वको प्रस्ताव आए उहाँलाई बाध्यता बन्न सक्छ,’ उनी निकटस्थ एक नेताले भने । गुल्मीबाट एमाले केन्द्रमा बलियो पहुँच बनाएका दुई अनुहार प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि यस पटक ‘अपग्रेड’ हुने योजनामा छन् । उपमहासचिव ज्ञवाली वैचारिकरुपमा प्रखर र संयमित छविका नेता हुन्, जबकि विष्ट विकास प्रेमी र कार्यसम्पादन–केन्द्रित व्यक्तित्वका रूपमा चिनिन्छन् ।

    महाधिवेशनले बनाउने खेमाका कारण यी दुईबीच नै महासचिव वा उपमहासचिवतर्फ प्रतिस्पर्धा हुनसक्ने आँकलन गर्न थालिएको छ । संस्थापन इतर समूहमा नेतृत्व लिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘क्याम्प’ बाट लुम्बिनीमा सचिव गोकर्ण नै अग्रपंतिमा रहनेछन् । त्यही खेमाबाट योगेश भट्टराई वा गोकर्ण विष्टमध्ये एक जनालाई महासचिवतर्फ अघि सार्न सकिने चर्चा एमाले वृत्तमै तातिएको भए पनि अझै टुंगो लागेको छैन । विष्ट दोहोरिएर सचिव बनिसकेकाले अब पक्कै माथिल्लो पद खोज्नेछन् ।

    त्यसो त संस्थापन पक्षको विरोधी खेमामा खुलेका उपाध्यक्ष युवराज ज्ञवाली अब पुरानै जिम्मेवारीमा नबस्ने निकटस्थहरूलाई भनेकाले पनि विष्टलाई अगुवाइ गर्नुपर्ने बाध्यता आइलागेको हुनसक्छ । उनले लामो समयदेखि ओली नेतृत्वमा पुस्तान्तरण आवश्यक छ भन्ने बहस उठाइरहेकाले नेतृत्वले उनलाई कुन जिम्मेवारी दिने हो, अझै स्पष्ट खुलेको छैन । अचम्म त दाङमा वर्षौँदेखि ‘राष्ट्रिय केन्द्रमा पुग्ने नेता’ ठानिएका युवराज पछिल्ला वर्षमा शंकर पोखरेलको उचाइका कारण छायामा परेका छन् ।

    लुम्बिनीबाट पदाधिकारीमा जान सक्ने नयाँ अनुहारमा निकटस्थहरूका अनुसार सूर्य थापा पहिलो सूचिमा छन् । पार्टी अध्यक्ष ओलीको पक्षमा बलियो समर्थन व्यक्त गर्दै आएकाले उनलाई नेतृत्वले समेट्ने दाबी निकटस्थहरूको छ । सूर्य थापा पनि प्युठानको जनमत बटुल्दै महाधिवेशनमा पदाधिकारीको दाबेदारीसँगै अघि बढिरहेका छन् । पत्रकारिताबाट उठेर एकाएक राजनीतिक केन्द्रमा पुगेका थापाले पार्टीभित्र आफ्नो उचाइ कहाँ पुग्ने हो महाधिवेशनमै टुंगो लाग्ने भन्दै ‘मलाई यो पद चाहियो’ भनेर बाहिर भन्दै नहिँड्ने जवाफ दिइरहेका छन् ।

    एमालेभित्र केही समयदेखि चर्चा कम र विवाद धेरै भोगेकी नेतृ रामकुमारी झाँक्री पनि यस पटक पदाधिकारीमा प्रवेश गर्ने मनसायमा छिन् । एकीकृत समाजवादीमा सचिव भइसकेकी उनी एमालेमै सो तहको जिम्मेवारी खोज्दै सक्रिय भएकी हुन् । गुल्मीकी झाँक्री पार्टीभित्र महिलाको सशक्त प्रतिनिधिको रूपमा चिनिन्छिन् । निकटस्थहरूले एमालेमा आउने समयमै उनलाई सचिवमा ल्याउने कुरा भएको दाबी गरे पनि ओली पक्षले झाँक्री पार्टी प्रवेश गर्दा कुनै सर्त नराखेको बताइरहेका छन् ।

    लुम्बिनी प्रदेशकै नेताहरू ठाकुर गैरे र बलराम अधिकारीको पनि दाबी पदाधिकारीमा छ । तर, अहिलेको अवस्थामा उनीहरू आइहाल्ने अवस्था नदेखिएको नेताहरू बताउँछन् । मतदानबाट नेतृत्व छानिने स्थिति आयो भने ओली-पोखरेल समूहभित्र कसको स्थान कहाँ पर्छ भन्ने अझै पूर्ण रूपमा स्पष्ट छैन । तर, लुम्बिनीमा अहिले महाधिवेशनको राजनीतिक चहलपहलले एकै पटक धेरै आकांक्षीहरूलाई सक्रिय बनाएको छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार लुम्बिनी अझै पनि पार्टीभित्र नेतृत्व उत्पादन गर्ने ‘पावर हाउस’ नै हो ।

    ‘उपाध्यक्षदेखि महासचिव, उपमहासचिव र सचिवसम्म मुख्य पद नै यही प्रदेशबाट गएका नेताहरूले जिम्मेवारी लिएको अवस्था छ । नयाँ महाधिवेशनमा पदको संख्या घट्ला, तर लुम्बिनीको प्रतिनिधित्व घट्दैन,’ कँडेल भने । ५२ केन्द्रीय सदस्य, १० आयोगका सदस्यहरूसहित १९० जना प्रतिनिधि लुम्बिनीबाट महाधिवेशनमा जाने टुंगो लागिसकेको छ केही मनोनीतमा पक्कै पर्नेछन् । यी सबैले उम्मेदवारीको अधिकार राख्ने भएकाले आकांक्षी व्यवस्थापनमा नेतृत्वलाई केही सकस पक्कै हुने छ ।

  • एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य

    एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्ससामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनायो ।

    काठमाण्डुका लागि ओपनर वेन चार्ल्सवथले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । उनले २३ बलमा ५५ रन बनाएर आउट भए । आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र महोम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे ।

    बलिङमा पोखराका धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए । यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान सुनिश्चित गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

  • एनपीएल : भीम सार्कीले बनाए १९ बलमै अर्धसतक

    एनपीएल : भीम सार्कीले बनाए १९ बलमै अर्धसतक

    काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा काठमाण्डु गुर्खाजका ब्याट्सम्यान भीम सार्कीले १९ बलमै अर्धसतक बनाएका छन् ।

    पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले ४ छक्का र ५ चौका प्रहार गर्दै विष्फोटक पारी खेलेका हुन् ।

    सार्की एनपीएलमा सबैभन्दा कम बलमा अर्धसतक बनाउने नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि पहिलो सिजनमा दीपेन्द्रसिंह ऐरीले २२ बलमा अर्धसतक बनाएका थिए ।

  • एनपीएल-२ : काठमान्डुका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

    एनपीएल-२ : काठमान्डुका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा काठमान्डु गोर्खाजका तर्फबाट मैदानमा उत्रिएका ओपनर बेन चार्ल्सवर्थले अर्धशतक पूरा गरेका छन् ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुका तर्फबाट बेनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५१ रन पूरा गरेका हुन् ।

    १५.२ ओभरमा बेनले अर्धशतक पूरा गरे । यसअघि बेनले जनकपुरविरुद्ध ४६ रन जोडेका थिए ।

  • लुम्बिनीमा भूमिगत ४ वर्ष- मैले नबिर्सने भुइँबाट उठेका यी पात्रहरू

    लुम्बिनीमा भूमिगत ४ वर्ष- मैले नबिर्सने भुइँबाट उठेका यी पात्रहरू

    मैले लगातार चार वर्ष पार्टी कामको सिलसिलामा लुम्बिनी अञ्चलमा बिताएको छु । २०४२ साल कात्तिकदेखि २०४६ साल असोजसम्म मैले त्यहाँ बिताएँ । त्यस बेला निरङ्कुश तथा निर्दलीय पञ्चायती शासन व्यवस्था थियो, राजनीतिक दलहरूका गतिविधिहरू पूर्ण रूपले प्रतिबन्धित थिए । सबै काम भूमिगत रूपमा बडो होसियारीपूर्वक मात्रै गर्न सकिन्थ्यो वा कुनै आवरणमा मात्र गर्न सकिन्थ्यो । ‘सेल्टरहरू’ तथा हिँडडुलमा अझ खास गरी ‘अफिस’का रूपमा प्रयोग गरिएका ठाउँहरूबारे विशेष सतर्कता नअपनाई धरै थिएन । त्यस बेला पार्टी कार्यकर्ताहरूको परिचय खुल्नु भनेको धेरै जोखिमको कुरा थियो ।

    यसो त यसभन्दा पहिले पनि लुम्बिनीमा भूमिगत अवस्थामै म पुगेको थिएँ, कुनै बेला सम्पर्कको सिलसिलामा त कुनै बेला भूमिगत रूपमा आयोजना गरिएका पार्टीका बैठकहरूमा सहभागी हुन । तीन पटक त त्यस बेलाको केन्द्रीय कमिटीका बैठकहरू समेत त्यहाँ आयोजना भइसकेका थिए । २०३६ सालको सुरुमा रूपन्देहीको सीतापुरमा हामीले झन्डै पन्ध्र दिन लगाएर केन्द्रीय कमिटीको बैठक आयोजना गरेका थियौँ । स्थानीय किसान जनताको सक्रिय सहयोगमा उक्त बैठक सम्पन्न भएको  थियो ।

    त्यस बेला सीतापुर भूमिगत ‘माले’ पार्टीको आधार इलाकाका रूपमा स्थापित एउटा जागरूक गाउँ थियो । कमरेड पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट समूहबाट विद्रोह गरी अलग भएको ‘मुक्ति मोर्चा’ समूहको आधार भूमिका रूपमा सीतापुरले आफूलाई चिनाएको थियो, पछि ‘मुक्ति मोर्चा’ समूह २०३४ असारमा विधिवत् रूपमा तत्कालीन ‘को–अर्डिनेशन केन्द्र’मा समावेश भएपछि त्यो गाउँ ‘माले’हरूको वा ‘झापाली’हरूको विशेष प्रभाव क्षेत्र बन्न पुगेको थियो ।

    विगतका बेलाबेलाका आवतजावतले लुम्बिनीबारे केही धारणा बनेको त थियो, तर पूर्ण रूपले जिम्मा लिएर गएपछि प्राप्त गरेको ज्ञान तथा बुझाइ पृथक र केही गहिरो हुनु स्वाभाविक थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा यसले पुर्‍याएको योगदान, यहाँ सञ्चालित आन्दोलन र यस क्रममा जन्मिएका र विकसित भएका नेता कार्यकर्ताहरूको पङ्क्ति आदिबारे चार वर्ष लुम्बिनीमा पार्टीको जिम्मेवारी पूरा गर्दा मैले जानकारी प्राप्त गरेको थिएँ । यस्तै अनुभव प्राप्त गर्ने महत्त्वपूर्ण थलो पनि बन्यो लुम्बिनी, मेरा लागि ।

    विष्णु पौडेल र प्रदीप ज्ञवालीहरूसँगको संयोग

    लुम्बिनीमा मेरो कार्यक्षेत्र त्यस बेला तोकिएको थियो, जति बेला म ‘मध्य–उत्तर क्षेत्र’मा पार्टी सचिव भएर काम गरिरहेको बेला दोलखाको चरिकोटमा गिरफ्तारीमा परेको थिएँ र पाँच महिनाको कठोर कारावासपछि प्रतिक्रियावादीहरूलाई छक्क्याउँदै रिहा भएको थिएँ । त्यस बेला मेरो रिहाइ आफ्नै सतर्कतापूर्वक गरिएको बयान, पार्टी केन्द्रबाट खेलिएको योजनाबद्ध र प्रभावकारी भूमिका र सम्भव सबै सकारात्मक पक्षहरूको कुशल परिचालनबाट मात्र सम्भव भएको थियो । यो काममा मेरा भिनाजु मनप्रसाद पौडेलको भूमिका सा¥है नै उल्लेखनीय रह्यो । त्यस बेला मेरो सुरक्षाको प्रश्न पार्टीका लागि र म स्वयंका लागि समेत जोखिमपूर्ण थियो ।

    यति हुँदाहुँदै पनि लुम्बिनी मेरा लागि व्यक्तिगत परिचयका हिसाबले त्यति असुरक्षित भने थिएन । भौगोलिक परिवेशभित्रको अनुकूलताका कारण मैले हिँडडुलमा त्यति कठिनाइ महसुस गर्नुपरेको  थिएन । नवलपरासीको उत्तरमा पर्ने डेढ गाउँ र सुदूर दक्षिणमा पर्ने नारायणी वा परासी नै होस्, यस्तै, अर्घाखाँचीको खिदिम–हर्राबोटदेखि धनचौर–जलुके–जुकेना; कपिलवस्तुका पत्थरकोट–चन्द्रौटा–रामापुर; रूपन्देहीका मर्चवार–रामापुर–मणिग्राम–सीतापुर आदि तथा पाल्पाका दर्छा–रामपुर–छहरा–मदन पोखरा सबै गाउँहरू पुग्न–घुम्न मलाई खासै कठिनाइ परेन । यस हिसाबले मलाई लुम्बिनीमा पार्टी कामलाई संगठित गर्न सजिलै भएको थियो ।

    म अहिले सम्झन्छु – त्यस बेला म लुम्बिनी जाँदा प्रदीप नेपाल त्यहाँको पार्टी प्रमुखको जिम्मेवारीबाट बिदा हुनुभएको थियो । ऐतिहासिक ‘नख्खु जेल विद्रोह’बाट प्रतिक्रियावादीहरूका आँखा छल्दै नेपालको सीमा काटी भारत पुगेर त्यहाँ रहेका क्रान्तिकारीहरूसित खास गरी विद्रोही ‘मुक्ति मोर्चा’ समूहका जीवराज ‘आश्रित’, मोदनाथ ‘प्रश्रित’ लगायतका साथीहरूसित सम्पर्क गर्दै उहाँहरूकै माध्यमबाट लुम्बिनी आएर त्यहाँ कार्यक्षेत्र बनाउनु भएका प्रदीप नेपाल ‘कमरेड सिन्धु’का नामले त्यहाँको पार्टी पङ्क्तिका लागि राम्रै किसिमले परिचित भइसक्नुभएको थियो ।

    भूमिगतकालीन अवस्थामा लुम्बिनीको जिम्मेवारीमा रहँदा रेसुङगाको पहाड चढेपछि सहयोद्धा कमरेड विष्णु पौडेलसँग ।

    विभिन्न जिल्लाहरूका प्रमुखहरूमध्ये नवलपरासीको सचिवबाट युवराज ज्ञवाली सुदूर पश्चिमका लागि भर्खर बिदा हुनुभएको थियो र उहाँको ठाउँमा देवेन्द्र घिमिरे आउनु भएको थियो । विष्णु पौडेल गुल्मीमा हुनुहुन्थ्यो । पहिले गुल्मी र अर्घाखाँची संयुक्त जिल्ला कमिटी थियो, पछि पार्टी काम विस्तार हुँदै गएपछि गुल्मी र अर्घाखाँची छुट्टाछुट्टै जिल्ला कमिटीहरू भएर आ–आफ्ना ठाउँमा नेतृत्वदायी भूमिका खेलेका थिए । (विष्णु पौडेललाई मैले पहिलो पटक २०३६ सालमा सीतापुरमा आयोजना गरिएको केन्द्रीय कमिटीको बैठक व्यवस्थापकको रूपमा चिनेको थिएँ । त्यस बेला उहाँलाई देख्दा मलाई लागेको थियो, ‘यी यतै तराइतिरकै अहिर (यादव) जातिका स्थानीय कार्यकर्ता रहेछन् ! … ठूलो दार भएको, नियमित र आवश्यकताअनुसार आहार नपाएका कारण दुब्लो लाग्ने, आँखा धस्सिएको, लामो र ठूलो नाक भएको, कालो–कालो वर्ण भएको व्यक्तिसित त्यस बेला मलाई ‘कैलाश’को नामबाट विष्णु पौडेलसित परिचय गराइएको थियो ।

    … पछि मैले आफ्नो कार्य–क्षेत्रमा आएपछि … सीमापारीबाट पार्टीका दस्ताबेज बोकेर ल्याउँदै गर्दा (२०३७ जेठमा) कमरेड ‘कैलाश’ पार्टीका नेता र प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितसँगै गिरफ्तार भएको सुनेको थिएँ, गिरफ्तारीको खबरले त्यस बेला मलाई दुःखित पनि तुल्याएको थियो । त्यसको केही समयपछि (२०३७ भदौ १ गते) फेरि पार्टी ‘च्यानल’बाटै मैले खबर पाएको थिएँ – मोदनाथ प्रश्रितसँगै कमरेड कैलाश भैरहवा जेलबाट भागे … । यसरी जेलबाट फरार भएकाहरूलाई त्यही क्षेत्रमा भूमिगत पार्टी काम गर्न कठिनाइ हुने जान्दाजान्दै पनि त्यस बेलाको पार्टी नेतृत्वले त्यही क्षेत्रमा जिम्मेवारी तोकेको थियो ! यही जिम्मेवारी पूरा गर्ने सिलसिलामा कमरेड ‘कैलाश’ अर्थात् विष्णु पौडेल पहिले गुल्मी–अर्घाखाँची संयुक्त जिल्ला कमिटी र पछि गुल्मी जिल्लाको नेतृत्वदायी कमिटीको सचिव भएर काम गरिरहुनभएको थियो ।) प्रदीप ज्ञवाली र बेदुराम भुसाल अर्घाखाँची र कपिलवस्तुमा हुनुहुन्थ्यो (आशालाग्दो – लोभलाग्दो कार्यकर्ताका रूपमा देखिने प्रदीप ज्ञवाली पहिले गुल्मीमा काम गर्नुहुन्थ्यो, पछि उहाँलाई अर्घाखाँची पठाइएको थियो ।

    मैले भेटेका योद्धाहरू

    चर्चित ‘बर्रे संघर्ष’ मा अगुवाइ गरेको – सहभागी भएका कारण १३ वर्षभन्दा बढी जेल जीवन बिताएर भर्खर रिहाइ हुनुभएका बेदुराम भुसालले तुरुन्तै पार्टी काममा जुटिहाल्ने प्रतिबद्धता देखाउनु भएको थियो र उहाँलाई अर्घाखाँचीको पार्टी काममा लगाइएको थियो); सिद्धिनाथ ज्ञवाली सबैका प्रिय ‘चाचा’ हुनुहुन्थ्यो, प्रजा परिषद्को समयदेखि पूर्णकालीन कार्यकर्ताको रूपमा खट्दै आउनु भएका उहाँको लामो राजनीतिक इतिहासका कारणले पनि उहाँलाई अञ्चलभरि नै प्रायः सबैले चिन्दथे – आदर गर्दथे, केही केही खतरा पनि थियो, उहाँलाई । उहाँको यो स्थितिबारे हामीहरू बुझ्दथ्यौँ । त्यसैले उहाँलाई अनुकूल हुने गरी पाल्पा केन्द्रित भएर काम गर्न तोकिएको थियो, वास्तवमा उहाँ त्यस बेला सिङ्गो लुम्बिनी अञ्चलको पार्टी कामका लागि अभिभावकका रूपमा हुनुहुन्थ्यो, यसैले पनि होला हामी सबै उहाँलाई माया र आदरका साथ ‘चाचा’ भनेर सम्बोधन गर्दथ्यौँ ।

    भीमनारायण थारु त्यो समुदायबाट आउनुभएका स्थापित कार्यकर्ता हुनुहुन्थ्यो र उहाँले रूपन्देहीको जिम्मा लिनुभएको थियो । शान्ता ‘मानवी’ यस्तो एकजना महिला कार्यकर्ता हुनुहुन्थ्यो, जसको निजी जीवन अत्यन्त संघर्षशील थियो, धेरै किसिमका प्रतिकूलतामा पनि उहाँ पार्टी काममा टिकिरहनु भएको थियो, उहाँको जीवनीमा आधारित मोदनाथ प्रश्रितले लेख्नुभएको ‘नारी बन्धन र मुक्ति’ पढेर म औधी प्रभावित बनेको थिएँ । मलाई लाग्छ– त्यस बेला हजारौँ युवा–युवतीहरू उहाँको यही किताब पढेर प्रगतिशील विचार पक्षधर भएका थिए– कम्युनिष्ट बनेका थिए । शान्ता त्यस बेला मूलतः नवलपरासीमा केन्द्रित भए पनि आवश्यकताअनुसार अञ्चलको जुनसुकै ठाउँमा गएर पनि उहाँ संगठनको काममा जुट्नुहुन्थ्यो । हो, त्यस बेला मैले यही नेतृत्वदायी साथीहरूको पङ्क्तिमा मुख्य गरी भर परेर लुम्बिनीको कामलाई अगाडि बढाउने योजना बनाउनु परेको थियो ।

    प्रत्येक जिल्लामा जिल्ला कमिटीहरू त थिए, तर पनि यिनै नेतृत्वका कमरेडहरू नै मेरा लागि मुख्य आधार बन्नुभएको थियो । आफ्नो घर परिवार छोडेर भूमिगत कार्यकर्ताका रूपमा हिँड्नु भएका भूमिश्वर ढकाल (रूपन्देही) र रामप्रसाद भट्टराई (पाल्पा–गुल्मी) जुन उत्साह र निष्ठाका साथ र सांगठनिक काममा उत्रनु भएको थियो, त्यसलाई अहिले पनि मैले बिर्सन सकेको छैन । अत्यन्त समर्पण भावका साथ गुल्मीको पार्टी काममा लाग्नु भएका कौशल पोखरेल साँच्चै, त्यस बेला दिगाम क्षेत्रमा पार्टी कामको आधार बन्नु भएको थियो ।

    त्यस बेला हामीहरू पार्टी कामलाई अगाडि बढाउन, विस्तार गर्न र थप व्यवस्थित बनाउन विशेष योजनाका साथ लागेका थियौँ । भूमिगत ढाँचामा बनेका संगठन तथा त्यस अनुरूपको कार्यकर्ता पङ्क्तिमा भर परेर मात्र पार्टी काम विस्तार गर्न कठिनाइ भइरहेको कुरालाई विश्लेषण गर्दै खुला क्षेत्रमा रही जनताको बीचमा प्रतिष्ठा प्राप्त गरेका व्यक्तिहरूलाई समेत समेट्नु पर्ने, कामको जिम्मा दिनुपर्ने आवश्यकतालाई हामीले महसुस गरेका थियौँ । यसै उद्देश्यका साथ हामीले आफ्ना योजना र पहललाई अगाडि बढाउन चाहेका थियौँ । यही सिलसिलामा रूपन्देही (भैरहवा) मा जनताको बीचमा लोकप्रियता प्राप्त गर्नु भएका धनपति उपाध्याय हाम्रो आधार बन्नु भएको थियो, गोपीरमण उपाध्याय त यसै पनि वामपन्थी रङ्ग लागिसकेका, वामपन्थीकै रूपमा परिचित बौद्धिक व्यक्ति हुनुहुन्थ्यो नै । यति मात्र होइन, उहाँ त स्वयं भूमिगत ‘माले’सित भित्रभित्रै आबद्ध पनि भइसक्नुभएको थियो ।

    रिद्धि प्याकुरेल आफ्नो सिंगो परिवारसहित सक्रिय भूमिका खेलिरहेको राम्रो साथी हुनुहुन्थ्यो । यसबहादुर थापा त भैरहवामा हाम्रो पार्टीको आधार नै हुनुहुन्थ्यो । … तेजप्रसाद कँडेल, ऋषिराम भुसाल र दिल साहनीहरू बौद्धिक व्यक्तिका रूपमा चिनिनुहुन्थ्यो । रामचन्द्र भट्टराई साहित्यिक–सांस्कृतिककर्मी तथा पत्रकारका रूपमा स्थापित हुनुहुन्थ्यो । उहाँले त्यस बेला ‘दैनिक निर्णय’ भन्ने पत्रिकाको सम्पादक भएर भूमिका खोलिरहनु भएको थियो । विद्रोही ‘मुक्ति मोर्चा’ समूह कोकेमा सम्मिलित भएपछि पुष्पलाल समूहमै सक्रिय तथा एक समय पूर्णकालीन भूमिगत कार्यकर्ताका रूपमा खट्नुभएकी राधा ज्ञवाली बुटवलमा एउटा निजी स्कुल सञ्चालकको आवरणमा रहनु भएको थियो ।

    लुम्विनीका अगुवा साथीहरुसहित मदन-आश्रित सहित विष्णु पौडेल, गोविन्द कोइराला, भरत पोखरेल लगायतका अगुवाहरुसँग कन्चनपुर, महेन्द्रनगरमा ।

    बुटवलका बाबुराम आचार्य हाम्रो लागि एउटा महत्त्वपूर्ण आधार हुनुहुन्थ्यो । निरङ्कुश पञ्चायती व्यवस्थाका प्रबल पक्षधर माइतीका मान्छेहरू भए पनि पार्टी काम र साथीहरूलाई सहृदयताका साथ सघाउने सीताजी हाम्रो लागि एउटा भरोसाको व्यक्ति हुनुहुन्थ्यो । पाल्पामा यो काम झपेन्द्र जि.सी., कुलप्रसाद नेपाल र दयाराज बस्यालहरूले गरिरहनुभएको थियो । नवलपरासीमा यो भूमिका ईश्वरी पाण्डे, चन्द्रमणि खराल र वृहस्पति अधिकारी गुल्मीमा भूमिगत ‘माले’ भनेर चिनिए पनि कमल श्रेष्ठले एक्लैजस्तो यो भूमिकामा अगुवाइ गरिरहनु भएको थियो । अर्घाखाँचीमा पीताम्बर भुसाल, पीताम्बर सारु, नेत्र बहादुर क्षेत्री, गुणनिधि भुसाल, मोती खनाल, गच्छे खोलाका नारायण खनाल, जनार्दन खनाल, जयप्रकाश ‘किसान’ र रामजी घिमिरे आदिहरूले यो फाँट सम्हालिरहनु भएको थियो ।

    यो भूमिका पूरा गरिरहँदा त्यसबेला मोती खनाल र जनार्दन खनालले भोग्नुपरेको गिरफ्तारी र यातना वर्णन गरिनसक्ने खालको थियो ! त्यसबेला पञ्चायती प्रशासनले गिरफ्तार गरी चरमा यातना दिइएका मोती खनाल र जनार्दन खनालको यातनाका कारण थिलथिलो बनेको उहाँहरूको अनुहार अहिले पनि झलझली सम्झिरहेको छु । अहिले पनि जब जब जनार्दन कमरेडसित भेट हुन्छ, त्यसै बेलाका कुरा सम्झँदै उहाँप्रति आदर भाव जागेर आउँछ । त्यस बेलाको चरम दमनका बीच प्रतिरोधी मानसिकता बोकेका रामजी घिमिरेसित गरेका कुराकानीहरू अहिले पनि मेरो सम्झनामा ताजै छन् ।

    यिनै साथीहरूलाई आधार मानी, मूलतः यिनै साथीहरूलाई नै केन्द्र गरेर हामीहरूले आफ्नो स्थितिलाई झन्झन् सुदृढ र फराकिलो पार्दै लगिरहेका थियौँ र यसको संगठित अभ्यास हामीले २०४३ सालको ‘जनपक्षीय’ उम्मेदवारी मार्फत गरेका थियौँ । निर्दलीय र निरङ्कुश पञ्चायती व्यवस्थाको समूल अन्त्यका लागि स्वयम् पञ्चायतले आयोजना गरेको निर्वाचनमा भाग लिने र त्यसकै भण्डाफोर गर्ने कामलाई एउटा अभियानको रूपमा हामीले चलाएका थियौँ । त्यस बेला जनपक्षीय हस्तक्षेप अभियानमा हामीले कुशलता देखाएका थियौँ र त्यसमा ठूलो सफलता पनि प्राप्त गरेका थियौँ । वास्तवमा यही अभियानमा त्यस बेलाको ‘माले’ पार्टीले आफूलाई राष्ट्रव्यापी सशक्त पार्टीका रूपमा उभ्याउन सफलता प्राप्त गरेको थियो । त्यस बेला भूमिगत ‘माले’ पार्टीका कार्यकर्ताहरूले यसको सफल प्रयोग गरेका थिए र लुम्बिनीमा पनि हामीले त्यसको सफल प्रयोग गरेका थियौँ । भूमिगत संगठन, भूमिगत रूपमा क्रियाशील सशक्त कार्यकर्ता पङ्क्ति तथा त्यसैको नेतृत्व र योजनामा परिचालित निरङ्कुश व्यवस्थाको विरोध र भण्डाफोर गर्ने अभियान ! कस्तो कुशल संयोजन थियो, त्यस बेला !

    त्यो बेलाका लुम्बिनीका विद्यार्थी नेताहरू

    यो अभियानको एउटा महत्त्वपूर्ण पाटो थियो– विद्यार्थीहरूको निरङ्कुश व्यवस्थाका पक्षधर गुन्डाहरू विरुद्धको लडाइँ । ती गुन्डाहरू ‘राष्ट्रव्यापी विद्यार्थी मण्डल’का रूपमा संगठित हुने गर्थे र तत्कालीन पुलिस–प्रशासनद्वारा संरक्षित हुने गर्दथे । अनि, तिनैका बलमा उनीहरू प्रजातन्त्र पक्षधरहरूमाथि हमला गर्थे । तिनीहरूलाई त्यस बेला ‘मण्डले’ भनेर चिनिन्थ्यो । त्यस बेला त्यस्ता ‘मण्डले’हरूको गढ मानिन्थ्यो, लुम्बिनीको रूपन्देही, खास गरी भैरहवा–बुटवल क्षेत्र ।

    त्यस बेला मण्डलेहरू विरुद्धको लडाइँमा अग्रिम मोर्चामा रहनुभएका हाम्रो पार्टी पक्षधर अनेरास्ववियूका विद्यार्थी नेताहरूमा घनश्याम भुसाल, विजय पौडेल, बालकृष्ण चापागाईँ, कृष्ण पौडेल, कृष्ण न्यौपाने, शिवहरि अधिकारी, पुरुषोत्तम घिमिरे, बलबहादुर आचार्य, होमप्रसाद भुसाल, विष्णु घिमिरे (महिला), खेम लुइँटेल, सुरेन्द्र पोखरेल, दिलमाया विश्वकर्मा आदि हुनुहुन्थ्यो । गुल्मीमा बोमबहादुर खड्काले मण्डलेहरूसितको लडाइँमा धेरै पटक कुटाइ खानुपरेको थियो, तम्घासको माटोमा धेरै पटक रगतसमेत बगाउनु भएको थियो, उहाँले ।

    बोमबहादुर जात–थरले खड्का हो, तर उहाँ आफूलाई ‘प्रदेज’ भन्नुहुन्थ्यो, त्यस बेला । मतलब, ‘प्रगतिशील, देशभक्त र जनवादी’ ! उहाँको समर्पण र निष्ठालाई नै व्यक्त गर्दथ्यो, यसले पनि । यी साथीहरूले मण्डले विरोधी लडाइँमा धेरै पटक कुटाई खानुपरेको थियो र गम्भीर घाइतेसमेत हुनुपरेको थियो । मण्डलेहरूबाट पटक पटक कुटाइ खाएर दाँत भाँचिएर सुन्निएको अनुहारसहित गम्भीरताका साथ कुरा गर्न आउनु भएका विजय पौडेल र कृष्ण पौडेललाई म अहिले पनि झलझली सम्झिरहेको छु ।

    अहिले पनि कृष्ण पौडेललाई भेट्दा वा उहाँका भाँच्चिएका अगाडिका दाँत देख्दा त्यस बेलाका घटनाहरू मेरो मस्तिष्कमा नाच्न थाल्छन् । त्यस बेला मण्डलेहरूको संगठन एउटा फासिष्ट संगठनका रूपमा विद्यार्थीहरू र आम जनताको बीचमा चिनिँदै थियो । वास्तवमा, त्यस बेला लुम्बिनीका हाम्रा युवा साथीहरूले निरङ्कुश व्यवस्थाले योजनाबद्ध रूपमा हुर्काएका फासिष्ट तत्त्वसित बहुतै साहसका साथ मुकाबिला गरिरहनुभएको थियो ।

    त्यो सम्मेलनमा मदन भण्डारीको उपस्थिति विशेष आकर्षणको विषय बनेको थियो । पार्टी भूमिगत नै भए पनि बिस्तारै बिस्तारै पार्टी पङ्क्तिभित्र उजागर हुँदै गरेको उहाँको व्यक्तित्वले सबैलाई आकर्षित गरिरहेको थियो, उहाँलाई नै केन्द्र गरेर पार्टीभित्र एक किसिमको आत्मविश्वास र भरोसाको भावना सञ्चार भइरहेको थियो ।

    लुम्बिनीमा पुगेपछि मलाई थाहा भयो – काठमाडौं बाहिर बुटवल–भैरहवा नै यस्तो ठाउँ रहेछ, जहाँ प्रशस्त पत्र–पत्रिकाहरू प्रकाशित हुँदा रहेछन्, अझ वामपन्थी विचार भएका पत्रकार र पत्रिकाहरूको संख्या उल्लेखनीय रहेको कुरा त त्यहीँ पुगेपछि मात्र जानकारी पाएँ, मैले ।  हामीहरूले आफ्नो कामलाई विस्तार गर्ने र व्यवस्थित गर्ने सिलसिलामा ती सबै पत्र–पत्रिकाहरूलाई अधिकतम उपयोग गर्ने – प्रयोग गर्ने नीति र योजना बनाएर लाग्यौँ ।

    भैरहवाबाट प्रकाशित हुने ‘दैनिक निर्णय’ होस्, ‘दैनिक लुम्बिनी’ होस्, वा ‘एक्सरे’ होस् वा पाल्पाबाट प्रकाशित हुने ‘सत्य’ साप्ताहिक होस् – यी सबैमा हामीहरूले कुनै न कुनै किसिमले आफ्नो प्रभाव, गतिविधि र पकडलाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रयत्न थालेका थियौँ । पार्टी पक्षधर केही साथीहरूले पुस्तक पसलहरू खोल्नुभएको थियो, ती पुस्तक पसलहरू हाम्रा लागि आफ्नो प्रभावबाट प्रकाशित भएका पुस्तक र पत्र–पत्रिकाहरू विक्री वितरण गर्ने महत्त्वपूर्ण ठाउँहरू मात्र थिएनन्, भूमिगत सम्पर्कका लागि खुला विन्दुहरू पनि थिए ।

    बुटवलका कृष्ण पाण्डे र बालकृष्ण चापागाईँ तथा पाल्पाको तानसेनमा मीनप्रसाद गैरेहरूले यो काम गरिरहनुभएको थियो । विभिन्न साथीहरू, खास गरी विद्यार्थी क्षेत्रका साथीहरूलाई यस क्षेत्रको काममा हामीले किटानीका साथ जिम्मेवारी पनि तोकेका थियौँ । यस किसिमको कामले राम्रै परिणाम दिन थालेको थियो ।

    लुम्बिनीमा पार्टी कामको जिम्मा लिएपछि त्यहाँका किसान जनताले चलाएका ऐतिहासिक संघर्षहरूबारे अध्ययन गर्ने, जाँच पडताल गर्ने, वर्तमान सन्दर्भमा शिक्षा र अनुभव लिने चाहनाले मलाई सार्है हुट्हुट्याइरहेको थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा लुम्बिनी अञ्चल एउटा उर्वर भूमिको रूपमा रहेको कुरा त्यहाँ काम गर्न थालेपछि मात्र मलाई राम्ररी थाहा हुँदै गयो । जति–जति मैले लुम्बिनीबारे बुझ्दै गएँ, त्यति नै लुम्बिनीलाई बुझ्ने मेरो त्यो चाहना झन् झन् जागृत बन्दै गएको थियो ।

    यस क्रममा मैले जीवराज आश्रित, मोदनाथ प्रश्रित, एकदेव आले, वामदेव गौतम, सिद्धिनाथ ज्ञवाली, देवेन्द्र घिमिरे, एकदेव ज्ञवाली, भीमनारायण थारु आदि स्थापित व्यक्तिहरूले निर्वाह गर्नुभएको भूमिका र योगदानलाई बुझ्ने मौका पाएँ । नेतृत्वदायी तहमा रहेका केशरमणि पोखरेलको विवादास्पद भूमिकाबारे पनि साथीहरूले बताउनु भएको थियो ।

    बर्रे संघर्षका डोबहरू

    तीसको दशकमा सिङ्गो अञ्चलमा कम्युनिष्ट पार्टीको (कमरेड पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट समूहको) नेतृत्वमा सञ्चालित किसानहरूको आन्दोलन; पछिल्लो समयमा सशस्त्र संघर्ष सञ्चालन गर्ने योजना अन्तर्गत भएको ‘बर्रे संघर्ष’; यस क्रममा भएको डरलाग्दो सरकारी दमन, गिरफ्तारी तथा त्यसको प्रतिरोध र ठूलो संख्यामा कार्यकर्ताहरूको पलायन आदि घटना–प्रसङ्गले लुम्बिनी अञ्चललाई नै कम्युनिष्ट पार्टीको ‘हट वेल्ट’का रूपमा चिनाएको थियो ।

    ‘बर्रे संघर्ष’ एउटा यस्तो संघर्ष थियो, जुन घटनामा सयौँको संख्यामा कार्यकर्ता तथा समर्थकहरूको गिरफ्तारी भएको थियो । (यसै प्रसंगमा गिरफ्तारीमा पर्नुभएका बेदुराम भुसाल, बुद्धिबहादुर रायमाझी, भेषराज ढुंगाना, रामचन्द्र पौडेल, हेमनाथ भुसाल र प्रभाकृष्ण पौडेल आदि साथीहरू लामो कारावासपछि रिहाइ हुने बित्तिकै भूमिगत ‘माले’ सितको सम्पर्कमा आएर पार्टी काममा जुटिसक्नु भएको थियो ।

    उहाँहरूमध्ये प्रायः सबै साथीहरूले त्यस बेलासम्म नेतृत्व गरिरहेका केशरमणिको अवसरवादी–आत्मसमर्पणवादी अडान र चरित्रप्रति असहमति जनाउँदै उनलाई अस्वीकार गरिसक्नु भएको थियो । धेरैको जेलभित्रै ‘झापाली क्रान्तिकारीहरू’सित सम्पर्क भइसकेको  थियो ।) यस क्रममा कम्युनिष्ट आन्दोलनमा नेता–कार्यकर्ताहरूको उल्लेखनीय पङ्क्ति समेत मैदानमा तयार  हुन पुगेको थियो । प्रतिरोधी भावनाले भरिएका, कम्युनिष्ट चेतना र समर्पणले ठूलो संख्यामा कार्यकर्ताहरू मैदानमा निक्लिएका थिए । भूमिगत र पूर्णकालीन भएर जनतालाई संगठित गर्ने क्रममा यिनीहरू तयार भएका थिए । गिरफ्तारी, जेल, यातना मात्र होइन; पलायन र निष्ठाच्यूतहरूको पङ्क्ति समेत देखा परेको थियो, त्यस बेला ।

    भूमिगत कालमा लुम्बिनीको पहाडी जिल्ला गुल्मीको कार्यक्षेत्रबाट विदा हुँदै एकजना अगुवा नेता ।

    एउटा अनौठो तर सुखद संयोग – यी सबै ऐतिहासिक प्रसंगसित गाँसिएका धेरै व्यक्तिहरू जीवित नै हुनुहुन्थ्यो । त्यति मात्र होइन, राजनीतिक रूपमै उहाँहरूमध्ये धेरै सक्रिय नै हुनुहुन्थ्यो । अझ, मेरा लागि सुखद संयोग नै थियो– तीमध्ये कतिपय त हाम्रै पार्टीमा हुनुहुन्थ्यो, एउटै कमिटीमा समेत थियौँ । आन्दोलनको जीवित इतिहासका रूपमा रहनुभएका आदरणीय सिद्धिनाथ ज्ञवाली, आन्दोलनको खोज अनुसन्धान तथा समीक्षामा विशेष रुचि राख्ने देवेन्द्र घिमिरे, थारु समुदायबाट आसलाग्दो किसिमले विकसित हुनुभएका भीमनारायण थारु, लोकप्रियता, सहजता र सिर्जनाका धनी कमल श्रेष्ठ; गिरफ्तारी, यातना र लामो जेल जीवनको प्रतिकूलतामा पनि आस्थाको धरहरालाई झुक्न नदिने र सधैँ अध्ययन–चिन्तन–मननमा रुचि राख्नुहुने बेदुराम भुसाल; आफ्नो औपचारिक अध्ययनको सिलसिलामा कलेजमा प्रवेशसम्म नपाए पनि स्वअध्ययन, लेखन तथा संगठित प्रस्तुतिका हिसाबले लोभलाग्दो किसिमले हुर्किरहनुभएका प्रदीप ज्ञवाली; प्रतिकूलतामा पनि कम्युनिष्ट आन्दोलनमा लागेर जीवन बिताउन प्रतिबद्ध शान्ता मानवी, कम्युनिष्टका रूपमा चिनिएका गुणनिधि भुसाल; संघर्षशील र किसान जनताको बीचमा स्थापित पीताम्बर भुसाल र टंक पोखरेल आदि लगायतका थुप्रै साथीहरू संगठित रूपमा क्रियाशील रहेको मैले पाएको थिएँ । यी सबै साथीहरू आ–आफ्ना ठाउँमा स्थापित, क्रियाशील र यसैकारणले अगुवासमेत हुनुहुन्थ्यो ।

    हाम्रो पार्टीमा बाहेक अन्य वाम समूहहरूमा पनि यस्तो ऐतिहासिक पृष्ठभूमि भएका साथीहरू  हुनुहुन्थ्यो । ‘माले’ पार्टीमा त हुनुहुन्थेन, तर सबै वामपन्थीहरूको बीचमा र आमजनसमुदायको बीचमा पनि लोकप्रिय हुनुहुन्थ्यो – बी.आर. राई । उहाँलाई मैले प्रत्यक्ष भेट त गर्न पाएको थिइनँ, तर उहाँका बारेमा मैले धेरै राम्रा र अनुकरणीय कुराहरू सुन्ने गरेको थिएँ । केशव ज्ञवाली, हरि ज्ञवाली र मोहनलाल आचार्य त्यस बेला कमरेड मनमोहन अधिकारीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)का त्यस क्षेत्रका स्थापित नेताहरूमा पर्नुहुन्थ्यो । उहाँहरूको प्रभाव र प्रतिष्ठा राम्रै थियो । हामी ‘माले’हरू त्यस बेला उहाँहरूलाई ‘संशोधनवादी’ कम्युनिष्टका रूपमा हेर्थ्यौँ । त्यस बेलाको हाम्रो दृष्टिकोणले यस्तै विश्लेषण गर्ने गरेको थियो । उग्र वामपन्थी अतिवादबाट हामी राम्ररी मुक्त नभइसकेका कारणले पनि हाम्रा कतिपय विश्लेषणहरू प्रभावित थिए – हेर्ने दृष्टिकोणमा समेत पनि यस्तै एकाङ्गीपन प्रकट हुने गरेको थियो ।

    जसलाई बिर्सिँदा अन्याय हुन्छ

    दलबहादुर राना, घनश्याम ज्ञवाली र यमनाथ पाठक–यी गाउँहरूका नेता मात्र नभएर सिंगो पूर्वी पाल्पा कै भूमिगत ‘माले’ पार्टीका उदीयमान नेताको रूपमा चिनिनुहुन्थ्यो । मैले लुम्बिनीमा पार्टी कामको जिम्मा लिएपछि चन्द्रगढी, झापामा रहेका जागरूक युवा भरत पोखरेल शिक्षकका रूपमा रही त्यस भेगलाई संगठित गर्ने काममा योगदान पुर्‍याउन आएपछि, धेरै लाभ पुगेको थियो । त्यस बेला भरतको राजनीतिक जागरूकता अत्यन्त उत्साहजनक थियो । यस्तै, भोजप्रसाद श्रेष्ठ स्थानीय तहमा स्थापित भइरहनु भएको थियो । यी गाउँमा यिनै साथीहरूको समीपमा मैले महत्त्वपूर्ण समय बिताएको छु ।

    म अहिले पनि सम्झन्छु– यमनाथ, उहाँकी आमा र स–साना नानीहरूलाई । यमनाथ सार्‍है असल र समर्पित लाग्नुहुथ्यो,  मलाई । माओवादीले सञ्चालन गरेको हिंसात्मक द्वन्द्वमा उहाँ सेनाको गोलीबाट मारिनु भएछ । सुनेँ, पछिल्लो कालमा माओवादीतिर लाग्नुभएको थियो रे ! उहाँ जता लागे पनि उहाँको हत्याको खबरले मेरो मनलाई विह्वल बनाएको थियो, त्यस बेला मलाई आफ्नो मन चिरिएजस्तो भएको थियो र मैले आमा, उहाँकी श्रीमती र स–साना नानीहरूलाई फेरि सम्झेको थिएँ । घनश्याम ज्ञवाली पनि माओवादी बनेका कारण मारिनु भएछ ! माओवादी हिंसाको अविवेकी अभियानले धेरै असल मानिसहरू मारिएको कुराले मेरो मनलाई छियाछिया पार्ने गरेको छ । अहिले यी तीन जनामा केवल दलबहादुर राना त्यस भेगको (नेकपा एमाले) को नेता भएर टिक्नुभएको छ ।

    तानसेन पश्चिमका छहरा र अर्गली, उत्तरतिरका दर्लमडाँडा र रम्घा, सिद्धेश्वर, देउराली, कुसुम खोला आदि सुन्दर गाउँहरू बिसौँ वर्ष बितिसक्दा पनि मेरो मनमस्तिष्कबाट हट्न सकेका छैनन् र यिनीहरूसित गाँसिएका अविस्मरणीय प्रसंंग र सानिध्यतालाई मैले बिर्सन सकेको छैन । यी पाल्पाको सबै दृश्यसित सधैँ गाँसिएर आउनुहुन्छ–एकप्रसाद भण्डारी, झपेन्द्र जी.सी., दयाराज बस्याल र कुलप्रसाद नेपाल । अर्घाखाँची, मैले पार्टी काम गर्दाको मनले विशेष खाएका जिल्लाहरू मध्येको एउटा जिल्ला !

    लुम्बिनीको पार्टी कामको प्रसंगमा गोपाल शाक्यको भूमिका र उहाँसित गाँसिएका प्रसङ्गको चर्चा नगर्दा अधूरो हुन्छ जस्तो लाग्छ मलाई । काठमाडौंको नेवार व्यापारी परिवारको छोरा गोपाल शुरुदेखि वामपन्थी राजनीतिबाट प्रभावित हुनुभयो । यस क्रममा ऐतिहासिक झापा संघर्षबाट प्रभावित हुनुभयो र यसैको पक्षमा गतिविधि गरेका कारण दश वर्षको लागि जेलसमेत पर्नुभयो । जेलमा त उहाँको झन् ‘झापाली क्रान्तिकारी’ बन्दीहरूसित प्रत्यक्ष सम्पर्क–सम्बन्ध हुन पुग्यो ।

    चार वर्षको अवधिमा मैले यो जिल्लालाई सयौँ पटक पूर्व–पश्चिम, उत्तर–दक्षिण हिँड्दै छिचोलेको छु । पाल्पाको पश्चिममा पर्ने छहराबाट खिदिम–हर्रा बोट हुँदै पाली, ढिकुरा–किमडाँडा–धनचौर हुँदै पश्चिम लागेर झिम्रुक नदी तरेको छु । अर्घाखाँचीमा धनचौर हाम्रो त्यस्तो आधार गाउँ थियो, जहाँ पीताम्बर भुसालले स्थापित नेताका रूपमा भूमिका खेलिरहनु भएको थियो । पीताम्बर जीको र पार्टीको पनि राम्रो प्रभाव भएका कारण भूमिगत ‘माले’ पार्टीको चौथो राष्ट्रिय महाधिवेशन गर्ने एउटा सम्भावित ठाउँका रूपमा भएको जाँच पडतालसमेत हामीले गरेका थियौँ ।

    माधव कुमार नेपाल र जीवराज आश्रितसहित मैले कार्यक्रमका लागि त्यो गाउँको सम्भावनाबारे राम्ररी जाँच पडताल गरेको थिएँ । तर पछि सबै प्रतिनिधिहरूलाई त्यहाँ सुरक्षित पुर्‍याउन जोखिमपूर्ण हुने विश्लेषणका आधारमा त्यो ठाउँमा महाधिवेशन हुन नसक्ने भनेर हामी निष्कर्षमा पुगेका थियौँ । पछि त्यही कार्यक्रम हामीले सिरहामा गर्‍यौँ । दक्षिण खाँची लाग्नुपर्दा सीतापुर हाम्रो महत्त्वपूर्ण आधार गाउँ थियो । नेत्र बहादुर क्षेत्रीलाई केन्द्र गरी हामी त्यस क्षेत्रमा आफ्ना गतिविधिहरू गर्ने गर्दथ्यौँ । खन, खनदह र हंसपुर सदरमुकाम उत्तरका हाम्रा महत्त्वपूर्ण आधार थिए ।

    अहिलेको सदरमुकाम सन्धिखर्क त्यस बेला ढिकुरा, किमडाँडा र अर्घा गाउँहरूमा बाँडिएको थियो भन्दा हुन्छ । त्यस बेला पनि सदरमुकाम रहेको चुत्राबेसी–सन्धीखर्कले हामीलाई राम्रो आधार दिएको थियो । त्यहाँ गुणनिधि भुसाल हाम्रा लागि मुख्य आधार हुनुहुन्थ्यो । गुल्मीका प्रायः धेरै गाउँहरू कम्युनिष्ट राजनीतिबाट प्रभावित थिए, रिडीको नामबाट बहु परिचित रुरु गाविसमा पर्ने भडकुवा गाउँ पुरानो आधार गाउँका रूपमा स्थापित थियो । युवराज ज्ञवालीले आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण समय त्यहीँ बिताउनु भएको र उहाँले गरेका कामका प्रभाव र असर भडकुवामा र त्यसका वरपर मात्र होइन, जिल्लाभरि नै देख्न सकिन्थ्यो ।

    त्यसो त लुम्बिनीमा कम्युनिष्ट पार्टीको राजनीतिक–सांगठनिक काममा विगतदेखि धेरै नेता–कार्यकर्ताहरूले भूमिका खेल्नु भएको छ – योगदान गर्नुभएको छ । एक समय कमरेड पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट समूहका नेता–कार्यकर्ताहरूले नेतृत्व गरेको, एकछत्र त्यसैको प्रभावमा रहेको लुम्बिनी, पछिल्लो कालमा विद्रोही ‘मुक्ति मोर्चा’ समूह हुँदै ‘माले’को प्रभावमा पुगेको थियो । ‘माले’ भएपछि त्यहाँ प्रदीप नेपाल, जीवराज आश्रित, मोदनाथ प्रश्रित, गोपाल शाक्य, डिबी सिंहहरूले नेतृत्व गर्नु भएको थियो । पछिल्लो समयमा प्रदीप नेपालपछि म पुगेको थिएँ म सम्भवतः लगातार लामो समयसम्म बस्ने सचिव थिएँ, त्यहाँ । …

    गोपाल शाक्यका दुर्दिन र कार्यकर्ताको आँसु

    लुम्बिनीको पार्टी कामको प्रसंगमा गोपाल शाक्यको भूमिका र उहाँसित गाँसिएका प्रसङ्गको चर्चा नगर्दा अधूरो हुन्छ जस्तो लाग्छ मलाई । काठमाडौंको नेवार व्यापारी परिवारको छोरा गोपाल शुरुदेखि वामपन्थी राजनीतिबाट प्रभावित हुनुभयो । यस क्रममा ऐतिहासिक झापा संघर्षबाट प्रभावित हुनुभयो र यसैको पक्षमा गतिविधि गरेका कारण दश वर्षको लागि जेलसमेत पर्नुभयो । जेलमा त उहाँको झन् ‘झापाली क्रान्तिकारी’ बन्दीहरूसित प्रत्यक्ष सम्पर्क–सम्बन्ध हुन पुग्यो । उहाँ झापाली क्रान्तिकारीहरूका त्यस बेलाका अगुवा सीपी मैनालीसहित नख्खु जेलबाट सुरूङ्ग खनी निस्कन सफल हुनुभयो । सुरूङ्गबाट भाग्नेहरूमध्ये केही साथीहरू गिरफ्तार हुनुभयो । तर गोपाल शत्रुका आँखा छल्दै भारतको आसाम पुग्नुभयो, त्यहीँबाट नेपालमा रहेका क्रान्तिकारीहरूको केन्द्र ‘कोकेन्द्र’ सित सम्पर्कमा आउनुभयो र सल्लाह अनुसार नै लुम्बिनीमा पुगेर भूमिगत काममा जुट्नुभयो ।

    उहाँले २०३४ साल साउनमा भारतको नौतनवाबाट लुम्बिनी प्रवेश गर्नुभएको थियो र त्यही सालको फागुनमा नवगठित कोके अन्तर्गत नवलपरासीको सचिव बनेर काम सम्हाल्न थाल्नुभएको थियो । त्यसपछि उहाँ ‘पश्चिम–दक्षिण क्षेत्र’ नामकरण गरिएको ‘लुम्बिनी’को सदस्य समेत हुनुभयो । यहीँबाट उहाँले २०३५ साउनमा सम्पन्न ‘कोके’ को ‘तेस्रो सम्मेलन’मा सहभागी हुनुभयो । जीवराज आश्रितपछि मोदनाथ प्रश्रितलाई त्यस क्षेत्रको सचिव बनाएपछि गोपाल त्यहाँको उपसचिव बन्नुभयो । २०३७ को जेठ महिनामा मोदनाथ प्रश्रित गिरफ्तार भएपछि गोपाल सचिव बन्नुभयो । गोपाल शाक्यको एउटा स्वभाव के थियो भने उहाँ गतिविधिहरूमा जति सक्रिय हुनुहुन्थ्यो – विकसित परिस्थितिअनुसार चिन्तन–मननमा पनि त्यत्तिकै अगाडि हुनुहुन्थ्यो ।

    शीतयुद्धले ढल्दो स्थितिसँगै अन्तर्राष्ट्रिय कम्युनिष्ट तथा समाजवादी आन्दोलनसित गाँसिएर उठेका थुप्रै प्रश्नहरूले उहाँको चिन्तनशील मनस्थितिलाई हल्लाइदिएको थियो । त्यसै प्रसंंगमा ‘माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्न नहुने’ र ‘सोभियत संघलाई कमजोरीहरूका बाबजुद समाजवादी मुलुक स्वीकार गर्नुपर्ने’ भन्ने विषयमा गोपालले बहस चलाउन थाल्नु भयो । गोपालले जतिसुकै जबर्जस्त रूपमा कुरा उठाए पनि त्यति बेलाको ‘माले’ पार्टीले त्यसलाई सुन्ने–स्वीकार गर्न सक्ने स्थिति नै थिएन ।

    स्थिति कस्तो बन्यो भने एकातिर गोपाल शाक्य आफ्ना विचारमा जबरजस्त रूपमा दृढ बनिरहनु भएको थियो भने अर्कोतर्फ ‘माले’ पार्टीको नेतृत्व पनि उहाँमा देखा परेको त्यो ‘विचलन’का विरुद्धमा कडा रूपमा प्रस्तुत हुने ‘मुड’मा थियो । परिणाम के भयो भने – २०३८ सालमा उहाँले (१४ बुँदे) फरक मतको लिखित दस्ताबेज पार्टीमा बुझाउनु भयो भने २०३९ साल चैतमा उहाँलाई पार्टीबाट हटाउने निर्णय गरियो । उहाँलाई पार्टीबाट हटाउने क्रममा त्यस बेला ‘माले’ पार्टीका महासचिव सीपी मैनालीले पार्टीका मान्यता ‘अटल, अचल र अविचारणीय’ भनी गोपाल शाक्यका विचारहरूलाई पूर्ण रूपले अस्वीकार गरिएको जानकारी गराउनु भएको थियो ।

    पार्टी सदस्यबाट निष्कासन गरिएपछि गोपाल शाक्यका दुर्दिनहरू सुरु भए । पार्टीबाट उहाँलाई कहीँ कतै खान–बस्नसमेत नदिन आदेश गरियो । गोपालको प्रभावमा रहेका कार्यकर्ताहरूले रुँदै पार्टीको त्यो निर्देशनको पालना गरे । यहाँसम्म कि सुकुमबासी बस्तीमा जनतन जीवन धान्न पुग्नु भएका गोपालजीका ससुरालाई रूपन्देहीको खैरेनीबाट उठीबास लगाइयो ! … त्यसपछि गोपाल एक किसिमले बिल्लीबाठ हुँदै भारत प्रवास र आफ्नो सम्पर्कमा रहेका विभिन्न जिल्लाका कार्यकर्ताहरूसित भेटघाटमा लाग्नु भयो ।

    जेल तोडेर भागेको खतरनाक क्रान्तिकारीको यो के हालत भयो होला ! तर ‘वामपन्थी एकता सम्मेलन मञ्च’ गठन गर्दै गोपाल अगाडि बढिरहनु भयो । त्यो बीचमा कम्युनिष्ट आन्दोलनबाट पलायन हुनुभएन, खाली आफ्नो पार्टीले लिएका उग्र वामपन्थी अतिवादी विचारप्रति कडा असहमति भने राख्न पछि पर्नुभएन । गोपालीजीको यो विचार, आचरण र गतिविधिले ‘माले’ पार्टीभित्र समेत केही बहस सिर्जना गरिदिएको थियो । त्यसै क्रममा मैले लुम्बिनीमा २०४४ सालको दसैँको बेला गोपालजीलाई भेटेको थिएँ, हामीले सँगै बसेर केही कुराहरू गरेका थियौँ । …

    गोपालजीले उठाउनु भएका विषयलाई लिएर पार्टीभित्रैको बहस पनि गहिरिन थाल्यो । उहाँमा कम्युनिष्ट आन्दोलन र विचारप्रति कायम रहेको निष्ठा, कायम राख्नु भएको राजनीतिक चरित्र र क्रियाशीलतालाई हेर्दै उहाँलाई पार्टीमा ल्याउनु पर्ने माग र दबाब बढ्दै गयो । पार्टी स्वयं पनि गोपालले उठाउनु भएका विषयमा औपचारिक छलफल गर्न तत्पर भयो । (केही समयपछि त हामीले औपचारिक रूपमै माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्तबाट हटाउने र सोभियत संघलाई केही कमजोरी सहितको समाजवादी मुलुक हो भन्ने निष्कर्ष निकालेका थियौँ ।) यस क्रममा माधव कुमार नेपाल र म सहितको दुई सदस्यीय आयोग गठन गरियो – त्यही आयोगले छानबिन गरी पार्टीमा बुझाएको प्रतिवेदनका आधारमा गोपालजी ‘माले’ पार्टीमा पुनः स्थापित हुनुभयो । २०४६ सालको चौथो राष्ट्रिय महाधिवेशनमा उहाँ प्रतिनिधि बनाइनु भयो र केन्द्रीय कमिटीमा समेत चुनिनुभयो ।

    कमरेड गोपाल शाक्य, हाम्रो पार्टीमा एउटा यस्तो दृष्टान्त हुनुहुन्छ, जसले विचारको बहसमा आफूलाई सधैँ दृढ राख्नुभयो र पार्टीमा पुनः स्थापित समेत हुनुभयो । यो संघर्षका बीचमा थुप्रै टिका–टिप्पणी, खतरा र अपमानसमेत उहाँले सहनु पर्‍यो । सिङ्गो परिवारले समेत यही नियती झेल्नुपर्‍यो । लुम्बिनीको पार्टी कामसित मात्र होइन, नेकपा (एमाले)को पार्टी जीवनमा गोपाल शाक्यप्रति यही पृष्ठभूमिका कारणले मेरो सधैँ आदर भाव रहिरहेको छ । जहिले पनि मलाई उहाँप्रति सम्मान भाव व्यक्त गरिरहूँ जस्तो लाग्छ ।

    मदन आश्रित र केपी ओलीको प्रसंग

    लुम्बिनीबाट जब मैले उपत्यकामा आउनुपर्ने भयो, त्यस बेला अञ्चल स्तरीय सम्मेलनको आयोजना गरिएको थियो र त्यो सम्मेलन त्यही मदन पोखरा र त्यहीँ केशवजीकै घरमा आयोजना गरिएको थियो । त्यो सम्मेलन भूमिगत “माले” पार्टीले आफ्नो चौथो महाधिवेशन आयोजना गरेको लगत्तै आयोजना गरिएको थियो । मदन भण्डारी त्यही चौथो राष्ट्रिय महाधिवेशनबाट पार्टीको महासचिवमा चुनिनु भएको थियो । लुम्बिनीको उक्त सम्मेलनमा मदन भण्डारी नवनिर्वाचित महासचिवको हैसियतले उपस्थित हुनुभएको थियो, जीवराज ‘आश्रित’ संगठन विभाग प्रमुख तथा वरिष्ठ नेताका रूपमा केपी शर्मा ओली मपछि लुम्बिनीको जिम्मेवारी लिने सचिव (वा इन्चार्ज) का रूपमा उपस्थित हुनुहुन्थ्यो ।

    त्यो सम्मेलनमा मदन भण्डारीको उपस्थिति विशेष आकर्षणको विषय बनेको थियो । पार्टी भूमिगत नै भए पनि बिस्तारै बिस्तारै पार्टी पङ्क्तिभित्र उजागर हुँदै गरेको उहाँको व्यक्तित्वले सबैलाई आकर्षित गरिरहेको थियो, उहाँलाई नै केन्द्र गरेर पार्टीभित्र एक किसिमको आत्मविश्वास र भरोसाको भावना सञ्चार भइरहेको थियो । उहाँको सारपूर्ण, आकर्षक र सुसङ्गठित प्रस्तुतिका कारण सिङ्गो पार्टी पङ्क्तिले नयाँ स्तरमा आत्मविश्वास प्राप्त गरिरहेको थियो । यस्तो अवस्थामा मदन भण्डारीको उपस्थितिले सिङ्गो कार्यक्रमकै महिमा, महत्त्व र गरिमालाई बढाएको थियो । … कार्यक्रममा उहाँले प्रमुख अतिथिका हैसियतले अत्यन्त सारपूर्ण मन्तव्य दिनुभएको थियो ।

    भरखरै सम्पन्न भएको चौथो राष्ट्रिय महाधिवेशनले पारित गरेका विचार, त्यसले निकालेका निष्कर्षहरूलाई उहाँले बडो सजीव किसिमले प्रस्तुत गर्नुभएको थियो । खास गरी पञ्चायती निरंकुशताका विरुद्धमा सम्भव सबै शक्तिहरूसित संयुक्त भएर अगाडि बढ्नुपर्ने अपरिहार्यता र यसका लागि पार्टीले लिँदै आएका कतिपय नीतिहरूमा समेत परिवर्तन गर्नुपर्ने – आवश्यकताबारे विशेष जोड दिनु भएको थियो । वृहत् राजनीतिक संयुक्त मोर्चाको बारेमा वहाँले उल्लेख गर्नुभएको थियो । यसका लागि वृहत् तयारीमा लाग्नुपर्ने– पार्टी पङ्क्ति त्यसको लागि स्पष्ट बन्दै परिचालित हुनुपर्ने कुरा राख्नु भएको थियो । यस्तै, आश्रित कमरेडहरूले नयाँ अवस्थामा संगठन निर्माण र परिचालनको बारेमा भनाइहरू राख्नुभएको  थियो । अन्तिममा के.पी. शर्मा ओलीलाई औपचारिक रूपमा सचिवको जिम्मेवारी हस्तान्तरण समेत गरिएको थियो ।

    सहयोद्वाहरुका साथ भूमिगत अवस्थामा ईश्वर पोखरेल ।

    …..सम्मेलनको समापन लगत्तै म आफ्नै नयाँ कार्यक्षेत्र– ‘काठमाडौं उपत्यका’का लागि हिँड्नुपर्ने मेरो योजना थियो । हिँड्ने बेलामा लुम्बिनीका अगुवा साथीहरूसित बिदा भएको थिएँ, पाल्पा खास गरी मदन पोखराका साथीहरूसित भारी मनका साथ बिदा लिएको थिएँ, केशवजीको परिवारसित बिदा हुँदा खास गरी आमासित बिदा हुने बेला त मैले आफ्ना गहका आँसुलाई रोक्नसमेत ज्यादै मुस्किल परेको थियो । उपत्यकामा हिँड्ने एक दिन अघि, दिनभरि बुटवल मिलन चोकको कोठामा बसेर ‘क्षेत्रीय कमिटी’ का साथीहरूसित समीक्षा गरेका थियौँ, आलोचना–आत्मालोचना गरेका थियौँ । सबै साथीहरूले खुला खुलस्त हिसाबले कुराहरू राख्नुभएको थियो, कमरेड देवेन्द्र घिमिरेले राख्नुभएका खराखरी कुराहरूलाई त अहिले पनि मैले बिर्सन सकेको छैन ।

    … सुख्खा नगरका ढालबहादुर ‘दाइ’ मेरा लागि त्यस्ता आदरणीय ‘दाइ’ हुनुहुन्थ्यो, जसको घरलाई पनि मैले आफ्नो विशेष बस्ने ठाउँ बनाएको थिएँ । केही समय त त्यो घरलाई सानोतिनो ‘हेडक्वार्टर’ नै बनाएको थिएँ, मेरा कतिपय महत्त्वपूर्ण ‘डकुमेन्ट’हरू र अन्य केही सामाग्रीहरू समेत त्यहाँ राख्ने गरेको थिएँ । बुटवल पुगेको बेला उहाँको घरमा रहेको कोठामा पुग्दा सहृदयताका साथ सन्चो–बिसन्चोबारे सोधपुछ गर्ने मात्र होइन, आफै अगाडि बसेर खाना–खाजासमेत खुवाउनु हुन्थ्यो । मैले लुम्बिनी रहँदाको अन्तिम समयतिर ढालबहादुरजीबाट पाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्न म उहाँकोमा पुगेको थिएँ । बिदा हुने बेलामा उहाँले विशेष आत्मीयता देखाउनु भएको थियो ।

    …लुम्बिनीमा म २०४२ कात्तिकमा पुगेको थिएँ । लगातार चार वर्ष पार्टी कामको सिलसिलामा त्यहाँ बिताउँदा बेलाबेलामा काठमाडौंमा ‘पार्टीको हेडक्वार्टर’मा पुगे – बैठकका कार्यक्रमहरूमा गएँ, नभए प्रायः सबै समय मैले त्यहीँ नै बिताएँ । काठमाडौं आउँदा मिरासित कहिलेकाहीँ भेट हुन्थ्यो, उनी काखको छोरा लिएर काभ्रेको ठूला पर्सेलबाट आएकी हुन्थिन् । ठूलो छोरा सिर्जन २०४२ साल कात्तिक ७ गते जन्मेको  थियो । ऊ जन्मेको केही समयपछि नै म मिरालाई छोडेर लुम्बिनी पुगेको थिएँ । लुम्बिनीमा पुगेपछि मैले पार्टी च्यानलबाट मिराको पत्र पाएको थिएँ – उनी काखको छोरा लिएर ठूला पर्सेलको पञ्चकन्या मा.वि.मा पठाउन गएकी थिइन् । त्यसै बेला त मलाई खासै केही लागेको थिएन ।

    तर, पछि पछि त्यस बेलाको मेरो अव्यवहारिक र अविवेकी रवैयाका कारण आफूलाई ग्लानि भइरह्यो । अहिले पनि सम्झँदा त्यस्तै अनुभूति हुन्छ । म त्यस्तो परिवारसित बेखबर भएर पार्टी कामका लागि लुम्बिनी पुगेपछि त्यस बेला सुदूर–पश्चिम क्षेत्रको जिम्मा लिनु भएका वामदेव गौतमले भेटमा मलाई व्यवहारिक हुन सम्झाउनु भएको थियो । त्यस बेला मभन्दा लामो पारिवारिक–निजी अनुभवमा खारिनु भएका वामदेव गौतमले भन्नुभएका कुरालाई मैले त्यति ध्यान दिइनँ । तर अहिले लाग्छ – कमरेड वामदेव गौतमले मलाई आफ्ना समृद्ध अनुभवको उचाइमा उभिएर ‘कमरेडली’ सल्लाह दिइरहनु भएको थियो शायद !

    त्यसै दिन ‘नाइट बस’ चढेर म काठमाडौं हिँडेको थिएँ, रातभरि झिमिक्कै नगरी मैले बाटो काटेको थिएँ र बाटोभरि लुम्बिनीमा काम गर्दाका घटना–प्रसंगहरू दिमागभरि नाचिरहेका थिए……!

  • भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक रहेको ट्रम्पको दाबी

    भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक रहेको ट्रम्पको दाबी

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहेको धारणा व्यक्त गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

    बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्तामा पुटिनले युद्ध अन्त्य गर्न इच्छुक देखिएको ट्रम्पले दाबी गरेका हुन् ।

    बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्कोमा राष्ट्रपति पुटिनसँग पाँच घण्टा लामो विस्तृत वार्ता गरेका थिए । उक्त छलफल सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन द्वन्द्वलाई अन्त्यतिर लैजान केन्द्रित थियो ।

    ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘पुटिनले हिजो जारेड कुशनर र स्टिभ विटकफसँग निकै सकारात्मक भेट गर्नुभयो । त्यसबाट के निष्कर्ष निस्किन्छ भन्ने अहिले भन्न सकिन्न, किनकि यस्तो प्रक्रियामा दुवै पक्षको बराबर प्रयास आवश्यक हुन्छ । तर हाम्रो प्रतिनिधिमण्डलले उहाँ युद्धको अन्त्यतिर लाग्नुभएको छ भन्ने अनुभूति लिएर फर्किएको छ ।’

    यद्यपि, क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले वार्तालाई ‘द्वन्द्व सुरु भएदेखि भएको सबैभन्दा व्यापक आदानप्रदान’ भने पनि मुख्य विषयमा कुनै ठोस सम्झौता नभएको पुष्टि गरे । उनका अनुसार समाधानका सम्भावित मार्गहरूको विस्तृत समीक्षा भए पनि प्रमुख विवादहरू यथावत् रहे ।

    रुसी पक्षबाट लगानी दूत किरिल दिमित्रिभसहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको उक्त वार्तामा अमेरिकाले नयाँ प्रस्तावहरू पेस गरेको पुष्टि गरिएको छ । तर युक्रेनी भूभागसँग सम्बन्धित जटिल मुद्दाहरू प्रमुख अवरोधका रूपमा रहिरहेका छन् ।

    उसाकोभका अनुसार दुवै पक्षले वार्ताको विवरण गोप्य राख्ने सहमति गरेका छन् । यद्यपि, उनले कूटनीतिक संवाद निरन्तर हुने उल्लेख गर्दै पुटिनले विटकफमार्फत राष्ट्रपति ट्रम्पलाई ‘महत्त्वपूर्ण राजनीतिक सन्देशहरू’ पठाएको बताएका छन् ।

    अमेरिकी प्रतिनिधिमण्डलसँग भेटभन्दा केहीअघि पुटिनले युरोपेली संलग्नताप्रति असन्तुष्टि व्यक्त गर्दै युरोपेली सङ्घ (इयु) का सरकारहरूले शान्ति प्रक्रियालाई अवरुद्ध गर्ने उद्देश्यले प्रस्तावहरू अघि सारिरहेको आरोप लगाएका थिए ।

  • क्रियाशील सदस्यता टुङ्ग्याउन जुट्यो कांग्रेस- २ दिनभित्र फाराम देशभर पठाउन निर्देशन

    क्रियाशील सदस्यता टुङ्ग्याउन जुट्यो कांग्रेस- २ दिनभित्र फाराम देशभर पठाउन निर्देशन

    काठमाडौं । १५ औँ महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय चाँडै टुङ्ग्याउने तयारी गरेको छ ।

    महामन्त्री गगन थापाले क्रियाशील व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएका छन् ।

    समितिका सदस्य प्रकाश रसाइली स्नेहीले भने, ‘हामीले अब दुई दिनभित्र नयाँ सदस्यताको फर्म देशभर पुर्‍याउँछौं । जनसङ्ख्या र क्लस्टर संरचनालाई समेत मापदण्डका रूपमा प्रयोग गरेर सदस्यताको विषय तोकिएको सयमै हामीले सम्पन्न गराउँछौँ ।’

    सदस्यता नवीकरणका लागि सबै जिल्लाले अब सक्रियतापूर्वक काम गर्ने बताए। भातृ संस्थाबारे पनि पदाधिकारी बैठक बसेर चाँडै टुङ्ग्याउने तयारी भइरहेको बताए ।

    महामन्त्री थापा संयोजक रहेको समितिमा स्नेहीसहित योगेन्द्र चौधरी र सीता गुरुङ सदस्य छन् ।

  • इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह

    इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।

    जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए ।

    उनका अनुसार फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने हुन्छ । तर दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ ।

    कसरी सर्छ ?

    फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लू लाग्न सक्छ ।

    लक्षण 

    ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुनु हो ।

    रोकथाम 

    बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने गर्नुपर्दछ । यस्तै बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ ।

  • अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

    अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

    काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।

    महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउछन्।

    “निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्”, उनी भन्छन् ।

    अव्यवस्थित रत्नापार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब रु ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।

    काठमाडौँ महानगरपालिकाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । महानगरपालिकाअन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।

    रत्नपार्कभित्र छिर्नका लागि हाल विद्यार्थीलाई रु २०, सर्वसाधारणलाई रु ३० र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई रु १०० लाग्ने गरेको छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले रु १००, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा रु पाँच हजार, विवाह फोटो सुटका लागि रु ५००, व्यावसायिकरूपमा फोटो खिच्नेले रु एक हजार ५०० र सांस्कृतिक पोशाक झल्काउन जानेले रु १०० शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । महानगरले रत्नपार्कबाट हाल वार्षिक रु ५० लाखदेखि एक करोडसम्म आम्दानी गर्दै आएको छ ।

    शंखधर उद्यान तथा रानीपोखरी एकाइका प्रमुख उत्तमकुमार घले पछिल्लो सयम रत्नपार्क छिर्नेको सङ्ख्या बढेको बताउछन् । रत्नपार्कभित्र चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ६१ हजार ५३७ जना प्रवेश गरेका छन् । तीमध्ये १२ हजार ८५० विद्यार्थी र ४८ हजार ६८७ रहेका छन् ।

    ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिलालाई रत्नापार्क प्रवेशमा शुल्क लाग्दैन । महानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा रु १८ लाख १४ हजार ४१० राजश्व सङ्कलन गरेको छ ।

    महानगरले रत्नपार्कभित्र क्यामरा लगेवापतको शुल्क रु दुई हजार ६००, व्यवसायिक रिलवापत रु एक हजार ५००, सर्वसाधारण प्रवेश शुल्क रु १४ लाख ६० हजार ६१०, विद्यार्थी प्रवेश शुल्क रु दुई लाख ५७ हजार, दोहोरी गीत म्युजिक भिडियो सुटिङवापत रु सात हजार, पर्यटक प्रवेश शुल्कवापत रु ७१ हजार ५००, ड्राइफुड पिकनिकवापत रु चार हजार २००, चलचित्र सुटिङवापत रु १० हजार आम्दानी गरेको छ ।

    रत्नपार्कमा हाल दैनिक ५०० देखि एक हजार व्यक्ति घुम्नका लागि आउने गरेका छन् । शनिबार र बिदाको दिनमा भने त्योभन्दा धेरै हुने गरेको उद्यानका प्रमुख घले बताउनुहुन्छ । रत्नपार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेका छन्  ।

    रत्नपार्कभित्र बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शंखधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको छ ।

    उद्यानका प्रमुख घले रत्नपार्कभित्र हाल पानीको अभाव रहेकाले बोटविरुवा संरक्षणमा समस्या परेको बताउनुहुन्छ । पानी ट्यांकरमा ल्याएर फूल तथा बोटविरुवालाई हाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उक्त उद्यानमा चाँडै नै पानीको फोहोरासमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ । रासस

  • लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

    लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ ।

    अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

    लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेषगरी ‘पिक आवर’मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    उनले भने, “राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दुरीका गाडीहरूले नियमविपरीत सडक रोकेर यात्रु उठाउने–झार्ने कार्यले जामलाई अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो ।”

    यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए । “ट्राफिक जामका कारण नागरिकको दैनिकीमा सिधा असर पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको छ”, उनले भने ।

    ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ । रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।

    यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनः इन्स्टल गर्नुपर्ने प्रवक्ता सुवेदीले बताए ।

    उनका अनुसार नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ । नयाँ व्यवस्था कार्यान्वयन भएपछि उपत्यकामा देखिँदै आएको अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट तथा यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको प्रवक्ता सुवेदीको भनाइ छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन र नागरिकलाई सहज आवागमन उपलब्ध गराउन ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाइएको छ । रासस

  • केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी

    केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी

    दाङ । नेकपा एमालेले आगामी महाधिवेशनबाट १० प्रतिशत केन्द्रीय सदस्य युवा छनौट गर्ने तयारी गरेको छ । प्रत्येक निर्वाचन क्षेत्र बाट १ जनागरी १ सय ६५ जना (४० वर्ष मुनिका) युवा महाधिवेशन प्रतिनिधि छनौट भइसकेका छन् ।

    युवा क्लस्टर बाहेक खुलाबाट पनि युवा प्रतिनिधि छानिएका छन् । करिब २ सयको हाराहारी युवा प्रतिनिधि छनौट भएको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसपटक केन्द्रीय कमिटीमा युवालाई १० प्रतिशत कोटा सुरक्षित गरिने छ ।

    तर, यसको आधिकारिक निर्णय भने महाधिवेशनको हलले नै गर्ने उनले बताए । यसपटक एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ । जसअनुसार १० प्रतिशतले करिब २५ जना युवाले एमालेको केन्द्रीय कमिटी सदस्य बन्ने अवसर पाउनेछन् ।

    नेपालका राजनीतिक दलमध्ये कोटा छुट्याएरै पालिकादेखि केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व गराउने एमाले पार्टी बनेको ज्ञवालीले बताए । एमाले यसअघि सेल कमिटीहरूमा एक तिहाइ, वडा कमिटीमा २५, पालिका कमिटीमा २० र जिल्ला कमिटीमा १५ प्रतिशत युवाको प्रतिनिधित्व गराइसकेको छ ।

  • तस्बिरमा योमरी पुन्ही तथा राष्ट्रिय ज्यापु दिवस

    तस्बिरमा योमरी पुन्ही तथा राष्ट्रिय ज्यापु दिवस

    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।

    मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।

    नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले यो:मरी पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन् ।

    यस वर्षको यो:मरि पूर्णिमा एबं राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं ५ हाँडीगाउँबाट निकालिएको छ र्याली हाँडिगाउँ बाट सुरु हुदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगं:था, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्य:र, असं,बालकुमारी,केलत्वा: , वंघ: , मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुदै बसन्तपुरमा समाप्त हुने आयोजकले जानकारी दिएको छ ।

    यो:मरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो मानिने यो पर्वलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

    काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरूले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् ।

    तस्बिरहरू : NPL

  • कांग्रेसले राष्ट्रियसभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

    कांग्रेसले राष्ट्रियसभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

    काठमाडौं । नेपाली कांग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ ।

    केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो ।

    ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’

    यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ ।

    यस्तै, ०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूलाई समेत कांग्रेसले उम्मेदवार बन्न रोकेको छ ।

  • हेराल्ड कलेजको २०२५ दीक्षान्त समारोह सम्पन्न, ९०० भन्दा बढी दिक्षित

    हेराल्ड कलेजको २०२५ दीक्षान्त समारोह सम्पन्न, ९०० भन्दा बढी दिक्षित

    काठमाडौं । नेपाल – हेराल्ड कलेज काठमाडौंले डिसेम्बर ३, २०२५ मा होटल याक एण्ड यतीमा भव्यरूपमा आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ।  समारोहमा कलेजका कूल ९०३ विद्यार्थीहरू दिक्षित भएका छन् । जसअन्तर्गत ६९७ जना BSc (Hons) Computer Science (BCS) स्नातक , ५२ जना BSc (Hons) International Business Management (BIBM) तथा २०६ जना International Master of Business Administration (IMBA) स्नातकोत्तर (मास्टर्स) तहका विद्यार्थीहरू रहेका छन्।

    यस वर्ष पनि कलेजले इनोभेट नेपाल ग्रुप (ING) द्वारा प्रदान गरिने प्रतिष्ठित पोस्टग्राजुएट स्कॉलरशिप मार्फत उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परा निरन्तरता दिएको छ। यस वर्षको छात्रवृत्ति ‘हेराल्ड कलेज – BSc (Hons) Computer Science’ का विद्यार्थी सक्षम शर्मालाई प्रदान गरिएको छ, जसले अब इस्लिङ्टन कलेजमा आफ्नो स्नातकोत्तर अध्ययन जारी राख्नेछन्। छात्रवृत्तिसँगै, शर्माले ING अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्।

    समारोहमा आफ्नो मुख्य सम्बोधन राख्दै इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका सरकारी निकायदेखि प्रतिष्ठित निजी क्षेत्रसम्म उत्कृष्ट स्थानमा कार्यरत रहेको उल्लेख गरे। उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट मानिनुका कारण विद्यार्थीहरू सूचना–प्रविधि क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बन्न सफल भएको बताउँदै, “यही शैक्षिक वातावरणले विद्यार्थीमा स्वअध्ययन र अनुसन्धान गर्ने संस्कृतिलाई अझ सबल बनाएको छ,” भन्ने धारणा व्यक्त गरे।

    दीक्षान्त समारोह विद्यार्थीहरूको शैक्षिक यात्राको एक महत्वपूर्ण मोडका रूपमा मनाइएको कलेजले जनाएको छ। हेराल्ड कलेज काठमाडौंले २०२५ मा उत्तीर्ण भएका सबै दिक्षित विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।

     

  • सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२५’ बाट सम्मानित

    सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२५’ बाट सम्मानित

    काठमाडौं । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र सुरक्षित बैंकिंङ्ग पहुँच पुर्‍याँउदै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । उक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ३, मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२५ को अवार्ड प्रदान गरेको छ ।

    बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले संयुक्त रुपमा बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२५ को सम्मान ग्रहण गरेका छन् । यस अघि बैंक अफ द ईयर २०२४ को अवार्ड समेत बैंकले प्राप्त गरिसकेर लगातार दुई पटक विश्वकै प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ ।

    समारोहमा करिब १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरु गरि करिब ४०० जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो । बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५को अवाड बैंकले प्राप्त गरी लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाँउदा अत्यन्त गौरबान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहक मैत्रि आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरुमाझ ल्याउनको लागि हौंसला मिलेको बताए ।

    त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस अवार्डको प्राप्ती संम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट संम्भव भएको बताउदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिंङ्गका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिवद्दता व्यक्त गरे । नेपालमा सन् २००२ देखि लगातार बैंकहरूले यस अवार्ड प्राप्त गरिरहेका छन् । हाल अस्तित्वमा रहेका ९ वटा बैंकले मात्र यो अवार्ड प्राप्त गरेका छन् ।

    द फाइनान्सियल टाईम्सले बार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसंम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ र यसै अनुरुप वर्ष २०२५ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • रेडक्रसमा मोनालाई दिइएको निमित्तको जिम्मेवारी गैरकानुनी, दैनिक प्रशासनिक काममात्र गर्न प्रशासनको आदेश

    रेडक्रसमा मोनालाई दिइएको निमित्तको जिम्मेवारी गैरकानुनी, दैनिक प्रशासनिक काममात्र गर्न प्रशासनको आदेश

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटीकी निर्देशक मोना अर्याललाई दिइएको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी गैरकानूनी ठहराएको छ ।

    प्रशासकीय अधिकृत जनक कोइरालाले हस्ताक्षर गरी पठाइएको पत्रमा उनलाई दैनिक प्रशासनिक र व्यवस्थापकीय कार्य साथै आर्थिक, रक्त सञ्चार एवं पानी, टेलिफोन, विद्युत महसुल भुक्तानीको काममात्र सम्पादन गर्न निर्देश गरेका छन् । कर्मचारी नियमावलीमा निर्देशकलाई एकपटकमा १ लाखको बजेटमात्र स्वीकृत गर्ने अधिकार छ ।

    ‘यसपूर्व कुनै व्यक्ति वा कार्यसमितिका पदाधिकारीबाट भनी तपाईँको नाममा जिम्मेवारी दिएको पत्र स्वत: निष्क्रिय एवं गैरकानूनी भएको समेत जानकारी गराउँछु’, प्रशासनले अर्याललाई पठाएको पत्रमा भनिएको छ । मोनालाई भूपतिलालले उपकार्यकारी निर्देशकमा बढुवा गरेर निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए ।

    गत बुधबार काठमाडौंका सीडीओ ईश्वरराज पौडेलले रेडक्रसको समस्या समाधान गर्ने विषयमा छलफल गरेका थिए । प्रशासनले विधान विपरीत गतिविधि, कार्यसमितिको मनोमानी, आर्थिक अनियमिततालगायतका विषयमा छानबिन गर्न एक समितिसमेत बनाएको छ ।

    राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रस अहिले प्रतिबन्धको जोखिममा छ ।

    जेनेभाले नेपालको समस्या नेपालबाटै होस् भनेर पटक-पटक अवसर दिएको थियो । तर, प्रतिबन्धमा परेका केही व्यक्तिले मुद्दा मामिला गरेका कारण गम्भीर संकटको अवस्था उत्पन्न छ ।

    प्रतिबन्धमा परेका प्राध्यापक सुदर्शन प्रसाद नेपाल भूपति श्रेष्ठ, मनोज थापा, विनोद बस्नेत र नारायण तिम्सिना लगायतले जेनेभालाई चुनौती दिन सर्वोच्चमा मुद्दा हालेका छन् । विनोदकुमार शर्मा नेतृत्वको तदर्थ समितिविरुद्ध दायर रिटमा अल्पकालीन आदेशपछि अहिले फेरि रेडक्रस नेतृत्वविहीन छ ।

  • १३ उपसचिवसहित ३१ कर्मचारीको सरुवा (सूचीसहित)

    १३ उपसचिवसहित ३१ कर्मचारीको सरुवा (सूचीसहित)

    काठमाडौं । १३ उपसचिवसहित ३१ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार १३ उपसचिव र १८ शाखा अधिकृत गरेर ३१ कर्मचारीको सरुवा गरेको हो ।

    ३१ कर्मचारीको सरुवा गर्दा १६ कर्मचारीलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

    ५ जनालाई नगरपालिका र ११ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

  • उँधौलीको अवसर पारेर आजबाट ‘अभिमन्यु: च्याप्टर १’ प्रदर्शनमा

    उँधौलीको अवसर पारेर आजबाट ‘अभिमन्यु: च्याप्टर १’ प्रदर्शनमा

    काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको अवसर पारेर आजबाट यो चलचित्र सोलो रिलिज भएको हो । चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् ।

    चलचित्रले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । चलचित्रको सोमबार राजधानीमा प्रिमियर गरिएको थियो। प्रिमियरमा उपस्थित अधिकांशले चलचित्रको तारिफ गरेका थिए। प्रिमियरमा पाएको प्रतिक्रियाजस्तै, दर्शकबाट पनि सकारात्मक वर्ड अफ माउथको अपेक्षा निर्माणपक्षले राखेको छ ।

    सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ को कथा मुकेश खनालले लेखेका छन् । चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायतका कलाकारको अभिनय छ । अतिथि भूमिकामा नायिका रेखा थापा पनि रहेकी छन् ।

    विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा विश्वव्यापी रिलिज भएको छ ।

  • मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

    मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

    विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

    दुर्घटनामा प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो विराटनगरको बरगाछी चोक नजिक कञ्चनबारीतर्फ जाँदै गरेको बा.प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    दुर्घटना लगत्तै सीआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते भएका खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो ।

    उपचारकै क्रमम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • ओलीलाई समर्थन गर्दै शेरबहादुर तामाङले गरे उपमहासचिवमा उठ्ने घोषणा

    ओलीलाई समर्थन गर्दै शेरबहादुर तामाङले गरे उपमहासचिवमा उठ्ने घोषणा

    काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबी गरेका हुन् ।

    तामाङ अहिले स्थायी कमिटी सदस्य छन् । महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएपछि आफूले अध्यक्ष ओलीको प्यानलबाट उपमहासचिवमा दाबी गरेको बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘मलाई अहिले उपमहासचिव पद उपयुक्त लागेकोले मैले दाबी गरेको हुँ । अध्यक्षसँग पनि कुरा गरिसकेको छु ।’

    उनले पार्टीभित्र यो वा त्यो समूह भन्दै प्रचार भइरहेकाले अध्यक्षले पनि प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्न ढोका खुला गरिसकेको जिकिर गरे ।

    तपाईँको उम्मेदवारी उपमहासचिवमा नै रहन्छ कि दाबी मात्रै हो भन्ने जिज्ञासामा उनले थपे, ‘मैले अहिले उपमहासचिव नै भनेको छु, अब हेरौँ महाधिवेशनसम्म के हुन्छ ।’

    सिन्धुपाल्चोक घर भएका तामाङ मन्त्रीसमेत भइसकेका छन् ।

  • एनपीएल-२ : पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

    एनपीएल-२ : पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान पक्का गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

  • टर्की अदालतको फैसला-सामाजिक सञ्जालमा लाइक्स कमेन्ट डिभोर्सको प्रमाण बन्छ

    टर्की अदालतको फैसला-सामाजिक सञ्जालमा लाइक्स कमेन्ट डिभोर्सको प्रमाण बन्छ

    काठमाडौं । टर्कीको कायसेरी शहरस्थित एक अदालतले सामाजिक सञ्जालमा गरिने ‘लाइक’ लाई पनि विश्वासघात वा वैवाहिक सम्बन्ध बिगार्ने पार्ने कार्य मान्न सकिने निर्णय सुनाएको छ । यस फैसलाले सामाजिक सञ्जालको व्यवहार नै विवाह विच्छेदका मुद्दामा प्रमुख प्रमाण बन्न सक्ने भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    रिपोर्टअनुसार, एक दम्पतीबीच चलेको मुद्दामा अदालतले फेसबुक/इन्स्टाग्राममा अरू व्यक्तिको सामग्री लाइक गर्नु वैवाहिक विश्वासमाथि आघात पुर‍्‍याउने र पति-पत्नीबीचको निष्ठाको आधार कमजोर गर्ने निष्कर्ष निकालेको हो ।

    अदालतले आफ्नो आदेशमा भनेको छ- ‘यदि सामाजिक सञ्जालमा गरिएको ‘लाइक’ वा प्रतिक्रिया यस्तो प्रकारको छ जसले वैवाहिक विश्वासमा चोट पुर्‍याउँछ भने, यसलाई विवाह विच्छेदका आधारमा समावेश गर्न सकिन्छ ।’

    कायसेरी अदालतको यस निर्णयलाई टर्कीमा पहिलो नैतिक-डिजिटल निर्णय मानिएको छ, जसले अबदेखि सामाजिक सञ्जालको व्यवहार कानुनी विवादमा ठोस प्रमाण बन्न सक्नेछ ।

    कानुनी विशेषज्ञहरूका अनुसार यसले आगामी वर्षहरूमा हजारौँ वैवाहिक विवादका मुद्दामा सामाजिक सञ्जालको गतिविधि छानबिनको दायरामा ल्याउनेछ । अदालतहरूले अब डिजिटल क्रियाकलापलाई ‘व्यक्तिगत-निजी व्यवहार’ मान्ने छैनन् ।

    टर्कीमा पछिल्ला वर्षहरूमा अनुचित मेसेजिङ, गोप्य च्याट, अनलाइन सम्बन्ध, अत्यधिक सामाजिक सञ्जाल सक्रियता विवाह टुट्ने प्रमुख कारणका रूपमा देखिएका छन्।

    कायसेरी अदालतको नयाँ फैसला यस प्रवृत्तिलाई कानुनी रूपमा अझ औपचारिक मान्यता दिएको विश्लेषकहरूको भनाइ छ ।

  • नाउपा नेपालले राष्ट्रियसभामा मुक्त कमैयालाई उम्मेदवार बनाउने, चुनावी तालमेलका लागि छलफल जारी

    नाउपा नेपालले राष्ट्रियसभामा मुक्त कमैयालाई उम्मेदवार बनाउने, चुनावी तालमेलका लागि छलफल जारी

    कैलाली । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले पनि उम्मेदवार उठाउने भएको छ ।

    संरक्षक रेशम चौधरीका अनुसार कमैया आन्दोलनकी अगुवा तथा मुक्त कमैया वार्ता टोली सदस्य हेमादेवी चौधरीलाई उम्मेदवार बनाउने तयारी गरिएको हो । उनी टिकापुर जिवनगर शिविरकी हुन् ।

    ‘हामीले कमैयाले मुक्ति पाएर मात्रै हुँदैन उनीहरूको अधिकार स्थापना गर्दै राज्यसत्तामा उहाँहरूको पहुँच हुनुपर्छ भन्दै आइरहेका छौँ ’ संरक्षक चौधरीले भने ‘नीति निर्माण गर्ने ठाउँमा उहाँहरूलाई पुराउनु पर्छ भनेरै मुक्त कमैयालाई उम्मेदवार बनाउन लागेका छौँ ।’

    २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जनामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

    १८ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । कोशी प्रदेशबाट तीन, मधेश प्रदेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई तथा लुम्बिनी प्रदेशबाट तीन जना निर्वाचित हुनेछन् ।

    निर्वाचनको लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । निर्वाचन आयोगका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

    सोही दिन उम्मेदवारी दिनेगरी अन्य दलहरूसँग पनि छलफल भइरहेको उनले बताए ।

    ‘हामीले उम्मेदवार उठाउन मात्रै लागेका छैनौँ उहाँलाई जिताउने पनि हो ’ उनले भने ‘हाम्रो मतले मात्रै जित्न सक्नुहुन्न, त्यसैले गठबन्धनको तयारी गरिरहेका छौँ । ’

    उनले माओवादी काङ्ग्रेससहितका दलहरूसँग चुनावी तालमेलको संवाद भइरहेको समेत जानकारी दिए ।