Blog

  • एमाले प्रतिनिधि छनौटमा दलित क्लस्टर समावेशी कि विभेदकारी ? यसो भन्छन् नेताहरू

    एमाले प्रतिनिधि छनौटमा दलित क्लस्टर समावेशी कि विभेदकारी ? यसो भन्छन् नेताहरू

    एमालेको प्रतिनिधि छनोटमा दलित क्लस्टर अलग्याउँदा आलोचना : ‘विभेदको नयाँ रूप’ भन्दै असन्तुष्टि बढेपछि एमालेको प्रतिवाद

    रूपन्देही । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केहीले असन्तुष्टि र आलोचना गरेका छन् ।  एमालेकै नेता–कार्यकर्ता र विभेदविरुद्धको अभियानमा लागेकाहरूले एमालेको यो निर्णयविरुद्ध कडा प्रतिवाद गरेका छन् भने एमालेइतर पक्षले यसलाई मसला बनाएका छन्।

    अधिकारकर्मीहरूले ‘समावेशीताको नाममा गरिएको नयाँ प्रकारको विभेद’ भएको आरोप लगाएका छन्। उनीहरूले एमालेले प्रतिनिधि छनोटमा दलित समुदायलाई भोटमै विभेद गरेको र अन्य आरक्षित कोटा (महिला, युवा आदि) लाई सबैले भोट हाल्न मिल्ने तर दलितहरूलाई भान्सामा जस्तै अलग राखेको भन्दै कडा आपत्ति जनाएका छन्।

    त्यसो त यो प्रक्रियाका विषयमा एमालेकै दलित मोर्चा ‘मुक्ति समाज’ मा आबद्ध नेताहरूलेसमेत कडा प्रतिवाद गरेपछि नेतृत्वलाई समस्या परेको हो। अधिवेशनमा दलित क्लस्टरका सदस्यलाई दलितले मात्र भोट हाल्ने व्यवस्था गरिएको भन्दै नेताहरूले निर्णय प्रक्रियामै प्रश्न उठाएका छन्। सामान्य निर्वाचन प्रणालीमा सबैले सबैलाई भोट दिने प्रचलन भए पनि यसपटक दलित उम्मेदवारका लागि गैरदलितले पनि भोट हाल्न नपाउने गरी प्रावधान बनाइएको थियो।

    यसरी छुट्याइएको व्यवस्थाले दलित समुदायलाई ‘पृथक् पहिचान’ को नाममा थप अलग्याउने कार्य गरेको भन्दै दलित नेता तथा प्रतिनिधिहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरू भन्छन्, ‘दलितका नाममा विभेद त गरियो नै, गैरदलितको पनि भोट हाल्ने अधिकार खोसिएको छ।’

    अभियन्ता सरिता बराइलीले यो विषयमा कडा टिप्पणी गर्दै भनेकी छन्, ‘गाउँघरको भोजभतेरमा अहिलेसम्म पनि बेग्लाबेग्लै भान्सा छ। दलित समुदायको घरमा पार्टी कार्यालय छ, तर त्यो घरमा खाजा र चिया चल्दैन; अर्को घरमा गएर खान्छन्। अनि यी कम्युनिस्ट हुन सक्छन् त अब ?’ त्यसैगरी विनोद गोतामे (विश्वकर्मा) भन्छन्, ‘विरोध मात्र होइन, एमालेजनहरूले भन्डाफोर नै गर्नुपर्छ।’

    रामकुमार छिनालले ‘अति गरे खति हुन्छ’ भन्ने कुरा एमालेले मात्र होइन, सबै दलले बुझ्न जरुरी रहेको बताएका छन्। एमाले नेता खेम नेपालीले असन्तुष्टि जनाउँदै भनेका छन्, ‘समाजमा पानी नचल्ने थियो, एमालेले भोट पनि नचल्ने बनायो। दलितले दलित मात्र चुन्न र चुनिन पाउने प्रावधान राखेर सामाजिक-सांस्कृतिक रूपमा उपेक्षित हामी रैथाने दलितलाई झन् साँघुरो र सङ्कीर्ण बनाइएको छ। फेरि पनि एकदमै अछुत बनाइएको छ। समाजमा पानी अचल त थियो नै, यसपटक मत पनि नचल्ने बनाएको छ।’ उनले थपे, ‘विगतमा एउटा दलित उम्मेदवारलाई सबैले भोट हाल्ने व्यवस्था थियो। तर यसपटक सबैको भोट दलितलाई नचल्ने र हाम्रो (दलितको) भोट पनि अरूलाई नचल्ने बनाइयो। हामीले अरूलाई हाल्न पनि पाइएन, उनीहरूले हामीलाई हाल्न पनि पाएनन्। खाली दलितले दलितलाई मात्र।’

    केहीले यसमा दलित नेताको भूमिका कमजोर भएको आरोप लगाएका छन्। दलित नेताहरूले पार्टीभित्र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका नखेलेको र वरिष्ठ नेतासामु लाचारजस्तै देखिएको आरोप पनि छ।

    आलोचकहरू भन्छन्, ‘नेतृत्वसँग चाकडी र जीहजुरीको संस्कृतिमा अड्किएर दलित नेताहरूले पनि समुदायको समस्यामा स्पष्ट आवाज उठाउन सकेका छैनन्, जसले गलत निर्णयलाई पनि वैधता दिएको छ।’ दलित, महिला, मजदुरसहित सबै क्लस्टरका प्रतिनिधिलाई एकै ठाउँमा, एकै मतदाता समूहबाट मतदान गराउनुपर्ने माग बढिरहेको छ। यसले आपसी परिचय, सहभोज, सहकार्य र सम्मान बढाउने भन्दै दलित समुदायका प्रतिनिधिहरूले पार्टीलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। उनीहरूले अब ‘सिकार होइन, सिकाइ’ मानेर सच्याएर अघि बढ्न सुझाव दिएका छन्। दलित अधिकारकर्मीहरूका अनुसार यो घटना नकारात्मक भए पनि सुधारको अवसर पनि हो। ‘समाज समदर्शी बन्न नेतृत्व वर्गले विभेद हटाउने व्यावहारिक अभ्यास देखाउनुपर्छ,’ उनीहरूको सुझाव छ।

    सामाजिक विभेदविरुद्धको अभियानमा सक्रिय एमालेकै कार्यकर्ता ऋषिराम आचार्यले अहिलेको अधिवेशनमा फेरि गल्ती भएको जनाएका छन् ।

    उनले भने- दलित क्लस्टर भनेर छुट्याउँदा बिल्कुल अलग गरिएको रहेछ। दलितले दलितलाई मात्र भोट हाल्ने काम भएको छ। हाम्रो अभ्यास सबैले सबैलाई भोट हाल्ने हो र गर्ने पनि त्यही हो। सबैले भोट दिने गरी निर्णय गरेको भए राम्रो हुन्थ्यो। निर्णयकर्ताहरूले दलित समुदायलाई अलग क्लस्टरमा राखेर अलग्गै निर्वाचन गराए। गैरदलित समुदायलाई पनि दलित समुदायका उम्मेदवारहरूलाई भोट हाल्ने अवसर दिएनन्। दलितका नाममा विभेद त गरे नै, गैरदलित समुदायको पनि भोट हाल्न पाउने अधिकार खोसे। दलित समुदायलाई विग्रहको पिण्ड दिएजस्तो व्यवहार गरे । अब महिला, मजदुर र दलितलगायत सबै क्लस्टरहरूलाई सँगसँगै भोट हाल्ने अवसर दिऔँ। सबैले सबैलाई चिनौँ। पारिवारिक वातावरण बनाऔँ। आपसी हात मिलाऔँ। सहभोज गरौँ। सद्भाव बढाऔँ। सम्मान दिऔँ, सम्मान लिऔँ। निर्णय प्रक्रियामा सबै वर्ग र समुदायको सहभागिता हुनुपर्छ। दलित नेताहरूको सहभागितामा निर्णय भएको भए सायद अलि उपयुक्त हुन्थ्यो कि ?’

    अभियन्ता आचार्यले दलित नेताहरू बाहुनको सङ्गतमा लाचार बनेर जे भन्छन् ‘हस हस’ भन्दै पछिपछि हिँडेकाले यस्तो भएको भन्दै आलोचना गरेका छन्। ‘त्यहाँ पनि चाकडी, चाप्लुसी र जीहजुरी गरेर सधैँ सत्तामा रहने मनोविज्ञान देखिन्छ। तिनीहरू खुलेर बोल्दैनन्। आफ्नो समुदायको हितभन्दा आफ्नो हित प्राथमिकतामा राख्छन्। त्यसैले यो उपेक्षामूलक निर्णय हो। अपमानजनक निर्णय हो। यसबाट दलित र गैरदलित दुवैलाई अपमान भएको छ। तर पनि यो सिकाइ पनि हो। अरू दलले पनि सिक्ने हो। यसलाई सिकाइका दृष्टिले सकारात्मक र प्रभावका दृष्टिले नकारात्मक रूपमा लिनुपर्छ। यसलाई तुरुन्त सच्याउनुपर्छ। समावेशी, सरल र सादगी बनौँ। ‘पण्डिताः समदर्शिनः’ को आदर्शबाट प्रेरित भएर विभेद र अपमान छोडेर सभ्य समाज बनाऔँ। सबै त्रुटि सच्याउँदै अघि बढौँ। एक दिन समानताको खुसियाली संसारमा पुग्नेछौँ।’

    मुक्ति समाजका नेता मानबहादुर विश्वकर्मा भन्छन्, ‘नेकपा एमालेको महाधिवेशनमा सबै क्लस्टरमा सबैले भोट हाल्न पाइने, तर पार्टीकै सङ्गठित सदस्य भए पनि मुक्ति समाजका सदस्यले भोट हाल्न नपाइने; विभेद भएन र ? यो सन्देश सबै पार्टीका हामी सङ्गठित सदस्य र सिङ्गो मुक्ति समाजका सदस्यहरूको आवाज हो। पार्टी नेतृत्वले छिटोभन्दा छिटो बुझोस्।’ एलबी क्षेत्री भन्छन्, ‘विश्वमै नभएको विषय। पढ्दा र सुन्दा पनि अचम्मको कुरा। यस्तै नियम हो भने अल्पसंख्यक दलितहरूलाई कुल मतको २६ प्रतिशत मात्र ल्याउन सके विजयी बनाउनुपर्छ। होइन भने भाषणचाहिँ तीन बित्ताको अनि चलनचाहिँ सङ्कीर्णताको ? ‘वसुधैव कुटुम्बकम्’ भन्ने नारा कता सेलायो ?’ मुक्ति समाजका अर्का कार्यकर्ता किशोर सेन्चुरी भन्छन्, ‘एमाले केन्द्रीय प्रतिनिधि छनोटमा जातीय भेदभाव कायम नै छ भन्ने बुझिन्छ।’ एमाले नेता जुद्धबहादुर विश्वकर्माले आक्रोश पोख्दै भनेका छन्, ‘विभेदकारी विधिलाई नसच्याउने हो भने यसविरुद्ध निर्णायक आन्दोलनको तयारीमा लाग्नुपर्दछ।’

    दलित समुदायबाट नेकपा एमालेमा पहिलोपटक पार्टी पदाधिकारी पुगेका सचिव छविलाल विश्वकर्माले यो समुदायको प्रतिनिधित्व अनिवार्य समेट्न यो विधि अपनाइएको, तर यसमा केही सुधारका सुझाव आएकाले अर्को पटकलाई ध्यान दिनुपर्ने बताए। उनले प्रतिशतका आधारमा यो समुदायको प्रतिनिधित्व निकै कम भएको विषय सत्य रहेको जनाए।

    सचिव छविलाल विश्वकर्मा ।

    ‘खुला लड्दा प्रतिनिधित्व आउने ग्यारेन्टी नहुने हुँदा यसो गरिएको हो। तर यो पूर्ण रूपमा ठीक भयो भन्ने होइन। कुनै विधि तय गरेपछि त्यसमा आएका सुझावलाई समेटेर अर्को पटकलाई नयाँ बनाउन सकिन्छ। तर एमालेले यो गरेर गलत गरेको छ भन्ने गरी व्याख्या गरिनु उचित होइन। हो, सुधार गर्ने पक्षलाई हामीले स्वीकार गरेरै जानेछौँ। तर त्यो सुझाव दिने साथीहरूले समयअघि दिएको भए राम्रो हुने थियो। हिजो यो विधि तय गरेपछि आन्तरिक सर्कुलर त भएकै थियो नि,’ उनले भने।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने यसको प्रतिवाद गरेका छन्। उनले भनेका छन्, ‘एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ। यथार्थ के हो भने—महाधिवेशनमा दलित र गैरदलित दुवै सदस्यले एउटै क्लस्टरमा रहेर भोट हाल्नसमेत पाउँछन्। उनीहरूलाई त्यहाँ चुन्न र चुनिने दुवै अधिकार सुरक्षित छ। तर दलित समावेशी क्लस्टरमा जानेहरूले भने दलित प्रतिनिधि चयनका लागि मात्र भोट हाल्दछन्। यो व्यवस्था पार्टीले समावेशी सिद्धान्त लागू गरेदेखिकै हो। भविष्यमा सबैले सबैका लागि भोट हाल्ने गरी दलित समावेशीताको नयाँ व्यवस्था गरौँ भन्ने कुरामा पार्टीको असहमति रहनुपर्ने कुनै कारण छैन।’

    दलित शब्दको ठाउँमा ‘शिल्पी’ राख्ने बहस

    अभियन्ताहरूले ‘दलित’ शब्द हटाएर ‘शिल्पी’ जस्ता व्यवसाय–आधारित शब्द प्रयोग गर्नुपर्छ भन्ने धारणा अघि सारेका छन्। स्वर्ण, लौह, वस्त्र, चर्म, काष्ठ, वाद्य, नृत्य, गायन, क्षौर, ड्राइभिङ, वास्तु, मूर्तिलगायत विभिन्न शिल्पमा आधारित व्यवसाय कुनै एक जातकै क्षेत्रमा सीमित नरहेको भन्दै शिल्पलाई व्यावसायिक पहिचानका रूपमा प्रयोग गर्ने तर्क उनीहरूको छ। ५० सालपछि नेपालमा व्यवसाय जात–आधारित नभई बजार–आधारित बन्दै गएपछि ‘शिल्पी’ शब्दले समावेशी पहिचान दिन सक्ने विश्लेषकहरूको धारणा छ। तर व्यवहारमा श्रमलाई हेप्ने प्रवृत्ति अझै बलियो भएकाले शिल्पी समुदाय विभेदको सिकार बनेको जनाइएको छ।

    दलित समुदायका विज्ञहरूका अनुसार ‘दलित’ शब्द स्वयं ऐतिहासिक रूपमा हेयपूर्ण व्यवहार र छुवाछुतमार्फत तयार भएको पहिचान भएकाले आज पनि सम्मानजनक रूपमा ग्रहण हुन सकेको छैन। संविधान र कानुनमा बाध्यतावश राखिएको यो शब्दले समुदायभित्र आत्मसम्मानभन्दा पनि कलङ्कजस्तै महसुस गराउँछ भन्ने तर्क राखिएको छ। समाजमा गैरदलितको दिमागमा ‘दलित’ भनेपछि जुत्ता सिलाउने, हलो जोत्ने, आरन चलाउने, निहुरिने पेसागत पहिचानको पुरानो बिम्ब बन्छ, जसका कारण सम्मानजनक वातावरण बन्न नसकिरहेको उनीहरूको भनाइ छ।

  • कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

    कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।

    हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा थापाको बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताए ।

    वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज सार्वजनिक बिदा दिएको छ ।

  • चुनावी बाचा पूरा गर्दै मुख्यमन्त्री शाह- एकैदिन ५ सडक शुभारम्भ, २ पुलको शिलान्यास

    चुनावी बाचा पूरा गर्दै मुख्यमन्त्री शाह- एकैदिन ५ सडक शुभारम्भ, २ पुलको शिलान्यास

    कैलाली । कैलालीमा एकै दिन पाँच सडक निर्माण थालिएको छ । २ वटा पुलको शिलान्यास गरिएको छ ।

    सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले लम्की चुहा १ र मोहन्या ७ मा पर्ने लम्की खानेपानीदेखि राजकाँडा सम्म सडक कालोपत्रे, लम्की चुहा रिङरोड , जानकी र टीकापुर जोड्ने सडक स्तरोन्नति, महेन्द्र राजमार्ग -इन्टेक हाइड्रो हुँदै टीकापुर जोड्ने रणनीतिक मार्ग (केशर मार्ग), मोहन्याल ७ को चिसापानी- ९ सोल्टा सडक स्तरोन्नति आयोजना रिवन काटी निर्माण कार्यको प्रारम्भ गरेका थिए । त्यस्तै मोहन्याल- ७ मा पर्ने साँघुरे खोला, बादेखोलामा निर्माण गरिने पुलको शिलान्यास गरेका हुन् ।

    सुदूरपश्चिम प्रदेश सरकारले सडक तथा पुल निर्माणका लागिको आर्थिक वर्ष २०८१/०८२ मा बजेट विनियोजित गरेको थियो । लम्की खानेपानीदेखि राजकाँडासम्म सडक कालोपत्रेको लागत अनुमान रकम ६ करोड ६० लाख ९५ हजार ९ सय १४ रुपैयाँ ३० पैसा रहेको छ, भने आयोजनाको सम्झौता रकम ४ करोड ५६ लाख ९३ हजार ४ सय ४० रुपैयाँ ६० पैसा रहेको छ ।

    २०८२-०३-१७ गते सम्झौता मिति रहेको आयोजना १ वर्ष ६ महिनामा सम्पन्न गर्नुपर्ने छ । २.६५ किलोमिटर सडकको लम्बाई रहेको सडक निर्माणको जिम्मा एस.सी.एस.एन.एस/एच.बि.जेभी, सुर्खेतले लिएको छ ।

    लम्की चुहा रिङरोडको लागत अनुमान रकम ५ करोड ७९ लाख ६४ हजार २ सय १४ रुपैयाँ ३२ पैसा रहेको छ भने आयोजनाको सम्झौता रकम ४ करोड ३९ लाख ६४ हजार ५ सय ३० रुपैयाँ ४४ पैसा रहेको छ ।

    २०८२-०३-१७ गते सम्झौता मिति रहेको आयोजना २०८३-०३-२५ मा आयोजना सम्पन्न गर्नुपर्ने छ । निर्माण व्यवसायी तुलसी र निराजन जेभी टीकापुर न.पा., कैलालीले जिम्मा लिएको सडकको लम्बाई २.७ किलोमिटर रहेको छ ।

    यस्तै डुंडेझारी टीकापुर सडक स्तरोन्नतिको लागत अनुमान रकम ९ करोड ०८ लाख १८ हजार ५ सय ०५ रुपैयाँ ३ पैसा रहेको छ भने यो आयोजनाको सम्झौता रकम ६ करोड ०९ लाख २० हजार ८ सय ७७ रुपैयाँ ३५ पैसा रहेको छ । २०८२ -०३-२५ मा सम्झौता भएको आयोजनाको सम्पन्न मिति १ वर्ष ६ महिना रहेको छ । के। एन। एस।र अघि र श्रीपुर जे।भी। काठमाण्डौंले निर्माण जिम्मा पाएको सडकको लम्बाई ३।५ किलोमिटर रहेको छ ।

    केशरमार्गको लागत अनुमान रकम ८ करोड २६ लाख ६२ हजार ३४ रुपैयाँ ३२ पैसा रहेकोमा सम्झौता रकम ५ करोड ६२ लाख ६६ हजार ४ सय ७८ रुपैयाँ ७५ पैसा रहेको छ ।

    सम्झौता मिति २०८२ -३-१७ गते रहेको आयोजना १ वर्ष ६ महिना ९ दिनमा सम्पन्न गर्नुपर्ने छ । एस.सी.एस.एन.एस. एच.बि.जेभी, सुर्खेत निर्माण कम्पनी रहेको सडकको लम्बाई २.७किलोमिटर रहेको छ । चिसापानी-सोल्टा सडक स्तरोन्नति लागत अनुमान रकम ९ करोड ९९ लाख १२ हजार ३ सय २३ रुपैयाँ ५६ पैसा रहेकोमा सम्झौता रकम ६ करोड ६ लाख ९९ हजार ८ सय ९५ रुपैयाँ ४८ पैसा रहेको छ ।

    २०८-९-३-१७ मा सम्झौता मिति रहेको आयोजना सम्पन्न गर्नुपर्ने १ वर्ष ६ महिना रहेको छ । निर्माण व्यवसायी हिमसगरमाथा कन्स्ट्रक्सन प्रा। ली। भरतपुर ९ १०, चितवनले जिम्मा पाएको सडकको लम्बाई २.४ किलोमिटर रहेको छ ।

    साँघुरे खोला सडक पुलको लागत अनुमान रकम १५ करोड ६७ लाख १५ हजार ६ सय ६२ रुपैयाँ ५८ पैसा रहेकोमा सम्झौता रकम ११ करोड २१ लाख ६७ हजार ८ सय ६८ रुपैयाँ १३ पैसा रहेको छ । सम्झौता मिति २०८२-३-१७ रहेको आयोजना सम्पन्न २ वर्षमा सम्पन्न गर्नुपर्ने छ ।

    त्यसैगरी वादेखोला सडक पुल डिजाइन तथा निर्माण अनुमान रकम १७ करोड ४६ लाख १४ हजार ४ सय २४ रुपैयाँ ०८ पैसा रहेको परियोजनाको सम्झौता रकम १२ करोड ६० लाख ८० हजार ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

    २०८२-०३-१७ सम्झौता मिति रहेको परियोजना २ वर्षमा सम्पन्न गर्नुपर्ने छ । निर्माण व्यवसायी हिमसगरमाथा कन्स्ट्रक्सन प्रा। ली। भरतपुर ९ १० चितवनले जिम्मा लिएको छ ।

    सडक निर्माण कार्यको प्रारम्भ र दुई पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले चुनावी समयमा जनतासँग गरेका वाचा अनुरूप विकासका कार्यलाई तीव्रता दिएको बताएका छन् । आफ्नो क्षेत्रका जनताको वर्षौँदेखिको आवश्यकता—सडक तथा पुलको अभाव—समाधान गर्न प्रदेश सरकारले दृढ प्रयास थालेको उनको भनाई थियो ।

    मुख्यमन्त्री शाहले अब सुदूरपश्चिमलाई सधैँ पिछडिएको क्षेत्र भन्ने दृष्टिकोणबाट होइन, विकासको गतिमा अगाडि बढिरहेको सम्पन्न प्रदेश का रूपमा पहिचान गरिने वातावरण तयार गर्दै आफू अघि बढिरहेको बताए। पहाडका दुर्गम क्षेत्रमा विकासलाई गति दिन प्रदेश सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।
    भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएर सरकारले काम गरिरहको उनले बताए ।

    शाहले फुकोट कर्णाली, लोअर कर्णाली, अपर कर्णाली लगायतका हाइड्रोपावर परियोजनामा पनि प्रदेश सरकार सहकार्यका लागि तयार रहेको उल्लेख गरेका थिए।

  • रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार

    रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक उम्मेदवारका लागि आव्हान गरेको छ ।

    सो पार्टीले विहीबार एक सूचनामार्फत् फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरू गरेको प्रवक्ता मनिष झाले बताए ।

    उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले यसअघि जारी गरेको सूचनामा आवेदन शुल्क ५० हजार तोकिएको छ ।

    योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । उम्मेदवारी दिने समयावधि मंसिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ । उम्मेदवार छनोट रूपरेखाबारे विस्तृत रूपमा अध्ययन गर्न र निवेदनका लागि पार्टीको वेबसाइटमा हेर्न भनिएको छ ।

    -रासस

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

    त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ ।

    काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

  • आज बालुवाटारमा सर्वपक्षीय बैठक

    आज बालुवाटारमा सर्वपक्षीय बैठक

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा आज सर्वपक्षीय बैठक बस्दैछ । अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई आजको छलफलका लागि निम्त्याइएको छ ।

    माघ ११ को राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

  • आफू जहाँ गयो त्यहीँको लाइन काटिदिएको भन्दै हर्क साम्पाङले कुलमानमाथि थोपरे दोष

    आफू जहाँ गयो त्यहीँको लाइन काटिदिएको भन्दै हर्क साम्पाङले कुलमानमाथि थोपरे दोष

    विराटनगर । धरानका मेयर हर्क साम्पाङ यतिखेर संगठन विस्तारको दौडधुपमा छन् । उनले दर्ता गरेको श्रम संस्कृति पार्टीको विभिन्न जिल्लामा सभाहरू भइरहेको छ । तर, उनले आफ्नो कार्यक्रमलाई प्रभावित पार्न बिजुली काटिदिएको भन्दै ऊर्जमन्त्री कुलमान घिसिङमाथि दोष थोपरेका छन् ।

    विहीबार राति फेसबुकमा लेख्दै हर्क साम्पाङले आफु जहाँ गयो त्यहीँको लाइन काटिदिएको आरोप लगाए ।

    उनले लेखेका छन्, ‘कुलमान घिसिङ जी ! भोजपुर गएँ लाइन काटिदिनु भो, तालेजुङ गएँ लाइन काटिदिनु भो, संखुवा सभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो, अब हेटौँडा जाँदैछु त्यहाँ नि काटिदिनु है ! mcc लाई खुसी बनाउनु ! प्रभु शक्तिलाई खुसी पार्नु ल !’

  • एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

    एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

    काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

    ६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ।

  • मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै

    मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै

    जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको दाबी पेश गर्न ७ दलले तयारी गरेका छन् । हिजो एमालेबाहेकका ७ दलीय गठबन्धनको लामो छलफल लगभग सहमतिमा पुगेको नेताहरूले बताएका छन् ।

    नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आव्हानको समय सीमा आजसम्म छ ।

    गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार छन् । यहाँ एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । जसपा सभामुख लिने दाउमा छ ।

    १०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।

  • निसमदेखि भीमसम्म, यी हुन् एनपीएलमा द्रुत अर्धशतक हान्ने १२ ब्याटर

    निसमदेखि भीमसम्म, यी हुन् एनपीएलमा द्रुत अर्धशतक हान्ने १२ ब्याटर

    काठमाडौं । नेपालको एक दिवसीय टिमका सदस्य समेत रहेका ब्याट्सम्यान भीम शार्की रक्षात्मक ब्याटिङका लागि चिनिन्छन् । तर, एनपीएलमा आज उनले विष्फोटक ब्याटिङको नमूना देखाउँदै आफ्नो नयाँ परिचय दिए ।

    काठमाण्डु गोर्खाजका यी ब्याट्सम्यानले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक बनाए । आफ्नो शैलीविपरीत आक्रामक पावर हिटिङ गर्दै उनले काठमाण्डुलाई १६५ रनको बलियो स्कोरमा पुर्‍याएका थिए । र, यो इनिङले उनलाई प्लेयर अफ दि म्याचको पुरस्कार पनि दिलायो ।

    जारी सिजनमा १९ बलमा अर्धशतक हान्ने उनी पहिलो ब्याट्सम्यान भने होइनन् । यसअघि सुदूरपश्चिमका हर्मित सिंहले काठमाण्डु विरुद्ध नै १९ बलमा अर्धशतक हानेका थिए । एनपीएलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान भने उनीहरू दुवैले तोड्न सकेनन् । यो कीर्तिमान कसको नाममा छ त ?

    यहाँ हामी एनपीएलका दुवै सिजनमा अहिलेसम्म कम बलमा अर्धशतक हान्ने १२ ब्याटरको चर्चा गर्दैर्छौं, जसमा ५ नेपाली र ७ जना विदेशी नाम छन् ।

    कुशल मल्ल (२८ बल)

    पहिलो सिजनमा चितवन राइनोजका कप्तान कुशल मल्लले पहिलो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध २८ बलमा अर्धशतक हानेका थिए । ४६ रनमा दुई विकेट गएपछि चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४१ बलमा ७२ रन बनाए, जसमा ७ छक्का र ३ चौका सामेल थिए । उनको इनिङको मद्दतमा चितवनले ५ विकेट क्षतिमा १८० रन जोडेको थियो । खेल चितवनले जित्यो र मल्ल प्लेयर अफ द म्याच भए ।

    अनिलकुमार साह (२८ बल)

    दोस्रो सिजनमा जनकपुर बोल्ट्सका लागि अनिलकुमार साहले चितवन राइनोजविरुद्ध २८ बलमा अर्धशतक हाने । एनपीएलका अघिल्ला तीन म्याचमा ब्याट नचलेपछि साहको कप्तानी खोसिएको थियो । चौथो म्याचमा ड्रप भएका उनले पाँचौंमा सानदार पुनरागमन गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका साहले ३६ बलमा ३ छक्का र ४ चौकाको मद्दतले ६१ रन हानेर आउट भए, जतिबेला टिम जितको नजिकै पुगेको थियो । यही म्याचमा जनकपुरले सिजनको पहिलो जित निकाल्यो र साह म्यान अफ द म्याच भए ।

    स्टेफन स्किनाजी (२८ बल)

    पहिलो सिजनमा काठमाण्डुका ब्याट्सम्यान स्टेफन स्किनाजीले पनि २८ बलमा अर्धशतक प्रहार गरेका थिए । उनले पोखरा एभेन्जर्स विरुद्धको म्याचमा काठमाण्डुबाट ओपनिङ गर्दै अर्धशतक हानेका हुन् । पोखराले दिएको १३९ रनको लक्ष्य काठमाण्डुले १४.१ ओभरमै भेट्टायो । स्किनाजी प्लेयर अफ द म्याच बने ।

    ऋषि धवन (२७ बल)

    पोखरा एभेन्जर्सका भारतीय ब्याटर ऋषि धवनले आज भएको म्याचमा उत्कृष्ट प्रदर्शन गर्दै काठमाण्डुविरुद्ध २७ बलमा अर्धशतक हाने । तर, उनले टिमलाई जितसम्म डोर्‍याउन सकेनन् ।

    काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा ५५ रनमा ४ विकेट गुमाएपछि धवन ब्याटिङमा आएका थिए । उनले श्रीलंकन ब्याटर धनन्जय लक्षणसँग ७६ रनको बलियो साझेदारी गरे । ३१ बलमा ५४ रन बनाएर आउट भएका धवनले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

    जोन सिम्पसन (२५ बल)

    काठमाण्डु गोर्खाजका जोन सिम्पसनले दोस्रो सिजनमा चितवन राइनोज विरुद्ध २५ बलमा अर्धशतक प्रहार गरे । काठमाण्डुले २४ बलमै ३ विकेट गुमाएपछि ब्याटिङमा आएका उनले काउन्टर अट्याक गर्दै टिमलाई अघि बढाए । उनी २९ बलमा ६० रन बनाएर आउट भए । सिम्पसनको इनिङम ५ छक्का र तीन चौका सामेल थिए ।

    काठमाण्डुले १४२ रनको मध्यम स्कोर खडा गरेको थियो । जवाफमा चितवन ८९ रनमै रोकियो । सिम्पसन प्लेयर अफ दि म्याच बने ।

    कुशल भुर्तेल (२५ बल)

    पहिलो सिजनमा फ्लप रहेका पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दोस्रो सिजनको पहिलो म्याचमै शानदार प्रदर्शन गरेका थिए । यद्यपि, उनले आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

    विराटनगर बोल्ट्सले पहिले ब्याटिङ गर्दै २२० रनको विशाल स्कोर खडा गरेको थियो, जुन एनपीएलमा अहिलेसम्मकै ठूलो हो । पोखराले पनि कडा जवाफ दिँदै पावर प्लेका ६ ओभरभित्र केवल १ विकेट क्षतिमा ७७ रन जोड्यो । पहिलो विकेट छिट्टै गुमाएपछि भुर्तेल र ईंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटनबीच विष्फोटक साझेदारी भएको थियो ।

    यस म्याचमा कुशलले २५ बलमा अर्धशतक प्रहार गरे । उनी ३१ बलमा ५९ रन बनाएर आउट भएका थिए । कुशलले म्याचमा ४ छक्का र ५ चौका प्रहार गरे । विराटनगर ५३ रनको जित हात पारेको थियो ।

    माज सद्दाक (२४ बल)

    जनकपुर बोल्ट्सका ब्याट्सम्यान माज सद्दाकले जारी दोस्रो सिजनमा २४ बलमा अर्धशतक हानेका छन् । चितवन राइनोजविरुद्धको म्याचमा उनको जनकपुर बोल्ट्सबाट ओपनिङ गर्दै आक्रामक सुरुवात दिलाएका थिए । उनी ३० बलमा ६३ रन बनाएर आउट भए । खेलमा प्लेयर अफ द म्याचको पुरस्कार भने ६१ रन बनाएका अनिल साहलाई दिइयो ।

    २० वर्षीय सद्दाक पाकिस्तानी ब्याटिङ अलराउन्डर हुन् । उनीसँग पाकिस्तानको ए टिमबाट खेलेको अनुभव छ । उनी गत सिजनमा एनपीएलमा जोडिएका थिएनन् ।

    दीपेन्द्र सिंह ऐरी (२३ रन)

    सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले एनपीएलका दुवै सिजनमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका छन् । पहिलो सिजनमा उनी सर्वोत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडी चुनिएर कार पुरस्कार पनि जितेका थिए ।

    ऐरीले गत सिजनमा विराटनगर किङ्सविरुद्धको खेलमा २३ बलमै अर्धशतक हानेका थिए । सुदूरपश्चिमले ८९ रनमै ५ विकेट गुमाएपछि सातौँ नम्बरमा ब्याटिङमा आएका थिए उनी । उनले टिमबाट संकटबाट मात्र निकालेनन्, १८२ रनको मजबुत स्कोरमा पुर्‍याए । सुदूरपश्चिमले ९० रनको विशाल अन्तरले खेल जित्यो र ऐरी प्लेयर अफ दि म्याच पनि भए ।

    मार्क वाट (२२ बल)

    दोस्रो सिजनमा कर्णाली याक्स खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको छ । तर, यही टिमका केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, जसमध्ये एक हुन् स्कटिस खेलाडी मार्क वाट ।

    कर्णालीका मार्क वाटले दोस्रो सिजनमा पोखराविरुद्ध २२ बलमै अर्धशतक प्रहार गरे । पोखराले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मार्क वाटले आक्रामक सुरुवात दिलाएका थिए । उनले ३४ बलमा ५ छक्का र ४ चौका सहित ५९ रन प्रहार गरे । तर, टिमलाई जित दिलाउन सकेनन् ।

    मार्क वाट यस सिजनमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म ६ खेलमा एक शतकसहित २४२ रन जोडिसके । रोचक चाहिँ के भने उनी खासमा ब्याट्सम्यान नभएर बलर हुन् । स्पिनरका रूपमा भित्र्याइए पनि ब्याटिङमा चम्केपछि पोखरालाई अतिरिक्त लाभ भएको छ ।

    हर्मित सिंह (१९ बल)

    सुदूरपश्चिमले एनपीएलको पहिलो सिजनमा जस्तै दोस्रो सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यस सिजनमा भारतीय मूलका अमेरिकी खेलाडी हरमित सिंहले सुदूरपश्चिमका लागि अलराउन्ड प्रदर्शन गरेका छन् ।

    काठमाण्डु गोर्खाजविरुद्धको म्याचमा हर्मितले १९ बलमा नै अर्धशतक हाने, जुन यो सिजनको सर्वाधिक द्रुत अर्धशतक हो । ६ विकेटमा सुदूरपश्चिमले ८ विकेट गुमाएका दयनीय स्थितिमा हर्मित ब्याटिङमा आएका थिए । उनले विष्फोटक काउन्टर अट्याक गर्दै सुदूरपश्चिमलाई १४७ रनको स्कोरमा उकाले । अन्ततः सुदूरपश्चिमले २९ रनले खेल जित्यो र हरमित प्लेयर अफ दि म्याच बने ।

    भीम सार्की

    आज भएको म्याचमा काठमाण्डुका भीम सार्कीले म्याच विनिङ प्रदर्शन गर्दै १९ बलमा अर्धशतक प्रहार गरे । प्राय रक्षात्मक शैलीमा खेल्ने भनेर आलोचित सार्कीले आफू टी २० का लागि पनि सक्षम रहेको प्रमाणित गरिदिएका छन् ।

    यसअघिका म्याचहरूमा खासै चल्न नसकेका सार्कीलाई पोखराविरुद्ध सातौँ नम्बरमा पठाइएको थियो । ७९ रनमा ४ विकेट गुमाएर लड्खडाइरहेको अवस्थाबाट काठमाण्डुलाई उकास्दै भिमले १६५ रनको मजबुत स्कोरमा पुर्‍याए । उनी २३ बलमा ५५ रन बनाएर अन्तिम ओभरमा आउट भए । भिमले आफ्नो इनिङमा ४ छक्का र ५ चौका प्रहार गरेका छन् । उनी प्लेयर अफ दि म्याच पनि भए ।

    जिम्मी निसम

    एनपीएलको पहिलो सिजनमा सर्वाधिक चम्केका ओभरसिज ब्याट्सम्यान हुन् न्युजिल्यान्डका जिम्मी निसम । जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन उनको अहम् भूमिका रह्यो ।

    समूह चरणमा चितवन राइनोजविरुद्धको म्याचमा निसमले १८ बलमा अर्धशतक बनाएर कीर्तिमान रचेका थिए । १८० रनको लक्ष्य पछ्याउने क्रममा निसमले २४ बलमा ६५ रन बनाएर आउट भए । उनले ६ छक्का र ५ चौका प्रहार गरेका थिए । खेल पनि जनकपुरले हारेको थियो ।

    निशमले बनाएको सर्वाधिक छिटो अर्धशतकको रेकर्ड अहिलेसम्म तोडिएको छैन ।

  • ह्यान्डबल सङ्घको अध्यक्षमा तिमिल्सिना

    ह्यान्डबल सङ्घको अध्यक्षमा तिमिल्सिना

    कास्की । पोखरामा सम्पन्न नेपाल ह्यान्डबल सङ्घको महाधिवेशनबाट सङ्घको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

    महाधिवेशनले आगामी चार वर्षका लागि सुनसरीका तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ खेलकुद विकास ऐन जारी भएपछि सङ्घको पहिलो महाधिवेशन भएको हो । सङ्घको उपाध्यक्षत्रयमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए ।

    यसैगरी महासचिवमा केशव पाठक, सचिवमा महेन्द्रबहादुर पुन र कोषाध्यक्षमा तस्विरा तामाङ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत निर्वाचित भएका छन् । रिक्त पदाधिकारी तथा सदस्य पद पछि मनोनयन गरिने निर्वाचन समितिका संयोजक कमल अर्यालले जानकारी दिए ।

    महाधिवेशनमा ४८ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । यसअघि पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल लामो समयअघि सकिए पनि विविध कारणले महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्यसचिवसमेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म सङ्घको नेतृत्व गरेका थिए ।

    यसअघि महाधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताए । उद्घाटन सत्रमा अन्तरराष्ट्रिय ह्यान्डबल सङ्घका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

  • सी डिभिजन लिग : दाजुभाइ एफसीलाई बढी गोल दिइएको भन्दै लिखु भुजी क्लबको आपत्ति

    सी डिभिजन लिग : दाजुभाइ एफसीलाई बढी गोल दिइएको भन्दै लिखु भुजी क्लबको आपत्ति

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सी डिभिजन लिग फुटबलमा हामी दाजुभाइ एफसीलाई बढी गोल दिएको भन्दै लिखु भुजी रामेछाप युवा क्लबले आपत्ति जनाएको छ ।

    मंसिर १० गते खेलका क्रममा बिना कारण रेफ्रीले दाजुभाइ एफसीलाई पेनाल्टी दिएको भन्दै हुम्ला फुटबल एकेडेमीले विरोध जनायो । हुम्ला एकेडेमीका खेलाडीले खेल बहिष्कार गरे ।

    त्यसपछि रेफ्रीले दाजुभाइ एफसीलाई विजयी घोषणा ग¥यो । खेल सकिएको ६ दिनपछि एन्फाले दाजुभाइ एफसी ८–० को गोलअन्तरले विजय हुँदै नकआउटमा प्रवेश गरेको निर्णय सुनायो ।

    एन्फाले सहिद स्मारक सी डिभिजन लिग क्वालिफायर प्रतियोगिता नियमावली बुँदा नम्बर ६.३ अनुसार खेल रोकिँदासम्म हानेको ५ गोल र बहिष्कार गरेको ३ गोल थप गरी दाजुभाइ एफसीलाई विजयी बनाएको उल्लेख गरेको छ ।

    एन्फाको उक्त निर्णयले दाजुभाइ एफसी नकआउट चरणमा प्रवेश ग¥यो । उक्त बुँदामा कुनै पनि अवस्थामा खेल रद्द भएमा, विपक्षी टोलीलाई ३–० स्कोर वा उच्चतम गोल भिन्नताका साथ ३ अंक प्रदान गरिने उल्लेख छ ।

    एन्फाको उक्त निर्णयमा दाजुभाइ एफसी र हुम्ला एकेडेमी रहेको समूह ‘बी’मा रहेको लिखु भुजी रामेछाप युवा क्लबले आपत्ति जनाएको हो । नियमअनुसार ३–० अथवा ५–० को नजिता दिनुपर्नेमा पक्षपातपूर्ण तरिकाले ८–० को नजिता दिइएको भन्दै क्लबले विरोध जनाएको छ ।

  • एनपीएल-२: सुदूरपश्चिमको जितले विराटनगर किंग्स प्लेअफमा

    एनपीएल-२: सुदूरपश्चिमको जितले विराटनगर किंग्स प्लेअफमा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई हराउँदा विराटनगर किंग्स प्लेअफमा प्रवेश गरेको छ ।

    आज भएको खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको थियो । योसँगै ६ खेलबाट ८ अंक जोडेको विराटनगर किंग्स प्लेअफमा पुगेको हो ।

    विराटनगरले लिग चरणको अन्तिम खेल सुदुरपश्चिमसँग खेल्नेछ ।

  • बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल

    बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन् ।

    एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला आज यहाँ सम्बोधन गर्दै उनले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौती भएकाले त्यसलाई सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताए ।

    “अहिलेका चुनौतीलाई सामना गरेर अनुकूल परिस्थिति निर्माण गरिसकेपछि नेतृत्वमा आउने चाहने हामीहरु फेरि प्रतिस्पर्धा गरौला,” उनले भने, “तर अहिलेको समय चुनौतीलाई सामना गर्ने बलियो नेतृत्व पार्टीमा चाहिएको छ ।”

    महासचिव पोखरेलले पार्टीमा रहर गर्ने साथीहरुलाई प्रतिस्पर्धा खुला रहेको समेत बताए । उनले पार्टीको तल्लो कार्यकर्ता तहभन्दा माथिल्लो तहमा समस्या रहेको बताए । “सङ्कट आउँदा माथिल्लो नेतृत्व तह विचलित हुन्छ । तर जति तल तह आयो त्यो सङ्कट समाधान हुन्छ,” उनले भने । उनले कार्यकर्ताले पार्टीको रक्षा गर्ने बताए ।

    महासचिव पोखरेलले पार्टीले बनाएका नीति अहिलेका चुनौती समाना गर्न प्रभावकारी स्पष्ट दृष्टिकोण रहेको बताए । उपत्यकाका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले अहिले नेतृत्वलाई बलियो बनाएर जाने बताए । कमिटीका अध्यक्ष प्रेम पराजुली महाधिवेशन सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

  • एनपीएल-२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

    एनपीएल-२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

    काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा अपराजित यात्रा कायमै राखेको छ । आफ्नो छैटौं खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो ।

    सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रनमा अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए पनि जित दिलाउन सकेनन् । देव खनाल २८, अर्जुन साउद १६, डेविड मलान ६, सैफ जैव ६, कप्तान कुशल मल्ल १५, अमर रौटेला ९, जर्ज स्क्रिम्श ०, कमलसिंह ऐरी ६ र रिजन ढकाल २ रनमा आउट भए । रञ्जित कुमार १ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका पुनित मेहराले ३, कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इसान पाण्डेले एक/एक विकेट लिए ।

    त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । उनी रिटाइर्ड हर्ट भए । लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

    ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवै २४–२४ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक/एक विकेट लिए । चितवनले एनपीएल–२ मा चौथो हार बेहोरेको छ । यो हारसँगै प्लेअफमा पुग्ने चितवनको सम्भावनामा कठिन बनेको छ ।

  • भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोद्वारा एक हजार २०० उडान रद्द

    भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोद्वारा एक हजार २०० उडान रद्द

    काठमाडौं । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन् । ठूलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।

    कम्पनीले अवरोधलाई प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूको लागि नयाँ नियमलगायतका ‘अप्रत्याशित परिचालन चुनौती’ का कारण आएको समस्या भनेको छ ।

    भारतको उड्डयन निगरानी निकायले अनुसन्धानको आदेश दिएको छ र सोमबारदेखि जारी अवरोधलाई कम गर्ने योजनाका साथ इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन गरेको छ ।

    उडान अवरूद्ध भएपछि बिहीबार हजारौँ यात्रु तथा उनीहरूका आफन्तले आफ्नो रिस सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै एक्समा आठ घण्टासम्म ढिलाइ हुँदासमेत ‘कुनै कर्मचारी’ सहयोगका लागि नआएको र विमानस्थलको अवस्था ‘पूर्ण अस्तव्यस्त’ बनेको बताए ।

    बुधबारसम्म इन्डिगोका एक हजार २३२ उडान रद्द गरिएको कम्पनीले जनाएको छ । तर कति विमानको उडानमा ढिलाइ भयो भन्नेबारे कुनै सङ्ख्या स्पष्ट छैन ।

    इन्डिगोले आफ्ना ग्राहकहरुलाई वैकल्पिक यात्रा व्यवस्था र फिर्ती प्रदान गरिरहेको जनाएको छ ।

    कम्पनीले ‘उल्लेख्य रूपमा’ यसका विमानको उडान कार्यक्रम अवरोध हुनुमा आंशिक रूपमा नयाँ ‘क्रू रोस्टरिङ’ नियमसँगसँगै अन्य प्राविधिक कारणहरू जिम्मेवार रहेको उल्लेख गरेको छ ।

    यात्रु सुरक्षा बढाउनका लागि चालक र चालक दललाई बढी आराम दिने लक्ष्य राखिएको यो नियम गत महिनादेखि सुरू भएको थियो ।

    यो अवरोध समयनिष्ठतामा आफ्नो प्रतिष्ठा निर्माण गरेको ‘नो–फ्रिल्स क्यारियर’को लागि अर्को झट्का हो ।

    गत साता एयरबसले विश्वभर छ हजार विमानको तत्काल अपग्रेडका लागि अलर्ट जारी गरेपछि इन्डिगोका २०० विमान प्रभावित भएका थिए ।

    एक दिनमा करिब पाँचलाख यात्रुलाई हवाई सेवा दिने भारत विश्वको सबैभन्दा द्रुत बृद्धि भइरहेको उड्डयन बजारहरूमध्ये एक हो ।

    – रासस/एएफपी

  • नेकपा एमालेको आगामी बाटो

    नेकपा एमालेको आगामी बाटो

    नेपालको कम्युनिस्ट तथा राष्ट्रिय स्वाभिमानको आन्दोलनको मूल नेतृत्व दल नेकपा एमालेमाथि आज चौतर्फी आक्रमण छ । यस परिस्थिति निर्माणका कारणहरू बिस्तारै उजागर हुँदै जनताले बुझ्ने तहमा जालान् । भोलि इतिहासमा पनि लेखिने नै छ । नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ता उच्च मनोबलका साथ क्रियाशील भएर भोलिका दिनमा नेपाली जनता नेकपा एमाले पार्टी र यसको अभियानको पक्षमा उभिने कुरा शाश्वत छ ।

    नेकपा एमालेले नेपाल राष्ट्र नेपाली जनताको पक्षमा गरेका असल दीर्घकालीन र युगान्तकारी कामहरू नयाँ पुस्तालाई प्रवाह गर्न वा बुझाउन पो सकेनौँ कि अथवा नयाँ पुस्ताले विश्वका विभिन्न मुलुकसँग नेपालका विभिन्न विषयहरूमा विभिन्न सञ्चारमाध्यमबाट तुलनात्मक अध्ययन गर्दा सन्तुष्ट भएनन् कि यसको मार्क्सवादी हिसाबले गहिरो विश्लेषण गर्नुपर्ने जरुरी छ ।

    हामीले गरेका भौतिक विकासले मात्र नभएर जनताको आक्रोश र असन्तुष्टिहरूमा टेकेर अदृश्य शक्तिहरूले गरेको चलखेललाई समयमै ध्यान पुर्‍याउन नसक्दा आज देश विध्वंस र राज्य आतंकमा परिणत हुँदै धेरै ऐतिहासिक र राष्ट्रिय महत्वका संरचना नष्ट हुँदा भौतिक विकासका र आर्थिक हिसाबले धेरै वर्षपछाडि धकेल्नुका साथै नागरिकको ज्यान र धनको अपूरणीय क्षति भएको छ ।

    राष्ट्रियता र भौतिक पूर्वाधारको विकासको पक्षमा मानक स्थापित गरेको पार्टी र नेतृत्व माथिसमेत गम्भीर प्रहार भएको छ । नेकपा एमाले पार्टी र यसको नेतृत्वहरूप्रति जनआक्रोश इतिहासमै सबैभन्दा उच्च बिन्दुमा पुगेको अवस्थामा जनताको यस आक्रोशपूर्ण भावनालाई आत्म समीक्षाका साथ आत्मसात् गर्दै जनताकै पक्षमा काम गर्ने प्रयत्नकै बीच पार्टी र नेतृत्वहरूले विगतमा गरेका सबल पक्षहरू र कमीकमजोरीहरूको निर्मम समीक्षा गरी आफ्ना कमीकमजोरीलाई आत्म समीक्षा गर्नुपर्ने देखिन्छ ।

    नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर (२७-२९)ले निर्वाचित गर्ने नयाँ नेतृत्वहरू पात्र फेरिए पनि प्रवृत्ति फेरिएन भने व्यक्ति फेरिए पनि व्यवहार फेरिएन भने त्यसको मूल्याङ्कन कार्यकर्ता र जनताले भविष्यमा गर्ने नै छन् । निम्न कुराहरूमा परिवर्तन भयो भने कार्यकर्ता र जनतामा अझ धेरै सकारात्मक सन्देश जानुको साथै गतिशील र सुदृढ हुन सक्दछ ।

    १. पार्टी र नेतृत्वले गरेका राम्रा कामहरू जनतालाई बुझाउनु पर्ने ।

    २. नेकपा एमाले पार्टी नेता प्रधान नभई नीति प्रधान हो भन्ने आम नेता कार्यकर्ता र जनतालाई महसुस दिलाउनु पर्ने ।

    ३. नेता तथा कार्यकर्ताको कार्यशैलीमा परिवर्तन गर्नुपर्ने ।

    ४. कुनै पनि कमिटीको बैठक सभा जस्तो नेताले भाषण गर्ने र सदस्यहरूले ताली पिट्ने मात्र नभई एजेन्डामा केन्द्रित भई छलफल गरेर राय लिएर पास गर्ने पद्धति पुनरावृत्ति गर्नुपर्ने ।

    ५. नेता कार्यकर्ताहरूले कम्युनिस्ट आचरण प्रदर्शन गरी भड्किलो व्यवहार परिवर्तन गर्नुपर्ने ।

    ६. आर्थिक अनियमिततामा जुनसुकै ठाउँबाट प्रश्न उठेको भए पनि कमिटीको जिम्मेवारीबाट अलग गर्नुपर्ने ।

    ७. नैतिक आचरणमा प्रश्न उठेका व्यक्तिहरूलाई कुनै पनि जिम्मेवारीमा राख्न नहुने ।

    ८. नेतृत्व चयन गर्दा आर्थिक रूपमा पारदर्शी, भौगोलिक, राजनीतिक, सामाजिक विषयमा जानकारी राख्ने प्रतिस्पर्धात्मक क्षमता भएका जनतामा उत्साह भर्न सक्ने सैद्धान्तिक र वैचारिक रूपले खारिएका व्यक्तिहरूलाई बढी प्राथमिकता दिनुपर्ने ।

    ९. कमिटी निर्माण गर्दा असल कार्यकर्तालाई पाखा लगाई एजेन्ट कार्यकर्ता बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने ।

    १०. भड्किलो खर्च गर्ने नेता कार्यकर्ताको वैधानिक स्रोत देखाउनु पर्ने ।

    ११. नीति निर्माण गर्ने ठाउँमा पठाउने उम्मेदवार कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने ।

    १२. पार्टीमा प्राप्त गर्न होइन योगदान गर्न तयार असल क्षमतावान् र समाजले रुचाएका व्यक्तिहरूलाई जिम्मेवारी दिनुपर्ने ।

    १३. अहिलेको घटनालाई मार्क्सवादी ढङ्गले विश्लेषण गर्नुपर्ने ।

    १४. जनसङ्गठनहरू राजनीतिक आबद्धता सांगठनिक स्वतन्त्रताको मूल मर्ममा सञ्चालित हुनुपर्ने ।

    १५. पार्टीले चुनावमा जाँदा संविधान संशोधनको यो यो विषय र धारामा संशोधनको लागि स्पष्ट खाका तयार पारी जनतामा जानुपर्ने ।

    १६. अहिलेको समाजको असन्तुष्टि र आवश्यकताको गहिरो पहिचान गर्नुपर्ने ।

    १७. केन्द्रबाट नेता जाँदा जुन जिल्लाको कार्यक्रममा गएको हो सो जिल्लाबाहेकका नेता कार्यकर्ता एयरपोर्टदेखि कार्यक्रम स्थलसम्म लावालस्कर लाग्ने प्रवृत्ति रोक्नुपर्ने ।

    १८. राजकीय जिम्मेवारीमा जाँदा कुन पदको लागि कति पटक हो अगाडि नै तोक्नुपर्ने ।

    १९. संसदीय निर्वाचन कम खर्चिलो बनाउन नयाँ विधि बनाउने व्यवस्था गर्न पहल गर्नुपर्ने ।

    २०. कुनै विषयमा आफ्नो धारणा राखेको कारण जिम्मेवारी प्राप्त गर्न कठिन हुने अवस्था सिर्जना हुन नहुने ।

    २१. पार्टीमा आन्तरिक लोकतन्त्र बलियो हुनुपर्ने ।

    २२. पार्टीको काम कम गर्ने नेतृत्वको वरिपरि घुम्नेलाई जिम्मेवारी दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने ।

    २३. नेता कार्यकर्ता र जनताको सम्बन्ध टाढिएको छ यसलाई जोडेर जानुपर्ने ।

    २४. महाधिवेशनपछि नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने ।

    २५. सादा जीवन र कम्युनिस्ट आचरण भएका नेतृत्वलाई हेप्नुको सट्टा सम्मान व्यक्त गर्ने वातावरण बनाउनुपर्ने ।

    २६. असल नेतृत्व जन्माउन नसक्ने असल नेतृत्व हुन नसक्ने कुरा मनन गरी वैकल्पिक नेतृत्व उत्पादन गर्ने ।

    २७. नेता जन्मायौँ नेतृत्व जन्माएन, अब यो दिशामा काम गर्नुपर्ने ।

    २८. देश बनाउनु कर्मचारीतन्त्रमा पनि रिफर्म गर्नुपर्ने कुरामा पहलकदमी लिनुपर्ने ।

    २९. पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको व्यवहारमा सुधार गर्नुपर्ने ।

    ३०. कार्यकर्ता सन्तुष्ट पनि छैनन्, बोल्न पनि चाहँदैनन् । यसको सही निदान गर्नुपर्ने ।

    ३१. पार्टी सत्ताको पहुँचको आधारमा टिकट लिएर गयो भने चुनाव जित्न कठिन हुने त्यसैले सोच्छ र राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने ।

    ३२. नेतृत्वको बोलीमा अनुशासन र एकरूपता नहुँदाको समस्या यसमा सुधार गर्नुपर्ने ।

    ३३. शक्तिमा हुँदा नसुन्ने संकटमा हुँदा बोल्न नहुने पार्टी कहिले सुधार्ने हो समयको पहिचान हुनुपर्ने ।

    ३४. आफूलाई सहयोग गरे खराब पनि असल सहयोग नगरे असल पनि खराब नजरले देख्ने प्रविधि अन्त्य गर्नुपर्ने ।

    ३५. पार्टीको काम गरेको तर नेता खुसी बनाउने काम नगरेको कारण कुनै पनि कार्यकर्ताले त्यसको सिकार हुन नपर्ने अवस्था सिर्जना हुनुपर्ने ।

    ३६. व्यक्ति होइन पार्टी बनाउने अभियानमा लाग्नुपर्ने ।

    ३७. एमालेलाई वामपन्थी मूल चरित्रमा फर्काउने प्रतिबद्धता गर्नुपर्ने ।

    ३८. पार्टीमा फरक मत राखेबापत कसैलाई भेदभाव गर्न नहुने ।

    ३९. पहिलेजस्तै कमिटी प्रणाली पुनर्स्थापना गर्नुपर्ने ।

    ४०. आगामी चुनावमा सबै निर्वाचन क्षेत्रमा नेकपा एमालेकै उम्मेदवार हुनुपर्ने ।

    ४१. नेकपा एमालेको आगामी महाधिवेशनबाट ६०% पुरानो र ४०% (१०१जना) नयाँ व्यक्तिलाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्ने ।

    ४२. महाधिवेशनमा केन्द्रीय नेतृत्वमा १% विशिष्टीकृत क्षेत्रबाट होरिजन्टल इन्ट्रीको लागि खुला गर्ने र उसले विशिष्ट क्षमता देखाउन नसके अर्को पटक बिदा हुने व्यवस्था गर्नुपर्ने ।

    ४४. पार्टीले ज्ञान भण्डार स्थापना गरी त्यसको आधारमा नीतिगत निर्णय लिने काम सुरुवात गर्नुपर्ने ।

    ४५. राज्यको प्रशासनिक पुनर्संरचना तयार पारेर जानुपर्ने कुराको अगुवाइ गर्नुपर्ने ।

    ४६. देशको राष्ट्रिय सुरक्षा र सुरक्षाकर्मीको सङ्ख्या पुनरावलोकनको लागि गहिरो अध्ययन गरी धारणा बनाउनुपर्ने ।

    ४७. एमालेको अन्तर्राष्ट्रिय सम्बन्धमा आएको फेरबदलको मिहिन समीक्षा गरी नयाँ आयाममा सम्बन्ध विस्तार गर्नुपर्ने ।

    नेकपा एमालेको सिद्धान्तमा कुनै समस्या छैन, नीति र कार्यक्रममा कुनै समस्या छैन, समस्या छ त आचरण, व्यवहार र कार्यशैलीमा । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट आउने नयाँ नेतृत्वहरूले आफ्ना आचरण व्यवहार र कार्यशैली परिवर्तन र पुनर्गठन गरेर जानुको विकल्प छैन ।

    जसले नेकपा एमालेको आगामी बाटो र पाटोलाई अझ फराकिलो बनाउँदै धेरै भन्दा धेरै व्यक्ति हिँड्न र अट्न सक्ने बनाउनै पर्छ । नेकपा एमाले यस्तो नेताहरूको पुञ्ज भएको पार्टी हो जसले अझै देशको मुहार फेर्ने काममा धेरै योगदान गर्न बाँकी नै छ र यो सम्भव बनाउन एघारौँ राष्ट्रिय महाधिवेशनले त्यस्तै अब्बल नेतृत्व छनोट गर्न सकोस् शुभकामना ।

    (थपलिया नेपाल बौद्धिक परिषद्का अध्यक्ष हुन्)

  • युवा संघले पठायो महाधिवेशन प्रतिनिधिको सूची, अध्यक्ष क्षितिज थेबे केन्द्रीय सदस्यको उम्मेदवार

    युवा संघले पठायो महाधिवेशन प्रतिनिधिको सूची, अध्यक्ष क्षितिज थेबे केन्द्रीय सदस्यको उम्मेदवार

    काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि राष्ट्रिय युवा संघबाट छानिएका ७ जना प्रतिनिधिको नाम अहिलेसम्म सार्वजनिक भएको छैन । तर उनीहरूको निर्णय भएर संगठन विभागमा दर्ता भइसकेको विभागका एक सदस्यले बताए ।

    युवा संघबाट अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षद्धय महाराज गुरुङ,विनय शाह र महासचिव महेश चौलागाईँ खुलातर्फबाट छनौट भएका छन् ।

    महिलाबाट सचिव निशा लिम्बु र सचिवालय सदस्य निरुपमा राई र पञ्चमी रेग्मी प्रतिनिधि छनौट भएका छन् ।

    एक जना प्रतिनिधिको सदस्यताको अवधिको विवाद निस्केका कारण सार्वजनिक नगरिएको स्रोतले जनाएको छ ।

    युवा संघका अध्यक्ष क्षितिज थेबे एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने लगभग निश्चित रहेको छ ।

  • एनपीएल-२ : क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

    एनपीएल-२ : क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिमले चितवन राइनोजसामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनायो ।

    सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । उनी रिटाइर्ड हर्ट भए । लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

    ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख दुवै २४–२४ रनमा अविजित रहे ।

    ब्लिङमा चितवनका सैफ जैइवले २, रञ्जित कुमार र जर्ज स्क्रिम्शले एकएक विकेट लिए ।

    सुदुरपश्चिमले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

  • रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान

    रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

    पार्टीले योग्यता पुगेका इच्छुक सदस्यहरूलाई अनलाइन आवेदन दिन आह्वान गरेको हो। कार्तिक २२ गतेदेखि मंसिर २५ गतेसम्म उम्मेदवारीका लागि आवेदन दिन सकिने रास्वपाले जनाएको छ।

    योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। उम्मेदवारी प्रक्रियासम्बन्धी थप जानकारीका लागि देशभरका पार्टी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

  • योगमाया र षडानन्दको बाटो पछ्याउँदै प्रमिला

    योगमाया र षडानन्दको बाटो पछ्याउँदै प्रमिला

    काठमाडौं । शताब्दी अघि सामाजिक रूपान्तरणको लागि सङ्घर्ष गर्ने विदुषी योगमाया र सबैका लागि शिक्षाको उज्यालो दिलाउन लागिपर्ने बालागुरु षडानन्दको ऐतिहासिक योगदानलाई शिरोपर गर्दै सकारात्मक परिवर्तनको यात्रामा कम्मर कसेर हिँडिरहेकी जनप्रतिनिधि हुन्: प्रमिला राई ।

    भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको जनप्रतिनिधिको रूपमा सेवाको मैदानमा खटिन पाउँदा प्रमिला गर्व महसुस गर्छिन् । ‘इतिहासमा पनि जगजाहेर छ । सामाजिक रूपान्तरणको लागि आफ्नो जीवन बलिदान गर्ने र आफूसँगै धेरै महिलाको जीवन आहुति दिन सक्ने क्षमता भएको विदुषी योगमायाको भूमि संगसंगै शिक्षाको क्षेत्रमा आम जनताको छोराछोरीले पढ्न पाउनुपर्छ भनेर तत्कालीन राणा शासकविरुद्ध आवाज उठाउने र जनताका छोराछोरीले पढ्ने पहिलो विद्यालय स्थापना गर्ने गुरु षडानन्दको भूमि नै षडानन्द नगरपालिका हो,’ उनी भन्छिन् ।

    प्रमिला आफूले नेतृत्व गरिरहेको भूमिप्रति गौरवान्वित छिन् । इतिहासको गौरव लाई आत्मसाथ गर्दै वर्तमान समयमा चेतनालाई अझ उन्नत बनाउन तथा विकास र समृद्धिको लहर फैलाउन प्रमिला कर्मरत छिन् ।

    प्रमिला राई कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लाको षडानन्द नगरपालिकाकी उपप्रमुख हुन् । २०४३ साल माघ १८ गटे दिल ब. राई र सीता राईको कोखबाट जन्मिएकी प्रमिला सानो उमेरदेखि नै आत्मविश्वासी, स्वाभिमानी र संवेदनशील स्वभावकी थिइन् ।

    उनले बाल्यकालमा निकै सङ्घर्षशील समय गुजारिन् । काम नगरी खान लाउन पुग्ने स्थिति थिएन । एक दाजु र एक भाइसँगै आर्थिक अभाव झेल्दै हुर्किएकी प्रमिला आफ्नो बाल्यकालको भोगाइ र अनुभव लाई महत्त्वपूर्ण शिक्षाको रूपमा लिन्छिन् ।

    ‘आमाले रक्सी पारेर, सुँगुर पालेर कमाएको पैसाले मलाई पढाउनुभयो।’ विद्यालय जाँदा एउटा हातमा किताब अर्को हातले गेलिनमा रक्सी बोकेर बजार सम्म बेच्न पुर्‍याउने गरेको उनी स्मरण गर्छिन्। राम्रो लगाउने, मिठो खाने छोराछोरीको रहर उनकी आमाले निकै परिश्रमले कमाएको कमाइबाट पूरा गर्ने गरेको उनी सम्झन्छिन् । आमाले गरेको दुःखको उनी निकै कदर गर्छिन् ।

    घरको काममा सघाउँदै, दुःख सुख आत्मसात् गर्दै उनी पढिन्। कलेज पढ्न थालेसँगै उनले विद्यालयमा पढाउँथिन् । शिक्षाको लागि आफूले गरेको सङ्घर्ष उनी विद्यार्थीलाई सुनाउँथिन। अभाव र दुःख लाई नजिकबाट साथी बनाएकी प्रमिला निडर स्वभावकी स्पष्ट वक्ता एक सामाजिक अगुवाको रूपमा स्थापित हुँदै गइन् ।

    डाक्टर÷नर्स बनेर सेवा गर्ने सपना उनको आँखामा थियो, आर्थिक स्थिति र अन्य परिस्थितिले उनको यो सपना पूरा भएन, पछि उनलाई आर्मी बन्ने रहर पनि जाग्यो तर त्यो पनि पूरा हुने वातावरण बनेन तर उनले शिक्षक, सामाजिक सेवक हुँदै नगरपालिकाको उपप्रमुखको भूमिकामा देश र जनताको सेवा गर्ने अवसर प्राप्त गरेकी छन् ।

    ‘जसरी पनि राष्ट्रको सेवा गर्नु रहेछ, आर्मी बन्ने, नर्स बन्ने रहर सपनामा सीमित रहे पनि अझ फराकिलो रूपमा सेवा गर्ने र नेतृत्व लिने ठाउँमा छु, सन्तुष्ट छु’ प्रमिलाले सुनाइन् । पढ्दै पढाउँदै स्नातकोत्तर तह सम्मको शिक्षा पूरा गरिन् र एक इमानदार सामाजिक सेवकका रूपमा आफूलाई उभ्याउन सफल भइन् । बिहेपछि महिलाहरूलाई एकताबद्ध गर्दै उनीहरूका समस्या सुन्ने र समाधानको बाटो पहिल्याउने काममा उनी लागिन् ।

    महिला लक्षित कार्यक्रमहरूलाई जनस्तर सम्म पुर्‍याउन दिङ्ला नारी समाज नामक समूह बनाएर अघि बढिन्। जसमा उनलाई उनका साथीहरूले राम्रो साथ र सल्लाह दिए । सामाजिक अभियन्ताका रूपमा उनको सक्रियता बढ्दै गयो । उनी २०६३ सालबाट राजनीतिक यात्रामा लागिन् । उनलाई राजनीतिमा लाग्न श्रीमानले प्रेरित गरे । सामाजिक सेवा लाई अझ फराकिलो बनाउन र रूपान्तरण गर्न राजनीतिक आबद्धता अझ प्रभावकारी हुने श्रीमानको सल्लाहलाई उनले मनन गरिन् ।

    २०७४ सालमा स्थानीय तहको निर्वाचनमा भाग लिएकी प्रमिला त्यतिबेला पराजित भइन् । तर पराजयपछि पनि उनले हिम्मत हारिनन् । समाजमा आफ्नो भूमिका बढाउँदै लागिन्, जनस्तरका समस्या समाधानमा आफूलाई खरो रूपमा उतारिरहिन् । २०७९ सालको स्थानीय निर्वाचनमा उनी फेरि उपप्रमुख पदमा नै चुनावी प्रतिस्पर्धामा आइन् । उनले ७,२५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वीले ४,३५८ मत ल्याएकी थिइन् । २०७४ सालको निर्वाचनमा जो सँग पराजित भएकी थिइन् उनैलाई भारी मतले उछिन्दै उनी नगर उपप्रमुखको भूमिकामा पुगिन् ।

    भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित षडानन्द नगरपालिकाको ऐतिहासिक परिचय दिङ्ला सभ्यता र समाज सुधारक शिक्षासेवी ब्रम्हाचारी षडानन्द गुरुसँग गाँसिएको छ । वि.सं. १९३२ मा स्थापित षडानन्द संस्कृत पाठशालाले नेपालको शिक्षाक्षेत्र र समाज सुधारमा ठूलो योगदान पुर्‍याएको छ । यस्तै योगमायाको जातीय, लैङ्गिक विभेद विरुद्ध सल्काएको सामाजिक जागरणको राँकोको ताप बोकेको षडानन्द नगरपालिका कि उपप्रमुख प्रमिला राईले महिला, अपाङ्ग, दलित समुदायको सशक्तीकरण, न्यायमा पहुँच, र पूर्वाधारको गुणस्तरीय विकासलाई प्राथमिकता दिँदै काम गर्दै आएकी छन् । उनको प्रत्यक्ष सहभागितामा जनस्तरका समस्या समाधान, पारदर्शिता र समावेशिता अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

    उपप्रमुख प्रमिला ग्रामीण भेगका महिलाहरूको स्वास्थ्य बारे निकै गम्भीर छन् । पाठेघर खस्ने समस्या भएका महिलाहरू जो अझै पनि परिवार, समाज र बाहिर खुल्न, आफूले भोगेका समस्या बारे बताउन हिचकिचाउँछन् । उनीहरू सँग भावनात्मक रूपमा नजिकको साथी बनेर उपचारको स्थिति सम्म ल्याउन प्रमिलाले खेलेको भूमिका प्रसंसनीय छ ।

    त्यस्ता आमाहरु जो आर्थिक रूपमा विपन्न छन्, सामाजिक रूपमा, सांस्कृतिक डर, संकोच को सामना गरिरहेका छन्, सहाराविहीन छन्, उनीहरूको लागि प्रमिला छोरी जस्तै बनेर घर देखि अस्पताल सम्म सारथी बन्छिन् । ग्रामीण क्षेत्रमा विकराल बनेको पाठेघर खस्ने समस्यालाई उजागर गर्दै समाधानमा तल्लीन प्रमिला गाउँमा शिविर चलाउने देखि लिएर हस्पिटलमा बिरामीको आफन्त बनेर उपचारको प्रक्रियामा सक्रियतापूर्वक नेतृत्व गर्दै आएकी छन् ।

    आफूले चुनावको बेला गरेको प्रतिबद्धता बमोजिम आफू महिला स्वास्थ्यको क्षेत्रमा गम्भीर रूपमा काम गरिरहेको उनी बताउँछिन् । आङ खसेकी ७१ वर्षीय एकजना महिला जो साग बेचेर आफ्नो जीविका चलाइरहेकी थिइन् उनी अहिले उपचारपछि निको भएकी छिन् ।

    ‘हालसम्म १५ जना महिलाको निःशुल्क अपरेशन गरिसकिएको छ, ७० काटिसकेका आमाहरू जो उपचारपछि निको हुनुभयो उहाँहरूले मेरो हात समाएर जीवनदान दियौ, तिमी उपमेयर होइन आमा बन्यौ भन्नुहुन्छ,’ प्रमिला सुनाउँछिन् । उनले आफै हस्पिटलमा कुरुवा, आफन्त बनेर सहाराबिहिन आमाहरूको उपचार सफल बनाएकी छन् । यसलाई उनी आफ्नो महत्त्वपूर्ण काम र कर्तव्यका रूपमा व्याख्या गर्छिन् । उपमेयरको सक्रियतामा नगरपालिकाले उपचार गरिदिएपछि महिलाहरूले अभिभावक प्राप्त गरेको महसुस गरिरहेका छन् ।

    यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई वडा वडामा पुगेर सरकारले दिएका सेवा सुविधा प्राप्त गर्ने वातावरण बनाएको प्रमिलाले सुनाइन् । आधारभूत आवश्यकताका लागि नै सङ्घर्ष गरिरहेका परिवार तथा समुदाय उनको प्राथमिकतामा पर्दछन् । उनीहरूको परम्परागत पेशाहरुको प्रवर्द्धन तथा सबालिकरणको लागि उनी लागिपर्छन् ।

    सामाजिक न्याय संगसंगै नगरपालिकाको भौतिक पूर्वाधारको विकासमा पनि उनी क्रियाशील छिन्। सडक सञ्जाल, पुल जस्ता पूर्वाधारको आबस्यकता पूरा गर्न प्रमिला र सिंगो नगरपालिकाको टिमले प्रदेश तथा संघ सरकारसँग सहकार्य गरिरहेको छ । अरुण नदीमा मोटरेवल पुल नहुँदा स्थानीयले खेपेका सास्ती, रोकिएको विकासको समस्या समाधान गर्न तत्परता पूर्वक लागेको प्रमिला बताउँछिन् ।

    समता, न्याय र विकासको सम्बन्धमा आफ्नो दृष्टिकोणलाई मूल प्रवाहमा लागू गराउन उनी हरदम प्रयत्नशील छिन् । उपप्रमुख भएको कारण वा महिला भएको कारण परम्परागत रूपमा काम चासो राख्ने वा महत्त्व नदिने, सोधी खोजी नगर्ने प्रवृत्ति विरुद्ध उनी आवाज उठाइरहन्छिन् र त्यसको प्रभाव पालिकामा देखिएको छ । आफ्नो अनुपस्थिति वा बिना जानकारी गरिएका निर्णयप्रति आफ्नो विमति भए उनी निर्धक्क प्रश्न गर्छिन् । जसले उनलाई शक्तिशाली र प्रभावशाली नेताको रूपमा स्थापित गरेको छ ।

    यस्तै क्रान्तिकारी स्वभाव र गतिशील कार्यशैलीले षडानन्द नगरपालिकाको सामाजिक रूपान्तरणको योद्धाका रूपमा प्रमिला परिचित छन् । अभाव, दबाब र प्रभावमा नपरी षडानन्द नगरपालिकाको भौतिक, सामाजिक विकास गर्ने प्रमिलाको सपना छ । समुन्नत षडानन्दको सपना पूरा गर्न हरदम क्रियाशील रहने उनको प्रतिबद्धता छ । सबैको आदर्श बनेका योगमाया र षडानन्दको बाटोमा उनी आफूलाई पनि उभ्याउने सकारात्मक महत्वकांक्षासहित उनी कर्मभूमिमा छन् ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • भोजपुर एमालेकाे निलम्बनमा रहेका कृपाशुरले भोजपुरमै आएर ७५० विद्यार्थीलाई बाँडे ज्याकेट

    भोजपुर एमालेकाे निलम्बनमा रहेका कृपाशुरले भोजपुरमै आएर ७५० विद्यार्थीलाई बाँडे ज्याकेट

    भोजपुर । पूर्वपर्यटनमन्त्री कृपाशुर शेर्पाले ७५० विद्यार्थीहरूलाई ज्याकेट वितरण गरेका छन् । एमाले भोजपुरले गरेको निलम्बनको निर्णय सेलाउन नपाउँदै शेर्पा सामाजिक काम लिएर यहाँ आउनुलाई धेरैले अर्थपूर्णरूपमा लिएका छन् ।

    तर, उनले सेवा र सहायता नै आफ्नो परिचय भएको भन्दै यसमा कुनै राजनीतिक उद्देश्य नरहेको बताए । एक वर्षजति अघि लेखेको एउटा स्टाटसलाई लिएर शेर्पालाई कारबाही गरिएको छ । उनले आफूमाथि शेरधन राईले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

    रामप्रसाद राई गाउँपालिका- ५ मानेभन्ज्याङ्ग र ६ नम्बर बैकुण्ठेको बेहेरेश्वर र शावित्रा मावि साथै आसपासका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई उनले ज्याकेट वितरण गरेका हुन् ।

    आफ्नो पहलमा सोवर्स एक्सन नेपालले ३६ लाख ७५ हजार मूल्य बराबरको ज्याकेट उपलब्ध गराएको उनले सुनाए । विद्यार्थीहरूलाई ज्याकेट वितरण समारोहमा जनप्रतिनिधि, स्थानीय अगुवाहरू सहभागी थिए ।

  • ईंग्ल्यान्डका जोय रुटले शतक हान्दा अष्ट्रेलियाका म्याथु हेडेनलाई राहत !

    ईंग्ल्यान्डका जोय रुटले शतक हान्दा अष्ट्रेलियाका म्याथु हेडेनलाई राहत !

    काठमाडौं । एसेजको दोस्रो टेस्टमा ईंग्ल्यान्डका ब्याट्सम्यान जोय रुटले शतक प्रहार गरेका छन् । उनका लागि यो शतक विशेषरुपमा मूल्यवान् छ ।

    अहिलेसम्म टेस्टमा ४० शतक हानिसकेका रुटको अष्ट्रेलियामा यो पहिलो तीन अंकको स्कोर हो । उनले अष्ट्रेलियाको भूमिमा ३० पटक ब्याटिङ गर्दा शतक हान्न सकेका थिएनन् ।

    रुटको यो शतकले ईंग्ल्यान्डलाई संकटबाट बाहिर निकालेको छ । आजको खेल समाप्त हुँदा उनी २०२ बल खेल्दै १३५ रनमा अविजित छन् । ईंग्ल्यान्डले २६४ रनमा ९ विकेट गुमाएर कमजोर स्थितिमा पुगेको थियो । तर, रुटले ११ औँ नम्बरका ब्याटर जोफ्रा आर्चरसँग मिलेर अविजित ६१ रन जोडे । यो साझेदारीले ईंग्ल्यान्डलाई ठूलो राहत मिलेको छ ।

    राहत ईंग्ल्यान्डलाई मात्र होइन, अष्ट्रेलियाका दिग्गज क्रिकेटर म्याथु हेडेनलाई पनि मिल्यो । उनले गत सेप्टेम्बरमा एउटा अनौठो प्रतिज्ञा गरेका थिए । एक पोडकास्टमा हेडेनले भनेका थिए, ‘यदि आगामी एसेज शृङ्खलामा जोय रुटले अष्ट्रेलियाविरुद्ध पहिलो शतक हान्न सकेनन् भने म एमसीजीको मैदानमा नाङ्गै हिँड्नेछु ।’

    बुबाको यो घोषणाले उनकी छोरी ग्रेस, जो क्रिकेट कमेन्टेटर पनि हुन्, चिन्तामा परेकी थिइन् । उनले ट्विट गर्दै लेखेकी थिइन्– प्लीज जोय रुट एउटा शतक बनाइदेऊ ।’

    नभन्दै रुटले शतक हानेर हेडेनलाई राहत दिए । हेडेनले अब आफ्नो प्रतिज्ञा अनुसार एमसीजीमा नाङ्गै हिँड्नुपर्ने छैन ।

    ३४ वर्षीय रुटको टेस्ट करिअरमा यो ४० औँ शतक हो । सर्वाधिक टेस्ट शतक हान्ने रेकर्ड भारतका सचिन तेन्दुलकरको नाममा छ, जसले ५१ शतक हानेका छन् । सक्रिय ब्याट्सम्यानहरुमा सर्वाधिक शतक हान्ने रुट नै हुन् । तेन्दुलकरको रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ ।

  • सुधन गुरुङसँग रविले भने- ममाथि छानबिन गर्ने भए यो सरकारले अर्को आयोग बनाएर गरोस्

    सुधन गुरुङसँग रविले भने- ममाथि छानबिन गर्ने भए यो सरकारले अर्को आयोग बनाएर गरोस्

    काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले नख्खु कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। भेटमा सभापति लामिछानेले आफूमाथि अघिल्लो सरकारले प्रतिशोध राखेर अन्याय गरेको बताएको सुनाए।

    रविको भनाई उद्धृत गर्दै उनले भने, ‘मलाई अन्याय भएको छ, मलाई यिनीहरूले दिएको धेरै दुख दिएका छन्। अहिले आएको सरकारले पनि कुनै सहायता गरेको छैन। सहयोग गर्नुहुन्छ होला भन्ने अपेक्षा छ। मलाई छानबिन गर्ने भएपनि अर्को आयोग बनाएर गरियोस्। यसमा मलाई कुनै समस्या हुँदैन।’

    अहिले आफूमाथि लगाइएको आरोप दुई सय वर्षसम्म पनि लडेर नभ्याउने अवस्था बनेको लामिछानेको भनाइ रहेको गुरुङले बताए।

    गुरुङले थपे, ‘उहाँ राम्रो काम गर्नको लागि अगाडि बढेका मान्छे हो, हामी पनि देशकै लागि अघि बढेका हौँ। साधारण मान्छेलाई राम्रो काम गर्दा साइबर सेना लगाएर खेदिने रहेछ। देशलाई राम्रो गर्छु भन्ने मान्छेहरूलाई सत्तामा बस्नको लागि फसाइँदो रहेको छ।’

    जेनजीहरूसँग लड्नुबाहेक अरू कुनै विकल्प नभएको बताए। रवि लामिछानेले जेनजीले उठाएको मुद्दामा रास्वपाको समर्थन रहेको बताएको पनि सुनाए।

    उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई काम नगर्न भए कुर्सी छाड्न चेतावनी दिए। उनले भने, ‘हामीले ०८४ को चुनावलाई ८२ मा सार्नको लागि यत्रो सङ्घर्ष गरेका होइनौँ। त्यत्रो मान्छे मारिएको छ। चुनाव सार्नको लागि मात्रै होइन।’

  • कांग्रेस विशेष महाधिवेशन पक्षधरको चेतावनी- पुस २६ लाई धकेल्ने षड्यन्त्र नगर्नू

    कांग्रेस विशेष महाधिवेशन पक्षधरको चेतावनी- पुस २६ लाई धकेल्ने षड्यन्त्र नगर्नू

    काठमाडौं । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।

    विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औं महाधिवेशनको तयारी बिषयक अन्तरक्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् ।

    कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यतालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए । निर्धारित गरिएको पार्टीको नियमित सार्ने खेलमा नलाग्न उनको सुझाव छ ।

    विशेष महाधिवेशनको दबाब दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचन अघि नियमित महाधिवेशन गर्न तयार भएको भन्दै घिमिरेले बहुमतको शक्तिका साथ आफूहरू महाधिवेशनको तयारीमा जुट्ने बताए । महाधिवेशनमा आफूहरूको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न पनि उनले चेतावनी दिए ।

    पार्टीले निर्धारण गरेको कार्यतालिकालाई सफल बनाउन भूमिका खेल्ने भन्दै घिमिरेले अब निर्वाचन क्षेत्रमा क्रियाशील हुन आग्रह गरे ।

  • अख्तियारले अनुसन्धान थालेपछि हर्क साम्पाङ आक्रोशित, उजुरी हाल्नेलाई गालीगलौज

    अख्तियारले अनुसन्धान थालेपछि हर्क साम्पाङ आक्रोशित, उजुरी हाल्नेलाई गालीगलौज

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले अगाडि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले अनुसन्धान थालेको छ । गत १४ गते अख्तियारले पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको भन्दै छानबिन अगाडि बढाउने बताएको छ ।

    अख्तियारले प्रारम्भिक चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय-व्यय विवरण, बैंक खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्मका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।

    चन्दा संकलनबाट सुम्निमा पारुहाङको मूर्ति बनाउने अभियान चलाइरहेका मेयर हर्क अख्तियारको उजुरीप्रति आक्रोशित बनेका छन् । सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

    आफूहरूले लामो समयदेखि सुम्निमा पारुहाङको प्रतिमा बनाउने कोसिस गरेको भन्दै भनेका छन्, ‘हामीले गरेको राम्रो कोसिस देखि नसहेर कुन चाहिँ फटाहा, चोर, गधाले उजुरी हालेछ ।’

    उनले यस्ता उजुरी आफ्नो लागि नौलो नभएको समेत बताए । धरानमा फूल रोप्दा, बिरुवा रोप्दा वा ९८ दिनमा कोकाहाबाट पानी ल्याउँदा पनि उजुरी परेको बताए । अख्तियारले सोधेको प्रश्नको जवाफ हिजो नै पठाएको पनि बताएका छन् । यस्ता खाले गतिविधिहरूलाई निरुत्साहित गर्नुपर्ने पनि बताएका छन् ।

    ‘मजस्तो कन्सेप्ट र भिजन भएको मान्छेले काम सुरु गर्दा यहाँ विकास विरोधीहरू थुप्रो छन् । देश बिग्रेकै यस्ता सडे गलेका, कुहिएको मनस्थिति भएका मान्छेहरूले गर्दा हो,’ साम्पाङले भने, ‘हामीले प्रत्येक कुराको हिसाब देखाउँछौँ, देखाइरहेका छौँ । यहाँ त आफ्नो बारीमा मकै रोप्दा पनि मुद्दा लगाउँछन् । अब उजुरी/फुजुरी हाल्नेहरूले पनि माटो चुनाव चिह्नमा भोट हाल्नु खुरुक्क ।’

  • ‘महाधिवेशन सार्ने नियतले कार्यसमितिको म्याद थपियो’

    ‘महाधिवेशन सार्ने नियतले कार्यसमितिको म्याद थपियो’

    काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने गरी घोषणा गरिसकेको छ। तर, निर्धातिर समयमा महाधिवेशन हुनेमा नेताहरू नै आश्वस्त हुन सकेका छैनन् ।

    महाधिवेशनको मिति विवाद सल्टाउन झन्डै डेढ महिना बैठक बसेको कांग्रेसलाई तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने दबाब छ। महाधिवेशनको मिति घोषणा भएसँगै सभापतिका आकाङ्क्षीहरूले दाबी प्रस्तुत गर्न थालिसकेका छन्।

    सभापति शेरबहादुर देउवा नेतृत्वबाट बिदा हुने भएकाले संस्थापन पक्षबाट कार्यवाहक सभापतिको जिम्मेवारी पाएको पूर्वउपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विलमेन्द्र निधि र डा. शशांक कोइराला सभापतिको दाबेदार देखिन्छन्।

    १४ औँ महाधिवेशनमा एउटै टिममा रहेका शेखर र गगन थापा पनि अलग तयारीमा छन् । दुवैले आआफ्नै तयारी गरिरहेका छन्। विशेष महाधिवेशनको मागसहित पेस भएका हस्ताक्षरकै कारणले अहिले महाधिवेशनको मिति तोक्न सफल भएको इतर पक्षका नेताहरू दाबी गर्छन्।

    तोकिएको समयमा महाधिवेशन नभए विशेष महाधिवेशनको विकल्प नभएको उनीहरूको अडान अझै कायमै छ। पुसमा महाधिवेशनको मिति तोकेर माघ मसान्तसम्म कार्यकाल थप गर्नुले महाधिवेशन नगर्ने नियत देखिएको उनीहरूको आशंका छ।

    संस्थापन पक्षका नेताहरू प्रक्रिया थालेपछि नभ्याइए चुनावपछि गर्ने बताउन थालिसकेका छन् । यी नै विषयमा केन्द्रित रहेर विशेष महाधिवेशनको अगुवाइ गरेको नेता गुरुराज घिमिरेसँग गरेको कुराकानी:

    – महाधिवेशनको मिति घोषणा भए पनि हुने नहुने आशंका पार्टीभित्रकै नेताहरूबाट सुरु भएको छ । त्यसलाई कसरी हेर्नुभएको छ ?

    पार्टीको महाधिवेशनको लागि हामीले अगाडिदेखि नै तयारी गर्नुपर्थ्यो त्यो गरेनौँ । केन्द्रीय समितिले कुनै तयारी नगरेपछि हामीले विशेष महाधिवेशन माग गर्न बाध्य भएका हौँ । त्यही मागको बलमा पार्टीले १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गरेको छ। कार्यतालिकाको सेड्युल टाइट छ। त्यसले आशंका उब्जाएको छ।

    केन्द्रीय कार्यसमितिको कार्यकाल माघसम्मको थप गरेको छ। पुस मसान्तमा महाधिवेशन सम्पन्न गराउने भन्छौँ अनि माघसम्मको कार्यकाल थप्छौँ। यसबाट पनि सार्ने योजना देखिन्छ। त्यसैले आशंका छ। तर हाम्रो विशेष महाधिवेशनको प्रस्ताव यथावत् भएकाले सार्न सजिलो छैन।

    – संस्थापन पक्षका नेताहरूको एउटै कुरा छ, कार्यतालिका अनुसार प्रक्रिया थाल्ने, चुनावपछि मात्रै महाधिवेशन गर्ने, त्यो अवस्थामा तपाईँहरू के गर्नुहुन्छ ?

    निर्वाचनपछि महाधिवेशन गर्ने सुविधा हामीसँग छँदै छैन । पार्टीमा नयाँ पनि नल्याई निर्वाचनमा गएर हामीले राम्रो नतिजा निकाल्न पनि सक्दैनौँ ।

    पार्टीको नेतृत्व परिवर्तन अहिलेको अपरिहार्य आवश्यकता हो। नीतिगत परिवर्तन पनि पार्टीमा आवश्यक छ। पुराना नीतिहरूलाई पुनरावलोकन गर्नुछ। विधान संशोधन गरेर नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्नु छ। र समसामयिक राजनीतिमा हाम्रो धरातललाई क्लियर पार्नुपर्नेछ। विगतमा हामीले स्थानीयदेखि केन्द्रसम्म गठबन्धन गर्‍यौँ ।

    अहिले अन्य राजनीतिक दलहरूसँगको सम्बन्ध र चुनावमा जाने हाम्रो तयारीको विषयलाई स्पष्ट पार्नुपर्नेछ। त्यसका लागि महाधिवेशन भन्दा अर्को थलो छैन। महाधिवेशनभन्दा उच्च थलो पार्टीको अरू केही नभएकाले निर्वाचनभन्दा पछाडि लैजाने सुविधा हामीलाई छैन।

    – तर महाधिवेशनको नियमित महाधिवेशनको कार्यतालिका आएसँगै विशेष महाधिवेशनको मागको औचित्य सकियो भन्ने तर्क पार्टीभित्रबाटै भइरहेका छ नि ?

    विशेष महाधिवेशनको मागको कुनै औचित्य सकिएको छैन। हामीले औचित्य सिध्याउने कुरा गरेको भए माग फिर्ता लिइहाल्थ्यौँ । हाम्रो निवेदन यथावत् छ। हाम्रो माग ज्युँ का त्युँ छ। त्यसको समय सीमा पुस २८ हो, महाधिवेशनको पनि पुस २८ नै हो, त्यसैले महाधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि सार्न आवश्यकता पनि छैन । फेरि हामी सबैले महाधिवेशनको प्रक्रिया अघि बढाउन सहभागी हुने, सघाएरै जाने भनेका छौँ ।

    – नेतृत्व परिवर्तनको कुरा गर्दै गर्दा तपाईँहरूको तर्फबाट महाधिवेशनमा सभापतिको उम्मेदवार को हुन्छ ?

    हामीले नेतृत्व परिवर्तन अपरिहार्य भनेकै हौँ । हाम्रो तर्फबाट अबको सभापतिको उम्मेदवार को रहने भन्नेबारे छलफल प्रारम्भ गरेका छैनौँ । क्रियाशील सदस्यताको विषय टुङ्गिएपछि मात्रै हामी नेतृत्वबारे केन्द्रित हुन्छौँ।

    – १४ औँ महाधिवेशनको तपाईँहरूको टिम अहिले एक ठाउँमा नरहेको देखिन्छ। शेखर कोइराला र गगन थापाले दुवै सभापतिको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ?

    उहाँहरूलाई एक ठाउँमा ल्याउन हामीले प्रयास गर्छौँ। एक ठाउँमा उभिनुपर्छ भन्ने हाम्रो बुझाइ हो। उहाँहरूलाई मिलाएर जान अन्तिम समयसम्म प्रयास गर्दैछौं। अब कतिको सफल होला न होला त्यो बेग्लै कुरा हो। हामी १४ औँ महाधिवेशनको टिमलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रयास गर्छौँ।

    – उहाँहरूलाई एक ठाउँमा ल्याउन तपाईँहरूको तर्फबाट पहल हुँदै छ ?

    भइरहेको छ, हामीले दुवैतिर छलफल गरिरहेका छौँ। उहाँहरू सकारात्मक पनि हुनुहुन्छ।

    – १४ औँ महाधिवेशनको टिम एक ठाउँमा आउने सम्भावना कतिको देख्नुभएको छ ?

    हामी आशावादी छौँ। नेतृत्व परिवर्तनको लागि सबै एक ढिक्का हुनुको विकल्प पनि छैन।

    – तपाईँ आफैँले चाहिँ कुन पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ?

    साथीहरूलाई मैले सोधिरहेको छु, मैले सर्वेक्षण गरिरहेको छु। साथीहरूको भावना नै सबैभन्दा ठूलो कुरा हो। साथीहरूको भावना बुझेर मैले महामन्त्रीमा उम्मेदवारी दिने सोचेको छु। त्यही ढङ्गले तयारी गर्दै छु।

  • मधेशमा एमाले: दाइको पनि एउटा गोरु ठहरै !

    मधेशमा एमाले: दाइको पनि एउटा गोरु ठहरै !

    कात्तिक २४ गते बिहान महोत्तरीको एउटा होटेलमा एमालेका मधेश प्रदेश सभा सदस्यहरूले ‘शपथ’ खाए । सिन्धुली र महोत्तरीको सीमा जोडिएको त्यो होटेलमा अरु चैँ बिहान चिया खान पुग्थे, साँझ दारूपानी खान जान्थे । झर्राे भाषामा भन्नुपर्दा बिहान पिउन र साँझ ‘धोक्न’ । तर नेपाल सरकारले नै ‘खानेपानी मन्त्रालय’ चलाएपछि हामीले चैँ पानी र चिया ‘पिउन’ छाडेर ‘खान’ थाल्यौँ । त्यहाँ एमालेका नेताहरूले भने मधेश सरकारको मुख्यमन्त्री र मन्त्रीको ‘शपथ’ खाएका थिए ।

    अरूलाई यो ‘हजम’ को विषय भएन । त्यसपछि एक खालको वक्तृत्वकला पनि सुरु भयो, ‘होटेलमा शपथ खान हुन्न भनिएको छैन, पूर्वमुख्यमन्त्रीहरुले पनि ठाउँ अनुकूल शपथ खाएका छन्, यस पटक होटेल परेको हो ।’ तर्क गजब थियो सुँगुरले जीवन जल नखाए पनि फोहोर खाएर झाडापखाला लागेको छैन भनेजस्तै ! त्यही दिन, त्यहीँ पुगेकी मधेशमा राप्रपाको एक मात्र प्रदेश सांसद (समानुपातिक) कञ्चन बिच्छा पनि ‘एक थान’ विनविभागीय मन्त्रीको शपथ खाएर एमालेप्रति कृतकृत्य बनेर जनकपुर फर्किन् ।

    उनलाई मंसिर ८ गतेको बैठकले ‘वन तथा वातावरण मन्त्रालय’को ‘मुखिया’ पनि एमालेबाट उपलब्ध भयो । तर त्यसअघि नै कात्तिक २४ गते नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको ‘वापस’ हुने निर्देशन मिलेको थियो । एकबारको जुनीमा राप्रपाले सांसद बनाइहाल्यो, एमालेले मन्त्री बनाइ त गयो, किन वापस हुने भनेर उनले पार्टीमा ‘स्पष्टीकरण’ बुझाइन् । ‘मन्त्रीमै रहिरहन पाए हुने’ जस्तो आशय लेखेपछि उनलाई अनुशासन समितिले हटाउन भन्यो र मंसिरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपाबाट ६ महिना र मधेश प्रदेश सभाबाट ‘यो कार्यकालका लागि पदमुक्त’ को पनि कोर्रा लगायाे । यस्ताे कठोर निर्णय गर्दा कञ्चनले मन्त्री भएर ३-४ पनि मन्त्रालयको कुर्सीमा ज्यान टाँस्न पाइरहेकी थिइनन् ।

    हठात् मंसिर १५ गते राति सर्वोच्चले भन्यो, ‘मंगलबारभित्र विश्वासको मत लिनू, नत्र सरकार बनाउने बाटो क्लियर गरिदिनू ।’ अब कञ्चनलाई तथास्तु भन्ने शक्ति नै क्षीण भएको बेला उनीसँग मन्त्री त के सांसदको पद पनि ‘भूतपूर्व’ भएको छ ।  जबकि यत्रो जेन-जी आन्दोलनले १८ घण्टामै सत्ता ढाल्दा र प्रदेशले काम गरेन भनेर सबैको स्वर ठूलो हुँदा पनि प्रदेश सरकारलाई कसैले फालेनन् । बरु प्रदेश सभामा पुगेकाहरू ‘आफैँ फालिने चिजको विकास उहाँहरूबाटै’ भइरह्यो ।

    अरूको ‘सोम खेती–बुध घर’ हुन्छ भन्छन् । एमालेका लागि मधेशमा यस्तो भएन । कात्तिक २४ गते पात्रोमा सोमबार नै थियो र मंसिर १७ गते बुधबार । तर सोमबार सुरु भएको एमालेको मुख्यमन्त्री खेती बुधबार घरमा परिणत हुनु पर्नेमा अरूले जति विश्वासको मत दिने समय (एक महिना) पनि नपाउँदै २२ दिनमै गर्लम्म ढल्यो । एमालेको मुख्यमन्त्रीको घर मात्र ढलेको थिएन, यति खेरसम्ममा प्रदेश प्रमुख अझ महिला पदमुक्त, सभामुख रामचन्द्र मण्डल २ तिहाइबाट बर्खास्त र बुधबार मुख्यमन्त्री सरोजकुमार यादव ७४ सांसद उठेर बाहिर गएपछि उहाँहरू बस्ने कुर्सीलाई भाषण श्रवण गराइरहेका थिए ।

    ‘सर्वोच्च अदालतले मुख्यमन्त्रीलाई बर्खास्त गरेर पुरानैलाई फिर्ता नगरेकाले यो मुद्दामा एमालेको जित भयो,’ नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलकै तर्क दिँदै थिए मुख्यमन्त्री यादव खाली कुर्सीहरूलाई । यो बाहेक एमालेको अरु लाभ के हो, हानि कति हो ? कोही बोल्दैनन् । एमाले मधेश इन्चार्ज लीला श्रेष्ठ जनकपुर र मधेशका पत्रकारको फोन नउठाउने वाचाबन्दीमै छन् जस्तो छ । धेरैले सुनाउँछन्, ‘उहाँको फोनै उठ्दैन ।’ यो बीचमा नेकपा एमालेका कैयौँ सचिवालय बैठक पनि भए, त्यहाँ पनि कोही बोलेको सुनिएन । पार्टीमा हेभिवेट नेता रघुवीर महासेठदेखि लीला श्रेष्ठ हुँदै पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, ज्वाला साहहरूको मौनता के का लागि थियो ? यही हुन थियो या यो भन्दा अरु हुन बाँकी छ ? उहाँहरूलाई सचिव योगेश भट्टराईले लेखेको फेसबुकको लामो स्ट्याटसले पनि छोएन सायद ।

    कात्तिक २४ गते एमालेको मुख्यमन्त्री बनेपछि मधेश प्रदेश सभा तोडफोडदेखि कांग्रेसबाट मन्त्री भइसकेका वीरेन्द्र सिंहले त नेपालको झन्डामाथि समेत आक्रमण गरे । भलै पछि कांग्रेसका पेटी पत्रकारहरूले भने, ‘यो एआई बाट हो, नेताबाट होइन ।’ जबकि आन्दोलनका सबै सपाट दृश्य सत्य हुने र नेपालको झन्डा फालेको दृश्य एआईको हुने कुरै थिएन । कात्तिक २४ गते नै राष्ट्रिय मुक्ति पार्टीका महासचिव युवा नेता केशव झाले फेसबुकमा लेखेका थिए, ‘अब एमालेमुक्त मधेश प्रदेशको कल्पना गरौँ र सबै एक बनौँ ।’ यतिखेरसम्म कांग्रेस अहिलेको सात दलको गठबन्धनमा गइसकेको थिएन । त्यही दिनदेखि कांग्रेस पनि एमालेलाई छाडेर हिँड्यो र अन्ततः अरूका लागि ‘सोम खेती-बुध घर’ एमाले मधेशका लागि र्‍याङको ठ्याङ उल्टो भयो ।

    बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले सम्बोधनमा होच्याउन, हियाउन कसैलाई बाँकी राखेनन् । खाली कुर्सीहरू साक्षी राख्दै उनले बोलिरहे, ‘जसपा नेपाललाई दिइएको विश्वासको मतको फिर्ता गर्न नैतिकता देखाउनु भएन, आज आँखा जुधाउन नसकेर बाहिरिनु भयो, जनमतलाई समर्थन गरेका थियौँ, आज त्यसको ऋण फिर्ता गर्न सक्नु भएन र भाग्नु भयो । अनि कांग्रेसले जे मागे पनि साथ दियौँ, अहिले पनि मुख्यमन्त्रीमा समर्थन गरेका थियौँ, उहाँहरूलाई पनि आज आँखा जुधाएर बस्न नसक्ने बनाउने एमाले हो, एमालेले मधेशमा थुप्रै लोकप्रिय कार्यक्रम ल्याएको छ, सर्वोच्चले बर्खास्त नगरेपछि तपाईँहरूको नैतिकतामा संकट आयो, म बुझ्छु ।’

    उसो त मुख्यमन्त्री यादवले दलहरूलाई मात्रै होइन, अरूलाई पनि पेच हानिरहेका थिए । उनले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको नांगो हस्तक्षेपले सरकार तलमाथि भयो भनेर खुलेआम बोले । यसको अरु दलहरूले तत्काल खण्डन गरे । एमाले मधेशका अध्यक्ष चन्देश्वर मण्डल पनि देशी विदेशी शक्तिले गठबन्धनबाट जनमत फुटाएको बताउँछन् । त्यो देशी विदेशी को हो ? पछि कांग्रेस पनि एमालेसँग बिच्किएको छ । २०७९ को प्रदेश सभा निर्वाचनमा मधेशमा ठूलो बनेको दल नेकपा एमालेका लागि यसले पुर्‍याउने क्षतिहरूबारे समीक्षा होला कि भन्ने झिनो आसा मात्रै छ । अरु त केही भन्न सकिन्न । नेताहरूको मौनता के मा अड्किएको छ, थाहा छैन । यति बेला उही प्रकाश सपूतको गीत सुनेर बस्नु ठिक हुन्छ, ‘गाइदेऊ गीत किन भाउ खा’कि छौ, कि त मुखमा पिँडालु राखिछौ ।’

    कम्युनिस्टहरूले भन्ने गरेको मूलतः एवं रीतले, करिबन करिबन मधेशमा एमालेका लागि यो ठूलो क्षति हो । २५ सिटमध्ये प्रदेश सभाका सांसद दीपेन्द्र ठाकुर भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । उनलाई अख्तियारले जेठ २७ गते मुद्दा दायर गरेपछि एमाले संसदीय दलका उपनेता रहेका ठाकुर संसद प्रवेशमा निषेध छन् । यही दिन प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओली मधेशमा पुगेका थिए । पार्टी अध्यक्ष आएका दिन मधेश प्रदेश सभाका संसदीय दलका उपनेता नै निलम्बनमा परेका थिए ।

    यता, बागमती प्रदेशमा पनि चैत ७ गतेसम्मलाई सहमति गरेर मुख्यमन्त्री बनेको नेपाली कांग्रेसले राप्रपाबाट निर्वाचित सभामुख भुवन पाठकको राजीनामापछि एमालेसँग सुमधुर सम्वाद गर्न सकेको छैन । बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताको दूरी निकै टाढिएको छ ।

    एमाले सभामुख खोजिरहेको छ भने कांग्रेस सभामुख आफूलाई मागिरहेको छ, नदिए मुख्यमन्त्री एमालेलाई फिर्ता गर्न पनि तयार नहुन सक्छ । किनभने एमालेले वामदलहरुसँग मिलेर सरकार बनाउन २ भोट कम हुनेछ भने कांग्रेसले एमालेबाहेक सरकार बनाउन सक्छ । जसरी अहिले मधेशमा एमालेविनै कांग्रेसले चाहे आफू नत्र मधेशी दललाई मुख्यमन्त्री दिन सक्ने हैसियत छ ।

    मधेशसँगै बागमतीमा समेत एमालेका लागि मुख्यमन्त्री बिस्तारै संकटको बादल बनिरहेको छ । यसको केन्द्रीय तहमा समीक्षा भइरहेको छैन । एमाले महाधिवेशनमा होमिएको छ । लगत्तै कांग्रेस महाधिवेशनमा होमिने तयारीमा छ । यता एमाले खराब हो भनेर छुट्टै पार्टी खोलेर पत्नीलाई प्रदेश सभासद् बनाउन सफल मधेशको राजनीतिमा संघीय समाजवादी पार्टीका रिजवान अन्सारीको पार्टी पनि एमालेसँगै सत्तामुक्त भएको छ । उसो त बागमतीमा हुँदोखाँदाको सभामुखबाट राजीनामा दिएर नैतिकवान् देखिन खोजेको राप्रपा सत्ताप्रति कति लुब्धो रहेछ भन्ने प्रमाणका रूपमा मधेशमा समानुपातिक एक सदस्य पनि पार्टीमा छलफलविना एमालेको अल्पमतको सरकारमा वन तथा वातावरण मन्त्री बन्दा सांसद कञ्चन बिच्छाको मन्त्री पद मात्रै होइन, पार्टी सदस्यता ६ महिनालाई र बाँकी रहेको प्रदेश सभा सदस्य पद गएको छ ।

    यहाँनिर धर्मकर्मसँग जोडिएको एउटा हास्य पेस गर्दै बिट मार्न चाहेँ –

    एकादेशको कुरा हो, भक्त महादेवको भक्तिमा ध्यानलीन भए । महादेव प्रसन्न भएर प्रकट भए । भक्त पनि ध्यान सफल भएकामा औधी खुसी भए ।

    महादेव: तिम्रो भक्ति देखेर खुसी भएँ, भन के माग्छौ ?

    भक्त: महादेव, मेरा एक गोरु छन्, दाइका दुई ।

    महादेव: तिमीलाई पनि एउटा गोरु दिऊँ त ?

    भक्त: होइन भगवान्, दाइको पनि एउटा गोरु मारिदिनु पर्‍यो । 

    मधेशमा एमाले आफू त यस पटक ठहरै भएकै छ । एमालेकै कारण संघीय समाजवादी र राप्रपाको पनि ‘दाइको गोरु ठहरै’ पार्ने उद्यम सफल भएको छ ।

  • राष्ट्रियसभा चुनावको तालिका : पुस २३ मा मनोनयन दर्ता

    राष्ट्रियसभा चुनावको तालिका : पुस २३ मा मनोनयन दर्ता

    काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

    आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को अधिकार प्रयोग गरेर निर्वाचनको विस्तृत कार्यतालिका निर्धारण गरेको हो । निर्वाचन आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया आगामी पुष १९ गतेबाट सुरु हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६ बमोजिमको यो निर्वाचन कार्यक्रम निर्धारण गरिएको हो ।

    आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा पुष १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसै दिन बिहान ११ बजेदेखि भोलिपल्ट पुष २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ । यसरी परेको निवेदन तथा उजुरीमाथी पुष २१ र २२ गते छानबिन गरी आयोगले पुष २२ गते दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

    उम्मेदवार बन्न चाहने व्यक्तिले पुष २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गराउनुपर्नेछ । त्यसै दिन ३ बजेदेखि ४ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । उम्मेदवारको विरोधमा उजुरी दिनका लागि पुष २४ गते बिहान १० देखि ४ बजेसम्मको समय छुट्याइएको छ । मनोनयन पत्र र उजुरीमाथी जाँचबुझ गरी निर्णय गर्ने काम पुष २५ र २६ गते हुनेछ भने उम्मेदवारको नामावली प्रकाशन पुष २६ गते दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म गरिनेछ ।

    यदि कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुष २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र पुष २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    तोकिएका मतदान केन्द्रमा आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगका अनुसार मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् आगामी माघ ८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागु हुनेछ । मतदानपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना कार्य तुरुन्त सुरु हुनेछ ।

  • एमाले महाधिवेशनको तयारी सुरु, पार्टी कार्यालय च्यासलमा चहलपहल (तस्बिरहरु)

    एमाले महाधिवेशनको तयारी सुरु, पार्टी कार्यालय च्यासलमा चहलपहल (तस्बिरहरु)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको चौरमा हुनेछ ।

    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार उद्घाटनस्थलमा करिब दुई लाख मानिस अट्न सक्छन् । उद्घाटन सत्रमा उक्त चौर भरिभराउ हुने नेता ज्ञवालीले बताए । उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए ।

    महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।

    प्रचार विभाग प्रमुख गौतमले मञ्चलगायतका संरचनाहरु कसरी बनाउने भन्ने तयारी स्वरुप आजको निरीक्षण गरिएको बताए । उनले मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ । पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले आजबाटै डोजर लगाएर कार्यक्रमस्थल तयारी सुरु गरेको जानकारी दिए ।

    यसैबीच नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिएसँगै पार्टी कार्यालय च्यासलमा चहलपहल बढेको छ । तस्बिरहरु हेर्नुहोस् ।

  • गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास

    गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ। भक्तपुरको गुण्डुमा ओलीपत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी हुन्।

    ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको भन्दै अब तीव्र गतिमा निर्माणको काम अघि बढ्ने एमाले नेता महेश बस्नेतले बताए।

    जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले बालकोटमा रहेको घरमा तोडफोड र आगजनी गरेका थिए। ओली अहिले गुण्डुमै भाडाको घरमा बस्दै आएका छन्।

  • जरिवाना नतिरेका ६ दल निर्वाचनको दौडमा

    जरिवाना नतिरेका ६ दल निर्वाचनको दौडमा

    काठमाडौं । निर्वाचन आयोगले विभिन्न मितिमा लगाएको जरिवाना नतिरेका ६ राजनीतिक दलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन निवेदन त दिएका छन् । तर, उनीहरूको विगतको आर्थिक जवाफदेहिता भने झनै शंकास्पद देखिएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ ले ‘जरिवाना नतिर्ने दललाई निर्वाचनमा रोक लगाउन सकिने’ व्यवस्था गरेको छ । यिनै विवादित ६ दल अहिले कानूनी जोखिममा छन् ।

    निर्वाचन आयोगको पछिल्लो मूल्यांकनअनुसार, २२ दलमाथि आर्थिक अनियमितता, लेखापरीक्षण नगर्ने वा सार्वजनिक नगर्ने लगायतका कारण जरिवाना तोकिएको थियो । तीमध्ये आगामी निर्वाचनमा भाग लिन निवेदन दर्ता गराएका ६ दलले भने आजसम्म जरिवाना नतिरेको तथ्य सार्वजनिक भएको छ ।

    जरिवाना नतिरे पनि निर्वाचनमा भाग लिन हतारिने ६ दल

    आयोगका अनुसार यी ६ दलले अघिल्लो आर्थिक वर्ष तथा त्यसअघि तोकिएका जरिवाना बुझाएका छैनन् । जसमा गान्धीवादी पार्टी नेपाल (अध्यक्ष : लालबहादुर राना), संघीय नेपाल पार्टी (अध्यक्ष : रुक्मिणी चौधरी), अखण्ड सुदूरपश्चिम पार्टी नेपाल (अध्यक्ष : खगेन्द्रराज अवस्थी), संघीय विकासवादी पार्टी नेपाल (अध्यक्ष : तेजबहादुर पाल), नेपाल मातृभूमि पार्टी (अध्यक्ष : ओमप्रकाश विश्वकर्मा) र राष्ट्रवादी युवा मोर्चा (अध्यक्ष : श्यामकुमार थापा) छन् ।

    यी दललाई आयोगले लेखापरीक्षण नबुझाएको, सार्वजनिक नगरेको वा प्रक्रिया नपुर्‍याएको आधारमा ७ हजारदेखि २५ हजारसम्म जरिवाना तोकेको थियो । तर, निर्णय कार्यान्वयनमा यी दल उदासीन देखिए । तर यी दल फेरि निर्वाचन प्रक्रियामा उभिएका छन् ।

    दुई वर्षको लेखापरीक्षण नबुझावापत २५ हजार जरिवाना लागेको गान्धीवादी पार्टी

    २०७३ मंसिर ३० मा दर्ता भएको गान्धीवादी पार्टीमाथि आयोगले दुई छुट्टाछुट्टै निर्णयमार्फत २५ हजार जरिवाना तोकेको थियो । जसमा एक वर्षको लेखापरीक्षण नबुझाएको भन्दै २०८० साउन १ मा १५ हजार र थप एक वर्षको लेखापरीक्षण नबुझाएको भन्दै २०८१ भदौ ३१ मा १० हजार जरिवाना गराउने आयोगले निर्णय गरेको थियो । तर, दुवै जरिवाना अझै नतिरेको आयोगको रेकर्डमा उल्लेख छ ।

    १०–१० हजार जरिवाना परेका संघीय नेपाल पार्टी र नेपाल मातृभूमि पार्टी

    संघीय नेपाल पार्टी र नेपाल मातृभूमि पार्टीमाथि एक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाएको कारण २०८१ भदौ ३१ गते १० हजारका दरले जरिवाना तोकिएका थियो । यद्यपि, दुवैले अहिलेसम्म आयोगको निर्णय कार्यान्वयन गरेका छैनन् ।

    ७–७ हजार जरिवानामा परेका तीन दल

    लेखापरीक्षण सार्वजनिक नगरेको भनी आयोगले २०८० साउन १ मा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, राष्ट्रवादी युवा मोर्चा र संघीय विकासवादी पार्टीलाई ७–७ हजार जरिवाना गरेको थियो । तर, तीनै दल ‘अटेर’ गर्ने सूचीमा परे ।

    तोकिएको जरिवाना नतिर्ने ६ दललाई आगामी निर्वाचनमा रोक लाग्न सक्छ

    निर्वाचनमा भाग लिन यो वर्ष १२० भन्दा बढी दलले निवेदन दिएका छन् । तर, तोकिएको जरिवाना नतिरेका दललाई आगामी निर्वाचनमा भाग लिन आयोगले रोक लगाउन सक्ने आयोगका सहसचिव एवम कानून महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले नेपाल प्रेससँग बताए ।

    उनले भने, ‘जरिवाना नतिर्ने दलले निर्वाचनमा भाग लिन नपाउने कानूनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ५४ को उपदफा ३ अनुसार आयोगले ती दललाई रोक लगाउन सक्छ ।’

    कानून स्पष्ट छ, आर्थिक अनुशासन नमान्ने, प्रतिवेदन नबुझाउने वा सार्वजनिक नगर्ने दलले निर्वाचनमा भाग लिनसम्म पाउने छैनन् । कानुनको पालना नगर्दा यी ६ दलको राजनीतिक भविष्य प्रभावित हुने देखिन्छ ।

    दुई दलले भने जरिवाना बुझाए

    सबै दलले अटेर गरेका छैनन् । आयोगका अनुसार २ दलले निर्वाचनअघि जरिवाना बुझाई कानुनी दायित्व पूरा गरेका छन् । जसमा नेपाल नौलो जनवादी पार्टीलाई २०८१ भदौ ३१ को निर्णयअनुसार लेखापरीक्षण नबुझाएपछि लगाइएको ५ हजार जरिवाना एक दिनअघि मात्रै बुधबार बुझाएको छ । यस्तै उन्नत लोकतन्त्र पार्टीलाई लेखापरीक्षण सार्वजनिक नगरेको भन्दै ७ हजार र लेखापरीक्षण नबुझाएको भन्दै १० हजार गरेर १७ हजार एक दिन अघि बुधबार मात्रै बुझाएको छ ।

    यी उदाहरणले देखाउँछ, जरिवाना बुझाउन ‘नसकिने’ होइन, ‘नचाहने’ दलको सङ्‍ख्या ठूलो छ ।

    ५० हजार जरिवानामा परेको तीन दल : आर्थिक अनुशासनको गम्भीर उल्लङ्‍घन

    आयोगले २०८१ भदौ ३१ मा गरेको निर्णयअनुसार ५० हजार जरिवानामा परेका दलमा आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक रहेका छन् । यी दलले निरन्तर आर्थिक अनुशासन उल्लङ्‍घन गर्दै, समयमै प्रतिवेदन नबुझाउने वा स्पष्टीकरणसमेत पेश गरेका छैनन् ।

    आन्तरिक लोकतन्त्रमा उदासीनता : आधुनिक नेपाल समाजवादी पार्टी

    केन्द्रीय समिति गठन नगरेको र महाधिवेशन नगराएको कारण २०७९ भदौ ८ को निर्वाचन आयोगको निर्णय अनुसार नेपाल समाजवादी पार्टीलाई ५० हजार जरिवाना तोकिएको छ । यसले देखाउँछ, आर्थिक मात्र होइन, राजनीतिक रूपमा पनि दलको आन्तरिक प्रक्रियाप्रति जिम्मेवारी कमजोर छ ।

    लेखापरीक्षण गर्ने तर सार्वजनिक नगर्ने राजनीतिक दलको नयाँ प्रवृत्ति

    राजनीतिक दल सम्बन्धी ऐनले भन्छ, ‘दलले लेखापरीक्षण गराएर सार्वजनिक गर्नुपर्छ ।’ तर आयोगले भन्छ, धेरै दलले प्रतिवेदन बुझाए पनि सार्वजनिक गरेनन् । यसमा ठूला तथा मध्ययम दलसँग मिल्दोजुल्दा नाम भएका दर्जनौं साना दल छन् ।

    निर्वाचन आयोगका अनुसार ७ हजार जरिवाना तिर्नुपर्ने सूचीमा राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, मधेश तराई फोरम, माओवादी कम्युनिष्ट पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेश, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल लगायतका दलको नाम छ । आय–व्यय सार्वजनिक नगर्नु भनेको पारदर्शिता र जवाफदेहिता कमजोर पार्नु हो ।

    प्रतिवेदन नै नबुझाउने दलको सूची लामै, २० हजारसम्म जरिवाना

    कसैले लेखापरीक्षण गराएर लुकाए, कसैले लेखापरीक्षण प्रतिवेदन नै बुझाएनन् । २० हजारका दरले कारबाहीमा परेका दलमा नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, साँझा पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) रहेका छन् भने समाजवादी केन्द्र नेपाल १५ हजार जरिवानामा परेको छ ।

    २ हजार ५ सय देखि ५ हजार रुपैयाँ जरिवानामा परेका दलको सूची पनि लामै छ । जसमा नेपाली कांग्रेस बीपी, माओवादी जनमुक्ति पार्टी, जय जन्मभूमि पार्टी, जनता प्रगतिशील पार्टी, पुनर्जागरण पार्टी नेपालदेखि विभिन्न ३० भन्दा बढी दल छन् ।

    कसले तिर्‍यो, कसले अटेर गर्‍यो ?

    नेपाल नौलो जनवादी पार्टी, समाजवादी केन्द्र नेपाल, नेपाली कांग्रेस बीपी जस्ता केही दलले जरिवाना बुझाए पनि धेरै दल जरिवाना बुझाउने सूचीमा छैनन् । यसले देखाउँछ, अनेक बहानामा दल आर्थिक दायित्वबाट उम्किन खोजिरहेका छन् ।

    सुशासनको भाषण गर्ने दल आफैं अपारदर्शी !

    लोकतन्त्रको मेरुदण्ड राजनीतिक दल भनिए पनि आर्थिक अनुशासन, पारदर्शिता, जवाफदेहिताजस्ता आधारभूत मानकमा दल आफैं कमजोर देखिनु विडम्बना हो । आयोगको कारबाहीको सूची पल्टाउँदा देखिन्छ, दलले आय–व्यय सार्वजनिक गर्दैनन्, लेखापरीक्षण गराउँदैनन्, गराए पनि आयोगमा बुझाउँदैनन्, बुझाए पनि सार्वजनिक गर्दैनन्, आयोगको निर्णय बेवास्ता गर्छन्, राजनीतिक दलबाटै सुरु हुनुपर्ने सुशासन, उल्टै सबैभन्दा कमजोर क्षेत्र बन्न पुगेको छ ।

  • शिक्षामन्त्री पुनको टिप्पणी : फेसबुक-युट्युबले पनि पत्याएनन्, चार महिनासम्म ३०० भन्दा बढी झरेन

    शिक्षामन्त्री पुनको टिप्पणी : फेसबुक-युट्युबले पनि पत्याएनन्, चार महिनासम्म ३०० भन्दा बढी झरेन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालबाट कमाउन खोज्दा ‘दुई–तीन सय रुपैयाँसम्म नआएको’ भन्दै सार्वजनिक रूपमा टिप्पणी गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘जागिर खाइएन र व्यापार गरिएन । फेसबुक-युट्युबले पनि पत्याएन । म त छक्कै परेँ नि।’

    उनले सामाजिक सञ्जालबाट आम्दानी गर्ने उद्देश्यले केही व्यक्तिको सहयोगमा फेसबुक र युट्युब दुवैबाट कमाइ सुरु गर्ने व्यवस्था मिलाए पनि अपेक्षित रकम नआएको उल्लेख गरेका छन् । पुनका अनुसार, चार महिना बितिसक्दा पनि ‘दुई-तीन सय रुपैयाँ झर्न नसकेको’ अनुभव उल्लेख गरेका छन् ।

    मन्त्री पुनले हल्का व्यङ्ग्य मिसाएर लेखेका छन्, सामाजिक सञ्जालबाट नुन, तेल, साबुन, मसला किन्ने र केही पकेट खर्च चलाउने पैसा आउने आशा गरे पनि ‘पटक्कै ढङ्ग नआएको’ हो । उनले थप लेखेका छन्, ‘यस्तो ढङ्ग नहुने व्यक्तिले खोइ कसरी जिन्दगी बिताउला भनेर म आफैँ छक्क परेको छु ।’

  • एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल

    एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताउनुभएको छ ।

    प्रेस चौतारी नेपालद्वारा आज आयोजित संवाद कार्यक्रममा उपमहासचिव रिमालले लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताए ।

    “पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ । यही स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी शर्मा ओलीमा रहेको छ’’, उनले भने, “त्यस अर्थमा हामी मूल नेतृत्वलाई सघाउने गरी सामूहिक नेतृत्वको प्रणालीमा अघि बढ्नेछौँ । बाहिर चर्चामा आए जस्तो प्रतिस्पर्धा गर्न पाइँदैन या चुनाव हुँदैमा पार्टीमा समस्या आउँछ भन्ने कुरा यथार्थ होइन ।’’

    एमालेको महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४०० प्रतिनिधि रहनेछन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

  • एनपीएल- २ : चितवनले सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै

    एनपीएल- २ : चितवनले सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    सुदूरपश्चिमले यसअघि नै प्लेअफमा स्थान बनाएको छ ।प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ ।