Blog

  • सर्वोच्चको फैसलाप्रति ओलीको असन्तुष्टि- कानून होइन, मान्छे र पार्टी हेरेर फैसला दिने परिपाटी बसेको छ

    सर्वोच्चको फैसलाप्रति ओलीको असन्तुष्टि- कानून होइन, मान्छे र पार्टी हेरेर फैसला दिने परिपाटी बसेको छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

    हिजो सर्वोच्चले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

    पार्टीको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्चले समेत पार्टी र समूह हेरेर फैसला गर्ने गरेको आरोप लगाए ।

    उनले भने, ‘कानून हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ । संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ । हिजो सर्वोच्चबाट एक महिना पुग्न चार दिन बाँकी होला । सर्वोच्चले २४ घण्टाभित्र लिनु भन्छ । म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधान विपरीत आदेश दिन्छ ।’

    उनले आफूले अदालतको फैसलालाई सम्मान गर्ने भन्दै आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताए ।

  • कटहरियामा डकुमेन्ट्री काण्ड: १० लाख भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध मुद्दा

    कटहरियामा डकुमेन्ट्री काण्ड: १० लाख भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री खरिद भुक्तानीका नाममा करिब १० लाख रुपैयाँ हिनामिना भएको ठहर गर्दै तत्कालीन प्रशासकीय अधिकृतदेखि सेवा प्रदायक संस्थासम्मका आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अख्तियारका अनुसार अनुसार कटहरिया नगरपालिकाले आर्थिक वर्ष २०७७ ०७८ को नगरसभाबाट स्वीकृत नभएको कार्यक्रममार्फत सरिता फाउण्डेशन नामक कम्पनीलाई पाँच लाखको चेक काटेर रकम हिनामिना गरिएको उजुरीका विषयमा अनुसन्धान गर्दा व्यापक अनियमितता भेटिएको हो ।

    नगरपालिकाले तीन संस्थासँग जनकपुर मिडिया हाउस, विजयलक्ष्मी मिडिया फाउण्डेशन र सरिता फाउण्डेशन—डकुमेन्ट्री निर्माणका लागि प्रस्ताव मागेको थियो । तर सो कार्य वार्षिक कार्यक्रमभित्रै नपर्ने र स्रोत सुनिश्चित नभएको हुँदा प्रक्रिया नै गैरकानूनी भएको आयोगको निष्कर्ष छ ।

    प्राविधिक तथा आर्थिक प्रस्तावमा आवश्यक पर्ने डकुमेन्ट्रीको स्क्रिप्ट, गुणस्तर, विषयवस्तु, प्राविधिक उपकरण, जनशक्ति योग्यता जस्ता मूलभूत आधार उल्लेख नै नभएको पाइएको छ । मूल्यांकन गर्दा समेत असान्दर्भिक बुँदामा पूर्णाङ्क तोकिएको आयोगले जनाएको छ ।

    सबैभन्दा बढी अंक पाएको भन्दै सरिता फाउण्डेशनसँग सम्झौता गरिए पनि सम्झौतामा मुख्य शर्त राखिएको छैन । डकुमेन्ट्री बनाइदिने सर्त तोकिँदा पनि प्रस्तुत सामग्रीमा कसका लागि, किन, कसरी बनाइएको भन्ने समेत नराखिएको आयोगले बताएको छ ।

    यसबाहेक, डकुमेन्ट्री नगर प्रमुखको व्यक्तिगत प्रचार–प्रसारजस्तै देखिने तर वास्तविक उद्देश्यबारे अस्पष्ट सामग्री भएको र तयार गरिएको डकुमेन्ट्री कहीँ पनि प्रसारण वा उपयोग भएको प्रमाण नदेखिएको अख्तियारले जनाएको छ ।

    सम्झौताअनुसार कार्य सक्नुपर्ने मिति पार गरी अर्को आर्थिक वर्षमा गएर भुक्तानी गरिएको तथा कुल ९ लाख ९८ हजार ९२१ रुपैयाँ गैरकानूनी रूपमा दुरुपयोग गरेको निष्कर्ष आयोगले निकालेको छ ।

    अख्तियारले दफा १७ अनुसार भ्रष्टाचारसम्बन्धी कसूर भएको ठहर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, तत्कालीन सहायक लेखापाल विवेककुमार सहनी गरेर दुवैलाई बिगो बराबर जरिवाना तथा दफा १७ बमोजिमकै कैद सजाय मागदाबी गरिएको छ ।

    यस्तै नगरपालिकाका सहायक पाँचौँ तहमा कार्यरत रामनरेशप्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, तत्कालीन खरिदा कौशलकिशोर चौधरी र छोटेलाल मिश्रलाई समान रूपमा बिगो असुलसहित कैद जरिवाना माग गरिएको छ ।

    यस्तै सेवा प्रदायक संस्था सरिता फाउण्डेशन र फाण्डेसशनकी निर्देशक सरिताकुमारी साहलाई दफा २२ बमोजिम ‘मुख्य कसूरदार सरह’ सजाय मागदाबी गरिएको छ ।

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिवादीले बदनियतपूर्वक सरकारी रकम दुरुपयोग गरी कटहरिया नगरपालिकालाई आर्थिक हानी पुर्‍याएका छन् । प्रमाण र अनुसन्धानका आधारमा आठ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

  • कप्तानी गुमाएपछि अनिल साहले भेट्टाए फर्म, जनकपुरको झिनो आशा जीवित

    कप्तानी गुमाएपछि अनिल साहले भेट्टाए फर्म, जनकपुरको झिनो आशा जीवित

    काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा खराब प्रदर्शन गरिरहेको साविक विजेता जनकपुर बोल्ट्सले पाचौं म्याचमा आइपुगेर पहिलो जित दर्ता गर्‍यो । उक्त टिमका साविक कप्तान अनिलकुमार साहले पनि आफ्नो गुमेको फर्म फर्काएका छन् ।

    चितवन राइनोजलाई ६ विकेटले सहजै हराएर जनकपुरले प्रतियोगितामा दुई अंक जोडेको हो । प्लेअफबाट बाहिरिने संघारमा रहेको जनकपुरलाई आजको जितले झिनो आशा जगाएको छ । साथमा अनिलकुमार साहको प्रदर्शन टिमका लागि अर्को सुखद समाचार बनेको छ ।

    सुरुवाती तीन म्याचमा साहको ब्याट मौन बसिरहेको थियो । काठमाडौं विरुद्धको पहिलो म्याचमा डकआउट भएका उनी दोस्रोमा विराटनगरविरुद्ध ४ रन जोडेर आउट भए । तेस्रोमा पनि पोखराविरुद्ध १ रनमै पेभिलियन फर्किए । तीन म्याचमा ५ रन मात्रै जोडेपछि चौंथोमा उनलाई टिमबाटै ड्रप गरियो ।

    यो निर्णय थियो प्रशिक्षक शिवनारायण चन्द्रपलको । कुनै पनि टिमबाट कप्तानलाई नै ड्रप गरिनु असहज र कठिन अवस्था हो । यद्यपि, फ्रेन्चाइज क्रिकेटमा यदाकदा यस्तो परिस्थितिहरु आउँछन् । प्रशिक्षक चन्द्रपलले चौंथो म्याचमा साहको ठाउँमा दक्षिण अफ्रिकी भेट्रान खेलाडी वायन पार्नेललाई कप्तानी सुम्पिए । तर, फेरि पनि जनकपुरको भाग्य बदलिएन ।

    सुदुरपश्चिमविरुद्धको म्याचमा जनकपुरले कडा चुनौती पेश गर्न सकेन । जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदुरपश्चिमले १७.४ ओभरमा भेट्टाएको थियो । लगातार चौंथो हारसँगै जनकपुर बोल्ट्स प्रतियोगिताको समूह चरणबाटै बाहिरिने जोखिम बढ्यो ।

    पाचौं म्याचमा आएर प्रशिक्षक चन्द्रपलले फेरि अनिल साहलाई प्लेइङ ११ मा फर्काए । टिममा फर्किए पनि साहको कप्तानी भने फर्किएन । पार्नेलकै कप्तानीमा साहले खेले र उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ दि म्याच भए ।

    पहिलो ब्याटिङ गर्दै चितवनले १७६ रनको मजबुत स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा जनकपुरले आगो ओकल्यो । ‘मरता क्या नही करता’ भनेझैं जनकपुरका ब्याटरहरुले सुरुबाटै खुलेर खेले । पाकिस्तानी ओपनर माज सदाकत र असिफ शेखले ५.१ ओभरमा ४५ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । आसिफ १८ रनमा आउट भएपछि तेस्रो नम्बरमा आए अनिल । उनले सदाकतसँग म्याच विनिङ पार्टनरसीप गरे ।

    आफ्नो खराब फर्म बिर्सेर अनिलले सुरुबाटै विष्फोटक अन्दाज देखाएका थिए । आफूले सामना गरेको पहिलो पाँच बलमा दुई छक्का र एक चौकासहित १८ रन जोडे र त्यसपछि फर्केर हेरेनन् । १५.३ ओभरमा सोहल तनवीरले अनिलको विकेट लिए, जतिबेला उनले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन जोडिसकेका थिए । उनी आउट हुँदा जनकपुर जितनजिक पुगिसकेको थियो । १५ बल बाँकी छँदै जनकपुरले लक्ष्य भेट्यो ।

    जनकपुरले अब समूह चरणमा दुई म्याच मात्रै खेल्न बाँकी छ । ती दुवैमा जितेर पनि जनकपुरको प्लेअफमा स्थान सुरक्षित हुँदैन । अन्य टिमको नतिजामा पनि भर पर्नुपर्छ । जे भए पनि झिनो आशा जीवित छ । आज पनि हारेको भए सम्भावना समाप्त हुन्थ्यो ।

    अनिल साहले कप्तानी भने गुमाएका छन् । जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडा कप्तान परिवर्तनको निर्णय म्यानेजमेन्टले नभएर प्रशिक्षकले लिएको बताउँछन् ।

    उनले नेपाल प्रेससँग भने, ‘प्रशिक्षकले टिमको हितमा निर्णय लिनुभएको हो । यसलाई ठूलो विषय मान्नु पर्दैन ।’

    अनिल साहले आफ्नो फर्म भेट्टाउनु टिमका लागि सुखद भएको खतिवडा बताउँछन् । यद्यपि, टिममा पटक पटक कप्तान अदलबदल गरिरहनु राम्रो नहुने उनको भनाइ छ ।

    ‘अबका म्याचमा पनि पार्नेलले नै कप्तानी गर्नुहुनेछ,’ उनले भने ।

  • वाइडबडीमा पूर्वमन्त्री शाहीलगायतलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

    वाइडबडीमा पूर्वमन्त्री शाहीलगायतलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

    काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले सुनाएको फैसलाप्रति चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । आयोगले प्रतिवादी जीवनबहादुर शाहीसहित ३२ जनामाथि करिब १ अर्ब ४७ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    आयोगको दाबी अनुसार प्रतिवादीले आपूर्तिकर्ता कम्पनीसँग मिलेमतो गरी करिब ७४ करोड ५८ लाख अनियमित रूपमा भुक्तानी गरेका थिए । त्यस्तै, खरिद गरिएको विमानको २४२ टनबाट २३० टनमा घटाइएपछि मूल्य पनि समानुपातिक रूपमा घटाउनुपर्नेमा नगरेर करिब ७२ करोड लाख अतिरिक्त भुक्तानी गरिएको अख्तियारको आरोप छ ।

    दुवै शीर्षकमा गरिएको भुक्तानीका कारण नेपाल वायुसेवा निगमलाई १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ रुपैयाँ बराबरको प्रत्यक्ष हानी नोक्सानी भएको आयोगले दाबी गरेको छ ।

    विशेष अदालतले २०८१ मंसिर २० गते फैसला सुनाउँदै विमान खरिद ‘राष्ट्रिय आवश्यकतासँग सम्बन्धित विषय’ भएको उल्लेख गरेको थियो । फैसालामा प्रतिवादी सुगतरत्न कंसाकार, शिशिरकुमार ढुंगाना, शंकरप्रसाद अधिकारी, बुद्धिसागर लामिछाने र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि समेतले निगमलाई बिगो पर्ने गरी हानिनोक्सानी गरेको ठहर गर्दै कैद र जरिवाना ‘बिगो दामासाही’का आधारमा सजाय तोकेको थियो ।

    तर अदालतले आयोगले मागदाबी गरेको जस्तै सबै प्रतिवादीलाई सजाय नदिई केहीलाई मात्र आंशिक दोषी ठहर गरेको र केहीलाई पूरी सफाइ दिएको अख्तियारले जनाएको छ । आयोगका अनुसार, अभियोग अनुसार माग गरिएको दफा ९ सम्बन्धी कसूरबारे अदालतले केही नबोलेको, प्रतिवादीको भूमिकाबारे आयोगको मागअनुसार कसुर ठहर नभएको, बिगो निर्धारण तथा दोषी–निर्दोषको आधारमा अदालतले गरेको व्याख्याप्रति असहमति जस्ता कारणले सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

    विशेष अदालतको फैसलाले मुद्दाको मूल सन्दर्भ र आयोगको अभियोग मागदाबीलाई समग्र रूपमा सम्बोधन गर्न नसकेको भन्दै सर्वोच्चमा पुनरावलोकन माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

  • एनपीएल–२ : पोखराविरुद्ध कर्णाली फिल्डिङमा उत्रियो

    एनपीएल–२ : पोखराविरुद्ध कर्णाली फिल्डिङमा उत्रियो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा पोखराविरुद्ध कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

  • इन्डोनेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ७५० नाघ्यो, दश लाख विस्थापित

    इन्डोनेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ७५० नाघ्यो, दश लाख विस्थापित

    काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या मंगलबार ७५३ पुगेको छ भने ५०४ जना बेपत्ता भएको प्रकोप निकायले जनाएको छ ।

    सोमबार एजेन्सीले ६०४ जनाको मृत्युको भएको तथ्यांक सार्वजनिक गरेको थियो ।

    द गार्जियनका अनुसार यस हप्ता भारी मनसुनी वर्षा र उष्णकटिबंधीय चक्रवातले इन्डोनेसिया, श्रीलंका र दक्षिणी थाइल्याण्ड लगायत एसियाका केही भागहरूलाई तहसनहस पारेको छ । यस क्षेत्रभरि १,२०० भन्दा बढी मानिसको मृत्यु भएको छ । पूर्वाधार नष्ट भएको छ र शहरहरू डुबानमा परेका छन् । इन्डोनेसियामा मात्र बाढीबाट ३२ लाख मानिस प्रभावित भएका छन् भने २,६०० जना घाइते भएका छन् । उच्च जोखिम भएका क्षेत्रहरूबाट दश लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

    सहायताकर्मीहरू र प्रतिक्रिया टोलीहरूले बाँचेकाहरूसम्म पुग्ने प्रयास गरिरहेको जनाएका छन् । अवरुद्ध सडकहरू र भत्किएका पुलहरूले बाधा पुर्‍याइरहेको उनीहरुको भनाइ छ । उत्तरी सुमात्राका केही क्षेत्रमा सडक पहुँचयोग्य छैनन् ।

    सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक आचेहमा बजारहरूमा चामल, तरकारी र अन्य आवश्यक वस्तुहरू सकिँदै गएका छन् । बजार मूल्य तीन गुणा बढेको इस्लामिक रिलीफले जनाएको छ । जसले १२ टन आपतकालीन खाद्य सहायता पठाइरहेको छ।

    ‘यदि आगामी सात दिनमा आपूर्ति लाइनहरू पुन: स्थापित गरिएन भने आचेहभरिका समुदायहरू खाद्यान्न अभाव र भोकमरीको गम्भीर जोखिममा छन् ।’ च्यारिटीका लागि योगदान गरिरहेका संस्थाले जनाएका छन् । इन्डोनेसियाली सरकारले सोमबार आचेहका साथै उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तहरूमा ३४,००० टन चामल र ६८ लाख लिटर खाना पकाउने तेल पठाउने बताएको छ।

    विश्व स्वास्थ्य संगठनले यस क्षेत्रमा द्रुत प्रतिक्रिया टोली र महत्वपूर्ण आपूर्तिहरू तैनाथ गरिरहेको र रोग निगरानीलाई सुदृढ गरिरहेको बताएको छ । एजेन्सीका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभामा पत्रकारहरूलाई जलवायु परिवर्तनले बारम्बार र चरम मौसमी घटनाहरू निम्त्याएको बताए । यसले विनाशकारी प्रभाव निम्त्याएको उनको भनाइ छ ।

    धेरैजसो उद्धार आश्रयस्थलमा बसिरहेकाले शक्तिशाली बाढी कसरी द्रुत गतिमा आयो र गाउँहरू डुबायो भनेर वर्णन गरेका छन् । ‘हामीले त्यो रात बाँच्नेछौं भन्ने सोचेका थिएनौं किनभने अवस्था यति अराजक थियो, सबैजना आफूलाई बचाउने बारेमा सोचिरहेका थिए । पानी आउनुभन्दा पहिले कुनै पूर्व चेतावनी दिइएको थिएन,’ इस्लामिक बोर्डिङ स्कूलकी १७ वर्षीया विद्यार्थी गहित्सा जहिरा काह्यानीले भनिन्, ‘स्कूलका सयौं विद्यार्थीहरू रातमा सुरक्षित स्थानमा भागे, तिनीहरूमध्ये केही रूखहरू र मस्जिदको छानामा टाँसिएर बसेका थिए ।’

    समाचार अनुसार यो समयको मनसुनमा प्रायः भारी वर्षा हुन्छ जसले पहिरो र बाढी निम्त्याउन सक्छ । तर यस वर्षको मुसलधारे वर्षालाई मलाक्का स्ट्रेटमा बनेको दुर्लभ उष्णकटिबंधीय आँधीले जटिल बनायो । जसले सुमात्रा र दक्षिणी थाइल्याण्डका केही भागहरूमा विनाश गर्‍यो । जहाँ १८१ जनाको मृत्यु भयो ।

    श्रीलंकाले पनि एउटा छुट्टै आँधी दिट्वाका कारण आएको विनाशकारी बाढी र पहिरोको सामना गर्नु परेको छ । यसले ४१० जनाको मृत्यु भएको छ भने ३३६ जना अझै बेपत्ता छन् । राष्ट्रपति अनुरा कुमार दिसानायकेले ‘हाम्रो इतिहासको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोप’ भनेर सम्बोधन गर्दै आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।

    देशभर वर्षा कम भएको छ, यद्यपि पहिरोबाट सबैभन्दा बढी प्रभावित मध्यक्षेत्रका अधिकांश भागमा पहिरोको चेतावनी अझै लागू रहेको अधिकारीहरूले बताएका छन् ।

  • प्रतिनिधि छनौटलाई लिएर शंकरको जिल्लाबाट अर्को उजुरी, मन्त्रीसहित ८ जनाको योग्यतामाथि प्रश्न

    प्रतिनिधि छनौटलाई लिएर शंकरको जिल्लाबाट अर्को उजुरी, मन्त्रीसहित ८ जनाको योग्यतामाथि प्रश्न

    दाङ । नेकपा एमाले दाङमा मापदण्डविपरीत महाधिवेशन प्रतिनिधि छनोट गरेको दाबीसहित प्रदेश र जिल्ला कमिटीका नेताले पुन: प्रतिनिधि छनोटको माग गरेका छन् । केन्द्रीय सल्लाहकार परिषद् सदस्य शारदा स्वर्णकार, प्रदेश सचिवालय सदस्य रामजी चौधरी, सीमा न्यौपाने, सुरामणी बेल्बासेसहित १९ जना नेताले संगठन विभागमा उजुरी हालेका छन् ।

    उनीहरूले ८ जना प्रतिनिधि संगठन विभागले तोकेको मापदण्डविपरीत भएको दाबी गरेका छन् । त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरू गरी पुन: प्रतिनिधि छनोटको प्रक्रिया थाल्नुपर्ने उजुरीमा माग गरिएको छ ।

    प्रतिनिधि बनेका निर्मला विक, तुलसा पोखरेल, सीता शर्मा चौधरी, देवबहादुर बस्नेत, लक्ष्मी शर्मा पुष्पा लामिछाने भट्टराई र आशीष योगीको सदस्यता प्राप्त गरेको समय अवधि प्रतिनिधि हुन अयोग्य भएको उनीहरूको जिकिर छ ।

    महाधिवेशन प्रतिनिधि हुन महिला, दलित र युवाको हकमा सदस्यता प्राप्त गरेको ७ वर्ष पुगेको हुनुपर्छ । तर, यी ८ जना कसैले पनि सदस्यता प्राप्त गरेको ७ वर्ष पुगेको छैन । महाधिवेशन प्रतिनिधि हुन अयोग्यको सूचीमा लुम्बिनी प्रदेश सिँचाइमन्त्री सीता शर्मा चौधरी समेत छिन् ।

    जिल्ला पदाधिकारी ५ जना र आफ्ना नजिककालाई प्रतिनिधि बनाएको भन्दै त्यो पनि खारेज गर्न उनीहरूले माग गरेका छन् । प्रतिनिधि छनौटमा विधि प्रक्रिया पालना नगरेको भन्दै यसअघि पनि संगठनमा उजुरी परेको थियो ।

  • एमालेको ११ औँ महाधिवेशन : समाजका ११ अपेक्षा

    एमालेको ११ औँ महाधिवेशन : समाजका ११ अपेक्षा

    भूमिका

    नेपालको राजनीतिक इतिहासमा महाधिवेशनहरू केवल आन्तरिक पार्टी प्रक्रिया मात्र होइनन्, देशको भावी दिशा, नीतिगत संरचना, नेतृत्वको वैचारिक स्वभाव, र नागरिकको अपेक्षा–विश्वाससँग प्रत्यक्ष रूपमा जोडिने बहु आयामिक राजनीतिक घटनाक्रम हुन्। विशेष गरी नेपालका ठूला र निर्णायक राजनीतिक दलहरूले गर्ने महाधिवेशनले देशकै नीति, शासन शैली, आर्थिक दृष्टिकोण, सामाजिक रूपान्तरण तथा राष्ट्रिय गौरवका विषयमा प्रभाव पार्ने शक्ति राख्छ।

    यही सन्दर्भमा यही मंसिर २७ देखि २९गते सम्म हुन गइरहेको नेकपा एमालेको ११ औँ महाधिवेशन नेपाली समाजका विविध तह–तप्का, वर्ग–समूह, युवादेखि उद्योगी–व्यापारी, मजदुरदेखि बुद्धिजीवी तथा नीति निर्माता सबैले टाउको उठाएर हेर्ने अवसर बन्नेछ। किनकि एमाले विगत तीन दशकदेखि नेपालको मुख्य धारा राजनीतिमा निर्णायक शक्ति हो—सरकार, प्रतिपक्ष, स्थानीय तह, संघीय संरचना, नीति निर्माण, विकास दृष्टिकोण र राष्ट्रिय स्वाधीनताको पाटोमा समेत यसको भूमिका सशक्त मानिन्छ।

    यस कारण, ११ औँ महाधिवेशनले के दियो भन्दा पनि नेपाली समाजले यसबाट के खोज्यो? भन्ने प्रश्न अझ महत्त्वपूर्ण बन्छ। समाज रूपान्तरणको आकाङ्क्षा, राजनीतिक स्थायित्वको चाहना, नेतृत्वप्रति भरोसा, सुशासनको माग, राष्ट्रवाद र समावेशी विकासजस्ता मूल मुद्दाहरू समाजको गहिराइमा रहेर महाधिवेशनको क्षेत्रमा उत्तर खोजिरहेका छन् ।

    यो लेखमा समाजले ११ औँ महाधिवेशनबाट खोजेको ११ प्रमुख अपेक्षा समग्र राजनीतिक–सामाजिक दृष्टिकोणसहित विस्तृत रूपमा प्रस्तुत गर्ने कोसिस गरेको छु |

    १. वैचारिक स्पष्टता र द्वैधता अन्त्यको अपेक्षा

    नेपालको वाम राजनीतिमा वैचारिक बहस सदैव जीवित रहन्छ। एमालेले समाजवाद उन्मुख विचारधारालाई आफ्नो आधिकारिक लाइनका रूपमा अँगाले पनि विगतका वर्षहरूमा प्रायोगिक राजनीति, गठबन्धन रणनीति, सत्ता–व्यवहार र पार्टीभित्रको शक्ति संरचनाले वैचारिक अनुशासन कमजोर देखाइएको आलोचना पाइयो।

    समाजले ११ औँ महाधिवेशनबाट पहिलो अपेक्षा स्पष्ट वैचारिक अनुशासन हो । समाजवादका लक्ष्य कुँदिने तर पुँजीवादी व्यवहार अपनाउने द्वैधता हटोस्। सिद्धान्त र व्यवहार बिचको दूरी घटोस्।

    वर्गीय दृष्टिकोण, उत्पादनमुखी अर्थतन्त्र, श्रमको सम्मान तथा सामाजिक न्यायका मुद्दाहरू कागजमा होइन, कार्य योजनामा देखियोस्।

    राजनीतिक रूपान्तरण चाहने युवापुस्ताले “विचार परिवर्तन होस्, तर भ्रम नहोस्” भन्ने सन्देश महाधिवेशनबाट अपेक्षा गरेको छ ।

    २. सुशासन र भ्रष्टाचारविरुद्ध कडाइ गर्ने प्रतिबद्धता

    विगत दशकमा नेपालमा भ्रष्टाचार, कमिसनवाद, प्रशासनिक ढिलासुस्ती, मनोनयन–आधारित राजनीति र व्यक्तिगत स्वार्थले राज्य संयन्त्र कमजोर बनाएको आरोप सबै दलमाथि लागिरहेको छ। एमाले पनि यसबाट अछुतो छैन ।

    त्यसैले समाजले ११ औँ महाधिवेशनबाट  भ्रष्टाचारमा शून्य सहनशीलता,पदाधिकारीहरूको आचारसंहितामा कडाइ,पार्टीभित्र स्वच्छ छवि भएका नेतृत्वको उदय,राज्य संयन्त्रमा पारदर्शिता जस्ता कुराहरूको अपेक्षा समाजले गरेको छ |

    जनताले अब भाषण होइन, कार्यगत प्रमाण खोज्ने अवस्था ११ औँ महाधिवेशनसम्म आइपुगेको छ ।

    ३. युवा नेतृत्वको उदय र जेनेरेसन ट्रान्सफरको अपेक्षा

    समाजको अर्को ठूलो अपेक्षा छ पार्टीभित्र जेनेरेसन सिफ्ट । दशाब्दीदेखि उही पुस्ताको नेतृत्वमा रहेका दलीय संरचनाले नयाँ पुस्ताको ऊर्जा, दूर दृष्टि र प्रविधि–अनुकूल सोचलाई अझै पूर्ण रूपमा अग्रस्थान दिन सकेको छैन ।

    संगठनमा ४० वर्षमुनिका नेतृत्व निर्णायक तहमा पुग्ने वातावरण बनोस्  , नीति निर्माणमा Generation-Z र मिलेनियलहरूको दृष्टिकोण संयोजन होस्  ,“नेतृत्व हस्तान्तरण” केवल नारा नभई व्यवहारिक प्रक्रिया बनोस्।

    ११ औँ महाधिवेशनले समाजलाई उत्तर दिनुपर्ने गम्भीर मुद्दा यही छ —पुस्तान्तरण बिना रूपान्तरण सम्भव छैन।

    ४. आन्तरिक लोकतन्त्र मजबुत पार्ने अपेक्षा

    एमालेजस्तो ठूलो दलमा आन्तरिक लोकतन्त्र, पारदर्शी प्रतिस्पर्धा, छलफल, आलोचना–आत्मालोचना र सामूहिक निर्णयको भूमिका निर्णायक हुन्छ । तर, विगतका वर्षहरूमा शीर्ष नेतृत्व–केन्द्रित संरचना, निर्णयमा कम सहभागिता, पद–प्रभाव र गुटीय राजनीति सक्रिय रहेको आलोचना उठिरहेको छ ।

    समाजले खोज्यो– आन्तरिक निर्वाचन खुला, स्वतन्त्र र निष्पक्ष होस्,गुटीय राजनीति समाप्त गर्ने संस्थागत उपाय बनोस्,“एक व्यक्ति, एक करियर” जस्ता सुधारहरू लागू होस्,पार्टीभित्र मतभिन्नता शत्रुता होइन, नीतिगत बहसका रूपमा लिन सकियोस्। राजनीतिक दल बलियो नहुँदा लोकतन्त्र पनि कमजोर हुने भएकाले यो अपेक्षा अत्यन्त महत्त्वपूर्ण छ ।

    ५. आर्थिक नीतिमा उत्पादन वृद्धि र रोजगारी सिर्जना

    नेपालको अर्थतन्त्र आयात–केन्द्रित, रेमिटेन्स–निर्भर र उत्पादन–क्षेत्र कमजोर भएको आलोचना लामो समयदेखि छ। युवाहरू विदेशिन बाध्य छन्। ग्रामीण अर्थतन्त्र मृत प्राय छ। त्यसैले समाजले महाधिवेशनबाट अपेक्षा गर्‍यो—स्वदेशमा रोजगारी सिर्जनाको ठोस योजना

    उद्योग, कृषि, पर्यटन र ऊर्जामा उत्पादन–केन्द्रित नीति लगानी–मैत्री वातावरण,दिगो पूर्वाधार विकास, राज्य र निजी क्षेत्रबीच साझेदारीको नयाँ मोडेल, जनताले “कस्तो सरकार?” भन्दा पहिले “कस्तो अर्थतन्त्र?” भन्ने प्रश्न उठाइरहेका छन्।

    ६. राष्ट्रिय स्वाधीनता र भूराजनीतिक सन्तुलनमा स्पष्टता

    नेपाल दुई ठूला छिमेकीबीच अवस्थित छ, जहाँ भू–राजनीतिक तरंग सधैँ सक्रिय रहन्छ। समाजले अपेक्षा गर्‍यो—

    राष्ट्रिय स्वाधीनताको मुद्दामा दृढ र स्पष्ट लाइन, कुनै पनि शक्तिको प्रभावमा नपर्ने balanced foreign policy, भारत–चीन–अमेरिकासँग सममूल्य सम्बन्ध, आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप न्यून पार्ने कूटनीतिक रणनीति।

    एमालेले सदैव राष्ट्रवादलाई प्रमुख एजेन्डा बनाएको भए पनि यसको सन्तुलित कार्यान्वयनमा प्रतिबद्धता देखिनुपर्छ भन्ने माग महाधिवेशनले ठूलो रूपमा बोकिरहेको छ ।

    ७. सामाजिक न्याय, समावेशिता र समान अवसर

    नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक देश हो। सामाजिक न्याय, समान अवसर र समावेशी शासन बिना राज्यको स्थायित्व सम्भव छैन।

    समाजले खोज्यो— जातीय, क्षेत्रीय, लैंगिक, वर्गीय समानताको सुनिश्चितता,नीति निर्माणमा महिला, दलित, मधेसी, जनजाति, अपांगता भएका नागरिक र पिछडिएका समुदायहरूको बढ्दो भूमिका,समान अवसरको राज्य–व्यवस्था,शिक्षा, स्वास्थ्य, सीप र पहुँचमा समानता। राजनीति केवल नेतृत्व होइन—समान अवसर निर्माण गर्ने संरचना पनि हो।

    ८. स्थानीय सरकार सुदृढीकरण र विकेन्द्रीकरणमा स्पष्ट नक्सा

    संघीयताले स्थानीय तहलाई सबल बनाउन खोज्यो। तर केन्द्र–प्रदेश–स्थानीय शक्ति सम्बन्ध अझै स्पष्ट छैन। विकास–बजेट, प्रशासनिक अधिकार, नीति कार्यान्वयनमा तालमेल कमजोर छ।

    समाजले महाधिवेशनबाट अपेक्षा गर्‍यो—

    स्थानीय सरकारलाई अधिकारसहित सक्षम बनाउने नीति, प्रदेश सरकारको भूमिकामा स्पष्टता, विकास समन्वयका एकीकृत मोडेल, जनसेवामा पहुँच–सुधार। नेपाल जस्तो भौगोलिक विविधतायुक्त देशमा विकेन्द्रीकरण सरकारी सेवाको मेरुदण्ड हो।

    ९. शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा प्राथमिकतामा आउने नीति

    जनताले चाहेको परिवर्तनको मूल जड शिक्षा–स्वास्थ्य हो।

    शिक्षामा गुणस्तर, सीप-उन्मुखता, प्रविधि उपयोग, स्वास्थ्य सेवामा सहज पहुँच, गरिब, वृद्ध, बालबालिका, अपांगता भएका नागरिक र महिला–केन्द्रित सामाजिक सुरक्षा, दिगो र न्यायपूर्ण कर–व्यवस्था। नेपाली समाजले अपेक्षा गर्‍यो-एमालेले महाधिवेशनबाट यस्तो नीति ल्याओस् जसले समानता, पहुँच र गुणस्तर का सबै खाडलहरू मेटोस् ।

    १०. राजनीतिक स्थिरता र दीर्घकालीन दृष्टिकोण

    अस्थिरताले विकास रोकेको सबैले महसुस गरेका छन्। पटक–पटक सरकार परिवर्तन, गठबन्धनको अस्थिर मनोविज्ञान, व्यक्तिगत अहंकार र दलीय टकराबले राज्य-व्यवस्था कमजोर बनाइरहेको छ।

    समाजले  खोज्यो- दीर्घकालीन नीतिहरू: शिक्षा, कृषि, ऊर्जा, पूर्वाधारमा २०-३० वर्षे नक्सा अन्तर दलीय सहकार्यको संस्कृति,राज्य सञ्चालनमा निरन्तरता,चाँडो निर्णय र द्रुत कार्यान्वयन राजनीतिक स्थिरता केवल सत्ता टिक्ने कुरा होइन-नीति स्थिरता हो । यसको समाधान आजको आवश्यकता हो ।

    ११. विश्वास जगाउने नेतृत्व, उचाइ र चरित्र

    राजनीतिक रूपान्तरणको अन्तिम आधार नेतृत्वकै चरित्र हो।

    समाजले ११ औँ महाधिवेशनबाट अपेक्षा गर्‍यो- दूरदृष्टियुक्त नेता, नैतिकता, इमानदारी र जनसेवामा समर्पित चरित्र, क्राइसिस–म्यानेजमेन्ट गर्न सक्ने क्षमता, संवाद, सहमति र सहकार्यमा दक्षता, राष्ट्रिय हितलाई अग्रस्थानमा राख्ने मूल्य–मान्यता। जनताले कहिल्यैभन्दा बढी खोजेको कुरा यही हो—भरोसा दिलाउने नेतृत्व।

    निष्कर्ष

    नेकपा एमालेको ११ औँ महाधिवेशन केवल पार्टीभित्रको पद-प्रतिस्पर्धा, संरचना विस्तार वा दस्ताबेज पारित गर्ने औपचारिक कार्यक्रम मात्र हैन । यो नेपाली समाजले पार्टीमाथि गरेको विश्वास परीक्षण हो ।

    समाजले गरेका  ११ अपेक्षा आफ्नो माग स्पष्ट रूपमा राख्ने र पूरा गर्न पहल गर्ने एमालेको ११औँ महाधिवेशनमा आउने सबै प्रतिनिधिको दायित्व र यो समाज प्रतिको बफादारिता हो ।

    यदि एमालेलगायत सबै दलहरूले यी अपेक्षाहरूलाई व्यवहारमा बदल्न सके—नेपालले स्थिरता, समृद्धि र न्याययुक्त समाज निर्माणतर्फ ठूलो कदम चाल्न सक्छ।

    यदि पार्टीहरू अझै पुरानै प्रवृत्ति, गुटीय स्वार्थ, अस्थिर गठबन्धन र व्यक्तिगत राजनीतिमा अल्झिरहे—समाजको निराशा झन् गाढा हुनेछ।

    यही कारण, ११ औँ महाधिवेशन समाजका लागि केवल “पार्टीभित्रको चुनाव” होइन-देशले खोजेको आशा र उत्तर हो।

    (लेखक रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष हुन् ।)

  • मार्तडी बजार आगलागीको कारण विद्युत सट, क्षति विवरण संकलन गरिँदै

    मार्तडी बजार आगलागीको कारण विद्युत सट, क्षति विवरण संकलन गरिँदै

    बाजुरा । जिल्ला सदरमुकाम मार्तडी बजारमा आगलागीबाट आगलागीबाट करोडौँको क्षति भएको छ ।

    बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा बिजुलीको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए ।

    पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।

    आगलागीबाट बडीमालिका-८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको जोशीले जानकारी दिए ।

    क्षतिको विवरण यकिन गर्ने काम भइरहेको उनले बताए ।

    -रासस

  • पूर्वमन्त्रीसहित ताप्लेजुङका २ नेतालाई एमालेले गर्‍यो निलम्बन

    पूर्वमन्त्रीसहित ताप्लेजुङका २ नेतालाई एमालेले गर्‍यो निलम्बन

    ताप्लेजुङ । ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा एमालेले ताप्लेजुङका २ नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरेको थियो ।

    कोशी प्रदेश कमिटीले कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सदस्य मणिशंकर पोमुलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरी सो अवधिका लागि निलम्बन गरेको पत्र पठाएको हो ।

    महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको जिल्लाको सिफारिसअनुसार कारबाही गरिएको पत्रमा उल्लेख छ ।

    कारबाहीको पत्रमा अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन् ।

  • एनपीएल-२ : जनकपुर बोल्ट्सको पहिलो जित

    एनपीएल-२ : जनकपुर बोल्ट्सको पहिलो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । सुरुआती ४ खेलमा हार बोहोरेको जनकपुरले आफ्नो पाँचौ खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो ।

    चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरको जितका ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए । अनिल शाह ६१, आसिफ शेख १६ र जोन निकोल लोफ्टी इन्टन ११ रनमा आउट भए । आदित्य मेहता १८ र सन्जय कृष्णमुर्ती ५ रनमा अविजित रहे ।

    बलिङमा चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

    चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । उनले अर्जुन साउदसँग पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । अर्जुन ५२ रनमा आउट भए । सैफ जैव ७, रवि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल ३० र अमरसिंह रौटेला एक रनमा अविजित रहे । अन्तिम ओभरमा कुशलले १८ रन जोडे ।

    बलिङमा जनकपुरका अनिल शाह, माज सदाकत, रुपेश सिंह र जोन निकोल लोफ्टी इन्टनले एकएक विकेट लिए ।

  • न्याय सेवाका ८ सहसचिवसहित ३८ कर्मचारीको सरुवा, १६ सहसचिवमा र ३३ उपसचिवमा बढुवा (सूचीसहित)

    न्याय सेवाका ८ सहसचिवसहित ३८ कर्मचारीको सरुवा, १६ सहसचिवमा र ३३ उपसचिवमा बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल न्याय सेवातर्फ ८ सहसचिवसहित शाखा अधिकृतसम्म गरेर २५ जना कर्मचारीको सरुवा भएको छ ।

    न्याय सेवा आयोगको सोमबार बसेको बैठकले न्याय सेवाका विभिन्न समूहतर्फका ८ सहसचिव, १७ उपसचिव र १३ शाखा अधिकृतको सरुवा गरेको हो ।

    यस्तै आयोगले न्याय सेवाकै विभिन्न समूहतर्फ गरेर १६ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ भने ३३ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ ।

    जसमा सहसचिवतर्फ ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनबाट ८ जना र कार्यक्षमता मूल्यांकनबाट ८ जना सहसचिवमा बढुवा भएका हुन् ।

    यस्तै ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनबाट १५ जना र कार्यक्षमता मूल्यांकनबाट १७ जनालाई उपसचिवमा बढुवा गरेको छ ।

  • नेकपा एस कोशीका उपसचिव लामा एमालेमा फर्किए

    नेकपा एस कोशीका उपसचिव लामा एमालेमा फर्किए

    विराटनगर । विघटित नेकपा एस कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमाले प्रवेश गरेका छन । उनी जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत हुन् ।

    एकीकृत समाजवादी र माओवादी सहितका दलहरूका बीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामा ‘घर फर्क’ अभियानअन्तर्गत एमालेमा प्रवेश गरेका हुन् ।

    पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, कार्यवाहक अध्यक्ष दिपेन पोमु , पूर्व जिल्ला अध्यक्ष भूपेन्द्र थेबेलगायतले लामालाई स्वागगत गरे । लामासँगै २५ जना समाजवादीका नेता तथा एमाले प्रवेश गरेको राष्ट्रिय जनसांस्कृतिक महासंघ ताप्लेजुङ अध्यक्ष हेमराज निरौलाले बताए ।

  • विष्णु पौडेलसँगको पुरानो फोटो राख्दै ईश्वरले भने- जोखिम, प्रतिकूलता र दुःखका दिनमा हामी सँगै

    विष्णु पौडेलसँगको पुरानो फोटो राख्दै ईश्वरले भने- जोखिम, प्रतिकूलता र दुःखका दिनमा हामी सँगै

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उपाध्यक्ष विष्णु पौडेललाई जन्मदिनको शुभकामना दिँदै विगत सम्झिएका छन् ।

    ११ औँ महाधिवेशनमा पार्टी अध्यक्षमा केपी ओलीसँग भिड्ने घोषणा गरेका पोखरेलले आज पौडेललाई शुभकामना दिँदै विगतका दुःखमा साथ दिएको स्मरण गरेका हुन् ।

    फेसबुकमा पुरानो तस्बिर राख्दै पोखरेलले लेखेका छन्, ‘प्रिय विष्णु पौडेल कमरेड ! जन्म दिवसका अवसरमा हार्दिक शुभकामना ! जोखिम, प्रतिकूलता र दुःखका दिनमा हामीसँगै रहेको क्षण याद दिलाउने तस्बिरमा हामी दुई !’

    महाधिवेशनमा पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुँदा पौडेलसँग नतिजामा उलटफेर पार्नसक्ने शक्ति रहेको बताइन्छ । अध्यक्ष केपी ओलीनिकट रहेर काम गर्दै आइरहेका पौडेल ११ औँ महाधिवेशनमा कता खुल्छन् अझै तय भइसकेको छैन ।

    ओलीको पक्षमा खुलेको चर्चा भएपछि आन्तरिक सङ्घर्षमा अन्तिमसम्म पौडेल ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताइन्छ ।

  • सूचना प्रविधिमा क्रान्ति र हाम्रा चुनौती

    सूचना प्रविधिमा क्रान्ति र हाम्रा चुनौती

    आज संसार नयाँ शितयुद्धमा उभिएको छ । दोस्रो विश्वयुद्ध पछिको शितयुद्धमा संयुक्त राज्य अमेरिका र सोभियत संघ (रुस) बीच राजनैतिक सँगै विज्ञान प्रविधि, अन्तरिक्ष गतिविधि, वातावरण संरक्षण, व्यापारिक साझेदारी, अधिकार आदि क्षेत्रहरूमा कडा प्रतिस्पर्धा देखिएको थियो । अहिले कोभिड महामारीपछि शुरु भएको नयाँ शितयुद्धले अमेरिका, रुस र चीनबीच अन्य विविध क्षेत्र जस्तै सूचना प्रविधिको क्षेत्रमा तीव्र शक्ति संघर्ष भइरहेको देखिन्छ ।

    सामान्यतया शक्ति भन्नाले कसैलाई नियन्त्रणमा राख्ने वा आफ्नो इच्छा अनुसार चलाउने खुवी हो । मूलतः ज्ञान, बल र साहसलाई शक्तिको श्रोत मानिन्छ । तर आजको सूचना–प्रविधिको दुनियाँमा डेटा शक्तिको नयाँ श्रोत बनेर आएको छ । सूचना प्रविधिको तीव्र विकासले विश्वमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनामा गहिरो परिवर्तन ल्याएको छ ।

    बिसौँ शताब्दीको अन्त्य र एक्काइसौँ शताब्दीको सुरुदेखि इन्टरनेट, कृत्रिम बुद्धिमता (AI), बिग डेटा र सामाजिक सञ्जालले विश्वभरको व्यापार, उत्पादन, संरचना र राजनीतिक चेतनामा समेत गहिरो प्रभाव पारेको छ । विश्वका दुई शक्तिशाली राष्ट्रहरू अमेरिका र चीनबीचको एक प्रकारको टेक युद्ध (AI, छन्, र सेमिकण्डकटर) नै चलेको छ । त्यस्तै नेपाल, श्रीलंका, बंगलादेश लगायतका देशमा भएका जेन जी आन्दोलनमा समेत सूचना प्रविधिको प्रचुर प्रयोग भएको देखिन्छ ।

    सन् १७६० को दशकमा आएको औद्योगिक क्रान्तिले सामन्ती उत्पादन प्रणालीलाई विस्थापन गरेर पुँजीवादी उत्पादन प्रणालीको उदय भयो । समाज मेसिन, पुँजी र बजारमुखी बन्न पुग्यो । ठिक त्यसरी नै सन् १९९७ पछि सूचना प्रविधिमा आएको चमत्कारिक परिवर्तनले समाजको आर्थिक, सामाजिक र दैनिक जीवनशैलीमा व्यापक बदलाव ल्याएको छ ।

    मार्क्स र एङ्गेल्सले कम्युनिष्ट मेनिफेस्टो (१८४८) मार्फत दाबी गरे जस्तै आज पूँजीवादले सारा विश्वलाई बजारमा रूपान्तरण गरिदिएको छ । आजको डिजिटल युगले डेटा, सूचना र प्रविधिलाई नयाँ उत्पादनको साधनका रूपमा स्थापित गरिदिएको छ । यस्ता उत्पादनका साधनमाथि शक्ति राष्ट्रहरूको एकाधिकार (monopoly) स्थापित हुँदै गएको छ । एकातिर अमेरिकी टेक कम्पनीहरू (Google, Meta, Microsoft, Amazon) आदि र अर्कोतर्फ चिनियाँ कम्पनीहरू (Huawei, Byte Dance, Aibaba) आदि बीच बजारको लागि चर्को प्रतिस्पर्धा चलिरहेको छ । यी दुवै देशहरूले यो नयाँ बजारका लागि वैचारिक आवरणमा संघर्ष गरिरहेका छन् ।

    नेपाल जस्ता विकाशोन्मुख र सानो अर्थतन्त्र भएका देशहरू यसका उपभोक्ता मात्र बनिरहेका छन् । हामीले विदेशी कम्पनीका सफ्टवेयर, क्लाउड सेवा, र हार्डवेयरमा निर्भर रहनु परेको छ । जुन देशले डेटा, सूचना र सांस्कृतिक सम्पत्तिमा नियन्त्रण गुमाउँछ, त्यो देश डिजिटल उपनिवेश बनिरहेको छ । हामीले स्वीकार गरे पनि नगरे पनि हाम्रो देश यही दिशा उन्मुख छ । नेपाल जस्ता देशको लागि डिजिटल साम्राज्यको कारण अनेकौँ नयाँ चुनौतीहरू थपिएको छ ।

    पहिलो त डेटा र प्रविधिमा परनिर्भरता बढाएको छ । डिजिटल अर्थतन्त्र मार्फत नेपाली अर्थतन्त्रको शोषण भएको छ । उत्पादन र पुँजीको एकीकरण, बैंक र औद्योगिक पुँजीको मिलन, विश्व बजारको पुनर्विभाजन, उपनिवेश र शक्तिशाली राष्ट्रबीचको प्रतिस्पर्धाका रूपमा प्रकट हुने गरेको साम्राज्यवाद आज डिजिटल साम्राज्यवादका रूपमा रूपान्तरण भएको छ । सामाजिक सञ्जालमा हामीले गर्ने हरेक क्रियाकलापहरूबाट बहुराष्ट्रिय कम्पनीहरूले नाफा कमाइरहेका छन् ।

    होशना जुबोफ (२०१९) ले Survifllance Capitalism मा मानिसको निजी व्यवहार पनि नाफाको वस्तु बन्दछ भनेर पुष्टि गरेका छन् । नेपालमा प्रयोग भइरहेका अधिकांश डिजिटल सेवाहरू जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक, गुगल, युट्युब आदि सबै विदेशी कम्पनीका उत्पादनहरू हुन् । यी कम्पनीहरूले हाम्रो डेटा संकलन गर्छन् र आफ्नो व्यापारिक प्रयोगमा ल्याउँछन् ।

    त्यति मात्र होइन, हामीले content creation, clicks, engagement आदिका रूपमा गरेको निःशुल्क श्रम, डिजिटल श्रमिकहरू (कन्टेन क्रियटर, डाटा वर्कर्स, गिग वर्कर्स आदि) को श्रम र नेपाली डिजिटल बजार (ads, ecommerce, payment gateway, app store charges)आदि बाट हुने नाफा पनि विदेशी कम्पनीले नै लैजान्छ । यसरी विकासोन्मुख देशका नागरिकको डेटा प्रयोग गरेर बहुराष्ट्रिय कम्पनीहरूले नाफा कमाउँछन् तर प्रतिफल दिँदैनन् ।

    यसरी हेर्दा सूचना प्रविधिको नवक्रान्तिले मानव जीवनलाई सहज र गतिशील त बनाएको छ, भौतिक विकाश, प्रविधिको प्रयोग, लगानी, उत्पादकत्व वृद्धि र आर्थिक प्रगति जस्ता पक्षमा सकारात्मक योगदान त गरेको छ तर लाभांश वितरणको अति असमानताले विभेदको गहिरो खाडल पनि तयार हुँदैछ ।

    दोस्रो चुनौती सांस्कृतिक अतिक्रमण हो । हर्बर्ट शिलरले १९७० को दशकमा Communication and Cultural Domination नामक पुस्तकमा पश्चिमी देशहरूले सञ्चार माध्यम र प्रविधिको नियन्त्रणमार्फत विकासोन्मुख देशहरूको चेतना र संस्कृति कब्जा गर्छन् भनेका छन् । भनिन्छ, कुनै देश नष्ट गर्नु छ भने त्यसको भाषा, साहित्य र संस्कृति सबैभन्दा पहिले नष्ट गर्नुपर्दछ । आजको डिजिटल दुनियाँमार्फत पाश्चात्य संस्कृतिले नेपाली संस्कृतिलाई तीव्रतर रूपमा अतिक्रमण गरिरहेको छ ।

    सामाजिक सञ्जाल, स्ट्रिमिंग प्लेटफर्म (netflix, YouTube, TikTok) र विदेशी मिडिया तथा उनीहरूका दलाल मिडियाहरूमार्फत नेपालका युवा पुस्तामा उपभोक्तावादी र व्यक्तिवादी प्रवृत्ति तथा पुँजीवादी सोचलाई सामान्यकृत गरिएको छ । यी प्लेटफर्महरूले पश्चिमी जीवनशैली र उपभोक्तावादलाई विश्वव्यापी मानकका रूपमा प्रस्तुत गर्छन् । यसले स्थानीय भाषा र संस्कृतिलाई कमजोर बनाउँछ र उपभोक्तावादी चेतनालाई बलियो बनाउँछ । त्यसैले हाम्रा मौलिक संस्कार र संस्कृति नष्ट हुदै गइरहेको छ भने आयातित संस्कृति भित्रने क्रम तिव्र भएको छ । परिणामतः नेपाली समाज विघटनको दिशामा छ ।

    तेस्रो चुनौती राजनीतिक प्रभाव र सूचना नियन्त्रण हो । नोम चोम्स्कीले Manufacturing Consent (१९८८) मा मिडियाको प्रयोगबाट जनमत र चेतनामा साम्राज्यवादी प्रभाव बिस्तार गरिन्छ भनेका छन् । हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल मार्फत हाम्रो रुचि, चाहाना र आवश्यकता पहिचान गरिन्छ सोही अनुसार सूचना सम्प्रेषण गरिन्छ । तर हामीले थाहै नपाउने गरी यस्ता सामाजिक सञ्जालहरूले विभिन्न एल्गोरिदमहरु प्रयोग गरी हाम्रो मस्तिष्क नियन्त्रण (ब्रेन कन्ट्रोल) गरेको हुन्छ । यो नियन्त्रित मस्तिष्कलाई व्यापारिक स्वार्थको लागि मात्र होइन राजनैतिक स्वार्थको लागि पनि सहजै प्रयोग गरिन्छ । यस्ता एल्गोरिदमको माध्यमबाट कुन समाचार प्राथमिकताका साथ देखाउने र कुन नदेखाउने सेटिङ समेत गर्न सकिने हुँदा जनमत सृजना गर्न वा भड्काउन सहजै सकिन्छ । दृष्टान्तको रूपमा हामी भाद्र २३ को जेनजी आन्दोलनलाई लिन सक्छौँ । अमेरिकाको जनसंख्यिक अध्ययनकर्ता र मिडिया विश्लेषकहरूले प्रयोगमा ल्याएको जेनेरेसन जेड शब्द जसलाई अमेरिकाको Pew Research Center ले सन् २०१९ मा सन् १९९७ पछि जन्मिएको पुस्तालाई Gen-Z भनी परिभाषित गर्‍यो ।

    अमेरिकी उत्पादन Gen-Z नेपालमा आइपुग्दा जेनजी भयो त्यसैको नाममा भएको आन्दोलनले एक दिनमै सत्तापलट गरिदियो । अन्य समयमा अति संवेदनशील तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालले कम्युनिटी स्टान्डर्ड गाइडलाइन्स अनुसार आफैँ हटाउने गरेको थियो तर यो आन्दोलनका तस्बिर तथा भिडियोहरू जति सुकै संवेदनशील भए पनि हटाएन र यो अझै सामाजिक सञ्जालभर छरपस्ट देख्न सकिन्छ । यसबाट पनि के स्पष्ट हुन्छ भने हाम्रो जस्तो संवेदनशील भूराजनीति भएको देशको लागि सूचना प्रविधिमा आएको क्रान्ति अझ बढी चुनौती बनेको छ ।

    केही समय अगाडी नेपाल सरकारले चिनिया कम्पनी बाइट डान्सको उत्पादन टिकटक प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारका शर्त मानेपछि दर्ता गरी पुनः सञ्चालन भयो । तर फेसबुक, एक्स, इन्स्टाग्राम आदि दर्ता हुन तयार भएनन् । प्रतिबन्ध लगाउँदा देशमै अराजकताको अवस्था सृजना भयो ।

    यसको अर्थ नेपालले आफ्नो डिजिटल सार्वभौमिकता (Digital Sovereignty) गुमाएको छ । नेपाली प्रयोगकर्ताको डेटा विदेशी सर्भरमा संकलन भइरहेको छ । सामाजिक सञ्जालको एल्गोरिदमले जनचेतना र राजनीतिक धारणा प्रभावित गरिएको छ । कन्टेन्ट क्रियटर, अभियन्ता र कलाकारहरुलाई प्रयोग गरेर मास मेनुपुलेसन गरिएको छ । विदेशी विज्ञापन कम्पनीहरूले नेपालको डिजिटल बजारलाई नियन्त्रण गरेको छ । यसरी नेपाल डिजिटल उपनिवेशको स्थितिमा पुगेको छ ।

    हामीले यो अवस्थामा प्रतिरोधी क्षमता बढाउने रणनीतिहरू तय गर्नुपर्दछ । डिजिटल सार्वभौमिकताको नीति तय गर्नुपर्दछ । देशले आफ्ना नागरिकको डेटा र सूचना प्रणाली आफ्नै कानुन र प्रविधिको नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै स्थानीय प्रविधि विकासमा जोड दिनु पर्दछ । स्वदेशी सफ्टवेयर, प्लेटफर्म र सामाजिक सञ्जालहरूको निर्माण र अनुसन्धानमा लगानी गर्नुपर्छ । डिजिटल साक्षरता र आलोचनात्मक चेतना सञ्चार गर्नु पर्दछ । ताकि विदेशी निर्भरता घटोस् र नागरिकले प्रविधिको प्रयोग मात्र होइन, यसको राजनीतिक आर्थिक अर्थ पनि बुझ्न सक्नुपर्छ । क्षेत्रीय सहकार्य (Regional Cooperation) लाई अगाडि बढाउनु पर्दछ । दक्षिण एसियाली राष्ट्रहरूले साझा नीति बनाएर डिजिटल साम्राज्यवादविरुद्ध प्रतिरोध गर्न सक्नु पर्दछ ।

  • मार्तडी बजारमा आगलागी, २ घण्टादेखि निभाउने प्रयास जारी

    मार्तडी बजारमा आगलागी, २ घण्टादेखि निभाउने प्रयास जारी

    बाजुरा । बाजुराको मार्तडी बजारमा भीषण भएको छ । बाजुराको एक पसलमा लागेको निभाउने क्रम जारी छ । दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२:२० बजेतिर आगलागी सुरु भएको हो ।

    बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

  • संकलन गरिएभन्दा कम खपत हुन थालेपछि विराटनगरमा पुन: पाउडर दूध उत्पादन

    संकलन गरिएभन्दा कम खपत हुन थालेपछि विराटनगरमा पुन: पाउडर दूध उत्पादन

    विराटनगर । स्थिर आपूर्ति व्यवस्थापनको उद्देश्य साथ विराटनगर दुग्ध वितरण आयोजनाले पुनः पाउडर दूध उत्पादन सुरू गरेको छ ।

    पूर्व क्षेत्रका कृषकबाट दैनिक करिब १२ हजार लिटर दूध संकलन हुने तर बजारमा दैनिक ४ हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ मात्र बिक्री हुने अवस्थामा दूधको उपयोगका लागि पुनः पाउडर दूध उत्पादन सुरू गरिएको आयोजनाले जनाएको छ ।

    काठमाडौंस्थित मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिलाई करिब १ हजार किलो अर्ध-तयारी कच्चा चीज वितरण हुँदै आएकोमा कम्पनीको बैंक ग्यारेन्टी म्याद सकिएपछि हालका लागि सो सामग्री वितरण रोकिएको छ ।

    नयाँ सम्झौता प्रक्रियामा केही समय लाग्ने भएकाले सङ्कलित दूध नष्ट हुन नदिई पाउडर दूध उत्पादनतर्फ फर्कनु परेको आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरले बताए । अहिले तीन-चार दिनको अन्तरालमा एक पटक पाउडर दूध उत्पादन भइरहेको छ ।

    विराटनगर दुग्ध वितरण आयोजनामा हाल करिब ९८ मेट्रिक टन मक्खन र १०७ मेट्रिक टन पाउडर दूध मौज्दात रहेको छ । दूध संकलन वृद्धि, उत्पादन विविधीकरण र मौज्दात व्यवस्थापनमार्फत कृषकको दूध सुनिश्चितरूपमा उपयोग हुने वातावरण बन्न थालेको आयोजनाले जनाएको छ ।

  • भोजपुरको होम्ताङमा एम्बुलेन्स दुर्घटना : दुई गम्भीर घाइते

    भोजपुरको होम्ताङमा एम्बुलेन्स दुर्घटना : दुई गम्भीर घाइते

    भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् ।

    प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

    घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले बताए ।

    – रासस

  • भन्सार छली नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद

    भन्सार छली नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद

    काठमाडौं । सशस्त्र प्रहरीले चोरीपैठारी गरी नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद गरेको छ ।

    धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सोमबार १३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको काजु बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई-छिपाई राखेको अवस्थामा १ हजार ३ सय ७० किलोग्राम काजु बरामद गरिएको हो ।

    बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल ८ नम्बर गण धनुषाले जनाएको छ ।

  • प्रशासनिक जीवनपछि त्रिलोचनको काव्यिक अवतार- महाकाव्यमा समकालीन समय र समाजको स्वर

    प्रशासनिक जीवनपछि त्रिलोचनको काव्यिक अवतार- महाकाव्यमा समकालीन समय र समाजको स्वर

    समय समस्याका चाङमा उभिएको छ, समाजको हालत त्यही छ । निराशा, छट्पटी र अनेकन वेदनायुक्त समय र समाजभित्र आधारित भएर कवि त्रिलोचन आचार्य ‘अविश्रान्त’ महाकाव्यका साथ पेश भएका छन् ।

    प्राध्यापक रामप्रसाद ज्ञवाली (विद्यावारिधि) ले भूमिकामा लेखेजस्तो महाकाव्यको आख्यान महाकाव्यकारको आदर्श चाहना र नेपाली समाजको बिडम्बनापूर्ण जटिल यथार्थको उद्घाटन गर्दै अघि बढ्छ । त्यसमा कविका निजी आस्था र विश्वासका कुरा आउँछन् । गाउँबाट दरिद्रता र अन्याय हटाउने कुरामा रुचि देखाउँदै समृद्धिको उच्च कल्पनशीलतामा महाकाव्य बगेको छ ।

    महासकाव्य २३ सर्गमा प्रस्तुत छ । त्यसमध्ये पहिलो सर्गको ६५ औँ हरफमा उनी यसरी पेश भएका छन्–

    खोज्छौ छोरा किन सफलता कामसम्मै नपुग्दै
    खौज्छौ छोरा किन सब कुर धामसम्मै नपुग्दै
    देख्छौ आर्जै लहर परको लामसम्मै नपुग्दै ?
    गर्छौ काम्ने थुरथुर चिसो यामसम्मै नपुग्दै

    भूमिका लेखक पुरुषोत्तम सिग्देलका अनुसार मंगलचरणका प्रयोजन राष्ट्रवन्दनाबाट काव्य अघि बढेको छ । आफ्नै गाउँका शिष्ट र सरल परिवार, जसमा बाबा महेश, आमा गंगा, छोरा रमेश र बुहारी सानी नामाकरण गरेर कवि उत्पाद्य पात्रहरु तीन अक्षर भएका पुरुष र दुई अक्षरका नारी र छोरो ज्ञानु छन् । सरल नामका पात्र चयन गर्नुमा पात्रहरुको जीवन चरीत्र सामान्य गाउँले छ भन्ने अभिलक्षणा पाइन्छ ।

    ६८ औँ हरफमा उनी भन्छन्–

    साना नानी रहस छ उडौँ भेट्न आकाश भन्छन्
    डाली डालीतिर वनचरी मुग्ध आवास बुन्छन्
    हेरौँ ऐले हर चिज यहाँ काम लागी रहेछ
    आँखा छोपी किन पर हुने ? त्रास–जागी रहेछ ।

    समाजको सामाजिक जीवनमात्रै होइन, राजनीतिक र सांस्कृतिक पनि अस्तव्यस्त छ । यद्यपि, कवि निराश छैनन् । उनका काव्यिक हरफमा आशाहरु सञ्चारित छन् । लेख्छन्–

    छैनन् कानूनका कुरा तर सधैँ निर्धा दपेट्ने कुरा
    छैनन् निर्धनका कुरा तर हुने सोझा लखेट्ने कुरा
    छैनन् काख बसाउँदै भर भुँडी खाना दिने को चुने
    हेर्ने हो सबले खिसी नजरले के स्वच्छता आउने ?
    (पृष्ठ २९३)

    महाकाव्यकार सेवा निवृत्त प्रशासक हुन् । उनले निजामती सेवामा ४० वर्ष बिताए । महाकाव्यलाई प्रशासनिक सेवामा बसेर गरिएको समाज अध्ययनको संग्रह पनि मान्न सकिन्छ । उनको जन्म २०२१ चैत १० गते सिन्धुपाल्चोक जिल्लाको इन्द्रवाती गाउँपालिका– १०, सिपाबडहरेमा भएको छ । हाल बूढानीलकण्ठ नगरपालिका– १२, कपनका बासिन्दा हुन् ।

    प्राध्यापक ज्ञवालीले भूमिकामै लेखेका छन्, ‘महाकाव्य कवि त्रिलोचन आचार्यको समाजबोध र जीवनदृष्टिको प्रबन्धकाव्यिक अभिव्यक्ति पनि हो । सबैजसो सर्गमा कवि आफ्नो युगबोध र जीवन दर्शन प्रस्तुत गरिरहन्छन् । कवि भौतिक सुखसुविधा र धनसम्पत्तिका निम्ति मरिहत्ते गरिरहेको मान्छे र पुँजीवादी प्रवृत्तिका विरुद्ध प्रश्न उठाइरहन्छन् र व्यंग्इ पनि गरिरहन्छन् ।’

  • चिनिया जल क्षेत्रमा जापानी जहाज प्रवेश गरेपछि चीनको चेतावनी

    चिनिया जल क्षेत्रमा जापानी जहाज प्रवेश गरेपछि चीनको चेतावनी

    काठमाडौं । चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मङ्गलबार घोषणा गरेको छ ।

    चाइना कोस्ट गार्ड (सिसिजी) का प्रवक्ता लिउ डेजुनलाई उदृत गर्दै चीनको दियाओउ दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैध रूपमा प्रवेश गरेपछि जापानी माछा मार्ने जहाजलाई चेतावनीसहित निष्कासन गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

    सिसिजीले कानुन अनुसार आवश्यक नियन्त्रण उपायहरू अपनाउनुका साथै चेतावनी जारी गरी जहाजलाई फर्काएको लिउले बताए । उनले दियाओउ दाओ र यसका टापुहरू अभिन्न चिनियाँ क्षेत्र रहेको बताए ।

    सीसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न दियाओउ दाओको पानीमा अधिकार–संरक्षण कानून प्रवर्तन अपरेसनहरू जारी राख्नेसमेत उनले बताएका छन् ।

  • सिकेसँग छुट्टिएका शरद सिंहले दर्ता गरे जनअधिकार पार्टी, चुनाव चिन्ह डुङ्गा

    सिकेसँग छुट्टिएका शरद सिंहले दर्ता गरे जनअधिकार पार्टी, चुनाव चिन्ह डुङ्गा

    काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएका डा. शरद सिंह यादवले बेग्लै पार्टी दर्ता गरेका छन्। निर्वाचन आयोगमा आफैँ अध्यक्ष रहेर जनअधिकार पार्टी दर्ता गरेका हुन्।

    पार्टीको चुनाव चिन्ह डुङ्गा राखेको उनले बताए। जनमतमा हुँदा यादव प्रवक्ताको भूमिकामा थिए। उनीसँग जनमतबाट अलग भएका अब्दुल खानसहित केही नेताहरू भने रेशम चौधरीको नाउपा नेपालमा सामेल भएका छन्।

  • एनपीएल २: कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

    एनपीएल २: कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा एक चियरलिडर घाइते बनेकी छन् । चितवन टाइगर्सका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेको बलले लागेर उनी घाइते बनेकी हुन् ।

    अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो । उनको नाकबाट रगत बग्न थालेपछि स्ट्रेचरमा राखेर निकालिएको छ । उनलाई अस्पताल लगिएको छ ।

  • ‘अभिमन्यु : च्याप्टर-१’ ले पायो प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, कसले के भने?

    ‘अभिमन्यु : च्याप्टर-१’ ले पायो प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, कसले के भने?

    काठमाडौं । निर्माता विनोद पौडेल निर्मित चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । निर्माण टिमले सोमबार साँझ ललितपुरस्थित लविम मलमा चलचित्रको प्रिमियर आयोजना गरेको थियो।

    प्रिमियरमा अभिमन्यु हेरेर निस्किएका अधिकांशले चलचित्रको कथा, कथ्य शैली र कलाकारको अभिनयको तारिफ गरेका थिए । कौतुहलता सिर्जना गर्ने सिनेमा बनेको बताउँदै कलाकारको कामले चलचित्रलाई थप बलियो बनाएको प्रतिक्रिया प्रिमियरमा उपस्थित निर्देशक, कलाकार तथा निर्माताहरूको थियो।

    ‘अभिमन्यु : च्याप्टर–१’ हेरेर निस्किएका अभिनेता दिव्यदेव पन्तले चलचित्रको तारिफ गर्दै भने,’चलचित्रको कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनय अब्बल छ। सामान्यतया सिनेमामा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स् गराइन्थ्यो, त्यो परम्परालाई यो फिल्मले तोडेको छ । पर्फर्मेन्सको हिसाबले एकदमै उत्कृष्ट छ।’

    पन्तले निर्माता पौडेलको ‘पूर्णबहादुरको सारङ्गी’ मा जस्तै यो चलचित्रमा पनि ‘अन्डररेटेड’ कलाकारहरूलाई विश्वास गरेर राम्रो निर्देशन र बलियो कथामा लगानी गरेको आफुलाई खुसी लागेको बताए।

    त्यस्तै, चलचित्र हेरेर निस्किएका निर्देशक सोभित बस्नेतले पनि पुरै टिमको तारिफ गरे। उनले भने,’अहिले जति पनि नेपाली चलचित्र चलिरहेका छन, त्यो कलाकारको चलचित्र चलेका हुन। पहिला स्टारका चलचित्र चल्थे, अहिले कलाकारका चलचित्र चल्छन् । दर्शकले अहिले अनुहार भन्दा पनि अभिनय र प्रतिभालाई प्राथमिकता दिन थालेका छन् र यो चलचित्रमा पनि त्यस्तै कलाकारको अब्बल काम देख्न सकिन्छ।’

    बस्नेतले चलचित्रको मुख्य पात्र कामेश्वर चौरसियाको कामको प्रशंसा गर्दै चलचित्रले अन्तिमसम्म बाँधेर राख्ने प्रतिक्रिया दिए।

    मोडल तथा अभिनेत्री अलिशा बास्तोलाले चलचित्र हेर्दा आफूलाई भित्रैबाट ‘ब्लकबस्टर’ हुन्छ जस्तो महसुस भएको बताइन् । उनले भनिन्,’हामीले जसरी साउथ इन्डियन फिल्महरू एकदम कौतुहलताका साथ हेर्छौँ, यो फिल्ममा पनि अब के हुन्छ, अब के हुन्छ भन्दै अन्तिमसम्म त्यसरी नै हेरिन्छ। चलचित्रको सबै पक्ष अथेन्टिक र उत्कृष्ट छ। म चाहन्छु, यसले ‘पूर्णबहादुरको सारङ्गी’ को रेकर्ड तोडोस।’

    त्यस्तै, कमेडीयन भरतमणी पौडेलले चलचित्रले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिदै सबै टिमलाई बधाई दिए।

    चलचित्रका मुख्य अभिनेता कामेश्वर चौरासियाले लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले भने,’कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ । अहिलेसम्म मैले जति काम गरेँ, सबैले तारिफ गर्नुभयो तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ । जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।’

    त्यस्तै, चलचित्रकी मुख्य अभिनेत्री लक्ष्मी बर्देवाले आफू यो चलचित्रको सुटिङ गर्दा प्रेग्नेन्ट रहेको बताइन् । उनले स्क्रिप्ट पढ्दादेखि नै क्यारेक्टर मन परेको र शारीरिक अवस्था जटिल भए पनि चलचित्रको टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको बताइन् ।

    अर्की अभिनेत्री सरिता गिरीले पुरुष प्रधान फिल्महरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित फिल्म बनेको र पुरुष पात्रहरूले त्यसलाई सपोर्ट गरेको देख्दा खुसी लागेको बताइन् ।

    ‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारबाट रिलिज आउदैछ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

    सुशान्त गौतमले निर्देशन गरेको यो चलचित्रलाई मुकेश खनालले लेखेका हुन। चलचित्रलाई निर्माता विनोद पौडेल र गुञ्जन गिरीले मिलेर निर्माण गरेका छन् । चलचित्र नेपाली र हिन्दी दुवै भाषामा विश्वव्यापी प्रदर्शनमा आउँदैछ।

  • कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको प्रश्न : माघ मसान्तसम्म कार्यकाल किन थपियो ?

    कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको प्रश्न : माघ मसान्तसम्म कार्यकाल किन थपियो ?

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २६–२८ को महाधिवेशन मिति पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक देखिएको निष्कर्ष निकालेको छ।

    विशेष महाधिवेशन पक्षधरले वक्तव्य जारी गर्दै तोकिएको समयमा नियमित नभए विशेष महाधिवेशन हुने प्रस्ट अडान दोहोर्‍याएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका शृङ्खलाहरू अवरुद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ ।’

    पुसमा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ? भन्दै प्रश्न गरेको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ । यस बिच हुने आम चुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भिरतापूर्वक हेरिरहेका छौँ । लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन केवल विधानको दायित्व मात्र होइन, यो त पार्टीको आन्तरिक लोकतन्त्रको श्वास, नयाँ पुस्ताको ऊर्जा र नेतृत्व नवीकरणको अनिवार्य प्रक्रिया हो ।’

    नीति र नेतृत्व दुवैलाई समयको मागअनुरूप परिमार्जन गरेर हरेक प्रतिकुलताको सामना गर्दै एकजुट भएर १५औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न सक्रियतापूर्वक सहभागी हुन अनुरोध गरेको छ।

    ‘१५औँ महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम हो । यसका लागि हस्ताक्षरकर्ता सम्पूर्ण साथीहरूलाई हार्दिक आभार प्रकट गर्दछौँ । साथै, पार्टीको समग्र सुधार, रूपान्तरण र पुनर्गठनका लागि तपाईँहरूको साथ र समर्थन सधैँ रहिरहने विश्वास व्यक्त गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ।

  • कुमारी बैंक-नार खोला हाइड्रोबीच वित्तीय व्यवस्थापनमा हस्ताक्षर, जलविद्युत निर्माण सुरु

    कुमारी बैंक-नार खोला हाइड्रोबीच वित्तीय व्यवस्थापनमा हस्ताक्षर, जलविद्युत निर्माण सुरु

    काठमाडौं । कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोको मुख्य लगानी हुने गरि मनाङ्गमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानीसम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।

    मनाङ्ग स्थित नार्पा भूमि र नासोँ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी नार खोला हाइड्रो इनर्जी प्रा.लि.ले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ ।

    नेपाल विद्युत प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजना, कुमारी बैंकको अगुवाई तथा नेपाल एसबिआई बैंकको सह–अगुवाईमा कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंकको रुपमा लगानी गर्ने गरी वित्तिय व्यवस्थापन टुङ्गिएर सोमबार हस्ताक्षर भएको हो ।

    नार खोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ । आयोजनाको बाँध तथा हेडवर्कका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा हुने, उक्त बाँधस्थलबाट नार्पा भुमि र नासोँ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि नासोँ गाउँपालिकामा रहको विद्युत गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङ्गस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ ।
    कुल लागत १२ अर्ब ८४ करोड रहेको यस आयोजनामा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ, जस मध्य सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

  • डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

    डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

    काठमाडौं । बजाजले बहुप्रतिक्षित डोमिनार डे (Dominar Day) सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन् ।

    ‘Dominar Day is on; and your upgrade starts now’ भन्ने सन्देशसहित संचालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ ।

    कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले Alpha CS ! Armored Riding Jacket /MT Helmet जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियर प्राप्त गर्नेछन् । साथै, ‘नागरिकताको भरमा EMI सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ । पुराना बाईकको उत्कृष्ट मूल्यांकन (Best Valuation) र खेलप्रेमीहरूको लागि NPL Tickets जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन् ।

    साथै, सहभागीहरूले Sponsored Weekender Ride जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा fO8df Dominar Merchandise पनि प्राप्त गर्न सक्नेछन् । आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ । सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन् ।

    सहभागीहरूले बाइकर्श क्याफे, नक्सालमा पुगेर डोमिनार ४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम बाइकर्श क्याफे मा दैनिक रूपमा सञ्चालन हुनेछ ।

    साथै डोमिनार डे (Dominar Day) एक-हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ ।

  • हङकङ आगलागीको छानबिन गर्ने नेता ‘जोन ली’ को घोषणा

    हङकङ आगलागीको छानबिन गर्ने नेता ‘जोन ली’ को घोषणा

    काठमाडौं । हङकङका नेता जोन लीले गत हप्ता अपार्टमेन्ट कम्प्लेक्समा भएको विनाशकारी आगलागीमा १५१ जनाको ज्यान गएपछि घटनाको व्यापक छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन् ।

    अधिकारीहरूका अनुसार आगलागी बाहिरी मचानमा प्रयोग गरिएको जालमार्फत तीव्र गतिमा फैलिएको थियो, जसले आवश्यक अग्नि–प्रतिरोध मापदण्ड पूरा गर्न नसकेको र अग्नि रोकथाम प्रणालीले भरपर्दो रूपमा काम गर्न नसकेको प्रारम्भिक जाँचले देखाएको छ ।

    नेता लीले भने, ‘भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरीहरू गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले म न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र समिति गठन गर्नेछु ।’

    हङकङमा ‘अनुसन्धान आयोग’ गठन गर्ने कानूनी व्यवस्था विगतदेखि नै छ, जुन सामान्यतया जटिल घटनाका तथ्य पहिचानका लागि न्यायाधीशहरूले नेतृत्व गर्दै आएका छन, तर यसपटक लीले ‘स्वतन्त्र समिति’ भन्ने फरक शब्द प्रयोग गरेका छन् ।

    लीले एएफपीसँगको कुराकानीमा धेरै स्तरमा असफलता देखा परेकाले सुरक्षा, निगरानी, निर्माण र मर्मतसम्बन्धी मापदण्डमा तत्काल सुधार आवश्यक रहेको बताए ।

    उक्त घटनाको संयुक्त अनुसन्धान गर्दै आएको हङकङको भ्रष्टाचार–विरोधी प्रहरी र सामान्य प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरिसकेका छन् । तीमध्ये १३ जनालाई आगलागीका कारण भएका मृत्युमा संलग्न भएको शङ्कामा पक्राउ गरिएको हो ।

    घटनापछि सहरभरि ठूलो शोक वातावरण छाएको छ, साथै व्यापक जवाफदेहिताको माग पनि उठिरहेको छ । तर स्थानीय मिडियाले जिम्मेवारी माग्ने केही नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ । २४ वर्षीय विद्यार्थी माइल्स क्वानलाई सरकारी जवाफदेहिताको माग गर्दै फ्लायर वितरण गरेको आरोपमा ‘राजद्रोही अभिप्रेरणा’ शीर्षकमा पक्राउ गरिएको बताइएको छ । क्वानका चार मागसहितको अनलाइन निवेदनले सामग्री मेटिनु अघि एक दिनमै १० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन गरेको थियो । स्थानीय समाचारअनुसार पूर्व जिल्ला पार्षद केनेथ चेउङसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टको अग्लो आवासीय भवनमा गत बुधबार आगलागी हुँदा सन् १९८० पछिको विश्वकै सबैभन्दा घातक आवासीय दुर्घटनामध्ये एकको रूपमा यसलाई लिइएको छ । प्रहरीले सोमबार प्रभावित सात टावरमध्ये पाँचमा खोजी कार्य पूरा गरी अपार्टमेन्ट, दलान र सिँढी क्षेत्रमा पीडितहरूका अवशेषहरू फेला पारेको छ ।

  • डेविड र अर्जुनको अर्धशतकमा चितवनले दियो १७७ रनको लक्ष्य

    डेविड र अर्जुनको अर्धशतकमा चितवनले दियो १७७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले साविक विजेता जनकपुर बोल्ट्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो ।
    चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ८० रन बनाए । उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । उनले अर्जुन साउदसँग पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । अर्जुन ५२ रनमा आउट भए । सैफ जैव ७, रवि बोपारा ३ रनमा आउट भए । कप्तान कुशल मल्ल ३० र अमरसिंह रौटेला एक रनमा अविजित रहे । अन्तिम ओभरमा कुशलले १८ रन जोडे ।

    बलिङमा जनकपुरका अनिल शाह, माज सदाकत, रुपेश सिंह र जोन निकोल लोफ्टी इन्टनले एकएक विकेट लिए ।

  • राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र

    राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ।

    केन्द्रीय समिति बैठकको निर्णय अनुसार माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो।

    केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा मंसिर मसान्तभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ। कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाको उम्मेवारको टुंगो एकैपटक लगाउने तयारी गरेको छ।

  • शेखर दाइसँग कुरा भइरहेको छ, दुईमध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ : शशांक कोइराला

    शेखर दाइसँग कुरा भइरहेको छ, दुईमध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ : शशांक कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले १५ औँ महाधिवेशनमा आफू र शेखर कोइरालामध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन्। चितवन पुगेका कोइरालाले शेखरसँग आफ्नो कुरा भइरहेको बताए।

    उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुईजनामध्ये एक जना लड्छौँ।’

    उनले महाधिवेशनका लागि कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए।

    उनले अगाडि भने, ‘समय कम भयो। महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ। पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो छैन। तर हामी सबै महाधिवेशनको तयारीमा जुट्नुपर्छ।’

  • लागूऔषधसहित १७ जना पक्राउ, ब्राउनसुगर कारोबारी अत्यधिक

    लागूऔषधसहित १७ जना पक्राउ, ब्राउनसुगर कारोबारी अत्यधिक

    काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

    काठमाडौंको गोंगबुस्थित न्यू दाङ बर्दिया होटल एण्ड लजबाट खैरो हेरोइन ५ सय २० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बाँकेका भुपेन्द्रकुमार बुढा र तनहुँका मनिष गुरुङ छन् । उनीहरुको साथबाट लागूऔषधसहित नगद ९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु बरामद गरिएको छ ।

    टोखास्थित नमस्ते नेपाल गेष्ट हाउसबाट १ ग्राम ५ सय ७० मिलिग्राम ब्राउनसुगर सहित धादिङ नीलकण्ठका किशोर मगर, कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिकाका लोकेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवनस्थित भरतपुर गोब्रेनीका मनिस गुरूङ ४ ग्राम ८० मिलिग्राम खैरो हेरोइन सहित सोमबार दिउँसो पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चनौलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ ।

    दाङको तुलसीपुरस्थित बिजौरीबाट ७ सय ८० मिलिग्राम ब्राउनसुगर र नगद ५ हजार ५ सय २५ रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । सोमबार दिउँसो पक्राउ परेका पवन कुमार वली र सल्यान शारदास्थित शान्तिनगरका सन्तोष बुढाथोकीलाई प्रहरी चौकी विजौरीले रा.४ प १८७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

    यसैगरी ब्राउनसुगर ३ ग्राम ३८ मिलिग्राम र ३५ हजार ९ सय नेपाली रूपैयाँ साथै १ हजार २ सय ५० भारतीय रूपैयाँ सहित रूपन्देही सैनामैनाका सुदन चौधरी पक्राउ परेका छन् । कैलालीको धनगढीस्थित त्रिनगर व्यारेलबाट ६ सय ४० मिलिग्राम ब्राउनसुगरसहित डोटी दिपायल सिलगढीका दिपेन्द्र वड पक्राउ परेका छन् । धनगढीकै राजपुरबाट ब्राउनसुगर २ ग्राम २ सय ८० मिलिग्राम सहित आकाश राना पक्राउ परेका छन् ।

    यस्तै गोकर्णेश्वर माकालबारीबाट लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुलसहित सिन्धुपाल्चोक भोटेचौरका सालिकराम खतिवडालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमीबाट ट्रामाडोल ६० ट्याब्लेटसहित सिन्धुली दुधौलीका विष्णु बानिया पक्राउ परेका छन् । भक्तपुरकै च्यामासिंहबाट ट्रामाडोल १ सय ७९ ट्याब्लेटसहित रबिन सुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    बाराको निजगढ तपशैयास्थित जंगलबाट ७ किलो गाँजासहित जीतपुरसिमराका हुसन अंसारी र अल्यास देवान पक्राउ परेका छन् । प्रहरीले ना.५८ प ७७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट गाँजा बरामद गरेको हो । मोरङ कटहरी रिङरोडबाट १० किलोग्राम गाँजासहित जहदा महादेव टोलका शसी मण्डल पक्राउ परेका छन् । प्रहरीले प्र.१-००२-००४ ह २५४० नम्बरको सिटी सफारीमा गाँजा फेला पारेको हो ।

    पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • लुम्बिनी प्रदेश सभाले पायो पूर्णता, एमालेकी रेवती दुई वर्षका लागि बनिन् सांसद

    लुम्बिनी प्रदेश सभाले पायो पूर्णता, एमालेकी रेवती दुई वर्षका लागि बनिन् सांसद

    रुपन्देही । लुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ । भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको मृत्यु भएपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङको नियुक्ति भएसँगै प्रदेश सभाले पूर्णता पाएको हो ।

    लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङले शपथ लिइन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो ।

    पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी गुरुङलाई मनोनयन गरिएको हो । गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी र प्राथमिकता सूचीको पहिलो स्थानमा परेकाले अवसर पाएकी हुन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७ (५) बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त हुने व्यवस्था छ।

    एमाले रुपन्देहीमा तीन कार्यकाल जिल्ला सदस्य बनेकी गुरुङ यसअघि प्रदेश कमिटीमा रहेकी थिइन् । दुई छोरा र श्रीमानसहित देवदहमा बस्ने उनी अध्ययनमा साक्षर मात्रै रहे पनि लामो समयदेखि राजनीतिमा क्रियाशील थिइन् । ०७९ सालमै पहिलो सूचिमा सांसद बन्ने आशा राखेकी उनले नपाएपछि असन्तुष्ट रहेकी थिइन् ।

    चैतमा जनमतबाट राजीनामा दिएर खाली भएको स्थानमा केही समयअघि निलम पासवान नियुक्त भएकी थिइन् । पासवान र गुरुङ  दुई बाँकी दुई वर्षे कार्यकालका लागि सांसद बनेका हुन् ।

     

  • जेनजी आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न ८ जना मोरङबाट पक्राउ

    जेनजी आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न ८ जना मोरङबाट पक्राउ

    विराटनगर। जेन्जी आन्दोलनका नाममा सरकारी र व्यक्तीका सम्पत्ती तोडफोड आगजनी र लुटपाटका घटनामा सम्लग्न थप ८ जना पक्राउ परेका छ्न् । मोरङ प्रहरीले भदौ २४ गते रंगेलीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रङ्गेली नगरपालिका ३ का भुपाल भण्डारी – रंगेली ७ का आनन्द साह रङ्गेली ४ का रमेश कुमार मण्डल ,रंगेली-३ रुपक गौतम ,रुपेश यादव ,समिर क्षेत्री ,दोर्जे प्रतिक तामाङ, गणपत यादव रहेका छन् ।

    मोरङ जिल्ला अदालत, विराटनगरबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूको खोजतलास तीव्र पारेको थियो ।

    जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले मंसिर १५ गते उनीहरूलाई आ-आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै आरोपितहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको ।

  • पूर्वमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन

    पूर्वमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन

    सुर्खेत। कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर बुढाक्षेत्रीको सोमबार निधन भएको छ।

    ७१ वर्षीय बुढाक्षेत्रीको मिर्गौला रोगको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । पश्चिम सुर्खेतको बराहताल–६ ब्यूरेनीका स्थायी बासिन्दा बुढाक्षेत्रीको निधनप्रति कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलगायत नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    बुढाक्षेत्रीले करिब १५ वर्ष शिक्षण पेशामा बिताए । २०२९ सालमा शिक्षक बनेका उनले २०४३ सम्म निरन्तर पढाए । त्यसपछि पोखरीडाँडा पञ्चायतका प्रधानपञ्च भएर उनले राजनीतिक यात्रा थाले ।

    २०४९ मा पोखरीकाँडा गाविस अध्यक्ष बने । २०५२ देखि २०७२ सम्म उनी कांग्रेस क्षेत्रीय सभापति रहे । २०७४ मा प्रदेशसभा सदस्य बनेका उनी २०७८ मा दुई कार्यकाल गरेर करिब १६ महिना कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री बने ।

    शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिने नेताका रुपमा बुढाक्षेत्री परिचित थिए । उनले गाउँ, गाउँमा विद्यालय तथा स्वास्थ्य संस्था विस्तारमा सक्रिय भूमिका खेलेका थिए । २०६२/६३ को जनआन्दोलन र कर्णालीलाई छुट्टै प्रदेश बनाउन गरिएको आन्दोलनमा पनि उनी अग्रमोर्चामा देखिएका थिए ।