Category: भिडियो

  • सदनमा गोकुल बास्कोटाको आक्रोश- दुई तिहाइको सरकार भनेर मात्रै भएन, काम हुनुपर्‍यो (भिडिओ)

    सदनमा गोकुल बास्कोटाको आक्रोश- दुई तिहाइको सरकार भनेर मात्रै भएन, काम हुनुपर्‍यो (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सिन्धुपाल्चोक र काभ्रे जोड्ने चेहेरेको पुल निर्माण कार्य अलपत्र छाडेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले दुई तिहाइ सरकार छ भन्दैमा कागजको रिपोर्ट देखाएर नहुने बताए।

    उनले भने, ‘मन्त्रीहरूले के काम गर्नुहुन्छरु उहाँहरूको संयन्त्रले के काम गर्छ ? चार वर्षअघि ठेक्का लाग्यो चेहेरेको पुल, काभ्रे र सिन्धुपाल्चोकको कति भागहरू जोड्ने १४ करोडमा। दुई वटा पिलर हालेको छ, एउटा फक्याल्टो हालेर छाडेको छ, बाँकी अरू बनाएको छैन, १० चोटी भनिसकियो काम खुल्दैन ? दुई तिहाइ भनेर मात्रै भएन, कागजको रिपोर्ट मात्रै देखाएर भएन, काम हुनुपर्‍यो।’

    कामको नक्कली रिपोर्ट बनाउने कामबाट मुक्त हुन मन्त्रीहरूलाई आग्रह गरे।

     

  • अनुगमनमा आएका कर्मचारीमाथि गालीगलाैज, एकै परिवारका तीन भारतीय पक्राउ (भिडिओ)

    अनुगमनमा आएका कर्मचारीमाथि गालीगलाैज, एकै परिवारका तीन भारतीय पक्राउ (भिडिओ)

    पोखरा । तनहुँको व्यास नगरपालिकामा अनुगमनका क्रममा जनप्रतिनिधि र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३ भारतीय नागरिक पक्राउ परेका छन् ।

    व्यास नगरपालिका–३, तरकारी लाइनमा प्लाष्टिक झोलाको अनुगमनका क्रममा पिन्टु (काले) किराना पसलका सञ्चालकले जनप्रतिनिधि र कर्मचारीमाथि बुधबार गालीगलौज गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार गालीगलौज गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जवाहित शाह, मायादेवी शाह र राजु शाह छन् । तिनै जना भारतीय नागरिक रहेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनीहरु लामो समयदेखि उक्त ठाउँमा पसल गर्दै आएका थिए ।

    प्रहरीका अनुसार उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय तनहुँबाट अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

     

  • माओवादीले फेरि माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा (भिडिओ)

    माओवादीले फेरि माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको नेतृत्व सत्तापक्षले गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलमाथि प्रश्न उठ्दा समेत राजीनामा नदिएको बताए ।

    उनले भने, ‘समितिको नेतृत्वबारेमा प्रश्न उठ्दा पनि आजसम्म मार्ग प्रशस्त गरेका छैनन्। म मार्ग प्रशस्त गर्न आग्रह गर्छु ।’

    भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरूलाई सरकारले कारबाही गर्नुको सट्टा संरक्षण गरेर राखेको आरोप लगाएका छन् ।

  • सापकोटाको अभिव्यक्तिले दोलखाबासी भ्रममा परेको भन्दै रेकर्डबाट हटाउन एमाले सांसदको माग (भिडिओ)

    सापकोटाको अभिव्यक्तिले दोलखाबासी भ्रममा परेको भन्दै रेकर्डबाट हटाउन एमाले सांसदको माग (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले माओवादीका सांसद माधव सापकोटाको भनाइले दोलखावासीलाई भ्रम परेको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सापकोटाले म्याग्नेसाइडबारे सदनमा दिएको अभिव्यक्तिले दोलखावासीलाई भ्रम परेको बताए।

    उनले भने, ‘१८० मिलियन मेट्रिक ट्रन म्याग्नेसाइड दोलखाको भीमेश्वर नगरपालिका ९ अन्तर्गत पर्छ। साउन ७ गते सिन्धुपाल्चोकका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका पर्छ भनेर बोल्नुभयो। त्यसले दोलखामा ठुलो भ्रम सिर्जना गरेको छ। त्यहाँका जनताले हाम्रो खानी सिन्धुपाल्चोकमा कसले पु¥यायो भनेर मलाई बारम्बार फोन गरेका छन् ।’

    उनले सापकोटाको यो अभिव्यक्ति सच्याउन वा रेकर्डबाट हटाउन माग गरे ।

     

  • रवि र सुमनालक्षित कांग्रेसकाे टिप्पणी- भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौं  (भिडिओ)

    रवि र सुमनालक्षित कांग्रेसकाे टिप्पणी- भिजिट भिसाबाट उतै घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसक्यौं (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे रास्वपा सभापति रवि लामिछाने र सांसद सुमना श्रेष्ठलाई लक्षित गरेर भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका छन् ।

    रास्वपाले निरन्तर सदनमा भिजिट भिसाबारे छानबिन गर्न माग गर्दै विरोध जारी राखेपछि उनले यस्तो उदाहरण दिँदै धेरै चिन्ता नगर्न आग्रह गरे ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्री समेत हुनसक्ने अभ्यास त हामीले गरिसकेका छौँ। किन चित्ता गर्नुहुन्छ । भोलि भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहोर्‍याउलान् नि किन चिन्त्ता गर्नुहुन्छ ।’

    उनले रास्वपाको अधिकांश सांसदहरू भिजिट भिसाकै कारणले अहिलेको उपलब्धि हासिल गरेको दाबी गर्दै त्यही भिसाप्रति बढी चिन्तित भएको बताए। उनले भिजिट भिसामा गएर उतैको नागरिकता लिनु, घरजम गर्न गलत कार्य भएको अन्तर्राष्ट्रिय कानुनले पनि भन्ने बताए।

  • सरकारमाथि रास्वपाको आरोप- भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरिसक्यो (भिडिओ)

    सरकारमाथि रास्वपाको आरोप- भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरिसक्यो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको गाम्भीर्यतालाई नबुझेर डिसमिस गर्न सरकार लागिपरेको आरोप लगाएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विनीता कठायतले टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजेको बताइन्।

    उनले भनिन्, हामीले सरकारको यो कुटिल कदमलाई अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति नै माग गरेको छ। यो अन्तर्राष्ट्रिय अपराधमा अब राष्ट्रसङ्घ मात्रै होइन मित्र राष्ट्रको पनि चासो बढेको छ। छिमेकी भारतकै मिडियामा समेत यो विषयले प्रवेश पाइसकेको छ।

    उनले भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरेको सरकारले मानव तस्करीलाई पनि मौलिन दिएको आरोप लगाइन्।

  • मधेशवादी दल एकजुट हुँदा रुपन्देहीमा कांग्रेसलाई चुनौती पर्नसक्ने बूढानीलकण्ठमा विश्लेषण (भिडिओ)

    मधेशवादी दल एकजुट हुँदा रुपन्देहीमा कांग्रेसलाई चुनौती पर्नसक्ने बूढानीलकण्ठमा विश्लेषण (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले कात्तिकमा हुन लागेको रुपन्देही ३ को उपनिर्वाचनमा मधेशवादी दलहरू एक भएर आए चुनौती हुनसक्ने निष्कर्ष निकालेको छ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा त्यहाँको वस्तुस्थितिबारे गम्भीर छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए।

    उनले भने, ‘रुपन्देहीमा गएको निर्वाचनमा विभिन्न गठबन्धनहरू पनि थिए। यो गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत हेर्न हो भने कांग्रेस पहिलो पार्टी हो। २० हजार मत प्राप्त गरेको थियो। दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो। तेस्रो पार्टी रास्वपाले १४ हजार मत ल्याएको थियो। त्यसपछि मधेशवादी दलहरू थिए। अहिलेको पोजिसन के छ भन्न गाह्रो छ।’

    उनले मधेस केन्द्रित दलहरू एक भएर लडे राम्रो उपस्थिति उनीहरूको देखिसक्नेबारे पनि चर्चा भएको बताए। उनले थपे, ‘तर, त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो। प्राविधिक रूपले चुनाव हारेका हौँ। भोटको अवस्था मजबुत रहेको हाम्रो निष्कर्ष छ। उम्मेदवारबारे कुरा भएको छैन। प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भए उनीहरू पनि हुनसक्छन्।’

    उनले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु पनि धेरै हुनसक्ने आकलन गरिएको पनि बताए। उनले सत्तामा सँगै भए पनि एमाले र कांग्रेस नै मिलेर जानेबारे अहिलेसम्म कुनै छलफल नभएको भन्दै पछिको कुरा भन्न नसकिने बताए।

    बैठकमा रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए। त्यहाँ कांग्रेसले बालकृष्ण खाँणलाई अघि सार्न खोजेको चर्चा छ।

    मधेस केन्द्रित सात दल सम्मिलित संयुक्त लोकतान्त्रिक मोर्चाले उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई सघाएर जाने निर्णय यसअघि नै गरिसकेको छ। यद्यपि, जनमतले भने केही विमति राख्दै आइरहेको छन्।

  • कुलिङ पिरियड हटाउन एमालेका ५ सांसदले संशोधन प्रस्ताव हालेकोप्रति कांग्रेसको आपत्ति (भिडिओ)

    कुलिङ पिरियड हटाउन एमालेका ५ सांसदले संशोधन प्रस्ताव हालेकोप्रति कांग्रेसको आपत्ति (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रियसभामा पुगेको निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधान हटाउन एमालेका ५ सांसदले संशोधन प्रस्ताव हालेकोप्रति आपत्ति जनाएको छ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले एमालेलेका सांसदहरूले संसदीय दलको निर्णय प्रस्ताव दर्ता गरेको भनेकाले गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको नेता अर्जुननरसिंह केसीले बताए।

    उनले भने, ‘सांसदहरू आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ, तर संशोधन प्रस्ताव राख्ने एक जनाले हामीले संसदीय दलको निर्णय अनुसार राखेको भन्नुभएको छ। त्यसमा आपत्ति छ। सरकारले संयुक्त छलफल गरेर ल्याएको कुलिङ पिरियडसम्बन्धी प्रावधान छ। त्यहाँ कसरी कसको कमजोरी भयो त्यो छानबिन हुँदैछ। त्यसमा पनि दलको निर्णय अनुसार हो भने भारी आपत्तिजनक कुरा हो। यो गठबन्धन सरकार हो गम्भीरतापूर्वक हेर्नुपर्छ।’

    उनले भूमि विधेयकमा मतभेद पहिलादेखि रहेको भन्दै अब समितिले छलफल गरेर निष्कर्षमा पुर्‍याउने विश्वास व्यक्त गरे।संवैधानिक विधेयक फेरि अध्ययन गर्नको लागि राष्ट्रपतिले फिर्ता पठाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।

  • लिचीबारी घुसकाण्ड- श्रीमती रञ्जितासँग जवाफ माग्दै रेशम चौधरी, बैठकमा आउन चुनौती (भिडिओ)

    लिचीबारी घुसकाण्ड- श्रीमती रञ्जितासँग जवाफ माग्दै रेशम चौधरी, बैठकमा आउन चुनौती (भिडिओ)

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पोखराको लिची बगैंचाको जग्गा नामसारी गर्न भएको घुसकाण्डबारे जवाफ दिन माग गरेका छन्। उनले पार्टीको केन्द्रीय समिति बैठकमा आएर जवाफ दिन चुनौती दिएका हुन् ।

    फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै उनले भने, ‘उहाँले अरूको बारेमा लेख्नुहुन्न, पार्टीभित्र विभाजन मात्रै ल्याउन खोज्नुहुन्छ । यो बैठक विधानतः बोलाइएको हो । त्यो बैठकमा मलाई विशेष आमन्त्रण गरिएको छ। नाउपाको बैठक वैधानिक वा अवैधानिक भनेर व्याख्या गर्ने को ? परिचालित व्यक्ति होइन र ?’

    उनले पार्टीलाई अगाडि बढाउन छलफल गर्न आवश्यक भएको भन्दै बैठकमा आउन आग्रह गरे । श्रेष्ठले अहिले बोलाइएको बैठक वैधानिक होइन भनेर पन्छिन नपाउने चौधरीको भनाइ छ ।

    उनले थपे, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । तपाईँका कारण सिर्जना भयो । तपाईँका कारण उत्पन्न सिर्जना भए पनि हामीले तपाईँसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ । तपाईँ केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्टरूपमा जवाफ दिनुपर्छ । जनता अन्योलमा छन्, हाम्रो पार्टीको अध्यक्षलाई मुद्दा लाग्यो खै त जवाफ दिनुभएको हो ? एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर तपाईँले आफ्नो भावना राख्नुभयो भने भोलि लाख मुखले तपाईँको पक्ष वा विपक्षमा कुराकानी गर्ला ।’

    उनले पार्टीलाई बन्धक वा निरंकूश बनाउन नपाइने भन्दै निकास दिन आग्रह गरेका छन् ।

  • सुख्खा र खडेरीको चपेटामा मधेश प्रदेश (तस्बिरहरू/भिडिओ)

    सुख्खा र खडेरीको चपेटामा मधेश प्रदेश (तस्बिरहरू/भिडिओ)

    काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भए पनि मधेश प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन । समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ ।

    धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावणको पहिले हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन् ।

    सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ । त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ ।

    लक्ष्मीनीयाँ गाउँपालिका सोहनीसिनुरजोडा धनुषाका किसान बहादुर कवाडीका अनुसार पहिलेको वर्ष यो समयसम्म धान रोपाई सकिसक्ने गरेकोमा यो पाली वर्षा भएन, नहरमा पानी आउँदैन त्यस कारण धानको बीउ पनि सुकी सक्यो, पम्प मोटर हुनेहरूले रोपाइँ गरे पनि धेरै गर्मीका कारण पम्प मोटरले खेतमा पानी हाल्दा पनि छिट्टै सुक्ने उनले बताए । स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसान र कृषिका लागि खाँदै ध्यान नदिएको उनको गुनासो छ ।

    सोही गाउँका अर्का किसान विन्देश्वर रविदासले आफ्नो खेतमा भएको सुकेको पम्प देखाउँदै भने यो पम्प सुक्यो पानी परेको छैन त्यसैले खेती समयमै गर्न पाइएन ।

    सो क्षेत्रमा सिँचाइका लागि कमला सिँचाइ आयोजना रहे पनि त्यो त्यति प्रभावकारी भने देखिएको छैन ।

    सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा सहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित भने उद्देश्य रहे पनि अहिले यो आयोजनाका अधिकांश पम्प सञ्चालनमा छैनन् ।

    लोहारपट्टी नगरपालिका महोत्तरीका किसान श्रावण कुमार चौरासिया सुख्खा खेतमा रोपाइँ गर्दै मल पनि नपाउने, पम्पसेट पनि वितरण नगरिएको उनको गुनासो छ । नगरपनिकाले पम्पसेट वितरण गर्दा पनि आफूले नपाएको पैसा र पहुँच हुनेले मात्र पाउने उनले सुनाए ।

    default

    तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

  • यसरी भइरहेकाे छ त्रिभुवन विमानस्थल विस्तारको काम (तस्बिरहरु/भिडिओ)

    यसरी भइरहेकाे छ त्रिभुवन विमानस्थल विस्तारको काम (तस्बिरहरु/भिडिओ)

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ ।

    नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भइरहेको विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेको कामका बारेमा स्थलगत जानकारी गराउँदै विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको र करिव अन्तिम चरणमा पुगेको जनाएको हो ।

    धावनमार्ग जोड्न पूर्वतर्फ र पश्चिमतर्फ नयाँ ट्याक्सी वे निर्माण भइरहेको र यसका कारण रनवे क्षमता २५ प्रतिशतले बढ्ने महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

    उनले विमानस्थल भित्र रहेको आयल निगमको डिपो हटाउनुपर्ने र डिपो नहटे समानान्तर ट्याक्सी वे निर्माण अवरुद्ध हुन सक्ने उल्लेख गरे । अधिकारीले बुद्ध एयरको ह्यांगरको दक्षिण क्षेत्रमा दुई वटा ह्यांगर निर्माण हुने र उत्तरपट्टी नेपाल एयरलाइन्सको एउटा ह्यांगर निर्माण हुने जानकारी दिए ।

    त्यस्तै अहिलेको स्थानमा रहेको नेपाल एयरलाईन्सको ह्यांगर र नेपाली सेनाको भिभिआइपी सारेपछि सोहि स्थानमा त्रिभुवन विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत सुविधासम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण बन्ने बताए ।

    दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले यसमा सरकारसंग थप छलफल गर्न आवश्यक रहेको महानिर्देशक अधिकारीले जानकारी दिए । नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण भएपछि अहिलेको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक टर्मिनलमा रुपान्तरण गरिने उनले बताए ।

     

  • पूर्वराष्ट्रपति भण्डारीको सम्बोधन- राजनीतिक स्थायित्वका लागि सबै दल जिम्मेवार हुनुपर्छ (भिडिओ)

    पूर्वराष्ट्रपति भण्डारीको सम्बोधन- राजनीतिक स्थायित्वका लागि सबै दल जिम्मेवार हुनुपर्छ (भिडिओ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले चुलिँदो व्यापार घाटा देशको विकासको बाधकको रूपमा रहेको बताएकी छन्।

    राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशी मुद्रा तिरेर ठुलो परिमाणमा दैनिक उपभोग्य सामान भित्र्याउनुपर्ने बाध्यता रहेको बताइन्।

    उनले भनिन्, ‘नेपालको समृद्धि वर्तमान आर्थिक सुचकांकले मात्रै मापन गर्न सक्दैन। बरु यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता र राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिराख्नुपर्दछ।’

    उनले देशभित्र लगानीको वातावरण बनाउनुको सबैभन्दा ठुलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै भएको बताइन्।
    उनले भनिन्, नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यी सबै आवश्यक छन् त्यसको आधार बनाउने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ। साथै हामीले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्छ।

    उनले सघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि महत्त्वपूर्ण चरण पार गरेको भन्दै अब आर्थिक समृद्धिको अभियानलाई सफल पार्नुपर्ने परिवेशमा प्रवेश गरेको बताइन्।

    राजनीतिक स्थायित्व सामाजिक न्याय र समानतामा आधारमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताइन्। उनले सबै राजनीतिक दलहरूले सामाजिक आर्थिक विकासको लागि नीति निर्माणमा आ(आफ्नो तर्फबाट भूमिका निर्माण गर्नुपर्ने बताइन्।

  • तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव (भिडिओ)

    तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव (भिडिओ)

    काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयकको चर्को आलोचना गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी सरकारले विधेयक अघि सारेको दाबी गरे।

    उनले भने, ‘सरकारले चुरे संरक्षण गरेर वन फडानीलाई रोक्नुपर्छ, तराई मधेशमा मरुभूमिकरण भइरहेका छन्, त्यसलाई रोक्नुपर्छ। दुर्भाग्यवस् सरकार एकातिर सगरमाथा संवाद गर्छ, अर्कोतिर वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी कानुन पनि ल्याउँदैछ। विधेयकको रूपमा।’

    उनले सरकारले अघि सारेको नीतिलाई पुनर्विचार गरेर तराइलाई मरुभूमिकरण हुनबाट जोगाउन आग्रह गरे।

  • मुकुल ढकालको दाबीलाई हवला दिँदै कांग्रेस सांसद विकले उठाइन् स्वणिम वाग्लेमाथि प्रश्न (भिडिओ)

    मुकुल ढकालको दाबीलाई हवला दिँदै कांग्रेस सांसद विकले उठाइन् स्वणिम वाग्लेमाथि प्रश्न (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति बिकले रास्वपाको उपसभापति स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे प्रश्न उठाएकी छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाको कारबाहीमा परेका महामन्त्री मुलुक ढकालको अभिव्यक्तिलाई हवला दिँदै वाग्लेमाथि प्रश्न उठाएकी हुन्।

    डा.वाग्लेले नेपालले भुटानजस्तो वा भारतको हिस्सा बन्न पनि सक्ने भन्ने अभिव्यक्तिप्रति दिएको भन्दै के रास्वपा राष्ट्रवादी होइन भन्ने शङ्का उब्जाएको छ ? भन्दै प्रश्न गरिन्।

    उनले भनिन्, ‘मुकुल ढकालले सार्वजनिक रूपमा नेपाललाई भारतको एक राज्य बनाइदिने अथवा भुटान स्टेट बनाइदिने भनेपछि मान्छन् भन्ने कुरा आएको छ। के त्यस्तो स्वार्थ थियो नेपालको अस्तित्व र नेपालीको स्वाभिमान सम्झौता गर्नको लागिरु भारतसँग त्यसैपनि हाम्रो सांस्कृतिक, आर्थिक, धार्मिक र ऐतिहासिक सम्बन्ध छ। मुलुक ढकालले म जस्तोसुकै छानबिनमा पनि जान तयार छु भनेको कुरा पनि छ। त्यो कुरालाई सरकारले गम्भीरता लिइयोस्।’

    उनले रास्वपाले डा. सन्दुक रुइत, डा. भगवान कोइराला, कुलमान घिसिङ र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीजस्ता प्रतिष्ठित व्यक्तित्वहरू आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै जनतामा भ्रम फैलाएको भन्दै आपत्ति जनाइन्।

  • नेकपा एसका सांसद ज्वालाको टिप्पणी- यो जति भ्रष्ट र विवादित मन्त्रिपरिषद् कुनै थिएन (भिडिओ)

    नेकपा एसका सांसद ज्वालाको टिप्पणी- यो जति भ्रष्ट र विवादित मन्त्रिपरिषद् कुनै थिएन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले अहिलेसम्मको भ्रष्ट र विवादित मन्त्रिपरिषद् अहिले प्रधानमन्त्री केपी ओली नेतृत्वकै भएको दाबी गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भने पनि व्यवहारमा नदेखिएको बताए ।

    उनले भने, ‘अख्तियारमा बयान दिन मन्त्री, पूर्वमन्त्री र कर्मचारीहरूको जुलुस लागेको छ । यो त अलि लज्जाजनक भएन र प्रधानमन्त्रीज्यू ? भ्रष्टाचारमा जोडिएका मन्त्रीहरूलाई राजीनामा दिएर मात्रै उन्मुक्ति दिने होइन, कारबाहीको प्रक्रिया अघि बढाइयोस् ।’

    सरकार गठन भएको एक वर्षसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।

  • माओवादी सांसदको कटाक्ष- भोजपुरे माझकिराँतकी छोरी र झापाली शिव चाम्लिङका छोराको अर्को रमिता छ (भिडिओ)

    माओवादी सांसदको कटाक्ष- भोजपुरे माझकिराँतकी छोरी र झापाली शिव चाम्लिङका छोराको अर्को रमिता छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच चलेको शक्ति सङ्घर्षलाई लिएर एमालेप्रति कटाक्ष गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै देशमा बर्बाद भइरहेको भएपनि सरकारको ध्यान त्यता नगएको टिप्पणी गरे ।

    उनले भने, ‘देश यता पनि बर्बाद, उता पनि बर्बाद हुँदै छ, हुँदा हुँदै भोजपुरे माझ किराँतकी छोरी र झापाली शिव चाम्लिङका छोराको मल्ल युद्धले पनि अर्को रमिता देखाएको छ ।’

    पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि एमालेभित्र चर्को बहस चलिरहेको छ ।

  • सरकारबारे रास्वपा- मान्छे र सरकारी जग्गा बेच्नमा केन्द्रित छ, औचित्य समाप्त भइसक्यो (भिडिओ)

    सरकारबारे रास्वपा- मान्छे र सरकारी जग्गा बेच्नमा केन्द्रित छ, औचित्य समाप्त भइसक्यो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेकी छन्।

    प्रतिनिधिसभाको बैठकमा संविधान संशोधनको बाचा गरेर सरकारले मान्छे र सरकारी जग्गा बेचबिखनमा लागेको आरोप लगाइन्।

    उनले भनिन्, ‘बाचा सुशासनको अनि जनताको लागि लड्नेहरूलाई कारागार अनि भ्रष्टाचारमा मुछिएकाहरूलाई स्याबासी। हामी भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनमा छौँ। जसमाथि छानबिन हुनुपर्ने हो उसैको संयोजकत्वमा बनेको समिति बादलको पुच्छर लौरो न हतियारजस्तो भएकाले हामीले पहिलो दिनदेखि नै बहिस्कार गरिरहेका छौँ।’

    दुई प्रतिपक्ष दलले निरन्तर विरोध गरेपनि निर्बाध चलाइरहेको भन्दै जनताले एकएक हिसाब राखिरहेको दाबी गरिन्।

    उनले सदन जनताको आवाज हो कि सरकारको कठपुतली ? भन्दै प्रश्न गरिन्। उनले आफूहरूको माग अनुसार छानबिन समिति नबनेसम्म आन्दोलन नछाड्ने सुनाइन्।

  • माधवको टिप्पणी- कम्युनिष्ट प्रधानमन्त्री हुँदा पनि देशको अवस्था राम्रो हुन सकेन (भिडिओ)

    माधवको टिप्पणी- कम्युनिष्ट प्रधानमन्त्री हुँदा पनि देशको अवस्था राम्रो हुन सकेन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हुन नसकेको टिप्पणी गरेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री हुँदा पनि देशको अवस्था राम्रो हुन नसकेको र परिणामदायी काम हुन नसकेकाले जनतामा निराशा छाएको बताए ।

    देशको राजनीतिक, सामाजिक र आर्थिक विषयमा बहस हुन जरुरी रहेको भन्दै उनले कम्युनिष्ट आन्दोलनमा चुनौती देखिए सामना गर्ने साहस देखाउनुपर्ने बताए । । कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन व्यक्तिभन्दा पनि नीति र सिद्धान्त महत्वपूर्ण रहेको नेपालको भनाइ थियो ।

    त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलको कम्युनिष्ट आन्दोलन वर्गविश्लेषणबाट नभइ जालझेलबाट अघि बढिरहेको बताए । कम्युनिष्ट आन्दोलनमा देखिएको विकृति विसंगतिलाई अन्त्य गर्न कम्युनिष्ट नेताहरू गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

    उनले बद्लिएको परिस्थितिअनुसार सामाजिक न्याय, समानताका आधारित समाज नबनाएसम्म समाजवादको कुनै कल्पना गर्न नसकिने जिकिर गरे ।

  • विद्या भण्डारीको सदस्यता स्वत: निष्क्रिय भइसक्यो – शंकर पोखरेल (भिडिओ)

    विद्या भण्डारीको सदस्यता स्वत: निष्क्रिय भइसक्यो – शंकर पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेपछि सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएका छन् ।

    पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीको सदस्यता नवीकरणको विषयलाई स्थगित गरेको बताए ।

    उनले भने, ‘पार्टी विधानको हिसाबले पनि त्यो विषय केन्द्रीय कमिटीको बन्नुपर्दथ्यो। केन्द्रीय कमिटीले नै उहाँको फरक भूमिकालाई आवश्यक ठानेको कारणले सदस्यता उहाँलाई सामेत गरिराख्नुपरेन ।’

    उनले सभामुख राजनीतिक जिम्मेवारी भएको जिकिर गर्दै पूर्वराष्ट्रपतिसँग जोडेर हेर्न नमिल्ने बताए ।

    उनले भने, ‘संविधानले सभामुखको हकमा प्रतिनिधि सभाको सदस्य कायम हुनुपर्ने भन्छ। तर राष्ट्रिपति भएपछि प्रतिनिधि सभा सदस्यबाट पनि राजीनामा दिनुपर्छ ।’

  • सरकारले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दैछ : प्रधानमन्त्री (भिडिओ)

    सरकारले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दैछ : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विस। २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि स्पष्ट गरे।

    नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, उर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठुुलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको उनको जवाफ थियो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको रुपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको जानकारी दिए।

    उनले भने-वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत् उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।’

     

  • भ्रष्टाचार हुन दिन्नँ, तर फेसबुकमा लेखेकै भरमा कसैमाथि कारबाही हुँदैन : प्रधानमन्त्री ओली (भिडिओ)

    भ्रष्टाचार हुन दिन्नँ, तर फेसबुकमा लेखेकै भरमा कसैमाथि कारबाही हुँदैन : प्रधानमन्त्री ओली (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीनै तहका सरकारमा रहेका सार्वजनिक व्यक्तिहरू कानूनी दायराभन्दा बाहिर नरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै कहीँ कतै आर्थिक विचलन देखिए कारबाही हुने बताए ।

    उनले भने, ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौँ । यद्यपि केही मानिसहरूको फेसन हुने गर्छ । प्रधानमन्त्रीलाई लाञ्छना नलगाइन नहुने त्यता मानिसहरूले कहिले पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर हल्ला गर्छन् । अहिले पनि छानबिन होस् भनेर कराउँछन् । त्यस्ता मानिसहरू पट्टी धेरै जान्न, चित्त पनि दुखाउँदिनँ, त्यो ह्याबिटको कुरा पनि हो ।’

    गम्भीर प्रश्न उठेका खण्डमा कारबाही गर्ने भन्दै हल्ला चल्या, कसैले फेसबुकमा स्ट्याटस लेखेको भरमा कारबाही नहुने बताए ।

  • एमाले होस् वा अरू, महिलाहरू प्रतिनिधित्व भएर आउँदा गर्व लाग्छ : प्रचण्ड (भिडिओ)

    एमाले होस् वा अरू, महिलाहरू प्रतिनिधित्व भएर आउँदा गर्व लाग्छ : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रप्रति सबैभन्दा धेरै चिन्ता आफूलाई भएको बताएका छन् । गणतन्त्र अगाडि र पछाडिको नेपाल तुलनात्मक अध्ययन पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू रगत, पसिना बगाएर ल्याएको भएकाले सबैभन्दा बढी चिन्ता आफूहरूलाई भएको बताए ।

    प्रचण्डले भने, ‘अभियान चल्दा चल्दै गणतन्त्रमाथि प्रश्न उठेपछि हामी काठमाडौं आएर विशाल प्रदर्शन त्यतिकै गरेको होइन ।’

    उनले कसैले स्वीकार नगरे पनि महिला, दलित, आदिवासी, जनजातिहरूले पाएको अधिकारमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । त्यसलाई कसैले अब उल्ट्याउन नसक्ने बताए ।

    उनले भने, ‘नेपाली महिलाहरू जुनसुकै पार्टीबाट आए पनि मलाई गर्व लाग्छ । चाहे नेकपा एमाले होस्, नेपाली कांग्रेस वा अरू दलबाट प्रतिनिधित्व भएर महिलाहरू आउँदा मलाई गर्व लाग्छ । हामीले गरेको औचित्य प्रमाणित भएको छ भनेर। यदि हामीले त्यो विद्रोह नगरेको भए यो स्थिति हुने थिएन ।’

  • भ्रष्टाचार मुद्दाका अभियुक्त बस्नेतलाई सिडिओले रेड कार्पेट बिछ्याएको भन्दै माधव सापकोटाले मागे गृह मन्त्रालयको जवाफ (भिडिओ)

    भ्रष्टाचार मुद्दाका अभियुक्त बस्नेतलाई सिडिओले रेड कार्पेट बिछ्याएको भन्दै माधव सापकोटाले मागे गृह मन्त्रालयको जवाफ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले टेरामक्स प्रकरणमा मुछिएर सांसद पद निलम्बन भएका मोहन बस्नेतलाई सिडिओले प्रमुख अतिथि बनाएर लैजानु संसद्को अवमूल्यन भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी कार्यक्रममा भ्रष्टाचारमा मुछिएका र निलम्बित व्यक्तिलाई रातो कार्पेट बिछ्याएको भन्दै आपत्ति जनाए।

    उनले भने, यो शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि ठुलो हमला हो, त्यसैले गृह मन्त्रालयको धारणा चाहन्छु, प्रजिअ भनेको अख्तियारको जिल्लाको प्रतिनिधि समेत हो। अख्तियारले नै मुद्दा दर्ता गरेको छ। त्यसैले अख्तियार, राष्ट्रिय सर्तकर्ता केन्द्र र हेलो सरकारको समेत ध्यानाकर्षण गर्छु र जवाफ माग्छु।

    टेरामक्स खरिद प्रकरण भ्रष्टाचार मुद्दाका अभियुक्त पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतलाई खुसी पार्न अख्तियारकै प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी किरण थापाले सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाएका थिए।

  • घुस काण्डमा मुछिएका मन्त्री अधिकारीलाई नहटाएको भन्दै माओवादीको आपत्ति (भिडिओ)

    घुस काण्डमा मुछिएका मन्त्री अधिकारीलाई नहटाएको भन्दै माओवादीको आपत्ति (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई कारबाही गर्न माग गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद अमनलाल मोदीले घुसको डिल गरेको अडिओमा मुछिएका एक जनालाई सरकारबाट हटाएर मात्रै नहुने बताए।

    उनले भने, ‘एउटा मन्त्रीलाई मात्रै फिर्ता बोलाइएको छ। त्यहीसँग जोडिएको मन्त्रीहरूलाई न निलम्बन गरेको छ न कारबाही गरेको छ। त्यसबारे सरकारले जवाफ दिनुपर्छ।’

    उनले निजामती विधेयकबाट कुलिङ पिरियड हटाउन प्रधानमन्त्रीकै चासो रहेको भन्ने कुरा आइरहेको पनि बनाए। उनले शिक्षकहरूसँगको सहमति अनुसार शिक्षा विधेयक सरकारले नल्याएकोप्रति पनि आपत्ति जनाए।

  • कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ : लिङदेन (भिडिओ)

    कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ : लिङदेन (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणको मुद्दा आफूहरूले दुई महिनादेखि उठाउँदा पनि सरकारले नसुनेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको छ। कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको छ।’

    उनले सरकारका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको बताए। उनले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा पनि कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको बताए ।

    उनले भने ‘भिजिट भिसामात्रै होइन, दर्जनौँ मन्त्रीहरूको विषय आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाइरहेको कुरा आइरहेका छन् । ती सबैको छानबिनको लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ । त्यस बेलामा सम्म हाम्रो विरोध जारी राख्छौँ ।’

    उनले सदनमा सङ्ख्याको बलले पेलिरहे सडकबाट टुङ्गो लगाउनेतिर जाने सरकारलाई चेतावनी दिए ।

  • रास्वपाले भन्यो- तस्करहरूको सेटिङ नभत्किएको पुष्टि भइसक्यो, आन्दोलन छाड्दैनौंं (भिडिओ)

    रास्वपाले भन्यो- तस्करहरूको सेटिङ नभत्किएको पुष्टि भइसक्यो, आन्दोलन छाड्दैनौंं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा तस्करहरूको सेटिङ नभत्किएको दाबी गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद बिन्दबासिनी कंसाकार तस्करहरू अझै सरकारसँग नडराएको पुष्टि भएको बताइन्।

    स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको बताइन्। उनले भनिन्, ‘तथ्य सार्वजनिक हुँदा पनि सरकार न देख्छ न सुन्छ न त संवाद गर्छ।’

    उनले यो प्रकरणमा छानबिनको लागि उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन नछाड्ने बताइन्। उनले घुस मागेको अडिओ सार्वजनिक भएको मन्त्रीहरूलाई कारबाही गर्न माग गरिन्।

  • विद्याबारे विष्णु- उहाँ दलको नेता बन्न सुहाउँदैन, सिंगो देशको अभिभावक हुनुपर्छ (भिडिओ)

    विद्याबारे विष्णु- उहाँ दलको नेता बन्न सुहाउँदैन, सिंगो देशको अभिभावक हुनुपर्छ (भिडिओ)

    रुपन्देही । उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलको सकृय राजनीतिमा आउन नहुने बताएका छन् ।

    बुधबार गृहजिल्ला रुपन्देहीमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘यो विषयमा धेरै चर्चा थियो, पार्टीभित्र र बाहिर पनि धेरै चर्चा भयो । देशकै मुख्य पदमा पुगेको व्यक्ति दलको राजनीतिमा आउन हुन्छ कि हुँदैन ? पार्टीको निचोड हो – उहाँ हामी सबैको अभिभावक हो, पार्टीमा धेरै योगदान दिनुभएको छ, त्यही आधारमा राष्ट्रपति बनाएका हौं । पहिलो र दोस्रो गरी सात वर्ष बिताउनुभयो, त्यहाँ रहँदा राम्रो काम गर्नुभयो । त्यसै आधारमा गणतन्त्रको गौरवका रूपमा सम्मान गरियो ।’

    गणतन्त्रको राष्ट्रपति कुनै दलको हुनुहुन्न भन्ने स्पष्ट अवधारणामा पार्टी पुगेको भन्दै पौडेलले थपे, ‘संविधानको रक्षकका हिसाबले अब दलमा जोडिनु उचित हुँदैन, सिंगो देशको अभिभावक हुनुपर्छ भन्ने निचोडमा पुगेका छौं । हिजोको बैठकले पनि त्यो एजेण्डा पास गरेको छ ।’

    भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उनको भनाइ थियो ।

    ‘सदस्यता नवीकरण गर्ने व्यवस्था हाम्रो पार्टीमा छैन । सदस्यता त्यागेको व्यक्तिको नवीकरण हुने होइन, नयाँ प्रक्रियाबाट जानुपर्छ । उहाँको सदस्यता स्थगित होइन, परित्याग हो । जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ,’ पौडेलको भनाइ थियो ।

    एमाले कमजोर बनाएर, विग्रह ल्याएर रमाउन खोज्नेहरू विगतदेखि नै साइड लागेको उनको भनाइ छ ।

    ‘एमालेको आन्तरिक जीवन व्यवस्थित बनाउने काम हामी आफैँले गर्नुपर्छ, अरुले सरोकार राख्न जरुरी छैन’, उनले भने ।

    केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने भन्दै छिटो सुझाव दिन भनेका छन् ।

    पार्टी नेतृत्वको उमेर हदका विषयमा उनले भने, ‘७० वर्षे उमेर हदका बारेमा धेरै छलफल भयो । सचिवालयले विगतमा राखेको विषय पछि हटाइएको हो । पार्टीलाई आवश्यक परेर यसअघि नै हटाइएको हो । त्यो अनुभवका आधारमा तय गरिएको हो । अन्तर्राष्ट्रिय अनुभवले देखायो- नेतृत्व उमेरले होइन, विचार र क्षमताले गर्ने रहेछ ।’

    दुई कार्यकालको स‍ीमा हटाइएको विषयमा पौडेलको प्रष्टोक्ति थियो, ‘त्यो पनि त्यसैगरी हटेको हो । कसैलाई कन्फ्युजन थियो भने, योगदानका आधारमा थप गर्नुपर्ने अवस्था थियो ।’

  • सरकारले विपदमा राहत र उद्धारका लागि ड्रोनको प्रयोग गर्ने (भिडिओ)

    सरकारले विपदमा राहत र उद्धारका लागि ड्रोनको प्रयोग गर्ने (भिडिओ)

    काठमाडौं । सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ ।

    मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ÷नेपाल ड्रोन संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौताअनुसार प्राधिकरणको समन्वयमा संघले निःशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिए । कुनै ठाँउमा बिपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्धारका साथै आवश्यकताका आधारमा राहत समेत उपलव्ध गराउन सकिने उनले बताए ।

    गृहमन्त्री लेखकले अहिले बिपद्को प्रतिकार्य खोज, उद्दार राहतका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको उल्लेख गरे ।

    विपद्को पूर्वसुचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने काममा मन्त्रालय निकै अगाडी बढीसकेको उनले बताए ।

     

  • चितवनको मेघौलीमा बाटो बिराएर बस्ती आइपुगेको बाघलाई यसरी गरियो उद्धार (भिडिओ)

    चितवनको मेघौलीमा बाटो बिराएर बस्ती आइपुगेको बाघलाई यसरी गरियो उद्धार (भिडिओ)

    चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट वस्तीमा पसेको बाघ आज उद्दार गरिएको छ ।

    एक हप्ताभन्दा बढी दिनदेखि निकुञ्जको पश्चिम क्षेत्रबाट मेघौली पानीट्याङ्की आसपास निस्किएर स्थानीयलाई त्रास बढेपछि आज निकुञ्जका प्राविधिक टोली, नेपाली सेनासमेतको टोलीले डार्ट गरि बाघको उद्धार गरिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ बाटो बिराएर बस्ती प्रवेश गरेको थियो ।

    जंगल आफैं जान सक्छ कि भनेर निगरानीमा राखिएपनि इलेक्ट्रिक तारबार पनि भएकोले जंगल प्रवेश गर्न नसकेपछि आज डार्ट गरिएको हो । दुई वर्षको पोथी बाघलाई निकुञ्जको वनक्षेत्रमा लगेर सुरक्षित छोडिने उनले बताए ।

    फोटो: सुमन पौडेल

     

  • घनश्यामको टिप्पणी- च्यासलतिर आजीवन मरणोपरान्त ओली नै नेतृत्वमा हुनुपर्छ भनेर आरती उतारिँदैछ (भिडिओ)

    घनश्यामको टिप्पणी- च्यासलतिर आजीवन मरणोपरान्त ओली नै नेतृत्वमा हुनुपर्छ भनेर आरती उतारिँदैछ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्।

    मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए।

    ‘हाम्रो आन्दोलनको नेतृत्व अब २० वर्ष मेरो कुर्सी नहेर्नु, अर्कोले २० वर्ष त होइन १०/१५ वर्ष अरूलाई तयार गर्छु र छाड्छु’ उनले ओलीलाई लक्षित गर्दै भने, ‘अर्को जमात आजै च्यासलतिर १० वर्ष २० वर्ष होइन। तिमी आजीवन मरणोपरान्त भइराख्नुपर्छ भनेर आरती उतार्ने काम भइरहेको छ। यो हाम्रो आन्दोलनको कस्तो विरोधाभास हो।’

    उनले राष्ट्रिय स्वाभिमान बचाउन, संविधान जारी गर्न पनि सकिएको भएपनि घूस नखाने राज्य व्यवस्था बनाउन नसकिएको बताए।

    उनले भने, ‘त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिँदो रहेछ। घुस नखान सकिँदो रहेनछ। घुस खाने र पार्टी कब्जा गर्नको लागि गुटबन्दी नगर्न नसकिँदो रहेछ। दलाल पुँजीवादले हाम्रो क्रान्तिकारी आन्दोलनलाई सफल पार्न दिएको छैन।’

    उनले राजनीति सत्ता केन्द्रित भएको दाबी गरे। उनले थपे, ‘जस्ता पनि गठबन्धन बनाउने र राज्य दोहन गर्ने राजनीति स्थापित भएको छ। यसले जनतामा असन्तुष्टि पैदा गरेको छ। र अराजक पपुलिस्ष्ट हाबी हुँदै छन्। ०८४ सम्म पनि सजिलो छैन अब, समाज उग्र हुँदै छ।’
    उनले ०८४ को चुनाव बङ्गलादेश र पाकिस्तानको मोडलमा जानसक्ने आशङ्का गरे।

  • जनार्दनको दावी–मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए (भिडिओ)

    जनार्दनको दावी–मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् ।

    माक्र्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए ।

    उपमहासचिव शर्माले भने–प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ । यो आरोप होइन,यथार्थ हो ।

    शर्माले अहिलेका ऐन कानूनहरु दलाल पुँजिपतिको पक्षपोषण गर्ने र बम्हलुट गर्न टेवा पुर्याउने खालका रहेको भन्दै उनले सत्ताका लागि कम्युनिस्ट पार्टीले राज्य पुनसंरचनाको एजेण्डा छाडेको बताए ।

    उनले नेपालका कम्युनिस्टले समाजवाद निर्माणको संवैधानिक दायित्व निर्वाह गर्न नसकेको स्वीकारे ।

  • एमालेलाई विश्वप्रकाशको चेतावनी- सहमतिभन्दा बाहिर चलिरहे सहकार्यमा दरार आउनसक्छ (भिडिओ)

    एमालेलाई विश्वप्रकाशको चेतावनी- सहमतिभन्दा बाहिर चलिरहे सहकार्यमा दरार आउनसक्छ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले सहमतिभन्दा बाहिर गएर निजामती विधेयकबाट कुलिङ पिरियड हटाउन राष्ट्रियसभामा संशोधन प्रस्ताव राखेकोप्रति आपत्ति जनाएका छन्।

    बिपी कोइराला ४३औँ स्मृति दिवसको अवसरमा बिपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तै सहमतिभन्दा बाहिर चलिरहे दुई दलबीचको सहकार्यमा दरार आउने चेतावनी दिए।

    उनले भूमि विधेयक हतारोमा पारित गर्न खोजेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘भूमि विधेयक हतारोमा लटरपटर गरेर हुँदैन। गहल छलफल गरेर समितिमा लगेर दुइटा दलहरुबीचको विमतिलाई पनि घटाएर जानुपर्छ। छलफल बहस र विमति राख्छ र सँगसँगै सहकार्य परेर पनि जान्छ।’

    उनले यो दुई विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताए।

  • प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी- कुलिङ पिरियड र भूमि विधेयकमा एकलौटी लाद्ने प्रयास स्वीकार्य हुँदैन (भिडिओ)

    प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी- कुलिङ पिरियड र भूमि विधेयकमा एकलौटी लाद्ने प्रयास स्वीकार्य हुँदैन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियड लागू गर्ने विषयमा कांग्रेसले कुनै कम्प्रमाइज नगर्ने बताएका छन्।

    निजामती विधेयकबाट कुलिङ पिरियडको व्यवस्था हटाउन राष्ट्रिय सभामा एमालेका सांसदहरूले संशोधन प्रस्ताव राखेकोप्रति आपत्ति जनाए।

    बीपी कोइराला ४३औँ स्मृति दिवसको अवसरमा बीपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार बनाउनको लागि एक अर्काको दृष्टिकोण स्वीकार गरेर मात्रै गठबन्धन सफल हुनसक्छ। म जे चाहन्छु त्यही नै हुनुपर्छ भनेर हुँदैन। यसमा प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ।’

    कांग्रेसको जायज दृष्टिकोण प्रधानमन्त्रीले स्वीकार्नुपर्ने बताए। उनले सात बुँदे सहमतिमा संविधान संशोधनको विषय पनि परेको भन्दै ढिलै भए पनि कार्यान्वयनमा लानुपर्ने बताए।

    उनले थपे, ‘नचाहिने माग कांग्रेसले राख्दै राख्दैन। यसै पनि उदार पार्टी हो, प्रधानमन्त्रीले कांग्रेसको माग सम्बोधन गर्नुपर्छ। कुलिङ पिरियड सर्वसम्मत रूपमा समितिबाट अगाडि बढेको हो। त्यसमा कांग्रेसले कम्प्रमाइज गर्न सक्दैन। लागू हुनपर्छ। अरू भूमि विधेयकमा पनि समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ। एकलौटी लाद्ने कुरा स्वीकार्य हुन सक्दैन।’

    यो गठबन्धनको सरकार ०८४ जाने निर्णय गरेर अघि बढेको भन्दै त्यसको प्रभावकारिता बढ्नुपर्ने बताए। उनले नियुक्तिहरूमा पनि सन्तुलित भएर गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए।

  • डा. शेखरको टिप्पणी- एमालेले कांग्रेसको मुटु र कोर भ्यालुमा आक्रमण गर्दा हामी लाछी भयौँ (भिडिओ)

    डा. शेखरको टिप्पणी- एमालेले कांग्रेसको मुटु र कोर भ्यालुमा आक्रमण गर्दा हामी लाछी भयौँ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती विधेयकको कुलिङ अफ पिरियडमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

    बीपी स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा नेता डा. कोइरालाले कांग्रेसका कोर भ्यालुमाथि कम्युनिस्ट एमालेले आक्रमण गर्दा कांग्रेस नेतृत्व बोल्न नसकेको बताए ।

    उनले भने- हामी सरकारमा छौँ, गठबन्धन नगरी उपाय छैन ठिकै छ । तर कांग्रेसको कोर भ्यालुमा एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । हामी बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले पनि हामीले भन्न सक्नुपर्छ,सभापतिले प्रधानमन्त्रीलाई राखेर यो स्वीकार्य हुन्न,फटाफट गर्नुस् भन्नुपर्छ । गल्ती हाम्रो पनि भएको छ, हामीले किन हेरेनौँ ? राज्य व्यवस्थाको सभापतिले किन हेरेन ? अहिले राष्ट्रिय सभामा एमालेका सांसदले के लेखेका छन् ? कांग्रेसको मुटुमा,कोर भ्यालुजमा एमालेले अट्याक गर्दा हामी चुपचाप लागेर बसेका छौँ,हामी कांग्रेसहरु लाछी भएका छौँ । बीपी भएको भए यो कुरा स्वीकार गरेर बस्नुहुने थिएन ।

    डा. कोइरालाले सभापति शेरबहादुर देउवाले बजेटमा उल्लेखित टेक एण्ड पे हटाउन पहल गरेजस्तै कुलिङ अफ पिरियडका विषयमा पनि अडान लिनुपर्ने कोइरालाले बताए ।

    कोइरालाले एमालेको कास्की जिल्ला कमिटीले भूमिमन्त्रीको राजीनामा माग्दा कांग्रेस भने लाचार बनेको टिप्पणी गरे ।

  • २ सातादेखि केरुङमा फसेका डेढ सय बढी नेपालीले गरे उद्धारको याचना (भिडिओ)

    २ सातादेखि केरुङमा फसेका डेढ सय बढी नेपालीले गरे उद्धारको याचना (भिडिओ)

    नुवाकोट । ल्हेन्दे खोलामा आएको बाढीबाट असार २४ मा नेपाल-चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भयो । बाढीले चीन जोड्ने मितेरी पुल नै बगाएपछि दुई देशबीच सम्बन्ध टुट्दा चिनियाँ भूमिमा फसेका नेपालीको अहिलेसम्म उद्धार हुन सकेको छैन ।

    यातायात क्षेत्रका मजदुर, सवारी चालक, सहचालकलगायतका १६० भन्दा बढी नेपाली केरुङको तानसिङमा फसिरहेका छन् । उनीहरुले उद्धारको अपिल गरेका छन् ।

    ‘हामीलाई यहाँ बस्न गाह्रो भएको छ, बिरामी भएका छौँ र चीन पक्षले डकुमेन्ट नभएकाले उद्धारमा नेपाल सरकारले नै चासो दिनु पर्छ भनेको छ,’ तानसिङमा रहेका ईश्वर आचार्यले भने, ‘हामी एक/दुई दिनको काम भनेर यहाँ आएका हौँ, फस्यौँ, कपडा, पैसा केही पनि छैन । सुगर, प्रेसरका औषधि पनि छुट्यो, यहाँको हावापानी र खानपान फरक भएकाले बिरामी परेका छौँ ।’

    आचार्यले सोमबार र ९ दिन पहिले पनि फेसबुकमा हाम्रो उद्धारमा पहल होस् भन्दै यस्तो लेखेका छन्-

    असार २४ गते ल्हेन्दे खोलामा आएको भिषण बाढीका कारण रसुवागढी र चाइना जोड्ने मितेरी पुल बगायो, सैयौँ सवारी चालक र कामदार केरुङतर्फ रोकिए । त्यसपछि सबै नेपाली दाजुभाइले हामीलाइ नेपाल लैजाने वातावरण बनाइदिन पर्‍यो भनेर जिल्ला प्रशासन, प्रहरी, स्थानीय निकाय, राजनीतिक दलका नेता सबैमा हारगुहार भयो र सान्त्वना पनि पाइयो । प्रकृया हुँदैछ, १-२ दिनमा नेपाल ल्याउने भनेर । तर आज १४-१५ दिन भयो । कुनै कुराको सुनुवाइ छैन । यता कति साथीहरु यहाँको खाना, पानी र हावापानीका कारण बिरामी छन्, कुनै साथीको परिवारलाई हस्पिटलले निको हुँदैन घर लैजानु भनेर डिस्चार्ज गरेको र घरमा साना नानीबाबु मात्र अलपत्र अवस्थामा छन्, कुनै साथीको घर पहिरोले भत्काएर बिजोग छ । यताबाट ल्हासास्थित वाणिज्य दूताबासका कर्मचारीलाई सम्पर्क गर्दा हामीबाट केही हुँदैन भन्ने जानकारी आउँछ । के नेपालीहरुले नेपाल फर्किन पाउँ भन्नु गलत थियो ? समस्यामा परेका नेपालीलाई उद्धार र नेपाल फर्काउनु राज्यको दायित्व हुँदैन ? यतिबेला कता छ परराष्ट्र, कता छ कुटनीतिक नियोग, कता छ राजदुतावास। छिटो भन्दा छिटो सम्बन्धित निकायको ध्यान जाओस् ।

    रसुवाकै उत्तरगणका आचार्यले धेरै साथीहरु बिरामी भएको, घरपरिवारमा चिन्ता बढेको बताए । केरुङ र पाङ्सिङमा १५० बढी चालक र कैयौँ कामदारहरू र १-२ दिनका लागि घुम्न आएकाहरू अलपत्र अवस्थामा रहेको उनको भनाइ छ ।

    रसुवा, कालिकाका सरोज लोप्चनले पनि उद्धारका लागि पहल गरिदिन आग्रह गरे ।

    उनीहरू रहेको केरुङको तानसिङबाट नेपालपट्टिको रसुवा भन्सार ३० किलोमिटर दूरीमा छ ।

    यता, रसुवाका सांसद मोहन आचार्यका स्वकीय सचिव अर्जुन पौडेलले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र सांसद आचार्यबीच केरुङमा रहेकालाई फर्काउन भइरहेको पहल, अस्थायी पुल निर्माण, मितेरी पुल पुनःनिर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायतका विषयमा छलफल भएको बताएका छन् ।