Category: भिडियो

  • जेनेभाबाट सभामुखको आह्वान– आउनुहोस्, शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ (भिडिओ)

    जेनेभाबाट सभामुखको आह्वान– आउनुहोस्, शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ (भिडिओ)

    काठमाडौं । सभामुख देवराज घिमिरेले अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको संकट, महामारी र नयाँ प्रविधिहरूले जटिल परिस्थितसँग जुध्न बाध्य पारेको बताएका छन्।

    जेनेभामा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै समग्रमा बहुपक्षीयताको आधारभूत संरचना नै संकटमा परेको बताए।

    उनले भने, ‘हामी संसद् र सांसदहरू केवल हाम्रा मतदाताहरूको जनप्रतिनिधि मात्र होइनौँ, अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हौँ। संसदीय प्रक्रियाका माध्यमबाट सरोकारवाला पक्षहरूको दृष्टिकोणहरूलाई समेत निर्णय प्रक्रियामा समेटेर अझ गतिशील विश्व निर्माणमा सहयोग पुर्‍याउन सम्भव रहेको धारणा राख्न चाहन्छु ।’

    सञ्जालीकृत विश्व शासनले परम्परागत भन्दापृथक् स्वरूपको कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धबाट सबै सम्बन्धित पक्षहरू समावेश भएको समावेशी प्रणालीतर्फको रूपान्तरणको आह्वान गरे।

    उनले थपे, ‘वर्तमान विश्वको शासन प्रणालीलाई वास्तविक अर्थमा प्रभावकारी बनाउन समावेशीकरणलाई प्रवर्द्धन गर्नै पर्दछ । हामीले महिला, युवा र आदिवासी समुदाय जस्ता न्यून प्रतिनिधित्व भएका समूहहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। यस प्रयासमा सांसदहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ। आउनुहोस्, हामी सबै शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ।’

  • मुख्यमन्त्री बहादुरलाई बानियाँको जवाफ- राजीनामा नदिए प्रक्रियाबाटै बिदा गर्छाैं (भिडिओ)

    मुख्यमन्त्री बहादुरलाई बानियाँको जवाफ- राजीनामा नदिए प्रक्रियाबाटै बिदा गर्छाैं (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्र बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा नदिए प्रक्रियाबाटै हटाउने बताएका छन्।

    दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री बहादुर सिंह लामाले संविधान अनुसार आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको अडान लिएपछि उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘उहाँ नेपाली कांग्रेसका संसदीय दलको नेताको हैसियतले दुई पार्टीबीच गठबन्धन हुँदा उहाँ मुख्यमन्त्री हुनुभएको हो। उहाँको अहिले दलको नेताको हैसियत गुमेको अवस्था छ। त्यही दलको विधान अनुसार भएको हो। नैतिकता, राजनीतिमा इमानदारिता र पार्टीको साथीहरूको कुरालाई उहाँले मान्नुभएन भने यो उहाँको दुर्भाग्य कुरा हो।’

    उनले मुख्यमन्त्रीले राजीनामा नदिए लोकतान्त्रीक अभ्यास अनुसार प्रक्रियाबाटै बिदाइ गर्ने बताए।

  • दलको नेतामा हारेपछि बहादुर सिंहकाे अडान- संविधानअनुसार मैले राजीनामा दिनुपर्ने कारण छैन (भिडिओ)

    दलको नेतामा हारेपछि बहादुर सिंहकाे अडान- संविधानअनुसार मैले राजीनामा दिनुपर्ने कारण छैन (भिडिओ)

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू कांग्रेसको संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

    कांग्रेस बागमतीको दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू संविधानअनुसार चल्ने बताए । उनले भने, ‘राजीनामा दिनुपर्ने कुनै आधार छैन । हामी संविधान अनुसार चल्ने हो ।’

    उनले आफू नेतृत्वको सरकार संविधानको धारा १६८ को (२) अनुसार बनेकाले मुख्यमन्त्री बन्न दलको नेता नचाहिने उनको तर्क छ । संविधान अनुसार दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने उनले बताए ।

    उनले सबैले स्थिर सरकार चाहेकाले आफू नेतृत्वको सरकार अहिले नढल्ने जिकिर गरे ।

     

  • रेशम चौधरीलाई प्रश्न- श्रीमती रञ्जितालाई हटाएर बुबालाई अध्यक्ष बनाउन लाग्नुभएको हो ? (भिडिओ)

    रेशम चौधरीलाई प्रश्न- श्रीमती रञ्जितालाई हटाएर बुबालाई अध्यक्ष बनाउन लाग्नुभएको हो ? (भिडिओ)

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रञ्जिता चौधरी श्रेष्ठले पार्टीको कार्यवाहक तोकेको आफूलाई मन नपरेको बताएका छन् ।

    पार्टीको राष्ट्रिय भेलास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रश्न उठेपछि बैठकमा आएर प्रष्टीकरण दिनुको सट्टा विधान विपरीत कार्यवाहक तोकेको बताए ।

    श्रीमती समेत रहेकी श्रेष्ठबारे उनले भने, ‘रञ्जिताजीले केन्द्रीय समितिको बैठक बोलाएर प्रष्टीकरण दिनुपर्थ्यो । कार्यवाहक अध्यक्ष तोकेको विषयमा मलाई म परेको छैन। र धेरैको चित्त दुखेको छ । विधान विपरीत गरिएको छ । केन्द्रीय समितिबाट अनुमोदन गराएर गर्नुपर्थ्यो। त्यसैले त्यो विषयमा पार्टीमा छलफल हुनुपर्‍यो ।’

    उनले श्रेष्ठलाई अध्यक्षबाट हटाउने कि के गर्ने बैठकले निर्णय गर्ने बताए । उनले आजको यो परिस्थिति अध्यक्ष श्रेष्ठ नै जिम्मेवार रहेको बताए ।

    श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष बनाउन खोजेको चर्चाबारे उनले थपे, ‘त्यो छलफल चलेको छैन । छलफलमा साथीहरूले आफ्नो मत व्यक्त गरेपछि बुबालाई अध्यक्ष बनाउने कि नबनाउने भन्ने थाहा हुने कुरा हो । मेरो व्यक्तिगत धारणा उहाँलाई नै बनाउनुपर्छ भन्ने होइन । तर जनताको माग के हो हामीले हेर्नुपर्छ ।’

    रेशम चाैधरीका बुबा लालवीर चाैधरी पनि नाउपाका सांसद छन् ।

     

  • कांग्रेसले आफ्नो विवाद चाँडो मिलाओस्, सकेन भने एमाले विकल्पमा जान सक्छ : एमाले (भिडिओ)

    कांग्रेसले आफ्नो विवाद चाँडो मिलाओस्, सकेन भने एमाले विकल्पमा जान सक्छ : एमाले (भिडिओ)

    चितवन । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले नेपाली कांग्रेसलाई आफूभित्रको विवाद चाँडो मिलाउन अनुरोध गरेको छ ।

    कांग्रेसले विवाद मिलाउन नसके एमाले रेस्क्यूका लागि तयार रहेको भन्दै वैकल्पिक उपायमा जान सक्ने नेता जगन्नाथ थपलियाले बताए । निर्णय सुनाउँदै थपलियाले कुनै पनि पार्टीको आन्तरिक कारण संघीय सिष्टममा समस्या हुनु नहुने बताए ।

    ‘उहाँहरूको कलह छ । आन्तरिक विवाद छ । कुनै पनि पार्टीको आन्तरिक कारणले संघीय सिष्टममा समस्या हुन हुँदैन । चाँडोभन्दा चाँडो उहाँहरूले समस्या समाधान गर्नुपर्छ । यदि समाधान गर्नु हुन्न, सकिन्न अप्ठ्यारो छ भने नेकपा एमाले पनि वैकल्पिकरूपमा जान सक्छ’, उनले भने ।

    तर, उनले नेकपा एमाले कस्तो वैकल्पिक उपायमा जाने भन्ने चाहिँ प्रष्ट पारेनन् । कांग्रेससँग केन्द्रदेखि नै गठबन्धनको सरकार भएकोले व्यक्ति नभई कांग्रेस पार्टीको आधिकारिक निर्णयमा नेकपा एमालेले सहकार्य गर्ने पनि उनले बताए ।

    उनले कांग्रेससँग एमालेले सहकार्य गरेका हुनाले अहिले सरकारलाई अस्थिर बनाउने बाटोमा एमाले पनि नजाने र कांग्रेसले पनि आफूभित्रको विवाद छिटो मिलाउनुपर्ने बताए ।

    त्यसैगरि एमाले संसदीय दलले नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीले गरेको निर्णयलाई पनि अक्षरस: पालना गर्ने निर्णय गरेको उनले बताए ।

  • विकासशील राष्ट्रमा स्तरोन्नतिपछिको हाम्रो बाटो उत्पादनमा केन्द्रित हुनुपर्छ : डा. शाक्य (भिडिओ)

    विकासशील राष्ट्रमा स्तरोन्नतिपछिको हाम्रो बाटो उत्पादनमा केन्द्रित हुनुपर्छ : डा. शाक्य (भिडिओ)

    काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठालाई नयाँ उचाइमा पुर्‍याउने बताएकी छिन् ।

    ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ माथि प्रधानमन्त्रीको उपस्थितिमा बुधवार राष्ट्रिय सभामा भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।

    डा. शाक्यको संयोजकत्वमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला र सुशासन समितिको दिगो विकास उपसमितिले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ तयार पारेको हो ।

    ‘राष्ट्रिय सभाको विकास, आर्थिक मामिला र सुशासन समितिको दिगो विकास उपसमितिको म संयोजकको हैसियतले, नेपालको विकास यात्राको यो ऐतिहासिक मोडमा तयार पारिएको ‘अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी अध्ययन प्रतिवेदन समिति मार्फत गरिमामाय सदनमा प्रस्तुत हुँदा म गौरवान्वित महसुस गरिरहेको छु,’ उनले भनिन, ‘सन् २०२६ मा हाम्रो राष्ट्र नेपाल अतिकम विकसित मुलुकको सूचीबाट माथि उठेर विकासशील राष्ट्रको पंक्तिमा सामेल हुँदैछ । यो कुनै पनि राष्ट्रका लागि केवल एक प्राविधिक स्तरोन्नति मात्र होइन । यो हाम्रो राष्ट्रिय स्वाभिमान, क्षमता र उज्ज्वल भविष्यको द्योतक हो ।’

    नेपालले प्रति व्यक्ति आय, मानव सम्पत्ति र आर्थिक जोखिमजस्ता विश्वव्यापी मापदण्डहरू पूरा गरेर यो उपलब्धि हासिल गरेको भन्दै यो सबै नेपालीका लागि गौरवको क्षण भएको उनले बताइन् ।

    ‘यो स्तरोन्नतिसँगै हामीले अतिकम विकसित राष्ट्रको हैसियतमा पाइरहेका केही सुविधाहरू कटौती हुनेछन् । व्यापारमा केही चुनौती थपिन सक्छन् र केही अन्तर्राष्ट्रिय सहयोगमा कमी आउन सक्छ । तर, हरेक चुनौतीले अवसरको ढोका पनि खोल्दछ’, उनले भनिन् ।

    डा. शाक्यका अनुसार देश स्तरोन्नतिसँगै परनिर्भरताको अध्याय अन्त्य गर्दै आत्मनिर्भरताको नयाँ बिहानीतर्फ लम्किने छ ।

    प्रतिवेदन एउटा मार्गदर्शन भएको भन्दै यो यात्रा सबैले मिलेर तय गर्नुपर्नेमा उनले जोड दिइन् । उक्त प्रतिवेदनमाथि प्रधानमन्त्रीको उपस्थितिमा बुधबार राष्ट्रिय सभामा छलफल भएको हो ।

  • म सरकार फेर्ने खेलमा छैन : शेखर (भिडिओ)

    म सरकार फेर्ने खेलमा छैन : शेखर (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको प्रष्टीकरण दिएका छन् ।

    बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलको नेताहरूलाई भेट गरेको, तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको बताए ।

    पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफूहरूसँग त्यो संख्या नभएको कोइरालाले बताए ।

     

    कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेपनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने दाबी गरे । नेता कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै संविधानले यस विषयमा नबोलेकोले संविधान संसोधन आवश्यक रहेको जिकिर गरे ।

    कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेको भएपनि अहिलेसम्म संविधान संशोधनका लागि कार्यदल नबनाएको गुनासो गरे । निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउँदै उनले यसमा राजनैतिक दलका शीर्ष नेताहरूले चलखेल गरिरहेको आरोपसमेत लगाए ।

  • तस्बिरमा हेर्नुहोस् सुनकोशी मरिन डाइभर्सन

    तस्बिरमा हेर्नुहोस् सुनकोशी मरिन डाइभर्सन

    काठमाडौं । मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडी बढाईएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ ।

    हाल नेपाल सरकारले विपत् ग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्‍याउन सो आयोजनाको महत्वपूर्ण भूमिका रहेको महसुस गरिएको छ तर एक वर्षअघि नै सो आयोजनाको सुरुङ ब्रेक थ्रु गरिए पनि पटेल–रमण (संयुक्त) निर्माण कम्पनीले बाँध निर्माणको काम प्रभावकारी रूपमा गरेको देखिएको छैन ।

    १४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा यो बाँध निर्माणको ठेक्का लिएको सो निर्माण कम्पनीले बाँध निर्माण सुरु भएको ३० महिनामा ७ प्रतिशत मात्र काम भएको छ ।

    सो आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालिने छ  भने त्यहाँबाट मरिन नदी हुँदै बागमती ब्यारेकबाट तराई मधेशका खेतहरुमा सिँचाई गर्ने छ ।

    हालसम्म सो आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । २०८४ असोज सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ ।

  • किन पोखरा आए सिन्धुलीका हायू परिवार ? (भिडिओ)

    किन पोखरा आए सिन्धुलीका हायू परिवार ? (भिडिओ)

    पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट शनिबार राति एक बजे बेपत्ता भएका हायू परिवारका सदस्य सोमबार पोखरामा भेटिए । मध्यरातमा घर छाडेर हिँडेका उनीहरु पोखराको गगनगौँडास्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको बसिरहेको अवस्थामा फेला परेका हुन् । कास्की प्रहरीले उनीहरुलाई मंगलबार आफन्तको जिम्मा लगायो । तर, उनीहरु सिन्धुली नगई यतै पोखरा नै बस्ने अडानमा छन् ।

    आफ्नै तरिकाले जीवन चलाउन पोखरा आएको उर्मिला हायूका जेठा छोरा २९ वर्षीय राजु हायू बताउँछन् । ‘आफ्नो जीवन आफ्नै तरिकाले बिताउने भनेर हिँडेको हो’, उनले भने ।

    पानी, बत्तीको समस्या र धेरै बिरामी भएका कारण उक्त ठाउँ छोड्न बाध्य भएको राजुले उल्लेख गरे । ‘पानी, बत्तीको पनि समस्या भयो । केटाकेटी धेरै बिरामी भए । राम्रो ठाउँमा उपचार गरेसी राम्रो हुन्थ्यो की भनेर आएको हो’, उनले भने, ‘एक दुई महिना, ४, ५ महिना घुमौं हेरौं । यता के कस्तो हुन्छ । त्यहीअनुसार अघि बढ्नुपर्छ ।’

    इभी भ्यानमा शनिबार पोखरा आएका उनीहरु लेकसाइडस्थित होटल जननी बसेका थिए । आइतबार उक्त होटलबाट चेकआउट भएका उनीहरु सोमबार गगनगौँडामा कोठा लिएर बसिरहेको अवस्थामा फेला परे ।

    उनीहरुले अहिले गगनगौंडामा ५ वटा रुम लिएर बसिरहेका छन् । प्रहरीका अनुसार त्यसको बन्दोबस्त धनबहादुर तामाङले गरेका हुन् । उनी हायू परिवारकी ५२ वर्षीया उर्मिला हायूका ज्वाई हुन् । उनले पोखरा–मुग्लिङ सडक निर्माणमा काम गर्दै आएका छन् ।

    आफु बस्ने ठाउँ उपयुक्त नभएको कारण आफूखुसी पोखरा आएको बताएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया बताउँछन् । उनी भन्छन्, ‘बस्ने ठाउँ एकान्त भयो, बालबच्चा पटकपटक बिरामी भइराख्ने कारणले त्यो ठाउँ उपयुक्त नभएर हामी आफु खुसी हिनेका हौं भन्नुभएको छ ।’

    यतै केही काम खोजेर बस्ने योजनासहित उनीहरु पोखरा आएको एसपी ओलियाले बताए । ‘उर्मिलाको ज्वाई पोखरा-मुग्लिङ सडकमा काम गर्नुहुने रैछ । उहाँमार्फत पोखरा आएको देखियो । रुमको बन्दोबस्त पनि उहाँले नै गर्नुभएको रहेछ’, उनले भने, ‘पुनः फर्केर जाँदैनौं यतै काम खोज्छौं भनेर भन्नुभएको छ ।’

    मंगलबार प्रहरीले आफन्तको जिम्मा लगाएपछि उनीहरुले फेवा ताल पुगेका थिए । फेवा तालमा डुंगामा शयर गरेर उनीहरुले तालबाराही मन्दिरको दर्शनसमेत गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हायू परिवारका १६ जना बेपत्ता रहेको उल्लेख गरेको थियो । तर, पोखरामा १९ जना आएको कास्की प्रहरीको तथ्यांक छ । थप ३ जनामा एक जना हिमाल हायूका साली १४ वर्षीया सन्तमाया हायू, हायु परिवारका ज्वाई नाता पर्ने २० वर्षीय सुजन हायू र कमला हायूकी ९ महिने छोरी डायना तामाङ छन् ।

    उनीहरु छोडेर आएको ठाउँमा प्रहरीसहितको टोली पुग्दा त्यहाँको अवस्था लथालिंग थियो । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हायूका परिवारले आफूहरुले घर छोडेर निस्कदा लथालिंग पारेर निस्किएका थिए । साउन ८ गते सामाजिक सुरक्षा कोषवाफतको पैसा बुझेका उनीहरुले ९ गते कार्डको नविकरण गरेका थिए । त्यसपछि भने उनीहरु सम्पर्कमा नभएको वडाध्यक्ष श्रेष्ठले बताए ।

    कोही नभएको खबर पाएपछि प्रहरी टोलीसहित आइतबार पुग्दा बाख्रा र कुखुरा त्यतिकै छोडिएको र ढोका खुला रहेको अवस्थामा भेटिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

  • समाजवादी मोर्चाको निष्कर्ष- देश अप्ठेरोमा छ, संघर्ष गर्नुपर्छ (भिडिओ)

    समाजवादी मोर्चाको निष्कर्ष- देश अप्ठेरोमा छ, संघर्ष गर्नुपर्छ (भिडिओ)

    काठमाडौं । समाजवादी मोर्चाले अहिलेसम्मको गतिविधि पर्याप्त नभएको निष्कर्ष निकालेको छ। नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मोर्चाबारे गम्भीर समीक्षा भएको बताए।

    मूलभूत रूपमा मोर्चा सफल रहे पनि अपेक्षित ढङ्गले गति लिन नसकेको बैठकले निष्कर्ष निकालेको सुनाए।

    उनले भने, ‘मोर्चालाई अझ प्रभावकारी बनाएर डेब्लभ नगर्ने हो भने त यतिको त अर्थ छैन। यो मोर्चाको बैठकमै बहस भयो। हामीले समीक्षा गरे अघि बढ्ने निष्कर्ष निकालेका छौँ।’

    बैठकले समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्ने फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजानुपर्ने निष्कर्ष निकालेको बताए।

    भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जानेबारे छलफल भएको बताए। बैठकले देश अफ्ठेरो अवस्था रहेको निष्कर्षसहित सही ढङ्गले अघि नबढे देश सङ्कटमा पुग्ने बताए।

  • ओलीको कटाक्ष- रविको पक्षमा तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ (भिडिओ)

    ओलीको कटाक्ष- रविको पक्षमा तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई प्रतिशोध राखेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् । सुदूरपश्चिममा आयोजित एक कार्यक्रममा बोल्दै अपराध गरेपछि अदालत थुनेको बताए ।

    उनले भने, ‘विभिन्न प्रकारका अपराध गर्यो। अनि सरकारलाई गाली । सरकार अदालत होइन, अदालतले थुन्छ कि छाड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्ने ? नचाहिने काम गर्ने बेलामा आँखा नदेख्ने अनि के को प्रतिशोध ?’

    उनले रवि लामिछानेलाई आफूले उपप्रधान तथा गृहमन्त्री बनाएको बताए ।

    उनले थपे, ‘तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन भयो भने, सचेत हुन्नस् है, तीन करोडभन्दा माथि नपु¥याउनुस् ।’

    उनले यो गठबन्धन ०८४ को चुनावसम्म जाने भन्दै त्यसपछि के गर्ने छलफल गर्ने बताए ।

     

  • गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको हुन्छ: मन्त्री अधिकारी (भिडिओ)

    गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको हुन्छ: मन्त्री अधिकारी (भिडिओ)

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतःसरकारको हुने बताएका छन् ।

    मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसंगको छलफलका क्रममा मन्त्री अधिकारीले गिरीबन्धु टी–‍इस्टेट चिया बगानकालागि लिएको जग्गा भएकाले अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने बताए । प्रयोजनबाहेकको काममा गिरीबन्धु टी–‍इस्टेटको जग्गा प्रयोग गरे हदभित्रको बाहेकको जग्गा सरकारको हुने उनले बताए ।

    मन्त्री अधिकारीले तराईमा १० बिगाहा जमिन व्यक्तिले राख्न पाउने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको र त्यसअनुसार नै जग्गा वितरण हुने स्पष्ट पारे । भूमिहीन दलित तथा सुकुम्वासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढाइने उनले बताए ।

    विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरुले विचौलियालाई नभइ बास्तविक जनताको समस्या समाधान हुने गरि विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

     

  • एमालेसँग भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउन हो : देउवा (भिडिओ)

    एमालेसँग भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउन हो : देउवा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन्।

    देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु भएको बताए।

    उनले भने, ‘लामो सशस्त्र द्वन्द्व, ०७२ को महाभूकम्प, कोरोना, रुस र युक्रेसबीचको द्वन्द्वले नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बाबजुद मुलुकको आर्थिक स्थायित्व कायम गर्न हामी केन्द्रित छौँ।’

    उनले अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए। उनले मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याएर जनताको पक्षका काम गर्न कांग्रेस कटिबद्ध रहेको बताए।

  • कांग्रेस संसदीय दलको नेताबाट हटाइएपछि लामा भन्छन्- मुख्यमन्त्रीबाट कसैले हटाउन सक्दैन (भिडिओ)

    कांग्रेस संसदीय दलको नेताबाट हटाइएपछि लामा भन्छन्- मुख्यमन्त्रीबाट कसैले हटाउन सक्दैन (भिडिओ)

    चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीनामा नदिने बताएका छन् । संसदीय दलमा भएको मत विभाजनको क्रममा दलको नेताको हैसियत गुमाएका उनले आफूलाई कसैले मुख्यमन्त्री हुनबाट रोक्न नसक्ने जिकिर गरे ।

    उनले गठबन्धनको सरकारमा संसदीय दलको नेता हुनु र नहुनुले कुनै अर्थ नराख्ने दाबी गर्दै भने, सरकार र दल फरक-फरक कुरा हो । मुख्यमन्त्री हुन संसदीय दलको नेताह हुन आवश्यक छैन । म कानून विधि विधानअनुसार जान्छु । मैले कसरी राजीनामा दिने ?’

    पूर्ण बहुमतको सरकारको लागि मात्रै संसदीय दलको नेता हुनु आवश्यक भएको उनको दाबी छ । यो बहुमत र गठबन्धनको सरकार भएकोले संसदीय दलको नेता हुन आवश्यक नभएको सिंहले दाबी गरे ।

    उनले लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर आएको आफूलाई हटाउन आफ्नै दलभित्र जाल बुनेको र आफ्नै नेताहरू लागेको आरोप लगाए । सबैलाई मिलाएर जाउँभन्दा आफ्नै मन्त्रीमाथि पनि जाल र प्रपञ्च रचिएको उनको भनाइ थियो ।

  • मधेशका डिप बोरिङ जडान हुने ठाउँमा चाँडो बिजुली पुर्‍याउन हितेन्द्रको निर्देशन (भिडिओ)

    मधेशका डिप बोरिङ जडान हुने ठाउँमा चाँडो बिजुली पुर्‍याउन हितेन्द्रको निर्देशन (भिडिओ)

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त मधेश प्रदेशमा डिप बोरिङ जडान हुने स्थानमा छिटोभन्दा छिटो विद्युत् पहुँच पुर्‍याउन मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।

    मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशका सबै वितरण प्रमुखसँग छलफल गर्दै शाक्यले डिप बोरिङ जडान हुने स्थानमा स्थानीय तह र मातहतका निकायहरूसँग समन्वय गर्दै तार, पोल, मिटर जडान लगायतका काम ५ देखि १० दिनभित्र गरिसक्न निर्देशन दिए ।

    सिँचाइका लागि सहज गर्न थ्रीफेज लाइन जडान गर्नुपर्ने भन्दै उनले प्रक्रियामा विषयमा नअल्झिन निर्देश गरेका छन् ।

    शाक्यले प्राधिकरणको घाटा बढ्दै गए संस्था नोक्सानमा जान धेरै समय नलाग्ने भएकाले यसबारेमा सबैलाई बुझाउन जरुरी रहेको बताए । सेवा भनेर नि:शुल्क विद्युत बाँड्न नसकिने भन्दै सिँचाइ र खानेपानीका लागि सस्तोमा विद्युत उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

  • ‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’ (भिडिओ)

    ‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’ (भिडिओ)

    अत्तरिया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन् ।

    आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताए ।

    “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, उनले भने, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”

  • काठमाडौंको नागपोखरीमा बिहानै देखि नागपञ्चमी पूजा (तस्बिरहरू/भिडिओ)

    काठमाडौंको नागपोखरीमा बिहानै देखि नागपञ्चमी पूजा (तस्बिरहरू/भिडिओ)

    काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

    नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

    प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ ।

    भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो । आजको दिन उपत्यकाको नागपोखरी, नागदह र भक्तपुरको नागपोखरीमा भक्तजनहरूको विशेष भिड रहने गरेको छ ।

    तस्बिरहरू : सरोज शाही/नेपाल फोटो लाइब्रेरी

  • मासिक तलबको माग गर्दै विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयमा श्रमिकहरुको धर्ना (भिडिओ)

    मासिक तलबको माग गर्दै विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयमा श्रमिकहरुको धर्ना (भिडिओ)

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयमा कार्यरत दैनिक ज्यालादारी श्रमिकहरूले मासिक तलबको माग गर्दै सोमबार कार्यालयमा धर्ना बसेका छन् ।

    नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति, कोशी प्रदेशको अगुवाइमा भएको धर्नामा उनीहरुले आफूहरूलाई मासिक तलबमा रूपान्तरण गर्न माग गरेका छन्। संघर्ष समितिका कोशी प्रदेश अध्यक्ष विनोद गनगाईंका अनुसार धर्ना दुई दिनसम्म जारी रहनेछ । उहाले आन्दोलन पूरा नहुञ्जेल थप संघर्षका कार्यक्रम निरन्तर चल्ने जानकारी दिए ।

    २०७८ साउन ३१ गतेको प्राधिकरण सञ्चालक समितिको ९४९औं बैठकले सबै दैनिक ज्यालादारी श्रमिकलाई मासिक तलबमा रूपान्तरण गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नहुँदा श्रमिकहरू आन्दोलित बनेका हुन् ।

    अहिले श्रमिकहरूले दैनिक ७३५ रुपैयाँका दरले तलब पाउँदै आएका छन् । तर संघर्ष समितिले उनीहरूलाई न्यूनतम २५,७५० रुपैयाँ मासिक तलब दिनुपर्ने माग अघि सारेको छ ।

  • अघिअघि अर्थमन्त्री ट्याक्सीमा, पछिपछि सरकारी गाडी ! (भिडिओ)

    अघिअघि अर्थमन्त्री ट्याक्सीमा, पछिपछि सरकारी गाडी ! (भिडिओ)

    रुपन्देही । आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमा तीन दिने कार्यक्रमका लागि आएका अर्थमन्त्री विष्णु पौडेल आइतबार बिहान एउटा ट्याक्सीमा देखापरे । बुटवलको मिलनचोकस्थित ड्रिम होटेलबाट ट्याक्सी चढेका उनी पश्चिम दिशामा यात्रा गर्दै सुन्दनगरमा ओर्लिए ।

    अर्थमन्त्रीसँग सरकारी गाडी नभएर ट्याक्सी चढेका भने होइनन् । यसको कारण विशेष छ । उनी चढेको ट्याक्सी एक महिलाले चलाएकी थिइन्, जो एमालेकै पूर्वनेतृ हुन् । पौडेलले नै डाकेपछि उनी आफ्नो विद्युतीय ट्याक्सी लिएर होटलसम्म आएकी थिइन् ।

    पौडेलले वाग्लेलाई फोन गरेर उनको ट्याक्सीमा चढ्न चाहेको बताएका थिए । त्यहीअनुसार आइतबार बिहान ७ बजे वाग्ले बुटवलको मिलनचोकस्थित ड्रिम होटेल अगाडि आइपुगिन् । अर्थमन्त्री होटेलबाट निस्केर ट्याक्सीमा चढे । उनको सरकारी गाडी ट्याक्सीको पछि पछि गुड्यो । अर्थमन्त्रीले ओर्लेपछि भाडासहित टिप्स पनि दिएका थिए ।

    ट्याक्सी चढेपछि पत्रकारहरुसँग बोल्दै अर्थमन्त्रीले राजनीतिक पहिचान समेत बनाएकी महिला नेतृले व्यवसायीकरुपमा ट्याक्सी चलाउनु अरु महिला र युवाका लागि प्रेरणाको विषय भएको बताए । इन्धनबाट चल्ने गाडीले प्रदुषण र व्यापार घाटा बढाइरहेको सन्दर्भमा देवीले विद्युतीय गाडी चलाएकोमा उनले खुशी व्यक्त गरे ।

    ‘देवीजीलाई हौसला दिन र कुनै पनि काम सानो–ठूलो हुंदैन भन्ने सन्देश आम महिला र युवामा दिन उहाँको ट्याक्सी बोलाएको हुँ,’ पौडेलले भने, ‘नेपाली समाजमा अझै पनि पुरुषले गर्ने कतिपय काम महिलाले शुरु गर्दा अविश्वास गर्ने, प्रोत्साहन नगर्ने परिपाटी छ । त्यसलाई अन्त्य गर्दै आफूसँग भएको सीपलाई आयआर्जनसँग जोड्नु राम्रो हो ।’

    अर्थमन्त्रीले आफै फोन गरेर आफ्नो ट्याक्सी चढेकोमा खुशी देखिएकी वाग्लेले भनिन्, ‘महिला भएकै कारण केही यात्रुले बुक गरेको ड्राइभ क्यान्सिल गर्छन् । आज अर्थमन्त्रीज्यू चढ्नुभएर हौसला मिलेको छ ।’

    वाग्लेले दुई वर्षभित्र लुम्बिनी प्रदेशमा कम्तीमा २५ जना नयाँ महिला ट्याक्सी चालक उत्पादन गर्ने लक्ष्य समेत लिएकी छन् ।

    ‘१० वर्षअघि रुपन्देहीमा महिलाले फूल (पुष्प) खेती गरौं भन्दा शुरुमा कसैले पत्याएनन्, म आफैले शुरु गरेपछि रुपन्देहीमा दर्जनौं महिला व्यवसायिक पुष्प खेतीमा आवद्ध छन्’, उनले सुनाइन्, ‘अब आफंै ट्याक्सी चलाएर दुई वर्षभित्र कम्तीमा २५ जना महिला ट्याक्सीचालक उत्पादन गर्ने लक्ष्य छ ।’

    वाग्लेले ८ वर्षअघि नै महिलाहरुलाई ड्राइभिङको ट्रेनिङ दिनुपर्छ भनेर स्थानीय तहहरुमा लबिङ गरेकी थिइन् । तर महिलाले तालिम लिएपनि ट्याक्सी खरिद गर्न नसक्दा चालक बन्न नसकेको उनको भनाइ छ । अहिले विभिन्न ई–ड्राइभ कम्पनी खुलेकाले लाइसेन्स भएका महिलाले सजिलै काम पाउने उनी बताउँछिन् ।

    ‘अधिकारका कुरा गर्दा हरेक क्षेत्रमा आधा हिस्सा खोज्ने महिलाहरुले विभिन्न प्रकृतिका पेशा र काममा पनि पुरुषसँग प्रतिस्पर्धा सक्नुपर्छ, सकिन्छ भन्ने मेरो मान्यता हो,’ वाग्ले भन्छिन्, ‘ड्राइभिङ तालिमपछि लाइसेन्स लिने महिला–पुरुषहरु खाली बस्नुपर्दैन, सके आफैं ट्याक्सी किनेर, नभए अरुको भाडामा लिएर चलाउन पाइन्छ र आम्दानी पनि राम्रो हुन्छ ।’

    वाग्लेले दैनिक औसत ५–७ हजार आम्दानी हुने गरेको जानकारी दिइन् । आफू जीविकोपार्जनका लागि नभई अरु महिलालाई उत्प्रेरित गर्नका लागि ट्याक्सी चालक बनेको उनको भनाइ छ ।

    वाग्ले लामो समय राजनीतिमा थिइन् । उनी नेकपा एमाले रुपन्देहीकी पुर्वसचिवालय सदस्य हुन् । राजनीति छोडेर उनले यसअघि रुपन्देहीमै फूल (पुष्प) खेती गर्ने पहिलो महिला किसानको पहिचान बनाएकी थिइन् । त्यसपछि पेट्रोलबाट चल्ने कार बेचेर विद्युतीय कार किनेकी उनले दुई महिनादेखि व्यवसायिकरुपमा इभी ट्याक्सी चलाउंदै आएकी छन् ।

     

  • वीरगञ्जको काकाकुल क्षेत्रमा सेनाले यसरी बाँड्दैछ दमकलबाट पानी (११ तस्बिर/भिडिओ)

    वीरगञ्जको काकाकुल क्षेत्रमा सेनाले यसरी बाँड्दैछ दमकलबाट पानी (११ तस्बिर/भिडिओ)

    काठमाडौं । मधेश प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । लामो समयदेखि पानी नपरेपछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खानेपानीको चरम अभाव सृजना भएको छ ।

    अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खानेपानीको संकट छ । पालिकाको १९ नम्बर वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको अभाव देखिएको हो ।

    सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ ।

    हाल नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरको २८ बाहिनीअन्तर्गत श्रीजंग गणले दैनिक ३ चरणमा ( बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको सहायताले दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।

    ‘सेनाले दिनको ३ पटक पानी वितरण गरिरहेका छन् । अहिले खाना पकाउन, पानी पिउन यही पानी हो । गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले सुनाए’, स्थानीय मोटर मियाँले बताए ।

    स्थानीय सुरज कुमार यादवले कुनै पनि स्थानीय सरकार र दलले सहयोग नगरेको गुनासो गरे । सेनाले मात्र पानी दिएको उनको भनाइ छ ।

      तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।

  • मल अभावले  किसान खेती गर्न बञ्चित भएको भन्दै वाइसीएलले कृषि लिमिटेडलाई बुझायो ज्ञापनपत्र (भिडिओ)

    मल अभावले किसान खेती गर्न बञ्चित भएको भन्दै वाइसीएलले कृषि लिमिटेडलाई बुझायो ज्ञापनपत्र (भिडिओ)

    काठमाडौं । वाईसीएल नेपालले रसायनिक मलको चरम अभावका कारण किसानहरू खेती गर्नबाट बञ्चित भएको भन्दै कृषि सामाग्री केन्द्र लिमिटेडका प्रबन्धक सञ्चालक विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

    सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, भित्र भित्रै कमिसनको चक्करमा दलाल तथा विचौलियाहरु मार्फत कालाबजारी गर्ने जस्ता गम्भीर प्रकृतिको समस्याले लाखौं किसानहरु आक्रान्त भएको भन्दै वाइसीएलका अध्यक्ष पुष्प ओलीसहितको टोलीले आइतबार प्रबन्ध सञ्चालक पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

    देशभरिका कृषकहरू अहिले गम्भीर समस्याको सामना गरिरहेको उल्लेख गर्दै मध्य वर्षायाम सुरु भइसक्दा समेत रसायनिक मलको चरम अभावका कारण किसानहरू खेती गर्नबाट बञ्चित भएको बताएका छन् ।

    सरकारले दिएको पटक-पटकको आश्वासनपछि पनि मल आपूर्ति सहज र सरल नभएको बताउँदै योजनाबद्ध रहेको आरोप लगाएको छ ।

    ज्ञापनपत्रमा भनिएको छ,‘ किसानहरूले मल नपाएर खेत बाँझो राख्नुपर्ने अवस्था सिर्जना भएको छ जसको कारण राष्ट्रिय आत्मनिर्भरता र खाद्य सुरक्षामाथी प्रहार गरेको छ ।’सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, भित्र भित्रै कमिसनको चक्करमा दलाल तथा विचौलियाहरु मार्फत कालाबजारी गर्ने जस्ता गम्भीर प्रकृतिको समस्याले लाखौं किसानहरु आक्रान्त रहको भन्दै वाइसीएलले भर्सना गरेको छ ।

    यस्तो कार्य अविलम्ब रोकी रसायनिक मल आपुर्ती सुचारु गर्न र वितरण प्रणाली न्यायोचित गर्न माग गरेको छ । कृषि प्रधान देशको कृषि बालीलाई अत्यावश्यक पर्ने रसायनिक मलको अभाव विगत लामो समय देखि आएको र सधैं रहने समस्याबाट दिर्घकालिन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

    तुरुन्तै देशभर मल आपूर्ति सुनिश्चित गरिएन भने वाइसिएलआफ्नो अभियानलाई देशव्यापी बनाउनेछ र आन्दोलनको रूप दिने सरकारलाई चेतावनी दिएको छ ।

  • सुदूरपश्चिमको ‘कागजी राजधानी’ गोदावरी- सात वर्षसम्म कार्यान्वयन नभएपछि आन्दोलनको तयारी (भिडिओ)

    सुदूरपश्चिमको ‘कागजी राजधानी’ गोदावरी- सात वर्षसम्म कार्यान्वयन नभएपछि आन्दोलनको तयारी (भिडिओ)

    कैलाली । गोदावरी नगरपालिका वडा नम्बर-२ तेघरीका शेरबहादुर विष्टको एक तले घरमाथि २०७५ साल असोज आसपासमा निरीक्षण गर्न आउनेको ताती हुन्थ्यो । २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानीको रूपमा गोदावरी नगरपालिका-२ र ४ को वन क्षेत्र तोकेपछि आफ्नै घर अगाडि राजधानी बन्ने भन्दै विष्ट मक्ख थिए । सात वर्षपछि अहिले उनी निराश छन् ।

    ‘यहाँ ६/७ वर्ष पहिले मान्छेहरू राजधानी बनाउने भन्दै आइरहन्थे, मेरो घरमा चढेर राजधानी बन्ने ठाउँ भन्दै हेर्थे ’ उनले भने, ‘अहिले त मान्छे पनि आउन छाडे, राजधानीको विषय पनि हराउँदै गयो ।’

    २०७५ माघमै विष्टकै घरअगाडिको ४४४ बिघा क्षेत्रफल राजधानी भोगाधिकारका लागि भन्दै संघीय सरकारलाई पत्राचार गरिएको थियो । तर, सङ्घीय सरकारले भोगाधिकार नदिएर सर्वोच्चमा मुद्दा परेपछि अहिले गोदावरीमा राजधानी बन्न नसक्ने निष्कर्षतिर प्रदेश सरकार पुगेको छ ।

    ‘यहाँ राजधानी बनाउने भन्दै धेरैले हामीलाई आश्वासन दिए । डोटीबाट आएर कांग्रेस नेता वीरबहादुर बलायरजीले यही नाराले चुनाव जित्नु भयो । तर, सांसद भएर गएपछि गोदावरीमा राजधानी बनाउन कुनै मेहनत गर्नु भएन ’ स्थानीय लालबहादुर खड्काले भने, ‘तोकिएको ठाउँमा नबनाएर अझै सार्ने कुरा गर्दै छन्, यो गलत हुन्छ । ’

    धनगढी बजार ।

    सुदूरपश्चिम प्रदेश सरकारले राजधानी तोकेको ठाउँ नजिकैको बस्तीलाई स्थानीयले राजधानी टोल भन्दै नामकरण समेत गरेका छन् । राजधानी तोकिएको क्षेत्र नजिकैको बाटोलाई स्थानीयले राजधानी मार्ग नाम दिएका छन् ।

    ‘हामीले टोल र सडकलाई राजधानी भन्न थालिसकेका थियौं, तर सरकारले राजधानी बनाउने सूरसार गरेको छैन’ खड्काले भने । उनले राजधानी घोषणा भएपछि एकाएक जग्गाको भाउ आकासिएको तर, अहिले महँगोमा कारोबार भएको जग्गाको भाउ पनि सुस्ताएको सुनाए ।

    खड्काले भनेजस्तै स्थानीय इसारा थापाले केही वर्ष पहिले मात्रै यहाँ राजधानी बन्ने भन्दै जग्गा खरिद गरेकी थिइन् । तर, अहिलेसम्म पनि राजधानी निर्माणको सुरसार छैन। ‘राजधानी बन्ने भन्ने सुनेर यहाँ जग्गा किनेको थिए तर, अहिले त हामीलाई बन्दैन कि जस्तो लाग्छ’ उनले भनिन् ।

    राजधानी टोलकै पार्वती खडायत वन क्षेत्रलाई किन राजधानी तोकिएको थियो र अहिले किन निर्माण भइरहेको छैन भन्ने बारे अनविज्ञ छिन् ।

    ‘यस्तो बन क्षेत्रमा कसरी राजधानी हुन्छ होला जस्तो लागिको थियो । तर अहिले सरकारले घोषणा गरेर पनि किन बनाइरहेको छैन भन्ने लागिरहेको छ । हामीलाई अरूले त ठगेकै थिए , अहिले सरकारले पनि ठग्यो,’ उनले भनिन् ।

    प्रदेश सरकारले राजधानी तोकेपछि तेघरी टोल र तेघरी मार्गको नाम फेर्दै राजधानी टोल र राजधानी मार्ग बनाइएको थियो । तर, सरकारले घोषणा गरेको ठाउँमा राजधानी निर्माण नगरेर आफूलाई अपमानित गरेको राजधानी तोकिएको क्षेत्र वडा नम्बर २ का वडाध्यक्ष यज्ञ बहादुर महरा बताउँछन् ।

    ‘दुई तिहाइले तोकेकै ठाउँमै राजधानी बन्नुपर्छ’ उनले भने ‘हामीले राजधानी बन्ने भन्दै टोल र सडकलाई पनि नाम दियौँ सरकारले हामीलाई अपमान गर्‍यो । ’

    अहिले यहाँका राजनीतिक दलदेखि सर्वसाधारण पनि गोदावरीमा राजधानी बनाउन सरकारले गरेको ढिलाइ प्रति असन्तुष्ट छन् ।

    राजधानी तोकेको सात वर्षपछि गोदावरीमा स्थायी राजधानी कार्यान्वयन नहुँदा स्थानीय आक्रोशित छन् भने मुख्यमन्त्री कमलबहादुर शाह धनगढी सार्ने योजनामा छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूसँग समेत छलफल गरिसकेका छन् ।

    धनगढीलाई नै स्थायी राजधानी बनाउने तयारीस्वरूप मुख्यमन्त्री कार्यालयदेखि खानेपानी कार्यालयसम्म फैलिएको करिब १३ बिघा जमिनमा स्थायी संरचना निर्माण गर्ने सरकारको योजना छ ।

    तर, राजधानी फेरबदल गर्न प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले दुई तिहाइ गुमाए । आफैले विश्वासको मत लिने बेला राजधानीको विषय ल्याएर थप विवाद सृजना गर्न खोजेको गोदावारीबासीको आरोप छ ।

    गोदावरीमा आन्दोलनको तयारी

    राजधानी धनगढी सार्ने तयारी हुँदा गोदावरीमा आन्दोलनको तयारी भइरहेको छ । आइतबार गोदावरी नगरपालिका वडा नम्बर- १ स्थित प्रतिभा सामुदायिक पुस्तकालय परिसरमा पहिलो चरणको छलफल सम्पन्न भयो । धनबहादुर बोगटीको संयोजकत्वमा समन्वय समिति बनाइएको छ । उक्त भेलाबाट सङ्घर्ष समिति गठन गरिने जनाइएको छ ।

    सरकारले गोदावरीबासी माथि अन्याय गरे जुनसुकै तहको सङ्घर्षमा जान आफूहरू तयार गरेको उनीहरूले प्रदेश सरकारलाई सन्देश पठाएका छन् । स्थानीय युवा अगुवा दीर्घ साउँदले गोदावरीमा स्थायी राजधानी निर्माणको कार्य अगाडि बढाउन नगरवासी जागरूक हुनुपर्ने अवस्था आएको बताए ।

    स्थायी राजधानी गोदावरीमै कार्यान्वयन हुनुपर्ने, भोगाधिकार र रुख कटानको अनुमति नपाइएको बहाना बनाएर सरकार पन्छिन नमिल्ने र आवश्यक परे रुख कटानका लागि नगरवासी नै तयार रहेको उनीहरूको भनाई थियो ।

    सोमबार बिहान ८ बजे प्रतिभा सामुदायिक पुस्तकालयमा यस विषयमा उनीहरूले थप छलफल गरेर मूर्तरूप दिने बताएका छन् ।

  • ‘अहिले अधिनायकवाद भन्नेहरूलाई हामीले भोगेको जेलनेल र कालकोठरी के थाहा ?’ (भिडिओ)

    ‘अहिले अधिनायकवाद भन्नेहरूलाई हामीले भोगेको जेलनेल र कालकोठरी के थाहा ?’ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको बताएका छन् ।

    बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा ओलीले अब बीपी कोइराला र पुष्पलालहरू कुनै दल विशेषका नेता नभई, देशकै नेता भएको बताए ।

    ‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ । तर, अधिनायकवाद कस्तो हुन्छ भन्ने त्यसबेला भोग्ने बिपीहरू र हामीहरूलाई थाहा छ । जेल हतकडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ । अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ,’ ओलीले भने ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहीत स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बीपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

  • घर बनाउने सपना देख्ने हरेक नेपालीका लागि मौद्रिक नीतिले आशाको किरण छरेको छ : सांसद डाक्टर शाक्य (भिडिओ)

    घर बनाउने सपना देख्ने हरेक नेपालीका लागि मौद्रिक नीतिले आशाको किरण छरेको छ : सांसद डाक्टर शाक्य (भिडिओ)

    काठमाडौं । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि जारी भएको मौद्रिक नीतिले सुस्ताएको अर्थतन्त्रलाई गति दिन एक लचिलो अर्थव्यवस्थाको मार्ग रोजेको बताएकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले अहिलेको मौद्रिक नीति जनतामुखी भएको पनि उल्लेख गरिन् । ‘घर बनाउने सपना देख्ने हरेक नेपालीका लागि यो नीतिले आशाको किरण छरेको छ’, उनले भनिन्, ‘व्यक्तिगत आवास ऋणको सीमा २ करोडबाट बढाएर ३ करोड पुर्याइनु र धितो मूल्याङ्कन अनुपातलाई ५० प्रतिशत बाट ७० प्रतिशत पुर्याइनुले मध्यमवर्गीय लगायतका परिवारलाई आफ्नो घरको सपना साकार पार्न ठूलो मद्दत पुग्ने देखिन्छ ।’

    उनले विदेश यात्रा गर्ने नेपालीहरूका लागि विदेशी मुद्राको सीमा बढाएर ३,००० डलर पुर्याउने कुरा पनि व्यावहारिक र स्वागतयोग्य कदम भएको उल्लेख गरिन् ।

    ‘मौद्रिक नीतिले बैंक दर, निक्षेप संकलन दर र नीतिगत दरलाई घटाएको छ । यसको सीधा अर्थ हो-बजारमा ऋणको दर कम हुनेछ । यसले रियल इस्टेट क्षेत्रमा देखिएको तनाव कम गर्न र समग्र निजी क्षेत्रमा लगानी बढाउन मद्दत गर्नेछ’, उनले भनिन्, ‘१२ प्रतिशतको निजी क्षेत्र कर्जा विस्तार र १३ प्रतिशतको मुद्रा आपूर्ति वृद्धिको लक्ष्यले आर्थिक गतिविधिलाई चलायमान बनाउने स्पष्ट उद्देश्य राखेको छ ।’

    उनले मेक इन नेपाल मेड इन नेपाल अभियानलाई बल पुग्ने गरी सहुलियतपूर्ण ऋण र विशेष प्रोत्साहन प्याकेजको खाँचो रहेको भन्दै देशका ऊर्जावान् युवाहरूलाई विदेशिनबाट रोक्न स्वरोजगार र उद्यमशीलताका लागि विशेष कार्यक्रम स्टार्टअप फन्ड वा विना धितो उद्यमशील कर्जा जस्ता योजनलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइन् ।

    ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन डिजिटल भुक्तानी र मोबाइल बैंकिङलाई अभियानकै रूपमा लैजानुपर्नेमा जोड दिइन् ।

    ‘मौद्रिक नीतिले काठमाडौंलाई मात्र हेरेको छ वा कर्णालीको गाउँमा बस्ने सानो किसान र उद्यमीलाई पनि छोएको छ भन्नेमा प्रष्ट हुनुपर्छ’, उनले भनिन्, ‘दुर्गम एवं पिछडिको क्षेत्रमा कर्जा परिचालनमा पनि विशेष ध्यान पुर्याउनुपर्छ । साना तथा मझौला उद्योगहरूलाई झन्झट मुक्त र न्यूनतम धितोमा ऋण पाउने व्यवस्था सुनिश्चित गरिनुपर्छ ।’

    उनले शेयर तथा घरजग्गामा अत्याधिक लगानी हुँदा वास्तविक क्षेत्र उपेक्षामा नपर्ने सुनिश्चित्तता गरिनुपर्ने भन्दै कृषि, उर्जा, उद्योग कलकारखाना लगायतका उत्पादनमुलक क्षेत्रमा कर्जा विस्तारका लागि विशेष रणनीति एवं प्रोत्साहनको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइन् ।

    उनले समग्रमा मौद्रिक नीतिले बजारमा तरलता बढाउन, ऋणलाई सहज बनाएर र लगानीको वातावरण सिर्जना गरेर अर्थतन्त्रलाई राहत दिन प्रयास गरेको उल्लेख गरिन् ।

    ‘उत्पादन र रोजगारीमा जोड दिनुका साथै ग्रामीण र समावेशी अर्थतन्त्रमा जोड दिनुपर्ने र भविष्यमुखी अर्थतन्त्रको तयारी गर्नुपर्ने जस्ता कुरामा भने ध्यान दिनुपर्छ’, उनले भनिन्, ‘जलवायु परिवर्तनको असर न्युनीकरण गर्न बैङ्क तथा वित्तीय संस्थाहरुलाई ‘ग्रिन फाइनान्स’, बाताबरणमैत्री क्षेत्रमा कर्जा तथा लगानी परिचालनका लागि प्रोत्साहन गर्नुपर्दछ ।’

    उनले नवीकरणीय ऊर्जा र वातावरणमैत्री परियोजनाहरूमा लगानी आकर्षित गर्न विशेष नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइन् ।

    ‘सम्पत्ति शुद्धीकरण ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न यथार्थपरक पूनरावलोकन गरी बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन जारी गर्ने र बैङ्क तथा वित्तीय संस्थामा रहेको गैर बैंकिङ सम्पत्तिको व्यवस्थापन र खराव कर्जा व्यवस्थापन गर्नुपर्छ ।’

    उनले बैंकिङ सम्पत्तिलाइ पूरक पूँजिमा गणना गर्न दिइनु मौद्रिक नीतिको सबैभन्दा राम्रो व्यवस्था रहेको भन्दै यस व्यवस्थाले बैंक वित्तीय संस्थामा रहेको पुँजी कोषमा रहेको दबाब घट्न गई तिनीहरूको थप व्यापार विस्तार गर्न सक्षम हुने आशा गर्न सकिने पनि उनले उल्लेख गरिन् ।

    उनले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति अर्थतन्त्रलाई तत्काल राहत दिने हिसाबले सकारात्मक भए पनि यतिमा मात्रै सन्तुष्ट हुनुनहुनेमा जोड दिइन् । ‘हाम्रो लक्ष्य अल्पकालीन राहत मात्र नभई दीर्घकालीन समृद्धि हुनुपर्छ’, उनले भनिन्, ‘त्यसका लागि, अबका दिनमा हाम्रो मौद्रिक नीतिले सबल उत्पादन, समावेशी पहुँच, संरचनागत सुधारमा पनि ध्यान दिनुपर्छ ।’

     

  • सिटौला भन्छन्- कांग्रेस महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा हुन्छ (भिडिओ)

    सिटौला भन्छन्- कांग्रेस महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा हुन्छ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने बताएका छन् ।

    आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताए ।

    उनले २०८३ मंसिरभन्दा उता लैजाने अवस्था नरहे पनि कांग्रेस महाधिवेशन कहिल्यै पनि समयमा अर्थात् ४ वर्षमा नभएको बताए ।

    उनले सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पारे ।

    उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए ।

  • चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः ऊर्जामन्त्री (भिडिओ)

    चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः ऊर्जामन्त्री (भिडिओ)

    काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गरेका छन् । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताए ।

    सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे ।

    उनले भने, ‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएकाल दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’

     

    चितवनमा हिजो दैनिक ३-३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको थियो ।

  • कपाल मुण्डन गरेर रुपाकोटका मेयरको माइतीघरमा सत्याग्रह (भिडिओ)

    कपाल मुण्डन गरेर रुपाकोटका मेयरको माइतीघरमा सत्याग्रह (भिडिओ)

    काठमाडौं । विभिन्न माग राख्दै सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरेर सत्याग्रह बस्न खोजेपछि दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको छ ।

    स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेपछि निषेधित क्षेत्रमा सत्याग्रह बस्न खोजेपछि उनलाई नियन्त्रणमा लिएर माइतीघर पुर्‍याइएको हो ।

    भट्टराई शिर मुण्डन गरेर खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित तीन दिनसम्म सत्याग्रहमा बस्नेत बताइएको छ ।

    यस्ता छन् भट्टराईका मागहरू :–

    ० जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउँदै प्रदूषण धेरै गर्ने अरू देशसँग क्षतिपूर्ति लिने ।

    ० बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून निर्माण गरिदिने ।

    ० प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उ‌द्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानून बनाउनु पर्ने ।

    ० जथाभाबी प्रकृतिको दोहन गर्ने क्रसर, उ‌द्योग लगायतलाई कडाइकासाथ रोकी कडा कानून बनाई कारबाही गरिनु पर्ने ।

    ० पहिलो चरणमा वन र उ‌द्योग मन्त्रालय र मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बोस, काठ, राडी पाठी, वातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गरियोस् ।

    ० विशेषतः काठमाडौबाट खोटाङ जाँदा बाटोमा परेका पुल, सडक र संरचना अलपत्र पार्नेलाई कडा कानुनी कारबाही गरि तत्काल निर्माणको काम सुरु गरियोस् ।

    ० पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाइसराइको दर बढेको हुँदा तत्काल नीतिगत निर्णय निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गरियोस् ।

  • कांग्रेस-एमालेलाई वाग्लेको चेतावनी : रवि लामिछाने थुन्नुको नतिजा चाँडै भोग्छन् (भिडिओ)

    कांग्रेस-एमालेलाई वाग्लेको चेतावनी : रवि लामिछाने थुन्नुको नतिजा चाँडै भोग्छन् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टाचारको फाइल लुकाउनको लागि कांग्रेस-एमाले मिलेर सरकार बनाएको पुष्टि भएको दाबी गरेको छन्। रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै संविधान संशोधनको विषय देखाएर भ्रष्टाचारको फाइल लुकाउन दुई ठुला दल केन्द्रित भएको बताए।

    वाग्लेले भने, ‘ठुला क्रान्तिपछि देशलाई स्थिर बनाए व्यवस्था परिवर्तन गर्न होस्, त्यस्तो बेलामा मात्रै हुने खालको प्रयोग अहिले दुई चार जना भ्रष्टहरूको फाइल जोगाउन मात्रै त्यस्तो दुर्लभ प्रयोग भइरहेको छ।’ उनले भ्रष्टाचारको फाइल लुकाउनको लागि संविधान संशोधनको सफेद झुट बोलेको बताए।

    उनले थपे, ‘एक वर्षसम्म सफेद झूट बोले तर अहिलेसम्ममा त उनीहरू नांगिसकेका छन्। कहाँ संविधान संशोधन गर्ने, न कुनै विचार छ, न कुनै कार्यदल बनाएका छन्। न कुनै आम जनतामा छलफल चलाएका छन् यो धारामा संविधान संशोधन गर्छौँ भनेर।’ उनले सुशासन कायम गर्छौँ भनेर बनेको सरकारको हरेक दिन काण्डै काण्ड आउने गरेको बताए।

    उनले थपे, ‘यो सरकारले अरू केही काम गरेको छैन। सबैभन्दा ठुलो काम मानेको नै रवि लामिछानेलाई थुन्ने। त्यति हो, त्यसको नतिजा र परिणाम पनि यिनीहरूले भोग्दैछन्। २८ लाख नेपालीहरूले हस्ताक्षर गरिसक्नुभएको छ।’

  • मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ (भिडिओ)

    मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ (भिडिओ)

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले मधेशमा देखिएको संकटबारे सरकारले चाँडै आवश्यक कदम चाल्ने बताएका छन्। मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि गृह मन्त्रालयमा समन्वयात्मक बैठकमा बोल्दै तत्कालको आवश्यकता हेरेर सरकारले काम गर्ने बताए।

    उनले भने, ‘हिजो पनि प्रधानमन्त्रीले मधेशका क्षेत्रको अवलोकन गरेर आउनुभएको छ। त्यहाँको वस्तुस्थिति हेरेर आउनुभएको छ। हामीले सरकारमा भएकाहरू फेरि छलफल गर्छौँ। सरकारले त्यहाँको अवस्था हेरेर आवश्यक कदम उठाउँछ।’ उनले तत्काल खानेपानी र सिचाई नभएका क्षेत्रको पहिचान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिए।

    वैकल्पिक स्रोतको पहिचान गरेर वैज्ञानिक वितरण गर्ने गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘प्रधानमन्त्रीले हिजो बोरिङ गर्ने घोषणा गर्नुभएको छ। त्यो अध्ययन र आवश्यतालाई प्राथमिकता दिएर गर्छ। त्यसलाई प्रजिअहरुले समन्वय गर्नुपर्‍यो। छिटो प्रक्रियाबाट जडान गर्नुपर्छ।’

  • रुपन्देहीमा खिमलाल भट्टराईको बलिङमा अर्थमन्त्री विष्णु पौडेलद्वारा चौका प्रहार ! (भिडिओ)

    रुपन्देहीमा खिमलाल भट्टराईको बलिङमा अर्थमन्त्री विष्णु पौडेलद्वारा चौका प्रहार ! (भिडिओ)

    रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबारदेखि गृहजिल्ला रुपन्देहीमा छन् । नेकपा एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका मन्त्री पौडेल बजेट निर्माण तथा पार्टीको कामले केही महिनायता जिल्लामा आएर धेरै बसेका थिएनन् । यो पटक भने उनले दर्जनभन्दा बढी कार्यक्रममा सहभागी जनाउन जिल्ला झरेका हुन् ।
    अर्थमन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्रसँगै जिल्लाका अन्य क्षेत्रमा समेत केही कार्यक्रमलाई प्राथमिकता दिएर पुगेका छन् । रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको तयारी भइरहेकाले पनि नेता पौडेलले यो बिचमा त्यो क्षेत्रका विभिन्न कार्यक्रममा सहभागिता देखाएका छन् ।
    शनिबार मन्त्री पौडेलले रुपन्देहीका विभिन्न आयोजनाको स्थलगत अवलोकनका लागि समय निर्धारण गरे । यही क्रममा शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नं १५ कर्साघाटमा संघीय सरकारको विशेष आयोजनामा निर्माण हुन लागेको कृषि उपज केन्द्रबारे जानकारी लिन दलबलसहित पुगेका थिए मन्त्री पौडेल । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेताहरु तथा सो क्षेत्र वरिपरि रहेका कार्यकर्ता र केही स्थानीयसमेत उनी त्यहाँ पुग्ने सूचना पाएसँगै पुगेका थिए ।
    तर गाडीबाट झरेपछि आयोजना नजिकै स्थानीय युवाहरू क्रिकेट खेलिरहेका थिए । अर्थमन्त्री पौडेलले ती खेलाडीहरूलाई ऊर्जा थप्ने गरी हात हल्लाउन थाले । एक छिनमै खेलिरहेका खेलाडीहरू मन्त्री पौडेललाई देखेपछि आफ्नो खेलमैदान बनाउन मागसहित अगाडि सरे ।
    त्यो भन्दा अघि नै नेता पौडेलले खेलाडीहरूसँग सामिप्यता बढाउन आफूले खेल्ने रुचि देखाए । आफ्नो मैदानमा शीर्ष तहको नेता र मन्त्री आएपछि उनीहरूले सहजै मैदान प्रवेश गराएको त्यहाँ पुगेका एमाले नेता मेघराज भट्टराईले बताए ।
    मन्त्री पौडेलले मैदान प्रवेश गरेर सिधै ब्याट समाए । र उनले बलिङका लागि प्रदेशका पूर्व मन्त्री तथा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलाई मैदानमा पठाए । नेता श्रेष्ठले दुई बल पौडेलका लागि हाने तर उनले सहजै रूपमा त्यसलाई ब्याटले हान्न सकेनन् । ‘अलि राम्रो बलिङ गर्नुस् न, यो त सारै कमजोर भयो’ पहिलो बललाई हान्न नसकेपछि पौडेलले श्रेष्ठलाई भने । श्रेष्ठले फालेको दोस्रो बल पनि राम्रो तरिकाले ब्याटमा नलागेपछि मन्त्री पौडेलले एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई बलिङका लागि पडाए । नेता भट्टराईको पहिलो बललाई सामान्य प्रहार गरे पनि दोस्रो बलमा भने मन्त्री पौडेलले चौका प्रहार गरेका थिए ।
    मैदान वरिपरि रहेका नेताकार्यकर्ताहरुले छक्का छक्का भनेर हुटिङ गरिरहेका थिए । खेलमा सहभागिता जनाएपछि मन्त्री पौडेलले त्यहाँ रहेका स्थानीय खेलाडीहरुसमक्ष केही समय अन्तरक्रिया गरे । पौडेलले कृषि उपज केन्द्र नेपालको नमुना आयोजना भएकाले यसलाई निर्माणका लागि सघाउन र नजिकै रहेको अर्को स्थानमा क्रिकेट स्टेडियम बनाउन आफूले पहल गर्ने र बजेटको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए । मन्त्री पौडलको प्रतिबद्धतापछि त्यहाँ रहेका खेलाडीको अनुहारमा खुसी देखिएको एमाले बुटवल अध्यक्ष शोभाखर पोख्रेलले जनाए ।
  • नेकपा सम्झिँदै प्रचण्डले भने- ओलीलाई पाँच वर्ष प्रधानमन्त्री खानुस्, पार्टीको जिम्मा दिनुस् भन्दा हमला गरे (भिडिओ)

    नेकपा सम्झिँदै प्रचण्डले भने- ओलीलाई पाँच वर्ष प्रधानमन्त्री खानुस्, पार्टीको जिम्मा दिनुस् भन्दा हमला गरे (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा जोगाउनको लागि केपी ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री खानुस् भन्दा पनि जोगाउन नसकेको स्मरण गरेका छन्।

    पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित निर्वासन लोकार्पण समारोहलाई सम्बोधन गर्दै आफू कम्युनिस्ट एकताको पक्षमा रहेको भएपनि कम्युनिस्टको साइनबोर्ड टाँगेर बसेकाहरूसँग हुने बताए।

    उनले आफ्नै प्रस्तावमा एमालेसँग एकता भएपनि टिकाउन नसकेको बताए। उनले भने, ‘हामीलाई जनताले विश्वास गरेर दुई तिहाइ नजिक त पुर्‍याइदिएका हुन् नि। तर टिकेन। प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भने ओलीजीलाई, मैले पार्टी चाहिँ अलि राम्रो बनाउने मन छ पार्टीको जिम्मा दिनुस् भनेको थिएँ। एउटा बैठक मात्रै मैले अध्यक्ष भएर चलाएका थिएँ, ९० प्रतिशत नेताहरू खुसी हुनुहुन्थ्यो। मलाई लाग्यो अब एकता लामो जान्छ। तर, अर्को हप्ता त प्रचण्डले पार्टी सिद्ध्याउने भयो भनेर पशुपतिको होटेलमा बसेर म विरुद्ध हमला गर्न साँठगाँठ भयो।’

    उनले कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट बनाउनको लागि विचार र राजनीतिक कार्यदिशामा एकता हुनुपर्ने बताए।

  • कुलिङ पिरियडमा छेडखानीबारे प्रचण्ड- शंकाको सुई प्रधानमन्त्रीतिर सोझियो, छानबिन हुनुपर्छ (भिडिओ)

    कुलिङ पिरियडमा छेडखानीबारे प्रचण्ड- शंकाको सुई प्रधानमन्त्रीतिर सोझियो, छानबिन हुनुपर्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती विधेयकमा डरलाग्दो चलखेल भएको बताएका छन्।

    सहिद शिक्षक स्मृतिको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार, जालझेल, ठगी अहिले सरकारको परिभाषाजस्तो भएको बताए।

    उनले भने, ‘कुलिङ पिरियड दुई वर्ष राख्ने निर्णय सर्वसम्मत भएको हो। तर अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रियसभामा राख्नुहुन्न भन्ने पक्षमा संशोधन प्रस्ताव राखेको छ। बिरालोले अन्तिममा म्याउँ गरिछाड्यो भन्या जस्तै एमालेले म्याउँ गरिनै हाल्यो। उसको नै रहेछ नियत, षड्यन्त्र गर्ने पनि उही रहेछ। यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ।’

    उनले संसदीय छानबिन समितिले छानबिन गरिरहेको बताए।

    उनले थपे, ‘पहिला पनि शंकाको सुई प्रधानमन्त्रीतिर सोझिएकै थियो। ठोस रूपमा भन्ने आधार थिएन। अहिले एमाले सांसदहरूको गतिविधिबाट यो एमाले र नेतृत्वकै नियतले भएको हो। त्यसैले छानबिनको दायरामा प्रधानमन्त्री स्वयम् पनि पारिनुपर्छ।’

  • उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने ओलीजीको धारणमा म पनि सहमति छु: देउवा (भिडिओ)

    उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने ओलीजीको धारणमा म पनि सहमति छु: देउवा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन्।

    ढुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै संविधान सबैका लागि स्वीकार्य भए पनि केही कुरा संशोधन गर्न आवश्यक देखिएको बताए।

    उनले भने, ‘संविधान संशोधनको आवाज उठ्नु स्वभाविक कुरा हो। आवश्यकता अनुसार संशोधन हुन्छ नै। राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउनुपर्छ भन्ने धारणा ओलीजीको छ। त्यो पक्षमा म पनि छु, भारतसहित अन्य देशमा पनि त्यस्तो व्यवस्था छ।’

    उनले नाममा कम्युनिस्ट भए पनि व्यवहारमा सबै पार्टीहरूले प्रजातान्त्रिक समाजवादी पार्टीको रूपमा काम गरिरहेको बताए। अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको बहुमत आउन गाह्रो भएकाले अरू दलसँग मिल्नुपर्ने बाध्यता रहेको बताए।

  • बागमतीको मुख्यमन्त्री बन्न कस्सिएका इन्द्र बानियाँलाई प्रश्न- देउवासँग सहमतिले अघि बढ्नुभएको हो ? (भिडिओ)

    बागमतीको मुख्यमन्त्री बन्न कस्सिएका इन्द्र बानियाँलाई प्रश्न- देउवासँग सहमतिले अघि बढ्नुभएको हो ? (भिडिओ)

    काठमाडौं । बागमतीको मुख्यमन्त्री बन्न कस्सिएका इन्द्र बानियाँले बहादुरसिंह लामामाथि अविश्वासको वातावरण बन्दै गएपछि दलको नेता फेर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।

    बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले लामाको नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांशको ठहर भएपछि यो कदम चालिएको बताए ।

    लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। दलको नेता परिवर्तनपछि बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।

    उनले भने, ‘प्रजातन्त्रको मेरुदण्डको रूपमा रहेको नेपाली कांग्रेसले नेतृत्व दलको दल जुन विश्वासका आधारमा बहादुरजीलाई दलको साथीहरूको विश्वासमा दलको नेता बनाइयो, त्यसपछि राजनीतिक सहकार्यको सहकार्यको आधारमा दुई दल मिलेर सरकार बनाइयो । त्यसको नेतृत्व उहाँले गर्नुभयो । त्यो नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांश साथीहरूको ठहर भयो । त्यसैले विश्वासमाथि अविश्वास पैदा भएकाले हामीले यो दर्ता गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो ।’

    उनले अविश्वासको प्रस्ताव दर्ता गर्दा नै दलको नेतामा आफूलाई चयन गर्नुपर्छ भन्ने उल्लेख भएको बताए ।

    केन्द्रीय सभापति शेरबहादुर देउवासँगकै सहमतिमा अघि बढ्नुभएको हो? भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रो तीन तहको संरचना छ । विधानले दिएको अधिकार अनुसार सबै स्वतन्त्र छन् आफ्नो निर्णय गर्नको लागि, केन्द्रीय सभापति अभिभावक हो । अभिभावकसँग परामर्श छलफल विभिन्न राजनीतिक विषयमा हुन्छन् तर सबै आफ्नो विधानअनुसार गर्ने हुनाले कांग्रेस स्वतन्त्रताको लागि लडेको पार्टी हो त्यसका लागि स्वतन्त्र छ ।’

    उनले संसदीय दलको नेता परिवर्तन हुने प्रक्रिया टुंगिएपनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।

  • विद्या भण्डारीको प्रष्टोक्ति- पदको लालसा छैन (भिडिओ)

    विद्या भण्डारीको प्रष्टोक्ति- पदको लालसा छैन (भिडिओ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन खोजेको बताएकी छन् ।

    एमालेमा निषेधपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् ।

    उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् ।

    उनले भनिन्, ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु । पदको लालसा छैन ।’

    पार्टी सदस्यबाट आफूलाई वञ्चित गर्ने निर्णय अवैध भन्दै उनले आवेग र उत्तेजनाको निर्णयले पार्टीको साख गिराउने बताइन् । भण्डारीले पार्टी सदस्यबाट वञ्चित गर्ने एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाएकी छन् ।

    उनले संविधानको मर्म भावना कहीँ कतैबाट पनि दलमा आफू दलमा आबद्ध भएर राजनीति गर्न नपाउने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘यो घाम जत्तिकै छर्लङ भएको विषय हो। जबजले संवैधानिक सर्वोच्चता विधिको शासनलाई गहिरोसँग आत्मसाथ गरेको छ। मलाई सदस्यताबाट वञ्चित गराउनुपर्ने कुनै कारण छैन।’