Category: भिडियो

  • स्थानीय तहको निर्वाचन सार्ने विकल्प संविधानसम्मत छैन : गगन थापा (भिडिओ)

    स्थानीय तहको निर्वाचन सार्ने विकल्प संविधानसम्मत छैन : गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत् नभएको बताए ।

    कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत् नहुने भन्दै उनले संविधानसम्मत् नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताए ।

    पार्टी सभापति शेरबहादुर देउवालाई आफुहरुले सो कुरा राखिसकेको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनले संविधानसँग बाझिनेगरी कुनैपनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे ।

    उनले भने, ‘स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरु गठबन्धन भित्र प्रवेश भएको छ । जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् । ति कुनैपनि विषयहरु संविधानसम्मत् छैन । यो संविधानसम्मत् नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनैपनि कारण छैन । बोक्नु हुँदैन भन्नेकुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौँ । र गठबन्धनका नेताहरुले पनि यो कुरा बुझ्नु हुन्छ र संविधानसँग बाझीने गरीकन कुनैपनि काम गठबन्धनले गर्दैन भन्नेकुराको मलाई विश्वास छ ।’

    सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए । शनिबार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उनको भनाई छ ।

  • कप्तान किरण भन्छन्– पहिलो पटक अफ्रिकन राष्ट्रसँग खेल्न तयार छौँ (भिडिओ)

    कप्तान किरण भन्छन्– पहिलो पटक अफ्रिकन राष्ट्रसँग खेल्न तयार छौँ (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले अफ्रिकन राष्ट्र मोरिससविरुद्ध हुने दुईवटा मैत्रिपूर्ण खेल घरेलु खेलाडीका लागि फरक अनुभवको अवसर भएको बताएका छन् ।

    शुक्रबार आयोजित प्रि–म्याच कन्फेरेन्समा किरणले इतिहासमै पहिलो पटक अफ्रिकन राष्ट्रसँग खेल्न लागेकाले फरक अनुभव हुने बताएका हुन् ।

    ‘इतिहासमै पहिलो पटक अफ्रिकन टिमसँग खेल्न गइरहेका छौँ । त्यसैले मोरिसससँगको खेल हाम्रो लागि एक फरक अनुभव हुनेछ । नेपाली खेलाडीहरुले घरेलु लिग खेलिरहेकाले सबै जना शारीरिक र मानसिक रुपमा फिट रहेका छन्’, उनले भने ।

    नेपालले शनिबार र मंगलबार मोरिसससँग खेल्दै छ। नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले विगतका गल्तीहरुलाई सुधार गर्दै खेल्ने बताए।

    ‘मुख्यत यो हामीले एसिया कपको तयारिका लागि खेलेका हौँ। नयाँ खेलाडीलाई अवसर दिइरहँदा पछि राष्ट्रिय टोली दह्रो बन्छ भन्ने आशा गरेका छौंँ’, उनले भने।

    मोरिससका प्रशिक्षकले भने साढे २ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेपनि शतप्रतिशत तागत लगाएर खेल्ने बताए ।

    ‘हामीले डिसेम्बरदेखि मात्रै प्रशिक्षण थालेका हौँ । जम्मा ४५ दिन मात्रै तयारीका लागि समय पाएका छौँ’, उनले भने।

  • सीके राउतका कार्यकर्ताद्वारा नगरपालिकाको गाडी तोडफोड, मेयर घाइते (भिडिओ)

    सीके राउतका कार्यकर्ताद्वारा नगरपालिकाको गाडी तोडफोड, मेयर घाइते (भिडिओ)

    जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जानेक्रममा जनकपुरमा गाडी तोडफोड गरिएको हो । सोक्रममा मेयर गणेश प्रसाई घाइते भएका छन् ।

    बिहानैदेखि लाठीसहित प्रदर्शनमा उत्रिएका सीके राउतका कार्यकर्ताहरूले प्रदेश-२-०३ ००९०५ ००२० नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । गाडीको सिसामा लाठी प्रहार गर्दा मेयर गणेश प्रसाईलाई चोट लागेको छ । उपमेयर रेनुका पौडेल भने सकुशल छिन् ।

    ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा जनमतका कार्यकर्ता विहानैदेखि प्रदर्शन गरिरहेका छन् । मतदानस्थलत छिर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।

  • ‘फाष्ट ट्रयाक’ बाट रिजल्ट प्रकाशन गर्न पनिकालाई शिक्षामन्त्रीको निर्देशन (भिडिओ)

    ‘फाष्ट ट्रयाक’ बाट रिजल्ट प्रकाशन गर्न पनिकालाई शिक्षामन्त्रीको निर्देशन (भिडिओ)

    काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (पनिका) लाई निर्देशन दिएका छन् ।

    सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले अनुगमनको क्रममा पनिकाका पदाधिकारीलाई ‘फाष्ट ट्रयाक’ विधिबाट भए पनि रिजल्ट निकाल्न भनेका हुन् । परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

    मन्त्री पौडेलले भने, ‘जेसुकै तर्क गरे पनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ । सेवाग्राहीले समयमा सेवा प्राप्त गर्नुपर्नेमा रिजल्ट ढिला भएको छ । जे स्थिति छ । मौजुदा अवस्थाबाट रिजल्ट छिटो निकाल्ने फाष्ट ट्रयाकको तरिका अपनाउनुस् भनिएको छ । यसलाई सुधार्ने प्रसंगमा अर्को प्रणाली अपनाउँला । तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौं । विद्यार्थीको गुनासो अनुसार कर्मचारी पुगेन, सिस्टम पुगेन भन्ने कुराले मिल्दैन । उसले चाहेको बेलामा रिजल्ट दिन सक्नुपर्छ विश्वविद्यालयले । त्यो व्यवस्था गर्नुस् भनेको छु ।’

    परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ दिए ।

  • गृहमन्त्रीले भने- चिकित्सा शिक्षा अध्ययनमा बढी शुल्क लिएको विषयमा छानबिन गर्न प्रतिवद्ध छु (भिडिओ)

    गृहमन्त्रीले भने- चिकित्सा शिक्षा अध्ययनमा बढी शुल्क लिएको विषयमा छानबिन गर्न प्रतिवद्ध छु (भिडिओ)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चिकित्सा शिक्षा अध्ययन गर्ने विधार्थीसँग बढी शुल्क लिएकोबारे छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    गृहमन्त्री खाणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीहरूसँग क्याम्पसहरूले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएरनलिएकोबारे अनुसन्धान गर्ने बताएका हुन् ।

    शुक्रबार गृह मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, विद्यार्थी संगठनका प्रतिनिधि र चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूसँग भएको छलफलमा गृहमन्त्री खाणले अनुसन्धानमा बढी शुल्क लिएको पाइएमा कानुन, ऐन र नियममा भएको व्यवस्थाअनुसार कारबाही गरिने प्रतिवद्धता गरे ।

    ‘चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्या समाधान गर्ने दायित्व सरकारका हो । अहिले कलेज सञ्चालकहरूले बढी शुक्ल लिएको आरोप विद्यार्थीहरूले लगाइरहनु भएको छ । हामीले यस विषयमा अध्ययन गर्छौ,’ गृहमन्त्री खाणले भने, ‘अनुसन्धानमा दोषी पाइएमा ऐन, कानुन र नियममा जस्तो व्यवस्था छ, त्यही अनुरुपको कारबाही सरकारले गर्छ ।’

    गृहमन्त्री खाणले कारबाही गर्दा कुनै आग्रह र पूर्वाग्रह नराखिने पनि बताए ।

    ‘अनुसन्धानमा दोषी देखिए सरकारले आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर कारबाही गर्छ,’ उनले भने,ुविद्यमान कानुनको पालना गर्न सरकार प्रतिबद्ध छ । गल्ती गर्ने जो सुकै भए पनि कारबाही हुन्छ।’

    उनले चिकित्सा शिक्षामा देखिएको समस्यामा सरकार गम्भीर रहेको र छिट्टै निकास निकाल्ने बताए ।

    कलेज सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क मान्नुपर्ने उनको भनाइ थियो ।

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजले शिक्षा मन्त्रालयसहितका सरकारी निकायसँग आफैले गरेको सहमति उल्लंघन गरेको आरोप लगाए ।

    उनल‍े राज्यका निकायलाई चुनौति दिने कलेज सञ्चालकहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।

    छलफलमा गृहसचिव टेकनारायण पाण्डेले कलेज सञ्चालकले ठगेको प्रमाणसहित प्रक्रिया पुर्‍याएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएमा सरकारले कानुनी कारबाही गर्न पछि नहट्ने बताए।

  • सहरमा क्याफेसहितका स्मार्ट शौचालय (भिडिओ रिपोर्ट)

    सहरमा क्याफेसहितका स्मार्ट शौचालय (भिडिओ रिपोर्ट)

    काठमाडौं । राजधानीका सार्वजनिक शौचालय भन्नेबित्तिकै दिमाग दिग्मिगाउँछ । मानसपटलमा यस्तो चित्र बन्छ कि- फोहोर, दुर्घन्धित र पानीविहीन शौचालय । तर, राजधानीमा केही यस्ता शौचालय पनि छन्, जुन सुन्दर, आकर्षक र शौचकर्म गर्दा पनि आनन्द अनुभूत हुने खालका छन् । जसलाई ‘स्मार्ट शौचालय’ भनिएको छ ।

    कुनै पनि सहरको सभ्यता मापनको मानक पनि मानिन्छ, सार्वजनिक शौचालय । ज्यादै कम र भएका शौचालयहरु पनि दुर्गन्धित हुनुले हाम्रो सभ्यतामाथि नै प्रश्न उठिरहेका बेला सरसफाइ अभियन्ता प्रकाश अमात्यले ‘स्मार्ट शौचालय’को अवधारणा ल्याएर काम थालेका हुन् ।

    रोशान सस्टेनेवल स्यानिटेशनका कार्यकारी प्रमुखसमेत रहेका उनकै पहलमा राजधानीमा लोभलाग्दा ‘स्मार्ट शौचालय’ बनिरहेका छन् ।

    ललितपुरको पाटनढोका र मंगलबजार तथा काठमाडौंका बानेश्वर, स्वयम्भु र त्रिपुरेश्वरमा पनि उनले यस्ता शौचालय संचालनमा ल्याइसकेका छन् । पोखरा, विराटनगरलगायत सहरमा पनि उनी यस्तै सार्वजनिक शौचालय बनाउने योजनामा छन् ।

    यस्तो छ, स्मार्ट शौचालय

    शौचालयको ढोकैनेर छ, ‘रिसेप्सन डेस्क’ । दिसा वा पिसाव जे गर्ने भए पनि १० रुपैयाँ तिरेपछि त्यहाँ कार्यरत कर्मचारीले टोकन वापत एउटा सिक्का उपलब्ध गराउँछन् ।

    सिक्का लगेर एउटा मेसिनमा खसालेपछि महिला र पुरुषका लागि आ-आफ्नै गेट खुल्छन् । सफा र चिटिक्क पारिएको शौचालयमा ग्राहकले सुविस्तापूर्वक दिसा-पिसाव गर्न सक्छन् । दिसा-पिसाव गरि सकेर धारा नजिक जाँदा पानी आंफै आउँछ । धारा खोल्ने झन्झट गर्न पर्दैन । धोएर हात एउटा मेसिनअघि राख्नेवित्तिकै हावा आउँछ । र हात सुख्खा बनाउँछ ।

    महिलाका लागि झन् धेरै सुविधा छन् । महिलाले शौचालय भित्रै सेनिटरी प्याड पाउँछन् । दुई रुपैयाँ सिक्का वा टोकन खसाउनेवित्तिकै प्याड निस्कन्छ । बच्चालाई डाइपर पनि शौचालयभित्रै पाइन्छ । स्तनपान गराउनका लागि पनि व्यवस्थित ठाउँ बनाइएको छ ।

    क्याफेसहितको शौचालय, बायो ग्याँसको उत्पादन

    लतिपुरको पाटनढोकास्थित स्मार्ट शौचालय पुग्दा धेरैलाई पत्यार लाग्दैन कि, यो शौचालय हो । यहाँ एउटा मिनी क्याफे पनि छ । क्याफेमा कफी, पानीपुरीलगायतका खानेकुरा पाइछ । क्याफेका हरेक आइटम शौचालयबाट निस्केको बायो ग्याँसबाट पकाउने गरिएको छ । शौचालय संचालनका लागि थप रकम जोहो हुने भएकाले क्याफे संचालन गरिएको अमात्य बताउँछन् ।

    पानी अभावको समस्या समाधान गर्न उनले आकाशेपानी प्रशोधन गरी प्रयोग गर्ने प्रबन्ध मिलाएका छन् । ‘शौचालयमा धेरै पानी आवश्यक पर्छ, यसका लागि आकाशेपानी संकलन गरी प्रशोधन गरेर प्रयोग गर्ने गरेको छ’, अमात्यले भने ।

    अमात्यका अनुसार बायो ऊर्जा र वातावरणसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीका लागि यो शौचालय एउटा अध्ययन केन्द्र बनिरहेको छ । काठमाडौं र ललितपुर महानगरले सार्वजनिक जग्गा उपलब्ध गराइदिएपछि केही संस्थाको सहयोगसँगै आफ्नै लगानीमा आमात्यले शौचालय बनाउँछन् । उनका अनुसार एउटा स्मार्ट शौचालय बनाउन ५० देखि ६० लाख रुपैयाँसम्म लाग्छ ।

    शौचालय संचालनमा आएपछि रोजगारी पनि सिर्जना भएको उनी बताउँछन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म शौचालय संचालनमा आउँछ । त्यसका लागि दुई सिफ्टमा कर्मचारी काम गर्छन् । यहाँ तीनदेखि चार जना कर्मचारीले रोजगारी पाएका छन् । सहकारी मोडेलमा कर्मचारी खटाउने गरेको आमात्य बताउँछन् ।

    केही प्रश्न, केही समस्या

    लामो समयदेखि खानेपानी तथा सरसफाइको अभियानमा लागेका आमात्यले सहरी क्षेत्रमा सार्वजनिक शौचालय संचालनका लागि केही समस्या देखेका छन् । ती बढी नीतिगत र केही व्यवहारिक समस्या छन् । अमात्यका यसप्रति केही प्रश्न पनि छन् ।

    महानगरको बाहालमुखी टेन्डर प्रक्रियाले सार्वजनिक शौचालय संचालकर्तालाई उत्साहित नगर्ने अमात्य बताउँछन् । सरकार आफैंले सार्वजनिक शौचालय बनाउन नसक्ने र संचालन गर्न चाहनेहरु पनि बाहाल शुल्कले थिचिने गरेको उनको भनाइ छ ।

    ‘रत्नपार्क आसपासका शौचालयबाट वार्षिक ६० लाखसम्म बहाल कर उठाएको देखियो,’ अमात्यको भनाइ छ, ‘ ५-१० रुपैयाँ शुल्कले ६० लाख उठाउन सम्भव छैन । त्यो कुरालाई तोड्न सक्यौं भने शौचालय, शौचालयको रुपमा संचालन हुन सक्छ ।’

    शौचालय संचालन र व्यवस्थापनको स्पष्ट कार्यविधि नहुनु तथा राजनीतिक इच्छाशक्ति न्यून हुनुलाई नै सार्वजनिक शौचालय सेवा विस्तारको समस्या ठान्छन् अमात्य ।

    उनका केही प्रश्न:

    • शौचालय ठेक्कामा लगाएर राज्यले लाखौं आम्दानी गर्ने ? अनि शौचालय सेवा विस्तारमा चाहिँ लगानी नगर्ने ?
    • जनताले अस्तव्यस्त शौचालय प्रयोग गरेवापत शुल्क तिरिरहनु पर्ने ? त्यो आम्दानीबाट राज्यले के गर्छ ?
    • खै त सरसफाई नागरिकको मौलिक हक भनेर गरेको व्यवस्था कार्यान्वयन भएको ?

    भिडियाे रिपाेर्ट हेर्नुहाेस्

     

    भिडिओ/फोटो: उमेश कार्की ।

  • भोलिसम्म स्थानीय निर्वाचनको मिति नतोके सडक आन्दोलन गर्ने एमाले नेता पोखरेलको चेतावनी (भिडिओसहित)

    भोलिसम्म स्थानीय निर्वाचनको मिति नतोके सडक आन्दोलन गर्ने एमाले नेता पोखरेलको चेतावनी (भिडिओसहित)

    काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन नगराए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

    बुधबार काठमाडौंमा आयोजितसाक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दवाव दिएका हुन् ।

    उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गरे । नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्रमा लागिपरेको आरोप समेत लगाए ।

    निर्वाचन आयोगले भोलि ९बिहीवार० सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने उनको भनाइ छ ।

    नेता पोखरेलले भने, ‘म भन्न चाहन्छु नेकपा एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल हो । नेकपा एमाले चुनावको पक्षमा छ ।सरकारलाई कम्तिमा निर्वाचन आयोगले दिएको तिथि वैशाख १४ र २२/२३ गतेभित्र चुनाव गराउनको लागि म आह्वान गर्न चाहन्छु । एमाले अहिले पनि जनताको लोकप्रिय पार्टी हो । हामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्नेछौँ । म घोषणा गर्न चाहन्छु, कम्तिमा ७५ प्रतिशत सिट नेकपा एमालेले स्थानीय तहमा जित्नेछ ।

    यसबाट अत्तालिएर अहिलेको गठबन्धन सरकार निर्वाचन नगराउने षड्यन्त्र गरिएको छ, यो षड्यन्त्रलाई चिर्नको लागि हामी भोलिसम्म पर्खन्छौँ । निर्वाचनको तिथि भोलिसम्म घोषणा भएन भने सडकबाट जनता उरालेर परिचालन गरेर निर्वाचनको माग गर्न हामी सडकमा जान्छौँ । त्यसकारण स्थानीय तहको निर्वाचन नगराउने कुरा दिमागमा नसोचियोस् । पराजित मानसिकताले हाम्रो संविधान र कानून, निर्वाचन प्रणाली कमजोर बनाउने प्रयत्न नगरियोस् ।’

  • खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ (भिडिओसहित)

    खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ (भिडिओसहित)

    काठमाडौं । सुनसरीमा आयोजित बुर्जु महोत्सवमा हिजो भोजपुरी स्टार खेसरीलाल यादव नआएको भन्दै दर्शकले विध्वंस मच्चाए ।महोत्सवस्थलमै चारवटा स्करर्पिओ गाडीमा तोडफोड र आगजनी भएको थियो ।

    कलाकार यादवले यस विषयमा मुख खोल्दै सबै दोष आयोजकलाई दिएका छन् । आफू बसेको होटलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रशासनले दिएको अनुमति रद्द भएको विषयमा आयोजकले आफूलाई कुनै जानकारी नदिएको गुनासो गरे । साथै, हिजोको घटनामा आफ्नो डेढ करोडको क्षति भएको दावी गर्दै उनले आयोजकले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

    यादवले भने, ‘यो घटनामा जनताको दोष छैन, न त प्रशासनको न मेरो दोष छ । दोषि भनेका आयोजक हुन् । उनीहरुले मलाई नै गुमराहमा राखे ।’

    उनले घटनामा आफ्नो टोलीका सदस्यहरु घाइते भएको र चारवटा स्करपिओ जलेको बताए । यस विषयमा आयोजकले क्षतिपूर्ति दिनुपर्ने भन्दै उनले यसका लागि प्रशासनको सहयोग लिने बताएका छन् ।

    यादवका अनुसार उनलाई महोत्सवमा आयोजकले टिकट बेचेकोसमेत जानकारी थिएन । आफू दर्शकलाई मनोरञ्जन दिलाउन आएको तर नपाउँदा दुख लागेको उनले बताए ।

    गत २३ पुसदेखि सुरु भएको महोत्सवको अन्तिम दिन हिजो यादव आउने भनेर आयोजकले टिकट बेचेका थिए । दुई दिन अगाडि नै जिल्ला प्रशासन कार्यालयले कोभिड महामारीका कारण भिडभाड गर्न नमिल्ने भन्दै कार्यक्रम रोक्न आदेश दिएको थियो । तर, आयोजकले त्यसलाई अटेर गर्दै यादवलाई निम्त्याए । यादवलाई आयोजकले पैसा अग्रीम भुक्तानी गरिसकेको थियो ।

    कार्यक्रम रद्द गर्न आदेश दिइएको बारे आफूलाई जानकारी नगराइएको भन्दै यादवले रोष व्यक्त गरेका हुन् । ‘यदि मलाई बताइएको भए लाइभमा आएर दर्शकसामू क्षमा माग्दै आउन नसक्ने जानकारी गराउने थिएँ,’ यादवले भनेका छन् ।

    कार्यक्रमका लागि आयोजक र यादवबीच गत १६ जनवरीमा मात्रै सम्झौता भएको थियो । दुई दिनअघि आयोजकलाई आफूले भिडियो पठाएको यादवले बताएका छन् । त्यतिबेलासम्म प्रशासनको आदेश आइसकेको भए पनि आफूलाई नभनिएको उनको भनाइ छ ।

    ‘आदेश आइसक्दा पनि आयोजकले टिकट बेचिरहेका रहेछन्, मलाई थाहै थिएन,’ उनले भने ।

    यादव हिजो ११ बजे महोत्सवमा उपस्थित हुने भनिएको थियो । उनी बिहान ७ बजे आफ्नो टोलीसहित नेपाल प्रवेश गरेका थिए । आयोजकका प्रतिनिधिले उनलाई स्वागत गरेका थिए । बिहान ९ बजे उनलाई बिराटनगरको एउटा होटलमा पुर्‍याइएको थियो । १० बजे उनी कार्यक्रममा जाने तयारी गर्दै गर्दा प्रहरीले होटलमा घेरा हालेर उनलाई जान रोकेको थियो ।

    ‘कार्यक्रम रद्द गर्न आदेश भएकाले सुरक्षाको जिम्मेवारी लिन नसक्ने प्रहरीले बताएपछि यादव रोकिएका थिए । तर, उनका टोलीका मानिसहरु वाद्य सामग्रीसहित कार्यक्रम स्थलमा पुगिसकेका थिए । यादव नआउने सूचना आएसँगै दर्शकहरु आक्रोशित भएर ढुंगामुढा र आगजनी गरेका हुन् । लामो समयसम्म दर्शकले विध्वंश मच्चाउँदा पनि प्रहरीको उपस्थिति देखिएको थिएन ।

    बर्जु महोत्सवको आयोजना बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले गरेको थियो ।

    याे पनि पढ्नुहाेस्

    भोजपुरी स्टारलाई प्रहरीले महोत्सव जान रोकेपछि दर्शकले चारवटा गाडी जलाए (भिडिओ)

  • प्रदेश २ को नाम मधेश कायम, प्रस्तावको पक्षमा दुई तिहाइ

    प्रदेश २ को नाम मधेश कायम, प्रस्तावको पक्षमा दुई तिहाइ

    जनकपुर । प्रदेश २ सभाले मधेश प्रदेश प्रस्ताव पारित गरेको छ । अहिले बसेको प्रदेशसभाको दुई तिहाइबाट मधेश प्रदेश प्रस्ताव पारित भएको हो ।

    सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरेका थिए । यो प्रस्तावले दुई तिहाइ पाएसँगै अन्य प्रस्ताव स्वत: निष्क्रिय भएका छन् । मधेश प्रदेश रहने प्रस्ताव सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी, माओवादी केन्द्र र लोसपाले गरेको थियो ।

    १०४ सदस्यीय प्रदेशसभा रहेकोमा मतदानमा ९९ जना उपस्थित भएका थिए । त्यसमध्ये ८० जनाले पक्षमा मतदान गरेका थिए । १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

  • प्रदेश २ संसदको निर्णय- स्थायी राजधानी जनकपुरधाम (भिडिओ)

    प्रदेश २ संसदको निर्णय- स्थायी राजधानी जनकपुरधाम (भिडिओ)

    काठमाडौं । प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरिएको छ । कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । मतदानमा जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।

    प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए ।

    प्रदेशसभामा आज भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव निष्क्रिय भएको घोषणा गरे ।

    एक घण्टापछि अर्को बैठक बोलाइएको छ।

  • प्रचण्ड र विप्लव उस्तै–उस्तै हुन् : वैद्य (भिडिओ)

    प्रचण्ड र विप्लव उस्तै–उस्तै हुन् : वैद्य (भिडिओ)

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले क्रान्तिकारी धारमा विचलन ल्याउने सवालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेक्रविक्रम चन्द ‘विप्लव’ उस्तै भएको आरोप लगाएका छन् ।

    सोमबार पार्टी प्रवेश कार्यक्रममा वैद्यले दुवैजनाले शान्तिपूर्ण माध्यमबाट समाजवाद आउँछ भनेकाले उनीहरुबीचमा फरक नरहेको बताए ।

    ‘आखिरमा आएर जनमतसंग्रहबाट समाजवाद आउँछ भन्नुभयो,’ उनले भने, ‘प्रचण्डजीले पनि शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्ने । विप्लवजीले पनि जनतमसंग्रहबाट शान्तिपूर्ण समाजवाद आउँछ भन्ने । आखिर प्रचण्ड जी र विप्लवजीको रहेछ के त ? यो कुरा छर्लङ्ग हुँदै गइरहेको छ।’

    वैद्यले मसालसँग, विप्लव नेतृत्वको पार्टीसँग र ऋषि कट्टेलको कम्युनिष्ट पार्टीसँग एकताको प्रयास गरेपनि सफल हुन नसकेको बताए ।

    मसालका महामन्त्री मोहन विक्रम सिंह र विप्लवमा अरुका कुरा सुन्ने प्रवृत्ति नरहेको अरोप पनि उनले लगाए ।

    ‘तर, साथीहरुले सुनेनन्,’ उनले भने, ‘मसाल र विप्लवजीको नेतृत्व एक्लैविर जस्तो लाग्यो । अरुका कुरा सुन्ने कुरा आएन । त्यो तरिकाले हुँदैन भन्ने हामीले देख्यौ ।’

  • आजदेखि काठमाडौंमा बुस्टर डोज लगाउन सुरु : यी हुन् १७ खोप केन्द्र (भिडिओ)

    आजदेखि काठमाडौंमा बुस्टर डोज लगाउन सुरु : यी हुन् १७ खोप केन्द्र (भिडिओ)

    काठमाडौं । आजदेखि राजधानी काठमाडौंमा कोभिड-१९ विरुद्ध बुस्टर डोज लगाउन सुरु भएको छ । आइतबारदेखि दिने भनिएपनि तयारी नपुगेको भन्दै खोप वितरण स्थगित भएको थियो । तर, आजदेखि १७ स्थानबाट खोप दिन सुरु गरिएको हो ।

    तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ। अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

    दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएकालाई मात्र बुस्टर डोज दिइने भएको छ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ।

    यी केन्द्रमा लगाइन्छ बुस्टर डोज :

    सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
    सहिद मेमोरियल अस्पताल कलंकी
    विरेन्द्र सैनिक अस्पताल छाउनी
    लोट्से भवन नयाँ बसपार्क
    नेपाल प्रहरी अस्पताल महाराजगन्ज
    वीर अस्पताल
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक
    बयोधा अस्पताल बल्खु
    प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली
    निजामती अस्पताल नयाँबानेश्वर
    एपेक्स पोलिक्लिनक जडिबुटी
    काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
    पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
    जनमैत्री अस्पताल बालाजु
    नर्भिक अस्पताल थापाथली
    शुभेच्छा अस्पताल सीतापाइला
    नोबेल अस्पताल सिनामंगल

  • सीके राउतका कार्यकर्ताले पूर्वाधारमन्त्री यादवको पुत्ला जलाए (भिडिओसहित)

    सीके राउतका कार्यकर्ताले पूर्वाधारमन्त्री यादवको पुत्ला जलाए (भिडिओसहित)

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रेणु यादवको पुत्ला दहन गरेका छन् ।

    धनुषाको मुखियापट्टी मुसहर्नियाको बैरिया बजारमा जसपाको पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादव आउने तय थियो । मन्त्री यादव र कृषि मन्त्री महेन्द्रराय यादवविरुद्ध उनीहरू नाराबाजीसमेत गरेका छन् ।

    किसानका माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै जनमत पार्टीले संघीय सरकारका मन्त्रीहरुलाई मधेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो । मन्त्री यादवविरुद्ध जनमतका कार्यकर्ताहरूले बिहानैदेखि जनकपुरधामको विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।

  • अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली काबुल प्रस्थान (भिडिओ)

    अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली काबुल प्रस्थान (भिडिओ)

    काठमाडौं । अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली आज काबुलतर्फ प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालसहितको नेपाली डेलिगेसन टोली आज बिहान हिमालय एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको हो ।

    औषधी, घरायसी सामान र लत्ताकपडासहित १४ टन सहायता सामाग्री लिएर नेपाली टोली त्यसतर्फ जाँदैछ । परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा लम्सालसहितको नेपाली टोलीलाई बिदाइ गरे ।

    काबुलमा नेपाली टोलीले त्यहाँस्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई सहायता सामाग्री हस्तान्तरण गर्ने भएको छ । टोली आजै राती स्वदेश फर्कने कार्यक्रम छ ।

    परराष्ट्र सहसचिव सेवा लम्साल (बायाँ) र मन्त्री नारायण खड्का ।

    मानवीय संकटसँग जुधिरहेको अफगानिस्तानलाई सहायता गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले गरेको आग्रहअनुसार नेपालले पनि सहायता प्रदान गर्न लागेको हो । राष्ट्रसंघले अफगानिस्तानलाई ४.४ बिलियन डलर बराबरको सहायता आवश्यक भएको जनाएको छ ।

    सार्क अध्यक्ष मुलुक नेपालले संगठनको कान्छो सदस्य अफगानिस्तानलाई नैतिक र मानवीय सहयोग गर्न लागेको बताए । उद्योग वाणिज्य संघ, परीसंघ, चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्र र व्यवसायीको पहलमा नेपालले सहायता सामाग्री जुटाएको हो । हिमालय एयरलाइन्सले च्यारिटी उडान गर्ने भएको हो । 

    ‘विश्वसामु आफ्नो सक्षमता देखाउन सक्ने खुबी छ हामीसँग, हामी त्यो उदाहरण पेश गर्न चाहन्छौं’ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने, ‘हामी साझा संस्कृति र सभ्यताले गाँसिएका छौं र परेको बेला सघाउनु नेपालको नैतिक दायित्व पनि हो ।’

    नेपालले इतिहासमा पहिलोपटक संकटमा परेको मित्रराष्ट्रलाई सघाएको बताउँदै मन्त्री खड्काले पहिलोपटक जहाज लिएर नेपाल मानवीय सहयोगमा जाँदै गरेको बताए । 

    गत अगस्टमा तालिवानले सत्ता कब्जामा लिएयता त्यहाँ चरम मानवीय संकट उत्पन्न भएको मन्त्री खड्काले बताए । त्यहाँको कूल जनसंख्यामध्ये २ करोड ७० लाख जनसंख्या मानवीय सहायताको पर्खाइमा रहेको जनाइएको छ ।

    ७० लाखमध्ये ३० लाख बालबालिका कुपोषणको शिकार भएको र ठण्डीले बालबालिका प्रभावित भएको जनाइएको छ ।

    एक अर्को प्रश्नमा परराष्ट्रमन्त्री खड्काले सार्क अध्यक्ष मुलुकको हैसियतमा नेपालले सार्क सम्मेलन जतिसक्दो चाँडो आयोजना गर्न पहल गरिरहेको समेत बताए ।

  • नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउँदै (भिडिओ)

    नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउँदै (भिडिओ)

    काठमाडौं । मानवीय संकटसँग जुधिरहेको मुलुक अफगानिस्तानलाई मानवीय सहयोग गर्न नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

    परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार भोलि बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको हो । नेपाली टोली काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    परराष्ट्रमन्त्री नारायण खड्काले भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेर टोलीलाई काबुलतर्फ पठाउने कार्यक्रम छ । सार्क अध्यक्ष नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग गर्न लागेको हो ।

    अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट सिर्जना भएकाले राष्ट्रसंघले सघाउन सदस्य मुलुकहरुलाई आग्रह गरेको थियो । महासचिव एन्टोनियो गुटरेसले मानवीय सहयोगका लागि आह्वान गरेका थिए ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमले अफगानिस्तानको ठूलो जनसंख्या शिक्षा, स्वास्थ्य र खाद्यान्नबाट बञ्चित हुनसक्ने विवरणहरु उपलब्ध गराउँदै आएका छन् ।

    परिसंघद्वारा २३ मूल्यबराबरको औषधि हस्तान्तरण

    नेपाल उद्योग परिसंघले सार्क सदस्य मुलुक अफगानिस्तानलाई परराष्ट्र मन्त्रालयमार्फत राहत सामाग्री हस्तान्तरण गरेको छ । परिसंघ अध्यक्ष विष्णुकमार अग्रवालले परराष्ट्रमन्त्रीलाई राहत सामाग्री प्रदान गरेका हुन् ।

    सहयोग सामाग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी मुलुकमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए ।

    परिसंघले करिब २३ लाख मूल्य बराबरको औषधि मन्त्रालयलाई हस्तान्तरण गरेको छ । आइतबार नै यो सहायता सामाग्रीलाई काबुल पठाउने कार्यक्रम छ ।

  • बालुवाटार पुगेर एमाले नेताहरुले प्रधानमन्त्रीलाई सोधे- कोरोना नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ? (भिडिओ)

    बालुवाटार पुगेर एमाले नेताहरुले प्रधानमन्त्रीलाई सोधे- कोरोना नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ? (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले बालुवाटार पुगेर कोरोना नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शनिबार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्रीको सरकारीनिवासमै गएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    कोरोनाको ओमिक्रोन भेरियन्टबाट नागरिक आतंकित भइरहेका बेला सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप छ ।

    प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउनुअघि एमाले सचिव योगश भट्टराईले भने– कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदम प्रभावकारी भएनन्, भण्डारणमा भएका खोप पनि नागरिकले लगाउन पाएका छैनन्, यसले स्थितिलाई झन् जोखिमपूर्ण बनाउँछ ।

    तीनै तहका सरकारलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि चुस्त राख्न आग्रह गर्दै नेता भट्टराईले आवश्यक परे एमालेले सहयोग गर्ने बताए । ‘नागरिकको स्वस्थ्यप्रति एमाले सधैं जिम्मेवार छ, कोरोना नियन्त्रणका लागि हामीले सरकारलाई सक्दो सहयोग गर्छौं, उनले भने ।

    विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबाट अहिलेको सरकारले सिक्नुपर्ने उनको भनाइ थियो ।

    एमाले नेता सुवास नेम्वाङले ध्यानाकर्षणपत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।

    ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले भने– सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ । खोपका लागि प्रयास गरिरहेका छौं ।

    ध्यानाकर्षणपत्रको पूर्णपाठ

     

     

     

  • नोबेलका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्रै विद्यार्थी नेताद्वारा दुर्व्यवहार, पाँच पक्राउ

    नोबेलका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्रै विद्यार्थी नेताद्वारा दुर्व्यवहार, पाँच पक्राउ

    काठमाडौं । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका संचालक डा. सुनिल शर्मालाई विद्यार्थी संगठनका नेताहरूले सिंहदरबारभित्रै दुर्व्यवहार गरेका छन् ।

    शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रालयमै बोलाएको बैठकमा सहभागी भएर निस्किने क्रममा शर्मामाथि दुर्व्यवहार गरिएको हो । मेडिकल कलेजले लिँदै आएको शुल्कसम्बन्धी विवाद समाधानका लागि मन्त्रीले सरोकारवालाको बैठक डाकेका थिए । उक्त बैठकले सहमति जुटाउन असफल भएको थियो ।

    बैठकबाट निस्कने क्रममा बाहिर विद्यार्थी नेताहरू शर्मालाई ढुकेर बसेका थिए । शर्मा आउनासाथ उनीहरूले सुरुमा नमस्कार गरे । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि जाइलाग्दै कालोमोसो दल्ने प्रयास गरिएको एक प्रत्यक्षदर्शी विद्यार्थीले बताए । शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूमध्ये दुईजना नेकपा एसनिकटको अनेरास्ववियूका नेता हुन् । उक्त संगठनका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीका अनुसार उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेका छन् । पराजुलीले उनीहरूको ‘बहादुरी’ को प्रशंसा गर्दै शीघ्र रिहाइको माग गरेका छन् ।

    अपडेटः
    घटनामा पक्राउ परेकामध्ये दुई जना शर्माकै मान्छेहरु भएको बुझिएको छ । प्रहरीका अनुसार शर्माका ड्राइभर र अकाउन्टेन्ट पक्राउ परेका थिए । हुलमुलमा पक्राउ परेका उनीहरु छुटिसकेका छन् ।
    काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेश मैनालीले शर्मामाथि दुव्र्यवहार भएको तर कालोमोसो नदलिएको बताए ।

    तस्बिर : सुदेश पराजुलीको फेसबुकबाट

  • अनावश्यक लकडाउन गर्ने पक्षमा छैनौं: स्वास्थ्यमन्त्री (भिडिओ)

    अनावश्यक लकडाउन गर्ने पक्षमा छैनौं: स्वास्थ्यमन्त्री (भिडिओ)

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

    बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

    उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

    उनले भने, ‘शुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्‍यौं । जति जानेको थियो त्यति गर्‍यौं । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्‍यौं । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्यु भन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ ।’

    मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे ।

    मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए। उहाँले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।

    मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे ।

  • माघे संक्रान्तिका लागि चाकु बनाउन व्यस्त टोखाबासी (तस्बिर/भिडियो)

    माघे संक्रान्तिका लागि चाकु बनाउन व्यस्त टोखाबासी (तस्बिर/भिडियो)

    काठमाडौं । काठमाडौंको उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ । टोखामा अहिले दर्जनबढी चाकु उद्योग सञ्चालनमा छन् ।

    माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याइ छ । सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ ।

    शिवपुरी जंगल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सक्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो ।

    टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उद्योग छन् । वर्षको दुई महिना (मंसिर र पुस) मा एउटा उद्योगबाट १ लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आम्दानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठ बताउँछन् ।

    उनका अनुसार यो बेला ३ देखि ४ सयजनासम्मले यहाँ रोजगारी बनाउँछन् । एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रतिकिलोको १८० रुपैयाँ पर्न जाने उनी बताउँछन् ।

  • राप्रपामा कसैलाई विभेद हुँदैन, समावेशिता पालना गरिन्छः लिङ्देन

    राप्रपामा कसैलाई विभेद हुँदैन, समावेशिता पालना गरिन्छः लिङ्देन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

    काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका मनोनीत सदस्यहरूलाई सपथ गराउँदै अध्यक्ष लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनु नपर्ने र सबैलाई समेटेर अघि बढ्ने दाबी गरे ।

    ‘हाम्रो मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन हो,’ लिङ्देनले भने, ‘सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन सक्दैन ।’

    लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गर्दा अनुभवी, पार्टीको लागि आवश्यक, पार्टीमा योगदान दिएका व्यक्तिलाई मनोनयन गरिएको बताए । मनोनीतको संख्या अझै बाँकी रहेको र संविधानले व्यवस्था गरेबमोजिमको समानुपातिक समावेशितालाई पूर्णरुपले पालना गरिने उनको भनाइ छ ।

    अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार केही दिनअघि ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए । राप्रपाको विधान अनुसार १९९ जनाको कार्यसमिति हुने र त्यसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेको छ भने ५० जना अध्यक्षले मनोनीत गर्न पाउँनेछन् ।

  • वैद्य भन्छन्- पुरानै व्यवस्था र संविधान स्वीकारेर माओवादी केन्द्रसँग एकता सम्भव छैन (भिडिओ)

    वैद्य भन्छन्- पुरानै व्यवस्था र संविधान स्वीकारेर माओवादी केन्द्रसँग एकता सम्भव छैन (भिडिओ)

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले माओवादी केन्द्रसँग एकताको सम्भवाना नभएको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार संघले राजधानीमा उनीसँग गरेको संवादमा पुरानै व्यवस्था र संविधान स्वीकार गरेर माओवादी केन्द्रसँग एकता नहुने प्रष्ट पारे।

    ‘उहाँहरू (प्रचण्ड) ले लगातार पूर्वमाओवादीसँग एकीकरण गर्ने भन्नु भएको छ,’वैद्यले भने, ‘हाम्रो पार्टीसँग एकीकरण सम्भव छैन । पुरानो व्यवस्था र संविधान स्वीकार गरेर एकताको सम्भावना छैन ।’ माओवादी केन्द्रले माओवादसमेत त्यागिसकेको र बाध्यताले अहिले फेरि माओवादी बनेको टिप्पणी उनको छ ।

    ‘उहाँहरू इच्छाले माओवादी हुनु भएको होइन,’ वैद्यले भने, ‘उहाँहरू माओवाद पनि छाडेर डबल नेकपा हुनु भएको हो । तर, अदालतले माओवादी केन्द्र फेरि बनाइदियो । बाध्यताले उहाँहरूले माओवाद भन्नु भएको छ ।’

    उनले मोहनविक्रम सिंह, नेक्रविक्रम चन्द ‘विप्लव’ लगायतका पार्टीहरूसँग राजनीति, कार्यदिशा र विचारमा मेल नखाएकाले एकता प्रयास पनि सफल हुन नसकेको बताए । ‘सिंगै पार्टीकाबीच पार्टी सम्भव देखिएन,’वैद्यको भनाइ छ, ‘राजनीति, कार्यदिशा, विचारधारामा मेल नदेखिने कुरा आए । ध्रुवीकरणहरू हुन सक्छ । सच्चा क्रान्तिकारीहरू एक ठाउँमा आउँछन् भन्ने हामीलाई विश्वास छ ।’

    वैद्यले समाजवादबारे प्रचण्ड र विप्लवको धारणामा समानता भएको समेत दावी गरे। दुवैको धारणा शान्तिपूर्ण संक्रमणको यात्रातिर रहेको उनको भनाइ छ। ‘विप्लवजीहरुले समाजवाद जनमत संग्रहबाट आउँछ भनेर भन्नु भएको छ,’वैद्यको भनाइ छ, ‘यो शान्ति पूर्णसंक्रमणको यात्रा हो । प्रचण्डजीहरूले पनि शान्तिपूर्णरूपमा समाजवाद आउँछ भन्नु भएको छ । उहाँहरूको लाइन मिल्ने दिशामा जाने देखियो ।’

    आउँदो चुनावको उपयोग गर्ने वा बहिष्कार गर्ने भन्नेबारे परिस्थिति हेरेर निर्णय लिने वैद्यको भनाइ छ। ‘परिस्थितिको विश्लेषण गरेर उपयोग र बहिष्कार पनि गर्न सकिन्छ,’ उनले भने, ‘हामीले कुनै बेला बहिष्कार पनि गर्दै आएका छौं, कुनै बेला उपयोग गर्दै आएका छौं । उपयोग गर्दा फाइदा हुन्छ भन्ने लाग्यो भने चुनावमा पनि जान्छौं ।’

  • राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, प्रेम आलेदेखि कमल थापासम्म सिंहदरबार गेटमा (तस्बिरहरू/भिडिओ)

    राष्ट्रपतिले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, प्रेम आलेदेखि कमल थापासम्म सिंहदरबार गेटमा (तस्बिरहरू/भिडिओ)

    काठमाडौं । आज ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

    यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पुगेर पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् ।

    यस्तै पर्यटनमन्त्री प्रेम आले र राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि माल्यार्पणका लागि सिंहदरबार पुगेका थिए । उच्चपदस्थहरू आउनेक्रम जारी छ ।

    केहीबेरमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि माल्यार्पणका लागि सिंहदरबार जाँदै छन् ।

    नेपाली सेनाले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो ।

    विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि २०७४ मा आएर बिदा दिइएको थियो । पुन: पछिल्ला वर्षमा बिदा हटाइएको छ ।

  • माताको टहरोमा यसरी भएको थियो अमानवीय कृत्य (स्थलगत रिपोर्ट/भिडिओ)

    माताको टहरोमा यसरी भएको थियो अमानवीय कृत्य (स्थलगत रिपोर्ट/भिडिओ)

    काठमाडौं । बालाजुस्थित सिद्धार्थ बनस्थली स्कुलबाट खरिबोटतिर दुई किलोमिटर अघि बढेपछि पुगिन्छ रानीवनको गणेश चोक । गणेश चोकसँगै रहेको ब्ल्याक रेस्टुरेन्ट छिर्ने तेर्सो बाटोमा तीन आना जग्गामा बनेको निलो जस्ताले बारिएको एउटा टहरो छ । त्यही टहरोमा बस्थिन् ४८ वर्षीया ‘माता’ उमा शाही ठकुरी ।

    पर्खाल लगाउन थुपारिएका ब्लक हेर्दा भर्खरै बनिरहेको जस्तो देखिन्छ टहरो । भित्र छिर्न जस्ताकै सानो गेट छ । गेटमा हनुमानको पोस्टर टाँसिएको छ । ढोकानेरै तीनवटा त्रिशुल गाडिएका छन् । घडामा पानी राखिएको छ । हामी पुग्दा मुल ढोकामा चुकुल लगाइएको थियो ।

    टहरोमा कुनै पनि साइनबोर्ड वा अन्य सूचना थिएनन् । यहाँ माता बस्छिन् भन्ने सहज अनुमान लगाउन सकिन्न । टहरोको अवस्था हेर्ने हो भने सिंगै परिवार बसिरहेको जस्तो देखिन्छ । सुकाएका कपडा यथतत्र छरिएका थिए । थोत्रो जुत्ता–चप्पल बाहिर राखिएको थियो ।

    टहरोसँगै जोडिएको शौचालय नजिकको ड्रम आधाउधि भरिएको थियो । आँगनमा सिमेन्ट मुछ्न राखिएको थोत्रो जस्ता पसारिएको थियो । बाहिरबाट चियाउँदा भित्र सोचेभन्दा शानदार देखियो । जम्मा तीन वटा कोठा थिए । माता उमा यहीँ बस्थिन् । उनीसँगै एक अधवैंशे पुरुष पनि बस्थे, जसलाई चिनेजानेकाहरुले ‘पिता’ भन्थे । उनीहरुकै साथमा एक युवती पनि बस्ने गरेकी थिइन् ।

    अहिले भने टहरोभित्र कोही छैन । दुई दिनअघिको असामान्य घटनाले यहाँको दृष्य बदलिएको छ । टहरोमा बस्ने मातासहित तिनैजना प्रहरीको खोरमा पुगेका छन् ।

    उपचार गराउने नाममा राखिएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठले टहरोभित्रै ज्यान गुमाएकी थिइन् । उनीमाथि अमानवीय कुटपिट भएको थियो । उपचार गर्न आएकी रोशनीलाई माता उमा शाही ठकुरीले कुटपिट गरी हत्या गरेको परिवारको आरोप छ । बोक्सी भगाउने भन्दै अघिल्लो रातिदेखि उनीमाथि कुटपिट भएको थियो । माताले उनलाई त्रिशुलले समेत रोपेको आशंका गरिएको छ । बालिकाको शरीरमा तिखो चिजले घोपिएका प्वालहरु देखिएका छन् ।

    यो पनि पढ्नुहोस्ः रानीवनमा माताविरुद्ध माताहरूको जुलुस ! उमालाई आजीवन कारावास माग (भिडिओ) 

    शनिबारदेखि गणेशचोकमा बाहिरी मान्छेहरुको चहलपहल पनि बाक्लो भएको छ । सोमबार हामी पुग्दा चियापसलदेखि किरानापसलसम्म यही घटनाको चर्चा थियो । स्थानीय सबैको आक्रोशको केन्द्र बनेकी थिइन् माता उमा । आफुलाई माता बताउँदै आएकी ठकुरीकै कारण रानीवनकै बदनामी भएको भन्दै आक्रोश पोखिरहेका थिए छरछिमेकी । कोही आफुले केही थाहा नपाएको भन्दै विस्मात मान्दै थिए ।

    छिमेकीका अनुसार माता ठकुरी ६ महिनाअघि मात्रै त्यहाँ टहरो बनाएर बस्न थालेकी हुन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी छोरी रोशनीलाई २१ दिनअघि त्यहाँ ल्याइएको थियो । उनलाई लामो समयदेखि हातखुट्टा नचल्ने, शरीर काम्ने, टाउको दुख्ने लगायतका शारीरिक र मानसिक समस्या रहेको शिकायत परिवारले गरेका थिए ।

    ठकुरीले झारफुक गर्छिन् भन्ने छिमेकमा कसैलाई पनि थाहै नभएको छिमेकी इन्दिरा गौतम बताउँछिन् । उनले पनि घटना भएको हिजो आइतबार मात्रै थाहा पाइन् ।

    यो पनि पढ्नुहोस्ः उपचारका नाममा माताको टहरोभित्र बालिकाको हत्या

    उनले भनिन्, ‘हामीले यस्तो थाहा पाएको भए त आमा समूह मिलेर लखेट्थ्यौं ।’

    रोशनीले कहिले ज्यान गुमाइन् ? छिमेकीसँग आउजाउ नभएकाले पनि घटनामा बारेमा छिमेकमा कसैले पनि तत्काल चाल पाएनन् । यतिसम्म कि उनको मृत्यु भएको खबर पाएर परिवार आएर अस्पताल लैजाँदासम्म आफूहरु अनभिज्ञ रहेको छिमेकीहरु बताउँछन् ।

    ठकुरीको टहरोसँगै जोडिएको रेस्टुरेन्टका सञ्चालकहरुले माताले बालिकामाथि कुटपिट गरेको देखेका थिए । हत्या नै होला भन्ने नसोचिएको उनीहरु बताउँछन् ।

    प्रत्यक्षदर्शी रोजु लामाका अनुसार शुक्रबार गोधुली साँझमा बालिकालाई माता र उनको सहयोगीले बाहिरै ल्याएर कुटेका थिए । त्यतिञ्जेल बालिकाको अवस्था इन्तुनचिन्तु भएको र ज्यान लत्रक्कै परेको उनले बताइन् ।

    ‘मातासँगै एक पुरुष र एक महिलाले बाहिर आँगनमा ल्याएर नाच्दै–नाच्दै कुटेको देखेको हुँ,’ उनले भनिन्, ‘लात्तै लातिले भकुर्दा बालिका बेहोशजस्तो देखिएकी थिइन् ।’

    यो पनि पढ्नुहोस्ः बालिका हत्यामा आरोपित माता प्रहरी हिरासतमा, पाँच दिन म्याद थप

    यसरी शरीरभरि निलडाम हुनेगरी कुटेको देखेपछि आफूहरुले सोधपुछ गरेको उनले बताइन् ।

    ‘हामीले सहनै नसकेर किन कुटेको भनेर सोध्यौं । तर, उनले उल्टै हाँस्दै नाच्दै झन् धेरै कुटे,’ लामाले सुनाइन् ।

    त्यसपछि बालिकालाई लिएर उनीहरु सबै भित्र पसे । भित्र पसेर थप कुटपिट गरिएको लामाको आशंका छ ।

    शनिबार विहान ठकुरीले ६ बजे बालिकाकी आमा राधिकालाई फोन गरेर रोशनी बेहोस भएको बताएकी थिइन् । राधिका तत्काल ट्याक्सी लिएर थिमीबाट रानीवन हानिइन् । उनी जाँदा माताले छोरीलाईं काखमा लिएर आफैं रोइरहेकी थिइन् । रोशनीले कपडामै दिशापिशाब गरेकी थिइन् ।

    रोशनीलाई अस्पताल लैजान राधिकालाई माताकै आश्रममा बसेका पुरुषले सघाएका थिए । प्रत्यक्षदर्शी ब्ल्याक रेस्टुरेन्टका सञ्चालकले ट्याक्सीमा हाल्दै गरेको देखेको बताए । उनले देख्दा रोशनी पूर्ण अचेत थिइन् । रोशनीलाई मनमोहन अस्पतालतिर लगियो । तर अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको चिकित्सकले बताए । त्यसपछि मात्रै रोशनीको परिवारलाई रोजुले भनेजस्तै कुटपिटबाटै मृत्यु भएको निधो भयो ।

    रोशनीको बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन् । राधिका भक्तपुरमा इँटा बोक्ने काम गरेर गुजारा चलाइरहेकी छन् । राधिकाले भक्तपुरमै रहेका मामा धनबहादुरलाई फोन गरेर अस्पताल बोलाएकी थिइन् । धनबहादुर साढे ९ बजे अस्पताल आइपुग्दा बच्चालाई शवगृहमा राखिएको थियो ।

    उनले भान्जीको शव हेरे । अनुहारभरि चोटैचोट थियो । नाकबाट रगत बगेको देखेपछि कपडा खोलेर हेरे । यत्रतत्र निलडाम र प्वालै प्वाल देखेपछि कुटेर तथा त्रिशुल रोपेर मारिएको निस्कर्षमा पुगेका छन् उनी ।

    धनबहादुरका अनुसार पुस ३ गते बालिकार्ला माताकहाँ ल्याइएको थियो । भक्तपुरबाटै आमा राधिकाले ल्याउने लैजाने गरेकी थिइन् ।

    ‘पछि माताले भाञ्जीलाई तिम्रो आमाजस्तै हुँ, तिमीलाई टाढा भयो, बिहान–बेलुकै फुक्नुपर्छ, यहीँ बस भनिछन् । छातिमा हात राखेर ठीक पार्ने जिम्मा मेरो भयो भनेर बहिनीलाई फिर्ता पठाइछन्,’ धनबहादुरले भने ।

    ‘अरुले पनि यसरी नै छोडेर जान्छन्, मैले फुकेर निको हुन्छ’ भनेपछि राधिकाले पनि विश्वास लागेर छोडेर गइन् । रोशनीले फोन गरिरहन्थिन् । नानीको स्थिति सोध्दा ठिक छ भन्थिन् ठकुरी ।

    गत बिहीबार राधिकाले छोरीलाई फोन गरेर सञ्चोविसञ्चो सोधिन् । रोशनीले ठीक भइरहेको बताएकी थिइन् । उनले मम्मीलाई कहिले आउने भनेर सोधिन् । राधिकाले शनिबार आउने बताएकी थिइन् ।

    म घर जान्छु र जाँच दिएर आउँछु भनेर रोशनीले भन्दा माताले जाँच पछि दिँदा पनि हुन्छ भनेर पठाउन चाहिनन् । तर शनिबार बिहान झिसमिसेमै फोन आयो राधिकालाई ।

    रोशनीलाई टाउको दुख्ने बाहेक अरु गम्भीर समस्या नरहेको धनबहादुरले बताए ।

    ‘माता होइन, राक्षस रहेछ । मारेकै हो उनले,’ आक्रोशित हुँदै उनले भने ।

    रोशनी माताको आइपुग्दा स्वस्थ्य नै देखिन्थिन् । उनी माताले पठाएको भनेर पसलमा सामान किन्न पुग्थिन् ।

    त्यहाँ अरु कोही फुकफाक गर्न नआएको छिमेकीले बताएका छन् । छिमेकी गोमा अधिकारीले यस्तो अपराधीलाई यहाँ बस्न दिन नहुने बताइन् । उनका अनुसार यसअघि उमाले रानीबनमै माइतीमा झारफुक गर्ने गरेकी थिइन् ।

    तस्बिर/भिडिओ : सराेज वैजु

  • गभर्नर अधिकारीमाथि अर्थमन्त्रीलाई असफल बनाउन लागेको आरोप (भिडिओ)

    गभर्नर अधिकारीमाथि अर्थमन्त्रीलाई असफल बनाउन लागेको आरोप (भिडिओ)

    काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाएका छन् ।

    सांसद मोदीले विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेता समेत रहेका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेको बताएका हुन् ।

    आईतबार सिंहदरवारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले माओवादीबाट मन्त्री बन्नु भएका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनि गभर्नर अधिकारीसँग प्रश्न गरे ।

    उनले भने, ‘ठूलाबडाले बैंकबाट ऋण पाईरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ । त्यसलाई कसरी घटाउने ? जो खाडल छ । तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ ? अर्को एउटा पनि हल्ला छ । विभिन्न समाचार माध्यामबाट समाचार पनि आउने गरेका छन । तपाईहरुको टयूनिङ पनि मिलिराखेको छैन । राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता । त्यसो भन्दाखेरी हाम्रो पार्टीका नेता मन्त्री । माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने ? भनेर खोजी राख्नु भएको छ भन्ने पनि न्यूजमा, यहाँ, त्यहाँ सुनिराख्या छौं । यसलाई कसरी सोच्नु भएको छ ? बजारमा त्यो पनि हल्ला छ । तपाईहरुका टयूनिङ नमिलिसकेपछि विभिन्न राजनीतिक दृष्टिकोणले पनि हो कि ? के हो ? यसको बारेमा पनि एउटा चाँही आईरहेको छ ।’

    सांसद मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरे । यता, जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाई गलत भएको बताए ।

    उनले व्यूरोक्रेट्सहरुले, संस्था चलाउनुपर्ने व्यक्तिहरुले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क समेत गर्नु भयो । गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता नहुने भन्ने कुनै नहुने बताए ।

    उनले भने, ‘माननीय मोदीजीले उठाउनु भएको थियो–अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्पर्क आदिइत्यादि केही हो कि भनेर । म त्यसमा चाँही निवेदन गर्न चाहन्छु–हामी व्यूरोक्रेट्सहरु, संस्था संचालन गर्नुपर्ने व्यक्तिहरुले कहिल्यै पनि त्यस्तो खालको सोचाई राख्दैनौं । कहिलेकाँही आउँछ–यो बीचमा मिडियाकर्मीहरुले कहीँकतै लेखेको पनि देख्छौं । तर त्यस्तो कहीँ पनि हुँदैन । र संस्थालाई कसरी हुन्छ, सिष्टमलाई कसरी हुन्छ ? आफ्नो पोलिसीहरुलाई कसरी हुन्छ ? इफेक्टिभली लैजाने हो । सोचाईहरु, जसले लेखि राख्नु भएको छ, फरक हुनु बेग्लै हो । तर हामीले समग्र सिष्टमलाई अगाडि बढाउनका लागि गरिएका कामहरुको चाँही सही किसिमले बताउन नसकेर पनि होला । तर त्यो खोलको भिन्नता भने काममा तादम्यता नहुने भन्ने विषय नै हुँदैन ।’

    गभर्नर अधिकारीले आफूहरुले बुझाउन नसकेको कारणले गर्दा पनि मिडियाहरुले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दावी समेत गरे ।

     

  • रेनुको दाबी- चुनाव जितेपछि प्रचण्डले चितवनको कायापलट गर्नुभयो (भिडिओ)

    रेनुको दाबी- चुनाव जितेपछि प्रचण्डले चितवनको कायापलट गर्नुभयो (भिडिओ)

    काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको दाबी गरेकी छन् । उनी प्रचण्डपुत्रीसमेत हुन् ।

    चितवनबाट चुनाव जितेपछि अहिलेसम्ममा जिल्लाको विकास निर्माणमा प्रचण्डले कायापलट गरेको उनको जिकिर छ । न्यूज एजेन्सी नेपालसँगको भिडिओ कुराकानीमा उनले शान्तिप्रक्रियायता देश प्रचण्डकै वरिपरि रहेको र हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताइन् ।

    महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उनको भनाइ छ ।

    उनले भनिन्, ‘प्रचण्ड यहाँको नभइ अन्यत्र जिल्लाको प्रतिनिधि हुँदा चितवनको अवस्था के थियो ? त्यो आकर्षण चितवनमा थिएन । अध्यक्ष कम्रेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रूपमा आउनु भयो । तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ ? राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा, आम सबै हिसावले । अहिले हरेक गतिविधि राजधानी काठमाडौंभन्दा पनि चितवन केन्द्रित छन् ।’

    फरक प्रसंगमा मेयर दाहालले चितवन मेडिकल, शैक्षिक, उत्पादनलगायतका क्षेत्रमा आर्थिक केन्द्र भएको बताइन् ।

  • १० बुदेँ मागसहित अखिल नेपाल सेक्यरिटी मजदुर संघद्वारा सरकारको ध्यानाकर्षण (भिडिओ)

    १० बुदेँ मागसहित अखिल नेपाल सेक्यरिटी मजदुर संघद्वारा सरकारको ध्यानाकर्षण (भिडिओ)

    काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघले १० बुदेँमागसहित सरकारको ध्यानाकर्षण गराएको छ । संघले आइतबार श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मिनभवन,नँयाबानेश्वर कार्यालय अगाडी धर्नासहित सरकारको ध्यानाकर्षण गराएको हो ।

    संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकालको नेतृत्वमा विभागको कार्यालयमा पुगेको टोलीले विभागका महानिर्देशक उकान्त आचार्यलाई ध्यानाकर्षण पत्र बुझाउदैँ सर्वोच्च अदालतको २०७७ साल पुष २२ गतेको अन्तरिम आदेशलाई कार्यान्वयन गर्नुपर्ने, श्रम, ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ लाई पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

    यस्तै अबैधानिक रुपले ईजाजत नलिई सञ्चालित कम्पनीलाई तुरुन्दै बन्द गर्नुपर्ने, अधिकार सम्पन्न मदजुर आयोग गठन गर्नुपर्ने, सार्वजनिक खरिद ऐन श्रम क्षेत्रमा पुर्ण बन्द गर्नुपर्ने माग गरिएको संघका अध्यक्ष ढकालले बताए ।

    यस्तै देशैभरीका श्रम कार्यालयलाई श्रमिकमैत्री बनाउनुपर्ने, राज्यको नीति नियमा नमान्ने सबै सेक्युरिटी कम्पनी बन्द गर्नुपर्ने, श्रम कार्यालय, श्रम विभाग र सर्वोच्च अदालतमा परका उजुरीको तुरुन्त छाविन गरी दोषीमाथी कारवाही गनुपर्ने पनि संघले माग गरेको छ ।

    २०७८ साउन एक गतेदेखि बढेको १ हजार पाँच सय ५० रुपैयाँ तलब थप गरी सम्पुर्ण सेवा सुविधाबाहेक ८ घण्टाको १७ हजार एक सय ६५ र १२ घण्टाको २५ हजार २ सय ८७ लागू गर्नुपर्ने र बहुरािष्ट्रय कम्पनी ‘जिफोरएस’ ले कटाएको ग्रेड, विदा, वृद्धि तलब लगायत सेवासुविधा खाईपाई आएको सेवा सुविधा नघट्ने गरी पुर्णरुपमा सुचारु गर्नुका साथै इजाजत नलिई सहजकर्ता सरसफाई लगायत अन्य क्षेत्रमा श्रमिम खटाएको हुदाँ उक्त कार्य तुरुन्त बन्द गर्नुपर्ने पनि माग गरेको छ ।

    संघले विभागलाई ध्यानाकर्षण गराइएका समस्याको विषयमा गम्भिर भई तत्काल आफ्ना काम कारबाही अघि नबढाएर अन्य संघर्षयका कार्यक्रम पनि गर्न बाध्य हुने चेतावनी सरकारलाई दिएको छ ।

    ध्यानाकर्षण पत्र बुझ्दै विभागका महानिर्देशक आचार्यले संघले राखेका माग सबै सकारात्मक र आफुहरुले अनिवार्य कार्यान्वयन गर्नुपर्ने नै विषय भएकाले यसलाई कार्यान्वन गर्दै जाने प्रतिवद्धता जनाए ।

    तर, कतिपय माग सम्बोधन गर्न समय लाग्ने र रोजगारदातालाई पनि सम्बोधन गर्नुपर्ने भएकाले त्यसलाई बुझिदिन पनि महानिर्देशक आचार्यले संघसँग आग्रह गरेका थिए । ध्यानाकर्षण पत्र बुझाएपछि आन्दोलित संघले विभागको कार्यालय अगाडी कोणसभा गर्दै बिरोधका कार्यक्रम सम्पन्न गरेको थियो ।

  • रसिलो उखु उत्पादन गर्नेको निरस कथा (भिडिओसहित)

    रसिलो उखु उत्पादन गर्नेको निरस कथा (भिडिओसहित)

    सिरहा । सिरहा, खोरियाका किसान मो. ताहिरले ११ विगाहामा उखु खेती गरेका छन् । उनले चार विगाहामा लगाएको उखु काटिसके ।

    ट्याक्टर भाडामा लिएर उनले काटेको उखु सिरहाकै हिमालय सुगर मिल लगेर बेचे पनि । तर उनको हात खाली छ । मिलले एक रुपैयाँ पनि दिएको छैन ।

    करिब ६ लाख रुपैयाँ लगानी गरेर उखु उब्जाएको उखु बिक्रीबाट पैसा नपाएपछि उनी निरास छन् । चिनी मिलमै भेटिएका उनले भने, ‘करिब ६–७ सय क्विनटल उखु मिललाई बेचिसके । तर कति रुपैयाँ दिन्छन्, त्यो अझै थाहा छैन ।’

    उनका अनुसार मिलले उखु तौल गरेर राख्छ, अनि परिमाण लेखेर पर्ची दिन्छ । तर रुपैयाँबारे केही उल्लेख गर्दैन । रकम अभावले खेतको उखु काट्न पनि समस्या भएको उनले सुनाए । मजदुरलाई पैसा दिन नसक्दा उखु बाँकी उखु काट्ने काम नै रोकिएको उनले दुखेसो गरे ।

    ‘उखु लगाउन मलखाद किन्नुपर्छ भनेर मिलसँग ५० हजार रुपैयाँ मागेको थिए’, उनले गुनासो गरे, ‘मिलले पनि दिन्छु भनेको थियो । आजभोलि गर्दागर्दै उखु उम्रिसक्यो । मिलले पैसा दिएन ।’

    उनले सरकारले पनि अनुदान रकम समयमा नदिने गरेको गुनासो गरेका छन् । अब खेती गर्नै नसकिने अवस्था आएको उनले बताए । खेती गर्न चाहेका बेला रुपैयाँ नपाउँदा पनि समस्या हुने गरेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    धारापानी, धनुषाका किसान शंकर शर्माले नगदेबाली भनेर उखु खेती सुरु गरे पनि सधैं उधारोमा बेच्न बाध्य भएको बताए । उनले ४–५ ट्याक्टर उखु दिएपनि मिलले पेश्की पनि नदिएको बताए । उनले भने, ‘ठिक छ, सरकारले उखुको मूल्य तोक्न ढिलाइ गर्यो । तर मिलले पेश्कीस्वरुप त केही रुपैयाँ दिँदा हुन्थ्यो नि ! त्यो पनि छैन ।’

    चिनी मिलमा रात काट्नै मुस्किल

    धारापानीकै किसान शर्मा उखु ट्याक्टरमा लिएर मिल पुगेको दुई दिन भइसक्यो । तर उनको उखुको तौल कतिबेला हुन्छ ठेगान छैन । उनी चिसोमा भुइँमै सुतेर उखुको तौल गर्ने पालो कुरिरहेका छन् ।

    मिलले उखु तौल गर्न बढी समय लगाउँदा किसान र ट्याक्टर चालकहरु समस्या झेल्न बाध्य छन् । कतिपय किसान दिनभर कुर्दा पनि पालो नआएपछि घर फर्किन्छन् । र उखु तौल गराएर पर्ची ल्याइदिने जिम्मा ट्याक्टर चालकलाई दिन्छन् ।

    मिलमा उखु बोकेर आएका ट्याक्टरको ठूलो लाइन लागेको छ । तर एक ठाउँमा मात्र उखुको तौल गरिन्छ । सिरहाको राघोपुरबाट उखु बेच्न पुगेका किसान विलेक्षण सदाले मिलको लापरबाहीले आफूहरु समस्या झेलिरहेको बताए ।

    उनले भने, ‘कहिलेकाहीँ त २–३ दिनसम्म लाइन बसेर उखुको तौल गराउँछु । हिजो दिउँसो आएँ । तर आज पनि पालो आउने सम्भावना देख्दिनँ ।’ आजभोलि यतिधेरै जाडो भए पनि मिलले आगो ताप्न दाउरा समेत नदिँदा रात काट्न सकस भएको उनले गुनासो गरे ।

    उनले भने, ‘दिन त जसोतसो कट्छ, जब साँझ पर्छ, अनि जाडो थेग्नै गाह्रो हुन्छ ।’ पहिलोपटक उखु बेच्न आउने किसानले ओढ्ने कम्बल नल्याउने गरेका कारण बढी समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

    ट्याक्टर चालक अर्जुन पासवानले मिलमा चोरी हुने गरेकाले पनि राति पनि बस्नुपरेको सुनाए । ‘एक त ट्याक्टरको पाटपुर्जा चोरी हुने डर हुन्छ’, उनले भने, ‘अनि प्रत्येक १०–१५ मिनेटमै लाइनमा ट्याक्टर अगाडि बढाउनुपर्छ । त्यसैले रातभर यहीँ बस्नुपर्छ ।’

  • खोप अभियानलाई तीव्रता दिन र अस्पतालमा अक्सिजनको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन (भिडिओ)

    खोप अभियानलाई तीव्रता दिन र अस्पतालमा अक्सिजनको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन (भिडिओ)

    काठमाडौं । शुक्रबार २४ जनामा ओमिक्रोन र झन्डै एकहजार जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)को बैठक बसेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा ओमिक्रोन फैलिएपछि कोरोनाको जोखिमको अवस्थाबारे ब्रिफिङ गरिएको थियो । कोरोनाको तेस्रो लहर रोकथामबारेको तयारी र मापदण्डबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

    बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै सीसीएमसी प्रवक्ता सुनिता नेपालले ओमिक्रोन फैलिएको र संक्रमण उकालो लागेको बारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बताइन् ।

    बैठकमा प्रधानमन्त्री देउवाले कोरोनाबारे जनचेतना जगाउने कामलाई अघि बढाउन, खोप अभियानलाई तीव्रता दिन, अत्यावश्यक व्यक्तिको लागि चाँडै बुस्टर डोजको व्यवस्था गर्न, अस्पतालमा अक्सिजन लगायतको व्यवस्था गर्न र सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

    बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नयाँ भेरिएन्टको फैलने क्रम, आगामी रणनीति र तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘आजको बैठकमा पछिल्लो स्थितीबारे छलफल भयो तर, निर्णय भएको छैन’ प्रवक्ता नेपालले भनिन्, ‘आगामी आइतबार वा सोमबार पुनः सीसीएमसी बैठक बसेर मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछौं ।’

    बैठकमा स्थानीय तहमा जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनको कार्यविधिअनुसार अघि बढ्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई निर्देशन गर्ने निर्णय भएको छ । केन्द्रको निर्णयअनुसार अब स्थानीय डीसीसीएमसीले आफ्नो ठाउँमा जोखिमको मूल्यांकन गरेर आवश्यक निर्णय लिन सक्नेछन् । ‘सुरुमा कर्मचारी कम राखेर काम गराउने, विद्यालय र भीडभाड हुने ठाउँलाई रोक्नेजस्ता उपायहरु हुनसक्छन् । त्यसपछि पनि संक्रमण वृद्धि भए निषेधाज्ञामै जानुपर्ने हुनसक्छ’ प्रवक्ता नेपालले नेपाल प्रेसलाई भनिन् ।

    अध्यागमनले जारी गरेको भारतसहितका मुलुकबाट आउने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने नियमलाई नागरिक दायित्व सम्झिएर पालना गर्न समेत उनले आग्रह गरिन् ।

    सीसीएमसी प्रमुख रामप्रसाद थपलियाले पुनः बस्ने बैठकले निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने बताए । ‘आज छलफल मात्र भयो तर, पुनः बस्ने बैठकले मन्त्रिपरिषद्मा सिफारिस गर्छ’ उनले भने ।

    शुक्रबार २४ वटा ओमिक्रोन केस पुष्टि भएपछि सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

     

  • सरकारी कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेका छौं: गृहमन्त्री (भिडिओ)

    सरकारी कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेका छौं: गृहमन्त्री (भिडिओ)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन् ।

    गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालय अन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयसँग पहल गरिरहेको बताएका हुन् ।

    उनले सरकारी कार्यालयहरुमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसकेपनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने बताए । उनले हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरुले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताए ।

    गृहमन्त्री खाँडले भने, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरु आफैँले ९ देखि ५ बनाइदिनु भएको छ । हेर्दा सजिलो छ । १० बजे पुग्नलाई ९ बजे खानुपर्छ । ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ । अहिले अर्थमन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ। राम्रो प्रश्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन । कम्तिमा हामीले काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायहरुलाई, गृहमातहतका निकाहरुलाई ओभरटाइम नदिएपनि कम्तिमा खाजा खाने भत्ता त दिनुहोस् । सर्भिस डेलिभरी दिनुप¥यो । त्यसले जनताको समय पनि बच्छ । लाइनमा समय नलागेपछि उहाँहरुले उत्पादनमा काम गर्नुहुन्छ, उद्योग, व्यवसाय गर्नुहोला । त्यसैले अर्थमन्त्रालय यसमा उदार बनिदिनुहोस् ।’

    गृहमन्त्री खाँडले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताए । उनले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

    गृहमन्त्री खाँडले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरुको भएकोले जनताको माग बुझेर सरकारलाई दबाव दिन पनि आग्रह गरे ।

  • सहमतिमै जिल्ला नेतृतव चयन गर्न ओलीको आग्रह (भिडिओ)

    सहमतिमै जिल्ला नेतृतव चयन गर्न ओलीको आग्रह (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै जिल्ला नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार देशव्यापी रूपमा भइरहका जिल्ला अधिवेशनको केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै ओलीले सहमतिमै जोड दिएका हुन् ।

    ‘हामीले सहमतिमै जोड दिएका छौं,’ ओलीले भने, ‘हाम्रा अगाडिका चुनौतीको सामना गर्न र अवसरलाई साकार पार्न हामीले सहमतिमै जोड दिएका छौं ।’

    सहमति निर्माणका लागि मन नखुम्च्याइ लाग्न पनि ओलीले आग्रह गरे । ‘सकेसम्म मन नखुम्च्याइ सहमतिमा पुग्न, सहमतिका साथ नेतृत्व चयन गर्न आग्रह गर्न चाहान्छु,’ उनले भने, ‘सहमति नभएको खण्डमा चुनावमा जान आग्रह जान चाहन्छु ।’

    एमालेको ६१ जिल्लामा अधिवेशन सुरू भएको छ । बाँकी रहेका १६ जिल्लामा अनुकूल समयमा गरिनेछ ।

     

  • बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, किर्ते तथा ठगीमा मुद्दा चलाउने तयारी (भिडिओ)

    बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, किर्ते तथा ठगीमा मुद्दा चलाउने तयारी (भिडिओ)

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन विहिबार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।

    ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सयजना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए ।

    उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए । पौडेलले भने, ‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदैछ । दर्ता गरेर अध्ययनका लागि हामी सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरूले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भने चाहीँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ ।’

    प्रहरीले जतिजनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुनसक्ने उनले बताए ।

    बालुवाटार जग्गा प्रकरणमा प्रहरी अनुसन्धानमा दोषी पाइएका ३ सयभन्दा बढीलाई पक्राउ गर्न अदालतले सीआईबीलाई अनुमति दिइसकेको छ ।

  • एक्सनमा मन्त्री आले- नारायणहिटी प्रकरणमा छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन दिन निर्देशन

    एक्सनमा मन्त्री आले- नारायणहिटी प्रकरणमा छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन दिन निर्देशन

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि समिति गठन गरेका छन् ।

    मन्त्रीस्तरीय निर्णयबाट उनले विहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

    समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

    तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले नेपाल प्रेसलाई बताए । समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।

  • अनुगमनमा गएका शिक्षामन्त्री र केएमसी प्रिन्सिपलबीच सवाल-जवाफ (भिडिओ)

    अनुगमनमा गएका शिक्षामन्त्री र केएमसी प्रिन्सिपलबीच सवाल-जवाफ (भिडिओ)

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले निरन्तर आन्दोलन गरिरहेका बेला आज शिक्षामन्त्री देवेन्द्र पौडेल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अनुगमनमा पुगेका छन् ।

    उनले तोकिएभन्दा बढी शुल्क लिएको प्रमाणित भए कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिए ।

    शिक्षामन्त्री पौडेलले कलेजका प्रिन्सिपल डा. रतिन्त्रनाथ श्रेष्ठलाई केएमसीले बढी शुल्क लिएको व्यापक गुनासोपछि आफू आएको बताए । मन्त्रीले ‘पीडित विद्यार्थीले कलेजले बढी फी लिएको उजुरी मन्त्रालयमा दिएपछि म यहाँ आएको हुँ’ कलेजका प्रिन्सिपलले उनीसँग बढी रकम असुल नगरेको दाबी गरे ।

     

    उनले मन्त्री पौडेललाई बुँदागत रूपमा कुन शीर्षकमा कति बढी रकम लिएको प्रमाणित गर्न चुनौती दिए । उनले भने,‘हामीले बढी शुल्क लिएका छैनौं । चिकित्सा शिक्षा आयोगको ऐनमा नै समस्या छ । ऐनले होस्टल अनिवार्य नभनेको भए हामी पनि होस्टल अनिवार्य गर्दैन थियौं । विद्यार्थीबाट यो विषयमा बढी शुल्क लियो भनेर देखाउन चुनौती दिन्छौं ।’

    मन्त्री पौडेलले भने दुवै पक्षलाई फीसम्बन्धी कागजात अध्ययन गरी भोलि बिहान १० बजेसम्म मन्त्रालयलाई रिपोर्ट बुझाउन सीडीओलाई निर्देशन दिएका छन् । उनले भने, ‘हामीले बढी शुल्क लिएको प्रमाण भेटियौं भने हामी ऐनअनुसार कारबाही गर्छौं ।’

    चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै बुधबार मन्त्रालयले पटक-पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको थियो ।

    केएमसी विद्यार्थीहरूले केही दिनदेखि आयोगले तोकेको भन्दा बढी शुल्क तिर्न कलेजले दबाब दिएको भन्दै आन्दोलन गरिरहेका छन् ।

    तस्बिर/भिडिओ : उमेश कार्की ।

  • सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना : शेखर कोइराला (भिडिओ)

    सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना : शेखर कोइराला (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पराजित भएका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा गरेको मनोनयनलाई लिएर असन्तुष्टि जनाएका छन् । सभापतिको व्यक्तिगत रुचिका आधारमा व्यक्तिको छनोट भएमा पार्टी दुर्घटनामा पर्ने उनको चेतावनी छ ।

    देउवाले गरेको मनोनयनका विषयमा छलफल गर्न आज आफ्नो समूहको बैठक बोलाएका कोइरालाले लिखित मन्तव्य वाचन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

    उनले भनेका छन्, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’

    कोइरालाले पार्टी सभापतिले केन्द्रीय सदस्यमा नियुक्ति गरेका व्यक्तिहरू सबै सक्षम र योग्य भए पनि नियुक्तिको मापदण्डबारे प्रश्न उठाएका छन् ।

    ‘के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नत्र कार्यकर्ता किन कांग्रेसमा बस्नने भन्ने प्रश्न उठ्न सक्छ ।’ कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफूहरू एकताको सन्देश बोकेर देशभर जाने कोइरालाले बताएका छन् । कुनै पनि कार्यकर्ताकोे शिर झुक्न नदिने र निराश बन्न नदिने उनको प्रतिबद्धता छ ।

    ‘कांग्रेस हुनुको गर्व अुनभूति गराउने प्रयासमा हामी लागि नै रहने छौं । तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिवद्ध छौं,’ उनले मन्तव्यमा भनेका छन् ।

  • वर्षमान र जनार्दनबीच कुरा नमिले प्रचण्डले महासचिवमा तेस्रो व्यक्ति रोज्नुहुन्छ : देव गुरुङ (भिडिओ)

    वर्षमान र जनार्दनबीच कुरा नमिले प्रचण्डले महासचिवमा तेस्रो व्यक्ति रोज्नुहुन्छ : देव गुरुङ (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी र देशकै अभिभावक भएकाले उहाँलाई पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका छन् ।

    न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गुरुङले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए । पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुंगो लगाउने र त्यो सबैको राय, परामर्श, सुझावका आधारमा हुने उनको भनाइ छ ।

    नेता गुरुङले भने, ‘सडकदेखि सरकारसम्मका सबै प्रक्रियाबाट जानुपर्ने अवस्थामा सायद एकल पदभन्दा पनि बहुपद नै उपयुक्त हुन्छ कि भन्ने कुरा उठेर विधानमा बहुपदको व्यवस्था गरिएको हो । र लिडरशीपको सन्दर्भमा अहिलेसम्मको आन्दोलनको प्रक्रियाबाट हेर्दा जनयुद्धभन्दा पूर्वदेखि जनयुद्धको १० वर्ष शान्ति प्रक्रिया, सबै प्रक्रियामा नेतृत्व गर्दै आइरहेको एउटा पुरानो निरन्तरताको लिडरशीप मुलुककै निम्ति एउटा अभिभावकजस्तो, संरक्षकजस्तो नेतृत्व रहेको हुनाले लिडरशीपको सन्दर्भमा उहाँकै नेतृत्व भएको कुरा स्वभाविक कुरा हो ।’

    नेता गुरुङले महासचिवका लागि वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) बीच सहमति नभए तेस्रो व्यक्तिलाई अघि सारेर सहमतिमा ल्याउन प्रचण्डको प्रयास रहने बताए ।

    ‘उहाँहरूको दाबेदारी रहेको स्थितिमा अध्यक्ष कम्रेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास त गरिरहनु भएको छ । उहाँहरू दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ’, गुरुङले भने’, ‘अध्यक्षले चाहेको अवस्थामा निर्वाचन नगराइकन सहमतिमै जानुपर्छ भनिरहेको अवस्थामा लिडरशीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाईनास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।’