Category: भिडियो

  • अमेरिकाको दबाबमा प्रधानमन्त्रीले एमसीसी पेस गर्नुभो : झलनाथ खनाल (भिडिओ)

    अमेरिकाको दबाबमा प्रधानमन्त्रीले एमसीसी पेस गर्नुभो : झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताएका छन् ।

    प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा बारम्बार एमसीसीको कुरा गरिरहेको र दबाबका कारण छिटो टुंग्याउनुपरेको पनि बताउँदै आएको उनले उल्लेख गरे ।

    खनालले एमसीसी बारे अध्ययनका लागि सरकारले गठन गरेको तीन सदस्य कार्यदलमा पनि हरेक पार्टीका नेताहरुको आ आफ्नै धारणा आएकोले एमसीसीको बारेमा स्पष्ट लिखित धारणा नबनाइएको बताए ।

    उनले एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक, आपत्तिजनक रहेको र कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा अन्य नयाँ नौ वटा सम्झौता फेला पारेको पनि बताए ।

    उनले भने, ‘अनुदानको कुरा मात्रै हो भने हामी ले जहिले पनि स्वागत गर्दछौँ । तर त्यहाँभित्र जति शर्तबन्दीहरु राखिएको छ, यी शर्तहरु अनावश्यक छन्, गलत र आपत्तिजनक छन् । त्यसो हुनाले यो स्वीकार हुँदैन ।’

    तीन जनाको कार्यदलले बैठक डाँकेर चारपटक छलफल भएको उल्लेख गर्दै उनले भने, ‘दुई वटा बैठकसम्म दस्ताबेजहरु जम्मा गरेर त्यसको आधारमा टुंगोमा पुग्ने भन्यौँ । तेस्रो बैठकमा जाँदा सबै दस्ताबेज आए । पहिला २०१७ दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता पाएका थियौँ । तर अहिले अरु ९ वटा नयाँ सम्झौताहरु पायौँ । चौथो बैठकमा आफ्नो धारणा राख्दा हामी आनका तान फरक भयौँ । खोला वारी र पारी जस्तो भयो । त्यो भएपछि ज्ञानेन्द्रबहादुर कार्कीले नै के भन्नुभयो भने जति छलफल गरे पनि कुरा मिल्दैन, हामीसँग जे छ यही कुरा, अब लिखित पनि नबनाऔँ । प्रधानमन्त्रीलाई त्यही कुरा बुझाइदिऔँ भनेपछि त्यही कुरा प्रधानमन्त्रीलाई भन्यौँ ।’

    खनालले एमसीसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त रहेको र यो नेपालका लागि स्वीकार्य नहुने बताए ।

    उनले सम्झौता मानिसकेपछि नेपालले उदार अर्थतन्त्र मान्नुपर्ने, उदार लोकतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने शर्त, अमेरिकाको प्रचलित कानूनहरु र पछि बन्ने कानूनहरु पनि मान्नुपर्ने जस्ता शर्त रहेको उल्लेख गर्दै यस्ता कुराहरुमा नेपालले एमसीसी पास गर्न नसक्ने बताए ।
    उनले भने, ‘पारित गरिसकेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्छ भन्ने शर्त छ । त्यो शर्त हामीलाई मान्य भएन । अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणा मानिसकेपछि त हामीले असंलग्नतालाई तोड्छौँ । हामी हाम्रो संविधानको बिरुद्धमा हुन्छ । हाम्रो संविधानका निर्देशन, सिद्धान्तका खिलाफ हुन्छ ।’

    पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता ५ वर्षका लागि भनिए पनि केही धारा तथा उपधाराहरुमा यो सदाका लागि रहने उल्लेख गरिएको समेत बताए ।

    उनले भने, ‘कयौँ धारा, उपधाराहरुमा यी सदाका लागि रहने भन्ने छ । यो झनै अफ्ठ्यारो हुन्छ । त्यस्तै ५० वटा मुद्दामा यस्ता आपत्तिजनक कुराहरु छन् । त्यसैले यी आपत्तिजनक कुराहरु जबसम्म सच्चिदैनन्, जबसम्म संशोधन गरिँदैन, तबसम्म यो कुरालाई मान्न सकिँदैन । हामी अमेरिकासँग सहयोग लिन चाहन्छौँ । सहयोगलाई स्वागत पनि गर्छौं । तर शर्तलाई हामी स्वागत गर्दैनौँ ।’

    खनालले अमेरिकी महाशक्तिका सामु नेपाल सरकार नतमस्तक भएर एमसीसी संसदमा पेश गरेको आरोप लगाए । खनालले एमसीसी सम्झौता दुई सरकारबीच नभइ नेपाल सरकार र अमेरिकी एक निगमबीच भएको बताए ।

    उनले एमसीसी अन्तर्राष्ट्रिय सम्झौता नभएको भन्दै अमेरिकाले भन्दैमा नेपालको संसदबाट पारित गर्नुपर्ने कुरा स्वीकार्य हुन नसक्ने बताए ।

    उनले भने, ‘यो अमेरिका र नेपाल, राज्य राज्य बीचको सम्झौता भन्दा पनि अमेरिकाको एउटा निगमसँग नेपालले गरेको करार सम्झौता हो । यो कुनै टिटि होइन । यो कुनै इन्टरनेशनल एग्रिमेण्ट होइन । कुनै इन्टरनेशनल ल ले पनि यसलाई प्रुभ गर्न सक्दैन । त्यसकारण अमेरिकाले भन्दैमा हामीले संसदबाट अनुमोदन गर्ने कुराहरु ग¥यौं, यो आफैँ झुकेर, निहुरेर एउटा महाशक्तिका सामु त्वम शरणम गरेको कुरा हो । अरु केही पनि होइन । यो संसदमा लैजानु पर्ने चिज नै होइन ।’

    न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा परेको बताए । उनले सत्ता गठबन्धनले चुनावपछि गहन छलफल गरेर निचोडमा पुग्ने प्रस्ताव राख्दासमेत प्रधानमन्त्री देउवाले अस्वीकार गरे जानकारी दिँदै एमसीसी पास गराउन प्रधानमन्त्रीले एमालेसँग साँठगाँठ गर्नुको विकल्प नरहेको बताए ।

    खनालले भने, ‘अब अमेरिकी आग्रह भन्ने कि, अमेरिकी दबाब भन्ने कि, अमेरिकी निर्देशन भन्ने कि, जे भन्नुस्, तर अमेरिकी दबाबमा अहिले प्रधानमन्त्री बढी भन्दा बढी मात्रामा पर्नुभएको देखिन्छ । पासोमा नै परेको जस्तो ढंगले उहाँले कुराकानी गर्नुभएको छ । आज नै गर्नुपर्यो भोलि नै गर्नुपर्‍यो, नगरी हुँदै हुँदैन भन्नुहुन्छ । हामीले यसलाई कम्तिमा पनि ५ वर्ष यसै बितिसक्यो । अब चुनावपछि छलफल गरौँ भनेका हौँ । तर उहाँले मान्नुभएन ।’

    उनले आँट, बुद्धि र दृष्टिकोण भए देश, जनता, संसद र गठबन्धनको आड लिएर एमसीसीमाथि बार्गेनिङ गरेर संशोधन गर्न प्रधानमन्त्री देउवालाई चुनौति दिए ।

    खनालले देशका नागरिकहरुको रगत बगाएर र रगत कुल्चिएर सरकारले एमसीसी सम्झौता अनुमोदन गरेमा त्यो भन्दा दुःखद् अध्याय नेपालको इतिहासमा अरु केही नहुने बताए ।

    पूर्व प्रधानमन्त्री खनालले देशहित विपरित एमसीसी पास गर्ने अडानमा कांग्रेस हो भने एमालेसँग समीकरण गरेर जान स्वतन्त्र रहेको बताए ।

    खनालले नेपाली कांग्रेसले एमालेसँग समीकरण गरेर एमसीसी पास गराए पनि आकाश पृथ्वी नखस्ने उल्लेख गर्दै आफू देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा निरन्तर रहने बताए ।

  • कालो बेलुन उडाएर एमसीसीको विरोध (तस्बिर/भिडिओ)

    कालो बेलुन उडाएर एमसीसीको विरोध (तस्बिर/भिडिओ)

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै सत्ताघटक नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले कालो बेलुउन उडाएर विरोध गरेको छ ।

    मंगलबार बानेश्वरको बिजुलीबजार क्षेत्रमा उनीहरूले कालो बेलुन उडाएका हुन् । बेलुनमा ‘नो एमसीसी’,‘रिजेक्ट एमसीसी’ लगायतका नारा लेखिएको छ ।

    अखिल क्रान्तिकारीले एमसीसीविरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • पशुपतिमा गिद्दे नजर लाउनेको भलो हुँदैन : मन्त्री आले (भिडिओ)

    पशुपतिमा गिद्दे नजर लाउनेको भलो हुँदैन : मन्त्री आले (भिडिओ)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपतिनाथको धर्मशाला छिट्टै फिर्ता ल्याउने बताएका छन् । शिवरात्रिको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको बताए ।

    उनले भने,‘आज हामीसँग धर्मशाला भइदिएको भए भारतबाट आएका साधु-सन्त बस्न पाउथे । बतासको अल्पकालीन आदेश खारेज भइसकेको छ । जसले पशुपतिमा गिद्दे नजर लगाउँछ उसको कहिले पनि भलो हुँदैन । हामी छिट्टै सम्पत्ति फिर्ता ल्याउछौं ।’

    मन्त्री आलेले यस वर्षको महाशिवरात्रि भव्य सभ्य बनाउन कुनै कसर बाँकी नराख्न उपसमितिलाई निर्देशन दिएका छन् । उनले कुनै पनि ठाउँमा ढुंगा माटो फोहोर नराख्न निर्देशन दिए ।

    मन्त्री आलेले भने,‘धर्मावलम्बीहरू आउँदा पानीको व्यवस्था, शौचालयको व्यवस्था होस् । जहाजहाँ अँध्यारो छ त्यहाँ लाइटिङको व्यवस्था होस् । पशुपतिको पर्खालमा चित्र बनाउनुहोस् भनेर भन्दै आएको छु । बन्दै गएको यसले सौन्दर्य झल्केको छ । मेला सम्पन्न गर्न एकदिनको जति सक्नुहुनुहुन्छ खट्नुस् ।’

    उनले अहोरात्र सुरक्षा निकायलाई सहयोग गर्न आग्रहसमेत गरे ।

  • पोखरामा असिना-पानीबाट पशुपन्छी र बालीनाली गरी ११ करोड क्षति (भिडिओ)

    पोखरामा असिना-पानीबाट पशुपन्छी र बालीनाली गरी ११ करोड क्षति (भिडिओ)

    पोखरा । पोखरामा आइतबार परेको असिना-पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाक्लो असिना पानीका कारण केही पशुपन्छि मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् ।

    असिनाका कारण पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले जानकारी दिए ।

    कडारियाले राज्यले कृषकलाई दिएको बिमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताएका छन् ।

    असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएका उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।

    यस्तै, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएका गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा २० लाख बराबरको क्षति पुगेको बताए ।

     

    यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ । उनmे सरकारले राहत दिएर भएपनि किसानहरुलाई सहयोग गरिदिन आग्रह गरे ।

    पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए । उनले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताए ।

    पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।

    पोखरामा गत फागुन ८ गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो ।

    सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए ।

  • पौडेललाई प्रचण्डको जवाफ- गठबन्धन जोगिन्छ, एमसीसी पनि टुंगिन्छ (भिडिओ)

    पौडेललाई प्रचण्डको जवाफ- गठबन्धन जोगिन्छ, एमसीसी पनि टुंगिन्छ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटघाट भएको छ । भेटमा प्रचण्डले पौडेलसँग सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।

    सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केही बेरअघि दुई नेताबीच भेट भएको हो । पौडेलँगको भेटमा आफूले सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको प्रचण्डले जानकारी दिए ।

    वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताए ।

    प्रचण्डले भने, ‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुपर्‍यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भनेँ त्यही हो ।’

    कांग्रेस वरिष्ठ नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटेका थिए ।

  • एमसीसी नेपालको आन्तरिक मामिला हो, वाकयुद्ध जरुरी छैन : प्रवक्ता महत (भिडओ)

    एमसीसी नेपालको आन्तरिक मामिला हो, वाकयुद्ध जरुरी छैन : प्रवक्ता महत (भिडओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको आन्तरिक मामिलाबारे शक्ति राष्ट्रहरूले वाकयुद्ध गर्न जरुरी नरहेको बताएका छन् ।

    पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता महतले नेपाललाई आवश्यक विकास सहयोगबारे नेपाल सरकार, राजनीतिक दल र सार्वभौम संसदले आवश्यक निर्णय लिने बताए । एमसीसी सम्झौतालाई नेपालका वामपन्थी दलहरूले अति राजनीतिकरण गरेका कारण अमेरिका र चीनजस्ता राष्ट्रहरूको प्रतिक्रिया सार्वजनिक भएको महतको दावी छ । यद्यपि एमसीसी पारित गर्न सरकारलाई कसैको दबाब नरहेको उनले बताए ।

    ‘एमसीसी अनुदान अमेरिकी जनताको करको पैसा भएकोले स्वीकार गर्ने वा नगर्ने निधो छिटो दिनुस् भनेर अमेरिकाले भन्नु अस्वभाविक होइन । हामीले यसलाई दबाबका रूपमा लिएका छैनौं । हामीमाथि कसैको दबाब नरहेकोले शक्ति राष्ट्रबीच वाकयुद्ध हुनु राम्रो होइन’, महतले भने । उनले नेपालको विकासका लागि एमसीसीजत्तिकै अनुदान सम्झौता जुनसुकै मित्रराष्ट्रले दिएपनि स्वीकार गरिने बताए ।

    ‘हामी राष्ट्रहरूबीचको सम्बन्धलाई महत्व दिन्छौं । कुन देशमा कस्तो विचारको पार्टीले शासन गरेको छ, कस्तो प्रणाली छ भन्ने आधारमा हामी व्यवहार गर्दैनौ । मुलुकको हितमा हुने जस्तो सुकै विकास सहयोग जुनसुकै मित्रराष्ट्रबाट स्वीकार गर्नुपर्छ’, महतले भने ।

    उनले आफू परराष्ट्रमन्त्री भएकै बेला चीनसँग बीआरआई परियोजनमा सहभागी हुने सम्झौता भएको स्मरण गराउँदै नेपालको विकासका लागि अमेरिका, चीन, भारतलगायत जुनसुकै देश वा बहुपक्षी सहयोग निकायसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताए ।

    एमसीसीबारे भ्रमपूर्ण प्रचार गरिएकोमा विस्तारै भ्रमको पर्दा खुल्दै गएको महतको दाबी छ । ‘एमसीसीबारे झुठो प्रचार भएको थियो । अब विस्तारै भ्रमको पर्दा खुल्दैछ । कांग्रेस एमसीसीबारे गरिएको भ्रमलाई चिर्दै अगाडि बढ्छ’, महतले भने ।

    पत्रकाररूसँगको भेटमा उनले एमसीसी निर्णयार्थ पेस हुने बेलासम्म सत्तारुढ गठबन्धनका दलहरूले लिने निर्णयका आधारमा मात्रै गठबन्धनको भविष्यबारे बताउन सकिने बताए ।

    ‘गठबन्धनको भविष्यबारे बोल्ने बेला भएको छैन । भर्खर विषय संसदमा पुगेको छ । निर्णय गर्ने बेलासम्म सबै थाहा हुन्छ । अहिले अनुमान नगरौं’, उनले भने ।

  • ठगहरूलाई ठेगान लाउने चेतावनी दिँदै मन्त्री आलेले भने- यो ट्रेलर मात्रै हो एक साताभित्र पूरा फिल्म देख्नुहुनेछ (भिडिओ)

    ठगहरूलाई ठेगान लाउने चेतावनी दिँदै मन्त्री आलेले भने- यो ट्रेलर मात्रै हो एक साताभित्र पूरा फिल्म देख्नुहुनेछ (भिडिओ)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुलाई एकसाताभित्रै कारबाहीको दायरामा (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् ।

    सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस–२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताएका हुन् ।

    उनले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पुरा फिल्म देखिने गरी काम गर्ने बताए । उनले भने, ‘जतिपनि मैले कामको थालनी गरेको छु । मातृभुमिलाई साक्षि राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु । यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पुरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु ।’

    मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफु लागिपरिरहेको बताए ।

    उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दा तलमाथि पर्न गएको स्वीकार गरे । बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनको भनाई छ ।

    आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनको भनाई छ । सो अडियो पूर्ण सत्य नभएको प्रष्टिकरण मन्त्री आलेले दिएका छन् ।

    मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए ।

  • एमसीसीतर्फ संकेत गर्दै उपराष्ट्रपतिले भने- दूरगामी महत्वका विषयमा राष्ट्रिय सहमति नहुँदा देशलाई राम्रो गर्दैन (भिडिओ)

    एमसीसीतर्फ संकेत गर्दै उपराष्ट्रपतिले भने- दूरगामी महत्वका विषयमा राष्ट्रिय सहमति नहुँदा देशलाई राम्रो गर्दैन (भिडिओ)

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले दूरगामी महत्वका विषय राष्ट्रिय सहमतिमा मात्र अघि बढाउनुपर्ने बताएका छन् ।

    सोमवार अन्तर्राष्ट्रिय मातृभाषा- २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव- २०७८ मा उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द भने उच्चारण गरेनन् । तर, उनको सम्बोधन त्यसतर्फ ईंगित थियो ।

    देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरूमा मतभिन्नता प्रकट भइरहेको भन्दै उपराष्ट्रपति पुनले दूरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुनेमा जोड दिए ।

    उपराष्ट्रपतिले भने, ‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयहरूमा छलफल र मतभिन्नताहरु प्रकट भइरहेका छन् । दूरगामी महत्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ । राष्ट्रिय सहमति नहुँदा यसले राजनीतिक द्वन्द्व पैदा हुनसक्ने खतरा हुन्छ । र, यसले देशलाई राम्रो गर्दैन । यसमा हामीले विगतबाट पाठहरू पनि सिक्न सक्नुपर्दछ । म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’

    उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन् । भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा मातृभाषामा सेवा दिन ढिलाइ गर्न नहुनेतर्फ उनले ध्यानाकर्षण गराए ।

  • गृहमन्त्रीलाई एमाले अध्यक्ष ओलीको प्रश्न- प्रहरीमाथि ढुंगा हान्ने आदेश दिएको हो ? (भिडिओ)

    गृहमन्त्रीलाई एमाले अध्यक्ष ओलीको प्रश्न- प्रहरीमाथि ढुंगा हान्ने आदेश दिएको हो ? (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर हिजो बानेश्वरमा प्रदर्शनबारे जिज्ञासा राखेका छन् । सोमबार कालु पाण्डेको समाधीस्थलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त टेलिफोन संवादबारे जानकारी गराए ।

    ‘मैले आज गृहमन्त्रीलाई भने- तपाईं पुलिस किन सडकमा पठाउनुहुन्छ ?’ ओलीले भने, ‘कत्रो दुःख गरेर बाटो बनाएको छ, सरकारमा हुने क्रान्तिकारीहरूले भत्काएका छन् । कोही छैन यो देशमा नभत्काऊ भन्ने ? कस्तो सरकार हो ?’

    ओलीले प्रदर्शनकारीबाट प्रहरी कुटिँदा पनि त्यसको प्रतिरक्षा गर्न किन आदेश नदिएको भने आफूले गृहमन्त्रीलाई प्रश्न गरेको बताए । उनले भने, ‘प्रहरी कुटाइ खाएर भागेको छ । २५ जना मान्छेले ढुंगा हानेको छ । डेढ सय प्रहरी पछाडि भाग्दै छ । केही पनि आदेश हुँदैन ।’

    ओलीले थपे, ‘मैले गृहमन्त्रीलाई सोधेँ, ढुंगा हान्ने मात्रै आदेश थियो ? के आदेश थियो ?’ प्रहरी कुटिएको बारे पनि आफूले गृहमन्त्रीसँग बुझेको ओलीले जानकारी गराए । ‘मैले गृहमन्त्रीलाई सोधेँ प्रहरी किन कुटिए ? कति घाइते भए ?,’ उनले भने ।

  • नेता पौडेल र यादवबीच सिंहदरबारमा भेट (भिडिओ)

    नेता पौडेल र यादवबीच सिंहदरबारमा भेट (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ ।

    एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि जोगाउने उपायको खोजीस्वरूप दौडधुप बढाएका पौडेलले आज यादवबाट भेट सुरू गरेका छन् । पौडेल सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक पनि छन् ।

    दुई नेताबीच सिंहदरबारस्थित जनता समाजवादी पार्टीको संसदीय दल कार्यालयमा भेट भएको हो । भेटमा एमसीसी सम्झौताको विषय केन्द्रित रहेको पौडेलले जानकारी दिए ।

    एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा पनि कुराकारी भएको पौडेलले बताए । यादवसँगको भेटबारे जानकारी दिँदै उनले भने, ‘अहिले सामान्यतया देशको परिस्थितिको बारेमा हामीले छलफल गर्‍यौँ । एमसीसीको समस्या पनि अहिले हाम्रो अगाडि जटिलरूपमा आइरहेको छ । यसले गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध के हुन्छ ? हाम्रो विकासको भविष्य के हुन्छ ? यी कुरा हामीले राम्रैसँग कुरा गर्‍यौँ । सैद्धान्तिकरूपमा त हाम्रो बीचमा केही मतभेदजस्तो देखिएन । तर, केही प्राविधिक कुराहरु छन् । उहाँहरु मिटिङ गर्नुहुन्छ रे १३ गते अनि त्यसपछि निर्णय गर्नुहुन्छ भन्नुभयो ।’

    एमसीसी सम्झौता संसदमा पेस भइसकेको सन्दर्भमा यसको निकासका लागि एमाले, माओवादी केन्द्र र नेकपा एसका नेताहरूसँग पनि कुरा गर्ने पौडेलले बताए ।

    देशमा संकट नगहिरियोस् भन्नका लागि आफू प्रयत्नशील रहेको उनको भनाइ छ । नेता पौडेलले एमसीसी सम्झौताको विषय अब सडकबाट नभइ संसदमा छलफल हुने जानकारी दिए ।

  • नेपाल-पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट फागुन १८ बाट

    नेपाल-पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट फागुन १८ बाट

    काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

    पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म संचालन गर्ने जानकारी गराएको हो ।

    लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी १२ टोलीलाई चार समूह विभाजन गरि सञ्चालन गर्ने जनाएको छ । जसअन्तर्गत समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् भने समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए समावेश छन् ।

    यस्तै समूह ‘सी’ मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह डी मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन । चार समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् ।

    प्रतियोगिता दुई मुलुकबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्यका साथ सो खेल प्रतियोगिता आयोजना गरिएको नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले बताए ।

    यस्तै नेपालको तर्फबाट एकेडेमीको प्रतिनिधित्व गरेको नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगितामा युवा क्रिकेटले अनुभव संगाल्ने मौका भएको बताए ।

    धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । नौं दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान दूताबासले एचके क्रिकेट क्लबविरुद्ध खेल्ने तालिका रहेको छ ।

  • आन्दोलनको मारमा बानेश्वरका व्यापारी (भिडिओ)

    आन्दोलनको मारमा बानेश्वरका व्यापारी (भिडिओ)

    काठमाडौं । नयाँ बानेश्वरको सडक यतिबेला एमसीसीको विरोधमा युद्धमैदान बनिरहेको छ । यो साताको तीन दिन आन्दोलनकारी र प्रहरीको घम्साघम्सी पर्यो ।

    एमसीसीको विरोधमा प्रर्दशनकारी नाराजुलुश गर्दै नयाँ बानेश्वर आइपुग्दासम्म माहोल सामान्य नै हुन्छ । जब प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोज्छन । त्यसपछि सुरु हुन्छ प्रर्दशनकारी र प्रहरीको घम्साघम्सी । ४ गतेदेखि नयाँबानेश्वर यस्तै बनिरहेको छ ।

    एमसीसी संसदबाट अनुमोदन गराउने हतारो सरकारलाई भएपनि विरोध प्रदर्शन भइरहेको हो । प्रर्दशनमा प्रहरीले अश्रुग्यासदेखि पानीको फोहोराको सहयोगता भीड तितरवितर बनाउने प्रयास गरिरहेको छ ।

    झडप नियन्त्रणमा नआएपछि प्रहरीले आइतबार बलुेट गोली चलाएको छ । आन्दोलनकारीले प्रहार गरेको ढुंगाले दर्जनौं प्रहरी घाइते भएका छन् ।

    यी दृश्यको प्रत्यक्षदर्शी बनिरहेका छन् नयाँ बानेश्वरका व्यापारीहरु । यो साता मात्रै माइतीघरदेखि नयाँबानेश्वर सडकका पसल, बैंक, अस्पताल, होटल लगायतका दर्जनौं व्यवसायहरु दिनभर बन्द गर्नुपर्यो ।

    आन्दोलन सुरु हुने वितिकै पसल तथा बैंकहरुको सटर बन्द तान्छन् व्यापारीहरु । प्रायः नियमित जस्तै यस्ता प्रदर्शनका कार्यक्रममा आजित छन् यहाँको व्यवसायीहरु ।

    उनीहरु कहिले प्रर्दशनकारी र प्रहरीको झडप सकिएला र पसल खोलौँला भन्ने आसमा बसिरहेका हुन्छन् । केही व्यापारीहरु बोनी नै नगरी घर जानुपरेको गुनासो गर्छन । कहिले सम्म सटर बन्द गर्नुपर्ने हो भन्ने चिन्ताले सताएको व्यापारीहरु बताउँछन् । नयाँबानेश्वरमा तीनदिनदेखि भएको प्रर्दशनको कारण बन्द व्यवसायको नोक्सान त छदैछ । उल्टै प्रर्दशनकारीले प्रहार गरेको ढुंगाले व्यवसायीको सवारीसाधनमा पनि क्षति पुयाएको छ ।

    आन्दोलन सुरु हुनेवितिकै सटर बन्द गरेर बस्नुपरेको थकाली भान्छाघरका क्याप्टेन सुवोध मगरले बताए । उनले भने,‘जुनजुन दिन आन्दोलन भयो त्यो दिन व्यापार ठप्पै छ । पुरै सटर नै बन्द गर्नुपर्छ । नत्र कति पो क्षति हुन्छ । तोडफोडले गर्दा हाम्रो डिजिटल बोर्डमा क्षति पुगेको छ । अब कता कताबाट ढुंगा आउछ । सटरहरु सबै झार्नुपरिहाल्यो ।’

    एमसीसी राष्ट्रघाती भए खारेज गरिदिए यस्तो अवस्था नआउने उनी बताउँछन् । उनले संवेदनशील क्षेत्रमा आन्दोलन गर्न दिन नहुने पनि उनको धारणा रहेको छ । ‘कतिले ढुंगा खाइरहेका छन् कति घाइते भइरहेका छन् । यसको जिम्मेवारी कसले लिने । उनले आक्रोश पोख्दै भने, ‘सरकारले त पक्कै पनि लिदैन होला पक्कै पनि । यस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्न दिन हुँदैन । निषेधित क्षेत्र नै कायम गरिराख्न दिन ठीक होला ।’

    दिनहुँको आन्दोलनको बोनी पनि गर्न नपाएको गुनासो पोख्छन् नयाँ बानेश्वरमा पसल चलाइरहेका अर्का व्यवसायी अर्जुन घिमिरे । उनले भने, ‘निषेधित क्षेत्र तोडेर यो चोकमा प्रदर्शनकारीहरु आउँदा निकै समस्या हुन्छ । यहाँ भाडा पनि मंहगो छ । खै हुने कहिले सम्म यो अवस्था हो ? व्यापार व्यवसायमा ठूलो असर परेको छ । हाम्रो त बोनी नै भएको छैन ।’

    दुवै क्षेत्रबाट कोही पनि आउन नपाउने भएकाले व्यापारको अवस्था नरहेको उनको भनाई छ । व्यापारिक क्षेत्रलाई खुला गरिदिएको भए राम्रो हुने उनले बताए ।

    बानेश्वर चोकमा कस्मेटिक पसल चलाइरहेका सन्तोष सापकोटाले साँझ ५ बजे मात्र पसल खोल्न पाए । तीनदिनदेखि उनको पसलमा पनि व्यापार ठप्प छ । उनले भने, ‘बन्द भनेपछि मान्छे हिड्दैन मान्छे नहिडेपछि व्यापार हुदैन । दिनभरी पसल बन्द गरेर बस्नुपर्दा त ठूलो क्षति हुन्छ नै । अस्ति पनि ५ घण्टा बन्द भयो ।’

  • माधव नेपालले भने- सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौं (भिडिओ)

    माधव नेपालले भने- सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौं (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आइतबार संसद बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् ।

    ‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’

    एकीकृत समाजवादीको शनिबार बसेको स्थायी समिति बैठकले एमीसीसी सदनमा टेबल गर्न दिने निर्णय गरेको थियो ।

    समाजवादीका सम्मानित नेता झलनाथ खनालले उक्त निर्णयको विरोध गरिरहेका छन् । संसदमा एमसीसी टेबल गर्दा पनि खनालले उठेर विरोध गरेका थिए ।

  • एमसीसी अब सडकको होइन संसदको मुद्दा हो : कानूनमन्त्री बडू (भिडिओ)

    एमसीसी अब सडकको होइन संसदको मुद्दा हो : कानूनमन्त्री बडू (भिडिओ)

    काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सडकमा चर्चा भइरहेको एमसीसी अब संसदको विषय बनेको बताएका छन् ।

    संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बडूले एमसीसीबारे जनताले व्यक्त गरेको चासो अब जनप्रतिनिधिले सम्बोधन गर्नुपर्ने बताए ।

    ‘सडकको विषय अब संसदमा आएको छ । केही सांसदहरूले छलफलमा भाग पनि लिनुभएको छ । यो एउटा अवसर हो । सरकारले यसलाई सकरात्मकरूपमा लिएको छ’, मन्त्री बडूले भने ।

    संसदले जनताले उठाएका हरेक प्रश्नको जवाफ दिनुपर्ने भन्दै मन्त्री बडूले संसदभित्र पर्याप्त छलफल गरी उपयुक्त निर्णय दिनुपर्ने बताए । ‘सडकको चर्चा संसदमा आइसकेकोले संशयमा रहेका जनतालाई साझा निर्णय दिन सक्नुपर्छ’, उनको भनाइ छ ।

    संसदमा पेस भएको सम्झौता परिपक्व हुन ७२ घण्टा समय लाग्ने भन्दै मन्त्री बडूले फागुन १२ गतेपछि एमसीसीबारे संसदमा छलफल सुरू हुने बताए । जनताले एमसीसीको पक्ष र विपक्षमा रहेका दुवैथरीको प्रतिक्रिया सुन्न चाहेको भन्दै त्यसका लागि संसद नै उपयुक्त हुने उनको भनाइ छ ।

    सरकारले पारित हुने विश्वाससहित प्रस्ताव ल्याएको बताउँदै मन्त्री बडूले अधिक समर्थन जुटाउन सरकारले सबैसँग संवाद गर्ने बताए ।

  • झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : महामन्त्री थापा (भिडियो)

    झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : महामन्त्री थापा (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् ।

    विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफैंलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले बताए ।

    ‘भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्‍यो । किनकि ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा दर्ता गरेको हो । देव गुरुङजीले प्रचण्ड र झलनाथ खनालले माधवकुमार नेपाललाई राष्ट्रघाती मुर्दावाद भन्न सक्नुपर्‍यो । अनि बल्ल एमसीसीबारे उहाँहरूले टिप्पणी गर्नुको अर्थ हुन्छ’, थापाले भने ।

    उनले विगतमा नेकपा नेतृत्वको सरकारले ल्याएको एमसीसी सम्झौतालाई तत्कालीन नेकपाकै नेताहरुले विरोध गर्न अराजनीतिक भएको बताए ।

    एमसीसी संसदमा टेबल हुनुले सार्वभौम संसदले निर्णयको अधिकार पाएको भन्दै महामन्त्री थापाले कसैले पनि डबल स्ट्याण्डर्ड देखाउन नहुने बताए ।

    ‘आधाले विरोध गरेझैं गर्ने आधाले समर्थन गरेझै गर्ने भन्ने हुँदैन । सरकारमा बसेर सरकारले ल्याएको प्रस्तावको विरुद्धमा उभिने भन्नेपनि हुँदैन । अब सबैले डबल स्ट्याण्डर्ड त्याग्नुपर्छ । पक्षमा हुने पक्षतिर विपक्षमा हुने विपक्षतिर लाग्नुपर्छ’, थापाले भने ।

    उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसीको छलफलमा सहभागी हुनु सकरात्मक भएको बताए ।

    ‘नाराबाजीकै बीच पनि एमालेले छलफलमा भाग लिएको छ । माओवादी, नेमकिपा र जनमोर्चालेपनि एमसीसीबारे छलफल गरेका छन् । अब संसदले आफ्नो प्रक्रिया पुर्याएर निर्णय लिन सहज हुनेछ’, थापाले भने ।

    उनले सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरुले सरकार छाडनुपर्ने बताए । ‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विरोध गर्न मिल्दैन । त्यसका लागि सरकार छाड्नुपर्छ’, थापाको भनाइ छ ।

    महामन्त्री थापाले तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारले संसदमा दर्ता गरेकोले मतदानको बेलासम्म एमाले एमसीसीका पक्षमा उभिने दाबीसमेत गरे ।

  • एमसीसीमा असहमति छन् तर संसदमै छलफल हुन्छ : मन्त्री झाँक्री (भिडिओ)

    एमसीसीमा असहमति छन् तर संसदमै छलफल हुन्छ : मन्त्री झाँक्री (भिडिओ)

    काठमाडौं । शहरी विकासमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमसीसीमा आफूहरुको असहमति भएपनि अब संसदमा नै छलफल हुने बताएकी छन् ।

    संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले एमसीसीमा केही असहमति भएपनि अब त्यो सबै विषय संसदमा आएको प्रतिक्रिया दिइन् ।

    ‘एमसीसीमा हाम्रा केही असहमति छन्,’ उनले भनिन्, ‘त्यसलाई संशोधन गर्न सक्ने उपयुक्त थलो संसद पनि हो । त्यही अनुसार एकीकृत समाजवादी टेबुल गर्न तयार भएको हो ।’

    के संशोधन गर्ने भन्नेबारे अब सांसदकै हातमा आएको उनको भनाइ छ। झाँक्रीले भनिन्, ‘के कुरा संशोधन गर्ने भन्ने कुरा सांसदकै हातमा आएको छ।

     

  • जबर्जस्ती एमसीसी टेबल गरिनु असंवैधानिक हो : खनाल (भिडिओ)

    जबर्जस्ती एमसीसी टेबल गरिनु असंवैधानिक हो : खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान विपरीत जबर्जस्ती रुपमा संसदमा एमसीसी टेबल गरिएको आरोप लगाएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले एमसीसी सम्झौता संसदमा ल्याइनुले मुलुक नै ‘ट्रयापमा परेको’ बताए । ‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको छ । यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ । भोलीका दिनमा अझ समस्या थपिने निश्चित छ’, खनालले भने ।

    आर्थिक करार सम्झौता संसदमा ल्याउने संवैधानिक प्रावधान नभएको खनालको दावी थियो ।

    उनले अमेरिकी दबावका कारण मुलुकमा ध्रुवीकरण बढेको भन्दै नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिनै नसक्ने बताए । ‘हाम्रो पार्टीको स्थायी कमिटी बैठकले यथास्थितिमा एमसीसी पारित हुन नदिने निर्णय गरेको छ’, खनालले भने ।

    उनले गठबन्धन र सरकारमा सहभागिताको विषयमा पार्टीभित्र गम्भीर छलफल र समिक्षासमेत हुने बताए ।

  • एमसीसी संसदमा टेबल गर्दै सरकारले भन्यो- सार्वभौमिकतामा कुनै सम्झौता हुँदैन (भिडिओ)

    एमसीसी संसदमा टेबल गर्दै सरकारले भन्यो- सार्वभौमिकतामा कुनै सम्झौता हुँदैन (भिडिओ)

    काठमाडौं । सरकारले नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धतासहित एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेस गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार अघिल्ला सरकारहरुको अविच्छिन्न उत्तराधिकार रहेको भन्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा दर्ता गराएको सम्झौता अनुमोदनका लागि पेस गरेको बताएका हुन् ।

    प्रतिनिधिसभामा एमसीसीको विपक्षमा रहेका सांसदहरुको नाराबाजीकै बीच मन्त्री कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् ।

    सो सम्झौताले नेपालमा प्रसारण लाइन निर्माण भइ मुलुकमा उत्पादित विद्युतको व्यापारमा सहज हुने सरकारको विश्वास छ । एमसीसी अनुदानबाट प्राप्त सहयोगले ५ वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दै मन्त्री कार्कीले सबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवको रूपमा ग्रहण गर्नुपर्ने बताए ।

    मन्त्री कार्कीले सम्झौता टेबल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गते बस्नेगरी बैठक स्थगित गरेका छन् ।

  • ५५ अर्बमा सार्वभौमिकता साट्न सकिँदैन : पौडेल (भिडिओ)

    ५५ अर्बमा सार्वभौमिकता साट्न सकिँदैन : पौडेल (भिडिओ)

    काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नै संसदमा एमसीसी टेबल हुन नहुने बताएकी छन् ।

    संसदको जारी बैठकमा बोल्दै पौडेलले अमेरिकी सहयोग संसदबाट पारित गराउने प्रयत्न हुनु नै राष्ट्रहित विपरीत भएको बताइन् । ‘हाम्रो ऐन, कानून र संविधानभन्दा एमसीसीको प्रावधान बलियो हुने व्यवस्था छ । ५५ अर्ब पैसासँग सार्वभौमिकता साट्न सकिदैन’, पौडेलले भनिन् ।

    पौडेलले नेपालले एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै संसदमा एमसीसी टेबल नगर्न आग्रह गरिन् ।

    उनले विकासका लागि सरकारलाई पैसा आवश्यक परे जनताले आधा पेट खाएरपनि पैसा सहयोग गर्न तयार रहेको दावी गरिन् ।

  • संसद बैठक : एमसीसी कार्यसूचीमा राखिएकोप्रति माओवादीको आपत्ति (भिडिओ)

    संसद बैठक : एमसीसी कार्यसूचीमा राखिएकोप्रति माओवादीको आपत्ति (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीका बाबजुद बैठक सुरू भएको हो । आजको बैठकमा एमसीसी सम्झौता टेबल हुनेलगायतको कार्यसूची रहेको छ ।

    बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका छन् । उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।

    ‘एमसीसीसम्बन्धी कार्यसूचीका विषयमा हाम्रो धारणा प्रष्ट छ । एमसीसीमा राष्ट्रहित प्रतिकूलका प्रावधान रहेका छन् । त्यसलाई संशोधन नगरिएको स्थितिमा सम्झौताबारे प्रक्रिया अगाडि बढाउन हुँदैन भन्ने हाम्रो धारणा छ’, गुरुङले भने ।

    गुरुङले आर्थिक अनुदानको विषय संसदबाट अनुमोदन हुने परम्परा नरहेको भन्दै एमसीसीबारे राष्ट्रिय सहमति नजुटेसम्म संसदमा टेबल हुन नहुने बताए । सभामुखको रुलिङ पालना गरेपनि एमसीसी टेबल हुने कार्यसूचीमा असहमति रहेको गुरुङको भनाइ छ ।

  • संसदमा एमसीसी आजै टेबल हुने (भिडिओ)

    संसदमा एमसीसी आजै टेबल हुने (भिडिओ)

    काठमाडौं । सरकारले आजकै संसद बैठकमा एमसीसी टेबल गर्ने भएको छ । सत्ता गठबन्धनमा सहमति जुटेसँगै आजकै बैठकमा एमसीसी पेस गर्न लागिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    सबैलाई संसद भवनतिर जान आग्रह गर्दै पत्रकारसँग मन्त्री कार्कीले भने, ‘एमसीसी सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।’

    ‘जे-जे प्रश्न छन्, त्यसमा सार्वभौम संसदमा सांसदले छलफल गर्नुहुन्छ र निष्कर्षमा पुगिन्छ’, उनले थपे ।
  • नेकपा एसका प्रवक्ता भन्छन्- सहमतिबिना एमसीसी अघि बढाए देउवाले प्रधानमन्त्री पद त्याग्नुपर्ने हुनसक्छ (भिडिओ)

    नेकपा एसका प्रवक्ता भन्छन्- सहमतिबिना एमसीसी अघि बढाए देउवाले प्रधानमन्त्री पद त्याग्नुपर्ने हुनसक्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको सहमतिबिना एमसीसी अनुमोदन गर्न खोजिए प्रधानमन्त्री शेरबहादुर देउवाले पद त्याग्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

    नेकपा एसको स्थायी कमिटी बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता खतिवडाले एमसीसी टेबल हुनु र सांसदहरुले छलफलमा भाग लिन पाउनु स्वभाविक भए पनि अहिले संसद अवरोध भएकाले त्यो अघि बढ्न नसक्ने बताए ।

    खतिवडाले भने– संसदको अवरोध हटेपछिमात्र सोच्न सकिन्छ । टेबल गर्नु कुनै अनौठो होइन । सांसदहरुले विचार विमर्श गर्न पाउनुपर्छ । तर कानूनका समस्या र संसद अवरोधका कारण त्यो सम्भव छैन । गठबन्धनले नचाहेसम्म उहाँल अघि बढाउन सक्नुहुन्न । गठबन्धनले नचाहेको र संसदको अवरोध कायम भएको बेला उहाँले अघि बढाएमा उहाँ अल्पमतमा पर्नुहुन्छ र प्रधानमन्त्री पद पनि त्याग्नुपर्ने अवस्था आउनसक्छ ।

    नेकपा एसको बैठकमा सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसीबारेको प्रतिवेदन पेश गरेको थियो । कार्यदलमा प्रमेश हमाल, डा.विजय पौडेल र जगन्नाथ खतिवडा छन् ।

  • एमसीसी सम्झौता संसदमा टेबल हुन दिनुपर्ने नेकपा एसको निष्कर्ष (भिडिओ)

    एमसीसी सम्झौता संसदमा टेबल हुन दिनुपर्ने नेकपा एसको निष्कर्ष (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको छ ।

    स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

    सार्वभौम संसदमा छलफल भएर देशको हितका पक्षमा निर्णय हुनुपर्ने पार्टीले ठहर गरेको छ । एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा समेत नेकपा एसका नेताहरुको जोड छ ।

  • गठबन्धनलाई पानीमुनि गए पनि छाडिँदैन : ओली (भिडिओ)

    गठबन्धनलाई पानीमुनि गए पनि छाडिँदैन : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताएका छन् । आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँदै ओलीले चुनावी परिणामले नै गठबन्धन पत्तासाफ हुने दाबी गरे ।

    ‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं’, ओलीले भने’, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ ।’

    भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा गर्दै अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए । उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए । उनले भने– देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।

  • महेश बस्नेतको टिप्पणी- ओली शक्तिशाली सिंह, प्रचण्ड चारमुखे (भिडिओ)

    महेश बस्नेतको टिप्पणी- ओली शक्तिशाली सिंह, प्रचण्ड चारमुखे (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सिंहको उपमा दिएका छन् ।

    भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले ओली बालकोटमा भए पनि बालुवाटारमा भए पनि राजनीति उनकै वरिपरि घुमिरहेको आशय व्यक्त गरे ।

    उनले भने, ‘वास्तममा केपी ओली बालुवाटारमा भए पनि बालकोटमा भएपनि केपी ओली, केपी ओली नै हुन् । केपी ओली सिंह हुन्, सिंह, सिंहदरबारमा जाँदैन । सिंह जहाँ बस्यो, सिंहदरबार त्यही आउँछ भन्ने कुरा आज पुष्टि भएको छ ।’

    केपी ओली बालुवाटारमा वा बालकोट जहाँ भए पनि केन्द्रीय राजनीति ओलीकै वरिपरि रहेको उनको आशय थियो ।

    नेता बस्नेतले हिजो ओलीलाई बार्दलीमा पुर्‍यायौँ भन्नेहरुलाई ६ महिनापछि आफूहरुले जवाफ दिएको बताए ।

    उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चारमुखे भएको आरोप लगाए । एमसीसीका मामलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएको उनको भनाइ छ ।

  • ओलीले भने- पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ? (भिडिओ)

    ओलीले भने- पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ? (भिडिओ)

    काठमाडौं । अहिलेको सत्तागठबन्धनमा आवद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिँदै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, ‘पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ रु एउटा मात्रै गिद्ध धुरीमा बस्दा त राम्रो मानिँदैन, अहिले त पाँचवटा गिद्ध बसेका छन् ।

    भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा गर्दै अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए । उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए । उनले भने– देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।

    आफ्नो सरकारको पालामा व्यापक विकासका काम गरेको भन्दै उनले एमालेको सरकार बनेपछि देशमा फेरि समृद्धिको लहर आउने बताए ।

  • बागमती सफाइ र वृक्षारोपणमा जुटे पल र पूजा (भिडिओ)

    बागमती सफाइ र वृक्षारोपणमा जुटे पल र पूजा (भिडिओ)

    काठमाडौं । फागुन १३ गतेदेखि रिलिज हुने फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई लिएर नायक पल शाह र नायिका पूजा शर्माको व्यस्तता बढ्दो छ । उनीहरुले प्रचारप्रसारलाई तीव्र तुल्याएका छन् ।

    फिल्मको व्यवसायिक प्रवद्र्धनसहित सामाजिक कार्यमा पनि उनीहरु सक्रिय भएका छन् । शनिबार राजधानीको शंखमूल दोभानमा पुगेर उनीहरुले बागमती सरसफाइ अभियानमा भाग लिए र नदी तटमा वृक्षारोपण समेत गरे ।

    आफूले रोपेको कपुरको वृक्षलाई पूजाले ‘छायाँ’ नाम दिइन् । यतिबेला बागमती सफाइ महाअभियानको ४५८ साता चलिरहेको छ । बागमती किनारमा संचारकर्मीसँग कुरा गर्दै पल र पूजाले बिहेदेखि फिल्मसम्मको गफ गरे ।

    अभियन्तालाई हौसला दिन आफूहरु बागमती सफाइमा आएको पलले बताए । सातामा दुई घण्टा सामाजिक कार्यमा खट्न उनले दर्शकलाई आग्रह समेत गरे । यसअघि बागमती किनारमा आफूले रोपेका बोटलाई बाढीले बगाएको स्मरण गर्दै ती रुखलाई अन्यत्र स्थानमा पुनः रोपिने बताए ।

    २० दिनको लागि म्युजिक भिडिओ सुटिङ र रिलिज रोकेको बताउँदै उनले पूजाको बिहे फागुन १३ गते हुने भन्दै ठ्टटा समेत गरे । ‘म यस्तो गीत गाउँछु २’को प्रवद्र्धनको लागि पल र पूजाले आइतबारदेखि मोफसल दौडाहा थाल्ने भएका छन् । आइतबार पोखरा पुगेर कार्यक्रम गर्ने उनीहरुको तयारी छ ।

  • बुद्ध पूर्णिमादेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने, क्यालिब्रेसन उडानले ल्यायो उत्साह (भिडिओ)

    बुद्ध पूर्णिमादेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने, क्यालिब्रेसन उडानले ल्यायो उत्साह (भिडिओ)

    रुपन्देही । यान्त्रिक परीक्षण उडान शुक्रबारबाट सुरु भएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्ध पूर्णिमादेखि अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

    बिहीबार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबारबाट क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु भएको छ । अब जेठ २ गते परेको बुद्ध पूर्णिमादेखि यहाँबाट व्यवसायिक उडान हुने जनाइएको छ ।

    सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।

    केही साताअघि पर्यटनमन्त्री प्रेम आलेले विमानस्थलको निरीक्षण गर्दै बुद्ध पूर्णिमामा जसरी पनि व्यवसायिक उडान गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिएका थिए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा आईसीबी–टूका व्यवस्थापक इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्यसम्पन्न भइ उपकरणहरु जडान भइसकेको बताए ।

    उनले क्यालिब्रेशनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिए । ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे÷नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको न्यौपानेले बताए ।

    थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्याह्नबाट क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय रुपन्देहीका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए ।

    ‘प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेशन फ्लाइट हुनेछ, यो समयको बीचमा आन्तरिक उडान बन्द रहनेछ । ’ उनले भने ।

    विमानस्थलको भौतिक निर्माण आयोजना (आईसीबी–वान) का प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले नाकाबन्दी, आन्दोलन, निर्माण सामग्रीको अभाव, कोभिड–१९ लगायत विभिन्न कारणले तोकिएको समयमा सोचेअनुरुप काम हुन नसकेको बताए । उनले भौतिक निर्माण तथा उपकरण जडानका सम्पूर्ण काम सम्पन्न भइसकेको बताए ।

    ‘क्यालिब्रेशन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष विमानले शुक्रबारदेखि काम सुरु गरेको छ, उनले भने, ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तयार गरेको मापदण्ड पुरा गर्नुपर्नेछ ।’

    सुरुवाती चरणमा विमानस्थल निर्माण आयोजनाले विभिन्न समस्या झेलेको उनले बताए । यद्यपि सबै सरोकारवालाहरुको आपसी सहकार्यले आयोजना सम्पन्न गर्न सफल भएको उनले बताए ।

  • प्रधानमन्त्रीको प्रतिबद्धता– स्थानीय चुनाव लगत्तै संघ र प्रदेशको चुनाव सम्पन्न गर्छौं (भिडिओ)

    प्रधानमन्त्रीको प्रतिबद्धता– स्थानीय चुनाव लगत्तै संघ र प्रदेशको चुनाव सम्पन्न गर्छौं (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गईरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना सुनाए ।

    ७२ औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै देउवाले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी गरे ।

    देउवाले भने,’हामी स्थानीय तहको चुनाव छिट्टै सम्पन्न गर्न गईरहेका छौं । त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्नेछ । ती सबै चुनावहरुलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकका शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान हामी सबै प्रतिवद्ध हुन आवश्यक छ ।’ प्रधानमन्त्री देउवाले मुलुकको दू्रत गतिका लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको बताए ।

  • प्रधानमन्त्रीले एमसीसी र गठबन्धनमध्ये एक रोज्नुपर्छ : शशांक (भिडिओ)

    प्रधानमन्त्रीले एमसीसी र गठबन्धनमध्ये एक रोज्नुपर्छ : शशांक (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमसीसी र गठबन्धनमध्ये एक रोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले प्रधानमन्त्री देउवसामु एमसीसी पारित गर्ने वा गठबन्धन जोगाउने विकल्प बाँकी रहेको बताए ।

    ‘एमसीसी पारित गर्ने हो भन्ने सत्ता गठबन्धन टुट्ने सम्भावना मैले देखेको छु । प्रधानमन्त्रीजीसँग २ वटा उपाय छन् । कि एमसीसी पारित गर्ने कि त सत्ता गठबन्धन जोगाउने’, कोइरालाले भने ।

    उनले एमसीसीले दिने अनुदान नेपालका लागि आवश्यक रहेको भन्दै संसदबाट पारित गराउनु नै उपयुक्त हुने बताए ।

    एमसीसीमा अमेरिकाको भन्दा नेपालको स्वार्थ रहेको भन्दै कोइरालाले विकासका लागि अनुदान स्वीकार्नुको विकल्प नभएको बताए ।

  • प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै मधेस सरकार सर्वोच्चमा (भिडिओ)

    प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै मधेस सरकार सर्वोच्चमा (भिडिओ)

    जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले विभिन्न तहमा ठूलो संख्यामा प्रहरी भर्नाका लागि गरेको विज्ञापन रोक्न माग गर्दै मधेस सरकार सर्वोच्च अदालत पुगेको छ ।

    प्रहरी भर्ना प्रक्रिया रोक्न आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।

    महोत्तरीको पिपरा गाउँपालिका बस्ने अमृतकुमार मिश्रलाई वारेस बनाई मन्त्री साहले फागुन ४ मा दायर गरेको रिटमा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म रिटसँग सम्बन्धित अन्य कुनै कामकारबाही अगाडि नबढाउन अन्तरिम आदेशको माग गरेका छन् । मुद्दाको पेसी फागुन १० गतेका लागि तोकिएको छ ।

    मन्त्री साहले शुक्रकार जनकपुरधामस्थित मधेस भवनमा आयोजित पत्रकार सम्मेलन गरेर प्रहरी भर्ना रोक्न सर्वोच्चमा रिट दायर गरेको जानकारी दिए । भर्ना खुलाएर प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप र मधेसका जनताको मौलिक हकमा आघात पुर्‍याउन खोजेको उनको आरोप छ ।

    प्रदेशलाई संविधान र कानूनमा सुनिश्चित गरिएका अधिकार दिन अहिलेको अग्रगमनको गठबन्धन सरकार समेत अनिच्छुक र अनुदार देखिएको मन्त्री साहले टिप्पणी गरे । संविधान कार्यान्वयनका लागि सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा संघ, प्रदेश तथा स्थानीय तह अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

    नेपाल प्रहरीले गत माघ १० गते खुला र समावेशी गरी १४६ प्रहरी निरीक्षक, एक हजार ९७१ जना प्रहरी जवान, खुला तथा समावेशी गरी १६३ जना प्रहरी कार्यालय सहयोगी (भान्छे), खुला तथा समावेशी गरेर १० जना प्रहरी कार्यालय सहयोगी (हजाम), खुला तथा समावेशी गरेर १० जना प्रहरी कार्यालय सहयोगी (सिलाइबुनाइ), खुला तथा समावेशी गरेर १० जना प्रहरी कार्यालय सहयोगी (कुचिकार) र खुला तथा समावेशी गरेर १० जना प्रहरी कार्यालय सहयोगी (धोबी) विज्ञापन आव्हान गरेको थियो ।

    हेर्नुस्- रिटको पूर्णपाठ:

  • कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले अनुपस्थित (भिडिओ)

    कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले अनुपस्थित (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ । बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक सुरू भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अनुपस्थित छ ।

    आजको संसद बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) पेस नहुने भए पनि कार्यव्यवस्थाको बैठकमा त्यसबारे छलफल हुने बताइएको छ ।

  • एमसीसीलाई अर्को बैठकबाट निष्कर्षमा पुर्‍याउँछौं : सञ्चारमन्त्री (भिडिओ)

    एमसीसीलाई अर्को बैठकबाट निष्कर्षमा पुर्‍याउँछौं : सञ्चारमन्त्री (भिडिओ)

    काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धनको अर्को बैठकले एमसीसीलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

    आज गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री कार्कीले आजको बैठकमा संक्षिप्त छलफल भएको जानकारी दिए ।

    उनले भने, ‘सार्वभौम संसदमा छलफल गराएर निस्कर्षमा पुर्‍याउने विषयमा आज संक्षिप्त कुराकानी भयो । अर्को बैठक ८ गते बिहान १० बजे बसेर हामी यसलाई निर्णयमा पुर्‍याउँनेछौं ।’

    प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच हिजो भएको छलफल सकारात्मक रहेको समेत कार्कीले बताए । संसदलाई जीवन्त बनाउन प्रमुख प्रतिपक्षी दलको पनि त्यत्तिकै दायित्व र भूमिका हुने भन्दै उनले यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीसँग भेटघाट गरेको बताए ।

    ‘विपक्षी दलको नेताबाट एमसीसी परियोजनालाई निष्कर्षमा पुर्‍याउने प्रधानमन्त्रीको प्रस्तावका बारे सकारात्मक विमर्श भयो,’ उनले भने ।

  • गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने (भिडिओ)

    गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने (भिडिओ)

    काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । एक घण्टा पनि नबसी आइतबार पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् ।

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार फागुन ८ गते बिहान १० बजे पुन: बैठक बस्नेछ ।

    माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट निस्किएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सदनमा एमसीसी पेस गर्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

    नेकपा एसका अध्यक्ष नेपालले भोलि पार्टीको स्थायी कमिटी बैठक तय गरिएकोले त्यतिञ्जेल पर्खन अनुरोध गरेको बताइएको छ । माओवादीले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने अडान दोहोर्‍याएको छ ।

    बैठकबाट नेताहरू उठेसँगै बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूसँग प्रधानमन्त्रीले परामर्श गरिरहेका छन् ।

  • माधव नेपाललाई भेटेपछि प्रचण्डले भने- हाम्रो जोड गठबन्धन जोगाउनमै छ (भिडिओ)

    माधव नेपाललाई भेटेपछि प्रचण्डले भने- हाम्रो जोड गठबन्धन जोगाउनमै छ (भिडिओ)

    काठमाडौं । अमेरिकी सहयता परियोजना (एमसीसी) बारे गठबन्धनमा ‘निर्णायक’ छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा बसे ।

    सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा जसपा नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए । छलफलपछि सुरूमै श्रेष्ठ निस्किए ।

    त्यसपछि निस्किएका एकीकृत समाजवादीका अध्यक्ष नेपाललले संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया मात्रै दिए । उनले भने- ‘के बोल्नु, धेरै बोलेरै बिग्रिएको छ ।’

    नेपालपछि निस्किए माओवादी अध्यक्ष प्रचण्ड । उनले आफूहरूको जोड गठबन्धन जोगाउनमै रहेको बताए ।

    ‘पाँच बजे संयन्त्रको बैठक छ, त्यसको तयारीका लागि छलफलमा बसेका हौं,’ प्रचण्डले भने, ‘गठबन्धनलाई नै कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छ । पाँच दलको बैठकमा छलफल गरेर एउटा निचोड निकाल्नेमै हाम्रो जोड छ । जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’