काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् ।
शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै उनले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए ।
पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताए ।
उनले भने, ‘राष्ट्रिय राजनीतिमा जुन खालका समस्याहरु देखा परेका छन्, यो राष्ट्रिय राजनीति नेशनल पोलिटिक्सको दुई वटा पोलमा परिणत भएको छ । एउटा पोलको लिड नेकपा एमालेले गरेको छ । त्यसले निश्चित एजेण्डाहरु, पोलिटिकल्स स्टाब्लिटीको कुरा, आर्थिक विकास र समृद्धिको कुरा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा, सामाजिक सद्भावको कुरादेश बनाउने सपनाहरुलाई जागृत गर्ने कुरा गरेको छ । नेकपा एमलेले । यो पार्टी प्रचारका लागि होइन, यथार्थ हो । अर्को पोल गठबन्धनको पोल छ । आज राजनीतिभित्र जस्तो खालको विकृति, विसंगति देखा परेको छ । राजनीति क्षेत्रमा देखिएका विकृति, विसंगतिमाथि सबैले खबरदारी गर्नुपर्ने देखिएको छ । राजनीति बिग्रियो भने सबै कुरा बिग्रिन्छ ।’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताका टाउको जोडेर कम्युनिस्ट पार्टीको एकता सफल नभएको भन्दै अब माधव नेपाललाई एमालेमा फर्किन नदिइने प्रष्ट पारेका छन् ।
प्रचण्ड–माधवलाई ढोका बन्द भए पनि उनीहरुको पछि लागेका कार्यकर्तालाई भने एमालेका फर्काउन सबै ठाउँबाट पहल गरिने पोखरेलले बताए । नेकपा एकता भंग भए पनि पार्टी एकताको निरन्तरताको नेतृत्व केपी ओलीले गरेको पोखरेलको दावी छ ।
पोखरेलले भने- आज प्रचण्डसँग एकजना एमाले कार्यकर्ता छैनन् । माधव नेपालसँग पनि पूर्व एमालेमात्रै छन् । तर केपी ओलीको नेतृत्वमा एमाले त हुने नै भए, पूर्व माओवादीको ठूलो पंक्ति वडादेखि केन्द्रसम्म जोडिएको छ । हिजो माधव नेपालसँग गएका मान्छेहरुलाई पनि फिर्ता ल्याएर यो एकताबद्ध पार्टी बनाएका छौं । त्यसैले अधिवेशनका माध्यमबाट हामीले यसलाई नेकपा एकताको निरन्तरताको एमाले भनेका छौं ।
महासचिव पोखरेलले प्रचण्ड-माधवहरु हिजो केपी ओलीविरुद्ध एकजुट भएको पदका लागिमात्र रहेछ भन्ने उनीहरु अहिले अलग अलग समूहमा बाँडिनुले पनि पुष्टि भएको बताए । पोखरेलले माधव नेपाललाई फेरि एमालेमा नल्याइने दोहोर्याए ।
पोखरेलले भने- माधव नेपाललाई फेरि यो पार्टीमा ल्याइँदैन, टाउको जोडेर पार्टी सफल नहुने रहेछ । तर कार्यकर्तालाई फिर्ता ल्याउने हो, माओवादीमा पनि प्रचण्डको भुलभुलैयामा रहेका बाँकी कार्यकर्तालाई नेकपाको निरन्तरताका रुपमा एमालेमा समाहित गर्ने हो ।
अर्को एक प्रसंगमा महासचिव पोखरेलले एमसीसीका नाममा नेकपाकालमा केपी ओलीविरुद्ध राजनीति गरेका प्रचण्ड–माधवलाई नै एमसीसीको भारी बोकाउन एमाले सफल भएको बताए । जसले विरोध गरेका थिए उनीहरुले एमसीसीको नाममा राजनीति गर्न नपाउनेगरि एमसीसीको भारी बोकाइदिएको पोखरेलले दावी गरे ।
पोखरेलले भने- एमसीसीको भारी प्रचण्ड माधवलाई नै बोकाइदियौं । जसले सम्झौता गरेका थिए उनीहरुले नै पारित गरे । जनतालाई भ्रम सिर्जना गर्ने नाटक पटाक्षपेप । त्यो एमसीसीको भारी बोकाएर संसद भवनभित्र प्रवेश गराइदिनु हाम्रो सफलता हो । जहाँसम्म व्याख्यात्मक टिप्पणी छ,त्यो त प्रचण्ड माधवहरुले सिर्जना गरेका भ्रमहरु आफैंले सोहोर्ने उनीहरुको लाज छोप्ने टालोमात्र हो ।
पोखरेलले एमसीसीका नाममा राजनीति गरेर एमालेविरुद्ध षडयन्त्र गर्नेहरुलाई मज्जाले सुताउन सफले बताएको बताए ।
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका एकथरी नेताहरुको बैठक बसेर आगामी चुनावमा एक नम्बरमा झलनाथ हराउने निर्णय गरेको आरोप लगाएका छन् ।
नेकपा एसको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खनालले एमालेले पनि आफ्नो निर्वाचन क्षेत्र इलामबाटै केपी ओलीको उपस्थितिमा अभियान सञ्चालन गर्न लागेको बताए ।
खनालले निर्वाचनमा कांग्रेसहरु बोरामा पैसा बोकेर आउने भन्दै अहिले कांग्रेस नेताहरुले सबै ठाउँमा जित्ने दावी गर्नुमा पनि पैसाको धाकमात्र रहेको बताए । उनले एमालेले पनि पैसाको बोरा लिएर जाने बताए ।
खनालले भने- कांग्रेस बोरामा पैसा बोकेर जान्छ । केही कांग्रेसको धाक त्यहि हो । तर प्रधानमन्त्री एकताबद्ध भएरै जानुपर्छ भन्दै हुनुहुन्छ । कांग्रेसभित्र दुईटा धार छन्, नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ । जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने,सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ । हारिन्छ भनेर डराउने कुरा छैन । अर्को चुनावमा पक्का जित्छौं,अहिले तयारी गरौं । कांग्रेसका केही नेता बसेर एक नम्बर एकमा झलनाथ खनाल हराउने भने । एमालेको अर्को बैठक गरेर कहाँबाट क्याम्पेन गर्ने भन्दा इलाम १ बाट । केपी ओली ६ गते जाँदैछन् ।
खनालले पैसा लिएर जानेहरुलाई ठाउँ ठाउँ लखेट्नुपर्ने बताए । खनालले सिट जित्ने कुरालाई दोस्रो प्राथमिकता दिएर पहिलो प्राथमिकता बिचारमा दिनुपर्ने बताए ।
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय समिति र जनवर्गीय संगठनका नेताहरुले पूर्णकालीन रुपमा पार्टीको काम गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
संघीय परिषदको शनिवार शुरु भएको पहिलो बैठकमा पेश गरेको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भट्टराईले जसपामा व्यक्ति होइन पद पूर्णकालीन हुनुपर्ने प्रस्ताव राखेका हुन् ।
जसपा पूरै कार्यकर्ता आधारित भेनगार्ड (अग्रदस्ता) पनि नभएको र मास बेस पार्टी पनि नभई स्वयंसेवी अभियन्ताको अनुशासित पार्टी हुनुपर्ने भनेका छन् । त्यसैले पार्टीका जिम्मेवारीमा रहेका व्यक्तिहरु निजी काममा नलागी पूरै समय पार्टीमै खट्नुपर्ने उनको प्रस्ताव छ ।
त्यस्तै प्रादेशिक र स्थानीय पार्टीका पदाधिकरीले पनि पूर्णकालीन सरह समय दिनुपर्ने भन्दै उनले पार्टीको महत्वपूर्ण पदमा पनि रहने र निजी तथा व्यक्तिगत काममा नै व्यस्त रहने हो भने पार्टी कामले गति नलिने बताएका छन् ।
२३ लामो प्रतिवेदनमा उनले जसपाले एक गैर भौगोलिक सहित ११ प्रदेशको संघीयताको एजेण्डालाई अझ बलियोसँग उठाउनुपर्ने बताएका छन् ।
बाबुरामको प्रतिवेदनको पूर्णपाठ यस्तो छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै ताकत र खुट्टामा उभिएर चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकता दिएको बताएका छन् ।
नुवाकोटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तालमेल गर्दा सत्ता गठबन्धनकै बीचमा गर्ने नीति रहेको समेत प्रष्ट पारे ।
अध्यक्ष प्रचण्डले भने,’अब पार्टी पूरै चुनावमा केन्द्रित भएको छ । हामी आफ्नै खुट्टामा उभिएर,आफ्नै ताकतमा जित्ने कुरालाई उच्च प्राथमिकतामा राखेका छौं । कसैसँग तालमेल गर्ने स्थिति भएमा त्यसमा पनि ध्यान दिने र तालमेल गर्दा गठबन्धनकै बीचमा गर्ने नीति छ ।’
एमसीसीका कारण कतिपय नेता कार्यकर्ताले पार्टी छाडेकोमा प्रचण्डले त्यस्तो गर्नुपर्ने अवस्था नरहेको बताए । उनले माओवादीका कारण एमसीसी जस्ताको तस्त्ै पारित नभएको र देश पनि दुर्घटनाबाट जोगिएका बताए ।
प्रचण्डले कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट लगायतले माओवादीले एमसीसी पारित गरेको भनेर एमाले प्रवेश गर्नु आफैंमा उदेकलाग्दो कुरा भएको बताए । जसले एमसीसी जस्ताको तस्तै पारित गर्न चाहेको थियो त्यो पार्टीमा जानु पलायनवादीहरुको चरित्र रहेको बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरुले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरेका छन् ।
नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनतामा जाने कुरालाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताए ।
अध्यक्ष ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दावी समेत गरे । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने बताए ।
ओलीले भने,’यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्,भागेर कहाँ जान्छौ रु चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं । परमादेशबाट एमालेलाई हटाइयो,अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो,यो भेल अगाडि आउँदैछ निर्वाचनको माध्यमबाट ।’
अध्यक्ष ओलीले दिनहुँ पार्टी प्रवेशको लहर चलेको र आजै पनि वारामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितलाई प्रवेश गराउने आफू जान लागेको बताए ।
उनले वीरगन्जका मेयर पनि एमाले प्रवेश गर्न लागेको भन्दै आउने चुनावमा एमालेले भेल सिर्जना गर्ने दावी गरे । ओलीले मुद्दा लडेर ल्याएको संसदले भत्ता खानेबाहेक केही काम गर्न नसकेको बताए ।
काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ रिलिज भएको छ ।शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् ।
रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ ।
कार्यक्रममा बोल्दै महानायक हमालले आफु गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । हमालले आफुले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनत पछि यो गीत तयार भएको बताए ।
कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफुले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए ।
नायक हमालले भने, ’कुनै नराम्रो शहरमा पनि केहि न केहि सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केहि पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थान समेत छैन । यसतर्फ कसैको ध्यान छैन । केहि न केहि त हुनुपर्छ शहरमा भनेर मैले व्यंग्य गरेको हुँ’।
कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिती थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफुलाई पहिले थाहा नभएको बताइन् । गीत हेर्दा रमाईलो लागेको बताउँदै उनले यो गीत गाउन आफुले प्रेरित गरेको सुनाईन् ।
पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने ? भन्ने प्रश्न उठाउँदै अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूराना राजनीतिज्ञ स्वर्गी राजेश्वर देवकोटाको भनाई स्मरण गर्दै सर्वोच्च अदालतको परमादेशबाट गोरुले अहिलेको सत्ता गठबन्धन नामक पाँचवटा बाँच्छा पाएको टिप्पणी गरेका हुन् ।
ओलीले भने– तपाई परमादेशको समर्थन गर्ने कि जनादेशको ? सबैलाई खुसी पार्न सकिँदैन । परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन,त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगार्देको थियो त्यो सरकारले ? खासमा त्यो इमेलले वर्गीय दुराग्रह झल्काउँछ ।
अध्यक्ष ओलीले संसदले सरकार बनाउने अधिकार समेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताए । मुद्दा मामिलाबाट सरकार बनाउने जाली फटाहाको राजनीति एउटा र जनादेशमा आधारित राजनीति अर्को दिशामा रहेको उनले बताए ।
ओलीले भने– देशको अर्थतन्त्र ध्वस्त हुँदैछ । देशको राजनीति विग्रन नदिन कति हाामीले बलिदान दिने ? अब बलिदान दिने होइन,संघर्ष र दबाबबाट सुधार गर्नुपर्छ । निर्वाचनको माध्यमबाट नै गर्छाैं । सडकमा गइरहनुपर्ने धेरै अवस्था पनि छैन । हामी निर्वाचनबाटै ठेगान लाउन सक्छौं,किनकी महान जनताको साथमा हामी छौं ।
काठमाडौं । बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री विश्वेन्द्र पासवानले केही दलहरुलाई मात्रै ‘राष्ट्रिय दल’ को मान्यता दिइनु गलत रहेको बताएका छन् ।
स्थानीय निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा पासवानले ‘कांग्रेस, एमाले, माओवादी लगायतका केही दल राष्ट्रिय हुने र अरु दल अराष्ट्रिय हुने हो ?’, भनी प्रश्न गरेका हुन् ।
बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग बोल्दै पासवानले सबै दलले राष्ट्रिय दलको मान्यता पाउनुपर्ने, उम्मेदवारले गर्ने खर्चको सीमा घटाउनुपर्ने लगायतको माग राखेको बताए ।
‘आयोगले विभिन्न विषयमा छलफल गर्ने भनेर बोलाएको रहेछ । हामीले पनि आफ्नो कुरा राख्यौं । चार वटा पार्टी राष्ट्रिय हुने अरु चै नहुने कुराको विरोध गर्यौं । उम्मेदवारले बढी खर्च गर्न नपाउने गरी आचारसंहिता ल्याउन माग गर्यौ’, पासवानले भने ।
बैठकमा स्थानीय निर्वाचनमा सेना परिचालनको कुरा उठेपनि आफूले त्यसमा असहमति राखेको पासवानले बताए ।
काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई स्वागत गरेकी छन् ।
शुक्रबार त्रिभुवन विमानस्थल पुगेर मन्त्री रेग्मीले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर पुगेर फर्किएका समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहलाई स्वागत गरेककी हुन् ।
सो क्रममा मन्त्री रेग्मीले जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वलाई सन्देश दिनु सकारात्मक बिषय भएको बताइन् । जलवायु परिवर्तनले महिलालाई पारेको असरबारे गराइएको ध्यानाकर्षणप्रति उनले आभार व्यक्त गरिन् । मन्त्री रेग्मीले जलवायु परिवर्तनले निकै असर पारेको भन्दै सबै सचेत हुनुपर्ने धारणा राखिन् ।
त्यस्तै ‘साथसाथै’का अध्यक्ष प्रतिजा कार्कीले बिभिन्न क्षेत्रका ४० जना महिलाको समूहले जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन घोषणापत्र जारी गरेको र कालापत्थरमा नै महिला दिवस मनाउन सफल भएको जानकारी दिइन् ।
मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा महिलाहरुको समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्दै जलवायु परिवर्तनका बिषयमा १० बुँदे घोषणा पत्र जारी गरेको थियो ।
काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युवलाई नियन्त्रण गर्न नभइ व्यवस्थित गर्न नयाँ नियम ल्याइएको बताएका छन् ।
शुक्रबार मन्त्रिरिषदका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताए।
‘यसलाई नियन्त्रण गर्न होइन युवा नियमन र व्यवस्थित गर्नका निमित्त यो नियम कार्यन्वयन गर्छौं,’ सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने, ‘यो नियम लागू भएपछि अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित र समृद्ध बनाउन सहयोग गर्ने छ ।’
युट्युव संचालनका लागि तोकिएको शुल्कबारे भने छलफल गर्न तयार रहेको मन्त्री कार्कीले बताए। उनले भने, ‘पाँच लाख रकमबारे हामी छलफल गर्न सक्छौं तर यो बाटोमा नगइ हामी प्रेस जगतलाई सभ्य र मर्यादित बनाउन सक्दैनौं ।’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित भइसकेपछि अब यस अन्तर्गत हुने पुर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता रहेको बताए । देउवाले नेपालका निर्माण व्यवसायीले पनि यसमा भाग लिन आग्रह गरे ।
देउवाले भने- एमसीसीमा ग्लोबल बिडिङ हुन्छ,नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुस,सफल हुनुस् । म सबैभन्दा बढी खुसी हुनेछ । अन्तर्राष्टिय बिडिङ हुन्छ,यसमा संसारका जो पनि आउन सक्छ ,चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरुहरु पनि धेरैभन्दा धेरै सहभागी हुनुस् ।
देउवाले निर्माण व्यवसायीलाई सहुलियतका लागि सरकारले सार्वजनिक खरिद लगायतका निमावली संशोधन गरेको समेत बताए ।
काठमाडौं । निर्माण व्यवसायीलाई सरकार र मिडियामात्र होइन जनावरले समेत दुःख दिन थालेको भन्दै कांग्रेस सांसद समेत रहेका ठेकेदार जिपछिरिङ लामाले प्रधानमन्त्रीकै सामुन्ने चर्को विरोध गरेका छन् । निर्माण व्यवसायी महासंघको साधारणसभामा लामा आक्रामक रुपमा प्रस्तुत भए ।
प्रधानमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराउँदै लामाले सरकारले निर्माण व्यवसायीको साढे ६ प्रतिशत भ्याट काटेर त्यो रकम नदिई व्यसायीको नाम कालोसूचीमा राख्ने र जरिवानासहित सूचना निकाल्ने काम गरेको भन्दै आपत्ति जनाए ।
उनले भने,’आज हाम्रो साढे ६प्रतिशत भ्याट काटेर सरकारको खातामा हाम्रो ७ अर्ब राखेको छ । उता हामी ३ सय जनाको जरिवाना र नाम निकालेको छ । यो कहिँ हुन्छ रु म प्रधानमन्त्रीज्यूलाई भन्छु, हाम्रो पैसा फिर्ता चाहियो, सरकारको पैसा हामी तिर्छौं । तत्काल निर्णय गर्नु पर्यो । हामीलाई पनि ब्याजसहित चाहिन्छ हाम्रो पैसाको । हाम्रो घरखेत गइसक्यो । ठहिजो मैले डी क्लासबाट सुरु गरेँ,अहिले ए क्लाँसमा छु तर अब डी क्लासमा झर्न लागेको छु । मेरो दुःख कस्ले देख्छ ।’
सांसद लामाले हुँदा हुँदा कुनै जनावर मर्दा समेत निर्माण व्यवसायीलाई हतकडी लगाइन थालेको बताए । उनले हालै चितवनमा निर्माणाधीन सडकको नालीमा परेर गैंडा मरेको दृष्टान्त दिँदै कर्मचारीले गरेको लापरवाहीको दोषी ठेकेदारलाई बनाइएको बताए ।
लामाले भने,’ कर्मचारी जागिर खाएर मोज गर्ने,उसको जनावर सडकमा छाडेर हामीलाई दोष लाउने रु यो कानून संशोधन गर्नुपर्छ,त्यो कर्मचारीको जिम्मामा भएको चिज तलमाथि भए त्यसैलाई कारवाही गर्नुपर्छ । अर्काको चीज ल्याएर हामीले बनाएको सडकमा खस्यो भने हामीलाई कारावही गर्ने रु हामीले सबैको बोझ बोक्नुपर्ने ?’
लामाले बोल्दा निर्माण व्यवसायीहरुले ताली बजाएर समर्थन गरेका थिए । अन्तिममा उनले आफू मन्त्रीको दाबेदार रहेको भन्दै धेरै बोल्दा प्रधानमन्त्री रिसाउने भनेर भाषण टुंग्याएका थिए ।
काठमाडौं ।सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महंगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महंगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् ।
‘आजको महंगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महंगी बढेको हो,’ उनले भने ।
निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोध नगरिएको जानकारी दिएकी उनले बेलैमा आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि अब एक निर्माण व्यवसायीलाई एकपटकमा पाँचवटा आयोजनामात्र दिने गरी कानुन संशोधनन गरिएको बताइन् ।
नियन्त्रण बाहिरका माग राखेर ‘निर्माण व्यवसायी होली डे’ नमनाउन आग्रह गरेकी उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिन् ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले कांग्रेसका सस्तो लोकप्रियताको पछि लाग्ने नेताहरूले मात्रै गठबन्धनको विरोध गरिरहेको टिप्पणी गरेका छन् । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकबीच विहीबार पत्रकारहरूसँग कुरा गर्दै तुलाधरले मुल नेतृत्व भने गठबन्धनकै पक्षमा रहेको दाबी गरे।
‘शीर्ष नेतृत्व पंक्तिले एउटा कुरा गर्ने र दोस्रो पंक्तिका नेताहरूले उत्ताउलो कुरा गर्नु सस्तो लोकप्रियताका लागि मात्रै हो भन्ने कुरा उहाँकै नेताहरूले भन्नुहुन्छ,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र हिजो महाधिवेशनमा जित्नका लागि पनि चर्को नारा, अलि उत्ताउलो कुरा, अर्कालाई खसाल्ने कुरा गर्दा भोट आउँछ भन्ने कुराबाट ग्रसित हुनुहुन्थ्यो । त्यही मनोविज्ञानबाट ग्रसित केही नेताहरू भोलिको निर्वाचनमा आफ्ना पक्षहरूको पल्ला भारी गर्नका लागि यो कुरा उठाइरहेको जस्तो लाग्छ ।’
गठबन्धन आफूहरूलाई मात्रै नभइ कांग्रेसलाई समेत आवश्यक रहेको तुलाधरको भनाइ छ ।
‘गठबन्धनको आवश्यकता हामीलाई मात्रै होइन, गठबन्धनमा आबद्ध सबै दललाई आवश्यकता छ । अरु दलले त्यो चाहना गरेनन् भने त्यो नहुन पनि सक्छ । नेपाली कांग्रेसले चाहेन भने नेपाली कांग्रेस बाहेकको पनि गठबन्धन बन्न सक्छ । त्यो कुरा स्वयं नेपाली कांग्रेसलाई घाटा पनि हुनसक्छ ।’
यद्यपि नेपाली कांग्रेसको मुल नेतृत्व गठबन्धन कायमै गरेर जानुपर्छ भन्ने पक्षमा रहेको तुलाधरको भनाइ छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीबार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।
मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समुहलाई ठुलो बनाएको बताए । नाता पर्नेजति सबैले मृगौला दान गर्न सक्ने उनले स्पष्ट पारे ।
उनले भने,‘मृगौला पीडितले आफुलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो । अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ । नाता पर्नेजति सबैले पाउँछ । मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’
मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनको भनाई छ ।
उनले भने,‘मृगौला दान गर्दा पनि समस्या हुँदैन । मृगौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन् । त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन । दुईवटा मध्ये हामीले एउटा दान गर्दा पनि हाम्रो शरिरमा त्यति ठुलो समस्या आउँदैन र मृगौला फेरेको मान्छेहरुले पनि आफुलाई मन कमजोर बनाएर म बिरामी छु, मेरो मृगौला फेरेको छ भनेर चिन्तित हुनुपर्दैन । अन्य स्वस्थ मानिसजस्तै अथवा अन्य मृगौला नफेरेका मानिसजस्तै मृगौला फेरेको मान्छे पनि उत्तिकै स्वस्थ हुन्छन् र जीवनमा त्यत्तिकै योगदान गर्न सक्छन् । काम गर्न सक्छन् । सिर्जनात्मक सोँच अनुसार अगाडी बढ्न सक्छन् ।’
१० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
काठमाडौं । वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।
फागुन शुक्ल अष्टमीमा ठड्याइएको रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरु हुन्छ । चीर पूर्णिमाको रातमा टुँडिखेल पुयाई दाहगरेपछि होली समाप्त हुन्छ।
यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ ।
फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइँदैछ।
काठमाडौं । गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।
बुधवार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताए ।
नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनैतिक रुपमा आमसहमति बन्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले यस बारेमा पार्टीका शीर्षस्थ नेताहरु र पार्टी अध्यक्षहरुलाई जानकारी गराइने उल्लेख गर्दै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अंगीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताए ।
उनले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताए ।
मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र यो विषय दलीय सहमतिमा लगेर तत्काल टुंग्याउन आवश्यक रहेको बताए ।
मन्त्री बडूले धेरै समय नागरिकहरुलाई नागरिकता बिहीन बनाउनु नहुने भन्दै यसको समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।
नागरिकता विधेयक प्रतिनिधि सभाको राज्यब्यबस्था तथा सुशासन समितिमा २०७५सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने प्रष्ट पारेको छ । गठबन्धन सरकार निर्वाचनसम्म कायम रहेपनि निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरी निर्णय भएपछि मात्रै टुगाे लाग्ने जनाएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले गठबन्धनका बारेमा अहिले धेरै बोल्न आवश्यक नभएको बताए ।
अहिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले नै गठबन्धनको चर्चा, परिचर्चा धेरै नगर्न निर्देशन दिइसकेको उल्लेख गर्दै उनले केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार अगाडि बढ्ने बताए ।
उनले भने, ‘गठबन्धनका विषयमा धेरै बोल्न आवश्यक छैन । जुन बेला निर्वाचनमा उम्मेदवार उठाउने समयमा आउँछ हरेक पार्टीले आफ्नो स्ट्रेन्थ विकनेस प्रस्तुत गर्छन् । सोही अनुसार पार्टीको दृष्टिकोण बन्छ ।’
सबै पार्टीहरुले आन्तरिक ढंगबाट निर्वाचनको तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘सबै पार्टीलाई सँगै जाँदा निर्वाचनमा राम्रो हुन्छ भन्ने लाग्यो भने त्यही निर्णय हुन्छ । एक्लै जानुपर्ने भन्ने भयो भने पनि सोही अनुसार पछि नै निर्णय हुन्छ ।’
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठकबाट एमसीसी अनुमोदन गर्दा जस्तै एकतावद्ध र सर्वसम्मत भएर निर्वाचनमा गठबन्धन गर्ने नगर्ने बारेमा निर्णय गर्ने बताए ।
‘गठबन्धनमा चुनावी तालमेल गर्ने विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्छौं,’ उनले भने, ‘अहिले नै तामेल गर्ने नगर्नेभन्दा अपरिपक्व हुन्छ ।’
२९ फागुनदेखि २९ चैतसम्म पहिलो चरणको अभियानका साथ कांग्रेस चुनावी तयारीमा होमिने उपसभापति खड्काले बताए । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोेकिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले एकमहिने चुनावी अभियानमा केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि बनाएर खटाउने भएको छ ।
कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा ‘घरघर जाउँ कांग्रेस जिताऔं’ अभियानअन्तर्गत सो पार्टीले ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्यहरूलाई प्रतिनिधिका रूपमा पठाउने जानकारी गराएको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसीका बारेमा छरिएको भ्रम निवारण गर्ने, केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा गरेका असंवैधानिक काम र भ्रष्टाचार प्रकरणका विषयमा जानकारी गराउने बताए ।
प्रदेश, जिल्ला र पालिकास्तरका कमिटीहरूलाई संघका कार्यक्रम प्रभावित नहुने गरी घरदैलो अभियान सञ्चालनका लागि कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन दिएको छ ।
प्रवक्ता महतले सरकारले गरेका काम र पार्टीले खेलेको भूमिकाका विषयमा जनतालाई जानकारी गराउन सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यमको प्रयोग गरिने पनि बताए ।
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसकेको बताए ।
यस्तै सम्बन्धित जिल्ला र पालिकामा आवश्यक विकास निर्माणका आवश्यकताहरूलाई जनताको चाहानाअनुसार कार्ययोजना तय गरिने उनले बताए ।
युवाहरूलाई प्रशिक्षण दिँदै मतदानका लागि अभिप्रेरित गरिने उनले बताए ।
‘जनता के सुनाउन चाहन्छन् के अपेक्षा राख्छन्’ भन्ने नाराका साथ अन्तरक्रिया गरिने पनि महतले जानकारी दिए ।
कांग्रेसले एमसीसीको बारेमा स्पष्ट पार्न र भ्रम चिर्न पुस्तक नै छपाएर गाउँ पुर्याउँदैछ ।
काठमाडौं । सत्ता गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले स्थानीय र सबै तहका चुनावमा तालमेल गर्नुपर्नेमा जोड दिएको छ । गठबन्धन नभए आफूहरूको मात्र होइन कांग्रेस पनि अस्तित्व संकटमा पर्ने नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले बताए ।
बैठककै बीचमा पत्रकारहरूसँग कुरा गर्दै तुलाधरले गठबन्धनमा कोही साना वा ठूला दल नरहेको भन्दै सबैको अस्तित्व बराबर हुने बताए । तीनै तहका चुनावमा गठबन्धन भए आफूहरू संकटमा पर्ने भन्दै तुलाधरले तर कांग्रेसलाई पनि गठबन्धन आवश्यक रहेको बताए ।
बैठकमा कांग्रेसभित्र चुनावमा एक्लै लड्ने मत राख्ने नेताहरूलाई समेत मनाएर चुनावमा सत्ता गठबन्धनलाई लैजानुपर्नेमा नेताहरूले जोड दिएका छन् । गठबन्धन गर्दा भन्दा नगर्दा फाइदा हुने केही कांग्रेस नेताको अनुसन्धान आफूले थाहा पाएको सम्मानित नेता झलनाथ खनालले बैठकमा ब्रिफिङ गरेका थिए ।
खनालले बैठकमा भने, ‘कांग्रेसमा दुई धार छ । गगन थापाहरू एक्लै जानुपर्छ भन्नेमा छन् । उनीहरूले अनुसन्धान गरेका रहेछन् । कांग्रेस एक्लै हिँड्यो भने १५५ सिट र गठबन्धनमा जाँदा ७० सिटमात्र जित्ने भन्ने रहेछ । ‘
गठबन्धनलाई जसरी पनि तीनै तहका चुनावमा लैजानुपर्ने नेकपा एसको ठहर रहेको छ । कुन स्थानीय तहमा कसको शक्ति कति छ भन्ने वस्तुगत मुल्यांकन समेत पेश गर्न अध्यक्ष नेपालले निर्देशन दिएका छन् ।
नेपालले बैठकमा भने, ‘सकेसम्म गठबन्धन सबै ठाउँमा मिल्ने हो । नत्र जति ठाउँमा मिल्न सकिन्छ मिलेर जाने । अरुको पोजिसन पनि जानकारी राख्ने मुल्यांकन गर्ने । केही पार्टीलाई हामी नै जित्छौं भन्ने भ्रम छ,त्यो भ्रम तोड्नुपर्छ ।’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपरेको बताएका छन् ।
बुधबारबाट सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको बताए ।
नेपालले भने, ‘हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्यो । उनको कब्जामा पुगिसकेको पार्टीमा रहिरहने अवस्था बनेन । हामीले कि त केपी ओलीको आदेश पालक बन्नुपर्थ्यो कि विद्रोह । त्यसैले हामीले दक्षिणपन्थी अवसरवादी बाटो अस्वीकार गरेको हो ।’
विद्रोहको सुरूआत २०७७ चेत ४ र ५ गते राष्ट्रिय भेलाबाटै भएको उनले बताए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभुत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सम्बद्ध पक्षको प्रतिबद्धतामा जोड दिएका हुन् ।
संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामुलक समाज निर्माणको संकल्प गरेको भन्दै उनले महिलालाई समान वंशीय हक, पैतृक सम्पत्तिमा हक, सुरक्षित मातृत्व र प्रजनन्सम्बन्धी हक प्रदान गरिएको बताए । देउवाले महिला सशक्तिकरणको विषय सबैको साझा विषय भएकाले संघ, प्रदेश र स्थानीय सरकार सबैले पहलकदमी लिनुपर्ने बताए ।
‘नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारको भेदभाव अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामुलक समाज निर्माण गर्ने संकल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ । राज्यको सबै निकायहरूमा महिलाहरुको समानुपातिक, समावेशीतालाई सुनिश्चित गरेको छ’, प्रधानमन्त्रीले भने, ‘महिलाविरुद्ध हुने कुनै पनि विषयको हिंसात्मक कार्य, शोषणलाई दण्डनीय बनाएको छ । देशको मुल कानूनले गरेको समस्त व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंगिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुनु आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले महिलामाथि हुने लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मुल गर्न शून्य सहनशीलताको नीति अपनाइ सरकारले काम गरिरहेको पनि बताए ।
सोलुखुम्बु । विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ ।
समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा आज विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो ।
मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो । घोषणा पत्रमा जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने, जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका परिभाषित गर्न हरसम्भव प्रयास गर्ने, मानव स्वास्थ्य प्रणालीको दिगो व्यवस्थापनका लागि प्रवद्र्धन गर्न अपिल गर्ने उल्लेख छ ।
यसैगरी हिमाली जनता विशेष गरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने, विश्व तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेको चिन्ताबारे ध्यानाकर्षण गराउने, हिमाल, पहाड र तराईमा बसोबास गर्ने लाखौं मानिसलाई अपार सेवा प्रदान गर्ने हिमालयन पारिस्थितिकीय प्रणालीको सुरक्षाको समर्थन गर्ने घोषणा पत्रमा जनाइएको छ ।
‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले वाचन गरेको घोषणा पत्रमा विश्वव्यापी जलवायु न्याय आन्दोलनसँग हात मिलाउन आफ्नो प्रतिबद्धता व्यक्त गर्ने, हिमालयलाई प्रमुख प्रकृतिमा आधारित पर्यटन गन्तव्यको रूपमा प्रवद्र्धन गर्न पहल गर्ने, परिवर्तनशील जलवायुको सामना गर्न कमजोर समुदाय विशेष गरी महिलालाई जागरूकता उत्पन्न गर्न र सक्षम बनाउन प्रतिबद्धता व्यक्त गरिएको छ ।
सो अवसरमा उनले जलवायु परिवर्तनले बढी प्रभावित क्षेत्र हिमालयको कालापत्थरमा जलवायु परिवर्तन र महिला न्यायका विषयमा सरोकारवाला निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन अभियान प्रारम्भ गरिएको जानकारी दिए । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ मूल नाराका साथ प्रारम्भ गरिएको अभियानका क्रममा जलवायु परिवर्तनले विशेषगरी महिलाको जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमासमेत गम्भीर बहस गरिएको अध्यक्ष कार्कीको भनाइ थियो ।
नेपालजस्ता मुलुकले विश्वमञ्चमा आवाज उठाइरहनुपर्छ
समूहमा आवद्ध सहभागीले जलवायु परिवर्तनजस्ता प्रकृतिले उब्जाएका ज्वलन्त समस्याबाट कोही पनि उम्कन नपाउने र समयमै यसको चेतावनीलाई ध्यान दिएनौँ भने नेपाल जस्ता भौगोलिक जोखिममा रहेका मुलुक सबैभन्दा बढी पीडित हुनेबारेमा समयमै सचेत हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले यसका लागि नेपालजस्ता मुलुकहरुले विश्वमञ्चमा यस बारेमा दबाब दिइरहनुपर्ने खाँचो औल्याएका छन् ।
पदयात्रामा प्रारम्भदेखि नै सहभागी सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले जलवायु न्यायका लागि नेपालजस्ता मुलुकले विश्वमञ्चमा आवाज बुलन्द गर्नुका साथै अब कानुनी लडाइँ पनि लडनुपर्ने बेला आएको बताइन् । उनले नेपाल संलग्न भएका अन्तर्राष्ट्रियसन्धि सम्झौता कार्यान्वयनका लागि कानुनी बाटोसमेत खोज्नुपर्ने बेला आएकामा जोड दिएकी छन् ।
वलिउडकी अभिनेत्री मनिषा कोइरालाले जलवायु परिवर्तनका असरबाट महिला बढी पीडित भएकाले यसको समाधानका लागि पहल गर्न महिला एकजुटको आवश्यकता रहेको बताएकी छन् । उनले जलवायु अनुकूलन र न्यूनीकरणका कार्यमा महिलाको योगदान ठूलो रहेको उल्लेख गर्दै आगामी दिनमा यस विषयलाई सार्वजनिक रुपमै उजागर गर्नुपर्ने खाँचो औल्याएकी छिन् ।
संयुक्त राष्ट्र सङ्घको महिलामाथिका सबै विभेद् अन्त्य गर्ने महासन्धिका सदस्य बन्दना राणाले पछिल्लो समय जलवायु परिवर्तनका मुद्दा पेचिलो बन्दै गएको र हाम्रै पुस्ताले विभिन्न विपद् भोग्न बाध्य भएको बताउँदै यसको समाधानका लागि विश्व नै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेकामा जोड दिएकी छन् ।
वन तथा वातावरण मन्त्रालयकी सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा राधा वाग्ले जलवायु परिर्वतनका असर नियन्त्रण गर्न सरकारले अनुकूलन न्यूनीकरणका कार्यक्रमलाई प्राथमकितामा राखेको जानकारी दिइन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेत, राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त यशोदा तिम्सिना, अधिकारकर्मी सरु जोशीलगायत कालापत्थरबाट महिलाको आवाज बुलन्द गरेर विश्वलाई हाम्रो हिमालय पग्लिने क्रम बढेको र त्यसबाट नेपालमात्र होइन, एसियाका अधिकांश जनसङ्ख्या प्रभावित हुने भएकाले त्यसका असरविरुद्ध एकवद्ध भएर जुट्नका लागि आह्वान गरेका थिए ।
कालापत्थर महिला घोषणासँगै आगामी दिनमा ‘साथसाथै’को यो अभियान सातवटै प्रदेशमा पु¥याउने लक्ष्य राखिएको छ । पदयात्राको व्यवस्थापन एलिट एक्सिपिडले गरेको थियो भने उक्त अभियानमा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, एनटिएनसी, युएनडिपी, इसिमोड, डब्लुडब्लुएफ, नेपाल एयरलायन्स, एसियन फर्मासिटिकल्स, नेश्नल रेफेरेन्स ल्याबरोटेरीलगायतको सहयोग रहेको आयोजक संस्थाले जनाएको छ ।
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीलाई सार्वभौमिकतासँग जोड्न नहुने बताएकी छन् ।
मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एमसीसीका आचोजकहरूलाई पनि प्रश्न गरिन् ।
नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधि दुनिँयामा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।
सरकारले स्वीकार गरेर ल्याएको अनुदान सहायतालाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने उनको तर्क छ ।
मन्त्री झाँक्रीले भनिन्, ‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामीभन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरूले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साहे चिन्तित भएको हो त ? त्यसो त नहोला ।’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनुले लेखेको मनुस्मृतिमा छट्टु पण्डितहरूले ४ सय श्लोकहरू थपेर विकृत बनाएको दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एमालेनिकट अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यज्ञवल्क्य र गार्गीको शास्त्रार्थदेखि मनुस्मृतिको सन्दर्भ कोट्याउँदै मुनले लेखेको आधिकारिक श्लोकमा नारीमाथि अत्याचार गर्नुपर्छ भन्ने कुरा नरहेको बताए ।
ओलीले भने, ‘मनुले लेखेकोलाई पछि ४ सय श्लोकहरू थपे पण्डितजीहरूले आफ्नो स्वार्थका लागि । जसले गर्दा मनुस्मृति विकृत भयो, नत्र त्यति विकृत होइन । पछि थपको श्लोकमध्ये ढोलक, गोरु, भैँसी, सूद्र र महिला पिट्न लगायका छन् भन्ने कुरा, आधिकारिक मनुस्मृतिमा कतै थिएन । त्यसको भाषाले थाहा हुन्छ,नक्कली भाषा पछि थपिएका नचाहिने ४ सय श्लोकमा देखिन्छ । पण्डितजीहरुलाई आग्रह गर्छु, छुट्याउनुस् ।’
अध्यक्ष ओलीले धेरैपछि नारीद्वेषी चार सय श्लोक थपिएको भन्दै यसले मनुस्मृति र शास्त्रको बदनाम गरेको बताए । विद्वानले बाटो बिरायो भने खतरनाक हुन्छ र त्यसले समाजलाई पछिसम्म प्रभाव पार्छ भन्ने कुरा यसबाट पनि पुष्टि हुने ओलीले बताए ।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेकोप्रति आपत्ति जनाएका छन् ।
कुन आधारमा त्यो राखिएको भन्दै ओलीले सच्याउनुपर्ने बताए ।
‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे,’ पार्टीनिकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा भने, ‘किन राख्ने ? यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? कुन हिसाबले राख्ने हो ?’
ओलीले थपे, ‘सबैतिर रुखै रुख देखुन् भनेर हरियो राख्ने हो ? यदि निर्वाचन आयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ । हरियो हुँदैन ।’
काठमाडौं । नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।
समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरूको कोर्ष पूरा गरिदिनुपर्ने बताइन् । विद्यार्थीहरू पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्याएको भन्दै तत्काल समस्या समाधानका लागि समितिले निर्देशन दिएको उनको भनाइ छ ।
सभापति घर्तीले भनिन्, ‘विद्यार्थीहरूलाई अतिरिक्त क्लासको व्यवस्था गरेर छुटेको कोर्ष पूरा गराउनुपर्छ । तीन महिना पढाउनु पर्छ भन्ने शर्तबाट अघि बढ्नुभयो भने बच्चाबच्ची पढ्ने स्थिति होला । आफू पढ्नै नचाहेर, जानै नचाहेको भन्ने तर्क पनि हिजोदेखि मैले सुनिरहेको छु । बच्चाबच्ची त्यहाँ पढ्न नसक्ने वातावरण कसरी सिर्जना भयो, भन्ने कुरा, अतिरिक्त फी लियो । होस्टेल अनिवार्य बनाइदियो । यो कारणले गर्दा उनीहरुलाई टर्चर भयो । त्यसकारण उनीहरु यो हदसम्म आइपुगे ।’
सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनुपर्ने जोड दिइन् ।
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडूले संसदलाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताए ।
संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भिरतापूर्वक लिएको बताए ।
सर्वोच्च अदालतले पनि संसद पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए । मन्त्री बडूले अर्लि इलेक्शनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे ।
उनले भने, ‘उहाँहरुले नाम पनि दिनुभाछ । हुन्छ र हुन्नको प्रक्रियामा पनि उहाँहरु यद्यपी नाराबाजीमा हुनुहुन्थ्यो र बोल्नुभएन । तर समर्थन छ । त्यसकारण बहुमतका साथ यो पारित भएको छ । नाम दिनुभएको छ । अब प्रक्रिया अगाडी बढ्छ ।’
मन्त्री बडूले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गरे ।
यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पु¥याउनका लागि भूमिका खेल्न सो समितिमा नाम दिएको बताएका छन् ।
उनले स्थानीय तहको निर्वाचन सार्नको लागि अर्लि इलेक्शनको कुरा उठाइएको पनि बताए ।
उनले भने, ‘यो महाअभियोगको प्रक्रियालाई ठिक ढंगले उपयुक्त निष्कर्षमा पुुर्याउनका लागि हामीले भुमिका खेल्न भनेर संसद सचिवालयलाई नाम दिएका हौँ । त्यो नाम आज हामीले उपलब्ध गराएका छौँ । संसदका समितिका बैठकहरुमा अहिलेपनि हामी भाग लिइरहेका छौँ । त्यसैले आजबाट यसमा संलग्न भएको भन्ने होइन । आजै पनि यो समिति पारित भइरहँदा हामी प्रतिनिधि सभाको बेलमा नारा लगाइरहेका थियौँ ।’
उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानून र अभ्यास बमोजिम अगाडी बढी महत्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताए ।
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधामा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरेको छ ।
मञ्चको छनोट समितीले यस विधामा टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई मनोनयन गरेको हो ।
मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थक मतदान गर्नेछन् ।
धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषित गरिनेछ ।
मनोनयनमा पर्ने खेलाडीलाई समर्थकले विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत मतदान गर्न सक्नेछन् ।
समर्थकको ५० प्रतिशत मतभार हुनेछ । त्यस्तै समर्थकले एनएएजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेजमा गई मन पर्ने खेलाडीको तस्बीरमा लाईक गरेर पनि मत दिन सक्नेछन् । चैत ७ गते राती १२ बजेसम्म मतदान गर्न पाइने छनोट समितीका संयोजक गोविन्द रेग्मीले बताए ।
सामाजिक सञ्जाल फेसबुक पेजमा आएको लाइकको मतभार २५ प्रतिशत रहनेछ । त्यस्तै २७ खेलका प्रमुख प्रशिक्षक र खेल पत्रकारले दिने मतको मतभार समान १२.५ प्रतिशत हुनेछ ।
मञ्चले यसअघि नै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १८औं संस्करणलाई दशक अवार्डका रुपमा खेलाडीलाई सम्मान गर्ने घोषणा गरिसकेको छ ।
अन्य विधामा दशक अवार्डबाट खेलाडी सम्मानित हुने भए पनि पिपल्स च्वाइसलाई नियमित अवार्डका रुपमा राखिएको संयोजक रेग्मीले जानकारी दिए ।
काठमाडौं । नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् । उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे ।
उनले भने, ‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलवाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो । किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जिविका जस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद भनेको देशमा उत्पन्न समस्याहरुको निकास दिने महत्वपूर्ण थलो हो ।’
सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।
उनले भने, देशको कार्यपालिका, व्यवस्थापिका संसद, न्यायपालिका सारा अलपत्र गर्ने काम जुन गरिएको छ यो मलाई लाग्छ नेपाल राष्ट्रलाई कमजोर बनाउने कतैबाट सुनियोजित खेल त भइराख्या छैन भन्ने कहिलेकाहीँ मनमा शंका लाग्छ ।’
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले संसद चल्न नदिएर आफूहरुलाई दुःख दिने काम गरिरहेको भन्दै यस्तो अवस्था रहे संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्ने बताएका छन् ।
संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने- केपी ओलीको एमालेले संसद पनि चल्न नदिने, गञ्जागोल कायम राख्ने, हामीलाई पनि दुःख दिने काम गरिरहेको छ । यस्तो अवस्थामा संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु उत्तम हुन्छ भनेर कुरा आएको छ । संसद नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ ।
तर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन साउन भदौमा गर्न असम्भव रहेको भन्दै त्यो सम्भावना नरहेको बताए ।
काठमाडौं । प्रतिनिधिसभाले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
समितिमा सबैभन्दा ठूलो दल एमालेबाट चारजना सदस्य छन् भने कांग्रेसबाट दुईजना, माओवादीबाट दुईजना, नेकपा एसबाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना रहेका छन् ।
महाअभियोग सिफारिस समिति एमाले
१. विष्णु पौडेल
२.लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा नेकपा एस
९. कल्याणी खड्का लोसपा
१०. एकवाल मियाँ जसपा
११. प्रमोद साह
काठमाडौं । तनहुँस्थित दमौलीमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । बिहान १० बजेदेखि लागेको आगो अझै नियन्त्रणमा नआएपछि हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास भइरहेको तनहुँका पत्रकार नारायण खड्काले जानकारी दिएका छन् ।
दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्युनतम सुविधासमेत पाउनबाट बञ्चित बनेका हुन् ।
धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगञ्ज कारागारका जेलर राजकुमार सोनकरले बताए । उहाँले क्षमताभन्दा बढी कैदीबन्दीका कारण लुतो लगायतका सरुवा रोगको समस्या र शौचालयको समस्या हुने गरेको बताए ।
कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौंबस्तामा ३ हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण शुरु गरेको ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको उनको भनाइ छ । जेलर सोनकरले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाई हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको हो ।
कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर भ्याटबाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो । २०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो । तर, यो समयमा कामपूरा नहुँदा सो निर्माण कम्पनी कालोसूचीमा परेको छ ।
अहिले रसुवा निर्माण कम्पनीले एक्लै काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७६ कार्तिक ८ गतेसम्म कारागार भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर अहिलेसम्म करिव ८० प्रतिशत काम मात्रै पूरा भएको छ ।
पटक–पटक म्याद थपेर चैत समान्तसम्म पु¥याइएको तर बाँकी अवधिमा २० प्रतिशत काम पूरा हुने सम्भावना कम रहेको बताउँछन् संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्ज, बाँकेका इन्जिनियर सुदिप भा । उनले कारागार व्यवस्थापन विभागले निर्माण कार्यलाई तीब्रता दिन निर्माण कम्पनीलाई ताकेता गर्दै आएको पनि बताए ,।
बाँकेमा मात्रै नभएर देशभरका कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी छन् । कारागार व्यवस्थापन विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कारगारको क्षमता करिव १६ हजार छ । तर नयाँ कारागार भवन निर्माण नहुँदा क्षमता भन्दा झन्डै दोब्बर बढी कैदीबन्दी राखिएको छ ।