काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारवादी प्रवृत्ति सत्तामा पुगेपछि फस्टाएर गएको टिप्पणी गरेका छन् ।
पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले बालुवाटारमा हुँदा ओलीले बंकर बनाएर प्रधानन्यायाधीश चोलेन्द्रसँग बारम्बार भेट्दै संसद विघटन र त्यसपछिका योजना तयार पारेको दाबी गरेका छन् ।
उनले भने, ‘संसद विघटन गर्छु भन्ने ओलीको दिमागमा पहिलेदेखि थियो, बालुवाटारमा बंकर बनाएर ओली चोलेन्द्रसँग बारम्बार भेट गर्थे । कुन न्यायाधीशलाई कहा-कहाँ पुर्याउने, कोही बोल्यो भने अदालत आफ्नै छ निर्वाचन आयोग आफैं छु । सम्पत्ति शुद्धीकरण लगाउँछु तह साइबर स्याल लगाउँछु भन्ने उनको योजना थियो ।’
सम्बोधनको अधिकांश समय ओलीविरुद्ध खर्चिएका नेपालले मुलुकमा परिवर्तन ल्याउने उद्देश्य भन्दा पनि हावादारी कुरा गरेर वरिपरि ‘एस म्यान’ राखेर कम्युनिष्टहरूको आवरणमा तानाशाही निस्किएको टिप्पणी गरे ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरेकी छन् ।
गैरआवसीय नेपाली संघ (एनआरएन) को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन खेलेको भूमिकाको प्रशंशा पनि गरिन् ।
‘गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र धनलाई मुलुकको हितका लागि उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ होटल हिमालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले भनिन्, ‘नेपालको कला, संस्कृतिलाई विश्वसामू चिनाउन गैरआवसीय संघले खेलेको भूमिका प्रशंशनीय छ ।’
कोभिड महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको र यसले निरन्तरता पाउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोडसमेत गरेकी छन् ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमाले दुई-तीन सिटमा समिति हुने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले दुई तिहाइ नभई त्यसको उल्टो दुई–तीन सिट जित्ने दाबी गरेका हुन् ।
उनले केपी ओली नेतृत्वको एमाले गुट मात्र भइरहेको तर्क गरे । उनले हाल एमालेले गर्न सक्ने सम्भावित गठबन्धनका दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे । उनले पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद नै भएको बताए ।
यस्तै खनालले छोटो समयमै आफ्नो पार्टी राष्ट्रव्यापी भएको दाबी गरे ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी फुटिहाले त्यसैले जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेसजनलाई सचेत गराएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवा गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरूप्रति आक्रोशित बने ।
देउवाले माओवादीलाई गठबन्धन गरेर नलाने हो प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने त्रास समेत देखाए । देउवाले एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टको धेरै ठूलो संख्या रहेकाले गठबन्धन आवश्यक भएको बताए ।
सभापति देउवाले भने–गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ,केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले ।
देउवाले कांग्रेसलाई बलियो बनाउन र कम्युनिस्ट मिल्न नदिन गठबन्धन आवश्यक रहेको दोहोर्याए ।
कार्यक्रममा शेखर कोइराला पनि थिए । कोइरालाले भने गठबन्धन गर्दा कांग्रेस आइको अवस्थामा पुग्ने चिन्ता व्यक्त गरे । उनले कांग्रेस मिले मात्र पनि जितिने बताए ।
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे कांग्रेसमा बहस चलिरहेका बेला शनिबार सभापति शेरबहादुर देउवा र शेखर कोइराला एउटै मञ्चमा देखिए । उनीहरुबीच मञ्चबाटै गठबन्धनलाई लिएर सवाल जवाफ चलेको थियो ।
बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औँ वार्षिक साधारण सभामा सभापति देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताए ।
देउवाले आफ्नो कर्तव्य भनेको नै पार्टीलाई जिताउनु भएको भएको भन्दै गठबन्धनको कुरा गरेर आफूले केही नबिगारेको बताए ।
अहिले पनि नेकपा एमाले बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना रहेको देउवाले बताए । बिपी र सुवर्णसमशेर देखि नै पार्टी भित्र गुट रहेको भन्दै देउवाले तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने तर्क गरे ।
कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको आफ्नै बिचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने बताए । गठबन्धनका कारण कांग्रेसको अवस्थामा भारतीय कांग्रेसकै जस्तो हुन्छ की भन्ने आशंका पैदा भएको उनको उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनमात्र होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल एकजुट भएर आए पनि एमाले एक्लै भिड्न र जित्न सक्षम रहेको दाबी गरेका छन् ।
एमालेको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै भिड्छु भन्ने आँट अब कांग्रेसमा पनि नरहेको बताए । त्यही भएर सभापति शेरबहादुर देउवाले प्रदेश सभापतिहरूलाई हप्काएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले भने- राम्रो कुरा हो एक्लै एमालेसँग भिड्छु भन्ने आँट कसैले गर्न सकेका छैनन् । अरूको त के ल्याकत भयो र कांग्रेसले पनि नसक्ने भनेर हात उठायो । प्रदेश सभापतिहरूले गठबन्धन नगरौँ एक्लै जाऊँ भन्दा देउवाजीले नचाहिने कुरा गर्ने ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छ ? त्यसैले तालमेल गर्नुपर्छ भन्नुभएछ । उहाँले टुप्पाबाट बसेर हेर्दा एमालेका पाखुरा देख्नुभयो र छक्क परेर तालमेल गर्नुपर्नेमा पुग्नुभयो ।
ओलीले सत्ताको धुरीमा बसेर देउवाले जताततै एमाले देखेपछि गठबन्धनको सहारा खोजेको दाबी गरे । उनले एमाले देश भरी एक्लै जित्न सक्षम रहेको भन्दै कसैले हराउने कुरा नचिताए हुने बताए ।
ओलीले भने– देउवाजीले टुप्पोमा बसेर हेर्दा देशै भरी एमाले मात्र देख्नुभयो । एमालेको मसल देख्नुभयो । एक्लै त कसैले नचिताए हुन्छ,पाँच वटा होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलाएर आए पनि केही फरक पर्दैन ।
अध्यक्ष ओलीले गठबन्धनसँग चुनावी एजेण्डा केही नभएकाले एमाले सरकारका कामको भण्डाफोर गर्ने भनेर हिँडेको आरोप लगाए ।
ओलीले भने– भण्डाफोर के को गर्ने ? जनकपुर जयनगर बर्दिबास रेलको लिक किन राखेको ? रेल किन चलाएको भनेर भण्डाफोर गर्ने हो ? अन्तरिक्ष कक्षमा नेपालको आफ्नै स्याटलाइट किन पठाएको ? समुद्रमा किन हक स्थापित गरेका भनेर भण्डाफोर गर्ने ? कि देशभर सबै पालिकामा अस्पताल किन बनाएको भनेर भण्डाफोर गर्ने ?
ओलीले आफूहरुले सरकार छाडेपछि मुलुक आर्थिक रूपमा टाट पल्टिएको आरोप समेत लगाए ।
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् । एमाले, कांग्रेस र माओवादीप्रति आक्रोशित हुँदै उनले यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध नगर्न नसकेको र राप्रपालाई पाँच वर्ष काफी हुने बताएका हुन् ।
राजधानीमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्याइदिन जनतासँग आग्रह गरेका छन् । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको पनि उनको भनाइ छ ।
उनले जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्नुपर्ने धारणा राख्दै एमाले, कांग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको ठोकुवा समेत गरे ।
‘शेरबहादुर देउवालाई कति पटक वा कति वर्ष थपिदियौँ भने देश बनाउन सक्षम हुनुहोला? कोही कांग्रेसीजनले भन्न सक्छ? शेरबहादुर देउवालाई ५ वर्ष दियौँ भने यो देश बन्छ? अथवा केपी ओली, प्रचण्ड?’, लिङ्देनले प्रश्न गरे, ‘उहाँहरूलाई कति वर्ष र कति कार्यकाल दिँदा यो देश बन्छ होला? यसकारण मैले भन्छु तपाईंहरूलाई कि अब बेला आयो ।’
उनले तीन दलबाट देश बन्ने कुराको आशा राख्नु साँडेको टाङमुनि बाल्टी थापेर दुधको चाहनु जस्तै भएको उनले टिप्पणी गरे ।
काठमाडौं । अनमोल केसीको फिल्म यसै पनि प्रतीक्षित हुन्छ । त्यसमाथि सुनिल कुमार थापाको हिट सिरिज ‘ए मेरो हजुर’ को सिक्वेल । आम दर्शकको चासो हुने नै भयो । आउँदो वैशाख १ गते प्रदर्शनमा आउन लागेको यो फिल्मले कस्तो व्यापार गर्ला त ?
निर्माता सुनिल भने केही नर्भस देखिएका छन् । ए मेरो हजुर ४ सँगसँगै एउटा भारतीय चलचित्र पनि रिलिज हुने कुराले उनलाई भित्रभित्रै अत्त्याएको रहेछ । उनको यस्तो मनोदशा हिजो आयोजित ट्रेलर रिलिज कार्यक्रममा पनि प्रकट भयो । उनले ९ सय करोडको फिल्मसँग ३ करोडको फिल्मले प्रतिस्पर्धा गर्नुपर्ने भएको गुनासो गरे । यति मात्र होइन, उनले यसलाई नेपाल र भारतबीचको फुटबल म्याचसँग तुलना समेत गरे ।
‘अरू त केही छैन, तर मलाई एउटै डर छ । ९०० करोडमा बनेको चलचित्र नेपालमा ३ करोडमा बनेको चलचित्रसँग भिड्दै छ । मलाई यस्तो लाग्दै छ, नेपाल र इन्डियाको फुटबल म्याच हुँदै छ १ गते,’ थापाले भने ।
उनले थपे, ‘हाम्रै रङ्गशालामा फुटबल भयो भने हामी कसरी जान्छौँ नेपाली झण्डा बोकेर, नेपाली मन लिएर । त्यो (भारत) बलियो भए पनि एक गोल त छिराउँछु छिराउँछु भनेर जान्छौँ नि । त्यही गर्ने आँट छ मलाई । तपाईँहरूको साथ र सहयोगको अपेक्षा गरेको छु ।’
सुनिलले यसो भने लगत्तै अनमोलले माइक मागे र उनलाई हौसला दिए । आफू अभिनीत चलचित्र ‘क्याप्टेन’ को मुख्य पात्र ईशान खड्कालाई उनले सम्झिए ।
अनमोलले सुनिललाई भने, ‘दाइ फुटबल म्याचजस्तो भयो भने पनि डराउनु पर्दैन, किनभने तपाईँसँग नेपालको टिमबाट खेल्न क्याप्टेन ईशान खड्का छ ।’
अनमोलले ए मेरो हजुर ४ एउटा उत्कृष्ट चलचित्र बनेको भन्दै दर्शकले नाक खुम्च्याउन नपर्ने बताए ।
सार्वजनिक गरिएको ट्रेलरमा चलचित्र प्रेम (अनमोल) र आर्या (सुहाना) को प्रेम छचल्किएको छ । चलचित्रमा आर्यालाई नेवारी समुदायकी पात्रको रूपमा चित्रण गरिएको छ । ट्रेलर अनुसार चलचित्रले अन्तरजातीय प्रेममा आइपर्ने चुनौतीहरूलाई देखाउन खोजेको अनुमान गर्न सकिन्छ ।
ट्रेलरमा देखाइएको कोको नामक कुकुर र प्रेम पात्रले आर्याको बुवालाई झपारेको दृश्यहरू हेर्दा बलिउड चलचित्र ‘मैने प्यार किया’ र ‘कबिर खान’को सिनबाट प्रभावितजस्तो देखिन्छ ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले माओवादीले २०७४ सालमा गल्ती भयो भनेर माफी माग्दै विनाशर्त समर्थन गर्ने भने मात्र चितवनमा गठबन्धन हुने बताएका छन् ।
केन्द्रीय कार्य समिति बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कोइरालाले २०७४ को स्थानीय चुनावमा कांग्रेसको भोटबाट जितेर माओवादीले संसदीय चुनावमा एमालेलाई भोट हालेको बताए । कोइरालाले त्यस बेला मेयरमा रेणु दाहाललाई छाडेका थिए ।
सानेपामा कोइरालाले भने– गठबन्धन केन्द्रबाट गरे पनि जिताउने त जिल्लाले होला नि ? भरतपुर मात्र होइन समग्र चितवनमा गठबन्धन हुन्छ भने विगतमा कांग्रेसलाई धोखा दिएको छ । इमानदारीपूर्वक विनाशर्त कांग्रेसलाई सहयोग गर्छौँ भन्छ भने माओवादीसँग सहकार्य हुनसक्छ ।
कोइरालाले आफू व्यक्तिगत रूपमा गठबन्धनको विपक्षमा रहेको र बैठकमा पनि त्यही कुरा राखेको बताए ।
नेकपा र एमाले समेत विभाजन भएको बेलामा पनि कांग्रेस एक्लै नलडे कहिले लड्ने भन्ने प्रश्न कोइरालाले गरे ।
काठमाडौं । उत्तरी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । तीन दिने नेपाल भ्रमणका क्रममा केही बेरअघि वाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका हुन् ।
चिनियाँ विदेशमन्त्री यीलाई परराष्ट्रसचिव भरतराज पौड्यालले विमानस्थलमा स्वागत गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि विमानस्थल पुगेकी थिइन् ।
वाङ सोमबार पाकिस्तान पुगेका थिए । उनी अफगानिस्तान, भारत हुँदै नेपाल आएका हुन् । उनीसँगै भ्रमण दलमा २५ सदस्यीय टोली रहेको बताइएको छ ।
आज उनको कुनै भेटघाट कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिइन् । भोली बिहान वाङले सबैभन्दा पहिले नेपाली समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ताको कार्यक्रम छ । त्यसपछि प्रतिनिधिमण्डलबीच वार्ता हुने कार्यतालिका रहेको छ ।
भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
त्यसपछि केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछन् । यस्तै आइतबार चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।
त्यसपछि पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
काठमाडौं । नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन् ।
शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई जिम्मेवारी हस्तान्तरण गरे ।
पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेटअनुसार निर्वाचन सकिएको तीन महिनाभित्र संगठनको १२ औं महाधिवेशन गर्ने प्रतिबद्धता जनाए ।
विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने शेर्पाको भनाइ छ । आफ्नो कार्यकालमा कुनै पूवाग्रह नराखी संगठनलाई विस्तार र बलियो बनाउने दाबी पनि गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार शेर्पालाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका थिए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलबीच चुनावी तालमेलका लागि कांग्रेसको निर्णय पर्खेर बसेको बताएका छन् ।
उनले एमाले पनि गठबन्धनका लागि आतुर रहेको दाबी गरे । केपी ओली राप्रपासँग तालमेल गर्न खोजिरहेको टिप्पणी गर्दै नेपालले भने, ‘हामीलाई कमजोर छ, त्यसैले तालमेल गर्न मरिमेटी लागेको आरोप लगाउँदैछन् तर केपी ओली पनि गठबन्धन गर्दैछन् । सुटुक्क ज्ञानेन्द्रको निवास पुगेका छन्, राप्रपासँग तालमेल गर्न । विदेशीको दलाली गर्ने पार्टीसँग मिल्न खोजेका छन् ।’
पार्टीनिकट महिला संघको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालमेल गर्ने कुरामा देउवासँग विश्वस्त रहेको बताए ।
‘देउवाले एमसीसीका बेला पनि केपी ओलीले कुरा गर्दा म धोकाको राजनीति गर्दिनँ भन्नुभयो । उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने,‘हामी पार्टीको निर्णय के हुन्छ ? पर्खेर बसेका छौ ।’
यद्यपी जुनसुकै अवस्थाका लागि आफू तयार रहनुपर्ने उनले बताए । ‘देउवाको विश्वास छ, तर केही भन्न सकिन्नँ । आफ्नै बलबुताले चुनाव लड्न तयार रहनुपर्छ,’ उनले भने ।
यसका लागि पार्टीपंति तयार रहेर बस्न उनले निर्देशन दिए । उनले भने, ‘हामी एक्लै लड्न नि सक्छौं । आफ्नै बुताले कहाँकहाँ जितिन्छ, त्यसको पनि हिसाब गरेका छौं । आफ्नो स्थानबाट तपाईंहरू पनि गर्नुस् ।’
गठबन्धन दलहरूबीच चुनाव तालमेल हुनु लोकतान्त्रिक पद्धति रहेको उनले बताए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेकपा एमाले छाड्ने लहर चलेको दाबी गरेका छन् ।
पार्टीनिकट महिला संघले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा आफ्नो पार्टीले ६ महिनामै पाएको सफलता अरुले नपाएको बताए । ‘हामी ६ महिनामै ७७ वटै जिल्ला, अधिकांश पालिका र अधिकांश वडाहरूसम्म फैलिएका छौं । अधिकांश ठाउँमा हाम्रो कमिटी विस्तार भइसकेको छ’, नेपालले भने ।
एमाले छाडेर एसमा आउनेको लहर चलेको भन्दै उनले थपे, ‘अहिले देशभर एमाले छाड्ने लहर चलेको छ, हाम्रो पार्टी प्रवेश गर्ने महाअभियान चलिरहेको छ । अहिले म जहाँ गइरहेको छु त्यहीँ भीड हुन्छ । जहाँका हल पनि साँघुरा हुन्छन्, कुर्ची कम पर्छन् । भुइँमै फम र कार्पेट बिछ्याएर बस्नुपर्छ । हिमाल, पहाड, तराई जताततै भीडैभीड छ ।’
नेकपा एस क्रान्तिकारीधारमा हिँडेको भन्दै उनले एमाले दक्षिणपन्थी बाटोमा भासिएको आरोप लगाए ‘एमाले दक्षिणपन्थी बाटोमा भासिएको छ, हामी अग्रगामी क्रान्तिकारी बाटोमा छौं । त्यसैले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्नेहरू बढ्दै गएका छन् ।’
एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेको एकवर्ष पूरा भएको भन्दै नेता नेपालले पार्टी अझ मजबुत बनाउने संकल्प गरे ।
जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले चुनावी तालमेलमा नेपाली कांग्रेस सहभागी नभए जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग गठबन्धन हुने बताएका छन् ।
जनकपुरधामस्थित नेकपा एसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कांग्रेसका केही नेता गठबन्धनको विपक्षमा रहे पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताए ।
उनले भने, ‘कांग्रेस गठबन्धनको विपक्षमा रहेको पनि भन्न नसकिने अवस्था छ । केन्द्रीय कमिटीको बैठकले आधारभूत निर्णय लिएपछि प्रक्रिया अगाडि बढ्छ ।’
कांग्रेस गठबन्धन नगर्ने निर्णय गरेमा मधेसमा जसपा र माओवादी केन्द्रसँग गठबन्धन हुने उनको दाबी छ ।
‘राजनीतिक स्थिरता, प्रतिगमन विरुद्ध, लोकतन्त्रको पक्ष र संविधानको रक्षाका लागि गठबन्धन बनाएका थियौं’, खतिवडाले भने, ‘अहिले पनि प्रतिगठमनकारीहरू षड्यन्त्र गरिरहेको छ । त्यसैले त्यस्तो षड्यन्त्रकारीलाई परास्त गर्न राष्ट्रका लागि आज पनि गठबन्धनको आवश्यकता छ ।’
राष्ट्रको हितकै लागि दलहरूबीच एकता कायम राख्न एमसीसी सदनबाट पारित गरेको खतिवडाको जिकिर छ ।
उनले भने, ‘यदि राष्ट्रहितविपरीत काम गर्न थाल्यो भने त्यो बेला व्याख्यात्मक टिप्पणी पल्टाउछौं । र, एक महिनाको सूचना निकालेर एमसीसी सम्झौता खारेज गर्छौं ।’
काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले यौनकर्मीलाई तुच्छ दृष्टिले हेर्न नहुने बताएकी छन् । नेपालमा धेरैजसो यौनकर्मी महिला बाध्यतावश यो पेशामा लागेको आफूले पाएको उनको भनाइ छ ।
गायक प्रकाश सपूतको ‘पीर’ गीतका विषयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । सुरक्षाले पीर गीतले यौनकर्मलाई देखाउनु गलत नभएको तर्क गरिन् ।
उनले भनिन्, ‘म आफैंले नेपालका यौनकर्मीको बारेमा अध्ययन गरेको थिएँ । करिब ४० देखि ६० हजार महिला र पुरुषहरू यस व्यवसायमा हुनुहुन्छ । उहाँहरूले बाध्यतावस यो पेशा अंगाल्नुभएको हो । यसलाई हेय दृष्टिकोणले हेरिनु हुँदैन ।’
गीत-संगीतले समाजको चित्रण गर्ने भएकाले ‘पीर’ गीतमा यौनकर्म देखाउनु कुनै आपत्तिजनक नभएको उनको भनाइ छ ।
‘यो पेशा नेपालमा अवैध छ । तर, अवैध कुराहरूलाई कलाकारितामा उठान गर्नुपर्ने आवश्यक हुन्छ,’ उनले भनिन् ।
आफू प्रकाश सपुतको ठाउँमा भएको भए ‘पीर’ गीत सम्पादन नगर्ने उनले बताइन् ।
सुरक्षाले भनिन्, ‘सर्जकले आफ्नो कुरा अरुलाई सुनाउने मात्र होइन, अरुको कुरा पनि सुन्नुपर्छ । त्यही अनुसार प्रकाश सपूतले गीतको भीडिओ सम्पादन गर्नुभएको हो । तर, म उहाँको ठाउँमा भएको भए पुरानो भिडियो हटाउने थिइनँ ।’
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणका समयमा तमोर जलाशययुक्त आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
आयोजना प्रभावित क्षेत्रका जनताको तर्फबाट प्रतिनिधिसभाका सांसदहरू योगश भट्टराई, विजय सुब्बा, भवानीप्रसाद खापुङ, वसन्त नेम्वाङ र राजेन्द्र राईले विहीबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै एमाले नेता तथा प्रतिनिधिसभाका ताप्लेजुङका सांसद योगेश भट्टराईले यसअघिको सरकारलाई पनि उक्त आयोजना अघि बढाउन ध्यानाकर्षण गर्दै आएपनि सोचे अनुरूप काम अघि बढ्न नसकेकाले पुन: ध्यानाकर्षण गरिएको बताए । उक्त आयोजना निर्माण भए प्रदेश १ का साथै सिंगो मुलुकको आर्थिक समृद्धि लागि दिर्घकालीनरूपमा ढोका खुल्ने सांसद भट्टराईको भनाइ छ ।
प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा हुँदै बहने तमोर नदीमा २०५ मिटर अग्लो बाँध बाँधेर ७६३ मेगावाट विद्युत उत्पादन गर्न चीनका राष्ट्रपति सी जिनपिङ नोभेम्बर २०१९ मा भएको नेपाल भ्रमणका क्रममा लगानी बोर्ड र पावर चाइना कर्पोरेशनबीच सम्झौता भएको थियो ।
सम्झौताको समयमा दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरेर ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म लगानीको मोडल निश्चित हुन नसकेको ज्ञापनपत्रमा भनिएको छ ।
काठमाडौं । गायक प्रकाश सपुतले कसैसँग डराएर वा झुकेर आफूले ‘पीर’ को भिडियो डिलिट नगरेको बताएका छन् ।
जनयुद्धपछि माथि उठेको एउटा तप्कालाई टार्गेट गरेर आफूले गीत बनाएको तर, अर्को पिडित समूहले पनि चित्त दुखाएपछि आफू सोच्न वाध्य भएको उनले प्रष्टीकरण दिए ।
सपुतले ‘पीर’ माथि उत्पन्न विवाद र उठेका प्रश्नहरुबारे जवाफ दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यस क्रममा उनले आफू कतैबाट परिचालित नभएको बताए ।
उनले भने, ‘मैले आम मानिसले भोगेको समस्या देखाउन खोजेको हो, आम मानिसको पीर भन्न खोजेको हो । त्यस्ता पिडित मानिसहरुको विगतको कोट्याउँदा यस्तो कथा बन्यो ।’
तपाईंलाई कसैले परिचालित गरेको आरोप छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो जवाफ दिए :
‘म यो समाजबाट परिचालित छु । म मानिसहरुको कथा आम मानिसले भोगेको समस्या र कथाव्यथाबाट परिचालित छु । अरु कुनै शक्तिले मलाई परिचालित गर्न सक्दैन ।’
भिडियो प्राइभेट गर्दैमा गीतको हत्या नभएको उनले बताए ।
‘मैले गीत डिलिट नै गरेर छोडेको भए म कसैसँग डराएको भन्न मिल्थ्यो । यसलाई भावनात्मक हिसाबले सोचिदिनुहोला । मैले जनयुद्धबाट माथि उठेको एउटा तप्काको चित्त दुखाउनै खोजेको थिएँ । तर, जसलाई पिडितको रुपमा देखाएँ उनीहरुले पनि चित्त दुखाएपछि सोच्न वाध्य भएको हुँ । भिडियो सम्पादन भए पनि मैले दिन खोजेको सन्देश यथावत छ,’ उनले भने ।
कार्यक्रममा उपस्थित अभिनेत्री तथा गीतकी कलाकार सुरक्षा पन्तले आफू भए भिडियो डिलिट नगर्ने बताइन् ।
उनले भनिन्, ‘सर्जकले आफ्नो कुरा सुन्ने मात्र होइन, अरुका कुरा पनि सुन्नुपर्छ । यही अरुका कुरा सुनेर प्रकाशजीले गीत हटाउनुभएको हो । तर, उहाँको ठाउँमा भएको भए हटाउने थिइनँ ।’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत क्षेत्रमा ठूलो संकट उत्पन्न भएको भए पनि लोडसेडिङ नहुने प्रत्याभूति गरेका छन् । यो संकट लामो समय नरहने भन्दै लोडसेडिङको ‘मिस इन्फर्मेसन’ नदिन मिडियालाई आग्रह गरे ।
आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘यो कहिलेकाहीँ उत्पन्न हुने संकट हो । ग्लोबल क्राइसिसका कारण नेपाललाई पनि अलिकति असर परेको छ । तर, हामी कुनै हालतमा लोडसेडिङ गराउँदैनौं । हामी अरु देशभन्दा राम्रो अवस्थामा छौं ।’
कुलमानले प्राधिकरणले विजुलीको मूल्य नबढाउने बताए । प्राधिकरणले महंगोमा किने पनि पुरानै मूल्यमा उपभोक्तालाई बिक्री गर्ने उनको भनाइ छ ।
यो संकट बढीमा डेढ महिना चल्ने उनले अनुमान गरे । त्यसपछि आफ्नै विजुली पर्याप्त हुने घिसिङले बताए । ‘वर्षभरिको औसत गर्दा हामीलाई धेरै ठूलो असर पर्दैन भन्ने आशा छ,’ उनले भने, ‘हामीलाई दुई-तीन सय मेगावाटको माग हो । त्यो व्यवस्थापन गर्न सकिन्छ ।’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०-२२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिएको बताएका छन् । यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उनले स्पष्ट पाए ।
आज प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले एक हप्ताका लागि महंगो मूल्यमा बिजुलीको जोहो गरिएको जानकारी दिए । उनले उद्योगीहरूलाई पनि यो संकटका बेला सहयोग गर्न आग्रह गरे ।
घिसिङले भने, ‘एक हप्ताका लागि उच्च मूल्यमा भए पनि जोहो गरेका छौं । लामो समय यसलाई जारी राख्न सकिँदैन । यस विषयमा उद्योगी र अर्थमन्त्रीसँग पनि छलफल गरिसकेको छु । सकारात्मक कुराकानी भएको छ ।’
१५–२० वर्षपछि ठूलो संकट उत्पन्न भएको तर लोडसेडिङ नहुने घिसिङले दाबी गरेका छन् ।
उनले भने, ‘अरु देशहरुले लोडसेडिङ गरिरहेका छन् तर, हामी गर्दैनौं । हामी अरुभन्दा राम्रो अवस्थामा छौं । घाटाको अवस्थामा सरकारले पनि हेर्छ होला । हामीले अनुरोध गरेका छौं । उद्योगी साथीहरुलाई पनि योगदानका लागि अनुरोध गरेका छौं ।’
उनले भारतसँगको द्विपक्षीय सम्झौतामा के गर्न सकिन्छ भनेर अर्थमन्त्रीले होमवर्क गरिरहेको जानकारी दिए ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतसँग चर्को मूल्यमा विद्युत खरिद गर्ने भएको छ । भारतले युक्रेन संकटको कारण देखाउँदै अस्वभाविक मूल्य बढाएको हो ।
प्राधिकरणका अनुसार प्रतियुनिट २० भारु (३८ रुपैयाँ) मा नेपालले भारतको बिजुली किन्ने गरी सहमति भएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विहीबार राति १२ बजेर १५ मिनेटदेखि नेपालमा भारतको बिजुली उपलब्ध हुने बताए ।
भट्टराईका अनुसार अघिल्लो वर्ष यही समयमा ८०० मेगावाट विजुली भारतबाट आयात भएको थियो । अहिले भने ३५० मेगावाट मात्रै आयात भइरहेको छ । भारतबाट खरिद गरिएको बिजुली उद्योगहरुलाई दिएर आपूर्ति सुचारु गरिने प्राधिकरणले बताएको छ ।
विद्युत अभावका कारण प्राधिकरणले उद्योगहरुलाई दिने बिजुलीमा कटौती गरेको थियो ।
स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाइ जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले भने ‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ।’
स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचन निष्पक्ष, स्वतन्तत्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
सबैको साथ र सहयोगमा आसन्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने बताउँदै स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्नेमा जोड समेत दिए ।
चुनाव वैशाख ३० मै सम्पन्न हुने भन्दै देउवाले सरकार पूर्ण तयारीमा लागेको बताए ।
काठमाडौं । नेपालमा वर्षेनि ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा सञ्जय कुमार ठाकुरले क्षयरोगका नयाँ बिरामीहरु वार्षिक रुपमा ६९ हजार थपिने गरेको र १६ हजार जनाको मृत्यु हुने गरेको बताएका छन् ।
उनले राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको बताए । गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार नेपालमा २८ हजार ६७७ जना बिरामीहरु मात्र उपचारको क्रममा छन् र उपचार पछि निको हुनेकोदर ७३ प्रतिशत छ ।
औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा २२ सय रहेको छ ।
केन्द्रले ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित सरकारले मार्च २४ अर्थात् बिहीबार विश्व क्षयरोग दिवस मनाउने जानकारी दिएको छ ।
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावमा सत्ता गठबन्धन मिलेर गए एमालेलाई फाइदा हुने दाबी गरेका छन् ।
केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले विचार, सिद्धान्त र कार्यदिशा नमिल्ने दलहरू चुनावमा मिल्नुको औचित्य नहुने बताए ।
उनले कांग्रेस र प्रचण्ड-माधव नेतृत्वका पार्टीबीचको गठबन्धनलाई जनताले स्वीकार नगर्ने दाबी गरे ।
सचिव भट्टराईले भने, ‘गठबन्धन के को लागि ? गठबन्धन भनेको सिद्धान्त, विचार, कार्यदिशा र नीतिका आधारमा हुन सक्छ । कार्यदिशा नमिल्ने बीच गठबन्धन भएर चुनाव कस्तो होला ? कांग्रेस माओवादी माधव नेपालको पार्टीले गठबन्धन गरे भने त्यसको फाइदा एमालेलाई हुन्छ ।’
भट्टराईले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अब सबै शक्ति स्थानीय चुनावमा केन्द्रित गर्नुपर्ने बताएको र राजनीकि प्रतिवेदनमा पनि सोही कुरा आएको जानकारी दिए ।
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् । कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्ने बताएका हुन् ।
उच्च शिक्षामा कसले लगानी गर्ने भन्ने विषयमा बहस गरेर टुंग्याउनुपर्ने बताएका उनले देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक रुपमा परिवर्तन गर्न नसकिएको बताए ।
शिक्षालाई संविधानमा मौलिक हकसहितका व्यवस्था गरिए पनि विश्वविद्यालयमा सुधारको आवश्यक रहेको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने भन्दै महामन्त्री थापाले यसमा आफ्नो पनि सहयोग रहने बताए ।
आफू पनि त्रिविको पूर्वकर्मचारी भएकाले अहिले यस विद्यालयको रङ उडेको देख्दा मन दुखेको बताउँदै उनले सबैजना मिलेर विश्वविद्यालयको समस्या समाधान गर्नुपर्ने बताए । ‘आफूले पाएको जिम्मेवारी सम्झिएर काम गर्नुपर्छ । अब विश्वविद्यालयको समस्या समाधान गर्न ढिलो गर्नु हुँँदैन,’ उनले भने, ‘यसबारे कुलपति, प्रधानमन्त्रीसँँग पनि कुरा गर्छु । सबै मिलेर समाधान गरौँ ।’
विद्यालय, प्राध्यापक तथा कर्मचारी कुनै राजनीतिक दलसँँग आवद्ध हुनु नराम्रो नभए पनि, समस्या समाधान गरेर शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।
आज एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरेका हुन् ।
उनले मुलुकको विकासका एनआरएनएको निकै ठूलो भूमिका भएको भन्दै नेपालमा बैंक खाता खोल्न सहज बनाइएकाले सबैलाई १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे ।
मुलुकको विकासका लागि वार्षिक १७ देखि २० खर्ब लगानी आवश्यक रहेकाले बिभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी पर्याप्त नरहेको शर्माले बताए ।
उनले मुलुकको पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सरकार इच्छुक रहेको उल्लेख गर्दै ग्रामीण अर्थतन्त्रको विकास नभएसम्म मुलुकको व्यापार घाटा न्युनिकरण गर्न नसकिने बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको विकासमा सही बाटो देखाउने नेता र पार्टी अरू असफल भएकाले अब एमालेको काँधमा मधेसको जिम्मेवारी आएको बताएका छन् ।
मङ्गलवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेसका नेताहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले मधेसको विकासका लागि गरेका र अघि सारेका योजनाहरू सुनाए ।
ओलीले हुलाकी राजमार्ग,मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति,पूर्व पश्चिम राजमार्गको विस्तार,सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत आफूले गरेको भन्दै गठबन्धन सरकार आएपछि मधेसको विकास रोकिएको बताए ।
ओलीले भने– यहाँ शिव पटेलजीले एमाले प्रवेश गर्दै जय मधेस भन्ने बानी छ भन्नुभयो । अब जय मधेस भन्ने नै एमालेले हो । मधेसको जय गर्ने एमालेले हो । जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ,ढुक्क हुनुस् अब जय मधेस । मधेसले समृद्धि खोजेको छ,त्यसको नेतृत्व एमालेले गर्छ ।
अध्यक्ष ओलीले केही समय एमालेलाई मधेस विरोधी भनेर भ्रम छरिए पनि भ्रम टुटेर मधेसबाट एमाले प्रवेशको लहर चलेको बताए । पछिल्लो समय मधेसका ठूला र प्रभावशाली राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरू एमाले प्रवेश गरिरहेका बेला ओलीले अब मधेसको नेतृत्व एमालेले गर्ने बताए ।
ओलीले एमालेमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने भन्दै नवप्रवेशी सबैलाई उचित जिम्मेवारी दिइने बताए । परमादेशबाट एमालेलाई सरकार बाहिर लगिए पनि जनादेशबाट एमाले बहुमतसहित फर्किने दाबी ओलीको थियो ।
काठमाडौं । काठमाडौंमा आयोजित कार्यक्रममा पर्साका वाइसिएल इन्चार्ज चन्दन रौनियारसहितको समूह समेत एमालेमा प्रवेश गरेको छ । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेक थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेसका नेताहरुलले अब मधेशले पहिचान होइन समृद्धि खोजेको बताए । तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव तथा हाल लोसपाका नेता शिव पटेलले समृद्धिको नेतृत्व एमालेबाट मात्र सम्भव भएकाले आफू एमालेमा प्रवेश गरेको बताए ।
केपी ओलीमा मुलुक बनाउने हुटहुटी देखेकाले देश बन्यो भने मधेस पनि बन्छ भनेर आफूहरु मधेसवादी दल त्याग्ने निष्कर्षमा पुगेको बताए ।
पटेलले भने– मधेसले पहिचान खोजेको छैन अब समृद्धि खोजेको छ,समृद्धिको नेतृत्व एमालेमात्र गर्छ । ओलीको मन्तव्य सुनिरहन्छु अब देश बनाउने जिम्मा नेकपा एमालेको काँधमा छ भन्ने लाग्यो । देश बन्यो भने मधेस पनि बन्छ । हामीजस्ता कार्यकर्ताको मनोबल पनि उच्च हुन्छ । अब बाँकी जीवन एमालेमा समर्पित गरेको छु ।
काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले पार्टी अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेकी छन् । आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको उनले बताइन् ।
पार्टी प्रवेश कार्यक्रममा रातो पहिरनमा उपस्थित भएकी करिश्माले छोटो मन्तव्य दिएकी थिइन् । जसमा उनले आफूले एमाले रोज्नुमा दुई कारण प्रस्तुत गरिन् । पहिलो कारण अध्यक्ष केपी शर्मा ओली भएको उनको भनाइ थियो ।
करिश्माले भनिन्, ‘मैले नेकपा एमालेमार्फत राजनीतिमा अघि बढ्ने अठोट गरेको छु । यसका तीनवटा कारण छन् । पहिलो कारण भनेको अध्यक्ष ओली हुनुहुन्छ । यो मैले उहाँलाई फुर्काउन भनेको होइन ।’
ओली मन पर्नुको कारणबारे करिश्माले यसरी प्रष्ट पारिन्, ‘नेता भनेको जनताको पथप्रदर्शक हो । जनताको भविष्य सुनश्चित गर्ने पात्र हो । म त्यो विशेषता ओलीमा पाउँछु । उहाँको एनर्जी देखेर ताजुब लाग्छ । म उहाँको कुरा सुनेर थाक्दिन । दुईपटक भेट हुँदा उहाँको कुरा अत्यन्तै उत्साहजनक र प्रेरणादायी लाग्यो । उहाँको गुनगान नगाउने कोही छैन । अर्को पार्टीको मान्छेले पनि गुनगान गाएकै हुन्छ ।’
दोस्रो कारण प्रस्तुत गर्दै करिश्माले एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको बताइन् । एमाले प्रतिपक्षमा रहे पनि देशको पहिलो पार्टी भएको उनको भनाइ थियो ।
करिश्माले आफू कुनै पदको लोभमा एमाले नआएको बताइन् । यद्यपि, पार्टीले विश्वास गरेर जिम्मेवारी दिएमा स्वीकार्ने भनाइ छ ।
‘म यो स्पष्ट पार्न चाहन्छु कि म कुनै पदको सौदावाजी गरेर आएको होइन । नितान्त कार्यकर्ताको रुपमा आएको हुँ । तर, पार्टीले विश्वास गरेर जिम्मेवारी दियो भने स्वीकार्छु ।’ उनले भनिन् ।
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने दाबी गरेका छन् ।
मंगलबार पत्रकारहरूसँग वाम एकताको औचित्यबारे छलफल गर्दै भुसालले संसद विघटन र पुन:स्थापना इतिहासको घटना भइसकेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यहिँ छाड्नुपर्ने बताए ।
भुसालले भने, ‘नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण थिएन, एउटा राजनीतिक कारण थियो संसद विघटन । त्यसमा हामी अहिले पनि विभाजित छौं । त्यसलाई अदालतले निर्णय गरिसकेको छ । यो संविधान रहेसम्म संसद विघटन हुँदैन भनिसकेपछि अब एमालेले सर्वोच्चको त्यो निर्णय गलत भनेर जाने हो भने संविधान भत्किन सक्छ र सोझै अस्थिरताको पक्षमा हिँड्नुपर्ने हुन्छ ।’
एमालेले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला गलत रहेको र पछिल्लो परमादेश सेटिङबाट आएको बताउँदै आएको छ ।
जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनमा मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।
धनुषाको जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा गठबन्धनको नेतृत्व तहमा छलफल भएको बताए ।
हाल रक्षा मन्त्रालय र उद्योग मन्त्रालय राजनीतिक नेतृत्वविहीन अवस्थामा छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममै मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने प्रचण्डले बताए ।
‘मन्त्रिपरिषद् विस्तार र हेरफेरको कुरा चलेको छ । सम्भावना पनि छ । केही मन्त्रीहरू हेरफेर हुन्छन्, केहीमा नयाँ आउँछन् । माओवादी केन्द्रले आफ्नो हैसियतअनुसार थप मन्त्रालय पाउनुपर्ने दाबी पनि गरेको छ’, प्रचण्डले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी बनाएका कारण माओवादी लचिलो हुँदै आएको उनले बताए ।
‘पहिले प्रधानमन्त्रीले पनि मेरो पार्टीको महाधिवेशनसम्म हेर्दिनुस् भन्नुभयो । माधवजीले पनि मेरो पार्टी नयाँ छ भन्नुभयो । हामीले सबैको अप्ठ्यारो बुझ्यौं । अब चाहिँ मन्त्रिपरिषदमा हामीलाई सम्मानजनक हैसियत चाहिन्छ’, प्रचण्डले भने ।
उनले चुनावी तालमेलबारे गठबन्धनको नेतृत्व तहमा कुनै तिक्तता नभएको बताए । एक्लै चुनाव लड्न र जित्नसक्ने संगठन माओवादीसँग भएपनि सत्ता गठबन्धनलाई बचाएर लैजान चाहेको उनको भनाइ थियो ।
‘माओवादी केन्द्रले चुनाव नजित्ने भएकाले गठबन्धन गरेको पनि होइन । हामी आफ्नै खुट्टामा उभिएर , आफ्नै तागतमा चुनाव लड्न सक्षम छौं । गठबन्धन संविधानको रक्षाको उद्देश्यले बनाएको हो, चुनावका लागि बनाएको पनि होइन । यद्यपि चुनावमा गठबन्धन गर्न हामी सकरात्मक छौ’, उनले भने ।
काठमाडौं । फिनेल नछर्की सटर खोल्न सक्दैनन् पुरानो बानेश्नरस्थित ‘वाउ मोमो एण्ड बर्गर हाउस’ का सञ्चालक मनोज श्रेष्ठ । सटर खोल्नुअघि फिनेल छर्किएन भने उनीभन्दा अघि झिंगा होटलभित्र छिर्छन् ।
हप्ता दिन भयो, उनको व्यापार घटेको छ । पसल आउने बाटै छेउमा फोहोर थुपारिएकाले नियमित ग्राहकसमेत त्यो बाटो भएर आउनै छाडेका छन् । फोहोर कुहिएर डुङडुङ गनाएपछि उनले त्यहाँ भन्किएका झिंगा आफनो पसलमा नआउन् भनेर दिनहुँ फिनेलको झोल छर्कन्छन् । त्यति नगरे त उनको दिनभरीको व्यापार नै ठप्प हुन्छ ।
उनी भन्छन्, ‘अहिले त फोहोरकै कारण व्यापार घटिरहेको छ । अझै कतिदिन घाटा खाएर बस्नुपर्ने हो ।’
पुरानो बानेश्वर चोकमा फोहोरकै थुप्रो अगाडि साग र तरकारी बेचिरहेकी छिन्,गोमा विष्ट । पहिलेदेखि तरकारी बेचिरहेको ठाउँमा अहिले फोहोर थुप्रिएपछि उनलाई बसिनसक्नु भएको छ । तर, पनि अन्त जाने ठाउँ छैन ।
उनले गुनासो गरिन्, ‘अन्त तरकारी बेच्न ठाउँ छैन । बेचिराखेको ठाउँमा फोहोरको थुप्रो छ । बाँच्न त पर्यो । त्यसैले गन्ध सहेरै बसेको छु । तर, फोहोरका कारण ग्राहक नै आउँदैनन् ।’
रामेश्वरम स्वीट्सहाउसका सञ्चालक मात्रिका प्रसाईको समस्या पनि उस्तै छ । पसल अगाडि थुपारिएको फोहोरले हैजा ल्याउने सम्भावना बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
उनले भने, ‘यसको जिम्मा नगरपालिकाले लिनुपर्ने हो । तर, किन लापरबाही गरेको हो दवाव दिनुपर्ने बेला भयो ।’
उनी थप्छन्, ‘१५ दिन जति भइसक्यो फोहोर थुप्रेको, तर उहाँहरुलाई वास्ता छैन । संक्रमण फैलने खतरा छ ।’
हरेक दिन विहान काठमाडौं महानगरपालिकाका कर्मचारीले सडक बढार्छन् । तर फोहोर उठाएर लैजान कोही नआएपछि उनीहरु पनि त्यहीँ छेउमा थुपारेर आप्mनो ड्युटी पुरा गर्छन् ।
नयाँ बानेश्वरका फोहोरमैला व्यवस्थापन इन्चार्ज छिरिङ शेर्पाले बञ्चडेडाँडामा फोहोर फाल्न नपाएसम्म समस्या हुने बताए ।
उनले भने, ‘पहिला–पहिला उठाइराखिएको छ । ल्याण्डफिल साइट घरी बन्द हुने घरी त्यहीँको बासिन्दाले बन्द गरिदिने भइराखेको छ ।’
फागुन १ गते बाट उपत्यकाको फोहोर उठ्न बन्द भएको थियो । पछि फागुन १४ गते खुलेको थियो ।
फेरि फागुन २५ गतेबाट पुरै बन्द गरेको छ । आइतबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारमा बोलाएर अब बञ्चडेडाँडाको सेट एकमा फोहोर फाल्न मिल्ने भनेर जानकारी दिएको उनले बताए ।
उनले भने, ‘कहिलेदेखि मिल्छ हामीलाई एकीन थाहा छैन । बञ्चडेडाँडा गएन भने त यसपालिको वर्खा विजोक नै हुन्छ । हिउँदैमै यस्तो समस्या भइराखेको छ ।’
पछिल्लो दुई सातायता उपत्यकाका चोकचोकबाट फोहोर उठ्न सकेको छैन । सडक किनारमा थुपारिएका फोहोरमाथि नै गाडी कुदाएर फोहोरले नै आधा सडक ढाकिसकेको छ । सिसडोलको ल्याण्डफिल भरिएको वर्षौं भइसक्यो । त्यसको विकल्पमा बन्दै गरेको बञ्चडेडाँडाको ल्याण्डफिल साइटमा जस लिने होडले अझै खुल्ला हुन सकेको छैन । फोहोर बञ्चडेडाँडामा फाल्न सुरु गरे जस मेयरलाई जाने भन्दै अझै शहरी विकास मन्त्रालयले खुला गराउन नचाहेको काठमाडौं महानगरपालिकाको आरोप छ ।
चुनावको एजेण्डा बन्दै काठमाडौंको फोहोर
भौतिक पूर्वाधार मन्त्रालयले २०७० देखि बनाइरहेको पासाङल्हामु राजमार्गको बाटो समयमै नबनेको कारण सिसडोलका स्थानीयहरुले महानगरसँग रिस पोख्न आन्दोलन गरिरहेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
मेयर शाक्य भन्छन्, ‘उहाँहरुसँग सल्लाह गर्दा तपाईहरुको केही दोष छैन, बनाउनुपर्ने ठेकेदारले नबनाएका कारण सरकारलाई पटकपटक ध्यानार्कषण गराउँदा पनि नसुनेकाले फोहोर रोकेको भन्नुभयो ।’
सिसडोलबासीले बाटो बन्द गरिदिएपछि फोहोर त्यहाँ पु¥याउन नसकको उनले स्वीकारे । बाटो बनाउने काम आप्mनो कार्यक्षेत्रभन्दा बाहिर पर्ने उनको भनाइ छ । तर स्थानीयहरुसँग बाटो बनाइदिने महानगरले आश्वासन दिएपछि मात्रै स्थानीयले बाटो खुलाएका थिए । र फोहोर नियमित रुपमा उठाउन थालिएको थियो । अहिले फेरि बाटो बन्द गरिदिएका छन् स्थानीयले ।
सिसडोल पुग्न तारकेश्वर नगरपालिका हुदै धादिङ र नुवाकोटको सिमानामा जानुपर्छ । संघीय सरकारले सहयोग नगर्ने हो भने काठमाडौं महानगरपालिकाले मात्रै फोहोर व्यवस्थापन गर्न नसक्ने मेयर शाक्यले स्पष्ट पारे ।
उनले भने, ‘संविधानमा व्यवस्था गरे अनुसार तिमीहरुले नै आफैं फोहोर व्यवस्थापन गर भन्छ, तर महानगरभित्र त्यस्तो बनाउने ठाउँ छैन । त्यसका लागि नजिकै रहेका अन्य नगरपालिकाको सहयोग लिएर काम गर्न आवश्यक छ ।’
काठमाडौं महानगरले उपत्यकाका १८ वटै नगरपालिकाको फोहोर व्यवस्थापनमा सहयोग गरिराखेको छ । सिसडोलमा बाटो रोकिएदिए काठमाडौं महानगरको मात्रै फोहोर रोकिने नभई काभ्रे, नुवाकोट, धादिङ लगायत उपत्यकाको १८ वटै नगरपािलकाको फोहोर रोकिने अवस्था छ ।
संघीय सरकार मात्र नभई प्रदेश सरकारलाई समेत आफूहरुले सहयोग गरिराखेको तर गाली भने महानगरले खाइरहेको शाक्यले बताए ।
उनी भन्छन्, ‘संघीय सरकार र प्रदेश सरकारको इज्जत हामीले जोगाइदिएका छौं । यदि हामीले पनि अरुतिर दोष पन्छाएको भए द्वन्द्व हुन्थ्यो ।’
चुनावपछि मात्रै गराउन चलखेल : मेयर शाक्य
फोहोर फाल्नको लागि बञ्चडेडाँडामा शहरी पूर्वाधार विकास मन्त्रालयले २०६२ सालदेखि काम अगाडि बढाइराखेको छ । पहिलो फेजको काम सकिएर दोस्रो फेजको काम भइराखेको मेयर शाक्यले बताए । त्यहाँका स्थानीयबासीले सिसडोलको जस्तै अव्यवस्थित बन्ने डरले फोहोर फाल्ने ठाउँ वरिपरिको जग्गा अधिग्रहण गरे मात्रै बञ्चडेडाँडामा फोहोर फाल्न दिने बताएका थिए ।
स्थानीयको मागलाई सम्बोधन गरेर उक्त फाइल काठमाडौं महानगरले सरकारलाई बुझाइसकेको छ । ल्याण्डफिल्डको जिम्मा निजी क्षेत्रलाई दिने भनेको १२ वर्ष भइसक्यो । सरकारको विभिन्न निकाय हुदै लगानी बोर्डलाई जिम्मा दिएको थियो । लगानी बोर्डले हेरेपछि उक्त फाइल महानगरलाई पठाइदिएको थियो । अहिले महानगरले लगानी बोर्ड र सरकारसँग गरेर फाइल अगाडि बढाइसकेको शाक्य बताउँछन् ।
उनी भन्छन्, ‘क्याविनेटबाट ती काम गरिदिए हामी तयारी अवस्थामा रहेका छौं ।’ ती काम नगराउन चलखेल गरेको उनको आरोप छ ।
उनले भने, ‘मेरो कार्यकालमा नगराउने खेल खेलिदै भन्ने सुनेको छु । यो फोहोरको व्यवस्थाको जस मेयरलाई दिन हुदैन भनेर दुई महिना ढिलो गरौं भन्ने हो । फोहोर व्यवस्थापनमा सफल भयो भने सबै काम शुरु हुने त होइन डर उहाँहरुलाई छ ।’
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भिकारीसँग तुलना गरेका छन् । प्रचण्डले कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने गरेको भन्दै उनले कटाक्ष गरे ।
केही दिनअघि प्रचण्ड समेतका नेतालाई लक्षित गर्दै ‘चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन्’ भन्ने अभिव्यक्ति दिएका गुरुङले स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो टिप्पणी कटाक्ष गरेका हुन् । यसअघि प्रचण्डले आफूहरुमाथि कांग्रेस नेताहरुले अतिवादी अभिव्यक्ति दिएको भन्दै प्रतिवाद गरेका थिए ।
गुरुङले सोमबार प्रचण्डलाई भने, ‘गिरिजाले आफू हारेपनि देश हार्न हुन्न भन्थे, उता सँगै हस्ताक्षर गर्ने प्रचण्डचाहिँ आफू हार्न हुन्न देश हारे हारोस भन्छन् । तपाईं ९प्रचण्ड० लाई हेरेर बिचरा भन्न मनलाग्यो । कहिले कचौरा लिएर बालकोट पुग्नु हुन्छ कहिले बालुवाटार !’
काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाई लगायतका काम गर्न विगतमा खरिद गरिएको मेसिन ‘दान’ दिने भएको छ ।
२०७४ सालमा खरिद गरिएको मेसिन आयोगका लागि पूर्ण क्षमतामा प्रयोग गर्न असहज रहेकाले मुद्रणसम्बन्धी काम गर्ने सरकारी निकायलाई दिने निर्णय आयोगले गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगसँग रहेका मेसिनलाई मर्मत गरेर आगामी निर्वाचनका लागि आवश्यक सामाग्री छपाउँदा महंगो पर्ने भएकाले ‘आउट सोर्सिङ’ गर्न खोजिएको हो । ‘मतपत्र छाप्न हामीसँग भएको मेसिन मर्म गर्नै डेढ करोड जति लाग्ने देखियो । प्राविधिक जनशक्ति पनि आयोगसँग नभएकोले सो मेसिनबाट छपाइको काम लिदाँ नियमितभन्दा महंगो पर्न जाने भएकोले मेसिन प्रयोग नगरेका हौं’, प्रवक्ता पौडेलले भने ।
आयोगका लागि पूर्णक्षमतामा प्रयोग हुन नसकेको मेसीन पूर्णतया मुद्रणको मात्रै काम गर्ने सरकारी निकायलाई प्रयोग गर्न दिनेबारे आयोगले निर्णय गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।
‘आयोगका लागि त्यो मेसिन ५-५ वर्षमा मात्रै काम लाग्ने भयो । त्यसैले पूर्ण म्रुदणको काम गर्ने निकायलाई हामी मेसिन दिन्छौं । हाम्रा लागि अत्यावश्यक केही कागजात छापिदिए हुन्छ । यसबारे निर्णय गरेर सरकारलाई जानकारी गराइसकेका छौं’, आयोगको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने ।
निर्वाचन आयोगले आफैसँग भएका मेसिनको प्रयोग नगरी मतपत्र लगायतका सामाग्री छपाईका लागि टेण्डर आह्वान गरेको थियो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । राष्ट्रियस्तरमा एमालेको कुनै पार्टीसँग तालमेल नहुने उनले स्पष्ट पारे ।
आज पार्टीको पोलिटब्यूरो बैठक सुरू हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै सचेतक भट्टराईले यस्तो बताएका हुन् । उनले पोलिटब्यूरोको बैठक आगामी केन्द्रीय समितिको बैठकको तयारी तथा स्थानीय तहको चुनावमै केन्द्रित हुने जानकारी दिए ।
सम्भावित तालमेलका विषयमा सोधिएको प्रश्नमा भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ । हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै लड्छ ।’
उनले स्थानीय आवश्यकताअनुसार कतिपय स्थानीय तहमा तालमेल र सहकार्य भने हुन सक्ने बताए ।
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले घरको काम गर्ने सबै महिलाहरुलाई सरकारले गृहणी भत्ता दिन सुरु गर्नुपर्ने प्रस्ताव गरेकी छन् । कामअनुसारको पारिश्रमिक नपाउँदा महिलाहरु अगाडि बढ्न नसकेको उनले बताइन् ।
काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उपमेयर खड्गीले यस्तो प्रस्ताव राखेकी हुन् । आफूले यो प्रस्ताव केन्द्र सरकारसँग समेत उठाउने उनको भनाइ छ ।
उपमेयर खड्गीले भनिन्, ‘हामी महिला बिहानदेखि बेलुकासम्म काम गर्छौ । तर खोइ त्यसको पारिश्रमिक ? मैले यो आवाज मन्त्रीहरुसम्म पुर्याएको छु ।’
केन्द्र सरकारले मासिक एक सयबाट पारिश्रमिक दिन सुरु गर्दा पनि हुने उनको सुझाव छ ।
‘बिहानदेखि बेलुकासम्म काम गर्ने महिलालाई के गर्न सकिन्छ भन्ने सोच्नुपर्छ । मेरो प्रस्ताव के छ भने विसुद्ध घरमा खान पकाएर खुवाउने महिलालाई गृहणी भत्ता दिनुस । सय रुपैयाँबाट सुरुवात गर्नुस । यसमा पालिकाले क्षमताअनुसार थपौंला । वृद्ध भत्ता पनि सय रुपैयाँबाटै सुरु गरेको त हो नि । त्यसैले अब गृहणी भत्ता चाहिन्छ ।’
‘दुरदराजको कुरा गर्ने हो भने श्रीमान र श्रीमतीबीच झगडा भएको घरमा महिलालाई कति गाह्रो हुन्छ । छोरालाई हनहनी ज्वरो आएको छ, तर आमासँग औषधि किन्ने पैसा हुँदैन । आमालाई गृहणी भत्ता दिएको भए दौडेर सिटामोल किन्न जान्थिन् होला । तर, आमासँग एक रुपैयाँ पनि नहुँदा छोरा मृत्यूको मुखमा पुग्छ । त्यस्तो बेला आमालाई कति पिडा हुन्छ ? त्यो जन्माउनेलाई मात्र थाहा हुन्छ । यदि गृहणी भत्ता दिएको भए यो स्थिति आउने थिएन ।
‘डाटा कलेक्सन गरेर विसुद्ध घरको काम गरेको महिलालाई भत्ता दिनुपर्छ । जहिले पनि श्रीमानसँग माग्दा कति पिडा हुन्छ ? अब सुरुवात गर्नुपर्छ । पहिले नेपाल सरकारले सुरुवात गर्नुपर्यो अनि पालिकाले ।
महिलाकै योगदानले पुरुषहरु ठूलो पदमा पुग्ने तर श्रीमतीको नाम नआउने गरेको खड्गीले गुनासो गरिन् ।
‘त्यही महिलाको श्रीमान प्रधानमन्त्री बन्ने तर श्रीमतीको नाम नआउने ? बिहानदेखि बेलुकासम्म गृहणीले सेवा नगरेको भए त्यो ठाउँमा पुग्न सकिन्थ्यो ?’ उनको प्रश्न छ ।
उनले थपिन्, ‘हामी महिला घरबाट निस्किनुपर्यो भने बिहानदेखि सबै काम सकेर आफू पनि चटक्क परेर निस्किन्छौं । हामीलाई भगवानले दिएको देन छ नि । पुरुषले मेकअप गरेको सुहाउँदैन रु तर, हामीलाई वरदान दिएको छ ।’
खड्गीले महिलाहरु आफ्नै परिवारभित्र सुरक्षित नरहेको टिप्पणी गरिन् । घरदेखि स्कुलसम्म हुने महिला हिंसा रोक्नका लागि चेतनास्तर बढाउनुपर्नेमा उनले जोड दिइन् ।
मिसन स्माइल नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसासम्वन्धी एक बहस कार्यक्रममा खड्गीले सबैभन्दा बढी अभिभावकलाई चेतना दिनुपर्ने बताइन् ।
‘खोइ, नारीहरु कहाँ सुरक्षित छन् ? घरमै सुरक्षित छैनन् । कसलाई विश्वास गर्ने ? बुवा, दाजु, छोरा, परिवारबाटै नारी सुरक्षित छैनन्,’ उनले भनिन् ।
स्कुलका शिक्षकलाई पनि विश्वास गर्ने अवस्था नरहेको खड्गीको भनाइ छ ।
‘छोरीहरु घरमा भन्दा बढी विद्यालयमै समय बिताउँछन् । तर, स्कुलमा पनि शिक्षकहरुलाई कसरी विश्वास गर्ने रु’ उनले भनिन्, ‘त्यसैले शिक्षक, बालबालिका र अभिभावकलाई अधिकतम चेतना दिनुपर्छ ।’
‘अभिभावकको जिम्मेवारी छोराछोरी स्कुल पठाउने जिम्मेवारी मात्र होइन । छोरीलाई अप्ठेरो नमानिकन तिमीलाई कसैले टच गरिरहेको छ कि, नराम्रो दृष्टिले हेरिरहेको छ कि शिक्षकले घरमा आउ भनेर ललाइफकाइ गरिराखेको छ कि भनेर ध्यान दिनुपर्छ । कुन नजरले टच गरेको छ, त्यो कुरामा चेतना दिनु आवश्यक छ । सुरुवात घर र स्कुलबाट गर्नुपर्छ । अनि बल्ल हिंसा मुक्त हुन सक्छौं ।’