Category: भिडियो

  • जनकपुरमा यसरी सिंगारियो आज उद्घाटन हुने रेल (भिडिओ)

    जनकपुरमा यसरी सिंगारियो आज उद्घाटन हुने रेल (भिडिओ)

    काठमाडौं । आज भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गर्न लागेको जनकपुर–जयनगर रेललाई निकै सिंगारिएको छ । रेललाई फूल, मालाले भव्यसँग सिंगारिएको छ ।

    रेलको दुई देशका प्रधानमन्त्रीले आज हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।

    करिब डेढ वर्षअघि भारतबाट करिब १ अर्ब खर्च गरेर ल्याइएको रेल आजदेखि सञ्चालनमा आउन लागेको हो । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले रेल सञ्चालनको निकै प्रयास गरेको थियो । विभिन्न कारण संचालनमा आउन नसकेको उक्त रेल आजदेखि सुरु हुन लागेको हो ।

    नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुईपटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुनेछ ।

    रेलको उद्घाटनपछि जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा १ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

    सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गर्न लागिएको हो ।

  • गठबन्धन राष्ट्र निर्माण र विकासका लागि होइन, एमालेलाई हराउन बनेको हो : उपमहासचिव ज्ञवाली (भिडिओ)

    गठबन्धन राष्ट्र निर्माण र विकासका लागि होइन, एमालेलाई हराउन बनेको हो : उपमहासचिव ज्ञवाली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्र निर्माण र विकासका लागी नभई एमालेलाई हराउनकै लागी गठबन्धन गरिएको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी एमाले गुल्मी रुपन्देहीले शुक्रवार बुटवलमा आयोजना गरेको युवा विद्यार्थी सम्पर्क मञ्च बृहत् अगुवा कार्यकर्ता भेलामा बोल्दै ज्ञवालीले अहिलेको स्थानीय तहको निर्वाचनलाई सामान्य ढङ्गले लिन नहुने बताए ।

    उनले नेकपा एमालेले राष्ट्रको हित, विकास, नेपाली जनताको सम्वृद्धिका लागी अगुवाइ गरेको बताउँदै अहिलेको निर्वाचन देश बनाउने र देशलाई खाडल तिर हाल्ने शक्ति बीचको लडाई भएको तर्क गरे ।

    परमादेशले बनाएको गठबन्धन सरकारले निर्वाचन गर्न नै नचाहेको जिकिर गर्दै बाध्य भएर निर्वाचनको मिति तोकेको जिकिर उनले जिकिर गरे ।

    उपमहासचिव ज्ञवालीले देशको सम्वृद्धि, विकास, नेपाली जनताको हकहित, नेपाली युवाहरूलाई रोजगारी गराउने काम एमालेले मात्रै गर्ने भन्दै सभ्य र समतामूलक समाज निर्माण एमालेले मत मागिरहेको बताए ।

    कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्ट देशमा परिवर्तन ल्याउन युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै युवाहरूलाई देश विकास र समाज रूपान्तरणका लागी प्रयोग गर्नुपर्ने बताए ।

  • घोडेजात्रामा दौडिएको एक्लो घोडा (तस्बिर/भिडिओ)

    घोडेजात्रामा दौडिएको एक्लो घोडा (तस्बिर/भिडिओ)

    ललितपुर । ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ ।

    ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाइँदै आएको छ । ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ ।

    भीमसेन गुठीका गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा गरिन्छ ।

    त्यस स्थानदेखि एकल घोडेजात्रा सुरू हुन्छ । पाटनको मूलचोकबाट सुरू भई विभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ । नगर परिक्रमापछि घोडचढीलाई पान, सुपारी र दक्षिणा दिने चलन छ ।

    जात्राको पछिपछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरबार बोकाउनुका साथै छाता ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गरिन्छ । यसरी दुईपटकसम्म ओहोरदोहोर गरी तीनपटक परिक्रमा गरी यो जात्रा गरिन्छ ।

  • मन्त्रिपरिषद्का १० निर्णय : विभिन्न नियुक्तिदेखि, अरुण तेस्रो पहुँच मार्गको मुआब्जासम्म (भिडिओ)

    मन्त्रिपरिषद्का १० निर्णय : विभिन्न नियुक्तिदेखि, अरुण तेस्रो पहुँच मार्गको मुआब्जासम्म (भिडिओ)

    काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौदेखि रहँदै आएको सम्बन्ध थप प्रगाढ हुने बताए ।

    भारत भ्रमण मुलुकको हितमा भ्रमण केन्द्रित रहने पनि जानकारी दिए ।

    मन्त्रिपरिषद्को विहीबारको बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी-दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ भने विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै बैठकले उत्पादनमुलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी जानकारी दिए ।

    त्यस्तै बैठकले राष्ट्रिय भूमि आयोग गठन आदेश बमोजिम ४३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने र गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

  • दलाल पुँजीवादी सत्ताले समस्या आयो, एमसीसी पक्षधरलाई लखेट्नुपर्छ : विप्लव(भिडिओ)

    दलाल पुँजीवादी सत्ताले समस्या आयो, एमसीसी पक्षधरलाई लखेट्नुपर्छ : विप्लव(भिडिओ)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् ।

    विहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलामा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्नेमा जोड दिए ।

    नेपालमा साम्राज्यवादको हस्तक्षेप रोक्नुपर्ने विप्लवले बताए । नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पुँजीवादी सत्ताका कारण समस्या पैदा भएको उनको टिप्पणी छ ।

    दलाल पुँजीवादी सत्ताले नेपाली जनतालाई लुछिरहेको दाबी गर्दै विप्लवले अब गाउँगाउँबाट एमसीसी पक्षधरलाई लखेट्नुपर्ने बताए ।

  • स्थानीय चुनाव : देशभरका मतगणनास्थलमा सीसीटीभी राखिने (भिडिओ)

    स्थानीय चुनाव : देशभरका मतगणनास्थलमा सीसीटीभी राखिने (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणतास्थलमा सीसीटीभी जडान गर्ने भएको छ ।

    विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणनास्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिए । सीसीटीभीको निगरानी आयोगले गर्ने पौडेलले बताए ।

    प्रवक्ता पौडेलले सवै केन्द्रमा भने सीसीटीभी जडान गर्न नसकिने बताएका छन् । उनका अनुसार स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिसकिएको छ ।

    स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराइएको पौडलको भनाइ छ ।

    त्यस्तै आयोगका कल सेन्टरमा तीनसय भन्दा बढि जिज्ञासा आएको प्रवक्ता पौडेलले बताउनुभयो ।

  • निर्वाचनसम्बन्धी सामाजिक सञ्जालमा ‘हेट स्पिच’ को निगरानी गर्न संयन्त्र (भिडिओ)

    निर्वाचनसम्बन्धी सामाजिक सञ्जालमा ‘हेट स्पिच’ को निगरानी गर्न संयन्त्र (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता पालना गर्न स्वयं राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताएका छन् ।

    ललितपुरमा आज आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तर्क्रियामा उनले सबै दलहरूसँग छलफल गरेरै आचारसंहिता बनाइएकाले यसको पालना गर्न स्वयं राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

    प्रमुख आयुक्त थपलियाले निर्वाचनका क्रममा सामाजिक सञ्जालमा आचारसंहिता अनुगमन गर्नका लागि आयोगको नेतृत्वमा गृह मन्त्रालय, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणलगायतको टोली बनाइएको बताए ।

    उनका अनुसार सामाजिक सञ्जालमा दिइने ‘हेट स्पिच’ को पनि निगरानी भइरहेको छ ।

    ‘सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी गतिविधि गर्दा र अभिव्यक्ति दिँदा सबैले ध्यान दिउँ’, थपलियाको आग्रह थियो ।

  • चुनावी तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय, स्थानीय तहसम्मै ५ दलीय संयन्त्र बन्ने (भिडिओ)

    चुनावी तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय, स्थानीय तहसम्मै ५ दलीय संयन्त्र बन्ने (भिडिओ)

    काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गर्न प्रदेश, जिल्ला र पालिकास्तरमा कार्यदल बनाउने निर्णय समेत गरेको छ ।

    बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिका स्तरमा ५ वटै दलका नेताहरू सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ ।

    ‘प्रदेश, जिल्ला र पालिकामा ५ वटै दलका सम्बन्धित तहको नेतृत्व सम्मिलित संयन्त्र बनाउने निर्णय भएको छ । त्यो संयन्त्रले चैत २२ गतेभित्र सम्बन्धित पालिका, जिल्ला र प्रदेशमा ५ दलीय गठबन्धनको अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउनेछन्’, मन्त्री कार्कीले पत्रकारहरूसँग भने ।

    उनले तल्लो तहका संयन्त्रहरुले प्रतिवेदन बुझाएपछि मात्रै कहाँ कसरी तालमेल हुने भन्नेबारे टुंगो लगाउन सजिलो हुनेछ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै गठबन्धनमा रहेका दल नेताहरूले भ्रमणको सफलताको शुभकामना दिएको मन्त्री कार्कीले बताए ।

  • धोबिखोला किनारमा फोहोरको थुप्रोमाथि भेटियो नवजात शिशुको शव (भिडिओ)

    धोबिखोला किनारमा फोहोरको थुप्रोमाथि भेटियो नवजात शिशुको शव (भिडिओ)

    काठमाडौं । काठमाडौंको सेतोपुलस्थित धोबीखोला किनारमा नवजात शिशुको शव भेटिएको छ ।

    आज बिहान फोहोरको थुप्रोमाथि नवजात शिशुको शव भेटिएको हो । पछ्यौराले छोपेर फालिएको अवस्थामा शिशुको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशप्रसाद मैनालीले नेपाल प्रेसलाई बताए ।

    उनले भने,‘हामीले एक घण्टाअघि जानकारी पाएको हो । बच्चाको हत्या गरेर फालेको हो वा के हो बच्चा फाल्नेको खोजीमा जुटिसकेका छौं ।’

  • मलाई प्रधानमन्त्री बनाउने दलहरूलाई अप्ठ्यारोमा पर्न दिन्नँ : देउवा (भिडिओ)

    मलाई प्रधानमन्त्री बनाउने दलहरूलाई अप्ठ्यारोमा पर्न दिन्नँ : देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुने निर्णय भइसकेकोले जस्तोसुकै अप्ठ्यारो पनि सामना गर्ने बताएका छन् ।

    रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचनमा गठबन्धनको सहकार्य जारी राख्ने निर्णय कांग्रेसले गरिसकेकोले अब कुनै समस्या नपर्ने बताए । उनले आफूलाई सहयोग गरेर प्रधानमन्त्री बनाउनेहरूलाई आफूले असहयोग नगर्ने बताए ।

    ‘हाम्रो पार्टीले गठबन्धनलाई सँगै लैजाने निर्णय गरेको छ । अरु पार्टीका नेताहरुको सहयोगमा म प्रधानमन्त्री भएको हो । मलाई सहयोग गर्ने पार्टीसँग मिलेर जाने हो । अप्ठ्यारो त पर्नसक्छ तर त्यसलाई समाधान गरेर अगाडि बढ्छौं । त्यसमा चिन्ता गर्ने कुरा छैन’, देउवाले भने ।

    उनले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सूचना प्रविधिको विकाससँगै मिथ्या र भ्रामक समाचारको प्रभाव बढ्न थालेको भन्दै त्यसलाई पत्रकारिता क्षेत्रले नै निरुत्साहन गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड रहेको थियो ।

  • प्रचण्ड भन्छन्- हामी श्रीलंकाको अवस्थामा छैनौं, म अर्थविद्हरूसँग छलफलमा छु (भिडिओ)

    प्रचण्ड भन्छन्- हामी श्रीलंकाको अवस्थामा छैनौं, म अर्थविद्हरूसँग छलफलमा छु (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल श्रीलंकाको जस्तै संकटमा रहेको भनी गरिएका टिप्पणीहरुप्रति असहमति व्यक्त गरेका छन् । नेपालमा आफ्नै खाले समस्या रहेको तर श्रीलंकाको जस्तो डरलाग्दो स्थिति नरहेको उनले बताए ।

    रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘मेरो अध्ययनमा नेपाल श्रीलंकाको स्थितिमा पुगेको छैन । सम्हाल्न सकिने ठाउँमै छ । म अर्थविद्हरूसँग छलफल गरिराखेको छु ।’

    अहिलेको समस्या समाधानका लागि गम्भीर पहल नभएको खण्डमा भने अप्ठेरो स्थिति आउन सक्ने उनले चेतावनी दिए ।

    प्रचण्डले भने, ‘भोलि अप्ठेरो स्थिति आउँन सक्छ । तर, अहिलेको समस्या समाधानका लागि पहल सुरू भइरहेको छ । गठवन्धनको नेताको हैसियतले भन्नुपर्दा यो स्थितिलाई हामी सम्हाल्नेछौं ।’

  • गठबन्धन आवश्यक छ, मूल्यमान्यतामा आधारित हुनुपर्छः नेम्वाङ (भिडिओ)

    गठबन्धन आवश्यक छ, मूल्यमान्यतामा आधारित हुनुपर्छः नेम्वाङ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् ।

    रिपोर्टस क्लब नेपालको २४ औँ वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने बताए ।

    ‘गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्छ । विचार र सिद्धान्तमा आधारित हुनुपर्छ,’नेम्वाङले भने,‘यि सबै कुरालाई ध्यानमा राखेर संसदीय मुल्य र मान्यतामा आधारित लोकतान्त्रिक मुल्यमान्यता अनुरुप त्यस्ता गठबन्धन हुनुपर्छ ।’

    यदि गठबन्धनमा त्यो भएन भने समस्या आउने उनले बताए । वर्तमान सत्तारूढ गठबन्धनप्रति सांकेतिक रूपमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । ‘त्यो(सत्तारूढ गठबन्धन) भएको छ कि छैन ? त्यतातर्फ म टिप्पणी गर्न चाहन्न । यत्ति भन्छु, ढंग पुगेन भने मित्रहरू दुख पाउनुहुन्छ !’ उनले भने ।

    अर्को प्रसंगमा बोल्दै नेता नेम्वाङले कमीकमजोरीका बाबजूत देशलाई यहाँसम्म पु¥याउने काम देशका प्रमुख दल र यिनका नेताहरूले नै गरेको बताए । २०७२ मा देशका सम्पूर्ण राजनीतिक दलहरूले मिलेर एकठाउँमा उभिदाँ संविधान बनेको उनले स्मरण गरे ।

    ‘मैले एउटा कुरा भन्ने गरेको छु । बेलाबखत दलहरूका बारेमा आलोचनाहरू हुने गर्छ । टिप्पणीहरू हुन्छन् । नेताहरूकाबारेमा आलोचना हुन्छन्, टिप्पणी हुन्छन्,’ उनले भने,‘मैले एक शब्दमा भन्ने गरेको छु कमीकमजोरी बाबजुत यो देश यो ठाउँसम्म ल्याइपुर्‍याउने काम यिनै दल र दलका नेताहरूले गर्नुभएको हो ।’

    अझैं पनि संविधानको रक्षा, राजनीतिक व्यवस्था र मुलूकको भविष्यमाथि अप्ठ्यारो पर्दा दल र दलका नेताहरू एकठाउँमा उभिनुपर्ने उनले बताए ।

  • स्थानीय निर्वाचनमा एमालेले ६० प्रतिशत बढी स्थानमा जित्छ : उपाध्यक्ष पौडेल (भिडिओ)

    स्थानीय निर्वाचनमा एमालेले ६० प्रतिशत बढी स्थानमा जित्छ : उपाध्यक्ष पौडेल (भिडिओ)

    रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर नगर्ने प्रस्ट पारेका छन् ।

    प्रेस चौतारी रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने दाबी गर्दै गठबन्धनको कुनै औचित्य नभएको प्रस्ट पारे ।

    पौडेलले एमालेलाई सिध्याउन कानुनको धज्जी उडाएर अदालत न्यायालयलाई दुरुपयोग गरेर, मिडियालाई प्रयोग गरेर लागे पनि सफल नभएको भन्दै राष्ट्रिय राजनीतिको नेता एमाले रहेको बताए ।

    उनले गत निर्वाचन भन्दा यस पटकको निर्वाचनमा गुणात्मक जित हात पार्ने दाबी गर्दै एमालेले गरेका ठूला ठूला विकास निर्माणका कामहरुलाई जनता समक्ष ल्याउन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

    उपाध्यक्ष पौडेलले अन्य दलहरूले गठबन्धन गर्नु र नगर्नुमा कुनै अर्थ नभएको जिकिर गर्दै एमालेको विजयी यात्रालाई कसैको तागतले रोक्न नसक्ने बताए ।

    उपाध्यक्ष पौडेलले गठबन्धनको पट्का पड्काएर एमालेलाई चुनावमा तर्साउन सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।

  • ओलीको दाबी: तराजुको एकातिर एक-एक किलोका पाँच ढक, एमाले क्विन्टल (भिडिओ)

    ओलीको दाबी: तराजुको एकातिर एक-एक किलोका पाँच ढक, एमाले क्विन्टल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्लै एमालेसँग लड्ने अब नेपालमा कुनै पनि पार्टीले सोच्नसम्म नसक्ने बताएका छन् । सरकारमा रहेका दलहरूले त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको उनको दाबी छ ।

    व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईंले सूर्यविनायकमा सुरू गरेको तरकारी बजार उद्घाटन गर्दै ओलीले भने, ‘एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि पार्टीले नचिताए हुन्छ । सोच्दै नसोचे हुन्छ । त्यसकारण गठबन्धन गर्न जरुरी छ । उहाँहरूले बुझेको यतिसम्म जरुरी छ । गठबन्धन नगरी एमालेसँग लड्न सकिन्न भनेर यतिसम्म बुझेको ठीक छ । गठबन्धन गर्नैपर्छ उहाँहरूले ।’

    अध्यक्ष ओली सत्तारूढ दलहरूबीचमा चुनावमा गठबन्धन हुँदा एमालेलाई कुनै फरक नपर्ने दाबी गरे ।

    ‘कतिपय साथीहरूलाई लाग्नसक्छ गठबन्धन गरेका छन् कतै अप्ठ्यारो पर्छ की ?’ उनले भने,‘मैले भन्ने गरेको छु, यदि एउटा तराजुमा एक-एक किलोका पाँचवटा ढक एकातिर क्विन्टलको ढक एकातिर राखे के हुन्छ ?’ उनले एमाले क्विन्टलको ढकजस्तो रहेको र अन्य दल एक किलोका ढकजस्तो रहेको बताए ।

    पाँचवटा दलहरू मिलेर चुनावमा आउँदा एमालेलाई झन सहज हुने उनले दाबी गरे । उनले भने, ‘हामीलाई पनि साह्रै बच्चा भयो भने गाह्रो हुन्छ । पाँचजना थपिदैथपिदै आउनुभयो भने अलि बराबरबराबर लड्नपनि सजिलो हुन्छ सोझै लड्न पाइयो नि !’

    पाँचजना अलगअलग हुँदा निहुरिएर लडाईं गर्दा झ्याउ हुने पनि उनले बताए । ‘पाँचजना भयो भने निहुरिएर बच्चाबच्चासँग कताकता लडाई गर्ने ? निहुरिएर लडाई गर्नुपर्छ,’ उनले भने ।

    सत्ता गठबन्धनका दलहरूले गठबन्धन गर्ने भने पनि सजिलो भने नरहेको अध्यक्ष ओलीले बताए । उनले भने,‘यो त गठबन्धन भनेका हुन, गठबन्धन गर्न सजिलो छैन् ।’ लोभीपापीहरूको गठबन्धन बनाउन र जोगाउन गाह्रो हुने उनले बताए ।

  • माओवादी र एसले एक सिट पनि जिते भने मेरो सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छु : दुर्गा प्रसाईं (भिडिओ)

    माओवादी र एसले एक सिट पनि जिते भने मेरो सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छु : दुर्गा प्रसाईं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेनिकट व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् । उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए ।

    सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा प्रसाईं आफ्ना विरोधीहरूमाथि खनिएका थिए ।

    उनले भने, ‘अरुको त भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

    प्रसाईंले माओवादीका बारेमा वर्णन गर्न प्रकाश सपूतको एउटा गीत नै काफी हुने बताए ।

    उनले भने, ‘न्यूनतम राजनीतिक नैतिकता पनि नराखी टाउकोको मूल्य तोक्ने वर्गसत्रुसँग घाँटी जोड्नेलाई मैले धेरै टिप्पणी गर्नु छैन, उनीहरूलाई जवाफ दिन प्रकाश सपूतको गीतका १६ मिनेट नै काफी छन् । राज्यकोषबाट अनुदान लिएका असफल वाख्रापालक थापाकाजी र बर्दिबासमा सर्प पाल्ने खनाल बाजेहरू गठबन्धनको भीख माग्दै कांग्रेसको पुच्छर समातेर राजनीतिको वैतरणी तर्न खोजेका प्रचण्ड, १५ वर्ष पार्टी हाँक्दा पार्टीलाई घर न घाटको बनाउने कम्युनिष्ट पार्टीमा अपमान…. भयो भनेर गधाको पुच्छर समातेर गंगा नदी तर्न हिँडेका माधव नेपाल बाजे आगामी निर्वाचनमा एक्लाएक्लै आउनुस्, उनीहरू कहाँ छन् भनेर हेर्न निर्वाचनपछि केपी शर्मा ओलीले बनाएको धरहराको सबैभन्दा माथ्लो तलाको बार्दलीमा चढ्नुपर्ने हुन्छ ।’

  • भरतपुरको मेयरमा माओवादीको दाबी छ, महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै : प्रचण्ड (भिडिओ)

    भरतपुरको मेयरमा माओवादीको दाबी छ, महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै : प्रचण्ड (भिडिओ)

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा माओवादी पार्टीको दावी कायमै रहेको बताएका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यसबारे निर्णय गठबन्धन बैठकबाट हुने जानकारी दिए ।

    अघिल्लो निर्वाचनमा पनि कांग्रेस माओवादी गठबन्धनबाट रेनु दाहाल मेयर निर्वाचित भएकी थिइन् । प्रचण्डले महानगरपालिकामध्ये भरतपुरमा माओवादीको दाबी रहने बताए ।

    उनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै हुने जानकारीसमेत दिए ।

  • टिपरको ठक्करबाट स्कूल हिँडेका दिदीबहिनीको मृत्युपछि सुन्दरीजल तनावग्रस्त

    टिपरको ठक्करबाट स्कूल हिँडेका दिदीबहिनीको मृत्युपछि सुन्दरीजल तनावग्रस्त

    काठमाडौं । टिपरको ठक्करबाट स्कूल हिँडेका दुई बालबालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल तनावग्रस्त बनेको छ ।

    गोकर्णेश्वर नगरपालिका-१ , मेलम्ची चोकमा आज बिहान साढे ८ बजेतिर बालुवा लोड गरिएको बा. ४ ख ६९६५ नम्बरको टिपरले बा. ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    टिपरको ठक्करबाट रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टी र ४ वर्षीया श्रेयाको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुबा रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

    चालकको लापरावाहीका कारण दुर्घटना भएको र बालिकाको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले टिपरमा आगजनी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। ।

    स्थानीय बासिन्दाले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । घटनास्थलमै शव छाडेर स्थानीयको प्रदर्शन बढ्दै गएपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

    महानगरीय प्रहरी कार्यालय प्रमुख हरि पालले अहिले वार्ता भइरहेको बताए । ‘ अहिले वार्ता भइरहेको छ । स्थिति नियन्त्रणमा आइसकेको छ’, एआईजी पालले नेपाल प्रेससँग भने ।

  • कुलमानको तारिफ गर्दै प्रचण्डले भने- इमान्दारिताका साथ काम गरे देश बनाउन समय लाग्दो रहेनछ (भिडिओ)

    कुलमानको तारिफ गर्दै प्रचण्डले भने- इमान्दारिताका साथ काम गरे देश बनाउन समय लाग्दो रहेनछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश तीब्र विद्युतीकरणमा गएको बताएका छन् । लोडसेडिङको चरम मारमा रहेको मुलुक अहिले धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्था आइसकेको उनको भनाइ थियो ।

    ‘लोडसेडिङमुक्त देशमात्रै होइन्, अब त विद्युत सरप्लस ! धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्थासम्म देश आइपुग्यो,’ गृहजिल्ला चितवनमा एक नवनिर्मित सब स्टेसनको उद्घाटन गर्दै प्रचण्डले भने,‘अब हामी यातायात पनि विद्युतबाटै, चुलोचौको पनि विद्युतबाटै, सिँचाइ पनि विद्युतैबाट र सबैचिज विद्युतबाट गर्नेतिर यो देश अगाडि बढ्दैछ ।’

    सो कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ पनि उपस्थित थिए । सोही समारोहमा अध्यक्ष प्रचण्डले ऊर्जामन्त्री भुसाल र महानिर्देशक घिसिङको तारिफमा समय खर्चिए ।

    अध्यक्ष प्रचण्डले इमान्दारिता र दृढताका साथ काम गरे देश बनाउन समय नलाग्ने बताए । ‘साँच्चै इमान्दारिताका साथ दृढताका साथ उपाय खोजेर बनाउन लागे देश बनाउन धेरै समय लाग्दो रहेनछ’, उनले भने, ‘जसरी ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत प्राधिकरणले विद्युत उत्पादनसँगको कामलाई प्रगति गर्‍यो । सबै मन्त्रालयले त्यसरी नै काम गर्ने हो भने यो देश बनाउन धेरै वर्ष लाग्दो रहेनछ ।’

    उनले विद्युत प्राधिकरणमा घिसिङलाई ल्याउन गरेको निर्णयमा पनि गर्व लागेको बताए । ‘हामीले लिएको निर्णयप्रति पनि गर्व गर्दछु । यो क्षेत्रमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद,’ उनले भने ।

    सोही कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले चितवन जिल्लालाई विकासको मोडलको रूपमा निर्माण गर्न चाहेको बताए ।

  • एनआरएनए पदाधिकारीसँग प्रचण्डले भने- शेष घलेजीले किन त्यसो गर्नुभयो मैले बुझ्न सकिन (भिडिओ)

    एनआरएनए पदाधिकारीसँग प्रचण्डले भने- शेष घलेजीले किन त्यसो गर्नुभयो मैले बुझ्न सकिन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन गर्ने शेष घलेको ठिक नरहेको बताएका छन् ।

    एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिने क्रममा अध्यक्ष प्रचण्डले आफूले शेष घलेलाई पनि मिलेर एउटै मूल प्रवाहमा आउन सुझाव दिने बताए ।

    प्रचण्डले भने–शेषजीले किन त्यसो गर्नुभयो ? मैले बुझ्न सकेको छैन, मौका मिले त्यसो नगर्नुस्,विभाजित होइन मिलेर जानुस् भन्ने सुझाव दिनेछु । उहाँले त्यसो गर्नु नहुने हो ।

    एनआरएनएका पूर्व अध्यक्ष घलेले अलग्गै भेला गरी एनआरएन विभाजन गरेका छन् । प्रचण्डले उनको त्यो कदम ठिक नरहेको बताए । अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावसम्म विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिलाउन आवश्यक पहल गर्ने आश्वासन समेत दिए ।

  • लुम्बिनीमा विद्युतीय बस : सरकारको अलपत्र योजना, निजीले देखाए चासो (भिडिओ)

    लुम्बिनीमा विद्युतीय बस : सरकारको अलपत्र योजना, निजीले देखाए चासो (भिडिओ)

    रुपन्देही । संघीय राजधानी भन्दा बाहिर पहिलो पटक निजी क्षेत्रले विद्युतीय बस सञ्चालनमा ल्याइएको छ । सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । विद्युतीय बसको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

    पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मङ्गलवार मङ्गलवार उद्घाटन गर्दै ६० किलोमिटर यात्रा पनि गरे ।

    रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटेलमा रिबन काटेर विद्युतीय बसको शुभारम्भ गरेका ओली यही बसमा चढेर लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएर भैरहवा एयरपोर्टसम्म करिब ६० किलोमिटर यात्रा गरेको कम्पनीका सञ्चालक डिआर घिमिरेले बताए ।

    लुम्बिनीमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पनि एमाले अध्यक्ष ओली वातावरणीय प्रदूषण कम गर्नका लागि सुन्दर यातायातले सुरु गरेको यो अभियानमा सबैले साथ दिन आग्रह गरेका थिए ।

    ‘पेट्रोलियम पदार्थमा बढ्दै गइरहेको मूल्यवृद्धिलाई यस्ता साधन सञ्चालन गरेपछि हामीलाई धेरै राहत हुनेछ । बढ्दै गएको प्रदूषण कम गर्न यसले ठूलो मद्दत गर्नेछ, म आफै अहिले चढेर आएँ धेरै राम्रो छ’ लुम्बिनीमा आयोजित कार्यक्रममा उनले भने ।

    एमाले अध्यक्ष ओलीले लुम्बिनीको सौन्दर्यता बढाउन विद्युतीय सवारी साधनको सञ्चालनले पर्यटकको आकर्षण बढ्ने भएकाले यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका थिए ।

    नेपालको पहिलो सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा परीक्षणका लागि सञ्चालन गर्नका लागि दुई वटा बस ल्याएको हो । रुपन्देही र कपिलवस्तुमा यी बसहरू सञ्चालनमा हुनेछन् ।

    हाल काठमाडौंमा मात्र सञ्चालित विद्युतीय बसहरू वातानुकूलित भएकोले तराईको गर्मीमा असाध्यै लोकप्रिय हुने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

    नेपाली सडकमा विद्युतीय कारहरू प्रशस्तै गुडिरहँदा पनि बिजुली बसहरू नदौडिएकाले अब अब यसमा सुधार आउने उनको भनाइ छ । छिमेकी मुलुक चीन र भारतका ठूला सहरमा विद्युतीय बसहरू चल्न थालिसके पनि नेपालमा यस्ता बसहरू नगण्य मात्रामा छन् । नेपालमा सुन्दर यातायातले मात्रै सीमित विद्युतीय बस सञ्चालन गरेको छ ।

    सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस ल्याएर राजधानीमा सञ्चालन गरिरहेको अवस्थामा अब युरो ब्राण्डका बसहरू चलाउने भएको छ ।

    थापाकाअनुसार हाल भैरहवा–बुटवल र बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको ४ नं. सम्म विद्युतीय बसहरू चल्नेछन् ।

    कम्पनीले बुटवलको कालिका नगर, भैरहवामामा चार्जिङ स्टेसन राख्ने गरी तयारी गरेको छ भने प्रदेश सरकारको योजनामा सैनामैनाको सालझण्डीमा चार्जिङ स्टेसन बनेको छ । यो रुटमा चल्ने विद्युतीय सवारी साधनका लागि चार्जिङ गर्न भैरहवा, बुटवल र सालझण्डीमा स्टेसन तयार भएपछि सजिलो हुने कम्पनीका सञ्चालक डिआर घिमिरेले बताए ।

    ‘एक पटक चार्ज भएपछि २ सय किलोमिटर चल्ने भएकाले यो रुटमा तीन स्थानमा चार्जिङ स्टेसन भएपछि तत्कालका लागि काम चल्छ, लुम्बिनीमा पनि तयार भएको छ, अब बिस्तारै विद्युतीय यातायातले बजार लिनेछֹ’ घिमिरेले भने ।

    लुम्बिनीमा थन्काइएका विद्युतीय गाडी पनि छिट्टै चलाउने तयारी

    डेढ वर्षयता बुद्ध जन्मस्थल लुम्बिनीमा अलपत्र विद्युतीय बस र ट्याक्सीले दर्तासँगै नम्बर प्लेट पाएपछि अब सञ्चालनको बाटो खुलेको छ ।

    लुम्बिनीको वातावरण प्रदूषण कम गर्न गत वर्ष लुम्बिनी ल्याइएका १९ विद्युतीय बस र ट्याक्सी सञ्चालनका लागि यो प्रक्रियासँगै सञ्चालनमा सहज भएको हो । ती सवारीसाधन संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत आएका छन् । अब मन्त्रालयले कोषलाई दिएपछि सञ्चालनको प्रक्रिया सुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

    संघीय मन्त्रालय र लुम्बिनी विकास कोसबिच समयमै समन्वय नहुँदा रोकिएका ती साधनले १६ महिनापछि मात्रै ती सवारीसाधनले नम्बर पाएका हुन् । लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालय बुटवलले सवारीसाधन दर्ता गरेर ब्ल्यु बुक दिएसँगै नम्बर प्लेट लगाइएको हो । लामो समय खुला आकाशमुनि थन्किएका १४ ट्याक्सी र ५ विद्युतीय बस अब सञ्चालन हुन नसक्दा बिग्रने चिन्ता बढेको थियो ।

    विश्व सम्पदा स्थलमा सूचिकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न र पर्यटकलाई सुविधा दिन भन्दै भित्र्याइएका बस र ट्याक्सी सञ्चालनको छाँटकाँट नै नदेखिएपछि पर्यटन व्यवसायीहरू चिन्तित बनेका थिए ।

    केही समयअघि नम्बर प्लेट जडानसँगै सबै लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले अबको दुई–तीन सातामा मन्त्रालयले लुम्बिनी विकास कोषको नाममा सवारीसाधन नामसारी गर्ने बताए  ।

    लुम्बिनीका लागि आएका बस र ट्याक्सी संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले टेन्डर गरेर ल्याएको हुँदा सुरुमा उसको नाममा आएको र सवारीसाधन कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने छलफल थालेको उनले बताए । उनले प्रदेश सरकारसँग समन्वय गरेर छिटै सञ्चालनको मोडालिटी बनाउने जानकारी दिएका छन् ।

    एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड रुपैयाँ लागतमा ट्याक्सी र बस भित्रिएका हुन् ।

    सरकारले साढे ३ करोड भन्सार शुल्क व्यहोरेको छ । सवारीसाधनका लागि लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ । उक्त प्रोजेक्ट अन्तर्गत १५ करोड लागतमा बनाइएको चार्जिङ स्टेसन गत डिसेम्बरमै सञ्चालनमा आएको हो  ।

    विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन÷लैजान प्रयोग गरिनेछ । त्यस्तै लुम्बिनीलाई विभिन्न बुद्ध स्थल तिलौराकोट, रामग्राम र देव दहसँग जोड्न र त्यहाँ पर्यटक आवतजावत सजिलो बनाउन बस सञ्चालन गर्न पठाइएको हो । बस र ट्याक्सी अत्याधुनिक छन्  ।

    ठूलो बसमा १९ सिट छन्  । साना भ्यान ५ सिटे हुन्  । एक पटक फुल चार्ज गरे ४ सय किमीसम्म गुड्न सक्ने क्षमताका रहेका छन् ।

    मुलुकको प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीमा यस खालका यातायात सञ्चालन हुने खबरले उत्साही भएका यस क्षेत्रका बासिन्दालाई यो खबरले निराश बनाएको थियो । खुल्ला आकाशमुनि थन्काएर राखिएका यी सवारी साधन नचलाई राख्दा छिटो बिग्र नसक्ने यातायात क्षेत्र प्राविधिकहरूले बताउँदै आएका छन् ।

    यसका लागि आवश्यक चार्जिङ स्टेसन करिब–करिब तयार भए पनि सञ्चालनको मोडालिटी तयार नहुँदा लुम्बिनीमा लामो समयदेखि खुल्ला आकाश मुनी सवारी थन्काएर राखिएको हो ।

    पर्यटन व्यवसायीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्व पर्यटकीय स्थल लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन/लैजान बस र ट्याक्सी प्रयोग गरिने योजना सार्वजनिक भएपछि पर्यटक आकर्षण गर्न सकिने भन्दै खुसी व्यक्त गरेका थिए ।

    तर लामो समय नचलाएर खुला आकाश मुनी राख्दा बिग्रने, पाट पुर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको छ । सुरुमा जाँच गरिए पनि अहिले ती सवारी प्राविधिक रूपमा ठिक छन्÷छैनन् भनेर जाँच पास पनि गरिएको छैन ।

    सवारी साधन यत्तिकै थन्काएर राख्दा समस्या आउने यातायात क्षेत्रका प्राविधिक बत्ताउँछन् । विद्युतीय सवारी साधन यहाँ ल्याइएपछि विकास कोषले सञ्चालनको योजना बनाउन थालेको थियो ।

    तर सञ्चालनको ठोस मोडालिटी अझै बनाइसकेको छैन । विकास कोष आफैँले विद्युतीय सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउँदै आएको छ । कोषले टेण्डर आह्वान गरी सवारी सञ्चालन गर्न निजी कम्पनीलाई दिने मनसाय बनाएको छ ।

    प्रदेश सरकारको योजना अलपत्र

    लुम्बिनीमा विद्युतीय बस सञ्चालनका लागि साढे ४ वर्ष अघिदेखि प्रदेश सरकारले बजेट छुट्टाउँदै आए पनि कुनै प्रगति हुन सकेको छैन ।

    प्रदेश सरकारले पहिलो वर्षदेखि नै विद्युतीय बस सञ्चालनका लागि योजना बनाएर बजेट विनियोजन गरे पनि अहिलेसम्म चार्जिङ स्टेसनसमेत बनाउन सकेको छैन तर निजी कम्पनी आफैले चार्जिङ स्टेसन बनाउने गरी विद्युतीय बस ल्याएका हुन् ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको बेला रुपन्देहीमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्न लागेका विद्युतीय बस आइपुगेका छन् ।

    नेपालको पहिलो सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा परीक्षणका लागि सञ्चालन गर्नका लागि ल्याएका बस सुनौली भन्सारमा आएका हुन् ।

    योजना भाषणमा सीमित

    अघिल्लो सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले २०७५ असार १ गते आर्थिक वर्ष २०७५÷०७६को बजेटमा विद्युतीय बस सञ्चालनको पूर्व सम्भाव्यता अध्ययनको लागि ५ करोड ५० लाख विनियोजन गरेका थिए ।

    बजेटमा बुटवल–भैरहवा, नेपालगन्ज–कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न ५ करोड ५० लाख विनियोजन गरिएको थियो ।

    पछिल्लो आर्थिक वर्षमा समेत प्रदेश सरकारले निरन्तर बजेट विनियोजन गर्दै आए पनि अहिलेसम्म कुनै प्रगति छैन । इन्धनको मूल्य बढेको समयमा यस्तो विषयमा चर्चा भए पनि अन्य समयमा वास्ता नहुँदा यसले प्रगति लिन नसकेको हो । सरकार आफैले विद्युतीय बस सञ्चालन गर्ने चर्चा हुन थालेको ५ वर्ष पुग्न लागेको छ ।

    नेकपा एमालेका शङ्कर पोखरेल नेतृत्वको प्रदेश सरकार होस् वा वर्तमान गठबन्धनको माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वको सरकारले बजेट भाषणमा विद्युतीय बस सञ्चालन गर्ने कुरा छुटाउँदैनन् ।

    अघिल्लो पटक शङ्कर पोखरेल नेतृत्वको सरकारले पनि विद्युतीय बस सञ्चालन गर्नको लागि निश्चित बजेट विनियोजन गरेका थिए ।
    जसअनुसार प्रदेशको प्रदेश विकास प्राधिकरणमार्फत विद्युतीय बस सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) समेत तयार गरिएको छ । गत वैशाख महिनामा प्रतिवेदन समेत सार्वजनिक भए पनि पछि कुनै पनि काम अगाडि बढाउन सकेको छैन ।

    आउँदो आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको भए पनि यसको ठोस पहल हुन सकेको छैन । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

    बाँकेको नेपालगन्ज–कोहलपुर सडक र रुपन्देहीको बुटवल–भैरहवा सडक खण्डमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरिएको थियो । बढ्दो इन्धनको कारण भाडा दर उच्च भइरहेको सन्दर्भमा विद्युतीय बस उपयुक्त साधन बन्न सक्ने स्थानीयको अपेक्षा रहेको छ ।

    विद्युतीय बस सञ्चालनका लागि पालिकाहरूले जग्गा छनोट गर्ने, प्रदेश सरकारले बसहरू चार्ज गर्नका लागि चार्जिङ स्टेसन निर्माण गर्ने र सम्बन्धित ठाउँका व्यवसायी समितिहरूलाई नै बस सञ्चालनको जिम्मा दिने गरी काम अघि बढाइएको भए पनि हालसम्म यो काम अगाडि बढ्न सकेको छैन ।

    लुम्बिनी प्रदेशका ४ स्थानमा विद्युतीय बसको लागि चार्जिङ स्टेसन स्थापना गर्ने आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा उल्लेख गरिएको छ । बुटवल, भैरहवा र कोहलपुर र नेपालगन्जमा विद्युतीय बस चलाउन सम्भाव्यता अध्ययन भइसकेको ले दुवै रुटको ४ स्थानमा चार्जिङ स्टेसन बनाउने बजेटमा उल्लेख छ ।

    लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता तिलकराम शर्माले चार्जिङ्ग स्टेसनको निर्माणको काम हालसम्म पनि सुरुवात हुन नसकेको बताए । उनले नेपाल विद्युत् प्राधिकरणले लुम्बिनी क्षेत्रमा र यता प्रदेश सरकारले निर्माण गर्ने भनिएको विद्युतीय बस चार्जिङ्ग सेन्टरको एकै पटक गर्ने गरी समन्वय भएको कारण ढिला भएको बताए ।

  • चीन-नेपाल सीमा रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी सहायता स्वीकृत (भिडिओ)

    चीन-नेपाल सीमा रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी सहायता स्वीकृत (भिडिओ)

    काठमाडौं । सरकारले चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

    बैठकले अख्तियारका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ भने कतारको राजधानी दोहामा हुने दोहा फोरमको २० औं संस्करणको सम्मेनलमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीलाई स्वीकृति दिएको छ ।

    बैठकले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाई नियुक्त गरिउको छ । नेपाल र चीनबीच ग्रीड आबद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता स्वीकृत गरेको पनि प्रवक्ता कार्कीले बताए ।

    बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा संजिव झालाई नियुक्त गरेको छ भने जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्राप्त हुने सम्मान ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    त्यस्तै नापी विभागको उपमहानिर्देशकको जिम्मेवारी सहसचिव करुणा केसीलाई दिइएको छ । बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

    मन्त्रीपरिषद्ले लोकसेवा आयोग तथा न्याय सेवा आयोगको सिफारिसबमोजिम बिभिन्न सेवा, समूहका राजपत्राङ्कित प्रथम श्रेणीका पदहरूमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ भने दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय भएको छ ।

    यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकका १४ निर्णय

  • ज्ञानसँगै सीप पनि बाँड्दैछ ज्ञानोदय, के हो क्याड फोडी ? (भिडिओ)

    ज्ञानसँगै सीप पनि बाँड्दैछ ज्ञानोदय, के हो क्याड फोडी ? (भिडिओ)

    काठमाडौं । महंगो स्कूलमा १० वर्ष पढिसकेपछि विद्यार्थीले के प्राप्त गर्छन् ? एक थान प्रमाणपत्र । त्यो प्रमाणपत्रले उच्च तहमा अध्ययनको ढोका खोल्नेबाहेक अरु केही काम दिँदैन ।

    नेपालको यही दोषपूर्ण शिक्षा प्रणालीले गर्दा विद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेका छन् । उनीहरूसँग एसईई पास गरेको प्रमाणपत्र त हुन्छ, तर कुनै सीप सिकेका हुँदैनन् । यसरी उत्पादन भएको जनशक्तिको ठूलो हिस्सा निम्नस्तरको कामको खोजीमा विदेशिने गरेका छन् ।

    यही तीतो यथार्थलाई मध्यनजर गर्दै एउटा निजी विद्यालयले नयाँ पहल गरेको छ । ललितपुरको खोकनामा रहेको ज्ञानोदय बालबाटिका उच्च माध्यमिक विद्यालयले नयाँ प्रविधिलाई अ‌ंगालेकाे छ । कोरोना महामारीपश्चात विद्यालयले नयाँ तरिकाले सोच्न थाल्यो ।

    कोरोना महामारीकालमा अरु विद्यालयजस्तै ज्ञानोदयले पनि भौतिक उपस्थितिमा केन्द्रीत सिकाइलाई अनलाइनमा ढाल्न बाध्य भयो । तर, शिक्षक शिक्षिकाहरू प्रविधिमा अभ्यस्त थिएनन् । ३० वर्षदेखि शिक्षण पेशामा आवद्ध भए पनि उनीहरूसँग अनलाइन कक्षामा पढाएको अनुभव थिएन । तर, उनीहरूसँग दुईवटा मात्रै विकल्प थिए । पहिलो, प्रविधिलाई आत्मसात गरेर नयाँ प्रविधि सिकेर अनलाइन माध्यमबाट पढाउने । दोस्रो, शिक्षण पेशा नै छोडेर अरु कुनै पेशा अंगाल्ने ।

    शिक्षकहरूले प्रविधि सिक्न रुची देखाए । विद्यालयले उनीहरूलाई छोटो समयमा तालिम दिएर दक्ष बनायो । पहिले ल्यापटपसमेत चलाउन नजानेका शिक्षकहरू छिट्टै अनलाइनमा पढाउन सिपालु बने । दुई वर्षसम्म उनीहरूले अनलाइनबाट पढाए । यही कालखण्डमा हो, विद्यालयमा शैक्षिक पाठ्यक्रमलाई नै परिमार्जन गर्नुपर्ने खाँचो महसुस गरियो । शिक्षकहरूले मनन गरे, अहो यत्रो वर्ष पढाएर हामीले विद्यार्थीलाई सर्टिफिकेट बाहेक के दियौं त ? अनि, परम्परागत पाठ्यक्रमलाई बदलेर कसरी सिपमूलक बनाउन सकिन्छ भन्नेमा टिमभित्र छलफल सुरू भयो ।

    अब १० पास भएर जाँदा विद्यार्थीलाई सर्टिफिकेटसँगै के दिने त भनेर बहस गर्ने अवसर कोभिडले नै दिएको ज्ञानोदय बालबालिका उच्च माध्यमिक विद्यालयका आईसीटी इन्चार्ज निरज रानामगरले बताउँछन् ।

    विद्यार्थीलाई अब सर्टिफिकेट मात्र होइन सीप पनि सँगै दिनुपर्छ भनेर पहिलो प्रयास स्वरूप स्कूलले आईसीटी ल्याब सुरूआत गरेको छ । यस ल्याबमा विद्यार्थीले सानैदेखि डिजिटल आर्ट, मोडलिङ, एनिमेसन, फोटोग्राफी, भिडियोग्राफी, सुटिङ, आर्किटेक्चरल डिजाइनिङ लागि प्रयोगात्मक अभ्यास गर्छन् । आईसीटीमा पोग्रामिङ, रोवट, कम्प्युटरको हार्डवेयर र नेटवर्किङका कुराहरू सिक्छन् ।

    स्कूलले आईसीटी शिक्षामा ‘क्याड फोडी’ कोर्स डिजाइन गरेको छ । विद्यार्थीले परम्परागत पाठ्यक्रममा मात्रै केन्द्रित नगराएर एउटा सीपको आधारमा सिकाइ केन्द्रित गरौं भनेर सुरू गरेको उनी बताउँछन् ।

    रानामगर भन्छन्, ‘कोभिड १९ पछिको दुई वर्षमा हामीले हेर्दा धेरै पेशा, जागीरहरू सधैको लागि बन्द भएको पायौं । त्यसको एउटै कारण प्रविधि हो । किनभने प्रविधि एकदमै माथि गइसक्यो ।’

    उनको बुझाइमा अझै पनि २० वर्ष अघिकै परम्परागत पाठ्यक्रम रुमल्लिइरहेका छन् नेपालका स्कूलहरू । जिल्लास्तरीय परीक्षा, एसईई परीक्षा २० वर्षअघि जस्तो थियो अहिले पनि त्यस्तै छ ।

    ‘घोक, जान, १२ पाना लेख एउटा सर्टिफिकेट हातमा आउँछ । तर विद्यार्थीसँग कुनै सीप हुदैन,’ उनी नेपालको शिक्षा प्रणालीप्रति असन्तुष्ट हुँदै भन्छन्, ‘त्यसपछिको एउटै विकल्प विदेश पलायन हुनु हो ।’

    तर धेरै ढिला भए पनि अब स्कूलमा आइसीटी शिक्षामा क्याड फोडी राखेको उनले बताए ।

    रानामगर भन्छन्, ‘आईसीटी इन एजुकेसनलाई पनि बोर्डमा, किताबमा मात्रै सीमित राखेर कसरी हुन्छ ? हाम्रोमा पनि विद्यार्थीले पहिला बोर्डमा मात्रै हेर्थे, अहिले अडिओ भिजुअलमा मात्रै नभएर ‘भर्चुअल रियालीटी शो’ का कन्सेप्टहरू प्रयोग गरेर बुझाउँछौं । पढेका कुराहरूलाई फोर डाइमेन्सनमा देखाएर बुझाउँदा विद्यार्थीले सजिलै सिक्दा रहेछन् ।’

    क्याड फोर डीसहितको आईसीटी पाठ्यक्रमको उद्देश्य भनेको विद्यार्थीहरू एसईई पास हुँदा सर्टिफिकेटसँगै सीप पनि लिएर जाउन् भन्ने हो । यसले कतिपय विद्यार्थीलाई पार्टटाइम जागीर खाएर पछाडिको पढाइमा पनि सहयोग गर्न सक्ने उनको बुझाइ छ ।

    ‘अबको १० वर्षमा धेरै जागीरहरू हराउँदै जानेछन् । अब उच्च माग हुन सक्ने जागीर के-के हुन भनेर विद्यार्थीले त्यसमा फोकस गर्न सकुन् भन्ने मूल उद्देश्य हो । उनीहरू ग्याजेट खेल्छन् । रोवटमा सहयोग गर्छन् । ड्रोन उडाएर सिक्छन्’ उनले भने ।

    ज्ञानोदयले सबैभन्दा पहिलो आईसीटी ल्याबको महत्व किन देख्यो ?

    आईसीटी इन्चार्ज रानामगर भन्छन्, ‘विद्यालयमा एउठा ठाउँ हुनुपर्छ जहाँ विद्यार्थी भाइबहिनीले प्रविधिका कुरा, सीपका कुरा सिकुन् र आफैं अनुसन्धान पनि गरुन् । त्यस हिसाबले आईसीटी ल्याबको महत्व देख्यौं ।’

    तर, आईसीटी ल्याब मात्रै पर्याप्त नहुने र कोर्स नै आवश्यक पर्ने महसुस भएको उनले बताए ।

    ‘त्यही भएर क्याड फोडी डिजाइन गरेका हौं,’ उनले भने ।

    क्याड फोडीभित्र सिनेमाटाेग्राफी, फोटोग्राफी, स्टुडियो, ड्रोन, रेकर्डिङ, डिजिटल आर्ट, टेलिभिजन, मोडलिङजस्ता विषयहरू समावेश गरिएको छ ।

    रानामगर भन्छन्, ‘हामीले यसलाई अतिरिक्त क्रियाकलापको रूपमा खोजेकै छैनौं । यसलाई एकदेखि १० कक्षासम्मका विद्यार्थीले अनिवार्य रूपमा लिनुपर्छ । नो च्वाइस ।’

    स्कूलले १ कक्षा देखि १० कक्षासम्मकै पाठ्यक्रममा क्याड फोडी समावेश गरेको छ, जुन सबैका लागि अनिवार्य हो । क्याड फोडीमा सिकेको सीपले विश्वका नागरिक बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।

    ज्ञानोदयमा हप्तामा दुईवटा पिरियड क्याड फोडीको पढाइ हुन्छ । विद्यार्थीले घरमा पनि अभ्यास गर्छन्, सिक्छन् र प्रोजेक्ट स्कूलमा लिएर आउँछन् ।

    सानै उमेरमा विद्यार्थीलाई के अतिरिक्त दिन सकिन्छ त भनेर आइसीटी सुरू गरेको विद्यालय बताउँछ ।

    ‘सानै उमेरमा एसईई पास गरेपछि विद्यार्थीसँग सीप पनि हुन्छ, सर्टिफिकेट पनि हुन्छ । पढाई खर्च निकाल्न सक्ने भयो र एउटा ग्लोबल सिटिजनको राम्रो काम देखाउन सक्छ,’ सहायक प्रधानाध्यापक भानु ए भन्छन् ।

    प्रविधि एकदमै उच्चस्तरमा माथि गइरहेकाले अब आउने पुस्तालाई समस्या हुने उनको बुझाइ छ ।

    उनी भन्छन्, ‘पाठ्यक्रम पहिला के थियो, अहिले पनि त्यही छ । तर, प्रविधि धेरै विकास भइसक्यो । धेरै जागीरहरू सधैभरीका लागि बन्द भइसके र अब धेरै जागिरहरू बन्द हुन्छन् । त्यसलाई मध्यनजर गर्दै सीपमूलक पढाइलाई जोड दिन क्याड फोडी सुरू गरेका हौं ।’

    यस्तो अभ्यास देशैभर विस्तार गर्नुपर्ने उनको राय छ ।

  • विवेकशील साझा कार्यालयमा तनाव, अध्यक्ष मिश्रविरुद्र उत्रियो असन्तुष्ट समूह (भिडिओ)

    विवेकशील साझा कार्यालयमा तनाव, अध्यक्ष मिश्रविरुद्र उत्रियो असन्तुष्ट समूह (भिडिओ)

    काठमाडौं । विवकेशील साझा पार्टीभित्र संस्थापन पक्ष र असन्तुष्ट समूहबीच विवाद चुलिएको छ । आज पार्टी कार्यालयमा दुवै पक्षले समानान्तर गतिविधि गरेपछि तनाव उत्पन्न भयो ।

    कार्यालय परिसरमा संस्थापन पक्षले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । तर, त्यही समयमा असन्तुष्ट पक्षले पनि छुट्टै पत्रकार सम्मेलन गरेपछि संस्थापन पक्षले हस्तक्षेप गर्‍यो । विवाद बढेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए ।

    असन्तुष्ट समूहका नेता निर्देश सिलवालले अध्यक्ष मिश्रले आफूहरूलाई भ्रममा राखेर पार्टीलाई राप्रपामा विलय गराउन खोजेको आरोप लगाए ।

    पार्टी प्रवक्ता शरदराज पाठकले भने असन्तुष्टका नाममा हुलहुज्जत गरेर सुसंस्कृत राजनीतिलाई विकृत तुल्याउन खोजिएको गुनासो गरे ।

    तीन दिनअघि भएको केन्द्रीय समिति बैठकपछि असन्तुष्ट बनेको समूहले अध्यक्ष मिश्रका विरुद्ध गतिविधि सुरू गरेको छ ।

  • धर्म श्री विजेताले दश लाख प्राप्त गर्ने (भिडिओ)

    धर्म श्री विजेताले दश लाख प्राप्त गर्ने (भिडिओ)

    काठमाडौं । खेलकुद क्षेत्रमा नेपालकै सबैभन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले आयोजना गर्ने १६ औँ धर्म श्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् ।

    आइतबार आयोजित पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा व्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस अघिको संस्करणमा पुरस्कार राशि ५ लाख रहेको थियो ।

    २०१० मा स्थापित व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्म श्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । पहिलो र दोस्रो संस्करणमा तौल समूहको आधारमा प्रतियोगिता गर्दै आईरहेकोमा तेस्रो संस्करणबाट प्रत्येक तौल समूहका विजयी खेलाडीहरूको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्म श्री विजेताको रूपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।

    शारीरिक सुगठनको ईतिहासमा नै अति नै प्रतिष्ठित प्रतियोगिता रहेको धर्म श्रीमा १६ औँ संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स बिदालाई थप गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    २०७९ बैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजी तौल समूहमा ४ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूको विचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्म श्रीको उपाधि सहित सम्मान गरिने छ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् ।

    यसै गरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौँले एक लाख, छैटौँले ९० हजार र सातौँ हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

  • निर्वाचन आयोग र सरकारका गतिविधिप्रति एमालेको आपत्ति, यी हुन् स्थायी कमिटीका निर्णय (भिडिओ)

    निर्वाचन आयोग र सरकारका गतिविधिप्रति एमालेको आपत्ति, यी हुन् स्थायी कमिटीका निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोग र सरकारको भूमिका अनुचित रहेको भन्दै आपत्ति जनाएको छ ।

    स्थायी कमिटी बैठकले पारित गरेका विशेष प्रस्तावबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मतपत्रको रङ परिवर्तन गरेर हरियो बनाउने र दुई दिन मनोनयनका लागि समय दिने निर्णय सच्याउन आग्रह गरे ।

    त्यस्तै सरकारले स्थानीय चुनाव घोषणापछि पनि कर्मचारी र प्रहरीका अन्धाधुन्ध सरुवा बढुवा गर्ने र चुनाव प्रभावित पार्ने खालका नियमावली तथा अध्यादेशहरू ल्याउने काम गरिरहेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

    एमालेको निर्णयमा भनिएको छ– दलहरूसँग कुनै परामर्श नगरी बिना औचित्य मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय सत्तारुढ दल विशेषलाई अनुकूल हुनेगर गरिएको स्पष्ट छ । यो निर्णय अनुचित तत्काल सच्याउन यो बैठक माग गर्दछ ।

    घोषणापत्र र प्रतिबद्धता पत्र आउने

    बैठकले केन्द्रीय कमिटीका तीन वटा निर्णय अनुमोदन गर्दै स्थानीय चुनावको प्रतिबद्धता पत्र तयारीका लागि चैत १६ गते हाइब्रिड भर्चुअल बैठक राख्ने निर्णय गरेको गुरुङले बताए । त्यसका लागि केन्द्रमा रहेका नेताहरू भौतिक रूपमा सहभागी हुनेछन् भने जिल्ला पालिका र प्रदेशका प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।

    सो भर्चुअल बैठकमा प्रदेश र जिल्लाले तोकेका पालिका इन्चार्जहरू, स्थानीय तहमा एमालेले जितेका प्रमुख र उपप्रमुखहरू,मस्यौदा समितिका विज्ञहरू लगायतका नेता सहभागी हुनेछन् ।

    त्यस दिन पहिलो मस्यौदा तयार पारेर वैशाख ९ गते अन्तिम प्रतिबद्धता पत्र सबै पालिकाबाट एकसाथ सार्वजनिक गर्ने एमालेको तयारी छ । केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यहरुले चैत २० गतेसम्म लिखित सुझाव दिनुपर्ने निर्णय समेत बैठकले गरेको छ ।

    एमालेले महाकाली नदीमा भारतले एकतर्फी निर्माण गरिरहँदा सरकार मौन बसेका भन्दै आपत्ति जनाएको छ ।

     

  • स्थायी कमिटी बैठक- निर्वाचन आयोग एमालेविरुद्ध सत्ता गठबन्धनसँग सेटिङ्गमा रहेको ओलीको आशंका (भिडिओ)

    स्थायी कमिटी बैठक- निर्वाचन आयोग एमालेविरुद्ध सत्ता गठबन्धनसँग सेटिङ्गमा रहेको ओलीको आशंका (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका कतिपय क्रियाकलाप खेदजनक र सत्तापक्षलाई फाइदा दिने ढंगले अघि बढेको आरोप लगाएका छन् ।

    स्थायी कमिटीको आइतबार सुरु भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रको रङ बदल्ने,उम्मेदवारी मनोनयन दुई दिन गर्ने,एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलापलाई एमालेले सामान्य रूपमा नलिएको समेत बताए ।

    ओलीले भने– हामी निर्वाचन आयोगबाट विगतदेखि नै पीडित छौँ । मतपत्र च्यातेर हामीलाई हराउँदा पनि हाम्रो विरुद्ध फैसला आएका छन् । राष्ट्रियसभा निर्वाचनको मत परिणाम रोकेर हाम्रो सरकार गठनमा अवरोध सिर्जना गरिएका छ । अहिले मतपत्रको रङ बदल्न एमालेविरुद्ध निर्वाचन आयोगले सेटिङयुक्त काम गरिरहेको छ । दलहरूसँग छलफल नगरी यस्तो निर्णय गर्नै मिल्दैन । तर निर्वाचन आयोग अटेर ढंगले अघि बढेकोले हामीले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने ठाउँ देखिएको छ ।

    ओलीले आयोगको भूमिका एमालेकोविरुद्ध सत्ता गठबन्धनको सहयोगीका रूपमा देखिएको भन्दै यसले निष्पक्ष निर्वाचनमा आशंका पैदा भएको बताए ।

  • कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

    कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

    केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

    यसअघि शुक्रबार पहिलो दिन पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल ‘सुधारको कदम’ आवश्यक रहेको प्रसंगले बैठकमा प्रवेश पाएको थियो ।

    केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै प्रधानमन्त्रीसमेत रहेका सभाति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

     

     

  • प्रचण्ड-वाङ भेटमा उठ्यो बीआरआई कार्यान्वयनदेखि तातोपानी र रसुवागढी नाका सहज सञ्चालनसम्मका विषय (भिडिओ)

    प्रचण्ड-वाङ भेटमा उठ्यो बीआरआई कार्यान्वयनदेखि तातोपानी र रसुवागढी नाका सहज सञ्चालनसम्मका विषय (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ ।

    नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको आर्थिक र सामाजिक विकासका ती आयोजना महत्वपूर्ण मानिएको बताए । उनले आयोजना अगाडि बढ्दा सकारात्मक प्रभाव पर्ने भएकाले पहल गरिदिन चीनसँग आग्रह गरेका छन् ।

    माओवादी नेता शक्ति बस्नेतले कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रूपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरूले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको जानकारी दिए ।

    प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

    नेपालको चीनतर्फ बढ्दो व्यापार घाटालाई कम गर्न पनि सहयोग गरिदिन पनि दुईपक्षीय भेटमा कुराकानी भएको छ । कोरोना महामारीमा चीन सरकारबाट प्राप्त सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई विशेष धन्यवाद दिएको नेता बस्नेतले बताए ।

    भेटको क्रममा चिनियाँ विदेशमन्त्री वाङले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकासप्रतिको तीब्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताए ।

    भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्ड सचिवालयका सदस्यहरू सहभागी थिए ।

    -रासस

  • माधव नेपाल भन्छन्- हामी तीन प्रदेशमा एमालेभन्दा अगाडि, केपी ओली बिचराको बेहाल छ (भिडिओ)

    माधव नेपाल भन्छन्- हामी तीन प्रदेशमा एमालेभन्दा अगाडि, केपी ओली बिचराको बेहाल छ (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्तरूपमा अगाडि बढिरहेको बताएका छन् । उनले स्थापनाकालमै आफ्नो पार्टी सुदूरपश्चिम, मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको बताए ।

    ‘सुदूरपश्चिममा त हाम्रो पार्टी एक नम्बरमा छ । केपी ओलीको पार्टी भुइँमा पछारिएको छ,’ पार्टीनिकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै उनले भने,‘माओवादी २ नम्बर, कांग्रेस ३ नम्बर, केपी ओली बिचरा बेहाल !’

    त्यसैगरी मधेस प्रदेशमा पनि नेकपा (एस) भन्दा एमाले धेरै पछाडि परेको उनले दाबी गरे । उनले भने, ‘दुई नम्बर प्रदेशमा हामी सशक्त भएर अगाडि छौं । केपी ओलीको पार्टी त कहाँ हो कहाँ ।’

    राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई धुलिसात बनाएको पनि नेता नेपालले दाबी गरे ।
    ‘पहिलो चुनावमा एकसिटमा धुलो चटायौं,’ उनले भने,‘दोस्रोपटक १९ सिटमा भएको चुनावमा एक सिटमा सीमित पारेर धुलिसात पारिदियौं ।’

    कर्णाली प्रदेशको विषयमा बोल्दै उनले भने,‘कर्णाली प्रदेशमा पनि हाम्रो पार्टी अगाडि सशक्त ढंगबाट अगाडि बढिरहेको छ, एमाले पछारिएर अर्धबेहोस अवस्थामा छ ।’

    जिल्लाहरूको विषयमा बोल्दै उनले आफ्नो पार्टी अधिकांश जिल्लामा एमालेभन्दा अगाडि रहेर सशक्त ढंगले संगठित भएर अघि बढिरहेको बताए ।

  • शेखरलाई सुजाताको जवाफ- गठबन्धनकै कारण प्रधानमन्त्री र चिफ मिनिस्टर पायौं, झमेला ननिकाल्नुस् (भिडिओ)

    शेखरलाई सुजाताको जवाफ- गठबन्धनकै कारण प्रधानमन्त्री र चिफ मिनिस्टर पायौं, झमेला ननिकाल्नुस् (भिडिओ)

    काठमाडौं । नेपाली कांगेसकी नेतृ सुजाता कोइरालाले गठबन्धन कायम राखेर चुनावमा जानुपर्ने धारणा राखेकी छन् । केन्द्रीय कमिटी बैठक चलिरहँदा केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले गठबन्धनकै कारणले कांग्रेस सरकारको नेतृत्व गरिरहेको बताइन् ।

    ‘गठबन्धनकै कारणले प्रधानमन्त्री पायौं, चिफ मिनिस्टर पायौं, अपर हाउस जित्यौं,’ उनले भनिन्,‘त्यसैले गठबन्धन कायम राखेर चुनावमा जानुपर्छ भन्ने मलाई लाग्छ ।’

    यसरी गठबन्धन गर्दा कांग्रेस बलियो रहेको ठाउँमा आफै लड्ने र कमजोर ठाउँमा अन्यलाई सघाउनुपर्ने उनको जोड थियो ।

    गुटउपगुटकै कारण कांग्रेस निर्वाचनमा पराजित हुने गरेको बताउँदै उनले भने,‘चुनाव आइरहेको छ । अहिले विवाद गर्नु हुँदैन । गुटउपगुट समाप्त गर्नुबेलामा यस्तो विवाद गर्नु हुँदैन ।’

    सहमति, सहकार्य र एकता गरेर जानुपर्ने बेला पार्टीभित्र अनावश्यक झमेला ननिकाल्न सुजाताको सुझाव छ ।

    अहिले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको, आफूसँग परामर्श नगरेकोलगायतका विषयमा शेखर कोइराला समूह पार्टी सभापतिविरुद्ध दबाब सिर्जना गरिरहेको छ । सँगै पार्टी सभापतिले गठबन्धन दलबीच चुनावी तालमेल गर्नुपर्ने धारणा राखिरहँदा शेखर समूह त्यसको विपक्षमा छ ।

    यस्तोमा शेखरकै बहिनी सुजाताबाट यस्तो धारणा आएको हो । शेखरले हिजोको एक सार्वजनिक कार्यक्रममा गठबन्धन गर्दैजाँदा कांग्रेस भारतीय कांग्रेस आईको अवस्थामा पुग्ने खतरा रहेको बताएका थिए ।

    सोही कुराबारे पनि सुजाताले टिप्पणी गरेकी छन् । ‘कांग्रेस आईजस्तो हुन्छ, भनेर निरास हुने कुरा नगर्नुस्,’ उनले भनिन्,‘हामीले आशा जगाउने कुरा गर्नुपर्छ । कांग्रेस त्यसरी कहिल्यै सकिँदैन ।’

  • ओली-वाङ यी भेटवार्ता : बीआरआईअन्तर्गतका परियोजना अघि बढाउन चीनलाई आग्रह (भिडिओ)

    ओली-वाङ यी भेटवार्ता : बीआरआईअन्तर्गतका परियोजना अघि बढाउन चीनलाई आग्रह (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) ले बेल्ट एण्ड रोड इनिसियटिभ अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ ।

    नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटका क्रममा सो आग्रह गरिएको हो ।

    एमाले नेता राजन भट्टराईका अनुसार आजको भेटवार्तामा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहजरूपमा फर्कने वातावरण बनाइदिन पनि आग्रह गरिएको छ ।

    कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो । तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो । ओलीको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रूपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।

    बीआरआईलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङले प्रतिबद्धता जनाए ।

    भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताको सहभागिता थियो ।

  • राष्ट्रपति-चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता (भिडिओ)

    राष्ट्रपति-चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता (भिडिओ)

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

    शुक्रबार अपरान्ह काठमाडौं आएका वाङ यीले केही बेरअघि शीतल निवास पुगेर राष्ट्रपति भण्डासँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हित लगायतका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    वाङले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्दैछन् ।

    हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग वाङको भेट भइसकेको छ । हिजै परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा नेपाल-चीन विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

  • केपी ओली रावण र कंसजस्तै इतिहासका कुपात्र : माधव नेपाल(भिडिओ)

    केपी ओली रावण र कंसजस्तै इतिहासका कुपात्र : माधव नेपाल(भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासकै एक कुपात्र भएको टिप्पणी गरेका छन् । उनले ओलीलाई रावण, कंस, शिशुपाल र हिटलरसँग तुलना गरे ।

    नेकपा एसनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालको विस्तारित बैठक समापन कार्यक्रममा नेपालले ओलीको कटु आलोचना गरेका हुन् । उनले पौराणिक साहित्यको अध्ययन गर्दै ओलीको भर्त्सना गर्न पार्टी पंतिलाई निर्देशन दिए ।

    नेपालले भने, ‘ठ्याक्कै रावणको प्रवृत्ति केपी ओलीमा देखिएको छ । पौराणिका साहित्यको अध्ययन पनि गर्नुपर्छ । रावण, कंस, शिशुपालदेखि हिटलरसम्मले के-के गरे ? हिटलरले कतिवटा कुकृत्य थिए ? ठ्याक्कै तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस् ।’

    कम्युनिष्टहरू सबै तानाशाह नहुने नेपालले बताए । तर, कम्युनिष्टको आवरणमा पनि तानाशाहरू जन्मिनसक्ने भन्दै उनले ओलीको उदाहरण दिए ।

    ‘कांग्रेसलाई के भन्नुपर्‍यो भने कम्युनिष्टलाई अधिनायकवादी भन्छन्, त्यस्तो होइन । कम्युनिष्टको आवरणमा तानाशाहहरू जन्मिन सक्दा रहेछन् । यो पात्र विशेषमा उत्पन्न भएको विकृति हो । यस्ता कुपात्रहरू इतिहासको कालखण्डमा देखिन्छन् । केपी ओली त्यस्तै एक कुपात्र हुन्, राजनीतिमा लागेका सबैलाई चेतना भया ।’ नेपालले भने ।

    समयमै सचेत नभए पछि पछुताउनुको विकल्प नहुने भन्दै उनले कांग्रेसलाई चेतावनी दिए ।

    ‘मैले कांग्रेसका नेताहरूलाई पनि भनेँ । तपाईंहरूले जानीजानी त्यस्ता कुपात्रलाई विश्वास गर्नुभयो भने देशको प्रजातन्त्र, संघीयता, संविधान सबै खतम हुन्छ । अनि पछुताएर हुन्छ के ? केपी ओलीले जम्मै सिध्याएपछि टाउकोमा हात नराखेर के गर्ने ?’

  • पार्टीका पत्रकारसँग माधव नेपालको गुनासो- खादा र टीका लाउन भ्याइनभ्याइ छ, प्रचार नै छैन (भिडिओ)

    पार्टीका पत्रकारसँग माधव नेपालको गुनासो- खादा र टीका लाउन भ्याइनभ्याइ छ, प्रचार नै छैन (भिडिओ)

    काठमाडौं । नेकपा एसका नेता माधवकुमार नेपालले जताततै पार्टी प्रवेश गर्नेहरूको लहर चलेको बताएका छन् । तर, उनले पत्रकारहरूले गर्नुपर्ने जति प्रचार भने नगरेको गुनासो गरे ।

    पार्टीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जिल्ला जिल्लाका समाजवादीका पत्रकारहरूले समाचार र फोटोहरू तत्काल पठाउन निर्देशनसमेत दिए ।

    ‘म विभिन्न ठाउँमा गइराको छु । २ हजार ३ हजारले हल टनाटन छ । मान्छे बाहिर बसिरहेका हुन्छन् । त्यहाँ के भएको थियो । फोटा आउनुपर्‍यो । समाचार प्रसारण गर्ने कुरामा कार्यक्रम र भाषणका सकारात्मक पक्षहरूलाई इमिडियट पठाउनुपर्‍यो’, अध्यक्ष नेपालले भने ।

    समाचार हेर्दा, पढ्दा हेरौं हैरौं र पढौं पढौं लाग्ने गरी लेख्न पनि उनको आग्रह थियो ।

    नेता नेपालले पार्टी प्रवेश गराउन भ्याइनभ्याइ भएको पनि सुनाए । उदाहरण दिँदै उनले भने, ‘गुल्मीमा म गएको थिए । मान्छे यति धेरै ओइरिन थाले कि मैले नभ्याएर रामकुमारी झाँक्रीलाई टीका लगाउन पालो दिएँ । त्यहाँ उत्साह । जबकि एमालेका दुई नेता त्यहीँ कब्जा गरेर बसेका छन् । खसी काटेर भोज गरेर हाम्रोतिर आउन रोकेका छन् । दुईवटा बसमा आएकालाई रोकेका छन् । तर, मान्छे आउन रोकिएका छैनन् । हल भरिएर । जहाँ गयो आकर्षण बढ्दो छ । हाम्रो पार्टीको प्रभाव विस्तार हुँदैछ । यो पोजिटिभ पक्ष हो । जति प्रचार हुनुपर्ने भएको छैन ।’

    धादिङको धुनिबेँसीमा अढाई हजारलाई प्रवेश गराएको भन्दै उनले नेकपा एसको कार्यक्रमलाई माओवादीले आफ्नो कार्यक्रम भनेर फोटो हालेको बताए ।

    नेपालले भने, ‘मैले प्रचण्डलाई सोधेँ । किन यो लेखेको ? उहाँहरूलाई पनि लाग्यो कि के हो हाम्रा पनि मान्छे गए’ भनेर ।

    चुनावमा पार्टीलाई विजयी गराउन लाग्न भन्दै उनले पत्रकारले फोटो खिच्दा र समाचार लेख्दा ध्यान दिनुपर्ने विषय पनि सिकाउन भ्याए ।

  • भीम रावल-घनश्याममाथि नेकपा एसको प्यारोडी, नाचे माधव नेपाल (भिडिओ)

    भीम रावल-घनश्याममाथि नेकपा एसको प्यारोडी, नाचे माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको एउटा कार्यक्रममा नेकपा एमालेमा रहेका असन्तुष्ट नेताहरूलाई प्यारोडीमार्फत घोचपेच गरिएको छ ।

    एमाले अध्यक्ष केपी ओलीविरोधी नेताहरू भीम रावल र घनश्याम भुसाललाई तारो बनाइएको प्यारोडी गीतमा नेकपा एसका अध्यक्ष माधव नेपाल पनि रमाएर नाचे ।

    समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठक समापन कार्यक्रममा नेपाल प्रमुख अतिथि थिए । कार्यक्रमका बीच कलाकारले प्यारोडी गीत गाएका थिए ।

    जेबी टुहुरेको चर्चित जनवादी गीत ‘आमा दिदी बहिनी हो…’ माथि बनाइएको प्यारोडीको बोल थियो, ‘भीम रावल, घनश्याम कति बस्छौ लाछी भइ बार्दलीको दासी बनेर…’

    कलाकारले गीत प्रस्तुत गरिरहँदा नाचिरहेकी एक युवतीले आफ्नै आसनमा बसेर रमाइरहेका अध्यक्ष नेपालसहितका नेताहरूलाई तानेर अगाडि ल्याइन् ।

    नेपाल मुस्कुराउँदै आए र थपडी बजाउँदै कलाकारको गीतमा साथ दिए । एकछिनमा युवतीले हातै समातेर नचाएकी थिइन् ।