Category: भिडियो

  • ओलीको टिप्पणी- पुष्पकमलका भाइ नारायणकमललाई मनोनित गरेर क्रान्ति सम्पन्न (भिडिओ)

    ओलीको टिप्पणी- पुष्पकमलका भाइ नारायणकमललाई मनोनित गरेर क्रान्ति सम्पन्न (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा रहेको ‘क्रान्तिकारी हुँ भन्नेले आफन्तबाहेक अन्य कोही नियुक्त गर्दैनन्’ भन्ने कुरा पुष्टि हुँदै गएको बताएका छन ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गर्दै राजनीतिक नेताहरूमा नातावाद, कृपावादको बारेमा यत्रो बहस भइराखेको अवस्थामा प्रचण्डले त्यसलाई मलजल गरेको बताए ।

    ‘देशमा क्रान्तिकारी हुँ भन्नेले त आफन्तबाहेक अन्य कोही नियुक्तै गर्दैनन भन्नेथ्योे,’ राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘हिजो पुष्पकमल दाहालका भाई नारायणकमल दाहाल उहाँलाई राष्ट्रिय सभामा नियुक्त गरियो ।’

    देशमा भएका संघर्षमा आन्दोलन गरेका, दुःख पाएकाहरूलाई छाडेर परिवारवादमा चुर्लुम्म डुब्नु दुखद भएको उनले बताए । माओवादीले सञ्चालन गरेको जनयुद्धलाई उद्वरण गर्दै अध्यक्ष ओलीले भने,‘अपाङ्गता भएका व्यक्तिहरू छन । शरीरमा गोली लागेर हिडिरहेका व्यक्तिहरू छन । जनयुद्धका नाममा ज्यान हत्केलामा राखेर मौकाले बचेका व्यक्तिहरू छन । यि सबै व्यक्तिहरूलाई छोडेर अनादर गरेर, उपेक्षा गरेर आफ्नै भाईलाई राष्ट्रिय सभा सदस्य बनाउने बोक्ने !’

  • गभर्नर हटाउने निर्णयबारे ओलीको बोलीः धान खाने मुसाद्वारा भ्यागुतालाई कारबाही (भिडिओ)

    गभर्नर हटाउने निर्णयबारे ओलीको बोलीः धान खाने मुसाद्वारा भ्यागुतालाई कारबाही (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयविरुद्ध खरो रूपमा उत्रिएका छन् ।

    आज बिहान पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुलुकको अर्थतन्त्र जोगाउन लागिपरेको एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्जता रहेको टिप्पणी गरे ।

    ‘हिजोमात्रै हामीले देख्यौं । थुनुनाभरी रौँ भएको मुसाले धान खायो, यौटै रौँ नभएको मुसालाई कारबाही भयो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि ! त्यसमा पनि अनुहारमा रौँ भएको मुसाले कपाकप धान आयो । उसैले रौँ नभएकोलाई कारबाही भयो,’ उनले भने,‘राष्ट्रबैंकको गभर्नरलाई कारबाही भयो, जसले देशको अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दैहुनुहुन्थ्यो ।’

    उनले देश निर्लज्ज व्यक्तिहरूका हातमा पुगेको टिप्पणी गरे । गभर्नर अधिकारी अर्थतन्त्र बुझेको र अनुभवी राष्ट्रसेवक रहेको ओलीको भनाई छ । उनले भने, ‘अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक, अर्थशास्त्री, अर्थविद राष्ट्रबैंक भित्रै डेपुटी गभर्नर भएर अर्थतन्त्र बुझेका मान्छे । उनलाई निस्कासित गरियो ।’

    त्यसपछि छानविन गर्न बनाइएको समितिमा पनि माओवादी केन्द्रको छाँया रहेको अध्यक्ष ओलीले बताए । ‘माओवादीले नियसक्त गरेको, माओवादी निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानविन समिति बनायो । माओवादी भनेर जानिएको मान्छे ।’ उनले अगाडि भने ।

  • पशुपति धर्मशालाको मूल गेटमा लगाइएको ताला तोडियो (भिडिओ)

    पशुपति धर्मशालाको मूल गेटमा लगाइएको ताला तोडियो (भिडिओ)

    काठमाडौं । काठमाडौं जिल्ला अदालतको अन्तरकालीन आदेशपछि पशुपतिस्थित धर्मशालामा लगाइएको ताला तोडिएको छ । पशुपति क्षेत्र विकास कोशले बतास समूहद्वारा सञ्चालित धर्मशालाको मूल गेटमा ताला लगाएको थियो ।

    कोषले शुक्रवार ताला लगाए लगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो रु आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्याद म्याद बाहेक १५ ९पन्ध्र० दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा आदेश दिएको थियो ।

    होटेल आनन्द प्रा।लिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।

  • प्रचण्डको दावी- अदालत प्रयोग नगरेको भए सुर्य चिन्ह हाम्रो हुन्थ्यो, केपी गुट सडकमा पुग्थ्यो (भिडिओ)

    प्रचण्डको दावी- अदालत प्रयोग नगरेको भए सुर्य चिन्ह हाम्रो हुन्थ्यो, केपी गुट सडकमा पुग्थ्यो (भिडिओ)

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व एमालेका नेता कार्यकर्ताले आफूलाई मदन भण्डारीको दर्जा दिन थालेपछि तत्कालीन नेकपामा केपी ओली गुटले आफूमाथि आक्रमण थालेको दावी गरेका छन् ।

    चितवनको खैरहनीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूले कार्यकारी अध्यक्षका रुपमा बैठक सन्चालन गरेपछि पूर्व एमाले समूहका केन्द्रीय सदस्यहरुले ‘हामीले तपाईंमा मदन भण्डारी देख्यौं,अब छाड्दैनौं’ भनेपछि ओली गुटका पाँच सात जनाले गौशालामा बैठक राखेर आक्रमण थालेको बताए ।

    आफूले १९ बुँदे दस्तावेजमार्फत ओलीमाथि हमला गरेर पार्टीबाट उनलाई निष्कासन गर्न लाग्दा पार्टी प्रचण्डले कब्जा गर्ने भयो भनेर संसद विघटन गरेको प्रचण्डले बताए । उनले यो कुरालाई तलैसम्म लैजान कार्यकर्तालाई निर्देशन दिए ।

    प्रचण्डले भने- प्रचण्डले पार्टी लग्यो भनेपछि ओली गुटले आक्रमण गर्न थाल्यो । यदि अदालत प्रयोग गरेर पार्टीलाई दुईटा नबनाएको भए आज नेकपा पनि हाम्रो हुन्थ्यो, सुर्य चिन्ह पनि हाम्रो हुन्थ्यो । एमाले भन्ने पार्टी रहदैन थियो । केपी ओली गुट पार्टीविहीन भएर सडकमा पुग्ने थियो । तर निर्वाचन आयोगले पनि समयमा निर्णय नदिँदा यो हालत भयो ।

    अध्यक्ष प्रचण्डले माओवादी छाप भएको संविधान उल्टयउन खोजेपछि केपी ओलीको बुर्जुआ हेडक्वार्टरमा बमबार्ड गरिएको बताए ।

  • निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लघंन गरे सचेत गराउनेदेखि उम्मेदवारी रद्दसम्म (भिडिओ)

    निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लघंन गरे सचेत गराउनेदेखि उम्मेदवारी रद्दसम्म (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ ।

    आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

    आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गरी नागरिकलाई निर्बाध ढंगले मताधिकार प्रयोग गरी लोकतन्त्र सुदृढीकरण गर्न सबैले प्रयास गर्नुपर्ने जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएमा आचारसंहिता उल्लघंनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना र दण्ड सजाय गराउने वा उम्मेदवारी रद्दसमेत गर्न सक्ने बताए ।

    ‘निर्वाचन आचारसंहिताको पूर्ण पालनाबिना विश्सनीय निर्वाचन हुन सक्दैन भन्ने तथ्यलाई आत्मसात् गरी खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमानदारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने सन्दर्भमा साझा सङ्कल्प र इमानदार प्रयत्न आवश्यक पर्छ’, आयोगका प्रवक्ता पौडेलले भने ।

    निर्वाचन आयोगले आचारसंहिता अनुसार दल र उम्मेदवारले मात्रै सामाजिक सञ्जालमार्फत प्रचार गर्न पाउने जनाएको छ ।

    त्यस्तै निर्वाचन प्रचारका लागि झोला, क्याप, टिसर्ट लगायतका सामाग्री बनाउन वा वितरणसमेत गर्न नपाउने व्यवस्था आचारसंहितामा रहेको आयोगले स्मरण गराएको छ ।

  • खुलामञ्चबाट लिङदेनको गर्जन : साँढेले दूध दिँदैन, चुनावमा कांग्रेस कम्युनिष्टको बाकस खालि गरिदिनुस् (भिडिओ)

    खुलामञ्चबाट लिङदेनको गर्जन : साँढेले दूध दिँदैन, चुनावमा कांग्रेस कम्युनिष्टको बाकस खालि गरिदिनुस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिष्टलाई भोट दिएर देश बन्छ भन्ने भ्रम नपाल्न आह्वान गरेका छन् । अबको चुनावमा जनताले विवेक नपुर्‍याए नेपाल श्रीलङ्का वा युक्रेन बन्न सक्ने उनले चेतावनी दिए ।

    पार्टीले खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै लिङदेनले चुनावमा कांग्रेस, एमाले र माओवादीको बाकस खालि गरिदिन आह्वान गरेका थिए । ती दलहरूलाई ‘साँढे’ को संज्ञा दिँदै उनले तिनीहरूबाट दूधको आशा नराख्न सुझाव दिए ।

    लिङदेनले भने, ‘साढेको टाङमुनि बाल्टी थापेर के दूधको आशा गर्नु ? जति सिर्कना हाने पनि, जति सुमसुम्याए पनि, जति दाना हाले पनि आउँदैन । किनकि साँढेको धर्म नै दूध दिने होइन । यी पार्टीहरू पनि यस्तै बाँझे भइसके ।’

    एक वा दुई कार्यकालमा काम देखाउन नसकेकाले तेस्रोमा पनि नसक्ने उनको दाबी छ । नयाँ सोचका साथ देशलाई अगाडि लैजानका लागि राप्रपालाई भोट दिन लिङदेनले आग्रह गरे ।

    आफ्नो पार्टीले जितेका स्थानीय तहमा १२ कक्षासम्म निशूल्क शिक्षा दिने उनले घोषणा गरे । महिनाको एक चोटि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घरमै गएर गर्ने आश्वासन पनि उनले दिए ।

    ‘हामीले जितेको पालिकामा सुशासन कायम हुन्छ, आजको काम भोलि भन्ने हुँदैन,’ उनले भने, ‘मैले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर मैले अतिरिक्त शपथ खाएको छु ।’

    नेपाल अहिलेकै अवस्थामा अघि बढिरहे असफल राष्ट्र बन्न सक्ने लिङदेनले चेतावनी दिए ।

    उनले भने, ‘ऋण लिएर देश चलाउने नेताहरूले देशलाई कहाँ पुर्‍याए ? १ केजी टमाटरको १८ सय पुग्यो रे । नेपाल पनि त्यही बाटोमा छ । यो ३१ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानाजस्तो बन्यो ।’

    लिङदेनले तीन तहको निर्वाचनमा ठूला पार्टीहरूको बाकस खाली गरिदिन आह्वान गरे ।

    ‘यिनीहरूले बेइमानी गरे, तर यिनीहरूको बाटो छेक्नुस्, ढुङ्गा हाल्नुस्, कालो मोसो दल्नुस् भन्दैनौँ । यत्ति भन्छौँ, यो एक वर्षभित्र यिनीहरूको बाकस खालि गरेर देखाइदिनुस् । जनता कुनै पार्टीको गोठको गाई वस्तु होइन, सार्वभौम हुन् भन्ने प्रमाणित गरिदिनुस् । कति भाग्यलाई दोष दिएर बस्नुहुन्छ ?’

  • जनमतसंग्रह गरौं, नेपाल हिन्दू राष्ट्र बन्छ, बन्छः पशुपतिशम्शेर राणा (भिडिओ)

    जनमतसंग्रह गरौं, नेपाल हिन्दू राष्ट्र बन्छ, बन्छः पशुपतिशम्शेर राणा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले नेपाललाई हिन्दू राष्ट्र बनाइछाड्ने अठोट व्यक्त गरेका छन् । उनले अपवित्र सम्झौताबाट नेपाललाई धर्मरिपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाए ।

    राप्रपाको खुलामञ्चमा आयोजित जनसभालाई सम्भोधन गर्दै राणाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि जनमतसंग्रहमा जान तयार रहेको बताए ।

    उनले भने, ‘अपवित्र सम्झौताबाट यो मुलुकलाई जसले हिन्दू राष्ट्र बनायो, त्यसले सम्पूर्ण नेपालीलाई धोका दियो । यही मञ्चबाट घोषणा गर्छौं कि हामी यो मुलुकलाई हिन्दू राष्ट्र बनाइछाड्छौं । जनमत संग्रह गर्नुपर्छ भने गराउँछौं ।’

    राणाले जनमतसंग्रह भएको खण्डमा ८१ प्रतिशतभन्दा बढी हिन्दू र ९४ प्रतिशत सनातन धर्माबलम्बिहरुले हिन्दू राष्ट्रका पक्षमा भोट हाल्ने बताए ।

    ‘हिन्दू राष्ट्र नेपालको पहिचान हो । धर्मनिरपेक्षता ल्याउनेहरुले यो मुलुकको पहिचान मेटिदिए । तर, अब यो पुण्यभूमि अमर र अजय हिन्दू राष्ट्र बन्छ ।’ राणाले भने ।

  • बतास समूहले पशुपति धर्मशालामा चलाएको होटलमा कोषले लगायो ताला (भिडिओ)

    बतास समूहले पशुपति धर्मशालामा चलाएको होटलमा कोषले लगायो ताला (भिडिओ)

    काठमाडौं ।पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको होटेलको मूलगेटमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ। नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।

    ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ ।

    कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ। होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ। अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच शुक्रबार पनि विवाद भएको थियो ।

    यसअघि गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित धर्मशाला पुगेका थिए । त्यसबेला पनि बतास समूहका कर्मचारीले अवरोध गरेका थिए ।

     

  • पार्टी एकताका लागि प्रचण्ड-माधवलाई बहुमत दिएँ, मैले दिएको बहुमतले मलाई नै हटाउन खोजे : ओली (भिडिओ)

    पार्टी एकताका लागि प्रचण्ड-माधवलाई बहुमत दिएँ, मैले दिएको बहुमतले मलाई नै हटाउन खोजे : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई बहुमत दिएर पार्टी एकता गर्दा उल्टै आफैँलाई हटाउन खोजेपछि उनीहरूलाई औकातमा फर्काइदिएको बताएका छन् ।

    एमाले निकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ४ सिट पनि ल्याउन नसक्ने प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि झम्टिएको टिप्पणी गरे ।

    ओलीले भने– देश बनाउनका लागि भनेर प्रचण्ड माधवलाई बहुमत दिएँ तर उल्टै मलाई हटाउन त्यो बहुमतको दुरुपयोग गरे । मैले वरदान दिएँ तर मेरै टाउकोमा हात राख्ने भष्मासुर प्रवृत्ति देखाए । माधव नेपाल २३ सिट ल्याउने हुती भएको मान्छे हुन् ? पार्टीभित्रको कुरा हो भनेर खुरुखुरु दिइयो तर एमालेलाई दिएको भोट बेचेर हिँडे । माधव नेपालले अब तीन सिट ल्याएर देखाउन् ।

    मन्त्री खानका लागि एमालेको भोट बेचेर केही मोटा मोटा थलथले ज्यान भएकाहरू खुरुरु दौडेर भित्तातिर हिँडेको भन्दै ओलीले प्रेम आले र किसान श्रेष्ठहरूप्रति समेत व्यङ्ग्य गरे ।

    ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताए ।

  • हेटौंडा सिमेन्टको महाप्रबन्धकसहित दर्जनौं पदमा सरकारी नियुक्ति (सूचीसहित)

    हेटौंडा सिमेन्टको महाप्रबन्धकसहित दर्जनौं पदमा सरकारी नियुक्ति (सूचीसहित)

    काठमाडौं । सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहालालाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकारसम्मेलनमार्फत जानकारी गराएका हुन् ।

    बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल र प्रा.डा. भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय भएको छ । श्रम अदालतको अध्यक्षमा उच्च अदालत बिराटनगरको वखलढुंगा इजलाशका न्यायाधीश बासुदेव आचार्यलाई तोक्ने निर्णय पनि गरेको छ ।

    काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतकोसमेत कामकाज गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मालाई तोक्ने निर्णय भएको छ । राजस्व न्यायधिकरण पोखराको कानून सदस्य एमव अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने निर्णय भएको छ ।

    बैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर बिरगञ्ज इजलाशका न्यायाधीश डा।रबी शर्मालाई तोक्ने निर्णय भएको छ ।

    भूकम्पबाट प्रभावित संरचनाको पुर्ननिर्माणको पुनरावेदन समितिको अध्यक्षमा अदालतकोसमेत कामकाज गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने निर्णय भएको छ । सैनीक विशेष अदालतको अध्यक्षमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय भएको छ ।

  • धर्मशाला गेटमा बतास र सरकारी पक्षबीच भनाभन, सत्तापक्षकै जनप्रतिनिधिले मुचुल्कामा सही गर्न गएनन् (भिडिओ)

    धर्मशाला गेटमा बतास र सरकारी पक्षबीच भनाभन, सत्तापक्षकै जनप्रतिनिधिले मुचुल्कामा सही गर्न गएनन् (भिडिओ)

    काठमाडौं । पशुपतिनाथ परिसरमा रहेको धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित गएको पशुपति विकास कोष तथा सरकारको टोलीलाई व्यवस्थापन पक्षले गेट लगाएर भित्र पस्न रोकेको छ ।

    पर्यटनमन्त्री प्रेम आलेको निर्देशनका गएका सरकारी प्रतिनिधिलाई धर्मशाला सञ्चालक पक्षले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै भित्र प्रवेश गर्न दिएन । हुलहुज्जत गर्दै मिडिया बोकेर आएको भन्दै कर्मचारीले भित्र अवलोकन गर्ने भए समय लिएर आउन भनेका थिए । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो ।

    यसअघि पनि कोषका प्रतिनिधि धर्मशालामा जाँदा पत्र बुझ्न मानेको थिएनन् । स्थानीय जनप्रतिनिधि मुचुल्कामा सही गर्न नआएपछि उनीहरु फर्किएका थिए । आज पनि जनप्रतिनिधि खोज्दा कोही पनि सम्पर्कमा आउन नचाहेको कोषका एक पदाधिकारीले बताए ।

    पशुपति क्षेत्र काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा पर्छ । सो वडामा सत्तारुढ नेपाली कांग्रेसले जितेको छ । संघीय सांसद पनि कांग्रेसकै गगनकुमार थापा छन् भने प्रदेश सांसद कांग्रेसका नरोत्तम वैद्य छन् । तर सत्तापक्षकै जनप्रतिनिधिले सहयोग नगरेको पर्यटनमन्त्री आलेको सचिवालयले जनाएको छ ।

    सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

    त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ ।

  • मन्त्री आलेको आरोप- ओली सरकारका मन्त्रीले सरकारी सम्पत्ति भ्रष्टाचार गर्दै कौडीमा दिए (भिडिओ)

    मन्त्री आलेको आरोप- ओली सरकारका मन्त्रीले सरकारी सम्पत्ति भ्रष्टाचार गर्दै कौडीमा दिए (भिडिओ)

    भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओली सरकारका मन्त्रीहरूले भ्रष्टाचार गर्दै सरकारी सम्पत्ति कौडीको भाउमा निजी क्षेत्रलाई दिएको आरोप लगाएका छन् ।

    विहीबार छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री ओलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पत्ति फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने पनि बताए ।

    उनले आफू मन्त्री भएपछि सरकारी सम्पत्तिको दुरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्ब ५ करोड रूपैया उठेको जिकिर गरे ।

    स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने मन्त्री आलेको भनाइ छ । एमाले अध्यक्ष ओलीले एमालेलाई एक क्वीन्टलको ढक भनेको सन्दर्भमा आधा किलोमा झार्ने गरी चुनावी तयारी गर्न उनको कटाक्ष थियो ।

  • भन्सार छलेर ल्याइएका बुलेट बाइकमा नक्कली नम्बर प्लेट (भिडिओ)

    भन्सार छलेर ल्याइएका बुलेट बाइकमा नक्कली नम्बर प्लेट (भिडिओ)

    काठमाडौं । भन्सार छलेर ल्याइएका बुलेट बाइकहरु नेपालमा नक्कली नम्बर प्लेट राखेर चलाउने गरिएको पाइएको छ।

    महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट ७ वटा बुलेट बाइकहरु बरामद गरेको छ। २१ लाख रुपैयाँ मुल्य बराबरका ती बाइकहरु भन्सार कार्यालयको जिम्मा लगाइएको महाशाखाले जनाएको छ।

    प्रहरीले कसैलाई पक्राउ भने गरेको छैन। ती सबै मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाई छ।

  • पूर्वअर्थमन्त्री महत भन्छन्- सरकारले पुँजीगत खर्च गर्न सकेन (भिडिओ)

    पूर्वअर्थमन्त्री महत भन्छन्- सरकारले पुँजीगत खर्च गर्न सकेन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् ।

    रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका हुन् ।

    अनुपयुक्त रूपमा नेपालमा बजेट धेरै ठूलो घोषणा गर्ने काम भएको भन्दै महतले टिप्पणी गरे । चालु आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गएको ७ महिनाको रिपोर्ट हेर्दा जम्मा ५ खर्बमात्रै खर्च भएको तथ्यांक रहेको उनले बताए ।

    महतले विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स पनि कम भएको र विकास आयोजनाहरुको सही तबरले कार्यान्वयन हुनुपर्नेमा जोड दिए । आर्थिक विकासको लागि आर्थिक वृद्धिद्धर बढाउनुपर्ने उनको भनाइ छ ।

  • प्रधानमन्त्री देउवाले गरे टाइफाइडविरुद्ध खोप लगाउने अभियानको उद्घाटन (भिडिओ)

    प्रधानमन्त्री देउवाले गरे टाइफाइडविरुद्ध खोप लगाउने अभियानको उद्घाटन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोप लगाउने अभियानको उद्घाटन गरेका छन् ।

    रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ ।

    बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ ।

    नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।

    नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।

     

  • उदयपुर घटना : मामुली झगडामा सहपाठीकाे हत्या, पक्राउ परेका दाजु–बहिनी सार्वजनिक (भिडिओ)

    उदयपुर घटना : मामुली झगडामा सहपाठीकाे हत्या, पक्राउ परेका दाजु–बहिनी सार्वजनिक (भिडिओ)

    उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका-३ बुद्धचोकमा भएको बालिका हत्यामा संलग्न आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घर भइ बेलका नगरपालिका- ३ बस्ने विनोद ढकाल र सोही वडाकी १७ वर्षीया नाबालिगलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो । ती नाबालिग कविताकी साथी हुन् ।

    ढकाललाई ७ दिन र नाबालिगलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

    बुधबार पत्रकार सम्मेलनको क्रममा बालिका हत्यामा संलग्नलाई घटनाको सूचना पाएको दुई घण्टाभित्र संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।

    दुईजनाले योजनाबद्ध ढंगले वियरको बोतल र ढुंगाले किचेर हत्या गरेको प्रहरीको भनाइ छ । विद्यालयमा भएको सामान्य झगडाको रिसिईबीको कारणले आरोपी नाबालिकाले नाताले दाजु पर्ने ढकालको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

    यस्तै उदयपुरका राजनैतिक दल एवम बिभिन्न संघ संस्था तथा अधिकारकर्मीहरुले कविता सुनुवार हत्याको सत्य तथ्य छानबिन गरी हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

    एसईईको तयारी गरिरहेकी कविताको बिहान कोचिङ कक्षा लिन जाने क्रममा हिजो बाटोमा पर्ने जसोदा खोलामा हत्या गरिएको थियो ।

  • चितवनबाट प्रचण्डले भने- अब भिड्नोस्, इँटको जवाफ पत्थरले दिने बेला भयो (भिडिओ)

    चितवनबाट प्रचण्डले भने- अब भिड्नोस्, इँटको जवाफ पत्थरले दिने बेला भयो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नुको विकल्प नभएको बताएका छन् ।

    चितवनमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘इँटको जवाफ पत्थर’ ले दिन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

    माओवादी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरिरहेको भन्दै प्रचण्डले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने दावी गरे ।

    ‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नैपर्छ । देशपनि लडेरै बचाउने हो, संविधानपनि लडेरै बचाउने हो । लड्ने भनेको हतियार उठाउने होइन कसैले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिने भनेको हो’, प्रचण्डले भने ।

    चितवनमा माओवादीले गरेको विकास देखेर प्रतिक्रियावादीहरु अत्तालिएको प्रचण्डको आरोप छ । ‘चितवनको विकासका लागि भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यदेखि नदी तटबन्ध लगायत तमाा काम माओवादीको नेतृत्वमा भएको छ ।

    माओवादीले जतिधेरै जनताको पक्षमा काम गरेको छ त्यति नै धेरै प्रतिक्रियावादीहरु माओवादीविरुद्ध षड्यन्त्रमा लागेका छन्’, उनले भने ।

    प्रचण्डले जनआन्दोलनदेखि जनयुद्धसम्म चितवनको राजनीतिक योगदान अग्रणी रहेको भन्दै अब राष्ट्रका पक्षमा चितवन जुर्मुराउनुपर्ने बताए ।

    ‘चितवनले जनआन्दोलनदेखि जनयुद्धमा अग्रणी भूमिका खेलेको छ । चितवन जिल्ला राष्ट्रका पक्षमा जुर्मराएर उठ्नुपर्ने छ । अब भिड्नोस्, जनताको अधिकार खोस्न चाहनेविरुद्ध इँटको जवाफ पत्थरले दिनुस्’ प्रचण्डले भने ।

  • भूमिहीनलाई लालपुर्जा बाँड्दै प्रचण्डले भने- भरतपुरमा विकासको लहर, रेणुको बुबा भनेर चिनिन थालेँ (भिडिओ)

    भूमिहीनलाई लालपुर्जा बाँड्दै प्रचण्डले भने- भरतपुरमा विकासको लहर, रेणुको बुबा भनेर चिनिन थालेँ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरपुर महानगरमा विकासको सृष्टि भएको दाबी गरेका छन् ।

    महानगरकी मेयर आफ्नी छोरी रेणु दाहालको उनले खुलेर तारिफ गरे ।

    भरतपुरको आँपटारीमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र बाँड्दै प्रचण्डले आफू चितवनमा रेणुको बुवाको रूपमा चिनिन थालेको बताए ।

    उनले भने, ‘युद्ध कालदेखि राजनीतिमा रेणुको आफ्नै त्याग–तपस्या थियो । तर, २०७४ सालको चुनावमा रेणु चितवन आउँदा प्रचण्डको छोरी आइन् भन्ने गर्थे । अहिले त्यो फेरिएको छ । अहिले रेणुको बुवा प्रचण्ड भनेर चिनिन थालेको छु ।’

    महिलाहरूले चाहेमा धेरै गर्न सक्छन् भन्ने पुष्टि भएको प्रचण्डले उल्लेख गरे । माओवादीबाट सरकारमा रहेका महिला मन्त्रीहरूको पनि उनले प्रशंसा गरे ।

    ‘शशीजी (शशी श्रेष्ठ) को इच्छाशक्ति र दृढता देखेर भूमि व्यवस्था मन्त्री बनाएको थिए । अहिले यस्तो राम्रो काम गर्नुभएको छ । उर्जामन्त्री पम्फालाई बनाइयो । उहाँले २० युनिट बिजुली निः शुल्क गरिदिनुभयो । महिलाले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता र सुशासन बढी देखिएको छ ।’ प्रचण्डले भने ।

    प्रचण्डले आगामी स्थानीय तह निर्वाचनमा महिलालाई धेरै ठाउँमा मेयर र पालिका प्रमुख बनाउने विचार रहेको उल्लेख गरे ।

  • प्रचण्ड-माधवको अवरोध सम्झिँदै ओलीले भने- देशको कुरा गर्‍यो कि मैले के पाउँने भनेर दुई घण्टा कराउँथे (भिडिओ)

    प्रचण्ड-माधवको अवरोध सम्झिँदै ओलीले भने- देशको कुरा गर्‍यो कि मैले के पाउँने भनेर दुई घण्टा कराउँथे (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठेरो र अवरोधकोबीच पनि कसरी काम गर्नुपर्छ भन्ने आफूले बितेका ३ वर्षमा धेरै सिकेको बताएका छन् ।

    एमाले निकट उद्योग व्यवसायी महासंघको महाधिवेशनलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अप्ठेरोकाबीच विकासका नयाँ नयाँ योजनाको जग बसाउन सकिएकोमा गर्व लागेको बताए ।

    ओलीले भने– हामी अहिले केही समय सरकार बाहिर छौँ । त्यो बेला पनि काम गर्न आफ्नैले कहाँ दिएका हुन् र ? एकातिर प्रचण्ड, अर्कोतिर माधव नेपाल अनि अर्कोतिर झलनाथ । देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर एउटा दुई घण्टा कराउँछ । अनि अर्कोले मैले के पाउँछु भनेर दुई घण्टा कराउँछ । यस्तो अवरोधका बीच पनि कसरी विकासको काम अघि बढाइयो होला ।

    ओलीले विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने र नयाँ दृष्टिकोणका साथ ठूला ठूला परियोजनाहरु अघि बढाउने काममा आफू सफल भएको दावी गरे ।

    उनले अप्ठेरोमा काम गर्न आफू अभ्यस्त भइसकेको भन्दै अब चुनावबाट बाँकी योजना पूरा गरिने बताए ।

  • ओलीको आरोप- चोभारको बन्दरगाह शिलान्यासमा कांग्रेसले मलाई तीनपटक रोक्न खोजेको थियो (भिडिओ)

    ओलीको आरोप- चोभारको बन्दरगाह शिलान्यासमा कांग्रेसले मलाई तीनपटक रोक्न खोजेको थियो (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेको चोभार सुख्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीनपटक रोक्ने प्रयास गरेको आरोप लगाएका छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए ।

    २०७२ को भूकम्पबाट क्षति भइ पुन:निर्माण गरिएको भक्तपुरको सिपाडोलस्थित शान्ति निकेतन माध्यमिक विद्यालय भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री देउवाले उद्घाटन गरेको बताएका हुन् ।

    कांग्रेसको पटकपटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद रहेको ओलीको भनाइ थियो ।

    ‘एमाले सरकारले विकासका निकै काम गरेको र फेरि पाँच वर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिनेछ’, ओलीले भने ।

    ओलीले सत्तागठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिए ।

    ‘कुहिएको गठबन्धन झरेपछि फेरि मुलुकको विकासको बाटोमा अघि बढ्नेछ । परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको विकासको काम नै अवरुद्ध भएको छ’, उनको जिकिर थियो ।

  • राखेपका सदस्य सचिव घिसिङ काममा फर्किए (भिडिओ)

    राखेपका सदस्य सचिव घिसिङ काममा फर्किए (भिडिओ)

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ काममा फर्किएका छन् ।

    सर्वोच्च अदालतले मंगलबार तत्कालीन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति दायर गरेको रिट खारेज गरेपछि घिसिङलाई काम गर्न बाटो खुलेको थियो ।

    कामकाज सम्हाल्दै घिसिङले चालु आर्थिक वर्षभित्र नै राष्ट्रिय खेलकुद आयोजनाको निम्ति प्रयास गर्ने बताए । राष्ट्रिय खेलकुदका लागि वैशाख ३० गतेसम्मको समयलाई दूरदर्शी योजना तयार गर्न उपयोग गर्ने उनको भनाइ थियो ।

    घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढाउन प्रशिक्षणमा जोड दिए । समग्र खेलकुदको विकासका लागि सातै प्रदेशसँग छलफल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

    केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालत पुगेका थिए ।

    सर्वोच्चले यसअघि टंकलाल घिसिङलाई नियुक्त गर्ने र सिलवाललाई हटाउने दुवै निर्णय यथास्थितिमा राख्न आदेश गरेको थियो ।

  • नेपालका जति राम्रा हिरोइन र ह्यान्डसम हिरो दुनियाँमै छैनन् : केपी ओली (भिडिओ)

    नेपालका जति राम्रा हिरोइन र ह्यान्डसम हिरो दुनियाँमै छैनन् : केपी ओली (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जति राम्रा हिरोइन र ह्याण्डसम हिरो दुनियाँमै कोही नभएको दाबी गरेका छन् ।

    सोमबार एमाले निकट युवा संघले नेपाली फिल्ममा योगदान दिएका कलाकारलाई सम्मान गर्न चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो बताएका हुन् ।

    नेपाल वेद लय छन्द र संगितको उत्पति ठाउँ भएको र नेपालका हिरोइन र हिरो जती राम्रो व्यक्ती संसारमै कही नहुने ओलीको भनाइ छ ।

    उनले भने, ‘यही ठाउँ हो वेदको रचना भएको, संगीत त्यहीबाट सुरु भएको हो , छन्द लय वेदबाट सुरु भएको हो किनभने यत्तिकै भन्दा बिर्सिन्छ भनेर लयमा भनेको हो । हाम्रो कलाकारहरुले नि त्यसै गर्नुहुन्छ नि । अहिले मलाई तिम्रो माया लाग्छ, के साच्चिकै धेरै माया लाग्छ, तिम्रो अरु हल्लामा फलानाले तिम्रो माया गर्दैन भनेको कुरा नपत्याउन तिम्रो माया लाग्छ भन्दा हुन्थ्यो होला, पुग्थ्यो होला तर त्यो कुरा चाँही बिर्सिन्छ । यसैभन्दा त्यसकारण सजिलो तालले सालको पात टपरी गाँसेर टपरी हुँदैन सल्लैको हे बरै तिम्रो माया कती हो कती ए भर नपर हल्लैको कि के नलाउ पछी हल्लैको यो किन बनायो त यो मैले बिर्स्या छैन यो मैले बिर्स्या छैन भने अरुले बिर्सिने त कुरै हुँदैन ।

    नेपाल कलाको क्षेत्रमा प्रचुर सम्भावना बोकेको ठाउँ रहेको र नेपालले संसारकै राम्रो फिल्म बनाउन सक्ने ओलीको भनाइ छ ।

    उनले भने, ‘यो ठाउँ कलाको ठाउँ हो संगीतको ठाउँ हो.. ट्रेडिसनमै हाम्रो कलात्मकता छ हाम्रा जस्तो उत्कृष्ट फिल्म कसैले बनाउनै सक्दैन, यदी हामीले अली ध्यान दियौँ भने ढुक्क भएर भन्न सकिन्छ नेपाली जति राम्रा हिरोइन दुनियाँमै कही हुन्छन् ? नेपाली जति राम्रा हिरोइन दुनियाँमा हुन त सम्भवनै छैन नि । अनी नेपाली हिरो जस्तो ह्यान्डसम हिरो दुनियाँमा कोही भेटिएला ? अब तिनिहरुलाई अलिकती कलात्मक बनाइदिए पछि र तिनिहरुको कथावस्तु उनिहरुले अभिनय त राम्रो गर्दिन्छन् । निर्देशकले सुन्दर अभिनय मिसाइदियो भने कसले कम्पीटीसन गर्ने ? ओस्करमा परिन्छ कि परिदैँन न्यायधिश को छ ? उसले बुझ्छ कि बुझ्दैन यो त कस्तो हुन्छ भने नेपाली सुन्दरता बुझ्नलाई त नेपाली आखाँ चाहियो नि । सुन्दरता बुझ्नलाई त एक पक्ष बुझेर हुँदैन समग्र पक्ष बुझ्नु पर्छ व्हाट इज ब्युटी ?’

    ओलीले लक्ष्मी प्रसाद देवकोटाले नोबेल पुरस्कार पाउन पर्नेसमेत दाबी गरे ।

  • ओलीको टिप्पणी- न्यायाधीशले कोखका सिङ हानेर बनाएको यो सरकारको वैधानिकता छैन (भिडिओ)

    ओलीको टिप्पणी- न्यायाधीशले कोखका सिङ हानेर बनाएको यो सरकारको वैधानिकता छैन (भिडिओ)

    वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसकेर बनेको पाँच दलीय गठबन्धनलाई वैशाख ३० गते हैसियत देखाइदिन पर्ने बताएका छन् ।

    पर्साको वीरगञ्जमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिवटा दलको गठबन्धन बनाएर आए पनि एमाले जनमतबाटै सरकारमा फर्किने दाबी गरे ।

    ओलीले वार्तमा सरकार जनमतबाट नभइ परमादेशबाट आएकाले यसको वैधता नरहेको बताए । उनले दुनियाँमा कहिँ पनि नभएको अदालतबाट प्रधानमन्त्री छान्ने काम नेपालमा भएको टिप्पणी गरे ।

    ओलीले भने, ‘जनताले बुथ बुथमा गएर मतदान गरेर बनाएको सरकार यो होइन । यो त अदालतमा लगेर, कानूनका नौ सिङमध्ये टाउकाको होइन न्यायाधीशका कोखाको सिङले हानेर बनाइएको अवैध सरकार हो । यसलाई जनादेशबाट विस्थापित गर्नुपर्छ ।

    कार्यक्रममा बहादुरमाई नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाका उपप्रमुखहरू कांग्रेस र जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । उनीहरूसँग विभिन्न दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन ओली वीरगञ्ज पुगेका हुन् ।

  • एनवाइएफ शर्ट मुभी कम्पिटिशन: ‘प्रश्न’ लघु चलचित्र उत्कृष्ट (भिडिओ)

    एनवाइएफ शर्ट मुभी कम्पिटिशन: ‘प्रश्न’ लघु चलचित्र उत्कृष्ट (भिडिओ)

    काठमाडौं । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’ सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सोमबार प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण गरिएको हो ।

    प्रतियोगितामा ‘प्रश्न’ नामक लघु चलचित्र प्रथम भएको छ भने क्रमशस् एसओपी र खाली सीसीले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

    विजेता लघु चलचित्रलाई ट्रफी र प्रमाणपत्रसहित क्रमश२ लाख ५० हजार, १ लाख ५० हजार, १ लाखको नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूले विशेष उपस्थिति जनाएका थिए ।

    कुल ७५ प्रतियोगी चलचित्र को सहभागीता रहेको उक्त शर्ट मुभी कम्पिटिशन ‘म केही गर्छु’ भन्ने मुलभावसहित युवाहरुमा सकरात्मक सोच बिकास गराउन र उनीहरुको सोच र सिर्जनशिलताको पहिचान,प्रस्फुटन र प्रवर्धन गर्नु यस्को मुख्य उदेश्य रहेको संघका संयोजक तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

    संयोजक पौडेलका अनुसार कोभिड(१९ महामारीले नेपालीलाई घरभित्रै बन्धक बनाएका बेला ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताको सुरुवात गरिएको थियो । यो बेला युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ ईङेजमेण्ट लाई ध्यान दिदै यस् प्रतियोगोताको अवधारणा तयार भएको बताए ।

    प्रतियोगिताको पहिलो चरणमा युवा वर्गलाई आफ्नो रचनात्मक प्रस्तुतीका लागि लघु चलचित्रको पटकथा बुझाउन आह्वान गरिएको थियो । युवाहरुबाट पटकथा प्राप्त पटकथा मध्ये ७५ वटा पटकथा ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताका लागि चयन गरिएको थियो ।

    चयन गरिएका ७५ वटा पटकथाबाट ४५ वटा पटकथालाई लघु चलचित्र निर्माणका लागि चयन गरिएको हो । विभिन्न चरणबाट निर्माण गरिएका ४५ वटा पटकथाबाट १० वटा लघु चलचित्र चयन गरियो र अन्तिममा १० वटा चलचित्र मध्ये सोमबारको समारोहमार्फत् तीनवटा लघु चलचित्रलाई विजेता घोषणा गरिएको हो ।

    साथै सोही कार्यक्रमबाट राष्ट्रिय युवा संघ नेपालकै साइबर सर्कल विभागले रु ६ लाख पुरस्कार राशीको ‘निर्वाचन र नेकपा एमाले’ शीर्शकको टिकटक भिडियो प्रतियोगितसमेत घोषणा गरेको छ ।

  • एएफसी एसियन कप छनोट खेलका लागि नेपाली फुटसल टोली प्रस्थान (भिडिओ)

    एएफसी एसियन कप छनोट खेलका लागि नेपाली फुटसल टोली प्रस्थान (भिडिओ)

    काठमाडौं । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टीमको बिदाई गरिएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगाएत एन्फा पदाधिकारीहरूले बिदाई गरेका छन् ।

    किर्गिस्तानमा आयोजना हुने छनोट खेलमा नेपाली टोली समूह ‘बी’ मा रहेको छ । नेपालसहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान समूह ‘बी’ मा छन् ।

    अप्रिल ५ देखि सुरू हुने छनोटमा नेपालले पहिलो खेल १० अप्रिलमा उज्वेकिस्तान, ११ अप्रिलमा ताजिकिस्तान र १२ अप्रिलमा अफगानिस्तानसँग खेल्नेछ ।

    फुटसल टीमका मुख्य प्रशिक्षक गौरव बस्नेतले यसअघि नै १४ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

    राष्ट्रिय फुटसल टिमः

    गोलकिपर (अनिश श्रेष्ठ, विश्वास पौडेल)

    फिक्सो ( विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ)

    अला (आदिम हामिद, कृजल खड्का, मनि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा)

    पिभोट (हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ)

  • पार्टी कब्जा गर्न असफल भएपछि प्रचण्ड-माधव दक्षिणपन्थी गठबन्धनमा गए : ओली (भिडिओ)

    पार्टी कब्जा गर्न असफल भएपछि प्रचण्ड-माधव दक्षिणपन्थी गठबन्धनमा गए : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको टिप्पणी गरेका छन् ।

    प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशनलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपामा प्रचण्ड माधव समूहले सरकार र पार्टीविरुद्ध सकेजति बल लगाएको बताए ।

    ओलीले भने, ‘उनीहरूले सकेसम्म गरे । बैठकबाट बाहिर निस्किएपछि सरकार र पार्टीविरुद्ध खैरो खन्ने । आन्दोलन समाप्त पार्न खोजे तर सफल हुन सकेनन् । त्यसपछि उनीहरूले पार्टी कब्जा गर्ने नियत लिए । कब्जा गर्न पनि असफल भएपछि प्रतिक्रियावादीको पछि लागेर दक्षिणपन्थी गठबन्धन बनाए ।’

    ओलीले यसपटक पार्टी नेताहरूले नभइ कार्यकर्ताले जोगाएको भन्दै कार्यकर्तालाई धन्यवाद दिए ।

  • काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न (भिडिओ)

    काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न (भिडिओ)

    काठमाडौं । विनाशकारी भूकम्पका कारण पूर्ण रूपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

    पुनर्निर्माण सम्पन्न भएको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

    विनाशकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुन निर्माण सुरु भएको थियो ।

    काष्ठमण्डप पुनर्निर्माण गर्न करिब ८ हजार क्यु फिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्यु फिट काठ प्रयोग भएको शाक्यले बताए ।

    सोमबार उद्घाटन भएसँगै सर्वसाधारणका लागि पनि खुल्ला गर्ने समितिका अध्यक्ष शाक्यले जानकारी दिए ।

  • प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी : भीखमँगा जसरी कांग्रेसको पछिपछि दूनो थापेर हिँडेका छन् (भिडिओ)

    प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी : भीखमँगा जसरी कांग्रेसको पछिपछि दूनो थापेर हिँडेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार पाँच वर्ष टिक्न नदिन आपराधिक कर्ममा लागेका प्रचण्ड–माधव नेपाल अहिले कांग्रेसको पछिपछि दूनो थापेर हिँडेको टिप्पणी गरेका छन् ।

    बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरासहितको नक्सा निकालेकै दिनदेखि आफ्नो सरकार ढाल्न तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपालले अनेक षडयन्त्र रचेको आरोप लगाए ।

    ओलीले भने–चुच्चे नक्सा छाप्दा यिनको मन दुख्यो अनि कम्युनिस्ट सरकार ढाल्न हाम्फालेर हिँडेका हुन् । यिनीहरूले सकेका भए त कम्युनिस्ट आन्दोलन नै सिद्ध्याउने,पार्टी कब्जा गर्ने योजना थियो । तर हामीले सmपल हुन नदिएपछि आफ्नै सरकार कांग्रेसलाई बुझाउन अदालततिर गए ।

    अध्यक्ष ओलीले अहिले प्रचण्ड–माधव एक्लै जनतामा जान नसक्ने भएकाले कांग्रेसको पछिपछि भीखमंगाजसरी दूनो थापेर केही सिट माग्दै हिँडेको आरोप लगाए ।

    पाँच दलीय गठबन्धनलाई अपराधको संज्ञा दिँदै उनले कम्युनिस्ट आन्दोलन सिद्ध्याउन हिँडेकाहरूले अपराधको सजाय पाउने बताए ।

  • राप्रपासँग गठबन्धनबारे कुनै कुरा भएको छैन : विष्णु रिजाल (भिडिओ)

    राप्रपासँग गठबन्धनबारे कुनै कुरा भएको छैन : विष्णु रिजाल (भिडिओ)

    सुर्खेत । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको चुनावमा केन्द्रबाटै कसैसँग गठबन्धन गरेर नजाने दोहोर्‍याएका छन् । उनले तालमेलको अधिकार जिल्लालाई दिइएको बताए ।

    एमाले कर्णाली प्रदेश कमिटी बैठकमा सहभागी हुन सुर्खेत आएका नेता रिजालले कुनै जिल्लामा कसैसँग तालमेल गर्नु पर्ने भएको खण्डमा प्रदेश कमिटीको अनुमतिमा जिल्ला कमिटीले गर्ने बताए ।

    राप्रपा नेता धवल शमसेर राणासँग एमाले अध्यक्ष ओली कर्णाली आउने क्रममा नेपालगञ्जमा भेट भएको र भेटमा ओलीले एमालेको प्रष्ट धारणा राखेको रिजालको भनाइ छ ।

    ‘उहाँले एमालेसाग मिलेर जान सकिन्छ कि भनेर कुरा राख्नुभएको थियो । हाम्रो पार्टीका अध्यक्षले स्पष्ट कुरा राखिसक्नुभएको छ । त्यसका अलावा राप्रपासँग गठबन्धन गर्ने भन्ने कुनै कुरा भएको छैन’, उनको प्रष्टोक्ति छ ।

    ‘हाम्रो पार्टीको हालै सम्पन्न तेस्रो बैठकमा पार्टी अध्यक्षबाट प्रस्तुत केन्द्रीय कमिटीबाट पारित राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी चुनावी रणनीतिका बारेमा स्पष्ट ढंगले उल्लेख गरिएको छ । हामीले घोषणा गरेका छौं, केन्द्रीयस्तरमा कुनै गठबन्धन गरेर एमाले चुनावमा जाँदैन । जनताको माया, आफ्नो बल र केपी शर्मा ओलीको दूरदृष्टिको नेतृत्वमा नेकपा एमाले एक्लै निर्वाचनमा जान्छ ।’

    ‘स्थानीय कमिटीले आवश्यकता ठानेमा स्थानीय तहमा गठबन्धन होइन तालमेलका रुपमा कहीँ कतै निर्वाचनमा मिलेर पनि लड्न सकिन्छ । त्यसका लागि हामीले जिल्लालाई अधिकार दिएका छौं । प्रदेश कमिटीको अनुमतिमा जिल्ला कमिटीले आफ्नो तहमा तालमेलको निर्णय गर्न सक्छ ’, उनले थपे ।

  • असन जात्रा धूमधामका साथ मनाइयो (तस्बिर/भिडिओ)

    असन जात्रा धूमधामका साथ मनाइयो (तस्बिर/भिडिओ)

    काठमाडौं । नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन आज असन जात्रा धूमधामका साथ मनाएको छ ।

    हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्‍याएर जात्रा मनाउने परम्परा छ ।

    तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिलाख) साटासाट गरिन्छ । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने भन्ने प्रचलन रहिआएको हो ।

    खट असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने गरिन्छ जसलाई प्रसादको रूपमा लिइन्छ यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास रहिआएको छ । यस क्रममा विशेष गरी असन र वरिपरि घरका पाहुना बोलाई भोज खुवाउने प्रचलन छ ।

    असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ र यस दिन काठमाडौंको भित्री सहरमा परिक्रमा गरी यो जात्रा मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।

     

  • भारतमा विद्युत् निर्यात गरेर नेपालले आर्थिक प्रगति गर्नसक्छ : भारतीय प्रधानमन्त्री मोदी (भिडिओ)

    भारतमा विद्युत् निर्यात गरेर नेपालले आर्थिक प्रगति गर्नसक्छ : भारतीय प्रधानमन्त्री मोदी (भिडिओ)

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा विद्युत् निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने बताएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत् निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताएका हुन् ।

    ‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत् परियोजनामा अझ धेरै भागेदारीका विषयमा सहमति व्यक्त गरेका छौँ,’ मोदीले हैदरावाद हाउसबाट भने, ‘अब नेपालले भारतका लागि विद्युत् निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’

    नेपालमा ‘रुपे’को कार्डको सुरुवातपछि आर्थिक कनेक्टिभिटी नयाँ अध्याय सुरु भएको जनाउँदै मोदीले अरू नेपाल प्रहरी प्रतिष्ठान, नेपालगन्जको एकीकृत चेकपोस्ट र रामायण सर्किटले दुवै देशलाई थप नजिक जोड्ने उनले जनाए ।

    देउवासँग व्यापार र क्रस बोर्डर कनेक्टिभिटीलाई प्राथमिकता दिने विषयमा जोड गरेको उल्लेख गर्दै जयनगर–कुर्था रेल लाइनको उद्घाटन सुरुवाती मात्रै भएको मोदीको भनाइ छ ।

  • संघ र प्रदेशमा माओवादीको नेतृत्व नहुँदा समस्या भयो : प्रचण्ड (भिडिओ)

    संघ र प्रदेशमा माओवादीको नेतृत्व नहुँदा समस्या भयो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जितेका स्थानीय तहमा राम्रो काम भएको दाबी गरेका छन् ।

    छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा राम्रो काम भएको दाबी गर्दै उनले त्यहाँको उदाहरण दिएर माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएको बताएका हुन् ।

    ‘राम्रो गरेका देशभरका ५ वटा पालिकाहरूमध्ये ३ वटा माओवादी केन्द्रले जितेका छन्,’ पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘महानगरपालिकाहरूमा भरतपुर महानगरपालिका सुशासन, विकास तथा समृद्धिका दृष्टिकोणबाट नमूना भएको छ ।’

    संघ र प्रदेशमा माओवादी केन्द्रको नेतृत्व नहुँदा देशले समस्या भोगिरहेको उनले दाबी गरे । उनले भने,‘प्रदेश र संघमा माओवादी केन्द्रको नेतृत्व नहुँदा एउटा अन्तर विरोध, एउटा कन्ट्रोभर्सी जहिले पनि भएको छ ।’

    मुलुकका पछिल्ला परिवर्तनहरू माओवादी केन्द्रकै कारणले भएको दाबी गर्दै उनले परिवर्तनपछि माओवादीको नेतृत्व नहुँदा समस्या भएको पनि उनले बताए ।

    ‘माओवादी केन्द्रले परिवर्तन ल्याउने, परिवर्तनपछि परिवर्तन रोक्नेहरूका हातमा नेतृत्व जाने अवस्थाले समस्या निम्तिरहेको छ,’ उनले भने,‘ त्यसै कारण अस्थिरता कायमै छ । परिवर्तनमाथि खतरा कायम छ ।’

  • प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीन वटा नयाँ हवाई रुट(भिडिओ)

    प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीन वटा नयाँ हवाई रुट(भिडिओ)

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो ।

    ‘हामीले सडक, रेल र हवाई कनेक्टिभिटीका क्षेत्रमा छलफल गयौँ,’ नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौँ ।’

    प्रधानमन्त्रीको रूपमा पाँचौँ पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरी सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए ।

    भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले जनाए ।

    उनले नेपाल र भारतले समावेशी विकासको साझा उद्देश्य लिएको समेत बताए । भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्त्वपूर्ण रहेको भनाई उनको थियो । ‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौँ,’ प्रधानमन्त्री देउवाले भने ।

  • देउवाले उठाए सीमासम्बन्धी मुद्दा, मोदी मौन (भिडिओ)

    देउवाले उठाए सीमासम्बन्धी मुद्दा, मोदी मौन (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् ।

    दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई देशबीचमा भएको सीमा मुद्दाका विषयमा छलफल गरेका छौ,’ उनले भने, ‘यो विषयमा मोदीजीले द्वीपक्षीय संयन्त्र स्थापित गरेर छलफल गर्नेबारे हामी सहमत भएका छौँ ।’ यद्यपि सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री मोदीले भने मुख खोलेनन् ।

    यस्तै प्रधानमन्त्री देउवाले दुइदेशबीचको सम्बन्ध सदीयौं पुरानो रहेकाले यसलाई अझैं सुदृढ बनाउनुपर्नेमा दुवै समकक्षी सहमत भएको बताए । यसबाहेक आपसी सम्बन्ध, दुई देशको विकास, व्यापार गायतका विषयमा गहन छलफल भएको उनले बताए । भूकम्प र कोरोना महामारीका बेला भारतले गरेको सहयोगका लागि प्रधानमन्त्री देउवाले प्रशंसा गरे ।

    यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धको मिसाल विश्वमै नरहेको बताए । नेपाल–भारत अनादीकालदेखि नै सुखदुखको साथी रहेको बताउँदै उनले नेपालको विकासका लागि भारत जहिल्यै तत्पर रहेको बताए ।

    दुई समकक्षीबीचमा परस्पर सम्बन्ध, विकास, सांस्कृतिक संरक्षणलगायतका विषयमा गम्भीर भएर छलफल भएको बताए ।

  • बार परिसरमा चुनावी रौनक, सत्तागठबन्धनसँग भीड्दै एमालेनिकट कानून व्यवसायी (तस्बिर/भिडिओ)

    बार परिसरमा चुनावी रौनक, सत्तागठबन्धनसँग भीड्दै एमालेनिकट कानून व्यवसायी (तस्बिर/भिडिओ)

    काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज चुनाव भइरहेको छ । चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए)का गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलसँग एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह (पीपीएलए)का विष्णुमणि अधिकारीको प्यानल भिडिरहेको छ ।

    सत्तारुढ गठबन्धनबाट घिमिरे नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए)का पूर्वअध्यक्ष पनि हुन् । उनी कांग्रेसको १४औं महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक समेत हुन् ।

    त्यस्तै उक्त गठबन्धनले महासचिवमा अन्जिता खनाललाई अघि सारेको छ । खनाल नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी हुन् । यसअघि महासचिवमा दिनमणि पोखरेललाई प्रस्ताव गरिए पनि गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पोखरेल पछि हटेका थिए । बागमतीबाट उपाध्यक्षमा नेकपा एसका हर्क रावलले उम्मेदवारी दिँदैछन् ।

    अध्यक्षसहित १५ पद कांग्रेसलाई साथै उपाध्यक्ष, महासचिवसहित पद गठबन्धनका अन्य घटकलाई भागबण्डा गरिएको छ ।

    पीपीएलएले भने विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानल घोषणा गरेको छ । उक्त प्यानलबाट महासचिव पदमा अधिवक्ता केदारप्रसाद कोइराला भिडिरहेका छन् ।

    सो समूहबाट उपाध्यक्षमा प्रदेश १ बाट रोहितकुमार डाँगी, मधेश प्रदेशबाट केशव प्रसाद दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट बासुदेव ज्ञवाली, कर्णालीबाट चंखबहादुर साउद र महिला उपाध्यक्षमा रमा श्रेष्ठ उम्मेदवार छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की प्रतिस्पर्धामा उत्रिएका छन् ।