रुपन्देही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको घरघरमा पुग्ने नेतालाई जिताउन आग्रह गरेका छन् ।
आज बुटवलमा भएको गठबन्धन सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने- राजनीतिक स्थिरता नभएकाले विकास भएन, यति लामो संघर्षले यो व्यवस्था ल्याऔँ, समाजवाद ल्याउँछौ भनेर संविधान बनाऔँ, साझा दस्ताबेज भनेर बनायौँ तर यो बीचमा त्यो व्यवस्था खलबलाउन केपी ओलीलाई प्रयोग गरियो, उहाँ निमित्त नायक हुनुभयो, महेन्द्रले १७ सालमा गरे, ज्ञानेन्द्रले ०५९ सालमा गरे ।
पौडेलले यसपछिको चुनावसम्म एमाले र ओलीलाई अगाडि जान नदिन गठबन्धन चाहिएको बताए ।
उनले भने – उहाँहरूलाई पठाए संसद् चल्नै नदिने, अदालतमा काम गर्न नदिने, बाहिर चर्का कुरा गर्ने, भित्र नेपालीलाई राष्ट्रवादका नाममा धोका दिने गरे ।
पौडेलले गठबन्धनलाई जिताएर प्राप्त अधिकारको रक्षा गर्नुपर्ने उल्लेख गर्दै प्रतिक्रियावादीको नाइके ओली नेतृत्वको पार्टीलाई पुछारमा पुर्याउनुको विकल्प नभएको बताए ।
दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा २०३९ सालमा दमक गाउँ विकास समितिबाट नगरपालिका बनेदेखि नै यहाँको मेयर बन्ने सपना देखेका थिए । जसअनुसार उनले पहिलो पटक मेयरमा चुनाव लडेकै २४ वर्ष बितिसक्यो । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । २०३५÷०३६ सालमा भद्रपुरको मेची बहुमुखी क्याम्पसबाट थापाले राजावादी विद्यार्थी नेताको रूपमा राजनीति सुरू गरेका थिए । त्यसयता उनी उही विचार र सपनामा एकाग्रह छन् । अहिले उनी राप्रपाको प्रदेश नम्बर १ का अध्यक्ष छन् । लामो राजनीतिक निरन्तरताका कारण दमकमा राम थापा धेरैका लागि ‘राम दाइ’ का नामले परिचित छन् । राजनीतिक विचार मिल्ने र नमिल्ने सबैको साथमा उनी आसन्न स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित हुन चाहन्छन् । पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनी दमकको मनोनीत मेयर बनेका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा थापा दोस्रो भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा यसपालि एमाले भर्सेस महागठबन्धन बनेको छ । एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र राप्रपा एक ठाउँ उभिएका छन् । यहीं महागठबन्धनबाट मेयर उम्मेदवार बनेका ‘राम दाइ’ दमकको नेतृत्व हत्याउने योजनामा छन् । उनै राम दाइ अर्थात राम थापासँग स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर नेपालप्रेसकर्मी ध्रुव भट्टराईले गरेको कुराकानी नेपाल टकमा ।
– दमकवासीलाई तपाईं आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?
म २०१३ सालमा जन्मिएको मानिस । २०२६ सालदेखि दमकमा पढाइको सिलसिलामा आएर बसेको हो । २०३० सालमा एसएलसी गरेर मैले राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गरेको छु । २०३९ सालदेखि अनवरत रुपमा १२ वर्ष तत्कालीन दमक वडा नं १२ को वडा अध्यक्ष भएँ । एक अवधि तत्कालीन युवा संगठनको नगर सभापति भएँ । विभिन्न सामाजिक संघसंस्था, दमक क्याम्पस, दमक खानेपानीलगायतमा पनि अनवरत रुपमा काम गरिरहेको छु । दमकको विकास र निर्माणमा निःस्वास्र्थ रुपमा काम गर्ने मेरो दृढ निश्चय भएकाले आसन्न स्थानीय तह चुनावमा संयुक्त गठबन्धनबाट मेयर उम्मेदवारको रुपमा प्रस्तुत भएको छु ।
– केपी ओलीको गृहनगर भएकाले राष्ट्रिय चर्चा र दबाब छ । गठबन्धनले समर्थन गर्नु भनेको तपाईंलाई जिताउनुभन्दा पनि एमालेलाई हराउने सन्देश दिन खोजेको देखिन्छ । के तपाई त्यसको मतियार बन्नुभएको हो ?
त्यस्तो होइन । खासगरी म योभन्दा अघिल्लो दुई पटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा उम्मेदवार भएको थिएँ । म दोस्रो भइरहेँ । जीवनमा एकचोटि नगर प्रमुख निर्वाचित भएर सेवा गर्ने मेरो व्यक्तिगत इन्छा, पार्टीको पनि उम्मेदवार बनाउने लक्ष्य, सत्ता गठबन्धनले मात्र एमालेलाई परास्त गर्न नसक्ने र यो पाटोमा मेरोसमेत उपस्थिति पनि आवश्यब परेकाले हामीहरु संयुक्त भएर दमकको विकास र निर्माणलाई गतिशील बनाउने उद्देश्यले हामी गठबन्धन र तालमेल गरेर अघि बढेको सत्य हो । एमालेलाई परास्त गर्न होइन ।
– दमकमा हिजो राप्रपा एक्लै लड्दा पनि एमाले पछिको दोस्रो शक्ति थियो । आज एमालेबाहेक अरु दलको समर्थन लिन तपाई कसरी सफल हुनुभयो ?
सही कुरा के हो भने उहाँहरुको उपस्थिति र मेरो पनि नगर प्रमुख बनेर सेवा गर्ने, यी दुबै कुरा र हामी सबै एक–अर्काको परस्पर मित्र बन्नुपर्ने समयको माग भएकाले एमाले हराउनेभन्दा पनि आफ्नो उपस्थिति र विजयका लागि हामी एक–अर्काका पूरक बनेका हौं । खासगरी हाम्रो उद्देश्य एमाले हराउनेमात्र होइन, दमकमा गएको नेतृत्वले धेरै काम गरेन । नगरवासीको सामाजिक न्यायमा पहुँच, सुशासन, विकास गर्ने उद्देश्यले हाम्रो तालमेल भएको हो ।
– राम थापा दमकमा आफै पनि एउटा फिगर हो । तपाईं २०४३ सालदेखि मेयर बन्ने रेसमा हुनुहुन्छ । तपाईंका पहिले र अहिलेका प्रतिस्पर्धीबारे के भन्नुहुन्छ ?
तत्कालीन नगर पञ्चायत हुँदा उहाँ (एमालेकी मेयर उम्मेदवार गीता अधिकारी) को काका ससुरासँग कम मतले मैले पराजय भोगेको सत्य हो । उहाँ पहिला उपमेयर हुनुहुन्थ्यो, अहिले मेयरका प्रत्याशी हुनुहुन्छ । उहाँसँग के कस्तो साइनो सम्बन्ध मेरो रहेन । मेरो एउटा अभिलाषा नगरपालिकाको शुभचिन्तक र विपक्षी साथीहरुको गतिलो समर्थन रहेकाले पनि मैले उपस्थिति देखाएर नगर प्रमुखको उम्मेदवार हुनुपर्ने एउटा परिस्थितिको उपजमात्र हो । हामी एमालेलाई हराउन र निस्तेज गर्नमात्रै हाम्रो उद्देश्य होइन । नगरपालिकालाई शासन गर्ने होइन सेवा गर्ने थलो बनाउने हाम्रो प्रमुख लक्ष्य हो ।
– एउटा महिला प्रतिस्पर्धीलाई हराउन सबै शक्ति किन मिल्न पर्यो ?
महिलाविरुद्ध हाम्रो यो उपस्थिति होइन । उहाँलाई हराउन हामी सबैको अनिवार्य उपस्थिति पनि बिल्कुल होइन । उहाँहरुले नगरपालिकामा सन्तोषजनक काम गर्नुभएन । राजनीतिमा या परस्पर शक्तिहरु मिलेर एउटा सशक्त समूह बनाएर परिणाममुखी नतिजा ल्याउन हाम्रो यो गतिलो उपस्थिति हो । एउटा महिलालाई हराउनेमात्र हाम्रो उद्देश्य बिल्कुल होइन । उहाँहरुले राम्रो काम गरेको भए त जितिहाल्नु हुन्छ नि !
– के के चुनावी एजेण्डा लिएर नगरवासीबीच गइरहनुभएको छ ?
हामीले मूलतः दुईतीन वटा कुरालाई सशक्त रुपमा अघि बढाइरहेका छौं । पहिलो, नगरपालिका शासन गर्ने थलो होइन सेवा गर्ने ठाउँ हो । त्यहाँ गएर कर्मचारीले जस्तो तलबभत्ता नलिने र हामीले पाउने तलबभत्ता न्यून आय भएको लक्षित समुदायका मानिसको अर्थोपार्जनमा सहयोग गर्ने, शिक्षा र स्वास्थ्यबाट बञ्चित मानिसका लागि खर्चनेछौं ।
दोस्रो, दमकमा समुचित विकास भएन । उहाँहरुले दमकमा यस्तो उदाहरणीय काम गरेका छौ भन्ने देखाउने गरी काम गर्न सक्नुभएन । शिक्षामा कुनै गुणात्मक उपलब्धि हुने गरी काम गर्नेतर्फ खासै चासो राख्नुभएन । उहाँहरुले सरकारी विद्यालयहरुमा आफ्नो मान्छेलाई सरुवा–बढुवा गर्ने, नियुक्ति दिने, प्रअ बनाउने काममात्र गर्नुभयो । हामी त्योभन्दा फरक काम गर्नेछौं ।
हामी आगामी पाँच वर्षभित्र १२ कक्षसम्म निःशुल्क शिक्षा प्रदान गर्ने र त्यहाँका समस्याहरु निराकरण गर्ने र निम्न आय भएका गरिब विद्यार्थीहरुलाई यथोचित पठनपाठनको व्यवस्था गर्नेछौं । खासगरी विपन परिवारले न्यायोचित स्वास्थ्योपचार पाएका छैनन् । उनीहरुलाई व्यवस्थित रुपमा उपचार व्यवस्था मिलाउने, निम्न आय भएका परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने, करको दायरालाई फराकिलो बनाउने, सवारी पटके कर खारेज गर्ने र अनधिकृत रुपमा रहेको अव्यवहारिक करलाई परिमार्जन गरी करलाई नीतिगत रुपमा परिवर्तन गर्ने हाम्रो उद्देश्य छ । दमक नगरपालिका भएर पनि समुन्त नगर हुन सकेको छैन । हामी समुचित रुपमा स्वास्थ्य, शिक्षा, व्यवसाय र आयआर्जनको पाटोमा पनि व्यवस्थित योजना बनाएर समृद्ध दमकको कल्पना गरेका छौं । समुन्नत दमक बनाउन म समर्पित छु ।
– दमकमा केपी शर्मा ओलीले अर्बौं लगानी खनाए, अनावश्यक भ्यू टावर बनाए भनेर आलोचना हुँदै आएको छ । यसबारे तपाई के भन्नुहुन्छ ?
भ्यूटावर पनि विकासको एउटा आधार स्तम्भ हो । यसको म धेरै चर्चा गर्न चाहन्न । सबै मानिसको टिका–टिप्पणी के छ भने एउटा मेडिकल कलेज बनाइदिएको भए लाखौं मान्छेले स्वास्थ्योपचार पाउने थिए । तर, भ्यूटावर पनि दमकको सकारात्मक विकासको एउटा पक्ष मान्न सकिन्छ । म त्यसको आलोचना गर्न चाहन्न । भई गयो, त्यसलाई व्यवस्थित गरेर सबै नगरवासीले आयआर्जन गर्ने र निष्पक्ष रुपमा फल पाउनुपर्छ भन्ने मेरो धारणा छ ।
– एमालेबाट मेयरका प्रत्याशी गीता अधिकारीको लागि भोट माग्न केपी शर्मा ओली आउने हल्ला छ । तपाईंको लागि कोही आउँदै हुनुहुन्छ ?
त्यो उहाँहरुको पार्टीको कुरा र नीति हो । त्यसले केही फरक पर्दैन । केपी ओलीले पैसा लिएर आउनुहोला, भोट बोरामा लिएर आउनु हुन्न । यसपालि त्यो बोराका पैसाले काम लाग्नेवाला छैन । नगरबासीले परिवर्तनका लागि दृढ संकल्प र निश्चय बोकिसकेका छन् । अब त्यसले खास केही फरक पर्ने अवस्था छैन ।
– मतदाताका लागि तपाईंका योजनाहरु के के छन् ?
म ठूल्ठूला कल्पना गरेर नगरवासीलाई विकासको सपना बाँड्न चाहन्न । म कुनै पार्टी, जाति, समुदायलाई समान व्यवहार गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउँछु । मेरो स्वभावसँग सबै नगरवासी परिचित हुनुहुन्छ । म उहाँहरुको निर्वाचित प्रतिनिधि भएर सेवा गर्ने मेरो विद्यार्थीकालदेखिकै सपना छ । राप्रपालाई अब राष्ट्रिय पार्टी बन्न कसैले रोक्दैन । आउने संघीय निर्वाचनमा समानुपातिकबाट मेरो पहिलो नाम जान सक्थ्यो । तर, मैले त्यो बाटो रोजिनँ ।
अन्य पार्टीहरुले अवसर पाएर पनि नगरवासीको निःस्वार्थ सेवा गर्न सक्नुभएन । सुकुम्बासीलाई धनी पुर्जा दिन सक्नुभएन । केपी शर्मा ओली प्रधानमन्त्री भएर पनि एउटा सुकुम्बासी आयोय गठन गरेर उपमेयरले तलब भत्ता ३० महिना बिताउनु भयो, तलबभत्ता मासिक २२ हजार खाएर पनि केही काम गर्न सक्नुभएन । एउटा धनी पुर्जा दिन नसक्ने प्रधानमन्त्री र पार्टीले के मुख देखाएर फेरि भोट माग्नुहुन्छ ? यस्ता कैयौं समस्याहरु नगरवासीले भन्न नसकेका समस्याहरु छन् । त्यो समस्याको समाधान ममार्फत खोज्न निष्पक्ष रहने मतदाता, समुदाय जसले मलाई आजसम्म सहयोग गरे, उहाँहरु आतुर हुनुहुन्छ ।
केपी ओलीको उपस्थितिले उहाँ दह्रो हुनु होला । म चुनावमा त्योबारेमा केही भन्न चाहन्न । अब फलनालाई मेयर, तिलानालाई उपमेयर दे भनेर केपी शर्मा ओलीले भनेको भरमा अब नगरवासीहरु त्यता लाग्छन् जस्तो मलाई लाग्दैन ।
– तपाईको जितको आधार के के हुन् ?
मेरो जितको आधार भनेको गएको स्थानीय तह चुनावमा दोस्रो भइयो, अहिले हामी दोस्रो, तेस्रो र चौथो शक्ति र एकीकृत समाजवादी पार्टी पनि मलाई मेयरमा सहयोग गर्न प्रतिबद्ध हुनुहुन्छ । यो कारणले हाम्रो जित निश्चित छ । विगतको तथ्याङ्कले पनि हाम्रो जित निश्चित छ । हामी त्यो निश्चितलाई सुनिश्चित गर्न लागेका छौं । अब कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन । अहिलेको जनलहरले पनि ममात्र होइन, गठबन्धनका उपमेयर र गठबन्धनको समूह हामी सबै ठाउँमा निश्चित जित्छौं, ढुक्क रहे हुन्छ ।
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजधानी सहरमा महिला उम्मेदवारले मेयरमा हार्नै नहुने बताएका छन् ।
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले देशकै राजधानीमा महिलालाई हराउँदा राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना हुने बताए ।
‘सिर्जना सिंह योग्य महिला हुन् । राम्रो काम गर्ने वचन दिएकी छिन् । काठमाडौंजस्तो राजधानीमा महिला हार्नुहुँदैन । दुनियाँले के भन्छ ? राजदूतहरू यहीँ छन्, महिला हरायो भन्छन् । भरतपुरमा रेनुलाई पनि हराउन हुँदैन’, देउवाले भने ।
प्रकाशमानको पत्नी हुनु सिर्जनाको पाप नभएको भन्दै देउवाले आमाबुवाले कसैसँग बिहे गर्दिनु गलत नभएको बताए ।
‘बुबाआमाले प्रकाशमानसँग बिहे गरिदिए त सिर्जनाको के दोष ? रेनुले पनि प्रचण्डकै छोरी बन्छु भनेर जन्मेको त हैन नि ? त्यसैले राम्रो काम गर्नेलाई जिताउनुपर्छ’, देउवाले भने ।
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा उत्रिएको बताएका छन् ।
काठमाडौंमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कुनै बेला वीपीलाई फाँसी दिनुपर्छ भन्नेहरू अहिले कट्टर कांग्रेस बन्न खोजेको आरोप लगाए ।
‘हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा खडा गरेका छन् । हिजो वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने को को हुन् ? उनीहरू अहिले गठबन्धनको खिलाफमा छन् । बडा कांग्रेसको समर्थन गर्ने भका छन् । हामीलाई था छैन ?’, देउवाले भने ।
कांग्रेसको महाधिवेशन र केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरेपनि केही सीमित मान्छेहरू विरुद्धमा लागेको देउवाको टिप्पणी छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम लोकतान्त्रिक गठबन्धन नै सबैभन्दा ‘नेचुरल’ रहेको बताएका छन् ।
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगमा वाम गठबन्धनको अभ्यास गरिएपनि अहिलेजस्तै वाम–लोकतान्त्रिक गठबन्धन नै सही र उपयुक्त रहेको बताए ।
‘वाम-लोकतान्त्रिक गठबन्धन नै नेचुरल थियो । शेरबहादुरजी र मैले पहिले गरेको गठबन्धन नै राम्रो थियो । पछि वामहरुको सजिलो हो कि भनेर लाग्यो तर त्यो होइन रहेछ’, प्रचण्डले भने ।
कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था रहँदा मुलुकले कुनै उपलब्धी हासिल गरेको उनले बताए ।
‘कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था हुँदा मुलुकले केही पाएन तर कांग्रेस कम्युनिष्ट मिलेपछि प्रजातन्त्र पुनःस्थापना पनि भयो, शान्तिप्रक्रिया पनि भयो, संविधानसभाबाट संविधान पनि बन्यो । यो वामपन्थी र प्रजातन्त्रवादी शक्तिकै सहकार्यले सम्भव भएको हो’, प्रचण्डले भने ।
विगतमा वामगठबन्धन र कम्युनिष्ट एकतामार्फत केपी शर्मा ओलीलाई नायक बनाउन खोजेपनि ओली खलनायक बनेको बताए ।
‘वामगठबन्धन र पार्टी एकता गरेर जुन स्थायित्व र विकासको सपना देखेका थियौं त्यो सपना ३ वर्षमै चकनाचुर भयो । केपी ओलीलाई हामीले ठूलो समर्थन गरेर नायकको भूमिकामा लगेका थियौं । तर, एकताको २ हप्तादेखि नै ओलीबाट धोका पायौं । नायक भनेको खलनायकको फेला पर्यौं’, उनले भने ।
कांग्रेस कार्यकर्ताले रुखबाहेक हँसिया हतौडामा र माओवादी कार्यकर्ताले हँसिया हतौडाबाहेक रुखमा भोट नहाल्ने जड्ता त्याग्नुपर्ने प्रचण्डको भनाइ छ ।
‘लकीरको फकीर बनेर हुँदैन । रुखवालाले हँसिया हतौडामा भोट हाल्नुपर्छ, हँसिया हतौडावालाले रुखमा भोट हाल्नुपर्छ । यसबाट मात्रै लोकतन्त्र र विकास संस्थागत हुन्छ’, प्रचण्डले भने ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले दक्षिणपन्थी विचारको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन् ।
सत्तारुढ गठबन्धनले शान्तिवाटिकामा गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले ५ दलीय गठबन्धन परिवर्तन पक्षधरको भएको बताए ।
‘एमालेले दक्षिणपन्थीहरूको नेतृत्व गरिरहेको छ । केपी ओलीले राजावादी, दक्षिणपन्थी, परिवर्तनविरोधी, संविधानविरोधीहरूसँग गठबन्धन गरेका छन् । प्राप्त उपलब्धीको रक्षा गर्ने ,संविधान जोगाउने , समाजवाद र सुशासनको पक्षमा रहेकाहरु, गणतन्त्रका हिमायतीहरु यो गठबन्धनमा छौं’, नेपालले भने ।
मुलुकमा रहेका २ गठबन्धनमध्ये कुन रोज्ने भन्ने निर्णय जनताले वैशाख ३० मा गर्नुपर्ने नेपालले बताए ।
नेपालको राजनीतिमा दम्भ देखाउनेहरू ओरालो लाग्ने क्रम सुरू भएको भन्दै अध्यक्ष नेपालले दम्भ गर्नेहरूलाई जनताले तह लगाउने बताए ।
‘गफैगफले जनतालाई अल्मल्याउन सकिन्छ भनेर कसै कसैले सोचेका होलान् तर जनता गफाडीको गफमा भुल्दैनन्’, नेपालले भने ।
गठबन्धनको जित सुनिश्चित रहेको बताउँदै नेपालले विपक्षी उम्मेदवारहरूको गतिविधि ठीक नभएको बताए । काठमाडौं महानगरलाई व्यवस्थित सहर र संस्कृतिको संरक्षणका लागि गठबन्धनका उम्मेदवारहरुको जित अत्यावश्यक रहेको उनको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन कमजोर बनाएर केपी ओलीलाई बलियो बनाउन षड्यन्त्र भइरहेको बताएका छन् ।
गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले ५ दलीय गठबन्धन अग्रगामी र प्रगतिशील गठबन्धन भएपनि गठबन्धनभित्रै संकीर्ण सोच राख्नेहरुले अझै षड्यन्त्र गरिरहेको बताए ।
‘ओलीलाई बलियो बनाउन गठबन्धनभित्रै पनि षड्यन्त्र भइरहेको छ । हसियाँ हथौडामा छाप हान्दैनौ भनेर गठबन्धनलाई कमजोर बनाउने काम भएको छ । म मेरा साथीहरुलाई भन्न चाहन्छु । संकीर्णता समातेर होइन । अलिकति खुला भएर संविधान र लोकतन्त्र जोगाउने गठबन्धनको मिसनमा जोडिनुस् । यो अग्रगामी र प्रगतिशील गठबन्धन हो’, पौडेलले भने ।
काठमाडौं महानगरमा बितेको ५ वर्षमा भ्रष्टाचार संस्थागत भएको भन्दै पौडेलले गठबन्धनले निर्वाचन जितेपछि सुशासनका लागि पर्याप्त काम गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले देखेको काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने सपना पूरा हुन लागेको भन्दै पौडेलले महानगरबासीलाई थप सुविधा दिनुपर्ने बताए ।
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश समितिका सभापति ईन्द्र बानियाँले गठबन्धनको विरोध गर्नेहरु कांग्रेस हुनै नसक्ने दावी गरेका छन् ।
गठबन्धनले शान्तिवाटिकामा गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले कांग्रेस कार्यकर्ताले गठबन्धनको विरोध गर्नु भनेको एमालेलाई सघाउनुसरह रहेको बताए ।
‘गठबन्धन शान्तिप्रक्रियादेखि नै हुँदै आएको हो । आज क्षणिक स्वार्थका लागि कांग्रेसीले गठबन्धनको विरोध गर्न मिल्दैन । गठबन्धनको विरोध गर्नु केपी ओलीलाई सघाउनु हो’, बानियाँले भने ।
काठमाडौं महानगरमा एमालेले अनुशासनहीन उम्मेदवार उठाएको आरोपसमेत बानियाँले लगाए । ‘केपी ओली आफै हावादारी मान्छे । उहाँले काठमाडौंको उम्मेदवार पनि महाहावादारीलाई बनाउनुभएको छ । अनुशासनहीन व्यक्तिलाई टिकट दिएर एमालेले जनताको उपहास गरेको छ’, बानियाँले भने ।
उपमेयरमा पनि एमालेले ‘कलेज पढेको तर नलेज नभएको’ उम्मेदवार खडा गरेको बानियाँको टिप्पणी छ ।
काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंमा गठबन्धनको जित निश्चित भएको बताएकी छिन् ।
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको बताइन् । काठमाडौंमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत सिंहले व्यक्त गरिन् ।
‘काठमाडौंमा हाम्रो जित निश्चित छ । हामी जितेर आएपछि जनताले सोचेजस्तो काठमाडौं बनाउँछौं । मतदाताको शिर निहुरिन दिदैनौं । महानगरलाई महान् घरजस्तो बनाउँछु । सबैलाई सम्मान गर्ने र सबैलाई अपनत्व दिने काठमाडौं बनाउँछौं’, सिंहले भनिन् ।
आफू मेयर भएपछि काठमाडौंका सबै टोल र गल्लीमा सडक बत्ती र सीसी टिभी जडान गर्ने सिर्जनाको प्रतिवद्धता छ । काठमाडौं महानगरका सबै वडामा ज्येष्ठ नागरिकका लागि भवन बनाउने उद्घोष गर्दै सिंहले सार्वजनिक स्थानमा निशुल्क खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको जिकिर गरेका छन् ।
शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘स्थानीय तह निर्वाचन-२०७९ नेपाली कांग्रेसको संकल्प प्रस्ताव र बहस’ विषयक कार्यक्रममा थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोतसाधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।
थापाले कांग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने आश्वस्त पारे । अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले संकल्प लिएको थापाको भनाइ थियो ।
थापाले यसअघि पाँच वर्षमा भएका कामहरूको बारेमा जनतालाई जानकारी गराउनुपर्ने भएपनि कसैले पनि यसलाई ध्यान दिन नसकेको बताए ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा। केदारनरसिंह केसीले स्थानीय तह निर्वाचनको सङ्कल्प प्रस्ताव पार्टीको मार्गदर्शक भएको भन्दै यसको भरपुर उपयोग गर्नुपर्ने बताए ।
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा एमालेबाट बागी उम्मेदवारी दिएकी गाउँपालिका कमिटी उपाध्यक्ष सुभद्रा कटवालले आफ्नो उम्मेदवारी स्थगन गर्दै आधिकारिक उम्मेदवार अस्मिता थापालाई समर्थन जनाएकी छन् ।
लिखु गाउँपालिकाको वडानम्बर ४, यसमको मचाबारीमा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले आफूले पार्टीका केही व्यक्तिको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिए पनि एमालेको विरासत जोगाउँन आधिकारिक उम्मेदवार अस्मिता थापालाई बिनाशर्त समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएको बताइन् ।
आफ्नो कारण पार्टीले हारेमा आफ्नो सन्तानको भविष्य समेत अन्धकार हुने भएकाले र आफ्नो पुर्खाले आर्जेको विरासत कायम राख्नका लागि आफूले स्वतन्त्र उम्मेद्बारी फिर्ता लिएको उने बताइन् ।
पार्टीका प्रदेश इन्चार्ज नानीबाबु बुढाथोकी, गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोविन्द पौडेल, उपाध्यक्ष उम्मेदवार तथा जिल्ला कमिटी सदस्य अस्मिता थापालगायतका नेताहरूसँगको छलफल पनि उनले उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन् ।
लिखु गाउँपालिकामा एमालेले मिलन विष्टलाई अध्यक्ष र अस्मिता थापालाई उपाध्यक्ष उम्मेदवार बनाएको छ ।
भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा विकासकै कारण जग्गाको भाउ बढेको बताएका छन् ।
चुनावी सभामा बोल्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले माओवादी नेतृ रेनु दाहालको कार्यकालमा भरतपुरका सबै गल्ली पिच भएर जग्गाको भाउ बढेको बताए ।
‘गल्ली गल्लीमा पिच भएको छ । यहाँको जग्गाको भाउ बढेको छ । काठमाडौंमा भन्दा जग्गाको मूल्य बढिसक्यो । यो रेनु दाहालले बनाउनुभएको हो’, देउवाले भने ।
भरतपुरमा अन्तर्राष्ट्रिय खेल मैदान र सम्मेलन केन्द्र बन्दै गरेको भन्दै देउवाले आगामि दिनमा अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्ने बताए ।
‘उहाँले अन्तर्राष्ट्रिय खेल क्रिकेट मैदान बनाउँदै हुनुहुन्छ, अन्तर्राष्ट्रिय सभा हल बनाउँदै हुनुहुन्छ । त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्छ । यो चानचुने कुरा होइन’, उनले भने ।
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने बताएका हुन् ।
उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने धारणा राखे । त्यस्तै उनले नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाहीबारे सहज सूचना पाउन सके सुशासन र असल शासन कायम हुने उल्लेख गरे । उपराष्ट्रपति पुनले अझै पनि राज्यका विभिन्न निकायमा सार्वजनिक महत्वका सूचनामा नागरिकको पहुँचलाई सरल र सहज तुल्याउन नसकिएको भन्दै आयोगको ध्यानाकर्षण गराए ।
कार्यक्रममा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोगमा दर्ता भएका सवै निवदेनमाथि सुनुवाई गरेको जानकारी दिनुभयो । नागरिकको सूचनाको हकलाई स्थापीत गराउन आयोग प्रतिवद्ध रहेको उनको भनाइ छ ।
आयोगले सूचना अभियान्ता उमीदप्रसाद वागचन्द, दुर्गा आचार्य, कैलाश माझि, मनोज रौनियारलाई ‘विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कार–२०७९’ प्रदान गरेको थियो भने बिभिन्न निकायमा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका छन् ।
भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतपुरमा जिते मात्रै गठबन्धनलाई दीर्घकालसम्म लैजान उत्साह मिल्ने बताए ।
सभामा बोल्ने केही कांग्रेस नेताहरूले गठबन्धनको निरन्तरताका बारेमा राखेको चासोमा जवाफ दिदैं प्रचण्डले कांग्रेसका नेता कार्यकर्ताहरूले हँसिया हतौडामा भोट हाल्न गाह्रो मान्न नहुने बताए ।
‘तपाईँहरूले हँसिया हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईँहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ’, प्रचण्डले भने ।
भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा ‘भोट खन्याइदिने’ आश्वासन दिएको दाबी गरेका छन् ।
‘केपीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् है भनेका छन् रे । अन्तिममा एमालेको सबै भोट खन्याइदिउँला भनेका छन् रे । केपीका भनाइको भर नपर्नुहोला’, उनले भने ।
प्रचण्डले आफूलाई शंका नगर्न आग्रह गर्दै सबैको साथ भए गठबन्धनलाई दीर्घकालसम्म लैजाने बताए ।
‘ममाथि शंका नगर्नुस् । युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधानसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौँ । यसलाई जोगाएर जानुको विकल्प छैन’, प्रचण्डले भने ।
उनले विगतमा आफूले कांग्रेसलाई धोका नदिएको समेत बताए ।
भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाल सलाम र जय नेपालको सहकार्य जरुरी रहेको बताएका छन् ।
भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गरेका हुन् ।
‘लाल सलाम र जय नेपालको सम्बन्धको सुरुआत २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो । त्यसभन्दा अगाडि वामपन्थी र प्रजातन्त्रवादीबीच सहकार्य हुने विषय अलि नकारात्मक मानिन्थ्यो । २०४६ सालको जनआन्दोलनको सन्दर्भमा हँसिया हथौडा र चार तारे झण्डा एकसाथ भएपछि मात्रै प्रजातन्त्र पुनः स्थापना भयो’, उनले भने ।
नेपालमा अझै पनि वाम–लोकतान्त्रिक एकता र सहकार्य जरुरी रहेकोमा दाहालले जोड दिए ।
गठबन्धनको विरुद्धमा उभिएका केही नेताहरूले सैद्धान्तिक प्रश्न उठाएको भन्दै प्रचण्डले आफूले सैद्धान्तिक नै जवाफ दिए ।
‘रुख र हँसिया हथौडा चिन्हको बारेमा कुरा गर्नुभएको छ । के ४६ सालको जनआन्दोलन, ६२र६३ को जनआन्दोलनको बलमा विस्तृत शान्ति सम्झौता हुनु हँसिया हथौडा र रुखको सहकार्य थिएन ? के त्यो गलत हो भन्न सक्नुहुन्छ ?’, प्रचण्डले प्रश्न गरे ।
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकास्थित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको बताएका हुन् ।
‘यो कैलालीमा टीकापुर घटना भयो । सो घटनाले गर्दा यहाँका थारु नेताहरू अहिले पनि जेलमा छन् । तर, रेसम चौधरी र थारु नेताहरूलाई जेल हाल्नुपर्ने कुनै कारण छैन’ ओलीले भने, सरकारले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको छ ।’
ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति समेत गरेको बताए ।
सहमति कार्यान्वयन नहुँदै एमाले सरकारबाट हटेको स्पष्ट पारेका थिए ।
भरतपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई ‘कुहिएको फर्सी’ को संज्ञा दिएका छन् ।
भरतपुरमा गठबन्धनको सभालाई सम्बोधन गर्दै नेपालले एमाले र केपी ओलीका कुरा विश्वास गरे दुःख पाइने टिप्पणी गरे ।
‘एमाले कुहिएको फर्सी हो, त्यसको काम छैन । कुहिएको फर्सी छुनुभयो, खानुभयो भनेपनि रोगव्याधी लाग्छ’, नेपालले भने ।
उनले केपी शर्मा ओलीको वर्णन हजार जिब्रो भएको शेषनागले पनि गर्न नसक्ने बताए ।
‘केपी ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन् । महागफाडी हुन् । गफमा उनले विद्यावारिधी हासिल गरेका छन् । झूठको पुलिन्दा बनाउनसक्छन् । भ्रमको खेती गर्नसक्छन् । होस् गर्नुहोला, ख्याल गर्नुहोला । ओलीका कुरा हतारमा पत्यायो भने फुर्सदमा पछुताउनुपर्छ’, नेपालले भने ।
चुनावी गठबन्धन राष्ट्रिय आवश्यकता बनिसकेको बताउँदै नेपालले भरतपुरमा रेनु दाहाल विकासप्रेमी मेयरको रुपमा स्थापित भइसकेको बताए ।
‘जसलाई सोधे पनि रेनु दाहाल विकासप्रेमी मेयर हो भन्छन् । त्यसैले यो भरतपुरमा उहाँले धेरै काम गरिसक्नुभएको छ । अब थप विकासका लागि पनि उहाँसँग योजना छन् । त्यसैले उहाँलाई भरतपुरले जिताउनुपर्छ’, नेपालले भने ।
गठबन्धनले गर्नसक्ने कुरा मात्रै गर्ने भन्दै गफाडीको गफजस्तो कुरा गठबन्धनले नगर्ने बताए ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी सहकार्य गर्नुपर्ने बताए ।
‘साथीहरूले बुझ्नुपर्यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले भने ।
निर्वाचनपछि गठबन्धन सरकार नै चलाउनुपर्ने बाध्यता रहेको भन्दै पौडेलले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको बताए ।
‘भोलि मिलेरै सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो’, पौडेलले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको बलमा संविधान र लोकतन्त्रमाथि धावा बोलेकोले गठबन्धन निर्माण भएको पौडेलले बताए । चितवनमा स्वतन्त्र उम्मेदवारी दिने कांग्रेस नेताहरुले तर्कले भन्दा भावावेशले निर्णय गरेको पौडेलको भनाइ छ ।
‘मैले उहाँहरूसँग आज भेटेर अलि बसेर कुरा गरौ भने तर उहाँहरूले अलिकति धैर्य राख्न सक्नुभएन । उहाँहरू अलि चाडै जान खोज्नुभयो । उहाँहरू तर्कभन्दा भावावेश र उत्तेजनामा अगाडि बढ्नुभएको छ’, पौडेलले भने ।
बर्दगोरिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना शाखा सन्तान र नातागोताको व्यवस्थापन गर्न बनेको पाँच दलीय गठबन्धनलाई स्थानीय तह निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्ने बताएका छन ।
कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै गन्तव्य नभएको गठबन्धनको उद्देश्य सरकारमा पुग्ने र आफन्त नातागोताको व्यवस्थापन गरेर बाँडिचुँडी खानेमात्र रहेको आरोप लगाए ।
ओलीले भने, ‘यो परमादेशी गठबन्धन कसरी बनेको थियो भन्ने सबैलाई थाहा छ । २३ सिट ल्याएको कांग्रेस पार्टीका अध्यक्ष शेरबहादुर देउवा ढोडका लौरा टेकेर हिँड्न खोज्दै हुनुहुन्छ । यो परमादेशी सरकार हो, संसद र संवैधानिक प्रक्रियाबाट बनेको होइन । यो अन्तैबाट बनेका सरकारलाई हामीले बिदाई गर्ने सन्देश यस स्थानीय तहको निर्वाचनले दिनुपर्छ ।’
ओलीले मुलुकमा अहिले एमाले एकातिर र गठबन्धन अर्कोतिर रहेको भन्दै कांग्रेसले घोषणापत्रमा एमालेले गरेका विकासको विरोध गरेको आरोप लगाए ।
ओलीले कांग्रेसको घोषणपत्रमा आफ्ना सभापतिको नाम आठ ठाउँमा लेखेको र एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेर गालीगलौज गरेको बताए ।
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार रहेकी माओवादी नेतृ रेनु दाहालले बितेको ५ वर्षमा भरतपुरमा शिर झुकाउन नपर्ने गरी काम गरेको दाबी गरेकी छिन् ।
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले ५ वर्षमा सुरूआत गरिएका गौरवका आयोजनाहरूलाई सम्पन्न गर्नका लागि आफू पुनः चुनावी मैदानमा आएको बताइन् ।
‘शिर झुकाउन पर्दै, विपक्षीको आँखामा आँखा जुधाएर भन्न सक्छौं, ५ वर्षमा भरतपुर महानगरपालिकामा हामीले राम्रो काम गरेका छौं । भरतपुरको विकास कास्टिङमात्रै हो, अबको ५ वर्षमा गौरवका आयोजना पूरा गरेर पूरा फिल्म देखाँउछौं’, दाहालले भनिन् ।
विगतमा प्रतिबद्धता गरेको भन्दा धेरै काम भरतपुरमा गरेको भन्दै रेनुले भरतपुरलाई देशकै समृद्ध र व्यवस्थित सहर बनाउन गठबन्धनले जित्नुपर्ने बताइन् ।
आफ्नो मन्तव्यका दौरान आफ्नो कार्यकाल कामहरूको फेहरिस्त सुनाएकी दाहालले पहिलो कार्यकालमा भएका कमजोरी सच्याउन आफू प्रतिबद्ध रहेको बताइन् ।
१२ बुँदे सम्झौता , शान्ति प्रक्रिया र संविधानका पक्षधर शक्तिबीच जारी गठबन्धनलाई निरन्तर राख्नुपर्ने र एमालेको प्रतिगामी राजनीतिलाई परास्त गर्नुपर्ने दाहालको भनाइ थियो ।
‘आन्दोलनको मैदानबाट प्रतिगमनलाई परास्त गर्यौं । अब चुनावी मैदानबाट पनि प्रतिगमनलाई परास्त गरौं, हाम्रो जित सुनिश्चित छ’, उनले भनिन् ।
सुन्दरहरैंचा (मोरङ) । मोरङको विराटनगरपछिको सबैभन्दा धेरै मतदाता भएको सुन्दरहरैंचा नगरपालिकाको मेयरमा एमाले उम्मेदवार केदारप्रसाद गुरागाईंले आफूले जिते मेयर कक्षमा हुने गोप्य कोठा भत्काउने बताएका छन् ।
अहिले चुनावी अभियानमा रहेका गुरागाईंले जनताको काम गर्ने मेयरलाई गोप्य कोठाको आवश्यकता नपर्ने भन्दै जितेपछि उक्त गोप्य कोठा भत्काउने उद्घोष गरेका हुन् ।
उनले उपभोक्ता समितिहरुले भोग्नुपर्ने झन्झटको समाधानसमेत आफूले नीतिगत रुपमा गर्ने बताए । गत चुनावमा नेपाली कांग्रेसका शिव ढकालसँग ९६८ मतले पराजित गुरागाईंले यस पटक जित्ने दाबी गरे । गत चुनावमा एमालेले नगर परिषद्मा उपमेयरसहित बहुमत जनप्रतिनिधि जितेको थियो ।
एमालेकै अन्तरघातले मेयरमा पराजय भोगेको एमाले नेताहरुले भन्दै आएका थिए । अहिले भने एमालेमा अन्तरघात नहुने भन्दै एमालेजनहरु चुनावी अभियानमा छन् । यसै मेसोमा ३२ पृष्ठको ‘निर्वाचन प्रतिबद्धतापत्र’ बोकेर ७१ हजार ७५६ मतदाता भएको सुन्दरहरैंचा नगरपालिकामा घरदैलो गरिरहेका केदारप्रसाद गुरागाईंसँग नेपालप्रेसकर्मी विराट अनुपमले गरेको कुराकानी नेपाल टकमा ।
– अहिले घरदैलो अभियान कस्तो भइरहेको छ ?
नेकपा एमालेको तर्फबाट हामी उम्मेदवारहरुले घरदैलो अभियान सञ्चालन गरिरहेका छौं । विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहँदा व्यापक रुपमा कार्यकर्ताको मात्रै हैन जनताको ठूलो पंक्ति हाम्रो घरदैलो कार्यक्रममा संलग्न हुनुभएको छ । एकदम क्रियाशील हुनु भएको छ । उहाँहरुमा अत्यन्तै धेरै उत्साह भएको हामीले पाएका छौं ।
जनताको घरदैलोमा पुग्दा विजय भएको अनुभूति हुने खालको सम्मान र स्वागत जनताको तर्फबाट हामीले पाएका छौं । अहिलेको माहोल हेर्दा एमाले पूर्ण रुपमा विजयको नजिक छ भन्ने हामीले अनुभूति गरेका छौं । जनताले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएको हामीले महसुस गरेका छौं ।
– नयाँ मतदाताहरु थपिएका छन् । दुवैतर्फका उम्मेदवार पुरानै हुनुहुन्छ ? नयाँ मतदाता तपाईंले तान्नुहुन्छ कि प्रतिस्पर्धीले ?
मूलतः अहिले मतदाताहरु अघिल्लो पटकभन्दा १८/१९ हजार बढेका छन् । नयाँ मतदाताहरुमा एक हिसाबले नेपालको राष्ट्रिय राजनीतिको कारणले पनि र स्थानीयस्तरमा भएका कतिपय कुशासन र अव्यवस्थाका कारणले आज धेरै युवा र नयाँ मतदाताहरु एमालेको पक्षमा आकर्षित भएका छन् ।
खास गरेर हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा लिएको दृष्टिकोण, समाजमा रहेको विभिन्न पक्षको एकताको सूत्रको रुपमा एमाले, विकास र पूर्वाधारको हिसाबमा अगुवाइ गर्ने एमाले, सामाजिक सुरक्षाका दृष्टिकोणले सबैलाई समावेश गरेर सहयोग गर्न सक्ने दृष्टिकोण भएको एमाले र हरेर हिसाबमा एमालेको पहिचान स्थापना भएको अवस्थामा अहिले एमालेको विकल्पमा अन्य हुन सक्दैन भन्ने दृष्टिकोण युवा पंक्तिमा धेरै देखिएको हामीले महसुस गरेका छौं ।
– एमालेबाट विभाजित नेकपा एस गठबन्धनबाट चुनाव लडिरहेको छ । यसले तपाईंलाई कस्तो असर पर्छ ?
निश्चित रुपमा हाम्रोविरुद्धमा केही पार्टीहरु गठबन्धनमा छन् । तर, मूलतः यो निर्वाचन भनेको नेपाली जनताको अभिमतबाट निर्णय गरिने भएकोले कुनै अमुक दलका अमुक नेताको एकता र गठबन्धनले त्यस्तो केही असर पर्छ जस्तो लाग्दैन । अहिले अभियानको क्रममा पनि चुनावी वातावरणलाई हेर्ने हो भने पनि त्यसको असर शून्य छ भन्दा पनि हुन्छ ।
हाम्रा प्रतिस्पर्धीहरु अहिले यो ढंगमा जनताको तहमा अभियान लिएर जानुपर्ने हो, त्यो सकिरहेको स्थिति पनि हामीले देखिरहेका छैनौं । बाहिरी रुपमा जुन खालको हौवा छ, त्यो ढंगको हाम्रो परिवेश ग्राउन्ड रियालिटी त्यो खालको देखिँदैन । एमालेको पक्षमा व्यापक जनलहर छ । यसलाई कुनै शक्तिले पनि रोक्न सक्छ जस्तो मलाई लाग्दैन ।
– २०७४ सालमा एमालेले मेयर गुमायो तर नगरसभामा बहुमत प्राप्त गर्यो । अबको सिन कस्तो हुन्छ ?
अहिलेको चुनावी अभियान हेरिरहँदा आजसम्मको यो घरदैलो हाम्रो छैटौं हो । र, जुन ढंगले जनताको व्यापक सहभागी छ, जुन ढंगको उत्साह छ त्यो हेर्ने हो भने निर्वाचनपछि १२ वडा र मेयर–उपमेयर गरेर कूल ६२ जनप्रतिनिधिमा हामी ६२ सिटै जित्छौं भन्ने ठाँउमा आएका छौं ।
– तपाईंलाई नै मतदाताहरुले जिताउनुपर्ने एजेन्डाहरु के के छन् ?
छोटोमा भन्दा मूलतः एमाले भनेको यो देशमा ‘समृद्ध मुलुक र सुखी नेपाली’ बनाउने एक अभियन्ता पार्टी भएकाले यो नगरलाई पनि हामी त्यही ढंगले अगाडि बढाउन चाहन्छौं । मूलतः हामी भौतिक पूर्वाधारको विकासलाई हामीले प्राथमिकतामा राख्छौं नै । त्योदेखि बाहेक यहाँको शैक्षिक गुणस्तर सुधारको निम्ति हामीले महत्वपूर्ण एजेन्डाहरु ल्याएका छौं । यहाँको प्राकृतिक प्रकोपको हिसाबमा देखिएको नदी कटानको समस्यालाई एजेन्डा बनाएका छौं ।
यहाँका श्रमजीवी सर्वहाराका न्यून आय भएका जनताको आय कसरी वृद्धि गराउन सक्छौं, कसरी उहाँहरुमा स्वरोजगार सिर्जना गर्न सक्छौं र यो नगरलाई भौतिक रुपमा मात्रै हैन मानवीय रुपमा पनि कसरी समृद्ध र विकसित बनाउन सक्छौं भन्ने ढंगले हामीले योजनाहरु र कार्यक्रमहरु प्रतिबद्धता–पत्रमार्फत् सार्वजनिक गरिसकेका छौं । त्यसको आधारमा एमालेको पक्षमा व्यापक जनताको समर्थन प्राप्त गरेका छौं ।
– अहिले स्वतन्त्र उम्मेदवार डाक्टर प्रकाश भट्टराई उठ्नुभएको छ । उहाँबाट गठबन्धन र नेकपा (एमाले) मा कसलाई घाटा छ ?
मूलतः अहिलेको बहुदलीय प्रतिस्पर्धाभित्र हामीलाई ठूलो दलहरुकै गठबन्धनले कुनै प्रभाव पर्छ भन्ने ठाउँमा छैनौं । स्वतन्त उम्मेदवार साथीहरु जो उठ्नुभएको छ, उहाँहरुलाई हामीले नउठ्न अनुरोध गरेका पनि हौं । तर पनि उहाँहरु उठ्नुभएको छ । यसले हामीलाई खासै घाटा हुन्छ भन्ने ठाउँको हाम्रो बुझाइ छैन ।
मलाई लाग्छ, यो अत्यन्तै राजनीतिक रुपमा सुझबुझ भएको क्षेत्र हो । त्यसमा पनि वामपन्थी मुभमेन्टहरुको सन्दर्भमा हेर्ने हो भने वामपन्थी आन्दोलन पनि उर्बर क्षेत्र भएकाले कुनै पनि खालका यस्ता उम्मेदवारीहरुले हामीलाई असर पर्छ जस्तो लाग्दैन ।
काठमाडौं । नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले महिला भन्दैमा कानूनले दिएको अधिकारको दुरुपयोग गरेर अरुमाथि आरोप लगाउनेको पक्षमा उभिन नसकिने बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा न्यौपानेले केशव स्थापितमाथि आरोप लगाउने महिलाले चरित्रहत्याको सहारा लिएर महिला पक्षीय कानूनको दुरुपयोग र बदनाम गर्न खोजेको टिप्पणी गरिन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० का मतदाता समक्ष उभिएका केशव स्थापित समेत सामेल रहेको कार्यक्रममा न्यौपानेले आफूले २०५४ सालमा स्थापितसँगै महानगरपालिकामा काम गरेको भन्दै ४२ जना महिला जनप्रतिनिधिले कहिल्यै पनि स्थापितबाट अनादर नभएको बताइन् ।
न्यौपानेले भनिन्–म एक महिला अधिकारकर्मी पनि हुँ । कानूनले दिएको अधिकाारको कसैले दुरुपयोग गर्छ भने त्यस्ता महिलाको पक्षमा उभिनु हुँदैन । म पनि २०५४ मा काठमाडौं महानगरको बोर्डमा थिएँ । मेयर स्थपितको त्यस्तो बानी भए मलाई पनि दुर्वचन बोल्नुहुन्थ्यो होला तर दिदीजस्तो मर्यादामा राखेर आदर गर्नुभयो । अलि ठूलो स्वरले बोल्दा बरु मैले मेयरसाब पदको ख्याल गर्नुस् है भन्थेँ । उहाँ त्यस्तो मान्छे होइन,चुनावमा कोही महिला प्रयोग हुनु ठिक होइन ।
न्यौपानेले आफूसहित ४२जना महिला सदस्यमा हालकी उपमेयर हरिप्रभा खड्गी पनि रहेको भन्दै आफूहरुले स्थापितबाट कहिल्यै गलत व्यवहार र हेपाइ नभोगेको दावी गरिन् । उनले कसैलाई आक्षेप लगाउनु र प्रमाणित गर्न फरक रहेको भन्दै स्थापितविरुद्ध योजनाबद्ध रुपमा चुनावी अस्त्र बनाउँन खोजिएको आरोप लगाइन् ।
न्यौपानले भनिन्–आफू अब्बल नहुने मान्छेले पुल डाउन गर्छ भने महिला अधिकारको दुरुपयोग हो । भ्रमको खेति गर्ने महिलाको पक्षमा हामी कसरी उभिन सक्छौं ? बाल संगठनको सयौं रोपनी जग्गा सिर्जना सिंहको परिवारले दुरुपयोग गरेको भन्दै न्यौपानेले सबै प्रमाणहरुसहित अख्तियारमा पठाइएको बताइन् ।
काठमाडौँ । नेकपा (एमाले) का तर्फका काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले गणेशमानको नाम लिएर राजनीति नगर्न विपक्षीलाई आग्रह गरेका छन् ।
काठमाडौँ महानगरपालिका वडा–१० का मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले भने- ‘गणेशमानजीको लामो इतिहास छ । उहाँको नाम लिएर राजनीति गरेर हुँदैन । उहाँप्रति सम्मान प्रकट गर्नुपर्छ ।’
स्थापितले अहिले नेपाली काँग्रेसले गणेशमानको नाममा राजनीति गरेको तर सम्मान गर्न नसकेको बताए ।
उनले भने- ‘सिर्जना (नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाकी मेयर पदकी उम्मेदवार) जी अझ गणेशमान सिंहको परिवारका लागि जे गर्नु पर्ने हो लेखेर दिनुहोस् म पूरा गर्न तयार छु,’ तर गणेशमानको नाममा राजनीति गर्ने सम्मान भने नगर्ने कुरा हुन्न ।
आफू मेयर हुँदा गणेशमानप्रति सम्मान गरेको भन्दै स्थापितले आफू निर्वाचित भएपछि तिलगंगा नजिक रहेको र अहिले स्वीजरल्याण्ड पार्कले परिचित स्थानमा गणेशमान सिहंको सम्झनामा गणेशमान पार्क निर्माण गर्ने बताए ।
उनले भने–ग णेशमानसिंहका युवापनदेखि जेल परेको सम्मको इतिहास समेटेर संग्राहलय बनाउने कामको जिम्मा महानगरपालिकाले लिन्छ । यो प्रस्ताव लिएर आउनु पर्यो नि ।
काठमाण्डौं । इस्लाम समुदायले आज इद उल फित्र पर्व मनाइरहेका छन् । देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइरहेका हुन् ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक गरिबलाई दान गरिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र तय हुन्छ ।
इस्लाम समुदायको पर्व इदको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ।
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ । कोइरालाको अभिव्यक्तिले निर्वाचनप्रति अनास्था फैलाउन मद्दत पुगेको ठहर गर्दै आयोगले आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको हो ।
‘आफू निर्वाचन लड्दा ६ करोडसम्म खर्च भएको’ अभिव्यक्ति दिएपछि कोइरालालाई आयोगले स्पष्टीकरण सोधेको थियो । कोइरालाको स्पष्टीकरणउपर निर्णय गर्दै आयोगले कोइराला र उनको पार्टी नेपाली कांग्रेसलाई सचेत गराएको हो ।
आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसहिंताप्रति सचेत गराएको छ । अधिकारीले निर्वाचन खर्चको गलत विवरण आयोगमा बुझाएका थिए ।
काठमाडौं । इन्टनरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट सेवा बन्द हुने भनेर दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा बन्द हुने अवस्था नल्याउन पहलका लागि आयोगले सरकारलाई निर्देशन दिएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर एकैपटक निर्वाचन गर्ने तयारी भएको अवस्थामा निर्वाचनमा इन्टरनेट सेवा बन्द भए गम्भीर असर पर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यो अवस्था आउन नदिन निर्देशन दिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
केही दिनअघि मात्रै इन्टरनेट सेवा प्रदायक संस्थाको छाता संस्था आइस्पानले इन्टरनेट सेवा बन्द हुने अवस्था आएको बताएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ ।
केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त आदेश दिएको हो ।
‘कतिपय स्थानमा कानूनले वर्जित गरेका यस्ता कार्य भैरहेको भन्ने आयोगको जानकारीमा आएको हुँदा राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न आदेश गरिएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।
वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले मिति गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता, २०७८ लागू गरेको छ ।
आचारसंहितामा २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।
यस्तै कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने प्रावधान पनि आचारसंहितमा राखिएको छ ।
‘त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयासम्म जरिवाना गर्ने,’ आयोगले विज्ञप्तिमा भनेको छ ।
कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने विज्ञप्तिमा स्मरण गराइएको छ ।
जनकपुरधाम । धनुषाको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा त्रुटि भेटिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका मेयरको स्वतन्त्र उम्मेदवार मनोज साहलाई निर्वाचन अधिकृतको कार्यालयले ‘घण्टाघर’ चुनाव चिन्ह प्रदान गरेको हो । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना मतपत्रमा ‘घण्टाघर’ चुनाव चिन्ह नै समाविष्ट छैन् ।
आफ्नो चुनाव चिन्ह नै मतपत्रमा नराखेपछि स्वतन्त्र उम्मेदवार साह आन्दोलित भएका छन् । उम्मेदवार साह समर्थक सहित जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका हुन् ।
उम्मेदवार साहले जनकपुरधाममा मेयर २८ जना उम्मेदवार रहेको र आफूसहित ११ उम्मेदवारको चुनाव चिन्ह नमूना मतपत्रमा नरहेको बताए । उनले चुनाव चिन्ह नै मतपत्रमा नराखेर राजनीतिक षड्यन्त्र गरेको आरोप लगाए ।
उनले भने, ‘नमूना मतपत्र सच्याउन आयोग र निर्वाचन अधिकृतलाई हिजैदेखि पटक-पटक आग्रह गरेको छु । २४ घण्टा भयो तर नसच्याएपछि बाध्य भएर धर्ना बसेका छौं ।’ मतपत्र नसच्याएपछि धर्ना जारी राख्ने उनको भनाई छ ।
सत्ता गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जसपाको भागमा परेपछि आक्रोशित बनेका साह कांग्रेस नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका छन् ।
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीद्वय धिरजप्रताप सिंह र राजु अर्यालले दज्र्यानी चिह्न लगाएका छन् । हिजो नियुक्त भएका नेपाल प्रहरीका आईजीपी सिंह र सशस्त्रका अर्यालले आज गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेबाट दर्ज्यानी चिह्न लगाएका हुन् ।
अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियर सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।
सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापाभन्दा धिरजप्रताप जुनियर हुन् ।
वर्तमान आईजीपी शैलेश थापा ३० वर्षे सेवा अवधिका कारण आइतबार रात १२ बजेदेखि अवकाश पाउँदैछन् । सिंह ११ महिना आईजीपी बन्ने छन् । ३० वर्षे सेवा अवधिका कारण उनको अवकाश आगामी चैतबाट हुनेछ ।
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।
आइतबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । यही बुधवार पुल्चोकबाट रथ यात्रा सुरु हुनेछ ।
रथारोहणपछि गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाई गरेको थियो ।
रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोलमा घुमाइन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।
करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
हिन्दु धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।
काठमाडौं । काठमाडौं महानगरमा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले नेपाली कांग्रेसकी प्रत्याशी सिर्जना सिंहसँग काठमाडौंको नेतृत्व गर्न योग्यता नभएको टिप्पणी गरेका छन् ।
सार्वजनिक मञ्चमा बोल्न समेत अरूको सहारा लिनुपर्ने व्यक्तिले काठमाडौं हाँक्न नसक्ने उनले बताए ।
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै स्थापितले कांग्रेस उम्मेदवार सिंहसँग कुनै नीति र दर्शन नभएको टिप्पणी गरे ।
उनले भने, ‘नीति–कार्यक्रम केही पनि छैन । काठमाडौं कस्तो छ, यसलाई कसरी रूपान्तरण गर्ने भुतिभाङ केही थाहा छैन । अनि भन्छ भने पहिले भान्सा सम्हालेँ, अब काठमाडौं सम्हाल्छु । यस्तो पनि नारा हुन्छ रु यस्तो पनि कार्यक्रम हुन्छ ?’
स्थापितले सिर्जनालाई सार्वजनिक मञ्चमा उभिएर बोल्न चुनौती दिए ।
‘सिर्जना सिंह उम्मेदवार हो भने एउटा मञ्चमा आउने तागत देखाउनु परेन ? त्यति तागत नभएको महिलाले सहर हाँक्छु भन्ने ? सिंगै बहिष्कार गर्नुपर्छ । एक भोट पनि हाल्नु हुँदैन ।’
आफूले १०० वटा इन्टरभ्यू दिइसक्दा सिंहले एउटा पनि दिन नसकेको स्थापितको भनाइ थियो ।
‘उसले बोल्न सक्दैन अनि कसले बोल्छ भन्दा गगन थापा बोल्न आउँछ । त्यसो भए उ आफैँ उम्मेदवार भएर आउनुपर्थ्यो नि मेयर हुन । मैले खसी खोइ भनेपछि सकियो । हिसाब बुझाउन आउँदैन,’ स्थापितले भने ।
उनले सिर्जनालाई भाषण गर्न समेत गगनले सिकाउने गरेको आरोप लगाए ।
‘पछाडि बस्ने सिर्जना सिंह, यता बस्ने उ । नाटकमा नाटकमा डाइलग बिर्सिन्छ कि भनेर यताबाट कराइरहेको हुन्छ नि । हो, त्यस्तै । यस्तो मान्छेले कसरी मुलुक बनाउँछ ?’
काठमाडौं । काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । बालेनले आफूलाई मधेसको नभई काठमाडौंको भनेर झुक्क्याइरहेको उनले दाबी गरे ।
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले सो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’
बलेनले जनतासँग आँखा जुधाउन नसकेर सधैँ चस्मा लगाउने गरेको दाबीसमेत स्थापितले गरे ।
उनले भने, ‘कहिले पनि चस्मा किन खोल्दैन भनेको त जनतासँग आँखा जुधाएर हेर्ने आँट रहेनछ । यस्तो मान्छेको पछि लागेर हुन्छ ? युवाहरूसँग फेस टु फेस हेरेर कुरा गर्नुपर्यो नि ।’
बलेनसँग काठमाडौंका जनताको विवरण समेत नभएको उनले बताए ।
‘काठमाडौँमा महानगरको उम्मेदवारले काठमाडौंमा ८० लाख जनसंख्या छ भन्छ । कति जना मान्छे भन्ने पनि थाहा छैन उसलाई । सिंगो उपत्यकामा बनेपासम्म ४० लाख मान्छे छन् । उसले पहिल्यै ८० लाख भनेपछि योजना भताभुङ्ग भएन रु कहाँ पुर्याउँछन् यस्तोले ?’
काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्ने दावी गरेकी छन् ।
नेविसंघ काठमाडौं जिल्ला समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले काठमाडौंमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने बताएकी हुन् ।
महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउदै जनताका लागि काम गर्ने उनको भनाई छ । त्यस्तै उनले काठमाडौंलाई हरियाली शहर बनाउने प्रतिवद्धता जनाइन् भने युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा राखिन् ।
कार्यक्रममा नेविसंघका नेता मनोज बैद्यले महानगरको रुपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिए ।
उनले महानगरमा अव देखिने गरि बिकास हुने विश्वास व्यक्त गरे ।
काठमाडौ । नेकपा एमालेका काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए कांग्रेसका एजेण्डा पनि पूरा गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिफन्टले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार स्थापितले यस्तो बताएका हुन् ।
‘दुई महिनापछि नेपाली कांग्रेसलाई यति लामो चिठ्ठी लेख्ने, त्यत्तिकै आउँदैन क्या, नेपाली कांग्रेसले त्यो थान्का पठाउँछ नि’, उनले भने, ‘नेपाली कांग्रेसले ल्याएको जम्मै एजेण्डा पास गरेपछि महानगरपालिकाको थप आलोचना हुँदैन । अनि सहज रुपमा काम गर्न पाइन्छ भन्ने मलाई लाग्छ ।’
यसरी आधारभूत कुरा सकिएपछि प्रशासनिक सुधारको काम सुरू हुने उनले बताए । त्यसमा महानगरका कर्मचारीहरूलाई सँगै राखेर जनताका कुरा सुन्ने र त्यसअनुसार काम गर्ने उम्मेदवार स्थापितले बताए ।
‘मेरो पछाडि सबै अफिसर राख्ने, जुनियरलााई पनि राख्ने, सिनियरलाई पनि राख्ने’, उनले भने, ‘को-को आउने हो तपाईंहरू आएर मेरो कुनै अफिर र जुनियरले नक्सा पाास गर्दा कमिसन खाएको भन्ने आयो भने त्यहीनेर छाप लाउने, निलम्बन गर्ने, सक्यो ।’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका हाँक्न आफूले अनुभवी र सक्षम मेयर तथा युवा उपमेयरसहितको उत्कृष्ट टिम जनतामाझ पठाएको दाबी गरेको छन् ।
मे दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित जिफन्टको कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौं बुझेको र विकासको अनुभव तथा भिजन भएको मेयर केशव स्थापित र महानगरको संस्कृति,सभ्यता बुझेकी भूमि पुत्री सुनिता डंगोल उपमेयर भएर काठमाडौं हाँक्ने बताए ।
उनले भने–काठमाडौंका सडक चौडा बनाउने,माइतीघर मण्डल बनाउने, धोबिखाला कोरिडोर, बागमती कोरिडोर अघि बढाउने व्यक्तिलाई एमालेले अघि बढाएको छ ।
केशव स्थापित काठमाडौं बुझेको र प्रशासन बुझेको, परिवर्तनको सोच र संकल्प भएको अनुभवी तथा नयाँ जोस जाँगरको सम्मिलन एमालेको टिम हो ।
आफूले अन्य दलका उम्मेदवारबारे टिप्पणी नगर्ने भन्दै अध्यक्ष ओलीले प्रतिस्पर्धा गर्ने सबैप्रति सम्मान रहेको तर विजय एमालेको निश्चित भइसकेकाले दाबी ओलीले गरे ।
ओलीले स्थापित र डंगोल समुदाय काठमाडौंका परम्परागत श्रमिक भएकाले श्रमिकको सम्मान गर्दै एमालेले उम्मेदवार बनाएको समेत बताए ।