काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल र भारत मिलेर बुद्धको सन्देशलाई विश्वमा फैलाउनुपर्ने उनले बताए ।
लुम्बिनी भ्रमणमा आएका मोदीले बुद्ध जयन्तीको विशेष समारोहलाई सम्वोधन गरेका थिए । उनले केहीबेर नेपाली भाषामा र त्यसपछि हिन्दीमा भाषण गरे । मोदीले पटक–पटक गौतम बुद्ध लुम्बिनीमा जन्मिएको स्मरण गरे ।
‘आजको दिन लुम्बिनीमा सिद्धार्थ गौतमका रुपमा बुद्धको जन्म भयो । यही दिन बुद्धले बोधगयामा ज्ञान प्राप्त गर्नुभयो र त्यही दिन कुशीनगरमा महापरिनिर्वाण हुनु भयो’, मोदीले भने, ‘यो अद्भूत कुरा हो ।’
मोदीले भगवान बुद्धको जन्मस्थानमा बेग्लै प्रकारको चेतनाको महसुस हुने बताए ।
नेपाल आउँदा आफूलाई अरु राजनीतिक भ्रमण फरक आध्यात्मिक अनुभूति हुने मोदीको भनाइ थियो । उनले विगतमा आफूले जनकपुरधाम र मुक्तिनाथको यात्रा गरेको पनि स्मरण गरेका थिए । ‘भारतको राम नेपालविना अधुरो हुनुहुन्छ’, मोदीले भने, ‘हाम्रा धेरै सम्पदा र संस्कृतिहरु साझा छन् ।’
काठमाडौं । रुपन्देहीकाे भैरहवामा निर्माण भएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध विमानस्थलको आज औपचारिक उद्घाटन गरिएको छ । बुद्ध जयन्तीको पावन दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरे ।
कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान अवतरण गर्दै विमानस्थल सञ्चालनमा आएको हो । यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो विकल्प तयार भएको छ । अहिलेसम्म नेपालको अन्तर्राष्ट्रिय उडान त्रिभुवन विमानस्थलमै निर्भर थियो ।
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ११ मा पुन मतगणनाको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेका छन् । मतपरिणाम घोषणा नहुँदा कांग्रेसका उम्मेदवार राजकुमार कठरिया विजयी भएको हल्ला चलेको थियो ।
परिणाम घोषणा गर्दा जसपाका दानसिंह जोगी विजयी ३ मतले विजयी भएको घोषणा गरिएको थियो ।
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– ११ मा जसपाका दान सिंह जोगी विजयी भएका छन् । नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् ।
कठरियाले ६७९ मत पाउँदा जिगिले ६७२ मत पाएका थिए ।
भएको के थियो ?
मतगणना सुरु भएदेखि नै कांग्रेस र जसपाबीच टक्कर थियो । अन्तिम मतपरिणाममा काङ्ग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए ।
मतगणना सकिँदासम्म काङ्ग्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए । यता काङ्ग्रेसका नेता कार्यकर्ताहरु विजय उत्सब मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेब जोशीले बताए ।
उता पराजित भएको भन्दै घर पुगेका जोगिले सामाजिक संजालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म त हारेको भन्दै घर गएको थिएँ । जितेको कुरा फेसबुकबाट थाहा पाएँ’, उत्साहित हुँदै उनले भने, ‘अचम्म मानेर आएँ ।’
निर्वाचन समितिले घोषणा भएको तथ्यांक मात्रै आधिकारिक हुने बताएको छ ।
काठमाडौं । रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आपत्तिजनक नाराबाजी गरिएको छ ।
स्थानीय चुनावमा भोट खसाउन मतदान केन्द्र गएका बेला ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी गरिएको हो ।
मतदान गर्ने क्रममा बाहिर नाराबाजी भएको हो । नाराबाजीमा संलग्नहरु कुन पार्टीका कार्यकर्ता हुन् भन्ने खुलेको छैन ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिोमा गौरीशंकर रौतहट क्याम्पसको कम्पाउन्डबाहिर एक दर्जनभन्दा बढी व्यक्तिहरुले नेपालविरुद्ध नारावाजी गरिरहेको र कम्पाउण्डभित्रबाट नेपालले नियालिरहेकाे देखिन्छ ।
रौतहट प्रहरीले नेपालविरुद्ध आपत्तिजनक नाराबाजी भएको पुष्टि गरेको छ । नेपाल मतदान गर्न आउँदा अन्य राजनीतिक दलका कार्यकर्ताले नाराबाजी गरेका भए पनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । प्रहरीका अनुसार सो मतदान केन्द्रमा अहिले सहज रुपमा मतदान भइरहेको छ ।
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई केही दिनअघि मात्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने औपचारिक प्रस्ताव गरेको खुलासा गरेका छन् ।
आज मतदान केन्द्र पुगेर भोट खसाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।
ओलीका अनुसार गत ९ गते स्थानीय चुनाव पर सार्न देउवाले गरेको प्रस्ताव उनले अस्वीकार गरेका थिए ।
‘उहाँले औपचारिक प्रस्ताव गर्नुभएको थियो । तर, मैले देशलाई द्वन्द्वमा लैजानु हुँदैन, तपाईं अलोकतान्त्रिक बाटो नहिँड्नुस भनेर राम्रैसँग खबर पठाइदिएँ,’ ओलीले भने । उनले याे कुरा आफूले आज पहिलाेपटक सार्वजनिक गरेकाे पनि जानकारी दिए ।
गठवन्धनले चुनाव सार्नका लागि धेरै बहाना खोजे पनि सफल नभएको ओलीले बताए ।
‘हामी सहमत भएपछि र कानूनी व्यवस्थाका कारण उहाँहरु चुनाव गराउन वाध्य हुनुभएको हो । नत्र मुद्दामा गएर हुन्छ कि झगडा गरेर हुन्छ कि अनेक तरिकाले चुनाव रोक्न खोज्नुभएको थियो । यो चुनाव गराउन हामीले धेरै पापड बेल्नु परेको छ,’ ओलीले भने ।
काठमाडौं । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ ।
सुनापती – २ मा एक राउन्ड, खाँडादेवी- १ मा ६ राउन्ड, मन्थली- १२ मा ३ राउन्ड र मन्थली- ९ मा ५ राउन्ड हवाई फायर भएको रामेछाप प्रहरी प्रमुख राजकुमार थिङले जानकारी दिए ।
गोली चलेका खाँडादेवी र मन्थलीका दुईवटा मतदान केन्द्रमा अहिले मतदान स्थगित भएको छ । खाँडादेवीकै पकरबासमा स्थगित भएको मतदान फेरl सूचारु भएको छ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले ज्योतिष शास्त्र अनुसार साइत हेरेर भोट हालेका छन् ।
उनले हेरेको साइत अनुसार ११ बजेर ३ मिनेटमा भोट खसाएको बताए ।
बालेनले काठमाडौंको वडा नम्बर ९ स्थित गैरिगाँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट भोट खसाएका हुन् ।
भोट खसाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफ्नो जित निश्चित रहेको दावी गरे ।
बालेनले आफू ज्योतिषशास्त्रमा विश्वास राख्ने भएकाले साइत हेरेर मतदान गरेको स्वीकार गरे ।
उनले भने, ‘ज्योतिष शास्त्र पनि विज्ञान हो । म यसमा विश्वास गर्छु । म इन्जिनियरसँगै एस्ट्रोलोजीको पनि विद्यार्थी भएकाले साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट हालेको हुँ ।’
बालेनले पार्टी नहेरि उम्मेदवार हेरेर भोट खसाएको जानकारी दिए ।
‘सबै उम्मेदवारहरु हेरेर फरक फरक चिन्हमा मत खसाएकाले अलिकति टाइम लाग्यो’ उनले भने ।
उनले यसअघि एकपटक मात्रै मतदान गरेको अनुभव रहेको बताए । यसपालीको मतदानमा धेरै फरक अनुभव संगालेको उनको भनाइ छ ।
‘म रातारात उम्मेदवार बनेको होइन । ग्राजुयल्ली भएको हो । हरेक दिन नयाँ नयाँ अनुभव भइरहेको छ । रमाइलो पनि लागेको छ । सबै बुथमा गइरहेका छौं,’ उनले भने ।
ज्योतिष शास्त्र अनुसार तपाईं हार्नुहुन्छ कि जित्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्न उनले जवाफ दिए–शतप्रतिशत जित्छु ।
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आज बिहानै मतदान गरे । बागबजारस्थित पद्मकन्या क्याम्पसमा उनले बिहान साढे ७ बजे पहिलो मतदान गरेका थिए ।
स्थापित मतदान गर्न आउँदा सञ्चारकर्मीको भीड लागेको थियो । उनले मतदान गरेर फर्किनासाथ क्यामराको घेराउमा परिहाले । तर, स्थापितले चुनावको विषयमा धेरै बोल्न चोहनन् । उनले भने, ‘आज धेरै बोल्न मिल्दैन । म घामतिर फर्केको छु । त्यत्ति हो ।’
स्थापितले मुलुक पुनर्जागरणको नयाँ युगमा प्रवेश गरेको बताए । तर, कुनै व्याख्या गरेनन् । मतदानस्थलबाट लाइभ गरिरहेका सञ्चारकर्मीले सोधे– मतदातालाई के भन्न चाहनुहुन्छ ?
स्थापितले जवाफ दिए, ‘आज धेरै बोल्न मिल्दैन भन्या । आज मौन बस्ने दिन हो । सुर्यतिर फर्किर नमस्कार गर्ने, अनि मतदान गरिसकेर घर गएर आराम गर्ने ।’
मतदानपछि स्थापित प्रफुल्लित मुद्रामा देखिएका थिए ।
भादगाउँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् ।
उनले बिहान ७ बजे उक्त मतदानस्थलको ‘ख’ केन्द्रमा मतदान गरेका हुन् । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए ।
उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए ।
काठमाडौं । आज शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचनअन्तर्गत मतदान हुँदैछ । देशभर हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानको लागि आयोगसँगै स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यायले बिहीबार रातिदेखि नै अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । जसले गर्दा शुक्रबार बिहानैदेखि सडक सुनसान देखिएका छन् ।
सडकमा अत्यावश्यक एवं आकस्मिकबाहेकका सवारीसाधन चलेका छैनन् । ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीको उपस्थितिसमेत न्यून देखिएको छ । सर्वसाधारणको आवतजावतसमेत एकदमै न्यून रहेको छ । पसल व्यवसाय खुलेका छैनन् ।
काठमाडौं । काठमाडौंका जिल्ला प्रशासन प्रमुख गोविन्दप्रसाद रिजालले शुक्रवार हुने स्थानीय तहको निर्वाचनको मतदान र मतगणनाका लागि सम्पूर्ण तयारी पुरा भएको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा गृह परिसरमा पत्रकारहरूसँग कुरा गर्दै सहसचिव रिजालले सबै सुरक्षा निकाय परिचालन भइसकेको र पूर्वाधारको काम पनि सकिएको बताए ।
उनले काठमाडौं जिल्लामा ११ वटा स्थानीय निकाय रहेकामा कुनै पनिमा पनि अति संवेदनशील मतदान स्थल नरहेको बताए ।
‘हाम्रा ३ सय २० मतदानस्थलमध्ये एक सय ५० वटा संवेदनशील मतदान स्थलका रूपमा रहेका छन् । कुनै पनि मतदान स्थल अति संवेदनशील छैनन् । त्यसअनुसार हामीले सुरक्षाकर्मीको परिचालन गरेका छौँ’, उनले भने ।
उनले अघिल्लो स्थानीय निर्वाचनभन्दा यस पटक काठमाडौंका स्थानीय निकायको मत परिणाम चाँडै आउने बताए ।
‘भोलि मतपेटिकाहरू मतगणना स्थलसम्म कति बेला आइपुग्छन् र गणनाअघिका प्रक्रियाहरू कति बेला पुरा हुन्छन् भन्ने हो । मलाई लाग्छ ११ स्थानीय निकायमध्ये केहीको गणना शुक्रवार राती नै सुरु हुन्छ।’
काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा हुने छ । महानगरका ३२ वटाको मतपेटिका राष्ट्रिय सभागृहमा जम्मा हुने र एकसाथ ७ ठाउँबाट गणना हुने छ । सुरक्षित, धाँधलीरहित मतगणनाका लागि सभा गृहको मतगणना स्थलमा २० वटा सिसिटिभी क्यामरा जडान गरिएको छ ।
काठमाडौं । स्थानीय निर्वाचनका लागि मतदान स्थलहरू बनाउने काम धमाधम भइरहेको छ ।
वैशाख ३० शुक्रवार बिहान ७ बजे देखी साँझ ५ बजेसम्म मतदान हुँदै छ ।
नयाँ संविधान जारी भएपछि सङ्घीय गणतन्त्र नेपालमा दोस्रो पटक स्थानीय तह निर्वाचन शुक्रवार हुन लागेको हो ।
मतदानका लागि देशैभरि १० हजार पाँच सय भन्दा बढी मतदान स्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको छ ।
१८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र म्यादी प्रहरी गरी करिब साढे दुई लाख सुरक्षा कर्मी परिचालित भएका छन् ।
यस्तै, मतदानका लागि तयार गरिँदै गरेको काठमाडौं महानगरपालिका १० नम्बर वडाको मतदान केन्द्र रत्न राज्य माध्यमिक विद्यालयको केहि तस्बिरहरू
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले आफ्नो नियोजित रुपमा चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् । जनकपुरमा पैसा बाँडेको भन्दै एमालेका कार्यकर्ताले होहल्ला गरेपछि उनलाई प्रहरीले रेस्क्यू गरेर बिमानस्थलमा छोडेको थियो ।
अन्सारीले काठमाडौं आउनासाथ भिडियो सन्देश जारी गर्दै आफूमाथि झूटो आरोप लगाइएको उल्लेख गरेका छन् । जनकपुरको शीताशरण होटलमा केही गुण्डाहरुले आफूमाथि अभद्र व्यवहार गरेको उनको भनाइ छ ।
‘प्रहरी र प्रशासनले सुरक्षा दिएर म सकुशल काठमाडौं आइसकेको छु,’ अन्सारीले भने, ‘सामाजिक सञ्जालमा मलाई पक्राउ गरेको भनेर गलत आरोप लगाइएको छ ।’
उनले यस विषयमा थप प्रष्ट पार्न ३ बजे पत्रकार सम्मेलन गर्न लागेको बताएका छन् ।
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पैसा बाँडेको आरोपपछि विवाद उत्पन्न भएको छ । मधेस प्रदेशका सभासद समेत रहेका एक एमाले नेताको घरमा खान खाने क्रममा एमालेकै कार्यकर्ताले पैसा बाँडेको आरोप लगाएका हुन् ।
अन्सारी जनकपुरधामस्थित एउटा होटलमा बसिरहेका थिए । त्यहाँ एमाले कार्यकर्ताहरु आएर होहल्ला गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । खानतलासीका क्रममा अन्सारीले पैसा बाँडेको प्रमाण नभेटिएको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीले अन्सारीलाई होटलबाट रेस्क्यू गरेर एयरपोर्ट लगेर छाडेको धनुषा प्रहरीका प्रवक्ता प्रदिप क्षेत्रीले जानकारी दिए ।
‘उहाँ प्रदेश सभासद् रहेका एक जना एमाले नेताको घरमा खाना खान जान लाग्नुभएको रहेछ । त्यहीक्रममा पैसा बाँडिरहेको भन्दै होहल्ला भएपछि हामी होटल पुगेका थियौँ । तर केहीपनि भेटेनौँ । हामीले उहाँलाई सोझै एयरपोर्ट छाडेका छन्,’ क्षेत्रीले भने ।
अन्सारी ती नेताको घरमा खाना खाएर काठमाडौं फर्कने तयारीमा थिए ।
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘नो भोट’ को माग गर्ने मतदातालाई यसपटक उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छन् ।
नेपाल प्रेसको विशेष प्रस्तुति नेपाल टकमा कुराकानी गर्दै उनले नो भोटको विषयमा आयोग पनि सकारात्मक रहेको जानकारी गराए ।
उनले भने, ‘जसले नो भोटको माग गरिरहनुभएको छ, त्यो उहाँहरुको अधिकार पनि हो । सर्वोच्च अदालतले पनि त्यो आदेश दिइसकेको छ । तर, जसले नो भोट भनिरहनुभएको छ, उहाँहरुलाई ३० गतेको निर्वाचनमा सबैभन्दा अगाडीको लाइनमा देख्न चाहान्छु । प्रतिक्षा गर्नुहोस, तपाईंहरुको माग पनि चाडै पुरा हुनेछ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका तथा आफ्नो ठाउँभन्दा बाहिर रहेका व्यक्तिलाई पनि मतदानको अधिकार दिलाउन आयोगले गम्भिर ढंगले सोचिरहेको बताए ।
उनले भने, ‘यस विषयमा हामी एकदमै गम्भिर छौ । यो आयोगले गरेर मात्र नहुने भएकाले संसदले नै ऐन–कानुन निर्माण गर्नपर्ने हुन्छ । जतिसक्दो चाँडै यो व्यवस्था गर्नका लागि तत्पर छौ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको तयारी ९५ प्रतिशत पुरा भइसकेको बताए । उनले भने, ‘निर्वाचनको सबै तयारी पुरा भएको भन्न सकिदैन । किनभने निर्वाचन भएपछि मात्र शतप्रतिशत पुरा भएको मान्न सकिन्छ । अहिले ९५ प्रतिशत पुरा भएको छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियासँग गरिएको भिडिओ संवादः
ललितपुर । ललितपुरको लुभुमा महालक्ष्मी महाभैरव जात्रा जारी रहेको छ । वैशाख शुक्ल अक्षय तृतीयामा सुरु भएको जात्रा बिहीबार सम्पन्न हुँदैछ ।
जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगरपरिक्रमा गराउने चलन छ । जात्रा अवधिभर महालक्ष्मी, कुमारी, कुमारलाई एउटा खट र महाभैरव, कुमार र कुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ ।
खटलाई भगवती लाछी टोल, पिङ टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोल घुमाइन्छ ।
रातो मत्स्येन्द्रनाथको रथ जात्रासँगै लुभुको महालक्ष्मी महाभैरवको जात्रा पनि सुरु हुने प्रचलन रहेको छ । रातो मत्स्येन्द्रनाथको रथमा भैरवको प्रतीकका रूपमा चारमध्ये अगाडिको दायाँ पांग्रालाई लुभुको भैरवका रूपमा पुजिन्छ ।
त्यसैले रातो मत्स्येन्द्रनाथको जस्तै लुभुमा खटयात्रा गरी जात्रा मनाउने परम्परा रहेको महालक्ष्मी मन्दिरका मूल पुजारी श्यामशरण श्रेष्ठले जानकारी दिए ।
रातो मत्स्येन्द्रनाथको रथारोहणसँगै सुरु हुने यो जात्रा आठ दिन चल्छ । सोही क्रममा आफन्त, साथीभाइ, छोरीचेलीलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । जात्रा सकिएपछि महालक्ष्मी र महाभैरवको खटबाट लक्ष्मी, कुमार, कुमारी र भैरवलाई महालक्ष्मी मन्दिर प्रवेश गराइने मूल पुजारी श्रेष्ठले बताए ।
मल्ल राजाले सन्तान रक्षा हेतुले लुभुको लाछीमा महालक्ष्मी र महाभैरव मूर्ति स्थापना गरी जात्रा चलाएको कथन छ ।
काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न राजधानीबाट गाउँ फर्कनेको लर्को लागेको छ । खासगरी काटेश्वर, बल्खु, कलंकीलगायतका नाकामा गाउँ फर्कनेको भीड लागेको हो ।
मतदानका लागि गाउँ फर्कनेको भीडले दसैं, तिहार जस्ता ठूला पर्वको झल्को दिएको छ ।
राजधानीबाट बाहिरिने मुख्य नाकाहरुमा सावारीसाधानको चाप अत्यधिक बढेको छ । सडक आसपासमा यात्रुहरु सवारीसधानको प्रतीक्षामा बसिरहेका छन् ।
मतदानका लागि गाउँ जानका लागि विभिन्न राजनीतिक दलले सवारीसाधन रिजर्भ गरेका छन् ।
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ ।
पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ ।
मंगलवार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे ।
उनले भने, ‘हाम्रो उम्मेदवारहरुलाई सूर्यमा मात्रै छाप लगाउँदै जाने हो मेयरमा…(कार्यकर्ताले रोकेपछि )सूर्यलाई उहिले पनि मैले नै ल्याएको हो । सूर्यलाई अस्वीकार गरेर कलममा चिह्न लगाएर सबै हाम्रो उम्मेदवार जिताउनका लागि….’
यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।
सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिन अकमक्किए ।
एक छिन अलमल्ल एका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका केही नेताले कार्यकर्तालाई चुनाव चिन्हविहीन बनाइदिएको टिप्पणी गरेका छन् ।
स्थानीय तह निर्वाचनको अन्तिम चुनावी सभालाई काठमाडौंको भृकुटी मण्डमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै १५÷२० वर्ष कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न नपाउने दाबी गरे ।
ओलीले भने– कांग्रेसका कार्यकर्ताले कहाँ भोट हाल्ने भन्ने पनि थाहा हुन्न । चितवनमा गए एउटा,पोखरामा अर्को,दमकमा अर्को चिन्हमा हाल भन्छन् नेताहरू । अझ अस्ति सुन्नुभयो होला,चितवनमा एक जना नेताले मेरो छोरीलाई नजिताए देशलाई दुर्घटनामा गुल्टाउँछु, जितायौ भने म खुसी हुन्छ र अझै १५÷२० वर्ष गठबन्धन लैजान्छु । अनि उनकै शाखा सन्तानलाई भोट हाल्नुपर्ने भयो ।
नेपाली कांग्रेसले चुनावमा जाने कुरालाई प्रतिगमन भनेर लोकतन्त्रको परिभाषा फेर्न खोजेको भन्दै ओलीले चुनाव हुन नदिने र अदालतबाट नियुक्ति पत्र लिने उल्टो बाटोमा कांग्रेस हिँडेको आरोप ओलीले लगाए ।
ओलीले चुनावको पूर्व सन्ध्यामा धाँधली र सत्ताको दुरुपयोगको संकेतहरु देखिन थालेको भन्दै निष्पक्ष चुनाव गराउन निर्वाचन आयोगलाई आग्रह समेत गरेका छन् ।
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफ्नो अभिव्यक्ति र हाउभाउका कारण कसैलाई चित्त दुःखेको भए माफी दिन सार्वजनिक रूपमा आग्रह गरेका छन् ।
भृकुटीमण्डपमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले मेयर हुने मान्छेले माफी माग्न सिक्नुपर्छ भन्दै बोलेर वा हाउभाउले केही भएको भए सबैसँग माफी माग्ने बताए ।
स्थापितको अभिव्यक्तिलाई लिएर कतिपयले विरोध गरिरहेका बेला उनले आफू फूलजस्तो कोमल हृदयको मान्छे भएको भन्दै जनताको सेवक बन्ने बताए ।
स्थापितले भने– सबै दिदी बहिनीहरू र मेरो बोली हाउभाउले चित्त दुखेको भए सबैसँग म माफी माग्छु । मेयर हुने मान्छेले माफी माग्न सिक्नुपर्छ । म फूल जस्तो मान्छे हुँ । विपक्षीले एमालेमाथि प्रहार गर्दा कहीँ कतै एग्रेसिभ भएँ होला तर सबैसँग माफी माग्छु ।
काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले अब काठमाडौंमा कांग्रेसले फोहोरको नाममा राजनीति गर्न नपाउने गरी स्थायी समाधान गर्ने बताएका छन् ।
उनले काठमाडौंको फोहोरमा कांग्रेसले सधैँ राजनीति गरेको तर समाधान हुन नदिएको आरोप लगाएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै पूर्व मेयर समेत रहेका स्थापितले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले फोहोर मैला विज्ञलाई ठेकेदार सम्झेर १६ करोड मागेको र सो रकम नपाएपछि फोहोर मैला व्यवस्थापन सम्बन्धी फाइल नै लुकाएको आरोप लगाए ।
स्थापितले भने–कांग्रेसले काठमाडौंमा फोहोरको राजनीति पहिले देखिनै गरेको हो । मेरै पालामा फोहोरबाट मल बनाउने गरी सबै काम अघि बढेको थियो । त्यस बेला स्थानीय निकाय थियो, अहिलेजस्तो स्थानीय सरकार थिएन । तालुकवाला मन्त्री रामचन्द्र पौडेल थिए । उनले मेरो एक्सपर्टसँग मेयरको पनि भुँडी छ, मेरो पनि भुँडी छ भनेर १६ करोड मागेका कारण त्यो नपाएपछि फाइल लुकाए । त्यसकै कारण फोहोरमा समस्या आएपछि गिरिजाप्रसादले सात दिनमै उनलाई स्याक गरेका थिए ।
मेयर उम्मेदवार स्थापितले आफू मेयर निर्वाचित भएको एक साताबाटै बिहान, दिउँसो र साँझ तीन पटक फोहोर उठाउने र एक वर्षभित्र दीर्घकालीन समाधान निकालेर देखाउने बताए ।
उनले केशव स्थापित काम गरेर देखाउने व्यक्ति भएकाले जनताले विश्वास गर्ने दाबी गरे ।
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी मेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा जनताको शासक होइन, सेवक बन्ने बताएकी छन् । काठमाडौंलाई सांस्कृतिक नगरीका रुपमा विकास गर्ने योजना आफूसँग रहेको उनले दावी गरिन् ।
आज काठमाडौंमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै डंगोलले आफ्नो उम्मेदवारी घोषणादेखि नै जनताको माया पाएको भन्दै खुशी व्यक्त गरिन् ।
उनले भनिन्, ‘डे वान देखि नै तपाईंहरुको माया पाएको छु । जति दिन वित्दै गयो, त्यति धेरै माया बढेको महसुस गरेको छु । तपाईंहरुको यो माया नै मेरो जितको सबैभन्दा बलियो आधार हो । चुनाव जितेर म शासक होइन सेवक बन्नेर तपाईंहरुको सेवा गर्नेछु ।’
काठमाडौंलाई अरु देशका शहरहरुसँग तुलना गर्न आवश्यक नरहेको उनले बताइन् । काठमाडौंलाई काठमाडौंजस्तै सांस्कृतिक नगरी बनाउनुपर्नेमा उनको जोड छ ।
डंगोलले भनिन्, ‘काठमाडौंलाई अरु सहरसँग तुलना गरेर त्यस्तै बनाउनुपर्छ भन्ने गर्छन् कसैले । तर, मलाई लाग्छ काठमाडौंलाई अरु सहरजस्तो बनाउनु आवश्यक छैन । यसलाई काठमाडौं र कान्तिपुर नगरी बनाउने योजनासहित आफ्नो पाइला अघि सार्नेछु ।’
उनले भगवानरुपी जनताको आफूलाई आशिष चाहिएको बताइन् । ‘जनता भगवान हुन् । भगवानरुपी जनताले मेरो निधारमा आशिष दिनुहुने आशा लिएको छु,’ उनले भनिन् ।
डडेल्धुरा । नेपाली कांग्रेसबाट निष्कासित भएर नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका प्रदेश सांसद कर्णबहादुर मल्लले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ धनगढीमा ल्याइएको दाबाी गरेका छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन् । देउवा मतदानपछि मात्र काठमाडौं फर्किने बताइएको छ । कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले सोमबार साँझ चुनावीसभामा देउवाले करोडौं रुपैयाँ लिएर आएको दाबी गरे ।
मल्लले भने– धनगढीबाट वाग्मती प्रदेशको ०२७८–५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ आएको छ । जीप कम्पनीको जीप हो । शेरबहादुर देउवाजीले रुखका उम्मेदवारलाई मतदान गर्नका लागि, डडेलधुराका मतदातालाई खरिद गर्न करोडौं लिएर आउनुभएको छ । त्यो पैसा विद्युत–सडकका कुनै कर्मचारीको घरमा राखिएको छ । अब हरेक जनताले प्रश्न गर्नुहोला, रुखका उम्मेदवार साथीले पनि यहाँ मेरो हिस्सामा आएको पैसा कति पर्छ भनेर । हिस्सा लिनुस् र चोक–चोकमा सार्वजनिक गर्नुस् । सच्चा कांग्रेस हो भने चोक–चोकमा सार्वजनिक गर्नुस् ।
मल्लले करुवा चिह्नबाट आफूनिकट उम्मेदवार उठाएका छन् । यहाँ मल्ल समूह र नेकपा एमालेबीच गठबन्धन छ ।
इटहरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच दलीय गठबन्धन पाँच तोला सुन र एमाले एक क्विन्टल आलु भएको बताएका छन् ।
इटहरीमा साेमबार भएको गठबन्धनको चुनावी सभामा बोल्दै शर्माले एमाले अध्यक्ष ओलीले एमाले एक क्विन्टल र पाँच दल एक एक किलो भएको भनेको प्रसङ्ग ल्याउँदै यस्तो बताएका हुन् ।
‘एक झापालीको कुरामा अर्को झापाली नबोल्दा अन्याय हुनसक्छ’, शर्माले भने, ‘हामी एक एक किलोका ढक होइनौं । हामी पाँच दलीय गठबन्धन पाँच तोलाको सुन हौं । बजारमा गएर एक क्विन्टल आलु र पाँच तोलाको भाउ कमरेड ओलीलाई थाहा नभए पनि यहाँका कमरेडहरुलाई थाहा छ ।’
इटहरी । इटहरीमा गठबन्धनको चुनावी सभाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले धारा प्रवाह भाषण गरिरहेका थिए । कृषि क्षेत्रका बारेमा बोल्दाबाेल्दै खनाल टक्क रोकिए । पोडियमको दायाँतर्फको एक गिलास पानी पिए । मौन बने ।
केही क्षणपछि ‘यो माइक पर सार्न मिल्छ ?’ भनेर प्रश्न गरे । उद्घोषक नेपाली कांग्रेस इटहरी सचिव मन्दिप भट्टराईले माइक सार्न सहजीकरण गरे । मञ्चको पोडियम छोडेर खनाल आफू बसेको स्थानमा पुगे । कोट खोले ।
केहि समय अगाडि अपरेसन गरेकाले आफूलाई असहज भएको भन्दै खनालले गर्मीले गाह्रो गरेको बताए । अनि फेरि गरे भाषण ।
पोखरा । श्रम तथा रोजगारमन्त्रीसमेत रहेका नेकपा एकीकृत समााजवादीका नेता किसान श्रेष्ठले पोखरा महानगरपालिकामा गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।
पोखराको चुनावी कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आफूहरुले आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेसले पोखरामा त्यसको गुण तिर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले हाम्रो तत्कालीन अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर तपाईंहरुका पार्टी सभापतिलाई यही हातले विश्वासको मत दिएका हौं । यो गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान रहने थिएन । यदि यहाँ गठबन्धनले जितेन भने धेरै ठूलो दुर्घटनामा मुलुक जान्छ । त्यसैले जसरी पनि जिताउनुपर्छ ।’
पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयर उम्मेदवार छन् ।
कैलाली । सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलारी गाउँपालिका पुगेर गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका छन् ।
कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकाको अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाएको थियो । माओवादीले पाएको भागमा अघिल्लोपटक अध्यक्ष निर्वाचित लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले पाएका भागमा भगवती चौधरीले उम्मेदवारी दिएका थिए ।
उपाध्यक्षमा माओवादीको तर्फबाट अघिल्लोपटक उपाध्यक्षमा निर्वाचित लक्ष्मी चौधरीले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । उनी गठबन्धनको उम्मेदवार नभएको भन्दै यसअघि नै कारबाही गरिएको थियो । तर, आज कैलारी गाउँपालिका पुगेर माओवादी अध्यक्ष दाहालले बागी उम्मेदवार चौधरीलाई मत मागेका हुन् ।
‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन चाहन्छु’, उनले भने, ‘उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
उनले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए । ‘लाजुराम र लक्ष्मी चौधरीसहित म प्रचण्ड पनि तपार्इंहरूको साथमा रहने विश्वास व्यक्त गर्न चाहन्छु ’, उनले भनेका छन्’, ‘गठबन्धन क्लियर भएको छैन, पार्टीको उम्मेदवार जुनसुकै रूपमा अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्छु ।’
प्रधानमन्त्रीसँगै आएको भन्दै उनले कांग्रेसले दिएको उम्मेदवारी खारेज नभए एक्लै भए पनि चुनाव लड्नुपर्ने बताए । ‘गठबन्धन गर्नुको अर्थ सबै ठाउँमा झुक्नु होइन’, ‘उनले भने, ‘धोका बेइमानी स्वीकार्य हुँदैन, हामी एक्लै उभिएर लड्न तयार हुनुपर्छ ।’
कैलारी गाउँपालिका एउटा ऐतिहासिक गाउँपालिकामा रहेको भन्दै उनले माओवादीको दृढताका साथका आफ्नो उम्मेदवारलाई जिताउनपर्ने बताए ।
राजनीतिक कारणले स्वतन्त्र भएर उठ्न बाध्य भएकाहरूलाई पनि जिताउन उनले आग्रह गरेका थिए ।
आज प्रचण्डले विजयी गराउन आग्रह गरेका उम्मेदवारलाई यसअघि नै गठबन्धनका रहेका दलहरूले आधिकारिक उम्मेदवार नभएको स्पष्ट पारिसकेका छन्
वैशाख १९ गते माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरीसहितका गठबन्धनका दलहरूले गठबन्धनको आधिकारिक उम्मेदवार नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा गठबन्धनका उम्मेदवारहरूलाई सघाउन आग्रह गर्दै त्यसो गरेको नपाइए कारबाही हुनेसमेत चेतावनी दिइएको थियो ।
गठबन्धनले कारबाही गर्ने भनेको उम्मेदवारलाई प्रचण्डले विजयी गराउन आग्रह गरेपछि अहिले कैलालीमा गठबन्धनकै दलहरूबीच विवाद हुने देखिएको छ ।
कांग्रेस जिल्ला सभापति नारणदत्त भट्टले यस विषयमा प्रचण्ड र देउवालालसँगै राखेर जवाफ माग्ने बताए ।
काठमाडौं । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६ बाट पुरस्कृत भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पौडेललाई सो पुरस्कारको लागि छनौट गरेका थियो ।
शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधान सम्पादक पौडेललाई प्रमाणपत्रसहित पुरस्कार हस्तान्तरण गरेकी हुन् ।
त्यस्तै सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा दुईजना वरिष्ठ पत्रकारलाई वरिष्ठ पत्रकार सम्मान र अन्यलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने गरेको छ ।
पौडेलसहित बालकुमार नेपाल, दिलिप थापा मगर, शीतल साह, दुर्गाप्रसाद शर्मा, पुनम पौडेल, नितु पण्डित, हेमन्त विक, डिआर पन्त, ठाकुर बेल्बासे पनि पुरस्कृत भएका छन् ।
वरिष्ठ पत्रकार सम्मानबाट किशोर नेपाल, तारानाथ दाहाल, शार्दूल भट्टराई, रघु मैनाली, हर्ष सुब्बा, स्वर्गीय अग्निशीखा सम्मानित भएका छन् ।
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौंमा नमूना मतदान गरिएको छ ।
मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन काठमाडौंको राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो ।
नमूना मतदानमा बिभिन्न पालिकाका मतदान अधिकृतहरुको सहभागीता रहेको थियो ।
मतदानमा महिला, पुरुष, अशक्त लगाएतको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिने बारे जानकारी गराइएको थियो ।
त्यस्तै मतदानका क्रममा हुनसक्ने अप्रिय घटनाका बारेमा पनि अभ्यास गराइएको थियो ।
जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टिकाउनु आफ्नो कर्तव्य रहेको बताएका छन् ।
पाँचदलले मिलेर आफूलाई प्रधानमन्त्री बनाएका कारण गठबन्धन टिकाउनु आफ्नो सबैभन्दा ठूलो कर्तव्य रहेको उनले बताए ।
‘गठबन्धन टिकाउनु मेरो त झन् ठूलो कर्तव्य हो । उहाँले बनाएको प्रधानमन्त्रीको कर्तव्य गठबन्धन टिकाउनु हो,’ जनकपुरमा भएको गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने,‘मेरो पार्टीबाट कुनैपनि अवस्थामा गठबन्धनको खिलाफमा कुरा उठ्नु हुँदैन । त्यो सैह्य हुने छैन् ।’
गठबन्धनको खिलाफमा बोल्नेसम्मलाई कारबाही गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।
मधेसमा नागरिकता सम्बन्धी ठूलो समस्या रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।
उनले भने, ‘आमाबाबूले नागरिकता पाइसके छोराछोरीले पाछैनन् । कस्तो बिडम्बना !’ जसका आमाबाबूले नागरिकता पाछन् तीनका छोराछोरीले नागरिकता पाउने व्यवस्था गर्न आफू लागि परेको उनले बताए ।
‘हामी जसरी पनि नागरिकता दिलाएरै छाड्छौ,’ उनले भने ।
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेले गरिरहेको संसद अवरोध खुल्नासाथ नागरिकता विधेयक अगाडि बढ्ने बताएका छन् ।
जनकपुर उपहानगरपालिकामा शनिबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेले अवरोध गरेकै कारण विधेयक अगाडि बढ्न नसकेको बताए ।
‘नागरिकताको समस्या मधेसमा सबैभन्दा चर्को रुपमा अगाडि छ । यसका लागि सदन चल्न अनिवार्य छ । एमाले गुटले अवरोध गरेकै कारण विधेयक अगाडि बढ्न सकेको छैन’, उनले भने, ‘अब सदन खुल्नासाथ नागरिकता विधेयक अगाडि बढ्छ ।’
यदि संसद अवरोध अन्त्य नभए अर्को सदनमा विधेयक अगाडि जसरी पनि बढ्ने उनले बताए । ‘मैले प्रधानमन्त्रीजीसँग कुरा गरिसकेको छु । सदन अवरोध भइरहे पनि अर्को संसदमा जसरी पनि विधेयक अगाडि बढाउनुपर्छ । मधेसी जनताको अधिकारका पक्षमा गठबन्धन प्रतिबद्ध छ’, उनले भने ।
गठबन्धन गरेर पाँचवटै दलले राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिको नयाँ युगमा जाने प्रयत्न गरिरहेको उनले बताए । प्रचण्डले भने, ‘अहिले भइरहेको स्थानीय तह निर्वाचन । त्यसपछि आउने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रतिगामीलाई विजयी हुन नदिने संकल्प गरेका छौं । त्यसपछि विकास र समृद्धिको युगमा प्रवेश गर्छौं ।’
गठबन्धन दलहरू लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रको स्थायित्वको लागि वर्षौंवर्षसम्म गठबन्धन लैजाने दिशामा अघि बढेको उनले दाबी गरे ।
कैलाली । नेकपा एमालेका नेता नरमुनि रानाले कांग्रेस नेतृ आरजु राणा देउवालाई मान्छेको दलाली गर्ने गरेको आरोप लगाएका छन् ।
आज धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले विदेश पठाइदिने भन्दै मान्छेको दलाली गर्ने काममा तल्लीन रहेको आरोप लगाएका छन् ।
आरजु राणा देउवाले हिजो मात्रै कैलालीमा एउटा वडाबाट ५–६ जना युवालाई मलेसिया पठाइदिने आश्वासन बाँडेकी थिइन् । राणालाई नै हराएर प्रतिनिधि सभा सदस्य भएका रानाले उनलाई मान्छे बेच्ने गरेको आरोप लगाएका हुन् ।
‘धनगढीको विकासको कुरा गर्छन् कि भनेर कुरा सुन्न गएका थिए । सुदूरपश्चिममा उद्योग, कलकारखाना, आर्थिक समृद्धि र प्रगतिको कुरा गर्छन् कि भनेर सुन्न गएका थिए’ रानाले भने, ‘तर तपाइहरूका छोराहरू छोरी हरू छन् भने विदेश जान चाहन्छ भने, म विदेश पठाइदिन्छु भन्दै उहाँ मान्छे बेच्ने , मान्छेको दलाली गर्ने काममा तल्लीन हुनुहुने रहेछ ।’
रानाले राणासँग भिजन नभएको समेत आरोप लगाए ।
उनले भने, ‘उहाँ सँग देश बनाउने सपना रहेनछ । सुदूरपश्चिम बनाउने सपना रहिनछ । धनगढी बनाउने सपना रहिनछ । म मात्र होइन सिङ्गो सुदूरपश्चिम बासी निराश भएका छन् । ’
डडेलधुरामा राणाले दिएको अभिव्यक्तिबारे पनि रानाले टिप्पणी गरेका थिए । राणाले डडेलधुरामा आफ्नो घर भएको र कांग्रेसले हारेको ठाउँमा बजेट नदिने बताएकी थिइन् ।
‘उहाँ डडेलधुराको बासी हो रे । अनि कैलाली किन रोज्ने चुनावमा रु’ रानाले भने, ‘धनगढीका जनतालाई ढाँट्दै हिँड्नु भएको छ । जहाँ कांग्रेस हार्छ त्यहाँ पैसा दिन्नौ जहाँ कांग्रेस जित्छ त्यहाँ मात्रै पैसा दिन्छौँ । नेपाल सरकारको ढुकुटी राजुको प्रोपटी होइन ।’
उनले नेपाल सरकारको बजेट कुनै व्यक्तिले दिने वा नदिने भन्न नसक्ने बताए ।
‘कांग्रेस जितेको भन्दा अरू ठाउँमा पैसा दिन्न भन्छिन् भने त्यहाँका जनताहरूले त्यस्ता नेताहरूलाई लखेट्नु पर्छ ।यो देश कांग्रेसको मात्रै होइन’उनले भने ‘यो देश नेपाली जनताको पनि हो ।’
गठबन्धन गरेर पनि हार्ने डरले बजेट नदिने र दिने भन्दै धम्की दिइरहेको उनले बताए ।
बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थाले जथाभावी संसद भंग गर्ने छुट नदिएको बताएका छन् । विपक्षीले विरोध गरेकै झोंकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईदुई पल्ट संसद विघटन गरेको उनको आरोप छ ।
‘विरोध गर्नकै लागि प्रजातन्त्र हो । अरूले प्रतिपक्षले विरोध गरिहाले संसद भंग गरिदिने ?,’ बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद भंग गर्नै पाउँदैन । ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भंग गरेको गरेयै गर्ने, उहाँँको पार्टीलाई जिताएर के गर्ने ?’
अहिलेको गठबन्धन प्रजातन्त्रको रक्षाका लागि नै रहेको प्रधानमन्त्री देउवाले दाबी गरे । पार्टीको महाधिवेशनमा पनि आफूले गठबन्धन गरेर देशलाई निकास दिने वचनका साथ मत बटुलेको उनको भनाइ छ ।
पाँचदलीय गठबन्धनको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनताले राहतको सास फेरेको उनको दाबी छ । ‘अहिले सरकारबाट केही कुनै त्रास छैन । बोल्न लेख्न दिइएको छ’, उनले भने, ‘ओली सरकारमा कर्मचारी, पुलिस सबै थर्कमान, जनता थर्कमान ।’
प्रजातन्त्रको भविष्यका लागि स्थायी रुपमा कसैले शंका गर्न नसक्ने ठाउँँमा ल्याउन गठबन्धन आवश्यक रहेको उनले बताए ।