Category: भिडियो

  • काठमाडौं–चितवन यात्रा १ घण्टामै गराउन बजेट विनियोजन (भिडिओ)

    काठमाडौं–चितवन यात्रा १ घण्टामै गराउन बजेट विनियोजन (भिडिओ)

    काठमाडौं । सरकारले काठमाडौंदेखि चितवनको यात्रा १ घण्टामा हुने गरी सडक निर्माण आयोजना घोषणा गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत चन्द्रागिरी-चित्लाङ-पालुङ-चितवन सडकमार्ग निर्माणको लागि बजेट छुट्याएको बताएका छन् ।

    त्यस्तै चितवन-रामपुर-बुटवल र चितवन-रामपुर-पोखरा द्रूतमार्ग निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बजेटमा उल्लेख छ ।

  • सरकारले घटायो वृद्धभत्ताको उमेर, अब ६८ वर्ष पुगेकाले पाउने (भिडिओ)

    सरकारले घटायो वृद्धभत्ताको उमेर, अब ६८ वर्ष पुगेकाले पाउने (भिडिओ)

    काठमाडौं । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए ।

    यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । यसले लाभग्राहीको संख्या ह्वात्तै बढेर राष्ट्रिय ढुकुटीमा दबाब पर्ने अर्थशास्त्रीहरुले बताइरहेका छन् । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् ।

    कतिपय स्थानीय तहले यसमा थपेर पनि दिने गरेका छन् ।

    सामाजिक सुरक्षा भत्ता नलिन स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारले सम्मान गर्ने अर्थमन्त्री शर्माले बताए ।

    भत्ता रकम भने बढाइएको छैन ।

     

  • मृगौला प्रत्यारोपण निःशुल्क, स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब बजेट (भिडिओ)

    मृगौला प्रत्यारोपण निःशुल्क, स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब बजेट (भिडिओ)

    काठमाडौं । सरकारले निःशुल्क मृगौता प्रत्यारोपण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएका हुन् ।

    अर्थमन्त्री शर्माले भने, ‘सबै प्रादेशिक अस्पतालमा डाइलासिस सेवा उपलब्ध गराउन डाइलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन गरेको छु । विपन्न मृगौला रोगी नागरिकलाई मृगौला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छु ।’

    त्यस्तै सरकारले स्वास्थ्य बीमाको लागि लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

  • निर्यात सम्भाव्यता भएका वस्तुको पहिचान गरी ८ प्रतिशतसम्म अनुदान दिने अर्थमन्त्रीको घोषणा (भिडिओ)

    निर्यात सम्भाव्यता भएका वस्तुको पहिचान गरी ८ प्रतिशतसम्म अनुदान दिने अर्थमन्त्रीको घोषणा (भिडिओ)

    काठमाडौं । बढ्दो व्यापार घाटालाई कम गरी अर्थतन्त्रलाई राहत दिन सरकारले निर्यात प्रवद्र्धनका विभिन्न उपायहरू अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेट प्रस्तुत गर्दै निर्यात प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

    बढ्दो व्यापार घाटानका कारण चालु खाता तथा सोधनान्तर घाटा बढेर अर्थतन्त्रमा चाप परेको अर्थमन्त्रीको भनाइ छ । यसको समाधानका लागि कृषि, उद्योग, जलविद्युत तथा सेवा क्षेत्रको प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन गर्ने उनले जानकारी दिए ।

    बजेटमा विदेशबाट आयात हुने वस्तुहरूको गुणस्तरको मापदण्ड बनाइ लागू गरिने बताइएको छ । यस्तै, अदुवा, अलैंची, जडिबुटीलगायतका तुलनात्मक लाभ भएका वस्तुहरूलाई तयारीरूपमा प्रशोधन तथा ब्रान्डिङ गरी निकासी गर्न पकेट क्षेत्रमा प्रशोधन उद्योग खोल्न थप सहुलियत दिइने बजेटमा उल्लेख छ ।

    चीनसँग भएको पारवहन सम्झौता बमोजिम उपलब्ध नाका तथा बन्दरगाहको अधिकतम उपयोग गर्दै तेस्रो मुलुकसँग व्यापार बढाउने अर्थमन्त्रीले बताए । नेपाल एकीकृत व्यापार रणनीति र व्यापार घाटा न्यूनीकरण रणनीतिक कार्ययोजना परिमार्जन गरी लागू गरिने पनि उनले जानकारी दिए ।

    उच्च निर्यात सम्भावना भएका क्लिीङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित सेवा तथा विजनेस प्रोसेसिङ आउटसोर्सिङ जस्ता सेवाहरू पहिचान गरी त्यसको निर्यातमा सरकारले ८ प्रतिशतसम्म नगद अनुदान दिने भएको छ ।

    यस्तै, वैदेशिक लगानी आकर्षण गर्न र उत्पादन वृद्धि तथा निर्यात प्रवर्द्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी मासिक १० करोडभन्दा बढीको विद्युत खपत गर्नेलाई महसुलमा २ देखि १५ प्रतिशत छुट दिइने छ ।

  • अदालतले निर्माण रोकेको निजगढ विमानस्थललाई समेत बजेट (भिडिओ)

    अदालतले निर्माण रोकेको निजगढ विमानस्थललाई समेत बजेट (भिडिओ)

    काठमाडौं । अदालतले निर्माण रोकेको निजगढ विमानस्थल निर्माणको लागि सरकारले बजेट व्यवस्थापन गरेको छ । बजेटमै निजगढ विमानस्थल निर्माण गरिने छ भन्ने उल्लेख भएको हो ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अगाडि बढाइनेछ’, बजेट वक्तव्यमा उल्लेख छ ।

  • नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

    भूमिसम्बन्धी विषय संवेदनशील हो वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उल्लेख गर्दै उनले यसअनुरूप नेपालको भूमि फिर्ता ल्याउने कूटनीतिक प्रयास जारी रहेको बताए। सीमासम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको उनको भनाइ छ ।

    नेपाल–भारत सम्बन्ध बहु आयामिक रहेको र सहयोगको क्षेत्र विविध र व्यापक रहेको जनाउँदै उनले ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा द्विपक्षीय सम्बन्ध महत्त्वपूर्ण आयामका रूपमा रहेको बताए । नेपालको भू–बनोटका कारण नेपालमा उत्पादित बिजुली सहज बजार भारत हुने भएकाले यसै पृष्ठभूमिमा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता भएको बताए ।

    भारतसँगै दक्षिण एसियाका अन्य मुलुकमा पनि ऊर्जा व्यापारको पहल भइरहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपालमा बढी भएको बिजुली भारतमा बिक्री गर्ने र भारतबाट पनि आयात गर्न सक्ने गरी सम्झौता गरिएको बताए ।

    नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन तीन वर्षअघि नै तयार भएको सबैलाई थाहा भएको उल्लेख गर्दै उनले त्यो प्रतिवेदन त्यति बेला नै बुझ्नुपर्थ्यो किन बुझिएन भनी प्रश्न गरे । उक्त प्रतिवेदन बुझ्ने वातावरण निर्माण गर्न सरकार निरन्तर क्रियाशील रहेको जनाउँदै उनले कूटनीतिक सम्बन्धका विषयमा टिप्पणी गर्न पर्याप्त सावधानी अपनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

    नेपाल एक चीन नीतिप्रति दृढ रहेको दोहोर्‍याउँदै प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको बताए । विगतमा चीनविरुद्ध सक्रिय संस्थालाई आफू प्रधानमन्त्री भएकै बेला रोक लगाएको सचेत गराएको उनले सदनलाई स्मरण गराए ।

    बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लगायत अन्य विकास सहायता प्राप्त गर्ने विषयमा राष्ट्रिय आवश्यकता, क्षमता र उपादेयताका आधारमा निर्धारण हुने भएकाले सरकारले बुद्धिमत्तापूर्वक यस्ता विषयमा निर्णय गर्ने उल्लेख गर्दै उनले यसनिम्ति सबै पार्टीसँग छलफल गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘नेपालको आर्थिक–सामाजिक विकासमा मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगका लागि सरकार आभार प्रकट गर्दछ ।’

    प्रधानमन्त्री देउवाले सरकारको क्रियाशीलताका कारण आर्थिक तथा सामाजिक क्रियाकलापमा बढोत्तरी आएको बताए । आफूले विश्वासको मत लिँदा नै सबै नेपालीलाई खोप उपलब्ध गराउने सन्दर्भमा गरिएको प्रतिबद्धता पूरा भएको र खोप अभियानका कारण आर्थिक क्षेत्र चलायमान हुने वातावरण बनेको उनले बताए । सरकार आफ्नो लक्ष्यमा क्रियाशील रहेको उनको भनाइ छ ।

    प्रधानमन्त्री देउवाले सरकारले नेपाल आयल निगमजस्ता संस्था खारेज नगर्ने र त्यस्तो सोच नभएको स्पष्ट पारे । सरकारले पाठ्यपुस्तकलगायत सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाएको र कालोबजारीजस्ता गैरकानूनी गतिविधि नियन्त्रण गर्न क्रियाशील रहेको उनले उल्लेख गरे ।

    कृषि उत्पादन वृद्धि गर्न मल खादलगायत कृषिजन्य सामग्रीको सहज आपूर्तिको व्यवस्था गरिएको जनाउँदै उनले हिमाली तथा भौगोलिक रूपमा विकट जिल्लामा खाद्य आपूर्तिका लागि जिल्लाको वर्गीकरणको व्यवस्था गरिने नीति लिइएको बताए ।

    ‘सरकारले उत्पादकत्व वृद्धि गर्ने, तुलनात्मक लाभ भएका क्षेत्रलाई विशेष प्राथमिकता दिएको, अर्थतन्त्रको दिगो विकासका लागि सार्वजनिक–निजी क्षेत्रको क्रियाशीलता बढाउन खोजिएको छ’, उनले भने ।

    निजगढ विमानस्थलका सन्दर्भमा सर्वोच्च अदालतको फैसलाको अध्ययन गरी आवश्यक निर्णय लिइने प्रधानमन्त्रीको भनाइ छ । सबै प्रकारका हिंसा र भेदभावको अन्त्य गरी भयमुक्त समाजको स्थापनाका लागि सरकार लागिपरेको उनको भनाइ छ ।

    सरकारको नीति तथा कार्यक्रममा आधिकारिक निकायबाट लिइएको तथ्याङ्क नै प्रस्तुत गरिएकाले अविश्वास नगर्न प्रधानमन्त्रीले आग्रह गरे । भ्रष्टाचार सबैको साझा शत्रु हो भन्दै उहाँले त्यसका विरुद्ध एकजुट भएर उभिन अपिल गरे ।

    प्रधानमन्त्रीले सीमित साधन स्रोतबीच निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न गरेको स्पष्ट पारे । छिटपुट घटनलाई लिएर पुरै निर्वाचन प्रक्रियामा संशय गर्नु आवश्यक नभएको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले कोभिडको महामारीपछि सामान्य हुँदै देशको अर्थतन्त्र सामान्य अवस्थामा अघि बढ्दै गरेको अवस्थामा युक्रेनमा भएको आक्रमणले जटिलता निम्त्याएको स्पष्ट पारे ।

    सोही कारण आपूर्तिमा समस्या देखिएको र देशको अर्थतन्त्रमा बाह्य चाप बढेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक पुनरुत्थान गर्दै जनजीवनलाई सहज पार्नेतर्फ केन्द्रित भएको स्पष्ट पारे ।

    उनले अमेरिकी सहयोग परियोजनाका सम्बन्धमा संसद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणी त्यसैको अङ्ग बनिसकेको उल्लेख गरे । यसमा थप शङ्का गर्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

    सरकारले एक हजार २०० मेगावाट क्षमताको बूढी गण्डकीका लागि स्रोत जम्मा भएको र त्यसै आधारमा अगाडि बढाउन लागिएकाले त्यसमा आशङ्का नगर्न उनले आग्रह गरे ।

    सीमा सुरक्षाका लागि सरकार क्रियाशील रहेको र त्यसमा कुनै तलमाथि हुन नदिइने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य गर्न दुवै देश तत्पर रहेको र साझा वक्तव्यमा उल्लेख गरिएको जानकारी दिए ।

    गेटा मेडिकल कलेजका सम्बन्धमा बजेटमा नै व्यवस्था भएर आउने र विगतदेखि नै त्यसमा बजेट विनियोजन गरिएको तथ्य पेस गरे । सुकुम्वासी समस्या समाधानका लागि आयोग बनेको र त्यसले काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

  • सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित (भिडिओ)

    सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित (भिडिओ)

    काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेश गरेकोमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।

    अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

    यसअघि प्रधानमन्त्रीले सांसदहरुका पूरक प्रश्नको समेत जवाफ दिएका थिए ।

  • नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवा

    नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवा

    काठमाडौं ।  प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ  ।

    अहिले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिइरहेका छन् ।

  • पूर्व पदाधिकारीहरूलाई राज्यको सुविधा त्याग्न सांसद रसाइलीको चुनौती (भिडिओ)

    पूर्व पदाधिकारीहरूलाई राज्यको सुविधा त्याग्न सांसद रसाइलीको चुनौती (भिडिओ)

    काठमाडौं । सांसद प्रकाश रसाइली स्नेहीले राज्यकोषबाट लिइरहेको सुविधा फिर्ता गर्न पूर्व पदाधिकारीहरूलाई चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रसाइलीले पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, पूर्व मन्त्रीहरुलाई राज्यको सेवा सुविधा फिर्ता गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।

    उनले भने- संविधानमा हामीले स्वास्थ्य, शिक्षा, भ्रष्टाचार नियन्त्रणका कुरा लेख्यौँ । पूर्वप्रधानमन्त्रीहरुले हामीलाई घण्टौँ उपदेश दिएर जानुभयो । तर उहाँहरुले राज्यमन्त्री सरहको सुविधा लिइरहनुभएको छ । फजुल खर्च नियन्त्रण गर्नुपर्छ भनेर सुरुवात हामी आफैले गरौँ । राज्यबाट लिइरहेका सेवा सुविधा तपाईहरुले फिर्ता गर्न सक्नुहुन्छ ?

    यस्तै सांसद स्नेहीले संसदमा सबैलाई समान व्यवहार गरिनुपर्ने पनि बताए ।

    सबै सांसदहरु सार्वभौम रहेको उल्लेख गर्दै स्नेहीले भने, ‘सबै सांसदहरु सार्वभौम हुन । कोही सांसद तीन तीन घण्टा बोल्ने कोही सांसदका लागि तीन मिनेटको समय ! कोही कोही पूर्वाप्रधानमन्त्री, पूर्वासभामुखले बोल्दै गर्दा सांसदहरुले बेड विस्तारा र टिफिन बक्स लिएर आउनुपर्ने भयो । तीन घण्टामा त एउटा फिलिम सकिन्छ । इन्टरभल हुन्छ । यो संसदको मर्यादा र गरिमा होइन नी !’

  • संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि… (भिडिओ)

    संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि… (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रूपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोध स्वरुप प्रतिकात्मक रूपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए ।

    तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ ।

    शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेका थिए । विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गर्नुपरेको थियो ।

    सांसद महतले भने, ‘प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरू धित मरुन्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।’

    उनले आफूले ताला र चाबी ल्याएको उल्लेख गर्नुभयो । उनले भने, ‘तपाईँहरू धित मरुन्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला । जति बेला बोल्न मन लाग्छ आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला । मैले सभामुखज्यूलाई बुझाएँ ।’ गाली गर्नेलाई संसद्मा बोल्न तीन घण्टा र कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट छुटाइएको भन्दै सांसद महतले आपत्ति प्रकट गरे ।

  • अमेरिका भ्रमणका लागि नेपाली क्रिकेट टिमको विदाई (भिडिओ)

    अमेरिका भ्रमणका लागि नेपाली क्रिकेट टिमको विदाई (भिडिओ)

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृंखला लागि अमेरिका जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ ।

    शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायत क्यान पदाधिकारी हरूले टीमको विदाई गरेका हुन् ।

    कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले नेपाल विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    ‘एकदिवसीय मान्यता कायम राख्न यो श्रृंखला निकै महत्वपूर्ण छ,’ अध्यक्ष चन्दले भने, ‘यस श्रृंखलासँगै नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ को अघिल्लो चरणमा प्रवेश गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

    यस्तै, युवा तथा खेलकुदमन्त्री गहतराजले नेपालले विगतका कमिकमजोरी सुधार्दै राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    ‘नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छु । विगतको कमिकमजोरीलाई सुधार्दै राम्रो प्रदर्शन गर्नेछ भन्ने मेरो विश्वास छ,’ मन्त्री गहतराजले भने ।

    विदाई कार्यक्रममा कप्तान सन्दीप लामिछानेले अमेरिका जानुभन्दा त्यहाँको प्रदर्शन महत्वपूर्ण रहेको बताए ।

    ‘यो श्रृंखला हाम्रो लागि निकै महत्वपूर्ण छ । अमेरिका जानुभन्दा त्यहाँ गर्ने प्रदर्शन मुख्य उपलब्धी हो,’ सन्दीपले भने, ‘लिग २ अब हामीले २४ खेल खेल्न बाँकी छ र अहिले टिम पनि सन्तुलित छ । लिग २ मा धेरैभन्दा धेरै अंक जोड्दै विश्वकप सम्भावनालाई कायम राख्न चाहन्छौं ।’

    यस्तै, नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टिम सन्तुलित रहेको र लिगको चौथो स्थानमा उक्लिने आफूहरुको लक्ष्य भएको बताए ।

    ‘अमेरिका भ्रमण नेपालका लागि निकै महत्वपूर्ण छ । यसैका लागि हामीले पछिल्लो दुई तीन हप्तादेखि निकै कडा मेहनत गरिरहेका छौं, दासानायकेले भने, ‘टिममा युवा प्रतिभा राम्रो छ । टिम सन्तुलित छ र श्रृंखलासँगै लिगको चौंथो वा पाँचौ स्थानमा उक्लिने हाम्रो लक्ष्य छ ।’

  • सरकारको नीति कार्यक्रम ‘चौबाटोको बटुवा’ र ‘कुहिरोको काग’ – गोकर्ण विष्ट (भिडिओ)

    सरकारको नीति कार्यक्रम ‘चौबाटोको बटुवा’ र ‘कुहिरोको काग’ – गोकर्ण विष्ट (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध नगर्ने दाबी गरेका छन् ।

    उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘चौबाटोमा बसेको बटुवा र कुहिरोका काग’ को संज्ञा दिए ।

    ‘हरेक वर्ष बजेट आउनु अगाडि सरकाले नीति कार्यक्रम प्रस्तुत गर्छ । यही परम्परालाई ध्यान दिँदै कार्यक्रम आएको छ । कार्यक्रममार्फत अग्रगामी परिवर्तनलाई बाटो देखाउने र समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध गर्नुपर्ने थियो तर, नीति तथा कार्यक्रम चौबाटोमा बसेको बटुवा र कुहिरोको काग भएको छ, विष्टले भने ।

    नीति तथा कार्यक्रम विद्यमान गम्भीर समस्या र चुनौतीहरूलाई सामना गर्ने सन्दर्भमा फितलो भएको उनको टिप्पणी छ । कार्यक्रमले अर्थतन्त्रमा देखिएको सङ्‍कटलाई समाधान गर्न नसक्ने दाबी गरे ।

    स्थानीय तह निर्वाचनमा सत्ता पक्षबाट शक्तिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्ने काम भएको उनको आरोप छ ।

    उनले निर्वाचनमा खर्च अधिक हुने गरेको भन्दै अब क्रमशः प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने बेला आएको पनि बताए ।

  • काठमाडौं र धरानका मेयरलाई प्रचण्डको सुझाव- शक्ति केन्द्रको प्रभावमा नपर्नुहोस् (भिडिओ)

    काठमाडौं र धरानका मेयरलाई प्रचण्डको सुझाव- शक्ति केन्द्रको प्रभावमा नपर्नुहोस् (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।

    दुवै फूलरुपी मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे ।

    उनले दुवै मेयरलाई जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन र शक्ति केन्द्रको प्रभावमा नपर्न सुझाव पनि दिएका छन् ।

    संसद्‍मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने प्रचण्डको भनाइ छ ।

    उनले स्वतन्त्र उम्मेदवारहरूको निर्वाचनले दलहरूलाई चुनौती भन्दा पनि सावधानी अपनाउनतर्फ सचेत तुल्याएको बताए ।

  • नीति तथा कार्यक्रम खोक्रो र सारहीन भएको पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी (भिडिओ)

    नीति तथा कार्यक्रम खोक्रो र सारहीन भएको पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताएका छन्।

    यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आथिृक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै उनले कार्यक्रम आर्थिक संकटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको आरोप लगाए ।

    उनले औद्योगिक क्षेत्रका लागि कार्यक्रम नभएको, निजी क्षेत्रलाई हतोत्साहित बनाएको, विकास व्यवस्थापनको कार्यक्रम नभएको, मौद्रिक र वित्तीय नीतिबीच तालमेल नभएको, नियामक निकायमाथि हस्तक्षेप गरिएको आक्षेपसमेत लगाए ।

    सरकारले अर्थतन्त्रमा ध्यान दिएको छैन भनेर भ्रम छरेको, मूल्यवृद्धि अकाशिएको, आपूर्ति शुङ्खला समस्यामा परेको, सङ्कटोपन्न खाद्य सङ्कटका बारेमा चासो नदिएको भन्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद पौडेलले विदेशी विनिमय जोखिममा पुगेको बताए।

    सार्वजनिक विद्यालयको पूर्वाधारको विकास, प्राविधिक शिक्षाको कार्यक्रम, कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनललगायतका कार्यक्रम छाडिएको टिप्पणी गर्दै उनले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको उल्लेख गरे ।

    उनले बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषयलाई हावादारी भएको आरोप लगाए।

  • अर्थतन्त्र संकटमा फस्यो, सरकारले उकास्‍ने जोखिम बहन गर्नुपर्छ: गगन थापा (भिडिओ)

    अर्थतन्त्र संकटमा फस्यो, सरकारले उकास्‍ने जोखिम बहन गर्नुपर्छ: गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अर्थतन्त्र समस्याग्रस्त मात्र नभई संकटमा फस्दै गएको बताएका छन् ।

    सरकारले तत्काल संकटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने उनले औँल्याए ।

    संघीय संसद्‍मा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकारसँग संकटमा फसेको अर्थतन्त्रलाई उकास्‍नेगरीको जोखिम बहन गर्न सक्ने क्षमता हुनुपर्ने बताए ।

    ‘मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, संकटमा फस्‍न थालेको छ । आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ । जोखिम आइसक्यो । जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्‍यो’, थापाले भने ।

    उनले वर्षेनी व्यापार घाटा उच्च हुँदै गएको भन्दै चिन्तासमेत ब्यक्त गरेका छन् ।

    ‘हाम्रो व्यापार घाटा उच्च भयो । गएको वर्ष पनि थियो । विगत १०–१२ वर्षयता लागतार ब्यापार घाटा छ । आगामी वर्ष अझ बढ्नेवाला छ । हाम्रो आम्दानीको स्रोत सीमित छ’, थापाले भने, ‘रेमिट्यान्स छ । थोरै वैदेशिक लगानी आएको छ । थोरै अनुदान आएको छ । आम्दानीको स्रोत कम छ । खर्च बढी छ ।’

    उनले व्यापार घाटा न्यूनीकरण गर्न उत्पादन बढाएर निर्यात वृद्धि गर्नुपर्ने बताए ।

  • प्रचण्डको चेतावनी- गठबन्धन कमजोर भए अझै पनि देशमा दुर्घटनाको खतरा छ (भिडिओ)

    प्रचण्डको चेतावनी- गठबन्धन कमजोर भए अझै पनि देशमा दुर्घटनाको खतरा छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको सत्ता गठबन्धन टुटेमा अझै पनि देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रचण्डले भरतपुरमा आफूले जनतालाई सतर्क गराएको कुरालाई धम्कीको रुपमा प्रचार गरिएकोमा आपत्ति जनाए ।

    संसद बैठकमा प्रचण्डले भने–मैले भरतपुरमा जनतालाई सतर्क गराएको कुरालाई धम्की भनियो । यदि गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जान्छ भनेकै हो,फेरि पनि भन्छु यदि यो गठबन्धन कमजोर भयो भने दुर्घटनाको खतरा छ ।

    अध्यक्ष प्रचण्डले केपी ओली माओवादीको सहयोगमै प्रधानमन्त्री बनेको भन्दै अब एमालेको एकल प्रधानमन्त्री बनेर देखाउन चुनौति समेत दिए । नीति तथा कार्यक्रममाथि छलफल लिन रोष्टममा उभिएका प्रचण्डले अधिकांश समय ओलीको आलोचनामा खर्च गरेका थिए ।

    ओलीमा अझै पनि आत्मालोचनाको संकेत नदेखिएको भन्दै अहंकार र दम्भबाट अझै पनि नहटेको प्रचण्डले बताए । उनले एमालेका धेरै नेता कार्यकर्ताप्रति आफ्ना अझै पनि भरोसा र विश्वास रहेको भन्दै उनीहरुसँग मिलेर काम गर्न कठिन नहुने बताए ।

  • ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– संविधान मिच्‍ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए (भिडिओ)

    ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– संविधान मिच्‍ने र उल्ट्याउन चाहने तत्वलाई जनताले सन्देश दिए (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान मिच्न र उल्ट्याउन चाहने तत्वलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो सन्देश दिएको बताएका छन् ।

    संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शनिबार विचार राख्दै प्रचण्डले संविधान मिच्‍न चाहने शक्तिलाई जनतालाई मन नपराएको पनि बताए ।

    ‘संविधानलाई मिच्‍न चाहने, संविधान उल्ट्याउन चाहने प्रवृत्तिलाई निर्वाचनको प्रक्रियाबाट जनताले राम्रो सन्देश दिनु भएको छ’, प्रचण्डले भने, ‘यो निर्वाचन सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र र गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा कोशेढुङ्‍गा हुनेछ । र, संविधान उल्ट्याउन चाहने तत्वलाई जनताले मन पराएनन् ।’

    प्रचण्डले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएको भन्दै खुसी प्रकट गरे । उनले राजनीतिक दल, मतदातादेखि निर्वाचन गराउने भूमिकामा रहेका सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    अब, गठबन्धन सरकार प्रदेश र सङ्‍घीय निर्वाचनतर्फ उन्मुख हुने उनको भनाइ छ ।

     

  • आफ्नै नामले साह्रै डिस्टर्ब उपेन्द्र सुब्बा भन्छन्- परिचय बेकारको भारी हुँदोरहेछ (भिडिओ)

    आफ्नै नामले साह्रै डिस्टर्ब उपेन्द्र सुब्बा भन्छन्- परिचय बेकारको भारी हुँदोरहेछ (भिडिओ)

    काठमाडाैं । उपेन्द्र सुुब्बा को हुन् ? सुब्बा स्वयंसँगै यस प्रश्नको ठ्याक्कै उत्तर पत्तो छैन । आफैलाई आफैले ठोसरुपमा ‘मेरो परिचय यो हो’ भनेर भन्न सक्दैनन् ।

    ‘खोलाको गीत’ कविता संग्रहका कविताका पंक्तिहरुमा झुम्यो, उनी कवि हुन् । ‘लाटो पहाड’ कथासंग्रहका पन्नाहरु पल्टायो, उनी कथाकार हुन् । ‘कबड्डी’ फिल्मको सिरिजदेखि केही फिल्मका नामहरु सरसर्ती पढ्योे, उनी पटकथा लेखक हुन् । प्रदर्शन हुन बाँकी ‘जारी’ फिल्मलाई सम्झ्यो, उनी निर्देशक हुन् । ‘कबड्डी’मा झाँक्रीले खिर खुवाएको दृश्य हेर्‍यो, उनी कलाकार हुन् । केही गीतहरुलाई श्रवण गर्‍यो, उनी गीतकार हुन् ।

    एकै परिचय भए पो ठ्याक्कै ‘यो हुँ’ भन्न सकोस् सुब्बाले । उनी स्वयं पनि कहिलेकाहीँ अलमलमा पर्छन् । साहित्य सर्कलका साथीभाइका लागि कवि, कथाकार हुन् । संगीतज्ञहरुका लागि गीतकार । फिल्म क्षेत्रका लागि सफल पटकथा लेखक र निर्देशक ।

    यी परिचयमध्ये एक प्रिय परिचय छान्नुपर्दा सुब्बा भन्छन्, ‘म त साँच्चै कन्फ्युज भएँ । साँच्चिकै धेरै काम गरेछु । एकै ठाउँ नअडिएको रहेछु । एक कुनै विषयमा दख्खल नपुर्‍याएपछि मान्छे यसरी भौतारिँदोरहेछु ।’

    यता पो हुन्छ कि उता पो हुन्छ कि भनेर अनेक क्षेत्रमा भौतारिएको बताउँछन् सुब्बा । उनी बेलाबेला कवि श्रवण मुकारुङ सम्झन्छन्, जो बेजोड कविता लेख्छ र कविताबाहेक अरुथोक गर्नु नै छैन । उनी गर्विलो आख्यान लेखिरहेका साथीहरुलाई हेर्छन्, जसलाई आख्यान लेख्नुबाहेक अर्थोक गर्नु नै छैन । सुब्बा सुनाउँछन्, ‘मैले चाहिँ त्यसो गर्न नसक्दो रहेछु । त्यसो गर्न नसके पनि मलाई पनि आनन्द, खुसी चाहियो नि त ! अनेक क्षेत्रमा हात हाल्नु मेरो आफ्नै खोजी होला । धेरै क्षेत्रमा काम गरेँ । तर, कतै सन्तुष्ट छैन म ।’

    यति भनिसकेर आँखा छोपिने गरी लामो सिग्नेचर हाँसो हाँस्छन् सुब्बा ।

    भनिन्छ, मान्छे एक क्षेत्रमा असफल भएपछि अर्को क्षेत्रमा जान्छन् । त्यही क्षेत्रमा सफल हुन्छन् । अर्काथरि मान्छे एक क्षेत्रमा असफल हुन्छन् । फेरि असफल हुन्छन् । फेरि हुन्छन् । र, अन्त्यमा एक दिन सफल हुन्छन् । सुब्बाको पोल्टामा भने उस्तो असफलता आइपरेन । जुन जुन क्षेत्रमा लागे, त्यही त्यही क्षेत्रमा सफल नै भए । सुब्बालाई भने आफू त्यस्तो सफल र राम्रो नभएको लाग्छ । भन्छन्, ‘मैले क्षेत्र फेरिरहनुमा एकै विषय, एउटै दिनचर्या नरुचाएर पनि होला । कवि भएर दश बाह्र वर्ष हिँडेँ । फिल्मतिर स्क्रिप्ट लेखेर दश बाह्र वर्ष बिताएँ । अहिले मेरो दानापानी चल्ने यसैले हो ।’

    र, अहिले फिल्म निर्देशनमा पनि हात हालेका छन्– ‘जारी’ । रहर अनि जिम्मेवारीले निर्देशनमा हात हालेको बताउँछन् । तर, सुब्बाको अहिलेको भव्य परिचय त पटकथा लेखन नै हो । ‘कबड्डी’को प्रचारप्रसारमा जाँदा पनि उनलाई थुप्रैले सोधेका थिए, ‘तपाईं त नेपालको व्यस्त पटकथा लेखक होला !’

    तर, वास्तविकता भने मान्छेले सोचेभन्दा निकै नै फरक रहेछ । उनी सुनाउँछन्, ‘मसँग त्यस्तो धेरै प्रोजेक्ट छैन । त्यही कबड्डी सिरिज लेखेको छु । कबड्डीले गर्दा पनि मान्छेले कामको चाप छ ठान्लान् । तर, मेरो हातमा प्रोजेक्ट नै छैन । लेखकको रुपमा बिजी हुनुपर्ने हो, छुइनँ । मान्छेले सुनेजस्तो होइन रहेछु म ।’

    नेपालमा वर्षमा सरदर सय फिल्म बन्छन् । सयमध्ये वर्षको दुईवटामात्रै लेख्न पाउँदा पनि सुब्बाको जीविका चल्ने हो । तर, उनले चाहे जसरी प्रोजेक्ट पाएकै छैनन् । सुब्बा लामो हाँसोपछि थप्छन्, ‘अभिनयको कुरा गर्दा पनि फुलुकमा लागेको दाउ जस्तो हो झाँक्री । अभिनय म गर्नै सक्दिनँ । मान्छेहरु सोच्लान्, यो सुब्बालाई फिल्ममा पनि अफर आयो होला । मैले चाहिँ अफर नै पाएको छुइनँ । झाँक्री त अनुहार मिलेकाले, केके मिलेकाले हिट भएको हो । मलाई सफल कथाकारभन्दा प्रकाशकहरु पछि लागेका होलान् भन्ने सोच्लान् । तर, प्रकाशक खोजेर मै हिँडिरहेको छु । मसँग किताब छाप्नलाई रेडी छ । प्रकाशकले लेखकहरुलाई दश लाख, पन्ध्र लाख दिएर लेख्न लगाउँछन् रे ! तर, म चाहिँ प्रकाशक नै भेट्दिनँ ।’

    वास्तविकता निकै नै क्रूर हुने सुब्बाको अनुभव छ ।

    ०००

    सुब्बा उमेरले ५० हिर्काइसकेका मान्छे हुन् । यतिबेला उनको निर्देशन रहेको फिल्म ‘जारी’ प्रदर्शनको तयारीमा छ । कबड्डी फिल्म बम्पर बुकिङ भइरहेको छ । कथासंग्रहको पाण्डुलिपिसँग छन् ।

    भनिन्छ, सृजनशील हुने पनि समय हुन्छ । एक समयमा मात्रै मान्छे औधी सृजनशील हुनसक्छ । अनि त्यसको ब्याज खाँदै बस्नुपर्ने स्थितिमा मान्छे पुग्छन् पनि भनिन्छ । उमेरले म्याच्युअर्ड हुँदै जाँदा सुब्बा पनि झण्डै झण्डै सृजनाहरुको ब्याज खाने स्थितिमा पुगेका स्रष्टा हुन् । तर, उनको सवालमा सृजनशीलताको ‘हदम्याद’ किन लागू भएन ?

    सृजनशीलताको समय हुन्छ, सुब्बालाई पनि यो महसुस हुन्छ । उनीसित जति कथाहरु थिए/छन् ती सबै युवाकालमै लेख्छु भनेर सोचेका थिए । फिल्मका जति कामहरु भएका छन्, ती सबै कुनै समय गरिसकेका थिए । भन्छन्, ‘देखिँदा अहिले गरिरहेजस्तो । तर, पहिला गर्न नपाएका काम हुन् यी । एक खालको उमेर आएपछि मान्छेले सिक्न चाहिँ छाड्दोरहेछ । मलाई पुग्यो, योभन्दा धेरै जान्नु आवश्यक छैन भन्ने अवस्था आयो भने अथवा मैले जानिसकेँ भन्ने भयो भने चाहिँ सिक्ने प्रक्रिया सकिँदोरहेछ मान्छेको ।’

    सुब्बालाई लाग्छ, सिक्ने जाँगर भएसम्म मान्छे सृजनशील भएरै छाड्छ । आफू सृजनशील भइरहनुमा विधा परिवर्तन गरिरहनु हो भन्ने पनि लाग्छ उनलाई । उनले गीत लेखे, कविता लेखे, कथा लेखे, फिल्म लेखे, निर्देशन गरे । यसरी फरक विधा टेस्ट गर्दा नयाँ नयाँ सिक्नुपर्ने कुराहरु धेरै हुन्छन् । यसैले पनि आफूलाई नयाँ नयाँ विधामा जान रमाइलो लाग्ने बताउँछन् ।

    उनी थप्छन्, ‘यसरी काम गर्दा रमाइलो पनि हुन्छ, मलाई सृजनशील बनाइरहन्छ पनि । नयाँ विधाले उत्साह र जाँगर पनि थप्छ । अनि आत्मविश्वास पनि दिन्छ ।’

    ४० कटेपछि मान्छे थोरै स्लो हुन्छ भनिए पनि ४० वर्षपछि प्रसिद्ध लेखक पाउलो कोएल्हो लेखनमा लागे । सुब्बा त पचास पुगिसके । यो उमेरमा आफू थोरै स्लो भए पनि काम गर्न मज्जा आइरहेको बताउँछन् ।

    बच्चाको उमेरमा युवाकालको प्रतीक्षा हुन्छ । युवाकालपछि आउने प्रौढकाल चाहिँ मान्छेले अलि डरलाग्दो मान्छन् । तर, सुब्बालाई लाग्छ, जीवन चाहिँ त्यस्तो होइन । ‘म पचास छिरेँ । प्रौढकाल कस्तो बनाउने भन्दा त्यसबेला के कुरामा इन्जोय गर्ने भन्ने कुरामा भर पर्छ होला । बच्चामा जे कुराले सन्तुष्टि मिल्थ्यो, युवाकालमा त्यसले मिल्दैन । युवामा जे जे कुरा मिल्छ, प्रौढमा त्यो मिल्दैन । कोही मान्छे प्रौढ भयो र युवाकाल जसरी नै बाँच्न चाह्यो भने सन्तुष्टि मिल्दैन’, सुब्बा थोरै फिलोसोफिकल हुँदै आफ्नै स्वभावमा आइपुग्छन्, ‘प्रौढमा गर्ने मेरा काम यी हुन्, यी काम गर्दा आनन्दित हुन्छु भन्ने निर्धारण गरियो भने गज्जब हुन्छ । कति खुसी हुने, कसरी बाँच्ने भन्ने मानसिकता न हो । प्रौढ त भयंकर सुन्दर उमेर हो, मान्छेहरुले नबुझेकोमात्रै हो । यसबेला केही नगरे पनि आदर मिल्छ । बाजे भन्छन्, ढोग्छन्, हप्काउँदैनन् । म त छिटो ७० पुगूँ भन्ने इच्छा राख्छु ।’

    विधा परिवर्तन गरिरहने सुब्बाले पचास छोए पनि पटकथा लेखन छोएको करिब १० वर्षको वरिपरिमै छ । एक दशक एकै क्षेत्रमा बिताइसक्दा अब त सुब्बालाई बोर लाग्न थालिसक्यो होला । तर, पटकथा लेखन आफ्नो दालचामलको समस्या भएको बताउँछन् । जुन काम पाएसम्म गर्ने उनको ध्येय छ । उनले जानेको काम पनि यही हो । तर, उनका अनुसार कसैले पत्याउँदैनन् । सामान्य बनिरहेको नेपाली फिल्मभन्दा राम्रो लेख्छु भन्ने पनि लाग्छ उनलाई, त्यसको प्रमाण पनि छन् । तर, मान्छेले नपत्याउने बताउँदै हाँस्छन् ।

    ०००

    परबाट हेर्दा भने सुब्बासँग कामकै चाप छ । उनका प्रोजेक्टहरु दर्शकले रुचाइदिएका छन् । उनले लेखेका सिनहरुमा खेलेर कति कलाकारले करियर तन्काएका छन् । यस हिसाबले पनि सुब्बालाई डिमान्डेडमात्रै होइन, उत्तिकै महँगा लेखक होलान् भन्ने देखिन्छ । तर, आफू त्यस्तो नभएको बताउँछन् उनी ।

    भन्छन्, ‘मैले मलाई यति देऊ भनेर डिमान्ड गर्नै पाएको छैन । त्यसरी लेखाउन कोही आएका पनि छैनन् । टाढादेखि देख्दा त्यस्तो लाग्दोरहेछ । जे होस्, बाँचिरहेको छु । पुग्दो छैन ।’

    नेपाली सिनेमा हलमा कबड्डी प्रदर्शन भइरहेको छ । प्रदर्शनअघि फिल्म युनिटले देशभर प्रमोसन गर्‍यो । मुख्य कलाकारसँगै प्रमोसनको मुख्य हिस्सा बनेर सुब्बा पनि डुले । कलाकारसँगै स्टेजमा उभिए, बोले ।

    प्रायः नेपाली फिल्मका पटकथा लेखकहरु प्रमोसनमा खासै खोजिँदैनन् । प्रिमियरको दिन पनि लेखक कता हुन्छन्, मान्छेले पत्तो पाउँदैनन् ।

    आफू त्यसरी प्रमोसनमा पनि पुग्नुपर्ने अवस्थाको पछाडि यस सिरिजले बिताएको लामो समयलाई कारक देख्छन् । भन्छन्, ‘अब रामबाबु गुरुङ गएन । उसको सट्टा उभिनुपर्‍यो । कसैले सोधेको प्रश्नको उत्तर दिनुपर्‍यो । रामबाबु मिडियामा आउन कमै रुचाउँछ । त्यो भएर पनि होला ।’

    ०००

    बलिउड फिल्ममा जावेद अख्तर, सलिम खानहरु एक सय हिरोभन्दा ठूला स्टार थिए । हिरोभन्दा महँगा थिए । त्यो उनीहरुले आफ्नै मेहनतले बनाएका थिए । पटकथा लेखकहरुले त्यसरी नै आफूलाई निर्माण गर्नुपर्ने देख्छन् सुब्बा । ‘यसको मतलब म क्षमतावान भएर भन्न खोजेको होइन । कबड्डी हाम्रै प्रोडक्सन र सिरिज भएकाले होला । तर, नेपाली फिल्ममा स्क्रिप्टलाई गम्भीर रुपमा नलिइँदा लेखकहरु छायाँमा पर्छन् ।’

    नेपाली मिडियामा भने मेकरहरु यतिउति पैसा दिन्छु, लेख्ने कोही छ भनेर धमास दिइरहेका हुन्छन् । जति नै धमास दिए पनि मेकरहरुले त्यसरी लेखाएको चाहिँ सुब्बाका आँखाले देखेका छैनन् । फिल्म राम्रो बन्न स्क्रिप्ट नै गतिलो हुनुपर्छ भन्ने बुझे पनि, मिडियामा आएर बोले पनि वास्तविकता त्यस्तो नभएको बताउँछन् सुब्बा ।

    नेपाली फिल्ममा पटकथा नै झूर हुन्छ भन्ने गरिन्छ । त्यसका लागि चाहिँ लेखकलाई पत्याएर काम लगाएर नतिजा निकाल्न सुझाव दिन्छन् सुब्बा । भन्छन्, ‘जे लेख्यो, त्यही बनायो भने त कहाँबाट हुन्छ र ! राम्रो र नराम्रो छुट्याउन र लेखकलाई काममा मेहनत गराउन सक्नुप¥यो मेकरले । अलि धेरै गफ गर्छन् यो फिल्म लाइनमा ।’

    सुब्बाले पटकथा लेखेको कबड्डी सफल भयो । सफल हुँदै जाँदा चौथो सिरिजसम्म आइपुग्यो । अब त कबड्डीको सिरिजले पुग्यो होला ! त्यही भएर नै यो फाइनल बनाएको बताउँछन् सुब्बा । भन्छन्, ‘योभन्दा धेरै तन्कँदैन, निचोरेर कति निकाल्ने भनेर फाइनल बनाएको हो । यो स्टोरी चाहिँ फाइनल गरौं भनेर नै हो ।’

    ०००

    सुब्बाको दाबी छ, ‘कबड्डी’ सुरुवातदेखि नै सफल हुँदै आउनुमा मेकरले चुनौती मोल्ने आँट गरेर नै हो, खतरा मोल्न सकेर नै हो । मेकरहरुले जे चल्छ, त्यस्तै बनाउन खोजेर समस्या देखिएको हो । आँट गरेपछि ‘कबड्डी’ फरक बन्यो । ‘लुट’ चलिरहेको फिल्मभन्दा फरक थियो, खतरा मोल्यो, चल्यो ।’

    नेपाली मेकरहरु खतरा मोल्न तयार नभइदिनाले गतिला फिल्महरु कम आएको बताउँछन् । अर्कातिर संसारभर लगानीको पाँच प्रतिशत पटकथालाई छुट्याइन्छ । नेपालमा तीन करोडमा फिल्म बन्छ भने १५ लाख लेखकलाई छुट्याउनुपर्ने हो । यसो गर्दा वर्षमा दुईवटामात्रै फिल्म लेख्दा एक लेखकले सरदर नेपालीको अनुसार जीवन चलाउन सक्ने बताउँछन् सुब्बा । तर, पटकथालाई त्यसरी नलिइँदा कमसल फिल्महरु ज्यादा बन्ने गरेको उनको तर्क छ ।

    – अनि, स्क्रिप्टभन्दा छुट्टै प्रसंगको कुरा गरौं । कबड्डीले अहिलेसम्मकै सबैभन्दा धेरै शो पाएको छ । तर, हल सञ्चालकहरुले नेपाली फिल्मलाई शो नै दिएन भन्ने गुनासो ज्यादा सुनिन्छ । उनीहरुले शो दिनका लागि कस्तो फिल्म बन्नुपर्ने रहेछ ?

    हल सञ्चालक, वितरक व्यापारी भए । हल सञ्चालकहरुको आफ्नै सञ्जाल हुन्छ । उनीहरुले फिल्म कस्तो छ भनेर आफ्नै तरिकाले बुझ्छन् । हाइपअनुसार शो दिन्छन् । हलिउड, बलिउडका ठूला फिल्ममा पनि दर्शकको चासोअनुसार शो दिन्छन् । नेपाली फिल्मलाई पनि त्यसै गर्ने हुन् । सत्य चाहिँ हामीले फिल्म बनाउनै नसकिएको हो । ‘कबड्डी’ चाहिँ सिरिज भयो, काजीको पनि आफ्नै दर्शक छन् । हल सञ्चालक पनि दर्शक आउनेमा विश्वस्त भएर शो दिएका हुन् ।

    – भनेपछि राम्रो शो पाउन फिल्म नै राम्रो बनाउनु पर्ने रहेछ ?

    हो, व्यापारीले कमाउने नै सोच्छ । उसको हल भरिभराउ हुनुप¥यो । जुन फिल्मले हल भर्छ, त्यसलाई नै शो दिने हो । उनीहरुको उद्देश्य नै त्यति हो ।

    यसपछि सुब्बाले आफ्ना दुईवटा कविता हामीलाई सुनाए । कविता सुनाइसकेपछि भने, ‘अस्ति धरानमा कविता सुनाउन गएँ । तर, एकदम व्यापक डिजास्टर अनुभव भयो । रेस्टुरेन्टको ओपनिङ थियो । मैले कविता सुनाउनुअघि नै दर्शक बियर र ह्वीस्की खाएर बसेका थिए । उनीहरुलाई कविता कसरी सुनाउनु ? अब चाहिँ रेस्टुरेन्टमा कविता सुनाउन जान्नँ । कविलाई दर्शक, स्रोता छुट्टै र सचेत चाहिने रहेछ । मदहोसवाला भए भने नमज्जा आउने रहेछ । हामीलाई त हाम्रा कविता सुनिदेओस् भन्ने हुन्छ । एउटा फिलमा वाचन गरिएको हुन्छ । तर, त्यहाँ यस्तो टाउको दुख्यो कि, अब त नाइँ… ।’

    अनि लामो हाँसो हाँसे सुब्बा ।

    – अन्त्यमा, तपाईंलाई अनेक सम्बोधनमध्ये कुन सम्बोधन प्रिय लाग्छ ?

    खासमा परिचय नै बेकारको भारी हुँदोरहेछ । पहिला कवि भनिदेओस् भन्ने लोभ लाग्थ्यो । पछि अरु परिचय थपिए । म ठूलो नाम भएको मान्छे त होइन । तर, मेरो परिचय छरपस्ट रहेछ । कसैले झाँक्री भन्छन्, कसैले कवि भन्छन् । शान्त बस्न दिइरहेको छैन आफ्नै नामले । बाटोमा हिँड्दा एकोहोरो सोच्दै हिँड्न मन लाग्छ । तर, बाटोमा पुलको छेउमा सेल्फी खिच्ने भेटिन्छन् । त्यसले दिक्क लाग्ने नि त ! रोक्यो, दाइ भन्यो, सेल्फी भन्यो । कुन मुडमा, दुःखमा होइन्छ, अनुहार पनि किचिमिची हुन्छ । तर, मानिदिनै पर्‍यो । हाँसिदिनै पर्‍यो । त्यसले आफ्नो सोचको निरन्तरता टुट्ने । त्यो बोर हुन्छ । अनि चिया पसल छिर्‍यो, चिया माग्यो, खास आफैसँग ठुस्क्यो अनि मुड बनाएर हिँड्यो । यो नामले मलाई साह्रै डिस्टर्ब भएको छ । नाम इन्जोय नगर्नेमा पर्दोरहेछु म ।’

    भिडिओ : नविनमुनि स्थापित

  • सहीदहरूका सपना अझै पूरा नभएको प्रचण्डको स्वीकार (भिडिओ)

    सहीदहरूका सपना अझै पूरा नभएको प्रचण्डको स्वीकार (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरूले देखेको सपना अझै पूरा हुन नसकेको बताएका छन् ।

    कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पूरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ति सामाजिक रुपान्तरणको अभियानको आवश्यकतामा जोड दिए ।

    विभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको र संविधानमा अबको राज्य समाजवादउन्मुख हुने उल्लेख हुनु सानो विषय नभएको उनको भनाइ थियो ।

    ‘अहिले सिष्टमको कमजोरीका कारण समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभइ दिग्भ्रम र विचलनतिर गइरहेको छ’, प्रचण्डले भने । उनले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिबद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

    कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार-२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार-२०७९ महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति-तारा स्मृति पत्रकारिता पुरस्कार-२०७८ बलराम थापा र शक्ति-तारा स्मृति पत्रकारिता पुरस्कार-२०७९ लक्ष्मी पुनलाई प्रदान गरिएको थियो ।

    २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो ।

  • दक्षिण एसियाको साझा चुनौतीलाई सामना गर्न सामुहिकत्व आवश्यक छ: राष्ट्रपति (भिडिओ)

    दक्षिण एसियाको साझा चुनौतीलाई सामना गर्न सामुहिकत्व आवश्यक छ: राष्ट्रपति (भिडिओ)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एशियामा देखिएका रोग, बेरोजगारी जस्ता साझा चुनौतीलाई सामना गर्न सामुहिकत्व आवश्यक पर्ने बताएकी छन् ।

    शुक्रबार काठमाडौंमा नाक, कान, घाटी रोगका विषेशज्ञहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै उहाले दक्षिय एसियामा देखिएको साझा चुनौतीलाई सामान गर्न जनस्तरबाटै सहयोग पारस्पारिक भावना र सामुहिकत्व आवश्यक पर्ने बताएकी हुन् । उनले नेपालमा नाक, कान, घाटी रोग बिशेष उपचार ग्रामिण तहसम्म पुराउनुपर्ने ठूलो चुनौती रहेको धारणा राखिन् ।

    हरेक नागरिक समक्ष बिशेषज्ञ सेवा पुराउने राज्यको लक्ष्य हुनुपर्ने भन्दै उनले यसका लागि सरकारले आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गरिन् । सम्मेलनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सदस्य राष्ट्रहरुमाबीचमा जनस्तर र विज्ञसमुदायबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

    त्यस्तै उनले नाक, कान र घाँटीको निदान एवं उपचारमा विकास भएका उत्तम प्रविधिको बारेमा एकआपसमा सहकार्य हुनुपर्ने पनि बताइन् ।

     

  • सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित (भिडिओ)

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

    शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका हुन्।

    नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए भने नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

    बैठकमा सांसदहरु डा बेदुराम भुसाल, शेखरकुमार सिंह, डा विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र भगवती न्यौपानेले स्पस्टीकरण माग गरेकी थिइन् ।

    स्पस्टीकरण मागपछि जवाफ दिने क्रममा कानूनमन्त्री कोइरालाले सबै जिज्ञासा स्वाभाविक भएको बताउँदै जडीबुटी उत्पादन र प्रशोधनलाई सरकारले प्राथमिकतामा राखेको र आउँदो बजेटमा त्यसलाई समेटिने विश्वास दिलाइन् ।

    राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले यही जेठ १५ गते अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक बजेट प्रस्तुत हुनेहुँदा सांसदहरुलाई १५ मिनेट अघि नै आशनग्रहण गरिसक्न निर्देशन दिएका थिए । राष्ट्रियसभाको अर्को वैठक यही जेठ १५ गते दिउँसो ३ बजे बस्नेछ ।

  • आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा (भिडिओ)

    आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा (भिडिओ)

    रुपन्देही । नेपाल आयल निगमको रुपन्देही भलबारीस्थित डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार पौने १२ बजेको समयमा तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा लागलागी भएको थियो ।

    लागलागीबाट लु २ ख २६५६ नम्बरको ट्रयाङ्कर पूर्ण रुपमा क्षति र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।

    आगलागीबाट ट्रयाङ्करका हेल्पर तिलोत्तमा नगरपालिका ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको हात र खुट्टा जलेको छ ।

    घाइते चौधरीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको पौडेलले बताए । उनको अवस्था सामान्य रहेको छ । आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले नियन्त्रणका लिएका थिए ।

  • निर्वाचन आयोगको निर्णयविरुद्ध बाजुरामा आन्दोलन, कांग्रेस-एमाले दुवै असन्तुष्ट (भिडिओ)

    निर्वाचन आयोगको निर्णयविरुद्ध बाजुरामा आन्दोलन, कांग्रेस-एमाले दुवै असन्तुष्ट (भिडिओ)

    कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयप्रति विरोध सुरू भएको छ ।

    असार ३० गतेको स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधलीको कुरा उठेपछि भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुन: मतदान गर्ने निर्णय गरेको थियो । जनमतविरुद्ध निर्वाचन आयोग निर्णय गरेको भन्दै एमालेले अनिश्चितकालका लागि सडक अवरुद्ध गरेको छ ।

    अहिले बाजुरा प्रवेश गर्ने एक मात्र सडक साफे मार्तडी अवरुद्ध गरिएको एमाले बुढीगंगा नगर अध्यक्ष नरेन्द्र थापाले बताए । देशभर नभएको निर्णय आयोगले बुढीगंगा नगरपालिकामा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

    ‘देशका सबै स्थानमा भएजस्तै गरी यहाँ निर्वाचन भएको हो । मतगणना गर्नुपर्नेमा आयोगले पुन मतदान गर्ने निर्णय गर्‍यो यो गलत हो’ उनले भने ‘जनमतविरुद्ध निर्णय फिर्ता नहुँदासम्म हामी आन्दोलन जारी राख्छौँ ।’

    महान्यायाधिवक्ता खम्ब खातीका दाजु रङ्ग खाती कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका छन् । उनलाई विजयी गराउने उद्देश्यले निर्वाचन आयोगले निर्णय गरेको थापाको आरोप छ ।

    एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने भएको छ । एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज कर्ण थापाले आयोगको निर्णय न्यायोचित नभएको भन्दै अदालत जाने बताए ।

    ‘निर्वाचन आयोगको निर्णय विभेदपूर्ण छ । विवाद भएको देशका अन्य पालिका मतगणना हुने यहाँ किन नहुने’ उनले भने ‘हामी सर्वोच्चमा जान्छौँ । ’

    निर्वाचन आयोगको निर्णयप्रति एमाले मात्र होइन नेपाली कांग्रेस पनि रुष्ट भएको छ । कांग्रेस बाजुराका सभापति रामसिंह रावलले विवाद नभएको वडामा पनि पुन: मतदान गर्ने निर्णय गलत रहेको बताए ।

    यहाँका १० वडा मध्ये कांग्रेसले ४ र ७ नम्बर बडाको मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ । यहाँ ९९ प्रतिशत मतदान भएको थियो । यसबाट पनि बुथ कब्जा गरेको तथ्य पुष्टि हुने एमालेको जिकिर छ ।

    कांग्रेसले भने २,३ ५ र ९ वडाका बुथ एमालेले कब्जा गरेको आरोप लगाउँदै आएको छ । तर, १, ६ , ८ र १० नम्बरमा दुवै दलले शान्तिपूर्ण मतदान भएको बताइरहेका छन् ।

    शान्तिपूर्ण मतदान भएको वडामा पनि पुन: मतदान गर्ने निर्णय उपयुक्त नभएको कांग्रेस सभापति रावलले बताए ।

    ‘हामीले निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्न सक्दैनौँ’ उनले भने ‘हामीले भनेको भन्दा अन्य वडामा पनि पुन मतदान गर्ने कुरा लगत छ । शान्तिपूर्ण मतदान भएको वडामा पुन मतदान गर्नु हुँदैन ।’

    विवाद बढेर मतगणना हुन नसकेपछि विवादबारे अध्ययन गर्न निर्वाचन आयुक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो ।

    तर, बाजुरामा भने राज्य शक्तिको दुरुपयोग गरेर पुन: मतदान गर्ने निर्णय गरिएको भन्दै विरोध भइरहेको हो ।

  • आयल निगमको भलवारी प्रादेशिक डिपोभित्र २ वटा ट्यांकरमा आगलागी (भिडिओ)

    आयल निगमको भलवारी प्रादेशिक डिपोभित्र २ वटा ट्यांकरमा आगलागी (भिडिओ)

    काठमाडौं । नेपाल आयल निगमभित्र राखेको तेल बोक्ने २ वटा ट्यांकरमा आगलागी भएको छ । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा पेट्रोलियम पदार्थ बोकेको २ वटा ट्यांकरमा आगलागी भएको हो ।

    रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले २ वटा पेट्रोलियम पदार्थ बोकेको तेल ट्यांकरमा आगो लागेको जानकरी दिए । उनले भने, ‘ लु २ ख २६५६ पेट्रोल बोकेको गाडी पूर्ण क्षति भएको छ । डिजेल बोकेको गाडीमा भने सामान्य क्षतिमात्रै भएको छ । के कारणले आगलागी भएको हो भन्नेबारे जानकारी आएको छैन । अनुसन्धान भइरहेको छ ।’

    प्रहरीका अनुसार लु २ ख ५६८५ नम्बरको डिजेल बोकेको ट्यांकरमा सामान्य क्षति भएको छ ।

  • सुनिता डंगोलको अपिल- हारजितको मनोविज्ञान अन्त्य गरौं, आशाको दियो मर्न दिन्नँ (भिडिओ)

    सुनिता डंगोलको अपिल- हारजितको मनोविज्ञान अन्त्य गरौं, आशाको दियो मर्न दिन्नँ (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी नेकपा एमालेकी युवा नेता सुनिता डंगोलले मतपरिणामसँगै अब जितहारको मनोविज्ञानलाई अन्त्य गर्न अपिल गरेकी छन् ।

    उपमेयर निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्दै डंगोलले अब हारजितको मनोविज्ञान त्यागेर काठमाडौं महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तमा अघि बढ्ने बताएकी छन् ।

    डंगोलले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्न उनले आह्वानसमेत गरेकी छन् । उपमेयर डंगोलले आफू शासक होइन सेवक भएर काम गर्ने बताएकी छन् ।

    डंगोलले भनेकी छन्, ‘काठमाडौं महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने एजेण्डाप्रति विश्वास गरी यहाँका मतदाताले विजयी गराउनुभएको छ । म एमालेको तर्फबाट उम्मेदवार भएर निर्वाचनको मैदानमा थिएँ । अहिले तपाईहरुले मप्रति देखाएको अपार विश्वासका कारण उपमेयर पदमा निर्वाचित भएकी छु । तपाईंहरूले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहराका रुपमा लिएकी छु ।’

    उनले विपक्षमा मतदान गर्ने मतदाताहरूको समेत सम्मान गर्दै उनीहरूको विश्वास र भरोसलाई पूरा गर्ने बताएकी छन् । उपमेयर डंगोलले राजनीतिलाई फोहोरी खेल भन्दै निरास बनेका युवाहरूको मनोविज्ञानले पनि आशाको दियो बाल्दै युवामाथि भरोसा गरेकोले थप चुनौतीका रूपमा आफूले लिएकी बताएकी छन् ।

    उनले युवाको मनोविज्ञानलाई पनि आफूले प्रतिनिधित्व गर्ने र आशाको दियो मर्न नदिने बताएकी छन् ।

  • उद्योगमन्त्रीले ओलीविरुद्ध बोलेपछि एमालेको नियमापत्ति, संसद बैठक १५ मिनेटलाई स्थगित (भिडिओ)

    उद्योगमन्त्रीले ओलीविरुद्ध बोलेपछि एमालेको नियमापत्ति, संसद बैठक १५ मिनेटलाई स्थगित (भिडिओ)

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीविरुद्ध रोष्टमबाट अभिव्यक्ति दिएपछि एमालेका सांसदले आपत्ति जनाएका छन् ।

    एमालेका सांसदहरूले उठेर नियमापत्ति जनाउँदै आपूर्तिमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै अवरोध सिर्जना गरेपछि प्रतिनिधिसभाकाे बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरूलाई बस्न आग्रह गर्दा नमानेपछि बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरू हुनासाथ सभामुख सापकोटाले उद्योगमन्त्रीलाई सार्वजनिक महत्वको विषयमा बोल्न समय मागेको भन्दै समय दिएका थिए ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जानकारी दिन रोष्ट्रममा उभिएका बडूले बिहीबारको बैठकमा प्रमुख विपक्षी दलका नेताले आधारहीन आरोप लगाएको भन्दै आपत्ति जनाए । मूल्यवृद्धिबारे भ्रामक प्रचारको जवाफ दिन्छु भन्दै उभिएका बडूले प्रमुख प्रतिपक्ष दलका नेताले गरेका टिप्पणीप्रति सरकारको र मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको बताए । उनले ओलीको अभिव्यक्तिलाई अराजनीतिक, भ्रामक र खेदजनक टिप्पणी भनेपछि एमालेका सांसदहरू नियमापत्ती गर्दै उठेका थिए ।

    प्रमुख विपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराई र सांसद खगराज अधिकारीले उभिएर निमापत्ति जनाएका हुन् । अधिकारीले स्तरहीन गालीगलौज गर्न नपाइने नियम रहेको भन्दै मन्त्रीले बोलेको कुरा फिर्ता लिनुपर्ने बताए । उनले रेकर्ड खोलेर हेरियोस् भन्दै आपत्ति जनाएपछि पनि बडू अझ आक्रोशित बनेर आफू प्रधानमन्त्री भएको बेला कमिसनमा रमाएको व्यक्तिले सधैँ त्यस्तै देख्ने भन्दै अभिव्यक्ति दिएपछि एमाले सांसदहरू थप आक्रोशित भएका थिए । मन्त्रीले गम्भीर र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै जथाभावी बोल्ने अधिकार कमिसनखोर मन्त्रीलाई नभएको बताए ।

    एमाले सांसदहरूको विरोधपछि सभामुख सापकोटाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । भट्टराईले विशेष समय लिएर मन्त्रीले व्यक्त गरेका भाषा आपत्तिजनक र नियमावलीविपरीत रहेको भन्दै माफी मागेर बोली फिर्ता नलिए सदन अघि बढ्न नसक्ने बताए । विवाद जारी रहेपछि सहमति खोज्न बैठक स्थगित भएको हो ।

  • जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु (भिडिओ)

    जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

    निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेपश्चात साहले सञ्चारकमीसँग छोटो प्रतिक्रिया दिएका थिए । आफूलाई नगरबासीले अत्यधिक मतका साथ विजयी गराएकोमा उनले आभार व्यक्त गरे ।

    बालेनको भनाइ यस्तो थियो–

    हामीलाई एकदमै खुशी लागेको छ । नगरबासीले दिनुभएको यतिधेरै मायाप्रति आभारी छौं । यसलाई आफ्नो ऊर्जाको रुपमा लिएका छौं । हामीलाई विश्वास गर्नुभो र हाम्रो भिजन–एजेन्डा मनपराइदिनुभो । हामीले केही गर्न सक्छौं भनेर सम्पूर्ण नगरबासीले अत्यधिक मत दिएर यो ठाउँमा पुर्याउनुभएको छ । जिम्मेवारी दिनुभएको छ ।

    म आफ्नो १०० प्रतिशत दिनेछु । मैले आजसम्म गरेको कामलाई फोकस गरेर काठमाडौं महानगरपालिकामा मात्रै सम्पूर्ण समय दिनेछु । मेरो पूर्णक्षमतामा काम गर्नेछु । काठमाडौंबाहेक अरु कुनै काममा आफ्नो समय खर्चिने छैनँ । आफ्नो सम्पूर्ण क्षमता, ज्ञान र सीप काठमाडौंलाई व्यवस्थित, स्वच्छ, सफा र पूर्ण विकसित विश्वकै सबैभन्दा उत्कृष्ट सहर बनाउन उपयोग गर्नेछु ।

  • बालेनको विजय जुलुस सुरु, सुमन सायमी पनि मिसिए (तस्बिर/भिडिओ)

    बालेनको विजय जुलुस सुरु, सुमन सायमी पनि मिसिए (तस्बिर/भिडिओ)

    काठमाडौं । काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय जुलुसमा धेरै भोट ल्याएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि सहभागी भएका छन् । मतगणनास्थल राष्ट्रिय सभागृहबाट केहीबेरअघि जुलुस सुरु भएको हो ।

    जुलसमा हज्जारौं बालेनका समर्थकको सहभागिता छ ।

    राष्ट्रिय सभागृहबाट सुरु भएको र्याली भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ । त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।

    र्‍यालीमा सहभागीको संख्या ठूलो हुन सक्ने भएकाले काठमाडौंको सवारी आवागमन प्रभावित बन्ने देखिन्छ ।

  • महन्थ ठाकुरको आरोप: चुनावमा गठबन्धनले आतंक मच्चायो, मधेसमा फेरि विद्रोह हुनसक्छ (भिडिओ)

    महन्थ ठाकुरको आरोप: चुनावमा गठबन्धनले आतंक मच्चायो, मधेसमा फेरि विद्रोह हुनसक्छ (भिडिओ)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा ठाकुरले गठन्धनले मतदाता र विपक्षी दलका उम्मेदवारलाई धम्क्याउने र कुटपिट गर्ने जस्ता आतंक मच्चाएको दावी गरे ।

    ठाकुरले भने- चुनावमा मधेसका गाउँ गाउँमा गठबन्धनले आतंक मच्चायो । हाम्रा उम्मेदवारहरु कुट्ने र थुन्ने काम भयो । गठबन्धनको आतंक छायो । गठबन्धनलाई भोट नदिए पाँच वर्षसम्म जे पनि हुनसक्ने धम्की दिइयो । यो चुनावमा गठबन्धनको नाममा आतंक मच्चाइयो ।

    अध्यक्ष ठाकुरले सरकारले नागरिकता विधेयक फेरि पनि सहमतिका नाममा अड्काउने काम गरेको भन्दै यस्तै अवस्था रहे मधेसमा फेरि विद्रोह हुने चेतावनी समेत दिए ।

  • हर्क र बालेनहरूको विजय दलपतिहरूको सिण्डिकेटविरुद्ध जनविद्रोह हो- राजकिशोर यादव (भिडिओ)

    हर्क र बालेनहरूको विजय दलपतिहरूको सिण्डिकेटविरुद्ध जनविद्रोह हो- राजकिशोर यादव (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई दलपतिको संज्ञा दिँदै धरानदेखि धनगढीसम्म स्वतन्त्र उम्मेदवारहरूको विजय दलपतिहरूविरुद्धको विद्रोह हो भनेका छन् ।

    सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रतिनिधिसभामा पूर्वमन्त्री यादवले दलपतिहरुको अपारदर्शी र जनमतको बर्खिलाफका निर्णयविरुद्ध जनताले विद्रोहको संकेत दिएको बताए ।

    यादवले भने, ‘हर्क,बालेन र गोपीहरूको विजय दलपतिहरूलाई चुनौती हो । हामीले जे गरे पनि हुन्छ भनने दलपतिहरूको जनमतविरुद्धको हर्कत र अपारदर्शी निर्णयलाई धरान, जनकपुर, बर्दिबास,काठमाडौंजस्ता ठाउँबाट जनताले जवाफ दिएका छन् । सिण्डिकेटविरुद्धको विद्रोह हो यो ।

    यादवले सरकारको नीति तथा कार्यक्रम परम्परागतबाहेक केही नरहेको आरोप लगाए ।

  • काठमाडौंको मतगणना सकिन लाग्यो, अन्तिम वडामा कडा टक्कर (भिडिओ)

    काठमाडौंको मतगणना सकिन लाग्यो, अन्तिम वडामा कडा टक्कर (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब वडा नम्बर १४ को मात्रै मतगणना आउन बाँकी छ ।
    काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन विजयी भइसकेका छन् ।

    उनको विजयको औपचारिक प्रतिक्षा मात्रै बाँकी छ । मतगणना सकिन लाग्दा बालेन स्वयम् राष्ट्रिय सभागृहमा आएका छन् । उनका समर्थकहरुले विशाल र्‍याली निकाल्ने तयारी गरेका छन् ।

    हाल मतगणना जारी रहेको वडा नम्बर १४ मा १०५६२ मत खसेकोमा ९ हजार ४ सय ५२ मत गनिसकिएको छ । यस वडाको वडाध्यक्षमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । हालसम्म कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठले ३०९३ र एमालेकी रश्मी खड्काले ३०७४ भोट ल्याएकी छन् । राप्रपाका आनन्दप्रसाद श्रेष्ठको १०२६ भोट आएको छ ।

    कांग्रेसले काठमाडौंमा सर्वाधिक १८ वडा जितिसकेको छ । यस्तै १२ वटा वडा एमालेको भागमा परेका छन् । एउटामा नेकपा एसका उम्मेदवार विजयी भएका छन् ।

  • ओलीले प्रधानमन्त्रीलाई भने- ईपीजी प्रतिवेदन बुझ्नुस्, सदनलाई जानकारी गराउनुस् (भिडिओ)

    ओलीले प्रधानमन्त्रीलाई भने- ईपीजी प्रतिवेदन बुझ्नुस्, सदनलाई जानकारी गराउनुस् (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेपाल र भारतले गठन गरेको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले बनाएको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिवेदन बुझेर यसका अन्तरवस्तु संसदलाई जानकारी गराउन उनले सुझाव दिए ।

    संसदमा आज भाषण गर्दै ओलीले भने, ‘नेपाल र भारतका दुई प्रधानमन्त्रीले औपचारिक वार्तामा बसेर गठन गरेको इपिजी समूहले दुईपक्षीय सहमतिमा बनाएर दुई वर्षभन्दा बढी काम गरेर बनाएको रिपोर्ट बुझे बुझाएको छैन । के भनियो भने भारतले बुझेन । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुपर्‍यो नि ? नेपालले किन बुझ्दैन ? प्रधानमन्त्रीज्यू ईपीजी प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउनुस् ।’

    ईपीजी प्रतिवेदन सन् २०१९ मा नै तयार भएको थियो । ओली स्वयम् प्रधानमन्त्री पदमा हुँदा यो प्रतिवेदन बुझेका थिएनन् । अहिले उनले देउवालाई बुझ्न सल्लाह दिएका छन् ।

  • भ्रष्टाचार आरोप लगाउनेलाई ओलीको चुनौती- मैले सबै सम्पत्ति राज्यलाई दिएको छु, अरुले पनि दिएर देखाउन् (भिडिओ)

    भ्रष्टाचार आरोप लगाउनेलाई ओलीको चुनौती- मैले सबै सम्पत्ति राज्यलाई दिएको छु, अरुले पनि दिएर देखाउन् (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भ्रष्टाचारमा जोडेर प्रचार गर्नेहरुलाई संसदको रोष्ट्रमबाट कडा जवाफ फर्काएका छन् । आफूले आफ्नो व्यक्तिगत सबै सम्पत्ति राज्यको नाममा गरेको भन्दै उनले अरु नेताहरुलाई पनि यसै गर्न चुनौती दिए ।

    ओलीले प्रश्न गरे, ‘मैले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु । मैले राज्यका नाममा सम्पत्ति ल्याइदिन भ्रष्टाचार किन गर्नुपर्ने ? कुनै महानुभाव निस्किनुस् न राज्यका नाममा सम्पत्ति हस्तान्तरण गर्ने ? केपी ओलीलाई मुखभरिको जवाफ दिन भए पनि घोषणा गर्नुस् त ?’

    पूर्वप्रधानमन्त्रीहरुले आफूलाई घुमाइफिराइ छेड हान्ने गरेको भन्दै ओलीले उनीहरुलाई पनि आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न आग्रह गरे । ‘मैले सम्पत्तिमा लोभ गर्नुपर्ने केही छैन । अर्काको नाममा सम्पत्ति राखेर आफू बदनाम हुनुपर्ने कुनै कारण छैन । आफू नखानेले अर्कोलाई किन खुवाउँछ ?’ ओलीले भने ।

    भर्खरै एक विद्वानले ओलीसँग २०–३० अर्ब रुपैयाँ रिजर्भ बैंकमा भएको भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिएको आफूले हेरेको उनले बताए ।
    ओलीले भने, ‘त्यसको छानबिन गरियोस् र यदि मेरो नाममा कुनै पैसा भेटिए त्यो सबै तिनै विद्वानको नाममा गर्न म रिजर्भ बैंकलाई आग्रह गर्छु ।’

  • ओलीको प्रश्न- गठबन्धन सरकार एक चीन नीतिको पक्षमा छ कि छैन ? (भिडिओ)

    ओलीको प्रश्न- गठबन्धन सरकार एक चीन नीतिको पक्षमा छ कि छैन ? (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा पुगेको घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । उनले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरे ।

    संसद बैठकमा आज लामो सम्बोधन गर्ने क्रममा ओली सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरेका थिए । छिमेकी राष्ट्रहरूको संवेदनशीलता र सन्तुलित सम्बन्धमा सरकारले ध्यान दिन नसकेको उनको आरोप छ ।

    ओलीले प्रश्न गरे, ‘एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्छन् ? कसले अनुमति दियो ? किन अनुमति दियो ? छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारिता हुन्छ कि हुँदैन ? हाम्रो संविधानले भनेको तटस्थता यही हो ?’

    बातैपिच्छे सत्ता उम्किहाल्छ कि भन्ने चिन्ता नपाल्न ओलीले आग्रह गरे ।

    ‘एउटा सहायक विदेशमन्त्री आउँदा नै यो सरकार थुरथुर हुन्छ, तीन दिन कामज्वरो छुट्छ,’ उनले भने, ‘कहाँसम्मको लाचारी हो ? यस्तो सरकारले कसरी देशको स्वाधीनता रक्षा गर्छ ?’

    ओलीले थपे, ‘नेपालको एक चीन नीतिको पक्षमा छ कि छैन ? छिमेकीहरूसँग मुखले एउटा कुरा व्यवहारमा अर्को कुरा गर्न मिल्छ ? आफ्नो भूमि अर्को देशको विरुद्ध प्रयोग गर्न नदिने नीतिमा सरकार अडिक छ कि छैन ?’

    सरकारसँग राष्ट्रिय खण्डता र स्वाधीनताको संरक्षण गर्ने आँट नरहेको ओलीले बताए । वैदेशिक मामलामा सरकारले सिंगो राष्ट्रको प्रतिनिधित्व गर्न नसकेको उनको आरोप थियो ।

  • नीति तथा कार्यक्रमबारे ओलीको टिप्पणी- भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने खुलेआम घोषणा (भिडिओ)

    नीति तथा कार्यक्रमबारे ओलीको टिप्पणी- भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने खुलेआम घोषणा (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई शब्दजालको पुलिन्दा मात्रै भएको बताएका छन् । नीति तथा कार्यक्रमलाई उनले ‘चास्नीमा नडुबाएको जेरी’ को संज्ञासमेत दिए ।

    आजको संसद बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रमबारे टिप्पणी गरेका हुन् । उनले नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूसमेत उल्लेख गरेर आलोचना गरेका थिए ।

    ‘बुँदा नम्बर १३६ ले ढुक्कसँग भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ, होइन भने मलाई गलत सावित गर्नुस्,’ ओलीले दाबी गरे, ‘बुँदा नम्बर ७३ र ७७ हेरिसकेपछि बाँकी १४३ बुँदाको पनि सहजै अनुमान गर्न सकिन्छ ।’

    उनले यो सरकारसँग आफ्नो कुनै नीति नरहेको टिप्पणी गरे ।

    उनले भने, ‘नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो छ । राम्रा शब्दहरु खोजीखोजी राखिएको छ तर अर्थ खुल्दैन । यसको प्रस्थानबिन्दु नै स्पष्ट छैन । गुजुल्टिँदै गुजुल्टिँदै कहाँ जान्छ कहाँ ।’

    उनले नीति तथा कार्यक्रम नै अस्थिरताको घोषणापत्रका रूपमा आएको बताए । गठबन्धन सरकारको आफ्नो होइन कुनै प्रतिवेदन वा अवधारणापत्रलाई साभार गरिएको जस्तो भएको पनि उनको टिप्पणी थियो ।