Category: भिडियो

  • नेकपा एसको चुनावी समीक्षा- गठबन्धनप्रति हामी इमानदार भयौँ, अरूबाट विश्वासघात भयो (भिडिओ)

    नेकपा एसको चुनावी समीक्षा- गठबन्धनप्रति हामी इमानदार भयौँ, अरूबाट विश्वासघात भयो (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको भन्दै यसलाई पाँच दलमा छलफलमा विषय बनाउने भएको छ ।

    स्थानीय तह चुनावको समीक्षाका लागि शनिवार बसेको सचिवालय बैठकमा नेताहरूले आफूहरू गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको रिपोर्टिङ गरेको उपमहासचिव डा. गंगालाल तुलाधरले बताए ।

    गठबन्धनका अन्य दलबाट धोखा भएको अनुभव भएको भन्दै उनले देशभरी संगठन हुँदा पनि आफूहरूले गठबन्धनमा विश्वास गरेर थोरै ठाउँमा मात्र उम्मेदवारी दिँदा विश्वासघात भएको बताए ।

    बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै सातै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाएको छ । ती ती नेताले पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने तुलाधरले जानकारी दिए ।

    बैठकले प्रदेश १ मा जयन्ती राई,मधेस प्रदेशमा रामचन्द्र झा, वागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा महासचिव डा. बेदुराम भुसाललाई सूचना संकलनको जिम्मा दिएको छ ।

    बैठक आइतबार पनि जारी रहने र समग्र चुनावी समीक्षा सचिवालयमा भएर त्यसको प्रतिवेदन अन्य कमिटीमा छलफलका लागि पेस गरिने तुलाधरले बताए ।

  • चुनावी समीक्षापछि झलनाथले भने- गठबन्धनका अन्य दलहरूप्रति हामी बेहद असन्तुष्ट छौँ (भिडिओ)

    चुनावी समीक्षापछि झलनाथले भने- गठबन्धनका अन्य दलहरूप्रति हामी बेहद असन्तुष्ट छौँ (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनावमा भएको गठबन्धन र त्यसको परिणामबाट आफूहरू ‘बेहद असन्तुष्ट’ रहेको बताएका छन् ।

    चुनावको समीक्षा गर्न शनिवार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता खनालले पाँच दलीय गठबन्धनमा नेकपा एसमाथि अन्य दलले धोखा दिएको टिप्पणी गरे ।

    उनले भने- हामी गठबन्धन र त्यसको परिणामबाट असन्तुष्टमात्र होइन बेहद असन्तुष्ट छौँ । गठबन्धनको भूमिका पाँच दलका केही दलबाट भएन । यो कुरा हामीले पाँच दलीय बैठकमा पनि राखेका छौँ र अहिले समीक्षा गरिरहेका छौँ ।

    खनालले अहिले प्रमुख वामपन्थी नेताहरू नै वाम गठबन्धनको पक्षमा नरहेकाले तत्काल आउने चुनावमा कम्युनिस्ट पार्टीहरूको गठबन्धन हुने सम्भावना आफूले नदेखेको बताए ।

  • साइकल लेनबारे बालेनको टिप्पणी- अध्ययन नगरी हुन्न, गाडीसँगै कुदाउँदा दुर्घटना हुन्छ (भिडिओ)

    साइकल लेनबारे बालेनको टिप्पणी- अध्ययन नगरी हुन्न, गाडीसँगै कुदाउँदा दुर्घटना हुन्छ (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विस्तृत अध्ययन नगरी साइकल लेन बनाउन नसकिने बताएका छन् ।

    साइकल डे का अवसरमा शनिबार काठमाडौंको दरवारमार्गमा आयोजित कार्यक्रममा मेयर शाहले गाडी सँगसँगै साइकल कुदाउँदा दुर्घटना हुँने भन्दै अध्ययन गरेरमात्र निर्णय लिइने बताए ।

    बालेनले भने–हामी हप्ताको एक दिन साइकल डे बनाउँन सक्छांै कि,साइकलको लागि लेन बनाउँन सक्छौं अध्ययन गरेर के हुन्छ हेर्छु । अध्ययन नगरी केही हुन्न,गाडी सँगसँगै कुदाउँदा दुर्घटना हुनसक्छ,त्यहि भएर पहिले सबै कोणबाट अध्ययन गर्नुपर्छ । साइकल भनेको पेट्रोलियमको बचन पनि हो,यसले स्वस्थ पनि बनाउँछ ।

    मेयर साहले चुनाव लड्दा विभिन्न दलका मेयरका उम्मेदवारले प्रतिबद्धतापत्र दिएको भन्दै आफूलाई मेयर जित्छ भनेर नपत्याइएकाले सबैको प्रतिबद्धतापत्र हेर्न नपाएको बताए । उनले अरुका प्रतिबद्धतापत्र पनि हेरेर कार्यन्वयन गर्ने आश्वासन समेत दिए ।

  • माइतीघरमा आज पनि निजगढबासीको विरोध (तस्बिर/भिडिओ)

    माइतीघरमा आज पनि निजगढबासीको विरोध (तस्बिर/भिडिओ)

    काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको फैसलाविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन गरिएको छ ।

    विमानस्थल निर्माण विकास पक्षधरको आव्हानमा गरिएको प्रदर्शनमा कार्यपालिकाको काममा हस्तक्षेप नगर्न अदालतसमक्ष माग गरिएको छ । त्यस्तै वातावरणको नाममा विकास रोक्न नहुने प्रदर्शनकारीको भनाइ छ ।

    प्रदर्शनमा काठमाडौं बस्दै आएका निजगढबासी सहभागी थिए । सर्वोच्चको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

  • मूल्यवृद्धिको समाधान खोज्न समिति बनाउने आपूर्तिमन्त्रीको आश्वासन (भिडिओ)

    मूल्यवृद्धिको समाधान खोज्न समिति बनाउने आपूर्तिमन्त्रीको आश्वासन (भिडिओ)

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्यवृद्धिले परेको असरको दीर्घकालीन समाधानका लागि अध्ययन गरिने बताएका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउनेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको माग, आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्दै मूल्य समायोजनबाट समग्र अर्थतन्त्रमा परेको असर र समाधानका लागि दीर्घकालीन उपायबारे सुझाव दिन उच्चस्तरीय समिति गठन गरिने आश्वासन दिए ।

    पेट्रोलियम पदार्थको वितरणमा निजी क्षेत्रको सहभागिता आदि सम्बन्धमा सुझाव दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको पनि उनले जानकारी गराए । मन्त्री बडूले रुस र युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइ नेपालमा बाध्यात्मकरूपमा मूल्यवृद्धि गर्नुपरेको प्रष्ट्याए । नेपाल आयल निगमलाई १ जुन २०२२ मा प्राप्त मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर ३१ रूपैयाँ घाटा हुँदा पनि बिहीबार प्रतिलिटर १० रूपैयाँ घटाइएको उनको भनाइ छ ।

    मन्त्री बडूले विद्युतीय चुलो प्रयोगलाई अभियानका रूपमा विस्तार गर्नेलगायत सरकारको नीति तथा कार्यक्रमबारे अवगत गराउँदै ती कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

  • मूल्यवृद्धिमा सरकार रमिते बन्यो : गोकुल बास्कोटा (भिडिओ)

    मूल्यवृद्धिमा सरकार रमिते बन्यो : गोकुल बास्कोटा (भिडिओ)

    काठमाडौं । एमाले सांसद गोकुल बास्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाएका छन् ।

    शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकार व्यवस्थापक, निमयनकारी बन्न नसकेर रमिते बनेको आरोप लगाएका हुन् ।

    सरकार व्यवस्थापक पनि होइन, नियमनकाकर्ता पनि होइन, व्यापारी पनि होइन, सरकार रमिते,’ उनले भने, सरकारलाई थाहा थिएन, रुस–युक्रेन युद्ध भएको कुरा भरखर थाहा पायो ? सरकारले यो थाहा पाएन कि अमेरिकाले ४५ अर्ब डलरको तेल रुससितै किनेको भन्ने कुरा थाहा पाएन ।’

    कर्णालीमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने विषय नीति तथा कार्यक्रममा नपरेको भन्दै उनले पेट्रोलियम पदार्थ र खाद्यान्नमा सबैभन्दा बढी डलर विदेशिने भएकाले दुई चार महिनामै श्रीलंकाको हालतमा पुग्ने चेतावनी दिए ।

  • पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर नै मूल्यवृद्धिको कारक : मिनेन्द्र रिजाल (भिडिओ)

    पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर नै मूल्यवृद्धिको कारक : मिनेन्द्र रिजाल (भिडिओ)

    काठमाडौं । कांग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलिम पदार्थ आयातमा लगाइएका विभिन्न शीर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् ।

    ‘अहिले मात्र होइन पहिलेदेखि नै सरकारले पैसा चाहियो, फ्यूलमै कर लगाएको छ । पूर्वाधार, भन्सार, सडक मर्मतजस्ता कर पेट्रोलियम पदार्थमा लगाइएको छ,’ उनले भने, ‘मूल्यवृद्धिको गम्भीर रोग यो नै हो । रोग एकतिर छ, गम्भीर रोग छ । अहिले महँगी सिरियस रोग हो ।’

    पेट्रोलियम पदार्थमा लगाइएका करका विषयमा छलफल आवश्यक रहेको भन्दै उनले यसबारे अर्थ समितिमा छलफल गर्न प्रस्ताव गरे । साथै मूल्यवृद्धि नियन्त्रण गर्न उनले पनि सरकारसँग माग गरे ।

  • तालमेलकै कारण कांग्रेस, माओवादी र एसलाई फाइदा भयो : महामन्त्री शर्मा (भिडिओ)

    तालमेलकै कारण कांग्रेस, माओवादी र एसलाई फाइदा भयो : महामन्त्री शर्मा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।

    शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले तालमेल प्रभावकारी भएको बताए ।

    कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जित हासिल गरेको शर्माको भनाइ थियो । ‘सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै हल्ला भने धेरै भयो’, महामन्त्री शर्माले भने ।

    उनले मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै ५ वर्षे कार्यकालको सही उपयोगका लागि उनले निर्देशन पनि दिए ।

  • कालु पाँडेको समाधिस्थल पुगिन् राष्ट्रपति (भिडिओ)

    कालु पाँडेको समाधिस्थल पुगिन् राष्ट्रपति (भिडिओ)

    काठमाडौं । नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस मनाइएको छ । सोक्रममा उनको योगदानको स्मरण गरियो ।

    स्मृति दिवसमा चन्द्रागिरी नगरपालिका-१ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँडेको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिन् ।

    काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङले नेपालीकरणको विकासका क्रममा विभिन्न जातजातिहरूको समन्वय र संयुक्त योगदानको श्रृंखलालाई भुल्न नहुने र इतिहासको त्यही लयका आधारमा संघीय गणतन्त्र नेपाललाई सबल बनाउन सकिने बताए ।

    उनले काजी पाँडेले पुर्खाको गौरव र वीरगाथाको अनुभवबाट जातीय सद्भावसहित राष्ट्र निर्माणमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले जनता, सरकार र सेनाको समुच्चबाट नेपाल राष्ट्रको निर्माण र नवनिर्माण भएको तथा काजी पाँडेले त्यस मर्मलाई बलियोसँग आत्मसात गरेको बताए ।

    विक्रम सम्वत् १७७० मा जन्मिएका काजी पाँडेले १८१४ जेठ १९ मा कीर्तिपुरको आक्रमणका सहादत प्राप्त गरेका थिए ।

    पाँडेको वीरताको सम्मानमा नेपाली सेनाको सहयोगमा समाधिस्थलमा २०७८ सालमा कम्प्याउण्ड वाल, आइरन रेलिङ, सत्तल भवन निर्माण र स्तरोन्नति गरिएको छ । सो प्रतिष्ठान र नगरपालिकाको वडा नम्बर १ को संयोजनमा समाधिस्थलका सौन्दर्यीकरण कार्य गरिएको छ ।

  • विमान दुर्घटनामा मृत्यु भएकाको शव आफन्तलाई बुझाइयो (भिडिओ)

    विमान दुर्घटनामा मृत्यु भएकाको शव आफन्तलाई बुझाइयो (भिडिओ)

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमसकिएसँगै शव मृतकका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

    दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो। अस्पतालले शव हस्तारण गरेसँगै मृतकका आफन्तले शव बुझेर आफनो परम्परा अनुसार दाहसंस्कार गर्न लगिएको छ । शव हस्तान्तरण गर्दा अस्पतालमा आफन्तहरुको आँखा ओभानो थिए । शवहरु एम्बुलेन्समा राखेर लैजाँदै गर्दा सडकमा समेत मौनता छाएको थियो ।

    उनीहरुको शव सोमबार र मंगलबार दुई चरणमा काठमाडौं ल्याइएको थियो। आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदमा दुर्घटना भएको थियो । दुर्घटना भएको भोलिपल्ट मात्रै दुर्घटनाग्रस्त स्थितिमा जहाज भेटिएको थियो।
    दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए।

     

  • बजेट राम्रो आयो तर कार्यान्वयनमा आश्वस्त पार्नुपर्छ : सांसद थापा (भिडिओ)

    बजेट राम्रो आयो तर कार्यान्वयनमा आश्वस्त पार्नुपर्छ : सांसद थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले बजेटको प्राथमिकता र गति सही भएपनि कार्यान्वयन हुनेमा सरकारले आश्वस्त पार्न सक्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले बजेटका उद्देश्य र कार्यक्रम सकरात्मक भएपनि स्रोतको सुनिश्चितता कसरी हुन्छ भन्नेमा अर्थमन्त्रीले विश्वस्त बनाउनुपर्ने बताएका हुन् ।

    ‘स्रोत व्यवस्थान र क्षमता अभिवृद्धिको क्षेत्रमा हामीले के त्यस्तो नयाँ काम गर्दैछौं ? बजेटको आकारबारे हामीलाई कसरी आश्वस्त पार्नुहुन्छ ? अर्थतन्त्र ७ प्रतिशत बढ्दै गर्दा राजस्व संकलन २० प्रतिशतले कसरी बढ्छ ? स्रोत व्यवस्थापन बजेटको मुख्य चुनौती हो’, उनले भने ।

    थापाले व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित उत्पादन बढाउने कार्यक्रमलाई प्राथमिकता दिनु बजेटको सकरात्मक पक्ष भएको बताए ।

    ‘हाम्रो अर्थतन्त्र संकटको चुरो भनेको व्यापार घाटा हो । व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । त्यसले आयातबाट उत्पादनतर्फको प्रष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीज्यूले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ । म यसको स्वागत गर्दछु’, थापाले भने ।

    नेपालमा कृषि क्षेत्रमा लगानी र उत्पादकत्व नबढाएसम्म औद्योगिक उत्पादनमा समेत बढोत्तरी नहुने भन्दै थापाले कृषिको सन्दर्भमा बजेटले उपयुक्त दिशा समातेको बताए । आम जनता र निजी क्षेत्रलाई बजेटले आशावादी हुने अवसर दिएको भन्दै उनले पुँजीगत खर्च गर्ने क्षमता बढाउन सरकारले ध्यान दिनुपर्ने बताए ।

  • बजेटले आर्थिक संकट बढाउने प्रदीप ज्ञवालीको टिप्पणी (भिडिओ)

    बजेटले आर्थिक संकट बढाउने प्रदीप ज्ञवालीको टिप्पणी (भिडिओ)

    काठमाडौं । एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गरे ।

    बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकिर गरे ।

    अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकी बजेट ल्याएको ज्ञवालीको आरोप छ ।

    ‘बजेटले मूलभूत समस्या सम्बोधन गर्दैन’

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट मुलुकको अर्थतन्त्रका मूलभूत समस्याबाट भागेको बताएका छन् ।

    प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बोल्दै उनले प्रस्तुत बजेट मूलभूत समस्यालाई सम्बोधन गर्नुको साटो बाहिर-बाहिर पात-पात र सतह-सतहमा कुदेको बताए ।

    सांसद ज्ञवालीले समाजवादमा विश्वास गर्ने अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा आजको हाम्रो उत्पादक शक्तिको मुख्य बाधक के हो ? के कारणले हाम्रो उत्पादक शक्ति प्रस्फुटित हुन पाइरहेको छैन ? त्यो बाधक उत्पादन सम्बन्धलाई कसरी उत्पादक अनुकूल बनाउन सकिन्थ्यो ? भन्ने प्रश्नको उत्तरमा फोकस हुन जरुरी रहेको बताए ।

    ‘त्यसपछि आर्थिक वृद्धिमा केन्द्रित हुँदै त्यसको लाभ न्यायोचित तरिकाले जनताले पाउने गरी त्यसको सुनिश्चित त्यसको फ्रेमवर्क निर्माण गरिनुपर्थ्याे’, सांसद ज्ञवालीले भने, ‘आर्थिक नीतिमा एकखालको स्थिरता र पूर्वानुमान गर्न सकिने सम्भाव्यताको जरुरी हुन्थ्यो र स्वदेशी विदेशी लगानीकर्ताहरूमा एकखालको विश्वास जगाउनसक्ने, विश्वको अर्थतन्त्र कता गइरहेको छ त्यो बहावलाई ध्यानमा राखेर यो बजेट बन्नुपर्थ्याे ।’

    यसो गरिरहँदा २ वटा कुरामा अर्थमन्त्रीको ध्यान जान जरुरी आफूले महसुस गरेको सांसद ज्ञवालीले बताए । पहिलोमा वर्तमान विश्व अर्थतन्त्र प्रतिकूलतातिर धकेलिँदै गरेको, कोभिडको असर कायमै रहेको र दोस्रो अर्थतन्त्र चीन र अमेरिकाको बीचमा व्यापार युद्ध र तनावको स्थिति रहेको, विश्व व्यापार संगठन एकदमै निस्प्रभावी बनेको, रुस-युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा ठूलो प्रभाव पारेको, ऊर्जा तथा खाद्य संकट सघन बन्दै गरेको र जलवायु परिवर्तनका असरलाई ध्यान दिनुपर्ने अवस्था रहेको उनले बताए ।

    उनले भने, ‘यी सबै कुरालाई ध्यानमा राखेर बजेट बन्नुपर्थ्याे । त्यसका लागि यो प्रतिकूलतालाई त्यो कुशलतासहितको बजेट चाहिन्थ्यो । जुन अर्थमन्त्रीज्यूले ध्यान दिनुभएन ।’

    आन्तरिक रुपमा भयावह बन्दै गरेको व्यापार घाटा, जोखिमको विन्दुमा पुगेको विदेशी मुद्रा सञ्चिती, विकराल भइरहेको मूल्यवृद्धि, घट्दो उत्पादन र उत्पादकत्व, न्यून पूँजीगत खर्च, सार्वजनिक सेवामा जनताले भोग्ने गरेको सास्ती, जसमा बिचौलिया दलाल पूँजीको वर्चश्वलाई ध्यान दिएर बजेट निर्माण गर्नुपर्ने आवश्यकता आफूले महसुस गरेको सांसद ज्ञवालीले बताए ।

    ‘बाह्य अर्थतन्त्रका प्रभावहरूलाई सक्ड अब्जर्भर र आन्तरिक अर्थतन्त्रमा बाधक परेका चीजहरूको निकासमा आधारित बजेट हुनुपर्थ्याे । तर, भएन’, उनले भने, ‘बजेट पढ्दै जाँदा यी समस्याहरूमा निरपेक्ष, एकदमै बेखबर जस्तो र कतिपय अवस्थामा एकदमै संवेदनहीन जस्तो देखिनुभयो । मैले त्यस्तो अपेक्षा गरेको थिएन । त्यसैले मेरो निष्कर्ष यस बजेटले मूलभूत समस्याहरूलाई सम्बोधन गर्दैन ।’

  • नेपालगञ्जमा तनाव : राजा वीरेन्द्रको सालिक प्रहरीले बल प्रयोग गर्दै हटायो (भिडिओ)

    नेपालगञ्जमा तनाव : राजा वीरेन्द्रको सालिक प्रहरीले बल प्रयोग गर्दै हटायो (भिडिओ)

    बाँके । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।

    बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो । सोक्रममा प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ ।

    विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । आज राजतन्त्र पक्षधर युवाहरुले त्यहाँ नयाँ सालिक राखेपछि प्रहरीले हस्तक्षेप गर्‍यो ।

    झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

  • मेलम्ची खानेपानी हेडवक्सकाे मर्मत गरेर दिगाे रुपमा पानी आपूर्ति गर्न अध्ययन भइरहेको छ: मन्त्री चौधरी (भिडिओ)

    मेलम्ची खानेपानी हेडवक्सकाे मर्मत गरेर दिगाे रुपमा पानी आपूर्ति गर्न अध्ययन भइरहेको छ: मन्त्री चौधरी (भिडिओ)

    काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी हेडवक्र्सको मर्मत गरि दिगो रुपमा पानी आपूर्ति गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ ।

    बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले यस वर्ष वर्षालाई मध्यनजर गर्दै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको भन्दै यसको दिर्घकालीन समाधानका बारेमा अध्ययन भइरहको जानकारी दिए ।

    मन्त्री चौधरीले हेडवक्र्सको मर्मत गरि दिगो रुपमा पानी आपूर्ति गर्ने सम्बन्धमा हाल एसियाली विकास बैंकको सहयोगमा तयार भइरहेको अध्ययन प्रतिवेदनको आधारमा कार्ययोजना बनाई वर्षायाम सकिने बितिकै कार्यान्वयन गर्ने बताए ।

    उनले भने,‘वर्षायाममा आउन सक्ने सम्भावित बाढी तथा पहिरोबाट अरवौंको लगानीमा निर्माण भएको मेलम्ची खानेपानी आयोजनाका संरचनाहरुलाई सुरक्षित गर्न अति आवश्यक भएकाले मेलम्चीको पानी हाललाई बन्द गरिएको हो । यसबाट पर्न जाने असुविधा प्रति क्षमा माग्छौं ।उपत्यकामा खानेपानी अभाव हुन नदिन बागमति नदिबाट ४ करोड लिटर आपूर्ति गरिदै आएकोमा थप ६ करोड लिटर पानी पनि बागमतिबाटै र अपुग ७ करोड लिटर पानी स्थानीय सतहबाट जम्मा गरि बितरण गरिन तयारी भइरहेको छ ।’ काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लािग यांग्री, लार्के, सिस्नेरी महादेव खोला लगाएतका सम्भाव्य सवै श्रोतहरुबाट पानी उपलव्ध गराउनका लागि कार्यक्रमहरु क्रमश कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ छ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो ।

     

  • नेतृत्वलाई माओवादी युवा नेताको प्रश्न- ७५३ जना बालेन र हर्क साम्पाङ जन्मिए हाम्रो अवस्था के ? (भिडिओ)

    नेतृत्वलाई माओवादी युवा नेताको प्रश्न- ७५३ जना बालेन र हर्क साम्पाङ जन्मिए हाम्रो अवस्था के ? (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश विकल्पले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पहिलो दिनबाटै जनताको पक्षमा प्रभावकारी काम गर्न आग्रह गरेका छन् ।

    जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका स्थानीय तह विभागका उपप्रमुखसमेत रहेका विकल्पले जनप्रतिनिधिले जागिरे मानसिकता त्याग्नुपर्ने बताए ।

    ‘सत्तामा जानेहरू पार्टीका अनुहार हुन् । जागिरे मानसिकता त्यागेर काम गर्नुपर्‍यो । जनप्रतिनिधिका फोन नउठ्ने जनतासँग सम्पर्क नहुने गुनासा नबढोस्’, प्रकाशले भने, ‘एउटा निर्वाचन जित्ने ठूलो कुरा होइन जनपक्षीय काम गरेर भोलि मर्दा कति मलामी र कति क्रान्तिकारी धार निर्माण गर्छौं त्यो प्रधान हो ।’

    जनप्रतिनिधिलाई पहिलो दिनबाटै उत्कृष्ट काम गर्न सुझाव दिँदै उनले त्यसो हुँदा मात्र आगामी निर्वाचनमा थप सफल हुने बताए ।

    बालेन र हर्क साम्पाङको उदाहरण दिँदै उनले स्वतन्त्र उम्मेदवार उदाउनु चानचुने चुनौती नभएको बताए ।

    नेतृत्वप्रति प्रश्न गर्दै प्रकाशले भने, ‘आज दुईजना बालेन र हर्क साम्पाङ जन्मिएका छन् । भोलि ७५३ जना जन्मिए भने के हुन्छ हाम्रो अवस्था ?’

    उनले थपे, ‘गणतन्त्रमाथि धावा बोल्दा र राजेन्द्र लिङदेनको जनमत बन्दा सिंगो माओवादी केन्द्रजस्ता क्रान्तिकारी पार्टी र यसका सदस्यलाई दोष जानुपर्छ ।’

    प्रकाशले उठाएको विषयको प्रचण्डसमेत जवाफ दिन बाध्य भए । उनले स्वतन्त्रले देश चलाउने भ्रममा नपर्न भन्दै माओवादीकै एजेण्डा बोकेर उनीहरूले चुनाव जितेको बताए ।

  • पार्टीको गाइडलाइन फलो गर्छौं, संगठन नै हाम्रो शक्ति हो : सुनिता डंगोल (भिडिओ)

    पार्टीको गाइडलाइन फलो गर्छौं, संगठन नै हाम्रो शक्ति हो : सुनिता डंगोल (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर विकासका लागि आफूले ‘तीन स’ को नीति लिएको भन्दै त्यसमा नेकपा एमालेको घोषणापत्र अनुसार नै कार्यन्वयनमा अघि बढ्ने बताएकी छन् ।

    एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले काठमाडौं उपत्यकाभित्र एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले पार्टीको ‘गाइडलाइन’ अनुसार चल्ने बताइन् ।

    डंगोलले भनिन्–देशभर निर्वाचित जनप्रतिनिधिले पार्टीको गाइडलाइन फलो गर्नेछौं । संगठन नै हाम्रो शक्ति हो,सबै कमरेडहरुको साथ सहयोग र संगठनको बलमा हामी सपल हुने हो । तपाईहरु हुनुहुन्छ र हामी छौं । सहकार्य र सबैको साथ आवश्यक छ ।

    उनले तीन स अन्तर्गत सहमति,सहकार्य र सह अस्तित्वको सिद्धान्तलाई अघि सारेकी छन् ।

    तस्बिर: उमेश कार्की

  • नेपाली भूमिलाई १० भूउपयोग क्षेत्रमा बाँडियो (भिडिओ)

    नेपाली भूमिलाई १० भूउपयोग क्षेत्रमा बाँडियो (भिडिओ)

    काठमाडौं । सरकारले भूउपयोग नियमावलीमार्फत भूमिलाई १० भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग नियमावली जारी गर्दै भूमिलाई भूउपयोगको १० वटा क्षेत्रमा वर्गीकरण गरिएको जानकारी दिएकी हुन् ।

    भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र, आवसीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र लगाएतका १० क्षेत्रमा वर्गीकरण गरिएको उनले जानकारी दिइन् । मन्त्री श्रेष्ठले सरकारले गरेको वर्गीकरण चित्त नबुझेमा उजुरी दिनसक्ने व्यवस्थासमेत गरिएको जानकारी दिइन् ।

    सङ्घ, प्रदेश र स्थानीय तहले भूउपयोग योजना तयार पार्ने बताइन्। यस्तै भूउपयोग विनियावलीमा एउटा क्षेत्रमा वर्गीकृत भूमि अर्को प्रयोजनमा उपयोग गर्न नमिल्ने, भूउपयोग परिवर्तन गर्न कुनै व्यक्तिले निवेदन दिनसक्ने, उक्त निवेदन प्रदेश परिषद् गठन गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

    त्यस्तै नियमावलीमा काबु बाहिरको परिस्थितिबाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा ऐनमा उल्लेख भएबाहेक निर्धारित भूउपयोग क्षेत्र वर्गीकरण परिवर्तन गरेमा कसूर गरेको मानिने उल्लेख गरिएको छ । मन्त्री श्रेष्ठले भूमि बैंक खारेज नगरेको र हाललाई स्थगन मात्र गरिएको प्रष्ट पारिन् ।

  • कांग्रेसलाई प्रचण्डको चेतावनी- एमालेलाई जस्तै  ठेगान लगाउने दिन नआओस् (भिडिओ)

    कांग्रेसलाई प्रचण्डको चेतावनी- एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस् (भिडिओ)

    काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

    उनले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताए ।

    आफूले गठबन्धन कायम राखेरै जान चाहेको तर कांग्रेसमा पनि एमालेमा जस्तै अहंकारको संकेत देखिएको प्रचण्डको भनाइ थियो ।

    पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो । अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

  • स्वतन्त्रले देश चलाउँछन् भन्ने भ्रममा नपरौं, माओवादीजस्ताे कुरा गरेर बालेन र हर्कले भोट ल्याए : प्रचण्ड (भिडिओ)

    स्वतन्त्रले देश चलाउँछन् भन्ने भ्रममा नपरौं, माओवादीजस्ताे कुरा गरेर बालेन र हर्कले भोट ल्याए : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले अहिले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार दिएर जितेकाहरू अपवाद भएको बताए ।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएको हुन् । उनले काठमाडौं र धरानका स्वतन्त्र अलि फरक देखिएको, उनीहरूबाहेक अरु कोहीपनि स्वतन्त्र नभएको टिप्पणी गरे । काठमाडौं र धरानका स्वतन्त्रहरूले माओवादीको जस्तै कुरा गरेकाले जनताले भोट दिएको उनले बताए ।

    ‘दुईवटा मान्छे अलि भिन्न ढंगले आए । अरु कोही स्वतन्त्र ठानेको छैन मेले । उनीहरूले चाहिँ माओवादीको जस्तो कुरा गरेका छन् । त्यसैले उनीहरूलाई जनताले मत दिएको हो,’ प्रचण्डले भने ।

    उनले अहिले जितेका स्वतन्त्रहरू पनि कुनै न कुनै रूपमा पार्टीसँग समन्वय गरेर मात्रै अगाडि बढ्न सक्ने टिप्पणी गरे ।

    ‘अब पार्टी सिस्टम कमजोर हुने र स्वतन्त्रको राज्य चल्ने होइन । यिनीहरू अपवाद हुन् । बिग्रे पनि सप्रे पनि अबका धेरै दशकसम्म पार्टीहरूले नै राज गर्नेछन्,’ उनले भने ।

  • बजेटले जताततै चुनावमात्रै देख्यो, कांग्रेसलाई गलगाँड फाल्न हतार छ: सुरेन्द्र पाण्डे (भिडिओ)

    बजेटले जताततै चुनावमात्रै देख्यो, कांग्रेसलाई गलगाँड फाल्न हतार छ: सुरेन्द्र पाण्डे (भिडिओ)

    काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमाले सांसद सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेटले देशको आर्थिक संकटलाई ध्यान नदिएको बताएका छन् । संकट एकातिर बजेट अर्कोतिर भएको उनको टिप्पणी छ ।

    संसद बैठकको छलफलमा भाग लिँदै पाण्डेले बजेट बनाउँदा अर्थमन्त्रीले चुनावमात्रै देखेको बताए । उनले भने, ‘सरकारले यता पनि चुनाव उता पनि चुनाव देख्यो । आर्थिक संकटतिर उसको ध्यान नै गएन ।’

    पाण्डेले यसअघिको एमाले सरकारले ल्याएको बजेटलाई देखाएर उम्किन खोजिनु हास्यास्पद भएको बताए । उनले भने, ‘योभन्दा अगाडि तिमीहरुले ल्याएको बजेट पनि यस्तै त थियो नि भनिरहेको सुन्छु । तर, के हाम्रो सरकारको पालामा देशको अर्थतन्त्र यस्तै संकटमा थियो ? अहिलेको जस्तै विदेशी मुद्राको अभाव र मन्दीको अवस्था थियो ? ६ महिनादेखि हामी जुन संकटको चर्चा गरिरहेका छौं, त्योसँग यो बजेट मेल खान्छ ?’

    पाण्डेले बजेटले वृद्ध भत्ताको उमेर घटाए पनि त्यसको फाइदा गठबन्धनलाई नहुने टिप्पणी गरे । वृद्धभत्ता एमालेको ब्रान्ड बनिसकेको उनको भनाइ छ । ‘कांग्रेसको मेलमिलाप नीति, माअ‍ोवादीको जनयुद्धमा हाम्रो दाबी पुग्दैन । त्यसैगरी वृद्धभत्तामा अरु दलको दाबी पुग्दैन । उमेर घटाए पनि जनताले एमालेलाई नै धन्यवाद दिन्छन् । बरु वृद्धभत्ता ५ हजार पुर्‍याउने भन्नुभएको थियो । किन बढाउनुभएन भन्ने हाम्रो प्रश्न छ’, पाण्डेले भने ।

    कर्मचारीको तलब वृद्धि पनि न्यायोचिन नभएको उनले बताए । प्रतिशतमा बढाउँदा तल्लो र माथिल्लो तहका कर्मचारीबीच झन् दुरी बढ्ने उनको भनाइ छ ।

    गठबन्धन चाँडै चुनावमा जान चाहिरहेको आफूले सुनेको पाण्डेले बताए । ‘सुन्दैछु तुरुन्तै गठबन्धन चुनावमा जाँदै छ रे ! कांग्रेसलाई यो गलगाँडबाट कहिले छुट्कारा पाउने भन्ने हतार छ । चुनावपछि अरु दलहरु सतीदेवीको अंगपतन भएझैं सबै झर्नेछन् ।’

  • मुकुन्द रिजाललाई प्रश्नः बालेन्द्रलाई असफल पार्ने खेल सुरु गर्नुभएको हो ?  (भिडिओ)

    मुकुन्द रिजाललाई प्रश्नः बालेन्द्रलाई असफल पार्ने खेल सुरु गर्नुभएको हो ? (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठक हिजो प्रत्यक्ष प्रशारण भएपछि सामाजिक सञ्जालमा ठूलै हंगामा भए । मेयर बालेन्द्र साहलाई केही वडाध्यक्षले अप्ठेरोमा पार्न खोजेको भनेर धेरैले टिकाटिप्पणी गरेका छन् । सबैभन्दा बढी आलोचित छन् वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल ।

    यसअघि पनि एक कार्यकाल वडाध्यक्ष रहिसकेका रिजाल गत स्थानीय चुनावबाट लगातार दोस्रोपटक निर्वाचित बनेका हुन् । कांग्रेसबाट निर्वाचित उनले एमालेका लक्ष्मीरत्न तुलाधरलाई ६८९ मत हराएका थिए । हिजोको बैठकमा उनले प्रक्रियागत विषयमा विवाद उब्जाएका थिए ।

    नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकामा फोहोरमैला व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेसँगै बैठकमा तनाव उत्पन्न भएको थियो । साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई–दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बमोजिम प्रशासकीय प्रमुखले पढेर सुनाए र भोलीपल्ट नै कार्यदलको बैठक बस्ने बताए । त्यसमा रिजालले आपत्ति जनाएका थिए ।

    रिजालको प्रस्तुति बालेन्द्रका समर्थकहरुलाई चित्त बुझेन । उनीहरुले सामाजिक सञ्जालमा रिजालविरुद्ध तीव्र प्रतिक्रियाहरु जनाइरहेका छन् । तर, रिजाल भने यसलाई ठूलो विषय मान्दैनन् । नेपाल प्रेससँगको कुराकानीमा उनले आफूलाई प्रतिक्रियाहरुसँग मतलब नरहेको बताए । हिजोको बैठक नै ‘कहिँ नभएको जात्रा हाँडिगाउँमा’ उखान चरितार्थ भएको उनको टिप्पणी छ ।

    रिजालसँग गरिएको वार्तालापः

    हिजोको बैठकपछि सामाजिक सञ्जालमा निकै आलोचित भइरहनुभएको छ । तपाईंले प्रतिक्रियाहरु हेर्नुभएको छ कि छैन ?

    म जनताको काममा लागेको मानिस हो । कसले के लेख्छ भनेर हेर्दिन म । कर्ममा विश्वास गर्ने मान्छे हँु र कर्म गरिरहेको छु । मान्छेले आ–आफ्नो स्तरबाट लेख्ने हुन् । मैले त्यो स्तरलाई हेर्न भ्याएको छैन ।

    प्रत्यक्ष प्रशारण छ भन्ने थाहा पाउँदा पाउँदै किन आफूलाई संयमित राख्न सक्नुभएन त ?

    संयम भनेको आदतको पनि कुरा हुन्छ । मेरो जिउ पनि यस्तो छ, बोली पनि ठुलो छ । तपाईंहरुसँग बोल्दा पनि मेरो स्वर ठुलो छ नि । नानीदेखिको बानी हटाउन सकिदैन ।

    मानिसको रुप–रंग र आकारलाई हेर्ने होइन, विचारलाई हेर्ने हो । हामीकहाँ बैठक सञ्चालन गर्ने कार्यविधी भन्ने छ । त्यही कार्यविधी अनुसार चल्नु पर्ने थियो महानगरको बैठक । तर कुनै एनजीओको बैठक जसरी चलाउन खोजियो । मेयरले प्रस्तुत गर्नुपर्ने कुरा त्यहाँका कार्यकारीले प्रस्तुत गरेर मिटिङ नै अन्त्य गर्न लागेका थिए । दुनियाँमा कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो अवस्था भयो । विश्वले हेर्ने र नेपाललाई चिनाउने महानगरपालिकाको वैठकले देशकै अस्मितामाथि धब्बा लाग्ने हो कि भनेर चिन्ता लागेर बोलेको हुँ । हाम्रो बागमती प्रदेशले बैठक बस्ने जुन कार्यविधी बनाइएको छ, त्यसलाई एकपटक हेरिदिन प¥यो भनेर सुझाव मात्र दिएका हौँ हामीले ।

    तपाईं अघिल्लोपटक पनि वडाअध्यक्ष हुनुहुन्थ्यो । पाँच वर्ष केही काम नगरेर खेर फाल्नुभएको आरोप छ नि तपाईंमाथि ?

    म दाबाका साथ भन्छु, काठमाडौं महानगरपालिकाले गणतन्त्रपछिको पहिलो मेयर आदरणीय विद्यासुन्दर शाक्य पाएको थियो । उहाँ र हाम्रो टिम पार्टीभन्दा माथि उठेर जनताका समस्या र विकासमा जुट्यौ । हामीले ढल, खानेपानी र बाटो मात्र हैन धेरै कार्यविधी र नियमहरु बनायौँ । स्थानिय राजपत्र कार्यान्व्यनमा ल्याएका छौँ । काठमाडौं महानगरपालिकाको कार्यकारी बैठक कुन विधीबाट बस्ने भनेर किताब बनाएका छौँ । त्यसको अध्ययन गरिदिनु प¥यो ।

    अहिले आएको मेयरसा’बलाई यस्ता धेरै कुराको जानकारी भएन होला । त्यही कारणले हिजोजस्तो स्थिति आएको हुँदा हामी दुखित छौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक त्यसरी बस्ने होइन । त्यो बोर्ड बैठक होइन, कार्यपालिका बैठक हो । जसरी क्याबिनेटको बैठक बस्छ, त्यसरी नै कार्यपालिकाको बैठक बस्ने गर्छ । तर हिजो त्यो प्रक्रियागत हुन सकेन । त्यो हुन नसकेर काठमाडौंबासीहरुको आत्मा रोएको छ ।

    हामीले के सोचेका थियौ के भयो ? विधी, पद्दत्ति, प्रकृया र नेपाल सरकारको नियम–कानूनमा रहेर बैठक चलाइदिए राम्रो हुन्थ्यो भन्ने हो । मलाई संघीय मन्त्रालयबाट, स्थानीय निकायबाट फोन आइरहेको छ । होला प्रस्तुतिमा उठेर बोलियो होला, औंला ठड्याइयो होला । तर ती कुराहरु हामीले उभिएर नै बोलेका हौं । पहिला हामीलाई बस्ने ठाउँहरु छुट्टाइएको हुन्थ्यो । कार्यविधीमा हामीले बोल्ने समय तोकिएको हुन्थ्यो तर हिजो तीमध्ये केही पनि प्रकृया थिएन । भद्रगोल तरिकाले राखिएको थियो । त्यसले गर्दा नै त्यो स्थिति आयो । मेयर साबले पहिला बोर्ड बैठक र कार्यपालिका बैठक भनेको के हो पत्ता लगाउनुप¥यो ।

    हिजोको बैठकमा तपाईंको आपत्ति प्रक्रियामा मात्रै थियो कि प्रस्तावमा पनि ?

    हैन ! हामीले भनेका छौ मेयर साबलाई प्रक्रियागत भएन भनेर । प्रक्रियामा लिएर आउँ मेयरसा’ब, तपाईंले त्यही कुरा वाचन गर्नुस्, हामीले टेबुल ठटाएर पास गर्दिन्छौ भन्यौं । कार्यकारीज्युले पनि त्यो कुरा स्वीकारेर मसँग आएर ‘गल्ति भो मुकुन्दजी’ भनुसक्नुभएको छ ।

    मिटिङ अन्त्य गरेपछि भएका कुरा हुन् यी । कार्यकारीले बैठकको अन्त्य गर्दैन । उहाँले त टिपोट मात्र गर्ने हो । तर त्यहाँ त के देखियो भन्दा प्रशासकीय प्रमुख नै मेयरजस्तो देखियो ।

    स्वतन्त्र व्यक्ति मेयर बनेर आउँदा दलका प्रतिनिधिहरु असफल बनाउने खेलमा लाग्छन् भन्ने चर्चा छ । हिजोबाट तपाईं नै सबैभन्दा आलोचित हुनुहुन्छ । मेयरलाई असफल बनाउन नै लाग्नुभएको हो ?

    मैले पहिला नै भनेको छु । प्रशासकीय प्रमुखले पार्टीको कुरा गर्दा मैले भनेको छु, पार्टीभन्दा माथि उठेर काठमाडौंको निर्माण गर्नुपर्छ । हिजो हामी एउटा–एउटा पार्टीको झण्डा लिएर उठ्यौं होला । तर अब महानगरपालिकामा आएपपछ १ लाख ९० हजार मतदाता र ४० लाख जनताको जीवन समृद्ध बनाउन एकढिक्का भएर आउनुपर्छ भनेर भन्ने मान्छे म नै हुँ । तपाईंहरुले हिजोको क्लीप हेर्नुस् ।

    आफूभन्दा छोरा उमेरको व्यक्तिको अन्डरमा काम गर्नुपर्दा वडाध्यक्षहरुमा हिनतबोध भएको हो कि ?

    त्यो हुन सक्दैन । विचार कहिल्यै सानो–ठुलो हुँदैन । विपी २४ कि ३४ वर्षमा गृहमन्त्री हुनुभाथ्यो । उहाँभन्दा बुढा मन्त्री थिए । तर पद, विचार र प्रतिष्ठालाई उमेरले केही गर्दैन । नविनतम सोच हुनुपर्छ । छलाङ मार्ने सोच हुनुपर्छ । हामीले त्यसलाई आधार मानिन्छ । उमेरलाई आधार मान्ने हामीकहाँ चलन छैन ।

    हिजो पनि विद्यासुन्दर शाक्य ५६ वर्षको हुनुहुन्थ्यो । २–३ जना वडाध्यक्ष ८२ वर्षसम्मका थिए । त्यो त पदलाई मान्ने हो, उमेरलाई मान्ने हैन ।

    तपाईंको विचारमा महानगरको बैठक लाइभ प्रशारण गर्नु चाहिँ कत्तिको व्यवहारिक हो ? यसले गोपनियता भंग हुन्छ कि हुँदैन ?

    म आज एउटा कुरा गर्छु । हामीले पाँच घण्टाअगाडि गोपनियताको सपथ खायौँ, तर पाँच घण्टा पछाडि बैठक लाइभ गर्यौ । मेरो हैसियतभन्दा माथिको कुरा भएकोले यो प्रश्न तपाईंले कानुनविद्सँग सोध्नुहोला ।

    तपाईंको व्यक्तिगत धारणा त भन्न मिल्छ नि ?

    गोपनियताको सपथ केका लागि खुवाईन्छ ? महानगरमा प्रवक्ता हुन्छन्, प्रवक्ताले महानगरपालिकाको बैठकमा भएका कुराहरु बोल्ने परम्परा थियो । अब अहिले नयाँ परम्परा सुरु भएको छ । यसमा यो लाइभ गरिएकोमा म दुखी पनि छैन र कानुनी प्रकृयाले के भन्छ भन्ने विषयमा मलाई थाहा पनि छैन ।

    नयाँ मेयरले अघि सारेका योजनाहरु कस्ता छन् ? रेस्टुरेन्टको शौचालय सार्वजनिक बनाउने प्रस्ताव कार्यान्वयन होला ?

    हामीले विगतमा बनाएका स्मार्ट शौचालयलाई प्रयोगमा ल्याउन पर्छ । नेपाल सरकारले सार्वजनिक ठाउँमा पेट्रोल पम्पहरुमा शौचालय बनाउनुपर्छ भनेको छ । त्यससँगै रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय मलाई सह्राहनीय नै लागेको छ । तर आममानिस र रेस्टुरेन्ट सञ्चालकले कसरी सहकार्य गर्छन् भन्ने चाहिँ हेर्न बाँकी छ । त्यसलाई त स्वागतयोग्य भनेर पास नै गर्‍यौं नि ।

    वडाहरुमा कांग्रेसको बहुमत छ । तपाईंहरुले गुटबन्दी सुरु गर्ने त होइन ?

    हैन तपाईंहरु कस्तो भ्रममा हुनुहुन्छ ? म काठमाडौं महानगरपालिकामा एमालेको बहुमत हुँदा पनि विद्यासुन्दर शाक्यसँग सहकार्य गरेको व्यक्ती हुँ । हामी कांग्रेसका प्रतिनिधीहरु काठमाडौं महानगरपालिकाको समस्यासँग जुध्न गएका हौँ । हामीले एउटा पार्टीको झण्डालाई लिएर चुनाव लडे पनि काठमाडौंबासीको हितको लागि त्यहाँ गएका हौँ ।

    यहाँका समस्या समाधान भएमा जनताको जीवनमा आमुल परिवर्तन हुने हुँदा हामी पार्टीभन्दा माथि उठेर मेयर सा’बले नयाँ किसिमका आयोजना ल्याउनु भयो भने हामी सहयोग गर्न तयार छौँ । हिजो सत्तापक्ष र प्रतिपक्ष हुँदा त हामीले सहयोग गर्यौं भने आज त कुनै पार्टीबिना नै स्वतन्त्र उम्मेदवारको रुपमा आउनु भएको मेयरलाई सहयोग नगर्ने कुरा हुँदैन । तर रेल चलाउनलाई लिग नै चाहिन्छ, सडकमा रेल गुड्दैन भन्ने मेयर साबले बुझदिन पर्यो‍ ।

  • चौदण्डीगढी नगर कार्यपालिकामा एमाले उम्मेदवारहरू निर्विरोध (भिडिओ)

    चौदण्डीगढी नगर कार्यपालिकामा एमाले उम्मेदवारहरू निर्विरोध (भिडिओ)

    उदयपुर । उदयपुरको चौदण्डीगढी नगर कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार निर्विरोध भएका छन् ।

    चौदण्डीगढीको ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका सदस्य गठन गरेको छ । नगरको कार्यपालिका सदस्य निर्वाचनको लागि जेठ १५ गते मनोनयन दर्ता र आज चुनावको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उमेदवारको मात्र मनोनयन दर्ता भएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

    मंगलबार चौदण्डीगढी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर निर्विरोध निर्वाचित भएका कार्यपालिका सदस्यको नाम निर्वाचन अधिकृत महेश दाहालले सार्वजनिक गरे ।

    निर्विरोध निर्वाचित हुनेहरूमा दलित वा अल्पसङ्ख्यक सदस्य पदमा उदयराज भुजेल, माधव सार्की र जयकुमार राई छन् । महिला सदस्यमा स्मृती तोलाङ्गी सुयल, तिलावती राई, शुष्मा राई, जानकीदेवी चौधरी र शान्तीदेवी चौधरी छन् ।

    निर्वाचित भएका सम्पूर्ण नगर कार्यपालिका सदस्यहरूलाई निर्वाचन आयोगले प्रमाण पत्रसमेत आजै हस्तान्तरण गरेको थियो भने नगर प्रमुख कालुमान लामाले उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।

  • निश्चित वर्ग र व्यक्तिलाई हेरेर बजेटमा कर हेरफेर भयो : सांसद दाहाल (भिडिओ)

    निश्चित वर्ग र व्यक्तिलाई हेरेर बजेटमा कर हेरफेर भयो : सांसद दाहाल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले नयाँ बजेटमा सरकारले केही वर्ग, व्यक्ति र संस्थालाई फाइदा पुर्‍याउन कर हेरफेर गरेको टिप्पणी गरेका छन् ।

    आर्थिक वर्ष २०७९/८० को बजेट छलफलका क्रममा अर्थसमितिका सभापतिसमेत रहेका दाहालले अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा पनि प्रतिमहिना १० प्रतिशत विकास गर्छु भनेको तर अहिलेसम्म ३३ प्रतिशत मात्रै खर्च भएको बताए ।

    ‘अर्थमन्त्रीले कामभन्दा पनि कुरा मात्रै ठूलो गर्ने गर्नुभएको छ । आगामी वर्षका लागि आएको बजेट पनि राम्रो देशको वैदेशिक मुद्रा सञ्चिती थोरै भएको विषय पनि बजेटले देखेन’, दाहालले भने, ‘यसले अझ समस्या वृद्धि गर्छ । करमा मात्रै छुट दिएर उद्योग स्थापना वृद्धि नहुने र विदशी लगानीमा पनि वृद्धि हुँदैन ।’

    ८ प्रतिशत आर्थिक वृद्धि यो बजेटमा सम्भव छैन । यो बजेटले मूल्य वृद्धि गर्ने र जतना थप मारमा पर्ने उनको भनाइ थियो ।

  • तारा एयरको विमान दुर्घटना: थप १२ जनाको शव काठमाडौं ल्याइयो (भिडिओ)

    तारा एयरको विमान दुर्घटना: थप १२ जनाको शव काठमाडौं ल्याइयो (भिडिओ)

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ ।

    यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो । दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेबाट आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइएको थियो । त्यहाँबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

  • अर्थमन्त्रीलाई योगेशको प्रश्न- कमिसन नपाएर शिक्षा र स्वास्थ्यको बजेट नबढाएको हो ? (भिडिओ)

    अर्थमन्त्रीलाई योगेशको प्रश्न- कमिसन नपाएर शिक्षा र स्वास्थ्यको बजेट नबढाएको हो ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले ‘कमिसन नआउने भएकै कारण शिक्षा र स्वास्थ्यमा बजेट नबढाइएको हो ?’ भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले विगतमा मन्त्री पदमा नरहँदा शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने टिप्पणी गरेकोबारे ध्यानाकर्षण गराएका हुन् ।

    ‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट नबढ्ने गरेको बताउनुभएको रहेछ । अहिले पनि शिक्षा र स्वास्थ्यमा बजेट उल्लेख्य बढाइएको छैन । अर्थमन्त्रीज्यूलाई मेरो गम्भीर प्रश्न छ, के कमिसन नआउने भएकाले शिक्षा-स्वास्थ्यको बजेट नबढाउनुभएको हो ?’, भट्टराईले प्रश्न गरे ।

    यसपटकको बजेट गन्तव्यहीन भएको टिप्पणी गर्दै भट्टराईले बजेटले मुलुकको हित नगर्ने बताए । ‘यो चौबाटोमा उभिएको बजेट हो । गन्तव्य प्रष्ट नभएकोले यो कतै पनि जाँदैन । यो अल्मलिएर चौबाटोमै बस्छ र यसबाट मुलुकलाई कुनै हित हुनेवाला छैन’, उनले भने ।

    प्रतिनिधिसभामा २ घण्टा ५५ मिनेटसम्म शान्तिपूर्वक बजेट वाचन गर्नु नै अर्थमन्त्रीको सफलता भएको व्यंग्य भट्टराईले गरे ।

    ‘यसपटक अर्थमन्त्रीज्यूले बोक्नुभएको बजेट वक्तव्यको ब्रिफकेश तोडफोड भएन । संसदमा माननीय सदस्यहरु बस्ने कुर्सी भाँचिएनन्, संसदका माइकहरु भाँचिएनन् र अर्थमन्त्रीले शान्तपूर्वक २ घण्टा ५५ मिनेट लगाएर बजेट पढ्न पाउनुभयो । सायद हाम्रो लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व हुँदै गएको छ’, भट्टराईले भने ।

  • कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी काम हो- पूर्वअर्थमन्त्री पुन (भिडिओ)

    कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी काम हो- पूर्वअर्थमन्त्री पुन (भिडिओ)

    काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले बजेटमार्फत कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताएका छन् ।

    प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पुनले कृषि क्षेत्रमा आमूल परिवर्तनका कार्यक्रम ल्याएकोमा अर्थमन्त्रीलाई धन्यवाद पनि दिए ।

    ‘अर्थतन्त्रको संरचनागत परिवर्तन गर्ने विषयमा बजेटले प्रयास थालेको छ । कृषिमा ३२ प्रतिशत बजेट बढाइएको छ । यो अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम हो’, पुनले भने ।

    विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीतिलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव पुनले दिए ।

    बजेटलाई लाई ‘गठबन्धनको घोषणापत्र’ का रुपमा प्रतिपक्षले व्याख्या गरेको भन्दै पुनले प्रतिपक्षले भनेको सत्य भए नेपालका प्रहरी, सैनिक, कर्मचारीदेखि ज्येष्ठ नागरिक र किसानसम्म सबैले गठबन्धनलाई साथ दिने बताए ।

  • महानगर कार्यपालिकाको पहिलो बैठकमै तनाव, बालेन्द्रलाई वडाध्यक्षले भने- प्रक्रिया सिकेर आउनुस् (भिडिओ)

    महानगर कार्यपालिकाको पहिलो बैठकमै तनाव, बालेन्द्रलाई वडाध्यक्षले भने- प्रक्रिया सिकेर आउनुस् (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा विवाद उत्पन्न भएको छ । फोहोरमैलाको समस्या समाधानका लागि कार्यदल बनाउने निर्णय लिने क्रममा केही वडाध्यक्षले विवाद झिकेका हुन् ।

    महानगर प्रमुख बालेन्द्र साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई-दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । त्यही बमोजिम बैठकको निर्णय भन्दै प्रशासकीय प्रमुखले केही बुँदा पढेर सुनाए । फोहोर व्यवस्थापनको बारेमा गठिन कार्यदलको बैठक भोलि नै बिहान बस्ने भनियो । त्यसका लागि एमाले र कांग्रेसबाट दुई–दुईजनाको नाम दिन आग्रह गरियो । लगत्तै १६ नम्बरका वडाध्यक्ष मुकुन्द रिजालले आपत्ति जनाए ।

    मेयरको प्रस्तावलाई छलफलबिनै पारित गरिएको भन्दै उनले विरोध जनाएका थिए । पार्टीगत आधारमा भागबण्डा गरिनु ठिक नभएको उनको भनाइ थियो । रिजालले बोल्दा केही वडाध्यक्षले टेबुल ठटाएर समर्थन जनाए ।

    ‘यो पार्टीको एक जना त्यो पार्टीको एक जना भाग लगाउने को हो तपाईं ?’ रिजालले चुनौति दिए, ‘यो तुरुन्तै फिर्ता लिनुस् ।’
    त्यसपछि मेयर बालेन्द्रको अनुमति लिएर महानगरका प्रशासकीय प्रमुखले उक्त निर्णय फिर्ता लिइएको बताए ।

    त्यसपछि केही वडाध्यक्षले बैठकमा निर्णय गर्ने प्रक्रियाबारे सिकेर आउन आग्रह गरे ।

    एक वडाध्यक्षले भने, ‘बैठकको प्रक्रिया सिक्नुस । कसरी प्रस्ताव गरिन्छ, कसरी निर्णय गरिन्छ भन्ने अध्ययन गर्नुस् । तपाईंले पार्टीको नाम लिइरहनु आवश्यक थिएन ।’

    वडाध्यक्षहरु आक्रामक बन्दा मेयर बालेन्द्र भने संयमितरुपमा प्रस्तुत भए । उपमेयर सुनिता डंगोल पनि शान्त भएर बसिरहिन् । पछि मेयर र उपमेयरबीच केही साउति भएको देखियो । सम्भवत सुनिताले बालेन्द्रलाई केही बोल्न सल्लाह दिइन् ।

    बैठककाे अन्तिममा बाेल्दै मेयर बालेन्द्रले  आफू कसैलाई पनि पार्टीगत आधारमा हेर्ने पक्षमा नरहेको स्पष्टीकरण दिए । उनले यो प्रस्ताव मात्रै भएको र निर्णय भइनसकेको बताएर विवाद थामथुम गरे ।

  • निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण मेटिएको छ, पक्राउ गरेरै छाड्छौं : प्रधानमन्त्री देउवा (भिडिओ)

    निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण मेटिएको छ, पक्राउ गरेरै छाड्छौं : प्रधानमन्त्री देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

    चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका हुन् ।

    ‘बलात्कारजस्तो घटनामा अपराधीलाई क्षमा दिन सकिँदैन, ढिलो-चाडो अपराधीलाई कानूनी कठघरामा उभ्याइने छ । महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको छ’, प्रधानमन्त्री देउवाले भने ।

    संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको उनको भनाइ छ ।

    प्रधानमन्त्री देउवाले लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिइ कार्य गर्दै आएको बताउँदै आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने पनि बताए ।

    कार्यक्रममा महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

  • समाजवादको लक्ष्यमा पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने नेकपा एसको जोड (भिडिओ)

    समाजवादको लक्ष्यमा पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने नेकपा एसको जोड (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादको लक्ष्यमा पुग्नेगरी बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    सिंहदरबारमा सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटमा कतिपय राम्रा कुरा आएको भन्दै समाजवादको लक्ष्यमा पुग्नेगरी बजेटको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो ।

    सम्मानीत नेता झलनाथ खनालका अनुसार बजेटमा देखिएका कमीकमजोरीलाई हटाएर समृद्ध बनाउनुपर्ने निष्कर्ष पनि संसदीय दल बैठकमा गरिएको छ ।

    आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि पेस गरेको बजेटमाथि बैठकमा समीक्षा गरिएको थियो ।

  • पदभार सम्हाल्दै सुनिताले भनिन्- जो जहाँबाट आएपनि टिम स्प्रिटमा काम गर्छौं (भिडिओ)

    पदभार सम्हाल्दै सुनिताले भनिन्- जो जहाँबाट आएपनि टिम स्प्रिटमा काम गर्छौं (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पदभार सम्हालेकी छन् । राष्ट्रिय सभागृहमा सपथलगत्तै जिम्मेवारी सम्हाल्दै उनले आफ्नो कार्यकालमा पवित्र र स्वच्छ काम गर्ने बाचा गरिन् ।

    फरक-फरक दलबाट निर्वाचित जनप्रतिनिधि अझ स्वतन्त्रबाट आएका मेयर बालेन्द्र साहसँग कसरी काम गर्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा उपमेयर डंगोलले पारदर्शी र पारस्परिक आचरणका साथ काठमाडौंबासीको हक, हित र जीवन सहज बनाउन काम गर्ने बताइन् ।

    ‘जो जुन दलबाट आएपनि टिम स्प्रिटमा काम गर्नुपर्छ । व्यक्तिभन्दा पनि संस्थाको सफलता महत्वपूर्ण हुन्छ । महानगर सफल भयो भने हामी सबै सफल हुने हो । तब मात्र हामीलाई दिएको मतको सम्मान हुन्छ’, उनले भनिन् ।

    यो वा त्यो भनेर राजनीतिलाई फोहोरी खेल नबनाउने भन्दै उपमेयर डंगोलले सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तअनुसार आफू अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

    स्वच्छ, सुन्दर, हराभरा, जीवन्त र सांस्कृतिक काठमाडौंका लागि लाग्ने काम गर्ने उनको दोहोर्‍याइन् ।

  • पदभार ग्रहणमा मेयर बालेन्द्रको पत्रकारसँग ‘गरम’ सवालजवाफ (भिडिओ)

    पदभार ग्रहणमा मेयर बालेन्द्रको पत्रकारसँग ‘गरम’ सवालजवाफ (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको कुर्सीमा बसेका छन् बालेन्द्र साह । आज उनले मेयर पदको सपथग्रहण र पदभार ग्रहण गरे ।

    मेयर पदको सपथग्रहण गर्दा माला लगाउन इन्कार गरेर बालेन्द्रले फरक सन्देश दिन खोजे । उनले दुई दिनअघि ओखरपौवा पुगेर काठमाडौंको फोहोर समस्या समाधान नगरेसम्म माला नलगाउने र उत्सव नमनाउने घोषणा गरेका थिए । आफ्नो उक्त निर्णयलाई उनले सपथग्रहणमा कार्यान्वयन गरे ।

    सपथग्रहणलगत्तै महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्न पुगे बालेन्द्र । त्यहाँको माहोल भने अलिक गरम थियो । उनको कार्यकक्षभित्र क्यामेराहरू अटाइनअटाइ थिए । पहिलो निर्णयमा हस्ताक्षर गर्नका लागि बालेनलाई एउटा फाइल तेर्स्याइयो । उनले फाइलमा सरक्क सही गरेनन् । आफैंले केही लेखेर हस्ताक्षर गरेको देखियो ।

    पछि महानगरका कर्मचारीले बालेन्द्रको पहिलो निर्णय जानकारी गराए, ‘आजै नगर कार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने । बालेन्द्रले आफ्नो चुनावी अभियानका क्रममा नै काठमाडौंका हरेक बैठक लाइभ गर्ने बाचा गरेका थिए । त्यसलाई पनि व्यवहारिक कार्यन्वयनमा लैजाने छनक उनले पहिलो बैठकबाटै दिएका छन् ।’

    पदभार ग्रहणका क्रममा पत्रकारसम्म बालेनको सवालजवाफ भएको थियो । पत्रकारको प्रश्नमा उनले कडा जवाफ फर्काए ।

    बालेन्द्रलाई एक पत्रकारले पहिलो प्रश्न सोधे, ‘तपाईं अहिले महानगरपालिकाको भाडाको घरमा हुनुहुन्छ, महानगरपालिकाको आफ्नै भवन कहिले बन्छ ?’

    भर्खरै कुर्सीमा बस्नासाथ सोधिएको प्रश्न बालेनले रुचाएनन् ।

    उनले भने, ‘हजुरले हाम्रो कुरा कहिले बुझ्नुहुन्छ ? हामीले भनिसकेका छौं, काठमाडौंको फोहोर समस्या समाधान नभएसम्म अरु कुरामा ध्यान दिँदैनौं । हाम्रो पहिलो प्राथमिकता फोहोरको समाधान हो ।’

    अर्का पत्रकारले सोधे, ‘यसका लागि समय चाहिँ कति लाग्ला ? तपाईंको यो काम मात्रै त छैन नि ?’

    यो प्रश्नमा केही आक्रोशित देखिए बालेन्द्र । उनले प्रतिप्रश्न गरे, ‘पत्रकारले हाम्रो कुरा बुझ्न कति समय लाग्छ ? त्यो चाहिँ भनिदिनुस् न त ?’

    बालेन्द्रले थपे, ‘सबै चिजको प्रक्रिया हुन्छ । कुनै काम एक दिनमा सकिन्छन् । कुनैलाई १० दिन १५ दिन लाग्छ । हाम्रो अहिलेको प्राथमिकतामा फोहोर व्यवस्थापन छ ।’

  • उपमेयरको सपथग्रहणः बालेनले नेपालीमा पढे, सुनिताले नेपाल भाषामा (भिडिओ)

    उपमेयरको सपथग्रहणः बालेनले नेपालीमा पढे, सुनिताले नेपाल भाषामा (भिडिओ)

    काठमाडौं । काठमाडौंकी उपमेयर सुनिता डंगोलले नेपाल भाषामा सपथग्रहण गरेकी छन् । राष्ट्रिय सभागृहमा उनले मेयर बालेन्द्र साहबाट उनले सपथग्रहण गरेकी हुन् ।

    मेयर साहले सपथको व्यहोरा नेपालीमा पढेका थिए भने त्यसलाई सुनिताले नेपालभाषामा उल्था गरेर वाचन गरेकी थिइन् । यसअघि मेयर बालेन्द्रले नेपाली र नेपाल भाषा दुवैमा सपथ खाएका थिए ।

    काठमाडौंका मुख्य निर्वाचन अधिकृतले उनलाई नेपालीमा सपथ गराएका थिए भने पछि बालेन्द्र आफैंले त्यसलाई नेवारीमा वाचन गरेका थिए ।

  • सपथग्रहणमा माला लगाउन मानेनन् मेयर बालेन्द्रले, नेवारीमा पनि खाए सपथ (भिडिओ)

    सपथग्रहणमा माला लगाउन मानेनन् मेयर बालेन्द्रले, नेवारीमा पनि खाए सपथ (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सपथग्रहण समारोहमा माला लगाउन अस्वीकार गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित सपथग्रहण समारोहका क्रममा उनले माला लगाउन नचाहेका हुन् ।

    साह मेयर निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा पुगेका थिए । त्यहाँ उनले काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा गरेका थिए । सोही बाचामा अडिग रहँदै उनले आज सपथग्रहणमा माला लगाउन नचाहेका हुन् ।

    मुख्य निर्वाचन अधिकृतले सबै जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्दै माला लगाइदिएका थिए । कार्यक्रममा उपस्थित बालेनकी पत्नी सविना काफ्लेले भने माला लगाएकी थिइन् ।

    बालेनले नेपाली र नेवारी भाषा (नेपाल भाषा) मा सपथ खाएका छन् । सुरूमा उनलाई प्रमुख निर्वाचन आयुक्तले नेपालीमा सपथ गराएका थिए । त्यसपछि आफैंले नेवारी भाषामा उनले सपथ खाए । बालेन राष्ट्रिय पोशाकमा सपथग्रहण समारोहमा उपस्थित छन् ।

  • कक्षा १२ को परीक्षा आजदेखि, चार लाखभन्दा बढी विद्यार्थी सहभागी (तस्बिर/भिडिओ)

    कक्षा १२ को परीक्षा आजदेखि, चार लाखभन्दा बढी विद्यार्थी सहभागी (तस्बिर/भिडिओ)

    काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा परिवर्तित समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ ।

    परीक्षा बोर्डले यसअघि दिउँसो २ बजेदेखि परीक्षा समय तोकेको थियो ।

    परीक्षा बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

  • स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई स्थानीय तहमा न्यूनतम ९० दिन स्वयंसेवा गराइने (भिडिओ)

    स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई स्थानीय तहमा न्यूनतम ९० दिन स्वयंसेवा गराइने (भिडिओ)

    काठमाडौं– सरकारले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले तीन महिना स्थानीय तहमा स्वयंसेवा गराउने नयाँ सोच अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै सो व्यवस्था समेटेका हुन् ।

    बजेटमा उल्लेख भएअनुसार प्राविधिक विषयमा स्नातक र अन्यमा स्नातकोत्तर पढ्ने विद्यार्थीलाई ९० दिनसम्म स्वयंसेवा गराइने भएको छ ।
    स्थानीय तहको योजना निर्माण तथा ग्रामीण विकासमा योगदान गर्ने गरी न्यूनतम ९० दिन स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने अर्थमन्त्रीले बताए ।

    बजेटमा शिक्षासँग सीप भन्ने अभियानका साथ माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गरिने उल्लेख छ ।

    यस्तै माध्यमिक तह उत्तीर्ण भएसँगै स्वावलम्बी बन्ने गरी कुनै एक व्यवसायिक दक्षता हासिल गराई स्वराेजगार बन्न सक्षम बनाइने बजेटमा उल्लेख छ ।