Category: भिडियो

  • रामवीरको माग-मेयरको टिकट पाइँन, मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठन गरौं (भिडिओ)

    रामवीरको माग-मेयरको टिकट पाइँन, मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठन गरौं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले मेयर बनेर काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने आफ्नो चाहना पूरा नभएको भन्दै आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन माग गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो अध्यक्षतामा संसदले समिति बनाउन माग गरेका हुन् । फोहोरमैला व्यवस्थापन गर्न इच्छाशक्ति चाहिने र त्यो व्यक्ति आफूमा मात्र रहेको उनको दाबी छ ।

    उनले भने, ‘काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षी म पनि थिएँ तर टिकट पाइनँ । अहिले नयाँ नेतृत्व आएको एक महिना भइसक्यो तर काठमाडौंमा फोहोरमैलाको समस्या झनै बढेको छ । त्यसैले मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठन गरियोस्, म समाधान गर्छु ।’

    सांसद मानन्धरले एमालेबाट मेयरको टिकट नपाएपछि घोषित रूपमै कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई समर्थन गरेका थिए । उनलाई एमलोले कारबाही भने गरेको छैन ।

  • अमेरिकी सैन्य अधिकारीको भ्रमणबारे सदनमा जानकारी गराउन गिरिराजमणीको माग (भिडिओ)

    अमेरिकी सैन्य अधिकारीको भ्रमणबारे सदनमा जानकारी गराउन गिरिराजमणीको माग (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणी पोखरेलले अमेरिकी सैनिक अधिकारीहरूको नेपाल भ्रमण र नेपालका प्रधानसेनापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा सदनलाई जानकारी गराउन माग गरेका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा उनले अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरलका साथै अन्य सैनिक अधिकारीहरूको नेपाल भ्रमण र नेपालबाट हुन लागेको अमेरिका भ्रमणले आशंका पैदा भएको भन्दै यस विषयमा सरकारले सदनमा जानकारी गराउनुपर्ने बताएका हुन् ।

    अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसीप सम्झौताका लागि दबाब दिन खोजिएको भन्ने चर्चाका विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने पोखरेलको भनाइ छ ।

    सार्वजनिक शिक्षाको सबलीकरण दशकीय कार्यक्रम आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले त्यसलाई चासो नदेखाएको उनको गुनासो थियो ।

  • जसपा विवादको कारक उपेन्द्र भन्दै राईले भने- ६ महिनापछि मन्त्री फेर्ने कुरा थियो (भिडिओ)

    जसपा विवादको कारक उपेन्द्र भन्दै राईले भने- ६ महिनापछि मन्त्री फेर्ने कुरा थियो (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद मोहम्मद इस्तियाक राईले अहिले पार्टीभित्र देखिएको विवादको मूल कारक अध्यक्ष उपेन्द्र यादवको एकलौटी निर्णय भएको बताएका छन् ।

    बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले मन्त्री परिवर्तन गर्न गुटगत भेला गरिएको र पार्टी फुटाउने कुरामा सत्यता नरहेको दाबी गरे ।

    आफूलाई मन्त्री बन्न कुनै इच्छा नभएकाले यस विषयमा अनावश्यक रूपमा नमुछ्‌न उनको आग्रह थियो । राईले सरकार गठन हुँदा अध्यक्ष यादवले संसदीय दल र केन्द्रीय कार्यकारिणी बैठकमा ६ महिनाका लागि मात्र मन्त्री बनाइएको र त्यसपछि नयाँ व्यक्तिलाई पठाउने मौखिक रूपमा बताएको जानकारी दिए ।

    अध्यक्ष यादवले पार्टीलाई व्यक्तिगत रूपमा सञ्चालन गरेको र जसका कारण स्थानीय तहको निर्वाचनमा त्यसको असर देखिएको उनको टिप्पणी थियो ।

    ‘निर्वाचनको समीक्षा गर्न पनि अध्यक्ष तयार हुनुभएको छैन । पार्टीलाई एक व्यक्तिको आधारमा नभएर सामूहिकतामा चलाउनु आवश्यक छ’, राईको भनाइ छ ।

  • महेश बस्नेतको शंका- सरकार प्रधानमन्त्रीले होइन अरू कसैले चलाइरहेको छ (भिडिओ)

    महेश बस्नेतको शंका- सरकार प्रधानमन्त्रीले होइन अरू कसैले चलाइरहेको छ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले चलाएको विषयमा शंका व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभामा सरकारबाट प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

    ‘हामीलाई थाहा छ प्रधानमन्त्रीज्यूको शारीरिक अवस्था अलि कमजोर छ,’ उनले भने,‘त्यसैले प्रधानमन्त्री भन्दा अरु कसैले यो सरकार रहेको जस्तो अनुभूति हामीलाई हुन्छ ।’

    आफूले कसै अन्यले नै चलाइरहेको सुनेको सांसद बस्नेतको भनाइ थियो ।

    ‘मान्छेहरू भन्ने गर्छन्- बूढानीलकण्ठमा महाराजहरूले पो यो गरिरहेका छन् कि ? राजकुमारहरूले पो यो गरिरहेका छन् कि ? बालुवाटारका महारानीहरूले पो यो चलाइरहेका छन् कि ?’

    सांसद बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर पनि इशारा गरे । उनले भने, ‘खुमलटारका महाराजहरूले पो यो चलाइरहेका छन् की ? अथवा कतिपयले यो भन्ने गर्छन् अनेक खालका प्रवृत्ति बोकेका अनेक खालका स्वार्थ बोकेका व्यापारी व्यवसायीले यो काम गरिरहेका छन् की ?’

    सांसद बस्नेतले विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्रीहरू सहभागी नहुँदा पनि आक्रोश व्यस्त गरे ।

    ‘उहाँको व्यस्तता सरकार टिकाउने कुरामा छ । गठबन्धन जोगाउने कुरामा छ, उहाँहरूको व्यस्तता प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने कुरामा छ,’ उनले भने,‘मन्त्रीहरू सायद अहिले नेताको घरतिर हुनुहोला, प्रधानमन्त्रीको घरतिर हुनुहोला । किनभने भइरहेका मन्त्रीहरूलाई पद जोगाउनु परेको छ ।’

  • सदनमा कांग्रेस सांसदको प्रश्न– सरकार कहाँ छ ? (भिडिओ)

    सदनमा कांग्रेस सांसदको प्रश्न– सरकार कहाँ छ ? (भिडिओ)

    काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा उहाले पाठ्यपुस्तकको समस्या, मलको समस्या, महङ्गी नियन्त्रण हुन नसकेको भन्दै सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी हुन् ।

    उनले नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्न नसकेको धारणा राखिन् । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको र खेती लगाउने बेला किसानले मल नपाएको उनले बताइन् ।

    त्यस्तै उनले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पु¥याउन नसकेको र हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेको बताइन् ।

  • शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ? (भिडिओ)

    शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ? (भिडिओ)

    काठमाडौं । एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा रावलले पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै शिक्षामन्त्रीलाई प्रश्न गरे, ‘कहाँबाट आयो ईसा ?’ पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको उनले आरोप थियो ।

    ‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश ?मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ? कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन ? कि सरकार आफै संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइनेछैन भन्ने लेख्ने, भित्र भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन ? जनतालाई यसको जवाफ दिनुपर्छ । नत्र कसरी पाठ्यक्रममा लेखियो ?,’ सांसद रावलले बैठकमा प्रश्न गरे ।

  • भीम रावलको दाबी- अमेरिकी सैनिक तैनाथी सम्झौता अगाडि बढाइँदैछ (भिडिओ)

    भीम रावलको दाबी- अमेरिकी सैनिक तैनाथी सम्झौता अगाडि बढाइँदैछ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले नेपालमा अमेरिकी सेना तैनाथी गर्ने सम्झौता अगाडि बढाइन लागेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

    ‘दिनदिनै सुनिराछौं, अमेरिकाका सेनाका प्रमुख आउने रे ! एसिया प्रशान्त क्षेत्रका प्रमुख । यहाँका सेना अमेरिका जाने रे !,’ सांसद रावलले भने,‘यहाँ के हुँदैछ ? रक्षामन्त्री समेत रहेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई म सोध्न चाहन्छु ।’

    हिन्द-प्रशान्त रणनीति अन्तर्गत सैनिक तैनाथी सम्झौता अर्थात ‘सोफा’ अगाडि बढाउने यसो गरिरहेको उनले दाबी गरे ।

    ‘एमसिसी सम्झौता पारित गर्दा हिन्द-प्रशान्त रणनीति अन्तर्गत सैनिक तैनाथी सम्झौता अर्थात ‘सोफा’ अगाडि बढाउने र केही समय अगाडि सुरु गरिएको साझेदारी सम्झौता भित्रभित्रै गर्नका लागि यो सम्पूर्ण चाँजोपाँजो मिलाइदैछ भन्ने मैले सुनेको छु,’ उनले भने ।

    सांसद रावलले अर्कातिर ‘सरकार सुरक्षा नीति भन्नासाथ तर्सिन्छ कि क्या हो ?’ प्रश्न गरे ।

    ‘हुन त लिम्पियाधुरा, लिपुलेक र कालापानी आज भारतले अतिक्रमण गरेर बस्या छ, सरकार चुँइक्क बोल्दैन्,’ उनले भने,‘अनि थरथर कामेर जनताबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री हुँ भन्दा यसैगरी थरथर कामेर राष्ट्रिय स्वधीनता र स्वतन्त्रताको रक्षा हुन्छ ?’

  • प्रेम सुवाल भन्छन्- शिक्षा, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको कामै छैन (भिडिओ)

    प्रेम सुवाल भन्छन्- शिक्षा, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको कामै छैन (भिडिओ)

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शिक्षा, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको कामै नभएको बताएका छन् । बजेट विधेयकमा रहेका ती मन्त्रालयको खर्च कटौती प्रस्ताव राख्दै उनले यस्तो बताएका हुन् ।

    ‘शिक्षा मन्त्रालयले मावि शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय निःशुल्क नगर्ने हो भने त्यो मन्त्रालय बन्द गरिदिए हुन्छ’, सांसद सुवालले भने, ‘ठगी गरिरहेका विदेशी विश्वविद्यालयका कलेजहरूको सञ्चालन अनुमति खारेज नगर्ने हो भने शिक्षा मन्त्रालयको आवश्यकता छैन ।’

    उनले भक्तपुर नगरपालिकाले आफ्नै मेडिकल कलेज सञ्चालन गरेर १०-१५ लाखमै एमबीबीएस पढाउँछु भन्दा विधेयक पास नगर्ने मन्त्रालयकाे कामै नभएको बताए । उनले भने, ‘शिक्षा मन्त्रालयको औचित्य छैन । ८० लाखमा एमबीबीएस पढाउनकाे लागि शिक्षा मन्त्रालय हो ?’

    यस्तै तराईका जनतालाई आर्सेनिक पानी खानुपर्ने अवस्थामा राख्ने खानेपानी मन्त्रालयलेको औचित्य नै नरहेको सांसद सुवालले बताए । भक्तपुर जिल्लाको खानेपानी स्रोत वागेश्वरी भञ्ज्याङ भंगेरी डाँडाको वन मासेर खेलमैदान बनाउने कामको पनि उनले विरोध गरे । ‘खेलमैदान निर्माणका नाममा खानेपानीको स्रोत बिगार्नेलाई अहिलेसम्म कारबाही भएको छैन । खानेपानी मन्त्रालयको औचित्य कहाँ छ ?’, उनले प्रश्न गरे ।

    देशघाती एमसीसी पास गर्ने अर्थ मन्त्रालयको औचित्य नै नभएको उनले टिप्पणी गरे । यस्तै वैदेशिक लगानीका १६ कम्पनीले वर्षको १० अर्ब २ करोड ७२ लाख लाभांश लैजाने गरेको दृष्टान्त सुनाउँदै उनले नेपालका ४४ सार्वजनिक संस्थानमध्ये अधिकांश घाटामा पुर्‍याउने यस्तो अर्थमन्त्रालयको काम के भनेर प्रश्न गरे ।

    उनले भने, ‘२७ वटा संस्थानको लेखापरीक्षण नै भएको छैन । अर्थमन्त्रालय काम के गर्दैछ ?’

    यस्तै रक्षा मन्त्रालयले देशको सीमा सुरक्षामा ध्यान दिनुपर्ने बताउँदै सांसद सुवालले देशको सुरक्षा गर्ने काम नेपाली सेनालाई दिनुपर्ने बताए । नेपाली सेनालाई विकास निर्माणको काममा सहभागी गराएर ठेकेदार बनाएको उनकाे भनाइ छ ।

  • सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो (भिडिओ)

    सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सिसडोलबासीमाथि गरिएको प्रहरी दमनको विरोध गरेका छन् ।

    जारी प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलबासीमाथि भएको दमनको विरोध गरेका हुन् ।

    ‘नुवाकोटको ककनी र धादिङको धुनीबेँसी बीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ सांसद खतिवडाले भने,‘स्थानीय निर्वाचनमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’

    फोहोर व्यवस्थापनको नाउँमा नुवाकोटमा १७ वर्षअगाडिदेखि बेथिति हुँदै आएको उनले बताए ।

    ‘त्यसको व्यवस्थापन गरेर स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन होस्’ उनले भने ।

  • सांसद नवीनाको आक्रोश- समयमा किताब छाप्न र दिन नसक्ने जनक शिक्षा किन चाहियो ? खारेज गरौं (भिडिओ)

    सांसद नवीनाको आक्रोश- समयमा किताब छाप्न र दिन नसक्ने जनक शिक्षा किन चाहियो ? खारेज गरौं (भिडिओ)

    काठमाडौं । एमाले सांसद एवं युवानेत्री नवीना लामाले विद्यार्थीहरूले भोगिरहेको पाठ्यपुस्तक अभावप्रति संसदमा आक्रोश प्रकट गरेकी छन् ।

    प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारण विद्यार्थीले सधैँ पाठ्यपुस्तक अभाव झेलिरहेको बताइन् ।

    ‘विशेषगरी अहिले कक्षा ६ र ८ को अभाव छ । जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन्’, सांसद लामाले भनिन्, ‘यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौं ।’

    यो कमजोरीको जवाफदेहिता जनक शिक्षाले लिनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘उसको व्यवस्थाको कमजोरी हो । उहाँहरू जवाफदेही बन्नुपर्दैन ? बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने । कागजको ठेक्का लिनेले किन कागज ल्याएन ।’

    यस्तो काममा लापरबाही गर्नेलाई कारबाही गरेर बैकल्पिक उपाय सोचेर पाठ्यपुस्तक छपाइको काम निजीलाई दिनुपर्ने सांसद लामाको तर्क छ ।

  • सुदेश पराजुलीको टिप्पणी- हाम्रा मन्त्री पार्टी निर्णय उल्ट्याउन देउवा र प्रचण्डको शरणमा पुगे (भिडिओ)

    सुदेश पराजुलीको टिप्पणी- हाम्रा मन्त्री पार्टी निर्णय उल्ट्याउन देउवा र प्रचण्डको शरणमा पुगे (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टीको निर्णयविपरीत मन्त्री पदमा बसिरहन केही नेताले घृणित खेल खेलेको आरोप लगाएका छन् ।

    नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको सपथग्रहणपछि अध्यक्ष माधव कुमार नेपाललाई समेत साक्षी राखेर पराजुलीले पार्टी निर्णयविरुद्ध मन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डको शरणमा पुगेको आरोप लगाए ।

    शहरी विकास मन्त्री रामकुमारी झाँक्रीप्रति लक्षित गर्दै अध्यक्ष पराजुलीले हिजो मन्त्री नहुँदा आशा गरिएका र पार्टीको नेतृत्व गर्न सक्ने भनेर अपेक्षा गरिएका नेताले पद जोगाउन पार्टी पद्दति धुजाधुजा पारेको आरोप लगाए ।

    पराजुलीले भने, ‘आज कोही मन्त्री हुँदै गर्दा हाम्रो पार्टीको आलोकनगरको कार्यालयले के गर्छ भन्ने होइन देउवाको शरणमा गइरहेका , प्रचण्डको शरणमा गइरहेका छन् । पार्टीले एकातिरबाट निर्णय गर्छ, तर उनीहरू उल्टो गर्छन् । पदमा पुगेपछि टाँसिरहनुपर्ने मन्त्रीको कुर्सीमा सुपरग्लु छ कि ? पार्टीले बुझ्न जरुरी छ ।’

    पराजुलीले पार्टीको निर्णय पालना गराउन नेतृत्वलाई आग्रह समेत गरे ।

  • सिसडोलमा पक्राउ परेका ढुंगानाको शर्त – १० अर्ब दिए हामी १० हजार रोपनी छाड्न तयार छौं (भिडिओ)

    सिसडोलमा पक्राउ परेका ढुंगानाको शर्त – १० अर्ब दिए हामी १० हजार रोपनी छाड्न तयार छौं (भिडिओ)

    काठमाडौं । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले अवरोध गरेपछि सरकारले बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ । अवरोध हटाउने क्रममा प्रहरीले ३० जनालाई पक्राउ गरेर भ्यानमा कोचेको छ । पक्राउ परेकामध्ये एक हुन् श्रीराम ढुंगाना ।

    स्थानीयवासीले बनाएको संघर्ष समितिका संयोजक ढुंगानासँग नेपाल प्रेसले दुई दिनअघिको स्थलगत रिपोर्टिका क्रममा विस्तृत कुराकानी गरेको थियो । राज्यले वर्षौंदेखि मौलिक हक, मानवअधिकारको हनन गरेकाले आफूहरू आन्दोलित हुन बाध्य भएको उनी बताउँछन् । बाँच्न पाउने अधिकारलाई कुल्चिएर राज्यले ज्यादतीपूर्ण तवरले स्थानीय जनतालाई पेलेर गएको उनको आरोप छ ।

    ढुंगाना भन्छन्, ‘काठमाडौंको फोहोर रामकोटमा फाल्नका लागि तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल रामकोट जाँदा त्यहाँका जनताले उहाँको दाहिने करङ ड्यामेज गरिदिएका थिए । यसपछि सरकारले गोरखापत्रमा सूचना छापेर सुविधा उपलब्ध गराउने भनेपछि हामीले ठाउँ दिएका थियौं । तर, हाम्रो उदारतालाई राज्यले कमजोरी ठानिदियो ।’

    महानगर र राज्यले यहाँका लाखौं जनताको भविष्य अन्यौलतामा धकेलिदिएको ढुंगानाको गुनासो छ । उनी आक्रोशित हुँदै भन्छन्, ‘अन्याय कहाँ भयो ? रत्नपार्कमा बस्ने महानगरको कर्मचारीलाई पर्‍यो ? सिंहदरबारमा बस्ने मान्छेलाई पर्‍यो ? हामी उल्टो प्रश्न गर्छौं । काठमाडौंका मान्छेका लागि हामी एक लाख मान्छे मरिदिन पर्‍यो ? हाम्रा सन्तति मरिदिनुपर्‍यो ? हामी समाप्त हुनुपर्‍यो ? त्यहाँको वातावरण समाप्त हुनुपर्‍यो ?’

    महानगर र राज्यले गरेको जघन्य अपराधको विरुद्ध आफूहरू अन्तिम लडाइँमा होमिएको ढुंगानाको भनाइ छ । सिसडोलका स्थानीय जनतालाई महानगर र राज्यले मृत्यु मात्रै दिएको उनले दाबी गरे ।

    उनी भन्छन्, ‘हामी प्रभावित क्षेत्रका जनताको भविष्य सकियो । हाम्रो ठाउँ नेपालको नक्साभित्र छ कि छैन ? एक लाख जनताले बाँच्ने अधिकार छ कि छैन ? हामी एक करोड जनताको जीवन रक्षाका लागि तयार छौं । हामी फोहोर मैला विरोधी होइनौं । हामीले कसरी योगदान गर्नुपर्छ तयार छौं । तर, राज्यले हामीमाथि निरन्तर ज्यादती गरिरहनुभएन ।’

    तीन वर्षको सम्झौता गरिएको सिसडोलमा १७ वर्षसम्म निरन्तर फोहोर फालिएको छ । हुँदाहुदा सिसडोलको कुनै व्यवस्थापन नगरिकन बन्चरे डाँडामा लगेर फोहोर फाल्न थालिएको ढुंगानाले बताए । खेतीपातीदेखि स्वासप्रश्वास र गम्भीर रोगहरूको शिकार भएका जनतालाई सरकारले नजरअन्दाज गरिरहेको उनको गुनासो छ ।

    ‘फोहोरमैला नजिक मान्छे बस्न सक्छन् भने त्यो फोहोरलाई काठमाडौंमै राखौं । तर यदि त्यो ठाउँमा लाने हो भने त्यहाँका छ–सातवटा गाउँका मान्छेलाई अलग गरिदिनुस् । हामीलाई राज्यले प्रचलित दरमा खरिद गरिदेओस् । नौ दश अर्बमा हामी दश हजार रोपनी छाड्न तयार छौं । हामीलाई फोहोरबाट अलग गरिदिनुस्,’ ढुंगाना भन्छन्, ‘छोराछोरी बिरामी हुँदा हाम्रो जग्गा बैंकमा नचल्ने, विदेश जान पर्दा जग्गा धितो राख्न नपाइने अवस्था छ । बैंकबाट ऋण निकाल्न नपाइने जग्गालाई आफ्नो सम्पत्ति भनेर बस्नुपर्ने विडम्बना छ । यसलाई हल गर्ने अभिभारा त राज्यको हो नि !’

  • यातायात विभाग लचिलो- नयाँ, नामसारी र नवीकरण भएका सवारीसाधनलाई मात्रै इम्बोस्ड अनिवार्य (भिडि‌ओ)

    यातायात विभाग लचिलो- नयाँ, नामसारी र नवीकरण भएका सवारीसाधनलाई मात्रै इम्बोस्ड अनिवार्य (भिडि‌ओ)

    काठमाडौं । यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारीसाधन र २०७९ जेठ १ गतेबाट नवीकरण भएका सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको छ ।

    विभागले केही दिनअघि सूचना निकालेर वागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा साउन १ देखि अनिवार्य इम्बोस्ड नम्बर लगाउन भनेको थियो । चौतर्फी विरोधपछि विभागले नयाँ, नवीकरण र नामसारी गरिने सवारीसाधनमा मात्र यो नियम लगाइएको हो ।

    इम्बोस्ड नम्बर प्लेटको सूचनाबारे जानकारी दिन मंगलबार काठमाडौंमा विभागले पत्रकार सम्मेलनको आयोजना गर्‍यो । विभागका महानिर्देशक नमराज घिमिरेले असार १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको बताए ।

    तत्कालै एकैपटक २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव रहेको भन्दै उनले पूर्वाधार विस्तारको काम भइरहेको बताएका छन् ।
    सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सही नभएको उनको भनाइ छ ।

    विभागले संसदले कानून कार्यान्वयनका लागि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई अघि बढाइएको भन्दै यसमा विभागको कुनै स्वार्थ नरहेको प्रष्ट्याए ।

  • संसदमै गगनले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा (भिडिओ)

    संसदमै गगनले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको प्रयासको प्रशंसा गरेका छन् ।

    प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा थापाले काठमाडौंका सडक फोहोरले पुरिन लागेको बेला मन्त्री झाँक्री र मेयर शाहले गरेको प्रयत्न सकारात्मक भएको बताएका हुन् ।

    यद्यपि फोहोर व्यवस्थापनका लागि सम्झौता भएपछि पनि आज अवरोध भएको खबर आएको भन्दै थापाले स्थायी समाधानका लागि पहल गर्नुपर्ने बताए ।

    ‘सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकामा अहिले नयाँ नेतृत्व छ । यी दुवै नेतृत्वले प्रशंसायोग्य काम गरिरहनुभएको छ र फोहोर उठ्न थाल्यो भन्ने कुरा हामीले सुन्यौँ । तर आज फेरी अवरोध भयो भन्ने सुनेको छु । फोहोरको समस्या समाधानमा कहाँ समस्या परेको हो सहरी विकास मन्त्रीले संसद्लाई भन्नुहोला, हामी सहयोग गर्न चाहन्छौँ’, थापाले भने ।

    उनले भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौंमा फ्लाई ओभर बनाउन बजेट छुट्याएको भन्दै यस वर्ष फ्लाई ओभर बनाउने बजेट फोहोर व्यवस्थापनमा खर्च गर्न सुझाव दिए ।

    उनले इम्बोस्ड नम्बर प्लेट लिन आफ्नो गाडी लिएर यातायात कार्यालयमा गएर लाइन बस्न यातायात मन्त्रीलाई आग्रह पनि गरे ।

    इम्बोस्ड नम्बर प्लेटबारे गरिएको निर्णय अव्यवहारिक भएको भन्दै सच्याउन पनि थापाले माग गरे ।

  • बुढीगंगामा सरकारले मतगणना रोकेको होइन : गृहमन्त्री (भिडिओ)

    बुढीगंगामा सरकारले मतगणना रोकेको होइन : गृहमन्त्री (भिडिओ)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बाजुराको बुढीगंगा नगरपालिकामा सरकारले मतगणना नरोकेको बताएका छन् ।

    प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाणले निर्वाचनसम्बन्धी निर्णयहरू निर्वाचन आयोगको क्षेत्राधिकारमा पर्ने बताए ।

    ‘बुढीगंगामा सरकारले मतगणना रोकेको होइन । सुरक्षाकर्मीले चैँ निर्वाचन सारेको पनि होइन । मतदान गराउने मतगणना गराउने काम निर्वाचन आयोगको हो । सरकार र सुरक्षाकर्मीले त्यसमा सघाउने मात्रै हो । आयोगले गरेका निर्णयबारे उठेका प्रश्नबारे सम्बन्धित निकायकै ध्यान जानेछ भन्ने विश्वास व्यक्त गर्दछु’, खाणले भने ।

    उनले निर्वाचन दौरानमा भएका छिटफुट घटनालाई पनि छानबिनको दायरामा ल्याएर दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

  • बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ (भिडिओ)

    बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ (भिडिओ)

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेका थिए ।

    सोही विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले गृहमन्त्री खाणलाई जवाफ दिन समय दिएका छन् । अहिले गृहमन्त्री खाणले जवाफ दिइरहेका छन् ।

  • प्रतिनिधिसभा बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको राजीनामा माग (भिडिओ)

    प्रतिनिधिसभा बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको राजीनामा माग (भिडिओ)

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद लालबहादुर थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित तीनजना आयुक्तको राजीनामा माग गरेका छन् ।

    बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगकै छानबिन समितिको सुझावविपरीत सत्तापक्षको प्रभावमा परेर गरिएको भन्दै मतगणना अघि बढाउन समेत माग गरेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले बाजुरामा सत्तापक्षले प्रहरी प्रशासनमार्फत नै बुथ कब्जा गरेको र प्रतिकूल ठाउँमा मतदान गर्न नदिएर धाँधली गरेको आरोप लगाए ।

    थापाले सत्तापक्षको कब्जाका बाबजुद बाजुरामा एमाले पहिलो दल बनिसकेको भन्दै बुढीगंगा नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा सत्तापक्षले योजनाबद्धरुपमा पुनः मतदानको निर्णय गराएको बताए ।

    थापाले भने, ‘यो घृणित कार्यमा संलग्न गृहमन्त्री, आईजीपीको राजीनामा र अरुमाथि कारबाहीको माग गर्छु । राजनीतिक जालझेल षड्यन्त्रमा परेर निर्वाचन आयोगको बहुमतको आधारमा पुनः मतदानको निर्णय गराएकोमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्त रामप्रसाद भण्डारी तथा ईश्वरी पौडेलको राजीनामा माग गर्दछु ।’

    मतदान अधिकृतले पुनः मतदानको सिफारिस नभएको भन्दै सांसद थापाले निर्वाचन आयोगको छानविन समितिको निर्णयअनुसार मतगणना गरेर संवैधानिक मर्यादा कायम गर्न प्रमुख आयुक्तलाई आग्रह गरेका छन् ।

    थापाले बुढीगंगामा प्रधानमन्त्री शेरवहादुर देउवा वा निर्वाचन आयोगका प्रमुख आयुक्त थपलिया नै निर्वाचन अधिकृत भएर मतदान गराउन चुनौतीसमेत दिएका छन् । उनले निर्वाचन आयोगको गलत निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने समेत बताए ।

  • मन्त्री आलेको आक्रोश- पार्टीभित्रका केही चिप्ले चोरहरू प्रेम आलेले चलखेल गर्‍यो भन्दैछन् (भिडिओ)

    मन्त्री आलेको आक्रोश- पार्टीभित्रका केही चिप्ले चोरहरू प्रेम आलेले चलखेल गर्‍यो भन्दैछन् (भिडिओ)

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आफ्नै पार्टीका केही नेताहरूप्रति आक्रोशित बनेका छन् । पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै मन्त्री आलेले आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको आरोप लगाए ।

    पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले आफू मन्त्री छाड्न तयार रहेको बताए ।

    मन्त्री आलेले आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने जानकारी अध्यक्ष माधव नेपाललाई गराइसकेको बताए ।

    आलेले भने, ‘हामी त्यहीबेला ६ महिनाका लागि मन्त्री भएको हो तर अहिले त आठ महिना भइसक्यो । दुई महिना त ग्रेस मार्क पाइसक्यौं । मैले अरुलाई दिनुस् खुसी हुन्छु भनेँ । तर, हाम्रो पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले कीराहरु आलेले धेरै चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन् ।’

    मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने भन्दै पशुपति क्षेत्रको संरक्षणमा एक सय किलोको मन्त्री सधैँ साथमा रहेको बताए ।

  • सरकारमा जान अनौपचारिक संवादमा रहेको लोसपाले प्रधानमन्त्रीलाई बुझायो औपचारिक माग (भिडिओ)

    सरकारमा जान अनौपचारिक संवादमा रहेको लोसपाले प्रधानमन्त्रीलाई बुझायो औपचारिक माग (भिडिओ)

    काठमाडौं । सरकारमा सहभागी हुनेबारे अनौपचारिक संवादमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे औपचारिक ज्ञापनपत्र बुझाएको छ ।

    अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरेका हुन् ।

    लोसपाले जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न तथा जनसंख्याको आधारमा बजेट वितरण गर्नसमेत माग गरेको छ ।

    सो पार्टीले स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने सुनिश्चितता गर्नसमेत माग गरेको छ ।

    जसपाभित्र विवाद बढेर विभाजनको नजिक पुगेका र लोसपा सरकारमा जान अग्रसर भइरहेका बेला यो ज्ञापनपत्र बुझाइएको हो ।

  • पुँजी बजार सुधारका लागि लगानीकर्ताले राखे १९ बुँदे माग (भिडिओ)

    पुँजी बजार सुधारका लागि लगानीकर्ताले राखे १९ बुँदे माग (भिडिओ)

    काठमाडौं । पुँजी बजार सुधार लागि भन्दै सेयर बजारका लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।

    सोमबार पुँजी बजार सुधार संघर्ष समितिका तर्फबाट तिलक कोइरालाले बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै कोइरालाले अधिकांश माग तत्कालै पूरा गर्न सक्ने आश्वासन दिए । अन्य मागलाई कार्यान्वयनका लागि पनि आफूहरूको सहयोग हुने उनले बताए ।

    पुँजी बजार सुधारका लागि नियमनकारी निकायहरूले जिम्मेवारी पूरा नगरेको उनको टिप्पणी छ । सरकारले साढे ३ वर्षअघि नै गरिसक्छु भनेका कामहरू पूरा नगर्दा अहिले पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । उनले सोही १९ बुँदे माग धितोपत्र बोर्डलाई बुझाएका हुन् ।

    साथै, उनले आमरण अनशन सुरू हुनभन्दा पहिले नै मागहरूमाथि धितोपत्र बोर्डले सम्बोधन गर्ने अपेक्षा रहेको बताए । एमाले सरकारले साढे ३ वर्षअघि नै सम्पन्न गर्छु भनेको र अहिलेका अर्थमन्त्रीले २ महिनाअघि गरिसक्छु भनेर प्रतिबद्धता गरेका ५८ बुँदाँमध्ये बाँकी काम तत्काल पूरा हुनुपर्ने उनको जोड थियो ।

    ज्ञापन पत्र बुझ्दै बोर्डका अध्यक्ष हमालले लगानीकर्ताको मागप्रति बोर्ड सकारात्मक भएको र अहिले पनि पुँजी बजार सुधार गरिरहेको दाबी गरे । अन्य मागका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने हमालको प्रतिबद्धता थियो ।

    लगानीकर्ताले आफूहरूको मागप्रति चासो नदेखाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

  • कपडामा टाँसेर सुन तस्करी, दुई जनाले लगाएका कपडा डढाउँदा फेला पर्‍यो ८८८ ग्राम सुन (भिडिओ)

    कपडामा टाँसेर सुन तस्करी, दुई जनाले लगाएका कपडा डढाउँदा फेला पर्‍यो ८८८ ग्राम सुन (भिडिओ)

    काठमाडौं । पछिल्लो समय विदेशबाट आउनेले लगाएका कपडामा सुन टाँसेर तस्करी गर्ने गरेको पाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ८८८ ग्राम सुनसहित ७ जनालाई पक्राउ गरेको छ ।

    जेठ २१ गते दुबईबाट काठमाडौं उत्रिएका दुई जनालाई पछ्याउँदै जाँदा उनीहरुको साथबाट उक्त सुन बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरले जानकारी दिए । उनीहरुले ल्याएको सुन लिन आएका विभिन्न ‘लेयर’का अन्य ५ जना पनि पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार गुल्मीको जुनियाँ- ८ का ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तुको बाणगंगा- ८ का २९ वर्षीय सन्दीपचन्द्र ठकुरी नेपाल वायुसेवा निगमको जहाजबाट दुई दिनअघि काठमाडौं उत्रिएका थिए । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानमा तानिएका उनीहरुले लगाएका कपडाहरु गहुँगो भएपछि प्रहरीले च्यातेर हेर्दा सुनलाई धुलो बनाएर टाँसिएको फेला परेको थियो । उनीहरुले लगाएका सबै कपडामा सुन टाँसिएको प्रहरीको भनाइ छ । त्यसपछि कपडालाई डढाएर सुन छुट्याइएको थियो ।

    एसएसपी कुँवरका अनुसार ठकुरीले लगाएको कपडाबाट ५७२.१६० ग्राम र शाहीले लगाएको कपडाबाट ३१६.८१ ग्राम सुन निस्किएको छ । प्रारम्भिक अनुसन्धानमा सुन नेपालीले नै दुबईबाट पठाएको र भारत लैजान ल्याइएको खुलेको छ ।

  • बढ्दो सांस्कृतिक विचलनका दोषी नेता र मन्त्रीहरू : सांसद सुवाल (भिडिओ)

    बढ्दो सांस्कृतिक विचलनका दोषी नेता र मन्त्रीहरू : सांसद सुवाल (भिडिओ)

    काठमाडौं । संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

    प्रतिनिधिसभा बैठकमा छलफलमा सहभागी हुँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पछिल्लो समय देशमा सांस्कृतिक विचलन आइरहेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

    उनले समाज कसरी अघि बढाउने भन्ने जिम्मेवारी मन्त्री र नेताको काँधमा रहेको बताए ।

    यसमा नेता र मन्त्रीहरूलाई उनले दोषी देखाएका छन् । समाज जसरी अगाडि बढिरहेको छ यसको दोष सरकाले लिनुपर्ने सुवालको भनाइ छ ।

    ‘सरकार सत्तामा लिसो भएर टाँसिएपछि परिणम यस्तै हुने गर्छ । झण्डावाल गाडीमा सानका साथ आफू हिँडेर सिंहदरबार छिर्दैमा समस्याको समाधामान हुँदैन ।’

  • महरा र पल शाहको उदाहरण दिँदै सांसद चौधरीले भनिन्- मन मिलुन्जेल लभ, नमिलेपछि बलात्कार (भिडिओ)

    महरा र पल शाहको उदाहरण दिँदै सांसद चौधरीले भनिन्- मन मिलुन्जेल लभ, नमिलेपछि बलात्कार (भिडिओ)

    काठमाडौं । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेका बेला सदनमा एक महिला सांसदले नै यसको विरोध गरेका छन् ।

    एमाले सांसद गंगा चौधरी सतगौंवाले सोमबार प्रतिनिधिसभामा सो विधेकयमाथिको छलफलमा बोल्दै मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् ।

    चौधरीले भावनामा बगेर कानून बनाउँन नहुने भन्दै आफूले धेरै पुरुषहरू पीडित देखेको तर उनीहरूको पक्षमा कानून नरहेको दाबीसमेत गरिन् । पूर्वसभामुख कृष्णबहादुर महरा र अभिनेता पल शाहको समेत उदाहरण दिएकी चौधरीले प्रेम सम्बन्धलाई बलात्कारको आरोप लाउने प्रवृत्तिलाई प्रश्रय दिन नहुने बताइन् ।

    चौधरीले भनिन्, ‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यहि सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौं, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो ।

    सांसद चौधरीले बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने तर पीडितले न्याय नपाउँने बताइन् ।

  • इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द नगरे अवज्ञा हुने गगन थापाको चेतावनी (भिडिओ)

    इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द नगरे अवज्ञा हुने गगन थापाको चेतावनी (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए ।

    सांसद थापाले इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरे । उनले सस्तो, सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए ।

     

  • नागरिकता ऐनमा सहमति जुटाउन दलहरूसँग परामर्श गरिने (भिडिओ)

    नागरिकता ऐनमा सहमति जुटाउन दलहरूसँग परामर्श गरिने (भिडिओ)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसदमा विचाराधीन नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ ।

    गृह मन्त्रालयमा आइतबार भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायत सहभागी बैठकमा विचाराधीन नागरिकता विधेयक संसदमा अगाडि बढाउने विषयमा छलफल भएको थियो ।

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता ऐन प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

    बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभामा पेस गरेको प्रतिवेदनमा सहमति जुटाएर संसदमा पेस गर्न विभिन्न राजनीतिक पार्टीसँग छलफल गर्ने निर्णय भएको छ । ‘नागरिकता ऐनमा सहमति जुटाउन हामीले विभिन्न राजनीतिक दलसँग कुरा गछौँ । अहिलेसम्म सहमति जुट्न नसकेका विषयमा सहमति जुटाएर जारी अधिवेशनमा पेस गर्ने प्रयासमा हामी छौँ’, प्रवक्ता पोखरेलले भने ।

    नागरिकता ऐनमा वैवाहिक अंगीकृत, अंगीकृत, जन्मसिद्ध नागरिकका सन्तानलाई दिने नागरिकता, गैरआवासीय नागरिकलाई दिने नागरिकता, आमाको नामबाट नागरिकतालगायतमा सहमति जुट्न सकिरहेको छैन । सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता ऐन पेस गर्ने तयारी गरेको छ ।

    गृहमन्त्री खाणले पहल गरेर कानुनमन्त्री शर्मासहित भएर ऐनमा सहमति जुटाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उहाँहरूकै निवासमा पुगेर भेटेका छन् । सबै दलका प्रमुख सचेतकहरूसँग गृहमन्त्री खाणले पटक पटक छलफल गरेका छन् ।

  • कांग्रेसका कारण केही स्थानमा पराजय भोग्नुपर्‍यो : माधव नेपाल (भिडिओ)

    कांग्रेसका कारण केही स्थानमा पराजय भोग्नुपर्‍यो : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको आरोप लगाएका छन् ।

    आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरी भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताए ।

    ‘समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुन्थ्यो । तर, यो कुरा उसले बुझ्न जरुरी थियो । माओवादीभित्र पनि यस्तै स्थिति भो’, नेपालले भने ।

    उहाले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरे ।

  • मन्त्री हेरफेरबारे नेकपा एसमा छलफल, शीर्ष नेतालाई जिम्मेवारी (भिडिओ)

    मन्त्री हेरफेरबारे नेकपा एसमा छलफल, शीर्ष नेतालाई जिम्मेवारी (भिडिओ)

    काठमाडौं । नेकपा एसको आज बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरको विषयले प्रवेश पाएको छ । हिजोदेखि चलिरहेको बैठकअन्तर्गत आज यो विषयले प्रवेश पाएको हो ।

    सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको जानकारी दिँदै नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको बताए ।

    ‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू (शीर्ष नेता) ले नै गर्नुहुन्छ ।’

    अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित सो पार्टीबाट ५ जना मन्त्री छन् ।

    आफूलाई मन्त्रीबाट हटाए पार्टी छाड्ने भन्ने केही मन्त्रीले चेतावनी दिइरहेको भन्ने चर्चाको विषयमा पत्रकारले सोधेको प्रश्नमा पार्टी निर्णय सबैले मान्नुपर्ने उपमहासचिव तुलाधरले बताए ।

    उनले भने, ‘मैले चेतावनीको कुरा सुनेको छैन् । जिम्मेवार नेताहरूले त्यसो भन्न मिल्दैन् । पार्टी सरकारमा सामेल हूँदा पार्टीले पठाएको हो । पार्टीले अर्कोलाई पठाउने चाहना राख्दा उहाँहरूले स्वीकार्नुहुन्छ ।’

    बाम गठबन्धनको चर्चाका विषयमा बैठकमा कुनै छलफल नभएको तुलाधारले बताए ।

    ‘हामी बैठकको फस्ट आवरदेखि नै यसै गठबन्धनलाई अगाडि बढाउने कुरामा प्रष्ट छौ,’ उनले भने,‘बामगठबन्धन सुन्दाखेरी सुन्दा असाध्यै राम्रो लाग्ने कुरा हो । इमान्दारिता भएन भने नराम्रो हुदो रहेछ भनेर थाहा भइसकेको छ । त्यसैले त्यो सम्भव छैन ।’

  • सिथि नखः मनाउँदै नेवार समुदाय (भिडिओ)

    सिथि नखः मनाउँदै नेवार समुदाय (भिडिओ)

    भक्तपुर । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँं) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको रुपमा मनाइने गरिएको हो ।

    भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

    साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहँदै आएको छ । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरीपरी समेत सरसफाइ गरी निकास खोल्नु यसको अर्को विशेषता हो । साथै, हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरेको हो ।

    सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरमा रहेको गाई बस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पु¥याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन् ।

    यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने धार्मिक मान्यतासमेत रहेको छ । नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

    पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा धार्मिक महत्वको पर्वका रुपमा लिइन्छ । गणेश देवताहरुका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवी देवतामध्ये सबैभन्दा पहिला पुजा गरिने कुमारको पुजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँ जस्तो कृषिकार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने जनविश्वास रहेको प्रा डा श्रेष्ठ बताउँछन् ।

    नेवार समुदाय कला–संस्कृति र साँस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरी अनेकथरी कला, साँस्कृतिक झाँकी र साँस्कृतिक चाडपर्व मनाउने गर्दछन् । तर, वर्षासँगै ती सबै थाँती राखी धानबाली लगाउन व्यस्त हुन्छन् ।

    नेवारी समुदायमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ भन्ने मान्यताले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ ।

    यस्तो अवसरमा किसानलाई जात्रा, पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ ।

    धानखेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षात्को झरिमा रुझेर, हिलो माटोसँग पौँंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमाभन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने प्रचलन रहँदै आएको हो ।

    साथै, नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ । यस दिन बारा, चटामरी, म्हुछ्यामढीलगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धानखेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ । यस्तै आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै यस बर्षको वर्षा फाप्ने तथा घरपरिवारमा सुख, शान्ति हुने जनविश्वाससमेत रहेको पाइन्छ ।

  • भावुक बन्दै देउवाले भने- भारतको लखनउ, गुवाहटी-रक्सौल हुँदै पहिलोपटक काठमाडौं आएको हुँ (भिडिओ)

    भावुक बन्दै देउवाले भने- भारतको लखनउ, गुवाहटी-रक्सौल हुँदै पहिलोपटक काठमाडौं आएको हुँ (भिडिओ)

    काठमाडौं । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११ औं साधारणसभामा प्रधानमन्त्री शेरबहादुर देउवा भावुक मुद्रामा देखिएका छन् ।

    भाषणका क्रममा उनले आफ्नो काठमाडौंको पहिलो यात्रा सम्झिए । साथै सुदूरपश्चिमको गरिबी, बेरोजगारी समस्या र सम्भावनाबारे पनि भाषणमा छोटो सम्बोधन गरे ।

    ‘पहिला डोटीको उच्चाकोटबाट एसएलसी पास गरेपछि काठमाडौं पढ्न आएको हुँ,’ उनले भने, ‘धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ, लखनउबाट गुवाहटी, त्यहाँबाट रेल चेञ्ज गरेर रक्सौल पुगे । रक्सौलबाट गाडी चढेर काठमाडौं आएको हुँ । त्यस्तो अवस्था थियो पहिला ।’

    अहिले कम्तीमा त्यस्तो समस्या नरहेको उनले बताए । ‘अहिले त बाटो जोडिएको छ । सुदूरपश्चिम जाने बाटो बनेको छ । जिल्ला जाने बाटो बनेको छ,’ उनले भने ।

    तर, सुदूरपश्चिम अझै पनि विकासबाट निकै पछाडि रहेको प्रधानमन्त्री देउवाले बताए । उनले भने, ‘गरिबी अझैपनि घटेको छैन । हाम्रा युवाहरू अझै बम्बई जाने, मद्रास जाने गर्छन् । लाहुर जाने भन्छन् । यस्तो अवस्था छ ।’

    सुदूरपश्चिमको आर्थिक अवस्थाका विषयमा पनि उनले चिन्ता प्रकट गरे । ‘सुदूरपश्चिमको आर्थिक अवस्था अझैपनि उठ्न सक्या छैन,’ उनले भने ।

    सुदूरपश्चिममा विकासको सम्भावना देखाउँदै प्रधानमन्त्री देउवाले भने,‘महाकाली त्यहीँ छेन, सेती त्यहीँ छ । त्यसको विकास गर्न सकेको खण्डमा अवश्य नै सुदूरपश्चिम धनी हुन्छ ।’

    मातृभूमिको विकासका विषयमा चासो र चिन्ता प्रकट गरी सुदूरपश्चिम सरोकार मञ्च नेपालले १६ वर्षदेखि काम गर्दै आएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिए ।

  • वातावरण दिवसमा जनचेतनामुलक र्‍याली (भिडिओ)

    वातावरण दिवसमा जनचेतनामुलक र्‍याली (भिडिओ)

    काठमाडौं । विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ ।

    हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ ।

    वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

    दिवसका अवसरमा शहरी बिकास मन्त्रालय, काठमाडौं उपत्यका बिकास प्राधिकरणको आयोजनामा काठमाडौंको धोविखोला करिडोरमा जनचेतनामुलक र्याली निकालिएको थियो ।

    र्‍यालीमा सहभागीहरुले जथाभावी फोहर नफालौ, सभ्य नगरिकको परिचयन दिउ, वातावरण जोगाऔं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्राधिकरणका बिकास आयुक्त जानुका ढकालले घरको फोहरलाई जथाभावी नफाल्न आग्रह गदै धोविखोला करिडोरमा जनचेतनामुलक र्‍याली निकालिएको जानकारी दिइन् ।

    संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउन आह्वान गरेको छ ।

  • ‘माटो जोगाऔँ’ अभियानको साइकल र्‍याली (भिडिओ)

    ‘माटो जोगाऔँ’ अभियानको साइकल र्‍याली (भिडिओ)

    काठमाडौं । ईशा फाउण्डेशनका संस्थापक सद्गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अर्थात् ‘माटो जोगाऔँ’ नामक विश्वव्यापी अभियानले नेपालमाा पनि निरन्तरता पाएको छ ।

    साइकल सिटी नेटवर्क नेपालले आयोजना गरेको साइकल र्‍यालीलाई वन तथा वाताप्रवर्धनवरण मन्त्रालयका मन्त्री रामसहाय प्रसाद यादवले  कार्यक्रमको उद्घाटन गरेको थिए ।

    ९ सयभन्दा बढी सहभागीसहित शनिबार बिहान ७ बजे सेन्ट जेभियर्स स्कूल परिसरबाट सुरु भएको साइकल  र्‍याली पशुपतिनाथ परिसरमा समापन भएको थियो । जावलाखेलबाट सुरु भएको साइकल र्‍याली थापाथली, त्रिपुरेश्वर, जमल, दरबारमार्ग, कमलपोखरी, रातोपूल पशुपतिनाथ परिसरमा विशेष कार्यक्रम गरी समापन भएको हो ।

    माटो जोगाऔँ अभियानका स्वयंसेवकहरू भेला भई अनिश थापाको सांगीतिक प्रस्तुतिमा सँगै नृत्य गरेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, विशेष अतिथिको रूपमा वातावरण विभागका महानिर्देशक गोपाल प्रसाद अर्याल र सोही मन्त्रालयका प्रतिनिधि नवीन पोखरेल उपस्थित थिए ।

    कार्यक्रमका अध्यक्ष निरु रायमाझीले सहभागीहरूलाई सम्बोधन गर्दै उपस्थित अतिथिहरुमाँझ माटो जोगाऔँ अभियानलाई प्रबर्धन गर्न अनुरोध गर्नु गरे ।

    माटो जोगाऔँ अभियान के हो ?

    माटो जोगाऔँ विश्वव्यापी अभियान हो । जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ ।

    सर्वप्रथम, यो जन–अभियान हो । यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६०५ मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ ।

  • बालकको हत्यारा खोज्न कुकुरसहित प्रहरी टोली विनायकमा (भिडिओ)

    बालकको हत्यारा खोज्न कुकुरसहित प्रहरी टोली विनायकमा (भिडिओ)

    सुर्खेत । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान, कुच्चीका १६ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रहरीले कुकुरको सहायता लिएको छ ।

    प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमबाट तालिमप्राप्त कुकुर घटनास्थल पुर्‍याइएको छ ।

    घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तले शनिबार इलाका प्रहरी कार्यालयमा घेराबन्दी गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै हवाई फायर गरेको थियो ।

    १० कक्षामा अध्ययनरत शाही हराएको पाँच दिनपछि शनिबार घर नजिकको जंगलमा शव भेटिएको थियो ।

    चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ ।

    घटनाले अहिले राजनीतिक रूप लिएको छ । उनी नेकपा एमाले निकट भएको बुझिएको छ । एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन् ।

    मतदानको क्रममा कांग्रेसका कार्यकर्ताले अर्कै मतदाताको नाममा मत हाल्न खोजेको भन्दै स्वास्थ्यचौकीमा रहेका दुईवटा बुथमा झगडा भएको थियो । झडपमा एमाले कार्यकर्ताहरू चक्र शाहीलगायत घाइते भएका थिए । त्यही घटनाले उग्र रूप लिएको हो ।

    चुनावपछि एमाले कार्यकर्ताहरूको कुटाइबाट आफ्ना नेता सुरज शाही घाइते भएको भन्दै कांग्रेसले प्रशासनमा दिएको उजुरीका आधारमा प्रहरीले १७ गते राति एमाले कार्यकर्ताको घरमा धरपकड गरेको थियो ।

    प्रहरीले सुरज शाहीमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा देवेन्द्र शाही र मंगल शाहीलाई पक्राउ गरेको छ । कृष्ण शाही, निराजन शाही, हिम्मत शाही, कमल शाही, भद्र शाही, राजेन्द्र शाही र विनोद शाही फरार भएको डीएसपी रविराज थपलियाले बताएका थिए ।

    मध्यरात कांग्रेस जनप्रतिनिधिसँगको साँठगाँठमा प्रहरीले घरमा हस्तक्षेप गरेलगत्तै बेपत्ता भएका विनोद शाहीको शव हिजो भेटिएको हो । नेकपा एमालेका पूर्व जिल्ला सदस्य बलबहादुर शाहीका छोरा मृतक किशोरको चुनावी रिसिवीकै कारण हत्या भएको आरोप छ ।

  • रुपन्देहीको रोहिणी खोलामा खस्यो यात्रुबस: नौ जनाको मृत्यु, २३ घाइते (भिडिओ)

    रुपन्देहीको रोहिणी खोलामा खस्यो यात्रुबस: नौ जनाको मृत्यु, २३ घाइते (भिडिओ)

    रूपन्देही । रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

    आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो । पाँचजनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

    जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरी अस्पताल पुर्याउने काम भएको बताए ।

    भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघिपनि पटक–पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुनसक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • बेपत्ता किशोरको शव भेटिएपछि अछामको विनायक तनावग्रस्त (भिडिओ)

    बेपत्ता किशोरको शव भेटिएपछि अछामको विनायक तनावग्रस्त (भिडिओ)

    सुर्खेत । १६ वर्षीय किशोर विनोद शाही मृत अवस्था फेला परेपछि अछामको पञ्चदेवल तनावग्रस्त बनेको छ ।

    जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान, कुच्चीका शाहीको शव भेटिएपछि आफन्तले हत्या भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

    शाही हराएको पाँच दिनपछि उनको शव घरनजिकको जंगलमा भेटिएको थियो । आक्रोशित स्थानीयको भीडलाई नियन्त्रण गर्न प्रहरीले चार राउन्ड गोली समेत चलाएको छ ।

    स्थानीय तह निर्वाचनको समयमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबिच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ ।

    घटनाले अहिले राजनीतिक रूप लिएको छ । उनी नेकपा एमाले निकट भएको बुझिएको छ । एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाउँदै आएका छन् ।

    एमाले अछामका नेता बल बहादुर शाहीका छोरा समेत रहेका मृतक किशोरको चुनावी रिसिवीकै कारण काँग्रेस पक्षले हत्या भएको हुनसक्ने एमाले नेता कार्यकर्ताहरूको आरोप छ ।

    प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका सूचना अधिकारी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले स्थानीयले इलाका प्रहरी कार्यालय माथि ढुंगा मुढा गर्दा चार राउन्ड गोली चलाइएको बताए ।

  • शिक्षण संस्थामै असुरक्षित हुँदैछन् छात्राहरू, यसरी हुन्थ्यो सर्वनाम स्कूलमा यौन दुर्व्यवहार (भिडिओ)

    शिक्षण संस्थामै असुरक्षित हुँदैछन् छात्राहरू, यसरी हुन्थ्यो सर्वनाम स्कूलमा यौन दुर्व्यवहार (भिडिओ)

    काठमाडौं । बालबालिकाका लागि सबैभन्दा सुरक्षित र शान्ति क्षेत्र विद्यालय हो भनिन्छ । असल चरित्र सिकाउने गुरु नै चरित्रहीन भएपछि विद्यालयमै बालबालिका असुरक्षित हुन थालेका छन् ।

    पछिल्लो समय राजधानी काठमाडौँकै स्कूल र कलेजमा भएका केही यौनजन्य दुर्व्यवहार घटनलाई शैक्षिक संस्थामै छात्राहरू असुरक्षित हुने अवस्था आएको त होइन ? अभिभावकहरू छोरी चेलीहरूलाई विद्यालय पठाउन पनि डराउनुपर्ने अवस्थामा पुगेकाले यो प्रश्न उब्जिएको छ ।

    बहसमा बलात्कार सम्बन्धी मुद्दाहरूमा हदम्याद हटाउनुपर्ने विषय आइरहेको र संसद्मा कानून संशोधनको लागि विधेयक समेत पेस भएको बेला धमाधम यौन दुर्व्यवहारका घटना सार्वजनिक भइरहेका छन् । यसमा पनि शिक्षकबाट नै छात्राहरू दुर्व्यवहारको सिकार भएका घटना अझ बढी छन् ।

    शनिवार राजधानीको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयमा होस्टल वार्डेनले छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिर आएको छ ।

    वार्डेन रामजी बस्नेतले छात्राहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै अभिभावक आन्दोलित बनेका छन् । अभिभावकहरूले घटनाबारे थाहा हुँदा हुँदै विद्यालयका प्रिन्सिपल समेत चुपचाप बसेकाले उनको पनि मिलेमतोमा घटनाहरू हुने गरेको आरोप लगाएका छन् ।

    पीडित छात्राको बयान- विभिन्न धम्की दिँदै पाइपले कुट्थ्यो

    विगत ६ महिनादेखि आफू दुर्व्यवहारको सिकार भएको बताउने एक छात्राले हामीसँगको अनौपचारिक कुराकानीका क्रममा घटनाबारे सविस्तार सुनाइन् ।

    आमाबुवा नेपालमा नभएका छात्राहरूलाई वार्डेन बस्नेतले टार्गेट गर्ने गरेको उनले बताएकी छन् । वार्डेनले एक्लो मौका छोपेर शरीरका संवेदनशील अंगमा छुने गरेको उनले बताइन् ।

    उनले भनिन्, ‘वार्डेनले तिम्रो (वेट) तौल कति छ भनेर सोध्ने गरेको थियो । मैले आफ्नो तौल सही बताउँदा होइन होला म बोकेर चेक गर्छु भन्ने गर्दथ्यो । एक्लो पाएको मौका छोपेर शरीरका संवेदनशील अंगमा छुने गरेको थियो । कक्षामा होमवर्क हेर्छु भनेर बोलाउने गरेको थियो । बोलाएर पछाडि भागमा छुने गरेको थियो ।’

    घटनाका बारेमा विद्यालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमतीलाई जानकारी गराउँदा समेत कुनै एक्सन नलिएको पीडितहरूको आरोप छ । उल्टै सिकायत गरेको भिडिओ बनाएर वार्डेनलाई देखाउने र वार्डेनले टर्चर दिने गरेको उनले बताइन् ।

    ‘प्रिन्सिपल र म्याडमसँग कुरा राख्दा यो कुरा बाहिर नल्याऊ बाहिर कुरा आयो भने स्कुलको बेइज्जत हुन्छ भनेर भन्ने गरेका थिए । स्कुलको बेइज्जत हुनु भनेको तिमीहरूको बेइज्जत हुनु हो भन्थे’, उनले भनिन्, ‘पछि प्रिन्सिपलको श्रीमतीले कम्प्लेन गरेको भिडिओ बनाएर वार्डेनलाई देखाएको रहेछ । भिडिओ हेरेपछि वार्डेन हाम्रो रूममा आएर धम्की दिएर गयो ।’

    वार्डेनले परिवारलाई यो कुरा नभन्नु भनेर धम्की दिने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘ परिवारका मान्छेलाई यो कुरा भन्यौ भने फेरि तिमीहरूको बेइज्जत हुन्छ । रेस्टिकेट गरिदिन्छु भने धम्क्यायो ।’

    वार्डेनले अनेक बहाना बनाएर पाइपले पछाडि भागमा कुट्ने गरेको पीडित छात्राहरूको भनाई छ ।

    पहिले पनि यस्तै घटना भएपछि वार्डेन निकालिएका थिए ।

    अहिले शिक्षालयका प्रिन्सिपल र उनकी श्रीमतीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । आरोपी वार्डेन भने फरार रहेका छन् ।

    तीन कक्षामा पढ्ने बालिकामाथि पनि दुर्व्यवहार

    शिक्षालयमा अध्ययनरत आठ जना बालिकाहरू दुर्व्यवहारको सिकार भएका छन् । पीडितका आफन्तहरुकाअनुसार कक्षा तीनमा अध्ययन गर्नेदेखि १० मा अध्ययन गर्नेसम्मका छात्राहरूमाथि दुर्व्यवहार भएको छ ।

    पीडितका एक आफन्त भन्छन्, ‘कक्षा तीनमा पढ्नेदेखि १० मा पढ्नेसम्मका छात्रा नानीहरू पीडित छन् । वार्डेनले बाउआमा नेपालमा नभएकाहरूलाई टार्गेट गर्ने गरेको देखियो । उनीहरूको संवेदनशील अंगमा हात लगाउने, कुरा कतै भनेको खण्डमा विद्यालयबाट निकाल्ने धम्की दिने, राति राति पाइपले कुट्ने गरेको पाइएको छ ।’

    घटनामा प्रिन्सिपल र उनकी श्रीमतीको पनि हात रहको उनीहरूको आरोप छ । घटनाका बारेमा जानकारी हुँदा हुँदै पनि वार्डेनलाई कारबाही गर्नुको सट्टा संरक्षण भएको आरोप उनीहरूको छ ।

    पीडक रामेछापबाट पक्राउ परे

    प्रहरीका अनुसार पीडक भनिएका रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई रामेछापको मन्थलीबाट पक्राउ गरिएको महानगरी प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

    उनले भने, ‘घटनाको बारेमा अभिभावकहरूले जानकारी दिएपछि हामीले अनुसन्धान गरिरहेका छौँ । पीडक भनिएका व्यक्तिलाई रामेछापबाट नियन्त्रणमा लिइएको छ । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।’

    प्रहरीका अनुसार विद्यालयका प्रिन्सिपल र उनकी श्रीमतीसँग पनि सोधपुछ भइरहेको छ । घटनाका बारेमा सोधपुछका लागि मात्रै प्रिन्सिपललाई बोलाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीसँग विद्यालयका प्रिन्सिपलले तीन दिन अगाडि आफूले घटनाका बारेमा जानकारी पाएका बताएका छन् । उनले घटनाका बारेमा थाहा हुने बित्तिकै विद्यार्थी र वार्डेनलाई राखेर कुरा गरेको प्रहरीलाई बताएका छन् ।

    प्रिन्सिपलको भनाई उद्धृत गर्दै डीएसपी न्यौपानेले भने ‘दुवै पक्षलाई बोलाएर कुरा गर्दा विद्यार्थीहरूले यौन दुर्व्यवहार नगरेको तर ब्याड टच चाहिँ गरेको भनेका थिए ।’

    विद्यार्थीहरूले घरमा अभिभावकहरूलाई वार्डेनबाट यौन दुर्व्यवहार भएको बताएपछि आन्दोलन भएको उनको भनाई छ । प्रहरीले घटनाका बारेमा प्रिन्सिपलसँग थप बुझ्ने काम भइरहेको जनाएको छ ।