Category: भिडियो

  • बजेट उद्योगमैत्री छ, आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकता : अर्थमन्त्री शर्मा (भिडिओ)

    बजेट उद्योगमैत्री छ, आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकता : अर्थमन्त्री शर्मा (भिडिओ)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

    सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न वस्तुहरूलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृद्धिसमेत भएकाले स्वदेशी वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

    धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाइ छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा अनावश्यकरूपमा करको दायरा हेरफेर नगरिएको समेत दाबी गरे । उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको मन्त्री शर्माले भने । स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उनले उद्योगमैत्री बजेट आएको भनेर आश्वस्त पारे ।

    बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । बन्द भएका उद्योगहरूलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने उनको भनाइ छ ।

    मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरे । पेट्रोलियम पदार्थमा लगाइएको कर १० रूपैया घटाइएको र त्यो भन्दा धेरै घटाउन नसक्ने बडूले प्रष्ट्याए ।

    पेट्रोलियम पदार्थ खरिदभन्दा बिक्री मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको उनको दाबी छ ।

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि कारणबारे सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन (भिडिओ)

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि कारणबारे सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन (भिडिओ)

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

    बैठकको सुरुवातमै एमाले सांसद पद्‍मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् ।

    सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत्पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।

  • मूल्यवृद्धिको कारण माग्दै एक्लै निगम पुगे राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही (भिडिओ)

    मूल्यवृद्धिको कारण माग्दै एक्लै निगम पुगे राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ ।

    सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पुगेर पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएका हुन् ।

    राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, शुद्धीकरण चार्ज, कर, भाडा दरलगायतका विषयमा जानकारी माग गरेको छ । त्यस्तै नेपालका भीभीआपीलाई वर्षमा कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ भन्ने पत्र बुझाइएको शाहीले बताए ।

    आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रूपैयाँ पुर्‍याएपछि विरोध सुरू भएको छ ।

  • उद्योग वाणिज्य संघका नेताले मेयर पवित्रा महतारामाथि ‘दुर्व्यवहार’ गरेपछि तनाव (भिडिओ)

    उद्योग वाणिज्य संघका नेताले मेयर पवित्रा महतारामाथि ‘दुर्व्यवहार’ गरेपछि तनाव (भिडिओ)

    झापा । बुधबारे हटियाको सन्दर्भमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकमा विर्तामोड नगरपालिकाकी नवनिर्वाचित मेयर पवित्रा महतारा प्रसाईँमाथि दुर्व्यवहार भएपछि नगर तनावग्रस्त बनेको छ ।

    विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले मेयर पवित्रामाथि दुर्व्यवहार गरेको आरोप छ । उनले एमालेका नगर अध्यक्ष सुवास भट्टराईमाथि हातपात गरेको आरोप एमालेले लगाएको छ ।

    बुधवार हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने माग राख्दै उद्योग वाणिज्य संघमा आबद्ध केही व्यक्तिहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूको माग सम्बोधन गर्न नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो ।

    बैठकमा मेयर महतरा बोल्न थालेपछि न्यौपाने आफ्नो ठाउँमा उठेर अवरोध गर्न थाले । बैठकमा सहभागी एमाले अध्यक्ष भट्टराईले मेयरका कुरा सुन्न आग्रह गर्दा उनी भट्टराईमाथि हातपातमा उत्रिएकाे आरोप एमालेको छ ।

    हटियामा नियमविपरीत बसेका व्यापारीलाई बिजुलीको मिटर दिनुभन्दा पहिले वृहत छलफल गर्नुपर्ने मेयरको भनाइ थियो । मेयरले जग्गादाता समेत राखेर छलफल गर्ने भनेपछि संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले तत्काल जडा गर्न माग गरेका थिए ।

    उता बैठकमा साबिकअनारमनी गाविसका अध्यक्ष हर्कलाल गिरीले व्यक्तिको नाममा मिटर दिनुभन्दा अघि जग्गादाताको पनि सल्लाह लिनुपर्ने बताएका थिए । बैठकमा तनाव भएपछि अहिले बाहिर नाराबाजी चलेको छ ।

    आन्दोलनमा विर्तामोड उद्योग वाणिज्य संघ पनि विभाजित छ ।

  • प्रचण्डले उद्घाटन गर्ने भनिएको अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट (भिडिओ)

    प्रचण्डले उद्घाटन गर्ने भनिएको अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा कुटाकुट भएको छ ।

    नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको हो । महासचिव दीपेश पुन झडप रोक्न आफै मैदानमा उत्रिए पनि विरोध र नाराबाजी भएको छ ।

    असन्तुष्ट पक्षले तानाशाह चल्दैन भन्दै केन्द्रीय समिति बैठकलाई अवैध गुट बैठक भनेका छन् । संगठनले पवन कार्की लगायत समानान्तर कमिटी बनाउनेमाथि कारबाही गरेको छ ।

    अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भनिएको बैठकमा तनाव भएपछि उनी नजाने भएका छन् ।

    कार्कीको समूहले हलमा नाराबाजी गरेको आरोप छ ।

    विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको छ ।

    महासचिव दीपेश पुनले बैठक सञ्चालन हुने बताए ।

  • पर्यटनमन्त्री आलेबारे सम्पादकको प्रश्नमा नेपालको टालटुले जवाफ- मान्छेका विषयमा बोल्न गाह्रो हुन्छ (भिडिओ)

    पर्यटनमन्त्री आलेबारे सम्पादकको प्रश्नमा नेपालको टालटुले जवाफ- मान्छेका विषयमा बोल्न गाह्रो हुन्छ (भिडिओ)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको विवादबारेको प्रश्नमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टालटुले जवाफ दिएर पन्छिएका छन् ।

    आज सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका उनले सोही कार्यक्रममा सम्पादकहरूले मन्त्री आलेका विषयमा कुरा उठाउँदा टालटुले जवाफ दिएका हुन् ।

    ‘जहाँसम्म पर्यटनमन्त्रीको कुरा छ, मान्छेका बारेमा कुरा उठ्दा जवाफ दिन धेरै गाह्रो हुन्छ,’ अध्यक्ष नेपालले भने,‘यति मात्र भन्छु बोल्दाखेरी विचार पुर्‍याएर मात्र बोल्नुपर्छ ।’

    अश्लील अभिव्यक्ति र कर्मचारीमाथिको दुर्व्यवहारका कारण पछिल्लो केही दिनयता पर्यटनमन्त्री विवादमा छन् ।

    यस्तै मन्त्री परिवर्तनका विषयमा बोल्दै अध्यक्ष नेपालले केही दिनभित्रै पार्टी निर्णयअनुसार नै हुने बताए ।

    ‘बाध्यताले ६ महिनाका लागि भनेरै पठाएका हौँ । कतिपय मन्त्रीले बाहिर खुलेरै भन्नुभयो उहाँलाई धन्यवाद,’ उनले भने, ‘६ महिना अगावै हटाउने कुरा पनि उठेको हो । त्यो भनेपछि ६ महिनासम्म त काम गर्नदिनुस भन्नुभयो । अहिले ८ महिनापछि हटाउने निर्णय गरेका छौँ ।’

    जसमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रले समय मागेकाले ढिलाइ भएको बताए ।

    ‘प्रधानमन्त्रीजी र माओवादी केन्द्रका साथीहरूले हाम्राभित्र पनि कुरा उठेको छ । केही दिनमा सँगै गरौँला भनेर भनिएको छ । छिट्टै केही दिनमा परिवर्तन हुन्छ,’ उनले भने ।

  • मंसिरमै चुनाव गर्ने गरी छलफल भइरहेको छ : माधव नेपाल (भिडिओ)

    मंसिरमै चुनाव गर्ने गरी छलफल भइरहेको छ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने बताएका छन् । सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले गठबन्धनको बिहानको बैठकमा सोबारे छलफल भएको बताए ।

    ‘आज बिहानको छलफलमा निर्वाचनको तयारीमा जुट्नुपर्ने कुरा भएको छ । संघीय र प्रदेशसभाको निर्वाचन छ महिनाभित्र निर्वाचन हुन्छ,’ उनले भने,‘मंसिर महिनालाई आधार मानिरहेका छौं । अहिलेदेखि नै छलफल चलाउनुपर्ने आवश्यकता छ । त्यसमा उम्मेदवार र सिट बाँडफाँटका विषयमा ।’

    ती निर्वाचनमा पनि गठबन्धन गरेरै जाने अध्यक्ष नेपालले बताए ।

  • मदन भण्डारी जयन्तीमा विभिन्न विधाका खेलकुद प्रतियोगिता हुने (भिडिओ)

    मदन भण्डारी जयन्तीमा विभिन्न विधाका खेलकुद प्रतियोगिता हुने (भिडिओ)

    काठमाडौं । मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्दैछ ।

    एकेडेमीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७१ औं मदनजयन्तीका अवसरमा असार २२ गतेसम्म विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । एकेडेमीले ८ प्रतियोगिताको तालिका समेत सार्वजनिक गरेको छ ।

    खेल तालिका अनुसार भैरहवा दमक, वीरगञ्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यू-१४, यू-१६ र यू-१८ प्रतियोगिता हुनेछ । यस प्रतियोगिता असार ३ देखि असार २० गतेसम्म हुनेछ ।

    खुल्ला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौंमा हुनेछ । झापामा रेस्लिङ प्रतियोगिता हुने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए । खेल र खेलाडीको विकासका लागि एकेडेमीले विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।

    त्यस्तै बुटवल र काठमाडौंमा असार ११ देखि १६ सम्म विद्यालयस्तरीय बुद्दिचाल, अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल काठमाडौंमा हुनेछ भने काठमाडौंमा असार १७ देखि १८ सम्म फूल कन्ट्याक्ट कराते, असार २२ गते काठमाडौंमा प्रशिक्षण तथा तालिम र असार २० देखि २१ सम्म उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुने एकेडेमीले जनाएको छ ।

  • पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको छ: प्रचण्ड (भिडिओ)

    पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी गरेका छन् ।

    आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी गरेका हुन् ।

    प्रचण्डले एकताको विभाजनको श्रृखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करिव करिव पूर्व माओवादी भन्नेहरु एक ठाँउमा आउने वातावरण बनेको र त्यसको असर अन्य संगठनमा पनि पर्नु स्वभाविक रहेको धारणा राखे । उनले परिवर्तन नरुचाउने तत्वहरु अहिले पनि यसलाई उल्टाउन सकिन्छकि भन्ने खेलमा लागेको बताए ।

     

  • प्रचण्डले भने- निजामति ऐन माथिल्लो अफिसरले रोकेका छन्, आवाज उठाउनुस् (भिडिओ)

    प्रचण्डले भने- निजामति ऐन माथिल्लो अफिसरले रोकेका छन्, आवाज उठाउनुस् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामति ऐनका लागि गठबन्धनमा सहमति जुटाउने आश्वासन दिएका छन् ।

    पार्टीनिकट नेपाल राष्ट्रिय निजामति कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले कर्मचारीतन्त्रकै माथिल्लो अफिसरले ऐन रोकेर राखेको बताए ।

    उनले भने,‘सदनको बैठकबाट पारित गरेर गएको छ । लामो समयदेखि प्रधानमन्त्रीको कार्यालयमा रहिराखेकै अवस्था छ । र, त्यसलाई अगाडि बढाउने सम्बन्धमा कर्मचारीतन्त्रको माथिल्लो तहको अफिसरबाट नै केही न केही व्यवधान भइराखेको छ । हामी बल गर्दैैछौं ।’

    ऐन अगाडि बढाउन र स्थानीय तहमा काम गर्ने कर्मचारीहरूलाई वृद्धिविकाससम्बन्धी कर्मचारी ऐन निर्माण गर्ने र लागू गर्ने कुरामा आफ्नो ठाउँबाट आवाज उठाइरहन उनले आग्रह गरे ।

    ‘गठबन्धनको बैठकमा म यो विषय राख्नेछु’, प्रचण्डले भने ।

     

     

     

     

     

  • सुशासनसँगै पूर्ण डिजिटल गभर्नेन्स हुनुपर्नेमा उपराष्ट्रपति पुनको जोड(भिडिओ)

    सुशासनसँगै पूर्ण डिजिटल गभर्नेन्स हुनुपर्नेमा उपराष्ट्रपति पुनको जोड(भिडिओ)

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

    आईसीटी फाउण्डेशन नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको डिजिटल नेपाल कम्क्लेभमा उनले आईसीटी क्षेत्रको तीव्र विकासका निम्ति राज्यले योजनाबद्ध रुपमा कार्य अघि बढाउनुपर्ने बताएका हुन् ।

    उनले सरकारले सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कको सपना पूरा गर्ने लक्ष्यअनुरूप गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए । इन्टरनेटका माध्यमबाट जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने भन्दै उनले सुशासनसँगै पूर्ण रुपमा डिजिटल गभर्नेन्स हुनुपर्नेमा जोड दिए ।

    उनले विश्वमा विकसित विज्ञान प्रविधि नेपालका सबै सहर र गाउँसम्म पुर्‍याउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताए ।

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कूल गार्हस्थ उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको बताए । सरकारले देशको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सूचना प्रविधि र सञ्चार प्रविधिको विकाससँगै शासकीय सुधार र सुशासनको अभिवृद्धिलाई विशेष जोड दिएको उनको भनाइ छ ।

    आइतबारसम्म चल्ने कार्यक्रममा नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यान्वयनको विश्लेषण र भावी कदमबारे छलफल हुने बताइएको छ ।

  • एसपीपीविरुद्ध एकीकृत समाजवादी समर्थित युवाहरु सडकमा, स्पष्ट पार्न सरकारसँग माग (भिडिओ)

    एसपीपीविरुद्ध एकीकृत समाजवादी समर्थित युवाहरु सडकमा, स्पष्ट पार्न सरकारसँग माग (भिडिओ)

    काठमाडौं । ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)बारे स्पष्ट पार्न माग गर्दै सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    एसपीपी राष्ट्रको हितविपरीत रहेको भन्दै संघले यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेको छ ।

    काठमाडौंको माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’लगायतका प्लेकार्ड बोकेका थिए ।

    एसपीपीको विषयमा विभिन्न व्यक्ति र संस्था जोडिएको र थप अन्योल सिर्जना भएकाले यस विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने उनीहरुको माग रहेको छ ।

  • पूँजी बजारकाे सुधार माग गर्दै शेयर लगानीकर्ताहरुले गरे प्रदर्शन (भिडिओ)

    पूँजी बजारकाे सुधार माग गर्दै शेयर लगानीकर्ताहरुले गरे प्रदर्शन (भिडिओ)

    काठमाडौं । पूँजी बजार सुधारको माग गर्दै आन्दोलनरत शेयर लगानीकर्ताहरुले शनिबार प्रदर्शन गरेका छन् ।

    पूँजी बजार सुधार संघर्ष समितिले आफूहरुले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै ललितपुरको खुलमटारस्थित धितोपत्र बोर्डको कार्यालय नजिकै र्यालीसहित प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागीहरुले ‘पूँजी बजारको सुधार र विकास रोक्न पाइँदैन’, ‘नेप्सेको पुनर्संरचना गर’, ‘धित्तोपत्र बोर्डलाई स्वायत्त बनाऔं’लगायतका नारा लगाएका थिए ।

    पूँजी बजार सुधारको मागसहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ४ दिनदेखि आमरण अनसनमा छन् ।

    अनसनरत कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दासमेत सरकारको ध्यान नगएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

  • माधव नेपालको दाबी- एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ (भिडिओ)

    माधव नेपालको दाबी- एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गरेका छन् । पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उनले दाबी गरे ।

    ‘त्यसैबीचमा एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको । कसको सरकारका पालामा भयो भन्ने अन्योल भयो’, अध्यक्ष नेपालले भने, ‘खोज्दै जाँदा संसदमा जसले आवाज उठाएका थिए, जोडदार हंगामा मच्चाएका थिए । त्यहीँ पार्टी जोडिएको कुरा आयो ।’

    त्यत्रो कुरा किन लुकाइयो ? किन त्यो विषयमा आफै हंगामा खडा गरे भन्ने विषय बाहिर ल्याउने छलफल भइरहेको दाबी गरे । ‘किन यत्रो हंगामा ? कि सबैले बिर्से ? बिर्सने औषधि खाए या कुरा लुकाइयो ? या त कागजमा केही छैन ? यथार्थ कुरा बाहिर आओस्’, उनले थपे ।

    यस विषयमा आज बिहान गठबन्धन दलका शीर्ष नेता बसेर छलफल गरेको नेता नेपालले बताए । उनले भने, ‘बसेर प्रधानमन्त्री (शेरबहादुर देउवा)जीलाई सबै कुरा बाहिर ल्याउन भन्ने सहमतिमा पुगेका छौँं ।’

    प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भइसकेको अध्यक्ष नेपालले बताए । ‘मैले शेरबहादुर देउवालाई सोध्दा उहाँले क्याटेगोरिकल्ली जवाफ दिनुभयो । उहाँले म अमेरिका गइहाले पनि सुरक्षामा आवद्ध हुने कुनै दस्तावेजमा म सही गर्दिनँ, कसैले भने पनि म मान्दिनँ । उहाँको जवाफबाट खुसी भयौँ’, उनले भने, ‘नेपाली सेनाका प्रधानसेनापतिको जवाफ नेपाली सेना नेपालको राष्ट्रिय हित, भूराजनीतिक संवेदनशीलता र छिमेकीको संवेदनशील अवस्थालाई बेवास्ता गर्दैनौँ भन्नुभएको छ ।’

  • दुबईका राजकुमार नेपालमा (भिडिओ)

    दुबईका राजकुमार नेपालमा (भिडिओ)

    काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम आज नेपाल आएका छन् । उनी तीनदिने नेपाल भ्रमणका लागि आजै नेपाल आइपुगेका हुन् ।

    उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न झापा पुगेका छन् ।

  • सुशील कोइराला र प्रचण्डको पालामा अघि बढेको एसपीपी हामीले अस्वीकार गर्‍यौँ : ओली (भिडिओ)

    सुशील कोइराला र प्रचण्डको पालामा अघि बढेको एसपीपी हामीले अस्वीकार गर्‍यौँ : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सामेल नहुने भनेर आफ्नो नेतृत्वको सरकारले गरिसकेको निर्णय गठबन्धनले पुनः ब्युँताएको आरोप लगाएका छन् ।

    स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले सुशील कोइराला प्रधानमन्त्री हुँदा पत्राचार भएर प्रचण्ड प्रधानमन्त्री बन्दा अघि बढेको सो प्रक्रियालाई आफ्नो पालामा कार्यदल गठन गरेर अस्वीकार गरिएको बताए ।

     

    ओलीले सुशील कोइराला प्रधानमन्त्री भएको बेला रक्षामन्त्रीको हैसियतले एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर आग्रह गरेको बताए ।

    २०७२ असोज ५ गतेको मन्त्रीस्तरीय निर्णयका आधारमा असोज १३ गते सैनिक हेडक्वार्टरमा पठाइएको र सैनिक हेडक्वार्टरले कार्तिक १० गते त्यस बेलाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पत्र लेखेको आफूले जानकारी पाएको बताए ।

    ओलीले भने– यो पत्रको सिलसिला प्रचण्ड प्रधानमन्त्री भएका बेला २०७४ वैशाखमा पनि चलेको रहेछ ।
    सामान्यतः सेनापतिले पत्र त्यसरी लेख्दैन, दूतावासलाई सेनापतिले होइन परराष्ट्र मन्त्रालयले, रक्षामन्त्रालयले लेख्ने हो । सेनापति आफैँले लेखेको रहेछ,कसैलाई थाहा भएन । हाम्रो सरकार आएपछि गाइँगुइँ चल्यो । अमेरिकी सरकारको आइपिएस सम्बन्धी ३८ पेजमा पछिल्लो पटक नेपाल र श्रीलङ्का पनि संलग्न रहेको उल्लेख गरेपछि हामीले कार्यदल बनायौँ । त्यसलाई हेरेर कहाँबाट भयो,हामी भएका छैनौँ । जाने कुरा पनि आउँदैन । हाम्रो नीति पनि छैन भन्यौँ ।

    ओलीले पछिल्लो समय एसपीपीमा जाने भनेर १० बुँदे सार्वजनिक भएपछि आफूहरू नांगिने भएपछि प्रचण्डले फतुर कुरा गर्न थालेको आरोप लगाए ।

  • ओलीको टिप्पणी – शेरबहादुरजी अहिलेसम्म जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री हुनुभा’छ (भिडिओ)

    ओलीको टिप्पणी – शेरबहादुरजी अहिलेसम्म जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री हुनुभा’छ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म कहिल्यै निर्वाचित प्रधानमन्त्री नबनेको दाबी गरेका छन् ।

    अहिलेसम्म पाँच पटक देउवा जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री बनेको उनले दाबी गरे ।

    ‘पाँच वर्ष हामीले काम गर्न पाउने हो भने अरू कसैले पनि साइनबोर्ड राख्ने स्थिति भएन । त्यस कारण आतंकित भएर मुद्दा मामिलामा गएर कांग्रेसले प्रधानमन्त्री जितेर ल्यायो । अहिले पनि शेरबहादुरजीले जितेर ल्याउनुभयो,’ उनले भने, ‘२०५२ साल भदौ १२ गते पनि जितेर ल्याउने उहाँ नै हो । शेरबहादुरजी निर्वाचनबाट जितेर फ्रेस प्रधानमन्त्री कहिल्यै हुनुभएको छैन ।’

    प्रधानमन्त्री देउवा जालझेल र तिकडमबाट मात्रै हालसम्म प्रधानमन्त्री बनेको बताउँदै अध्यक्ष ओलीले भने, ‘पार्टीभित्रको जालझेल होस् की, देशभित्रको जालझेल होस्, संसदभित्रको जालझेल होस् की अदालतमा पुगेर हुने जालझेल होस् । जालझेल र तिकडमबाट मात्रै अहिलेसम्म शेरबहादुरजी प्रधानमन्त्री हुनुभा छ ।’

  • पाँच-सात भाइ नभइ एमालेसँग लड्ने आँट कसैको छैन : ओली (भिडिओ)

    पाँच-सात भाइ नभइ एमालेसँग लड्ने आँट कसैको छैन : ओली (भिडिओ)

    एमाले अध्यक्ष ओली भन्छन–पाँचसात भाई नभई एमालेसँग लड्ने आँट कसैको छैन्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै नेपालको स्थापित र शक्तिशाली पार्टी रहेको बताएका छन् । एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै उनले एमालेजस्तो वैचारिक, सांगठनिक र जनाधार भएको पार्टी नेपालमा अर्को कुनै नभएको दाबी गरे ।

    ‘लड्न आउँदाखेरि पनि अब त अब एमाले स्थापित भैसक्यो । जे गरे पनि…गठबन्धन टुट्ला भन्ने डर, आतंक ! तपाईँहरूले सुन्नुभएको छ,’ उनले भने, ‘एमालेले सिध्याउँछ, एमालेले खत्तम पार्छ गठबन्धन टुटयो भने हामी खत्तम हुन्छौँ । अर्थात् एमाले पाँच-सात भाइ नभइकन एमाले मजबु छ ।’

    यही कारण एमाले देशको प्रमुख पार्टी भइसकेको अध्यक्ष ओलीले बताए । जनप्रभावकै हिसाबले पनि एमाले देशको पहिलो पार्टी रहेको उनको भनाइ छ ।

    ‘यसको जनप्रभाव के छ ? भने अहिले पनि कम्तीमा, अझै विभिन्न कोणबाट हिसाब गर्न बाँकी छ । कम्तीमा नेकपा एमाले अरुभन्दा एक प्रतिशत ठूलो त छँदैछ,’ उनले भने,‘संसदमा हामीले हेर्‍यौं भने, अहिले पनि प्रतिनिधिसभामा हामीसँग ९८ सिट छ कांग्रेससँग ६१ छ । माओवादीसँग ४८ । ४८ दुना ९६ हुन्छ, हामी त्योभन्दा २ सिट बढी छौँ ।’

    १२० सिट जितेको माओवादी केन्द्रले २०५ सिट जितेको एमालेलाई हरायौँ भन्नु हास्यास्पद रहेको पनि अध्यक्ष ओलीले बताए ।

    उनले भने, ‘माओवादीले कांग्रेससँग मिलेर मरितरिकन १२० सिट ल्यायो । हामीले एक्लै २०५ सिट ल्यायौँ । एमाले हार्‍यो भन्या छ, एमालेलाई हरायौँ भन्या छ । २०५ ल्याउने हार्‍यो अरे, १२० जित्यो अरे के भन्या ?’

    अध्यक्ष ओलीले एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले १४ सिट जित्नै हम्मेहम्मे परेको दाबी गरे ।

    ‘अर्को पार्टी छ, एमालेबाट छुटेर गएको । १४ वटा सिट कहाँकहाँ गएर हारगुहार गरेर साँठगाँठ गरेर जित्या’छ । एमालेलाई हराइयो हाम्रो सफलता भनेर दंग भएर बस्या’छ,’ उनले भने ।

    सफलताको मापन पनि बेग्लैबेग्लै हुने भएकाले त्यसतर्फ आफ्नो ध्यान नदिने उनले बताए । उनले भने, ‘सफलता नेकपा एमाले असफल भएको होइन । तर धेरै पनि सफलता ठान्दैन् । हामीले बहुमत सिट ल्याउनुपथ्र्यो, योभन्दा धेरै भोट ल्याउनुपर्थ्यो ।’

  • राणा शासन फालिएपछि देशभक्त काटिने व्यवस्था आयो : ओली (भिडिओ)

    राणा शासन फालिएपछि देशभक्त काटिने व्यवस्था आयो : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालमा प्रजातन्त्र आएपछि देशभक्तहरूलाई झन् बढी समस्या निम्तिएको बताएका छन् ।

    एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।

    ‘राणा शासन फालिएपछि प्रजातन्त्र भनेर घोषणा भएपछि देशभक्तहरू काटिने, देशभक्तहरू मारिने, विदेश पलायन हुनुपर्ने, कोही हिउँमै हराउनुपर्ने यस खालका कुराहरू लोकतन्त्र भनिएको समाजमा भयो,’ उनले भने,‘अथवा त्यो लोकतन्त्र के आएछ त भने, तस्बिर आफै बोल्छ । देशभक्त काटिने नै लोकतन्त्र आएछ ।’

    राणा शासन ढल्दा आएको लोकतन्त्रका सञ्चालकहरूबाट देशभक्त झन् जोखिममा परेको अध्यक्ष ओलीको टिप्पणी छ ।

    उनले भने, ‘लोकतन्त्रका सञ्चालक कस्ता आए ? कस्तो बिन्दुमा त्यो टुंगियो आन्दोलन ?, भन्दा फेरी पनि देशभक्त काटिने, मारिने, जेल हालिने देशभक्तले जेल तोड्नुपर्ने, फोड्नुपर्ने भाग्नुपर्ने मारिनुपर्ने, बेपत्ता हुनुपर्ने चरम यातना सहनुपर्ने, अंगभंग हुनुपर्ने, त्यही स्थितिको लोकतन्त्र आयो ।’

  • ओली भन्छन्- पार्टीप्रति बफादार नहुने कार्यकर्ता नै होइन (भिडिओ)

    ओली भन्छन्- पार्टीप्रति बफादार नहुने कार्यकर्ता नै होइन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संघर्षको निर्णायक विन्दूमा रहेको बताएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।

    ‘यस्तो पार्टी जो संघर्षको निर्णायक विन्दूमा छ । यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने यो कुरा कल्पना पनि गर्न सकिन्न’, उनले भने, ‘हाम्रो जस्तो पार्टीप्रति पनि बफादार हुन्न भने त्यो पार्टी कार्यकर्ता नै होइन ।’

    पार्टीभित्र बसेर पार्टीलाई खुइल्याउने, पार्टीको प्रभाव कम पार्ने, त्यो पार्टीको नेता-कार्यकर्ता केही पनि नहुने उनले बताए ।

    यस्तै अहिले आफूले पार्टीलाई एकढिक्का बनाएको अध्यक्ष ओलीले दाबी गरे । उनले भने, ‘यतिबेला हामीले वास्तवमा पार्टीलाई एकढिक्का बनायाैं । एक तरिका, एक तालले हिडाउने ।’

    यसको उद्देश्य भनेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य प्राप्ति रहेको उनले बताए ।
    ‘हाम्रो गन्तव्य भनेको देशको गन्तव्य हो । जनताको गन्तव्य हो । यो राष्ट्रिय गन्तव्य हो’, उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली यसमा हामीले पुगिछोड्नु छ र यहाँ पुग्न हामीलाई रोक्नेलाई परास्त गर्नुछ ।’

  • अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा पनि एमालेको अवरोध (भिडिओ)

    अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा पनि एमालेको अवरोध (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठक अवरोध गरेका छन् ।

    बैठकमा आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

    राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरू उठेर विरोध जनाएका छन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले दिएको समयमा बोल्दै एमाले सांसद खिमलाल भट्टराईले अर्थमन्त्रीले करको दायरा निर्धारण गर्दा विचौलियाको प्रभावमा परेर करमा हेरफेर गरिएको भन्दै नैतिकताका आधार राजीनामा दिनुपर्ने बताए ।

    त्यसबाहेक प्रतिनिधिसभामा सो विषयमा एमालेद्वारा छानबिनका लागि संसदीय समितिको माग गरिएको कुरालाई नजरअन्दाज गरिएको भन्दै राष्ट्रिय सभामा अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताएका थिए ।

    त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

  • वामदेवको टिप्पणी- एमसीसी आईपीएसकै अंग हो, एसपीपीबाट हामी बच्यौँ (भिडिओ)

    वामदेवको टिप्पणी- एमसीसी आईपीएसकै अंग हो, एसपीपीबाट हामी बच्यौँ (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले अमेरिकी सहायता नियोग (एमसीसी) इन्डो-प्यासिफिक स्टाट्रेजी (आईपीएस) कै अंग भएको दाबी गरेका छन् । राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

    ‘एमसीसी आईपिएसकै एउटा अंग हो,’ सांसद गौतमले भने,‘शेरबहादुर देउवाजीको पालामा पहिलो सम्झौता भयो, दोस्रो पटक केपी ओलीजीको पालामा भयो । संसदबाट अनुमोदन भएको छ ।’

    नेपाल पक्षलाई प्रतिबद्ध गराउन र देशव्यापी भएको विरोधलाई मत्थर पार्न मात्रै १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको उनले बताए । ‘त्यसले हामीलाई नैतिक बन्धनमा राख्छ, अमेरिकालाई राख्दैन,’ उनले थपे ।

    पछिल्लो समय स्टेट पार्टनरसिप प्रोजेक्ट (एसपीपी) नेपाललाई अमेरिकी सैनिक गठबन्धनमा समावेश गर्नका लागि रहेको गौतमले दाबी गरे । संसदमा समयमै कुरा उठ्दा नेपाल जोगिएको भन्दै उनले भने, ‘एसपीपी नेपालको शिरमाथि बज्र प्रहार हुनेवाला थियो त्यसबाट मुक्त भयौँ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवामा देशको विकास गर्नुपर्ने नाममा जे-जे गर्नुपर्छ सबै तयार हुने चरित्र रहेको उनको आरोप छ ।

    ‘शेरबहादुरजी देशको विकास गर्नुपर्छ भने, के के गर्नुपर्छ ? भनेर सोधे, के के गर्नुपर्छ सबै गर्ने भन्दिनुहुन्छ । कसैले सहयोग गर्छ हात थापिहाल्नुहुन्छ । उहाँको चरित्र त्यस्तो हो,’ उनले भने । त्यसले स्वयम् देउवालाई पनि धेरै नोक्सान गरेको, राष्ट्रलाई पनि गरेको र सम्भवत: नेपाली कांग्रेसलाई पनि उत्तिकै नोक्सान गरेको उनले बताए । उनले भने, ‘अहिले एसपीपी आउँदावित्तिक्कै पनि उहाँ तयार हुनुभो ।’

    संसदमा छलफल भएपछि अहिले नेपाली कांग्रेसले त्यसमा सहमत नहुने निर्णय गरेको र प्रधानमन्त्री देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण सदनमा आएर हामी यो सम्झौता गर्दैनौँ भन्न पुगेको सांसद गौतमको दाबी छ ।

    एसपीपीका सन्दर्भमा नेपालमा पहिले भएको भनिएका पत्राचारमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको सहभागिता नरहेको पनि सांसद गौतमले दाबी गरे ।

    उनले भने, ‘मेरो नजरमा सुशिल कोइराला सन्त नेता हो । मैले उहाँसित कहिल्यैपनि मत बझाइन् । मसँग सल्लाह नभइकन उहाँले केही पनि राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका काम गर्नुभएन, निर्णय गर्नुभएन ।’

    अहिले कुरा उठ्दा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशिल कोइरालाको पालामा भएको भनेपछि आफ्नो ध्यान केन्द्रीत भएको उनले बताए ।

    ‘सुशिल कोइरालाका पालामा भएको भए त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको हो, म त छैन भन्दिन् । सरकारमा सामेल भइसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीको विचारसित सहमत हुनुपर्छ,’ उनले भने,‘त्यसो भएर ममाथि पनि आरोप लाग्नसक्छ भनेर मैले त्यस सम्बन्धमा खोजिनीति गर्दा अब के के चाही भएको हो अस्ति मात्रै एउटा पत्र आको छ ।’ त्यो पत्रले प्रस्ट पारिदिएको उनले बताए ।

    ‘यसको सुरुवात जसले गरेपनि अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेला प्रधानमन्त्री हुनुभएको अध्यक्ष ज्यू त्यसमा संलग्न हुनुहुन्छ,’ उनले भने । अब एमालेले सदनलाई सत्य बताउनुपर्ने सांसद गौतमले बताए । उनले भने,‘सत्य बताउदा पार्टी पनि सानो हुँदैन्, व्यक्ति पनि सानो हुँदैन ।’

  • ईश्वर पोखरेलको प्रश्नः सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोधियो ? (भिडिओ)

    ईश्वर पोखरेलको प्रश्नः सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोधियो ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का पत्र लेखेको बारेमा आफू जानकार नभएको बताएका छन् ।

    भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २० कात्तिक २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताएलगत्तै शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन रक्षा मन्त्री पोखरेलले सो पत्र लेखिएको बारेमा त्यो बेला आफूलाई जानकार नभएको बताएका हुन् ।

    ‘निकै ठूलो समस्या हो कि भनेर उठाउन खोजिएको विषय ९एसपीपी० निराकरण हुनेतिर गयो, यो खुसीको कुरा हो, खासमा यो कुरा एक हिसाबले क्लोज नै भयो,’ तर पोखरेलले बैठकमा प्रश्न गरे, ‘एसपीपीबारे सेनाले ९त्यो बेला० सरकारलाई कहिले सोधनी भयो ? त्यसबेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो ? सेनापतिले एसपीपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि पहिले सकारात्मक जवाफ सेनालाई पठाउने चाँही रु यसबारेमा बाहिर सत्य तथ्य ल्याउनुपर्छ ।’

    केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले एसपीपीलाई पत्र पठाएको बेला पोखरेल उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा थिए । सो विषयमा आफूलाई बिबादमा तान्ने प्रयास भएकोतर्फ संकेत गर्दै त्यसको पृष्ठभूमिका बारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो ।

    उपाध्यक्ष पोखरेलले पत्र पठाउने समय नहेरी त्यसको पृष्ठभूमिमा भएका छलफल र बहसलाई पनि सँगसँगै बाहिर ल्याउनु पर्नेमा पनि जोड गरेका छन । ‘एसपीपी कसको पालामा अगाडि बढाइएको थियो भन्ने भन्दा सुरुको कुन अवस्थामा त्यो अघि बढाइयो, त्यसको यथार्थता बाहिर ल्याउनुपर्छ,’ उनको माग छ ।

    अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा पराराष्ट्र मन्त्री नारायण खड्काले ‘एसपीपीको च्याप्टर क्लोज’ भइसकेको’ र प्रधानसेनापति शर्माले एसपीपीको सैन्य सैन्य गठबन्धनलाई नेपाली सेनाले स्वीकार नगर्ने जनाए पनि पोखरेले ‘आन्तरिक कुराहरू मोडिन सक्छन्’ भन्दै पोखरलले थप आशंका गर्न भने छुटाएनन् ।

  • काठमाडौंबाट अहिलेसम्मकै धेरै हेरोइन बरामद, ७ विदेशी महिला पक्राउ (भिडिओ)

    काठमाडौंबाट अहिलेसम्मकै धेरै हेरोइन बरामद, ७ विदेशी महिला पक्राउ (भिडिओ)

    काठमाडौं । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले हालसम्मकै सबैभन्दा बढी हेरोइन बरामद गरेको छ ।

    ब्यूरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन विमानस्थल र ठमेल वरपरका क्षेत्रमा निगरानी र अनुसन्धान गर्दा ७ जना दक्षिण अफ्रिकाका महिलाहरूलाई पक्राउ गरिएको जनाएको छ ।

    उनीहरू विभिन्न मितिमा फ्लाई दुबई र कतार एयरवेजबाट काठमाडौं आएका हुन् । उनीहरुबाट बरामद लागुऔषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको प्रहरीले जनाएको छ ।

    जसको अवैध बजार मूल्य १ अर्ब दुई करोड रहेको ब्यूरोका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए

    पक्राउ परेका विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    आइतबार र सोमबार केही परिमाणमा हेरोइन बरामद भएपछि प्रहरीले अपरेसन सुरू गरेको थियो ।

  • निष्कासित खेलाडीको समर्थनमा नवयुग, प्रशिक्षकको व्यवहार चित्तबुझ्दो नभएको गुनासो (भिडिओ)

    निष्कासित खेलाडीको समर्थनमा नवयुग, प्रशिक्षकको व्यवहार चित्तबुझ्दो नभएको गुनासो (भिडिओ)

    काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण एकैपटक राष्ट्रिय टिमबाट कप्तान किरण लिम्बुसहित ११ जना खेलाडीको बहिर्गमन भएपछि नयाँ कप्तान बनाइए नवयुग श्रेष्ठ । उनको नेतृत्वमा नेपाली टिम हालै एसियन कप छनाेट खेलेर स्वदेश फर्किएको छ ।

    स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नवयुगले पहिलोपटक प्रशिक्षक र खेलाडीबीचको विवादमा मुख खोलेका छन् । उनले घटनामा खेलाडीभन्दा प्रशिक्षककै गल्ती औंल्याए । प्रशिक्षक अल्मुताइरीले जान भनेकाले नै खेलाडीहरु बाहिरिएको उनको स्पष्टोक्ति थियो । उनले प्रशिक्षकको व्यवहार चित्तबुझ्दो नभएको बताए ।

    https://youtu.be/wI59ZP8Z2as

    ‘होटलबाट खेलाडीहरु त्यत्तिकै निस्किएको चाहिँ होइन । म पनि त्यहीँ थिएँ । त्यतिबेला कोचसँग कुरा हुँदा तिमीहरु जान सक्छौ भनेपछि उनीहरु प्रशिक्षण छाडेर गएका हुन् । पछि विवाद थप बढ्दै गएपछिको कुरामा चाहिँ मलाई केही भन्नु छैन । प्रशिक्षकले त्यसबेला खेलाडीलाई गरेको व्यवहार अलि चित्तबुझ्दो थिएन’, उनले भने ।

    एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा तीनै खेल हारेको नेपाली टिम आज बिहान १० बजे स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि कप्तान नवयुगले पुराना खेलाडी भएको भए नतिजा पनि फरक आउने प्रतिक्रिया दिए ।

    ‘भइरहेको खेलाडी टिममा नहुँदा अलि फरक त हुन्छ नै । नयाँ खेलाडीहरुले राम्रो गरे । तर, पुराना खेलाडीहरु भएको भए नतिजा केही हदसम्म राम्रो हुन्थ्यो’, उनले थपे ।

    सोचेजस्तो नतिजा नआए पनि युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरेको उनी बताउँछन् ।

    ‘हामी छनोट चैं हुन सकेनौं । तर, नयाँ भाइहरूको प्रदर्शन चित्तबुझ्दो नै छ । उनीहरु सुरुमा खेल्न डराएजस्तो भए पनि पछि राम्रो गरे । नयाँ खेलाडीहरूसँग खराब नतिजा भन्न सक्दिनँ’, श्रेष्ठले भने ।

    जोर्डनसँगको २-० पराजय सम्मानजनक नै भएको उनको टिप्पणी छ । यस्तै, दोस्रो खेलमा कुवेतसँगको प्रदर्शनमा पनि उनी सन्तुष्ट छन् ।

    ‘तेस्रो खेलमा इन्डोनेसियासँग कोचले नयाँ खेलाडीहरूलाई खेलाउने कुरा गर्नुभयो । त्यही भएर गोल धेरै खाइयो’, नवयुगले भने ।

    छनोटमा जितविहीन रहेको नेपाली टिम घरेलु टिम ओमान, जोर्डन र इन्डोनेसियासँगै समूह ‘ए’ मा थियो । तीनै खेलमा हार व्यहोरेको नेपाल पहिलो खेलमा जोर्डनसँग २-० ले, दोस्रो खेलमा ओमानसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो ।

  • एसपीपी सम्झौता गर्ने विषय असत्य : नेता लेखक (भिडिओ)

    एसपीपी सम्झौता गर्ने विषय असत्य : नेता लेखक (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको प्रष्ट्याएका छन् ।

    रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले एसपीपीबारे कसको सरकारको पालामा के के भएको हो ? त्यो सबै कुरा वर्तमान सरकारले बाहिर ल्याउनुपर्ने बताए ।

    आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीतिलाई निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने र अन्य दलहरूबीच पनि छलफल गरेर सहमतिमा पुग्ने पार्टी भएको उनको भनाइ छ । लेखकले सबै देशसँग आफूहरूले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको र यसलाई काम गरिने पनि स्पष्ट पारे ।

    प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण गर्ने कुरा स्वाभाविक भएको भन्दै यसबारेमा अनावश्यक टिप्पणी गर्न नहुने उनको भनाइ थियो ।

    नेता लेखकले संसदमा बजेट बनाउदा अवाञ्छित गतिविधि भए भन्ने कुरा उठेको भएपनि प्रमुख प्रतिपक्षी दलले संसद अवरोध गर्नु र अर्थमन्त्रीलाई संसदमा जवाफ दिन अवरोध गर्नु गलत भएको टिप्पणी गरे ।

  • सदन बहिष्कार गर्दै बाहिरिए एमाले सांसद (भिडिओ)

    सदन बहिष्कार गर्दै बाहिरिए एमाले सांसद (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बहिस्कार गरेको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको थियो । अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिष्कार गरेको हो ।

    अर्थमन्त्रीले जवाफ दिने क्रममा एमाले सांसदहरुले उभिएर विरोध जनाएका थिए । एमाले सांसदको अवरोधको बेवास्ता गर्दै अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । अर्थमन्त्रीको जवाफ सकिनासाथ एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षको विरोधलाई बेवास्ता गरिएको भन्दै संसद बहिष्कारको घोषणा गरेका हुन् ।

    ‘प्रमुख प्रतिपक्षी दल उभिइसकेपछि यो सदन अगाडि बढ्न दिनुहुँदैनथ्यो । अर्थमन्त्रीको जवाफ सुन्नुपर्ने कुनै कारण छैन । यथास्थितिमा हामी यो सदन बहिस्कार गर्छौ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।

    भट्टराईले बोलेलगत्तै एमाले सांसदहरू बैठकबाट बाहिरिएका छन् । एमालेले बहिस्कार गरेपनि सभामुखले बैठक जारी राखेका छन् ।

  • अस्तित्व मेटाउन खोजिएको एमालेले चुनावबाट देखाइदियो : केपी ओली (भिडिओ)

    अस्तित्व मेटाउन खोजिएको एमालेले चुनावबाट देखाइदियो : केपी ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रृंखलाबद्ध आक्रमण छिचोलेर स्थानीय चुनावबाट एमाले प्रमुख राजनीतिक पार्टी भएको बताएका छन् ।

    पार्टीबाट निर्वाचित देशभरका जनप्रतिनिधिलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सिध्याउन अरु सबै शक्ति लागेपनि त्यो पूरा नभएको बताए ।

    ओलीले एमालेले चूनावमात्रै नभएर अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध लडेको भन्दै जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताए ।

    ‘सबै एकातिर भएर लोकतान्त्रिक अभ्यासको नाममा तानाशाह ढंगले अनेक प्रोपोगाण्डा मच्चाइयो यस्तो अवस्थामा चुनावको सामना गर्नुभयो चानचुने कुरा होइन’, ओलीले भने ।

    जनमतका रूपमा हुनुपर्ने निर्वाचन भए पनि कुप्रचार र जालझेल भएको उनको भनाइ थियो । अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब-किताब हुने चेतावनी दिए ।

    अध्यक्ष ओलीले राज्यशक्तिको परिचालन गरेर चुनावमा एमालेविरुद्ध हथकण्डा, जालझेल, हत्या, कुटपिटजस्ता अपराधिक क्रियाकलाप गरिएको आरोप लगाए ।

    ‘एमालेलाई अध्यक्षबाट मात्र हैन साधारण सदस्यबाट समेत निष्कासन गर्ने झूटा र निराधार आरोप लगाइ उतिखेरैबाट सिध्याउन खोजिएको थियो । जीवनमरणको लडाइँ लड्दै महासंग्राम जितेर आउनुभयो । अस्तित्व मेटाउन खोजेको एमाले प्रमुख राजनीतिक पार्टी भयो ‘, ओलीले भने ।

    उनले एमालेबाहेक कुनै पार्टीसँग भिजन नै नभएको भन्दै नमुनाको रूपमा आफूलाई प्रस्तुत गर्न सक्नुस् भनी जनप्रतिनिधिलाई शुभकामना दिए ।
    ‘५ वर्ष हाइहाइ भएर काम गर्नुस् । आलोचना गर्ने ठाउँ नै नराख्नुस्’, ओलीले भने ।

  • स्थानीय उत्पादन प्रवर्द्धन गरेर निकासी बढाऔं : प्रधानमन्त्री देउवा (भिडिओ)

    स्थानीय उत्पादन प्रवर्द्धन गरेर निकासी बढाऔं : प्रधानमन्त्री देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षण गर्न मद्दत पुग्ने बताएका छन् ।

    नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकासी प्रवर्द्धन गर्न स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्नुपर्ने बताए ।

    ‘स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उत्पादन प्रवर्द्धन गर्न यस्ता एक्स्पो र व्यापार मेलाहरूले भूमिका खेल्नुपर्छ । यसबाट हाम्रो निकासी प्रवर्द्धनमा टेवा पुग्दछ’, देउवाले भने ।

    उनले नेपाली अर्थक्षेत्रमा चेम्बरले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकरात्मक रहेको बताए ।

  • एसपीपीबारे प्रचण्डको टिप्पणी- राष्ट्रवादको पाखण्डी प्रचार हुँदैछ (भिडिओ)

    एसपीपीबारे प्रचण्डको टिप्पणी- राष्ट्रवादको पाखण्डी प्रचार हुँदैछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको बताएका छन् ।

    रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दावी गरेका छन् ।

    प्रचण्डले भने–अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्,त्याचे बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भाएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।

    प्रचण्डले एसपीपीको कार्यन्व्यन गर्ने काम गर्ने २०१९ मा केपी ओली सरकारले गरेको आरोप समेत लगाए ।

  • बजेट पारित भए लगत्तै अहिलेका मन्त्री फिर्ता गर्ने नेकपा एसको निर्णय (भिडिओ)

    बजेट पारित भए लगत्तै अहिलेका मन्त्री फिर्ता गर्ने नेकपा एसको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय बजेट पारित भए लगत्तै कार्यान्वयन गर्ने भएको छ ।

    स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै नयाँ मन्त्री सरकारमा पठाउने भएको हो ।

    स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।

    स्थायी कमिटी बैठकले असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ भने १३ गते केन्द्रीय परिषद् बैठक बोलाएको खतिवडाले बताए ।

    नेकपा एसले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने समेत निर्णय लिएको छ ।

  • प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र : राजालाई अभिभावक बनाउनेदेखि चुनावी सरकारसम्मका माग (भिडिओ)

    प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र : राजालाई अभिभावक बनाउनेदेखि चुनावी सरकारसम्मका माग (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे माग पत्र पेस गरेको छ ।

    आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राजनीतिक, समसामयिक र जनजीविकाका विषयहरू समेटिएको माग पत्र बुझाएका हुन् ।

    राप्रपाको माग पत्रमा राजसंस्था सबै राजनीतिक शक्तिहरू अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्नुपर्ने माग गरिएको छ ।

    अभिभावकीय संस्थाको रूपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने पार्टीको माग छ ।

    राप्रपाले केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखेर देशलाई आर्थिक रूपमा जर्जर अवस्थामा पुर्‍याउने प्रादेशिक तह खारेज गर्नुपर्नेमा जोड दिएको छ ।

    यस्तै मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसद्को निर्वाचन पूर्ण समानुपातिक रूपमा गर्नुपर्ने माग पत्रमा उल्लेख गरिएको छ ।

    संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गर्नुपर्ने तथा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने राप्रपाले माग राखेको छ ।

    आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउनका लागि निष्पक्ष चुनावी सरकार गठन गर्नुपर्ने पनि राप्रपाले बताएको छ ।

    राप्रपाका पूर्वअध्यक्ष डा।प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्षहरू, महामन्त्रीहरू लगायतका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा पुगी ज्ञापनपत्र पेस गरिएको हो ।

    राप्रपाको माग पत्र यस्तो छ :-

    सम्माननीय प्रधानमन्त्रीज्यू,
    नेपाल सरकार
    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
    सिंहदरवार, काठमाण्डौ

    विषय : ज्ञापन पत्र ।

    सम्माननीय प्रधानमन्त्रीज्यू,

    दश वर्षको सशस्त्र द्घन्द तथा करिव अर्को डेढ दशकको संक्रमणकाल पश्चात पनि आम जनताले सकारात्मक परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । यस अवधिमा देशले ठुलो जनधनको क्षति व्यहोर्नु प¥यो । संविधान जारी भएपछि देशमा शान्ति र स्थायित्व कायम हुने, प्रजातन्त्र सुदृढ हुने, राष्ट्रियता वलियो हुने तथा मुलुकको समग्र ध्यान आर्थिक विकास र सम्वृद्घितर्फ केन्द्रित हुने आम जनताको विश्वास रहेको थियो । तर संविधान जारी भई राज्यका तीनै तहका सरकार निर्माण हुनुको साथै वर्तमान संविधान र संवैधानिक व्यवस्था कार्यान्वयनमा आइसकेको भएतापनि स्थायित्व र सम्वृद्घिको जनचाहना अधुरै रहेको छ । राष्ट्रिय अखण्डता, स्वाधीनता, सनातन धर्म, अर्थतन्त्र एवं प्रजातन्त्रमाथि पनि गम्भीर चुनौति खडा भएको छ । यस अवस्थामा विगतको त्रुटिपूर्ण मार्गचित्र, नीति र अवधारणाहरुको कार्यान्वयनवारे राष्ट्रिय स्तरमा समीक्षा, बहस र पुनर्विचार हुन नितान्त आवश्यक भएको छ ।

    यसै पृष्ठभूमिमा भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुको साथै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदुढीकरण, सुशासन र सम्वृद्घिको निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकार समक्ष देहायका मागहरु सहितको ज्ञापनपत्र पेश गरेको छ । उल्लेखित मागहरु पुरा गर्न सम्माननीय प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौं । उक्त मागहरु पूरा नगरिएमा देशव्यापी जनसंघर्ष गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी बाध्य हुने व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा जानकारी गराउँदछौं ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकार समक्ष पेश गरेका मागहरु :-

    १) हरेक वर्ष मलको अभाब हुने गरेको र यस वर्ष अहिलेसम्म पनि किसानले मल नपाएकाले किसानलाई तत्काल मल, विउ उपलव्ध गराइयोस् र समयमा मल आपूर्ति व्यवस्था गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरियोस् ।

    २) महँगी तथा कालोबजारी नियन्त्रण गरियोस् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भईरहेको श्रृंखलावद्घ मुल्यवृद्घि अविलम्व रोकियोस् ।

    ३) भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । २०४७ साल यताका उच्च पदस्थ व्यतिmहरुको सम्पत्ति छानविन गरियोस् । राज्यकोषवाट संचालित सवै निकाय र मन्त्रिपरिषदवाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गरियोस् ।

    ४) राजसंस्थासहित सवै राजनीतिक शतिmहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरियोस् ।

    ५) केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखी देशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पु¥याउने प्रादेशिक तह खारेज गरियोस् ।

    ६) मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराइयोस् ।

    ७) संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गरियोस् ।

    ८) आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष, धाँधलीरहित र विश्वसनीय वनाउनका लागि निश्पक्ष चुनावी सरकार गठन गरियोस् ।

    ९) नेपालले अवलम्बन गर्दै आएको असंलग्न परर।ष्ट्र नीति प्रतिकूल हुने कुनै पनि सम्झौता नगरियोस् ।

    १०) इम्वोस्ड नंम्वर प्लेटसँग भाषाको कुरा, सुरक्षाको कुरा, लागतको कुरा, कमिशन र भ्रष्टाचारको कुरा समेत जोडिएकोले यसको खारेज गरियोस । गर्नैपर्ने भए देवनागरी लिपिमा नम्वर प्लेट राख्ने व्यवस्था गरियोस् ।

    ११) नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गरियोस् । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने समस्या तत्काल समाधान गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउने व्यवस्था सुनिश्चित गरियोस् ।

    १२) भूमिहीन तथा घरवारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गरियोस् ।

    १३) बेरोजगारी समस्याको दीर्घकालीन समाधान गरियोस् । यस क्रममाः कम्तिमा देहायका कार्ययोजना कार्यान्वयन गरियोस्ः

    क) वर्षमा कम्तिमा पाँच लाख रोजगारी श्रृजना गर्ने गरी दीर्घकालीन आर्थिक विकास योजना सञ्चालन गरियोस् ।

    ख) कम्तिमा एक परिवार एक रोजगार कार्यक्रम कार्यान्वयन गरियोस् ।

    ग) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गराईयोस् ।

    १४) कहाली लाग्दो व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन कायम गरियोस् । आयातमुखी अर्थतन्त्रमा सुधार गरी राष्ट्रिय उत्पादन र आय वृद्धिका कार्यक्रम तत्काल सञ्चालन गरियोस् ।

    १५) राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिन सार्वजनिक विदा दिइयोस् ।

    १६) देशभरी रहेका ऐतिहासिक व्यतिmहरुका भत्काइएका शालिकहरुको पुनर्निर्माण तथा संरक्षण गरियोस् ।

    १७) प्रशासन, न्यायलय, शैक्षिक संस्था, कुटनीतिक नियोग, संवैधानिक अङ्गजस्ता निकायहरुलाई राजनीतिक हस्तक्षेप र प्रभाववाट मुतm राख्न तथा पार्टीगत आधारमा भागबण्डा, नियुतिm, सरुवा बढुवा गर्ने कार्यको अन्त्य गरियोस् ।

    १८) अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन कुटनीतिक पहल गरियोस् ।

    १९) महिला, वालवालिका तथा दलित समुदायविरुद्घ हुने सवै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशतm कदम
    चालियोस् ।

    २०) विदेशमा रहेका नेपाली नागरिकहरुले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गरियोस् ।

    २१) स्थानीय तहमा लगाएका अव्यावहारिक करहरु तथा तीन तहका सरकारवाट लगाइएका दोहोरो कर तत्काल खारेज गरियोस् ।

    २२) वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गरियोस् ।

    ……………….
    राजेन्द्र लिङदेन
    मिति : २०७९।०३।०१ अध्यक्ष

  • कम्युनिस्ट पार्टी एक भएर गएका थियौँ भने ५७५ पालिका जित्थ्यौँ : भुसाल (भिडिओ)

    कम्युनिस्ट पार्टी एक भएर गएका थियौँ भने ५७५ पालिका जित्थ्यौँ : भुसाल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेभित्र वाम एकताको बहस चलाउँदै आएका नेता घनश्याम भुसालले स्थानीय चुनावमा आएको परिणामले यदि कम्युनिस्ट पार्टी एक भएर प्रतिस्पर्धा गरेको भए ५७५ वटा पालिका जित्ने दाबी गरेका छन् ।

    बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले कांग्रेसको साथ लिएर १०६ बाट १२१ पालिका जितेका माओवादी त्यसै दंग परेको र गठबन्धनमा धोका भएको भन्दै एकीकृत समाजवादी अलमलिएको बताए ।

    भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको र अहिलेका तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी गरे । अहिले पनि चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको भुसालले बताए ।

    भुसालले भने– चुनाव आइसक्यो असम्भव छ भन्दै छन् तर म भन्छु सम्भव छ । मैले माधव र प्रचण्डसँग धेरै पटक सोधेको छु,पछिल्लो पटक कमरेड ओलीसँग सोधेको छु । बिचारमा यो प्रचण्ड र माधवजीको पार्टीसँग के चाहिँ भिन्नता हो एउटा भन्दिनुस् । सिद्धान्तमा के भिन्नता,संगठनात्मक के भिन्नता । भिन्नता छ त केबल गालीगलौज छ ।

    अहिले कांग्रेसले माछाको तेलमा माछा फ्राई गरेजस्तै कम्युनिस्टसँग मिलेर कम्युनिस्टलाई पराजित गर्न सफल भएको भुसालको टिप्पणी छ ।

    पछिल्लो समयमा पार्टीभित्र उम्मेदवार समेत आउटसोर्सिङ गर्न थालिएको र कार्यकर्ताको औचित्य सकिएको भुसालको भनाइ छ ।

    यही तरिकाले अब समाजवाद पनि आउटसोर्सिङ हुने अवस्था आउने भन्दै उनले दलाल पुँजीवाद अर्थमन्त्रलायभित्र करकार दर हेरफेर गर्न प्रवेश गरिसकेको बताए ।

  • भुसालको टिप्पणी- ओलीले कुल्ला गर्दा बान्ता नगरे खाँटी कार्यकर्ताको योग्यता पुग्दैन (भिडिओ)

    भुसालको टिप्पणी- ओलीले कुल्ला गर्दा बान्ता नगरे खाँटी कार्यकर्ताको योग्यता पुग्दैन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले गालीगलौजको संस्कृति बसाउँदै गएकाले कार्यकर्तामा त्यही रोग सल्किएको टिप्पणी गरेका छन् ।

    भुसालनिकट युवाहरूले वाम आन्दोलनको संकट र एकताबारे आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत संस्कार र संस्कृति माथिबाटै सिकाइएको र खाँटी कार्यकर्ता बन्न तल प्रतिस्पर्धा हुँने गरेको बताए ।

    भुसालले भने, ‘कमरेड प्रचण्डले एमालेको पत्तासाफ गर्छौं भन्नासाथ माओवादीका साथीहरू लाठी डण्डा लिएर उभिन्छन् । माधव नेपालले एमालेलाई धुला चटाउँछु भनेपछि एकीकृत समाजवादीका कार्यकर्ता केपी ओलीको पुत्ला बोकेर निस्कन्छन् । अनि केपी ओलीले माधव नेपालको नाम लिँदा कुल्ला गरेपछि कार्यकर्ताले बान्ता गर्नैपर्छ, त्यति नगरे योग्यता नै पुग्दैन ।’

    भुसालले कम्युनिष्ट आन्दोलनभित्र विचार चिन्तन र अध्ययनको प्रवृत्ति कमजोर भएकोमा चिन्ता व्यक्त गरे ।

    तस्बिरहरु : उमेश कार्की

  • अमेरिकी सेना नेपालको अनुमतिबेगर कहिल्यै आउँदैन : कानुनमन्त्री बन्दी (भिडिओ)

    अमेरिकी सेना नेपालको अनुमतिबेगर कहिल्यै आउँदैन : कानुनमन्त्री बन्दी (भिडिओ)

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले अमेरिकी सेना नेपालको अनुमतिबेगर नेपाल कहिल्यै आउन नसक्ने बताएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा एमसीसी, व्याख्यात्मक घोषणाको स्वीकार्यता लगायतका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

    ‘अमेरिकी सेना नेपालको इजाजतबेगर कहिल्यै आउन सक्दैन । ग्लोबल एजमा राज्य र राज्य बीचको सम्बन्धलाई डिफाइन गरेको हुन्छ,’ उनले भने,‘त्यो अनुसार कुनै पनि देश अर्को देशमा इजाजतबेगर जबर्जस्ती घुस्न पाउँदैन् । युएनको च्याप्टर ६ र ७ बाहेक ।’

    यस्तै एमसीसीको व्याख्यात्मक घोषणा संसदले अनुमोदन गरेको दुईघण्टा नपुग्दै अमेरिकाले स्वीकार गरिसकेको मन्त्री बन्दीले दाबी गरे ।

    ‘यही संसदले एमसीसी पास गर्‍या हो, झण्डै ९ बजेको थियो हामीले यहाँबाट व्याख्यात्मक टिप्पणी पास गर्दा । पौने ११ बजे अमेरिकाले स्टेटमेन्ट जारी गरेर स्वागत गरेको छ,’ उनले भने,‘उसको सन्धिमा व्याख्यात्मक टिप्पणीसहित पास गरेर पठाउँदा स्वागत गर्छ कसैले ? आपत्ति गर्थ्यो होला ।’

    व्याख्यात्मक घोषणाको औचित्यका विषयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाले प्रश्न उठाएका थिए । सोही विषयको जवाफमा मन्त्री बन्दीले अमेरिकाले स्वागत गरेको, भियना महासभाले बनाएको अन्तार्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको गाइडलाइनअनुसार व्याख्यात्मक घोषणा औचित्यपूर्ण रहेको दाबी गरे ।

    ‘पहिलो कुरा अमेरिकाले स्वागत गर्‍या छ, तत्कालै । झण्डै २ घण्टाभित्रै । यस्तै अन्तर्राष्ट्रिय भियाना महासभाको सन्धि ऐन-१९६९ छ । त्यसको आर्टिक ३४ बारे मैले पटक-पटक भन्या’छु । त्यसपछि संयुक्त राष्ट्रसंघको छ, २०११ मा बनाएको,’ उनले भने,‘जसले के भन्छ भने द्विपक्षीय सन्धिमा व्याख्यात्मक घोषणा त्यो सन्धिको अंग बन्छ भनेको छ ।’

    त्यस्तै नेपालको सन्धि कार्यान्वयन गर्ने सम्बन्धी कार्यबिधिले पनि कुनैपनि सन्धि गर्दाखेरि व्याख्यात्मक घोषणा गर्नसकिने भनेको मन्त्री बन्दीले बताए ।

    उनले भने, ‘नेपालको राष्ट्रिय कानुन र कार्यविधिमा भएको व्यवस्था, अन्तर्राष्ट्रिय कानुनमा भएको व्यवस्था, हाम्रो सन्दर्भमा उठेका प्रश्नहरू संसदले गरेको यो हो है हाम्रो बुझाइ भनेर पास गरिसकेपछि त्यो सन्धिको अंग भएको कारणले गर्दा कुनै शंका नभएको कुरा अनुरोध गर्छु ।’