काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले स्थानीय चुनावमा धेरै पाउन नसके पनि एमालेलाई हराउन काफी भएको दाबी गरेका छन् । नेकपा एसको वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूको शक्तिलाई अवमूल्यन गर्दा गठबन्धनले पनि उल्लेख्य सफलता पाउन नसकेको बताए ।
नेपालले भने, ‘निकै ठूलो सम्भावना भएको भनिएको पार्टीले निकै ठूलो धक्का खान पुग्यो । हामी ग्राफ हेर्दै थियौं, कांग्रेसले कति पायो, एमाले र माओवादीले कति जिते भन्ने ग्राफ । राजनीतिमा आफूले धेरै पाउन सकेनन् भने अर्कोलाई सिध्याउन पनि काफी हुन्न । अहिले सुन्नुभएको होला, कतिपय ठाउँमा एक सिट जितेकोलाई मुख्यमन्त्री बनाइयो । हाम्रो शक्तिलाई अवमूल्यन गर्छन् भने महँगो मूल्य चुकाउनुपर्न हुन्छ ।’
अध्यक्ष नेपालले आफूहरू गठबन्धनको नाममा बढी आशावादी भइरहेको भन्दै एक्लै आफ्नो शक्ति बनाउन लाग्नुपर्ने बताए । उनले गठबन्धनको उम्मेदवार भएपछि सानदार जितिन्छ भन्ने भ्रममा नबस्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले अपमान गरिए गठबन्धनलाई चुनाव जित्न अप्ठेरोमा पर्ने चेतावनी समेत दिए ।
उनले भने, ‘गठबन्धनको उम्मेदवार बन्छौं सानदार जित्छौं भन्ने हाम्रोमा मानसिकता भयो । आफ्नो शक्ति बनाउन लागेनौं । हामीले कांग्रेस र माओवादीलाई हिर्काएको हिर्काएकै छौं । तिमीहरूको अहंकार, धोखाधडी र बेइमानीले जसरी गठबन्धनले जित्नुपर्थ्यो त्यो नहुने खतरा अहिले पनि छ भनिरहेका छौं । तर, हामीसँग अरु विकल्प पनि छैन ।’
अध्यक्ष नेपालले एमालेले अहिले आफूहरुलाई धेरै प्रहार नगरेकाले आफूहरूले पनि धेरै प्रहार नगर्ने बताए । तर, एमालेको भ्रममा पर्न नहुने समेत उनले बताए ।
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको प्रष्टीकरण दिएका छन् ।
दिल्ली उड्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले हेर्दा आकस्मिक जस्तो देखिएपनि २ महिनाअघि नै भ्रमणको कुरा चलेको दाबी गरे ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउको नेपालभ्रमणलगत्तै भारत जानुका पछाडि पत्रकारको प्रश्नमा उनले भने, ‘यो संयोगजस्तो मात्र हो । चिनियाँ कम्युनिष्ट पार्टी विभागका प्रमुख आउने-जाने कुरामा कुनै सरोकार छैन । प्रष्ट पार्न चाहन्छु ।’
‘हेर्दा आकस्मिकजस्तो देखियो । २ महिनाअघिबाट नै यसको कुरा चलेको थियो । विनय क्वात्राकै पालामा उहाँले उपयुक्त समयमा भारत भ्रमण आवश्यक छ त्यो वातावरण मिलाउँदैछु भन्नुभएको थियो’, प्रचण्डले प्रष्ट्याए, ‘विदेश सचिव भएर गएपछि मलाई उपयुक्त समय कुन हुनसक्छ ? भनेर सोध्नुभयो । पार्टीको केन्द्रीय समिति बैठकलगायतका समय हेरेर जुलाईको दोस्रो या तेस्रो साता हुनसक्छ भनेको थिए । त्यसकारण यो आकस्मिक होइन ।’
भारत भ्रमण सद्भाव भ्रमण मात्र भएको बताउँदै दाहालले भने, ‘नेपालसँगको सम्बन्धलाई अझ मजबुत कसरी बनाउने भन्नेबारे । यो सद्भाव भ्रमण मात्र हो । नेपाल र भारत दुवैको हितलाई केन्द्रमा राखेर छलफल हुनेछ । भारतसँगका सिमाना, व्यापारलगायतका विषयमा कूटनीतिक वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुनेछ ।’
काठमाडौं । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ ।
बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक वर्षसम्म लेखा समितिको भापति कांग्रेसले नछाडेको भनी प्रश्न गरे ।
‘आफैँ काम गर्ने, आफैँ अनुगमन गर्ने, आफैँ परीक्षण गर्ने हो ? लोकतन्त्रमा यही हुन्छ ? यसमा सभामुखको पनि ध्यान पुगेको देखिन्न,’ उनले भने ।
सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टीभित्र गठबन्धन बलियो बनाएर लैजान सुझाव दिएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्दै निधिले पाँच दलबीच मात्र तालमेल गरेर नहुने आउँदो निर्वाचनमा कांग्रेस सफल हुन पार्टीभित्र पनि गठबन्धनको खाँचो औंल्याएका हुन् ।
‘१४औं महाधिवेशनमा तपाईंविरुद्ध म, शेखरजी, प्रकाशमानजी उम्मेदवार हुनुन्थ्यो । कांग्रेसमा सभापतिबाहेकका शक्ति केन्द्र र उपकेन्द्र धेरै छन् । र, यी केन्द्र र उपकेन्द्रलाई एकताबद्ध गरेर लैजाने चुनाव जित्न र पार्टीको सुदृढीकरणका लागि अत्यावश्यक छ । मैले उहाँलाई भनेको छु- जुन काम तपाईँको काँधमा छ । ६ महिनाभन्दा बढी नाघिसक्यो विभागलगायतका विभिन्न काम बाँकी छन् । यी सबैमा हामी सहयोग गर्छौं’, उनले भने ।
स्थानीय चुनावमा कांग्रेसले बढी सिट ल्याएको र प्रदेश र संघको निर्वाचनमा त्योभन्दा बढी उद्देश्य लिएर बहुमत आउने गरी काम गर्नुपर्नेमा निधिको जोड थियो ।
‘स्थानीय चुनावमा मेयर-उपमेयर, अध्यक्षको टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र साथीहरूले जितेका छन् । उनीहरूलाई पनि आउँदो चुनावमा कांग्रेसको पक्षमा लाग्न मिलाएर लैजानुपर्छ’, उनले भने ।
विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे कांग्रेसले नै नेतृत्व गर्दै दिशानिर्देश गर्नुपर्ने निधिको भनाइ थियो ।
काठमाडौं । सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानबिन गर्ने भएको छ ।
बिहीबार आगलागी भएको स्थानको निरीक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने बताइन् ।
गोदाममा बिद्युतको प्रवाह नै नरहेको अवस्थामा नियोजित तवरले आगो लगाइएको हुनसक्ने मन्त्री रेग्मीले आशंका गरिन् । आगलागीबाट करौडौको क्षति भएको र आवश्यक कागजपत्र लगाएतका सामाग्री नष्ट भएको भएको भन्दै संलग्नलाई कारबाही गर्ने उनले आश्वस्त पारिन् ।
बुधबार भएको आगलागीका कारण उक्त गोदाम पूर्णरूपमा जलेर नष्ट भएको छ ।
काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको स्वागत गरेको छ ।
संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदबाट पारित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐनले चिकित्सक, स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गरेको भन्दै स्वागत गरेको हो ।
संघले ऐन पारित भएसँगै नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई विधि र विधानबमोजिम कानूनसम्मत तवरबाट सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. लोचन कार्कीले ऐन निर्माणमा संघले दिएको सुझावलाई सरकारले मनन गर्नु सकारात्मक भएको बताए । उनले ऐन पास गर्न पहल गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।
पत्रकार सम्मेलनमा संघका पूर्वपदाधिकारीहरुले सरकारले ल्याएको नयाँ ऐनको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए । संघले नेपालका चिकित्सकहरुको सुरक्षा र स्वास्थ्य संस्था तथा अस्पतालहरुमा शान्ति सुरक्षा कायम राख्न अनेकौं प्रयासहरु जारी राखेको जनाएको छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् ।
बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै कानुनअनुसार कारबाही हुने बताएका हुन् ।
देशको करिब ८० प्रतिशत व्ययभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्याउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए । प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरुमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे ।
अर्थशास्त्र विभागले जेठ १८ गते सञ्चालन गरेको स्नातकोत्तर तह तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकायअन्तर्गत डीन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।
हुबहु प्रश्नपत्र बाहिर आएपछि त्रिविको कार्यकारी परिषद्को बैठकले व्यवस्थापन संकायअन्तर्गतको परीक्षा रद्द गरी साउन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने र प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए ।
काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले) को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे ।
२०७३ सालमा उक्त विभागमा महाप्रसाद अधिकारीको नाम रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ ।
उनले यस विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन नगरेको भन्दै गर्न सक्ने स्थिति पनि होला कि नहोला भन्ने प्रश्न गम्भीर रहेको बताए ।
नेता श्रेष्ठले अघिल्लो सरकारले विरोध गरेको संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन नहुने जिकिर पनि गरे ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘एकथरी शक्ति’ देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजान खोजिरहेको बताएका छन् ।
अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले भने, ‘तपाईँहरूले सुन्नुभएको होला आजभोलि केही नेताहरू त खुलेआम संघीयता खारेज गर्नुपर्छ अब भन्ने कुरा बोलेका छन् । त्यो जाने भनेको निरंकुश राजतन्त्रकै ठाउँमा हो । त्यल्ले लाने उही ठाउँमा हो ।’
केही दिनअघि एमाले अध्यक्ष ओलीले सम्पादकसँगको अन्तरक्रियामा संविधान बनाउँदा जति विचार गर्नुपर्थ्यो गर्न नसकिएको भन्दै संघीयता सफल भएन भने परिवर्तनका लागि सबै तयार हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।
प्रचण्डले पुरानो सोचमा हुर्किएका पात्र र पार्टीलाई हिँडिराखेको, जानिराखेको बाटो हिँड्न मान्छेलाई सजिलो हुने र वैज्ञानिक हुन धेरै गाह्रो हुने बताए ।
‘संविधान बनाउँदा भएका छलफल म सम्झिरहन्छु । एकथरी साथीहरू जो हिजो नेपालमा गणतन्त्र सम्भव छैन छिट्टै या संविधानसभा सम्भव छैन भन्ने ठान्थे,’ उनले भने,‘उनीहरूले भनेको शब्द म सम्झिन्छु के भाउतु ल्याइदिए, गाविस ठिकै थिए नि वडाहरू ठिकै थिए नि । एकात्मक व्यवस्था ठिकै थियो, राजतन्त्र ठिकै थियो भन्ने उहाँहरूलाई लागिराख्यो ।’
त्यो शक्तिको अहिले पनि संघर्ष चलिराखेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘संविधानले माग गरेअनुसारका नयाँ ऐन ल्याउँदा एकथरी पार्टी र नेतालाई फलामको च्युरा भएको छ ।’
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालको राष्ट्रिय पुँजीपति वर्ग वर्गका रूपमा नआएर गाडी र साडीकै व्यापारमा अल्झिएको बताएका छन् । त्यो वर्गले गाडी र साडीकै व्यापारमा फाइदा देख्ने र उनीहरूसँग राजनीतिज्ञको साइनो जोडिने अवस्थाले देशमा विज्ञानको अपेक्षाकृत विकास हुन नसकेको उनले बताए ।
अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
‘हामीकहाँ राष्ट्रिय पुँजीपति वर्ग, वर्गका रूपमा आएकै छैन । ८० प्रतिशत बैंकको ल्यान्डिङ करिब/करिब ३०/३५ वटा व्यापारिक घरानाले व्यापारमा लगाउँछन्,’ उनले भने, ‘तिनले उत्पादन गरेर रोजगारी दिने बाटो सब छोडे । अथवा त्यो टिकाउन सकिएन वा टेकेनन् । गाडी र साडीको व्यापार गर्दाखेरी नै नाफा ठान्यो ।’
अनि त्यो गाडी र साडी व्यापार गर्ने व्यापारी वर्गसँग हाम्रो राजनीतिक नेतृत्वको लगनगाँठोले कसिएको उनले बताए । ‘जसले गर्दाखेरी यहाँको साइन्स, साइन्टिफिक कन्ससनेस सारा कुरा अवरुद्ध भयो,’ उनले भने ।
पुँजीपती र उत्पादनशील हुनुपर्ने त्यो वर्ग र राजनीतिज्ञले फराकिलो सोचमा ध्यान दिन छाडेर नेपालमा वैज्ञानिकहरू अड्याउने नसकिने भुसालले बताए ।
नेताहरूको गाडी र साडीको व्यापारी वर्गसँग साइनो जुट्दा तलका कार्यकर्तामा समेत विज्ञानको चेत मरेको उनको टिप्पणी छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबैजसो क्रान्ति कम्प्रमाइजमा टुंगिएको बताएका छन् । अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
‘नेपालमा ठुल्ठूला परिवर्तनका निम्ति जनस्तरबाट आन्दोलन भए, क्रान्ति भए । ती विज्ञानमा आधारित भएकै कारण केही सफलता पाएका हुन्,’ उनले भने, ‘तर, सम्पूर्णरूपमा क्रान्ति सापेक्षिक रूपमा हुनसकेका छैनन् । प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुंगिएका छन् ।’
क्रान्ति र परिवर्तनहरू सम्पन्न गर्दा धनीले नभई गरिब वर्गले गरेको अध्यक्ष प्रचण्डले बताए ।
उनले भने, ‘क्रान्ति र परिवर्तन सम्पन्न गर्दा धनी र सम्पत्तिशालीले गरेका छैनन् । धेरै सम्पत्ति भएका करोडपति-अरबपतिहरूले त क्रान्ति गरेका छैनन् । ती श्रमजिवी, मध्यम वर्ग या सम्पत्तिहीनको विद्रोहबाट भएका छन् ।’
तर, यस्ता विद्रोह धेरै कारणले कम्प्रमाइजमा टुंगिनुपर्ने स्थिति बनेको उनले बताए ।
‘कम्प्रमाइज गर्दा सम्पत्तीशाली वर्ग जसको अनुभव, जसको पुँजीको तागत, जसको सत्ताको ताकत र त्यसलाई सञ्चालन गर्ने अनुभवसँग कम्प्रमाइज गरेर आएको शक्तिको वा विज्ञानलाई प्रयोग गर्ने शक्तिको संघर्ष हुने र उनै हाबी हुने देखियो,’ उनले भने ।
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो देश बनाउन राम्रो पार्टीहरू हुनुपर्ने बताएका छन् ।
अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले मुलुकको राम्रो भविष्यका लागि असल पार्टी हुनुपर्ने बताए ।
‘राम्रो राष्ट्र बनाउने भने राम्रो राजनीति चाहिन्छ । राम्रो राजनीतिका लागि राम्रो पार्टी चाहिन्छ,’ उनले भने,‘खराब पार्टीहरू भएको मुलुकको राम्रो भविष्य हुँदैन । राम्रो पार्टी भन्ने राम्रो चेतना हो ।’
नेपालका राजनीतिक दलले समाजवादका नाममा जनतामा भ्रम छरिरहेको नेता भुसालले टिप्पणी गरे । नेपाली कांग्रेसले बीपी कोइरालाको समाजवादलाई खाली बोलीका लागि बनाएको बताउँदै उनले भने, ‘बीपीले प्रजातान्त्रिक समाजवाद एक प्याराग्राफ लेखिदिए । अहिले कांग्रेसले त्यही भन्दैन । कसैले राम्ररी लेखिदिए प्रजातान्त्रिक समाजवाद छलफल होला ।’
एमालेले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउने गरेको तर कसरी हुन्छ ? त्यो प्रष्ट नभनेको उनले बताए । ‘हामी समृद्ध नेपाल सुखी नेपाली भनेका छौं एमालेवाला । त्यो कसरी आउँछ कहिल्यै भन्दैनौं,’ उनले थपे ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ शताब्दीको वैज्ञानिक समाजवाद’ भन्ने गरेको र नेकपा एकीकृत समाजवादीले ‘यात्रा समृद्धिको, लक्ष्य समाजवाद’को भन्ने गरेको, तर कसरी आउँछ भनेर नभनेको पनि उनले टिप्पणी गरे ।
‘प्रचण्ड कमरेडले दस्तावेजमा २१ शताब्दीको वैज्ञानिक समाजवाद भनिएको छ,’ उनले भने,‘एकीकृत समाजवादीले यात्रा समृद्धिको, लक्ष्य समाजवाद भनिएको छ । त्यो कसरी आउछ ? परीक्षण हुनेगरी भन्दिनु न !’
यी पार्टीका सिद्धान्त र यिनका कार्यक्रम नै वैज्ञानिक नभएको नेता भुसालले टिप्पणी गरे ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्चित ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै लेखेकोमा शंका व्यक्त गरेका छन् । भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा उनले यो कविता मोतीराम भट्टले लेखेको हुन सक्ने आशय प्रकट गरे ।
ओलीले भने, ‘घाँसी कवितामा शंका गर्ने ठाउँ छ । तनहुँको घाँसी कुवाको आसपासमा घाँसी भएर काम गर्ने प्रचलन थियो कि थिएन ? घाँसी शब्द त्यहाँ थियो कि थिएन ? घाँस काटेर बेच्ने काम त त्यति बेला शहरबजारमा हुने हो । गाई पाल्ने, घोडा पाल्ने बनारस जस्तो ठाउँमा चल्ने कुरा हो ।’
उनले थपे, ‘भानुभक्तले वर पिपलको छायाँमा बसेर घाँसी लेखे कि बनारसमा मोतीराम भट्टले लेखे शंका गर्ने ठाउँ छ । भानुभक्तका धेरै रचनाको संकलन मोतीराम भट्टमार्फत भएको छ । मोतीरामले भानुभक्तलाई समीक्षात्मक दृष्टिले भन्दा पनि गुरु भक्तिको दृष्टिले हेर्थे । परम गुरु मान्थे । त्यसैले मोतीरामका रचना गुरुभक्तिवादबाट बढी निर्देशित पाइन्छ ।’
ओलीले भानुभक्तको सबैभन्दा ठूलो योगदान रामायणको अनुवाद भएको बताए ।
उनले भने, ‘उनको महत्त्वपूर्ण कुरा भनेको रामायणको अनुवाद । यो चैँ भानुभक्त आफैँले गरेको हो । यसको रचना केही तनहुँमा भयो केही जेलमा भयो ।’
काठमाडौं । राष्ट्रपति गोटाबाया राजापाक्षे परिवारसहित देश छोडेर भागेसँगै श्रीलंकाको अवस्था थप तनावग्रस्त बनेको छ । देशका विभिन्न ठाउँमा जारी सरकारविरोधी प्रदर्शनहरुले उग्र रुप लिएपछि हाल श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । केही स्थानमा कर्फ्युसमेत लगाइएको छ ।
यसैबीच आक्रोशित प्रदर्शनकारीहरुले श्रीलंकाको राष्ट्रिय टेलिभिजन ‘रुपाबहिनी’ को कार्यालय पनि कब्जामा लिएका छन् ।
प्रदर्शनकारीहरुले कब्जामा लिएसँगै हाल उक्त टेलिभिजनका सम्पूर्ण प्रसारण रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कार्यालय कब्जामा लिएपश्चात केही प्रदर्शनकारीहरुले टेलिभिजन लाइभमै गएर उक्त टेलिभिजन निष्पक्ष हुनुपर्ने र अबदेखि यस टेलिभिजनले जनतामुखी कार्यक्रममात्र प्रसारण गर्ने घोषणा गरेका थिए ।
काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले बजेटमा बिचौलिया पोसेर राजीनामा दिएका र संसदीय छानबिनमा रहेका पूर्वअर्थमन्त्री जनार्दन शर्माको असक्षमता ढाकछोप गर्न सत्तापक्षले (माओवादी) गभर्नरको विषयमा अनावश्यक टिप्पणी गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले अर्बौं रुपैयाँ अवैध सम्पत्तिलाई वैध बनाउन गठबन्धन सरकारले दिएको निर्देशन नमान्दा र माफियालाई कर छुट नदिएबापत गभर्नर निलम्बन गर्दा पनि नसकेर आफ्ना सांसदमार्फत संसदमा बेतुकका कुरा उठाउन लगाइएको बताए ।
पोखरेलले भने, ‘एम अधिकारी भन्ने व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उनी गभर्नर हो भनी सत्ता पक्षका सांसदले अर्थ मन्त्रालयको असक्षमता लुकाउन गरिएको विषयान्तर हो । महाप्रसाद अधिकारीले त्यो व्यक्ति म होइन र कुनै पार्टीको सदस्य छैन भनेर वक्तव्य दिइसकेपछि यो विषय यहाँ उठाउन मिल्दैन । यो भनेको अवैध धनलाई वैध बनाउन दिएको निर्देशन नमानेबापतको रिसराग हो ।’
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको विशेष छानबिनमा परेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसदमा राजीनामा घोषणा गरेर मन्त्रालय फर्किएपछि हतियार खरिदका लागि ८४ करोड रूपैयाँ रकमान्तर गरेको भन्दै यसमा प्रधानमन्त्रीको समेत संलग्नता रहेको आशंका गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर पूर्वगृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले प्रहरी वा सुरक्षा निकायको कुनै पनि निकायले नमागेका घातक हतियार खरिदका लागि बजेट रकमान्तर गरिएको भन्दै संसदमा सरकारले स्पष्टीकरण दिनुपर्ने बताए ।
अधिकारीले राजीनामा दिएर गएर हतियार खरिदका लागि रकमान्तर गरिएको भन्दै यसमा प्रधानमन्त्रीले आदेश दिएको हो कि होइन भन्ने प्रश्न गरे । इटलीको बदनाम कम्पनीको हतियार खरिद गर्नका लागि भइरहेको प्रपञ्च करोडौं कमिसनका खेल भएको अधिकारीले बताए ।
अधिकारीले कमिसनका लागि हतियार खरिदको चलखेल भएको समाचार आएपछि प्रहरीलाई प्रधान कार्यालयलाई दबाब दिएर वक्तव्य निकाल्न लगाइएको समेत आरोप लगाए ।
काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी पुगेर २०९औँ जन्मजयन्तीको अवसरमा आचार्यको प्रतिमामा माल्यार्पण गरेका हुन् । माल्यार्पण गर्न पुगेका देउवाले भानुभक्तले लगाउने टाेपी लगाएका थिए ।
आदिकवि भानुभक्त आचार्यको सम्झनामा प्रभावफेरिको आयोजना समेत गरिएको थियो । प्रभावफेरि सहभागी विद्यार्थीहरुले भानुभक्तको पहिरन पहिरिएका थिए । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
मङ्गलवार भक्तपुरको बालकोटमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको थियो । लिउ जियनचाओले नेपाल चीनको अत्यन्त नजिकको मित्र राष्ट्र भएको र नेपालको विकासको साझेदार रहेको भन्दै यसलाई निरन्तरता दिन चाहेको बताएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिए ।
एमाले अध्यक्ष ओलीले आफूहरू एक चीन नीतिप्रति प्रतिबद्ध बताएका थिए । नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने समेत ओलीले बताएका छन् ।
नेपालले आफ्नो नीति र निर्णय स्वतन्त्र रूपमा गर्ने र चीनले पनि स्वतन्त्र रूपमा आफ्नो नीति बनाउने भएकाले यसअघि जस्तो सम्बन्ध थियो, त्यही रूपमा नै अघि बढ्ने विषयमा सघन कुराकानी भएको भट्टराईले जानकारी दिए ।
नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका थिए ।
काठमाडौं । नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको आजको बैठक बहिष्कार गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरूले वर्तमान सरकार गठन भएको एक बर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो । हाल नेपाली कांग्रेसका भरतकुमार शाह समिति सभापति छन् ।
सभापति शाहले वार्षिक प्रतिवेदन पारित गरेर छलफल गर्न आग्रह गर्दा एमाले सांसदहरूले सभापतिको राजीनामा माग गरे ।
बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।
समिति बैठकमा विशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम कारबाहीमा पूरै बेखबर जस्तो छ । विगतमा हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठीक भएन । हामी आश्चर्यचकित भएका छौं । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’
सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ ।
अन्य सांसदहरूले सभापति परिवर्तन गर्ने विषयको भिन्नै प्रक्रिया रहेको भन्दै समितिमा यस्ता विषय नउठाउन सुझाव दिएका थिए ।
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव निरंकुश र स्वेच्छाचारी रूपमा अगाडि बढेको बताएका छन् । आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले वीरगञ्जमा तोकिएको बैठक आफूहरूसँग कुनै छलफल नगरी तय गरिएको दाबी गरे ।
‘मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन हिम्मतका साथ फेस गर्न, वैधानिक ढंगबाट बैठक राख्न र सरसल्लाह गरेर विधिसम्मत बैठक राख्न अहिले पनि चुनौती दिन्छु’, उनले भने, ‘तपाईँले अवैध ढंगले गलत मनसायका साथ आफ्नो गुटको मात्रै बैठक अपायकमा, बेमौसममा वीरगञ्जमा राख्नुभएको छ, त्यो बैठक तुरुन्त स्थगित गरेर यहाँ आउनुस् हामीसँग सल्लाह गर्न । सल्लाह गरेर अर्को बैठक राखौं यदि हाम्रो नियत खराब छ भने हामीलाई त्यहाँ नंग्याउनुहोला ।’
अध्यक्ष भट्टराईले आफूहरूले पार्टी फुटाउन नचाहेको पनि बताए । उनले भने, ‘हामीले राजनीतिक प्रतिवेदन पेस गर्छौं, शीर्षकै राखेका छौं, पार्टीको रुपान्तरण र पुनर्गठनबारे । भनेपछि हामीले अहिले पनि रुपान्तरण खोजेका छौं । फुटाउन खोजेका छैनौं ।’
रुपान्तरण भनेको विकृति विसंगतिहरू आयो भने त्यसलाई हटाएर पार्टीलाई बलियो र सुदृढ बनाउने र आवश्यक पर्यो भने, आवश्यक संगठनात्मक परिवर्तन गरेर पुनर्गठन गर्ने भन्ने अर्थ लाग्ने उनले दाबी गरे ।
‘विभाजनको निम्ति होइन, त्यसमा कुनै न मनसाय थियो, हामीले आफैं बनाएको संगठन पार्टी किन विभाजन गर्छौं ? आफैंले जन्माएको सन्तानलाई बाउआमाले किन मार्छन ?’ उनले प्रश्न गरे ।
काठमाडौं । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको आरोप लगाएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले सरकारमा रहेका दलहरू आफैँले यसअघि विरोध गरेको विधेयक राष्ट्रियसभामा दर्ता गरेको र यो सत्ता र गठबन्धन टिकाउनका लागि मात्रै भएको बताए ।
उक्त विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनुपूर्व सभामुखको धारणा बुझ्नुपर्ने दाहालको जिकिर छ ।
उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा धेरै विधेयक अड्एिकाले विधेयकलाई हेर्ने अनुगमन, सुपरीवेक्षण र सुझाव समिति बनाउनुपर्ने प्रस्तावसमेत गरे ।
दाहालले सरकारको बेवास्ताका कारण संसदमा विधेयक र कानुनहरू अलपत्र परेकाले जनतालाई समस्या भएको तर्क गरे ।
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवं पूर्वमन्त्री महिन्द्रराय यादवले आफ्नो समूहले विभाजन नचाहेको बताएका छन् । बाबुराम भट्टराई पक्षीय भेलामा बोल्दै उनले आफूहरूको तर्फबाट विभाजनको रेखा नकोरिने प्रष्ट्याए ।
‘हामीले विभाजन चाहेका छैनौं, तर उहाँ (कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूह) हरूले पनि सोच्नुपर्यो,’ उनले भने, ‘उहाँहरूले सोच्नुभएन भने जिम्मेवारी उहाँको हुन्छ । हाम्रो तर्फबाट विभाजनको रेखा पनि कोरिँदैन ।’
वीरगञ्जमा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा आफूहरूले असुरक्षित महसुस गरेकाले जान नसकेको बताए । उनले भने,‘हामी जान तयार थियौं । तर, हामीलाई बाइपास गरियो । छलफल नगरेर त्यो बैठक हामीलाई असुरक्षित अनुभव भयो ।’
त्यहाँ गएर आफूहरूविरुद्ध नाराजुलुस हुने स्थिति भएका कारण आफूहरू जान नसक्ने स्थिति बनेको उनले बताए । ‘त्यसकारण यो बैठक यहाँ आयोजना गरिएको हो,’ उनले भने ।
काठमाडौं । जनता समाजवादीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य रमेशप्रसाद यादवले आफूहरू पार्टी फोड्ने पक्षमा नरहेको बताएका छन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले आज काठमाडौंको जडिबुटीमा आयोजित केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।
‘हामी पार्टी फोड्न अगाडि बढेका छैनौं । हामी त पार्टी जोड्ने हो,’ उनले भने,‘जसले गुटको बैठक बसेर, कार्यकर्ताको घरमा पुगेर, कहिल्यै जनकपुर, कहिल्यै वीरगञ्जमा बैठक गर्दैछन् । उनैले पार्टी फोड्दैछन् ।’
पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एकल तानाशाही प्रवृत्तिले पार्टी चलाउन खोजेपछि यस्तो अवस्था आएको उनले दाबी गरे । उनले भने, ‘एकल तानाशाही राजशाही तरिका अगाडि बढ्नुभयो । हाम्रो सुझाव उहाँले मान्नुभएन । एकल नेतृत्व खोज्नुभो । त्यही भएर यस्तो अवस्था आयो ।’
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसदको ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताएका हुन् ।
संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्थाकै कारण चयनमा ढिलाई भएको दाबी गर्दै गौतमले पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गरे । दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने उनको सुझाव थियो ।
गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहिल लिन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार मृत भइसकेको बताएका छन् । उनले यो सरकारलाई अब धेरै बोकेर हिँडिरहनु उपयुक्त नहुने तर्क गरे ।
काठमाडौँमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले चुनावअघि सरकार परिवर्तन गर्नुपर्ने आशय व्यक्त गरेका थिए । यद्यपि, उनले यो सरकारको विकल्प भने अघि सारेनन् ।
ओलीले भने, ‘यो सरकार निष्प्राण र डेड भइसक्यो… । देशका लागि मृत भइसक्यो… । सतीदेवीलाई शिवले काँधमा बोकेर हिँड्दाजस्तो बोकेर हिँड्नु आवश्यक छैन । शिवले बोकेर हिँड्दा सतीदेवी त बाँचिनन् भने यस्तो गठबन्धन बोकेर के अर्थ ?’
उनले थपे, ‘यो सरकारका प्रत्येक अंग झर्दै जान्छन् । अस्ति एउटा अंग फत्र्याक्क झर्यो अब अरू अंग पनि झर्छन् । तर, भ्रष्टाचारी अंग झरेर पीठ बन्छ ? जहाँ यसका अंग झर्छन् त्यो ठाउँ रुखो हुन्छ । यसले हैजा फैलाउँछ ।’
ओलीले यो परमादेशी सरकारको अब कुनै अर्थ नभएको भन्दै आफ्नो पार्टी सकेसम्म सहमतिको बाटोमा जान चाहेको बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताएका छन् । गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै एमालेले सर्वोपरि नठान्ने उनको भनाइ छ ।
आज सम्पादकहरुसँग अन्तरक्रियामा ओलीले एमालेको मुख्य एजेन्डा देशमा सुशासन ल्याउने र लोकतान्त्रिक अभ्यासतिर फर्किने रहेको उल्लेख गरे ।
उनले भने, ‘मैले गठबन्धन चलाएर हेरेको छु । गठबन्धनका लागि गठबन्धन बनाउने पक्षमा छैन । परिस्थितिमा परिवर्तन मुख्य कुरा हो ।’
ओलीले पटक–पटक विवाह र डिभोर्स हुने प्रवृत्ति समाजमा देखिएको भन्दै यसलाई गठबन्धन निर्माणसँग तुलना गरे । उनले भने, ‘किन पटकपटक विवाह र डिभोर्स हुन्छ ? किनकि त्यो विवाह साँचो थिएन । डिभोर्स साँचो थियो । एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार गर्दैन ।’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिलेकै तरिकाले अधोगतिमा जाने हो भने श्रीलङ्का भन्दा पनि खराब स्थितिमा पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले सो चिन्ता व्यक्त गरेका हुन् ।
बजेट निर्माणमा व्यापारी तथा अनधिकृत व्यक्तिलाई घुसपैठ गराइएको घटना निकै गम्भीर भएको ओलीले बताए । यो अर्थमन्त्रीको तहबाट मात्रै सम्भव नभएको भन्दै प्रधानमन्त्रीसम्मको सेटिङ हुन सक्ने उनले संकेत गरे ।
यस्तै सरकारले हतियार खरिद गर्न लागेको भनेर सञ्चारमाध्यममा आएको समाचारप्रति पनि ध्यानाकर्षण व्यक्त गरे ।
‘बजेट निर्माण वा अरू प्रकरणमा पृष्ठ भागबाट गरिएको समर्थन र दिइएको टेको त्यति सहज छैन । त्यसको प्रभाव भनेको हामी कम्तीमा पनि श्रीलङ्का सम्म पुग्ने नै लक्षण हो । त्योभन्दा अघि पनि जान सक्छौँ । यस अधोगतिमा ब्रेक नलगाउने हो भने त्योभन्दा उँधो पनि जान सक्छ । अहिले नै सतर्क हुनुपर्ने छ,’ ओलीले भने ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।
सो क्रममा बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा चढेको गाडीमा कांग्रेस कार्यकर्ताले अवरोध पुर्याएका छन् । प्रधानमन्त्री, मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्याउन खोज्दा प्रहरीले बल प्रयोग गर्दा ठेलमठेलसमेत भएको थियो ।
पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् ।
भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता मागसहित नेविसंघ, तरुण दललगायतका युवाहरू विरोध प्रदर्शन गरिरहेका छन् । भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहररूको मुख्य माग छ ।
काठमाडौं । कमिसनका लागि नेपाल प्रहरीलाई आवश्यक नै नपर्ने हतियार किन्न लागिएको भन्दै प्रमुख विपक्षी नेकपा एमालेले विरोध जनाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा पूर्वडीआईजीसमेत रहेका एमाले सांसद नवराज सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न लागिएको बताए ।
सिलवालले प्रहरीलाई अहिले हतियार होइन ब्यारेक र प्रविधि चाहिएको भन्दै गठबन्धनलाई पैसा जम्मा गर्न र बिचौलियाको कमिसनका लागि डलर अभाव भएका बेला हतियारका नाममा भ्रष्टाचार गर्न लागिएको आरोप लगाए । उनले हतियार खरिदका लागि ३ सय प्रतिशतसम्म मूल्य बढाएर कमिसन खान खोजिएको दाबी गरे ।
सिलवालले बिचौलियाले खडा गरेको फाइलमा सही गर्न लगाएर प्रहरी अधिकारीहरुलाई फसाउने र विगतको सुडान घोटाला जस्तै कमिसनखोर र नेताहरु जोगिने र निरीह कर्मचारी फस्ने अवस्था आउनसक्ने बताए ।
उनले हतियार खरिदबारे उच्च प्रहरी अधिकारीलाई जानकारी नदिई बिचौलिया र गठबन्धनका नेता तथा मन्त्रीहरुले भित्रभित्रै सेटिङ गरेको आरोपसमेत लगाए ।
शिक्षण पेशामा १४ वर्षदेखि सक्रिय छु । साथै सानैदेखि कलाकारितामा पनि रुचि थियो । सन्दीप क्षत्री दाइसँग ह्वाट द फ्लप कार्यक्रममा लामो समय काम गरेँ । राजा राजेन्द्रसँग कमेडी क्लबमा पनि काम गरेँ । अहिले कमेडी शो कमेडी हबमा काम गरिरहेको छु ।
यो १४ वर्षमा मैले कति विद्यार्थीलाई पढाएँ होला, मलाई नै थाहा छैन । कति विद्यार्थी त ग्राजुएट भएर अहिले मेरै सहकर्मी भएका छन् । तर, शिक्षण पेशामा लागेको १४ वर्षपछि मैले नसोचेको घटनाको सामना गर्नुपर्यो । विगत पाँच वर्षदेखि मैले पढाइरहेको बागमती कलेजले मलाई अचानक जागीरबाट हटायो । कलेजमा राम्ररी नपढाएको वा अरु कमि-कमजोरी देखाएर होइन कि मैले कमेडी हबमा गरेको कमेडीका कारण म निष्कासनमा परेको छु ।
यो घटनाले मेरो आत्मसम्मानमा ठूलो ठेस पुर्याएको छ । त्यसैले म आज मिडियामार्फत् आफ्नो कुरा राख्न बाध्य भएको छु ।
कमेडी हब कार्यक्रमको पहिलो एपिसोडमा मैले ‘यमराज’ शीर्षकको प्रहसन देखाएको थिएँ । त्यसमा मैले यमराजको भूमिका निभाएको थिएँ । प्रहसनको स्क्रिप्ट पनि म आफैंले लेखेको हुँ ।
त्यस प्रस्तुतिमा मैले निजी कलेज, स्कुलले कसरी चर्को फी असुल्छन् भन्ने विषयमा व्यंग्यात्मक प्रस्तुति दिएको थिएँ । फी जति लिए पनि सुविधा चाहिँ पर्याप्त हुँदैन भन्ने सन्देश थियो । अभिभावकको ढाड सेक्ने समग्र शैक्षिक संस्थाहरुमाथि प्रहार थियो ।
पाँच वर्षअघिदेखि मैले बागमती कलेज सुकेधारामा पढाउन थालेको हो । पछिल्लो समयमा म अकाउण्ट विषयको हेड अफ द डिपार्टमेन्टको भूमिकामा थिएँ । कमेडी हबको मेरो प्रस्तुति मेरो कलेजका स्टाफ तथा प्रिन्सिपल नारायण सिटौलाले पनि हेर्नुभएछ । उहाँहरुलाई त्यो प्रस्तुतिले बिझाएछ । मैले त समग्र शैक्षिक क्षेत्रको विकृतिलाई चित्रण गरेको थिएँ । कुनै पनि स्कुल कलेजको नाम लिएको थिइनँ । तर, उहाँहरुले त मानौं आफ्नै कलेजलाई प्रहार गरेको अर्थमा लिनुभयो, जुन मैले सोचेकै थिइनँ ।
गएको जेठ ११ गते कमेडी हबमा मेरो प्रस्तुति सार्वजनिक भएपछि म कलेज गएँ । १५, १६ गतेबाट कलेजका विद्यार्थीको फाइनल परीक्षा हुँदै थियो । परीक्षाका लागि म कलेज गएँ । कलेजमा मेरो प्रस्तुति राम्रै रहेछ भन्ने कुरा भयो ।
उता परीक्षा चल्दै गर्दा प्रिन्सिपल नारायण सिटौला सरले मलाई बास्केटबल कोर्ट नजिकै आएर कलेजको विरुद्धमा यस्तो कुरा देखाउने हो ? भनेर थर्काउन खोज्नुभयो । मैले समग्र शैक्षिक क्षेत्रको बेतिथिमाथि व्यंग्य गर्न खोजेको जवाफ दिएँ । तर, मेरो जवााफले उहाँ कन्भिन्स्ड हुनुभएन ।
परीक्षा सकिएपछि विद्यार्थीको कपी लिएर आएँ । यता कमेडी हबमा मेरो नयाँ प्रस्तुतिको रिहर्सल भइरहेको थियो । तर, यही असार ३ गते शुक्रबार प्रिन्सिपल सरले फोन गरेर कलेज बोलाउनुभयो । मैले म आज भ्याउँदिनँ भनेर भनेँ । कलेज पनि लागेको छैन, आइतबार आउँछु भनेँ । र, आइतबार बिहान ७ बजेतिर कलेज पुगेँ ।
कलेजको बाहिरपट्टि डाइनिङ टेबलजस्तोमा बसेँ । भित्र जाऔं भनेर मलाई भन्नुभयो । भित्र गएपछि उहाँले सीधै भन्नुभयो, ‘तपाईं नयाँ काममा लाग्नुभएछ, त्यसका लागि बधाई । तर, तपाईंलाई कलेजले चाहिँ यो वर्षपछि डिसकन्टिन्यु गरेको छ ।’
‘मैले के गल्ती गरेँ त’ भनेर सोधेँ । उहाँले ‘तपाईं बुझ्ने मान्छे, बुझ्नु न’ भन्ने जवाफ दिनुभयो । अनि आफैंले थपे- तपाई भ्याउनुहुन्न होला ।
नभ्याउने कुरा उहाँले भन्ने कि मैले ? यो बहानामात्र थियो । खास विषय कमेडी शोको प्रस्तुति हो भन्ने मलाई एकिन भइसकेको थियो । यसले मलाई आहत तुल्यायो । ‘यो कसले गरेको निर्णय हो ? भनेर सोधेँ । उहाँले ‘म्यानेजमेन्टले गरेको’ जवाफ दिनुभयो । अब म्यानेजमेन्टमा को-को छन्, उहाँलाई नै थाहा होला ।
त्यो कलेजमा विगत पाँच वर्षदेखि मैले आफ्नो श्रम योगदान गरेको छु । विद्यार्थीलाई पढाउँदा होस् या सहकर्मीसँगको व्यवहारमा कतै कमजोरी र कम्प्लेन थिएन । कलाकारितालाई पनि सँगसँगै अगाडि बढाइरहेको छु । कलेजको जागीर खाएर कमेडी हबमा काम गर्न मलाई कुनै समस्या परेको छैन ।
मैले जागीर गुमाएँ भनेर यसरी पीर पोखेको होइन । जागीर त अन्यत्र पाउँछु नै । मलाई जुन तरिकाले निकालियो, त्यो प्रवृत्तिप्रति दुःख लागेको छ । मैले एउटा कलाकारका रुपमा समग्र शैक्षिक क्षेत्रको बेथितिलाई उजागर गर्न खोज्दा मेरो कलेज सञ्चालकको टाउको दुख्नुपर्ने केही थिएन । मैले आफ्नो कलेजलाई मात्र निशाना बनाएको पनि थिइनँ ।
आज मैले शिक्षासँग सम्बन्धित नाटक बनाउँदा कलेजले मलाई निकाल्यो । भोलि स्वास्थ्यको क्षेत्रमा भएको विकृतिमाथि प्रस्तुति दिँदा मेरो उपचार नै नहोला । हामीले त जे देख्यो, त्यही देखाउने हो । समाजलाई त्यसबाट लिनुपर्ने शिक्षा अर्कै थियो होला, तर मेरो कलेजले चाहिँ अर्कै रुपमा लिइदियो ।
यदि मैले राम्रो गर्न नसकेको भए प्रमाण देखाउनुपर्छ । कलेजलाई हानि-नोक्सानी हुने काम गरेको भए त्यसको ठोस कारण देखाउनुपर्छ । तर, अचानक डिसकन्टिन्यु गरिएको सुनाउँदा म स्तब्ध भएँ ।
यति लामो समयदेखि काम गरेको भए पनि मलाई अहिलेसम्म नियुक्तिपत्र दिइएको थिएन । अहिले पनि बर्खास्त गरिएको कुनै पत्र दिइएको छैन । विद्यार्थीबाट चर्को शुल्क असुल्ने नेपालका प्रायः कलेजहरुले शिक्षकहरुलाई नियुक्तिपत्रसमेत नदिइकन काम गराउने परिपाटी छ । प्रायःले पार्ट टाइम शिक्षक राख्छन् । अनि चाहेको बेलामा विनाकुनै प्रक्रिया घर फर्काइदिन्छन् । भोलिबाट नआउनुस् भन्यो सकियो । यही प्रवृत्तिविरुद्ध पनि मैले आवाज उठाउन खोजेको हुँ ।
यसबारे बोलिदिने कुनै संगठन छैन । भए जति सबै पार्टीगत संगठन छन् । उनीहरुले शिक्षकहरुमाथि परेको अन्यायविरुद्ध बोलेको मलाई अहिलेसम्म याद छैन । उनीहरु शिक्षकको हक–अधिकारको पक्षमा उभिएको मलाई थाहा छैन ।
वर्षमा १२ दिन अतिरिक्त बिदा पाउँछन् शिक्षकले । त्यो बिदा म बसेको हुँला । तर, त्योबाहेक थप दुई दिन बिदा बस्दा पनि तलब काट्छ कलेजले । मेरो अहिलेसम्म तलब काटिएर आएको छैन । म बिदा नै एकदमै कम बसेको छु । त्यसैले मैले कलेजलाई समय दिन नसकेको आरोप पूर्णतया मिथ्या छ ।
अब म कानूनी उपचार खोज्नुपर्ने अवस्थामा आइपुगेको छु । कानुनी उपचारमात्रै नभएर सामाजिक रुपमा पनि त्यस्ता कलेजको मनोमानी र रवैयालाई ठेगान लगाउनुपर्छ भन्ने मेरो माग छ । मन परे राख्ने, नपरे निकाल्ने गर्दा व्यक्तिले भोग्ने मानसिक तनाव, उसको परिवारमा पर्ने आर्थिक, मानसिक असरबारे कलेजको प्रिन्सिपल नै गम्भीर हुँदैन भने अरुको के आश गर्नु ।
(शिक्षक तथा कलाकार दीपेन्द्र प्रसाईंको उल्लेखित गुनासोहरुबारे हामीले बागमती कलेजका प्रिन्सिपल नारायण सिटौलासँग बुझ्न खोज्यौं । उनले प्रसाईंको आरोप स्वीकार गरेनन् । आफूले प्रसाईंलाई कलाकारितामा पनि सक्रिय भएकाले फुल टाइम नगरेर पार्ट टाइम गर्नुस् मात्र भनेको उनको भनाइ छ । प्रसाईं हप्तामा तीन–चार दिन नै कलेज नआउने गरेको दाबी पनि सिटौलाले गरे । तर, प्रसाईं भने आफू हप्तामा तीन–चार दिन कलेज नआएको भए कलेजले किन तलब काटेन भन्दै आफ्नो बैंक स्टेटमेन्ट देखाउन तयार रहेको बताएका छन् ।)
नेपाल प्रेस सहकर्मी नवीनकाजी राईसँगको कुराकानीमा आधारित
काठमाडौं । नायिका नीता ढुंगानाको विवाह पार्टीमा भाग लिन काठमाडौंका मेयर बालेन्द्र साह याक एन्ड यति होटल पुगेका छन् । होटलमा पुग्नासाथ उनीसँग फोटो र सेल्फी खिचाउन तँछाडमछाड सुरु भएको थियो ।
बेलुकी साढे सात बजेतिर बालेन सहयोगीसहित विवाह पार्टीमा आएका हुन् । होटल प्रवेश गर्ने क्रममा सञ्चारकर्मीले उनको ‘बाइट’ लिने प्रयास गरेका थिए । तर, सञ्चारकर्मीसँग तर्किँदै उनी सिधै पार्टी हलभित्र पुगे । भित्र पुग्नासाथ उनीसँग फोटो/सल्फी खिच्ने क्रम सुरु भएको हो ।
नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी हिजो विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको पार्टीमा सेलिब्रेटीहरुको ताँती लागेको छ ।
पत्रकारहरूसँग कुरा गर्दै सेलिब्रेटीहरुले नीता–हरिहरलाई शुभकामना दिए । मेयर साहले भने पत्रकारसँग बोल्न चाहेनन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार काठमाडौंमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म सस्कृतिको रक्षा गर्ने भनी संविधानमै उल्लेख भएकाले संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग गरेका हुन् ।
उनले अहिले संगठित र योजनाबद्ध धर्म परिवर्तनलाई रोकेर सरकारले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा राखे । नेपाल धार्मिक स्वतन्त्रता भएको मुलुक भएकाले आफ्नो इच्छाले गरिएको धर्म परिर्वतनमा राप्रपाको कुनै आपत्ति नरहको उनले बताए ।
अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्षको व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यता अनुकूल नरहेको धारणा राखे ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन् ।
संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका विषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन् ।
उनले गठबन्धनबीचको चुनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे । गुरुङले राष्ट्रिय र प्रजातन्त्रलगायतका विषयमा विगतमा गरेको गम्भीर गल्तीको आत्मसमीक्षा नगरेकाले एमालेसँग सहकार्य हुन नसक्ने तर्क गरे ।
फरक प्रसंगमा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टीकाटिप्पणी गर्न उचित नहुने धारणा राखे ।
नेता गुरुङले सबैको सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ विधेयक सदनमा दर्ता हुने बताए ।