काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।
प्रतिनिधिसभाको वुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो ।
बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटक पटक बस्न अनुरोध गर्दा पनि रावलले भने रुलिङ नभएसम्म रोष्ट्रम नछाड्ने अडान राखेका थिए । त्यस क्रममा केही सांसदहरुले नियमापती समेत गरेका थिए । त्यस लगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताएको विषयान्तर नगर्न आग्रह गरे । तर रावलले भने एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहोर्याए ।
त्यसपछि सभामुख सापकोटाले केहीबेरका लागि संसद बैठक स्थगित गरेका थिए । १५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभा बैठक भने सहज रुपमा अघि बढेको थियो ।
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । आज आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
श्रीलंकाली पूर्वक्रिकेटर दासानायके गत मंसिरमा दोस्रोपटक नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले जिम्मेवारी सम्हालेयता नेपाली टिमले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । हालै लिग २ क्रिकेटअन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले खराब प्रदर्शन गरेको थियो ।
यस भ्रमणमा नेपालले नामिबियाविरुद्ध दुवै खेलमा हार व्यहोरोको थियो भने स्कटल्यान्डविरुद्ध एक हार र एक जितको मिश्रित नतिजा निकालेको थियो । अपेक्षित प्रदर्शन गर्न नसकेपछि नेपालको एकदिवसीय स्टाटस कायम राख्न समस्या पर्ने देखिएको छ । यस्तै, २०२३ को विश्वकप खेल्ने नेपालको सपना पनि चुनौतिपूर्ण बनेको छ ।
दासानायकेको अघिल्लो कार्यकाल भने नेपाली क्रिकेटका लागि सुखद बनेको थियो ।
उनको प्रशिक्षणमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ देखि १ सम्मको यात्रा तय गरेको थियो । साथै, २०१४ मा बंगलादेशमा आयोजित टी-२० विश्वकपमा नेपालले स्थान बनाएको थियो ।
पुबुदुले दोस्रो कार्यकालका लागि क्रिकेट संघसँग गत मंसिरमा दुई वर्षको सम्झौता गरेका थिए । तर, नेपालको प्रदर्शन कमजोर बनेपछि उनले छिट्टै पद त्याग गरेका छन् । उनले एक साताअघि नै इमेलबाट क्यानलाई राजीनामा पठाइसकेको बताए । राजीनामामा उनले व्यक्तिगत कारण देखाएका छन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वास्तविक’ वामपन्थी पार्टीसँग आफ्नो पार्टीले सहकार्य गर्नसक्ने सन्देश दिएका छन् । तर, अहिले आफूलाई वामपन्थी भन्ने पार्टीहरुको चरित्र वामपन्थीको जस्तो नभएको उनले टिप्पणी गरे ।
‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार गठन गरिपाउँ भनेर अदालतमा निवेदन हाल्नेहरुलाई कसरी वामपन्थी भन्ने ?’, पार्टीको प्रशिक्षण कार्यक्रममा ओलीले प्रश्न गरे, ‘वामपन्थीको चरित्र यस्तै हो भने हामी त वामपन्थी भएनौं ।’
ओलीले वास्तविक वामपन्थी कोही भए गठबन्धन छाडेर आउन आह्वान गरे । उनले भने, ‘यदि कोही साँच्चै वामपन्थी छौं भने गठबन्धन परित्याग गरेर आउ ।’
ओलीले वामपन्थी भनिने पार्टीहरु कांग्रेसको खुट्टा समातेर रुने गरेको बताए ।
‘कांग्रेसले कहिलेकाहीं ठ्याम्म गालामा झिल्का देख्ने गरी हान्छ । अनि ट्याप्प पिँडुलामा समातेर रुन थाल्छन् । ठूलो छु भन्दैमा हामीलाई नहेप, यसरी हेप्ने हो ? हेपाइ अति भो भन्दै गिड्गिडाउँछन् । गठबन्धन कुनै हालतमा टुट्नुहुँदैन भन्छन्’, ओलीले क्यारिकेचर गर्दै भने ।
काठमाडौं । गण्डकी प्रदेशमा असोज अन्तिम साताबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित पार्न भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न उपसमिति गठन गरेको छ ।
मुूल आयोजक समितिको दोस्रो बैठकबाट कुल १४ मध्ये १२ उपसमिति तय भएको कार्यकारी समितिका संयोजक समेत रहेका राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी गराए ।
‘उपसमिति गठनको निर्णय गरेका छौँ । निर्देशिकाले १४ उपसमिति बनाउन दिएको छ । जसमध्ये हामीले १२ उपसमिति गठन गरेका छौँ,’ घिसिङले भने ।
जसअनुसार समारोह उपसमितिको संयोजक एकेन्द्र बहादुर कुँवर र सचिव शारङ्गिन् निरौला, प्राविधिक उपसिमतिका संयोजक हिमालराज दाशाल र सचिव प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसिमिति राजेश गुरुङ, र सचिव कष्णप्रसाद तिमल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजक राजकुमार थापा र सचिव चन्द्रकुमार राई, अनुशासन उपसमितिको संयोजक पेमा लामा र सचिव नारायणराज अर्याल छन् ।
त्यस्तै, स्वास्थ्य उपसमिति डा.बुदन्द थापा र सचिव ज्ञानेन्द्रविक्रम शाह, यातायात व्यवस्था उपसमितिको संयोजक प्रकाश कुसारी र सचिव देवराज कटुवाल, प्रचार प्रसार उपसमितिको संयोजक दिपेन्द्र विष्ट र सचिव खुशराज दाहाल, खेल सामाग्री तथा पोसाक व्यवस्थापन उपसमितिको संयोजक अञ्जन धमला र सचिव सृजन खतिवडा रहेका छन् ।
यसैगरी, स्रोत परिचालन उपसिमतिको संयोजक सुर्य भण्डारी र सचिव सरोजकुमार पोखरेल, स्वयंमसेवक उपसमितिको संयोजक जनक बर्तौला र सचिव लिलराज बस्नेत तथा एन्टिडोपिङ उपसमितिको संयोजक डा.नमिसमान प्रधान र सचिवमा दोबे तमाङ रहेका छन् ।
घिसिङले अनुशासन उपसमिति र सुरक्षा उपसमिति भने केही समयपछि मात्रै घोषणा गरिने बताए ।
प्रतियोगिता २८ असोजदेखि ३ कात्तिकसम्म हुनेछ । जसमा ३६ खेल आयोजना हुनेछन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीले चित्तबुझ्दो नतिजा निकाल्न नसकेपछि विरोधीहरुले प्रचार गरेजस्तो अवस्था नभएको बताएका छन् । उनले चुनावमा आफ्नै कन्तविजोक हुनेहरुले एमाले हारेको भनेर प्रचार गरिरहेको आरोप लगाए ।
पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने, ‘अस्तिको चुनाव राम्रो भएन । तर, हाम्रा विरोधीहरुले भनेजस्तो पनि होइन । १०-१५ वटा सीट ल्याएको छ, त्यो पनि अरुको सहारामा । अर्काको रुखका पात जम्मा गरेर अलिअलि डोकामा हालेको छ, अनि एमालेको त वनै समाप्त गर्यौं भन्दै उफ्रेका छन् । न आफ्नो विरुवा छ न त केही छ ।’
हारेको भनेको एमाले पनि दोस्रो पार्टीका रुपमा स्थापित भएको ओलीले बताए ।
‘एमालेले हार्योभन्दा पनि २०६ सीट एक्लै जितेर दोस्रो पार्टी भएको हो । अरु सप्पै झुण्डिएर कसैले हात समातेको छ, कसैले पिडौंला अँठ्याएको छ, कोही तिघ्रासम्म उफ्रीउफ्री झम्टिएको छ । र पनि सबैभन्दा ठूलो पार्टी कांग्रेसभन्दा १ लाख बढी भोट त एमालेले ल्याएको हो नि ! अहिले ऐँचोपैँचो, सरसापटी सबै गरेर ३ प्रतिशत पुर्याउनेले ३४ प्रतिशत मत ल्याएको एमालेलाई हार्यो अरे । यो हल्लाका पछि लाग्नुपर्दैन ।’
पार्टीभित्रकै कमिकमजोरीले सोचेजस्तो नतिजा नआएको ओलीको भनाइ थियो । पार्टीको सरकारले गरेका राम्रा कामहरुबारे जनतामा प्रचारप्रसार गर्न नसकिएको उनले बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरू भएको बताएका छन् ।
पार्टीको वागमतीस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका नेताको छलफलप्रति संकेत गर्दै ओलीले फुटका लागि एकता अभियान सुरू भएको बताएका हुन् ।
‘आज तपाईँहरूले अखबारमा हेर्नुभएको छ नि एकता अभियान । यो फेरि अर्को फुटका लागि एकता अभियान सुरू भएको छ । यो त्यति सफल हुँदैन,’ ओलीले भने ।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको थियो । मंगलबार नै प्रचण्ड र बाबुराम भट्टराईबीच पनि समाजवादी केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको थियो । पार्टी एकता नभई समाजवादी केन्द्र बनाउन आफूहरू लागिपरेको उनीहरूको भनाइ थियो ।
ओलीले कसैको नाम नलिई सैद्धान्तिक पूर्वाग्रह राख्ने मानिस के बोल्छन्, के गर्छन् भन्ने ठूलो विषय नभएको बताए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि एमालेको सरकार निर्माण गर्ने उद्देश्यका साथ कार्यक्षेत्रमा जुट्न पार्टीपंतिलाई निर्देशन दिएका छन् । नेकपा एमालेको सरकारले मात्रै देशको राष्ट्रियतालाई जगेर्ना गर्दै जनतालाई सुशासन दिन सक्ने उनले दाबी गरे ।
वागमती प्रदेशस्तरीय पार्टी प्रशिक्षणमा बोल्दै उनले अहिलेको सरकारले उत्पन्न गरेको दुरावस्थाबाट जनतालाई मुक्ति दिनु आवश्यक रहेको बताए ।
‘श्रीमती अघि सार्ने, सालो अघि सार्ने र पार्टीका नाममा केही व्यक्तिले लुट मच्चाउने काम गरिरहेका छन् । यो अवस्थाबाट मुक्ति दिन जरुरी छ,’ ओलीले भने ।
आफू नेतृत्वको सरकारका पालामा देशले विकास, समृद्धि र लोकतान्त्रिक अभ्यासको लय समातेको उनको भनाइ छ ।
ओलीले थपे, ‘देशले राष्ट्रिय, अन्तर्राष्टिय सफलता हासिल गर्दै एउटा लयका साथ अगाडि बढेको थियो । त्यो लयलाई फेरि प्राप्त गर्न नेकपा एमालेको सरकार निर्माण गर्नुपर्छ । यो उद्देश्य प्राप्त गर्नेगरी हामी अगाडि बढौं ।’
अहिलेको सरकारका खराब कामहरूविरुद्ध संघर्ष गर्दै चुनावी तयारी गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
‘अब मंसिरमा चुनाव गर्नबाट तलमाथि हुन दिनु हुँदैन । योबीचमा यो सरकारले दैनन्दिन गरेका भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्नेछ । राष्ट्रियता, लोकतन्त्र, विकास र सुशासनका प्रश्नलाई हल गर्दै बाह्य सम्बन्धलाई पनि सन्तुलत र उपयुक्तरूपमा अगाडि बढाउन लागि एमालेको सरकार गठन गर्न सक्नुपर्छ । यी सामान्य उद्देश्य छैनन् । यी उद्देश्य प्राप्त गर्नेगरी हामी अगाडि बढ्नुपर्ने छ । नेकपा एमालेको सरकार गठन गर्नुपर्नेछ ।’
ओलीले स्थानीय चुनावमा आफ्नै कारणले सोचेजस्तो परिणाम नआएको भन्दै आगामी चुनावमा त्यो अवस्था दोहोर्याउन नहुने बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको बैठकमा विचार मिल्नेहरुबीच पुनः पार्टी एकीकरण गर्नेबारे सकारात्मक छलफल भएको बताएका छन् ।
सिंहदरवारमा भएको तत्कालीन नेकपामा पाँच सचिवालय सदस्यको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्ष एकतामा जानेबारे छलफल भएको बताए ।
उनले भने–हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य एक ठाउँमा छौं । गठबन्धनलाई कायम राखेर जानेमा विमति छैन, कसरी प्रभावकारी बनाउने भन्ने छलफल पनि चलेको छ । हिजो एउटै पार्टीवाला भयौं, हामी नेकपाको बहुमत हौं त्यसैले विचार मिल्नेहरुबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ । पार्टी एकीकरणको पनि चर्चा गरेका छौं । तर यो हाम्रो एकीकरण वा छलफल गठबन्धनको विरुद्ध चाहीँ होइन ।
अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनको विपक्षमा नजाने समेत प्रष्ट पारे ।
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले अपेक्षाअनुसार प्रभावकारी कार्य सम्पादन गर्न महिला आयोगलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले आवश्यक समन्वय र सहकार्य गर्न नसकेको कारण आयोगबाट प्रभावकारी कार्य सम्पादन हुन नसकेको भन्दै अपेक्षाअनुसार प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिएको हो ।
पीडित महिलाको अपेक्षाअनुरुप थप संवेदनशील भएर कार्य सम्पादन गर्न बैठकले निर्देशन दिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिइन् ।
आयोगको सम्पर्कमा आएका पीडित महिलाले आवश्यक न्यूनतम सहयोग समेत प्राप्त गर्न नसक्नु दुःखको विषय रहेको समितिको ठहर छ ।
बैठकमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले गत आर्थिक वर्षमा महिलामाथि भएका विभिन्न हिंसाका एक हजार ४६४ घटना दर्ता भएको जानकारी गरेकी थिइन् । उनले आयोगले प्रस्ताव गरेका कार्यक्रम स्वीकृत नहुँदा बजेट नै फ्रीज हुनु दुःखद भएको बताए ।
त्यस्तै, समिति सदस्यहरुले योजनाबद्ध तरिकाले आफ्नो कार्य सम्पादन गर्नतर्फ ध्यान दिन आयोगलाई सुझाव दिएका थिए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
मंगलबार ६०औँ इन्जिनियरस् दिवसको अवसरमा नेपाल इन्जिसिनयर्स एशोसिएसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने समेत बताए । उनले राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको जिकिर गरे ।
प्रधानमन्त्री देउवाले पूर्वाधार निर्माणमा देखिएको समस्याहरुलाई समाधान गर्दै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता भएकाले यसमा पनि इन्जिनियरहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
देशको आर्थिक विकासलाई सहयोग पुर्याउने गरी आधुनिक पूर्वाधार सुविधाहरूको विकासका लागि सबै पक्षबीच समन्वयन हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिसिनयर्सहरुको समस्या समाधान लागि इन्जिसिनयर्स परिषद्सम्बन्धी विधेयक सदनमा रहेको र यही अधिवेशनले पारित गर्ने बताए ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । यसैगरी बेस्ट इन्नोभेसन अवार्ड इन्जिनियर अनुप खनाललाई प्रदान गरिएको छ । त्यस्तै अन्य इन्जिनियहरुलाई पनि सम्मान गरिएको थियो ।
काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ ।
अचानक ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागले निरीक्षण गरेको छ ।
ग्यास हेर्न आउनेको भीडका कारण जोरपाटी-बौद्ध, जोरपाटी-सुन्दरीजल, जोरपाटी-दक्षिणढोका सडकखण्डमा चल्ने सवारीसाधन अस्तव्यस्त भएका छन् ।
बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्किएको भूगर्भ विभागका ग्यास शाखा प्रमुख तथा वरिष्ठ भूगर्भविद् पृथ्वी लाल श्रेष्ठले नेपाल प्रेसलाई जानाकारी दिए ।
काठमाडौंमा कहिलेकाहीँ मिथेन ग्यासको ‘क्याभिटी’ बनेर बस्नु स्वभाविक रहेको र संयोगवश सोही ठाउँमा बोरिङ्ग खन्दा ग्यास माथि आएको उनको भनाइ छ ।
‘यो सामान्य घटना हो, काठमाडौं जस्तो ठाउँमा कतै कतै एउटै ठाउँमा यसरी ग्यास जम्मा भएर बसेको हुन सक्छ सोही ठाउँमा खन्दा त्यो ग्यास बाहिर निस्केको हो, यो प्रेसर कुकरबाट ग्यास बहिर गए जस्तो मात्र हो गयो सक्कियो । पछिपछि यही ठाउँमा फेरी त्यसरी नै ग्यास आउला वा यो ग्यासकै खानी होला भन्ने चाँही होइन’, उनले भने ।
काठमाडौं । उपेन्द्र यादवले कारबाही गरेपछि जसपबाट अलग दल दर्ताको तयारीमा रहेका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसँग मंगलबार करिब एक घण्टा छलफल गरेका छन् ।
पार्टी पुनर्गठनको तयारीमा रहेका भट्टराईले आफू सत्ता गठबन्धनबाट बाहिर नरहेको जानकारी समेत प्रचण्डलाई गराएका छन् । भट्टराईसँगको वार्तापछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको बताए ।
जसपाबाट अलग भए पनि बाबुरामसँग सहकार्य भने जारी रहने र माओवादी धाराको पुनःएकीकरणको विषयमा समेत छलफल भएको बताइएको छ ।
प्रचण्डले कांग्रेसले आगामी चुनावमा गठबन्धन कायम राख्ने निर्णय गरेकोमा खुसी व्यक्त गर्दै आफूहरू पनि गठबन्धनकै पक्षमा रहेको बताए ।
कैलाली । शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीमा कालोपत्रे भएको सडक एक साता नहुँदै भत्किन थालेको छ ।
यो सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटअन्तर्गत तीन खण्डमा ४२ लाखको योजना हो । त्यसमा २५ लाखमा सम्झौता भएको थियो । असार मसान्तसम्म सक्ने गरी गत पुस १८ मा ४ मिटर चौडा र ५८० मिटर लम्बाइ कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो ।
गुणस्तरयुक्त काम नभएपछि अहिले स्थानीयले विरोध गरिरहेका छन् । सडक कालोपत्रे भइरहेको बेलामा पनि स्थानीयले पटक-पटक ठेकेदारलाई गुणस्तरमा प्रश्न उठाएकोमा कसैले चासो नदिएको स्थानीय केशवबहादुर साउँदले बताए ।
‘सडकमा गुणस्तरहीन र कमसल काम भइरहेको भन्दै हामीले प्राविधिकलाई धेरै पटक भनेका थियौँ । हाम्रो कुरा मान्ने भन्दा पनि उल्टै हामीलाई धम्क्याउने काम भयो’ उनले भने ‘मन्त्रीको दबाबका कारण यहाँ सडक निर्माण भइरहेको छ । तिमीहरूले अवरोध गरे अर्को ठाउँमा जान्छौँ यो काम यहीँ छोड्छौँ भन्दै हामीलाई प्राविधिकले हकारे ।’
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीका भाइ प्रकाश नेगीले सडक निर्माणको ठेक्का पाएका हुन् । उनीसँगै ठेकेदारको रूपमा टेकेन्द्रप्रसाद भट्ट पनि लागिरहेका थिए । भट्ट शुक्लाफाँटा नगरपालिकाका कर्मचारी पनि हुन् । उनी नगरपालिकाको योजना शाखामा सवइन्जिनियरको जिम्मेवारीमा छन् ।
पूर्वाधार विकास कार्यालय प्रमुखका भाइ र नगरपालिकाका सवइन्जिनियरले ठेक्का लिएर गरेको काम गुणस्तरीय हुनुपर्नेमा गुणस्तरहीन भएको भन्दै स्थानीयले दुवै निकायप्रति आक्रोश पोखेका थिए ।
पूर्वाधार विकास कार्यालयका प्रमुखले भने पारिवारिक सम्बन्धका कारण ठेक्का उपलब्ध नगराइएको दाबी गरेका छन् । ‘उहाँ मेरो भाइ हो तर, भाइ भएकै कारण ठेक्का पाएको भन्ने कुरा गलत हो’ नेगीले भने, ‘अनलाइन माध्यमबाट ठेक्का गर्दा निष्पक्ष हुन्छ ।’
काम गुणस्तरहीन भएको गुनासो आएपछि निकासा रोकिएको र पुन: कालोपत्रे गर्न लगाइने सूचना अधिकारी हेमराज भट्टले बताए ।
कार्यालय प्रमुखले नेगीले नगरपालिकाका कर्मचारी पनि ठेकेदारको रूपमा काममा संलग्न रहेको पुष्टि गरे । सडक गुणस्तरहीन भएको भन्ने आफूले पनि जानकारी पाएको र त्यसबारे बुझ्न टोली पठाएको उनको जवाफ छ ।
‘पूर्णरूपमा कमसल भएको भन्ने कुरा होइन । केही ठाउँमा भत्किएको भन्ने मैले पनि सुने’ उनले भने ‘यस विषयमा बुझ्न टोली पठाएको छ । तथ्य कुरा त्यसपछि आउँछ ।’
स्थानीयले विरोध गरेपछि शुक्लाफाँटाका नगर प्रमुख (मेयर) रणबहादुर महरा पनि कालोपत्रे सडकको निरीक्षण गर्न पुगेका थिए ।
स्थानीयले योजनाबारे सूचना पार्टीसमेत नराखेको भन्दै विरोध गरेका थिए । योजनामा पटक-पटक भट्ट पुगेपछि नगरपालिकाकै योजना भएको भन्दै मेयरलाई गुनासो गरेका थिए । भट्ट नगरपालिकाको तर्फबाट योजनाको अनुगमन गर्न भन्दा पनि निर्माण व्यवसायीको तर्फबाट हेर्न आएको कुरा पछि उनीहरूले थाहा पाए ।
अनुगमनपछि मेयर महराले नगरपालिका कार्यालयमा निर्माण व्यवसायी ठेकेदारलाई बोलाएर छलफल गरेका थिए । छलफलमा पनि निर्माण व्यवसायीको तर्फबाट नेगी र भट्ट दुवै उपस्थित भएका थिए ।
छलफलका क्रममा नेगीले कालोपत्रे गर्दा तापक्रम नपुगेकाले भत्किएको बताए । उनले भने, ‘तापक्रम पुगेन, बर्खामा हतार हतारमा काम भयो । म्याद पुस मसान्तसम्म भएकाले समस्या आएका ठाउँमा मर्मत गर्छु ।’
मेयर महरासामु ठेकेदार नेगीले सडक मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् । मेयर महराले कालोपत्रेमा टालो देखिने गरी मर्मत गर्नुभन्दा नयाँ कालोपत्रे नै गर्न निर्देशन दिएका छन् ।
महराले सडकमा गुणस्तरीय काम नभए उपल्लो निकायलाई पत्रसमेत काट्ने बताए । प्रदेश सरकारले गर्ने कामहरू बारे स्थानीय तहलाई जानकारी नगराउँदा पनि यस्ता कामहरू हुने गरेको उनको बुझाइ छ ।
‘प्रदेश सरकारको धेरै योजना गुणस्तरीय नभएको भन्दै हामीलाई स्थानीयले गुनासो गरेका हुन्छन्, यस्ता योजनाहरू गुपचुपमा आउँछन् सम्पन्न हुन्छन्’ उनले भने, ‘हामीलाई जानकारी भए हामी पनि नियमन गर्ने थियौं काम गुणस्तरीय हुने थियो । ’
उनले कालागौडीमा कालोपत्रे सडक मात्र नभई वडा नम्बर १ मा प्रदेश सरकारले गरेको १० लाखको ग्राभेल पनि गुणस्तरहीन भएको बताए ।
‘यहाँ १० लाखको ग्राभेल गरेको भनिएको छ त्यहाँ त्यति काम भएको छैन’ उनले भने ‘यस्ता धेरै कामहरू बजेट सक्नकै लागि भएको देखिन्छ ।’
काठमाडौं । काठमाडौंको नक्साल नागपोखरीस्थित सन्तोषी माताको मुर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै असार २३ गते राति १ बजेको समयमा सन्तोषी माताको मन्दिरको ताल्चा फोडी चोरी गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा परिसर तथा प्रहरी बृत्त मालीगाउँबाट संयक्तरुपमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जनाएको हो ।
घटनाबारे जानकारी पाउने बितिकै मन्दिरमा पुगी अनुसन्धानका बिविध बिधि र प्रविधिहरुको प्रयोग गरी घटनामा संलग्न अभियुक्तको पहिचान एवं चोरी भएका गरहगनासहितको खोजी कार्य शुरु गरिएको र मूर्ति जडित सुनचाँदीको गरगहना लगायतका सामाग्रीसहित नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
पक्राउ पर्नेमा गौरीघाट बस्ने सबिना पराजुली, खरिबोट बस्ने विष्णु पछाई र गौरीघाट सिद्दार्थ बुढाथोकी रहेको उनले बताए । उनीहरुबाट सुनको तिलहरी, चाँदीको करुवा , चाँदीको चुकुन्दा, चाँदीको मुकुट, चाँदीको गिलास लगाएतका सामाग्री फेला परेको मैनालीले बताए ।
पक्राउ गर्नेहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई प्रहरी बृत्त, मालीगाउँबाट थप अनुसन्धान भईरहेको मैनालीले जानकारी दिए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राज्यले आफ्नो पार्टीसँग गरेको सहमति लागू नगरेको बताएका छन् ।
सोमबार काठमाडौंमा पार्टीनिकट अनलाइन जनपत्रिकाको उद्घाटन गर्दै विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरेपनि इमानदारिताका साथ कार्यान्वयन नगरेको गुनासो गरे ।
अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा रहेको भन्दै चन्दले कसैको स्वास्थ्य कमजोर भएको, घाइते भएको, बिरामी भएको, कसैको परिवारमा समस्या रहेको बताए ।
उनले भने, ‘हामी सँगै लडेको हो नि । दुई वर्षमा हामीले नेतृत्व गर्यौं । हाम्रा जति पनि कमरेडहरू जेलमा हुनुहुन्छ । त्यसको नेता हामी हो । नेपाल कम्युनिष्ट पार्टी प्रतिरोधको संघर्ष चलाएको थियो र त्यो संघर्षको नेतृत्व हामीले गर्यौं । हाम्रा नेताहरूले गरेका हुन् । कैयौँ नेताहरूलाई छोडियो । तर, हाम्रा योद्धा कमरेडहरूलाई, युवाहरूलाई छाडिएको छैन । यो एउटा षड्यन्त्र हो । जनताको अधिकारमाथिको हस्तक्षेप हो । स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’
विप्लवले यस लडाइँमा पनि आफ्ना पत्रकारहरूले लडिरहेको बताए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशमा राजनीतिक अस्थिरता गहिरिएको र संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बनेको टिप्पणी गरेका छन् । उनले राणा शासनमा जस्तै रोलक्रम लगाएर मन्त्री बन्ने भद्दा खेल भइरहेको बताए ।
पार्टीको जनपत्रिका अनलाइन उद्घाटन गर्दै विप्लवले संसदवादी पार्टीका नेताहरू खान र कुम्ल्याउन मात्रै मन्त्री बन्ने गरेको भन्दै निन्दा गरे ।
उनले भने, ‘तीन तीन महिनामा मन्त्री फेर्ने, देशको अर्थतन्त्र तहसनहस पार्ने, खाने कुम्ल्याउने, जनताप्रति कुनै पनि उत्तरदायी काम नगर्ने जटिल परिस्थिति देखिन्छ । यतिको भद्दा मजाक इतिहासमा कमै पाइन्छ ।’
जनतालाई महंगीले थिचेको बेला नेताहरु कोही दौरा सुरुवाल सिलाउन त कोही थन्क्याउन तल्लिन रहेको विप्लवले बताए ।
‘संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल भइसकेको छन् । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरू फेरिइरहेका छन् । एकप्रकारले मन्त्री बन्ने रोलक्रम जस्तो चलेको छ । जंगबहादुर राणाको भन्दा पनि भद्दा खेल भइरहेको छ । पालोपालो केही महिना मन्त्री हुने, कुम्ल्याउने, लुट्ने खाने, देशको सम्पत्ति उडाउने, फर्किने र फेरि अर्को मन्त्री बन्ने । फटाहाहरुको रोलक्रम चलिरहेको छ,’ उनले भने ।
उनले पूँजीवादमा कुनै मानवीयता नभएको टिप्पणी गरे ।
मानव पूर्खाले मानवजातिको हितका लागि सूचना र सञ्चारको प्रयोग गरेको साधन आज मानव जातिलाई नै खतरामा पार्ने प्रवृत्तिको कब्जामा पर्न थालेको उनको भनाइ छ ।
विप्लवले भने, ‘त्यसकै निम्ती आज हामी देख्छौँ कि पुँजीवादले जनताको सूचना सञ्चारको साधनलाई पनि आफ्नो निम्ति प्रयोग गरेर आफ्नो लुटको हतियार बनाउने प्रयत्न गरिरहेको छ ।’
काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए ।
‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका काराण जनतामा निराशा र असन्तुष्टी आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं,’ उनले भने ।
धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघियतामाथि प्रश्न उठ्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘जनताको आक्रोस नबढोस्, चिन्ताको विषय यो हो ।’
सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उनले बताए ।
काठमाडौं । भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।
विहानैदेखि भक्तजनहरुको उल्लेख्य उपस्थिती छ । मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए ।
सूर्य मिथुन राशि भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
विशेषगरी युवा महिलाको उल्लेख्य सहभागिता रहेको छ । हेर्नुस् तस्बिरहरु :
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा अन्तिम समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट रद्द भएको बताएका छन् । मोदीसँग भेट नभए पनि आफू तनावमा नरहेको उनले स्पष्ट पारे ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग प्रचण्डले भने, ‘हामीलाई त भेट हुन्छ नै भनिएको थियो । १ बजे भेट्ने कुरा थियो । १ बज्न लागेपछि हामी अलि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो ।’ किन सम्भव नभएको भन्ने आफूलाई थाहा नभएको प्रचण्डले बताए ।
किन सम्भव नभएको भन्ने आफूलाई थाहा नभएको प्रचण्डले बताए ।
‘प्रेसिडेन्टले भेटिसकेपछि यही नै क्लाइमेक्स हो भन्ठानेर हो कि भन्ने अधिकारीहरुले चर्चा गरे । अर्को हिजो मात्रै बाढीले पूरै भारतमा ठुले जनधनको क्षति र डुबान भएको छ । हिजो मोदी उता जानुभएको थियो । एकदम रस आवर भएर हो कि भनेर उहाँहरुले भन्नुभयो । तर के कारणले हो भन्ने मैले पनि थाहा पाएको छैन,’ उनले भने ।
प्रचण्डले थपे, ‘तर मलाई टेन्सन छैन । विजेपीको लिडरसिप सबैसँग भेट भयो । मोदीसँग पनि भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला । अरु त के हुन्थ्यो होला र ।’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सोचे भन्दा पनि राम्रो भएको बताएका छन् । तीन दिन लामो भारत भ्रमणबाट आइतवार साँझ स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू प्रधानमन्त्री भएजस्तै स्वागत सत्कार पाएको बताए ।
प्रचण्डले भने–यो भ्रमणलाई भारतमा निकै ठूलो उत्साह र महत्वका साथ हेरिएको रहेछ । यहाँ के चर्चा भयो थाहा छैन तर मैले चाहिँ सोचेको भन्दा राम्रो भयो भन्ने लागेको छ । विमानस्थलमा स्वागतदेखि होटलसम्म पुग्दा जुन स्वागत सत्कार र सुरक्षाको प्रवन्ध गरियो त्यो चाहिँ म प्रधानमन्त्री भएर गएको बेलाको भन्दा फरक लागेन ।
प्रचण्डले भारतमा आफूलाई निकै सत्कार भएको र नेतृत्वसँगको छलफलमा पनि नेपालको हितमा उल्लेख्य कुरा भएको बताए । उनले दूतावासले आयोजना गरेको भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवासँग भएको भेटलाई अनावश्यक रुपमा कुरुप बनाएर चर्चा गरिएको भन्दै दुःख व्यक्त गरे ।
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट आइतबार पनि पास हुन सकेन । नगर प्रमुख रामकृष्ण खाणले नगरसभामा गणपुरक नपुगेको भन्दै बैठक स्थगित गरेपछि नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।
बैठकमा उपस्थित सदस्यहरूको संख्या पुग्दा पनि नगरप्रमुख खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बैठक स्थगित गरेको एमालेको आरोप छ । बैठक सुरू हुनुभन्दा अघि नै आफ्ना ४८ जना नगर सदस्यहरू उपस्थित भएको र बैठक सुरू भएलगत्तै हाजिर गर्न माग्दा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले हाजिर गर्न नदिएर उपस्थित संख्या नपुगेको भनि बैठक स्थगित गरेको उपप्रमुख जागेश्यरी चौधरीले बताइन् ।
‘हामी बैठकअघि नै उपस्थित थियौं, निर्धारित समय दिउसो १ बजे बैठकका लागि नगर प्रमुख मञ्चमा जानुभयो, त्यसपछि हाम्रा साथीहरूले हाजिर गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतसँग रजिष्टर माग्दा, अहिले मिल्दैन भन्दै दिनु भएन ’, चौधरीले नेपाल प्रेससँग भनिन्, ‘लगत्तै बैठकमा ४३ जनाको मात्रै उपस्थिति भएको भन्दै बैठक स्थगित भयो । त्यसपछि हामीले नियमापत्ति जनाएका हौं ।’
तिलोत्तमाको एक होटलमा आयोजना गरिएको नगर सभा स्थगित भएसँगै प्रमुख प्रशासकीय अधिकृतसमेत नेपाली कांग्रेसको तर्फबाट निर्वाचित प्रतिनिधिहरूको बैठकमा उपस्थित भएका छन् ।
बैठक स्थगित हुनुका साथै प्रमुख प्रशासकीय अधिकृतबाट अनैतिक कार्य भएको भन्दै एमालेका प्रतिनिधिहरूले नाराबाजी गरेका थिए । उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको राजीनामा माग गरेका छन् । यसैगरी सभामा प्रहरी परिचालन गरिएको भन्दै त्यसको भर्त्सना गरिएको छ ।
यसअघि असार ३१ गते बोलाइएको बैठकमा पनि गणपुरक संख्या नपुगेको भन्दै मेयर खाणले स्थगित गरेका थिए । उक्त दिन सूचना टाँस गरी आजका लागि बैठक बोलाइएकोमा आज एजेण्डामै प्रवेश नगरी बैठक स्थगित भएको छ ।
नगर प्रमुख रामकृष्ण खाणले बैठकमा को कति आए भनेर टाउको गनेर नहुने बताउँदै आफूहरूले हस्ताक्षर गरेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि आएको जानकारी नभएको दाबी गरे ।
‘म नगर प्रमुख भनेर दम्भ राख्दैन, सहमतिमा गएर निकास निकाल्नुपर्छ, म लचकतामा आउन तयार छु’, उनले भने ।
काठमाडौं । उपसभामुख पुष्पा भुसालले आफ्नो कार्यकाल थोरै समयको भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएकी छन् ।
सिंहदरबारस्थित कार्यकक्षमा पदवहाली गर्दै उनले जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिइन् ।
सञ्चारकर्मीसँग भुसालले भनिन्, ‘मेरो कार्यकाल थोरै समय भएको भए पनि मैले मेरो जिम्मेवारी बढेको महसुस गरेकी छु । यो संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुखबाट गरेको अपेक्षा र भूमिका इमान्दारितापूर्वक मेरो आफ्नो काम कारबाही अघि बढाउने छु । र, सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगले अघि बढाउनका लागि मेरो ३ महिना-४ महिना जति समय छ । मेरा लागि एकदमै महत्वपूर्ण रहनेछ र भूमिका पनि त्यसै अनुसार निर्वाह गर्नेछु ।’
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा मृत्यु भएका दुईजनाको परिवारलाई राहतस्वरूप क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले इन्जिनियर शतिसकुमार गोहित र सवारी चालक राधाकृष्ण थापामगरको परिवारलाई क्षतिपूर्तिस्वरूप ५/५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
साथै जुरे पहिरोपीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने निर्णय पनि गरिएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ ।
बैठकले विभिन्न १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्म निरन्तरता दिने, बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तिय व्यवस्थापनको म्याद मन्त्रिपरिषद्बाट निर्णय भएको मितिले दुई वर्ष थप गर्ने, पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको कारण नेपाल आयाल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिन अपुग ७ अर्ब ऋण र पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रूपैयाँ अनुदान स्वरुप उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयमार्फत उपलब्ध गराउने पनि निर्णय गरेको छैन ।
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ ।
गत ३१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका छन् ।
उनका अनुसार पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको भन्दै सरकारले सो ऋण रकम उपलब्ध गराएको हो ।
पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समयोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ भने अनुदा स्वरूप उद्योग मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने पनि निर्णय गरिएको छ ।
काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यहाँको सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय अवलोकन गरे । अवलोकनपश्चात उनले दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीको कार्यालय हेर्न पाउँदा आफू उत्साहित बनेको प्रतिक्रिया दिएका छन् ।
बीजेपी मुख्यालयबाट निस्किँदै प्रचण्डले आफू भारत आएदेखि नै निकै फलदायी र उपलब्धिपूर्ण कुराकानीहरू भइरहेको बताएका थिए ।
उनले नेपालीमा हिन्दी मिसाउँदै भने, ‘तपाईंहरूलाई थाहै छ, दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीका रूपमा स्थापित बीजेपीका प्रेसिडेन्ड जेपी नाड्डाजीके आमन्त्रणमे मै आयाथा । अफिसमे आकर पार्टी अफस कसरी चलेको छ भन्ने हेर्न पाएँ र धेरै उत्साहित छु ।’
उनले दुई पार्टी र दुई देशबीचको सम्बन्ध बलियो बनाउने विषयमा कुराकानी भएको बताए ।
‘कहिले बीजेपीको आमन्त्रणमा हामी आउने त कहिले हाम्रो आमन्त्रणमा बीजेपी उता जाने गरी विभिन्न कार्यक्रम गर्ने नाड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु । म आज धेरै उत्साहित छु ’, प्रचण्डले भने ।
काठमाडौं । सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका विद्यार्थीहरू राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै संयुक्त आन्दोलनमा उत्रेका छन् । उनीहरूले गभर्नरलाई बर्खास्त गर्न २४ घण्टाको अल्टिमेटम दिए ।
गभर्नरविरुद्ध नेविसंघ र अखिल क्रान्तिकारीका कार्यकर्ता बालुवाटारमा घेराउ गर्न पुगेका थिए । त्यस क्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र नेविसंघका अध्यक्ष डुजाङ शेर्पाले २४ घन्टाभित्र राजीनामा वा बर्खास्त नभएको खण्डमा गभर्नर बहिष्कार गर्ने तथा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका हुन् ।
क्रान्तिकारी अध्यक्ष सिंहले एमालेका कार्यकर्ता एमप्रसाद अधिकारीले राष्ट्र बैंकको कुर्सीमा बसेर राष्ट्रको ढुकुटी दोहन गरिरहेको आरोप लगाइन् । एमाले पार्टी नै झूटको पुलिन्दा र जालझेलको अर्को नाम भएको उनको भनाइ छ ।
‘आजका दिनसम्म जनतालाई गुमराहमा राखेर, ऐनलाई छलेर एमालेका कार्यकर्तालाई देशको ढुकुटी सुम्पिएको छ । एमालेले अहिले खोटाङमा टर्च लगाएर एम अधिकारी खोजिरहेको छ । रातारात खडा गरिने डमी एम अधिकारी हामी खारेज गर्नेछौं । गभर्नरलाई बर्खास्त नगरिएसम्म सडक आन्दोलन निरन्तर अगाडि जानेछ,’ सिंहले भनिन् ।
उनले प्रधानमत्रीलाई शेरबहादुर देउवालाई गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न अपिल गरिन् ।
‘यो लज्जास्पद दृष्यले नेपाली जनताको शिर निहुरिएको छ,’ सिंहले भनिन्, ‘प्रधानमन्त्रीज्यू, उहाँलाई बर्खास्त गर्ने हिम्मत गर्नुस् । नेपाली जनताले तपाईंलाई सलाम गर्नेछ । अबको २४ घण्टामा अवैधानिक गभर्नर बर्खास्त नगरिए क्रान्तिकारी चुप लागेर बस्दैन । सडकमा आगो बाल्छौं ।’
नेविसंघका अध्यक्ष शेर्पाले देशको ढुकुटीको चाबी बोकेका गभर्नर अधिकारी राति-राति बालकोट दरबारमा गएर केपी ओलीसँग डिनर मिटिङ गर्दै कसरी सरकारलाई असफल बनाउने भन्ने षड्यन्त्रमा तल्लीन रहने गरेको आरोप लगाए । अर्थतन्त्रमा संकट ल्याएर सरकारलाई दोष थोपर्ने दाउपेचमा गभर्नर लागेको उनको दाबी छ ।
शेर्पाले भने, ‘अब हामी धेरै धैर्य गर्न सक्दैनौं । तत्काल गभर्नरले राजीनामा नदिएको खण्डमा उनलाई बहिष्कार गर्नेछौं । २४ घन्टाभित्र एम अधिकारीले राजीनामा नदिए वा बर्खास्त नभएमा आन्दोलनको आँधीबेहरी उराल्ने छौं ।’
उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट लखेटेजस्तै गभर्नरलाई पनि लखेट्ने चेतावी दिए ।
काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंकमा घेराउ गर्न पुगेका सत्तारुढ दल माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का कार्यकर्ता पक्राउ परेका छन् ।
आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटबाट प्रहरीले अखिलका ५ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।
गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिलले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरिरहेको बेला प्रहरी र कार्यकर्ताबीच केहीबेर धकेलाधकेल भएको थियो ।
अहिले राष्ट्र बैक अगाडि प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।अधिकारीको नियुक्ति राजनितिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान बिपरित भएको खुल्न आएको भएको भन्दै विद्यार्थी संगठनहरुले विरोध चर्काएका छन् ।
सरकारलाई दबाब बढाउने निति अनुरुप यसअघि शुक्रबार नेबिसंघले माइतीघरमा प्रदर्शन गरेको थियाे भने शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको थियाे ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता र तालमेल चाहनेहरुले कांग्रेसको पुच्छर हुन छाडेर आउँन चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नारायणकाजी श्रेष्ठले ओलीलाई वाम एकताको पहल गर्न आग्रह गरेपछि उनले त्यसका लागि गठबन्धन छाडेर आउँन आग्रह गरे ।
ओलीले भने– यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न,गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु । चौंरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउँन अदालतमा मद्दा हाल्न गएको होइन वामपन्थी ? कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसदबाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी ?
ओलीले वामपन्थी हो भने कांग्रेसको पुच्छर बन्न छाडेर आउँन आग्रह गरे ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् ।
उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको दावी गरे ।
नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा नेपालको भूराजनीतिक चुनौतीका बारेमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्था आएको टिप्पणी गरे । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँग सौदाबाजी गरेको आरोप ओलीले लगाए ।
उनले भने, ‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसका विरुद्ध एकजुट हुन्छन् । अपवित्र साँठगाँठ हुन्छ भन्ने थाहा थियो । त्यो थाहा भएरै गरेको हो । चीनतिरबाट नाका खोलेबापत पहिलोपटक चीनबाट म फर्केलगत्तै हट्नुपरेको होइन ? १७ वटा चेकपोष्ट हटाएबापत कीर्तिनिधिले छाड्नपरेको थियो । उत्तरतिर नाका खोलेबापत, चुच्चे नक्सा छापेबापत मैले सत्ताबाट हट्नुपरेको हो ।’
ओलीले देशभक्ति र राष्ट्रिय हितको पक्षमा बोल्नेहरुलाई हटाउन सौदाबाजी हुने गरेको बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आउने चुनावमा पार्टी एकता नभए पनि एमाले र माओवादीबीच तालमेल गर्न प्रस्ताव राखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित मन्चबाट माओवादी नेता श्रेष्ठले वाम तालमेलको प्रस्ताव राख्दा अधिकांश एमाले कार्यकर्ता उपस्थित हलबाट लगातार ताली बजेको थियो ।
नेपाल चीन मैत्री समाजले शनिबार नेपालको भूराजनीतिक अवस्थाको बारेमा आयोजना गरेको कार्यक्रममा नेता श्रेष्ठले देश जोगाउन वामपन्थी एकता र कमसेकम तालमेल तथा संयुक्त मोर्चातर्फ जानैपर्ने बताए । उनले नेकपा एकता जोगाउन नसकेकोमा आफू पनि भागीदार रहेको भन्दै सोही मञ्चबाट आत्मालोचनासमेत गरे ।
श्रेष्ठले भने, ‘कमरेड केपी ओली यही हुनुहुन्छ । सबैसँग विनम्रतापूर्वक आग्रह गर्छु । तुम शेर तो हम सवा शेर भन्ने छाडौं । घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं ।प्रतिनिधिसभा विघटनमा के भयो ? १९ बुँदे आरोपपत्रमा के भएको हो ? क-कसको के भूमिका थियो, समीक्षा गरौंला । तर, अहिले एकता नहोला तालमेल गरेर जाऔं ।’
श्रेष्ठले वामपन्थीहरु एकापसमा लड्दा कम्युनिस्ट आन्दोलन सिद्धिने र त्यसको असर मुलुकको देशभक्तिपूर्ण आन्दोलन कमजोर भएर देश संकटमा पर्ने बताए ।
काठमाडौं । सत्ता गठबन्धनका एक शीर्ष नेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गरेका छन् ।
नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भूराजनीतिले ओलीलाई पूर्वप्रधानमन्त्री बनाइदिएको टिप्पणी गरे ।
यादवले भने, ‘हाम्रोमा भूराजनीतिको प्रभाव छ र राजनीतिक अस्थिरताको कारण पनि त्यही हो । पूर्वप्रधानमन्त्री केपी ओलीजी यहाँ हुनुहुन्छ । म पनि उहाँको क्याबिनेटमा उपप्रधानमन्त्री थिएँ । म पूर्व भएको केही समयपछि उहाँ पनि पूर्व हुनुभएछ । यसमा भूराजनीतिक प्रभाव पनि छ ।’
अध्यक्ष यादवले देशलाई भूराजनीतिक प्रभावबाट मुक्त गर्न राजनीतिक दलहरु बलियो बन्नुपर्ने बताए ।
काठमाडौं । सम्भवतः अहिलेको पुस्ताका हरेक फुटबल खेलाडीको करिअर मोजाको बलबाटै सुरु हुने गर्छ । पूजा राना पनि यसमा अपवाद छैनन् । मोजाकै बलबाट आफ्नो खेल जीवन सुरु गरेकी पूजा अहिले राष्ट्रिय महिला फुटबल टीमको रक्षापंक्ति सम्हाल्न आइपुगेकी छन् ।
पुरुषप्रधान समाजमा खेलाडी बन्न खोज्ने महिलालाई पहिलो अवरोध परिवारबाटै हुन्छ । बुवाआमासँग ‘खेलाडी बन्छु’ भन्ने हिम्मत जुटाउनै सकस पर्ने अवस्था छ । तर, यसमा भने पूजा अपवाद हुन् ।
पूजाका लागि खेल्नलाई न परिवारसँग झगडा गर्नुपर्यो न त समाजले उनको खुट्टा तान्न खोज्यो । त्यसो त उनी आफ्नै आमाबाट प्रेरित भएर फुटबल खेल्न थालेकी थिइन् ।
मध्य पश्चिम नेपालको बाँकेस्थित कोहलपुरमा हुर्किएकी पूजा आफ्नी आमाका कारण आफू खेलाडी भनेर गर्व गर्न पाएको बताउँछिन् । ‘म आमाबाट प्रेरित भएर खेल्न थालेको हो । उहाँले कति दुःख गरेर आफूले जस्तो दुःख छोराछोरीले नपाऊन् भन्ने सोचेर राम्रो स्कुलमा पढाउनु भएको थियो । म पढेको स्कुलमा खेल्ने राम्रो वातावरण थियो’, उनले भनिन् ।
पूजा स्कुल जीवनमा सबै किसिमका खेलहरु खेल्ने गर्थिन् । तर, कुन खेल कसरी खेल्ने भन्ने टेक्निकल ज्ञान भने थिएन । उनी धान काटेको खेत र बसपार्कमा साथीभाइ जम्मा गरेर सिर्फ रमाइलोका लागि खेल्ने गर्थिन् । थरिथरिका खेल खेलिसकेपछि अरु सबैलाई त्यागेर फुटबललाई निरन्तरता दिनुको कारण के हो त ? उनी जवाफमा भन्छिन्, ‘फुटबलमा पाएको अवसर ।’
‘सबै खेल खेले पनि मैले किन अरु खेल रोजिनँ भने सानै उमेरमा मैले फुटबलमा अवसर पाएँ’, उनले थपिन् । कस्तो थियो त्यो अवसर ?
स्कुलस्तरको यू-१४ कोकाकोला कप हुँदैै जिल्लास्तरीय प्रतियोगिता खेलेकी पूजा जिल्लाबाट छनोट भएर राष्ट्रिय यू-१४ टीममा पुगिन् । उनी श्रीलंकामा आयोजना हुने यू-१४ रिजनल च्याम्पियनसीपका लागि छनोट भइन् । नेपाल रिजनल च्याम्पियनसीपको उपाधि पनि जित्न सफल भयो ।
यू-१४ खेल्ने बेला १२/१३ वर्षको उमेर थियो उनको । खेल्न नजाने मूडमा रहेका उनलाई आमाले नै खेल्न प्रेरित गरिन् । आमाकै प्रेरणाका कारण राष्ट्रिय फुटबल खेलाडी भनेर चिनिन पाउँदा गर्व महसुस भएको छ पूजालाई ।
सन् २०१४ मा यू-१४ खेल्दै आफ्नो खेल करिअरलाई औपचारिकता दिएकी पूजा त्यसको एक वर्षपछि नेपालमा आयोजना भएको रिजनल च्याम्पियनसीपमा यू-१४ टीमको कप्तान बनिन् । उक्त खेलमा नेपाल दोस्रो भएको थियो । फाइनलका दिन भूकम्प गएपछि उक्त खेल सारिएको थियो । करिब एक वर्षपछि भएको फाइनलमा नेपाल बंगलादेशसँग १-० गोलको नतिजामा पराजित भयो ।
पूजाले १३ वर्ष हुँदादेखि नेपालको प्रतिनिधित्व गरेर उमेर समूहका प्रतियोगिताहरु खेल्न थालिन् । उनले उमेर समूहमा यू-१४, यू-१८, यू-१९ का प्रतियोगिता खेलिन् । सन् २०१९ मा विराटनगरमा भएको महिला साफ च्याम्पियनसीपमा बंगलादेशविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले १९ वर्षको उमेरमा सिनियर टीममा डेब्यू गरेकी थिइन् । सिनियर टीममा डेब्यु गर्दाको क्षण आफूलाई खुशी मिल्नुका साथै जिम्मेवारी थपिएको महसुस भएको उनी बताउँछिन् ।
‘राष्ट्रिय टीममा डेब्यू गर्दा धेरै खुशी लागेको थियो । अझै राम्रो गर्नुपर्छ भन्ने दबाब पनि महसुस भयो’, उनले भनिन् ।
राष्ट्रिय टीममा राइटब्याक पोजिसनबाट खेलिरहेकी पूजालाई डिफेन्स भनेको अपजस पाउने पोजिसन लाग्छ । आफू होचै भए पनि डिफेन्डर भएपछि अग्लो हुनुपर्छ भन्ने मान्यतालाई पूजा बदल्न चाहन्छिन् ।
‘डिफेन्डर भनेको एकदमै अपजस पाउने पोजिसन हो । स्ट्राइकरले गोल हान्ने भएकाले नाम उनीहरुको आउँछ । तर, स्ट्राइकरसम्म बल पुर्याउन डिफेन्डर र मिडफिल्डरको पनि ठूलो मेहनत हुन्छ । यो कसैले बुझ्दैन । डिफेन्डरले हजार वटा बल बचाएर एउटा मिस्टेक गर्यो भने त्योमात्रै मान्छेहरुले देख्छन् । अझ डिफेन्डर होचो छ भने त राम्रो खेले पनि कसैको नजरमा पर्दैन’, उनले डिफेन्डरका दुःख बयान गरिन् ।
खेलमा भविष्य नदेखेर प्रायः खेलाडी विदेश पलायन हुने गरेका छन् । पूजा पनि विदेश पलायन हुने सोचबाट गुज्रिसकेकी छन् । २०७७ सालको राष्ट्रिय महिला लिगमा घाइते भएकी पूजाले आफ्नै पैसाले उपचार गर्नुपर्यो । त्यतिवेला कसैले सहयोग नगर्दा खेल्न छोडेर विदेश जाने सोच आएको उनले बताइन् ।
‘जब म घाइते भएको थिएँ, त्यसवेला कतैबाट सहयोग भएन । खेलाडी भनेको राष्ट्रको गहना हो भनिन्छ । तर, त्यस्तो वेलामा आफैंले सबै खर्च जुटाएर उपचार गर्नुपर्दा धेरै नराम्रो लागेको थियो । अब खेलेर केही हुँदैन, विदेश जानुपर्छ भन्ने सोच आएको थियो’, उनले थपिन् ।
पूजा घरेलु प्रतियोगितामा विभागीय टीम नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्छिन् । उनलाई पुलिस र राष्ट्रिय टीमबाट खेल्दा धेरै फरक लाग्छ । ‘पुलिसबाट खेल्दा एउटा टीमको लागि खेल्ने हो भन्ने सोचिन्छ । तर, राष्ट्रिय टीमबाट देशको झण्डा छातीमा राखेर खेल्दा छुट्टै गर्व महसुस हुन्छ । खेल सुरु हुनुअगाडि राष्ट्रिय गान बज्दा जिउ नै सिरिङ हुन्छ । जे आए पनि पार लगाउन सकिन्छ जस्तो आत्मविश्वास जाग्छ’, उनले भनिन् ।
सन् २०१९ पछि नियमित राष्ट्रिय टीममा पर्दै आएकी पूजा नेपाललाई स्वर्ण पदक दिलाउनसके बल्ल आफूले खेलेर देशका लागि केही उपलब्धि हासिल गरेको महसुस हुने बताउँछन् ।
राष्ट्रिय महिला फुटबल टीम अहिले नेपालमा हुने साफ च्याम्पियनसीप र चीनमा हुने एसियन गेम्सको तयारीमा छ । त्यही तयारीमा व्यस्त छिन् पूजा । हरेक उपाधि नजिक पुगेर भारतसँग पराजित हुने गरेको इतिहास मेट्ने लक्ष्य छ नेपालको । यसपटक साफ र एसियन गेममा भारतलाई हराउने ध्येय नेपाली महिला टीमको रहेको उनी सगर्व सुनाउँछिन् । त्यसका लागि तयारी राम्रो भइरहेको उनले सुनाइन् ।
‘एसियन र साफ गेमको तयारी राम्रो भइरहेको छ । हाम्रो मुख्य लक्ष्य भारतलाई जित्ने हो । किनभने हामी हरेक खेलमा भारतसँग पराजित भएर उपाधिबाट वञ्चित हुँदै आएका छौं’, उनी भन्छिन् ।
साफ र एसियन गेमका लागि प्रशिक्षकले भनेका कुराहरुलाई व्यवहारमा उतार्न सकेमा आफू टीममा पर्ने उनले विश्वास व्यक्त गरिछन् ।
काठमाडौं । लामो समयदेखि खाली रहेको संसदको उपसभामुख पद अन्ततः सत्तारुढ दल कांग्रेसको पोल्टामा परेको छ । कांग्रेसकी सांसद पुष्पा भुसाल एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुख निर्वाचित भइन् ।
आज भएको चुनावमा खसेकाे २४२ मध्ये १४८ मत ल्याउँदै भुसाल विजयी भएकी हुन् । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए । पराजित एमालेकी भट्टराईले ९३ मत ल्याइन् । उनलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो ।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा नयाँ उपसभामुखको निर्वाचन हुन सकेको थिएन ।
संसदको कार्यकाल नै सकिन लाग्दा भुसाल उपसभामुख निर्वाचित भएकी हुन् । कानून अध्ययन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् ।
उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने व्यवस्था छ । अब संवैधानिक परिषदमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाल तीनजना हुनेछन् ।
अर्कोतर्फ प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना छन् ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री जीवनबहादुर शाहीको राजीनामा मागिएको छ । नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै आज प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
नेता भण्डारीका अनुसार आज जुम्लामा समेत विरोध प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता भएका तीन वटा विधेयक अविलम्ब पारित गर्न दबाबमूलक विधेयक ऐक्यबद्धता कार्यक्रम गरिएको हो ।
विधेयक सरोकार समाजले प्रदेशसभा बाहिर विधेयक ऐक्यबद्धता कार्यक्रम गरेको हो । सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नवप्रवर्तन अन्वेषण तथा आविस्कार विधेयक अविलम्ब पारित गर्न सांसद र सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरिएको छ ।
पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारका तर्फबाट तत्कालीन् सामाजिक विकासमन्त्री विमला केसीले संसदमा टेबुल गरेकी थिइन् । अन्य दुई वटा विधेयक गैरसरकारी विधेयकका रुपमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद भण्डारीले संसद सचिवालयमा दर्ता गरेका हुन् ।
पूर्वमन्त्री भण्डारीले ८० प्रतिशत पारित हुने गरी प्रगति भइरहेका विधेयक पारित नगरी सरकार जनपक्षीय काम गर्नबाट चुकेको प्रतिक्रिया दिए । ‘सरकारले विधेयक पारित गर्न भूमिका खेल्नुपर्छ’, उनले भने, ‘नभए आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक हुनेछन् ।’