इटहरी । धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ ।
आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपरान्ह ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरे । नगर प्रहरीको घेरा तोडेर आन्दोलनकारीले मेयरको कार्यकक्ष तोडफोड गरेका छन् । सोक्रममा झ्यालका केही सिसा फुटेको छ ।
बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै पछिल्लो एक वर्षदेखि धरानका २० वटै वडाका निक्षेपकर्ता आन्दोलनमा छन् । २०७८ पुस २३ गतेको बराहको १२औँ साधारण सभामा सहकारी नाफामा रहेको भन्दै सेयर बाँडिएपछि पीडित बचतकर्ताहरूले आफ्नो हिसाबकिताब खोज्दै प्रदर्शन गरिरहेका हुन् ।
पीडितहरूले आफ्नो माग राख्दा कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भनेर मेयर साम्पाङले भनेपछि आफूहरू आक्रोशित भएको एक सेयर सदस्यले बताए ।
पीडितहरूको आज पनि उपमहानगरपालिका कार्यालयमा दबाब कार्यक्रम राखेका छन् ।
काठमडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले थारु बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको विषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले थारु समूदायको धर्म परिवर्तन गर्ने उद्देश्यले धर्मको प्रचार गरेको, धार्मिक रुपमा समूहकृत गर्ने गरेको र थारु भाषा लिपी संहिताकृत गर्ने नाममा थारु वस्तीमा गलत नियमले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा संवेदनशील भई कार्य सम्पादन गर्न र तत्काल अनुसन्धान सुरु गर्न थारु आयोगलाई निर्देशन दिएको हो ।
त्यस्तै, बैठकले थारु समूदायको संरक्षण, सम्वर्द्धन, उत्थानका लािग एककिृत र रणनीतिक कार्ययोजना बनाई कार्यसम्पादन गर्न पनि आयोगलाई निर्देशन दिएको छ ।
बैठकले प्रदेश तहमा राना थारुलाई थारु आयोगको कार्यक्षेत्रबाहिर पर्ने गरी सूचिकृत गरिएको भन्ने बिषयमा लिखित रुपमा स्पष्ट जानकारी गराउन मन्त्रीपरिषद्को कार्यालय र थारु आयोगलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् ।
बैठकले बहुसंख्यक थारु जनसंख्या भएको स्थानमा नै थारु आयोगको कार्यालय स्थापना नगर्नु, सिकलसेल एनिमिया तथा थालासेमिया जस्ता रोग राष्ट्रिय रुपमा नै उन्मुलन गर्ने गरि कार्ययोजना बन्न नसक्नुको कारणहरु १५ दिन भित्र समितिमा उपलब्ध गराउन थारु आयोगलाई निर्देशन दिएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अर्थमन्त्रीमा जनार्दन शर्मा फर्किने बताएका छन् । शर्मामाथिको आरोप प्रमाणित नभएकाले पुनः उनी मन्त्री नियुक्त हुन लागेको महराले बताए ।
प्रेस सेन्टर नेपालका पदाधिकारीलाई प्रमाणपत्र वितरणपछि बाहिरिने क्रममा उनले पत्रकारहरुसँग भने, ‘उहाँलाई नै आरोप लागेको थियो । तर पुष्टि भएन । त्यही भएर उहाँ नै जाँदै हुनुहुन्छ ।’
महराले छानबिन समितिबाट कुनै पनि आरोप प्रमाणित गर्ने तथ्य नभेटिएकाले यो सम्भव भएको बताए । छानबिन समितिमा रहेका एमाले सांसदप्रति लक्षित गर्दै महराले भने ‘अस्वीकार गरेपनि उहाँहरुले प्रमाण देखाउन सक्नुभएन । त्यही भएर अर्थमन्त्रीमा पुनः शर्मा जाँदै हुनुहुन्छ ।’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले नाकाबन्दी हुँदा तत्कालीन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडुले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केही नीजि क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताएका हुन् । उनले कुन सरकारका पालामा कुनै नीजि क्षेत्रले कति पेट्रोलियम पदार्थको आयात गरेको छ भन्ने सार्वजनिक गर्ने बताए ।
अरबौंको चलखेलमा आयल निगमलाई निजिकरण गर्ने भनेर नेताहरुले नै निराधार भ्रमण फैलाउने काम गरेको उनको भनाई छ ।
मन्त्री बडुले अहिले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी नरहेको स्पष्ट पारे । अहिलको मुख्य विषय भने निगमभित्रको सुधार मात्रै भएको उनले बताए ।
उनले निगम अहिले पनि ५० करोड घाटामा रहेको र इण्डियन आयल कर्पोरेशनलाई २२ अर्व ४० करोड बुझाउन बाँकी रहेको जानकारी दिए । मन्त्री बडुले पेट्रोलियम पदार्थको ढूवानी नीजि क्षेत्रबाट हुने गरेको भन्दै ढुवानीको पैसा नपाएका कारण समस्या देखाउने गरेको जिकिर गरे ।
त्यस्तै, मन्त्री बडूले यसअघि पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा पनि निगमले जनतालाई थप मार नपार्न अन्तराष्ट्रिय मूल्य बन्दा कममा बिक्रि गरेको जिकिर गरे । निगमलाई सरकारले सघाउने गरि नै काम गरेपनि केहि समस्या भने देखिएको उनको भनाई छ ।
काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरू नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) भएर पनि निर्माण हुन नसकेको जानकारी गराइन् ।
खोला/नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरी कदम चाल्दैछौं । टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरू सुरू नहुँदा वित्तीय जोखिमसमेत देखिएकोले मन्त्रालयले चाँडै आवश्यक निर्णय गर्नेछ’, मन्त्री भुसालको भनाइ थियो ।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा छ । सरकारले प्रस्ताव गरेको नयाँ विद्युत ऐनले विद्युत व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको उनले बताइन् ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवै औधोगिक क्षेत्रलाई पर्याप्त विद्युत उपलब्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रित रहेको बताए । ट्रान्समिसन र सवस्टेशन बनाउनका लागि लगानी बढाउने घिसिङले अहिले विद्युतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए ।
ट्रान्समिसन लाइनको अभावका कारण कुनै पनि आयोजनाको विद्युत खेर जाने अवस्था नरहेको उनको दाबी थियो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूहरु तत्काल नदेखिने तर दिगो प्रभाव पर्ने काममा जुटिरहेको बताएका छन् । काठमाडौंको फोहोरका सन्दर्भमा पनि दिगो समाधानका लागि धैर्यता लिइरहेको उनको भनाइ छ ।
पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा बोल्दै साहले यस्तो धारणा राखेका हुन् । उनले अन्य महानगरले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै रहेको बताए । काठमाडौंले गरेका गल्ती नदोहोर्याउन अन्य महानगरलाई उनले आग्रह गरे ।
सम्मेलनमा सम्बोधन गर्दै साहले महानगरले अहिले फोहोरको समस्या, पानीको समस्या कंकिटको समस्या भोगिरहेको उल्लेख गरे । अरु महानगरमा काठमाडौंको जस्तो बेहाल अवस्था नआओस् भनेर सचेत हुनुपर्ने उनको भनाइ छ ।
साहले भने ‘हाम्रोमा विजुली जति पनि छ । बायोग्यासको प्रभावकारीता छैन । त्यसैले मल उत्पादनलाई नै सबैभन्दा उपयुक्त विकल्प सोचिएको हो । यसमा हामी हतार गर्ने पक्षमा छैनौं ।’
उनले थपे, ‘हामीले गाली खाइखाइ फोहोर व्यवस्थापनका लागि किन समय कुरेको भन्दा हामीलाई तुरुन्तै हुने तर दिर्घकालीन नहुने व्यवस्था चाहिएको छैन । यस्तो चीज चाहिएको छ कि भोलि ३०/५० वर्ष पछाडि पनि हाम्रो छोराछोरीले हामीलाई बाउबाजेले देश विगारे भनेर गाली नगररुन् ।’
सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दवावमा निर्णय लिने प्रवृत्ति रहेको उनले बताए ।
‘अहिले पनि तुरुन्तै दुई/पाँच अर्ब खर्च गरेर मेसिन ल्याउने हो भने फोहोर व्यवस्थापन गर्न सकिन्छ । तर, त्यो दिगो समाधान होइन ।’
काठमाडौं महानगरपालिकाबाट सिक्न सकिने एउटा काम भएको उनको भनाइ छ ।
‘काठमाडौं महानगरबाट सिक्नुपर्ने भनेको एउटा सानो काम छ । हामीले हरेक महिनाको सोमबार काठमाडौं महानगरपालिका, सडक विभाग, विद्युत प्राधिकरण, बागमती सभ्यतालगायत जति पनि निकाय छन्, उहाँहरु सबैलाई राखेर मिटिङ गर्छाैं । सहकार्य गर्छौैं । उहाँहरुको बार्षिक बजेट के–के छ भन्ने हेरेर नदोरिने गरी काम गर्छौं ।’
एक वर्ष नदेखिने काम गरेर महानगरवासीको गाली खान तयार रहेको उनले बताए ।
मेयर साहले भने, ‘अहिले महानगरले गरेको काम तत्काल नदेखिए पनि नदेखियोस्, तर ५० वर्ष पछिसम्म टिकोस् । हाम्रो बुझाइ के छ भने काम बरु नदेखियोस्, तर सँधैका लागि होस् । हामी नआत्तिइकन गछौ । हामी एक वर्षसम्म महानगरबासीबाट गाली खान तयार छौं । तर हामीले महानगर राजधानीलाई जोगाउनुपर्छ ।’
काठमाडौं । सहकारी संस्थाले निक्षेपकर्ताको रकम फिर्ता नदिएर फरार भएको घटना बेलाबेलामा बाहिरिने गरेको छ ।
यतिबेला काठमाडौंकै कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक पनि फरार भएपछि निक्षेपकर्ता आत्तिदै नियामक निकाय सहकारी विभागमा पुगेका छन् ।
शुक्रबार नै सञ्चालक फरार रहेको खबर पाएपछि निक्षेपकर्ताहरु सहकारी विभागमा धर्ना दिन पुगेको थिए । आइतबार पनि निक्षेपकर्ताले आफूले रकम जम्मा गरेको रसिद बोकेर रकम फिर्ता गराइदिन भन्दै विभाग पुगेको छन् । निक्षेपकर्ताले सहकारीको भवनका एभरेष्ट बैंकको सुचनाहरुले थाहा पाएको बताएका छन् ।
संस्थाका सञ्चालक, म्यानेजर नै सदस्य र नियामक निकायको सम्पर्कमा छैनन् । विभागका अनुसार आइतबार नै उनीहरुलाई समस्याका बारेमा बुझ्न विभाग बोलाइएको विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले बताए । उपाध्यायका अनुसार शुक्रबार नै विभागले उसको अनुमतिविना गौतमश्रीको चल अचल सम्पत्ति प्रयोग गर्न तथा खोल्न नपाउने गरी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखालाई पत्राचार गरेको छ ।
सेयर सदस्यका अनुसार गौतम श्रीको कुलेश्वरको केन्द्रीय कार्यालय, टेकु पोखरा नारायणघाटको सेवा केन्द्र, हेटौंडाको गोदाम, कुलेश्वरको सुपरमार्केट, काभ्रे पात्लेखेतको सम्पत्तिलगायत रहेको बुझिएको छ ।
यता नियामकको जिम्मा पाएको विभागलाई भने न उसको सम्पत्तिको बारोमा जानकारी छ नत उसको सेयर सदस्य कति छन् भन्ने थाहा छ । यति मात्र होइन उसले हालसम्म साधारणसभा गरे नगरेको भन्नेबारे पनि जानकारी छैन । सेयर सदस्यका अनुसार गौतम श्रीले अहिलेसम्म साधारणसभा गरेको छैन । अहिले सदस्यहरु दिनहुँ कार्यालय परिसरमा धर्ना दिन बाध्य भएका छन् ।
संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र विष्ट हुन् । सञ्चालक सम्पर्कविहीन भएपछि सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शिल गरेको सूचना टाँस गरेको छ ।
संस्थाका अध्यक्ष रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा पनि बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेका कारण भवन सिल गरेको एभरेष्ट बैंकले जनाएको छ ।
सेयर सदस्यको भनाइलाई नै आधार मान्ने हो भने यसको २५ हजार सेयर सदस्य छन् ।
प्रमाणका आधारमा रकम फिर्ता हुन्छ । सहकारी विभागले गौतम श्रीको सम्पत्ति रोक्का गरिसकेको जनाएको छ । यही सम्पत्तिको अध्ययन गरेर प्रमाणका आधारमा सेयर सदस्यको रकम फिर्ता गर्ने विभागका उपरजिष्ट्रार उपाध्यायले बताएका छन् । विभागले सदस्य आफैँ सक्रिय भएर सहकारीमा कारोबार गर्नुपर्ने बताएको छ । अहिले मुलुकभर ३० हजार भन्दा बढी सहकारी संस्था रहेका छन् भने नियमन गर्ने ७ सय ६१ वटा नियामक निकाय छन् । विभागको क्षेत्रभित्र हाल १ सय २६ सहकारी संस्था रहेका छन् ।
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो।
साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ। यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउँछन्। यद्यपि यसको कुनै शास्त्रीय वचन भने छैन।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन्। यस वर्ष साउन १५ गतेका दिन श्रावण शुक्ल एकादशी परेकाले चामलको खीर नखानेले साबुदानाको खीर बनाएर खान्छन्। आजको एकादशीलाई पुत्रदा एकादशीका रूपमा मनाइन्छ। एकादशी व्रत गर्नेले चामलबाट बनेका परिकार खाँदैनन्।
साबुदानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ। खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। नेपाली बृहत् शब्दकोषले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ। रासस
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा बनाइएको संसदीय छानबिन समितिमाथि नै टिप्पणी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरूले आफू अनुकूल हुने गरी समिति बनाएको आरोप लगाए ।
‘जसलाई चाहिएको त्यसलाई अल्पमतमा राखेर गठबन्धनमा बहुमत राख्ने गरी छानबिन समिति बनाएको छ ’ उनले भने, ‘ त्यसले गठबन्धनको भनाइ अनुसार निष्कर्ष निकालेको हो । ’
सरकारले गम्भीर गल्ती गर्दा पनि त्यसको प्रभावकारी छानबिन हुन नसकेको भन्दै उनले सरकारको आक्रोश व्यक्त गरे । २२ असारमा गठन भएको ११ सदस्यीय समितिमा एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको ओलीको भनाइ थियो ।
‘बजेट निर्माण गर्दा देश मारा काम भएको छ, ढुकुटी मारा काम र अनैतिक आपराधिक काम भएकै हो’ ओलीले भने, ‘निष्पक्ष छानबिन गर्न सरकारले चाहेन ।’
सरकारले छानबिन समितिमा पनि बहुमत र अल्पमतको खेल खेलेको ओलीले आरोप लगाए ।
‘देशका विरुद्ध अपराध भएको छ । ७ जना आफ्नो पक्षका सांसद राखेर हुन्छ वा हुन्न भन्ने त संसदमा पनि भने भइहाल्छ नि त्यहाँ पनि गठबन्धनको बहुमत छदै छ’ आक्रोशित हुँदै ओलीले भने ‘११ जनाको समिति बनाएर ७ जना आफ्नो राखेर हुन्छ हुन्न भन्ने हो रु यो तथ्यमा आधारित रिपोर्ट होइन । नेपाली जनताले अस्वीकार गर्नु पर्छ । ’
करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा बनाइएको संसदीय छानबिन समितिले १७ दिनपछि शुक्रवार छानबिनमा ‘केही प्रमाण भेटिएन’ राखेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको थियो । अहिले एमालेले त्यसको विरोध गरिरहेको छ ।
अध्यक्ष ओलीले पनि फुटेज मेटाउने र कल डिटेयल हेर्न मिल्दैन भन्ने कुराले समितिकै काम प्रति शंका उब्जिएको बताए ।
उनले गठबन्धनको सरकार देशको लागि अभिसाप भएको समेत टिप्पणी गरे ।
‘यसले राष्ट्रियता कमजोर पारिहरेको छ , लोकतन्त्रलाई कमजोर पार्छ । यो ढाटहरूको कर छलीहरूको गठबन्धन हो ’ उनले भने ‘ हामीले आगामी निर्वाचनमा सानदार बहुमत ल्याएर सरकार बनाउनु पर्छ । यो देश बचाउनु छ ,जोगाउनु छ । ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले गरेको काम अरूले २० वर्ष सम्ममा पनि गर्न नसकेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा उनले कांग्रेसले अहिले सम्म एमालेको जस्तो काम गर्न नसकेको बताएका हुन् ।
‘हामीले धेरै काम गरेका थियौँ । २० वर्षमा अरूले गर्न नसेका काम हामीले गरेका हौँ’ उनले भने ‘ नेपाली कांग्रेसले २१ वर्ष सम्म केहि नयाँ योजना केही विचार ल्याउन सकेन ।’
उनले नेपाली कांग्रेस कुनै रचनात्मक काम गर्न नसक्ने पार्टी भएको समेत आरोप लगाए ।
‘हाम्रो समृद्ध नेपाललाई हाँगो बटारेर कांग्रेसले समुन्नत नेपाल बनायो’ उनले भने ‘सही कामको शत्रु हो कांग्रेस । ’
उनले एमाले सरकारले गरेको थुप्रै कामहरूको प्रचार हुन नसकेकोमा गुनासो गरेका थिए ।
‘गएको निर्वाचनमा हामीले गरेका काम पर्याप्त रूपमा जनतामा सामु लैजान सकेनौँ आगामी निर्वाचनमा त्यस्तो हुन दिन हुन्न । गएको निर्वाचनमा गठबन्धनवालाहरूले प्रहरी प्रशासन सबै राज्य संयन्त्रहरुको दुरुपयोग गरे हाम्रा विरुद्ध प्रयोग गरे अबको निर्वाचनमा हामीले हुन दिन हुँदैन’ उनले भने, ‘त्यो कमी सच्चाउनै पर्छ ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनमा स्थानीय तहको निर्वाचनमा जस्तो कमजोरी नगर्न सुझाव दिएका थिए । उनले आगामी निर्वाचनमा राष्ट्रिय युवा संघ अझै सशक्त हुनु पर्ने बताए । टोल टोलमा राष्ट्रिय युवा संघ पुग्नु पर्ने ओलीले बताए । त्यहाँ पुगेर आफ्नो संगठन निर्माण गर्न सुझाव दिए ।
काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकालले सत्तापक्षका सांसदहरूकै कारण अर्थमन्त्री जनार्दन शर्मा विरुद्धको अभियोग पुष्टि हुन नसकेको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा ढकालले करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिले पनि प्रभावकारी काम गर्न नपाएको बताए । सत्ता पक्षका सांसद र समितिकै कारण प्रभावकारी छानबिन नभएको उनले आरोप लगाए ।
‘सत्ता पक्षबाट प्रतिनिधित्व गरेको माननीय ज्यूको भूमिका भनेको प्रमाण नजिक पुग्दा सत्ता तथ्य उजागर होला भन्ने भय र आतंकबाट उहाँहरू आतङ्कित हुनु भयो’ उनले भने, ‘उहाँहरूको त्यही अडा ले छानबिन गरेर एउटै प्रतिवेदन बुझाउने स्थिति भएन ।’
समिति र सत्तापक्षका सांसदहरूका कारण फरक–फरक निष्कर्ष निस्किएको ढकालले बताए ।
‘अनधिकृत व्यक्ति प्रवेश गरेर करको दरमा हेरफेर गरेको कुरा बयान र सिसिटिभीको कारणले प्रवेश गरेन भन्ने उहाँहरूको निष्कर्ष हो । हाम्रो आवश्यक प्रमाणहरूको गुपचुप गरेका कारणले र यथेष्ट प्रमाण बुझ्नको निम्ति सत्तापक्षका माननीय र समिति तयार नभएका कारण पर्याप्त प्रमाणको अभावमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने कुरामा निष्कर्षमा पुग्न सकिएन हाम्रो मत हो ’ ढकालले भने, ‘यसले गर्दा हामीले फरक मत राखेर पठाएका हौँ ।’
अर्थमन्त्रीमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा ढकाल सदस्य छन् । त्यसमा ढकाल सहित खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव थिए ।
अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले छानबिनमा ‘केही प्रमाण भेटिएन’ राखेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको थियो ।
२२ असारमा गठन भएको ११ सदस्यीय समितिले १७ दिनपछि शुक्रवार छानबिनमा ‘केही प्रमाण भेटिएन’ राखेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको थियो । एमाले सांसदहरू भने यस बाट रुष्ट छन् ।
शनिवारको कार्यक्रममा ढकालले प्रमाण नष्ट राज्य शक्तिको दुरुपयोग गरेको समेत आरोप लगाए ।
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बाटोमा रहेको दाबी गरेका छन् ।
एमाले निकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनमा सँगै मिलेर जाने र त्यसपछि शेरबहादुर देउवा राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरे ।
उनले प्रचण्ड र कांग्रेस नेतृ तथा देउवा पत्नी आरजू देउवाले आलोपालो प्रधानमन्त्री बन्ने सम्मको सहमति भएको कुराहरू बाहिर आएको दाबी गरे ।
उनले भने, ‘हामीले सुनेका छौँ । प्रचण्ड देउवा र आरजू बसेर चुनावमा सँगै मिलेर जाने । अनि तिमी काले म पन निकाले सँगै मिलेर खाऊँ भाले भनेजस्तै देउवा राष्ट्रपति हुने प्रचण्ड र आरजू प्रधानमन्त्री हुने ।’
उनले अगाडि भने, ‘यो देश कसैको बाउको पेवा होइन त्यो खालको इच्छा बोकेर हिँड्नुभएको छ यो धर्तीमा नेकपा एमाले छ भन्ने कुरा मनमा राखेर हिँड्नुहोला ।’
बस्नेतले पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा शक्तिको प्रयोग गरी प्रमाणहरू मेटाइएको दाबी पनि गरेका छन् । एमालेको आन्दोलन र विरोधका कारणले बजेटमाथि भएको सेटिङ छानबिनका लागि समिति बने पनि काम नभएको बताए ।
उनले भने, ‘आज संसदीय समितिले अर्थमन्त्री फेला पार्यो सीसीटीभी फेला पारेन । कर्मचारी फेला पार्यो मोबाइल फेला पारेन । मन्त्रालयमा सीसीटीभी भेट्यो तर फुटेज भेटेन । गेटमा रहेका सुरक्षाकर्मी भेट्यो तर राति ११, १२ बजे को छिर्यो फेला परेन । अहिलेका गठबन्धन वाला शक्तिहरू राज्य लुट्नका लागि । राज्यका स्रोत दुरुपयोग गरेर लागेका छन् ।
काठमाडौं । लामो समयको मिडियाकर्मलाई पूर्ण विराम लगाउँदै राजनीतिमा होमिएका रवी लामिछानेले आफू टेलिभिजनकर्मीको रूपमा प्राप्त गरेको लोकप्रियताको फाइदा उठाउनको लागि राजनीतिमा नआएको बताएका छन् ।
उनले आफूलाई राजनीतिक कसीबाट नै जाँच्न सबैलाई आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मैले टेलिभिजनमा काम गरेको लोकप्रियताको फाइदा उठाउनको लागि चुनावी मैदानमा तपाईँसँग भोट माग्न आएको हैन । प्रतिबद्ध भएर भोट माग्न आएको छु प्रतिबद्ध साथीहरूको टिम बनाएर भोट माग्न आएको छु । टेलिभिजनमा के गरे कति गरे ? म त्यसको ब्याज खान्न । अहिलेका नेताहरूले जस्तो यती वर्ष जेल बसे भने जस्तै मैले टिभीमा यती वर्ष काम गरे भन्दिन । अब मलाई राजनैतिक कसीबाट जाँच्नु होला । राजनैतिक मन्चबाट नै हेर्नु होला । यदि मेरा प्रतिवद्दताहरु र म संलग्न पार्टीको उम्मेदवारहरू ठिक लागेको खण्डमा मात्रै तपाईँहरूले भोट गर्नुहोला ।’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य किरणको काम नभएको, नेत्रविक्रम चन्द विप्लवको अर्थ नरहेको र डा. बाबुराम भट्टराई माओवादी नै नभएको टिप्पणी गरेका छन् ।
शनिवार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताउँदै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘यो निर्वाचनबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरूको काम छैन भन्ने स्पष्ट भयो । किरण माओवादीको काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन । उनले थप्दै भने, ‘१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ ।’
प्रचण्डले स्थानीय तहमा झन्डै एक सय ७५ नजिक सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको बताउँदै भने , ‘१२२ पुग्यौँ । ५० सिट गुमायौँ, । २० सिट आए पनि तेस्रो हुन्थ्याैं तर त्यो निर्णायक हुँदैनथ्यो । अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’
उनले एक पटक पुनः देशको बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेश गर्ने आफ्नो धोको रहेको पनि बताएका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने र देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको बताएका छन् ।
माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताउँदै उनले कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको बताए ।
‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’
यस विषयमा गठबन्धन दलका नेतृत्वमा समझदारी रहेको उनले बताए । ‘यसमा कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईँहरू ढुक्क हुनुस गडबड हुन दिइँदैन यो पटक स्थानीय तहको जस्तो,’ उनले भने ।
यसो हुँदा देशको बागडोर आफ्नो हातमा आउने उनले बताए । उनले भने, ‘त्यसपछि देशलाई यसरी विकास, सुशासन र यसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर देशलाई देखाउनु छ ।’
व्यक्तिगत रूपमा आफ्नो यो निर्वाचन ‘लास्ट इनिङ’ रहेको अध्यक्ष प्रचण्डले बताए । ‘मेरो भन्ने हो भने लास्ट इनिङ होस र लास्ट इनिङ पछि सम्मको सन्ततिलाई सम्झने गरी होस भन्ने गरी देशलाई केही दिने गरी मेरो सपना छ ।’ उनले भने ।
स्थानीय चुनावमा नै माओवादी केन्द्र दोस्रो पार्टी हुने अवस्थामा आफ्नै पार्टीभित्रका घात अन्तर्घातले असर गरेको उनले बताए । ‘५० वटा पालिका जितेका बचाउन सकेको भए देशको दोस्रो र लेफ्टको पहिलो पार्टी हुन्थ्यौँ,’ उनले भने,‘१७५ सिट जित्छौँ भन्ने थियो हाम्रो । ५० सिट नगुमेको भए ।’
माओवादी केन्द्रले १७५ सिट जित्दा एमाले १६० को तल आइपुग्ने र माओवादी केन्द्र दोस्रो बन्ने प्रबल सम्भावना रहेको उनले बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको बताएका छन् । माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
‘अहिले माओवादी केन्द्रकै एजेण्डामा देश अगाडि बढेको छ । समावेशी, समानुपातिक प्रणाली हामीले ल्याएका हौँ,’ उनले भने,‘यसलाई अहिले सबैले स्वीकारेका छन् । प्रयोग गरेका छन् । एक अर्थमा भन्ने हो भने कांग्रेस र एमालेभित्र माओवादी नै पसेको छ ।’
तर जसको नीति उसको नेतृत्व नभएको उनले बताए । उनले भने, ‘जसको नीति उसको नेतृत्व भएन ।’ आजको देशको मूल राजनीतिक धार को हो ? नेता को हो ? नेतृत्व को हो ? भन्ने विषयमा देशव्यापी बहस जरुरी रहेको उनले बताए । ‘यो परिवर्तन माओवादी केन्द्रको जनयुद्धका कारण मात्र सम्भव भएको हो, हज्जारौं सहिदको बलिदानीका कारण सम्भव भएको हो,’ उनले भने । राजनीतिको मूल धार माओवादी नै रहेको उनले बताए ।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बलियो भए सत्तारूढ गठबन्धन स्वतः कमजोर हुने बताएका छन् ।
नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चले आज नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘एमाले बलियो भए गठबन्धन स्वतः कमजोर हुन्छ । भाकल गरेर मात्र हुन्न,’ उनले भने,‘अहिले पनि सर्वाधिक मत हामीले ल्याए पनि सिटमा कमजोर भइयो ।’
एमालेकै नेता कार्यकर्ताको व्यवस्थापकीय कमजोरीले ८० सिट गुमाएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । उनले भने, ‘२ देखि ५० मतको अन्तरले ८० सिट गुमायौं । उम्मेदवारी दर्ता गर्ने बेलासम्म मान्छे तयार पार्न सकेनौं । यो पनि कमजोरी भयो ।’
पार्टीले अब ‘जित्ने मात्र होइन टिक्ने मान्छे खोज्नुपर्ने उनले बताए । ‘एमाले रोजेर आकालाई उचित जिमेवारी दिनुपर्छ । संगठननै बलियो आधार हो,’ उनले भने ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्मा निर्दोष प्रमाणित भएको भन्दै खुसी व्यक्त गरेका छन् । शर्माले ल्याएको बजेटको सबैतिर स्वागत भइरहँदा अनावश्यक विवाद खडा गरिएको उनको टिप्पणी छ ।
प्रेस सेन्टर नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘सबैले बजेट राम्रो छ भनेर प्रशंसा र स्वागत गर्दै थिए । एकाएक राति १२ बजे बजेट हेरफेर गर्यो भनेर आयो । मैले नै अध्यक्षको हैसियतले छानबिन गर्न लगाएको हुँ ।’
छानबिन समितिले आज बुझाएको प्रतिवेदनले शर्मालाई निर्दोष प्रमाणित गरेको प्रचण्डले बताए ।
उनले थपे, ‘अब प्रमाणित भइसक्यो । त्यो घोषणा भयो । कुनै गल्ती भएको छैन भनेर रिपोर्ट दिइयो । यी कुराहरूलाई जनताका बीचमा हामीले कन्फिडेन्टली किन नभन्ने ?’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक आवश्यकताले संविधान र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन कायम रहने बताएका छन् । उनले अहिले चर्चामा आएको समाजवादी केन्द्र तत्काल बन्ने सम्भावना नरहेको पनि स्पष्ट पारे ।
प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनको विषयमा कुनै द्विविधा नपाल्न आग्रह गरे । प्रचण्डले भने, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’
उनले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताए । ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’
उनले गठबन्धनभित्र सबैलाई फाइदा हुने गरी जानुपर्नेमा जोड दिए । खासगरी ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उदार र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
प्रचण्डले थपे, ‘हामी सबैको तागतले यो सरकार बनेको हो । त्यसैले कसैले पनि एकलौटी गर्न खोज्नु हुँदैन ।’
उनले गठबन्धनमा रहेका वामपन्थीहरुबीच एउटै चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने विषयमा छलफल भइरहेको बताए । तर, समाजवादी केन्द्र बनाइहाल्ने सम्भावना नरहेको उनले प्रस्ट पारे ।
‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । समाजवादी केन्द्र बनाइहालौं भनेर छलफल पनि गरेका छैनौं । केही साथीहरुले कुरा उठाउनुभएको हो । तर, हाम्रो बैठकमा कुरा भएको होइन’, प्रचण्डले भने ।
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णले संघीय संसद् भवनस्थित कार्यकक्ष पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदन हस्तान्तरणमा समितिका सबै सदस्यहरू उपस्थित थिए ।
त्यसपश्चात सभापति कर्णले उक्त प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पनि पेस गरेका छन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिन गर्न असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सुरूमा १० दिनको म्याद दिइएपनि काम नसकिएपछि पुन: ७ दिन थपिएको थियो ।
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिएका हुन् ।
‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहन्छु,’ उनले भने ।
सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो ।
काठमाडौं । गत वर्षको बैशाख २ गते राति ११ बजे बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको मोटरसाइकल दुर्घटना भयो । जिल्लाको बैजनाथ गाउँपालिका- ६ ललितपुरको भित्री सडकमा उनी चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनी बसले ठक्कर दिएको थियो ।
बाटोमा लडेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारी कोहलपुर अस्पताल लगे पनि उनको ज्यान बच्न सकेन । मिनीबसका चालक टोपबहादुर राना क्षेत्रीमाथि सवारी ज्यान मुद्दा जिल्ला अदालत बाँकेमा दर्ता भयो । अदालतले क्षेत्रीलाई ३० दिन कैद र २ हजार रूपैयाँ जरीबानाको फैसला सुनायो ।
अदालतले मामूली सजायमा आरोपीलाई उन्मुक्ति दिए पनि यो दुर्घटना कुनै भवितव्य नभएर योजनाबद्ध अपराध भएको खुलेको छ । नेपाल प्रहरीको अनुसन्धानका अनुसार मृतकको बीमा रकम असुलीका लागि दुर्घटना गराएर उनको हत्या गरिएको हो ।
विकको मृत्युपछि उनकी पत्नी सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रूपैयाँ २०७८ साल साउन १४ गते बीमा भुक्तानी लिएकी थिइन् । भुक्तानीपछि गत पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले विकको दुर्घटना शंकास्पद भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो । सोही आधारमा ब्यूरोले गरेको अनुसन्धानबाट उक्त दुर्घटना षड्यन्त्रपूर्ण रहेको ठहर भएको हो । प्रहरीले यस घटनामा संलग्न सपनासहित चारजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिकको जीवन बीमा २०७७ साल फागुन २८ गते गरिएको थियो र उनले इच्छाएको व्यक्तिमा पत्नी सपना मल्लको नाम उल्लेख गरेका थिए । सोही वर्षको चैत २ गते सपना र मृतकबीच विवाह दर्ता भएको देखिएको छ । विवाहभन्दा अगावै विकले इच्छाइएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए ।
यस घटनाका मुख्य योजनाकारमा प्रहरीले सञ्जिव अर्याललाई ठहर्याएको छ । बीमाबापत सपनाले भुक्तानी लिएको २ करोड ५० लाखभध्ये सञ्जिवले ८० लाख रुपैयाँ लिएको खुलेको छ । यसैगरि, सपनाकी आमा छविकुमारी खत्रीलाई १७ लाख ४६ हजार, दिपक केसीलाई ६० लाख दिएर सपनाले ८६ लाख ८९ हजार रूपैयाँ आफूले राखेकी थिइन् ।
प्रहरीका अनुसार पेशा र वार्षिक आयको रकमले बीमाको शुल्क ५ लाख ४० हजार रुपैया तिर्नसक्ने क्षमता विकको थिएन । केवाईसीमा उनको वार्षिक आम्दानी २ लाख रूपैयाँ मात्र भएको स्व:घोषणा भएको छ । वार्षिक आम्दानीको अधिकतम ४० प्रतिशत मात्रै बीमा गर्न सकिने प्रावधान नाघेर विकको बिमा गराइएको पाइएको छ । मृतकको प्राथमिक बिमा शूल्क ५ लाख ४० हजार सञ्जिवले नै तिरिदिएका थिए ।
यसैगरी, श्रीमान्-श्रीमती भनिएका मृतक र सपना आपसी सम्पर्कमै नरहेको पनि प्रहरीले जनाएको छ । बीमा गराउने सञ्जिब र सपनाबीच भने घटना अगाडिदेखि पैसा बाँडफाडको समयसम्म निरन्तर सम्पर्क देखिन्छ । दुर्घटनामा बीमा अभिकर्ता सरदार अहमद खाँको मोटरसाइकल प्रयोग भएको छ । यसैगरी, घटनाको दिन सञ्जीव अर्यालतको मृतक, सपना, सरदार अहमद र ड्राइभर टोपबहादुरसँग सम्पर्क भएको पाइएको छ ।
प्रहरी अनुसन्धानअनुसार आरती भनिने ललिताकुमारी सापकोटाले सपना र सञ्जीवको भेट गराइदिएको तथा सपनालाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने कुरा भएको थियो । २०७७ सालमा सपना सीप सिक्न काठमाडौं आएकी थिइन् । सोही वर्ष फागुन २८ गते विक र सपनाको विवाह दर्ता गर्न खोजिएकोमा मृतकको उमेर नपुगेका कारण रोकिएको थियो । त्यही नै बेला सपना र बिकको पहिलो भेट भएको थियो । विवाह दर्ता पछि उनीहरूको भेट नै नभएको पाइएको छ । उनी विकको दाहसंस्कारमा समेत उपस्थित थिइनन् ।
प्रहरीले गत साउन ९ गते सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो यसैगरी बाँकेको कोहलपुर घर भएका सञ्जिव अर्याल, सोही स्थानमा सरदार अहमद खाँ र टोपबहादुर राना क्षेत्री पनि पक्राउ परेका छन् ।
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ । साथै, यो छानबिन आफैंमा पर्याप्त नभएको पनि अर्को निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ ।
समितिको अन्तिम वैठक केहीबेर अघि सिंहदरबारमा सम्पन्न भएको थियो । बैठकपछि सदस्य सचिव सुरेन्द्र अर्यालले प्रतिवेदन लेखन कार्य लगभग सकिएको बताएका थिए । प्रतिवेदनमा सर्वसम्मति भए/नभएको उनले खुलाएनन् ।
तर, समितिका एक सदस्यले नेपाल प्रेससँग कुरा गर्दै प्रतिवेदनमा दुईथरी निष्कर्ष समावेश गरिएको जानकारी दिए । उनका अनुसार अर्थमन्त्रीविरुद्ध प्रमाण नभेटिएकाले उनलाई दोषी ठहर गर्ने नसकिने सत्ता पक्षीय सांसदहरुको निष्कर्ष छ । यस्तै, समितिले गरेको छानबिन आफैंमा अपूरो रहेकाले यसमा थप अनुसन्धान आवश्यक रहेको प्रतिपक्षका सांसदहरुको निष्कर्ष रहेको छ । दुवै निष्कर्षलाई प्रतिवेदनमा स्थान दिइएको स्रोतले बतायो ।
बैठकमा एमालेका चार सांसदहरुले विभिन्न विषयमा असहमति राखेका थिए । तर, उनीहरुले साझा धारणा बनाएर भने प्रस्तुत भएका थिएनन् । एमालेका सांसदहरुले फरक–फरक कुरामा असहमति राखेको स्रोतको भनाइ छ ।
अर्थ मन्त्रालयले समितिलाई छानबिनमा असहयोग गरेको, विवाद आउनासाथ मन्त्रालयले सीसीटीभी फुटेज सार्वजनिक नगरेको, व्यापारिक घरानाको फाइदाका निम्ति करको दर हेरफेर गरिएको, सीसीटीभी फुटेजका दृष्य प्रष्ट नखुलेको जस्ता विषयहरु एमाले सांसदहरुले उठाएका थिए ।
छानबिन आफैंमा अपूरो रहेकाले तत्कालीन अर्थमन्त्री शर्माले क्लीन चिट पाउन नसक्ने एमाले सांसदहरुको तर्क छ । सत्तारुढ सांसदहरुले भने सीसीटीभी फुटेजले पनि अर्थमन्त्रालयभित्र घुसपैठ भएको प्रमाणित नगरेको कुरालाई जोड दिएका थिए । समितिमा सत्तारुढ सांसदहरुको स्पष्ट बहुमत रहेको छ ।
आजको अन्तिम बैठक बस्नुअघि माओवादी सांसद देव गुरुङले सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेटेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर उनले ब्रिफिङ गरेका थिए । नेताहरुको सुझाव लिएर उनी बैठकमा आएका थिए ।
यसैगरी, एमालेका सांसदहरुले पनि पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरुसँग सुझाव लिएको स्रोतले बताएको छ ।
काठमाडौं । राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।
आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा सो विधेयक पठाइएको थियो । उक्त विधेयक विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरी नागरिकता दिने व्यवस्था गरेको छ ।
विदेशबाट बिहे गरेर ल्याउनासाथ नागरिकता दिनेलगायतका विधेयकका कतिपय प्रावधानमा चौतर्फी विरोध छ ।
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल आगमनका क्रममा कालो झण्डा देखाउन खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् ।
सहायक विदेशमन्त्री आज अपरान्ह नयाँ दिल्ली हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । त्यस क्रममा उनको विरोधमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ता एयरपोर्टबाटै पक्राउ परेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
वीर अस्पतालको १३३ औं वाषिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको विषय भएको भन्दै सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन प्रतिवद्ध रहेको बताएका हुन् ।
स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त रुपमा बजेट छुट्याएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने उनको भनाई छ । उनले सस्तो सहज र गुणस्तरीय स्वास्थय सेवा आजको आवश्यकता भएको उनले बताए । प्रधानमन्त्री देउवाले अनेक महामारीसँग जुध्न सक्ने गरी स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे ।
भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले प्राथकितामा साथ अघि बढाउन पनि निर्देशन दिए ।
उनले गुणस्तरीय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको वीर अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय बनाउदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्म्मान गरिएको थियो ।
काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सिसडोल र बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन नदिने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै समितिले सो घोषणा गरेको हो ।
मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको आरोप पत्रकार सम्मेलनमा लगाइयो । समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको आरोप लगाए ।
उनले भने, ‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानववस्ति विकास क्षेत्रमध्ये अब सरकारले एउटा मात्रै छान्न सक्नेछ ।’
३१ साउनसम्म आफूहरूको माग पूरा नभएको खण्डमा १ भदौदेखि सिसडोल र बञ्चरेडाँडामा सधैँका लागि फोहोर लैजान बन्द गरिने उनले घोषणा गरे । सरकार र महानगरपालिकाले पटकपटक आफूहरूसँग सहमति गरेर धोका दिएको उनले बताए ।
जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्न्यास’ लिएका छन् । तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्न्यासी’ बनाएका हुन् ।
डा. राउत एक साताअघि ओशो तपोवन पुगेका थिए । सात दिनसम्म ध्यानमा बसेपछि उनी सन्न्यासका लागि योग्य बनेका हुन् । यस सम्प्रदायभित्र संन्न्यासलाई समाजबाट स्वतन्त्र हुनु भन्ने बुझिन्छ । ‘स’ ले समाजलाई र ‘न्यास’ ले स्वतन्त्रतालाई जनाउँछ ।
ओशो तपोवनमा ध्यान बस्नेहरुमध्ये थोरैले मात्रै संन्न्यास प्राप्त गर्ने गरेका छन् । ध्यानका माध्यमबाट आफ्नो विचारलाई नियन्त्रण गर्न सक्ने, सही आचरणमा बस्न सक्ने तथा सांसारिक सुखबाट मुक्त रहन सक्नेहरु सन्न्यासका लागि योग्य ठहरिन्छन् । यही योग्यता प्रस्तुत गरेर डा. राउत सन्न्यासी बनेका हुन् ।
सन्न्यास लिनेहरुलाई स्वामी आनन्द अरुणले विशेष प्रकारको ओशोको तस्वीर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गर्छन् । सन्यासी बनेका राउतको नयाँ नाम ‘आनन्द मैत्रय’ रहने भएको छ । क्रममा आनन्द अरुणले अनुयायीहरुलाई सन्न्यासी बनाउने क्रममा निधार र छातीमा हात राख्ने गर्छन् । त्यस क्रममा खासगरी महिला अनुयायीहरु ग्वाँ ग्वाँ रोएको देख्ने गरिन्छ ।
सन्न्यासपछि पाएको माला आजीवन गलाबाट निकाल्न नमिल्ने बताइन्छ । महिलाको हकमा भने महिनाबारी भएका बखत माला फुकालेर राख्नुपर्छ ।
सन्न्यास प्राप्त गर्नेहरुलाई ओशोका अनुयायीहरुले अत्यधिक सम्मान गर्छन् । उनीहरुले आफ्नो नामअघि स्वामी लेख्न सक्छन् भने प्रायः सेतो र गेरुवा वस्त्र लगाउने गर्छन् । डा. राउतले पनि आफ्नो नयाँ नामअघि स्वामी लेख्न सक्नेछन् ।
ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणबाट अध्यक्ष राउतले सन्न्यास लिएका हुन् । एक साता अगाडिदेखि तपोवनमा रहेका उनी सन्न्यास लिएपछि माला र नयाँ नाम प्राप्त गरेको बताइएको छ ।
डा. राउतले लामो प्रतीक्षापश्चात गुरुजीको सानिध्यता प्राप्त गर्ने अवसर पाएको उल्लेख गरेका छन् । आश्रममा बस्दा धेरै कुरा जान्ने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरेका छन् ।
‘गुरुको सानिध्य नै सबभन्दा ठूलो कुरा हो’, उनले भनेका छन्, ‘मलाई धेरै बोल्न मन लाग्दैन । यहाँ धेरै बसौं र सुनौं जस्तो लाग्छ । व्यक्तिगत रुपमा केही भन्नुपर्ने शब्द पनि छैन ।’
काठमाडौं । शुल्कवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनरत विद्यार्थीले चक्रवर्ती ल क्याम्पसमा विद्यार्थी संगठनहरुले उपद्रो मच्चाएका छन् । उनीहरूले गरेको तोडफोडबाट कम्तीमा पनि ७-८ लाखको क्षति भएको कलेजले जनाएको छ ।
पाँच वर्षे बीएएलएलबीको शुल्क एकैपटक साढे तीन लाख रूपैयाँ बढाइएपछि विद्यार्थी संगठनहरूले केही दिनदेखि संयुक्त आन्दोलन गरिरहेका थिए । यसक्रममा हिजो नेविसंघ, अखिल र अखिल क्रान्तिकारीका विद्यार्थीहरूले कलेजमा तोडफोड गरेका हुन् । कलेजका अधिकांश झ्यालका सिसा फुटेका छन् भने गमलाहरू खसाइएको छ । कलेजको बाहिरपट्टि राखिएको एक्वेरियम ध्वस्त तुल्याइएको छ । कलेजको व्यानर पनि च्यातचुत पारिएको छ ।
विद्यार्थी संगठनका अगुवाहरूले कलेजमा ताला लगाउन खोज्दा कर्मचारीले रोकेका थिए । त्यही झोकमा विद्यार्थीहरू तोडफोडमा उत्रिएका हुन् । नेविसंघका विद्यार्थीहरूले तोडफोडको अगुवाइ गरेका थिए ।
यस विषयमा थप बुझ्नका लागि कलेजकी सहायक प्रमुख विमला हुमागाईँले केही बोल्न चाहिनन् ।
‘म अहिले प्रेसरमा छु, बोल्न सक्ने अवस्था नै छैन,’ उनले भनिन् ।
नेविसंघका इकाइ अध्यक्ष अभिनवसिंह राठोरले आफू अस्पतालमा उपचाररत रहेकाले घटनाबारे जानकारी नरहेको बताए । उनी कलेजमा आन्दोलनकै क्रममा घाइते भएका थिए ।
आज पनि विद्यार्थीहरूले आन्दोलन जारी राख्ने भएका छन् । आजको आन्दोलन भने शान्तिपूर्ण हुने उनीहरूको भनाइ छ । आजै उनीहरूले पत्रकार सम्मेलन पनि आयोजना गरेका छन् ।
कलेजले विद्यार्थीहरूलाई वार्ताका लागि औपचारिक आह्वान गरेको छैन । यसअघि गत सोमबार भएको वार्तामा सहमति हुन सकेको थिएन । कलेजले ५० हजार रूपैयाँ मात्रै शुल्क घटाउन सक्ने अडान लिएको थियो । विद्यार्थीहरू भने पूर्ववत शुल्क कायम गर्नुपर्ने बताइरहेका छन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको बताएका छन् ।
वुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलका क्रियाकलाप कै कारण संघीयता समेत बदनाम भएको बताए ।
त्यस्तै, अध्यक्ष ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन् ।
यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताएका हुन् ।
पहिले समितिमा नागरिकता विधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनको भनाई छ ।
त्यस्तै, ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिद्याउनेमा केन्द्रीत रहेको तर्क गरे ।
अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रीत रहेको जिकिर गरे ।
काठमाडौंं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १.९४ प्रतिशत रहेको बोर्डका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार नन ग्रेड ल्याउनेको संख्या ४.५५ रहेको छ भने ०.८१ देखि १. २ जीपीए ल्याउनेको संख्या ०.६६ प्रतिशत रहेको छ ।
यस्तै १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९ प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २०.२९ प्रतिशत, २.०१ देखि २.४ जीपीए ल्याउनेको संख्या २२.७४ प्रतिशत, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८.३१ प्रतिशत रहेको छ ।
२.८१ देखि ३.२ जीपीए ल्याउनेको संख्या १४.१३ प्रतिशत र ३.२१ देखि ३.६ जीपीए ल्याउनेको सख्ंया १.४ प्रतिशत रहेको परीक्षा नियन्त्रक अर्यालले बताए ।
स्थानीय तहको निर्वाचनका कारण यस वर्ष एसइईको नतिजा सार्वजनिक हुनमा ढिलाई भएको हो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक अर्यालले बताए ।
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्राली, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्राली, इडीयु सञ्जाल र रिडर्स पोइन्ट प्रालीले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।
यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।
वुधबार नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिले राजाहरुले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानले उक्त गाडी अवलोकनका लागि उद्घाटन गरे ।
संग्रहालयमा स्वर्गीय राजा त्रिभुवनले प्रयोेग गरेको फोर्ड कम्पनी क्यानडादरा निर्मित काठको क्यारियर भएको पिक अफ ट्रक राखिएको छ, ट्रक शिकारमा पनि प्रयोग हुने गरेको जानकारहरुले बताएका छन् ।
त्यस्तै, स्वर्गीय राजा त्रिभुवनले नै प्रयोेग गरेको फोर्ड कम्पनीद्वारा निर्मित फ्यामिली कार (बा.अ. २) पनि प्रदर्शनीमा राखिएको छ भने स्वर्गीय राजा महेन्द्रले प्रयोग गरेको १९६३ मोडलको कार पनि प्रदर्शनीमा राखिएको छ ।
उक्त मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारहरुले बताएको संग्रहालयमा सूचना अधिकृत बद्धि गुरुङले जानकारी दिए ।
तीनवटै गाडीहरुका भौतिक तथा यान्त्रिक अवस्था जिर्ण रहेकोमा भौतिक मर्मत तथा रंगरोगन गरि प्रदर्शनमा राखिएको संग्रहालयले जनाएको छ ।
भक्तपुर । भक्तपुरमा गुँला पर्वका अवसरमा सवा लाख चैत्य बनाउने धार्मिक कार्य आयोजना हुने भएको छ ।
विभिन्न कारणले रोकिएको धार्मिक कार्य पाँच वर्षपछि भक्तपुरका साकोलान टोलका मानन्धर समुदायले आयोजना गर्न लागेकाे हाे ।
गुँला ङक धलं व्यवस्थापन समितिले बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै छुट्टै पहिचान बोकेको सवा लाख चैत्य बनाउने धार्मिक कार्य (गुँला ङक धलं) लाई यस वर्ष भक्तपुरका मानन्धर समुदायले आयोजना गर्ने जानकारी दिएको हो ।
सुरुका समयमा प्रत्येक वर्ष आयोजना गरिएको भए पनि पछिल्लो समय मानव संशाधन, बजेट तथा अन्य समस्याले गर्दा निरन्तरता पाउन सकेको छैन । तर, पाँच वर्षपछि पुनः धार्मिक कार्यक्रमको आयोजना गरिने समितिका सचिव रामकृष्ण मानन्धरले जानकारी दिए ।
परापूर्व कालदेखि मानन्धर समुदायले गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना गुँला पर्वमा मनाउने गुँला ङक धलं यसपालि साउन १३ देखि भदौ १२ गतेसम्म भक्तपुर- ९ साकोलान टोलको धार्मिक कार्य आयोजना गरिने सचिव मानन्धरले जानकारी दिए ।
गुँलाको पहिलो मंगलबार सूर्यविनायक देवस्थलमा गुँला नौबाजा बजाउन जाने गरिन्छ । शनिबार अष्टमात्रिका देवस्थलहरुमा बाजा बजाएर जाने गरिन्छ । सापारुको दिनमा व्रतपूजा सकाएर व्रतालुहरु र नौबाजासहित नामसंगति स्तोत्र धर्मग्रन्थ खटमा राखी चारजनाले बोकी नौबाजा बजाई नगर परिक्रमा गर्ने गर्दछन् ।
भाद्र शुक्ल प्रतिपदाको दिनमा पूजा विधि सकाएर एकमहिना स्तोत्र पाठ गरी बनाएको सवा लाख चैत्य नौबाजा बजाई हनुमानघाटमा बिसर्जन गरी गुँला धलं समापन गरिने प्रचलन रहेको समितिले जनाएको छ ।
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले चाँडै चलचित्र क्षेत्रका समस्याहरु सुन्न सर्वपक्षीय सम्मेलन आयोजना गर्ने बताए ।
पत्रकारहरुसँग कुरा गर्दै केसीले भने, ‘चलचित्र क्षेत्रभित्र धेरै समस्या छन् । म सबैका समस्याहरु सुन्न चाहन्छु । त्यसैले चलचित्रको सबै विधाका मान्छेहरुलाई संलग्न गराएर एक–दुई दिनमै एउटा सम्मेलन आयोजना गर्ने योजना छ ।’
उनले सम्मेलनबाट निस्किने निस्कर्षका आधारमा एउटा योजना बनाएर अघि बढ्ने उल्लेख गरे ।केसीलाई राजनीतिक पार्टीको सहारामा विकास बोर्डमा पुगेको आरोपबारे पत्रकारले सोधेका थिए । उनले नेपाली चलचित्र क्षेत्रको उत्थानका लागि आफू जे गर्न पनि तयार रहेको जवाफ दिए ।
‘म जहाँ गए पनि चलचित्र क्षेत्रको विकासका लागि जाने हो । मेरो तन मन धन नै चलचित्रकर्मीको उत्थान र विकासका लागि हो । त्यसैले म शहिद भएर, भिक्टिम भएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने त्यसका लागि तयार छु ।’
काठमाडौं । संघीय संसदको चुनाव आगामी मंसिर ४ गते हुन सक्ने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयूक्त दिनेश थपलियाले संकेत गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले अर्को मन्त्रीपरिषद बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताए ।
निर्वाचन आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको थपलियाको भनाइ छ ।
उनले भने, ‘आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ ।’
स्थानीय चुनावको तुलनामा आगामी संघीय चुनावमा निर्वाचन आयोगको खर्च बढ्न सक्ने थपलियाले बताए । यो निर्वाचनमा २ करोड मतपत्र छापेकोमा आउँदो निर्वाचनमा ८ करोड छाप्नुपर्ने उनको भनाइ छ ।
यस्तै, एउटा केन्द्रमा एउटा मतपेटिका राखेर स्थानीय चुनाव गराइएकोमा आउँदो चुनावमा ४ वटा राख्नुपर्ने उनले उल्लेख गरे ।
‘मतपेटिकासँगै कर्मचारी पनि थप्नुपर्ने हुन्छ र स्वभाविकरुपमा खर्च बढ्छ,’ उनले भने । तर, मितव्ययी निर्वाचनमा आयोग प्रतिवद्ध रहेको थपलियाले बताए । स्थानीय चुनावको तुलनामा आगामी संघीय चुनावमा निर्वाचन आयोगको खर्च बढ्न सक्ने थपलियाले बताए । यो निर्वाचनमा २ करोड मतपत्र छापेकोमा आउँदो निर्वाचनमा ८ करोड छाप्नुपर्ने उनको भनाइ छ ।
यस्तै, एउटा केन्द्रमा एउटा मतपेटिका राखेर स्थानीय चुनाव गराइएकोमा आउँदो चुनावमा ४ वटा राख्नुपर्ने उनले उल्लेख गरे ।
‘मतपेटिकासँगै कर्मचारी पनि थप्नुपर्ने हुन्छ र स्वभाविकरुपमा खर्च बढ्छ,’ उनले भने । तर, मितव्ययी निर्वाचनमा आयोग प्रतिवद्ध रहेको थपलियाले बताए । आउँदो निर्वाचनको आन्तरिक तयारीमा आयोग लागिसकेको उनले जानकारी दिए ।