काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोगका भागिदार नै थिए भने किन अहिलेसम्म नटुंग्याएको भनी प्रश्न गरेका छन् । उनले सत्ता गठबन्धनले निलम्बनका लागि मात्र महाअभियोग ल्याएको बताए ।
‘उनी महाभियोगको भागिदार हुन् भने अहिलेसम्म किन प्रक्रिया बढाइएन । हामीले गहिरो छानबिन गरौं भनिरहेकै थियो,’ सदनमा उनले भने, ‘तर, यो ढंगले होइन ? यसप्रकारणको प्रतिशोध साँध्नेगरी होइन ।’
सत्ता गठबन्धनले गलत नियतका साथ यो महाअभियोग ल्याइएको उनले बताए । ‘कस्तो देखियो नियत भने, जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नैपर्ने,’ उनले भने ।
फागुन २९ गते दर्ता भएको महाभियोग सामान्यतयाः तीन महिनामा टुंगिनुपर्नेमा अहिले आएर प्रक्रिया सुरू गर्नुले गलत नियत देखिएको सांसद ज्ञवालीले बताए ।
‘नेपालीमा एक उखान छ । दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई,’ उनले भने, ‘दिनभरि त यो सरकार सुतेर बस्यो, अब सदनले तीन महिना पाउँछ कि पाउँदैन ।’
काठमाडौं । नेकपा एमालेका उपमहासचिव सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरूको भागाभाग रहेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए । जस कारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको भनाइ छ ।
‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे । तर, अहिले सचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो । मन्त्रालयमा सचिव भागाभागको अवस्था सृजना हुनुमा छानबिन समितिको अपूर्ण प्रतिवेदन, अथवा १४ जेठको घटना प्रतिउत्पादक अवस्था बनेको छ,’ ज्ञवालीले भने ।
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विगतमा नेपाली जनतालाई ढाँटेर राजनीति गरेका दलका नेताहरूलाई अबको निर्वाचनमा मत नदिन आग्रह गरेका छन् । उनले नयाँ पार्टीलाई परीक्षण गरेर हेर्नका लागि माग गरेका छन् ।
सो पार्टीको शनिवार बुटवलमा आयोजित लुम्बिनी भेलालाई सम्बोधन गर्दै लामिछानेले अबको नयाँ पुस्तालाई देशको संवाहक बनाउन आफू राजनीतिमा आएको बताएका थिए ।
‘पुराना दलले के काम गरे मैले तपाईँहरूलाई भन्नुपर्दैन, ६÷६ जना पूर्व प्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गरी अब कसैले मतदान नगर्नुस्, पुराना दलका योजना हेर्नुहोस्, नेतृत्व हेर्नुहोस्, कार्यशैली हेर्नुहोस्’, उनले भने ।
लामिछानेले अब यस्ता काम नगर्ने नेतृत्व र ठूला भनिएका पार्टीलाई चिन्ने बेला आएको बताए । ‘आफै पढेको त्रिचन्द्र कलेजको दुरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन्’ अध्यक्ष लामिछानेले प्रश्न गरे, ‘ठूला पार्टीहरूले तपाइहरूलाई झुक्क्याई मात्रै राखेका छन्, त्यसैले यस पटक त्यस्ता झुटको पछि नलाग्नुस्, अब गल्ती गरेर देशलाई थप कमजोर बनाउनतिर नलाग्नुस् ।’
लामिछानेले ठूला भनिएका पार्टीले अब आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता समेत नभएको बताए । ‘के गर्छौ र के दिन्छौँ भनेर भोट माग्छन् ? उनले भने– ‘थप झुक्क्याउनका लागि ठूला भनिएका दलहरूसँग नारा नै छैन ।’
उनले नेपाली मतदाता मासु भातमा बिक्छन् भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यस पटक तोड्नुपर्ने बताए । यसपालि चुनावका दिन एकादशी र आइतबार रविवार परेको प्रसंग उल्लेख गर्दै उनले मासु भातले समेत काम नगर्ने संकेत गरे ।
विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने माग गर्दै उनले २४ घण्टा नै नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने उनले वाचा गरे । उनले भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।
उनले अहिले पनि जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहेकाले आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । लामिछानेले अवसरका लागि यो समूहमा आउनुभएको भए अहिले नै बिदा हुन आग्रह गर्दै काम गर्नेका लागि मात्रै यो पार्टीमा ढोका खुला रहेको दाबी गरे ।
लामिछाने पार्टी गठन गरेर संगठन विस्तारमा हिँडेका हुन् । उद्घाटन सत्रपछि बस्ने बन्द सत्रले पार्टीका आगामी रणनीति, आगामी निर्वाचनका लागि सम्भावित उम्मेदवारको तय तथा प्रदेशको नेतृत्वका विषयमा योजना बनाउने छ ।
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलुक श्रीलंकाको बाटोमा जाने बताएका छन् ।
राष्ट्रिय जन सांस्कृतिक महासंघले शनिवार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चिती शून्य अवस्थामा पुग्ने र मूलक श्रीलंकाको बाटोमा जाने बताएका हुन् ।
मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रूपमा असफल भएको उनले बताए ।
महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गरे । उनले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गरे ।
पोखरेलले समाजलाई बाटो देखाउने सामर्थ्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिए ।
काठमाडौं । नवगठित नेपाल समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले जसपालाई संकीर्ण जातीय र क्षेत्रीय पार्टीमा पतन गराएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन् ।
नेपाल समाजवादी पार्टीको पहिलो बैठकलाई ललितपुरको बालकुमारीमा सम्बोधन गर्दै जसपाको मूल नेतृत्वमा जातिगत र क्षेत्रगत संकीर्णताबाट माथि उठ्न नसकेको र सुधार्ने प्रयास पनि असफल भएको बताए ।
डा. भट्टराईले भने- रूपान्तरणको अन्तिम प्रयास गरेका थियौँ । तर पुरानै पार्टीहरूको बाटोमा हिँड्ने र उल्टै पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भयो । जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भयो,त्यसैले पुनर्गठन गर्न बाध्य भयौँ ।
डा. भट्टराईले आउने चुनावमा भाग लिने सन्दर्भमा बैठकमा छलफल हुने र गठबन्धन गर्ने बारेमा पनि पार्टीले निर्णय लिने बताए ।
पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महिन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए । लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको सो दल बाबुराम भट्टराईले लिएका हुन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा मतदानको अधिकार दिलाउने प्रयास भइरहेको बताएका छन् ।
जापानको फुकुओकामा आयोजित नेपाली फेस्टिभल समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न कानूनमा संशोधनका प्रयास भइरहेको बताए ।
उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने नागरिकता विधेयक पारित गरेर त्यसको सुरुवात भएको बताए । उनले अब आसन्न निर्वाचनपछि गठबन्धनले बहुमतसहित जितेर स्थिर सरकार दिने दावी गरे ।
काठमाडौं । पर्यटन संस्कृति तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले खुला संग्रहालयको रूपमा रहेको पशुपति क्षेत्रमा आउने भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी थप व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
पशुपति क्षेत्रभित्र पुनर्निर्माण भइरहेको सम्पदाहरुको अवलोकन शनिबार बिहान पशुपतिनाथ क्षेत्र पुगेका मन्त्री श्रेष्ठले पशुपति क्षेत्र सुरक्षा, संरक्षण र सरसफाईमा ध्यान दिन पशुपति विकास क्षेत्रलाई निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले विभिन्न स्थानमा पुनर्निर्माण भइरहेका सम्पदा स्थल, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तलको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिए ।
‘मन्दिरमा झार उम्रेको देख्नेवितिकै उखेलेर फाल्नुपर्छ नत्र मन्दिरसबै झारले खाइहाल्छ नि ।’ उनले भने ।
उनले सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखी यस क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य अघि बढाइरहेको बताए ।
जापान । जनप्रगतिशील मञ्च जापानले आयोजना गरेको कार्यक्रममा भाग लिन जापान आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने इच्छा पुरा नभएको बताएका छन् ।
नारिता अन्तरराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग पटक पटक कुरा भएको र उनी नेपालप्रती अतिनै सकरात्मक रहेको भन्दै उनलाई भेट्ने धोको पुरा नभएको बताएका हुन् ।
‘मलाई जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे सँग भेट्ने धोको थियो’ प्रचण्डले भने ’यस्तो दुखद् घटना घट्यो, जो जापानमा बिरलै घट्ने घटना हो ।’ आफु जापान आउन पहिले देखिनै इच्छुक रहेको बताउदै प्रचण्डले समयमै आफ्नो इच्छा पुरा नहुँदा आबेलाइ समेत भेट्न नपाएको बताए ।
बिहान नारिता विमानस्थलमा ओर्लेका प्रचण्ड फुकुओकामा आयोजना गरेको नेपाल फेस्टिवलको उद्द्घाटन गर्न त्यस तर्फ प्रस्थान गरेका छन् ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियान सुरू गरेको छ ।
दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरू गरेको हो । अभियान तीन दिनसम्म चल्ने एमालेले जनाएका छन् ।
अभियानका क्रममा सवै वडा कमिटीहरुले हस्ताक्षर संकलन गरेका छन् । महँगी र भ्रष्टाचारका कारण नागरिकहरूले दु:ख पाउनुपरेको भन्दै अभियानमा सहभागीता जनाउन एमालेले आह्वान पनि गरेको छ ।
यसअघि गत सोमबार एमालेले काठमाडौंमा महँगी नियन्त्रणमा सरकार उदासीन देखिएको भन्दै प्रदर्शन गरेको थियो ।
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन् । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन् ।
शुक्रबार एमालेको उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशाला गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति आलोचना गरेका हुन् । उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए ।
‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।
उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासनजस्तो अहिलेको सरकार रहेको ओलीले बताए ।
‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’ ओलीले भने ।
काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षलाई बेवास्ता गरेर निर्वाचन घोषणा गरिएको कुरा निराधार रहको बताएका छन् ।
बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा कार्कीले संविधान र कानून अनुसार नै मिति तोकिएको बताए ।
यसअघि प्रतिपक्षसँग संवाद गरेर मिति तय गरिँदै आएको परम्परा यसपालि तोडिएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘हिजो क्याबिनेट सुरू हुनुअघि एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग फोन गर्ने कोसिस गर्नुभा’को थियो म पनि सँगै थिएँ, त्यसबेला सम्पर्क हुन सकेन ।’
चुनावको मिति घोषणा हुने कुरा नियमित अभ्यास भएको भन्दै कार्कीले भने, ‘कानून र संविधानअनुसार भएको छ । मंसिर ४ मा निर्वाचन हुने कुरा अपेक्षित नै थियो ।’
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपप्रानमन्त्री डा. भीम रावलले सत्तारुढ पाँचदलीय गठबन्धन सिद्धान्तहीन र गन्तव्यहीन रहेको भन्दै उनीहरूको बीचमा सत्तास्वार्थ बाहेक देशको पक्षमा कुनै एजेण्डा नरहेको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा बोल्दै डा. रावलले यो गठबन्धन नेपालको संविधानका धारा २७९ को विपरीत रहेको दाबीसमेत गरे । उनले सिद्धान्त र कार्यक्रम केही नमिल्ने दलहरूबीचको गठबन्धन आदर्शविहीन रहेको टिप्पणी समेत गरे । उनले प्रचण्ड-माधवप्रति कटाक्ष गर्दै कम्युनिष्ट भन्नेहरू कांग्रेसलाई चुनाव जिताउन पाएर दंग परिरहेको बताए ।
रावलले भने, ‘जसको कुनै सिद्धान्त, कार्यक्रम मिल्दैन तिनीहरूबीचको गठबन्धन गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन हो । कोही संघीयताका विरोधी छन्, कोही संघीयताका जननी छन् यस्ताको स्वार्थ कसरी मिल्यो ? उनीहरूको नारा के हो ? नेपाङ्ग्रेस जिन्दावाद भन्ने नारा लाग्छ ?
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल नगरी निर्वाचनको मिति घोषणा गरेर सरकारले न्युनतम व्यवहार पनि नदेखाएको बताएका छन् ।
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सत्ता गठबन्धनबाट यस्तो असहिष्णु व्यवहारका बाबजुद निर्वाचन घोषणाको स्वागत गरेको जनाएका छन् ।
नेम्वाङले अहिलेको सत्ता गठबन्धन संसदीय मूल्य र मान्यता विपरीतको दूषित गठबन्धन भएको बताएका छन् । अहिलेको गठबन्धनलाई संसदीय प्रणालीका मूल्य र मान्यताबारे कुनैपनि जानकारी नभएको उनको आरोप थियो ।
‘प्रमुख प्रतिपक्षी दल भइरहँदा अहिले पनि सबैभन्दा धेरै मत प्राप्त गरेर देशको ठूलो दल एमाले हो, प्रमुख प्रतिपक्षी दल राज्यको अभिन्न अंग पनि हुन्छ, निर्वाचन जस्तो महत्वपूर्ण विषयमा हामीसँग मात्र होइन अन्य दलहरुसँग पनि छलफल गरिनुपर्थ्याे ’, उनले भने ।
उपाध्यक्ष नेम्वाङले सरकारले विगतमा गर्ने निर्णयजस्तै निर्वाचनको घोषणाको निर्णय पनि सुटुक्क र छापामार शैलीमा गरेको बताएका छन् । ‘निर्वाचनको मिति घोषणा हुनुपर्थ्याे भयो राम्रो भयो, तर सरकारले विगतका निर्णयहरु जसरी सुटुक्क, छापामार शैलीमा निर्णय पर्थ्याे अहिले पनि त्यसैगरी निर्णय गर्यो’, नेता नेम्वाङले भने, ‘एमालेले समयमै निर्वाचन घोषणा गरिनुपर्छ भन्दै आएको थियो, विभिन्न दबाबका कार्यक्रम गर्दै पनि आएको थियो, निर्वाचन आयोगले पनि पहिलेदेखि नै समयमै निर्वाचन गर्न सल्लाह र सुझाव दिइरहेकोले सरकारले निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको हो तर यस्तो विशेष निर्णयमा हामीलाई एकपटक पनि सल्लाह गरिएको छैन ।’
उनले आफुहरुसँग सल्लाह नगरिएपनि तोकिएको मितिमा निर्वाचन गर्न एमालेले सहयोग गर्ने उल्लेख गर्दै निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा समयमै निर्वाचन गर्न सरकारलाई आग्रह गरे । ‘हामीलाई नसोधिए पनि निर्वाचनको मिति घोषणा भयो अब निर्वाचन हुने भयो भनेर हामी खुसी छौं, सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नुपर्छ’, नेम्वाङले भने ।
नेता नेम्वाङले सत्तागठबन्धन एमालेविरुद्ध जतिसुकै लागेपनि जनताले निर्वाचनमार्फत दुधको दुध पानीको पानी छुट्टयाइदिने बताए । निर्वाचन घोषणा भइसकेपछि अब जनताले फैसला गर्ने भन्दै आफूहरु निर्वाचनको तयारीमा जुटिसकेको बताए ।
‘हामी दनदनाएर निर्वाचनको तयारीमा जुटेका छौं, एमाले बैंक खातासहित निर्वाचनको मैदानमा उत्रिसकेको छ, फैसला जनताले गर्नेछन् त्यसैको तयारीका लागि हामी सबै खटिएका छौंं’, उनले भने ।
अहिलेको संवैधानिक व्यवस्था अनुसार एकै दललाई प्रष्ट बहुमत ल्याउन समस्या हुने हुँदा गठबन्धन र तालमेलका लागि एमालेले सबै ढोका खुला राखेको तर अपवित्र गठबन्धन भने नगर्ने नेता नेम्वाङले बताए । ‘हामीले सबै ढोका खुला राखेका छौं, केही छलफलमा पनि आएका छन् तर हामी एकल रुपमै चुनावमा जाने तयारीका साथ हिंडेका छौं, अपवित्र गठबन्धन हुँदैन’, उनले भने ।
अर्थमन्त्री जनार्दन शर्माको छानबिन प्रकरणमा एमालेले सुरुदेखि राखेका अडानमा प्रष्ट भएको बताउँदै त्यो समयको कल डिटेल नखोजिनु, सीसीटिभी झिलझिल बनाएर हेर्न नमिल्ने बनाइनु छलकपटका प्रष्ट आधार भएको तर ती विषयमा सरकारको नेतृत्व तथा स्वयम् अर्थमन्त्री तयार नभएपनि र आम नेपालीले कसको गल्ती छ भन्ने जानकार भइसकेको उनले बताए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घोषित प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धन कायमै रहने घोषणा भोलि नै हुने बताएका छन् ।
चुनावको मिति घोषणालगत्तै बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने– गठबन्धन रहन्छ भनेर भोलि घोषणा गर्दैछौं । गठबन्धन कायम हुन्छ र गठबन्धनभित्रै अर्को मोर्चा पनि बन्छ तेस्रो शक्ति । तेस्रो शक्तिमा नेकपा एस, माओवादी केन्द्र, जसपा र राजमो एक ठाउँमा गोलबन्द हुन जरुरी छ । कांग्रेसलाई के परेको हुनसक्छ भने हामी नै सबैथोक हौं,त्यसैले पनि जरुरी छ ।
अध्यक्ष नेपालले गठबन्धनको मात्र भर पर्न नहुने भन्दै भोलि रोएर बस्नुपर्ने अवस्था आउन नदिन आफ्नो शक्तिमा चुनाव लड्ने तयारी गर्न कार्यकर्तालाई आग्रह गरे ।
उनले एमालेको नाम नलिई जसले अर्काको अस्तित्व स्वीकार गर्दैन उसँग वाम गठबन्धन गरिदेऊ भनेर नजाने बताए ।
काठमाडौं । आगामी ४ मंसिरमा संघीय र प्रदेश संसदको चुनाव गर्ने सरकारको निर्णय अपेक्षित र नियमित रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावका लागि आन्तरिक तयारी थालिसकिएको बताए ।
मन्त्रिपरिषद्को निर्णयलगत्तै पत्रकार सम्मेलन गर्दै थपलियाले आयोगको सिफारिस अनुसार नै सरकारले निर्णय गरेको स्पष्ट पारे । अब चुनावको तयारीमा आयोगले अर्जुनदृष्टि लगाउने उनले उल्लेख गरे ।
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निस्पक्ष र भयरहित बनाउने गरी आवश्यक तयारी हामीले थालिसकेका छौं । अहिलेसम्म अनौपचारिकरूपमा गरिएको तयारीलाई औपचारिक बनाएर अघि बढ्ने छौं,’ उनले भने ।
समय अवधिको कारणले आयोगलाई चुनावी तयारीमा बाधा नपर्ने विश्वास उनले व्यक्त गरे ।
थपलियाले भने, ‘ठूला चाडपर्वले खटनपटनमा केही इस्यूहरु आउन सक्छन् । तर, त्यसलाई सहज समाधान गर्नेछौं ।’
आगामी चुनावमा १० लाखसम्म मतदाता थपिनसक्ने आँकलन उनले प्रस्तुत गरे । अघिल्लो चुनावमा १ करोड ७७ लाख मतदाता रहेकोमा यसपालि १ करोड ८५ लाखदेखि ८६ लाख पुग्नसक्ने उनको अनुमान छ ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने बताएको छ । यस विषयमा सरकारलाई सिफारिस गरिसकेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
आज आयोजित पत्रकार सम्मेलनमा थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषय उल्लेख भएको स्पष्ट पारे ।
‘संविधान र कानूनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखितरुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने ।
दशैं लगत्तैपछि उम्मेदवारी दिने गरी कार्यतालिका बनाउनुपर्ने देखिएको प्रमुख आयुक्तले उल्लेख गरे ।
‘उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मान्नुपर्छ भन्ने आयोगको स्पष्ट धारणा छ,’ उनले भने, ‘यसलाई कानूनसम्मत ढंगले कहिँ न कहिँ व्याख्या गरेर अगाडि बढाउनेछौं ।’
काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेश गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिको बैठकमा राववले एसपीपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र पठाइसकेको अवस्थामा सरकारले संसदीय समितिमा पत्र पेश गर्नुपर्ने बताएका हुन् ।
एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ भएकै कारण सरकारप्रति अविश्वास बढेको उनको भनाई छ । संसदीय समितिको निर्णय कानूनी शासन मान्ने सरकारले मान्नुपर्ने रावलले बताए । उनले समितिले मागेका कागजात नपठाएर सरकारले समितिको अवमूल्यन गरेको जिकिर गरे ।
बैठकमा अन्य सांसदहरुले समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणी गरेका छन् । गत स्थानीय चुनावजस्तै आगामी चुनावहरु पनि एमाले भर्सेस गठवन्धन हुने उनले बताए ।
आज पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै पौडेलले स्थानीय चुनाव कांग्रेसले जितेको भन्न नमिल्ने उल्लेख गरे ।
उनले भने, ‘स्थानीय तहको निर्वाचन कांग्रेसले जित्यो भन्ने सुन्छौं । माओवादीले जित्यो, जसपाले जित्यो आदि चर्चा गरेको पाउँछौं । तर सच्चाइ पृथक छ । यसको फरक ब्याख्या हुनुपर्छ । स्थानीय चुनावमा कांग्रेसले जितेको पनि होइन हारेको पनि होइन । कांग्रेसले खासमा चुनावै लडेन । माओवादी, जसपाहरुले पनि लडेनन् ।’
पौडेलले दुईवटा पार्टी र दुई प्रवृत्तिका विचमा चुनाव भएको बताए । स्थानीय चुनाव लडेको एक मात्र पार्टी नेकपा एमाले भएको उनको भनाइ थियो ।
‘अरुले पार्टीका रुपमा चुनाव लडेनन् । कांग्रेसले ललितपुरमा लड्यो ? चिरिबाबु कांग्रेसका होइनन् र भन्नुहोला । तर म भन्छु, कांग्रेसले ललितपुरमा लडेन । ७७ वटै जिल्ला र ७५३ पालिकामा कांग्रेसले लडेन । यो कुरा हामीले जनतालाई बताउन सक्छौं कि सक्दैनौं ?’ पौडेलले भने ।
उनले थपे, ‘नेपालको राजनीतिमा एमाले नामको यस्तो पार्टीको उदय भएको छ, जसको विचारसँग कुनै पार्टीको विचारको तुलना नै हुँदैन । एमालेसँग तुलना हुने कुनै पार्टी छैन । एमाले नामको पार्टीले यस्तो शक्ति निर्माण गर्यो कि यसका विरुद्धमा चुनाव लड्ने दुई खुट्टाले टेकेको पार्टी नेपाल नामको धर्तिमा देखिएन । एमालेका विरुद्धमा चुनाव लड्ने मात्र होइन, नोमिनेसन गर्ने आँट भएको पार्टी पनि नेपालमा छैन । आजको यथार्थ यही हो ।’
पार्टीका रुपमा एक्लै चुनाव लडेको एमाले मात्रै भएको उनले दोहोर्याए । ‘ललितपुरमा चिरिबाबुले कसरी जिते ? एकातिर एमाले र अर्कोतिर गठवन्धन लडेर जिते । कहाँ कांग्रेस, माओवादी लड्यो ? गठवन्धन लड्यो । एमाले भर्सेस गठवन्धनको बीचको चुनाव हो । यसरी बुझ्नुपर्छ ।’
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान आज सोही विमानस्थलमा आपत्कालीन अवतरण गराइयो । विमानको इन्जिनबाट धुवाँ निस्किन थालेपछि पाइलटले विमानलाई नेपालगञ्ज विमानस्थलमै फर्काएका थिए ।
सो विमानमा सवार ७९ जना यात्रुमध्ये थिए कन्सल्टेन्सी व्यवसायी विनोज बास्तोला । उडिरहेको विमानमा समस्या देखिएपछि अरुको जस्तै उनको पनि हंसले ठाउँ छोडेको थियो । तर, आत्तिएकै मनस्थितिमा पनि उनले मोबाइलबाट भिडिओ खिच्न भ्याए ।
बास्तोलाका अनुसार विमान उडेको करिब १० मिनेटपछि समस्या देखिएको हो । सुरूमा ‘अलार्मिङ साउन्ड’ बजेको र त्यसपछि धुवाँ फैलिएको उनले जानकारी दिए । विमानभित्रको आफ्नो अनुभव उनले यसरी सुनाए :
आज ९:१५ को फ्लाइट थियो । लगभग ९:४० मा प्लेन उडेको थियो । केहीबेर विमान सामान्य रूपमा उडिरहेको थियो, तर अपेक्षित उचाई लिइरहेको थिएन । १० मिनेटजति उडिसकेपछि अचानक विमानबाट टिङटिङ गर्दै इमर्जेन्सी साउन्ड आउन थाल्यो । विमानभित्र खुल्दुली सुरु भयो । मलाई पनि अलिकति डर लाग्यो ।
मैले एयर होस्टेसलाई कपास मागेँ र किन आवाज आएको हो भनेर सोधेँ । यसअघि विमान चढ्दा कहिल पनि यस्तो साउन्ड आएको अनुभव थिएन । एयरहोस्टेसले चाहिँ ‘यस्तो नर्मल हो, कहिलेकाहीँ हुन्छ’ भनेर मलाई आश्वस्त बनाइन् ।
तर, त्यसलगत्तै विमानभित्र धुवाँ देखिन थाल्यो । त्यसपछि त कोलाहल सुरु भइहाल्यो । पाइलट र एयरहोस्टेसले केही पनि जानकारी दिएनन् । सबैजना आत्तिन थाले । भगवानको नाम लिन थाले । विमान दुर्घटनामा पर्ने निश्चितजस्तै लाग्यो । अब बाँचिदैन भन्ने भयो । त्यसबेला मैले बेसुरमै मोबाइल झिकेर भिडियो खिच्न थालेछु । अहिले कसरी खिँचेहोला जस्तो लाग्छ ।
धुवाँ निस्किएपछि पाइलटले एकदमै स्पिडमा विमानलाई टर्न गराए । त्यसबेला विमान ब्यालेन्समा थिएन । उनले स्वाट्टै ल्याएर एयरपोर्टमा विमानलाई थचारे । लगभग १००-२०० मिटरमै उनले झ्याप्पै ब्रेक लगाएर विमान रोके । त्यसपछि सबै यात्रुहरु ज्यान बचाउनका लागि भागदौड गर्न थाले । अगाडि पछाडिका सबै ढोकाहरु खुले ।
एयरहोस्टेसहरुले ‘छिटो छिटो भाग्नुस्, आगलागी हुन सक्छ’ भनिरहेका थिए । यात्रुहरु ढोकाबाट हाम्फाले । हाम्फाल्ने क्रममा तीन चार जना घाइते हुनुभएको छ । एम्बुलेन्स र दमकलहरु आउन थाले । सबैको ज्यान जोगियो ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको बताएका छन् ।
जीवराज आश्रित स्मृति प्रतिष्ठानले वुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले कम्युनिष्ट पार्टी विभाजित हुनुमा दलीय लालचाबाहेक केही नभएको जिकिर गरे ।
पौडेलले पदका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिष्ट आन्दोलन कमजोर बनेको पनि बताए । उनले अग्रज नेताहरुको त्याग र र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको समेत औल्याए ।
कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे, एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेना लगाएतले आश्रितको योगदानमाथि चर्चा गरेका थिए ।
काठमाडौं । नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरुले पुनः माइतीघरमा धर्ना दिएका छन् ।
यसअघि गृहमन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगीत गरेर घर फर्केका उनीहरुले पुनः काठमाडौंको माइतीघरमा धर्ना दिएका हुन् । सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरुले जनाएका छन् ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाईमा भएका धर्नामा सहभागीहरुले भूमिहीन बनाइएका किसान–मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन् ।
नवलपरासी सुस्ताबाट धर्नामा आएका रामसुवक मुसहरले यसअघि गृह मन्त्रालयसँगको छलफलपछि घर फर्के पनि आफुहरुको समस्या समाधान हुन नसकेको बताए । जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै दोश्रो पटक धर्ना बस्नुपरेको उनको भनाई छ ।
पीडितहरुले भूमिहीन बनाइएका किसानहरुको जमिन फिर्ता गरि कानुनले तोके बमोजिमको ब्याज बाहेकको सबै रकम क्षतिपुर्तिसहित फिर्ता गर्नुपर्ने जनाएका छन् ।
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले आयल निगममा विरोध प्रदर्शन गरेको छ ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दासम्म नेपालमा पुरानै दर कायम रहेको भन्दै अनेरास्ववियु वागमती प्रदेश उपत्यका विशेष कमिटीले निगममा ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
अनेरास्ववियुले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले मूल्यवृद्धि फिर्ता गर, स्वचालित मूल्य प्रणाली कायम गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उपत्यका विशेष कमिटीका अध्यक्ष पंकज भण्डारीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुलगायतको मूल्यवृद्धि भएको हुँदा अहिले पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटाउनुपर्ने बताए । आफ्नो कमजोरी लुकाउन निगमले सधैँ घाटा मात्र देखाउने गरेको उनको आरोप थियो ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन नभए कडा संघर्ष गर्ने सो संगठनको चेतावनी छ ।
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग समावेश गर्नुपर्ने भन्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिएको छ ।
द्वन्दपीडित सुरक्षाकर्मी र परिवार संस्थाले सशस्त्र द्वन्द्व कारण जनधनको क्षति व्यहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै विधेयकमा आफूहरुको माग समावेश हुनुपर्ने जनाएका छन् ।
सशस्त्र द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीको निशुल्क उपचार गर्नुपर्ने, सुरक्षाकर्मीका तर्फका द्वन्दपीडितलाई सार्कस्तरीय परिपूरण दिनुपर्ने, मानवअधिकारको गम्भीर उलंघनको परिभाषालाई पुन परिभाषित गर्नुपर्ने उनीहरूको माग छ ।
द्वन्दपीडित सुरक्षाकर्मी संगठनका उपाध्यक्ष रिता कार्कीले आफुहरुको मागका बारेमा प्रधानमन्त्री लगायतका सरोकारवाला निकायसँग छलफल गर्दा आफुहरुको माग पुरा गर्ने आश्वासन पाएको र थप दबाबका लागि आन्दोलन गर्नु परेको बताए ।
आफूहरुको माग पुरा नभए कडा संघर्षमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।
सप्तरी ।अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् ।
नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए ।
सोमवार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रजिअ यादवले जानकारी दिए । सप्तकोसी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्न लागेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।
‘कोसीको पुरै भंगालो पसेको छैन, बाढी ओभरफलो भएको हो’ उनले भने । सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए । नदी कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् । नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको हो ।
बेलका नगरपालिका– ८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो । नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरुको गुनासो छ ।
सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै जनधनको क्षति गरेको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोशी किनाराका हजारौंँ बासिन्दा घरबारविहीन भएका छन् ।
सप्तकोसीले धार परिर्बतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् । उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा सप्तकोशी नदि फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।
सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने ४ हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका– ६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बुले बताए । सप्तकोशी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भई सकेको निवर्तमान वडा सदस्य लिम्बुले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एवीसी, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु विस्थापित हुने तयारीमा रहेको उनले बताए ।
सुनसरीको भाण्टाबारी कोसी व्यारेजदेखि उत्तर बराह क्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ । कोसी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।
काठमाडौं । यू-२० साफ च्याम्पियनसिप अन्तर्गतको नेपाल र बंगलादेशबीच भइरहेको खेलमा तनाव भएको छ ।
खेलको दोस्रो हाफ सुरु भए लगत्तै जर्सी नं. ६ खेलाडीले फल गरेको साइड रेफ्रीले संकेत गरेपछि ती खेलाडीले प्रतिवाद गरेका थिए ।
नेपालका जर्सी नं. ७ कृतिश रैन छन्जुमाथि फल्ट गरेपछि नेपाली खेलाडीहरू आक्रोशित बनेका थिए । त्यही क्रममा दुवैतर्फका खेलाडीहरूबिच हात हालाहालको स्थिति बनेको थियो ।
हात हालाहालपछि रेफ्रीले दुवै देशका एक एक खेलाडीलाई रेड कार्ड दिएको छ । रेड कार्ड पाउनेमा नेपालका दिपेश गुरुंग र बंगलादेशका शाहिदहुस इस्लाम रहेका छन् ।
यो प्रतियोगितामा रेड दिइएको पहिलो पटक हो । विवाद उत्कर्षमा पुगेपछि रेफ्रीको टिमले सामूहिक रुपमा निर्णय गर्दै रेड कार्ड दिइएको हो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन र पुनरागमनबाट गोरु समेत लजाएको टिप्पणी गरेका छन् ।
तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन ।
‘मैले उहिले भन्या थिए, गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन भनेर,’ उनले भने, ‘यस पटक गोरु लजाउने काम सरकारले ग¥यो । भ्रष्टाचारको केस लाग्या छ, छानबिन समितिमा आफ्नै बहुमत राख्या छ, छानबिन गर्न दिएकै छैन, छानबिन भएकै छैन । कल डिटेल हटाएको छ । सिसिटिभीको फुटेज मेटाएको छ, रिभाइभ गर्दा देखिँदैन बुझिँदैन । अनि सफाइ पायो कि सफाइ पायो !’
अर्थमन्त्री शर्मामाथिको छानबिन पूर्ण नै नभएको अध्यक्ष ओलीले बताए । ‘कहाँबाट सफाइ पायो ? कल डिटेल नलिएर, लिन नदिएर गठबन्धनवालाहरूले,’ उनले थपे ।
नेपाली जनताको नैतिकता र विवेकमाथि ठूलै हमला भएको पनि अध्यक्ष ओलीले टिप्पणी गरे । उनले भने, ‘अनि फेरी अचम्म त के भने लाज सरम नमानी नेपाली जनतालाई कपि हेपेको, नेपाली जनताको नैतिकता र विवेकमाथि कत्रो हमला ! गोरु लजाउने गरी । फेरी उही मान्छे । यो गठबन्धनसँग अर्को मान्छे पनि रहेनछ । कत्रो दम्भ ?’
काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले गठबन्धनका नाममा निर्दलीय अभ्यास भइरहेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठक अन्तर्गत ‘शपथ सम्बन्धी विधेयक’माथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन ।
‘विदेशीसँग थर्कमान भई, डरमानी, संविधान मिची, उलङ्घन गरी मनपरी गर्नेछु भन्ने चरित्र देखिन थाल्यो,’ उनले भने, ‘उदाहरणका लागि निर्वाचनमा तालमेल गर्ने कुरा गरिएको छ ।’
यही विषय अगाडि बोल्दै उनले संविधानको धारा २६९ मा समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुने व्यवस्था रहेको बताउँदै उनले भने,‘त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान छ । तर यही कुरा उलङ्घन गरेर गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको छ ।’
काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्था गर्न माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार राति आफ्नो घरको गेटभित्र बम पडाएर आतंकित बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षा गर्न सरकारसँग माग गरिन् ।
‘हिजो राति ८:२५ बजे देशलाई माया गरेको मन नपराउने देशद्रोहीले मेरो घरको गेटभित्र बम पड्कायो,’ उनले भनिन्, ‘घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ । दुईजना लोग्ने मान्छे मोटर साइकलमा गएको देखेँ । तर, अँध्यारो भएकाले चिन्न सकिनँ ।’
घटना भएपछि आफूले महाराजगञ्ज प्रहरी र गृहमन्त्रीलाई फोन गरेको भन्दै उनले प्रहरी आइसकेपछि आँगनमा आएर हेर्दा रकेट बमको खोल भेटिएको बताइन् ।
आफू सांसद र पूर्वराज्यमन्त्री रहेको भन्दै उनले आफू र आफ्नो परिवारको सुरक्षार्थ अनिवार्य पीएसओ उपलब्ध गराउन माग गरिन् ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैलाई उत्पादनको क्षेत्र लाग्न आग्रह गरेका छन् । भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट कृषिमा केन्द्रित भएको उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘हामीसँग सबै कुरा छ । अब हामी उत्पादनसँग जोडिनु पर्छ । अहिलेको बजेट कृषिमा केन्द्रित छ । कृषि क्षेत्रको उत्पादनमा सबैलाई सहभागी गरौँ । काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नु पर्ने आवश्यकता रहेको छ । हामीले ल्याएको बजेट पनि उत्पादन मुखी नै रहेको छ । किसानलाई पेन्सनको व्यवस्था समेत बजेमा रहेको छ ।’
आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बजेट पास भएको उनले बताए । नेपालले तरकारी निर्यात गर्नु पर्ने ठाउँमा आयात गरेको बताउँदै किसान संघले अब उत्पादनमा जोड दिन गर्ने बताए ।
काठमाडौं । भगवान् शिवको रक्षाकवचका रूपमा मानिने नागको पूजा गरी आज नागपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरघरमा नागको चित्र टाँस्ने, नागपोखरी र नाग थानहरूमा गएर पूजा गर्ने प्रचलन छ ।
आठ प्रकारका नागको पूजा गरी दूवो, गाई दूघ, घिउ र भेटी चढाउनुका साथै कुल नाग थानमा विशेष पूजा गरी खीर, रोटीलगायत प्रसाद अर्पण गरिन्छ । गाईको गोबर भएको स्थानमा नागको भय नहुने भएकाले पनि गोबरको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।
आजको दिन घरको मूल ढोकामाथि नागको चित्र टाँस्नाले नाग खुसी हुने र वर्षभरि नै चट्याङ, आगलागीजस्ता दुर्घटना हुन नदिने तथा सर्प विच्छीजस्ता घातक जीवबाट रक्षा हुने शास्त्रीय मान्यता पाइन्छ ।
वैदिक ग्रन्थमा अनन्त, वासुकी, शेष, पधद्म, कम्बला, कर्कोटक, अश्वभतरा, धृतराट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला गरी १२ प्रकारका १२ प्रकारका नागहरूको व्याख्या गरिएको छ ।
यसैक्रममा आजको दिन पशुपतिको बासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेल नागदहलगायतका स्थानमा भक्तजनको भीड लाग्छ ।
नागपोखरीमा नागको पूजाका लागि पुगेका श्रद्धालुहरूको केही तस्बिर
काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी अभिनीत चलचित्र ‘परदेशी २’ को ‘के बर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक भएको छ ।
रमेश पौडेलको शब्द र नारायण रायमाझीको संगीत रहेको उक्त गीतमा निशान भट्टराईले स्वर दिएका छन् । रीमा इन्टरटेन्मेन्टबाट साझा भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
सार्वजनिक भएको ‘के बर मागी फर्क्यौ’ गीत रमेश पौडेलले २०४९ सालमा नै लेखेका थिए । ३० वर्ष पछाडि उक्त गीतलाई भिडियोमा उतारिएको हो ।
असोज १४ बाट देशभर एकसाथ रिलिज हुन लागेको चलचित्र ‘परदेशी २’ २०७२ सालमा रिलिज भएको चलचित्र ‘परदेशी’ को दोस्रो भाग हो । प्रशान्त तामाङ र रजनी केसी अभिनीत चलचित्र ‘परदेशी’ सो वर्षको शीर्ष १० चलचित्रहरू मध्ये एक समेत घोषित भएको थियो ।
गायकबाट नायक बन्न होमिएका सपुतको भने यो डेब्यु चलचित्र हो । प्रकाश र केकी लगायत यस चलचित्रमा वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, निर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की, आदिको अभिनय रहेको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेटेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको दाबी गरेका छन् ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ सार्वजनिक गर्दै ओलीले आजको युगमा देश जोगाउन लड्न नपर्ने भन्दै देशभक्तिको पक्षमा अडिए पुग्ने बताए ।
ओलीले भने, ‘हाम्रो गुमेको भू-भाग समेटेर नक्सा जारी गर्दै गर्दा मलाई प्रधानमन्त्रीबाट हट्नुपर्छ, अब उपद्रो हुन्छ भन्ने थाहा थियो । नभन्दै हट्नुपर्यो । त्यसमा मलाई पीर छैन तर देश जता लगिँदैछ त्यस कुरामा चाहिँ पीर छ । आजको दिनमा देशभक्त हुन लडाइँ लड्नु पर्दैन, देशको पक्षमा अड्नुपर्छ । अडिए पुग्छ, म अडिएको हुँ । अडिँदा प्रधानमन्त्रीबाट हटाउँछन् भन्ने थाहा थियो ।’
ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि आफूलाई हटाइएको भन्दै दोस्रोपटक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि हट्नुपरेकोमा कत्ति पनि हिनताबोध नरहेको बताए ।
काठमाडौं । मधेसीको परिभाषाबारे स्पष्टता कायम गर्न संसदीय समितिले मधेसी आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले मधेसी समुदाय भन्नाले के बुझिने हो ? स्पष्टता कायम गर्नु भनेको हो ।
साधारण, सबैले बुझ्ने सरल अवधारणा आवश्यक रहेको भन्दै मधेसीमा थारु, मुस्लिम, मधेस क्षेत्रमा रहेका अरू जातजाति पर्ने हुन वा होइनन् भन्ने सन्दर्भसमेतलाई ध्यानमा राखी स्पष्ट अवधारणा निर्माण गर्न आयोगलाई समितिले निर्देशन दिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिइन ।
उनले भनिन्, ‘मधेस क्षेत्रमा बस्ने सम्पूर्ण समुदाय मधेसी हुन वा जुनसुकै स्थानमा बसेको भए पनि निश्चित आधारमा तय गरिने कुनै जात वा समुदाय मधेसी हुन भन्ने अवधारणामा जबसम्म स्पष्टता रहँदैन तबसम्म यस आयोगको कार्यक्षेत्रको दायरा निर्क्योल हुन सक्दैन भने कार्यसम्पादनमा समेत अन्यौलता आउने देखिन्छ ।’
समितिले संघीय एवं प्रदेश सरकारले कार्यान्वयन गर्ने मधेस सम्बद्ध कार्यक्रममा समेत समन्वयमा हुन नसकेको भन्दै सिफारिस गरिएका नीति, कार्यक्रमको प्रभावकारिताको यथार्थपरक मूल्याङ्कन गर्न, प्रदेश एवं स्थानीय तहसँग समन्वय गरी कार्यक्रम दोहोरिन नदिने गरी कार्य सम्पादन गर्न पनि आयोगलाई निर्देशन दिएको छ ।
संविधानको भाग २७ अनुसार आयोगले कार्यक्षेत्र भित्र सानो सानो समूह बनाई तालिम दिने, जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् । तालिममा सहभागी हुने मधेसी, थारु, मुस्लिम, आदिवासी जनजाति लगायतका समूहमा दोहोरोपना, तालिमका विषयवस्तुमा दोहोरोपना लगायतका समस्या देखिइरहेका पनि आयोगले निष्कर्ष निकालेको छ ।
यस्ता तालिमको लाभ लागत वा परिणामको अवस्थाप्रति आयोग संवेदनशील नभइको भन्दै आयोगले आपसी समन्वय गरी एकीकृत प्रयास नगरेको पनि ठहर गरेको छ । यसबाट धेरै लागतको न्यून प्रतिफल प्राप्त हुन जाने देखिएकोले यस्ता कार्यका लागि एकद्धार प्रणाली आवश्यक देखिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा नदोहोरिने किसिमले कार्यक्रम गर्न समितिले मधेसी आयोग लगायत अन्य आयोगलाई पनि निर्देशन दिएको छ । साथै आवश्यक समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि निर्देशन दिएको समिति सभापति पालले बताइन ।
समितिले मधेसी समुदाय भित्रको उत्पीडन, दाइजो, बोक्सी प्रथा जस्तै विभिन्न कुसंस्कारलाई नियन्त्रण गर्न तथा पछिल्लो समयमा वैदेशिक रोजगारीको कारण अजित पारिवारिक एवं सामाजिक विचलनलाई न्यूनीकरण गर्न आयोगको महत्त्वपूर्ण योगदान रहन सक्ने भन्दै यस कार्यको लागि स्थानीय तहसँग प्रभावकारी समन्वय गरी निरोधात्मक प्रकृतिका कार्यलाई प्राथमिकता दिन पनि समितिले आयोगलाई निर्देशन दिएको छ ।
काठमाडौं, १६ साउन । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा बसाइँसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानबिनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ ।
२०७४ देखि २०७९ साल सम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजार भन्दा बढि फर्जि मतदाताहरुले मतदान गरेको पुष्टि भएको प्रमाणसहित निर्वाचन आयोगमा बुझाएको र छानबिनलाई प्रभावकारी बनाउनका लागि भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
आगामी निर्वाचनमा फर्जि मतदाताको नाम हटाउनुपर्ने र किर्ते काममा सहभागीलाई कारवाहीका लागि ध्यानाकर्षण गर्न प्रदर्शन गरिएको कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बद्री भट्टराईले बताए ।
उनले नगरपालीकाभित्र सरकारी छापको दुरुपयोग गरिएको, कार्यालय सचिवको हस्ताक्षर प्रयोग भएकाले फौजदारी संहिता अनुसार कारवाही गर्नुपर्ने आफुहरुको माग रहेको बताए ।
उनले आफुहरुको माग सुनुवाई नभएसम्म प्रदर्शन जारी राख्ने बताए । यसअघि बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।
काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूले सिंहदरबारभित्र विरोध जनाएका छन् ।
ऐनमा नायव सुब्बाहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि प्रदर्शन गरेका हुन् । कर्मचारीहरूले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।
आन्दोलनमा उत्रिएका कर्मचारीले नासुमारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाइँदैन, कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमाा बढुवा हुने व्यवस्था गरलगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
कर्मचारीको पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले आन्दोलनको सुरूवात गर्नुपरेको कर्मचारीहरूले जनाएका छन् ।