Category: एमाले महाधिवेशन

  • एमाले महाधिवेशनः सिन्धुपाल्चोकबाट पदाधिकारीसहित आठ पदमा उम्मेदवारी घोषणा

    एमाले महाधिवेशनः सिन्धुपाल्चोकबाट पदाधिकारीसहित आठ पदमा उम्मेदवारी घोषणा

    सिन्धुपाल्चोक । मंसिर १० गतेदेखि चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा वाग्मती प्रदेश भित्रको राजनीतिक रुपमा महत्वपूर्ण जिल्लाको रुपमा हेरिएको सिन्धुपाल्चोकबाट मात्रै आठ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

    महाधिवेशनमा केन्द्रीय सचिवदेखि स्थायी कमिटी सदस्य र अन्यले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका हुन् । पिस्कर विद्रोहका कारण चर्चामा रहेको सिन्धुपाल्चोक एमालेका नेताहरुले सञ्चारकर्मी र निकटस्थहरुबीच उमेदवारी घोषणा गरेका हुन् ।

    हाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष रहेका अमृतकुमार बोहरा उमेर हदका कारण कुनै पनि पदमा उम्मेदवारी हुन पाउँदैनन् । उनका उत्तारधिकारीका रुपमा हाल पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सकेसम्म पदाधिकारी नभए स्थायी कमिटी सदस्यसम्म आउने गरी तयारी गरिरहेका छन् ।

    त्यस्तै नेकपा एमालेको लेखा आयोगका पूर्व सदस्य एवम् प्रदेशसभा सदस्य सरेश नेपाल, पूर्वमाओवादीबाट आएका हालका केन्द्रीय सदस्य दावा तामाङ, पूर्वसासंद सुवास कर्माचार्य, वाग्मती प्रदेशका सदस्य केदार क्षेत्री, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारयण श्रेष्ठ र संविधानसभा सदस्य डोल्मा तामाङले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

    पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत हुने हो भने उम्मेदवारी नदिने र निर्वाचन हुने हो भने आफूहरुको उम्मेदवारी कायम हुने नेताहरुले बताएका छन् ।

    अरुण नेपाल

    नेकपा एमालेको नवौ महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचीत अरुण नेपाल अनेरास्ववियुको सातौं केन्द्रीय अधिवेशनदेखि केन्द्रीय राजनीतिमा सक्रिय छन् ।

    २०४० सालको पिस्कर हत्याकाण्डमा चार वर्ष जेल जीवन बिताएका नेपाल विद्यार्थी संगठन अनेरास्ववियुमा समस्या हुँदा केन्द्रीय अध्यक्षसमेत भएका थिए ।

    एमाले भित्र सरल नेताको रुपमा चिनिएका नेता नेपाल एमालेको वाग्मती प्रदेश भित्र ‘टप थ्री’ नेताको रुपमा चिनिन्नछन् । वाग्मती प्रदेशमा एमालेले अष्टलक्ष्मी शाक्य पहिलो, पशुपति चौलागाई दोस्रो, सुरेन्द्र पाण्डे तेस्रो र अरुण नेपाल चौथो नम्बरको वरीयातक्रममा थिए । चौलागाईको निधन र पाण्डे समाजवादीमा गएपछि नेपाल वागमती प्रदेश भित्र दोस्रो नम्बरको नेताको रुपमा स्थापित छन् ।

    गएको प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रदेश ‘क’ बाट विजयी भएका नेपाल तीन वर्षसम्म वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री समेत भएका थिए । नेपालको कार्यकालमा वागमती प्रदेश भित्र उद्योग र पर्यटन क्षेत्रका विकास लागि धेरै कामहरुको सुरुवात गरिएको नेपालले बताए ।

    एमाले भित्र समस्या सुरु भएपछि नेपाल पार्टी विभाजन रोक्न लामो समयदेखि सक्रिय थिए । वागमती प्रदेशमा पार्टीलाई एक ढिक्का बनाउनका लागि नेपालले महत्वपूर्ण भूमिका खेलेका थिए ।

    ‘म केन्द्रीय सदस्यहुँदै पोलिटब्युरो सदस्यसमेत भइसकेको छु, अब त्यही पदमा फेरि दोहोरिन त्यति राम्रो हुँदैन, त्यसैले साथीहरुसँगको सरसल्लाहामा सचिवसम्म उम्मेदवारी हुन्छ’, नेपालले भने । केपी ओली अब एमालेको निर्विकल्प नेता भएकाले अब नीति, निर्णय र नेतृत्वलाई एकताबद्ध बनाएर अधिवेशनमा जानुपर्ने नेपालको भनाइ छ ।

    शेरबहादुर तामाङ

    एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित शेरबहादुर तामाङ अहिले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । सिन्धुपाल्चोकबाट संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका तामाङ दुईपटक मन्त्रीसमेत भइसकेका छन् ।

    युवा संघको केन्द्रबाट राजनीति सुरुवात गरेका तामाङ पार्टी भित्र इमान्दार नेताको रुपमा स्थापित छन् । पार्टीको केन्द्रीय कार्यालय सचिव भएपछिको उनको सक्रियताको सबै नेताहरु प्रशंसा समेत गरेका छन् । तामाङ सकेसम्म पदाधिकारी नभए स्थायी कमिटीमा आफूलाई सुरक्षित पार्न लागिरहेका छन् ।

    सरेश नेपाल

    २०४० सालको पिस्कर विद्रोहबाट राजनीतिमा छाएका एमाले नेता सरेश नेपाल पार्टी भित्र, विशेष गरी तल्लो वर्गका मुद्दालाई प्राथामिकतामा राखेर उठाउने नेताका रुपमा चर्चित छन् ।

    भूमिहिन सुकुम्बासीहरु का लागि भूमि दिलाउन लामो समयदेखि संर्घष गर्दै आएका नेपाल सिन्धुपाल्चोकमा लोकप्रिय नेताको रुपमा स्थापित छन् । जिल्ला विकास समितिको उपसभापति, सभापतिहुँदै गएको निर्वाचनमा लोकप्रिय मतसहित प्रदेशसभा सदस्य भएका नेपाल केही महिना वागमती प्रदेशको मन्त्रीसमेत भएका थिए ।

    केपी ओलीसँग सुरुदेखि नै निकटस्थ नेपाल पार्टीलाई एकढिक्का बनाएर लैजानका लागि निरन्तर लागिरहेका नेता हुन् । दशौं राष्ट्रिय महाधिवेशनमा नेपालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सर्वसम्मत हुँदासमेत नेता नेपाल एमालेको केन्द्रमा पर्ने नेता मध्येका हुन् ।

    दावा तामाङ

    माओवादी केन्द्रबाट विद्रोह गरेर एमालेमा आएका तामाङ माओवादी भित्र सिन्धुपाल्चोकमा ‘पेलान’मा परेका नेता थिए । रामबहादुर थापासहितका नेताहरु एमालेमा बसेपछि उनी पनि सँगै एमालेमा बसेका थिए । २०६४ सालको निर्वाचनमा पशुपति शमसेर राणालाई हराएर देशव्यापी चर्चा बटुलेका तामाङ केपी ओली नेतृत्वमा ६ महिना मन्त्रीसमेत भएका थिए ।

    सुभाष कर्माचार्य

    २०३७ सालमा विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा उदाएका सुभाष कर्माचार्य पार्टी भित्र निडर र हक्की स्वभावका नेता हुन् । २०५८ देखि २०६६ सालसम्म एमाले सिन्धुपाल्चोक पार्टी प्रमुख भएका कर्माचार्य माओवादी युद्धमा एमालेका नेता कार्यकर्ताहरुलाई माओवादीले दुःख दिने क्रम बढेपछि सशक्त प्रतिकारमा समेत उत्रीएका थिए ।

    २०५६ सालमा सिन्धुपाल्चोक दुईबाट संसदमा निर्वाचित भएका कर्माचार्य पूर्व राजाको सम्म्पत्ति छानबिन समितिका सदस्य समेत थिए । नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार भएपनि थोरै मतले पराजित कर्माचार्यले दशौ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    केदार क्षेत्री

    १० औ राष्ट्रिय महाधिवेशनमा आफू सिन्धुपाल्चोक जिल्लाबाट खुला तर्फबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएको र विगत तीन दशकदेखि विभिन्न पदमा रहेर पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेकोले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेको क्षेत्रीले बताए । २०३८ सालदेखि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्राकको सचिवहुँदै क्षेत्रीले एमालेको राजनीतिक यात्रा सुरु गरेका थिए ।

    २०४४–४५ सालमा काठमाडौको पिपुल्स क्याम्पसको स्ववियु सचिवमा निर्वाचित, २०४६ मा अनेरास्ववियु जिल्ला अध्यक्षहुदै तत्कालीन जिल्ला विकास समितिको सदस्य, राष्ट्रिय प्रतिनिधि परिषदमा सर्वाधिक मत ल्याएर निर्वाचित भएको क्षेत्रीले बताए ।

    गएको स्थानीय निर्वाचनमा बलेफी गाउँपालिकामा अध्यक्षमा निर्वाचित क्षेत्री राष्ट्रिय यातयात व्यावसायी महासंघको वरिष्ठ उपाध्यक्षसमेत हुन् । देशभरका एमालेका प्रतिनिधिहरुसँग राम्रो सम्बन्ध भएकाले केन्द्रीय सदस्यमा जित्ने क्षेत्रीले दाबी गरे ।

    होमनारयण श्रेष्ठ

    पञ्चायतीकालमा नै बुबालाई गोली हानेर हत्या गरेपछि होमनारयण श्रेष्ठ सानैदेखि विद्रोही स्वभावका एमालेका नेता हुन् । २०५४ सालमासानो उमेरमा नै तत्कालीन पाङताङ गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएर देशव्यापी चर्चा कमाएका श्रेष्ठ अहिले सिन्धुपाल्चोकको विकट जुगल गाउँपालिकाका अहिले अध्यक्ष छन् ।

    नेकपा एमालेको विभिन्न कमिटीहरुमा क्रियाशील श्रेष्ठलाई तत्कालीन विद्रोही माओवादीले अपहरणसमेत गरेका थिए । माओवादी ज्यादातीविरुद्ध प्रतिकारमा उत्रेका श्रेष्ठ अहिले गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत छन् ।

    देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुसँग राम्रो ‘नेटवर्क’ भएको र पार्टीमा लामो समयदेखि क्रिायशील रहेकाले योपटकको अधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवार दिने र जित्ने दाबी श्रेष्ठले गरे । केपी ओली र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकट सम्बन्ध भएका श्रेष्ठले एमालेमा विभिन्न आरोह अवरोह झेल्दै अहिले पार्टीको वागमती प्रदेश कमिटीमा रहेका छन् ।

    डोल्मा तामाङ

    सिन्धुपाल्चोकको पश्चिीम क्षेत्र, जुन क्षेत्रमा यसअघि चेलीबेटी बेचबिखन हुने क्षेत्रको रुपमा परिचित इचोक गाउँबाट राजनीतिक यात्रा सुरु गरेकी तामाङ संघर्षशील महिलाको रुपमा परिचित छन् ।

    इचोकमा सबै राप्रपाहुँदा समेत उनी मात्रै एक्लो एमालेको विरासतको रुपमा गाउँमा उभिदा उनलाई त्यतिबेला राप्रपाका स्थानीय नेताहरुले गाउँ निकाला समेत गरेका थिए ।

    संविधानसभा सदस्य समेत रहेकी तामाङ अहिले नेकपा एमाले सिन्धुपाल्चोकको उपाध्यक्ष छन् । देशभरका एमालेका महिला नेतृत्वहरुसँग निकट सम्बन्ध राख्ने तामाङले एमालेको दशौ महाधिवेशनमा केन्द्रीय सदस्यमा जित्ने दाबी गरेकी छन् ।

  • एमाले महाधिवेशन: अत्यावश्यक सवारी नरोकिने

    एमाले महाधिवेशन: अत्यावश्यक सवारी नरोकिने

    चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ-मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रको सडकमा अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइँदै छ ।

    बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सवारी साधनमा रोक लगाइने छ । तामाङले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधन भने व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए । पूर्व पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनलाई व्यवस्थापन गरिएको छ । नारायणगढ–मुग्लिनतर्फबाट आएका सवारी साधन बाइपास सडक हुँदै पूर्वतर्फ जाने छन् ।

    पश्चिमतर्फ जानेलाई केन्द्रीय बस ट्रमिनलबाट भित्री सडक प्रयोग गरेर बाह्रघरे हुँदै नारायणी नदीको पुलबाट नवलपरासीतर्फ पठाइने छ । त्यताबाट आएका सवारीलाई पनि भित्री सडक प्रयोग गरेर केन्द्रीय बस ट्रमिनल हुँदै गन्तव्यतर्फ पठाइने छ । सीडीओ तामाङले भने, ‘यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन गरिएको छ, अत्यावश्यक सवारी कहीँ पनि रोकिँदैनन् ।’

    मानिसको चाप धेरै भएको ठाउँमा सवारी साधनसमेत चलेमा दुर्घटना हुनसक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकामा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् ।

    महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ । रासस

  • प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

    प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

    चितवन । नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

    प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन्। हेलिकप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ ।

    नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन् ।

    एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।

  • एमाले केन्द्रीय सदस्यमा किसान महासंघका सचिव खडकबहादुर खड्काको उम्मेदवारी घोषणा

    एमाले केन्द्रीय सदस्यमा किसान महासंघका सचिव खडकबहादुर खड्काको उम्मेदवारी घोषणा

    रूपन्देही । नेकपा एमालेका युवा नेता तथा अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव खडकबहादुर खड्काले एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । खड्काले खुलातार्फको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    बर्दियाका नेता खड्काले देशभरका किसानका मुद्दालाई पार्टी र राज्यको केन्द्रिय तहमा स्थापित गर्न आफुँले बिभिन्न एजेण्डासहित केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए । आफुँ साढे तिन दशकदेखि पार्टीमा अनवरत रुपमा काम गरेको उल्लेख गर्दै खड्काले साना किसानको ऋण मिनाहा गर्न, कृषि सूचना प्रणाली प्रभावकारी बनाउन , किसानलाई गुणस्तरीय मल तथा बिउ सहज रुपमा उपलब्ध गराउन, किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न तथा स्वदेशमै खपत गराउने बातावरण बनाउन पार्टी तथा सरकारमा आफ्नो रहने बताए ।

    २०४३ सालदेखि अखिलको प्रारम्भिक कमिटीमार्फत नेकपा एमालेको राजनीतिमा लागेका खड्काले २०४८ सालमा एमालेको संगठित सदस्यता लिएका थिए । २०४७ सालमा बर्दियामा युवा संघ स्थापना गर्दा संस्थापक सदस्य रहेका खड्का २०५५ सालमा भएको अखिल नेपाल किसान संघको चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा चुनिएका थिए ।

    तत्कालिन नेकपामा विवाद भएपछि २०७७ पुस ६ गते प्रथम अध्यक्षका हैसियतले ७ सय ५८ जना केन्द्रिय सदस्य थप्दा खड्का उक्त समुहमा समेटिएका थिए । नेकपा एमालेको बर्दिया जिल्लाको संगठनमा बलियो प्रभाव राख्ने खड्का हाल एमालेको लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघको केन्द्रिय सचिव छन् ।

  • एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा

    एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा

    काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनबाट धेरै नयाँ अनुहारले एमाले केन्द्रीय कमिटीमा समेटिने इच्छा प्रकट गरेका छन् ।

    साविकका केन्द्रीय सदस्य सबै दोहोरिँदा पनि धेरै नयाँ अनुहारले ठाउँ पाउने भएकाले पनि केन्द्रीय दस्यमा ‘डेब्यू’का लागि धेरै दावेदार देखिएका हुन् । त्यस्तो दावेदारहरुमा एमालेको भातृ संगठन अनेरास्ववियूबाट पनि छन् । अनेरास्ववियूका पूर्वअध्यक्षहरुको यसपटक एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्ने चाहाना छ ।

    अनेरास्ववियूबाटै गएर अहिले एमालेमा स्थापित भएका नेताहरु धेरै छन् । अनेरास्ववियूका पूर्वअध्यक्ष शंकर पोखरेलको दावीदारी एमाले महासचिवमा छ ।

    पूर्वअध्यक्ष योगेश भट्टराईले बुधबार सचिवमा उम्मेदवारीको घोषणा गरेका छन् ।

    त्यस्तै अनेरास्ववियूका पूर्वअध्यक्षहरु अरुण नेपाल, हिक्मत कार्की, खिमलाल भट्टराई र ठाकुर गैरे पनि पदाधिकारीका दाबेदार हुन् ।

    पूर्वअध्यक्षमध्ये रामनाथ ढकाल र रविन्द्र अधिकारीको निधन भइसकेको छ । पूर्वअध्यक्षहरु तुलवहादुर गुरुङ, राजेन्द्र राई र रामकुमारी झाँक्री नेकपा (एस)मा छन् ।

    पूर्वअध्यक्षहरु टंक कार्की, रुपनारायण श्रेष्ठ र माधव ढुंगेल केन्द्रीय समितिमै छन् । उनीहरुले पदाधिकारीको दावी गरिसकेका छैनन् ।

    पूर्वअध्यक्षहरु मध्यका विश्वकान्त मैनाली, गौरी प्रधान र रामप्रसाद ज्ञवाली भने सक्रिय राजनीतिमा छैनन् ।

    जो ‘डेब्यू’ गर्न चाहान्छन्

    अनेरास्ववियूका अध्यक्ष भइसकेका धेरैले एमालेमा भूमिका पाएका छन् । थोरै छन्, जो यसपाली एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्न चहान्छन् ।

    अनेरास्ववियूको पूर्वअध्यक्षहरु मध्यमा तीन जना एमाले केन्द्रीय हुन बाँकी छ । किशोरविक्रम मल्ल, नवीना लामा र ऐन महर यसपटक केन्द्रीय कमिटीमा डेब्यू गर्न चाहन्छन् । लामा भने प्रतिनिधिसभाकी सदस्य समेत हुन् ।

    उनीहरुले केन्द्रीय कमिटीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । हालकी अध्यक्ष सुनिता बरालले पनि केन्द्रीय सदस्यमा उम्मेवारी घोषणा गरिसकेकी छिन् ।

    पदाधिकारीका दावेदार

    शंकर पोखरेल
    योगेश भट्टराई
    अरुण नेपाल
    हिक्मत कार्की
    खिमलाल भट्टराई
    ठाकुर गैरे

    केन्द्रीय कमिटीमा ‘डेब्यू’ आकांक्षी

    किशोर विक्रम मल्ल
    नवीना लामा
    ऐन महर

  • एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदैछन् ।

    अध्यक्ष ओली आज विहान ११ बजे चितवन पुग्नेछन् । उनी आजै केहि कार्यक्रममा समेत सहभागी हुनेछन् । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीको सहभागिता रहनेछ ।

    ओलीसहितका अन्य नेताहरू पनि आजै पुग्नेछन् । हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयोजक सुरेन्द्र पाण्डे पुगिसकेका छन्

    भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन आयोजना हुँदैछ । शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ । एमालेले उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ ।

  • एमाले महाधिवेशनमा सहभागी हुन आउनेलाई दाउन्ने सडकको चिन्ता

    एमाले महाधिवेशनमा सहभागी हुन आउनेलाई दाउन्ने सडकको चिन्ता

    रुपन्देही । चितवनमा आयोजना हुने नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी तीन प्रदेशका दाउन्ने खण्ड छिचोलेर जानुपर्ने हुन्छ तर यो सडक खण्ड कसरी पार गर्ने भन्ने चिन्तामा धेरै सहभागीलाई छ ।

    केही समयदेखि निर्माणका क्रममा रहेको यो सडकखण्ड साँघुरोसँगै उकालो–ओरालोमा घुमाउरो मोड छ, एउटा गाडी बिग्रियो वा अर्कोले लेन क्रस गरेर अगाडि जान खोज्यो भने घण्टौं जाम हुन्छ त्यस कारणले पनि दाउन्ने पश्चिमका सहभागीले यसअघि अड्कल गरेको समयमा सजिलै पुग्न सक्ने छैनन् ।

    उद्घाटन सत्रमा लुम्बिनी प्रदेशबाट मात्रै ७५ हजार सहभागी गराउने एमाले लुम्बिनीले योजना बनाएको छ । यति धेरै संख्यामा सहभागीलाई यो बाटोबाट निर्धारित समयमा लैजान त्यति सहज छैन । त्यसैले पनि सहभागिताको व्यवस्थापन गर्ने कमिटीले अघिल्लो दिन नै जानेगरी योजना बनाएको सुनाएका छन् ।

    नियमित सवारी संचालन हुने समयमा पनि यो बाटोमा घन्टौ लाइनमा बस्नुपर्ने अवस्था थियो, महाधिवेशनका कारण बढेको चहलपहल र त्यो दिनको सहभागितालाई दाउन्ने सडकमा व्यवस्थापन गर्न चुनौती देखिएको छ– एक ट्राफिक अधिकृतले सुनाए ।

    सामान्यतया बुटवलबाट चितवन जाने २ देखि साढे दुई घन्टाको हो तर अहिले तेब्बर समयमा पनि पुग्न सकिदैन त्यसैले पहिले नै कसरी पुग्ने भन्ने योजनामा छौं– महाधिवेशन प्रतिनिधि तेजेन्द्र केसीले बताए ।

    एमालेले सडकको यो अवस्था र हुनसक्ने सडक जामका विषयमा सम्बन्धित जिल्ला प्रशासन, ट्राफिक प्रहरी लगायत सबैलाई आग्रह गरेको एमाले लुम्बिनीले जनाएको छ ।

    सामान्य अवस्थामा दाउन्ने खण्डको १५ किलोमिटर पार गर्न मात्र ६–७ घण्टासम्म लाग्ने भएकाले १० गते लुम्बिनीबाट हिंडेका सहभागी पनि निर्धारित समयमा पुग्न नसक्ने अवस्था आउने भएकाले यसतर्फ दिन आग्रह एमालेले गरेको छ ।

    वैकल्पिक सडक नहुँदा यस सडक खण्डमा दिनहुँ सवारी जाम हुने गरेको छ । धूलो, खाडल र सवारी जामका कारण बीच बाटोबाट नै फर्किनुपर्ने अवस्थाका आउने भएकाले पनि धेरै सहभागी पहिले जान खोजेको एमाले नेताहरुले सुनाउने गरेका छन् । दाउन्ने भन्नेबित्तिकै अब सवारी जाम हुने र धुलाम्य सडकको सम्झना धेरैलाई आउने भएकाले यसको चिन्ता बढेको हो ।

    पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा उकालो–ओरालोमा घुमाउरो मोड र साँघुरो सडक छ । सवारीको चाप अत्याधिक हुन्छ । नवलपरासीका ट्राफिक प्रहरी प्रमुख वासुदेव नेपालले सडक जीर्ण भएकाले ठूला सवारी दाउन्ने खण्डमा बिग्रिने र दुर्घटनामा पर्ने गरेकाले समस्या आइरहेको र महाधिवेशनमा बढ्ने चापलाई सकेसम्म व्यवस्थापन गर्ने योजना बनाएको बताउँछन् ।

    नारायणगढ–बुटवल सडक खण्ड विस्तारका क्रममा भएकाले सडक भासिने तथा भत्किने समस्या, धूलो पनि उस्तै समस्या भएकाले साना सवारीलाई पनि सजिलै पार गर्न अफ्ठेरो छ ।

    पूर्वी नवपरासीका बासिन्दाले केहीअघि राजमार्ग नै बन्द गरेर सडक मर्मतको माग गरेपछि दुम्कीबासदेखि पूर्वी खण्डमा कालोपत्रसहित मर्मत गरिएको थियो ।

    पश्चिम खण्डमा भने ठेकेदार कम्पनीले मर्मत गरेको छैन । बुटवल–नारायणगढ सडक विस्तार पश्चिम खण्डका योजना प्रमुख प्रदीपराज शाक्यले वैकल्पिक मार्ग नहुँदा सडक बन्द गरेर काम गर्ने अवस्था नभएको र यातायात सुचारु गरेर पूर्ण रूपमा मर्मत गर्न नमिल्दा समस्या परेको बताए ।

    सरकारी अधिकारीहरुले एमाले आफैले पनि यो बाटोमा स्वयंसेवक खटाएर ट्राफिक व्यवस्थापन कम गर्न सकिने, दुई पांग्रे तथा सानासवारीलाई निर्धारित बाटोमा मात्र संचालन गर्न आग्रह गर्ने, ठूला ट्रक तथा अन्य सवारी साधनलाई त्यो समयमा नहिंड्न पूर्व सूचना गरे केही समस्या समाधान हुने सुझाव दिन्छन् ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख योगबहादुर थापाले यो समयमा ठूला भारवहन रहेका गाडी संचालन नगर्न सरोकारवालालाई आग्रह गरेको, उकालो ओरालोमा बिग्रेका गाडी तत्काल साइड लगाउन ठाउँठाउँमा क्रेनको व्यवस्था गरिएको, विभिन्न मोड तथा चोकमा प्रहरीलाई खटाइएको बताए । उनले ट्राफिक एक्लैले यो समस्या समाधान गर्न नसक्ने भएकाले सबैले समन्वय गर्नुपर्ने बताएका छन् ।

  • एमालेमा कसैले हुक गरेर माथि ल्याउने र ठेल्दिएर अघि बढ्ने हुँदैनः योगेश भट्टराई

    एमालेमा कसैले हुक गरेर माथि ल्याउने र ठेल्दिएर अघि बढ्ने हुँदैनः योगेश भट्टराई

    एमालेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा छ । चितवनमा सम्पन्न हुने महाधिवेशनको दुई दिनअघिसम्म पनि नेतृत्वका धेरै आकांक्षीहरु अझै खुलेर आइसकेका छैनन् ।

    एमालेका सचिव योगेश भट्टराई सके सर्वसम्मत नभए निर्वाचनमार्फत नयाँ नतृत्व चयन हुने बताउँछन् । अन्तिम समयसम्म सर्वसम्मतको प्रयास हुने उनको भनाइ छ । भट्टराई स्वयम्ले आज आफू सचिवमा दोहोरिन चाहेको बताएका छन् ।

    पार्टीको प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईसँग महाधिवेसनका तयारी र नेतृत्व छनोटका विषयमा महाधिवेशनस्थल चितवनमा गरिएको कुराकानी :

    महाधिवेशनको तयारी कहाँ पुग्यो ?

    उद्घाटन स्थलमा मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भोलि बेलुकासम्म मञ्च निर्माणको काम सबै सकिन्छ । त्यसपछि सौराहामा बन्द सत्रको पनि तयारी भइरहेको छ ।

    देशभरिबाट एमालेका नेता–कार्यकर्ताहरू आउनुहुन्छ । साथै चितवन र चितवन आसपासबाट पनि ठुलो संख्यामा नागरिकहरू आउनु हुन्छ । अहिले गाउँ–गाउँमा, टोल–टोलमा यो महाधिवेशनको तयारीका लागि नेकपा एमाले जुटेको छ ।

    हामीले पाँच लाख मान्छे जुटाउने भनेका थियौँ । यो तयारी हेर्दा पाँच लाखभन्दा पनि बढी मानिसहरू उद्घाटन कार्यक्रममा सहभागी हुने देखिएको छ । ठुलो जनपरिचालनसहित नेकपा एमालेको यो महाधिवेशन उद्घाटन हुनेछ ।

    मनोनितसहित अब हाम्रो पुरै प्रतिनिधि संख्या २२९७ हुन्छ । उनीहरुलाई तीन दिनसम्म आवासको व्यवस्थापनका लागि सबै सम्झौताहरू भइसकेको छ सौराहामा । प्रतिनिधीहरुलाई १० गते बेलुका देखिको व्यवस्थापन हुन्छ । १० गते हाम्रो केन्द्रीय कमिटिको बैठक पनि चितवनमै आयोजना हुन्छ ।

    देशभरि महाधिवेशनको माहौल बन्दै गइरहेको छ । दशौँ महाधिवेशनको लागि हामी अन्तिम तयारीमा छौँ भन्दा हुन्छ ।

    विगतका महाधिवेशन र दशौँ महाधिवेशन बिच केही फरक पाउनु हुन्छ कि उस्तै हुन् ?

    आज नेकपा एमाले कसको निरन्तरता हो र कसको यसले लिगेसी बोकिरहेको छ भन्ने कुरामा कतिपयले बहस गरिरहेका छन् । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको निरन्तरता हो नेकपा एमाले । त्यसका संस्थापक पुष्पलाल हुन् । पुष्पलालले जुन उद्देश्यले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो, उहाँको विचार र सिद्धान्तको उत्तराधिकारी पार्टी नेकपा एमाले हो ।

    २०७५ जेठ ३ गते प्रचण्ड नेतृत्वको पार्टी र हाम्रो पार्टीमा एकता भयो । उहाँहरु पनि शान्तिपूर्ण बाटोमा आउनु भयो । त्यसकारण आज एमालेले महाधिवेशनबाट यो कुरा अझै स्पष्ट पार्न चाहन्छ कि हामी एकातिर पुष्पलालले गठन गरेको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता हौँ भने ०७३ जेठ ३ गते पार्टी एकतापछिको पनि हामी निरन्तरता हौँ । आजको दिनमा यो नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टीको मूल प्रवृत्ति हो, मूल धार हो, प्रमुख राजनैतिक दल हो भन्ने कुरा हामी यो महाधिवेशनबाट स्पष्ट पार्न चाहन्छौँ ।

    अर्काेतिर नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न ढङ्गबाट महत्वपूर्ण योगदान गर्ने नेताहरू हुनुहुन्छ । मैले अघि नाम लिएँ । पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीलगायत अघिल्लो पुस्ता जसले नेपालको कम्युनिष्ट आन्दोलनको निर्माण ग¥यो, त्यो पुस्ताको समेत हामीले लिगेसी बोकेका छौँ ।

    यति भन्दै गर्दा महाधिवेशन आउन केही दिन मात्रै पनि बाँकी हुँदासम्म उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । अहिले पनि सर्वसम्मतको नाममा नेतृत्वको नजिक हरेका व्यक्तिहरूलाई टिका लगाएर घोषणा गर्ने त होइन भन्ने आम नागरिकको चासो छ । तर एमालेमा टिका लगाएर नेतृत्वमा आउने कुरा त शून्य प्रतिशत पनि छैन ।

    भनेपछि सबै पदमा निर्वाचन हुने भयो त ?

    प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा भनेको बक्सामा मत हाल्ने कि कामबाट प्रतिस्पर्धा गर्ने कि योग्यता र क्षमताले नेतृत्वमा आउने कि भन्ने हो । प्रतिस्पर्धाका विभिन्न रूपहरू हुन्छन् । एमालेमा कसैले हुक गरेर माथि ल्याउने र कसैले ठेल्दिएर अघि बढ्ने भन्ने कुरा हुँदैन । त्यो नचिताए पनि हुन्छ । त्यसरी एमाले जाँदा पनि जाँदैन । त्यसरी एमाले जाने भए अरू कतिपय कम्युनिष्ट पार्टी क्रमशः सकिँदै गएजस्तै एमाले त्यस्तै हुन्थ्यो । तर, आज एमाले किन यति लोकप्रिय भएको छ ? किनकी यो पार्टीमा नेतृत्व विकास पनि प्रतिस्पर्धाबाट हुन्छ । पहलकदमीबाट हुन्छ । त्यो मर्यादित र स्वस्थ ढङ्गबाट हुन्छ ।

    अहिलेसम्म अध्यक्षमा भीम रावलले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यसबाहेक अध्यक्षमा अर्काे कुनै उम्मेदवारी परेको छैन । रावल नै सर्वसम्मत अध्यक्ष हुने सम्भावना पनि छ ?

    पार्टीले सकेसम्म सहमतिमा नेतृत्व निर्माण गर्ने सोच बनाइरहेको छ । पार्टी अध्यक्षको पनि मुड त्यस्तै रहेको मैले बुझेको छु । त्यो कुरामा हामी पुग्न सकेनौँ भने पनि प्रतिस्पर्धाको ढोका खुल्ला छ । त्यो अवस्थामा दुई जना मात्रै होइन । दर्जनौ नेताहरुलाई अध्यक्षमा उम्मेदवारी दिन म आह्वान गर्दछु । दर्जनौँ नेताहरू आउनु प¥यो । यत्रो पार्टीमा अध्यक्ष हुन्छु भन्ने दावा पेस गर्न आउनु प¥यो । ५० औँ वर्ष राजनीति गरेको भन्ने नेताहरुले म अध्यक्ष हुन्छु चलाउँछु यो मुलुक भनेर किन नआउने ? त्यो क्रममा यदि कोही नेताका नाममा सर्वसम्मत भएमा फेरी त्याग गर्न पनि तयार हुनु परो ।

    दशौँ महाधिवेशनमा तपाईंको उम्मेदवारी कुन पदमा हुन्छ ?

    लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नु पर्छ । यसपटक चौतारीमा बस्ने अर्थात् सचिवमै रहने भन्ने मेरो सोचाइ छ । त्यसपछि फेरी अगाडी बढ्ने । मलाई अझै १५ वर्ष को सुविधा छ नेकपा एमालेमा । अहिले नै धेरै माथि जान आवश्यक छैन । त्यसैले हेरौँ, बिचार गरौँ ।

    यही अवस्थामा निर्वाचन भए पूर्वमाओवादीबाट आएका नेताहरूलाई जित्न सकस हुँदैन ?

    यही कुरा पाँचौँ महाधिवेशनमा पनि उठेको थियो २०४९ सालमा । तत्कालीन माक्र्सवादीबाट आएकाहरू सबै सिद्धिन्छन् कि क्या हो एमालेमा भन्ने थियो । तर, मनमोहन अधिकारी अध्यक्ष हुनुभयो । भरतमोहन अधिकारी त्यो पार्टीको एक जना वरिष्ठ नेता हुनुभयो । साहाना प्रधान वरिष्ठ नेतृ हुनुभयो । सिद्धिलाल सिंह हुनुभयो । मार्क्सबादीबाट आएका दर्जनौ नेताहरू स–सम्मान एमालेको नेता हुनुभयो ।

    एमालेका एउटा विशेषता छ, यसले सबैलाई समेट्छ । कसैलाई पनि टाढा लखेट्दैन । त्यो समेट्न सक्ने सबैलाई अटाउन सक्ने पार्टी हो एमाले । समुन्द्र हो एमाले, सबैलाई यसमा अटाएर लैजान्छ ।

  • दुर्गा प्रसाईदेखि बालकृष्ण ढुंगेलसम्म एमालेको महाधिवेशन प्रतिनिधि मनोनित (सूचीसहित)

    दुर्गा प्रसाईदेखि बालकृष्ण ढुंगेलसम्म एमालेको महाधिवेशन प्रतिनिधि मनोनित (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका लागि व्यवसायी दुर्गा प्रसाईं, पूर्व सांसद बालकृष्ण ढुंगेल लगायत १०६ जनालाई प्रतिनिधिमा मनोनित गरेको छ।

    मंगलबार बसेको स्थायी कमिटी बैठकले मनोनीत प्रतिनिधिहरुको टुंगो लगाएको हो।

    ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था अनुसार १ सय ६ जना प्रतिनिधिलाई मनोनित गरिएको हो ।

    यी हुन महाधिवेशन प्रतिनिधिमा मनोनित हुनेहरुः

    यमुना रोका रोल्पा, भारती पाठक मकवानपुर, लता प्याकुरेल मोरङ, आशमाया तामाङ नुवाकोट, सानुमाया खड्का काठमाडौं, मैना भण्डारी गुल्मी, शान्ति ढकाल बॉके, शकुन्तला श्रेष्ठ भक्तपुर, तारामाया थापा कास्की, देवीमाया लिम्बू काठमाडौं, उर्मिला सुनुवार दोलखा र बालिकाका गिरी चितवन रहेका छन् ।

    यस्तै मञ्जु अधिकारी पर्वत, दिपा शर्मा बाँके, विद्या न्यौपाने काठमाडौं, इन्दिरा पन्त काठमाडौं, सीता नेउपाने दाङ, पूर्णशोभा चित्रकार काठमाडौं, जुना देवी नेपाली पर्वत, राधिका मल्ल मुगु, सृजना काफ्ले पाल्पा, गीता अधिकारी झापा, सावित्री बिक दाङ, दिलशोभा पुन गुल्मी, इन्दु कडरिया कञ्चनपुर, टासी स्याङबो गुरुङसेनी मुस्ताङ, शीला यादव धनुषा, मञ्जु भण्डारी सुनसरी र सरिता दाहाल काठमाडौंलाई मनाेनित गरेकाे छ ।

    यसैगरी रीता देवी यादव रौतहट, मीना श्रेष्ठ सुनसरी, जलवर्षा राजवंशी झापा, राधिका शर्मा न्यौपाने जाजरकोट, इन्दिरा सञ्जेल कालिकोट, होमकुमारी साँवा ताप्लेजुङ, सोमनाथ अधिकारी ‘प्यासी’ कास्की, गोविन्द कलौनी डडेलधुरा, राजकुमार लेखी सप्तरी, डा. भिष्म अधिकारी लमजुङ, रामबहादुर गुरुङ तनहुँ, छेवाङ तेन्जिङ लामा रसुवा, बालकृष्ण ढुंगेल ओखलढुंगा, डिल्लीराज भूसाल गुल्मी, सुजन यादव सर्लाही, गोविन्दप्रसाद दुलाल भक्तपुर र पशुपति दयाल मिश्र बाँकेपनि मनाेनित भएका छन् ।

    यसैगरी छविलाल ओली दाङ, दयालबहादुर शाही बाजुरा, हिरासिंह सार्की कञ्चनपुर, कृपाराम राना कञ्चनपुर, रामकिसन मण्डल सिरहा, रामबहादुर सुनार सिन्धुपाल्चोक, कृष्ण केसी बागलुङ, बालकृष्ण काउछा कास्की, कृष्ण पाठक बागलुङ, गंगाराम बुढामगर रोल्पा, रुजिदिन घर्तीमगर रुकुम पूर्व, रामहरि सुवेदी काभ्रे, क्षितिज थेवे ताप्लेजुङ, रघुनाथ खुलाल मकवानपुर, राजेश बज्राचार्य काठमाडौं, तारानिधि पन्त काभ्रे, ज्ञानेन्द्र शाक्य ललितपुर, मोहनसिंह धामी दार्चुला र धिरेन्द्रराज गिरी जुम्ला रहेका छन् ।

    त्यस्तै कर्णबहादुर शाही बेलायत, चानक पोखरेल कतार, छिरिट लोप्साङ गुरुङ मनाङ, नारायणप्रसाद आचार्य पाल्पा, डा. नेत्रप्रसाद तिम्सिना मोरङ, उदय पल खल काठमाडौं, दिवाकर देवकोटा सप्तरी, रामबहादुर थापा स्याङ्जा, कलक खड्का बझाङ, चन्द्रबहादुर थापा प्युठान, डेगनाथ गौतम बाँके र खोपनीधि लोहनी चितवन रहेका छन् ।

    त्यसैगरी डा. देवराज रोका खोटाङ, जितमान लामा काभ्रे, महादेव बजगाईं कैलाली, पशुराम अधिकारी भोजपुर, किरण साह रौतहट, ईन्द्रजीत राई काठमाडौं, हरि अधिकारी रुपन्देही, गोविन्द थापा झापा, अमर शिवाकोटी झापा, दुर्गा प्रसाई झापा, डम्बर सुवेदी सुनसरी, बेदराज जोशी बाँके, मेकबहादुर कुंवर सल्यान, खड्ग राई संखुवासभा, केपी अधिकारी म्याग्दी, कमल शाही सुर्खेत, प्रकाश साउद डडेलधुरा, सन्तोष राउत म्याग्दी, हरि प्रसाद शर्मा काफ्ले काठमाडौं, तेजेन्द्र केसी रुपन्देही, अमित लामा काभ्रे, गोपालबहादुर बटाला जाजरकोट, बाबुलाल डंगोल काठमाडौं, महेश्वरी चौधरी उदयपुर, ममता प्रसाद चौधरी कैलाली, पर्मानन्द बर्मा बाँके, चुणामणि खनाल अर्घाखाँची, गणेश विश्वकर्मा गुल्मी र बाबुराम थापा तेह्रथुम रहेका छन् ।

  • नेकपा एमालेको महाधिवेशन र प्रतिनिधिको जिम्मेवारी

    नेकपा एमालेको महाधिवेशन र प्रतिनिधिको जिम्मेवारी

    २००६ सालमा तत्कालीन जहानियाँ राणा शासनको अन्त्य र समतामुलक समाज निर्माणको उद्देश्य लिएर पुष्पलाल श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठनसँगै नेपालमा औपचारिक रूपमा कम्युनिष्ट पार्टीको स्थापना भयो । ७२ वर्षको अवधिमा आएका अनेकौं उतारचढावसँगै अहिले एक दर्जनभन्दा बढी कम्युनिष्ट पार्टीहरू अस्तित्वमा रहेका छन् । तिनीहरूमा पनि टुटफुटको श्रृंखला जारी छ ।

    नेपालको वामपन्थी आन्दोलन अनगिन्ती पटक छिन्नभिन्न भएको छ । कहिले वैचारिक मुद्दामा त कहिले कुर्सीको लडाइँ र नेताहरूको आत्मकेन्द्रित व्यवहारका कारण फुटका अनेकौं चरणबाट कम्युनिष्ट आन्दोलन गुज्रिनुपर्‍यो । यसले गर्दा श्रमजिवी र सर्वहाराको जिवनस्तर उकास्ने, न्यायपूर्ण र प्रगतिशील समाज निर्माणको अभियान पटक-पटक असफल भएको छ । नेपालमा वामपन्थी आन्दोलनलाई जनताले अनवरत साथ दिए पनि नेतृत्वको कमजोरीले गर्दा यस आन्दोलनले आशातित सफलता हासिल गर्न नसकेको भन्नुमा कुनै पूर्वाग्रह नहोला ।

    नेपालका बहुसंख्यक श्रमजिवी वर्ग, किसान, मजदुर, विद्यार्थी, बुद्धिजीवी वर्ग र आम जनताले ‘सुखी र समृद्ध नेपाल’ को कल्पना गर्दै २०७४ सालको आम निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जनादेश सुम्पिएका थिए । तर, अफसोस, संयुक्त पार्टीको शीर्ष नेतृत्वमा श्रृजना भएको बेमौसमी शक्तिसंघर्ष, अस्वस्थ प्रतिस्पर्धा र व्यक्तिगत मनमुटावले कलहको रूप लिँदै पार्टी विखण्डन हुन पुग्यो । यसले जनताको भरोसामा कुठाराघात भएको र नेपालको कम्यूनिष्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको कुरामा कसैको दुईमत नहोला ।

    लामो इतिहास बोकेको मुलधारको कम्युनिष्ट पार्टीको विघटनले जनजीवनका विभिन्न आयामहरूमा नकारात्मक सन्देश प्रवाह गरेको छ । तसर्थ, संघारमा रहेको नेकपा एमालेको दशौं महाधिवेशनलाई प्रगतिशील र वामपन्थी विचारधारा राख्नेले मात्रै होइन, सम्पूर्ण नेपाली जनताले अत्यन्तै चासोपूर्वक हेरिरहेका छन् ।

    भनाइ छ कि ‘मुखबाट निस्केको बोली र बन्दुकको नालबाट निस्केको गोली कहिल्यै फिर्ता हुँदैन’ । तसर्थ कहिलेकाहीँ नियत ठीक हुँदाहुँदै पनि आवेशमा आएर प्रयोग गरिने शब्द र विचारले पुर्‍याउने क्षतिलाई सामान्य आँकलन गर्न हुँदैन । आफ्नो संवेदनालाई नियन्त्रण गर्न नसक्ने र आवेशमा आएर जथाभावी बोल्ने नेताहरूलाई अगाडि बढाइयो भने पार्टीभित्र अर्को विग्रह नआउला भन्न सकिन्न ।

    राष्ट्रिय महाधिवेशनले कुनै पनि राजनीतिक पार्टीको आन्तरिक र वाह्य जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले पार्टीमा विद्यमान राम्रा पक्ष र कमी-कमजोरीको उजागर गर्ने मात्रै होइन, पार्टीले अब उप्रान्त लिने दुरगामी प्रभावका निती र विचारको पनि निर्देश गर्ने गर्छ । यसका अलावा महाधिवेशनले कुशल र दुरदर्शी नेतृत्व चयन गर्ने दायित्व पनि बोकेको हुन्छ, जुन नेतृत्वले निश्चित अवधिको निम्ति पार्टीको बागडोर सम्हाल्छ ।

    यसपटक देशभित्र र बाहिर गरी करिब दुई हजार प्रतिनिधिहरू महाधिवेशनका निम्ति चयन भएका छन् । आन्तरिक द्वन्द्व र विखण्डनबाट गुज्रिरहेको नेकपा एमालेको दशौं महाधिवेशनलाई सफल बनाउने र पार्टीलाई अबको एक वर्षमा हुने आम निर्वाचनमा आत्मविश्वासपूर्वक लैजाने जिम्मेवारी महाधिवेशन प्रतिनिधिहरूमा छ । तसर्थ प्रतिनिधिहरूले भावी नेतृत्व चयन गर्दा गुट, उपगुट र व्यक्तिगत स्वार्थमा आधारित भएर होइन, नेतृत्वको सर्वमान्य, वैज्ञानिक आचरण र मानकलाई अवलम्बन गर्नसक्ने दस्ता चुनेर पठाउन सक्नुपर्छ ।

    विश्वविख्यात नेतृत्व विकास र व्यवस्थापनका गुरु मानिएका अमेरिकी प्राध्यापक डेनियल गोलम्यानले लगभग २५ वर्षअघि प्रतिपादन गरेको ‘भावनात्मक वौद्धिकता’ (Emotional Intelligence) सिद्धान्तमा आधारित पाँचवटा मुख्य खम्बाहरूद्वारा निर्देशित नेतृत्वमा रहनुपर्ने गुण र सीपलाई विगत केही दशकदेखि संसारभरका सबैखाले नेतृत्वको तप्काले नेतृत्वको न्यूनतम योग्यताको रूपमा पालना गरेको देखिन्छ । तसर्थ महाधिवेशन प्रतिनिधिहरूले पनि प्राध्यापक गोलम्यानका निम्न पाँच नेतृत्वमा आवश्यक न्यूनतम गुणका आधारमा नेतृत्व दस्ता चयन गरेमा आगामी नेतृत्वले पार्टी देश र जनतालाई सकारात्मक प्रभाव पार्ने युगान्तकारी नतिजा दिन सक्छ ।

    १. आत्मजागरण (Self–Awareness): आत्मजागरण अन्तरगत प्रस्तावित नेतृत्वले निर्ममरूपले आफ्नो यथार्थपरक मुल्याङ्कन गर्ने र त्यसबाट आफ्नो क्षमता तथा कमि–कमजोरी दुवै थाहा पाउनसक्ने खालको हुनुपर्छ । आफ्नो क्षमतालाई पार्टी र देश निर्माणमा आत्मविश्वासका साथ लगाउन सक्ने र आफ्ना कमजोरीहरू सहकर्मी र जनतासामु इमान्दारीका साथ राख्ने र आफू कमजोर भएको क्षेत्रमा अन्य सक्षम सहयोद्धालाई प्रोत्साहन गर्ने नेतृत्व आजको आवश्यकता हो ।

    आफ्ना कार्यकर्ताको बीचमा मात्रै नभइ विपक्षी दलका नेताहरू, विपक्षी दलका कार्यकर्ता तथा आम जनतामाझ घुलमिल भइ सबैमाझ सकारात्मक भावना र चिन्तनको श्रृजना गर्ने नेतृत्व आजको आवश्यकता हो । आफ्नो कार्यक्रम र योजना कार्यान्वयन गर्न सबैखाले विशेषज्ञ र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने वातावरण बनाउन सक्ने नेतृत्व महाधिवेशनले चुन्न सक्नुपर्छ ।

    २. आत्मनियमन (Self–Regulation) : आत्मनियमनको अभ्यासले नेतृत्वलाई कसरी मानवीय संवेदनाका कारण उत्पन्न हुने भावनात्मक रूपमा विनासकारी व्यवहारहरूलार्ई कावुमा लिने, कसरी प्रचलित नियम, अनुशासनको परिधीभित्र रहने भन्ने कुरामा दृढ बनाउँछ । जसले नेताहरूलाई अनैतिक भ्रष्टाचार र घृणाजन्य व्यवहारबाट टाढा राख्न मद्दत गर्दछ । यसका अलावा आत्मनियमनको अभ्यासले आफ्ना सहयोद्धा सहकर्मी तथा फरक बिचार राख्नेहरूप्रति तुच्छ बोलीको प्रयोग नगरी सद्भाव र सम्मानपूर्ण सम्बन्ध स्थापित गर्नको निम्ति सहयोग पुर्‍याउँछ ।

    भनाइ छ कि ‘मुखबाट निस्केको बोली र बन्दुकको नालबाट निस्केको गोली कहिल्यै फिर्ता हुँदैन’ । तसर्थ कहिलेकाहीँ नियत ठीक हुँदाहुँदै पनि आवेशमा आएर प्रयोग गरिने शब्द र विचारले पुर्‍याउने क्षतिलाई सामान्य आँकलन गर्न हुँदैन । आफ्नो संवेदनालाई नियन्त्रण गर्न नसक्ने र आवेशमा आएर जथाभावी बोल्ने नेताहरूलाई अगाडि बढाइयो भने पार्टीभित्र अर्को विग्रह नआउला भन्न सकिन्न ।

    ३. समानुभुति (Empathy) : यसले नेतृत्वलाई आफूलाई पनि कार्यकर्ता र जनताको ठाउँमा राखेर उनीहरूले पार्टी र देशका बारेमा के सोच्छन्, कस्तो भावना राख्छन्, त्यसैअनुसार कार्य गर्नको निम्ति प्रेरित गर्छ । आफू जति प्रभावशाली नेता भए पनि नेतृत्वले कार्यकर्ता, सहकर्मी, सहयोद्धा र आम जनताको भावना र संवेदनासँग घुलमेल भइ आफूहरूलाई पनि उनीहरूकै ठाउँमा उभ्याउन सक्ने हुनुपर्छ । यसो गर्न सकियो भने मात्रै महाकवि देवकोटाको ‘यात्री’ कविताको अंश ‘फर्क फर्क हे जाउ समाउ मानिसका पाउ, मल्हम लगाउ आर्तहरूका चहर्‍याइरहेका घाउ’ मा भनेजस्तै जनताको सेवक बन्न सकिन्छ ।

    ४. उत्प्रेरणा (Motivation): कुनै पनि आन्दोलन वा सामाजिक अभियान सफल हुनको निम्ति लाखौं जनताको सहभागिताको खाँचो हुन्छ । जनता त्यो आन्दोलनमा तबमात्रै सहभागी हुन्छन् जब उनीहरू त्यो आन्दोलनले प्राप्त गर्न खोजेको लक्ष्यप्रति विश्वस्त हुन्छन् । त्यसैले समाज र समग्र देशकै काँचुली फेर्न भनेर हिँडेको नेतृत्वले आफ्ना उदेश्यप्रति जनतासामु दृढ विश्वास प्रस्तुत गर्दै, जनतालाई हौसला दिँदै आफ्नो अभियानमा सामेल गराउन सफल हुन सक्नुपर्छ ।

    आवश्यक परेको बेलामा विशेष क्षमता प्रस्तुत गर्दै धरातलीय यथार्थलाई सुहाउने योजनाहरू जनतासामु ल्याउने ल्याकत राख्नुपर्छ । नेतृत्वले दुरदर्शी भावनाका साथ जनतासामु दीर्घकालीन सपना देखाउने र त्यो सपनाको प्राप्तिको लागि आवश्यक योजना र कार्यक्रम पनि जनतासामु पारदर्शी तरिकाले राख्नुपर्छ । जो पटक-पटक पार्टीको आन्तरिक चुनाव र राष्ट्रिय निर्वाचनहरूमा पराजित भएका छन्, त्यस्ता व्यक्तिहरूले नेतृत्वको दाबी गर्नु पहिले अगाडिका पटक-पटकको हारबाट आफूले के सिकियो र आफ्नो आत्मविश्वास जनतासामु कसरी प्रस्तुत गर्ने र जनतालाई कसरी उत्प्रेरित गर्ने गहन चिन्तन गर्न जरुरी छ ।

    ५. सामाजिक सीप (Social Skills): कुनै पनि ठूला र दीर्घकालीन महत्व राख्ने योजनाहरू एकजनाको क्षमताले मात्रै नभएर समग्रमा समाजका सबै तह र तप्काका मानिसहरूको सहभागिताबाट मात्रै सम्भव हुने गर्दछ । नेतृत्वले म सर्वज्ञानी अरु सबै अज्ञानी भन्ने भावना राखेर अगाडि बढ्दा त्यसले सामाजिक विग्रह मात्रै होइन, समग्र अभियानलाई नै पछाडि धकेल्ने गर्छ ।

    आफ्ना कार्यकर्ताको बीचमा मात्रै नभइ विपक्षी दलका नेताहरू, विपक्षी दलका कार्यकर्ता तथा आम जनतामाझ घुलमिल भइ सबैमाझ सकारात्मक भावना र चिन्तनको श्रृजना गर्ने नेतृत्व आजको आवश्यकता हो । आफ्नो कार्यक्रम र योजना कार्यान्वयन गर्न सबैखाले विशेषज्ञ र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने वातावरण बनाउन सक्ने नेतृत्व महाधिवेशनले चुन्न सक्नुपर्छ ।

    अन्तिममा बेलायतका चर्चित पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको प्रसिद्ध भनाइ ‘राजनीति भनेको कुनै खेल होइन, यो त अन्यन्तै संवेदनशील अभियान हो’ लाई मनन गर्दै महाधिवेशन प्रतिनिधिहरूले उपयुक्त निर्णय लिन सक्नुभयो भने नेकपा एमाले अझ ऊर्जाशील र जनमुखी पार्टी बन्ने कुरामा विमत्ति नहोला । महाधिवेशनले सबल, सक्षम र दूरदर्शी नेतृत्व चयन गर्दै पार्टीलाई अझ माथि लैजान सफल रहोस् । शुभकामना ।

  • एमाले महाधिवेशन : सौराहामा समृद्धिको सन्देश कोर्दै चित्रकार (तस्बिरहरू)

    एमाले महाधिवेशन : सौराहामा समृद्धिको सन्देश कोर्दै चित्रकार (तस्बिरहरू)

    चितवन । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रलाई सजाउने काम तीब्ररूपमा भइरहेको छ ।

    बन्दसत्रस्थल होटल सेभेन स्टार जाने सडकको छेउछाउमा चित्रकार व्यस्त छन् । ५७ जना चित्रकार करिब २ सय मिटरको पर्खालमा चित्र कोर्न व्यस्त छन् । महाधिवेशन मूल आयोजक समितिको संयोजनमा चित्र कोरिएको हो ।

    २०५५ सालदेखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिंकका संचालक योगेश खनालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणामा चित्रहरू कोर्ने बताए । ‘दुई सय मिटर पर्खाल हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिनेछ’, उनले भने, ‘अधिकांश नवप्रवेशीहरूले चित्र कोर्दैछन्, यो प्रतिस्पर्धा पनि हो ।’

    चित्रकार विनिता चौधरी र सरिना चौधरी मिलेर देशले शान्ति चाहेको आकृति कोरेका छन् । अञ्जु गुरुङले आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र कोरेकी छन् । परिदेन रेग्मीले कृषिमा क्रान्तिको खाँचो औल्याएका छन् ।

    आस्था चौधरी र अञ्जना बम्जनले स्वयम्भु, धरहरा, परेवा सहितका चित्रहरु कोर्दैछन् । उत्कृष्ट चित्र बनाउने कलाकारहरुलाई एमाले अध्यक्ष केपी ओलीले नगद पुरस्कारसहित प्रमाणपत्र दिने चित्रकार खनालले बताए ।

  • एमाले केन्द्रीय सदस्यका लागि पर्यटन व्यवसायी रिजालको उम्मेदवारी घोषणा (भिडिओसहित)

    एमाले केन्द्रीय सदस्यका लागि पर्यटन व्यवसायी रिजालको उम्मेदवारी घोषणा (भिडिओसहित)

    काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवम् पर्यटन व्यवसायी चन्द्र रिजालले नेकपा एमालेको दशौं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

    पार्टीको उद्योग व्यवसायी जिल्ला कमिटी अध्यक्ष तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य र पर्यटन केन्द्रीय विभागको सचिवसमेत रहेका रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
    १३ वर्षदेखि रिक्त नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सर्वसम्मत चयन भएका उनी ट्रेकिङ एजेन्सिज एसोसियन नेपालको पूर्वअध्यक्ष पनि हुन् ।

    दश वर्षको उमेरदेखि २८ वर्षसम्म अनेरास्ववियुका प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म सक्रिय रिजाल २०४६ सालमा नेकपा (माले) को युथ लिगमा संगठित भएका थिए । २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्तिपछि उनले पार्टीको ईलाका कमिटीमार्फत् सांगठनिक जीवन सुरु गरेका थिए ।

    उनले एमालेलाई थप सुदृढ र उत्पादनसँग जोड्ने नीति कार्यान्वयनका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् ।

    हेर्नुहोस् भिडिओ

  • ‘फ्ल्यास ब्याक’ मा एमाले नवौं महाधिवेशन : कसले कसलाई हराए ? (मतसहित)

    ‘फ्ल्यास ब्याक’ मा एमाले नवौं महाधिवेशन : कसले कसलाई हराए ? (मतसहित)

    कैलाली । नेकपा (एमाले) को १०औं महाधिवेशन यही १० देखि १२ गतेसम्म चितनवमा हुँदैछ । महाधिवेशनका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

    यहाँ एमालेको नवौं महाधिवेशनलाई सम्झिने प्रयास गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा २०७१ असार १९-२५ मा नवौं महाधिवेशन चलेको थियो । यो महाधिवेशनबाट १४ पदाधिकारीसहित १५९ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

    माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलबीच कडा प्रतिस्पर्धा भएको निर्वाचनमा १७ जना प्यानलबाहिरबाट भिडेका थिए । महाधिवेशनको निर्वाचनमा २ हजार १७६ जना प्रतिनिधिमध्ये २ हजार १५२ जनाले मतदान गरेका थिए ।

    सो महाधिवेशनले माधवकुमार नेपाललाई पराजित गर्दै केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

    गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनले एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ ।
    त्यसैले यसपटक प्यानलगत रूपमा प्रतिस्पर्धा हुने छैन ।

    हेर्नुस् नवौँ महाधिवेशनमा कसले कति मत ल्याएका थिए :

    अध्यक्ष (पद संख्या १ )

    केपी शर्मा ओली- १०५९ (विजयी)

    माधवकुमार नेपाल- १००३

    उपाध्यक्ष (पद संख्या ५)

    भीम रावल- ११४३ (विजयी)

    वामदेव गौतम- ११३८ (विजयी)

    विद्यादेवी भण्डारी- ११११ (विजयी)

    युवराज ज्ञवाली- १०६२ (विजयी)

    अष्टलक्ष्मी शाक्य- १०४७ (विजयी)

    राजेन्द्रप्रसाद पाण्डे-१०३१

    प्रदीप नेपाल- १०१७

    किरण गुरुङ-१००६

    लालबहादुर पण्डित- ९९८

    धर्मनाथ साह- ९३३

    महासचिव (पद संख्या १)

    ईश्वर पोखरेल- १०४५ (विजयी)

    सुरेन्द्र पाण्डे-१०३०

    उपमहासचिव (पद संख्या २)

    घनश्याम भुसाल- १०९७ (विजयी )

    विष्णु पौडेल- १०९६ (विजयी)

    शङ्कर पोख्रेल- १०४८

    रघुजी पन्त- ९६९

    सचिव (पद संख्या ५)

    गोकर्ण विष्ट – १२७० (विजयी)

    प्रदीप ज्ञवाली- ११६६ (विजयी)

    योगेश भट्टराई- १०८५ (विजयी)

    पृथ्वीसुब्बा गुरुङ- १०४० (विजयी)

    भीम आचार्य- १०३५ (विजयी)

    परशुमेघी गुरुङ-१०१५

    विष्णु रिमाल- १००९

    बेदुराम भुसाल- ९९७

    रघुवीर महासेठ- ९३९

    केशवलाल श्रेष्ठ- ९३२

  • नारायणी किनारमा चहलपहल, यसरी भइरहेको छ तयारी (तस्बिरहरू)

    नारायणी किनारमा चहलपहल, यसरी भइरहेको छ तयारी (तस्बिरहरू)

    चितवन । नेकपा एमाले महाधिवेशनस्थल चितवनमा नेताहरुकाे चहलपहल बढेकाे छ । १० म‌ंसिरमा उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन नेताहरु चितवन पुग्ने क्रम जारी छ ।

    संघीय राजधानीसहित देशका विभिन्न भागबाट आएका नेता-कार्यकर्ताको नारायणी किनारमा भीड लागेको छ ।

    एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र हुने नारायणी नदी किनारमा अस्थायी संरचना निर्माणको काम ७५ प्रतिशत सकिएकाे छ ।

    स्वयमसेवक परिचालन समितिका संयोजक तथा मञ्च व्यवस्थापनमा खटिएका नेता विनोद श्रेष्ठले मञ्च सजावटको काम धमाधम भइरहेको बताए ।  उनका अनुसार करिब ५ सय जना बस्न मिल्ने गरी ४ खण्डको आकर्षक मञ्च निर्माण भैरहेको छ ।

    मञ्च निर्माणमा १० जना इञ्जिनियर सहित करिब २ सय जना खटिएका छन् । डिजाइनर महेन्द्र श्रेष्ठले मञ्चको डिजाइन गरेका हुन् । १६ फिट अग्लो भागमा आर्क डिजाइन गरिएको छ ।

    लंग लाइभ सिपिएन युएमएल लेखिएको ठुलो फ्लेक्समा चितवन राष्ट्रिय निकुञ्जमा पाइने गैँडा, हात्ती,बाघ, जरायो लगायतका चित्रहरु राखिएका छन् । कुर्सीहरु राख्न प्लाई राख्ने काम भैरहेका छन् । अग्रभागमा जनताको बहुदलीय जनवाद–जिन्दावाद लेखिएको छ ।

    मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको छ । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ ।

    नारायणी पुलमा ‘एमाले जिवन्त रहोस्’ लेखिएका फ्लेक्सम राखिएका छन् । तस्बिर खिच्दा जनताको बहुदलीय जनावाद-जिन्दावादलाई फ्रेममा राख्न मिल्ने गरी सेल्फी प्वाइन्टहरु बनाइएका छन् ।

    नारायणी किनारमा २५ वटा सेल्फी प्वाइन्टहरु हुनेछन् । बाढीले खाल्डाखुल्डी पारेको चौरमा बालुवा, माटो राखेर सम्याउने काम भइरहेको छ ।

    उद्घाटनसत्रमा देशभरबाट ५ लाख जनता सहभागी गराउने एमालेको तयारी छ । बन्दसत्र हुने सौराहा स्थित होटल सेभेन स्टार अस्थायी हल (डोम) निर्माण कार्य भइरहेको छ । करिब ३ हजार सो हलमा बस्न मिल्नेछ ।

    मञ्च व्यवस्थापन, उद्घाटन स्थल र बन्दसत्र हुने क्षेत्रमा बनाइने अस्थायी संरचनाहरु निर्माणमा करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।

     

  • एमाले महाधिवेशनः प्रदेश १ बाट ६ दम्पती प्रतिनिधि, सुनसरीबाट मात्रै तीन दम्पती

    एमाले महाधिवेशनः प्रदेश १ बाट ६ दम्पती प्रतिनिधि, सुनसरीबाट मात्रै तीन दम्पती

    इटहरी । नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रदेश १ का १४ जिल्लाबाट ६ दम्पती प्रतिनिधि चयन भएका छन् । सुनसरीबाट मात्रै तीन दम्पती चुनिएका छन् ।

    प्रतिनिधि हुनेमा सचिव भीम अचार्य र उनकी पत्नी निरा खनाल छन् । खनाल सुनसरी क्षेत्र नम्बर २ बाट महिला कोटाबाट प्रतिनिधि भएकी हुन् ।

    सुनसरीकै प्रदेश १ का सांसद तथा इटहरीका प्रथम मेयर सर्वध्वज साँवा र उनकी पत्नी अमृता सुब्बा पनि एमाले महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनीहरु दुवैजना सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि भएका हुन् ।

    सुनसरी बराहक्षेत्रका मेयर निलम खनाल र उनकी पत्नी विणा खनाल पनि महाधिवेशन प्रतिनिधि भएका छन् । निलम खनाल सुनसरी क्षेत्र नम्बर ४ र विणा खनाल सुनसरी १ बाट प्रतिनिधि भएका हुन् । सुनसरी क्षेत्र नम्बर १ का खनाल क्षेत्र नम्बर ४ बाट सारेर प्रतिनिधि भएका हुन्।

    त्यस्तै झापाका एलपी साँवा र उनकी श्रीमति मनिषा साँवा पनि प्रतिनिधि भएका छन् ।

    पाँचथरका वसन्त कुमार नेम्बाङ र उनकी पत्नी भूमिका सुब्बा पनि एमाले महाधिवेशन प्रतिनिधि चयन भएका छन् । नेम्वाङ भूगोलबाट प्रतिनिधि भए भने सुब्बा जनसांस्कृतिक महासंघबाट चुनिएका हुन् ।

    यस्तै ताप्लेजुङका भूपेन्द्र थेवे र उनकी पत्नी उर्मिला थेवे पनि प्रतिनिधि चयन भएका छन् ।

  • लुँडोको उदाहरण दिँदै योगेशले भने- एकैचाेटि माथि चढे खस्न सकिन्छ, सचिवमै दोहोरिन्छु

    लुँडोको उदाहरण दिँदै योगेशले भने- एकैचाेटि माथि चढे खस्न सकिन्छ, सचिवमै दोहोरिन्छु

    चितवन । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्टराईले आफू पुनः सचिवमा दोहोरिने बताएका छन् ।

    भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले १० औं महाधिवेशनमा आफू पुनः सचिवमा दोहोरिन चाहेको बताएका हुन् ।

    पार्टीको कार्यकारी भूमिकामा बस्न अझै १५ वर्ष बाँकी रहेको उल्लेख गर्दै उनले एकैपटक माथि चढ्न खोजे लुँडाे खेलमा जस्तै लडिने सम्भावना रहेको बताए ।

    ‘लामो यात्रामा दौड्दा कहिलेकाँही चौतारीमा बस्नुपर्छ । यसपालि चौतारीमा बस्ने हो (सचिवमा)’, उनले भने- ‘त्यसपछि फेरि अगाडि बढ्न मलाई अझै १५ वर्षको सुविधा छ । धेरै माथि चढियो भने, लुँडो खेलमा जस्तो तल खस्ने सम्भावना हुन्छ ।’

    नेकपा एमालेको महाधिवेशन १० देखि १२ मंसिरसम्म चितवनमा आयोजना हुँदैछ । महाधिवेशनका लागि भट्टराई चितवन पुगेका हुन् ।

  • एमाले महाधिवेशन : र्‍यालीमा एम्बुलेन्स, प्रतिनिधिहरुलाई निःशुल्क उपचार

    एमाले महाधिवेशन : र्‍यालीमा एम्बुलेन्स, प्रतिनिधिहरुलाई निःशुल्क उपचार

    चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमको तयारी भइरहेको छ । उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स राखिने तयारी भएको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले जानकारी दिए ।

    १० गते बिहान नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोकसहितबाट र्‍याली निकाल्ने तयारी भइरहेको छ ।

    एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने बताइएको छ । महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए ।

    मञ्चको आडैमा ‘क’ वर्गको एउटा र ‘ख’ वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलले जानकारी दिए । स्वास्थ्य तथा वातावरण सरोकार समाज सौराहाको ‘क’ वर्गको र रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको ‘ख’ वर्गको एम्बुलेन्स मञ्चलाई लक्षित गर्दै राखिने उनले बताए
    उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्स परिचालन गरिने छ ।

    ‘महाधिवेशन प्रतिनिधिहरु बिरामी परेको अवस्थामा उनीहरु बसेकै होटलमा पुगेर थप उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउने गरी सौराहामा एम्बुलेन्स पार्किङ गरेर राख्नेछौँ’ पौडेलले भने, ‘सम्भावित दुर्घटनालाई मध्यनगर गरी मानवीय सेवामा समर्पित भएर महाधिवेशन अवधिभर निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालन गर्दैछौँ ।’

    बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरुलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले बताए । ‘महाधिवेशनमा सबै विषयका विज्ञ चिकित्सक सहित २५० जना स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुन्छ अधिकारीले बताए ।

  • एमाले केन्द्रीय सदस्यमा कृष्ण दाहालको उम्मेदवारी घोषणा

    एमाले केन्द्रीय सदस्यमा कृष्ण दाहालको उम्मेदवारी घोषणा

    काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि कृष्णप्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छन्।

    चितनवमा हुने महाधिवेशनका लागि खुल्ला तर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

    दाहाल मकवानपुर क्षेत्र नम्बर १ का सभापति तथा संघीय संसदको अर्थ समितिका सभापति हुन्।

  • अनेरास्ववियुको चाहना- एमाले केन्द्रीय कमिटीमा २० प्रतिशत युवा

    अनेरास्ववियुको चाहना- एमाले केन्द्रीय कमिटीमा २० प्रतिशत युवा

    काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले पार्टीको केन्द्रीय कमिटीमा कम्तीमा पनि ४० वर्ष मुनिका २० प्रतिशत युवालाई समेटिनुपर्ने बताएको छ ।

    बुधबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले महाधिवेशनमार्फत युवाहरूलाई समेटेर पार्टीलाई अझ फराकिलो बनाउने आशा व्यक्त गरेको छ । ‘महाधिवेशनले कम्तीमा २० प्रतिशत चालीस वर्षमुनिका जिम्मेवार कमरेडहरूलाई पार्टीको केन्द्रीय कमिटीमा समेटेर युवामैत्री पार्टीको परिचयलाई अझ फराकिलो बनाउन महाधिवेशनले विशेष योगदान गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    अनेरास्ववियुले अनुशासित र एकताबद्ध बन्नका लागि आह्वान गर्दै ‘जिम्मेवार नेताहरूलाई पार्टीको एकताको सन्देश प्रवाह हुने खालका शोभनिय अभिव्यक्ति’ का लागि अपिल पनि गरेको छ ।

    यसैबीच अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले नेकपा एमालेको दशौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य पदको उम्मेदवारी घोषणा गरेकी छन् । साथै अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष मोति विक पनि दलित (उत्पीडित) कोटाबाट केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुने बताइएको छ ।

     

  • एमाले महाधिवेशन : चितवनमा साढे तीन लाखकाे गैँडाको मस्कट तयार

    एमाले महाधिवेशन : चितवनमा साढे तीन लाखकाे गैँडाको मस्कट तयार

    चितवन । १०-१२ मंसिरमा चितवनमा तय भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् ।

    एमालेले महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको थियो । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।

    साढे तीन लाख रूपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेको हो ।

    यसरी बनाइयो मस्कट

    मूर्तिकारले विशेष गरी कास्टिङ र कार्भिङ गरेर दुई किसिमले मूर्ति बनाउँछन् । कार्भिङमा काठ र ढुंगामा मूर्ति बनाइन्छ भने कास्टिङमा सिमेन्ट, फाइबर र धातुको प्रयोगबाट मूर्ति बनाइन्छ ।

    गैँडाको मस्कट फाइबरबाट बनाइएको हो । पछिल्लो समय फाइबरबाट मूर्ति बनाउने प्रचलन बढ्दै गएको मूर्तिकार सूर्य बताउँछन् । फाइबरको प्रयोगबाट कम मूल्यमा छिटोछरितो मूर्ति बनाउन सकिने उनले बताए । उनका अनुसार फाइबर र रेजिन केमिकलको प्रयोगबाट गैँडाको मस्कट बनाइएको हो ।

    यो मूर्ति बनाउनुअघि सुरूमा माटोको नमूना मूर्ति बनाइएको हो । ‘माटोबाट बनाइने मूर्तिमा डिटेल वर्क गर्छौं, कलाकारिताको काम यसमा हुन्छ । त्यसपछि अर्को आउँछ, मोल्ड मोडलिङ । त्यसमा हामीले प्लाष्टरको डाइ बनायौं । त्यसपछि डाइका टुक्रा जोडेर फाइबर र रेजिन मिलाएर राखेपछि अन्तिम रूप तयार भयो,’ उनले भने ।

    तेस्रो चरणमा मात्रै प्रदर्शनमा राख्न मिल्ने मूर्ति तयार भएको उनले बताए । जनावर र मानिसको शरीरजस्तो देखिनेगरी ‘मिक्स’गरेर मूर्ति बनाइएकाले यसलाई मस्कट भनिएको उनको भनाइ छ ।

    मस्कट बनाउन कम्तीमा दुई महिना लाग्नेमा हतारमा बनाउनु परेकाले मूर्तिकारको टिमले १० दिनमा तयार पारेको उनले बताए ।

    ‘दिनमा मात्रै गरेर सम्भवै थिएन । तीन टोली बनाएर १० दिनमा मूर्ति तयार गरियो,’ उनले भने । मूर्तिमा प्रयोग हुने फाइबर र रेजिनको मूल्य अत्यधिक बढेकाले मस्कटको लागत पनि बढेको उनले बताए ।

    ‘कच्चा पदार्थ भारतबाट आयात हुन्छ । पहिला केजीको २७० रुपैयाँसम्म पर्ने रेजिन अहिले केजीको चार सय रुपैयाँसम्म परेको छ,’ उनले भने, ‘डेढ लाख जति त कच्चा पदार्थमै प्रयोग भएको छ । मूर्तिकारको पारिश्रमिक पनि जोड्दा साढे तीन लाखभन्दा बढी लागत पुगेको छ ।’ मस्कट राख्नको लागि महाधिवेशन उद्घाटन स्थलमा बेस बनाउने काम भइरहेको छ ।

    भरतपुर महानगरपालिका-९ गोन्द्राङका मूर्तिकार सूर्यले गैँडाको मस्कटको मूर्ति पहिलो पटक बनाएका हुन् । उनले व्यावसायिक रूपमा मूर्ति बनाउन थालेको २० वर्ष भइसक्यो ।

    विशेषगरी उनले गैँडालगायतका जंगली जनावर, बुद्ध र शहीदका मूर्ति बनाउने गरेका छन् । उनले सुनसरी, उदयपुर, बुटवललगायतका स्थानमा गएर पनि मूर्ति बनाउने गरेका छन् ।

  • एमाले महाधिवेशन‍- यी नेता आजैदेखि चितवन बस्ने, अध्यक्ष ओली भोलि पुग्ने

    एमाले महाधिवेशन‍- यी नेता आजैदेखि चितवन बस्ने, अध्यक्ष ओली भोलि पुग्ने

    चितवन । शुक्रबारदेखि चितवनमा हुने १० औं महाधिवेशनको लागि एमालेका केन्द्रीय नेताहरू चितवन आउने क्रममा छन् ।

    बुधवार मूल आयोजक समितिका संयोजक राम बहादुर थापा बादल, सहसंयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल आउने भएका छन् ।

    उनीहरू बुधवार देखि चितवनमै रहने एमाले नेता राम प्रसाद न्यौपानेले जानकारी दिए । ‘उहाँहरू आजै आउनुहुन्छ र यतै बस्नुहुन्छ’ उनले भने, ‘यतैबाट महाधिवेशनको तयारीमा जुट्ने कार्यक्रम रहेको छ ।’

    पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू भने बिहीबार चितवन पुग्ने छन् । चितवनमै एमाले केन्द्रीय कमिटिको अन्तिम बैठकको तयारी भइरहेको छ ।

    १० गते नारायणी नदी किनारमा १० औं महाधिवेशनको उद्घाटन सत्र सुरु हुने छ । बन्द शत्र भने सौराहमा गर्ने तयारी भइरहेको छ । अहिले नारायणी नदी किनारमा मन्च निमार्णको काम जारी रहेको छ ।

  • एमाले महाधिवेशनस्थलप्रति प्रचण्डको आपत्ति- चितवनमा कुन पार्टीको शक्ति कति ?

    एमाले महाधिवेशनस्थलप्रति प्रचण्डको आपत्ति- चितवनमा कुन पार्टीको शक्ति कति ?

    चितवन । पर्यटकीय शहर चितवन अहिले राजनीतिको हब बनेको छ । नेकपा एमालेले चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने स्थल चितवन नै छानेपछि माओवादी अध्यक्ष प्रचण्डले मुखै खोलेर ‘मलाई सिध्याउन खोजियो’ भनिसकेका छन् ।

    एमालेले चितवनमा महाधिवेशन आयोजना गर्ने भनेपछि प्रचण्ड यसबीचमा ६ पटक त्यहाँ पुगिसकेका छन् भने पछिल्लो पटक त संघीय सरकार र प्रदेश सरकारका ७ जना मन्त्री तथा उच्च सरकारी अधिकारीहरुसहितको विकास वहस नै आयोजना गरेका छन् ।

    प्रचण्डले जतिपटक चितवन गए, त्यति नै पटक एमालेले आफूलाई सिध्याउन र माओवादी कमजोर पार्न निहुँ खोजेर महाधिवेशन गर्न लागेको बताएका छन् । उनले चितवनलाई माया गरेकोमा केपी ओली र एमालेलाई धन्यवाद समेत भनिरहेका छन् ।

    प्रचण्डको पटक पटकको अभिव्यक्तिको जवाफ ओलीले मंगलवार राधजानी काठमाडौंमा दिए । उनले प्रचण्ड उम्मेदवार भएको ठाउँमा एमालेले महाधिवेशन नै गर्न नपाउने हो भने ठाउँ खोज्नै मुस्किल पर्ने भनेर व्यंग्य गरे ।

    ओलीले भने, ‘रोल्पामा गरौं भने उहाँ पहिले नै त्यहाँ उम्मेदवार बनेको ठाउँ । सिराहा गरौं भने दोस्रो पटक उम्मेदवार बनेको ठाउँ । काठमाडौंमा पनि उहाँ उम्मेदवार बनिसक्नुभएको । पछिल्लो पटक उहाँ चितवनमा उम्मेदवार बन्नुभयो । अब उहाँ उम्मेदवार बनेको ठाउँमा महाधिवेशन नै गर्न नपाइने हो भने भोलि म त्यो बाटो हिड्दा पनि मलाई नै सिध्याउन आयो भन्नुहोला ।’

    प्रचण्डले भनेजस्तै एमालेले चितवनमा महाधिवेशन गरेर उनलाई र माओवादीलाई सिध्याउन खोजेको हो त ? के चितवन माओवादीका गढ हो ? एमालेले माओवादीलाई र प्रचण्डलाई नै कमजोर बनाउँदा उसलाई फाइदा हुने हो ? यसका धेरै आयाम छन् ।

    राजनीतिक दलको शक्ति मापन भनेको मूलरुपमा जनमतबाटै हुने हो । चितवनमा अहिलेसम्मका चुनावी नजिताहरुलाई हेर्ने हो भने प्रचण्डले दावी गरेजस्तो देखिन्न । चितवनमा आजको मितिमा पनि एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् भने माओवादी तेस्रो शक्ति हो ।

    २०६४ सालको माहोलमा समेत चितवनमा क्लिन स्वीप गर्न नसकेको माओवादी त्यसयता खस्किँदै गएको जनमतहरुले देखाउँछ । २०७४ को स्थानीय चुनावमा कांग्रेसको सहायताले माओवादीले भरतपुरमा मेयर जित्न सकेको थियो, त्यो पनि मपतत्र च्यातेर दोस्रोपटक मतदान गराएपछिमात्र ।

    त्यसको लगत्तै भएको आम निर्वाचनमा प्रचण्ड आफैं एमालेको सहयोगमा सांसद जितेका थिए । प्रचण्डकै क्षेत्रमा पनि माओवादी तेस्रो दल हो । सो क्षेत्रमा प्रचण्ड उम्मेदवार हुँदा समानुपातिकतर्फ कांग्रेसले २६ हजार १३७,एमालेले २४ हजार १५५ र माओवादीले २२ हजार ९८८ मत पाएको थियो ।

    समग्र जिल्लाको समानुपातिक मत हेर्ने हो भने एमाले सबैभन्दा ठूलो दल छ । एमालेले ९३ हजार ५३४ मत पाउँदा माओवादी त्यसको आधाभन्दा कम अर्था ४२ हजार ८५१ मा सिमित भएको थियो भने कांग्रेसले माओवादीभन्दा करीव दोब्बर ८१ हजार १०४ मत पाएको थियो ।

    त्यसअघि स्थानीय चुनावको परिणाम हेर्दा पनि एमाले एक्लै सबैभन्दा ठूलो दल बनेको थियो । एमालेले महाधिवेशन गर्न लागेको पूर्वी चितवनका चारवटै नगरपालिकामा माओवादीले एउटा वडा सदस्य समेत जित्न सकेको थिएन भने एमालेले सबै नगरपालिका जितेको छ ।

    चितवनका ७ स्थानीय तहमध्ये राप्ती,खैरहनी,कालिका र रत्ननगर नगरपालिकामा प्रमुख उपप्रमुखसहित बहुमत एमालेले जितेको छ । त्यस्तै माओवादीले मेयर जितेको माडी नगरपालिकामा पनि उपमेयरसहित बहुमत एमालेको छ ।

    कांग्रेसको समर्थनमा माओवादीले भरतपुरको मेयर जितेको थियो भने कांग्र्रेसले इच्छाकामना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र भरतपुरको उपमेयर जितेको थियो ।

    जिल्लाभरका ९८ वडामध्ये एमालेले ५७ वडाध्यक्ष जित्दा कांग्रेसले ३५ र माओवादीले जम्मा ६ वटा वडाध्यक्ष जितेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । एमालेका निर्वाचित ४ जना वडाध्यक्षबाहेक अरु सबै सोही पार्टीमा देखिन्छन् ।

    चितवनमा एमालेले महाधिवेशन गरेर प्रचण्डलाई आगामी चुनाव सुरक्षित छैन भन्ने सन्देश दिन खोज्नु बेग्लै कुरा हो तर प्रचण्डले दावी गरेजस्तो एमालेको प्रतिस्पर्धी चितवनमा माओवादी होइन कांग्रेस नै हो । यदि झस्किने हो भने प्रचण्ड होइन कांग्रेस नेताहरु झस्किनुपर्ने थियो ।

    आजको अवस्थामा पनि प्रचण्डले चितवनबाट चुनाव जित्न कांग्रेस वा एमालेमध्ये एउटा पार्टीको सहयोग लिनुपर्छ । त्यसैले एमालेले महाधिवेशन चितवनमा गर्दैमा प्रचण्ड वा माओवादी कमजोर हुने भन्ने तर्कमा दम देखिँदैन ।

    बरु प्रचण्डले यहि मेसोमा ‘इमोसनल’ कुरा गरेर चितवनवासी र देशकै ध्यान आफूतिर खिच्न खोजेको भने बुझ्न सकिन्छ । एउटा के कुरा सत्य हो भने प्रचण्डका बाबु छोरीले नै आफ्नो शक्ति लगाएर चितवनको विकासका लागि बजेटको ओइरो भने लगाएकै छन् । त्यसको प्रतिफल भने चितवनबासीले नै महशुस गर्ने कुरा हो ।

    कुन स्थानीय तहमा को बलियो ?

    स्थानीय तहमा एमालेबाट निर्वाचित हुने जनप्रतिनिधि धेरै छन् । दलित वा अल्पसंख्यक सदस्यबाहेक ५ सय १ जना जनप्रतिनिधिको विवरण केलाउँदा २ सय ९१ जना एमाले, १ सय ७७ जना कांग्रेस र ३२ जना माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु छन् । रत्ननगर, खैरहनी, कालिका, राप्ती नगरपालिकामा मेयर–उपमेयर दुबैमा एमालेकै नेतृत्व छ । इच्छाकामना गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र भरतपुर महानगरको उपमेयरमा कांग्रेसको नेतृत्व छ ।

    भरतपुर महानगर र माडी नगरपालिको मेयरमा माओवादी केन्द्रको नेतृत्व छ । चितवनमा दलित वा अल्पसंख्यक सदस्यतर्फका २० जना निर्वाचित भएकामध्येबाट माओवादीतर्फ १, एमालेका १८ र कांग्रेसका १ जना छन् । एमालेबाट निर्वाचित दलित वा अल्पसंख्यक सदस्य सहितका ३ सय ९ जनप्रतिनिधिमध्ये ३६ जना पार्टी विभाजनपछि एकिकृत समाजवादीमा लागेका छन् । जसमध्ये ११ जना वडाध्यक्ष र २५ जना सदस्यहरुले एमाले त्यागेका छन् । यो संख्या घटाउँदा पनि एमाले पहिलो स्थानमै देखिन्छ । महानगरमा कांग्रेस र एमालेले १३–१३ वटा वडामा वडाध्यक्ष, ५६–५६ जना वडा सदस्यहरुमा जितेको थियो । भरतपुरमा माओवादीसँगको गठबन्धनमा उम्मेदवार बनेकी कांग्रेसकी पार्वती शाहले मेयर रेनुभन्दा ४ हजार ६९ बढी मत ल्याएकी थिइन् । शाहले एमाले नेतृलाई ७ हजार ६ सय ७१ मतले हराएकी थिइन् ।

    माडीमा मेयर, ३ वडाध्यक्ष, १४ सदस्यहरु सहित १८ जना माओवादीबाट निर्वाचित थिए । एमालेबाट १ उपमेयर, ५ जना वडाध्यक्ष, १९ जना सदस्यहरु निर्वाचित थिए । कांग्रेसबाट १ वडाध्यक्ष सहित ३ जना निर्वाचित थिए ।

    रत्ननगरको १६ वडाहरुमध्ये एमालेबाट १० जना वडाध्यक्ष, ४० जना सदस्यहरु सहित मेयर र उपमेयर निर्वाचित थिए । कांग्रेसबाट ६ जना वडाध्यक्षहरु, २४ जना सदस्यहरु निर्वाचित थिए । एमालेबाट निर्वाचित मेयर नारायण वनले कांग्रेसलाई १ हजार ४ सय ५०, माओवादीलाई ११ हजार मतान्तरले हराएका थिए । उपमेयर विमलादेवी दवाडीले पनि कांग्रेस र माओवादी सोही बराबरी मतान्तरले हराएकी थिइन् ।

    १३ वडाहरु रहेको खैरहनीमा एमालेबाट मेयर, उपमेयर, ७ जना वडाध्यक्ष, ३१ जना सदस्यहरु निर्वाचित भए । कांग्रेसबाट ६ जना वडाध्यक्ष, २१ जना सदस्यहरु निर्वाचित थिए । मेयर लालमणी चौधरीले कांग्रेसलाई ८ सय ८४, माओवादीलाई ७ हजार ५ सय ७० मतान्तरले हराएका थिए । उपमेयर सुनिता खरेलले पनि मेयरकै बराबरी मत ल्याएकी थिइन् ।

    ११ वडाहरु रहेको कालिकामा एमालेबाट मेयर, उपमेयर, ६ जना वडाध्यक्ष, २६ जना सदस्यहरु निर्वाचित थिए । कांग्रेसबाट ५ जना वडाध्यक्ष, १७ जना सदस्यहरु निर्वाचित बनेका थिए । मेयर खुमनारायण श्रेष्ठले कांग्रेस उम्मेदवारलाई ३ सय २८, माओवादी उम्मेदवारलाई ५ हजार १ सय १४ मतान्तरले पराजित गरेका थिए । उपमेयर कमला भट्टराईले पनि हाराहारीकै मतान्तरले पराजित गरिन् ।

    १३ वडा रहेको राप्तीमा एमालेबाट मेयर, उपमेयर, ११ जना वडाध्यक्ष, ४३ जना सदस्यहरु निर्वाचित भए । कांग्रेसबाट २ जना वडाध्यक्ष, ७ जना सदस्यहरु निर्वाचित भए । मेयर प्रभा बरालले कांग्रेस उम्मेदवारलाई ४ हजार ३ सय २१, माओवादीलाई ९ हजार १ सय १८ मतान्तरले पराजित गरिन् । उपमेयर इमानसिंह मुक्तानले पनि सोही बराबरकै मतान्तरले पराजित गरे । ७ वडाहरु रहेको इच्छाकामना गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष, ३ जना वडाध्यक्ष, ११ जना सदस्यहरु निर्वाचित भए । एमालेबाट ३ जना वडाध्यक्ष, ११ सदस्यहरु निर्वाचित थिए । माओवादीबाट १ जना वडाध्यक्ष, ५ जना सदस्यहरु निर्वाचित थिए ।

    प्रदेशसभा-प्रतिनिधिसभाको चुनावी तराजु

    चितवनमा प्रतिनिधिसभा निर्वाचनका लागि ३ र प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्रहरु छन् । पार्टी एकताको लक्ष्य सहित चुनावी गठबन्धनमा होमिएका एमाले र माओवादी २०७४ सालको चुनावमा मिलेर गए । कांग्रेस नेताहरु फराकिलो मतान्तरले हार्न पुगे । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका लागि १ र २ एमाले र ३ मा माओवादी केन्द्रले पायो । क्षेत्र नम्बर १ मा एमाले नेता सुरेन्द्र पाण्डेले कांग्रेस उम्मेदवारलाई १५ हजार ३ सय ६० मतान्तरले पराजित गरे । क्षेत्र नम्बर २ मा एमाले नेता कृष्णभक्त पोखरेलले १७ हजार ३ सय ५६ मतान्तरले कांग्रेस उम्मेदवारलाई पराजित गरे । क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको साथ पाएका राप्रपा नेता विक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले हराएका थिए ।

    यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र १ (क)मा एमालेका दावादोर्जे लामाले ७ हजार २९ मतान्तरले, प्रदेश १ (ख) मा तत्कालिन एमाले नेता कृष्ण शर्मा खनालले ८ हजार ७ सय २२ मतान्तरले हराए । खनाल हाल एकिकृत समाजवादी पार्टीमा लागेका छन् । उनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । यी दुवै प्रदेश क्षेत्र मिलेर बनेको क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे एमालेको स्थायी कमिटि सदस्य छन् ।

    प्रदेश २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहालले कांग्रेसका उम्मेदवारलाई ४ हजार ७ सय १८ मतान्तरले हराएका थिए । २ (ख) मा एमालेका विजय सुवेदीले कांग्रेसका उम्मेदवारलाई ८ हजार ९ सय २ मतान्तरल हराएका थिए । यी दुवै मिलेर बनेको क्षेत्र नम्बर २ बाट निर्वाचित कृष्णभक्त पोखरेल पार्टीको महाधिवेशनमा केन्द्रीय नेतृत्वमा जान खोजिरहेका छन् ।

    प्रदेश ३(क) मा एमाले नेता कृष्णप्रसाद भुर्तेलले कांग्रेसका उम्मेदवारलाई १ हजार ७ सय ४० मतान्तरले हराएका थिए । प्रदेश ३(ख) मा माओवादी केन्द्रका रामलाल महतोले कांग्रेस उम्मेदवारलाई ७ हजार १ सय १६ मतान्तरले हराएका थिए । यी दुवै क्षेत्र मिलेर बनेको निर्वाचत क्षेत्र नम्बर ३ बाट पूर्वप्रधानमन्त्री प्रचण्डले जितेका थिए ।

    चितवनमा निर्वाचनको इतिहास

    चितवनको निर्वाचन क्षेत्र बेलाबखत फेरबदल भइरहेको छ । २०४८ सालमा ३ निर्वाचन क्षेत्र थियाे भने २०५१ काे मध्यावधी चुनावमा ४ क्षेत्र बन्यो । त्यसपछि २०६४ सालमा ५ वटा निर्वाचन क्षेत्र कायम गरियो । २०७४ सालमा फेरी घटाएर ३ वटा बनाइएको छ ।

    २०४८ सालको चुनावमा चितवन क्षेत्र नम्बर १ मा एमालेबाट जागृतप्रसाद भेटवाल, २ मा तत्कालीन नेकपा (प्रजातन्त्रवादी) का भीमबहादुर श्रेष्ठ र ३ मा तत्कालिन संयुक्त जनमोर्चा नेपालका अमिक शेरचन विजयी बने ।

    २०५१ को चुनावमा एमालेबाट क्षेत्र नम्बर १ मा जागृतप्रसाद भेटवाल, २ मा काशिनाथ अधिकारी, कांग्रेसबाट क्षेत्र नम्बर ३ मा गंगाधर लम्साल, ४ मा तीर्थराज भुषाल विजयी बने । २०५६ को चुनावमा ४ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित्यो । १ मा सावित्रि बोगटी पाठक, २ मा एकनाथ रानाभाट, ३ मा गंगाधर लम्साल, ४ मा नारायणशर्मा पौड्याल विजयी बने ।

    २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ५ निर्वाचन क्षेत्रमध्ये ४ वटामा माओवादी र १ वटामा एमालेले जित्यो । २०६४ मा कांग्रेस शून्य बन्यो । क्षेत्र नम्बर १ मा एमालेका लालमणि चौधरी, माओवादीबाट २ मा माओवादीका रामबहादुर थापा वादल, ३ मा नारायणप्रसाद दाहाल, ४ मा चित्रबहादुर श्रेष्ठ, ५ मा अमिक शेरचन विजयी बने ।

    २०७० सालको चुनावमा माओवादी शून्य बन्यो । एमालेबाट क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे, ३ मा कृष्णभक्त पोखरेल, कांग्रेसबाट २ मा शेषनाथ अधिकारी, ४ मा तत्कालीन कांग्रेसका केन्द्रीय सभापति सुशील कोइराला र ५ मा राप्रपा नेता विक्रम पाण्डे विजयी बने । क्षेत्र नम्बर ४ मा भएको उपनिर्वाचनमा कांग्रेसकै रामकृष्ण घिमिरे विजयी बने ।

    २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा लालटिन चुनाव चिन्ह लिएर बखानसिंह गुरुङ, बत्ति बलेको दियो चुनाव चिन्ह लिएर सन्तकुमार चौधरी विजयी बने । २०४३ सालको पञ्चायत सदस्य चुनावमा जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठ चितवनबाट विजयी बने । जनमत संग्रहका बेला चितवनबाट ३९ हजार ७ सय ३१ मत बहुदल र ३१ हजार २ सय १९ मत निर्दलका पक्षमा खसेको थियो ।

  • एमालेको केन्द्रीय सदस्यमा अनुभूतिबम नेपालीको उम्मेदवारी घोषणा

    एमालेको केन्द्रीय सदस्यमा अनुभूतिबम नेपालीको उम्मेदवारी घोषणा

    काठमाडौं । नेकपा एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालीले चितवनमा हुन लागेको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    नेता नेपालीले दलित समुदायका मुद्धालाई पार्टी र राज्यको नजरमा स्थापित गर्न एजेन्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए । ‘मैले पार्टीमा झण्डै तीन दशकदेखि काम गरिरहेको छु । विद्यार्थी बेलादेखि संगठनमा लागेर, दलित, महिला र युवाको क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव छ, समुदायसँग जोडिएर जनताको चाहना र भावनाबमोजिम चल्नसक्ने पार्टी बनाउनुपर्छ भनेर लागिरहेको छु,’ उनले भने, ‘मेरो उम्मेदवारी त्यसैकालागि हो ।’

    उनले दलित समुदायमाथि राज्यले गर्दै आएको विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफू निरन्तर लड्दै आएको भन्दै त्यस्तो विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफूले भूमिका खेल्ने बताए । तेह्रथुमका नेता नेपाली जिल्लाको राजनीतिमा प्रभावशाली नेता हुन् ।

    गैरसरकारी संघसंस्था र सामाजिक क्षेत्रमार्फत् नेपालीले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । ०५३ सालमा नेकपा एमालेको सदस्यता लिएका नेपाली हाल प्रदेश नं. १ संगठन कमिटी सदस्य छन् ।

    उनी ०५५ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष भए । त्यसअघि ०५२ सालमै दलित मुक्ति समाजको जिल्ला सचिव भएका थिए । उनले मुक्ति समाजका विभिन्न तहमा बसेर काम गरिसकेका छन् । उनी समाजको केन्द्रीय कमिटी सचिव समेत भए । उनी नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य र सामाजिक सेवा तथा समावेशीकरण फाँट ईन्चार्ज भएर काम गरे ।

    त्यस्तै, उनी ०६८ सालदेखि नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय प्रचार विभाग सदस्य र कोशी अञ्चल समन्वय कमिटी सदस्यमा रही समावेशीकरण तथा सुरक्षा विभाग प्रमुखको रुपमा काम गरिसकेका छन् । दलित समुदायको सामान्य परिवारमा ०३० सालमा जन्मिएका नेपाली स्नात्तकोत्तर हुन् ।

    ‘मैले विद्यार्थी राजनीति गरेँ । पार्टीका विभिन्न तहमा बसेर काम गरिसकेको छु, मैले ग्राउण्ड लेवलको राजनीतिमा लामो समय लगाएको छु, मलाई पार्टीका नेता कार्यकर्ता साथीहरुले नजिकबाट बुझ्नुभएको छ, त्यही आधारमा सबैको साथ सहयोग पाउँछु भन्ने आशा लिएको छु,’ नेपालीले भने ।

    नेता नेपाली ९ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर ९ गतेदेखि चितवनमा हुँदैछ ।

  • सामूहिक फोटोसुट गर्दै सकियो एमाले स्थायी कमिटीको अन्तिम बैठक

    सामूहिक फोटोसुट गर्दै सकियो एमाले स्थायी कमिटीको अन्तिम बैठक

    काठमाडाैं । ९ औं महाधिवेशनबाट निर्वाचित नेकपा एमाले स्थायी कमिटीको अन्तिम बैठक मंगलबार बसेको छ । तुल्सिलाल स्मृति प्रतिष्ठानमा बसेको अन्तिम बैठकपछि सामूहिक फोटोसुट गर्दै नेताहरु छुट्टिए ।

    १० औं महाधिवेशनको संघारमा रहेको एमालेले मंगलबारको स्थायी कमिटी बैठकबाट पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको थियो । बैठकले १०३ जना मनोनयनका लागि सिफारिस गर्न नाम प्रस्ताव गरेको हो ।

    यस्तै अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन पनि मंगलबारको बैठकले गरेको छ । बैठकले उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेलसहितको अध्यक्ष मण्डल गठन गरेको हो ।

    त्यस्तै अध्यक्ष मण्डलमा सुवास नेम्वाङ, रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकाटा रहेका छन् ।

    बैठकले सचिव पृथ्वीसुब्बा गुरुङसहितको माइन्युट कमिटी समेत गठन गरकेो छ । कमिटीमा नेताहरु सुर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

    स्थायी कमिटी बैठकमा महाधिवेशन प्रतिनिधिको बारेमा समेत छलफल भएको छ । हालसम्म रौतहट, महोत्तरीसहित केही ठाउँका प्रतिनिधि चयन हुन बाँकी रहेको एमालेले जनाएको छ ।

    मंगलबारको स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न पार्टीको केन्द्रिय कमिटीको अन्तिम बैठक चितवनमा गर्ने निर्णय गरेको छ ।

  • एमाले केन्द्रीय कमिटी सदस्यमा माधव ढुंगेलको उम्मेदवारी घोषणा

    एमाले केन्द्रीय कमिटी सदस्यमा माधव ढुंगेलको उम्मेदवारी घोषणा

    काठमाडौं। नेकाप (एमाले) का युवा नेता माधव ढुंगलले १० औं महाधिवेशनका लागि केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

    नवौं महाविधेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका ढुंगलले मंगलबार केही पत्रकारहरुमाझ उम्मेदवारीको घोषणा गरेका हुन्।

    ढुंगले अनेरास्वबियूका पूर्व अध्यक्ष हुन भने राष्ट्रिय युवा परिषदमा दुई कार्यालकाल उपाध्यक्ष समेत बनिसकेका छन्।

    रामेछापका ढुंगले युवामाझ लोकप्रिय मानिन्छन् । केन्द्रीय सस्यमा निर्वाचित भए पार्टीलाई वैचारिकरुपमा प्रष्ट बनाउने र संगठन सुद्धृढ गर्ने आफ्नो योजना रहेको उनले बताए।

  • एमाले महाधिवेशन प्रतिनिधि २ हजार ३ सय २७ पुगे

    एमाले महाधिवेशन प्रतिनिधि २ हजार ३ सय २७ पुगे

    काठमाडौं। नेकपा (एमाले) को १० औं महाधिवेशनका प्रतिनिधि संख्या बढेर २ हजार ३ सय २७ पुग्ने भएका छन्। सचिव योगेश भट्टराईका हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना छ । निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ रहेका छन् ।

    त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ । त्यस्तै कूल सदस्यको ५ प्रतिशत मनोनित गर्दा १ सय ३ जना गरी महाधिवेशन हुने छन्।

    यसअघि एमालेले महाधिवेशन प्रतिनिधि १ हजार ९ सय ९९ जना हुने जनाएको थियो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले यो बीचका करिब डेढ लाख सदस्य थपिएकाले प्रतिनिधि संख्या तोकिएको भन्दा बढी भएको बताए। तामाङका अनुसार एमालेका संगठित सदस्य ८ लाख ५५ हजार ४ सय ५३ पुगेका छन्।

  • एमाले महाधिवेशनमा एक तिहाई महिला प्रतिनिधि, दलितबाट करीव २ सय निर्वाचित

    एमाले महाधिवेशनमा एक तिहाई महिला प्रतिनिधि, दलितबाट करीव २ सय निर्वाचित

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा कुल प्रतिनिधिको करीव एक तिहाई महिला निर्वाचित भएका छन् ।

    एमाले महाधिवेशनमा कुल ५७६ महिला प्रतिनिधिले भाग लिनेछन् भने कम्तिमा ३३ प्रतिशत केन्द्रीय सदस्य महिला निर्वाचित हुनेछन् ।

    स्थायी कमिटी बैठकमा पेश भएको विवरण अनुसार देशभरबाट १९५ दलित प्रतिनिधि चयन भएका छन् । तीमध्ये ६२ जना दलित महिला रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    एमाले महाधिवेशनका लागि हालसम्म १८८९ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने २३८जना पदेन प्रतिनिधि हुने एमालेले जनाएको छ । त्यस्तै १०३ जना केन्द्रीय कमिटीबाट मनोनित हुनेछन् ।

  • महाधिवेशनका लागि एमालेले गठन गर्यो अध्यक्ष मण्डल र माइन्युट कमिटी (सूचीसहित)

    महाधिवेशनका लागि एमालेले गठन गर्यो अध्यक्ष मण्डल र माइन्युट कमिटी (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले दशौंं राष्ट्रिय महाधिवेशन सन्चालन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।

    स्थायी कमिटीको मंगलवार साँझ बसेको बैठकले उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेलसहितको अध्यक्ष मण्डल गठन गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    त्यस्तै अध्यक्ष मण्डलमा सुवास नेम्वाङ, रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकाटा रहेका छन् ।

    बैठकले सचिव पृथ्वीसुब्बा गुरुङसहितको माइन्युट कमिटी समेत गठन गरकेो छ । कमिटीमा नेताहरु सुर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

    स्थायी कमिटी बैठकमा महाधिवेशन प्रतिनिधिको बारेमा समेत छलफल भएको छ । हालसम्म रौतहट,महोत्तरीसहित केही ठाउँका प्रतिनिधि चयन हुन बाँकी रहेको एमालेले जनाएको छ ।

    स्थायी कमिटीले कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत अर्थात १०३ जना मनोनयनका लागि सिफारिस गर्न नाम प्रस्ताव गरेको छ ।

  • एमाले नेतृत्वमा पदाधिकारीसहित चितवनबाट १२ आकांक्षी, ६ नयाँ अनुहार

    एमाले नेतृत्वमा पदाधिकारीसहित चितवनबाट १२ आकांक्षी, ६ नयाँ अनुहार

    चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा चितवनबाट केन्द्रीय नेतृत्वमा १२ जनाले दावी गर्ने भएका छन् । २ जनाले पदाधिकारीमा र अन्य १० जनाले केन्द्रीय सदस्यमा दावी गरेका छन् । दाबेदारमध्ये ६ जना नयाँ अनुहार छन् ।

    आकांक्षीहरूले उम्मेदवारी दिन्छन्, या सहमतिमै नेतृत्वमा पुग्छन् त्यो भने केही दिन कुर्नु पर्नेछ । पूर्वअर्थमन्त्री तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव वा सोभन्दा माथिको पदमा दाबी गर्ने बताइसकेका छन् । पूर्वगृहमन्त्री तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले बरिष्ठ उपाध्यक्ष पदको दाबी गरेका छन् । उनी महाधिवेशन आयोजक मूल समितिका संयोजक समेत हुन् । यस्तै केन्द्रीय सदस्यहरुमा दाबी गर्नेमा पुराना केन्द्रीय सदस्यहरू काशिनाथ अधिकारी, सीता पौडेल, देवी ज्ञवाली, कपिल पोखरेल छन् ।

    केन्द्रीय सदस्यका दाबेदार अन्यमा कृष्णभक्त पोखरेल, दीलकुमारी रावल ‘पार्वती’, विजय सुवेदी, जेएन थपलिया, दावादोर्जे लामा, बाबुराम खरेल छन् । काशिनाथ अधिकारी प्रदेश सह-इञ्चार्ज, चितवन इञ्चार्ज हुन् । २०४० सालमा चितवन अध्यक्ष बनेकी सीता पौडेल गण्डकी प्रदेश प्रमुख समेत बनेकी थिइन् । उनी अनेमसंघको केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री ओलीका पालामा विज्ञ समूहमा समेत थिइन् । देवी ज्ञवाली २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरमा मेयरमा पराजित भएका थिए । भूमि सम्बन्धी समस्या समाधान आयोगमा अध्यक्ष भएर काम गरेका थिए ।

    हालका केन्द्रीय सदस्य कपिल पोखरेल पुराना एमाले नेता हुन् । कृष्णभक्त पोखरेल प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति हुन् । उनी २ पटक सांसद बनिसकेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल पार्वती हाल एमाले चितवनकी अध्यक्ष हुन् । उनी तत्कालीन एमाले चितवनको सचिवमा निर्वाचित भएकी थिइन् ।
    २ पटक एमाले चितवनको नेतृत्व सम्हालेका विजय सुवेदी वागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत बनेका थिए ।

    वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलको राजनीतिक सल्लाहकार बनेका जेएन थपलिया एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष हुन् । बागमी प्रदेशको भूमि, कृषि तथा सहकारी विकास मन्त्री बनेर काम गरिसकेका दावा दोर्जे लामाले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । हाल वागमती प्रदेश कमिटी सदस्य बाबुराम खरेलले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । गुल्मीमा एमालेको संगठन बनाउन सक्रिय बनेका खरेल चितवन बसाइँ सरी आएपछि करिब १० वर्ष माओवादीको राजनीतिमा लागेका थिए । पछि पार्टी विभाजनपछि उनी बादल नेतृत्वको पार्टीमा लागेका थिए । बादल समूहबाट महाधिवेशन प्रतिनिधि रहेका एमाले चितवनका सचिव प्रकाश खनाल शैलेशले सहमति भए केन्द्रीय सदस्यमा दावी गर्ने तयारी गरेका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशन १०-१२ मंसिरसम्म चितवनमा हुँदैछ ।

  • एमाले केन्द्रीय कमिटीमा हुँदैछ युवा महिलाको ‘सामूहिक डेब्यू’, क-कसले गर्दैछन् तयारी ? (सूचीसहित)

    एमाले केन्द्रीय कमिटीमा हुँदैछ युवा महिलाको ‘सामूहिक डेब्यू’, क-कसले गर्दैछन् तयारी ? (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले पहिलो पटक संविधान बमोजिम पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित गर्ने भएपछि युवा महिलाले सामूहिक प्रवेश पाउने सम्भावना देखिएको छ ।

    २२५ सदस्यीय केन्द्रीय कमिटीमा कम्तिमा ३३ प्रतिशत अर्थात ७५ जना महिला केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । हाल एमालेको केन्द्रीय कमिटीमा १९८ सदस्य छन् तीमध्ये २८ जनामात्र महिला छन् ।

    यस हिसाबले दशौं राष्ट्रिय महाधिवेशनबाट हालका महिला नेता कायमै रहँदा पनि करीव ५० जना नयाँ अनुहार केन्द्रीय कमिटीमा इन्ट्री हुनेछन् ।

    भूगोलमा काम गरिरहेका धेरै महिला यसपटक केन्द्रीय सदस्यमा आउँदैछन् । पदाधिकारीमै राधा ज्ञवाली, डा.विन्दा पाण्डे, पद्मा अर्याल, थममाया थापा लगायतका महिलाले दावी गरेका छन् ।

    विशेषगरि अनेरास्ववियू र युवा संघको नेतृत्वमा रहेर देशभर नेटवर्क बनाएका युवा महिलाको ठूलै संख्या यसपटक एमालेको केन्द्रीय कमिटीमा प्रवेशको प्रयासमा छ ।

    विद्या भट्टराई

    २० वर्षअघि नै अनेरास्ववियुको शीर्ष नेतृत्वमा रहेकी विद्या भट्टराईदेखि वर्तमान अध्यक्ष सुनिता बरालसम्म यसपटक एमाले नेतृत्वमा आउने प्रयासमा छन् । विद्यार्थी राजनीतिबाट प्राध्यापनमा लागेकी विद्या भट्टराई राजनीतिमा कमब्याक भएसँगै यसपटक केन्द्रीय सदस्यको स्वभाविक दाबेदार हुन् ।

    लोकप्रिय युवा नेता रविन्द्र अधिकारीको निधनपछि कास्कीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित विद्या सोही जिल्लाबाट प्रतिनिधि निर्वाचित भइसकेकी छन् । उनी योगेश भट्टराई अखिल अध्यक्ष हुँदा नै कोषाध्यक्ष थिइन् ।

    नविना लामा

    अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामा यसपटक एमाले केन्द्रीय सदस्य बन्ने चर्चित युवा नेता हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी लामा युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट प्रतिनिधि निर्वाचित भएकी छन् ।

    नवौं महाधिवेशनमा केपी ओली पक्षमा खुलेकी लामा अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि महासचिव हुँदै अध्यक्ष बनेकी हुन् । उनी बानेश्वर क्याम्पसबाट २०६२ को निर्वाचनमा लोकप्रिय मतसहित स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकी थिइन् ।

    क्रान्ति बुर्लाकोटी

    राष्ट्रिय युवा संघबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी क्रान्ति बुृर्लाकोटी एमाले केन्द्रीय कमिटीमा प्रवेश गर्ने नयाँ अनुहार हुन् । युवा संघमा अध्यक्ष किरण पौडेल र उनी सबैभन्दा बरिष्ठ नेता हुन् ।

    उनका पिता गुरु बुर्लाकोटी नेकपा एकीकृत समाजवादीमा रहे पनि उनी र पति डा. सन्तोष पौडेल भने एमालेमा सक्रिय रहेका छन् । उनीहरु दुवैजना एमालेको दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन् ।

    मेनका, सुनिता र कमला

    त्यस्तै अनेरास्ववियुकै केन्द्रीय नेतृत्वमा रहेर हाल भूगोल तथा महिला संघको राजनीतिमा सक्रिय रहेका जुम्लाकी मेनका पछाई, चितवनकी सुनिता अधिकारी, कञ्चनकपुरकी कमला बोहोरा पनि एमाले केन्द्रीय सदस्यका दाबेदार हुन् । त्यस्तै प्रेस चौतारीकी नेतृ निर्मला शर्मा पनि केन्द्रीय सदस्यकी आकांक्षी हुन् ।

    मेनका जुम्लाबाट प्रतिनिधि निर्वाचित भएकी छन् भने सुनिता उत्पीडित दलीत संगठनबाट र बोहोरा कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । भूमि आयोगको जिल्ला अध्यक्ष समेत रहिसकेकी कमला चुनावी प्रतिस्पर्धाबाटै प्रतिनिधि बनेकी हुन् ।

    नयाँदेखि पूरानासम्म

    अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल पनि एमाले केन्द्रीय सदस्यको दावेदार हुन् । फागुनमा राष्ट्रिय सम्मेलन गरेर अखिल नेतृत्वबाट बाहिरिनुपर्ने दबाबमा रहेकी बरालले पनि केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् ।

    त्यस्तै अनेरास्ववियुकी पूर्व नेता तथा प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने पनि केन्द्रीय सदस्यको उम्मेदवार हुन् । एमाले काठमाडौं जिल्ला कमिटी उपसचिव रहिसकेकी न्यौपाने काठमाडौंबाटै प्रतिनिधि छन् ।

    अनेरास्ववियुको राजनीतिमा पार्टीमा लागेकी उषाकिरण तिम्सिना पनि केन्द्रीय सदस्यको दावेदार हुन् । नुवाकोबाट महाधिवेशन प्रतिनिधि बनेकी उषा एमाले अध्यक्षा केपी शर्मा अ‍ोलीको कटु आलोचक मानिन्छिन् ।

    तत्कालीन नेकपा विभाजनमा प्रचण्ड माधव समूहमा रहेकी उषा १० बुँदे सहमतिपछि एमाले विभाजनमा माधव नेपालको साथ छाडेकी थिइन् । उनी घनश्याम भुसालको नेपाल अध्ययन केन्द्रको सदस्य पनि हुन् ।

    युवा सांसद पनि लाइनमा

    प्रतिनिधिसभा सदस्य तथा युवा नेता शान्ति पाख्रिन पनि यसपटक केन्द्रीय सदस्यमा डेब्यु गर्न चाहान्छिन् । माओवादीबाट मारिएका शहीद बुद्धिमान पाख्रिनकी पत्नी शान्ति तीन पटक सांसद भइसके पनि केन्द्रीय कमिटीमा पुग्न पाएकी छैनन् । पाख्रिन स्कूले जीवनदेखि नै अनेरास्ववियुबाट राजनीतिमा आएकी हुन् ।

    राष्ट्रियसभा सदस्य कोमल वलीले पनि एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । एमालेमा नयाँ अनुहार रहेकी उनी दाङबाट महाधिवेशन प्रतिनिधि चुनिएकी हुन् । कुनै बेला राजावादी मानिने कोमल वली राप्रपा केन्द्रीय सदस्य छाडेर एमाले बनेकी थिइन् ।

    लामो समय गैरसरकारी क्षेत्रमा क्रियाशील रहेकी महिला अधिकारकर्मी शर्मिला कार्की पनि यसपटक एमाले केन्द्रीय सदस्यको दाबेदार हुन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि निर्वाचित भएकी कार्की गैरसकारी संस्था महासंघकी पूर्व अध्यक्ष पनि हुन् ।

    त्यस्तै यसपटक एमालेको केन्द्रीय सदस्यमा देखिन सक्ने नयाँ अनुहार हुन् निरु दर्लामी कुँवर । माओवादी जनयुद्धकालमा शीलु नामले चर्चित क्रान्तिकारी नेतृ निरु नेकपा एकता भंग गरेर प्रचण्ड–माधवले केपी ओलीलाई कारवाही गरेपछि ओली पक्षमा लागेकी थिइन् ।

    २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जनमोर्चाका लिलामणी पोखरेललाई सिन्धुली–३ मा छाडेपछि स्वतन्त्र उठेर चुनाव जितेकी निरु हाल एमालेको वागमती प्रदेश कमिटी सदस्य छिन् । उनका पति तत्कालीन विद्रोही माओवादीका केन्द्रीय सदस्य शेरमान कुँवर सैनिक कारवाहीमा मारिएका थिए ।

    अन्य जनसंगठनमा रहेका युवा महिलाले पनि एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दैछन् । जनसांस्कृतिक महासंघमा समेत रहेकी गायिका तथा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकी,किसान महासंघकी जिवन्ती पौडेल लगायतका युवा महिला पनि केन्द्रीय सदस्यका दाबेदार हुन् ।

  • माधव नेपाललाई निम्तो नगरेकोमा के भने ओलीले ? (भिडिओ)

    माधव नेपाललाई निम्तो नगरेकोमा के भने ओलीले ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटेर गएको नेकपा एकीकृत समाजवादी पार्टी नै नभएकोले महाधिवेशनमा निम्तो नगरिएको प्रष्ट्याएका छन् ।

    १०औं महाधिवेशनको सन्दर्भमा सम्पादकसँगको अन्तर्क्रियामा ओलीले भने, ‘पार्टीका रूपमा निम्ता गर्न मिलेन । पार्टी नै होइन भने पार्टी भनेर निमन्त्रणा गर्ने कुरा भएन ।’

    एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ ।

    गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले अनुशासानको कारबाही गरेकाले नेपाललाई बोलाउन नसकिने ओलीले बताए ।

    संचारमाध्यम र कलाकारबाहेक महाधिवेशनमा व्यक्तिगतरूपमा कसैलाई निम्तो नगरिएको उनले बताए ।

    एमालेले दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाललगायत विभिन्न देशका दलहरूलाई निम्ता गरिसकेको छ ।

    एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवैध ढंगले अध्यादेशमार्फत जन्माइएको पार्टीलाई मान्यता नदिएको भन्दै नेकपा एसलाई नबोलाउने यसअघि नै बताएका थिए ।

  • ओलीको नजरमा बरिष्ठ उपाध्यक्ष र महासचिव को ? (भिडिओ)

    ओलीको नजरमा बरिष्ठ उपाध्यक्ष र महासचिव को ? (भिडिओ)

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि आफूले कसैलाई पनि अगाडि नसारेको बताएका छन् ।

    महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले १० औं महाधिवेशमा सहमतिबाट बरिष्ठ उपाध्यक्ष र महासचिव चयन हुन सके राम्रो हुने बताए । तर सहमति जुट्न नसके कसैलाई पनि आफूले कर नगर्ने उनको भनाई छ ।

    उनले भने, ‘महासचिवमा अगाडि कसैलाई मन पराएको छैन । जो छानिन्छ उसैलाई मन पराउँछु । सहमति हुन्छ भने राम्रो, हुदैन भने कसैलाई करकाप गर्दिन । कसैको अवसरमा भाँजो हाल्दिन । मेरो नजरमा सबै नेता उस्तै हुन् ।

  • ओलीले भने- मैले अध्यक्षमा उठ्ने या नउठ्ने निर्णय गरेको छैन

    ओलीले भने- मैले अध्यक्षमा उठ्ने या नउठ्ने निर्णय गरेको छैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको बताएका छन् ।

    महाधिवेशनको सन्दर्भमा सम्पादकहरूसँग अन्तर्क्रियामा ओलीले समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताए । ‘यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई अलिकति नजरअन्दाज गरिँदैन’, उनले भने ।

    अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नभइ आफूप्रति माया र सम्मान देखाएको ओलीले बताए । ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै सहमतिका नाममा कसैलाई करकाप नगर्ने बताएका छन् । प्रतिस्पर्धीकै बीचमा सहमति भएर नेतृत्व छानिने उनको भनाइ छ ।

    ‘मैले मन पराएको बरिष्ठ उपाध्यक्ष त्यो हो- जो या त निर्विरोध हुन्छ, या त सबैभन्दा बढी भोट ल्याएर विजयी हुन्छ ।’

  • एमाले महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकसँग अध्यक्ष केपी ओली (लाइभ)

    एमाले महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकसँग अध्यक्ष केपी ओली (लाइभ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशन, पार्टीको आगामी रणनीतिलगायतका विषयमा पत्रकार सम्मेलन गरिरहेका छन् ।

    विभिन्न छापा, अनलाइन र विद्युतीय सञ्चारमाध्यमका सम्पादक सहभागी सो कार्यक्रममा महाधिवेशनको व्यवस्थापन, नयाँ नेतृत्वसहितको अबको एमालेलगायतका विषयमा जानकारी गराइने बताइएको छ ।