Category: टि २० विश्वकप 2024

  • गौरवपूर्ण प्रदर्शन, नमिठो पराजय

    गौरवपूर्ण प्रदर्शन, नमिठो पराजय

    काठमाडौं । खेलमा हारजित स्वभाविक हो, तर कुनै कुनै हार पचाउन असाध्यै कठिन हुन्छ र त्यसले लामो समय पिडा दिइरहन्छ । आज नेपालले साउथ अफ्रिकाविरुद्ध व्यहोरेको १ रनको पराजय पनि सम्भवतः त्यही कोटीमा पर्छ ।

    एउटा बलियो टेस्ट राष्ट्रलाई नेपालले बलियो टक्कर दियो । टक्कर मात्र दिएको होइन, नेपाल सहज जितको बाटोमा उन्मुख थियो । १७ ओभरको खेल समाप्त हुँदा नेपाललाई चाहिएको थियो केवल १८ रन र हातमा थिए ७ विकेट । टी- २० क्रिकेटमा यो भनेको जितको औपचारिकता मात्रै बाँकी रहेको अवस्था हो ।

    ओपनर आसिफ शेख सुरुदेखि क्रिजमा डटिरहेका थिए । अर्को इन्डमा थिए, नेपालका फिनिसर दिपेन्द्र सिंह ऐरी । कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछानेसहितको लामो ब्याटिङ पंति नेपालसँग सुरक्षित नै थियो । एक ओभर अगाडि नै जित हासिल गर्न सक्ने स्थितिमा थियो नेपाल । समर्थकहरु उत्साव मनाउन ठीक्क परिसकेका थिए । तर, १८ औं ओभरमा नसोचेको ट्विस्ट आइदियो ।

    दक्षिण अफ्रिकाका कप्तानले नेपाललाई रोक्ने अन्तिम प्रयासस्वरुप ताब्राइज साम्सीलाई बल थमाए । स्पिनलाई सहयोग गरिरहेको पीचमा साम्सीले यसअघि दुई विकेट लिइसकेका थिए । उनलाई झेल्न नेपाली ब्याट्सम्यानलाई कठिन भइरहेको थियो । अन्ततः उनले नै खेल दक्षिण अफ्रिको पक्षमा मोडे ।

    १८ औं ओभरको तेस्रो बलमा दिपेन्द्रले विकेट गुमाए । साम्सीले लेग तिर फ्याकेको बललाई स्वीप गर्न खोज्दा दिपेन्द्र बिट भए र बल विकेट किपर क्वीनटन डिकको हातमा पुग्यो । उनले कट बिहाइन्डको अपिल गरे र अम्पायरले औंला उठाए । दीपेन्द्रले भाग्य परिक्षणका लागि रिभ्यू लिए । तर, उनी जोगिन सकेनन् ।

    नेपाललाई सबैभन्दा ठूलो झट्का लाग्यो सोही ओभरको अन्तिम बलमा । नेपालका लागि एंकर रोल खेलिरहेका ओपनर आसिफ शेखलाई साम्सीले शिकार बनाए । उनले अफ साइडमा फ्याकेको बल सार्प स्पिन भयो र आसिफको ब्याटलाई बिट गर्दै स्टम्पलाई चुम्न पुग्यो । नेपाली डगआउट स्तब्ध बन्यो ।

    साम्सीको यो ओभरले खेल रोमाञ्चक मोडमा पुग्यो । नेपाललाई जितका लागि १२ बलमा १६ रन चाहियो । नेपालको ब्याटिङ लामो भएकाले आशा अझै मजबुत नै थियो । गुलशन झा क्रिजमा आए । कुशल मल्ल र गुल्शन झाको विष्फोटक जोडी एक–दुई छक्का चौका निकाल्नु बडी बात थिएन । तर एनरिच नार्ट्जेले दोस्रो बलमै कुशललाई बोल्ड गरे । आजको खेलमा फास्ट बलरले लिएको पहिलो विकेट यही नै थियो । यो विकेटले खेलमा नेपालको पकड फुत्किएको महसुस गरायो । यद्यपि, झै पनि सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने बाँकी थिए ।

    आठांै नम्बरमा सोमपाल आए । उनले दुई बल डट खेले । ओभरको चार बलसम्म कुनै पनि रन बन्न नसक्दा नेपाल चरम दवावमा पर्यो । ८ रनमा नेपाललाई जितका लागि १६ रन ल्याउनुपर्ने भयो । यो चुनौतिपूर्ण स्थिति हो । तर, पाचौं बलमा सोमपालले साहसिक छक्का प्रहार गरे । छैटौं बलमा २ रन दौडिए । अब अन्तिम ओभरमा ८ रन चाहिने सहज समिकरणमा फर्कियो नेपाल ।

    दक्षिण अफ्रिकी कप्तानले ओर्टनिल बार्टम्यानलाई बल थमाए । क्रिजमा गुल्शन थिए । नेपाललाई थुप्रै खेलमा अप्ठेरो स्थितिबाट बचाएका गुल्शनलाई आज हिरो बन्ने अवसर थियो । तर, उनी चुके ।

    सुरुका दुई बललाई उनले ब्याटसँग सम्पर्क गराउन सकेनन् । तर तेस्रो बलमा उनले शानदार सट हान्दै चौका निकाल्न सफल भए । बार्टम्यानले फ्याकेको वाइड योर्करलाई उनले आत्मविश्वासपूर्वक कभरको दिशामा प्रहार गरेपछि नेपाली समर्थकमा खुशीयाली छायो । चौंथो बलमा पनि उनले दुई रन जोड्न सफल भए । खेल नेपालको पक्षमा मोडियो ।

    नेपाललाई अन्तिम दुई बलमा दुई रन चाहिएको थियो । गुल्शनले कम्तिमा एउटा राम्रो सट हानेको भए नेपाल विजयउत्सव मनाउन पाउने थियो । तर, दुवै बलमा उनी बिट भए । अन्तिम बलमा उनीसँग एक रन पूरा गरेर खेललाई सुपरओभरमा धकेल्ने अवसर थियो । तर, उनको रनिङ विटविन दि विकेट कमजोर रह्यो । डाइभ नहान्दा उनले रन पूरा गर्न सकेनन् ।

    आजको म्याच यदि जितेको भए त्यो नेपालका लागि अभूतपुर्व सफलता हुने थियो । यो विश्वकप मात्र नभएर टी २० विश्वकपको इतिहासमै यसलाई एउटा ठूलो उलटफेर मानिने थियो । नेपालले सुपर ८ मा पुग्ने सम्भावना जिवित राख्न सक्थ्यो । तर, केवल एक रनले नेपाल चुक्यो ।

    यद्यपि, यो पराजयले नेपालको शानदार प्रदर्शनलाई पक्कै बिर्साउन सक्ने छैन । खासगरि नेपालको बलिङ अविस्मरणीय रह्यो । दक्षिण अफ्रिकाजस्तो टोलीलाई ११५ रनमा अलआउट गर्नु चानचुने कुरा होइन ।

    नेपालले आज अत्यन्त बुद्धिमत्तापुर्वक साउथ अफ्रिविरुद्ध स्पिन केन्द्रित आक्रमण गरेको थियो । विकेटको अवस्था हेरेर कप्तान रोहित पौडेलले १४ ओभर स्पिनरलाई र ६ ओभर मात्र फास्ट बलरलाई दिएका थिए । सबै स्पिनरले डेलिभरि दिए ।

    पार्ट टाइम स्पिनर कुशल भुर्तेल र अलराउन्डर दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । खेलमा उनीहरुले सात विकेट आपसमा बाँडेर लिएका थिए । नेपालका ओपनिङ ब्याट्सम्यान भुर्तलले पछिल्लो आफूलाई एउटा विकेट टेकिङ बलरको रुपमा विकास गरिरहेका छन् । आजको म्याचमा उनले पुन आफूलाई प्रमाणित गरे । उनले एक्लै चार विकेट लिएपछि साउथ अफ्रिका सामान्य स्कोरमा खुम्चिएको थियो । भुर्तेलले कप्तान एडियन म्याक्रमसँगै साउथ अफ्रिकाका सर्वोत्कृष्ट टी २० ब्याट्म्यान हेनरिच क्लासेनलाई सस्तैमा पेभिलयन फर्काउन सफल भए ।

    दिपेन्द्रले उत्तिकै सुन्दर बलिङ गरे । पावरप्लेमै बलिङ गर्न आएका दिपेन्द्रले आफ्नो दोस्रो ओभरमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । दक्षिण अफ्रिकाका ओपनरद्वय क्वीन्टन डिकक र रिजा हेन्ड्रिक्स तथा मध्यक्रमका विष्फोटक ब्याट्सम्यान डेभिड मिलरलाई उनले आफ्नो शिकार बनाए ।

    लामो समयपछिको कमब्याक खेलमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनको बलिङ झेल्न साउथ अफ्रिकाका ब्याट्सम्यानलाई गाह्रो परेको थियो । उने विकेटबाट निकै स्पिन प्राप्त गरे । सन्दीपले विकेट लिन सकेनन् तर, खेलमा ठूलो प्रभाव पारे । उनले रनगतिमा अंकुश लगाइदिएपछि साउथ अफ्रिकाका ब्याट्सम्यानहरु दवावमा परेका थिए र अन्य बलरहरुमाथि रिस्क लिन वाध्य भएका थिए ।

    समग्रमा नेपालले आज गौरवपूर्ण प्रदर्शन गर्यो । हारका बाबजुत नेपालको क्षमता विश्व क्रिकेटसामू उजागर भएको छ । नेपाल विश्वकप खेल्न लायक राष्ट्र हो भन्ने खेलाडीहरुले प्रमाणित गरेका छन् । अब कुनै पनि राष्ट्रले नेपाललाई कमजोर आँक्न सक्ने छैनन् ।

    साउथ अफ्रिकाविरुद्ध नेपालको हारको सबैभन्दा ठूलो कारण अनुभवको कमि नै हो । जब कमजोर टिम बलिया टिमविरुद्ध जित नजिक पुगेको महसुस गर्छन्, त्यसले एकप्रकारको आतेश र बेचैनी पैदा गर्छ । हड्बडिएर ब्याट्सम्यानहरुले गलत सट हान्न पुग्छन् । अनुभवी टीमहरु यस्तो सिचुयसनका निम्ति अभ्यस्त हुन्छन् । त्यसमाथि सुपर ८मा पुगिसकेको दक्षिण अफ्रिकालाई आज कुनै दवाव थिएन । नेपालविरुद्धको म्याच उनीहरुका लागि प्रतिष्ठाको विषय मात्र थियो । त्यसैले हारको सम्मुख पुग्दा पनि उनीहरु हड्बडाएनन् ।

    नेपालले विश्वकपका चार खेलमध्ये एउटा खेल वर्षाका कारण गुमाएको थियो । श्रीलंकासँग खेल्न नपाउँदा नेपाल एउटा टेस्ट राष्ट्रसँगको प्रतिस्पर्धाबाट वञ्चित भएको छ । त्यो खेल रद्द हुँदा श्रीलंकाले आपूmलाई घाटा परेको महसुस गरेको थियो । तर, आज नेपालको प्रदर्शन हेर्दा श्रीलंकालाई पक्कै सहज हुने थिएन नेपालसँग खेलर दुई अंक बटुल्न ।

    अब अन्तिम खेल नेपालले बंगलादेशसँग खेल्दैछ । सुपर ८को प्रतिस्पर्धाबाट नेपाल बाहिरिइसकेको छ । तर, फेरि एकपटक एउटा टेस्ट राष्ट्रलाई अपसेट गर्ने मौका नेपालसँग छ । यदि बंगलादेशविरुद्ध जित निकाल्न सके आलो घाउमा अलिकति मल्हमपट्टी लाग्न सक्छ । तर, दक्षिण अफ्रिकाविरुद्ध हारको घाउ विसेक हुन लामो समय लाग्नेछ ।

     

  • अन्तिम बलमा गुल्शन झाको कमजोर रनिङ, डाइभ हानेको भए सुपर ओभरमा जान सक्थ्यो खेल

    अन्तिम बलमा गुल्शन झाको कमजोर रनिङ, डाइभ हानेको भए सुपर ओभरमा जान सक्थ्यो खेल

    काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धामा नेपालले एउटा अभूतपुर्वक जितको मौका गुमाएको छ । शक्तिशाली दक्षिण अफ्रिकालाई हारको संघारमा पुर्‍याए पनि नेपाल १ रनले चुक्यो ।

    अन्तिम दुई बलमा नेपाललाई जितका लागि दुई रन मात्र चाहिएको थियो । एक रन लिएको भए खेल सुपरओभरमा जान्थ्यो । तर, गुल्शन झा दुई बलमा लगातार बिट भए ।

    अन्तिम बललाई फर्केर हेर्ने हो भने गुल्शनले नेपाललाई सुपरओभरमा पुर्याउने अवसर खेर फालेको महसुस हुन्छ । ओर्टनील बार्ट म्यानले फ्याकेको सर्ट बललाई गुल्शनले ब्याट लगाउन सकेनन् । तर, उनीसँग एक रन लिन सक्ने अवसर थियो ।

    गुल्शनले रनिङमा कमजोरी देखाए । अर्को इन्डमा पुगेर डाइभ लगाएको भए । उनले एक रन पुरा गर्न सक्थे भन्न रिप्लेमा हेर्दा देखिन्छ । उनी थोरै दुरीले मात्रै पछाडि परेका थिए ।

  • नेपालको पीडादायी हार, साउथ अफ्रिकाविरुद्ध एक रनले चुक्यो

    नेपालको पीडादायी हार, साउथ अफ्रिकाविरुद्ध एक रनले चुक्यो

    काठमाडौं । टी- २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ । जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो ।

    अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । क्रिजमा गुल्शन झा थिए । तेस्रो बलमा गुल्शनले चौका हान्दै जितको आशा जगाएका थिए । चौंथो, बलमा थप दुई रन जोडेपछि नेपाल जितको नजिक देखियो । अन्तिम दुई बलमा नेपाललाई दुई रन मात्र चाहिएको थियो । तर, गुल्शन दुवै बलमा चुके ।

    अन्तिम बलमा एक रन लिएर खेल सुपर ओभरमा लैजाने मौका थियो । गुल्शन समयमै रनका लागि नदौडिँदा अर्को इन्डसम्म पुग्न सकेनन् र रनआउट भए ।

    १७ ओभरको खेल समाप्त हुँदासम्म नेपाल ३ विकेट क्षतिमा ९८ रन बनाएर सहज जितको बाटोमा थियो । तर, १८ औं ओभरको खेलमा ट्विस्ट आयो । ताब्राइज साम्सीले दिपेन्द्र सिंह ऐरी र आसिफ शेखलाई तीन बलको अन्तरालमा आउट गरेपछि नेपाली खेमा तनावमा परेको थियो । लगत्तैको ओभरमा कुशल मल्ल पनि आउट भएपछि खेल दक्षिण अफ्रिकाको पक्षमा मोडियो ।

    १९ औं ओभरको पाचौं बलमार छक्का हान्दै सोमपाल कामीले फेरि नेपाली समर्थकलाई उत्साहित तुल्याएका थिए । तर, अन्तिम ओभरमा उनी ब्याटिङमा उत्रिन पाएनन् ।

    यो हारसँगै नेपाल सुपर ८ को दौडबाट बाहिरिएको छ । आज जितेको भए बंगलादेशविरुद्धको अन्तिम म्याच निर्णायक हुने थियो ।

  • नेपाल र दक्षिण अफ्रिकाको खेलमा ट्वीस्ट, नेपालले एक रनको अन्तरालमा गुमायो तीन विकेट

    नेपाल र दक्षिण अफ्रिकाको खेलमा ट्वीस्ट, नेपालले एक रनको अन्तरालमा गुमायो तीन विकेट

    काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध जिततर्फ लम्किएको नेपाल अन्तिम समयमा हड्बडाएको छ । खेलको १७ औं र १८ ओभरमा नेपालले तीन विकेट गुमाएपछि खेलमा ट्विस्ट आएको छ ।

    नेपालले १७ औं ओभरमा दिपेन्द्रसिंह ऐरी र ओपनर आसिफ शेखलाई गुमाएको थियो । साउथ अफ्रिकाका बलर ताब्राइज साम्सीले दुवैलाई आउट गर्दै नेपाली समर्थकलाई स्तब्ध पारे ।

    लगत्तैको ओभरमा कुशल मल्ल पनि आउट भए । यो समाचार लेख्दा नेपाललाई १० बलमा १६ रन चाहिएको छ ।

  • जितनजिक पुगेको नेपाल हड्बडाउँदै, चौंथो विकेटका रुपमा दिपेन्द्र आउट

    जितनजिक पुगेको नेपाल हड्बडाउँदै, चौंथो विकेटका रुपमा दिपेन्द्र आउट

    काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध जिततर्फ लम्किएको नेपाल अन्तिम समयमा हड्बडाएको छ ।

    नेपाललाई जितका लागि १७ रन मात्र बाँकी छँदा दिपेन्द्र सिंह ऐरी आउट भएका छन् ।

  • नेपालले गुमायो तेस्रो विकेट, तोडियो आसिफ र अनिलको साझेदारी

    नेपालले गुमायो तेस्रो विकेट, तोडियो आसिफ र अनिलको साझेदारी

    काठमाडौं । नेपालले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो विकेट गुमाएकाे छ ।आसिफ शेख र अनिल शाहको बलियो साझेदारी तोडिएको हो ।

    पार्ट टाइम स्पिनर एड्रियन माक्र्रमलाई ठूलो सट प्रहार गर्न खोज्दा उनी क्याच आउट भए ।

    आउट हुनुअघि उनले २४ बलमा २७ रनको महत्वपूर्ण पारी खेलेका थिए । साउथ अफ्रिकाका बलरहरुमाथि हावी हुँदै उनले १ छक्का र चार चौका प्रहार गरे ।

    अनिल र ओपनर आसिफ शेखबीच अर्धसतकीय साझेदारीमा नेपाल बलियो स्थितिमा पुगेको छ । आसिफ अझै पनि क्रिजमा छन् ।

  • सम्हालेर ब्याटिङ गर्दै नेपाल

    सम्हालेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध नेपालले सम्हालिएर ब्याटिङ प्रदर्शन गरेको छ ।

    ३५ रनमा २ विकेट गुमाएको नेपालको ब्याटिङ आसिफ शेख र अनिल शाहले सम्हालेका छन् । शेख र शाहले ३४ रनको साझेदारी गरेका छन् ।

    अनिल २५ र शेख २० रन बनाएर खेलिरहेका छन् । नेपाललाई अब जितका लागि ४८ बलमा ४७ रन आवश्यक छ ।

    आसिफ शेखले दक्षिण अफ्रिकाका फास्ट बलर कंगिसो रवाडालाई ९८ मिटर लामो छक्का हानेका छन् । १२।१ ओभरमा उनले गरेका कडा प्रहारले बल रंगशाला बाहिर पुगेको थियो ।

    आसिफ ३३ बलमा ३२ रन बनाएर खेलिरहेका छन् । आसिफ र अनिल साहको साझेदारीले नेपाल जिततर्फ लम्किरहेको छ ।

  • नेपालले एक ओभरमै गुमायाे दुई विकेट, कप्तान राेहित शून्यमा आउट

    नेपालले एक ओभरमै गुमायाे दुई विकेट, कप्तान राेहित शून्यमा आउट

    काठमाडौं ।  अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

    ११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको हो ।

    ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए।

  • नेपाललाई पहिलो झटका, भुर्तेल आउट

    नेपाललाई पहिलो झटका, भुर्तेल आउट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

    ११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो नेपालले विकेट गुमाएको हो ।

    ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन  बनाएर आउट भए।

  • दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, भुर्तेलले लिए ४ विकेट

    दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, भुर्तेलले लिए ४ विकेट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

    वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकालेनिर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो।

    विश्वकपको ‘मोस्ट विन’ खेलमा नेपालले दक्षिण अफ्रिकालाई सस्तो योगफलमा रोकेको छ । नेपालका स्पिनरहरुले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । कुशल भुर्तेलले चार विकेट र दिपेन्द्र सिंह ऐरीले तीन विकेट लिए । सन्दीप लामिछानेले विकेट लिन नसके पनि रन गतिमा नियन्त्रण गरेका थिए ।

    दक्षिण अफ्रिकासामु नेपालका स्पिनरले कसिलो बलिङ गरे । बलिङमा नेपालका लागि कुशल भुर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका कुशल्ले १९ रन खर्चेर ४ र दीपेन्द्रले २१ रन खर्चेर ३ विकेट लिए ।

    ब्याटिङमा दक्षिण अफ्रिकाका रीजा हेनरिक्सले सर्वाधिक ४३ रन बनाए । उनले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४३ रन जोडे । ट्रिस्टन स्टब्सले १८ बलमा २७, एडिन मर्क्रम २२ बलमा १५ र डिकक ११ बलमा १० रन बनाएर आउट भए ।

  • छिटो सय विकेटको विश्वकीर्तिमान छुन चुके सन्दीप, कसिलो बलिङ तर विकेट मिलेन

    छिटो सय विकेटको विश्वकीर्तिमान छुन चुके सन्दीप, कसिलो बलिङ तर विकेट मिलेन

    काठमाडौं । टी २० विश्वकपमा नेपालका स्पिनर सन्दीप लामिछानेले आफ्नो ४ ओभरको बलिङ कोटा पूरा गरेका छन् । उनले कसिलो बलिङ गर्दै १८ रन मात्र खर्चिए, तर विकेट लिन सकेनन् ।

    आज दुई विकेट लिएको भए सन्दीपसँग छिटो १०० विकेटको विश्वकिर्तिमान बराबरी गर्ने मौका थियो । सन्दीपको बलिङमा दक्षिण अफ्रिकी ब्याट्सम्यानले सम्हालिएर खेलेका थिए ।

    सन्दीपले तीन ओभर बलिङ गर्दासम्म ८ रन मात्र खर्चेका थिए । तर, अन्तिम ओभर केही खर्चिलो भयो । उनको एउटा बलमा करण केसीको खराब फिल्डिङका कारण चौका हुन पुगेको थियो ।

    सन्दीपको कसिलो बलिङका कारण अन्य बलरहरुमाथि दक्षिण अफ्रिकी ब्याट्सम्यानहरले रिस्क लिन वाध्य भएका थिए । जसले गर्दा नेपाललाई नियमित विकेट मिलिरहेको छ ।

  • नेपाललाई पाँचौ सफलता, दीपेन्द्रले लिए व्यक्तिगत तेस्रो विकेट

    नेपाललाई पाँचौ सफलता, दीपेन्द्रले लिए व्यक्तिगत तेस्रो विकेट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध पाँचौ सफलता मिलेको छ ।

    नेपालका दीपेन्द्रसिंह ऐरीले १८औं ओभरको तेस्रो बलमा नेपाललाई पाचौं सफलता दिलाएका हुन् ।

    उनले डेभिड मिलरलाई ७ रनमा आउट गरे । दीपेन्द्रले दक्षिण अफ्रीकाविरुद्ध ३ विकेट लिएका छन् । कुशल भुर्तेलले २ विकेट लिएका छन् ।

  • दिपेन्द्रले लिए दोस्रो विकेट, रिजा हेन्ड्रिक्स ४३ रनमा आउट

    दिपेन्द्रले लिए दोस्रो विकेट, रिजा हेन्ड्रिक्स ४३ रनमा आउट

    काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई चौंथो सफलता मिलेको छ । १६ औं ओभरमा दिपेन्द्र सिंह ऐरीले ओपनर रिजा हेन्ड्रिक्सलाई आफ्नै बलमा आउट क्याच गरे ।

    सुरुदेखि सम्हालिएर खेलिरहेको हेन्ड्रिक्स ४९ बलमा ४३ रन बनाएर आउट भएका हुन् । उनको विकेट नेपालका लागि महत्वपूर्ण हुनेछ । यसअघि नेपालले डेभिड मिलरलाई आउट हुने मौका गुमाएको थियो ।

    कुशल भुर्तेलको बलमा एलबिडब्लु अपिल भए पनि अम्पयरले आउट दिएका थिएनन् । नेपालले रिभ्यू लियाे । तर, अम्पायर कलअनुसार निर्णय भयो । मिलेर पेभिलियनतिर गइरहेका थिए । बाटोबाट फर्किए ।

    दक्षिण अफ्रिकाले १६ ओभरको खेल सकिँदा ८५ रन जोडेर २ विकेट गुमाएको छ । बलिङमा नेपालका दीपेन्द्र र कुशल भुर्तेलले २-२ विकेट लिए ।

  • नेपाललाई तेस्रो सफलता, खतरनाक क्लासेनलाई भुर्तेलले फर्काए पेभिलियन

    नेपाललाई तेस्रो सफलता, खतरनाक क्लासेनलाई भुर्तेलले फर्काए पेभिलियन

    काठमाडौं । नेपाललाई दक्षिण अफ्रिकाविरुद्ध तेस्रो सफलता मिलेको छ । मध्येक्रमका खतरनाक ब्याट्सम्यान हेन्ड्रिक क्लासेन पेभिलियन फर्किएका छन् ।

    नेपालका पार्टटाइम स्पिनर कुशल भुर्तेलले दोस्रो विकेटका रुपमा क्लासेनलाई आउट गरेका हुन् । करण केसीले झण्डै क्याच फुत्काएका थिए । तर, अन्ततः पक्रिन सफल भए ।

  • नेपाललाई दोस्रो सफलता, कुशल भुर्तेलले लिए विकेट

    नेपाललाई दोस्रो सफलता, कुशल भुर्तेलले लिए विकेट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध दोस्रो सफलता मिलेको छ ।

    नेपालका कुशल भुर्तेलले १२ औं ओभरको दोस्रो बलमा दक्षिण अफ्रिकाका कप्तान एडिन मर्क्रमलाई आउट गरे । उनी २२ बल खेलेर १५ रन जोडेर आउट भए ।

    यसअघिको ओभरमा भुर्तेलले म्याक्रमको क्याच मिस गरेका थिए । पेभिलियन फर्काउने मौका कुशल भुर्तेलले खेर फालेका हुन् ।

    रिजा हेन्ड्रिक्सले लङ अनमा प्रहार गरेको ठूलो सट हावामा उडेको थियो । तर, सहज मौका उनले खेर फ्याँकेका थिए । लगत्तैको ओभरमा विकेट लिँदा भुर्तेलले राहत महसुस गरेका छन् ।

  • सम्हालिएर खेल्दै दक्षिण अफ्रिका, नेपालको बलिङ स्पिन केन्द्रित

    सम्हालिएर खेल्दै दक्षिण अफ्रिका, नेपालको बलिङ स्पिन केन्द्रित

    काठमाडौं । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकाले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । फरक रणनीतिसहित नेपालले दक्षिण अफ्रिकाविरुद्ध आफ्नो आक्रमण स्पिनमा केन्द्रित गरिरहेको छ ।

    पावरप्लेको ६ ओभर सकिँदा दक्षिण अफ्रिकाले एक विकेट क्षतिमा ३८ रन जोडेको थियो । नेपालका स्पिनर दिपेन्द्रसिंह ऐरीले तेस्रो ओभरमा नै विकेट लिएपछि दक्षिण अफ्रिका केही दवावमा आयो ।

    तर रिजा हेन्ड्रिक्स र कप्तान एडियन म्याक्रमले सम्हालिएर खेल्दै दक्षिण अफ्रिकाको इनिङ अगाडि बढाइरहेका छन् । अहिलेसम्म बलर र ब्याट्सम्यान दुवै हावी हुन सकिरहेका छैनन् ।

    नेपालका स्पिनर सन्दीप लामिछाने दुई उत्कृष्ट ओभर फ्याँके । उनले दुई ओभरमा केवल चार रन खर्चिए । सन्दीपलाई खेल्न दक्षिण अफ्रिकी ब्याट्सम्यानहरुलाई कठिन भइरहेको छ । अन्य बलरको तुलनामा सन्दीपले राम्रो टर्न प्राप्त गरेका छन् ।

    नेपालका फास्ट बलर सोमपाल कामीले पनि राम्रो सुरुवात गरेका छन् । उनले दुई ओभरमा ६ रन खर्चिए । करण केसीले एक ओभरमा नौ रन र कुशल मल्लले दुई ओभरमा १७ रन खर्चिएका छन् । यसैगरिी कुशल भुर्तेलले पहिलो ओभरमा ४ रन दिएका छन् ।

    नेपाले १० ओभरको खलमा चार जना स्पिनर प्रयाेग गरिसकेको छ । दिपेन्द्र, सन्दीप, कुशल मल्ल र कुशल भुर्तेललाई कप्तानले उतारेका हुन् ।

  • नेपाललाई पहिलो सफलता, दिपेन्द्रको बलमा डिकक आउट

    नेपाललाई पहिलो सफलता, दिपेन्द्रको बलमा डिकक आउट

    काठमाडौं ।अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

    नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई १० रनमा क्याच आउट गरे  ।

  • अमेरिका सुपर-८ मा, एक खेलअगावै बाहिरियो पाकिस्तान

    अमेरिका सुपर-८ मा, एक खेलअगावै बाहिरियो पाकिस्तान

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा पाकिस्तान एक खेल अगावै सुपर-८ को दौडबाट बाहिरिएको छ ।

    वर्षाका कारण अमेरिका र आयरल्यान्डबिचको खेल रद्ध भएसंगै पाकिस्तान सुपर-८ को दौडबाट बाहिरिएको हो । उक्त समूहबाट भारत ३ खेलबाट ६ अंक र अमेरिका ४ खेलबाट ५ अंक जोड्दै सुपर-८ को यात्रा तय गरेका हुन् ।

    ३ खेलमा एक जित र २ हारसहित २ अंक जोडेको पाकिस्तान एक खेल अगावै बाहिरिएको हो । पाकिस्तानसंगै समान ३ खेल खेलेका क्यानडा २ र आयरल्यान्ड १ अंकसहित प्रतियोगिताबाट बाहिरिएका हुन् ।

    समूह ‘ए’ मा रहेका भारत, पाकिस्तान, क्यानडा र आयरल्यान्डले एकएक खेल खेल्न बाकी छ ।

  • टी:२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, सन्दीपको ‘कम ब्याक’

    टी:२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, सन्दीपको ‘कम ब्याक’

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रीकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

    वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा दक्षिण अफ्रीकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    नेपाली टोलीमा लेग स्पिनर सन्दीप लामीछाले ‘कम ब्याक’ गरेका छन् । गत पुसबाट क्रीकेटबाट टाढा रहेका सन्दीप करिब ६ महिनापछी मैदानमा फर्किएका हुन् ।

    नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’ बाट सुपर आठमा पुगिसकेको छ ।

    पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो । नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ ।

    नेपालको प्लेईङ-११ रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

  • सन्दीप १०० विकेट नजिक, दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिए बन्नेछ कीर्तिमान

    सन्दीप १०० विकेट नजिक, दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिए बन्नेछ कीर्तिमान

    काठमाडौं । नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछाने करिब ६ महिनापछि क्रिकेट खेल्न मैदान उत्रिँदै छन् । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै सन्दीप क्रिकेटबाट टाढिएका थिए ।

    त्यसपछि उच्च अदालत पाटनले जेठ २ गते सन्दीपलाई बलत्कार मुद्दामा सफाई दिएको थियो । सफाईसँगै सन्दीपको क्रिकेट खेल्ने बाटो खुलेको थियो । तर, अमेरिकाले भिषा नदिँदा अमेरिका र वेष्ट इन्जिडमा जारी आईसीसी टी–२० विश्वकपका पहिला दुई खेल सन्दीपले गुमाएका थिए ।

    वेष्ट इन्डिजमा हुने दुई खेलमा सहभागी हुन सन्दीप टीममा सहभागी भइसकेका छन् । सन्दीपले पुस १३ पछि पहिलोपटक औपचारिक खेल खेल्दै छन् । उनी शनिबार बिहान हुने दक्षिण अफ्रिकाविरुद्ध खेलमा मैदान उत्रिनेछन् । ६ महिनापछि मैदान उत्रिन लागेका सन्दीप किर्तिमान नजिक छन् । उनले ५२ टी–२० आई खेलमा ९८ विकेट लिएका छन् ।

    दक्षिण अफ्रिकासँग २ विकेट लिएमा उनी टी–२० आई क्रिकेटमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्नेछन् । हालसम्म कुनै खेलाडी खेलाडीले टी–२०आई क्रिकेटमा एक सय विकेट पूरा गरेका छैनन् । सन्दीपपछि नेपालका करण केसीले ६९ खेलमा ९० र अभिनास बोहराले ६० खेलमा ७५ विकेट लिएका छन् ।

    यस्तै टी–२० आई क्रिकेटमा छिटो एक सय विकेट पूरा गर्ने अफगानिस्तानका रसिद खानको किर्तिमानसँग बराबरी गर्नेछन् । सन् २०२१ मा रसिदले ५३ खेलमा एक सय रन पूरा गर्दै टी–२० आई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने किर्तिमान आफ्नो नाममा बनाएका थिए ।

  • २० वर्षअघि विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई हराएको त्यो खेल

    २० वर्षअघि विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई हराएको त्यो खेल

    काठमाडौ‌ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० क्रिकेटको पहिलो चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शनिबार बिहान टेस्ट राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

    क्यारेबियन मुलुक सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडाइन्सस्थित किङ्सटाउनमा हुने यो खेलमा नेपाल गर या मरको अवस्थामा छ । २ खेलबाट १ अंक भएको नेपाल समूहको तेस्रो स्थानमा छ भने ३ खेलबाट ६ अंक भएको दक्षिण अफ्रिका शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाइसकेको छ । सन्दीप लामिछाने उपलब्ध हुने भएपछि नेपालको मनोबल उच्च छ । अमेरिकाले भिसा नदिएका कारण अमेरिकामा भएको नेदरल्यान्ड्स र श्रीलंकासँगका दुई खेलमा सन्दीप उपलब्ध थिएनन् । नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले वर्षाका कारण रद्द भएपछि श्रीलंकासँग अंक बाँडेको थियो ।

    उल्लेखनीय के छ भने सन्दीपकै पुनरागमनपछि यसअघि नेपालले एक दिवसीय मान्यता जोगाउनेदेखि एसिया कप खेल्ने र टी-२० विश्वकपमा छनोट हुनेसम्मको सफलता प्राप्त गरेको थियो । सन्दीपले दक्षिण अफ्रिकाविरुद्ध कम्तीमा २ विकेट लिएको अवस्थामा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट पूरा गर्ने विश्व कीर्तिमान बराबरी गर्नेछन् । हाल उनले ५२ खेलमा ९८ विकेट लिएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट पूरा गर्ने कीर्तिमान सन्दीपको नाममा छ ।

    सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्न लागेको हो ।

    नेपालले यसअघि यू-१९ विश्वकपमा भने दक्षिण अफ्रिकासँग खेलेको छ । सन् २००४ मा बंगलादेशमा आयोजना भएको यू-१९ विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई एक विकेटले हराएको थियो । पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले केवल १५७ रनको लक्ष्य दिएको थियो । नेपालका मञ्जित श्रेष्ठले ४ तथा शक्ति गौचन, लाक्पा लामा र पारस खड्काले २-२ विकेट लिएका थिए ।

    नेपालले यो खेल केवल एक विकेटले जितेको थियो । नेपालले २ बल बाँकी छँदा ९ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । नेपालका लागि शक्ति गौचनले ५१ र शरद भेषावकरले २७ रन बनाएका थिए । त्यस खेलमा शक्ति गौचनले निकै टिकेर खेलेका थिए । उनले १४० बलमा २ चौका प्रहार गरेका थिए ।

    त्यस विश्वकपको पहिलो चरणमा नेपालले ३ मध्ये २ खेल जितेर पनि दोस्रो चरणको यात्रा तय गर्न सकेको थिएन । समान अंक भएका इङ्ल्यान्ड र दक्षिण अफ्रिकाले नेटरनरेटमा नेपाललाई पछाडि पारेर दोस्रो चरणको यात्रा तय गरेका थिए ।

  • दक्षिण अफ्रिकी बलर रवाडा भन्छन्- सन्दीप ‘मिस्ट्री स्पिनर हुन्, तर हाम्रो टीम उनको लागि तयार छ

    दक्षिण अफ्रिकी बलर रवाडा भन्छन्- सन्दीप ‘मिस्ट्री स्पिनर हुन्, तर हाम्रो टीम उनको लागि तयार छ

    काठमाडौं । नेपालसँगको खेलअघि दक्षिण अफ्रिकाका प्रमुख बलर कंगिसो रवाडा आत्मविश्वासी देखिएका छन् । यद्यपि, नेपाललाई हल्का रुपमा नलिने उनले बताए ।

    रवाडाले अघिल्ला प्रतियोगिताहरुको तुलनामा नेपालविरुद्ध अझै राम्रो खेल्न चाहेको उल्लेख गरे । समूह चरणको अन्तिम खेलमा अर्को जितका लागि आफूहरु कटिवद्ध र भोको रहेको उनको भनाइ छ ।

    ‘यो अर्को एउटा अन्तर्राष्ट्रिय म्याच हो र हामी यसलाई हलुकारुपमा लिँदैनौं । हामी प्रतियोगितामा जसरी खेलिरहेका छौं, त्यही वा त्योभन्दा राम्रो क्रिकेट खेल्न प्रयास गर्नेछौं ।’

    रवाडाले नेपाली टीमले कस्तो क्रिकेट खेल्छ भन्ने बारेमा धेरै थाहा नभएको स्वीकारोक्ति गरे ।

    उनले भने, ‘इमान्दारीपूर्वक भन्नुपर्दा मलाई त्यति धेरै थाहा छैन, तर हाम्रो एनालिस्टहरु छन् । र, हामी ले आफ्नो गृहकार्य गर्नेछौं । हामी पटक्कै हल्कारुपमा लिने छैनौं ।’

    रवाडाले नेपालका स्पिनर सन्दीप लामिछानेको चर्चा गरे । सन्दीप विरुद्ध खेल्न सहज नहुने उनको आँकलन छ ।

    उनले भने, ‘सन्दीप मिस्ट्री स्पीनर हुन् । यस्तो मिस्ट्री स्पिनरलाई खेल्न गाह्रो हुन्छ । तर, हाम्रो टीम उनको बलिङ सामना गर्न तयार छ ।’

    रवाडा थप्छन्, ‘यो प्रतियोगितामा धेरै रन बनिरहेको छैन, त्यसमा एउटा बलरको रुपमा म निकै रमाइरहेको छु ।’

    उनले वेस्ट इन्डिजको पिचमा बलर र ब्याटर दुवैलाई मौका रहेको पनि उल्लेख गरे ।

     

  • दक्षिण अफ्रिकाले भोलि ‘फुल स्ट्रेन्थ’ टीम खेलाउने, नेपालको प्लेइङ ११ मा सन्दीपको इन्ट्री

    दक्षिण अफ्रिकाले भोलि ‘फुल स्ट्रेन्थ’ टीम खेलाउने, नेपालको प्लेइङ ११ मा सन्दीपको इन्ट्री

    काठमाडौं । टी २० विश्वकप अन्तर्गत भोलि नेपालले साउथ अफ्रिकाविरुद्ध ‘गर वा मर’ को म्याच खेल्दैछ । सुपर ८ को सम्भावना कायम राख्ने हो भने नेपाललाई हार्ने छुट छैन ।

    साउथ अफ्रिका सुपर ८ मा स्थान बनाइसकेको टीम हो । यसअघि तीनवटै म्याचमा लगातार जित हासिल गरेको शक्तिशाली टीमविरुद्ध नेपालले कठिन परीक्षा दिनुपर्ने पक्का छ ।

    गुगलले नेपालको जित सम्भावना ७ प्रतिशत मात्र देखाएको छ, जुन अनौठो होइन । तर, क्रिकेट अनिश्चितताको खेल हो । यो विश्वकपमा एसोसिएट्स टीमहरुले टेस्ट राष्ट्रलाई कठिन चुनौती दिइरहेका छन् । त्यसैले नेपालले खेल अगावै हात पक्कै उठाउँदैन ।

    नेपालले यसअघि साउथ अफ्रिकाको राष्ट्रिय टीमसँग कहिल्यै प्रतिस्पर्धा गर्न पाएको थिएन । विश्वकपकै एक दावेदारका रुपमा रहेको बलियो राष्ट्रसँग खेल्ने कुराले नै नेपाली समर्थक रोमाञ्चित छन् । नतिजा जे आए पनि नेपालका लागि यो एउटा ऐतिहासिक अनुभव हुनेछ । टेस्ट राष्ट्रको फुल स्ट्रेन्थ टीमविरुद्ध खेल्न पाउनु नै नेपालको निम्ति दुर्लभ अवसर हो ।

    यसअघि श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द हुनु नेपालका लागि दुर्भाग्य बनेको थियो । भोलिको म्याच भने वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा हुँदैछ । यहाँ वर्षातको भविष्यवाणी गरिएको छैन । नेपालले वेस्ट इन्डिजमा पहिलो म्याच खेल्न लागेको हो । भोलिको खेल किङ्सटाउनमा अवस्थित आर्नोस भेल मैदानमा हुनेछ ।

    समूह चरणमा नेपाल नेदरल्यान्ड्सँग साँघुरो अन्तरले पराजित भएको थियो । श्रीलंकासँग खेल रद्द भएपछि नेपालले एक अंक पाएको हो । साउथ अफ्रिकाले भने नेदरल्यान्ड्स, बंगलादेश र श्रीलंकामाथि लगातार जित हासिल गरेको थियो । यद्यपि, श्रीलंका र बंगलादेशविरुद्धका जित संघर्षपूर्ण थिए ।

    साउथ अफ्रिकाको बलिङ लयमा छ, तर ब्याटिङ राम्ररी चल्न सकेको छैन । खासगरि टप अर्डर ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेका छैनन् ।

    तर, अहिलेसम्म तीनवटै खेल साउथ अफ्रिकाले न्यूयोर्कको स्लो पीचमा खेलेको थियो, जहाँ ब्याटिङ निकै चुनौतीपूर्ण सावित भइरहेको छ । वेस्ट इन्डिजको पीचमा पक्कै पनि सहजता हुने छ दुवै टीमका लागि ।

    हिजो बंगलादेश र नेदरल्यान्ड्सबीचको खेलले पनि यहाँ रन बन्न सक्छ भन्ने देखाएको छ । पहिलो ब्याटिङ गर्दै बंगलादेशले ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा नेदरल्यान्ड्स ८ विकेट क्षतिमा १३४ रन मात्र जोड्न सक्यो ।

    किङ्गसटाउनको पीचले ब्याट्सम्यान वा बलर कसलाई बढी सहयोग गर्छ भन्ने सकिने अवस्था छैन । खासमा यहाँ धेरै क्रिकेट नै भएको थिएन । सेन्ट भिन्सेन्टमा यसअघि दुईवटा मात्र टी २० म्याच भएका छन्, त्यो पनि ११ वर्ष अगाडि । मैदानको अन साइडमा ५८ मिटर लामो बाउन्ड्री छ, जसलाई दुवै टीमका बिग हिटरहरुले सदुपयोग गर्न सक्छन् ।

    भोलिको म्याचमा दुवै टीमले प्लेइङ ११ मा ठूलो फेरबदल गर्ने सम्भावना छैन । साउथ अफ्रिका सुपर ८ मा पुगिसकेको हुँदा आफ्नो बेञ्च स्ट्रेन्थ जाँच गर्ने अवसर त छ, तर क्रिक इन्फोका अनुसार आफ्ना मुख्य रोजाइका खेलाडीहरुलाई नै उसले उतार्ने छ । कन्डिसनले माग गरे बलिङमा भने तलमाथि हुन सक्छ ।

    नेपाली टीममा सन्दीप लामिछाने समावेश हुने लगभग निश्चित छ । उनले सम्भवतः स्पिनर सागर ढकाललाई प्रतिस्थापन गर्नेछन् । सागरले पहिलो खेलमा नेदरल्यान्ड्विरुद्ध किफायति बलिङ गरे तापनि विकेट लिन सकेका थिएनन् । सन्दीप आगमनले नेपालको ब्याटिङ गहिराइ थप बढ्ने छ । उनी ९–१० नम्बरमा आएर पनि उपयोगी रन बनाउन सक्छन् ।

    भोलि नेपालको बलिङमा सबैको चासो र आशा सन्दीपमै रहनेछ । उनले आफ्नो उत्कृष्ट लय भेट्टाए भने राम्रा ब्याट्सम्यानहरुलाई पनि घुँडा टेकाउन सक्छन् । तर, लामो ग्यापपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन लागेकाले अलिकति संशय छ नै ।

    साउथ अफ्रिकाको फास्ट बलिङ नेपालका लागि सबैभन्दा ठूलो चुनौती हो । कंगिसो रवाडा, एनरिच नोर्ट्जे, ओर्टनील बार्टमनजस्ता फास्ट बलरहरुलाई सामना गर्न नेपाली ब्याट्सम्यानलाई पक्कै सहज हुने छैन । भोलिको म्याचमा नेपालको टप अर्डर चल्नु जरुरी छ । कुशल भुर्तेल र आसिफ शेखले राम्रो स्टार्ट दिएको खण्डमा नेपालसँग बलियो ब्याटिङ पंक्ति अवश्य छ ।

     

  • सुपर ८ सम्भावना कायम राख्न ओमानलाई १९ बलमै हराएको डिफेन्डिङ च्याम्पियन इङ्गल्यान्ड

    सुपर ८ सम्भावना कायम राख्न ओमानलाई १९ बलमै हराएको डिफेन्डिङ च्याम्पियन इङ्गल्यान्ड

    काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ पुग्ने सम्भावना कायम राख्न डिफेन्डिङ च्याम्पियन इङ्गल्यान्डले बिहीबार ओमानलाई हराएर मात्र पुग्दै थियो, नेट रनरेटमा पनि व्यापक सुधार गर्नुपर्ने थियो।

    दुई खेलमा एक अंक जोडेको इङ्गल्यान्ड यही खेलको नतिजापछि भने एकाएक सुपर ८ दौडमा देखिएको छ। टस जितेर पहिला बलिङको निर्णय लिएको इङ्गल्यान्ड आफ्नो लक्ष्यमा स्पष्ट देखियो र स्थिति पनि अनुकूल भइदियो। ओमानले १३.२ ओभरमा सबै विकेट गुमाएर ४७ रन मात्र जोड्न सक्यो।

    अदिल रसिदले ४ तथा जोफ्रा आर्चर र मार्क उडले ३/३ विकेट लिए। त्यसपछि इङ्गल्यान्डका ओपनर जतिसक्दो कम बलमा लक्ष्य भेट्टाउन लागे। फिल साल्टले ३ बलमा १२ र जोस बटलरले ८ बलमा २४ रन जोडे। इङ्गल्यान्डले १९ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। जोनी बेयर्स्टले २ बलमा ८ रन बनाए।

    यो नतिजापछि इङ्गल्यान्ड ३ खेलबाट ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ। ३ खेलबाट ६ अंक भएको अस्ट्रेलिया पहिलो र ५ अंक भएको स्कटल्यान्ड दोस्रोमा छन्।

    स्कटल्यान्डको नेट रनरेट २.१६४ र इङ्ल्यान्डको नेट रनरेट ३.०८१ छ। समूहको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डले अस्ट्रेलिया र इङ्गल्यान्डले नामिबियासँग खेल्ने छ।

    आफूले नामिबियालाई हराएको अवस्था र स्कटल्यान्डले अस्ट्रेलियासँग हार बेहोरेमा इङ्गल्यान्ड सुपर ८ पुग्ने छ। अन्य सबै अवस्थामा इङ्गल्यान्ड पहिलो चरणबाटै बाहिरिने छ। यो अवस्थामा इङ्गल्यान्ड यी दुवै खेल वर्षाले रद्द नहोस् भन्ने चाहन्छ भने आफूले जितेर स्कटल्यान्डको हार कामना गरिरहेको छ।

    टी-२० विश्वकप इङ्गल्यान्ड र वेस्ट इन्डिजले सर्वाधिक २/२ पटक जितेका छन्। भारत, अस्ट्रेलिया, पाकिस्तान र श्रीलंका एक/एकपटक विजेता बनेका छन्।

    जारी संस्करणमा इङ्गल्यान्डले पहिलो खेल वर्षाका कारण रद्द भएका कारण स्कटल्यान्डसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो।

  • विश्वकपमा ब्याट्सम्यानको ‘सातो’ लिइरहेका अफगान फजालहक

    विश्वकपमा ब्याट्सम्यानको ‘सातो’ लिइरहेका अफगान फजालहक

    काठमाडौं। फजालहक फारुकीको शानदार बलिङसँगै अफगानिस्तान जारी आईसीसी टी–२० विश्वकपमा एक खेल खेल्न बाँकी रहँदै सुपर ८ पुगेको छ।

    शुक्रबार भएको खेलमा पपुआ न्युगिनीलाई ७ विकेटले हराएको अफगानिस्तानले वेस्ट इन्डिजसँगको खेल बाँकी रहँदै पहिलो चरण पार गर्ने पक्का गरेको हो। पीएनजीविरुद्ध ओपनिङ बलर फजालहकले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए।

    जारी विश्वकपमा अफगानिस्तानको बलिङ प्रभावशाली देखिएको छ। उसले कुनैपनि टोलीलाई एक सय रन कटाउन दिएको छैन। पहिलो खेलमा युगान्डालाई ५८ रनमा अलआउट गरेको अफगानिस्तानले न्युजिल्यान्डलाई पनि ७५ रनमा सिमित गरेको थियो।

    विपक्षीलाई यसरी धरासायी बनाउने बलर हुन् फजालहक। उनी पावरप्लेमै भरपर्दा ब्याट्सम्यानको विकेट लिएर विपक्षीलाई दबाबमा राख्छन् र अन्य बलरलाई सजिलो बनाई दिन्छन्। उनी कम रन दिएर धेरै विकेट लिन सफल छन् जुन टी-२० क्रिकेटमा दुर्लभ मानिन्छ।

    फजालहकले जारी विश्वकपका ३ खेलमा १२ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने बलर हुन्। दोस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका एनरिच नोर्त्याले ८ विकेट लिएका छन्। फजालहकलाई उनले लिएका विकेट संख्यामा मात्र चर्चा गर्नु उनीमाथि अन्याय हुन्छ। उनले ३.७ को बलिङ इकोनोमीमा बलिङ गरेका छन्। हरेक औसत ५।६६ बलमा विकेट लिइरहेका छन्। एकै इनिङमा ९ रन खर्चिएर ५ विकेटसम्म लिएका छन्।

    फजालहकले जारी विश्वकपमा लिएका विकेटमध्ये ७ वटा पावर प्ले अर्थात इनिङका सुरुका ६ ओभर भित्र उनलाई प्राप्त भएका हुन्। उनी विश्वकप इतिहासमा एकै विश्वकपमा पावर प्लेमा सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा उक्लिसकेका छन्। सन् २०१० मा अस्ट्रेलियाका डिर्क नेन्सले १० र सन् २०२२ मा जिम्बावेका ब्लेसिङ मुजराबानीले ८ विकेट लिएका थिए।

    फजालहकले प्राप्त गरिरहेको सफलता यत्तिमै सिमित छैन। उनी कुनै एक विश्वकपको पावर प्लेमा कम्तिमा ५ विकेट लिएका बलरमध्ये ‘बेस्ट बलिङ एभरेज’ भएका बलर बनेका छन्। उनको बेस्ट बलिङ एभरेज ४.९ रहेको छ। यस्तै पावर प्लेमा उनी हरेक ६.९ बलमा विकेट लिइरहेका छन् भने बलिङ इकोनोमी ४।३ रहेको छ।

    फजालहक अगाडि रसिद खानजस्ता बलर ओझेलमा परेका छन्। रसिदले ३ खेलमा ६ विकेट लिएका छन् भने बलिङ इकोनोमी ४।५ रहेको छ। २४ वर्षीय फजालहक बायाँ हाते फास्ट बलर हुन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०२१ को मार्चमा डेब्यु गरेका फजालहकसँग आईपिएल र बिग बासजस्ता ठुला व्यावशायीक प्रतियोगिता खेलेको अनुभव छ। उनले टी-२० अन्तर्राष्ट्रियमा ३७ खेल खेल्दै ४९ विकेट लिएका छन् भने बलिङ इकोनोमी ६.४९ रहेको छ।

  • टी-२० विश्वकप: पीएनजीलाई हराउँदै अफगानिस्तान सुपर ८ मा

    टी-२० विश्वकप: पीएनजीलाई हराउँदै अफगानिस्तान सुपर ८ मा

    काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै अफगानिस्तान सुपर ८ मा प्रवेश गरेको छ । शुक्रवार बिहान भएको खेलमा अफगानिस्तानले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो ।

    पीएनजीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अफगानिस्तानका गुलबदीन नवीले नटआउट ४९ रन बनाउदा मोहम्मद नवी १६ रनमा अविजित रहे । बलिङमा पीएनजीका नोरमन भानुआ, एली नाउ र सेमो कामियाले १-१ विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गरेको पीएनजी १९ ओभर ५ बलमा ९५ रनमा समेटिएको थियो। पीएनजीका किप्लिन दोरिगाले सर्वाधिक २७ रन जोडे । अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिए ।

    लगातार तेस्रो जित निकाल्दै अफगानिस्तान सुपर ८ मा पुगेको हो । अफगानिस्तानले यसअघि युगाण्डा र न्युजिल्यान्डलाई पराजित गरेको थियो । सोही समूहबाट ३ खेलमा ३ जित निकाल्दै वेस्ट इन्डिज पनि सुपर ८ मा पुगेको छ ।

  • टी-२० विश्वकप: ओमानमाथि इङ्ल्यान्डको फराकिलो जित

    टी-२० विश्वकप: ओमानमाथि इङ्ल्यान्डको फराकिलो जित

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इङ्ल्यान्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ ।

    ४८ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३ ओभर १ बलमा २ विकेटको गुमाएर पूरा गर्‍यो ।इंग्ल्याण्डका कप्तान जोश बट्लरले अविजित २४ रन बनाए।

    यो विश्वकपमा इङ्ल्यान्डको यो पहिलो जित हो । यसअघि स्कटल्यान्डसँगको खेल रद्द हुँदा अस्ट्रेलियासँग ३६ रनले पराजित भएको थियो ।
    त्यसअघि पहिला ब्याटिङ गरेको ओमान १३ ओभर २ बलमा ४७ रनमा समेटिएको थियो ।

    ओमानका शोइब खानले ११ रन जोडेका थिए ।
    बलिङमा इंग्ल्याण्डका अदिल रसिदले ४ विकेट तथा मार्क वुड र जोफ्रा आर्चरले ३(३ विकेट लिएका थिए ।

    यो ओमानको चौथो हार हो । स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो । नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो ।

  • श्रीलंका सुपर ८ को दौडबाट बाहिर, नेपाललाई दुवै खेलमा ‘गर वा मर’ को अवस्था

    श्रीलंका सुपर ८ को दौडबाट बाहिर, नेपाललाई दुवै खेलमा ‘गर वा मर’ को अवस्था

    काठमाडौं । टी २० विश्वकपमा सुपर ८ को दौडबाट श्रीलंका बाहिरिएको छ । हिजो भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई हराएसँगै श्रीलंकाको सम्भावना समाप्त भएको हो ।

    दुई खेलमा हार र एक खेल वर्षाले रद्द भएपछि श्रीलंका लगभग आउट भइसकेको थियो । बंगलादेश र नेदरल्यान्ड्स बीचको खेल रद्द भएको भए मात्र श्रीलंकाको सम्भावना प्राविधिकरूपमा जिवित रहन सक्थ्यो । खेलमा जितहार भएसँगै श्रीलंका बाहिरिएको हो । अब अन्तिम खेलमा नेदरल्यान्डसँग जे भए पनि उसलाई फरक पर्ने छैन ।

    नेपालको समूहमा साउथ अफ्रिका सुपर ८ मा पुगिसकेको छ । श्रीलंका आउट भएपछि अब बंगलादेश, नेपाल र नेदरल्यान्डसमध्ये एक टीम सुपर ८मा जानेछन् । बंगलादेशले ३ खेलमा दुई जितसहित ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा नेपाललाई जित्यो भने बंगलादेश सुपर८ मा पुग्ने छ ।

    नेदरल्यान्डसले तीन खेलमा एक जित र दुई हारसहित २ अंक जोडेको छ । एक खेल हारेको नेपाल र एक नो रिजल्टको सहायताले एक अंक बटुलेको छ ।

    यदि नेपालले बाँकी दुई खेलमा स्पष्ट जित हासिल गर्न सकेमा बंगलादेश र श्रीलंकालाई रोक्दै सुपर ८ मा पुग्नेछ।

    तर एक खेलमा पराजित भयो भने पनि नेपालको सम्भावना समाप्त हुन्छ । नेपालको साउथ अफ्रिकासँगको खेल रद्द भएर अन्तिम खेलमा बंगलादेशलाई हरायो भने नेट रनरेटका आधारमा निर्णय हुन्छ ।

    यता, नेदरल्यान्डससँग अन्तिम खेलमा श्रीलंकासँग पराजित भएमा वा खेल रद्द भएमा बाहिरिनेछ । जितेको खण्डमा नेट रन रेटबाट निर्णय हुनेछ ।

    नेपालले भोली साउथ अफ्रिकासँग र सोमबार बंगलादेशसँग खेल्दैछ । नेपालका लागि दुवै खेल ञगर वा मरझ हुनेछन् ।

  • टी २०- विश्वकप:  नेदरल्यान्ड्सलाई २५ रनले हरायाे बङ्गलादेशले

    टी २०- विश्वकप: नेदरल्यान्ड्सलाई २५ रनले हरायाे बङ्गलादेशले

    काठमाडौं । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ ।

    वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रनमा समेटियो ।

    नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । त्यस्तै विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ तथा म्याक्स ओडाउडले १२ रन बनाए ।

    बङ्गलादेशका लागि होसेनले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै मुस्तफिजुर रहमान र तान्जीम शकीबले समान एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५९ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि शाकीब अल हसनले ४६ बलमा नौ चौकासहित सर्वाधिक ६४ रन जोडेभने तान्जिद हसनले ३५ रन बनाउँदा महमुदुल्लाहले २५ रन तथा जाकेर अलीले १४ रन बनाए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले समान दुई दुई विकेट लिए भने टिम प्रिङ्गलले एक विकेट लिए ।

    यो जितसँगै समूह ‘डी’ मा रहेको बङ्गलादेशको तीन खेलमा चार अङ्क जोडेको छ । नेदरल्याण्ड्सको तीन खेलमा दुई अङ्क रहेको छ । त्यस्तै नेपालको दुई खेलमा एक अङ्क रहेको छ । श्रीलङ्काको तीन खेलमा एक अङ्कमात्र रहेको छ । नेपाल र दक्षिण अफ्रिकाको खेल भोलि हुनेछ । दक्षिण अफ्रिका भने विश्वकपको सुपर आठमा पुगिसकेको छ ।

  • ईंग्ल्याण्डलाई नकआउट गर्न स्कटल्यान्डसँग मिलेमतो गर्न सक्ने अष्ट्रेलियाकाे संकेत, मार्समाथि प्रतिबन्धको खतरा

    ईंग्ल्याण्डलाई नकआउट गर्न स्कटल्यान्डसँग मिलेमतो गर्न सक्ने अष्ट्रेलियाकाे संकेत, मार्समाथि प्रतिबन्धको खतरा

    काठमाडौं । पछिल्लो खेलमा नामिबियालाई सहजै हराएर सुपर ८ मा स्थान बनाएपछिको प्रेस मिटमा अष्ट्रेलियाका बलर जोस हेजलउडले एउटा ‘खेल भावना विपरीत’ को टिप्पणी गरे । उनले भने, ‘अब हामी ईंग्ल्यान्डलाई विश्वकपबाट नकआउट गराउन स्कटल्यान्डसँगको खेलमा जितको अन्तराललाई म्यानुपुलेट गर्न प्रयास गर्नेछौं ।’

    हेजलउडको यो अभिव्यक्तिले विश्वकपमा तरङ्ग उब्जेको छ भने आईसीसी पनि झस्किएको छ । हेजलउडको दाबीजस्तै के अष्ट्रेलियाले स्कटल्यान्डविरुद्धको खेलमा मिलेमतो गर्छ ? यदि साँच्चै त्यस्तो गरेको पाइएमा अष्ट्रेलियाका कप्तान मिचेल मार्स प्रतिबन्धमा पर्न सक्नेछन् ।

    अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकपको एउटा बलियो दाबेदार ईंग्ल्यान्ड पनि हो । तर विश्वकपको पहिलो चरणमा दुई म्याच खेल्न बाँकी रहेको ईंग्ल्यान्ड पहिलो जितको खोजीमा छ । स्कटल्यान्डविरुद्ध ईंग्ल्यान्डको पहिलो खेल वर्षाले बिथोलिएको थियो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले बिना विकेट क्षति ९० रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल हुन सकेन ।

    दोस्रो खेलमा अष्ट्रेलियासँग ईंग्ल्यान्ड ३६ रनले पराजित भयो । यसरी दुई खेलबाट एक अंक मात्र जोड्न सकेको ईंग्ल्यान्डले अब बाँकी ओमान र नामिबियाविरुद्धको खेलमा फराकिलो जित निकाल्नुपर्ने चुनौती छ । अष्ट्रेलियाले लगातार तीन खेल जितेर सुपर ८ मा स्थान बनाइसक्दा दोस्रो स्थानका लागि स्कटल्यान्ड र ईंग्ल्यान्ड दौडमा छन् । नामिबिया र ओमान समूह चरणबाट नकआउट भइसकेका छन् ।

    ईंग्ल्यान्डले अब ओमान र नामिबियामध्ये एक टीमसँग हार्‍यो भने उसको सुपर ८ मा पुग्ने सम्भावना समाप्त हुनेछ । तर दुवै खेल जित्यो भने नेट रनरेटका आधारमा ईंग्ल्यान्ड र स्कटल्यान्डमध्ये एउटा सुपर ८ मा जान्छन् । यी दुई टिमको भवितव्य अष्ट्रेलियाको हातमा छ । यदि अष्ट्रेलियाले स्कटल्यान्डमाथि फराकिलो जित हासिल गर्‍यो भने ईंग्ल्यान्डको भाग्य खुल्न सक्छ । यदि अष्ट्रेलियाले साँघुरो जित निकाल्यो भने स्कटल्यान्डको सम्भावना बढ्छ । यदि अष्ट्रेलिया हार्‍यो भने ईंग्ल्यान्ड सोझै नकआउट हुन्छ ।

    यस्तो सिनारियोमा हेजलउडले स्कटल्यान्डसँग खेल मिलेमतो गर्न सक्ने संकेत गरेका हुन् । इंग्ल्यान्ड टी २० मा बलियो टीम भएकाले उ समूह चरणबाटै आउट हुँदा आफूहरूलाई फाइदा हुने हेजलउडको भनाइ छ ।

    प्रेसमिटमा उनले भने, ‘यो प्रतियोगितामा हामीले फेरि एक दिन ईंग्ल्यान्डसँग भिड्नुपर्ने हुन सक्छ । ईंग्ल्यान्ड यस्तो टीम हो जसले आफ्नो दिनमा जसलाई पनि पराजित गर्न सक्छ । हामी टी २० क्रिकेटमा ईंग्ल्यान्डबाट धेरैपटक मात खाएका छौँ । त्यसैले यदि हामी ईंग्ल्यान्डलाई प्रतियोगिताबाट बाहिर पठाउन सक्यौँ भने त्यो हाम्रो साथसाथै अन्य टीमहरुको पनि हितमा हुन सक्छ ।’
    हेजलउड यतिमा रोकिएनन् ।

    उनी थप्छन्, ‘यो रोचक हुनेछ । हामी यसअघि एउटा टिमको रूपमा यो परिस्थितिमा पहिले कहिल्यै थिएनौँ । यो विषयमा हाम्रो टीमभित्र छलफल हुन्छ कि हुँदैन थाहा छैन । यो निर्णय अरूले गर्नेछन्, मैले होइन ।’

    कसरी साँघुरो जित निकाल्ने भनेर पनि हेजलउडले व्याख्या गर्न भ्याए ।

    ‘सुरुमा आक्रामक खेलेर जित निश्चित गर्ने, त्यसपछि बिस्तारै खेलेर सानो अन्तरको जित निकाल्ने उपायमा जान सकिन्छ,’ उनले भने, ‘अरू पनि उपाय छन् । तर राम्ररी जितेरै जाँदा टीमको मनोबल उच्च हुन सक्छ भन्ने लाग्छ । उनीहरू (ईंग्ल्यान्ड) ले पनि आफ्नो पाटोबाट धेरै गर्नुपर्ने छ ।’

    हेजलउड टिमका कप्तान नभएर एक खेलाडी मात्र हुन् । तर, प्रेसमिटमा अष्ट्रेलिया टिमकै तर्फबाट बोल्न उपस्थित थिए उनी । उनको अभिव्यक्तिले अष्ट्रेलियाले कतै ईंग्ल्यान्डलाई घर पठाउने चक्करमा खेल भावना विपरीतको रणनीति बनाएको त होइन भन्ने आशंका उब्जेको छ ।

    यदि साँच्चै नै अष्ट्रेलियाले स्कटल्यान्डसँग हारेमा वा साँघुरो जित निकालेमा गम्भीर प्रश्न खडा हुन सक्छ । म्याच अफिसियलहरुले कारबाहीका लागि सिफारिस गर्न सक्नेछन् । त्यसो भयो भने अष्ट्रेलियाका कप्तान मिचेल मार्समाथि दुई खेलको प्रतिबन्ध लाग्न सक्ने क्रिकइन्फोले जनाएको छ । उनले सुपर ८ का ३ मध्ये दुई खेल गुमाउने खतरा हुन्छ ।

    आईसीसी आचारसंहिताको आर्टिकल २.११ अनुसार मार्स कारबाहीका भागीदार बन्नेछन् । उक्त धारामा एउटा टीमले आईसीसीको कुनै पनि प्रतियोगितामा एउटा टीमले समूहको अर्को टीमलाई फाइदा पुर्‍याउने उद्देश्यले जानाजान म्याच हारेको खण्डमा अथवा नेट रनरेट म्यानुपुलेट गरेको खण्डमा कारबाहीको भागिदार हुनुपर्ने उल्लेख छ । यस्तो अवस्थामा कप्तान जिम्मेवार हुनेछन् ।

    उनलाई लेभल २ अफेन्स अन्तरगत ४ डिमेरिट प्वाइन्टसहित ५० प्रतिशत म्याच फि जरिवाना र २ सस्पेन्सन प्वाइन्ट सजाय गरिनेछ । त्यो भनेको मार्सले सुपर ८का दुई खेल खेल्न पाउने छैनन् ।

    तर, खेलमा साँच्चै मिलेमतो भएको हो कि होइन भनेर निर्णय लिनु अम्पायरहरूको लागि अप्ठेरो काम हो । राम्ररी खेल्दाखेल्दै पनि हार्न सकिने वा कठिन जित निकाल्ने सम्भावना हुन्छ नै ।

    नियतवश नै त्यसो गरेको हो भनेर ठहर्‍याउने काम चुनौतीपूर्ण हुन्छ । त्यसमाथि अष्ट्रेलियाले आफू सुपर ८ मा पुगिसकेको हुँदा अन्तिम खेलमा केही प्रमुख खेलाडीलाई रेस्ट दिने सम्भावना पनि छ ।

  • अष्ट्रेलियासँग नामिबिया ९ विकेटले पराजित

    अष्ट्रेलियासँग नामिबिया ९ विकेटले पराजित

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियामाथि ९ विकेटको जित निकालेको छ ।

    ७३ रनको लक्ष्य अष्ट्रेलियाले ५ दशमलव ४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो ।

    अष्ट्रेलियाका लागि नटआउट रहँदै ट्रभिस हेडले ३४ र माइकल मार्सले १८ रन बनाए । डेभिड वार्नरले २० रन बनाए ।

    नामिबियाका लागि डेभिड वाइसले १ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रन जोडेको थियो ।

    जितसँगै अष्ट्रेलिया सुपर ८ मा पुगेको छ । भने, नामिबियाको सम्भावना सकिएको छ ।

  • साउथ अफ्रिका सुपर ८ मा, नेपालको सम्भावना कति ?

    साउथ अफ्रिका सुपर ८ मा, नेपालको सम्भावना कति ?

    काठमाडौं । वेष्ट इन्डिज र अमेरिकामा जारी आइसिसी टी-२० विश्वकपमा वर्षाका कारण नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको छ । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा वर्षा नरोकिएपछि नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको हो ।

    खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । दुई खेलमा नेपाल एक अंकका साथ चौथो र तीन खेलमा एक अंक जोड्दै श्रीलङ्का अंक तालिकाको पुछारमा छ । नेपाल रहेको समूह डीबाट साउथ अफ्रिका सुपर – ८ मा प्रवेश गरेको छ ।

    नेपाल र श्रीलंकाको खेल रद्द भएपछि साउथ अफ्रिका एक खेल अगावै माथि उक्लेको हो । साउथ अफ्रिकाले श्रीलङ्का, बंगलादेश र नेदरल्याण्डमाथि लगातार जित हासिल गरेको थियो । यस विश्वकपको सुपर- ८ मा पुग्ने पहिलो टोली साउथ अफ्रिका बनेको छ ।

    अब दोस्रो स्थानका लागि बंगलादेश, नेदरल्यान्डस्, श्रीलङ्का र नेपाल प्रतिस्पर्धामा छन् । दुई खेलमा एक जितसहित २ अंकसहित एक जित हासिल गरेका बंगलादेश र नेदरल्यान्डस् क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।

    सुपर – ८ मा बंगलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको सम्भावना बलियो देखिन्छ । श्रीलंकको गणितीय सम्भावना बाँकी छ । तर त्यसको लागि अरू टीमको नतिजामा भर पर्नुपर्छ । साथै अरू टीमको खेलमा वर्षाको कामना पनि गर्नुपर्ने हुन्छ ।

    नेपालको सम्भावना पनि निकै कठिन छ । नेपालले अब दुई खेल खेल्न बाँकी छ । नेपालले दुवै खेल वेष्ट इन्डिजमा खेल्नेछ । जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ ।

    नेपाललाई सुपर–८ पुग्न बाँकी खेल जित्नुको विकल्प छैन । उक्त जितले मात्र पुग्ने छैन । दुई खेल खेल्न बाँकी नेदरल्यान्ड्सले कम्तीमा एक खेल हार्नुपर्ने हुन्छ । नेदरल्यान्ड्सले दुवै खेल जितेमा वा नेपालले एक खेल हारेमा पनि नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिनेछ । यस्तै दुई खेल खेल्न बाँकी रहेको बंगलादेशले पनि एक खेल हार्नुपर्छ ।

    नेपालले बलिया राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशसँग जित निकाल्न सहज छैन ।

  • अष्ट्रेलियाविरुद्ध नामिबिया ७२ रनमा अलआउट

    अष्ट्रेलियाविरुद्ध नामिबिया ७२ रनमा अलआउट

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत समूह बीको खेलमा नामिबियाले अष्ट्रेलियालाई ७३ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा ७२ रन मात्रै बनाउन सक्यो ।

    नामिबियाका लागि एरार्ड इरासमसले ३६ र माइकल लिंगेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।

    अष्ट्रेलियाका लागि ऐडम जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए । यस्तै जोस हेजलवुड र मार्कस स्टोनिसले २-२ विकेट लिए । त्यसैगरी प्याट कमिन्स र नेथन एलिसले १-१ विकेट लिए ।

  • नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे (भिडिओ)

    नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे (भिडिओ)

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ ।

    वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने भनिएको खेल रद्द भएको हो ।

    खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १-१ अंक बाडेका छन् ।

    रंगशालामा बाक्लो संख्यामा उपस्थित र टेलिभिजन लाइभको प्रतीक्षामा बिहानैदेखि बसेका नेपाली समर्थक निराश बनेका छन् । नेपालले एक टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमाएको छ ।

  • वर्षा रोकियो, मैदान निरीक्षण हुँदै

    वर्षा रोकियो, मैदान निरीक्षण हुँदै

    काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल हुने मैदानमा वर्षा रोकिएको छ ।

    अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा अहिले वर्षा रोकिएको हाे।

    सवा ५ बजेबाट खेल सुरु हुनुपर्नेमा वर्षाका कारण हालसम्म टससमेत हुन सकेको थिएन । अहिले वर्षा रोकिएसँगै मैदानमा निरिक्षणकाे तयारी छ । फेरि वर्षा नभएमा ओभर छोट्याएर खेल हुनेछ ।

    मौसम भविष्यवाणी अनुसार फेरि वर्षाको सम्भावना यथावत् छ । खेल हुनका लागि कट अफ टाइम नेपाली समयअनुसार बिहान ८ः२६ रहेको छ । त्यतिन्जेलमा  खेल सुरू हुन नसकेमा खेल रद्द हुनेछ र दुवै टीमले अंक बाँड्नेछन् ।