Category: टि २० विश्वकप 2024

  • अर्काे विश्वकप खेल्न १० वर्ष कुर्न नपरोस्

    अर्काे विश्वकप खेल्न १० वर्ष कुर्न नपरोस्

    पोखरा । नेपालले सन् २०२४ मा आईसीसी टी-२० विश्वकप खेल्यो । जीत निकाल्न नसके पनि नेपालको प्रदर्शन सन्तोषजनक मान्नुपर्छ । नेपाली टीमले विश्वकप खेलेको यो दोस्रो पटक हो ।

    यसअघि सन् २०१४ मा नेपालले टी-२० विश्वकप खेलेको थियो । पहिलो पटक सहभागी नेपालको त्यसबेलाको प्रदर्शन उत्कृष्ट रह्यो । अफगानिस्तान र हङकङलाई पराजित गर्दा बङ्गलादेशसँग हार व्यहोर्नुपर्‍यो । त्यसबेला अन्य धेरै राष्ट्रले नेपाललाई पनि टी-२० विश्वकपको प्रतिस्पर्धी सम्झिसकेका थिए । दुर्भाग्य भन्नुपर्छ, त्यसपछि नेपाललाई विश्वकप खेल्न १० वर्ष लाग्यो ।

    हो, सन् २०१४ मा नेपालले विश्वकप खेल्दा अहिले जस्तै ठाउँठाउँमा ठूलो स्क्रीनमा खेल हेर्नेको भीड थियो । बङ्गलादेशमा नेपालको राष्ट्रिय गान बज्दा जो जहाँ छन्, त्यही उठेर ठूलो स्वरले छाती फुलाएर राष्ट्रिय गान गाएकै थिए । विश्वकप खेलेर फर्किएपछि खेलाडीको शानदार स्वागत भएकै थियो, तर त्यसपछि क्रिकेटलाई सरकारले हेर्ने दृष्टिकोण र व्यवहार सन् २०१४ अघिकै हुँदा नेपाली क्रिकेटको स्तर माथि उठ्न सकेन ।

    सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्‍यो । त्यसपछि त झन् नेपाली क्रिकेट धराशायी बन्यो । क्यान निलम्बनको समय नेपाली क्रिकेट टीमले केही अन्तर्राष्ट्रिय खेल खेले पनि पर्याप्त अन्तर्राष्ट्रिय एक्स्पोजर पाउन सकेन ।

    आईसीसीले क्यानलाई साढे ३ वर्षपछि सन् २०१९ मा सशर्त फुकुवा र २०२२ मा पूर्ण फुकुवा गर्‍यो । त्यसपछि आईसीसीले नेपाल र सरकारले क्रिकेटलाई हेर्ने नजर फेरियो । नेपाल यूएईसँग पराजित हुँदा सन् २०२२ मा अस्ट्रेलियामा भएको टी-२० विश्वकपमा सहभागी हुन पाएको थिएन ।

    सन् २०२३ मा घरेलु मैदानमा यूएईलाई नै पराजित गर्दै नेपालले दोस्रो पटक विश्वकपको यात्रा तय गरेको थियो । दोस्रो पटक सन्तोषजनक खेलेको नेपालले अब फेरि कहिले विश्वकप खेल्ने टुङ्गो छैन । पहिलोदेखि दोस्रो पटक विश्वकप खेल्दा जति समय लाग्यो, त्यति नै समय तेस्रो खेल्न लाग्ने हो कि भन्ने आंशका पनि छ । तेस्रो पटक विश्वकप खेल्ने समय छोट्याउन नेपालले धेरै कुरा सुधार्न आवश्यक छ ।

    अनुत्तरित प्रश्नहरु

    • त्रिवि र मूलपानी क्रिकेट मैदानमा खेल भए प्राक्टिस गर्न कहाँ जाने ?
    • यी दुईबाहेक नेपालमा अरु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कहिले बन्छन् ?

    सरकारले सोच्न ढिलो गर्न हुँदैन । खेल हुँदा बधाई दिएर, सामाजिक सञ्जालमा पोस्ट्याएर र जितेपछि केही हजार-लाख रुपैयाँ दिएर नेपाली क्रिकेटको विकास हुँदैन । अहिले भएको संरचनाले मात्रै नेपाली क्रिकेटले उचाइ चुम्दैन ।

    अन्तर्राष्ट्रिय मैदानको रूपमा रहेका त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानको स्तरमा अब सन्तुष्ट हुने ठाउँ छैन । नियमित मर्मत सम्भारदेखि फ्लड लाइट, प्राक्टिस कक्षदेखि क्रिकेट किको व्यवस्थापन गर्नुको विकल्प छैन । फ्लड लाइटदेखि नियमित मर्मत-सम्भारको काम गर्ने सरकारले पटक पटक उद्घोष गरे पनि पूरा गर्न सकेको छैन ।

    अब यी अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपालले मात्र खेल्न होइन । विश्वका बलिया राष्ट्रलाई पनि यहाँ आएर खेलौं खेलौं लाग्ने बनाउनुपर्छ । यीबाहेकका अन्य ठाउँमा पनि अन्तर्राष्ट्रिय स्तरको मैदान नेपाली क्रिकेटलाई चाहिएको छ । पोखरा, चितवन, भैरहवादेखि धनगढीसम्मका क्रिकेट मैदानले स्तरोन्नतिका लागि सरकार पर्खिरहेका छन् ।

    सधैं ओमन, मलेसिया, साउदी अरेबियालाई जितेर खुशी मनाउने होइन । बरु बलिया राष्ट्रसँग खेलेर हार्न र सिकेको हेर्न चाहन्छन् नेपाली समर्थक । नेपालले बलिया राष्ट्रसँग खेल्नसक्छ भनेर यो विश्वकपमा प्रमाणित गरिसकेको छ । त्यसैले धेरैभन्दा धेरै टेस्ट राष्ट्रलाई नेपालमा बोलाएर हुन्छ या उसैको राष्ट्रमा गएर हुन्छ, धेरैभन्दा धेरै खेल खेल्न र खेलाउनुपर्छ । त्यसको सहजीकरण नेपाल क्रिकेट संघ (क्यान) ले गर्नुपर्छ । क्यानमार्फत नभएको खण्डमा सरकारबाटै कूटनीतिक पहल हुन पनि जरुरी हुन्छ ।

    सन् २०१४ मा नेपालले हराएको अफगानिस्तान निरन्तर विश्वकप खेलिरहेको छ । उसले बलिया राष्ट्रलाई टक्कर दिइराखेको हुन्छ । यसको कारण हो, नियमित प्रशिक्षण तथा एक्स्पोजर पनि । प्रशिक्षण र एक्स्पोजरविना क्रिकेटको विकास र विस्तार हुन सक्दैन । अफगानिस्तानले निरन्तर योजना बनायो, योजनाअनुसार गतिविधि गर्‍यो र अहिले यो स्थानमा पुग्यो । विश्वकप खेल्दा वाहवाही पाउने र त्यसपछि सबै बिर्सने प्रवृत्तिसमेत नेपाली क्रिकेट विकासको बाधक बन्दै आएको छ ।

    खेलाडी प्रोसेस : पुरानाको क्षमता विकास, नयाँ उत्पादन

    क्रिकेटमा समय क्रमसँगै नियमहरू फेरिँदै गएको छ । समयअनुसार खेलमा विभिन्न खालका प्रविधि पनि प्रयोग हुँदै आएका छन् । समयअनुसार खेलाडी पनि प्रोसेस हुनु आवश्यक छ । अहिले जुन देशको खेल हेर्नुपर्‍यो भने सहजै भेट्टाउन सकिन्छ । टीमको खेल, बलिङ, ब्याटिङ अहिलेको विश्वले सहज रिडिङ गर्छ । त्यसैले खेलाडी समयअनुसार अपडेट हुन सकेन भने प्रदर्शन राम्रो हुन सक्दैन ।

    नेपाली क्रिकेटमा पछिल्लो समय केही प्रविधि भित्रिए पनि पर्याप्त छैन । बलिङ मेसिनदेखि स्पिड चेकर, बल टर्न मापन गर्नेदेखि धेरै विधि विश्व क्रिकेटमा प्रयोग भइसकेका छन् । ती विधि नेपालमा पनि भित्र्याउन सके खेलाडीको गुणस्तर मापन र कमजोरी तथा विशेषता पत्ता लगाउन सकिन्छ । टी-२० क्रिकेटमा भनेको एक बल र एक विकेट पनि तलमाथि हुनसक्छ । त्यसैले बलरले ब्याटर र ब्याटरले बलरको बल रिड गर्न सक्नु अहिलेको आवश्यकता हो ।

    ग्रासरुटको विकास

    क्रिकेट विकासको मुख्य आधार हो ग्रासरुट । ग्रासरुढबिना न क्रिकेटको विकास हुन सक्छ न खेलाडी उत्पादन नै । हरेक खेलाडीको एक खास समय हुन्छ । त्यो समयपछि उसले विकल्पको खोजी गरिराखेको हुन्छ । तर, विकल्प तयार भइरहेको हुँदैन । उसैले नै क्रिकेट सम्हालिरहनुपर्ने हुन्छ । जसका कारण सोचेअनुरुप टीमले राम्रो नतिजा दिन सक्दैन । त्यस कारण नयाँ प्रतिभाको खोजी अहिलेको आवश्यकता हो । नेपाल क्रिकेट संघले नेपाल ‘ए’ टीम बनाएर राम्रो सुरुवात गरेको छ । जसले नेपाली क्रिकेटलाई ब्याकअफको काम गरिरहेको छ । अब ‘ए’ टीमलाई थप मजबुत र गुणस्तरीय बनाउन भने मेहनत गर्नुपर्ने हुन्छ । ‘ए’ टीमले नै नेपाली सिनियर टोलीको निर्क्योल गर्छ ।

    नेपालका हुने केही राष्ट्रिय प्रतियोगिता दूरदराजसम्म पुग्न सकेको छैन । शहरबजारमा भएका सीमितले मात्र क्रिकेट खेल्दैमा क्रिकेट र खेलाडीको विकास हुन सक्दैन । त्यसको लागि ग्रासरुटको योजना बनाइ प्रतिभाको खोजी गर्न जरुरी छ । क्यानले स्थानीय, जिल्ला तथा प्रदेशस्तरका प्रतियोगिता सोहीस्तरका संरचनालाई दिएर समन्वयकारी भूमिका खेल्नुपर्छ । आजका प्रतिभाले भोलि देशको प्रतिनिधित्व गर्ने हो । आजका खेलाडीले भोलि पनि खेल्छन् भन्नु भन्दा पनि आजका खेलाडीको क्षमता र गुणस्तर विकास सँगसँगै नयाँ खेलाडी उत्पादनतर्फ पनि लाग्नुपर्छ । विभिन्न संघसंस्थाले गर्ने सहयोग खेलाडीसँगै खेल विकास तथा विस्तारमा पनि खर्च गर्नुपर्छ । संघसंस्थाले गर्ने सहयोग नेपाली क्रिकेटको विकास र विस्तार गर्न महत्वपूर्ण एक खम्बा हुनसक्छ ।

  • यसरी चारवटै ओभर मेडन फ्याँके फर्गुसनले

    यसरी चारवटै ओभर मेडन फ्याँके फर्गुसनले

    काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा सोमबार राती प्रतियोगिताबाट बाहिरिने पक्का भइसकेका न्युजिल्यान्ड र पपुआ न्युगिनी भिड्दै थिए। ट्रिनिडाड एन्ड टोबागोस्थित तारौबामा न्युजिल्यान्डले टस जितेपछि पीएनजीलाई ब्याटिङका लागि बोलाएको थियो।

    बलिङ गरेको न्युजिल्यान्डका लागि लकी फर्गुसनले दुर्लभ विश्व कीर्तिमान बनाए। उनले बलिङ गरेका चारवटै ओभर मेडन राखे। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको कुनै एक खेलमा एउटा बलरले अधिकतम चार ओभरसम्म बलिङ गर्न पाउँछ। फर्गुसनको नाममा कुनै रन गणना नहुने गरी उनले बलिङ गरेका हुन्।

    अझ उनले फर्गुसन पाचौँ ओभरमा बलिङमा आएका थिए जतिबेला पीएनजीले २ विकेट गुमाएर १४ रनमा खेल्दै थियो। उनले पहिलो बलमै विकेट लिए। ६ रनमा खेलिरहेका आसाद भाला क्याच आउट हुन पुगे। त्यसपछिका ५ बलमा उनले रन दिएनन्।

    नयाँ ब्याट्सम्यान सेसे बाउले उक्त ओभरमा रन विहिन बने। टिम साउथीले छैटौँ ओभरमा केवल २ रन दिए। सातौँ ओभरमा फेरि बलिङमा आएका फर्गुसनलाई सामना गर्नुपर्ने थियो बाउले। बाउ ६ बलमा एक रन बनाएर खेल्दै थिए। तर उक्त ओभरमा बाउले रन जोड्न सकेनन्। बाँकी दुई ओभरका लागि फर्गुसनलाई केहीबेर विश्राम दिइयो। उनी १२ औँ ओभरमा बलिङमा आए जतिबेला पीएनजी २ विकेट गुमाएर ४१ रनमा खेल्दै थियो।

    सेसे बाउ १२ र चार्ल्स अमिनी १७ रनमा खेल्दै थिए। दोस्रो बलमा अमिनी एलबिडब्लु धरापमा परे। पीएनजीले गुमाएको यो तेस्रो विकेट थियो। १३ औँ ओभरमा मिचेल सान्टनरको बलमा बाउ पनि आउट भएपछि पीएनजी ४३(४ को अवस्थामा पुग्यो। १४ औँ ओभरको दोस्रो बलमा फर्गुसनले १ रनमा खेलिरहेका चाड सोपरलाई बोल्ड गरे।

    तेस्रो बलमा पीएनजीले २ रन लिएको थियो तर त्यो ‘लेग बाई’ थियो अर्थात बलरको नाममा गणना भएन। विकेटकिपर किपलिन दोलिगाले ब्याट नछोई आफ्नो शरिरमा लागेर गएको बलमा २ रन लिएपनि त्यसपछिका बाँकी ३ बलमा एक रन पनि जोड्न सकेनन् र टी‍-२० अन्तर्राष्ट्रिय क्रिकेटमा फर्गुसनले विश्व कीर्तिमान बनाउन पुग्यो।

    ३३ वर्षीय दायाँ हाते फास्ट बलर फर्गुसनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ४२ खेल खेल्दै ६१ विकेट लिएका छन्। उनको बलिङ इकोनोमी ७।१५ छ। औसतमा हरेक १४.८ बलमा विकेट लिने गरेका छन्। जारी विश्वकपका अघिल्ला तीन खेलमा उनले १२ ओभर बलिङ गर्दै ६४ रन खर्चिएर ४ विकेट लिएका थिए। त्यसमा मेडन भने एउटा पनि थिएन।

  • फर्गुसनको अविश्वसनीय प्रदर्शन: ४ ओभरमा कुनै रन नखर्ची लिए ३ विकेट

    फर्गुसनको अविश्वसनीय प्रदर्शन: ४ ओभरमा कुनै रन नखर्ची लिए ३ विकेट

    काठमाडौं । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनको अविश्वसनीय बलिङ प्रदर्शन गरेका छन् ।

    जारी टि-२० विश्वकपमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध न्युजिल्यान्डका फर्गुसनले अविश्वसनीय बलिङ प्रदर्शन गरेका हुन् । गएराति भएको खेलमा उनले ४ ओभर बलिङ गर्दै कुनै पनि रन नखर्ची ३ विकेट लिएका हुन् ।

    उनले गरेको बलिङको २४ बलनै डट भएको हो । उक्त खेलमा पीएनजी १९ ओभर ४ बलमा ७८ रनमा समेटिएको थियो । न्युजिल्यान्ड ७ विकेटले विजयी भएको हो ।

  • वेस्ट इन्डिजले पावर प्लेमा जोड्यो ९२ रन, टी-२० विश्वकपमा नयाँ कीर्तिमान

    वेस्ट इन्डिजले पावर प्लेमा जोड्यो ९२ रन, टी-२० विश्वकपमा नयाँ कीर्तिमान

    काठमाडौं। वेस्ट इन्डिजले टी-२० विश्वकपको पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान बनाएको छ। घरेलु मैदान ग्रोस इसलेटमा मंगलबार अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजले सुरुका ६ ओभरमा ९२ रन जोडेको छ।

    यसअघि विश्वकप इतिहासमा पावर प्लेमा कुनैपनि टोलीले यति धेरै रन बनाउन सकेको थिएन। सुरुको ६ ओभरमा जोनसन चार्ल्सले १९ बलमा ३५ र निकोलस पुरानले १३ बलमा ३६ रन जोडेका थिए।

    पहिलो चरणको अन्तिम खेलमा भिडिरहेको वेस्ट इन्डिजले अफगानिस्तानलाई २ सय १९ रनको लक्ष्य दिएको छ। पुरानले ५३ बलमा ९८ रन जोडेर आउट भए।

  • साहिल चौहान बने टी-२० आईमा छिटो शतक बनाउने खेलाडी, २७ बलमै पूरा गरे शतक

    साहिल चौहान बने टी-२० आईमा छिटो शतक बनाउने खेलाडी, २७ बलमै पूरा गरे शतक

    काठमाडौं । एस्टोनियाका खेलाडी साहिल चौहानले टी-२० आईमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमानी आफ्नो नाममा बनाएका छन् ।

    उनले साइप्रसविरुद्ध २७ बलमा शतक पूरा गर्दै सबैभन्दा छिटो शतकको कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । साइप्रसविरुद्ध साहिल ४१ बलमा ६ चौका र १८ छक्कासहित १४४ रनमा अविजित रहे । उक्त खेलमा एस्टोनिया ६ विकेटले विजयी भएको थियो ।

    यसअघि उक्त कीर्तिमान नामिबियाका लोफ्टी इटनको नाममा थियो । उनले गत फेब्रुअरीमा किर्तिपुरमा नेपालविरुद्ध ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका थिए ।

  • पहिलो चरणबाटै बाहिरिएपछि समर्थकलाई इंगित गर्दै पाकिस्तानी कप्तान बाबरले भने- हामी अझ बढी निराश छौं

    पहिलो चरणबाटै बाहिरिएपछि समर्थकलाई इंगित गर्दै पाकिस्तानी कप्तान बाबरले भने- हामी अझ बढी निराश छौं

    काठमाडौं । टी-२० विश्वकपको पहिलो चरणबाटै बाहिरिएपछि पाकिस्तानका कप्तान बाबर आजमले टीम समर्थकभन्दा आफूहरु बढी निराश भएको बताएका छन् । उनले टीमले राम्रो खेल्न नसकेको स्वीकार गरे ।

    ‘टीममा ११ खेलाडी हुन्छन् र हरेकको भूमिका हुन्छ । म हरेक खेलाडीको ठाउँबाट खेल्न सक्दिनँ । मलाई लाग्छ, टीमका रुपमा हामीले आफूलाई पेश गर्न, फलो गर्न र अन्त्य गर्न सकेनौं । हामी एक ठाउँमा बसेर टीमका रुपमा राम्रो खेल्न नसकेको स्वीकार्नैपर्छ । यो १५ जना खेलाडीको कमजोरी हो । हामीले कार्यान्वयन गर्न सकेनौं । हामी बसेर यस विषयमा कुरा गर्नेछौं’, उनले भने ।

    कप्तान बाबरले कुनै एक खेलाडीको कमजोरी औंल्याएनन् । ‘हामीले कुनै एक खेलाडीका कारण हारेका हैनौं, टीमकै रुपमा हामी पराजित भयौं’, अन्तिम खेलमा आयरल्यान्डलाई हराएपछि बाबरले भने ।

    पाकिस्तानले सुरुका दुई खेलमा अमेरिका र भारतसँग हार व्यहोरेको थियो । त्यसपछि लगातार दुई खेल जिते पनि अगाडि बढ्न सकेन । आयरल्यान्डसँग भिड्नुअघि नै पाकिस्तान अघिल्लो चरण नपुग्ने पक्का भइसकेको थियो । भारतलाई ११९ रनमा समेटेर पनि पाकिस्तानले लक्ष्य पूरा गर्न सकेन ।

    कप्तानी छाड्ने विषयमा बाबरले आफ्नो नियन्त्रणको विषय नभएको जवाफ दिए ।

    ‘मैले आफूले यसबारे अझै सोचेको छैन’, उनले भने, ‘जब हामी पाकिस्तान फर्कन्छौं, यहाँ भएका सबै कुरामा छलफल हुनेछ । जतिबेला मलाई कप्तानी दिइएको थियो, त्यो पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को निर्णय थियो । अब पनि उनीहरुकै हो ।‘

    पाकिस्तान टी-२० विश्वकपको पूर्वविजेता टीम हो ।

  • बंगलादेशलाई सबैभन्दा न्यून स्कोरमा रोक्ने एसोसियट राष्ट्र बन्यो नेपाल, अरु के के बने रेकर्ड ?

    बंगलादेशलाई सबैभन्दा न्यून स्कोरमा रोक्ने एसोसियट राष्ट्र बन्यो नेपाल, अरु के के बने रेकर्ड ?

    काठमाडौं । टी-२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा केही रोचक कीर्तिमान बनेका छन् । आज बंगलादेशले बनाएको स्कोर २० ओभरको खेलमा कुनै पनि एसोसियट राष्ट्रविरुद्ध उसको सबैभन्दा न्यून स्कोर थियो ।

    यसबाहेक अरु के के रेकर्ड बने त ?

    • बंगलादेशले १०६ रनको स्कोर सफलतापूर्वक रक्षा गर्‍यो । टी-२० विश्वकपमा अहिलेसम्म कुनै पनि टीमले रक्षा गरेको यो सबैभन्दा न्यून स्कोर हो । अर्थात् पहिलो इनिङमा पूरा २० ओभर खेलेर यति थोरै रन बनाएर खेल जितेको इतिहास थिएन । यसअघि गत सातामात्रै बंगलादेशविरुद्ध नै साउथ अफ्रिकाले न्यूयोर्कमा ११३ रनको स्कोर रक्षा गरेर इतिहास रचेको थियो । उक्त कीर्तिमान बंगलादेशले नै तोड्यो ।
    • टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा फुल मेम्बरले १०६ भन्दा कम रन बनाएर दुई पटकमात्रै खेल जितेको छ । वेस्ट इन्डिजले सन् २०१४ मा आयरल्यान्डविरुद्ध ९ विकेटको क्षतिमा बनाएको ९६ रनलाई सफलतापूर्वक रक्षा गरेको थियो । त्यस्तै सन् २०१० मा जिम्बाबेले वेस्ट इन्डिजविरुद्ध सबै विकेट गुमाएर १०५ रनमात्र बनाएर पनि खेल जितेको थियो ।
    • बंगलादेशका बलर तान्जिम हसन सकिबले आज नेपालविरुद्ध चार ओभर फ्याँक्दा २१ बल डट राख्न सफल भए । यो टी-२० विश्वकपको खेलमा कुनै पनि बलरले राखेको सबैभन्दा धेरै डट बलको कीर्तिमान हो । योभन्दा अगाडि ९ जना बलरले २० बल डट राखेका छन् । तीमध्ये ७ रेकर्ड यही विश्वकपमा बनेका हुन् ।
    • आज बंगलादेशलाई नेपालले १०६ रनमा अलआउट गरेको थियो भने नेपाललाई बंगलादेशले ८५ रनमा अलआउट गर्‍यो । टी-२० विश्वकपमा योसमेत तीन पटकमात्रै दुवै टीमका ब्याट्सम्यान अलआउट भएका छन् । यसअघि सन् २०१० मा अष्ट्रेलिया र पाकिस्तान तथा सन् २०१४ को विश्वकपमा श्रीलंका र न्यूजिल्यान्डको खेलमा मात्रै यस्तो भएको थियो ।
    • बंगलादेशका दुई बलर मुस्तफिजुर रहमान र तान्जिमले चारचार ओभर बलिङ गर्दा ७-७ रनमात्र खर्चिए । बंगलादेशका कुनै पनि बलरले चार ओभर बलिङ गर्दा न्यून रन खर्चेको रेकर्ड उनीहरुले बराबरी गरेका छन् । यसअघि रिसाद होसेनले अमेरिकाविरुद्ध यसै वर्ष ७ रनमात्रै खर्चेर आफ्नो बलिङ कोटा पूरा गरेका थिए ।
    • कुनै पनि पुरुष टी-२० अन्तर्राष्ट्रिय म्याचमा एउटा टीमका दुई ब्याट्सम्यानले अर्धशतकीय साझेदारी गरेर पनि बनाएको तेस्रो थोरै रनको रेकर्ड आज नेपालले राखेको छ । नेपालका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लबीच ५२ रनको साझेदारी भएको थियो, तर नेपालले ८५ रनमात्रै जोड्न सक्यो । यसअघि नर्वेले जर्मनीविरुद्ध सन् २०२१ मा ७६ रन बनाएको थियो । जबकि आठौं विकेटका लागि दुई ब्याट्सम्यानले ५९ रनको साझेदारी गरेका थिए । यस्तै सन् २०२२ मा घानाविरुद्धको खेलमा क्यामरुनका ओपनर ब्याट्सम्यानले ५२ रनको पार्टनरसीप गरेका थिए, तर क्यामरुन ७६ रनमा अलआउट भएको थियो । टी-२० विश्वकपमा भने नेपालको कीर्तिमान हो । यसअघि सन् २०२१ मा आयरल्यान्ड श्रीलंकाविरुद्ध १०१ रनमा अलआउट भएको थियो ।
    • बंगलादेशले आज बनाएको १०६ रन कुनै पनि फुल मेम्बरले टी-२० विश्वकपमा एसोसियट राष्ट्रविरुद्ध बनाएको दोस्रो सानो स्कोर हो । पहिलो सानो स्कोर सन् २०१४ मा इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध बनाएको ८८ रन थियो ।
    • बंगलादेशले बनाएको १०६ रन एउटा फुल मेम्बरले अन्तर्राष्ट्रिय टी-२० मा एसोसियट्सविरुद्ध बनाएको पाँचौं सानो स्कोर हो । बंगलादेशको चाहिँ सबैभन्दा सानो स्कोर यही नै हो । यसअघिको सानो स्कोर हङकङविरुद्ध सन् २०१४ मा बनाएको १०८ रन थियो ।
  • विश्वकपको सुपर ८ समीकरण पूरा, भारत र अष्ट्रेलिया एकै समूहमा

    विश्वकपको सुपर ८ समीकरण पूरा, भारत र अष्ट्रेलिया एकै समूहमा

    काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा भएको छ । पहिलो चरणबाट ८ टीम सुपर एटमा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुई वटा समूहमा बाँडिएको छ ।

    भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश ग्रुप १ मा छन् । ग्रुप २ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा भारत र अस्ट्रेलिया र दक्षिण अफ्रिका चारवटै खेल जिते ।

    अमेरिकाले ४ मध्ये २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएको थियो । भारतसँग भने पराजित भएको थियो । यस्तै इङ्ल्यान्डले पनि २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएर अंक बाँडिएको थियो । अष्ट्रेलियासँग भने पराजित भएको थियो ।

    वेस्ट इन्डिज र अफगानिस्तानले खेलेका तीनवटै खेल जितेका छन् । अन्तिम खेलमा अब वेस्ट इन्डिजले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै, बंगलादेशले ४ मध्ये ३ खेल जित्यो भने दक्षिण अफ्रिकासँग मात्र पराजित भएको थियो ।

    वेस्ट इन्डिज र इङ्ल्यान्ड प्रतियोगिताको इतिहासमा सर्वाधिक २/२ पटकका विजेता हुन् । अष्ट्रेलिया र भारतले पनि एक एकपटक जितेका छन् । सुपर एट पुगेका दक्षिण अफ्रिका, बंगलादेश, अमेरिका र अफगानिस्तानले भने उपाधि जित्न सकेका छैनन् ।

     

     

  • कठिन पिच र स्तरीय बलिङसँग नेपालका ब्याट्सम्यानको संघर्ष, कसको प्रदर्शन कस्तो ?

    कठिन पिच र स्तरीय बलिङसँग नेपालका ब्याट्सम्यानको संघर्ष, कसको प्रदर्शन कस्तो ?

    काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकपमा नेपालको यात्रा सकिएको छ । चारमध्ये तीनवटा खेलमात्र खेल्न पाएको नेपालले जित हासिल गर्न सकेन, तर थुप्रै सकारात्मक अनुभवहरू संगालेको छ ।

    नेपालको श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुनु नेपालका निम्ति दुर्भाग्यपूर्ण थियो । एउटा टेस्ट राष्ट्रसँग भिड्ने अवसर नेपालले गुमायो । बाँकी खेलमा नेपालले तीन राष्ट्रलाई कडा टक्कर दियो, जसमध्ये दुईवटा टेस्ट कन्ट्री थिए । साउथ अफ्रिकालाई त नेपालले पराजयको संघारमै पुर्याएको थियो, तर अन्तिम क्षण चुक्यो । पछिल्ला तीन ओभरमा सम्हालिन नसक्दा नेपालले अत्यन्त सहज अवस्थाबाट नतिजा सुम्पिन बाध्य भयो ।

    समग्रमा नेपालका बलरहरूले तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरे, तर ब्याटिङ सन्तोषजनक भएन । हुन त अमेरिका र वेस्ट इन्डिजको कठिन पिचमा शक्तिशाली टीमहरू पनि लड्खडाइरहेका छन् । यो विश्वकपमा सयभन्दा माथिको स्कोरलाई सम्मानजनक मानिन्छ । त्यस हिसाबले नेपालको ब्याटिङ पनि औसत हो । यद्यपि, विश्वस्तरीय बलिङसँग जुझ्ने अनुभवको कमीले नेपाल चुक्यो । यदि ब्याटिङमा अलिकति परिपक्वता देखिएको भए नेपाल सुपर ८ मा पुग्न सक्थ्यो भन्ने महसुस गर्न सकिन्छ । तीव्र गति र उछाल भएको बलमा नेपालका ब्याट्सम्यानहरू डगमगाए ।

    नेपालले खेलेका तीनवटै खेलहरू लो स्कोरिङ थिए । ३ वटै खेलमा नेपालले १ सय १५ रन कटाउन सकेन । नेपालका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । साउथ अफ्रिकाविरुद्ध आसिफ शेखले बनाएको ४२ रन प्रतियोगितामै नेपाली ब्याट्सम्यानको ठूलो स्कोरका रुपमा रह्यो । बलिया राष्ट्रविरुद्ध कसिलो बलिङ गरेको नेपालले कमजोर ब्याटिङका कारण तीनवटै खेलमा हार बेहोर्नुपर्‍यो ।

    यहाँ नेपालका ब्याट्सम्यानहरूको व्यक्तिगत प्रदर्शन कस्तो रह्यो भन्ने चर्चा गरिएको छ :

    १. कुशल भुर्तेल

    नेपालका आक्रामक ओपनर कुशल भुर्तेल तीनवटै म्याचमा चल्न सकेनन् । विश्वकपअघि नै खराब फर्मबाट गुज्रिरहेका कुशलमा आत्मविश्वासको कमी थियो । उनले तीन खेलमा जोडेको स्कोर हो ७, १३ र ४ रन । कुल मिलाएर २४ रन बनाएका कुशलले जम्माजम्मी तीन चौका र एक छक्का प्रहार गरे । कुनै पनि खेलमा उनले १०० भन्दा माथिको रनरेट कायम गर्न सकेनन् । बरु उनले साथ अफ्रिकासँगको खेलमा शानदार बलिङ गर्दै चार विकेट लिएका थिए ।

    २. आसिफ शेख

    नेपालका विकेट किपर ब्याट्सम्यान आसिफ शेखको ब्याटिङ तुलनात्मकरुपमा सन्तोषजनक रह्यो । पहिलो म्याचमा चार रनमा आउट भएका उनले साउथ अफ्रिकाविरुद्धको म्याचमा ४२ रन बनाउँदै नेपाललाई जितको आशा जगाएका थिए । तर, गलत समयमा विकेट गुमाउन पुगे । बंगलादेशविरुद्ध उनी १७ रनमा आउट भए । दुईवटा म्याचमा उनले केही शानदार सटहरु हानेका थिए । कुल मिलाएर आसिफले नेपालका लागि ६३ रन जोडे, जसमा ९ चौका र एक छक्का समावेश छन् ।

    ३. अनिलकुमार साह

    वैकल्पिक ओपनरका रुपमा टिममा समावेश गरिएका अनिलकुमार साहले तीनवटै खेलमा अवसर पाए । उनले पहिलो म्याचमा नेदरल्यान्ड्सविरुद्ध ११ रन बनाएर आउट भएका उनले साउथ अफ्रिकासँगको खेलमा राम्रो ब्याटिङ गर्दै २७ रन जोडे । अनिल र आसिफको साझेदारीले नेपाललाई जितको बाटोमा डोहोर्‍याएको थियो । उनीहरूको साझेदारी टुटेपछि नेपाल धराशयी भयो । बंगलादेशविरुद्ध भने अनिल शून्यमा आउट भए । तीन खेलमा उनले ३८ रन जोडका छन् ।

    ४. रोहितकुमार पौडेल

    यो विश्वकपमा नेपालले कप्तान रोहितकुमार पौडेलबाट धेरै अपेक्षा गरेको थियो । उनी विश्वकपअगाडि उत्कृष्ट फर्ममा थिए । कठिन पिचमा रोहितले जिम्मेवारी लिएर खेल्नुपर्थ्यो, त्यसमा उनी चुके । पहिलो खेलमा उनले नेदरल्यान्ड्सविरुद्ध रोहितले ३५ रनको महत्वपूर्ण पारी खेलेका थिए । तर, साउथ अफ्रिका र बंगलादेशविरुद्ध उनको ब्याट चलेन । क्रमशः शून्य र १ रनमा आउट भए । साउथ अफ्रिकाविरुद्ध सुरूमै आक्रमण सट प्रहार गर्न खोज्दा उनले विकेट गुमाएका थिए । रोहितले ३ खेलमा ३६ रन जोड्दा ४ वटा चौका प्रहार गरे ।

    ५. कुशल मल्ल

    नेपालका विष्फोटक ब्याट्सम्यान कुशल मल्लले आज बंगलादेशविरुद्धको खेलमा निकै सुझबुझपूर्ण ब्याटिङ गरे । परिस्थितिको मागअनुसार उनले सिंगल-डबलमा रन बटुलेका थिए । तर, जब उनले हात खोल्ने निर्णय गरे, छिट्टै विकेट पनि गुमाए । कुशल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय साझेदारीले नेपाललाई खेलमा फर्काएका थियो । रन रेटको प्रेसरमा परेपछि कुशलले ठूलो सट खेल्ने चक्करमा विकेट गुमाउन पगे । अघिल्ला दुई खेलमा कुशल चलेका थिएनन् । उनी नेदरल्यान्ड्सविरुद्ध ९ रनमा र साउथ अफ्रिकाविरुद्ध १ रनमा आउट भएका थिए । तीन म्याचमा कुशलले ३७ रन जोडे ।

    ६. दीपेन्द्रसिंह ऐरी

    नेपालका भरपर्दा अलराउन्डर दिपेन्द्रसिंह ऐरीले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ औसत रह्यो । दुईवटा खेलमा डबल डिजिटमा रन बनाउन नसकेका उनले बंगलादेश विरुद्धको खेलमा भने संघर्षपूर्ण इनिङ गरेका थिए । २६ रनमै पाँच विकेट गुमाएपछि कुशल मल्लसित मिलेर उनले रेस्क्यू प्रयास गरे । उनीहरूबीच ५२ रनको बहुमूल्य साझेदारी भएको थियो । कुशल आउट भएपछि सबै अभिभारा दीपेन्द्रको काँधमा आयो । रनरेटको प्रेस बढ्दो थियो । १९ औं ओभरमा मुस्तफिजुर रहमानले दीपेन्द्रलाई हराभरा खेलाए । यो ओभरमा एक रन पनि नदिइकन रहमानले दीपेन्द्रको विकेट लिएपछि नेपालको सम्भावना समाप्त भएको थियो ।

    ७. गुल्शन झा

    नेपाल उदीयमान अलराउन्डर गुल्शन झाका लागि यो विश्वकप बिर्सनलायक रह्यो । खासगरी साथ अफ्रिकाविरुद्धको म्याचले उनलाई लामो समयसम्म पीडा दिइरहन सक्छ । अन्तिम दुई बलमा दुई रन लिएर हिरो हुने अवसर उनीसँग थियो । तर, गुल्शन चुके । अन्तिम बलमा कमजोर रनिङका कारण सुपर ओभरमा धकेल्ने अवसर खेर फालेको भनेर पनि उनको आलोचना भयो । बंगलादेशविरुद्धको खेलमा पनि उनी निकै संवेदनशील समयमा क्रिजमा आएका थिए । चार/चार डट बल खेलेर आउट भए ।

    ८. सोमपाल कामी

    नेपालका प्रमुख फास्ट बलर सोमपाल कामीबाट ब्याटिङमा पनि आशा राखिन्छ । उनी तल्लो क्रममा आएर उपयोगी रन बटुल्न सक्छन् । राम्रा सटहरु हान्न सक्छन् । जुन क्षमताको झलक उनले साउथ अफ्रिकाविरुद्धको म्याचमा प्रस्तुत गरे । नेपालले सय रनमा ६ विकेट गुमाएपछि क्रिजमा आएका सोमपालले ४ बलमा ८ रन बनाए । उनले १९ औं ओभरको पाचौं बलमा हानेको १०५ मिटर लामो छक्काले नेपालको जित सम्भावना ह्वात्तै बढाएको थियो । तर, अन्तिम ओभरमा उनी ब्याटिङमा आउनै पाएनन् ।

  • बंगलादेशसँग नेपाल २१ रनले स्तब्ध

    बंगलादेशसँग नेपाल २१ रनले स्तब्ध

    काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ।

    केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो।

    २६ रनमा ५ विकेट गुमाएको नेपालले छैटौँ विकेटका लागि ५२ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएको थियो।

    १७ औँ ‌ओभरको चौथो बलमा कुशल मल्ल छैटौँ विकेटका रुपमा आउट हुँदा नेपालले ७८ रन जोडेको थियो। नेपाललाई अन्तिम तीन ओभरमा २९ रन चाहिएको थियो।

    १८ औँ ओभरको पहिलो बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेलमा नेपाल बलियो बनेको थियो। तर उक्त ओभरको पाचौँ बलमा गुल्सन झा गोल्डेन डक आउट भए।

    १९ औँ ओभर मुस्ताफिजुर रहमानले विकेट मेडन फ्याँके। सुरुका पाँच बलमा रन नदिएका मुस्ताफिजुरले अन्तिम बलमा दीपेन्द्रलाई आउट गरेका थिए।

    त्यसपछि लगातार दुई बलमा नेपालले दुई विकेट गुमाएर अलआउट भएको थियो।

    नेपालका लागि कुशल मल्लले ४० बलमा २७ र दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन जोडे।

    अनिल शाह, गुल्सन झा, सोमपाल कामी, अविनाश बोहराले खाता खोल्न सकेनन्। सन्दीप लामिछाने शून्यमा नटआउट रहे। रोहित पौडेल र सन्दीप जोराले एक एक रन बनाए भने आसिफ शेखले १७ र कुशल भुर्तेलले ४ रन जोडेर आउट भए।

    बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन राखेर ७ रन खर्चँदै ४ विकेट लिए।

    मुस्ताफिजुर रहमानले ४ ओभरमा एक मेडन राखेर ७ रन खर्चँदै ३ विकेट हात पारे। २.२ ओभर बलिङ गरेका सकिब अल हसनले ९ रन दिएर २ विकेट लिए।

    तान्जिमको घातक बलिङपछि नेपाल २६-५ को स्थितीमा पुगेको थियो। अघिल्लो खेलमा पनि नेपालले दक्षिण अफ्रिकालाई एक सय १५ रनमा सिमित गरेर पनि जित हात पार्न सकेको थिएन।

    नेपाल एक रनले पराजित भएको थियो। नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म टेस्ट मान्यताप्राप्त टोलीलाई हराउन सकेको छैन।

  • दीपेन्द्रसँग अर्धशतकीय साझेदारी गरेर आउट भए कुशल

    दीपेन्द्रसँग अर्धशतकीय साझेदारी गरेर आउट भए कुशल

    काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले छैटौँ विकेट गुमाएको छ।

    नेपालले ७८ रन जोडेको अवस्थामा कुशल मल्ल आउट भएका हुन्। कुशलले २७ रन जोडे।

    कुशल र दीपेन्द्रसिंह ऐरीबीच छेटौँ विकेटका लागि ५२ रनको साझेदारी भएको थियो।

  • दीपेन्द्र र कुशलबीच अर्धशतकीय साझेदारी, खेल रोमान्चक मोडमा

    दीपेन्द्र र कुशलबीच अर्धशतकीय साझेदारी, खेल रोमान्चक मोडमा

    काठमाडौं । बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले छैटौँ विकेटका लागि अर्धशतकीय साझेदारी गरेको छ।

    २६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धसतकीय साझेदारी गरेका हुन्। नेपालले १६ ओभरमा ५ विकेट गुमाएर ७७ रन जोडेको छ।

  • १० ओभरमा नेपालको ५ विकेट गुमाएर ४२ रन, अब ६५ रन आवश्यक

    १० ओभरमा नेपालको ५ विकेट गुमाएर ४२ रन, अब ६५ रन आवश्यक

    काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले १० ओभरमा ५ विकेट गुमाएर ४२ रन जोडेको छ।

    नेपाललाई अब १० ओभरमा ६५ रन आवश्यक छ। कुशल मल्ल ९ र दीपेन्द्रसिंह ऐरी ३ रनमा खेल्दैछन्।

  • तान्जिमको घातक बलिङ, ७ रन खर्चिएर ४ विकेट लिएपछि नेपाल संकटमा

    तान्जिमको घातक बलिङ, ७ रन खर्चिएर ४ विकेट लिएपछि नेपाल संकटमा

    काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटमा परेको छ।

    नेपालले ७ ओभरमा ५ विकेट गुमाएर २६ रन जोडेको छ।

    तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन राख्दै ७ रन खर्चिएर ४ विकेट लिए।

    नेपालका आसिफ शेख १७, कुशल भुर्तेल ४, रोहित पौडेल र सन्दीप जोरा १/१ रन जोडेर आउट भए भने अनिल शाहले खाता खोल्न सकेनन्।

    तान्जिमले तेस्रो ओभरमा नेपालका सुरुका दुई विकेट लिएका थिए। त्यसपछि नेपालले तेस्रो विकेटका लागि गरेको ११ रनको साझेदारी तान्जिमले रोहितलाई आउट गर्दै तोडेका थिए।

  • नेपालले २४ रनमा ४ विकेट गुमायो, लयमा रहेका ओपनर आसिफ आउट

    नेपालले २४ रनमा ४ विकेट गुमायो, लयमा रहेका ओपनर आसिफ आउट

    काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले २४ रन जोड्दा ४ विकेट गुमाएको छ।

    पछिल्लो विकेटका रुपमा ओपनर आसिफ शेख व्यक्तिगत १७ रनमा आउट भएका हुन्।

    छैटौँ ओभरको चौथो बलमा आसिफ क्याच आउट हुन पुगे। मुस्ताफिजुर रहमानले उनलाई आउट गरे। सुरुका तीन विकेट तान्जिम हसन सकिबले लिएका थिए।

    नेपालका कप्तान रोहित पौडेल १, कुशल भुर्तेल ४ र अनिल शाह शुन्यमा आउट भएका छन्। नेपालले ६ ओभरमा ४ विकेट गुमाएर २४ रन जोडेको छ।

  • कप्तान रोहित आउट, २० रनमा ३ विकेट गुमायो नेपालले

    कप्तान रोहित आउट, २० रनमा ३ विकेट गुमायो नेपालले

    काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले कप्तान रोहित पौडेललाई गुमाएको छ।

    नेपालले २० रन जोड्दा कप्तान रोहित आउट भएका हुन्। १ रनमा खेलिरहेका उनी तेस्रो विकेटका रुपमा क्याच आउट हुन पुगे।

    नेपालले ९ रन जोडेपछि पहिलो विकेट गुमाएको थियो। सोही स्थितीमा अनिल शाह पनि आउट भए।

    कुशल भुर्तेल ४ रन जोडेर आउट भए। तीनवटै विकेट तान्जिम हसन सकिबले लिएका हुन्।

    नेपालले ५ ओभरमा ३ विकेट गुमाएर २० रन जोडेको छ। तान्जिमले ३ ओभरमा २ मेडन राख्दै केवल ५ रन दिएका छन्।

  • कुशलपछि अनिल आउट, खाता खोल्न सकेनन्

    कुशलपछि अनिल आउट, खाता खोल्न सकेनन्

    काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपाल ३ बलमा २ विकेट गुमाएपछि सुरुवाती दबाबमा आएको छ।

    दोस्रो विकेटका रूपमा अनिल शाह डक आउट हुन पुगेका छन्।

    नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको हो। तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल बोल्ड हुन पुगे। उनले ४ रन मात्र जोडे।

    सोही ओभरको चौथो बलमा अनिल शाह ‘टप एज’ लागेर क्याच आउट हुन पुगे। तान्जिम हसन सकिबले दुवै विकेट लिए। नेपालले तीन ओभरमा २ विकेट गुमाएर ९ रन जोडेको छ।

  • नेपाललाई पहिलो झड्का, कुशल ४ रनमा आउट

    नेपाललाई पहिलो झड्का, कुशल ४ रनमा आउट

    काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ९ रन जोड्दा पहिलो विकेट गुमाएको छ।

  • नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै समेटियो बंगलादेश

    नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै समेटियो बंगलादेश

    काठमाडौं । टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ ।

    नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् ।

    नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे ।

    सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पूरा गर्ने विश्वको दोस्रो र पहिलो नेपाली खेलाडी बने ।

    आज पनि टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको थियो । यो निर्णयलाई सही साबित गर्दै सोमपाल कामीले नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । उनले पहिलो बलमै तान्जिद हसनलाई आउट गरे । उनले आफ्नै बलमा तान्जिनको क्याच लिएका थिए । दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिएपछि बङ्गलादेश दवावमा आयो ।

    नेपालका कप्तान रोहित पौडेलले विश्वकपमा पहिलो पटक आफूलाई बलिङमा उतारे र सफल पनि भए । दुई विकेट लिएका उनले बंगलादेशको सबैभन्दा महत्त्वपूर्ण विकेटका रूपमा उनले सकिब अल हसनलाई आउट गरेका थिए । सकिबले २२ बलमा १७ रन बनाए । नेपालका प्रमुख स्पिनर सन्दीप लामिछानेले आफ्नो साख जोगाउन सफल भए ।

    पहिलो दुई ओभरमा १४ रन खर्चेका उनले पछिल्लो दुई ओभरमा उत्कृष्ट कम ब्याक गर्दै दुई विकेट लिन सफल भए । उनले ४ ओभरमा १७ रन मात्र खर्चिए । अर्का स्पिनर दीपेन्द्रसिंह ऐरीले फेरि एक पटक प्रभावशाली प्रदर्शन गरे । उनले ३।३ ओभर बलिङ गर्दै २२ रन खर्चेर दुई विकेट लिए । नेपालका बलिङमा कुनै पनि बङ्गलादेशी ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

    नेपालले नियमित विकेट लिइरहँदा बङ्गलादेशले रनका लागि संघर्ष गर्नुपर्‍यो । २० ओभरको खेलमा बङ्गलादेशी ब्याट्सम्यानले एउटा मात्रै छक्का हान्न सकेका थिए । तर १८ औँ ओभरमा अविनाश बोहरा केही महँगा बने । ८८ बलमा ९ विकेट गुमाएको अवस्थाबाट बङ्गलादेश १०६ रनसम्म लम्किन सफल भयो ।

  • टी-२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप

    टी-२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप

    काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् ।

    योसँगै उनी टी-२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

    उनले ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ ।

    उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए ।

    सन्दीप टी-२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।

  • नेपाललाई सातौं सफलता, सन्दीपले लिए विकेट

    नेपाललाई सातौं सफलता, सन्दीपले लिए विकेट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाललाई सातौं सफलता मिलेको छ ।

    नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिएका हुन् ।

    उनले १४औं ओभरको दोस्रो बलमा तन्जिम हसन साकिबलाई आउट गरे । तान्जिम ३ रन बनाएर आउट भए।

    योसँगै सन्दीपको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ विकेट पुगेकाे छ ।

  • नेपाललाई छैटौँ सफलता, रोहितले लिए सकिबको विकेट

    नेपाललाई छैटौँ सफलता, रोहितले लिए सकिबको विकेट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले छैटौँ विकेट गुमाएको छ ।

    १२ औँ ओभरको चौथो बलमा नेपालका कप्तान रोहित पौडेलले बंगलादेशको छैटौँ विकेट लिएका हुन् ।

    उनले बंगलादेशका सकिब अल हसनलाई १७ रनमा एलबीडब्लूको धरापमा पारे।

  • नेपाललाई पाँचौँ सफलता, महमुदुल्लाह रनआउट

    नेपाललाई पाँचौँ सफलता, महमुदुल्लाह रनआउट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ।

    सन्दीप लामिछानेको बलिङमा गुल्सन झाले रन आउट गर्दै नेपाललाइ पाँचौं सफलता दिलाएका हुन् ।

  • बंगलादेशसामु नेपाली बलर हाबी, पावर प्लेमै ४ विकेट पतन

    बंगलादेशसामु नेपाली बलर हाबी, पावर प्लेमै ४ विकेट पतन

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाली बलर हाबी भएका छन् ।

    पावर प्लेको खेल सकिदा बंगलादेशले ३१ रन बनाएर ४ विकेट गुमाइसकेको छ ।

    नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक/एक विकेट लिएका छन् ।

  • नेपालको उत्कृष्ट सुरुवात, सोमपालले लिए व्यक्तिगत दोस्रो विकेट

    नेपालको उत्कृष्ट सुरुवात, सोमपालले लिए व्यक्तिगत दोस्रो विकेट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

    टस जितेर पहिला फिल्डिङ गरेको नेपालले उत्कृष्ट सुरुआत गरेको हो ।

    पहिलो बलमै सफलता पाएको नेपालले पाँचौं ओभरको खेल चलिरहँदा तेस्रो सफलता पाएको छ ।

    सोमपाल कामीले नेपालका लागी तेस्रो सफलता दिलाएका हुन् ।

    सोमपालले पाँचौं ओभरको तेस्रो बलमा बंगलादेशको ओपनर लिटन दास आसिफ शेखको हातबाट क्याच आउट गराए । दास १० रन बनाएर आउट भए। बंगलादेशले ५ ओभरको खेल सकिदा ३ विकेट गुमाए २६ रन जोडेको छ।

  • दीपेन्द्रले लिए बंगलादेशको कप्तानको विकेट

    दीपेन्द्रले लिए बंगलादेशको कप्तानको विकेट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

    बंगलादेशविरुद्ध दोस्रो ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले कप्तान नज्मुल हसन शान्तोलाई आउट गराए । शान्तो ५ बलमा ४ रन बनाएर आउट भए ।

    यसअघि नेपालका सोमपाल कामीले पहिलो ओभरमै पहिलो बलमै सफलता दिलाउदै शानदार सुरुआत गराएका थिए ।

  • पहिलो बलमै नेपाललाई सफलता, सोमपालले लिए विकेट

    पहिलो बलमै नेपाललाई सफलता, सोमपालले लिए विकेट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाललाई बंगलादेशविरुद्ध पहिलो बलमै सफलता मिलेको छ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले पहिलो बलमै विकेट गुमाएको हो ।

    नेपालका सोमपाल कामीले बंगलादेशका ओपनर तान्जिद हसनलाई डक आउट गरेका हुन् ।

  • टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं

    टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

    वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा बंगलादेशविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट र तेस्रो खेलमा दक्षिण अफ्रिकासंग १ रनले पराजित नेपाल सुपर-८ दौडबाट बहिरिसकेको छ । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो ।

    नेपालको प्लेइङ-११

    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, अनिलकुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आसिफ शेख, सोमपाल कामी, अविनाश बोहरा र सन्दीप जोरा। ।

  • यी पाँच बंगलादेशी खेलाडी, जो नेपाललाई पर्न सक्छन् भारी

    यी पाँच बंगलादेशी खेलाडी, जो नेपाललाई पर्न सक्छन् भारी

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकपमा नेपालले सोमबार बंगलादेशसँग खेल्दैछ । उक्त खेल वेष्ट इन्डिजको किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा सोमबार बिहान सवा ५ बजे सुरु हुनेछ ।

    सुपर-८ को दौडबाट बाहिरिएको नेपालका लागि अर्को चरणमा पुग्ने सम्भावना बलियो रहेको बंगलादेशसँगको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । नेपाललाई पराजित गरेमा बंगलादेशले सुपर-८ को यात्रा तय गर्नेछ, तर बंगलादेश पराजित भएमा भने नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेलको नतिजाले सुपर-८ मा जाने टोलीको टुंग्गो लाग्नेछ ।

    यसअघि बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकपमा यी दुई टोली आमनेसामने भएका थिए । नेपाललाई दोस्रो चरणमा पुग्न त्यो समयमा बंगलादेश बाधक बनेको थियो । ३ खेल खेलेको नेपालले अफगानिस्तान र हङकङलाई पराजित गर्दा बंगलादेशसँग पराजित भएको थियो ।

    बंगलादेशले पनि दुई खेलमा जीत र एक खेलमा हार व्यहोरेको थियो । समान अंक रहेका नेपाल र बंगलादेश रनरेटका आधारमा बंगलादेश दोस्रो चरणमा प्रवेश गरेको थियो । समूह चरणमा बंगलादेशले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको बंगलादेशले २ विकेट गुमाएर पूरा गरेको थियो ।

    नेपाललाई पराजित गर्दा १८ बलमा अविजित ३७ रन जोडेका सकिब अल हसन जारी विश्वकपमा पनि बंगलादेशबाट खेलिरहेका छन् । यस्तै २०१४ मा नेपालसँग खेलेका महमुदुल्लाह पनि अहिले बंगलादेशको टोलीमा छन् ।

    यी हुन् नेपाललाई खतरा हुनसक्ने बंगलादेशका ५ खेलाडी

    सकिब अल हसन

    सन् २०१४ मा नेपालविरुद्ध खतरनाक बनेका बंगलादेशका खेलाडी सकिब अल हसन यस पटक पनि नेपालविरुद्ध उत्रिँदैछन् । १० वर्षपछि नेपालसँग खेल्न लागेका हसन यस पटक पनि नेपालको टाउको दुखाइ बन्ने सम्भावना देखिन्छ । उनले सन् २०१४ मा नेपालविरुद्ध १८ बलमा अविजित ३७ रन जोडेका थिए ।

    सन् २००६ मा बंगलादेशबाट खेल्न सुरु गरेका अनुभवी खेलाडी हसनले हालसम्म पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी जारी विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए । उनले १२५ टी-२० आई खेलमा २ हजार ५१५ रन र १४६ विकेट लिएका छन् ।

    तौहिद हृदोय

    टप अर्डर ब्याटर तौहिद हृदोय बंगलादेशका उदयीमान खेलाडी हुन् । २३ वर्षीय तौहिदले अघिल्लो वर्षमात्रै बंगलादेशको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

    उनले डेब्यु ओडीआई खेलमै शतक नजिक पुगेका उनले टी-२० आईमा पनि उत्तिकै राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले जारी विश्वकपमा श्रीलंकाविरुद्ध ४०, दक्षिण अफ्रिकाविरुद्ध ३७ र नेदरल्यान्ड्सविरुद्ध ७ रन जोडेका थिए ।

    महमुदुल्लाह

    बंगलादेशको सर्वाधिक अनुभवी अलराउन्डर खेलाडी महमुदुल्लाहले सन् २०१४ मा पनि नेपालविरुद्ध खेलेका थिए । सन् २००९ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेका उनी हालसम्म पनि बंगलादेशको प्रतिनिधित्व गरिरहेका छन् ।

    उनी विकेट गइरहेको खण्डमा टिकेर खेल्न खप्पिस मानिन्छन् । उनले १ सय ३४ टी-२० आई खेलमा २ हजार ३६० रनसहित ४० विकेट लिएका छन् ।

    मुश्ताफिजुर रहमान

    बंगलादेशका तीब्र गतिका बल मुश्ताफिजुर रहमान पनि नेपालका लागि घातक हुनसक्ने खेलाडीमध्ये पर्छन् । सन् २०१५ देखि बंगलादेशको राष्ट्रिय टोलीबाट खेल्दै आएका रहमानले ९९ टी-२०आई खेलमा १२४ विकेट लिएका छन् ।

    उनले जारी विश्वकपमा श्रीलंकाविरुद्ध ३ र नेदरल्यान्ड्सविरुद्ध एक विकेट लिएका थिए । रहमान भारतमा सञ्चालन हुने इन्डियन प्रिमियर लिगमा ५ टीमबाट खेलिसकेका छन् । यस्तै उनीसँग विश्वका धेरै फेन्चाइच लिग खेलेको अनुभव छ ।

    रिशाद हुसेन

    २१ वर्षीय युवा स्पिनर रिशाद हुसेन नेपालका लागि घातक हुनसक्ने खेलाडी हुन् । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका हुसेन नेपालविरुद्ध पनि खतरनाक हुनसक्ने सम्भावना देखिन्छ । उनले ३ खेलमा ७ विकेट लिइसकेका छन् । श्रीलंका र नेदरल्यान्ड्सविरुद्ध ३-३ र दक्षिण अफ्रिकाविरुद्ध एक विकेट लिएका हुन् ।

    उनले गत वर्षको मार्चमा बंगलादेशको राष्ट्रिय टोलीबाट टी-२०आईमा डेब्यु गरेका थिए । उनले २० खेलमा २२ विकेटका साथै ८९ रन बनाएका छन् ।

  • आईसीसी ! नेपालको भिडिओ हालेर भ्युजमात्रै बटुल्ने कि अवसर पनि दिने ?

    आईसीसी ! नेपालको भिडिओ हालेर भ्युजमात्रै बटुल्ने कि अवसर पनि दिने ?

    काठमाडौं । नेपालले १० वर्षपछि दोस्रो पटक टी-२० विश्वकपमा भाग लिँदै गर्दा विश्व क्रिकेट जगतको ध्यानाकर्षण गर्न सफल भएको छ । हिजो भएको खेलमा साउथ अफ्रिकालाई झण्डैले जितेपछि नेपालको वाहवाही गर्न कोही पनि पछि परिरहेका छैनन् ।

    विश्व क्रिकेटका थुप्रै महारथीहरुले सामाजिक सञ्जालमा नेपाली टीमलाई सहानुभूति र हौसला दिँदै स्टाटस लेखे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)देखि इन्डियन प्रिमियर लिग (आईपीएल)का फ्रेन्चाइजसम्मले नेपाली टीमको गुणगानमा शब्द खर्चिरहेका छन् । सर्वत्र वाहवाही सुनेर भावविभोर भइरहेका छन् नेपाली समर्थक । तर, प्रश्न यो उठ्छ कि नेपालप्रति दर्शाइएको यो प्रेम र सहानुभूतिको आयु कति लामो होला ? सबैले नेपाली क्रिकेटलाई मनैदेखि समर्थन गरेका हुन् वा सामाजिक सञ्जालमा फलोअर्स बढाउने र भ्यूज कमाउने चक्करमात्र हो ? उनीहरुबाट भविष्यमा नेपाली क्रिकेटको उत्थानमा कुनै सहयोगको अपेक्षा गर्न सकिएला कि नसकिएला ?

    यो विश्वकपमा अहिलेसम्म आईसीसीले नेपालको जति उत्साहपूर्वक अरु टीमबारे सायदै सामाजिक सञ्जालमा पोस्टहरु गरेको होला । नेपालसँग सम्बन्धित कुनै पनि पोस्टमा हुने इंगेजमेन्टले आईसीसीलाई पक्कै आल्हादित तुल्याएको हुनुपर्छ । नेपाली टीम र खेलाडीबारेका कुनै पनि पोस्टहरु ह्वारह्वार्ती सेयर हुन्छन् । लाइक र कमेन्टको वर्षा हुन्छ । नेपालको खेल लाइभ गर्दा र अरुको खेल लाइभ गर्दाको भ्युजको फरक पनि आईसीसीले विश्लेषण गरेको होला । आईसीसीले मात्र होइन, नेपालको प्रशंसामा पोस्ट गर्ने सबैले त्यसमा कति कमेन्ट आए र कति फलोअर्स थपिए भनेर हिसाबकिताब गरिरहेकै होलान् ।

    नेपालमा क्रिकेटप्रतिको उग्र प्यासन अहिलेमात्रै प्रकट भएको होइन । अन्तर्राष्ट्रिय क्रिकेट समुदायले वाहवाही गरेको पनि पहिलो पटक होइन । एसियन गेम्समा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक बनाउँदा होस् वा एसिया कपमा भारतलाई आच्छु आच्छु पार्दा, सबैले मुक्तकण्ठले प्रशंसा गरेकै हुन् । समर्थकहरु रुखमा झुण्डिएर खेल हेरेको तस्वीर सेयर गर्दै नेपालीको असामान्य क्रिकेट मोहप्रति क्रिकेट जगत नतमस्तक बनेकै हो । तर, यो सबै चर्चा र वाहवाही बच्चाले राम्रो नाच्दा ठूलाबडाले ताली बजाएर फुर्क्याए जस्तोमात्र भइरहेको छ ।

    हामीलाई अब फोस्रो प्रशंसामात्र होइन, यहाँभन्दा अगाडि बढ्न अन्तर्राष्ट्रिय समुदायको साथ र ठोस सहयोग चाहिएको छ । नेपालको गुणगान गाएर नथाकेका डेल स्टेनले नेपालसँग साउथ अफ्रिकाले क्रिकेट सिरिज आयोजना गर्न त्यहाँको बोर्डलाई घच्घच्याउन सक्छन् ? अबको १० वर्ष नेपाल एउटा हेर्नुपर्ने टीम हुनेछ भनेर ट्वीट लेख्ने भारतीय विश्लेषक सञ्जय मान्जरेकरले आईपीएल फ्रेन्चाइजहरुमा नेपाली खेलाडीलाई स्थान दिइयोस् भनेर अर्को ट्वीट गर्न सक्छन् ?

    हामीलाई यो डर छ कि विश्वकपपछि सबैले नेपाल बिर्सिनेछन् । जसरी सन् २०१४ को विश्वकपपछि बिर्सिएका थिए । नेपाललाई फेरि विश्वस्तरीय प्रतियोगितामा फर्किन १० वर्ष लाग्यो । अब फेरि कति वर्ष लाग्छ ठेगान छैन । ‘ठूला’ टीमसँग फेरि कहिले प्रतिस्पर्धा गर्न पाउँछ निधो छैन । विश्व महाशक्तिहरुलाई टक्कर दिने हैसियत बनाएको नेपाल अझै पनि मंगोलिया र कतारलगायतसँग प्रतिस्पर्धा गर्न अभिशप्त छ । नेदरल्यान्ड्स, यूएईदेखि हङकङसम्मले टेस्ट राष्ट्रहरुसँग सिरिज खेलिसकेका छन् । तर, हामीलाई अझै पनि यो अवसर मिलेन । हाम्रै वरिपरि क्रिकेटका महाशक्तिहरु छन् । भारत हाम्रो साँध जोडिएको छिमेकी हो । पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान छेउछाउमै छन् । तर, अहिलेसम्म यी कुनै पनि राष्ट्रसँग नेपालले सिरिज खेल्न पाएको छैन ।

    नेपालमा गतिलो रंगशाला नहुनुको दुःख आफ्नो ठाउँमा छ । तर, आईसीसी र सम्बन्धित देशको बोर्डले चाहेमा रंगशालाले अड्किँदैन । ती देशले नै नेपाली टीमलाई भ्रमणमा निम्त्याउन सक्छन् । अथवा तटस्थ मैदानका रुपमा तेस्रो देशमा आयोजना गर्न सकिन्छ । पटक पटक आफ्नो क्षमता प्रमाणित गरिसक्दा पनि खोइ त नेपाली टीमलाई त्यो अवसर ?

    आईसीसीले आजसम्म नेपाली क्रिकेटलाई माथि उठाउन कति सहयोग गर्‍यो भन्ने प्रश्नको जवाफ खोज्दा निराशा हात पर्छ । नेपालका प्यासनेट फ्यानहरुको तस्वीर र भिडिओ हालेर प्रशंसाको गीत गाउनेबाहेक आईसीसीबाट नेपालप्रति सायदै कुनै सदासयता देखाइएको छ । नेपालमा क्रिकेटको लोकप्रियता संसारलाई देखाउन पाए आईसीसीलाई पुग्यो । चाहेको खण्डमा आईसीसीले नेपाली क्रिकेटलाई मलजल गर्ने धेरै ठाउँहरु छन् । नेपाललाई दिने अनुदान बढाउन सक्छ । टेस्ट राष्ट्रहरुसँग सिरिज मिलाइदिन सक्छ । चाँडै टेस्ट मान्यताका लागि रोडम्याप बनाइदिन सक्छ ।

    त्यसो त आईसीसी आफैं कति स्वछन्द छ भन्ने प्रश्न पनि उठ्छ । धेरैले आईसीसीलाई भारतीय क्रिकेट बोर्ड बीसीसीआईको ‘छोटे भाइ’का रुपमा चित्रण गर्छन् । बीसीसीआई संसारकै सबैभन्दा धनी र शक्तिशाली क्रिकेट बोर्ड हो । तर, छिमेकी देश नेपालको क्रिकेटप्रति कहिल्यै उसले सहयोगी व्यवहार देखाएन । नेपालले बीसीसीआईसँग एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा सहयोग गर्न प्रस्ताव गरेको पनि धेरै भइसक्यो । तर, बीसीसीआई यो प्रस्तावमा कहिले पनि सकारात्मक भएन ।

    नेपालमा क्रिकेटले सफलताको खुड्किलो चढ्न थालेपछि यसको जस लिन भारतले विभिन्न ‘नाटक’ चाहिँ सुरु गरेको छ । भारतीय विदेशमन्त्री नेपाल आउँदा राष्ट्रिय टीमका खेलाडीलाई बोलाएर भेटे । भारतीय एम्बेसीले ठूलो हल्लाखल्लासहित खेलाडीहरुलाई एकएक वटा ब्याट बाँड्यो । विश्वकपअघि नेपाली टीमलाई अभ्यास खेलाउने भन्दै भारतले निम्त्यायो । तर, अपमानजनक तरिकाले लोकल क्लवहरुसँग खेलायो । अहिलेसम्म भारतको राष्ट्रिय टीम त के ‘ए’ टीमलाई पनि नेपालसँग खेलाउन बीसीसीआई तयार छैन ।

    नेपाल र दक्षिण अफ्रिकाको म्याचपछि भारतीय क्रिकेट लिग आईपीएलका अधिकांश फ्रेन्चाइजहरुले नेपाली टोलीको प्रशंसामा शब्द खर्चिंदै सामाजिक सञ्जालमा पोस्ट गरे । तर, यी फ्रेन्चाइजीहरुले कहिल्यै नेपाली खेलाडीलाई आफ्नो टीममा मौका दिन चाहेका छैनन् । सन्दीप लामिछानेपछि कुनै नेपाली खेलाडीले आईपीएल खेल्न पाएका छैनन् । हरेक पटक थुप्रै खेलाडीले नाम दर्ता गराउँछन् । तर, उनीहरुलाई अक्सनमा समेत राखिँदैन । अन्य देशका चर्चित लिगहरुमा पनि नेपाली खेलाडीहरुलाई विश्वास गरिएको छैन ।

    समस्याको चुरो भने हामी आफैंभित्र छ । क्रिकेटले यत्रो लोकप्रियता पाइरहँदा, दुई पटक विश्वकप खेलिसक्दा पनि नेपालमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला छैन । योभन्दा लज्जास्पद के हुन्छ ? अहिले नेपाल जहाँ छ, त्यो केवल खेलाडीको प्रतिभा र मेहनतले सम्भव भएको हो । यसमा राज्यको योगदान शून्यप्रायः छ भन्दा पनि हुन्छ । प्रतियोगिता जितेपछि नगद पुरस्कार बाँड्नुलाई नै हरेक सरकारले ठूलो उपलब्धि सम्झिए । घरेलु क्रिकेटको संरचना बलियो बनाएर नयाँ खेलाडीहरु उत्पादन गर्ने, खेलाडीको भविष्य सुनिश्चित गर्ने, राष्ट्रिय टीमको अन्तर्राष्ट्रिय एक्सपोजर बढाउनेतर्फ कुनै काम भएन । यद्यपि, अहिले क्रिकेट संघमा पारस खड्का आएपछि केही कामहरु अघि बढेका छन् ।

    नेपालका नेताहरुलाई त नेपाली टीमलाई बधाई दिने नैतिक बल पनि नहुनुपर्ने हो । पटक पटक सरकारमा बसेर एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला पनि बनाउन नसक्नेले कुन मुखले शुभकामना र बधाई दिइरहेको छन् ?

  • नेदरल्यान्ड्सबाट फुत्किएको बङ्गलादेश बन्न सक्ला नेपालले हराउने पहिलो टेस्ट टोली ?

    नेदरल्यान्ड्सबाट फुत्किएको बङ्गलादेश बन्न सक्ला नेपालले हराउने पहिलो टेस्ट टोली ?

    काठमाडौं। तीन दिनअघि बंगलादेशविरुद्ध १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स कुनै समय बलियो देखिएको थियो। उसले १४.३ ओभरमा ३ विकेट गुमाएर एक सय ११ रन जोडेको थियो।

    डच टोलीलाई ५.३ ओभरमा ४९ रन आवश्यक थियो भने ७ विकेट साथमा दियो। तर ३३ रनमा खेलिरहेका साइब्रान्ड एंगलब्रेच्ट सोही स्थितिमा आउट भएपछि डच टोली धरमरायो। कति सम्म भने डच टोलीले एक सय १७ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो।

    यही उत्कृष्ट पुनरागमनपछि २५ रनको जित हात पारेको बङ्गलादेश टोलीको सुपर ८ पुग्ने सम्भावना बलियो बनेको थियो। समूहको अन्तिम खेलमा सोमबार बिहान नेपालसँग प्रतिस्पर्धा गर्दा बङ्गलादेश ढुक्क भने हुने छैन।

    अघिल्लो खेलमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध शानदार प्रदर्शन गरेका कारण बङ्गलादेश दबाबमा हुने छ। नेपालले पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई एक सय १५ रनमा सीमित गरेको थियो।

    यद्यपि नेपालले यो खेल १ रनले हार्यो तर विश्वभरबाट प्रशंसा बटुलिरहेको छ। नेपाली टोलीका कप्तान रोहित पौडेलले जारी विश्वकपमा टेस्ट मान्यताप्राप्त टोलीहरू बढी दबाबमा रहेको बताउँछन्। एसोसिएटले टेस्ट राष्ट्रलाई हराइरहेका कारण त्यसले दबाब बढाएको उनको भनाई छ।

    दक्षिण अफ्रिकामाथि जित हात पारेको भए यो नेपाली क्रिकेटका लागि अहिले सम्मकै एक महत्त्वपूर्ण सफलता हुने थियो। नेपालले हालसम्म सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउन सकेको छैन।

    हाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका १२ सदस्यसँग टेस्ट मान्यता छ। जारी विश्वकपमा नेपालले पहिलो चरण पार नगर्ने पक्का भइसकेको छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले दोस्रो खेलमा वर्षाका कारण खेल रद्द भएपछि श्रीलङ्कासँग अंक बाँडेको थियो। अब बंगलादेशविरुद्ध टेस्ट राष्ट्रमाथि ऐतिहासिक जितको लक्ष्यसहित उत्रने छ।

    सन् २०१४ मा टी-२० विश्वकप खेलेपछि नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रहरूसँग खेल्ने अवसर पाउन थालेको हो। विश्वकपको त्यस संस्करणमा नेपालले पहिलो चरणमा तीनमध्ये दुई खेल जिते पनि बंगलादेशसँग नेटरनरेटमा पछाडि परेर बाहिरिएको थियो।

    नेपाली टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। त्यसयता नेपालले विश्वकप छनोटलगायत विभिन्न प्रतियोगितामा टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाइरहेको छ। वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्डजस्ता मात्र नभएर भारत र पाकिस्तानसँग बलिया टोलीसँग पनि भिडेको छ।

    तर नेपाल अझै टेस्ट टोलीमाथि जित हात पार्न सकिरहेको छैन। जबकि माथिल्लो स्तरका अधिकांश एसोसिएट टोलीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट टोलीलाई हराइसकेका छन्। यूएईले न्युजिल्यान्ड र आयरल्यान्ड, हङकङले बङ्गलादेश, ओमानले आयरल्यान्ड, नेदरल्यान्ड्सले बङ्गलादेश, दक्षिण अफ्रिका, जिम्बावे, इङ्ल्यान्ड, आयरल्यान्डजस्ता टोलीलाई हराएको छ।

    यस्तै स्कटल्यान्डले इङ्गल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे, बङ्गलादेश, आयरल्यान्डलाई हराएको छ। नेपालको यात्रा भने ‘मन जित्ने प्रदर्शन’भन्दा माथि उक्लिएर ‘जित’सम्म पुग्न बाँकी छ। नेपालले अब फेरी सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रसँग कहिले खेल्छ भन्ने निश्चित छैन।

    अहिलेलाई भने टेस्ट राष्ट्रमध्ये कमजोर नै मानिने बङ्गलादेश नेपालका लागि ऐतिहासिक सफलता प्राप्तिका लागि गतिलो प्रतिद्वन्द्वी हो। जारी विश्वकपमा बङ्गलादेश दक्षिण अफ्रिकालाई १ सय १३ रनमा सीमित गरेर पनि ४ रनले पराजित भएको थियो। यस्तै श्रीलंकाबाट प्राप्त एक सय २५ रनको लक्ष्य एक ओभर बाँकी रहँदा पुरा गरेको थियो।

  • बंगलादेशसँग १० वर्षअघिको बदला लिन आतुर नेपाल

    बंगलादेशसँग १० वर्षअघिको बदला लिन आतुर नेपाल

    काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेल नेपालले सोमबार बिहान बंगलादेशसँग खेल्दैछ । क्यारेबियन मुलुक सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडाइन्सस्थित किङ्सटाउनमा हुने खेलमा नेपालले १० वर्षअघि व्यहोरेको हारको बदला लिन प्रयास गर्नेछ ।

    सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपको पहिलो चरणमा नेपालले घरेलु टोलीसँग मात्र हार व्यहोरेको थिएन, सोही टोलीसँग नेट रनरेटमा पछाडि रहेर दोस्रो चरण पुग्न सकेको थिएन ।

    त्यतिबेला नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो । हङकङसँग पराजित भएको बंगलादेश अन्य दुई खेल जितेर समूह विजेताका रुपमा अगाडि बढेको थियो । त्यसयता पहिलो पटक विश्वकपमा सहभागी भएको नेपालले पुनः बंगलादेशसँग खेल्ने अवसर पाएको छ ।

    समूहमा नेपालले नेदरल्यान्ड्स र दक्षिण अफ्रिकासँग हार व्यहोरेको छ भने वर्षाका कारण खेल रद्द भएपछि श्रीलंकासँग अंक बाँडेको थियो । नेपालको ३ खेलबाट १ अंक छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको ३ खेलबाट २ अंक छ भने शीर्षस्थानमा रहेको दक्षिण अफ्रिकाको ८ अंक छ ।

    श्रीलंकाले पनि नेपालले जस्तै ३ खेलबाट १ अंक जोडेको छ । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । तेस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएर सुपर ८ पुग्ने सम्भावना कायमै राखेको छ ।

    दक्षिण अफ्रिकासँग १ रनको हारपछि सुपर ८ को सम्भावना समाप्त भएको नेपाल अब बंगलादेशसँग १० वर्षअघि व्यहोरेको हारको बदलासहित दोहोरो उपलब्धि हासिल गर्ने प्रयासमा रहेको छ । बंगलादेशलाई हराउन सके सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट टोलीमाथि नेपालको यो पहिलो जीत हुनेछ ।

    दक्षिण अफ्रिकालाई ११५ रनमा सीमित गरेर पनि नेपालले जीत हात पार्न सकेको थिएन । अन्तिम दुई बलमा २ रन आवश्यक रहेका बेला नेपालका गुल्शन झाले एक रन पनि जोड्न सकेका थिएनन् ।

    बंगलादेशलाई नेपालले हराउन सके नेदरल्यान्ड्स पनि सुपर एट दौडमा आउनेछ, तर त्यसका लागि उसले श्रीलंकामाथि फराकिलो जीत हात पार्नुपर्नेछ । नेट रनरेटमा बलियो रहेका कारण बंगलादेश हारका बाबजुत पनि अगाडि बढ्न सक्ने देखिन्छ ।

    नेदरल्यान्ड्सले नेट रनरेट करिब एक अंकले सुधार गरे मात्र बंगलादेश पराजित भएको अवस्थामा अगाडि बढ्नेछ ।

    १० वर्षअघि नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२६ रन जोडेको थियो । त्यस खेलमा पारस खड्काले ४१ र शरद भेषावकरले ४० रन बनाएका थिए । बंगलादेशले १५.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । नटआउट ३७ रन बनाएका सकिब अल हसन अहिले पनि बंगलादेशी टोलीमा छन् ।

    त्यतिबेला ब्याटिङको पालो नपाएका महमदुल्लाह पनि अहिले खेलिरहेका छन् । नेपाल र बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेटमा चिरपरिचित टोली हुन् । सन् १९९९ मा आयोजित एसीसी यू-१९ क्रिकेटको फाइनलमा यी दुई टोली भिडेकामा बंगलादेश विजयी भएको थियो ।

    त्यसको एक वर्षपछि टेस्ट मान्यता पाएको बंगलादेशले सन् २००२ को यू-१९ विश्वकपमा नेपालसँग खेलेको थियो । त्यतिबेला प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई हराएर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

  • स्टोइनिसको तुफानले बढारियो स्कटल्यान्डको सपना, इङ्गल्यान्ड सुपर ८ मा

    स्टोइनिसको तुफानले बढारियो स्कटल्यान्डको सपना, इङ्गल्यान्ड सुपर ८ मा

    काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान स्कट स्टोइनसको विस्फोटक ब्याटिङले इङ्ल्यान्डलाई टी-२० विश्वकपको सुपर ८ मा पुर्‍याएको छ । आज भएको खेलमा अष्ट्रेलियाबाट ५ विकेटले पराजित भएपछि स्कटल्यान्ड अर्को चरणमा उक्लिने ढोका बन्द भएको हो ।

    अष्ट्रेलिया र स्कटल्यान्डबीचको खेल एउटै समूहमा रहेको इङ्गल्यान्डका निम्ति पनि उस्तै महत्त्वपूर्ण थियो । प्रतियोगितामा अष्ट्रेलियासँग हार व्यहोरेको इङ्गल्यान्डले स्कटल्यान्डसँगको खेलमा वर्षाका कारण अंक बाँड्नु परेपछि सुपर ८ को दौडबाट बाहिरिने खतरा बढेको थियो । तर, बाँकी दुई खेलमा ओमान र नामिबियाविरुद्ध ठूलो जित निकाल्दै इङ्गल्यान्डले आफ्नो सम्भावना जीवित राख्न सफल भयो ।

    यता स्कटल्यान्डले पनि ओमान र नामिबियालाई पराजित गरेको थियो भने इङ्गल्यान्डसँग अंक बाँडेपछि अष्ट्रेलियासँगको म्याच निर्णायक बनेको हो । आज स्कटल्यान्डलाई अष्ट्रेलियाविरुद्ध जित हासिल गर्नै पर्ने दबाब थियो । यदि स्कटल्यान्डले जितेको भए उ सुपर ८मा जान्थ्यो र इङ्गल्यान्ड बाहिरिन्थ्यो ।

    यता अष्ट्रेलियाले इङ्गल्यान्डलाई नकआउट गर्न स्कटल्यान्डसँग फिक्सिङ गर्न सक्ने चर्चा भइरहेको थियो । अष्ट्रेलियाका बलर जोस हेजलउडले पोस्ट म्याच प्रेस मिटमा नै आफूहरूले इङ्गल्यान्डलाई घर पठाउन प्रयास गर्ने बताएका थिए । यदि आज अष्ट्रेलियाले हारेको भए मिलेमतोको आरोप लाग्न सक्थ्यो र छानबिनको पनि बन्ने थियो ।

    आजको खेलमा दोस्रो इनिङको १३ ओभरसम्म पुग्दा स्कटल्यान्डको पकडमा थियो खेल । साँच्चै अष्ट्रेलिया जानीजानी हार्न खोजिरहेको हो कि जस्तो देखिन्थ्यो । प्रायः विस्फोटक अन्दाजमा खेल्ने अष्ट्रेलियन ओपनर ट्राभिस हेडले आफ्नो शैली विपरीत सुस्त गतिमा ब्याटिङ गरिरहेका थिए । डेभिड वार्नर, कप्तान मिचेल मार्स र ग्लेन म्याक्सवेल सस्तैमा आउट भएका थिए । अष्ट्रेलियालाई ४२ बलमा ८९ रन ल्याउनुपर्ने कठिन चुनौती थियो । तर, १४ औँ ओभरपछि स्कट स्टाइरिस र हेडले गियर बदल्दै स्कटल्यान्डको बलिङ धुजा धुजा बनाइदिए ।

    १४ औँ ओभरको अन्तिम ३ बलमा स्टोइनिसले दुई छक्का र एक चौका हाने । १६ औँ ओभरमा ट्राभिस हेडले लगातार तीन छक्का हाने र खेलको दिशा परिवर्तन गरे । २७ बलमा ४१ रन चाहिने सहज स्थितिमा पुग्यो अष्ट्रेलिया । लगत्तैको बलमा उनी आउट भए । आउट हुनुअघि हेडले ४९ बलमा ६८ रन जोडेका थिए ।

    हेड पेभिलियन फर्केपछि स्कटल्यान्डको फेरि आशा जाग्यो । तर, स्टोइनिस आफ्नै मुडमा थिए । उनले आक्रमण जारी राखे । १७ औँ ओभरको अन्तिम बलमा स्कटल्यान्डले स्टोइनिसको पनि विकेट लिन सफल भयो । उनी २९ बलमा ५९ रन जोडेर आउट हुँदा अष्ट्रेलियालाई चाहिएको थियो १८ बलमा २७ रन ।

    स्कटल्यान्डलाई आवश्यक थियो ५ विकेट । त्यसपछि टीम डेभिड र म्याथु वेडले कुनै जोखिम नलिइकन विस्तरै खेल्दै अष्ट्रेलियालाई जितसम्म पुर्याए । दुई बल बाँकी छँदा अष्ट्रेलियाले जित हासिल गर्यो । यो नतिजासँगै ईंग्ल्यान्डको सुपर ८ यात्रा पक्का भयो भने स्कटल्यान्डको हार्ट ब्रेक भयो ।

  • बंगलादेशसँगको खेल अघि प्रशिक्षक देसाई भन्छन्- दक्षिण अफ्रिकासँगको प्रदर्शनले ‘ छाप’ छाडेका छौँ

    बंगलादेशसँगको खेल अघि प्रशिक्षक देसाई भन्छन्- दक्षिण अफ्रिकासँगको प्रदर्शनले ‘ छाप’ छाडेका छौँ

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले दक्षिण अफ्रिकासँगको हारलाई स्वीकार गर्न गाह्रो भइरहेको भएपनि गतिलो छाप छाड्न सफल भएको बताएका छन्।

    जारी टी–२० विश्वकपको पहिलो चरणअन्तर्गत बंगलादेशसँग सोमबार बिहान हुने खेलअघि आयोजित प्रि म्याच कन्फेरेन्समा उनले हार ब्यहोर्ने टिमलाई असफल भनिने गरेपनि कहिल्यै हराउन नसकेको दक्षिण अफ्रिकाविरुद्ध नेपालले ‘फुटप्रिन्ट’ छाडेको बताए।

    ‘हामीले टेस्ट राष्ट्रलाई हामी पनि यो खेलका हौँ भन्ने बुझाएका छौँ’, उनले भने।

    नेपाल शनिबार बिहान भएको खेलमा १ रनले पराजित भएपछि सुपर एट पुग्ने सम्भावना समाप्त भएको थियो।

    अन्तिम समयमा ब्याट्सम्यानहरु सम्हालिन नसक्दा नेपालले पहिलोपटक टेस्ट राष्ट्रलाई हराउने अवसर गुमाएको हो। प्रशिक्षक देसाईले नेपालले ‘मेन्टल स्ट्रेन्थ’ देखाउन आवश्यक भएको पनि बताए।

  • डेल स्टेनको विश्लेषण- नेपाल-दक्षिण अफ्रिकाको खेल ‘म्याच अफ दि टुर्नामेन्ट’, नेपाल जीतको हकदार थियो

    डेल स्टेनको विश्लेषण- नेपाल-दक्षिण अफ्रिकाको खेल ‘म्याच अफ दि टुर्नामेन्ट’, नेपाल जीतको हकदार थियो

    काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा आज नेपालले दक्षिण अफ्रिकाविरुद्ध गरेको प्रदर्शनको विश्वभर सराहना भएको छ । नेपालले खेल जित्न नसके पनि मन जितेको टिप्पणी क्रिकेटका हस्तीहरुले गरिरहेका छन् ।

    विश्वकपमा कमेन्टेटरको भूमिकामा रहेका दक्षिण अफ्रिका पूर्वफास्ट बलर डेल स्टेनले खेलपछि नेपालको खुलेर तारिफ गरे । उनको भनाइमा नेपाल जीतको हकदार थियो, तर दक्षिण अफ्रिका भाग्यशाली ठहरियो ।

    नेपालको प्रदर्शनका विषयमा उनले भने, ‘बेजोड खेल भयो । म अन्डरडगको ठूलो फ्यान हुँ । दक्षिण अफ्रिकाको खेल भए पनि मेरो नेपालप्रति सहानुभूति थियो । उनीहरु जीतका हकदार पनि थिए, तर फिनिसिङ लाइनसम्म पुग्न सकेनन् । यदि नेपालले जितेको भए उनीहरु टक अफ दि टाउन हुने थियो । नेपाल टक अफ दि टुर्नामेन्ट हुन्थ्यो । त्यसपछि बंगलादेशविरुद्ध नेपालको म्याच विस्फोटक हुन सक्थ्यो । मैले मनमनै त्यही चाहेको थिएँ ।’

    उनले आजको खेललाई ‘म्याच अफ द टुर्नामेन्ट’को संज्ञासमेत दिए ।

    स्टेनले थपे, ‘हामीले यहाँ १६० देखि १८० रनसम्मको अपेक्षा गरेका थियौं, तर लो स्कोरिङ खेल भयो । नेपालले उत्कृष्ट बलिङ गर्‍यो ।

    ब्याट्सम्यानहरुलाई गुगलीले अप्ठेरोमा पारिरहेको थियो । खेलको अन्तिम बलमा एक रन लिन सकेको भए खेल सुपर ओभरमा जान सक्थ्यो । जे भए पनि मेरो लागि यो म्यान अफ दि टुर्नामेन्ट हो ।’

    उनले आजको पीचमा दक्षिण अफ्रिकाको रणनीति गलत भएको पनि टिप्पणी गरे । पीचअनुसार आज दक्षिण अफ्रिकाले दुई जना स्पिनर खेलाउनुपर्ने उनको राय छ ।

    ‘उनीहरुले नेपाललाई गतिले नै हराउन सकिन्छ भन्ठानेर न्यूयोर्कमा जस्तै चार जना पेसरलाई निरन्तरता दिए, तर विकेटमा स्पिन थियो । साउथ अफ्रिकाले गलत रणनीति बनायो, तर पनि भाग्यवस उनीहरुले जिते’, स्टेनले भने ।