Category: सुशासन प्रेस

  • कार्कीको इगोले न्यायपालिकामाथि बिगो- फुलकोर्ट बोलाउन न्यायाधीशहरूको दबाब

    कार्कीको इगोले न्यायपालिकामाथि बिगो- फुलकोर्ट बोलाउन न्यायाधीशहरूको दबाब

    काठमाडौं । आफ्नो वैधानिक कार्यअवधि एक महिना मात्र बाँकी रहेका बेला कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्कीले न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक दायरा खुम्च्याउने गरी व्यक्तिगत प्रतिशोधमा उत्रिएपछि सर्वोच्च अदालतमा उनी एक्लो बन्दै गएका छन् ।

    असोज १६ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाने कामु प्रधानन्यायाधीश कार्की भदौ १६ देखि अदालती कारबाहीमा सहभागी हुन पाउँदैनन् । उनी यही अवधिमा चोलेन्द्र शमशेर जबरासँग इगो साँध्न न्यायपालिकाको सर्वोच्चता सिद्ध्याउन उद्यत भएको आरोप छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाएर सौदाबाजीमा प्राप्त गरेको कामु प्रधानन्यायाधीशको पदलाई सत्ता गठबन्धनको न्यायिक कमिसारको भूमिकामा सीमित गरेको भनेर आलोचित बनेका कार्कीले संवैधानिक पदलाई प्रतिशोध र व्यक्तिगत लाभमा दुरुपयोग गर्न थालेपछि न्यायाधीश तथा कर्मचारीबाटै एक्लिन थालेका छन् ।

    कार्कीले सर्वोच्च अदालतको प्रशासनिक भवन निर्माणको टेण्डरसँग सम्बन्धित विषय छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि हिजो उनलाई हड्तालमार्फत कामु प्रधानन्यायाधीशको कुर्सीसम्म पुर्‍याउन सडकबाट सघाएका पूर्व प्रधानन्यायाधीशहरू समेत असन्तुष्ट बनेका छन् ।

    सर्वोच्चका अधिकांश न्यायाधीशले उनलाई भेटेरै कामु प्रधानन्यायाधीशको सचिवालयबाट अख्तियारलाई लेखिएको पत्रबारे चासो राखेका छन् । उनीहरूले तीन सातादेखि फुलकोर्टको बैठक नराखी कामु प्रधानन्यायाधीशले सर्वोच्चको स्थापित मान्यताविपरीत गतिविधि गरेपछि आपत्ति जनाएका हुन् । अख्तियारलाई पत्राचार गर्ने बेला उनले न्यायाधीश र प्रशासनिक नेतृत्वलाई अविश्वास गरेको देखिन्छ ।

    सर्वोच्चका एक जना न्यायाधीशले नेपाल प्रेससँग भने- सर्वोच्च अदालतको प्रशासनिक पत्राचार गर्ने काम मुख्य रजिष्टार र रजिष्टारको हो । प्रधान न्यायाधीशको सचिवालयबाट राज्यका अर्का निकायलाई प्रशासनिक पत्राचार गर्ने नै होइन । कि त प्रधानन्यायाधीश आफैँले लेख्नुपर्‍यो । होइन भने मुख्य रजिष्टारलाई बिदा बस्न बाध्य पारेर कामु रजिष्टारले नमानेपछि सचिवालयबाट गरिएको पत्राचार व्यक्तिगत प्रतिशोध साँध्ने नियतले भएको हो, यसले दीर्घकालमा न्यायपालिकाको स्वतन्त्रता संकुचित गर्छ ।

    कामु रजिष्टारले अख्तियारलाई गरेको पत्रको खण्डन कामु प्रधानन्यायाधीशको सचिवालयबाट भएकोमा कर्मचारी प्रशासन समेत कार्कीसँग असन्तुष्ट छ । प्रशासनिक नेतृत्वबाट एक्लिँदै गएका कार्की आफ्नै सहकर्मी न्यायाधीशहरूबाट पनि एक्लिएका छन् । हाल उनको पक्षमा खुलेर लाग्नेमा प्रकाशमान सिंह राउत मात्र देखिएका छन् ।

    पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले अदालत आफैँले छानबिन गर्ने क्षेत्राधिकार रहेकाले अख्तियारलाई पत्राचार गर्ने कुरा ठिक नभएको बताएकी छन् । कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा, मीनबहादुर रायमाझी लगायतका पूर्व प्रधानन्यायाधीशको बलमा दीपक कार्की कामु प्रधानन्यायाधीशको कुर्सीमा पुगेका हुन् ।

    सर्वोच्चका अर्का न्यायाधीश भन्छन्- प्रशासनिक भवन ठेक्कामा अनियमितता भएको भन्ने आशंका छ भने सर्वोच्चकै न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सकिन्छ । व्यक्तिगत इगोका लागि अदालतको अधिकार संकुचित गर्ने र स्वतन्त्र न्यायपालिकाको गरिमा सिद्ध्याउने अधिकार दीपक कार्कीलाई छैन । अर्को कुरा कामुले प्रधानन्यायाधीशलाई कारबाही गर्ने पत्र लेख्नै पाउँदैन ।

    सर्वोच्चका बहुसंख्यक न्यायाधीशले कामु प्रधान न्यायाधीश कार्कीलाई भेटेर तत्काल फुलकोर्ट बोलाउन माग गरेका छन् । उनले सोमबारसम्म बैठक नबोलाए न्यायाधीशहरू आफैँले बोलाउने भएका छन् । चोलेन्द्र शमशेरले फुलकोर्ट नराखी एकलौटी गरेको आरोप बार र न्यायाधीशको आन्दोलनको बेला लागेको थियो । सोही आन्दोलनको बलमा कामुको कुर्सी पाएका कार्कीले फुलकोर्ट नबोलाई न्यायपालिका नै क्षतविक्षत बनाउने हर्कत गर्न थालेपछि न्यायाधीशहरू गम्भीर बनेका हुन् ।

    सर्वोच्चकै फैसलाविपरीत कामु प्रधान न्यायाधीश

    सर्वोच्च अदालतको आफ्नै नजिरले पनि दीपक कार्कीको सचिवालयबाट लेखिएको पत्र खारेज योग्य भन्छ । २०७८ फागुन १२ गते न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले जिल्ला न्यायाधीश विनोदकुमार गौतमको मुद्दामा गरेको फैसलाले न्यायाधीशमाथि सो पदमा हुनुभन्दा अघिको मुद्दामा पनि अख्तियारले अनुसन्धान गर्न नपाउने भनिएको छ ।

    सो फैसलाको पूर्णपाठको एक अंशमा भनिएको छ- ‘निवेदक न्यायाधीश पदमा नियुक्त हुनु पूर्व निजामती कर्मचारीको हैसियतमा कार्यरत रहे पनि जब अनुसन्धान प्रारम्भ गरियो त्यतिखेर न्यायाधीश भइसकेको अवस्था रहेको छ । यस्तोमा संविधान र कानुनले नै भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको विषयमा कारबाही गर्ने अधिकार न्याय परिषद्लाई प्रदान गरेको छ भने निवेदकले संविधान र कानुनले गरेको व्यवस्थाको संरक्षण पाउँदैन भन्नु स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुकूल हुँदैन । कार्यपालिकी शक्तिको प्रयोग गर्ने निकायले यस्तो अधिकारको प्रयोग न्यायाधीशको विरुद्ध गर्ने र मुद्दा चलाएपछि स्वतः निलम्बित भयौ भनी पत्र लेख्ने कुरा स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुकूल हुने देखिँदैन ।

    बालुवाटार जग्गा प्रकरणमा अख्तियारले तत्कालीन कानून समूहका उपसचिव विनोद गौतम पनि संलग्न रहेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दर्ता हुँदा गौतम चितवन जिल्लाको न्यायाधीश थिए । उनी स्वतः निलम्बन भएको भनिएपछि त्यसका विरुद्ध अदालतमा रिट लिएर गएकोमा तीन जना न्यायाधीशको इजलासले सो फैसला गरेको थियो ।

  • धरान उपमहानगरमा बराह सहकारीपीडितको प्रदर्शन, मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड (भिडिओ)

    धरान उपमहानगरमा बराह सहकारीपीडितको प्रदर्शन, मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड (भिडिओ)

    इटहरी । धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ ।

    आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपरान्ह ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरे । नगर प्रहरीको घेरा तोडेर आन्दोलनकारीले मेयरको कार्यकक्ष तोडफोड गरेका छन् । सोक्रममा झ्यालका केही सिसा फुटेको छ ।

    बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै पछिल्लो एक वर्षदेखि धरानका २० वटै वडाका निक्षेपकर्ता आन्दोलनमा छन् । २०७८ पुस २३ गतेको बराहको १२औँ साधारण सभामा सहकारी नाफामा रहेको भन्दै सेयर बाँडिएपछि पीडित बचतकर्ताहरूले आफ्नो हिसाबकिताब खोज्दै प्रदर्शन गरिरहेका हुन् ।

    पीडितहरूले आफ्नो माग राख्दा कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भनेर मेयर साम्पाङले भनेपछि आफूहरू आक्रोशित भएको एक सेयर सदस्यले बताए ।

    पीडितहरूको आज पनि उपमहानगरपालिका कार्यालयमा दबाब कार्यक्रम राखेका छन् ।

  • अर्थमा जनार्दनको कमब्याक हुँदा सचिव मरासिनीलाई नैतिक संकट

    अर्थमा जनार्दनको कमब्याक हुँदा सचिव मरासिनीलाई नैतिक संकट

    काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्माको कमब्याक हुँदा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी नैतिक संकटमा परेका छन् । आज मन्त्रालयमा शर्माले पदभार ग्रहण गर्दा मरासिनी बिनाजानकारी अनुपस्थित रहे ।

    मन्त्रालय स्रोतका अनुसार हिजोसम्म मरासिनी कार्यालयमा आएका थिए । उनले आज बिदामा बसेको भनेर मन्त्रालयमा औपचारिक जानकारी गराएका थिएनन् ।

    अर्थ मन्त्रालयमा दुई जना सचिव रहने व्यवस्था छ । मन्त्रीपछि समग्र मन्त्रालय हेर्ने सेकेन्ड म्यान मरासिनी हुन् । अर्का सचिव कृष्णहरी पुष्करले राजश्वको पाटो हेर्छन् । आज आज मन्त्रालयमा पुष्करले नै अर्थमन्त्री शर्माको स्वागत गरेका छन् ।

    यसअघि अर्थमन्त्रीबाट राजीनामा दिन शर्मालाई चर्को दबाब परेका बेला सचिव मरासिनी अचानक बिदामा बसेका थिए । उनले आफूलाई सन्चो नभएको भनेर अनिश्चितकालीन बिदा लिएको समाचार त्यस बेला सञ्चारमाध्यममा आएका थिए । यसले शर्मालाई थप दबाब पर्‍यो र भोलिपल्टै उनले राजीनामा दिए ।

    सन्चो नभएको भनेर बिदा बसेका मरासिनी अर्थमन्त्रीबाट शर्माले राजीनामा दिएको भोलिपल्टबाट फेरि मन्त्रालयमा प्रकट भए । यसबाट अर्थमन्त्री शर्मासँगको व्यक्तिगत असन्तुष्टिका कारण उनी बिरामीको बहानामा बिदा बसेको पुष्टि भएको थियो ।

    हालै शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले अर्थ सचिवको बयान लिने क्रममा यो विषय पनि कोट्याएको थियो । मरासिनीले आफूलाई त्यस बेला मानसिक दबाब परेकाले बिदामा बसेको बताएका छन् ।

    समितिलाई उनले भनेका छन्, ‘मलाई सामाजिक सञ्जालमा नानाथरि आरोप लगाउन थालिएपछि मानसिक दबाब खेप्न नसकेर बिदामा बसेको हुँ ।’

    अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले लिएपछि उनकै आग्रहमा आफू फेरि मन्त्रालय आएको मरासिनीको भनाइ छ ।

    ‘सरकार प्रमुखले नै फोन गरेर सहयोग गर्नुपर्‍यो भन्नुभएपछि मैले स्वीकार नगर्ने कुरै भएन,’ मरासिनीले भनेका छन् ।

    अर्थमन्त्रीमाथि थप दबाब बनाउँदै बिदामा बसेका मरासिनीले संसदीय समितिमा भने शर्माविरुद्ध बोलेनन् । उनले मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप अस्वीकार गरेका थिए । अन्ततः शर्मालाई संसदीय समितिले सफाइ दियो ।

    आरोपबाट प्राविधिक रूपमा सफाइ पाएसँगै माओवादीले फेरि शर्मालाई अर्थमन्त्रीमा सिफारिस गर्‍यो र प्रधानमन्त्रीले पनि कत्ति ढिलाइ नगरीकन त्यसलाई सदर गरिदिए । फलतः अर्थ मन्त्रालयमा २५ दिनपछि शर्माको कमब्याक भएको छ । र, यसले सचिव मरासिनीलाई भने समस्यामा पारेको छ । अब कुन मुखले उनी मन्त्रालयमा काम गर्न फर्किन्छन् भनेर सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन् ।

    सचिव भनेको मन्त्रीको मातहतमा रहने पहिलो कर्मचारी भएको हुँदा उनीहरूबिच अविश्वासको वातावरणमा मन्त्रालय अघि बढ्न सक्दैन । हरेक विषयमा मन्त्री र सचिवबीच सरसल्लाह गरेर निर्णय लिनुपर्ने हुन्छ । शर्माले अब मरासिनीलाई नै विश्वासमा लिएर अगाडि बढ्छन् वा उनको विकल्प खोज्छन् भन्ने हेर्न बाँकी छ ।

    स्मरणीय छ कि मरासिनीलाई शर्माले नै अर्थ मन्त्रालयमा तानेका हुन् । २०७८ साल साउनमा मन्त्रिपरिषद् बैठकले तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै मरासिनीलाई मन्त्रालयमा तान्ने निर्णय गरेको थियो ।

    त्यसअघि उनी महालेखा परीक्षक थिए । उनले लामो समयदेखि अर्थ मन्त्रालयमा रहेर अनुभव संगालेका छन् । उनले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय तथा समन्वय महाशाखा प्रमुख भएर काम गरेका थिए । त्यस्तै अमेरिका स्थिति विश्व बैंकको नेपाल डेस्क प्रमुख भएर काम गरेको अनुभव पनि उनीसँग छ ।

  • खोला ओगटेर काम नगर्ने १६ सय मेगावाट बराबरका विद्युत आयोजनाको पीपीए रद्द गरिने (भिडिओ)

    खोला ओगटेर काम नगर्ने १६ सय मेगावाट बराबरका विद्युत आयोजनाको पीपीए रद्द गरिने (भिडिओ)

    काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरू नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) भएर पनि निर्माण हुन नसकेको जानकारी गराइन् ।

    खोला/नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरी कदम चाल्दैछौं । टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरू सुरू नहुँदा वित्तीय जोखिमसमेत देखिएकोले मन्त्रालयले चाँडै आवश्यक निर्णय गर्नेछ’, मन्त्री भुसालको भनाइ थियो ।

    उनका अनुसार नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा छ । सरकारले प्रस्ताव गरेको नयाँ विद्युत ऐनले विद्युत व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको उनले बताइन् ।

    कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवै औधोगिक क्षेत्रलाई पर्याप्त विद्युत उपलब्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रित रहेको बताए । ट्रान्समिसन र सवस्टेशन बनाउनका लागि लगानी बढाउने घिसिङले अहिले विद्युतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए ।

    ट्रान्समिसन लाइनको अभावका कारण कुनै पनि आयोजनाको विद्युत खेर जाने अवस्था नरहेको उनको दाबी थियो ।

  • मन्त्रालयले समन्वय नगरी सरुवा गरेको भन्दै प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता पठायो

    मन्त्रालयले समन्वय नगरी सरुवा गरेको भन्दै प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता पठायो

    म्याग्दी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ ।

    मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित कार्यालयमा पुगेका थिए । ‘साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ’, उनले भने, ‘मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो ।’

    मङ्गलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै अन्यत्र सरुवा भएको थियो । बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मङ्गलामा सरुवा गरेर पठाएको हो । पालिकाले हाजिर नगराएपछि बागलुङ फर्किएका कार्कीले मन्त्रालयमा जानकारी गराउने बताए ।

    मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले “मन्त्रालयले एक जनालाई भनेर अर्कालाई सरुवा गरेर पठाएकाले हाजिर नगरी फिर्ता गरेको” प्रतिक्रिया दिए । ‘उहाँ (कार्की) पनि सल्लाह समन्वय नगरी सरुवा भएर आउनुभयो’, अध्यक्ष रोकाले भने, ‘मन्त्रालयले एउटालाई भनेर अर्कालाई सरुवा गरेर पठाएछ ।’

    काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने अध्यक्ष रोकाले बताए । प्रशासकीय अधिकृत ढुङ्गानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।रासस

  • अर्थमन्त्रालयमा जनार्दनको कमब्याक तयारी- प्रतिष्ठाको वहाना, बालुवाटारको चाहना

    अर्थमन्त्रालयमा जनार्दनको कमब्याक तयारी- प्रतिष्ठाको वहाना, बालुवाटारको चाहना

    काठमाडौं । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मालाई अर्थमन्त्रालयमा फर्काउने तयारी भएको छ ।संसदीय विशेष छानविन समिति गठनपछि असार २२ गते पदबाट राजीनामा दिएका शर्माले पुनः सरकारमा फर्किनकै लागि पुल्चोकस्थित मन्त्री क्वार्टर समेत छाडेका छैनन् ।

    राजीनामापछि पनि अर्थमन्त्री अर्को नियुक्त नगरी प्रधानमन्त्री स्वयंले राख्नुको कारण पनि उनैलाई फर्काउने पूर्व समझदारी अनुरुप नै रहेको स्रोतले जनाएको छ । अर्थमन्त्री शर्मालाई विशेषगरी प्रधानमन्त्री पत्नी आरजु देउवाले रुचाएका कारण उनी फर्किने पहिले नै तय थियो ।

    प्रधानमन्त्री निकट एक कांग्रेस नेताले भने–बालुवाटारले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै रुचाएको छ । काम गर्न सजिलो मान्छे भन्ने परेको छ । नीतिगत निर्णयमा अरुभन्दा जनार्दन शर्माले नडराई काम गर्ने गरेका कारण बालुवाटारले उनलाई रुचाएको हो ।

    स्रोतका अनुसार संसदीय छानविन समितिमा रहेका सत्तापक्षका सांसदहरुलाई अर्थमन्त्रीलाई दोषी साबित नगर्न ह्वीप लगाइएपछि अहिलेको जस्तो असहमतिको रिपोर्ट आउने निश्चित भइसकेको थियो । समितिले प्रतिवेदन बनाउनुभन्दा अघि शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर आफू दुई दिन भनेपनि अर्थमन्त्रालय फर्किने बताएका थिए ।

    स्रोतले भन्यो–दुई चार दिनमात्र भने पनि अर्थमन्त्रालय फर्किएर बरु त्यसपछि राजीनामा गर्छु । तर छानविनबाट निर्दोष साबित भएर मन्त्रालय फर्किन पाउनुपर्छ भनेर उहाँले अध्यक्षलाई भनेको सुनियो । सायद पिएम र सिएमबीच कुरा भइसकेको होला ।

    शर्मालाई आइतबार वा सोमबारसम्म अर्थमन्त्रीमा पुनः समथग्रहण गराउने सम्भावना रहेको माओवादी नेताहरुले बताएका छन् । शर्माले चाहेमा अब अर्थमन्त्री बन्नका लागि बाटो खुलेको माओवादीकै नेता वर्षमान पुनले शुक्रबार नै संसद भवनमा बताएका थिए ।

     

  • राजीनामा दिएको २३ दिनसम्म पनि जनार्दन अर्थमन्त्रीकै हैसियतमा, सरकारी क्वार्टरबाटै चलखेल

    राजीनामा दिएको २३ दिनसम्म पनि जनार्दन अर्थमन्त्रीकै हैसियतमा, सरकारी क्वार्टरबाटै चलखेल

    काठमाडौं । बजेट निर्माण क्रममा अवैध व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको विवादले उग्र रूप लिएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए । तर, राजीनामा दिएको २३ दिनसम्म पनि उनले मन्त्री क्वार्टर नछोडेको पाइएको छ ।

    संसद्भित्र र बाहिरबाट परेको दबाब थेग्न नसकेर शर्माले गत असार २२ गते राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । शर्माले भने फेरि आफू अर्थमन्त्रीमा फर्किने आशामा मन्त्री क्वार्टर कब्जा गरिरहेको स्रोतको दाबी छ ।

    पुल्चोकस्थित मन्त्री क्वाटरभित्र छिर्ने बित्तिकै मन्त्री निवासको नाम लिस्टको तेस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माको नाम रहेको छ । लिस्टमा उनी ‘बाहिर’ भएको उल्लेख गरिएको छ । जबकि मन्त्रीबाट हटिसकेपछि गेटमा नाम रहनु नै आश्चर्यजनक कुरा हो ।

    अर्थमन्त्रीका रूपमा शर्माले ब्लक डी-२ को क्वार्टर पाएका थिए । अहिलेसम्म पनि ब्लक डी–२ मा उनको नेमप्लेट यथावत् छ । नेमप्लेटमा उनी ‘बाहिर’ उल्लेख गरिएको छ ।

     

     

    स्रोतका अनुसार शर्माले मन्त्री क्वाटरबाट आफ्ना सामानहरू हटाएका छैनन् । परिवार क्वाटरमा नबसे पनि शर्मा भने बारम्बार आउने जाने गर्छन् ।

    मन्त्रीबाट हटेपछि उनको बसाइ भने जाउलाखेलस्थित अर्का मन्त्री उमेश श्रेष्ठको घरमा सरेको छ । मन्त्री हुनुभन्दा पहिले पनि शर्मा यही घरमा बस्दै आएका थिए ।

    अर्थ मन्त्रालयमा शर्मा नै फर्किने चर्चा

    आज नै शर्मामाथि भएको छानबिनको प्रतिवेदन संसदीय समितिले संसद्मा बुझाएको छ । प्रतिवेदनमा उनीमाथि लागेको आरोप पुष्टि गर्ने प्रमाण नभेटिएको उल्लेख भएको छ । यससँगै शर्मा निकटस्थहरूले उनी फेरि अर्थमन्त्रीमा फर्किने हल्ला चलाइरहेका छन् ।

    अर्थ मन्त्रालयभित्र पनि उनको सम्भावित पुनरागमनबारे चर्चा अर्थमन्त्री भएर आउने चर्चा सुरु भएको एक कर्मचारीले बताए ।

    अर्थमन्त्रीबाट शर्माले राजीनामा दिए लगत्तै माओवादीभित्रका उनका प्रतिस्पर्धी वर्षामान पुनले छानबिनबाट निर्दोष प्रमाणित भएमा उनी फेरि अर्थमन्त्री नियुक्त हुने बताएका थिए ।

    माओवादीले अर्को व्यक्ति अर्थमन्त्रीमा सिफारिस नगर्नुभित्र पनि यही आशय लुकेको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवा पनि आफ्ना केही निजी चासोहरू सम्बोधन गरिदिएकाले शर्माप्रति अनुग्रहित छन् । त्यसैले फेरि शर्मालाई अर्थमन्त्री नियुक्त गरिए आश्चर्य नहुने स्रोतहरू बताउँछन् ।

    मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९ मा मन्त्रीहरुले आफ्नो कार्यकाल सकिएको वा मन्त्रीबाट हटेको मितिले सात दिनसम्म सरकारी निवास प्रयोग गर्न पाउने व्यवस्था रहेको छ ।

    जनार्दन शर्माले भने २३ दिनसम्म क्वाटर छाडेका छैनन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत व्यापक हेरफेर, को कहाँ पुगे ?

    स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत व्यापक हेरफेर, को कहाँ पुगे ?

    काठमाडौं । सरकारले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निणर्यबाट सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवसरहका कर्मचारी हेरफेर भएका थिए ।

    सरकारले स्थानीय तहदेखि विभिन्न निकायमा कार्यरत ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृतको सरुवा गरेको हो ।

    कतिपय प्रमुख प्रशासकीय अधिकृत एक स्थानीय तहबाट अर्को स्थानीय तह, कतिपय स्थानीय तहबाट अन्य निकायमा गएका छन् । केही अन्य निकायबाट स्थानीय तहमा भित्रिएका पनि छन् । विभिन्न निकायमा कार्यरत ३४ जना उपसचिवको सरुवा हुँदा १५ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन् ।

    को कहाँ सरुवा ?

    काठमाडौंको नागार्जुन नपामा कार्यरत सुरेन्द्र थापामगर काभ्रेपलाञ्चोकको धुलिखेल नपामा सरुवा भएका छन् । काठमाडौंकै तारकेश्वर नपामा कार्यरत शिवप्रसाद लम्सालको काभ्रेपलाञ्चोकको नमोबुद्ध नपामा र शंखरापुर नपामा कार्यरत रमेश गौतमको कपिलवस्तुको शिवराज नपामा सरुवा भएको छ ।

    यस्तै चितवनको राप्ती नपामा कार्यरत गंगाबहादुर भुजेलको बाग्लुङको गलकोट नपामा र चितवनकै भरतपुर महानगरबाट सुकदेव लम्सालको चितवनकै राप्ती नपामा सरुवा भएको छ । चितवनकै खैरहनी नपाबाट पुरुषोत्तम शर्मा स्याङजाको गल्याङ नपामा पुगेका छन् ।

    कपिलवस्तुको बाणगंगा नपाबाट टेकराज पन्थी रुपन्देहीको बुटवल उपमहानगरमा सरुवा हुँदा कपिलवस्तुकै शिवराज नपाबाट गणेशप्रसाद अर्याललाई सुर्खेतको गुर्भाकोट नपामा पठाइएको छ । स्याङ्जाको गल्याङ नपाबाट लेखनाथ न्यौपानेको चितवनकै खैरहनी नपामा र स्याङ्जाकै चापाकोट नपाबाट दामोदर शर्माको बाग्लुङको जैमिनी नपामा सरुवा भएको छ ।

    यस्तै नुवाकोटको बेलकोटगढी नपाबाट दीपकप्रसाद खतिवडा तनहुँको भानु नपा पुगेका छन् । मकवानपुरको थाहा नपाबाट हरिलाल पुरीको बाराको निजगढ नपामा गएका छन् । बाराको निजगढ नपाबाट सुमनकुमार कार्कीको बाराकै पचरौता नपामा, धुलिखेल नपाबाट तारानाथ लुइँटेलको ओखलढुंगाको सिद्धिचरण नपामा सरुवा भएको छ ।

    ७ जना प्रमुख प्रशासकीय अधिकृत अन्य निकायमा

    ७ वटा नपाका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाट बाहिरिएका छन् । उनीहरु नपाबाट सरकारका अन्य संघीय निकायमा सरुवा भएका हुन् ।

    बाग्लुङको गल्कोट नपाबाट हरिप्रसाद शर्माको जिल्ला समन्वय समिति अर्घाखाँचीमा, रुपन्देहीको देवदह नपाबाट डिल्लीराज बेलवासेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

    यस्तै सुर्खेतको पञ्चपुरी नपाबाट रोमकान्त पाण्डेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, झापाको अर्जुनधारा नपाबाट गीताकुमारी राईको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, बाग्लुङको जैमिनी नपाबाट ज्ञानराज कोइरालाको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा, धादिङको धुनीवेंशी नपाबाट हरिदत्त कँडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र रौतहतको गौर नपाबाट श्रीधर केसीको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ६ जना उपसचिवलाई विभिन्न नपाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । अतिरिक्त समूहका नेत्रप्रसाद घिमिरेको काठमाडौस्थित तारकेश्वर नपामा, होमनाथ काफ्लेको मकवानपुरको थाहा नपामा, हीरामणि सुवेदीको काठमाडौंस्थित शंखरापुर नपामा र नवराज पौडेलको रुपन्देहीस्थित सिद्धार्थनगर नपामा, शुभाकर पौडेलको स्याङ्जाको चापाकोट नपामा र भुदेव झाको रौतहटको ईशनाथ नपामा सरुवा भएको हो ।

    त्यस्तै विभिन्न निकायमा कार्यरत ६ जनालाई नपामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अच्युतराज रेग्मी धादिङको धुनीवेंशी नपा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका डिल्लीराज सिग्देलको स्याङजास्थित वालिङ नपामा, स्थानीय पूर्वाधार विभाग ललितपुरमा कार्यरत ईश्वरीप्रसाद ढकाललाई नागार्जुन नपाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नारायणप्रसाद पोखरेल अर्घाखाँचीको भूमिकास्थान नपामा, गण्डकी प्रदेशको प्रदेशसभा सचिवालयमा कार्यरत जीतेन्द्रजंग केसीको कास्कीको पोखरा महानगरमा र जिल्ला समन्वय समिति नुवाकोटका जिल्ला समन्वय अधिकारी सूर्यदर्शन पण्डितको नुवाकोटको बेलकोटगढी नपामा सरुवा भएको छ ।

    १२ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

    विभिन्न १२ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शाखा अधिकृतस्तरका कर्मचारी पनि सरुवा भएका छन् । उनीहरु एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा पठाइएका हुन् ।

    डोटीको केआईसिंह गाउँपालिकामा कार्यरत धर्मराज उपाध्यायको डोटीकै आदर्श गाउँपालिकामा, आदर्श गाउँपालिकाबाट सुरतबहादुर परियारको केआईसिंह गाउँपालिकामा, दाङको राजपुर गाउँपालिकाबाट चन्द्रकान्त पौडेलको दाङकै बंगलाचुली गाउँपालिकामा र दाङकै राप्ती गाउँपालिकाबाट शोभराज रिजालको दाङकै राजपुर गाउँपालिकामा सरुवा भएको छ ।

    त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट गोपीकृष्ण अर्यालयको कास्कीको मादी गाउँपालिकामा, कालीकोटको नरहरिनाथ गाउँपालिकाबाट धर्मराज बुढाको रोल्पाको लुङग्री गाउँपालिकामा, गुल्मीको मदाने गाउँपालिकाबाट कमलप्रसाद उपाध्यायको गुल्मीको सत्यवती गाउँपालिकामा र पाँचथरको कुम्मायक गाउँपालिकाबाट देवेन्द्र सुवेदीको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा सरुवा भएको छ ।

    सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाबाट लक्ष्मण कुइँकेलको सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा, संखुवासभाको पाँचपखन नगरपालिकाबाट मणिराम खतिवडाको झापाको गौरीगञ्ज गाउँपालिकामा, झापाको झापा गाउँपालिकाबाट खेमराज थापाको झापाकै बाह्रदशी गाउँपालिकामा र दैलेखको चामुण्डा बिन्द्रासैनी नपाबाट मणिराज खरालको बाँकेको डुडुवा गाउँपालिकामा सरुवा भएको छ ।

    २७ जना गाउँपालिकाबाट अन्य निकायमा

    सरकारले ५९ जना शाखा अधिकृतको सरुवा गर्ने क्रममा २७ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई अन्य निकायमा पठाएको छ । सात वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको गृह मन्त्रालय तथा मन्त्रालयअन्तर्गत सरुवा भएको छ ।

    गुल्मीको धुर्कोट गाउँपालिकाका तुल्सीराम पौडेल, दैलेखको महाबु गाउँपालिकाका भलाराम पंगाली, सप्तरीको रुपनी गाउँपालिकाका अरविन्दकुमार चौधरी, सल्यानको छत्रेश्वरी गाउँपालिकाका प्रदीप खनाल, तेह्रथुमको फेदाप गाउँपालिकाका भोगेन्द्र श्रेष्ठ, डडेल्धुराको अजयमेरु गाउँपालिकाका गंगाराम सापकोटा र खोटाङको ऐसेलुखर्क गाउँपालिकाबाट हीराकुमारी यादव गृह र सो मातहतका निकायमा सरुवा भएका छन् ।

    त्यस्तै विभिन्न ४ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा मातहतका कार्यालयमा सरुवा भएको छ । उनीहरुमा प्यूठानको माण्डवी गाउँपालिका शिशिर रिजाल, नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सरावल गाउँपालिका कृष्णप्रसाद ज्ञवाली, पाल्पाको रम्भा गाउँपालिकाका कृष्णप्रसाद ढकाल र पाल्पाकै बगनासकाली गाउँपालिकाबाट विष्णुबहादुर घर्ती रहेका छन् ।

    ३ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका छन् । उनीहरुमा सल्यानको सिद्धकुमाख गाउँपालिकाका मार्शलकुमार ओली, दाङको बंगलाचुली गाउँपालिकाका विष्णुप्रसाद पाण्डे र जाजरकोटको शिवालय गाउँपालिकाका राजेन्द्रकुमार चन्द रहेका छन् । कास्कीको मादी गाउँपालिकाका नारायणप्रसाद सापकोटा र रोल्पाको लुङग्री गाउँपालिकाबाट बद्रीप्रसाद शर्मा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा कार्यालय मातहतमा सरुवा भएका छन् ।

    यस्तै प्यूठानको मल्लरानी गाउँपालिकाका बालकृष्ण थापा, बाराको पसौनी गाउँपालिकाका सुनिलप्रसाद केशरी राष्ट्रिय सतर्कता केन्द्र तथा केन्द्र मातहतका कार्यालयमा सरुवा भएका छन् । सिरहाको बरियापट्टी गाउँपालिकाका रञ्जितजंग अधिकारी र प्यूठानको सरुमारानी गाउँपालिकाका चिन्तामणि रेग्मी सञ्चार मन्त्रालय र त्यस मातहतका निकायमा पुगेका छन् । महोत्तरीको मनराशिसवा नगरपालिकाबाट रणजीतकुमार यादव र मोरङको रंगेली गाउँपालिकामा कार्यरत नवराज कार्की संघीय मामला मन्त्रालय र मातहतमा सरुवा भएका छन् ।

    दैलेखको ठाँटीकाँध गाउँपालिकाबाट कमलप्रसाद उपाध्यायको कणर्ाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । झापाको बाह्रदशी गाउँपालिकाबाट चित्रप्रसाद गुरागाईंको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, मोरङको मिक्लाजुङ गाउँपालिकाबाट माधव घिमिरेको प्रदेश नम्बर १ को प्रदेश प्रमुखको कार्यालयमा, डडेल्धुराको नवदुर्गा गाउँपालिकाबाट सिद्धराज शर्माको युवा तथा खेलकुद मन्त्रालयमा र झापाको गौरीगञ्ज गाउँपालिकाबाट कृष्णबहादुर कार्कीको जिल्ला समन्वय समिति इलाममा सरुवा भएको छ ।

    १८ जना नयाँ प्रमुख प्रशासकीय अधिकृत

    विभिन्न निकायमा कार्यरत १८ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । गृह मन्त्रालय तथा मन्त्रालयअन्तर्गत कार्यरत ५ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

    सो मन्त्रालयमा कार्यरत लोकेन्द्रबहादुर विष्ट डडेल्धुराको नवदुर्गा गाउँपालिकामा, किशोरकुमार रामे सप्तरीको रुपनी गाउँपालिकामा, विजय मुक्तान रामेछामको लिखु तामाकोशी गाउँपालिकामा, जयबहादुर वाइबा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा र कृष्णनन्द जोशी डडेल्धुराको अजयमेरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।

    भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा मन्त्रालयअन्तर्गत कार्यरत ३ जना शाखा अधिकृतलाई पनि विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । उक्त निकायमा कार्यरत सुन्दरप्रसाद श्रेष्ठ पाल्पाको रम्भा गाउँपालिकामा, रेमन्तबहादुर डाँगी रोल्पाको रुन्टीगढी गाउँपालिकामा र खेमराज छिनाल पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।

    यस्तै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा कार्यालयअन्तर्गत कार्यरत ३ जना शाखा अधिकृतलाई पनि विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा उक्त कार्यालयमा कार्यरत नेवबहादुर वली दाङको राप्ती गाउँपालिकामा, दुर्गा पौडेल नवलपरासी बर्दघाट सुस्ता पूर्वको सरावल गाउँपालिकामा र शालिकराम पन्थीलाई गुल्मीको मदाने गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।

    निर्वाचन आयोग तथा आयोगअन्तर्गत कार्यरत २ जना शाखा अधिकृतलाई पनि विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । उक्त कार्यालयमा कार्यरत ज्ञानुराम पन्थी गुल्मीको धुर्कोट गाउँपालिकामा र निमराज भट्टराई प्यूठानको सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।

    अन्य फरक-फरक निकायमा कार्यरत ५ जनालाई पनि विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारी दिइएको छ । जसमा जिल्ला समन्वय समिति प्यूठानका महेश केसी प्यूठानकै मल्लरानी गाउँपालिकामा पुगेका छन् ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत गजेन्द्र थपलियालाई झापाको झापा गाउँपालिकामा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामगिर महतोलाई सिरहाको बरियापट्टी गाउँपालिकामा, राष्ट्रिय सर्तकता केन्द्रमा कार्यरत सन्तोष श्रेष्ठलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा र गण्डकी प्रदेशको प्रदेश सचिवालयमा कार्यरत विष्णुप्रसाद पौडेललाई स्याङजाको फेदीखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।

  • जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाउने तयारी

    जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाउने तयारी

    काठमाडौं ।चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

    यो प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए भने संसदले उनीमाथि छानबिनका लागि संसदीय समिति नै बनाएको थियो ।

    समितिले १७ दिन लगाएर छानबिन गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार शुक्रबार बिहान सभामुखसँग समय मागेर प्रतिवेदन बुझाइनेछ ।

    बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो ।

  • संसदीय समितिकाे दुईथरी निष्कर्ष : दोषी पुष्टि गर्ने प्रमाण भेटिएन, छानबिन अपूर्ण (भिडिओ)

    संसदीय समितिकाे दुईथरी निष्कर्ष : दोषी पुष्टि गर्ने प्रमाण भेटिएन, छानबिन अपूर्ण (भिडिओ)

    काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ । साथै, यो छानबिन आफैंमा पर्याप्त नभएको पनि अर्को निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ ।

    समितिको अन्तिम वैठक केहीबेर अघि सिंहदरबारमा सम्पन्न भएको थियो । बैठकपछि सदस्य सचिव सुरेन्द्र अर्यालले प्रतिवेदन लेखन कार्य लगभग सकिएको बताएका थिए । प्रतिवेदनमा सर्वसम्मति भए/नभएको उनले खुलाएनन् ।

    तर, समितिका एक सदस्यले नेपाल प्रेससँग कुरा गर्दै प्रतिवेदनमा दुईथरी निष्कर्ष समावेश गरिएको जानकारी दिए । उनका अनुसार अर्थमन्त्रीविरुद्ध प्रमाण नभेटिएकाले उनलाई दोषी ठहर गर्ने नसकिने सत्ता पक्षीय सांसदहरुको निष्कर्ष छ । यस्तै, समितिले गरेको छानबिन आफैंमा अपूरो रहेकाले यसमा थप अनुसन्धान आवश्यक रहेको प्रतिपक्षका सांसदहरुको निष्कर्ष रहेको छ । दुवै निष्कर्षलाई प्रतिवेदनमा स्थान दिइएको स्रोतले बतायो ।

    बैठकमा एमालेका चार सांसदहरुले विभिन्न विषयमा असहमति राखेका थिए । तर, उनीहरुले साझा धारणा बनाएर भने प्रस्तुत भएका थिएनन् । एमालेका सांसदहरुले फरक–फरक कुरामा असहमति राखेको स्रोतको भनाइ छ ।

    अर्थ मन्त्रालयले समितिलाई छानबिनमा असहयोग गरेको, विवाद आउनासाथ मन्त्रालयले सीसीटीभी फुटेज सार्वजनिक नगरेको, व्यापारिक घरानाको फाइदाका निम्ति करको दर हेरफेर गरिएको, सीसीटीभी फुटेजका दृष्य प्रष्ट नखुलेको जस्ता विषयहरु एमाले सांसदहरुले उठाएका थिए ।

    छानबिन आफैंमा अपूरो रहेकाले तत्कालीन अर्थमन्त्री शर्माले क्लीन चिट पाउन नसक्ने एमाले सांसदहरुको तर्क छ । सत्तारुढ सांसदहरुले भने सीसीटीभी फुटेजले पनि अर्थमन्त्रालयभित्र घुसपैठ भएको प्रमाणित नगरेको कुरालाई जोड दिएका थिए । समितिमा सत्तारुढ सांसदहरुको स्पष्ट बहुमत रहेको छ ।

    आजको अन्तिम बैठक बस्नुअघि माओवादी सांसद देव गुरुङले सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेटेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर उनले ब्रिफिङ गरेका थिए । नेताहरुको सुझाव लिएर उनी बैठकमा आएका थिए ।

    यसैगरी, एमालेका सांसदहरुले पनि पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरुसँग सुझाव लिएको स्रोतले बताएको छ ।

  • छानबिन समितिको अन्तिम बैठक सकियो, मतभेदकैबीच टुंगियो प्रतिवेदन

    छानबिन समितिको अन्तिम बैठक सकियो, मतभेदकैबीच टुंगियो प्रतिवेदन

    काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको ‘अन्तिम बैठक’ सकिएको छ । समितिले प्रतिवेदन लेखन कार्य टुंग्याएको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले बताए ।

    बैठकबाट निस्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले आजको बैठक नै अन्तिम भएको बताए । केही प्राविधिक कुराहरु बाहेक प्रतिवेदन लेखन कार्य सकिएको भन्दै उनले भोलि सभामुखलाई समय लिएर बुझाउने जानकारी दिए ।

    प्रतिवेदनमा सर्वसम्मति भए/नभएको विषयमा अर्यालले स्पष्ट जवाफ दिएनन् ।

    उनले भने, ‘भोलि प्रतिवेदन हेरिसकेपछि सबै थाहा हुन्छ । अहिले भन्न मिल्दैन ।’

    छानबिन समितिमा रहेका एमाले सांसद खगराज अधिकारीले प्रतिवेदन सर्वसम्मत नभएको संकेत गरे ।

    बैठकबाट निस्किँदै उनले भने, ‘प्रतिवेदन अन्तिम चरणमा छ । सबैले आ–आफ्नो कुा राखियो । कतिपय कुरामा सर्वसम्मत भयो, कतिपय कुरामा छलफल नै बाँकी छ ।’

    स्रोतका अनुसार एमाले सांसदहरु प्रतिवेदनको निस्कर्षमा सहमत छैनन् । तर, आजको बैठक नै अन्तिम भएको बताइएको छ । आजको बैठक सकिएपछि माओवादी सांसद देव गुरुङ सदस्यसचिवसँग बसिरहेका छन् । उनले आज बैठकमा बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर राय लिएका थिए ।

  • अमेरिकालाई ‘मामुली’ पत्राचार गर्न किन खुट्टा कमाउँदै छ सरकार ?

    अमेरिकालाई ‘मामुली’ पत्राचार गर्न किन खुट्टा कमाउँदै छ सरकार ?

    काठमाडौं । अमेरिकी सेनालाई नेपालमा भित्र्याउन खोजिएको भनेर चर्को आलोचना भएपश्चात् गत असार ६ गते मन्त्रिपरिषद्ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीजी) मा सामेल नहुने निर्णय गर्‍यो । यस विषयमा अमेरिकालाई तत्काल पत्राचार गरेर जानकारी गराउने मन्त्रिपरिषद्को निर्णय थियो । तर, सो निर्णय भएको एक महिनाभन्दा बढी समय गुज्रिसक्दा पनि सरकारले पत्र पठाउन सकेको छैन ।

    मन्त्रिपरिषद्को उक्त निर्णय परराष्ट्र मन्त्रालयसम्म पुगेर अलपत्र परेको हो । केही दिनअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीजी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै संसद्को रोष्टम नै कब्जा गरेका थिए । अरू सांसदहरूले पनि दबाब दिएपछि सभामुख अग्नि सापकोटाले सरकारलाई रुलिङ पनि गरिसकेका छन् । तर, पनि सरकार डेग चलेको छैन ।

    एसपीपीबारे पत्राचार गर्न किन आनाकानी गरिरहेको छ सरकार ? केही दिनअघि परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले रक्षा मन्त्रालय, नेपाली सेना र अन्य निकायसँग छलफल आवश्यक भएको कारण पत्राचार नगरिएको स्पष्टीकरण दिएकी थिइन् । तर, देशको सबैभन्दा ठूलो निकाय मन्त्रिपरिषद्ले निर्णय लिइसकेको विषयमा परराष्ट्रले थप छलफल गर्नु आवश्यक हुँदैन । यसले सरकारकै नियतमा प्रश्न खडा भएको छ ।

    लम्सालले भनेकी थिइन्, ‘परराष्ट्र मन्त्रालयले कुनै पनि पत्राचार गर्नुपूर्व आन्तरिक तहबाट पनि होमवर्क गर्नुपर्छ । त्यो काम भइरहेको छ ।’

    उनले होमवर्क भइरहेको भनेको पनि एक हप्ता बितिसक्यो । तर, पत्र पठाउने कुनै सुरसार छैन ।

    यता सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दिनअघि एक भाषणमा आफू र प्रचण्डले एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई घचघच्याइरहेको दाबी गरेका थिए । प्रचण्डले भने यो विषयमा खासै सार्वजनिक टिप्पणी गरेका छैनन् ।

    सबै परिवेशहरूको विश्लेषण गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाकै अनिच्छाका कारण अमेरिकालाई परराष्ट्रले पत्राचार नगरिएको बुझिन्छ । मन्त्रिपरिषद्ले निर्णय गरिसकेको विषय रोक्न उनीबाहेक अरूले नसक्ने स्थिति हुँदैन । नेपालमा अत्यधिक विवादित बनेको एमसीसी संसद्बाट पारित गराएपछि देउवा अमेरिकाको प्रिय पात्र बनिरहेका छन् । त्यसैले एसपीपीबारे पत्राचार गरेर उनी अमेरिकालाई चिढ्याउन चाहँदैनन् । बाहिरको विरोध थामथुम पार्नका लागि मात्रै बाध्यतावश देउवाले क्याबिनेटबाट निर्णय गराएका थिए भन्ने पुष्टि हुँदै गएको छ ।

    केही दिनअघि संसद‍्भित्र भाषण गर्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एसपीपीको नाम मात्रै फेरेर सम्झौता गर्न लागिएको जिकिर गरेका थिए । उनले ठोस आधार प्रमाण त दिएनन्, तर सत्तारुढ दलकै जिम्मेवार नेताको अभिव्यक्तिलाई यत्तिकै नजरअन्दाज पनि गर्न मिल्दैन ।

    गुरुङले भनेका छन्, ‘त्यही कन्टेन्ट राखेर म्युचुअल डिफेन्स ट्रिटी, स्ट्राटिजिक डिफेन्स प्याक्ट, त्यो भएन भने एमसीसीमा टेकेर स्टाटस अफ फोर्स एग्रिमेन्ट (सोफा) गर्ने प्रयासहरू भइरहेको छ । यी पनि हुन सकेन भने पिस कोअपरेसन एग्रिमेन्टको नामबाट सैन्य सम्झौतासम्बन्धी कन्टेन्टमा हस्ताक्षर गर्ने तयारी छ । जसरी भए पनि नेपाललाई आईपीएसको पार्ट बनाउने र अमेरिकाको नेशनल गार्डसँग सैन्य सम्झौता गर्ने तयारी भित्रभित्र चलिरहेको छ ।’

    वरिष्ठ परराष्ट्रविद् भेशबहादुर थापा एसपीपीको विषयमा परराष्ट्र मन्त्रालयले दिएको प्रस्टीकरण स्वाभिविक नभएको बताउँछन् । यसले शंका गर्नुपर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।

    ‘यो अत्यन्तै अस्वाभाविक किसिमको जवाफ भयो,’ थापाले नेपाल प्रेससँग भने, ‘यति धेरै आलोचना भएको विषयमा हालसम्म पत्राचार भइसक्न पर्ने हो । यसले परराष्ट्र मन्त्रालयलाई कुनै दबाब पो आएको हो कि भन्ने संकेत गर्छ ।

    देशलाई द्विविधामा पारेको संवेदनशील विषयलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन नसक्नु चिन्ताजनक रहेको थापाको भनाई छ ।

    यस्तै भूतपूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे नेपालका जुनसुकै निकायले मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्नुपर्ने बताउँछन् । मन्त्रिपरिषद्को निर्णयलाई छलफल, अध्ययन भनेर कार्यान्वयनमा ढिलाइ गर्न नमिल्ने उनको तर्क छ ।

    ‘नेपालका कुनै पनि विषयको अन्तिम निर्णय गर्ने निकाय मन्त्रिपरिषद् हो र मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्ने दायित्व नेपाल सरकारका अन्य सबै संयन्त्रको हो,’ उनले भने ।

    मन्त्रीपरिषद्को निर्णयमाथि अध्ययन गर्ने अधिकार कुनै पनि सरकारी निकायलाई नहुने पाण्डेले टिप्पणी गरे ।

    ‘एसपीपीबारे मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन नहुनुले नेपालको शासन प्रणालीको स्टेयरिङ र ब्रेक कसको नियन्त्रणमा छ ? भन्ने गम्भीर प्रश्न उठेको छ,’ उनले भने ।

  • कर्मचारी सरुवाका कारण संवैधानिक आयोगको कार्यमा प्रभाव परेको संसदीय समितिको निष्कर्ष

    कर्मचारी सरुवाका कारण संवैधानिक आयोगको कार्यमा प्रभाव परेको संसदीय समितिको निष्कर्ष

    काठमाडौं । राष्ट्रिय दलित आयोगलगायत अन्य आयोगमा छिटो–छिटो कर्मचारी सरुवाका कारण कार्य सम्पादनमा प्रभाव परेको संसदीय समितिले निष्कर्ष निकालेको छ ।

    प्रतिनिधिसभाको वुधबार बसेको महिला तथा सामाजिक समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

    आयोगको कार्य सम्पादनमा प्रतिकूल प्रभाव पर्न गएको विषयलाई समाधान गर्नका लागि छिटो–छिटो आयोगमा कार्यरत कर्मचारीको सरुवा नगर्न समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन पनि दिएको हो ।

    समितिका सभापति निरुदेवी पालले समितिको बैठकका निष्कर्ष निकाल्दै भनिन्, ‘संविधानको भाग २७ मा उल्लिखित अन्य आयोगमा दरबन्दी अनुरुप कर्मचारीहरु उपलब्ध नगराइएको र उपलब्ध कर्मचारी पनि छिटो छिटो सरुवा भएर अन्यत्र जाने गरेको र यसबाट आयोगको कार्य सम्पादनमा प्रतिकूल प्रभाव पर्न गएको विषयलाई समाधान गर्न गराउन समितिको यो बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन गर्दछ ।’

    समितिले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी घटना भइसकेपछि त्यसको सम्बोधनका लागि उपचारात्मक कार्यमा राष्ट्रिय दलित आयोगले पहल गरे पनि यस्ता घटना हुनै नदिने वातावरण श्रृजना गर्नका लागि आयोगलाई त्यस्ता घटना उत्पन्न हुनै नदिने निरोधात्मक कार्यका लागि आवश्यक पहल गर्न निर्देशन दिएको हो ।

    समितिले सरसर्ति हेर्दा करिब १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गर्ने संवैधानिक आयोगका रुपमा रहेको राष्ट्रिय दलित आयोगको उपलब्धि आशा जगाउने खालको नभएको निष्कर्ष निकाल्दै यस विषयमा आयोगलाई संवेदनशील हुन पनि निर्देशन दिएको छ ।

    साथै आयोगका वार्षिक प्रतिवेदन सरकारलाई नीतिगत सुझाव सिफारिस गर्नु भन्दा अन्य कार्यक्रम तथा सुविधाको उपभोगमा केन्द्रित रहेको भन्ने जनगुनासा आएकाले आयोगले काम गर्नुपर्ने समुदायको अझ थप विश्वास आर्जन गर्न सक्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न पनि आयोगलाई निर्देशन दिएको हो ।

    राज्यबाट प्राप्त गर्ने लाभ र प्रतिनिधित्वको सवालमा पनि दलित समुदायबाट निश्चित र साघुरो दायराबाट हुने गरेको गुनासो बढेको भन्दै न्यायसंगत तरिकाले सम्बोधन हुने गरि कार्यसम्पादन गर्न पनि आयोगले निर्देशन दिएको समितिकी सदस्य विमला नेपालीले नेपाल प्रेसलाई जानकारी दिइन् ।

    उनका अनुसार समितिले आयोगले अहिलेसम्म गरेका नीतिगत सिफारिसको कार्यान्वयनको अवस्था विश्लेषण गर्न सिफारिस नीतिलाई अल्पकालीन एवं दिर्घकालीन रुपमा वर्गीकरण गरी कार्यान्वयनको लागि यथार्थपरक रणनीति तथा कार्यनीति तयार गर्नसमेत आयोगलाई निर्देशन दिएको छ ।

    दलित आयोग स्थापनाको दुई दशक र संवैधानिक मान्यता प्राप्त गरेर सात वर्ष पुरा गर्दा पनि दलित समुदायको बहुआयमिक, बहुपक्षीय वा समग्रतामा उत्थान भएको अनुभव आम रुपमा गर्न सक्ने अवस्था अझै श्रृजना नभएको पनि समितिले निष्कर्ष निकालेको छ ।

    यद्यपि यही कार्यक्षेत्रमा सिमिति भएर आयोगले काम गरेको २१ वर्ष भएको भन्दै समयको साथै अन्य श्रोत साधनको लगानीको प्रतिफल कतिको सन्तोषजनक छ वा सन्तोषजनक परिमाणका लागि सुधार गर्नुपर्ने विषयसहित अध्ययन गर्न र अहिलेसम्मको उपलब्धी मापन गर्न समितिले आयोगलाई नै निर्देशन दिएको समितिले जनाएको छ ।

    समितिको वुधबारको बैठकमा नेपालको संविधानको भाग २७, धारा २५५ मा उल्लिखित राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनका साथै आगामी आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीतिमाथि छलफल भएको थियो । छलफलमा आयोगका अध्यक्ष देवराज विश्वकर्मासँगै आयोगका सदस्य र सचिव सहभागी थिए ।

  • अर्थमन्त्रीलाई क्लीन चिट दिने/नदिनेमा छानबिन समितिभित्र मतभेद, पर्सी प्रतिवेदन सार्वजनिक गरिँदै

    अर्थमन्त्रीलाई क्लीन चिट दिने/नदिनेमा छानबिन समितिभित्र मतभेद, पर्सी प्रतिवेदन सार्वजनिक गरिँदै

    काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिले पर्सी प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । तर, अर्थमन्त्रालयमा भएको भनिएको घुसपैठका सम्वन्धमा समितिका सदस्यहरुबीच मतैक्यता हुन सकेको छैन ।

    विधि विज्ञान प्रयोगशालाले रिकभर गरेर पठाएको सीसीटीभी पनि स्पष्ट नभएपछि समितलाई निस्कर्षमा पुग्न समस्या परेको हो । समितिभित्र प्रतिपक्षी र सत्तारुढ सांसदहरुबीच कित्ताकाट देखिएको छ । सत्तारुढ सांसदहरु तत्कालीन अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कुनै पनि प्रमाण नभेटिएकाले उनलाई क्लीन चिट दिनुपर्ने पक्षमा छन् । एमाले सांसदहरु यसमा सहमत छैनन् ।

    बैठकमा एमाले सांसदहरुले सीसीटीभी फुटेज रिभकर भए पनि यसमा सबै फुटेजहरु समावेश रहेकोमा आशंका व्यक्त गरका छन् । अर्थ मन्त्रालयबाट पठाउँदा नै केही फुटेजहरु हार्ड डिस्कबाट डिलिट भएको हुन सक्ने आशंका उनीहरुले व्यक्त गरेको स्रोतले बतायो । साथै, विवाद आउनासाथ सीसीटीभी फुटेज सार्वजनिक नगरेको अवस्थामा अर्थमन्त्रीलाई क्लीन चिट दिन नसकिने उनीहरुको राय छ ।

    सत्तारुढ दलका सांसदहरु भने सीसीटीभी फुटेजबाट पनि बाहिरी घुसपैठ स्पष्ट नभएको तथा कसैले पनि घटना नस्वीकारेको हुँदा अर्थमन्त्रीलाई निर्दोष ठहर गर्नुपर्ने पक्षमा उभिएका छन् । सत्तापक्ष र प्रतिपक्षी सांसदहरुको मतभेदका कारण प्रतिवेदनका क्रममा निष्कर्ष र सुझाव लेख्दा समस्या आउन सक्ने देखिएको छ ।

    यद्यपि, समितिले सबैको समान धारणा बनाएर प्रतिवेदन लेखिने सदस्य सचिव सुरेन्द्र अर्यालको दाबी छ । सहमतिमा नआएका सांसदहरुसँग पुनः छलफल गरेर भए पनि सहमति जुटाइने उनले बताए ।

    ‘फरक मत भएका विषयहरुलाई साँघुरो बनाएर प्रतिवेदनमा समावेश गर्ने भनेर छलफल भएको छ,’ उनले भने ।

    भोलि समितिका सदस्यहरु साझा धारणा बनाउनका लागि अनौपचारिक बैठक बस्ने भएका छन् ।

  • फरेन्सिक विज्ञलाई समितिको बैठकमा के सोधियो ?

    फरेन्सिक विज्ञलाई समितिको बैठकमा के सोधियो ?

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिहरुलाई बजेटमा करको दर हेरफेर गर्न लगाएकोबारे छानबिन गरिरहेको संसदीय विशेष समितिको बैठकबाट फरेन्सिक विज्ञ निस्किएका छन् ।

    मंगलबार अपरान्ह भएको बैठकमा समितिका सदस्यहरुले विज्ञहरुलाई भिडियो क्वालिटी किन यस्तो ? भनी सोधका थिए ।

    त्यस्तै, विज्ञहरुलाई सांसदहरुले भिडियो कहिलेको हो ? डेट पनि नदेखिने, अनि किन ५१ क्लिप एउटै (मुभी जस्तो सरर देखिने) हुन्न ? भनी प्रश्न सोधेको एक सांसदले नेपाल प्रेसलाई बताएका छन् ।

    विज्ञहरुले भने प्रावधिक विषय, सिस्टम चेक धेरै ठाउँ भएको लगायतका कारण यस्तो भएको जवाफ दिएको ति सांसदले भने ।

  • सूचना नदिने त्रिविका परीक्षा नियन्त्रक जाेशीमाथि कारबाही

    सूचना नदिने त्रिविका परीक्षा नियन्त्रक जाेशीमाथि कारबाही

    काठमाडौं । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका प्रमुखमाथि सूचना नदिएकोमा कारबाही गरेको छ ।

    त्रिविअन्तर्गतकाे पनिका बल्खु कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको आयोगको सूचना आयुक्त कमला ओली थापाले जनाएकी छन् ।

    आयोगले पनिकामा रौतहट मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना उपलब्ध नगराएबापत जोशीलाई कारबही गरिएको जनाएको छ ।

    दासले मागेको सूचना सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (३) भित्र पर्ने विषय नभएको हुँदा सूचना माग गर्दा नै तत्काल उपलब्ध गराउनुपर्ने देखिने ठहर गर्दै सूचना माग्नेले राष्ट्रिय सूचना आयोगसमक्ष पुनरावेदन गर्न आउनुपर्ने अवस्था सिर्जना नहुनुपर्ने जनाएको छ ।

    दासले आयोगमा निवदेन दिएपछि आयोगबाट त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुखका नाममा पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश गरिएको तर पनि सूचना मागकर्तालाई सूचना उपलब्ध नगराइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै पनिका प्रमुखलाई २०७८ फागुन ९ गते लिखित जवाफ पेश गर्न आयोगले आदेश गर्दा पनि कुनै जवाफ नआएको आयोगको भनाइ छ ।

    संविधानको धारा २७ मा ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भन्ने उल्लेख भएको र सोही व्यवस्थाको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको आयोगको विज्ञप्तिमा भनिएको छ ।

    उक्त ऐनको दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुने र उपदफा (२) मा प्रत्येक नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भन्ने उल्लेख छ ।

    आयोगले प्रमुखविरुद्ध नगदसहित अन्य आदेश पनि जारी गरेको छ । आयोगले जोशीलाई नगद भुक्तान गरी काठमाडौं प्रमुख जिल्ला अधिकारीलाई लेखेर पठाउन आदेश दिएको छ ।

    त्यस्तै, सूचना मागकर्तालाई आवश्यक सूचना उपलब्ध गराउन पनि आयोगले भनेको छ । प्रमुख जोशीलाई विभागीय कारबाही गरी त्यसको सूचना आयोगलाई पठाउन पनि आदेश गरेको छ । निर्णय चित्त नबुझेमा ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न आयाेगले जाेशीलाई सुझाएको छ ।

  • नेवानीमा नमूना भ्रष्टाचार- प्रोक्सी एजेन्सीमार्फत विमान चार्टर्ड गर्दा घाटाको सम्झौता

    नेवानीमा नमूना भ्रष्टाचार- प्रोक्सी एजेन्सीमार्फत विमान चार्टर्ड गर्दा घाटाको सम्झौता

    काठमाडौं । पिक सिजनको बेला आफ्नो उडान नभरी प्रतिस्पर्धी कम्पनीको ‘प्रोक्सी एजेन्सी’ लाई नेपाल वायु सेवा निगम (नेवानी) को ट्वीनटर जहाज चार्टर्ड अनुमति दिइदा प्रतिदिन लाखौं रुपैया मिलेमतोमै नोक्सानी पारिएको खुलेको छ ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीले समिट एयरका सन्चालकको प्रोक्सी एजेन्सीसँग पोखरा-जोमसोम-पोखरा र काठमाडौं-लुक्ला-काठमाडौं लगायतका रुटमा चार्टर्ड सम्झौता गर्दा निगमलाई घाटा भएको पाएको हो ।

    निगमका अध्यक्ष युवराज अधिकारीमाथि छानबिन गर्न गठिन समितिले पर्यटकीय गन्तव्यमा पिक सिजनका बेला ‘प्रोक्सी एजेन्सी’ मार्फत चार्टर्ड उडान गर्दा निगमलाई घाटामा पारेर व्यक्तिगत फाइदा लिइएको ठहर गरेको छ । जबकी सिजनका बेला ती गन्तव्यमा निगमले आफ्नै नियमित उडान गर्न सक्छ ।

    नेपाल प्रेसलाई प्राप्त प्रमाण अनुसार यसै वर्षको मार्च महिनादेखि निगम र सुभ टुर्स एण्ड ट्राभल्स प्रालिबीच विभिन्न जिल्लामा चार्टर्ड उडान भर्ने सम्झौता भएको थियो । सम्झौतामा निगमको तर्फबाट वाणिज्य विभागका प्रमुख जनकराज कालाखेती र सुभ ट्राभल्स का तर्फबाट निर्देशक सन्जिमा शर्माको हस्ताक्षर छ ।

    शुभ ट्राभल्स समिट एयरको ‘प्रोक्सी एजेन्सी’ हो भन्ने प्रमाण सन्जिमा अर्याल शर्माको ‘स्टाटस’ले पनि जनाउँछ । उनी समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीको स्वकीय सचिव हुन् । समिट एयरको उनी कर्मचारी रहेको परिचपत्र समेत यहाँ देख्न सकिनेछ ।

    मार्च, अप्रिल, मे महिना महिनाको पिक सिजन हो । पोखरा-जोमसोम-पोखरा उडान नेपाल वायु सेवा निगमले आफैं भर्न पनि सक्छ । तर, प्रोक्सी एजेन्सीमार्फत चार्टर्ड गर्दा काठमाडौंबाट पोखरा पुगेको र पोखराबाट काठमाडौं फर्किएको खर्चसमेत निगमले व्यहोरेको पाइएको छ ।

    त्यस्तै जहाज ‘क्रु’ पोखराको वाटर फ्रन्ट रिसोर्टमा बसेको खर्च तथा इन्जिनियरसहितको सबै खर्च पनि निगमले व्योहेरेको छ । विमान चार्टर्ड गर्ने बेला प्रचलित चार्ज १७३० डलर हुनुपर्नेमा १३१० प्रति ब्लक आवरमा सम्झौता गरेको बताइएको छ ।

    फ्युल चार्जको हिसाबले विमानको चार्टर्डमा मात्र निगमलाई १७ हजार डलरभन्दा बढी घाटा भएको छ । ६७ हजार ३१७ डलर हुनुपर्नेमा सम्झौताबमोजिम एजेन्सीले ५० हजार २१७ डलरमा ३२ घण्टा उडान भरेको पाइएको छ । यसबाहेक उडान कर्मचारीको खर्च र काठमाडौंबाट पोखरा तथा पोखराबाट काठमाडौं दैनिक विमान आवतजावतको खर्च पनि निगमले नै भर्नुपरेको छ ।

    ३ मे २०२२ देखि लागू भएको चार्टर्ड सम्झौता मे महिनासम्म लागू हुने भनिएकोमा चुनावका कारण निगमले केही अगाडि सम्झौता रद्द गरेको थियो । पोखराबाट जोमसोम र जोमसोमबाट पोखरा उडानका फाइदा एजेन्सीले कमायो । तर निगमले भने काठमाडौंबाट रित्तो जहाज पोखरा पुर्‍याइदियो र पोखराबाट रित्तो जहाज काठमाडौं ल्याउँदाको खर्च पनि व्यहोर्नुपर्‍यो ।

    नाफा कमाउनका गरिनुपर्ने जहाज चार्टर्डमा निगमले जानाजान घाटा व्यहोरेर किन गर्नुपर्‍यो ? छानबिन समिति स्रोतले यसलाई नमूना भ्रष्टाचार भनेको छ । सिजनमा आफैंले उडान नभरी चार्टर्ड गर्न दिने र चार्टर्ड्डमा जानाजान निगमलाई घाटा हुनेगरी किन सम्झौता गरियो ? यसबारेमा प्रतिक्रिया लिन खोज्दा कार्यकारी अध्यक्ष अधिकारी र कमर्सियल डाइरेक्टर कालाखेती दुवैजना सम्पर्कमा आउन चाहेनन् ।

    निगमले सम्झौता रद्द गर्नभन्दा अघि अर्थात चैत मसान्तसम्म सुभ ट्राभल्सले पोखरा-जोमसोम-पोखरा करिब ३३ घण्टा चार्टर्ड्ड उडान गरेको थियो । त्यस्तै काठमाडौं-लुक्ला-काठमाडौं ४ घण्टा र पोखरा-भैरहवा-पोखरासमेत गरी जम्मा ३८ घण्टा चार्टर्ड्ड उडान गरेबापत निगमलाई ५० हजार २१७ डलर तिरेको थियो ।

    जबकी तत्कालीन फ्युल चार्जअनुसार उक्त रकम १७ हजार डलरभन्दा कम रहेको निगमका उच्च अधिकारीहरू बताउँछन् । जानाजान घाटाको व्यापार गरेर प्रोक्सी एजेन्सी धनी बनाइएको हो वा निगमका सम्बद्ध अधिकारीहरुले आफ्नो गोजीमा केही लाख रकम पार्न यस्तो नमूना भ्रष्टाचार गरेका हुन् ? छानबिन समितिको रिपोर्टले नै बताउला ।

  • वन कर्मचारीकै अगुवाईमा ओली सरकारले खारेज गरेको वैज्ञानिक वन व्यवस्थापन ब्युँताउँदै

    वन कर्मचारीकै अगुवाईमा ओली सरकारले खारेज गरेको वैज्ञानिक वन व्यवस्थापन ब्युँताउँदै

    रुपन्देही ।केपी ओली नेतृत्वको सरकारले खारेज गरेको वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ ब्युँताउन रुपन्देहीमा गोप्य रुपमा भेला आयोजना गर्न लागिएको छ ।

    कपिलवस्तुको डिएफओ विजयराज सुवेदीको अगुवाईमा बन्न लागेको यो महासंघ सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको काउन्टरमा बनाउन लागिएको हो । साउन ७ गते दिउँसो रुपन्देहीको देवदहमा आयोजना गर्न यसको राष्ट्रिय भेला भनिएपनि गुपचुपमा गर्न लागिएको छ ।

    यस क्षेत्रका सरोकारहरुले नेपालमा सामुदायिक वन क्षेत्रलाई कमजोर बनाउनेगरी यसलाई सक्रिय बनाउन थालिएको आरोप लगाएका छन् । तर वैज्ञानिक वनका क्षेत्रमा वकालत गर्नेहरुले भने वनकै संरक्षण गर्नका लागि यो संस्था बनाउन लागेको दावी गरेका छन् ।

    कपिलवस्तुमा दर्ता भएको यो संस्थाको तदर्थ समितिले संघीय वन मन्त्रीलाई नै कार्यक्रममा आमन्त्रण गरेपनि पछि विवादित भइने डरले उनी आउन नचाहेको स्रोतले बताएको छ । संघीय मन्त्री नआउने भएपछि शुक्रबार अबेर लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाललाई यसको प्रमुख अतिथि निम्त्याइएको छ ।

    सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले समुदायको अधिकार खोसेर वनका कर्मचारी मोटाउनेगरी अघिल्लो सरकारले खारेज गरेको कामलाई अगाडि सारिएको आरोप लगाएका छन् ।

    ‘यसमा वनका कर्मचारीले नै अगुवाई गरेका छन्, अघिल्लो सरकारले यसलाई सबै अध्ययन गरेर नै खारेज गरेको हो, यसको विधि नै गलत छ, यसबाट बनका कर्मचारी नै मोटाउने हुन् र केही यसका अगुवालाई फाइदा पुग्ने हो, उपभोक्तालाई हामीले सचेत बनाएकै छौं’ उनले भने ।

    वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघको तदर्थ समितिका संयोजक रेनु सेनले भने यो वन संरक्षणकै लागि बनाउन थालेको दावी गरिन् । ‘हामीले ७५ जिल्लामा समिति बनाएका छौं, सबै जिल्लाबाट प्रतिनिधि आउँदै हुनुहुन्छ, गोप्य होइन, सबैलाई समयमा सूचना दिन नसकिएको हो,सुरुमा छौं सबै कुरा सिक्दै छौं’ उनले भनिन् ।

    तर उनकै तदर्थ समितिमा रहेका व्यक्तिहरुले सेनले आफूसँग नजिक रहेकाहरुलाई मात्र प्रतिनिधि बनाएको ६० जिल्लाका सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन गरेपनि ३० जिल्लाका सीमित प्रतिनिधि बोलाएको र गुपचुपमा राष्ट्रिय महाधिवेशन गर्न लागेको आरोप लगाएका छन् ।

    नयाँ नेतृत्वका लागि हाल तदर्थ समिति अध्यक्ष रहेकी सेन नै नेतृत्वका लागि इच्छुक रहेकी छन् । तर उनलाई नेतृत्वमा आउन नदिन उनी यसअघि मुद्दामा मुछिएर अख्तियारमा पुगेको विषयलाई उठाउने भएका छन् ।

    कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रृंङगीघाट सामुदायिक वनको अध्यक्ष रहेको बेला सेनले २०७७ भदौमा ९ सय ४० क्यूफिट काठ चोरेको आरोप छ । ‘यो मुद्दा अझै सल्टिएको छैन, उहाँलाई नेतृत्व दिँदा यो संस्था नै विवादित बन्नजान्छ’ तदर्थ समितिका एक सदस्यले भने ।

  • करारका कर्मचारीको म्याद थप गर्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

    करारका कर्मचारीको म्याद थप गर्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

    काठमाडौं ।  गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारमा नियुक्ति पाएका अनुभवी कर्मचारीहरुलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ ।

    महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले एक विज्ञप्ति जारी गर्दै करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

    महासंघले स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर नआएसम्मका लागि नियमानुसार स्वीकृत दरवन्दीमा करारमा नियुक्ति पाएका अनुभवी जनशक्तिहरुलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्रित हुन सबै गाउँपालिकाहररुलाई अनुरोध गरेको छ ।

    स्वीकृत दरबन्दी भित्र विद्यमान कानुनबमोजिम प्रकृयासम्मत नियुक्ती भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारको लागिसमेत अवसर रहेको महासंघको ठहर छ ।

    कर्मचारीको अनुभव र क्षमता अभिवृद्धिका लागि राज्यको लगानी परिसकेकाले गाउँसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापनसर्वेक्षणबमोजिम दरवन्दीमा रहेका करारका कर्मचारीको हकमा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भै आएपश्चात स्वतः करार अवधि समाप्त हुने महासंघको भनाइ छ ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘ हाल कार्यरत अनुभवी जनशक्तिलाई उनिहरुको कार्यक्षमताको कुनै मूल्याइकन नगरी एकमुस्टरुपमा हटाउने र पुनः सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त हुँदैन । यो अभ्यासले स्वयम् गाउँपालिकाको कार्यसम्पादनमासमेत प्रभावकारीता आउदैन ।’

  • रुपन्देहीका नगरपालिकामा मेयर-उपमेयरबीच टकराव सुरु

    रुपन्देहीका नगरपालिकामा मेयर-उपमेयरबीच टकराव सुरु

    रुपन्देही । स्थानीय तह निर्वाचनको अन्तिम परिणामपछि जिम्मेवारी सम्हालेको दुई महिना पूरा नहुँदै रुपन्देहीका नगरपालिकामा मेयरले गरेका निर्णयमा उपमेयरले सार्वजनिक रुपमै असहमति जनाउन थालेका छन् ।

    ६ नगरपालिका रहेको रुपन्देहीमा ३ वटा नगरपालिकाका उपमेयरले आफ्नो सहमतिविना मेयरले निर्णय गरेर जबरजस्ती लाद्न खोजेको भन्दै सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् ।

    रुपन्देहीका ६ वटै नगरमा नेकपा एमालेबाट जितेका उपमेयरले मेयरका एकलौटी निर्णयमा असहमति बाहिर ल्याएका छन् । असहमति बाहिर ल्याएकी तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले नगरसभा नै रोकेर आफूले अगाडि सारेका एजेण्डा पास गराएकी छन् ।

    यहाँ मेयर रहेका कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उपमेयरसँग सल्लाह नगरी नगरसभा अगाडि बढाउन खोजेका थिए । यसविरुद्ध यसअघि पनि उपमेयर भएकी चौधरीले बलियोसँग आफ्नो असहमति राखिन् र आफ्ना एजेण्डा सार्वजनिक गरिन् ।

    एक्लै हिंड्न खोजेका मेयर खाणलाई उपमेयर चौधरीले सहमतिमा आउन बाध्य बनाएकी छन् । मेयर र उपमेयरको विवादले यहाँको बजेटसमेत पूर्वनिर्धारित समयमा आउन सकेन । साउन ३ गते बल्ल पास भएको छ बजेट । मेयर खाणले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई कमजोर बनाउन प्रशासनको समेत प्रयोग गरेको भन्दै बलियो प्रतिवादमा चौधरी उत्रिएकी थिइन् ।

    त्यस्तै रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा करारका कर्मचारीलाई हटाउने तथा नयाँ भर्नाको विषयमा विवाद सिर्जना भएको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नियमविपरीत कर्मचारीलाई हटाउने र नयाँ भर्ना गरिएपछि विवाद उत्पन्न भएको विषय उपमेयरले बाहिर ल्याएकी छन् ।

    नगर कार्यपालिका बैठकबाट कुनै पनि निर्णय नगराई कीर्ते गरी गोप्य रुपमा आफ्ना व्यक्तिहरुलाई भर्ना गर्न मेयर सजरुद्दिन मुसलमानले फर्जी निर्णय तयार पारेको भेटिएको छ । कार्यालयमा कार्यरत ९ जना करारका कर्मचारीलाई विनाकारण हटाएर ११ जना नयाँ कर्मचारी भर्ना गर्न लागेपछि उपप्रमुख कल्पना हरिजनले विरोध जनाइन् ।

    गत असार ३० गतेको नगरसभामा यसबारे कुनै प्रस्ताव नलगेका मेयर मुसलमानले बैठकको निर्णय पुस्तिका आफैंले लुकाएर फर्जी निर्णयको प्रतिलिपि थमाउँदै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय कार्यान्वयन गर्न लगाएपछि घटना बाहिर आएको हो । हाल निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेकी रचना गौतमलाई निर्णय कार्यान्वयन गराउन आदेश दिँदै मेयर मुसलमान तथा बिदामा रहेका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले ९ जना कर्मचारीलाई हटाएर नयाँ ११ जनालाई यही साउन १ गतेदेखि हाजिर गराउन भनेका थिए ।

    उक्त निर्णय वैधानिक नदेखिएपछि कार्यान्वयनको विषयमा आफूकहाँ जिज्ञासा आउँदा बल्ल रहस्य थाहा पाएको उपप्रमुख हरिजनले बताइन् ।

    प्रमुख प्रशासकीय अधिकृत पाण्डेयलाई बैठकको निर्णय पुस्तिका माग्दा नगर प्रमुखको अनुमतिविना हेर्न नमिल्ने जवाफ पाएको उनले बताइन् । साउन २ गते नगर प्रमुखसँग बैठक पुस्तिका माग्दा सँगै बसेर हेर्ने जवाफ दिएका उनले ३ गतेमात्रै कार्यालयमा उपस्थित भएर आफ्नै झोलाबाट निर्णय पुस्तिका निकालेको हरिजनले बताइन् ।

    निर्णय पुस्तिका हेर्दा कुनै निर्णय नभएको तर, फर्जी निर्णयको प्रतिलिपि तयार पारेको भेटिएपछि सार्वजनिक रुपमै असन्तोष व्यक्त गरेको हरिजनले बताइन् । उनले उक्त निर्णय गलत भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी थिइन् ।

    तर, नगर प्रमुख मुसलमानले उक्त विषय उपप्रमुखसँग सम्बन्धित नरहेको र आफू एक्लैले निर्णय गर्नसक्ने बताए । कर्मचारी हेरफेरको विषयमा आफूहरुले टिप्पणी उठाएको बताउँदै उनले त्यसका लागि नगरसभामा समेत प्रस्ताव लगेको दाबी गरे ।

    त्यसैगरी सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले गरेका निर्णयप्रति उपमेयर वीना रानाले सामाजिक सञ्जालमै आपत्ति जनाएकी छन् । ‘नगरपालिकाका निर्णय सहमतिविना आफूखुशी भएका छन्, यी मान्य हुने विषय होइन, कार्यपालिकामा नलगेका निर्णय मान्य हुनेछैनन्, एकलौटी गर्ने अधिकार कसैलाई छैन’, उपमेयर रानाले भनेकी छन् ।

    सहमतिमा बजेट पास भए पनि नगरपालिकाका अन्य निर्णयमा मेयरले एकलौटी गर्न थालेको रानाको गुनासो छ । सैनामैनामा राना दोहोरिएर निर्वाचित भएका हुन् भने शर्मा नयाँ हुन् ।

  • संसदीय समितिमा बयान दिन पत्रकारहरू सिंहदरबारमा, जनार्दन र रघुनाथसँग भोलि

    संसदीय समितिमा बयान दिन पत्रकारहरू सिंहदरबारमा, जनार्दन र रघुनाथसँग भोलि

    काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितले आज पनि बयान नसक्ने भएको छ । आज बोलाइएका पूर्वअर्थमन्त्री शर्मा नआएपछि भोलि उनको बयान हुने भएको हो ।

    संसदीय समितिले शर्मालाई आज बयानका लागि बोलाएको थियो । तर, ४ बज्दासम्म उनी उपस्थित भएका छैनन् । उनको बयान अब भोलि मात्र हुने समितिका एक सदस्यले बताए ।

    आज अर्थमन्त्रीबारे समाचार लेख्ने पत्रकारहरूलाई सोधपुछका लागि बोलाइएको छ । अन्नपूर्ण पोष्टका दुई रिपोर्टर ३ बजे नै बयानका लागि सिंहदरबार आइपुगेका थिए । समितिका सदस्यहरू करिब सढे ३ बजेबाट मात्रै आउन थाले । ४ बज्दासम्म बैठक सुरू भएको छैन । केही सदस्यहरू आउनै बाँकी छ ।

    बैठकमा ढिलाइ भएको र सांसद बैठक चलिरहेकाले पूर्वअर्थमन्त्री शर्मा आज नआउने भएका हुन् । यसैगरी यस प्रकरणका एक प्रमुख पात्र अर्थ मन्त्रालयका पूर्व नायब सुब्बा रघुनाथ घिमिरेको पनि समितिले बयान लिन बाँकी छ । आज अर्थमन्त्रीपछि उनको बयान लिने तयारी गरिएको थियो । अर्थमन्त्री भोलि मात्रै आउने भएपछि रघुनाथलाई पनि भोलि नै डाकिने भएको छ ।

    अन्नपूर्ण पोष्टको समाचार अनुसार पूर्वनासु रघुनाथलाई विज्ञ भन्दै अर्थमन्त्रालयमा घुसपैठ गराएर तत्कालीन अर्थमन्त्री शर्माले बजेटमा करका दर हेरफेर गराएका थिए ।

  • दुई सचिवको गुपचुपमै सरुवा, रामकृष्ण सुवेदी शिक्षा मन्त्रालय तानिए, यादव कोइराला अतिरिक्तमा

    दुई सचिवको गुपचुपमै सरुवा, रामकृष्ण सुवेदी शिक्षा मन्त्रालय तानिए, यादव कोइराला अतिरिक्तमा

    काठमाडौं । सरकारले नेपाल सरकारका दुइ सचिवको गुपचुपमा नै सरुवा गरेको छ । असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव रामकृष्ण सुवेदीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा सचिवमा सरुवा गरेको हो भने मन्त्रालयमा शिक्षा सचिवको जिम्मेवारीमा रहेका यादवप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा थन्क्याएको हो ।

    उक्त निर्णय असार ३१ गते नै भएको भए पनि यस निर्णयबारे मन्त्री नै बेखवर भेटिए । एक मन्त्रीले नेपाल प्रेससँग भने, ‘खै मैले पनि त्यस्तै सुने त्यो दिनको बैठकमा त्यस्तो प्रस्ताव आएको र निर्णय भएको त मलाई जानकारी भएन । तर यादवप्रसाद कोइरालालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको भन्ने गाइगुई सुने ।’ सरकारले सचिवको निर्णय लुकाउने गरेको छ । यद्यपी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा भने सरुवा भएको देखिएको छ ।

  • संसदीय समितिको बैठकमा महिला आयोगका अध्यक्ष र सदस्यबीच चर्काचर्की

    संसदीय समितिको बैठकमा महिला आयोगका अध्यक्ष र सदस्यबीच चर्काचर्की

    काठमाडौं । संघीय संसद अन्तरगत महिला तथा सामाजिक समितिको सोमबारको बैठकको कार्यसूची थियो, राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०७८-०७९ को कार्यप्रगति र आगामी आवको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल गर्ने । कार्यसूची अनुसार समितिका सभापति निरुदेवी पालले सवा ११ बजे बैठक सुरु गर्दै राष्ट्रिय महिला आयोगका सचिवलाई आयोगका गतिविधिबारे व्रिफिङ गर्न अनुरोध गरिन् ।

    आयोगका सचिव कविराज पौडेलले फेहरिस्त सुनाए । लगत्तै सभापति पालले आयोगका पदाधिकारीलाई पालैपालो बोल्न मौका दिइन् । आयोगकी सदस्य कृष्णाकुमारी पौडेल, विद्याकुमारी सिन्हा, सावित्राकुमारी शर्माले आफ्ना कुरा राखे । पौडेलले आफु आयोगको बरिष्ठ सदस्य भएको भन्दै आफ्ना कुरा राखिन् ।

    आयोगका सदस्यले बोलिसकेपछि पालले आयोगकी अध्यक्ष कमला पराजुलीलाई बोल्न समय दिइन् । अध्यक्ष पराजुलीले सुरुमै समितिलाई प्रश्न गर्दै भनिन्, ‘माननीय सभापति र सदस्य ज्यू, राष्ट्रिय महिला आयोगमा वरिष्ठ सदस्य भन्ने पद कहाँ छ ? हाम्रो एक जना सदस्य कसरी वरिष्ठ हुनुभयाे ?’

    पराजुलीले आफुले आयोगमा काम गर्न वातावरण नभएको गुनासो गर्दै भनिन्, ‘मेरो नियतमा कुनै पनि खोट छैन । म जुनसुकै कठघरामा पनि उभिन तयार छु । मैले धेरै पिडा सहेकी छु । मेरो बोल्ने मुख भएर पनि टेप लागेको छ । लेख्ने हात भएर पनि हात बाँधिएको छ । म न्याय दिने संवैधानिक आयोगमा भए पनि ममाथि नै अन्याय भइरहेको छ ।’

    समितिकी सभापति निरुदेवी पालले पराजुलीप्रति सहानुभूति व्यक्त गर्दै भनिन्, ‘काम गर्दा सानातिना समस्या आउँछन् । एकआपसमा मिलेर हल गर्नुपर्छ । पदाधिकारीविचमा विवाद भएको जस्तो बैठकमा देखियो । यो विषयमा आयोगका पदाधिकारीलाई मात्र छुट्टै राखेर बैठक गरौला ।’

    सभापति पालले आयोगका पदाधिकारी धेरै भ्रमणमा गएको गुनासो गरिन् । ‘हाम्रो समिति त ४ वर्षको अवधिमा एकपटक मात्र भ्रमणमा गएको छ । भ्रमणमा गएर मात्र पिडितलाई न्याय मिल्ने होइन । यहीँ बसेर पनि समन्वयकारी भूमिका निर्वाह गरेर न्याय दिन सकिन्छ ।’

    यति भन्दै समितिकी सभापतिले समितिका सदस्यलाई बोल्ने मौका दिइन् । सुरुमा बोलिन समिति सदस्य अमृता थापाले । उनले आयोगका पदाधिकारीविचको विवादबारे प्रश्न गर्दै आयोगले पीडितलाई न्याय दिनुभन्दा पनि पिडकलाई उन्मुक्ती दिने काम गरिरहेको आरोप लगाइन् ।

    उनले उदाहरण सुनाउँदै भनिन्, ‘सिन्धुलीका रमिला पुलामी र उनको श्रीमानविचको विवादमा आयोगले न्याय दिनुको साटो आयोगकै पदाधिकारीले ५० लाख रुपैयाँ क्षतीपूर्ति उपलब्ध गराउनेगरी सम्झौता गर्न लगाएर उक्त सम्झौता कार्यान्वयन नहुँदै श्रीमानलाई अमेरिका भगाइदिएको भनेर समितिमा नै उजुरी परेको छ । यस्तो किन हुन्छ ? आयोगले न्याय दिने हो कि उन्मुक्ती दिने हो ?

    त्यसपछि बाल्ने पालो आयो, समिति सदस्य नारायण खतिवडाको । उनी कडा रुपमा प्रस्तुत भए ।

    खतिवडाले भने, ‘गाउँको कोदो रोप्न गएका मान्छेका विचमा पनि यो तहको झगडा हुँदैन । तपाईंहरुबीचमा किन यस्तो झगडा ? तपार्इंंहरुले महिला आयोगको औचित्य पुष्टि गर्ने कुनै ४ वटा उपलब्धी सुनाउन सक्नुहुन्छ ? एउटा एनजीओले दिने न्याय पनि तपाइहरुले दिन सक्नुभको छैन भने किन चित्त दुखाउनुहुन्छ ?’

    लगत्तै बोलिन्, समितिकी सदस्य गंगा चौधरी। उनले पनि आयोगका पदाधिकारीलाई नै प्रश्न गर्दै भनिन्, ‘आयोगले ७ वटै प्रदेशमा कार्यालय खोल्न पाउने आयोगको नियमावलीमा छ । तर प्रदेश नम्बर २ की निहारिका राजपुतले न्याय माग्नका लागि काठमाडौं नै किन आउनुपर्यो ?’

    चौधरीले महिला आयोगका सदस्य पौडेल अमेरिका जान नपाएको काण्ड पनि कोट्याइन् ।

    ‘केही समयअघि मिडियामा महिला आयोगकी सदस्य कृष्णाकुमारी पौडेलको नेतृत्वमा एउटा टोली चिचिला गाउँपालिकाको खर्चमा अमेरिका जाँदैछ भन्ने समाचार भाइरल भयो । महिला आयोगकी सदस्यलाई यत्रो पैसा खर्च गरेर किन एउटा गाउँपालिकाले पठाउन लागेको रहेछ ?’

    समिति सदस्य चौधरीले यस्तो प्रश्न गर्दा आयोगकी सदस्य कृष्णाकुमारी पौडेलको अनुहार रातोपिरो भएका थियो ।

    त्यसपछि समितिका सदस्य विमला नेपालीले पनि आयोगका पदाधिकारीविचको विवादबारे नै प्रश्न राख्दै भनिन्, ‘महिला आयोगका पदाधिकारीको कुरा सुन्दा तपाईंहरु कोभन्दा को ठुलो भन्ने विवादमा नै अल्झिरहेको देखियो । तपाईंहरु एक आपसमा नै रुमल्लिरहनुभयो भने ५१ प्रतिशत महिलालाई न्याय कसले दिने ?’

    समितिमा बोल्ने अधिकांश सदस्यले आयोगकी अध्यक्ष र सदस्य कृष्णाकुमारी पौडेललाई नै इंगित गरेर प्रश्न गरेका हुनाले समितिकी सभापति पालले सुरुमा सदस्य पौडेललाई नै बोल्ने मौका दिइन् । पौडेलले आफुमाथि प्रश्न गर्ने समितिकी सदस्य गंगा चौधरीलाई जवाफ नै दिन नै जरुरी नरहेको बताइन् ।

    उनले भनिन्, ‘मैले जवाफ नै दिन जरुरी नरहेको प्रश्न गरेर चौधरी जानुभयो । म लगायत केही साथीहरु अमेरिका भ्रमणमा जाने कुरालाई अनावश्यक मिडियाबाजी र राजनीतिकरण गरेपछि क्याविनेटमा नजाँदै रोकियो । मेरा त छोराछोरीसहित परिवारका ५÷६ जना सदस्य अमेरिकामा नै रहेकाले म त्यहाँ जान किन मरिहत्ते गर्थे ?’

    त्यसपछि अर्की समिति सदस्य अमृता थापाले उठाएको प्रश्नको जवाफ दिँदै भनिन्, ‘एक जना महिलाले आयोगमा उजुरी गरेपछि उनलाई न्याय दिलाउनका लागि आयोगले ५० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको थियो । त्यो पिडक भनिएको सिन्धुलीको केटा सहमति कार्यान्वयन नहुँदै अमेरिका भाग्यो । त्यसपछि ती पीडित केटीले मिडियाबाजी गरिन् । अहिले उनीहरुको सहमति अनुसार २५ लाख रकम पीडितले पाइसकेकी छन् र २५ लाख पछि पाउने गरी समाधान गरिएको छ ।’

    त्यसपछि समितिकी सभापति पालले महिला आयोगकी अध्यक्ष पराजुलीलाई बोल्ने मौका दिइन् । उनले बोल्न सुरु गर्दै भनिन्, ‘माननीय सदस्यज्यू यहाँहरुको कुरा र आयोगकै सदस्य कृष्णाकुमारी पौडेलको प्रस्तुतीले मेरो मर्ममा प्रहार भएको छ । हो, तपाईंहरुले भनेजस्तै गरी मैले गर्नुपर्ने नीतिगत काम गर्न सकेकी छैन । पशुपतिमा गएर सोह्रश्राद्धमा पिण्ड बगाउनुपर्नेजस्ता धेरै काम गरेकी छु । आवश्यकता परेमा म जुनसुकै कठघरामा उभिएर भए पनि जवाफ दिन तयार छु । आयोगको अध्यक्षदेखि सदस्य हुनका लागि विशेषज्ञता अनिवार्य हुनुपर्यो । जो पायो त्यही व्यक्ति आयोगको पदाधिकारीमा नियुक्त हुँदा मैले जस्तो समस्या व्यहोर्नु पर्छ ।’

    अध्यक्ष पराजुलीले आयोगका पदाधिकारी सबै एउटै समुदायबाट भएको भन्ने प्रश्नको पनि जवाफ दिइन् ।

    उनले भनिन्, ‘हो म पनि समावेशीताको पक्षमा बोल्ने र उभिने व्यक्ति हो । हामी आयोगमा अध्यक्षदेखि सदस्यसम्म गरेर ५ जना बाहुनी छौं । एक जना मधेशीबाट सिफारिस भए पनि उहाँ पनि मधेशको बाहुनी नै हो । यो आयोगमा हामी चाहेर आएको होइन । संवैधानिक परिष्दको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुभयो त हाम्रो के दोष ? कि त अब सर्वोच्च अदालतले रिट पनि परेको हुनाले हटाए मात्र । हामी नियुक्त भएको दोस्रो दिनमा नै सर्वोच्चमा मुद्धा परेको हो । कहिलेसम्म काम गर्ने के काम गर्ने हाम्रो कार्यकाल नै अनिश्चित छ । तर पनि हामीले ५ वर्षे रणनीतिक कार्ययोजना बनाएका छौ । के गर्नु म एक्लैले चाहेर मात्र ?’

    अध्यक्ष पराजुलीले एक वर्ष अघि आयोगका पदाधिकारीविचमा आयोगको नियमावली पारित गर्दा योग्यताको विषय हटाउनुपर्ने भन्दै एक महिनासम्म कृष्णाकुमारी पौडेलसँग लड्नुपरेको अनुभव पनि सुनाईन । उनले आयोगमा आउने पदाधिकारीको पनि योग्यता तोक्नुपर्नेमा समितिले प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

    ‘संवैधानिक आयोगमा सिफारिस हुने पदाधिकारी हुनका लागि पनि आवश्यक योग्यता र मापदण्ड तोकिनुपर्यो । यहाँ कस्ता मान्छे जान पाउने कस्ता मान्छे जान नपाउने भन्ने निर्धारण हुनुपर्यो । योग्य मान्छे आयोगका पदाधिकारी नभएका कारण मैले काम गर्नु भन्दा पनि उनीहरुसँग डिफेन्स गरेर नै डेढ वर्ष बित्यो । अझै कति बिताउनुपर्ने हो थाहा छैन ।’

    पराजुलीले आयोगकी सदस्य पौडेलले भ्रमण आदेश आफैले पारित गरेकोतर्फ इंगित गर्दै भनिन्, ‘महिला आयोगका सदस्यले आफ्नो भ्रमण आदेश पनि आफैले पारित गर्न पाउने व्यवस्था गर्नुपर्यो ।’

    उनले थपिन् ‘यदि मैले कुनै गल्ति नै गरेको छु भने जस्तोसुकै कठघरामा पनि जान तयार छु । आयोगमा बसेर मेरो खोइरो खन्ने माननीय सदस्य कृष्णाकुमारी पौडेल र मेरो विरुद्धमा तथ्यहीन र गलत समाचार सम्प्रेष्ण गर्ने पत्रकारलाई मलाई गलत देखाउन र दोषी प्रमाणित गर्न चुनौती दिन चाहन्छु । माननीय कृष्णाकुमारी पौडेल र कतिपय मिडियाले मेरो मानहानी गरेका छ्न् । चरित्रहत्या गरेका छन् । तर पनि यस्ता चुनौतीका विचमा पनि म नडग्मगाई काम गरिरहेकी छु ।’

    एक सदस्य जया घिमिरे बैठकमा सहभागि भएकी थिइनन् । अर्की दुई सदस्य विद्याकुमारी सिन्हा र सावीत्राकुमारी शर्माले  अध्यक्ष परजुलीको पक्षमा सहमति जनाइदैँ आफ्ना भनाई राखिन् ।

    त्यस्तो अवस्था सिर्जना हुदाँ पनि सबै अधिकारकर्मी, पत्रकारको साथ र समर्थनले आफु पुर्ण रुपमा इमान्दार भएर काम हौसलाका साथ काम गरिरहेको उनको भनाई थियो ।

    उनले भनिन्, ‘ममाथि धेरै ठुलो अन्याय भएको छ । अदालतमा मुद्धा छ । तर आयोगकी सदस्य कृष्णाकुमारी पौडेलले नै मेरा विरुद्ध प्रश्न उठाइरहनुभएको छ । उहाँले मेराविरुद्ध समाचार लेख्न लगाएर सारा दुनियालाई पठाउने, फरवार्ड गर्ने गरेको मसँग थुप्रै प्रमाण छन् ।’ अ

    अन्तिममा पनि पराजुलीले आफुमाथि घोर अन्याय भएको भन्दै त्यसको समितिले छानविन गर्नुपर्नेमा जोड दिइन् ।

    समितिकी सभापतिले बैठकलाई सहजीकरण तथा टुंग्याउदै खोज्दै गर्दा आयोगकी सदस्य पौडेलले बोल्न खोजिरहेकी थिइन् । तर, सभापतिले रोकिन् । फेरी आयोगकी अध्यक्ष पराजुलीले पनि बोल्न खोजिन् । सभापतिले उनलाई पनि रोकिन् । त्यसपछि समिति सभापति निरुदेवी पाल आफैं बोल्न थालिन् ।

    उनले बैठक समापन गर्दै भनिन्, , ‘तपाईंहरुलाई सेवा–सुविधा र गाडी के एक–आपसमा झगडा गर्नका लागि दिएको हो ? आयोगमा आएर काम गर्नुको साटो विवाद गरेर ५१ प्रतिशत महिलाको मानहानी गर्नुभएको छ ।’

    यति भन्दै समितिकी सभापति पालले आयोगलाई समितिले दिएका दुईवटा निर्देशन सुनाउँदै बैठकको समापन गरिन् ।

    समितिको निष्कर्ष

    समितिको बैठकले राष्ट्रिय महिला आयोगले महिलाको हक अधिकारको प्रवद्र्धन, सुरक्षा एवं पिडितलाई सहयोग तथा संरक्षण गर्नु भन्दा अन्तर्किया, गोष्ठी, क्षमता अभिवृद्धि, सचेतना, दिवस मनाउनमा नै धेरै खर्च गरेको निष्कर्ष निकालेको छ । महिला आयोग आफैभित्र पनि समन्वय र सहकार्य गर्न नसकेको कारण प्रभावकारी कार्यसम्पादन हुन नसकेको समितिको ठहर छ ।

    महिला हक–हित प्रवद्र्धन गर्न प्रयत्न गरिरहेका विभिन्न निकायसँग सम्पर्क, समन्वय गरी एकीकृत पहलसमेत गर्न नसकेको भन्दै समितिले समग्र महिलाको हित प्रवद्र्धन गर्ने उद्देश्यमा केन्द्रित भई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएको छ । सम्पर्कमा आएका पिडित महिलालेसमेत राष्ट्रिय महिला आयोगबाट आवश्यक न्यूनतम सहयोगसमेत प्राप्त गर्न नसकेको भन्ने गुनासो बारम्बार आउनु दुःखद भएको समितिले ठहर गरेको छ ।

  • एक महिनादेखि प्रशासकीय अधिकृत बेपत्ता, नगरपालिकाले बन्द गर्‍यो सेवा

    एक महिनादेखि प्रशासकीय अधिकृत बेपत्ता, नगरपालिकाले बन्द गर्‍यो सेवा

    बारा । बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरका अति आवश्यकीय सेवा समेत आजबाट बन्द भएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक वर्ष २०७९/८० को नगरसभा समेत भएको छैन ।

    यस्तै, करारमा नयाँ कर्मचारी पदपूर्ति तथा करार नविकरण समेत नहुँदा पचरौता नगरपालिकाको सेवा अवरुद्ध भएको हो ।

    नगरपालिकामा करारका ९८ जना कर्मचारी छन् तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरूको करार नविकरण हुन नसकेको नगर प्रमुख जलन्धर सिंह जैसवारले जारी गरेको सूचनामा उल्लेख छ ।

    अधिकृत यादव विना जानकारी सम्पर्कविहिन भएपछि स्वास्थ्यका कर्मचारीहरूको करार सेवा १ साउनदेखि थप गर्नुपर्नेमा सो समेत हुन सकेको छैन ।

    नगरपालिकाअन्तर्गतका नगर अस्पताल, नगरले सञ्चालन गरेको बर्थिङ सेन्टर र ल्याबको सम्पूर्ण सेवा बन्द भएको नगर प्रमुख जैसवालले बताए ।

    ‘प्रमुख प्रशासकीय अधिकृत यादवको गैरजिम्मेवारीपूर्ण व्यवहारले नगरपालिकाको काम रोकिएको छ । गत ७ असारबाट सम्पर्किविहीन अधिकृत हालसम्ममा सम्पर्कमा आएका छैनन्,’ नगर प्रमुख जैसवालले भने ।

    नगरभित्रका अस्पतालमा २३ जना कर्मचारी छन् तिमध्ये २२ जना करारका छन् ।

    यस्तो छ सूचनाः

  • बिन्ध्याबासिनी म्युजिकका सञ्चालकलाई गैरकानूनी थुनामा राख्ने न्यायाधीश निलम्बित

    बिन्ध्याबासिनी म्युजिकका सञ्चालकलाई गैरकानूनी थुनामा राख्ने न्यायाधीश निलम्बित

    काठमाडौं । प्रतिलिपि अधिकारसम्बन्धी बौद्धिक लडाइँमा आरोपितलाई पटक-पटक म्याद थप्दै बिन्ध्यबासिनी म्युजिक प्रालिका सञ्चालकलाई दुःख दिने नियतले न्याय सम्पादनमा आचारसंहिताविपरीत काम गरेका जिल्ला न्यायाधीश अनिलकुमार शर्मा निलम्बनमा परेका छन् । न्याय परिषद्को सिफारिसमा उनलाई गलत आचरणमा कारबाही गरिएको हो ।

    गायक प्रमोद खरेलको सेटिङमा उनले बिन्ध्यबासिनी सञ्चालक सुवास रेग्मीलाई गैरकानूनी थुनामा पठाएको आरोप छ । करारले श्रृजना गरेको दायित्व सरकारवादी फौजदारी हुँदैन । व्यक्तिवादी मुद्दालाई सरकारवादी बनाउने नियतले दर्ता भएका मुद्दालाई न्यायालयले न्यायिकरूपमा निरुपण गर्नुपर्नेमा प्रमोद खरेलको पक्षमा आदेश दिएका न्यायधीश शर्माले प्रारम्भिक सुनुवाइपछि पनि मुद्दा हेर्दाहेर्दैमा राखेका थिए ।

    ३ लाख बिगो कायम भएको आरोपपत्रका आधारमा निजले बिन्ध्यबासिनी म्युजिक प्रालिसँग ४ लाख १० हजार धरौटी मागेका थिए । करोडौंको कारोबार भएको ठाँउमा लाखमा धरौटी लिने अदालतको सामान्य प्रक्रिया छ । तर, बिगोभन्दा धेरै धरौटी मागेर उनले गायक खरेलको पक्षमा आदेश गरेका थिए । जुन मुद्दा जसलाई उच्च अदालत पाटनले खारेज गरिदिएको थियो ।

    गायक प्रतिलिपि अधिकार धनी हुँदैन भन्ने संसारभरको कानूनको व्याख्याविपरीत खरेलका पक्षमा निर्णय गर्ने न्यायाधीश कारबाहीमा परेपछि बिन्ध्यबासिनीलाई थप राहत मिलेको छ ।

    जबरजस्ती करणी वा बहुविवाह सम्बन्धित नजिरका आधारमा प्रतिलिपि अधिकार एवं बौद्धिक सम्पत्तिमाथिको अधिकारलाई तुलना गरेर व्यक्तिवादी मुद्दालाई सरकारबादी बनाउन गायक खरेलले विभिन्न व्यक्तिसँग मिलेर बिन्ध्यबासिनी म्युजिकका सञ्चालकलाई दुःख दिएको आरोप छ ।

    न्यायाधीश शर्माको आदेश सर्वोच्चसम्म पुगेर उत्प्रेषण सहितको परमादेशको पर्खाइमा पेसी चढिरहेको छ ।

  • स्थानीय तहमा बेथिति : एकैदिन तीन महिनाको हाजिर गरेर तलब झ्वाम

    स्थानीय तहमा बेथिति : एकैदिन तीन महिनाको हाजिर गरेर तलब झ्वाम

    जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा एक इन्जिनियरले काम नगरी तलबभत्ता लिने गरेको पाइएको छ ।

    रौतहट घर भएका शौरभ कुशवाहा बटेश्वर गाउँपालिकाका करार इन्जिनियर कहिल्यै कार्यालय आउने गरेका छैन । तर, तलबभत्ता भने बुझिरहेको एक कर्मचारीले बताए ।

    पछिल्लो पटक इन्जिनियर कुशवाहा एकैदिन तीन महिनाको हाजिर गरेर तलबभत्ता बुझेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले इन्जिनियर कुशवाहालाई एकैदिन तीन महिनाको हाजिर गराएर तलबभत्ता खुवाएको एक कर्मचारीले बताए ।

    गाउँपालिका अध्यक्ष रामअशिष महतोले पनि इन्जिनियर कुशवाहा तलबभत्ता बुझेको पुष्टि गरेका छन् ।

    उनले भने, ‘इन्जिनियर कुशवाहा करारमा कार्यरत छन् । तर, आफू निर्वाचित भएदेखि उनलाई कार्यालयमा कहिल्यै देखेको छैन । हालसालै रजिष्टरमा तीन महिनाको हाजिरी गरेको देखिएको छ ।’

    प्रमुख प्रशासकीय अधिकृत जोशीले भने इन्जिनियर कुशवाहाले कार्यालय नआई तलबभत्ता बुझ्ने गरेको विषयमा केही बोल्न चाहेनन् । लेखा अधिकृत सुमन पुरीले इन्जिनियर कुशवाहा फिल्डमा काम गर्ने गरेकाले तलब खुवाउने गरेको जिकिर गरे ।

  • साता दिन नपुग्दै उप्कियो कालोपत्रे, पूर्वाधार हाकिमका भाइ र नगरपालिका कर्मचारी नै ठेकेदार (भिडिओ)

    साता दिन नपुग्दै उप्कियो कालोपत्रे, पूर्वाधार हाकिमका भाइ र नगरपालिका कर्मचारी नै ठेकेदार (भिडिओ)

    कैलाली । शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीमा कालोपत्रे भएको सडक एक साता नहुँदै भत्किन थालेको छ ।

    यो सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटअन्तर्गत तीन खण्डमा ४२ लाखको योजना हो । त्यसमा २५ लाखमा सम्झौता भएको थियो । असार मसान्तसम्म सक्ने गरी गत पुस १८ मा ४ मिटर चौडा र ५८० मिटर लम्बाइ कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो ।

    गुणस्तरयुक्त काम नभएपछि अहिले स्थानीयले विरोध गरिरहेका छन् । सडक कालोपत्रे भइरहेको बेलामा पनि स्थानीयले पटक-पटक ठेकेदारलाई गुणस्तरमा प्रश्न उठाएकोमा कसैले चासो नदिएको स्थानीय केशवबहादुर साउँदले बताए ।

    ‘सडकमा गुणस्तरहीन र कमसल काम भइरहेको भन्दै हामीले प्राविधिकलाई धेरै पटक भनेका थियौँ । हाम्रो कुरा मान्ने भन्दा पनि उल्टै हामीलाई धम्क्याउने काम भयो’ उनले भने ‘मन्त्रीको दबाबका कारण यहाँ सडक निर्माण भइरहेको छ । तिमीहरूले अवरोध गरे अर्को ठाउँमा जान्छौँ यो काम यहीँ छोड्छौँ भन्दै हामीलाई प्राविधिकले हकारे ।’

    पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीका भाइ प्रकाश नेगीले सडक निर्माणको ठेक्का पाएका हुन् । उनीसँगै ठेकेदारको रूपमा टेकेन्द्रप्रसाद भट्ट पनि लागिरहेका थिए । भट्ट शुक्लाफाँटा नगरपालिकाका कर्मचारी पनि हुन् । उनी नगरपालिकाको योजना शाखामा सवइन्जिनियरको जिम्मेवारीमा छन् ।

    पूर्वाधार विकास कार्यालय प्रमुखका भाइ र नगरपालिकाका सवइन्जिनियरले ठेक्का लिएर गरेको काम गुणस्तरीय हुनुपर्नेमा गुणस्तरहीन भएको भन्दै स्थानीयले दुवै निकायप्रति आक्रोश पोखेका थिए ।

    पूर्वाधार विकास कार्यालयका प्रमुखले भने पारिवारिक सम्बन्धका कारण ठेक्का उपलब्ध नगराइएको दाबी गरेका छन् । ‘उहाँ मेरो भाइ हो तर, भाइ भएकै कारण ठेक्का पाएको भन्ने कुरा गलत हो’ नेगीले भने, ‘अनलाइन माध्यमबाट ठेक्का गर्दा निष्पक्ष हुन्छ ।’

    काम गुणस्तरहीन भएको गुनासो आएपछि निकासा रोकिएको र पुन: कालोपत्रे गर्न लगाइने सूचना अधिकारी हेमराज भट्टले बताए ।

    कार्यालय प्रमुखले नेगीले नगरपालिकाका कर्मचारी पनि ठेकेदारको रूपमा काममा संलग्न रहेको पुष्टि गरे । सडक गुणस्तरहीन भएको भन्ने आफूले पनि जानकारी पाएको र त्यसबारे बुझ्न टोली पठाएको उनको जवाफ छ ।

    ‘पूर्णरूपमा कमसल भएको भन्ने कुरा होइन । केही ठाउँमा भत्किएको भन्ने मैले पनि सुने’ उनले भने ‘यस विषयमा बुझ्न टोली पठाएको छ । तथ्य कुरा त्यसपछि आउँछ ।’

    स्थानीयले विरोध गरेपछि शुक्लाफाँटाका नगर प्रमुख (मेयर) रणबहादुर महरा पनि कालोपत्रे सडकको निरीक्षण गर्न पुगेका थिए ।
    स्थानीयले योजनाबारे सूचना पार्टीसमेत नराखेको भन्दै विरोध गरेका थिए । योजनामा पटक-पटक भट्ट पुगेपछि नगरपालिकाकै योजना भएको भन्दै मेयरलाई गुनासो गरेका थिए । भट्ट नगरपालिकाको तर्फबाट योजनाको अनुगमन गर्न भन्दा पनि निर्माण व्यवसायीको तर्फबाट हेर्न आएको कुरा पछि उनीहरूले थाहा पाए ।

    अनुगमनपछि मेयर महराले नगरपालिका कार्यालयमा निर्माण व्यवसायी ठेकेदारलाई बोलाएर छलफल गरेका थिए । छलफलमा पनि निर्माण व्यवसायीको तर्फबाट नेगी र भट्ट दुवै उपस्थित भएका थिए ।

    छलफलका क्रममा नेगीले कालोपत्रे गर्दा तापक्रम नपुगेकाले भत्किएको बताए । उनले भने, ‘तापक्रम पुगेन, बर्खामा हतार हतारमा काम भयो । म्याद पुस मसान्तसम्म भएकाले समस्या आएका ठाउँमा मर्मत गर्छु ।’

    मेयर महरासामु ठेकेदार नेगीले सडक मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् । मेयर महराले कालोपत्रेमा टालो देखिने गरी मर्मत गर्नुभन्दा नयाँ कालोपत्रे नै गर्न निर्देशन दिएका छन् ।

    महराले सडकमा गुणस्तरीय काम नभए उपल्लो निकायलाई पत्रसमेत काट्ने बताए । प्रदेश सरकारले गर्ने कामहरू बारे स्थानीय तहलाई जानकारी नगराउँदा पनि यस्ता कामहरू हुने गरेको उनको बुझाइ छ ।

    ‘प्रदेश सरकारको धेरै योजना गुणस्तरीय नभएको भन्दै हामीलाई स्थानीयले गुनासो गरेका हुन्छन्, यस्ता योजनाहरू गुपचुपमा आउँछन् सम्पन्न हुन्छन्’ उनले भने, ‘हामीलाई जानकारी भए हामी पनि नियमन गर्ने थियौं काम गुणस्तरीय हुने थियो । ’

    उनले कालागौडीमा कालोपत्रे सडक मात्र नभई वडा नम्बर १ मा प्रदेश सरकारले गरेको १० लाखको ग्राभेल पनि गुणस्तरहीन भएको बताए ।

    ‘यहाँ १० लाखको ग्राभेल गरेको भनिएको छ त्यहाँ त्यति काम भएको छैन’ उनले भने ‘यस्ता धेरै कामहरू बजेट सक्नकै लागि भएको देखिन्छ ।’

  • अख्तियारका मुद्दामा भ्रष्टाचारजन्य कसुर पुष्टि ३२ प्रतिशतले घट्यो

    अख्तियारका मुद्दामा भ्रष्टाचारजन्य कसुर पुष्टि ३२ प्रतिशतले घट्यो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा दायर गरेकामध्ये ३९ प्रतिशत मुद्दामा मात्रै भ्रष्टाचार कसुर पुष्टि भएका छन् । आयोगले गत आर्थिक वर्ष ०७८/०७९ मा १३१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

    अघिल्लो वर्ष सरेकासमेत गरेर गत वर्ष अदालतबाट १४८ मुद्दा फैसला भएको थियो । जसमध्ये ३९.१९ प्रतिशत मुद्दामा मात्रै भ्रष्टाचारज्यन कसुर पुष्टि भएको हो । अर्थात ५८ वटा मुद्दामा मात्र भ्रष्टाचारजन्य कसुर कायम भएको आयोगका प्रवक्ता सहसचिव श्याम भण्डारीले जानकारी दिए ।

    उनका अनुसार अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कम मुद्दा भ्रष्टाचारजन्य कसुर कायम भएका छन् ।

    स्ट्रिङ अपरेसनमा रोकले भ्रष्टाचारजन्य कसुर पुष्टि घट्योः प्रवक्ता भण्डारी

    अघिल्लो वर्षको तुलनामा यस वर्ष किन ३२ प्रतिशतले मुद्दामा भ्रष्टाचारजन्य कसुर पुष्टि भयो ? प्रवक्ता भण्डारीले अदालतले गरेको फैसलामा आफूहरुले केही भन्न नमिल्ने जवाफ दिए । यसअघि आयोगले गर्दै आएको स्ट्रिङ अपरेसनका मुद्दामा अदालतले सफाइ दिएका कारणले पनि भ्रष्टाचारजन्य कसुर कम पुष्टि भएको हुनसक्ने भण्डारीको भनाइ छ ।

    उनले भने, ‘अघिल्ला वर्षमा स्ट्रिङ अपरेसनका मुद्दा धेरै हुन्थे र त्यस्ता अधिकांश मुद्दामा अदालतले कसुर पुष्टि गर्ने गरेको थियो । गत वर्ष स्ट्रिङ अपरेसन गर्न नपाइने भनेर सर्वोच्च अदालतले नै फैसला गर्‍यो । त्यसपछि त्योसँग जोडिएका मुद्दामा पनि अधिकांशले सफाइ पाए । त्यसैले भ्रष्टाचारजन्य कसुर कम पुष्टि भएको हुनसक्छ ।’

    आर्थिक वर्ष २०७७/०७८ मा अख्तियारबाट विशेष अदालतमा दायर भएका ११३ वटा मुद्दा फैसला हुँदा ७१.६८ प्रतिशत अर्थात ८१ वटा मुद्दामा भ्रष्टाचारजन्य कसुर पुष्टि भएको थियो ।

    सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिको हानि-नोक्सानीका मुद्दा

    गत वर्ष आयोगबाट विशेष अदालतमा दायर भएका १३१ वटा मुद्दामध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिको हानि-नोक्सानीका मुद्दा थिए । विशेषमा ३५ वटा सार्वजनिक सम्पत्तिको हानि-नोक्सानीका मुद्दा दायर गरिएको थियो । दोस्रोमा गैरकानूनी लाभहानीका ३४ वटा, घूस रिसवतका ३२ वटा मुद्दा दायर भएका थिए ।

    यस्तै गैरकानूनी सम्पत्ति आर्जनका ७, नक्कली शैक्षिक प्रमाणपत्रका ६, राजस्व हिनामिनाका ५ र विविधमा १२ वटा मुद्दा अदालतमा दायर भएका थिए ।

    उजुरी फर्छ्याेट ६ प्रतिशत र उजुरी ७ प्रतिशतले वृद्वि

    गत आर्थिक वर्षमा आयोगमा परेका उजुरीमध्ये ७० प्रतिशत फर्छ्याेट भएको थियो । आयोगमा विभिन्न माध्यमबाट आर्थिक वर्ष २०७८/०७९ मा परेका २४ हजार २४१ उजुरीमध्ये १७ हजार ९८ वटा अर्थात ७०.५३ प्रतिशत फर्छ्याेट भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा उजुरी फर्छ्याेट भने ६ प्रतिशत बढेको छ ।

    आयोगका अनुसार अघिल्लो आर्थिक वर्षमा परेका २२ हजार ६२५ वटा उजुरीमध्ये १४ हजार ५३२ अर्थात ६४.२३ प्रतिशत उजुरी फर्छ्याेट भएको थियो ।

    अघिल्लो वर्षको तुलनामा यस वर्ष ७ प्रतिशतले उजुरी बढेको आयोगले जनाएको छ । आयोगका अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १ हजार ६१६ वटा उजुरी बढी परेका छन् । यस्तै गत वर्ष परेका उजुरीमध्ये ८२० वटा उजुरी विस्तृत अनुसन्धानमा गएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ६० प्रतिशतभन्दा बढी उजुरी विस्तृत अनुसन्धानमा गएका छन् । अघिल्लो वर्षमा ५१० वटा उजुरी विस्तृत अनुसन्धानमा गएका थिए ।

    गत आर्थिक वर्षमा मात्र १६ हजार १४८ उजुरी परेका थिए । जसमा सबैभन्दा धेरै लिखित निवेदनमार्फत चार हजार ४९४ वटा उजुरी परेका थिए । दोस्रोमा हुलाक सेवाबाट दुई हजार ७६०, तेस्रोमा इमेलमार्फत दुई हजार ७५७, चौथोमा अन्य स्रोतबाट दुई हजार ७१७ र आयोगको वेबसाइटबाट दुई हजार १६५ उजुरी परेका छन् ।

    यस्तै टेलिफोनवाट ७५०, सञ्चारमाध्यमबाट २९०, मोबाइल एपमार्फत १०२, फेसबुकमार्फत ९३, भाइबरबाट १५, मोबाइलको एसएमएसबाट चार वटा उजुरी परेका छन् ।

    एक भूतपूर्वमन्त्री, १५६ जनप्रतिनिधि र मनोनीत पदाधिकारी भ्रष्टाचारमा संलग्न

    गत आर्थिक वर्षमा दायर भएकामध्ये १३१ मुद्दामा एकजना भूतपूर्व मन्त्री र १५६ जना निर्वाचित तथा मनोनीत पदाधिकारी संलग्न भएको पाइएको छ । उनीहरुसहित जम्मा प्रतिवादीको संख्या ६३९ रहेकोमा विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारीको संख्या भने सबैभन्दा कम ३ जनामात्रै रहेको छ । तर, तल्लो तहका राष्ट्रसेवक कर्मचारीको संख्या भने ३०८ जना रहेको छ ।

    यस्तै बिचौलिया/मतियारलगायत अन्य १७२ जना रहेका छन् । ती सबै प्रतिवादीबाट दुई अर्ब ७८ करोड ४३ लाख ३२ हजार ७१६ रुपैयाँ बिगो माग दाबी गरिएको छ । गत वर्षमा जम्मा २५ वटा रंगेहात कारबाहीमा परेकोमा ३८ व्यक्तिमध्ये राष्ट्रसेवक कर्मचारीको संख्या २६ रहेको छ । ६ जना बिचौलिया वा मतियार र ६ जना निर्वाचित तथा मनोनीत पदाधिकारी रहेका छन् ।

    आयोगले कसुरबाट सफाइ पाएका मुद्दामध्ये गत वर्ष ६० वटामा पुनरावेदन गरेको छ ।

  • बागमती प्रदेशमा बेथितिः एउटै डीपीआरमा दुई पटक भुक्तानी

    बागमती प्रदेशमा बेथितिः एउटै डीपीआरमा दुई पटक भुक्तानी

    हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको अनियमिताको क्रमशः खुलासा हुँदै आएको छ । मन्त्रालयले कमिसनको चक्करमा एउटै डीपीआर निर्माण गर्न दुई पटक रकम भुक्तानी गरेको पाइएको छ ।

    प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी-काठमाडौं सुरुङमार्ग निर्माणको डीपीआर निर्माण गर्दा दुई वर्ष लगातार भुक्तानी गरिएको पाइएको हो ।

    मन्त्रालयले सुरुङ मार्गको एउटै डीपीआर निर्माणमा पहिलो पटक एक करोड ३९ लाख भुक्तानी गरेको थियो । सोही डीपीआरलाई पुनरावलोकन भन्दै गत आर्थिक वर्षमा पुनः ५४ लाख रुपैयाँ भुक्तानी गरिएको महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखाले एउटै डीपीआरका लागि दुईपटक भुक्तानी दिएकोमा प्रश्न उठाएपछि मन्त्रालयको बदमासी बाहिर आएको छ ।

    मन्त्रालयले कमिसनको चक्करमा एकै प्याकेजमा हुने डीपीआर निर्माणलाई ८७ टुक्रा बनाएर ६ करोड नोक्सानी गरेको थियो ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशकै अर्को मन्त्रालय सामजिक विकास मन्त्रालयले निर्माण गरेको डीपीआरमा पनि पुनः रकम खर्च गरेको पाइएको छ । हेटौंडा अस्पतालको भवन निर्माण गर्न सामाजिक विकास मन्त्रालयले तयार गरेर स्वीकृत गरिसकेको डीपीआरका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि १६ लाख ६० हजार रुपैयाँ भुक्तानी दिएको पाइएको हो ।

    बागमती प्रदेश सरकारमा रहेका सरोकारवालाहरुले प्रदेशमा कागजात मिलाएर चरम भ्रष्टाचार गरेको महालेखाको प्रतिवेदनले खुलासा गरेको हो । प्रतिवेदनले १ लाख ११ हजारको राहत वितरणको लागि २८ लाख रुपैयाँ हवाई भाडा खर्च गरेको प्रतिवेदन निकालेर बागमती प्रदेशमा हुने बेतिथिको पर्दाफास गरेको थियो ।

  • लुम्बिनीको वन निर्देशनालयमा कर्मचारी कुटपिट प्रकरण: कुट्ने र कुटिने बिदामा, कुट्नेले उल्टै दिए जाहेरी

    लुम्बिनीको वन निर्देशनालयमा कर्मचारी कुटपिट प्रकरण: कुट्ने र कुटिने बिदामा, कुट्नेले उल्टै दिए जाहेरी

    रुपन्देही । लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयका निमित्त निर्देशक जीवन पंगेनीले उपसचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेको विवाद नसल्टिँदै दुवैजना बिदामा बसेका छन् । दुई हप्ताअघि पंगेनीले निर्देशनालयकै उपसचिव चौधरीमाथि हातपात गरेका थिए ।

    पंगेनीले उल्टै आफूमाथि आक्रमणको प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा चौधरीविरुद्ध उजुरी दिएपछि विषय थप विवादित बनेको छ । कुटाइ खाने चौधरी बिदा लिएर भारत भ्रमणमा लागेका छन् । कुट्ने पंगेनी पनि बिदामा काठमाडौं लागेपछि निर्देशनालय नै अस्तव्यस्त बनेको छ ।

    पंगेनीले उजुरी हालेपछि प्रहरीले दुवै जनालाई राखेर छलफल गराएको थियो । प्रमुख जिल्ला अधिकारी आएपछि थप छलफल गराउने भन्दै प्रहरीले उनीहरुलाई बिदा गरेका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले भने, ‘दुई हप्ताअघि उजुरी आएको हो । त्यसपछि दुवै जनालाई राखेर कुरा गरायौं, मिल्नुभएन । सीडीओसाब आएपछि छलफल गराउने सहमति भएको हो । चौधरीजी बाहिर जानुभएको भन्ने जानकारी आएकाले थप छलफल हुनसकेको छैन ।’

    घटनापछि तनावले चौधरी बिदा लिएर भारत भ्रमणमा गएको निर्देशनालयका कर्मचारी बताउँछन् । निमित्त निर्देशक पंगेनीले भने चौधरीलाई स्पष्टीकरण सोधिएको तर कुनै जवाफ नदिई सम्पर्कविहीन रहेको जानकारी दिए । अहिले दुवै जना कार्यालयमा हाजिर छैनन् ।

    घटना विवरणअनुसार पंगेनीले उपसचिव चौधरीलाई कार्यालयको कामको सिलसिलामा अर्घाखाँची जान स्वीकृति दिएका थिए । स्वीकृतिपछि चौधरी अर्घाखाँची जाने तयारीमा लागे । अर्घाखाँची जान भनेर घरबाट कार्यालयमा आउँदा उनले गाडी देखेनन् । चालकलाई फोन गरे । चालकले पंगेनीलाई लिएर बुटवल गएको बताए । त्यसपछि चौधरीले कार्यालय प्रमुख पंंगेनीलाई टेलिफोन गरे ।

    पंगेनीले काम गर्ने चाहना नभएर चौधरीले बहानाबाजी गरेर ठग्न खोजेकाले सम्झाएको बताए । एउटा गाडी आफू बुटवलमा जाँदा लगे पनि अर्को गाडी कार्यालयमै रहेको जानकारी दिँदै पंगेनीले भने, ‘उनी कुटिएको भए प्रहरीमा बोलाउँदा किन भागे ?’

    घटना भएको दिन पंंगेनी कार्यकक्षमा तनावमुक्त हुन चुकुल लगाएर बसेका थिए । त्यही विषयमा कुरा गर्न प्रमुखको कार्यकक्षमा गएका चौधरीले चुकुल लगाएको कोठा ढकढक्काए । यसैलाई पंगेनीले हातपात भएको बहाना बनाए । यसबारेमा पंगेनीले भने हातपात नभएको दावी गरे ।

    ‘काम लगाउँदा काम नगर्ने अनि अनावश्यक आरोप लगाएर हुन्छ ?’, जंगिँदै उनले भने, ‘कर्मचारीमा हुने क्षमता नै छैन, सुध्रन खोजेनन् । बसेर छलफल गरेको हो । कार्यालयमा उनले कस्तो हर्कत देखाए । मैले के गरें, सबै सीसीटीभीमा सुरक्षित छ । यो विषय बाहिर आएपछि मैले प्रशासनमा जाहेरी दिएँ । तर, उनी छलफलमा नआएर भागे ।’

    पंगेनीले अहिले आफू बिदामा रहेको जानकारी दिए । कार्यालयका एक कर्मचारीले निमित्त निर्देशक पंगेनी साउन १ गतेसम्म बिदामा बसेको बताए ।

    प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले उनीहरुबीच विवाद भएको र पंगेनी प्रहरीकहाँ गएर गल्ती गरेको बताए । ‘प्रहरीकहाँ गएपछि मकहाँ पनि निवेदन आएको थियो’, उनले भने ।

    वन निर्देशक इन्द्रबहादुर पछाई असार २२ गते अवकाशमा जानुअघि दुईसाताको बिदा बसेपछि पंगेनीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

    रूकुमको त्यो घूसकाण्ड

    रुकुम पूर्वमा डिभिजन वन अधिकृत रहेका पंगेनीले नौ महिनाअघि यार्सागुम्बा संकलन गर्ने एक सेवाग्राहीसँग घूस मागेको विषयमा विवादमा तानिएका थिए । घूस मागेको अडिओसहित वन तथा वातावरण मन्त्रालयमा उजुरी परेपछि छानबिन भएको थियो ।

    मन्त्रालय स्रोतका अनुसार उजुरीपछि भएको छानबिनले उनलाई दोषी ठहर गरेको थियो । छानबिनपछि साविक कार्यरत रूकुमबाट प्रदेश वन निर्देशनालय भैरहवामा राखिएको थियो ।

    रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटकी रसिला बुढामगरलाई पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनको लागि नियमानुसार राजस्व तिरेर वन कार्यालयको पुर्जी लिन गएका वेला कार्यकक्षमा होहल्ला हुन्छ भन्दै पंगेनीले निवासमा बोलाएर घूस मागेका थिए ।

    लामो बार्गेनिङपछि राजस्व तिरेको बराबरको रकम खाजस्वस्वरुप दिनु भनेर सेवाग्राहीसँग घूस मागेको अडिओ त्यसवेला सार्वजनिक भएको थियो । उनले सेवाग्राहीसँग लिएको रकम माथिका मन्त्री, सीडीओ, पत्रकार र फाँटका अन्यलाई पनि दिनुपर्ने भनेर सेवाग्राहीसँग पैसा मागेका थिए ।

    कारबाहीस्वरूप रूकुम पूर्वबाट निर्देशनालयमा तानिएका पंगेनीलाई वन तथा वातावरण मन्त्रालयका सचिव कार्कीले निमित्त प्रदेश वन निर्देशकको जिम्मेवारी दिएपछि कार्यालयमा भाँडभैलो भएको हो । निर्देशनालयले प्रदेशका १२ वटा जिल्लाका डिभिजन वन कार्यालयमा कामको समन्वय, अनुगमन र निर्देशन दिने गर्छ ।

    आफैं काज बनाउँदै बिदा बस्दै

    पंगेनी निर्देशक भएपछि अहिले लुम्बिनी वन निर्देशनालयका कर्मचारीले एकले अर्कोलाई अटेर गर्न थालेका छन् । कर्मचारीले मनलाग्दी काज बनाउने र घर जाने गरेका छन् । निर्देशनालयकै सञ्जय तिवारी उपसचिव प्राविधिक नवौं तहका अर्घाखाँची काज बनाएर चितवनस्थित निवासमा गएका छन् । केही दिनअघि पनि तिवारीले कार्यालयबाट काज बनाएर सरकारी सवारीसाधन लिएर आफ्नो निजी काममा गएको कार्यालय स्रोतले जनाएको छ ।

    हालैमात्र सेवा निवृत्त इन्द्रबहादुर पछाई बिदा बसेपछि तिवारीले आफूलाई निमित्त बनाएर कार्यालयको सेवासुविधा लिएका थिए ।

    कार्यालयमा कर्मचारी मनलागे आउँछन्, मन नलागे आउँदैनन् । अनि काज बनाएर टाप कस्छन् । तीनजना उपसचिव रहेको कार्यालयमा अहिले एकजना पनि हाजिर छैनन् । तीन उपसचिव पंगेनी, तिवारी र चौधरी बिदामा बसेपछि कार्यालय अहिले अलपत्रजस्तै भएको छ ।

  • अदालतबारे नकारात्मक टिप्पणी गर्ने व्यक्ति न्यायाधीश बन्न सधैंका लागि अयोग्य

    अदालतबारे नकारात्मक टिप्पणी गर्ने व्यक्ति न्यायाधीश बन्न सधैंका लागि अयोग्य

    काठमाडौं। अदालतको विषयमा सार्वजनिक तथा सामाजिक सन्जालमा नकारात्मक टिकाटिप्पणी गर्दा न्यायाधीश बन्न नपाइने भएको छ।
    न्याय परिषद्ले हालसालै ल्याएको न्यायाधीश नियुक्तीको प्रकृया सम्बन्धी निर्देशिका, २०७९ मा त्यस्ता आवेदकलाई ‘सर्ट लिस्ट’मै नपारिने व्यवस्था गरिएको छ।

    निर्देशिकाको न्यायाधीश बन्न आवेदन दिनेको संक्षिप्त सूची तयार पार्ने सम्बन्धी व्यवस्थामा उल्लेख रहेको दफा ५ अन्तर्गत उपदफा ३ मा भनिएको छ,’– विवरण तयार गर्दा न्यायाधीशको पदमा नियुक्तिको लागि योग्यता पुगेको व्यक्तिले अदालत प्रति गरेको सार्वजनिक टिप्पणी तथा सामाजिक सन्जालमा व्यक्त विचार र निजले अदालतमा उपस्थित हुँदा वा कार्यरत रहँदा देखाएको मर्यादा र शिष्टाचारसमेतलाई विचार गर्नुपर्ने छ।’

    परिषद्ले नियुक्त गर्नुपर्ने न्यायाधीशको पद संख्याको तेब्बर संख्यामा न्यायाधीश हुन योग्य व्यक्तिको संक्षिप्त सूची तयार पार्नुपर्ने र त्यसमा समावेशी सिद्धान्तलाई अवलम्बन गरिनुपर्ने पनि भनिएको छ।

    विभिन्न तहका अदालतमा स्वंय न्यायाधीश, न्याय सेवाका अधिकृत कर्मचारी र कानुन व्यवशायी तथा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्याय सम्बन्धि अन्य कुनै क्षेत्रमा काम गरेकाहरु न्यायधिश नियुक्तिका लागि योग्य हुन्छन्।

    यस्तै न्यायाधीश बन्न आवेदन नदिने तर विशिष्ट योग्यता, अनुभव र निजले गर्न सक्ने योगदानको आधारमा निजलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तीका लागि सिफारिस गर्न उपयुक्त देखिएमा परिषद्ले त्यस्तो व्यक्तिसँग परामर्श गरि निजको नामसमेत संक्षिप्त सूचीमा समावेश गर्न सकिने निर्देशिकामा उल्लेख छ।

    स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यतालाई आत्मसाथ गर्दै योग्यतामा आधारित सक्षम र इमान्दार न्यायाधीश नियुक्तीका लागि अवलम्बन गरिने प्रकृयालाई पारदर्शी तथा जवाफदेही बनाउन भन्दै ल्याइएको यो निर्देशिका गत असार २३ गते राजपत्रमा प्रकाशित भएको छ।

  • स्वास्थ्य सामग्रीको अवैध कारोबार आशंकामा जनकपुरको फ्ल्याटमा छापा, तीनजना पक्राउ

    स्वास्थ्य सामग्रीको अवैध कारोबार आशंकामा जनकपुरको फ्ल्याटमा छापा, तीनजना पक्राउ

    जनकपुरधाम । स्वास्थ्य सामग्रीको अवैध कारोबार भइरहेको आशंकामा जनकपुरधाम उपमहानगरपालिका- ९ संकटमोचन मन्दिर नजिकै रहेको एउटा फ्ल्याटमा प्रहरीले छापा मारेको छ ।

    डीएसपी दिपक राई नेतृत्वको टोलीले स्वास्थ्य सामग्रीको गोदाममा छापा मारेको हो। उक्त फ्ल्याटमाबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्रीहरु, एउटा भारतीय नम्बर प्लेटको कार र तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । तीन जनाध्ये एक जना भारतीय डाक्टर रहेको बताइएको छ ।

    अहिले छापामारी जारी छ । ‘मेडिकल समानहरु बरामद भएकाले तत्काल कति बराबरको भन्न सक्दिनँ,’डिएसपी राइले भने, ‘अहिले घटनास्थलमै छौं । अनुसन्धान जारी छ ।’

    भारतीय डाक्टरले अबैध रुपमा मेडिकल सामानहरु भारतबाट ल्याएर यहाँ सप्लाई गर्ने गरेका थिए भन्ने प्रहरीको अनुमान छ ।

  • करारका कर्मचारी हटाउँदै स्थानीय सरकार !

    करारका कर्मचारी हटाउँदै स्थानीय सरकार !

    काठमाडौं । बाह्रबीसे नगरपालिकाले नगरपालिकाभित्र करारमा कार्यरत कर्मचारीहरुलाई साउन १ देखि हाजिर नगर्न कडा उर्दी जारी गरेको छ।

    बाह्रबीसे नगरपालिकाको ११ औं नगरसभाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नगरपालिकाले सूचना प्रकाशित गरेर करारका कर्मचारीहरुलाई हाजिर नगर्न भनेको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रकाश भट्टले हस्ताक्षर गरेको पत्रमा नगरसभाले करारका कर्मचारीहरुलाई हाजिर नगर्न, नगराउन भन्ने निर्णयपछि नगरपालिकाले सूचना जारी गरेको हो । नगरपालिकाको हाजिर कापीमै सूचना टाँसेर साउन १ देखि करारका कर्मचारीलाई हाजिर नगर्न भनेको छ ।

    नगरपालिकामा विभिन्न तहमा गरी १४० बढी करारका कर्मचारी कार्यरत छन् । शिक्षक, स्वास्थ्य, कृषि, पशु, उद्योग शाखा, प्रधानमन्त्री स्वरोजगार, पन्जिकरण, पोषण सबै गरेर यो संख्यामा कर्मचारी कार्यरत छन् । जनप्रतिनिधि नयाँ आउनासाथ करारका कर्मचारी निकाल्ने नगरपालिकाले निर्णय गरेपछि करारका कर्मचारी समस्यामा परेका छन् ।

    बाह्रबीसे नगरपालिकाका यसअघिका मेयर निमफुन्जो शेर्पाको कार्यकालमा नियुक्त भएका करारका कर्मचारी हटाउने निर्णय गलत भएको नेकपा एमाले सिन्धुपाल्चोकका उपसचिव एवं बाह्रबीसे नगरपालिकाकी निवर्तमान उपमेयर सुशीला पाख्रिनले बताइन् ।

    अन्य स्थानीय सरकारहरुले पनि करारमा कार्यरत कर्मचारीहरुलाई हटाएर आफू निकटकाहरुलाई भर्ती गर्ने तयारी गरेका छन् ।

  • प्रदेशमा बेथितिः १ लाख राहत बाँड्न हेलिकप्टर भाडा २८ लाख

    प्रदेशमा बेथितिः १ लाख राहत बाँड्न हेलिकप्टर भाडा २८ लाख

    हेटौंडा । वागमती प्रदेश सरकाले १ लाख रूपैँयाको राहत वितरणका लागि २८ लाख खर्च गरेको खुलेको छ ।

    २०७७ साउनमा सिन्धुपाल्चोकको लिदीमा गएको बाढीपहिरोको निरीक्षण तथा राहतको लागि पुगेको टोलीले चढेको हेलिकप्टरलाई २८ लाख रूपैँया भुक्तानी गरिएको हो ।

    महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार २०७७ साउन २६ को बाढीपहिरोबाट पीडित परिवारलाई एक लाखको राहत वितरणमा गएको टोली चढेको हेलिकप्टरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयले २८ लाखभन्दा बढी भाडा तिरेको हो ।

    राहत वितरणका लागि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलस, उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, वागमती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेललगायत लिदी पुगेका थिए ।

    सोही दिन हेलिकप्टरमार्फत प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा पनि लिदी पुगेका थिए ।

    पहिरोबाट प्रभावित परिवारलाई १ लाख ११ हजार मूल्यका दाल, चामल, स्वास्थ्य सामग्री वितरण गर्न मुख्यमन्त्रीसहित टोलीले १२ पटक सेनाको हेलिकप्टर र एक निजी हेलिकप्टर ३ पटक गरेर क्रमशः २५ लाख ६८ हजार र ३ लाख गरी २८ लाख ६८ हजार खर्च गरेको प्रतिवेदनमा खुलाइएको छ । प्रतिवेदनले यस्तो अनुत्पादक खर्च नियन्त्रणका लागि प्रदेश सरकारलाई सुझावसमेत दिएको छ ।

  • वागमतीमा टेण्डर नगर्न एउटै योजनालाई ८७ टुक्रा पारियो

    वागमतीमा टेण्डर नगर्न एउटै योजनालाई ८७ टुक्रा पारियो

    हेटौँडा । वागमती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले टेण्डर गर्नुपर्ने एक डीपीआरलाई ८७ वटा टुक्रा बनाएर नजिकका कम्पनीमार्फत काम गरेको पाइएको छ ।

    महालेखा परीक्षकको कार्यालयको हालै सार्वजनिक प्रतिवेदनले साना टुक्रा बनाएर काम गर्दा सरकारलाई ६ करोड रूपैँया घाटा लागेको औंल्याएको छ । कमिसनको चक्करमा परेर कर्मचारीको गिरोहबाट यस्तो अनियमितता भएको स्रोतले बताएको छ ।

    महालेखाको प्रतिवेदनमा मन्त्रालयले गरेको डीपीआरमा प्रश्न उठाएसँगै कर्मचारीमा खैलाबैला सुरू भएको एक कर्मचारीले बताए । ११ करोड ८९ लाख ७७ हजारको परामर्श सेवा एउटै प्याकेजमार्फत टेण्डर आह्वान हुनुपर्नेमा प्रतिस्पर्धा नै गर्नु नपर्ने गरी मन्त्रालयले ८७ वटा टुक्रा बनाएको हो ।

    १४९ वटा योजनाको विस्तृत परियोजना अध्ययन लागत अनुमानकै आधारमा टुक्रा-टुक्रा पारेर काम गरेकोमा महालेखाले प्रश्न गरेको छ । मन्त्रालय मातहतकै पूर्वाधार विकास निर्देशनालय विद्युतीय बोलपत्र मार्फत ७ वटा पुलको डीपीआर गर्दा ५५ दशमलब ४२ प्रतिशत र ५ वटा पुलको अर्को डीपिआर गर्दा ४४ दशमलब १६ प्रतशत थोरैमा सम्झौता भएको छ ।

    आफ्नै मातहतको निर्देशनालयले टेण्डरमार्फत गरेको काममा ५० दशमलब ९ प्रतिशत घटेर काम भएको छ । यसैलाई तुलना गर्दा पनि बोलपत्रको तुलनामा ५ करोड ९५ लाख ९६ हजार रुपैया प्रदेश सरकारलाई व्ययभार थपिएको हो ।

    महालेखाको प्रतिवेदनले भौतिक मन्त्रालयमा सबैभन्दा बढी बेरुजू देखाएको छ ।