Category: सुशासन प्रेस

  • ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

    ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

    काठमाडौं, हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् । सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ ।

    गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् ।

    भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।

    मधेस प्रदेश अन्तर्गत सप्तरीका मात्रै पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् । सिरहाका तीन, धनुषाको १०, महोत्तरी एक, सर्लाहीको पाँच, रौतहटको पाँच, बाराको पाँच र पर्साका पाँच स्थानीय तहले बजेट ल्याएका छैनन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणअनुसार वाग्मती प्रदेश अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, दोलखाको बिगु, धादिङको खनियाबास र गल्छी गाउँपालिकाले बजेट ल्याएका छैनन् । काठमाडौँ महानगरपालिकाले यसअघि नै बजेट प्रस्तुत गरिसकेको भएपनि मन्त्रालयको विवरणमा उल्लेख नभएको देखिन्छ ।

    लुम्बिनी प्रदेशको नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिका, रुपन्देहीको कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उपमहानगरपालिका र लहमी नगरपालिकाको बजेट सार्वजनिक भएको छैन ।

    कर्णाली प्रदेशको सल्यान जिल्लाको कुमाख, छत्रेश्वरी र दार्मा गाउँपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । यस्तै, सुदूरुपश्चिम प्रदेशको टिकापुर नगरपालिकाले बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

    संवैधानिक व्यवस्थाअनुसार हरेक बर्षको जेठ १५ गते संघीय सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुन्छ । यस्तै, असार १ गते प्रदेश सरकारको र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

  • पशुपति विकास कोषका ६ सदस्यको प्रधानमन्त्रीलाई ‘याचनापत्र’-  यत्रतत्र लठिभद्र

    पशुपति विकास कोषका ६ सदस्यको प्रधानमन्त्रीलाई ‘याचनापत्र’- यत्रतत्र लठिभद्र

    काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यहरूले कोषको कार्यप्रणाली साथै देखेभोगेका बेथिति औंल्याउँदै विभिन्न बुँदामा पर्यटनमन्त्रीदेखि प्रधानमन्त्रीसम्को ध्यानाकर्षण गराएका छन् ।

    सञ्चालक सदस्यमा नियुक्ति भएपछि आफूहरूले देखेका, भोगेका, सुनेका र महसुस गरेका घटना, परिस्थिति र अवस्थामध्ये केही प्रतिनिधिमूलक विषय मात्र समेटेको भन्दै उनीहरूले व्यवस्थापनको मार्गनिर्देशका लागि कोषका संरक्षकसमेत रहेका प्रधानमन्त्रीसँग याचना गरेका हुन् ।

    गत असार २३ मा बुझाइएको जानकारी पत्रमा गुरुयोजना कार्यान्वयनको अभावदेखि आर्थिक र प्रशासनिक बेथितिहरूसम्मका मुद्दा उजागर गरिएका छन् ।

    प्रतिवेदनमा पशुपति क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि तयार पारिएको गुरुयोजना अहिलेसम्म स्वीकृत नभएकोले विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्र जोखिममा रहेको उल्लेख छ । पशुपति क्षेत्र विकास कोष ऐन २०४४ र यस अन्तर्गत बनेका नियमावली अपर्याप्त र अव्यावहारिक रहेको भन्दै तत्काल संशोधनको माग गरिएको छ ।

    कोषका परिषद् सदस्यहरू हरिनाथ ढकाल, शिक्षित पराजुली, बाबुशरण सुवेदी, भरतप्रसाद बडाल, रामेश्वर संगत, रेनुका पराजुलीले पेश गरेको उक्त ध्यानाकर्षण पत्रमा पशुपति मन्दिरको भेटिघाटीको चुहावटको व्यवस्थापनदेखि भौतिक पूर्वाधार, सम्पत्तिको संरक्षणमा चिन्ता व्यक्त गरिएको छ । साथै ७ महिनादेखि सञ्चालक परिषद्को बैठक नबसेको विषयमा पनि ध्यानाकर्षण गराइएको छ । परिषद्का अध्यक्ष पर्यटनमन्त्री रहने व्यवस्था छ । हाल मन्त्री बद्रि पाण्डे छन् ।

    कोषका सदस्यहरूको सामूहिक असन्तुष्टिबारे नेपाल प्रेसको जिज्ञासामा रामेश्वर संगतले कार्ययोजना निर्माणसँगै निर्णय प्रक्रियामा सदस्यहरूलाई संलग्न नगराएकैले पाशुपत क्षेत्र भद्रगोल बन्दै गरेको बताए ।

    ‘कम्तीमा कोषबाट हुने काम र पशुपति क्षेत्रका योजनाबारे गरिने निर्णयमा सदस्यहरूको समेत अपनत्व हुने गरी सामूहिक छलफल बहस गर्ने हो भने धेरै समस्या समाधान हुन्छ । यहाँ त प्रस्ताव तथा निर्णयहरूमा स्वार्थ गाँसिन्छ । त्यसको कार्यान्वयनमा सबै सदस्यहरूले कसरी सघाउने ?’, संगतले भने ।

    कर्मचारी प्रशासनमा देखिएका विकृति, कर्मचारी सेवा शर्त तथा सुविधासम्बन्धी नियमावली पुरानो भएकाले संवैधानिक व्यवस्थासँग मेल नखाएको र अस्थायी तथा करारमा कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको पनि जानकारी पत्रमा उल्लेख गरिएको छ ।

    गुठी जग्गाको व्यवस्थापन, दर्ताविहीन र नापीमा हराइरहेको ३१ रोपनी जग्गाको खोजबिन, आर्थिक प्रशासनमा देखिएको अनियमितता, पसल, धर्मशाला लगायतबाट उठाउन बाँकी साढे ५ करोडजति बक्यौता, महालेखाको झण्डै सवा अर्बको बेरुजुबारे पनि सदस्यहरूले जानकारी गराएका छ्न् ।

    सञ्चालक परिषद्का सदस्यहरूले निर्णय प्रक्रियामा पारदर्शीताको अभाव, जानकारीमा पहुँचको कमी र विगतका निर्णय कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिवेदनले कोषको सुशासन र प्रभावकारी व्यवस्थापनका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

    यस्तो छ प्रधानमन्त्रीसमक्ष कोषका सदस्यहरूले पेश गरेको ध्यानाकर्षण पत्र-

  • मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरिदार २ लाख घुससहित पक्राउ

    मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरिदार २ लाख घुससहित पक्राउ

    काठमाडौं । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    उनले फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

    अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यलय परिसरबाटै मोबाइल डिभाइससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता एवम सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका भण्डारीमाथी थप अनुसन्धान भइरहेको छ ।

  • संघले पठाएका सचिव कोशीमा ‘अलपत्र’, भाैतिक पूर्वाधार लैजाने तयारीमा मन्त्रीकाे अवराेध

    संघले पठाएका सचिव कोशीमा ‘अलपत्र’, भाैतिक पूर्वाधार लैजाने तयारीमा मन्त्रीकाे अवराेध

    विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको अवरोधका कारण सचिव मिलन आचार्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारीविहीन भएर थन्किएका छन् ।

    सरुवा भएर आएको २० दिन बित्दा समेत मन्त्री राईले हाजिर गर्न अवरोध गरेपछि उनी मुख्यमन्त्री कार्यालयमा थन्किएका हुन् । सचिव मिलन आचार्यलाई २६ गतेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशमा सरुवा गरेको थियो ।

    सरुवा भएर आएका सचिव आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने तयारी गरेको थियो । मन्त्रिपरिषदबाट निर्णय गरेर पूर्वाधार मन्त्रालय पठाउने तयारी गर्दा मन्त्री राईले ‘अब्जेक्सन’ गरेपछि निर्णय हुन सकेको छैन ।

    पटक-पटक बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री राईको अवरोधका कारण सचिव आचार्यलाई पूर्वाधार मन्त्रालयमा पठाउने निर्णय हुन नसकेको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो ।

    यसअघि संघ सरकारले सीधै प्रदेशका मन्त्रालय तोकेर सचिवहरूको सरुवा गर्दै आएको थियो । ओली नेतृत्वको सरकारले भने प्रदेशमा सरुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यकताअनुसार मन्त्रालयमा सचिव खटाउन थालिएको छ ।

    पूर्वाधार मन्त्रालयमा अहिले उपसचिव रमेश श्रेष्ठले निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । कोशीको गठबन्धन सरकारमा कांग्रेसका तर्फबाट सिनियर मन्त्री राईले भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

    गठबन्धन सरकार भएका कारण राईले नमान्दा नमान्दै मुख्यमन्त्री कार्यालयले आचार्यलाई पूर्वाधार मन्त्रालयमा पठाएर हाजिर गराउन सकेको छैन । सचिव आचार्य यसअघि पूर्वाधार विकास कार्यालय इलामका प्रमुख थिए । सहसचिवमा नाम निकालेपछि उनको पोष्टिङ कोशी प्रदेशमा भएको हो ।

    यसअघि साउन २६ कै निर्णयअनुसार पूर्वाधार सचिव अशोक साहको सरुवा भएको थियो । सचिव साहले रमाना लिनुअघि मन्त्री राईले साहमार्फत १४ जिल्लाका पूर्वाधार कार्यालयका हाकिम हेरफेरको प्रस्ताव क्याविनेट पठाएका थिए । स्रोतका अनुसार सचिवको सरुवा भएपछि व्याक डेटमा उनीहरूको सरुवाको प्रस्ताव तयार भएको थियो ।

    त्यो सरुवा प्रस्ताव अस्वीकार भएकाले राई अहिले मुख्यमन्त्री कार्यालयसँग रुष्ट रहेको बताइन्छ ।

    मन्त्री राईले आफूले सचिवको पोष्टिङ हुन नदिएको कुरा सत्य नभएको बताए ।

    उनले भने, ‘पहिला पहिला सिधै मन्त्रालय तोकेर सरुवा हुन्थ्यो । अहिले मुख्यमन्त्री कार्यालयमा पठाउने गरिएको छ । कोही त आउनु होला ।’

  • निजामती विधेयक प्रतिवेदनको मस्यौदा तयार (पूर्णपाठ)

    निजामती विधेयक प्रतिवेदनको मस्यौदा तयार (पूर्णपाठ)

    काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमाथि छलफल सुरू भएको छ ।

    विधेयकमा सत्ताधारी सांसद ५९ वर्षे अवकाश उमेरको अडानबाट पछि हटेसँगै विधेयक टुंगो लागेर समिति सचिवालयले प्रतिवेदनको मस्यौदा तयार पारेको छ ।

    समितिका उपसचिव नुमराज शर्माले अहिले विधेयकको प्रतिवेदनको मस्यौदा पढेर समितिका सदस्यलाई सुनाइरहेका छन् । मस्यौदा पढेर सकेपछि समितिका सदस्यले धारणा राखेर प्रतिवेदन टुंगो लगाइनेछ । समितिबाट प्रतिवेदन पारित भएलत्तगै समितिका सभापति तुलासाकुमारी दाहालले मंगलबारकै राष्ट्रियसभा बैठकमा विधेयको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

    संवैधानिक व्यवस्थाअनुसार संघीय निजामती सेवा विधेयक आजै राष्ट्रिय सभाबाट पारित गरिसक्नुपर्ने २ महिने समयसीमा सकिँदैछ ।

    राष्ट्रियसभाबाट विधेयक पारित भएपछि विधेयक उत्पति भएको प्रतिनिधिसभामा जानेछ । प्रतिनिधि सभाले पुनः पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रूप लिनेछ ।

     

  • नायव सुब्बामा १० प्रतिशत खुला प्रतियोगिता, १० प्रतिशत अन्तर तह र ८० प्रतिशत बढुवा

    नायव सुब्बामा १० प्रतिशत खुला प्रतियोगिता, १० प्रतिशत अन्तर तह र ८० प्रतिशत बढुवा

    काठमाडौं । राजपत्र अनंकित प्रथम श्रेणी अर्थात् नायव सुब्बा (नासु)मा १० प्रतिशत खुला गर्ने व्यवस्था संसदीय समितिले पारित गरेको छ ।

    प्रतिनिधि सभाले नासुलाई शतप्रतिशत बढुवाबाट गर्ने बढुवाबाट गर्ने सरकारको प्रस्तावलाई पारित गरेकोमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले १० प्रतिशत खुला प्रतियोगिता पदपूर्ति गर्ने, १० प्रतिशत अन्तर तह प्रतियोगिताबाट र ८० प्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति गर्ने व्यवस्था पारित गरेको हो ।

    सरकारले नासुमा शतप्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति गर्ने प्रस्ताव अघि सारेकोमा विधायन व्यवस्थापन समितिका अधिकांश सांसद १० प्रतिशत खुला गर्ने पक्षमा उभिएपछि समिति सभापतिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई नासुमा कति प्रतिशत खुला गर्ने प्रस्ताव पेस गर्न निर्देशन दिएकी थिइन । तर, सचिवले भने आफूहरूको प्रस्ताव शतप्रतिशत बढुवा गर्ने नै भएको भन्दै समितिका सदस्यलाई नै प्रतिशत तोक्न अनुमति दिएका थिए ।

    लगत्तै समितिका सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का सांसद डा. बेदुराम भुसालले १० प्रतिशत खुला, १० प्रतिशत अन्तर तह र ८० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई नै समितिले सहमति जनाएपछि पारित भएको थियो । समितिले तयार पारेको प्रतिवेदनको मस्यौदामा त्यही उल्लेख छ ।

  • यस वर्ष निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम गर्ने सहमति

    यस वर्ष निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै कायम गर्ने सहमति

    काठमाडौं । अन्ततः सरकार र सत्तापक्ष यस वर्षदेखि निजामती कर्मचारीको अवकाश उमेर ५९ वर्ष कायम गर्नुपर्ने अडानबाट पछि हटेका छन् ।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मङ्गलवार बिहान बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समितिमा यस अघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा ५८ वर्षमा अवकाश उमेर राख्नेमा सरकार तयार भएको जानकारी गराएकी हुन् ।

    विगत ३ दिनदेखि मन्त्रीसँगै सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदले मुख्यसचिव सहित केही सचिवको सेवा अवधि एक वर्ष लम्बाउनका लागि विधेयक पारित भएको वर्षमा ५९ वर्षमै अवकाशमा जाने व्यवस्था गर्नुपर्ने अडान लिँदै आएका थिए ।

    मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा पनि विधेयक पारित भएको वर्षमा ५८ वर्ष, दोस्रो वर्षमा ५९ र तेस्रो वर्षमा ६० वर्षमा अनिवार्य अवकाश उमेर राखिएको थियो । प्रतिनिधि सभाले पनि प्रस्तावित विधेयकलाई नै जस्तोको त्यस्तै पारित गरेको थियो ।

  • निजामती सेवा विधेयकमाथि अवकाश उमेरहदबारे रस्साकस्सी, बैठक भोलिसम्मका लागि स्थगित (भिडिओ)

    निजामती सेवा विधेयकमाथि अवकाश उमेरहदबारे रस्साकस्सी, बैठक भोलिसम्मका लागि स्थगित (भिडिओ)

    काठमाडौं । संघीय संसदको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकको विवाद झन् गहिरिँदै गएको छ । सरकारले ल्याएको प्रावधान, समितिमा भएको सहमति, मन्त्रीको अनुपस्थिती र समय व्यवस्थापन लगायतका सबै विषयले सोमबारको बैठक निष्कर्ष बिना टुंगियो । अन्ततः विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले बैठक स्थगित गर्दै भोलि बिहान बस्ने निर्णय गरिन् ।

    भोलिसम्मका लागि समय मागेर मन्त्री बैठकबाट बाहिरिइन्

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आफ्नो अन्य कार्यक्रमका कारण बैठक छोडेर निस्किइन । उनले समितिलाई सकेसम्म आफ्नो प्रस्ताव मान्न र बैठक स्थगित गरेर भोलि बिहान बस्न आग्रह गरिन् । ‘आज मेरो अर्को कार्यक्रम भएकाले म निस्किएँ, भोलि बिहान बसौं ।’ मन्त्री न्यौपानेको भनाइ थियो । विधायन व्यवस्थापन समितिका सभापति दाहालले पनि मन्त्रीको अनुपस्थितीलाई कारण देखाउँदै बैठक स्थगन गर्ने निर्णय सुनाइन् । उनले भनिन्, ‘अस्ति पनि मन्त्री अनुपस्थित हुनुभयो, त्यसैले आन्तरिक छलफलका लागि समय दिनुपर्छ ।’

    सांसद भुसालको आक्रोश- सरकार होइन, समिति सर्वोच्च

    तर, नेकपा (एकीकृत समाजवादी) का सांसद डा.बेदुराम भुसाल भने मन्त्रीको यो व्यवहारप्रति कडा असन्तुष्ट जनाए । उनले संसदलाई सरकारले खेलाउने प्रयास भइरहेको आरोप लगाए । ‘कानून निर्माण गर्ने संसद हो । सरकारले ल्याएको प्रस्ताव सबै लागू हुन्छ भन्ने छैन। मन्त्रीको अनुपस्थितिमा निर्णय गर्न नमिल्ने भन्ने छैन’, उनले भने । भुसालका अनुसार, प्रतिवेदन तयार भइसकेको छ, त्यसलाई वितरण गरी छलफल अघि बढाउनुपर्ने हो । ‘मन्त्रीले जे भन्यो त्यही हुन्छ भन्ने भाष्य निर्माण नगरौं, समितिले जे निर्णय गर्छ त्यही हुन्छ । उनको भनाइ थियो ।

    बैठकमा सांसदको धारणा विभाजित देखियो । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मन्त्रीलाई समय दिनुपर्ने पक्ष लिए । जनता समाजवादी पार्टी नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले भने विधेयकलाई होल्ड गरेर अहिलेसम्म गरिएको छलफल खेर फाल्न नहुने भन्दै नियमावलीअनुसार निर्णय गर्नुपर्ने बताए । उनको भनाई अनुसार बहुमत र अल्पमत गरेर निर्णय गरौ भन्ने सार थियो ।

    माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले समितिमा सहमति भइसकेको विषय फेरी अड्काउनु गैरजिम्मेवार भएको भन्दै, आवश्यक परे बहुमत र अल्पमत प्रक्रियाबाट विधेयक टुंगो लगाउन सुझाव दिए । त्यस्तै माओवादीकै सांसद गंगाकुमारी बेलबासेले प्रतिवेदनमाथि तत्काल छलफल सुरु गर्न माग गरिन् ।

    माओवादी सांसद तारामान स्वारले भने- खेलाउने थलो होइन समिति

    माओवादी सांसद तारामान स्वारले भने विषयलाई जानबुझेर अल्झाइरहेको भन्दै सरकारमाथि प्रश्न उठाए । ‘यो सरकारले के गर्न खोजेको हो ? विधायन समिति खेलाउने थलो हो ? उनले आक्रोश पोखे । यस्तै, माओवादीकै सांसद झक्कुप्रसाद सुवेदीले मन्त्रीले बैठक छोडेर जान मिल्दैन भन्दै प्रतिवेदन आजै वा भोलि बिहानसम्म तयार गर्नुपर्ने बताए ।

    समिति सचिवालय र समिति सभापतिको भूमिकामाथि प्रतिपक्षको प्रश्न

    बैठकमा संसदीय समितिको सचिवालयमाथि पनि प्रश्न उठेको छ । उपसचिव नुमराज शर्माले सभापतिले छलफल सकिएको घोषणा गरेलगत्तै प्रतिवेदन दिन सकिने बताएका थिए । तर सभापति दाहालले भनिन्, ‘विषयवस्तु नटुंग्याएर प्रतिवेदन तयार गर्न निर्देशन दिन सकिँदैन । सचिवालयले उपलब्ध गराएको टिपोट भने वितरण गर्न निर्देशन दिन्छु ।’

    तीव्र बहसपछि अन्ततः सभापति दाहालले बैठक स्थगित गर्दै भोलि बिहान ९ बजे बस्ने घोषणा गरिन् । तर सांसदले देखाएको आक्रोशले विधेयक छिट्टै टुंगो लाग्छ भन्ने विश्वास भने अझै कमजोर बनाएको छ ।

  • ५९ वर्षे अहिल्यै लाग्दा मुख्य सचिवसहित यी सचिव लाभान्वित, १८ सय नयाँको ढोका बन्द हुने दाबी

    ५९ वर्षे अहिल्यै लाग्दा मुख्य सचिवसहित यी सचिव लाभान्वित, १८ सय नयाँको ढोका बन्द हुने दाबी

    काठमाडौं । सघीय निजामती सेवा विधेयकमा तत्काल ५८ वा ५९ वर्षे अवकाश उमेर लागू गर्ने भन्नेमा बहस भइरहँदा विधायन समितिमा सरकारी पक्ष ५९ वर्षेको अडानमा छ ।  कांग्रेस-एमाले ५९ वर्षे उमेर हद तत्काल लागू गरेर जानुपर्ने पक्षमा उभिएका छन् ।

    तर, समितिको शुक्रबारको बैठकमा ५८ वर्षे अवकाश उमेर हद लागू गर्ने सर्वसम्मत निर्णय भइसकेको छ । तर, आइतबारसत्तापक्षको निर्णयबमोजिम मन्त्रीले ५९ वर्षे अवकाश उमेर यसै वर्षदेखि लागू गर्नुपर्ने प्रस्ताव राखिन् ।

    ५९ वर्षे अहिले लागू हुँदा भने मुख्यसचिवसहितलाई फाइदा पुग्छ । उनीहरू यसै वर्ष ५८ वर्षे उमेर हदका कारण घर जाँदै थिए । एक वर्ष जागिर लम्ब्याउन उनीहरूले मन्त्री र सत्तापक्षका सांसदलाई लचिलो बनिदिन अनुनय गरिरहेको बताइन्छ ।

    ५९ वर्षे उमेर हदमा को-को जाँदै छन् ?

    निजामती विधेयक, २०४९ को व्यवस्था अनुसार ५८ वर्षे उमेर हदका कारण राष्ट्रिय कितावखानको विवरण अनुसार चालू आर्थिक वर्षमा मुख्यसचिव एक नारायण अर्यालसहित ७ जना सचिवबाट अनिवार्य अवकाशमा जाने छन् ।

    यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव फणिन्द्र गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा.रामप्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव डा. केशवकुमार शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपकुमार खराल, नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह यसै वर्ष ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने सूचीमा छन् ।

    सचिव मात्रै नभएर करिब ६५ जना सहसचिवको पनि ५८ वर्षे अवकाश उमेरहदका कारण यसै वर्ष अवकाशमा जानेछन् । सहसचिवभन्दा मुनि अर्थात् उपसचिवदेखि श्रेणिविहीन कर्मचारीसम्म गरेर करिब १८ सय कर्मचारी घर जाँदै छन् ।

    तर, ५९ वर्षे अवकाश उमेर हद तत्काल लागू गरेको अवस्थामा उनीहरूको जागिर अवधि एक वर्ष लम्बिन्छ । जसले लोक सेवा अयोगबाट हुने करिब १८ सय विज्ञापन होल्ड हुने दाबी गरिएको छ ।

    चालू आर्थिक वर्षमा मुख्यसचिवदेखि श्रेणीविहीनसम्म गरेर २ हजार २ सय ११ जना ५८ वर्षे उमेर हदका कारण अवकाशमा जाने सूचीमा रहेकोमा सचिवदेखि श्रेणीविहीनसम्म गरेर ३३० जना कर्मचारी आजको दिनसम्म अवकाशमा गइसकेका छन् ।

  • अवकाश उमेरमा अड्कियो निजामती विधेयक

    अवकाश उमेरमा अड्कियो निजामती विधेयक

    काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा ‘अवकाश उमेर’ मा गएर अड्किएको छ । समितिले यसअघि नै ५८ वर्षमै अवकाश दिने निर्णय गरेको थियो ।

    तर, सरकार र सत्ताधारी सांसद सहमतिबाट पछि हट्दै ५९ वर्षको अडानमा रहेपछि बैठक अघि बढ्न सकेन । सभापति तुलसाकुमारी दाहालले १५ मिनेटका लागि बैठक स्थगित गरेकी छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने अवकाशको उमेर ५९ वर्ष निर्धारण गर्नुपर्ने अडानमा छिन् ।

    उनले भनिन्, ‘मैले पटक-पटक अनुरोध गर्दै आएको छु, यसमा केही बिग्रिँदैन । सरकार अरु धेरै विषयमा लचिलो बनेको छ, यसमा पनि विनयलाई मानिदिनुहोस् ।’

    तर, विपक्षी सांसदले यो कदमलाई ‘स्वार्थ समूहको चलखेल’ भन्दै विरोध जनाए ।

    माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले मन्त्रीको अनुपस्थितिमा निर्णय भएको भन्दै उल्ट्याउन खोज्नु गलत भएको टिप्पणी गरे । ‘५८ वर्षमै विधेयक लागू भएको वर्षदेखि लागू हुने सहमति भएको हो । अब केही सचिवको पदावधि बढाउन दबाब आएको जस्तो छ’, उनले दाबी गरे ।

    यस्तै, एकीकृत समाजवादीका सांसद डा. बेदुराम भुसालले ५८ वर्षकै व्यवस्था गर्दा नयाँ विज्ञापन गरेर लोकसेवा आयोगमार्फत नयाँ कर्मचारी भर्ना गर्न सहज हुने तर्क दिए । ५९ गरियो भने झनै समस्या हुने भन्दै उनले पुनर्विचार गर्ने अवस्था नरहेको प्रष्ट्याए ।

    कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाले भने, ‘अहिले ५९ गर्दा फरक पर्दैन । सहसचिव खुला गर्ने, कुलिङ पिरियडमा हामी लचिलो भइसकेका छौँ । अब प्रतिपक्ष पनि यसमा लचिलो बनेर सहयोग गर्नुपर्छ ।’

    कांग्रेसका अर्का सांसद आनन्द ढुंगानाले पनि ५९ वर्षमै विधेयक पारित गर्न आग्रह गरे ।

    स्वार्थ समूह हामी भएको प्रतिपक्षको आरोप

    तर, माओवादी सांसद तारामान स्वारले भने विषयलाई ‘सामान्य’ मान्न नमिल्ने दाबी गरे । ‘५८-५९ को विवादभन्दा ठूलो कुरा भनेको यसको पछाडि रहेका स्वार्थ हुन् । प्रतिनिधिसभामा चलखेल भएको थियो, यही चलखेल राष्ट्रियसभासम्म आइपुगेको छ । समितिलाई कमजोर नबनाऔं’, उनको जिकिर थियो ।

    माओवादीकै राधेश्याम पासवानले पनि अन्तिम समयमा उल्ट्याउने प्रयास सचिवको दबाबका कारण भएको आरोप लगाए ।

    उनको शब्दमा, ‘सचिव ढिलो-चाँडो बिदा हुने नै हुन्, तर विधेयक समितिले विवेक प्रयोग गरेर बनाउनुपर्छ, दबाबमा होइन ।’

    एमाले सांसद डा. अञ्जान शाक्यले भने मन्त्रीलाई व्यक्तिगत स्वार्थसँग जोड्नु गलत भएको तर्क गरिन् ।

    ‘उहाँमा कुनै लोभ छैन । उहाँ जनताको पक्षमा काम गर्न चाहनुहुन्छ ’, उनले भनिन् ।

    एमालेका अर्का सांसद गोपाल भट्टराईले पनि कुलिङ पिरियड जस्तो विषय सर्वसम्मत भएको जस्तै ५९ वर्ष पनि कार्यान्वयन गर्न सकिने धारणा राखे ।

    माओवादी सांसद सुरेशकुमार आलेमगरले समितिमा देखिएको अवस्थालाई ‘असामान्य परिस्थिति’ भने । सरकारले ल्याएको विधेयक र प्रतिनिधिसभाले पनि पारित गरेकोमा ५८ नै भएको तर अचानक ५९ को कुरा आउनु असामान्य भएको उनको टिप्पणी छ ।

    समितिका सदस्यबीच मतभेद बढेपछि सभापति तुलसाकुमारी दाहालले आफूलाई अप्ठ्यारो भएको बताइन्।

    ‘सबै विषयमा मन्त्रालय लचिलो बनेको छ, यसमा पनि लचिलो भए समस्या हुँदैन’, उनले भनिन् ।

    २०८० सालमै दर्ता भएको संघीय निजामती विधेयक अझै पारित भएको छैन । मूल कारण अवकाश उमेरमा देखिएको छ । सरकार र सत्तापक्षको विवाद केवल संख्यामा नभई स्वार्थ, चलखेल र कर्मचारी प्रशासनमा देखिएको शक्ति संघर्षसँग जोडिएको टिप्पणी समितिभित्रै भएको छ ।

    अब विकल्प समिति सर्वसम्मत परम्परा कायम राख्न सफल हुन्छ कि बहुमत अल्पमतको बाटो रोज्छ ? या त सरकार र सत्तापक्ष आफ्नो अडानबाट पछि हट्छ वा भइसकेको निर्णय समितिले उल्ट्याउँछ ?

  • निजामती विधेयकमा अन्तिम छलफल : सरोकार नभएका कर्मचारी आएको भन्दै विवाद

    निजामती विधेयकमा अन्तिम छलफल : सरोकार नभएका कर्मचारी आएको भन्दै विवाद

    काठमाडौं । संघीय निजामती सेवा विधेयकबारे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल जारी छ । विधेयकमाथि दफाबार छलफल सकिएपछि टुंगिन बाँकी रहेको विषयमा दिउँसो ३ बजेटबाट बैठक भइरेकाे हो ।

    विधेयकको प्रावधानमाथि टुंगो नलाग्दै गर्दा समितिको बैठकमा सहभागी हुनेको भूमिकामै विवाद भएको छ । सामान्यतया सांसद, सम्बन्धित मन्त्रालयका अधिकारी तथा समिति सचिवालयमा कार्यरत कर्मचारी तथा पत्रकार मात्र उपस्थित हुने यस्तो बैठकमा यसपटक समितिभन्दा बाहिरका कर्मचारी देखिएपछि मन्त्रालयका अधिकारीले नै आपत्ति जनाए ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव मिरा आचार्य खुलेरै प्रश्न उठाइन्, ‘खुलेर कुरा राख्नै समस्या हुने बनाइयो । जसले मलाई विधेयकमाथि यसरी नबोलिदिनुहोस् म्याम भनेर लबिंग गर्ने समितिभन्दा बाहिरको कर्मचारी बैठकमा बस्दा यो सहज हुँदैन ।’ उनको आशय, समितिको छलफललाई बाहिरी ‘लबिङ’ को प्रभावबाट जोगाउनुपर्ने हो ।

    त्यसपछि समितिका सभापति तुलसाकुमारी दाहालले त्यस विषयमा के गर्ने भन्दै समितिका सदस्यमाझ निर्णय गर्नुपर्ने भन्दै धारणा राख्न आग्रह गरिन् । यसै विषयमा नेकपा (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसालले पनि प्रश्न उठाए ।

    ‘संशोधनकर्तालाई सांसदलाई त बैठकबाट पठाइयो । सांसदलाई ठाउँ पुग्दैन भनेर राखिन्न, तर संसद सचिवालयका कर्मचारीलाई भने राख्ने ? यस्तो दोहोरो मापदण्ड किन ?’ उनको भनाइमा, समितिमा उपस्थित हुने आधार स्पष्ट हुनुपर्छ, नत्र छलफलप्रति नै शंका पैदा हुन्छ ।

    विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनालले भने स्पष्ट पार्ने प्रयास गरे । ‘संसद सचिवालयका कर्मचारीलाई निषेध गरिएको अवस्था छैन । उनीहरूले बोल्न पाउने अधिकार भने छैन । हरेक समितिका बैठक सचिवालयका कर्मचारीका लागि खुला हुन्छ ।’ तर, उनले पनि सहमति खोज्न सुझाव दिए- ‘यदि सचिवालयका कर्मचारीलाई नै नराख्ने हो भने त्यसबारे पनि बैठकले नै निर्णय गर्नुपर्छ ।’

    नेकपा (माओवादी केन्द्र)का सांसद राधेश्याम पाश्वासनले समितिको अभ्यासमाथि प्रश्न खडा गरे । ‘निजामती सेवा विधेयकमा संशोधनकर्तालाई पठाइएको छ । अभ्यासमा पत्रकारलाई पनि खुला गरिएको छ । तर सरोकारवाला भन्दा बाहिरकका कर्मचारीलाई किन राखियो ?’

    अन्तत संसद सचिवालयमा कार्यरत कर्मचारी बस्न पाउने तर, बोल्न नपाउने समितिले निर्णय गरेको छ । यद्यपी उक्त बहस भएपछि समितिको बैठकमा पुगेकी संसद सचिवालयका कर्मचारी एवम निजामती कर्मचारी युनियनका अध्यक्ष रेनुका सुवेदी लगायतका अरु कर्मचारी बैठकबाट बाहिरिएका छन् ।

  • धरानमा रमिता : एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा !

    धरानमा रमिता : एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा !

    विराटनगर । समय घर्केपछि पेश गरिएको धरान उप महानगरपालिकाको बजेट एमालेको बहिष्कारबीच कार्यपालिकामा अल्पमतबाट अनुमोदन भएको दाबी गरिएको छ । धरान कार्यपालिकामा एमालेको बहुमत छ ।

    असार १० गतेसम्म बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि आन्तरिक किचलोले धरानको बजेट २ महिना ढिला भइसकेको छ । अहिले मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस, माओवादी र राप्रपाका जनप्रतिनिधि एकठाउँ उभिएर बजेट अनुमोदन गरेको घोषणा गरे । गएको शुक्रबार कार्यपालिका बैठकमा सहमति जुटेन ।

    बैठकमा एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान १० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गरेर पेस गर्नुपर्ने मागसहित ५ बुँदे जानकारी पत्र दिएर बैठक बहिस्कार गरेका थिए ।

    १५ जना कार्यपालिका सदस्य बैठक बहिष्कार गरेर छाडेर हिँडेको र बजेट अनुमोदन गरेको मेयर साम्पाङको दाबी छ । एमालेका जनप्रतिनिधि बाहिरिएपछि मेयर, उपमेयर र वडाध्यक्ष गरी ११ जनाको उपस्थितिमा बजेट अनुमोदनको एकतर्फी निर्णय गरिएको हो ।

    उपमेयर आइन्द्रविक्रम बेघाले अब सिलिङका आधारमा बजेट ब्रेक डाउन गरेर अर्को कार्यपालिका बैठकमा पेस गर्ने र नगरसभाबाट पारित गर्ने बताए ।

    एमाले भन्छ- घाटा बजेट स्विकारिन्न

    धरान उप महानगरले ल्याउन लागेको घाटा बजेट स्वीकार गर्न नसक्ने एमालेले जनाएको छ ।

    स्रोत अनुमान तथा बजेट सिलिङ समितिमा सदस्यसमेत रहेकी एमाले नगर संसदीय दलकी प्रमुख सावित्री परियारले घाटा बजेट ल्याउने विषयमा सहमति हुन नसक्ने प्रष्ट्याइन् । समिति बैठकमा सुरूदेखि नै यही कुरा उठाएको, तर सम्बोधन नभएको उनको भनाइ छ ।

    ‘हाम्रो असहमति हुँदाहुँदै उपस्थितिको हस्ताक्षरालई सहमतिमा हस्ताक्षर गरेको भनेर गलत प्रचार गरिएयो । १७ औँ पटकसम्मको बैठकमा सुरूदेखि नै यो पटक चैँ घाटा बजेट नबनाऊ, थुप्रै समस्याहरू आइरहेको छ भन्यौँ । तर करको दर बढाउने कुरा भयो हामीले मानेनौं’, उनले भनिन् ।

    धरान-१३ का अध्यक्ष नेत्र काफ्लेले पनि कर अत्यधिक वृद्धि गरिएको बताए ।

    उनले भने, ‘एउटा सामान्य प्रावि विद्यालय स्वीकृति लिन हिजो २ हजार थियो, आज ५ देखि ७ हजार तिर्नुपर्ने प्रस्ताव छ । यो कुरा मान्न सकिन्न । ’

    राजश्व परामर्श समितिले दिएको राय विपरीत आफूखुसी करको दर बढाएको उनले दाबी गरे ।

    राजश्व परामर्श समितिले १ अर्ब ६० करोडले सीमा दिए पनि स्रोत अनुमान र सिलिङ समितिले २ अर्ब २० करोडको बजेट प्रस्ताव गरेको छ । यो बजेट घाटा बजेट भएको भन्दै त्यसमा पनि असहमति रहेको एमालेले जनाएको छ ।

    यसैगरी मेयर, उपमेयर कोष र मेयर उपमेयर भिजन कोष , कार्यपालिका सदस्यको कोष जस्ता अबण्डा कोषहरू खारेज गरिनु पर्ने एमालेको माग छ । नगरको यथार्थ आम्दानीलाई आधार मानी सोही अनुसार बजेट सीमा निर्धारण गर्नुपर्ने माग एमालेले गरेको छ ।

  • संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन तयार गरिँदै

    संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन तयार गरिँदै

    काठमाडौं । संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकिएको छ ।

    प्रतिनिधि सभाबाट पारित भएको विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु भएको हो ।

    विधेयकमाथिको दफावार छलफल सकिएसँगै समितिका सभापति तुलसाकुमारी दाहालले अब आइतबार दिउसो २ बजे प्रतिवेदनमाथि छलफल गर्ने गरी बैठक स्थगित भएको बैठकमा जानकारी गराइन् ।

    कतिपय दफा तथा उपदफामा टुंगो लाग्न बाँकी रहेको भए पनि प्रतिवेदनलाई अन्तिम रूप दिने समयमा टुंगो लगाइने उनले बताए ।

  • ‘कुलिङ अफ पिरियड’ कायम भएपछि अब ५९ वर्षे अवकाश यसै वर्ष लागू गराउन खोजिँदै

    ‘कुलिङ अफ पिरियड’ कायम भएपछि अब ५९ वर्षे अवकाश यसै वर्ष लागू गराउन खोजिँदै

    काठमाडौं । संसदबाट पारित हुने अन्तिम चरणमा प्रवेश गरेको संघीय निजामती सेवा विधेयकमा चालू आर्थिक वर्षदेखि नै ५९ वर्षे सेवा अवधि बनाउन सरकारले दबाब दिन सुरु गरेको छ ।

    राष्ट्रिय सभाबाट कुलिङ अफ पिरियड २ वर्ष राख्ने व्यवस्थामा सहमति जुटेपछि मुख्यसचिव तथा केही सचिवको दबाबमा चालू आर्थिक वर्षबाटै ५९ वर्षे सेवा अवधि लागू गर्ने व्यवस्था विधेयकमा ल्याउने चलखेल सुरु गरिएको हो ।

    त्यसका लागि यसै वर्ष ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव एकनारायण अर्याल र केही सचिवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ तथा मन्त्रालय तथा कानून मन्त्रालयका सहसचिवमार्फत ५९ वर्षे उमेर हद यस वर्षदेखि नै लागू गर्नुपर्ने दबाब सभापति र सांसदलाई दिइरहेका छन् ।

    निजामती कर्मचारीको उमेर हद ६० वर्ष लागू गर्ने तर, ऐन लागू भएको वर्ष ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्षदेखि मात्रै ६० वर्षे उमेर हद लगाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । तर, राष्ट्रिय सभामार्फत ऐन लागू हुने यसै वर्षदेखि ५९ वर्षे उमेर हद लागू हुने व्यवस्था विधेयकमा गर्न मुख्यसचिव तथा सचिवले मन्त्री, सचिव तथा सहसचिवमार्फत दबाब दिइरहेका छन् । त्यसै अनुसार मन्त्री, सचिव र सहसचिव समितिका सभापति तुलसाकुमारी दाहाल तथा समितिका सदस्यलाई आन्तरिक रूपमा दबाब दिइसकेका छन् ।

    यो विषय समितिको बैठकमा खासै उठेको छैन । तर, कुलिङ पिरियड २ वर्ष राख्ने सहमति भएपछि ५९ वर्षे सेवा अवधि ऐन लागू भएकै वर्षदेखि लागू गर्ने विषय समितिको बैठकमा खासै छलफल नगरेर विधेयकको प्रतिवेदनमा सुटुक्कै राखेर पारित गर्ने तयारी भइरहेको छ ।

    समितिका सदस्यसमेत रहेका एक जना राष्ट्रिय सभा सदस्यले नेपाल प्रेससँग भने, ‘कतिपय सांसद कुलिङ अफ पिरियड लागू नगरौँ भन्ने पक्षमा हुनुहुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि त्यसै मनस्थितिमा छ । तर, विधायन व्यवस्थापन समितिका अधिकांश सदस्य कुलिङ अफ पिरियड राख्नै पर्ने पक्षमा भएपछि २ वर्ष राख्ने सहमति जुट्यो ।’

    उनले थप्दै भने, ‘२ वर्ष कुलिङ अफ पिरियड नै राख्ने सहमति जुटिसकेपछि कुलिङ अफ पिरियड हटाइसकेकाले अहिले अवकाश हुने उमेरको विषयमा खासै छलफल नगरेर, सुटुक्क विधेयकको प्रतिवेदनमा चालू आर्थिक वर्षदेखि नै ५९ वर्षे अवकाश उमेर लागू गर्ने तयारी भइरहेको छ । छलफल गर्दा विवाद हुने भएपछि त्यस्तो गर्ने कुरो भइरहेको छ ।’

    राष्ट्रिय सभाका अधिकांश सांसद विधेयक पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएको कम्तीमा एक महिनापछि मात्रै लागू हुनुपर्ने पक्षमा उभिएका थिए। यति मात्रै नभएर विधेयक लागू गर्ने विषयमा राष्ट्रिय सभामा अधिकांश सांसदले प्रतिनिधि सभाबाट तत्काल विधेयक लागू हुनेछ भन्ने व्यवस्थामा एक महिनापछि मात्रै लागू गराउने पर्ने व्यवस्था राख्नुपर्ने संशोधन दर्ता गराएका थिए । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ, मन्त्रालय तथा कानून मन्त्रालयका सहसचिवले तत्काल नै लागू गर्ने व्यवस्था गर्नुपर्नेमा अडान लिएपछि अन्ततः विधेयकमा तत्काल लागू गर्ने प्रतिनिधि सभाकै व्यवस्था कायम गरिएको थियो ।

    संघीय निजामती सेवा विधेयकको परिच्छेद ७ मा अवकाश, उपदान र निवृत्तिभरण सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ। उक्त परिच्छेदको दफा ५८ मा अनिवार्य अवकाशको व्यवस्था गरिएको छ। जसको उपदफा १ मा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने उल्लेख छ । तर, यो ऐन लागू भएको आर्थिक वर्षभरि निजामती कर्मचारीको अवकाश हुने उमेरको अधिकतम हद ५८ वर्ष कायम रहने व्यवस्था गरिएको छ ।

    उपदफा २ मा राजपत्रांकित विशिष्ट श्रेणीका (सचिव) कर्मचारीको हकमा मुख्यसचिव वा सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारले ३ वर्ष र सचिवले ५ वर्ष पदावधि वा ६० वर्षे तथा ऐन लागू भएकै वर्षको हकमा ५८ वर्षे उमेरमध्ये जुन आधारमा पहिले अवकाश हुने हो, त्यसै आधारमा अवकाश हुने व्यवस्था गरिएको छ । तर, प्रतिनिधि सभाले प्रस्तावित विधेयकको मुख्यसचिव वा सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारले २ वर्षमा र सचिवले ४ वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने व्यवस्था पारित गरेको व्यवस्थालाई नै राष्ट्रिय सभाले पनि सहमति गरिसकेको छ ।

    प्रतिनिधि सभाबाट पारित विधेयकको प्रतिवेदनको दफा ५८ मा ऐन लागू भएको आर्थिक वर्षमा ५८ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५८ वर्ष उमेर पूरा भएपछि अवकाश हुने र ऐन प्रारम्भ भएको दोस्रो आर्थिक वर्षमा ५८ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५९ वर्ष उमेर पूरा भएपछि अवकाश हुने उल्लेख छ ।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारितको अन्तिम चरणमा पुगेको संघीय निजामती सेवा विधेयकले ऐन लागू भएको वर्ष ५८ वर्षे सेवा अवधि लागू भएको अवस्थामा मुख्यसचिव एकनारायण अर्याल करिब ३ महिनापछि अर्थात् आगामी मंसिर १० गतेदेखि अनिवार्य अवकाशमा जानेछन् ।

    निजामती सेवा ऐन, २०४९ को व्यवस्था अनुसार मुख्यसचिवको ३ वर्षे कार्यकाल भए पनि ५८ वर्षे उमेर हदका कारण डेढ वर्ष पनि कार्यकाल पूरा नगर्दै ५८ वर्षे सेवा अवधिका कारण आगामी मंसिर १० मा अवकाशमा जान लागेका हुन् । त्यसै कारण उनी आफ्नो सेवा अवधि थप एक वर्ष अर्थात् आगामी २०८३ मंसिरसम्म लम्ब्याउन चाहन्छन् ।

    अर्याल २०८१ भदौ १३ मा मुख्यसचिव नियुक्त भएकाले ३ वर्षे मुख्यसचिवको सेवा अवधिको हिसाबले अर्याल २०८४ भदौ १३ सम्म ३ वर्षे कार्यकाल पूरा गर्नुपर्ने हो । तर, उनको जन्म २०२४ साल मंसिर १० मा भएकाले २०८३ मंसिर १० मा उनी ५९ वर्ष पूरा हुने भएका कारण विधेयकमा चालू आर्थिक वर्षमा नै ५९ वर्षे सेवा अवधि लागू गर्ने व्यवस्था भएको अवस्थामा उनले थप एक वर्ष मुख्यसचिवको सेवा अवधि लम्ब्याउनेछन् ।

    मुख्यसचिव अर्यालसहित ८ जनाको पदावधि १ वर्ष लम्बिने

    मुख्यसचिव अर्यालसहित यस वर्ष नै ५८ वर्षे सेवा अवधिका कारण ८ जना राजपत्रांकित विशिष्ट श्रेणी अर्थात् सचिवबाट अनिवार्य अवकाशमा जाने तयारीमा छन् । तर ऐन लागू भएकै वर्ष ५९ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी अवकाशमा जाने व्यवस्था गरिएमा मुख्यसचिव अर्यालसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव फणिन्द्र गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा. रामप्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव डा. केशवकुमार शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपकुमार खराल, नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह र उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौड्यालको पनि सेवा अवधि लम्बिनेछ ।

    यति मात्रै नभएर करिब ६५ जना सहसचिवको पनि एक वर्ष सेवा अवधि बढ्नेछ । सहसचिवभन्दा मुनि अर्थात् उपसचिवदेखि श्रेणिविहीन कर्मचारीसम्म गरेर करिब १८ सय कर्मचारीको सेवा अवधि एक वर्ष लम्बिनेछ ।

  • नापी हाकिमको अवैध सम्पत्ति पौने ६ करोड, २ छोरा र श्रीमतीसमेतलाई भ्रष्टाचार मुद्दा

    नापी हाकिमको अवैध सम्पत्ति पौने ६ करोड, २ छोरा र श्रीमतीसमेतलाई भ्रष्टाचार मुद्दा

    काठमाडौं । नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवमाथि ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ अवैध सम्पत्ति रहेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    विभागीय प्रमुख र दलका नेताहरूलाई प्रभावमा पारी उपसचिवसरहको प्रमुख रहने दरबन्दी रिक्त बनाई, विदेश पढ्न गएका कर्मचारीको पद र दरबन्दी कायम गरी यादवले दशौं वर्ष निमित्त हाकिम चलाएर सरकारी सार्वजनिक जग्गा हाल साबिक, प्लट मिलान, सार्वजनिक जग्गा व्यक्तिको नाउँमा पारी करौडौंको आर्थिक चलखेल गरेको अख्तियारले जनाएको छ ।

    यादव र परिवारको २०५३ असार १३ देखि ८१ असार १६ सम्मको सम्पत्ति विवरण जाँच गर्दा तलभ भत्तासहित कुल वैध आय ९ करोड ३ लाख ९५ हजार ४४४ देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, व्यवसायिक लगानीको रकम हिसाब गर्दा व्ययतर्फ १४ करोड ८३ लाख ५७ हजार ८८४ रूपैयाँ खर्च भएको बताइएको छ ।

    आयव्ययको लेखाजोखा गर्दा यादवको ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ गैरकानूनी देखिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।

    अवैध सम्पत्ति आर्जनबाट उनले श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु यादव र शुभम यादवका नाममा खरिद गरेका सम्पत्तिसमेत जफत गर्ने गरी तीनैजनालाई प्रतिवादी बनाइएको छ ।

  • निजामती विधेयक : अतिरिक्त सचिवको व्यवस्था खारेज

    निजामती विधेयक : अतिरिक्त सचिवको व्यवस्था खारेज

    काठमाडौं । निजामती सेवा विधेयकमा अतिरिक्त सचिव राख्ने गरी प्रतिनिधि सभाबाट पारित व्यवस्था राष्ट्रिय सभाले उल्ट्याएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अतिरिक्त सचिवको व्यवस्था नरहे पनि प्रतिनिधि सभाले तेह्रौँ तहलाई बिशिष्ट श्रेणीको अतिरिक्त सचिवको प्रावधान थपेर विधेयक पारित गरेको थियो ।

    राजपत्रांकित विशिष्ट श्रेणीमा तेह्रौँ तह र चौधौँ तह रहने गरी मन्त्रालयले विधेयक प्रस्ताव गरेको थियो । तर, प्रतिनिधि सभाले अतिरिक्त सचिवको व्यवस्था राख्ने गरी तेह्रौँ तह, सचिवलाई चौधौँ तह र मुख्यसचिवलाई पन्ध्रौँ तह राख्ने गरी विधेयक पारित गरेको थियो ।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अतिरिक्त सचिवको व्यवस्था उल्ट्याएसँगै अब निजामती सेवामा चौधौँ तहसम्म मात्रै रहने भएको छ ।

    विशिष्ट श्रेणीमा तेह्रौँ तह (अतिरिक्त सचिव) हटाउने निर्णय भएसँगै त्यसै अनुसार विधेयकलाई मिलाउन समितिका सभापति तुलसाकुमारी दाहालले समिति सचिवालयलाई निर्देशन दिएकी छन् ।

  • मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति

    मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति

    काठमाडौं । नेपाल सरकारको मुख्यसचिव तथा सर्वोच्च अदालतको मुख्यरजिष्ट्रारको कार्यकाल ४ वर्ष र सचिवको कार्यकाल ४ वर्ष कायम गर्ने सहमति भएको छ ।

    प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा प्रतिनिधि सभाबाटै पारित मुख्यसचिवको २ वर्ष र सचिवको ४ वर्ष कार्यकाल कायम गर्ने सहमति भएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारको पदावधि ३ वर्ष र सचिवको पदावधि ५ वर्ष प्रस्ताव गरेको थियो ।

    अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन, २०४९ मा मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि ३ वर्ष र सचिवको पदावधि ५ वर्ष रहेको छ ।

  • मालदार अड्डामा आलोपालो घुम्दै वनका ३ हाकिम, यसपालि दुईजना किन गए अदालत ?

    मालदार अड्डामा आलोपालो घुम्दै वनका ३ हाकिम, यसपालि दुईजना किन गए अदालत ?

    कैलाली । ‘गैँडा सरुवा’, ‘मयुर सरुवा’ र ‘डाँफे सरुवा’ वन अधिकारीहरूको हेरफेर हुँदा प्रयोग गरिने विम्बहरू हुन् । सत्ता र शक्तिसँग निकट हुनेहरू तराईका कार्यालयमा बस्न बल गर्छन् । उनीहरूको सरुवा एउटा मालदार कार्यालयबाट अर्को मालदार कार्यालयमा हुन्छ, जसलाई ‘गैँडा सरुवा’ को संज्ञा दिइन्छ । पहाडी र कम प्रभाव क्षेत्रमा ‘मयुर सरुवा’ र हिमालीमा क्षेत्रमा ‘डाँफे सरुवा’ भन्ने गरिन्छ ।

    संघीय सरकारबाट हुने सरुवामा देखिने प्रवृत्ति अहिले प्रदेशहरूमा पनि सर्लक्कै सरेको छ । साउन ३० गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट तीनजना १० औँ तहका वरिष्ठ डिभिजन वन अधिकृतहरूको सरुवा भयो । डिभिजन वन कार्यालय धनगढीका प्रमुख कृष्णदत्त भट्टलाई पहलमानपुर, पहलमानपुरका प्रमुख रामचन्द्र कँडेललाई कञ्चनपुर र कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरलाई धनगढी सरुवा गर्ने निर्णय भएको थियो ।

    यसअघि २०८१ कात्तिक ७ गते यी तीनै जना अदलबदल भएका थिए । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट भट्ट डिभिजन वन कार्यालय धनगढी पुगेका थिए भने धनगढीका प्रमुख रामचन्द्र कँडेल पहलमानपुरमा र पहलमानपुरबाट रामविचारी ठाकुर कञ्चनपुर गएका थिए । त्यो बेला पनि उनीहरूको २ वर्ष नपुग्दै सरुवा भएको थियो ।

    २०८० भदौ ३ गते डडेल्धुराबाट रामविचारी पहलमानपुर आए । २०८० भदौ १७ देखि २०८१ कार्तिक २६ गतेसम्म धनगढीमा बसे । उनी त्यसअघि २०७६ बैशाख २५ देखि २०७८ कार्तिक ७ गतेसम्म धनगढीमै थिए । त्यो बेला उनले २ वर्षभन्दा धेरै धनगढीमा जिम्मेवारी पाए । २०७८ कार्तिक १५ देखि २०८० भदौ १५ सम्म डोटी सरुवा भएका उनी २०८० भदौ १७ देखि २०८१ कार्तिक २६ सम्म फेरि डिभिजन वन कार्यालय धनगढीको प्रमुख भए ।

    भट्टको जिम्मेवारी पनि कैलालीमै केन्द्रित छ । २०७६ वैशाख २३ देखि झण्डै २ वर्ष अर्थात २०७८ कार्तिक १८ सम्म डिभिजन वन कार्यालय पहलमानपुरको प्रमुख रहेका उनी त्यसपछि तालिम केन्द्र, निर्देशनालय, मन्त्रालय हुँदै फेरि २०८१ कार्तिक २६ देखि डिभिजन वन कार्यालय धनगढीका प्रमुख बने ।

    अर्का १० औँ तहका रामविचारी ठाकुरको जिम्मेवारी पनि डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमै घुमेको छ । डोटीमा रहँदा मुद्दामा परेर निलम्बन भएका उनी त्यसपछि डडेल्धुरा, कैलालीको पहलमानपुर हुँदै कञ्चनपुर पुगेका थिए ।

    स्रोत-साधनका दृष्टिले डिएफओहरू सबैभन्दा धेरै कैलाली–कञ्चनपुरमै बस्न रुचाउँछन् । त्यसपछि डोटी र डडेल्धुरा उनीहरूको प्राथमिकतामा पर्छ । शक्तिशाली तीन डिएफओ यीनै क्षेत्रमै घुमिरहेका छन् । नियमित सरुवा होस् वा आकस्मिक, यी कर्मचारीहरूले रुचाएकै ठाउँ पाएका छन् ।

    ‘उहाँहरू (भट्ट, कडेल र ठाकुर) नियमित वा आकस्मिक सरुवा हुँदा पनि राम्रै ठाउँ पाउनुहुन्छ । प्रदेशका अन्य कर्मचारीलाई भने त्यस्तो सुविधा छैन,’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले भने, ‘उहाँहरूकै कैलाली-कञ्चनपुर घुमिरहनुहुन्छ ।’

    अनुकूल हुँदा मित्रता, प्रतिकूल हुँदा मुद्दा

    सुदूरपश्चिममा वन सेवातर्फ सबैभन्दा वरिष्ठ कर्मचारी हुन् हेमराज विष्ट । ११ औँ तहमा पुगेपछि उनी अहिले वन निर्देशनालयका प्रमुख छन् । त्यसअघि १० औँ तहमा रहेका विष्ट र कृष्णदत्त भट्टबीच विवाद संसदीय समितिदेखि अख्तियारसम्म पुगेको थियो ।

    ‘दुवै एकै तहका हुँदा सत्ता र शक्तिको प्रभावमा एकले अर्कालाई सक्नेगरी अघि बढ्नु भयो । मित्रवत् सम्बन्ध पछिको विवाद मुद्दासम्म पुग्यो,’ उनीहरू निकट एक कर्मचारीले भने ।

    पछिल्लो समय पनि सरुवालाई लिएर १० औँ तहका वरिष्ठ वन अधिकृतबीच यस्तै भएको पाइएको छ । २ वर्ष नपुग्दै चाहेको ठाउँमा सरुवा हुँदा मौन रहेका कर्मचारी अहिले अदालत धाउन थालेका छन् ।

    भदौ ३० गते सरुवा भएका तीनमध्ये भट्ट र कँडेलले बिनाकारण समय अगावै सरुवा गरिएको भन्दै उच्च अदालत दिपायलमा रिट दायर गरेका छन् ।

    ‘हाम्रो २ वर्षमा सरुवा हुनुपर्ने हो, तर ९ महिनामै गरियो, यो नीतिविपरीत हो,’ उनीहरूले वकिलमार्फत दाबी गरेका छन् ।

    सरुवा माग्दा, अशक्त हुँदा, बढुवा हुँदा वा दरबन्दी कटौती हुँदाबाहेक २ वर्षअघि सरुवा गर्न पाइँदैन भन्ने दाबी गर्ने कर्मचारीहरू नै पटक-पटक २ वर्षभित्रै सरुवा भएर आएका थिए । भट्ट र कँडेलको रिटमा उच्च अदालतले तत्काललाई कार्यान्वयन नगर्न आदेश दिँदै २० गतेको लागि पेसी तोकेको छ ।

    ‘सरकारले विधिविपरीत सरुवा गरेको छ, २ वर्षअघि सरुवा गर्न मिल्दैन, गर्नै परे पनि कारण चाहिन्छ,’ निवेदक पक्षका वकिल गम्भीर सिंह ऐर भन्छन् ।

    भट्टलाई धनगढीमै बस्न मन छ, पहलमानपुर जान मन छैन । पहलमानपुरभन्दा धनगढी प्रभावशाली मानिन्छ । पहलमानपुरबाट कञ्चनपुर पठाइएका कँडेललाई कञ्चनपुर जान इच्छा छैन । तर, कञ्चनपुरबाट धनगढी आएका ठाकुरलाई भने धनगढीमै बस्न मन छ ।

    यकातर्फ मुद्दा चलिरहेको छ भने अर्कातर्फ भट्ट र कँडेलले आफू भएकै स्थानमा बस्न र ठाकुरले सरुवा भएको स्थानका लागि दबाब बढाइरहेका छन् । तीन जनाको सरुवासम्बन्धी मुद्दामा उच्च अदालतले २० गतेको लागि पेसी तोकेको छ ।

    सुदूरपश्चिम प्रदेशका मुख्यन्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले सरकारले आवश्यकताअनुसार सरुवा गरेको भन्दै अल्पकालीन आदेश बदर गर्नेगरी बहस गर्ने बताए ।

    ‘अहिले निवेदक पक्षको बहसपछि आएको अल्पकालीन आदेश हो, यो अन्तरिम आदेश वा फैसला होइन । २० गते दुवै पक्षको बहस हुन्छ,’ उनले भने, ‘हामीले सरकारले आवश्यकता अनुसार सरुवा गरेको दाबी गर्छौँ । हाम्रो दाबी बलियो हुन्छ ।’

    स्रोतका अनुसार अत्तरिया क्षेत्रमा भूमि आयोगको जग्गा नापजाँच गर्दा फिल्डबुकमा वन देखिएको थियो । त्यस्तो जग्गा वितरण गर्न डिभिजन वन अधिकृतको सहमति आवश्यक हुन्छ । तर, धनगढीका डिभिजनल वन प्रमुख कृष्णदत्त भट्टले वन क्षेत्रमा नापी भएका जग्गाका लालपुर्जा दिने फाइलमा हस्ताक्षर नगरेपछि उनलाई सरुवा गरिएको स्रोतको दाबी छ । मुख्यमन्त्रीले उनलाई पहलमानपुर पठाएर कञ्चनपुरबाट ठाकुरलाई ल्याएको आरोप छ । तर, मुख्यमन्त्रीकै निर्वाचन क्षेत्रमा पनि त्यस्ता जग्गासम्बन्धी फाइल भएको बताइन्छ ।

    ‘गोदावरीमा हस्ताक्षर नगर्ने अधिकारीले मुख्यमन्त्रीकै क्षेत्रमा रहेका फाइलमा पनि हस्ताक्षर गर्ने कुरा हुँदैन,’ एक वन अधिकारी भन्छन्, ‘यसमा मुख्यमन्त्रीको स्वार्थभन्दा पनि उनीहरूकै चलखेल बढी छ।’

    मन्त्रालय र निर्देशनालयमा रिक्त छन् दरबन्दी

    सीमित कर्मचारी कञ्चनपुर र कैलालीमै मरिहत्ते गर्दा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र वन निर्देशनालयमा आवश्यक दरबन्दी पनि रिक्त रहेको पाइएको छ ।

    मन्त्रालयमा वन समूहतर्फ ९ औँ र १० औँ तहका २ जना उपसचिवको दरबन्दी छ ।  मन्त्रालयले अहिलेसम्म दुवै उपसचिव एकैसाथ कहिल्यै पाएको छैन । केही समयअघिसम्म उपसचिवविहीन मन्त्रालयमा अहिले भरत प्रसाद श्रेष्ठ आएका छन्, तर अझै एक पद रिक्त छ।

    वन निर्देशनालयमा पनि ९ औँ र १० औँ तहका ३ जना उपसचिवको दरबन्दी छ, तर अहिलेसम्म पदपूर्ति भएको छैन । अहिले तीनै पद रिक्त छन् ।

    जिल्ला वन कार्यालय बाजुरा र दार्चुलामा पनि अहिले निमित्त प्रमुख छन् । उपसचिवको दरबन्दी भए पनि वर्षौँदेखि अधिकृतले धानेका छन् । कतिपय अवस्थामा ती पनि हुँदैनन् ।

    मन्त्रालय, निर्देशनालय र पहाडी दुई जिल्लामा उपसचिव नपाउँदा कैलाली-कञ्चनपुर जस्ता जिल्लामा हाकिम बन्न कर्मचारीबीच तीव्र दौडधुप हुने गरेको छ । सीमित कर्मचारीहरूले प्रभावमा पारेर आफूलाई मनपर्ने ठाउँमा सरुवा गराउँदै आएका छन् ।

    ‘सुदूरपश्चिममा १० जना उपसचिव भए पनि दुई-तीन जनाकै हालिमुहाली छ,’ एक उपसचिव भन्छन्, ‘आफू अनुकूल सरुवा गराउन उहाँहरूले पार्टीदेखि सरकारसम्म दबाब दिइरहनु हुन्छ ।’

    वन निर्देशनालयका प्रमुख विष्ट पनि सिमित कर्मचारी वरिपरि भइरहेको सरुवा उपयुक्त नभएको बताउँछन् । सरुवाको जिम्मेवारी आफ्नो निकायको नभएको भन्दै उनले सरकारले सबैलाई समान ढंगले व्यवहार गर्नु पर्नेमा जोड दिए ।

    ‘सबै कर्मचारीले समान अवसर पाउने गरी सबैलाई खटाउनुपर्छ,’ उनी भन्छन्, ‘केहीलाई मात्रै लाभ हुने गरी सरुवा गर्नु राम्रो होइन । हामी पनि त्यस्तो सरुवाको विपक्षमा छौँ ।’

    नवौैँ र दशौँ तहको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रमुख सचिवस्तरबाट हुन्छ । यसमा मुख्यमन्त्रीले पनि चासो राख्छन् ।

    मुख्यमन्त्री कमलबहादुर शाहले केही समयदेखि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि सम्हालेका छन् । मुख्यमन्त्री शाह सबैलाई समान ढंगले सरुवा भइरहेको र आगामी दिनमा पनि त्यस्तै हुने दाबी गर्छन् ।

    ‘सबै कर्मचारीलाई समान अवसर दिनेगरी सरुवा कार्यविधि छ । सोही कार्यविधिअनुसार तीन जना डिएफओको सरुवा भएको हो । सबैलाई समान अवसर दिन कार्यविधि थप संशोधन गर्न आवश्यक देखिन्छ । हामी त्यसतर्फ लागिरहेका छौँ,’ मुख्यमन्त्री शाहले भने ।

  • सहसचिव खुला प्रतिस्पर्धा रोक्ने प्रतिनिधिसभाको निर्णय उल्टियो, १० प्रतिशत राख्ने सहमति

    सहसचिव खुला प्रतिस्पर्धा रोक्ने प्रतिनिधिसभाको निर्णय उल्टियो, १० प्रतिशत राख्ने सहमति

    काठमाडौं । संघीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने संसदीय समितिमा सहमति भएको छ ।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको दफाबार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति भएको हो ।

    प्रतिनिधि सभाबाट पारित विधेयकको प्रतिवेदनले भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको सहसचिवमा १० प्रतिशत खुला व्यवस्था हटाएर १५ प्रतिशत अन्तर तह र ८५ प्रतिशत बढुवाबाट सहसचिवमा पदपूर्ति गर्ने व्यवस्था गरेको थियो ।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले भने मन्त्रालयले सुरुमा प्रस्ताव गरेकै व्यवस्थालाई कायम गरेको छ ।

    तर, सहसचिवमा प्रतिस्पर्धा गर्नका लागि कति वर्ष अनुभव भएको हुने भन्ने विषय भने बुधबारको बैठकमा टुंगो लाग्न सकेन ।

    प्रस्तावित विधेयकमा भने अधिकृत नवौँ उपसचिव वा अधिकृत एघारौँ सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने पदका लागि सम्बन्धित सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको र संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय सेवा वा अन्य कुनै सरकारी सेवा वा संगठित संस्था वा अन्तराष्ट्रिय अन्तर सरकारी संस्थाको अधिकृतस्तरको पदमा राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव पदको लागि कम्तिमा ७ वर्ष र राजपत्रांकित प्रथम श्रेणीको पदका लागि १० वर्षको अनुभव प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन सक्ने प्रस्ताव मन्त्रालयको थियो ।

    अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन, २०४९ मा भने सरकारी तथा गैर सरकारी निकायमा अधिकृत स्तरमा उपसचिवमा लागि ५ वर्ष र सहसचिवमा लागि ७ वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

    प्रतिनिधि सभाले नायव सुब्बामा पनि खुला प्रतिस्पर्धा बन्द गर्नेगरी विधेयक पारित गरेको थियो । तर, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सबैजसो सदस्य र संशोधनकर्ता सांसद नायव सुब्बामा पनि खुला प्रतिपस्पर्धा राख्नुपर्ने पक्षमा जोड दिँदै आएका छन् । यद्यपी बुधबारको बैठकमा भने नायव सुब्बामा खुला राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय हुन सकेन ।

  • संवैधानिक इजलास गठन- प्रधान न्यायाधीश संविधानको लयमा फर्किए, वरिष्ठ न्यायाधीशसँग तर्किए

    संवैधानिक इजलास गठन- प्रधान न्यायाधीश संविधानको लयमा फर्किए, वरिष्ठ न्यायाधीशसँग तर्किए

    काठमाडौं । संवैधानिक इजलासमा आफू अनुकूल फैसला नभएपछि प्रतिशोधमा उत्रिएका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत अन्ततः करिब ३ महिनापछि संविधानबमोजिम इजलास गठन गर्न बाध्य भएका छन् ।

    संविधानको धारा १३७ विपरीत संवैधानिक इजलास पनि गोला प्रक्रियाबाट चयन गर्ने उनको प्रयासमा वरिष्ठतमसहित बहुमत न्यायाधीश असहमत भएपछि लामो समय इजलास नै बस्न सकेको थिएन ।

    बुधवार राउतले संविधान बमोजिम न्याय परिषदको रोष्टरभित्रबाट इजलास गठन गरका छन्, तर उनले वरिष्ठ न्यायाधीशहरूबाट संवैधानिक इजलास गठन गर्ने प्रचलन भने तोडेका छन् ।

    बुधबार गठित इजलासमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लपछिका बरिष्ठ न्यायाधीशहरूलाई राखिएको छैन । सपनापछिको वरीयतामा क्रमशः रहेका कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र कुमार चुँडाललाई राउतले संवैधानिक इजलासमा राखेका छैनन् ।

    उनले अन्तिमबाट क्रमशः नहकुल सुवेदी, तीलप्रसाद श्रेष्ठ र विनोद शर्मालाई इजलासमा राखेका छन् । तीलप्रसाद र विनोद शर्मा संवैधानिक इजलास गोला प्रक्रियाबाट गठन गर्नुपर्छ भन्ने पक्षमा उनलाई साथ दिएका न्यायाधीश हुन् ।

    सपना प्रधान मल्ल र नहकुल सुवेदी संविधान बमोजिम न्याय परिषदले सिफारिस गरेको वरिष्ठताभित्रका न्यायीशबाट गठन हुनुपर्ने पक्षमा थिए । आज गठन गरेको संवैधानिक इजलासमा प्रधान न्यायाधीश राउतले आफू बहुमतमा रहेको सन्देश दिन खोजेका छन् ।

    यो पनि हेर्नुहोस्-

    संवैधानिक इजलासमाथि प्रधान न्यायाधीशको प्रतिशोध, सर्वोच्चका न्यायाधीशको कित्ताकाट

    राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसारका न्यायाधीश नभई आफैंले छानेकालाई राख्नेगरी गतिरोध अन्त्य गरेका हुन् । राउतले बुधबार संवैधानिक तथा कानून पत्रकार मन्चका पदाधिकारीहरुसँग कुरा गर्दै संविधानले आफूलाई दिएको अधिकार प्रयोग गरेको बताए ।

    यसअघि चोलेन्द्र शम्सेर जबराका पालामा राउतसहितका हड्ताली न्यायाधीशहरूकै अडानपछि वरिष्ठताको आधारमा न्यायाधीश तोकेर संवैधानिक इजलास गठन गर्ने प्रक्रिया थालिएको थियो । अहिले आएर राउत आफैंले हड्तालबाट स्थापित गरेको परम्परा तोडेर आफैंले न्यायाधीश छान्ने प्रक्रिया अघि बढाएका हुन् ।

    पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले आफूखुसी अन्य न्यायाधीशहरू तोक्ने अडान राखेको र त्यसो नभए गोला प्रक्रिया गर्नुपर्ने भनेर इजलास गठन अवरुद्ध गरेका थिए । गत असार १९ को ५२ संवैधानिक नियुक्तिको मुद्दामा आफू अल्पमतमा परेपछि राउत संवैधानिक इजलासमाथि नै प्रतिशोधमा उत्रिएका थिए ।

  • पूर्व मुख्यसचिव अर्यालसहितलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

    पूर्व मुख्यसचिव अर्यालसहितलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

    काठमाडौं । अन्त शुल्क स्टिकर छपाई खरिद प्रक्रियाको भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालसहितलाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध अख्तियार सर्वोच्च पुगेको छ ।

    अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले केही प्रतिवादीलाई आंशिक ठहर साथै केहीलाई सफाइ दिइएको भन्दै आज पुनरावेदन गरेको जनाएको छ ।

    अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    जनही ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको थियो । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो ।

    महँगोमा अन्तःशुल्क स्टिकर छापेको भन्दै मुख्यसचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तःशुल्क स्टिकर महँगोमा छापेको अख्तियारको निष्कर्ष छ ।

    विशेषले यो मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठलाई मात्र दोषी ठहराएको थियो ।

  • स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका सर्वोत्कृष्ट

    स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका सर्वोत्कृष्ट

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । देशभरका ७५३ स्थानीय तहमध्ये धादिङको नीलकण्ठ नगरपालिका ९३.५० अंक प्राप्त गरी सर्वोत्कृष्ट भएको हो ।

    नीलकण्ठ नगरपालिकाको प्रमुख भीमप्रसाद ढुंगाना रहेका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । ढुंगाना नगरपालिका संघका अध्यक्ष समेत हुन् । यस्तै उपप्रमुख दिपक विश्वकर्मा छन् । उनी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुन् ।

    मन्त्रालयले शुक्रबार नतिजा सार्वजनिक गर्दै उत्कृष्ट पालिकालाई सम्मान समेत गरेको छ ।

    शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उत्कृष्ट नतिजा ल्याउने पालिकालाई सम्मान गरेकी हुन् ।

    कार्यक्रममा नगरपालिकातर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्रमशः धादिङको नीलकण्ठ नगरपालिका, चितवनको खैरहनी नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई सम्मान गरिएको थियो । खैरहनी नगरपालिकाको प्रमुख शशीकुमार खनिया छन् । उनी पनि नेपाली कांग्रेसबाटै निर्वाचित हुन् । उपप्रमुख भने कविता उप्रेती छन् । उनी नेकपा (एमाले)बाट निर्वाचित हुन् ।

    त्यसैगरी, गाउँपालिकातर्फ धादिङकै बेनीघाट रोराङ गाउँपालिका प्रथम, गुल्मीको रुरुक्षेत्र गाउँपालिका द्वितीय र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तृतीय भएका छन् । स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धि र शासकीय पद्धतिको लेखाजोखा गरी सुधारका क्षेत्र पहिचान गर्ने र स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले मन्त्रालयले हरेक वर्ष यो मूल्यांकन गर्दै आएको छ । बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष कृष्णबहादुर थपलिया छन् । उनी माआवादी केन्द्रबाट निर्वाचित हुन् । गाउँपालिकाको उपाध्यक्ष टापबहादुर श्रेष्ठ छन् । उनी नेकपा (एकीकृत समाजवादी) निर्वाचित जनप्रतिनिधि हुन् ।

    कार्यक्रममा मन्त्री न्यौपनेले गुणस्तर परीक्षणपछिको नतिजामा उत्कृष्ट हुने पालिकालाई बधाई दिँदै सुशासनको अभ्यासलाई थप उचाइमा पुर्याउन आग्रह गरिन् । त्यसै अवसरमा मन्त्रालयले नयाँ ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (एलजीपीएएस)’ को समेत शुभारम्भ गरेको छ । यो नयाँ प्रणालीले स्थानीय तहको कार्यसम्पादनलाई थप प्रभावकारी र नतिजामुखी बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।

    मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सर्वोत्कृष्ट २ मा नगरपालिका नै परेका छन् । तेस्रो नम्बरमा आएर गाउँपालिका पर्न सफल भएको छ । तेस्रो नम्बरमा बेनीघाट रोराङ गाउँपालिका, धादिङ परेको छ । जुन गाउँपालिकामध्ये सबैभन्दा उत्कृष्ट स्थानीय तह बनेको छ ।

    उत्कृष्ट १० मा ७ नगरपालिका र ३ गाउँपालिका, महानगरपालिका र उपमहानगरपालिका अटाएनन

    यस वर्षको मूल्यांकनमा ९० भन्दा बढी अंक ल्याउने स्थानीय तहको संख्या ५ रहेको छ । उत्कृष्ट १० स्थानीय तहमा ७ वटा नगरपालिका पर्न सफल भएका छन् भने बाँकी ३ वटा गाउँपालिका परेका छन् ।

    समग्रमा उत्कृष्ट १० भित्र पर्न सफल स्थानीय तह

    १. नीलकण्ठ नगरपालिका, धादिङ – ९३.५० अंक

    २. खैरहनी नगरपालिका, चितवन – ९२.७५ अंक

    ३.बेनीघाट रोराङ गाउँपालिका, धादिङ – ९१.७५ अंक

    ४. तिलोत्तमा नगरपालिका, रुपन्देही – ९१.२५ अंक

    ५. देवदह नगरपालिका, रुपन्देही – ९०.७५ अंक

    ६. सूर्योदय नगरपालिका, इलाम – ९०.५० अंक

    ७.रुरुक्षेत्र गाउँपालिका, गुल्मी – ९० अंक

    ८. बाणगंगा नगरपालिका, कपिलवस्तु – ८९.७५ अंक

    ९. रत्ननगर नगरपालिका, चितवन – ८९.०० अंक

    १०. अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा – ८८.७५ अंक

    महानगरपालिकामा ललितपुर सबैभन्दा उत्कृष्ट, काठमाडौं पाँचौँमा

    देशका ६ वटा महानगरपालिकमध्ये ललितपुर महानगरपालिकाले सबैभन्दा बढी अंक ल्याएर पहिलो स्थान हासिल गरेको छ । उच्च १० स्थानीय तहमा महानगरपालिका पर्न सकेन ।

    ललितपुर महानगरपालिकाः ८८.२५ अंक

    विराटनगर महानगरपालिकाः ८७.२५ अंक

    भरतपुर महानगरपालिकाः ८६.५० अंक

    पोखरा महानगरपालिकाः ८३.५० अंक

    काठमाडौँ महानगरपालिकाः ८१.७५ अंक

    वीरगञ्ज महानगरपालिकाः ६५.२५ अंक

    उपमहानगरपालिकामा बुटवल सबैभन्दा उत्कृष्ट, धरान आठौँ नम्बरमा

    ११ वटा उपमहानगरपालिकमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ८८.५० अंकसहित शीर्ष स्थान ओगटेको छ । उत्कृष्ठ १० स्थानीय तहमा उपमहानगरपालिका पर्न सकेनन् ।

    ११ उपमहानगरपालिकाको बरियता

    बुटवल उपमहानगरपालिकाः ८८.५० अंक

    घोराही उपमहानगरपालिकाः ८७.०० अंक

    हेटौडा उपमहानगरपालिकाः ८६.२५ अंक

    धनगढी उपमहानगरपालिकाः ८४.०० अंक

    नेपालगञ्ज उपमहानगरपालिकाः ८२.०० अंक

    इटहरी उपमहानगरपालिकाः ८०.०० अंक

    तुल्सीपुर उपमहानगरपालिकाः ७९.०० अंक

    धरान उपमहानगरपालिकाः ७७.५० अंक

    कलैया उपमहानगरपालिकाः ७६.५० अंक

    जीतपुर सिमरा उपमहानगरपालिकाः ६५.२५ अंक

    जनकपुर उपमहानगरपालिकाः ५०.२५ अंक

    मुलुककै सर्वोत्कृट नगरपालिका नै नगरपालिकाको पहिलो, दोस्रोमा खैरहनी

    मुलुककै सर्वोत्कृष्ट नगरपालिका नै नगरपालिकाको पनि पहिलो बन्न सफल भएको छ । दोस्रोमा भने चितवनको खैरहनी नगरपालिका बन्न सफल भएको छ ।

    उत्कृष्ट नतिजा ल्याउने शीर्ष १० मा पर्ने नगरपालिका

    १. नीलकण्ठ नगरपालिका, धादिङ – ९३.५० अंक

    २. खैरहनी नगरपालिका, चितवन – ९२.७५ अंक

    ३. तिलोत्तमा नगरपालिका, रुपन्देही – ९१.२५ अंक

    ४. देवदह नगरपालिका, रुपन्देही – ९०.७५ अंक

    ५. सूर्योदय नगरपालिका, इलाम – ९०.५० अंक

    ६. बाणगंगा नगरपालिका, कपिलवस्तु – ८९.७५ अंक

    ७. रत्ननगर नगरपालिका, चितवन – ८९.०० अंक

    ८. सिद्धार्थनगर नगरपालिका, रुपन्देही – ८८.५० अंक

    ९. सूर्यविनायक नगरपालिका, भक्तपुर – ८८.०० अंक

    १०. भिरकोट नगरपालिका, स्याङ्जा – ८८.०० अंक

    गाउँपालिकातर्फ माओवादीले नेतृत्व गरेको बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट

    ७५३ वटै स्थानीय तहको सर्वोत्कृष्ट पालिका धादिङको निलकण्ठ नगरपालिका बन्दा गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट अंक ल्याएर पहिलो स्थान हासिल गरेको छ । दोस्रोमा भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका बनेको छ । गाउँपालिकातर्फ सातौ स्थानदेखि १० औँ स्थानसम्मका ३ पालिकाले बराबर ८७ अंक प्राप्त गरेका छन् । जसमा मदाने गाउँपालिका गुल्मी, मालिका गाउँपालिका गुल्मी, रुपा गाउँपालिका कास्की र भिमसेन थापा गाउँपालिका गोरखा रहेका छन् ।

    यि हुन उत्कृष्ट १० गाउँपालिका

    १.बेनीघाट रोराङ गाउँपालिका, धादिङ – ९१.७५ अंक

    २.रुरुक्षेत्र गाउँपालिका, गुल्मी – ९० अंक

    ३. अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा – ८८.७५ अंक

    ४. जलजला गाउँपालिका, पर्वत – ८८.०० अंक

    ५. धुर्कोट गाउँपालिका, गुल्मी – ८७.५० अंक

    ६. सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता नेपाल) – ८७.२५ अंक

    ७. मदाने गाउँपालिका, गुल्मी – ८७.०० अंक

    ८. मालिका गाउँपालिका, गुल्मी – ८७.०० अंक

    ९. रुपा गाउँपालिका, कास्की – ८७.०० अंक

    १०. भिमसेन थापा गाउँपालिका, गोरखा – ८७.०० अंक

  • राष्ट्रियसभाका सांसद अतिरिक्त सचिव हटाउने पक्षमा एकमत, सभापतिका कारण निर्णय भएन

    राष्ट्रियसभाका सांसद अतिरिक्त सचिव हटाउने पक्षमा एकमत, सभापतिका कारण निर्णय भएन

    काठमाडौं । राष्ट्रिय सभामा सांसद संघीय निजामती सेवा विधेयकमा अतिरिक्त सचिव हटाउने पक्षमा एकमत भएका छन् ।

    राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलका क्रममा अतिरिक्त सचिवको व्यवस्था राख्न नहुने पक्षमा समितिका सदस्य र संशोधनकर्ता तयार भए पनि समितिले निर्णय गर्न सकेन ।

    दफावार छलफलका क्रममा सांसद झक्कुप्रसाद सुवेदीले अतिरिक्त सचिव जरुरी नभएको बताए । उनले यो यस अघि अभ्यासमा आइसकेको र सफल नभएको भन्दै राख्न नहुनेमा जोड दिए । उनले भने, ‘अतिरिक्त सचिव जरुरी छैन, यो हटाइदिऊँ । यस अघि अभ्यास भइसकेको विषय हो । त्यो असफल भएपछि हटाइएको हो । त्यसैले यो राख्न जरुरी छैन ।’

    लगत्तै सांसद कृष्णबहादुर रोकायले पनि सुवेदीकै भनाइमा जोड दिए । उनले भने, ‘अतिरिक्त सचिव यस अघि राखेर असफल भइसकेको विषय हो । अहिले किन आवश्यक भयो ? यदि मिल्छ भने एक पटक प्रयास गरिसकेको भएकाले सहमति हुन्छ भने हटाइदिँदा हुन्छ ।’

    पूर्वमन्त्री समेत रहेका सांसद डा. बेदुराम भुसालले प्रतिनिधि सभाबाट सहमति भएर आइसकेको भए पनि राष्ट्रिय सभाले हेरफेर गर्न सक्ने भएकाले हटाउन सकिनेमा जोड दिए । अर्का सांसद आनन्दप्रसाद ढुंगानाले पनि अतिरिक्त सचिव राख्न नहुनेमै जोड दिए । उनले भने, ‘न अतिरिक्त यस अघि पनि थियो, पछि हटाइएको हो । अहिले थप्न खोजिएको छ । प्रतिनिधि सभाले थपेको हो मन्त्रालयले ल्याएको होइन । राख्ने हो भने दुई सचिव र अतिरिक्त सचिव राख्ने हो भने के हुन्छ ? अतिरिक्त सचिवको काम के हो ? यसले सहसचिव घटाउनुपर्छ ।’

    बैठकमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाले संशोधन गरेर राखेको व्यवस्था राष्ट्रियसभाले आवश्यकता ठानेमा र सहमति भएमा हटाएर जान सकिनेमा जोड दिईन । उनले भनिन्, ‘अतिरिक्त सचिव राख्ने कि नराख्ने भन्ने दुई वटा धारणा आए । प्रतिनिधि सभाले संशोधन गर्‍यो, जे पठायो, त्यसलाई नै पारित गर्ने कि करेक्सन गर्ने भन्ने कुनै कानूनी व्यवस्था छैन । संशोधन गरेका विषय पनि हामीलाई लागेका सच्याउन सक्छौ ।’

    विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले राष्ट्रिय सभाले संशोधन गरेको विषय प्रतिनिधि सभाले स्वीकार नगर्न पनि सक्नेतर्फ सचेत गराइन् । सांसद बेदुराम भुसालले दोहोर्‍याएर अतिरिक्त सचिवको व्यवस्था हटाएर जानुपर्नेमा जोड दिए ।

    तर, समिति सभापति दाहालले भने, ‘पछि छलफल गर्नेगरी थाती राखिन् । समितिका सबै सदस्य तथा संशोधनकर्ता अतिरिक्त सचिव हटाउने पक्षमा एकमत भए पनि समितिका सभापतिले भने पछि छलफल गर्ने भन्दै मन्त्रालयले अन्तिम धारणा बनाएर अर्को बैठकमा आउन भन्दै अतिरिक्त सचिव राख्ने कि नराख्ने भन्ने विषय होल्डमा राखेर अघि बढिन् ।

  • सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई सम्मान गर्ने

    सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई सम्मान गर्ने

    काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।

    ‘गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०/८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

    गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मान गर्न लागिएको हो ।

    यस आधारमा मन्त्रालयले खैरहनी नगरपालिका चितवन, तिलोत्तमा नगरपालिका रुपन्देही, नीलकण्ठ नगरपालिका धादिङ, अर्जुनचौपारी गाउापालिका स्याङजा, बेनीघाट रोराङ गाउँपालिका धादिङ रु रुरुक्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गर्ने भएको हो ।

    राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।

  • घोडाघोडी नगरपालिकाले रद्द गर्‍यो २७ प्रअको नियुक्ति

    घोडाघोडी नगरपालिकाले रद्द गर्‍यो २७ प्रअको नियुक्ति

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले नियुक्त गरेका प्रधानाध्यापकहरूलाई फिर्ता बोलाएको छ। नगरपालिकाले स्थानीय शिक्षा ऐन जारी गरी प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरेको थियो, तर सो प्रक्रिया सङ्घीय शिक्षा नियमावलीसँग बाँझिएकाले उच्च अदालत दिपायलमा मुद्दा दायर भएको थियो।

    अदालतले नगरपालिकाले गरेको नियुक्ति प्रक्रिया कानुन विपरीत रहेको ठहर गर्दै बदर गर्ने आदेश जारी गरेको भए पनि पालिकाले सुरुवाती चरणमा आदेश कार्यान्वयन नगरेको थियो।

    अदालतको आदेश अवहेलना मुद्दा दर्ता भएपछि मात्र पालिकाले साउन २७ गते बसेको कार्यपालिकाको बैठकबाट आदेश कार्यान्वयन गर्ने निर्णय गर्दै प्रधानाध्यापकलाई फिर्ता बोलाएको हो।

    नगरपालिकाले साउन २८ गते पत्राचार गर्दै नियुक्त प्रधानाध्यापकलाई आफ्नो जिम्मेवारी पूर्ववत् विद्यालयमै जाने व्यवस्था मिलाएको छ। पत्रमा भनिएको छ– “प्रअ नियुक्तिका क्रममा पठाइएकामा सो नियुक्ति रद्द गरिएकाले तपाईँलाई पदाधिकार रहेकै विद्यालयमा काज फिर्ता गरिएको छ। आफू जिम्मा रहेको नगद जिन्सी मालसामान बरबुझारथ गरी रमाना लिई पूर्ववत् विद्यालयमा हाजिर हुन जानुहोस्।”

    सङ्घीय कानुनसँग बाझिएको प्रक्रिया

    शिक्षा नियमावली २०५९ को नियम ९३ अनुसार विद्यालयको प्रधानाध्यापक नियुक्तिको अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई रहेको छ। तर घोडाघोडी नगरपालिकाले आफ्नै शिक्षा नियमावली २०८० बनाएर खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको थियो।

    २०८१ साउन ४ गते नगरपालिकाले ५१ वटा विद्यालयका लागि दरखास्त आह्वान गरी भाद्र ५ र ६ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिएर २७ जना शिक्षकलाई प्रधानाध्यापकमा छनोट गरेको थियो। नगर प्रमुख खडकबहादुर रावतले उनीहरूलाई नियुक्तिपत्र समेत हस्तान्तरण गरेका थिए।

    तर, पालिकाको ऐन सङ्घीय कानुनसँग बाझिएको भन्दै पहलमानसिंह मेमोरियल आम्बासाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विपिनप्रसाद आचार्य उपाध्यायले भदौ १४ गते अदालतमा रिट दर्ता गरे । त्यसपछि अदालतले कारण देखाऊ आदेश, अन्तरिम आदेश हुँदै अन्ततः नियुक्ति प्रक्रिया खारेज गर्ने आदेश दिएको हो।

  • सरकारलाई सर्वोच्चको आदेश- सामाजिक सञ्जाल दर्ता अनिवार्य, डिजिटल कन्टेन्ट अनुगमन र नियमन गर्नू

    सरकारलाई सर्वोच्चको आदेश- सामाजिक सञ्जाल दर्ता अनिवार्य, डिजिटल कन्टेन्ट अनुगमन र नियमन गर्नू

    चितवन । सीधा कुरा डटकमले पहिलो पटक २०८१ साल वैशाखको १४ गते र त्यसपछि श्रृङ्खलाबद्ध प्रस्तुत गरेको डार्कफाइल नामको एउटा समाचारका विषयमा सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दामा अदालतले नेपाली सञ्चार माध्यमलाई कडा भाषामा आफ्नो संवैधानिक तथा कानूनी दायरा सम्झाएको छ ।

    ‘चारसय बढी अदालतका मुद्दा डिसमिस गराउने सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन’ शीर्षकमा प्रकाशित उक्त मुद्दाको आदेश २०८१ साल असोज १३ गते आएको थियो ।

    तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ जना न्यायाधीश सम्मिलित बृहत पूर्ण इजलासले उक्त फैसला गरेको थियो । सिधाकुरा डटकमको समाचारले अदालतको अवहेलना गर्ने गरि सामग्री प्रशारण गरेको भनी सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले हालेको अदालतको अवहेलना मुद्दामा सीधाकुरा डटकम प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नविन ढुंगाना र राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइएको थियो ।

    सर्वोच्चले पहिलो दृष्टिमै अदालतको फौजदारी अवहेलना गरेको ठहर गर्दै आगामी दिनमा नेपालका सञ्चार माध्यमले संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हकको उपभोग गर्दा सार्वजनिक शिष्टाचार नैतिकताको प्रतिकूल नहुने र अदालतको अवहेलना नहुने गरि गर्नुपर्नेमा संविधानले सीमा निर्धारण गरेको कुरा सम्झाएको हो ।

    सर्वोच्च अदालतले यस मुद्दामा ६ वटा प्रश्नको सवालमा आदेशमार्फत जवाफ तथा नेपाली सञ्चार माध्यमलाई जवाफदेही बनाउन पटक पटक संवैधानिक सीमा र कानूनी दायित्व र पूर्ण प्रेस स्वतन्त्रता संवैधानिक हक भएपनि सीमाविहीन अधिकार नभएको सम्झाएको छ ।

    अनलाइन र सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्नू

    सरकारले पटक-पटक सार्वजनिक आह्वान गरेको तर गर्न नसकेको कुरा नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल अनिवार्य दर्ताको विषयमा सर्वोच्चले नेपाल सरकारका नाममा आदेश दिएको छ ।

    पूर्णपाठले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गर्न सरकारका नाममा आदेश दिएको छ ।

    स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालनपूर्व अनिवार्य रुपमा साधिकार निकायमा दर्ता गरी त्यस्ता अनिच्छत सामग्रीको मूल्याङ्कन र अनुगमन गर्नेगरी डिजिटल मिडिया र सामाजिक सञ्जाललाई समेत जिम्मेवार तथा जबाफदेही बनाउन एवं आफ्नो वास्तविक परिचय लुकाई छद्म र काल्पनिक नामबाट सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्यसमेतलाई निरुत्साहित गर्न, कानूनको परिधिभित्र रहनेगरी नियमनकारी निकायबाट भरपर्दो अनुगमन गर्न र यस विषयमा आवश्यक अन्य व्यवस्था गर्न अविलम्ब उचित कानुनी प्रवन्ध गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउनू’, सर्वोच्चले भनेको छ ।

    त्यतिमात्रै होइन पछिल्लो समय विद्युतीय सामग्रीहरुले शुद्धतामा भन्दा तीव्रतामा ध्यान दिएको यस्ता प्रवृत्तिले नयाँ द्विविधा ल्याएकोले समाचारमा प्रकाशन पूर्व प्रमाणीकरण आवश्यक रहेको अदालतले सम्झाएको छ । प्रेस काउन्सिललाई पत्रकारलाई पेशाप्रति मार्यादित बनाउन तालिम प्रशिक्षण दिन समेत आदेशमा भनिएको छ ।

    मिडिया ट्रायलको व्याख्या

    नेपाली सञ्चार माध्यममा अनलाइन प्लेटफर्महरू बढ्दै जाँदा मिडिया ट्रायल बढ्दै गएको पनि सर्वोच्चको ठहर छ । उसले मिडिया ट्रायलको व्याख्या गरेको छ । अदालत र सञ्चार माध्यमको परिसीमन उल्लेख गर्दै सर्वोच्च अदालतले मिडिया ट्रायलको व्याख्या गरेको हो ।

    जसमा भनिएको छ, ‘अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने गरि सो विषयमा दृष्टिकोण, वा राय अभिव्यक्त गर्ने, कुनै व्यक्ति दोषी वा निर्दोष हो भनि टिप्पणी गर्ने, वा विचाराधीन त्यस्तो विषयमा सनसनीपूर्ण समाचार प्रकाशित गर्ने कार्य मिडिया ट्रायल हो । यस्तो कार्यले सार्बजनिक दबाब सिर्जना गरि अदालतबाट हुने न्याय सम्पादनको कार्यमा प्रभाव पार्न सक्दछ । मिडिया ट्रायल न्याय सम्पादनको अवरोध हो । स्वच्छ सुनुवाइको सिद्धान्तमा उलङ्घन गर्दछ । स्वच्छ सुनुवाइको मूल्या मान्यता विपरितको मिडिया ट्रायललाई कुनै पनि तर्कका आधारमा न्यायोचित ठहर गर्न सकिँदैन ।’

    मिडिया ट्रायललाई मुद्दा फैसला हुनुअघिका अदालतमा विचाराधीन मुद्दामा भन्ने आधारमा मात्रै यसअघि बुझ्ने गरिन्थ्यो । तर, यो आदेशले फैसला पछिका विषयमा गरिने चर्चा वा टिप्पणीमा पनि मिडिया ट्रायल मानिने र त्यसमा पनि अदालतको अवहेलना ठहर हुनसक्ने उल्लेख छ ।

    आदेशमा भनिएको छ- अन्तिम फैसलाका बारेमा झुट्टा, भ्रामक, मिथ्या अवाञ्छित, अनर्गल तथा नकारात्मक टिका टिप्पणी गरि आम जनसाधारणलाई न्यायापालिकाप्रति अविश्वास सिर्जना हुने गरि प्रकाशन प्रशारण वा अभिव्यक्त गर्ने जस्ता कार्य पनि मिडिया ट्रायलका समरुप हुन् । त्यस्तो अवस्थामा जदालतप्रति जनआस्था अक्षुण राख्न संविधान र कानूनले प्रदत्त गरेको अधिकार प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ ।

    अझ यसमा सार्वजनिक सञ्चार माध्यमप्रति कडा भएर सर्वोच्च अदालतले अदालतको अवहेलना गरियो तर अदालतले देखेन भनेर छुट नपाउने गरि फैसला ल्याएको छ । यो मुद्दाको आदेशले अदालतको अवहेलनामा कुनै पनि हदम्याद नलाग्ने नजिर बसाएको छ । जसमा स्क्याण्डलाइज्ड कोर्टको सन्दर्भ उल्लेख गरिएको छ ।

    कमन ल भएको देशमा न्यायाधीश र न्यायालयप्रति चलाउने हल्लामा अदालतको अबहेलनामा कारबाही हुन्छ । यसको उद्देश्य अदालतप्रति जनताको विश्वासलाई कमजोर पार्नबाट रोक्नु हो, आदेशमा भनिएको छ, – अदालतमा मुद्दा चलेको विषयमा अदालतप्रति अवहेलना चलाउने कार्य (स्क्याण्डलाइज्ड कोर्ट) को विषयमा मुद्दा फैसला भइसकेपछि पनि जहिलेपनि मुद्दा चलाउन सकिन्छ । अदालतको अवहेलना मुद्दा चल्दाका बखत मात्रै होइन यसका अन्तरवस्तु फैसला भएपछि रचनात्मक, प्राज्ञिक र स्वस्थ्थ टिप्पणी गर्ने कुरामा बाधा नपर्ने गरि आकर्षित हुन्छन् ।

    न्यायपालिकाको आत्मामा प्रहार नगर

    उक्त आदेशमा प्रेस जगतलाई पहिले हुने अदालतको अवहेलनाका मुद्दाका आदेशभन्दा कडा भाषा नै प्रयोग गरेर आफ्नो स्वभाव सम्झाएको छ । न्यायालयको स्वभाव बुझाउँदै आदेशले अदालत सहनशीलता, उदारता, सहिष्णुता, र आत्मसंयमता कायम राख्छ, राख्दै आएको उल्लेख गरेको छ ।

    फैसलामा भनिएको छ – यो अभ्यास परिवर्तन गर्ने इरादा छैन । अदालतले राखेको जस्तै आत्मसंयमता र सहनशीलता सञ्चारको माध्यमबाट पनि संवैधानिक सीमा उल्लंघन नहोस् भन्ने अपेक्षा राखेको हो । अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा संवैधानिक सीमा नाघ्नु हुँदैन ।

    अझ प्रेस वा सञ्चार माध्यमलाई सीमा सम्झाउँदै आदेशमा भनिएको छ, – प्रेस स्वतन्त्रताको अधिकार उपभोग गर्दा अदालतको अवहेलना गर्न नहुने कुरा कदापी बिर्सनु हुँदैन । विचार अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा संवैधानिक सीमालाई अनदेखा वा उपेक्षा गरिनु हुँदैन । अदालतको अवहेलना गरेर स्वेच्छाचारी तथा प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने उद्देश्यबाट प्रेरित हुनुहुँदैन ।

    आदेशमा पटक पटक सञ्चार माध्यमलाई अदालतको अवहेलनामा कारबाही गर्ने रुचिको विषय नभएको पनि जनाइएको छ । तर, न्यायापालिकाको आत्मामा प्रहार, दुर्भावनाका साथ कार्य गरिँदा न्यायपालिकाको आत्मालाई जीवन्त राख्न संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने अवस्था आउने भन्दै न्यायिक जनविश्वास आस्थामा उच्चतम खतराको सिद्धान्तको कसीमा रहेर कारबाही हुने उल्लेख गरिएको छ ।

    फैसलामा भनिएको छ–अदालत स्वभावैले सहनशील हुन्छ । प्रतिक्रियात्मक छैन, हुँदैन । हत्पति सञ्चार माध्यममा प्रवाह भएको अदलातको समाचारमा पछि लाग्दैन । लामो समयदेखि स्थापित मान्यताभन्दा बाहिर जाने उद्देश्य अभिप्राय छैन, अदालत सहनशील छ भन्दैमा आफनो सीमा बिर्सि, लक्ष्मणरेखा नाघी अदालतको अवहेलना हुने कार्य गर्न प्रेस स्वतन्त्रताको रक्षाकवच स्वीकार हुन सक्दैन । सञ्चारमाध्यमबाट गरिएको अवहेलनाजन्य कार्यमा चुप लागेर बस्नुपर्छ भन्ने होइन । अदालतको अवहेलनामा संवैधानिक र कानूनी व्यवस्था क्रियाशील रहन्छ ।

    संविधानको प्रस्तावनाले पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई सँगै राखेको अवस्थामा दुबैले एक अर्काको हक अधिकार प्रयोग गर्दा संवैधानिक दायित्व निर्वाह गर्दा एक अर्काको अधिकारमा हस्तक्षेप नगर्ने कर्तव्यलाई पनि हेक्का राख्नुपर्ने कुरा सम्झाउँदै सञ्चार र अदालतबीचको शक्ति सन्तुलनबाट नागरिक संरक्षण हुन पुग्दछ भनिएको छ । आदेशमा नागरिक अधिकारको संरक्षण र संवैधानिक दायित्व निर्वाह गर्ने कार्यमा एक अर्काको सहयोगी हुनुपर्ने कुरा पनि सम्झाइएको छ ।

    यस्तो छ आदेशको पूर्णपाठ-

  • बीपी प्रतिष्ठानले पाएको ‘काबिल’ उपकुलपति, पुरानो साख फर्काउने आश

    बीपी प्रतिष्ठानले पाएको ‘काबिल’ उपकुलपति, पुरानो साख फर्काउने आश

    विराटनगर । साउन ३० गते शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति (भीसी) को पदभार ग्रहण गर्ने बित्तिकै पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त उपकुलपति प्राध्यापक डा. विक्रम श्रेष्ठले भने, ‘लगानी नगरी बीपीको भिसी हुन सकिन्न भन्ने हल्ला सुनेको थिए । तर, खर्च नगरी नै नियुक्ति पाएँ ।’

    उनले सार्वजनिक कार्यक्रममा थपे, ‘मैले नेपाली कांग्रेसका सभापति (देउवा), भाउजू (आरजु राणा) र स्वास्थ्यमन्त्री समेतलाई सोधेको थिएँ । उहाँहरू सबैले ‘केही गर्नुपदैन’ भन्नु भयो । पैसा नबुझाई पनि उपकुलपति बन्न सम्भव हुँदो रहेछ । ‘

    बीपी प्रतिष्ठानको भीसीका लागि उनीसँगै प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रमेश कोइराला र प्रा.डा.रोहित यादवको नाम सर्च कमिटीले तय गरेको थियो ।

    सिफारिसमा परेका ४ जनामध्ये कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. श्रेष्ठलाई साउन २७ मा नियुक्त गरे । स्वास्थ्यमन्त्रीको संयोजकत्वमा रहने सर्च कमिटीले भीसी नियुक्त गर्दा तीनजनाको नाममात्र सिफारिस गर्ने प्रचलन थियो ।

    कमिटीका अन्य सदस्यमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए । सर्च कमिटीको सिफारिसमा नाम नपरेको सूचनापछि बीपी प्रतिष्ठानभित्रैबाट कर्मचारी र चिकित्सकहरूको दबाब दिएपछि भोलिपल्ट उनको नाम पनि समावेश गरेर सिफारिस पठाइएको थियो ।

    विगतको अभ्यासविपरीत श्रेष्ठको पनि नाम थपेर चारजना सिफारिस भएपछि सामाजिक सञ्जालमा क्रिया, प्रतिक्रिया र बहस चलिरहेको छ । आकांक्षीहरू डा. रामेश कोइराला, डा. रोहितकुमार यादवले पनि असन्तुष्टि पोखेका थिए ।

    अन्तर्वार्ता र प्रस्तुतीकरणको झन्झट किन गरेको ? भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका यादवले पछि त्यसलाई हटाउँदै डा. विक्रम श्रेष्ठलाई बधाई दिएका छन् ।

    उनले लेखेका छन्, ‘म छनोट नभए पनि, मैले दौडको पूर्ण आनन्द लिएँ- यो सिकाइले भरिएको यात्रा थियो । मैले हाम्रो देश, यसको राजनीतिक गतिशीलता र हाम्रो कर्मचारीतन्त्रको कामकारबाहीको बारेमा बहुमूल्य अन्तर्दृष्टि प्राप्त गरेँ । ‘

    राजनीतिक संरक्षणका कारण सक्षम व्यक्तिलाई पाखा लगाइएको साथै पैसाको चलखेल भएको सामाजिक सञ्जालमा आलोचना बढेपछि नवनियुक्त उपकुलपति श्रेष्ठले पदभार ग्रहण गर्दै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाको नाम लिँदै पैसा नबुझाएको प्रष्टीकरण नै दिनुपर्‍यो ।

    बीपी प्रतिष्ठानमा गत चैतमा डा. ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि करिब साढे चार महिनादेखि उपकुलपतिको पद रिक्त थियो । राजनीतिक नियुक्ति खान दर्जन बढीले कसरत गरेका थिए ।

    को हुन् श्रेष्ठ ?

    धरान घर भएका श्रेष्ठले त्रिभुवन शिक्षण अस्पतालबाट एमबीबीएस गरेका छन् । उनले एमएस अर्थोपेडिक्स पोस्ट ग्र्याजुएट मेडिकल इन्स्टिच्युट लाहोर, पाकिस्तानबाट गरेका हुन् । उनी धरान बजारको संस्थापक राणाकलाका सुब्बा रत्नप्रसादका नाति हुन् । अर्थात् धरानका रैथाने ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नहुँदै घोपा क्याम्प चिनेका श्रेष्ठले सन् २००१ मा सिनियर रेजिडेन्सीको पदमा नियुक्त भएर बीपी प्रतिष्ठानको हाड जोर्नी विभागमा जागिर सुरू गरे । सन् २०१२-२०१७ सम्म बीपीमा शिक्षाध्यक्ष (रेक्टर) भए । उनी दुई पटक बीपी प्रतिष्ठानको योजना, अनुगमन र मूल्याङ्कन कमिटीका संयोजक, हाड जोर्नी विभागको विभागीय प्रमुख, गुणस्तर नियन्त्रण संयोजक, कार्यकारिणी सदस्य, एकेडेमिक कमिटी सदस्य भएर काम गरेका छन् ।

    भवानी खापुङको पालामा श्रेष्ठलाई उपकुलपति बनाउने प्रयास भएको थियो । तर, उपकुलपतिको मुद्दा अदालतमा विचाराधीन भएकाले उनी हच्किए । कांग्रेस निकटका श्रेष्ठलाई नेकपा एसले समेत उपकुलपति बनाउने प्रयास गरेको थियो । उनी माओवादीको सरकार भएका बेला शिक्षाध्यक्ष नियुक्त भएका थिए ।

    नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग ऐभेंगले धरान र बीपी प्रतिष्ठान बुझेका व्यक्त उपकुलपति नियुक्त भएको बताए । उनले भने, ‘धरानेले रुचाएका व्यक्ति भीसी हुनु भएको छ । आशा छ भ्रष्टाचारको दलदलमा फसेको प्रतिष्ठान अब बाहिर निस्कन्छ ।’

    नेपाली कांग्रेस धरानका नगर सभापति श्याम पोखरेलले सुनाए, ‘हामीलाई बीपी सुधार्न धराने चाहिएको थियो । हामीले विक्रम श्रेष्ठ भिसी बनेको हेर्न चाहेका थियौं ।
    अरुपनि हुनुहुन्थ्यो । तर, धरानमा जन्मेको र बीपी बुझेको विक्रम जति अरू थिएन ।’

    भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) कै मोडल पछ्याउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ र नियमावली ५५ ले यो प्रतिष्ठानलाई बाँधेको छ ।

    कुनै समय दक्षिण एसियामै प्रतिष्ठित मानिएको बीपी प्रतिष्ठान पछिल्लो दशक भने कुशल नेतृत्वको अभावले जर्जर बन्दै गएको छ । पदाधिकारीहरूबीचको बेमेल, आर्थिक अनियमितता, मौलाइरहेको बेथिति, सेवाग्राहीहरूमा बढ्दो असन्तुष्टि, उपचारमा आवश्यक उपकरण तथा मेसिनको अभावले प्रतिष्ठानको प्रतिष्ठामा आँच आउनुमात्र नभई आर्थिकरूपमा धरासायी बनेको छ ।

    सुध्रिएला बीपी ?

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठको स्वागतमा शुक्रबार अन्य तीनैजना पदाधिकारी आएका थिए । उपकुलपतिको पदभार ग्रहणमा सरिक भएका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, रजिस्ट्रार प्रा. डा. सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले नयाँ नेतृत्वलाई सफल बनाउन साथ दिने र प्रतिष्ठानको पुरानै साख फर्कने आशा व्यक्त गरे ।

    यसअघि नियुक्त भएका भीसीको पदभार ग्रहणमा पदाधिकारीले नै अवरोध गर्दै आएका थिए । पदाधिकारीबीचकै विवादले यसअघिका तीनैजना उपकुलपतिको बहिर्गमन विवादास्पद बनेको थियो ।

    अघिल्ला उपकुलपतिहरूको अनेक काण्डले बदनाम भएको बीपीलाई सुधार्न चारै पदाधिकारीको समन्वय जरुरी रहेको शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्माले बताए ।

    उनले पदभार कार्यक्रममा भने, ‘बीपी प्रतिष्ठान फेरि पुरानो बाटोमा जान्छ । धरानबासी र हामी सबैको इच्छाअनुसार उन्नति गर्नेछ । यसमा हामी सबैको साथ सहयोग हुनेछ । दिनरात काम गरेर भए पनि प्रतिष्ठानलाई माथि उकास्ने छौँ ।’

    रजिस्टार प्रा. डा. सङ्ग्रौलाले बीपी प्रतिष्ठानले सफल र सक्षम नेतृत्व पाएको बताए । उनले प्रतिष्ठानलाई अघि बढाउन सधैँ साथ रहने प्रतिबद्धता जनाए ।

    उनले भने, ‘हामी सबै तपाईँ (उपकुलपति) को छहारीमा बसेर नियमपूर्वक काम गर्न चाहन्छौँ । प्रतिष्ठानलाई अघि बढाउने दिशामा हाम्रो सधैँ साथ रहने कुरा प्रतिबद्धता जनाउँछु ।

    प्रतिष्ठानमा बिरामीको उपचार सेवाबाट मात्रै दैनिक ५० लाख देखि ६० लाख रूपैयाँसम्म आम्दानी हुने गर्छ । यहाँ नेपालबाट मात्रै नभई भारत, भुटानबाट समेत बिरामी आउने गरेका छन् ।‍ प्रतिष्ठानको वार्षिक बजेट डेढदेखि दुई अर्ब रुपैयाँ हो ।

  • निजामती विधेयकमाथि राष्ट्रियसभाको संसदीय समितिमा छलफल सुरू, भदौ १७ भित्र पारितको सीमा

    निजामती विधेयकमाथि राष्ट्रियसभाको संसदीय समितिमा छलफल सुरू, भदौ १७ भित्र पारितको सीमा

    काठमाडौं । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि आजदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।

    सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ लगायत मन्त्रालयको टिम सहभागी छ ।

    प्रतिनिधिसभाबाट पारित भएको २ महिनाभित्र राष्ट्रिय सभाबाट समेत विधेयक पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था अनुसार संघीय निजामती विधेयक यही भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने छ ।

    सोमबार सैद्धान्तिक छलफल सकिएपछि अर्को बैठकबाट दफावार छलफल सुरु हुने विधायन व्यवस्थापन समितिले जनाएको छ ।

  • वाणिज्य विभागबाट ५ महिनामै लखेटिएका सहसचिव भन्छन्- मन्त्री, सचिवले सामान्य नैतिकता पनि देखाएनन् (भिडिओ)

    वाणिज्य विभागबाट ५ महिनामै लखेटिएका सहसचिव भन्छन्- मन्त्री, सचिवले सामान्य नैतिकता पनि देखाएनन् (भिडिओ)

    काठमाडौं । कर्मचारीतन्त्रमा कटु सत्य छ ‘आकर्षक ठाउँमा जान कि सोर्स चाहिन्छ कि पैसा, नत्र पाखा लगाइन्छ ।’ पछिल्लोपटक यही यथार्थको शिकार बनेका छन्, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहाल ।

    बजारको सिन्डिकेट र उपभोक्तामाथिको ठगीविरुद्ध निडरका साथ आक्रामक रूपमा उभिएका सहसचिव दाहाललाई सरकारले ५ महिनामै विभागबाट सरुवा गरिदिएको छ ।

    सामान्यतया कुनै पनि विभागीय प्रमुखको सरुवा कम्तीमा एक वर्ष नपुगी गरिँदैन । तर, दाहालको हकमा यो लागू भएन । बजार अनुगमनमा ‘सम्झौता’ नगरेकैले ‘इन्ट्रेस्ट ग्रुप’ को स्वार्थमा उनीमाथि अन्याय भएको टिप्पणी भइरहेको छ ।

    सिस्टम बसाउन खोज्दा ‘सिस्टम’ ले नै फाल्यो

    २०८१ सालको अन्त्यतिर वाणिज्य विभागको नेतृत्वमा आएका दाहालले सुरूदेखि नै आफ्नो ध्यान बजारको सबैभन्दा ठूलो समस्या- अनियन्त्रित र अपारदर्शी मूल्यमा केन्द्रित गरे । उनले उपभोक्ता संरक्षण ऐन, २०७५ ले अनिवार्य गरेको वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने अभियान चलाए ।

    ‘एमआरपी लगाउने कुरा मेरो व्यक्तिगत आइडिया होइन, यो त कानूनको कार्यान्वयनमात्रै हो । तर, कानून कार्यान्वयन गर्न खोज्दा यस्तो आँधीबेहरी आउँछ भन्ने मैले सोचेको थिइनँ’, उनी भन्छन् ।

    उनको मोबाइल फोन, सिमेन्ट, डन्डी, अटोमोबाइलका स्पेयर पार्ट्स, विद्युतीय सामग्री र कपडाजस्ता क्षेत्रको अनुगमनलाई पहिलो निशानामा पारे । यी क्षेत्रमा पहिलो पटक एमआरपी अनिवार्य गरियो । इतिहासमै पहिलो पटक सर्जिकल र मेडिकल उपकरणमा एमआरपी लागू भयो । यसले व्यापारीको मनपरी नाफाखोरीमा अंकूश लाग्ने संकेत देखियो । बिलबिजक जारी नगर्ने, अवैध रूपमा सामान भित्र्याउने र मूल्यमा मनपरी गर्ने त्रसित बने ।

    दाहालले खुद्रा पसलमा मात्रै नभई सिधै आयातकर्ता र उत्पादक (स्रोत) कहाँ अनुगमनको फरक शैली अपनाए ।

    ‘समस्याको जडसम्म नपुगी समाधान हुँदैन भन्ने मलाई थाहा थियो । जब मैले सिधै आयातकर्ता र उद्योगीलाई समात्न थालेँ, त्यसपछि मलाई हटाउने खेल सुरू भयो । सिमेन्ट र डन्डीको मूल्य निर्धारण गर्ने प्रयास गर्दा त २४ घण्टाभित्रै अर्को महानिर्देशक ल्याउने धम्कीसम्म आयो’, उनी दाबी गर्छन् ।

    विभागमा आएको छोटो समयमै उनले ३ करोड जति जरिबाना गराए ।

    ‘जरिबाना तिर्न व्यवसायी तयार छन्, तर सिस्टममा बस्न तयार छैनन् । ३ लाख जरिबाना गर्दा किन भनेर सोध्नुको सट्टा ‘ल, म तिर्न तयार छु’ भन्छन्’, दाहाल सुनाउँछन् ।

    शैक्षिक माफियादेखि ठूला व्यापारीसम्मको तारो

    दाहालको अर्को प्रहार निजी विद्यालयको शुल्कमाथिको मनपरीमा भयो । उनले उपभोक्ता संरक्षण ऐनले शिक्षालाई पनि ‘सेवा’ मानेको तर्क गर्दै निजी विद्यालयको शुल्क र अन्य शीर्षकमा लिइने रकमको अनुगमन थाले ।

    ‘कतिपय विद्यालयले गैरकानुनी रूपमा धरौटी लिएका रहेछन् । एक विद्यार्थीको त १ लाख १५ हजार रूपैयाँसम्म फिर्ता गरायौं । अभिभावकको गुनासो सुन्ने कोही थिएन । जब हामीले कारबाही थाल्यौं, उनीहरूले सुटुक्क पैसा फिर्ता गर्न थाले’, उनी भन्छन् ।

    काठमाडौं उपत्यकाका काठमाडौं महानगरपालिकासहित अधिकांश स्थानीय तहलाई पत्र लेखेर विद्यालयको शुल्क मापदण्डबारे उनले जानकारी मागे । अधिकांशले विवरण दिनै असहोग गरेका थिए ।

    ‘यो सबै इन्ट्रेस्ट ग्रुपको खेल हो । दाहाल ठोकुवा गर्छन् । जब तपाईं उनीहरूको दुनो सोझ्याउने बाटो बन्द गरिदिनुहुन्छ, तब उनीहरू तपाईंलाई नै सिध्याउन लाग्छन् ’, उनको अनुभव छ ।

    सहसचिव दाहालका लागि छोटो अवधिमै सरुवा भएको यो पहिलो भने होइन । यसअघि यातायात व्यवस्था विभागमा हुँदा उनले सिन्डिकेट र गोङ्गबु बसपार्कको अनियमितताविरुद्ध कदम चालेका थिए । उनी ७ महिनामै त्यहाँबाट हटाइए । वैदेशिक रोजगार विभागमा १४ महिना काम गर्दा म्यानपावर व्यवसायीको ठगीविरुद्ध कठोर बन्दा उनको सरुवा भयो ।

    उनी भन्छन्, ‘म जहाँ जान्छु, त्यहाँ कानूनभन्दा बाहिर गएर काम गर्दिनँ । जो बदमासी गर्छ, त्यसलाई छोड्दिनँ । तर, हाम्रो सिस्टममा राम्रो काम गर्नेलाई होइन, ‘एस म्यान’लाई मात्रै टिकाइन्छ ।’

    दाहालले थप्छन्, ‘अहिले त सरुवा हुन पैसा चाहिन्छ भन्ने अवस्था छ । निजामती सेवा ऐन १० वर्षदेखि बन्न सकेको छैन । कर्मचारी व्यक्तिगत स्वार्थमा यति लिप्त छन् कि उनीहरूले संस्थागत सुधारलाई नै बन्धक बनाएका छन् । मलाई सरुवा गर्नुअघि विभागीय मन्त्री, सचिवले एक पटक सोध्ने सामान्य नैतिकता पनि देखाएनन् ।’

    आफ्नो सरुवालाई दाहाल ‘लिबरेसन’ (मुक्ति) का रूपमा अर्थ्याए ।

    ‘यो कुर्सीमा बसेर निरीह हुनुभन्दा त बाहिर निस्किनु नै ठीक छ । मलाई आनन्द महसुस भइरहेको छ । अहिले उनको सरुवा समावेशी आयोगमा भएको छ, जुन कर्मचारीतन्त्रमा ‘थन्क्याउने’ ठाउँ मानिन्छ ।

    सायद, अब उनी त्यहीँबाट आफ्नो ३५ वर्षे सेवालाई बिट मार्दै अनिवार्य अवकाशमा घर जाने छन् ।

  • डेडिकेटेड बिजुली बक्यौता विवादः अख्तियारले १५ दिनभित्र मागेको विवरण २५ दिनमा पनि पठाएन प्राधिकरणले

    डेडिकेटेड बिजुली बक्यौता विवादः अख्तियारले १५ दिनभित्र मागेको विवरण २५ दिनमा पनि पठाएन प्राधिकरणले

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको करिब २४ अर्बभन्दा धेरै डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुलीसम्बन्धी विवरण अख्तियारले मागेको छ । १५ दिनको समय सीमा दिएर मागिएको उक्त विवरण प्राधिकरणले २५ दिन बित्दासम्म पठाएको छैन ।

    सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको यो विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारले प्राधिकरणका पछिल्ला केही निर्णयमाथि प्रश्न उठाउँदै सम्बन्धित सबै कागजात १५ दिनभित्र उपलब्ध गराउन पत्र काटेको थियो ।

    प्राधिकरणलाई अख्तियारलाई असार २९ मा काटेको पत्र साउन ४ गते पत्र दर्ता भयो । अख्तियारले पत्र दर्ता गरेको पनि आज २५ दिन भएको छ । प्राधिकरण स्रोतले भने अख्तियारले मागेको विवरण तयार भइसकेको र त्यसमा रुजु गर्ने काम भइरहेको बतायो ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अख्तियारले मागेको विवरण बुझाउन बाँकी रहेको नेपाल प्रेससँग बताए ।

    अख्तियारले प्राधिकरणको सञ्चालक समितिको मिति २०८२ वैशाख २१ को बैठकको उपस्थिति सहितको निर्णयको प्रति र प्रशासकीय पुनरावलोकन समितिले गरेका कामकारबाही तथा निर्णयहरूको प्रमाणित प्रतिलिपि माग गरेको थियो ।

    डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका ग्राहकहरूको बक्यौता रकम उठाउन माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दाहरु विचाराधीन रहेको अवस्थामा छ । अनियमित तरिकाले महसुल छुट दिने दुराशय राखेर विनियमावलीमा नयाँ व्यवस्था गरी भ्रष्टाचारजन्य कार्य गरेको व्यहोराको उजुरी परेको थियो ।

    लोडसेडिङको सामना गरिरहेको बेला प्राधिकरणले औद्योगिक तथा व्यापारिक ग्राहकहरूले उद्योगीलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत दिएको थियो । प्राधिकरणका अनुसार यस्तो बक्यौता र जरिबाना गरी करिब २४ अर्ब रूपैयाँभन्दा बढी रकम असुल गर्न बाँकी छ ।

  • एकैपटक ७२ सहसचिवको सरुवा, कसलाई कहाँ खटाइयो ?

    एकैपटक ७२ सहसचिवको सरुवा, कसलाई कहाँ खटाइयो ?

    काठमाडौं । सरकारले एकैपटक ७२ जना सहसचिवलाई काज, सरुवा एवं कामकाजमा खटाएको छ ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सहसचिवको खटनपटनसम्बन्धी निर्णय आज सार्वजनिक भएको हो ।

     

     

  • पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट, संसद विघटनको फैसलामा प्रमाणीकरण माग

    पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट, संसद विघटनको फैसलामा प्रमाणीकरण माग

    काठमाडौं । संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    कानून व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन् । रिटमा २०७७ फागुन ११ गते प्रतिनिधिसभाको विघटन बदर हुने आदेशको पूर्णपाठ निर्णय सुनाएको २१ दिनभित्र आउनुपर्नेमा हालसम्म नआएको उल्लेख छ ।

    न्यायाधीशले सेवा निवृत्त भएपछि पाँच वर्षसम्म पनि फैसला तयार नगर्नु अदालतप्रति अवहेलनाको विषय हो भन्दै उक्त रिट निवेदनमा भने अवहेलनाको निवेदन पेश गर्नु नपर्ने भनिएको छ । कानून व्यवसायी न्यौपानेले फैसलामा एक मत नभए आफ्नै राय र एक मत भए सामूहिक रायसहितको फैसला लेखी प्रमाणीकरण गर्नुपर्नेमा त्यसो नभएकोमा आपत्ति जनाएका छन् ।

    रिटमा जबराले ५ वर्ष वितिसक्दा पनि मिति २०७७ फागुन ११ को फैसला अन्तिम/आदेशमा सही नगरको भन्दै लेखिएको छ, ‘फैसलामा एकमत नभए आफ्नो राय र एकमत भए सामूहिक राय सहितको फैसला लेखी प्रमाणीकरण गर्नु पर्नेमा न्यायपालिकाप्रति पूर्वाग्रह राखि फैसला तयार नगरेको र सहीछाप प्रमाणिकरण समेत नगरी सर्वोच्च अदालत नियमावली २०७४ नियम ९१(१) ले निर्धारण गरेको पदिय दायित्व समेत पुरा नगरेको हुँदा न्यायपालिकाको आस्था र गरिमालाई कायम राख्न प्रधानन्यायधीश जस्तो गरिमामय पदाधिकारीले प्राप्त अख्तियारीको पालना नगरेको क्रियालाई जतिसक्दो छिटो पालन गराई न्यायपालिकाको जनआस्था र भरोसामा भएको गिरावटको अपुरणीय क्षतिलाई रोकी न्यायपालिकाप्रतिको जनआस्थालाई कायम राख्नका लागि अविलम्ब फैसला तयार तथा सहीछाप प्रमाणीकरण गर्नु गराउनु, फैसला तयार पार्ने तथा सहिछाप गर्ने कार्य नरोक्नु भनी विपक्षी चोलेन्द्र शम्शेर जवरा समेतका नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (१) बमोजिम अन्तरिम आदेश जारी गरिपाउँ । साथै, प्रस्तुत विषयबस्तुको गम्भिरतालाई मध्यनजर गरी अग्राधिकार दिलाई मुद्दाको सुनुवाई गरिपाउँ ।’

  • साढे २४ लाख घुस लिएको अभियोगमा भक्तपुर मालपोत हाकिमसहित २ जनाविरुद्ध मुद्दा दायर

    साढे २४ लाख घुस लिएको अभियोगमा भक्तपुर मालपोत हाकिमसहित २ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारीविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    चाँगुनारायण नगरपालिका मा रहेको १४ रोपनी ४ आना क्षेत्रफलको जग्गा मोही र लगत कट्टा गरी मोहीको नाममा प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि घुस मागिएको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

    अनुसन्धानको क्रममा अख्तियारको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको थियो । आचार्य र राउतको साथबाट मोबाइल सहित घुस बापत लिएको भनिएको २४ लाख ५० हजार समेत बरामद गरिएको हो ।

    सेवाग्राहीसँग मिलेमतोमा जग्गाको मोही बाँडफाँड तथा नामसारी प्रक्रियालाई सहजीकरण गर्ने बहानामा उक्त घुस रकम मागिएको पुष्टि भएको आयोगका प्रवक्ता एवम सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार टिकाराम राउतले उक्त रकम लिएको र त्यो कार्य कुमार आचार्यसँगको योजनाअनुसार भएको अनुसन्धानबाट खुल्न आएको हो ।

    दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ अनुसार कसुर कायम गरी २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ । त्यसैगरी, दफा ३ को उपदफा १ घ अनुसार कैद र बिगो बराबर जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरिएको हो ।

  • ललिता निवास प्रकरण- सूर्यनाथ प्रमुख दोषी भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दर्ता

    ललिता निवास प्रकरण- सूर्यनाथ प्रमुख दोषी भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दर्ता

    काठमाडौं । बालुवाटारको बहुचर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पार्ने कार्यमा संलग्न प्रमुख दोषी तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय रहेको भन्दै अनुसन्धानका लागि अख्तियारमै निवेदन दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन २७ गते दर्ता भएको उजुरीमा ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिको हो भनेर निर्णय गर्ने तत्कालीन अख्तियार प्रमुख उपाध्यायमाथि छानबिनको माग गरिएको हो ।

    तथ्य र प्रमाणहरूले जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणका प्रमुख दोषी मध्येका एक उपाध्याय रहेको भन्दै विभिन्न मितिका निर्णयहरू समेत पेश गरिएको छ ।

    यो समाचार पनि पढ्नुहोस्- ‘टीम सूर्यनाथ’ को त्यो निर्णय- ललिता निवास जग्गा व्यक्तिकै ठहरेपछि भएको थियो किनबेच (प्रमाणसहित)

    २०५९ मंसिर २६ गते अख्तियारकै उजुरी छानबिन महाशाखाले बालुवाटारको जग्गा व्यक्तिको नाममा गएकोबारे अनुसन्धान अघि बढाउन मनासिव भएको भन्दै फाइल अघि बढाएकोमा २०६० असार १८ गते उपाध्यायले प्रमुख आयुक्तको हैसियतले उजुरी नै तामेलीमा राख्ने निर्णय गरेको उजुरीमा उल्लेख छ ।

    उपाध्यायको निर्णयकै कारण जग्गा सरकारी होइन व्यक्तिको हो भनेर किनबेच गर्ने कानूनी आधार तयार गरिदिएकाले उनीमाथि कारवाही माग गरिएको छ ।

    विशेष अदालतले २०७६ माघ २२ मा सो जग्गा प्रकरणमा भ्रष्टाचार भएको ठहर गरिसकेकाले यसका योजनाकार शोभाकान्त ढकाललगायतले उपाध्यायलाई त्यसबेला पटकपटक भेटेको तथ्यका कारण उनी दोषी रहेको दाबी गरिएको छ ।

    उजुरीमा उपाध्यायलाई उन्मुक्ति दिएर किनबेचमा संलग्नलाई मात्र कारबाही गरिनु गलत हुने भन्दै उनीमाथि छानबिन गर्न माग गरिएको छ । उजुरी नयाँ बानेश्वरका हरिवहादुर कार्कीले दर्ता गराएका हुन् ।

  • रेडक्रसको आर्थिक दोहन छानबिन गर्न अख्तियारमा उजुरी दर्ता, नयाँ समितिलाई भार नबोकाउन आग्रह

    रेडक्रसको आर्थिक दोहन छानबिन गर्न अख्तियारमा उजुरी दर्ता, नयाँ समितिलाई भार नबोकाउन आग्रह

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा गैरकानूनी र आर्थिक दोहन गरिएको तत्कालीन समितिमाथि छानबिन थाल्न मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर गरिएको छ ।

    सरकारले हालसालै चन्द्रकला कार्की र डा. विशालकुमार भण्डारीको दुवै समानान्तर कमिटी विघटन गरी ९ सदस्यीय तदर्थ कमिटी बनाएको छ । विशाल नेतृत्वको कमिटी भने कार्यालय छिर्न पाएको थिएन । चन्द्रकलाको नेतृत्वका महामन्त्री भूपतिलाल श्रेष्ठको टीमले कामकारबाहीलाई लिएर छानबिनका लागि अख्तियार गुहारिएको हो ।

    सोमबार आयोगमा सी-००७८७३ मा दर्ता भएको उजुरीमा सरकार र आईएफआरसीले अनधिकृत ठहर्‍याएको कमिटीले गरेका कर्मचारीको अवकाश उमेर ६० बाट ५८ वर्षमा घटाउने, त्यसताकाका निर्णय, नियुक्ति, आर्थिक कारोबार र बाँकी पेश्की साथै भुक्तानी, मुद्दा लड्न नियुक्त गरिएका वकिललाई गरिएको भुक्तानीलगायतमा प्रश्न उठाइएको छ ।

    अख्तियारसमक्ष सम्पूर्ण अवैध आर्थिक भुक्तानी, पेश्की, तथा अन्यकार्य तत्काल रोक्न आदेश जारी गर्न, कार्यालय कब्जा गरी आर्थिक दोहन गर्नेहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्न, त्यसबेलाको आर्थिक कारोबारको विशेष लेखापरीक्षण गर्न माग गरिएको छ ।

    ३ महिनाभित्र विधान संशोधन गरी चुनाव गराउन म्याण्डेट दिइएको तदर्थ समितिलाई सरकारको कार्यादेशको सीमाभित्र रही काम गर्नुपर्ने भएकाले विघटनपूर्वको स्वघोषित समितिद्वारा कार्यालय कब्जा गरी गरिएका कुनै निर्णय वा कार्यको दायित्व वहन गर्न नहुने भन्दै उजुरीमा ती रकमहरू भुक्तानी गरिए ठूलो आर्थिक क्षति हुने भएकाले रोक्न आग्रह गरिएको छ ।