Category: खेल प्रेस

  • दाङमा ‘राष्ट्रिय लुम्बिनी रोड रेस’ प्रतियोगिता हुँदै

    दाङमा ‘राष्ट्रिय लुम्बिनी रोड रेस’ प्रतियोगिता हुँदै

    दाङ । घोराहीमा ‘राष्ट्रिय लुम्बिनी रोड रेस’ हुने भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद् को आयोजनामा १० किलोमिटर रोड रेस प्रतियोगिता सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।

    प्रतियोगिता यहीं असार १४ बिहान ७ बजे घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट सुरू हुने छ । प्रतियोगितामा राष्ट्रिय स्तरका महिला तथा पुरुष खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा भाग लिन असार १३ गतेसम्म नाम दर्ता गर्ने समय सीमा तोकिएको छ ।

    खेलकुदको विकाससँगै खेलाडी पहिचान गर्दै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य कैलाश रोकाले बताए ।

    लुम्बिनी रोड रेस प्रतियोगितामा प्रथम हुने पुरुष-महिला खेलाडीलाई जनही ५०–५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

    यसै गरी दोस्रो हुनेले जनही ३०–३० हजार, तेस्रो हुनेले जनही २०–२० हजार, चौथो हुनेले जनही १५–१५ हजार र पाँचौँ हुनेले जनही १०–१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

    प्रतियोगितामा सहभागी भएका पुरुष महिला खेलाडी मध्ये छैटौँ,सातौँ,आठौँ,नवौँ र दसौँ हुनेलाई पनि समान ५–५ हजार रुपैयाँ हौसला स्वरूप प्रदान गरिने छ ।

  • यू-१६ इस्ट जोन क्रिकेट : नेपालले जापानलाई ९ विकेट हरायो

    यू-१६ इस्ट जोन क्रिकेट : नेपालले जापानलाई ९ विकेट हरायो

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ ।

    टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।

    नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाए । शिवान्स बजगाईँले ३८ रन जोडे ।

  • लन्डनमा सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

    लन्डनमा सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

    काठमाडौँ । दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले जितेको छ ।

    वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

    लन्डनमा टस हारेर पहिला बलिङ गरेको ब्रिज ११ का लागि म्यानी गुरुङले २६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै दिवस गिरीले ३७ बलमा ६२ रन तथा कप्तान सन्दीप लामिछानेले २४ बलमा ५४ रन जोडेका थिए । बलिङतर्फ डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा २–२ विकेट लिए ।

    ब्रिज ११ ले दिएको ३०७ रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लबको लागि थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकिय पारी खेले । त्यस्तै लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए ।

    बलिङतर्फ ब्रिज ११ का सन्दीप लामिछानेले १ विकेट, मोसेसले २ विकेट तथा अमित, बिकाश र मार्क बर्टनले समान रूपमा १–१ विकेट लिए।

    खेलपछि कप तथा ट्रफी वितरण समारोहमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा खेल प्रतियोगिता गर्न पाएकामा सन्तुष्टि व्यक्त गरे ।

  • यू-१६ इस्ट जोन क्रिकेट : जापान ८० रनमा अलआउट, शुभमले लिए ५ विकेट

    यू-१६ इस्ट जोन क्रिकेट : जापान ८० रनमा अलआउट, शुभमले लिए ५ विकेट

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ८० रनमा रोकेको छ ।

    टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । अन्य ब्याटर क्रीजमा टिक्न सकेनन् ।

    जापानलाई सस्तोमा समेट्न नेपालका शुभम खनाल एक्लैले ५ विकेट लिए । १० ओभर बलिङ गरेका शुभमले १५ रन दिएर ५ विकेट झारे । अभय यादवले २, सुशील रावल र विपिन प्रसाद शर्माले १-१ विकेटको योगदान दिए ।

    आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

  • भगवती खड्काले जितिन् आरइडब्लु रेस्लिङको महिला सिंगल्सको उपाधि

    भगवती खड्काले जितिन् आरइडब्लु रेस्लिङको महिला सिंगल्सको उपाधि

    काठमाडौं । रेस्लर भगवती खड्का (युनिका) ले पाकिस्तानमा सम्पन्न आरइडब्लु रेस्लिङको महिला सिंगल्सको उपाधि हात पारेकी छन् ।

    कराँचीमा सम्पन्न प्रतियोगितामा उनले पाकिस्तानकी बेगिसालाई पराजित गरेकी हुन् ।

    २०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी भगवतीले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसंग प्रतिस्पर्धा गरेकी छन् ।

    भगवतीको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा पनि समावेश गरिएको छ ।

  • दर्शकको खडेरी परिरहेको बेला क्लब विश्वकपमा मैदानको गुणस्तरमाथि बेलिंघमको असन्तुष्टि

    दर्शकको खडेरी परिरहेको बेला क्लब विश्वकपमा मैदानको गुणस्तरमाथि बेलिंघमको असन्तुष्टि

    काठमाडौं । फिफा क्लब वर्ल्ड कप २०२५ अन्तर्गत इंग्ल्याण्डका युवास्टार जुड वेलिंघमले अमेरिकी फुटबल मैदानको गुणस्तरप्रति आलोचना गरेका छन् । उनले अमेरिकी फुटबल मैदानलाई ‘खेलका लागि अनुपयुक्त’ रहेको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘फुटबल मैदान अपेक्ष गरेभन्दा धेरै खराब छन् । बलको गति अनपेषित छ । यस्तो मैदानमा खेल्दा खेलाडीहरुमा चोटपटक लाग्ने जोखिम धेरै हुन्छ । यस्तो ठूलो प्रतियोगिता यस्ता मौदानमा गरिनु राम्रो होइन ।’

    फिफाको आयोजनामा हुने क्बलस्तरीय विश्वकै प्रतिष्ठित प्रतियोगिता यस वर्ष अमेरिकामा आयोजना भइरहेको छ । त्यहाँ अधिकांश खेलहरु अमेरिकी नेशनल फुटबल लिग (एनएफएल)का खेलहरु हुने मैदानमा खेलाइएको छ । रग्बी फुटबल खेलाइने मैदानमा कृतिम घाँस तथा हालसालै बिछ्याइएको टर्फ प्रयोग गरेर खेलहरु खेलाइने गरेको छ ।

    यस्तो ठाउँमा फुटबल खेल्दा खेलाडीहरु चिप्लिने, बललाई राम्रोसँग नियन्त्रण गर्न नसक्ने र घाइते हुने सम्भावना बढेर जाने विज्ञहरुले बताएका छन् ।

    बेलिंघमको टिप्पणीसँगै अन्य खेलाडी र प्रशिक्षकहरुले पनि मैदानको आलोचना गरेका छन् । कतिपय टोलीहरुले फिफामै गुनासो गर्दै मैदान सुधार्न आग्रह समेत गरिसकेका छन् ।

    खेलाडी र प्रशिक्षकले मैदानको आलोचना गरेपछि फिफाका प्रवक्ताले भनेका छन्, ‘हामी मैदानको गुणस्तरको निरन्तर मुल्यांकन गरिरहेका छौं । खेलाडीहरुको सुरक्षा र खेलको स्तर हाम्रो मुख्य प्राथमिकता हो ।’

    खेल विश्लेषकका अनुसार अमेरिकाको मैदानहरु फुटबलको तुलनामा एनएफएल र बेसबलका लागि केन्द्रित रहेका बनाइएका हुँदा समस्या देखिएका हुन् । ३२ टोली सहभागी फिफाको महत्वकांक्षी क्लब विश्वकपमा पुरस्कार राशी नै एक बिलियन अमेरिकी डलरको छ । उपाधि जित्ने क्लबले मात्रै एक सयदेखि एक सय २५ मिलियन डलरसम्म लैजानेछन् ।

    यो प्रतियोगितालाई विश्वव्यापी बनाउन फिफाले सम्पूर्ण शक्ति खर्चिए पनि दर्शकको नै खडेरी पर्दै आएको छ । दर्शकको खडेरीसँग जुधिरहेको वेला स्टार खेलाडीले मैदानको आलोचना गरिदिँदा फिफालाई गाह्रो भएको देखिन्छ ।

  • उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट फुटबल खेल्ने नेपाली टोलीको बिदाई (तस्बिरहरु)

    उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट फुटबल खेल्ने नेपाली टोलीको बिदाई (तस्बिरहरु)

    काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट फुटबल खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई बिदाई गरेको हो ।

    असार १५ गतेदेखि हुने उक्त छनोटमा नेपाल समूह ‘एफ’मा छ । उक्त समूहमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले पहिलो खेल असार १५ मा लाओससँग खेल्नेछ । दोस्रो खेल असार १८ गते श्रीलंका र तेस्रो खेल असार २१ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

    उक्त प्रतियोगिताका लागि एन्फाले अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । टोलीमा गोलकिपर कप्तान सुब्बासँगै अञ्जना रानामगर र उषा नाथ छन् ।

    त्यस्तै, डिफेन्डरमा अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।

    मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल छन् भने फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

  • एनपीएलका लागि चितवनले रिटेन गर्‍यो ६ खेलाडी

    एनपीएलका लागि चितवनले रिटेन गर्‍यो ६ खेलाडी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणका लागि चितवन राइनोजले ६ खेलाडी रिटेन गरेको छ ।

    चितवनले सामाजिक सञ्जालमार्फत कप्तान कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको हो ।

    रिटेन हुने खेलाडीहरुमा मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी छन् ।

  • साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा

    साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा

    काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन् ।

    च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ । उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन् ।

    नेपाली टोली

    लिला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

  • एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी

    एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी

    रुपन्देही ।
    रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका तीन खेलमा न्यु होराइजन क्रिकेट क्लब, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी भएका छन् ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा न्यु होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले २ विकेटको क्षतिमा १ सय ४० रन बनायो । जवाफी ब्याटिङ गरेको लुम्बिनी साझेदारीले ७ विकेटको क्षतिमा जम्मा ७० रन बनायो र हार व्यहोर्यो । होराइजनका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भए ।

    यस्तै, दोस्रो खेलमा टीम एभेन्जर्सले साई ग्लोबल एकेडेमीलाई ३८ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको टीम एभेन्जर्सले ६ विकेड गुमाएर ७८ रन बनायो । प्रतिउत्तरमा साई ग्लोबल ४० रन बनाउँदा अलआउट भयो । टीम एभेन्जर्सका शाहद अर्याल प्लेयर अफ द म्याच भए ।

    यस्तै, आजै भएको तेस्रो खेलमा एशियन बुद्धले बुटवल क्रिकेट क्लबलाई २४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको एशियन बुद्धले ६ विकेट गुमाएर १ सय १५ रन बनायो । जवाफमा बुटवलले २ विकेट गुमाएर ९१ रनमात्रै बनायो । खेलमा एशियन बुद्धका अभिशेष गौतम प्लेयर अफ द म्याच भए ।

    प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा संचालित प्रतियोगिता यही असार ९ गतेसम्म चल्लने छ । प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने छ ।

    आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ । यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

  • अर्को टी-२० विश्वकप खेल्ने १३ राष्ट्रको टुंगो, नेपालको खड्गो अक्टोबरमा

    अर्को टी-२० विश्वकप खेल्ने १३ राष्ट्रको टुंगो, नेपालको खड्गो अक्टोबरमा

    काठमाडौं । भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टी २० विश्वकपमा क्यानाडाले आफ्नो स्थान पक्का गरेको छ । आफ्नै घरेलु मैदानमा आयोजना भएको ‘अमेरिकाज क्वालिफायर्स’ बाट क्यानाडा विश्वकपमा छनोट भएको हो ।

    अघिल्लो टी २० विश्वकपको आयोजकका नाताले अमेरिका स्वतः छनोट भएपछि क्यानाडाको यात्रा सहज बनेको थियो । आज भएको म्याचमा क्यानाडाले बहामसलाई हराएर क्यानाडाले औपचारिकता पूरा गर्यो । बहमासलाई ५७ रनमा अलआउट गरेको क्यानाडाले ५.३ ओभेरमै लक्ष्य भेट्टाएको थियो ।

    सन् २०२६ को विश्व्कपमा २० वटा राष्ट्रहरु सहभागी हुँदैछन् । आयोजक भारत र श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, ईंग्ल्यान्ड, साउथ अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड न्यूजिल्यान्ड र पाकिस्तान विश्वकपमा स्थान बनाएका राष्ट्र हुन् ।

    क्यानाडासहित जम्मा १३ वटा राष्ट्रहरुले विश्वकप खेल्ने निधो भइसकेको भने ७ वटा राष्ट्रहरुको टुंगो लाग्न बाँकी छ । आगामी ५ देखि ११ जुलाइसम्म हुने यूरोप क्वालिफायरबाट दुई, १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने अफ्रिका क्वालिफायरबाट २ तथा १ देखि १७ अक्टोबरसम्म हुने एसिया–इएपी क्वालिफायरबाट ३ राष्ट्रहरुले टि २० विश्वकप खेल्नेछन् ।

    नेपाल पनि टी २० विश्वकप खेल्ने आकांक्षी राष्ट्र हो । नेपालले विश्वकपमा स्थान बनाउन अक्टोबर १ देखि १७ सम्म ओमानमा हुने एसिया–इएपी (पूर्वी एसिया प्यासिफिक) क्वालिफायरमा भिड्नुपर्नेछ । यदि यस प्रतियोगिताको टप ३ मा पर्न सफल भएको खण्डमा नेपालले छिमेकी देशहरुमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

    नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको टी २० विश्वकपमा भाग लिएको थियो । टि २० विश्वकप इतिहासमा यो नेपालको दोस्रो सहभागीता हो । ओमानमा हुने क्वालिफायरबाट नेपाल लगातार दोस्रोपटक विश्वकप खेल्ने दाउमा छ । नेपाल यसका लागि दावेदार टिम पनि हो । स्कटल्यान्ड भ्रमणमा हालै गरेको प्रदर्शनले नेपालको हौसला बुलन्द छ ।

    एसिया–इएपी क्वालिफायरमा नेपालसहित थप ८ वटा राष्ट्रहरु पपुवा न्यूगिनी, सामोआ, कुवेत, मलेसिया, जापान र यूएईले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र पीएनजी २०२४ को टी २० विश्वकप खेलेको नाताले यो क्वालिफायरमा सिधै प्रवेश गरेका हुन् ।

    कागजीरुपमा हेर्दा यस क्वालिफायरमा सबैभन्दा बलियो र विश्वकपमा पुग्न सक्ने दावेदार टिम नेपाल नै देखिन्छ । क्रिकेटमा केही भन्न सकिँदेन । नेपालपछि पीएनजी, यूएई र कुवेत बलिया टिम हुन् । यीमध्ये तीन टीम टप थ्रीमा पुगेर विश्वकपमा स्थान बनाउने आँकलन अहिले भइरहेको छ ।

    आउँदो टी २० विश्वकपमा पाँच क्षेत्र (एसिया, यूरोप, अफ्रिका, पूर्वी एसिया प्यासिफिकर र अफ्रिका) बाट निश्चित प्रतिनिधित्व हुनेछ । यसअघिका दुई संस्करणमा ग्लोबल क्वालिफायर खेलाइएको थियो । नयाँ व्यवस्थाले नेपालसहित पूर्वी एसिया क्षेत्रका राष्ट्रहरुलाई भने घाटा लाग्यो, किनकी यो क्षेत्रमा प्रतिस्पर्धा चर्को छ ।

  • आईसीसी कप लिग २ खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    आईसीसी कप लिग २ खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग २ खेलेर स्वदेश फर्किएको छ ।

    आइतबार अपरान्ह स्वदेश फर्किएको टोलीलाई त्रिभुवन बिमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डको एकदिवसीय सिरिजका ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो ।

    त्यस्तै, लिग टु अन्तर्गतको सिरिज पश्चात भएको टि ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भएको थियो । स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्यान्ड भ्रमण निकै राम्रो भएको प्रतिक्रिया दिए ।

    नेदरल्यान्ड्स र स्कटल्यान्डसंगको खेलपछि आत्मविश्वास बढेको भन्दै उनले आगामी खेलमा त्यसको सकारात्मक नजिता देखिने उल्लेख गरे ।

    विश्वकप छनोटको तयारीमा रहेको नेपालले सेप्टेम्बर २७, २८ र ३० तारिखमा वेस्ट इण्डिजसँग टि ट्वान्टी आई सिरिज खेल्ने तालिका छ भने नेपालले अक्टोबरको पहिलो साता ओमानमा टि ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने छ ।

     

  • नन्दन भन्छन्ः अन्तिम बल छक्का हुन्थ्यो होला, हात ठिक नहुँदा अलि पावर लगाउन सकिन (भिडिओ)

    नन्दन भन्छन्ः अन्तिम बल छक्का हुन्थ्यो होला, हात ठिक नहुँदा अलि पावर लगाउन सकिन (भिडिओ)

    काठमाडौं। अन्तिम बलमा चौका हानेर नेदरल्याण्ड्सविरुद्ध नेपाललाई सुपर ओभरमा पुर्‍याएका नन्दन यादवले आफूहरु अनलक्की हुँदा सुपर ओभरमा हार्नुपरेको बताएका छन् ।

    आइसीसी लिग–२ र टी–२०आई खेलेर स्वदेश फर्किएका त्रिभुवन विमानस्थलमा हात ठिक नहुँदा अन्तिम बलमा छक्का हानेर नेपाललाई जिताउन नसकेको बताए ।

    ‘सायद छक्का गएको भए जित्थ्यौं होला । मेरो हात त्यस्तो राम्रो थिएन । अलि पावर लगाउन सकिन त्यो बलमा । नत्र छक्का हुन्थ्यो होला,’ उनले भने ।

    उनले अन्तिम बलमा चौका प्रहार गर्दै खेललाई सुपर ओभरमा पुर्‍याएका थिए । उनले ४ अन्तिम ४ बलमा १२ रन प्रहार गरे । उक्त खेलमा तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्ड्स पराजित भएको थियो ।

    आफ्नो प्रदर्शनभन्दा पनि टिमलाई कसरी जिताउने भन्ने प्रेसर हुने नन्दनले सुनाए । उनले भने, ‘टिमलाई जिताउनुपर्ने प्रेसर थियो । आफ्नो प्रदर्शन कस्तो हुन्छ भन्दा पनि कसरी टिमलाई जिताउने भन्ने प्रेसरमा थिए ।’

    नेपालले लिग–२ अन्तर्गतको सिरिजमा ३ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । यस्तै टी–२०आई सिरिजमा दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो ।

  • स्कटल्यान्डबाट फर्कियो नेपाली टिम, के भन्छन् कप्तान पौडेल ? (भिडिओ)

    स्कटल्यान्डबाट फर्कियो नेपाली टिम, के भन्छन् कप्तान पौडेल ? (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्याण्ड सिरिजमा टिमको रुपमा एकदमै राम्रो क्रिकेट खेलेको बताएका छन् । आइसीसी लिग–२ र टी–२०आई खेलेर स्वदेश फर्किएका कप्तान रोहितले युकेमा गरेको तयारीले सिरिजको प्रर्दशनमा सहयोग पुगेको बताए ।

    ‘स्कटल्याण्ड कन्डिसन त्यति सजिलो थिएन । टिमको रुपमा एकदमै राम्रो क्रिकेट खेल्यौं,’ उनले भने, ‘जुन हिसाबले हाम्रो तयारी थियो १० दिनअघि युकेमा गएर । त्यसले पनि एकदमै सहयोग गर्‍याे । सबै खेलाडीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो ।’

    नयाँ प्रशिक्षक आएपछि वातावरण एकदमै पोजेटिभ भएको रोहितले सुनाए । उनले बलियो टोलीसँगको सिरिजमा ४ मध्ये ३ खेलमा जित निकाल्दा आगामी खेलका लागि कन्फिडेन्स बढेको बताए ।

    ‘त्यो कन्डिसनमा गएर ३ जित निकाल्नु सजिलो थिएन हाम्रो लागि । यो कन्फिडेन्स आएको छ टिममा । नेदरल्याण्ड्स र स्कटल्याण्ड टप टिम हुन् । उहाँहरुलाई हराउँदा ग्रुपलाई धेरै कन्फिडेन्स आउँछ । आउने खेल तथा सिरिजमा त्यसले सहयोग गर्छ,’ उनले भने ।

    नेपालले लिग–२ अन्तर्गतको सिरिजमा ३ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । यस्तै टी–२०आई सिरिजमा दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो ।

  • मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि भोजपुरमा ‘ट्रेल रेस’ सम्पन्न

    मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि भोजपुरमा ‘ट्रेल रेस’ सम्पन्न

    भोजपुर । मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम ट्रेल रेस’ सम्पन्न भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

    पर्यटकीयस्थल खोटाङ-भोजपुरको सिमाना चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको तावाभञ्याङ र पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्तीखर्क हुँदै चखेवासम्म २२ किलोमिटर दूरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

    प्रतियोगितामा समूहतर्फ सिलिचोङ प्रथम, टेम्के द्वितीय र मैयुङ तृतीय बनेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए ।

    उनका अनुसार पुरुष एकलतर्फ निर्धारित दूरी एक घण्टा ४६ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै विशाल राई प्रथम, एक घण्टा ४८ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै सरोज लिम्बू द्वितीय र दिपक राई तृतीय बनेका छन् ।

    महिला एकलतर्फ निर्धातिर दूरी दुई घण्टा २२ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै दिर्पा बस्नेत प्रथम, कृष्मा राई द्वितीय र जुलिन राई तृतीय भए भए ।

    समूहका विजेतालाई ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार दिइएको छ । एकलतर्फका प्रथम, द्वितीय र तृतीयले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद पाएका छन् ।

    पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको ५ लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

    पदमार्गको प्रचारप्रसारसँगै यहाँको पर्यटन प्रवर्द्धनसहित समग्र विकासका लागि जोड दिँदै आइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मुन्दुम पदमार्ग सङ्घीय सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकाले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य र समन्वय गरी यहाँको विकास र विस्तार गर्ने काम भइरहेको पनि बस्नेतले जानकारी दिए ।

  • एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक

    एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक

    काठमाडौं । मलेसियामा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले ६ विकेट र .१६.३ ओभर बाँकी छँदा भेट्टायो ।

    नेपाललाई लक्ष्यसम्म पुर्‍याउँदै ओपनर प्रसिद्ध जैसीले अद्र्धसतक बनाए । सुरूदेखि धैर्यपूर्ण ब्याटिङ गरेका उनले ९१ बलमा अद्र्धसतक पुरा गरेका थिए । उनी ५५ रनमा अविजित रहे ।

    नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर बाहिरिएका थिए । ९ रन बनाएर उनी मैदानबाट बाहिरिएपश्चात प्रसिद्धले तेस्रो नम्बरमा ब्याट्सम्यान रौनक श्रीवास्तवसँग बलियो साझेदारी गरे । आक्रामक ब्याटिङ गर्दै श्रीवास्तवले ४४ बलमा ४० रन जोडेका थिए । प्रसिद्ध र रौनकको साझेदारीले नै नेपाललाई जिततर्फ डोहोर्‍याएको थियो ।

    यसअघि पहिले बलिङ गर्दै नेपालले सिंगापुरलाई १३८ रनमा रोकेको थियो । नेपाली टीमका कप्तान विपीनप्रसाद शर्माले ४ विकेट लिएपछि सिंगापुर कमजोर स्कोरमा समेटिएको हो ।

    सिंगापुरका कप्तान रियान नाइकले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोड्दै टीमलाई अगाडि बढाएका थिए । ओपनर आहान भुथान्दमले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ३८ रन जोडेका थिए ।

    सिंगापुरले ६५ रन बनाउँदासम्म दुई विकेटमात्र गुमाएको थियो । तर, त्यसपछि नेपालका कप्तान शर्मा खेलमा हावी भए । उनले ३४ रनको खर्चमा ४ विकेट लिँदै सिंगापुरको ब्याटिङ धराशयी बनाएका थिए । सिंगापुरले थप ७० रन जोड्दा ८ विकेट गुमाएको थियो ।

    नेपालका लागि सचित भट्टले ६ ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका छन् । यस्तै अभय यादव र शुभम खनालले एक-एक विकेट बाँडे ।

  • क्यानडा अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट

    क्यानडा अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट

    काठमाडौं । क्यानडा अर्को वर्ष हुने आइसिसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । क्यानडाले अमेरिका क्षेत्रबाट सन् २०२६ मा भारत र श्रीलंकमा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाएको हो ।

    अमेरिका क्षेत्र छनोटमा लगातार पाँचौं जित निकाल्दै क्यानडा विश्वकपमा पुगेको हो । क्यानडाले अन्तिम खेलमा बहमासलाई ७ विकेटले पराजित गरेको थियो ।

    उक्त विश्वकपमा भारत र श्रीलंकासहित १३ देशले स्थान पुक्का गरेका छ । भारत र श्रीलंका आयोजकको रुपमा समावेश हुन् ।

    अन्य छनोट भएका टोलीहरूमा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्गल्याण्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, वेस्ट इन्डिज, आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान छन् ।

    त्यसका क्यानडा थपिएको हो । ७ टोलीको टुंगो लाग्न बाँकी छ । युरोप छनोट र अफ्रिका छनोटबाट समान दुईदुई र एसिया छनोटबाट ३ देश छनोट हुनेछन् । नेपालले एसिया क्षेत्र छनोट खेल्नेछ ।

  • शारीरिक सुगठन प्रतियोगिताः ग्रेस महर्जनलाई ‘मिस्टर महानगर’ उपाधि, जिते ५ लाख ७५ हजार

    शारीरिक सुगठन प्रतियोगिताः ग्रेस महर्जनलाई ‘मिस्टर महानगर’ उपाधि, जिते ५ लाख ७५ हजार

    काठमाडौं । ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ ले शनिबार राष्ट्रियसभा गृहमा आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको उपाधि उनले जितेका हुन् ।

    ओभरअल विजेता भएपछि ‘मिस्टर महानगर’ को उपाधिसहित ट्रफी, मेडल, प्रमाण पत्र र नगद ५ लाख ७५ हजार रूपैयाँ (क्याटागोरी विजेताका रूपमा ७५ हजार रुपैयाँ र ओभरअल विजेताका रुपमा ५ लाख रुपैयाँ) महर्जनले प्राप्त गरे । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए ।

    प्रतियोगितामा ६ तौल समूहमा ३८ जना खेलाडी प्रतिस्पर्धामा थिए । प्रतियोगिताको पहिलो दिन असार ६ गते तौल मापन गरिएको थियो ।

    ७५ के. जी. माथिको तौल समूहमा ६ जना खेलाडी थिए । यस समूहमा नेपाल व्यायाम मन्दिर, ज्याठाबाट भाग लिएका महर्जन क्याटागोरी विजेताका रूपमा अन्तिम प्रतिस्पर्धामा गए । ७५ केजीसम्म तौल समूहका ५ जना खेलाडीमा नेपाल व्यायाम मन्दिर ज्याठाका सुरेश मुनिकार, ७० केजीसम्म तौल समूहका ६ जना खेलाडीमा पावर फिजिकल फिटनेस, पेप्सीकोलाबाट सुसन श्रेष्ठ, ६५ केजीसम्म तौल समूहका ८ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका युवराज बस्नेत, ६० केजीसम्मको तौल समूह भएका ७ जना खेलाडीमा फिटनेस ग्यारेज, न्युरोडका सुमित गिरी र ५५ केजी सम्मको तौल समूहका ६ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका नेवबहादुर राना क्याटागोरी विजेता बनेका थिए ।

    प्रिजजिङ् चरणपछि भएको प्रतियोगितामा उत्कृष्ट ५ छनोट गरियो । क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रूपैयाँ नगद प्रदान गरिएको थियो । यस्तै चौथो स्थान हासिल गर्नेलाई १५ हजार नगद र पाँचौ स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

    त्यस अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु नै अमूल्य सम्पत्ति रहेको बताउँदै, निरोगी जीवन प्रवर्धनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे ।

    ‘आरोग्य जीवनका लागि सरकारदेखि समुदायसम्म सबैका आफ्नाआफ्नै भूमिका छन् । सबैले आफ्नाआफ्ना भूमिका निभाउनुपर्छ । नागरिकले स्वस्थ्य आचरण पालनामा ध्यान दिनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।

    महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले यसप्रकारका प्रतियोगिताले सहरी जनस्वास्थ्यमा सकारात्मक सन्देश प्रवाह हुने बताइन् ।

    आयोजक वडाका अध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘रोग लागेपछि उपचार गर्ने अस्पताल बनाउनुभन्दा रोग लाग्न नदिन खेल मैदान र व्यायामशाला बनाउन आवश्यक छ । यस्ता पूर्वाधार र संरचना बनाउने हो भने स्वास्थ्य क्षेत्रमा सरकारले गरिरहेको खर्च घट्छ ।’

    वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ च्याम्पियनसिप २०८२’ आयोजना गरेको हो । प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग थियो ।

  • एसीसी यू-१६ः घाइते भएर मैदानबाट बाहिरिए सुर्यान्सु कोइराला

    एसीसी यू-१६ः घाइते भएर मैदानबाट बाहिरिए सुर्यान्सु कोइराला

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप अन्तरगत पहिलो खेलमा नेपालका ओपनर सुर्यान्सु कोइराला घाइते भएका छन् । उनी ब्याटिङ गर्ने क्रममा मैदानमै ढलेका थिए ।

    सिंगापुरले पहिलो ब्याटिङ गर्दै नेपाललाई १३८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा नेपालका सुर्यान्सु कोइराला र प्रसिद्ध जैसीले नेपालको इनिङ सुरुवात गरे । तर सुर्यान्सु रिटायर्ड हर्ट भएपछि नेपाललाई झट्का लागेको छ ।

    दोस्रो ओभरको खेल चल्दा सुर्यान्सु घाइते भएका हुन् । १.२ ओभरमा बलरले नोबल फ्याकेका थिए । अघिल्लो ओभरमा लगातार दुई चौका हानेका सुर्यान्सुले ‘नो बल’ लाई छक्काका लागि लङ अनमा उडाउने प्रयास गरे । कनेक्ट पनि भयो, तर फिल्डरले बाउन्ड्री नजिक बल रोके । यता सुर्यान्सु भने सट हान्नासाथ मैदानमा ढल्न पुगेका थिए । उनको सम्भवतः सट हान्दा उनको हात सड्किएको थियो ।

    मेडिकल टिम आएर सुर्यान्सुलाई प्राथमिक उपचार गरे पनि उनी खेल्न सकेनन् । उनलाई मैदानबाहिर लगिएको छ । यो समाचार बनाउँदासम्म नेपालले ७ ओभरमा विनाविकेट क्षति ३६ रन बनाएर खेलिरहेको छ । सुर्यान्सु फेरि मैदानमा फर्किन सक्छन् वा सक्दैनन् भन्नबारे केही बताइएको छैन ।

  • एसीसी यू-१६ : कप्तान विपिन शर्माको घातक बलिङमा १३८ रनमा रोकियो सिंगापुर

    एसीसी यू-१६ : कप्तान विपिन शर्माको घातक बलिङमा १३८ रनमा रोकियो सिंगापुर

    काठमाडौ‌ं । सिंगापुरमा सुरु भएको एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले सिंगापुरलाई पहिलो इनिङमा १३८ रनमा रोकेको छ ।

    नेपाली यु १६ टिमका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिएपछि सिंगापुर कमजोर स्कोरमा समेटिएको हो ।

    सिंगापुरका कप्तान रियान नाइकले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोड्दै टिमलाई अगाडि बढाएका थिए । ओपनर आहान भुथान्दमले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ३८ रन जोडेका थिए ।

    सिंगापुरले ६५ रन बनाउँदासम्म दुई विकेट मात्र गुमाएको थियो । तर, त्यसपछि नेपालका कप्तान शर्मा खेलमा हाबी भए । उनले ३४ रनको खर्चमा ४ विकेट लिँदै सिंगापुरको ब्याटिङ धराशयी बनाएका थिए । सिंगापुरले थप ७० रन जोड्दा ८ विकेट गुमाएको थियो ।

    नेपालका लागि सचित भट्टले ६.१ ओभरमा १८ रन खर्चेर तीन विकेट लिएका छन् । यस्तै अभय यादव र शुभम खनालले एक–एक विकेट बाँडे ।

  • एसिसी पुरुष यु-१६ः नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै

    एसिसी पुरुष यु-१६ः नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै

    काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

    मलेसियाको युकेएम ओभलमा भएको टसमा सिङ्गापुरले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्दैछ । एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिकाअनुसार उक्त प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।

  • एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

    एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

    काठमाडौं । मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो ।

    नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै छ । मलेसियाको युकेएम ओभलमा उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले केही दिन अघि शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो ।

    नेपाली टोलीको उपकप्तानमा सुर्याशुं कोइराला तथा अन्य खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द रहेका छन् ।

    प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो ।

    नेपालले दोस्रो खेलमा मङ्गलबार जापानसँग, तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा समूह चरणको अन्तिम खेल असार १७ गते भुटानसँग खेल्ने छ । दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

  • एसीसी यू-१६ इस्ट जोन कप आइतबारदेखि, नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने

    एसीसी यू-१६ इस्ट जोन कप आइतबारदेखि, नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । जुलाई ५ सम्म चल्ने प्रतियोगितामा नेपालसहित १० देशले सहभागिता जनाएका छन् ।

    प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपाल र सिंगापुरबीच हुनेछ । उक्त खेल वाईएसडी यूकेएम ओभल बांगीमा नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ । उक्त प्रतियोगितामा नेपालको कप्तानी विपीनकुमार शर्माले गर्नेछन् ।

    प्रतियोगितामा सहभागी १० देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । दुवै समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

    नेपाली यू-१६ टोली

    विपीनप्रसाद शर्मा (कप्तान), सूर्यांशु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेटकिपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जयशी, जय थापा र रोशन शाही ।

  • भैरहवामा टी-१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टीम रेस्पोन्स विजयी

    भैरहवामा टी-१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टीम रेस्पोन्स विजयी

    रुपन्देही । रुपन्देहीको भैरहवामा शनिबार टी-१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा एसियन बुद्ध टी-१० क्रिकेट सुरु भएको हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ ।

    टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेट गुमाएर १०५ रनको बलियो योगफल बनायो । प्रोफेसनलका भुवन गैरेले ३६, सुरज खड्काले अविजित १६ र मेहफोज आलमले १२ रन बनाए ।

    मायादेवीका निरज मौर्य, अर्जुन करौस र आरिफ खानले समान २-२ विकेट लिए । जवाफी ब्याटिङ गरेको मायादेवीले निर्धारित खेलमा जम्मा ४४ रनमात्रै बनायो ।

    उसलाई सस्तैमा रोक्न प्रोफेसनलका जयप्रताप यादवले २ तथा करण केवट, अख्तर हुसेन र सुरज खड्काले समान १-१ विकेट लिए । मायादेवीका ननदलाल यादवले अविजित २६ र निरज मौर्यले १४ रन बनाए । प्रोफेसनलका जयप्रताप यादव प्लेयर अफ द म्याच बने ।

    यस्तै दोस्रो खेलमा टीम रेस्पोन्स लुम्बिनीले मर्निङ क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको टीम रेस्पोन्सले ६ विकेट गुमाएर ८९ रन बनायो । उसका लागि जावेद खानले ७३ रनको योगदान गरे । बलिङमा मर्निङ क्रिकेट क्लबका प्रवेज अन्सारीले ३, सिजन मकाजुले २ र आकाश थापाले १ विकेट लिए ।

    जवाफमा मर्निङ क्रिकेट क्लबले ४ विकेट गुमाएर ८६ रनमात्रै जोड्यो । उसका लागि अनिल जैसवारले ३० र दामोदर शर्माले २० रन बनाए । बलिङमा टीम रेस्पोन्सका फरहाद खानले २ विकेट लिए । खेलमा टीम रेस्पोन्स लुम्बिनीका जावेद खान प्लेयर अफ द म्याच भए ।

    असार ९ गतेसम्म हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी छन् । प्रतियोगिताको विजयी टीमले ८० हजार नगद र उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    यस्तै सेमिफाइनल पुग्ने दुइटा टीमलाई नगद १०-१० हजार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८-८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २०० रुपैयाँ प्रदान गरिनेछ ।

    यस्तै उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५०० तथा दर्शक दीर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई ५०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

  • एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी

    एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गरेको छ ।

    सुदूरपश्चिमले सामाजिक संजालमार्फत कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । रिटेन हुने खेलाडीमा ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद छन् ।

    अघिल्लो संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो ।अर्जुन कुमाल, नरेश बुढाऐर, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई भने सुदूरपश्चिमले रिलिज गरेको छ ।

  • ब्याडमिन्टन ट्यालेन्ट हन्ट हुँदै: देशभरका विद्यालयबाट प्रतिभा खोजी

    ब्याडमिन्टन ट्यालेन्ट हन्ट हुँदै: देशभरका विद्यालयबाट प्रतिभा खोजी

    काठमाडौं । ब्याडमिन्टन ट्यालेन्ट हन्टको दोस्रो संस्करण यस वर्ष समेत सञ्चालन हुने भएको छ ।

    नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ब्याडमिन्टन संघको आयोजनामा असारको दोस्रो साता काठमाडौंमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालन हुने कार्यक्रम असार १० देखि १२ गतेसम्म काठमाडौंमा हुनेछ । कार्यक्रमका लागि असार ७ गते देखि देशैभरका विद्यालयबाट खेलाडीहरु छनोट गरिनेछ ।

    छनोटबाट आएका खेलाडीलाई समावेश गरेर असार १० देखि १२ गतेसम्म काठमाडौंमा वरियता प्राप्त खेलाडी समेत सहभागी हुने ट्यालेन्ट हन्ट प्रतियोगितामा सहभागी गराईने र सहभागी मध्य उत्कृस्ट १ केटा र १ केटि लाई हन्टेट ट्यालेटको रुपमा घोषणा गर्ने आयोजक संस्थाका महासचिब बेनुप खत्रीले जानकारी दिए ।

    ब्वाईज र गल्स दुई विधामा सञ्चालन हुने कार्यक्रममा यू–१३, यू–१५ र यू–१७ स्पर्धालाई समावेश गरिएको छ । प्रत्येक खेलाडिले अधिकतम २ ईभेन्टसमा मात्र सहभागि हुन पाउने छन्। प्रत्येक ईभेन्टसमा विजेताले १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र , दोस्रोले १० हजार , मेडल, प्रमाणपत्र र तेस्रोले ५ हजार रुपैयाँ , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । ईच्छुक खेलाडीले प्रत्यक ईभेन्टसमा ५ सय शुल्क तिरेर नाम दर्ता गर्न सक्नेछन् ।

    अध्यक्ष तिलक पाण्डेले भने ‘यो कार्यक्रम केवल प्रतियोगिता होइन—यो हो भविष्यका च्याम्पियनहरूलाई चिनाउने र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उडान भर्न प्रेरित गर्ने यात्रा। । नयाँ प्रतिभा खोज्ने अवसर दिने उद्धेश्यले ट्यालेन्ट हन्टको दोस्रो सिजन सुरु गरिएको छ।

  • स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि, रनरेटले पछि पर्‍यो नेपाल

    स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि, रनरेटले पछि पर्‍यो नेपाल

    काठमाडौं । नेपाललाई हराउँदै स्कटल्याण्डले घरेलु मैदानमा जारी त्रिदेशीय टी–२०आई सिरिजको उपाधि जितेको छ ।

    लिग चरण अन्तिम खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्याण्डले उपाधि रक्षा गरेको हो । नेपाल र नेदरल्यान्डससँग समान ४ अंक भएको स्कटल्याण्डले रनरेटमा पछि पार्दै उपाधि जितेको हो ।

    स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा १५९ रनमा समेटियो । नेपालका रुपेश सिंहले सर्वाधिक ४३ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

    दीपेन्द्रसिंह ऐरी ३४, कप्तान रोहित पौडेल २७, ओपनर कुशल भुर्तेल ४, आसिफ शेख १४, भीम सार्की १२, रिजन ढकाल ५, सन्दीप लामिछाने ० र आरिफ शेख ४ रनमा आउट भए । बलिङमा स्कटल्याण्डका क्रिस ग्रीव्सले ३ र सफायान सरिफले २ विकेट लिए ।

    त्यसअघि नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
    स्कटल्याण्डका लागि जर्ज मुन्र्स र ब्रान्डन म्याकमुलेनले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।

    जर्जले ३९ बलमा ७८ र ब्रान्डनले ३० बलमा ४२ रन बनाए । माइकल लिस्क १७ बलमा २६ र म्याथ्यु क्रस १३ बलमा १७ रनमा अविजित रहे ।
    बलिङमा नेपालका कुशल भुर्तेलले २, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एकएक विकेट लिए ।

    ४ अंक रहेको स्कटल्याण्ड ०.६७२ रनरेटसहित शीर्ष स्थानमा रहदै उपाधि जित्यो । समान ४ अंक रहेको नेपालको रनरेट माइनस ०.२९१ र नेदरल्यान्डसको माइनस ०.३८५ छ। नेपाल र नेदरल्यान्डस क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

  • स्कटल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ

    स्कटल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्ध नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ ।

    स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभर १ बलको खेल सकिँदा ४० रन जोडेर महत्त्वपूर्ण ४ विकेट गुमाएको छ ।

    ओपनर कुशल भुर्तेल ४, आसिफ शेख १४, भीम सार्की १२ र आरिफ शेख ४ रनमा आउट भए । अहिले कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी क्रीजमा छन् ।

    नेपालले पहिलो पावर प्लेको खेल सकिँदा ४ विकेट गुमाएर ४३ रन बनाएको छ ।

  • टी–२०आई सिरिजको उपाधि जित्न नेपाललाई १९४ रनको लक्ष्य

    टी–२०आई सिरिजको उपाधि जित्न नेपाललाई १९४ रनको लक्ष्य

    काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको अन्तिम खेलमा घरेलु टोलीले नेपाललाई १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो ।

    स्कटल्याण्डका लागि जर्ज मुन्र्स र ब्रान्डन म्याकमुलेनले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । जर्जले ३९ बलमा ७८ र ब्रान्डनले ३० बलमा ४२ रन बनाए । माइकल लिस्क १७ बलमा २६ र म्याथ्यु क्रस १३ बलमा १७ रनमा अविजित रहे ।

    बलिङमा नेपालका कुशल भुर्तेलले २, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक/एक विकेट लिए । यो खेलमा जित निकाल्ने टोलीले सिरिजको उपाधि जित्नेछ ।

  • स्कटल्याण्डविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

    स्कटल्याण्डविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    स्कटल्याण्डले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हो ।

    यो खेलमा जित निकाल्ने टोलीले सिरिजको उपाधि जित्नेछ । ३ खेलमा नेपाल २ खेलमा जित र एक खेलमा हारसहित शीर्ष स्थानमा छ ।

  • ग्यास्ट्रोएन्टेराइटिसको उपचार गरेर अस्पतालबाट डिस्चार्ज भए एम्बाप्पे

    ग्यास्ट्रोएन्टेराइटिसको उपचार गरेर अस्पतालबाट डिस्चार्ज भए एम्बाप्पे

    काठमाडौं । फ्रान्सका सुपरस्टार फुटबल खेलाडी किलियन एम्बाप्पे उपचारपछि अस्तालबाट डिस्चार्ज भएका छन् । उनी ग्यास्ट्रोएन्टेराइटिसको उपचारपछि डिस्चार्ज भएका हुन् ।

    ज्वरो आएपछि उनले गत मंगलबार रियल म्याड्रिडको प्रशिक्षण छुटाएका थिए । २६ वर्षीय फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान उनले गत बुधबार सम्पन्न फिफा क्लब विश्वकप अन्तर्गत रियल म्याड्रिडको खेलमा समेत अनुपस्थित थिए । उक्त खेलमा रियल म्याड्रि साउदी क्लब अल हिलालसँग १–१ को बराबरीमा रोकिएको थियो ।

    ग्यास्ट्रोएन्टेराइटिस आन्द्रामा लाग्ने एक प्रकारको संक्रमण हो, जसले बान्ता गराउने र पखाला निम्त्याउने गर्छ । यही समस्याका कारण उनी गत बुधबार अस्पताल भर्ना भएका थिए ।

    अब एम्बाप्पेले आइतबार रियलले बिएसटीमा पाचुकाविरुद्ध खेल्नेछन् । तर, उनी खेल्नका लागि फिट हुन सक्छन् या सक्दैनन्, यकिनका साथ भन्न सकिने अवस्था भने छैन । यद्यपि एम्बापे प्रशिक्षण कम्प्लेक्समा फर्किएको रियलले विज्ञप्ती जारी गरेर बताएको छ ।

  • एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा

    एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा

    काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।

    यही असार १५ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको  घोषणा गरेको हो ।

    टोलीमा गोलकिपर कप्तान सुब्बासँगै अञ्जना रानामगर र उषा नाथ छन् । त्यस्तै डिफेन्डरमा अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।

    मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल छन् भने फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् । उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा रहेको छ । समूह एफमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् ।

     

  • आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति, आजको खेलमा उपलब्ध

    आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति, आजको खेलमा उपलब्ध

    काठमाडौं । नेपाल र नेदरल्यान्ड्सबीच हिजो भएको म्याचमा टिटायर्ड हर्ट भएका ब्याट्सम्यान आरिफ शेख घाइते नभएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनी आज हुने स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा उपलब्ध छन् ।

    हिजोको म्याचमा उत्कृष्ट ब्याटिङ गरेका आरिफले २३ बलमा ३९ रनको विष्फोटक पारी खेल्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तर, १९ औं ओभरको अन्तिम बलपछि उनी मैदानबाट बाहिरिनुपर्‍यो । अर्को इन्डमा रहेका उपकप्तान दिपेन्द्रसिंह ऐरीको स्पिडमा विकेटको बीचमा दौडिँदा उनलाई सकस परेको थियो ।

    अन्तिम ओभरमा जितका लागि ७ रन चाहिँदा आरिफ बाहिरिएपछि लोकश बम क्रिजमा आएका थिए, जसले दुई छक्का हान्दै नेपाललाई जिताए ।
    क्यानका प्रवक्ता छुम्बी लामाले आरिफलाई सामान्य क्र्याम्प मात्रै भएको जानकारी दिए ।

    ‘उहाँलाई चोट लागेको छैन, क्रयाम्पमात्रै भएको हो । खेल्न सक्ने अवस्थामा नै हुनुहुन्छ भन्ने जानकारी पाएका छौं,’ लामाले भने ।

  • आरिफ र भीमको सरप्राइज ब्याटिङ, नेदरल्यान्ड्सविरुद्ध नेपालको धाक

    आरिफ र भीमको सरप्राइज ब्याटिङ, नेदरल्यान्ड्सविरुद्ध नेपालको धाक

    काठमाडौं । तेस्रो सुपरओभरमा पराजित भएको तीन दिनपछि नै नेपालले त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सँग मिठो बदला लिएको छ । हिजो भएको खेलमा ६ विकेटको जित निकाल्दै नेपालले जारी प्रतियोगितामा विजेता बन्नसक्ने बलियो दावेदारीसमेत प्रस्तुत गर्‍यो ।

    नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य कमजोर थिएन, तर नेपालको ब्याटिङले त्यसलाई सर्लक्कै निलिदिएको छ । यद्यपि, ‘कार्डियाक किड्स’ को छविलाई काम राख्दै नेपाली टीमले अन्तिम क्षणमा फ्यानहरूलाई धुकचुक बनाउन भने चुकेनन् । खेल अन्तिम बलसम्म नपुगे पनि अन्तिम ओभरको चौथो बलसम्म पुगेको थियो ।

    प्रमुख तीन खेलाडीहरू घाइते भएर प्रतियोगिताबाट बाहिरिएता पनि नेपाली टीम नेदरल्यान्ड्समाथि हावी हुन सफल भयो । अस्तिको तुलनामा हिजोको पीच ब्याटिङका लागि धेरै सहज थियो, जहाँ नेपाली बलरले नेदरल्यान्ड्सलाई १७५ रनमा रोक्न सफल भए । एक समय नेदरल्यान्ड्स २०० रन कटाउने दिशामा देखिएको थियो, तर नेपाली बलरहरूले उत्कृष्ट कमब्याक गर्दै खेललाई नियन्त्रणबाहिर जान दिएनन् ।

    नेपाली बलरहरूको कुरा गर्दा दीपेन्द्रसिंह ऐरी सर्वाधिक सफल बने । स्पिनरलाई त्यति धेरै अफर नरहेको पीचमा पनि उनले कसिलो बलिङ गर्दै दुई महत्वपूर्ण विकेट लिए । एकजना मात्रै विशेषज्ञ फास्ट बलर खेलाएको नेपालले फरक रणनीतिका साथ स्पिनर ललित नारायण राजवंशीलाई पहिलो ओभरमै बलिङमा उतारेको थियो । र, उनले पहिलो ओभरमै विकेट निकालेर पनि दिए ।

    चौथो ओभरमा दीपेन्द्रसिंह ऐरीलाई बलिङमा ल्याए कप्तानले । उनले त झन् पहिलो बलमै विकेट लिएर नेदरल्यान्ड्सविरुद्ध दवाव बनाए । यस्तै, दीपेन्द्रलाई पछ्याउँदै पार्ट टाइम पेस बलर रुपेश सिंहले पनि पहिलो बलमा लिए । छैटौं ओभरको अन्तिम बलमा नोय कार्स रनआउट भएपछि नेदरल्यान्ड्स ४५ रनमा ४ विकेटको स्थितिमा खुम्चियो । तर, त्यसपछि भने नेदरल्यान्ड्सले नेपालको सातो उडाउँदै गम्भीर काउन्टर अट्याक गर्‍यो ।

    अर्को इन्डबाट विकेट झरिरहँदा एउटा इन्डमा डटिरहेका नेदरल्यान्ड्सका ओपनिङ ब्याट्सम्यान नेपालका दुई स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीलाई टार्गेट गरे । सातौं ओभरमा सन्दीपलाई दुई छक्का हानेका उनले आठौं ओभरमा ललितलाई पनि एक छक्का र एक चौका प्रहर गरे । सन्दीपले आफ्नो दोस्रो ओभरमा पनि १६ रन खर्चिए । यता करण केसीले पनि रनको फ्लो रोक्न सकेनन् । फलतः नेदरल्यान्ड्सले १० ओभरमा ९९ रन बटुल्न एकाएक खेल आफ्नोतर्फ मोड्न सफल भयो । हातमा ६ विकेट सुरक्षित थिए ।

    तर, बाँकी १० ओभरमा नेपालका बलरहरू फेरि आफ्नो लयमा फर्किए र नेदरल्यान्ड्सका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । सन्दीपले १२ ओभरमा पहिलो विकेट लिए भने १५ औं ओभरमा करणले डबल स्ट्राइक गरेपछि नेदरल्यान्ड्स १२९ रनमा ७ विकेटको कमजोर स्थितिमा खस्किन पुग्यो । करणले ८५ रन बनाएर खेलिरहेका माइकल लेभिटलाई रोहित पौडेलको हातबाट क्याचआउट गराउँदै खेललाई नेपालको पक्षमा मोडेका थिए । यद्यपि, नेदरल्यान्ड्सका अलराउन्डर रुलोफ भान डेर मर्वेले सातौं नम्बरमा आएर आक्रामक ब्याटिङ गर्दै टीमलाई १७४ रनको बलियो स्कोरमा पुर्याउन सफल भए । उनले २१ बलमा चार चौका र १ छक्कासहित ३६ रन हानेर अविजित रहे ।

    ब्याटिङमा नेपालले फेरि पुरानै जोडी कुशल भुर्तेल र आसिफ शेखलाई ओपनिङ गर्न पठाएको थियो । तर, आसिफ आज पनि चलेनन् । खराब फर्मको झल्को दिँदै उनले ब्याटिङमैत्री पिचमा ६ बल खेलेर ७ रन मात्रै जोड्न सके । ठिक विपरीत उत्कृष्ट लयमा रहेका अर्का ओपनर कुशलले नेपाललाई अगाडि बढाए । उनले एंकर इनिङ खेल्दै जितको आधारशीला खडा गरेका थिए । कुशलले धैर्यतापूर्वक ब्याटिङ गर्दै ५१ बलमा ६ चौका सहयोगले ६५ रन जोडे ।

    नेपालले आज टीममा तीन परिवर्तन गरेको थियो । विकेटकिपर ब्याट्सम्यान अनिल साहको स्थानमा आसिफलाई ल्याइएको थियो भने यसअघि दुई म्याचमा स्थान पाएका युवा किरण ठगुन्ना र अलराउन्डर बसिर अहमदलाई बेन्चमा राखेर आरिफ शेख र भीम सार्कीलाई प्लेइङ ११ मा राखिएको थियो । आरिफ र भीमलाई टीममा समावेश गर्नु नेपालका लागि सही निर्णय सावित भयो ।

    खासमा यी दुवै ब्याट्सम्यान रक्षात्मक ब्याटिङका लागि चिनिँदै आएका छन् । त्यसैले उनीहरूलाई नेपालले वान डे टीममा मात्रै खेलाउँदै आएको छ । यसपटक गुल्शन झा र सोमपाल कार्मी घाइते नभएको भए वा नयाँ खेलाडीह चलेको भए उनीहरूले सायद मौका पाउँथेनन् । तर, दुवै खेलाडीले पाएको मौकाको सदुपयोग मात्र गरेनन्, नेपालको जितमा ठोस योगदान पनि दिए । भीम र आरिफ टी २० का लागि बनेका होइनन् भन्ठान्नेहरू मुर्ख सावित भएका छन् ।

    नेपालको ब्याटिङ लाइन अपमा सर्वाधिक राम्रो स्ट्राइक रेट नै यी दुईको छ । कुशल भुर्तेलले एक इन्डबाट एंकर रोल निभाइरहँदा भीम र आरिफले विष्फोटक ब्याटिङ गर्दै खेललाई नेपालको पकडमा ल्याएका थिए । उनीहरूको ब्याटिङ शैली पनि हेर्न लायक थियो । दुवैले स्लग स्वीप र रिभर्स स्वीपबाट रन बटुल्दै आफूहरू टी २० मा पनि उत्तिकै फिट हुन सक्ने जनाउ दिए । यो एकप्रकारको सरप्राइज थियो नेपाली दर्शकका लागि ।

    तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भीम १६ बलमा ३७ रनको केमियो इनिङ खेल्दै आउट भए । उनले दुई चौका र १ चौका प्रहार गरे । यस्तै, पाँचौ नम्बरमा आएका आरिफले आफ्नो वान डे फर्मलाई निरन्तरता दिँदै फेरि एकपटक उत्कृष्ट ब्याटिङको नमूना देखाए । उनको ब्याटबाट २३ बलमा ३९ रन निस्किएको थियो, जसमा २ छक्का र ३ चौका समावेश छन् । तर, उनी १९ ओभरको अन्तिम बलमा रिटायर्ड हर्ट भएर बाहिरिनुपर्‍यो, जसले गर्दा नेपाली खेमामा अलिकति तनाव थपिएको थियो ।

    नेपाललाई अन्तिम ओभरमा ७ रन चाहिएको थियो । नेपालसँग ब्याट्सम्यानहरू जति पनि थिए । ब्याटिङ गर्न आए लोकेश बम । यसअघि दुई खेलमा ओपनरका रुपमा पठाइएका बमलाई आज गेम फिनिस गर्ने अवसर मिल्यो । उननले पहिलो बलमै छक्का हानेर स्कोर बराबरीमा ल्याए । जितका लागि एक रन मात्रै चाहिँदा उनले विकेटमा दौडिरहने झण्झट गरेनन् । बरु अर्को छक्का हिर्काए ।

    यो जितसँगै नेपालले अस्ति नेदरल्यान्ड्सविरुद्ध व्यहोरेको तनावपूर्ण हारमा मल्हमपट्टी लगाएको छ । अब श्रृंखलाको अन्तिम म्याच नेपालले आज स्कटल्यान्डविरुद्ध खेल्दै छ । घरेलु टोलीलाई दोस्रो पटक हराएमा नेपाल श्रृंखला विजेता बन्दै एउटा महत्वपूर्ण भ्रमणको शानदार समापन गर्ने छ । त्यसका लागि नेपाली खेलाडीहरू मात्र होइन, दर्शकहरू पनि पूर्ण आत्मविश्वासी छन् ।

    स्कटल्यान्ड र नेदरल्यान्ड्सजस्ता टप एसोसिएट्स राष्ट्रहरूविरुद्ध नेपालले जस्तो खेल देखाइरहेको छ, त्यो पक्कै पनि गर्वगर्न लायक छ । आजको नतिजा जे आए पनि खेलाडीहरू शिर उँचो गरेर घर फर्किनेछन् र लिग २ को अर्को श्रृंखलाको तयारीमा जुट्नेछन् ।

  • टी–२०आई सिरिजः नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो

    टी–२०आई सिरिजः नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो

    काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको छ । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । ५१ बलमा उनले ६ चौका प्रहार गरे । आरिफ शेखले आक्रामक ब्याटिङ गरे । उनले २३ बलमा ३९ रन बनाए ।

    आसिफ शेख ७, भीम सार्की २७ र कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १६ र लोकेश बम १२ रनमा अविजित रहे ।
    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

    नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । ५३ बलमा उनले ५ छक्का र ६ चौका प्रहार गरे । लेभिट १४ ओभर ३ बलमा करण केसीको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे । सकिब जुल्फिकारले १४ रनको योगदान दिए ।

    लेभिटले जुल्फिकारसँग मिलेर पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । रोएलफ भ्यान डेर मेवेले र आर्यन दत्तले आठौं विकेटका लागि ४५ रनको अविजित साझेदारी गरे ।

    बलिङमा नेपालका करण केसीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र ललित राजवंशीले एकएक विकेट लिए । नेपालले अब सिरिजको अन्तिम खेल स्कटल्याण्डसँग शुक्रबार खेल्नेछ ।