Category: खेल प्रेस

  • श्रीलंकाविरुद्ध नेपालको सानदार जित

    श्रीलंकाविरुद्ध नेपालको सानदार जित

    काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ ।

    बंगलादेशको राजधानी ढाकास्थित वसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७-० ले नेपाल विजयी भएको हो ।

    नेपालको जितमा मिना देउवाको ह्याट्रिकसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे ।

    जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ ।

  • नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलियो

    नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलियो

    काठमाडौं ।  वर्षा बाधक बनेपछि नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको छ ।

    बङ्गलादेशको ढाकामा भारी वर्षा भएपछि यु(२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत  नेपाल र श्रीलङ्काबीचको खेल एक घन्टा पछाडि धकेलिएको हो । उक्त खेल नेपाली समयअनुसार अब ७ः४५ बजे हुनेछ । त्यसअघि ६ः४५ बजे हुने तालिका थियो ।

    नेपाल अङ्क तालिकाको दोेस्रो स्थानमा छ भने श्रीलङ्का अन्तिम स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भयो

    त्यसैगरी श्रीलङ्का भने पहिलो जितको लक्ष्यमा छ । श्रीलङ्काले पहिलो खेलमा बङ्गलादेशसँग ९–१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो ।

    प्रतियोगिताअन्तर्गत आजै बङ्गलादेश र भुटानबीचको पहिलो खेल पनि भारी वर्षाका कारण रोकिएको छ । उक्त खेल पहिलो हाफ सकिएपश्चात् सुरु हुन सकेको छैन । पहिलो हाफमा बङ्गलादेशले भुटानमाथि १–० गोलको अग्रता बनाएको छ ।

     

  • एनपीएलको ट्रेडमार्क मुद्दा आमिर अख्तरले हारे, क्यानको पक्षमा निर्णय

    एनपीएलको ट्रेडमार्क मुद्दा आमिर अख्तरले हारे, क्यानको पक्षमा निर्णय

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ट्रेडमार्कसम्बन्धी मुद्दामा उद्योग विभागले नेपाल क्रिकेट संघ (क्यान) को पक्षमा फैसला सुनाएको छ । जोरा स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख अमिर अख्तरले एनपीएलको ट्रेडमार्कको दाबी गर्दै मुद्दा हालेका थिए ।

    उद्योग विभागले आज अख्तरको दाबी नपुग्ने फैसला गरेको हो । यससँगै एनपीएलको दोस्रो संस्करण आयोजना गर्न क्यानलाई कानूनी बाधाको सम्भावना टरेको छ ।

    आमिरले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरेका थिए, तर उक्त नामको प्रतियोगिता क्यानले मात्र आयोजना गर्नसक्ने भन्दै विरोध भएपछि उनले प्रतियोगिताको नाम फेरेर एभरेस्ट प्रिमियर लिग राखेका थिए ।

    नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेकाले उक्त नाममा अरु कसैले प्रतियोगिता आयोजना गर्न नसक्ने दाबी आमिरको थियो ।

  • कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल

    कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल

    काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लिले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक रुपमा निरन्तरता दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति टोलीको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोट्र्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।

    पहिलो संस्करणमा पाएको सफलतामा पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्लको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले पनि सहकार्यलाई निरन्तरता दिन पाउँनु खुशीको कुरा रहेको निर्देशक घिमिरेले बताएका छन् । सम्झौता अवधि एक वर्षको लागि हुनेछ । २०८१ मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

    ‘नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहनु भएका ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हाम्रो टोलीले पहिलो संस्करणमा शीर्ष चारमा रहँदै प्लेअफसम्मको यात्रा तय गरेको थियो । आगामी संस्करणमा पनि हामीले उहाँको प्रशिक्षणमा टोलीले सफलता हात पार्ने विश्वास छ । प्रशिक्षकको रुपमा उहाँलाई नै निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ,’ कर्णाली याक्स स्पोट्र्स प्रालीका निर्देशक घिमिरेले बताए ।

    कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।

    अघिल्लो सिजन भारतीय चर्चित ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्दै बलियो दाबेदारी दिने रणनीति तयार पारेको छ ।

    नियुक्तीसँगै प्रशिक्षक मल्लले जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै दोस्रो संस्करण काम गर्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्स स्पोट्र्स प्रा।लीले एकपटक फेरी मलाई विश्वास गरेर जिम्मेवारी दिएको छ । याक्स परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘पछिल्लो पटक हामीले निकै राम्रो गरेका थियौं। यो पटक त्यस्तै प्रदर्शन गर्दै उपाधि जिताउने योजना बनाएको छु । टोलीका नयाँ खेलाडीसँग काम गर्न निकै उत्साहित छु ।’

  • पीएसजीलाई ३-० ले हराउँदै चेल्सीले क्लब विश्वकपको उपाधि जित्यो

    पीएसजीलाई ३-० ले हराउँदै चेल्सीले क्लब विश्वकपको उपाधि जित्यो

    न्यूयोर्क । इंग्लिस प्रिमियर लिगको पावरहाउस चेल्सीले फिफा क्लब विश्वकप २०२५ को उपाधि जितेको छ। फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-० ले हराउँदै चेल्सीले विश्व च्याम्पियनको ताज पहिरिएको हो।

    मेटलाइफ स्टेडियममा भएको फाइनल खेलमा चेल्सीका स्टार खेलाडी कोल पाल्मरले उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको २२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यस्तै, ३०औँ मिनेटमा पाल्मरले दोस्रो गोल थपे भने उनले एक असिस्ट पनि प्रदान गरे।

    तेस्रो गोल भने टोलीको सामूहिक प्रयासको नतिजा थियो, जसले पीएसजीको रक्षापंक्तिलाई पूर्णरूपमा निस्तेज बनायो।चेल्सीले खेलभरि बल पोजिसन र आक्रमणमा प्रभुत्व जमायो।

    पीएसजीले केही अवसर सिर्जना गरे पनि चेल्सीका गोलकिपर सान्चेजले उत्कृष्ट बचाउ गर्दै क्लिन सिट राखे। प्रशिक्षकको रणनीति र खेलाडीहरूको तालमेलले चेल्सीले युरोपेली च्याम्पियन पीएसजीलाई सहजै पराजित गर्‍यो।

    प्रशंसकहरूले सामाजिक सञ्जालमा चेल्सीको यो ऐतिहासिक जितको खुलेर प्रशंसा गरेका छन्। यसअघि चेल्सीले सन् २०२२ मा पनि क्लब विश्वकप जितेको थियो। यो जितसँगै चेल्सीले विश्व फुटबलमा आफ्नो दबदबा कायम राखेको छ।

  • अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित

    अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित

    काठमाडौं । साफ महिला यु २० च्याम्पियनसिपमा नेपाल बंगलादेशसंग पराजित भएको छ । बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल अन्तिम मिनेटमा सम्हालिन नसक्दा घरेलु टोलीसँग ३-२ ले पराजित हुनुपर्‍यो।

    सिन्हा शिखाले १४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ३६औं मिनेटमा सागोरिकाले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

    खेलको ७७औं मिनेटमा पेनाल्टीमार्फत नेपालकी अनिशा राईले गोल गर्दै अग्रता घटाइन् ।८६औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् ।

    २-० ले पछि परेको नेपाल खेलमा फर्किएपनि इन्जुरी समयको अन्तिममा सम्हालिन सकेन । इन्जुरी समयको अन्तिम मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई जितको बाटो दोहोर्‍याइन् ।

    च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो ।

  • एभरेष्ट महिला भलिबल लिगको अक्सन आउँदो साउन २ गते हुने

    एभरेष्ट महिला भलिबल लिगको अक्सन आउँदो साउन २ गते हुने

    काठमाडौं । दोस्रो सिजनको एभरेष्ट महिला भलिबल लिगको अक्सन आउँदो साउन २ गते हुने भएको छ । आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै साउन २ गते काठमाडौंमा अक्सन गर्न लागिएको जनाएको छ ।

    ६ वटा फिन्चाइज टोली सहभागी यो लिगको अक्सन नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा एक युगान्तकारी मोड सावित हुने आयोजकको विश्वास छ । उक्त टिममा टोलीले आफ्तो मजमुत टोली बनाउने अवसर पाउनेछन् । अक्सनमा कति खेलाडी सहभागी हुने, एक टोलीले कति खेलाडी खरिद गर्न पाउने भन्नेबारे खुलाइएको छैन ।

    दोस्रो संस्करण एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म हुने तालिका छ । लिगको पहिलो संस्करणमा मधेस युनाइटेड, चितवन शक्ति, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यश्विज सहभागी थिए । पहिलो संस्करणको फाइनलमा ललितपुरलाई हराउँदै कर्णालीले उपाधि जितेको थियो ।

  • एनपीएल : रिलिज भएका यी ४५ खेलाडी, जो बन्न सक्छन् मिनि अक्सनका आकर्षण

    एनपीएल : रिलिज भएका यी ४५ खेलाडी, जो बन्न सक्छन् मिनि अक्सनका आकर्षण

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि तयारी सुरु गरिसकेको छ । आगामी अगस्टमा हुने मिनि अक्सनका लागि खेलाडी दर्ता खुला गर्दै क्यानले तयारीलाई तीव्रता दिएको हो ।

    फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडी तथा नयाँ खेलाडीले नियमबमोजिम १ हजार रुपैयाँ शुल्क तिरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । दर्ता गर्ने म्याद साउन ६ गतेसम्म तोकिएको छ । अक्सन अगष्टमा हुने क्यालेन्डर भए पनि मिति भने क्यानले सार्वजनिक गरिसकेको छैन ।

    एनपीएलका सबै फ्रेन्चाइज टोलीले खेलाडीको रिटेन र रिलिज गरिसकेका छन् । ७ वटै फ्रेन्चाइज टोलीमा मार्की खेलाडी परिवर्तन गरिएको छैन भने ६ देखि ७ खेलाडी रिटेन गरिएको छ ।

    कुल ५१ खेलाडी रिटेन भएका छन् भने ४५ खेलाडी रिलिज भएका छन् । अहिले रिलिज भएका खेलाडीहरु ‘मिनि अक्सन’ मा सातवटै टिमका लागि उपलब्ध हुनेछन् । उनीहरुसहित नयाँ खेलाडीहरुको नाममा नयाँ बोलकबोल हुनेछ ।

    रिलिज हुने सुचीमा थुप्रै अनुभवि र चर्चित खेलाडीहरु पनि रहेका छन् । पहिलो संस्करणमा गरेको प्रदर्शन र टिमको आवश्यकताका आधारमा उनीहरु रिटेन हुन नसकेका हुन् । त्यसो त उनीहरुलाई रिटेन नहुँदा आर्थिकरुपमा फाइदा हुन पनि सक्छ । मिनी अक्सनमा पहिलेभन्दा बढी मूल्यमा बिक्न सक्ने अवसर छ । त्यसो त नबिक्ने जोखिम पनि छ ।

    नेपाली राष्ट्रिय टिमबाट लामो समय योगदान दिएका अनुभवि ब्याटर शरद भेषावकरलाई चितवन राइनोजले रिलिज गर्यो । पहिलो संस्करणका लागि भएको अक्सनमा शरद ‘ए’ क्याटेगोरीमा थिए । तर अक्सनको पहिलो चरणमा उनी अनसोल्ड रहे ।

    त्यसपछि दोस्रो चरणमा उनलाई न्यूनतम मूल्य १० लाखमा चितवन राइनोजले खरिद गर्यो । उनले एनपीएलमा ४ वटा म्याच खेल्दा एकपटक पनि आउट भएनन् । तर विष्फोटक इनिङ पनि खेल्न चुके । उनी क्रमशः ११, ११ ६ र १० रन बनाएर हरेक खेलमा अविजित रहेका थिए ।

    भेषावकर अहिले ३६ वर्षका भए । उनका समकालिन अधिकांस खेलाडीहरुले क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । भेषवाकरले राष्ट्रिय टिमबाट नखेलेको पनि धेरै भइसकेको छ । यो एनपीएलमा नाम दर्ता गर्ने वा नगर्ने विषयमा उनले अहिलेसम्म केही बताएका छैनन् ।

    यस्तै, राष्ट्रिय टिमको अनुभवप्राप्त उदियमान ब्याट्सम्यान देव खनाल र उमेर समुहबाट उत्कृष्ट ब्याटिङ गर्दै आएका अर्जुन कुमालले पनि आफ्नो स्थान जोगाउन सकेनन् ।

    देवलाई कर्णाली याक्सले र अर्जुनलाई सुदुरपश्चिम रोयल्सले रिलिज गरिदिएका हुन् । अघिल्लो संस्करणमा देवले ९ म्याच खेल्दा एक अर्धसतकसहित ११६ रन मात्रै जोड्न सकेका थिए ।

    देवमाथि उच्च अपेक्षा राखेर कर्णाली याक्सले १० लाख रुपैयाँमा खरिद गरेको थियो । अपेक्षा बमोजिम प्रदर्शन नभएपछि उनी रिलिज गरिएका हुन् । अब हुने मिनि अक्सनमा अन्य फ्रेन्चाइजले उनीमाथि आँखा लगाउन सक्छन् ।

    अर्जुन कुमालले भने अघिल्लो संस्करणमा एउटा खेलमा पनि मौका पाएनन् । सुदुरपश्चिम रोयल्सले कुमाललाई ७ लाख ५० हजार रुपैयाँमा खरिद गरेको थियो । तर टिमसँग प्रशस्त स्वदेशी र विदेशी स्टार ब्याट्सम्यानहरु भएकाले कुमालले प्लेइङ ११ मा स्थान बनाउन सकेनन् ।

    राष्ट्रिय टिमको अनुभव प्राप्त विकेट किपर ब्याट्सम्यान अर्जुन साउद पनि दोस्रो संस्करणको मिनि अक्सनमा जानुपर्ने भएको छ । नेपालका बैकल्पिक ओपनर तथा विकेटकिपरका रुपमा हेरिएका अर्जुनलाई लुम्बिनी लायन्सले रिलिज गरिदिएको हो ।

    लुम्बिनीले उनीसँगै प्रतिभाशाली युवा स्पिनर सुर्य तामाङ र ओपनिङ ब्याट्सम्यान आशुतोष घिरैयालाई पनि रिटेन गर्न चाहेन । उनीहरु तीनैजना अघिल्लो संस्करणमा फ्लप भएका थिए । अर्जुन साउदले ६ म्याच खेल्दा ६८ रन मात्रै जोड्न सके । आशुतोषको प्रदर्शन झनै दयनीय थियो ।

    उनले ६ म्याचमा जम्मा ४४ रन जोडेका थिए, जसमा उच्च स्कोर १६ रन थियो । सुर्य तामाङले ४ खेलमा १४.५ ओभर बलिङ गर्दा १११ रन खर्चेर एक विकेट मात्रै हात पार्न सकेका थिए ।

    रिटेन हुन नसकेका अर्का चर्चित खेलाडी राजेश पुलामी । बिराटनगर किङ्सबाट खेलेका उनी अघिल्लो संस्करणको सुरुवातका ३ खेलमा फ्लप हुँदा ट्रोलको सिकार भएका थिए भने पछिल्ला दुई म्याचमा ठीकठाक प्रदर्शन गरे ।

    पाँच खेलमा मौका पाएका उनले कुल ७८ रन जोडे, जसमा उच्च स्कोर ३३ रन थियो । चितवन राइनोज विरुद्धको म्याचमा उनले २२ बलमा ३३ रन हान्दै आफू टि २० खेल्न सक्ने छनक दिएका थिए ।

    आशालाग्दा युवा खेलाडीहरु मयन यादव, आकाश त्रिपाठी र हेमन्त धामीलाई जनकपुर बोल्ट्सले एकसाथ रिलिज गरिदिएको छ । उनीहरु तीनैजना नेपालको यु १९ टिममा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन् । मयन यादव नेपाली राष्ट्रिय टिमका भविष्यको ओपनरका रुपमा समेत हेरिएको छ । दोस्रो संस्करणको अक्सनमा यी तीनैजनालाई फ्रेन्चाइजहरुले राम्ै मूल्य हाल्न सक्छन् ।

    यस्तै राष्ट्रिय टिमबाट यदाकदा अवसर पाएका स्पिनर मौसम ढकालाई कणाली याक्सले रिलिज गरेको छ । उनी पनि मिनि अक्सनमा जानेछन् ।

    रिलिज भएका खेलाडीहरुको सूची यसप्रकार छः

    विराटनगर किंग्सः दिपक बोहोरा, मिर्नाल गुरुङ, राजेश पुलामी मगर, जितेन्द्र मुखिया र अनिल खरेल

    जनकपुर बोल्ट्सः आकाश त्रिपाटी, मायन यादव, विशाल शुस्लिङ्ग, हेमन्त धामी, अरनिको यादव र शेर मल्ल

    काठमाडौं गुखार्जः सुमित महर्जन, विवेक केसी, शंकर राना, राजु रिजाल र कृष्ण कार्की

    चितवन राइनोजः शरद भेषावकर, दिपेश श्रेष्ठ, विपिन रावल, सन्तोष कार्की र रञ्जित कुमार

    पोखरा एभेन्जर्सः नारायण जोशी, दिलिप नाथ, सुनाम गौतम र अमृत गुरुङ

    लुम्बिनी लायन्सः सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया र विकाश अग्री

    कर्णाली याक्सः मौसम ढकाल, देव खनाल, रित गौतम, भुवन कार्की र दिपक डुम्रे

    सुदूरपश्चिम रोयल्सः अर्जुन कुमाल, नरेश बुढाएर, खडकबहादुर बोहरा, भोजराज भट्ट र अमित श्रेष्ठ

     

  • विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समेटिए

    विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समेटिए

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टि २० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ । आज घोषित क्लोज क्याम्पको सूचीमा अलराउन्डर मोहम्मद आदिल आलमले कमब्याक गरेका छन् ।

    आलम क्यानले २०७९ सालमा आयोजना गरेको टि २० क्रिकेट लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिवन्धमा परेका थिए । तर, अदालतले अदिलासहित फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरलाई दावी नपुग्ने भन्दै सफाइ दिएको थियो ।

    त्यसपछि क्यानको इन्टिेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी प्रतिवन्ध फुकुवा गर्न सिफारिस गर्यो । त्यही बमोजिम २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी उनको प्रतिवन्ध फुकुवा भएको हो ।

    प्रतिवन्ध फुकुवापछि उनी पहिलोपटक बन्द शिविरमा समेटिएका छन् र उनले राष्ट्रिय टिममा कमब्याक गर्ने बाटो खुलेको छ ।

    पछिल्लो समय राष्ट्रिय टिमबाट हटाइएका कुशल मल्ल र सन्दीप जोरालाई क्लोज क्याम्पमा राखिएको छ । यस्तै, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकारलगायत युवा खेलाडीहरुले प िनमौका पाएका छन् ।

    नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टि २० विश्वकप छनोट खेल्दै छ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टि २० विश्वकपमा स्थान बनाउनेछन् ।

  • साफ यू-२० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    साफ यू-२० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

    नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४५ मा वसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ ।

    बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो ।

    सन् २०२२ यता कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ ।

    नेपाली टोली : बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

  • एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

    एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला भएको जनाएको हो ।

    क्यानका अनुसार खेलाडीले आफ्नो इच्छाअनुसार ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा आफ्नो नाम दर्ता गराउने सक्नेछन् । पहिलो संस्करणबाट रिलिज भएका वा एनपीएलमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले https://npl-t20.com/registration मा गएर नाम दर्ता गर्न सक्ने उसले जनाएको छ । दर्ता शुल्क एक हजार कायम गरिएको छ ।

    साउन ६ गतेसम्म दर्ता खुला रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

     

  • खेलको माध्यमबाट खेलाडीले आयआर्जन गर्ने अवस्था बनिरहेको छ: मन्त्री चौधरी

    खेलको माध्यमबाट खेलाडीले आयआर्जन गर्ने अवस्था बनिरहेको छ: मन्त्री चौधरी

    मोरङ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताएका छन् ।

    कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित राष्ट्रपति रनिङ, अन्तरप्रदेश, राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा खेलक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्दै उनले खेलाडी खेलमार्फत आयआर्जन गर्न सक्षम बन्नु सुखद विषय भएको बताए ।

    मन्त्री चौधरीले सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा पदक प्राप्त गर्ने खेलाडीलाई ६५–६५ लाख रकम वितरण गरी आयआर्जनको अनुभूति गराएको उल्लेख गरे ।

    ‘नेपालको इतिहासमा पहिलो पटक खेलाडीहरूलाई चार करोड वितरण गरिएको छ । यो अपुग भएकाले मन्त्रालयले थप १५ करोड सरकारसँग माग गरेको छ’, उनले भने, ‘खेलकुदका लागि विनियोजन गरिएको ६ अर्बमध्ये चार अर्ब मुलुकको खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था गरेका छौँ ।’

    मन्त्री चौधरीले हाल मुलुकमा खेलेर बाँच्न सकिने अवस्था बनेकाले युवालाई खेलकुदप्रति विशेष ध्यान दिन आग्रहसमेत गरे ।

    उनले विगतमा कोशी प्रदेश खेलकुद क्षेत्रमा अगाडि रहे पनि पछिल्लो समय केही खस्किएको भन्दै सुधारमा ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।

    प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चाल विश्वविद्यालयको खाली जग्गामा खेलकुदग्राम निर्माण सुरु गरेको जानकारी दिए ।

    उनले प्रदेशमा खेलाडीको उच्च भविष्य रहेकाले लगनशीलताका साथ अगाडि बढ्न आग्रह गरे ।

    प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रदेशमा खेल क्षेत्रको विकासका लागि विद्यालयस्तरदेखि पूर्वाधार निर्माण एवं प्रशिक्षणलगायत काम भइरहेको बताए ।

    त्यस अवसरमा १०१ जना खेलाडी, प्रशिक्षक, खेलकुद पत्रकार एवं खेलकुद प्रतियोगितामा सहयोग गर्ने उद्यमीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

  • सन्दीप लामिछानेको सम्मानमा पुर्खौली गाउँमा रङ्गशाला बन्दै

    सन्दीप लामिछानेको सम्मानमा पुर्खौली गाउँमा रङ्गशाला बन्दै

    स्याङ्जा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो ।

    गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१/८२ देखि बनाउन सुरू गरेको उहाँले बताए ।

    ‘चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रङ्गशाला बनाउन सुरू गरेका हौँ’, उनले भने, ‘अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं ।’

    समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ । निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको उनले बताए । मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ । राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ ।

    मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ । अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उनको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ ।

    ‘क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास (होमस्टे)को रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ’, गाउँपालिकाका अध्यक्ष तिवारीले भने, ‘यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ ।’

    क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ । उनका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ ।

  • साफ महिला यु-२० च्याम्पियनसिप: नेपालको विजयी सुरुआत, भुटान ६-१ गोल अन्तरले पराजित

    साफ महिला यु-२० च्याम्पियनसिप: नेपालको विजयी सुरुआत, भुटान ६-१ गोल अन्तरले पराजित

    काठमाडौं । साफ महिला यु-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

    नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिक पूरा गरिन् । उनले १८औं, ५३औं र ८३औं र ८८ औं मिनेटमा गोल गरिन् । सोनु परियारले २ गोल गरिन् । भुटानका लागि केल्देन वाङ्मोले एक गोल फर्काइन् ।

    ४ टोली सहभागि च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । नेपालले दोस्रो खेल आइतबार बंगलादेशसंग खेल्नेछ ।

  • जर्सीसँग पराजित हुँदै टी–२० विश्वकप छनोटबाट बाहिरियो स्कटल्याण्ड

    जर्सीसँग पराजित हुँदै टी–२० विश्वकप छनोटबाट बाहिरियो स्कटल्याण्ड

    काठमाडौं । स्कटल्यान्ड सन् २०२६ मा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । टी–२० विश्वकपको युरोप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा जर्सीसँग एक विकेटले पराजित हुँदै स्कटल्याण्ड छनोट चरणबाट बाहिरिएको हो ।

    छनोटमा स्कटल्याण्डले एक खेलमा मात्रै जित निकाल्यो । आइसीसीको टी–२० वरियतामा स्कटल्याण्ड १३औं स्थानमा छ । स्कटल्याण्डलाई हराएको जर्सी २७औं स्थानमा छ ।

    युरोप छनोटको शीर्ष दुई रहने टोली विश्वकपमा छनोट हुनेछन् । एक खेल खेल्न बाँकी रहेको इटाली ५ अंकसहित शीर्ष स्थानमा छ । सबै खेल खेलिसकेको जर्सी ५ अंकसहित दोस्रो स्थानमा छ ।

    एक खेल खेल्न बाँकी नेदरल्याण्ड्स ४ अंकसहित तेस्रो स्थानमा छ । यी तीन टोलीमध्ये दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । एक टोली छनोट चरणबाट बाहिरिनेछ । इटाली र नेदरल्याण्ड्सबीचको अन्तिम खेलले टुंगो लाग्नेछ ।

  • एनपीएलको निरन्तरताकै पक्षमा खेलकुदमन्त्री चाैधरी, भन्छन्- कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन्छ

    एनपीएलको निरन्तरताकै पक्षमा खेलकुदमन्त्री चाैधरी, भन्छन्- कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन्छ

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल सरकारले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको बताएका छन् ।

    शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खेलकुदमन्त्री चौधरीले एनपीएल रोक्न आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका हुन् ।

    ‘नेपाल सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्न मेरो संलग्नता भएको भनी प्रचार गरिनु गलत विषय हो’, विज्ञप्तिमा भनिएको छ ।

    अख्तियारमा परेको उजुरीका विषय छानबिन गर्न पत्राचार भएबमोजिम नियमानुसार छानबिन कार्यदल गठन गरिएको र उक्त समितिले छानबिन गरी प्रतिवेदन बुझाइसकिएको मन्त्री चौधरीले बताए ।

    कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्ने र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

    एनपीएलको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको उनको जिकिर छ ।
    खेल संघ-महासंघभित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानून नियमानुसार हुनुपर्ने सम्बन्धमा आफू सदैव रहेको मन्त्री चौधरीले सुनाए ।

  • क्रिकेटर सुशील रावललाई सुदुरपश्चिम रोयल्सले गर्‍यो एक लाख सहयोग

    क्रिकेटर सुशील रावललाई सुदुरपश्चिम रोयल्सले गर्‍यो एक लाख सहयोग

    काठमाडौं । नेपाल प्रिमियर लिग ‘एनपिएल’ को फ्रेञ्चाइज सुदुरपश्चिम रोयल्सले युवा क्रीकेटर सुशील रावललाई एक लाख सहयोग गरेको छ।

    सुदुरपश्चिमका सीईओ प्रकाश खड्काले क्रीकेटर रावललाई एक लाख सहयोग हस्तान्तरण गरेका हुन् । प्रशिक्षणको लागि उक्त रकम सहयोग गरिएको खड्काले बताए।

    नेपालले मलेसियामा भएको एसिसी यु-१६ इष्ट जोन कप क्रीकेटको उपाधी जित्दा रावलले महत्त्वपूर्ण भुमिका खेलेका थिए।

    रावलले शुक्रबार बिहान सामाजिक संजालमार्फत सम्मानको रूपमा खादा र प्रमाणपत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी रहेको बताएका थिए।

  • यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार दिने

    यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार दिने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा भएको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कार सम्मान गर्ने भएको छ ।

    क्यानले टोलीका खेलाडी र अफिसियलहरुलाई जनही ५० हजारसहित सम्मान गर्ने प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    जुन २० देखि जुलाई ५ सम्म मलेसियामा भएको प्रतियोगिताको फाइनलमा सिंगापुरलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।

  • महिला एसियाली छनोट : लेबनानमाथि भुटानको ऐतिहासिक जित

    महिला एसियाली छनोट : लेबनानमाथि भुटानको ऐतिहासिक जित

    काठमाडौं । एएफसी महिला एसियाली कप छनोटमा भुटानले लेबनानमाथि ऐतिहासिक जित निकालेको छ ।

    फिफा वरियताको १७१औँ स्थानमा रहेको भुटानले १३०औँ वरियतामा रहेको लेबनानलाई पराजित गरेको हो ।

    छनोटको समूह ‘ए’ अन्तर्गतको खेलमा लेबनान भुटानसँग २-१ ले पराजित भएको हो । यसअघि पहिलो खेलमा पनि भुटानले प्रभावशाली जित निकालेको थियो ।

    भुटानले १३९औँ वरियतामा रहेको सिंगापुरलाई ३-२ गोलले पराजित गरेको थियो । भुटान २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

    भुटानले अब जोर्डन र इरानसँग खेल्न बाकी छ । समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट हुनेछ ।

  • सम्मानमा प्रमाणपत्र र माला होइन, आर्थिक सहयोग चाहिएको छ : क्रिकेटर सुशील रावल

    सम्मानमा प्रमाणपत्र र माला होइन, आर्थिक सहयोग चाहिएको छ : क्रिकेटर सुशील रावल

    काठमाडौं । नेपालले मलेसियामा भएको एसिसी यु-१६ इष्ट जोन कप क्रिकेटको उपाधि जित्दा महत्त्वपूर्ण भूमिका खेलेका खेलाडी सुशील रावलले आफूलाई स्वागत सम्मान भन्दा पनि आर्थिक सहयोग चाहिएको बताएका छन् । एसीसी यु-१६ इष्ट जोन कप क्रिकेटको उपाधि जित्ने टोलीलाई विभिन्न संघसंस्थाले स्वागत तथा सम्मान गरिरहेका छन् ।

    त्यसै क्रममा रावलले सामाजिक सञ्जालमार्फत सम्मानको रूपमा खादा र प्रमाणपत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी रहेको बताएका हुन ।

    ‘बझाङबाट छनौट भएर खेले पनि दैनिकी बसाई कञ्चनपुरको शुक्लाफाँटा ५ गर्जमुनिमा छ । अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाण पत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ,’ उनले लेखेका छन् ।

    २र३ महिनापछि यू-१९ को छनोटको तालिमका लागि भारत जानुपर्ने र आर्थिक अवस्था कमजोर रहेको रावलले उल्लेख गरे ।

    ‘२/३ महिनामा यू-१९ राष्ट्रिय टीमका लागि छनोट हुँदै छ । त्यसका लागि तालिम गर्न भारत जानुपर्ने भएको छ । करिब १ लाख खर्च लाग्दै छ । आर्थिक अवस्था कमजोर छ । भनेर भन्दा मलाई गरो छैन । त्यही भएर मलाई सम्मानको खादा माला र प्रमाण पत्र भन्दा आर्थिक कुरालाई महत्त्व दिई दिनुहोला,’ उनले लेखेका छन् ।

  • ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा सन्दीप लामिछाने, तीन वर्षको सम्झौता

    ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा सन्दीप लामिछाने, तीन वर्षको सम्झौता

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने फेसन ब्रान्ड डेनिम एन्ड डेभिल्सको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । आज हिमालय होटलमा आयोजित एक समारोहमा उनले सम्झौतामा हस्ताक्षर गरे ।

    सन्दीपलाई ३ वर्षका लागि ब्रान्ड एम्बेस्डर नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीसँग फेरि जोडिन पाएकोमा सन्दीपले खुशी व्यक्त गरे । आफू सुरुबाटै यो कम्पनीको परिवारको सदस्यजस्तै भएको उनले बताए ।

    ‘३ वर्ष मात्र होइन, अझै अगाडिसम्म जान चाहन्छु’, सन्दीपले भने । डेनिम एन्ड डेभिल्सले उच्च गुणस्तरका जेन्स कपडाहरुको विक्री वितरण गर्दै आएको छ ।

  • मोन्टी देसाई काठमाडौंको मुख्य प्रशिक्षक नियुक्त

    मोन्टी देसाई काठमाडौंको मुख्य प्रशिक्षक नियुक्त

    काठमाडौं । काठमाडौं गुखार्जले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

    नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक देसाईलाई काठमाडौंले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत हो । करण केसी काठमाडौंका मार्की प्लेयर हुन् ।

    मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो ।

  • दशौं राष्ट्रिय खेलकुद मंसिर मै हुन्छ, अब पनि सार्नु भनेको राष्ट्रिय लज्जाको विषय हुन्छः प्रधानमन्त्री (भिडिओ)

    दशौं राष्ट्रिय खेलकुद मंसिर मै हुन्छ, अब पनि सार्नु भनेको राष्ट्रिय लज्जाको विषय हुन्छः प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद आगामी मंसिरमा हुने बताएका छन् । सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै पनि हालतमा दशौं राष्ट्रिय खेलकुद नसर्ने बताएका हुन् ।

    ‘राष्ट्रिय खेलकुद मंसिर मै हुनुपर्छ । म मन्त्रालय लगायत सबैलाई भन्न चाहन्छु । अब पनि सार्नु भनेको राष्ट्रिय लज्जाको विषय हुन्छ । त्यहाँ कुनै ‘इक्स्क्यूज’ छैन । त्यो हुनै सक्दैन’, उनले भने, ‘अब समय सारिन्न । तोकिएको समयमा मंसिरमा राष्ट्रिय खेलकुदको आयोजना हुनेछ ।’

    दशौं राष्ट्रिय खेलकुद तेस्रो पटक मिति सार्दा पनि हुन सकेको छैन । सुरुमा २०८१ मंसिरमा दशौं खेलकुद गर्ने निर्णय भएको थियो । तर, तयारी नपुगेको भन्दै २०८१ चैतमा सारियो । उक्त समयमा पनि हुन सकेन ।

    पुनः जेठमा गर्ने गरी मिति तोकियो । प्रतियोगिताका लागि कर्णाली प्रदेशमा सम्पर्क कार्यालय खोलिए पनि अन्तिम समयमा आएर प्रतियोगिता स्थगित गरियो । तेस्रो पटक स्थगित दशौं राष्ट्रिय खेलकुद कहिले हुने मिति तोकिएको छैन ।

  • एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस् : प्रधानमन्त्री ओली

    एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस् : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलमा राजनीति नगर्न आग्रह गरेका छन् । सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेलको विकासमा ध्यान दिन उनलाई सुझाव दिए ।

    ‘सरकारमा राजनीतिक दल नै आउने हो । सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो, कृषि हो भने कृषिको विकास हुनुपर्‍यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्‍यो,’ उनले भने, ‘त्यहाँ राजनीति गर्नुभएन ।’

    राजनीतिका लागि खेलकुदमा स्पेस नभएकोमा प्रधानमन्त्री ओलीले जोड दिए ।

    उनले भने, ‘खेलमा हो भने खेलको विकास गर्नुपर्छ । खेललाई अगाडि लैजानुपर्छ । त्यहाँ पोलिटिक्स’ गर्ने होइन । पोलिटिक्सका लागि ‘देयर इज नो स्पेस’ । जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुपर्‍यो ।’

    खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन भाँड्न लागिपरेको आरोप लाग्दै आएको छ । खेलकुदमन्त्री चौधरीसमेत उपस्थित रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने एनपीएललाई अगाडि लैजानुपर्ने बताए । यद्यपि, उनले एनपीएल भन्नुपर्नेमा झुक्किएर वाईपीएल भनेका थिए ।

    उनले भने, ‘एनपीएलको भब्य तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो राष्ट्रिय गौरव हो । यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ । जसरी क्रिकेटको क्रेज बढेको छ देशमा, त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनुपर्छ,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले कीर्तिपुर रंगशाला सानो भयो भनेर चिन्ता नलिन आग्रह गरे। पहिलो फेजअन्तर्गत यति बनेको र दोस्रो फेजमा ठूलो रूपमा विस्तार हुने उनकाे भनाइ छ।

    ओलीले भने, ‘कीर्तिपुर रंगशाला सानो भएर आत्तिनुभएन, यो निरन्तर विस्तार हुन्छ। धेरै जनाले हेर्ने बनाउँछौं। अहिलेको त फर्स्ट फेजको काम हो, दोस्रो फेजमा अझ ठूलो विस्तार हुन्छ। अब यो क्रिकेट मैदानमात्र होइन, रंगशालामा परिणत भएको छ। राति खेल्न मिल्ने हुनेछ। यसलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रूपमा विकास गर्दैछौं  ।’

  • एनपीएलः मोन्टी देसाईलाई प्रमुख प्रशिक्षक घोषणा गर्दै काठमाडौं गोर्खाज

    एनपीएलः मोन्टी देसाईलाई प्रमुख प्रशिक्षक घोषणा गर्दै काठमाडौं गोर्खाज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज काठमाडौं गोर्खाजले हाइ प्रोफाइल प्रशिक्षक भित्र्याउने भएको छ । नेपाली राष्ट्रिय टीमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईले एनपीएलको दोस्रो संस्करणमा काठमाडौं गोर्खाजलाई प्रशिक्षण दिने भएका हुन् ।

    आज ६ बजे साँझ मोन्टीको नाम घोषणा गर्ने तयारी उक्त फ्रेन्चाइजले गरेको छ । उनको नियुक्ति प्रक्रिया लगभग टुंगिएको स्रोतले जानकारी दियो । काठमाडौं गोर्खाजको फेसबुक पेजमा पनि यसको संकेत गरिएको छ ।

    करण केसी मार्की खेलाडी रहेको काठमाडौं गोर्खाज एनपीएलको पहिलो संस्करणमा पाचौं स्थानमा रहेको थियो ।

  • एकसाथ १ सय खेलाडी प्रशिक्षण क्षमताको ‘हाइ पर्फमेन्स सेन्टर’ सञ्चालनमा

    एकसाथ १ सय खेलाडी प्रशिक्षण क्षमताको ‘हाइ पर्फमेन्स सेन्टर’ सञ्चालनमा

    काठमाडौं । नेपाली खेलाडीको प्रशिक्षण प्रविधिमैत्री बनाउन ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ सञ्चालनमा आएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरिएको उक्त सेन्टरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

    ७५७८ स्क्वायर फिट क्षेत्रफलमा फेलिएको सेन्टरमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने छन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षकसमेत रहेका प्रधानमन्त्रीले त्यहाँ जडान गरिएका प्रविधिको पनि जानकारी लिएका छन् ।

    सेन्टर सञ्चालनपश्चात ठूला र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले सुधारिएको प्रदर्शन गर्ने आशा गरिएको छ । अब खेलाडीको प्रशिक्षणदेखि लिएर छनोट प्रक्रियासम्ममा सहयोग पुग्ने राखेपले जनाएको छ । सेन्टरमा जडित अध्याधुनिक प्रविधिले खेलाडीका कमजोरी पत्ता लगाउन मद्दत पुग्ने बताइएको छ ।

    हाई पर्फमेन्स सेन्टरमा एक्स बडी मेसिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मेसिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्रयाक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेटलगायतका इक्विपमेन्ट राखिएको छ ।

    एक्स बडी मेसिनले खेलाडीको शारीरिक अवस्था र मुभमेन्ट, फोर्स फ्रेमले खेलाडीका शक्ति, एसभीटी मेसिनले दृश्य र जनाउने प्रतिक्रियालगायतको विश्लेषण गर्छ । यस्तै, बीएफआर मेसिनले खेलाडीको शरीरमा रगत प्रवाह, डाइनामो इक्विपमेन्टले हातको शक्ति विश्लेषण गर्न मद्दत पुर्‍याउँछ ।

    सेन्टरमा सुविधासम्पन्न जीमहल पनि राखिएको छ । महिला तथा पुरुष खेलाडीका लागि बाथरूम, चेन्जिङ, लकर, अफिस, स्टोर, थेरापी रूम, स्टिम रूमलगायतका सुविधा पनि उपलब्ध छ ।

  • टी-२० विश्वकप छनोट : नेपाल समूह-२ मा

    टी-२० विश्वकप छनोट : नेपाल समूह-२ मा

    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह-२ मा परेको छ।

    ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह-२ मा परेको हो ।

    उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह-१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह-३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन्।

    तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर-६ मा पुग्नेछ । सुपर-६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् । छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुनेछ ।

  • एसीसी यू-१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई लुम्बिनी प्रदेश सरकारद्वारा नगदसहित सम्मान

    एसीसी यू-१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई लुम्बिनी प्रदेश सरकारद्वारा नगदसहित सम्मान

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यू-१६ इस्टन जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।

    लुम्बिनी प्रदेश खेलकुद परिषद्ले प्रतिखेलाडी एक लाख र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो ।

    बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममार्फत प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लमही नगरपालिका-५, दाङ निवासी शुभम खनाल, कृष्णनगर कपिलवस्तु निवासी रौनक श्रीवास्तव र घोराही उपमहानगरपालिका निवासी प्रशिक्षक पूरणसिंह खत्रीलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका हुन् ।

    खेलाडी खनाल र श्रीवास्तवले जनही एक लाख रुपैयाँ तथा प्रशिक्षक खत्रीले ५० हजार रुपैयाँ सम्मान स्वरूप प्राप्त गरेका छन् ।

    सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरलगायतले उनीहरूलाई सम्मान गरेका थिए ।

    सदस्य सचिव गौतमले खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह थप्नका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए ।

    उनले भने, ‘खेल क्षेत्रको विकासका लागि खेलाडीहरूमा उत्साह थपिन जरुरी छ । प्रदेश सरकारले सबै खेल क्षेत्रलाई समान दृष्टिकोणले सहयोगको हात बढाइरहेको छ । प्रदेश सरकारले यसै गरी खेल क्षेत्रको विकासमा भूमिका बढाइरहेको छ ।’

    सम्मान प्राप्त खेलाडी तथा प्रशिक्षकहरूले प्रदेश सरकारको यो कदमले आफूहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।

  • उपाधि विजेता यू-१६ क्रिकेट खेलाडी खनाललाई लमहीमा सम्मान

    उपाधि विजेता यू-१६ क्रिकेट खेलाडी खनाललाई लमहीमा सम्मान

    रुपन्देही । क्रिक्रेटर शुभम खनाललाई दाङको लमहीमा स्वागत तथा सम्मान गरिएको छ । बुधवार लमही नगरपालिका र लमही नगरपालिका वडा नं. ५ को वडा कार्यालयले संयुक्त रुपमा नेपाली यू-१६ क्रिक्रेटर शुभम खनाललाई सम्मान गरिएको हो ।

    लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा र लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले नेपाली यू-१६ क्रिक्रेटर शुभम खनाललाई सम्मान गर्दै हौसला थपेका छन् ।

    नेपाली यू-१६ टोलीले गत शनिबार एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको थियो । शुभमका बुबा केशव खनालले सानै उमेरमा छोरालाई राष्ट्रिय जर्सीमा देख्न पाउँदा परिवारलाई मात्र नभइ सिंगो राष्ट्रलाइ गौरवान्वित बनाएको बताए ।

    नेपालका पूर्वकप्तान शक्ति गौचनको प्रशिक्षणमा खारिएका सुभमले आफूलाई लेफ्ट आर्म स्पिन बलरका रूपमा स्थापित गरेका छन् ।

    लगातार यू-१६ क्रिकेटको उपाधि जितेको नेपालै टोलीले यसअघि सन् २०१७ र २०१९ मा भएको इस्टर्न रिजन प्रतियोगिता जितेको थियो । त्यस्तै २०२३ मा यू-१६ इस्ट जोन कपकै नामको प्रतियोगिता नेपालले जितेको थियो ।

    नेपाली टोली गत आइतबार बेलुकी स्वदेश फर्किएको हो । साथै ८ देखि २१ असारसम्म मलेसियामा भएको एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल शुभम खनालसहितको टोलीलाई लमही नगरपालिका वडा नं.५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले ओलीले बधाई दिएका हुन् ।

  • टि- २० विश्वकप छनोटः सिकारु ठानिएको इटलीसँग बलियो स्कटल्यान्ड स्तब्ध

    टि- २० विश्वकप छनोटः सिकारु ठानिएको इटलीसँग बलियो स्कटल्यान्ड स्तब्ध

    काठमाडौं । टि-२० विश्वकपको युरोप रिजन फाइनलमा अप्रत्याशित नतिजा निकाल्दै क्रिकेटको नवोदित राष्ट्र इटलीले बलियो एसोसिएट राष्ट्र स्कटल्यान्डलाई हराइदिएको छ । इटलीले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रन मात्रै जोड्न सक्यो ।

    पहिलो ब्याटिङ गरेको इटलीले ओपनर एमिलियो गेको विष्फोटक अर्धसतकको मद्दतमा १६७ रनको स्कोर खडा गरेको थियो । एमिलियोले २१ बलमा ६ चौका र २ छक्कासहित ५० रन हाने । सातौं नम्बरमा आएका ग्रान्ट स्टेवार्टले २७ बलमा ४४ रन प्रहार गरे । स्कटल्यान्डका माइकल लिस्कले ३ विकेट लिएका थिए ।

    जवाफी ब्याटिङमा स्कटल्यान्डले खराब सुरुवात गर्दै २९ रनमा दुई विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि जर्ज मुन्से र रिची बेरिङटनले शतकीय साझेदारी गरे पनि त्यो जितका लागि पर्याप्त भएन । मुन्सेले ६१ बलमा ७२ रन बनाए ।

    बेरिङटन ३७ बलमा ४६ रन बनाएर अविजित रहे । इटलीका बलर ह्यारी मानेटीले एक्लै ५ विकेट लिँदै स्कटल्यान्डलाई स्तब्ध तुल्याउन प्रमुख भूमिका खेले ।

    इटलीको टिममा अधिकांस विदेशी खेलाडीहरु छन् । एमिलियो निको गेले यसअघि ईंग्ल्यान्डको ए टिमबाट खेलिसकेका छन् । ह्यारी मानेटी अष्ट्रेलियन मुलका हुन् । उनीसँग बीबीएल खेलेको अनुभव छ ।

    आइसीसीको टि २० र्याङकिङमा स्कटल्यान्ड १३ औं र इटली ३२ औं स्थानमा रहेका छन् ।

  • कप्तान छान्न पाउने अधिकार प्रशिक्षकको हो: एन्फा प्राविधिक निर्देशक खड्का (भिडिओ)

    कप्तान छान्न पाउने अधिकार प्रशिक्षकको हो: एन्फा प्राविधिक निर्देशक खड्का (भिडिओ)

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्राविधिक निर्देशक हरि खड्काले टोलीको कप्तान छान्ने जिम्मेवारी प्रशिक्षकको हुने बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खड्काले कप्तान छान्ने सम्पूर्ण अधिकार प्रशिक्षकलाई हुने बताएका हुन् ।

    नेपाली टोलीको कप्तान सावित्रा भण्डारी साम्बाले निरन्तरता पाउँछिन् भन्ने प्रश्नमा निर्देशक खड्काले भने, ‘त्यो कोचमा भर पर्ने कुरा हो । कोचको जिम्मेवारी हो त्यो, तर एफएसँग समन्वय गरेर ।’

    इलिजेबल र लिड गर्ने क्षमताका आधारमा प्रशिक्षकले कप्तान छान्ने निर्देशक खड्काले बताए ।

    ‘को इलिजेबल छ, कसले टीमलाई लिड गर्नसक्छ, त्यो कोचले छान्ने हो’, उनले भने, ‘उहाँ आउनुभयो भने साम्बालाई नै निरन्तरता दिन सक्नुहुन्छ । अरु आउनुभयो भने अरुलाई इलिजेबल देख्न सक्छन् या साम्बालाई नै पनि देख्न सक्छन् ।’

  • प्रशिक्षकले एक महिना नपुग्दै मेरो तलब कहिले आउँछ, एफएलाई भन्देउ न भन्नुहुन्थ्योः सरिला श्रेष्ठ (भिडिओ)

    प्रशिक्षकले एक महिना नपुग्दै मेरो तलब कहिले आउँछ, एफएलाई भन्देउ न भन्नुहुन्थ्योः सरिला श्रेष्ठ (भिडिओ)

    काठमाडौं । उज्बेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको विवाद सतहमा आएको छ ।

    मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले केहि दिनअघि एक अन्तर्वातामा एन्फा, टिम व्यवस्थापकलाई विभिन्न आरोप लगाएका थिए ।

    एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठसहितको टोलीले पत्रकार सम्मेलन गर्दै प्रशिक्षक वाइल्डकै कारण टोलीमा विवाद आएको दाबी गरेका छन् । कार्यकारी समिति सदस्य श्रेष्ठले प्रशिक्षक वाइल्डले एक महिना नपुग्दै तलब कहिले आउँछ भनेर भन्ने गरेको आरोप लगाइन् ।

    ‘उहाँले हामीलाई जतिखेर पनि मेरो स्यालरी कहिले आउछ । मेरो स्यालरी भन्देउ न एफएलाई भन्थ्यो । उहाँले जम्मा कति गर्नुभएको छ ट्रेनिङ। तपाईं आफैलाई थाहा छ काउन्ट गर्नु,’ उनले भनिन्, ‘जसले पनि काम गर्दा एक महिनापछि स्यालरी पाउछ नि । जादा साथ कसैले पनि स्यालरी पाउँदैन ।’

    वाइल्ड गत जेठ २२ गते नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

  • महिला फुटबल टीमको कप्तान परिवर्तनबारे एन्फाले भन्यो- प्रशिक्षकले गर्दा भद्रगोल भयो

    महिला फुटबल टीमको कप्तान परिवर्तनबारे एन्फाले भन्यो- प्रशिक्षकले गर्दा भद्रगोल भयो

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच द्वन्द्व चर्किएको छ । आज एक पत्रकार सम्मेलन गर्दै एन्फाले प्रशिक्षकाका कारण एसिया क्वालिफायर्समा भएको कप्तानीबारे भद्रगोल भएको बतायो ।

    प्याट्रिकले हालै एक अन्तरवार्तामा एन्फाप्रति तीव्र असन्तुष्टि पोखेका थिए । एन्फाले खेलाडीलाई न्यूनतम सुविधा र पूर्वाधारसमेत नदिएको आरोप लगाउँदै आफू टिमबाट अलग हुने संकेत गरेका छन् । यसैको जवाफमा एन्फाले आज प्रेसमिट गरेको हो ।

    एन्फाको तर्फबाट उज्वेकिस्तान गएको टोलीकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठले प्रष्टीकरण दिएकी थिइन् । उनले प्रमुख प्रशिक्षकले अन्तिम क्षणसम्म पनि कप्तानीबारे निर्णय नसुनाउँदा अन्योल भएको बताइन् ।

    पत्रकार सम्मेलनमा महिला टिमकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मलेखुले कप्तानी परिवर्तनका विषयमा यस्तो भनाइ राखिन्:

    ‘हामीले टिमको विदाइ कार्यक्रममै क्याप्टेन घोषणा गरौं भनेका थियौं । हेड कोचले अहिले नगर्ने, अन द स्पोट गर्ने भन्नुभयो । हामी ओके भयौं । कुनै नाइनास्ती गरेनौं । लावस र नेपालको पहिलो म्याच थिया । हाम्रो रुल्स एन्ड रेगुलेसन्समा ९० मिनेट अगाडि नेम लिस्ट दिनुपर्छ । सुरुमा एफएलाई दिनुपथ्र्यो, त्यसपछि एएफसीमा जान्थ्यो । हामीले नपाएसम्म एफएलाई पनि दिन सक्ने स्थिति थिएन ।

    हामी सबैजना बसेर मिटिङ गर्यौं । एफएबाट नाम मागेर फोन आयो । मैले नै इनिसियट लिएर हेड कोचलाई सोधेँ । उहाँले ९० मिनेटभन्दा अगाडि दिन सक्दिनँ भन्नुभयो । नत्र तिमीहरुले फ्ल्यास गर्छ भन्ने उहाँको कुरा थियो । यता एएफसीबाट म्याच कमिसनरले नेमलिस्ट चाहियो भनिरहेका थिए टाइम पनि मेन्सन गरेर । ९० मिनेटभन्दा ५ मिनेट अगाडि बल्ल हेडकोचले नेमलिस्ट दिनुभयो ।

    त्यो पनि भिडिओमा देखाएर । स्टार्टिङ ११ भनेर भिडिओमा देखाउनुभएको थियो । त्यही फोटो खिचेर देउ भन्नुभयो । तर त्यसमा पनि क्याप्टेन मेन्सन थिएन । हामीले क्याप्टेन को हो भनेर सोध्यौं । उहाँले भन्नुभएन । नेमलिस्टमा ‘सी’ नलेखेसम्म स्वीकार हुँदैन । तर उहाँले दिनुभएन । नबोलि सुइसुइ जानुभयो र बस चढ्नुभयो ।

    इन्ट्री हुने टाइममा म्याच कमिसनर कुरेर बस्नुभएको थियो ल्यापटप लिएर । नेम लिस्ट त थियो, तर कप्तान थिएन । त्यसपछि सबैभन्दा सिनियर रेनुका नगरकोटीको नाम हामीले कप्तान भनेर मेन्सन गर्यौं । मैले नै भनेँ । त्यसपछि बल्ल पास भयो । त्यतिबेलासम्म हामीलाई हेड कोचको मनसाय थाहा छैन । भित्र गइयो । कप्तानलाई आम ब्यान्ड लगाउने बेला भयो ।

    ‘प्रे’ गर्ने बेलामा मात्र बिन्दा म्यामले रेनुकालाई आर्मब्यान्ड लगाउन बोलाउनुभयो । तर कोचले उ होइन साम्बा हो कप्तान भन्नुभयो । यही कुरा पहिले नै भनेको भए प्रोब्लम नै हुन्थेन । तर त्यतिबेला हामीले कप्तानमा रेनुकाको नाम लेखाइसकेका थियांै । अर्कोलाई आर्मब्यान्ड लगाइदिँदा फाइन खानुपर्ला भन्ने भयो । यही विषयमा हेड कोचसँग विवाद भयो । उहाँ तर्किनुभयो ।

  • प्रशिक्षकले कप्तानको नाम नदिएपछि हामीले रेनुकालाई कप्तान बनाएका हौं : टीम व्यवस्थापक सरिला (भिडिओ)

    प्रशिक्षकले कप्तानको नाम नदिएपछि हामीले रेनुकालाई कप्तान बनाएका हौं : टीम व्यवस्थापक सरिला (भिडिओ)

    काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले प्रष्टीकरण दिएकी छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले कप्तानको नाम नदिएका कारण आफुहरुले कप्तानको नाम पठाउनु परेको प्रष्टिकरण दिएकी हुन् ।

    छनोट अन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घन्टा मै परिवर्तन गरिएको थियो । सुरुमा रेनुका नगरकोटीलाई कप्तानको जिम्मेवारी दिएपनि त्यसको एक घन्टा नबित्दै सावित्रा भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो ।

    उक्त विषयमा टिम व्यवस्थापक सरिलाले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेरको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफैले सिनियारिटीका आधारमा रेनुकालाई कप्तान बनाइएको दाबी गरिन् ।

    ‘खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको लिष्ट बुझाउनुपर्छ । हामीले बारम्बार मार्दा पनि उहाँले ९० मिनेटअघि दिँदैन भन्नुभयो,’ उनले भनिन्, ‘९० मिनेटभन्दा ५ मिनेटअघि दिनुभयो । जसमा कप्तानको नाम थिएन । हामीले सिनियारिटी हेरेर रेनुकालाई कप्तान बनाएका थियौं ।’

    तर, खेलाडी मैदान प्रवेश गर्दा प्रशिक्षकले एक्कासी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइदिएको सरिलाले सुनाइन् । ‘अन्तिममा कप्तान चयन हुँदा यस्तो समस्या भएको हो । त्यसमा तपाईहरुले अन्यथा नसोचिदिनुहोला । साम्बा एकदिन १०० प्रतिशत कप्तान हुन्छ । यो देशमा अरु आउछ भन्ने सोच छैन,’ उनले भनिन्, ‘त्यसकारण उहाँलाई नबनाउने भनेर पोलिटिक्स गरेको होइन ।’

  • त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट राखिँदै, ३ वटा टावर भारतबाट ल्याइयो

    त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट राखिँदै, ३ वटा टावर भारतबाट ल्याइयो

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको ३ वटा टावर काठमाडौं आइपुगेका छन् ।

    अहिले ती पोलहरू रंगशाला बाहिर नै राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको । भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो ।

    अब धमाधम जडान थालिने बताइएको छ । ४३ करोड ७७ लाख ३० हजार ११३ रूपैयाँको लगानीमा बिकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो ।

    तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी ।