काठमाडौं । पछिल्लो दुई वर्षमा नेपाली क्रिकेटमा सबैले महसुस गर्न सक्ने गरी धेरै परिवर्तन एवं सुधारहरु भएका छन् । क्रिकेटको अभिभावकत्व लिएको नेपाल क्रिकेट संघ (क्यान) को भूमिका एवं सक्रियता ह्वात्तै बढेको छ । र, यसको केन्द्रमा छन् क्यान सचिव पारस खड्का ।
पदीय हिसाबले पारस क्यानका सेकेन्ड म्यान हुन् । तर, व्यवहारिकरुपमा उनले नै अहिले नेपाली क्रिकेटलाई काँधमा बोकेर हिँडिरहेका छन् भन्दा फरक नपर्ला । गत वर्ष भव्यरुपमा सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) पारसकै सोच र अठोटको उपज थियो । एनपीएलको पहिलो संस्करणलाई नै उनले अन्तर्राष्ट्रिय चर्चाको विषय बनाइदिए । क्यान अब दोस्रो संस्करणको तयारीमा छ ।
यही बीचमा पारसलाई विवादमा मुछ्ने र अन्तत्वगत्वा असफल बनाएर क्यानबाटै लखेट्ने भगिरथ प्रयास पनि एउटा कोणबाट जारी छ । एउटा गिरोहले क्यानकै केही पदाधिकारीलाई हातमा लिएर यस्ताे खेल रचिरहेको आरोप क्रिकेट समर्थकहरुले लगाइरहेका छन् । अख्तियारमा उजुरी परेको छ । खेलकुद मन्त्रीले बनाएको एउटा छानबिन समितिले अख्तियारको अनुसन्धान नसकिएसम्म एनपीएलको कुनै पनि काम नगर्न क्यानलाई आदेशसमेत गर्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘एनपीएल नेपालको गौरव’ भन्दै दोस्रो संस्करणको भव्य तयारी गर्न निर्देशन दिँदै विवादको बिट मारिदिए ।
क्यान सचिव खड्काले हालै सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बार्षिक सम्मेलनमा समेत एनपीएलको विषयमा प्रस्तुति दिएका छन् । उनको गहन प्रस्तुतिले १०८ सहभागी सम्मेलनमा सबैको ध्यानाकर्षण गरेको थियो । यसबाट नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत मिलेकाे विश्वास छ ।
पारस सिंगापुर प्रस्थान गर्नुअघि उनले नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलसँग लामो संवाद गर्दै एनपीएलमाथि उठेका सबै प्रश्नहरुको जवाफ दिएका थिए । उनले प्रायाेजित विवाद र कन्ट्रोभर्सीहरुबाट विचलित नभइकन नेपाली क्रिकेटलाई अघि बढाउन दृढ संकल्पित रहने बताएका छन् ।
उक्त संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:
नमस्कार । तपाईंलाई नेपाल प्रेसको यो टक शोमा हार्दिक स्वागत छ ।
धन्यवाद, नमस्कार ।
आजकाल कत्तिको व्यस्त हुनुहुन्छ ?
व्यस्तता छ । क्रिकेट संघ अहिले नेपालको क्रिकेटलाई माथि उठाउने अभियानमा अगाडि बढिरहेको छ । धेरै प्रतियोगिताहरू आयोजना गर्नुपर्ने छ । देशमा क्रिकेटको जुन माहोल बनेको छ, त्यसलाई सेलाउन दिनु हुँदैन । त्यसैले हामी सबैजना, क्रिकेटसँग सम्बन्धित सबै मानिसहरू काममा लागिरहेका छौँ ।
सुरुमा म एनपीएलको विषयवस्तुमा केन्द्रित हुन चाहन्छु । भर्खरै खेलकुद मन्त्रालयले बनाएको कार्यदलले एनपीएलमा आर्थिक अनियमितता भएको भन्ने आरोपका सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन बुझायो । र, त्यो प्रतिवेदनमा ‘क्यानले छानबिनमा सहयोग नगरेकाले निष्कर्षमा पुग्न सकिएन र यो छानबिनलाई अझै निरन्तरता दिनुपर्छ’ भनिएको कुरा बाहिर आएको छ । तपाईंहरूले छानबिनमा असहयोग नै गर्नुभएको हो ?
सर्वप्रथम त, नेपाल क्रिकेट संघ एउटा जवाफदेही संगठन हो । संघले नेपाल प्रिमियर लिग आयोजना गर्यो । नयाँ कार्यसमिति आएदेखि वा समग्र क्रिकेट संघको इतिहास हेर्ने हो भने, कसले के–कति काम गर्यो वा गरेन भन्ने कुराको मूल्याङ्कन हामी आफैँले भन्दा पनि क्रिकेटलाई नजिकबाट हेर्ने–बुझ्ने मानिसहरूले गरिसक्नुभएको छ ।
तर एनपीएल भव्यरुपमा सम्पन्न भएपछि क्रिकेटबाट विभिन्न फाइदा उठाउँदै आएका केही मानिसहरूलाई सैह्य भएन । उहाँहरुको पसल बन्द भएकाे थियाे । त्यो रिसमा उहाँहरूले जहिले पनि अख्तियारमा बेनामी वा नामी उजुरी दर्ता गर्ने, गराउने र त्यही उजुरीका आधारमा मन्त्रालयमा पत्र पठाउने काम सुरु भयो । संयोग पनि कस्तो थियो भने, अख्तियारमा मुद्दा दर्ता हुनासाथ मन्त्रालयले चिठी काटिहाल्ने ।
अख्तियारमा जो–कसैले उजुरी हाल्न पाउँछ, तर उजुरी हालेलगत्तै मन्त्रालयले पत्र काट्ने र परिषद्मार्फत हामीकहाँ आउने उपक्रम चल्यो । त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले एउटा समिति गठन गर्यो । त्यो समितिले सोधेका प्रश्नहरूअनुसार हामीले जवाफ लेखेर पठाएपछि उक्त समितिलाई अनायाश विघटन गरियो ।
त्यो समिति विघटन भएपछि अर्को समिति फेरि गठन गरियो । त्यो समितिले हामीलाई चिठी काट्दा अख्तियारले सोधेका तीन–चारवटा प्रश्नमाथि एकदम मसला थपेर सोध्न थाल्यो । जब ती प्रश्नहरू हामीकहाँ आउन थाले, त्यतिबेला हामीलाई के लाग्यो भने, यसमा क्रिकेट संघभित्रको राजनीति, संघ राम्रो हुनुहुँदैन भन्ने एउटा समूह, भविष्यमा आफ्नो स्थान नदेख्ने मानिसहरू र क्रिकेटबाट फाइदा उठाएका व्यक्तिहरूको समूहले यसलाई सामाजिक–राजनीतिक रूपमा प्रयोग गरेर क्रिकेट संघ र एनपीएललाई बदनाम गर्ने योजना बनाएको छ ।

व्यक्तिगत रूपमा तपाईंलाई बढी टार्गेट गरिएको हो ?
होइन, व्यक्तिगत रूपमा भन्दा पनि म संस्थाको एउटा जवाफदेही पदमा छु । मैले दिने जवाफ पारस खड्काको रूपमा होइन, नेपाल क्रिकेट संघको तर्फबाट हो । जब उहाँहरूका प्रश्नहरू आए, हामीले दोस्रो छानविन समितिका संयोजकज्यूलाई भेटेर सक्कल माइन्युट नै लगेर निर्णयहरू देखायौँ । उहाँ पनि स्पष्ट हुनुभयो र भन्नुभयो, ‘यसमा त सबै कुरा स्पष्ट रहेछ । हाम्रो त्यस्तो केही छैन, यो एउटा प्रक्रिया मात्र हो ।’
अझ अचम्मलाग्दो कुरा के थियो भने, त्यो पत्र मंगलबार काटिएमा क्यानमा बिहीबार वा शुक्रबार आइपुग्थ्यो, तर बुधबार नै कुनै न्युज पोर्टलमा त्यो पत्र पहिले नै आइसकेको हुन्थ्यो । यसको मतलब यो विषयलाई अतिरञ्जित र सनसनीपूर्ण बनाउन खोजिएको थियो ।
तपाईंहरूले छानबिन समितिलाई लिखित जवाफ चाहिँ किन दिनुभएन ?
होइन, लिखित जवाफ पठाइसकेका थियौँ । पहिलो र दोस्रोपटक दुवैमा पठायौँ ।
तेस्रो पटक चाहिँ के कारणले पठाउनुभएन ?
दोस्रो पटक जवाफ पठाएर माइन्युटका कपिहरू देखाएपछि उहाँले ‘सबै ठीक छ, लिएर जानुस्’ भनेपछि म फिर्ता आएँ । त्यसपछि फेरि तेस्रो पत्र काटियो, जसको भाषाको शैली हेर्दा नियत नै ठीक देखिएन ।
त्यस्तो के थियो र नियतमाथि नै शंका गर्नुपर्ने ?
हजुर । त्यसमा एनपीएलका गतिविधि रोक्नुपर्ने तथा हक-अधिकारका कुरा थिए । मैले छानबिन समितिका संयोजकज्यूलाई नै सोध्दा उहाँले यसबारे आफूलाई कति कुरा थाहा नभएको स्पष्ट बताउनुभयो ।
हो, हामीसँग पनि छानबिन समिति संयोजकले ‘म अलिकति परिबन्दमा परेर यो समितिको संयोजक बनेको हुँ, मलाई यसमा रुचि नै थिएन’ भन्ने कुरा गर्नुहुन्छ ।
हजुर । समिति गठन भयो, ठीक छ । हामी जवाफदेही हुनुपर्छ, त्यो पनि ठीक छ । हामीले जवाफ पठायौँ । तर त्यही बीचमा अख्तियारबाट पनि ‘यो विषयमा मन्त्रालयले नै निर्णय गरेर अगाडि बढाओस्’ भन्ने पत्र आएको रहेछ । तैपनि उहाँहरूले थप प्रश्न सोधेर अख्तियारलाई नै प्रयोग गर्ने र मिडियाबाजी गर्ने काम गर्नुभयो ।

भन्नाले अख्तियारलाई उक्साउन खोजियो ?
हो, उक्साउन खोज्ने । पछि अख्तियारमा बुझ्दा उहाँहरू आफैँ पनि यो विषयमा अनभिज्ञ हुनुहुन्थ्यो । त्यसपछि हामीले भन्यौँ कि हामी जवाफदेही छौँ । तर राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको एउटा समितिलाई विघटन गरेर अर्को समिति बनाउनु, जसको वैधानिकतामाथि नै प्रश्न छ, त्यसलाई प्रयोग गरेर क्रिकेटको गलत सोच भएको गुट र राजनीतिक व्यक्तिहरूले संघलाई बदनाम गर्ने प्रयास गरे । यदि साँच्चै खोजतलास गर्ने हो भने विगतमा भएका राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताहरू कसले, कुन प्रक्रियामा र कतिमा ठेक्का लिएका छन् भन्ने खोज्दा जवाफदेही को–को हुन्छन्, त्यो समयले देखाउनेछ ।
तपाईंहरूमाथिको नियामक निकाय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ ‘यो छानबिनमा मेरो संलग्नता छैन, मलाई नमुछ्नुहोला’ भन्नुहुन्छ । छानबिन समितिका संयोजक ‘मलाई जबर्जस्ती राखियो’ भन्नुहुन्छ । तपाईंलाई के लाग्छ, खेलकुदलाई कसैले बाहिरबाट ‘म्यानिपुलेट’ गरिरहेको छ ?
यसको जवाफ मसँग छैन । मन्त्रीज्यू आफैँ पनि क्रिकेट संघ बिग्रियोस् भन्ने चाहनुहुन्न होला । तर जे–जति गतिविधि भएका छन्, ती ठीक भएका छैनन् । हामी जवाफदेही छौँ, तर छानबिन समितिलाई पठाइएका कागजातहरू मिडियामा आउँछन् भने त्यसको अर्थ के हो ? त्यो भनेको मिडिया ट्रायल गरेर नेपाल क्रिकेट संघ र एनपीएललाई बदनाम गर्ने प्रयास हो ।
व्यक्तिगतरूपमा मैले क्रिकेट खेलेर कमाएको इज्जत र विश्वासमाथि आर्थिक अनियमितताको आरोप लगाएर सनसनी फैलाउने काम भयो । हामी जवाफ दिने ठाउँमा दिन्छौँ । आवश्यक परे सबै कुरा सार्वजनिक गर्न पनि तयार छौँ, तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ ।
कतिपय विषयमा त क्रिकेट संघभित्रैबाट पनि प्रश्नहरु उठिरहेका छन् नि ? हिसाब-किताब देखाउनुपर्यो भनेर ८ जनाले पत्र नै दिनुभएको छ होइन ?
हजुर । आन्तरिक कुरामा पनि, क्रिकेट संघका आठ जनाको हस्ताक्षर भनेर एउटा पत्र आयो । त्यो आन्तरिक पत्र थियो, तर मिडियामा फेरि त्यो पनि छरियो । यता समितिबाट पत्र सोध्न लगाउने, उता मिडियामा समाचार निकाल्ने, अनि संघभित्रै असहमति छ भनेर देखाउने काम भयो ।
मैले केही केन्द्रीय सदस्यहरूलाई फोन गरेर सोध्दा उहाँहरूले ‘यो त आन्तरिक विषय थियो, हामीलाई अर्कै तरिकाले प्रयोग गरियो’ भन्नुभयो । त्यसैले यो सबै कुरा हेर्दा, यो नियोजित ढंगले भएको देखिन्छ । यो कसले गरेको हो भन्ने जवाफ मसँग छैन, किनभने त्यसका लागि प्रमाण चाहिन्छ । तर नेपाल क्रिकेट संघले गति लिइरहेको बेला, यसलाई बदनाम गरेर दोस्रो संस्करणलाई प्रभावित पार्ने र आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले यो सबै गरिएको हो ।

क्यानलाई असफल पार्न खोजिएको हो कि नेपाली क्रिकेटलाई नै सिध्याउने प्रयास हो जस्तो लाग्छ ?
क्रिकेट अगाडि बढ्नु भनेकै क्यान सफल हुनु हो । क्यान सफल भएरै क्रिकेट अगाडि बढ्ने हो, किनकि क्यान क्रिकेटको गभर्निङ बडी हो । म त्यसको एउटा हिस्सा हुँ । कुनै पनि संस्थामा विवाद हुन्छ, तर अहिलेको यो अवस्था हेर्दा, शतप्रतिशत नेपाल क्रिकेट संघमा चुनाव लागिसकेको छ । अहिले काम गर्नुपर्ने समय हो । मेरो दुई वर्षे कार्यकाल सकिन लागेको छ । कामको मूल्याङ्कन गरेर नै देश, प्रदेश र जिल्लाका प्रतिनिधिहरूले भोट हाल्ने हुन् ।
एउटा राम्रो क्रिकेट संघ भनेको टीम हो, व्यक्ति होइन । नेपाली क्रिकेट यहाँसम्म आइपुग्नुमा पारस खड्काको मात्र होइन, शक्ति गौचन, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकरदेखि पुराना खेलाडीहरू उत्तम कर्माचार्य, विनोद दास, मेहबुब आलम सबैको योगदान छ । आज रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीहरूले त्यसैलाई अगाडि बढाउँदैछन् । यो टिमलाई अस्थिर बनाउन र गलत व्यक्तिहरूलाई प्रयोग गरेर मुद्दा-मामिलामा फसाउने र संघलाई बदनाम गर्ने प्रयास भइरहेको छ ।
अख्तियारमा परेका दुईवटा उजुरी के विषयमा थिए र त्यसको छानबिन कहाँ पुग्यो ? अख्तियारले तपाईंहरूलाई बयानका लागि बोलाएको छ कि छैन ?
केही पनि छैन । अख्तियारलाई नै प्रयोग गरियो । एनपीएलले मन्त्रालय र राखेपको स्वीकृतिबिना विदेशी कम्पनीसँग सम्झौता गरेको, स्टार स्पोर्ट्समा प्रसारणको प्रक्रिया पारदर्शी नभएको र स्थानीय च्यानललाई सहभागी नगराइएको भन्ने विषयमा थिए । अख्तियारले त यी सामान्य विषय भएकाले मन्त्रालयले नै आफ्नो नियमअनुसार टुङ्ग्याउनु भनेर स्पष्ट निर्देशन दिइसकेको रहेछ ।
तर त्यसमाथि पनि छानबिन समितिले थप प्रश्न सोधेर गलत नियत देखायो । हामीले छलफलका लागि बोलाउँदा पनि समिति कहिल्यै बस्न चाहेन । उहाँहरूलाई ‘नभेट्नु’ भन्ने निर्देशन थियो कि जस्तो लाग्यो । पत्र मागेको माग्यै गर्ने, अन्योलमा पार्ने र मिडियामा समाचार छपाएर दोस्रो संस्करणलाई प्रभावित पार्ने काम स्पष्ट रूपमा भएको छ ।
सामान्यतया कुनै पनि खेल इभेन्टकाे टेलिभिजनले पैसा तिरेर प्रशारण अधिकार किन्छ, तर हामीले उल्टै स्टार स्पोर्ट्सलाई पैसा तिरेर प्रसारण गरायौँ । स्टार स्पोर्ट्समै जानुपर्ने आवश्यकता के थियो र यसमा खरिद नियमावली पालना भयो कि भएन ?
स्टार स्पोर्ट्स एउटा विश्वव्यापी प्लेटफर्म हो । विश्वकप सकिएपछि हामीले टिम मालिकहरू फाइनल गर्यौँ । हामीले टिमका लागि सूचना निकाल्दा १८ जनाले फारम लिनुभयो, १६ जनाले दर्ता गर्नुभयो, जसबाट हामीले १२ जना सर्टलिस्ट गर्यौँ र अन्त्यमा ८ वटा टिम छानियो । त्यसपछि हामीले व्यावसायिक र प्रसारण अधिकारका लागि आरएफपी (Request for Proposal) आह्वान ग¥यौँ । दुई कम्पनीले फारम लगे, जसमा ब्रान्ड लजिकले व्यावसायिक अधिकार लियो ।
हामीले एनपीएललाई स्टार स्पोर्ट्समा देखाउनुपर्छ भन्ने सोच्यौँ, किनकि यसले नेपाली क्रिकेटलाई विश्वव्यापी रूपमा चिनाउँछ । स्टार स्पोर्ट्समा पैसा तिरेर मात्रै प्रसारण हुँदैन, त्यहाँ धेरै प्रक्रिया र मापदण्ड हुन्छन् । तर हामीले नेपाल क्रिकेटको ब्रान्ड र सम्भावनाबारे विश्वस्त पारेर सहजीकरणका लागि मनायौँ । आज भारतका प्रान्तीय लिगहरू वा अन्य ग्लोबल लिगहरूले स्टार स्पोर्ट्समा आउन ठूलो रकम तिर्छन् ।
हाम्रोमा आफ्नै देशका प्रायोजक र टीम मालिकहरू खोजेर यो संरचना बनाइएको हो । हामीले टिम र प्रायोजकबाट उठाएको रकमबाट केही हिस्सा अन्तर्राष्ट्रिय प्लेटफर्ममा लगानी गर्ने निर्णय गर्यौँ । यो लगानी हाम्रो विश्वव्यापी उपस्थिति बढाउन र भविष्यमा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई पनि आकर्षित गर्नका लागि थियो । एजेन्टहरूले सोध्दा ‘स्टार स्पोर्ट्समा लाइभ आउँछ’ भन्नुले राम्रो खेलाडीहरू आकर्षित हुन्छन् । यो हाम्रो लागि गर्वको विषय हो ।
स्टार स्पोर्ट्ससँग कति रकमको सम्झौता थियाे ?
यो मैले खुलाउन मिल्दैन, किनकि यस्ता कुरा संवेदनशील हुन्छन् । तर यति भन्न सक्छु कि, अन्तर्राष्ट्रिय अभ्यासभन्दा लगभग ३०-४० प्रतिशत कम रकममै उहाँहरूले हाम्रो क्रिकेटको क्रेज देखेर सहजीकरण गरिदिनुभएको हो ।
अबको संस्करणमा के हुन्छ ? फेरि पैसा तिरेरै प्रसारण गर्ने हो कि उनीहरूले किन्छन् ?
यो पहिलो संस्करण मात्र हो, हामी भर्खरै सुरु गर्दैछौँ । तत्कालै उनीहरूले किन्ने अवस्थामा पुगेका छैनौँ । आईपीएल पनि दश वर्षपछि मात्रै नाफामा गएको हो । यो लगानीले भविष्यमा प्रतिफल दिनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
जे हाेस्, दाेस्राे संस्करण पनि स्टार स्पोर्ट्समै आउँछ ?
अर्को संस्करणमा हामीसँग अन्तर्राष्ट्रिय ग्लोबल प्लेटफर्मका रूपमा स्टार स्पोर्ट्स हुनेछ भने स्थानीय रूपमा पनि प्रसारण गर्नेबारे छलफल गरिरहेका छौँ ।
अब अर्को आरोप- कमर्सियल राइट्सका लागि टेन्डर निकाल्दा जम्मा दुई दिनको समय उपलब्ध गराइयो र सेटिङमा ब्रान्ड लजिकलाई दिइयो भन्ने छ । यसबारे के भन्नुहुन्छ ?
त्यो पाँच दिनको सूचना थियो । हामीले दशैँभन्दा केही समयअघि त्यो सूचना निकालेका थियौँ । हामीसँग समय निकै कम थियो । यसअघि क्यानले यस्ता सम्झौता बिना टेन्डर सोझै गर्थ्याे । हामीले कम्तीमा पनि प्रक्रिया सुरु गर्यौँ । म आफैँले देशका विभिन्न एजेन्सीहरूलाई फोन गरेर आरएफपीबारे जानकारी गराएको थिएँ । तर ५ करोडको न्यूनतम मापदण्ड र आर्थिक मन्दीका कारण धेरै पछि हटे । दुई कम्पनीले फारम लगे, जसमा ब्रान्ड लजिकले प्रस्ताव पेस गर्यो र उसले अधिकार पायो । यो आम्दानी गर्ने कुरा थियो, खर्च गर्ने होइन, त्यसैले हामीले सोझै सम्झौता पनि गर्न सक्थ्यौँ ।

तपाईंको विचारमा क्यानले ठूलो रकमको सम्झौता गर्दा खरिद नियमावलीको पालना गर्नु अनिवार्य हुन्छ कि हुँदैन ?
आम्दानी गर्ने कुरामा हामी सोझै सम्झौता गर्न सक्छौँ । खर्च गर्ने कुरामा भने नियम-कानुन पालना गर्नुपर्छ ।
आम्दानीको हकमा पनि राम्ररी प्रतिस्पर्धामा जाँदा बढी रकम आउन सक्थ्यो भन्ने तर्क होला नि ?
प्रतिस्पर्धा त गराउनै खोजेको हो, तर मौका हुँदा कसैले हालेनन् । अब दोस्रो संस्करणमा हेरौँला, साँच्चै इच्छुक एजेन्सीहरू कति आउँछन् ।
ब्रान्ड लजिकसँगको सम्झौता सकियो कि दोस्रो संस्करणमा पनि यो निरन्तर हुन्छ ?
त्यो केवल एक संस्करणका लागि थियो र सकियो । अब दोस्रो संस्करणका लागि हामी पर्याप्त समय दिएर प्रक्रिया अगाडि बढाउँछौँ ।
ब्रान्ड लजिकसँगै भारतीय कम्पनी ‘टीसीएम’ (ट्वेन्टी फर्स्ट सेन्चुरी मिडिया) पनि गाँसिएर आएको छ । यसलाई पनि अवैध तरिकाले भित्र्याएकाे आराेप छ नि ?
हामीले टीसीएमको नेपालमा दर्ता भएको स्थानीय कम्पनीसँग सहकार्य गरेका हौँ । टीसीएमको पृष्ठभूमि हेर्दा उनीहरूले बीसीसीआई, आईपीएल र विश्वकपजस्ता ठूला प्रतियोगितामा काम गरेका छन् । एनपीएललाई स्टार स्पोर्ट्समा विश्वस्तरीय रूपमा प्रस्तुत गर्न उनीहरूको विशेषज्ञता आवश्यक थियो । त्यसैले हामीले ब्रान्डिङ, प्रमोसन र प्रायोजक व्यवस्थापनका लागि उनीहरूको विशेषज्ञता प्रयोग गर्यौँ । हामीले उनीहरूलाई ‘स्ट्रेटेजिक एन्ड मार्केटिङ पार्टनर’ का रूपमा नियुक्त गरेका थियौँ । विदेशी कम्पनीसँग सोझै सम्झौता गर्न नमिल्ने भएकाले हामीले उनीहरूको नेपालमा दर्ता भएको स्थानीय कम्पनीमार्फत सहकार्य गरेका हौँ ।
उसलाई (टीसीएम) ब्रान्ड लजिकले भुक्तानी गर्यो कि क्यानले ?
ब्रान्ड लजिक र टीसीएमले आन्तरिक रूपमा मिलेर काम गर्नुभयो । हामीले कमर्सियल राइट्स ब्रान्ड लजिकलाई दिइसकेपछि, त्यो अधिकार उहाँसँग थियो । त्यसलाई लाइसेन्स वा सब–लाइसेन्स गर्ने हक उहाँहरूकै हो । हाम्रो सरोकार भनेकाे हामीले तोकेको निश्चित रकम पाउनु थियो । त्यसबाहेक, विश्वव्यापी प्लेटफर्ममा उपस्थिति देखाउन र विज्ञापनलगायतका काम गर्न उहाँहरूले समन्वय गर्नुभयो, जसमा हामीले पनि सहजीकरण गरिदियौँ । यसरी उहाँहरूले क्रिकेट संघसँग मिलेर काम गरेर हामीले पहिलो संस्करण सम्पन्न गर्यौँ ।
स्टार स्पोर्ट्सले मुख्य च्यानलमा नदेखाएर ‘सेलेक्ट’ भन्ने अतिरिक्त च्यानलमा देखायो, होइन ? मुख्य च्यानलमा देखाउनका लागि उसले थप शुल्क मागेको हो ?
स्टार स्पोर्टस्को मेन च्यानल भन्ने हुँदैन । स्टार स्पोर्ट्स सेलेक्टमा इंग्लिस प्रिमियर लिगका शीर्ष खेलहरू आउँछन् । भारतमा क्रिकेट र खेलकुदको प्लेटफर्म हेर्ने हो भने, हरेक च्यानलमा फरक-फरक खेलहरू हुन्छन्; कतै कबड्डी, कतै क्रिकेट, कतै उनीहरूकै लिगहरू । स्टार स्पोर्ट्सको कुनै पनि प्लेटफर्ममा आउनु नै हाम्रो लागि ठूलो कुरा थियो । यसअघि स्टार स्पोर्ट्समा नेपाली क्रिकेट विश्वकप र एसिया कपमा मात्र आएको थियो । त्यसैले हाम्रो लागि स्टार स्पोर्ट्स विश्वलाई देखाउने एउटा माध्यम थियो । हामीले क्रिकेट मात्र देखाइरहेका थिएनौँ, हामी नेपाललाई प्रस्तुत गरिरहेका थियौँ ।
एउटा समाचारमा मैले के पनि पढेको थिएँ भने, जब एनपीएलबारे छानबिनको विषय उठ्न थाल्यो र अख्तियारमा उजुरी पर्यो, त्यसपछि तपाईंहरूले राखेपका सदस्य-सचिवलाई प्रभावमा पार्न क्यानको खर्चमा श्रीमतीसहित अमेरिका भ्रमण गराउनुभयो । त्यति मात्र होइन, खेलकुद मन्त्रीलाई पनि श्रीमतीसहित मलेसिया घुमाउनुभयो । छानबिन प्रभावित पार्ने हिसाबले क्यानको बजेट दुरुपयोग भयो भन्ने आराेपकाे यथार्थ के हो ?
राखेपका सदस्य-सचिव र युवा तथा खेलकुद मन्त्री हाम्रो अभिभावक हुनुहुन्छ । नेपाल क्रिकेट संघले अहिले मात्र होइन, विगतदेखि नै पत्रकार र अतिथिहरूलाई पठाउने गरेकै छ । उहाँहरू एनपीएल आयोजना हुनुभन्दा धेरै अगाडि नै जानुभएको हो । २०२४ मा क्यानबाट को-को विदेश गए भन्ने कुरा हाम्रो कोषअनुसार बोर्डले निर्णय गर्ने हो । कुनै पनि प्रतियोगिता वा अन्तर्राष्ट्रिय खेलमा सदस्य-सचिव वा मन्त्रीज्यू जान्छु भन्दाखेरि नाइँ भन्नुपर्ने कारण म देख्दिनँ ।
त्यही कुरालाई एनपीएलको विवाद सुल्झाउन प्रयोग गरियो भन्नुचाहिँ असान्दर्भिक कुरालाई जोडेर समाचारलाई सनसनीपूर्ण बनाउने चेष्टा मात्र हो । क्रिकेट संघले आफ्नो कोषबाट बोर्डको निर्णयअनुसार उहाँहरूलाई पठाएको थियो । उहाँहरू क्रिकेट र खेलकुदकै लागि जानुभएको थियो । यो सबै एनपीएलसँग जोडेर जुन भ्रामक समाचार फैलाइयो, त्यो नियोजित छ । यस्ता समाचारहरू ठ्याक्क ट्रेडमार्क विवाद, अदालतको सुनुवाइ वा एनपीएलको दोस्रो संस्करणको तयारी सुरु हुने बेलामा निकाल्ने गरिन्छ । यो सबै एउटा नियोजित समूहले क्रिकेट संघ र एनपीएललाई बिगार्न गरिरहेको छ ।
खेलकुद मन्त्रीलाई मलेसिया घुमाउन लगेको प्रसंग के थियो ?
त्यो उहाँ हाम्रो महिला यू-१९ विश्वकप छनोट चलिरहेको बेला जानुभएको हो । त्यतिबेला मन्त्रीज्यूको अन्य कार्यक्रम पनि थियो र विश्वकप हेर्न तथा महिला टीमलाई भेट्न जानुभएको थियो । यो एनपीएलभन्दा धेरै अगाडिको कुरा हो, तर एनपीएल सकिएको पाँच–छ महिनापछि त्यो कुरालाई जोडेर समाचार बनाइएको हामीले पायौँ ।
सबैभन्दा ठूलो मुद्दा बनाइएको विषय- एनपीएल भएको ६-७ महिना बितिसक्दा पनि हिसाबकिताब सार्वजनिक भएन भन्ने छ । क्यानका पदाधिकारीहरूले नै ‘हामीलाई नाफा भयो कि घाटा भयो थाहा छैन, बोर्डमा जानकारी आएन’ भनेर प्रश्न उठाएका छन् । हिसाबकिताब निकाल्न किन आलटाल गर्नुभएको ?
आलटाल गरेको होइन । डिसेम्बर २१ मा एनपीएल सकियो । त्यसपछिको ६ महिनामा हामी एनपीएल मात्र भनेर बसेनौँ, हाम्रा अन्य राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि थिए । टीम मालिकहरूले नेपाली खेलकुदको इतिहासमै सबैभन्दा ठूलो निजी लगानी गर्नुभएको छ । उहाँहरूसँग हाम्रो दश वर्षको सम्झौता छ । कति रकम उहाँहरूबाट लिनुपर्ने र कति दिनुपर्ने थियो । अघिल्लो बोर्ड बैठकमा हामीले स्पष्ट रूपले अर्को बैठकमा एनपीएलको सम्पूर्ण विवरण प्रस्तुत गर्ने भनेका थियौँ । तर संघभित्रकै केही मानिसहरूले ‘हिसाबकिताब पारदर्शी भएन’ भनेर सामाजिक सञ्जाल र मिडियामा बोल्नुभयो । हिसाबको जवाफ त म दिउँला, तर जवाफ माग्नेले विगतमा आफू पदमा हुँदाको जवाफ दिन सक्छन् कि सक्दैनन् ? त्यतिबेलाका न माइन्युट भेटिन्छन्, न सम्झौताका कागजात ।
नेपाल क्रिकेट संघले दिएको जिम्मेवारीअनुसार गभर्निङ काउन्सिल स्पष्ट छ, हामी जवाफ दिन्छौँ । तर त्यो आन्तरिक पत्रमा हस्ताक्षर गर्ने कतिपयलाई त केका लागि हस्ताक्षर गरियो भन्ने पनि थाहा थिएन । आन्तरिक कागजातलाई सार्वजनिक गरेर सनसनी फैलाइयो । हिसाबकिताबबारे हामी स्पष्ट छौँ । प्रायोजक, कमर्सियल पार्टनर र टीमबाट लिनुपर्ने रकमको हिसाब भइरहेको छ । त्यो बोर्ड बैठकमा छलफल गर्ने विषय हो र बैठकमा छलफल हुन्छ पनि ।
हामीले जनवरीदेखि जूनसम्म ६ महिनाको समीक्षा अवधि राखेका थियौँ, जसमा कर्मचारी र खेलाडीको सम्झौता पनि पुनरावलोकन गर्नुपर्ने थियो । यही बीचमा आईसीसी र एसीसीको एजीएम परेकाले असार मसान्तमा आर्थिक वर्षको अन्त्यसँगै एनपीएलको सम्पूर्ण हिसाबकिताब राख्ने भनेर हामीले स्पष्ट पारेका छौँ । तर ‘बोर्ड बैठक भएन’ भनेर भ्रम फैलाइयो । मैले त बोर्ड बैठक अझ अगाडि नै राखौँ भनेको थिएँ, तर टिमहरूको पनि आर्थिक वर्षको अन्त्यको काम बाँकी भएकाले यो समय तय भएको हो ।

अब बोर्ड बैठक कहिले बस्दैछ त ?
हामी आईसीसीको एजीएमबाट फर्केलगत्तै बस्ने कुरा छ, यही महिनाभित्रै ।
त्यसमा सबै हिसाबकिताब प्रस्तुत गर्नुहुन्छ ?
अवश्य । हिसाबकिताब प्रस्टै छ । तर मलाई थाहा छ, उहाँहरूले त्यही हिसाबकिताब लिएर कुन बुँदामा अख्तियारमा उजुरी हाल्न मिल्छ भनेर खोज्नुहुन्छ, अनि त्यही प्रक्रिया दोहोर्याउनुहुन्छ । हामी जवाफ दिन तयार छौँ । तर जवाफ माग्दा आफूले दिनुपर्ने जवाफबारे पनि सोच्नुपर्छ ।
एनपीएलको पहिलो संस्करणमा क्यान कति नाफामा छ ?
यो कुरा बोर्ड बैठकपछि नै राखौँला । संस्थाको एउटा मर्यादा हुन्छ । बोर्ड बैठकपछि हामी एनपीएलबाट के भयो, दोस्रो संस्करणमा के गर्दैछौँ भनेर स्पष्ट रूपमा सबै जानकारी सार्वजनिक गर्नेछौँ ।
जे होस्, पहिलो संस्करणमा नेपाल क्रिकेट संघ घाटामा त छैन नि ?
हो, हामी घाटामा छैनौँ । वी आर नट एट लस ।
पहिलो संस्करणमा फ्रेन्चाइज, क्यान, प्रयोजक, खेलाडीहरु सबैको हरहिसाब फरकफारक भइसक्यो कि कतिपय भुक्तानीहरु बाँकी छन् ?
सबै फरफारक भइसकेको छ । केही टीमहरूबाट हाम्रो थोरै रकम आउन बाँकी छ, जसमा उहाँहरूसँग सहमति भइसकेको छ ।
विजेतालाई पुरस्कार रकम पनि क्यानले दिएन भन्ने समाचार आएको थियो नि ?
विजेता जनकपुर बोल्ट्ससँग हाम्रो १० वर्षको सम्झौता छ । उहाँहरूले हामीलाई तिर्नुपर्ने र हामीले उहाँहरूलाई दिनुपर्ने रकमको हिसाब मिलान हुन बाँकी छ । हाम्रो केही रकम टीमहरूबाट आउन बाँकी छ, तर त्यो हाम्रो आन्तरिक विषय हो । हामीले टिमहरूलाई पनि लगानी उठाउन समय दिएका छौँ । प्रायोजकबाट पैसा उठाउन गाह्रो हुन्छ । धेरै फ्रेन्चाइजले तिरिसक्नुभएको छ, केहीको बाँकी छ, जसमा हामी संस्थागत रूपमा बसेर समाधान गरिरहेका छौँ । त्यसैले ‘पुरस्कार रकम बाँडिएन’ भन्ने समाचार पनि एनपीएल र क्यानलाई बदनाम गर्न प्रयोग गरिएको अर्को औजार मात्र हो ।
ब्रान्ड लजिक र मुख्य प्रायोजक सिद्धार्थ बैंकसँगको हिसाब क्लियर भइसक्यो ?
हजुर, भइसक्यो । अब फ्रेन्चाइजहरूबाट केही रकम आउन र क्यानले टीमहरूलाई बाँड्नुपर्ने व्यावसायिक र टिकटिङ अधिकारको हिस्सा दिन बाँकी छ, जुन सबै हिसाबकिताब सकिएपछि हुन्छ ।
लेखापरीक्षण चाहिँ कहिले हुन्छ ?
हाम्रो वित्तीय विभागले सबै खाका तयार गरिसकेको छ । केवल लिनुपर्ने र दिनुपर्ने केही हिसाबलाई अन्तिम रूप दिन मात्र बाँकी छ ।
क्यानलाई त आर्थिक रूपमा फाइदा भयो, तर ६-७ करोड लगानी गर्ने फ्रान्चाइजहरू त ठूलो घाटामा देखिन्छन् । एनपीएलको निरन्तरताको लागि सबैभन्दा ठूलो चुनौती यही होइन ?
हामीले फ्रेन्चाइजहरूलाई सुरुमै स्पष्ट भनेका थियौँ कि पहिलो संस्करणबाटै नाफा-घाटा नहेर्नुहोला । यो दश वर्षे योजना हो । पहिलो तीन वर्षमा एउटा फ्रान्चाइजले न्यूनतम ५ करोड लगानी गर्छ । त्यसको प्रतिफल (आरओआइ) के हो भने, क्यानको व्यावसायिक मूल्य र टिकट आम्दानी बढ्दैछ । फ्लडलाइट जडान भएपछि यो अझ बढ्छ । अहिले नै टीमहरूको १०-२० प्रतिशत शेयर किन्न विभिन्न लगानीकर्ताहरूले इच्छा देखाइरहनुभएको छ ।
हाम्रो सम्झौताअनुसार, क्यानले एनपीएलबाट कमाएको नाफाको ५० प्रतिशत आठवटै टीमलाई बाँड्नेछ । जब उहाँहरूले यो दश वर्षे ग्राफ हेर्नुहुन्छ, तब तेस्रो-चौथो संस्करणसम्ममा टिकट, ग्लोबल मिडिया राइट्स र स्थानीय स्रोतबाट आम्दानी बढ्छ । अहिले यो लगानी हो, तर यसको भविष्य राम्रो छ र टीम मालिकहरू यो कुरामा स्पष्ट हुनुहुन्छ ।
हामी घरेलु बजारमा मात्रै निर्भर हुन सक्छौँ र ? अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई आकर्षित गर्ने कुनै योजना छ कि छैन ?
त्यसैका लागि त स्टार स्पोर्टस् र विश्वव्यापी उपस्थिति चाहिएको हो । हामीले अहिले गरिरहेको लगानीको परिणाम भविष्यमा आउँछ । लगानी नै नगरी सित्तैमा देखाइदेऊ भनेर अन्तर्राष्ट्रिय बजार चल्दैन । एनपीएलको अर्थतन्त्र र गतिशीलता माथितिर जाँदैछ । तर हामी धेरै उत्साहित हुनुहुँदैन । यो भर्खर रोपिएको बिउ हो, यसलाई हुर्कन दिनुपर्छ । यसको जिम्मेवारी क्यानको मात्र होइन, सरकार, राखेप र सबै सरोकारवालाको हो ।
फ्रेन्चाइजहरू पहिलो संस्करणमा धेरै घाटा खाएर छट्पटाउन थालेका त छैनन् ?
बिल्कुल छैनन् । बाहिर ‘टीमहरू बेचिँदैछ’ भन्ने हल्लासमेत फैलाइएको थियो, तर हाम्रा मालिकहरू सबैसँग हामी निरन्तर समन्वयमा छौँ र उहाँहरू स्पष्ट हुनुहुन्छ ।
एनपीएलको दोस्रो संस्करणको लागि फ्यानहरू प्रतीक्षारत छन् । पहिलो संस्करणको विवादले यसलाई कस्तो असर गर्ला ?
दोस्रो संस्करणलाई अल्झाउन शतप्रतिशत खोजियो, यसमा कुनै शंका छैन । तर हामी यसलाई अगाडि बढाउन एकताबद्ध छौँ । यो सिजन फ्लडलाइटमा हुनेछ, जुन पक्कै पनि भव्य हुन्छ । खेलाडी रिटेन–रिलिजको प्रक्रिया सकिएको छ, अब चाँडै अक्सन हुनेछ । विदेशी खेलाडीहरूका लागि टीमहरूले काम गरिरहेका छन् । अवश्य पनि, पोहोरभन्दा कमजोर हुँदैन ।
तपाईं क्यानमा आएपछि क्रिकेटमा धेरै परिवर्तन आएको छ, जुन आम फ्यानले महसुस गरेका छन् । यति हुँदाहुँदै पनि जब भ्रष्टाचारजस्ता आरोप लाग्छन्, तपाईंलाई कस्तो महसुस हुन्छ ?
म यसलाई यसरी हेर्छु कि, यो सबै काम नेपाल क्रिकेट संघले गरेको हो, कुनै व्यक्तिले होइन । म एक पूर्व खेलाडीको हिसाबले व्यवस्थापन सिक्दैछु । एनपीएलको सफलतामा सबै बोर्ड सदस्यहरूको उत्तिकै भूमिका थियो । खेलाडी हुँदा हार्दा जवाफदेही हुनुपर्थ्याे, जित्दा देशले र टिमले जस पाउँथ्यो । अहिले मप्रति केन्द्रित आलोचना कसका लागि हो ? मैले आफ्नो जीवनको ८० प्रतिशतभन्दा बढी समय यही क्षेत्रमा बिताएको छु र मेरो लक्ष्य यसलाई देशकै उत्कृष्ट संगठन बनाउनु हो ।
आन्तरिक विवाद हरेक संघमा हुन्छ, त्यसलाई हामी भित्रै बसेर समाधान गर्छौँ । तर क्रिकेट बिगार्ने हक कसैलाई छैन । बनाउन सकिँदैन भने बिगार्न पनि पाइँदैन । यी आलोचनाहरूले अवश्य पनि असर गर्छ, म पनि मान्छे हुँ । तर फेरि सोच्छु, यही क्रिकेटलाई समर्थन गर्ने ठूलो जनसागर छ । केही व्यक्ति वा समूहलाई हेरेर निराश हुनुहुँदैन । क्रिकेटले नेपालीलाई जुन खुसी दिएको छ, त्यसलाई अझ ठूलो बनाउनु छ । हामी त जग बसाल्दैछौँ, यो जगलाई भत्काएर नयाँ संरचना बनाउन खोज्नेहरूप्रति म केही भन्न चाहन्नँ ।
मेरो खेल जीवन पनि चुनौतीहरूमै बितेको हो । अहिले यो नयाँ चुनौतीलाई पनि सामना गर्दै, एउटै सोच र संकल्पका साथ अगाडि बढिरहेको छु– नेपाली क्रिकेट अगाडि बढ्नुपर्छ ।
छातीमा हात राखेर, एनपीएलको पहिलो संस्करणमा क्यानबाट एक रुपैयाँ पनि अनियमितता भएको छैन भनेर सबैलाई ढुक्क बनाइदिन सक्नुहुन्छ ?
अवश्य पनि । मैले भनेँ नि, पपुलिस्टिक अप्रोचले मिडियामा आएर ‘हामीले यो गर्यौँ, त्यो गर्यौँ’ भन्नु जिम्मेवार व्यक्ति वा संस्थाको काम होइन । मेरो जिम्मेवारी नेपाल क्रिकेट संघ, बोर्ड, हरेक सदस्य, जिल्ला, प्रदेश, युवा तथा खेलकुद मन्त्रालय, राखेप र जनताप्रति हो । त्यसैले हामी स्पष्ट छौँ कि नेपाल क्रिकेट संघले एनपीएल आयोजना गरेर के-के गर्यो । मानिसहरूले भन्लान् कि यो वा त्यो प्रक्रिया पूरा भएन । हो, हामीसँग कतिपय कुराका लागि समय थिएन । तर हामी यहाँ नियम उल्लंघन गर्न आएका होइनौँ, हामी नेपाली क्रिकेटलाई अगाडि बढाउन आएका हौँ ।
आज नेपाल क्रिकेट संघ र नेपाली क्रिकेट आत्मनिर्भर हुन्छु भनेर अगाडि बढ्दा यदि कसैको टाउको दुखेको छ भने, त्यो उहाँहरूले आफैँ उपचार गराउनुपर्छ । हामी क्रिकेटको गभर्निङ बडीको हैसियतले क्रिकेटसम्बन्धी सबैप्रति जवाफदेही छौँ । प्रायोजक र टिमहरूबाट पाउनुपर्ने तथा दिनुपर्ने पैसाको हिसाबकिताबमा हामी बिल्कुलै स्पष्ट छौँ । त्यो हिसाब हामी बोर्डमा प्रस्तुत गर्नेछौँ । अहिले हाम्रो प्राथमिकता दोस्रो संस्करणलाई कसरी भव्य बनाउने र विश्वकपको तयारीलाई निरन्तरता दिने भन्ने हो ।
यो तपाईं र क्यानकै लागि पहिलो एनपीएल अनुभव थियो । अहिले फर्केर हेर्दा, यी विवादहरू आउनुमा आफ्नो पनि केही कमीकमजोरी भयो कि, जस्तै कुनै प्रक्रियागत त्रुटि वा क्यानभित्र सबैलाई विश्वासमा लिन नसकिएको हो कि, भन्ने हिसाबले सोच्नुभएको छ ?
क्यानभित्र सबैलाई थाहा थियो । एनपीएल आयोजना हुँदा हरेक बोर्ड सदस्य मैदानमै हुनुहुन्थ्यो र सुरुदेखि नै संलग्न हुनुहुन्थ्यो । गभर्निङ काउन्सिललाई अधिकार दिइएको थियो र उसले आफ्नो जिम्मेवारी पूरा गर्यो । सबैले एनपीएल सफल भयो भनेर स्वीकार्नु पनि भएको छ । हामीले सबै जिल्ला र प्रदेशका पदाधिकारीलाई बोलाएर देखाएका पनि थियौँ । अब कोही ‘कन्भिन्स’ हुनुभएन भने, केमा हुनुभएन ? त्यो त आन्तरिक छलफलको विषय होला । म सचिव भएर बोर्डका सदस्यबारे बाहिर बोल्नु आफ्नो र संस्थाको स्तर गिराउनु हो ।
मैले खेल जीवनबाट व्यवस्थापनमा आउँदा चाहेर–नचाहेर सबैको चित्त बुझाउन नसकेको हुन सक्छु । तर काम गर्ने क्रममा यस्तो हुन्छ । एनपीएल पारस खड्काले होइन, नेपाल क्रिकेट संघले आयोजना गरेको हो, जसमा सबैको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता थियो । प्रतियोगिता सकिएको चार महिनापछि विवाद निकाल्नुको कारण के हो ? विवाद गर्नु थियो भने एक महिनापछि नै गर्थे होला । यसको कारण के हो भने, दोस्रो संस्करण पनि सफल भयो भने क्रिकेट संघमा आफ्नो स्थान नदेख्ने वा फाइदा लिने समूहले मनमौजी गर्न नपाउने डरले यो सबै गरिएको हो ।
व्यक्तिगत रूपमा मैले सिक्नुपर्ने धेरै कुरा छन् । यदि मबाट गल्ती भएको छ भने म त्यसको जवाफदेही छु । मैले बोर्डले दिएको अधिकार दुरुपयोग गरेको छैन र सबै हिसाबकिताब दिनेछु । तर हिसाबसँगै प्रश्न सोध्नेहरू पनि जवाफदेही हुनुप¥यो र जिम्मेवारी लिनुप¥यो ।
अध्यक्षज्यूसँग तपाईंको तालमेल कस्तो छ ? उहाँले कत्तिको साथ दिइरहनुभएको छ ?
हाम्रो विधानले अध्यक्ष र सचिवलाई धेरै अधिकार दिएको छ । हामी धेरैजसो विषयमा बसेर छलफल गर्छौँ । अध्यक्षज्यूले एक पूर्वखेलाडीलाई सचिवको जिम्मेवारी दिनुभएको छ र मैले सबै कुरा उहाँ लगायत सम्पूर्ण बोर्डलाई प्रस्ट राखेको छु । एनपीएलअघि नै क्यानले आर्थिक रूपमा एक प्रकारको क्रान्ति ल्याइसकेको थियो । पहिला प्रतियोगिताहरू हुन्थे, तर पैसा कहिल्यै आउँथेन । अहिले पैसा आउन थालेको छ । यो सफलताको श्रेय नेतृत्वलाई जान्छ ।
धेरै मानिसहरू अध्यक्ष र सचिवमा फुट ल्याएर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन् । तर हामीबीच स्पष्टता र विश्वासको वातावरण छ । यही विश्वासको आधारमा हामीले काम गरिरहेका छौँ र एनपीएलपछि नेपाली क्रिकेटको भविष्य कहाँ पुग्न सक्छ भन्ने खाका प्रस्तुत गरेका छौँ ।
तपाईंको कार्यकाल दुई वर्ष बाँकी छ । अर्को कार्यकालमा अध्यक्षको रूपमा देख्न पाइएला भन्ने धेरैको आशा छ । तपाईंको सोच के छ ?
पदले भन्दा पनि काम गर्ने मान्छेले फरक पार्छ । म सचिव भएर काम गर्ने मौका पाएको छु । म अध्यक्ष हुँला वा नहुँला, तर टीम राम्रो हुनुपर्छ । नेपाल क्रिकेट टीममा खेल्दा हाम्रो एउटै लक्ष्य हुन्थ्यो- नेपालले जित्नुपर्छ । अबको चुनावमा पनि क्यानको बोर्ड कस्तो बन्छ भन्ने महत्त्वपूर्ण छ । त्यो बोर्ड बनाउन हामी सबै मिलेर एउटा बलियो र काम गर्ने सोच भएको टीम तयार गर्छौँ । मैले २०२१ मा क्रिकेट छोडेपछि व्यवस्थापनमा काम गर्नकै लागि मास्टर्स पनि गरेँ, ताकि म कुनै पनि तहमा काम गर्न योग्य हुन सकुँ । त्यसैले म भोलि अध्यक्ष भए पनि, नभए पनि क्रिकेट संघमै रहेर काम गर्नेछु ।
मास्टर्स गर्नैपर्ने हुन्छ र क्यानको सचिव हुनलाई ?
नेपाल क्रिकेट संघको जीएम र क्रिकेट अपरेसन्स भन्ने दुईटा पोस्टको लागि मास्टर्स कम्प्लिट गर्नुपर्छ भन्ने एउटा प्रावधान थियो । म भोलि गएर चुनावमा हारेँ भने पनि क्रिकेट संघमा कुनै न कुनै रुपमा काम गर्छु भनेर त्यसपछि मैले मास्टर्स कम्प्लिट गरेको हो । त्यतिबेलाको क्रिकेट संघले मलाई पारसजी तपाईं मेम्बर नै बन्नु भनेको भए म मेम्बर मात्रै पनि बन्थेँ होला । या तपाईं जीएम बन्नु भनेको भए पनि हुन्थेँ ।
मलाई एटलिस्ट अन पेपर क्वालिफाइड छु है नेपाली क्रिकेटको कुनै पनि लेभलमा काम गर्नको लागि भन्ने बनाउनु थियो । पोजिसन भनेको के हो भन्दाखेरि काम गरेपछि पोजिसनको भ्यालु बढ्ने हो नि त ।
अहिले आएर कहिलेकाहीँ ‘यो बेकारको टाउको दुखाइ रहेछ, अब छोडिदिन्छु’ भन्ने सोच त आउँदैन ?
यो सस्तो राजनीति र गिरेको प्रस्तुति देख्दा रिस उठ्छ । तर खेल्दा पनि धेरै उतारचढाव भोगेको हुँदा म मानसिक रूपमा बलियो छु । यस्ता नकारात्मक कुराले मलाईभन्दा मेरो परिवार र साथीभाइलाई असर गर्छ, जब उनीहरूको नाम मुछिन्छ । तर सकारात्मक कुराहरू धेरै छन्, जसले नकारात्मकतालाई जित्छ । नेपाली क्रिकेटलाई माया गर्ने ठूलो जनसागर छ र त्यही नै मेरो उत्प्रेरणाको सबैभन्दा ठूलो स्रोत हो ।
अलिकति खुसी के लाग्छ भने एटलिस्ट एउटा चेन्ज गर्ने एउटा पोजिसनमा छु । तर पोजिसनसँगसँगै अब मैले मात्र भन्दा यसमा बोर्ड सदस्य, जिल्ला–प्रदेश सबैलाई एकीकृत गरेर टीम बनाएर अगाडि बढ्नुपर्ने छ । त्यसैले यी सबै कुराहरुको पोजिटिभ्स हेर्दाखेरि क्रिकेटलाई माया गर्ने हाम्रा जिल्ला–प्रदेश लगायत धेरै मान्छेहरु हुनुहुन्छ ।
म आफू स्पष्ट छु । मैले पाएको जिम्मेवारी पूरा गर्नुपर्छ । मेरो जिम्मेवारी संघको जिम्मेवारी पनि हो । त्यो पूरा गर्ने क्रममा उतारचढावहरू आउँछन्, जीवन भनेकै त्यही हो । तर त्यसमा आफू स्पष्ट भएर, आफ्नो नियत गलत छैन भने काम गर्न त्यति गाह्रो छैन ।
तपाईंको विरुद्धमा यति धेरै प्रचारबाजी हुँदा पनि फ्यानहरूको विश्वास तपाईंप्रति भत्केको देखिँदैन । त्यसले कत्तिको उत्प्रेरणा मिल्छ ?
धेरै उत्प्रेरणा मिल्छ । खेल्दा पनि म कहिल्यै आत्तिइनँ, अहिले व्यवस्थापनमा आएपछि यो झन् गाह्रो रहेछ । यहाँ स्वार्थहरू धेरै छन् । तर राम्रो गर्नुपर्छ भन्ने पक्ष पनि बलियो छ । फ्यानहरू त गजब नै हुनुहुन्छ । हाम्रो सबैभन्दा ठूलो शक्ति नै उहाँहरु हो ।
तपाईंको अनुभवमा खेल्न वा टिमको कप्तानी गर्नभन्दा व्यवस्थापन धेरै नै चुनौतीपूर्ण रहेछ ?
धेरै नै । किनकि व्यवस्थापनमा स्वार्थहरू धेरै हुन्छन् ।
खेल्दा त तपाईंको समर्थक मात्रै हुन्थे, व्यवस्थापनमा त खुट्टा तान्नेहरु पनि हुँदा रहेछन् होइन ?
हो । व्यवस्थापनमा आइसकेपछि साना–ठूला स्वार्थहरू हुनु स्वाभाविक पनि हो । तर त्यो स्वार्थबाहेक राम्रो गर्नुपर्छ भन्ने पक्ष पनि छ । त्यस्ता धेरै पक्षहरू अहिले बनेका छन् । यी सबै कुरालाई जोडेर हेर्दा, फ्यानहरू सधैँ नै सबैभन्दा ठूलो उत्प्रेरक तत्व हुनुहुन्छ ।
अब फ्यानहरू पनि संवेदनशील हुनुपर्छ । हामी जुन चरणमा छौँ, यो चरणबाट यदि नेपाल क्रिकेट चुक्यो भने हामीलाई फेरि माथि उक्लिन धेरै गाह्रो हुन्छ । सबै स्रोतहरू वरिपरि छन्, नेपाली क्रिकेटलाई सहयोग गर्न सबै आतुर छन् । यी सबैलाई जोडेर एउटा राम्रो प्रणाली बसाल्ने हो भने क्रिकेट संघ स्वचालित प्रणालीमा अगाडि बढ्छ । त्यो हाम्रो अर्को लक्ष्य हो र त्यसका लागि निरन्तर लागिरहेका छौँ । हरेक नेपाली क्रिकेट फ्यानप्रति, उहाँहरूले देखाएको माया र स्नेहप्रति कृतज्ञता छ । त्यो जिम्मेवारी हरेक दिन महसुस हुन्छ र केही गर्नुपर्छ भन्ने लाग्छ । त्यही जिम्मेवारी, जोस र जाँगरले नै मलाई हरेक दिन अघि बढ्न प्रेरित गरिरहेको छ । पारिवारिक र साथीभाइको साथ त छँदैछ ।
जुन किसिमका समाचारहरू आइरहेका हुन्छन्, यसलाई लिएर परिवारबाट कुनै दबाब आउँछ कि आउँदैन ?
दबाब… यो संगठन भन्ने कुरा सजिलो रहेनछ, किनकि मैले भनेँ नि, स्वार्थहरू धेरै हुन्छन् । तर कल्पना गरौँ, नेपाल प्रिमियर लिगको पहिलो संस्करण जसरी सम्पन्न भयो, दोस्रो संस्करण पनि हामी सम्पन्न गर्छौँ । त्यसलगत्तै कुनै टेस्ट खेल्ने राष्ट्र नेपाल खेल्न आउने कुरा… यी सपनाका कुरा हुन् । हामीले सानोमा देखेका सपनाहरू आफ्नै घरआँगनमा देख्न पाउने छौं । त्यो भिजनले उत्प्रेरित गर्छ। परिवारको साथबिना त गाह्रो हुन्छ । उहाँहरूले कहिलेकाहीँ प्रश्न पनि गर्नुहुन्छ, अहिले त प्रश्न गर्न थाल्नुभएको छ ।
परिवारलाई त मैले ‘टेकन फर ग्रान्टेड’ लिएको छु कि जस्तो लाग्छ । तर उहाँहरूको साथ छ । यत्रो वर्ष यही क्षेत्रमा बिताइसकेँ र आशा छ, उहाँहरूको साथले निरन्तरता दिन सक्छु ।
दिनमा कति घण्टा क्रिकेटको लागि समय दिनुहुन्छ ?
मेरो त चौबीसै घण्टा हो । म सुत्छु, उठ्छु, खान्छु, सास फेर्छु… सबै क्रिकेट र नेपाल क्रिकेटकै लागि हो । अरू कुरा त दिमागमा आउँदा पनि आउँदैन ।
एउटा अलिकति काल्पनिक प्रश्न सोध्न मन लाग्यो, एनपीएलकै सन्दर्भमा । तपाईंले एनपीएलको आगामी संस्करणमा देख्न चाहेको अन्तर्राष्ट्रिय स्टार कोही छ ? यसलाई नेपाल ल्याउन पाए हुन्थ्यो भन्ने ?
त्यो त मैले भन्न मिल्दैन । त्यो टीमले निर्णय गर्ने कुरा हो ।
तपाईंको चाहना मात्र सोधेको ?
हेर्नुस्, मलाई मेरो क्रिकेटको आदर्श को हो भनेर सोध्नुभयो भने कोही पनि छैन । मेरो खेलकुदका आदर्शहरू थिए- टेनिस, फुटबल, क्रिकेट आदिबाट । म अस्ट्रेलियन क्रिकेट टीमलाई एकदमै पछ्याउँथेँ र अहिले पनि फलो गर्छु । त्यसैले यही खेलाडी चाहिन्छ भन्नेभन्दा पनि, म यस्तो मञ्च बनाउन चाहन्छु कि मैले चाहेको भन्दा पनि ती खेलाडीहरू आफैँ एनपीएल खेल्न आउन चाहून् । लक्ष्य त्यो हो ।

हाम्रो नजिकै भारत छ, जसको क्रिकेट बोर्ड बीसीसीआई विश्वकै सबैभन्दा शक्तिशाली र आर्थिक रूपमा सम्पन्न बोर्ड मानिन्छ । त्यससँग क्यानले सहकार्य गर्ने वा सहयोग लिने चर्चा पहिलादेखि हुन्थ्यो । तपाईं सचिव भएपछि भारतबाट मन्त्रीहरु आउँदा फोटो खिचाउने, आश्वासन दिने काम भए, तर प्रत्यक्ष सहयोगका रूपमा दूतावासले ब्याट बाँड्ने र केही खेलाडीले त्यहाँको एकेडेमीमा प्रशिक्षण लिनेबाहेक ठूलो र दीर्घकालीन सम्झौताको त घोषणा भएन । त्यो प्रक्रिया कहाँ अड्कियो ?
गत वर्ष हामी एनसीए (नेसनल क्रिकेट एकेडेमी), बैंगलोर गयौं । यसपालि पनि जाँदैछौं । उहाँहरूले भारतीय दूतावासमार्फत किट बाँड्नुभयो, त्यो दूतावासको आफ्नो कार्यक्रम थियो । अहिले पनि हामी सीधै कम्युनिकेसनमा छौँ र यसको प्रभाव कुनै समयमा देखिन्छ ।
कल्पना गरौँ, कुनै बेला नेपाल र भारतको खेल हुन सक्छ । हामीले एसिया कपमा भारतसँग खेल्यौँ, त्यसपछि भारत ‘ए’ सँग खेल्नेबारे पनि कुराकानी अगाडि बढेको थियो । अहिले पनि नेपाली टिमको तयारीका लागि हामी बीसीसीआईसँग समन्वय गरिरहेका छौँ । नेपाल र दक्षिण अफ्रिकाको खेल हुँदा त्यसको भोलिपल्ट मैले बीसीसीआईका शीर्ष अधिकारीलाई फोन गर्दा उहाँहरूले आफ्नो अफिसमा बसेर नेपालले जितोस् भनेर समर्थन गरिरहेको बताउनुभएको थियो । गत वर्ष एस. जयशंकरज्यू आएर नेपाली क्रिकेटलाई सहयोग गर्ने भनेर बीसीसीआईसँग समन्वय गरिदिनुभयो । त्यसयता आधिकारिक रूपमा सम्झौतापत्र (एमओयू) त भएको छैन, तर आन्तरिक रूपमा हामी धेरै कुरामा गृहकार्य गरिरहेका छौँ
स्टार स्पोर्टसलाई नेपाल ल्याउने कुरामा पनि बीसीसीआईले हामीलाई सहयोग गर्यो । नेपाल र भारतीय क्रिकेटबीच एउटा बाटो बनेको छ । सही समय आएपछि घोषणाहरू हुनेछन् ।
नेपाली टीम एकदिवसीय मान्यताप्राप्त मात्र नभएर अहिले टेस्ट राष्ट्रहरुलाई समेत चुनौती दिन सक्ने अवस्थामा पुगिसक्यो । तर दुःख कहाँनेर लाग्छ भने, हाम्रो राष्ट्रिय टीमलाई भारतको सामान्य स्थानीय क्लबहरुसँग खेलाइन्छ । राष्ट्रिय प्रतिष्ठाको हिसाबले यो ठीक हो र ?
हामी अलिकति बढी महत्वाकांक्षी भयौँ कि ? हामीले टेस्ट खेल्ने देशहरूलाई चुनौती दिने स्तरमा पुगिसक्यौँ भन्नु ठीक हो । तर, हामी भर्खर विश्व जगतमा पाइला टेक्दैछौँ । भारतको ‘ए’ टीमसँग खेल्न पनि धेरै प्रक्रियाहरू पूरा गर्नुपर्छ । हामीले वेस्ट इन्डिज ‘ए’ सँग खेल्यौँ र अरू ‘ए’ टीमहरूसँग पनि समन्वय गरिरहेका छौँ । अहिले हामी एउटा प्रक्रियाबाट अघि बढिरहेका छौँ । यो तयारीका लागि हो । हामीले खेलेका टीमहरू भारतको प्रदेश एसोसिएसनले तोकेका टीमहरू हुन्, कुनै गल्ली टिम होइनन् । नेपाली क्रिकेटलाई माया गर्ने, तर गहिराइमा नबुझेका फ्यानहरूबाट यस्ता टिप्पणी आएको हुन सक्छ ।
त्यसका लागि त कुनै नाम दिएर अनौपचारिक टीम बनाउन सकिँदैन र ? हामी त ‘नेपाल’ भनेरै राष्ट्रिय जर्सीमा भारतीय क्लबहरुसँग खेलाइरहेका हुन्छौं नि ?
हो, हामीले नेपाल ११, क्यान ११ जस्ता नाममा पनि पठाउन सक्छौँ । तर यो अभ्यास कोचिङ युनिट र व्यवस्थापनको प्रस्तावमा क्रिकेटको हितका लागि गरिएको हो । गत वर्ष हामी गुजरात र बरोडाको स्टेट एसोसिएसनसँग कुरा गरेर खेलेका हौँ । नेपालमा स्टेडियम बनेपछि यहाँ राम्रा टीमहरु आउँछन् भन्नेमा कुनै शंका छैन।
अब एउटा फरक प्रसङ्ग । सन्दीप लामिछानेले केही समयअघि क्यानको सेन्ट्रल कम्ट्र्याक्टबाट हात झिक्नुभयो । उहाँको यो निर्णयले टीममा उहाँको भूमिका र योगदानमा के फरक पर्छ ? उहाँलाई सम्झौतामा फर्काउन क्यानले कुनै पहल भएको छ ?
उहाँले इमेल पठाएपछि हामी उहाँसँग बस्यौँ र सम्झौतामा बस्न मनाउन खोज्यौँ । सम्झौताबाहिर बस्दा उहाँले पाउने पारिश्रमिकबाहेक अरू केही फरक पर्दैन । टुरमा जाँदा भत्ता पाउनुहुन्छ, आचारसंहिता पालना गर्नुपर्छ र विदेशी लिग खेल्नका लागि क्रिकेट संघबाटै अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिनुपर्छ । यी सबै नियम उहाँलाई लागू हुन्छ । यो उहाँको व्यक्तिगत धारणा थियो कि म सम्झौता बाहिर बसेर खेल्छु भन्ने ।
उहाँले किन त्यस्तो चाहना गर्नुभयो त ?
उहाँले भन्नुभयो, ‘अहिलेलाई म अलिकति स्वतन्त्र हुन चाहन्छु ।’ सायद यो उहाँको आफ्नो सोचविचार होला । क्रिकेट संघ उहाँलाई सम्झौतामा ल्याउन चाहन्छ र पहल गरिरहेको छ । नेपाली क्रिकेटलाई यो चरणसम्म पुर्याउन उहाँको पनि ठूलो योगदान छ । तर हामी कसैलाई जबर्जस्ती गर्न सक्दैनौँ । हामीले उहाँलाई धेरै सम्झायौँ । जब उहाँ सम्झौतामा आउन तयार हुनुहुन्छ, क्रिकेट संघको ढोका उहाँका लागि चौबीसै घण्टा खुला छ ।
अब अन्तिम प्रश्न । सामाजिक सञ्जालमा बेलाबेला कप्तान परिवर्तनको चर्चा चल्छ । रोहित पौडेलले राम्रो गरिरहनुभएको छ, तर पनि उहाँको कप्तानीलाई लिएर टिप्पणीहरू आइरहन्छन् । निकट भविष्यमा कप्तान परिवर्तनको कुनै सम्भावना छ ?
हामी क्रिकेटलाई माया गर्ने राष्ट्र बनेका छौँ । अहिले क्रिकेट हेर्ने र बुझ्ने मान्छे धेरै हुनुहुन्छ । तर एउटा म्याच हार्यो कि कप्तान र कोच फेर्ने, दुई–चार खेल जित्यो कि यही टीम चाहिन्छ भन्ने खालको सोच देखिन्छ । फ्यानहरूको दृष्टिकोणलाई हामीले नकार्नु हुँदैन, उहाँहरू हाम्रो शक्ति हो । तर के कप्तान, कोच वा व्यक्ति परिवर्तन गरेर क्रिकेट अगाडि बढ्छ र ? यो त टीम खेल हो । अहिलेको टीमले नतिजा ल्याइरहेको छ । भोलि कप्तान परिवर्तन हुँदैमा नतिजा आउँछ भन्ने ग्यारेन्टी छैन । जो कप्तान भए पनि खासै फरक पर्दैन, यदि सबैले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने । म २२ वर्षको उमेरमा आफूभन्दा सिनियरहरूको कप्तान बन्दा कहिल्यै सानो महसुस गरिनँ । खेलाडीहरूले कप्तान बन्नकै लागि क्रिकेट खेल्ने सोच्नु हुँदैन ।
दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान बनाउँदा उहाँलाई भावी कप्तानको रूपमा तयार गर्न खोजिएको हो कि भन्ने पनि चर्चा छ नि ?
उपकप्तान एउटा जिम्मेवार पद हो । उपकप्तान हुँदैमा भविष्यको कप्तान हुनैपर्छ भन्ने कहीँ पनि छैन । पहिला यो पदलाई खासै मान्यता दिइएको थिएन, तर छनोट समितिले पुरुष टिममा पनि कप्तान–उपकप्तानको भूमिका परिभाषित गर्नुपर्छ भनेर यो जिम्मेवारी दिएको हो । टीमले राम्रो गरिरहेको छ । रोहित पौडेलले कप्तानको रूपमा आफूलाई प्रमाणित गर्नुभएको छ । उहाँकै कप्तानीमा हामीले राम्रो नतिजा निकालेका छौँ । तर यो उहाँले मात्र गरेर भएको होइन, टिम एकढिक्का भएर खेलेको छ । सही समय आएपछि परिवर्तन अवश्य हुन्छ, तर अहिले क्यानमा कप्तान परिवर्तन गर्नेबारे कुनै छलफल भएको छैन । अहिले हाम्रो लक्ष्य अक्टोबरमा विश्वकप छनोट हुनु हो र टीम त्यही लक्ष्यका साथ अगाडि बढिरहेको छ ।