Category: खेल प्रेस

  • नेपाल टी-२० खेलेका खेलाडीहरूको ६५ लाख तिर्न बाँकी रहेको प्रदीप मजगैंयाको स्वीकारोक्ति

    नेपाल टी-२० खेलेका खेलाडीहरूको ६५ लाख तिर्न बाँकी रहेको प्रदीप मजगैंयाको स्वीकारोक्ति

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्य प्रदीप मजगैंयाले ३ वर्षअघि आयोजित नेपाल टी- २० प्रतियोगितामा खेलाडीहरूले पैसा नपाएको स्वीकारोक्ति गरेका छन् । प्रतियोगितामा सहभागी ६ टीममध्ये दुई वटा टिमका खेलाडीहरूको पैसा चुक्ता हुन बाँकी रहेको उनको भनाइ छ ।

    यसअघि मजगैंयाले नेपाल प्रेसलाई अन्तरवार्ता दिँदै नेपाल टी-२० लिगमा क्यानलाई २ करोड नाफा भएको दाबी गरेका थिए । प्रतियोगितामा सबै विवाद हल भइसकेको र क्लीन चिट पाएको उनले बताएपछि राष्ट्रिय क्रिकेटर करण केसीले सामाजिक सञ्जालबाट प्रतिवाद गरे । खेलाडीहरूले अझै पनि नेपाल टी २० को पैसा नपाएको उनले लेखेपछि तरंग उब्जेको छ ।

    आज फेरि सामाजिक सञ्जालमा स्टाटस लेख्दै मजगैंयाले करण केसीको दाबी स्वीकार गरेका छन् । आफूले बुझे अनुसार दुई टिमका खेलाडीहरूको ६५ लाख तिर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेपाल टी- २० बाट भएको २ करोड ३० लाख नाफाबाट तिर्नुपर्ने बताएका छन् ।

    उनी लेख्छन्, ‘आज मैले बुझे अनुसार नेपाल टी-२० लिग ६ टिममध्ये काठमाडौं नाइट्सका खेलाडीहरूले २५% र सुदूरपश्चिम टीमका खेलाडीहरू ले ३५% पैसा पाउन देखिएकाले क्यानको एजीएम र बोर्ड निर्णय अनुसार नेपाल टी-२० लिगको दुई करोड ३० लाख नाफाबाट खेलाडीहरूको करिब ६५ लाख तिर्नुपर्ने रहेकोले उक्त रकम तुरुन्त दिनुपर्छ ।’

    बजगाईँले करणको दाबी स्वीकार गरेका छन्, तर त्यसबेला आफू बोर्डमा नरहेको हुँदा आफूलाई जिम्मेवार ठहर्‍याउने नमिल्ने उनी बताउँछन् ।

    खेलाडीहरूलाई प्रायोजित रूपमा प्रयोग गरेर आफूलाई नेपाल टी-२० लिगमा जोडेको मजगैंयाको आरोप छ । सामाजिक सञ्जालमार्फत आफ्नो फोटो प्रयोग गरी अनावश्यक रूपले लिगमा जोडेको भन्दै उनले आपत्ति जनाएका छन् ।

    ‘खेलाडीहरूलाई प्रायोजित रूपमा प्रयोग गरी मेरो फोटो समेत प्रयोग गरी मलाई यो विषयमा अनावश्यक रूपले ल्याउनु गम्भीर र आपत्तिजनक छ । किनकि नेपाल टी-२० लिग म क्यानमा आउनुभन्दा पहिले भएको हो,’ उनले लेखेका छन् । यद्यपि, खेलाडीले उठाएको प्रश्न उचित रहेको मजगैंया बताउँछन् ।

    उनले लेखेका छन्, ‘म सधैँ खेलाडीको न्यायको लागि लड्ने मान्छे भएकोले तत्काल क्यान र पोखरा साधारण सभाको निर्णय कार्यान्वयन होस भन्न चाहन्छु ।’

    क्यानको पोखरा साधारण सभाबाट नेपाल टी-२० लिगको बाँकी रकम खेलाडीहरूलाई दिने निर्णय भएको मजगैंयाले उल्लेख गरेका छन् । उनले उक्त निर्णय किन कार्यान्वयन नभएको भन्दै क्यानलाई प्रश्नसमेत गरेका छन् ।

    ‘क्यानको पोखरा एजीएममा हामीले नेपाल टी २० को सम्पूर्ण बाँकी रकम खेलाडीहरूलाई दिने निर्णय गराउन लडेका थियौं र त्यो प्रस्ताव जिल्ला प्रदेशका साथीहरूको सहयोगमा पारित पनि भयो । त्यसपछि म सम्मिलित नयाँ बोर्डको बैठकमा फेरि यो विषय उठाएँ र खेलाडीलाई पैसा दिने निर्णय पनि गरियो । बारम्बार खेलाडीलाई पैसा दिन आग्रह हामीले गरेको हो ! हामीलाई लागेको थियो खेलाडीले पैसा पाएको होलान् !’ उनले लेखेका छन् ।

    यही कारण आफूले निरन्तर पारदर्शिता र जबाफदेहिताको कुरा उठाइरहेको मजगैंयाको भनाइ छ । उनी थप्छन्, ‘संस्था व्यक्ति होइन, विधि र विधानमा चल्नु पर्छ । बोर्डले र हाम्रो सर्वोच्च निकाय एजीएमले पास गरेको निर्णय किन कार्यान्वयन भएन ? खेलाडीको पैसा दिने निर्णय पारित गरिसकेको धेरै भयो, अब कार्यान्वयन नगर्ने र खेलाडीको हकको पैसा कहाँ र कसरी अड्किएको छ ?’

  • अष्ट्रेलिया जाने टिमको फिटनेस टेस्ट, सन्दीप पनि सहभागी

    अष्ट्रेलिया जाने टिमको फिटनेस टेस्ट, सन्दीप पनि सहभागी

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

    उनी प्रशिक्षक र क्यानलाई जानकारी दिएर बन्द प्रशिक्षणमा अनुपस्थित रहेका थिए ।

    आज क्यानले अष्ट्रेलिया जाने १६ सदस्यीय राष्ट्रिय टीमको फिटनेस र फिजिकल टेस्ट गरिरहेको छ ।

    सातदोबाटोस्थित स्पोर्ट्स साइन्स एन्ड रिसर्च सेन्ट र नेसनल हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेस्ट भएको हो । अन्य खेलाडीहरूसँग सन्दीप पनि त्यहाँ सामेल भएका छन् ।

    क्यानले अष्ट्रेलियामा आयोजना हुने टप इन्ड टी-२० सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टीमको घोषणा गरेको छ ।

  • यू-२० महिला एसियन कप छनोटः भुटानसँग बराबरी खेल्यो नेपाल

    यू-२० महिला एसियन कप छनोटः भुटानसँग बराबरी खेल्यो नेपाल

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ ।

    भुटानमा आजदेखि सुरु भएको छनोटअन्तर्गतको खेलमा नेपालले घरेलु टोली भुटानसंग १-१ को बराबरी खेलेको हो ।

    पहिलो हाफ १-१ को बराबरीमा रहेको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । खेलको पहिलो मिनेटमै नेपालकी सेनु परियारले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको १८औं मिनेटमा केल्देन वाङमोले गोल गर्दै भुटानलाई बराबरीमा फर्काइन् ।

  • फेरि उप्कियो ‘नेपाल टी २०’ विवाद, करण केसी भन्छन्- खेलाडीले अझै पैसा पाएका छैनन्

    फेरि उप्कियो ‘नेपाल टी २०’ विवाद, करण केसी भन्छन्- खेलाडीले अझै पैसा पाएका छैनन्

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमाथि बोर्डकै सदस्यहरुले विभिन्न प्रश्नहरु उठाइरहँदा क्रिकेट खेलाडीहरुले भने नेपाल टी-२० सम्झाएका छन् । क्यानले ३ वर्षअघि गरेको नेपाल टि २० ‘फ्लप’ मात्र नभएर पूर्णरुपमा विवादास्पद बनेको थियो ।

    क्यानका केही बोर्ड सदस्यहरुले गुटबन्दी गर्दै सचिव पारस खड्कालाई अप्ठेरोमा पार्न थालेपछि खेलाडीहरुले पनि मुख खोलेका हुन् । हालै बसेको क्यानको बोर्ड वैठकमा पारसले एनपीएलको हिसाब किताब प्रस्तुत गरेका थिए । तर, असन्तुष्ट समुहले यसमा चित्त बुझाएको छैन र हिसाब पारित गर्न मानेको छैन ।

    असन्तुष्ट समूहका बोर्ड सदस्य प्रदीप मजगैंयाले नेपाल प्रेसमा अन्तरवार्ता दिँदै एनपीएलको हिसाब पेश गर्न ढिलाइ भएको गुनासो गरेका थिए । उनले क्यानद्वारा यसअघि आयोजना गरिएको नेपाल टि २० मा १५ दिनभित्रै हिसाब सार्वजनिक गरिएको र २ करोड नाफासमेत भएको दावी अन्तरवार्तामा गरेका छन् ।

    मजगैंयाले अन्तरवार्तामा भनेका छन्, ‘नेपाल टी–ट्वान्टीको बारेमा केही विवादहरु नआएका होइनन्, तर त्यसबाट पनि क्यानलाई दुई करोडभन्दा बढी फाइदा भएको थियो । त्यसको हिसाब १५ दिनमै बुझाइएको थियो र त्यो अहिले क्लिन छ । हो, व्यवस्थापनको जिम्मा लिएको कम्पनी भाग्यो । तर, त्यसबेला म बोर्डमा नभएकाले यो विषयमा धेरै बोल्न चाहन्नँ ।’

    खेलाडीहरुले भने नेपाल टि २० बाट पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म नपाएको बताएका छन् । मजगैंयालाई लक्ष्यित गर्दै अनुभवी बलर करण केसीले लेखेका छन्, ‘कसरी कसले क्लिन चिट ? कसले दियो क्लिन चिट ? खेलाडीहरुले अहिलेसम्म पैसा पाएको छैन । कसरी क्लिन चिट ?’

    करणको उक्त स्टोरीलाई खेलाडीहरु भीम सार्की, लोकेश बम, कमलसिंह ऐरीसहितका खेलाडी शेयर गरेका छन् । उक्त लिगमा खेलाडी पारिश्रमिकदेखि स्पट फिक्सिङसम्मको विवाद चुलिएको थियो । नेपाल टी-२० लिगका लागि क्यानले १० वर्षका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँग सम्झौता गरेको थियो ।

    उक्त कम्पनीका सञ्चालक प्रतियोगिताकै बीचमा भागेपछि क्यानले उक्त सम्झौता एक वर्षमै रद्द गर्नुपरेको थियो । प्रतियोगितामा भाग लिएका धेरै खेलाडीहरुले अहिलेसम्म पनि पारिश्रमिक पाएका छैनन् ।

    नेपाल टी-२० आयोजना हुँदा पारस खड्का क्रिकेट बोर्डमा आएका थिएनन् । क्यान अध्यक्ष भने चतुरबहादुर चन्द नै थिए ।

  • बसन्त शाही काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त

    बसन्त शाही काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौं गोर्खाजको प्रशिक्षकमा बसन्त शाही नियुक्त भएका छन् ।

    पहिलो संस्करण मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका शाहीलाई काठमाडौंले दोस्रो संस्करणका लागि प्रशिक्षक नियुक्त गरेको हो । सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका शाही टोलीका सदस्य हुन् ।

    काठमाडौंले मुख्य प्रशिक्षकको रुपमा मोन्टी देसाईलाई नियुक्त गरिसकेको छ । मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो ।

    करण केसी मार्की प्लेयर रहेको काठमाडौंले दोस्रो संस्करणमा भीम सार्की, शाहब अलाम, दिपेश कँडेल, रशिद खान र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।

     

  • बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र भन्छन्ः सरकारले केही सहयोग गरोस्

    बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र भन्छन्ः सरकारले केही सहयोग गरोस्

    काठमाडौं । बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाटले खेलको विकास लागि सरकारको सहयोग आवश्यक रहेको बताएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानका लागि आयोजित कार्यक्रममा रवीन्द्रले धेरै युवाहरु एमएमए (मिक्स्ड मार्शल आर्ट्स) मा केही गर्न खोजीराखेको बताएका हुन् ।

    ‘अब आउने युवाहरु एमएमए ९मिक्स्ड मार्शल आर्ट्स० मा केही गर्न खोजीराखेका छन् । एनडब्लुसी (नेपाल वारियर्स च्याम्पियनसिप) टिमले उहाँहरुलाई अवसर दिइराखेको छ । सो सरकारले पनि एनडब्लुसी एमएमए नेपाललाई पनि सहयोग गरोस्, सपोर्ट गरोस् भन्ने आशा राख्दछु,’ उनले भने ।

    रवीन्द्रले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका थिए । रवीन्द्रले सरकारको सपोर्ट मिलेमा यो खेलमा अझै राम्रो गर्ने विश्वास व्यक्त गरे । उउनले भने, ‘आउने युवाहरुले अझै राम्रो गर्नेछन् । हजुरहरुले सपोर्ट गर्नुभयो भने ।’

  • खेलाडीको खेलक्षेत्रमा भविष्य सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल

    खेलाडीको खेलक्षेत्रमा भविष्य सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल

    काठमाडौ‌ं ।  राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

    भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेलाडी र खेलक्षेत्रको विकास तथा खेलाडीको सम्मान गर्न सरकारले योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।

    उनले भने, ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन् ।’

    राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्त्व रहेको बताउँदै भने, ‘खेलक्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित सङ्घसंस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।’

    उनले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर ढाँटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको निरन्तर समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताए । राष्ट्रपति पौडेलले ढाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

  • एपीएफबाट राजीनामा दिएर अष्ट्रेलिया पलायन भइन् भलिबल खेलाडी कविता भट्ट

    एपीएफबाट राजीनामा दिएर अष्ट्रेलिया पलायन भइन् भलिबल खेलाडी कविता भट्ट

    काठमाडौं ।नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छन् । एपीएफ क्लबबाट राजीनामा दिएर मिडल ब्लकर कविता अष्ट्रेलिया पलायन भएकी हुन् ।

    केही समयअघि मात्र स्पाइकर सरस्वती चौधरी एपीएफबाट राजीनामा दिदै अष्ट्रेलिया पलायन भएकी थिइन् ।

    एपीएफका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले कविताले राजीनामा दिएको पुष्टि गरे ।

    सहायक हवल्दार पदमा कार्यरत कविताले विदेश जाने भन्दै राजीनामा दिएको धौवजीले बताए ।

     

  • एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी, आदिल अन्सारी ‘ए’ ग्रेडमा

    एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी, आदिल अन्सारी ‘ए’ ग्रेडमा

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को मिनी अक्सनका लागि १५० खेलाडी छानिएका छन् ।

    नेपाल क्रीकेट क्रीकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० खेलाडी छनोट गरेको हो ।

    अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् । अक्सन आगामी शनिबार हुनेछ ।

    ‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् ।

    आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् । अन्य खेलाडी भने दोस्रो संस्करणका लागि रिलिज भएका थिए ।

  • अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणाः मल्लको कमब्याक, अनिल छुटे

    अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणाः मल्लको कमब्याक, अनिल छुटे

    काठमाडौं । अष्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पोडेलको कप्तानीमा १६ सदस्यीय सिरिज खेल्ने टोलीको घोषणा गरेको हो ।

    उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म अष्ट्रेलियामा हुनेछ । उक्त सिरिजमा अष्ट्रेलियाका विभिन्न टीमदेखि पाकिस्तान र बंगलादेशका ए टिमले सहभागिता जनाउनेछन् ।

    यसअघि टी २० टिमबाट हटाइएका कुशल मल्लले कमब्याक गरेका छन् । विकेट किपर ब्याट्सम्यान अनिल साह भने टिममा अटाउन सकेनन् । उनी कमजोर फर्ममा थिए । टीममा अरु परिवर्तन गरिएको छैन । बन्द प्रशिक्षणमा हाल सहभागी नरहेका स्पिनर सन्दीप लामिछाने पनि अष्ट्रेलिया जाने टोलीमा छन् ।

    नेपाली टोली

    रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी

  • इतिहास रचेर फर्किए रवीन्द्र ढाट (तस्बिरहरू)

    इतिहास रचेर फर्किए रवीन्द्र ढाट (तस्बिरहरू)

    काठमाडौं । भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाट स्वदेश फर्किएका हुन् । उनी सोमबार साँझ विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । रवीन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए ।

    ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए ।

    आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका थिए ।

    तस्बिरहरू : NPL

  • घाइते शरीर लिएर भारतविरुद्ध ब्याटिङ गर्न आए क्रिस वक्स, तर ईंग्ल्यान्ड ६ रनले हार्‍याे

    घाइते शरीर लिएर भारतविरुद्ध ब्याटिङ गर्न आए क्रिस वक्स, तर ईंग्ल्यान्ड ६ रनले हार्‍याे

    काठमाडौं । भारत र ईंग्ल्यान्डबीचको ५ म्याचको टेस्ट श्रृंखला रोमाञ्चक बराबरीमा सकिएको छ । दुवै टिमले दुई–दुई जित हासिल गरे भने एक म्याच ड्र भयो ।

    अन्तिम टेस्टको अन्तिम क्षण निकै रोमाञ्चक बनेको थियो । हिजोको खेल सकिँदा ईंग्ल्यान्ड जितबाट ३५ रन टाढा थियो भने भारत अन्तिम चार विकेटको खोजिमा थियो । यसअघि सिरिजमा ईंग्ल्याण्डले अग्रता लिएको हुँदा बराबरी नतिजाका लागि भारतले निश्चित जित निकाल्नुपर्ने थियो ।

    ईंग्ल्यान्डका एक ब्याट्र क्रिस वक्स घाइते भएर खेल्न नसक्ने अवस्थामा थिए । तर, आज अन्तिम विकेटका रुपमा उनी क्रिजमा आउनुपर्यो, जतिबेला ईंग्ल्यान्डलाई जितका लागि केवल १७ रन चाहिएको थियो । उनी ब्याटिङ गर्न सक्ने अवस्थामा थिएनन्, केवल अर्को इन्डमा उभिन र रनका लागि दौडिन भए पनि उनी क्रिजमा आए ।

    अर्को इन्डमा गुस एट्किन्सनले छक्का हान्दै भारतलाई त्रसित बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । जितबाट ७ रनको दुरीमा ईंग्ल्यान्ड रोकियो ।

    भारतले यो जितसँगै एन्डरसन तेन्दुलकर सिरिज बराबरी गरेको छ ।

  • क्रिकेटसँगै व्यवसायः म्युजिक कम्पनीको सीईओ बने सन्दीप लामिछाने

    क्रिकेटसँगै व्यवसायः म्युजिक कम्पनीको सीईओ बने सन्दीप लामिछाने

    काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीमका स्टार सन्दीप लामिछानेले व्यवसायिक क्षेत्रमा पनि अघि बढ्ने जमर्को गरेका छन् । उनलाई अब क्रिकेटरसँगै एउटा कम्पनीको सीईओको भूमिकामा समेत देख्न पाइने भएको छ ।

    ‘सान्सिक प्रोडक्सन’ नाम म्युजिक कम्पनीमा सन्दीप जोडिएका हुन् । यो कम्पनीमा उनको ४५ प्रतिशत सेयर रहने छ । कम्पनीका संस्थापक सीइओ अनमोल थापा हुन् । बाँकी ५५ प्रतिशत सेयर थापासँगै रहने गरी सम्झौता भएको छ । यस कम्पनीले गीत उत्पादनका साथै म्युजिक भिडिओको निर्माण समेत गर्दै आएको छ ।

    सान्सिक प्रोडक्सनले थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेको छ । प्रतिभाशाली तर ‘अन्डररेटेड’ कलाकारहरुलाई यसले महत्व दिने गर्छ । यस कम्पनीले ल्याएका गीतहरुमा सुबोक केसीको आवाज रहेको ‘म हराएँ…’, गौरव राइको ‘लग्यो रे’, ओयसिस थापाको स्वरमा ‘अन्तिम बिदाइ’, नितेशजंग कुँवरको स्वरमा ‘स्वर्गकी परी’ आदि चर्चित छन् ।

    खेलाडीहरुले अन्य व्यवसायमा हात हाल्नु नौलो कुरा भने होइन । विभिन्न देशका चर्चित खेलाडीहरुले खेलकुद वा अन्य क्षेत्रहरुमा लगानी गर्ने गरेका छन् । नेपालमा पनि हालै राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एउटा क्याफे खोलेका थिए ।

    सन्दीप संगीतमा विशेष रुची राख्छन् । क्रिकेटपछि उनको सोख संगीत हो । उनले केही गीतहरु गाएर रेकर्ड पनि गराएका छन् । सन्दीप केही समयअघि नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिएका थिए । त्यसले गर्दा उनलाई क्रिकेटबाहिर अन्य क्षेत्रमा सक्रिय हुन सहज भएको छ । सेन्ट्रल कन्ट्र्याक्टमा नरहेपछि उनले क्यानबाट मासिक तलव पाउने छैनन् । उनी एक–दुई दिनमा नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा जोडिने तयारीमा रहेका छन् ।

  • नेपालले अर्को टी-२० विश्वकप खेल्नेमा विश्वस्त छु : अध्यक्ष चन्द

    नेपालले अर्को टी-२० विश्वकप खेल्नेमा विश्वस्त छु : अध्यक्ष चन्द

    कैलाली । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले सन् २०२६ मा हुने टी-२० विश्वकपमा सहभागिता जनाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

    धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटबाट नेपालले विश्वकपमा स्थान बनाउने विश्वास व्यक्त गरे । उक्त छनोटमा नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ, जसबाट तीन टोली सन् २०२६ को टी-२० विश्वकपमा छनोट हुनेछन् । सो विश्वकपमा एसिया तथा इस्ट एसिया प्यासिफिकबाट तीन, युरोप र अफ्रिकाबाट दुई-दुई तथा अमेरिकन क्षेत्रबाट एक टोली छनोट हुने प्रावधान छ ।

    ‘हामीले गरेको तयारीबाट नेपालले विश्वकप खेल्नेमा म पूर्ण विश्वस्त छु,’ चन्दले भने ।

    उनले नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिने अभियानअन्तर्गत प्रशिक्षण र योजना रहेको बताए । पछिल्लो समयमा नेपाली क्रिकेटले उल्लेखनीय फड्को मारेको उल्लेख गर्दै भने, ‘यो केबल विगत एक वर्षको उपलब्धि मात्र होइन । नेपाल प्रीमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटलाई सातै प्रदेशसँग जोडेर लोकप्रियता हासिल गरेको छ ।’

    उनले सुदूरपश्चिम प्रदेशले नेपाली क्रिकेटको विकासमा ठूलो योगदान पुर्‍याएको दाबी गर्दै भने, ‘नेपालको क्रिकेटलाई यहाँसम्म पुर्‍याउन सुदूरपश्चिमको भूमिकालाई बेवास्ता गर्न सकिँदैन। संसारभर नेपाललाई चिनाउनेमा यहाँको क्रिकेट क्षेत्र अग्रणी छ ।’

    यद्यपि, पूर्वाधारको अभाव अझै नेपाली क्रिकेटको ठूलो चुनौती भएको अध्यक्ष चन्दको भनाइ छ । उनले ‘फाप्ला क्रिकेट मैदानको विकास केबल सपना नबनोस् ‘ भनेका थिए ।

    उनले अहिलेकै पुस्ताले फाप्लामा क्रिकेट खेल्नेगरी संरचना बनाउनु पर्नेमा जोड दिएका थिए ।

    अध्यक्ष चन्दले भने, ‘अहिले उत्कृष्ट खेलाडीहरूको पुस्ता छ । यिनैले फाप्लामा खेल्न पाउने अवस्था बनाउनु जरुरी छ । अहिले नै मैदान बनाउन उपयुक्त समय हो ।’
    फाप्ला क्रिकेट प्रोजेक्टमा क्यानको सहभागिता नरहेको उनले जानकारी दिए ।

    उनले सुदूरपश्चिम प्रदेश सरकारलाई क्रिकेट पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे ।

    ‘यहाँ एउटा पनि स्तरीय खेलमैदान छैन। हजारौं खेलाडीहरू भारत गएर प्रशिक्षण लिइरहेका छन्,’ चन्दले भने ।

    अध्यक्ष चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदान निर्माणमा चासो देखाएको भन्दै अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि छिट्टै क्रिकेट पूर्वाधार बन्नुपर्ने बताए ।

    नेपाल प्रीमियर लिग (एनपीएल) को पहिलो सिजन सफल भएको उल्लेख गर्दै उनले दोस्रो सिजनको तयारी भइसकेको जानकारी दिए ।

    ‘पहिलो सिजनको हिसाबको पारित प्रक्रिया बाँकी भएकाले अहिलेसम्म पारित भएको छैन, तर चाँडै पारित हुन्छ,’ उनले स्पष्ट पारे ।

    उनले नेपाली क्रिकेटमा आफ्नो कार्यकाल सबैभन्दा न्यायपूर्ण रहेको दाबी गर्दै भने, ‘अन्याय गर्नेहरूलाई कुनै छुट छैन । सुदूरपश्चिमका खेलाडीहरू अत्यन्तै प्रतिभाशाली छन् ।’

    सुदूरपश्चिम क्रिकेट संघको विवादलाई सामान्य भन्दै उनले अरु प्रदेशभन्दा यहाँ कम गतिविधि भइरहेप्रति गुनासो गरेका थिए ।

  • चन्दको मध्यमार्गी लाइनः हिसाब सार्वजनिक गर्न ढिला भएकै हो, प्रक्रियागतरुपमा पारित हुन्छ

    चन्दको मध्यमार्गी लाइनः हिसाब सार्वजनिक गर्न ढिला भएकै हो, प्रक्रियागतरुपमा पारित हुन्छ

    काठमाडौं । एनपीएलको हिसाब सार्वजनिक गर्न ढिलाइ भएको विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) भित्र अन्तरद्वन्द्व जारी रहँदा अध्यक्ष चतुरबहादुर चन्द भने तटस्थ भूमिकामा देखिएका छन् । उनले न सचिव पारसको खुलेर बचाउ गरेका छन्, न त असन्तुष्ट पक्षलाई नै साथ दिएका छन् ।

    चन्दलाई आज धनगढीमा आयोजित एक पत्रकार सम्मेलनमा यो विषयमा जिज्ञासा राखियो । आज पनि उनले ‘मध्यमार्गी’ धारणा नै राखे । एनपीएलको हिसाब सार्वजनिक गर्न ढिलाइ भएको उनले स्वीकारे । तर अब यसलाई विधिसम्मत तरिकाले अगाडि लैजाने भनाइ उनको थियो ।
    क्यानभित्र विवाद र गुटबन्दीबारे पत्रकारले सोधेको प्रश्नमा चन्दले कुटनीतिक जवाफ दिए ।

    उनले भने, ‘क्इानभ नेको एउटा संस्था हो । यसमा निर्वाचित बोर्ड हुन्छ । बोर्ड सदस्य १७ जना सबै भोटिङबाट आएका हुन् । सबैको आआफ्नो स्कुलिङ अनुसार फरक फरक विचारहरु छन् । तर, सबै सदस्यको एउटै लक्ष्य भनेको नेपाली क्रिकेटलाई माथि पुर्याउने हो । विधि–विधान अनुसार चलौं भन्ने साथीहरुको मत छ । अध्यक्षका रुपमा मैले त्यसको नियमन गर्नुपर्ने पनि हुन्छ । साथीहरुका विभिन्न गुनासोहरु छन् । त्यो भनेको सुझाव हो । कमजोरी भएको छ भने सुधार्नुपर्छ । राम्रो भएको छ भने राम्रै भएको छ भनेर साथीहरुलाई कन्भिन्स गर्नुपर्छ । कुनै वारपार वाला गुटबन्दी मैले क्यानभित्र देख्दिनँ ।’

    एक पत्रकारले सोधे, ‘तपाईंले पारस खड्कालाई यति धेरै अधिकार दिनुभयो । क्यानको गर्भिनिङ काउन्सीलको संयोजक बनाउनुभयो । तर पारसले तपाईंलाई कतै पनि श्रेय दिएको देखिँदैन । तपाईंको नाम कुनै पनि मञ्चमा लिनुहुन्न । यसमा के भन्नुहुन्छ रु’
    यसमा पनि चन्द खुलेनन् ।

    उनले संक्षिप्त जवाफ दिए, ‘उहाँले मञ्चमा नबोेलेको भन्ने कुरा उहाँको विषय हो । मैले पर्दा पछाडि गरेको कामबारे तपाईंहरु खोज गर्न सक्नुहुन्छ । मेरो योगदानबारे मैले बताइराख्नु पर्दैन ।’

    चन्दले एनपीएल सिजन २ को तयारी सुरु भइसकेको बताए । पहिलो सिजनको हिसाबकिताब अध्ययन गर्न बोर्ड सदस्यहरुले समय मागेकाले अस्तिको बैठकमा पारित नभएको उनको भनाइ छ ।

    चन्दले भने, ‘सिजन २ को तयारी सुरु गरिसकेका छौं । हिसाबकिताबमा अलि ढिला भएको चैं हो । तर ढिला हुँदैमा सबै कुरा बिग्रेको भन्ने होइन । बोर्डका केही साथीहरुले आजै मात्र हिसाब पायौं, यसलाई अध्ययनका लागि समय चाहिन्छ भन्नुभएको छ । अब अर्को बैठकमा पारित हुन्छ ।’
    नेपालले एसीया कप गुमाउनुपर्दा क्यानलाई आर्थिक रुपमा पनि धेरै नोक्सानी भएको चन्दले गुनासो गरे ।

    उनले भने, ‘एसिया कपमा छनोट नहुँदा हामी अलिकति तल परेका छौं । खेलाडीर्लाइ मात्र नभएर क्यानलाई आर्थिकरुपमा पनि ठूलो क्षति भएको छ । हामीले एसीसीबाट आउने अनुदान सहायता गुमायौं ।’

  • एबी डिभिलियर्स भन्छन्ः नेपाल खतरनाक टीम हो, भविष्यमा एनपीएल खेल्न सक्छु (भिडिओ)

    एबी डिभिलियर्स भन्छन्ः नेपाल खतरनाक टीम हो, भविष्यमा एनपीएल खेल्न सक्छु (भिडिओ)

    काठमाडौं । दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर एबी डिभिलियर्सले नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । नेपालले लामो यात्रा तय गरेर यहाँसम्म आएको उनको टिप्पणी छ ।

    भारतीय युट्यूवर शुभांकर मिश्रले आफ्नो पोडकास्टमा हालै डिलियर्ससँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा उनले गत टी २० विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाबीचको भिडन्तको प्रसंग निकाले ।

    ‘नेपालले टी-२० विश्वकपमा साउथ अफ्रिकालाई झण्डैले हराएको थियो होइन ?’ भन्ने प्रश्नमा डिभिलियर्सले हाँस्दै भने- नेभर (बिल्कुलै होइन) । त्यसपछि उनले फेरि थपे, म जोक गर्दै थिएँ । उनीहरु वास्तवमा गज्जबको टिम हुन् जो लामो यात्रा तय गरेर आएका छन् । उनीहरू खतरनाक टीम हुन् ।’

    डिभिलियर्सले नेपाली टीम अझै बढी कन्सिस्टेन्ट हुनुपर्ने सुझाव दिए । यसका लागि नेपालले धेरै भन्दा धेरै क्रिकेट खेल्ने अवसर पाउनुपर्ने उनको भनाइ छ ।

    ‘उनीहरूले धेरै मौकाहरू पाउनुपर्छ । तर, यस निम्ति अरु कोही उत्तरदायी छ । नेपाल र नेपालजस्ता देशका खेलाडीहरूलाई बढी अवसर दिनका लागि क्रिकेटका आयोजकहरूले सोचुन्,’ उनले भने ।

    मिश्रले सोधे, ‘तपाईंले नेपाल क्रिकेट लिग खेल्दै हुनुहुन्छ भन्ने हल्ला पनि थियो, के सत्य हो ?’

    डिभिलियर्सले आफूलाई नेपालबाट प्रस्ताव आएको तर व्यस्तताले नभ्याएको बताए । भविष्यमा एनपीएल खेल्न सक्ने उनको भनाइ थियो ।

    उनले भने, ‘मलाई इन्भाइट गरिएको थियो । तर, म अलिकति व्यस्त थिएँ । मेरो तालिकासँग मिलेन । म आजकाल छोटा प्रतियोगिताहरू खेलिरहेको छु । अहिले युकेमा परिवारसहित छु । भविष्यमा (एनपीएल खेल्ने सम्भावना) हुन सक्छ । नेभर से नेभर ।’

  • बझाङका रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी

    बझाङका रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी

    काठमाडौं । भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रविन्द्र ढाट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् ।

    गएराती भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् ।

    आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच-लडाईको जितको श्रृंखलालाई भंग गरिदिए ।

    रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनी बझाङका हुन् ।

  • कलाम अलि बने चितवन राइनोजका मुख्य प्रशिक्षक

    कलाम अलि बने चितवन राइनोजका मुख्य प्रशिक्षक

    काठमाडौं । कलाम अलि चितवन राइनोजको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि चितवनले अलिलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।

    पहिलो सिजनमा अलि चितवनको सहायक प्रशिक्षक थिए । मुख्य प्रशिक्षकको जिम्मेवारीमा उमेश पटवाल थिए । अलिसँग नेपाल ‘ए’ टीम र बागमती प्रदेशको प्रशिक्षण गराएको अनुभव छ ।

    पहिलो सिजनमा चौथो स्थान हासिल गरेको चितवनले कप्तान कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरिसकेको छ । जसमा मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी छन् ।

  • सन्दीपले ग्राउण्ड स्टाफहरूसँग मनाए जन्मदिन, ५० हजार रूपैयाँ सहयोग पनि गरे

    सन्दीपले ग्राउण्ड स्टाफहरूसँग मनाए जन्मदिन, ५० हजार रूपैयाँ सहयोग पनि गरे

    काठमाडौं । स्टार क्रिकेटर सन्दीप लामिछाने आजबाट २४ वर्ष पूरा गरि २५ औ वर्षमा प्रवेश गरेका छन् । उनले आज अलि पृथक तरिकाले आफ्नो जन्मदिन मनाए ।

    त्रिवि क्रिकेट मैदान पुगेका सन्दीपले त्यहाँ कार्यरत ग्राउण्ड स्टाफहरूसँग बर्थ डे सेलिब्रेसन गरेका हुन् । ग्राउण्ड स्टाफ बालबच्चाहरूसँग मिलेर उनले जन्मदिनको केक काटेका थिए ।

    सन्दीपले आफ्नो जन्मदिनको खुशी साट्दै ग्राउन्ड स्टाफहरूलाई एकमुष्ट ५० हजार रूपैया सहायता पनि बितरण गरेका छन् । अघिल्ला बर्थडेहरूमा पनि उनले ग्राउण्डस्टाफहरूलाई आर्थिक सहयोग गर्ने गरेका थिए ।

    सन्दीप २०५७ साल साउन १७ गते स्याङ्जाको आरूचौरमा जन्मेका हुन् । उनी २०७३ सालदेखि नेपालको राष्ट्रिय टिमबाट खेलिरहेका छन् ।

    नेपालको राष्ट्रिय टीम अहिले बन्द प्रशिक्षणमा छ । सन्दीप भने व्यक्तिगत कारणले छुट्टि लिएर बसेका थिए । केही दिनदेखि उनी त्रिवि मैदानमा गएर नेट प्राक्टिस गर्न थालेका छन् ।

    उनी दुई तीन दिनभित्र बन्द प्रशिक्षणमा सहभागी हुने बुझिएको छ । त्रिवि मैदान निर्माणाधीन रहेकाले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई मुलपानी मैदानमा अभ्यास गराइदै छ ।

  • ‘हामीलाई यत्तिकै भिलेन बनाइयो, क्यानभित्र गुट छैन’ (भिडियाे)

    ‘हामीलाई यत्तिकै भिलेन बनाइयो, क्यानभित्र गुट छैन’ (भिडियाे)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतिक्षित बोर्ड बैठक हिजो बस्यो । करिब १० घन्टासम्म चलेको बैठक निकै उपलब्धीपूर्ण भएको बताइएको छ ।

    हिजोको बैठकको मुख्य एजेन्डा थियो, नेपाल प्रिमियर लिग (एनपीएल) । गत वर्ष सम्पन्न भएको एनपीएलको पहिलो संस्करणको हिसाब सार्वजनिक गर्न ढिलाइ गरिएको भन्दै क्यानभित्रैको एउटा समूहले दवाव बढाउँदै आएको थियो । वैठकमा क्यानका सचिव तथा एनपीएलको गभर्निङ काउन्सीलका अध्यक्ष पारस खड्काले उक्त प्रतियोगिताको विषयमा समग्र समिक्षा प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष पदम खड्काले आर्थिक प्रतिवेदन पेश गरे ।

    कोषाध्यक्ष खड्काले एनपीएलको पहिलो संस्करणमा क्यानले करिब २ करोड ४६ लाख रुपैयाँ बचत गरेको हिसाब प्रस्तुत गरेका छन् । तर, उनको प्रतिवेदन हिजो पारित भएन । सदस्यहरुले आर्थिक प्रतिवेदन अध्ययन गर्न समय मागेपछि पारित नभएको हो । अब अर्को बोर्ड बैठकले प्रतिवेदन पारित गर्ने जनाइएको छ ।

    क्यानभित्र यतिबेला राजनीतिक दलमा जस्तै दुईवटा खेमा छन् । एउटा पारस समर्थित र अर्को पारस विरोधिहरुको । पारस विरोधि खेमाले एनपीएलको आयोजनामा पारदर्शीता नभएको र आफूहरुलाई नै गुमराहमा राखिएको आरोप लगाउँदै आएको थियो ।

    यही खेमाको प्रतिनिधित्व गर्ने एक बोर्ड सदस्य प्रदीप मजगैया भने आफूहरुलाई ‘पारस विरोधी’ का रुपमा चित्रित गरिएकोमै आपत्ति जनाउँछन् । आफूहरु कोही पनि व्यक्तिको विरोधी नभएको र केवल पारदर्शीता र सुशासनको वकालत मात्रै गरेको उनको भनाइ छ ।

    नेपाल प्रेससँगको कुराकानीमा उनले बारम्बार जोड दिएर भने, ‘हामी सबैजना क्रिकेटको वृहत्तर हितका निम्ति सक्रिय छौं । क्यानभित्र कुनै पक्ष-विपक्ष छैन । अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा क्यान एकजुट छ । हामी केही व्यक्तिलाई अनावश्यकरुपमा भिलेन बनाउने काम भइरहेको छ ।’

    बोर्ड बैठकमा पेश भएको हिसाबप्रति उनले सिधा टिप्पणी गर्न चाहेनन् । आर्थिक प्रतिवेदनलाई विस्तृतमा अध्ययन गरेपश्चात मात्रै निष्कर्षमा पुग्ने उनले बताए ।

    मजगैंयासँग गरिएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छः

    -एनपीएलको हिसाब सार्वजनिक भएन भनेर तपाईंहरुले निकै असन्तुष्टि जनाइरहनुभएको थियो । हिजो बोर्ड बैठकमा हिसाबकिताब पनि पेस भयो । अब सन्तुष्ट हुनुहुन्छ ?

    असन्तुष्टिभन्दा पनि हामीले पारदर्शिताको कुरा गरेका थियौँ । बोर्ड सदस्यहरुबीच छलफल भएर कुराहरु सार्वजनिक हुनुपर्छ भन्ने हाम्रो उद्देश्य थियो, त्यो पनि समयमै । एकदम ढिला गरेर आयो, तर आयो । हिजो गभर्निङ काउन्सिलले बोर्डलाई हिसाब पेस गरेको छ । त्यसलाई एकचोटि हामीले अध्ययन नगरेर, बिनाजानकारी एउटा कमिटीले ल्याएको कुरालाई बोर्डले पास गर्न हुन्न भन्नेमा छौं । यसलाई राम्ररी अध्ययन गरेर अगाडि बढ्नुपर्छ भन्ने हो । हिसाब आयो, त्यो हिसाबलाई हामी हेरेर आगामी बैठकमा पास गरेर अगाडि बढ्छौँ ।

    एनपीएलभित्र तपाईंसहितको असन्तुष्ट खेमाले सचिव पारस खड्कालाई असफल पार्न तानाबाना गरिरहेको आरोप छ । तपाईहरुले हिसाब अनुमोदन नगरेर पारसलाई अप्ठेरोमा पार्ने रणनीति लिनुभएको हो ?

    यो असन्तुष्ट र सन्तुष्टको कुरा होइन । नेपाल क्रिकेट संघभित्र दुइटा खेमाको लडाईं पनि छैन । यो विचारको हिसाबले हो । कुनै पनि संस्था, संस्थागत हिसाबले अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा त्यहाँ पारदर्शीता (ट्रान्सपरेन्सी) र जवाफदेहिता (अकाउन्टिबिलिटी) चाहिन्छ । जिम्मेवारीमा बसेको व्यक्ति उत्तरदायी हुनुपर्छ भन्ने हो । यसै सन्दर्भमा हामी सचेत बोर्ड सदस्यहरुले अध्यक्षलाई एनपीएल लगायतका गतिविधिबारे बोर्डले पास गरेर अगाडि बढ्नुपर्छ र हामीलाई जानकारी गराउनुपर्छ भनिरहँदा हाम्रो असन्तुष्टि व्यक्ति या गुटप्रति नभएर बोर्डले गरेको कामप्रति मात्र हो ।

    नेपाल क्रिकेट संघको सर्वोच्च निकाय साधारण सभा हो, जुन जिल्ला र प्रदेशहरुको प्रतिनिधित्वबाट बनेको हुन्छ । त्यहीँबाट कार्यसमिति बन्छ । बोर्डले योजनाहरुलाई कार्यान्वयन गर्ने निर्णय गर्छ । त्यसपछि बोर्डले बनाएका विभिन्न कमिटीहरुले त्यसलाई कार्यान्वयन गर्ने र बोर्डमा ल्याएर अनुमोदन गर्ने हो ।

    एनपीएल गभर्निङ काउन्सील पनि बोर्डले बनाएको एउटा सानो कमिटी हो, जसलाई सहज तरिकाले काम गर्न जिम्मेवारी दिइएको थियो । सचिवको नेतृत्वमा रहेको काउन्सीललाई आर्थिकसहितको महत्वपूर्ण जिम्मेवारी प्रदान गरियो । सम्पूर्ण बोर्डका सदस्यहरु, म पनि एउटा कमिटीको संयोजक भएर एनपीएललाई सफल बनाउन लाग्यौँ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा जे उद्देश्यले हामीले एनपीएल गर्यौँ, त्यो उद्देश्य प्राप्त भयो । तर हिसाबका कुराहरु नआउँदा र बजारमा विभिन्न मुद्दा–मामिलाका कुराहरु आइरहँदा जिम्मेवार व्यक्तिहरु जवाफदेही हुनुपर्यो भनेर हामीले आवाज उठाएको हो ।

    -बाहिरबाट हेर्दा एनपीएलको पहिलो संस्करण भव्य देखियो । राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा कमायो, राम्रा म्याचहरु भए र क्रिकेटको गज्जब माहोल बन्यो । तर क्यानभित्रकै तपाईंहरुको समूहले एनपीएलमा घोटाला भयो, अनियमितता भयो भन्ने भ्रम फैलाएर पारसलाई बदनाम गर्ने षड्यन्त्र गर्नुभएको आरोप छ नि ?

    यो बिल्कुल गलत कुरा हो । हाम्रो ध्यानाकर्षण आन्तरिक रुपले बोर्ड अध्यक्षलाई थियो । बाहिर उठेका कुरा, हिसाब किन समयमा सार्वजनिक भएन र बोर्डभित्र हुनुपर्ने निर्णयहरु बाहिर कसरी गइरहेको छ भन्नेमा हाम्रो ध्यानाकर्षण थियो । कुनै पनि संस्था चल्न सुशासन चाहिन्छ, जसमा पारदर्शिता र जवाफदेहिता महत्त्वपूर्ण हुन्छ । हाम्रो विधानले पनि पारदर्शीताको कुरा गर्छ ।

    अध्यक्षले के गर्ने, सचिवले के गर्ने, बोर्ड सदस्यले के गर्ने भन्ने पदीय जिम्मेवारी हुन्छ । त्यो पूरा भएन कि भन्ने हाम्रो सरोकार मात्र हो । त्यसमा कोही असन्तुष्ट पक्ष छैन । हिजो बोर्ड बैठकले सर्वसम्मत हिसाबले प्रतिवेदन अध्ययन गरेर अगाडि बढ्ने निर्णय गर्दा असन्तुष्टी कहाँ छ त ? जसलाई तपाईं सन्तुष्ट पक्ष भन्नुहुन्छ, त्यसले पनि हस्ताक्षर गरेर अगाडि बढेको छ ।

    हामीले संस्थालाई, नेपाल क्रिकेट संघलाई ठूलो संघर्षबाट, आईसीसीको प्रतिबन्धबाट निस्किएर यहाँसम्म ल्याएका छौँ । यसमा ठूलो सम्भावना र अवसर छ । यसलाई बिगार्ने छुट कसैलाई छैन, न कुनै व्यक्तिको लोकप्रियताको आधारमा केही लुकाउन सम्भव हुन्छ ।

    -तपाईंहरु पारस खड्कालाई सफल हुन नदिने खेलमा लाग्नुभएको नेपाली क्रिकेटका ‘भिलेन’ का रुपमा फ्यानमाझ चिनिनुभएको छ । यो आरोप किन लाग्यो ? तपाईंहरुको असन्तुष्टि हिसाबकिताबमा मात्रै हो कि अरु पनि केही छ ?

    एनपीएलको सन्दर्भमा हिसाब समयमा आउनुपर्छ भन्ने एउटा मात्रै पोइन्ट थियो । यो विषयमा फ्यानहरुमाझ जे सन्देश गएको छ, त्यो गलत हो । नेपाल क्रिकेट संघ सञ्चालन गर्न विधान र प्रक्रिया छ, त्यसलाई मिच्न दिनु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ । हामीले नै हो आईसीसीले बनाएको विधान हुबहु पास गर्नुपर्छ भनेर अडान लिएर क्रिकेटलाई यहाँसम्म ल्याएको ।

    पारस खड्का खेलाडीबाट प्रशासनमा आउँछु भन्दा हाम्रै टिमबाट, हामीले नै उहाँ जत्तिको मान्छेलाई ल्याउनुपर्छ भनेर सहयोग गरेका हौँ । हामी फरक होइनौँ, एउटै टिमबाट चुनाव लडेका हौँ । यहाँ केही फ्यान वा मिडियाले जानाजान यस्तो विभाजन ल्याउन खोजेको हो कि भन्ने हाम्रो शंका हो ।

    -त्यसोभए क्यानभित्र कुनै विभाजन छैन ?

    वैचारिक रुपले विभाजन भएन भने कुनै पनि संस्थाले प्रगति गर्दैन । फरक फरक विचारहरुबीचको घर्षण सबै संस्थामा हुन्छन् । यसलाई विभाजन मान्नु हुँदैन ।

    -तर क्यान भनेको कुनै राजनीतिक पार्टी त होइन नि फरक-फरक विचार राख्नुपर्ने ? सबैको ध्येय एउटै गन्तव्य एउटै भएपनि विचारमा पनि समानता हुनुपर्ने होइन ?

    काम गर्ने तौरतरिका, प्रक्रिया, विधानको कार्यान्वयन र पारदर्शिताको विषयमा फरक मत हुनसक्छ । नेपाल क्रिकेट संघभित्र गुटबन्दी छैन । यो मुद्दाको (इस्युको) कुरा हो । सात–सात महिना हिसाब नआउँदा, तीन–चार महिना बैठक नहुँदा हाम्रो अधिकार हनन भएन ? हामीले प्रश्न उठाउँदा गुट भन्न पाइन्छ ? यो बोर्ड हो, सत्र जनाको कमिटी हो । एकजनाले गरेको निर्णय स्वीकार्न सकिँदैन । हिजोको बैठकबाट केही प्रतिबद्धताहरु आएका छन् । हामी पनि सच्याएर अगाडि बढ्न तयार छौँ । हाम्रो केन्द्रमा क्रिकेट छ र त्यसलाई अगाडि बढाउनेमा शंका छैन ।

    -पारस खड्का सचिव भएपछि नेपाली क्रिकेटमा धेरै सुधार आएको देखिन्छ । खेलाडीको सेवा-सुविधादेखि अन्तर्राष्ट्रिय एक्सपोजरसम्म बढेको छ । एनपीएल जस्तो ठूलो प्रतियोगिता उहाँकै नेतृत्वमा सफल भयो । तपाईंले उहाँको कार्यसम्पादनलाई व्यक्तिगतरुपमा कसरी मूल्यांकन गर्नुभएको छ ?

    यो सबै एउटा व्यक्तिले मात्रै गरेको होइन, यो बुझ्नुपर्यो । त्यहाँ १७ जना बोर्ड सदस्य छन्, त्यसको नेतृत्व अध्यक्षले गर्नुहुन्छ । बोर्डले निर्णय गरेर कार्यान्वयन गर्ने हो । एनपीएल सफल भयो, तर त्यसको कमिटी त हामीले बनाएको हो नि ।

    -अध्यक्ष चन्द त अघिल्लो कार्यकालमा पनि हुनुहुन्थ्यो । त्यसबेला क्यानले आयोजना गरेको नेपाल टि २० त फ्लप भएकै हो नि । क्यानले व्यवस्थापनको जिम्मा दिएको कम्पनी नै फरार भयो । त्यसको असफलताको जिम्मा चाहिँ कसले लिने ?

    नेपाल टी–ट्वान्टीको बारेमा केही विवादहरु नआएका होइनन्, तर त्यसबाट पनि क्यानलाई दुई करोडभन्दा बढी फाइदा भएको थियो । त्यसको हिसाब १५ दिनमै बुझाइएको थियो र त्यो अहिले क्लिन छ । हो, व्यवस्थापनको जिम्मा लिएको कम्पनी भाग्यो । तर, त्यसबेला म बोर्ड नभएकाले यो विषयमा धेरै बोल्न चाहन्न ।

    अहिले हामी एनपीएल सफल बनाउन सबै खटेका छौँ । यसमा सचिवले मात्र गर्नुभयो भन्ने होइन । हो, उहाँले नेतृत्व गर्नुभयो, राम्रो गर्नुभयो होला, तर यो सबैको प्रयास हो । एकजनाले मात्रै क्रिकेट चलायो भन्ने कुराले क्यानभित्र र जिल्ला–प्रदेशमा वितृष्णा ल्याउन सक्छ । यो सामूहिक निर्णयबाट चल्ने संस्था हो ।

    -अब एनपीएलको दोस्रो संस्करण होला कि नहोला भन्ने पनि अन्योल छ । हिजोको वैठकपछि त्यो अन्योल हटेको हो ?

    एनपीएलले निरन्तरता पाउनुपर्छ भन्नेमा हामी कसैको पनि दुई मत छैन । एनपीएलको दोस्रो संस्करण समयमै हुन्छ र अझै भव्य बनाउनुपर्छ भनेर लागेका छौं । पहिलो संस्करणको विवादले दोस्रो संस्करण प्रभावित हुनु हुँदैन र हुँदैन ।

    -दोस्रो संस्करणमा फ्लडलाइटमा रात्रिकालीन खेल खेलाउनेदेखि बलको स्पिड नाप्नेजस्ता नयाँ प्रविधि भित्रिने चर्चाहरु छन्, यसमा कस्तो गृहकार्य हुँदैछ ?

    हामी एनपीएललाई विश्वस्तरीय बनाउन आतुर छौँ । हाम्रो स्रोतले भ्याएसम्म विश्व क्रिकेटमा प्रयोग हुने सबै सुविधा र प्रविधि ल्याउने हाम्रो इच्छा छ । तर अहिले नै यो गर्छु, त्यो गर्छु भनेर म स्टन्ट गर्दिनँ । फ्लडलाइट जडान हुँदैछ, त्यसको उचित उपयोग गर्न हामी आतुर छौँ, तर जाडोको सिजनमा डे–नाइट खेल कति सम्भव छ, त्यो प्राविधिक कुरा हो । यसबारे टेक्निकल टिमले निर्णय गर्ला । तर हामी वल्र्ड क्लास खेलाडीलाई आकर्षित गर्न र नेपालको उपस्थिति देखाउन सक्ने सबै प्रयास गर्छौँ ।

    -एनपीएलमा क्यानले मुनाफा कमाएको बताइरहँदा ८ वटा फ्रेन्चाइजहरु त ठूलो घाटामा छन् । फ्रेन्चाइजहरुले निरन्तर लगानी मात्रै गरिरहन नसक्लान् । उनीहरुको प्रतिफल सुनिश्चित गर्न कसतो कार्ययोजना छ ?

    म फ्रेन्चाइजी ओनरहरुलाई उच्च सम्मान प्रकट गर्न चाहन्छु । उहाँहरुबिना एनपीएल अधुरो रहन्थ्यो । उहाँहरु घाटामै हुनुहुन्छ र नाफामा आउन (ब्रेक इभनमा पुग्न) केही सिजन लाग्ला । हामी उहाँहरुको लगानी सुरक्षित गर्न र उहाँहरुलाई उत्प्रेरित गर्न गम्भीर छौँ । उहाँहरुलाई थप प्रायोजकहरुसँग जोड्न हामी प्रयास गरिरहेका छौँ । यसमा नेपाल क्रिकेट संघ चुक्दैन ।

    -अब एनपीएलभन्दा बाहिरको कुरा गरौं । अर्को टि २० विश्वकपमा छनोट हुने तत्कालको लक्ष्य छ भने नेपालको वान डे स्ट्याटस सुरक्षित राख्ने चुनौति हामीसामु छ । साथै, नेपालको ठूलो सपना भनेको टेस्ट राष्ट्र बन्ने हो । नेपालको आगामी यात्रा कत्तिको चुनौतिपूर्ण देख्नुहुन्छ ?

    हामीले यो वर्ष केही प्रतियोगिता गुमाएका छौँ । अहिले हाम्रो मुख्य फोकस टी–ट्वान्टी वल्र्ड कपमा क्वालिफाई हुने हो । नयाँ कोचसँगै टिमले राम्रो प्रदर्शन गरिरहेको छ र सम्भावना देखिएको छ । हामी खेलाडीलाई उत्प्रेरित गर्न सक्नेभन्दा बढी खर्च गरिरहेका छौँ । तर, नयाँ कोच आउनुअघि केही समय अगाडि टिममा समस्या देखियो । दूरदृष्टिपूर्ण निर्णयको अभावमा हामीले मोन्टी देसाईलाई कामै नगराई छ–सात महिना लाखौँ तलब खुवाएर राख्नुप¥यो । यस्ता कमजोरी हाम्रा पनि थिए । तर अहिले हाम्रो टिम लयमा छ । मलाई लाग्छ कि आगामी दिनहरु सुन्दर हुनेछन् ।

    -टी-ट्वान्टी विश्वकपमा छनोट हुनेमा कत्तिको आशावादी हुनुहुन्छ?

    प्रदीप मजगैयाँः एकदमै आशावादी छौँ । टीमले राम्रो खेलिरहेको छ, सुविधा र अवसरहरु दिइएको छ र खेलाडीहरुले क्षमता प्रदर्शन गरिरहनुभएको छ ।

    -क्यानले एउटा ए-टीम पनि बनाएको थियो, तर त्यो निष्क्रिय जस्तो देखियो नि ?

    यो दुखद पक्ष हो । यसमा हाम्रो गम्भीर असहमति छ । त्यत्रो मेहेनत गरेर ए–टिम बनायौँ, जसले ठूलो आशा र सम्भावना देखाएको थियो । ए–टिममा उत्कृष्टता देखाएर खेलाडीहरु राष्ट्रिय टिममा गएको उदाहरण पनि थियो । त्यसलाई किन निरन्तरता दिन सकिएन भन्ने हाम्रो पनि प्रश्न हो । यो त कसैलाईलाई कोच नियुक्त गर्नका लागि मात्रै बनाइएको जस्तो देखियो ।

    -अन्त्यमा, अब क्यान एकजुट छ, र क्रिकेटलाई अगाडि बढाउन प्रतिबद्ध छ भन्ने सन्देश कसरी दिन चाहनुहुन्छ ?

    इस्यु बेस्डमा हाम्रो पक्ष-विपक्ष होला । तर नेपाल क्रिकेट संघको बोर्ड कुनै गुटको नेतृत्वमा छैन । हामी जिम्मेवार छौँ र क्रिकेटलाई हानि हुन दिँदैनौँ । गलत कुरालाई सच्याएर, सही तरिकाले जानुपर्छ भन्नेमा हाम्रो खबरदारी रहन्छ । राम्रो कुरामा, उहाँहरुभन्दा एक कदम अगाडि बढेर साथ दिन हामी तयार छौँ ।

    हाम्रो अधिकार हनन हुँदा, बैठक नहुँदा, प्रश्न उठाउँदा गुट भन्न पाइँदैन । हिजोको बैठकपछि केही प्रतिबद्धताहरु आएका छन् र हामी पनि सच्याएर अगाडि बढ्न तयार छौँ । हाम्रो केन्द्रमा क्रिकेट छ र त्यसलाई अगाडि बढाउनमा कुनै शंका छैन ।

     

  • एनपीएलकाे पहिलाे संस्करणमा क्यानलाई २ कराेड ४६ लाख मुनाफा

    एनपीएलकाे पहिलाे संस्करणमा क्यानलाई २ कराेड ४६ लाख मुनाफा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ क्यानले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ ।

  • एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ : पारस खड्का (भिडिओ)

    एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ : पारस खड्का (भिडिओ)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हुनुपर्ने पक्षमा बोर्ड बैठकमा सबैको एकबद्ध धारणा आएको बताएका छन् ।

    आज बसेको बोर्ड बैठकपछि बोल्दै सचिव खड्काले सबै सदस्य एनपीएल हुुर्ने पक्षमा रहेको उल्लेख गरे । ‘केही सदस्यहरुले खर्चको विवरण अझै विस्तृत भयो भने हामीलाई सजिलो हुन्छ भन्ने क्रममा एनपीएल अघि बढ्नुपर्छ । एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ’, उनले भने ।

    सचिव खड्काले एनपीएलको पहिलो संस्करणको हिसाबकिताब बोर्ड बैठकमा पेस गरेका हुन् । ‘हामीले हिसाबकिताब प्रष्ट राख्यौं’, उनले भने, ‘६–७ महिना लागेको थियो । विभिन्न कारण त्यो राष्टको चर्चाको विषय भयो । नेपाल क्रिकेट संघको स्रोत, आम्दानीदेखि ल्याएर खर्चको सबै विवरण सबै बोर्डलाई पेस गर्नुपर्छ । जुन हामीले पेस पनि गर्यौं ।’

     

  • प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

    प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गरेका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणा गरे ।

    अभियान अन्तर्गत फिफाले एन्फासँगको सहकार्यका ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल उपलब्ध गराउने बताइएको छ ।

    यस कार्यक्रममार्फत विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्ने र ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने लक्ष्य राखिएको एन्फाले जनाएको छ ।

     

  • महिला टी-२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा खेलाइने

    महिला टी-२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा खेलाइने

    काठमाडौं । नेपाललाई २०२६ को आईसीसी महिला टी-२० विश्वकप छनोट प्रतियोगिताको आयोजकको रूपमा छनोट गरिएको छ । यो प्रतियोगिता १२ जनवरीदेखि २ फेब्रुअरी २०२६ सम्म चल्नेछ ।

    १० टोलीहरूले विश्वकपमा चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, जुन २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने तयारी छ । बंगलादेश र आयरल्यान्डले २०२४ को आईसीसी महिला टी-२० विश्वकपमा सहभागिता जनाएका आधारमा छनोटमा स्वतः स्थान पक्का गरेका छन् ।

    थाइल्यान्ड र नेपाल एसिया क्षेत्रीय मार्गबाट छनोट भएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ ।

    बाँकी पाँच स्थानहरू अफ्रिका र युरोपबाट दुई-दुई टोली र पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एक टोलीले सम्बन्धित क्षेत्रीय छनोट पूरा गरेपछि प्राप्त गर्नेछन् । नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीहरूलाई दुई समूहमा पाँच-पाँच टोलीको रूपमा विभाजन गरिनेछ । त्यसपछि सुपर सिक्स चरण र फाइनल हुनेछ । प्रतियोगिताको पूर्ण तालिका चाँडै घोषणा गरिने छ ।

    २०२६ को आईसीसी महिला टी-२० विश्वकप इंग्ल्याण्ड र वेल्समा पहिल्यै पक्का भइसकेको छ । यो प्रमुख प्रतियोगिता १२ जुनदेखि ५ जुलाई २०२६ सम्म चल्नेछ, जसमा २४ दिनमा सात स्थानहरूमा ३३ खेलहरू खेलिनेछन्, जसमा ओल्ड ट्राफोर्ड, हेडिङ्ले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्ड समावेश छन् । ग्रान्ड फाइनल ऐतिहासिक लर्ड्स क्रिकेट ग्राउन्डमा आयोजना हुनेछ ।

  • क्यानको बहुप्रतीक्षित बोर्ड बैठक सुरू, एनपीएलको समीक्षा र हरहिसाब पेश हुँदै

    क्यानको बहुप्रतीक्षित बोर्ड बैठक सुरू, एनपीएलको समीक्षा र हरहिसाब पेश हुँदै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतीक्षित बोर्ड बैठक अहिले बस्दैछ । अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको मूलपानीस्थित कार्यालयमा बोर्ड बैठक सुरू भएको हो ।

    नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको समीक्षा र हिसाबकिताब पेश हुने भएकाले यो बैठकलाई निकै चासोका साथ हेरिएको छ । क्यानभित्रको असन्तुष्ट पक्षले एनपीएल अपारदर्शी भएको भन्दै बोर्डमा हिसाबकिताब देखाउनुपर्ने माग गर्दै आएको थियो ।

    आजको बैठकको प्रमुख एजेन्डा एनपीएल नै हुने एक सदस्यले बताए । सचिव पारस खड्काले एनपीएल आयोजनाको समग्र संश्लेषण गर्नेछन् भने कोषाध्यक्ष पदम खड्काले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । एनपीएलको पहिलो संस्करणमा क्यान मुनाफामा रहेको जनाइएको छ ।

    क्यानभित्रको असन्तुष्ट पक्ष भने एनपीएलको हिसाब अनुमोदन गर्ने पक्षमा छैन । आर्थिक प्रतिवेदन अध्ययन गर्न नदिइएको तथा अख्तियारमा उजुरीसमेत परेकाले एनपीएलको हिसाब अनुमोदन नगर्ने बोर्ड सदस्य प्रदीप मजगैयाले बताए ।

    उनले भने, `हामीले पहिल्यैबाट हिसाब देखाउन भन्दा देखाइएन । एकैपटक बोर्ड बैठकमा ल्याएर पारित गर्न खोजिएको छ । तर, यसमा बहुमत बोर्ड सदस्यले हस्ताक्षर गरेने छैनन् । हिसाब अनुमोदन हुँदैन ।

    असन्तुष्ट पक्षले बोर्डमा आफूहरूको बहुमत रहेको दाबी गरिरहेको छ । संस्थापन पक्ष भने आर्थिक प्रतिवेदन अनुमोदन हुनेमा ढुक्क देखिन्छ ।

    आजको बैठकमा एनपीएलको दोस्रो संस्करण आयोजनाका लागि अर्को गभर्निङ काउन्सिल गठनको पनि एजेन्डा रहेको छ ।

  • अष्ट्रेलियाका बलरको हाँस्यास्पद बलिङः १८ पटक बल फ्याँक्दा पनि सकिएन ओभर

    अष्ट्रेलियाका बलरको हाँस्यास्पद बलिङः १८ पटक बल फ्याँक्दा पनि सकिएन ओभर

    काठमाडौं । ईंग्ल्यान्डमा जारी वर्ल्ड च्याम्पियनसीप अफ लिजेन्ड्सअन्तर्गत अष्ट्रेलिया च्याम्पियन्स र पाकिस्तान च्याम्पियन्सबीचको खेलमा हाँस्यास्पद दृष्य देखिएको छ । अष्ट्रेलियाका एक बलरले एकै ओभरमा १८ पटक बल फ्याँके, तर पनि ओभर पूरा गर्न सकेनन् ।

    ब्रेट लीको कप्तानीमा रहेको अष्ट्रेलिया च्याम्पियन्स पहिलो ब्याटिङ गर्दै ७४ रनमै अलआउट भएको थियो । सइद अजमलको घातक बलिङमा अष्ट्रेलियाका लिजेन्ड ब्याटरहरु टिक्न सकेनन् । बेन डंकले १४ बलमा सर्वाधिक २६ रन बनाए भने क्यारिम फर्गुसनले १० रन जोगे । अन्य ब्याटरहरु सिंगल डिजिटमै आउट भए ।

    पाकिस्तानका अजमल एक्लैले ६ विकेट लिए । इमाद वसिमले दुई तथा सोहेल तनभिर र सोहल खानले एक एक विकेट बाँडे ।

    जवाफी ब्याटिङमा पाकिस्तानले कुनै विकेट क्षतिबिना ७.५ ओभरमै लक्ष्य भेट्यो । ओपनर सार्जिल खानले ३२ र सोयब मक्सुदले २८ रन जोडेर अविजित रहे । रोचक घटना चाहिँ आठौं ओभरमा भएको हो ।

    प्रतियोगिताको नियम अनुसार प्रत्येक टिमले दोस्रो इनिङमा एक खेलाडी परिवर्तन गर्न सक्छन् । जसअनुसार अष्ट्रेलियाले ओपनिङ ब्याट्यम्सान क्रिस लिनको स्थानमा दोस्रो इनिङमा जोन हास्टिङलाई दोस्रो इनिङमा समावेश गरेको थियो । हास्टिङ आठौं ओभरमा बलिङ गर्न आए र विचित्रको प्रदर्शन गरे ।

    पाकिस्तानलाई जितका लागि २० रन चाहिएको थियो । हास्टिङले वाइड बलको वर्षा गर्दै पाकिस्तानलाई सजिलो पारिदिए । सुरुवातमै उनले पाँच पटक लगातार वाइड फ्याके । छैटौं पटकमा बल्ल एउटा बल लाइनमा गयो, जसमा ब्याट्सम्यानले एक रन लिए । त्यसपछिको बलमा बलरले चौका खाए । अनि फेरि सुरु भयो एक्स्ट्राको श्रृंखला ।

    यो ओभरमा हास्टिङले १८ पटक बल फ्याक्दा बल्ल पाँच बल पूरा भएको थियो । ओभर पुरा नगर्दै पाकिस्तानले लक्ष्य भेट्यो ।

    यस्तो थियो हास्टिङको बलिङ

    ७.१– वाइड
    ७.१– वाइड
    ७.१– वाइड
    ७.१– वाइड
    ७.१– वाइड
    ७.१– १ रन
    ७.२– ४ रन
    ७.३– नोबल
    ७.३– वाइड
    ७.३– लेग बाइ
    ७.४– वाइड
    ७.४– डट
    ७.५– १ रन
    ७.६– वाइड
    ७.६– वाइड
    ७.६– वाइड
    ७.६– वाइड
    ७.६– वाइड

  • एएफसी यू-२० एसियन कप छनोट खेल्ने महिला टोलीको बिदाइ

    एएफसी यू-२० एसियन कप छनोट खेल्ने महिला टोलीको बिदाइ

    काठमाडाैं । भुटानमा हुने एएफसी यू-२० महिला एसियन कप छनोटका लागि भुटान प्रस्थान गर्ने टोलीलाई बुधबार बिदाइ गरिएको छ ।

    दशरथ रंगशालामा नेपासी टोलीलाई बिदाई गरिएको हो । आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि नेपाली टोली भुटान प्रस्थान गर्न लागेको है । यही साता यु २० नेपाली महिला टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपाली टोलीको घोषणा गरेका थिए ।

    प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा दक्षिण कोरिया, भुटान र साउदी अरेबिया पनि छन् ।

  • नेपाल, बंगलादेश र नेदरल्यान्ड्सबीच क्रिकेट सिरिजको हल्लाबारे क्यान भन्छ- सत्य होइन

    नेपाल, बंगलादेश र नेदरल्यान्ड्सबीच क्रिकेट सिरिजको हल्लाबारे क्यान भन्छ- सत्य होइन

    काठमाडौं । नेपालले बंगलादेश र नेदरल्यान्ड्सँग क्रिकेट सिरिज खेल्न लागेको चर्चा अहिले सामाजिक सञ्जालमा व्याप्त छ । बंगलादेशी न्युज च्यानलको हवाला दिँदै क्रिकेटका पेजहरुले उत्साहसाथ यो समाचार सेयर गरिरहेका छन् ।

    तर, नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सामाजिक सञ्जालमा चर्चा भएजस्तो त्रिकोणात्मक सिरिजको तत्काल कुनै पनि तयारी छैन । क्यानका प्रवक्ता छुम्बी लामाले हल्ला सत्य नभएको बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘मैले पनि धेरै पोस्टहरु देखिरहेको छु । बंगलादेशको क्रिकेट बोर्डका अध्यक्षले कुनै सन्दर्भमा बोलेको बाइट हालेर समाचार बनाइएको रहेछ । तर, बंगलादेशसँग सिरिज खेल्नेबारे कुनै पनि प्रस्तावमा छलफल भएको छैन ।’

    बंगलादेशका क्रिकेट बोर्ड अध्यक्ष अमिनुल इस्लाम यसअघि आइसीसीका डेभलपमेन्ट अफिसर थिए । उनी बेलाबखत नेपाल आइराख्छन् । गत वैशाखमा नेपालमा भएको यु १९ विश्वकप छनोट प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर भएर आएका थिए । उनले नै नेपाल र नेदरल्यान्ड्सँग बंगलादेशले क्रिकेट सिरिज खेल्न सक्ने विषयमा बोलेको दावी गरिएको छ ।

    यद्यपि प्रवक्ता लामाले कुन प्रसंगमा बोलेको हो भन्ने आफूलाई थाहा नभएको र यसबारे औपचारिक प्रस्ताव केही पनि नआएको प्रष्ट पारेका छन् ।

  • वेस्ट इन्डिजविरुद्ध ५ म्याचको टी-२० सिरिज अष्ट्रेलियाद्वारा ह्वाइटवास

    वेस्ट इन्डिजविरुद्ध ५ म्याचको टी-२० सिरिज अष्ट्रेलियाद्वारा ह्वाइटवास

    बासेटेरे, सेन्ट किट्स। अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-२० सिरिजमा शानदार ह्वाइटवास गरेको छ । वार्नर पार्क, बासेटेरेमा भएको अन्तिम खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै सिरिजमाथि पूर्ण दबदबा कायम ग¥यो ।

    पहिलो चार खेलमा क्रमशः ३ विकेट, ८ विकेट, ६ विकेट र ३ विकेटले जित हासिल गरेको अष्ट्रेलियाले अन्तिम खेलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको हो । वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १७० रन बनाएको थियो । सिमरोन हेटमियरल ३१ बलमा ५२ रन बनाउँदै टिमलाई मध्यम योगफलसम्म पुर्‍याएका थिए । यस्तै, शेरफेन रदरफोर्डले १७ बलमा ३५ रन बनाए । अष्ट्रेलियाका बेन ड्वारसुइसले सर्वाधिक तीन विकेट लिए भने नेथन एलिसले २ विकेट हात पारे ।

    जवाफी ब्याटिङमा अष्ट्रेलियाले खराब सुरुवात गरेको थियो । ओपनरको भूमिकामा आएको ग्लेन म्याक्स्वेल ० रनमा आउट भए भने मिचेल मार्सले १४ रन मात्रै जोड्न सके । २५ रन बनाउँदा ३ विकेट गुमाएको अष्ट्रेलियालाई मध्यक्रमका ब्याट्सम्यानहरुले उद्दार गरे । क्यामरन ग्रीनले १८ बलमा ३२ रन, टिम डेविडले १२ बलमा ३० रन मिचेल ओवेनले १७ बलमा ३७ रन र एरोन हाडीले २५ बलमा २८ रन बनाएपछि अष्ट्रेलियाले १७ ओभरमै लक्ष्य भेटेको थियो ।

    अष्ट्रेलियाका कप्तान मिच मार्शले जितपछि भने, ‘हाम्रो टोलीले यो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्‍यो । हामीले हरेक खेलमा आफ्नो रणनीतिलाई प्रभावकारी रूपमा लागू गर्‍यौं ।’

    ५ म्याचको टी–२० श्रृंखलामा ह्वाइटवास भएको यो दोस्रोपटक हो । यसअघि भारतले न्यूजिल्यान्डविरुद्धको ५ म्याचको श्रृंखला ह्वाइटवास गरेको थियो ।

  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरभित्रै सम्पन्न गर्ने गरी तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरभित्रै सम्पन्न गर्ने गरी तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन्।

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सवाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिएका हुन् । उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न समेत आग्रह गरेका छन् ।

    परिषद्का संरक्षकसमेत रहेका ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका छन् । छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए ।

  • सूर्यविनायकमा नयाँ रंगशाला बनाउन प्रधानमन्त्रीले गरे छलफल

    सूर्यविनायकमा नयाँ रंगशाला बनाउन प्रधानमन्त्रीले गरे छलफल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ रंगशाला सानो भएकाले ठुुलो रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत आवश्यक पूर्वाधारको प्रबन्धका लागि परामर्श गरेका हुन् ।

    सो नगरपालिकाले वडा नम्बर ८, जगाते (पुरानो इँट्टा टायल कारखाना)स्थित दुुई सय रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया छिटो अघि बढाउने प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

    उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रंगशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा रहेको छ ।

    छलफलमा नगरपालिकाका प्रमुुख वासुुदेव थापा, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत थिए ।

  • ‘सेन्ट्रल कन्ट्रयाक्ट’ त्यागेका सन्दीप लामिछाने बन्द प्रशिक्षणमा पनि छैनन्, अष्ट्रेलिया जालान् ?

    ‘सेन्ट्रल कन्ट्रयाक्ट’ त्यागेका सन्दीप लामिछाने बन्द प्रशिक्षणमा पनि छैनन्, अष्ट्रेलिया जालान् ?

    काठमाडौं । टि-२० विश्वकप छनोटका लागि ३२ सदस्यीय नेपाली क्रिकेट टीम अहिले बन्द प्रशिक्षणमा रहेको छ । यसमा पनि २० जना खेलाडी दोस्रो चरणको प्रशिक्षणका लागि बैंगलोरमा छन् ।

    ३२ सदस्यीय स्क्वाडमा रहेका स्टार स्पिनर सन्दीप लामिछाने भने बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । न उनी बैंगलोर गए, न नेपालमै प्रशिक्षण गरिरहेका छन् । पछिल्लो समय हरेक ठूला प्रतियोगिताअघि सन्दीप उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने चर्चा हुने गर्छ, र यसपालि पनि यस्तै भएको छ ।

    सन्दीपले व्यक्तिगत कारणले आफू तत्काल बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने भनेर नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराएका थिए । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीप क्लोज क्याम्पमा आएर फिटनेस टेस्टहरुमा भने सहभागी भएका छन् । उनी ओमानमा हुने टि-२० विश्वकप छनोटमा उपलब्ध हुनेमा शंका नरहेको लामाले बताए ।

    ‘उहाँ ३२ सदस्यीय टीममा हुनुहुन्छ र छनोट प्रतियोगिता खेल्नुहुन्छ,’ लामाले भने, ‘अहिले व्यक्तिगत कारणले बन्द प्रशिक्षणमा नआउनुभएको मात्र हो ।’

    सन्दीप अहिले क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर छन् । उनले व्यक्तिगत कारण देखाउँदै सेन्ट्रल कन्ट्र्याक्टमा नबस्ने निर्णय केही समयअघि लिएका थिए । क्यानसँग सम्झौतामा नरहेको हुँदा अन्य खेलाडीहरुले जस्तो नियममा बाँधिनु नपर्ने तथा आफ्नो अनुकुलता अनुसार टीममा समावेश हुन वा छोड्न सक्ने एकथरि तर्क छ ।

    क्यान सचिव पारस खड्का भने सेन्ट्रल कन्ट्र्याक्टमा रहँदा वा नरहँदा फरक नियम नहुने बताउँछन् । केही दिनअघि नेपाल प्रेससँगको एक अन्तरवार्तामा उनले सन्दीपलाई सेन्ट्रल कन्ट्र्याक्टमा जहिले पनि ढोका खुला रहेको प्रतिक्रिया दिएका थिए ।

    पारस भन्छन्, ‘कन्ट्र्याक्ट बाहिर बस्दाको प्लस र माइनस केही पनि छैन । उहाँले पारिश्रमिक पाउनुहुन्न । टुमा जाँदा भत्ता पाउनुहुन्छ । सम्झौतामा नरहे पनि उहाँले कोड अफ कन्डक्ट पालना गर्नैपर्छ । उहाँले विदेशी लिगमा खेल्न जानुपर्यो भने पनि नो अब्जेक्सन लेटर क्रिकेट संघबाटै लिनुपर्छ । यो सबै कुराहरुमा हामीले उहाँलाई वञ्चित गरेका छैनौं र गर्न पनि मिल्दैन ।’

    आफूहरु सन्दीप सम्झौतामा आउन् भन्ने चाहेको पारसको भनाइ छ । आफूले सन्दीपसँग यस विषयमा बसेर कुरा गरेको उनले बताए ।

    ‘उहाँलाई कन्भिन्स गर्न खोजेको हो । तर, उहाँले अलिकति फ्रि हुन चाहन्छु भन्नुभयो । उहाँको पनि आफ्नो सोचविचार होला । क्रिकेट संघ उहाँ कन्ट्र्याक्टभित्र रहनुहोस भन्ने चाहन्छ । तर हामी तपाईं आउनैपर्छ भनेर दवाव दिन सक्दैनौं । उहाँ जुन समयकालमा कन्ट्रयाक्टमा आउन चाहन्छु भन्नुहुन्छ, क्रिकेट संघले २४ सै घन्टा ढोका खुल्ला राखेको छ,’ पारसले थपे ।

    सन्दीप निकट स्रोतले भने उनी अहिले कन्ट्«याक्टमा फर्किहाल्ने सम्भावना नरहेको जनाएको छ । स्कटल्यान्डबाट फर्किएपश्चात क्यानसँग यस विषयमा छलफल नभएको स्रोतले जानकारी दियो ।

    नेपालले आगामी अक्टोबरमा ओमानमा आयोजना हुने टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्दै छ । यस्तै, सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टि–२० श्रृंखला खेल्ने तालीका रहेको छ । यी दुवै प्रतियोगितामा सन्दीप सम्भवतः उपलब्ध हुनेछन् ।

    यस्तै, टि-२० विश्वकप छनोटको तयारीस्वरुप आउँदो अगष्टमा नेपाली टीम अष्ट्रेलियाको टप एन्ड टी-२० सिरिजमा सहभागी हुनेछ । क्यानका अनुसार अगष्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने उक्त सिरिजमा कम्तिमा ६ खेलहरु हुनेछन् । सन्दीपले यो सिरिज खेल्ने वा नखेल्ने प्रष्ट भएको छैन ।

  • नेपालका बसील त्वायनाले विश्व सभात च्याम्पियनशिपमा रजत पदक जिते

    नेपालका बसील त्वायनाले विश्व सभात च्याम्पियनशिपमा रजत पदक जिते

    काठमाडौं । उज्बेकिस्तानको ताशकेंटमा जुलाई २३ देखि २७ सम्म सम्पन्न वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपालका बसील त्वायना रजत पदक जित्न सफल भएका छन्।

    ८०—८५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका बसीलले लीग चरणमा आयोजक देश उज्बेकिस्तानका खेलाडी जिदिरोभ मोहम्मदलाई पराजित गर्दै ३ अंक जोडे। त्यसपछि अज़रबैजानका मेहमेद सुलेमनोभमाथि जित निकाल्दै थप ३ अंक बटुलेका बसीलले फ्रान्सका मलभिन पेरीईसँगको खेलमा वाकओभर पाएपछि कुल ९ अंकसहित फाइनलमा प्रवेश गरेका थिए।

    फाइनल खेलमा भने फ्रान्सकै मलभिन पेरीईसँग भिडेका बसील तीव्र प्रतिस्पर्धात्मक प्रदर्शनका बाबजुद पराजित भई रजत पदकमा चित्त बुझाउनुपरेको थियो।

    नेपालका लागि यो उपलब्धिलाई ऐतिहासिक मानेको नेपाल सभात संघका अध्यक्ष, मुख्य प्रशिक्षक तथा एशियन सभात कन्फिडेरेशनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले भने, ‘सिर्जनशील खेलशैलीका साथ बसीलले सभातको पावर हाउस मानिने देशहरू उज्बेकिस्तान, अज़रबैजानलाई हराउँदै फाइनल पुगे। फ्रान्सका उत्कृष्ट खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि पदक तालिकामा रजतमै रोकिनुपर्‍यो। तर यो नेपालका लागि गर्वको क्षण हो।’

  • रुपन्देहीमा खिमलाल भट्टराईको बलिङमा अर्थमन्त्री विष्णु पौडेलद्वारा चौका प्रहार ! (भिडिओ)

    रुपन्देहीमा खिमलाल भट्टराईको बलिङमा अर्थमन्त्री विष्णु पौडेलद्वारा चौका प्रहार ! (भिडिओ)

    रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबारदेखि गृहजिल्ला रुपन्देहीमा छन् । नेकपा एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका मन्त्री पौडेल बजेट निर्माण तथा पार्टीको कामले केही महिनायता जिल्लामा आएर धेरै बसेका थिएनन् । यो पटक भने उनले दर्जनभन्दा बढी कार्यक्रममा सहभागी जनाउन जिल्ला झरेका हुन् ।
    अर्थमन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्रसँगै जिल्लाका अन्य क्षेत्रमा समेत केही कार्यक्रमलाई प्राथमिकता दिएर पुगेका छन् । रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको तयारी भइरहेकाले पनि नेता पौडेलले यो बिचमा त्यो क्षेत्रका विभिन्न कार्यक्रममा सहभागिता देखाएका छन् ।
    शनिबार मन्त्री पौडेलले रुपन्देहीका विभिन्न आयोजनाको स्थलगत अवलोकनका लागि समय निर्धारण गरे । यही क्रममा शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नं १५ कर्साघाटमा संघीय सरकारको विशेष आयोजनामा निर्माण हुन लागेको कृषि उपज केन्द्रबारे जानकारी लिन दलबलसहित पुगेका थिए मन्त्री पौडेल । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेताहरु तथा सो क्षेत्र वरिपरि रहेका कार्यकर्ता र केही स्थानीयसमेत उनी त्यहाँ पुग्ने सूचना पाएसँगै पुगेका थिए ।
    तर गाडीबाट झरेपछि आयोजना नजिकै स्थानीय युवाहरू क्रिकेट खेलिरहेका थिए । अर्थमन्त्री पौडेलले ती खेलाडीहरूलाई ऊर्जा थप्ने गरी हात हल्लाउन थाले । एक छिनमै खेलिरहेका खेलाडीहरू मन्त्री पौडेललाई देखेपछि आफ्नो खेलमैदान बनाउन मागसहित अगाडि सरे ।
    त्यो भन्दा अघि नै नेता पौडेलले खेलाडीहरूसँग सामिप्यता बढाउन आफूले खेल्ने रुचि देखाए । आफ्नो मैदानमा शीर्ष तहको नेता र मन्त्री आएपछि उनीहरूले सहजै मैदान प्रवेश गराएको त्यहाँ पुगेका एमाले नेता मेघराज भट्टराईले बताए ।
    मन्त्री पौडेलले मैदान प्रवेश गरेर सिधै ब्याट समाए । र उनले बलिङका लागि प्रदेशका पूर्व मन्त्री तथा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलाई मैदानमा पठाए । नेता श्रेष्ठले दुई बल पौडेलका लागि हाने तर उनले सहजै रूपमा त्यसलाई ब्याटले हान्न सकेनन् । ‘अलि राम्रो बलिङ गर्नुस् न, यो त सारै कमजोर भयो’ पहिलो बललाई हान्न नसकेपछि पौडेलले श्रेष्ठलाई भने । श्रेष्ठले फालेको दोस्रो बल पनि राम्रो तरिकाले ब्याटमा नलागेपछि मन्त्री पौडेलले एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई बलिङका लागि पडाए । नेता भट्टराईको पहिलो बललाई सामान्य प्रहार गरे पनि दोस्रो बलमा भने मन्त्री पौडेलले चौका प्रहार गरेका थिए ।
    मैदान वरिपरि रहेका नेताकार्यकर्ताहरुले छक्का छक्का भनेर हुटिङ गरिरहेका थिए । खेलमा सहभागिता जनाएपछि मन्त्री पौडेलले त्यहाँ रहेका स्थानीय खेलाडीहरुसमक्ष केही समय अन्तरक्रिया गरे । पौडेलले कृषि उपज केन्द्र नेपालको नमुना आयोजना भएकाले यसलाई निर्माणका लागि सघाउन र नजिकै रहेको अर्को स्थानमा क्रिकेट स्टेडियम बनाउन आफूले पहल गर्ने र बजेटको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए । मन्त्री पौडलको प्रतिबद्धतापछि त्यहाँ रहेका खेलाडीको अनुहारमा खुसी देखिएको एमाले बुटवल अध्यक्ष शोभाखर पोख्रेलले जनाए ।
  • एनपीएलको खेलाडी अक्सन साउन २४ गते हुने, ४५८ जनाले गराए नाम दर्ता

    एनपीएलको खेलाडी अक्सन साउन २४ गते हुने, ४५८ जनाले गराए नाम दर्ता

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजनामा संचालन हुन लागेको एनपीएलको दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको हो ।

    दोस्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया यहि जुलाई १२ देखि २२, २०२५ सम्म खुल्ला गरिएको थियो । खेलाडी दर्ता प्रकृयामा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले नाम दर्ता गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    दर्ता भएका सबै खेलाडीहरुको विवरण एनपीएलमा सहभागी ८ फ्रेञ्चाईज टोलीहरुलाई उपलब्ध गराई नेपाल क्रिकेट संघको प्राविधिक समितीले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरुले इच्छ्याएका खेलाडीहरुको सुचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने उनले जानकारी दिए ।