Category: खेल प्रेस

  • ओल्मोलाई ला लिगामा दर्ता गराउने बार्सिलोनाको प्रयास पुनः असफल

    ओल्मोलाई ला लिगामा दर्ता गराउने बार्सिलोनाको प्रयास पुनः असफल

    हेटौँडा । जर्मन क्लब आरबी लाइपजिगबाट ६ करोड युरोमा स्पेनीस क्लब बार्सिलोना पुगेका फरवार्ड ड्यानी ओल्मोलाई ला लिगामा दर्ता गर्ने बार्सिलोनाको प्रयास दोस्रो पटक पनि असफल भएको छ ।

    ओल्मोलाई क्लबमा भित्राउँदा स्पेनिस फुटबलको पारिश्रमिक सम्बन्धी नियम तोडेको भन्दै ला लिगमा दर्ता गर्ने प्रक्रियालाई त्यहाँको अदालतले गत साता नै रोकिदिएको थियो ।

    त्यसपछि दबाबमा आएको बार्सिलोनाले उक्त फैसला सच्याउन माग गर्दै गरेको पुनरावेदनलाई पनि अदालतले अस्वीकार गरेपछि ओल्मोको भविष्यमाथि संकट बढेको छ ।

    २६ वर्षीय फरर्वाडले अब जनावरीबाट वार्सिलोनामा खेल्ने सम्भावना न्यून बनेको छ ।

    यसै सिजन बार्सिलोना आएका उनले १५ खेलमा ६ गोल गरिसकेका थिए ।

    पारिश्रमिक विवाद सुरुबाट बढेपछि ओल्मोलाई पहिलो चरणमा ६ महिनाको लागि मात्र ला लिगामा दर्ता गरिएको थियो ।

  • आजदेखि बुटवलमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता : उपाधिका लागि आठ टिम भिड्दै

    आजदेखि बुटवलमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता : उपाधिका लागि आठ टिम भिड्दै

    रुपन्देही । आजदेखि बुटवलमा सर्वाधिक राशिको भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।

    काठमाडौँ बाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशिको भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

    एकेडेमीले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको यो प्रतियोगितामा प्रथम पुरस्कार ७ लाख रुपैयाँसहित मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ हुन लागेको हो ।

    बुटवल रामनगर खेलमैदानमा आज पुस १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मङ्गलवार आकर्षक ट्रफी सार्वजनिक गरिएको थियो ।

    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लीला गिरी, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य,नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गरेका थिए ।

    ‘यो स्वर्ण जलप गरिएको भलिबल इतिहासमा नै आकर्षक ट्रफ हो ।’– अध्यक्ष आचार्यले भने ।

    १५ केजी तौल भएको ट्रफीले लुम्बिनी र पर्यटनलाई उजागर गर्ने उनले दाबी गरे । खेल पर्यटनलाई उजागर गर्ने गरी ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवी मन्दिर र शान्ति दीप कुदिएको छ ।

    क्लबद्वारा सार्वजनिक खेल तालिका अनुसार देशका विभिन्न ठाउँमा खेलाइने समग्र कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरिने उनले बताए । यसमा डेढ दर्जन खेलका करिब १० करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ । नवप्रतिभा र युवा खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने गरी खेल प्रतियोगिता गर्न लागेको उनले बताए ।

    प्रतियोगिताको टिम दर्ता, मैदान निर्माण तथा मर्मत लगायतका सम्पूर्ण तयारी पूरा गरेर अस्थायी प्याराफिटसहित आकर्षक सजावटको काम गरेको अध्यक्ष आचार्यले बताए ।

    प्रतियोगिताको उपाधि विजेता टिमले नगद सात लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद तीन लाख पचास हजार, तृतीय टिमले नगद एक लाख पचहत्तर हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा रूपमा पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुको आवास व्यवस्थापन आयोजकबाट गरेको । भलिबल प्रतियोगितामा १ करोड ६० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

    प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, भारतको गुजरात स्टेट भलिबल एशोसिएशन, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरी नेपाल र भारतका आठ वटा टिमले प्रतिस्पर्धा गर्नेछन ।

    विदेशी खेलाडीसहितको गल्कोट भलिबल क्लब सहभागी हुने उनले बताए । जसमा ४ जना इरानी खेलाडीहरू छन् । पहिलो चरणमा टिकट दर ३०० रुपैयाँ तोकिएको उनले बताए ।

    एकेडेमीका प्रचार संयोजक अमृता अनमोलले प्रतियोगितासँग पूर्वाधार विकास र खेल प्रशिक्षणलाई समेत जोड दिँदै आएको बताइन् ।

  • प्रिमियर लिग २०२४ : लिभरपुलको रवाफदेखि सिटीको निराशा, नटिंघमको छलाङ

    प्रिमियर लिग २०२४ : लिभरपुलको रवाफदेखि सिटीको निराशा, नटिंघमको छलाङ

    हेटौंडा । सन् २०२४ मा क्लब फुटबलका केही राेचक प्रसंगहरु तथा खेलका अवस्थाहरुकाे बेग्लै राैनकता देखियाे । जसमा इंग्लिश प्रिमियर लिग (इपीएल) अघिल्ला वर्षहरुमा भन्दा रोचक र घोचक रह्यो ।

    विश्वमा सबैभन्दा धेरै हेरिने लिग मध्य पहिलो स्थानमा आउने इपीएल यो वर्ष थप रोचक बन्यो । लिगमा यो पटक नाम कहलिएका ठूला क्लबभन्दा ‘अण्डर डग’को रुपमा कम चर्चामा रहेका क्लबहरुको सनसनीपूर्ण प्रर्दशन देखा पर्यो ।

    इपिएल यस्तो लिग हो जहाँ जस्ले पनि जस्लाई हराउन सक्छ भन्ने भाष्य यो पटक पनि प्रमाणित भयो । यो वर्ष स्वभाविक मानिएको प्रतिस्पर्धामा अस्वभाविक नतिजा आएपछि सन् २०२४ को युरोपमा खेलिने लिगहरुमा प्रिमियर लिगको चर्चा विश्व फुटबलमा धेरै भयो ।

    सन् २०२४–२०२५ को नयाँ सिजन सुरुभपछि पहिलो नवौँ चरणसम्म ठुला र लिग जित्ने अपेक्षा गरिएका क्लबहरुको प्रर्दशन उत्साहजनक भए । तर दशौँ चरणबाट त्यो प्रर्दशन कायम रहेन । सन् २०२४ लाई बिदा गर्ने दिन डिसेम्बर ३१ सम्म आइपुग्दा प्रिमियर लिगको तालिकामा आश्चार्यजनक परिवर्तन देखियो ।

    डिफेन्डीङ च्याम्पियन म्यान्चेस्टर सिटीले छैटाैं नम्बरमा रहेर सन् २०२४ लाई बिदा गर्दा अधिकांश फुटबल विश्लेषकले विश्वास नगरेको नटिंघम फरेस्टले दोश्रो स्थान कायम गर्दै साललाई विदा गर्न सफल भयो ।

    आश्चार्यजनक कुरा त के रह्यो भने लगातार पछिल्लो चार पटक इपीएलमा विजयी भएको सिटीले यो साल विदाई गर्दा च्याम्पियन्स लिग मात्र हैन युरोपा लिग खेल्ने स्थान पनि गुमाउन पर्यो ।

    अघिल्ला दुईवटा सिजनमा लिग च्याम्पियनको नजिक पुगेको लिभरपुले यो पटक साच्चै लिग च्याम्पियन हुनेगरि खेलिरहेको छ । १८ वटा खेल खेलेको उस्ले एक खेलमामात्र पराजय बेहोरेको छ भने तीनवटा खेल ड्र खेलेको छ ।

    सालको अन्तिम खेलमा वेस्टह्याम्पलाई ५–० ले पराजित गरेको लिभरपुलले साल २०२५ मा आफू थप आक्रमक रुपमा आउने संकेत देखाएको छ । लिभरपुलको लागि यो सिजन उस्को स्टार खेलाडी मोहमद सलाह निकै लयमा देखिएक छन् । लिगमा १७ गोल गरिसकेका उनि पहिलो नम्बरमा छन भने एसिस्टमा पनि उनी पहिलो स्थानमानै छन् । उनले हालसम्म १३ एसिस्ट गरेका छन् ।

    यस्तो छ रोचक तालिकाको कथा

    सन् २०२४ लाई विदा गर्दा अहिले इपिएलमा १८ खेलबाट लिभरपुल ४५ अंक सहित पहिलो स्थानमा विराजमान छ । दोश्रो नंबरमा रहेको फरेस्टको १९ खेलबाट ३५ अंक छ । १८ खेलनै खेलेको गत वर्षको उपविजेता आर्सनल ३६ अंक सहित तेश्रो स्थानमा छ ।

    आर्सनललाई सन् २०२४ को पहिलो दिननै दोश्रो स्थानमा पुग्ने मौका पनि छ । २०२४ को पहिलो दिन हुने खेलमा बेनर्फोटलाई हराउन सके आर्सनल दोश्रो स्थानमा पुग्नेछ । चौथो स्थामा ३५ अंकसहित चेल्सी आईपुगेको छ । लिगको सुरुवातमा केही खेल गुमाएको चेल्सीले पछिल्लो समय आफ्नो खेललाई व्यापक सुधार गर्दै आएको छ ।

    यी चार टिमले यथास्थितीको प्रर्दशनलाई जारी राखे आगमी सिजनको च्याम्पियन्स लिग खेल्ने टोली हुनेछन् । तर ३८ खेल हुने इपीएलमा एउटै प्रकृतिका खेलहरु हुने संभावना भने निकै न्युन हुने गर्दछ । यो पटक निकै सुधारिएको प्रर्दशन गरेको न्युक्यास्टल युनाईटेट साल २०२४ लाई विदा गर्दा पाँचौ स्थानमा छ । गत सिजनमा झण्डैझण्डै रेलिगेसनमा परेको न्युक्यास्टलले यो पटक आफुलाई पूर्ण रुपमा फिट राखेको छ ।

    प्रिमियर लिगमा सधै आशा गरिएका क्लबहरु म्यान्चेस्टर युनाइटेड र टोटनह्याम्पले भने यो सिजन निराशाजनक प्रर्दशन गरेका छन् । उनीहरुले साललाई बिदा गर्दा आफ्ना फ्यानहरुलाई समेत निराश पारेका छन् ।

    ठूला फ्यान फलोइङ भएको युनाईटेड १४ औं स्थानमा छ भने टोटनह्याम्पले पनि टप टेनमा स्थान बनाउन सकेन । उ ११ औँ स्थानमा छ । यो वर्ष टप टेनमा सिटी सहित वर्नमाउन, फुलहम, एस्टनभिल्ला र ब्राईटनले स्थान बनाएका छन् ।

    यो सिजन लिग सुरु भएएता पटक-पटक रेलिगेसनमा पर्दै आएका एभर्टन, उल्फ् र वेस्ट ह्याम्पले पछिल्लो केही खेल जितेर यो वर्ष विदाई गर्दा कम्तिमा आफूलाई त्यो स्थानबाट माथि लान सफल भए । अहिले वेस्टह्याम्प १३ औँ स्थानमा पुग्दा एर्भटन १६ औँ र उल्भस् १७ औँ स्थानमा छन् ।

    सालको अन्तिम खेलमा चेस्सीजस्तो शक्तिशाली क्लबलाई पराजित गरेपनि यो वर्षमात्र प्रिमियर लिगमा बढुवा भएको इस्विच टाउन रेलिगेसन जोनमा नै छ । यो वर्ष खराब प्रर्दशन गरेको पूर्व विजेता लेस्टर सिटि पनि रेलिगेशन जोनमा बिराजमान छ ।

    यस वर्ष सबैभन्दा खराब प्रर्दशन गरेको साउथ ह्याम्पटन तालिकाको अन्तिम स्थानमा छ । उस्ले १९ खेलमा एक खेलमा मात्र जित निकालेको छ । सबै टिमले दोहोरो अंक छुँदा वेष्टह्याम्प ६ अंक सहित अंकतालिकाको पुच्छरमा छ ।

  • कस्तो हो एलिट कपमा खेल्न लागेको डे क्रिकेट ?

    कस्तो हो एलिट कपमा खेल्न लागेको डे क्रिकेट ?

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आउँदो सातादेखि जय ट्रफी एलिट कप डे क्रिकेट प्रतियोगिता हुँदै छ । क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा उक्त प्रतियोगिता हुन लागेको हो । जयले ४ दशक क्यानको नेतृत्व गरेका थिए ।

    पछिल्लो समय एक दिवसीय र टी-२० आई राम्रो प्रदर्शन गरिरहेका नेपाली खेलाडीले लङ फर्म क्रिकेट भने खासै खेल्ने पाएका छैन । नेपालले पछिल्लो पटक सन् २०१९ मा डे क्रिकेट खेलेको थियो । घरेलु मैदानमा खेलेको एक मात्र खेलमा नेपाल मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग २०८ रनले पराजित भएको थियो । त्यसयता नेपालमा कुनै पनि डे क्रिकेट भएको छैन । घरेलु क्रिकेटमा भने हालसम्म कुनै पनि डे क्रिकेट हुन सकेको थिएन ।

    नेपालको घरेलु क्रिकेटमा पहिलो पटक नेपालले डे क्रिकेट खेल्न लागेको हो । फाइनल खेल तीन दिवसीय हुनेछ भने बाँकी खेल दुई दिवसीय हुनेछ । क्रिकेटको मेरुदण्डमा रूपमा रहेको लङ फर्मको क्रिकेट गर्न लागिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा परेका टोली सहभागी हुनेछन् । नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेशले डे क्रिकेटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा सबै टोलीले एक अर्कासँग एक-एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् ।

    प्रतियोगिताको पहिलो खेल जनकपुरमा पुस २१ र २२ गते मधेश प्रदेश र बागमती प्रदेशबीच हुनेछ । सोही समयमा पर्सामा नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

    पुस २४ र २५ गते जनकपुरमा त्रिभुवन आर्मी र बागमतीबीच खेल हुनेछ । यस्तै सोही समयमा पर्सामा मधेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पुस २७ र २८ गते जनकपुरमा पुलिस र बागमती तथा पर्सामा त्रिभुवन आर्मी र मधेशबीच खेल हुनेछ । फाइनल खेल माघ १ देखि ३ गतेसम्म पर्सामा हुनेछ । सम्पूर्ण खेल बिहान साढे ९ बजेबाट सुरू हुनेछ ।

    डे क्रिकेटले क्रिकेट विकाससँगै काठमाडौं बाहिरको संरचना विकासमा टेवा पुग्ने क्यानका प्रवक्ता लामाले बताए ।

    ‘क्रिकेटको मेरुदण्डको रूपमा रहेको डे क्रिकेटलाई नेपाली क्रिकेटमा पनि सुरुआत गर्दै छौँ । घरेलु क्रिकेटमा अहिलेसम्म भएको छैन । नेपालले मेरिलिबोन क्रिकेट क्लबसँग खेलेको पनि ५ वर्ष बढी भइसक्यो,’ उनले भने, ‘डे क्रिकेट खेलाडीका लागि पनि एकदमै महत्त्वपूर्ण हुनेछ । काठमाडौंबाहिर प्रतियोगिता गर्दा संरचनाको विकास हुन्छ ।’

    रोहितसहित दीपेन्द्र, अनिलले गुमाउनेछन् एलिट कप ।

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी, अनिलकुमार शाह, आसिफ शेखसहितका खेलाडीले एलिट कप गुमाउने छन् । रोहित, आसिफले गत फेब्रुअरीमा भएको प्रधानमन्त्री सशस्त्र प्रहरी बल (एपीएफ) बाट खेलेका थिए । एपीएफ शीर्ष चारमा पर्न नसक्दा रोहित, आसिफसहितका खेलाडीले एलिट कप गुमाउनेछन् । शीर्ष चारमा परेका टोलीले एलिट कप खेल्नेछन् ।

    प्रधानमन्त्री कपको उपाधि जितेका दीपेन्द्रले अन्तर्राष्ट्रिय लिग टी-२० (आईएलटी) खेल्ने युएई जानुपर्ने भएकाले उनले एलिट कप गुमाउनेछन् । उनी आईटीएल गल्फ जायन्ट्सबाट खेल्दै छन् ।

    नेपाल प्रिमियर लिग (एनपीएल) लाई उपाधि जिताएका मधेशका कप्तान अनिलकुमार शाहले पनि एनपीएल गुमाउनेछन् । एनपीएलका क्रममा घाइते भएसँगै उनले प्लेअफका खेल गुमाएका थिए । तत्कालै रिकभर हुने नदेखेपछि मधेशले अनिललाई बाहिर राख्दै एलिट कप खेल्ने टोलीको घोषणा गरेको हो ।

    यस्तै बागमती, मधेश, त्रिभुवन आर्मी र पुलिस क्लबबाहेक अन्य टोलीबाट प्रधानमन्त्री कप खेलेका खेलाडीले पनि एलिट कप गुमाउने छन् ।

  • पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई

    पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई

    कास्की । पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् ।

    पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो ।

    नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो ।

    यसैगरी निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । प्रतियोगितामा युहान युनिभर्सिटी तेस्रो भयो । प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर र तृतीयले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।

    प्रतियोगितामा सहभागी टोलीलाई पाँच सय डलरका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

    गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा २० टोलीको सहभागिता थियो । प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एउटा तथा नेपालका ११ टोली सहभागी थिए ।

    नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस–२०२४ सम्पन्न भएसँगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा नेपालको पर्यटन प्रवर्द्धन गर्न मद्दत पुगेको पोखरा महानगरका प्रमुख आचार्यले बताए ।–

  • दीपेन्द्रले बुझे एनपीएलमा जितेको कार

    दीपेन्द्रले बुझे एनपीएलमा जितेको कार

    काठमाडौं । ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई अनुबन्ध गरिएको छ ।

    सोमबार एक कार्यक्रमबीच दीपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ । उनी बुवा आमासँगै पुगेका थिए ।  ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा-ई फाइभ प्रदान गरिएको थियो ।

    शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी हो ।

    उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रूपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ ।

    ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

  • प्रधानमन्त्री कप महिला क्रिकेटको प्रदेश छनोट बैतडीमा हुने, खेलतालिका सार्वजनिक

    प्रधानमन्त्री कप महिला क्रिकेटको प्रदेश छनोट बैतडीमा हुने, खेलतालिका सार्वजनिक

    बैतडी । प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो ।

    दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लोस्तरमा खेल्न सहयोग पुग्ने भएकोले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

    पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आवद्ध प्रदेश– ८ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिए । उक्त छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

    सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला रहेका छन् । समूह ‘बी’ मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ ।

    पुस १९ गते हुने उद्घाटन खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा सोही दिन हुने अर्को खेलमा डोटी र बझाङ खेल्नेछन् ।पुस २० गते हुने पहिलो खेलमा डोटी र अछाम तथा दोस्रोमा बैतडी र बझाङ भिड्नेछन् । पुस २१ गते पहिलो खेलमा बैतडी र डोटी तथा दोस्रोमा अछाम र बझाङबीच प्रतिस्पर्धा हुनेछ । पुस २२ गते पहिलो खेलमा समूह ‘ए’ मा रहेको कैलाली र कञ्चनपुर तथा दोस्रोमा डडेल्धुरा र दार्चुला खेल्नेछन् । पुस २३ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा तथा दोस्रोमा कैलाली र दार्चुलाबीच भिडन्त हुनेछ ।

    पुस २४ गते हुने पहिलो खेलमा डडेल्धुरा र कैलाली तथा दोस्रोमा कञ्चनपुर र दार्चुला आमनेसामने हुनेछन् । पुस २५ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को विजेताबीच फाइनल भिडन्त हुनेछ ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

  • वेस्टह्याम्प विरुद्ध लिभरपुलको फराकिलो जित

    वेस्टह्याम्प विरुद्ध लिभरपुलको फराकिलो जित

    हेटौँडा । इंग्लिस प्रिमियर लिग (इपीएल)मा लिभरपुलले वेस्टह्याम्प विरुद्ध फराकिलो जित निकालेको छ ।

    वेस्टह्याम्पको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ५-० को जित निकालेको हो ।

    लिभरपुलको लागि डियाज, गाक्पो, सलाहा, एलेग्जेण्डर अर्नोड र जोटाले समान १-१ गोल गरे । आइतबार रातिको जितसँगै लिभरपुलले आफ्नो पहिलो स्थानको अग्रतालाई थप मजबुत बनाएको छ ।

    लिभरपुलको १८ खेलबाट ४५ अङ्क भएको छ र दोस्रो स्थानको नटिङ्घम फरेस्ट भन्दा ८ अङ्कले अघि छ । एक खेल बढी खेलेको नटिङ्घमको १९ खेलबाट ३७ अङ्क भएको छ ।

    आइतबार नै भएको अन्य खेलहरूमा क्रिस्टल प्यालेसले साउथह्याम्पन्टनलाई २(१ ले पराजित गरेको छ भने फूलहम र बर्नमाउथ तथा टोटनहम र उल्फस ले बराबरी खेलेका छन् ।

  • लयमा फर्कियो सिटी, लेस्टरविरुद्ध जित

    लयमा फर्कियो सिटी, लेस्टरविरुद्ध जित

    हेटौंडा । इंग्लिस प्रिमियर लिग (इपीएल)को पछिल्लो ९ खेलमा जितविहीन बनेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लयमा फर्किएको संकेत गरेको छ ।

    इपिएल, लिग कप र च्याम्पियन्स लिग गरी पछिल्लो १४ खेलमा जितविहीन बनेको सिटीले प्रिमियर लिगको १९ औँ चरणमा आइपुग्दा लेस्टर सिटी विरुद्ध २-० को जित निकाल्दै आफूलाई राहतको महसुस गरेको छ ।

    लेस्टरको घरेलु मैदानमा जित निकाल्दै सिटिले सन् २०२४ को सुखद बिदाइ समेत गरेको छ ।

    लेस्टरलाई हराउने क्रममा साभिओले २१ र हाल्याण्डले ७४ औँ मिनेटमा गोल गरे । जितपछि सिटी १९ खेलबाट ३१ अङ्क सहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पराजित लेस्टर भने समान खेलबाट १४ अङ्क सहित १८ औँ स्थानमा छ ।

  • बुटवलमा मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा

    बुटवलमा मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा

    रूपन्देही । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ आयोजना हुँदैछ । पुस १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेभएका छन् ।

    प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीले जनाएको छ ।

    प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समूहले प्रतिष्पर्धा गर्दैछन् । ती समूहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत), गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहनेछन् ।

    एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार बुटवलस्थित रामनगर खेलमैदानमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहनेछ ।

    उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा आकर्षक पुरस्कार रहनेछन् । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने छ ।

     

  • कानून नमान्ने खेलकुद संघलाई केही दिनमा कारवाही गर्दैछौं : खेलकुदमन्त्री (भिडिओ)

    कानून नमान्ने खेलकुद संघलाई केही दिनमा कारवाही गर्दैछौं : खेलकुदमन्त्री (भिडिओ)

    काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको कानून नमान्ने खेलकुद संघलाई केहिदिनभित्रै कारवाही गर्ने बताएका छन् ।

    कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले केही खेलकुद संघ ऐन कानूनविपरीत अघि बढिरहेको भन्दै छिट्टै कारवाही गर्ने बताए ।

    अहिले खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको उनको भनाइ छ ।

    अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन व्यवस्थित गर्न खोजेपछि कमिटीले त्यसलाई अटेर गरेको चौधरीले बताए ।

    मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्रचार गरेपनि नमानेको र त्यसपछि स्पष्टीकरण पठाएको जिकिर गरे । केही दिनभित्र खेलकुद संघलाई कारवाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न आग्रहसमेत गरे ।

    मन्त्री चौधरीले नेपालको खेलकुद पूर्वाधारका लागि प्रयाप्त बजेट नभएकाले आगामी बर्ष बजेट बढाउने गरी पहल गर्न कांग्रेस नेतृत्वलाई आग्रह गरे ।

  • यो वर्षको अन्तिम खेलमा अग्रता बलियो बनाउने लिभरपुललाई मौका

    यो वर्षको अन्तिम खेलमा अग्रता बलियो बनाउने लिभरपुललाई मौका

    हेटौंडा । इंग्लिस प्रिमियर लिग (इपिएल)को सन् २०२४ को अन्तिम भिडन्तमा लिग लिडर लिभरपुलले आज राति वेस्टह्यामको आतिथ्यता गर्दै छ । नेपाली समय अनुसार रातको ११ बजे हुने खेलमा वेस्टह्यामले लिग लिडर लिभरपुललाई आफ्नै रङ्गशालामा निम्तो दिँदैछ ।

    आजको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ । सालको अन्तिम खेल खेल्दै गर्दा लिभरपुलको लक्ष्य अङ्क तालिकालाई थप मजबुत बनाउनेछ भने वेस्टह्याम पनि कम्तिमा टप १० मा रहेर सन् २०२४ लाई विदा गर्ने अभियानमा हुनेछ ।

    तालिकामा लिभरपुलको मजबुत पकड छ । दोस्रो स्थानको आर्सनल भन्दा एक खेल कम खेलेर पनि लिभरपुल ६ अङ्कले अघि छ । अब उसको लक्ष्य समान खेलबाट अग्रता ९ अङ्कमा लैजाने हुनेछ । यता घरेलु टोली वेस्टह्याम आजको खेल जितेमा कम्तिमा १० औं स्थानमा बढुवा हुनेछ ।

    लिग अन्तरगत आजै खराब लय समतेको म्यान्चेस्टर सिटी र रेलिगेसन जोनमा रहेको लेस्टर सिटी आमनेसामने हुँदैछ्न् । लेस्टरको घरेलु मैदान किङ्स पावर रङ्गशालामा हुने खेलपनि रोमान्चक हुने अपेक्षा गरिएको छ ।

    हाल सातौं स्थानमा रहेको सिटीले पछिल्लो ९ खेलमा बेहोरेको निराशाजनक नतिजालाई उल्टयाउने तयारीको साथ मैदानमा ओर्लदा घरेलु मैदानमा जित निकाल्दै रेलिगेसन जोन छाड्ने दमदार तयारीको साथ लेस्टर मैदानमा देखिनेछ्न् ।

    आजै नटिङ्गम फरेस्टले एभर्टनको सामना गर्दैछ । आजको खेल जितेमा फरेस्ट कम्तीमा केही समयको लागि दोस्रो स्थानमा पुग्ने छ भने एभर्टनको पक्षमा नतिजा आए उसलाई रेलिगेसनको दबाब कम हुनेछ ।

    लिग अन्तरगत आजै उल्भ्स र टोटनह्याम्पको खेल हुँदैछ । गएको हप्ताबाट मात्र रेलिगेसन जोन छाडेको उल्भ्सको लागि आजको जित आफ्नो माथिल्लो स्थान मजबुत बनाउने कसि हुनेछ भने टोटनह्याम्प पनि टप टेनमा पर्ने गरि मैदानमा ओर्लदै छ ।

    आजै हुने अर्को खेलमा फुलहम र बर्नमाउथबिच कडा प्रतिस्पर्धा हुँदैछ । बर्नमाउथ र फुलहम दुबै कम्तिमा पाचौं स्थानमा पुग्नेगरि खेल्दैछ्न् । आज हुने अर्को खेलमा तालिकाको अन्तिममा रहेको साउथह्याम्पन्टनले क्रिष्टल प्यालेको सामना गर्दैछ । सिजनको दोश्रो जितको लक्ष सहित साउथह्याम्पन्टन मैदानमा देखा पर्दा प्यालेस रेलिगेसन जोन भन्दा कम्तिमा तीन स्थान माथि जान चाहन्छ ।

  • साका घाइते हुँदा आर्सनललाई समस्या

    साका घाइते हुँदा आर्सनललाई समस्या

    काठमाडौं। आर्सनल स्टार बुकायो साका ह्यामस्ट्रिङको चोटको कारण कम्तिमा दुई महिना मैदान बाहिर हुने भएपछि इङ्लिस क्लब आर्सनल समस्यामा परेको छ ।

    आर्सनलका विंगर साका कम्तिमा दुई महिना मैदानबाहिर रहने आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले बताएपछि आर्सनलका फ्यान निरास भएका हुन् ।

    गत साता क्रिस्टल प्यालेसविरुद्ध ५-१ को जित निकाल्दा साकाको ह्यामस्ट्रिङमा चोट लागेको थियो ।

    अर्टेटाले भने, ‘उनको शल्यक्रिया भएको छ र सबै कुरा सही हुँदैछ । म यकिनका साथ भन्न सक्दिन साका कहिले मैदान फर्किने छन् । तर उनी कम्तिमा पनि दुई महिना मैदान बाहिर रहनेछन् ।’

    हाल इंग्लिस प्रिमियर लिग (इपिएल)मा आर्सनल दोस्राे स्थानमा छ । साकाको प्रेरणादायी प्रदर्शनले आर्सनल पछिल्लो समय लयमा आएको थियो । अब उसले कम्तिमा दुई महिना साकाको अभावमा खेल खेल्नुपर्ने भएको छ ।

  • फेवातालमा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता सुरू

    फेवातालमा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता सुरू

    पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता सुरू भएको छ ।

    नेपाल र छिमेकी मुलुक चीनबीचको साँस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको नेपाल-चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि सुरू भएको हो ।

    गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० वटा समूह सहभागी छन् ।

    सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिन चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी पोखरा आएका छन् ।

    प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।

    प्रतियोगितामा ५०० सय र २०० मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

  • कराँतेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

    कराँतेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

    महाराष्ट्र, पुणे (भारतं) । यहाँ जारी अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो ।

    दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराँते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।

    प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् ।

  • भारतीय फास्ट बलर बुमराहले बनाए कीर्तिमान

    भारतीय फास्ट बलर बुमराहले बनाए कीर्तिमान

    काठमाडौं ।  भारतका फास्ट बलर जसप्रित बुमराहले मेलबर्नमा जारी बोर्डर-गावस्कर ट्रफीको चौथो टेस्ट क्रिकेटमा भारतीय खेलाडीको तर्फबाट कीर्तिमान बनाएका छन् ।

    उनी टेस्ट क्रिकेटमा २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका हुन् । घरेलु टोली अष्ट्रेलियाका ट्राभिस हेडको विकेट लिएसँगै यो कीर्तिमान बुमराहको नाममा आएको हो । बुमराहले २०० विकेट पूरा गर्न ४४ खेल खेल्नु परेको छ । ५० इनिङ भन्दा थोरै खेलेर २०० विकेट लिने बुमरहा भारतको पहिलो फास्ट बलर बनेका हुन् ।

    भारतीय क्रिकेटमा २०० विकेटको कोशेढुङ्गा पार गर्ने उनी दोस्रो खेलाडी बने । यसअघि स्पिनर रविचन्द्रन अश्विनले २०० विकेट लिएका थिए । तर फास्ट बलर तर्फ बुमराह पहिलो खेलाडी हुन् । अश्विनले ३७ खेलमा २०० विकेट लिएका थिए ।

    बुमराह अहिले आइसीसी र्याङ्किङको टेष्ट तर्फ पहिलो नम्बरको खेलाडी समेत हुन् ।

  • लाजिओसँगको बराबरीले एटलान्टालाई घाटा

    लाजिओसँगको बराबरीले एटलान्टालाई घाटा

    हेटौँडा । इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर एटलान्टालाई लाजिओसँगको बराबरीले घाटा लागेको छ ।

    आइतबार बिहानको खेलमा पहिलो स्थानको एटलान्टाले चौथो स्थानको लाजिओसँग १-१ को बराबरी खेलेपछि त्यसको फाइदा दोस्रो स्थानको इन्टर मिलानलाई हुने भएको हो ।

    १८ खेल खेलेको एटलान्टाले ४१ अङ्क बनाएर पहिलो स्थानमा रहेको छ । तर उ भन्दा एक खेल कम खेलेको मिलानको ४० अङ्क छ । अब अर्को खेलमा मिलानले विपक्षीलाई पराजित गर्न सके समान खेलमा मिलान एटलान्टा भन्दा स्पष्ट २ अङ्कले अगाडि हुनेछ ।

    युरोपको अन्य देशका लिग भन्दा इटालीको लिग यो पटक निकै रोचक बन्दै गएको छ । १८ औँ चरणसम्म आइपुग्दा कसले लिग जित्छ भन्ने अनुमान गर्न समेत गाह्रो अवस्था देखिएको छ ।

  • जनकपुर बोल्ट्सका खेलाडीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत (तस्विरहरु)

    जनकपुर बोल्ट्सका खेलाडीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत (तस्विरहरु)

    जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरुलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ ।

    मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र नगरवासीले जनकपुर बोल्ट्सका खेलाडीहरुलाई भव्य स्वागत गरेका हुन् ।

    मधेशका आठै जिल्लामा विजयोत्सव मनाउने क्रममा ट्रफीसहित जनकपुर बोल्ट्सका खेलाडीहरु मटिहानी पुग्दा बाजागाजासहित आतिसबाजी गरिएको छ । मेयर मण्डलले खेलाडीलाई २५ किलोको मालाले स्वागत तथा सम्मान गरे ।

    मधेश प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो ।

    उपाधि विजेता जनकपुर बोल्ट्सले मधेशका आठै जिल्लामा विजयोत्सव यात्रा गर्ने जनाएको छ । खेलाडीहरु जहाँ पुग्छन्, त्यहाँ स्वागत र सम्मानका लागि ठूलो संख्यामा क्रिकेटप्रेमी र समर्थक उर्लिएका छन् ।

    जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरबाट विजयोत्सव यात्रा प्रारम्भ गरेको थियो । आज महोत्तरी, सर्लाही र रौतहटका विभिन्न स्थानमा विजयोत्सव मनाउन पुग्ने जनकपुर बोल्ट्सका कप्तान अनिल साहले बताएका छन् ।

  • नेपाली शीर्ष टेनिस खेलाडी प्रदीपको गुनासो- डेभिस कपको सफलतामा सरकारबाट बधाईसम्म पाएनौं (भिडिओ)

    नेपाली शीर्ष टेनिस खेलाडी प्रदीपको गुनासो- डेभिस कपको सफलतामा सरकारबाट बधाईसम्म पाएनौं (भिडिओ)

    पोखरा । बहराइनको मानामामा नोभेम्बर १८ देखि २३ तारिखसम्म भएको डेभिस कप (एसिया/ओसिएना क्षेत्र) मा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । कपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका अभिषेक बास्तोला, प्रदीप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र रितिक राणा तथा प्रशिक्षक शरद लामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ग्रुप ४ मा बढुवा गर्न सफल भए ।

    ग्रुप ४ को प्रतिस्पर्धामा नेपाल र फिलिपिन्ससहित श्रीलङ्का, किर्गिस्तान, कम्बोडिया, इराक, मलेसिया र प्यासिफिक ओसिएना हुनेछ । ग्रुप ४ मा बढुवा भएको टोलीलाई बिदाई गर्न र स्वागत गर्न कुनै पनि निकाय विमानस्थल पुगेनन् । एक्लै खेल खेल्न पुगेका उनीहरू नेपाललाई सफलता दिलाएर फर्किंदा पनि एक्लै हुन पुगे । उनीहरूलाई स्वागत गर्न कुनै पनि सरोकारवाला निकाय विमानस्थल पुगेनन् ।

    अन्य खेलमा ससाना सफलता पाउँदा विमानस्थलमा भीड हुने सरोकारवाला निकायले टेनिस खेलमा बेवास्ता गरेको उनीहरू बताउँछन् । प्रस्तुत छ सहभागी खेलाडीमध्ये टेनिसमा नेपालको शीर्ष वरियतामा रहेका प्रदीप खड्कासँग नेपाल प्रेसकर्मी रिखिराम जिसीले गरेको कुराकानीः

    – भर्खरै डेभिस कप खेलेर आउनुभयो । समग्रमा कस्तो भयो प्रतियोगिता ?

    बहराइनमा सम्पन्न टेनिसको विश्वकपमा हामी ग्रुप ५ मा थियौं । ग्रुप ५ मा १५ देशले प्रतिस्पर्धा गरेका थिए । विश्व वरियताको टप ३०० भित्र रहेका खेलाडीहरू पनि आएका थिए यो प्रतियोगिता खेल्न । फिलिपिन्स, आयरल्यान्ड एकदमै राम्रा देश हुन् । १५ मध्ये २ देश बढुवा भएर ग्रुप ४ मा पुग्ने हुन्छ । उक्त प्रतियोगितामा मलगायत हाम्रो टीम नम्बर वान भएर नेपाललाई एक ग्रेड अगाडि लगेर अहिले ग्रुप ४ मा पुगेका छौं ।

    – उक्त प्रतियोगिता खेल्न व्यक्तिगत रूपमा जानुभएको हो कि देशको प्रतिनिधित्व गरेर ?

    जति पनि अफिसियल टुर्नामेन्टहरु हुन्छन्, ती चाहिँ इन्टरनेशलन टेनिस फेडेरेशन (आईटीएफ) ले आयोजना गर्ने गर्छ । यसमा व्यक्तिगत रूपमा सहभागी हुन मिल्दैन । यसमा देशबाट प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । अहिले पनि नेपाललाई प्रतिनिधित्व गरिराख्दा खेरि आईटीएफले मेम्बरसिप दिन्छ । त्यो मेम्बरसिप बी ग्रेडमा आएपछि मात्र सहभागी हुन पाउँछ ।

    आईटीएफ स्थापना भएको धेरै वर्ष भए पनि हामी २ वर्षअघि मात्रै बी ग्रेड भएको हो । हाम्रो भोटिङ राइटस् भएको आधारमा आईटीएफले डेभिस कपहरू खेल्न दिन्छ । डेभिस कपमा प्रतिनिधित्व गरेर जाँदाखेरि नेपाल सरकारले त केही पनि गरेको छैन । टेनिस भन्नेबित्तिकै पिछडिएको गेम जस्तो छ । भन्ने बेला चाहिँ धनाढ्यहरूले खेल्ने खेल भन्छ ।

    हो, अहिले महँगो छ । विश्वकै दोस्रो धेरै महँगो गेम हो । सरकारले नै यो धनीले खेल्ने गेम हो । यसलाई किन सर्पोट गर्नुपर्छ भन्दा म जस्तो अरू प्लेयरहरूलाई एकदमै घाटा लागिराखेको छ । केही पनि गरेको छैन नि ! त्यही भएर यसमा चाहिँ सरकारबाट आजको दिनसम्म पनि त्यस्तो केही पाएको छैन । यो कुरा सम्बन्धित निकायसम्म पुगोस् । उहाँहरूले पनि यो कुरालाई विशेष रूपमा हेरिदियो भने राम्रो हुन्छ ।

    – अन्य खेलमा विजयी भएर आउँदा खेलाडीलाई विमानस्थलमा भव्य स्वागत गरिन्छ । तपाईंहरुलाई त्यस्तो केही भएन है ?

    जाँदाखेरि पनि आफ्नै सुरमा र आउँदाखेरि पनि आफ्नै सुरमा थियौं । हामीलाई एकदम आशा चाहिँ थियो । किन भन्दाखेरि हामीले जित्दाखेरि पनि मिडियाबाट बारम्बार समाचार कभरेज हुँदा पनि मान्छेहरूले खै के कारणले गर्दा हो, फेडेरेशन र खेलकुद मन्त्रालयको कम्बिनेसन नमिलेर हो कि टेनिसलाई यो स्पोर्टस् होइन भन्न खोजेर हो ! गेमको पनि एउटा लेभल हुन्छ । मैले कत्ति गेम के देखेको छु भनेपछि कमभन्दा कम देशहरूमा खेल्ने अनि सानो रिजल्ट आउँदा पनि सरकारबाट एकदमै ठूलो सम्मानित भएपछि खेलाडी प्रोत्साहित हुने हो ।

    टेनिसको केसमा के छ भन्दा डेभिस कप जितेर आयौं । फिलिपिन्स र हामी ग्रुप ४ मा बढुवा भयौं । फिलिपिन्सलाई त्यहाँको एम्बेसीबाटै त्यही दिन मान्छे आएर एकदमै ठूलो सम्मान दियो, तर हामी नेपालमा आएको एक महिना बितिसक्दा पनि सरकारी लेभल र कहींबाट बधाईसम्म नआउँदाखेरि दुःख लाग्छ । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट म ३ वटा गोल्ड मेडलिस्ट हो । अहिले डेभिस कपमा यस्तो राम्रो रिजल्ट आउँदा गण्डकी सरकारबाट पनि बधाईसम्म पनि पाएको छैन । त्यसो हुँदा दुःख लाग्छ ।

    तपाईंहरूले अरू खेलाडी हेर्नुहुन्छ भने पैसा लिएर अरू ठाउँबाट खेलेको पनि रेकर्ड छ । हामीलाई त्यस्तो अवसरमा आउँदाखेरि होइन आफ्नो ठाउँमा जन्मेपछि गण्डकीबाट खेल्नुपर्छ । आफ्नो ठाउँलाई चिनाउनुपर्छ भनेर खेलिरहेका छौं ।

    – यही तरिकाले टेनिसलाई सरकारले ध्यान दिएन भने नेपालमा यसको भविष्य के होला ?

    पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा मैले टेनिस खेलिरहँदा टेनिस खेलेर गर्ने चाहिँ के भन्नुहुन्छ । अब अहिले मलाई कस्तो हुन्छ भन्दा खेरि म फ्याट्ट लागेर घाइते भए । उपचार गर्न हस्पिटल खर्च मैलै पर्सनल हाल्नुपर्छ । जबकि टुर्नामेन्ट खेलेर जुन प्राइज जितिराखेको छु । त्यो पैसाले त मेरो त्यही टुर्नामेन्टको खर्च उठ्दैन । जस्तो मैले बुटवलमा गएर टुर्नामेन्ट जिते भने होटेल खर्च, खानुपर्‍यो । र्‍याकेट, ग्रिपहरु, जुत्ताहरू किन्नुपर्‍यो । त्यही पैसा उठिराखेको छैन भनेपछि एउटा खेलाडीले केका लागि खेल खेल्ने ?

    साउथ एसियन गेममा हामीले काँस्य पदक जित्यौं । बङ्गलादेशकाले जित्दा मैले सुनेको उनीहरूलाई एउटा बंगो, कार, एउटा फ्ल्याट दियो रे ! उनीहरूको सरकार धनी होला आफ्नो ठाउँमा छ, तर मैले भन्न खोजेको एटलिस्ट कुनै संघसंस्थासँग, कर्पोरेट हाउससँग सहकार्य गरेर मासिक, वार्षिक पारिश्रमिक व्यवस्था गरिदियो भने कम्तीमा एउटा खेलाडी बाँच्ने आधार त हुन्छ नि ! तर अहिले चाहिँ कस्तो छ भने खुट्टा एउटा इन्जुरी आयो भनेपछि मैले आफ्नो पैसा नचलाएसम्म केही पनि काम गर्न सक्दैन ।

    – सरकारी सहयोगविना नेपालमा टेनिस खेल्न कत्तिको चुनौती छ ?

    टेनिस करिअर मैले बल ब्वाइबाट सुरु गरें । बल ब्वाइ हुँदा २०-५० मा रमाउने केटा हो म । त्यसपछि जुनियर लेभलमा मेन्स लेभलको टेनिस खेलेर अन्तर्राष्ट्रिय स्तरमा पुगें । यो धेरै ठूलो कुरा हो । मेरो लागि होइन कि नेपालीका लागि पनि धेरै नै ठूलो कुरा हो ।

    कति जना प्लेयर चाहिँ सम्पत्ति भएको परिवारबाट आउनुभएको छ ? उनीहरूलाई भोलि टेनिस भए पनि नभए पनि फरक पर्दैन, तर कति जना प्लेयरलाई यही टेनिसमा भर पर्नुपर्ने हुन्छ । म पनि टेनिसमै डिपेन छु । टेनिसका लागि भनेर मैले अरू पुरै छाडिसकें । मेरो फोकस भनेको टेनिस खेल्ने र पछि कोचको रूपमा स्थापित हुने भन्ने हो । एउटा राम्रो एकेडेमी खोल्ने र पोखरालाई टेनिसको रूपमा चिनाउने भन्ने हो । गण्डकी प्रदेशको प्रोडक्टले अन्तर्राष्ट्रिय स्तरमा मेडल जित्नसक्छ भनेर मैले आफैंले प्रमाणित गरें । अब भविष्यमा त्यस्तो खेलाडी उत्पादनमा पनि म आफैं लाग्नेछु ।

    यसमा एकदमै चुनौती छ । नयाँ बल किन्नुपर्‍यो भने ९०० रुपैयाँ पर्छ । त्यो बल एक घण्टा खेल्यो भने खत्तम हुन्छ । फेरि अर्को नयाँ बल किन्नुपर्छ । यत्रो धेरै खर्च देखिन्छ । त्यो खर्च मैले आफ्नो पकेट मनी र जितेको प्राइजबाट व्यवस्था चलाउन सक्छु, तर भोलि मलाई फ्याट्ट इन्जुरी भयो भने चाहिँ के गर्ने ? म जस्ता खेलाडी त धेरै छन् । गण्डकी प्रदेशमा जसले मेडल प्राप्त गरेका छन् ।

    अहिले सबै जना विदेश पलायन भइराखेका छन् । कारण के भन्दाखेरि आम्दानी छैन । आम्दानीको स्रोत नभएपछि घरपरिवारमा प्रेसर हुन्छ । परिवारले तैँले खेलेर के गरिस् भन्छ । मलाई पनि मेडल, ट्रफीले खान पुग्छ भनेर प्रश्न गर्छ परिवारले । त्यो हुँदाखेरि मैले आफ्नो मान्छेलाई खेलाडी बनाउने कि नबनाउने भन्ने कुरा हो ।

  • दोस्राे स्थानमा उक्लियो आर्सनल

    दोस्राे स्थानमा उक्लियो आर्सनल

    काठमाडौं। इंग्लिस प्रिमियर लिग (इपिएल)मा आर्सनल दोस्राे स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा इस्विच टाउनलाई १-० को साघुरो जित निकाल्दै आर्सनल लिगको दोस्राे स्थानमा उक्लिएको हो ।

    आर्सनलको जितमा काई हावर्टजको गोलनै निर्णायक गोल बन्न पुग्यो । खेलको २३ औं मिनेटमा गोल भएको खेलमा त्यसयता कुनै गोल भएन र खेल आर्सनलले जित्यो ।

    जितपछि १८ खेलबाट ३६ अंक जोडेको आर्सनल एक खेल कम खेलेको लिभरपुल भन्दा ६ अङ्क पछाडि छ । गएरातिनै भएको अर्को खेलमा ब्राइटन र ब्रेनफोर्डले गोलरहित बराबरी खेलेका छ्न ।

  • जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयउत्सव, उर्लिए समर्थक (भिडिओ)

    जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयउत्सव, उर्लिए समर्थक (भिडिओ)

    जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टिम जनकपुर बोल्ट्सले जनकपुरधाममा आज विजयउत्सव जुलुस निकालेको छ ।

    विजयी उत्सवका लागि जनकपुर बोल्टस्का खेलाडीहरु विहिबार जनकपुरधाम आएका थिए । उनीहरुले आज जनकपुरधामस्थित रामजानकी रंगशालाबाट ट्रफीसहित विजयी जुलुस निकालेका हुन् ।

    मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहले शुभारम्भ गरेको विजयी जुलुस अहिले जानकी मन्दिर पुगेको छ । जुलुसमा ठूलो संख्यामा समर्थक सहभागी छन् । जानकी मन्दिरमा पूजापाठ पश्चात जनकपुरधामको विभिन्न भागमा परिक्रमा गर्ने बताइएको छ ।

    शनिवार महोत्तरी, सर्लाही र रौतहट, आइतवार बारा र पर्सा तथा सोमवार सिरहा र सप्तरी गरी मधेसका आठै जिल्लामा विजयी जुलुस निकाल्ने जनकपुर बोल्ट्सले जनाएको छ ।

    गत शनिबार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि हात पारेको थियो । मधेसको प्रतिनिधित्व गरेका जनकपुर बोल्ट्सले एनपिएलको उपाधी जितेपछि समर्थकहरु आठै जिल्लामा खुशीयाली मनाएका थिए ।

  • मोन्टी देसाईलाई बिदा गर्ने क्यानको तयारी, नयाँ प्रशिक्षक भारतबाटै ?

    मोन्टी देसाईलाई बिदा गर्ने क्यानको तयारी, नयाँ प्रशिक्षक भारतबाटै ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई बिदा गर्ने तयारी गरेको छ । दुई वर्षको सम्झौता सकिएपश्चात् उनलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको हो ।

    देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनी प्रशिक्षक बनेसँगै नेपालले लिग २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एक दिवसीय मान्यता जोगाएको थियो । तर पछिल्लो अवधिमा राष्ट्रिय टिमको प्रदर्शन सन्तोषजनक रहेको छैन ।

    नेपालले टी–२० विश्वकपमा भाग लिएपछि नै देसाईलाई हटाउनेबारे क्यानमा छलफल भएको थियो । लिग २ को पछिल्लो शृङ्खलामा खराब प्रदर्शन र विश्वकपमा पनि जितविहीन भएपछि प्रमुख प्रशिक्षक परिवर्तन गर्नुपर्नेमा क्यानका पदाधिकारीहरू सहमत भएका थिए । तर, सम्झौता अवधि नसकिँदै हटाउँदा राम्रो सन्देश नजाने र ‘भारत चिढिने’ ठानेर क्यानले निर्णय लिन नसकेको स्रोतको भनाइ छ ।

    ‘मोन्टी देसाईंलाई हटाउने विषयमा विश्वकपपछि नै आन्तरिक समझदारी भएको हो । तर, निर्णय लिन सकिएन । समयमा निर्णय नहुँदा तीन–चार महिना यत्तिकै पाल्नु परेको छ,’ स्रोतले भन्यो ।

    विश्वकपपछि नेपालले अमेरिका र क्यानडामा लिग २ का म्याचहरू खेलेको थियो । ती म्याचमा पनि नेपालको प्रदर्शन सुखद रहेन । नेपालले लिग २ को पछिल्लो शृङ्खलामा १२ म्याच खेल्दा ८ वटामा पराजय व्यहोरेको छ । नेपाल लिग २ को अंक तालिकामा पुछारबाट दोस्रो छ ।

    देसाईसँगको सम्झौता डिसेम्बरमै सकिँदै छ । उनलाई सम्झौता नवीकरण नहुने विषयमा अनौपचारिक जानकारी गराइसकिएको स्रोतले बतायो ।

    क्यानले नयाँ प्रशिक्षकको लागि गृहकार्य गरिरहेको छ । उच्च स्रोतका अनुसार नयाँ प्रशिक्षक पनि भारतीय नै नियुक्त गर्ने सम्भावना प्रबल छ । ‘नयाँ प्रशिक्षकबारे गृहकार्य भइरहेको छ । सम्भवतः भारतबाटै ल्याइन्छ,’ स्रोतले भन्यो ।

    हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा वेस्ट इन्डिजका लिजेन्ड खेलाडी ब्रायन लारा नेपाल आएका थिए । क्यानले उनीसँग नेपाली क्रिकेटसँग कुनै रुपमा जोडिने प्रस्ताव राखेको बुझिएको छ । प्रशिक्षक नै बनेर आउने सम्भावनालाई भने लाराले इन्कार गरेको स्रोतले बतायो ।

    ‘उहाँले स्पष्ट शब्दमा तपाईंहरु मलाई एफोर्ड गर्न सक्नुहुन्न भन्नुभयो । यद्यपि, नेपाली क्रिकेटप्रति एकदमै सकारात्मक भएर जानुभएको छ,’ स्रोतले भन्यो ।

    क्यान प्रवक्ता छुम्बी लामाले प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण गर्ने वा नगर्ने विषयमा चाँडै क्यानको बोर्ड बैठकले निर्णय गर्ने बताए ।
    ‘हामी छलफलकै क्रममा छौँ । बोर्ड बैठकबाट औपचारिक निर्णय हुन्छ,’ उनले भने ।

  • लेस्टर विरुद्ध लिभरपुलको सहज जित

    लेस्टर विरुद्ध लिभरपुलको सहज जित

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपीएल) मा लिभरपुलले सहज जित निकालेको छ ।

    बक्सिङ डे मा घरेलु मैलानमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै तालिकाको शीर्ष स्थानलाई थप मजबुत बनाएको हो ।

    लिभरपुलको लागि कोडी गक्पो, कार्टिक जोन्स र महोमत सलाहले गोल गरे भने लेस्टरको एकमात्र गोल जोर्ड आयुले गरे ।

    जितसँगै लिभरपुलको १७ खेलबाट ४२ अंक भएको छ । पराजित लेस्टरको भने १८ खेलबाट १४ अंक सहित रेलिगेसन जोनमा झरेको छ ।

    इपिएलमा गएतारी भएको अन्य खेलमा दोस्रो स्थानमा रहेको चेल्सीलाई फुलहमले पराजित गरेको छ भने म्यान्चेस्टर युनाईटेड उल्फसँग २–० ले पराजित भएको छ ।

    अर्को खेलमा न्यु क्यास्टलले एस्टन भिल्लालाई ३–० ले हराउदाँ नटिंघम फरेस्ट विरुद्ध टोटनहम १–० ले पराजित भएको छ ।

  • सिटीको निराशाजनक यात्रा कायमै

    सिटीको निराशाजनक यात्रा कायमै

    हेटौंडा । इंग्लिस प्रिमियर लिग (इपिएल)को डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले जारी सिजनमा आफ्नो निराशाजनक प्रदर्शनलाई कायम राखेको छ ।

    प्रिमियर लिगको रेलिगेसन क्षेत्रबाट केही स्थान मात्र माथि रहेको एभर्टनसङ्ग १–१ को बराबरी खेलेसङ्गै सिटीले यो पटक च्याम्पियन्स लिगमा छनोट हुने आधार पनि गुमाउँदै गएको हो ।

    बक्सिङ डे मा भएको खेलमा एभर्टनसङ्ग बराबरी भएसङ्गै सिटीलाई थप संकट देखा परेको छ । खेलको १४ औं मिनेटमा सिटीका सिल्भाले गोल गरेपनि एभर्टनका इमानले खेलको ३६ औं मिनेटमा बरबरी गरेपछि सिटी अङ्क बाढ्न बाध्य भएको हो ।

    बराबरीपछि सिटी १८ खेलबाट २८ अङ्क सहित तालिकाको छैटौं स्थानमा छ भने एभर्टन १७ खेलबाट १७ अङ्क सहित १५ औं स्थानमा छ ।

  • एलिट कप पुस २१ गतेदेखि हुने

    एलिट कप पुस २१ गतेदेखि हुने

    काठमाडौं । एलिट कप क्रिकेट प्रतियोगिता पुस २१ देखि माघ ३ गतेसम्म हुने भएको छ । ४ टोली सहभागी प्रतियोगिता विरगन्ज र जनकपुरमा हुनेछ ।

    प्रतियोगितामा पछिल्लो पटक भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको शीर्ष चार टिमले एलिट कप खेल्ने छन् । लिगको शीर्ष चारमा क्रमशः नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश थिए ।

    पहिलो खेल पुस २१ र २२ गते बागमती प्रदेश र मधेश प्रदेशबीच हुनेछ ।

  • एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट

    एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी विपिन शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् । स्वस्तिमा कर्णाली याक्सकी ब्रान्ड एम्बेसडर हुन् ।

    विपिनले आफ्नो इन्टाग्राम स्टोरीमा स्वस्तिमाले आफूलाई क्रिसमस गिफ्ट दिएको भन्दै आभार प्रकट गरेका छन् । स्वस्तिमाले गिफ्टसँगै सानो हस्तलिखित सन्देश पनि दिएकी थिइन् । त्यसमा उनले एनपीएलमा व्यक्तिगत सफलताका लागि बधाई दिएकी छन् ।

    उनले लेखेकी छन्, ‘प्रिय विपिन भाइ । एनपीएलमा तिम्रो उच्च सफलताका लागि बधाई छ । तिम्रो मिहिनेत र समर्पणका लागि सानो हौसला स्वरुप यो फोन प्रदान गरेकी छु । यसले तिमीलाई मैदान भित्र र बाहिर असंख्य राम्रा कलहरु ल्याओस र तिमीलाई अन्य ठूला अवसरहरुसँग जोडोस ।’

    कर्णाली याक्सका लागि १३ विकेट लिएका विपित इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । कर्णाली याक्स प्रतियोगितामा तेस्रो भएको थियो ।

     

  • अष्ट्रेलियाका ओपनरलाई पीचमा धक्का दिएका कोहलीमाथि कारबाही

    अष्ट्रेलियाका ओपनरलाई पीचमा धक्का दिएका कोहलीमाथि कारबाही

    काठमाडौं । अष्ट्रेलियाका युवा खेलाडीलाई मैदानमै दुर्व्यवहार गरेका भारतीय ब्याटर विराट कोहली कारबाहीमा परेका छन् ।

    अहिले जारी अष्ट्रेलिया र भारतबीचको चौंथो टेस्ट म्याचका क्रममा पीचमा धक्का दिएका कोहली कारबाहीमा परेका हुन् ।

    उनलाई म्याच शुल्कको २०५ र एक डिमेरिट अंक जरिवाना गरिएको छ। आईसीसी आचारसंहिताको धारा २‍.१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कोहलीलाई कारबाही गरेको हो ।

  • विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी (भिडिओ)

    विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी (भिडिओ)

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन् ।

    बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरुसँग आग्रह गरेका हुन् ।

    उनले खेलकुदे शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नुका साथै खराब संगत गर्नबाट जोगाउने बताए । उनले खालि समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिहरुमा संलग्न गराउन आवश्यक रहेको बताए ।

     

    उनले भने, ‘आजकालका विद्यार्थीमा धेरै माबाइल चलाउने प्रवृत्ति विकास भएको छ । अभिभावकहरुमा पनि धेरै मोबालाइल चलाउने प्रवृत्ति विकास भएको छ । अभिभावकले त चलाए चलाए, सन्तान पनि बढी मोबाइल चलाउने भए । तपाईंका छोराछोरीहरु साँच्चै सुधार्न चाहनुहुन्छ भने, राम्रो बनाउन चाहनुहुन्छ भने हप्ताको दुई घण्टा, तीन घण्टा खेलकुदमा लगाउन आग्रह गर्दछु । शारीरिक र मानसिक रुपमा राम्रो हुन्छ नै पढाइको स्तर बढ्न सक्छ । खराब संगतमा जानसक्दैन । स्कुलपछिको दुई घण्टा खेलकुदमा लगाउनुस् ।’

    मन्त्री चौधरीले बालबालिकालाई उनीहरुले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गरे ।

  • यू–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

    यू–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

    भरतपुर । महिला यू–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

    आगामी माघ ५ गतेदेखि महिला यू–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिए । बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उनले बताए ।

    टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताए ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)का उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताए ।

    उनले सन् २०२७ मा नेपालमा हुने महिला यू–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको बताए ।

    बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ ।

  • बागमती प्रदेश लिग : अंकितको ह्याट्रिकमा काठमाडौं विजयी

    बागमती प्रदेश लिग : अंकितको ह्याट्रिकमा काठमाडौं विजयी

    हेटौंडा । दोश्रो संकरणको बागमती प्रदेश फुटबल लिगको उद्घाटन खेलमा चित्लाङ्ग एफसी काठमाडौंले विजयी सुरुवात गरेको छ । हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० ले पराजित गरेको हो ।

    समूह ए को पहिलो खेलमा काठमाडौलाई सहज जित दिलाउन अंकित रास्कोटी ह्याट्रिक गरे । उनले खेलको ६,२० र ७९ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।खेलमा रास्कोटिनै म्यान अफ द म्याच समेत भए ।

    बागमतीका ११ जिल्लाको सहभागिता रहेको लिगमा भोलि दुईवटा प्रतिस्पर्धा हुने म्याच कमिसर छवि सुवेदीले बताए । भोलि दोलखा र नुवाकोटको पहिलो खेल हुनेछ भने दोश्रो खेल भक्तपुर र सिन्धुलीबीच हुनेछ ।

    लिगकम नकआउट अवधारणामा हुने प्रतियोगिताको फाईनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजिव बस्नेतले बताए ।

    प्रतियोगितामा विजेता तथा उपविजेताले नगद २ लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौ, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतरा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी छन् ।

     

  • सिटीलाई अर्को झड्का, डिफेन्डर जोन स्टोन्स घाइते

    सिटीलाई अर्को झड्का, डिफेन्डर जोन स्टोन्स घाइते

    काठमाडौं । यो सिजन खराब लयबाट गुज्रिएको इंग्लिस प्रिमियर लिग (इपीएल)को डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको लागि खराब समाचार आएको छ ।

    उसको नियमित डिफेन्डर जोन स्टोन्सले बक्सिङ डे मा हुने एभर्टन विरुद्धको खेल गुमाउने भएका छन् ।

    शनिवार एस्टन भिल्लासङ्गको खेलमा घाइते भएका जोनले कम्तीमा एक खेल गुमाउने भएपछि लय बिग्रिएको सिटीलाई लयमा ल्याउन प्रशिक्षक गार्डिओलालाई थप समस्या हुने देखिएको हो ।

    ३० वर्षीय डिफेन्डरले घाइते हुनुअघि भिल्ला विरुद्ध ४५ मिनेट मात्र मैदानमा खेलेका थिए । उनले आफूलाई असहज महसुस भएको जनाउ दिएपछि सिटिले उनको ठाउँमा काइल वाकरलाई प्रतिस्थापन गरेको थिए ।

    सिटीले पछिल्लो समय खेलेको १२ खेलमा १ मा मात्र जित निकालेपछि प्रशिक्षक गार्डिओला पूर्ण रूपमा दबाबमा छन् ।

    जारी सिजनको १७ औँ चरणको खेल सम्पन्न हुँदा सिटी २७ अङ्क सहित सातौँ स्थानमा छ । उ भन्दा एक खेल कम खेलेको लिग लिडर लिभरपुलको ३९ अङ्क छ । अब यो सिजन उपाधि रक्षा गर्ने सिटीको सम्भावना लगभग अन्त्यको अवस्थामा देखिन्छ ।

  • पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक, भारतको खेल दुबईमा हुने

    पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक, भारतको खेल दुबईमा हुने

    काठमाडौं । पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रीकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल फेब्रुअरी १९ मा पाकिस्तान र न्युजिल्यान्डबिच हुनेछ ।

    भारतका खेल भने दुबईमा हुनेछ । ट्रफीको सेमिफाइनल मार्च ४ र ५ मा हुनेछ । मार्च ९ मा हुने फाइनल खेल पाकिस्तान र दुबई मध्ये एक ठाउँमा हुनेछ । भारत फाइनलमा पुगे फाइनल खेल दुबई र नपुगे पाकिस्तानमा हुनेछ ।

    समूह एमा आयोजक पाकिस्तानसँगै भारत, बंगलादेश र न्युजिल्यान्ड र समूह बीमा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन् ।

  • भलिबलको फ्रेन्चाइज लिग हुने, लोगो र स्लोगन सार्वजनिक

    भलिबलको फ्रेन्चाइज लिग हुने, लोगो र स्लोगन सार्वजनिक

    काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ । लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो ।

    युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका हुन् । ‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ ।

    पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले जनाएको छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

    कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको माहोल हुँदा पनि पूर्वाधार नहुँदा खेलकुदको सोचे जस्तो विकास हुन नसकेको बताए ।

    नेपाल ओलम्पीक कमिटीको निर्वाचनप्रति लक्षित गर्दै उनले अदालतको आदेशसमेत नमान्ने प्रवृत्ति खेल संस्थामा देखिएको भन्दै सबैले ऐन–नियम मान्नुपर्ने बताए ।

    मन्त्री चौधरीले सरकारको निर्देशन र कानून नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

    कार्यक्रममा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू-२० राष्ट्रिय टोलीका सदस्यलाई नगदसहित सम्मान गरिएको थियो ।

  • लुम्बिनी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरुले लिए शपथ

    लुम्बिनी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरुले लिए शपथ

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष चेतनारायण आचार्यले प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।

    सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न परिषद्को पूर्ण बैठकमा नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।

    खेलकुद परिषदका सदस्यहरु लेखनाथ खनाल, बलबहादुर केसी, मुक्तिप्रसाद न्यौपाने, गोपिकृष्ण शर्मा, हरिबहादुर थापा, लालबहादुर घर्तीमगर, महेश काउछा, राजु महर्जन, कोशिष बहादुर खड्का, विकास घिमिरे, दिपेन्द्रकुमार डाँगी, जंगबहादुर मल्ल, कैलाशकुमार रोका, कपना आचार्य, दिपक खनाल, प्रकाश आर रानाले शपथ ग्रहण गरेका हुन् ।

    यस्तै बैठकले ४ वटा कार्यविधि र एउटा निर्देशिका पारित गरेको खेलकुद परिषद्का सदस्य सचिव तिरणराज गौतमले जानकारी दिए । ‘प्रदेश खेलकुद परिषदले पूर्णता पाएको छ । नवनियुक्त सदस्यहरुको शपथ भएको छ’उनले भने,‘बैठकले कार्यविधि र निर्देशिका पारितसमेत गरेको छ ।’

  • घरमै पराजित भयो म्यानचेस्टर युनाईटेड

    घरमै पराजित भयो म्यानचेस्टर युनाईटेड

    हेटौँडा । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरमै पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो ।

    बर्नमथको लाग २९ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए ।

    दोस्रो गोल जस्टिन क्लुइवर्टले ६१ औँ मिनेटमा पेनाल्टीबाट गरे । लगत्तै २ मिनेटपछि एन्टोनी सेमेन्योले गोल गरेपछि बर्नमथ ३-० ले विजयी भयो ।

    जितपछि २८ अंकका बर्नमथ पाँचौँ स्थानमा उक्लिएको छ । १३ औँ स्थानमा रहेको युनाइटेडको २२ अंक छ ।