Category: खेल प्रेस

  • जनकपुरधाममा रंगशाला निर्माण गर्न एक अर्ब दिने मुख्यमन्त्री सिंहको घोषणा

    जनकपुरधाममा रंगशाला निर्माण गर्न एक अर्ब दिने मुख्यमन्त्री सिंहको घोषणा

    जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् ।

    जनकपुरधाममा आज जय ट्रफी (एलिट कप)को उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो घोषणा गरेका हुन् । उनले रंगशालाको केही प्राविधिक समस्याहरू समाधान भइसकेको र केही दिनभित्र डिपिआर तयार हुने जानकारी दिए ।

    रंगशाला निर्माण हुने जग्गा गुठी संस्थाको रहेको छ । उक्त जग्गा सम्बन्धी राष्ट्रिय परिषद् र गुठी संस्थाबीच २२ गते समझौता हुने पनि मुख्यमन्त्री सिंहले बताए । जग्गा सम्झौतापछि दुई/तीन दिनभित्र बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेर केन्द्र सरकारसंग अनुमति लिने प्रक्रियामा अघि बढ्ने उनको भनाई थियो ।

    जनकपुरधाम भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब रुपैयाँ अनुदान पनि रंगशाला निर्माणमै खर्चिने पनि मुख्यमन्त्री सिंहले जानकारी दिए ।

    प्रदेशका युवाहरुलाई खेलकुदमा सक्रिय हुन आग्रह गर्दै मुख्यमन्त्री सिंहले खेलकुद विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।

  • एलिट कप : बागमतीविरुद्ध १०२ रनमा रोकियो मधेश, सन्दीपले लिए ५ विकेट

    एलिट कप : बागमतीविरुद्ध १०२ रनमा रोकियो मधेश, सन्दीपले लिए ५ विकेट

    काठमाडौं । जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेटमा बागमती प्रदेशले मधेश प्रदेश रनमा रोकेको छ ।

    जनकपुरमा टस जितेर पहिला ब्याटिङ गरेको मधेश ३५ ओभर ३ बलमा १०२ रनमा रोकिएको हो ।

    बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । सुर्य तामाङले ३, प्रतिश जिसी र नन्दन यादवले एकएक विकेट लिए ।

    ब्याटिङमा मधेसका मायन यादवले सर्वाधिक २१ रन जोडे । निरोज यादवले १२, विशाल पटेलले १६ रन बनाए ।

  • एलिट कप: पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट

    एलिट कप: पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट

    काठमाडौं । नेपाल क्रीकेट संघ क्यानको आयोजनामा सुरु भएको जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रीकेटमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १२१ रनमा अलआउट भएको छ ।

    पर्सामा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ३४ ओभर ४ बलमा १२१ रनमा समेटिएको हो । आर्मीलाई सस्तोमा समेट्न पुलिसका ललित राजवंशीले ७ विकेट लिए ।

    १४ ओभर ४ बल बलिङ गरेका ललितले ४७ रन खर्चेर ७ विकेट लिए । कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले एकएक विकेट लिए ।

    आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन जोडे । भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, पवन कार्की १५, बसिर अहमद १२ र शाहव आलमले ११ रन बनाए ।

  • एलिट कप सुरु, मधेश र आर्मीले पहिला ब्याटिङ गर्दै

    एलिट कप सुरु, मधेश र आर्मीले पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल क्रीकेट संघ क्यानको आयोजनामा जनकपुर र पर्सामा जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रीकेट सुरु भएको छ ।

    प्रतियोगिताको पहिलो दिन दुई खेल सुरु भएका छन् । जनकपुरमा बागमती प्रदेशविरुद्ध मधेश प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्दैछ ।

    बागमतीको कप्तानी सन्दीप लामिछाने र मधेशको कप्तानी हरिशंकर शाहले गरेका छन् ।

    पर्सामा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले पहिला फिल्डिङ गर्दैछ । पुलिसले टस जितेर पहिला फिल्डिङ गर्न लागेको हो ।

    आर्मीको कप्तानी विनोद भण्डारी र पुलिसको कप्तानी आरिफ शेखले गरेका छन् ।

    जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले सहभागिता जनाएका छन् ।

  • रोहित र विराटबारे गम्भीरले भने- उनीहरूमा अझै जोश छ

    रोहित र विराटबारे गम्भीरले भने- उनीहरूमा अझै जोश छ

    काठमाडौं । अष्ट्रेलियासँगको पाँचौ टेष्टमा पराजित हुँदै भारत विश्व टेष्ट च्याम्पियनसिपको फाइलन खेल्न असफल भयो । पाँचौ खेलमा ब्याटिङ राम्रो गर्न नसक्दा भारत १-३ ले सिरिज गुमाउन प‍ुग्यो । अष्ट्रेलियाविरुद्धको सिरिजमा कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले राम्रो प्रभाव छोड्न सकेनन् । खराब फर्मका कारण कप्तान रोहित पाँचौं टेष्टमा प्लेइङ-११ बाहिर थिए ।

    खेलपछि भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरले विराट र रोहितमा अझै जोश रहेको बताएका छन् । उनले विराट र रोहितको भविष्य उनीहरूको छनोटमा भर पर्ने बताएका हुन् ।

    ‘हेर्नुहोस्, म कुनै पनि खेलाडीको भविष्यको बारेमा कुरा गर्न सक्दिनँ, यो उनीहरूको पनि भर पर्छ, गम्भीरले पत्रकारको प्रश्नको जवाफ दिँदै भने, ‘तर म के भन्न सक्छु कि उनीहरूमा अझै पनि भोक छ, उनीहरूमा अझै जोश छ, उनीहरू कडा मान्छे हुन्। र आशा छ कि उनीहरूले भारतीय क्रिकेटलाई अगाडि बढाउन जारी राख्न सक्छन् ।’

    ‘अन्ततः, हामी सबैलाई थाहा छ, उनीहरूले जे पनि योजना गर्छन्, उनीहरूले भारतीय जनताको हितको लागि योजना बनाउनेछन्,’ उनले थपे ।

    गम्भीरले खेलाडीले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए ।

    उनले भने, ‘धेरै भनिएको छ, तर मुख्य कुरा यो हो कि व्यक्तिहरू आउन र जान्छन्, टोली र देश सधैं प्राथमिकतामा रहनु पर्छ । म विश्वास गर्छु कि म र अन्य खेलाडीहरू सहित सबैले व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्छ ।’

  • दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप फागुनमा हुने, पुरस्कार २५ लाख

    दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप फागुनमा हुने, पुरस्कार २५ लाख

    काठमाडौं । ई–स्पोर्ट्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार दोस्रो ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप फागुनको दोस्रो सातामा आयोजना हुने भएको छ ।

    प्रतियोगिता फागुनको ८, ९ र १० गते काठमाडौंमा आयोजना हुने भएको हो । प्रतियोगितामा ई–फुटबल, मोबाईल लिजेन्ड्स, पब्जी मोबाईल, डोटा टू, भ्यालोरेन्ट, कस प्ले गरी ६ वटा प्रतियोगिता हुने छ ।

    मुख्य पुरस्कार २५ लाख रुपैयाँ रहेको छ । नेपालको ई–स्पोर्ट्स क्षेत्रमा पहिलो पटक सबैभन्दा ठुलो पुरस्कार राशीको साथ प्रतियोगिता आयोजना हुने भएको हो ।

    छनोट चरणका खेलहरू अनलाइनबाट हुने छन् । भने, फाइनल खेलको मुख्य इभेन्ट काठमाडौंमा सम्पन्न गरिनेछ ।

    इशानले यस प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङको अधिकार सप्लाई अनलिमिटेडलाई तीन वर्षका लागि प्रदान गरेको छ ।

    सम्झौता अनुसार प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण सप्लाई अनलिमिटेडले गर्ने छ । यस प्रतियोगिताको ब्राण्ड एम्बास्डरको रूपमा चलचित्रकर्मी तथा ई–गेमिङका प्रवर्द्धक निश्चल बस्नेतलाई नियुक्त गरिएको छ ।

    ई–स्पोर्ट्स संघ नेपालले स्थापनाको तेस्रो महिनामै सुर्खेतमा पहिलो राष्ट्रिय ई–स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गरेको थियो ।

  • क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन बागमती र काठमाडौं उपत्यकामा नयाँ नेतृत्व चयन

    क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन बागमती र काठमाडौं उपत्यकामा नयाँ नेतृत्व चयन

    काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनअन्तर्गत बागमती प्रदेश र काठमाडौं उपत्यका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ।

    शनिवार आयोजित कार्यक्रममार्फत दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

    बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन्। उपाध्यक्षमा रवीन्द्र महर्जन र सुरज बस्नेत चुनिएका छन्।

    सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, अनुप सुवेदी, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन्।

    काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी निर्वाचित भएका छन्। उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा चयन भएका छन्।

    सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, रञ्जित पुतुवार र गंगा थापा मगर चयन भएका छन्।

    ललितपुरको ज्वागलस्थित एक पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामा तामाङ, विभिन्न खेलकुद संघका पदाधिकारी र क्लाइम्बिङ स्पोर्ट्सका अन्य सदस्यहरूको उपस्थिति थियो।

  • भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश

    भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश

    काठमाडौं । भारतविरुद्धको सिरिज ३-१ ले जित्दै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

    आइतबार बिहान सकिएको पाँचौँ टेस्टमा ६ विकेटले हराउँदै अस्ट्रेलियाले ३-१ को जित निकालेको हो । दोस्रो इनिङमा १ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    भारतले पहिलो इनिङ १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रन बनाएको‌ थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो।

    अस्ट्रेलियाले अब उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ।

    विश्व टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आउँदो जुनमा हुनेछ ।

  • विद्यार्थीहरूलाई ४५ दिनको भलिबल प्रशिक्षण

    विद्यार्थीहरूलाई ४५ दिनको भलिबल प्रशिक्षण

    सिन्धुपाल्चोक । भलिबल खेलप्रति विद्यार्थीहरूलाई उत्साह जगाउने उद्देश्यले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-७ का ३८ विद्यार्थीहरूलाई भलिबल प्रशिक्षण दिइएको छ ।

    लिसंखु पाखर-७ मा रहेको ककलिङ हरिसिद्धि मावि र संसारी माई माविमा अध्ययनरत ३८ जना विद्यार्थीहरूलाई ४५ दिनसम्म तालिम दिइएको थियो ।

    ४५ दिनसम्म सञ्चालन भएको संयुक्त भलिबल प्रशिक्षणमा दुवै विद्यालयका विद्यार्थीहरूले भलिबल खेलका नियम र उत्कृष्ट भलिबल कसरी खेल्न सकिन्छ भनेर विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको मुख्य प्रशिक्षक विकास गुरुङले जानकारी दिए ।

    युएसए निवासी अभिषेक घिसिङको छैटौं जन्म दिवसको अवसर पारेर उनका बुवा चक्रवती घिसिङले भलिबल प्रशिक्षणको सबै खर्च व्यहोरेका थिए ।

    आफूहरू देश बाहिर भए पनि आफ्नो जन्मथलोमा केही सामाजिक कामहरू गर्नुपर्छ भनेर विद्यार्थीहरूलाई भलिबल प्रशिक्षण दिइएको घिसिङले बताइन । घिसिङ ककलिङ हरिसिद्धि माविकी पूर्वविद्यार्थी समेत हुन ।

    ४५ दिनसम्म सञ्चालन भएको संयुक्त भलिबल प्रशिक्षण कार्यक्रमको समापनमा प्रशिक्षकहरू विकास गुरुङ, शेरबहादुर मगर, अर्जुन खतिवडा र फिलेमोन तामाङलाई सम्मान गरिएको थियो ।

    त्यस्तै भलिबल प्रशिक्षणमा उत्कृष्ट हुने विद्यार्थी,अन्य सहयोगीहरूलाई समेत सम्मान गरिएको भलिबल प्रशिक्षणकी संयोजक समेत रहेकी युवा संघका नेतृ रेखा तामाङ लोप्चनले जानकारी दिइन ।

    ककलिङ हरिसिद्धि माविको पूर्वप्रधानाध्यापक कमल श्रेष्ठले प्रशिक्षक, विद्यार्थी र सहयोगीहरूलाई सम्मान गरेका थिए ।

  • सानदार जितसहित बार्सिलोना अन्तिम-१६ मा

    सानदार जितसहित बार्सिलोना अन्तिम-१६ मा

    काठमाडौं । बारबास्ट्रोलाई ४-० गोलले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।

    शनिवार राती भएको खेलमा बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्की, पाब्लो टोरे र एरिक गार्सियाले गोल गरे ।

    खेलको २१ औँ मिनेटमा गार्सियको गोलले अघि बढेको बार्साको लागि ३१ र ४७ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रतालाई फराकिलो बनाईदिए र ५६ औँ मिनेटमा टोरेले गरेको गोल अन्तिम गोल बन्यो ।

    कोपा डेल रे अन्तरगत शनिवार राति नै भएको अन्य खेलहरूमा रियल बेटिस, ओसियना, अल्मेरिया र एथलेटिको मेड्रिड विजयी भएका छन् ।

  • ब्रेन्टफोर्डको ठूलो जित, चेल्सीलाई बराबरीले घाटा

    ब्रेन्टफोर्डको ठूलो जित, चेल्सीलाई बराबरीले घाटा

    हेटौँडा । इंग्लिस प्रिमियर लिग अन्तरगत शनिवार भएको खेलमा ब्रेन्टफोर्डले ठूलो जित दर्ता गरेको छ ।

    ब्रेन्टफोर्डले लिगको पुच्छरमा रहेको साउथह्याम्पन्टन विरुद्ध ५-० को सानदार जित दर्ता गरेको हो भने अर्को खेलमा चेल्सी र क्रिस्टल प्यालेसले १-१ को बराबरी खेलेपछि तेस्रो स्थानमा उक्लने चेल्सीको चाहना पूरा हुन सकेन ।

    शनिबार नै भएको अन्य खेलहरूमा न्युक्यास्टल युनाइटेडले टोटनह्याम्पलाई २-१ गोलले पराजित गरेको छ भने एस्टन भिल्लाले रेलिगेसन क्षेत्रको लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ ।

    शनिबार नै भएको अर्को खेलमा बर्नमाउथले एभर्टनलाई १-० ले पराजित गरेको छ ।

  • यू-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

    यू-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । आउदो माघ ५ गतेदेखि मलेसियामा हुने यू-–१९ महिला विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

    नेपाल क्रीकेट संघ क्यानले चितवनमा भएको बन्द प्रशिक्षणबाट पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

    टोली विश्वकप खेल्न पुस २७ गते मलेसिया प्रस्थान गर्नेछ । समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसंग खेल्नेछ ।

    दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ ।

    नेपाली टोली

    पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ ।

  • लयमा फर्कियो सिटी, वेष्टह्याम्प विरुद्ध सानदार जित

    लयमा फर्कियो सिटी, वेष्टह्याम्प विरुद्ध सानदार जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपीएल)मा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले आफूलाई अब लयमा फर्किएको संकेत गरेको छ ।

    सन् २०२४ मा खराब प्रदर्शन गरेको सिटीले २०२५ को पहिलो प्रिमियर लिग खेलमा वेष्टह्याम्पलाई ४-१ ले पराजित गर्न सफल बन्यो । यही खेलबाट पछिल्लो समय लय गुमाएका सिटीका स्टार खेलाडी हाल्याण्ड पनि लयमा देखिए ।

    सिटीको लागि शनिवारको खेलमा पहिलो गोल उपहारस्वरूप प्राप्त भयो । वेष्टह्यामका भ्लादिमिर कोफलले आत्मघाती गोल गरेपछि सिटीले १० मिनेटमा नै सुरुवाती अग्रता लिएको थियो । त्यसपछि लगातार हाल्याण्डले ४२ र ५५ औँ मिनेटमा गोल गर्दै अग्रता ३-० को बनाए । हाल्याण्डको दोस्रो गोलको तेस्रो मिनेटमा नै सिटीका फिल फोडेनले गोल गरेपछि सिटी ४-० ले अघि रह्यो ।

    खेलमा वेष्टह्याम्पको लागि एक मात्र सान्त्वना गोल निकलस फूलक्रगले ७१ औ मिनेटमा गरे ।

    आजको जितपछि पनि सिटी तालिकाको उहीँ स्थानमा छ । अर्थात् २० खेलबाट ३४ अङ्क सहित सिटी तालिकाको छैटौँ स्थानमा छ भने पराजित वेष्टह्याम्प २३ अङ्क सहित १३ औँ स्थानमा छ ।

  • जय ट्रफी मेन्स एलाइट कपको तयारी पूरा

    जय ट्रफी मेन्स एलाइट कपको तयारी पूरा

    जनकपुर । मधेश प्रदेशमा यही पुस २१ गतेदेखि हुन लागेको एलाइट (जय ट्रफी) कपको तयारी पूरा भएको छ । वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको जय ट्रफी कप प्रतियोगिताको तयारी पूरा भएको हो ।

    ‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहने आयोजकले जनाएको छ । सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता पुस २१ देखि माघ ३ गतेसम्म हुने भएको छ ।

    सो प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामकरण गरिएको छ । संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा प्रतियोगिताको नामकरण गरिएको हो । साहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

    नेपाल क्रिकेट संघका पूर्वपदाधिकारी एवं सदस्यको नाममा नामकरण गर्दै नेपाली क्रिकेटको गर्विलो इतिहास बोकेको ‘जय ट्रफी’ लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनःस्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य रहेको नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

  • साउदीमा रोनाल्डो खुसी

    साउदीमा रोनाल्डो खुसी

    हेटौंडा । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो-लिग क्लब अल नासरसँगको आफ्नो दुई वर्षको वार्षिकोत्सवको अवसरमा आफू साउदीमा खुसी भएको र थप उपाधिको लागि भोको रहेको बताएका छन् ।

    ग्लोब सकर अवार्डमा २०२४ को सर्वश्रेष्ठ मध्यपूर्व खेलाडी घोषित भएका पोर्चुगलका कप्तानले जनवरी २०२३ मा फ्री ट्रान्सफरमा सामेल भएदेखि ८३ खेलमा ७४ गोल गरिसकेका छन् ।

    सर्वकालीन खेलाडीको रुपमा आफूलाई उभ्याउन सफल रोनाल्डोले लिगको इन-हाउस मिडिया च्यानललाई भने, ‘म खुसी छु र मेरो परिवार खुसी छ । हामीले यो सुन्दर देशमा नयाँ जीवन सुरु गरेका छौं । जीवन राम्रो छ । फुटबल राम्रो छ । व्यक्तिगत र सामूहिक रूपमा हामी अझै पनि त्यहाँ छौं । हामी अझै सुधार गर्दैछौं ।’

    आफ्नो करियरमा ९०० भन्दा बढी गोल गरेका र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने पुरुषको विश्व कीर्तिमान राख्ने अल नासार स्टार रोनाल्डोले आफ्नो आगमनदेखि नै साउदी प्रो-लिग सही दिशामा अघि बढेको दाबी गरे ।

    लिगप्रति बढ्दै गएको विश्वासले आफू खुसी भएको बताउँदै उनले लिगलाई अझ राम्रो र प्रतिस्पर्धात्मक बनाउन धेरै स्टार खेलाडी आउनुपर्ने बताए ।

    रोनाल्डोले अल नासरमा आबद्ध भएदेखि सन् २०२३ मा अरब क्लब च्याम्पियन्स कप उपाधि जितेका छन् । गत सिजनमा सिल्भरवेयर गुमाए पनि उनले आफ्नो पहिलो पूर्ण अभियानमा साउदी प्रो-लिगको रेकर्ड ३५ गोल गरे ।

    रोनाल्डोले भने, ‘तपाईंलाई थाहा छ, जब तपाईं उपाधि जित्नुहुन्छ, चिजहरू सजिलो हुन्छ र मेरो पहिलो वर्ष यहाँ जित्ने विशेषाधिकार पाउनु मेरो पहिलो ट्रफी अद्भूत थियो ।’

  • मदन भण्डारी गोल्डकप इन्डो-नेपाल भलिबल प्रतियोगिता : नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी

    मदन भण्डारी गोल्डकप इन्डो-नेपाल भलिबल प्रतियोगिता : नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी

    रुपन्देही । मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनशिपको शनिबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा गुजरात स्टेटले जित निकाल्दा अर्को विभागीय टीम एपीएफ पराजित भएको छ ।

    बुटवल- १० स्थित रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि ३-१ को सेटको जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट पुलिसले २५-१५ अंकका साथ जित निकालेको थियो । दोस्रो सेट भने मणिमुकुन्दले २५-२० को अंकका साथ जित निकाल्दै बराबरीमा ल्यायो । त्यसपछि पुलिसले लगातार तेस्रो र चौथो सेट २५-२० र २५-१८ अंकका साथ जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको थियो ।

    शनिबार नै भएको अर्को खेलमा भारतको गुजरातले विभागीय टीम एपीएफलाई ३-१ सेटले पराजित गरेको छ । एपीएफले पहिलो सेट २५-२१ अंकले जित निकाल्दै अग्रता लिए पनि त्यसपछि गुजरात खेलमा हाबी भयो । गुजरातले लगातार २५-१८, २५-१५ र २५-१८ अंकले जित निकाल्यो ।

    यसैगरी तेस्रो खेलमा विभागीय टीम त्रिभुवन आर्मीले गल्याङ भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

    पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टीमको सहभागिता रहेको छ । जसमा समूह ‘ए’ मा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिबल क्लब र गुजरात प्रदेश भलिबल एसोसियसन भारत रहेका छन् ।

    प्रतियोगिताको विजेताले सात लाख, दोस्रोले तीन लाख ५० हजार, तेस्रोले एक लाख ७५ हजार र चौथो हुने टीमले एक लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागततर्फ १० हजारका दरले पुरस्कृत गरिने आयोजक एकेडेमीकी सचिव अमृता अनमोलले जानकारी दिइन् ।

  • सन्यासको हल्लापछि रोहितले भने- मैले सन्यास लिएको छैन

    सन्यासको हल्लापछि रोहितले भने- मैले सन्यास लिएको छैन

    काठमाडौं  । भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्माले सन्यास नलिएको बताएका छन् । अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा प्लेइङ ११ नपरेपछि धेरैले रोहितले सन्यास लिने अनुमान लगाएका थिए ।

    तर, रोहितले आफू फर्म नहुँदा टोली बाहिर रहेको बताएका छन् । ‘मैले सन्यास लिएको छैन,’उनले भने, ‘मूलतः मैले प्रशिक्षक र चयनकर्तासँग गरेको कुराकानी एकदमै सरल थियो। म रन बनाउन सक्षम छैन, त्यहाँ कुनै फर्म छैन, यो एक महत्त्वपूर्ण खेल हो र हामीलाई फारम भएको खेलाडी चाहिन्छ ।’

    ५ खेलको श्रृंखलामा भारत २-१ ले पछाडि छ । बोर्डर गवास्कर ट्रफी नगुमाउनका लागि अन्तिम टेस्ट जित्नैपर्ने दबाबमा छ ।

    ‘जस्तो छ, हाम्रो ब्याटिङमा केटाको फर्म त्यति राम्रो छैन। त्यसैले तपाईं टोलीमा धेरै आउट अफ फर्म खेलाडीहरू बोक्न सक्नुहुन्न। यो साधारण कुरा मेरो दिमागमा चलिरहेको थियो। म कतै जाँदिन,’उनले थपे।

  • एलिट कपका लागि विनोदको कप्तानीमा आर्मीको टोली घोषणा

    एलिट कपका लागि विनोदको कप्तानीमा आर्मीको टोली घोषणा

    काठमाडौं । त्रिभुवन आर्मी क्लबले आइतबारदेखि हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ ।

    आर्मीले विकेटकिपर ब्याटर विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा जय ट्रफी हुदैछ ।

    जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले सहभागिता जनाएका छन् ।

    आर्मीको टोली
    विनोद भण्डारी (कप्तान), भिम सार्की, शाहब आलम, सुमित श्रेष्ठ, सोमपाल कामी, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इमरान शेख, तृतराज दास, बसिर अहमद, विवेक यादव, नरेन साउद, दुर्गेश गुप्ता र पवन कार्की ।

  • रोमान्चक प्रतिस्पर्धामा रियलको जित

    रोमान्चक प्रतिस्पर्धामा रियलको जित

    काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रोमान्चक जित निकालेको छ । शुक्रवार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ ले पराजित गरेको हो । खेलको पहिलो अग्रता भ्यालेन्सियाले २८ औं मिनेटमा डिउरोको गोल मार्फत गरेको थियो ।

    पहिलो हाफमा १-० ले पछि परेको रियलको लागि दोश्रो हाफको ७९ औं मिनेटमा झड्का लाग्यो । उस्को स्टार खेलाडी भिनियस जुनियर रातो कार्ड खादै मैदान बाहिर गए ।

    त्यसयता रियलले ८५ औं मिनेटमा लुका मेड्रिटको गोल मार्फत खेल बराबरी बनायो । नियमित खेल बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको पाँचौ मिनेटमा रियलका बेलिङ्घमले गोल गरेपछि रियले खेल २-१ ले जित्यो ।

    जितपछि १९ खेलबाड ४३ अङ्क सहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । भने भ्यालेन्सिया १२ अङ्क सहित १९ औं स्थानमा छ ।

  • एलिट कपका लागि मधेश प्रदेशको टोली घोषणा

    एलिट कपका लागि मधेश प्रदेशको टोली घोषणा

    काठमाडौं । आइतबारदेखि हुने जय ट्रफी पुरुष एलिट कप क्रीकेटका लागि मधेश प्रदेशले टोलीको घोषणा गरेको छ ।

    मधेशले हरिशंकर शाहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा जय ट्रफी हुदैछ ।

    जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता जनाएका छन् ।

    मधेशको टोली

    हरिशंकर शाह (कप्तान), अभिषेक तिवारी (उपकप्तान), रुपेश सिंह, मयन यादव, निरजकुमार यादव, साहिल पटेल, भुलावना साहनी, विशाल पटेल, रन्जित कुमार, राजेश यादव, प्रदिप पासवान, अफ्रुदिन रेइन, हिमान्शु दत्त, राहुल मण्डल र सैलेन्द्र शाह ।

  • मदन भण्डारी गोल्डकप इन्डो-नेपाल भलिबल प्रतियोगिता : गल्कोटलाई हराउँदै एपीएफको पहिलो जित (भिडिओ)

    मदन भण्डारी गोल्डकप इन्डो-नेपाल भलिबल प्रतियोगिता : गल्कोटलाई हराउँदै एपीएफको पहिलो जित (भिडिओ)

    रुपन्देही । विभागीय टीम एपिएफले गल्कोट भलिबल क्लबलाई हराउँदै आफ्नो पहिलो जित दर्ता गराएको छ । बुधबारबाट बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा एपिएफले शुक्रवार करिब ३ घण्टाको समय खर्चेर ३–२ को कडा प्रतिस्पर्धामा कठिन जित निकालेको हो ।

    बिहीबार चिसो र हुस्सुसंगै शीत परेपछि स्थगित एपिएफ र गल्कोटबिचको खेल शुक्रवार पुनः खेलाइएको थियो । बिहीबार चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो ।

    शुक्रवार पहिलो सेट २५–१५ मा सहजै जितेको एपिएफले दोस्रो सेट २५–२२ पनि आफ्नो पक्षमा पार्यो । एपिएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जित दिलाएका थिए । तर गल्कोटका मिन सुनार, जीवन सुनार, आलोक सुनार इरानियन खेलाडी मोविन सिरीको मेहनतले तेस्रो र चौथो सेट जित्यो। गल्कोटले तेस्रो सेट २५–२२ तथा चौथो सेट ३३–३१ अंकमा जितेको थियो ।

    निर्णायक अन्तिम तथा पाचौं सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण त्यो सेट एपिएफले २०–१८ ले जित्यो । यसैगरी यसअघि शुक्रबार भएको पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी भएको थियो ।

    एकेडेमीले आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर कोर्टमा जारी प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा एकेडेमीले रुकुममाथि सहज जित निकालेको हो । एकेडेमीले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अंकमाले थियो । तेस्रो सेटबाहेक एकेडेमीले सहजै जितेको थियो ।

    मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसंग ३–१ मा पराजित भएको थियो ।

    रुकुम मणिमुकुन्द भलिवल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धा आइतवार मणिमुकुन्दसंग गर्नेछ । दुवै खेल गुमाएको रुकुमपश्चिमले सोमवार पुलिसको सामना गर्नेछ । समूह एमा रहेको पुलिस, मणिमुकुन्दले समान खेले जितेका छन् ।

    रुकुम पश्चिमले दुबै खेलगुमाएको छ। मदन भण्डारी एकेडेमी १ जित र १ हार बेहोरेको छ । प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १लाख रुपैयाँ पाउने छ । शनिवार ३ वटा खेल हुनेछन् ।

    पहिलो खेल एपिएफ र भारतको गुजरात प्रदेश भलिबल एसोसिएसन, दोस्रो खेल मणिमुकुन्द र पुलिस तथा तेस्रो खेल त्रिभुवन आर्मी क्लब र गल्कोटबीच हुनेछ । पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ ।

     

  • रोहित, दीपेन्द्रसहित यी चर्चित खेलाडीले गुमाउने छन् एलिट कप

    रोहित, दीपेन्द्रसहित यी चर्चित खेलाडीले गुमाउने छन् एलिट कप

    काठमाडौं ।  जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी छन् ।

    प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा परेका टोली सहभागी हुनेछन् । नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेशले डेज क्रिकेटमा सहभागिता जनाउने छन् ।

    प्रतियोगितामा सबै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् । लामो समयपछि भएको लङफर्म प्रतियोगिता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित धेरै खेलाडी गुमाउनेछन् ।

    रोहितसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी, अनिलकुमार शाह, आसिफ शेखसहितका खेलाडीले एलिट कप गुमाउने छन् । रोहित, आसिफले गत फेब्रुअरीमा भएको प्रधानमन्त्री सशस्त्र प्रहरी बल (एपीएफ) बाट खेलेका थिए । एपीएफ शीर्ष चारमा पर्न नसक्दा रोहित, आसिफ, सन्दीप जोरा, अभिनास बोहरा, लोकश बमसहितका खेलाडीले एलिट कप गुमाउनेछन् । शीर्ष चारमा परेका टोलीले एलिट कप खेल्नेछन् ।

    प्रधानमन्त्री कपको उपाधि जितेका दीपेन्द्रले अन्तर्राष्ट्रिय लिग टी–२० (आईएलटी) खेल्ने युएई जानुपर्ने भएकाले उनले एलिट कप गुमाउनेछन् । उनी आईटीएल गल्फ जायन्ट्सबाट खेल्दै छन् ।

    नेपाल प्रिमियर लिग (एनपीएल) लाई उपाधि जिताएका मधेशका कप्तान अनिलकुमार शाहले पनि एनपीएल गुमाउनेछन् । एनपीएलका क्रममा घाइते भएसँगै उनले प्लेअफका खेल गुमाएका थिए ।

    तत्कालै रिकभर हुने नदेखेपछि मधेशले अनिललाई बाहिर राख्दै एलिट कप खेल्ने टोलीको घोषणा गरेको हो । यस्तै बागमती, मधेश, त्रिभुवन आर्मी र पुलिस क्लबबाहेक अन्य टोलीबाट प्रधानमन्त्री कप खेलेका खेलाडीले पनि एलिट कप गुमाउने छन् ।

  • अष्ट्रेलियाविरुद्ध प्लेइङ ११ मै परेनन् भारतीय कप्तान रोहित, टेस्ट क्रिकेटबाट सन्न्यास लिने अनुमान

    अष्ट्रेलियाविरुद्ध प्लेइङ ११ मै परेनन् भारतीय कप्तान रोहित, टेस्ट क्रिकेटबाट सन्न्यास लिने अनुमान

    काठमाडौं । अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा भारतीय कप्तान रोहित शर्मा नै प्लेइङ ११ बाट फालिएका छन् । उनको ठाउँमा जसप्रित बुमराहलाई टीमको कप्तानी दिइएको छ ।

    ५ खेलको श्रृंखलामा भारत २-१ ले पछाडि छ । बोर्डर गवास्कर ट्रफी नगुमाउनका लागि अन्तिम टेस्ट जित्नैपर्ने दबाबमा छ भारत । तर, टोलीका सिनियर ब्याटरहरू नै राम्रो फर्ममा छैनन् । श्रृंखलामा कप्तान रोहित शर्मा र विराट कोहलीको प्रदर्शन निराशाजनक छ ।

    ५ इनिङमा लगातार फ्लप भएका रोहितलाई अन्तिम टेस्टमा हटाइने संकेत प्रशिक्षक गौतम गम्भीरले अगाडि नै गरेका थिए । यद्यपि, कुनै पनि औपचारिक जानकारी दिइएको थिएन । आज टसमा रोहितको स्थानमा बुमराह आए । कप्तान परिवर्तनबारे उनलाई केही सोधिएन । तर, बुमराह आफैंले मुख खोले । उनले रोहितले ‘रेस्ट लिएको’ दाबी गरे ।

    ‘हाम्रो कप्तानले नेतृत्व गुण देखाउँदै यो म्याचमा रेस्ट लिनुभएको छ । यसले टिमभित्रको एकता दर्शाउँछ,’ उनले भने ।

    तर, भारतका लागि अत्यन्त महत्वपूर्ण म्याचमा रोहितले रेस्ट लिनुपर्ने कुनै पनि कारण थिएन । प्रशिक्षक गौतमले खराब फर्मकै कारण उनलाई प्लेइङ ११ बाट हटाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । रोहितको स्थानमा शुभमन गिललाई खेलाइएको छ । तेस्रो नम्बरमा खेलेका उनले २० रन बनाएर आउट भए ।

    भारतीय पूर्वक्रिकेटर तथा कमेन्टेटर सुनील गवास्करले रोहितको टेस्ट करिअर अन्त्य भइसकेको हुन सक्ने बताए ।

    पहिलो दिनको लन्च ब्रेकपछि उनले भने, ‘मलाई लाग्छ, यदि भारत टेस्ट च्याम्पियनसीपको फाइनलमा पुगेन भने मेलबर्न टेस्ट नै रोहित शर्माको अन्तिम म्याच हुनेछ ।’

    भारतले टेस्ट च्याम्पियनसीप साइकलको अर्को श्रृंखला ईंग्ल्यान्डविरुद्ध खेल्नेछ । छनोटकर्ताहरूले २०२७ मा हुने फाइनलमा उपलब्ध हुनसक्ने खेलाडी छनोट गर्ने भएकाले रोहितको सम्भावना नरहने गवास्करको दाबी छ ।

    उनले थपे, ‘सम्भवतः हामीले रोहित शर्माको अन्तिम टेस्ट म्याच हेरिसक्यौं ।’

    अर्का भारतीय कमेन्टेटर रवि शास्त्रीको भनाइ पनि उस्तै छ ।

    उनले कमेन्ट्रीकै क्रममा भने, ‘यदि अब भारतले घरेलु सिरिज खेल्ने थियो भने रोहितले निरन्तरता दिन सक्थे । त्यो नभएकाले अब रोहितले यो टेस्टपछि सन्न्यास घोषणा गर्न सक्छन् ।’

    भारतसँग प्रशस्त युवा खेलाडीहरु भएकाले रोहितले ठाउँ खाली गर्नुपर्ने शास्त्रीले बताएका छन् ।

  • एलिट कपका लागि पुलिसको टोली घोषणा, आरिफले कप्तानी गर्ने

    एलिट कपका लागि पुलिसको टोली घोषणा, आरिफले कप्तानी गर्ने

    काठमाडौं । नेपाल पुलिस क्लबले आउँदो सातादेखि हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ ।

    पुलिसले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइटिएल टी-२० खेल्न गएपछि पुलिसको कप्तानी आरिफले गर्न लागेका हुन् ।

    क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा जय ट्रफी हुँदैछ ।

    जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली९नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश० को सहभागिता रहने छ ।

    प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा परेका टोली सहभागी हुनेछन् ।

    नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेशले डे क्रिकेटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा सबै टोलीले एक अर्कासँग एक(एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् ।

    पुलिसको टोली

    आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सरेला ।

  • सुदूरपश्चिम : प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

    सुदूरपश्चिम : प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

    बैतडी । प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताए ।

    प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्को खेल डोटी र बझाङ खेल्नेछन् ।

    दशरथचन्द क्रिकेट मैदानमा सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकाले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको जनाएको छ ।

    पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिए । सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए ।

    समूह ‘ए’को विजेता र समूह ‘बी’को विजेताबीच पुस २५ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । उक्त प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

  • मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा त्रिभुवन आर्मी र मणिमुकुन्द क्लब विजयी

    मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा त्रिभुवन आर्मी र मणिमुकुन्द क्लब विजयी

    रुपन्देही । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसीपमा बिहीबार त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले जीत हात पारेका छन् । तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ ।

    बुटवलको रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आर्मीले भारतीय गुजरात स्टेट भलिबल एशोसिएसनलाई ३–१ सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट १५, २५ ले हारेपनि त्यसपछि खेलको लय समात्दा जीत निकालेको हो ।

    त्यसपछि दोस्रो सेट २९–२७ ले जित्दै आर्मी खेल फर्कियो । तेस्रो र चौथो सेट २५–२१ र २५–२२ ले जित्दै आर्मी पहिलो जित हात पार्न सफल भयो । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका धनपति कुँवर,सरन सामारी, धनपति कुँवर, धनबहादुर भट्ट, दुर्गा महतो, दुर्गा बहादुर खड्कासहित आर्मी मैदान उत्रेको थियो । यद्यपि आर्मीले भारतीय खेलाडीका सर्भिसलाई रिसिभ गर्न नसक्दा अंक धेरै गुमाउनु परेको थियो ।

    निकै प्रतिस्र्धात्मक खेलमा एक समय २३–१९ अंककासाथ जित नजिक पुगेको स्थितीमा लगातार अंक गुमाउन पुग्दा खेल खेल २९–२७ सम्म पुगेको थियो । जेहान मल्लीकको नेतृत्वमा रहेको गुजरातले खेलको सुरुवातमा अंक बटुल्दै ६–० ले अग्रता लिएको थियो । आर्मीका स्पाइकरलाई चल्न नदिएपनि आर्मीले पहिलो टाइम आउट लिएर मैदानमा उत्रेपछि गुजरातलाई भारी भएको थियो ।

    तेस्रो सेटमा धन बहादुर भट्ट र सरन सामरीको लगातारको सफल स्पाइक तथा गुजरातका ६ वटा सर्विसले नेट पार गर्न नसक्दा आर्मीले २५–२१ अंकका साथ जित निकालेको थियो । भारतीय टिमको कमजोरी पत्ता लगाएको आर्मीले चौथो सेट २५–२२ मा जितेको थियो ।

    मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा दोस्रो खेल रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले ३,० को सोझो सेटमा जितेको छ । पहिलो सेटमा मणिमुकुन्द क्लबले २५, २१ ले जितेको थियो । दोस्रो सेटमा २५ १५ हुदै मणिमुकुन्द पुन अगाडि लागेको थियो । तेस्रोमा २५, २१ सेट ल्याएपछि मणिमुकन्द विजयी बनेको थियो ।

    बिहीबारको सशस्त्र प्रहरी र गल्कोटबीचको खेल भने शीतलहरका कारण स्थगित भयो । खेलमा चौथो सेटको प्रतिस्पर्धा हुँदैगर्दा शीतलहरका कारण खेल स्थगित भएको हो । सम्पन्न भएका सेटहरुमा २ सेट गल्कोटले र १ सेट सशस्त्र प्रहरीले जितेका थिए । स्थगित भएको खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताइन् ।

    मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो ।

    च्याम्पियनसिपमा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ । प्रतियोगितामा एक भारतीयसहित ८ टिम सहभागी छन् ।

    ती मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गल्कोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र हुन् ।

  • तस्किन अहमदले बिपिएलएलको एकै खेलमा लिए ७ विकेट

    तस्किन अहमदले बिपिएलएलको एकै खेलमा लिए ७ विकेट

    पोखरा । बंगलादेश प्रिमियर लिग (बिपिएल) मा फाष्ट बलर तस्किन अहमदले एकै खेलमा ७ विकेट लिएका छन् । उनले बिहीबार भएको खेलमा ढाका क्यापिटल्सविरुद्ध ७ विकेट लिएका हुन् ।

    दरबार राजशाहीबाट बिपिएल खेलिरहेका तस्किनले ४ ओभरमा १९ रन खर्चेर ७ विकेट लिए ।

    उनले ओपनरद्वय लिटन दास र तन्जिद हसनसहित शाहदात होसेन, चतुरंगा डेसिल्भा, अलाउदिन बाबु, मुकिदुल इस्लाम र शुभम रञ्जानलाई आउट गरे । उक्त खेलमा दरबार राजशाहीले ढाका क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको थियो ।

  • कांग्रेसले ‘सभापति कप फुटबल’ प्रतियोगिता गर्ने, विजेतालाई २६ लाख

    कांग्रेसले ‘सभापति कप फुटबल’ प्रतियोगिता गर्ने, विजेतालाई २६ लाख

    काठमाडौं । नेपाली कांग्रेसले सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरेर माघ १० गतेबाट दशरथ रंगशालामा फुटबल प्रतियोगिता गर्न लागेको कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले बताए ।

    उनका अनुसार प्रतियोगिता १७ गतेसम्म चल्नेछ ।

    प्रतियोगितमा प्रथम हुने टीमलाई २६ लाख र दोस्रोलाई १३ लाख पुरस्कार दिने बताए । प्रतियोगिताको प्राविधिक सहयोग एन्फालाई मागिएको छ ।

    प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने र समापन समरोहमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुने बस्नेतले बताए ।

  • भारतीय टेस्ट टीममा कप्तान रोहित शर्माकै स्थान खतरामा ! गम्भीरले गरे लाक्षणिक टिप्पणी

    भारतीय टेस्ट टीममा कप्तान रोहित शर्माकै स्थान खतरामा ! गम्भीरले गरे लाक्षणिक टिप्पणी

    काठमाडौं । भारतीय क्रिकेट कप्तान रोहित शर्माले अष्ट्रेलियाविरुद्धको पाचौं टेस्टमा खेल्ने अनिश्चित बनेको छ । अत्यन्तै खराब फर्मका कारण प्लेइङ ११ मा उनको स्थान असुरक्षित बनेको हो ।

    भारतले भोली अष्ट्रेलियाविरुद्ध पाचौं तथा अन्तिम टेस्ट खेल्दैछ । श्रृंखलामा २-१ ले पछि परेको भारतलाई बोर्डर गवास्कर ट्रफी नगुमाउन तथा टेस्ट च्याम्पियनसीप फाइनलको सम्भावना जिवित राख्न निश्चित जित चाहिन्छ । तर, टीम अहिले उच्च मनोबलमा छैन । सिनियर दुई खेलाडी रोहित शर्मा र बिराट कोहलीको खराब फर्म प्रशिक्षक गौतम गम्भीरका लागि टाउको दुखाइ बनिरहेको छ ।

    अन्तिम खेलअघि आयोजित प्रेस मिटमा कप्तान रोहित उपस्थित भएनन् । पत्रकारहरूलाई यसबारे प्रष्टीकरण दिने क्रममा प्रशिक्षक गौतम गम्भीरले ‘आफू नै पर्याप्त’ भएको बताए ।

    रोहित किन आएनन् भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हेड कोच यहाँ छ । यही नै पर्याप्त हो ।’

    पत्रकारले सोधे, ‘के रोहित ठिक छन् ?’

    गम्भीरले जवाफ दिए, ‘उनी पूर्णरूपमा ठिक छन् ।’

    पत्रकारले फेरि सोधे, ‘रोहितले यो टेस्ट खेल्छन् ?’

    गम्भीरले ‘यस’ वा ‘नो’ मा जवाफ दिएनन् ।

    उनले भने, ‘हामी विकेटको अवस्था हेरेर भोलि निर्णय लिने छौं ।’

    सामान्यतया क्याप्टेन सकुशल भएको अवस्थामा प्लेइङ ११ मा उनको स्थानमाथि कुनै शंका हुँदैन । बरु टिमका अन्य खेलाडीको छनोट प्रशिक्षक र कप्तानले मिलेर गर्ने गर्छन् । तर, गम्भीरको उक्त जवाफबाट भने रोहितले प्लेइङ ११ मै स्थान गुमाउन सक्ने आशंका गरिएको छ । उनको स्थानमा शुभमन गिललाई खेलाइन सक्ने अड्कलवाजी भइरहेका छन् ।

    बिहीबारको ट्रेनिङ सेसनमा रोहित निकै ढिला आएका थिए । जसप्रित बुमराहको नेतृत्वमा टिम ट्रेनिङमा उत्रिएको थियो । रोहित आउँदा एक घन्टाको अभ्यास भइसकेको थियो । शुभमन गिलले पहिलो सेटमा रहेर अभ्यास गरिरहेका थिए । किटबिनै मैदानमा आएका रोहितले खासै अभ्यास पनि गरेनन् ।

    श्रृंखलाको पहिलो टेस्टमा चोटका कारण रोहित अनुपस्थित थिए र जसप्रित बुमराहले कप्तानी गरेका थिए । उक्त टेस्ट भारतले जितेको थियो । दोस्रो टेस्टमा रोहितले कप्तानी गरे । तर, तीन टेस्टमा उनको व्यक्तिगत प्रदर्शन विर्सनलायक रहेछे । उनले श्रृंखलामा ६.२ को दयनीय औसतमा रन बनाइरहेका छन् । उनले पाँच पटक ब्याटिङ गर्दा एकपटक मात्रै दोहोरो अंकमा रन बटुल्न सके । रोहितले बनाएको सर्वाधिक ठूलो स्कोर हो १० रन ।

    यो श्रृंखलाभन्दा अगाडिदेखि नै रोहित खराब फर्मबाट गुज्रिरहेका थिए । पछिल्ला ९ टेस्टमा उनको औसत १०.९३ मात्र छ ।

    त्यसो त अर्का दिग्गज ब्याट्सम्यान बिराट कोहलीले पनि अष्ट्रेलियामा कुनै चमत्कार देखाउन सकेका छैनन् । पहिलो टेस्टको दोस्रो इनिङमा सतक हाने पनि अन्य ६ इनिङमा उनको ब्याट पूर्णरुपमा शान्त रह्यो । चौंथो टेस्टका दुई इनिङमा उनी क्रमशः ३६ र ५ रन बनाएर आउट भएका थिए ।

    टीमका सबैभन्दा अनुभवि र भरपर्दा ब्याटरको खराब फर्म भारतलाई महंगो परिरहेको छ । फ्यानहरुले दुवै खेलाडीलाई सन्न्यासको दवाव दिन थालेका छन् । ३६ वर्षिय बिराट र ३७ वर्षिय रोहितले यसै वर्ष टी २० अन्तर्राष्ट्रियबाट सन्न्यास लिइसकेका छन् । अब टेस्ट टीममा पनि उनीहरूले युवा खेलाडीहरूलाई ठाउँ खाली गरिदिनुपर्ने भारतीय फ्यानहरट्ठको माग छ ।

  • एलिट कप : सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

    एलिट कप : सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

    काठमाडौं । बागमती प्रदेशले आउँदो सातादेखि हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । बागमती प्रदेश क्रिकेट संघले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा जय ट्रफी हुदैछ । जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।

    प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा परेका टोली सहभागी हुनेछन् ।

    नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेशले डे क्रिकेटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा सबै टोलीले एक अर्कासँग एक-एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् ।

    बागमतीको टोली

    सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विक, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी ।

  • इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै

    इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै

    रुपन्देही । बुटवलमा हिजोदेखि सुरु भएको इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै छ ।

    पहिलो सेटमा त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल भारतबीच खेल हुनेछ । यस्तै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो तथा एपीएफ र गल्कोट भलिबल क्लबबीच तेस्रो खेल हुनेछ ।

    यसअघि हिजोको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई हराएर विजयी शुरुवात गरेको छ । पुलिसले अब पर्सि शनिवार मणिमुकुन्द भलिबल क्लबसँग खेल्नेछ । मदन भण्डारी एकेडेमी भोलि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसँग खेल्नेछ ।

    यही पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

    प्रतियोगितामा पहिलो हुने टोलीले सात लाख, दोस्रो हुने टोलीले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार सान्त्वना स्थान प्राप्त गर्ने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

  • सन् २०२५ को पहिलो दिन आर्सनलको जित

    सन् २०२५ को पहिलो दिन आर्सनलको जित

    हेटौँडा । सन २०२५ को पहिलो दिन अर्थात् जनावरी १ मा भएको इङ्लिस प्रिमियर लिग (इपिएल) मा आर्सनलले जित निकालेको छ ।

    बुधवार राति भएको खेलमा आर्सनलले ब्रेनफ्रोडलाई ३-१ गोलले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

    आर्सनलको लागि ग्याब्रीयल जिजस, माइकल मेरिनो र ग्याब्रीयल मार्टिनिलले गोल गरे । ब्रेनफोर्टको तर्फबाट एक मात्र गोल ब्रायन म्याम्ब्युमोले गरे ।

    जितपछि १९ खेल खेलेको आर्सनलको ३९ अङ्क पुगेको छ । उसले एक खेल कम खेलेको लिभरपुलसँगको अग्रता कम गरेको छ । पराजित ब्रेन्फोर्ट २४ अङ्क सहित १२ औँ स्थानमा छ ।

  • राखेपको उपाध्यक्षमा रुपन्देहीका ध्रुव आचार्य नियुक्त

    राखेपको उपाध्यक्षमा रुपन्देहीका ध्रुव आचार्य नियुक्त

    रुपन्देही । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

    मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

    रुपन्देहीको बुटवल उपमहानगर पालिका निवासी आचार्य लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील छन् । उपाध्यक्षमा नियुक्ति भएपछि आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदको प्रवद्र्धन र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल: नेपाल प्रहरीको विजयी सुरुवात

    मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल: नेपाल प्रहरीको विजयी सुरुवात

    रुपन्देही । मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनशिपको उद्घाटन खेल नेपाल प्रहरीले ३-१ को सेटले जितेको छ ।

    बुटवलको रामनगर खेलमैदानमा पहिलो सेट २५-२२, दोस्रो सेट २५-२०, तेस्रो सेट ३२-३४ हुँदै चौथो सेट २५-१८ ले आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई पछाडि पार्दै नेपाल प्रहरीले जित निकालेको हो ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको भलिबल च्याम्पियनशिपमा बिहीबार तीन खेल हुँदैछन् । पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एसोसियसनबीच हुनेछ । दोस्रो खेल रुकुमपश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ । तेस्रो खेल सशस्त्र प्रहरी बल र गल्कोट भलिबल क्लबबीच हुनेछ ।

    भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले नेपाल र भारतका ८ टीम सहभागी प्रतियोगिता पुस २४ गतेसम्म सञ्चालन हुने बताइन् ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो ।

    प्रतियोगिता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए । उद्घाटन खेलमा मदन भण्डारी गोल्डकप नेपालको पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर जबरालाई ५१ हजार रुपैयाँ राशीले सम्मान गरिएको छ ।

    एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकास र दक्ष खेलाडी निर्माणका लागि स्थानीय तहदेखि प्रदेश हुँदै संघसम्म कमिटी निर्माण गरी विद्यालयदेखि विश्वविद्यालय हुदै ओलम्पिकसम्म खेल गतिविधि सञ्चालन गरिरहेको बताए ।

  • खेल क्षेत्रको समग्र विकास गर्न अभिभावकत्व प्रदान गर्छौं : मुख्यमन्त्री आचार्य

    खेल क्षेत्रको समग्र विकास गर्न अभिभावकत्व प्रदान गर्छौं : मुख्यमन्त्री आचार्य

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा सुरु भएको मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसीप २०८१ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास र खेलाडीहरुको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका हुन् ।

    ‘प्रदेशभित्र सबै प्रकारको खेल क्षेत्रलाई समुचित रुपमा विकास गर्न, खेलाडीहरुमा उत्साह बढाउन र बढेको उत्साहलाई कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्दछ । हामी खेल क्षेत्रको विकास गर्न तयार छौं’, मुख्यमन्त्री आचार्यले भने, ‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगीताहरु सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिन्छ ।’

    खेलाडी उत्पादन गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन मदन भण्डारी स्पोर्टस् एकेडेमीको भूमिका मत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यले स्मरण गरे ।

    ‘मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापनादेखि हाल सम्म खेलाडी उत्पादनका साथै खेल क्षेत्रको विकासमा थुप्रै उपलब्धि हासिल भएका छन्’, उनले भने, ‘यो उत्साहलाई कायम राख्दै थप रचनात्मक कामहरु गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’ २४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समूहले प्रतिष्पर्धा गर्दैछन् ।

    ती समूहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत), गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहनेछन् ।

    प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।