Category: खेल प्रेस

  • विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो (भिडिओ)

    विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो (भिडिओ)

    काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको कप्तान पूजा महतोले विश्वकपमा राम्रो छाप छोड्ने बताएकी छन् । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा कप्तान पूजाले विश्वकपमा नेपालको छाप छोड्ने बताएका हुन् ।

    ‘राम्रो क्रिकेट खेल्नेछौं । किनकि राम्रो क्रिकेट खेलेपछि जे पनि हुन सक्छ । हामीले यो टुर्नामेन्टहरुमा सिकेका छौं । मलाई पुरै विश्वास छ । मेरो टिम विश्वकपमा केही राम्रो छाप छोड्नेछौं’, उनले भनिन् ।

    उनले महिला क्रिकेटमा नयाँ इतिहास बनाउँदै आएको बताइन् । विश्वकपमा पनि नयाँ इतिहास बनाउने उनको विश्वास छ । उनले भनिन्, ‘सुरुदेखि नै हामीले महिला क्रिकेटमा नयाँ इतिहास बनाइराखेका छौं । विश्वकप छनोट भयौं । एसिया कपमा पाकिस्तानलाई जित्यौं । हाम्रो गोल धेरै नै सेट छ । विश्वकपमा पनि एउटा नयाँ इतिहास बनाउने छौं ।’

    महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो । मलेसियामा हुने प्रतियोगिताका लागि नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ ।

     

  • विश्वकप खेल्ने टोलीलाई बिदाई गर्दै पारसले भने- प्रतियोगितामा क्षमताअनुसारको खेल देखाउनु होला (भिडिओ)

    विश्वकप खेल्ने टोलीलाई बिदाई गर्दै पारसले भने- प्रतियोगितामा क्षमताअनुसारको खेल देखाउनु होला (भिडिओ)

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगितामा क्षमताअनुसारको खेल देखाउन आग्रह गरेका छन् । विश्वकप खेल्न जाने टोलीलाई बिदाई कार्यक्रममा सचिव खड्काले विश्वकपमा हुने गतिविधिले नेपाली क्रिकेटको पहिचान झल्काउने बताएका हुन् ।

    ‘नेपाली क्रिकेटलाई विश्वले नै हेरिराखेको अवस्थामा यहाँहरूले अन द फिल्ड र अफ द फिल्ड गरेको सम्पूर्ण गतिविधि नेपाली क्रिकेटको चिनो पहिचानलाई झल्काउने छ । त्यसैले प्रतियोगितामा क्षमताअनुसारको खेल देखाउनुहोला । त्यसको लागि यहाँहरुलाई क्रिकेटको संघको तर्फबाट शुभकामना छ,’ पारसले भने ।

    सचिव खड्काले क्रिकेट संघको तर्फबाट धेरै प्रेसर नभएको उल्लेख गरे ।

    उनले भने, ‘यो प्रतियोगितामा यहाँहरू सबैजनालाई हाम्रोतर्फबाट क्रिकेट संघको तर्फबाट धेरै प्रेसर छैन । पहिलो पटक खेल्दै हुनुहुन्छ । राम्रो वातावरणमा हुर्केका महिला क्रिकेटमा नेपाल क्रिकेट संघले चाहेर पनि दिन नसक्दा पनि विश्वकपमा सहभागिता जनाउँदै हुनुहुन्छ । विश्वकप भन्नासाथ सम्पूर्ण क्रिकेटिङ राष्ट्रहरू हुनेछन् ।’

    यो प्रतियोगिताले आगामी दिनमा नेपाली क्रिकेटलाई अझै बलियो बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

    ‘हामीले सन् २०२७ मा सहआयोजक भएर विश्वकप आयोजना गर्दैछौं । त्यसैले यो प्रतियोगिता नेपाली महिला क्रिकेटका लागी महत्वपूर्ण हुनेछ । किनभन्दा खेरि नेपालको सिनियर महिला टिम र अन्डर १९ टिमको जुन कम्बीनेशन देखिएको छ,’ उनले भने, ‘यसले आगामी दिनमा नेपाली क्रिकेटलाई अझै बलियो बनाउन एकदमै महत्वपूर्ण भूमिका खेल्नेछ ।’

  • यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई (भिडिओ)

    यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई (भिडिओ)

    काठमाडौं । आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ क्यानले बिदाई गरेको हो । खेलाडीहरू भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

    समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ । दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपका खेलअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ ।

    नेपाली टोली

    पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ ।

  • नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छ: सन्दीप लामिछाने

    नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छ: सन्दीप लामिछाने

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक रहेको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत अम्पायरिङ लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम नचालिएको बताएका हुन् ।

    ‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नुपर्नेछ’, उनले लेखेका छन् ।

    हाल जारी जय ट्रफी एलिट कपमा सहभागी बाग्मती प्रदेश टीमका कप्तान रहेका लामिछानेले खेलको निष्पक्ष विकास र खेलाडीको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

    ‘हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ । खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ । आशा छ, सम्बन्धित निकायले ध्यान दिनु हुनेछ र आवश्यक सुधारको लागि पहल गर्नेछ’, उनले लेखेका छन् ।

  • आईटीएल टी-२० खेल्न दुबई लागे दीपेन्द्र

    आईटीएल टी-२० खेल्न दुबई लागे दीपेन्द्र

    काठमाडौं । आईटीएल टी-२० खेल्न नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी दुबई प्रस्थान गरेका छन् ।

    गल्फ जायन्टमा आवद्ध भएका उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

  • स्पेनिश सुपर कपको फाइनलमा पुग्यो रियल

    स्पेनिश सुपर कपको फाइनलमा पुग्यो रियल

    हेटौंडा । स्पेनिश सुपर कपको सेमिफाइनलमा मालाेर्कालाई पराजित गर्दै रियल म्याड्रिड फाइनलमा प्रवेश गरेको छ । जुड बेलिङ्घम र रोड्रिगोको गोल मद्दतले रियल म्याड्रिडले बिहीबार रियल मालाेर्कालाई ३-० ले हराएको हो ।

    साउदी अरेबियाको जेद्दामा भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६३औं मिनेटमा बेलिङ्घमले गोल गर्दै रियलको खाता खोले ।

    खेलमा दोस्रो गोल भने इन्जुरी समयमा रियललाई उपहारस्वरूप प्राप्त भयो । मालाेर्काको तर्फबाट मार्टिन भालजेन्टले आत्माघाती गोल गरेपछि रियलको अग्रता २-० भएको थियो । त्यसलगत्तै रियलका रोड्रिगोले गोल गरेपछि रियल ३-० ले विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।

    फाइनलमा रियलको भिडन्त बार्सिलोनासँग हुनेछ । स्पेनी सुपर कपको १४ पटकको सर्वाधिक विजेता बार्सिलोना र १३ पटकको विजेता रियलबीचको फाइनल प्रतिस्पर्धालाई ‘एल क्लासिको’को रुपमा समेत हेरिन्छ ।

  • जय ट्रफी : आर्मी र बागमतीबीचको खेल बराबरी

    जय ट्रफी : आर्मी र बागमतीबीचको खेल बराबरी

    काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत त्रिभुवन आर्मी क्लव र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । आज दोस्रो दिनको खेल सकिँदा नतिजा नआएपछि बराबरी भएको हो ।

    पहिलो इनिङमा ब्याटिङ गर्दै आर्मीले ५ विकेट क्षतिमा २७६ रन बनाएको थियो । बागमतीले पहिलो इनिङमा ९ विकेट गुमाउँदा २०० रन बनायो । दोस्रो इनिङमा आर्मीले १२७ रनमा आठ विकेट गुमाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

    जितका लागि बागमतीले दोस्रो इनिङमा २०४ रन बनाउनुपर्ने थियो । तर, २८.४ ओभरमा ५ विकेट गुमाउँदै बागमतीले ८० रन बनाउँदा आजको निर्धारित ओभर समाप्त भयो । बागमतीलाई जितका लागि अझै १२४ रन चाहिएको थियो भने आर्मीलाई ५ विकेट आवश्यक थियो ।

    बागमतीका लागि दोस्रो इनिङमा शुभ कंसाकारले सर्वाधिक ३३ रन बनाए । उनले ६३ बलको सामना गर्दै ४ चौका र एक छक्का प्रहार गरेका थिए । आर्मीका आकाश चन्द र पवन कार्की दुई–दुई विकेट लिए ।

     

  • भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित

    भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित

    काठमाडौं । जय ट्रफी एलिट कपमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशलाई दोस्रो इनिङमा ९४ रनमा अलआउट गर्दै पुलिसले एक इनिङ र ३५ रनको जित निकाल्यो ।

    पुलिसलाई फराकिलो जित दिलाउन कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । आक्रामक ब्याटिङ गर्दै ६८ बलमा ६३ रन जोडेका उनले बलिङतर्फ दुवै इनिङमा गरी ७ विकेट लिएका छन् । मधेशको पहिलो इनिङमा दुई विकेट झारेका कुशललले दोस्रो इनिङमा केवल ४.२ ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

    दोस्रो इनिङमा मधेशका कुनै पनि ब्याटरले पुलिसको बलिङको प्रतिरोध गर्न सकेनन् । विशाल पटेलले सर्वाधिक २७ रन बनाए । ओपनर मयन यादव २२ रन बनाएर आउट भएपछि मधेशको आशा टुटेको थियो ।

    पुलिसका गुल्शन झाले ३ विकेट र ललित राजवंशीले दुई विकेट लिएपछि मधेशले खेलमा कमब्याक गर्न सकेन ।

  • जय ट्रफीः हार टार्न मधेस र बाग्मतीको संघर्ष, आर्मी र पुलिस जितको खोजीमा

    जय ट्रफीः हार टार्न मधेस र बाग्मतीको संघर्ष, आर्मी र पुलिस जितको खोजीमा

    काठमाडौं । जय ट्रफी एलिट कप अन्तरगत आज दोस्रो दिनको खेलमा दुई विभागीय र दुई प्रदेश टिमहरु भिड्दैछन् । विभागीय टिमहरु जितको खोजीमा छन् भने प्रदेश टीमहरु हार टार्ने प्रयासमा ।

    जनकपुरको राम जानकी बहुउद्देश्यिक रंगशालामा त्रिभुवन आर्मी क्लव र बाग्मती प्रदेशको खेल जारी छ । बाग्मतीले २०० रनमा ९ विकेट गुमाउँदा इनिङ समाप्तीको घोषणा गर्यो । जबकि आर्मीभन्दा बाग्मती ७६ रनले पछाडि नै थियो ।

    बाग्मतीका नन्दन यादवले अर्धसतक बनाउँदै टिमलाई धराशयी बन्नबाट जोगाएका थिए । छैटौं नम्बरमा ब्याटिङ गरेका नन्दनले ८० बलमा ५१ रन जोडे । विपिन आचार्य २०, कप्तान सन्दीप लामिछाने १० र प्रतिश जिसी ११ रन बनाएर आउट भएका थिए ।

    त्रिभुवन आर्मीका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । यस्तै, सोमपाल कामी, सहाब आलम र पवन कार्कीले २–२ विकेट बाँडे ।
    आर्मीले दोस्रो इनिङको ब्याटिङ सुरु गरेको छ । लन्च टाइमसम्म आर्मीले कुनै विकेट नगुमाइ २८ रन जोडेको छ । आर्मीका इमरान सेखले ४ रन र त्रितराज दासले १८ रन बनाएर खेलिरहेका छन् । १०५ रनको अग्रता लिइसकेको आर्मीले जितका लागि आजै बाग्मतीलाई दोस्रो इनिङको ब्याटिङमा डाकेर अलआउट पार्नुपर्छ ।

    अर्को खेलमा मधेस प्रदेशविरुद्ध नेपाल पुलिस क्लव हावी भइरहेको छ । पुलिसले ४ विकेट क्षतिमा २५८ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । अहिले मधेसले दोस्रो इनिङमा ब्याटिङ गरिरहेको छ । पुलिसले पहिलो इनिङमा ११९ रनको अग्रता लिएको थियो । त्यसैले अब मधेसलाई सस्तैमा अलआउट गरेर जित निकाल्ने ध्याउन्नमा पुलिस टिम छ ।

    अहिले मधेसका ओपनर मयन यादव र सुशील पटेल क्रिजमा छन् । मधेसको इनिङ धेरै हदसम्म मयनमा निर्भर रहने देखिन्छ । हार टार्नका लागि उनले लामो इनिङ खेल्नुपर्ने छ ।

  • मदन भण्डारी इन्डो-नेपाल पुरुष भलिबल : आज पुलिस र आर्मीबीच फाइनलको भिडन्त

    मदन भण्डारी इन्डो-नेपाल पुरुष भलिबल : आज पुलिस र आर्मीबीच फाइनलको भिडन्त

    रुपन्देही । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टीम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

    सात लाख पुरस्कार राशीको प्रथम पुरस्कारका लागि मंगलवार भएको पहिलो सेमिफाइनलमा पुलिस र बुधवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेका हुन ।

    पहिलो सेमिफाइनलमा पुलिसले गुजरात प्रदेश भलिवल एशोसियसन, भारतलाई र आर्मीले मणिमुकन्द भलिवल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन ।

    छनौट चरणमा समुह ए बाट विजेता बनेर सेमिफाइनल पुगेको पुलिसले समुह वि बाट उपविजेता बनेर सेमिफाइनल पुगेको गुजरातलाई २५–२७, २५–१४, २५–२१ र २७–२५ को सेटमा हराएको थियो ।

    पुलिसले छनौट चरणका आफ्ना सबै खेल जितेको थियो । उसले आयोजक मदन भण्डारी स्र्पोटस एकेडेमी, मणिमुकुन्द भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेको हो । पुलिसले ३ खेलमा ९ सेट जितेको थियो भने २ सेटमा पराजय भोगेको थियो ।

    यता समूह वी बाट विजेता बनेर सेमिफाइनल पुगेको आर्मीले समूह ए बाट उपविजेता बनेर सेमिफाइनल पुगेको मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो । आर्मीले छनौट चरणका आफ्ना सबै खेल जितेको थियो । उसले एपिएफ, गल्कोट भलिवल क्लब र गुजरात प्रदेश भलिबल एशोसियसन भारतलाई हराएका थियो ।

    प्रतियोगितामा सहभागी ३ विभागीय टिममध्ये आर्मी र पुलिसले छनौट चरणका आफ्ना सबै खेल जितेर उपाधिका लागि फाइनल पुगेका छन् भने नेपाल सशस्त्र प्रहरीको टिम छनौट चरणबाटै बाहिरिएको छ । प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको थियो ।

    जसमा समूह एमा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी तथा समूह वीमा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिबल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन भारत रहेका थिए ।

    प्रतियोगिताको विजेताले सात लाख, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु। २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले रु। १० हजार प्राप्त गर्ने छन् ।

    प्रतियोगिता आयोजना हुने बुटवल १० रामनगरस्थित कालिका मानव ज्ञान खेल मैदानमा ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट र कोर्ट निर्माण गरिएको छ । फाइनलसम्म आइपुग्दा ५० हजार दर्शक मैदानमा पुगेर खेल अवलोकन गरेको दावी आयोजकले गरेका छन् । खुल्ला स्थानमा प्रतियोगिता आयोजना गर्दा मौसमका कारण निर्धारित कार्यतालिका अनुसारका खेल सञ्चालन गर्न नसकिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्य बताउँछन् ।

    बिहीबार बिहान गुजरात र मणिमुकुन्दबीच तेस्रो स्थानको खेल हुनेछ भने दिउँसो १ बजे फाइनल खेल हुने आचार्यले बताए । प्रतियोगिता अन्तरतका २ वटा खेल अधिक चिसो र शितलहरका कारण स्थगित नै गर्नुपरेको थियो ।

  • जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा

    जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा

    काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत बुधबारदेखि सुरु दुई छुट्टाछुट्टै खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बलियो अवस्थामा देखिएका छन् ।

    पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ भने मधेस प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ ।

    जारी प्रतियोगिताको तेस्रो खेलमा मधेस प्रदेशले पहिले ब्याटिङ गर्दै ४२ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । उसका लागि मयन यादवले सर्वाधिक ५९ रनको पारी खेले भने अभिशेख तिवारीले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    मधेसलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि गुलशन झाले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट लिए । साथै श्रवण यादव र ललित राजवंशीले एकरएक विकेट लिए ।

    जवाफमा नेपाल पुलिस क्लबले पहिलो दिनको खेल सकिँदासम्म ४० ओभरमा तीन विकेटको क्षतिमा एक सय ७४ रनको योगफल तयार पारेको छ । उसका लागि ओपनरद्वय कुशल भुर्तेल र दिलिप नाथले क्रमशः ६३ र ४० रनको योगदान दिए । साथै गुलशन झाले २० रन बनाए । अमित श्रेष्ठ पहिलो दिन ३४ रनमा अविजित छन् । मधेसका लागि हरिशङ्कर साहले दुई र  अभिशेख तिवारीले एक विकेट लिए । पुलिसले हिजोको खेललाई आज पनि निरन्तरता दिनेछ ।

    साथै बुधबारनै सुरु प्रतियोगिताको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले पूरै ६० ओभर खेलेको छ । पहिलो पारीमा ६० ओभर खेलेपछि पारी समाप्त हुने प्रतियोगिताको नियम छ । आर्मीले पहिलो दिन ६० ओभर खेल्ने क्रममा पाँच विकेटको क्षतिमा दुई सय ७६ रनको बलियो योगफल तयार पारेको छ ।

    आर्मीका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । उनीहरुले क्रमशः ७२ र ५३ रन बनाए ।  साथै तृतराज दासले ४४, भीम सार्कीले ३२ र कुशल मल्लले ३५ रनको योगदान दिए । बागमती प्रदेशका लागि विपीन आचार्यले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

    जवाफी ब्याटिङमा उत्रिएको बागमतीले पहिलो दिनको खेल सकिँदासम्म २२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय २४ रन बनाएको छ । बागमती आर्मीभन्दा अझै एक सय ५२ रनले पछाडि छ । उसका लागि शुभ कङ्शकारले ३४ रन बनाए भने उत्तम मगरले २८ र रित गौतमले २१ रन बनाए ।

    दुवै खेल आज पनि जारी रहनेछन् ।

  • आजदेखि लुम्बिनीमा प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता

    आजदेखि लुम्बिनीमा प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता

    रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ ।

    लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी-२० छनोट प्रतियोगिता हुन लागेको हो ।

    दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिए । उनका अनुसार आज दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ । भोलि बाँके-पाल्पा र नवलपरासी-रूपन्देहीबीच खेल हुनेछ ।

    यसै गरी, पुस २७ गते दाङ र बाँके तथा रुपन्देही र बर्दियाबीच खेल हुने सचिव रोका मगरले जानकारी दिए । उनका अनुसार पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ ।

    प्रतियोगितामा समूह ‘ए’ मा रुपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रङ्गशालामा तयारी तीव्र पारिएको छ ।

    क्रिकेट मैदानको ‘पिच’ मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ । क्यानको क्यालेन्डरअनुसार प्रदेश क्रिकेट सङ्घले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट सङ्घले गर्नेछ ।

    प्रतियोगिताका लागि दाङ क्रिकेट सङ्घले केही दिनअघि सरस्वती जिएमको कप्तानीमा जिल्लाको टोली घोषणा गरेको थियो । छनोट प्रतियोगितापछि लुम्बिनी प्रदेशको टोली घोषणा हुनेछ ।

    प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुँदै छ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपिएफसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगितामा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन् र अङ्क तालिकामा शीर्ष चारमा रहने टोली ‘प्ले अफ’ मा पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्नेछन् ।

    विजेता टोली सिधै फाइनल पुग्नेछ । तेस्रो र चौथो हुने ‘एलिमिनेटर’ खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

  • काराबाओ कपमा लिभरपुललाई झड्का

    काराबाओ कपमा लिभरपुललाई झड्का

    हेटौँडा । इङ्लिस फुटबल लिग (कारबाओ) कपअन्तर्गतको सेमिफाइनलको पहिलो लेगमा इपीएलको लिग लिडर लिभरपुल पराजित भएको छ ।

    टोटनह्याम्पको घरेलु मैदानमा भएको पहिलो सेमिफाइनलमा टोटनह्याम्पले लिभरपुललाई १-० ले पराजित गर्दै फाइनल प्रवेशको लागि आफूलाई बलियो बनाउन सफल बन्यो ।

    टोटनह्याम्पको लागि एक मात्र विजयी गोल लुकासले खेलको ८६ औँ मिनेटमा गरे । अब दोस्रो लेगमा लिभरपुलले घरेलु मैदानमा टोटनह्याम्पसँग खेल्नेछ । उसको लागि फाइनलमा पुग्न अब कम्तीमा २-० को जित निकाल्नुपर्ने हुन्छ ।

  • बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

    बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

    हेटौँडा । एथ्लेटिको क्लब बिल्बाओलाई हराउँदै बर्सिलोना स्पेनिस सुपर कप को फाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले २-० को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

    सुपर कपको फाइनल यात्रा तय गर्नको लागि बार्सिलोनाको लागि यमल र गाभिले गोल गरे । खेलको १७ औँ मिनेटमा गाभिले गोल गर्दै बार्सिनोलानाई १-० को अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० को अग्रतामा रहेको बार्साले दोस्रो हाफको ५७ औँ मिनेटमा यमल मार्फत गोल गर्दै फाइनल प्रवेश गरेको छ ।

    अब उसले मोलोर्का र रियल मेड्रीडबीच हुने सेमिफाइनल विजेतासँग फाइनल भिडन्त गर्नेछ ।

  • जय ट्रफीमा आज: सन्दीप लामिछानेको मिडियम पेस, कुशल भुर्तेल ‘ब्याक टु फर्म’

    जय ट्रफीमा आज: सन्दीप लामिछानेको मिडियम पेस, कुशल भुर्तेल ‘ब्याक टु फर्म’

    काठमाडौं । जय ट्रफी एलिट कपअन्तर्गत आज भएका दुई खेलमा दुई विभागीय टीम हावी भएका छन् । बाग्मती प्रदेशमाथि त्रिभुवन आर्मी क्लबले र मधेश प्रदेशमाथि नेपाल पुलिस क्लबले पहिलो दिन दबदबा बनाएका हुन् ।

    वीरगञ्जको नारायणी क्रिकेट क्लबमा भएको खेलमा पुलिस क्लबले टस जितेर पहिले फिल्डिङ रोज्यो । पुलिसको धारिलो बलिङमा मधेशको ब्याटिङ टिक्न सकेन । मधेशको ब्याटिङ फेरि एक पटक मयन यादवमै निर्भर रहन पुग्यो । उनले ५९ रन बनाउँदै टीमलाई १२९ रनको स्कोरसम्म पुर्‍याउन मद्दत गरे । निरज यादवले २९ रन र अभिषेक तिवारीले अविजित १७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पुलिस क्लबका गुल्शन झा बलिङमा आज चम्किए । मधेश प्रदेशका पाँच जना ब्याटर गुल्शनको मिडियम पेसको शिकार बने । गुल्शनले १३ ओभरमा ४० रन खर्चेर पाँच विकेट लिए । मयन यादवको निर्णायक विकेट उनैले चट्काएका थिए । अघिल्लो खेलमा घातक देखिएका पुलिसका स्पिनर ललित राजवंशीले आज कसिलो बलिङ गरे पनि एक विकेटमात्र लिन सके ।

    जवाफी ब्याटिङमा पुलिस क्लबले सुदृढ सुरुवात गर्‍यो । पहिलो विकेटका लागि दिलीप नाथ र कुशल भुर्तेलबीच ९६ रनको साझेदारी भएको थियो । कुशल ६८ बलमा ६३ रन बनाएर आउट भए भने दिलीप नाथले ७९ बलमा ४० रन जोडे ।

    चौथो नम्बरमा ब्याटिङ गर्न आएका गुल्शन झाले छोटो केमियो इनिङ खेल्दै २० रन बनाए । केवल १४ बलको सामना गरेका उनले ३ छक्का प्रहार गरेका थिए । पुलिसका अमित श्रेष्ठ ३४ रन र कप्तान आरिफ शेख २४ रनमा अविजित रहेका छन् । र, भोलि बिहान यही स्कोरबाट टीमलाई अगाडि बढाउनेछन् ।

    राष्ट्रिय खेलाडीहरुले भरिपूर्ण पुलिसको ब्याटिङविरुद्ध मधेशको बलिङ फितलो सावित भयो । कप्तान हरिशंकर साहबाहेक अरुले खासै प्रभाव छोड्न सकेनन् । हरिशंकरले ९ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए ।

    जनकपुरको राम जानकी बहुउद्देश्यीय रंगशालामा भएको अर्को खेलमा बाग्मतीले टस जितेर पहिले फिल्डिङ नै रोज्यो । आर्मीले बाग्मतीको शक्तिशाली बलिङविरुद्ध सुदृढ सुरुवात गरेको थियो । आर्मीका इमरान सेख र त्रितराज दासले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए ।

    प्रतियोगितमा कुनै पनि विकेटका लागि भएको यो पहिलो शतकीय साझेदारी हो । इमरान ७३ रन र त्रितराज ४४ रन बनाएर आउट भएका छन् ।

    एक विकेट गुमाउँदा १५७ रनको मबजुत स्थितिमा पुगेको थियो आर्मी । तेस्रो नम्बरमा आएका भीम सार्कीले ३२ रनको योगदान दिए । विनोद भण्डारी र सोमपाल कामी छिट्टै आउट हुँदा आर्मी २०७ रनमा पाँच विकेटमा खस्कियो, तर त्यसपछि फेरि बसिर अहमद र कुशल मल्लबीच मजबुत साझेदारी भयो । उनीहरुले टीमलाई २७६ रनमा पुर्‍याएपछि आर्मीले इनिङ समाप्तिको घोषणा गरेको थियो ।

    जवाफी ब्याटिङमा बाग्मतीले औसत सुरुवात गर्‍यो । ओपनिङ जोडी रित गौतम र आशुतोष घिरैयाबीच ४.१ ओभरमा ३२ रनको साझेदारी भयो, तर त्यसपछि भटाभट विकेट खस्न थाल्यो । दिनको समाप्तिमा बाग्मतीले ५ विकेट क्षतिमा १२२ रन जोडेको छ ।

    भोलि सुचारु हुने दुवै खेलमा विभागीय टीमहरु जितको खोजीमा हुनेछन् । बाग्मती र मधेश हार टार्न प्रयासरत रहनेछन् । दुई दिनको मात्रै खेल भएकाले नतिजा निकाल्न सजिलो भने छैन ।

    कुशल भुर्तेलको फर्म फिर्ता

    पुलिस क्लबका लागि खुशीको खबर भनेको ओपनिङ ब्याटर कुशल भुर्तेल आफ्नो लयमा फर्किनु हो । यसअघि नेपाल प्रिमियर लिग (एनपीएल)मा खराब प्रदर्शनको कारण उनको क्षमतामाथि नै प्रश्न उठ्न थालेको थियो, तर आज उनले खराब फर्मबाट बाहिर निस्किएर शानदार ब्याटिङ गरे ।

    कुशलले ६८ बलमा ६३ रन बटुल्दा १० वटा सुन्दर चौका प्रहार गरेका थिए । कुशलको इनिङमा कहिले पनि महसुस भएन कि उनी आउट अफ फर्म छन् । धैर्य अपनाउने नाममा उनी अधिक डिफेन्सिभ भएनन् । बलको मेरिटअनुसार व्यवहार गरे । यद्यपि उनी अझै लामो इनिङ खेल्न चाहन्थे । फ्यानहरुले उनको शतक हेर्न चाहेका थिए । त्यो चाहिँ पूरा भएन ।

    कुशलको ब्याटिङ फर्म नेपाली राष्ट्रिय टीमका लागि पनि सुखद समाचार हो । उनी टीमका एक महत्वपूर्ण सदस्य हुन् । सुरुमै आक्रामक सटहरु खेलेर टीमलाई राम्रो सुरुवात गराउने क्षमता राख्छन्, तर उनको प्रदर्शनमा एकरुपता नहुने समस्या छ ।
    धेरै पटक खराब सट खेलेर आउट हुने गर्छन् ।

    अहिले प्रतिभावान युवा ब्याटरहरुको उदय भइरहेको अवस्थामा कुशलको राष्ट्रिय टीममा स्थान खोसिने हो कि भन्ने चिन्ता उनका समर्थकहरुलाई छ । आजको प्रदर्शनबाट कुशलका फ्यानहरुले अलिकति सन्तोषको सास फेरेका छन् ।

    सन्दीप लामिछानेको मिडियम पेस

    त्रिभुवन आर्मी र बाग्मती प्रदेशबीचको खेलमा एउटा दुर्लभ दृश्य देखियो । ११औं ओभरमा जब बाग्मतीका कप्तान सन्दीप लामिछानेले बलिङ सुरु गरे, दर्शकदेखि कमेन्टेटरसम्म अचम्ममा परे ।

    सन्दीप बलिङमा उत्रिनु अचम्म पक्कै थिएन, तर जब उनले विकेटकिपरलाई पछाडि धकेलेर लामो रनअप लिए, त्यो चाहिँ अनौठो थियो । स्पिनरले विकेटकिपरलाई स्टम्पको नजिकै राख्ने गर्छन् र बलिङमा लामो रनअप लिँदैनन्, तर सन्दीपले स्पिन होइन, भटाभट मिडियम पेस बल फ्याँकिरहेका थिए । हो, सम्भवतः पहिलो पटक उनले यसरी मिडियम पेस बलिङ गरेको देखियो ।

    सन्दीपले लगातार पाँच ओभरसम्म मिडियम पेसमा बल फ्याँके । उनको बलिङ अनुशासित नै थियो, तर स्पिनर जस्तो धारिलो भने थिएन । उनको टीममा फास्ट बलरको कमी छैन । प्रतिश जिसी, रिजन ढकाल र नन्दन यादव जस्ता स्तरीय फास्ट बलर सन्दीपसँग छन् । उनीहरु तीनै जनालाई सन्दीपले बल दिइसकेका थिए, तर विकेट आएको थिएन । अन्ततः उनी आफैं फास्ट बलिङमा उत्रिए ।

    सन्दीपले किन फास्ट बलिङ गरे त ? कमेन्टेटरहरुको अनुमानमा मैदानमा धेरै हावा चलिरहेको हुँदा त्यसको फाइदा उठाउन खोजेका हुन सक्छन् । उनले फास्ट बलिङमा धेरै प्रयोग गरेनन् । लगातार लेग स्टम्पमा बल फ्याकेर ब्याटरलाई एलबीडब्ल्यू धरापमा पार्ने कोसिस गरे । दुईऔतीन पटक एलबीडब्ल्यूको कडा अपिल पनि गरे, तर अम्पायरले दिएनन् ।

    सन्दीप फास्ट बलमै विकेट लिएर आफूलाई प्रुफ गर्न चाहन्थे, तर त्यसमा सफल भएनन् । उनले अन्ततः आफ्नो छैटौं ओभरमा लेग स्पिनमा फर्किए र तत्कालै ब्रेक थ्रु पनि मिल्यो ।

    सन्दीपको आजको प्रदर्शन चित्तबुझ्दो भने भएन । उनले २२ ओभर बलिङ गर्दा २ विकेटमात्र लिन सके । अघिल्लो म्याचमा उनले प्रत्येक इनिङमा ५-५ विकेट लिएका थिए । कप्तानीमा पनि केही स्वार्थिपना देखाउँदै सन्दीपले आज आफूलाई नै अत्यधिक बलिङ गराए । फास्ट बलरहरुलाई उनले पर्याप्त बल नै दिएनन् । कसिलो बलिङ गरिरहेका रिजन ढकालले ५ ओभर मात्रै फ्याक्न पाए । प्रतिश जिसीको भागमा ४ ओभर र नन्दन यादवको भागमा ९ ओभर पर्‍यो । स्पिनर विपीन आचार्यले १३ ओभर बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए ।

  • नेपालका ६ जना खेलाडी पीएसएलको ड्राफ्टमा

    नेपालका ६ जना खेलाडी पीएसएलको ड्राफ्टमा

    काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका पाँच क्रिकेटर समेटिएका छन् । विदेशी खेलाडी अन्तर्गत सिल्भर क्याटेगोरीमा उनीहरु समावेश गरिएका हुन् ।

    ड्राफ्टमा पर्नेमा विकेट किपर ब्याटरद्वय आसिफ शेख र अर्जुन साउद, टप अर्डर ब्याटर देव खनाल तथा अलराउन्डरहरु दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

    सिल्भर क्याटेगोरीमा खेलाडीको न्यूनतम मूल्य २५ हजार डलर रहेको छ । ड्राफ्टमा रहेका खेलाडीहरुमध्येबाट फ्रेन्चाइज टिमहरुले खरिद गर्न सक्नेछन् । खेलाडी छनोट १३ जनवरीमा हुने बताइएको छ ।

     

  • मदन भण्डारी गोल्डकप इन्डो-नेपाल भलिबल : फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी

    मदन भण्डारी गोल्डकप इन्डो-नेपाल भलिबल : फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी

    रुपन्देही । मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

    बुटवलमा जारी मंगलवार भएको पहिलो सेमिफाइनलमा पुलिस र बुधवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै फाइनलमा एकअर्कासँग भेट पक्का गरेका हुन् । आज आर्मीले सेमिफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो ।

    पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई हराउँदै फाइनलमा पुगेको थियो । पुलिसले २५–२७, २५–१४, २५–२१ र २७–२५ को जित निकालेको थियो। आज नै गुजरात र मणिमुकुन्दबीच तेस्रो स्थानको खेल हुनेछ ।

    प्रतियोगिताको विजेताले ७ लाख, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

  • भेटिए नयाँ ओपनर !

    भेटिए नयाँ ओपनर !

    काठमाडौं । जारी जय ट्रफी एलिट कपमा मधेश प्रदेशका ओपनिङ ब्याट्सम्यान मयन यादवले बलियो प्रभाव छोडिरहेका छन् । पहिलो खेलको दोस्रो इनिङमा बाग्मती प्रदेशविरुद्ध शानदार शतक हानेका उनले दोस्रो खेलको पहिलो इनिङमा अर्धसतक बनाउँदै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए ।

    बलियो नेपाल पुलिस टीमविरुद्ध मयनले संयमित र सुझबुझपूर्ण ब्याटिङ गर्दै १०२ बलमा ५९ रन बनाएर आउट भएका थिए । तर, अन्य ब्याटरहरु चल्न नसक्दा मधेशले उल्लेख्य स्कोर बनाउन सकेन । टिम १२९ रनमै समेटियो । हारबाट जोगिनका लागि दोस्रो इनिङमा टिमले ब्याटिङमा गतिलो कमब्याक गर्न सक्नुपर्ने छ ।

    मयनले लगातार तेस्रो इनिङमा टिमका लागि सर्वाधिक व्यक्तिगत स्कोर बनाएका हुन् । बाग्मतीविरुद्ध पहिलो खेलको पहिलो इनिङमा उनले २६ बलमा २१ रन जोडेका थिए । मधेशको ब्याटिङ पूर्णरुपमा फ्लप हुँदा टिमले १०२ रन मात्रै जोड्न सकेको थियो । बाग्मतीले १५० रनाउँदै ४९ रनको अग्रतासहित जितको आधार बनाएको थियो ।

    तर, दोस्रो इनिङमा बाग्मतीका बाधक बने मयन । प्रतियोगितामै सबैभन्दा बलियो बलिङ युनिट रहेको बाग्मतीविरुद्ध चुनौतिपूर्ण कन्डिसनमा उनले शतकीय पारी खेल्दै आफ्नो टीमको उद्धार गरेका थिए । राष्ट्रिय टोलीका थुप्रै स्टार ब्याट्सम्यानहरूको उपस्थिति रहेको प्रतियोगितामा पहिलो शतक यी १८ वर्षिय किशोरको ब्याटबाट निस्कियो ।

    मंयकले १०८ बलमा १०६ रन बनाएर आउट भएका थिए, जसमा १२ चौका र २ छक्का समावेश छन् । उनी दुवै इनिङमा बाग्मतीका कप्तान सन्दीप लामिछानेको शिकार भए । तर, दोस्रो इनिङमा मयंकले जसरी सन्दीपको लेग स्पिनलाई खेले, त्यसमा उनले गर्व गर्न सक्नेछन् । ठूलो नाम भएका स्पिनरविरुद्ध ठूला सटहरु हान्न मयनले कुनै संकोच मानेनन् ।

    यो इनिङले मयनलाई नेपालकै एक उदियमान ब्याट्सम्यानको परिचय दिएको छ । उनलाई नेपाली राष्ट्रिय टीमकै सम्भावित ओपनरका रुपमा समेत हेर्न थालिएको छ । एउटा ओपनिङ ब्याटरमा हुनुपर्ने थुप्रै विशेषताहरु मयंकले देखाएका छन् ।

    मयनको यो शतक भाग्यवस वा कागतालीमा आएको थिएन । बागमतीको सुदृढ बलिङ युनिट, जसमा कप्तान सन्दिपसहित हालै एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका तीन फास्ट बलर नन्दन यादव, प्रतिश जिसी र रिजन ढकाल समेत रहेका छन्, विरुद्ध उनले जसरी ब्याट चलाए, त्यसले पक्कै पनि राष्ट्रिय टिमका चयनकर्ताहरूको मुख रसाएको हुनुपर्छ ।

    यदि यो शतक मयनको क्षमता पुष्टि गर्न पर्याप्त थिएन भने आज उनले त्यसको पुनःपुष्टि गरेका छन् । पुलिस क्लबविरुद्ध उनले जुझारु ब्याटिङ गर्दै ५९ रन जोडे, जसको ठूलो मूल्य छ । राष्ट्रिय खेलाडीहरुले भरिएको पुलिस विरुद्ध मधेश पक्कै पनि कमजोर स्थितिमा छ, तर मयनको प्रदर्शनले मधेशका समर्थकहरु हौसियका छन् । दोस्रो इनिङमा फेरि पनि उनको ब्याट चलेमा, मधेशमा जित्न त नसक्ला, तर हार पन्छाउन अवश्य सक्छ ।

    मयनले आफ्नो प्रतिभाको छनक गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा पनि दिएका थिए । उक्त प्रतियोगितमा मधेश टिमबाट सुदुरपश्चिमविरुद्ध शतक बनाउँदै घरेलु क्रिकेटमा आफ्नो इन्ट्रीको उद्घोष गरेका थिए उनले । सो प्रदर्शनले उनलाई राष्ट्रिय यु १९ टीममा स्थान दिलायो । गत डिसेम्बरमा भएको अन्डर १९ एसिया कपमा उनले नेपाली टीमको ओपनरको जिम्मेवारी पाए ।

    पहिलो खेलमा टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध मयनले ९१ बलमा ६२ रन बनाए । मयन क्रिजमा हुँदासम्म नेपाल श्रीलंकालाई स्तब्ध बनाउन सक्ने अवस्थामा थियो । तर उनी आउट भएसँगै श्रीलंका खेलमा हावी भयो । बंगलादेश र अफगानिस्तानविरुद्ध भने मयंकको ब्याट चलेन ।

    हालै आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा मयनले जनकपुर बोल्ट्सबाट खेलेका थिए । सो प्रतियोगिताको अक्सनमा उनी अनसोल्ड रहे । तर प्रतियोगिताकै क्रममा एक स्थानीय खेलाडी घाइते भएपछि जनकपुर बोल्ट्सले मयनलाई अनुबन्धित गरेको थियो । उनले जनकपुरका पछिल्ला दुई खेल मात्रै खेल्न पाए । यद्यपि, दुवै खेल सर्वाधिक महत्वपूर्ण थिए ।

    एनपीएलको दोस्रो क्वालिफायरमा कर्णाली एक्सविरुद्ध मयनले पहिलो मौका पाए । सो म्याचमा उनलाई सातौं नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो । भाग्यवस मयनले जिमी निसमसँगै ब्याटिङ पाए । ११९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले ५८ रनमा पाँच विकेट गुमाएको संवेदनशील स्थितिमा मयन ब्याटिङमा उत्रिएका थिए । सो खेलमा उनले १८ बलमा १४ रन बनाएर अन्तिम ओभरमा रनआउट भए । उनले बनाएको रन धेरै नभए पनि खेलको स्थितिमा जनकपुरलाई जिताउन निकै महत्वपूर्ण सावित भएको थियो ।

    सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनलमा पनि मयन प्लेइङ ११ मा अटाए । सो म्याचमा उनी क्रिजमा आउँदासम्म जनकपुर जितको सन्निकट पुगिसकेको थियो । भाग्यवस विजयी रन हान्ने मौका मयनलाई प्राप्त भयो ।

    एनपीएलमा दुई मात्र म्याच खेल्न पाएका मयनले आफ्नो वास्तविक क्षमता जय ट्रफीमा देखाउन पाएका हुन् । एनपीएलजस्तो हाइप नभए पनि यो प्रतियोगिता उनीजस्ता उदियमान प्रतिभाहरुका लागि निकै महत्वपूर्ण छ । एक वा दुई खेलमा राम्रो प्रदर्शन गरेकै आधारमा उनी राष्ट्रिय टीममा परिहाल्न नसक्लान् । तर, राष्ट्रिय टीम चयनकर्ताहरुले भविष्यका सम्भावित ओपनरका रुपमा उनलाई अवश्य पनि सोच्ने छन् ।

    अहिले ओपनिङ गर्दै आएका कुशल भुर्तेल, आसिफ शेख र अनिल साहमध्ये कुनै पनि खेलाडीको सबैभन्दा पहिलो विकल्पका रूपमा मयनले आफूलाई उभ्याएका छन् भन्दा फरक नपर्ला । १८ वर्षिय मयनसँग आफूलाई निखार्नका लागि प्रशस्त समय पनि छ ।

  • मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधवार बसेको बैठकले छलफलपछि मूलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितता गर्न निर्देशन दिएको हो ।

    युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरे लगत्तै यस्तो निर्देशन दिएको समितिले जनाएको छ ।

    सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुने गरी मूलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने समावेश गरेको थियो ।

  • एलिट कप: पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, गुल्शनले लिए ५ विकेट

    एलिट कप: पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, गुल्शनले लिए ५ विकेट

    काठमाडौं । जय ट्रफी एलिट कप अन्तरगत जारी खेलमा नेपाल पुलिस क्लबविरुद्ध मधेश प्रदेश पहिलो इनिङमा १२९ रनमा समेटिएको छ ।

    पुलिसका गुल्शन झाले ५ विकेट लिएपछि मधेश सस्तोमा समेटिएको हो ।

    मधेसका ओपनर मयन यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए पनि अन्य ब्याटरहरु चल्न सकेनन् ।

    मयनले १०२ बलमा २ छक्का र ५ चौकासहित ५९ रन जोडेर आउट भए । नीरज यादवले २९ र अभिषेक शर्माले अविजित १७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

    गुल्शनले १३ ओभरमा ४० रन खर्चिएर ५ विकेट लिए । दुई विकेट कुशल भुर्तेलको नाममा रह्यो भने ललित राजवंशी र श्रवण यादवले एक–एक विकेट बाँडे । ललितले १५।४ ओभर बलिङ गर्दा २२ रन मात्रै खर्चिए ।

  • एलिट कप : मधेश र आर्मीले पहिला ब्याटिङ गर्दै

    एलिट कप : मधेश र आर्मीले पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जनकपुर र पर्सामा जारी जय ट्रफ पुरुष एलिट कप क्रिकेटअन्तर्गत आजबाट दुई खेल सुरु भइराखेको छ ।

    पर्सामा मधेश प्रदेशविरुद्ध नेपाल पुलिस क्लबले टस जितेर पहिलो फिल्डिङ गर्दैछ । मधेशको कप्तानी हरिशंकर शाह र पुलिसको कप्तानी आरिफ शेखले गरिरहेका छन् ।

    जनकपुरमा त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् ।

    यसअघि भएका खेलमा सबै टोलीले ‘ड्र’ खेलेका थिए । ४ टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

  • कारबाओ कपको पहिलो सेमिफाइनलमा आर्सनल पराजित

    कारबाओ कपको पहिलो सेमिफाइनलमा आर्सनल पराजित

    हेटौँडा । इङ्लिस फुटबल लिग (कारबाओ) कपअन्तर्गतको सेमिफाइनलको पहिलो लेगमा आर्सनल पराजित भएको छ ।

    घरेलु मैदानमा आर्सनललाई न्युक्यासल युनाइटेडसँग २-० ले पराजित गरेपछि अब फाइनल पुग्न आर्सनललाई कठिन संघर्ष गर्नुपर्ने देखिएको छ ।

    इमिरेट्स रंगशालामा भएको खेलमा न्युक्यासललाई जित दिलाउन एलेक्सजेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे ।

    युनाईटेडको लागि खेलको ३७औँ मिनेटमा इसाकले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए ।

    खेलको ५७औँ मिनेटमा गोर्डनले गोल गर्दै न्युक्यासललाई जित दिलाए । अब दोस्रो लेग न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा फेब्रुअरी ५ मा हुनेछ ।

  • मदन भण्डारी गोल्डकप इन्डो-नेपाल भलिबल : नेपाल पुलिस पुग्यो फाइनलमा, शीतलहरले अर्को खेल स्थगित

    मदन भण्डारी गोल्डकप इन्डो-नेपाल भलिबल : नेपाल पुलिस पुग्यो फाइनलमा, शीतलहरले अर्को खेल स्थगित

    रुपन्देही । विभागीय टीम नेपाल पुलिस क्लब भारतको गुजरात प्रदेश भलिबल एसोसियसनसँग संघर्षपूर्ण जित निकाल्दै बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा यात्रा तय गरेको छ ।

    पुलिसले गुजरातलाई ३–१ को सेटमा हराएको हो । मंगलवार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई संघर्षपूर्ण खेलमा हराउँदै फाइनलमा पुगेको हो । पुलिसले पहिलो सेटमा २५–२७ ले गुमाएपनि दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो ।

    त्यसपछिको २ सेट पनि पुलिसले २५–२१ र चौथो सेट २७(२५ मा जित्दै अन्तिममा पुगेको हो । पुलिसले आजै हुने त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबकाबीचको विजेतासंग अर्को फाइनल खेल्ने तालिका भएपनि चिसो र शितलहरका कारण आर्मी र मणिमुकुन्दवीच दोस्रो सेमिफाइनल खेल हुन सकेन ।

    प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

  • अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे पुरस्कार वितरण

    अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे पुरस्कार वितरण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बीच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

    युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को गत मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।

    गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको २०औं एसियाली कराँते च्याप्यियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ ।

    यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो ।

    खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उनीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गरे । खेलमा टीम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने उनले बताए । नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने आग्रह गर्दै त्यसका लागि लाग्न प्रधानमन्त्रीको आग्रह थियो ।

    युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिए ।

  • कोपा डेल रे : रियल अन्तिम १६ मा

    कोपा डेल रे : रियल अन्तिम १६ मा

    हेटौँडा । चौथो डिभिजनको क्लब डिपोर्टिभा मिनेरालाई ५-० ले हराउँदै रियाल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    मिनेराको घरेलु मैदान कार्टागोनोभा रंगशालामा भएको खेलमा रियालको तर्फबाट आर्दा गुलेरले दुई तथा फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान एक गोल गरे ।

    खेलको पाँचौँ मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई पहिलो अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटपछि कामाभिंगाले टोलीको अग्रता दोब्बर बनाए ।

    त्यसपछि रियलको लागि खेलको२८औँ मिनेटमा गुलेरले गोल गर्दै टिमलाई थप बलियो बनाउन सफल भए ।

    ५५औँ मिनेटमा मोड्रिचले गोल गरेपछि रियल ४-० को अग्रतामा पुगिसकेको थियो तर खेलको ८८ औँ मिनेटमा गुरेलले पुनः गोल गर्दै रियलको जित थप विशाल बनाए ।

  • एसी मिलानले जित्यो इटालियन सुपर कप

    एसी मिलानले जित्यो इटालियन सुपर कप

    हेटौँडा । पछि परिसकेको अवस्थामा पुनरागमन गर्दै एसी मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।

    एसी मिलानले आफ्नो चिरपरिचित प्रतिस्पर्धी इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै सुपर कपको उपाधिमा कब्जा जमाएको ओ ।

    साउदी अरेबियाको अल अवाल पार्कामा भएको खेलको सुरुवाती अग्रता भने इन्टरले लिएको थियो ।

    इन्टरको तर्फबाट लौटारा मार्टिनेजले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टिमको समर्थकलाई खुसी तुल्याएका थिए ।

    इन्टरले दोस्रो हाफको दोस्रो मिनेटमा नै मेहेदी तारेमीले गोल गर्दै टिमलाई २-० मा लगे ।

    त्यसयता भने खेलमा एसी मिलान फर्कियो । उसले ५२ औँ मिनेटमा हर्नान्डेजको गोल मार्फत अग्रतालाई कम गरेको थियो ।

    खेलको ८० औँ मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गरेपछि दुवै मिलानहरू बराबरीमा पुगे ।

    नियमित समयसम्म बराबरीको अवस्थामा रहेको खेलको इन्जुरी समयको तेस्रो मिनेटमा एसी मिलानका टमी अब्राहमले गोल गरेपछि एसी मिलानले इटालियन सुपर कपको आठौँ उपाधि जितेको हो ।

  • प्रधानमन्त्री कप महिला क्रिकेटको खेल तालिका सार्वजनिक

    प्रधानमन्त्री कप महिला क्रिकेटको खेल तालिका सार्वजनिक

    काठमाडौं । माघ १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगितामा ७ प्रदेशसहित दुई विभागीय त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बल (एपिएफ) सहभागिता जनाएका छन् ।

    सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ग्रुप १ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । ग्रुप २ मा कोशी, बागमती, मधेश प्रदेश र आर्मी छन् । पहिलो खेल माघ १ गते सुदुरपश्चिम र गण्डकी प्रदेशबिच हुनेछ ।

    सोही दिन दोस्रो खेल कर्णाली र एपिएफबिच प्रतिष्पर्धा हुनेछ । ग्रुपको शीर्ष दुई टोलीले सुपर ४ खेल्नेछन् । सुपर ४ को शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइलन खेल माघ १२ गते हुनेछ ।

  • यजुबेन्द्र चहलको वैवाहिक जीवन भड्खालोमा, अर्कै युवकको अंगालोमा भेटिइन् धनश्री

    यजुबेन्द्र चहलको वैवाहिक जीवन भड्खालोमा, अर्कै युवकको अंगालोमा भेटिइन् धनश्री

    काठमाडौं । भारतीय क्रिकेटर यजुबेन्द्र चहलको वैवाहिक जीवन संकटमा परेको छ । कोरियोग्राफर पत्नी धनश्री बर्मासँग उनको चाँडै डिभोर्स हुनसक्ने वा भइसकेको अड्कलवाजीहरु हुन थालेका छन् । यो जोडीको दाम्पत्य सम्बन्ध सुखद नरहेको चर्चा करिब दुई वर्ष अगाडिबाटै भइरहेको थियो ।

    सन् २०२२ मा धनश्रीले सोसल मिडिया अकाउन्टमा आफ्नो नामबाट ‘चहल’ हटाइदिएपछि उनीहरुबीच सबै ठीकठाक नरहेको संकेत मिलेको हो । अहिले आएर दुवैले इन्स्टाग्रामबाट एक–अर्कालाई अनफलो गरिदिएका छन् ।

    यति मात्र होइन । चहलले आफ्नो इन्स्टा अकाउन्टबाट धनश्रीसँगका सबै तस्विर र भिडिओहरु समेत हटाएका छन् । धनश्रीले भने विवाह र ईंगेजमेन्टका तस्विरहरु हटाएकी छैनन् । केही भारतीय मिडियाले धनश्री र चहल तीन महिनादेखि अलग–अलग बसिरहेको समाचार प्रकाशित गरेका छन् ।

    चहल र धनश्रीको भेट कोरोनाकालमा भएको थियो, जतिबेला चहल धनश्रीसँग डान्स सिक्न पुगेका थिए । डान्स सिक्ने र सिकाउने क्रममा उनीहरु प्रेममा परे । सन् २०२० मा उनीहरुको विहे भयो । तर, चाँडै नै सम्बन्धमा दरार आयो ।

    धनश्री अर्का भारतीय क्रिकेटर श्रेयस ऐयरसित नजिकिएपछि श्रीमानसँग सम्बन्ध बिग्रेको बताउने गरिन्छ । धनश्री र श्रेयसले सँगै डान्स गरेको भिडिओ भाइरल भएको थियो । खासमा श्रेयसकी बहिनी र धनश्री मिल्ने साथी थिए । बहिनीमार्फत नै श्रेयस धनश्रीसँग नजिकिए । उनीहरु धेरै ठाउँमा सँगै भेटिए तर अफेयरमा रहेको पुष्टि भने भएन ।

    यद्यपि, अहिले भने धनश्रीको नाम अर्कै युवकसित जोडिएको छ । ती युवक हुन् कोरियोग्राफर प्रतिक उतेकर । धनश्री र प्रतिकको एउटा तस्विर अहिले व्यापकरुपमा भाइरल भइरहेको छ । तस्विरमा प्रतिकले धनश्रीलाई कसिलो अंगालोमा बेरेका छन् र धनश्री रोमाञ्चित देखिएकी छन् । टिभी लियालिटी शो ‘झलक दिखलाजा’ को एउटा पार्टीमा उनीहरु यसरी एक–अर्कासँग लपेटिएका थिए ।

    धनश्री र प्रतिकबीच कस्तो सम्वन्ध हो भन्ने खुलेको छैन । तर, यही तस्विरका आधारमा उनीहरु अफेयरमा रहेको अड्कल गर्न थालिएको छ । चहलका फ्यानहरुले धनश्रीलाई निकै गालीगलौज गरिरहेका छन् ।

    चहलसँग विहे गरेर नाम कमाएपछि उनलाई लात हानेर हिँडेको आरोप धनश्रीमाथि लगाइएको छ । थुप्रै मानिसहरुले चहल र धनश्री मिल्ने जोडी नै नभएको र उनीहरुको डिभोर्स अवश्यम्भावि भएको दावी पहिल्यैदेखि गरिरहेका थिए ।

  • एलिट कप : पहिलो खेलपछि बागमती शीर्ष स्थानमा, कुन टीमले कति अंक जोडे ?

    एलिट कप : पहिलो खेलपछि बागमती शीर्ष स्थानमा, कुन टीमले कति अंक जोडे ?

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना आइतबारबाट सुरु भएको जय ट्रफि पुरुष एलिट कप क्रिकेटअन्तर्गत पहिला दुवै खेल ड्र भएको छ ।

    जनकपुर र पर्सामा भएको नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल ‘ड्र’ मा सकिएको हो ।

    पहिला दुवै खेल ‘ड्र’ मा सकिँदा बागमती प्रदेश शीर्ष स्थानमा छ । बागमतीले १५ अंक जोडेको छ । बागमतीले दुई पारीमा २४७ रन जोड्दा मधेशको १९ विकेट झारेको थियो ।

    समान १५ अंकसहित मधेश प्रदेश दोस्रो र नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ । मधेशले ३१३ रन जोड्दा बागमतीको १६ विकेट झार्न सफल भयो ।

    पुलिसले आर्मीविरुद्ध २१३ रन जोड्दा २० विकेट हार पा¥यो । १४ अंकसहित त्रिभुवन आर्मी क्लब चौथो स्थानमा छ । अंक तालिकाको पुछारमा रहेको आमीले दुई पारीमा २९६ रन जोड्दा १५ विकेट झार्यो ।

    अब बुधबार र बिहीबार पर्सामा नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा जनकपुरमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबिच प्रतिष्पर्धा हुनेछ ।

  • एलिट कपः सुरुआती दुवै खेल ‘ड्र’

    एलिट कपः सुरुआती दुवै खेल ‘ड्र’

    काठमाडौं । जय ट्रफी पुरुष एलिट कप क्रिकेटअन्तर्गत पहिला दुवै खेल ड्र भएको छ । जनकपुर र पर्सामा भएको दुवै खेल नतिजाविहीन भएका हुन् ।

    पर्सामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले निर्धारित समयमा ४२ ओभरको खेल खेलेर ५ विकेट गुमाएर ८८ रनमात्र बनाएपछि खेल नतिजा बिहीन हुन पुग्यो । पुलिसका अमित श्रेष्ठले सर्वाधिक ३६ रन जोडे ।

    आर्मीले पहिलो पारीमा १२१ र दोस्रो पारीमा १७५ रन बनाएको थियो । पुलिसले पहिलो पारीमा १२५ रन बनाएको थियो ।

    अर्को खेलमा मधेश प्रदेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित समयमा २० ओभर खेल्दै ६ विकेट गुमाएर ९७ रन जोड्यो । बागमतीका ओपनर रित गौतमले सर्वाधिक २५ रन बनाए ।

    पहिलो पारीमा १०२ रनमा रोकिएको मधेशले दोस्रो पारीमा २११ रन बनाएको थियो । मधेशका मायन यादवले शतक प्रहार गरेका थिए । पहिलो पारीमा बागमती १५० रन बनाएको थियो ।

    अब बुधबार र बिहीबार पर्सामा नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा जनकपुरमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

  • लयमा सन्दीप : मधेशविरुद्ध दोस्रो इनिङमा पनि खसाले ५ विकेट

    लयमा सन्दीप : मधेशविरुद्ध दोस्रो इनिङमा पनि खसाले ५ विकेट

    काठमाडौं । जय ट्रफीमा बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले लगातार इनिङमा पाँच विकेट लिएका छन् । मधेश प्रदेशविरुद्ध पहिलो इनिङमा पाँच विकेट लिएका सन्दीपले दोस्रोमा पाँच विकेट थपेर आफ्नो विकेट संख्या १० पुर्याए ।

    सन्दीपको घातक बलिङमा मधेश प्रदेश पहिलो इनिङमा १०२ रनमै समेटिएको थियो । दोस्रोमा भने मधेशका ओपनर मयन यादवले विष्फोटक सतक बनाउँदै टिमलाई खेलमा फर्काए । अर्कोतिर बाग्मतीका कप्तान लामिछाने पनि उच्च लयमा देखिएका छन् । यो खेल मयन भर्सेस लामिछानेजस्तो बनेको छ ।

    दोस्रो इनिङमा लामिछानेविरुद्ध मयनले निकै आक्रामक अन्दाजमा ब्याटिङ गरे । निर्भिकरुपमा उनले लामिछानेको बलमा चौका र छक्का वर्षाएका थिए । अन्तमा उनी लामिछानेकै शिकार बने ।

    लामिछानेले १४ ओभर बलिङ गर्दा ७६ रन खर्चेर पाँच विकेट पूरा गरेका छन् । उनलाई अधिकांस रन मयनले नै हानेका थिए । यो समाचार लेख्दासम्म मधेसले १९६ रन बनाउँदा ७ विकेट गुमाएको छ । बाग्मतीविरुद्ध मधेसले १४८ रनको अग्रता लिइसकेको छ ।

     

  • जय ट्रफीमा मयन यादवले बनाए पहिलो शतक, बागमतीविरुद्ध मधेशको शानदार कमब्याक

    जय ट्रफीमा मयन यादवले बनाए पहिलो शतक, बागमतीविरुद्ध मधेशको शानदार कमब्याक

    काठमाडौं । हिजो सुरु भएको दुई दिवसीय जय ट्रफीमा पहिलो शतक मधेश प्रदेशका ओपनर मयन यादवले बनाएका छन् ।

    बागमती प्रदेशविरुद्ध विष्फोटक व्याटिङ गर्दै उनले १०२ बलमै शतक पूरा गरे ।

    मधेशको दोस्रो इनिङमा मयनले शतक हानेका हुन् । पहिलो इनिङमा मधेश १०२ रनमै अलआउट भएको थियो । बागमतीले पहिलो इनिङमा १५० रन जोड्दै ४८ रनको अग्रता लिएको थियो ।

    तर, दोस्रो इनिङमा मधेसशले शानदार कमब्याक गरेको छ ।

    मयनले १०८ बलमा १०६ रन बनाएर आउट भएका छन् । उनले १२ चौका र २ छक्का प्रहार गरे । बागमतीका कप्तान सन्दीप लामिछानेले मयनको विकेट लिए ।

    पहिलो इनिङमा पाँच विकेट लिएका सन्दीपले दोस्रोमा पनि चार विकेट हात पारिसकेका छन् । यद्यपि, दोस्रो इनिङमा उनी केही खर्चिलो बनिरहेका छन् ।

    मधेशका अन्य ब्याटरहरु खासै नचल्दा मयन एक्लैले टिमलाई अघि बढाएका थिए । कप्तान हरिशंकर साह १२ बलमा ११ रन बनाएर आउट भए । यस्तै, निरज यादवले १७ बलमा १७ रन बनाए । अहिले क्रिजमा अभिषेक तिवारी र रुपेश सिंह छन् ।

    यो समाचार लेख्दासम्म मधेसले ६ विकेट क्षतिमा १८८ रन बनाएर खेलिरहेको छ । मधेसले १४० रनको अग्रता लिइसकेको छ । हिजोको तुलनामा आज ब्याटिङ केही सहज देखिन्छ ।

     

  • पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

    पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

    मनहरी । यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ ।

    अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिए ।

    त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनले बताए । क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो ।

    उनका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उनले बताए । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताए ।

    गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गरेका थिए । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गका थिए ।

    क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्दै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताए । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उनले बताए ।

  • मदन भण्डारी गोल्ड कप इन्डो नेपाल भलिबल प्रतियोगिता: मणिमुकुन्द अन्तिम चारमा

    मदन भण्डारी गोल्ड कप इन्डो नेपाल भलिबल प्रतियोगिता: मणिमुकुन्द अन्तिम चारमा

    रुपन्देही । रुपन्देहीमा जारी मदन भण्डारी गोल्ड कप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लबले अन्तिम चारमा स्थान बनाएको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गर्दै मणिमुकुन्द अन्तिम चारमा स्थान बनाएको हो ।

    यसैगरी दोस्रो खेलमा गुजरात भलिबल क्लबले गल्कोट भलिबल क्लबलाई पराजित गरेको छ । गुजरातको यो प्रतियोगितामा दोस्रो जित हो ।

    रामनगर खेलमैदानमा भएको पहिलो खेलमा मणिमुकुन्दले २५-२० अंकसहित जित निकाल्दै खेलमा अग्रता लिएको थियो, तर दोस्रो सेट भने आयोजक मदन भण्डारीले २५-१८ मा आफनो पोल्टामा पार्दै खेल बराबरीमा ल्यायो । मदन भण्डारीलाई तेस्रो सेटमा २५-१२ अंकको साथ पराजित गर्दै मणिमुकुन्दले खेलमा फेरि अग्रता लियो ।

    चौथो सेटमा आयोजक मदन भण्डारीले २५-२० अंकका साथ अर्को जित निकाल्दै खेल पुनः बराबरीमा ल्यायो । अन्तिम सेटमा मणिमुकुन्दले १५-१२ अंकको जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको थियो ।

    दोस्रो खेलमा गुजरातले विदेशी खेलाडीसहित मैदानमा रहेको गल्कोट भलिबल क्लबलाई ३-० को सेटमा पराजित गरेको छ । एकतर्फी खेलमा गुजरातले २५-१८, २५-१९ र २५-१६ को सोझो सेटमा पराजित गरेको हो ।

    सोमबार पहिलो खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले रुकुम भलिबल क्लब तथा दोस्रो खेलमा विभागीय टीमहरु त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) आमनेसामने हुनेछन् ।

  • जय ट्रफीको पहिलो दिन: स्पिन झेल्न कठिन

    जय ट्रफीको पहिलो दिन: स्पिन झेल्न कठिन

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा दुई दिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी आज सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पूर्ण रुपमा स्पिन बलरहरुको नियन्त्रणमा रह्यो भने ब्याट्म्यानहरुले रनका लागि संघर्ष गरे ।

    विनोद भण्डारीले नेतृत्व गरेको त्रिभुवन आर्मी क्लब र आरिफ शेख नेतृत्वको नेपाल पुलिस क्लब वीरगञ्जमा भिडेका थिए । यस्तै सन्दीप लामिछाने नेतृत्वको बाग्मती र हरिशंकर साह नेतृत्वको मधेश प्रदेश क्लबको भिडन्त जनकपुरमा भएको थियो । दुई स्थान फरक स्थानमा भएका दुवै खेलको पहिलो इनिङ लो स्कोरिङ भएका छन् ।

    नेपाल पुलिस क्लवले टस जितेर फिल्डिङ रोज्दै त्रिभुवन आर्मीलाई १२१ रनमा समेट्यो । बलियो ब्याटिङ पंक्ति भएको त्रिभुवन आर्मीलाई पुलिसका ललित राजवंशीले आफ्नो स्पिनमा राम्रैसँग नचाए । उनले १४.४ ओभरमा ४७ रन खर्चेर ७ विकेट आफ्नो पोल्टामा पारे । आर्मीका लागि सर्वाधिक २५ रन कुशल मल्लले बनाएका थिए ।

    दोस्रो ब्याटिङमा पुलिसको पनि लगभग उही अवस्था भयो । पुलिसका ओपनर कुशल भुर्तेलले आफ्नो खराब लयलाई निरन्तरता दिँदै पहिलो बलमै आउट भए । अर्का ओपनर अर्जुन साउद पनि डकआउट भए । बिहेको दुई दिनपछि नै मैदानमा उत्रिएका कप्तान आरिफ शेखले पनि ४ रनमात्रै जोड्न सके ।

    पुलिसका अन्तिम आशाका रुपमा रहेका छन् गुल्शन झा । उनी आफ्नै आक्रामक शैलीमा ब्याटिङ गर्दै ३६ बलमा ३४ रन बनाएर खेलिरहेका छन् । आजको खेल समाप्त हुँदा पुलिसले २४ ओभरमा ७ विकेट गुमाएर १०३ रन जोडेको छ ।

    आर्मीका लागि पनि बायाँ हाते अर्थोडक्स स्पिनर सहाब आलमले ५ विकेट लिएका छन् । उनले ११ ओभरमा ५५ रन खर्चिएर पाँच विकेटको सफलता हात पारेका हुन् । सोमपाल कामीले एक विकेट र पवन कार्कीले १ विकेट बाँडेका थिए ।

    अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश १०२ रनमा समेटियो । कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिए । यसअघि नेपाल प्रिमियर लिगमा फितलो प्रदर्शन गरेका सन्दीप जय ट्रफीमा उत्कृष्ट लयमा फर्किएका छन् । पीचले पनि उनको बलिङलाई साथ दिएको छ । सन्दीपले १४ ओभरमा ४१ रन खर्चेका थिए ।

    अर्का स्पिनर सूर्य तामाङ पनि उस्तै खतरनाक देखिए । उनले २.३ ओभरमा केवल ७ रन खर्चिएर ३ विकेट लिएका छन् । नन्दन यादव र फास्ट बलर प्रतिश जीसीले एकएक विकेट बाँडे ।

    जवाफी ब्याटिङमा बाग्मतीले पनि खराब सुरुवात गर्‍यो । बाग्मतीका लागि ओपनर आसुतोष घिराहिया १० बल खेल्दा शून्य रन बनाएर आउट भए भने रीत गौतमले पनि ३ रनमात्र जोड्न सके । ३ रनमै दुई विकेट गुमाएको बाग्मतीलाई ईशान पाण्डे र शुभ कंसाकारले सम्हालेका छन् । ईशान ९ रनमा र शुभ २२ रन बनाएर खेलिरहेका छन् । मधेशका लागि दुवै विकेट फास्ट बलरले लिएका थिए ।

    कुल मिलाएर आज एकै दिन दुई खेलमा २९ विकेट खसेका छन् र तीमध्ये २२ विकेट स्पिनरको नाममा रह्यो । तीन स्पिनरले ५ वा सोभन्दा बढी विकेट लिए ।

    ‘टेस्ट थिम’ मा खेलाइएको यस प्रतियोगिताका खेलमा प्रत्येक टीमले दुई पटक ब्याटिङ गर्न पाउँछन् । एक दिनमा ९० ओभरसम्मको खेल हुन्छ भने एउटा टीमले बढीमा ६० ओभर ब्याटिङ गर्न पाउँछ ।

    तर आज पहिले ब्याटिङ गरेका दुई टीमले ६० ओभर ब्याटिङ गर्ने धैर्यता र क्षमता देखाएनन् । ब्याटरहरु कोही बढी रक्षात्मक देखिए त कोही बढी आक्रामक । मधेश प्रदेश ३५.३ ओभरमा र त्रिभुवन आर्मी ३४.४ ओभरमा अलआउट भए । भर्खरै २० ओभरको प्रतियोगिता एनपीएल खेलेर आएका ब्याट्सम्यानमा त्यसैको धङधङी देखियो ।

    दुइटै पीचमा ब्याटिङ सहज थिएन । खासगरी स्पिनरलाई खेल्न निकै कठिन देखिएको थियो । दुई खेलमा कुनै पनि ब्याटरले ५० रन छुन सकेका छैनन् ।

    आज बनेको सर्वाधिक व्यक्तिगत स्कोर भनेको गुल्शन झाको ३४ रन हो । उनी नटआउट रहेकाले भोलि ठूलो स्कोर बनाउने अवसर छ । गुल्शनले एक दिवसीय शैलीमा ब्याटिङ गर्दै ३ छक्का र एक चौका प्रहार गरिसकेका छन् । यद्यपि उनको त्रिभुवन आर्मीसँग ३ विकेटमात्रै हातमा छन् ।

    बाग्मतीका शुभ कंसाकार राम्रो लयमा देखिएका छन् । उनले २३ बलमा २२ रन बनाएर नटआउट छन् ।