Category: खेल प्रेस

  • यू–१९ महिला विश्वकपः नेपालले गुमायो पहिलो विकेट

    यू–१९ महिला विश्वकपः नेपालले गुमायो पहिलो विकेट

    काठमाडौं ।  आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

    मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ३ रन जोड्दा पहिलो विकेट गुमाएको हो । नेपालकी ओपनर सावित्री धामी तेस्रो ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगिन् ।

    उनले ६ बलमा एक रन बनाएर आउट भइन् ।

  • यू-१९ महिला विश्वकपः बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

    यू-१९ महिला विश्वकपः बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    मलेसियाको बांगीमा नेपालविरुद्ध बंगलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    नेपालले पहिलोपटक यू–१९ महिला विश्वकप क्रिकेट खेल्न लागेको हो । गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।

    नेपाली प्लेइङ–११

    पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी र अनु कडायत ।

  • आजदेखि यू-१९ महिला विश्वकप, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै

    आजदेखि यू-१९ महिला विश्वकप, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै

    काठमाडौं । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता छन् ।

    अहिले अष्ट्रेलिया र स्कटल्याण्ड तथा इङ्ल्याण्ड र आयरल्यान्ड भिडिरहेका छन् ।  विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दै छ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ ।

    नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ । गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।

    नेपाली टोली

    पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, चना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ ।

  • यु-१९ महिला विश्वकपमा नेपाल : पूजाको भर, फिटनेसको डर

    यु-१९ महिला विश्वकपमा नेपाल : पूजाको भर, फिटनेसको डर

    काठमाडौं । आइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेट शनिवारदेखि मलेसियामा सुरु हुँदै छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता जनाएका छन् । नेपाल विश्वकपमा छनोट हुने अन्तिम टोलीले हो ।

    गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो । नेपाली महिला क्रिकेटमा पहिलो पटक विश्वकप खेल्न लागेको हो । नेपालले पहिलो खेल बङ्गलादेशसँग शनिवार खेल्नेछ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ । नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ ।

    विश्वकप खेल्ने जानुअघि नेपालकी कप्तान पूजा महतोले नेपालको लक्ष्य सुपर–६ मा पुग्ने बताएकी थिइन् । विश्वकपमा डेब्यु गर्न लागेको नेपालले सुपर–६ मा पुग्न कम्तीमा एउटा टोलीलाई हराउनुपर्छ ।

    विश्वकपमा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, आयोजक मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका हुँदा समूह ‘सी’ न्यूजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् ।

    समूह ‘डी’ मा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । समूह चरणमा प्रत्येक टोलीले ३ खेल खेल्नेछन् । एक समूहबाट शीर्ष ३ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा समूह ‘ए’ ले समूह ‘डी’ र समूह ‘बी’ ले समूह ‘सी’ मा रहेका देशसँग प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइलन खेल माघ २० गते हुनेछ ।

    पूजाको भरमा नेपाली टोली

    नेपाली सिनियर टोलीबाट खेलिसकेकी पूजा महतोले विश्वकपमा नेपाली टोलीको नेतृत्व गर्ने छिन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेकी पूजाबाट नेपालले विश्वकपमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । उनी बलिङ, ब्याटिङ, फिल्डिङमा उत्कृष्ट छिन् । युएईमा भएको विश्वकप एसिया क्षेत्र छनोटमा पुजाले कुवेतविरुद्ध शतकसँगै ५ विकेट लिएकी थिइन् । उनले नेपाली सिनियर टोलीबाट २० टी–२०आई खेल खेलेकी छन् ।

    उक्त खेलमा १८५ रनसँगै १६ विकेट लिएकी छन् । एसिया कपमा पाकिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्दा कप्तान पुजाले ४७ रनको संयमित अविजित इनिङ खेलेकी थिइन् । उनले आवश्यक परेको बेला ब्याटिङ टिकेर खेल्ने अथवा हिटिङ गर्ने क्षमता राख्छिन् । आवश्यक परेको बेला विकेट लिन पनि उनी खप्पिस छिन् ।

    विश्वकपमा नेपालले आफ्नो लक्ष्य पूरा गर्न पूजाको प्रदर्शनमा भर पर्नुपर्ने हुन्छ । त्यसबाहेक उपकप्तान सोनी पाख्रिन, सना प्रवीण, सिमाना केसी, रचना चौधरी जस्ता खेलाडीको प्रदर्शन उत्कृष्ट हुन आवश्यक हुन्छ ।

    फिटनेसको डर

    नेपाली महिला क्रिकेटमा सधैको डर हो फिटनेस । अधिकांश अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला टोलीको फिटनेसको अभाव देख्न सकिन्छ । गत कात्तिकमा खेलेको विश्वकप छनोट र गत पुसमा भएको एसिया कपमा यु–१९ टोलीको प्रदर्शनमा फिटनेस खड्किएको थियो । दौडन नसक्दा धेरै खेलाडी रन आउटको शिकार भएका थिए ।

    फिल्डिङमा पनि केही टाढा रहेका बाउन्ड्री रोक्नदेखि क्याच समाउन नेपाली खेलाडी चुकिरहेको देख्न सकिन्थ्यो ।

    यस विश्वकपमा पनि नेपाली टोलीलाई फिटनेसको अभाव देखिने डर छ । नेपाली टोलीको बन्द प्रशिक्षण १२ दिन चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा गरिएको थियो । अभ्यास राम्रो रहेकाले विश्वकपमा फिटनेसको अभाव नखड्किने नेपाली टोलीको विश्वास छ ।

    टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले धेरै सुविधा सम्पन्न राष्ट्रसँग लगानी कम भएको राष्ट्रले प्रतिस्पर्धा गर्न लागेकाले क्यानबाट कुनै दबाब नहुने बताएका थिए ।

    नेपाली टोली

    पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, चना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ ।

  • कोपा डेल रे : रियलको उत्कृष्ट जित 

    कोपा डेल रे : रियलको उत्कृष्ट जित 

    हेटौंडा । स्पेनिस कोपा डेल रे मा रियल म्याड्रिडले शानदार जित दर्ता गरेको छ ।

    शुक्रवार बिहान भएको खेलमा रियलले सेल्टाभिगोलाई ५-२ गोलले पराजित गरेको हो ।

    रियलको लागि केलियम एम्बाप्पे, भिनियस जुनियर र फेड्रीको भाल्भार्डेले समान एक-एक गोल गर्दा ब्राजिलियन स्टार एन्ड्रीकले दुई गोल गरे । सेल्टाभिगोको लागि बाम्बा र एल्सोनले गोल गरे ।

    खेलमा पहिलो गोल एम्बाप्पेले खेलको ३७ औँ मिनेटमा गरे । त्यस यता जुनियरले ४८ औँ मिनेटमा गोल गर्दै टिमको अग्रता २-० मा लगे ।

    तर खेलम सेल्टाभिगोले अप्रत्याशित पुनरागमन गर्‍यो । उसको लागि खेलको ८३ औँ मिनेटमा बाम्बा र ९१ औँ मिनेटमा एल्सनले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो ।

    तर एड्रीकले १०८ र ११९ मिनेटमा गोल गर्दै टिमलाई जित तर्फ अग्रसर गराए । र भाल्भार्डेलले गोल गरेपछि खेल रियलले ५-२ले जित्यो ।

  • जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ?

    जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ?

    काठमाडौं । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लवका बलर साहब अलाम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्दै उनले सर्वाधिक ३३ विकेट लिएका थिए ।

    त्रिभुवन आर्मी फाइनलमा नेपाल पुलिस क्लवसँग पराजित भए पनि साहबलाई सर्वोत्कृष्ट छनोट गरिएको हो । फाइनलका दुई इनिङमा साहबले १२ विकेट लिए पनि टिमलाई जिताउन सकेका थिएनन् ।

    फाइनल खेलको प्लेयर अफ द म्याच भने सागर ढकाल छनोट भए । ढकालले पहिलो इनिङमा ५ र दोस्रो इनिङमा ६ विकेट लिँदै टिमलाई जिताएका थिए ।

    प्रतियोगितामा सर्वोत्कृष्ट ब्याटरको अवार्ड मधेस प्रदेशका मयन यादवलाई दिइएको छ । उनले सर्वाधिक २६८ रन बनाएका थिए । यद्यपि, मधेस प्रदेश समूह चरणबाटै आउट भएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट बलरको अवार्ड पनि साहबलाई नै मिलेको छ ।

    प्रतियोगिताभरि अलराउन्ड प्रदर्शन गरेका पुलिस क्लवका कुशल भुर्तेलले भने कुनै पनि पुरस्कार पाएनन् । उनले प्रतियोगितामा दुई अर्धसतकसहित २४६ रन बनाए भने कुल १८ विकेट लिए । उनी सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुवै सुचीमा तेस्रो स्थानमा रहेका छन् ।

     

  • नेपाल पुलिस क्लब बन्यो जय ट्रफी च्याम्पियन

    नेपाल पुलिस क्लब बन्यो जय ट्रफी च्याम्पियन

    काठमाडौं । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

    फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो ।

    पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिएका छन् ।

    आर्मीले जितका लागि १०३ रनको मामुली लक्ष्य पाएको थियो । तर, स्पिनलाई सहयोग गरेको पीचमा यो लक्ष्य आर्मीका लागि पहाड बन्यो । आर्मी २९.२ ओभरमा ७४ रन मात्रै जोडेर अलआउट भयो । चौथो इनिङमा आर्मीका कुनै पनि ब्याटर विकेटमा जम्न सकेनन् । ओपनर इमरान सेखले सर्वाधिक २८ रन बनाए । कप्तान विनोद भण्डारी र सोमपाल कामी समान ११-११ रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पुलिसका कप्तान आरिफ शेखले सुरूदेखि अन्तिमसम्म सागर र ललितलाई मात्रै बलिङ गराए । प्रतियोगितामा उत्कृष्ट बलिङ गरिरहेका कुशल भुर्तेलले एक बल पनि फ्याक्न पाएनन् ।

    लगातार १५ ओभर बलिङ गरेका ललितले ३९ रन खर्चिएर ४ विकेट र सागरले १४.२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए । सागरले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए ।

  • जय ट्रफी फाइनल : १०३ रनको लक्ष्य पछ्याएको आर्मी लड्खडाउँदै

    जय ट्रफी फाइनल : १०३ रनको लक्ष्य पछ्याएको आर्मी लड्खडाउँदै

    काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जितका लागि संघर्षरत छन् । पुलिसले दिएको १०३ रनको मामुली लक्ष्य आर्मीलाई गह्रुँगो बनिरहेको छ ।

    पहिलो इनिङमा ३७ रनले पछि परेको पुलिसले दोस्रो इनिङमा १३९ रन जोडेको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाएका थिए । १०३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले लन्चसम्म २७ रन बनाउँदा तीन महत्त्वपूर्ण विकेट गुमाएको छ ।

    आर्मीका त्रितराज दास २ रन, सन्तोष कार्की शून्य र भीम सार्की ५ रन बनाएर आउट भएका छन् । अहिले इमरान सेख र बसिर अहमद क्रिजमा छन् । पुलिसका ललित राजवंशीले २ र सागर ढकालले एक विकेट लिए ।

    ७ विकेट हातमा रहेको अवस्थामा आर्मी ७६ रनले पछाडि छ । ललित, सागर र कुशल भुर्तेलको स्पिन झेल्दै लक्ष्यसम्म पुग्न आर्मीका ब्याटरहरुलाई सहज हुने छैन ।

    कप्तान विनोद भण्डारीसँगै सोमपाल कामी, विवेक यादवजस्ता ब्याटरहरु आर्मीसँग बाँकी छन् । अहिलेसम्म १० ओभरको खेल मात्रै सकिएको छ ।

  • कोपा डेल रे : बार्सिलोनाको विशाल जित

    कोपा डेल रे : बार्सिलोनाको विशाल जित

    हेटौँडा । स्पेनिस कोपा डेल रे मा बार्सिलोनाले विशाल जित निकालेको छ ।

    ग्रुप-१६ को बुधबार भएको खेलमा बार्सिलोनाले रियल बोटिसलाई ५-१ले पराजित गरेको छ ।

    बार्सिलोनाको लागि गाभी, कुन्डे, राफिन्हा,टोरेस र राफिन्हाले गोल गर्दा बोटिसको लागि एक मात्र गोल रोक्युले गरे ।

    खेलको तेस्रो मिनेटबाटै बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो गोल गाभिले गरेका थिए । त्यसयता बार्साले २७ मिनेट, ५८ मिनेट, ६७ मिनेट र ७५ औं मिनेटमा गोल गरे ।

    कोपा डेल रेमा गएराति भएकै खेलमा एट्लेटिको मेड्रीडले इल्चेलाई ४-० ले पराजित गर्दा लेगेन्सले एल्मेरियालाई ३-२ ले पराजित गरेको छ ।

  • आर्सनल दोस्रो स्थानमा उक्लियो

    आर्सनल दोस्रो स्थानमा उक्लियो

    काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपिएल) मा आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा टोटनह्याम्पलाई २-१ ले पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको हो ।

    खेलमा पहिलो गोल टोटनह्याम्पले गरेको थियो । उसको लागि पहिलो गोल सनले खेलको २५ औँ मिनेटमा गरेका थिए ।

    तर खेलको ४० औँ मिनेटमा आर्सनलले आत्मघाती गोल उपहार पाएपछि खेल बराबरीमा पुग्यो । खेलमा ४४ औँ मिनेटमा ट्रोस्टार्डले गोल गरेपछि त्यही गोल नै विजयी गोल बन्यो ।

    जितपछि आर्सनल २१ खेलबाट ४३ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको टोटनह्याम्पको २४ अंक भएको छ र उ १३ औँ स्थानमा छ ।

    गएराति भएको अन्य खेलहरुमा एस्टनभिल्लाले एभर्टनलाई १-० ले पराजित गर्दा लेस्टर सिटीले क्रीष्टल प्यालेसलाई २-० ले पराजित गरेको छ । यस्तै न्युक्यासल युनाईटेडले भुल्भ्सलाई ३-० ले हराएको छ ।

  • एलिट कप फाइलन : स्पिनर हाबी हुँदा पुलिसले गुमायो लय

    एलिट कप फाइलन : स्पिनर हाबी हुँदा पुलिसले गुमायो लय

    काठमाडौं । मधेश प्रदेशमा एलिट कप बहुदिवसीय क्रिकेटको फाइलन खेल जारी छ । पर्सामा भइरहेको फाइलन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा भइराखेको छ । दुई दिनको खेल सकिँदा पुलिस ९५ रनको अग्रतामा छन् । अब बिहीबार अन्तिम दिनको खेल हुनेछ ।

    पहिलो दिन राम्रो सुरुआत गरेको पुलिसले दोस्रो दिन भने खराब ब्याटिङ गर्यो । पहिलो दिनको खेल सकिँदा पुलिसले २ विकेट गुमाएर ८५ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल ५१ रनमा अविजित रहेका थिए । तर, दोस्रो दिनको खेलमा भने पुलिसले ब्याटिङमा लय गुमाउन पुग्यो ।

    पुलिसले ९ विकेट गुमाएर १३३ रन जोड्दा पारी समाप्तीको घोषणा गर्यो । पुलिसका मिडलअर्डर र लोअर्डर ब्याटर चल्न सकेनन् । पुलिसका लागि आर्मीका शाहव आलम घातक बने । १२ ओभर ४ बल बलिङ गरेका शाहव ३ ओभर मेडन राख्दै ३७ रन खर्चेर ७ विकेट लिए । बसिर अहमद र सोमपाल कार्मीले एकएक विकेट लिए ।

    आर्मीले पहिलो इनिङमा ३७ रनको अग्रता लियो । दोस्रो दिन ब्याटिङ सुरु गरेको आर्मी १७० रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । आर्मीका भिम सार्की र बसिर अहमदको राम्रो साझेदारीमा आर्मीले ३७ रनको अग्रता लिन सफल भयो ।

    आर्मीविरुद्ध पनि स्पिनर हाबी भए । पुलिसका सागर ढकालले ५, कुशल भुर्तेलले ३ र ललित राजवंशीले एक विकेट लिए । मिडलप्रेसर गुल्सन झाले एक विकेट झारे ।

    दोस्रो इनिङको सुरु गरेको पुलिसको ब्याटिङ चल्न सकेन । कुशल भुर्तेलले ४५, दिलीप नाथलले ३४, रसिद खानले १८ र अमित श्रेष्ठले १३ रन जोड्दा पुनः अन्य ब्याटर फ्लप भए । उनीहरुले पुनः एकपटक पुलिसलाई निराश बनाए ।

    पुलिसले १३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसविरुद्ध पुनः एकपटक शाहव आलम घातक बने । उनले पुलिसको महत्वपूर्ण ५ विकेट लिए । आर्मीकै बसिर अहमदले ४ विकेट झार्न सफल भए । पुलिसले ९५ रनको अग्रता लिएको छ । भोलि पुनः सोही अवस्थाबाट सुरु हुनेछ ।

  • यू-१९ महिला विश्वकप वार्मअप- बाउन्ड्रीविहीन नेपाल अमेरिकासँग ५ विकेटले पराजित

    यू-१९ महिला विश्वकप वार्मअप- बाउन्ड्रीविहीन नेपाल अमेरिकासँग ५ विकेटले पराजित

    काठमाडौं । यू- १९ महिला विश्वकप अन्तरगत आज भएको अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको ५९ रनको झिनो लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो ।

    पहिलो ब्याटिङ गरेको नेपालले २० ओभर पूरा खेले पनि ५८ रन मात्रै जोड्न सकेको थियो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपालले आफ्नो इनिङमा एउटा पनि चौका वा छक्का प्रहार गर्न सकेन । आज पनि नेपालका तीन ब्याटरहरु रनआउट भएका थिए ।

    अमेरिकाकी इसानी भगेलाले सर्वाधिक २४ रन जोडिन् । नेपालकी रिया शर्माले ३ विकेट र पूजा महतोले एक विकेट लिइन् ।

    अभ्यास खेलमा नेपालको यो दोस्रो हार हो । यसअघि वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो ।

    मलेसियामा हुने यु १९ महिला टी २० विश्वकप जनवरी १८ देखि सुरु हुनेछ । नेपालले समूह चरणमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ ।

  • इपीएल : लिभरपुल र नटिंङघम बराबरीमा रोकिए

    इपीएल : लिभरपुल र नटिंङघम बराबरीमा रोकिए

    काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपीएल)को लिग लिडर लिभरपुल र दोस्रो स्थानको नटिंङघम फरेस्ट बराबरीमा रोकिएको छन् ।

    मङ्गलवार भएको खेलमा नटिंङघम फरेस्टसँग १-१ को बराबरी खेल्दै लिभरपुलले अंक बाँडेको हो । सिटी ग्राउन्डमा घरेलु टोली नटिङघमले अग्रता जोगाउन सकेन । खेलको आठौँ मिनेटमा क्रिस उडको गोलमार्फत नटिङघमले अग्रता लिएको थियो ।

    डिएगो जोटाले ६६औँ मिनेटमा लिभरपुलका लागि बराबरी गोल फर्काए । त्यसपछि थाप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

    खेलपछि लिभरपुले २० खेलमा ४७ अंक जोडेको छ । नटिङघम २१ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

    लिगअन्तर्गत मङ्गलवारै सम्पन्न खेलमा चेल्सीले बर्नमाउथ तथा म्यानचेस्टर सिटीले ब्रेन्टफार्डसँग समान २-२ को बराबरी खेल्दा वेस्टहम युनाइटेडले फुलहमविरुद्ध ३-२ को जित निकाल्यो ।

  • एनकेएलले कबड्डीको विकाससँगै देशको पहिचान बढाउँछ : बेगानी

    एनकेएलले कबड्डीको विकाससँगै देशको पहिचान बढाउँछ : बेगानी

    काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रवार सुरु हुँदैछ । क्रिकेट, फुटबल र भलिबलपछाडि फ्रेन्चाइज टिमको अवधारणमा ल्याइएको एनकेएललाई लिएर यसका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमैन अमितकुमार बेगानी निक्कै उत्साहित छन् ।

    क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको विश्वास छ । कबड्डीको विकाससँगै देशको पहिचान र खेलाडीको भविष्यका लागि पनि एनकेएल आयोजनामा अगाडि बढेको उनी बताउँछन् ।

    विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’को नेतृत्व गरिरहेका उनले एनकेएलको पहिलो संस्करणमा तीन करोड रुपैयाँ बढी लगानी हुने उल्लेख गर्दै लगानी फिर्ताभन्दा पनि खेलको विकासलाई जोड दिइएको बताए ।

    देशको तराई र पश्चिमी क्षेत्रमा लोकप्रिय रहेको खेल कबड्डीमा अनुसन्धान गरेपछि एनकेएलको तयारीमा जुटेको उनको भनाई छ ।

    उनले भने, ‘अनुसन्धान गर्दा नेपालमा २० हजार बढी खेलाडी पाइयो । कबड्डी काठमाडौंमा पनि खेल्छ, दक्षिण एसियामा भूगोल सुहाउँदो पनि छ । भारतमा क्रिकेटपछि सर्वाधिक हेरिने खेल कबड्डी नै हो । त्यसैले हाम्रा खेलाडीलाई त्यो स्तरमा पुर्‍याउने अवसर छ, जसले नेपाली टिमलाई मनैदेखि बलियो पार्न सक्छ ।’

    एनकेएल माघ ४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ, जसमा ६ सहरका ६ टिले प्रतिस्पर्धा गर्दैछन् । सबै टिम बिक्री गरिएको पनि उनले बताए । प्रत्येक टिमको फ्रेन्चाइज शुल्क ३५ लाख भएको जानकारी दिएको छ ।

    त्यस्तै, आयोजनामा तीन करोड रुपयाँभन्दा बढी खर्च हुने एस्ट्रोनिक्स म्यानेजमेन्टका बेगानीले बताए । गत वर्ष नै एस्ट्रोनिक्स म्यानेजमेन्टले अखिल नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गर्दै एनकेएल आयोजनाको अधिकार लिएको थियो । भारतका प्रो कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर एनकेएलमा नेपालीलाई तयार पारिएको छ । प्रो कबड्डी लिगबाट प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षकले ट्रेनिङ दिइरहेका छन् ।

    नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन् । उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए । एनकेएलमा स्वदेशी ६६ र विदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–विदेशी गरी १४ खेलाडी छन् ।

    एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागी छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।

    यसपाली एनकेलमा कुल १९ खेल हुनेछ । उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन् ।

  • पीएम कप महिला क्रिकेटः कर्णालीमाथि एपीएफको जित

    पीएम कप महिला क्रिकेटः कर्णालीमाथि एपीएफको जित

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो भएको खेलमा एपीएफले कर्णालीलाई १११ रनले पराजित गरेको हो ।

    एपीएफले दिएको १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो । कर्णालीकी दिक्षा पुरीले सर्वाधिक १७ रन बनाइन् । बलिङमा एपिएफकी करुणा भण्डारीले ३ विकेट लिइन् । रेखा रावल, सुमन विष्ट र विनु बुढाले एक एक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले २० ओभरमा १ विकेट गुमाएर १८२ रन बनाएको थियो । एपिएफकी ममता चौधरीले सर्वाधिक ७८ रन जोडिन् । कप्तान इन्दु बर्माले ५२ र राजमती ऐरीले २२ रनको योगदान दिइन् ।

    बलिङमा कर्णालीकी दिक्षा पुरीले एक विकेट लिइन् । यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।

  • जय ट्रफीको फाइनलमा चम्किए कुशल भुर्तेल, ५१ बलमै अर्धशतक

    जय ट्रफीको फाइनलमा चम्किए कुशल भुर्तेल, ५१ बलमै अर्धशतक

    काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लव भिडिरहेका छन् । पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा २ विकेट क्षतिमा ८५ रन बनाएको छ ।

    वर्षाका कारण आजको खेल दिउँसो मात्र सुरु भएको थियो । आर्मीले टस जितेर पहिले फिल्डिङ रोज्यो । पुलिसले पहिलो बलमै ओपनर दिलिप नाथलाई गुमाए पनि अर्का ओपनर कुशल भुर्तेलले इनिङ सम्हालेका थिए । उनले आक्रामक अर्धसतक बनाउँदै टीमलाई अघि बढाएका छन् ।

    भुर्तेलले ५१ बलमा अर्धसतक पूरा गरेका हुन् । उनले ६ चौका प्रहार गरिसकेका छन् । प्रतियोगितामा कुशलको यो दोस्रो अर्धसतक हो ।

    तेस्रो नम्बरमा आएका अमित श्रेष्ठ ३९ बलमा २० रन बनाएर आउट भए । क्रिजमा भुर्तेललाई अर्जुन साउदले साथ दिइरहेका छन् । १३ बलको सामना गर्दा अर्जुनको ब्याटबाट रन निस्किएको छैन ।

    आर्मीका लागि सोमपाल कामी र सहाब आलमले एक–एक विकेट लिएका छन् । जय ट्रफीको फाइनल तीन दिवसीय हुनेछ । पहिलो दिन वर्षाका कारण १७ ओभरको खेल मात्रै सम्भव भयो ।

  • पीएसएल ड्राफ्ट समारोहको पाकिस्तानमै आलोचना, कमरान अकमलले भने- एनपीएलको तुलनामा ५० प्रतिशत पनि भव्य भएन

    पीएसएल ड्राफ्ट समारोहको पाकिस्तानमै आलोचना, कमरान अकमलले भने- एनपीएलको तुलनामा ५० प्रतिशत पनि भव्य भएन

    काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल)को हिजो भएको ड्राफ्टमा नेपाली खेलाडीहरु अटाउन नसकेको भनेर नेपालका फ्यानहरु दुःखमनाउ गरिरहेका छन् । उता पाकिस्तानमा भने पीएसएलको खस्किँदो स्तरलाई लिएर आलोचना सुरु भएको छ ।

    एक पाकिस्तानी पूर्वक्रिकेटरले पीएसएलको ड्राफ्ट समारोह असाध्यै अगतिलो भएको टिप्पणी गरेका छन् । पछिल्ला वर्षहरुमा पीएसएलको रौनक हराउँदै गएको उनको निष्कर्ष छ ।

    पाकिस्तानका पूर्वविकेटकिपर ब्याट्सम्यान कमरान अकमलले यस्तो निष्कर्ष निकालेका हुन् । उनले पीएसएलको ड्राफ्ट नेपाल प्रिमियर लिग (एनपीएल) र बंगलादेश प्रिमियर लिग (बीपीएल)को भन्दा कमजोर रहेको बताए । एउटा भिडिओ जारी गर्दै उनले पाकिस्तानी क्रिकेट बोर्डमाथि अनेक प्रश्न उठाएका छन् ।

    अकमलको भनाइ जस्ताको तस्तैः

    पीएसएलको ड्राफ्ट भर्खरै भएको छ । तपाईंहरुलाई थाहै छ, यो पाकिस्तानको लागि कति ठूलो ब्रान्ड हो, तर यो ब्रान्ड हरेक वर्ष बलियो हुँदै जानुको साटो खस्किँदै गएको छ । पहिलो ५-६ वर्षपछि यसको भ्यालु ओरालो लाग्दै गयो । पीसीबीका मान्छेहरुले यसको भ्यालुलाई तल खसालेका छन् । दुनियाँले यति प्रगति गरिसक्यो, क्रिकेट कहाँबाट कहाँ पुगिसक्यो, हामी त्यहाँ कहिले पुग्ने ?

    यो पटक जुन ड्राफ्टिङ भएको छ, मैले नेपाल प्रिमियर लिगको हेरेको छु, बंगलादेशको हेरेको छु, उनीहरुको तुलनामा हाम्रो ५० प्रतिशत पनि छैन । जति राम्रो भेन्यू छनोट गरिएको थियो, भ्यू त एकदमै राम्रो थियो, तर व्यवस्थापनको बारेमा मैले भन्नैपर्छ, यो एउटा लाहोरको माछाबजार जस्तो थियो । त्यहाँ बरु व्यापारीहरु योभन्दा राम्रो तरिकाले बसेका हुन्छन् । टेबलहरु राम्रा हुन्छन् । खाइरहेको बेलामा मानिसहरु यताउता गर्दैनन् ।

    पीएसएलको ड्राफ्टिङ समारोह हेर्दा मानिसहरु यत्तिकै गफ लगाउन बसेको जस्तो देखिन्थ्यो । कुनै व्यवसायिकता थिएन । दुनियाँको अक्सन हेरौं न ! आईपीएलको हरेक वर्ष उनीहरुको स्टान्डर्ड बढिरहेको हुन्छ । कसरी फ्रेन्चाइजीहरु बसेका हुन्छन् । कस्तो एक्साइटमेन्ट हुन्छ । यहाँ त सबै अस्तव्यस्त थियो । फ्रेन्चाइजहरु पीक गरिरहेका थिए, मानिसहरु यताउता हिँडिरहेका थिए । होस्टकै अगाडिबाट मानिसहरु हिँडिरहेका थिए । एउटै माइक सारा फ्रेन्चाइजहरुतिर घुमिरहेको थियो । त्यो पनि राम्रोसित चलिरहेको थिएन । यो हो हाम्रो ड्राफ्टिङ ? कस्तो हाँसउठ्दो ? लाज लाग्छ कि लाग्दैन ? दुनियाँमा पाकिस्तान र पाकिस्तान क्रिकेटको मजाक यत्तिकै बनाइएको होइन ।

    तपाईंले बिग ब्यासको हेर्नुभएको छ ? भर्खरै नेपालको पनि भयो । त्यो तपाईं हेर्नुस् । आईपीएलको हेर्नुस् । क्राउड हुन्छ । हरेक फ्रेन्चाइजका पछाडि फ्यानहरु बसेका हुन्छन् । कस्तो माहोल हुन्छ ? हाम्रोमा त चार-पाँच जना बसेका थिए । हाँसउठ्दो थियो । हेर्दा लाज लागिरहेको थियो ।

    चेयरम्यान साहेब के गरिरहनुभएको छ ? म भए त सबैलाई हटाइदिन्थें । तपाईंलाई पाकिस्तानी क्रिकेटको चिन्ता छ भने यिनीहरु सबैलाई हटाइदिनुस् । पाकिस्तानमा काम गर्न सक्ने मानिसहरु धेरै छन् ।

  • पाँचौं टाइगर कप भलिबलमा दुई विदेशीसहित १२ टोली सहभागी

    पाँचौं टाइगर कप भलिबलमा दुई विदेशीसहित १२ टोली सहभागी

    पोखरा । माघ १२ गतेदेखि हुने पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा ६-६ टोली सहभागी हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको उक्त प्रतियोगितामा २ विदेशीसहित ६-६ टोली सहभागी हुने तय भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

    पुरुषतर्फ श्रीलंकन भलिबल टीमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सहभागिता जनाउनेछन् ।

    महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डसहित नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी हुनेछन् ।

    प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । गत वर्ष भएको चौथो टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब र महिलातर्फ एपीएल क्लबले जितेको थियो ।

  • पीएम कप महिला क्रिकेटः गण्डकीमाथि सुदूरपश्चिमको फराकिलो जित

    पीएम कप महिला क्रिकेटः गण्डकीमाथि सुदूरपश्चिमको फराकिलो जित

    काठमाडौं । प्रधानमन्त्री कप (पीएम) महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरूआत गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आजदेखि सुरू प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

    सुदूरपश्चिमकी ओपनर रेवती धामीले सर्वाधिक २१ रन जोडिन् । २७ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । मनिषा बोहरा ९, कप्तान विन्दु रावल ६, कविता कुँवर ८ रनमा आउट हुँदा शोभा रोकाय ४ रनमा अविजित रहिन् ।

    बलिङमा गण्डकीकी आकृती तिवारी र अपेक्षा बुढाथोकीले एक-एक विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ५५ रन जोडेको थियो । गण्डकीकी रेखा तामाङले सर्वाधिक १३ रन बनाएकी थिइन् । सृजना पौडेलले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

    बलिङमा सुदूरपश्चिमका रेखा धामीले ४, जानकी थापा र रितु कनोजियाले एकएक विकेट लिएका थिए । खराब मौसकका खेल सुरु हुन ढिलाई भएपछि खेल १५ ओभरमा झारिएको थियो ।

  • एलिट कपको फाइनल आजदेखि

    एलिट कपको फाइनल आजदेखि

    काठमाडौं । जनकपुर र पर्सामा जारी जय ट्रफी पुरुष एलिट कप क्रिकेटको फाइनल खेल आजदेखि सुरु हुनेछ ।

    पर्साको नारायणी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

    फाइनल खेल तिनदिवसीय फर्म्याटमा हुनेछ ।

    क्रिकेट संघ क्यानको आयोजनामा पुस २१ गतेबाट सुरु भएको प्रतियोगितामा पुलिस र आर्मीसहित बागमती र मधेस प्रदेश सहभागी थिए ।

  • पीएसएलमा बिक्री भएनन् नेपाली क्रिकेट खेलाडी

    पीएसएलमा बिक्री भएनन् नेपाली क्रिकेट खेलाडी

    काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० को ड्राफ्टमा परेका नेपाली खेलाडीलाई कुनै पनि टिमले नलिने भएका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका ७ खेलाडी उक्त फ्रेन्चाइज क्रिकेटको ड्राफ्टमा समावेश भएका थिए । तर, कुनै पनि टोलीले नेपाली खेलाडीलाई किन्ने इच्छा जनाएनन् ।

    डायमण्ड क्याटेगोरीमा सन्दीप लामिछाने र सिल्भर क्याटेगोरीमा नेपालबाट गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीको नाम समावेश थियो ।

  • जय ट्रफीः खेल हेर्न आएका दर्शकसँग किन भड्किएका थिए सन्दीप ?

    जय ट्रफीः खेल हेर्न आएका दर्शकसँग किन भड्किएका थिए सन्दीप ?

    काठमाडौं । जय ट्रफी एलिट कपअन्तर्गत हिजोको खेलका क्रममा बाग्मती प्रदेशका कप्तान सन्दीप लामिछाने केही दर्शकसँग क्रुद्ध बने । उनले दर्शकलाई गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

    जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रंगशालामा भएको खेलमा बाग्मती र पुलिस टीमको भिडन्तका क्रममा सो घटना भएको हो । सार्वजनिक भएको भिडिओमा दर्शकसँग सन्दीप झोक्किएको मात्र देखिन्छ, तर उनी के कारणले भड्किएका हुन् भन्ने खुल्दैन ।

    सन्दीपले मैदान बाहिर बसेका दर्शकतिर लम्किँदै भनेका छन्, ‘दिमाग छैन कि क्या हो तिमीहरुको ? सभ्य मानिस होइनौ तिमीहरु ? रेस्पेक्टको दायरामा बस न यार । हामीले तिमीहरुलाई यस्तो भन्दा कस्तो लाग्छ तिमीहरुलाई ?’

    सन्दीपले यसो भनिरहँदा दर्शकले ‘के भयो ? ह्वाट ह्यापन्ड ?’ भनेको मात्र सुनिन्छ ।

    त्यसबेला मैदानमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार करिब एक दर्जनको संख्यामा रहेका दर्शकहरुले खेलाडीहरुलाई होच्याउने गरी होहल्ला गरेका थिए । उनीहरुले अपशब्द पनि प्रयोग गरेको दाबी गरिएको छ । नेपाल पुलिस टीमका खेलाडी अर्जुन साउदले पनि ती दर्शकलाई थर्काएका थिए । यद्यपि उनले थर्काएको भिडिओ सार्वजनिक भएको छैन ।

    सन्दीप जय ट्रफी प्रतियोगिता सुरु भएदेखि विभिन्न कारणले निरन्तर चर्चामा छन् । पहिलो खेलमा उनले दुवै इनिङमा पाँच-पाँच विकेट लिएका थिए । त्यसपछिका दुई खेलमा उनको प्रदर्शन औसत रह्यो ।

    दोस्रो खेलमा उनी अम्पायरसँग विवाद गरेर चर्चामा आए । उनले अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै फेसबुकमा स्टाटससमेत लेखेका थिए ।

  • महिला यू १९ विश्वकप वार्मअपमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले हार्‍यो

    महिला यू १९ विश्वकप वार्मअपमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले हार्‍यो

    काठमाडौं । महिला यू १९ विश्वकपको वार्मअप खेलमा नेपाल वेस्ट इन्डिजसित ८ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०० रनमा अलआउट भयो ।

    दोस्रो इनिङमा खराब सुरुवात गर्दै नेपालले पहिलो बलमै विकेट गुमाएको थियो । ओपनर साना प्रवीण डकआउट भइन् । त्यसपछि सावित्री धामी र कप्तान पूजा महतोबीच २५ रनको साझेदारी भएको थियो । सावित्री ५ रन बनाएर आउट भइन् । त्यसपछि कप्तान पूजा पनि १८ रनमा आउट हुँदा नेपाललाई ठूलो झट्का लाग्यो । उनले २० बलको सामना गर्दै ३ चौका प्रहार गरेकी थिइन् ।

    १२.३ ओभरमा नेपालले ५४ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि सिमाना केसी र किरण कुमारी कुँवरले राम्रो साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए । उनीहरुले नेपाललाई १६.१ ओभरमा ८४ रनसम्म पुर्याए । ४ विकेट बाँकी छँदा नेपाललाई २३ बलमा २६ रन आवश्यक थियो ।

    तर, किरण कुमारी दुर्भाग्यपूर्णरुपमा रनआउट भइन् । १४ बलमा १८ रन बनाएकी किरण आउट भएसँगै फेरि खेलमा वेस्ट इन्डिज हाबी भयो । सिमाना केसी नेपालका लागि सर्वाधिक २३ रन बनाउँदै आउट भइन् । उनले १८ बलमा तीन चौका प्रहार गरेकी थिइन् । नेपाल १९.१ ओभरमा अलआउट भएको थियो ।

    यसअघि वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट मात्र गुमाएर १०९ रन जोडेको थियो ।

  • यू-१९ महिला विश्वकप : वार्मअप खेलमा वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    यू-१९ महिला विश्वकप : वार्मअप खेलमा वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको वार्मअप खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    मलेसियाको कोलेज तुन्कु जाफार मैदानमा नेपालविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।

    नेपालले दोस्रो वार्मअप खेल बुधवार अमेरिकासँग खेल्नेछ ।

  • सिरी ‘ए’ मा इन्टरको साँघुरो जित

    सिरी ‘ए’ मा इन्टरको साँघुरो जित

    काठमाडौं । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले साँघुरो जित निकालेको छ ।

    आइतबार राती भएको खेलमा घरेलु टोली भेनेजियाविरुद्ध १-० को साँघुरो जित निकाल्दै इन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

    इन्टरलाई जित दिलाउन माटिओ डार्मियनले १६औँ मिनेटमा गोल गरे ।

    जितसँगै १८ खेलमा ४३ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । पराजित भेनेजिया १० खेलमा १४ अंकका साथ १९औँ स्थानमा छ ।

  • स्पेनी सुपर कप : क्लासिको फाइनलमा बार्सिलोनालाई उपाधि

    स्पेनी सुपर कप : क्लासिको फाइनलमा बार्सिलोनालाई उपाधि

    हेटौँडा । स्पेनी सुपर कप अन्तरगत एल क्लासिको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले पराजित गरेको छ ।

    साउदी अरबमा भएको फाइनल खेलमा बार्सालाई उपाधि जिताउने क्रममा ब्राजिलियन स्टार राफिन्हा एक्लैले दुई गोल गर्दा यमल, लेवान्डोस्की र बाल्डेले समान एक-एक गोल गरे ।

    रियलको तर्फबाट एम्बाप्पे र रोड्रीगोले एक-एक गोल गरेका थिए ।

    अहिलेसम्म स्पेनी सुपर कपमा रियल र बार्सिलोना तीन पटक आमनेसामने भएका छन् । जसमा रियलले एक पटक उपाधि जित्दा बार्सिलोनाले दुई पटक उपाधि जितेको छ ।

    गत वर्षको फाइनलमा रियलले बार्सिलोनालाई ४-१ ले पराजित गरेको थियो ।

  • ला-लिगाको पहिलो स्थानमा उक्लियो एट्लेटिको म्यड्रिड

    ला-लिगाको पहिलो स्थानमा उक्लियो एट्लेटिको म्यड्रिड

    काठमाडौं । स्पेनिस ला-लिगाको १९ औँ चरणको खेलमा जित निकाल्दै एट्लेटिको म्याड्रिड तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

    पूर्व लिग च्याम्पियन एट्लेटिकोले पहिलो स्थानमा उक्लन ओसासुनालाई १-० गोलले पराजित गर्नुपरेको थियो ।

    आइतबार सम्पन्न खेलमा एट्लेटिको म्यड्रिडको लागि एक मात्र विजयी गोल खेलको ५५ औँ मिनेटमा जुलियन अल्भारेजले गरे ।

    जितपछि एट्लेटिको म्याड्रिडको १९ खेलबाट ४४ अंक भएको छ । लिगको दोस्रो स्थानको रियल म्यड्रिड समान खेलबाट ४३ अंक हुँदा तेस्रो स्थानको बार्सिलोनाको ३८ अंक छ ।

    तालिकाको चौथो स्थानमा एट्लेटिको क्लब बिल्बाओ छ । उसको ३६ अंक छ । पराजित ओसुसानाको भने २५ अंक छ र ११ औँ स्थानमा छ ।

    आइतबार नै भएको ला-लिगाको अन्य खेलहरूमा गेटाफेले लस पाल्मसलाई २-१ ले पराजित गर्दा भील्ला रियल र सेभिल्ला १-१ को बराबरीमा रोकिए ।

  • आईटीएल टी-२० क्रिकेटः डेजर्ट भाइपर्स फिल्डिङ गर्दै, कुशल मल्ल बेन्चमा

    आईटीएल टी-२० क्रिकेटः डेजर्ट भाइपर्स फिल्डिङ गर्दै, कुशल मल्ल बेन्चमा

    काठमाडौं । यूएईमा जारी आईटीएल टी-२० क्रिकेटमा नेपाली अलराउन्डर कुशल मल्ल सम्मिलित टोली डेजर्ट भाइपर्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

    अबुधाबी नाइट राइडर्सविरुद्ध भाइपर्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । पहिलो खेलमा कुशल प्लेइङ-११ मा परेका छैनन् । लकी फग्र्युसनको कप्तानीमा रहेको डेजर्टले पहिलो खेलमा कुशललाई बेन्चमा राखेको हो ।

  • जय ट्रफीको फाइनलमा पुलिस र आर्मी भिड्ने

    जय ट्रफीको फाइनलमा पुलिस र आर्मी भिड्ने

    काठमाडौं । दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् । बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिए ।

    अहिले भर्खरै सकिएको खेलमा बागमतीलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो । प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो । त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

    बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको मामूली लक्ष्य दिएको थियो । पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो । पुलिसका अमित श्रेष्ठले लगातार अर्धशतक प्रहार गरे । पहिलो इनिङमा ७९ रनको उत्कृष्ट इनिङ खेलेका श्रेष्ठले दोस्रोमा ४४ बलमा ५६ रन बनाए । कुशल भुर्तेलले दोस्रो इनिङमा विष्फोटक सुरुवात गर्दै १९ बलमा ३२ रन जोडेर आउट भए ।

    बागमतीका सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, सूर्य तामाङ र प्रतिस जिसीले एक-एक विकेट लिए पनि पुलिसलाई दबाबमा राख्न सकेनन् ।

    फाइनल खेल तीन दिवसीय हुनेछ । फाइलन खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ । मधेश प्रदेशविरुद्ध जित निकाल्दा पुलिस आर्मीसँग ड्रमा रोकिएको थियो । आर्मीले दुई खेल ड्र खेल्दा एक खेलमा जित निकाल्यो ।

  • जय ट्रफीः त्रिभुवन आर्मीले मधेशलाई ८ विकेटले हरायो

    जय ट्रफीः त्रिभुवन आर्मीले मधेशलाई ८ विकेटले हरायो

    काठमाडौं । जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराएको छ । मधेश प्रदेशले दिएको २८ रनको झिनो लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा भेट्टाएको हो ।

    आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । मधेश प्रदेश पहिलो इनिङमा १०२ रनमै अलाउट भएर फलोअनमा पर्यो । १२३ रनले पछि परेको मधेशले दोस्रो इनिङमा पनि १५० रन मात्रै जोड्न सक्यो ।

    जम्मा २८ रनको लक्ष्य पाएको आर्मीले त्रितराज दास र सन्तोष कार्कीलाई सस्तोमा गुमाएको थियो । ओपनर इमरान सेख र बसिर अहमदले टिमलाई जित दिलाए ।

    यो जितसँगै त्रिभुवन आर्मी क्लव फाइनल नजिक पुगेको छ भने मधेश बाहिरिएको छ ।

    त्रिभुवन आर्मीको जितमा स्पिनर सहाब आलम र अलराउन्डर बसिर अहमदले महत्वपूर्ण भूमिका निभाए । सहाबले पहिलो इनिङमा ६ विकेट र दोस्रो इनिङमा ३ विकेटसहित कुल ९ विकेट लिए ।

    बसिरले त्रिभुवन आर्मीको पहिलो इनिङमा ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । दोस्रोमा उनी ४ रनमा नटआउट रहे । उनले विजयी चौका प्रहार गरेका थिए । बसिरले मधेशको पहिलो इनिङमा १ विकेट र दोस्रोमा ४ विकेट लिए । मधेशको दोस्रो इनिङमा ओपनर मयन यादवबाहेक अन्य ब्याटर चल्न सकेनन् । यादवले ४९ रन बनाएका थिए ।

  • माघ १ बाट भोजपुरको पौवादुङ्मामा तीन लाख राशिको फुटबल प्रतियोगिता हुँदै

    माघ १ बाट भोजपुरको पौवादुङ्मामा तीन लाख राशिको फुटबल प्रतियोगिता हुँदै

    काठमाडौं । भोजपुरको पोवादुङ्मा गाउँपालिकामा तीन लाख राशिको प्रथम तथा दुई लाख राशिको दोस्रो पुरस्कार भएको फुटबल प्रतियोगिता हुने भएको छ ।

    माघ १ बाट ९ सम्म हुने प्रतियोगिताको यो दोस्रो संस्करण हो । ‘दोस्रो आमन्त्रित पौवादुङ्मा गोल्डकप फुटबल प्रतियोगिता तथा बृहत् माघी मेला कार्यक्रम’को नाममा प्रतियोगिता आयोजना हुने भएको हो ।

    पौवादुङ्मा रंगशाला च्याङ्ग्रेमा आयोजना हुने प्रतियोगितामा उत्कृष्ट गोलकर्ता, गोल रक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वोत्कृष्ठ खेलाडी लगायतका पुरस्कार, मेडर तथा प्रमाणपत्र पनि दिइने आयोजकले बताएको छ ।

    आयोजकसहित १४ टोलीले खेल्ने खेलमा नेपाली सेनाको श्रीनाथ गण भोजपुर, प्रदेश प्रहरी कार्यालय विराटनगर लगायतका विभागीय टोलीहरू पनि रहेका छन् ।

    गाउँपालिका अध्यक्ष किरण राईले खेल क्षेत्रमा माहौल ल्याउन र युवा पुस्ताको माग बमोजिम नियमित प्रतियोगिता हुँदै आएको बताए ।

    उनले भने, ‘प्रदेशभरबाट सहभागिताको उत्साहले हामीलाई हौसला दिएको छ ।’

  • इनरुवामा शान्ति गुरुङको स्मृतिमा टी-२० क्रिकेट प्रतियोगिता हुँदै

    इनरुवामा शान्ति गुरुङको स्मृतिमा टी-२० क्रिकेट प्रतियोगिता हुँदै

    काठमाडौं । इनरुवामा शान्ति गुरुङको स्मृतिमा प्रादेशिक टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

    नेपाल खेलकुद महासंघको १६ औँ स्थापना दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघ, इनरुवा नगर कमिटीले अगामी माघ ३ गतेबाट आयोजना गर्न लागेको प्रतियोगितामा ६ टिम समावेश हुनेछन् ।

    प्रतियोगितामा सुनसरी जिल्ला क्रिकेट संघ, मोरङ जिल्ला क्रिकेट संघ, झापा जिल्ला क्रिकेट संघ, उदयपुर जिल्ला क्रिकेट संघ, इलाम जिल्ला क्रिकेट संघ र आयोजक नेकोस इनरुवा-११ समावेश छ ।

    आइसीसीको नियमअनुसार आयोजना हुने यो प्रतियोगिताको विजेता टोलीले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २५ हजार, म्यान अफ दि सिरिजलाई ५०००, उत्कृष्ट ब्याटर र बलर दुवैले समान २५ सय र हरेक खेलको म्यान अफ दि म्याचले १००० रुपैयाँ प्राप्त गर्नेछन् ।

    सुनसरी बहुमुखी क्याम्पस, इनरुवामा आयोजना हुने खेलको फाइनल माघ ६ गते सम्पन्न हुनेछ । कूल २० लाख ५० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा झापा, उदयपुर र इलामका खेलाडीलाई खाने बस्ने व्यवस्था पनि गरिएको आयोजक नेकोस, इनरुवा नगर कमिटीका संयोजक चेतनाथ (सीपी) पौडेलले जानकारी दिएका छन् ।

    स्वर्गीय शान्ति गुरुङ १६ वर्ष शिक्षा क्षेत्रमा चिनिएको नाम हो । श्रीमान् प्रमोद भण्डारी इनरुवास्थित सखुवागाछी क्रिकेट क्लबको पहिलो ब्याचको खेलाडी पनि हुन् । हाल उहाँ सामाजिक अभियन्ताको रुपमा सक्रिय छन् ।

  • नेपाल त्रिदेशीय महिला टी – २० आई सिरिज खेल्दै, यस्तो छ खेल तालिका

    नेपाल त्रिदेशीय महिला टी – २० आई सिरिज खेल्दै, यस्तो छ खेल तालिका

    काठमाडौं  ।  नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबिच त्रिदेशीय महिला टी – २०आई सिरिज हुने भएको छ । नेपालको आयोजनामा त्रिवि क्रिकेट मैदानमा जनवरी ३० देखि फेब्रुअरी ७ सम्म टी-२०आई सिरिज हुन लागेको हो ।

    No description available.

    सिरिजमा एक टोलीले ६ खेल खेल्नेछ । पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्यान्डसबिच हुनेछ । महिला प्रधानमन्त्री कप क्रिकेट लगत्तै नेपालले त्रिदेशीय सिरिज खेल्न लागेको हो ।

  • पीएसएलको अक्सनमा थपियो सन्दीपको नाम, परे डाइमण्ड क्याटेगोरीमा

    पीएसएलको अक्सनमा थपियो सन्दीपको नाम, परे डाइमण्ड क्याटेगोरीमा

    काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपाली क्रिकेट सन्दीप लामिछाने थपिएका छन् । यसअघि ६ खेलाडी समेटिएकोमा शुक्रवार सन्दीपको नाम थपिएको हो । सन्दीप विदेशी खेलाडी अन्तर्गत डाइमण्ड क्याटेगोरीमा परेका छन् । उनले यसअघि २०७५ सालमा लाहोर क्वालन्डर्सबाट पीएसएल खेलेका थिए ।

    यसअघि विकेट किपर ब्याटरद्वय आसिफ शेख र अर्जुन साउद, टप अर्डर ब्याटर देव खनाल तथा अलराउन्डरहरु दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र सोमपाल कामी सिल्भर क्याटेगोरीमा परेका थिए ।ड्राफ्टमा रहेका खेलाडीहरुमध्येबाट फ्रेन्चाइज टिमहरुले खरिद गर्न सक्नेछन् । खेलाडी छनोट जनवरी १३ तोकिएको छ ।

  • जय ट्रफि : सन्दीपले अम्पायरिङप्रति किन पोखे सार्वजनिक असन्तुष्टि ?

    जय ट्रफि : सन्दीपले अम्पायरिङप्रति किन पोखे सार्वजनिक असन्तुष्टि ?

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपालमा क्रिकेट अम्पायरिङको स्तरमाथि सार्वजनिकरुपमा नै प्रश्न उठाएका छन् । कमजोर अम्पायरिङले खेलाडीहरुको भविष्यमाथि असर गर्ने उनको चिन्ता छ ।

    आज सामाजिक सञ्जालमा सन्दीपले लेखेको स्टाटसको भावानुवादः

    मैले यो भन्नु हुन्थेन तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेखनीय सुधार आवश्यक छ । लामो समयदेखि यो फितलो छ र यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयहरुका कारण असंख्य खेलाडीहरु पिडित बन्ने छन् । हामीले रेफ्रीलाई क्याप्टेनको रिपोर्ट दिएका हुन्छौं, तर पनि कुनै परिवर्तन आइरहेको छैन । खेलाडीहरुको विकास र खेलको स्वस्थ प्रवद्र्धनमा अम्पायरिङको स्तरवृत्ति महत्वपूर्ण हुन्छ । आशा छ, सरोकारावाला निकायले यसलाई ध्यान दिनेछन् र आवश्यक सुधारहरुका निम्ति काम गर्नेछन् ।

    सन्दीप नेपाली राष्ट्रिय टीमका एक अनुभवि सदस्य र पूर्वकप्तानसमेत हुन् । हाल जारी जय ट्रफीमा उनले बाग्मती प्रदेशको नेतृत्वसमत गरिरहेका छन् ।

    यत्तिको जिम्मेवार खेलाडीले सार्वजनिक प्लेटफर्ममा नै यसरी असन्तुष्टि पोख्नु स्वभाविक होइन । उनको स्टाटसलाई लिएर अहिले क्रिकेट समर्थकहरु समर्थन र आलोचनामा विभाजित बनेका छन् । सन्दीपले आफ्नो स्टाटसमा कुनै पनि सन्दर्भ उल्लेख गरेका छैनन् ।

    कुनै अम्पायरको नाम लिएका पनि छैनन् । तर, उनको यो स्टाटस जय ट्रफी एलिट कपको सन्दर्भमा आएको हो । हिजो त्रिभुवन आर्मी र बाग्मती प्रदेशको खेल बराबरीमा सकिएपछि उनले अम्पायरसँग विवाद गरेका थिए । अम्पायरले खेल समाप्तिको घोषणा गरेपछि उनले बाहिरबाट मैदानभित्र आएर अम्पायरसँग आक्रोशित भावमा कुराकानी गरेको टेलिभिजन लाइभमा देखिएको थियो ।

    सन्दीपको गुनासो थियो– अर्को टिमलाई फाइदा पुग्ने गरी अम्पायरले खेल समाप्तिको निर्णय लिएको । दोस्रो इनिङमा २०३ रनको कठिन लक्ष्य पछ्याइरहेको बाग्मती सकेसम्म कम विकेट गुमाएर खेल ड्र गर्ने रणनीतिमा थियो । २८.४ ओभरमा पाचौं विकेटका रुपमा शुभ कंसाकार आउट भएलगत्तै अम्पायरद्वय विनयकुमार झा र हिरालाल राउतले खेल समाप्तिको घोषणा गरे ।

    दुवै टिम खेल जित्ने आशामा थिएनन्, तर विकेटलगत्तै खेल समाप्त हुँदा त्रिभुवन आर्मीलाई प्वाइन्टमा फाइदा मिल्यो । सन्दीपले यो विकेट अगाडि नै खेल समाप्ति होस भन्ने चाहेका थिए, जतिबेला शुभ कंसाकार र उत्तम मगरको जोडी क्रिजमा थियो । तर, भिजिविलिटी कम हुँदा पनि विकेट नजाँदासम्म अम्पायरले खेललाई निरन्तरता दिएको सन्दीपको आरोप छ । विकेट जानासाथ ओभर पनि पुरा नगरी खेल समाप्त गरिएकोमा उनले आपत्ति जनाएका थिए ।

    यो प्रतियोगितामा एक–एक प्वाइन्टको निकै महत्व छ । एक विकेट थप जाँदा पनि प्वाइन्टमा असर गर्ने भएकाले सन्दीप आक्रोशित भएका हुन् । सन्दीपले गरेको ‘अन फिल्ड प्रोटेस्ट’ अस्वभाविक थिएन । तर फेसबुकमै अम्पायरविरुद्ध गरेको टिप्पणी भने स्वभाविक नरहेको जानकारहरु बताउँछन् ।

    नेपाल क्रिकेट संघ (क्यान) का एक पदाधिकारीले भने, ‘सन्दीपको यो ब्लन्डर हो । एउटा जिम्मेवार खेलाडीले कुनै पनि अवस्थामा सार्वजनिकरुपमा अम्पायरको आलोचना गर्न मिल्दैन । क्यानका प्रवक्ता छुम्बी लामाले सन्दीपको स्टाटसलाई ध्यानमा लिइएको बताए । कुनै पनि कप्तानले अम्पायरिङमा चित्त नबुझेको खण्डमा म्याचपछि ‘क्याप्टेन रिपोर्ट’ मा उल्लेख गर्न सक्ने, तर सार्वजनिक टिप्पणी गर्नु नहुने उनको भनाइ छ ।

    लामाले भने, ‘क्रिकेटमा अन फिल्ड अम्पायरलाई सघाउन म्याच रेफ्री पनि हुन्छन् । उनीहरु एउटा रुल्स एन्ड रेगुलेसनमा चल्नुपर्छ । यदि अन फिल्ड अम्पायरले कुनै गल्ति गरेमा त्यसलाई म्याच रेफ्रीले हेर्छन् । कप्तानहरुले म्याच रेफ्रीलाई रिपोर्ट गर्न सक्छन् । तर, अम्पायरले गरेको निर्णय सबैले स्वीकार्नै पर्छ । अन्यथा अनुशासन उल्लंघनको विषय हुन सक्छ ।’

    सन्दीपका समर्थकहरु भने उनको असन्तुष्टिलाई स्वभाविक र जायज मानिरहेका छन् । कुनै अम्पायरलाई सिधा आरोपित नगरिएको र कुनै निर्णयलाई ईंगित गरेर आलोचना नगरिएकाले अनुशासनको प्रश्न नउठ्ने उनीहरुको भनाइ छ ।

    यो प्रतियोगितामा प्रत्येक दिन कम्तिमा ९० ओभरको खेल हुन्छ । मौसम वा भिजिविलिटी खराब भएमा अम्पायरले म्याच रेफ्रीसँग सल्लाह गरेर ९० ओभर भन्दा अगावै खेल समाप्तिको घोषणा गर्न सक्छन् । टेस्ट क्रिकेटमा खेल समाप्तिको घोषणा गर्न ओभर सकिएकै हुनुपर्छ भन्ने छैन । यद्यपि, चाँडै खेल समाप्त गर्दा सकेसम्म दुवै टिम सन्तुष्ट भने हुनुपर्छ ।

    एलिट कपमा चारवटा टिम सहभागी छन्, र सबै टिमले एक–अर्कासँग एक–एक दुईदिवसीय म्याच खेल्नेछन् । कुल ६ वटा म्याच खेलाइसकेपछि सबैभन्दा बढी प्वाइन्ट बटुलेर अंक तालिकाको शीर्षस्थानमा रहने दुई टिमबीच फाइनल भिडन्त हुन्छ ।

    अहिलेसम्म दुई चरणमा चारवटै टिमले दुई–दुई म्याच खेलिसकेका छन् । जम्मा चारवटा म्याच हुँदा तीनवटा बराबरीमा सकिएको छ भने एउटामा मात्रै नतिजा निस्किएको छ । हिजो सकिएका दुई खेलमा पुलिसले मधेस प्रदेशलाई पराजित गरेको थियो भने त्रिभुवन आर्मी र बाग्मती प्रदेशको खेल ड्र भएको थियो ।

    चार खेल सकिएपश्चात एक जित र एक बराबरीसहित ४० प्वाइन्ट बटुलेको पुलिस अंक तालिकाको शीर्षस्थानमा रहेको छ । दुईवटै म्याच ड्र खेलेका त्रिभुवन आर्मी र बाग्मती प्रदेश क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

    यी दुई टिमबीच दुई प्वाइन्टको मात्रै फरक छ । आर्मीले ३० प्वाइन्ट ल्याउँदा बाग्मतीले २८ प्वाइन्ट ल्याएको छ । एक हार र एक बराबरी नतिजा निकालेको मधेस प्रदेश २१ अंकसहित चौंथो स्थानमा छ ।

    अहिलेसम्म कुनै पनि टिमको फाइनलमा स्थान सुरक्षित भइसकेको छैन । तेस्रो राउन्डका दुई खेलले फाइनलिस्टको टुंगो लगाउने छ । एक–एक प्वाइन्टले पनि फरक पर्ने भएकाले सन्दीप तनावमा आएका हुन् ।