Category: खेल प्रेस

  • प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले साउथह्याम्प्टनसँग हार्‍यो

    प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले साउथह्याम्प्टनसँग हार्‍यो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राती शीर्ष स्थानको लिभरपुलले साउथह्याम्प्टनसँग १–० गोलको पराजय ब्यहोरेको छ । यो हारले उसको उपाधि रक्षाको यात्रामा झड्का लागेको छ ।

    साउथह्याम्प्टनका ड्यानी इङ्सले खेल सुरु भएको दोस्रो मिनेटमै आफ्नो पूर्व क्लबबिरुद्ध गरेको शानदार गोल नै उसको जितका लागि निर्णायक बन्यो । इङ्सले जेम्स वार्ड प्रोसको फ्रिकिकलाई सदुपयोग गरेका थिए ।

    जर्गेन क्लब प्रशिक्षित लिभरपुलका लागि लिगमा यो दोस्रो हार हो । गोलअन्तरका आधारमा उनीहरु अहिले पनि शीर्ष स्थानमै छन् । तर पछिल्ला तीन खेलमा उसले २ अंकमात्र हासिल गर्न सकेका छन् ।

    लिभरपुलको १७ खेलबाट ३३ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको पनि समान अंक छ । आसन्न खेलमा जित हासिल गरेमा युनाइटेडले लिभरपुललाई उछिन्ने अवसर पनि छ ।

    पछिल्ला पाँच लिग खेलमा पहिलो जित निकालेर साउथह्याम्प्टन भने तालिकाको छैटौं स्थानमा पुगेको छ । उसको पनि १७ खेलबाट २९ अंक भएको छ ।

  • आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

    आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

    काठमाडौं । दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ । नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् ।

    नेपालका लागि एरिक राणा, विकास शाह, कृपा गुरुङ, रोधन राई, सोफिया तामाङ, कृयासन विष्ट, इशान शाह, जेसन थापा, राहुल हजरा, सगुन राई, विनिता प्रधान, चिरञ्जीवी भण्डारी, प्रेम लामा मोक्तान, सुष्मा राई, मुना तामाङ, प्रतीक्षा राणा, जितबहादुर बोट, कमल श्रेष्ठ र सुरेश मानन्धरले स्वर्ण जिते ।

    अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीद्वारा आयोजित प्रतियोगितामा २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बन्यो ।

    डिसेम्बर २८ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपाल प्रहरी क्लबले अनुशासित टिमको उपाधि हात पा¥यो ।

    ब्ल्याकवेल्टतर्फ पुरुषमा नेपालका जितबहादुर बोट तथा महिलामा अमेरिकाकी बिट्रिज करिना बेलिसिना उत्कृष्ट खेलाडी चुनिए । कलर बेल्टतर्फ पुरुषमा फिलिपिन्सका क्लार्क जेड अबेलो तथा महिलामा सोही राष्ट्रकी फ्रेङहेज्का थेरेसे गुइहामा उत्कृष्ट खेलाडी घोषित भए ।

    उत्कृष्ट चारैले जनही १ सय ५० अमेरिकी डलर पुरस्कार जिते । अमेरिकाका क्यारोलिन इने पार्क उत्कृष्ट निर्णायक ठहरिए ।

    आईओएफटीसीको २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

  • रोनाल्डोले तोडे पेलेको सर्वाधिक गोलको कीर्तिमान

    रोनाल्डोले तोडे पेलेको सर्वाधिक गोलको कीर्तिमान

    पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका महान ब्राजिलियन पेलेको सर्वाधिक गोलको कीर्तिमान तोडेका छन् । पेलेको ७५७ गोलको कीर्तिमानलाई तोड्दै रोनाल्डोले ७५८ बनाए ।

    रोनाल्डोले पेलेको करियरकै गोल कीर्तिमानलाई तोडेका हुन् । लियोनल मेस्सीले चाहिँ क्लब गोलको रेकर्ड तोडेका हुन् । आइतबार राती भएको खेलमा ३५ वर्षे खेलाडीले युभेन्ट्सको तर्फबाट युडिनिजविरुद्ध २ गोल गरेका थिए । योसँगै रोनाल्डो इतिहासमै सर्वाधिक गोल गर्ने सूचिको दोस्रो नम्बरमा छन् ।

    सर्वाधिक गोलको कीर्तिमान चाहिँ सेलेभिया प्रागका लिजेन्ड जोसेफ बायकनका नाममा ८०५ गोल छ । १९३१ र १९५५ सम्म खेलिएका ५३० खेलबाट जोसेफले ती गोल गरेका थिए ।

  • प्रिमियर लिगमा चेल्सीको खराब लय, म्यानचेस्टर सिटीसँग पराजित

    प्रिमियर लिगमा चेल्सीको खराब लय, म्यानचेस्टर सिटीसँग पराजित

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा गएराति चेल्सीले म्यानचेस्टर सिटीसँग ३–१ गोलअन्तरको हार ब्यहोरेको छ ।

    पछिल्ला खेलहरुमा खराब लयबाट गुज्रिरहेको चेल्सीका प्रशिक्षक तथा क्लबका पूर्व लेजेण्ड फ्र्यांक लाम्पार्डमाथिको दबाब बढिरहेको छ । प्रिमियर लिगका पछिल्ला ६ मध्ये चेल्सी एक खेलमा मात्र विजयी रह्यो ।

    उपाधि दावेदार टोली सिटीविरुद्ध स्टाम्फोर्ड ब्रिजमा चेल्सीले कठिन चुनौती पेश गर्नै सकेन । घरेलु मैदानमा पहिलो हाफमै चेल्सी ३–० ले पछि पर्‍यो ।

    १८ औं मिनेटमा फिलिप फोडेनको पासमा गुण्डोगानले गोल गरेपछि सिटीको अग्रता सुरु भएको हो । त्यसको तीन मिनेटपछि फोडेनले पनि गोल गरे । यसपल्ट केभिन डी ब्रुयनले उनलाई पास मिलाएका थिए ।

    ३४ औं मिनेटमा डी ब्रयनले गोल गरे र पहिलो हाफमै आरामदायी अवस्थामा पुर्‍याए । घरेलु टोलीका लागि कलम हड्सन ओडोईले खेलको इन्ज्युरी समयमा सान्त्वना गोल फर्काए ।

    १७ खेलबाट २६ अंक भएको चेल्सी तालिकाको आठौं स्थानमा छ । म्यानचेस्टर सिटीको १५ खेलबाट २९ अंक पुगेको छ भने तालिकामा पाँचौं स्थानमा छ ।

  • रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

    रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

    एजेन्सी । सेल्टा भिगोमाथिको आरामदायी जितका साथ रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

    सेल्टा भिगो लालिगामा नोभेम्बर २१ देखि अविजित थियो । यस्तोमा सान्टियागो बर्नबाउ भ्रमण गरेको उसले छैटौं मिनेटमै मार्को एसेन्सियोको क्रसमा लुकास भाज्क्वेजको हेड गोलमार्फत १–० ले पछि पर्‍यो ।

    दोस्रो हाफमा एसेन्सियो आफैंले पनि गोल गर्न सफल भए । उनले ५३ औं मिनेटमा कासिमेरोको पासको सदुपयोग गरेका थिए ।

    दोस्रो हाफमा आफ्नो शीर्ष गोलकर्ता लागो अस्पासलाई गुमाएको सेल्टाले खेल अवधिभर कमै मात्र गोलका अवसर सृजना गर्न सक्यो । स्यान्टी मिनाले एउटा उच्च अवसर पाएका थिए तर त्यो पोष्टबार नजिकैबाट बाहिरियो ।

    यो जितले रियल मड्रिडलाई शीर्ष स्थानमा एट्लेटिको मड्रिडभन्दा १ अंकले अगाडि पुर्‍याएको छ । रियलको १७ खेलबाट ३६ अंक भएको हो ।

    डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले १४ खेलमा ३५ अंक छ । उसले आइतबार डेपोर्टिभो अलाभेससँग खेल्नेछ । १७ खेलबाट २३ अंकसहित सेल्टा भने आठौं स्थानमा छ ।

  • पहिलो खेलमै सन्दीपले लिए दुई विकेट, होबार्ट हरिकेन्स विजयी

    पहिलो खेलमै सन्दीपले लिए दुई विकेट, होबार्ट हरिकेन्स विजयी

    अष्ट्रेलिया । बिग बास लिगअन्तर्गत सन्दीप लामिछानेले शनिबार आफ्नो टीम होबार्ट हरिकेन्सको तर्फबाट पहिलो खेल खेलेका छन् । नयाँ टीमको लागि सन्दीपले दुई विकेट पनि लिए । उनको टीमले मेलबर्न स्टार्सलाई २१ रनले हरायो ।

    पहिले ब्याटिङ रोजेको होबार्टले पाँच विकेटमा १६४ रन बटुलेको थियो । डाविड मलानाले सर्वाधिक ७६ रन बनाए । मेलबर्नले ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । नेपाली लेग स्पिनर सन्दीपले ४ ओभरमा ३८ रन खर्चे । उनले हिल्टन कार्टराइट र बेन डन्कको विकेट लिए ।

    मेलबर्न स्टार्सको तर्फबाट ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रन बनाए ।

  • सौरभ गांगुलीलाई हृदयघात, आजै छातीको शल्यक्रिया हुने

    सौरभ गांगुलीलाई हृदयघात, आजै छातीको शल्यक्रिया हुने

    भारतीय क्रिकेट टीमका पूर्वकप्तान एवं भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीलाई हृदयघातपछि दिल्लीस्थित उडल्यान्ड अस्पताल भर्ना गरिएको छ । बीसीसीआइ अध्यक्ष गांगुली साइद मुस्ताङ अली क्रिकेट टुर्नामेन्टको तयारीबारे छलफल गर्न बंगाल क्रिकेट बोर्डका अध्यक्ष अभिषेक डालमियासँग इडेन गार्डेन रंगशालातर्फ गएका थिए ।

    चिकित्सकले शनिबार बेलुका उनको छातीमा रक्तप्रवाह गराउनको लागि शल्यक्रिया गर्ने जनाइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले ट्वीट गर्दै गांगुलीको स्वास्थ्य लाभको कामना गरेकी छन् । अहिले गांगुलीलाई आइसीयूमा राखिएको जनाइएको छ ।

  • अशोक उत्कृष्ट निर्णायक

    अशोक उत्कृष्ट निर्णायक

    काठमाडौं ।  तेक्वान्दोका नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टायरलेस हिरोज वेल्जियन कप २०२० मा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

    वेल्जियम तेक्वान्दो महासंघको आयोजनामा डिसेम्बर २६ देखि २८ तारिसम्म भएको प्रतियोगितामा खड्का उत्कृष्ट चुनिएका हुन् । प्रतियोगितामा विभिन्न राष्ट्रका १० निर्णायक सहभागी थिए । भर्चुअल प्रतियोगितामा पुम्से र हाइ स्पिड किकमा प्रतिस्पर्धामा भएकोमा खड्काले दुवैमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    प्रतियोगितामा विभिन्न ६६ राष्ट्रका १ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा एसियाली र विश्व च्याम्पियनसिपमा पदक विजेता खेलाडीले पनि सहभागिता जनाएको खड्काले जनाएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक मात्र नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

  • नेकपा विभाजनको असर खेलकुद परिषदमा

    नेकपा विभाजनको असर खेलकुद परिषदमा

    सुर्खेत । नेकपा विभाजनको असर कर्णाली प्रदेश खेलकुद परिषदमा परेको छ । परिषदको पहिलो बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न मुख्यमन्त्री महेन्दबहादुर शाहीले निर्देशन दिएपछि परिषद् प्रभावित भएको हो ।

    परिषदको बिहीबार बिहान पहिलो बैठक बसेको थियो । बैठकले हुम्ला जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा विनोद बोहोरा र सुर्खेत जिल्ला अध्यक्षमा चन्द्रबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री शाहीको निर्देशनका कारण उक्त निर्णय पनि प्रभावित भएको छ । परिषद्मा नियुक्त भएका दुबैजना नेकपाको ओलीपक्षका हुन् ।

    परिषदका उपाध्यक्ष प्रमोद हमालले मुख्यमन्त्रीको निर्देशनले निर्णय अलमलमा परेको बताए ।

     

  • सन्दीपले बिगबासमा नयाँ टिमबाट शनिबार पहिलो खेल खेल्ने

    सन्दीपले बिगबासमा नयाँ टिमबाट शनिबार पहिलो खेल खेल्ने

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएको छ ।
    चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् ।

    लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका ६ खेल गुमाएको थियो ।

    नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनले प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए ।

    लामिछाने सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।

    बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया गएका थिए । क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभयासमा जुटेका छन् । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ । उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेको हो । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए ।

  • इडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध, एक लाख पाउन्ड जरिवाना

    इडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध, एक लाख पाउन्ड जरिवाना

    एजेन्सी । म्यानचेस्टर युनाइटेडका उरुग्वेली स्ट्राइकर इडिन्सन काभानी तीन खेलको प्रतिबन्धमा परेका छन् । सामाजिक सन्जालमा रंगभेदी शब्दको प्रयोग गरेको आरोपमा छानबिनपछि एक लाख पाउन्ड जरिवानासहितको कारबाही सुनाइएको हो ।

    ३३ वर्षीय यी स्ट्राइकरले इंग्लिस फुटबल एशोसिएसनसँग आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । काभानीले २९ नोभेम्बरमा साउथह्याम्प्टनमाथिको जितका लागि गोल गरेपछि इन्स्टाग्रामममा केही टिप्पणी गरेका थिए, जुन स्पेनिस भाषामा थियो ।

    उनको पोष्टको अनेक अर्थ लाग्न थालेपछि तत्कालै डिलेट गरी माफी पनि मागेका थिए । जरिवाना र प्रतिबन्धसँगै उनले ‘फेस–टू–फेस’ शैक्षिक कार्यक्रममा पनि सहभागी हुनुपर्नेछ ।

    काभानीको प्रतिबन्ध तत्कालै लागू हुनेछ र प्रिमियर लिगमा नयाँ वर्षको दिनमा एस्टोन भिल्लासँग हुने खेल उनले गुमाउनेछन् । उनले ६ जनवरीमा हुने लिग कप सेमिफाइनलमा म्यानचेस्टर सिटी र ९ जनवरीमा एफए कपको तेस्रो चरणमा वाटफोर्डसँगको खेल गुमाउनेछन् ।

  • राष्ट्रिय महिला क्रिकेटमा : बागमतीले गण्डकीलाई ६५ रनले हरायो

    राष्ट्रिय महिला क्रिकेटमा : बागमतीले गण्डकीलाई ६५ रनले हरायो

    काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । दाङको लमहीमा जारी प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गरेको छ ।

    खेलमा बागमतीले दिएको १ सय ५४ रनको विशाल योगफललाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा ८८ रनमा सिमित हुन पुगेको थियो । गण्डकीका लागि सृष्टि पौडेलले सर्वाधिक ३० रन तथा कप्तान शिला क्षेत्रीले २६ रनको योगदान गरिन् ।

    बलिङतर्फ बागमतीका लागि कप्तान अस्मिना कर्मचार्य, सुमन खतिवडा, आराती बिडारी र निशा तामाङले १÷१ विकेट लिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

    टिमले विशाल योगफल खडा गर्ने क्रममा बागमतीले सुरुवात देखिनै राम्रो सुरुवात पाएको थियो । ओपनर ब्याटरद्वय कन्चन श्रेष्ठ र विन्दा कटवालले ७६ रनको ओपनिङ साझेदारी गरेका थिए । १०.२ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी कन्चनले २९ बलको सामना गर्दै १ चौकासहित २७ रन बनाएकी थिइन् ।

    कन्चन आउट भएपछि विन्दालाई साथ दिन सुमन खतिवडा आएकी थिइन् । राम्रो ब्याटिङ गरेका यी दुईबीच दोस्रो विकेटका लागि ५३ रनको साझेदारी हुन् पुगेको थियो ।

    टिमलाई ठूलो स्कोरतर्फ पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमन दोस्रो विकेटका रुपमा आउट हुन् पुगेकी थिइन् । १७.४ ओभरमा टिमको स्कोर १ सय २९ रन हुँदा आउट हुन् पुगेकी उनले २६ बलको सामना गर्दै ४ चौकासहित ३१ रन बनाइन् ।

    यस्तै विन्दाले भने पारीकै सर्वाधिक धेरै रन बनाइन् । राष्ट्रिय प्रतियोगितामा समेत डेब्यु गरेकी उनले ५८ बलमा ३ चौकाको सहयोगमा ३८ रनको योगदान गरिन् । अत्यमा आरती विडारीले १० रनमा अविजित रहदा कप्तान अस्मिना कर्मचार्यले ८ रन जोडेकी थिइन् ।

    बलिङतर्फ गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिएकी थिइन् । यो जितसँगै समूह बी मा रहेको बागमतीले २ खेलमा १ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिकामा २ अंक जोडेको छ । भने लगातार दुई खेलमा पराजित भएको गण्डकी समूह चरणबाटै बाहिरिएको छ ।

    यता लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ एक खेल अगावै सेमिफाइनल पुगेको छ । अब प्रतियोगिता अन्तर्गत बिहिबार समूह बी का अन्तिम खेल हुनेछन् । जस अन्तर्गत पहिलो खेलमा सुदूर पश्चिमले बागमतीको सामना गर्दा दिनको दोस्रो खेलमा प्रदेश १ ले गण्डकीको सामना गर्नेछ ।

  • एट्लेटिको मड्रिड ला लिगाकाे शीर्षमै, रियल बराबरीमा रोकियो

    एट्लेटिको मड्रिड ला लिगाकाे शीर्षमै, रियल बराबरीमा रोकियो

    एजेन्सी । गएराति गेटाफेलाई पराजित गरेपछि एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमै रहेर सन् २०२० लाई बिदाई गरेको छ ।

    घरेलु मैदान स्टाडियो मेट्रोपोलिटिनोमा पहिलो हाफमा लुइस स्वारेजले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । एट्लेटिकोमा प्रशिक्षक डिएगो सिमोनीका लागि यो ५ सयौं खेल पनि थियो ।

    जितपछि एट्लेटिकोले शीर्ष स्थानमा स्पष्ट २ अंकको अग्रता बनाएको छ । किनभने त्यसअघि रियल मड्रिडले एल्चेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

    लुका मोड्रिचले पहिलो हाफमा गोल गरी लिएको अग्रता जोगाउन नसकेको रियलले दोस्रो हाफको सुरुमै पेनाल्टीमा गोल खान पुग्यो ।

    अंकतालिकामा एट्लेटिकोको १४ खेलबाट ३५ अंक छ । २ खेल बढी खेलेको रियलको २ अंक कम छ ।

    सिमोनीले एट्लेटिको सम्हालेयता सन् २०१४ मा टोलीले ला लिगाको उपाधि जितेको थियो । उनको प्रशिक्षणमा एट्लेटिकोले ३०१ खेले जितेको छ ।

     

  • खेलकुद गतिविधिले कोरोनालाई परास्त पार्छ : राखेप

    खेलकुद गतिविधिले कोरोनालाई परास्त पार्छ : राखेप

    काठमाडौं । कोभिडका कारण रोकिएको खेलकुद गतिविधि छिट फुट बाहेक अझै चल्न सकेको छैन । खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् । खेलाडी देखी खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवज उठाइरहेका छन् ।

    छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चलान हुन थालेका छन् । फुटबल देखी क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडीले पनि जुरमुराइसकेका छन् । ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन् ।

    भर्चुअल रुपमा केही प्रतियोगिता सुरु भएपनि कोभिड अगाडिको लय खेलकुदमा अझै देखिएको छैन । खेलकुद गतिविधिलाई निर्वाद रुपमा सचारु गर्न राष्ट्रिय खेलकुद परिषद तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताए । फुटबल, क्रिकेट लगायतका संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए ।

    खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले खेलाडी पनि मानसिक रुपमा तयार हुन पर्ने बताए । खेलकुद गतिविधि स्वास्थको हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले प्रचार प्रसार गर्नु पर्ने तर्क राखे ।

    सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक हात पारेका करातेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए ।

    अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुचारु भइसकेका छन् । तर घरेलु प्रतियोगिता सुचारु गर्नेमा भने अझै अन्योल देखिएको छ ।

  • मेस्सी अनुपस्थित खेलमा बार्सिलोना बराबरीमा रोकियो

    मेस्सी अनुपस्थित खेलमा बार्सिलोना बराबरीमा रोकियो

    एजेन्सी । लियोनल मेस्सी चोटका कारण मैदान बाहिर हुनुपरेपछि कमजोर महसूस गरेको बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलबार राति एइबारसँग घरेलु मैदानमा बराबरी खेलेको छ ।

    मार्टिन ब्रेथवेइटले पहिलो हाफमा पेनाल्टी खेर फाल्दा बार्सिलोनाले नोउ क्याम्पमा अग्रता बनाउन चुकेको थियो । दोस्रो हाफमा एइबारले अग्रता बनायो । ५७ औं मिनेटमा किके गार्सियाले शानदार गोल गरेका हुन् ।

    १० मिनेटपछि ओस्मान डेम्बेलेले गोल गरी खेल बराबरीमा ल्याए । डेम्बेलेले खेलमा पहिलो प्रहारमै गोल गरेका हुन् ।

    गोलीगाँठाको समस्याबाट मुक्त हुने प्रक्रियामा रहेका मेस्सीले बेन्चमै बसेर खेल हेरे । उनी मंगलबार विहानमात्र अर्जेन्टिनाबाट आएका हुन् ।

    यो बराबरीले १५ खेलबाट २५ अंक भएको बार्सिलोना अंकतालिमामा छैटौं स्थानमा छ । रेलिगेसन क्षेत्रबाट मात्र २ अंकले अगाडि रहेको एइबार १६ औं स्थानमा छ ।

  • दोस्रो टेष्टमा भारत ८ विकेटले विजयी, शृंखला १-१ को बराबरीमा

    दोस्रो टेष्टमा भारत ८ विकेटले विजयी, शृंखला १-१ को बराबरीमा

    एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत अस्ट्रेलियाबिरुद्धको दोस्रो टेष्टमा भारतले ८ विकेटको जित हासिल गरेको छ ।

    पहिलो टेष्टमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो । चार टेष्टको शृंखला १–१ को बराबरीमा पुगेको छ ।

    मेलवर्न क्रिकेट मैदानमा दोस्रो पारीमा १३३/६ को स्थितिबाट चौथो दिनको सुरुआत गरेको अस्ट्रेलियाले लन्चअगाडि अलआउट हुनुअघि ६७ रन थप्यो । र, भारतले ७० रनको विजय लक्ष्य पायो ।

    भारतका कप्तान अजिंक्या रहने २७ र ओपनर डेब्यू ब्याट्सम्यान शुभमन गिलले ३५ रनको अविजित पारी खेल्दै टिमलाई जित दिलाए । अर्का ओपनर मयांक अग्रवाल ५ र चेतेश्वर पुजारा ३ रनमै आउट भएका थिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो पारीमा १ सय ९५ रनमा समेटिएको थियो । जवाफमा कप्तान अजिंक्या रहनेको शतकीय योगदानमा भारतले ३ सय २६ रन बनाएर १ सय ३१ रनको अग्रता बनाएको थियो ।

    तेस्रो टेष्ट सिड्नीमा जनवरी ७ देखि सुरु हुनेछ ।

  • चेल्सीको लगातार कमजोर प्रदर्शन, एस्टोन भिल्लासँग बराबरी

    चेल्सीको लगातार कमजोर प्रदर्शन, एस्टोन भिल्लासँग बराबरी

    एजेन्सी । इंग्लिस क्लब चेल्सीका पूर्व स्ट्राइकर क्रिस सटनले नियमित जितको निरन्तरता दिन नसक्ने हो भने क्लबका प्रशिक्षक फ्र्यांक लाम्पार्डको भविश्य खराव बन्दै गइरहेको टिप्पणी गरेका छन् ।

    १२ डिसेम्बरमा एभर्टनलाई पराजित गर्न सकेको भए चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा पुग्ने थियो । तर त्यसो हुन सकेन ।

    पछिल्ला ५ मध्ये चौथो खेलमा चेल्सीले स्पष्ट तीन अंक हासिल गर्न नसकेको हो । गएराति उसले एस्टोन भिल्लासँग १–१ गोलको बराबरी खेल्यो ।

    ‘यो समयमा उनीहरु संघटग्रस्त क्लब हुन् । किनभने उनीहरुले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्,’ सटनले बीबीसी रेडियोसँग भने, ‘उनीहरु भुत्ते भएका छन् र फ्र्यांकले छिट्टै केहि गर्नुपर्छ । हामी सबैले बुझेका छौं चेल्सी खराव दिशामा छ ।’

    यो खेलमा जित हासिल गरेको अवस्थामा चेल्सी चौथो स्थानमा पुग्ने थियो । १६ खेलबाट उसको २६ अंक भएको छ र छैटौं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलसँग ६ अंकको दूरीमा छ ।

    सोमबार रातीकै खेलमा क्रिष्टल प्यालेस र लेस्टर सिटीबीचको खेल पनि १–१ को बराबरीमै सकिएको छ । लिगमा लगातार दोस्रो बराबरी खेलेको लेस्टर दोस्रो स्थानमा यथावत छ । उसको १६ खेलबाट २९ अंक भएको छ ।

    कोरोना संक्रमित पाइएपछि म्यानचेस्टर सिटी र एभर्टनबीचको खेल स्थगित गरिएको छ ।

  • राष्ट्रिय महिला क्रिकेटमा कर्णाली प्रदेश फराकिलो अन्तरले पराजित

    राष्ट्रिय महिला क्रिकेटमा कर्णाली प्रदेश फराकिलो अन्तरले पराजित

    रुपन्देही । दाङको लमहीमा जारी प्रधानमन्त्री कप  राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता टी–२० अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा प्रदेश २ ले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

    प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको प्रदेश २ ले सान्त्वना जित हासिल गर्ने क्रममा कर्णालीलाई १ सय ४३ रनले पराजित गर्यो ।
    सोमबारको पहिलो खेलमा प्रदेश २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २२ रनमा सिमित भयो ।

    कर्णालीका लागि ओपनर ब्याटर त्रिशना विश्वकर्माले ७ रन र आयुशा टन्डनले अविजित रहँदै ४ रन जोडिन् । बलिङतर्फ प्रदेश २ का लागि सरस्वती कुमारी र कविता गौतमले समान ३(३ विकेट लिदा सन्तोषी चौधरी र आरती चौधरीले पनि १–१ विकेट लिएका थिए ।

    त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। टिमले ठूलो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर अनुराधा चौधरीले अर्धशतकीय पारी खेलिन् । अविजित रहेकी उनले ६० बलमा ६ चौकासहित ६९ रन बनाइन् ।

    टिमले सुरुवाती देखिनै राम्रो सुरुवात गरेको थियो ओपनरद्वय अनुराधा चौधरी र सोभा आले ले ६६ रनको ओपनिङ साझेदारी गरेका थिए । ७.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी सोभाले २४ बलमा २ चौकासहित २३ रन बनाइन् । यस्तै टोलीका लागि विमला मगरले २१ रन र सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् ।

    बलिङतर्फ कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजाता बोगटीले १ विकेट हात पारिन् । यो सँगै प्रतियोगिताको समूह ए मा रहेको कर्णालीले समूह चरणका सबै खेल गुमाउँदै प्रतियोगिताबाट बहिरिएको छ । यता प्रदेश २ दुई खेलमा पराजित हुँदा एक खेलमा जित हासिल गर्न सफल भयो । यस समूहबाट लुम्बिनी प्रदेश र विभागीय टोली एपीएफ सेमिफाइनल पुगेको छ ।

     

  • एएफसीमा आर्मीलाई अवसर

    एएफसीमा आर्मीलाई अवसर

    काठमाडौं । शीर्ष डिभिजन खेल्ने नेपालको विभागीय टोलीले एसियाली फुटबल महासंघ (एएफसी)बाट केही दिन अगाडि मात्र लाइसेन्स प्राप्त गर्यो । ए डिभिजन लिग खेलेका १४ टोलीले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाएसँगै अब आर्मीले मात्रै एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने भएको छ ।

    कुनै समय दक्षिण एसियामा बलियो मानिने नेपाली फुटबल पछिल्लो समय विभिन्न उतारचढावले गर्दा लयमा नदेखिनु तितो यथार्थ हो । एएफसीका प्रतियोगितामा बलियो चुनौति दिँदा दर्शकको वाह वाह बटुल्ने गरेको नेपाली क्लबले पछिल्ला केही संस्करण प्रतिनिधित्व गर्न सकेनन । कहिले विनाशकारी महाभूकम्प त कहिले फुटबल भित्रको आन्तरिक किचलोले नेपाली फुटबल भूमरीको भूंग्रोमा फस्यो । तर पनि विभागीय टोली हुनुको अर्थले आर्मीले एएफसीको लाइसेन्स पाउन सक्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता चुनौती नहुने फुटबलका विश्लेशक सञ्जीव मिश्रले बताए ।

    फुटबल विकासका लागि शीर्ष डिभिजन लिग खेल्ने क्लबलाई एएफसी लाइसेन्स प्रदान गर्दै फुटबल अगाडि बढाउने हेतु राखेको एएफसीले नेपालको एक मात्र क्लब त्रिभुवन आर्मी क्लबलाई मान्यता दिँदा अन्य शीर्ष डिभिजनका क्लबले मापदण्ड पूरा हुन नसकेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्विकार गरे ।

    विभागीय टोली त्रिभुवन आर्मी पछिल्लो पटक सम्पन्न शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता हो । मोफसलका केही प्रतियोगितामा उपाधि जित्दै अन्य क्लबलाई बलियो चुनौति दिन आर्मीलाई अन्तर्राष्ट्रिय स्तरका क्लबसँग प्रतिस्पर्धा गर्न त्यति सहज भने छैन । त्यसो त विभागीय टोलीमा राष्ट्रिय टोलीको जर्सी पहिरिने खेलाडी पनि समावेश भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका केही प्रतियोगितामा अनुभव बटुलिसकेका छन् । जसले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन बलियो पक्ष हुनेछ ।

    अन्य क्लबलाई भन्दा आर्मीलाई साख जोगाइ राख्न वातावरण तुलना गर्दा केही सहज छ । आफ्नै मैदान, खेलाडीले पाउने सेवा र सुविधा आर्मीका लागि थप हौसलाका पाटा हुन । पूर्वाधारको अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरका क्लबलाई टक्कर दिने तयारीमा जुट्नु मिहिनेत जरुरी हुन्छ । यसका अलावा आर्मीलाई एएफसीले गरेको विश्वास र फुटबल विकासमा राखेको अपेक्षालाई पूरा गर्न दृढताका साथ लाग्नुको विकल्प छैन ।

  • लिभरपुल र टोटनह्यामले आ–आफ्नो खेलमा अंक बाँडे

    लिभरपुल र टोटनह्यामले आ–आफ्नो खेलमा अंक बाँडे

    एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले रेलिगेसन जोनमा संघर्षरत वेष्टब्रुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । पाँचौं स्थानको टोटनह्यामले पनि वुल्भ्ससँग समान नतिजा जोडेको हो ।

    एनफिल्डमा अन्तिम १० मिनेट अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिनुपरेको हो । साडियो मानले १२ औं मिनेटमा गरेको गोलमाफर्त घरेलु टोलीले अग्रता बनाएको थियो ।

    पुछारबाट दोस्रो स्थानमा रहेको वेष्टब्रुमले ८२ औं मिनेटमा गोल फर्कायो । म्याथ्युज पेरेइराको पासमा सेमी अजेयीले हेडमार्फत गोल गरेपछि लिभरपुलले २ अंक गुमायो ।

    नाइजेरियाका अजेयीले प्रिमियर लिगमा जारी सिजन पहिलो गोल गरेका हुन् । लिभरपुललाई उसकै मैदानमा गोल गरेपछि वेष्टब्रुमका खेलाडीले ठूलो खुसियाली मनाएका थिए ।

    बराबरीपछि १५ खेलबाट ३२ अंकसहित लिभरपुलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । वेष्टब्रुमका लागि भने यो बराबरीले खासै फरक परेको छैन । १९ औं स्थानमा रहेको उसले समान खेलबाट ८ अंक हासिल गरेको छ ।

    टोटनह्यामलाई भने वुल्भ्सले बराबरीमा रोकेको हो । पाहुना टोली टोटनह्यामका लागि डोम्बेलेले पहिलो मिनेटमै गोल गरेका थिए । उसले पनि अन्तिम ५ मिनेटको अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।

    ८६ औं मिनेटमा रोमेन साइसले पेड्रो नेटोको पासमा गोल गरी टोटनह्यामबाट अंक खोसेका हुन् ।

    बारबरीपछि १५ खेलबाट २६ अंकसहित टोटनह्याम पाँचौं स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटीको समान २६ अंक भए पनि गोलअन्तरमा पछि परेको हो । वुल्भ्सको भने १५ खेलबाट २१ अंक भएकको छ र तालिकाको एघारौं स्थानमा छ ।

     

  • चेल्सीमाथि आर्सनलको जित, शेफिल्डलाई हराएर एभर्टन दोस्रोमा

    चेल्सीमाथि आर्सनलको जित, शेफिल्डलाई हराएर एभर्टन दोस्रोमा

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीमाथि ३–१ गोलअन्तरको जित हासिल गरेको । पछिल्लो २ महिनायता आर्सनलले प्रिमियर लिगामा पहिलो जित हासिल गरेको हो ।

    घरेलु मैदान इमिरेट्स रंगशालामा अलेक्जान्द्रे लाकाजेट्टेले पेनाल्टीमार्फत ३४ औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफको एक मिनेटअघि ग्रानित जाकाले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनायो ।

    बाकायो साकाले ५६ औं मिनेटमा आर्सनलका लागि तेस्रो गोल गरेका हुन् । चेल्सीका ट्यामी अब्राहमले ८५ औं मिनेटमा सान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

    गएको नोभेम्बर १ मा म्यानचेस्टर युनाइटेडमाथि जित हासिल गरेयता आर्सनलले प्रिमियर लिगमा लगातार ७ खेल जित्न सकेको थिएन । जितपछि १७ अंकसहित आर्सनल १४ औं स्थानमा उक्लिएको छ ।

    यता जिल्फी सिगर्डसनको निर्णायक गोलका कारण एभर्टनले रेलिगेसन जोनमा संघर्षरत शेफिल्ड युनाइटेडमाथि जित हासिल गर्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

    शेफिल्डले घरेलु मैदानमा बहादुरीपूर्ण प्रदर्शन गरेको थियो । लिगका सुरुआती १५ खेलमा २ अंकमात्र जोडेको शेफिल्डमाथि ८० औं मिनेटमा सिगर्डसनले गोल गरेका हुन् ।

    जितपछि १५ खेलबाट २९ अंकसहित एभर्टन अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको २ अंक बढी छ ।

    शनिबार म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका कारण अंकतालिकाको तेस्रो र चौथो स्थानमा क्रमसः लेस्टर (२८) र युनाइटेड (२७) छन् ।

    गएराति न्युकाशल युनाइटेडलाई २–० गोलले पराजित गरी म्यानचेस्टर सिटी पाँचौं स्थानमा पुगेको छ । घरेलु मैदान इथिहाड रंगशालामा सिटीका लागि १४ औं मिनेटमा गुन्डोगान र ५५ औं मिनेटमा फरान टोरेसले गोल गरेका थिए ।

    जितपछि १४ खेलबाट २६ अंकसहित सिटी पाँचौं स्थानमा पुगेको हो । शनिबार फुलह्याम र साउथह्याम्प्टनले गोलरहित बराबरी खेले भने एस्टोन भिल्लाले क्रिष्टल प्यालेसलाई ३–० ले हरायो ।

  • झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता माघ १० देखि

    झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता माघ १० देखि

    नुवाकोट । आगामी माघ १० गते पाँचौं झिल्टुङ क्रसकन्ट्री दौड आयोजना हुने भएको छ । एथ्लेटिक्सका पूर्व खेलाडी मोहन नेपाल र नुवाकोट बेलकोटगढी नगरपालिकाको आयोजनामा ‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ दौड हुने भएको हो ।

    शनिबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । १३.४ किलोमिटरको दौड नगरपालिकाको कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओढार, सालचौर हुँदै कोल्पुटारमा आएर समाप्त हुने जनाइएको छ ।

    ४.५ किलोमिटरको दौड चाहिँ मनोरञ्जनका लागि हुने भएको छ । प्रतियोगितामा प्रथम हुने पुरुष तथा महिलालाई १५ हजार, द्धितीयलाई १० हजार र तृतियलाई ५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । अघिल्ला प्रतियोगितामा राखिएको रेकर्ड तोड्नेलाई पनि ५ हजार नगदले पुरस्कृत गरिने भएको छ ।

    ४.५ किलोमिटरको खुल्ला दौडतर्फ पहिलो हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार नगदले पुरस्कृत गरिने भएको छ । प्रतियोगिताले झिल्टुङ र नुवाकोटको आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

  • प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

    काठमाडौं । दाङको देउखुरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । आजदेखि शुरु हुने प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ ।

    प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भइसकेको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी दिएको छ ।

    आजाको उद्घाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन् ।

  • कोभिडकाे कारण अब लिग रोकिँदैन : एन्फा

    कोभिडकाे कारण अब लिग रोकिँदैन : एन्फा

    काठमाडौं । विश्व भर महामारीको रुप लिएको कोभिड–१९ को असर नेपाली फुटबलमा पनि देखियो । चैत ४ बाट रोकिएको ‘बी’ डिभिजन लिग सुचारु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले चासो देखाइ सकेको छ । सँगै सी डिभिजन लिगको आयोजनाका लागि काम भइरहेको छ । एन्फाले आगामी दिनमा कोभिडका कारण फुटबल स्थगित नगर्ने समेत बताएको छ ।

    सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु हुने सर्वविदितै भएको छ । एन्फाले सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैतको सूरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने सहमती बनाएको हो । कोरोनाका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो र अब कोरोनाका कारण प्रतियोगिता नरोकिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

    विभिन्न ठाउमा देखिएको असर पछि कोरोनका कारण फुटबल पनि अछुतो रहेन । संक्रमणको डरले फुटबल बन्द रह्यो । एन्फाले गत वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगितालाई यथास्थानमा सुचारु गरेर अगाडि बढाउने भएको छ ।

    एन्फा सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत सहमत बनेको छ । सहमती पछि एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमा समेत जानकारी गराएको र सोही मापदण्डलाई पूरा गरेर प्रतियोगिता सुचारु गर्ने लिग निर्देशक सञ्जीब मिश्रले बताए ।

    विश्व महामारीको चपेटा परे पनि तोकिएका स्वाथ्य प्रावधान अपनाउँदै चर्चित फुटबल प्रतियोगिता सुचारु भइसकेका छन् । तर नेपाली फुटबल फर्किनलाई अझै राम्रो र सहज वातावरण मिलेको छैन । फुटबलको सर्बोच्च निकाय एन्फाले कोरोनाको डर भन्दा पनि कोरोनालाई परास्त गर्दै कदम चाल्नु पर्ने अवस्था आएको बताउँछ । फुटबल ठप्प हुँदा खेलाडीमा परेको नकारात्मक असरलाई समयमा केलाउनु पर्ने दायित्व पनि एन्फाको काधमा थपिने देखिन्छ ।

  • पोचेट्टिनो पीएसजी फर्कने सम्भावना बढ्यो

    पोचेट्टिनो पीएसजी फर्कने सम्भावना बढ्यो

    एजेन्सी । विवादित अन्तर्वार्ताका कारण पदच्यूत गर्न लागिएका फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेइनका प्रशिक्षक थोमस टचेलको स्थानमा क्लबकै पूर्व प्रशिक्षक माउरिसियो पोचेट्टिनो नियुक्त हुने सम्भावना बढेको छ ।

    समाचारमा जनाइएअनुसार पीएसजीका खेलाडीहरुले पनि ४८ वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेट्टिनो नै आएको देख्न चाहेका छन् । पीएसजीका अधिकारीहरुले करिव दुई सातादेखि नै पोचेट्टिनोसँग कुराकानी गरिरहेको बुझिएको छ ।

    पीएसजीले टचेललाई बर्खास्त गरिएकोबारे आधिकारिक जानकारी त दिएको छैन । तर बुधबार स्ट्रासवर्गलाई ४–० गोलअन्तरले पराजित गरेको एक घण्टापछि नै उनलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

    सन् २०१८ को जूनयता पीएसजीमा रहेर टचेलले टिमलाई दुईपल्ट फ्रेन्च लिग वान, फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि दिलाएका थिए ।

    सबैभन्दा ठूलो सफलताको रुपमा गत सिजन पीएसजीले क्लब इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । बायर्न म्युनिखसँग १–० ले हारेपछि उपाधि जित्न चुकेकाे थियाे ।

    बोरुशिया डर्टमन्डका पूर्व प्रशिक्षक टचेलको सम्झौता यही सिजनको अन्तिमसम्म थियो ।

  • गौतम बुद्ध क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाको १० लाख सहयोग

    गौतम बुद्ध क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाको १० लाख सहयोग

    भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाले १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

    रंगशाला निर्माणका लागि नगरपालिकाले १७ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा १० लाख प्रदान गरेको हो ।

    नगरपालिकाको तर्फबाट १५ लाख, जनप्रतिनिधिको तर्फबाट एक लाख र कर्मचारीको तर्फबाट एक लाख गरी १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

    रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

    नगर प्रमुख वनले कोरोना महामारीका कारण रंगशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको स्वीकारे । उनले भने, ‘चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।’

    चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रंगशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उनको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी सात लाख पनि छिट्टै हस्तान्तरण गरिने जानकारी दिए । रासस 

  • एभर्टनलाई हराउँदै लिग कपको सेमिफाइनलमा पुग्यो म्यानचेस्टर युनाइटेड

    एभर्टनलाई हराउँदै लिग कपको सेमिफाइनलमा पुग्यो म्यानचेस्टर युनाइटेड

    एजेन्सी । एभर्टनलाई उसकै मैदानमा पराजित गरी म्यानचेस्टर युनाइटेडले इंग्लिस नकआउट प्रतियोगिता लिग कपको सेमिफाइनलमा पुगेको छ ।

    खेलको अन्तिम ७ मिनेट संहालिन नसक्दा एभर्टन नियमित समयमा पराजित हुनुप¥यो । युनाइटेडका लागि ८८ औं मिनेटमा मात्र निर्णायक सफलता रह्यो । एन्थोनी मार्सलको पासमा इडिसन काभानीले गोल गरेका हुन् ।

    इन्ज्यूरी समयको अन्तिम मिनेटमा मार्सलले नै युनाइटेडका लागि दोस्रो गोल गरे र टिमलाई सेमिफाइनल प्रवेश निश्चित गरे ।

    जितपछि कप्तान ह्यारी मगायरले उनको टोली उपाधिहरु जित्ने प्रक्रियाको सुरुआत भएको बताएका छन् ।

  • सोमपाल कामी, करण केसी र कुशल मल्लले टी–१० लिग खेल्ने

    सोमपाल कामी, करण केसी र कुशल मल्लले टी–१० लिग खेल्ने

    काठमाडाैं । राष्ट्रिय टोलीका तीव्र बलरद्वय सोमपाल कामी र करण केसीसहित युवा अलराउन्डर कुशल मल्लले युएईमा आयोजना हुने आसन्न टी–१० अर्थात १० ओभरको क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

    बुधबार युएईमा भएको ‘ड्राफ्ट’मा सोमपाललाई मराठा अरेवियन्सले अनुबन्ध गरेको छ । मराठा गत सिजनको उपाधि विजेता टोली हो ।

    करण केसीले भने पुने डेभिल्सबाट खेल्नेछन् । कुशललाई टिम आवुधावीले रोजेको हो ।

    टी–१० लिगमा सन्दिप लामिछाने र पारस खड्काले अघिल्ला वर्षहरुमा खेलिसकेका छन् । पछिल्लो सिजन आबुधावीबाट खेलेका पारस यस सिजनका लागि त्यही टिमको इमर्जिङ प्लेयर मेन्टरको भूमिकामा रहनेछन् ।

    सोमपालले यसअघि पनि क्यानडानमा आयोजित ग्लोवल ट्वान्टी–२० लिग खेलेर बिदेशी फ्रेन्चाइज लिगको अनुभव लिइसकेका छन् भने करण र कुशलका लागि यो पहिलो अनुभव हुनेछ ।

  • मेस्सीले तोडे पेलेको कीर्तिमान

    मेस्सीले तोडे पेलेको कीर्तिमान

    एजेन्सी । स्पेनिस ला लिगामा मंगलबार राति रियल भालाडोलिडमाथिको ३–० को जितका क्रममा तेस्रो गोल गरेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले एउटै क्लबका लागि सबैभन्दा धेरै ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान आफ्नो नाममा सारेका छन् । उनले बार्सिलोनाका लागि ६ सय ४४ औं गोल गरेका हुन् ।

    ३३ वर्षीय मेस्सीले ६५ औं मिनेटमा पेड्रीको ब्याकपासलाई उपयोग गरी वान टच प्रहार भालाडोलिडका गोलरक्षक जोर्डी मासिपले रोक्न सकेनन् ।

    मेस्सीले क्लेमेन्ट लेङलेटले गरेको पहिलो गोलका लागि पनि साप उपलब्ध गराएका थिए । र दोस्रो गोलमा पनि मेस्सीको संग्लग्ना थियो । यसपल्ट मार्टिन ब्रेथवेइटले गोल गरे । खेलको इन्ज्यूरी समयमा मेस्सीको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो ।

    पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन घरेलु क्लब सान्तोषका लागि खेल्दा ६ सय ४३ गोल गरेका थिए ।

    सन् २००५ यताको १६ वर्षमा मेस्सीले यो सफलता हासिल गरेका छन् । उनको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म हो । त्यसैले आउने जनवरीदेखि नै उनले अन्य क्लबसँग पहल गर्न पाउनेछन् । बार्सिलोनामा रहँदा मेस्सीले १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधिद दिलाउन महत्वपूर्ण योगदान दिएका थिए ।

    जितपछि १४ खेलबाट २४ अंकका साथ बार्सिलोना अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । सिजनको कमजोर सुरुआत गरेको बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ८ अंकले पछाडि छ ।

    मंगलबारकै अर्को खेलमा एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको रियल सोसिडाडलाई २–० ले पराजित गरी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । एट्लेटिकोको १३ खेलबाट ३२ र रियल मड्रिडको १४ खेलबाट २९ अंक छ ।

    सोसिडाडमाथिको जितमा मारियो हेर्मोसो र मार्कस लोरेन्टेले गोल गथरेका थिए । रियल मड्रिडले बुधबार ग्रानाडासँग खेल्दैछ ।

  • विपक्षीको अनुहारमा थुक्ने फुटबलरलाई ६ खेलको प्रतिबन्ध

    विपक्षीको अनुहारमा थुक्ने फुटबलरलाई ६ खेलको प्रतिबन्ध

    एजेन्सी । जर्मनीको शीर्ष डिभिजनको फुटबल बुन्डेस लिगाका क्रममा विपक्षी खेलाडीको अनुहारमा थुकेका कारण बोरुसिया मोन्चेनग्लाडबाचका स्ट्राइकर मार्कस थुरामलाई जर्मन फुटबल संघले लिगमा ६ खेलको प्रतिबन्ध र ४० हजार युरो जरिवाना तोकेको छ ।

    शनिबार भएको खेलमा २३ वर्षीय फ्रान्सेली खेलाडी थुराम रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए भने टोलीले होफेनहिमसँग २–१ गोलको हार ब्यहोरेको थियो ।

    सन् १९९८ को विश्वकप विजेता लिलियन थुरामका छोरा मार्कसले होफेनहिमका डिफेन्डर स्टेफान पोचको अनुहारमै थुकेको भिडियो रिप्लेमा देखिएको थियो ।

    थुरामलाई उनको क्लबले पनि एक महीनाको पारिश्रमिक जरिवाना लगाएको छ । जर्मन अखवार बाइल्डका अनुसार उनको जरिवाना १ लाख ५० हजार युरो हुनेछ, जुन क्लब इतिहासकै सबैभन्दा ठूलो जरिवाना हो । यो रकम च्यारिटीलाई प्रदान गरिनेछ ।

    ‘मार्कसले यो जरिवाना स्वीकार गरेका छन् र उनले आफ्नो तर्फबाट सामाजिक कार्य सुरु गर्ने घोषणा पनि गरेका छन्,’ मोन्चेनग्लाडबाचका स्पोर्टिङ डाइरेक्टर म्याक्स बेर्लले भनेका छन्, ‘म उनलाई एक महान र चिन्तनशील व्यक्तिको रुपमा जान्दछु ।’

    ७८ मिनेटमा थुरामले रातो कार्ड पाउनुअघिसम्म १–१ को बराबरी थियो । तर होफेनहिमले खेलको अन्त्यतिर निर्णायक गोलसहितको जित निकाल्न सक्यो ।

    इन्स्टाग्राममा क्षमायाचना गरेका थुरामले फ्रान्सका लागि तीन अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ‘यो मेरो चरित्र थिएन र यस्तो कहिल्यै हुनुहुँदैनथ्यो’ उनले भनेका छन्, ‘मैले एक प्रतिस्पर्धीलाई गलत तरिकाले प्रतिक्रिया दिएँ र केही ठूलो गल्ती भयो तर त्यो नियोजित थिएन, दुर्घटना थियो ।’

  • अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा मानसिंह डोजोलाई ४ स्वर्ण

    अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा मानसिंह डोजोलाई ४ स्वर्ण

    काठमाडौं । नेपालको मानसिंह डोजोले १३ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पार्र्यो‍‍ ।

    मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जिते । त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा सविता तामाङले पहिलो स्थान हात पारेको मानसिंहका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज महेश महर्जनले जनाएका छन् ।

    महिला यु–१३ मा सविना तामाङले रजत जितिन् । मानसिंहका पाँचै खेलाडीले कुमुतेमा पदक जितेका हुन् ।

    नेपालबाट प्रतिस्पर्धा गरेका अन्य खेलाडी आर्यन रन्जितले पुरुष यु–१० कुमुते मा स्वर्ण जिते । सिनियर कातामा जमनसिंह गुरुङ पहिलो भए । जमन केहि वर्षएता दक्षिण कोरियामा बस्दै आएका छन् ।

    एसकेडियुएनका रामनारायण श्रेष्ठले कांस्य, रोइता सिंहले रजत र उषा शर्माले कांस्य हासिल गरे । तीनैले एकल कातामा प्रतिस्पर्धा गरेका थिए ।

  • ह्यामिल्टनले जिते बीबीसी स्पोर्टस पर्सनालिटी अवार्ड

    ह्यामिल्टनले जिते बीबीसी स्पोर्टस पर्सनालिटी अवार्ड

    एजेन्सी । फर्मुला वानका विश्व च्याम्पियन लेविस ह्यामिल्टनले बीबीसी स्पोर्टस पर्सनालिटी अफ द इयर–२०२० चुनिएका छन् ।

    फर्मुला वान इतिहासकै सर्वश्रेष्ठ ड्राइभरमध्येका एक ह्यामिल्टनले यो वर्ष लगातार चौथो सिजन विश्व च्याम्पियन बन्दै अर्का महान ड्राइभर माइकल सुमाचरको ७ विश्व च्याम्पियनको कीर्तिमान बराबर गरेका थिए ।

    सर्वसाधारणको मतका आधारमा छानिने यो अवार्डमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसन दोस्रा भए । घोडचढी खेलाडी होली डोली तेस्री भइन् । यो अवार्डका लागि बक्सर टाइसन फुरी, क्रिकेटर स्टुवार्ट ब्रोड, स्नुकरमा महान खेलाडी रोनी सुलीभान पनि सर्टलिस्टमा परेका थिए ।

    ‘म मनोनयनमा परेका सबैलाई बधाइ दिन चाहन्छु,’ ह्यामिल्टनले भने, ‘उनीहरुले जे जति सफलता हासिल गरे त्यसका लागि मलाई गर्व छ र मेरा लागि मत दिनुहुने सबैलाई धन्यबाद दिन चाहन्छु ।’

    ‘मैले यति ठूलो सम्मान पाउँछु भनेर सोचेको पनि थिइनँ । यो हामी सबैका लागि असाधारण वर्ष रह्यो । विश्वभर कोरोना महामारीबिरुद्ध अग्रभागमा रहेर काम गर्नुहुने सबैलाई सम्झन चाहन्छु । यो कठिन समयमा सबैले सकारात्मक सोच लिनुहोला,’ अवार्ड पाएपछि ह्यामिल्टनले भने ।

    सन् २०१४ मा पनि ह्यामिल्टनले यो अवार्ड जितेका थिए । अघिल्लो वर्ष उनी उपविजेता बनेका थिए ।

  • रोनाल्डोको २ गोलमा युभेन्टसको सहज जित, बायर्न बुन्डेसलिगाको शीर्षमा

    रोनाल्डोको २ गोलमा युभेन्टसको सहज जित, बायर्न बुन्डेसलिगाको शीर्षमा

    एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले २गोल गरेको खेलमा इटलियन च्याम्पियन युभेन्टसले पार्मामाथि ४–० गोलको सहज जित हासिल गरेको छ ।

    १३ खेलसम्म आफ्नो अविजित यात्रालाई कायम राख्ने क्रममा युभेन्टसका कुलुसेभास्कीले २३ औं मिनेटमा गोल गरी सुरुआती अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि नै रोनाल्डोले गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता भयो ।

    दोस्रो हाफको सुरुमै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा खेलको अन्त्यतिर अल्भारो मोराटाले ४–० को जित निश्चित गरे । जितपछि २७ अंकसहित युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेका एसी मिलान २८ र इन्टर मिलान २७ अंकसहित शीर्ष र दोस्रो स्थानमा छन् ।

    यता जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले बायर लिभरकसेनमाथि २–१ गोलको पुनरागमन जित निकाल्दा यसै साता फिफा वेष्ट पुरुष खेलाडी चुनिएका रोवर्ट लेवान्डोस्कीले दुवै गोल गरे ।

    १४ औं मिनेटमै प्याट्रिक चिकको गोलमार्फत अग्रता बनाएको लिभरकसेनले पहिलो हाफमै बराबरी गोल खायो । ४३ औं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले गोल गरेका थिए ।

    खेलको अन्तिम मिनेटमा जोसुवा किमिचको पासलाई पदुपयोग गरी लेवान्डोस्कीले निर्णायक गोलमात्र गरेनन् टिमलाई शीर्ष स्थानमा पनि पुर्‍याए ।

    खेलअघि १ अंकको दूरीका साथ दोस्रो स्थानमा रहेको बायर्न जितपछि शीर्ष स्थानमा २ अंकको अग्रता बनाउन सफल रहेको छ । समान १३ खेलबाट बायर्नको ३० र लिभरकसेनको २८ अंक छ ।

  • मेसीले राखे पेलेसँग बराबरी कीर्तिमान, एउटै क्लबका लागि ६४३ गोल

    मेसीले राखे पेलेसँग बराबरी कीर्तिमान, एउटै क्लबका लागि ६४३ गोल

    लियोनल मेसीले फुटबलका महान पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानलाई बराबरी गरेका छन् । गोल डटकमका अनुसार शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका मेसीले ६४३ औं गोल गर्दै कीर्तिमान बराबरी गरे ।

    तर, भ्यालेन्सिया र बार्सिलोनाबीचको खेल चाहिँ २-२ को बराबरीमा टुंगियो । मेसी र अरौजोले बार्सिलोनाको लागि एकएक गोल गरे । डाखाबे र गोमेजले भ्यालेन्सियाका लागि एकएक गोल रचे । मेसीले पेनाल्टी मिस गरेका थिए । एन्टोनी ग्रिजम्यानले पहेँलो कार्ड बेहोरे ।

    खेलको पहिलो हाफमा एक गोल गर्दै मेसीले महान पेलेसँग एउटै क्लबका लागि गरेको गोलको कीर्तिमानलाई बराबरी गरेका हुन्। पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गर्न सफल भएका थिए । पेलेले करियरमा हजारभन्दा बढी गोल गरे ।

  • प्यालेसलाई ७ गोलले हराउँदै लिभरपुल शीर्षस्थानमा

    प्यालेसलाई ७ गोलले हराउँदै लिभरपुल शीर्षस्थानमा

    लन्डन –इङलिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई ७–० गोल अन्तरले हराएको छ । यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्षस्थानमा ६ अंकसहित अगाडि छ ।

    १४ खेलबाट लिभरपुलले ३१ अंक बटुलेको छ । लिगमा टोटेनहम २५ अंकसहित दोस्रो स्थानमा छ । प्यालेस भने १८ अंकसहित १२ औं स्थानमा छ । लिभरपुलका लागि रोबर्ट फिरमिनो र मोहम्मद सलाहले दुई दुई गोल गरेका थिए ।

    साडियो माने, ताकुमी मिनामिनो र जोर्डन हेन्डरसनले एकएक गोल गरे ।