Category: खेल प्रेस

  • प्रदेश १ विरुद्ध एपिएफको सहज जित, अविनाश बोहराले लिए ५ विकेट

    प्रदेश १ विरुद्ध एपिएफको सहज जित, अविनाश बोहराले लिए ५ विकेट

    काठमाडौं । अविनाश बोहराको पाँच विकेट प्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा शनिबार प्रदेश नम्बर १ लाई १३५ रनले पराजित गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा सशक्त बलिङ गरेका अविनाशले १० ओभरमा ६ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिएका हुन् । एपिएफविरुद्ध २ सय ४४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर १ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्रै बनाउन सक्यो ।

    घातक बलिङ अट्याक गरेको एपिएफका लागि किशोर महतोले ६ ओभरमा २२ खर्चेर १ विकेट लिए । त्यस्तै, बसन्त रेग्मीले १० ओभरमा तीन मेडनसहित १३ रन मात्रै खर्चिएर दुई विकेट लिएका थिए ।

    ठूलो लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश १ का लागि ओपनरद्वय दीपक पासवानले १३ तथा मिनाश थापाले १८ रन बनाएका थिए । त्यस्तै फिर्दोस अनसारीले १७, दिपेश कँडेलले १६, रबिन मगरले ३ तथा कप्तान सिद्धान्त लोहनीले ९ रन मात्रै बनाउन सके ।

    शुभन्कर उराओ ४ तथा श्रावण यादव १ रनमा सीमित हुँदा सोनु मण्डलले खाता खोल्न सकेनन् । जोसक खड्का १२ रनमा अविजित रहँदा हेमन्त राई २ रन बनाएर पेभेलियन फर्के ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफका लागि आशिफ शेखले ३२ बलमा ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए भने बसन्तले ५२ बलमा ४० रन जोडेका थिए ।

    त्यस्तै सन्दीप जोराले ३०, कप्तान शरद भेसावकरले २० तथा सुवाष खकुरेलले १९ रन जोडेका थिए ।

    प्रदेश नम्बर १ का लागि फिर्दोस अनसारी, दिपेश कँडेल, हेमन्त राई र श्रावण यादले २/२ विकेट लिए । त्यस्तै सोनु मण्डल र जोसक खड्काले १/१ विकेट लिए ।

  • एपिएफले प्रदेश १ लाई दियो २४४ रनको लक्ष्य, आशिफको अर्धशतक

    एपिएफले प्रदेश १ लाई दियो २४४ रनको लक्ष्य, आशिफको अर्धशतक

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश नम्बर १ लाई २ सय ४४ रनको विजय लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रनको योगफल तयार गर्‍यो ।

    एपिएफका लागि ओपनरद्वय आशिफ शेख र सुवाष खकुरेलले ७१ रनको साझेदारी गर्दै सुखद् सुरुआत दिलाएका थिए । सोही क्रममा आशिफले ५९ रनको अर्धशतकीय इनिङ खेल्दा आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

    त्यस्तै सुवाष ४१ बलमा १९ रन जोडेर पेभेलियन फर्किँदा कप्तान शरद भेसावकरले ३९ बलमा २० रन जोडे । प्रदीप ऐरीले ७ रन बनाउन १४ खेल्दा एक चौका प्रहार गरेका थिए । सुमित महर्जन २० बलमा १ चौकासहित १४ रन बनाएर आउट हुँदा सन्दीप जोराले ३९ बलमा चार चौकासहित ३० रन बनाए ।

    त्यस्तै बसन्त रेग्मीले ५२ बलमा चार चौका र दुई छक्कासहित ४० तथा भुवन कार्की ७ रन बनाएर आउट हुँदा कमल ऐरी ५ रन बनाएर आउट भए । त्यस्तै किशोर महतो २३ बलमा २ चौकासहित १९ रन बनाएर आएट हुँदा अविनाश बोहरा ६ रनमा अविजित रहे ।

    प्रदेश नम्बर १ का लागि दिपेश कँडेलले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै हेमन्त राईले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै  श्रावण यादवले ६ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए ।

    फिर्दोस अन्सारीले १० ओभरमा ४० रन खर्चिएर २ विकेट लिँदा जोशक खड्काको नाममा एक विकेट रह्यो ।

  • पिएम कपमा आशिफको अर्धशतक

    पिएम कपमा आशिफको अर्धशतक

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफका आशिफ शेखले प्रदेश १ विरुद्ध अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफका लागि ओपनिङमा आएका आशिफले ३२ बल खेलेर ६ चौका ५ छक्कासहित ६९ रन बनाए ।

    आशिफ नवौं ओभरमा सोनु मण्डलले फालेको पाँचौं बलमा फिर्दोस अनसारीको हातबाट क्याच आउट भए । एपिएफ अहिले १०.१ ओभरमा १ विकेट गुमाएर ७७ रन बनाएर खेलिरहेको छ । एपिएफका लागि सुवाष खकुरेल १० तथा कप्तान सरद भेसावकर ४ रन बनाएर खेलिरहेका छन् ।

  • एपिएफविरुद्ध टस जितेर फिल्डिङ गर्ने प्रदेश १ को निर्णय

    एपिएफविरुद्ध टस जितेर फिल्डिङ गर्ने प्रदेश १ को निर्णय

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफविरुद्ध प्रदेश १ ले टस जितेर फिल्डिङ रोजेको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केही बेरमा सुरु हुने खेलमा दुवै टोली जित हासिल गर्दै प्रतियोगिताको सुखद् सुरुआत गर्न चाहन्छन् ।

    शुक्रबार भएको उद्घाटन खेलमा समूह ‘ए’ बाट विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशमाथि ९८ रनको जित हासिल गरेको थियो ।

    १७ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । प्रतियोगिता त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।

    कोरोना महामारीपछि नेपाल क्रिकेट संघले अघिल्लो महिना दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सन्चालन गरेको थियो । पुरुषहरुको प्रतियोगिता पहिलोपल्ट आयोजना गरिएको हो ।

  • कुन टीमविरुद्ध शतक हानेको भन्ने कुराले खुशी र उत्साह निर्धारण गर्छ : कप्तान विनोद

    कुन टीमविरुद्ध शतक हानेको भन्ने कुराले खुशी र उत्साह निर्धारण गर्छ : कप्तान विनोद

    काठमाडौं । कोरोना भाइरसको महामारीले झण्डै एक वर्ष तहसनहस बनेको नेपाली क्रिकेट बिस्तारै पुरानो लयमा फर्किदै छ । यसै क्रममा आजदेखि प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता पनि सुरु भएको छ । तर, कोरोना भाइरस महामारीबाट नेपाली खेलकुद उम्किन खोजे पनि यसको प्रभावबाट मुक्त हुन सकेको छैन ।

    आज त्रिवि त्रिक्रेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा गण्डकीविरुद्ध शतक बनाएका त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीको अभिव्यक्तिबाट पनि त्यो पुष्टि हुन्छ ।

    अविजित १११ रन बनाउन ७६ बल खेलेका कप्तान विनोदले आफू कोरोना भाइरसबाट भर्खरै मुक्त भएकाले खेल्ने मनसायमा नरहेको बताए ।

    “म कोरोना भाइरसको संक्रमण मुक्त भएको भर्खरै ८/१० दिन मात्रै हुँदैछ । त्यसैले खेल्ने पक्षमा थिइँन,” उनले भने, “लिग चरणका खेलहरू नखेल्ने योजनमा थिएँ ।”

    तर, आर्मीका तीन महत्त्वपूर्ण खेलाडीहरू कुशल मल्ल, सोमपाल कामी र करण केसी अवुधावी टी–१० लिग खेल्न दुबई जाने भएकाले आफू मैदानमा उत्रिनु परेको उनले बताए ।

    “उनीहरू (तीन खेलाडी) पनि नभएकाले मैले पनि नखेल्दा गाह्रो हुन्छ भनेर आज जर्बजस्ती खेलेको हुँ,” उनले भने । आजको खेलमा फिल्डिङमा कमजोरी देखिनुको कारण पनि कोरोनाका कारण लामो समयदेखि खेल्न नपाउनु भएको उनले बताए ।

    पहिलो खेलमा गण्डकीलाई ९८ रनले पराजित गर्दा शतक प्रहार गरेका विनोदको प्रतिक्रिया

    शतकको खुशी

    शतक हान्दा खुशी नै लाग्छ , अहिलेसम्म खुशी नै लागेको छ , अब अगाडिका गेमहरू हेरौं ।

    हामी फाइनलसम्म पुग्ने सोचेर खेलिरहेका छौं । फाइनलसम्म पुग्नका लागि अगाडिका खेलहरू कस्ता हुन्छन् । मुख्य कुरा हामीसँग अहिले प्लेयिङ सेटका तीन जना खेलाडीहरू छैनन् ।

    त्यसैले गर्दा अलिकति गाह्रो भइरहेको छ, सबैलाई ।

    आजको खेल राम्रो भयो

    आजका खेल राम्रै भयो अब अगाडिका खेलहरू हेरौं । तीन जना खेलाडी नभएर टप अर्डरमा ब्याटिङ गर्न आएको होइन, तयारी नै त्यसै अनुसार गरेको हो । किनभने, ५० ओभरको खेलमा आफूलाई समय दिनुपर्छ । त्यसैले हाम्रो टीम नै त्यहिअनुसारको छ । पछाडिको ब्याटिङ लाइनअपमा त्यति धेरै सोच्नु पर्ने छैन ।

    तर, पछाडि ठूला सटहरू खेल्नुपर्छ भन्ने सोचेर खेल्थेँ । अहिले लोकश बम आएपछि पछाडिको लाइनअप पनि बलियो भएको छ ।

    शतकाका लागि पर्याप्त समय

    म खेल्न जाँदा टोली दबाबमा थियो । टप अर्डले खासै राम्रो प्रदर्शन गर्न सकिरहेको थिएन । २०, २५, ३० रन बनाइरहेको भए पनि लामो इनिङ कसैले खेलिरहेको थिएन । त्यसैले म क्रिजमा उत्रिँदा मलाई पर्याप्त समय थियो ।

    २२/२३ ओभरमा ब्याटिङको पालो आएको थियो । मलाई दबाब लिएर खेल्नु पर्ने थिएन । त्यसैले गर्दा सुरुमा समय लिएर खेलिरहेको थिएँ, जसले अन्तिममा सजिलो भयो ।

    आजको खेलमा आफ्नो खेल शैली प्रदर्शन गरेको होइन । ५० ओभरको इनिङमा हानेरै खेल्नुपर्छ भन्ने हुँदैन । आफूलाई समय हुन्छ । त्यसो हुँदा खेलाडीहरूले खेलअनुसार आफूलाई डाल्नुपर्छ । र, मैले पनि आज त्यसैअनुसारले खेलेँ ।

    मुख्य बलरले विकेट लिन नसक्नु र पार्ट-टाइम बलरको प्रभाव

    त्यसमा धेरै सोच्नु पर्ने कुरा छैन । किनभने, दोस्रो इनिङ खेल्दा ब्याटिङको लागि राम्रो भइरहेको थियो । हामीले आफैँलाई गाह्रो कुरा रोजेर पहिले ब्याटिङ गर्ने निर्णय गरिएको हो ।

    बलरहरूको सम्बन्धमा साहब आलमलाई हामीले विश्राम दिएका थियौं । सबै सेटले नै पछि सम्म खेलोस् भन्ने सोचेर हामीले सबैलाई खेलाएर चेक गरिरहेका छौं । हेरौं अगाडिका खेलहरूको नतिजा कस्तो हुन्छ ।

    आजको खेलमा अन्त्यतिर मिडियम पेसरहरूलाई प्रयोग नगर्नुको कारण जोखिम मोल्न नचाहेका हौं । किनभने, चिसो मौसम छ, त्यसले फिटनेसमा समस्या निम्त्याउन सक्छ ।

    त्यसमाथि हामीसँग अगाडिका तीन जना खेलाडी पनि छैनन् । त्यसैले गर्दा यीनै १४ जना खेलाडीलाई लिएर खेल्नुपर्ने बाध्यतालाई ध्यान दिएका हौं । प्रतियोगिता पनि लामो भएकाले खेलाडीहरूलाई बचाउँदै खेलेका हौं ।

    तीन खेलाडीले भ्याउने खेल पनि नखेल्नुको कारण

    तीन जना खेलाडीले सुरुआती तीन खेल खेल्न भ्याउँथे । तर, सुरुआती तीन खेल नै प्रदेशका टोलीहरूसँग छ । विभागसँग भएको भए उनीहरू खेल्थे । तर प्रदेशसँग खेल्दा उनीहरू तीन जना हुने र विभागीय टोलीसँग खेल्दा तीनै जना नहुँदा एकदमै गाह्रो हुन्छ । त्यसैले विभागीय टोलीसँगका खेलसम्म पुग्दा टोलीमा सन्तुलन मिलाउने उद्देश्यले उनीहरूलाई समावेश नगरेका हौं ।

    तीन जना फास्ट बलर किन ?

    पिचको अवस्था त्यस्तो भएकाले तीन जना फास्ट बलर खेलाइएको हो । पिचमा ‘ग्रास’ छ । जुनसुकै टोलीले पनि मिडियम पेसर लिएर खेल्नु नै पर्छ । त्यसमाथि पनि त्रिवि क्रिकेट मैदानमा खेल्दा पाँचै जना मिडियम पेसर लिएर खेल्दा पनि हुन्छ । त्यस्तो पिच छ ।

    गण्डकीले ५० ओभर खेल्न चाहेको थियो

    सुरुआतदेखि नै गण्डकीले ५० ओभर खेल्ने हिसाबले नै खेलिरहेको थियो । गण्डकीले विकेट गुमाउँदैन र जित्नलाई धेरै जोखिम मोलेर पनि खेल्दैन भन्ने हामीलाई थाहा भइसकेको थियो । हामीले मुख्य बलरलाई विश्राम दिनुको कारण पनि त्यही थियो ।

    अभ्यास कम भएर फिल्डिङ कमजोर

    कसैले पनि फिल्डमा क्रिकेट खेल्न नपाएको दश–एघार महिनाभन्दा धेरै भइसक्यो । त्यसले गर्दा पनि गाह्रो भएको हो । हामीले ट्रेनिङ नै राम्रोसँग गर्न पाएको छैन । र, सुरुमा नै ५० ओभरको प्रतियोगिता भयो । त्यसैले लयमा फर्किन केही समय लाग्छ र गाह्रो पनि हुन्छ ।

    मुख्य खेलाडी बिना विभागीय टोलीको सामना

    तीन जना खेलाडी नुहँदैमा जित्नै सकिँदैन भन्ने होइन । किनभने, त्रिकेटमा दुई जना राम्रो खेलाडी हुने बित्तिकै पनि जित्छ । त्यो दिनमा कसले राम्रो खेल्छ त्यसमा पनि भरपर्ने कुरा हो । तर, राम्रो खेलाडीको कमी महसुस हुन्छ । त्यसमा पनि टोलीका नियमित सदस्य भएकाले कमी महसुस पक्कै भएको छ ।

    तर, अरू खेलाडीलाई पनि जबरजस्ती खेलाएको होइन । सबै खेलिरहेकै खेलाडीहरू छन् । विभागीय टोलीसँग पनि त्यति धेरै गाह्रो नहोला ।

    शतकबारे

    म अहिलेसम्म पाँच नम्बरभन्दा पछाडि नै खेल्दै आएको थिएँ । छ नम्बर, सात नम्बर र आठ नम्बरसम्म पनि खेलको हुँ । र, त्यो स्थानमा खेलेर शतकबारे सोच्नु भनेको एकदमै गाह्रो कुरा हो । तर, आज चार नम्बरमा खेलेको हुँदा पर्याप्त समय मिलेको थियो । त्यसैले शतक बनाउन सजिलो भएको हो ।

    किनभने ५० ओभरको खेलमा पर्याप्त समय हुन्छ । एकदिवसीयमा शीर्ष चार ब्याट्सम्यानले नै शतक हान्ने उच्च सम्भावना हुन्छ । यसअघि मैले लामो समयदेखि अगाडि खेलेको थिइँन । धेरैपछि अगाडि खेलेको हो, त्यसैले शतक बनाउन सजिलो भयो ।

    कुन टोलीविरुद्ध शतक हानेको हो भन्ने कुराले खुशी र उत्साह निर्धारित गर्छ । खेल्दा राम्रो खेलियो त्यो आफ्नो ठाउँमा छ । तर, त्यति धेरै खुशी भइँन ।

  • गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

    गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

    काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व। गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ ।

    नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म काठमाडौंको स्युचाटारमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह र पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने मुल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।

    प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

    प्रतियोगिता सञ्चालनका लागि नागार्जुन नगरपालिकाले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने नगरप्रमुख बस्नेतले जानकारी दिए ।

    उनले प्रतियोगिताको उत्कृष्ट महिला बक्सरलाई व्यक्तिगत खर्चमा एक थान स्कुटर प्रदान गरिने घोषणा पनि गरे । उत्कृष्ट पुरुष खेलाडीलाई आयोजकले मोटरसाइकल प्रदान गर्ने छ ।

    प्रतियोगितालाई सफल बनाउन नगरप्रमुख बस्नेतको संयोजकत्वमा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुदमा बक्सिङका पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने नगर प्रमुख बस्नेतले जानकारी दिए ।

  • आर्मीको विजयी सुरुआत, राजेश पुलामीले लिए ५ विकेट

    आर्मीको विजयी सुरुआत, राजेश पुलामीले लिए ५ विकेट

    काठमाडौं । कप्तान विनोद भण्डारीको अविजित शतक तथा राजेश पुलामी मगरको पाँच विकेट प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित ग¥यो । आर्मीका लागि भण्डारीले ७६ बलमा १११ रनको अविजित इनिङ खेले ।

    उनको महत्त्वपूर्ण शतकको मद्दतमा आर्मीले निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाएर २८७ रनको योगफल तयार गरेको थियो ।

    २८८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले समिर कँडेलको अर्धशकत मद्दतमा ४८ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाउन सफल भयो ।

    गण्डकीका लागि कँडेलले सर्वाधिक ५० रन बनाउँदा ५ चौका प्रहार गरेका थिए । ओपनर दीपेश खत्री १ रनमा पेभेलियन फर्किँदा अर्जुन कुमालले ५४ बलमा ६ चौकासहित ३६ रन बनाए ।

    बीपिन खत्रीले अविजित ३७ रन बनाउँदा दीपक डुम्रेले ४५ बलमा ४ चौकासहित २६, अभिषेक थापाले ९, विष्णु पाण्डेले १२ रन बनाए । त्यस्तै सुवाष भण्डारी शून्यमा आउट भए ।

    त्यस्तै अम्रित गुरुङ १, विशाल पौडेल २ तथा तथा चन्द्र पौडेल शून्यमा सीमित भए । आर्मीका लागि राजेशले ९ ओभरमा २५ रन दिएर ५ विकेट लिए । त्यस्तै भीम सार्कीले ७ ओभरमा २६ रन दिएर ३ विकेट लिँदा रोहित कुमार पौडेल र आकाश चन्दले १/ १ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीका लागि हरिकृष्ण् झाले १४, राजु रिजालले ४५, रोहित पौडेलले १०, भीम सार्कीले १५, राजेश पुलामीले ३८, र लोकेश बमले ४२ रन बनाउँदा भण्डारीले अविजित १११ बनाएका थिए ।

  • युवा ब्याडमिन्टन स्टार प्रिन्स जुनियर विश्व बरीयताको तेस्रो स्थानमा

    युवा ब्याडमिन्टन स्टार प्रिन्स जुनियर विश्व बरीयताको तेस्रो स्थानमा

    काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल ब्याडमिन्टनल वर्ल्ड फेडेरेसनको जुनियर बरीयताको शीर्ष तीनमा परेका छन्, जुन कुनै पनि नेपाली खेलाडीले अहिलेसम्म हासिल गरेको उच्च स्थान हो ।

    यसअघि ११औं स्थानमा रहेका प्रिन्सले ८ स्थान सुधार गरेर शीर्ष तीनमा स्थान बनाएका हुन् । २०१९ मा दुबईमा सम्पन्न वर्ल्ड जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेका प्रिन्सले राष्ट्रिय स्तरका प्रतियोगितामा एक छत्र राज गर्दैै आएका छन् ।

    २०२० मा उनले प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिजमा दोस्रो स्थान हासिल गरेका थिए । उनले त्यसपछिका दुई प्रतियोगितामा पनि उल्लेख्य प्रदर्शन गरेका थिए ।

  • आर्मीविरुद्ध गण्डकीका समिर कँडेलले बनाए अर्धशतक

    आर्मीविरुद्ध गण्डकीका समिर कँडेलले बनाए अर्धशतक

    काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध गण्डकी प्रदेशका समिर कँडेलले अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याइरहेको गण्डकीका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कँडेलले ८९ बलमा ५ चौकासहित ५० रन बनाएका हुन् ।

    ३५औं ओभरमा अर्धशतक बनाएका समिर सोही ओभरको चौथो बलमा राजेश पुलामी मगरको हातबाट क्याच आउट भए ।

    विभागीय टोली आर्मीविरुद्ध २८८ रनको ठूलो लक्ष्य पछ्याइरहेको गण्डकीले ३८।३ ओभरमा ५ विकेट गुमाएर १४१ रन जोडेको छ ।

  • कप्तान भण्डारीको शतकमा आर्मीले गण्डकीलाई दियो २८८ रनको लक्ष्य

    कप्तान भण्डारीको शतकमा आर्मीले गण्डकीलाई दियो २८८ रनको लक्ष्य

    काठमाडौं । कप्तान विनोद भण्डारीको अविजित शतक प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशलाई २ सय ८८ रनको विजय लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीका लागि शतक बनाएका भण्डारीले ७६ बलमा ९ चौका र ५ छक्कासहित १११ रन बनाए ।

    ओपनरद्वय हरिकृष्ण झाले ४८ बलमा एक चौकासहित १४ रन बनाउँदा विकेटकिपर ब्याट्सम्यान राजु रिजालले ७१ बलमा ४ चौका र १ छक्कासहित ४५ रन जोडेका थिए ।

    तेस्रो नम्बरमा क्रिजमा उत्रिएका रोहित कुमार पौडल ८ बलमा एक छक्कासहित १० रन बनाएर आउट हुँदा पाँचौ ब्याट्सम्यान भीम सार्कीले १५ बलमा १५ रन जोडे । ५२ बल खेलेका राजेश पुलामी मगरले ४ छक्कासहित ३८ रन बनाएर पेभेलियन फर्किँदा लोकेश बमले ३० बलमा ३ चौका र २ छक्कासहित ४२ रन बनाएर आउट भए ।

  • गण्डकीविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको अर्धशतक

    गण्डकीविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको अर्धशतक

    काठमाडौं । आजदेखि शुरू भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले गण्डकी प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका भण्डारीले ४२ बलमा ५० रन पूरा गरेका हुन् । अहिले ४९ बलमा ५५ रन बनाएर खेलिरहेका भण्डारीले ५ चौका र १ छक्का प्रहार गरिसकेका छन् ।

    अहिले ४२ ओभरको समाप्तीमा आर्मीले ५ विकेट गुमाएर १९३ रन बनाएको छ । भण्डारीसँगै आर्मीका लोकश बम ९ बलमा ७ रन बनाएर खेलिरहेका छन् ।

  • प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट सुरु, गण्डकीबिरुद्ध ब्याटिङ गर्दै आर्मी

    प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट सुरु, गण्डकीबिरुद्ध ब्याटिङ गर्दै आर्मी

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता काठमाडौंमा शुक्रबारदेखि सुरु भएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलकुदमन्त्री दावा लामा तामाङ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको उदघाटन गरे ।

    उद्घाटन खेलमा समूह ‘ए’ बाट बिभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशबिरुद्ध टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको छ ।

    १७ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ बिभागीय टोलीको सहभागिता छ । प्रतियोगिता त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।

    कोरोना महामारीपछि नेपाल क्रिकेट संघले अघिल्लो महिना दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सन्चालन गरेको थियो । पुरुषहरुको प्रतियोगिता पहिलोपल्ट आयोजना गरिएको हो ।

  • रियल मड्रिडलाई हराउँदै एथ्लेटिको विल्बाओ स्पेनिस सुपर कपको फाइनलमा

    रियल मड्रिडलाई हराउँदै एथ्लेटिको विल्बाओ स्पेनिस सुपर कपको फाइनलमा

    एजेन्सी । सेमिफाइनलमा साविक विजेता रियल मड्रिडलाई २–१ गोलले हराउँदै एथ्लेटिको विल्बाओले स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँगको भेट निश्चित गरेको छ ।

    विल्बाओका लागि स्ट्राइकर राहुल गार्सिया ले २ गोल गरेका थिए । रियलका करिम बेन्जिमाले खेलको अन्त्यतिर १ गोल फर्काएका हुन् ।

    बार्सिलोनाले बुधबार राती रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गरी फाइनलमा स्थान बनाएको हो । फाइनल खेल आइतबार सेभिल्लामा हुनेछ ।

    राहुलले १८ औं मिनेटमा विल्बाओका लागि पहिलो गोल गरेका थिए । ३८ औं मिनेटमा उनैले पेनाल्टीमार्फत अग्रता दोब्बर पारे । रियलका लुकास माज्क्वेजले बक्सभित्र इनिगो मार्टिनेजलाई फल गरेपछि विल्बाओले पेनाल्टी पाएको हो ।

    दोस्रो हाफको अन्त्यतिर बेन्जेमाले रियलका लागि गोल गरे । सुरुमा रेफ्रीले अफसाइडको इशारा गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीबाट त्यस गोलले मान्यता पाएको हो ।

  • ‘नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप’ माघ १३ र १४ मा

    ‘नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप’ माघ १३ र १४ मा

    काठमाडौं । ‘नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप’ माघ १३ र १४ गते हुने भएको छ ।

    कोटेश्वर तेक्वान्दो डोजाङ्ग, स्युचाटार तेक्वान्दो डोजाङ्ग, मूलपानी तेक्वान्दो डोजाङ्ग, बाल गिताञ्जली स्कुल, मर्निङ्ग ग्लोरी र काभ्रेस्थली तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा हुन लागेको यो प्रतियोगितामा विश्वका २९ देशबाट १ हजार ३ सयभन्दा धेरै खेलाडी सहभागी हुने छन् ।

    हाई स्पिड किक च्याम्पियनसिप प्रतियोगिता भने नेपालमै पहिलो पटक हुन लागेको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

    प्रतियोगिता संयोजक एवम् तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले कोरोना भाइरसको महामारीका कारण घरैमा बस्न बाध्य भएका खेलाडीलाई लक्षित गरेर भर्चुअल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।

    “कोभिड–१९ को कारणबाट ठप्प बनेको खेलकुदलाई चलायमान बनाउन र सम्पूर्ण स्तरका खेलाडीको वृद्धि विकास गर्ने लक्ष्य लिएर प्रतियोगिताको आयोजना गरेका हौं,” उनले भने, “हाई स्पिड किक प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको हो ।”

    पुम्सेतर्फ ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए ।

    तेक्वान्दोको पुम्सेमा पुरुष महिलाको किड्समा ५/५, पिवीमा ५/५, सब जुनियरमा ५/५, क्याडेटमा ५/५, सिनियरमा १/१, यु–४० मा १/१, यु–५० मा १/१ र ६० वर्षमाथिमा १/१ गरी जम्मा ६० विधामा स्पर्धा हुनेछ । तीन देशका विभिन्न हिंसा पीडित तथा शरणार्थी खेलाडीलाई निःशुल्क प्रवेश गराइने आयोजकले जानकारी दिए ।

  • स्पेनिस सुपर कपको फाइनलमा पुग्यो बार्सिलोना

    स्पेनिस सुपर कपको फाइनलमा पुग्यो बार्सिलोना

    एजेन्सी । रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गरी बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।

    बार्सिलोनाका लागि रिक्वी पेगले निर्णायक गोल गरेका थिए । त्यसअघि पेनाल्टीमा स्टार खेलाडीद्वय एन्टोइन ग्रिजमन र फ्रेन्की डी जोङ गोल गर्न असफल थिए । बार्सिलोनाका गोलरक्षक मार्क टर स्टेगेनले सोसिडाडको दुई पेनाल्टी बचाएका थिए ।

    साविक विजेता रियल मड्रिडले फाइनल प्रवेशका लागि आज एथ्लेटिको विल्वाओसँग खेल्नेछ ।

    खेलको ३९ औं मिनेटमा डी जोङले मार्टिन ब्रेथवेइट र एन्टोइन ग्रिजमनसँगको उत्कष्ट तालमेलमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर डी जोङले नै दोस्रो हाफको सुरुमै बक्सभित्र फल गरेपछि सोसिडाडले पेनाल्टी पायो र मिकेल ओयारजावालले बराबरी गोल गरे ।

  • सूर्योदय एसईई बास्केटबल भोलिदेखि

    सूर्योदय एसईई बास्केटबल भोलिदेखि

    काठमाडौं । विद्यालय स्तरीय प्रथम पीएचसीए ओपन सूर्योदय एसईई ३X३ बास्केटबल कप भोलिदेखि हुने भएको छ । सूर्योदय एजुकेशन फाउन्डेसनको आयोजनामा हुन लागेको यो प्रतियोगितामा पुरुषतर्फ ३२ तथा महिलातर्फ १६ टीमको सहभागी हुने निश्चित भएको आयोजकले जानकारी दिएको छ ।

    डिल्लिबाजरस्थित फाउन्डेसनको प्राङ्गडमा हुने प्रतियोगितामा पुरुषतर्फको विजेताले २० हजार नगद पुरस्कार जित्ने छन् भने द्वितीय र तृतीयले क्रमशः १० हजार र ५ हजार नगद प्राप्त गर्नेछन् । महिलातर्फ भने विजेताले १५ हजार, उपविजेताले ८ हजार तथा तेस्रो हुनेले ४ हजार नगद प्राप्त गर्नेछन् ।

    महिला तथा पुरुष दुवैतर्फका ‘मोस्ट भ्यालुएबल प्लेयर’ र ‘सर्वाधिक स्कोरर’ले २/२ हजार रूपैयाँ नगद हात पार्ने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । कूल ३ लाख १२ हजार रूपैयाँ लागतमा हुन लागेको प्रतियोगिताका लागि पेसिफिक हस्पिटालिटी एन्ड कलिनरी एकेडेमीले टाइटल स्पोनसर गरेको छ ।

  • बर्नलीलाई हराउँदै युनाइटेड शीर्षमा, शेफिल्डको सिजनमै पहिलो जित

    बर्नलीलाई हराउँदै युनाइटेड शीर्षमा, शेफिल्डको सिजनमै पहिलो जित

    एजेन्सी । बर्नलीलाई उसकै मैदानमा पराजित गरी म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    युनाइटेडले पूर्ण नियन्त्रणमा राखेको खेलमा बर्नलीले घरेलु मैदानमा खेल अवधिभर एकपल्ट पनि विपक्षी पोष्टमा आक्रमण गर्न सकेन । तर, ७१ औं मिनेटमा मार्कस राशफोर्डको पासमा पाउल पोग्वाले शानदार हाफ भली गोल गर्नुभन्दा अगाडिसम्म बर्नलीका खेलाडीहरु चलायमान देखिन्थे ।

    फ्रान्सेली स्ट्राइकर पोग्वाले राशफोर्डको क्रसलाई आकर्षक रुपमा गोल गर्ने क्रममा बर्नलीका म्याथ्यू लटनको खुट्टामा लागेर डिफ्लेक्ट भएको थियो ।

    बर्नलीले खेलमा तीन अवसरको सृजना गरेको थियो तर पोष्टमा आक्रमण गर्नै नपाइ युनाइटेडका डिफेन्डरहरु बाधक बने । युनाइटेडले १७ औं चरणमा अंकतालिकामा शीर्ष स्थान बक्जा गरेको हो ।

    यो सन् २०१२ पछि नै युनाइटेडले शीर्ष स्थानमा पुगेको पहिलोपल्ट हो । युनाइटेडको तालिकामा ३६ अंक छ । समान १७ खेलमा ३३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । बर्नली भने रेलिगेसन क्षेत्रबाट ५ अंक टाढा छ ।

    गएराति नै भएको अर्को खेलमा शेफिल्ड युनाइटेडले न्यूकाशल युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकालेको । प्रिमियर लिगको पुछारमा रहेको शेफिल्डको सिजनमा यो पहिलो जित हो ।

    पहिलो हाफको अन्तिम मिनेटमा न्यूकाशलका रान फ्राजर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि शेफिल्डलाई केहि सहज भएको हो । फ्राजरले जोन फ्लेक र डेभिड गोल्डरिचमाथि तीन मिनेटको अन्तरमा फल गरेका थिए ।

    खेल सकिनु १५ मिनेट बाँकी हुँदा शेफिल्डले पेनाल्टी पायो । न्यूकाशलका फेडेरिको फर्नान्डेजले बक्सभित्र हातले बल छोएपछि पाएको पेनाल्टीलाई बिल्ली सार्पले गोलमा परिणत गरे ।

    यो जितपछि शेफिल्डले कीर्तिमानी २० खेलको जितबिहीन यात्रा पूर्णविराम लगाएको छ । यसअघि सन् २०१९–२० को सिजनमा गत जुलाई ११ मा चेल्सीमाथि ३–० को जित हासिल गरेयता शेफिल्ड जितका लागि संघर्षरत थियो ।

    जारी सिजन उनीहरुले सुरुआती १७ खेलमा १५ हार र २ बराबरी खेले । यो प्रिमियर लिगकै सबैभन्दा खराव सुरुआत थियो । शेफिल्ड १८ खेलबाट ५ अंकसहित तालिकामा अन्तिममा छ । न्यूकाशलको १७ खेलबाट १९ अंक छ ।

  • मन्देकाजी र गौरिका सर्वोत्कृष्ट, अरुणा पपुलर

    मन्देकाजी र गौरिका सर्वोत्कृष्ट, अरुणा पपुलर

    काठमाडौं । कराँतेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार यसवर्षको अवार्ड प्रदान गरियो । गौरिकाले काठमाडौंमा सम्पन्न १३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् ।

    पुरुषतर्फ वर्ष खेलाडी बनेका मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । गौरिकाले कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायलथनकी सोनी गुरुङलाई पछि पारिन् । मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिने ।

    राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले भने पिपुल्स च्वाइस अवार्डमा बाजी मारिन् । नागरिकको भोट तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितिन् ।

    यस विधामा अरुणाले पौडीकी गौरिका सिंह, कराँतेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारिन् । २७ वर्षिया अरुणाले ३७.५२५ मत प्राप्त गरिन् ।

    गल्फर सुवास तामाङले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । सुवासले १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण जितेका थिए । तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्ड जिते । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ खेलाडीले पदक जितेका थिए ।

    तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत स्पेसल अवार्ड पाए । आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तराष्ट्रिय अवार्ड जितेका थिए।

    नेपाली राष्ट्रिय महिला भलिबल टीमले टीम अफ दी इयर अवार्ड प्राप्त गर्न सफल रह्यो । महिला भलिबल टीमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड जितेको थियो ।

    पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरे । सन् असीको दशकमा यी दुई पाका खेलाडीले सर्वकालिन गौरवको उपलब्धी हात पारे । सन् १९९१ को पाँचौ दक्षिण एसियाली खेलकुदमा प्राप्त दुई स्वर्ण यी दुईको नाममा रह्यो ।

    पारा खेलाडी डिगम सिंह चेम्जोङले पारा एथलिट सम्मान प्राप्त गरेका छन् । मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्राप्त गरे ।

    वर्ष पुरुष, महिला प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

  • एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज, १० विधामा प्रदान गरिँदै

    एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज, १० विधामा प्रदान गरिँदै

    काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्चको आयोजनामा हरेक वर्ष हुँदै आएको एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज ललितपुरमा आयोजना हुँदैछ ।

    हरेक वर्षको विश्व खेलकुद पत्रकार दिवस, जुलाइ २ मा आयोजना हुँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष ६ महिना पछि धकेलिएको हो । सातदोवाटोस्थित कराँते एकेडेमीको हलमा आज अपराह्न साढे ४ बजेदेखि पल्सर स्पोर्टस अवार्ड–२०७६ वितरण समारोह हुनेछ ।

    वर्ष २०७६ भरि गरेको प्रदर्शनका आधारमामा १० विधामा प्रदान गरिने अवार्डमा वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथ्लिट सम्मान, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश रहनेछन् ।

    वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । त्यस्तै पिपुल्स च्वाइस अवार्डका लागि पनि भोटिङ अवधि गएराति १२ बजेदेखि सकिएको छ ।

    यस वर्ष अवार्डका मुख्य विधाहरुमा मनोनयनमा पर्नेहरुमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेताहरुकै बर्चश्व छ । वर्ष खेलाडी पुरुषमा कराँतेका मन्देकाजी श्रेष्ठ, ग्रल्फका सुवास तामाङ, फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की र तेक्वान्दोका कमल श्रेष्ठ छन् ।

    वर्ष खेलाडी महिलामा पौडीकी गौरिका सिंह, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, कराँतेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ परेका छन् ।

    वर्षको उत्कृष्ट युवा खेलाडीमा गल्फका सुवास तामाङ, तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बु, जुडोकी पुनम श्रेष्ठ र भारत्तोलनकी सन्जु चौधरी छन् ।

    वर्षको उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका नवीन कुमार श्रेष्ठ, कराँतेका मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की छन् ।

    पिपुल्स च्वाइस अवार्डको मनोनयनमा कराँतेका मन्देकाजी श्रेष्ठ, पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी छन् ।

    वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

  • अस्ट्रेलिया–भारत तेस्रो टेस्ट बराबरीमा सम्पन्न

    अस्ट्रेलिया–भारत तेस्रो टेस्ट बराबरीमा सम्पन्न

    सिड्नी– अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो ।

    पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले कूल ५ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । जितका लागि अस्ट्रेलियाले भारतसामु ४०७ रनको चुनौती दिएको थियो ।

    कुनै पनि टिमले सिड्नीको खेल मैदानमा चौथो इनिङमा २८८ भन्दा बढी रन बनाउन सकेका थिएनन् । सन् २००६ मा दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलियाले चौथो इनिङमा सर्वाधिक बढी रन पछ्याएर खेल जितेको इतिहास छ ।

    भ्रमणकारी टोली भारतले आफू विजयी हुने आकांक्षा राखेको देखिएको थिएन । भारतीय ब्याट्सम्यान हनुमा बिहारीले १६१ बलको सामना गरेर २३ रन मात्र बनाएका थिए । रविचन्द्रन अश्विनले पनि ११८ बल खेल्दै महत्वपूर्ण ३९ रन बनाएका थिए । दुबैले भारतीय टोलीको स्कोरलाई ३३४ सम्म पु¥याएका थिए ।

    भारतका लागि रिषभ पन्तले ११८ बल खेल्दै विस्फोटक ९७ रन बनाएका थिए भने चेतेश्वर पूजाराले ७७ रन बनाए । यससँगै चेतेश्वरले टेस्ट खेलमा ६,००० रन पूरा गरे ।

    अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ तथा दोस्रो इनिङमा ६ विकेटको क्षतिमा ३१२ बनाएर भारतसामु जितका लागि ४०७ रनको चुनौती दिएको थियो । भारतले पहिलो इनिङमा २४४ तथा दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३३४ रन बनायो ।

  • एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन

    एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

    बिभिन्न रोगको संक्रमणले थलिएका शाहीको ६५ वर्षको उमेरमा गएराति साढे ९ बजे दैलेखस्थित आफ्नै निवासमा निधन भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

    शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए । नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा तथा सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रुपमा थिए ।

    २०५२ सालमा एन्फाको निर्वाचनबाट महासचिव निर्वाचित भएका शाहीले २ कार्यकाल विताए । २०६० सालयता २ कार्यकाल उनले नेपाल बक्सिङ संघको महासचिवका रुपमा जिम्मेबारी संहालेका थिए । उनी नेपाल आइस हकी संघका संस्थापक अध्यक्षसमेत हुन् ।

  • युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र आरोन राम्सेको निर्णायक गोल

    युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र आरोन राम्सेको निर्णायक गोल

    एजेन्सी । आरोन राम्से र क्रिष्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि युभेन्टस १० खेलाडीमा सीमित सासोउलोलाई ३–१ गोलले पराजित गर्दै इटलीको सिरी एको चौथो स्थानमा उक्लिएको छ ।

    वेल्सका मिडफिल्डर राम्सेले खेलको ८२ औं मिनेटमा ६ यार्ड भित्रबाट गोल गरेका हुन् । रोनाल्डोले ९२ औं मिनेटमा आन्द्रे कोनसिग्लीको पासलाई सदुपयोग गरेका हुन् ।

    यसअघि पहिलो हाफको अन्तिम मिनेटमा फेडेरिको सिसेलाई फल गरेपछि सासोउलोका पेड्रो ओवियाङ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पाहुना टोलीले दोस्रो हाफ १० खेलाडीमा खेलेको हो ।

    ५० औं मिनेटमा ड्यानिलोले २५ यार्डबाट सानदार गोल गरी एलियान्ज रंगशालामा युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ८ मिनेटपछि नै ग्रेगोरी ड्रेफेलले बराबरी गोल फर्काएका थिए ।

    यो सिरी ए को साविक विजेता युभेन्टसका लागि जारी सिजन लिगमा लगातार तेस्रो जित हो, जसकारण १७ खेलबाट ३३ अंकका साथ युभेन्टस अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।

    युभेन्टस शीर्ष स्थानको एसी मिलानसँग ७ अंकले पछि छ । मिलानलाई गत साताको बुधबार ३–१ ले पराजित गरेको थियो । युभेन्टससँग अतिरिक्त एक खेल पनि बाँकी छ ।

    युभेन्टसलाई पराजित गर्न सकेको भए चौथो स्थानमा उक्लने अवसर सिसोउलोलाई पनि थियो । १७ खेलबाट सिसोउलोको २९ अंक छ, तालिकाको सातौं स्थानमा छ ।

  • प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कपिलवस्तु पराजित

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कपिलवस्तु पराजित

    रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा आइतबार समूह ‘ए’को खेलमा नवलपरासीले कपिलवस्तुलाई ४० रनले पराजित गरेको छ ।

    टस जितेर ब्याटिङ रोजेको नवलपरासीले ७ विकेट गुमाई ११९ रन बनायो । उसका लागि अमर रसाइली ३४, इकलाख अहम्मदले नटआउट १९ र अर्पण लोनियाले १२ रनको योगदान दिए ।

    बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले २, गणेश हरिजन, रमज अग्रहरी, वसिर अहम्मद, शिव कुँवरले समान १/१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २३.४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । उसका लागि इमरान खानले १८, रवि शुक्लाले नटआउट १३ र राज अग्रहरीले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् ।

    बलिङमा नवलपरासीका अजित यादवले र जितेन्द्र साहनी ३/१ तथा अर्पण लोनिया, इकलाख अहम्मद र रविस कुर्मीले १/१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच भए । भोलि पाल्पा र नवलपरासीबीच प्रतिस्पर्धा हुनेछ । आजको खेल मौसम खराबी भएपछि २६ ओभरमा छोट्याइएको थियो ।

    उता आजबाट दाङको लमहीमा सुरु भएको समूह ‘बी’को पहिलो खेलमा दाङले बर्दियालाई ६७ रनले पराजित गरेको छ । दाङले २०९ रन बनायो भने बर्दिया १३३ रनमा अलआउट भयो ।

    समूह ‘बी’अन्तर्गत भोलि लमहीमा बाँके र दाङबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापनपछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडांैमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।

  • किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा ?

    किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा ?

    काठमाडौं । सरकारले राष्ट्रिय खेलाडीका लागि भनेर वितरण गरेको सेवा सुविधा चालु आर्थिक वर्ष शुरु भएदेखि नै पाएका छैनन । सोही कारण पदक दिलाएका खेलाडी निराश छन्भने नयाँ पिढीका खेलाडीलाई हौसला पाउनुको सट्टा निराशापन छाएको छ ।

    कीर्तिमानी धावन बैकुण्ठ मानन्नधरको यो भनाई सुन्दा लाग्छ नेपाली खेलकुद अझै बामे सर्दैछ । साँघुरा पूर्वाधार र व्यक्तिगत कुन्ठाबाट खेलमा जीवन अहुती गरेका मानन्धरले पुरानो शैलीमा अब खेलकुद चल्न हम्मेहम्मे हुँदै छ भन्ने प्रस्ट भएको बताए ।

    खेलकुद क्षेत्रमा विश्वले मारेको फड्कोलाई आत्मसाथ नगरे नेपाली खेलाडीको स्तर पुरानै अवस्थामा रहने उनको बुझाई छ ।नेपाल सरकारले नै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई भत्ता उपलब्ध गराउने निर्णय गरे पनि पदक दिलाएका खेलाडीले गत साउन महिना देखी भत्ता पाउन सकेका छैनन् ।

    यसै विषयलाई लिएर खेलाडीहरुको संगठन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले गत बुधबार नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    यस अघि जगतबहादुर विश्वकर्मा (सुनार) खेलकुदमन्त्री नियुक्त भएको १३ दिनपछि २०७४ साल चैत २६ गते यसरी नै खेलाडी संघले ज्ञापनपत्र बुझाएको थियो । तात्कालिन मन्त्री विश्वकर्माले खेलाडीले खेल क्षेत्रमा आफ्नो भविष्य अनुभूत गर्ने गरी काम गर्ने बताएका थिए । त्यसरी नै यसपल्ट मन्त्री लामाले पनि खेलाडीलाई आश्वासन दिएका छन् ।

    यसका अलावा संघले विभिन्न कार्यकालमा मन्त्रालय सम्हाल्दै आएका मन्त्रीसँग पनि माग राख्दै आएको थियो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यसअघिका मन्त्रीहरूलाई गराइएको ध्यानाकर्षण पत्रले खेलाडीको समस्यालाई सम्बोधन गर्ने अपेक्षा राखिएके तर अहिले सम्मपनि सम्बोधन नभएको भन्दै सम्बोधन गर्न आग्रह गरेको हो ।

    खेलाडीहरुको संघ एनएनआईपिएका पदाधिकारीले मन्त्रीसमक्ष खेलाडीले पाउनुपर्ने मासिक प्रोत्साहन भत्ता रातो किताबमै उल्लेख गरेर वितरण गर्न माग राख्दै आएका छन् ।

    तर सम्बोधन भएको छैन । बरु उपलब्ध गराउने भनिएको सेवा सुविधा नपाउँदा खेलकुदमा जीवन विताएका खेलाडी निराश देखिएका छन् । यस्तै खेलमा जीवन विताउन अभिलासा राखेका नयाँ पिढीमा यसको प्रत्यक्ष असर देखिने थालेको छ ।

    जसका कारण युवा खेलाडी पलायन हुने अवस्था दिन प्रतिदिन बढ्ने क्रम जारी छ । पदकको आशा गर्ने तर सेवा सुविधा दिन कन्जुस्याई गर्ने प्रवृतिले खेलकुद क्षेत्र कहिले उघो लाग्ला ?यस विषयमा खेलकुुदको सर्बोच्च निकायले ध्यान दिने सयम आएको हो की ?

     

  • स्वर्ण पदक विजेता बनिन् नेपाली एथलेट पुष्पा

    स्वर्ण पदक विजेता बनिन् नेपाली एथलेट पुष्पा

    काठमाडौं । बंगलादेशमा शुक्रबार सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ को स्वर्ण पदक नेपाली एथलेट पुष्पा भण्डारीले हात पारेकी छन् ।

    उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फको स्वर्ण जितेकी हुन् । त्यसैगरी भारतीय खेलाडीले दोस्रो र तेस्रो स्थान हासिल गरे ।

    पुष्पाले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरेकी थिइन् । दोस्रो हुने भारतीय खेलाडीले ३ घण्टा ५ मिनेटमा दौड पूरा गरेकी थिइन् ।

    पुष्पा साग गेमको रजक पदक विजेता समेत हुन् । पुरस्कारको राशी ६ लाख ९० हजार नेपाली रूपैयाँ रहेको छ ।

     

  • मेस्सी र ग्रिजमनको २–२ गोलमा बार्सिलोना विजयी, रियल मड्रिड बराबरीमा रोकियो

    मेस्सी र ग्रिजमनको २–२ गोलमा बार्सिलोना विजयी, रियल मड्रिड बराबरीमा रोकियो

    एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रालाई आठौं खेलसम्म पुर्‍याउँदा ग्रानाडाको मैदानमा कप्तान लियोनल मेस्सी र स्टार स्ट्राइकर एन्टोइन ग्रिजमनले २–२ गोल गरे ।

    १२ मिनेटमै ग्रिजमनको पहिलो गोलमा अफसाइड दावी गरिएको थियो । तर पछि ग्रानाडाको खेलाडीमा पास डिफ्लेक्ट भएको भनियो ।

    ३५ औंं मिनेटमा कप्तान मेस्सीले १८ यार्डबाट शानदार गोल गरे । त्यसको सात मिनेटपछि नै उनले चतूरतापूर्वक प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएपछि पहिलो हाफमै पाहुना टोलीले ३–० को अग्रता बानाएको थियो ।

    मेस्सीको ला लिगामा जारी सिजन ११ गोल पुगेको छ र उनी सर्बाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

    ६३ औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गरे । त्यसयता ७८ औं मिनेटमा ग्रानाडाका जेसस भालेज्जो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा समेटिएको थियो ।

    यो जितले बार्सिलोनालाई अंकतालिकामा आफू अगाडि रहेका दुई टिमसँग दूरी कम गर्ने अवसर दिएको छ । १८ खेलबाट बार्सिलोनाले ३४ अंक पुगेको छ ।

    १५ खेलबाट एट्लेटिको मड्रिडको ३८ र १८ खेलबाट रियल मड्रिडको ३७ अंक छ । एट्लेटिको मड्रिड र एथ्लेटिको बिल्बाओबीच हिजो हुनुपर्ने खेल स्थगित भएको छ ।

    दोस्रो स्थानको रियल मड्रिडले चाहीँ रेलिगेसन जोनमा संघर्षरत ओसासुनासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्नुपरेको छ ।

    जिनेदिन जिदान प्रशिक्षित रियलले लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको ओसासुनाको मैदानमा अधिकांश समय बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । ओसासुनाका खेलाडीको प्रदर्शन बहादुरीपूर्ण थियो ।

  • रुपन्देहीमा राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको छनौट शुरु

    रुपन्देहीमा राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको छनौट शुरु

    रुपन्देही । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता (पुरुष)का लागि लुम्बिनी प्रदेशको छनौट प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशालामा शुरु भएको छ । गु्रप ए अन्तरगत रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासीका खेलहरु भैरहवामा शुरु भएको हो ।

    ग्रुप बी अन्तरगत बाँके, दाङ र बर्दिया जिल्लाका खेलहरु दाङको देउखुरीमा पुस २६ बाट हुनेछ । भैरहवामा सुरुको दिन उद्घाटन खेलमा रुपन्देहीले नवलपरासीलाई १६३ रनले पराजित गरेको छ ।

    टस जितेर व्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३८ ओभरको खेलमा ५ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । खराब प्रकाशका कारण खेल ढिलो सुरु भएकोले खेल ४०ओभरबाट घटाई ३८ ओभरको गरिएका थियो ।

    रुपन्देहीका लागि सन्दिप सुनारले ५९ रन बनाए । उनले ६४ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतले सो रन बनाएका थिए । त्यस्तै देव खनालले ४७ र प्रकाश केसीले ४४ रनको योगदान गरे भने सन्दिप रसाइलीले २६ रन बनाए ।

    बलिङमा नवलपरासीका अजित यादवले २ तथा जितेन्द्र साहनी, इकलाख अहमद गया साहनीले समान १।१ विकेट लिए ।
    प्रतिउत्तरमा २१४ रनको विजयी लक्ष्य पाएको नवलपरासी २२ ओभर १ बलमै ५० रन बनाई सवै विकेट गुमाई हार व्यहोर्यो ।

    नवलपरासीका लागि सर्वाधिक रन अमर रसाइलीले १४ रन बनाए भने अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ जना खेलाडीले शून्य रन बनाए ।

    नवलपरासीलाई सस्तैमा आउन गर्ने क्रममा विक्रम भुसालले ५, नितेश थापाले ३ र अनिल खरेलले २ विकेट लिए । खेलमा रुपन्देहीका विक्रम भुषाल म्यान अफ द म्याच भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

    नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा शनिबार रुपन्देही र कपिलवस्तुबीच खेल हुनेछ ।

     

  • आईओसी सदस्य नै भन्छन्– ओलम्पिक अनिश्चित

    आईओसी सदस्य नै भन्छन्– ओलम्पिक अनिश्चित

    एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी)मा सबैभन्दा लामो समय सदस्य रहेका डिक पाउन्डले टोलियो ओलम्पिक नयाँ निर्धारित मितिमा पनि आयोजना हुनेमा शंका व्यक्त गरेका छन् ।

    शहरमा कोभिड–१९ का कारण आपतकालीन स्थितिको घोषणा गरिए पनि आयोजकले पूर्व निर्धारित खेल आयोजना गर्न तयार रहेको बताएको छ ।

    पाउन्डले भनेका छन्, ‘मेरो बिचारमा भाइरसको दोस्रो उछाल सुरु भएको छ त्यसले हामी हाम्रा निर्धारित कामहरु सम्पन्न गर्न असमर्थ हुन सक्छौं ।’

    कोरोनाकै कारण १ वर्ष सारिएको विश्व खेलकुदको महामेला टोकियो शहरमा सन् २०२१ को जुलाइ २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ ।
    पाउन्डका अनुसार टोकियो ओलम्पिकमा सहभागीहरुका लागि कोरोना खोपको व्यवस्था गर्नुपर्छ । उनले आयोजकलाई यो पनि भनेका छन् कि जापान प्रवेश गर्ने क्रममा उनीहरुले खोप लगाए÷नलगाएकोबारे प्रष्ट हुनुपर्छ ।

    आईओसीले यसअघि खेलाडीहरुलाई खोप लगाउन बाध्य नपारिने वक्तब्य दिएको थियो । तर उनले भने, ‘सँगसँगै आईओसी र अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीले खेलका लागि सहभागी बिदेशी खेलाडीको सम्भावित खोप कार्यक्रममा गठबन्धन तयार गरिरहेको छ,’ उनले थपे, ‘खेलाडी भनेको महत्वपूर्ण रोलमोडल हो । र खोप लगाएपछि उनले महत्वपूर्ण सन्देश दिन सक्छन् कि खोप अभियान केवल व्यक्तिगत स्वास्थ्यका लागि मात्र होइन, यो त समुदायमा अर्काको हितका लागि एकजुटता पनि हो ।’

    यसअघि बिहीबार जापानी प्रधानमन्त्री योशिहिदे सुगाले शहरमा संकटको अवस्था भन्दै आपतकालको घोषणा गरेका थिए । उनले भने, ‘यो घोषणा टोकियो ओलम्पिक र यस गर्मीमा सुरक्षित खेल आयोजनाका लागि अवसर प्रदान गर्नेछ ।’

    टोकियोमा बिहीबार २ हजार ४ सय ४७ नयाँ संक्रमित थपिएका छन् । आपतकाल र नयाँ नियमले रेस्टुरेन्ट र बारहरुलाई लक्षित गर्नेछ । साँझ ७ बजेपछि रक्सी बेच्न र त्यसको १ घण्टापछि पनि बार खोलिरहन बन्देज लगाइएको छ ।

    कोरोना भाइरसको महामारी रोक्नका लागि गरिएका प्रयासहरुका कारण ओलम्पिक आयोजनाको लागत २.८ विलियन अमेरिकी डलर थपिएको छ ।

  • सेनाको वीरताको स्मरणमा विजय दौड हुने

    सेनाको वीरताको स्मरणमा विजय दौड हुने

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले प्रतियोगिता गर्ने जानकारी गराएको हो । नेपाली सेनाका महासेनानी मच्छिन्द्र थापाले अंग्र्रेजहरु परास्त भएको गढी वीरतापूर्ण सैनिक इतिहास र स्वाभिमानी नेपालीको प्रतीक भएको बताउँदै राष्ट्रिय एकता दिवसका अवरमा सेनाले यही पुस २५ गते २१ किलोमिटर हाफ म्याराथुन र पाँच किलोमिटर वाकाथुनको आयोजना गर्ने जानकारी दिए ।

    हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुंदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त हुने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई नगद पुरस्कार क्रमशः १५ हजार, १० हजार र पांच हजारसहित पदक र प्रमाणपत्र दिइने छ ।

    क्याम्पस अगाडिबाट शुरु हुने वाकाथुन ट्राफिक चोक, चौराहा, योगीकुटीबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो वसपार्क हुँदै जीतगढीमा समाप्त हुनेछ । नेपाल र अंग्र्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो ।

  • मेस्सीको २ गोलमा बार्सिलोनाको जित, ला लिगाको तेस्रो स्थानमा उक्लियो

    मेस्सीको २ गोलमा बार्सिलोनाको जित, ला लिगाको तेस्रो स्थानमा उक्लियो

    एजेन्सी । सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले २ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई उसकै मैदानमा ३–२ गोलको पुनरागमन जित हासिल गरेको छ ।

    विल्बाओले खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सको गोलमार्फत अग्रता लिएको थियो । त्यसको १० मिनेटपछि नै पेड्री गोन्जालेसले हेडमार्फत बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

    मेस्सीले ३८ औं मिनेटमा पेड्रीको ब्याकहिल र उनाइ सिमोनको छोटो पासको सदुपयोग गरी गोल गरे र पहिलो हाफमा २–१ को अग्रता दिलाए । ६२ औं मिनेटमा मेस्सीकै शशक्त प्रहार गोलमा परिणत हुँदा बार्सिलोनाले ३–१ को अग्रता बनायो । खेलको अन्तिम मिनेटमा विल्बाओका मुनिइनले २० यार्डबाट शानदार गोल गरे पनि जितका लागि पर्याप्त बनेन ।

    यो जितले रोनाल्ड कोम्यानको बार्सिलोनाले अंकतालिकामा रियल सोसिडाड र भिल्लारियललाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ ।

    बार्सिलोनाको १७ खेलबाट ३१ अंक छ । दोस्रो स्थानको रियल मड्रिडको पनि समान खेलबाट ३६ अंक छ भने २ खेल कम खेलेको एट्लेटिको मड्रिड ३८ अंकसहित शीर्ष स्थानमा छ ।

  • लिग कपको उपाधिका लागि म्यानचेस्टर सिटी र टोटनह्याम भिड्ने

    लिग कपको उपाधिका लागि म्यानचेस्टर सिटी र टोटनह्याम भिड्ने

    एजेन्सी । चीर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि २–० को जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । वेम्बलीमा हुने फाइनल भिडण्तमा सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।

    दोस्रो हाफमा जोन स्टोनेस र फर्नान्डिन्होको गोलमार्फत सिटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा दुवै टोलीको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीबाट खारेज गरिएको थियो ।

    स्टोनेसले युनाइटेडको कमजोर रक्षापंक्तिको फाइदा उठाएका हुन् । उनले दोस्रो हाफ सुरु भएको ५ मिनेटपछि फिल फोडेनको फ्रिककलाई क्लोज रेन्जबाट गोल गरे ।

    त्यसपछि पेप ग्वार्डिओलाको टिम सिटीले लगातार अवसरहरु सृजना गरिह्यो । युनाइटेडका एन्थोनी मार्सल र आरोन वान विसाकाले पनि एउटा अवसर गुमाएका थिए । ८३ औं मिनेटमा फर्नान्डिन्होले २० यार्डबाट आकर्षक भली प्रहार गोलमा परिणत भएपछि खेलले निर्णायक मोड लियो ।

    अप्रिल २५ मा हुने टोटनह्यामबिरुद्धको फाइनल जितेमा सिटीले लगातार चारपल्ट लिग कप जित्ने लिभरपुलको कीर्तिमान बराबरी गर्नेछ ।

    सिटीका प्रशिक्षक ग्वार्डिओला र टोटनह्याम प्रशिक्षक जोसे माउरिन्होबीच सन् २०११ पछि पहिलोपल्ट फाइनल प्रतिस्पर्धामा भेट हुन लागेको हो । त्यतिबेला ग्वार्डिओला बार्सिलोना र माउरिन्हो रियल मड्रिडमा थिए, ती दुई टोलीले कोपा डेल रे को फाइनल खेलेका गिए । त्यतिबेला बार्सिलोनाले सिजनको तीन ठूला उपाधि जितेको थियो ।

    म्यानचेस्टर सिटीले सन् २०१३÷१४ को सिजनयता पाँचपल्ट लिग कपको उपाधि जितेको छ । मंगलबार राती भएको पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई पराजित गरी टोटनह्याम सेमिफाइनलमा पुगेको हो । टोटनह्याम पनि सन् २००८ यता ठूला प्रतियोगितामा उपाधिबिहीन छ ।

  • फिटनेसमा जुट्दै क्रिकेट खेलाडी

    फिटनेसमा जुट्दै क्रिकेट खेलाडी

    काठमाडौं। झन्डै वर्ष दिन क्रिज भन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा लाागेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सीमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका छन् ।

    नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो सातादेखी बन्द प्रशिक्षणमा राखेर चरणवद्ध तरिकाले अभ्यास गराइरहेको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो ।

    सोही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको थियो भने चितवनमा भएको च्यारिटी खेलबाट खेलाडीको फिटनेस लेभल प्रस्ट पनि भएको थियो । सोही अवस्थालाई नियाल्दै नेपाली क्रिकेट टोलीका फिजियोले खेलाडीको फिटनेस लेभल विकासका लागि अहिले मिहिनेत गरिरहेका छन् ।

    न्यौपानेलाई साथ दिन ट्रेनर अहिले नेपाली खेलाडीको साथमा छन् । त्यसो त केही खेलाडीले व्यक्तिगत रुपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समय देखी मैदान ओर्लिन नपाएका खेलाडीलाई बृद्धि विकासकालागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिए ।

    प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुने पनि क्यानले यस अघि जारी गरेको सूचनामा उल्लेख गरेको थियो । निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो बिक्रम न्यौपानले केही दिन यताको फिटनेसले खेलाडीमा सुधार आएको बताए ।

    यस्तै राष्ट्रिय टोली उप कप्तान दिपेन्द्र सिंह ऐरीले इन्जुरी विस्तारै रिकभर हुँदै आएको सुनाए । ओमान सँगको शृखंलालाई लक्षित गरेर टोलीले अभ्यास गरिरहेको छ । ऐरीलाई साथ दिँदै युवा ब्याट्सम्यान रोहित पौडेलले अभ्यासमा फर्किदाँ खुसी लागेको प्रतिक्रिया दिए ।

    सन् २०१४ मा बंगालदेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्दै अन्तर्राष्ट्रिय स्तरमा उदीयमान देशको परिचय बनाएको नेपालले एक दिवसीय मान्यता पनि पाइसकेको छ । अहिलेको अवस्थामा तयारीलाई तीब्रता दिएको नेपालले ओमन, अमेरिका र नेपालसँगको क्रिकोणत्मक शृखंला सुखद बनाउन जुटिरहेको हो ।

  • टोटनह्याम लिग कपको फाइनलमा

    टोटनह्याम लिग कपको फाइनलमा

    एजेन्सी । ब्रेन्टफोर्डलाई पराजित गरी इंग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेपछि टोटनह्यामका प्रशिक्षक जोसे माउरिन्होले प्रतियोगितालाई गम्भीरतापूर्वक लिएकामा खेलाडीको प्रशंसा गरेका छन् । टोटनह्याम १३ वर्षपछि ठूलो उपाधि जित्न एक कदम टाढा छ ।

    सन् २००८ को लिग कप फाइनलमा चेल्सीलाई पराजित गरी उपाधि जितेयता टोटनह्यामले ठूला प्रतियोगिता जित्न सकेको छैन । सन् २००९ मा म्यानचेस्टर युनाइटेड र २०१५ को फाइनलमा चेल्सीसँगै पराजित हुनुपरेको थियो ।

    माउरिन्होले लिग कप उपाधि चारपल्ट जितिसकेका छन् । गएरातिको खेलमा मोउसा सिसोको र सन ह्युङ मिनको गोलपछि उनी पाँचौं उपाधिनजिक पुगेका छन् । यदि उनले पाँचौं उपाधि जिते भने फरक तीन टोलीलाई लिग कपको फाइनलमा पुर्याउने उनी तेस्रो प्रशिक्षक हुनेछन् ।

    ‘म सन् २००४ मा पहिलोपल्ट इंग्ल्यान्ड आएको थिएँ र मलाई अहिलेसम्म सम्झना छ कि त्यो बसाइमा मलाई यहाँ प्रतियोगिताको गम्भीरता र ट्रफीको महत्व जान्नु थियो, त्यसैले मैले त्यसलाई गम्भीरतापूर्वक लिएँ’ उनले भने, ‘सफलताको एउटै सूत्र के भने सबै कुरा गम्भीरतापूर्वक लिने गरौं । इंग्लिस फुटबल के हो, इंग्लिस क्लब के हो र तल्लो डिभिजनको इंग्लिस फुटबल के हो भने जान्ने कोसिस गरौं ।’

    चारवटा प्रिमियर लिग क्लबलाई पराजित गरी पहिलोपल्ट ठूलो प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको ब्रेन्टफोर्ड सिसोकोको गोलमार्फत १२ औं मिनेटमै पछि पर्यो । दोस्रो हाफ, ७० औं मिनेटमा सनले दोस्रो तथा निर्णायक गोल गरे । ८४ औं मिनेटमा मिलान्डा डी सिल्भाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो ।

    टोटनह्यामले उपाधिका लागि दुई म्यानचेस्टरबीच आजराति ओल्ड ट्राफोटमा हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • एथलेटिक्स टोली बंगलादेश प्रस्थान

    एथलेटिक्स टोली बंगलादेश प्रस्थान

    काठमाडौं । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

    जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए ।

    प्रशिक्षकमा धनीराम चौधरी रहेका छन् । टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बिदाइ गरे ।

  • एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड, चार विधाको मनोनयन सार्वजनिक

    एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड, चार विधाको मनोनयन सार्वजनिक

    काठमाडौं । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
    मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

    मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।
    वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।

    वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

    मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो ।
    २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक रेग्मीले बताए ।

    आयोजक मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन जारी रहेको छ ।

    इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछ ।

    पल्सर स्पोर्ट्स अवार्डमा अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने बताईएको छ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिने आयोजकले जनाएको छ ।

    वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । अवार्ड कार्यक्रम पुस २८ गते ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमीभर्चुअल रूपमा गरिने आयोजक मञ्चले जनाएको छ ।

    पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) मा हुने अवार्डको अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।