Category: खेल प्रेस

  • झम्सिखेलविरुद्ध खुमलटारको कठिन जित

    झम्सिखेलविरुद्ध खुमलटारको कठिन जित

    काठमाडौं । महेश राईले तेस्रो मिनेटमा गरेको एक मात्र गोलको बचाउ गर्दै खुमलटार युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार झम्सिखेल युथ क्लबलाई १-० को नतिजामा पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको तेस्रो मिनेटमा महेशले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।

    बाँकी समयमा दुवै तर्फबाट प्रयास गरे पनि गोल हुन नसक्दा खेल खुमलटारको पक्षमा परेको हो । जितसँगै ८ खेलबाट १९ अंक जोडेको खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गरेको छ । एक खेल कम खेलेको सातदोबाटोको पनि समान १९ अंक छ ।

    पराजित झम्सिखेल ८ खेलबाट ६ अंकसहित १०औं स्थानमा छ ।

  • ब्वाइज युनियनको जितमा मिलनको ह्याट्रिक

    ब्वाइज युनियनको जितमा मिलनको ह्याट्रिक

    काठमाडौं । मिलन लिम्बुको ह्याट्रिक प्रेरित ब्वाइज युनियन क्बले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार नयाँबस्ती युथ क्लबलाई ३-० गोलको नतिजामा पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २१औं मिनेटमा मिलनले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए । नयाँबस्तीको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको ब्वाइज युनियनका लागि मिलनले पहिलो हाफको इन्जुरी समयमा पुन: गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

    ब्वाइज युनियनको आक्रमणसामु निरीह बनेको नयाँबस्तीले दोस्रो हाफमा थप एक गोल खायो । ब्वाइज युनियनको जितमा नायक सावित भएका मिलनले ५७औं मिनेटमा ह्याट्रिक पूरा गर्दै टोलीको सहज जित सुनिश्चित गरे ।

    जितसँगै ८ खेलबाट १४ अंक जोडेको ब्वाइज युनियन लिग तालिकाको चौथो स्थानमा छ । पराजित नयाँबस्ती समान खेलबाट ११ अंकसहित पाचौं स्थानमा छ ।

  • नेपाल सुपर लिग– फुटबलमा व्यावसायिक फड्को, खेलाडी उत्साहित

    नेपाल सुपर लिग– फुटबलमा व्यावसायिक फड्को, खेलाडी उत्साहित

    काठमाडौं । नेपालका ठूला व्यावसायिक घरानामाथि खेलकुदलाई उपेक्षा गरेको आरोप लाग्ने गरेको छ । सानो अर्थतन्त्र भएको देशको खेलकुद विकासमा निजी क्षेत्रलाई संलग्न गराएर व्यावसायिक खेलकुदको विकास गर्ने रणनीतिलाई खेल सम्बद्ध अधिकारीहरुले कार्यान्वयन गर्न चुनौती भइरहेका बेला फुटबलमा फ्रेन्चाइज टिम र अक्सनमा आधारित प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को मिति घोषणाले नयाँ आशा पलाएको छ ।

    पछिल्लो ४-५ वर्षदेखि नेपाली क्रिकेटमा व्यावसायिक प्रतियोगिता भइरहेका छन् । फ्रेन्चाइज लिग, खेलाडीको अक्सन र छोटो संस्करणका प्रतिस्पर्धात्मक प्रतियोगिताले क्रिकेटको रौनक बढाएको छ । ठीक यस्तै गरी फुटबलमा पहिलोपल्ट फ्रेन्चाइज लिग आयोजनाको मिति सार्वजनिक गरिएको छ, वैशाख ११ देखि २५ सम्म ।

    भारतमा ७ वर्षदेखि जारी इण्डियन सुपर लिग (आईएसएल)को सफलताबाट प्रेरित भएर नेपालमा सोही शैलीको लिग संचालन गर्न नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसआईएम) र अखिल नेपाल फुटबल संघ एन्फाबीच सहमति भएको दुई वर्ष भइसकेको छ । सुरुआतको तयारीमा धेरै समय खर्चिएको यो संस्थाले कोरोना महामारीका कारण घोषित कार्यक्रम संचालन गर्न सकेन ।

    नेपालको सशक्तमध्येको एक चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी एनएसआईएमका अध्यक्ष हुन् । केही समय नेपाली क्रिकेटका लागि प्रायोजन गर्नुबाहेक चौधरी ग्रुप खेलकुदमा खुलेर आएको यो पहिलोपल्ट हो । ठूला व्यापारिक घरानाको प्राथमिकताका कारण पनि एनएसएलको उत्साह बेग्लै छ ।

    एनएसएल आयोजनाका लागि नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसआईएम) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच सन् २०१९ को जनवरी १ मा सम्झौता भएको थियाे ।

    विभिन्न शहरको नामबाट बनाइने ६ फ्रेन्चाइज टिम, खेलाडीलाई वर्गीकरण गरी अक्सनमार्फत अनुबन्धन, सिंगल राउण्ड रोविन, नवनिर्मित दशरथ रंगशालामा प्रतियोगिताको आयोजना र कोरोना महामारीपछिको ठूलो राष्ट्रिय फुटबल प्रतियोगिता । पहिलो संस्करणको एनएसएलका विशेषता हुन् यी । झण्डै डेढ सय फुटबलरलाई अक्सनमार्फत एकै प्रतियोगितामा समावेश गरी पहिलोपल्ट फ्रेन्चाइज लिगको सुरुआत हुने खबरले खेलाडीहरु नै अधिक उत्साहित छन् ।

    ‘नेपालमै पहिलो पटक आयोजना हुने भएकाले हाम्रो लागि यो विल्कुलै नयाँ अनुभव हुने’ गत सिजन च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका मिडफिल्डर सुनिल बलले भने, ‘मेरो च्यासलसँगको कन्ट्रयाक पनि सकिएको छ । त्यसैले अक्सनमार्फत प्रतियोगिता खेल्ने दिनको पर्खाइमा छु ।’

    फुटबलसँग सरोकार राख्नेहरु यसलाई नेपाली फुटबलमा नयाँ आयामको सुरुआत मान्छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एनएसएल नेपाली फुटबलमा व्यावसायिकताको अर्को चरण भएको टिप्पणी गरे । ‘यो फ्रेन्चाइज लिगलाई हामीले व्यावसायिक ट्रायलका रूपमा हामी सुरु गर्दैछौं’ उनले भने, ‘यसले खेलाडीसँगै एक वर्षका लागि खेलाडीहरू अनुबन्ध गरेका क्लबहरूलाई पनि आर्थिक भार कम हुनेछ ।’

    ‘ए’ डिभिजन लिग खेल्ने क्लबहरूले एक वर्षका लागि खेलाडी अनुबन्ध गरेका हुन्छन् । र, प्रतियोगिता नभएको समयमा पनि खेलाडीलाई तलब दिइरहेका हुन्छन् । तर, एनएसएलमा खेल्ने भए भने खेलाडीहरूलाई त्यो समयको तलब लगायतका सुविधा पनि फ्रेन्चाइज क्बलहरूले नै प्रदान गर्ने भएकाले क्लबलाई आर्थिक राहत हुने भनाइ अध्यक्ष शेर्पाको छ ।

    ‘एन्फाले ट्रान्सफर विन्डो खोल्छ, त्यो अवधिमा कुनै पनि प्रतियोगिता हुँदैन’ उनले भने, ‘त्यो समयमा अनुबन्ध गरेका क्लबले खेलाडी रिलिज गर्ने, बेच्ने र लोनमा पठाउन पनि सक्नेछन् यसले खेलाडी र क्लब दुवैलाई फाइदा हुन्छ ।’

    फुटबल र खेलाडीका लागि पनि फाइदा नै हुने तर्क चलिरहँदा विभिन्न क्लबमा आवद्ध खेलाडीको हकमा फ्रेन्चाइज लिग खेल्न पाउने कि नपाउने चर्चाको विषय बनेको छ । एन्फाले एक महिनाअघि मात्रै २०७८ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक गर्दा एनएसएलको नाम उल्लेख नभएकाले प्रतियोगिताको आधिकारिकतामै एकाथरीले प्रश्न उठाएका छन् । तर, त्यो समयमा एन्फाका कुनै पनि प्रतियोगिता नहुने भएकाले विभिन्न क्लबहरूमा आवद्ध खेलाडीहरूले पनि यसका लागि उपलब्ध हुने क्लब तथा एन्फाले बताएको छ ।

    एन्फा अध्यक्ष शेर्पाले कुनै प्रतियोगिता नहुने त्यो अवधिका लागि एन्फाको आग्रहमा क्लबहरुले खेलाडी रिलिज (फुकुवा) गर्न सक्ने बताए । आयोजक एनएसएलले पनि क्लबसँगको छलफलबाट नै अक्सनका लागि खेलाडीको सूची तयार गर्ने बताएको छ ।

    ‘हामी खेलाडी अनुबन्ध भएका क्लबहरूसँग छलफल तथा सम्झौता गर्छाैं’ एनएसएलका सीईओ सुदीप शर्माले नेपाल प्रेससँग भने, ‘त्यसमा एन्फाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छ ।’ नेपालको फुटबलको नै विकास गर्ने हेतुले यो लिगको आयोजना गर्न लागिएकोले सबैले सहज वातावरण बनाउने विश्वास उनको छ ।

    गत सिजनको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङ समझदारी गरेर अगाडि बढ्न सकिने बताउँछन् । ‘हामीले यसअघि राष्ट्रिय टोलीका खेलाडीहरूलाई एन्फाको पत्र आएपछि रिलिज गर्ने गरेका थियौं’ उनले भने, ‘एनएसएलका लागि कुनै प्रकारको सम्झौता गरेर बेच्न, लोनमा पठाउन वा रिलिज गर्न पनि तयार छौं ।’

    फ्रेन्चाइज लिगको अवधारणा खेलाडीका लागि सबैभन्दा राम्रो हुने भएकाले क्लबले यसलाई सकारात्मक रूपमा लिनुपर्ने अध्यक्ष गुरुङले भनाइ छ । ‘क्लबसँग एक पटक सल्लाह गर्नुभयो भने अझै उत्तम हुन्थ्यो’ उनी भन्छन्, ‘दुई महिनाको लागि मात्रै खेलाडी रिलिज गर्दा सो अवधिमा घाइते अथवा केही भयो भने त्यसले क्लबलाई फाइदा गर्दैन । त्यसैले व्यावसायिक हिसाबमा बसेर सम्झौता गर्न सकिन्छ ।’

  • ला लिगा- शीर्ष स्थानको एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

    ला लिगा- शीर्ष स्थानको एट्लेटिकोसँग २ अंकको दूरीमा बार्सिलोना

    एजेन्सी । लियोनल मेस्सीले एक गोल र अर्को एक गोलका लागि अवसर सृजना गरेपछि सेभियालाई पराजित गरी बार्सिलोनले स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी २ अंकमा झारेको छ ।

    सेर्गिनो डेस्टले प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको केहि समयपछि अर्थात २९ औं मिनेटमा ओस्मान डेम्बेलेले मेस्सीको पासमा गोल गरी पहिलो हाफमा अग्रता दिलाएका थिए ।

    बार्सिलोनाका डिफेण्डर क्लेमेन्ट लेङलेटको हेडर गोल अफसाइड करार भएको थियो । त्यस्तै सेभियाका युशुफ एन–नेस्यारीले गरेको गोल पनि अफसाइडका कारण मान्यता दिइएन ।

    मेस्सीले ८५ औं मिनेटमा शानदार गोलमार्फत घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाए । ला लिगामा उसले लगातार जित हासिल गरेको हो ।

    मेस्सीले आफ्नो करिअरमा सेभियाबिरुद्ध गरेको यो ३८ औं गोल हो । सेभियाबिरुद्ध अन्य क्लबको तुलनामा ६ गोल बढी हो । बार्सिलोनाले ला लिगामा लगातार आठौं खेलमा १२ औं गोल गरेका हुन् । पछिल्लो २ वर्षमा मेस्सीको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।

    बार्सिलोनाको २५ खेलबाट ५३ अंक भएको छ । उसले एक खेल कम खेलेको रियल मड्रिडलाई १ अंकले पछि छोडेको छ भने २ खेल कम खेलेकामे शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग २ अंक पछाडि छ ।

  • पीएसएल खेल्न सन्दीप आज पाकिस्तानतर्फ जाँदै

    पीएसएल खेल्न सन्दीप आज पाकिस्तानतर्फ जाँदै

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न आज कराँची जाँदैछन् । नेपालबाट कतार एयरवेजमार्फत दोहा गएर कराँची जाने नेपाल क्रिकेट संघ (क्यान)को मिडिया कमिटिले जानकारी दिएको छ ।

    इन्डियन प्रिमियर लिग (आईपीएल)मा अन्सोल्ड भएका सन्दीप पीएसएलमा भने लाहोर क्वालन्डर्सबाट खेल्नेछन् । सन्दीप शनिबार बिहान ११ बजे कतारका लागि उड्ने छन् ।

  • अमर गुरुङको जन्मजयन्तीमा विश्व कीर्तिमानी मन्त्री मानन्धरलाई सम्मान

    अमर गुरुङको जन्मजयन्तीमा विश्व कीर्तिमानी मन्त्री मानन्धरलाई सम्मान

    काठमाडौं । एकल गायत विधामा विश्व कीर्तिमान कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई सम्मान गरिएको छ । स्वर्गीय गायक अमर गुरुङको ८३औं जन्मजयन्तिका अवसर पारेर मन्त्री मानन्धरलाई सम्मान गरिएको हो ।

    नेपालको संगीत क्षेत्रलाई विश्वमा चिनाउन पुर्याएको योगदान पुर्याए बापत नेपाल सांगीतिक संघले मन्त्री मानन्धरलाई सम्मान गरेको हो । राज्यमन्त्री मानन्धरलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान गरेका हुन् ।

    कार्यक्रममा मन्त्री मानन्धरले नेपालको संगीत क्षेत्रलाई विश्वमा चिनाउनका लागि आफुले विश्व कीर्तिमान बनाएको बताए । मन्त्री मानन्धरले सगरमाथासँगै बुद्ध जन्मेको विश्वकै शान्ति भूमी नेपाललाई समृद्धिको बाटोमा अघी बढाउन सरकार क्रियाशील रहेको बताउँदै प्राकृतिक रुपमा सम्पन्न नेपाललाई अव आर्थिक विकासको बाटोमा हिँडाइएको बताए ।

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले समृद्धिका लागि काम गरिरहेको बताउनुभयो । साधना कला केन्द्र र नेपाल सांगीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३ औँ जन्मजयन्तीका अवसरमा मन्त्री मानन्धरलाई सम्मान गरेको हो ।

    मन्त्री मानन्धरले गत पुस १० गते वर्ल्ड बुक अफ रेकर्डको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा लगातार चार घण्टा पाँच मिनेट २० सेकेन्ड गित गाएर विश्व कीर्तिमान राखेका थिए । मन्त्री मानन्धरले गत साता भारत गएर कीर्तिमानी प्रमाणपत्र लिएर स्वदेश फर्किएका हुन् ।

  • लिटल फ्लावर प्रिमियर लिग आजबाट

    लिटल फ्लावर प्रिमियर लिग आजबाट

    कैलाली । धनगढीमा आज (शनिबार)देखि चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)– ५ सुरु हुँदैछ । विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा देशभरका १६ टिमको सहभागिता रहने आयोजले बताएको छ ।

    काठमाडौँ र कञ्चनपुरका दुई/दुई, रुपन्देहीको एक, दाङको एक र कैलालीका १० विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले आयोजना गरेको प्रतियोगिता फागुन २९ गते सम्म चल्ने छ ।

    प्रतियोगितामा विजेताले १ लाख २० हजार र दोस्रो टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार,उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई समान ५ हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

    प्रतियोगिताको उद्घााटन खेलमा शनिबार आयोजक लिटल फ्लावर र कैलालीको गेटामा रहेको विद्या भूषणबीच प्रतिस्पर्धा हुनेछ ।

    कुन टोली कुन समूहमा ?

    सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारा नगरमा रहेको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी छन् ।

    त्यस्तै समूह ‘बी’ मा धनगढी २ मा रहेको लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा छन् ।

    धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल समूह ‘सी’मा छन् ।

    त्यस्तै समूह ‘डी’ मा कैलालीको बौनियामा रहेको नव बालबालिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबालिका सेकेण्डरी बोर्डिङ स्कुल र कैलालीको लम्की मा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल छन् ।

  • फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम

    फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम

    एजेन्सी । शुक्रबार राति वर्डर ब्रिमेनसँग २-१ ले पराजित भएसँगै आइन्ट्राच्ट फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जर्मन महारथी बायर्न म्युनिखलाई स्तब्ध पारेको अर्को हप्ता नै फ्रान्कफर्टले १२औं खेलमा हार बेहोर्नु परेको हो ।

    आन्द्रे सिल्भाले जारी सिजनको व्यक्तिगत १९औं गोल गर्दै अंक तालिकाको चौथो स्थानको फ्रान्कफर्टलाई अग्रता दिलाएका थिए । बायर्नका लेवान्डोस्की(२६)ले मात्रै जारी सिजन बुन्डेसलिगामा उनीभन्दा धेरै गोल गरेका छन् ।

    तालिकाको १२औं स्थानमा रहेर लगातार तीन खेलमा जितविहीन रहँदै मैदानमा उत्रिएको ब्रिमेनका लागि ४७औं मिनेटमा चेक स्टार थिओडर गेब्रे सेलासीले बराबरी गोल फर्काएका थिए ।

    उदियमान अमेरिकी स्टार जोश सर्जेन्टले ६२औं मिनेटमा विजयी गोल गर्दै ब्रिमेनका लागि तीन अंक सुरक्षित गरेका थिए । पराजयका बाबजुद फ्रान्कफर्ट अंक तालिकाको चौथो स्थानमा यथावत छ । लिग लिडर बायर्नभन्दा सात अंक पछाडि रहेको फ्रान्कफर्ट च्याम्पियन्स लिग स्पटमै कायम छ ।

    जितसँगै २२ खेलबाट २६ अंक जोडेको ब्रिमेन १२औं स्थानमा छ ।

  • शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

    शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

    काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आगामी फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ ।

    यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिने प्रतियोगिता हुन लागेको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व. शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने एअरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

    ‘पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ’, प्रवक्ता बर्तौलाले भने ।

    यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवम् पर्यटकीयस्थलमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।

    उक्त प्रतियोगितामा रजिष्ट्रेसन शुल्कमार्फत सङ्कलन भएको रकम सोही समयमै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने एअरलायन्सले घोषणा गरेको छ । प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

    प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै पाँच लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछन् । अन्य विजेताले यती ग्रुपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

    रासस

  • त्रासदीपूर्ण दुर्घटनापछि टाइगर उड्ससामु अनिश्चित भविष्य

    त्रासदीपूर्ण दुर्घटनापछि टाइगर उड्ससामु अनिश्चित भविष्य

    लस एन्जलस । गत मंगलबार बिहान ७ बजे गल्फर टाइगर उड्स लस एन्जलस रान्चो पालोस भर्डेसनजिक आफ्नै सुरमा कार हाँकिरहेका थिए । सामान्यभन्दा केही बढी गतिमा रहेको कार एकाएक अनियन्त्रित भई दुर्घटनाग्रस्त हुनपुग्यो । यो दुर्घटना सामान्य थिएन ।

    उड्सको कारले एसयूभी सडकको डिभाइडरलाई हिर्काउँदै, एउटा काठको साइनबोर्डलाई भत्काउँदै कैयौंपटक गुल्टिङ खाएको थियो । प्रहरीले बताएअनुसार दुर्घटना भएको ठाउँ थोरै उकालो छ, जहाँ धेरै दुर्घटना हुने गर्छन् । एउटा रूखलाई हान्दै सडकबाट सयौं फिट तल पुगेर मात्रै कार स्थिर भयो । कारभित्र उड्स एक्लै थिए । दुर्घटनाको प्रकृति हेर्दा उनी जीवित रहनु नै सुखद आश्चर्य हो ।

    दुर्घटनास्थलबाट जटिल अवस्थामा उड्सलाई उद्धार गरिएको थियो । दुर्घटनाको खबर सुन्ने वित्तिकै उद्धारमा खटिएका कार्लोस गोन्जालेजले उड सिट बेल्ट लगाइरहेकै अवस्थामा भेटिएको बताएका छन् । सिट बेल्टकै कारण ड्राइभरको सिटपट्टि नै कार पल्टिंदा पनि उनलाई घातक चोट नलागेको बताए । कारमा राखिएका सुरक्षा सामग्री र सिट बेल्टले उड्सको जीवन बचाएको गोन्जालेजको भनाइ छ ।

    अहिले उनको उपचार जारी छ । दुर्घटनामा ज्यान जोगिए तापनि उड्स रिकभर हुन लामो समय लाग्ने डाक्टरहरुले बताएका छन् । यसले विश्वकै महान् गल्फरको खेल करिअरलाई बर्बाद बनाइदिने चिन्ता छ ।

    ०००

    अस्पताल पुर्‍याइएलगत्तै उड्सको आकस्मिक शल्यक्रिया गरिएको थियो । उनी अझै पनि जटिल अवस्थामा छन् । अझै केही महत्वपूर्ण कार्यहरू हुँदैछन् र आगामी दिनहरूमा पनि गर्नुपर्ने देखिन्छ । उनको शल्यक्रियामा खटिएका चिकित्सक जेरेमी फौस्टले भने, ‘उनलाई फेरि पनि अप्रेसन थिएटरमा लैजानुपर्छ कि पर्दैन भन्नेमा म यकिन हुनसकेको छैन ।’

    दुर्घटनामा परेपछि उड्सलाई टोरान्सस्थित हाबोर यूसीएलए मेडिकल सेन्टरमा उपचारका लागि लगिएको थियो । तर, बिहीबार उनलाई थप उपचारका लागि लस एन्जलसको सेडार्स सिनाई अस्पतालमा सारिएको छ ।
    उड्सलाई अर्थोपेडिक केयर र रिकभरीका लागि यहाँ ल्याइएको हाबोर–यूसीएलए मेडिकल सेन्टरका सीईओ अनिश महाजनले बताएका छन् ।

    ‘यो पुस्ताका महान्मध्ये एक एथलिटको उपचार तथा हेरचाह गर्न पाउनु हाम्रा कर्मचारीका लागि खुशीको कुरा हो’, सीईओ महाजनले एक वक्तव्यमा भनेका छन् ।उपचारका क्रममा उनको खुट्टामा रड, स्क्रु, पिन र सर्जिकल रिलिजको प्रयोग भएको छ । शल्यक्रिया सफल भएन भने उनको खुट्टा काट्नुपर्ने हुनसक्छ ।

    अधिकारीहरूले यो दुर्घटनालाई शंकास्पद रूपमा लिएका छैनन् । तर, उड्सको एसयूभीमा भएको ब्ल्याक बक्स इभेन्ट रेकर्डर निकालेर मात्रै यसमा यकिन हुन सकिने लस एन्जलस काउन्टी शर्रिफ एलेक्स भुलानुएवाको भनाइ छ ।

    १५ पटकका मेजर च्याम्पियन उड्सले मंगलबार अस्पताल पुगेका अनुसन्धानकर्तालाई दुर्घटनाबारे आफूलाई केही याद नभएको बताएका थिए ।
    ०००

    ब्याक सर्जरीको एक महिनापछि कार दुर्घटनामा परेका उड्स पुन: गल्फको विजयी लयमा फर्किनेमा आशंका उत्पन्न भएको छ । उड्सको प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजूद पनि अन्य गल्फरहरूले उनको परिवार र स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा भएको बताएका छन् । र, उड्स पुन: पुरानै अवस्थामा फर्किने विश्वाससमेत व्यक्त गरेका छन् ।

    ‘उनले पहिले पनि पार लगाएका छन्’ रोरी म्याकलरोयले भनेका छन् । सानै उमेरदेखि चर्चित उड्स १९९६ मा २१ वर्षको हुँदा व्यावसायिक गल्फर बनेका थिए । आफ्नो क्षमता र दक्षताले ग्लोबल आइकन बनेका उनले १९९७ देखि २००८ सम्ममा गल्फका १४ वटा मुख्य–मुख्य प्रतियोगिता जितेका थिए । सोही क्रममा सर्वकालीन १८ सेटको कीर्तिमान राख्न अघि बढेका उड्स चोटको शृंखलाका कारण २००९ मा रोकिए ।

    फ्लोरिडामा रहेको घर अगाडि २००९ मा पनि उड्सको कार दुर्घटनामा परेको थियो । त्यो दुर्घटनाले उनको विवाह तोडिएको चिन्ताजनक खुलासा गरेको थियो । त्यसपछि उनले खेल जीवनबाट केही समय विश्राम लिएका थिए । विश्रामपछि गल्फमा फर्किएका उड्सले पुरानो विरासत कायम राख्न सकेनन् ।

    त्यो समयमा बढ्दो स्वास्थ्य समस्याले पनि उनी ग्रसित थिए । सोही क्रममा एकपटक स्पाइनल फ्युजन सर्जरीसहित चारपटक ब्याक सर्जरी भएको थियो । खराब पीडाले पिरोलिएका उड्स त्यो समयमा आफ्ना बालबच्चासँग पनि खेल्न नसक्ने अवस्थामा थिए ।

    शल्यक्रिया र पीडाले दुखाइ कम गर्ने औषधिको लत बसेका उनी २०१७ मा फ्लोरिडामा ड्राइभिङ अन्डर दी इन्फ्लुएन्स डीयूआईका कारण पक्राउ पनि परेका थिए । आफैंले गल्ती स्वीकारेका कारण जेल जानबाट बचेका थिए ।

    दुर्घटनापछि लामो समय अन्धकारमय जीवन बिताएका उड्स २०१९ मा पुन: आफ्नो पुरानै विरासतमा फर्किएका थिए । २००८ को युएस ओपनपछि पहिलो २०१९ मा पाँचौं मेजर टाइटल जितेका उड्सले खेलजगतकै उत्कृष्ट कम ब्याक गरेका थिए ।

    विश्व वरियताको दोस्रो स्थानका जोन रह्मले उड्स पुन: गल्फमा फर्किने विश्वास व्यक्त गरेका छन् । र, त्यो उड्सले खेल जीवनबाट संन्यास लिने उपयुक्त समय हुने धारणा बताएका छन् । ‘उड्स फेरि गल्फ खेल्न सक्षम हुनेछन् । र, त्यो उनका लागि संन्यास लिने उपयुक्त समय हुनेछ । उनी क्लन ब्रिजको सेन्ट एन्ड्रिउज गल्फ कोर्समा उभिएर गल्फलाई राम्रोसँग ‘बाई’ भन्न सक्नेछन्’ जोनले भनेका छन् ।

    एक हप्ताअगाडि उड्सले यो वर्षको मास्टर्समा प्रतिस्पर्धा गर्ने सोचिरहेको बताएका थिए ।

  • बी डिभिजन लिगमा मध्यपुरको पहिलो जित

    बी डिभिजन लिगमा मध्यपुरको पहिलो जित

    काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार मध्यपुर युथ एसोसिएसनले सिजनको पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुरले टुसाल युथ क्लबलाई २-० को नतिजामा पराजित गर्‍यो । मध्यपुरलाई महत्त्वपूर्ण तीन अंक दिलाउन धिरज श्रेष्ठ र कैलाश लामिछानेले १-१ गोल गरे ।

    धिरजले २३औं मिनेट गरेको गोलसँगै पहिलो हाफमा मध्यपुरले १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि गोलका लागि सुरुआतदेखि प्रयासरत मध्यपुरका लागि कैलाशले ६०औं मिनेटमा गोल गर्दै २-० को जित सुनिश्चित गरे ।

    जितसँगै ७ खेलबाट ४ अंक बटुलेको मध्यपुर ११औं स्थानमा उक्लिएको छ । पराजित टुसाल समान ७ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

  • शीर्ष स्थाानमा सातदोबाटोलाई ३ अंकको अग्रता

    शीर्ष स्थाानमा सातदोबाटोलाई ३ अंकको अग्रता

    काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ गोलले पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा दोर्जे तामाङले ११औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको २६औं मिनेमा खुमलटारका लागि बराबरी गोल गरे ।

    पहिलो हाफ १–१ गोलको बराबरीमा टुङ्गििएको खेल दोस्रो हाफमा रोमाञ्चक बनेको थियो । दोस्रो हाफको तेस्रो मिनेट मै आदिल हमिदले गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाएका थिए । तर, गोल खाएसँगै आक्रमक बनेको सातदोबाटेका लागि आशिष लामाले ६१औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको १३
    मिनेट नबित्दै भुवन बस्नेतले गोल गर्दै सातदोबाटोका लागि ३–२ को जित सुनिश्चित गरे ।

    जितसँगै सातदोबाटो ७ खेलबाट १९ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने खुमलटार ७ खेलबाट १६ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ ।

  • २ दिनमै सकियो टेष्ट, इंग्ल्याण्डविरुद्ध भारतको १० विकेटको जित

    २ दिनमै सकियो टेष्ट, इंग्ल्याण्डविरुद्ध भारतको १० विकेटको जित

    एजेन्सी । भारत र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट २ दिनमै सकिएको छ । इंग्ल्याण्डले दिएको ४९ रनको लक्ष्य भारतले विना क्षति पूरा गर्‍यो ।

    नरेन्द्र मोदी रंगशाला मोटेरामा पहिलो पारीको जवाफी ब्याटिङमा ९९–३ को स्थितिबाट बिहीबार दोस्रो दिनको सुरुआत गरेको भारतले १ सय ४५ रनमा सबै विकेट गुमाउँदा ३३ रनको अग्रता बनाएको थियो । उसका लागि रोहित शर्माले सर्बाधिक ६६ रन बनाए । इंग्लिस टोली पहिलो पारीमा ११२ रनमा समेटिएको थियो ।

    दोस्रो पारीमा इग्ल्याण्ड ८१ रनमै अलआउट भएपछि भारतले ४९ रनको विजयी लक्ष्य पाएको हो । रोहित शर्मा २५ र शुभमन गिलले १५ अविजित रन बनाएपछि भारतले सहज जित निकाल्यो ।

    म्यान अफ द म्याच चुनिएका भारतका अक्सर पटेलले दुई पारीमा गरी ११ विकेट लिए । उनले पहिलो पारीमा ६ र दोस्रो पारीमा ५ विकेट लिएका हुन् । स्पिनर हाबी भएको खेलमा रविचन्द्र आश्विनले पनि ७ विकेट लिए ।

    टेष्ट क्रिकेट अधिकतम ५ दिनको हुन्छ । १ सय ४४ वर्षको टेष्ट इतिहासमा २ दिनमै खेल सकिएको यो २२ औं पल्ट हो । यसअघि भारतले सन् २०१८ मा अफगानिस्तानलाई २ दिनमै हराएको थियो ।

    यो जितपछि चार खेलको शृंखलामा २–१ को अग्रता बनाएको भारत विश्व टेष्ट च्यामिपयनसिपको पनि फाइनल नजिक पुगेको छ । विश्व च्याम्पियनसिपमा न्युजिल्याण्ड यसअघि नै फाइनलमा पुगिसकेको छ ।

    फाइनलमा पुग्नका लागि भारतले ४ मार्चदेखि सुरु हुने चौथो टेष्टमा जित वा कम्तिमा बराबरी गर्नुपर्नेछ । समीकरण यस्तो बनेको छ कि यदि भारतमाथि इंग्ल्याण्डले जित हासिल गरेको अवस्थामा अस्ट्रेलियाले न्युजिल्याण्डसँग फाइनल खेल्नेछ ।

  • आर्सनल र एसी मिलान युरोपा लिगको अन्तिम–१६ मा, लेस्टर बाहिरियो

    आर्सनल र एसी मिलान युरोपा लिगको अन्तिम–१६ मा, लेस्टर बाहिरियो

    एजेन्सी । इंग्लिस टोली आर्सनल र इटलीयन टोली एसी मिलानले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । गएराति भएको अन्तिम–३२ अन्तर्गत दोस्रो लेगमा आर्सनलले बेनफिकालाई ३–२ गोलको संघर्षपूर्ण जित निकाल्यो ।

    एसी मिलान भने सर्बियाको क्रेना भेज्दासँग बराबरी खेले पनि अवे गोलका आधारमा अर्को चरणमा छनोट भएको हो । लेस्टर सिटी चाहिँ चेक रिपब्लिकको स्लाभिया प्राहासँग आफ्नै मैदानमा २–० ले पराजित हुन पुग्यो ।

    कोरोना मापदण्डका कारण ग्रीसको स्वतन्त्र मैदानमा खेलिएको खेलमा पिएर्रे एमरिक उवामेयाङले खेलको अन्त्यतिर गोल गरी आर्सनललाई अर्को चरणमा पुर्‍याएका हुन ।

    २१औं मिनेटमा उनैको गोलमार्फत आर्सनलले अग्रता बनायो । ४३औं मिनेटमा डिएगो गोन्कालभेसले गोल गरेपछि पहिलो हाफ बेनफिकाले बराबरीमा ल्यायो । ६१ औं मिनेटमा राफा शिल्भाले गोल गरेसँगै बेनफिकाले खेलमा अग्रता बनायो । तर ६७ औं मिनेटमै आर्सनलका केरिन टेर्नीेले बराबरी गोल फर्काएका थिए ।

    पहिलो लेगमा यी दुईले १–१ गोलको बराबरी खेलेका थिए । साँघुरो हारपछि बेनफिकाको युरोपा लिग यात्रा शीर्ष ३२ मै सकिएको छ ।

    इटलीयन सिरी ए मा दोस्रो स्थानमा रहेको एसी मिलानलाई भने सर्बियन च्याम्पियन भेज्दाले कठिन चुनौति पेश गरेको हो । अवे गोलको दुर्भाग्यले भेज्दा इतिहास रच्न चुकेको हो ।

    घरेलु मैदानमा फ्र्यांक याग्निक किसीइले पेनाल्टीमार्फत नवौं मिनेटमै एसी मिलानलाई अग्रता दिलाएका थिए । तर २४ औं मिनेटमा भेज्दाका लगि मार्को इभानिकको पासमा बेन नाबोउनले गोल गरेपछि मिलानले थप गोल गर्नै सकेन ।

    पहिलो लेगमा भेज्दाको घरेलु मैदान २–२ गोलको बराबरी भएको थियो । त्यही आधारमा समग्रमा ३–३ को नतिजा भए पनि अवे गोलका आधारमा एसी मिलान अर्को चरणमा प्रवेश गरेको हो ।

    चेक रिपब्लिकन च्याम्यिन स्लाभिया प्राहासँग किङ पावर रंगशालामा २–० गोलले हारेपछि लेस्टर सिटीको युरोपा लिग जित्ने लक्ष्य यो सिजनका लागि सकिएको छ ।

    पहिलो लेगमा गोलरहित बराबरी खेलेको लेस्टरले दोस्रो लेगमा घरेलु मैदानमा लगातार गोल खान पुग्यो । स्लाभियाका लागि लुका प्रोभोडले ४९ औं र अब्दुल्लाह डिपो सीमाले ७९ औं मिनेटमा गोल गरेका हुन् ।

  • १० जनामा सीमित भएको एट्लान्टाको फाइदा उठाउन सकिएन: जिदान

    १० जनामा सीमित भएको एट्लान्टाको फाइदा उठाउन सकिएन: जिदान

    काठमाडौं । प्रशिक्षक जिनेदिन जिदानले चोटले थलिएको रियाल मड्रिडले १० जनामा सीमित एट्लान्टाविरुद्ध राम्रो प्रर्दशन गर्न नसकेको बताएका छन् । तर, अन्तिम १६ को पहिलो लेगमा १–० को अवे गोलको अग्रता लिन सफल भएको बताएका छन् ।

    गेविस स्टेडियममा बुधबार भएको खेलको १७औं मिनेटमा एट्लान्टाका मिडफिल्डर रेमो फ्रेलर रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए ।
    खेलमा राम्रो पकड बनाए पनि रियालले तीन पटक मात्र एट्लान्टाको गोल पोष्टमा प्रहार गरेको थियो ।
    ‘हामीले उत्कृष्ट खेल्न सकेनौं,’ जिदानले भने, ‘तर, महत्वपूर्ण कुरा नतिजा हो । खेलको अन्त्यमा भएको गोल हाम्रा लागि एकदमै महत्त्वपूर्ण थियो । ’

    अझै दोस्रो लेग खेल्नु पर्ने भए पनि पहिलो लेगमा १–० अवे गोलको अग्रता सुखद् भएको प्रशिक्षक जिदानले बताएका छन् ।

  • म्यानचेस्टर सिटीको शानदार लय, च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक

    म्यानचेस्टर सिटीको शानदार लय, च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक

    एजेन्सी । सिजनको सुरुआत राम्रो गर्न नसके पनि पछिल्लो दुई महिनादेखि शानदार लयमा देखिएको इंग्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगमा पनि क्वाटरफाइनल नजिक पुगेको छ ।

    सिटीले गएराति हंगेरीको बुढापेस्टमा भएको खेलमा जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाचबिरुद्ध २–० गोलको अवे जित हासिल गर्‍यो । जारी सिजन सबै प्रतियोगितामा गरी सिटीको यो लगातार १९ औं जित हो ।

    अहिलेको स्थितिमा सिटीलाई च्याम्पियन्स लिगको सबैभन्दा दावेदार टोलीका रुपमा हेर्न थालिएको छ । पहिलोपल्ट च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा रहेको सिटीले अन्तिम–१६ मा उत्कृष्ट प्रदर्शन गरेको थियो । तर दोस्रो लेगको खेल बाँकी नै रहेकाले अहिले नै उपाधिको चर्चा गर्नु हतारो हुन सक्छ ।

    २९ औं मिनेटमा जोआओ क्यान्सेलोको क्रसमा बर्नान्डो शिल्भाले शानदार हेडर गोलमार्फत पहिलो हाफमा सिटीलाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा शिल्भाको पासमा गाव्रियल जेससको महत्वपूर्ण दोस्रो अवे गोल गरे ।

    मोन्चेनग्लाडबाचले ४३ वर्षपछि पहिलोपल्ट च्याम्पियन्स लिगको नकआउट चरण खेलेको हो । उसले जवाफी गोल गर्न नसके । उनीहरुबीचको दोस्रो लेग मार्च १६ मा इथिहाड रंगशालामा हुनेछ ।

    अर्को खेलमा स्पेनको रियल मड्रिडले इटलीको एटालान्टामाथि १–० गोलको महत्वपूर्ण अवे जित निकाल्यो । खेलको १७ औं मिनेटमै १० खेलाडीमा समेटिएको घरेलु टोली एटालान्टामाथि गोल गर्न रियललाई अन्तिम मिनेटसम्म प्रयास गर्नुपर्‍यो ।

    खेलको समय सकिनु ४ मिनेटअघि लुका मोड्रिचको पास सदुपयोग गरी बेन्जामिन मेन्डीले निर्णायक गोल गरेका थिए । उनै मेन्डीको निश्चित गोल अवसरमा फल गरेका एटालान्टाका डिफेण्डर रेमो फ्रेलर १७ औं मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए ।

    मार्च १६ मा हुने दोस्रो लेगमा एटालान्टाले सान्टियागो बर्नबाउमा गोल गर्नैपर्ने भएको छ ।

  • श्री कुमारी क्लबको जितमा आशिषको चार गोल

    श्री कुमारी क्लबको जितमा आशिषको चार गोल

    काठमाडौं । आशिष राईको चार गोल प्रेरित श्री कुमारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार श्री भगवती क्लबलाई ४-१ को नतिजामा पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २०औं मिनेटमा गोल गर्दै कुमारीका लागि खाता खोलेका आशिषले दोस्रो हाफमा थप तीन गोल गरे । पहिलो हाफमा १-० ले अगाडि रहेको कुमारीका लागि आशिषले ५३औं, ६४औं र ७७औं मिनेटमा गोल गरे ।

    आक्रामक कुमारी क्लबसामु निरिह बनेको भगवतीका लागि नवराज गुरुङले इन्जुरी समयमा एक गोल गरे । जितसँगै कुमारी क्लब ६ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५ अंक जोड्को भगवति १०औं स्थानमा छ ।

  • बाँसबारीको जितमा भिष्मराजको दुई गोल

    बाँसबारीको जितमा भिष्मराजको दुई गोल

    काठमाडौं । भिष्मराज घिमिरेको दुई गोल प्रेरित बाँसबारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार टुसाल क्लबलाई ३-१ को नतिजामा पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पाँचौं मिनेटमा भिष्मराजले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भिष्मराजले बाँसबारीको अग्रता दोब्बर पारे ।

    पहिलो हाफमा २-० ले अगाडी रहेको बाँसबारीका लागि ५४औं मिनेटमा अनिल गुरुङले तेस्रो गोल गरेका थिए । बाँसबारीको आक्रमणसामु टिक्न नसकेको टुसालका लागि सुनिल धामीले ७०औं मिनेटमा एक मात्र गोल फर्काएका थिए ।

    जितसँगै बाँसबारी ६ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित टुसाल ६ खेलबाट ८ अंक सहित छैठौँ स्थानमा छ ।

  • काठमाडौं मेयर कप फागुन २२ गतेदेखि

    काठमाडौं मेयर कप फागुन २२ गतेदेखि

    काठमाडौं । काठमाडौं मेयर कप, २०७७ फागुन २२ गतेदेखि सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गर्ने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले बताएको छ ।

    फागुन २२ देखि २९ सम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टोलीहरू- त्रिभुवन आर्मी क्लब, एपिएफ, नेपाल पुलिस र वाग्मतीसँगै काठमाडौं महानगरपालिकाको टिमसहित पाँच टोली सहभागी हुने क्यानले बताएको छ ।

    महानगरपालिकाको टोली वाग्मतीबाहेक अन्य ६ प्रदेशको संयुक्त टोली हुनेछ ।

  • टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते

    टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते

    लस एन्जलस– विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स चढेको कार लस एन्जलस नजिक दुर्घटनाग्रस्त भएको छ । उनी चढेको कार सडकमा धेरै पटक पल्टिएको थियो, तर गम्भीर चोट लागेपनि भाग्यवस उनी बाँच्न सफल भएका छन् ।

    बिहानीपख उक्त दुर्घटना हुँदा उनी कुनै किसिमको लागूऔषध वा मदिरा सेवन गरेको अवस्थामा नपाइएको प्रहरीले जनाएको छ । लस एन्जलस काउन्टी प्रहरी अलेक्स भिल्लानुभाले गम्भीर घाइते उड्सको शल्यक्रिया गरिएको जानकारी दिएका छन् ।

    अन्य सवारी साधन वा यात्रुका कारण दुर्घटना भएको पाइएको छैन, तर शहरको बाहिरी इलाकामा बारम्बार दुर्घटना भइरहने स्थलमा नै उड्स चढेको गाडी दुर्घटनाग्रस्त भएको छ । प्रहरीका अनुसार उड्स चढेको कारको गति केही बढी रहेको थियो ।

    उद्धारका लागि घटनास्थल पुगेका प्रहरी अधिकृत कार्लोस गोन्जालेजले घटनाको प्रकृति हेर्दा टाइगर उड्स भयानक दुर्घटनाबाट भाग्यवस बाँच्न सफल भएको जानकारी दिए । दिगोन्जालोका अनुसार टाइगर उड्स दुर्घटनाग्रस्त कारभित्र च्यापिएको अवस्थामा तर होसमै फेला परेका थिए ।

  • च्याम्पियन्स लिगमा रियाल र एट्लान्टा भिड्दै

    च्याम्पियन्स लिगमा रियाल र एट्लान्टा भिड्दै

    काठमाडौं । युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्पेनिस महारथी रियाल मड्रिड र इटालियन अन्डर डग्स एट्लान्टा भिड्दै छन् ।

    नेपाली समयअनुसार बुधबार राति १:४५ बजे हुने खेलमा १३ पटकको च्याम्पियन मड्रिड जित हासिल गर्दै पहिलो लेगमा अग्रता बनाउन चाहन्छ ।

    अर्कातिर घरेलु मैदानको फाइदा उठाउँदै एट्लान्टा पहिलो लेगको नतिजा आफ्नो पक्षमा पार्न चाहन्छ । पहिलो पटक आमने/सामने हुन लागेका दुवै टोली क्वार्टरफाइनलमा स्थान बनाउन चाहन्छन् । लगातार तीन पटकको च्याम्पियन मड्रिड २०१७/१८ पछि क्वार्टरफाइनल पुग्न सकेको छैन ।

    गत सिजन अन्तिम १६ बाटै बाहिरिएको मड्रिड आजको खेलमा पनि दबाबमा रहने छ । टीमका कप्तान सर्जियो रामोससँगै नियमित सदस्य रहँदै आएका मार्सेलो, रोडरिगो, इडेन हाजार्ड, एडर मिलाटो, ड्यानियल कार्भाजल, फेडेरिको भल्भर्दे चोटका कारण उपलब्ध हुनेछैनन् ।

    रियाल मड्रिडको सम्भावित लाइन अप: टिबाउट कोट्वा, लुकास भास्केज, राफेल भरान, नाचो, फर्लान्ड मेन्डी, क्यासिमिरो, टोनी क्रृस, लुका मोड्रिक, मार्को एसेन्सियो, म्यारियानो डियाज, भिनिसियस जुनियर

    एट्लान्टाको सम्भावित लाइन अप : पिअरलुगी जिगोलिनी, राफेल टोलोई, लुइस पालोमिनो, जोआकिम मेहेल, मार्टिन डि रोन, रेमो फ्रेलर, रोबिन गोसेन्स्, जोसेफ लिसिक, डुवान जापाटा, लुइस मुरियल

  • च्याम्पियन्स लिगमा बायर्नको सहज जित, एट्लेटिकोमाथि चेल्सी हावी

    च्याम्पियन्स लिगमा बायर्नको सहज जित, एट्लेटिकोमाथि चेल्सी हावी

    एजेन्सी । लाजियोमाथि फराकिलो अवे जितका साथ साविक विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । चेल्सीले पनि एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकाल्यो ।

    लाजियोको घरेलु मैदानमा बायर्नका रोवर्ट लेवाण्डोस्कीले नवौं मिनेटमै गोलको खाता खोलेका थिए । उनले ७२ औं च्याम्पियन्स लिग गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि तेस्रो स्थानमा पुगेका छन् ।

    २४ औं मिनेटमा जमाल मुसियालाले गोल गरे । १७ वर्षीय मुसियाला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । ४२ औं मिनेटमा लेरोय सानेले गोल गरेपछि पाहुना टोलीले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।

    दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै फ्रान्सिस्को असर्बीले आत्मघाती गोल गरेपछि बार्यनले ४–० को अग्रता बनायो । ४९ औं मिनेटमा घरेलु टोलीका लागि एड्रियानो कोर्रियाले एउटा सान्त्वना गोल फर्काए । बाँकी समयमा प्रयास गरे पनि जालियोले हारको अन्तर कम गर्न सकेन । दुईबीचको दोस्रो लेगको खेल मार्च १८ मा एलियान्ज एरिनामा हुनेछ ।

    अर्को खेलमा चेल्सीले पनि एट्लेटिको मड्रिडमाथि १–० को अवे जित निकाल्यो । कोरोना मापदण्डका कारण रोमानियाको बुचारेस्टस्थित स्वतन्त्र रंगशालामा भएको खेल एट्लेटिको मड्रिडका लागि होम खेल थियो ।

    ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिकोले ६८ औं मिनेटमा ओलिभर जिरोडको शानदार ओभरहेड किकमार्फत गोल खान पुग्यो । चेल्सी सन् २०१३/१४ को सिजनपछि पहिलोपल्ट च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने योजनामा छ । यी दुइबीचकाे अर्काे लेग मार्च १८ मा स्टाम्फाेर्ड ब्रिजमा हुनेछ ।

  • ‘बी’ डिभिजन लिगमा खुमलटारको नाटकीय जित

    ‘बी’ डिभिजन लिगमा खुमलटारको नाटकीय जित

    काठमाडौं । महेश राईको दुई गोल प्रेरित खुमलटार युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार पुल्चोक स्पोट्स क्लबलाई ५-२ को नतिजामा पराजित गरेको छ । कोरोना भाइरसको कारण झण्डै एक वर्ष पछाडी धकेलिएको खेल मंगलबारदेखि पुनः सुचारु भएको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २९औं मिनेटमा महेशले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिन पाँच मिनेट बाँकी रहँदा मिन बहादुर गुरुङले गोल गर्दै पुल्चोकलाई बराबरीमा ल्याएका थिए ।

    दोस्रो हाफको चौथो मिनेटमा किस्मत लिम्बुले गोल गर्दै पुल्चोकलाई २-१ को अग्रता दिलाए । २-१ ले पछि परेको खुमलटार आक्रामक शैलीमा प्रस्तुत भएको थियो । खुमलटारका लागि सबिन केसीले ५२औं मिनेटमा पेनाल्टीमार्फत् बराबरी गोल फर्काएका थिए । त्यसको ६ मिनेट नबित्दै आयुश घलानले खुमलटारका लागि तेस्रो गोल गरे ।

    महेशले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४-२ मा पुर्‍याएका यिए । त्यसको तीन मिनेट नबित्दै मनिष राईले खुमलटारका लागि पाँचौ गोल गरे । मनिषको गोलसँगै खुमलटारले लिगमा पाँचौ जित दर्ता गर्‍यो । लिगमा ६ खेलबाट १६ अंक बटुलेको खुमलटार तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित पुल्चोक समान खेलमा एक अंकसहित तालिकाको ११औं स्थानमा छ ।

  • ‘बी’ डिभिजन लिग पुन: सुचारु, नयाँबस्तीसँग मध्यपुर पराजित

    ‘बी’ डिभिजन लिग पुन: सुचारु, नयाँबस्तीसँग मध्यपुर पराजित

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झण्डै एक वर्ष स्थगित भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग मंगलबारदेखि पुनः सुचारु भएको छ । एक वर्षपछि सुरु भएको लिगमा पनि मध्यपुर युथ एसोसिएसनले जहाँ रोकिएको त्यहीँबाट सुरु गरेको छ ।

    गत वर्ष ‘बी’ डिभिजन लिग स्थगित हुनुभन्दा अगाडिको (अन्तिम) खेल २०२० को मार्च १३ मा रानीपोखरी कर्नर टिम (आरसीटी)विरुद्ध खेलेको थियो । त्यो खेलमा ३–० को हार बेहोरेको मध्यपुरले मंगलबार नयाँबस्ती युथ क्लबसँग २–१ को पराजय बेहोरेको छ ।

    एक वर्षपछि सातदोबाटोस्थित एन्फामा उत्रिएको नयाँ बस्तीका लागि सातौं मिनेटमा सचु गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको सुरुआतमै १–० ले पछाडि परेको मध्यपुरका लागि भुपासिंह गुरुङले ५७औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै बराबरीमा ल्याएका थिए ।

    तर, ७९औं मिनेटमा अबय धिमालले गरेको गोलसँगै नयाँबस्तीले रोमाञ्चक जित हासिल गर्‍यो । जितसँगै ६ खेलबाट ११ अंक जोडेको नयाँबस्ती लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित मध्यपुर समान ६ खेलबाट १ अंक मात्रै जोडेर तालिकाको पुछारमा छ ।

    लिग लिडर सातदोबाटो युथ क्लबलको ६ खेलबाट १६ अंक छ भने दोस्रो स्थानको खुमलटार युथ क्लबले ५ खेलबाट १३ अंक जोडेको छ । तेस्रो स्थानको बाँसबारी युथ क्लबको ५ खेलबाट ११ अंक छ।

  • रोनाल्डोको २ हेड गोलमा युभेन्टसको जित

    रोनाल्डोको २ हेड गोलमा युभेन्टसको जित

    एजेन्सी । क्रिष्टियानो रोनाल्डोले दुई हेड गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए तालिकाको अन्तिममा रहेको क्रोटोनलाई ३–० गोलले पराजित गरेको छ । जितसँगै युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी ८ अंकमा झारेको छ ।

    ३८ औं मिनेटमा एलेक्स सान्द्राेको क्रसलाई उपोग गरेका रोनाल्डोले पहिलो हाफको इन्जूरी समयमा आरोन राम्सेको पासलाई सदुपयोग गरेका हुन् ।

    युरोपको शीर्ष ५ लिगमध्ये रोनाल्डोले गोल गरेको क्रोटोन ७८ औं क्लब हो । रोनाल्डोले युभेन्टसमा अनुबन्ध भएको साढे २ वर्षमा ७० गोल पूरा गरेका छन् । युभेन्टसका लागि तेस्रो गोल वेस्टन म्याकेन्नीले क्लोज रेन्जबाट गरेका थिए ।

    यो २ गोलसँगै जारी सिजन सिरी ए मा १८ गोलसहित रोनाल्डो सर्बाधिक गोलकर्ताको सूचिमा एक नम्बरमा पुगेका छन् । उनले इन्टर मिलानका रोमेलु लुकाकुलाई पछि पारेका हुन् ।

    लगातार ९ सिजनको सिरी ए विजेता युभेन्टस यस सिजन भने केहि कमजोर देखिएको छ । युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको शीर्ष स्थानको इन्टरमिलानको ५३ र दोस्रो स्थानको एसी मिलानको ४९ अंक छ ।

    लिगमा १५ खेल बाँकी रहँदा शीर्ष ७ स्थानमा रहेका टोलीहरुबीचको प्रतिस्पर्धा यसपल्ट हेर्नलायक देखिने अपेक्षा छ । अन्तिममा रहेको क्रोटोन भने २३ खेलबाट १२ अंकसहित तालिकाको पुछारमा छ ।

  • आहा रारा गोल्डकप : सहारा क्लब र कथा नेपालबीच सम्झौता

    आहा रारा गोल्डकप : सहारा क्लब र कथा नेपालबीच सम्झौता

    काठमाडौं। चैत १७-२८ मा पोखरामा सञ्चालन हुने ‘आहा रारा गोल्ड कप’ प्रतियोगिताको १८ औँ संस्करणको अडियो भिडियो अधिकारका लागि सहारा क्लब पोखरा र कथा नेपाल प्रालीबीच सम्झौता भएको छ।

    सहारा क्लब पोखराका तर्फबाट अध्यक्ष केशवबहादुर थापा र कथा नेपाल प्रा.लि.का तर्फबाट मनोजराज पाण्डेले एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।

    कथा नेपाल प्रालिद्वारा सञ्चालित देखापढी डट कमले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ ।

  • नेपालमा फ्रेन्चाइज फुटबल शुरू हुँदै, पहिलो संस्करण वैशाखमा

    नेपालमा फ्रेन्चाइज फुटबल शुरू हुँदै, पहिलो संस्करण वैशाखमा

    काठमाडौं । नेपालमा पहिलोपटक फ्रेन्चाइज मोडलमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो वैशाख ११ गतेदेखि २५ गतेसम्म ‘नेपाल सुपर लिग’ को पहिलो संस्करण सञ्चालन हुने आज आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

    नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

    पहिलो संस्करणमा देशभरिका विभिन्न प्रदेशहरुबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरहरुका फ्रेन्चाइज टिमहरु सहभागी हुनेछन् ।

    टिमको नाम र टिम मालिकको जानकारी एक विशेष समारोहका बीच यसै महिनाभित्र सार्वजनिक गर्ने बताइएको छ ।

    अक्सनको माध्यमबाट टिम बनाई खेलाडीहरुलाई विभिन्न टिममा विभाजन गरिने नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    ‘यस प्रतियोगिता गर्नुको मुख्य उद्देश्य निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराई खेलाडीहरू र फुटबल खेललाई थप व्यवसायिक बनाउन टेवा पुर्‍याउने हो,’ विज्ञप्तिमा भनिएको छ । हरेक टिममा विदेशीसहित विभिन्न श्रेणीका २० खेलाडीहरु रहनेछन् । राउन्ड रोविन लिग फर्म्याटमा हुने प्रतियोगितामा १९ खेलहरु हुनेछन् । खेलाडीको श्रेणी छुट्याउने काम एन्फासँगको सहकार्यमा हुने जनाइएको छ ।

  • म्यानचेस्टर सिटीको लयमा प्रशिक्षक ग्वार्डिओला नै आश्चर्यचकित

    म्यानचेस्टर सिटीको लयमा प्रशिक्षक ग्वार्डिओला नै आश्चर्यचकित

    एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सम्पूर्ण विश्व फुटबल नै प्रभावित भएको समयमा टोलीको लय देखेर आश्चर्यचकित भएको बताएका छन् ।

    गएराति आर्सनलमाथि १–० को जितसहित इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले लगातार जितयात्रालाई १८ खेलसम्म पु¥याएको छ ।

    सिटीले डिसेम्बर १५ यता सबै प्रतियोगितामा गरी खेलेका कुनै पनि खेलमा पराजित हुनुपरेको छैन । प्रिमियर लिगमा १३ खेल बाँकी रहँदा उसले स्पष्ट १० अंकको अग्रता यथावत राखेको छ ।

    कोरोना महामारीका कारण व्यस्त खेलतालिकासँगै अन्य टोलीलाई चोटले ठूलो असर गरिरहेको देखिन्छ । अन्य टोलीहरु नियमित लयमा नभएको फाइदा सिटीले उठाइरहेको छ ।

    ‘यो सबैमा विश्वभरिका क्लबहरु प्रभावित छन्, उनीहरुले अंक गुमाइरहेका छन् । तर म आश्चर्यचकित र उत्साहित पनि छु कि हामी पछिल्लो २ महिनादेखि लगातार एकरुपको प्रदर्शन दिन सकिरहेका छौं । मैले टिमबाट अपेक्षा गरेभन्दा धेरै पाएको छु,’ ग्वार्डिओलाले भने, ‘मानिसहरु कीर्तिमान र उपाधिबारेका कुरा गरिरहन्छन् । तर त्यसका लागि तपाईंले यस्ता जितहरु धेरैपल्ट जित्नुपर्ने हुन्छ ।’

  • सन्दीपलाई ‘अलार्म कल’

    सन्दीपलाई ‘अलार्म कल’

    काठमाडौं । हरेक खेलाडीको करिअर उतार-चढावले भरिएको हुन्छ । फर्म भेट्टाउने र गुमाउने सिलसिला चलिरहन्छ । तर, त्यो खेलाडी ‘लिजेन्ड’ हो, जो क्षणिक असफलतामा आत्तिंदैन र क्षणिक सफलतामा मात्तिंदैन ।

    उठाउन खोजिएको प्रसंग क्रिकेटर सन्दीप लामिछानेको हो । उनी आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा ‘अनसोल्ड’ भएपछि नेपाली समर्थकहरू निराश छन् । कतिपयले सन्दीपको करिअर अब ओरालो लाग्न थालेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । जुन प्रतियोगिताले उनको करिअरलाई नयाँ मोड दियो, त्यसमै यसपालि नबिक्दा सन्दीप स्वयम् दुःखी बनेको हुनुपर्छ ।

    त्यसो त आईपीएलको पछिल्लो सिजनमा सन्दीपले एउटा म्याच पनि खेल्न पाएका थिएनन् । उनको टिम दिल्ली क्यापिटल्समा भारतीय स्पिनरहरू नै यथेष्ट थिए । उनीहरूले राम्रो प्रदर्शन गर्दा सन्दीपको पालो नै आएन । त्यसैले यसपालि दिल्लीले उनलाई रिलिज गरिदिएको थियो । गत जनवरीमा दिल्लीले आईपीएल–२०२१ खेल्ने १९ जना खेलाडीको सूची सार्वजनिक गर्दा त्यसमा उनी अटाएनन् । सन्दीपसहित ६ जना खेलाडीहरू रिलिज गरिएकोमा चार जना विदेशी थिए ।

    दिल्लीले सन्दीपलाई रिलिज गर्नु स्वाभाविक नै मानिएको थियो । सो टिममा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेलजस्ता स्पिनर मौजूद रहेकाले सन्दीपलाई प्लेइङ ११ मा स्थान बनाउन मुश्किल हुन्थ्यो । दिल्लीले मुक्त गरेपछि आगामी आईपीएलको अक्सनमा अरू टिमहरूले सन्दीपलाई खोसाखोस गर्ने कतिपयको अनुमान थियो । तर त्यस्तो भएन । बिहीबार भएको अक्सनमा सन्दीप ‘अनसोल्ड’ भए । एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीका लागि ४० लाख भारुको न्यून मूल्यमा पनि कसैले चासो नदेखाउनु आश्चर्य नै भयो ।

    त्यसो त यसपालि सन्दीप मात्र होइन, कुनै पनि एसोसिएट्स कन्ट्रीका खेलाडीहरूले आईपीएलमा स्थान पाएका छैनन् । तसर्थ यो प्रतियोगिता आयोजककै रणनीतिको अंग पनि हुन सक्छ । यद्यपि, आईपीएलले एसोसिएट राष्ट्रका खेलाडीलाई नखेलाउने भनेर अहिलेसम्म घोषित नीति भने बनाएको छैन ।

    आईपीएलमा सन्दीप

    इतिहास रच्दै सन् २०१८ को आईपीएलमा नेपाली किशोर सन्दीपले इन्ट्री मारेका थिए । त्यसबेला उनको उमेर १७ वर्ष मात्र थियो । दिल्लीले उनलाई न्यूनतम मूल्य २० लाख भारुमा खरीद गर्दा नेपालमा निकै हल्लाखल्ला भयो ।

    त्यसयताका तीन आईपीएलमा सन्दीपलाई दिल्लीले आफूसँग राख्यो । आईपीएलमा उनको समग्र प्रदर्शन सन्तोषजनक छ । उनले जम्मा ९ म्याच खेलेर ८.३४ को औसतमा १३ विकेट लिएका छन् । तर यो आँकडा २०१८ र २०१९ मा उनले गरेको प्रदर्शनमा मात्रै आधारित छ । किनकि पछिल्लो संस्करणमा उनले एउटा खेल पनि नखेली केवल बेन्चको शोभा बढाएर बसेका थिए ।

    सन् २०१८ को आईपीएल सन्दीपका लागि विशेष बनेको थियो । यो आईपीएलमा छनोट भए पनि प्लेइङ ११ मा पर्न सन्दीपले लामो प्रतिक्षा गर्नुपर्‍यो । ११ म्याचसम्म बेञ्चमा बसेका उनले दिल्ली प्रतियोगिताबाट आउट भइसकेपछिका बाँकी तीन खेल खेल्न पाएका थिए । त्यसमा उनले आफ्नो छाप छोड्न सफल भए । उनले कसिलो बलिङका साथ तीन म्याचमा ५ विकेट लिएका थिए, जसमा उनको बलिङ एभ्रेज १६.४० थियो । विराट कोहली र एबी डिभिलियर्सजस्ता ब्याट्म्सम्यानलाई पनि सन्दीपले आच्छुआच्छु बनाएका थिए ।

    पहिलो पटक खेलेको आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपको भाग्य चम्कियो । अन्य देशमा हुने टी–२० फ्रेन्चाइजहरूको ध्यान उनीतिर तानियो । त्यसयता उनले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) देखि वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल), बंगलादेशको बंगलादेश प्रिमियर लिग (बीपीएल), पाकिस्तानको पाकिस्तान सुपर लिग (पीसीएल), क्यानाडाको ग्लोबल टी-२० लगायतमा आफ्नो स्पिनको जादु देखाइसकेका छन् ।

    किन बिकेनन् ?

    सन्दीपले अन्तर्राष्ट्रिय टी-२० फ्रेन्चाइजमा प्रवेश गरेको पहिलो वर्ष एकप्रकारको सनसनी नै मच्चाएका थिए । हरेक देशका टुर्नामेन्टमा उनी चम्किए । तर, त्यसपछिका वर्षहरूमा भने उनको चार्म कम भएको थियो । २०१८ देखि अहिलेसम्म आइपुग्दा सन्दीपले आफूलाई थप निखार्न चुकेकै हो ।

    आईपीएलमा सन्दीप अनसोल्ड रहनुका तीन सम्भावित कारण हुन सक्छन् । पहिलो भनेको उनको जुन विधा छ, त्यसमा भारतीय खेलाडीहरू नै पोख्त छन् । स्पिन बलिङमा भारतीय क्रिकेटरहरू विश्वमै अगाडि मानिन्छन् । त्यही भएर फ्रेन्चाइजहरूले आफ्नो टिम बनाउँदा स्पिनरमा भारतीय खेलाडी नै राख्न चाहन्छन् । ओभरसिज कोटामा फास्ट बलर वा विज्ञ ब्याट्सम्यान रोजेको पाइन्छ । त्यसैले पनि सन्दीपलाई टिमहरूले बेवास्ता गरेका हुनसक्छन् ।

    दोस्रो कारण भनेको ब्याटिङमा सन्दीप शून्यप्रायः छन् । ब्याटिङ गर्न नसक्ने बलर र ब्याटिङ पनि अलिअलि गर्ने बलर हुँदा टिममा धेरै फरक पर्छ । कहिलेकाहीं अन्तिममा आउने ब्याट्सम्यानले पनि जित–हारमा भूमिका खेल्नुपर्छ । यो पक्षमा सन्दीपको कमजोरी छ ।

    तेस्रो चाहिं प्रदर्शनमा अपेक्षित सुधार नआउनु पनि हो । पछिल्लो दुई वर्ष सन्दीपको प्रदर्शन औसतभन्दा माथि उक्लिन सकेको छैन । सम्भवतः उनको बलिङ प्रायः ब्याट्सम्यानहरूले बुझ्न थालिसकेकाले पनि हुनसक्छ । त्यसैले सन्दीपका लागि आफ्नो बलिङमा थप विविधता जरूरी देखिएको छ ।

    सन्दीपले नखेल्ने भएपछि आगामी संस्करणको आईपीएलको समग्र चर्चा नेपालमा कम हुने पक्का छ । सन्दीप विनाको आईपीएल नेपालीले हेर्दै हेर्दैनन् भन्ने होइन, तर कमले हेर्छन् ।

    आईपीएल अक्सनको ठीक अगाडि सन्दीपले अष्ट्रेलियामा बिग बास लिग (बीबीएल) खेलेका थिए । लगातार तेस्रो पटकको बिग बासमा उनको प्रदर्शन ठीकठीकै थियो, तर उत्कृष्ट होइन । यदि बीबीएलमा उत्कृष्ट प्रदर्शन गरेको भए सन्दीपलाई आईपीएल फ्रेन्चाइजहरूले पक्कै नजरअन्दाज गर्न सक्दैनथे ।

    पछिल्लो समयमा अपेक्षित प्रदर्शन गर्न नसकेको महसूस भएरै हुन सक्छ, सन्दीपले आईपीएलको अक्सनमा आफूलाई महत्वाकांक्षी रूपमा प्रस्तुत गरेका थिएनन् । उनले केवल ४० लाख भारु बेस प्राइस राखेका थिए । उनको स्तरको खेलाडीका लागि आईपीएलमा यो निकै कम मूल्य हो । तीन वर्षसम्म २० लाखमै खेलेका उनले कम्तीमा एक करोड सहजै पाउन सक्ने अनुमान थियो । तर, सन्दीपका लागि ४० लाख खर्चिन पनि कुनै टीम तयार भएनन् ।

    सन्दीपलाई ‘चेतावनी घण्टी’

    सन्दीपले कम उमेरमै आफूलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेटर सावित गरिसकेका छन् । उनले कुनै पनि भूमिमा आफूलाई प्रमाणित गर्न बाँकी छैन । आईपीएलमा नबिक्दैमा उनको करिअर समाप्त हुने पनि होइन । तर, यो उनका लागि एउटा ‘अलार्म कल’ अवश्य हो ।

    संसारका धेरै देशमा हुने टी–२० फ्रेन्चाइजहरूको तुलनामा आईपीएललाई माथि राख्ने गरिन्छ । नेपालसहित दक्षिणएशियामा त आईपीएलको अलग्गै क्रेज छ । त्यसैले यो प्रतियोगितामा छनोट नहुनु सन्दीपका लागि गम्भीर धक्का हो । नेपाली समर्थकका लागि पनि आईपीएल खल्लो हुने भयो ।

    अर्कोतर्फ आईपीएलका लागि समेत सन्दीपको अनुपस्थितिले केही न केही क्षति अवश्य पुर्‍याउने छ । नेपाल क्रिकेट लभरहरूको देश भनेर चिनिन्छ । सन्दीपको सहभागितासँगै नेपालमा आईपीएलप्रतिको चासो र लोकप्रियता ह्वात्तै बढेको थियो । केवल सन्दीपका लागि आईपीएल हेर्ने नेपाली पनि धेरै छन् । त्यसै अनुसार मिडिया कभरेज पनि छ ।

    दिल्ली क्यापिटल्सको फेसबूक पेज हेर्दा पनि थाहा हुन्छ कि, नेपालमा सन्दीपको क्रेज कति छ । उसले हाल्ने अरू पोष्ट र सन्दीपको नाम जोडिएका पोष्टमा हुने अन्तरक्रियामा आकाश–जमीन फरक थियो । त्यही बुझेर दिल्लीले असान्दर्भिक रूपमा पनि बेला–बेला सन्दीपको पोष्टहरू गरिराख्थ्यो । साथै, सन्दीपकै कारण सिंगै नेपालको समर्थन दिल्लीलाई थियो । अब दिल्लीले यो समर्थन गुमाएको छ ।

    सन्दीपले नखेल्ने भएपछि आगामी संस्करणको आईपीएलको समग्र चर्चा नेपालमा कम हुने पक्का छ । सन्दीप विनाको आईपीएल नेपालीले हेर्दै हेर्दैनन् भन्ने होइन, तर कमले हेर्छन् ।

    शक्ति भन्छन्ः सन्दीपले कमब्याक गर्नेछन्

    नेपाली राष्ट्रिय टीमका भूतपूर्व स्पिनर शक्ति गौचन शक्ति आईपीएलमा छनोट नहुँदा आफूलाई दुःख लागेको बताए ।

    ‘सन्दीपले क्रिकेट जगतमा नेपालको ब्राण्ड एम्बेसडर जस्तै हो, हरेक देशमा खेलेर नेपालको नाम चम्काइरहेको छ’ शक्तिले भने, ‘यसपालि आईपीएलमा छनोट नभएको सुन्दा दुःखी भएँ, तर यो नै अन्त्य होइन ।’
    उमेरका हिसाबले सन्दीपसँग प्रशस्त समय भएकाले एउटा आईपीएलमा छनोट नहुँदैमा आत्तिनु नपर्ने उनको भनाइ छ ।

    ‘उनी एउटा सक्षम खेलाडी हुन्, उनको क्षमता कसैले खोस्न सक्दैन’ शक्तिले भने, ‘विश्वका कैयन् चर्चित ब्याट्सम्यान र बलरहरू पनि आईपीएलमा अनसोल्ड भएका छन्, यो धेरै ठूलो कुरा होइन । आईपीएलका आगामी सिजनहरूमा उनले पक्कै कमब्याक गर्नेछन् ।’

    भारतमा स्पिनरहरूको दबदबा बढी भएकाले सन्दीप प्राथमिकतामा नपरेको हुनसक्ने उनको अनुमान छ ।

  • मंगलबारदेखि ‘बी’ डिभिजन लिगका बाँकी खेल, पहिलो खेलमा मध्यपुर र नयाँबस्ती भिड्ने

    मंगलबारदेखि ‘बी’ डिभिजन लिगका बाँकी खेल, पहिलो खेलमा मध्यपुर र नयाँबस्ती भिड्ने

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण बीचमै स्थगित भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग मंगलबारदेखि हुने भएको छ ।

    करिब एक वर्ष पछाडि पुन:सुचारू हुन लागेको लिगको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनले नयाँबस्ती युवा क्लबसँग खेल्ने भएको छ । फागुन ११ गते मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

    सोही दिन हुने दोस्रो खेलमा पुलचोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लब भिड्ने छन् । उक्त खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । कोरोना भाइरसको महामारीले स्थगित हुनु अगाडि बी डिभिजनका ३२ खेल सम्पन्न भइसकेका थिए ।

    १२ टोली सहभागी भएको लिगमा अझै ३३ खेल बाँकी छन् । २०७६ सालको चेत ४ गते सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको राखेपको बैठकले एक हप्ताका लागि देशभर हुने सम्पूर्ण खेलकुदका गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।

  • लगातार तेस्रो पटक जोकोभिच बने अस्ट्रेलियन ओपनको च्याम्पियन

    लगातार तेस्रो पटक जोकोभिच बने अस्ट्रेलियन ओपनको च्याम्पियन

    काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले लगातार तेस्रो पटक वर्षको पहिलो ग्राण्डस्लाम- अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

    आइतबार भएको फाइनलमा रुसी खेलाडी ड्यानियल मेड्भेडेभलाई ७-५, ६-२, ६-२ को सोझो सेटमा पराजित गर्दै ३३ वर्षीय सर्वियन खेलाडी जोकोभिचले करियरको १८औं ग्राण्डस्लाम जितेका हुन् ।

    जोकोभिचले यो सिजनसँगै ९ पटक अस्ट्रेलियन ओपन, एक पटक फ्रेन्च ओपन, पाँच पटक विम्बल्डन तथा तीन पटक युएस ओपन जितेका छन् ।

    Novak Djokovic celebrates winning a ninth #AusOpen title.

  • ला लिगामा रियल मड्रिडको जितले एट्लेटिको मड्रिडलाई दवाव

    ला लिगामा रियल मड्रिडको जितले एट्लेटिको मड्रिडलाई दवाव

    एजेन्सी । कासिमेरोले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई पराजित गर्दै रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी ३ अंकमा झारेको छ ।

    ब्राजिलियन मिडफिल्डरले ६५ औं मिनेटमा एकमात्र निर्णायक गोल गर्नुभन्दा केहि मिनेटअघि शानदार हेडर गोलको अवसर गुमाएका थिए । मारियानो डियाजले दुईपल्ट गोल गरेका थिए तर रेफ्रीले अफसाइड करार गरिदिए ।

    रियलका गोलरक्षक थियावट कोर्टवाले एट्लेटिकोका फावियन ओरेलाना र साइडी जान्कोको प्रहारको उत्कृष्ट बचाउ गरेका थिए ।

    त्यसअघि शनिबार राती नै भएको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले लेभान्टेसँग २–० गोलको अप्रत्यासित पराजय ब्यहोरेको थियो ।

    घरेलु मैदानमा एट्लेटिको जोसे लुइस मोरालेसले आत्मघाती गोल गरेका थिए भने अर्को गोल खेलको अन्तिम मिनेटमा जर्ज डी फ्रुटोसले गरेका थिए ।

    रियलको यो जित र एट्लेटिकोको हारले उनीहरुको दूरी ३ अंकमा झारेको छ । शीर्ष स्थानको एट्लेटिकोको २३ खेलबाट ५५ अंक छ । एक खेल बढी खेलेको रियलको ५२ अंक छ । दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ४६ अंक छ । बार्सिलोनाले आज काडिजसँग खेल्नेछ ।

  • २६ खेलाडीलाई ‘एनएनआईपीए स्पोर्टस अवार्ड’बाट सम्मान

    २६ खेलाडीलाई ‘एनएनआईपीए स्पोर्टस अवार्ड’बाट सम्मान

    नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले १३औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेतासहित २६ जना खेलाडीलाई १५औँ संस्करणको ‘एनएनआईपीए अवार्ड’बाट शनिबार सम्मान गरिएको छ ।

    मध्यपुरथिमि नगरपालिका–४ निगु पुखु (दुृई पोखरी) मा मध्यपुरथिमि नगरपालिका स्थानीय आयोजक रहेको अवार्ड वितरण कार्यक्रममा अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय खेल सङ्घले गरेको सिफारिसका आधारमा वर्षका उत्कृष्ट महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफ दि इयर घोषणा गरी सम्मान गरिएको हो ।

    कार्यक्रममा खेलाडीलाई मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

    त्यस अवसरमा पौडीकी गौरिका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नगद रु एक–एक लाख ग्लोबल आईएमई बेस्ट प्लेयर अवार्ड हातपारेका छन् । गल्फका सुवास तामाङ र महिलातर्फ कुस्तीकी संगिता धामीलाई नगद रु ५० हजार सहित उदयमान खेलाडीको अवार्ड प्रदान गरिएको छ । नगद रु ५० हजारसहित तेक्वान्दोकी आयशा शाक्य र फुटबलर सुजल श्रेष्ठलाई प्रतिभावान खेलाडीको अवार्ड प्रदान गरिएको छ ।

    नगद रु १० हजारसहित एनएनआईपीए स्पोर्टस अवार्डबाट आर्चरीतर्फ सनातन मल्ल, एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनतर्फ रत्नजीत तामाङ्, बास्केटबलतर्फ अनुसामल्ल, बक्सिङतर्फ मिनु गुरुङ, क्रिकेटतर्फ अन्जलीचन्द, साइक्लिङतर्फ बुद्धिबहादुर तामाङ्, फेन्सिङ्तर्फ रविनाथापालाई सम्मान गरिएको छ ।

    त्यस्तै फुटबलतर्फ सुजलश्रेष्ठ, गल्फतर्फ सुवास तामाङ्, ह्याण्ड बलतर्फ कल्पना वली, जुडोतर्फ देविका खड्का, कबड्डीतर्फ मेनुका कुमारी राजवंशी, करातेतर्फ मण्डेकाजी श्रेष्ठ, खोखोतर्फ श्याम बुढाथोकी, लन टेनिसतर्फ प्रदीप खड्का, सुटिङतर्फ कल्पना परियार, स्वीमिङतर्फ गौरिका सिंहलाई सम्मान गरिएको छ ।

    कार्यक्रममा टेबलटेनिसतर्फ पुरुषोत्तम बज्राचार्य, स्क्वासतर्फ विपनब्लोन, तेक्वान्दोतर्फ आइशा शाक्य, ट्राइथलनतर्फ सोनी गुरुङ, भलिबलतर्फ कुलबहादुर थापा, वेट लिफ्टिङ्तर्फ विकास थापा, कुस्तीतर्फ संगीताधामी, उसुतर्फ जुनी राई, पारा टेबल टेनिस केशब थापालाई ए सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रोशन राउत र अकबर साहलाई कराते प्रशिक्षक गजराज जोशी आदर्श अवार्डबाट सम्मानित भएको छ ।

    १६औँ संस्करणको यो अवार्ड गोदावरी नगरपालिकाले आयोजना गर्ने कार्यक्रम मागोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले घोषणा गरे ।

    कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडी जन्माउने अभियानसहित खेल र खेलाडीको विकासमा लागेको मध्यपुरमा कार्यक्रम आयोजना गर्दा यहाँका खेलाडीलाई हौसला मिलेको बताए ।

  • नाओमी ओसाकाले जितिन् अष्ट्रेलियन ओपन टेनिस

    नाओमी ओसाकाले जितिन् अष्ट्रेलियन ओपन टेनिस

    काठमाडौं । जापानकी नाओमी ओसाकाले दोस्रोपटक अष्ट्रेलियन ओपन जितेकी छिन् ।

    २३ वर्षिया ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई ६–४, ६–३ ले जित्दै चौंथोपटक ग्रान्डस्लाम टाइटल आफ्नो नाममा लेखाइन् ।

    यो जितसँगै ओसाकाले विश्व टेनिसमा आफ्नो दबदबा कायमै राखेकी छिन् ।

  • नेपाल-तिब्बत युद्धको स्मरण: दुगानागढीसम्म ट्रेल रेस हुने

    नेपाल-तिब्बत युद्धको स्मरण: दुगानागढीसम्म ट्रेल रेस हुने

    चौतारा । सिन्धुपाल्चोकको एतिहासिक लिस्तीमाइ र दुगानागढीको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले नेपाली सेनाको गोरखबक्स गणले लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस प्रतियोगिता गर्ने भएको छ ।

    सेना दिवसको अवसर पारेर सिन्धुपाल्चोकमा पहिलो पटक झण्डै साढे २१ किलोमिटर लामो माउन्टेन ट्रेल रेसको आयोजना गर्न लागिएको हो । फागुन २४ गते हुने ट्रेल रेस प्रतियोगिता बाह्रविसे नगरपालिकाको बसेरी बाट शुरू भई भोटेकोशी गाउँपालिकाको दुगानागढीमा पुगेर सम्पन्न हुने छ ।

    २१ किलोमिटर २१० मिटर लामो माउन्टेन ट्रेल रेसमा देशभरका खेलाडीहरू सहभागी हुन पाउँने गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।

    नेपाल-तिब्बतबीच पहिलो पटक सन् १७८८, दोस्रो पटक १७९२ र तेस्रो पटक सन १९८५ मा भएको युद्धको बेला भोटेकोशी गाउँपालिकाको लिस्तीमाइको दर्शन गरेर नेपालका फौजहरू लडाइमा गएका थिए ।

    लिस्तीमाइको दर्शन गरेर दुगनागढीबाटै तिब्बतसँग लडाई लडेकोले दुगानगढीलाई ऐतिहासिक किल्लाको रूपमा लिने गरिएको छ । ऐतिहासिक महत्वको क्षेत्र भएपनि त्यसको संरक्षण र उचित प्रचार-प्रसार नभएको भन्दै नेपाली सेनाले यसअघि नै यस्ता ऐतिहासिक क्षेत्रको संरक्षण गर्नै घोषणा गरेको थियो ।

    ऐतिहासिक महत्त्व बोकेको लिस्तीकोट र दुगानागढीलाई दोडौको बाटोमार्फत् वर्तमान र भावी पुस्तालाई इतिहासको बारेमा जानकारी दिने उद्देश्यले पहिलो पटक ट्रेल रेसको आयोजना गरिएको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।

    उनले भने- ‘हामीले यसको सुरुवात मात्रै गरेका हौं, यो सबै सिन्धुपाल्चोकको सम्पत्ति हो । यो रेसपछि यस क्षेत्रको पर्यटनको झन् बढी विकास र प्रचार-प्रसार हुनेछ ।’

    सैनिक र नागरिकबीचको सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले पनि ट्रेल रेसको अवधारण अघि सारिएको प्रमुख सेनानी श्रेष्ठले बताए । बाह्रविसे नगरपालिकाको बसेरी बाट सुरु हुने रेस नयाँपुल-पाङलाङ-भाल्ढुङ-लिस्तीस्कोट-गुम्बा-सिल्दुम-धारापनी-गोदाम हुँदै गानागढीमा गएर सकिने छ ।

    रेसमा पहिलो हुनेले नगद १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार, चौथो ले २० हजार, पाँचौँले १५ हजार र छैठौ हुने खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गर्ने नेपाली सेनाका सेनानी इश्वर गिरीले जानकारी दिएका छन् ।

    त्यसैगरी सिन्धुपालचोकका खेलाडीहरूका लागि पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको सेनाले बताएको छ । जिल्लाको खेलाडी पहिलो भएमा नगद २० हजार, दोस्रोले १५ हजार र तृतीय हुनेले नगद १० हजार रूपैयाँ पाउने छन् । विदेशी खेलाडीहरू पनि यो प्रतिायोगीतामा सहभागी हुन सक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

    कोरोनापछि थलिएको खेल क्षेत्रको विकास र पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि पनि यो प्रतियोगिताले धेरै सहयोग गर्ने प्रजिअ ढकालले बताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले १० लाखको दुर्घटना बीमासमेत गराउने भएको छ । चौतारा सागँचोगगढी ,बाह्रविसे नगरपालिका,भोटेकोशी गाउँपालिका, लगायत सिन्धुपाल्चोकका सबै स्थानीय सरकारहरूले प्रतिायोगीताको लागि सहयोग गरेका छन् ।

    त्यस्तै तातोपानी नाका सम्बद्ध व्यापारीक संघ संघठनहरूले पनि जिल्लामा पहिलो पटक हुन लागेको माउन्टेन ट्रेल रेसका लागि सहयोग गरेको गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।

    ट्रेल रेसलाई निरन्तरता दिने

    नेपाली सेना गोरखबक्स गणकको अगुवाइमा हुने दुगुनागढी माउन्टेन ट्रेल रेस लाई अब अर्को वर्षदेखि निरन्तरता दिने सेनाले जानकारी दिएको छ । लिगलिगकोटमा हरेक वर्ष हुने दौड प्रतियोगिता जस्तै निरन्तरता दिने योजनामा आफूहरू भएको प्रमुख सेनानी निर्मल कुमार श्रेष्ठले बताए ।

    स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीयको सहभागितालाई उच्च प्राथामिकता दिएर प्रतियोगीता हुने उनको भनाई थियो । पर्यटन प्रर्वद्धन र ऐतिहासिक क्षेत्रको महत्वलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म पुर्‍याउने रेसको मुख्य उदेश्य भएको श्रेष्ठले बताए ।

    कसरी सहभागी हुने प्रतियोगीतामा ?

    नेपाली सेनाले राष्ट्रव्यापी ट्रेल रेसमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । दौडमा सहभागी हुनेहरूले नेपाली सेनाको गोरखबक्स गण चौतारामा सम्पर्क गर्न सक्नेछन् । नेपाली सेनाका सेनानी मेजर इश्वर गिरीलाई यो दौड प्रतियोगीताको फोकल पर्सन तोकीएको भएकाले सोझै उनलाई सम्पर्क गर्न पनि सकिने छ ।