काठमाडौं । नेपाल प्रिमियर लिग (एनपील) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार भव्यताका साथ सम्पन्न भयो । काठमाडौंको एक होटेलमा आयोजना गरिएको अक्सनबाट ३७ खेलाडीहरू ८ टीममा अनुबन्ध भए ।
आठवटै फ्रेन्चाइजले अक्सनमार्फत टीमभित्र स्वदेशी खेलाडीको कोटा परिपूर्ति गरेका छन् । अब विदेशी खेलाडीहरू अनुवन्ध गर्नुपर्ने छ । ‘ए’, ‘बी’ र ‘सी’ क्याटेगोरीमा छुट्याइएका खेलाडीहरूलाई न्यूनतम दुई लाखदेखि अधिकतम १५ लाख रूपैयाँसम्म मूल्यमा खरिद बिक्री गरिएको थियो । एउटा टीमले न्यूनतम ११ लाखदेखि अधिकतम ३९ लाखसम्म खर्चिए ।
आदिल आलमको क्रेज !
दोस्रो संस्करणको एनपीलका लागि गरिएको अक्सन पहिलो संस्करणको भन्दा भिन्न थियो । किनभने आफ्नो बजेट अनुसार आफूले चाहेका जुनसुकै क्याटोगोरीका खेलाडीलाई अनुबन्ध गर्न पाइन्थ्यो । सोही प्रावधानअनुसार आठवटै टीमले आफूले चाहेका खेलाडी अनुबन्ध गर्न निकै कसरत गरे । त्यसमध्ये सामाजिक सञ्जालमा चर्चित रहेका आदिल आलामलाई ८ वटै टीमले खोसाखोस गरे ।
‘ए’ क्याटेगोरीमा रहेका ९ खेलाडीमध्ये आदिलसहित चार खेलाडी सबैभन्दा महँगो १५ लाखमा बिक्री भएका थिए । पहिलो संस्करणमा कर्णाली याक्सबाट खेलेका ‘ए’ क्याटेगोरीका देव खनाल सबैभन्दा पहिले १५ लाखमा अनुबन्ध भए । उनका लागि चितवनसँगै लुम्बिनीले पनि समान १५ लाख बोली लगाएपछि लक्की ड्र भयो र त्यसमा चितवनले बाजी मार्यो । यस्तै, ‘ए’ क्याटोगोरीकै खेलाडी अर्जुन साउदमाथि चितवनसहित विराटनगर र कर्णालीले बोली लगाएपछि लक्की ड्रमा जाँदा त्यसमा पनि चितवनले नै बाजी मार्यो । अर्जुन पनि चिनवनको पोल्टामा परे ।
यस्तै, ‘ए’ क्याटोगोरीका खेलाडी पवन सर्राफमाथि पनि कर्णाली, चितवन, लुम्बिनी, र विराटनगरले बोली लगाए । लक्की ड्रमार्फत उनी कर्णालीमा अनुबन्ध भएका थिए ।
सबैभन्दा बढी क्रेज भने आदिल आलमकै देखियो । उनको नाम आउँदा हल नै गुञ्जायमान बनेको थियो । उनको बेस प्राइज १० लाखदेखि सुरू भएपछि क्रमशः ८ वटै टीमले अधिकतम १५ लाख बोली लगाए । सबै टीमले बोली लगाएपछि लक्की ड्रमार्फत उनी काठमाडौं गुर्खाजमा अनुबन्ध भए । आदिललाई पोल्टामा पारेपछि काठमाडौं गुर्खाजको क्याम्पमा ठूलै हर्षोल्लास देखिएको थियो ।
यस्तै, ‘ए’ क्याटेगोरीका दिलिप नाथलाई १० लाखमा लुम्बिनीले अनुबन्ध गर्यो भने सूर्य तामाङलाई विराटनगर किङ्सले समान रकम १० लाखमा लग्यो ।
कुन टीममा कस्ता खेलाडी ?
अक्सन सकिएपछि आठवटै टीम आफ्नो खरिदप्रति सन्तुष्ट देखिएका छन् । सबै टीमका मार्की र मुख्य प्रशिक्षकहरूले सञ्चारकर्मीसँग बोल्दै अक्सन सबै फलदायी भएको बताएका थिए ।
पहिलो संस्करणका लागि अक्सन हुँदा मार्की खेलाडीहरूको उपस्थिति थिएन । नेपाली राष्ट्रिय टीम अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि देश बाहिर रहेको हुँदा मार्की खेलाडीहरू अक्सनमा आउन पाएनन् । यसपाली भने मार्की खेलाडीहरूले पनि अक्सनको शोभा बढाए । कुन टीमले कस्तो खरिद गरे त ? आउनुस्, लेखाजोखा गरौं ।
जनकपुर बोल्ट्सः
एनपील पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सले क्याटोगोरी ‘सी’ बाट एक जना र ‘बी’ बाट तीन जना गरी चार खेलाडीलाई अनुबन्ध गरेको छ । क्याटोगीरी ए बाट कुनै खेलाडी लिएन । ‘सी’ बाट आदित्य महता र विकास आग्रीलाई ५/५ लाखमा र मयन यादवलाई ७ लाख ७५ हजारमा भित्र्याएको थियो । प्रतिभाशाली युवा ब्याट्सम्यान मयन अघिल्लो संस्करणमा पनि जनकपुरमै थिए । तर, फ्रेन्चाइजले उनलाई रिलिज गरेको थियो ।

मयनलाई टीममा फर्काउन जनकपुर बोल्ट्सको निर्णय सही सावित हुन सक्छ । उनी एक क्षमतावान ओपनिङ ब्याट्सम्यान हुन् । क्याटोगीरी ‘सी’ बाट सचिन भट्टलाई २ लाखमा अनुबन्ध गरेको हो । अक्सनमा जनकपुरले जम्मा १९ लाख ७५ हजार खर्च गर्यो ।
सुदूरपश्चिम रोयल्सः

एनपील पहिलो सिजनको उपविजेता रहेको सुदुरपश्चिम रोयल्सले अक्सनबाट क्याटोगोरी ‘ए’ बाट खेलाडी खरिद गरेन । टीमले क्याटोगोरी ‘बी’ बाट ३ जना र ‘सी’ बाट २ जना गरी पाँच जनालाई अनुबन्ध गरेको छ । क्याटोगोरी ‘बी’ बाट मिलन बोहरा र दीपक बोहरालाई ५/५ लाखमा अनुबन्ध गरेको हो भने हेमन्त धामीलाई १० लाखमा अनुबन्ध गरेको हो । धामीका लागि लुम्बिनी लायन्स, जनकपुर बोल्ट, पोखरा एभेन्जर र सुदूरपश्चिम रोयल्सले पनि बोली लगाएका थिए । लक्की ड्रमार्फत उनी रोयल्समा अनुबन्ध भएका हुन् । यस्तै, ‘सी’ क्याटोगोरीबाट टेकबहादुर रावत र दीपेन्द्र थापा २/२ लाखमा अनुबन्ध गरेका थिए । रोयल्सले अक्सनका २४ लाख खर्च गरेको थियो ।
कर्णाली याक्सः

पहिलो सिजनमा तेस्रो उपविजेता रहेको कर्णाली याक्सले क्याटोगोरी ‘ए’, ‘बी’ र ‘सी’ बाट ४ जना खेलाडीलाई अनुबन्ध गरेको थियो । ‘ए’ बाट पवन सर्आफलाई १५ लाखमा अनुबन्ध गरेका हुन् भने ‘बी’ बाट युवराज खत्रीलाई १० लाखमा अनुबन्ध गरेका हुन् । खत्रीलाई सुदुरपश्चिम रोयल्स, विराटनगर किङ, चितवन राइनोज र लुम्बिनी लायन्सले बोली लगाएका थिए तर उनी लक्की ड्रमार्फत याक्समा अनुबन्ध भएका हुन् । ‘सी’ बाट इमरान शेख र दिपक प्रसाद डुम्रे २/२ लाखलाई दुई लाखमा अनुबन्ध भए । याक्स्ले अक्सनमा २९ लाख खर्च गरेको थियो ।
चितवन राईनोजः
पहिलो सिजनमा राम्रो प्रदर्शन गर्ने टोलीमध्येमा पर्ने चितवन राइनोजले क्याटोगोरी ‘ए’, ‘बी’ र ‘सी’ बाट पाँच खेलाडीलाई भित्र्याएको छ । क्याटेगोरी ए बाट दुई तान्दा महंगो रकम खर्चिन पर्यो ।

टीमले ‘ए’ बाट देव खनाल र अर्जुन साउद १५/१५ लाखमा अनुबन्ध गरेका थियो भने ‘बी’ बाट विपिन रावललाई ५ लाखमा भित्र्याएको थियो । खनाल अक्सनमा मंहगोमा विक्ने पहिलो खेलाडी बने । यस्तै, विपिन आचार्य र रञ्जित कुमार २/२ लाखमा अनुबन्ध भएका हुन् । राईनोजले अक्सनमा ३९ लाख खर्च गर्यो ।
काठमाडौं गुर्खाज

एनपीलको पहिलो सिजनका औसत प्रदर्शन गरेको गुर्खाजले पनि क्याटोगोरी ‘ए’, ‘बी’ र ‘सी’ बाट पाँच खेलाडीलाई अनुबन्ध गरेको छ । क्याटगोरी ‘ए’ बाट आदिल आलमलाई १५ लाख हालेर आफ्नो पोल्टामा पार्दा टीम निकै उत्साहित देखियो । क्याटगोरी ‘बी’ बाट सन्तोष यादवलाई १० लाख र आकाश त्रिपाठीलाई ७ लाख तथा क्याटगोरी ‘सी’ बाट तुलबहादुर थापालाई २ लाख र उत्तम रंगु थापा मगरलाई ३ लाखमा अनुबन्ध गरेको हो । अक्सनमा गुर्खाजले ३७ लाख खर्च गर्यो ।
पोखरा एभेन्जर्स

पहिलो सिजनमा सामान्य प्रदर्शन गरेको पोखरा एभेन्जर्स यो अक्सनमा त्यति महत्वाकांक्षी बनेन । टीमले ‘ए’ क्याटेगोरीबाट कुनै पनि खेलाडी लिएन भने ‘बी’ र ‘सी’ बाट ४ जना खेलाडीलाई कम मूल्यमै अनुवन्ध गरेको छ । पोखराले अर्जुन कुमाललाई ५ लाखमा खरिद गर्यो भने भने ‘सी’ क्याटोगोरीबाट अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीपकुमार क्षेत्रीलाई समान २/२ लाखमा अनुबन्ध गरेको हो । पोखराले अक्सनमा जम्मा ११ लाख मात्र खर्च गरेको थियो ।
विराटनगर किङस्
सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर अघिल्लो संस्करणमा फितलो देखिएको थियो । यसपालि प्रदर्शनमा सुधार गर्ने लक्ष्यसहित अक्सनमा विराटनगर किङस्ले २२ लाख खर्च गरेको छ ।

विराटनगरले ‘ए’, ‘बी’ र ‘सी’ क्याटोगोरीबाट पाँच खेलाडीलाई अनुबन्ध गरेको हो । विराटनगरले ‘ए’ क्याटोगोरीका सूर्य तामाङलाई १० लाखमा लियो भने ‘बी’ क्याटोगोरीका शाहिल पटेल, नारायण जोशी र शंकर रानालाई समान ५/५ लाखमा अनुबन्ध गरेका थिए । यस्तै, सर्वण किस्कुलाई २ लाखमा अनुबन्ध गरेको हो । विराटनगरले अक्सनमा २२ लाख खर्च गरेको थियो ।
लुम्बिनी लायन्स

नेपाली राष्ट्रिय टीमका कप्तान रोहितकुमार पौडेलले नेतृत्व गरेको लुम्बिनी लायन्सले गत सिजनमा सबैभन्दा कमजोर प्रदर्शन गरेको थियो । रोहित स्वयम्ले उत्कृष्ट खेले पनि टीमबाट साथ पाएनन । हिजोको अक्सनमा लुम्बिनीले पनि ‘ए’, ‘बी’ र ‘सी’ क्याटोगोरीबाट पाँच खेलाडीलाई अनुबन्ध गरेको छ । लुम्बिनीले ‘ए’ क्याटोगोरीका शेर मल्ल र दिलीप नाथलाई समान १०/१० लाखमा अनुबन्ध भए भने ‘बी’ क्याटोगोरीका विशाल पटेल र दुर्गेश गुप्तालाई ५/५ लाखमा अनुबन्ध गरेका थिए । यस्तै, आदिल खानलाई २ लाखमा अनुबन्ध गरेका थिए । लुम्बिनीले अक्सनमा ३२ लाख खर्च गरेको थियो ।
अक्सनमा सबैभन्दा बढी चितवनले ३९ लाख खर्च गरेको थियो भने सबैभन्दा कम पोखराले ११ लाख खर्च गरेको थियो ।
भव्य रूपमा आयोजना गरिएको अक्सन कार्यक्रममा खेलकुद क्षेत्रका व्यक्तित्वदेखि राजनीतिकर्मी र कलाकारहरूको बाक्लो उपस्थिति थियो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको उक्त अक्सनमा खेलकुद परिषदका प्राय सबैजसो पदाअधिकारी उपस्थित थिए भने सांसदहरू ठाकुर गैरे, हरि ढकाल लगाएत पाहुना बनेर आएका थिए ।
कलाकारहरूको उपस्थिति पनि कम थिएन । अभिनेता दयाहाङ राई, अभिनेत्री स्वस्तिमा खड्का, गायक प्रकाश सपूतलगायत दर्जनौ कलाकारहरू देखिए । पहिलो सिजननै भव्यरूपमा अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल एनपीललाई दोस्रो सिजनलाई पनि भव्य रूपमा आयोजना गर्ने तयारीमा क्यान लागेको छ ।