Category: खेल प्रेस

  • भैरहवामा शनिबारदेखि प्रदेशस्तरीय यु-१६ क्रिकेट हुँदै

    भैरहवामा शनिबारदेखि प्रदेशस्तरीय यु-१६ क्रिकेट हुँदै

    रुपन्देही । भैरहवामा प्रदेशस्तरीय यु-१६ क्रिकेट प्रतियोगिता हुने भएको छ । बलियो नेपालको आयोजनामा सिद्धार्थ रंगशालामा शनिबारबाट प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

    पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले पहिलोपल्ट लुम्बिनी प्रदेशस्तरीय यु-१६ टी-२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको बलियो नेपालका कार्यकारी प्रमुख अतुल उपाध्यायले जानकारी दिए । ‘हामीले क्रिकेटलाई बलियो बनाउन चाहन्छौं, यसैको सिलसिलामा तल्लो तहबाटै राम्रा खेलाडीहरू उत्पादन होउन भनेर प्रतियोगिता आयोजना गरेका हौं’, उनले भने ।

    प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका विभिन्न विद्यालयबाट खेलाडीहरू छनोट गरिएको थियो । छनोट गरिएका खेलाडीबाट प्रत्येक जिल्लाका १/१ टिम गरी १२ टीमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताले सन् २०३९ मा हुने अन्डर-१६ विश्वकपका लागि राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले बताए । ‘तल्लो तहबाटै खेलाडी छनोट गरी राम्रो राष्ट्रिय टिम बनाउन यस किसिमका प्रतियोगिताले सहयोग पुग्ने हाम्रो विश्वास छ’, उनले भने ।

    रुपन्देही र समग्र लुम्बिनी प्रदेशले राष्ट्रिय क्रिकेटको विकासमा ठूलो योगदान गरेको भन्दै खड्काले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन यहाँ हुने प्रतियोगिताले भूमिका खेल्ने बताए । रुपन्देहीबाट मात्रै राष्ट्रिय क्रिकेट टिममा रहेर ९० बढी खेलाडीले योगदान गरेका छन् ।

    राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जिल्ला-जिल्लामा लुकेका खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन यस किसिमका प्रतियोगिताले थप सहयोग गर्ने बताए । ‘रुपन्देही राम्रा खेलाडी उत्पादन गर्ने जिल्ला हो, यस क्षेत्रमा हुने तल्लो तहका खेलले राष्ट्रि टीमलाई भविष्यमा थप मजबुत र बलियो बनाउँछ’, उनले भने । सन् २०३९ मा हुने यु-१६ विश्वकप खेल्नका लागि अहिले भइरहेका प्रतियोगिताले टिम तयार गर्न र विश्वकटमा छनोट हुने उनले विश्वास व्यक्त गरे ।

    पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले खेलसँगै खेलाडीलाई पोषणको आवश्यक पर्ने भएकाले बलियो नेपालले पोषण र खेलकुदलाई सँगै बढाउने उद्देश्यले क्रिकेट आयोजना गर्नु राम्रो सन्देश भएको बताए । उनले भैरहवामा हुने प्रतियोगिताले राष्ट्रिय क्रिकेटमा टेवा पुग्ने जनाए ।

    चैत्त २१ देखि २८ गतेसम्म चल्ने प्रतियोगिताले आगामी दिनमा खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । पहिलोपल्ट लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय क्रिकेट आयोजना गरिए पनि आगामी दिनमा सबै प्रदेशमा आयोजना गरिने बलियो नेपालले जनाएको छ ।

  • आरबीबी-एनभीए भलिबल लिगमा एपिएफ र नेपाल पुलिस क्लबको विजयी सुरुआत

    आरबीबी-एनभीए भलिबल लिगमा एपिएफ र नेपाल पुलिस क्लबको विजयी सुरुआत

    काठमाडौं । जारी आरबीबी-एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगमा महिला तर्फ एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको प्रहिलो खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

    दोस्रो खेलमा नेपाल पुलिस क्लबले भरतपुर मेट्रो खेलकुदलाइ ३-० को सोझै सेटमा हराएको हो ।

    पहिलो सेट २५-३ ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेटमा २५-९ को शानदार नतिजा निकाल्यो । एपीएफ विरुद्ध निरिह बनेको ढोरपाटनले तेस्रो सेट २५-५ ले सुम्पिदै लागातार दोस्रो बेहोरेको हो।

    त्येस्तौ पुलिसले भरतपुर मेट्रो खेलकुद विरुद्ध २५-४, २५-८, २५-१२ को नतिजा निकालेको हो ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको अर्को खेलमा भोलि एपीएफ र नेपाल पुलिस क्लब खेल्ने छन् ।

    आर्मीले न्यू डायमन्डलाई हरायो

    विभागीय टोली त्रिभुवन आर्मी क्लबले आरबीबी-एनभीए राष्ट्रिय लिगमा विजयी सुरुआत गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको महिला तर्फको अन्तिम खेलमा आर्मीले न्यू डायमन्ड भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो ।

    पहिलो सेटमा २५-१७ को नतिजामा न्यू डायमन्डलाई पराजित गरेको आर्मी दोस्रो सेटमा २०-२५ पराजित भयो । प्रतिस्पर्धात्मक खेल्को तेस्रो सेटमा आर्मीले पूर्ण: २५-२३ को जित हासिल गर्‍यो । पराजय भोगेको न्यू डायमन्डले चौथो सेटमा १५-२५ को नतिजा निकाल्दै खेलमा पुनआगमन गरेको थियो । रोमान्चक खेलको पाँचौ सेटमा १५-१२ ले न्यू डायमन्डलाई हाराउदै आर्मीले खेल आफ्नो पोल्टोमा पारेको थियो ।

    आर्मीले अर्को खेलमा भोलि ढोरपाटन स्पोट्स क्लबसंग खेल्ने छ भने पराजित न्यू डायमन्डले भरतपुर मेट्रो खेल्कुद परिषद् को सामना गर्नेछ ।

  • भोलिदेखि आहा रारा गोल्ड कप, उद्घाटनमा आयोजकसँग एपीएफ भिड्ने

    भोलिदेखि आहा रारा गोल्ड कप, उद्घाटनमा आयोजकसँग एपीएफ भिड्ने

    पोखरा । मोफसलको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपकाे १९ औं संस्करण भोलिबाट सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा आयोजक सहारा क्लबसहित ७ टिम सहभागी छन् ।

    अघिल्ला संस्करणमा १२ टिम सहभागी हुने भए पनि यस वर्ष कोरोना भाइरसका कारण ८ टिममात्रै सहभागी हुन लागेका हुन् । प्रतियोगितामा आयोजकसहित ए डिभिजन टिम तथा एक विदेशी टिमको समेत सहभागिता रहनेछ । प्रतियोगितामा सहारा क्लब पोखरासहित डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, संकटा क्लब, थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब र विदेशी टोली डाउला क्यामरुनको सहभागी हुँदैछन् ।

    प्रतियोगिताको १८ औं संस्करणको अन्त्यसँगै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको थियो । यस वर्ष लकडाउन खुले पछि आहारारा गोल्डकप प्रतियोगिता हुँदैछ । गृह र स्वास्थ्य मन्त्रालयले कोरोनाको दोस्रो लहरको चेतावनी दिँदै भिडभाडजन्य क्रियाकलापन नगर्न सूचना जारी गरिरहँदा प्रतियोगितालाई अघिल्ला संस्करणझै ‘रोमाञ्चक’ गराउन आयोजकलाई चुनौती छ । तर, आयोजक पक्ष भने पूर्ण रुपमा स्वाथ्य मापदण्ड पालना गरेरै प्रतियोगिता गर्ने सोचमा छ ।

    ‘सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्डहरु लागू गरेरै प्रतियोगितालाई भव्य रुपमा गर्ने हाम्रो योजना हो,’ प्रतियोगिताबारे जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशव थापाले भने । पुनर्निर्मित पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार आयोजक सहारा क्लब र विभागीय टिम एपीएफ भिड्दैछन् । चैत २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

  • थ्रि नेसन्स कप विजेता फुटबल टोलीलाई जनही ४ लाख दिने सरकारको निर्णय

    थ्रि नेसन्स कप विजेता फुटबल टोलीलाई जनही ४ लाख दिने सरकारको निर्णय

    काठमाडौं । हालै आयोजित थ्रि नेसन्स कपको उपाधि विजेता बनेको नेपाली राष्ट्रिय टोलीले सरकारबाट जनही ४ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । हिजो बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

    थ्रि नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । नेपालले घरेलु भूमिमा ३७ वर्षपछि उपाधि उचालेको हो ।

    प्रतियोगिताको फाइनलमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका थिए । यसअघि उपाधि विजेता टोलीले एन्फाले जनही १ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

  • हलान्डको अनुबन्धका लागि बार्सिलोनाको प्रयास

    हलान्डको अनुबन्धका लागि बार्सिलोनाको प्रयास

    एजेन्सी । अध्यक्ष जुहान लापोर्टाको प्रष्ट योजना छ बार्सिलोनालाई पहिलेको जस्तै बनाउने जस्तो उनको अघिल्लो कार्यकालमा थियो । यसबारे उनले यसअघि नै प्रष्ट पारिसकेका छन् । उनी लियोनल मेस्सीलाई क्लबमै राख्न चाहन्छन् । फेरि युरोपियन च्याम्पियन हुन चाहन्छन् ।

    साथै उनी चाहन्छन् कि कोरोना महामारीपछिको समयमा नाउ क्याम्पमा यस्ता खेलाडीहरुको जमघट होस जसले अपेक्षित सफलतालाई प्रोत्साहित गरोस् ।

    लापोर्टाको तीन इच्छामध्ये यो समरमा इर्लिङ हलान्डलाई अनुबन्ध गरी प्रतिस्पर्धामा रहेका अन्य क्लबलाई माथ दिने पनि एक छ । खेलाडी किनबेच सत्रमा लापोर्टाको मुख्य प्राथमिकतामा यी नर्वेजियन किशोर हलान्ड परेका छन् । उनले हलान्डका बुबा र एजेन्ट मिनो रायोलालाई विहीबार बार्सिलोनामा भेट गरेका छन् ।

    यसक्रममा लापोर्टाले बारुशिया डर्टमण्डका स्ट्राइकरलाई अनुबन्ध गर्ने आफ्नो चाहना र कारण स्पष्ट पारे । तर उनलाई थाहा छ कि हलान्डको अनुबन्धका लागि कडा प्रतिस्पर्धा गर्नुपर्छ ।

    रायोला र हलान्डका पिता त्यसपछि रियल मड्रिडका अधिकारीहरुसँग भेट्न गएका थिए । त्यसबाहेक अन्य क्लबहरुसँग पनि उनीहरुले कुराकानी गर्नेछन् ।

  • आरबीबी-एनभीए लिग: बुलबुलेविरुद्ध एपीएफ विजयी

    आरबीबी-एनभीए लिग: बुलबुलेविरुद्ध एपीएफ विजयी

    काठमाडौं । बिहीबारदेखि सुरु भएको आरबीबी-एनभीए राष्ट्रिय भलिबल लिगको पुरुषतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले बुलबुले रारा क्लबविरुद्ध ३-१ सेटमा जित हासिल गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलको सुरुआती दुई सेट २५-२० र २८-२६ को नतिजामा जितेको एपीएफले तेस्रो सेट १८-२५ ले गुमाएको थियो । अति प्रतिस्पर्धात्मक खेलको चौथो सेटमा एपीएफले ३२-३० को नतिजामा रोमाञ्चक जित हासिल गर्‍यो ।

    एपीएफले आगामी खेलमा भोलि मणिमुकुन्द भलिबल क्लबसँग खेल्ने छ भने बुलबुले राराले भोलि नै त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

    प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ७५ हजार प्राप्त गर्ने भलिबल संघले बताएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टीमले प्रतिस्पर्धा गरिरहेका छन् । विधागत उत्कृष्ट खेलाडीले १०/१० हजार पाउँनेछन् ।

    प्रतिभावान र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीको प्रशिक्षणका लागि छनोट गरिने संघले जनाएको छ ।

         
  • ए डिभिजन राष्ट्रिय फुटसल लिगको छनोट सुरु, झरनाको विजयी सुरुवात

    ए डिभिजन राष्ट्रिय फुटसल लिगको छनोट सुरु, झरनाको विजयी सुरुवात

    रुपन्देही । अखिल नेपाल फुटबल संघको आयोजनामा ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश छनोट चरणको खेलमा झरना स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेको छ ।

    सनराइज स्पोर्ट्स भलबारीमा बिहीबार भएको उद्घाटन खेलमा झरना स्पोर्ट्स क्लब रुपन्देही विजयी भएको छ । झरनाले आरके एफसीलाई ९–६ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

    झरनाको जितमा जितेस गुरुङले ४, मोहन बहादुर थापामगरले ३, शंकर राना र सिजन थापाले १–१ गोल गरेका थिए । यसैगरी राधाकृष्ण एफसीका अनुप गुरुङले ३, अनिश शाक्यले २ र किशन गिरीले १ गोल गरेका थिए ।

    खेलमा झरनाका जितेस गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरी ३ प्रदेशका ८ टिम बिच छनोट खेल हुने संयोजक बिनोद गुरुङले बताए ।

    प्रतियोगिताको विजेता एक टिम उत्कृष्ट १० ए डिभिजनमा छनोट हुनेछ । रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भूमि, इन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देहीबीच छनोट हुने उनले बताए ।

    देशभरका सातै प्रदेशबाट छनोट भएका अन्तिम १० टिमले जनही १ लाख, क्लब व्यवस्थापन र यातायात खर्च पाउने उनले बताए । लिग अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टोली चयन हुनेछ ।

    काठमाडौंमा हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    एन्फाका केन्द्रीय सदस्य दीर्घबहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्दै फुटसलको विकासमा एन्फा अघि बढेको बताए ।

     

  • आरबीबी-एनभीए लिगमा नेपाल पुलिस क्लबको विजयी सुरुआत

    आरबीबी-एनभीए लिगमा नेपाल पुलिस क्लबको विजयी सुरुआत

    काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले आरबीबी-एनभीए राष्ट्रिय भलिबल लिगमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद्को कमर्डहलमा भएको खेलमा पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को नतिजामा पराजित गर्‍यो ।

    पहिलो सेटमा पुलिसविरुद्ध दोहोरो संख्यामा अंक जोड्न नसकेको नयाँबजारले २५-९ को नतिजा विभागीय हेभिवेटलाई सुम्पेको थियो । दोस्रो सेटमा फाइटिङ स्प्रिट देखाएको नयाँबजारले २१ अंकसम्म पुलिसलाई प्रतिस्पर्धा दिएको थियो ।

    सुरुआती दुई सेट जित्दै उच्च मनोबलसहित तेस्रो सेटका लागि कोर्टमा उत्रिएको नेपाल पुलिसले २५-१६ को नतिजासहित जित सुनिश्चित गर्‍यो ।

    विजयी पुलिसले आगामी खेलमा २१ गते बुलबुले रारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, पराजित नयाँबजारले भोलि हेल्प नेपाल स्पोर्ट्स क्लबको सामना गर्नेछ ।

    प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ७५ हजार प्राप्त गर्ने भलिबल संघले बताएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टीमले प्रतिस्पर्धा गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले १०र१० हजार पाउँनेछन् ।

    प्रतिभावान र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीको प्रशिक्षणका लागि छनोट गरिने संघले जनाएको छ ।

  • आरबीबी-एनभीए भलिबल लिगमा न्यू डाइमन्डको विजयी सुरुवात

    आरबीबी-एनभीए भलिबल लिगमा न्यू डाइमन्डको विजयी सुरुवात

    काठमाडौं । न्यू डाइमन्ड क्लबले आजदेखि सुरु भएको आरबीबी-एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा न्यू डाइमन्डले ढोरपाटन स्पोर्ट्स क्लबविरुद्ध सोझो सेटको शानदार जित निकालेको हो ।

    पहिलो सेट २५-६ ले आफ्नो पक्षमा पारेको न्यू डाइमन्डले दोस्रो सेटमा २५-२ को शानदार नतिजा निकाल्यो । न्यू डाइमन्डसामु निरीह बनेको ढोरपाटनले तेस्रो सेट पनि २५-५ ले सुम्पेको थियो ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको अर्को खेलमा न्यू डाइमन्डले भोलि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

  • आरबीबी-एनभीए भलिबल लिग आजदेखि, पहिलो दिन ४ खेल

    आरबीबी-एनभीए भलिबल लिग आजदेखि, पहिलो दिन ४ खेल

    काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आजदेखि आरबीबी-एनभीए महिला तथा पुरुष भलिबल लिग सुरु हुँदैछ । पहिलाे दिन बिहीबार चार खेल हुनेछन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहान १० बजे महिलातर्फ न्यु डाइमन्ड क्लब र डोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    दिउँसो १२ बजेपछि सुरु हुने खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लब भिड्नेछन् ।

    ३ बजे हुने खेलमा नेपाल एपीएफ क्लब र बुलबुले रारा क्लब आमनेसामने हुँदा साँझ ६ बजे सुरु हुने खेलमा मणिमुकुन्द भलिबल क्लवले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

    प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ७५ हजार प्राप्त गर्ने भलिबल संघले बताएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टीमले प्रतिस्पर्धा गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले १०/१० हजार पाउँनेछन् । प्रतिभावान र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीको प्रशिक्षणका लागि छनोट गरिने संघले जनाएको छ ।

  • विश्वकप छनोटमा नर्थ मासेडोनियासँग हार्‍यो जर्मनी

    विश्वकप छनोटमा नर्थ मासेडोनियासँग हार्‍यो जर्मनी

    एजेन्सी । अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि युरोपको छनोट अन्तर्गत पूर्व विश्व विजेता जर्मनी घरेलु मैदानमा नर्थ मासेडोनियासँग २-१ पराजित भएको छ ।

    फिफा बरियतामा ६५ औं स्थानमा रहेको मासेडोनियाले १३ स्थानमा रहेको सन् २०१४ को विश्वकप विजेता जर्मनीमाथि सनसनीपूर्ण जित निकाल्दा उसका सुपरस्टार गोरन पान्डेभले सुरुआती गोल गरी पहिलो हाफमा अग्रता दिलाएका थिए ।

    राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै ३६ गोल गरेका पान्डेभले इनिस बार्डीको पासमा गोल गरेका हुन् । इलके गुण्डोगानले पेनाल्टीमार्फत ६३ औं मिनेटमा खेल बरारबीमा ल्याए पनि अन्त्यतिर मासेडोनियाले निर्णायक गोल गरी सनसनी जित हासिल गरेको हो । ८५ औं मिनेटमा इलजिफ इलमासले गोल गरेका हुन् ।

    यो हारले समूह जे मा रहेको जर्मनी तेस्रो स्थानमा झरेको छ । अघिल्ला २ खेलमा गोल नखाएको जर्मनीले यही खेलमा पहिलो गोल खाएको हो । यो समूहको शीर्ष स्थानमा रोमानिया ९ अंकसहित र दोस्रो स्थानमा मासेडोनिया ६ अंकसहित छ ।

  • बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल, लक्जेम्वर्गमाथि पोर्चुगलको पुनरागमन जित

    बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल, लक्जेम्वर्गमाथि पोर्चुगलको पुनरागमन जित

    एजेन्सी । कतारमा अर्को वर्ष हुने विश्वकपका लागि युरोपियन छनोट अन्तर्गत बेल्जियमले बेलारुसमाथि ८–० गोलअन्तरको फराकिलो जित हासिल गरेको छ ।

    गएराति भएको खेलमा समूह ई को शीर्ष स्थानमा रहेको बेल्जियमले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । बेल्जियमका लागि हान्स भानाकेन र लान्द्रो ट्रोसर्डले २–२ गोल गरेका थिए ।

    यही समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकमाथि १–० को कठिन जित निकाल्यो । खेलमा दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।

    दोस्रो हाफको सुरुमै चेक स्ट्राइकर प्याट्रिक चिक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा समेटियो । ७७ औं मिनेटमा वेल्स मिडफिल्डर कोनर रोवर्टस दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिनुपर्‍यो ।

    त्यसको चार मिनेटपछि वेल्सले गोल गर्न सक्यो । उसका लागि ड्यानियल जेम्सले गोल गरेका हुन् । गोका लागि ग्यारेथ बेलले पास उपलब्ध गराएका थिए ।

    यता समूह एमा लक्जेम्वर्गमाथि ३–१ गोलअन्तरको जितसहित पोर्चुगल शीर्ष स्थानमा पुगेको छ । उसले ३ खेलबाट ७ अंक भएको छ ।

    घरेलु टोलीका लागि ३० औं मिनेटमा रोड्रिग्वेजले गोल गरी अग्रता दिलाए पनि त्यसयता पोर्चुगलले तीन गोल थप्यो । डिएगो जोटाले पहिलो हाफको इन्जूरी समयमै गोल गरी खेल बराबरीमा ल्याएका थिए ।

    दोस्रो हाफ सुरु भएलगत्तै क्रिष्टियानो रोनाल्डोले गोल गरे । ८० औं मिनेटमा जोआओ पाल्हिनाले गोल गरेपछि पोर्चुगल ३–१ ले विजयी भयो । यो समूहमा सर्विया पनि समान ७ अंकसहित दोस्रो स्थानमा छ ।

    समूह जी अन्तर्गत दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले जिव्राल्टरमाथि ७–० गोलको फराकिलो जित निकाल्यो । उसका लागि मेम्फिस डिपेले २ गोल गरेका थिए । यो समूहमा टर्की ७ अंकसहित शीर्ष स्थानमा छ ।

  • रंगशालामा केपी ओलीको ‘ह्यान्ड सेक’ र राष्ट्रिय टिमको ‘केपी बा क्रेज’ (भिडियो)

    रंगशालामा केपी ओलीको ‘ह्यान्ड सेक’ र राष्ट्रिय टिमको ‘केपी बा क्रेज’ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजकाल जतासुकै छाइरहेका छन् । हरेक दिन विभिन्न कार्यक्रममा रसिला भाषण गरेर ‘टिकटक कन्टेन्ट’ दिने ओली हिजो फुटबल मैदानमा देखापरे । त्यहाँ उनले त भाषण गरेनन्, तर पनि टिकटक कन्टेन्टको कमि भएन ।

    दशरथ रंगशालामा हिजो थ्रि नेसन्स कप अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न पुगेका थिए ओली । त्यहाँ देखिएका दुईवटा दृष्य चर्चा योग्य छन् । पहिलो, ओलीले खेलाडीहरुसँग गरेको ह्यान्डसेक र दोस्रो, नेपाली राष्ट्रिय टिमले ओलीको पक्षमा गरेको नारावाजी । राष्ट्रिय खेलाडीहरुले ‘केपी बा वि लभ यू’ भन्दै नारावाजी गरेको भिडियो क्लीप त अहिले भाइरल नै छ ।

    लामो समयपछि रंगशालामा फुटबल हेर्न दर्शक भरिभराउ थिए । प्रधानमन्त्री ओली पनि पुगेपछि खेलाडीहरुमा अतिरिक्त उत्साह थपिएकै थियो । नेपालले खेल जित्यो पनि । ३७ वर्षपछि घरेलु मैदानमा नेपालले उपाधि उचाल्दा दर्शकले रंगशाला जुरुक्कै उचाले ।

    प्रधानमन्त्री ओली हिजोको फाइनलमा आफ्नो उपस्थिति जनाउन मात्रै गएका थिएनन् । खेल नै हेर्न गएका थिए । प्रायः कार्यक्रममा ढिला पुग्ने आदत भएका ओली म्याच सुरु नहुँदै दलबलसहित रंगशाला पुगेका थिए । उनीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व सभामुख सुभाष नेम्वाङ पनि खेल हेर्न पुगेका थिए । दर्शकले चर्को हुटिङका साथ उनीहरुलाई स्वागत गरे ।

    ओली जोशिलो चालमा मैदान प्रवेश गरे । दर्शकलाई हात हल्लाएर अभिवादन गरे । अनि लाइनमा रहेका खेलाडीहरुसँग परिचय गर्न थाले । त्यसक्रममा उनले दुवै टीमका प्रत्येक खेलाडीसँग भटाभट ‘ह्यान्ड सेक’ गरे ।

    धेरै समयपछि यसरी सार्वजनिक कार्यक्रममा लामो ह्यान्डसेक देखियो । कोरोनापछि नेपालमा मात्रै होइन, विश्वभर नै ह्यान्डसेकलाई निरुत्साहित गरिएको छ । खेलाडीसँग ओलीले नमस्ते आदानप्रदान मात्रै पनि गर्न सक्थे । तर, कोरोनालाई बिर्सेर उनले जानीबुझी हात बढाए । यद्यपि, मुखमा मास्क भने लगाएका थिए ।

    भीआइपी प्याराफिटमा बसेर ओलीले पुरा खेल हेरे । नेपालले गोल गर्दा उनले उठेर ताली बजाएका थिए । खेलपछि पनि उनी उत्साहीत मुद्रामा मैदानमा ओर्लिए । नेपाली राष्ट्रिय टिमसँग उपाधिसहित फोटोसेसन गरे । त्यही क्रममा अचानक नारा लाग्न थाल्यो- केपी बा वि लभ यू ।

    भट्याउने को थियो भन्ने स्पष्ट भएन, तर राष्ट्रिय टिमका खेलाडीहरुले जोशिएरै यो नारावाजीमा साथ दिएका थिए । ओलीले भने कुनै प्रतिक्रिया जनाएनन् । करिब एक मिनेटसम्म ‘केपी बा वि लभ यू’ को नारा लागेको थियो, जुन भिडियो फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको छ ।

    नेकपा एमालेका कार्यकर्ताले सुरु गरेको ‘केपी ओली आइ लभ यू’ को नारालाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएका छन् । तर, यो नारा अहिले युवायुवतीमा लोकप्रिय बन्दै गएको छ । टिकटकमा केही समयअघि ‘केपी ओली आई लभ यू’ ट्रेन्डिङ नै भएको थियो । यसरी टिकटक बनाउनेमा राजनीतिमा चासो नराख्नेहरु धेरै छन् ।

    त्यसो त ओलीलाई कार्यकर्ताले ‘बा’ भन्ने गरेको पनि पार्टीभित्रकै कतिपय नेतालाई चित्त बुझेको छैन । केहीअघि नेकपा एमालेका वरिष्ठ नेता (हाल निलम्बित) माधव कुमार नेपालले एउटा अन्तरवार्तामै ओलीलाई ‘बा’ भनिएकोमा आपत्ति जनाएका थिए । ‘उहाँलाई कामरेड भनेको मन पर्दैन, बा भनेको मन पर्छ,’ नेपालले भनेका थिए, ‘के कम्युनिष्ट पार्टीमा बा हुन्छ ?’

    तर, कसैले रुचाए पनि नरुचाए पनि ओलीलाई ‘बा’ भन्नेहरुको जमात निकै ठूलो भइसकेको दखिन्छ । हिजो रंगशालामा देखिएको दृष्यले पनि यही पुष्टि गर्छ । ओलीले नेपाल प्रेसलाई दिएको अन्तरवार्तामा आफूलाई ‘बा’ भन्न कसले अह्राइरहेको छ, अनुसन्धान गर्न चुनौति दिएका थिए ।

  • गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन

    गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन

    काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कास्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छन् । रियो ओलम्पिककी सबै भन्दा कान्छी खेलाडीसमेत रहेकी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् ।

    गौरिकालाई क्लबले आजीवन नि:शुल्क सदस्यता प्रदान गरेको क्लबका अर्का सञ्चालक मन्दिर राणाले जानकारी दिए । त्यस्तै १३ औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई क्लबले १ वर्षका लागि नि:शुल्क सदस्यता प्रदान गरेको छ ।

    सानो र ठूलो गरी २ पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको सञ्चालक विराज विष्टले बताए । सुविन लामा र सानो भाइ पौडेललाई प्रशिक्षकका रूपमा राखिएको छ ।

    सन् १९९८ मा जिमखानाका रूपमा स्थापना गरिएको क्लबले आफ्नो सेवालाई विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको सञ्चालक विष्टले बताए । क्लबले जिमका लागि ५ जना प्रशिक्षक नियुक्त गरेको छ । प्रशिक्षकहरूमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दिपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन् ।

    क्लबमा साउना, स्टिम, कार्डियो, स्पा, टियामो मन्डला क्याफे, जुस बारलगातका सुविधा छन् । क्लब सञ्चालनका लागि हालसम्म करिब ६ करोड लगानी भइसकेको सञ्चालक राणाले जानकारी दिए ।

  • आईएमई टेनिस: अजा रेग्मी र अदिृत नेपाल विजयी

    आईएमई टेनिस: अजा रेग्मी र अदिृत नेपाल विजयी

    काठमाडौं । अजा रेग्मी तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । मन्डिखाटारको टेनिस कोर्टमा सोमबार भएको यु–१६ गर्ल्सतर्फको खेलमा अजाले निमिशालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेकी हुन् ।

    पहिलो सेटमा ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन् । यु–१६ कै स्पर्धामा डोमा शेर्पाले रायाना शाहलाई ६–० र ६–० को सेटमा पराजित गर्दा अर्को खेलमा एलिसा गुरुङले त्रिशिमा शर्मालाई ६–२ र ६–३ को सेटमा पराजित गरे । दुबै विजेता पनि अन्तिम आठमा प्रवेश गरे ।

    प्रतियोगिता अन्तर्गत मंगलबारै सम्पन्न ब्वाइज यु–१२ तर्फको खेलमा अदिृत नेपालले जिवन सुनारलाई ६–१ र ६–१ को सेटमा पराजित गर्दा शास्वत ब्रर्जाचार्यले खेम गुरुङलाई ६–० र ६–१ तथा अविर श्रीवास्तवले स्प्रस तिमिल्सिनालाई ७–६ र ७–५ को सेटमा पराजित गरेर अन्तिम ८ मा प्रवेश गरे । गल्र्स यु–१२ तर्फ सिभाली गुरुङ वाक ओभर पाउँदै अघिल्लो चरण प्रवेश गरिन् ।

    उमेर समूहबाट नै टेनिस खेलमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको टेनिस प्रतियोगितामा कुल १ सय ५ खेलाडीले सहभागिता जनाउँदैछन् ।

    डाक्टर भगवान कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा ब्वाइज तर्फ ६५ जना र गल्र्सतर्फ ४० खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । आईटिएफ र नेपाल टेनिस संघको नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा व्वाईज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा हुँदैछ ।

  • विराज भन्छन्- मैले मेरो राष्ट्रिय टोलीको जर्सी अन्तिम पटक लगाएँ

    विराज भन्छन्- मैले मेरो राष्ट्रिय टोलीको जर्सी अन्तिम पटक लगाएँ

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका पूर्व कप्तान विराज महर्जनले राष्ट्रिय टोलीको ३ नम्बर जर्सी कहिल्यै नबिर्सिने बताएका छन् ।

    सोमबार थ्री नेसन्स कपको उपाधि जितेसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका विराजले आफ्नो जीवनको एउटा अध्याय सकिएको र त्यो सजिलो नरहेको सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ।

    विराजको स्ट्याटस्

    मैले मेरो राष्ट्रिय टोलीको जर्सी अन्तिम पटक लगाएँ

    अब बास्तबमा यो मेरो जिन्दगीको एउटा अध्याय सकिएको छ । यो सजिलो थिएन विशेष गरी सुरुआती दिनहरूमा, एन्फा एकेडेमी हुर्किँदै गर्दा मेरो एउटा सपना थियो, राष्ट्रिय टोलीको जर्सी लगाई देशलाई उपाधी जिताउने धेरै हदसम्म त्यो पनि पूरा गरे जस्तो लाग्छ । देशले तीन वटा उपाधी जित्दा म टोलीको महत्त्वपूर्ण सदस्य तथा कप्तान थिएँ। यसमा मलाई सदैब गर्व महसुस हुन्छ ।

    खेलाडी जीवनकालमा धेरै उतारचढाव आए  । करिब १४ वर्ष राष्ट्रिय टोलीबाट खेल्दै गर्दा समर्थकहरूबाट पाएको माया राष्ट्रिय टोलि को  ३ नम्बर जर्सी म जिन्दगीभर कहिले पनि बिर्सने छैन । आज राष्ट्रिय टोलीबाट बिदाई लिँदै गर्दा म मेरो सुरुआतदेखिका सम्पूर्ण साथिभाईहरूलाई धेरै सम्झिन चाहेको छु ।

    म आज जुन स्थान सम्म आईपुगेर बिदाई लिँदै गर्दा मलाई सदैब सपोर्ट गर्ने मेरो आमा-बाबा, दाजुभाइ, दिदिबहिनी साथै सम्पूर्ण परिवारलाई धेरै-धेरै धन्यवाद अनि माया भन्न चाहन्छु ।

    एन्फा एकेडमी, एन्फा, मेरा सम्पूर्ण प्रशिक्षक, सन्कटा क्लब, एनआर्टी क्ल्ब, थ्री-स्टार कल्ब, मनाङ मर्स्याङ्दी क्ल्ब, साथै मछिन्द्र क्ल्बप्रति विशेष धन्यवाद साथै हार्दिक आभार प्रकट गर्न चाहन्छु । मलाई माया गर्नु हुने देश तथा बिदेशमा रहनुहुने मेरो सम्पूर्ण समर्थक, सुभचिन्तक, मिडियाकर्मी, खेलकुद प्रेमी, राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडी, सहकर्मीहरू, प्रशिक्षक, अफिसियलहरूलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु ।

    साथै नेपाली फुटबल अझै धेरै प्रगति र सफलताको कामना गर्दछु।

    अन्तर्राष्ट्रिय फुटबलबाट विराज महर्जनको सन्न्यास

  • सर्जियो एग्युराेले सिजनको अन्त्यदेखि म्यानचेस्टर सिटी छाड्ने

    सर्जियो एग्युराेले सिजनको अन्त्यदेखि म्यानचेस्टर सिटी छाड्ने

    एजेन्सी । इंग्लिस टोली म्यानचेस्टर सिटीले क्लबका कीर्तिमानी गोलकर्ता सर्जियो एग्युरोले यसै सिजनको अन्तिमदेखि क्लब छाड्ने सार्वजनिक गरेको छ ।

    ३२ वर्षीय स्ट्राइकरको सम्झौता यसै सिजनको अन्त्यदेखि सकिनेछ र नवीकरण नहुने क्लबले जानकारी दिएको हो । एट्लेटिको मड्रिडबाट सन् २०११ मा सिटी आएका एग्युरोले क्लबका लागि ३ सय ८४ खेलमा कीर्तिमानी २ सय ५७ गोल गरेका छन् ।

    ‘टिम मालिकको मार्गदर्शन र थुप्रै खेलाडीहरुको योगदानकाम साथ हामी विश्वकै उत्कृष्ट क्लबमा समय विताउन पायौं,’ एग्युरोले भनेका छन् ।

    उनको सम्मानमा पूर्व कप्तान भिन्सेन्ट कोम्प्यानी र प्लेमेकर डेभिड सिल्भाको जस्तै इथिहाड रंगशाला परिषरमा एउटा प्रतिमा स्थापना गरिनेछ । कोम्प्यानीले सन् २०१९ र सिल्भाले २०२० मा सिटी छाडेका थिए ।

    म्यानचेस्टर सिटीको पुनर्जागरणका लागि यी तीन खेलाडीको सबैभन्दा महत्वपूर्ण योगदान रह्यो । एग्युरोलाई सन् २०१२ को सिजनको निर्णायक खेलमा क्वीन पार्क रेन्जर्स (क्यूपीआर)बिरुद्ध अतिरिक्त समयमा गोल गरी ४४ वर्षपछि सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएकोमा धेरै पछिसम्म सम्झिइनेछ । त्यसयता यी स्ट्राइकरले सिटीलाई थप तीन प्रिमियर लिग, एक एफए कप र पाँच लिग कपको उपाधि दिलाउन सहयोग गरेका छन् ।

  • खेलाडीको जोश, दर्शकको खुशीः रंगशालामा यस्तो देखियो

    खेलाडीको जोश, दर्शकको खुशीः रंगशालामा यस्तो देखियो

    काठमाडौं । नेपालले ३७ वर्ष लामो खडेरी तोड्दै आज घरेलु मैदानमा फुटबलको उपाधि उचाल्यो । यो क्षण आफैंमा विशेष थियो, नेपाली फुटबल फ्यानहरुका लागि । नेपाली टिमलाई साथ दिन महंगो टिकट काटेर उल्लेख्य सख्यामा दर्शक उपस्थित भएका थिए । समर्थकहरुकै बीचमा थिए प्रधानमन्त्री केपी ओली । उनी त्यहाँ आफ्नो उपस्थित जनाउन मात्र होइन, खेल हेर्नलाई नै आएका थिए ।

    उनी सुरुदेखि अन्त्यसम्म रंगशालामा बसेर खेलाडीलाई हौसला दिए । नेपाली टोलीले पनि निराश बनाएन । यस प्रतियोगिताका दुई खेलमा गोलको खाता खोल्न नसकेको नेपालले फाइनलमा दुई गोल गर्यो । बंगलादेशले उत्तराद्र्धमा एक गोल फर्काए पनि नेपालको जित रोक्न सकेन । नेपालले गोल गर्दा दर्शकदर्घामा ठूलै रौनक छाएको थियो । प्रधानमन्त्रीले उठेर ताली बजाएका थिए । खेलाडीहरुले पनि जमेर खुशी मनाए । जितपछिको माहोल झन् अविस्मरणीय थियो । आजको फाइनलका केही क्षणहरुलाई तस्वीरमा हेर्नुस

             
    
    
    
    
  • अन्तर्राष्ट्रिय फुटबलबाट विराज महर्जनको सन्न्यास

    अन्तर्राष्ट्रिय फुटबलबाट विराज महर्जनको सन्न्यास

    काठमाडौं । नेपालका पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २००८ को मार्च २५ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालबाट डेब्यु गरेका विराजले अन्तर्राष्ट्रिय स्तरमा १ गोल गरेका थिए ।

    उनले २००९ को मार्च २८मा एएफसी च्यालेन्जकप अन्तर्गत किर्गिस्तानविरुद्ध गरेको गोल उनको करियरकै अविस्मरणीय गोल बन्यो । उनले सन्न्यासको घोषणा गर्नु अगाडि बंगलादेशविरुद्ध सहित गरी नेपालबाट ६३ खेल खेलेका थिए ।

    साफ च्याम्पियनसिप अन्तर्गत २०१५ को डिसेम्बरमा पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरेका विराजले १८ खेलमा नेपालको नेतृत्व गरेका थिए ।

    लामो समयदेखि औपचारिक सन्न्यास घोषणाको तयारीमा रहेका विराज थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुदद्ध ८९औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

    त्यसअघि विराजले २०१९ को जुन २ मा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।

  • रोहित चन्द थ्री नेसन्स कपका उत्कृष्ट खेलाडी

    रोहित चन्द थ्री नेसन्स कपका उत्कृष्ट खेलाडी

    काठमाडौं । दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कपका सर्वोत्कृष्ट खेलाडी नेपालका उपकप्तान रोहित चन्द बनेका छन् ।

    उनले ५०० अमेरिकी डलर प्राप्त गर्नेछन् । घरेलु मैदानमा १९८४ पछि नेपाललाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्छन् ।

  • १९८४ पछि रंगशालामा नेपाललाई पहिलो उपाधि

    १९८४ पछि रंगशालामा नेपाललाई पहिलो उपाधि

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले १९८४ पछि दशरथ रंगशालमा पहिलो उपाधि थ्री नेसन्स कप जितेको छ । घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलको नतिजामा पराजित गर्‍यो ।

    पछिल्ला सात खेलमा गोल गर्न असफल रहेको नेपाली राष्ट्रिय टोलीका लागि संजोग राईले १८ महिनापछि गोल गरेका थिए । कर्नरमार्फत रिबाउन्डमा आएको बललाई १८औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै संजोगले नेपाललाई अग्रता दिलाएका थिए ।

    प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा विशाल राईले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । उनले संजोग राईको पासमार्फत् पेनाल्टी एरिया भित्रबाट बंगलादेशका गोलकिपरलाई बिट गर्दै शानदार गोल गरेका थिए ।

    दोस्रो हाफको सुरुआतदेखि नै खेलमा फर्किन निरन्तर प्रयासरत बंगलादेशका लागि सब्स्टिच्युट खेलाडी महबुबुर रहमानले ८३औं मिनेटमा एक गोल फर्काएका थिए ।

    कर्नरमार्फत आएको क्रसलाई रहमानले हेडरमार्फत जाली चुमाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

    प्रतियोगिताको च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर तथा उपविजेता बंगलादेशले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

    विश्व कप तथा एएफसी एसियन कपको छनोटका खेलहरू स्थगित भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले थ्री नेसन्स कपको आयोजना गरेको थियो । नेपालबाटै सुरु भएको दक्षिण एसियाली खेलकुदको पहिलो संस्करणको फाइनलमा नेपालले बंगलादेशलाई नै ४-२ गोलको नतिजामा पराजित गर्दै स्वर्ण पदक जितेको थियो ।

    त्यसपछि १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपाल बंगलादेशसँग नै १-० को नतिजामा पराजित भएको थियो । १९९९ को फाइनलमा खेलाडीको रूपमा पराजित भएका बाल गोपाल महर्जनले प्रशिक्षकको रूपमा त्यो हारको बदला लिएका छन् ।

    सन् २००५ पछि पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पुगेको बंगलादेश पुन: एक पटक उपविजेतामा सीमित भएको छ ।

  • बंगलादेशलाई हराउँदै नेपालले जित्यो थ्रि नेसन्स कपको उपाधि

    बंगलादेशलाई हराउँदै नेपालले जित्यो थ्रि नेसन्स कपको उपाधि

    काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजित थ्रि नेसन्स कपको उपाधि जितेको छ ।

    आज दशरथ रंगशालामा भएको रोमाञ्चक फाइनलमा बंगलादेशलाई २-१ ले हराएर नेपालले उपाधि जितेको हो ।

    नेपालको जितमा संजोक राइ नायक बने । उनले नेपालका लागि एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएका थिए । नेपालका लागि दोस्रो गोल विशाल राइले गरे ।

  • बंगलादेशले नेपाललाई एक गोल फर्कायो

    बंगलादेशले नेपाललाई एक गोल फर्कायो

    काठमाडौं । थ्री नेसन्स कप अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेलको उत्तराद्र्धमा बंगलादेशले एक गोल फर्काएको छ ।

    नेपाल जित नजिक ठानिएको बेला गोल गर्दै बंगलादेश खेलमा फर्केको हो ।

  • फुटबल हेर्न प्रधानमन्त्री रंगशालामा (तस्विरहरु)

    फुटबल हेर्न प्रधानमन्त्री रंगशालामा (तस्विरहरु)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बंगलादेशबीचको फुटबल म्याच हेर्न रंगशाला पुगेका छन् । थ्रि नेसन्स कपको फाइनलमा प्रधानमन्त्री पुग्दा दर्शकले तालीको गड्गडाहटले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री ओलीको उपस्थितिलाई नेपाली टिमले खल्लो हुन दिएन । मध्यान्तरपूर्व नेपालले बंगलादेशविरुद्ध दुई गोलको अग्रता लिएको छ । नेपालका लागि संयोग राई र विशाल राईले गोल गरेका छन् ।

    नेपालले गोल गर्दा प्रधानमन्त्री ओलीले ताली बजाएर खेलाडीहरुको हौसला बढाएका थिए ।

  • थ्री नेसन्स कप फाइनलः मध्यान्तरअघि नेपाललाई २ गोलको अग्रता

    थ्री नेसन्स कप फाइनलः मध्यान्तरअघि नेपाललाई २ गोलको अग्रता

    काठमाडौं । संजोग राईको एक गोल र एक पासमा नेपालले थ्री नेसन्स कप फाइनलको पहिलो हाफमा बंगलादेशविरुद्ध २-० को अग्रता लिएको छ । बंगलादेशविरुद्ध १८औं मिनेटमा गोल गर्दै संजोगले १८ महिनाको खडेरी तोडेका थिए ।

    २०१९ को सेप्टेम्बरपछि नेपालले आठ खेलमा गोल गर्न सकेको थिएन । दशरथ रंगशालामा जारी थ्री नेसन्स कपको फाइनलको १८औं मिनेटमा संजोगले गरेको गोल प्रतियोगिताको ओपन प्लेमा पहिलो गोल हो । नेपाल, बंगलादेश र किर्गिस्तान यु २३ सहभागी भएको प्रतियोगितामा यसअघि एकमात्र गोल आत्मघाति गोल भएको थियो । आज जारी फाइनलमा संजोगले गोल गरेसँगै रंगशालामा ओपन प्लेबाट पहिलो गोल भएको छ ।

    त्यस्तै, ४२औं मिनेटमा मिडफिल्डर विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले संजोगकै पासमा पेनाल्टी एरिया भित्रबाट बंगलादेशका गोलकिपर अनिसुर रहमानलाई बिट गर्दै गोल गरेका थिए ।

  • बंगलादेशमाथि नेपालको दोस्रो गोल

    बंगलादेशमाथि नेपालको दोस्रो गोल

    काठमाडौं । ट्राइ नेसन्स कपको फाइनलमा नेपालले बंगलादेश विरुद्ध दोस्रो गोल गरेको छ ।

    ४१ औं मिनेटमा विशाल राइले नेपालको अग्रता दोब्बर बनाएका हुन् ।

     

  • ट्राइ नेसन्स कपमा नेपालको पहिलो गोल

    ट्राइ नेसन्स कपमा नेपालको पहिलो गोल

    काठमाडौं । ट्राइ नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध गोलको खाता खोलेको छ । जारी प्रतियोगितामा नपालको यो पहिलो गोल हो ।

    खेलको १८ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । नेपालको राष्ट्रिय टिमबाट यो उनको पहिलो गोल हो ।

    विश्व कप तथा एसियन कपको संयुक्त छनोटमा सन् २०१९ को सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध गरेको गोलपछि नेपालले सिनियर अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको थिएन।

    १७औं मिनेटमा सुनिल बलको क्रसमा डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडर बंगलादेशी गोलकिपर अनिसुर रहमाले बचाएका थिए ।
    सोही कर्नरमार्फत सुनिलले गरेको क्रसबाट रिबाउन्डमा आएको बललाई संजोग राईले १८औं मिनेटमा १८ यार्ड बक्स बाहिरबाट प्रहार गर्दै गोल गरेका थिए ।
    प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानी ओलम्पिक टोलीलाई १-० को नतिजामा पराजित गरेको थियो । दोस्रो खेलमा किर्गिज युवा टोलीसँग गोलरहित बराबरीमा रोकिएको नेपालले पहिलो चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध सोही नतिजा दोहोर्याएको थियो ।
  • थ्री नेसन्स कप फाइनल: बंगलादेशविरुद्ध नेपाली टोलीमा दुई परिवर्तन

    थ्री नेसन्स कप फाइनल: बंगलादेशविरुद्ध नेपाली टोलीमा दुई परिवर्तन

    काठमाडौं । थ्री नेसन्स कपको फाइनलमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुआती-११ मा दुई परिवर्तन गरेका छन् । दशरथ रंगशालामा ५: ३० बजे बंगलादेशविरुद्ध हुने खेलका लागि प्रशिक्षक महर्जनले अभिषेक रिजाल र रविशंकर पासवानको स्थानमा सुनिल बल र विशाल राईलाई मौका दिएका छन् ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताका नेपाल , बंगलादेश र किर्गिस्तान यु २३ गरी तीन टोली सहभागी छन् । एक जित र एक बराबरीसहित चार अंक जोडेको बंगलादेश शीर्ष स्थान तथा दुई बराबरीबाट २ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

    नेपाली टोली

    गोलकिपर: किरण चेम्जोङ

    डिफेन्डर: रन्जित धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, रोहित चन्द

    मिडफिल्डर: त्रिदेव गुरुङ, तेज तामाङ, संजोग राई, विशाल राई, सुनिल बल

    फरवार्ड: अञ्जन विष्ट

  • फुटबल प्रशिक्षकलाई बद्री पंगेनीको टिप्सः पोस्ट चार्जमा खेलाडीलाई प्रोत्साहन गर्नुस्

    फुटबल प्रशिक्षकलाई बद्री पंगेनीको टिप्सः पोस्ट चार्जमा खेलाडीलाई प्रोत्साहन गर्नुस्

    काठमाडौं । चर्चित लोकगायक बद्री पंगेनी फुटबलप्रेमी हुन् । खासगरी नेपालको राष्ट्रिय फुटबल टिमका कुनै पनि म्याच उनी सकभर मिस गर्दैनन् ।

    नेपाल र बंगलादेश आज ट्राइ नेसन्स कपको फाइनलमा भिड्दैछन् । दशरथ रंगशालामा हुने सो म्याच बद्रीले छुटाउने कुरै भएन । तर, यसपाली उनले म्याच हेर्ने मात्र होइन, म्याच अगाडि नेपालका प्रशिक्षक बालगोपाल महर्जनलाई केही टिप्स पनि दिएका छन् । सामाजिक सञ्जालमा उनले महर्जनलाई सम्वोधन गर्दै पाँच बूँदे सुझाव दिएका हुन् ।

    नेपालले पहिलो सेटमा अनुभवी खेलाडीको कमी पूर्ति गर्न भरत खवास, सुजल श्रेष्ठ र सुनील बललाई उतार्नुपर्ने बद्रीको पहिलो सुझाव छ । दोस्रो बूँदामा उनले नेपाली खेलाडीहरुले एयर बल खेल्न नसकेको भन्दै ग्रास बल खेलाउन अनुरोध गरेका छन् । तेस्रो बूँदामा बद्री लेख्छन्, ‘पोस्ट चार्ज एकदमै कम भयो । सायद खेलाडीलाई स्वार्थीको आरोप लाग्ने गरेकाले त्यस्तो भएको हुन सक्छ । खेलाडीलाई पोस्ट चार्ज गर्न प्रोत्साहन गरौं ।’

    खेलाडीहरु फुटबलभन्दा फुटसलमा बढी अभ्यस्त भएको अनुभव आफूले गरेको भन्दै त्यसमा ध्यान दिन उनले प्रशिक्षकलाई अनुरोध गरेका छन् । खेलाडीको स्कील, स्टामिना, बल ट्र्यापिङ र ड्रीब्लिङमा उल्लेखनीय प्रगती भएको आफूले पाएको भन्दै बद्रीले फिनिसिङको मात्रै आवश्यकता देखिएको उल्लेख गरेका छन् । साथै उनले चोटका कारण खेल्न नसकेका स्ट्राइकर बिमल घर्तीमगरलाई सम्झेका छन् ।

    नेपाल, बंगलादेश र किर्गिस्तानको युवा टोलीबीचको प्रतिस्पर्धामा नेपालले दुई म्याचमा कुनै गोल गर्न सकेको छैन । बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । आज नेपालको पहिलो लक्ष्य भनेको गोलको खडेरी तोड्नु नै हुनेछ । आजको म्याचमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने कार्यक्रम छ ।

  • थ्री नेशन्स कपको फाइनल हेर्न प्रधानमन्त्री रंगशाला जाने

    थ्री नेशन्स कपको फाइनल हेर्न प्रधानमन्त्री रंगशाला जाने

    काठमाडौं । थ्री नेशन्स कपमा नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन् ।

    अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री आउने निश्चित भएको जानकारी दिए ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री ओली सवा ५ बजेसम्म रंगशाला पुगिसक्ने र खेल अवधिभर रहने जानकारी दिए ।

    किर्गिस्तान यू–२३ टिमसमेतको सहभागितामा एन्फाले आयोजना गरेको थ्री नेशन्स कपको फाइनल खेल आज साँभ साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

    लिग चरणमा दुई बराबरी खेलेको नेपाल र एक जित तथा एक बराबरी खेलेर बंगलादेशले फाइनलमा स्थान बनाएका थिए ।
    नेपाली राष्ट्रिय टोली लिग चरणका दुई खेलमा गोल नगरिकनै फाइनलमा पुगेको हो ।

    विश्वकप तथा एसियन कप छनोटको तयारीमा रहेको नेपालले छनोट प्रतियोगिताको पूर्व निर्धारित खेल स्थगित भएपछि एन्फाले थ्री नेशन्स कप आयोजना गरेको हो ।

  • नेपाल भर्सेस बंगलादेश- गोलको प्रतीक्षा, उपाधिको भोक

    नेपाल भर्सेस बंगलादेश- गोलको प्रतीक्षा, उपाधिको भोक

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको अनावृष्टि टुङ्ग्याउन आयोजना गरिएको थ्री नेशन्स कपको फाइनलमा आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । प्रतियोगिताको खडेरी तोड्न सफल थ्री नेशन्स कपले गोलको खडेरी भने टार्न सकेन ।

    समग्र प्रतियोगितामै गोलको हाहाकार मच्चिएको प्रतियोगिताले नेपालको गोलविहीन यात्रालाई त झनै लम्ब्याइ दिएको छ । हुन पनि प्रतियोगितामा अहिलेसम्म तीन खेल भइसके । तर, गोल एउटा मात्रै भएको छ, त्यो पनि आत्मघाती ।

    आयोजक नेपाल, दक्षिण एसियाली अर्को मुलुक बंगलादेश र किर्गिस्तानको यू-२३ गरी तीन टोली सहभागी प्रतियोगितामा दुई भ्रमणकारी टोली आमनेसामने भएका थिए । सोही खेलको २९औं मिनेटमा किर्गिज डिफेन्डर कुमारबाज युलु बैमानले डिफेन्सिफ हाफमा आएको बल क्लियर गर्ने क्रममा पोस्टमा छिरेको थियो ।

    त्यही एकमात्र गोलले अहिलेसम्म प्रतियोगितामा एकाधिकार जमाइरहेको छ । त्यसलाई चुनौती दिने अन्य गोल सिर्जना हुन सकेका छैनन् । अझ नेपालले त पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन ।

    नेपाल आज सोही गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै घरेलु मैदानमा उपाधि उचाल्ने दाउमा छ । ‘हामीले सोचेअनुसार खेले पनि गोल गर्न सकेका छैनौं,’ नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जन भन्छन्, ‘हाम्रो प्रमुख लक्ष्य गोल हुनेछ ।’

    त्यस्तै, राष्ट्रिय टोलीको अग्रपंक्ति सम्हालिरहेका फरवार्ड अभिषेक रिजालले पनि गोल स्कोरिङमा देखिएको समस्या फाइनलमा तोडिने विश्वास व्यक्त गरेका छन् । ‘कहिले काहिँ खेल तलमाथि हुन्छ नै । त्यसका बाबजुद हामी थ्री नेशन्स कपको फाइनल पुगेका छौं,’ अभिषेकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देखिएको स्कोर समस्या फाइनलमा तोडिने विश्वास व्यक्त गर्छु ।’

    राष्ट्रिय टोलीका आक्रमण सम्हालेका अभिषेकले गोल स्कोरिङबारे बताइरहँदा गोलपोस्ट सम्हालेका कप्तान किरण चेम्जोङ उपाधि उचाल्न हतारिएका देखिन्छन् । आजको खेलमा यसअघि देखिएको फिनिसिङको समस्या टार्दै फरवार्डले गोल गर्नेमा आशावादी रहेका कप्तान किरण भन्छन्, ‘जुनसुकै कप्तानलाई आफ्नो टोलीले उपाधि जित्दा खुशी लाग्छ, मेरो कप्तानीमा देशलाई उपाधि दिलाउन चाहन्छु ।’

    त्यस्तै, उपकप्तान रोहित चन्द पनि ६ वर्षपछि रंगशाला फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उपाधि घरैमा राख्ने बताउँछन् । यसअघिका दुई खेलमा निकालेको बराबरी नतिजासमेत उल्लेख गर्दै ‘फाइनलमा नेपालले अझै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि घरमा नै राख्ने’ सामाजिक सञ्जालमा लेखेका छन् ।

    राउन्ड रोबिन प्रणालीमा जारी प्रतियोगिताका दुवै खेलमा गोल गर्न असफल नेपाल आजकाे फाइनलका लागि जति उत्साहित छ, त्यति नै बंगलादेश पनि । सन् २००५ पछि पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पुगेको बंगलादेश कुनै पनि हालतमा उपाधि गुमाउन चाहँदैन ।

    अन्तर्राष्ट्रिय खेलमा गोलको खडरीले उजाडिएको नेपाली टोली र प्रतियोगितामा तीन अंक हासिल गर्ने एउटा मात्र टोली बंगलादेशबीच भोलिको खेलमा घमासान प्रतिस्पर्धा हुने सहजै अनुमान लगाउन सकिन्छ । बंगलादेशी टोलीका प्रशिक्षक जेम्स डे पनि याे खेल प्रतिस्पर्धात्मक हुने टिप्पणी गर्छन् ।

    ‘हामी फाइनलमा पुग्यौं त्यो नै हाम्रा लागि ठूलो कुरा हो,’ उनी भन्छन्, ‘घरेलु टोलीलाई समर्थकको साथ पनि रहनेछ ।’

    अनुभवी बंगलादेशी टोलीलाई २२ वर्षपछि नेपालमै नेपालविरुद्ध फाइनलमा पुर्‍याएका कप्तान जमल भुया उपाधि जित्ने सुनौलो मौका रहेको बताउँछन् । ‘हाम्रा लागि उपाधि जित्ने सुन्दर मौका छ । र, हामी त्यसका लागि तयार छौं,’ जमलले भने ।

    नेपालले १९९९ को साफ गेम्समा बंगलादेशविरुद्ध नेपालमै फाइनल खेलेको थियो । त्यसअघि पाँच पटक फाइनलमा पुगेर पनि उपाधि चुम्नबाट असफल रहेको बंगलादेशले १९९९ को अक्टोबर ४ मा नेपाललाई पराजित गरेर साफ गेम्समा पहिलो स्वर्ण पदक जितेको थियो ।

    त्यो समय नेपाली टोलीको सदस्य रहेका बाल गोपाल महर्जन एक खेलाडीको रूपमा पराजित भएको टोलीसँग प्रशिक्षकको रूपमा बदला लिने इच्छासहित दशरथ रंगशालामा उत्रिने छन् ।

  • रोमान्चक खेलमा ७ रनको जितसहित इंग्ल्याण्डबिरुद्धको शृंखला भारतले जित्यो

    रोमान्चक खेलमा ७ रनको जितसहित इंग्ल्याण्डबिरुद्धको शृंखला भारतले जित्यो

    एजेन्सी । भारतले इंग्ल्याण्डसँगको तीन एकदिवशीय क्रिकेट शृंखला २–१ ले जितेको छ । साम करनको शानदार प्रदर्शनका बाबजुद इंग्ल्याण्डले शृंखला जित्न सकेन ।

    आइतबार तेस्रो तथा निर्णायक खेलमा ३ सय ३० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रनमात्र जोड्न सकेपछि भारत ७ रनले विजयी रह्यो । यसअघि पहिलो एकदिवशीय भारत र दोस्रोमा इंग्ल्याण्ड विजयी भएका थिए ।

    करनले करिअरकै उत्कृष्ट प्रदर्शनसहित अविजित ९५ रन बनाए । सातौं नम्बरमा ब्याटिङमा आएका उनले ८३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

    अन्तिम ओभरमा इंग्ल्याण्डलाई १४ रन आवश्यक थियो । टी नटराजनको पहिलो बलमा दुई रन लिने चक्करमा तालमेल नमिल्दा मार्क उड रनआउट हुन पुगे । करनले उडसँग नवौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए ।

    दोस्रो बलमा एघारौं नम्बरमा आएका पिस तोप्लेले १ रन लिएर करनलाई स्ट्राइक दिए । तेस्रो र चौथो बलमा करनले रन लिएनन् । बाउण्ड्री प्रहारको धुनमा लागेका उनले एक दुई रनको आवश्यकता देखेनन् र इंग्ल्याण्डलाई अन्तिम दुई बलमा जितका लागि १२ रन आवश्यक थियो ।

    पाँचौं बलमा करनले चौका प्रहार गरे । अन्तिम बलमा नटराजनले अतिरिक्त रन नआउने गरी बल फाल्दा भारतको जित निश्चित थियो । उनले त्यसै गरे, करनले रन लिएनन् भारत ७ रनले विजयी रह्यो ।

     

  • त्रिभुवन आर्मी र किर्गिस्तान यु २३ बराबरीमा रोकिए

    त्रिभुवन आर्मी र किर्गिस्तान यु २३ बराबरीमा रोकिए

    काठमाडौं । एएफसी कपको प्लअफको तयारीमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेलेको छ ।

    थ्री नेसन्स कपका लागि नेपाल आइपुगेको किर्गिज युवा टोल राउन्ड रोबिन पद्धतिबाटै बाहिरिएपछि आर्मीले आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेलको मौका पाएको थियो ।

    खेलको सुरुआतदेखि नै गोलका लागि दुवै टोलीले प्रयास गरेका थिए । तर, सिर्जना गरेका मौकाको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

    एएफसी कपको प्लेअफमा आर्मीले अप्रिल ७ मा दशरथ रंगशालामा श्रीलंका पुलिसको सामना गर्दैछ । त्यो खेलमा जित हासिल गरे आर्मीले अप्रिल १४ मा बेङ्गलुरू फुटबल क्लबको सामना गर्नेछ ।

  • स्पाइनल कर्ड इन्जुरी ह्वीलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न

    स्पाइनल कर्ड इन्जुरी ह्वीलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौं । स्पाइनल कर्ड इन्जुर ह्वीलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

    काठमाडौंमा नेपाल स्पाइलन इन्जुरी खेलकुद संघले गरेको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ४ टोली सहभागी थिए ।

    प्रतियोगितामा पुरुषतर्फको उपाधि जित्न जावलाखेल क्लब सफल भएको छ । जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई १५–१४ अंकान्तरमा जितेको हो । त्यस्तै महिलातर्फको उपाधि ह्वीलचेयर बास्केटबल एशोसियसनले हात पारेको छ ।
    विजेता जावलाखेल क्लब र एशोसियनले उपाधिसहित १५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

    उपविजेता आमीले १० हजार र तेस्रो बनेको स्पाइनल कर्ड इन्जुरीले पाँच हजार रुपैयाँ पुरस्कार पाएको दिलिप सापटकोटाले जानकारी दिए ।

    प्रतियोगिताको खेलकुदमन्त्री दावा तामाङले उद्घाटन गरेका थिए । प्रतियोगिताको समापन गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र अपांग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले गरेका थिए ।

     

  • डि भिलियर्सलाई इपीएलमा खेलाउने पहल, अख्तर भन्छन्: चाँडै सम्झौता हुन सक्छ

    डि भिलियर्सलाई इपीएलमा खेलाउने पहल, अख्तर भन्छन्: चाँडै सम्झौता हुन सक्छ

    काठमाडौं । दक्षिण अफ्रिकाका प्रख्यात क्रिकेटर एभी डिभिलियर्स नेपालको ट्वान्टी-२० फ्रेन्चाइज लिग खेल्न आउने सम्भावना बढेको छ । एभरेस्ट प्रिमियर लिग (इपीएल) को आयोजकले सेप्टेम्बरमा हुने चौथो संस्करणका लागि उनलाई नेपाल ल्याउन पहल गरेको हो ।

    इपीएलका प्रमुख कार्यकारी अधिकृत अमिर अख्तरले डिभिलियर्ससँग आफ्नो कुराकानी भइरहेको र उनले सकारात्मक जवाफ दिएको नेपाल प्रेसलाई बताए ।
    उनले भने, ‘उहाँ सकारात्मक देखिनुभएको छ, तर सबै कुरा फाइनल भइसकेको छैन ।’

    केही दिनभित्र डि भिलियर्ससँग सम्झौता हुन सक्ने अख्तरले संकेत गरेका छन् ।

    उनी भन्छन्, ‘हामी आयोजकको तर्फबाट आवश्यक पहल गरेका छौं । तर, हामीले ल्याउने भनेर मात्रै हुँदैन । फ्रेन्चाइजहरूमा पनि भर पर्छ । कुन फ्रेन्चाइजबाट खेल्नुहुन्छ भन्ने केही दिनभित्र टुंगो लाग्छ होला ।’

    इपीएलले उनलाई पुरै सिजनका लागि नभएर दुई/तीन वटा म्याच खेल्ने गरी बोलाएको हो । डि भिलियर्स यसमा इच्छुक देखिएको अख्तर बताउँछन् ।

    ‘उहाँले म आउँछु नै भन्नुभएको छ । तर, फिटनेस लगायतका कुराहरु हेरेपछि अन्तिम निर्णय हुन्छ,’ उनले भने ।

    डि भिलियर्ससँगै अरु चर्चित नामहरू पनि इपीएलमा जोडिन सक्ने अख्तरले बताए । जसमध्ये एक हुन्- वेस्ट इन्डियन लिजेन्ड क्रिस गेल । उनले अघिल्लोपटक पनि इपीएल खेल्ने तय भएको थियो । सम्झौतासमेत भइसकेको थियो । तर, कोरोनाले इपीएल रद्द भएपछि उनलाई मैदानमा हेर्ने नेपालका फ्यानहरूको इच्छा अधुरो रह्यो ।

    यसपाली पनि क्रिस गेल नेपाल आउन तयार नै रहेको अख्तरले बताए ।

    उनले भने, ‘उहाँसँग त पहिले नै सम्झौता भइसकेको हो । एडभान्स पनि पठाइसकेका थियौं । यसपाली कन्ट्राक्ट रिन्यू मात्रै गर्नुपर्ने छ । कुरा गरिरहेका छौं, सायद आउनुहुन्छ होला ।’

    वेस्ट इन्डिजकै ब्राभोसँग पनि कुरा भएको उनले बताए । ‘हामी अरू पनि चर्चित खेलाडीसँग कुरा गरिरहेका छौं । तर, उहाँहरुको नाम दिन सक्दैनौं किनभने उहाँहरूलाई ल्याउने भनेको फ्रेन्चाइजको हातमा हुन्छ,’ अख्तरले भने ।

    आइपीएलको आगामी संस्करण सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ । इपीएलको २०२० को संस्करण कोरोनाका कारण स्थगित भएको थियो ।