Category: खेल प्रेस

  • किरण चेम्जोङ धनगढीको आइकोनिक प्लेयर

    किरण चेम्जोङ धनगढीको आइकोनिक प्लेयर

    काठमाडौं । राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी फुटबल क्लबसँग अनुबन्धित भएका छन् ।

    वैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुने एनएसएलका लागि धनगढीले हाइ प्रोफाइल फुटबलर किरणलाई आइकोनिक प्लेयरको रूपमा अनुबन्ध गरेको हो । अघिल्लो साता मात्र एसियाली फुटबल महासंघ (एएफसी)का उत्कृष्ट फुटबलर घोषित भएका किरण पछिल्लो समय भारतमा व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

    धनगढीले पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबार किरणलाई आइकोनिक प्लेयरको रूपमा सार्वजनिक गरेको हो । क्लबले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई कार्की प्लेयरको रूपमा भित्र्याइसकेको छ भने अक्सनबाट १४ जना खेलाडी पनि किनिसकेको छ ।

    धनगढीले अक्सनबाट सौजन राई, रूपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी र दर्शन गुरुङलाई किनेको थियो ।

    आइकोनिक प्लेयरको रूपमा सार्वजनिक भएसँगै किरणले पाँच वर्षपछी राष्ट्रिय फुटबलमा फर्किनका लागि आफू उत्साहित रहेको बताए ।

    ‘पाँच वर्षपछि डोमेस्टिक फुटबलमा फर्किन सुपर एक्साइटेड छु,’ किरणले भने, ‘कर्पोरेटले लगानी गरेर नेपाली फुटबलमा नयाँ मोड ल्याएकोमा धनगढीका अनर सुवाषलाई धन्यवाद् ।’

    एनएसएलका लागि क्लबहरूले राम्र विदेशी खेलाडीहरू भित्र्याइरहेको बताउँदै किरणले भने- एनएसएलका लागि उत्कृष्ट खेलाडी देखिरहेको छु । यस्ता खेलाडीहरूको सहभागीताले नेपाली फुटबललाई माथिल्लो स्तरमा पुर्‍याउँछ भन्ने विश्वास छ ।’

    सुपर लिगमा मुख्य प्रशिक्षकको रूपमा आफूलाई मौका दिएकोमा प्रशिक्षक युगलले क्लबलाई धन्यवाद् दिँदै फ्रेन्चाइज लिगको सुरुआत फुटबलको विकासका महत्त्वपूर्ण हुने बताए ।

    ‘म धनगढीलाई जित दिलाउन आफ्नो पक्षबाट सबै कुरा दिन तयार छु,’ किरणले भने ।

    क्लबले बिहीबार नै एनएसएलका लागि मुख्य प्रशिक्षकको रूपमा पूर्व राष्ट्रिय खेलाडी युगल किशोरा राईलाई नियुक्त गरेको छ । मनाङ मर्स्याङ्दी क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाइसकेका तोपे फुजालाई प्रशिक्षकको रूपमा अनुबन्ध गरिसकेको छ ।

    ‘फुटबलको विकास हुन गाह्रो भएको देशमा फ्रेन्चाइज लिग हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ,’ प्रशिक्षक युगलले भने, ‘हाम्रो अगाडि धेरै चुनौती छन्, त्यसका बावजुद् नयाँ युगको प्रारम्भ भएको छ ।’

    धनगढीले ‘विन विद् ब्युटिफुल गेम’ डेलिभरी गर्ने प्रशिक्षक युगलले बताए ।

    किरण जस्ता हाइ प्रोफाइल खेलाडीलाई क्लबमा भित्र्याउन पाएकोमा धनगढी एफसीका मालिक सुवाष शाहीले खुशी व्यक्त गरे । ‘हट् केक’ किरणलाई टोलीमा भित्र्याउन पाउँदा खुशी छु,’ उनले भने, ‘अब मलाई पनि पूर्ण टीम बने जस्तो लागेको छ ।’

  • गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि

    गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि

    काठमाडौं । भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि सुरु हुने भएको छ ।

    चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिताका सबै खेल ‘बेस्ट अफ फाइभ’मा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

    यो प्रतियोगितामा नेपाली महिला भलिबलका प्रतिष्ठित क्लबहरू न्यू डायमन्ड, ढोरपाटन र तीन विभागीय टोलीसहित सिन्धुपाल्चोक भलिबल संघको टीम सहभागी रहने आयोजकले बताएको थियो ।

    भोटेकोशी गाउँपालिकाको दुई नम्बर वडास्थित आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले तीन लाख रूपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रोले दुई लाख, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रूपैयाँ नगद तथा उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकले ७ हजार रूपैयाँ र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले दुई हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

  • कोहलीलाई उछिन्दै बाबर बने नम्बर-१ ओडीआई ब्याट्सम्यान

    कोहलीलाई उछिन्दै बाबर बने नम्बर-१ ओडीआई ब्याट्सम्यान

    काठमाडौं । भारतीय कप्तान विराट कोहलीले १ हजार २ सय ५८ दिनपछि एकदिवसीय क्रिकेटको वरियताक्रममा नम्बर-१ स्थान गुमाएका छन् । उनको स्थान पाकिस्तानी कप्तान बाबर आजमले लिएका छन् ।

    दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई जिताएपछि आजम नम्बर १ स्थानमा उक्लेका हुन् । उक्त सिरिजमा बाबरले एक शतकसहित २ सय २८ रन बनाएका थिए । सिरिजको निर्णायक म्याचमा उनले ८२ बलमा ९४ रन हान्दै टिमको जित सुनिश्चित गरेपछि उनको १३ रेटिङ प्वाइन्ट थपिएको थियो ।

    बाबरले यसअघि लामो समय टी-२० वरियताक्रममा शीर्षस्थान कब्जा गरेका थिए । एकदिवसीयमा भने पहिलोपटक उनी नम्बर १ बनेका हुन् । भारतीय कप्तान कोहली दोस्रो स्थानमा झरेका छन् । बाबर र कोहलीको रेटिङ प्वाइन्ट क्रमशः ८ सय ५२ र ८ सय ६५ रहेको छ ।

    सन् २०१७ को अक्टोबरमा दक्षिण अफ्रिकाका एबी डी भिलियर्सलाई पछि पार्दै कोहली नम्बर-१ एकदिवसीय ब्याट्यासम्यान बनेका थिए । त्यसयता उनलाई कसैले हल्लाउन सकेको थिएन ।

    एक दिवसीय क्रिकेटको वरियता क्रममा उच्च स्थान हासिल गर्ने पाकिस्तानका चौथो ब्याट्सम्यान हुन् बाबर । यसअघि जबाहिर अब्बास, जाभेद मियादाद र मोहम्मद युसुफले मात्रै यो सफलता हासिल गरेका थिए । छोटो समयमै बाबर पाकिस्तानी लिजेन्डहरुको सूचीमा पर्न सफल भएका छन् ।

    शीर्षस्थानमा पुगेपछि प्रतिक्रिया दिँदै बाबरले यसलाई आफ्नो करिअरका लागि कोसेढुंगाको रुपमा लिएको बताएका छन् ।
    ‘यो स्थानमा लामो समय कायम रहनका लागि मैले कडा मिहिनेत गर्नुपर्ने छ,’ उनले भने, ‘मेरो सबैभन्दा ठूलो लक्ष्य चाहिँ टेस्ट वरियता क्रममा अगाडि आउने हो ।’

    टेस्ट वरियतामा पनि बाबर र कोहलीको कडा टक्कर छ । कोहली पाचौं र बाबर छैटौं स्थानमा छन् । टी-२० मा बाबर अहिले तेस्रो स्थानमा झरेका छन् । कोहली पाचौं स्थानमा छन् । सबै प्रकारका क्रिकेटमा टप ६ मा रहने दुई मात्र ब्याट्सम्यान बाबर र कोहली हुन् । उमेरमा बाबर कोहलीभन्दा ६ वर्ष कान्छा छन् ।

    ओडीआई वरियतामा पाकिस्तानी ओपनर फखार जमानले पनि प्रगति गरेका छन् । दक्षिण अफ्रिकाविरुद्ध दुई शतक प्रहार गरेसँगै फकार वरियताक्रममा ११ बाट ७ औं स्थानमा उक्लेका छन् । उनले लगातार एक सय ९३ रन र एक सय १ रनको इनिङ खेलेका थिए ।

  • एएफसी कपको छनोटबाटै आर्मी बाहिरियो

    एएफसी कपको छनोटबाटै आर्मी बाहिरियो

    काठमाडौं । बुधबार राति भएको खेलमा भारतीय टोली बेङ्गलुरु फुटबल क्लबसँग ५-० को फराकिलो पराजय बेहोरेसँगै त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कपको प्रारम्भिक छनोटबाट बाहिरिएको छ ।

    प्रारम्भिक छनोटको पहिलो खेलमा श्रीलंका पुलिसलाई घरेलु मैदानमा ५-१ को नतिजामा पराजित गरेको आर्मीले दोस्रो चरणमा इन्डियन सुपर लिगको बेङ्गलोरसँगको भेट सुनिश्चित गरेको थियो । कोरोना संक्रमणका कारण कप्तान भरत खवास, पहिलो रोजाइका गोलकिपर विकेश कुथु लगायतका खेलाडी बिना मैदानमा उत्रिएको आर्मीले पहिलो हाफमा भारतीय हेभिवेटलाई गोल गर्नबाट रोकेको थियो ।

    तर, दोस्रो हाफमा थप आक्रामक बनेको बेङ्गलुरुले १५ मिनेटको फरकमा पाँच गोल गर्‍यो । राहुल भेकेको गोलबाट ५१औं मिनेटमा अग्रता लिएको बेङ्गलुरुका लागि कप्तान सुनिल क्षेत्रीले एक मिनेट नबित्दै दोस्रो गोल गरेका थिए ।

    क्लेटियन सिल्भाले ६१औं मिनेटमा बेङ्गलुरुका लागि तेस्रो गोल गरेका थिए । तहसनहस बनेको आर्मीविरुद्ध बेङ्गलुरुका सिल्भा र भेकेले ६५औं मिनेटमा थप १/१ गोल गर्दै ५-० को जित सुनिश्चित गरे ।

    जितसँगै तेस्रो चरणमा पुगेको बेङ्गलुरुले अहबानी ढाका र माल्दिभ्सको इगल्सबीचको विजेतासँग अप्रिल २८ मा खेल्ने छ ।

  • आयोजक टिमलाई हराउँदै विराट गोल्डकपको फाइनलमा पुग्यो एपीएफ

    आयोजक टिमलाई हराउँदै विराट गोल्डकपको फाइनलमा पुग्यो एपीएफ

    विराटनगर । बिभागीय टोली एपीएफले घरेलु टिम विराटनगर–११ माथि अतिरिक्त समयमा ३–२ को जित निकाल्दै छैटौं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

    फाइनलमा एपीएफले संकटा र भारतको पञ्जाव पुलिसबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज हुनेछ । फाइनल शनिबार हुनेछ ।

    शहीद रंगशालामा एपीएफको जितमा सनिश श्रेष्ठ, रबि थिङ र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६औं मिनेटमा एपीएफका शनिस श्रेष्ठले गोल गरी टिमलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई शनिसले पेलान्टी एरियाबाट वान टचमा गोल गरेका हुन् ।

    पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन ।

    खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गरेको प्रहार गोलमा परिणत भयो ।

    एपीएफका रबि थिङले ६७ मिनेटमा गोल गरी टिमलाई पुनः अग्रता दिलाए । श्याम नेपालीले दिएको पासलाई रविले उपयोग गरेका हुन् ।

    एपीएफले अग्रता लिएको दुई मिनेट वित्न नपाउँदै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका प्रकाश बुढाथोकीले विराटनगरका लागि पुनः बराबरी गोल फर्काए ।

    घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले खेलको ८० र ८३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरदा थप गोल्ने गर्ने अवसर गुमायो ।

    ९०औं मिनेटको निर्धारित समयसम्म २/२ गोलको बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको  समयको २७ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमको जितको लागि सुनिश्चित भयो । खेलको म्यान अफ द म्याचसमेत चुनिएका लामाले नगद १० हजार रुपैयाँ पाए ।

  • च्याम्पियन्स लिग सेमिफाइनल– मड्रिड र चेल्सी तथा सिटी र पीएसजी भिड्ने

    च्याम्पियन्स लिग सेमिफाइनल– मड्रिड र चेल्सी तथा सिटी र पीएसजी भिड्ने

    एजेन्सी । दोस्रो लेगमा एलफिल्डमा स्पेनिस प्रतिस्पर्धी रियल मड्रिडसँग गोलरहित बराबरी खेले पनि लिभरपुल युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

    रियल मड्रिडले सेमिफाइनलमा चेल्सीको सामना गर्ने भएको छ । चेल्सीले पोर्टोलाई हराउँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

    यता बोरुशिया डर्टमण्डमाथि दोस्रो लेगमा २–१ र समग्रमा ४–२ गोलअन्तरको जितपछि अर्को इंग्लिस टोली म्यानचेस्टर सिटीले सेमिफाइलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन्सँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    पीएसजीले साविक विजेता बायर्न म्युनिखलाई अवे गोलका आधारमा पछि पार्दै सेमिफाइनलमा पुगेको हो ।

    रियल मड्रिड पहिलो लेगमा सान्टियागो बर्नबाउमा हासिल गरेको ३–१ गोलको अग्रतासहित एनफिल्ड पुगेको थियो । चोटका कारण यो पूरै सिजन समस्यामा विताएको पूर्व च्याम्पियन लिभरपुलको नतिजा उल्ट्याउने प्रयास सफल हुन सकेन ।

    यता सिटीले पनि घरेलु मैदानमा पहिलो लेगमा २–१ को जितसहित जर्मनी पुगेको थियो । डर्टमण्डले दोस्रो लेगमा पनि जित हासिल गर्न सकेन र पहिलो लेगकै नतिजा दोहोरियो ।

    सिटी पहिलोपल्ट च्याम्पियन्स लिग जित्ने अभियानमा छ । त्यसो त सिटी र पीएसजी दुवै पहिलोपल्ट उपाधि जित्ने प्रयासमा रहँदा सेमिफाइनलमै यी दुईकाे भेट हुने भएकाे छ ।

  • एएफसी कप छनोट: बेङ्गलुरुमाथि ‘काउन्टर अट्याक’ गर्ने आर्मीको रणनीति

    एएफसी कप छनोट: बेङ्गलुरुमाथि ‘काउन्टर अट्याक’ गर्ने आर्मीको रणनीति

    काठमाडौं । एएफसी कपको दोस्रो प्रारम्भिक चरणमा आज त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय प्रतिद्वन्दी बेङ्गलुरु एफसीको सामना गर्दैछ । नेपाली समय अनुसार साँझ ७ : ४५ बजे गोवास्थित जिएमसी रंगशालामा हुने खेलमा नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सम्मिलित आर्मीले भारतीय राष्ट्रिय टोलीका कप्तान सुनिल क्षेत्रीसहितको टोलीको सामना गर्नेछ ।

    प्रारम्भिक छनोटको पहिलो खेलमा श्रीलंका पुलिसविरुद्ध ५-१ को रोमाञ्चक जित निकाल्दै इन्डियन सुपर लिग साइड –आइएसएल) – बेङ्गलुरुसँगको भेट निश्चित गरेको आर्मीका लागि आजको खेल कठिन परीक्षा रहने छ । आजको खेल प्रतिस्पर्धात्म हुने र आफ्नो टोली त्यसका लागि तयार रहेको आर्मीका प्रशिक्षक नबिन न्यौपाने बताउँछन् ।

    ‘हामी तयारी राम्रो छ र हामी बेङ्गलोरविरुद्ध काउन्टर अट्याकमा जानेछौं,’ प्रशिक्षक न्यौपानेले नेपालप्रेससँग भने, ‘श्रीलंका पुलिसविरुद्धको टोलीमा केही परिवर्तन पनि हुन सक्छ ।’

    पहिलो चरणको खेलअघि कोरोना भाइरसको परीक्षण गर्दा नतिजा पोजिटिभ आएपछि पहिलो रोजाईका गोलकिपर विकेश कुथु र नियमित सदस्य जर्ज प्रिन्स कार्की बिना आर्मी दशरथ रंगशालामा उत्रिएको थियो ।

    उनीहरू आजको खेलका लागि भारत गोवा पुगेको वा नपुगेकोबारे क्लबले आधिकारिक जानकारी नदिए पनि सञ्चारमाध्यममा भने उनीहरू टोलीमा समावेश नभएको सूचना पर्वाह भएका थिए । मंगलबार भएको प्रि–म्याच प्रेस मिटमा आर्मीका प्रशिक्षक न्यौपानेले आजको खेल कठिन रहेको बताएका थिए ।

    ‘हामीले बेङ्गलुरु एफसीलाई आइएसएलमा हेरेका छौं’ प्रशिक्षक न्यौपानेले भने, ‘ हो, उनीहरूको ‘टप’ टोली छ… मलाई लाग्छ, हामी राम्रो प्रतिस्पर्धा दिन सक्छौं । यो प्रतिस्पर्धात्मक खेल हुनेछ ।’

    भारतीय राष्ट्रिय फुटबल टोलीका सर्वकालिन सर्वाधिक गोलकर्ता तथा कप्तान सुनिल क्षेत्रीको नेतृत्वमा रहेको बेङ्लुरु एफसीमा दक्षिण एसियाली फुटबलका प्रतिष्ठित नाम छन् । भारतीय राष्ट्रिय टोलीबाट ७२ गोल गरिसकेका सुनिल तथा युरोपेली फुटबलको अनुभव बटुलिसकेका गोलकिपर गुरप्रित सिंह संधु लगायतका खेलाडीरहेको बेङ्गलोरका जर्मन प्रशिक्षक मार्को पेज्ज्जाइलीका लागि मुख्य प्रशिक्षकको रूपमा यो पहिलो खेल हुनेछ ।

    ‘म पहिलो खेलका लागि एकदमै भोकाएको छु । हामीले राम्रो तयारी गरेका छौं,’ प्रि–म्याच प्रेस ब्रिफिङमा पेज्ज्जाइलीले भने, ‘गत सिजन हामी यसै स्टेजबाट बाहिरिनु परेको थियो । त्यसैले, यो हाम्रा लागि महत्त्वपूर्ण खेल हो । हामी समूह चरणमा प्रवेश गर्न चाहन्छौं ।’

    गत सिजन भुटानको पारो एफसीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    ‘हाम्रो हातमा धेरै कठिन खेल छ… तर, हामी अहिले हाम्रो बारेमा सोचिरहेका छौं,’ प्रशिक्षक पेज्ज्जाइलीले भने, ‘मलाई लाग्छ हामी उनीहरूलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गर्न सक्षम छौं ।’

    श्रीलंका पुलिसविरुद्ध खेलको सुरुआतमा ०–१ ले पछि परेको आर्मीले लोभ लाग्दो पुनरागमन गर्दै ५–१ को शानदार जित निकालेको आर्मी उच्च मनोबलसहित गोवा पुगेको छ । पुलिसविरुद्धको रवाफिलो जितमा आर्मीका लागि नवयुग श्रेष्ठले दुई गोल गरेका थिए । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो भएको आर्मीका लागि नवयुग सर्वाधिक गोलकर्ता थिए । उनले आर्मीका लागि ६ गोल गरेका थिए । श्रीलंका पुलिसको रक्षापंक्तिमाथि हाबी बनेको आर्मीदेखि हच्किएका बेङ्गलोरका प्रशिक्षक पेज्ज्जाइलीले पनि प्रशिक्षक नबिनको रणनीति बुझेको सन्देश दिन खोजेका थिए ।

    ‘आर्मीसँग छिटो खेल्ने खेलाडी छन्, उनीहरू बलमा पनि राम्रा छन्,’ पेज्ज्जाइलीले भने, ‘हाम्रो रक्षापंक्तिमा समस्या रहेकाले उनीहरूले काउन्टर अट्याक अपनाउँछन् । खेलमा ९० मिनेट हुन्छ, उनीहरूले एक/दुई वटा गोल गर्ने मौका सिर्जन गर्नसक्छन्, हामी त्यसलाई टार्न चाहन्छौं ।’

    नेपाली विभागीय हेभिवेट आर्मी अन्तिम खेलमा विजयी भएकाले उच्च मनोबलसहित मैदानमा उत्रिनेछ भने पछिल्ला दुई खेलमा पराजित बेङ्गलुरु खराब ‘फर्म’मा पूर्णविराम लगाउने उद्देश्य लिएर उत्रिनेछ । फेब्रुअरीमा भएका आइएसलका अन्तिम दुई खेलमा बेङ्गलुरुले गोवाविरुद्ध १–२ तथा जमशेदपुर एफसीसँग ३–२ को पराजय भोगेको थियो । यद्यपि, त्यसपछि नियुक्त भएका मुख्य प्रशिक्षक मार्को पेज्ज्जाइलीको यो नै पहिलो प्रतिस्पर्धात्म खेल हुनेछ ।

    आजको विजेताले अहबानी ढाका र एफसी इगलबीचको विजेतासँग अप्रिल २१ मा खेल्ने छ ।

  • ‘ट्राई नेसन सिरिज’का लागि नेपाली राष्ट्रिय टोली घोषणा

    ‘ट्राई नेसन सिरिज’का लागि नेपाली राष्ट्रिय टोली घोषणा

    काठमाडौं । शनिबारदेखि हुने ‘बजाज पल्सर ट्राई नेसन सिरिज’का लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।

    कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा युवा खेलाडी साहब आलम पनि समेटिएका छन् ।

    मुख्य प्रशिक्षक डेभ वाट्मोरको नेतृत्वमा पहिलो प्रतियोगिता खेल्न लागेको नेपालको टोली यस्तो छ:-

    १. ज्ञानेन्द्र मल्ल

    २. दीपेन्द्रसिंह ऐरी (उपकप्तान)

    ३. पारस खड्का

    ४. विनोद भण्डारी

    ५. सोमपाल कामी

    ६. करण केसी

    ७. सन्दीप लामिछाने

    ८. अविनाश बोहरा

    ९. आरिफ शेख

    १०. आशिफ शेख

    ११. कुशल भूर्तेल

    १२. कुशल मल्ल

    १३. साहब आलम

    १४. कमलसिंह ऐरी

    १५. शुषन भारी

  • क्यामरुनी टिमलाई हराउँदै संकटा विराट गोल्कपको सेमिफाइनलमा

    क्यामरुनी टिमलाई हराउँदै संकटा विराट गोल्कपको सेमिफाइनलमा

    विराटनगर । गत साता पोखरामा सम्पन्न आहा ! रारा गोल्डकपको उपाधि विजेता संकटा क्लब विराटनगरमा जारी छैटौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    शहीद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा क्यामरुनको अफ्रिकन रुट्सलाई १-० गोलले हराउँदै संकटाले अन्तिम चार यात्रा तय गरेको हो ।

    सेमिफाइनलमा संकटाले बिहीबार दोस्रो भारतको पञ्जाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पञ्जावले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २-० गोल र गोरखा व्वाइज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो ।

    फाइनल यात्राको लागि बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बीच बुधबार प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३-० ले र भारतको युनिाइटेड सिकिम फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले अर्को विभागीय टोली नेपाल पुलिसलाई २-० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

    मंगलबार साँझ भएको खेलमा संकटा र अफ्रिकन रुट्स दुवैले आक्रामक फुटबल खेले । पहिलो हाफ बराबरी रहे पनि विराट गोल्डकपको पूर्व बिजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालको गोलबाट अग्रता लियो । त्यही गोल उसको जितमा निर्णायक बन्यो ।

    क्यामरुनी खेलाडीहरुको आक्रामण रणनीतिका कारण संकटाको रक्षापंक्ति निकै व्यस्त थियो । तर उनीहरुले गोल हुन दिएनन् । खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

    १९ औं आहा ! रारा गोल्डकपको फाइनलमा क्यामरुनलाई नै ४-२ गोलले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको थियो ।

    जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्ना खेलाडीले बहादुरीपूर्वक खेलेको बताए । क्यामरुनी टिमका प्रशिक्षक सरजेल बोरीसले केही राम्रा खेलाडी पोखरामा छुट्दा हार भएको बताए ।

  • साविक विजेता बार्यन जितेर पनि बाहिरियो, चेल्सी हारेर पनि च्याम्पियन्स लिग सेमिफाइनलमा

    साविक विजेता बार्यन जितेर पनि बाहिरियो, चेल्सी हारेर पनि च्याम्पियन्स लिग सेमिफाइनलमा

    एजेन्सी । युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल दोस्रो लेगमा गएराति दुई खेल भए । एउटा खेल पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले साविक विजेता जर्मन च्याम्पियन बायर्नलाई पेरिसमा आतिथ्य गरेको थियो भने इंग्लिस टोली चेल्सी र पोर्चुगलको पोर्टोबीच स्पेनको सेभियामा खेल भएको हो ।

    नतिजामा भने रोमान्चक संयोग रह्यो । बायर्नले पीएसजीलाई उसैको घरमा १–० ले हराइदियो । चेल्सीले होम खेलमा पोर्टोसँग १–० ले पराजित रह्यो । तर, दुवै पराजित टिम सेमिफाइनलमा पुगे । कारण– पहिलो लेगको नतिजा

    पहिलो लेगमा पीएसजीले बायर्नलाई उसकै मैदानमा ३–२ गोलअन्तरले पराजित गरेको थियो । अहिले बायर्नका लागि चोपो मोटिङले ४० औं मिनेटमा गरेको एकमात्र गोललले नतिजा ३–३ को स्थितिमा पुग्यो । तर तीन अवे गोलका कारण पीएसजी अन्तिम चारमा पुग्न सकेको हो । पीएसजी पहिलोपल्ट च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा गर्न प्रयासरत छ ।

    यता चेल्सीले भने पहिलो लेगमा पोर्टोलाई २–० ले हराएको थियो । दोस्रो लेग १–० गोलले हारे पनि उसको अन्तिम चारको यात्रा रोकिए । पोर्टोका लागि तारेमीले खेलको इन्जूरी समयमा गोल गरेका थिए । समग्रमा २–१ को नतिजासहित चेल्सी सेमिफाइनलमा पुगेको हो ।

  • खेलक्षेत्र ९ महिना सुनसान, त्यसपछि चलायमान

    खेलक्षेत्र ९ महिना सुनसान, त्यसपछि चलायमान

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि ठप्प खेलकुद यो वर्षको पुसदेखि सुचारु भयो । करिब नौ महिना कुनै गतिविधि हुन नसकेको खेलकुद अहिले पुरानै लयमा फर्किँदैछ ।

    कोरोनाका कारण बीचैमा रोकिएको फुटबलको बी डिभिजन लिग, थ्री नेसन्स कप, क्रिकेटको महिला-पुरुष प्रधानमन्त्री र मेयर कपसँगै मार्सल आर्ट्स, एथ्लेटिक्स र नेटगेम्सले खेल क्षेत्रलाई चलायमान बनाएका छन् ।

    प्रतियोगिता त निरन्तर प्रक्रिया नै थिए । तर, यो वर्ष २०७७ मा नेपाली फुटबलमा एउटा नयाँ अभ्यासको सुरुआत भयो, फ्रेन्चाइज लिगका लागि अक्सन । क्रिकेटमा विगतका वर्षहरूदेखि नै अभ्यासमा रहेको अक्सनमार्फत् खेलाडी किनबेचको परम्परा वैशाखमा हुने नेपाल सुपर लिगले पनि अपनायो ।

    त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टोलीले पनि लामो समयपछि घरेलु मैदानमा उपाधि जित्यो । कोरोना भाइरसको महामारीपछि अन्य खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता भएनन् । तर, राष्ट्रिय प्रतियोगिताले भने स्थान पाए । केही चर्चित प्रतियोगिता र खेलकुसँग सम्बन्धित गतिविधि यस्ता छन्ः

    १. थ्री नेसन्स कपको आयोजना र च्याम्पियन

    लगातार आठ अन्तर्राष्ट्रिय खेलमा गोलविहीन नेपालले गोलको खडेरीसँगै लामो समयदेखि उपाधि क्याबिनेटको सन्नाटा चिर्दै नेपालले थ्री नेसन्स कपको उपाधि घरेलु मैदानमै उचाल्यो । बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यु २३ टोली सम्मिलित प्रतियोगिताको उपाधि नेपालले जितेको हो । राष्ट्रिय टोलीले घरेलु मैदानमा च्याम्पियन बनेसँगै एन्फाबाट १ लाख र सरकारको पक्षबाट ४ लाख पनि प्राप्त गरेको छ ।

    आइपिएलमा सन्दिप अनुपस्थि

    नेपालीका लागि यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल)का तीन सिजनको चार्म यो वर्षको तुलनामा बेग्लै थियो, कारण सन्दीप लामिछाने । पछिल्लो तीन वर्षसम्म दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीप लामिछाने यो वर्ष बिक्री भएनन् ।

    दिल्लीसँगको तीन वर्षको सम्झौता टुङ्गिएसँगै अक्सनमा समावेश भएका सन्दीपलाई कुनै टोलीले भित्र्याएनन् । र, त्यो नेपाली क्रिकेट र समर्थकका लागि निराशाजनक खबर थियो । सन्दिप अन्य देशका लिगहरुमा भने खेलिरहेका छन् ।

    महिला-पुरुष प्रधानमन्त्री कप र मेयर कप

    कोरोना भाइरसको बन्देज हटेसँगै नेपाली क्रिकेटले पिकअप लियो । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितासँगै गतिविधि सुरु गरेको क्रिकेटले छोटो अवधिमा पुरुष–महिलाको प्रधानमन्त्री कप र मेयर कपको पनि सफल आयोजना गरेको थियो ।

    आरबीबी-एनभीए भलिबल

    नेपाल भलिबल संघको आयोजनामा आरबीबी-एनभीए लिग महिला तथा पुरुष लिग राष्ट्रिय भलिबल च्याम्पियनसिपको सफल आयोजना गर्यो । नेपाली राष्ट्रिय स्तरका प्रतियोगितामा विभागीय टोलीको दबदबा चिरेको यो भलिबलले हेल्प नेपाल र न्यु डायमन्डलाई च्याम्पियन बनाउँदै प्रतियोगिताको सफल आयोजना गर्यो ।

    सावित्राको १२ गोल

    नेपाली महिला फुटबलकी सर्वकालिन सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी सधैँ चर्चित नाम हो । विगतका वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कारणले चर्चा बटुल्दै आएकी सावित्राले यो वर्ष एकै खेलमा १२ गोल गरिन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सम्पन्न राष्ट्रिय महिला लिगमा चौदण्डिगढी नगरपालिकाविरुद्ध एपीएफ क्लबले २२–० को जित निकाल्दा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन् ।

    यसबाहेक विभिन्न प्रतियोगिता आयोजना भए । तर, विगतका वर्षहरूमा बाह्रै महिना चलायमान हुने नेपाली खेलकुद यो वर्ष छिटपुट प्रतियोगितामा मात्रै सीमित रह्यो । तीनै सीमित गतिविधिबाट केही ‘इन्सिडेन्ट’ ले मात्रै चर्चा पाए ।

  • प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणका लागि सार्वजनिक गरे ३२ खेलाडी

    प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणका लागि सार्वजनिक गरे ३२ खेलाडी

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि ३२ सदस्यीय टोलीको घोषणा गरेका छन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको २३ सदस्यीय टोलीले मे १७ देखि बन्द प्रशिक्षण गर्ने एन्फाले बताएको छ ।

    अब्दुल्लाहले सार्वजनिक गरेको टोलीमा चार गोलकिपर, नौ डिफेन्डर, १५ मिडफिल्डर र चार जना फरवार्ड छन् ।

    गोलकिपर

    किरण चेम्जोङ
    दिप कार्की
    बिकेश कुथु
    विशाल सुनार

    डिफेन्डर

    रन्जित धिमाल
    निशान खड्का
    रोहित चन्द
    अनन्त तामाङ
    दिनेश राजवंशी
    अजित भण्डारी
    छिरिङ गुरुङ
    गौतम श्रेष्ठ
    विकाश खवास

    मिडफिल्डर

    त्रिदेव गुरुङ
    मनिश डाँगी
    तेज तामाङ
    एरिक विष्ट
    संजोग राई
    विशाल राई
    सुनिल बल
    रवि पासवान
    शेशेहाङ आङ्देम्बे
    सन्तोष तामाङ
    विवेक बस्नेत
    प्रकाश वुढाथोकी
    सयन्सु भुसाल
    अन्जन विष्ट
    सुमन लामा

    फरवार्ड

    दर्शन गुरुङ
    अभिषेक रिजाल
    भरत खवास
    नवयुग श्रेष्ठ

  • त्रिदेशीय ट्वान्टी-२० शृंखला खेल्न डच टोली नेपालमा

    त्रिदेशीय ट्वान्टी-२० शृंखला खेल्न डच टोली नेपालमा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि हुने त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ ।

    वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

    डच टोलीले प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपालको सामना गर्नेछ ।

  • त्रिदेशीय ट्वान्टी-२० प्रतियोगिता खेल्न मलेसियन टोली नेपाल आइपुग्यो

    त्रिदेशीय ट्वान्टी-२० प्रतियोगिता खेल्न मलेसियन टोली नेपाल आइपुग्यो

    काठमाडौं । आगामी शनिबारदेखि सुरू हुने त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट शृंखला खेल्न मलेसियाको टोली नेपाल आइपुगेको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

    सोही प्रतियोगिताका लागि मलेसियन टोली मंगलबार काठमाडौं आइपुगेको क्यानले जानकारी दिएको छ ।

  • विराट गोल्डकपः विभागीय डर्बीमा एपीएफको जित

    विराट गोल्डकपः विभागीय डर्बीमा एपीएफको जित

    विराटनगर । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई २–० गोलअन्तरले पराजित गरी एपीएफ छैटौं विराट गोल्टकपको सेमिफाइनलमा पुगेको छ ।

    विराटनगरको शहीद रंगशालामा जारी प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई हराउन मणि लामा र सुमन लामाले गोल गरेका हुन् । दुवै गोल दोस्रो हाफमा भएको थियो । मणिले दोस्रो हाफको सुरुमा र सुमनले अन्तिम मिनेटमा गोल गरेका थिए ।

    जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो खेलमा भारतको सिक्किम युनाइटेड र क्वाटरफाइनलमा भारतकै वेष्ट बंगाललाई हराएर सेमिफाइनलमा पुगेको हो ।

    २०७४ सालको विजेता नेपाल पुलिस भने पहिलो खेलमै हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरियो । खेल प्रतिस्पर्धात्मक रहे पनि प्रहरीको रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित हासिल गरेको हो । मणिले रिबाउण्ड बलमा गोल गरेका थिए भने सुमनले पुलिसका गोलरक्षक रामेशन खड्काको कमजोरी उपयोग गरी वान भर्सेस वान प्रहारमा गोल गरेका थिए ।

    खेलको म्यान अफ द म्याच चुनिएका एपीएफका मणि लामाले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

    एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठलेराम्रो तयारी र खेलाडीहरुको मिहिनेतका कारणले जित हासिल भएको प्रतिक्रिया दिए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले रक्षात्मक कमजोरी स्वीकारे ।

    मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुनेछ ।

  • कप्तान सन्जुको शतकका बाबजुद हार्‍यो राजस्थान, पन्जावको विजयी सुरुआत

    कप्तान सन्जुको शतकका बाबजुद हार्‍यो राजस्थान, पन्जावको विजयी सुरुआत

    एजेन्सी । कप्तान तथा युवा ब्याट्सम्यान सन्जु साम्सनले शानदार शतक प्रहार गरे पनि राजस्थान रोयल्स पन्जाव किंग्सलाई हराएर आईपीएलको नयाँ सिजनमा सुखद सुरुआत गर्न असफल भएको छ ।

    मुम्बईको वाङखेडे रंगशालामा २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानलाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक थियो । अर्षदीप सिंहको बलमा उनले डीप कभरको क्षेत्रबाट छक्काको प्रयास गरेका थिए । दीपक हूडाको हातबाट क्याचआउट भएपछि पन्जाव किंग्स ४ रनले विजयी भयो ।

    त्यसअघि सन्जुले कप्तानी पारी खेले । एउटा एण्डबाट लामो साझेदारी बन्न नसकिरहेको समयमा उनले १ सय १९ रनको शानदार शतक जोडे । जहाँ ६३ बलमा १२ चौका र ७ छक्का सामेल छ । सन्जु खेलको म्यान अफ द म्याचसमेत चुनिए । उनीबाहेक रियान पराग र जस बटलरले समान २५ तथा शिभम दूवेले २३ जोडेका थिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले कप्तान लोकेस राहुलको ९१ रनको शानदार इनिङको सहयोगमा २२१/६ को स्कोर खडा गरेको थियो । ओपनर राहुलले ५० बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए । राहुलले दोस्रो विकेटका लागि क्रिस गेल (४० रन)सँग मिलेर ६७ र तेस्रो विकेटका लागि दीपक हूडासँग मिलेर १ सय ५ रनको साझेदारी गरेका थिए ।

    हूडाको विष्फोटक पारीकै कारण पन्जावले २ सय रनको आँकडा पार गरेको हो । १८ औं ओभरमा आउट हुनुअघि उनले २८ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय पारी खेले । राजस्थानका चेतन साकारियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।

  • आईपीएल– घरेलु मैदानमा सनराइजर्सको हार

    आईपीएल– घरेलु मैदानमा सनराइजर्सको हार

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले आफ्नै मैदानमा कोलकाता नाइट राइडर्ससँग १० रनको हार ब्यहोरेको छ ।

    कोलकातालाई यो सिजनको पहिलो जित दिलाउने क्रममा युवा ब्याट्सम्यान नितिश रानाको शानदार प्रदर्शन रह्यो । ओपनर रानाको ८० रनको सहयोगमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा १८७/६ को स्कोर खडा गरेको थियो ।

    कुनै समय निकै नै उच्च लयमा देखिएका कोलकाताका ब्याट्सम्यानहरुले १६ ओभरपछिको समयमा अपेक्षाकृत रहन बनाउन सकेनन् । कोलकाता १४५/१ बाट १६०/५ को स्थितिमा पुगेको थियो ।

    रानाले पहिलो विकेटका लागि शुभमन गिलसँग ५३ र दोस्रो विकेटका लागि राहुल त्रिपाठीसँग मिलेर ९३ रनको ठोष साझेदारी गरे । त्रिपाठीले २९ बलमा ५ चौका र २ छक्कासहित ५३ रनको अर्धशतकीय पारी खेले । रानाले ५६ बलमा ९चौका र ४ छक्का प्रहार गरेका हुन् ।

    कोलकाताका लागि दिनेश कार्तिककले पनि ९ बलमा अविजित २२ रन जोडे । हैदराबादका अफगानी खेलाडीहरु मोहम्मद नाभी र रशिद खानले २/२ विकेट लिए ।

    जवाफमा हैदराबाद निर्धारित ओभरमा १७७/५ मै रोकियो । उसका लागि मनिष पाण्डेले अविजित अर्धशतक र जोनी बेरिस्टोले अर्धशतकीय योगदान गरे पनि पर्याप्त भएन ।

    बेरिस्टोले ४० बलमा ५५ रन बनाउन ५ चौका र ३ छक्का प्रहार गरे । पाण्डे ४४ बलमा ३ चौका र ३ छक्कासहित ६१ रनमा अविजित रहे । कोलकाताका प्रसिद्ध कृष्णले २ विकेट लिए ।

  • विराट गोल्ड कप: मछिन्द्रलाई हराउँदै पञ्जाव सेमिफाइनलमा

    विराट गोल्ड कप: मछिन्द्रलाई हराउँदै पञ्जाव सेमिफाइनलमा

    विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी छैठौँ विराट गोल्डकपमा भारतको पञ्जाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाडौंलाई २–० गोलले हराउँदै पञ्जाव सेमिफाइनलमा प्रवेश गरेको हो ।
    खेलको ३९ औं मिनेटमा पञ्जावले राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वान टचमै गोल गरे । आक्रामक भएर मैदानमा उत्रिएको मछिन्द्रले पञ्जावलाई दबावमा राखे पनि पहिलो हाफसम्ममा गोल गर्न सकेन । मछिन्द्रले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो ।
    खेलको २० औं मिनेटमा मछिन्द्रका उमेश राईले पेनाल्टी एरियादेखि गरेको वान भर्सेस वान प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । खेलको २२ औं मिनेटमा पञ्जावका राजवीर सिंहले पेलान्टी ऐरियामा पाएको बललाई टच गर्न नसक्दा थप गोल गर्नबाट चुक्यो ।
    ३१ औं मिनेटमा पञ्जावका तरन्जित सिंहले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरियो । दोस्रो हाफदेखि आक्रमक भएको पञ्जावका लागि खेलको ८३ औं मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए । सरबजीत सिंहले निकालिएको फ्रिकिकलाई उनले वान टचमै पोस्टको दिशा दिएका थिए । त्यही गोल निर्णायक सावित भयो ।
    खेलको ५४ औं मिनेटमा मछिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरिदा गोल फर्काउने अवसरबाट मछिन्द्र वञ्चित भएको थियो । ५९ औं मिनेटमा पन्जावका राजवीर सिंहले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरिएको थियो । खेलको ‘म्यान अफ द म्याच’ जगदिप सिंह घोषित भए ।
    सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ । पन्जावका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिए । केही खेलाडी घाइते भएको बताउँदै उनले सेमिफाइनलमा रिकभर गर्ने चुनौती आएको उल्लेख गरे । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले नेशनल लिगका कारण सबै खेलाडी उपस्थित नहुँदा सफलता हात नपरेको बताए ।
  • नेपाल र नामिबियाबीच मेमा क्रिकेट सिरिज गर्ने क्यानको निर्णय

    नेपाल र नामिबियाबीच मेमा क्रिकेट सिरिज गर्ने क्यानको निर्णय

    काठमाडौं । नेपाल र नामिबियाबीच आउँदो मे महिनाको तेस्रो सातामा एक दिवसीय क्रिकेट श्रृंखला आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघको आज मुलपानीमा बसेको बैठकले सो निर्णय लिएको हो ।

    सचिव अशोकनाथ प्याकुरेलद्वारा जारी विज्ञप्तिका अनुसार २०२१ को अप्रिल तेस्रो हप्तादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र भारतको उत्तराखण्ड महिला क्रिकेट टिमबीच टी–२० र एक दिवसीय मैत्रिपूर्ण खेल सञ्चालनको तयारी क्यानले गर्ने भएको छ । महिला टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटाले पाएका छन् ।

    यसैगरि १८–१८ जना पुरुष तथा महिला क्रिकेट खेलाडीहरुको २०२१ को सेन्ट्रल कन्ट्राक्ट गर्नका लागि आगामी मे १७ सम्ममा बोर्डलाई खेलाडीहरु छनोट गर्दै प्रतिवेदन पेश गर्न ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ ।

  • १९औं संस्करणमा आहा! राराको नयाँ च्याम्पियन संकटा

    १९औं संस्करणमा आहा! राराको नयाँ च्याम्पियन संकटा

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नियमित संकटा क्लब शनिबार मोफसलको प्रतिष्ठित आहा! रारा गोल्ड कपको च्याम्पियन बन्यो । आहा! रारा गोल्ड कप १९औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलसम्म पुगेको संकटाले उपाधि भिडन्तमा विदेशी टोली अफ्रिकन रूट एसोसिएसनलाई टाईब्रेकरमा ४–२ गोलको नतिजामा पराजित गरेँसँगै प्रतियोगिताको छैठौं च्याम्पियन बन्यो ।

    साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० को नतिजामा पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको संकटाले सेमिफाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई २–० ले पराजित गरेको थियो । विभागीय टोलीमाथि एकतर्फी नतिजा निकाल्दै पहिलो पटक फाइनलमा पुगेको संकटाविरुद्ध सुरुआतदेखि नै दाबेदारको रूपमा प्रस्तुत गरेको अफ्रिकन रूटले भेट निश्चित गरेको थियो ।

    पहिलो खेलमै ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई २–१ को नतिजामा पराजित गर्दै प्रतियोगिताको शानदार सुरुआत गरेको अफ्रिकन रूटले सेमिफाइनलमा आहा! राराको ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० को नजितामा पराजित गरेको थियो ।

    सहभागिता जनाएको पहिलो वर्ष नै फाइनलसम्मको यात्रा तय गरेको अफ्रिकन रूटले फाइनलमा पनि संकटाविरुद्ध सुरुआती अग्रता लिएको थियो । तर, त्यो अग्रता जोगाउन नसकेर टाइब्रेकरसम्म पुगेको खेलमा भ्रमणकारी अफ्रिकन रूट पराजित भयो ।

    बलियो दाबेदारमाथि रोमाञ्चक जित हासिल गरेको संकटाले भने आहा! राराको ट्रफी क्याबिनेटमा ‘इन्ट्री’ गर्‍यो ।

    मोफसलको चर्चित एवम् बहुप्रतिष्ठित फुटबल प्रतियोगिता हो, आहा! रारा गोल्ड कप । बि सं. २०५८ सालमा क्याराभान गोल्ड कपको रूपमा सुरु भएको यो प्रतियोगिताले दोस्रो वर्षदेखि आहा! रारा गोल्ड कपको नाम पाएको थियो । पहिलो पटकमै च्याम्पियन बनेको नेपाल पुलिस क्लब र गत वर्षको च्याम्पियन मनाङ यो प्रतियोगिताका सर्वाधिक सफल टोली हुन् । मनाङ र पुलिस दुवै टोलीले आहा! रारा गोल्ड कपको उपाधि ६÷६ पटक उचालेका छन् ।

    पहिलो र दोस्रो संस्करण लगातार नेपाल पुलिस क्लबले जितेको थियो भने त्यसपछिको दुई वर्ष (२०६० र ६१) सालमा मनाङ च्याम्पियन बनेको थियो । प्रतियोगिताको पाँचौं संस्करणमा च्याम्पियन बनेको अफ्रिकन युनाइटेड उपाधि विजेता एक मात्र विदेशी टोली हो ।

    छैठौं संस्करणमा आहा! राराले नयाँ च्याम्पियन पाएको थियो, थ्री स्टार क्लब । यो वर्षको क्वार्टरफाइनलबाटै बाहिरिएको थ्री स्टारले हालसम्म पाँच पटक आहा! रारा गोल्ड कपको उपाधि जितिसकेको छ ।

    त्यसपछि लगातार तीन वर्ष (२०६४, ६५ र ६६) पुलिस च्याम्पियन बनेको थियो भने २०६७ सालमा पुनः थ्री स्टारले बाजी मा¥यो । मनाङले २०६८ सालमा तेस्रो पटक उपाधि उचाल्दा ६९ मा पुनः थ्री स्टार च्याम्पियन बनेको थियो ।

    आयोजकसमेत रहेको सहारा क्लब २०७० सालमा च्याम्पियन बनेको थियो भने ७१ सालमा पुनः थी स्टारले उपाधि उचाल्यो । त्यसपछिका दुई वर्ष (७२ र ७३)मा लगातार मनाङ च्याम्पियन बन्दा ७४ मा पुलिस र ७५ थ्री स्टार च्याम्पियन बनेका थिए ।

    २०७६ सालमा भएको १८औं संस्करणमा पनि पुरानै च्याम्पियन मनाङ पुनः दोहोरिएको थियो । तर, यो वर्ष आहा! राराले नयाँ च्याम्पियन पाएको छ ।

     

    https://youtu.be/DcrfAdXzijk

  • क्रोएसियन पोसिन्कोभिचले ललितपुर सिटी एफसीबाट एनएसएल खेल्ने

    क्रोएसियन पोसिन्कोभिचले ललितपुर सिटी एफसीबाट एनएसएल खेल्ने

    काठमाडौं । ललितपुर सिटी एफसीले नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइज- नेपाल सुपर लिगका लागि क्रोएसियन खेलाडी भिलिम पोसिन्कोभिचलाई अनुबन्ध गरेको छ ।

    वैशाख ११ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिताका लागि भिलिमलाई अनुबन्ध गरिएको र उनी आइतबार काठमाडौं आइपुगेको ललितपुर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले जानकारी दिए ।

    ‘पोसिन्कोभिच नेपाल आइसकेका छन्,’ प्रशिक्षक हुमागाईंले भने, ‘तर, मैले उनलाई भेटको छैन ।’

    बोस्निया एन्ड हर्जगोभिनामा जन्मिएका पोसिन्कोभिच २००८ देखि लगातार सिनियर युरोपेली फुटबल खेलिरहेका छन् । युरोपका विभिन्न देशहरू- टर्की, ग्रीस, क्रोएसिया, बुल्गेरिया, बोस्निया एन्ड हर्जगोभिना जस्ता देशका १७ देशहरूमा व्यवसायिक फुटबल खेलिसकेका ३० वर्षीय पोसिन्कोभिचले २०१९मा बुल्गेरियन लिगको उपाधि जितेका थिए ।

    त्यस समयमा लोकोमोटिभ प्लोभडिभका खेलाडी रहेका पोसिन्कोभिचले गत सिजन राडनिक बिजेल्जिनाबाट बोस्निया एन्ड हर्जोगोभिनाको प्रिमियर लिग खेलेका थिए ।

    लेफ्ट विङ्गबाट खेल्ने पोसिन्कोभिचले २०१९/२० को सिजनमा राडनिकबाट ५ खेल खेल्दै १ गोल गरेका थिए ।

    ललितपुरले यसअघि नै राष्ट्रिय टोलीमा नियमित सदस्य अञ्जन विष्टलाई मार्की प्लेयरको रूपमा भित्र्याइसकेको छ भने अक्सनबाट १५ खेलाडी किनेको थियो ।

  • प्रदेशस्तरीय यु-१६ क्रिकेटको उपाधि रुपन्देहीलाई

    प्रदेशस्तरीय यु-१६ क्रिकेटको उपाधि रुपन्देहीलाई

    रुपन्देही । दाङलाई ६५ रनले हराउँदै रुपन्देहीको भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय टी-२० अन्डर-१६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले चुमेको छ ।

    शनिबार सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ३ विकेटको क्षतिमा १५४ रनको योगफल बनाएको थियो । दाङले भने उपविजेतामै चित्त बुझायो ।

    रुपन्देहीका लागि आशिष रोकाले सर्वाधिक ४४ रनको योगदान गरे । ३२ बलको सामाना गरेका उनले दुई छक्का र एक चौका प्रहार गरे । यस्तै, ४२ बलमा विशाल भुसालले ५ चौकाको मद्दतमा ४१, सन्तोष साउदले २५ र प्रकाश गिरीले २१ रन बनाए । बलिङमा दाङका आयुष ओली, सुमन बसौंदी र मनोज पुनले समान १/१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको दाङ १७ ओभर २ बलमा सबै विकेट गुमाएर ८९ रनमै सीमित रह्यो । उसका लागि मनोज पुनले ३९, प्रभाकर कुँवरले १६ र रोहित डाँगीले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।

    उसलाई सस्तैमा रोक्न ३ ओभर बलिङ गरेका रुपन्देहीका सन्तोष यादवले एक मेर्डन राख्दै १२ रन खर्चेर ३ विकेट लिए । उनी म्यान अफ द फाइनल भए । यस्तै, सुमित पराजुली र अमर मिश्राले २÷२ तथा सुरज खड्का र सेजाद आलमले समान १/१ विकेट लिए ।

    प्रतियोगितामा १३७ रन र ६ विकेट लिएका दाङका आशिष ओली म्यान अफ द सिरीज भए । १३५ रन बनाएका रुपन्देहीका प्रकाश गिरी बेष्ट ब्याट्सम्यान भए भने १३ विकेट लिएका रुपन्देहीकै सन्तोष यादव बेष्ट बलर भए ।

    प्रतियोगितामा उपाधि विजेता रुपन्देही र उपविजेता दाङलाई लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्याय, पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचन, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धर्मराज गिरी लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

  • एपिएफले जित्यो मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधि

    एपिएफले जित्यो मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधि

    काठमाडौं । सुदूर-पश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफले मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधि जितेको छ ।

    शनिबार भएकाे फाइनलमा  टस जितेर ब्याटिङ गरेको सुदूर-पश्चिम प्रदेशले १०७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उभिएको एपिएफले १८‍‍.२ ओभरमा २ विके६ गुमाएर लक्ष्य पूरा गर्‍यो ।

    एपिएफको लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरल २७, इन्दु बर्मा १९ र ममता चौधरीले १५ रन जोडे

    प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने क्यानले बताएको छ ।

    त्यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार र विधागत- ब्याटिङ र बलिङतर्फ उत्कृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् ।

    उपाधिका लागि सुदूर-पश्चिमले एपीएफलाई दियो १०७ रनको लक्ष्य

  • उपाधिका लागि सुदूर-पश्चिमले एपीएफलाई दियो १०७ रनको लक्ष्य

    उपाधिका लागि सुदूर-पश्चिमले एपीएफलाई दियो १०७ रनको लक्ष्य

    काठमाडौं । सुदूर-पश्चिम प्रदेशले विभागीय टोली नेपाल एपीएफ क्लबसामु ललितपुर मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधिका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूर-पश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रनको योगफल तयार गर्‍यो । सुदूर-पश्चिमका लागि विन्दु रावलले अविजित ४४ रनको योगदान गरिन् । विभागीय टोलीविरुद्ध ५४ बलको सामना गरेकी विन्दुले ४ चौका प्रहार गरेकी थिइन् ।

    सुदूर-पश्चिमका ६ जना ब्याट्सवुमनले १० रनको आँकडा पार गर्न नसक्दा डोली भट्टले १२ तथा कविता कुँवरले १३ रन जोडेका थिए ।

    बलिङतर्फ एपीएफका लागि रेखा रावल, करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता राना मगर र विनु बुढाले १/१ विकेट लिए ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट एपीएफ शीर्ष र सुदूर-पश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा आइपुगेका हुन् ।

    प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने क्यानले बताएको छ ।

    त्यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार र विधागत- ब्याटिङ र बलिङतर्फ उत्कृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् ।

  • खेलकुद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ

    खेलकुद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ

    युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन् । नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप-२०७७ को उद्घाटन गर्दै उनले खेलसँगै खेलाडीको भविष्य पनि सुनिश्चित हुनुपर्ने बताए ।

    मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालेको बताए । स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए । स्थानीयस्तरबाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङले औँल्याए ।

    देशभरका सात वटा सोतोकान करातेका ३२ वटा डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता आज दिनभर चल्ने र साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुरस्कार वितरण गर्ने एशोसियसनका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

    एशोसियसनले हरेक वर्ष विभिन्न चरणमा विभिन्न खेलको प्रतियोगिता गर्दै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने काममा अग्रसरता देखाउँदै आएको बताए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ भने फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

    त्यस्तै, टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको जानकारी दिँदै उहाँले प्रतियोगितामा पाँच लाख रूपैयाँ खर्च हुने एशोसिएसनका अध्यक्ष श्रेष्ठले बताए ।

    रासस

  • धनगढी हाफ म्याराथनमा दुर्गाको ह्याट्रिक

    धनगढी हाफ म्याराथनमा दुर्गाको ह्याट्रिक

    कैलाली । धनगढी हाफ म्याराथनको सातौ संस्करणको उपाधिमा जुम्लाका दुर्गा बहादुर बुढाले ह्याट्रिक गरेका छन् । २१ दशमलक १ किलोमीटरको दुरी १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै बुढाले लगातार तेस्रो पटक उपाधि जितेका हुन् ।

    उपाधिसँगै बुढाले नगद ५५ हजार ५ सय ५५ रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, निर्धारित दुरी १ घन्टा ०९ मिनेट ०८ दशमलव ५३ सेकेण्डमा पार गर्दै बैतडीका नरेन्द्र रावत दोस्रो हुँदा सशस्त्र प्रहरीका सन्तोष विष्टले तेस्रो हासिल गरे ।

    दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र विष्टले क्रमश: नगद ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैया समेत प्राप्त गरेका छन् ।

    यसैगरी पहिलो पटक आयोजना गरिएको खुला ५ किलोमिटर महिला तर्फको उपाधि कैलालीकी सीमा चौधरीले प्राप्त गरिन् । उनले उक्त दुरी २० मिनेट दशमलव ११ सेकेण्डमा पूरा गरेकी थिइन् । उपाधिसँगै चौधरीले नगद ५ हजार ५ सय ५५ रूपैया प्राप्त गरिन् ।

    त्यस्तै, सीता चौधरी दोस्रो र नेहा खड्का तेस्रो भए । अब धनगढी दौडिन्छ भन्ने मूल नाराका साथ धनगढी जेसिसले हाफ म्याराथनको आयोजना गरेको हो ।

  • ट्राओरे निर्णायक गोलमा वुल्भ्स विजयी

    ट्राओरे निर्णायक गोलमा वुल्भ्स विजयी

    काठमाडौं । आड्मा ट्राओरेको निर्णायक गोलप्रेरित वुल्भ्सले शुक्रबार राति इङ्लिस प्रिमियर लिगमा फुल्ह्यामलाई ०-१ को नतिजामा पराजित गरेको छ ।

    फुल्ह्यामको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । प्रतिस्पर्धात्मक खेलको इन्जुरी सयमा ट्राओरेले गरेको एक मात्र गोल निर्णायक बन्दा वुल्भ्सले सिजनको १०औं जित सुनिश्चित गर्‍यो ।

    काउन्टर अट्याकमा फ्याबियो सिल्भाले दिएको पासलाई १८ यार्ड बक्स भित्रसम्म दौडाएर दायाँतर्फबाट सशक्त प्रहार गर्दै ट्राओरेले शानदार गोल गरेका थिए ।

    जितसँगै ३१ खेलबाट ३८ अंक जोडेको वुल्भ्स लिग तालिकाको १०औं स्थानमा उक्लिएको छ । पराजित फुल्ह्याम ३२ खेलबाट २६ अंक जोडेर १८औं स्थानमा छ ।

  • आईपीएल: बेङ्लोरसँग साविक विजेता मुम्बई पराजित

    आईपीएल: बेङ्लोरसँग साविक विजेता मुम्बई पराजित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको छ ।

    शुक्रबार राति चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५९ रनको योगफल तयार गरेको थियो ।

    १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बेङ्गलोरले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । बेङ्गलोरका लागि एबी डि भिलियर्सले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन जोड्दा ग्लेन मेक्सवेलले ३९ रनको योगदान गरे । कप्तान विराट कोहली ३३ रन जोडेर पेभेलियन फर्किएका थिए भने अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    मुम्बईका लागि जसप्रित बुमराह र मार्को जान्सेनले २/२ तथा ट्रेन्ट बोल्ट र क्रुनाल पान्डेयले १/१ विकेट लिए ।

    त्यसअघि, पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९, सुर्यकुमार यादवले ३१, इशान किशानले २८ र कप्तान रोहित शर्माले १९ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

    बेङ्गलोरका लागि हर्षल पटेलले सर्वाधिक ५ तथा काइल जेमिसन र वासिङ्टन सुन्दरले १/१ विकेट लिएका थिए ।

  • दाङ र रुपन्देही क्रिकेट प्रतियोगिताको फाइनलमा

    दाङ र रुपन्देही क्रिकेट प्रतियोगिताको फाइनलमा

    रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय टी-२० अन्डर-१६ क्रिकेट प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा प्रवेश गरेका छन् ।

    रुपन्देहीको भैरहवामा जारी प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा दाङले रोल्पालाई ८३ रन र रुपन्देहीले पाल्पालाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

    सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेर व्याटिङको निम्तो पाएको दाङले ८ विकेटको क्षतिमा १३२ रनको योगफल बनायो । उसका लागि आशिष ओलीले ४०, मनोज पुनमगरले ३६ र केरमान घर्तीमगरले १३ रन जोडे । बलिङमा रोल्पाका अजय डाँगी, प्रवेश गिरी र किसन भारतीले समान २÷२ विकेट लिए ।

    जवाफी ब्याटिङमा आएको रोल्पा १० ओभरमा सबै विकेट गुमाउँदै ४९ रनमै सीमित भयो । उसका लागि प्रवेश गिरीले सर्वाधिक २४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

    रोल्पालाई सस्तैमा रोक्न दाङका आयुष ओली र सुजल ओलीले समान ३÷३ तथा आशिष ओलीले २ र केरमान घर्तीमगरले १÷१ विकेट लिए । आशिष ओली म्यान अफ द म्याच भए ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ४ विकेटको क्षतिमा १९० रन बनायो । उसका लागि अमर मिश्राले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ६७, प्रकाश गिरीले २२ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ५७ रन बनाए ।

    यस्तै, विशाल भुसालले ३४ रन जोडे । बलिङमा पाल्पाका नरेश सूर्यवंशी, सुदीप जिसी र सौगात गौतमले समान १÷१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको पाल्पा १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनमै समेटियो । उसका लागि रुपेश बश्यालले २६ र सुदीप जिसीले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

    उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सेजाद आलम र सुरज खड्काले समान ३/३ तथा सन्तोष यादवले २ विकेट लिए । अमर मिश्रा म्यान अफ द म्याच भए ।

    उपाधिका लागि दाङ र रुपन्देही शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

  • चार वर्षपछि सन्दीप बिनाको आईपीएल आज सुरु, बन्द रंगशालामा खेल हुने

    चार वर्षपछि सन्दीप बिनाको आईपीएल आज सुरु, बन्द रंगशालामा खेल हुने

    काठमाडौं । विश्व क्रिकेटको सबैभन्दा ठूलो ट्वान्टी–२० फ्रेन्चाइज– इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करण आजदेखि सुरु हुँदैछ । चेन्नईस्थित चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरको सामना गर्नेछ । आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले यसअघि नै पाँच पटक उपाधि उचालिसकेको छ ।

    तर, बैङ्गलोर तीन पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट वञ्चित रहँदै आएको छ । आजको खेलमा मुम्बईले छैटौं पटक उपाधि रक्षा अभियान सुरु गर्नेछ भने बेङ्गलोर अहिलेसम्मको असफलतालाई पछाडि छोडेर विजयी सुरुआत गर्न चाहन्छ ।
    वर्षौंदेखि नेपाली दर्शकका लागि पनि बहुप्रतिक्षित प्रतियोगिता बन्दै गइरहेको छ, आईपीएल । तर, विगतका तीन वर्षको तुलनामा यो वर्ष नेपालीका लागि आईपीएल कम महत्त्वको बन्ने अनुमान गर्न सकिन्छ, कारण सन्दीप लामिछाने ।

    नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य तथा स्टार स्पिनर सन्दीप लामिछानेले यसअघिका तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । इतिहासमै आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपको दिल्लीसँगको सम्झौता गत वर्ष समाप्त भएको थियो । र, यो सिजनका लागि अक्सनमा समावेश भएका सन्दीपलाई कुनै पनि टोलीले भित्र्याउन नचाहेपछि उनी यो वर्ष आईपीएलमा अनुपस्थित रहने छन् । यसबाट नेपाली क्रिकेट समर्थकका लागि यो वर्षको आईपीएल विगतको तुलनामा केही हदसम्म कम चासोको विषय बन्न सक्छ ।

    तर, सन्दीप लामिछानेको उपस्थिति भन्दा अगाडिदेखि आईपीएलका दर्शकका लागि भने उनको उपस्थितिले खासै असर पार्नेछैन ।

    गत वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण यूएईमा भएको थियो भने यो वर्ष भारतमै हुनेछ । तर, आईपीएलका खेलमा दर्शक भने उपस्थित हुनेछैनन् ।

  • चोटका कारण सुजलले सुपर लिगबाट नाम फिर्ता लिए, पोखराले भित्र्यायो रवी

    चोटका कारण सुजलले सुपर लिगबाट नाम फिर्ता लिए, पोखराले भित्र्यायो रवी

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य तथा चर्चित खेलाडी सुजल श्रेष्ठले नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चाइज नेपाल सुपर लिग गुमाउने भएका छन् । घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स कपको पहिलो खेलमै ‘काल्फ’ को इन्जुरी बल्झिएपछि उनको लिग खेल्ने सपना यसपाली अधुरै रहने भएको हो ।

    शहीद स्मारक ए डिभिजन लिगमा सुजल ।

    नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि नेपालमै पहिलो पटकफुटबलको अक्सन चैत ६ गते भएको थियो । सोही अक्सनमा सर्वाधिक मुल्य दुई लाख रुपैयाँ विक्री भएका थिए, मिडफिल्डर सुजल । ‘ए’ डिभिजन लिग च्याम्पियन, १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कप्तान सुजललाई पोखरा थन्डर्सले अनुबन्ध गरेको थियो ।

    तर, चिकित्सकको सल्लाहअनुसार चार हप्ता कम्तिमा आराम गर्नुपर्ने भएपछि नेपाल सुपर लिगका लागि अनुबन्ध भएको पोखरा थन्डर्सबाट नाम फिर्ता लिएको सुजलले बताए ।

    चोटका कारण ए डिभिजन लिगको अन्तिमका केही खेलका क्रममा मैदान बाहिर सुजल ।

    ‘नेपालमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग खेल्नलाई उत्साहित थिएँ,’ उनले नेपाल प्रेससँग भने, ‘थ्री नेसन्स कपको पहिलो खेलमै इन्जुरी बल्झियो । अनि नाम पनि फिर्ता लिएँ ।’

    फुटबल नेखेल्ने भए पनि पोखरा थन्डर्सको साथ चाहिँ उनले छोड्ने छैनन् । उनको भूमिका खेलाडीबाट टिम म्यानेजरमा फेरिएको छ ।
    ‘मलाई टिम म्यानेजर पो बनाएको छ त…’ सुजलले हाँस्दै भने, ‘खेल्न नसक्ने भए पनि टोलीसँगै बस्छु, ट्रेनिङ पनि गर्छु ।’

    मच्छिन्द्र क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेका सुजल पछिल्लो समय नेपाली फुटबलको चर्चित नाम हो । घरेलु मैदानमा गत वर्ष सम्पन्न १३औं दक्षिण एसियाली खेलुकदको स्वर्ण विजेता कप्तानसमेत हुन्, सुजल । त्यसैले पोखरा थन्डर्सले सुपर लिगका लागि सर्वाधिक २ लाख रुपैयाँ खर्चेर उनलाई किनेको थियो । नेपाली फुटबलमा रुचाइएका प्रशिक्षक नबिन न्यौपानेले उनलाई चुनेका थिए ।

    सुजलको स्थानमा रवी

    सुजलले खेल्न नसक्ने भएपछि उनको स्थानमा विकल्पको खोजी गर्नु परेको पोखरा थन्डर्सका मुख्य प्रशिक्षक नबिन बताउँछन् ।
    ‘अक्सनमा पनि कडा प्रतिस्पर्धा गरेर हामीले भित्र्याएका थियौं । तर, चार हप्ता कम्तिमा आराम गर्नुपर्ने भएपछि हामीले उनको स्थानमा रवी पासवानलाई लिएका छौं ।’

    राष्ट्रिय टोलीबाट खेल्दै रवी पासवान ।

    नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका रवी विभागीय टोली नेपाल पुलिस क्लबका खेलाडी हुन् । नेपाल सुपर लिगका लागि समूह ‘ए’ मा समेटिएका रवीलाई कुनै पनि क्लबले किनेका थिएनन् ।

    अक्सनमा बिक्री नभएर निराश बनेका रवी पनि पुनः मौका पाउँदा खुशी छन् ।

    ‘अक्सनमा बिक्री भएको थिइँन, पछि बोलाउनु भयो,’ खुशी हुँदै रवी भन्छन्, ‘नेपालमै पहिलो पटक हुन लागेको लिग खेल्न पाउँदा एकदमै खुशी छु, उत्साहित छु ।’

    यसअघि नै घोषणा भइसकेको पोखराको टोलीका मार्की प्लेयर नवयुग श्रेष्ठ हुन् ।

    केही वर्ष अगाडिदेखि नै नेपाली क्रिकेटमा अभ्यास भइरहेको फ्रेन्चाइज फुटबलमा पहिलो पटक भित्रिएको छ । वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सिटी बेस्ड सात वटा टोली सहभागी छन् ।

    नेपाल सुपर लिगको पहिलो संस्करणमा विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी हुँदैछन् ।

    पोखराको टोली

    गोलकिपर: अजित प्रजापती, दीप कार्की

    डिफेन्डर: अजित भण्डारी, सुरज गुरुङ, केट्चा वानिक –विदेशी), मान बहादुर तामाङ, दिपक गुरुङ, गौतम श्रेष्ठ

    मिडफिल्डर: प्रविन कुमार स्याङ्तेन, रवी पासवान, बिडिएस रिम राफाएल –विदेशी), नितिन थापा, सुजित थापा

    फरवार्ड: राजेश परियार, नवयुग श्रेष्ठ, अनिल गुरुङ, मौसा अबागाना –विदेशी)

    प्रशिक्षक: नबिन न्यौपाने

    सहायक प्रशिक्षक: राजेश शाही

    गोलकिपर प्रशिक्षक: विनोद डंगोल

  • विराट गोल्डकप सुरु, उद्घाटन खेलमा घरेलु टिमको विजयी सुरूआत

    विराट गोल्डकप सुरु, उद्घाटन खेलमा घरेलु टिमको विजयी सुरूआत

    विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर महानगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरका लागि दुवै गोल प्रकाश बुढाथोकीले गरे ।

    काठमाण्डौ बाहिर पहिलो पटक सहिद रंगशालामा फ्लड लाइटमा खेलाइएको खेलमा उद्घाटन खेलमा विराटनगरले युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको होे ।

    आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश बुढाथोकीले गोल गरी टिमलाई अग्रता दिलाए । खेल सुरू भएको ८ औं मिनेटमा प्रकाशले ३० यार्डबाट सुन्दर गोल गरे ।

    सुरुमै गोल खाएपछि दबावमा परेको सिक्किमले १५ औं मिनेटमा बराबरी गोल फर्कायो । सिक्किमका आशिष देवानको क्रसमासाङगे छोपेन भुटियाले सानदार गोल गरे ।

    खेलको २० मिनेटमा विराटनगरका सुनिल खड्काको वान भर्सेस वानको प्रहार सिक्किमका गोल किपर अवजित रोयले उत्कृष्ट बचाउ गरिदिए । सिक्किमका भुवन बस्नेतले खेलको २४ मिनेटमा डिबक्स बाहिरदेखि गरेको सशत्त प्रहार बारियो ।

    पहिलो हाफसम्म १/१ गोलको बराबरी भए पनि दोस्रो हाफको सुरुमै विराटनगरले अग्रता लियो । यसपल्ट पनि प्रकाश सफल भए । ५३ औं मिनेटमा उनले बक्स भित्रबाट गोल गरे । दुई गोल गरेका प्रकाश खेलको म्यान अफ द म्याच चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

    शुक्रबार भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

    विराटनगर ११ का प्रशिक्षक सन्जीव बुढाथोकीले खेलाडीहरूको मिहिनेतको कारणल सफलता हात पारेको बताए । । ‘थुप्रै गोल गर्ने अवसर हाम्रो खेलाडी गोल गर्नबाट चुके,’ उनले भने, ‘अर्को खेलमा नयाँ रणनीति अपनाएर खेल्नेछन् ।’

    सिक्किम युनाइटेकका प्रशिक्षक नाडम भुटियाले राम्रो खेल्दा खेल्दै पनि हार व्यहोर्नु परेको बताए । ‘धेरै गोल गर्ने अवसर केटाहरूले गोल गर्नबाट चुक्दा हार व्यहोर्नुपरेको छ।’

    विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    वैशाख ४ सम्म हुने प्रतियोगिताका सबै खेल कृत्तिम प्रकाशमा हुनेछन् । शहीद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन ।

    तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहेको र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् । प्रतियोगितामा मनाङ मर्स्याङदी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन रुटको सहभागिता छ ।

    प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल, हरेक खेलका म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, सर्बाधिक गोलकर्ता, टिम व्यवस्थापक र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    पहिलो म्याच खेलेर बाहिरिनेले ३० हजार, क्वाटरफाइनलवाट बाहिरिनेले ५० हजार र सेमिफाइनल पराजित टिमले ७५ हजार म्याच फी पाउनेछन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् ।

     

  • युरोपा लिगः चेक क्लबसँग रोकियो आर्सनल, म्यानचेस्टर युनाइटेडको जित

    युरोपा लिगः चेक क्लबसँग रोकियो आर्सनल, म्यानचेस्टर युनाइटेडको जित

    एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा चेल रिपब्लिकको च्याम्पियन स्लाभिया प्राहासँग एक एक गोलको बराबरीमा रोकिएको छ ।

    इमिरेट्स रंगशालामा स्लाभियाले खेलको अन्त्यतिर नाटकीय रुपमा गोल गरी बराबरी गरेको हो । महत्वपूर्ण अवे गोलसहित अर्को साता उसले आफ्नो मैदानमा आर्सनललाई स्वागत गर्नेछ ।

    अर्को खेलमा म्यानचेस्टर युनाइटेडले स्पेनको ग्रेनाडालाई उसकै मैदानमा २–० ले हराएको छ । युनाइटेडका लागि मार्कस राशफोर्डले ३१ औं मिनेटमा र बुर्नो फर्नाण्डेजले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

    अर्को क्वाटरफाइनलमा नेदरल्याण्ड्सको च्याम्पियन आयाक्सले इटलियन टोली रोमासँग आफ्नै मैदानमा २–१ गोलको हार ब्यहोरेको छ । जारी सिजन निकै नै खराव लयमा गुज्रिरहेको आयाक्सले युरोपा लिगमा पनि आफ्नो उपस्थिति दरिलो बनाउन सकिरहेको छैन।

    ३९ औं मिनेटभमा डेभी क्लासेनले गोल गरेपछि घरेलु टोली आयाक्सले पहिलो हाफमा अग्रता बनाएको थियो । तर दोस्रो हाफमा सुधारिएको रोमाले ५७ औं मिनेटमा लोरेन्जो पेलेग्रिनीको गोलमार्फत खेल बराबरीमा ल्यायो ।

    ८७ औं मिनेटमा रोजर इवानेजले गोल गरेपछि खेल २–१ ले जित्दै रोमाले अर्को साता आफ्नो मैदानमा हुने दोस्रो लेगमा सहज बनायो ।

    क्रोएसियाको डाइनामो जग्रेव भने स्पेनको भिल्लारियलसँग घरेलु मैदानमा पराजित भएको छ । पहिलो लेगमा घरेलु मैदानको हारले उसको सेमिफाइनल सम्भावना कठिन बन्नसक्छ ।

    भिल्लारियलका लागि जेरार्ड मोरेनोले पेनाल्टीमार्फत पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यही गोल भिल्लारियलको अवे जितमा निर्णायक बन्यो ।

  • पुलिसलाई हराउँदै अफ्रिकन रूट आहा रारा गोल्ड कपको फाइनलमा

    पुलिसलाई हराउँदै अफ्रिकन रूट आहा रारा गोल्ड कपको फाइनलमा

    पोखरा । आहा रारा गोल्ड कपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिसलाई २-० ले पराजित गर्दै अफ्रिकन रुट्स एसोसिएसनले फाइनलमा संकटा क्लबसँगको भेट सुनिश्चित गरेको गरेको छ ।

    पोखरा रंगशालामा भएको खेलको तेस्रो मिनेटमा अफ्रिकन रूटका लागि ज्याकस बसीकले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अगाडि रहेको अफ्रिकन रूटका लागि इन्जुरी समयमा मौसाले गरेको दोस्रो गोलसँगै जित सुनिश्चित भएको थियो ।

    यसअघि पहिलो सेमिफाइनलमा एपीएफलाई पराजित गर्दै संकटा फाइनलमा पुगिसकेको छ । संकटा पहिलो पटक फाइनलमा पुगेको हो भने पहिलो पटक सहभागी भएको अफ्रिकन रूट पनि फाइनलमा पुगेको हो । यससँगै आहा राराको नयाँ च्याम्पियन टोलीको टुङ्गो २८ गतेको फाइनलमा लाग्ने भएको छ ।

  • च्याम्पियन टोलीका बिनित र प्रतिभा सर्वोत्कृष्ट

    च्याम्पियन टोलीका बिनित र प्रतिभा सर्वोत्कृष्ट

    काठमाडौं । आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्ड क्लबकी प्रतिभा माली र पुरुषतर्फ टिपटप हेल्प नेपालका बिनित कुमार सर्वोत्कृष्ट घोषित भएका छन् ।

    नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा महिलातर्फ न्यु डायमण्डलाई च्याम्पियन बनाउन उत्कृष्ट भूमिका निर्बाह गरेकी राष्ट्रिय खेलाडी प्रतिभाले सर्वोत्कृष्ट हुँदै नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारिन् । त्यस्तै, हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण सदस्य रहेका बिनितले पनि सोही राशीको पुरस्कार हात पारे ।

    यस्तै, पुरुषतर्फ उत्कृष्ट स्पाइकर बुलबुले रारा क्लबका मुराद जेहान, उत्कृष्ट ब्लकर पुलिसका दीपकराज जोशी, उत्कृष्ट सेटर हेल्प नेपालका विकास कुमार, उत्कृष्ट डिफेन्डर एपीएफका विनोद चन्द, उत्कृष्ट सर्भर बुलबुले रारा क्लबका घनश्याम चौधरी घोषित भए ।
    हेल्प नेपाललाई च्याम्पियन बनाएका रमेश केसी उत्कृष्ट प्रशिक्षक भए ।

    यस्तै, महिलातर्फ उत्कृष्ट स्पाइकरको उपाधि पुलिसकी उषा भण्डारीले हात पारिन् । उत्कृष्ट ब्लकरमा पुलिसकी मनिषा चौधरी, उत्कृष्ट सेटरमा पुलिसकी कमला पुन, उत्कृष्ठ डिफेन्डरमा डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सर्भरमा डायमण्डकी ललिता नाथ र उत्कृष्ट प्रशिक्षकमा कुमार राई घोषित भए ।

    प्रतियोगितामा लिगमा शीर्ष दुई स्थानमा रहेका टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्‍यो । उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७५ हजार सहित ट्रफी प्राप्त गर्‍यो । यस्तै शीर्ष टोलीका खेलाडीहरूले मेडल तथा प्रमाण पत्र प्राप्त गरे । चौथो हुने टिमले सान्त्वना स्वरुप नगद ३७ हजार ५ सय प्राप्त गर्‍यो ।

    विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गरे । यस्तै उत्कृष्ट प्रशिक्षकले पनि नगद १० हजार प्राप्त गरे ।